भ्रष्ट स्वभावहरू कसरी हटाउने भन्‍नेसम्बन्धी वचनहरू

अंश ४९

मान्छेका भ्रष्ट स्वभावहरूमा निरर्थक र दुष्ट कुराहरूबाहेक केही हुँदैन। तीमध्ये सबैभन्दा गम्भीर कुरामा मान्छेको अहङ्कारी स्वभाव र त्यसबाट प्रकट हुने कुराहरू, अर्थात्, विशेष आत्मधार्मिकता र अहम्ता, आफू अरूभन्दा बलियो छु भन्ने विश्वास, कसैप्रति समर्पित हुनमा अनिच्छुकता, अन्तिम निर्णय गर्ने निरन्तरको जिद्दी, सबै मामिलामा धाक प्रदर्शन, आफ्ना कार्यहरूमा चापलुसी र प्रशंसाको खोजी, अरू आफ्नो वरिपरि रहुन् भन्ने निरन्तरको चाहना, सधैँको आत्म-केन्द्रितता, सदैव महत्त्वाकाङ्क्षा र चाहनाहरूको प्रश्रयता, अनि मुकुट र इनाम पाउने र राजा भएर शासन गर्ने सधैँको चाहना पर्छन्—यी सम्पूर्ण विषयहरू गम्भीर भ्रष्ट स्वभावहरूको वर्गमा पर्छन्। अन्य सबै सामान्य समस्याहरू मात्र हुन्। उदाहरणको लागि, केही गलत विचार, निरर्थक सोचाइ, कुटिलपन र छलीपन, ईर्ष्या, स्वार्थीपन, विवादी हुनु, अनि सिद्धान्तविना व्यवहार गर्नु, इत्यादि सबैभन्दा आम भ्रष्ट स्वभावहरू हुन्। शैतानको स्वभावभित्र धेरै प्रकारका भ्रष्ट स्वभावहरू समावेश हुन्छन्, तर सबैभन्दा स्पष्ट र झट्ट देखिनेचाहिँ अहङ्कारी स्वभाव हो। अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, त्यति नै अविवेकी हुन्छन्, र तिनीहरू जति धेरै अविवेकी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले अरू सबैलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्, र तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैन। मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले शक्तिको निम्ति र अरूमाथि नियन्त्रण गर्न सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छ। यस्तो किसिमको व्यक्तिमा परमेश्‍वरको भय मान्ने हृदय अलिकति पनि हुँदैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्‍कारी र अभिमानी छन्, विशेष गरी ती जो आफ्नो होश गुमाउने हदसम्म अहङ्‍कारी छन्, उहाँप्रतिको आफ्नो विश्‍वासमा तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्दैनन्, बरु तिनीहरूले आफ्नै बढाइ गर्छन् र आफ्नै निम्ति गवाही दिन्छन्। यस्ता मानिसहरू परमेश्‍वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय फिटिक्‍कै हुँदैन। यदि मानिसहरू आफूमा परमेश्‍वरको भय मान्ने हृदय हुने अवस्थासम्म पुग्‍ने इच्छा राख्छन् भने, तिनीहरूले पहिले आफ्नो अहङ्‍कारी स्वभावको समाधान गर्नुपर्छ। जति पूर्ण रूपमा तैँले आफ्नो अहङ्‍कारी स्वभाव हटाउँछस्, तँमा परमेश्‍वरको भय मान्ने हृदय त्यति नै बढी हुनेछ, र तब मात्र तैँले उहाँमा समर्पित हुन, सत्य प्राप्त गर्न र उहाँलाई चिन्‍न सक्छस्। सत्यता प्राप्त गर्नेहरू मात्रै साँचो रूपमा मानव हुन्।

अंश ५०

अहङ्कार, आत्मधार्मिकता, र दुराग्रहजस्ता मान्छेका भ्रष्ट स्वभावहरू जिद्दी रोगजस्तै हुन्। ती मानव शरीरमा पलाउने घातक ट्युमर जस्तै हुन् र विना केही कष्ट तिनको उपचार गर्न सकिँदैन। यो जिद्दी रोग केही दिनमा हराएर जाने क्षणिक बिमारीजस्तो सानोतिनो व्यथा होइन, र यसको उपचारको लागि सशक्त विधि अपनाउनुपर्छ। तर, तिमीहरूले जान्नैपर्ने एउटा तथ्य के हो भने—समाधान गर्नै नसकिने कुनै समस्या छैन। तेरा भ्रष्ट स्वभावहरू तैँले सत्यता पछ्याउने, जीवनमा प्रगति गर्ने र सत्यताबारे तेरो बुझाइ र अनुभव गहन बन्दै जाने क्रममा बिस्तारै कम हुँदै जानेछन्। भ्रष्ट स्वभावहरू शुद्ध पारिएको मानिन ती कुन हदसम्म कम हुनुपर्नेछ? जब तँ तिनको जकडबाट मुक्त हुन्छस् र तिनीहरूलाई खुट्ट्याउन र त्याग्न सक्षम हुन्छस्। जब तँ कहिलेकाहीँ ती भ्रष्ट स्वभावहरू देखा पर्दा पनि सधैँझैँ आफ्नो कर्तव्य निर्वाह गर्न र सत्यता अभ्यास गर्न सक्षम हुन्छस्, लगनशील र जिम्मेवार रहन्छस्, र तँ तिनीहरूको बन्धनमा परेको हुँदैनस्। त्यस अवस्थामा, यी भ्रष्ट स्वभावहरू तेरो लागि समस्या बन्न छोड्नेछन्, अनि तैँले तिनलाई जितेर तीभन्दा माथि उठिसकेको हुनेछस्। जीवनमा प्रगति गरेको हुनु भनेको त्यही नै हो, जहाँ सामान्य परिस्थितिहरूमा तँ तेरा भ्रष्ट स्वभावहरूद्वारा जकडिन वा बाँधिन छोडेको हुन्छस्। कतिपय मानिसहरू आफूले जति धैरै भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, तिनलाई समाधान गर्न सत्यता खोज्दैनन्। फलस्वरूप, परमेश्वरमा वर्षौँको विश्वासपछि पनि तिनीहरूका स्वभावहरू परिवर्तन भएका हुँदैनन्। तिनीहरू यस्तो सोच्छन्, “जबजब म केही गर्छु, म मेरा भ्रष्ट स्वभावहरू प्रकट गर्छु; यदि मैले आफूलाई केही गर्नबाट रोकेँ भने, मैले भ्रष्ट स्वभाव प्रकट गर्नेछैनँ। के त्यसले उक्त समस्या समाधान गर्दैन र?” के यो निसास्सिने डरले खान छोड्नु होइन र? यसको परिणाम के हुनेछ? यसले भोकमरी मात्र निम्त्याउन सक्छ। यदि व्यक्तिले भ्रष्ट स्वभावहरू प्रकट गर्छ र तिनलाई समाधान गर्दैन भने, त्यो सत्यतालाई नस्विकार्नु र एक्कासी मर्नुसरह हो। यदि तैँले परमेश्वरमा विश्वास गर्छस्, तर सत्यता पछ्याउँदैनस् भने त्यसको परिणाम के हुनेछ? तैँले आफ्नो चिहान आफैले खनिरहेको हुनेछस्। भ्रष्ट स्वभावहरू परमेश्वरप्रतिको तेरो विश्वासका शत्रु हुन्; तिनले तँलाई सत्यता अभ्यास गर्न, परमेश्वरको काम अनुभव गर्न, र उहाँप्रति समर्पित हुनमा बाधा पुर्‍याउनेछन्। फलस्वरूप, तैँले अन्त्यमा परमेश्वरको मुक्ति प्राप्त गर्नेछैनस्। के त्यो तैँले आफ्नै चिहान खन्नु होइन र? शैतानी स्वभावहरूले तँलाई सत्यता स्विकार्न र अभ्यास गर्नमा बाधा पुर्‍याउँछन्। तैँले तिनलाई पन्छाउन सक्दैनस्; तैँले तिनीहरूको सामना गर्नैपर्छ। यदि तैँले तिनलाई पार लगाउँदनैस् भने, तिनले तँलाई नियन्त्रण गर्नेछन्। यदि तैँले तिनलाई पार लगाउन सकिस् भने, तँ तीबाट बाधित हुन छोड्नेछस्, र तँ मुक्त हुनेछस्। कहिलेकाहीँ, तेरो हृदयमा अझै पनि भ्रष्ट स्वभावहरू उत्पन्न हुनेछन् र आफूलाई प्रकट गर्नेछन्, जसले तँभित्र गलत सोच र विचारहरू अनि दुष्ट सोचाइ पैदा गर्नेछन्, तँलाई आफूलाई आत्मगर्वित वा उच्च र शक्तिशाली सोच्ने तुल्याउनेछ, र त्यस्ता सोचहरू प्रकट गर्नेछन्; तर, जब तैँले काम गर्छस्, तब तेरा हात र खुट्टाहरू तिनले बाँधिएका हुनेछैनन्, अनि त्यसउपरान्त तेरो हृदय तिनीहरूद्वारा नियन्त्रित हुनेछैन। तैँले यसो भन्नेछस्, “मेरो अभिप्राय परमेश्वरको घरको हितबारे सोच्नु, परमेश्वरलाई सन्तुष्ट पार्न कामकुरा गर्नु, र सृष्टिको पात्रको रूपमा आफ्नो कर्तव्य र भक्ति पूरा गर्नु हो। मैले अझै पनि कहिलेकाहीँ यस प्रकारको स्वभाव प्रकट गरे पनि, ममाथि त्यसको बिलकुलै प्रभाव छैन।” यो पर्याप्त छ। यस प्रकारको भ्रष्ट स्वभाव मूलभूत रूपमा समाधान भएको हुनेछ। के मान्छेको स्वभाव परिवर्तन अस्पष्ट र अमूर्त हुन्छ? (हुँदैन।) यो त व्यावहारिक छ। कतिपय मानिसहरू यसो भन्छन्, “मैले अलिअलि सत्यता बुझे पनि, ममा अझै पनि कहिलेकाहीँ भ्रष्ट सोच र विचारहरू उत्पन्न हुन्छन्, र म अझै पनि भ्रष्ट स्वभावहरू प्रकट गर्छु। मैले के गर्नुपर्छ?” यदि तँ वास्तवमै सत्यता पछ्याउने व्यक्ति होस् भने, जबजब तँमा गलत सोच र विचारहरू उत्पन्न हुन्छन्, वा तैँले भ्रष्ट स्वभावहरू प्रकट गर्छस्, तैँले तिनलाई समाधान गर्न परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र सत्यता खोज्नुपर्छ। यो अभ्यासको सबैभन्दा आधारभूत सिद्धान्त हो; तैँले यो कुरा बिर्सनेछैनस् नि, हैन? त्यसबाहेक, आफूमा गलत सोच र विचारहरू उत्पन्न हुँदा तैँले तिनलाई अस्वीकार गर्नुपर्छ भन्ने कुरा पनि तँलाई थाहा हुनुपर्छ। तैँले तिनको बन्धन र घेरामा पर्न मिल्दैन, तिनलाई पछ्याउने त कुरै छाडौँ। यदि तैँले अलिअलि सत्यता बुझ्छस् भने, तँलाई यो कुरा हासिल गर्न सजिलै हुनुपर्छ। यदि तँ भ्रष्ट स्वभावहरू प्रकट गर्छस् भने, तैँले तिनलाई समाधान गर्न सत्यता खोज्ने प्रयास गर्नैपर्छ। तैँले “हे परमेश्वर, मैले फेरि पनि भ्रष्ट स्वभाव प्रकट गरेँ, कृपया मलाई अनुशासित गर्नुहोस्! म मेरा भ्रष्ट स्वभावहरूलाई नियन्त्रण गर्न सक्दिनँ” भन्न मिल्दैन। यदि तैँले यसरी नै प्रार्थना गर्छस् भने, यसले तँ सत्यता पछ्याउने व्यक्ति होइनस् भन्ने देखाउँछ। यसले तँ नकारात्मक र निष्क्रिय छस्, र तैँले हार मानेको छस् भन्ने देखाउँछ—तैँले शवपेटी तयार गरेर आफ्नो अन्त्येष्ठिको बन्दोबस्त गरे पनि हुन्छ। ल भन्, कस्तो खालको व्यक्तिले त्यस्तो प्रार्थना गर्छ? बेकम्मा व्यक्तिले मात्र परमेश्वरलाई त्यसरी प्रार्थना गर्छ। सत्यतालाई प्रेम गर्ने व्यक्तिले त्यस्ता शब्दहरू कहिल्यै बोल्दैन। यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तैँले सत्यतालाई पछ्याउने मार्ग रोज्नुपर्छ, र कसरी अभ्यास गर्ने भन्नेबारे पनि तँ प्रस्ट हुनुपर्छ। यदि तँलाई आफूलाई यी सामान्य समस्याहरू आइपर्दा कसरी अभ्यास गर्ने भनी थाहा छैन भने, तँ अति नै काम नलाग्ने छस्। भ्रष्ट स्वभावहरू समाधान गर्न जीवनभरको प्रयास लाग्छ, यो केही वर्षमै हासिल गर्न सकिने कुरा होइन। तँ किन सत्यता र जीवन प्राप्त गर्नेबारे भ्रमहरू पाल्छस्? के त्यो मूर्ख र अज्ञानी हुनु होइन र?

जीवन स्वभावमा परिवर्तनको खोजीको क्रममा भ्रष्ट स्वभावहरूका बन्धनहरू हरेक व्यक्तिको लागि सबैभन्दा ठूलो कठिनाइ बन्छन्। जब मानिसहरूले अलिकति भ्रष्ट स्वभाव प्रकट गर्छन्, वा त्यसलाई बारम्बार प्रकट गर्छन्, र जब तिनीहरू त्यसलाई नियन्त्रण गर्न असमर्थ महसुस गर्छन्, तब तिनीहरू आफ्नै निन्दा गर्छन्, आफ्नो अन्त्य भएको र आफूलाई परिवर्तन गर्न नसकिने निष्कर्षमा पुग्छन्। यो अधिकांश मानिसहरूमा हुने दुविधा र गलत बुझाइ हो। अहिले, सत्यता पछ्याउने कतिपयले थाहा पाएका छन् कि जबसम्म व्यक्तिभित्र भ्रष्ट स्वभावहरू रहन्छन्, तबसम्म उसले तिनलाई बारम्बार प्रकट गर्न सक्छ, जसले उसको कर्तव्य निर्वाहलाई प्रभाव पार्दछ र उसलाई सत्यता अभ्यास गर्नमा बाधा पुर्‍याउँछ, अनि यदि उसले आफ्ना भ्रष्ट स्वभावहरूको समस्या समाधान गर्नको लागि आत्मचिन्तन गर्न सक्दैन भने, उसले पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैन। त्यसकारण, सधैँ नकारात्मक, लापरवाह र झाराटारुवा तरिकाले आफ्ना कर्तव्यहरू निर्वाह गर्ने मानिसहरूले गम्भीरतापूर्वक आत्मचिन्तन गर्नुपर्छ र त्यसलाई समाधान गर्न तिनीहरूको समस्याको मूल कारण पत्ता लगाउनुपर्छ। तर, कतिपय मानिसमा विकृत बुझाइ हुन्छ, र तिनीहरू यस्तो सोच्छन्, “आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा भ्रष्ट स्वभावहरू प्रकट गर्ने सबै मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्न जारी राख्नुअघि रोकिएर तिनलाई पूर्ण रूपले समाधान गर्नुपर्छ।” के यो मान्य विचार हो? यो मानव कल्पना हो, र यो पूरै अमान्य छ। वास्तवमा अधिकांश मानिसहरूको हकमा, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जस्तोसुकै भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, तिनीहरूले तिनलाई समाधान गर्न सत्यता खोज्छन् भने, तिनीहरूले भ्रष्टताको प्रकटीकरणको सङ्ख्या बिस्तारै घटाउँदै लगेर अन्त्यमा आफ्नो कर्तव्य पर्याप्त मात्रामा निर्वाह गर्न सक्छन्। परमेश्वरको काम अनुभव गर्ने प्रक्रिया यही हो। तैँले कुनै भ्रष्ट स्वभाव प्रकट गर्नेबित्तिकै त्यसलाई समाधान गर्न तैँले सत्यता खोज्नुपर्छ, र तेरो शैतानी स्वभाव खुट्याउनुपर्छ र त्यसको विश्लेषण गर्नुपर्छ। यो तेरो शैतानी स्वभावविरुद्ध लड्ने प्रक्रिया हो, र यो तेरो जीवन अनुभवको लागि आवश्यक छ। परमेश्वरको काम अनुभव गर्ने र तेरो स्वभाव परिवर्तन गर्ने क्रममा, तँ आफ्नो शैतानी स्वभावविरुद्ध लड्न आफूले बुझ्ने सत्यताहरू प्रयोग गर्छस्, अन्त्यमा आफ्नो भ्रष्ट स्वभावहरू समाधान गर्छस् र शैतानमाथि विजय प्राप्त गर्छस्,, र यसरी जीवन स्वभावमा परिवर्तन हासिल गर्छस्। व्यक्तिको स्वभाव परिवर्तन गर्ने प्रक्रिया भनेको मानव धारणा र कल्पना, अनि धर्मसिद्धान्तका वचन र वाक्यांशहरूलाई विस्थापित गर्न, र जीवन दर्शन र शैतानबाट आउने विविध असहमति र त्रुटिहरूलाई विस्थापित गर्दै बिस्तारै यी कुराहरूलाई सत्यता र परमेश्वरको वचनद्वारा प्रतिस्थापन गर्नको निम्ति सत्यताको खोजी र स्वीकार गर्नु हो। यो सत्यता प्राप्त गर्ने र व्यक्तिको स्वभाव परिवर्तन गर्ने प्रक्रिया हो। यदि तँ आफ्नो स्वभाव कति परिवर्तन भएको छ भनी जान्न चाहन्छस् भने, तैँले आफूले कतिवटा सत्यताहरू बुझ्छु, कतिवटा सत्यताहरू व्यवहारमा लागू गरेको छु, र कतिवटा सत्यताहरू जिउन सक्छु भनी प्रस्ट रूपमा देख्नै पर्छ। तेरा कतिवटा भ्रष्ट स्वभावहरू आफूले बुझेका र प्राप्त गरेका सत्यताहरूद्वारा प्रतिस्थापित गरिएका छन्, र तिनले तँभित्रका भ्रष्ट स्वभावहरूलाई कुन हदसम्म नियन्त्रण गर्न सक्छन्, अर्थात्, तैँले बुझ्ने सत्यताहरूले कुन हदसम्म तेरा सोच र अभिप्रायहरू, अनि तेरो दैनिक जीवन र अभ्यासलाई मार्गदर्शन गर्न सक्छन् भनी तैँले प्रस्ट रूपमा देख्नैपर्छ। तँमाथि केही आइपर्दा, तेरा भ्रष्ट स्वभावहरूले तँलाई नियन्त्रणमा राख्छन्, वा तैँले बुझ्ने सत्यताहरू हाबी भएर तँलाई मार्गदर्शन गर्छन् भन्ने कुरा तैँले प्रस्ट रूपमा देख्न सक्नुपर्छ। तेरो कद र जीवन प्रवेश मापन गर्ने मानक यही हो।

अंश ५१

कसैले आलोचना, काटछाँट र निराकरणको सामना गर्दा उसले बहानाहरू बनाउने गर्छ भने, त्यहाँ के भइरहेको हुन्छ? यो अत्यन्तै अहङ्कारी, आत्मधर्मी, हठी खालको स्वभाव हो। अहङ्कारी र हठी मानिसहरूलाई सत्यता स्विकार्न कठिन हुन्छ। तिनीहरू आफ्ना दृष्टिकोण, राय र सोचहरूसँग नमिल्ने केही कुरा सुन्दा त्यसलाई स्विकार्न सक्दैनन्। तिनीहरू अरूले भन्ने कुरा सही छ कि गलत, वा त्यो कसले भन्यो, त्यो कुन प्रसङ्गमा भनिएको थियो, वा त्यो तिनीहरूका आफ्नै जिम्मेवारी र कर्तव्यहरूसँग सम्बन्धित छ कि छैन भन्नेबारे वास्ता गर्दैनन्। तिनीहरू यी कुराहरूबारे वास्ता गर्दैनन्; तिनीहरू पहिलाआफ्नै भावनालाई सन्तुष्ट गर्ने हतारमा हुन्छन्। के यो हठी हुनु होइन र? हठी हुनुले मानिसहरूलाई अन्तत: कस्ता घाटाहरू पुर्याउँछ? तिनीहरूलाई सत्यता प्राप्त गर्न कठिन हुन्छ। सत्यताको अस्वीकृति मान्छेको भ्रष्ट स्वभावले निम्त्याउँछ, र त्यसको अन्तिम परिणामस्वरूप तिनीहरूले सजिलै सत्यता प्राप्त गर्न सक्दैनन्। मान्छेको प्रकृति सारबाट प्राकृतिक रूपमै जे प्रकट हुन्छ त्यो सत्यताविरुद्ध हुन्छ र सत्यतासँग त्यसको केही सरोकार हुँदैन; त्यस्तो कुनै पनि कुरा सत्यतासँग मिल्दैन वा सत्यताको नजिक हुँदैन। त्यसकारण, मुक्ति हासिल गर्न व्यक्तिले सत्यतालाई स्वीकार र अभ्यास गर्नैपर्छ। यदि व्यक्तिले सत्यता स्विकार्न सक्दैन र सधैँ आफ्नै रुचिहरूअनुसार कार्य गर्न चाहन्छ भने त्यस व्यक्तिले मुक्ति हासिल गर्न सक्दैन। यदि तँ परमेश्‍वरलाई पछ्याउन र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छस् भने, सुरुमा तैँले परिस्थितिहरू सोचेजस्तो नहुँदा आवेशमा आउने बानी छोड्नुपर्छ। पहिले शान्त बन् र परमेश्‍वरको अघि मौन बस्, र हृदयमा उहाँलाई प्रार्थना गर् र उहाँबाट खोजी गर्। हठ नगर्; पहिले समर्पित बन्। त्यस्तो मानसिकताद्वारा मात्रै तैँले समस्याहरूको अझ उत्तम समाधान निकाल्न सक्छस्। यदि तँ परमेश्‍वरको अघि जिउनमा दृढ़ रहन सकिस्, र तँमाथि जेसुकै आइपरे पनि, तैँले उहाँलाई प्रार्थना गर्न र उहाँबाट खोजी गर्न सक्छस्, र समर्पणको मानसिकताले त्यसलाई सामना गर्न सक्छस् भने, तेरो भ्रष्ट स्वभावका प्रकटीकरणहरू जति नै धेरै भए पनि, वा तैँले विगतमा जे-जस्ता अपराधहरू गरेको भए पनि—जबसम्म तैँले सत्यताको खोजी गर्छस्, तबसम्म ती कुरालाई समाधान गर्न सकिनेछ। तँमाथि जस्तोसुकै परीक्षा आइपरे पनि, तँ दह्रिलो गरी खडा हुन सक्‍नेछस्। जबसम्म तँसँग सही मानसिकता हुन्छ, जबसम्म तैँले सत्यतालाई स्वीकार गर्न, र परमेश्वरका मापदण्डहरूबमोजिम उहाँको आज्ञापालन गर्न सक्छस्, तबसम्म तँ सत्यतालाई अभ्यास गर्न पूर्ण रूपमा सक्षम हुन्छस्। तँ कहिलेकहीँ अलिक विद्रोही र प्रतिरोधी हुन सक्‍ने भए पनि, र कहिलेकहीँ प्रतिरक्षात्मक तर्क प्रस्तुत गर्ने र समर्पित हुन नसक्ने भए पनि, यदि तैँले परमेश्‍वरलाई प्रार्थना गर्न र आफ्‍नो विद्रोही स्थितिलाई परिवर्तन गर्न सक्छस् भने, तैँले सत्यता स्वीकार गर्न सक्छस्। त्यसो गरिसकेपछि, तँमा किन त्यस्तो विद्रोहीपन र प्रतिरोध पैदा भयो भन्‍नेबारेमा मनन गर्। कारण पत्ता लगा, त्यसपछि त्यसलाई समाधान गर्न सत्यता खोजी गर्, अनि तेरो भ्रष्ट स्वभावको त्यो पक्ष शुद्ध हुन सक्छ। त्यस्तो ठक्‍कर र लडाइबाट धेरैपटक उठेपछि, तैँले सत्यता अभ्यास गर्न नसकुन्जेलसम्म, तेरो भ्रष्ट स्वभाव क्रमिक रूपमा हट्दै जानेछ। त्यसपछि, तँभित्र सत्यताले शासन गर्नेछ र त्यो तेरो जीवन बन्‍नेछ, र सत्यतासम्‍बन्धी तेरो अभ्यासमा थप बाधाहरू आउनेछैनन्। तँ परमेश्‍वरमा साँचो रूपले समर्पित हुन सक्‍नेछस्, र तैँले सत्यता वास्तविकता जिउनेछस्। यस अवधिमा, तैँले सत्यता अभ्यास गर्ने र परमेश्वरलाई पालन गर्ने व्यावहारिक अनुभव र अवसर पाउनेछस्। पछि तँलाई केही आइपर्दा, तँलाई परमेश्वरप्रति आज्ञाकारी भएर कसरी अभ्यास गर्ने र कस्तो व्यवहार परमेश्वरविरुद्ध हुन्छ भन्ने कुरा थाहा हुनेछ। के तैँले यी कुराहरू हृदयमा स्पष्ट हुँदाहुँदै पनि सत्यता वास्तविकताबारे सङ्गति गर्न सक्नेछैनस् र? यदि तँलाई आफ्ना अनुभव र गवाहीहरू भन्न लगाइयो भने, तँलाई त्यो समस्याजनक लाग्नेछैन किनकि तैँले धेरै कुराहरू अनुभव गरेको हुनेछस् र तँलाई अभ्यासका सिद्धान्तहरू थाहा हुनेछ। तैँले जसरी बोले पनि त्यो वास्तविक हुनेछ, र तैँले जे भने पनि त्यो व्यावहारिक हुनेछ। र यदि तँलाई धर्मसिद्धान्तका वचन र अक्षरहरूबारे छलफल गर्न लगाइयो भने, तँ इच्छुक हुनेछैनस्—हृदयमा तँ ती कुराहरूदेखि दिक्क भएको हुनेछस्। तब के तँ सत्यता वास्तविकताभित्र प्रवेश गरेको हुनेछैनस् र? सत्यता पछ्याउने मानिसहरूले केही वर्षको कोसिसपछि नै त्यसको अनुभव हासिल गर्न, र त्यसपछि सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। सत्यता नपछ्याउनेहरूलाई चाहे पनि सत्यता वास्तविकतामा प्रवेश गर्न सजिलो हुँदैन। किनभने सत्यतालाई प्रेम नगर्नेहरूमा ज्यादा विद्रोहीपन हुन्छ। जब पनि तिनीहरूले कुनै मामिलामा सत्यता अभ्यास गर्नुपर्ने हुन्छ, तिनीहरू सधैँ बहानाहरू बनाउँछन् र तिनीहरूका आफ्नै समस्याहरू हुन्छन्, त्यसैले तिनीहरूलाई सत्यता अभ्यास गर्न निकै कठिन हुनेछ। तिनीहरूले प्रार्थना र खोजी गर्लान्, र तिनीहरू सत्यता अभ्यास गर्न इच्छुक होलान्, तर तिनीहरूलाई केही आइपर्दा, तिनीहरूले कठिनाइहरू सामना गर्दा, तिनीहरूको अलमल प्रस्ट देखिन्छ, र तिनीहरूको विद्रोही स्वभाव प्रकट हुन्छ, र तिनीहरूको मन धमिल्याइदिन्छ। तिनीहरूको विद्रोही स्वभाव कति घोर होला! यदि तिनीहरूको हृदयको सानो भाग अलमलमा छ र ठुलो भाग परमेश्वरप्रति समर्पित हुन चाहन्छ भने, तिनीहरूलाई सत्यता अभ्यास गर्न कम कठिनाइ हुनेछ। सायद तिनीहरूले केहीबेर प्रार्थना गर्न सक्लान्, वा कसैले तिनीहरूसित सत्यताबारे सङ्गति गर्न सक्ला; यदि तिनीहरूले त्यो बेला त्यो कुरा बुझछन् भने, तिनीहरूलाई त्यो अभ्यास गर्न सजिलो हुनेछ। यदि तिनीहरूको भ्रम यति ठूलो छ कि त्यसले तिनीहरूको हृदयको अधिकांश भाग ओगट्छ, जसमा विद्रोहीपन प्रमुख र समर्पण गौण हुन्छ भने, तिनीहरूलाई सत्यता अभ्यास गर्न सजिलो हुनेछैन, किनकि तिनीहरूको कद अत्यन्तै सानो हुन्छ। र सत्यतालाई पटक्कै प्रेम नगर्नेहरू अत्यन्तै वा पूरै विद्रोही, पूरै अलमल्ल हुन्छन्। यिनीहरू अल्मलिने मानिसहरू हुन् जसले कहिल्यै सत्यतालाई अभ्यास गर्न सक्नेछैनन्, त्यसैले तिनीहरूमाथि जति उर्जा खर्चे पनि त्यो बेकार हुनेछ। सत्यतालाई प्रेम गर्नेहरूमा सत्यताप्रति ठूलो हुटहुटी हुन्छ; यदि त्यो तिनीहरूलाई डोऱ्याउने ठूलो भाग वा ठूलो अंश हो, र तिनीहरूलाई सत्यताबारे स्पष्टसँग बुझाइयो भने, तिनीहरूले पक्कै त्यसलाई अभ्यास गर्न सक्छन्। सत्यतालाई प्रेम गर्नु सानोतिनो कुरा होइन; थोरै इच्छा हुँदैमा त्यसले व्यक्तिलाई सत्यतालाई प्रेम गर्ने तुल्याउँदैन। उसले परमेश्वरको वचन बुझेपछि, सत्यतालाई व्यवहारमा लागू गर्नको निम्ति, ऊ मिहिनेत गर्न र कठिनाइ सहन अनि मूल्य चुकाउन सक्ने अवस्थामा पुग्नैपर्छ। त्यो सत्यतालाई प्रेम गर्ने व्यक्ति हो। सत्यतालाई प्रेम गर्ने व्यक्तिले जति सुकै भ्रष्ट स्वभावहरू प्रकट गरे पनि वा जति सुकै अपराधहरू गरेको भए पनि, ऊ आफ्नो पछ्याइमा कटिबद्ध हुन सक्छ। उसलाई जे सुकै आइपरे पनि, उसले परमेश्वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र स्विकार्न सक्छ। दुई-तीन वर्षको यस्तो अनुभवपछि, उसका कोसिसहरूले फल दिन सक्छन्, र साधारण कठिनाइहरूले उसलाई बाधा पुऱ्याउनेछैन। यदि उसले ठुला कठिनाइहरू सामना गरेमा, ऊ असफल भए पनि त्यो सामान्य हुन्छ, किनकि उसको कद अत्यन्तै सानो हुन्छ। उसले सामान्य परिस्थितिहरूमा सत्यतालाई अभ्यास गर्न सकेसम्म, आशा रहन्छ। जब उसले परमेश्वरलाई चिन्छ र उहाँको डर मान्छ, तब उसलाई ठूला चुनौतीहरू हल गर्न पनि सजिलै हुन्छ; उसको लागि कुनै पनि चुनौती समस्याजनक हुँदैन। मानिसहरूले परमेश्वरका वचनहरू अझै बढी पढुञ्जेल र सत्यताबारे अझ बढी सङ्गति गरुञ्जेल, अनि जे कठिनाइहरू आइपरे पनि परमेश्वरलाई प्रार्थना गर्न सक्छन् भने, र समस्याहरू हल गर्न पवित्र आत्माको काममा भर पर्न सक्छन् भने, तिनीहरूलाई सत्यता बुझ्न र त्यसलाई अभ्यास गर्न सजिलो हुनेछ, र तिनीहरूको भ्रष्ट स्वभाव बिस्तारै हट्दै जान थाल्नेछ। तिनीहरूले सत्यता अभ्यास गर्ने हरेक कार्य गर्दा, तिनीहरूको भ्रष्ट स्वभाव अलिकति हट्छ, र सत्यता अझ बढी अभ्यास गर्दा तिनीहरूको भ्रष्ट स्वभाव पनि अझ कम हुन्छ। यो एउटा प्राकृतिक नियम हो। यदि मानिसहरूले आफूले भ्रष्ट स्वभाव प्रकट गरिरहेको देखेर त्यसलाई आत्मसंयमता र सहनशीलताको भरमा हल गर्न खोज्छन् भने, के तिनीहरू सफल हुनेछन्? त्यो सजिलो हुनेछैन। यदि तिनीहरूले त्यसलाई त्यो तरिकाले समाधान गर्न सक्थे भने, परमेश्वरले आफ्नो न्याय र सजायको काम गर्नु नै पर्थेन। व्यक्तिले भ्रष्ट स्वभाव समाधान गर्न, परमेश्वरमा, उहाँप्रतिको प्रार्थनामा, सत्यताको खोजीमा र आत्मचिन्तनमार्फत आफूलाई चिन्नमा, अनि पवित्र आत्माको काममा भर पर्नैपर्छ। यसलाई त्यसैले नै बिस्तारै समाधान गर्न सक्छ। यदि मानिसहरू सहकार्य गर्दैनन्, आत्म-चिन्तन गर्न जान्दैनन्, सत्यता स्विकार्न सक्दैनन्, आफ्नो भ्रष्ट स्वभाव र पश्चात्तापको कमी चिन्दैनन्, अनि देह र शैतानलाई घृणा गर्दैनन् भने, तिनीहरूको भ्रष्ट स्वभाव आफै हट्नेछैन। पवित्र आत्माको सबैभन्दा अद्भुत काम यहीँ हुन्छ; मानिसहरूमा सत्यताको प्यास् भए सम्म र तिनीहरूले आफ्नो स्वभाव परिवर्तन पछ्याए सम्म, परमेश्वरले तिनीहरूलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ। मानिसहरूले थाहै नपाइ सत्यता पनि बुझ्नेछन् र सँगसँगै आफूलाई पनि चिन्न सक्नेछन्, र यो अवस्थामा, सत्यतालाई प्रेम गर्न र त्यसको तृष्णा गर्न थाल्नेछन्। तिनीहरूले हृदयबाटै शैतानको प्रकृति र स्वभावलाई घृणा गर्न सक्नेछन्, जसले गर्दा तिनीहरूलाई दैहिकता त्याग्न अनि सत्यता अभ्यास गर्न झन् सजिलो हुनेछ। त्यस अवस्थामा, तिनीहरूको भ्रष्ट स्वभाव अलिअलि गर्दै परिवर्तन हुनेछ, र तिनीहरूमा परमेश्वरविरुद्ध कुनै विद्रोहीपन बाँकी रहनेछैन; तिनीहरू कुनै व्यक्ति, घट्ना, वा वस्तुद्वारा बाधित नभई उहाँप्रति पूर्णतया समर्पित हुन सक्नेछन्। यो तिनीहरूको जीवन स्वभावमा आउने पूर्ण रूपान्तरण हो।

अंश ५२

केही मानिसहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा कहिल्यै पनि सत्यताको खोजी गर्दैनन्। तिनीहरू आफ्नै कल्पनाअनुसार व्यवहार गर्दै केवल आफ्नो इच्छाअनुसार काम गर्छन्, र तिनीहरू सधैँ स्वेच्छाचारी र अविवेकी हुन्छन्। तिनीहरू सत्यता अभ्यास गर्ने मार्गमा हिँड्दै हिँड्दैनन्। “स्वेच्छाचाररी र अविवेकी” हुनुको अर्थ के हो? यसको अर्थ तैँले कुनै समस्या सामना गर्दा कुनै प्रक्रियागत सोच वा खोजीविना तँलाई जसरी ठिक लाग्छ त्यसरी नै कार्य गर्नु हो। अरूले भनेको कुनै कुराले तेरो हृदय छुन वा तेरो मन परिवर्तन गर्न सक्दैन। तँलाई सत्यता सङ्गति गरिँदा पनि तैँले यो स्विकार्न सक्दैनस्, तँ आफ्नै रायहरूमा टाँसिइरहन्छस्, अरूले कुनै सही कुरा भन्दा सुन्दै सुन्दैनस्, आफैलाई सही ठान्छस्, र आफ्नै विचारहरूमा झुण्डिरहन्छस्। तेरो सोचाइ सही छ भने पनि, तैँले अरू मानिसहरूका रायलाई पनि विचार गर्नुपर्छ। अनि यदि तैँले अरूका रायलाई पटक्‍कै विचार गर्दैनस् भने, के यो अति आत्मधर्मी हुनु होइन र? अति आत्मधर्मी र आफुखुसी गर्ने मानिसहरूलाई सत्यता स्विकार्नु सजिलो हुँदैन। यदि तैँले केही गलत गरिस् र अरूले तँलाई “तपाईंले यो सत्यताअनुसार गरिरहनुभएको छैन” भनेर आलोचना गरे भने, तँ यसरी जवाफ दिन्छस्, “मैले यो सत्यताअनुसार गरिरहेको छैनँ भने पनि, म यसरी नै गर्नेछु,” अनि त्यसपछि तैँले यो सही भनेर उनीहरूलाई सोच्न लगाउने केही कारण खोज्छस्। यदि उनीहरूले तँलाई “तपाईंले त उपद्रो गर्दै हुनुहुन्छ, र यसले मण्डलीको काममा हानि गर्नेछ” भनेर निन्दा गरे भने, तैँले त्यो सुन्दैनस् मात्र होइन, बहानाहरूसमेत बनाइरहन्छस्: “मलाई यो सही तरिका लाग्यो र म त्यसरी नै गर्दै छु।” यो कस्तो स्वभाव हो? (अहङ्कार।) यो अहङ्कार हो। अहङ्‌कारी प्रकृतिले तँलाई दुराग्रही बनाउँछ। यदि तँसित अहङ्‌कारी प्रकृति छ भने, तैँले स्वेच्छाचारी र अविवेकी व्यवहार गर्नेछस्, कसैले भनेको कुरा सुन्‍नेछैनस्। अनि, तेरो स्चेच्छाचारीपन र अविवेकीपन कसरी समाधान गर्छस्? उदाहरणको लागि, मानौं तँलाई केही भयो र तेरा आफ्‍नै विचार र योजनाहरू छन्। के गर्ने भनेर निर्धारण गर्नुभन्दा पहिले, तैँले सत्यताको खोजी गर्नुपर्छ र कम्तीमा पनि त्यस विषयमा तँ के सोच्छस् र के विश्‍वास गर्छस् भन्‍नेबारेमा सबैसँग सङ्गति गर्नुपर्छ, अनि सबैलाई तेरा सोचहरू सही र सत्यताअनुरूप छन् कि छैनन् भनेर सोधी तेरो लागि ती कुराहरूको जाँच गर्न लगाउनुपर्छ। यो स्वेच्छाचारिता र हतारिने समस्याको समाधान गर्नको लागि सबैभन्दा राम्रो उपाय हो। पहिलो, तँ तेरा विचारहरूलाई प्रकाश पार्न र सत्यता खोज्‍न सक्छस्—स्वेच्छाचारिता र अविवेकीपन हल गर्ने पहिलो चरण यही हो। दोस्रो चरण तब हुन्छ जब अरू मानिसहरूले असहमतिको रायहरू दिन्छन्—स्वेच्छाचारी र अविवेकी हुनबाट जोगिनको निम्ति तैँले कसरी अभ्यास गर्न सक्छस्? सर्वप्रथम त तँसँग विनम्रताको मनोवृत्ति हुनुपर्छ, तैँले सही ठानेका कुरालाई पन्छाउनुपर्छ र सबैलाई सङ्‍गति गर्न दिनुपर्छ। यदि तैँले तेरा मार्गहरू सही हुन् भनेर विश्‍वास गर्छस् भने पनि तैँले यसमा जोड दिइरहनु हुँदैन। त्यो एक प्रकारले अगाडिको कदम हो; यसले सत्यताको खोजी गर्ने, आफैँलाई इन्कार गर्ने र परमेश्‍वरको इच्छा पूरा गर्ने मनोवृत्तिलाई देखाउँछ। तँमा यस्तो मनोवृत्ति आइसकेपछि, साथै तेरा आफ्नै रायहरूमा अडिग हुन छोडेपछि, तँले प्रार्थना गर्नुपर्छ, परमेश्‍वरबाट सत्यताको खोजी गर्नुपर्छ, अनि परमेश्‍वरका वचनहरूमा आधार खोज्‍नुपर्छ—परमेश्‍वरका वचनहरूमा आधारित भएर कसरी काम गर्ने भनी निर्धारण गर्नुपर्छ। यो सबैभन्दा उचित र सही अभ्यास हो। जब तँ सत्यताको खोजी गर्छस् र सबैसामु समस्या उजागर गर्दै त्यसमाथि सँगै सङ्गति र खोजी गर्छस्, त्यसैबेला पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई सिद्धान्तहरूअनुसार अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले तिनीहरूको मनोवृतिको लेखाजोखा गर्नुहुन्छ। आफ्नो सही वा गलत दृष्टिकोणको पर्वाह नगरी, यदि तँ आफ्‍नै कुरामा जिद्दी गर्छस् भने, परमेश्‍वरले तँबाट आफ्‍नो अनुहार लुकाउनुहुन्छ र तँलाई बेवास्ता गर्नुहुन्छ; उहाँले तँलाई ठक्‍कर खान लगाउनुहुन्छ, र तेरो खुलासा गरेर तेरो कुरूप स्थिति पर्दाफास गरिदिनुहुन्छ। तर यसको विपरीत, यदि तेरो मनोवृत्ति सही छ भने, तँ आफ्नै तरिकालाई जोड दिँदैनस् भने र तँ आत्म-धर्मी, स्वेच्छाचारी र अविवेकी छैनस् भने, बरु सत्यताको खोजी गर्ने र त्यसलाई स्वीकार गर्ने मनोवृतिको छस् भने, यदि तैँले सबैसँग सङ्गति गर्छस् भने, पवित्र आत्माले तिमीहरूमा काम गर्न थाल्नुहुनेछ, र सायद कसैका वचनहरूमार्फत उहाँले तँलाई अगुवाइ गर्नुहुनेछ। कहिलेकहीँ, जब पवित्र आत्‍माले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले तँलाई केही शब्‍द वा वाक्यहरूद्वारा वा तँलाई कुनै उपाय दिएर मामलाको निचोड बुझ्‍न अगुवाइ गर्नुहुन्छ। त्यही क्षण, तैँले जुन कुरामा अडान राख्दै आइरहेको छस् त्यो गलत छ भन्‍ने थाहा पाउँछस्, र त्यही क्षणमा नै, काम गर्ने सबैभन्दा उचित तरिकालाई बुझ्छस्। त्यो स्तरमा पुगेपछि, के तँ दुष्कर्म गर्न, र गल्तीका परिणामहरू भोग्नबाट सफलतापूर्वक जोगिन सकेको छैनस् र? के यो परमेश्वरले दिनुभएको सुरक्षा होइन र? (हो।) यस्तो कुरा कसरी हासिल गरिन्छ? यस्तो कुरा तबमात्र हासिल हुन्छ, जब तँसँग परमेश्‍वरको भय मान्‍ने हृदय हुन्छ, र तैँले आज्ञाकारी हृदयले सत्यताको खोजी गर्छस्। तैँले पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गरेर अभ्यासका सिद्धान्तहरू निर्धारित गरेपछि, तेरो अभ्यास सत्यताअनुरूप हुनेछ, र तैँले परमेश्‍वरको इच्‍छा पूरा गर्न सक्‍नेछस्। तैँले यस तरिकाले सत्यता अभ्यास गर्न सक्नु विशेष गरी के कुरामा भर पर्छ? मुख्य रूपमा, यो तँसँग सही अभिप्राय र मनोवृति हुनुमा भर पर्छ। यो अत्यन्तै महत्त्वपूर्ण छ। पवित्र आत्माले काम गर्नुहुँदा, उहाँले मानिसका अभिप्राय र मनोवृतिहरू जाँच्नुहुन्छ, र यी तत्त्वहरूका आधारमा तिनीहरूलाई अन्तर्दृष्टि दिने कि नदिने वा अगुवाइ गर्ने कि नगर्ने भनी निर्णय गर्नुहुन्छ। यदि मानिसहरूले परमेश्वरको काम बुझ्न र यो मामिलालाई प्रस्टसित देख्न सक्छन् भने, तिनीहरूलाई कसरी परमेश्वरलाई प्रार्थना गर्ने र सत्यता खोज्ने भनी थाहा हुनेछ। के तिमीहरूले यसलाई प्रस्टसित देख्न सक्छौ? मानिसहरू प्रायः दुष्टता गर्नबाट जोगिने चाहना गर्छन्, र सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार कार्य गर्न चाहन्छन्। तर यो सत्यताप्रति मानिसहरूको मनोवृतिमा र तिनीहरूसँग परमेश्वरको डर मान्ने र उहाँप्रति समर्पित हुने हृदय छ कि छैन भन्ने कुरामा भर पर्छ। यदि तँ आफ्ना व्यक्तिगत अभिप्रायहरू त्याग्न र परमेश्वरप्रति आज्ञाकारिताको मानसिकता राख्न, परमेश्वरलाई प्रार्थना र उहाँको खोजी गर्न सक्छस् भने, तँलाई परमेश्वरको अन्तर्दृष्टि प्राप्त गर्न लामो समय लाग्नेछैन। परमेश्वरले सत्यताका सिद्धान्तहरू के हुन् र सत्यताका मूख्य बुँदाहरू कहाँ छन् भनेर तँलाई बुझाउन केही विधिहरू प्रयोग गर्नुहुनेछ। तैँले परमेश्वरलाई प्रार्थना गर्दा र उहाँलाई खोज्दा, तँसँग सही मानसिकता भएसम्म र तँ इमानदार भएसम्म, परमेश्वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। एउटा मात्र चिन्ताको विषय भनेको मानिसहरू साँचो रूपमा सत्यता नखोज्ने बरु अरूलाई देखाउन झारा टार्ने र औपचारिकता पूरा गर्ने मात्र गरिरहेका हुन्छन् कि भन्ने हो। त्यस्तो अवस्थामा, तिनीहरूले परमेश्वरको अन्तर्दृष्टि प्राप्त गर्न सक्नेछैनन्। यदि तेरो मनोवृत्ति जिद्दी गर्ने, सत्यता इन्कार्ने, अरूका सुझावहरू नकार्ने, सत्यता खोजी नगर्ने, आफूमा मात्रै विश्‍वास गर्ने, र आफूले चाहेको मात्र गर्ने खालको छ भने—परमेश्‍वरले जे गर्नुभए पनि वा जे आज्ञा दिनुभए पनि, यदि तेरो मनोवृत्ति यस्तै हो भने, परमेश्‍वरको प्रतिक्रिया कस्तो हुन्छ? परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुन्‍न, उहाँले तँलाई पाखा लगाइदिनुहुन्छ। के तँ हठी छैनस् र? के तँ आफुखुसी गर्दैनस् र? के तैँले सधैँ आफू सही छु भन्‍ने सोच्दैनस् र? यदि तँमा आज्ञापालन छैन भने, यदि तैँले कहिल्यै खोजी गर्दैनस्, र तेरो हृदय परमेश्‍वरको लागि पूर्ण रूपमा बन्द र प्रतिरोधी छ भने, परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुन्‍न। परमेश्‍वरले किन तँलाई ध्यान दिनुहुन्‍न त? किनभने यदि तेरो हृदय परमेश्‍वरको निम्ति बन्द छ भने, के तैँले परमेश्‍वरको अन्तर्दृष्टि स्विकार्न सक्छस् र? परमेश्‍वरले तँलाई धिक्‍कार्नुभयो भने, के तैँले यो अनुभव गर्न सक्छस्? जब मानिसहरू हठी हुन्छन्, जब तिनीहरूको शैतानी प्रकृति र जङ्गलीपन प्रकट हुन्छ, तब तिनीहरूले परमेश्‍वरले गर्नुहुने कुनै कुरा पनि अनुभव गर्दैनन्, त्यसले तिनीहरूमा कुनै असर गर्दैन—त्यसकारण परमेश्‍वरले व्यर्थको काम गर्नुहुन्‍न। यदि तँमा यस्तो जिद्दी खालको विरोधी मनोवृत्ति छ भने, परमेश्‍वरले गर्नुहुने भनेकै तँबाट लुक्‍नु मात्र हो, उहाँले अनावश्यक कुराहरू गर्नुहुनेछैन। जब तँ यति जिद्दी रूपमा विरोधी हुन्छस्, र यति बन्द रहन्छस्, तब परमेश्‍वरले जबरजस्ती तँमा कुनै काम गर्नुहुन्‍न, वा तँमा कुनै कुरा जबरजस्ती लाद्‍नुहुन्‍न, उहाँले बारम्बार तँलाई प्रभाव पार्ने र अन्तर्दृष्टि दिने प्रयास गरिरहनुहुन्‍न—परमेश्‍वरले यसरी काम गर्नुहुन्‍न। परमेश्‍वरले किन यो तरिकाले काम गर्नुहुन्‍न? यसको मुख्य कारण के हो भने परमेश्‍वरले तँमा निश्‍चित स्वभाव देख्‍नुभएको हुन्छ, जुन सत्यताप्रति दिक्‍क मान्‍ने र समझ नभएको जङ्गलीपन हो। अनि के तँलाई जङ्गलीपन प्रकट भएको पशुलाई मानिसहरूले नियन्त्रण गर्न सक्छन् जस्तो लाग्छ? के कराउँदा र चिच्याउँदा यसले टेर्छ? के योसित तर्क गर्दा वा यसलाई सान्त्वना दिँदा पार लाग्छ? के मानिसहरूले यसको अघि जाने आँट गर्छन्? यसलाई व्याख्या गर्ने एउटा राम्रो तरिका छ: यसमा समझ हुँदैन। जब तेरो जङ्गलीपन प्रकट हुन्छ र तैँले समझको प्रतिरोध गर्छस्, तब परमेश्‍वरले के गर्नुहुन्छ? परमेश्‍वरले तँलाई ध्यानै दिनुहुन्‍न। तँमा कुनै समझ छैन भने परमेश्‍वरले थप के भन्‍नुहुन्छ? थप कुरा भन्‍नुको कुनै अर्थ छैन। अनि, जब परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुन्‍न, तब तैँले आशिष्‌ पाउँछस् कि कष्ट? तैँले केही लाभ प्राप्त गर्छस् कि घाटा बेहोर्छस्? तैँले अवश्य घाटा बेहोर्नेछस्। अनि कसले यो पैदा गरेको हुन्छ? (हामीले।) तिमीहरूले नै हो। कसैले पनि तिमीहरूलाई यस्तो व्यवहार गर्न जबरजस्ती गरेन, र पनि तिमीहरू दुखी छौ। के तिमीहरू आफैले आफूमा यो परिस्थिति ल्याएका होइनौ र? परमेश्‍वरले तिमीहरूलाई कुनै ध्यान दिनुहुन्‍न, तिमीहरूले परमेश्‍वरलाई अनुभव गर्न सक्दैनौ, तिमीहरूको हृदयमा अन्धकार छ, तिमीहरूको जीवन जोखिममा छ—र तिमीहरू आफैले आफूमाथि यो ल्याएका हौ, तिमीहरू यसैको लायक छौ।

यदि मानिसहरूले कुनै मामला सामना गर्दा, धेरै आफुखुसी गर्छन् र सत्यता नखोजी आफ्नै विचारहरू लाद्न खोज्छन् भने, यो निकै खतरनाक हुन्छ। परमेश्वरले यी मानिसहरूलाई घृणा र इन्कार गर्नुहुनेछ र पन्छ्याइदिनुहुनेछ। यसको परिणाम के हुनेछ? तिनीहरूलाई हटाइने खतरा छ भनेर निश्चित रूपमा भन्न सकिन्छ। तर, सत्यताको खोजी गर्नेहरूले पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सक्छन्, र फलस्वरूप, परमेश्वरको आशिष् प्राप्त गर्न सक्छन्। सत्यता खोज्ने र सत्यता नखोज्ने दुई फरक मनोवृतिहरूले तँमा दुई फरक स्थितिहरू र दुई फरक परिणामहरू निम्त्याउन सक्छन्। तिमीहरू कस्तो खालको परिणाम रोज्छौ? (म परमेश्वरको अन्तर्दृष्टि प्राप्त गर्न रुचाउँछु।) यदि मानिसहरूले परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइ पाउन, अनि परमेश्‍वरको अनुग्रह प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूमा कस्तो मनोवृत्ति हुनुपर्छ? तिनीहरूमा प्राय परमेश्‍वरको अघि खोजी गर्ने र आज्ञाकारी मनोवृत्ति हुनुपर्छ। तैँले आफ्‍नो कर्तव्य निर्वाह गरिरहेको, अरूसँग अन्तरक्रिया गरिरहेको, वा तँमाथि आइपरेको कुनै खास समस्या सम्हालिरहेको भए पनि वा नभए पनि, तँसँग खोजी गर्ने र आज्ञाकारी मनोवृत्ति हुनुपर्छ। यस प्रकारको मनोवृत्ति छ भने, तँसँग परमेश्‍वरको डर मान्ने हृदय छ भन्न सकिन्छ। सत्यताको खोजी र पालना गर्न सक्नु नै परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग हो। यदि तँमा खोजी र आज्ञापालनको मनोवृत्तिको कमी छ, र बरु तँ आफ्नै कुरामा लागिपर्छस् जिद्दी तरिकाले विरोधी छस्, र तँ सत्यतालाई स्विकार्न मान्दैनस् र सत्यतादेखि दिक्क भएको छस् भने, तैँले प्राकृतिक रूपमा नै निकै धेरै दुष्ट काम गर्नेछस्। तैँले यस कार्यलाई रोक्‍न सक्‍नेछैनस्! यदि मानिसहरूले यसलाई समाधान गर्न कहिल्यै पनि सत्यताको खोजी गर्दैनन् भने, अन्तिम परिणाम के हुनेछ भने, तिनीहरूले जति नै धेरै अनुभव गरेको भए पनि, तिनीहरू जति नै धेरै परिस्थितिहरूमा परे पनि, परमेश्‍वरले तिनीहरूलाई जति नै पाठहरू दिनुभए पनि, तिनीहरूले अझै पनि सत्यतालाई बुझ्‍नेछैनन्, र अन्तिममा तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न नसक्‍ने अवस्थामा नै रहनेछन्। यदि मानिसहरूमा सत्यता वास्तविकता छैन भने, तिनीहरूले परमेश्‍वरको मार्गलाई पछ्याउन सक्‍नेछैनन्, र यदि तिनीहरूले परमेश्‍वरको मार्गलाई कहिल्यै पछ्याउन सक्दैनन् भने, तिनीहरू परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मानिसहरू होइनन्। मानिसहरू आफ्‍नो कर्तव्य निभाउने र परमेश्वरलाई पछ्याउने चाहनाको बारेमा कुरा गरेको गर्‍यै गर्छन्। के यी कुराहरू सरल छन् त? अवश्य नै छैनन्। यी कुराहरू मानिसहरूको जीवनमा अत्यन्तै महत्त्वपूर्ण छन्! व्यक्तिले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन र परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने कार्य हासिल गर्नको निम्ति आफ्नो कर्तव्य राम्ररी निभाउन सजिलो छैन। तर म तिमीहरूलाई एउटा अभ्यासको सिद्धान्तभन्नेछु: जब तँमाथि कुनै कुरा आइपर्छ तब तँसँग खोजी र आज्ञापालन गर्ने मनोवृत्ति छ भने, यसले तँलाई रक्षा गर्नेछ। अन्तिम लक्ष्य भनेको तेरो सुरक्षा गर्नु होइन। त्यो त तँलाई सत्यता बुझ्‍न लगाउनु र सत्यता वास्तविकतामा प्रवेश गर्नु, अनि परमेश्वरको मुक्ति प्राप्त गर्नु हो—अन्तिम लक्ष्य यही हो। तैँले अनुभव गर्ने सबै कुराको बारेमा तँसँग यो मनोवृत्ति भयो भने, आफ्नो कर्तव्य पूरा गर्नु र परमेश्‍वरको इच्‍छा पूरा गर्नु भनेको रित्तो शब्‍दहरू र नाराहरू हुन् भन्‍ने तँलाई लाग्‍न छोड्नेछ; यो कार्य त्यति झमेलापूर्ण लाग्‍न छोड्नेछ। बरु, तँलाई थाहै नभई, तैँले निकै धेरै सत्यताहरूलाई बुझिसकेको हुनेछस्। यदि तैँले यसरी नै अनुभव गर्न खोजिस् भने, तैँले अवश्य नै इनामहरू प्राप्त गर्नेछस्। तँ जो भए पनि, तँ जति उमेरको भए पनि, तँ जति शिक्षित भए पनि, तैँले परमेश्‍वरमा जति धेरै वर्ष विश्‍वास गरे पनि, वा तैँले जे कर्तव्य निर्वाह गरे पनि, त्यसले केही फरक पार्दैन। जबसम्म तँसँग खोजी गर्ने र आज्ञाकारिताको मनोवृत्ति हुन्छ, जबसम्म तैँले यसरी अनुभव गर्छस्, तबसम्म अन्तिममा तैँले निश्‍चय नै सत्यतालाई बुझ्‍नेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। तर तँमाथि आइपर्ने सबै कुराको बारेमा तँसँग खोजी र आज्ञापालनको मनोवृत्ति छैन भने, तैँले सत्यतालाई बुझ्‍न सक्‍नेछैनस्, न त तँ सत्यता वास्तविकतामा नै प्रवेश गर्न सक्नेछस्। कहिल्यै सत्यता नबुझ्ने र कहिल्यै सत्यता वास्तविकताभित्र प्रवेश गर्न नसक्ने मानिसहरू यस्तो सोच्छन्, “सत्यता के हो र धर्मसिद्धान्तहरू के हुन्? सत्यता वास्तविकता के हो र सत्यता वास्तविकता नहुनु भनेको के हो? म त्यो किन बुझ्दिनँ?” तिनीहरू प्राय प्रवचनहरू सुन्छन् र सत्यताबारे सङ्गति गर्छन्, तिनीहरू चाँडै उठ्छन् र परमेश्वरका वचनहरू पढ्छन्, धेरै सुन्छन्, धेरै सिक्छन्, धेरै लेख्छन्, अनि ढिला सुत्छन्। तिनीहरू आफूले सुनेका सुधारात्मक कुराहरूलाई नोटबुकमा टिपोट गर्छन्, र थुप्रै पुस्तकहरू भर्छन्। तिनीहरूले निकै प्रयत्न गरेका हुन्छन्, तर दुर्भाग्यवश, कहिल्यै सत्यता बुझ्दैनन्। अन्ततः तिनीहरूले सत्यता अत्यन्तै गहन भएको अनुभूति गर्छन्। तिनीहरूले थुप्रै वर्षसम्म सुनेपछि, केही धर्मसिद्धान्तहरू बुझ्छन्, तर तिनलाई व्यवहारमा लागू गर्न किन सक्दैनन्? मामिलाहरू सामना गर्दा तिनीहरू किन अलमल्ल पर्छन्? तिनीहरूले सत्यता बुझ्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने कुरालाई निकै अमूर्त ठान्छन् र यी कुराहरू हासिल गर्न धेरै कठिन भएको अनुभूति गर्छन्। खासमा, तिनीहरूले यसलाई गलत बुझेका छन्। परमेश्वरमा विश्वास गर्नु र सत्यता बुझ्नु भनेको वाक्पटुता देखाउनु र धर्मसिद्धान्तका केही वचन र वाक्यांशहरूबारे बोल्न सक्नु मात्र होइन—त्यसको सार यो होइन। परमेश्वरप्रतिको विश्वासले सत्यता अभ्यास गर्नु र सत्यता अभ्यास गर्दा सिद्धान्तहरू बोध गर्न सक्नुमा सबैभन्दा बढी जोड दिन्छ। सत्यता अभ्यास गर्नु भनेको के हो र सिद्धान्तहरूद्वारा मामिलाहरू सम्हाल्नु भनेको के हो भन्ने कुरा बुझेर मात्र व्यक्तिले सत्यता बुझ्छ वा ऊ वास्तविकतामा प्रवेश गरेको छ भन्न सकिन्छ। सत्यता अभ्यास गर्न र वास्तविकताभित्र प्रवेश गर्न सक्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

अंश ५३

मानिसहरूले आफ्‍नो कर्तव्यप्रति कुनै जिम्‍मेवारी लिँदैनन्, लापरवाही र झारा टार्ने किसिमले कर्तव्य निभाउँछन्, सधैँ हुन्छ हजुर भन्‍ने शैलीमा काम गर्छन्, र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनन् भने, त्यो कस्तो स्वभाव हो? यो धूर्तता हो, शैतानको स्वभाव हो। मानिसको जीवन-दर्शनको सबैभन्दा प्रमुख पक्ष भनेको धूर्तता हो। मानिसहरूलाई के लाग्छ भने यदि तिनीहरू धूर्त बनेनन् भने, तिनीहरूले अरूलाई रिस उठाउने सम्‍भावना हुन्छ र तिनीहरूले आफूलाई रक्षा गर्न सक्दैनन्; तिनीहरू अरू कसैलाई चोट पुर्‍याउने वा चिढ्याउने कार्य नगर्ने हदसम्‍मको धूर्त हुनुपर्छ, यसरी तिनीहरूले आफूलाई सुरक्षित राख्‍न, आफ्‍नो रोजी-रोटीलाई सुरक्षा गर्न, र अरू मानिसहरूमाझ दह्रिलो आधार बनाउन सक्छन् भन्‍ने तिनीहरूलाई लाग्छ। अविश्‍वासीहरू सबै नै शैतानका दर्शनहरूअनुसार जिउँछन्। तिनीहरू सबै सधैँ हुन्छ हुजुर भन्‍ने र कसैलाई नचिढ्याउने हुन्छन्। तँ परमेश्‍वरको घरमा आएको छस्, तैँले परमेश्‍वरको वचन पढेको, र परमेश्‍वरको घरका प्रवचनहरू सुनेको छस्, तैपनि किन तँ सत्यताको अभ्यास गर्न, हृदयबाट बोल्‍न, र इमान्दार व्यक्ति बन्‍न सक्दैनस्? किन तँ सधैँ हुन्छ हजुर भन्‍ने व्यक्ति भएको छस्? सधैँ हुन्छ हजुर भन्‍ने व्यक्तिहरूले आफ्‍नै हित रक्षा गर्छन्, मण्डलीका हित रक्षा गर्दैनन्। कसैले दुष्कर्म गरिरहेको र मण्डलीका हितहरूमा हानि गरिरहेको देख्दा, तिनीहरूले यसलाई बेवास्ता गर्छन्। तिनीहरू सधैँ हुन्छ हजुर भन्‍ने व्यक्ति बन्‍न चाहन्छन्, र कसैलाई चिढ्याउन चाहँदैनन्। यो गैरजिम्‍मेवार कार्य हो, र त्यस्तो व्यक्ति अत्यन्तै छली र विश्‍वासघाती हुन्छ। कतिपय मानिसहरू आफ्‍नै अभिमान र गौरवको रक्षा गर्न, र आफ्‍नो ख्याति र हैसियत कायम राख्न जति नै मूल्य परे पनि खुसीसाथ अरूलाई सहयोग गर्छन् र आफ्‍ना मित्रहरूका लागि त्याग गर्छन्। तर जब तिनीहरूले परमेश्‍वरको घरका हित, सत्यता, र न्यायको रक्षा गर्नुपर्ने हुन्छ, तब तिनीहरूका त्यस्ता असल अभिप्रायहरू हराउँछन्, ती पूर्णरूपमा हराएका हुन्छन्। सत्यता अभ्यास गर्नुपर्ने बेला तिनीहरूले बिलकुलै अभ्यास गर्दैनन्। के भइरहेको छ? तिनीहरूले आफ्नो मर्यादा र गौरवको रक्षा गर्न, कुनै पनि मूल्य चुकाउनेछन् र जुनसुकै कष्ट सहनेछन्। तर जब तिनीहरूले वास्तविक काम गर्नुपर्ने र व्यावहारिक मामिलाहरू सम्हाल्नुपर्ने हुन्छ, अनि मण्डलीको काम र सकारात्मक कुराहरूको रक्षा गर्नुपर्छ, अनि परमेश्‍वरका चुनिएका मानिसहरूको रक्षा र भरणपोषण गर्नुपर्छ, तब किन तिनीहरूसँग मूल्य चुकाउने र कुनै कष्ट सहने सामर्थ्य हुँदैन? यो अकल्‍पनीय कुरा हो। वास्तवमा, तिनीहरूमा सत्यतादेखि दिक्‍क मान्‍ने एक प्रकारको स्वभाव हुन्छ। म किन तिनीहरूको स्वभाव सत्यतादेखि दिक्‍क मान्‍ने किसिमको छ भन्छु? किनभने, जब कुनै कुरामा परमेश्‍वरको गवाही दिने, सत्यता अभ्यास गर्ने, परमेश्‍वरका चुनिएका मानिसहरूको रक्षा गर्ने, शैतानका षडयन्त्रहरूविरुद्ध लडाइ गर्ने, वा मण्डलीको कामको रक्षा गर्ने कार्य समावेश हुन्छ, तब तिनीहरू भाग्छन् र लुक्छन्, र उचित उचित मामिलाहरूलाई ध्यान दिँदैनन्। तिनीहरूको कष्ट सहने बहादुरी र भावना खै त? तिनीहरूले यी कुराहरू कहाँ लागू गर्छन्? यो सजिलै देख्न सकिन्छ। कसैले तिनीहरूलाई स्वार्थी र घृणित हुनु हुँदैन, आफ्नै बचाउ गर्नु हुँदैन र तिनीहरूले परमेश्वरको घरको कामको सुरक्षा गर्नुपर्छ भनी हप्काए पनि, तिनीहरू मतलबै गर्दैनन्। तिनीहरू मनमनै यसो भन्छन्, “म ती कामहरू गर्दिनँ, र तिनको मसँग कुनै सरोकार छैन। मेरो प्रतिष्ठा, नाफा र हैसियतको खोजीमा त्यस्तो व्यवहारले मलाई के नै राम्रो गर्ला र?” तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन्। तिनीहरू प्रतिष्ठा, नाफा र हैसियत खोज्न मात्र मन पराउँछन्, र तिनीहरू परमेश्वरले तिनीहरूलाई सुम्पनुभएको काम बिलकुलै गर्दैनन्। त्यसैले, जब तिनीहरूले मण्डलीको काम गर्नुपर्ने हुन्छ, तिनीहरू खुरुक्कभाग्ने विकल्प रोज्छन्। यसको मतलब के हो भने, तिनीहरू हृदयदेखि नै सकारात्मक कुराहरू मन पराउँदैनन्, र सत्यताप्रति कुनै रुचि राख्दैनन्। यो सत्यताबाट दिक्क हुने कुराको प्रस्ट प्रकटीकरण हो। सत्यतालाई प्रेम गर्ने र सत्यताको वास्तविकता भएकाहरू मात्रै परमेश्‍वरको घरको काम र चुनिएका मानिसहरूलाई आवश्यक पर्दा अघि आउन सक्छन्, तिनीहरू मात्रै साहससाथ र कर्तव्यनिष्ठ भई परमेश्‍वरको गवाही दिन र सत्यता सङ्गति गर्न खडा हुन सक्छन्, र यसरी परमेश्‍वरका चुनिएका मानिसहरूलाई सही मार्गमा डोर्‍याउन र परमेश्‍वरको काममा आज्ञापालन हासिल गर्न सक्षम तुल्याउन सक्छन्। यो मात्रै जिम्‍मेवारीको मनोवृति र परमेश्‍वरको इच्‍छाप्रति वास्ता राख्‍नुको एउटा प्रकटीकरण हो। यदि तिमीहरूमा यस्तो मनोवृत्ति छैन, र तिमीहरूले काम-कुरा सम्‍हाल्दा लापरवाही मात्रै गर्छौ, अनि “म मेरो आफ्‍नै कर्तव्यको दायराका कुराहरू गर्नेछु, तर अरू कुनै कुराको बारेमा मलाई केही मतलब छैन। यदि तिमीले मलाई केही कुराको बारेमा सोध्यौ भने, म तिमीलाई उत्तर दिनेछु—यदि म राम्रो मनस्थितिमा छु भने मात्रै त्यसो गर्नेछु। अन्यथा, त्यसो गर्नेछैन। मेरो मनोवृत्ति यही हो” भनेर सोच्छौ भने, यो एकप्रकारको भ्रष्ट स्वभाव हो, होइन र? आफ्‍नै हैसियत, ख्याति, र गौरवलाई मात्रै रक्षा गर्नु, अनि आफ्‍नै चासोहरूसँग सम्‍बन्धित कुराहरूको मात्रै रक्षा गर्नु—के यो धर्मी अभियानलाई रक्षा गर्नु हो र? के त्यो परमेश्वरको घरका हितहरूको रक्षा गर्नु हो? यी तुच्छ, स्वार्थी अभिप्रायहरूपछाडि सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव हुन्छ। तिमीहरूमध्ये धेरैजसोले बारम्‍बार यस्ता प्रकटीकरणहरू देखाउँछौ, र परमेश्‍वरको घरका चासोहरूसँग सम्‍बन्धित कुनै कुराको सामना गर्नेबित्तिकै, तिमीहरू घुमाउरो तरिकाले कुरा गर्छौ र “मैले त देखिन,” वा “मलाई त थाहै भएन,” वा “मैले त सुनेकै छैन” भन्छौ। चाहे तँलाई साँच्‍चै थाहा नभएर होस् वा तैँले बहाना मात्रै गरिरहेको छस्, यदि सबैभन्दा महत्त्वपूर्ण क्षणहरूमा, तैँले यस्तो भ्रष्ट स्वभाव प्रकट गर्छस् भने, तँ परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने व्यक्ति होस् कि होइनस्, त्यो भन्‍नु गाह्रो हुन्छ; मेरो विचारमा, तँ कि त आफ्‍नो विश्‍वासमा अन्योल रहेको व्यक्ति होस्, कि त गैरविश्‍वासी होस्। तँ सत्यता प्रेम गर्ने व्यक्ति अवश्य नै होइनस्।

सत्यतादेखि दिक्क हुनुको अर्थ तिमीहरूले बुझ्छौ होला, तर सत्यतादेखि दिक्क हुनु भनेको एउटा स्वभाव हो भनेर मैलै किन भन्छु? आकलझुकल र क्षणिक प्रकटीकरणहरूसँग स्वभावको कुनै सम्बन्ध हुँदैन, अनि आकलझुकल र क्षणिक प्रकटीकरणहरूलाई स्वभावगत समस्या भन्न मिल्दैन। कुनै व्यक्तिमा जस्तो प्रकारको भ्रष्ट स्वभाव भए पनि, त्यो ऊबाट बारम्बार वा निरन्तर समेत प्रकट हुनेछ, र सो व्यक्ति यथोचित अवस्थामा भएको बेला त्यसको खुलासा हुनेछ। त्यसकारण, तैँले कुनै स्वभावगत समस्यालाई मनमानी ढङ्गले आकलझुकल र क्षणिक प्रकटीकरणको आधारमा चित्रण गर्न मिल्दैन। त्यसोभए, स्वभाव भनेको के हो त? स्वभावहरू अभिप्राय र उत्प्रेरणाहरूसँग सम्बन्धित हुन्छन्, ती कुनै व्यक्तिको सोचाइ र दृष्टिकोणसँग सम्बन्धित हुन्छन्। ती कुराहरू तँमाथि हाबी भइरहेका छन् र तिनले तँलाई बहकाइरहेका छन् भन्ने कुराको छनक तैँले पाउन सक्छस् जस्तो देखिन्छ, तर स्वभावहरू लुकेका र छोपिएका, अनि देखावटी घटनाहरूको छायाँमा परेका पनि हुन सक्छन्। छोटकरीमा भन्नुपर्दा, जबसम्म तँभित्र कुनै स्वभाव रहन्छ, तबसम्म त्यसले तँलाई हस्तक्षेप गर्नेछ, तँलाई बाँध्नेछ र नियन्त्रण गर्नेछ, अनि तँभित्र थुप्रै व्यवहार र प्रकटीकरणहरू पैदा गर्नेछ—त्यो एउटा स्वभाव हो। सत्यताबाट दिक्क हुने स्वभावले प्रायः कस्ता व्यवहार, सोच, दृष्टिकोण र मनोवृतिहरू पैदा गर्दछ? सत्यताबाट दिक्क हुँदा मानिसहरूले देखाउने मुख्य लक्षणहरूमध्ये एउटा भनेको सकारात्मक कुराहरू र सत्यतामा रुचि नहुनु हो, त्यसको साथै उदासीन मनोभाव राख्नु, हृदय ऊर्जाहीन हुनु, सत्यता प्राप्त गर्ने चाहना नहुनु, र जब जब सत्यता अभ्यास गर्नेसम्बन्धी कुरा आउँछ, तब सबै कुराहरू ठिकै छन् भनी सोच्नु हो। म एउटा सामान्य उदाहरण दिन्छु। सुस्वास्थ्यको सम्बन्धमा मानिसहरूले प्रायः कुरा गर्ने एउटा व्यावहारिक ज्ञानको कुरा भनेको बढी फलफूल र सागसब्जी खानु, बढी हल्का खाना र कम मासु खानु, र विशेष गरी तारेको खाना कम खानु हो; यो मानिसहरूको स्वास्थ्य र आरामको लागि सकारात्मक मार्गदर्शन हो। बढी के खाने र कम के खाने भनी सबैले बुझ्न र स्विकार्न सक्छन्, त्यसोभए के यो स्वीकारोक्ति सिद्धान्तमा आधारित छ कि व्यवहारमा? (सिद्धान्तमा।) यो सैद्धान्तिक स्वीकारोक्ति कसरी प्रकट हुन्छ? एक प्रकारको आधारभूत मान्यतामा। त्यो भनेको तेरो मूल्याङ्कनमा आधारित विवेचनामार्फत यो सोचाइ सही छ र यो कथन अत्यन्तै राम्रो छ भनेर सोच्नु हो। तर के तँसँग यो कथनलाई पुष्टि गर्ने कुनै प्रमाण छ? के तँसँग त्यसलाई विश्वास गर्ने कुनै आधारहरू छन्? तँ आफैले त्यसलाई अनुभव नगरी, यो कथन सही हो वा गलत हो भनेर पुष्टि गर्ने जग वा आधारविनै, र निश्चय नै पहिलेका गल्तीहरूबाट पाठ नसिकीकनै, अनि कुनै वास्तविक उदाहरणहरूविनै तैँले यो विचार यतिकै स्विकारिस्—यो सैद्धान्तिक स्वीकारोक्ति हो। तैँले त्यस कुरालाई सैद्धान्तिक वा व्यावहारिक जुन रूपले स्विकारे पनि, तैँले पहिला “बढी सागसब्जी र कम मासु खानु” भन्ने कथन सही र सकारात्मक कुरा हो भनी पुष्टि गर्नैपर्छ। त्यसोभए, सत्यताबाट दिक्क हुने तेरो स्वभाव कसरी देख्न सकिन्छ? तैँले यो कथनलाई आफ्नो जीवनमा कसरी लिन्छस् र लागू गर्छस् भन्ने कुराको आधारमा; यसले त्यस कथनप्रति तेरो मनोवृति, अर्थात् तैँले त्यसलाई सैद्धान्तिक रूपमा र धर्मसिद्धान्तको सम्बन्धमा स्विकारेको छस् कि छैनस्, वा तैँले त्यसलाई आफ्नो वास्तविक जीवनमा लागू गरेर त्यसलाई आफ्नो वास्तविकता बनाएको छस् कि छैनस् भन्ने कुरा देखाउँछ। यदि तैँले उक्त कथनलाई धर्मसिद्धान्तको सम्बन्धमा मात्र स्विकारेको छस्, तर तैँले वास्तविक जीवनमा गर्ने कार्ययो कथनसँग पूरै बाझिन्छ, वा तैँले यो कथनको व्यावहारिक कार्यान्वयन बिलकुलै देखाउँदैनस् भने, के तँ यस कथनलाई प्रेम गर्छस्, कि त्यसबाट दिक्क भएको छस्? उदाहरणको लागि, जब तैँले केही सागसब्जी देख्छस् र खान्छस्, अनि यस्तो सोच्छस्, “हरियो सागसब्जी मान्छेको स्वास्थ्यको लागि राम्रो हो, तर तिनको राम्रो स्वाद हुँदैन, र मासुको स्वाद त्योभन्दा राम्रो हुने भएकोले म पहिला अलिकति मासु खानेछु,” र त्यसपछि तैँले मासु मात्र खान्छस् र हरियो सागसब्जी नै खाँदैनस्—यसले कस्तो प्रकारको स्वभाव देखाउँछ? यसले सही कथनहरू नस्विकार्ने, सकारात्मक कुराहरूदेखि दिक्क मान्ने, र दैहिक रुचिअनुसार मात्र खान चाहने स्वभाव देखाउँछ। यस प्रकारको भक्षक र सुखको लोभ गर्ने व्यक्ति पहिल्यै सकारात्मक कुराहरूप्रति अति दिक्, प्रतिरोधी, र अरूचिकर बनेको हुन्छ, र यो एक प्रकारको स्वभाव हो। कसैले यो कथन धेरै ठिक छ भनेर स्विकार्न सक्ला, तर ऊ आफैले त्यो काम गर्न सक्दैन, अनि उसले नसके पनि ऊ अरूलाई त्यसो गर्नू भन्छ; त्यो कुरा धेरै पटक भनेपछि, उक्तकथन उसको लागि एक प्रकारको सिद्धान्त नै बन्छ, अनि ऊमाथि त्यसको कुनै प्रभाव पर्दैन। त्यो व्यक्तिलाई बढी सागसब्जी खानु राम्रो हो र बढी मासु खानु राम्रो होइन भन्ने कुरा मनमा राम्ररी थाहा हुन्छ, तर उसले यस्तो सोच्छ, “जे परे पर्ला, मैले केही गुमाएको छैनँ, मासु खानु भनेको फाइदा उठाउनु हो, र मलाई त्यो अस्वस्थकर हो जस्तो लाग्दैन।” उसका लोभ र चाहनाहरूले उसलाई गलत जीवनशैली अपनाउने र सही व्यावहारिक ज्ञान र सही जीवनशैलीविरुद्ध जाने तुल्याएका छन्। उसमा लाभ र दैहिक आनन्दको लालसा गर्ने खालको भ्रष्ट स्वभाव छ, त्यसोभए के उसलाई सही कथन र सकारात्मक कुराहरू स्विकार्न सजिलो हुनेछ? बिलकुलै सजिलो हुनैछैन। त्यसोभए के उसको जीवन उसको भ्रष्ट स्वभावद्वारा शासित छैन र? यो उसको भ्रष्ट स्वभावको प्रकटीकरण हो, र यो उसको भ्रष्ट स्वभावको प्रमाण हो। बाहिरी रूपमा प्रकट हुने कुराहरू भनेको यी व्यवहारहरू र एउटा मनोवृति हुन्, तर खासमा, तिनीहरूलाई एउटा स्वभावले शासन गरिरहेको छ। यो कस्तो स्वभाव हो? यो सत्यतादेखि दिक्क हुने स्वभाव हो। सत्यतादेखि दिक्क हुने यो स्वभाव पत्ता लगाउन कठिन छ; कसैलाई पनि आफू सत्यतादेखि दिक्क छु भन्ने लाग्दैन, तर तिनीहरूले कैयौँ वर्ष परमेश्वरमा विश्वास गरेका भए पनि अझै सत्यता अभ्यास गर्न नजान्ने तथ्य तिनीहरू सत्यतादेखि दिक्क भएको देखाउन पर्याप्त छ। मानिसहरू धेरै नै प्रवचनहरू सुन्छन् र परमेश्वरको वचन धेरै नै पढ्छन्, र परमेश्वर तिनीहरूले हृदयदेखि नै उहाँका वचनहरू स्विकारेको र यी वचनहरूलाई आफ्ना वास्तविक जीवनमा ल्याएर अभ्यास र प्रयोग गरेको चाहना राख्नुहुन्छ, ताकि तिनीहरूले सत्यता बुझून् र सत्यतालाई आफ्नो जीवन बनाऊन्। अधिकांश मानिसहरूका लागि यो मापदण्ड हासिल गर्न कठिन हुन्छ, त्यसैले अधिकांश मानिसमा सत्यतादेखि दिक्क हुने स्वभाव छ भनेर भन्ने गरिन्छ।

जब कसैले सत्यता बुझ्छ, उसको लागि सत्यता अभ्यास गर्नु कठिन हुँदैन, र सत्यता बुझ्न सक्षम भएपछि, ऊ सत्यताको वास्तविकताभित्र प्रवेश गर्न सक्छ। के व्यक्तिले बुझ्ने सत्यताहरूलाई उसले जिउने वास्तविकताहरूमा परिणत गर्न वास्तवमै त्यति कठिन छ? म एउटा उदाहरण दिनेछु। मानिलिऊँ मौसम चिसो छ र तँ असिनपसिन भएरै घरबाट निस्कन खोज्छस्, अनि तेरी आमाले तँलाई बाहिर जानुअघि पसिना सुक्न दे नत्र तँलाई चिसो लाग्नेछ भन्छिन्। तेरी आमाले तेरो लागि सबैभन्दा राम्रो होस् भन्ने चाहनुहुन्छ भन्ने कुरा तँलाई थाहा छ, तर तैँले उनको सल्लाहलाई गम्भीरतापूर्वक लिँदैनस्, र तँलाई उनको सुझाव सही लागे पनि तैँले त्यसलाई बेवास्ता गर्छस्। तँ असिनपसिन अवस्थामै बाहिर जान्छस्, अनि यसरी बाहिर निस्केपछि कहिलेकाहीँ तँलाई चिसो लाग्छ, तर पनि तँ अर्को पटक फेरि घरबाट निस्कँदा उनको सल्लाहविपरीत जान्छस्। उनको सल्लाह सही छ र तेरो हितमा छ, अनि तेरी आमाको आशय र अभिप्राय सधैँ तेरै राम्रोको लागि हो भन्ने कुरा तँलाई प्रस्ट रूपमा थाहा छ, तर अझै पनि तँ त्यसलाई सुनेको नसुन्यै गर्छस् र सुन्दैनस्—के यो स्वभाव होइन र? यदि तँमा यो स्वभाव थिएन भने, तैँले के गर्ने निर्णय गर्थिस्? (सुन्ने।) तँलाई यो सल्लाहको महत्त्व थाहा हुनेथियो, र तैँले त्यो कुरा नसुन्दा आफूले भोग्न सक्ने परिणाम र पीडा तँलाई थाहा हुनेथियो, अनि तैँले यो सुझावको अर्थ बोध गर्नेथिस् र बुझ्नेथिस्। तैँले कटिबद्ध भएर यो सल्लाहको पालना गर्न सक्नेथिस् र सधैँ पालना गर्नेथिस्, अनि तँलाई चिसो लाग्ने सम्भावना नै हुन्थेन। यो एउटा उदाहरण मात्र हो। यो परमेश्वरमा विश्वास गर्नु, र परमेश्वरका वचनहरू पढ्नु र सुन्नुजस्तै हो, त्यसोभए मानिसहरूले परमेश्वरका वचनहरूलाई कसरी लिनुपर्छ? यो सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो। यदि व्यक्तिले सत्यताबमोजिम बोल्छ र ऊ सही छ भने, मानिसहरूले उसका शब्दहरू स्विकारेर लाभ प्राप्त गर्नेछन्। परमेश्वरका वचनहरू सत्यता हुन्, र मानिसहरूले तिनलाई स्विकार्न सकेमा तिनीहरूले लाभ मात्र पाउनेछैनन्, जीवन पनि प्राप्त गर्नेछन्। धेरै मानिसहरू यो कुरा प्रस्ट रूपमा देख्न सक्दैनन्, र परमेश्वरका वचनहरूलाई सधैँ तिरस्कार गर्छन्। परमेश्वरले जे भन्नुभए पनि, चाहे उहाँले मानिसहरूलाई उपदेश दिइरहनुभएको, गाली गरिरहनुभएको, सम्झाइरहनुभएको, ढाडस् दिइरहनुभएको वा गम्भीर रूपले बिन्ती गरिरहनुभएको हुनुहोस्, उहाँले जसरी बोल्नुभए पनि तिनीहरूको हृदयलाई जगाउन सक्नुहुन्न। तिनीहरू उहाँका वचनहरूअनुसार कार्य गर्न सक्दैनन्, र तिनलाई सुनेपछि तिनीहरू सुनेको नसुन्यै गर्छन्। यो मान्छेका स्वभावहरूमध्ये एक हो—दुराग्रह र सत्यताबाट दिक्क हुने। यदि तँ परमेश्वरले तँलाई भन्नुहुने कुरा र गर्नू भनेर आदेश दिनुहुने कुरालाई कसरी लिने भन्नेमा परमेश्वरका वचनहरू पछ्याउन सक्दैनस् भने, तैँले यो स्वभाव परिवर्तन गर्न सक्नेछैनस्। परमेश्वरले भन्नुहुने हरेक वचनलाई तैँले जसरी स्विकारे पनि वा आमेन भने पनि, तैँले परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा जसरी मौखिक प्रशंसा गरे पनि, त्यो बेकार हो; तैँले परमेश्वरका वचनहरू स्विकार्न सक्नैपर्छ, र परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्नैपर्छ, र परमेश्वरका वचनहरूलाई तेरो जीवन र तेरो वास्तविकता बनाउनैपर्छ, त्यो मात्र उपयोगी हुन्छ। उदाहरणको लागि, यदि छली स्वभावको कुनै व्यक्तिले इमानदार हुने र सत्य बोल्ने सङ्कल्प गर्छ भने, उसको लागि यो हासिल गर्न अलि सजिलै हुन्छ, तर परिवर्तन गर्न सबैभन्दा कठिन कुरा सत्यताबाट दिक्क हुने र दुराग्रह हुन्। परमेश्वरले जे भन्नुभए पनि, यस स्वभावका मानिसहरू त्यसलाई आफ्नो हृदयमा गम्भीरतापूर्वक लिँदैनन्, र परमेश्वरले जस्तो मनोवृति अपनाउनुभए पनि, चाहे त्यो चेतावनी दिने, सम्झाउने, उपदेश दिने, वा गम्भीरतापूर्वक बिन्ती गर्ने, तथ्यहरू प्रस्तुत गर्ने वा कामकुराहरूको समाधान खोज्ने जे होस्, त्यसले तिनीहरूको हृदय छुँदैन, र यो निराकरण गर्न कठिन छ। मानिसहरूलाई सत्यतादेखि दिक्क हुने स्वभाव चिन्न कठिन हुन्छ, र तिनीहरूले बारम्बार सत्यता खोजी गरेर आफ्नो स्थितिमाथि, आफूले सत्यता स्विकार्न नसक्नुको कारणमाथि, र आफूले बुझ्ने सत्यता अभ्यास गर्न नसक्नुको कारणमाथि चिन्तन गर्नैपर्छ। यदि तिनीहरूले यो समस्या पूर्ण रूपले बुझ्छन् भने, तिनीहरूले सत्यतादेखि दिक्क हुनुको अर्थ जान्नेछन्।

मानिसहरूका स्वभावभित्रै केही लुकेको हुन्छ जुन न त रबाफ जमाउने न चाकरी गर्ने मनोवृतिको रूपमा आफै प्रकट हुन्छ। तिनीहरूको सोच्ने र आफ्नो कुरा व्यक्त गर्ने आफ्नै शैली हुन्छ, र तिनीहरू त्यसैलाई सबैभन्दा उचित शैली सोच्छन्। अरूले जे भने पनि वा गरे पनि, तिनीहरू उनीहरूबाट प्रभावित हुँदैनन्; तिनीहरूलाई जे कुराले मानिसहरूलाई तिनीहरूको आदर गर्ने तुल्याउनेछ भन्ने लाग्छ तिनीहरू त्यही गर्न लागिपर्छन्, र गर्नुपर्ने सही काम यही हो भनी विश्वास गर्छन्; तिनीहरू सत्यतालाई थोरै पनि स्विकार्दैनन्, तथ्यहरूलाई सही रूपमा सामना गर्न सक्दैनन्, र तिनीहरूमा सत्यताका कुनै सिद्धान्तहरू छैनन्। यो कस्तो स्वभाव हो? यो अहङ्कार र आत्मधार्मिकताको अनि सत्यतादेखि दिक्क हुने स्वभाव हो। जो शैतानका मानिस हुन् र सत्यतादेखि दिक्क छन् तिनीहरू परमेश्वरका वचन र कार्यहरू सुन्दैनन् र हेर्दैनन्, चाहे परमेश्वरले जतिसुकै बोल्नुहोस् वा गर्नुहोस्। शैतानले परमेश्वरका वचनहरूलाई कहिल्यै सत्यताको रूपमा लिँदैन, त्यसले तिनलाई बेवास्ता गर्छ, मानिसहरूलाई परमेश्वरका वचन र सत्यता स्विकार्न दिँदैन, र मानिसहरूलाई दुविधामा पनि पार्छ ताकि तिनीहरू त्यसप्रति समर्पित होऊन्—शैतानले यसरी नै परमरेश्वरको प्रतिरोध गर्छ। परमेश्वरले मानवजातिलाई मुक्ति दिन, जगाउन र शुद्ध पार्न सत्यता व्यक्त गर्नुहुन्छ, अनि शैतानले परमेश्वरको कामलाई बाधा पुर्याउन र नष्ट पार्न सक्दो प्रयास गर्छ; शैतानले मानवजातिलाई दुविधामा पार्नुको उद्देश्य तिनीहरूलाई भ्रष्ट तुल्याउनु र हैरान पार्नु, र अन्तत: खानु र पूरै नष्ट पार्नु हो। उदाहरणको लागि, परमेश्वरले मानवजातिलाई थरीथरीका खानेकुरा दिनुभयो, र उहाँले थरीथरीका अन्न र सागसब्जीका साथै तिनलाई उमार्ने उचित जमिन पनि सृष्टि गर्नुभयो। मानिसहरूले परिश्रम गरे भने, तिनीहरूलाई खान र प्रयोग गर्न पुग्नेछ, अनि तिनीहरूले स्वस्थकर आहारको सुनिश्चितता गर्न सक्नेछ। तर मानिसहरू अतृप्त हुन्छन् र सधैँ धनी हुन चाहन्छन्, र तिनीहरू बाली उब्जनी बढाउन आनुवांशिक परिमार्जनका विधिहरू अनुसन्धान गर्नमा लागिपर्छन्, जसले अन्नबालीको वास्तविक पोषण नष्ट पार्छ, अनि प्राङ्गारिक खानालाई अप्राङ्गारिक बनाउँछ। मानिसहरूले यी कुराहरू खाएपछि, तिनीहरूको शरीरमा थरीथरीका रोगहरू उत्पन्न हुनेछन्—के यो शैतानको काम होइन र? मानिसहरू निश्चित हदसम्म शैतानद्वारा भ्रष्ट तुल्याइएका छन्, र तिनीहरू सबै जीवित शैतान र जीवित दियाबलस बनेका छन्। विगतमा, परमेश्वरको प्रतिरोध गर्ने शैतान र दुष्टात्माहरू मात्र थिए, तर अहिले सम्पूर्ण भ्रष्ट मानवजातिले परमेश्वरको प्रतिरोध गर्छन्। त्यसोभए, के भ्रष्ट तुल्याइएका मानवजातिहरू दियाबलस र शैतानहरू होइनन् र? के तिनीहरू शैतानका सन्तान होइनन् र? (हुन्।) यो शैतानले मानवजातिलाई हजारौँ वर्षसम्म भ्रष्ट तुल्याएको परिणाम हो। तैँले कसरी शैतानी स्वभावलाई चिन्‍न र छुट्याउन सक्छस्? शैतानलाई जे गर्न मन पर्छ त्यसको आधारमा, साथै यसले काम गर्दा प्रयोग गर्ने विधि र चलाकीहरूको आधारमा बुझ्न सकिन्छ कि यसलाई सकारात्मक कुराहरू कहिल्यै मन पर्दैन, यसलाई दुष्टता मन पर्छ, र यसले सधैँ आफूलाई सक्षम र सबै कुरा नियन्त्रण गर्न सक्‍ने ठान्छ। यो शैतानको अहङ्कारी प्रकृति हो। त्यही कारणले गर्दा शैतानले नीतिभ्रष्ट तरिकाले परमेश्‍वरलाई इन्कार, प्रतिरोध, र विरोध गर्छ। शैतान हर नकारात्मक र दुष्ट कुराहरूको प्रतिनिधि र स्रोत हो। यदि तँ यस मामलालाई स्पष्ट रूपमा देख्‍न सक्छस् भने, तैँले शैतानी स्वभावलाई चिनेको छस्। मानिसहरूले सत्यता स्वीकार र अभ्यास गर्नु त्यति सरल कुरा होइन, किनभने तिनीहरू सबैसँग शैतानी स्वभाव हुन्छ, र तिनीहरू सबै आफ्‍नो शैतानी स्वभावद्वारा बाधित र बाँधिएका हुन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरूलाई इमानदार व्यक्ति बन्‍नु राम्रो कुरा हो भन्‍ने थाहा हुन्छ, र अरूहरू इमानदार बनेको, सत्य कुरा बोलेको, र सरल र खुला मनले बोलेको देख्दा, तिनीहरूलाई डाहा र इर्ष्या अनुभूति हुन्छ, तर यदि तिनीहरूलाई इमानदार व्यक्ति बन्‍न अनुरोध गरियो भने, तिनीहरूलाई गाह्रो लाग्छ। तिनीहरू इमानदार शब्‍दहरू बोल्‍न र इमानदार कार्यहरू गर्न सधैँभरि असमर्थ हुन्छन्। के यो शैतानी स्वभाव होइन र? तिनीहरूले राम्रो सुनिने कुराहरू बोल्छन्, तर ती अभ्यास गर्दैनन्। यो सत्यताप्रति दिक्‍क मान्‍नु हो। सत्यताप्रति दिक्‍क मान्‍नेहरूलाई सत्यता स्वीकार गर्न गाह्रो हुन्छ र तिनीहरू सत्यताका वास्तविकताहरूमा कुनै पनि हालतमा प्रवेश गर्न सक्दैनन्। सत्यताप्रति दिक्‍क मान्‍ने मानिसहरूको सबैभन्दा प्रस्ट स्थिति भनेको तिनीहरू सत्यता र सकारात्मक कुराप्रति चासो राख्दैनन्, तिनीहरू ती कुराप्रति द्वेष समेत राख्छन् र तिनलाई घृणा गर्छन्, र विशेष गरी तिनीहरूलाई प्रचलनहरू पछ्याउन मन पर्छ। परमेश्‍वरले प्रेम गर्नुहुने कुराहरू र उहाँले मानिसहरूलाई गर्न लगाउनुहुने कुराहरूलाई तिनीहरूले आफ्‍नो हृदयले स्वीकार गर्दैनन्। बरु, तिनीहरू ती कुरालाई बेवास्ता गर्छन् र उदासीन बन्छन्, अनि कतिपय मानिसहरूले त परमेश्‍वरले मान्छेका लागि तोक्‍नुभएका मापदण्ड र सिद्धान्तहरूलाई प्रायः घृणासमेत गर्छन्। तिनीहरू सकारात्मक कुराहरूप्रति द्वेष राख्छन्, र ती कुराप्रति तिनीहरूको हृदयमा प्रतिरोध, विरोध, र निन्दैनिन्दा हुन्छ। सत्यताप्रति दिक्‍क मान्‍नुको मुख्य प्रकटीकरण यही हो। मण्डली जीवनमा, परमेश्‍वरको वचन पढ्नु, प्रार्थना गर्नु, सत्यता सङ्गति गर्नु, कर्तव्य निभाउनु, र सत्यताद्वारा समस्याहरू समाधान गर्नु सबै नै सकारात्मक कुरा हुन्। ती कुराहरूले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछन्, तर कतिपय मानिसहरूले यी सकारात्मक कुराहरूप्रति द्वेष राख्छन्, यी कुराको वास्ता गर्दैनन्, र यी कुराप्रति उदासीन हुन्छन्। सबैभन्दा घृणास्पद कुरा त के हो भने, तिनीहरूले इमानदार मानिसहरू, सत्यताको खोजी गर्नेहरू, आफ्‍नो कर्तव्य विश्‍वासयोग्य ढङ्गले पूरा गर्नेहरू, र परमेश्‍वरको घरको कामको रक्षा गर्नेहरूजस्ता सकारात्मक मानिसहरूप्रति अपमानजनक मनोवृत्ति अपनाउँछन्। तिनीहरूले सधैँ यी मानिसहरूलाई आक्रमण र बहिष्कार गर्ने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूले आफूमा कमीकमजोरी भएको वा भ्रष्टताको प्रकाश भएको थाहा पाए भने, तिनीहरूले यसको बढाइचढाइ गर्छन्, र तिललाई पहाड बनाउँदै त्यसो गरेकोमा निरन्तर रूपमा उनीहरूलाई होच्याउँछन्। यो कस्तो प्रकारको स्वभाव हो? किन तिनीहरूले सकारात्मक मानिसहरूलाई यति घृणा गर्छन्? किन तिनीहरूले दुष्ट मानिसहरू, गैरविश्‍वासीहरू, र ख्रीष्टविरोधीहरूलाई त्यति माया गर्छन् र तिनीहरूसँग मिल्छन्, र किन तिनीहरूले प्रायजसो त्यस्तै मानिसहरूसँग नौटङ्की गर्छन्? जहाँ नकारात्मक र दुष्ट कुराहरूको सवाल आउँछ, तिनीहरू जोसिला र प्रफुल्लित हुन्छन्, तर सकारात्मक कुराहरूका हकमा, तिनीहरूको मनोवृत्तिमा प्रतिरोध पैदा हुन थाल्छ; खास गरी, जब तिनीहरूले मानिसहरूले सत्यताको सङ्गति गरेका वा सत्यता प्रयोग गरी समस्याहरू समाधान गरेका देख्छन्, तब तिनीहरूले हृदयमा वाक्क र असन्तुष्ट अनुभूति गर्छन्, र तिनीहरूले आफ्‍ना गुनासाहरू पोखाउँछन्। के यो स्वभाव सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव होइन र? के यो भ्रष्ट स्वभावको प्रकटीकरण होइन र? धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, उहाँको लागि काम गर्न मन पराउँछन् र उहाँको लागि उत्साहको साथ दौडधूप गर्छन्, अनि आफ्‍ना वरदान र सामर्थ्यहरू प्रयोग गर्नुपर्दा, आफ्ना रूचिहरूमा लिन हुँदा र आफ्‍नो प्रदर्शन गर्दा, तिनीहरूसँग असीमित जोस हुन्छ। तर यदि तैँले तिनीहरूलाई सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तअनुसार काम गर्न लगाइस् भने, तिनीहरूको त्यो जोश मरिहाल्छ र तिनीहरूमा कुनै उत्साह हुँदैन। तिनीहरूलाई आफ्‍नो प्रदर्शन गर्न दिइएन भने, तिनीहरू जाँगरहीन र उदास हुन्छन्। आफ्नो प्रदर्शन गर्नलाई किन तिनीहरूमा जोस भएको? अनि सत्यता अभ्यास गर्नलाई चाहिँ किन तिनीहरूसँग कुनै ऊर्जा नभएको? यहाँ समस्या के हो त? मानिसहरू सबैले आफूलाई विशिष्ट देखाउन मन पराउँछन्; तिनीहरू सबै खोक्रो महिमाको लोभ गर्छन्। आशिष्‌ र इनामहरू प्राप्त गर्नका लागि परमेश्वरलाई विश्‍वास गर्ने क्रममा हरेकसँग अपार ऊर्जा हुन्छ, तर पनि सत्यता अभ्यास गर्ने र दैहिकता पन्छाउने कुरामा तिनीहरूले किन जोशजाँगर गुमाउँछन्, तिनीहरू किन उदास बन्छन्? किन यस्तो हुन्छ? यसले मानिसहरूको हृदय अशुद्ध छ भन्‍ने प्रमाणित गर्छ। तिनीहरूले पूर्णतया आशिष्‌हरू प्राप्त गर्नकै लागि परमेश्‍वरमा विश्‍वास गर्छन्—सरल रूपमा भन्दा, तिनीहरूले स्वर्गको राज्यमा प्रवेश गर्नका लागि त्यसो गर्छन्। खोजी गर्नको लागि आशिष्‌ वा लाभ नहुँदा, मानिसहरू जाँगरहीन र उदास बन्छन्, र तिनीहरूसँग कुनै उत्साह हुँदैन। यो सबै सत्यताप्रति दिक्‍क मान्‍ने भ्रष्ट स्वभावले निम्त्याएको हुन्छ। यो स्वभावको नियन्त्रणमा परेपछि, मानिसहरू सत्यता पछ्याउने मार्ग छनौट गर्न मान्दैनन्, तिनीहरू आफ्‍नै बाटोमा लाग्छन्, र गलत मार्ग रोज्छन्—हैसियत र प्रतिष्ठा, नाफा र हैसियतको पछि लाग्‍नु गलत कुरा हो भन्‍ने राम्ररी थाहा भएर पनि तिनीहरू यी कुराहरू नगरी, यी कुरालाई नपन्छाई बस्नै सक्दैनन्, र तिनीहरू अझै तिनकै पछि लाग्छन् र शैतानकै मार्गमा हिँड्छन्। यस्तो अवस्थामा, तिनीहरूले परमेश्‍वरलाई होइन, शैतानलाई पछ्याइरहेका हुन्छन्। तिनीहरूले गर्ने हरेक कुरा शैतानको सेवामा गरिएको हुन्छ, र तिनीहरू शैतानका सेवक हुन्छन्।

के सत्यतादेखि दिक्क हुने भ्रष्ट स्वभावलाई समाधान गर्न सजिलो छ? सत्यतादेखि दिक्क हुनु मानवजातिको गहिरो भ्रष्टताको विशेषता हो, र यो परिवर्तन गर्न सबैभन्दा कठिन छ। किनभने सत्यतालाई स्विकारेर मात्र स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ। जसरी निको नहुने रोगले ग्रस्त व्यक्तिले खाना अस्वीकार गर्छ, त्यसरी नै सत्यतादेखि दिक्क भएको व्यक्तिले सत्यतालाई सजिलै स्विकार्न सक्दैन। यो निकै खतरनाक हुन्छ, र सत्यतादेखि दिक्क भएको व्यक्तिले परमेश्वरमा विश्वास गर्ने भए पनि सजिलै मुक्ति प्राप्त गर्न सक्दैन। यदि कसैले केही वर्षसम्म परमेश्वरमा विश्वास गरेको छ तर उसलाई सत्यता के हो र सकारात्मक कुराहरू के हुन् भनेर थाहा छैन, अनि ऊ मुक्ति प्राप्त गर्न सत्यता पछ्याउनुको जीवनको लक्ष्यबारे स्पष्ट छैन भने, के यो बाटो बिराएको अन्धो मान्छे होइन र? त्यसकारण, सत्यतादेखि दिक्क हुनुले सत्यता स्विकार्न असम्भव तुल्याउँछ, र यस प्रकारको भ्रष्ट स्वभाव परिवर्तन गर्न सजिलो छैन। जो मानिसहरू सत्यता स्विकार्ने र सही मार्ग पछ्याउने निर्णय गर्न सक्छन् तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्, र यस्ता मानिसहरूले आफ्ना भ्रष्ट स्वभावहरूलाई सजिलै परिवर्तन गर्न सक्छन्। यदि कसैमा सत्यतादेखि दिक्क हुने स्वभाव छ, तर उसले हृदयमा अझै पनि परमेश्वरको मुक्ति प्राप्त गर्ने आशा गर्छ भने, उसले कहाँबाट सुरु गर्नुपर्छ? कुन बिन्दुबाट सुरु गर्दा यो सजिलो हुनेछ? सबैभन्दा छिटो मार्ग कुन हो? (सकारात्मक कुराहरू र सिद्धान्तहरू के हुन् भन्ने बुझेपछि, उसले आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्त र मानकहरूलाई आफ्नो मापनको रूपमा प्रयोग गर्नुपर्छ, र यदि केही कुरा सिद्धान्तविपरीत हुन जान्छ र परमेश्वरको इच्छाबमोजिम छैन भने, ऊ सिद्धान्तमै अडिनुपर्छ र त्यो गर्नु हुँदैन।) उसले पहिला हरेक सत्यताका सिद्धान्तहरू बोध गर्नुपर्छ—यो निकै महत्त्वपूर्ण छ। त्यसपछि के त? (जब उसले सत्यतादेखि दिक्क भएको स्थिति प्रकट गर्छ र त्यसमा उसका कर्तव्य र सिद्धान्तहरू समावेश भएका हुन्छन्, तब उसले देहलाई त्याग्नैपर्छ र सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ।) ठिक भनिस्, उसँग एउटा मार्ग हुनैपर्छ, अनि त्यो लक्ष्य र मार्ग स्पष्ट हुनैपर्छ। अहिले, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अधिकांश मानिसहरूलाई कुन प्रसङ्गमा र कुन समयमा तिनीहरूको स्वभावको कुन पक्ष प्रकट हुन्छ, अनि त्यो कसरी प्रकट हुन्छ भन्ने कुरा थाहा छैन। यदि तिनीहरूलाई त्यो सबै थाहा थियो भने, के तिनीहरूलाई परिवर्तन गर्न सजिलो हुन्थेन र? अहिले हेर्दा, वास्तवमा मानिसहरूका विविध प्रकारका सोचाइ र मनोवृतिहरूमा तिनीहरूका स्वभावहरू पर्छन्; विविध स्वभावहरू हाबी नहुने हो भने, तिनीहरूका भ्रष्ट स्वभावहरूद्वारा चुनौती वा बाधा नपुर्याउने हो भने, मानिसहरूलाई आफ्ना गलत सोचहरू सच्याउन सजिलो हुनेथियो। उदाहरणको लागि, मानिलिऊँ तेरी आमाले तँलाई घरबाट निस्कनुअघि पसिना सुकाउनू भन्छिन्। यदि तँ आज्ञाकारी, कर्तव्यनिष्ठ बच्चा होस् भने, तेरी आमाका असल अभिप्रायहरूबारे चाल पाउँदा, तैँले यो सल्लाह सही भएको पनि बुझ्छस् र त्यसको फाइदा थाहा पाउँछस्, अनि त्यसलाई मान्न र स्वीकार गर्न सक्छस्। यदि तँसँग खराब कार्य गर्ने र तँलाई रोक्ने भ्रष्ट स्वभाव छ भने, तँलाई यो सुझाव स्विकार्न सजिलो हुनेछ। लागू गर्नका लागि यो सल्लाह धेरै सरल र सजिलो भए पनि, र तँलाई त्यो ठिक हो भन्ने थाहा भए पनि, तँसँग सत्यतादेखि दिक्क हुने र दुराग्रही स्वभाव भएकोले, यसले तँलाई जानाजानी त्यसविपरीत जाने तुल्याउन सक्छ, र यसले तेरी आमाको भावनामा ठेस पुर्याउन र उनलाई तेरो बारेमा चिन्ता लिने र कष्ट भोग्ने तुल्याउन सक्छ, परिणाम त्यही हो। छोटकरीमा भन्नुपर्दा, व्यक्तिलाई केही आइपर्दा उसले त्यसलाई कसरी सामना गर्छ—उसले सकारात्मक कुराहरूलाई कसरी सम्हाल्छ, अनि उसले आफ्ना भ्रष्ट स्वभावहरूसँग कसरी लड्छ र भिड्छ—यसले सत्यता पछ्याउने उसको सङ्कल्प जनाउँछ। यदि तँसँग यो सङ्कल्प छ र तँ आफ्नो भ्रष्ट स्वभाव हटाउन, सत्यता स्विकार्न, परमेश्वरको वचनलाई तेरो जीवन बनाउन, र मानव स्वरूपमा जिउन तत्पर छस् भने, तँ परिवर्तन हुन सक्छस्। सत्यता पछ्याउने तेरो सङ्कल्प जति ठूलो छ, तेरो परिवर्तन त्यति नै ठूलो हुनेछ।

मुक्तिले मुख्य गरी के जनाउँछ? त्यसले मुख्य गरी स्वभाव परिवर्तनलाई जनाउँछ। व्यक्तिको स्वभाव परिवर्तन भएको छ भने मात्र उसले शैतानको प्रभाव हटाउन र मुक्ति प्राप्त गर्न सक्छ। त्यसकारण, परमेश्वरमा विश्वास गर्नेहरूका लागि स्वभाव परिवर्तन एकदमै ठूलो कुरा हो। जब व्यक्तिको स्वभाव परिवर्तित हुन्छ, उसले मानव स्वरूप जिउनेछ र पूर्ण रूपमा मुक्ति प्राप्त गर्नेछ। यो सम्भव छ कि कोही धेरै सुन्दर, मेधावी, वा प्रतिभाशाली नहुन सक्छ, उसले भद्दा तरिकाले बोल्न सक्छ र ऊ धेरै वाक्पटु नहुन सक्छ, वा उसले राम्रो पहिरन नलगाउन सक्छ, तर उसलाई केही आइपर्दा ऊ सत्यताको खोजी गर्न सक्षम हुन्छ, उसले आफ्नै इच्छाअनुसार व्यवहार गर्दैन वा आफ्नो लागि षडयन्त्र गर्दैन, अनि परमेश्वरले उसलाई कुनै कर्तव्य निर्वाह गर्न आज्ञा गर्दा, उसले उहाँको आज्ञा पालना गर्न र उहाँले उसलाई सुम्पनुभएको कुरा हासिल गर्न सक्छ। तिमीहरूलाई यस्तो व्यक्ति कस्तो लाग्छ? ऊ बाहिरी रूपमा आकर्षक वा रूपले लठ्ठै पार्ने खालको नभए पनि, उसमा परमेश्वरको डर मान्ने र आज्ञा पालना गर्ने हृदय हुन्छ, र यसमा उसका सवल पक्षहरूको खुलासा हुन्छ। यो देख्दा, मानिसहरूले यसो भन्नेछन्, “यो व्यक्तिको स्थिर स्वभाव छ, अनि जब केही आइपर्छ, उसले लापर्बाह नभई वा कुनै बेबकुफ वा मूर्ख काम नगरी परमेश्वरसामु चुपचाप खोजी गर्न सक्छ। उसमा गम्भीर र जिम्मेवार मनोवृति छ; ऊ कर्तव्यनिष्ठ छ र उसले इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्न आफूलाई पूर्ण रूपले समर्पित गराउन सक्छ।” यो व्यक्ति कसरी बोल्ने र व्यवहार गर्ने भन्नेमा बाधित छ, उसमा सामान्य चेतना छ, र ऊ जे जिउँछ र उसले जे स्वभाव देखाउँछ त्यसको आधारमा, उसँग परमेश्वरको डर मान्ने हृदय छ। यदि उसमा परमेश्वरको डर मान्ने हृदय छ भने, के उसले गर्ने कार्यहरूमा सिद्धान्तहरू छन्? उसले पक्कै सिद्धान्तहरू खोज्छ र लापर्बाहीपूर्वक गलत कार्यहरूमा संलग्न हुँदैन। सत्यताको अभ्यास र स्वभाव परिवर्तनको खोजी गरेर हासिल गरिएको अन्तिम परिणाम यही हो। उसको बोली तौलिएको र सही छ, ऊ लापर्बाहीपूर्वक बोल्दैन, ऊ विश्वास लाग्दो र भरोसायोग्य तरिकाले कार्य गर्छ, र उसमा परमेश्वरप्रति आज्ञाकारिता र दुष्टताबाट अलग बस्ने वास्तविकता छ। यी सबै प्रकटीकरणहरू यो व्यक्तिमा देख्न सकिन्छ। यो त्यो व्यक्ति हो जो सत्यताको वास्तविकताभित्र प्रवेश गरेको छ, र जसको स्वभाव परिवर्तन भएको छ। यी कुराहरूको नक्कल गर्न सकिँदैन। व्यक्तिको स्वभाव उसको जीवन हो; व्यक्तिमा जस्तो स्वभाव छ, उसको व्यवहार त्यही हुनेछ। मानिसका व्यवहार र प्रकटीकरणहरू तिनीहरूका स्वभावहरूद्वारा शासित हुन्छन्, अनि मानिसहरूले जे कुरा निरन्तर रूपमा व्यक्त गर्छन् त्यो तिनीहरूको स्वभाव हो, चरित्र होइन। स्वभावगत समस्याहरू र विविध भ्रष्ट स्वभावहरूका प्रकटीकरणहरू चिन्न सक्नु, अनि तिनलाई सत्यताको खोजी गरेर समाधान गर्नु नै व्यक्तिले स्वभाव परिवर्तनको खोजीमा हासिल गर्नैपर्ने सबैभन्दा आधारभूत कुरा हो।

अंश ५१

तैँले जुनै प्रकारको कर्तव्य निभाए पनि वा जुनै प्रकारको पेशाबारे अध्ययन गरे पनि, जति अध्ययन गर्छस्, तँ त्यति नै दक्ष हुनुपर्छ, र पोख्त हुनका लागि प्रयास गर्नुपर्छच; तब तेरो कर्तव्य निर्वाह झन्-झन् राम्रो हुँदै जानेछ। केही मानिस कुनै पनि कर्तव्य निभाउन सचेत हुँदैनन्, र आफूले सामना गर्ने कुनै पनि कठिनाइ समाधान गर्न सत्यता खोज्दैनन्। तिनीहरू सधैँ अरूको डोऱ्याइ र सहयोग चाहन्छन्, यहाँसम्म कि आफूले कुनै कोसिसै नगरी अरूले हात समातेर सिकाइदिएको र काम गरिदिएको माग गर्छन्। तिनीहरू लगातार अरूमा भर पर्छन् र अरूको सहयोगविना केही गर्न सक्दैनन्। यसो गर्दा तिनीहरू निकम्मा हुन्छन्, होइन र? तैँले जुनै कर्तव्य निर्वाह गरिहेको भए पनि, परिस्थिति अध्ययन गर्नमा आफ्नो हृदय लगाउनुपर्छ। यदि तँमा व्यावसायिक ज्ञानको कमी छ भने, व्यावसायिक ज्ञान अध्ययन गर्। यदि तँ सत्यता बुझ्दैनस् भने, सत्यता खोजी गर्। तैँले सत्यता बुझिस् र व्यावसायिक ज्ञान हासिल गरिस् भने, आफ्नो कर्तव्य निर्वाह गरेर परिणामहरू प्राप्त गर्न तैँले ती कुरा प्रयोग गर्न सक्‍नेछस्। यस्तो व्यक्ति नै साँचो प्रतिभा र वास्तविक ज्ञान भएको व्यक्ति हुन्छ। यदि तँ आफ्नो कर्तव्यको दौरान कुनै व्यावसायिक ज्ञान अध्ययन गर्दैनस्, सत्यता पछ्याउँदैनस् भने, तैँले दिने सेवा पनि निम्‍नस्तरको हुनेछ; त्यसैले, कसरी तँ आफ्नो कर्तव्य निर्वाह गर्नेबारे कुरा गर्न सक्छस्? आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न, तैँले थुप्रै उपयोगी ज्ञान अध्ययन गर्नैपर्छ र आफूलाई धेरै सत्यताले सुसज्‍जित पार्नैपर्छ। तैँले सिक्‍न कहिल्यै छोड्नु हुँदैन, अनि खोजी गर्न र अरूबाट सिकेर आफ्नो कमजोरी सुधार्न कहिल्यै छोड्नै हुँदैन। अरू मानिसहरूको सामर्थ्य जस्तो भए पनि, वा उनीहरू तँभन्दा जुनै तरिकामा बलिया भए पनि, तैँले उनीहरूबाट सिक्‍नुपर्छ। अनि तैँले अझ बढ्तासँग आफूभन्दा राम्रो सत्यता बुझ्ने जो कोहीबाट सिक्‍नुपर्छ। तैँले निकै वर्षसम्म यसरी आफ्नो कर्तव्य निर्वाह गरेर सत्यता बुझ्नेछस् र यसका वास्तविकताहरूमा प्रवेश गर्नेछस्, अनि तेरो कर्तव्यपालन पनि स्तरीय हुनेछ। अनि, तँ सत्यता र मानवता भएको व्यक्ति, सत्यता वास्तविकता भएको व्यक्ति बनेको हुनेछस्। यो सत्यताको पछि लागेर प्राप्त कुरा हो। तैँले कर्तव्य निर्वाह नगरी यस्ता परिणामहरू कसरी पाउन सक्छस्? यो परमेश्वरको महिमा हो। यदि तँ कर्तव्य निभाउँदा सत्यता पछ्याउँदैनस् र सेवा गरेर मात्र सन्तुष्ट हुन्छस् भने, परिणाम के हुनेछ? एकातर्फ, तैँले आफ्नो कर्तव्य पर्याप्त मात्रामा निभाउनेछैनस्। अर्कोतर्फ, तँमा साँचो अनुभवात्मक गवाही हुनेछैन र तैँले सत्यता प्राप्त गर्नेछैनस्। यी कुनै पनि सन्दर्भमा, तँसँग देखाउने केही नभएपछि, के तैँले परमेश्वरको अनुमोदन पाउन सक्छस् र? त्यो असम्भव हुनेछ। तसर्थ, व्यक्तिले सेवा चढाई सन्तुष्ट भएर परमेश्वरको अनुमोदन पाउनै सक्दैन। तैँले सेवा गरेर मात्र इनाम पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सकिन्छ भनेर सोच्नु अभिलाषी सोच हो! त्यो कस्तो मनोवृत्ति हो? सेवा मात्र गरेर आशिष पाउन खोज्नु स्पष्टतः परमेश्वरसँग मोलतोल गर्नु हो, परमेश्वरलाई झुक्क्याउने प्रयास हो। परमेश्वरले त्यस्ता सेवाकर्तालाई स्विकार्नुहुन्न। कुनै व्यक्ति कर्तव्य निर्वाहमा लापरवाह र झाराटारुवा हुँदा, वा छलमा संलग्न हुँदा, ऊ कस्ता स्वभावहरूद्वारा नियन्त्रित हुन्छ? अहङ्कार, हठीपन र सत्यतालाई प्रेम नगर्नु—के तिनीहरू यी कुराहरूद्वारा नियन्त्रित हुँदैनन् र? (हुन्छन्।) के तिमीहरू पनि यस्ता कुराहरू प्रकट गर्छौ? (गर्छौँ।) बारम्बार, कहिलेकाँहीँ कि केवल निश्चित मामिलाहरूमा प्रकट गर्छौ? (बारम्बार।) यस्ता स्थितिहरूलाई स्विकार्ने तिमीहरूको मनोवृत्ति निकै सच्चा छ, र तिमीहरूसँग इमानदार हृदय छ, तर तिनलाई स्विकार्नु मात्र पर्याप्त हुँदैन; त्यसले तिनलाई बदल्नेछैन। त्यसैले, तिनलाई बदल्न के गर्नैपर्छ? आफ्नो कर्तव्य निर्वाहमा, जब तिमीहरू लापरवाह र झाराटारुवा हुन्छौ, अहङ्कारी स्वभाव प्रकट गर्छौ, वा अनादरपूर्ण मनोवृत्ति राख्छौ, तब तिमीहरूले तुरुन्तै परमेश्वरसामु आएर प्रार्थना गर्नैपर्छ, आत्मचिन्तन गर्नुपर्छ र आफूले कस्तो खालका भ्रष्ट स्वभावहरू प्रकट गरिरहेका छु भनेर बुझ्नैपर्छ। यसबाहेक, तिमीहरूले त्यस्तो स्वभाव कसरी पैदा हुन्छ र त्यसलाई कसरी बदल्न सकिन्छ भनेर बुझ्नैपर्छ। यसलाई बुझ्नुको उद्देश्य परिवर्तन ल्याउनु हो। त्यसैले, परिवर्तन ल्याउन के गर्नुपर्छ? व्यक्तिले परमेश्वरका वचनहरूको खुलासा र न्यायद्वारा आफ्नो भ्रष्ट स्वभावहरूको सार कति कुरूप र दुष्ट छ, शैतान र दियाबलसभन्दा फरक छैन भनेर जान्नैपर्छ। तब मात्र उसले आफूलाई र शैतानलाई घृणा गर्न सक्छ, त्यसपछि मात्र उसले आफूलाई र शैतानलाई त्याग्न सक्छ। यसरी कुनै व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ। जब व्यक्तिले सत्यता अभ्यास गर्ने मन बनाउँछ, तब परमेश्वरको जाँच र अनुशासन पनि स्विकार्नैपर्छ। त्यसपछि उसको तर्फबाट पनि सक्रिय सहकार्यको माहोल बन्नैपर्छ। उसले कसरी सहकार्य गर्नुपर्छ? कर्तव्य निभाउँदा, “त्यो पर्याप्त छ” भन्ने सोचाइ आउनेबित्तिकै, उसले त्यो सच्याउनैपर्छ। उसले त्यस्ता सोचाइहरू राख्नै हुँदैन। जब अहङ्कारी स्वभाव उत्पन्न हुन्छ, तब उसले परमेश्वरलाई प्रार्थना गर्ने, आफ्नो भ्रष्ट स्वभाव स्विकार्ने, झट्टै आत्मचिन्तन गर्ने, परमेश्वरको वचन खोज्ने, अनि उहाँको न्याय र सजाय स्विकार्ने गर्नैपर्छ। यसरी, ऊ पश्चात्तापी हृदय प्राप्त गर्न सक्षम हुनेछ र उसको भित्री स्थिति बदलिएको हुनेछ। यो गर्नुको उद्देश्य के हो? यसको उद्देश्य तँलाई सच्चा रूपमा परिवर्तन हुन, वफादारीसाथ कार्य गर्न सक्षम पार्न, अनि बिनासर्त परमेश्वरको हप्की र अनुशासन पालन गर्न र स्विकार्न लगाउनु हो। यसो गर्दा तेरो स्थिति उल्टिनेछ। जब तँ फेरि लापरवाह र झाराटारुवा हुन, अनि कर्तव्यहरूलाई अनादरपूर्ण मनोवृत्तिले व्यवहार गर्न लागेको हुन्छस्, तब यदि तँ परमेश्वरको अनुशासन र हप्कीको कारण तुरुन्तै परिवर्तित हुन सक्छस् भने, के तँ अपराध गर्नबाट जोगिएको हुनेछैनस् र? यो तेरो जीवन वृद्धिका लागि राम्रो कुरा हो कि नराम्रो कुरा? यो राम्रो कुरा हो। जब तँ सत्यता अभ्यास गरेर परमेश्वरलाई सन्तुष्ट पार्छस्, तब तेरो हृदय ढुक्क, आनन्दित र पछुतोमुक्त हुनेछ। त्यो सच्चा शान्ति र आनन्द

मानिसहरूमा भ्रष्ट स्वभावहरू हुँदा, तिनीहरू सजिलै परमेश्वरलाई अवज्ञा र प्रतिरोध गर्छन्, तर यसको अर्थ तिनीहरूको मुक्ति पाउने आशा छैन भन्ने होइन। परमेश्वर मानिसहरूलाई मुक्ति दिने काम गर्न आउनुभएको छ र उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ; सबैभन्दा महत्त्वपूर्ण कुरा मानिसहरू यी सत्यताहरू स्विकार्न सक्छन् कि सक्दैनन् भन्ने हो। यदि व्यक्तिले सत्यता स्विकार्न सक्छ भने, मुक्ति पाउन सक्छ। यदि ऊ सत्यता स्विकार्दैन अनि परमेश्वरलाई इन्कार गर्न र धोका दिन सक्छ भने, ऊ पुरै समाप्त हुन्छ—उसले विपत्तिमा नष्ट हुने दिन कुर्नुबाहेक केही गर्न सक्दैन। यो नियतिबाट कोही पनि उम्कन सक्दैन। मानिसहरूले यो वास्तविकता भोग्नैपर्छ। केही मानिस भन्छन्, “म निरन्तर भ्रष्ट स्वभाव प्रकट गर्छु, र म कहिल्यै परिवर्तित हुन सक्दिनँ। म के गरूँ? के म यस्तै हुँ? के परमेश्वर मलाई मन पराउनुहुन्न? के उहाँले मलाई तिरस्कार गर्नुहुन्छ?” के यो सही खाले मनोवृत्ति हो? के यो सोच्ने सही तरिका हो? (होइन।) जब व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छन्, तब उसले त्यो स्वभाविक रूपमा प्रकट गर्नेछ। उसले चाहेर पनि त्यसलाई रोक्न सक्दैन, र त्यसैले उसलाई आफू आशाहीन भएको महसुस हुन्छ। वास्तवमा, कुरा यही हुनुपर्छ भन्ने छैन। यो त व्यक्तिले सत्यता स्विकार्न सक्छ कि सक्दैन, परमेश्वरमा भर पर्न उहाँको बाटो हेर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ।मानिसहरूले प्रायजसो भ्रष्ट स्वभाव प्रकट गर्नुले तिनीहरूको जीवन शैतानको भ्रष्ट स्वभावद्वारा नियन्त्रित छ, र तिनीहरूको सार शैतानको सार हो भन्‍ने प्रमाणित गर्छ। मानिसहरूले यो तथ्यलाई मान्‍नु र स्वीकार गर्नुपर्छ। मानिसको प्रकृति सार र परमेश्‍वरको सारमा भिन्‍नता छ। यो तथ्यलाई स्वीकार गरेपछि तिनीहरूले के गर्नुपर्छ? जब मानिसहरू भ्रष्ट स्वभावलाई प्रकट गर्छन्; जब उनीहरू शरीरको आनन्दमा लिप्त हुन्छन् र परमेश्‍वरबाट टाढा हुन्छन्; वा जब परमेश्‍वरले उनीहरूका आफ्नै विचारहरूसँग मेल नखाने गरी काम गर्नुहुन्छ, र उनीहरूभित्र गुनासाहरू उत्पन्‍न हुन्छन्, तब यो एउटा समस्या हो, र एउटा भ्रष्ट स्वभाव हो; यो परमेश्‍वरको विरुद्धमा विद्रोह हो, परमेश्‍वरको विरोध हो; यो सत्यसँग मेल खाँदैन, यो परमेश्‍वरद्वारा घृणित कुरा हो भनी तिनीहरूले आफूले आफैलाई तुरुन्तै सचेत गराउनुपर्छ। जब मानिसहरूले यी कुराहरू महसुस गर्छन्, उनीहरूले गुनासो गर्नु हुँदैन, वा नकारात्मक बनेर झारा टार्नु हुँदैन, र उनीहरू दुःखी त झन् हुनै हुँदैन; यसको सट्टा, उनीहरू आफैलाई अझै गहन रूपमा चिन्न सक्षम बन्‍नुपर्छ। यसको अतिरिक्त, उनीहरू सक्रिय रूपमा परमेश्‍वरको सामु आउन र परमेश्वरको निन्दा र ताडना स्विकार्न सक्षम हुनुपर्छ। र उनीहरूले तुरुन्तै आफ्नो अवस्थालाई यसरी उल्टाउनुपर्छ कि उनीहरू सत्यता र परमेश्‍वरको वचनअनुसार अभ्यास गर्न, र सिद्धान्तअनुसार कार्य गर्न सक्षम होऊन्। यस प्रकारले, परमेश्‍वरसितको तेरो सम्बन्ध झन्-झन् सामान्य हुनेछ, त्यसरी नै तँभित्रको स्थिति पनि वृद्धि हुनेछ। तैँले भ्रष्ट स्वभाव, भ्रष्टताको सार, र शैतानका विभिन्‍न भ्रष्ट स्थितिहरूलाई अझ स्पष्टसँग चिन्‍न सक्‍नेछस्। अबउप्रान्त तैँले मूर्ख र केटाकेटीले बोलेजस्तो गरी “शैतानले मलाई हस्तक्षेप गरिरहेको थियो,” वा “यो शैतानले मलाई दिएको एक विचार थियो।” भनेर बोल्नेछैनस्। यसको सट्टा, तँसित भ्रष्ट स्वभावहरूको, परमेश्‍वरलाई विरोध गर्ने मानव सारको, र शैतानको सारको सही ज्ञान हुनेछ। तँसित यी कुराहरूलाई सम्हाल्‍ने अझ सही तरिका हुनेछ, र यी कुराहरूले तँलाई बाधा दिनेछैनन्। तैँले थोरै भ्रष्ट स्वभाव प्रकट गरेकोले, वा अपराध गरेकोले, वा आफ्नो कर्तव्य झारा टार्ने तरिकामा गरेकोले, वा बारम्बार आफैलाई निष्क्रिय, नकारात्मक स्थितिमा पाउँदा तँ कमजोर हुनेछैनस् वा परमेश्वरमा र उहाँको मुक्तिमा विश्वास गुमाउनेछैनस्। तँ त्यस्ता स्थितिहरूबीच जिउनेछैनस्, बरु तेरो आफ्नै भ्रष्ट स्वभावलाई सही ढङ्गले सामना गर्नेछस्, र सामान्य आत्मिक जीवन जिउन सक्षम हुनेछस्। व्यक्तिले भ्रष्ट स्वभावहरू प्रकट गर्दा, यदि ऊ उप्रान्त आफ्ना भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रण र बन्धनमा नपर्न, बरु सत्यता अभ्यास गर्न सक्नका लागि आत्मचिन्तन गर्न, परमेश्वरसामु आई प्रार्थना गर्न, सत्यता खोज्न, अनि आफ्नो भ्रष्ट स्वभावको सार खुट्टयाउन र विश्लेषण गर्न सक्छ भने, ऊ मुक्तिको मार्गमा हिँडेको हुनेछ। व्यक्तिले यस्तो अभ्यास र अनुभव गर्दा, आफ्नो भ्रष्ट स्वभाव हटाउन सक्छ र ऊ शैतानको प्रभावबाट मुक्त हुन्छ। के त्यसपछि ऊ परमेश्वरसामु जिउन आएको अनि उसले स्वतन्त्रता र मुक्ति पाएको हुँदैन र? यो सत्यता अभ्यास र सत्यता प्राप्तिको मार्ग, साथै मुक्तिको मार्ग हो। भ्रष्ट स्वभावहरू मानिसहरूमा गहन रूपले गढिएका हुन्छन्; शैतानको सार र प्रकृतिले मानिसहरूको सोच, व्यवहार र दिमागलाई नियन्त्रण गर्छ। तर, यो सबै कुरा सत्यता, परमेश्वरको काम र मुक्तिसामु फिका पर्न जान्छ; यसले कुनै बाधा दिँदैन। व्यक्तिमा जेजस्तो भ्रष्ट स्वभाव हुन सक्ने भए पनि, तिनीहरूले जस्तोसुकै कठिनाइ भोग्ने भए पनि, तिनीहरूलाई जेजस्तो रोकावट भए पनि, लिन मिल्ने मार्ग, ती कुराहरू हटाउने विधि छ र सम्बन्धित सत्यताहरू छन्। यसरी, के मानिसहरूले मुक्ति पाउने आशा छैन र? छ, मानिसहरूले मुक्ति पाउने आशा छ।

अंश ५५

व्यक्तिले कर्तव्य निभाइरहेको भए पनि वा पेशागत ज्ञान सिकिरहेको भए पनि, ऊ लगनशील हुनुपर्छ, र उसले कामकुराहरू सिद्धान्तअनुसार सम्हाल्नुपर्छ। यी कुराहरूलाई लापारवाहीसाथ लिने वा झारा टार्ने काम नगर्। पेशागत ज्ञान अध्ययन गर्नु भनेको व्यक्तिले आफ्नो कर्तव्य राम्रोसित निभाउनको लागि हो, र व्यक्तिले यसमा प्रयास लगाउनैपर्छ—यो यस्तो कुरा हो, जसमा मानिसहरूले सहकार्य गर्नुपर्छ। यदि व्यक्ति आफ्नो कर्तव्य राम्ररी निभाउन अनिच्छुक बन्छ र पेशागत ज्ञान अध्ययन नगर्न सधैँ बहाना बनाउँछ भने, यसले देखाउँछ कि उसले आफूलाई इमानदारीसाथ परमेश्‍वरमा अर्पित गरेको छैन, र ऊ उहाँको प्रेमको ऋण तिर्न आफ्नो कर्तव्य राम्ररी निभाउन चाहँदैन। के यो विवेक र समझ नभएको व्यक्ति होइन र? के यस्तो चरित्र भएको व्यक्ति समस्याजनक हुँदैन र? के उसलाई व्यवस्थापन गर्न अत्यन्तै गाह्रो हुँदैन र? व्यक्तिले जुनै पेशा अध्ययन गरिरहेको भए पनि, उसले सत्यता खोज्ने र सत्यता सिद्धान्तहरूअनुरूप काम गर्ने पनि गर्नुपर्छ। ऊ यो दायराबाहिर जानु हुँदैन, र अविश्‍वासीहरूझैँ अलमल्ल पर्नु हुँदैन। यी अविश्‍वासीहरूको कामप्रति कस्तो मनोवृत्ति हुन्छ? तिनीहरूमध्ये धेरैजसो, दिनभरि बरालिँदै हिँड्ने र समय बर्बाद गर्ने, हरेक दिन न्यूनतम ज्यालाको निम्ति अल्याङ्टल्याङ गर्दै हिँड्ने, र सकेसम्म लापरवाही तरिकामा काम गर्ने गर्छन्। तिनीहरू कार्यकुशलता, वा विवेकको आधारमा गर्नुपर्ने कार्य-व्यवहारप्रति वास्ता गर्दैनन्, र तिनीहरूमा गम्भीर र जिम्मेवार मनोवृत्ति हुँदैन। तिनीहरू “यो मलाई सुम्पिइएको छ, त्यसैले यो नसक्किएसम्म मैले यसको जिम्मा लिनुपर्छ, यो मामला राम्ररी सम्हाल्नुपर्छ, र यो जिम्मेवारी काँधमा लिनुपर्छ” भनेर भन्दैनन्। तिनीहरूमा यस्तो विवेक हुँदैन। यसबाहेक अविश्‍वासीहरूसँग निश्‍चित किसिमको भ्रष्ट स्वभाव हुन्छ। जब तिनीहरूले अन्य मानिसहरूलाई पेशागत ज्ञान वा सिप सिकाउँछन्, तिनीहरू यस्तो विचार गर्छन्, “आफ्नो गुरुको सबै भेद चेलाले थाहा पाएपछि, उसको गुरुले आफ्‍नो रोजीरोटी गुमाउँछ। यदि मैले जानेका सबै कुरा अरूलाई सिकाएँ भने, कसैले पनि मलाई फेरि उच्‍च नजरले हेर्ने वा प्रशंसा गर्नेछैनन् र मैले शिक्षकको रूपमा आफ्नो सबै हैसियत गुमाउनेछु। यसरी हुँदैन। मलाई थाहा भएको सबै कुरा मैले तिनीहरूलाई सिकाउनु हुँदैन, मैले केही कुरा त लुकाउनुपर्छ। मैले तिनीहरूलाई आफूले जानेको असी प्रतिशत मात्र सिकाउनुपर्छ र बाँकी कुरालाई आफूसँगै गोप्य राख्‍नुपर्छ; मेरा सीपहरू अरूको भन्दा उत्तम छन् भनेर देखाउने यो एकमात्र तरिका हो।” यो कस्तो किसिमको स्वभाव हो? यो छलीपन हो। अरूलाई शिक्षा दिँदा, सहयोग गर्दा, वा आफूले सिकेको कुरा बताउँदा, तँमा कस्तो मनोवृत्ति हुनुपर्छ? (मैले कुनै कसर छोड्नु हुँदैन, र कुनै कुरा लुकाउनु हुँदैन।) कुरा नलुकाउन व्यक्तिले के गर्नुपर्छ? यदि तँ “आफूले सिकेका कुराहरूको मामलामा म केही लुकाउदिनँ, र तिमीहरू सबैलाई तीबारे भन्न मलाई केही समस्या छैन। यसै पनि, म तिमीहरूभन्दा राम्रो क्षमताको छु, र म योभन्दा उच्च कुराहरू बुझ्न सक्छु” भनेर भन्छस् भने, त्यो अझै पनि कुरा लुकाउनु र स्वार्थी हुनु नै हो। अथवा, यदि तँ “म तिमीहरूलाई मैले सिकेका सबै आधारभूत कुराहरू सिकाउँछु, त्यो ठूलो कुरै हैन। मसँग अझै पनि उच्च ज्ञान छ, र तिमीहरूले यो सबै सिक्यौ भने पनि, तिमीहरू मजत्तिको सिपालु हुनेछैनौ” भनेर भन्छस् भने—यो अझै पनि केही कुरा लुकाउनु नै हो। यदि कुनै व्यक्ति अति स्वार्थी छ भने, ऊ परमेश्‍वरको आशिष्‌रहित हुनेछ। मानिसहरूले परमेश्‍वरको इच्छाको ख्याल राख्न जान्नुपर्छ। तैँले आफुले बुझेको सबैभन्दा महत्त्वपूर्ण र आवश्यक कुरा परमेश्‍वरको घरलाई योगदान दिनुपर्छ, ताकि परमेश्‍वरका चुनिएकाहरू ती कुराहरू सिकेर तिनमा निपुण हुन सकून्—परमेश्‍वरको आशिष् प्राप्त गर्ने यो एकमात्र तरिका हो, अनि उहाँले तँमाथि अझ धेरै कुराहरू बर्साउनुहुनेछ। भनिन्छ नि, “लिनुभन्दा पनि दिनु बढी आशिषित हुनु हो।” आफ्ना सबै प्रतिभा र वरदानहरू परमेश्‍वरमा समर्पित गर्, तिनलाई आफ्नो कर्तव्य निभाउँदा प्रदर्शन गर् ताकि सबैले लाभ उठाउन सकून्, र आफ्नो कर्तव्यमा परिणामहरू हासिल गर्न सकून्। यदि तैँले सम्‍पूर्ण रूपमा आफ्ना वरदान र प्रतिभाहरू योगदान गर्छस् भने, त्यस्तो कर्तव्य निभाउने सबैलाई र मण्डलीको कामलाई ती लाभदायक हुनेछन्। हरेकलाई केही सामान्य कुराहरू मात्र भनेर आफूले खुब राम्रो गरेको छु वा केही लुकाएको छैन भनेर नसोच—यसो गरेर काम चल्दैन। तैँले मानिसहरूले अक्षरशः बुझ्‍न सक्‍ने केही सिद्धान्त वा कुराहरू मात्र सिकाउन सक्छस्, तर ती सार वा महत्त्वपूर्ण बुँदाहरू सिकारुहरूले बुझ्न नसक्‍ने हुन्छन्। तैँले विस्तारमा नबताई वा विस्तृत विवरण नदिई अझ पनि सारांश मात्र दिन्छस् र यस क्रममा तैँले मनमनै सोच्छस् “जे भए पनि मैले तिमीलाई बताएको छु र केही कुरा पनि जानीजानी लुकाएको छैनँ। यदि तिमीले बुझेनौ भने तिम्रो क्षमता अत्यन्तै कमजोर भएर हो, यसैले मलाई दोष नदेऊ। परमेश्‍वरले तिमीलाई कसरी अगुवाइ गर्नुहुन्छ भन्‍ने कुरा मात्र हामीले हेर्नुपर्छ।” यस्तो सोचविचारमा कपट समावेश हुन्छ, होइन र? के यो स्वार्थी र नीच होइन र? तेरो हृदयमा भएको र तैँले बुझ्‍ने कुराहरू किन मानिसहरूलाई सिकाउन सक्दैनस्? यसको साटो, तैँले ज्ञानलाई किन लुकाउँछस्? यो तेरा अभिप्रायहरू र तेरो स्वभावमा भएको समस्या हो। जब धेरै मानिसहरूलाई पेशागत ज्ञानको कुनै विशेष पक्षको परिचय पहिलोपटक दिइन्छ, तिनीहरूले त्यसको शाब्दिक अर्थ मात्र बुझ्छन्; मुख्य बुँदा र सार बुझ्‍नको निम्ति केही समयको अभ्यास चाहिन्छ। यदि तैँले यी सूक्ष्म बुँदाहरूलाई पहिले नै राम्ररी बुझेको छस् भने, तैँले अरूलाई ती सिधै बताउनुपर्छ; तिनीहरूलाई घुमाउरो बाटो हिँड्ने र छामछामछुमछुम गर्दै धेरै समय बिताउने नबना। यो तेरो जिम्मेवारी हो; तैँले गर्नुपर्ने कुरा यही हो। यदि तैँले आफूलाई लागेका मुख्य बुँदाहरू र सार भनिस् भने मात्र तैँले केही नलुकाइरहेको वा तँ स्वार्थी नभइरहेको हुनेनस्। तिमीहरूले अरूलाई सीपहरू सिकाउँदा, आफ्नो पेशाबारे बताउँदा, वा जीवन प्रवेशबारे सङ्गति गर्दा, यदि तिमीहरू आफ्ना भ्रष्ट स्वभावहरूका स्वार्थी र घृणित पक्षहरू समाधान गर्न सक्दैनौ भने, तिमीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निभाउन सक्नेछैनौ, र त्यस्तो अवस्थामा, तिमीहरू मानवता वा विवेक र समझ भएका, वा सत्यता अभ्यास गर्ने मानिसहरू होइनौ। तैँले आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न सत्यता खोज्नैपर्छ, र स्वार्थी अभीप्रायरहित बिन्दुमा पुगेर परमेश्‍वरको इच्छाबारे मात्र विचार गर्नुपर्छ। यो तरिकामार्फत, तँसँग सत्यता वास्तविकता हुनेछ। यदि मानिसहरूले सत्यता पछ्याएनन् र अविश्‍वासीहरूले झैँ शैतानी दर्शनहरूसाथ जिए भने, त्यो अति थकाइलाग्दो हुनेछ। अविश्‍वासीहरूमाझ प्रतिस्पर्धा व्याप्त हुन्छ। कुनै पनि सीप वा व्यवसायको सारज्ञानमा पोख्त हुनु चानचुने कुरा होइन, र अरू कसैले यो कुरा पत्ता लगाएर यसमा पोख्त भयो भने, तेरो रोजीरोटी खतरामा पर्नेछ। रोजीरोटी रक्षा गर्नको लागि, मानिसहरू यस्तो व्यवहार गर्न उत्प्रेरित हुन्छन्। तिनीहरू सधैँ सतर्क रहनुपर्छ—तिनीहरू जेमा पोख्त छन् त्यो तिनीहरूको सबभन्दा मूल्यवान् कुरा हो, त्यो तिनीहरूको रोजीरोटी, पूँजी, जीवन धान्‍ने आधार हो, र तिनीहरूले यो कसैको हातमा पर्न दिनु हुँदैन। तर तँ परमेश्‍वरमा विश्‍वास गर्छस्—यदि तैँले परमेश्‍वरको घरमा यसरी सोच्छस् र व्यवहार गर्छस् भने, तँ अविश्‍वासीभन्दा केही फरक छैनस्। यदि तैँले सत्यता पटक्कै स्विकार्दैनस् भने, र शैतानी दर्शनसाथ जिउन जारी राख्छस् भने, तँ साँच्‍चिकै परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होइनस्। कर्तव्य निभाउँदा, यदि तँसँग सधैँ स्वार्थी अभिप्रायहरू हुन्छन् र तँ छुद्र मानसिकताको बन्छस् भने, तैँले परमेश्‍वरको आशिष् पाउनेछैनस्।

परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तैँले परमेश्‍वरका वचनहरू खाएको र पिएको छस्, र परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकारेको छस्, तर के तैँले आफ्ना भ्रष्ट स्वभावहरूबारे चिन्तन गरेर तिनलाई चिनेको छस् त? के तेरा बोली र कार्यका सिद्धान्तहरू, विभिन्‍न कुराहरूप्रतिका तेरा दृष्टिकोणहरू र तेरो आचरणका सिद्धान्त र उद्देश्यहरू परिवर्तित भएका छन्? यदि तँ अझै पनि अविश्‍वासीभन्दा फरक छैनस् भने, परमेश्‍वरले तेरो उहाँमाथिको विश्‍वासलाई चिन्नुहुनेछैन। उहाँले तँ अझै पनि अविश्‍वासी होस्, र तँ अझै पनि अविश्‍वासीको मार्गमा हिँडिरहेको छस् भन्नुहुनेछ। त्यसैले, चाहे तेरो आचरणमा होस् वा चाहे तेरो कर्तव्यपालनमा होस्, तैँले परमेश्‍वरका वचनहरूमा आधारित भएर, र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ, अनि सत्यता प्रयोग गरेर समस्याहरू सुल्झाउनुपर्छ, आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू समाधान गर्नुपर्छ, र आफ्ना त्रुटिपूर्ण विचार, दृष्टिकोण र अभ्यासहरू हटाउनुपर्छ। एक हिसाबले, तैँले आत्मचिन्तन र आत्मपरिक्षण गरेर समस्याहरू पत्ता लगाउनुपर्छ। अर्को हिसाबले, तैँले समस्याहरू समाधान गर्न सत्यता पनि खोज्नुपर्छ, र भ्रष्ट स्वभावहरू भेट्टाउँदा, तैँले तिनलाई तुरुन्तै समाधान गर्नुपर्छ, र तैँले आफ्नो दैहिकता र आफ्नो इच्छा त्याग्नुपर्छ। एकपटक आफ्ना भ्रष्ट स्वभावहरू समाधान गरिसकेपछि, तैँले तिनमा आधारित भएर कार्य गर्नेछैनस्, र तँ आफ्ना अभिप्राय र रुचिहरू छोड्न, अनि सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्षम हुनेछस्। परमेश्‍वरको साँचो अनुयायीमा हुनुपर्ने सत्यता वास्तविकता यही हो। यदि तँ आत्मचिन्तन गर्न, आफूलाई चिन्न, र यसरी समस्या समाधान गर्न सत्यता खोज्न सक्छस् भने, तँ सत्यता पछ्याउने व्यक्ति होस्। परमेश्‍वरमा विश्‍वास गर्न यस्तो सहकार्य चाहिन्छ, र यसरी अभ्यास गर्न सक्दा परमेश्‍वरबाट सबैभन्दा धेरै आशिषित भइन्छ। म किन यस्तो भन्दै छु? किनभने, तँ मण्डलीको कामको खातिर, परमेश्‍वरको घर र ब्रदर-सिस्टरहरूको हितको खातिर कार्य गरिरहेको छस्, र साथसाथै, तँ सत्यता अभ्यास पनि गरिरहेको छस्। परमेश्‍वरले अनुमोदन गर्नुहुने कुरा नै ठ्याक्कै यही हो; यी असल कार्यहरू हुन्, र यसरी सत्यता अभ्यास गरेर, तैँले परमेश्‍वरको गवाही दिइरहेको हुन्छस्। यद्यपि, यदि तैँले यसो गर्दैनस् भने, र तँ अविश्‍वासीहरूभन्दा फरक छैनस् भने, र यदि कामकुराहरू सम्हाल्न तैँले अविश्‍वासीहरूका सिद्धान्त, विधि र आचरणहरूअनुसार कार्य गरिरहेको छस् भने, के यो गवाही दिनु हो त? (होइन।) यसले के-कस्ता परिणामहरू ल्याउँछ? (यसले परमेश्‍वरलाई अपमानित तुल्याउँछ।) यसले परमेश्‍वरलाई अपमानित तुल्याउँछ! तँ यसले परमेश्‍वरलाई अपमानित तुल्याउँछ भनेर किन भन्छस्? (किनकि परमेश्‍वरले हामीलाई चुन्नुभएको छ, कति धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, हामीलाई व्यक्तिगत रूपमा अगुवाइ, भरणपोषण र मलजल गर्नुभएको छ, तैपनि हामी सत्यता स्विकार्ने वा अभ्यास गर्ने गर्दैनौँ, र हामी अझै पनि शैतानी कुराहरूमै आधारित भएर जिउँछौँ, तर हामीले शैतानसामु गवाही दिनुपर्ने होइन। यसले परमेश्‍वरलाई अपमानित तुल्याउँछ।) (यदि परमेश्‍वरको कुनै विश्‍वासीले उहाँले कैयौँ सत्यता र अभ्यासका मार्गहरू बताउनुभएको सुनेको छ, तैपनि कार्य गर्दा, ऊ अविश्‍वासीहरूकै जीवन-दर्शनअनुसार जिउँछ, र खास गरी ऊ छली र आफू स्वयम्‌को सेवा गर्ने खालको छ भने, ऊ अविश्‍वासीहरूभन्दा पनि दुष्ट हुन्छ।) सायद तिमीहरू सबैले यो कुराबारे अलिअलि बुझ्छौ होला। मानिसहरूले परमेश्‍वरका वचनहरू खाने र पिउने गर्छन्, परमेश्‍वरका सबै भरणपोषणको आनन्द लिन्छन्, तैपनि तिनीहरू अझै पनि शैतानलाई नै पछ्याउँछन्। तिनीहरूमाथि जस्तोसुकै कुराहरू वा कठिन परिस्थिति आइपरे पनि, तिनीहरू अझै परमेश्‍वरका वचनहरू सुन्न वा उहाँमा समर्पित हुन सक्दैनन्, तिनीहरू सत्यता खोज्दैनन्, र आफ्नो गवाहीमा दृढ भई खडा हुँदैनन्। के यो परमेश्‍वरलाई धोका दिनु होइन र? यो वास्तवमै परमेश्‍वरलाई धोका दिनु हो। जब परमेश्‍वरलाई तेरो खाँचो पर्छ, तँ उहाँको पुकार वा वचन सुन्दैनस्, बरु शैतानको कुरा सुन्दै, शैतानलाई पछ्याउँदै, शैतानकै तर्क र त्यसकै सिद्धान्त र जीवन विधिहरू अभ्यास गर्दै सांसारिक प्रचलनहरू पछ्याउँछस्। यो परमेश्‍वरलाई धोका दिनु हो। के परमेश्‍वरलाई धोका दिनु भनेको ईश्‍वरनिन्दा गर्नु र उहाँलाई अपमानित तुल्याउनु होइन र? अदनको बगैंचामा रहेका आदम र हव्वाबारे सोच्—परमेश्‍वरले भन्‍नुभयो, “तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्” (उत्पत्ति २:१७)। यी कसका वचन हुन्? (परमेश्‍वरका वचनहरू हुन्।) के यी साधारण वचनहरू हुन्? (होइनन्।) ती के हुन् त? ती सत्यता हुन्, ती मानिसहरूले पालन गर्नुपर्ने कुरा र अभ्यास गर्नुपर्ने मार्ग हुन्। परमेश्‍वरले असल र खराबको ज्ञानको रूखप्रति कसरी व्यवहार गर्ने भनेर मानिसहरूलाई भन्नुभयो। अभ्यासको सिद्धान्त त्यसबाट नखानु भन्ने थियो, र त्यसपछि उहाँले मानिसहरूलाई त्यसको परिणाम, अर्थात् तिनीहरू त्यसबाट खाएको दिन पक्कै मर्नेछन् भनेर बताउनुभयो। मानिसहरूलाई अभ्यासको सिद्धान्त के हो र के जोखिम छ भनेर भनिएको थियो। यो सुनेपछि, तिनीहरूले ती वचन बुझे त? कि बुझेनन्? (तिनीहरूले ती वचन बुझे।) तिनीहरूले वास्तवमै परमेश्‍वरका वचनहरू बुझे, तर पछि तिनीहरूले सर्पले यसो भनेको सुने, “त्यो रूखबाट खाएको दिन तिमीहरू पक्कै मर्नेछौ भनेर परमेश्‍वरले भन्नुभयो, तर तिमीहरू पक्कै मर्नेछैनौ। खाएर हेर,” अनि शैतान बोलिसकेपछि, तिनीहरूले त्यसको कुरा माने, र असल र खराबको ज्ञानको रूखको फल खाए। यो परमेश्‍वरलाई धोका दिनु थियो। तिनीहरूले परमेश्‍वरको वचन सुनेर ती वचनहरूअनुसार अभ्यास गर्ने छनौट गरेनन्। तिनीहरूले परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार गरेनन्, बरू त्यसको सट्टा शैतानका कुराहरू पत्यार र स्वीकार गरेर त्यसकै कुराहरूअनुसार कार्य गरे। अनि, यसको परिणाम के भयो? तिनीहरूको व्यवहारको प्रकृति र कार्यशैलीले परमेश्‍वरलाई धोका दियो र अपमानित तुल्यायो, र परिणामस्वरूप तिनीहरू शैतानद्वारा भ्रष्ट तुल्याइए र पतित भए। आदम र हव्वा त्यतिबेला जस्ता थिए अहिलेका मानिसहरू पनि त्यस्तै छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू सुन्छन् तर अभ्यास गर्दैनन्, तिनीहरूले सत्यता बुझ्छन् तर पनि अभ्यास गर्दैनन्। यसको प्रकृति आदम र हव्वाले परमेश्‍वरका वचनहरू वा आज्ञा नसुनेको जस्तै नै छ—यो परमेश्‍वरलाई धोका दिनु र अपमानित तुल्याउनु हो। जब मानिसहरूले परमेश्‍वरलाई धोका दिन्छन् र उहाँलाई अपमानित तुल्याउँछन्, तब परिणामस्वरूप तिनीहरू शैतानद्वारा भ्रष्ट र नियन्त्रित पारिन्छन्, तिनीहरू आफ्नै शैतानी स्वभावहरूद्वारा नियन्त्रित भइरहन्छन्। त्यसैले, तिनीहरू शैतानको प्रभावबाट मुक्त हुन वा त्यसको ललाइफकाइ, प्रलोभन, आक्रमण, षड्यन्त्र र भक्षणबाट कहिल्यै उम्कन सक्दैनन्। यदि तँ यी कुराहरूबाट कहिल्यै मुक्त हुन सक्दैनस् भने, तेरो जीवन निकै पीडादायी र समस्याग्रसित हुनेछ, त्यसमा कुनै शान्ति र खुशी हुनेछैन। तैँले सबै कुरा खोक्रो भएको महसुस गर्नेछस् र यो सब अन्त्य गर्न तैँले मृत्युसमेत रोज्न सक्छस्। यही नै शैतानको प्रभुत्वमा जिउनेहरूको दयनीय अवस्था हो।

अंश ५७

अब तिमीहरूसँग आफूले प्रकट गर्ने भ्रष्ट स्वभावबारे केही समझ छ। एकपटक तिमीहरूले कुन-कुन भ्रष्ट कुराहरू अझै पनि नियमित रूपमा प्रकट गर्न सक्छौ अनि सत्यतासँग नमिल्‍ने के-कस्ता कामहरू अझै पनि गर्न सक्छौ भनेर स्पष्ट रूपमा देख्न सक्षम भएपछि, तिमीहरूको भ्रष्ट स्वभावलाई धुन सहज हुनेछ। धेरै मामलाहरूमा किन मानिसहरूले आफूलाई काबुमा राख्‍न सक्दैनन्? किनभने हरपल र हर हिसाबमा, तिनीहरूलाई तिनीहरूको भ्रष्ट स्वभावले नियन्त्रण गरिरहेको हुन्छ, जसले तिनीहरूलाई हर कुरामा सिमित तुल्याइरहेको र बाधा दिइरहेको हुन्छ। सबै कुरा ठिकै हुँदा, र ठोकर नखाँदा वा नकारात्मक नहुँदा, केही मानिसहरूले सधैँ आफूसँग कद भएको महसुस गर्छन्, र दुष्ट व्यक्ति, झूटो अगुवा, वा ख्रीष्टविरोधीको खुलासा र निष्कासन भइरहँदा, त्यो ठूलो कुरा होइन भन्ने सोच्छन्। तिनीहरूले सबैसामु धाकसमेत लगाउनेछन्, “अरू जोकोहीले पनि ठोकर खान सक्ला, तर म ठोकर खादिनँ। अरू कसैले परमेश्‍वरलाई प्रेम नगर्ला, तर म त गर्छु।” तिनीहरूले हर अवस्था वा परिस्थितिमा आफू गवाहीमा दह्रिलो गरी खडा हुन सक्छु भन्‍ने सोच्छन्। अनि नतिजा के हुन्छ? एक दिन तिनीहरूलाई जाँचिन्छ र तिनीहरूले परमेश्‍वरको बारेमा गुनासो र गनगन गर्छन्। के यो असफल हुनु अनि ठोकर खानु होइन र? मानिसहरूलाई जाँचले जत्तिको अरू कुनै कुराले पनि खुलासा गर्दैन। परमेश्‍वरले मानिसको अन्‍तस्‍करण अवलोकन गर्नुहुन्छ, र मानिसहरूले कहिल्यै धाक लगाउनु हुँदैन। तिनीहरूले जे कुराको धाक लगाउँछन्, ढिलोचाँडो, एकदिन तिनीहरूले त्यही कुरामा ठोकर खानेछन्। जब अरूहरूले कुनै निश्चित परिस्थितिमा ठोकर खाएको र असफल भएको देख्छन्, तिनीहरू यसलाई ठूलो कुरा मान्दैनन्, र तिनीहरू आफैले कुनै गलत काम गर्न सक्दैनन्, तिनीहरू दह्रिलोसित खडा हुन सक्‍नेछन् भन्‍नेसमेत सोच्छन्—तर तिनीहरू पनि आखिर उही परिस्थितिमा ठोकर खान र असफल हुन पुग्छन्। यो कसरी हुन सक्छ? किनभने मानिसहरूले आफ्नो प्रकृति सारलाई पूर्ण रूपमा बुझ्दैनन्; आफ्नो प्रकृति सारसम्बन्धी समस्याबारे उनीहरूको ज्ञान अझै पनि त्यति गहन हुँदैन, त्यसैले सत्यलाई अभ्यास गर्नका निम्ति उनीहरूले कडा परिश्रम गर्नुपर्ने हुन्छ। उदाहरणको लागि,कतिपय मानिसहरू अति छली, बोली र कार्यमा बेइमान हुन्छन्, तापनि यदि तैँले उनीहरूको भ्रष्ट स्वभाव कुन सम्बन्धमा अति गम्भीर छ भनेर सोधिस् भने उनीहरू यति मात्रै भन्छन्, “म थोरै छली छु।” उनीहरूले आफू थोरै छली छु भनेर मात्र भन्छन्, तर उनीहरूको प्रकृति आफैमा छली छ भनेर भन्दैनन्, र उनीहरू छली व्यक्ति हुन् भनेर भन्दैनन्। आफ्नो भ्रष्ट प्रकृतिको बारेमा तिनीहरूको ज्ञान त्यत्ति गहन हुँदैन, र तिनीहरू त्यसलाई गम्भीर रूपमा हेर्दैनन्, न त अरूले जस्तो त्यसलाई पूर्ण रूपमा नै हेर्छन्। अरूको दृष्टिकोणबाट हेर्दा यो व्यक्ति अति छली र अति धूर्त छ, र उनीहरूले बोल्ने हरेक कुरामा चालबाजी हुन्छ, र उनीहरूका वचन र काम कहिल्यै इमानदार हुँदैनन् भन्‍ने देख्छन्—तर त्यस व्यक्तिले आफैलाई त्यत्ति गहन रूपमा चिन्न सक्दैन। उनीहरूमा हुने कुनै पनि ज्ञान केवल सतही हुन्छ। जब-जब उनीहरू बोल्छन् र कार्य गर्छन्, उनीहरूले आफ्नो प्रकृतिको कुनै भाग प्रकट गर्छन्, तापनि उनीहरू त्यसबारे अनजान हुन्छन्। तिनीहरूले त्यस्तो व्यवहार गर्नु भ्रष्टताको प्रकटीकरण होइन, तिनीहरूले पहिल्यै सत्यता अभ्यास गरिसकेका छन् भन्‍ने विश्‍वास गर्छन्—तर अवलोकन गर्ने मानिसहरूका लागि, यस्ता मानिसहरू निकै कपटी र छली हुन्छन् र तिनीहरूका बोलीवचन र व्यवहार अत्यन्तै बेइमान हुन्छन्। भन्नुको मतलब, मानिसहरूसँग आफ्नै प्रकृतिको बारेमा अति नै सतही बुझाइ हुन्छ, र यो बुझाइ अनि तिनीहरूको न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरूको बीचमा ठूलो भिन्नता हुन्छ। यो परमेश्‍वरले प्रकट गर्नुहुने कुरामा हुने गल्ती होइन, बरु आफ्नै प्रकृतिको बारेमा मानिसमा रहेको पर्याप्त गहन बुझाइको कमी हो। मानिसहरूमा आफ्नै बारेमा आधारभूत वा आवश्यक बुझाइ छैन; यसको सट्टामा, तिनीहरूले आफ्ना कार्यहरू र बाहिरी प्रकटीकरणहरू चिन्नमा आफ्नो ध्यान केन्द्रित गर्छन् र उर्जा खर्चन्छन्। यदि केही मानिसहरूले कहिलेकहीँ आफ्नो स्व-ज्ञानबारे केही भन्न सक्छन् भने पनि त्यो त्यत्ति गहन हुनेछैन। तिनीहरूले कुनै निश्‍चित प्रकारको कार्य गरेकोले वा कुनै निश्‍चित कुरा प्रकट गरेकोले, तिनीहरू कुनै निश्‍चित प्रकारको व्यक्ति भएका हुन् वा तिनीहरूमा कुनै निश्‍चित प्रकारको प्रकृति छ भनी कुनै व्यक्तिले कहिल्यै सोचेको छैन। परमेश्‍वरले मानिसको प्रकृति र सार खुलासा गर्नुभएको छ, तर मानिसहरूले के बुझ्छन् भने तिनीहरूको काम गर्ने र बोल्ने तरिकाहरू त्रुटिपूर्ण र दोषपूर्ण छन्; परिणामस्वरूप, तुलनात्मक रूपमा तिनीहरूलाई सत्यताको अभ्यास गर्न कठिन हुन्छ। मानिसहरूले तिनीहरूका गल्तीहरू तिनीहरूको प्रकृतिको प्रकटीकरण नभएर लापरवाहीसाथ प्रकट हुने क्षणिक प्रकटीकरण मात्रै हुन् भनी सोच्छन्। जब मानिसहरूले यसरी विचार गर्छन्, तब तिनीहरूले आफूलाई साँचो रूपमा चिन्‍नु औधी गाह्रो हुन्छ, र सत्यता बुझ्‍नु र अभ्यास गर्नु पनि औधी गाह्रो हुन्छ। किनकि तिनीहरूले सत्यता जान्दैनन् र त्यसको तृष्णा गर्दैनन्, सत्यताको अभ्यास गर्दा तिनीहरूले लापरवाहीको साथ नियमहरू पालन मात्रै गर्छन्। मानिसहरू तिनीहरूका आफ्नै प्रकृतिलाई अत्यन्तै नराम्रो भएको ठान्दैनन्, र तिनीहरू नाश पार्नु वा दण्ड दिनु पर्न हदसम्मको खराब छैनन् भनी विश्‍वास गर्छन्। तैपनि परमेश्‍वरका मापदण्डहरूअनुसार, मानिसहरू अति नै गहन रूपमा भ्रष्ट तुल्याइएका छन्, तिनीहरू अझै पनि मुक्तिको मापदण्डहरूभन्दा धेरै टाढा छन्, किनकि तिनीहरूसित सत्यतालाई बाह्य रूपमै उल्लङ्घन नगर्ने जस्तो देखिने केही दृष्टिकोणहरू मात्र हुन्छन्, र वास्तवमा, तिनीहरू सत्यता अभ्यास गर्दैनन् र परमेश्‍वरप्रति आज्ञाकारी हुँदैनन्।

मानिसहरूको व्यवहार वा आचरणमा हुने परिवर्तनले तिनीहरूको प्रकृतिमा भएको परिवर्तनलाई जनाउँदैन। यसको कारणको के हो भने, मानिसहरूको आचरणमा आएको परिवर्तनले उसको मौलिक रूपरङ्गलाई परिवर्तन गर्न सक्दैन, यसले तिनीहरूको प्रकृति बदल्न सक्‍ने त कुरै नगरौँ। मानिसहरूले सत्यता बुझेपछि, तिनीहरूसँग आफ्‍नै प्रकृति सारबारे ज्ञान भएपछि अनि सत्यता अभ्यास गर्न सक्‍ने भएपछि मात्र, तिनीहरूको अभ्यास पर्याप्त रूपमा गहन हुनेछ र त्यो कुरा बन्नेछ, जुन नियमहरूको पालना मात्र हुनेछैन। मानिसहरूले आज जसरी सत्यता अभ्यास गर्छन् त्यो अझै पनि मापदण्डअनुसारको छैन, र त्यसले सत्यताले चाहे जति सबै कुरा पूर्ण रूपमा हासिल गर्न सक्दैन। मानिसहरूले सत्यताको केही भाग मात्र अभ्यास गर्छन्, अनि तिनीहरू निश्‍चित स्थिति र परिस्‍थितिहरूमा पुगेपछि मात्रै तिनीहरूले थोरबहुत सत्यता अभ्यास गर्न सक्छन्; यो उनीहरूले सबै अवस्था र सबै परिस्थितिहरूमा सत्यताको अभ्यास गर्न सक्‍ने अवस्था होइन। जब कुनै बेला मानिसहरू खुशी हुन्छन् र तिनीहरूको स्थिति राम्रो हुन्छ, वा जब तिनीहरूले अरूसँग सङ्गति गरिरहेको हुन्छन् अनि तिनीहरूसँग आफ्नो हृदयमा अभ्यासको मार्ग हुन्छ, तब अस्थायी रूपमा तिनीहरूले सत्यतासँग मिल्‍ने केही कुराहरू गर्न सक्छन्। तर जब तिनीहरू नकारात्मक अनि सत्यता खोजी नगर्ने मानिसहरूसँग जिउँछन् र यी मानिसहरूद्वारा प्रभावित हुन्छन्, तिनीहरूले आफ्‍नो हृदयमा अभ्यासको मार्ग गुमाउँछन्, र सत्यता अभ्यास गर्न नसक्‍ने हुन्छन्। यसले तिनीहरूको कद अत्यन्तै सानो छ, र तिनीहरूले अझै पनि साँचो रूपमा सत्यता बुझेका छैनन् भन्‍ने देखाउँछ। कतिपय व्यक्तिहरूलाई सही मानिसहरूले डोर्‍याए र अगुवाइ गरे भने तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्; यद्दपी तिनीहरूलाई झूटो अगुवा वा ख्रीष्टविरोधीले ठग्यो र बाधा दियो भने, तिनीहरूले सत्यता अभ्यास गर्न नसक्‍ने मात्र होइन, तिनीहरू छलमा परी ती मानिसहरूलाई पछ्याउने सम्‍भावना पनि हुन्छ। त्यस्ता मानिसहरू अझै पनि खतरामा हुन्छन्, होइन र? यस्तो कद भएका यस्ता मानिसहरूले सबै मामला र परिस्थितिमा सत्यता अभ्यास गर्न सक्दैनन्। तिनीहरूले अभ्यास नै गरे पनि, तिनीहरू सही मनस्थितिमा हुँदा वा अरूले बाटो देखाउँदा मात्रै यसो गर्न सक्छन्; अगुवाइ गर्ने कुनै असल व्यक्ति भएन भने, कहिलेकाँही तिनीहरूले सत्यता उल्लङ्घन गर्ने काम गर्न सक्छन् र अझै पनि परमेश्‍वरका वचनहरूबाट टाढा बरालिन्छन्। अनि यस्तो किन हुन्छ? तैँले आफ्ना केही स्थितिहरूलाई मात्रै चिनेकोले, र तँलाई तेरो आफ्‍नै प्रकृति सारको बारेमा ज्ञान नभएकोले, र तैँले देहलाई त्यागेर सत्यता अभ्यास गर्ने कद प्राप्त गर्न अझै बाँकी भएकोले यस्तो भएको हुन्छ; त्यसकारण, भविष्यमा तैँले के गर्नेछस् त्यो तेरो नियन्त्रणमा हुँदैन, र तँ कुनै पनि परिस्थिति वा जाँचमा दह्रिलो गरी खडा हुन सक्छस् भन्‍ने कुरा निश्‍चित गर्न सक्दैनस्। कहिलेकहीँ यस्तो समय हुन्छ जब तँ एउटा स्थितिमा हुन्छस् र तैँले सत्यताको अभ्यास गर्न सक्छस्, र तँ परिवर्तित भएको छस् भन्‍ने देखिन्छ, तैपनि फरक परिस्थितिमा, तैँले सत्यतालाई अभ्यास गर्न सक्दैनस्। यो नियन्त्रण बाहिरको कुरा हो। कहिलेकहीँ तैँले सत्यताको अभ्यास गर्न सक्छस्, र कहिलेकहीँ सक्दैनस्। एक पल तँ बुझ्छस्, र अर्को क्षण तँ भ्रमित हुन्छस्। अहिले, तैँले केही नराम्रो गरिरहेको छैनस्, तर सायद तैँले केही समयपछि यसो गर्नेछस्। यसले के प्रमाणित गर्दछ भने, तँभित्र अझै पनि भ्रष्ट कुराहरू छन्, र यदि तैँले साँचो रूपमा आफूलाई चिन्न सक्दैनस् भने, यी कुराहरूलाई समाधान गर्न सजिलो हुनेछैन। यदि तैँले आफ्नै भ्रष्ट स्वभावको पूर्ण ज्ञान प्राप्त गर्न सक्दैनस् भने, र अन्ततः परमेश्‍वरको विरोध गर्ने कुराहरू गर्न सक्षम हुन्छस् भने,तँ खतरामा छस्। यदि तैँले आफ्नो प्रकृतिलाई भित्रैबाट बुझ्न र त्यसलाई घृणा गर्न सक्छस् भने, तैँले आफैलाई नियन्त्रण गर्न, आफैलाई त्याग्न, र सत्यतालाई अभ्यास गर्न सक्नेछस्।

आज मानिसहरू सत्यता अभ्यास र सत्यतामा प्रवेश गर्नुलाई प्राथमिकता दिँदैनन्, तिनीहरू शब्द र धर्मसिद्धान्तका वाक्यांश बुझ्नु र बोल्नुमा मात्र ध्यान दिन्छन्, तिनीहरू आफ्नो मनोवैज्ञानिक आवश्यकता पूरा गर्नु र दुःखी वा नकारात्मक महसुस नगर्नु नै पर्याप्त हुन्छ भन्ने सोच्छन्। त्यो बेला तँलाई सत्यतामा सङ्गति गरेर जति नै सहयोग दिइए पनि, तँ पछि गएर सत्यता अभ्यास गर्दैनस्—यहाँ समस्या के हो? समस्या के हो भने तँ सत्यता बुझ्न र सुन्नमा मात्र ध्यान लगाउँछस्, तर त्यो अभ्यास गर्नमा ध्यान दिँदैनस्। के तिमीहरूमध्ये कसैले सत्यताको कुनै तत्वलाई कसरी अभ्यास गर्ने, वा त्यो सत्यताको तत्व कतिवटा स्थितिसँग सम्बन्धित छ भनेर सारसङ्क्षेक्षेप गरेका छौ? छैनौ! तिमीहरूले यी कुरालाई कसरी सारसङ्क्षेप गर्न सक्छौ? तिमीहरूले यी कुरालाई सारसङ्क्षेप गर्न ती आफै अनुभव गरेको हुनैपर्छ; केही शब्द र धर्मसिद्धान्तमा सङ्गति गरेर मात्र पुग्दैन। यो मानिसको सबैभन्दा ठूलो कठिनाइ हो—सत्यता अभ्यासमा रुचि नराख्नु। कुनै व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसको पछ्याइमा भर पर्छ। केही मानिस सुसमाचार फैलाउन आफूलाई सत्यताले सुसज्जित पार्छन्, केहीले चाहिँ सत्यता अभ्यास गरेर आफूलाई बदल्न नभई अरूलाई बताउन र रवाफ देखाउन आफूलाई सत्यताले सुसज्जित पार्छन्। यस्ता कुरामा ध्यान लगाउने मानिसहरूलाई सत्यता अभ्यास गर्न हम्मेहम्मे पर्छ। यो मानिसको अर्को कठिनाइ हो। कतिपय मानिसहरू भन्छन्, “अब म केही सत्यता अभ्यास गर्न सक्छु जस्तो मलाई लाग्छ; मैले कुनै सत्यताहरूलाई बिलकुल अभ्यास गर्न सक्दिनँ भन्ने होइन। कतिपय परिस्थितिमा म सत्यताअनुसार कामकुराहरू गर्न सक्छु, यसको अर्थ म सत्यता अभ्यास गर्ने र सत्यता भएको व्यक्तिको रूपमा गनिन्छु।” अघिको समयसित वा तैँले सुरुमा परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयसित तुलना गर्दा, तेरो स्थिति थोरै परिवर्तित भएको छ। विगतमा, तैँले केही बुझेको थिइनस्, न त तैँले सत्यता के हो वा भ्रष्ट स्वभाव के हो भनी जानेको थिइस्। अब तैँले ती बारे केही कुराहरू जानेको छस्, अनि तँसँग केही राम्रा दृष्टिकोणहरू छन्, तर यो त तेरो परिवर्तित भएको एउटा सानो अंश मात्रै हो; यो तेरो स्वभावको साँचो परिवर्तन होइन, किनकि तँ तेरो प्रकृतिलाई उत्प्रेरित गर्ने अझ महान र अझ गहन सत्यताहरूलाई अभ्यास गर्न असक्षम छस्। विगतको तुलनामा, तँ अवश्य केही मात्रामा परिवर्तन भएको छस् तर यो रूपान्तरण तेरो मानवताको एउटा सानो परिवर्तन मात्रै हो; स्वभावको परिवर्तनसँग तुलना गर्दा, तँ निकै चुकेको छस्। यसको अर्थ, सत्यता अभ्यास गर्ने कुरालाई तैँले ठ्याक्कै बुझेको छैनस्। कहिलेकाहीँ, मानिसहरू कुनै अवस्थामा नकारात्मक हुँदैनन्, र तिनीहरूसँग सामर्थ्य हुन्छ, तर तिनीहरूलाई आफूसँग सत्यता चिन्ने र अभ्यास गर्ने मार्ग छैन भन्ने लाग्छ, अनि तिनीहरू सत्यता कसरी अभ्यास गर्ने भनेर पत्ता लगाउन रुचि राख्दैनन्। यो कसरी हुन्छ? कहिलेकाँही तँ मार्ग चिन्न सक्दैनस्, त्यसैले नियमहरू मात्र पालन गर्छस्, र आफूले सत्यता अभ्यास गरिरहेको छु भन्ठान्छस्, अनि परिणामस्वरूप तँ अझै पनि आफ्ना कठिनाइहरू समाधान गर्न सक्दैनस्। तँलाई हृदयमा आफूले सत्यता अभ्यास गरिरहेको र भक्ति देखाइरहेको छु भन्ने लाग्छ, र तँ समस्याहरू अझै किन देखा परिरहेका छन् भनेर सोच्छस्। किनभने तँ असल अभिप्राय राखेर कार्य गरिरहेको हुन्छस् र आफ्ना व्यक्तिगत प्रयास लगाइरहेको हुन्छस्—तँ परमेश्वरको इच्छा खोज्दैनस्, सत्यताको मापदण्डअनुसार कार्य गर्दैनस्, वा सिद्धान्तहरू पालन गर्दैनस्। परिणामस्वरूप, तँलाई सधैँ आफू परमेश्वरको मानकभन्दा कता हो कता तल भएको महसुस हुन्छ र तँलाई मनमा असहज हुन्छ, अनि तँ थाहै नपाई नकारात्मक बन्छस्। व्यक्तिका व्यक्तिगत इच्छा र प्रयासहरू सत्यताका मापदण्डहरूभन्दा धेरै टाढा हुन्छन् र तिनको प्रकृति पनि फरक हुन्छ। मानिसहरूको बाहिरी तौरतरिकाले सत्यताको ठाउँ लिन सक्दैनन्, र तिनलाई पूर्ण रूपमा परमेश्वरका इच्छाअनुरूप पालन गरिँदैन, जबकी सत्यता भनेको परमेश्वरको इच्छाको साँचो अभिव्यक्ति हो। सुसमाचार सुनाउने केही मानिस सोच्छन्, “मैले धेरै कष्ट भोगेको छु र मूल्य चुकाएको छु, र म दिनभरि सुसमाचार प्रचार गर्नमा व्यस्त हुन्छु। मैले सत्यता अभ्यास गरिरहेको छैनँ भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ?” त्यसोभए म तँलाई सोध्छु: तँ आफ्नो हृदयमा कतिवटा सत्यता राख्छस्? तैँले सुसमाचार प्रचार गर्दा सत्यताअनुरूप कतिवटा कार्य गर्छस्? के तँ परमेश्वरको इच्छा बुझ्छस्? तँ आफूले कामकुरा मात्र गरिरहेको छु कि सत्यता अभ्यास गरिरहेको छु भनेर भन्न सक्दैनस्, किनकि तँ केवल परमेश्वरलाई सन्तुष्ट पार्न र उहाँको अनुग्रह प्राप्त गर्न आफ्ना कार्यहरू प्रयोग गर्नमा ध्यानमग्न हुन्छस्, अनि तैँले आफूलाई मापन गर्न “सबै कुरामा सत्यताअनुरूप हुन परमेश्वरको इच्छा खोजेर उहाँलाई सन्तुष्ट पार्ने” मानक प्रयोग गर्दैनस्। यदि तँ सत्यता अभ्यास गरिरहेको छु भन्छस् भने, यस अवधिमा तेरो स्वभाव कति परिवर्तन भएको छ? परमेश्वरप्रतिको तेरो प्रेम कति बढेको छ? यसरी तैँले आफूलाई मापन गरेर, आफूले सत्यता अभ्यास गरिरहेको छु कि छैन भन्नेबारे तेरो हृदय स्पष्ट हुनेछ।

अंश ५८

स्वभाव परिवर्तनको बारेमा तिमीहरूलाई के थाहा छ? स्वभावका परिवर्तनहरू सारमा व्यवहारका परिवर्तनहरूभन्दा फरक हुन्छन्, र ती अभ्यासका परिवर्तनहरूभन्दा पनि फरक हुन्छन्—ती सबै सारको हिसाबले फरक छन्। धेरैजसो मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा आफ्‍नो व्यवहारलाई विशेष जोड् दिन्छन्, जसको फलस्वरूप तिनीहरूको व्यवहारमा केही परिवर्तन आउँछन्। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूले धुम्रपान र मद्यपान गर्न छोड्छन्, र त्यसउप्रान्त अरूसँग प्रतिस्पर्धा गर्दैनन्, र घाटा बेहोर्दा धैर्यताको अभ्यास गर्न मन पराउँछन्। तिनीहरूका व्यवहारमा केही परिवर्तन आएको हुन्छ। कतिपय मानिसहरूलाई के लाग्छ भने परमेश्‍वरमा विश्‍वास गरेपछि तिनीहरूले परमेश्‍वरको वचन पढेर सत्यता बुझ्‍न सक्छन्; तिनीहरूले पवित्र आत्‍माको कार्य अनुभव गरेका छन्, र तिनीहरूको हृदयमा साँचो शान्ति प्राप्त भएको छ जसले गर्दा तिनीहरू विशेष जोसिला भएका छन्, र तिनीहरूले त्याग्‍न वा भोग्‍न नसक्‍ने केही छैन। तापनि, आठ, दस वा बीस वा तीस वर्षसम्म विश्‍वास गरेपछि पनि तिनीहरूको स्वभावमा कुनै परिवर्तन नभएको हुनाले, आखिरमा तिनीहरू पुरानै चालमा फर्कन थाल्छन्; तिनीहरूको अहङ्कार र हठीपन झन् स्पष्ट हुँदै जान्छ, तिनीहरू शक्ति र फाइदाको लागि प्रतिस्पर्धा गर्न थाल्छन्, तिनीहरू मण्डलीको पैसाको लालच गर्छन्, परमेश्‍वरको घरबाट फाइदा लिएका मानिसहरूप्रति तिनीहरूलाई डाहा लाग्छ। तिनीहरू परजीवी र नाशक जीव बन्छन्, र कतिलाई त झूटा अगुवा र ख्रीष्टविरोधीहरूका रूपमा खुलासा गरेरसमेत हटाइन्छ। अनि यी तथ्यहरूले के प्रमाणित गर्दछन्? व्यवहारमा मात्र भएका परिवर्तनहरू अस्थिर हुन्छन्; यदि मानिसहरूको जीवनका स्वभावहरूमा कुनै परिवर्तन भएन भने, उनीहरूले आफ्नो साँचो रङ्ग देखाउनेछन्। यस्तो किन हुन्छ भने व्यवहारमा आएको परिवर्तनको स्रोत उत्साहमा हुन्छ, र त्यसमा त्यस समय पवित्र आत्माले गर्नुभएको केही काम थपिँदा, थोरै समयको लागि तिनीहरूलाई उत्साहित हुन वा दया देखाउन धेरै सजिलो हुन्छ। जसरी अविश्‍वासीहरू भन्छन्, “एउटा असल काम गर्नु सजिलो हुन्छ; जीवनभरि असल कामहरू गर्नुचाहिँ गाह्रो हुन्छ।” किन मानिसहरूले आफ्‍नो जीवनभरि नै असल कार्यहरू गरिरहन सक्दैनन्? किनभने प्रकृतिअनुसार मानिसहरू दुष्ट, स्वार्थी, र भ्रष्ट हुन्छन्। व्यक्तिको व्यवहार उसको प्रकृतिद्वारा निर्देशित हुन्छ; व्यक्तिको प्रकृति जस्तो हुन्छ, उसले प्रकट गर्ने व्यवहार पनि त्यस्तै हुन्छ, र प्राकृतिक रूपमा जे प्रकट हुन्छ त्यसले जीवनको साथै त्यस व्यक्तिको प्रकृतिको पनि प्रतिनिधित्व गर्दछ। नक्कली चीजहरू टिक्न सक्दैनन्। जब परमेश्‍वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ, त्यो मानिसलाई असल व्यवहारले सिँगार्नका निम्ति हुँदैन—परमेश्‍वरको कामको उद्देश्य मानिसहरूका स्वभावहरूलाई परिवर्तन गर्नु, उनीहरूलाई नयाँ मानिसहरूका रूपमा फेरि जन्माउनु भन्‍ने हुन्छ। परमेश्‍वरको न्याय, दण्ड, परीक्षाहरू, र मानिसहरूका शोधनहरू सबैले तिनीहरूको स्वभाव परिवर्तन गर्न सक्दछन् ताकि तिनीहरू परमेश्‍वरप्रति पूर्ण अधीनता र भक्ति प्राप्त गर्न, र सामान्यतया उहाँको आराधना गर्ने हुन सकून्। यो परमेश्‍वरको कामको लक्ष्य हो। असल व्यवहार गर्नु नै परमेश्‍वरको अधीनमा बस्नु होइन, यो ख्रीष्टसँग मिल्दोजुल्दो हुनु हो भन्‍ने कुरा त परै जाओस्। व्यवहारमा परिवर्तनहरू हुने कुरा सिद्धान्तमा आधारित हुन्छ र उत्साहको कारण जन्मेका हुन्छन्; ती परमेश्‍वरको साँचो ज्ञान वा सत्यमा आधारित हुँदैनन्, ती पवित्र आत्माको मार्गनिर्देशनमा निर्भर हुने त परै जाओस्। कहिलेकहीँ यस्तो समय पनि हुन्छ जब मानिसहरूले गर्ने काम पवित्र आत्माद्वारा अन्तर्दृष्टि र अगुवाइ पाएको हुन्छ, तापनि त्यो तिनीहरूको जीवनको अभिव्यक्ति हुँदैन। तिनीहरू अझै पनि सत्यता वास्तविकताहरूमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूको जीवन स्वभाव किमार्थ परिवर्तन भएको हुँदैन। व्यक्तिको व्यवहार जतिसुकै राम्रो भए पनि, त्यसले उनीहरू परमेश्‍वरको आज्ञापालन गर्छन् वा उनीहरूले सत्यताको अभ्यास गरेका छन् भन्ने प्रमाणित गर्दैन। व्यवहारमा हुने परिवर्तनहरूले जीवन स्वभावका परिवर्तनहरू प्रतिनिधित्व गर्दैनन् र त्यस्ता परिवर्तनलाई जीवनका अभिव्यक्तिहरू भनेर भन्न सकिँदैन। त्यसैले, जब तिमीहरूले केही मानिसहरूले उत्साहमा हुँदा मण्डलीको लागि केही गर्न सकेको, साथै केही कुराहरू त्याग्नसमेत सकेको देख्छौ, तब तिनीहरूको प्रशंसा गर्ने वा तिनीहरूलाई चिल्लो घस्ने काम नगर, र तिनीहरू सत्यता वास्तविकता भएका वा परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरू हुन् भनेर नभन। त्यस्तो भन्नु गलत र भ्रामक हुन्छ र त्यो तिनीहरूको लागि हानिकारक छ। तर तिनीहरूको आत्मालाई हतोत्साहित पनि नबनाओ; तिनीहरूलाई सत्यता र जीवन पछ्याउने मार्गतर्फ मात्र अगुवाइ गर। प्राय: जोसमा रहने मानिसहरूसँग अघि बढ्ने इच्छा र सङ्कल्प हुन्छ। तिनीहरूमध्ये धेरैजसोले सत्यताको तृष्णा गर्छन् र तिनीहरू परमेश्‍वरले पूर्वनिर्धारित गरेर चुन्नुभएका मानिसहरू हुन्। ज्वलन्त हृदय भएकाहरू जो स्वेच्छाले परमेश्‍वरमा समर्पित हुन्छन्, तिनीहरू परमेश्‍वरका सबैभन्दा इमानदार विश्‍वासीहरू हुन्। तर आफूलाई परमेश्‍वरमा अर्पित गर्नमा इमानदार नहुने र आफ्नो कर्तव्य निभाउन इच्छुक नहुनेहरू परमेश्‍वरका इमानदार विश्‍वासीहरू होइनन्। विश्‍वासमा मन्द रहेका र सजिलै निष्क्रिय हुनेहरू प्राय दृढ रहिरहन सक्दैनन्। तिनीहरू अलिकति कठिनाइ सामना गर्नुपर्दा पछि हट्छन्, अनि सतावट र परिक्षा सामना गर्दा, तिनीहरू भाग्छन् र आफ्नो विश्‍वास त्याग्छन्। ठूलो विश्‍वास र उत्साह भएकाहरूले मात्र लामो समय टिकिराख्‍न, अनि समस्याहरू समाधान गर्नहेतु सत्यता खोज्न, र बिस्तारै परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा प्रवेश गर्न सक्छन्। तर थोरै विश्‍वास भएका र उत्साह नभएकाहरूले भने अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउन मुस्किल अनुभव गर्नेछन्।

यदि व्यक्तिमा धेरै वटा असल बानीबेहोरा छन् भने, यसको अर्थ ऊसँग सत्यता वास्तविकताहरू छन् भन्‍ने हुँदैन। सत्यताको अभ्यास अनि सिद्धान्तहरूअनुसार काम गरेर मात्रै तैँले सत्यता वास्तविकताहरू प्राप्त गर्न सक्छस्। परमेश्‍वरको डर मानेर अनि दुष्टताबाट टाढा बसेर मात्रै तैँले सत्यता वास्तविकताहरू प्राप्त गर्न सक्छस्। कतिपय मानिसहरू जोसिला हुन्छन्, तिनीहरूले धर्मसिद्धान्तको कुरा गर्न, नियमहरू पालना गर्न, र धेरै सुकर्म गर्न सक्छन्, तर तिनीहरूका बारेमा बोल्दा तिनीहरूमा अलिअलि मानवता छ भनेर मात्रै सकिन्छ। धर्मसिद्धान्तको कुरा गर्न र सधैँ नियमहरू पालना गर्न सक्‍ने मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन् नै भन्‍ने हुँदैन। तिनीहरूले भन्‍ने कुरा सही र समस्यारहित भएझैँ लागे पनि, सत्यताको सारको बारेमा तिनीहरूसँग भन्‍ने कुरा केही हुँदैन। त्यसकारण, कसैले जति धेरै धर्मसिद्धान्तको कुरा बोल्‍न सके पनि, यसको अर्थ उसले सत्यता बुझेको छ भन्‍ने हुँदैन, र उसले जति धेरै धर्मसिद्धान्त बुझेको भए पनि, उसले कुनै समस्या समाधान गर्न सक्दैन। धार्मिक सिद्धान्तकारहरू सबैले बाइबलको व्याख्या गर्न सक्छन्, र अन्त्यमा, तिनीहरू सबै पतन हुन्छन्, किनभने तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएको सम्पूर्ण सत्यता स्वीकार गरेका हुँदैनन्। जुन मानिसहरूले आफ्नो स्वभावमा परिवर्तन अनुभव गरेका हुन्छन् तिनीहरू भिन्नै हुन्छन्; तिनीहरूले सत्यतालाई बुझेका हुन्छन्, तिनीहरू सबै विषयहरूमा विवेकी हुन्छन्, तिनीहरूलाई परमेश्‍वरको इच्छाबमोजिम कसरी काम गर्ने, सत्यता सिद्धान्तअनुसार कसरी व्यवहार गर्ने, र परमेश्‍वरलाई सन्तुष्ट पार्न कसरी कार्य गर्ने भनी जानेका हुन्छन्, र आफूले प्रदर्शन गर्ने भ्रष्टताको प्रकृति तिनीहरूले बुझेका हुन्छन्। जब तिनीहरूका आफ्नै विचारहरू र धारणाहरू प्रकट हुन्छन्, तिनीहरू विवेकी हुन्छन् र देहलाई त्याग्‍ने बन्‍न सक्छन्। स्वभावमा भएको परिवर्तनलाई यसरी नै प्रकट गरिन्छ। स्वभावको परिवर्तन भएका मानिसहरूको मुख्य प्रकटीकरण भनेको तिनीहरूले सत्यतालाई स्पष्टसँग बुझेका हुन्छन् र कार्यहरू पूरा गर्दा तिनीहरूले सत्यतालाई तुलनात्मक रूपमा सटीक रूपले अभ्यास गर्छन् र तिनीहरूले बारम्बार भ्रष्टता प्रकट गर्दैनन्। सामान्यतया, जसको स्वभाव रूपान्तरण भएको हुन्छ तिनीहरू विशेष रूपमा व्यावहारिक र समझदार देखिन्छन्, र तिनीहरूमा सत्यको ज्ञान भएकोले, तिनीहरूले त्यति धेरै स्व-धार्मिकता वा अहङ्कार प्रकट गर्दैनन्। तिनीहरूमा प्रकट हुने धेरैजसो भ्रष्टता तिनीहरूले देख्न र बुझ्न सक्छन्, त्यसैले तिनीहरू अहङ्कार गर्दैनन्। तिनीहरूले लिनुपर्ने स्थान के हो र के कस्ता व्यावहारिक कुराहरू गर्नुपर्छ, कसरी कर्तव्यपरायण हुने, के भन्ने र के नभन्ने, कुन मानिसहरूलाई के भन्ने र के गर्ने सो तिनीहरूले निश्‍चित हदसम्म बुझ्न सक्छन्। यसरी, स्वभाव परिवर्तन भएका मानिसहरू तुलनात्मक रूपमा विवेकशील हुन्छन् र त्यस्ता मानिसहरू मात्रै साँचो तवरले मानव स्वरूपमा जिउँछन्। तिनीहरू सत्यता बुझ्छन्, त्यसैले तिनीहरूले सधैँ सत्यताअनुसार बोल्न र परिस्थिति देख्‍न सक्छन्, र आफूले गर्ने सबै कुरामा तिनीहरू सिद्धान्तअनुसार काम गर्छन्; तिनीहरू कुनै पनि व्यक्ति, वस्तु वा थोकको प्रभावमा परेका हुँदैनन्, र तिनीहरू सबैका आ-आफ्नै विचारहरू हुन्छन् र सत्यता सिद्धान्तलाई समर्थन गर्न सक्छन्। तिनीहरूका स्वभाव तुलनात्मक रूपमा स्थिर हुन्छ, तिनीहरू घरी तातो र घरी चिसो हुँदैनन्, र तिनीहरूका परिस्थितिहरू जस्तोसुकै भए पनि आफ्ना कर्तव्यहरू कसरी उचित रूपले पूरा गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने किसिमको व्यवहार कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुन्छ। जस-जसका स्वभावहरू परिवर्तित भएका हुन्छन्, तिनीहरूले अरूले तिनीहरूको बारेमा राम्रो सोचून् भन्ने हेतु बाहिरी रूपमा के गर्नुपर्छ भन्ने कुरामा ध्यान लाउँदैनन्; तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न के गर्नुपर्छ सो आन्तरिक रूपमा स्पष्ट बुझेका हुन्छन्। त्यसकारण, बाहिरबाट हेर्दा, तिनीहरू त्यत्ति उत्साहित वा तिनीहरूले कुनै महत्वपूर्ण काम गरेको जस्तो नदेखिन सक्छ, तर तिनीहरूले गर्ने सबै कुरा अर्थपूर्ण, मूल्यवान् हुन्छन्, र तिनले व्यावहारिक परिणामहरू ल्याउँछन्। ज-जसका स्वभावहरू परिवर्तन भएका छन् तिनीहरूमा निश्‍चित रूपमा धेरै सत्यता वास्तविकताहरू हुन्छन्, र यसलाई विभिन्न कुराहरूप्रति तिनीहरूका दृष्टिकोण र कार्यका सिद्धान्तहरूद्वारा पुष्टि गर्न सकिन्छ। सत्यता प्राप्त नगरेका मानिसहरूले जीवन स्वभावमा कुनै परिवर्तन हासिल गरेका हुँदैनन्। ठ्याक्‍कै भन्दा, स्वभाव परिवर्तन कसरी हासिल गर्न सकिन्छ? मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ, तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू सबैसँग परमेश्‍वरविरोधी प्रकृति छ। परमेश्‍वरले परमेश्‍वरविरोधी प्रकृति भएका र परमेश्‍वरलाई विरोध गर्ने मानिसहरूलाई परमेश्‍वरको आज्ञापालन गर्ने र उहाँको डर मान्‍ने मानिसहरूमा परिणत गरी मुक्ति दिनुहुन्छ। स्वभाव परिवर्तन भएको व्यक्ति बन्‍नु भनेको यही हो। व्यक्ति जति नै भ्रष्ट भए पनि, तिनीहरूसँग जति नै धेरै भ्रष्ट स्वभावहरू भए पनि, तिनीहरूले सत्यता स्वीकार गर्न, अनि परमेश्‍वरको न्याय र सजाय, र विभिन्‍न परीक्षा र शोधन स्वीकार गर्न सकुञ्जेलसम्म, तिनीहरूसँग परमेश्‍वरबारे साँचो बुझाइ हुन्छ, साथै तिनीहरूले आफ्‍नो प्रकृति सारलाई स्पष्ट देख्‍न सक्छन्। जब तिनीहरूले आफूलाई साँचो रूपमा बुझ्छन्, तब तिनीहरूले आफूलाई र शैतानलाई घृणा गर्न सक्छन् र तिनीहरू शैतानलाई त्याग्‍न, र परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुन तयार हुन्छन्। व्यक्तिमा यस्तो दृढ़ता भएपछि, उसले सत्यता खोजी गर्न सक्छ। यदि मानिसहरूमा परमेश्‍वरबारे साँचो ज्ञान छ, तिनीहरूको शैतानी स्वभावलाई शुद्ध पारिएको छ, र तिनीहरूभित्र जरा गाडेर परमेश्‍वरका वचनहरू तिनीहरूका जीवन र अस्तित्वका आधार बनेका छन् भने, यदि तिनीहरू परमेश्‍वरका वचनहरूअनुसार जिउँछन्, र तिनीहरू पूर्ण रूपमा परिवर्तन भएर नयाँ मानिसहरू बनेका छन् भने, यसलाई तिनीहरूको जीवन स्वभावमा आएको परिवर्तनको रूपमा लिन सकिन्छ। स्वभाव परिवर्तन हुनु भनेको उसको मानवता परिपक्‍व र अनुभवी हुनु होइन न त मानिसहरूको बाहिरी स्वभाव पहिलेको भन्दा नम्र हुनु नै हो, यो पहिले तिनीहरू अहङ्कारी थिए, तर अब विवेकी भएर कुराकानी गर्न सक्छन्, वा पहिले तिनीहरूले कसैको कुरा सुन्दैनथे, तर अब अलिकति अरूका कुरा सुन्न सक्छन् भन्ने होइन; त्यस्ता बाहिरी परिवर्तनलाई स्वभावको रूपान्तरण भनी भन्न सकिँदैन। अवश्य, स्वभावमा हुने रूपान्तरणमा त्यस्ता प्रकटीकरणहरू पनि पर्छन्, तर सबैभन्दा महत्त्वपूर्ण भाग भनेको आन्तरिक रूपमा, तिनीहरूका जीवन परिवर्तन भएको हुन्छ। मुख्तया यस्तो किन हुन्छ भने परमेश्‍वरका वचनहरू र सत्यताले तिनीहरूभित्र जरा गाडेका हुन्छन्, तिनले नै तिनीहरूभित्र शासन गर्छन्, र ती तिनीहरूको जीवन बनेका हुन्छन्। तिनीहरूको दृष्टिकोण पनि बदलिएका हुन्छन्। तिनीहरूले संसारमा अनि मानवजातिलाई के भइरहेको छ, शैतानले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ, ठूलो रातो अजिङ्गरले कसरी परमेश्‍वरको विरोध गर्छ, र ठूलो रातो अजिङ्गरको सार के हो भन्‍ने कुरा स्पष्ट देख्‍न सक्छन्। तिनीहरूले हृदयदेखि ठूलो रातो अजिङ्गर र शैतानलाई घृणा गर्न सक्छन्, र तिनीहरूले परमेश्‍वरकहाँ पूर्ण रूपमा फर्केर उहाँलाई पछ्याउन सक्छन्। यसको अर्थ तिनीहरूको जीवन स्वभाव परिवर्तन भएको छ, र तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुभएको छ। जीवन स्वभावमा आउने परिवर्तनहरू आधारभूत परिवर्तनहरू हुन्, जबकि बानीबेहोरामा आउने परिवर्तनहरू सतही परिवर्तनहरू हुन्। जीवन स्वभावमा परिवर्तन हासिल गरेका मानिसहरूले मात्रै सत्यता प्राप्त गरेका हुन्छन्, र तिनीहरूलाई मात्रै परमेश्‍वरले प्राप्त गर्नुभएको हुन्छ।

सबै भ्रष्ट मानव आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; जब तिनीहरूले उहाँको लागि विभिन्‍न कुराहरू त्याग्छन् र आफैलाई परमेश्‍वरमा समर्पित गर्छन्, यो आशिषित हुनको लागि हुन्छ, र जब तिनीहरू उहाँप्रति बफादार हुन्छन्, यो इनाम प्राप्त गर्नको लागि हुन्छ। सारांशमा भन्दा, यो सबै आशिषित हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्; र परमेश्‍वरको घरमा तिनीहरू आशिष्‌हरू प्राप्त गर्नको लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: मान्छेको शैतानी प्रकृतिको यो भन्दा राम्रो कुनै प्रमाण छैन। स्वभाव परिवर्तन भएका मानिसहरू फरक हुन्छन्, तिनीहरूलाई, सत्यतामा जिउनु अर्थपूर्ण हुन्छ, मानव हुनुको आधार परमेश्‍वरमा समर्पित हुनु, परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु हो, परमेश्‍वरको आज्ञा मान्‍नु भनेको पूर्ण रूपमा प्राकृतिक र न्यायोचित जिम्मेवारी हो, परमेश्‍वरको प्राणीका कर्तव्यहरू पूरा गर्ने मानिसहरू मात्रै मानव कहलाइन लायक हुन्छ—अनि यदि तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न र उहाँको प्रेमको ऋण तिर्न सक्दैनन् भने, तिनीहरू मानव कहलाइन लायक हुँदैनन् भन्‍ने लाग्छ; तिनीहरूलाई के लाग्छ भने- आफ्‍नो लागि जिउनु खोक्रो र अर्थहीन हुन्छ, मानिसहरू परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, र अर्थपूर्ण जीवन जिउनको लागि जिउनुपर्छ, ताकि तिनीहरू मर्ने बेलामा पनि, तिनीहरूले सन्तुष्ट महसुस गर्न सकून र तिनीहरूले अलिकति पनि पछुतो गर्न नपरोस्, अनि तिनीहरू व्यर्थमा जिएका नहोऊन्। यी दुई फरक परिस्थितिहरूलाई तुलना गर्दा, के देख्‍न सकिन्छ भने पछिल्‍ला मानिसहरू स्वभाव रूपान्तरण भएका मानिसहरू हुन्। यदि व्यक्तिको जीवन स्वभाव परिवर्तन भएको छ भने, जीवनसम्‍बन्धी उसको दृष्टिकोण पनि निश्‍चित रूपमा नै परिवर्तन भएको छ। उसँग अब फरक मूल्य-मान्यताहरू भएको हुनाले, ऊफेरि कहिल्यै पनि आफ्‍नो लागि जिउनेछैन, र उसले फेरि कहिल्यै पनि आशिष्‌हरू प्राप्त गर्ने उद्देश्‍यले परमेश्‍वरमा विश्‍वास गर्नेछैन। त्यस्तो व्यक्तिले यसो भन्‍न सक्‍नेछ, “परमेश्‍वरलाई चिन्नु निकै सार्थक हुन्छ। यदि म परमेश्‍वरलाई चिनेर मरेँ भने, त्यो अत्ति राम्रो हुनेछ। यदि म परमेश्‍वरलाई चिन्‍न र उहाँमा समर्पित हुन अनि अर्थपूर्ण जीवन जिउन सक्छु भने, मैले व्यर्थमा जिएको हुनेछैन, न त म कुनै पछुतोहरू लिएर नै मर्नेछु; मसँग कुनै गुनासो हुनेछैन।” यो व्यक्तिको जीवनसम्‍बन्धी दृष्टिकोण रूपान्तरीत भएको छ। व्यक्तिको जीवन स्वभावमा परिवर्तन आउनुको मुख्य कारण भनेको ऊभित्र सत्यता वास्तविकता भएको, उसले सत्यता प्राप्त गरेको र उसँग परमेश्‍वरबारे ज्ञान भएको कारण हो; त्यसरी जीवनसम्‍बन्धी उसको दृष्टिकोण परिवर्तन हुन्छ, र उसका मूल्य-मान्यताहरू पहिलेका भन्दा फरक हुन्छन्। रूपान्तरण व्यक्तिको हृदयभित्र बाट, र उसको जीवनभित्र बाट सुरु हुन्छ; यो बाहिरी परिवर्तन पक्कै पनि होइन। कतिपय नयाँ विश्‍वासीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि बाहिरी संसारलाई छोड्छन्। जब पछि तिनीहरूले अविश्‍वासीहरूलाई भेट्छन्, यी विश्‍वासीहरूसँग भन्‍नुपर्ने कुरा केही पनि हुँदैन, र तिनीहरूले आफ्‍ना अविश्‍वासी आफन्त र इष्टमित्रलाई बिरलै सम्पर्क गर्छन्। अविश्‍वासीहरू भन्छन्, “यो व्यक्ति परिवर्तन भएको छ।” त्यसपछि विश्‍वासीहरूले यस्तो सोच्छन्, “मेरो जीवन स्वभाव साँच्‍चै नै रूपान्तरित भएको छ; यी अविश्‍वासीहरूले म परिवर्तन भएको छु भनेर भनिरहेका छन्।” के यस्तो व्यक्तिको स्वभाव वास्तवमै रूपान्तरण भएको हुन्छ र? अहँ, भएको हुँदैन। उसले जे प्रकट गर्छ ती बाहिरी परिवर्तनहरू मात्रै हुन्। उसको जीवनमा कुनै वास्तविक परिवर्तन भएको हुँदैन, र उसको शैतानी प्रकृति उसको हृदयभित्रै जरा गाडेर, पूर्ण रूपमा जस्ताको त्यस्तै बसिरहेको हुन्छ। कहिलेकहीँ, मानिसहरू पवित्र आत्‍माको कार्यको कारण जोशले भरिपूर्ण हुन्छन्; केही बाहिरी परिवर्तनहरू देखा पर्न सक्छन्, अनि तिनीहरूले केही असल कार्य गर्न सक्छन्। तैपनि, यो स्वभाव रूपान्तरण हासिल गर्नु जस्तै होइन। यदि तँसँग सत्यता छैन र कामकुराहरूसम्‍बन्धी तेरो दृष्टिकोण परिवर्तन भएको छैन, यहाँसम्‍म कि त्यो अविश्‍वासीहरूको भन्दा पनि फरक छैन भने, र यदि जीवनसम्‍बन्धी तेरो दृष्टिकोण र मुल्य-मान्यताहरू परिवर्तन भएका छैनन् भने, र तँसँग परमेश्‍वरप्रति श्रद्धाभाव पनि छैन भने—जुन तँसँग कम्तीमा पनि हुनै पर्ने कुरा हो—तँ स्वभावमा परिवर्तन हासिल गरेको अवस्थाको अलिकति पनि नजिक पुगेको छैनस्। स्वभाव परिवर्तन हासिल गर्न, सबैभन्दा मूख्य कुरा भनेको तैँले परमेश्‍वरबारे बुझाइ हासिल गर्न खोज्नुपर्छ र तँसँग उहाँबारे साँचो बुझाइ हुनुपर्छ। पत्रुसको उदाहरण हेरौँ। जब परमेश्‍वरले उसलाई शैतानको हातमा सुम्पन चाहनुभयो, उसले भन्यो, “तपाईँले मलाई शैतानको हातमा सुम्पनुभयो भने पनि, तपाईँ परमेश्‍वर नै हुनुहुन्छ। तपाईँ सर्वशक्तिमान् हुनुहुन्छ, र सबथोक तपाईँकै हातमा छ। तपाईँले गर्नुहुने कुराहरूको निम्ति म कसरी तपाईँको प्रशंसा नगरी बस्न सक्छु र? तर आफू मर्नुअघि मैले तपाईँलाई चिन्न पाए, के त्यो झन् राम्रो हुँदैन र?” उसलाई मानिसहरूको जीवनमा परमेश्‍वरलाई चिन्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो भन्‍ने लाग्थ्यो; परमेश्‍वरलाई चिनेपछि, जस्तोसुकै मृत्यु पनि मान्य हुनेछ, र परमेश्‍वरले त्यसलाई जसरी सम्हाल्नु भए पनि, त्यो ठिकै हुनेछ भन्‍ने लाग्थ्यो। उसलाई परमेश्‍वरलाई चिन्नु नै सबैभन्दा अत्याश्यक कुरा हो भन्‍ने पनि लाग्थ्यो; यदि उसले सत्यता प्राप्त गर्दैनथ्यो भने, ऊ कहिल्यै सन्तुष्ट हुन नसक्नेथ्यो, तर उसले परमेश्‍वरसित गुनासो गर्नेवाला थिएन। उसले आफूले सत्यता नपछ्याएको कुरालाई मात्र घृणा गर्नेथ्यो। पत्रुसको आत्माको आधारमा, परमेश्‍वरलाई चिन्ने उसको गम्भीर खोजले उसको जीवनप्रतिको दृष्टिकोण र मान्यताहरू परिवर्तित भएको थियो भन्ने देखाउँछ। परमेश्‍वरलाई चिन्ने उसको गहन तृष्णाले उसले साँच्चै परमेश्‍वरलाई चिनेको थियो भन्‍ने देखाउँछ। तसर्थ, यो अभिव्यक्तिबाट देख्‍न सकिन्छ कि उसको स्वभाव परिवर्तन भएको थियो; र ऊ स्वभाव रूपान्तरित भएको व्यक्ति थियो। उसको अनुभवको अन्त्यमा, परमेश्‍वरले ऊ नै परमेश्‍वरलाई सबैभन्दा बढी चिन्ने व्यक्ति हो भनेर भन्नुभयो। सत्यताबिना, व्यक्तिको जीवन स्वभाव साँचो रूपमा कहिल्यै परिवर्तन हुन सक्दैन। यदि तिमीहरू साँच्चै सत्यता पछ्याएर सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छौ भने, तब मात्र तिमीहरूले आफ्नो जीवन स्वभावमा परिवर्तन हासिल गर्न सक्‍नेछौ।

अघिल्लो: आफूलाई चिन्‍नेसम्बन्धी वचनहरू

अर्को: असफलता, पतन, परीक्षा र शोधन कसरी अनुभव गर्ने भन्‍नेसम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्