आफूलाई चिन्‍नेसम्बन्धी वचनहरू

अंश ४२

प्रकृतिमा परिवर्तन हासिल गर्ने मुख्य कुञ्जी भनेको आफ्नै प्रकृतिलाई जान्नु हो, र यो परमेश्‍वरबाट आउने प्रकाशहरू अनुरूप हुनुपर्दछ। परमेश्‍वरको वचनमा मात्र व्यक्तिले उसको आफ्नो घिनलाग्दो प्रकृतिलाई जान्न सक्छ, आफ्नै प्रकृतिमा रहेको शैतानका विभिन्न विषहरू पहिचान गर्नसक्छ, आफू मूर्ख र अज्ञानी छ भनी थाहा पाउनसक्छ, र आफ्नो प्रकृतिमा रहेका कमजोर र नकारात्मक तत्वहरूलाई चिन्न सक्छ। यी सबै कुरा पूर्ण रूपमा जानेपछि, र तैँले साँचो रूपमा आफूलाई घृणा गर्न र देहलाई पन्छाउन, परमेश्‍वरको वचन निरन्तर पालना गर्न, आफ्‍नो कर्तव्य निभाउने क्रममा निरन्तर सत्यता खोजी गर्न, आफ्‍नो स्वभाव परिवर्तन गर्न, र परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति बन्‍न सक्षम भएपछि, तँ पत्रुसको मार्गमा हिँड्न थालेको हुनेछस्। परमेश्‍वरको अनुग्रहविना र पवित्र आत्माको ज्ञान र निर्देशनविना यस मार्गमा हिँड्न गाह्रो हुन्छ, किनकि मानिसहरूसँग सत्यता छैन र तिनीहरूले आफैलाई धोका दिन सक्दैनन्। पत्रुसको सिद्धताको बाटो हिँड्ने कार्य मुख्य रूपमा दृढ संकल्‍प लिने, विश्‍वास गर्ने र परमेश्‍वरमा भरोसा राख्ने कुरामा निर्भर हुन्छ। यसबाहेक, व्यक्ति पवित्र आत्माको कामप्रति समर्पित हुनुपर्छ; सबै कुरामा, व्यक्तिले परमेश्‍वरको वचनविना केही पनि गर्न सक्दैन। मुख्य पक्षहरू यिनै हुन्, जसमध्ये कुनै पनि कुरालाई उल्लङ्घन गर्न सकिँदैन। अनुभवद्वारा आफैलाई चिन्‍नु धेरै कठिन छ; पवित्र आत्माको कामविना, नतिजा आउँदैन। पत्रुसको मार्गमा हिँड्नको लागि, व्यक्तिले आफूलाई चिन्‍न र आफ्‍नो स्वभाव परिवर्तन गर्ने कर्मामा ध्यान केन्द्रित गर्नुपर्छ। पावलको मार्ग जीवनको खोजी गर्ने वा आत्म-ज्ञानमा केन्द्रित गर्ने मार्ग थिएन; तिनले विशेष गरी काम गर्न र यसको प्रभाव र गतिमा ध्यान दिए। तिनको प्रेरणा भनेको तिनको काम र कष्टको बदलीमा परमेश्‍वरको आशिष् प्राप्त गर्नु, र परमेश्‍वरबाट इनाम प्राप्त गर्नुथियो। यो प्रेरणा गलत थियो। पावलले जीवनमा ध्यान केन्द्रित गरेनन्, न त तिनले स्वभाव परिवर्तन गर्नुमा नै कुनै महत्त्व दिए; तिनले केवल इनाममा ध्यान दिए। तिनका लक्ष्यहरू गलत भएकाले तिनले हिँडेको बाटो पनि अवश्य नै गलत थियो। यो तिनको अहङ्कारी र घमण्डी स्वभावले ल्याएको थियो। स्पष्टै छ, पावलसँग कुनै सत्यता थिएन, न त तिनीसँग कुनै विवेक वा तर्क नै थियो। मानिसहरूलाई बचाउने र परिवर्तन गर्ने क्रममा परमेश्‍वरले तिनीहरूका स्वभाव परिवर्तन गर्नुहुन्छ। उहाँको वचनको उद्देश्य भनेको परिवर्तन भएको स्वभाव प्राप्त गरेपछि प्राप्त हुने परिणाम र परमेश्‍वरलाई चिन्‍ने, उहाँलाई स्वीकार गर्ने, र सामान्य तरिकामा उहाँको आराधना गर्ने क्षमताको नतिजा मानिसहरूमा हासिल गर्नु हो। परमेश्‍वरका वचनहरू र उहाँको कार्यको उद्देश्य यही हो। पावलको खोजी गर्ने तरिका प्रत्यक्ष रूपमै परमेश्‍वरको इच्छाको उल्लङ्घनमा र विरोधमा थियो; त्यो पूर्ण रूपमा परमेश्‍वरको इच्छा विपरीत थियो। तापनि, पत्रुसको खोजी गर्ने तरिका पूर्ण रूपमा परमेश्‍वरको इच्छाअनुरूप थियो: तिनले जीवन, र स्वभाव परिवर्तनमा ध्यान दिन्थे, र परमेश्‍वरले आफ्‍नो कामद्वारा मानवजातिमा हासिल गर्न चाहनुभएको परिणाम त्यही हो। त्यसैले पत्रुसको मार्ग आशिषित छ र यसले परमेश्‍वरको प्रशंसा प्राप्त गर्दछ। पावलको मार्गले परमेश्‍वरको इच्छा उल्लङ्घन गर्ने हुनाले, परमेश्‍वरले त्यसलाई घृणा गर्नुहुन्छ र सराप दिनुहुन्छ। पत्रुसको बाटोमा हिँड्नका निम्ति व्यक्तिले परमेश्‍वरको इच्छालाई जान्नुपर्छ। यदि कुनै व्यक्तिले उहाँको वचनद्वारा उहाँको इच्छालाई पूर्ण रूपले बुझ्न सक्छ भने—जसको अर्थ परमेश्‍वरले मानिसबाट के चाहनुहुन्छ र अन्ततः उहाँले कुन नतिजा प्राप्त गर्न चाहनुहुन्छ भन्ने कुरा बुझ्‍नु हो—अनि मात्र आफूले कुन बाटो पछ्याउनुपर्छ भनेर उसले सही रूपले बुझ्न सक्छ। यदि तँ पत्रुसको मार्गलाई पूर्ण रूपमा बुझ्दैनस्, र केवल यसलाई पछ्याउन मात्र चाहन्छस् भने, तँ त्यसमा हिँड्न सक्‍नेछैनस्। अर्को शब्दमा भन्दा, तैँले धेरै सिद्धान्तहरू जानेको हुनसक्छस्, तर अन्त्यमा तँ वास्तविकतामा प्रवेश गर्न सक्‍नेछैनस्। तैँले सतही प्रवेश गरे तापनि तैँले कुनै पनि वास्तविक परिणाम प्राप्त गर्न सक्‍नेछैनस्।

आजभोलि, धेरैजसो मानिसहरूमा आफ्‍नो बारेमा अत्यन्तै सतही ज्ञान छ। तिनीहरूले आफ्‍नो प्रकृतिका कुराहरूलाई स्पष्ट रूपमा बुझ्न सकेका छैनन्। तिनीहरूसँग आफूले प्रकट गर्ने केही भ्रष्ट अवस्थाहरू, तिनीहरूले गर्ने प्रवृत्तिका कार्यहरू, वा तिनीहरूका केही कमजोरीहरूको बारेमा मात्र ज्ञान छ, र यसैले तिनीहरूलाई आफ्नो बारेमा केही जानेको छु भनी विश्‍वास गर्ने बनाउँछ। यसबाहेक, यदि तिनीहरूले केही नियमहरूको पालना गर्छन्, तिनीहरूले कुनै खास क्षेत्रमा गल्ती गर्दैनन् भन्‍ने कुरालाई निश्‍चित गर्छन्, र केही अपराधहरू गर्नबाट जोगिन्छन् भने, तिनीहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा तिनीहरूसँग वास्तविकता छ भन्‍ने सोच्छन् र तिनीहरूले मुक्ति पाउनेछन् भनी विश्‍वास गर्छन्। यो पूर्णतया मानवीय कल्पना हो। यदि तँ यी कुराहरूमा रहन्छस् भने के तँ साँच्‍चै कुनै अपराधहरू गर्नुबाट जोगिन सक्छस्? के तैंले स्वभावको वास्तविक परिवर्तन प्राप्त गरेको हुन्छस्? के तँ साँच्चै मानव जस्तो भएर जिइरहेको हुन्छस्? के तैँले त्यसरी परमेश्‍वरलाई सच्‍चा रूपमा सन्तुष्ट पार्न सक्छस्? कदापि सक्दैनस्, यो निश्‍चित कुरा हो। व्यक्तिमा उच्च मापदण्डहरू छन् र उसले सत्यता प्राप्त गरेको छ अनि उसको आफ्नै स्वभावमा केही परिवर्तन पाएको छ भने मात्रै परमेश्‍वरमाथिको विश्‍वासले काम गर्छ। यसको लागि पहिले आफूलाई चिन्‍ने कार्यमा समर्पित हुनुपर्छ। यदि आफ्नै बारेमा मानिसहरूको ज्ञान अत्यन्तै कम छ भने, तिनीहरूलाई समस्याहरू समाधान गर्न असम्भव हुनेछ, र तिनीहरूको जीवन स्वभाव पूर्ण रूपले परिवर्तन हुनेछैन। आफैलाई एक गहन स्तरमा जान्नु जरुरी हुन्छ, जसको अर्थ आफ्नो वास्तविक प्रकृति जान्नु हो: त्यो प्रकृतिमा कुन-कुन तत्वहरू समावेश हुन्छन्, ती कुराहरू कसरी उत्पन्न भए, र ती कहाँबाट आए। यसबाहेक, के तँ साँच्चै ती कुराहरूलाई घृणा गर्न सक्छस्? के तैँले आफ्नै घिनलाग्दो प्राण र तेरो दुष्ट प्रकृतिलाई देखेको छस्? यदि तैँले आफ्नै बारेमा रहेको सत्यतालाई देख्न सक्छस् भने, तैँले आफैलाई घृणा गर्नेछस्। जब तैँले आफैलाई घृणा गर्छस् र परमेश्‍वरको वचनलाई अभ्यास गर्छस्, तब गाह्रो हुन्छ भन्‍ने विश्‍वास नगरी तैँले दैहिकता त्याग्न र सत्यलाई अघि बढाउने सामर्थ्य पाउनेछस्। किन धेरै मानिसहरू आफ्ना देहगत रुचिहरूका पछि लाग्छन्? किनकि तिनीहरूले आफैलाई अति असल ठान्छन्, तिनीहरूका कार्यहरू सही र उचित छन्, तिनीहरूमा कुनै दोष छैन र तिनीहरू पूर्ण रूपमा सही समेत छन् भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरूले न्याय तिनीहरूकै पक्षमा छ भन्ने मान्यतासहित काम गर्न सक्छन्। जब व्यक्तिले आफ्नो वास्तविक प्रकृति के हो—कति घिनलाग्दो, कति तुच्छ र कति दयनीय छ भनी बुझ्दछ—तब ऊ आफैप्रति धेरै घमण्ड गर्दैन, अति अहङ्कारी हुँदैन, र पहिलेको जस्तै आफूसँग त्यति प्रसन्न हुँदैन। यस्तो व्यक्तिले यस्तो महसुस गर्छ, “परमेश्‍वरका केही वचनहरू अभ्यास गर्नमा म गम्भीर र व्यावहारिक हुनुपर्छ। यदि होइन भने, म मानिस बन्‍नुको मापदण्डको स्तरसम्म पुग्दिन, र परमेश्‍वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।” तब मात्र व्यक्तिले आफैलाई तुच्छ, साँच्चै महत्त्वहीन देख्दछ। यस बेला, सत्य पालन गर्न व्यक्तिलाई सजिलो हुन्छ, र मानिस जस्तो हुनुपर्छ ऊ त्यस्तै देखिन थाल्‍नेछ। मानिसहरूले आफैलाई साँच्चै घृणा गरे भने मात्र तिनीहरूले देहलाई त्याग्न सक्छन्। यदि तिनीहरूले आफैलाई घृणा गर्दैनन् भने, तिनीहरूले देहलाई त्याग्न सक्‍नेछैनन्। आफैलाई साँचो रूपमा घृणा गर्नु सानोतिनो कुरा होइन। तिनमा भेट्टाइनुपर्ने कुराहरू धेरै हुन्छन्: पहिलो, आफ्नै प्रकृतिलाई जान्नु; र दोस्रो, आफूलाई अभावग्रस्त र दयनीय अवस्थाको देख्‍नु, आफैलाई अत्यन्तै सानो र नगण्य रूपमा देख्नु, र आफ्नै दयनीय र फोहोर प्राणलाई देख्नु। जब व्यक्तिले वास्तवमा ऊ के हो भनेर पूर्ण रूपमा बुझ्दछ, र यो नतिजा हासिल हुन्छ, तब उसले आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्दछ, र व्यक्तिले आफैलाई पूर्ण रूपमा चिनेको छ भनी भन्न सकिन्छ। तब मात्र व्यक्तिले आफैलाई घृणा गर्न सक्दछ यहाँसम्म कि उसले आफैलाई सराप्छ, र शैतानले उसलाई गम्भीर रूपमा भ्रष्ट पारेकोले ऊ मानिस जस्तो समेत देखिँदैन भन्‍ने उसले महसुस गर्छ। अनि एक दिन, जब मृत्युको खतरा देखा पर्दछ, त्यस्तो व्यक्तिले सोच्‍नेछ, “यो परमेश्‍वरको धर्मी दण्ड हो। परमेश्‍वर साँच्चै धर्मी हुनुहुन्छ; म साँच्चै मर्नुपर्छ!” यस्तो अवस्थामा उसले कुनै गुनासो गर्नेछैन, परमेश्‍वरलाई दोष लगाउने त परै जाओस्, अनि उसले आफू अभावग्रस्त र दयनीय, अति फोहोर र भ्रष्ट भएकोले परमेश्‍वरले उसलाई निष्कासित गरी नाश पार्नुपर्छ, र उसको जस्तो प्राण पृथ्वीमा जिउन योग्यको छैन भन्ने मात्र महसुस गर्छ। त्यसकारण, यस व्यक्तिले परमेश्‍वरको बारेमा गुनासो वा विरोध गर्नेछैन, उहाँको विश्‍वासघात गर्ने कुरा त परै जाओस्। यदि व्यक्तिले आफैलाई चिन्दैन र पनि अझै आफूलाई धेरै असल नै ठान्दछ भने, जब मृत्यु ढोका ढकढक्याउँदै आउँछ, तब यस व्यक्तिले सोच्‍नेछ, “मैले आफ्नो विश्‍वासमा धेरै राम्रो गरेको छु। मैले कति धेरै कठिनतासाथ खोजेको छु! मैले धेरै कुरा दिएको छु, मैले धेरै दुःख भोगेको छु, तापनि अन्त्यमा, अब परमेश्‍वरले मलाई मर्नु भनिरहनुभएको छ। परमेश्‍वरको धार्मिकता कहाँ छ मलाई थाहा छैन। उहाँले मलाई किन मर्नु भनिरहनुभएको छ? यदि मैले मर्नुपर्छ भने कोचाहिँ बच्न सक्‍नेछ? के मानवजाति समाप्त हुनेछैन र?” सबैभन्दा पहिले, यस व्यक्तिमा परमेश्‍वरको विषयमा धारणाहरू हुन्छ। दोस्रो, यो व्यक्तिले गुनासो गरिरहेको छ, र कुनै पनि किसिमको समर्पणता देखाइरहेको छैन। यो पावललाई भएको जस्तै हो: जब तिनी मर्न लागेका थिए, तिनले आफैलाई चिनेका थिएनन् र परमेश्‍वरको दण्ड नजिक आइसकेपछि, यो सब धेरै ढिला भइसकेको थियो।

अंश ४३

भेलाहरूमा अक्सर सत्यताबारे सङ्गति, मानिसहरूको भ्रष्ट स्वभावबारे विश्‍लेषण, आफैलाई चिन्नेबारे कुराकानी र मानिसहरूका विभिन्न स्थिति एवं व्यवहारहरूबारे छलफल गरिने भए पनि, अहिले पनि अझै कयौँ मानिसहरू छन् जसले आफ्नै भ्रष्ट स्वभाव चिनेका छैनन्। कतिपय मानिसहरू आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकार मात्र गर्छन्, तर यस्तो भ्रष्ट स्वभाव प्रकटीकरण हुँदा तिनीहरूलाई थाहै हुँदैन। कतिपय मानिसहरूमा बोध क्षमता हुन्छ र परमेश्‍वरका वचनहरू पढ्दा, तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् र उहाँले भन्‍नुभएका कुराहरू व्यावहारिक छन् भनेर स्विकार्छन्। तर तिनीहरूमाथि परिस्थितिहरू आइपर्दा, तिनीहरूको बुझाइ सतही हुन्छ। तिनीहरू आफूले अझै पनि ठीकै काम गरिरहेको छु, र आफू अझै पनि असल व्यक्ति नै हुँ भन्‍ने ठान्छन् र तिनीहरूले आफूमा थोरै भ्रष्ट स्वभाव छ भनेर माने पनि आफूलाई अझै पनि असल मानिसहरूकै समूहमा राखेका हुन्छन्। तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभावको प्रकृति के हो र यसको परिणाम के हुनेछ भन्ने थाहै हुँदैन। के यो साँच्चै नै आफूलाई चिनेको अवस्था हो र? मानिसहरूले केही वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरिसकेपछि उहाँका वचनहरू पढेर, प्रवचन र सङ्गतिहरू सुनेर, अनि काटछाँट र निराकरण भोगेर धेरैजसोले अन्ततः तिनीहरूको मानवता असल छैन, तिनीहरूभित्र साँच्चै नै भ्रष्ट स्वभाव छ, अनि तिनीहरूले सत्यता उल्लङ्घन गर्ने र परमेश्‍वरको विरोध गर्ने कामहरू गर्न सक्छन् भनेर स्पष्टै देखेका हुन्छन्। तर धेरै मानिसहरूले यसलाई साँचो रूपमा पहिचान गर्दैनन्; तिनीहरूले आफू दियाबलस हुँ, शैतान हुँ र आफू श्रापित हुनुपर्ने व्यक्ति हुँ भनेर मौखिक रूपमा मात्र स्विकार्छन्। के यसप्रकारको बुझाइ व्यावहारिक हो कि होइन? के यो हृदयबाटै आउने कुरा हो? के यो आफैप्रति साँचो घृणा गर्दै भनिएको कुरा हो? उदाहरणका लागि, एउटा अगुवा वा सेवक थियो, जसलाई व्यावहारिक काम नगरेको भनेर बर्खास्त गरियो, अनि आफूले “पछुतो महसुस गरेको” भनेर सबैलाई देखाउन उसले एउटा यस्तो पश्‍चात्ताप पत्र लेख्यो, “मैले परमेश्‍वरलाई निराश बनाएको छु र म उहाँको ऋणी छु। म उहाँको मुक्तिको योग्य छैन, न त उहाँको सावधानीपूर्ण रेखदेख र कामको योग्य नै छु। म राक्षस हुँ, म शैतान हुँ, मेरो मानवता खराब छ। म श्रापित हुनुपर्छ, र म नरक जानुपर्छ र नष्ट हुनुपर्छ!” यो पश्‍चात्ताप पत्रमा प्रयोग गरिएको प्रत्येक वाक्यमा उसले आफैलाई इन्कार र निन्दा गरेको छ, अनि यस्ता शब्दहरू बोलेको छ जुन एउटा अविश्‍वासीले कहिल्यै बोल्दैन। उसले आफू राक्षस र शैतान हुँ भनेर स्विकारेको छ, तर के यीमध्ये कुनै शब्दहरू सच्‍चा छन् त? (छैनन्, उसले के-कस्तो भ्रष्टता प्रकट गरेको छ, के-कस्तो खराब कामहरू गरेको छ वा मण्डलीको काममा के-कस्तो हानिनोक्सानी पुर्‍याएको छ भनेर यी शब्दहरूले केही बोल्दैनन्।) त्यहाँ त्यस्तो एउटा पनि वाक्य छैन जसले वास्तविक अवस्था के हो वा उसको हृदयमा के छ भनेर खुलाएको होस्; ती सबै खोक्रा शब्दहरू हुन्। के यो साँचो बुझाइ हो त? (होइन।) यदि यो साँचो बुझाइ होइन भने, के त्यसोभए उसले आफू भ्रष्ट हुँ भनेर स्वीकार गर्छ त? (अहँ, गर्दैन।) अब यो कुरालाई उसका लागि परिभाषित गरौँ है त: यो व्यक्तिले आफ्नै भ्रष्टता स्वीकार गर्दैन। उसले पश्‍चात्ताप पत्र लेख्यो, र सतही रूपमा उसले आफूलाई चिनेको र आफ्नो भ्रष्टता स्वीकार गरेको देखिन्छ। त्यसपछिबाट, तैँले ऊ दैनिक जीवनमा कस्तो व्यवहार गर्छ र उसको पर्दापछाडिको वास्तविक व्यवहार बदलिएको छ कि छैन भनेर हेर्नुपर्छ; तब मात्र तैँले सही निष्कर्ष निकाल्न सक्छस्। अनि, हामीले कुन-कुन व्यवहारहरूबाट उसले साँचो रूपमा आफ्नो भ्रष्टता स्वीकारेको र आफूलाई साँच्चै नै चिनेको छ भनेर देख्न सक्छौँ? (व्यक्तिसँग आफूबारे साँचो बुझाइ भएपछि मात्र वास्तविक बदलाबहरू देखिनेछ।) यो सही कुरा हो। परमेश्‍वरले कुनै व्यक्तिमा वास्तविक बदलाब आएको छ कि छैन भनेर हेर्नुहुन्छ। यदि कसैले पश्‍चात्ताप पत्र लेख्छ, अनि उसले लेखेका शब्दहरू इमानदार देखिन्छन्, र उसमा वास्तविक बुझाइ रहेको झल्किन्छ भने, के यसको अर्थ उसले साँचो रूपमा पश्‍चात्ताप गरेको छ भन्ने हो? के यसबाट उसले साँच्चै नै पश्‍चात्ताप गरेको छ भन्ने प्रमाणित हुन्छ? अहँ, हुँदैन। हामीले उसमा साँचो बदलाब आएको छ कि छैन भनी अवश्यै हेर्नुपर्छ—यो एकदमै महत्त्वपूर्ण पक्ष हो। तर बर्खास्त गरिएपछि, उसले अक्सर दाजुभाइ-दिदीबहिनीसामु आफूलाई सही ठहर्‍याउने र आफ्नो बचाउ गर्ने प्रयास गर्छ, जुन अझै पनि आफ्नो भ्रष्टता नस्विकार्नु र आफूबारे साँचो बुझाइ नहुनुसमान हो। उसको प्रतिरोध, आफूलाई गर्ने बचाउ र पर्दापछाडि आफूलाई सही ठहर्‍याउने प्रयासले यो कुरा पुष्टि गरेको छ। यसअतिरिक्त, जब माथिबाट उसका कार्यको विश्‍लेषण हुन्छ र ऊ ख्रीष्टविरोधी, झुटो अगुवा र व्यावहारिक काम नगर्ने व्यक्ति हो भनेर भनिन्छ, तब माथिबाट खुलासा हुँदा उसको प्रतिक्रिया कस्तो हुन्छ? उसले तर्क गर्छ, र आफूलाई बचाउ गर्ने र सही ठहर्‍याउने प्रयास गर्छ, जहाँ पनि यी कुराहरूको स्पष्टीकरण दिन्छ, तर आफू व्यावहारिक काम गर्दिनँ, आफूमा क्षमताको कमी छ, आफूले सत्यता बुझेको छैनँ, र आफू झुटो अगुवा हुँ भनेर उसले स्विकार्दैन। यसरी स्वीकार नगर्नु र आफ्नो बचाउ गर्नुपछाडि कस्तो स्वभाव हुन्छ? यो एकप्रकारको हठी र अहङ्कारी स्वभाव हो, एउटा यस्तो स्वभाव जसले सत्यताप्रति दिक्क मान्छ। जब उसले पश्‍चात्ताप पत्र लेखेको थियो, त्यो बेला उसले आफू दियाबलस र शैतान हुँ भनेको थियो, आफू परमेश्‍वरका लागि अयोग्य छु र उहाँप्रति ऋणी छु भनेको थियो, अनि उसले आफ्नो मानवता असल छैन पनि भनेको थियो, तर यसलाई स्विकारेलगत्तै ऊ फेरि आफ्नै पुरानै तरिकामा फर्किहाल्यो। यहाँ यो के भइरहेको छ? (उसको स्वीकारोक्ति साँचो होइन।) उसको साँचो पक्ष के हो त? अनि उसको साँचो कद के हो? (आफ्नो बचाउ गर्नु र आफूलाई सही ठहर्‍याउन खोज्नु।) पर्दापछाडि आफ्नो बचाउ गर्नु र आफूलाई सही ठहर्‍याउन खोज्नु, सबैतिर आफ्नो स्पष्टीकरण दिँदै हिँड्नु—यो नै उसको साँचो पक्ष हो। के यसले ऊ आफू व्यावहारिक काम गर्न नसक्ने र आफूमा सत्यता वास्तविकता नभएको कुरा स्वीकार नगर्ने व्यक्ति हो भन्‍ने प्रमाणित गर्दैन र? उसले यो कुरा बिलकुलै स्वीकार गर्दैन। यदि उसले यसलाई स्वीकार नै गर्दैन भने, के उसले आफूलाई साँचो रूपमा चिनेको हुन्छ त? यदि उसले आफूलाई चिन्दैन भने, उसले आफूलाई दियाबलस र शैतान भनी चित्रण गर्नु मानिसहरूलाई छल्नु होइन र? त्यसो हुँदा, आफूलाई चिन्नेबारे उसले भन्ने सबै कुरा झुटो हो, यो सबै छली कुरा हो। उसले आफू काम गर्न सक्दिनँ, र आफ्नो मानवता असल छैन भनेर स्विकार्दैन, अनि ऊ अझै पनि आफैलाई निन्दा गर्ने शब्दहरू किन बोल्छ? यो कुरा बुझ्न नसकिने छ। यदि उसले आफूलाई नै चिन्दैन भने, किन अझै पनि ऊ आफूलाई चिनेको बहना गर्छ? यो मानिसहरूलाई ठग्‍नका लागि हो। हामीसामु भएका तथ्यहरूले ऊ पाखण्डी हो भनेर पहिल्यै प्रमाणित गरिसकेको छ। त्यसो भए, के उसले आफूमा भ्रष्ट स्वभाव भएको स्विकार्छ त? (उसले यो स्विकार्दैन।) उसले यो स्विकार्न मान्दैन, र आफूले गरेका यी कुराहरू गलत होइनन् भन्ने प्रमाणित गर्न विभिन्न बहाना र तर्कहरू खोज्ने हरसम्भव कोसिस गर्छ। ऊ आफूले जे गरे पनि त्यो सही छ, र माथिबाट यसलाई निन्दा वा विश्‍लेषण गरिनु हुँदैन भन्ने ठान्छ। उसले आफूलाई बर्खास्त गरिने कुरा स्विकार्न सक्छ, तर यी कुराहरूकै कारण आफूलाई अन्यायपूर्ण व्यवहार गरिएको स्विकार्न सक्दैन। उसको बर्खास्तीको कारण जुनसुकै होस्, ऊ यसप्रति समर्पित हुन र यसलाई स्विकार्न सक्छ, तर यी कुराहरूकै कारणले उसलाई बर्खास्त गरिएको हो भनेर मान्न वा समर्पित हुन सक्दैन। के यही नै उसले आफूलाई बचाउ गर्नु र सही ठहर्‍याउन खोज्‍नुको मूलजड होइन र? यसप्रकारको व्यक्तिले आफू शैतान वा दियाबलस हुँ भन्नेबारे कुरा गर्छ, आफूलाई श्राप दिएर नरक पठाइनुपर्छ पनि भन्छ, र बारम्बार यही कुराहरूको रट लगाउँछ, र अर्कोतिर निरन्तर तर्क गर्ने र आफूलाई सही ठहर्‍याउने प्रयास गरिरहन्छ—के उसले आफूलाई साँचो रूपमा चिन्छ त? (चिन्दैन।) ऊ बारम्बार आफू दियाबलस र शैतान भएको रट लगाउँछ, तैपनि आफूले गरेका कुनै पनि गल्ती स्विकार्दैन। अनि, उसले आफूमा भ्रष्ट स्वभाव छन् भनेर स्विकार्छ त? (स्विकार्दैन।) त्यस्ता व्यक्तिहरूले यो कुरा स्विकार्दैनन् भनेर किन भनिएको हो? तिनीहरू सबैले आफू दियाबलस र शैतान भएको स्विकार्छन्, तर आफूमा भ्रष्ट स्वभावहरू छन् भनेर चाहिँ किन स्विकार्दैनन्? कुन परिणाम चाहिँ बढी गम्भीर हुन्छ—आफूमा भ्रष्ट स्वभाव छ भनेर स्विकार्नु, कि आफू दियाबलस एवं शैतान हुँ भनेर स्विकार्नु? वास्तवमा, तिनीहरूले हृदयबाटै के बुझेका छन् भने, आफू दियाबलस वा शैतान हुँ भनेर स्विकार्दा अरूलाई झुक्याउन सकिन्छ र राम्रो नतिजा हासिल गर्न सकिन्छ, र मानिसहरूले तिनीहरूलाई केही पनि गर्ने छैनन्। तर यदि तिनीहरूले आफूले गल्ती गरेको वा आफूमा मानवता नभएको भनी स्विकारे भने, मानिसहरू तिनीहरूबाट पर बस्नेछन् र तिनीहरूलाई घृणा गर्नेछन्। तसर्थ, तिनीहरूले सबैसँग छल गर्न र स्पष्टीकरण दिन चल्तीको नारा रोज्छन्। किन तिनीहरू यस्ता सुत्रवाक्य र नाराहरू फलाक्छन्? यसको प्रयोजन के हो? (यो कुरा तिनीहरूले आफूलाई कति चिनेको छु भनेर मानिसहरूलाई देखाउनका लागि हो।) एक प्रकारले, तिनीहरूले आत्मिकताको देखावटी गरिरहेका हुन्छन्। अर्को प्रकारले, तिनीहरूले यस्तो सोच्छन्: “सबैले आफूलाई दियाबलस र शैतान भन्छन्। यदि मैले आफू दियाबलस र शैतान हुँ भनेर भनेमा, मैले कुनै पनि परिणामहरू भोग्नुपर्ने छैन र सबैको अनुमोदन पनि प्राप्त गर्न सक्नेछु। यसो किन नगर्ने त?” के त्यो विचार यही होइन र? के आफूलाई यसरी चिन्नु निकै धूर्त कुरा होइन र? (हो, यो छली कुरा हो।) यो प्रकृतिले नै छली र र ठगी गर्ने खाले कुरा हो, र यसमा धार्मिक चालबाजका गुणहरू छन्। धार्मिक चालबाजहरू के भन्छन्? “हामीहरू सबै पापी हौँ, हामी सबैले पाप गरेका छौँ!” तिनीहरूले आफू कति खराब छौँ, वा आफूले कति खराब कार्यहरू गरेका छौँ भनेर भन्दैनन्। तिनीहरूले यसो पनि भन्छन्: “हामीहरू सबै पापी हौँ, र हामीले पश्‍चात्ताप गर्नुपर्छ। हेर त प्रभु येशूले हाम्रो लागि कति धेरै बहुमूल्य रगत बगाउनुभयो!” यी शब्दहरू प्रयोग गरेर तिनीहरू कुन लक्ष्य हासिल गर्न चाहन्छन्? यो तिनीहरू आफैलाई आत्मिक देखाउनका लागि हो। तिनीहरूले आफ्नै प्रदर्शन गरिरहेका हुन्छन् र अरूलाई आफ्नो बारेमा उच्च सोच्ने बनाइरहेका हुन्छन्, ताकि तिनीहरूले अरूको हृदय र मन जित्ने आफ्नो लक्ष्य हासिल गर्न सकून्। के आफू दियाबलस र शैतान हुँ भनी स्विकारेको दाबी गर्ने मानिसहरू पनि यो नतिजा हासिल गर्न चाहन्छन्? यो पनि तिनीहरूको उद्देश्य होइन र? पहिलो नजरमा, तिनीहरूले आफूलाई चिन्छन् जस्तो लाग्छ र आफूलाई दियाबलस र शैतान, नरकको सन्तान र मृत्युको भागीदार घोषणा गरेर तिनीहरू साँचो पश्‍चात्ताप गर्ने मानिसहरू हुन् जस्ता लाग्छन्। कति गम्भीर हुन्छन् तिनीहरूका शब्दहरू! तर त्यसरी अत्यन्तै गम्भीरतासाथ बोल्दै गर्दा, के तिनीहरू आफूले वास्तवमा पर्दापछाडि गर्ने कुराहरूबारे पनि त्यति नै गम्भीर हुन्छन् त? अहँ, बिलकुलै हुँदैनन्। तिनीहरूले दोहोरो शैली अपनाउँछन्: एकातिर, आफू दियाबलस र शैतान हुँ सार्वजनिक रूपमा स्विकार्छन्, र अर्कोतिर, आफ्नो बचाउ गर्न र आफूलाई सही ठहर्‍याउन खोज्छन्, र आफूले कुनै गल्ती नगरेको स्पष्टीकरण दिन्छन्। तिनीहरू भन्छन्, माथिबाट तिनीहरूलाई अन्यायपूर्ण व्यवहार भयो, माथिलाई वास्तविक अवस्था थाहै छैन र यी कार्यहरू गर्दा तिनीहरूले निकै कठिनाइ र आलोचना सहेका छन्, र ठूलो मूल्य चुकाएका छन् र तिनीहरूलाई यसरी व्यवहार गरिनु हुँदैन। तिनीहरू अधिक सहानुभूति प्राप्त गर्न र तिनीहरू आफू दियाबलस एवं शैतान हुँ भनेर स्विकार्छन् र आफूलाई साँच्चै नै चिन्छन्, तर माथिबाट तिनीहरूलाई अन्याय भएको छ, र मामुली कुरामा तिनीहरूलाई बर्खास्त गरिएको छ भनेर धेरै मानिसहरूमा गलतबुझाइ पैदा गर्न यस्ता कुराहरू भन्छन्। तिनीहरू आफूले आफूलाई चिनेको र आफू अगुवा बन्न योग्य रहेको देखाउन खोज्छन्। तिनीहरूले वास्तवमा आफूलाई जोडतोडले बचाउ गरिरहेका र सही ठहर्‍याउन खोजिरहेका हुन्छन्। छद्मभेष धारण गर्न, आफूलाई सही ठहर्‍याउन र आत्मिक नाराहरू फलाक्न सिपालु यस्ता मानिसहरूले के साँच्चै नै आफूलाई चिन्न सक्छन् त? (तिनीहरूले सक्दैनन्।) तिनीहरूको तथाकथित आत्मज्ञान त देखावटी गर्न, अरूलाई झुक्याउन र बहाना बनाउँदै अरूमा राम्रो छाप छोड्नका लागि मात्र हो। तिनीहरू पश्‍चात्ताप गर्न र अपराध स्विकार्न साँचो रूपमा परमेश्‍वरसामु आउँदैनन्, र तिनीहरू परमेश्‍वरबाट हुने काटछाँट र निराकरण, तिनीहरूको खुलासा र अनुशासन कार्बाही वा बर्खास्ती स्विकार्दैनन्। तिनीहरूमा यस्तो मनोवृत्ति नै हुँदैन।

आजकल, अधिकांश मानिसहरूको अनुभव र आत्मज्ञान निकै सतही र एकदमै सीमित हुन्छ। धेरै मानिसहरूले आफ्नो तौरतरिकामा रहेका त्रुटिहरू र आफूले गरेका गल्तीहरू मात्र स्विकार्छन्, तर थोरैले मात्र आफूमा कमजोर क्षमता, विकृत बोध, आत्मिक विषयवस्तु बुझ्ने असमर्थता, र मानवताको कमी रहेको स्विकार्छन्। अनि, अझै थोरैले मात्र परमेश्‍वरका प्रकाशका वचनहरू पूर्ण तथ्य हुन्, र यी वचनहरूले तिनीहरूको भ्रष्टताको सत्यता खुलासा गर्छन् वा उहाँका वचनहरू पूर्ण रूपमा सही र त्रुटिरहित छन् भनी स्विकार्छन्। यो मानिसहरूले आफूलाई अझै पनि चिन्दैनन् भन्ने कुराको प्रमाण हो। तिनीहरू शैतानी स्वभाव र शैतानी प्रकृतिअनुसार जिउँछन् भन्ने कुरा नस्विकार्नु भनेको तिनीहरूले आफूलाई वास्तवमा चिन्दैनन् भन्ने हो। चाहे तिनीहरूले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरून्, तिनीहरूले त्यो स्विकार्दैनन्। तिनीहरूले त्यसलाई ढाक्छन् र लुकाउँछन्, र आफ्नो भ्रष्टता अरूलाई देखाउँदैनन्। यस्ता मानिसहरू भेष बदल्न धेरै सिपालु हुन्छन् र तिनीहरू पाखण्डी हुन्। आजकल, अधिकांश मानिसहरू सत्यतातर्फ झुकाव राख्छन्, र तिनीहरूको स्थिति केही हदसम्म सुधार भएको छ, तर तिनीहरूले अझै पनि आफूलाई साँचो रूपमा चिन्दैनन्। धेरै मानिसहरूले गल्ती गर्दा त्यो मामिलामा आफू गलत रहेको भनेर मात्र स्विकार्ने गर्दछन्। यदि तैँले तिनीहरूलाई “यस मामिलामा तपाईँबाट वास्तवमा कहाँ गल्ती भयो? तपाईँले कुन सत्यता सिद्धान्त उल्लङ्घन गर्नुभयो? तपाईँले कुन भ्रष्ट स्वभाव प्रकट गर्नुभयो?” भनेर सोधिस् भने तिनीहरूले यस्तो जवाफ दिन्छन्, “यसको भ्रष्ट स्वभावसँग कुनै लिनुदिनु छैन। यो केवल क्षणिक चुक मात्र थियो, मैले यसबारे राम्रोसँग सोचिनँ र आवेगमा आएर काम गरेँ। तर यो मेरो अभिप्राय थिएन।” तिनीहरूका अनपेक्षित कार्य र त्रुटिहरू तिनीहरूले प्रकट गरेका भ्रष्ट स्वभावहरूका ढाल र बहाना बनेका हुन्छन्। के यो तिनीहरूको आफ्नै भ्रष्टताको साँचो स्वीकारोक्ति हो त? यो साँचो स्वीकारोक्ति होइन। यदि तँ बारम्बार बहाना बनाउने वा आफूले प्रकट गरेका भ्रष्ट स्वभावका लागि तर्कहरू खोज्ने गर्छस् भने, तैँले साँचो रूपमा आफ्नै भ्रष्ट स्वभावहरू सामना गर्न सक्दैनस्, न त तैँले तिनलाई स्विकार्न वा बुझ्न नै सक्छस्। उदाहरणको लागि, कुनै व्यक्तिले केही समयका लागि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्छ; उसको स्थिति स्थिर रहन्छ, उसले गरेको जुनसुकै कार्य सहज ढङ्गले र बिनारोकावट अघि बढ्छ, अनि उसले केही सकारात्मक नतिजाहरू निकाल्छ र अरूबाट प्रशंसा प्राप्त गर्छ। अनि, उसलाई आफूले ठूलो योगदान गरेको र परमेश्‍वरले इनाम दिनुपर्छ भन्ने लाग्छ। परिणामस्वरूप, उसले अहङ्कारी र आत्मधर्मी भ्रष्ट स्वभाव प्रकट गर्छ—उसले आफूलाई अरूभन्दा राम्रो मान्छ, कसैको कुरा सुन्न मान्दैन र कसैसँग पनि सौहार्दपूर्ण सहकार्य गर्न सक्दैन। चाँडै नै, उसले कर्तव्य निर्वाह गर्ने क्रममा गल्तीहरू गर्न थाल्छ र दाजुभाइ-दिदीबहिनीले ऊ अति नै अहङ्कारी भएको भन्दै उसको निराकरण र खुलासा गर्छन्। उसलाई यो तथ्य स्विकार्न कठिन हुन्छ र यस विषयमा लगातार यसरी विचार गरिरहन्छ: “म अहङ्कारी छु र? मलाई त यस्तो लाग्दैन। मैले कुनै पनि कुरामा घमण्ड गरेको छैन, अनि म कसरी अहङ्कारी हुन पुगेँ?” ऊ “अहङ्कारी” भन्ने शब्दमा अड्किन्छ र यसबाट अघि बढ्न सक्दैन। यो शब्द स्विकार्न नसक्नुले उसमा समझ छैन, ऊ आफूलाई बिलकुलै चिन्दैन र उसले आफ्नो भ्रष्ट स्वभाव स्विकार्दैन भन्ने देखाउँछ। जब तँमाथि कुनै परिस्थिति आइपर्छ, र जब तैँले भ्रष्ट स्वभाव प्रकट गर्छस्, अनि यदि कसैले तेरो आलोचना गर्छ वा तँलाई काटछाँट र निराकरण गर्छ, र तैँले गरेका कुराले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्छ भनेर भन्छ, तैपनि तँ उक्त विशेष मामिलामा आफ्नो गल्ती भएको मात्र स्विकार्छस्, तर यो भ्रष्ट स्वभाव प्रकटीकरणको परिणाम हो भनेर स्विकार्न तयार हुँदैनस् र आफूले भ्रष्ट स्वभाव प्रकट गरेको तथ्य कहिल्यै नस्विकारी उक्त गल्ती मात्र सुधार्न तयार हुन्छस् भने, तैँले आफूलाई साँच्चै चिनेको छैनस्। के गल्ती स्विकार्नुले आफैमा आत्मज्ञानको प्रतिनिधित्व गर्न सक्छ र? आत्मज्ञानको अर्थ आफ्नो गल्तीको मूल कारण पहिचान गर्नु र आफ्नो भ्रष्ट स्वभाव चिन्नु भन्ने हो। यदि तैँले आफूले कुनै गल्ती गरेको स्विकार्छस् र पछि तेरो व्यवहार बदलिन्छ, जसबाट तैँलै अबउप्रान्त सोही गल्ती गर्दैनस् भन्ने देखिन्छ, तर तैँले आफ्नो भ्रष्ट स्वभाव छोडेको छैनस् र गल्तीको मूलजड समाधान भएको छैन भने, त्यसपछि के परिणाम आउनेछ? तैँले अझै पनि भ्रष्ट स्वभाव प्रकट गरेरै छाड्नेछस्, अनि परमेश्‍वरविरुद्ध विद्रोह र विरोध गर्नेछस्। यो नठान् कि व्यवहारमा आउने केही बदलाब तेरो स्वभावमा आएको बदलाब हो। आफूलाई चिन्नु एउटा अन्तहीन विषय हो; यदि व्यक्तिले आफ्नो भ्रष्ट स्वभावको मूलजड चिन्न सक्दैन वा परमेश्‍वरप्रति उसको विद्रोह र विरोधको जड कहाँ छ भन्ने उसलाई थाहा हुँदैन भने, उसले आफ्नो स्वभावमा बदलाब ल्याउन सक्दैन। व्यक्तिले आफ्नो स्वभाव बदल्ने कुरामा आउने कठिनाइ नै हो। अनि, किन परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसहरूले आफ्नो व्यवहार मात्रै बदल्छन्, तर जीवन स्वभाव बदल्दैनन्? ठ्याक्‍कै यहीँनेर समस्या छ। यदि तँ स्विकार्छस् कि तैँले प्रकट गरेको कुरा भ्रष्ट स्वभाव हो जसको कारण तँ मनोमानी ढङ्गले काम गर्छस्, स्वेच्छाचारी निर्णय गर्छस्, अरूसँग सौहार्दपूर्ण सहकार्य गर्दैनस् र आफूलाई अरूभन्दा माथि राख्छस्, अनि यी कुराहरू स्वीकार गरिसकेपछि यो अहङ्कारी स्वभावको कारणले भएको हो भनेर फेरि स्विकार्छस् भने, यसले तँलाई के लाभ दिनेछ? यसपछि मात्र तैँले वास्तविक रूपमा यी कुराहरूबारे चिन्तन गर्नेछस्, र भ्रष्ट स्वभाव नै परमेश्‍वरको विरोध गर्नुको मूल कारण हो र शैतानले मानवजातिलाई भ्रष्ट बनाएको तथ्यको बलियो प्रमाण हो भनी पहिचान गर्नेछस्। अनि, तैँले के पनि पहिचान गर्नेछस् भने, यदि व्यक्तिले यो भ्रष्ट स्वभाव त्याग्दैन भने, ऊ मानव कहलाउन योग्य छैन र परमेश्‍वरसामु जिउनका लागि ऊ अयोग्य छ। तर यदि तैँले आफूले केही गल्ती गरेको छु भनेर मात्र स्विकार्छस् भने, यसको परिणाम के हुनेछ? तैँले केवल आफूले काम गर्ने तरिकामा मात्र ध्यान केन्द्रित गर्नेछस्, त्यसैमा मात्र प्रयास लगाउनेछस् र त्यसलाई मात्र ठीक गर्न खोज्नेछस्, र तँ सतही रूपमा उचित देखिने गरी कामकुराहरू कसरी गर्ने र आफ्नो अहङ्कारी स्वभावको प्रकटीकरण कसरी लुकाउने भन्नेमा मात्र तल्लीन हुनेछस्। तँ झन् झन् छली हुनेछस् र अरूलाई छल गर्न तैँले अपनाउने तरिकाहरू झन् झन् जटिल बन्दै जानेछन्। अनि, तैँले यस्तो सोच्नेछस्: “यसपटक मैले गल्ती गरेँ, र म आफै सवाधान नभएकोले सबैले यो देखे। अर्कोपटक म यस्तो हुने छैन।” यसको नतिजा यो हुन्छ कि, तेरो काम गर्ने तरिका सतही स्तरमा त बदलिएको छ, र अरूले पनि कुनै समस्या देख्दैनन्, तर तैँले आफ्नो भ्रष्ट स्वभाव लुकाएको हुन्छस्। अनि, तँ के बनेको हुन्छस्? तँ अझै बढी छली र अझै बढी पाखण्डी बनेको हुन्छस्। यदि कुनै व्यक्ति आफूलाई बाहिरबाट हेर्दा अरूहरूले कुनै समस्या नदेखून्, वा कुनै गल्ती नभेटून्, र आफ्ना कार्यहरू त्रुटिरहित देखिऊन् भनेर आफूले बोल्ने र काम गर्ने तरिकामा मात्र केन्द्रित हुन्छ र ती कुराहरू मात्र सुधार्ने प्रयास गर्छ, तर आफ्नो भ्रष्ट स्वभाव बदल्दैन भने, के ऊ फरिसी बनिरहेको हुँदैन र? पाखण्डी तरिकाले काम गर्दा मानिसहरूलाई त छल गर्न सकिएला, तर के यसले परमेश्‍वरलाई छल गर्न सक्छ र? सत्यता पछ्याउनुको वास्तविक अर्थ के हो? मुख्य रूपमा, यसको अर्थ व्यक्तिले आफ्नो स्वभावमा परिवर्तन ल्याउनु हो। यदि व्यक्तिले आफ्नै भ्रष्ट स्वभाव कहिल्यै चिन्दैन भने, उसको स्वभावमा परिवर्तन आउनु असम्भव हुन्छ। यसका साथै, उसले आफूमा भ्रष्ट स्वभाव रहेको छ भन्ने कुरा सँगसँगै सत्यता पनि स्विकार्नुपर्छ, अनि आफूबाट वास्तवमा कहाँ गल्ती भयो र आफू कहाँ असफल भइयो भन्नेबारे चिन्तन गर्नुपर्छ, र त्यसपछि आफ्ना समस्याहरू हल गर्न सत्यता खोजी गर्नुपर्छ। यसरी मात्रै व्यक्तिले क्रमिक रूपमा आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्छ, कर्तव्य निर्वाहको क्रममा सत्यता अभ्यास गर्न सक्छ र सिद्धान्तअनुसार काम गर्न सक्छ। यसो गरेर ऊ सत्यता वास्तविकतामा प्रवेश गर्नेछ। सत्यता खोजी गरी यसलाई अभ्यास गर्न सक्ने व्यक्तिहरू मात्रै सत्यता पछ्याउन सक्ने व्यक्तिहरू हुन्। तिनीहरू मात्र ती व्यक्तिहरू हुन्, जसले सत्यता अभ्यास गर्नमा र सिद्धान्तअनुसार काम गर्नमा निरन्तर प्रयास लगाउन सक्छन्, र जसले आफ्ना अनुभवहरू सारांशित गरेर पाठहरू सिक्‍न सक्छन्। जब तिनीहरूले सत्यता अभ्यास गरी वास्तविकतामा प्रवेश गर्छन्, जब तिनीहरूले गर्ने काममा सिद्धान्तहरू हुन्छन् र जब तिनीहरूले थोरै गल्तीहरू गर्छन्, तब तिनीहरू क्रमिक रूपमा परमेश्‍वरद्धारा उपयोग गरिनको लागि उपयुक्त बन्नेछन्। यदि कुनै व्यक्ति सत्यता पछ्याउने व्यक्ति होइन भने, उसले आफूलाई चिन्नेबारे जति नै खोक्रा कुराहरू गरे पनि वा आफूलाई दियाबलस र शैतानको रूपमा जति नै चित्रण गरे पनि, अन्ततः उसले अझै पनि व्यवहारमा सत्यता लागू गर्ने छैन। अनि, यी दुई प्रकारका व्यक्तिहरूबीच के भिन्नता छ? एउटाले आफ्नो भ्रष्ट स्वभाव स्विकार्छ, सत्यता सिद्धान्तहरू खोज्छ र सत्यताअनुसार अभ्यास गर्छ—यो सत्यता पछ्याउने मार्ग हो। अर्कोले आफूमा भ्रष्ट स्वभाव छ भन्‍ने कुरा मान्दैन र आफ्नो भ्रष्ट स्वभावको तथ्य स्विकार्दैन, बरु यसको साटो आफूले काम गर्ने तौरतरिकामा प्रयास लगाइरहन्छ। तर यसले उसको बाहिरी व्यवहार मात्र बदल्छ र उसको जीवन स्वभावमा कुनै बदलाब आउँदैन, र यसले उसको व्यवहार झन् बढी छली बनाउँछ। यस्ता प्रकारका मानिसले जे अभ्यास गर्छन्, के त्यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ त? त्यो त्यस स्तरमा कहीँकतै पुगेको हुँदैन र त्यसले बाहिरी सतहसमेत छुन सकेको हुँदैन। तिनीहरूले गर्ने भनेकै भेष बदल्नु, बहाना गर्नु र छल गर्नु हो, अनि तिनीहरूको लक्ष्य भनेकै परमेश्‍वरका चुनिएका मानिसहरूलाई छल्नु हो। तिनीहरू सत्यता अभ्यास गर्दैनन्, तैपनि सबैले आफ्नो प्रशंसा गरून्, अनुमोदन गरून् र समर्थन् गरून् भन्ने चाहन्छन् ताकि मण्डलीमा तिनीहरूलाई हैसियत प्राप्त हुन सकोस्। के यो छद्मभेष र छलको प्रकटीकरण होइन र? तिनीहरूले छद्मभेष धारण गर्छन् र आफूलाई ढाकछोप गर्छन्, अनि अरूको समर्थन कसरी पाउने भन्नेमा केन्द्रित रहन्छन्। यस्तो खालको काम गर्ने तरिकामा कुनै सत्यता सिद्धान्त हुन्छ र? बिलकुल हुँदैन—यो पूर्ण रूपमा मानव दिमागका कल्पनाहरू, मानव विधिहरू, र सांसारिक जगतसँग व्यवहार गर्ने मानव दर्शनहरूमा आधारित छ, र यो अझै पनि शैतानी स्वभावअनुसार नै जिउनु हो। यस्तो पाखण्डी अभ्यास नक्कली आत्मिकतासँग सम्बन्धित कुरा हो; यसले मानिसहरूलाई छल गरिरहेको हुन्छ र यसमा अलिकति पनि सत्यता वास्तविकता हुँदैन।

आफ्नो कर्तव्य अरूले जसरी नै निर्वाह गरिरहेको देखिने कतिपय मानिसहरूले किन अचानक कहीँकतैबाट आइपुगेर अन्त्यमा ठूलो दुष्कर्म गर्दै मानिसहरूलाई स्तब्ध पार्छन्? के यसप्रकारको घटना एक व दुई दिनमै विकसित भएको हुन्छ त? पक्कै पनि हुँदैन। तीन फिट हिउँ एकै दिनमा जम्न सक्दैन। बाहिरबाट हेर्दा, तिनीहरू राम्रो व्यवहार गर्ने र सरल व्यक्तिजस्ता देखिन्छन्, र कसैले पनि तिनीहरूमा दोष भेट्टाउन सक्दैन, तर अन्त्यमा तिनीहरूले गर्ने खराब काम अरूले गर्ने कामभन्दा अधिक चरम र चकित तुल्याउने खालका हुन्छन्। यस्ता कामहरू तथाकथित “शिष्ट” मानिसहरूबाटै गरिएका हुन्छन्। के तिमीहरूलाई थाहा छ, यस्ता मानिसहरूमा कस्ता साझा विशेषता हुन्छन्? (तिनीहरू राम्रो व्यवहार गर्ने खालका, र सामान्यतया निकै राम्रो आचरण भएका देखिन्छन्।) तिनीहरू जे-जस्तो कुरामा जिउँछन् त्यसमा र तिनीहरूको प्रकृति सारमा दुई फरक विशेषता देखिन्छन्—के तिमीहरूले यी मुख्य बुँदाहरू बुझ्न सक्छौ? (तिनीहरू सत्यतालाई प्रेम गर्ने वा आफ्नो भ्रष्ट स्वभाव स्विकार्ने गर्दैनन्। तिनीहरूले आफूलाई चिन्नेबारे कुरा गर्दा तिनीहरूले छद्मभेष धारण गर्दै पाखण्डी व्यवहार गरिरहेका हुन्छन्।) पाखण्डी व्यवहार गर्नु यसको एउटा पक्ष हो, त्यसकारण तैँले कसरी यी मानिसहरू पाखण्डी छन् भनी पत्ता लगाउन र पुष्टि गर्न सक्छस्? अनि, तैँले तिनीहरू जिइरहेको यो असल व्यवहार देखावटी मात्रै हो भनेर कसरी पुष्टि गर्न सक्छस्? (सतही रूपमा, तिनीहरू निकै राम्रोसँग कुरा गर्छन्, तर आफूले गर्ने वास्तविक कार्यमा भने परमेश्‍वरको घरका हितहरूबारे विचारै नगरी आफ्नै हितहरू रक्षा गर्ने गर्छन्।) यो पाखण्डी व्यवहारको विशिष्ट प्रकटीकरण हो। यी पाखण्डी मानिसहरूले राम्रोसँग कुरा गरे पनि, तिनीहरूले वास्तवमा मानिसहरूसँग छल र कपट गरिरहेका हुन्छन्। यसअतिरिक्त, तिनीहरूले आफ्नो स्वार्थीपन र नीचता पनि देखाउँछन्, र आफ्नै हितहरू मात्र रक्षा गर्छन् र परमेश्‍वरको घरका हितहरूबारे विचारै गर्दैनन्—तिनीहरू नगरबधूजस्तै जिउन चाहँदै, आफ्नो स्वच्छताको स्मारक स्थापित गरिने अपेक्षा गर्छन्। यी सबैले तिनीहरूको प्रकृति सार प्रतिनिधित्व गर्छ, जसमा कुनै मानवता नै हुँदैन। मैले भर्खरै तिनीहरूको प्रकृति सारमा दुई भिन्न विशेषताहरू हुन्छन् भनेर भनेको थिएँ। पहिलो विशेषता के हो भने, यसप्रकारका मानिसहरू अक्सर नाराहरू फलाक्‍ने र धर्मसिद्धान्तहरूबारे बोल्ने गर्छन्, र तिनीहरू निकै आत्मिक छन् झै गर्छन्, तर वास्तवमा तिनीहरू सत्यतालाई अतिकति पनि प्रेम गर्दैनन्, र सत्यतालाई प्रेम नगरी तिनीहरूले सत्यता अभ्यास गर्नु असम्भव हुन्छ। यस बुँदाको आधारमा, तिमीहरूले तिनीहरूबारे पहिले भनेजस्तै तिनीहरूले आफ्नै हितबारे मात्र विचार गर्नु, के त्यो यसैमध्येको एउटा प्रकटीकरण होइन र? तिनीहरू किन आफ्नै हितबारे मात्र विचार गर्छन्? के तिनीहरू सत्यतालाई प्रेम गर्छन्? (तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरू आफ्नै हित मात्र मन पराउँछन्।) तिनीहरू आफ्नै हित मात्र रक्षा गर्छन् र परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीका हितबारे विचारै गर्दैनन्। के यो सत्यतालाई अतिकति पनि प्रेम नगर्ने व्यवहार होइन र? कतिपय मानिसहरू भन्छन्, “यदि तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् भने, किन तिनीहरू सधैँ सत्यतासँग सम्बन्धित कुराहरूबारे सङ्गति गर्छन् त?” तिमीहरू यसलाई कसरी व्याख्या गर्नेछौ? (तिनीहरू अरूलाई प्रभावित पार्न, आफूलाई ढाकछोप गर्न र भेष बदल्न यस्तो गर्छन्।) यो यसको एउटा पक्ष हो, तर यसबाहेक, के तिनीहरूले वास्तवमै सत्यता सङ्गति गरिरहेका हुन्छन् त? त्यो बिलकुलै सत्यताको सङ्गति होइन; त्यो त शब्द र धर्मसिद्धान्तहरूको सङ्गति मात्र हो। यदि त्यो स्पष्ट रूपमै शब्द र धर्मसिद्धान्तहरू मात्र हो भने, त्यसलाई कसरी सत्यता भन्न सकिन्छ? मूर्खले मात्रै शब्द र धर्मसिद्धान्तहरूलाई सत्यताबराबर मान्‍नेछ। दियाबलसहरूले मानिसहरूलाई छल्नहेतु शब्द र धर्मसिद्धान्तहरू बोल्न निकै खप्पिस हुन्छन्, र तिनीहरू अरू मानिसहरू र परमेश्‍वरलाई छल्नहेतु आफू सत्यतावाला व्यक्ति भएको बहाना पनि गर्न चाहन्छन्। मानिसहरूले बोलेका शब्द वा धर्मसिद्धान्तहरू जतिसुकै उच्च भए पनि, ती सत्यता होइनन्; परमेश्‍वरबाट बोलिएका वचनहरू मात्र सत्यता हुन्। मानिसहरूले बोलेका शब्द र धर्मसिद्धान्तहरूलाई सत्यतासमान भनेर कसरी भन्न सकिन्छ? ती दुई भिन्न कुराहरू हुन्। यो पहिलो पक्ष हो, यी मानिसहरूमा सत्यताप्रति बिलकुलै कुनै प्रेम छैन। के यो पक्ष तिनीहरूको प्रकृति सार हो? (हो।) हामी किन यो तिनीहरूको प्रकृति सार हो भन्छौँ र किन यो अस्थायी प्रकटीकरण वा व्यवहार हो भनेर भन्दैनौँ? किनभने तिनीहरूको सबै प्रकटीकरण र व्यवहारलाई हेर्दा, हामीले के निष्कर्ष निकाल्न सक्छौँ भने, तिनीहरूको मानवता सार भनेकै तिनीहरूले सत्यतालाई बिलकुलै प्रेम नगर्नु हो। यी विभिन्न व्यवहारहरूको कारण तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन् भनेर निर्धारण गर्न सकिन्छ। यो पहिलो विशेषता हो। अब, दोस्रो विशेषता के हो त? दोस्रो विशेषता के हो भने, यी मानिसहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर बिलकुलै स्वीकार गर्दैनन्। तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर बिलकुलै स्वीकार गर्दैनन् भन्नुको तात्पर्य के हो? यदि तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकार गर्दैनन् भनेर भनिन्छ भने, किन तिनीहरूले सधैँ आफूलाई चिन्नेबारेमा कुरा गर्छन् त? खासमा तिनीहरूले आफूलाई चिन्नेबारे कुरा गर्ने मात्रै होइन, लाजैबिना अरू मानिसहरूलाई आफू स्वयम्‌लाई चिन्न मद्दतसमेत गर्छन्। तिनीहरू अक्सर आफूले पर्याप्त काम गरिरहेको छैन, आफू परमेश्‍वरप्रति ऋणी छु र आफू दियाबलस एवं शैतान हुँ, र श्रापित हुन लायक छु भनेर भनिरहन्छन्। यसलाई कसरी व्याख्या गर्न सकिन्छ? (जब तिनीहरू आफूलाई चिन्नेबारे कुरा गर्छन्, तब त्यहाँ कुनै साँचो विषयवस्तु वा विवरण हुँदैन। उदाहरणका लागि, तिनीहरूले कुन भ्रष्टताहरू प्रकट गरे, तिनीहरूले कस्तो गलत अभिप्राय पाले, कस्तो भ्रष्ट स्वभावहरूको वशमा तिनीहरू परे, तिनीहरूको खास प्रकटीकरण के हो, तिनीहरूको प्रकृति सार के हो, आदि इत्यादिबारे कुनै पनि व्यावहारिक विषयवस्तु हुँदैन। तिनीहरूले वास्तविक भावना र बुझाइ व्यक्त नगरी अस्पष्ट रूपमा आफू दियाबलस एवं शैतान हुँ भनेर मात्र बताउँछन्।) (आफूलाई साँचो रूपमा चिन्नुको एउटा नतिजा भनेको आफूलाई साँचो रूपमा घृणा गर्न सक्षम हुनु हो। यस्ता मानिसहरूले मौखिक रूपमा आफ्नो भ्रष्टता स्विकार्छन्, तर हृदयमा आफूलाई बिलकुलै घृणा गर्दैनन्, अनि तिनीहरूले आफ्नो बचाउ गर्न र आफूलाई सही ठहर्‍याउन हरप्रकारका तर्कहरू फेला पार्छन्। कहिलेकाहीँ, तिनीहरूले आफूलाई बाहिरी रूपमा व्याख्या गर्दैनन्, र भित्री रूपमा आफ्नो भ्रष्टतालाई स्वीकार र पहिचान गर्दैनन्। तिनीहरू सत्यता स्विकार्न पूर्ण असमर्थ हुन्छन् र तिनीहरू बिलकुलै बदलिँदैनन्।) तिनीहरू आफूमा भ्रष्टता छ भनेर स्वीकार गर्दैनन्—यसलाई कसरी व्याख्या गर्न सकिन्छ? (जब तिनीहरूमाथि कुनै समस्या आइपर्छ र जब तिनीहरू खुलासा हुन्छन्, तब तिनीहरूलाई के लाग्छ भने, तिनीहरू यस्तो कुरा गर्न असमर्थ छन्, र त्यसैले आफूमा यसप्रकारको भ्रष्ट स्वभाव छ भनेर स्वीकार गर्दैनन्।) यसप्रकारका मानिसहरू सधैँ आफूलाई चिन्नेबारे कुरा गर्छन्, तर वास्तवमा तिनीहरूले के चिन्छन्? के तिनीहरू आफ्नो व्यवहार र प्रकटीकरण चिन्छन्, वा के तिनीहरू आफ्नो भ्रष्ट स्वभाव चिन्छन्? कि तिनीहरूले आफूले गलत गरेका कुराहरू मात्र चिन्छन्? यसप्रकारका ज्ञानहरूबीच निकै ठूलो अन्तर हुन्छ। केही खाले ज्ञान साँचो ज्ञान हुन्छन् भने, केही ज्ञानहरू सतही र साररहित हुन्छन्। कतिपय मानिसहरूको ज्ञान त अझै धेरै सतही हुन्छ, र तिनीहरूलाई आफूले कुन कुरा गलत गरेँ भन्ने मात्र थाहा हुन्छ र तिनीहरूले आफूले गरेका कार्य नैतिकता वा व्यवस्थाविरुद्ध गयो भनेर मात्र स्विकार्छन्। यो त धार्मिक मानिसहरूले प्रभुसामु आफ्नो अपराध स्विकारेको कुराभन्दा कुनै फरक छैन; यसबाट वास्तविक पश्‍चात्ताप हुँदैन। कतिपय यस्ता मानिसहरू पनि छन् जसले आफूलाई चिन्नेबारे कुरा गर्दा केही धर्मसिद्धान्तहरू बोल्छन् वा आत्मज्ञानबारे अरूले भन्ने गरेका कुराहरू नक्कल गर्छन्। यो छद्मभेष र छलको अझ ठूलो रूप हो। किन यस्ता व्यक्तिहरूले साँचो रूपमा आफूलाई चिन्दैनन्? सबभन्दा महत्त्वपूर्ण कारण भनेको तिनीहरूले कहिल्यै सत्यता नस्विकार्नु हो, त्यसैले तिनीहरूका सबै कार्य र व्यवहार तिनीहरूको आफ्नै प्राथमिकता, तिनीहरूको आफ्नै शैतानी दर्शन र तिनीहरूको आफ्नै हित, महत्त्वाकाङ्क्षा र चाहनाहरूमा आधारित हुन्छन्। तिनीहरूले हृदयको गहिराइमा आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरूलाई भ्रष्ट देख्दैनन्; तिनीहरूलाई चाहिएका कुनै पनि कुरा भ्रष्ट हुँदैन, त्यसैले तिनीहरूले जे चाहन्छन्, जे मन पराउँछन्, त्यही गर्छन्। यसलाई तिनीहरूको कार्यको सुरुवाती बिन्दुबाट मूल्याङ्कन गर्दा, के तिनीहरूले आफ्ना भ्रष्टताहरू स्विकार्छन् त? (तिनीहरूले आफ्ना भ्रष्टताहरू स्विकार्दैनन्।) आफ्नो भ्रष्टता स्विकार्ने मानिसहरूले कसरी कार्य गर्छन्? के तिनीहरूले सत्यता सिद्धान्तहरू खोजी गर्दै काम गर्छन्, कि केवल प्रार्थना, चिन्तन र आफ्नो दिमागले सोचेअनुसार काम गर्छन्? तिनीहरूले यीमध्ये कुन कुरा पछ्याउँछन्? (तिनीहरूले सत्यता सिद्धान्तहरू खोजी गर्छन्।) यसरी, उपरोक्त प्रकारका मानिसहरूको कार्यलाई हेर्दा के स्पष्ट हुन्छ भने, तिनीहरू सधैँ त्यही गर्छन् जुन तिनीहरू चाहन्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू अरूका लागि हुन् भन्ने ठान्छन् र तिनीहरूले आफूले बुझेका धर्मसिद्धान्तहरू मात्रै अरूलाई बताउँछन्, यसको मतलब तिनीहरूले अरूलाई परमेश्‍वरका वचनहरूअनुसार काम गर्न लगाउँछन्, जसको अर्थ के हो भने, “तपाईँहरू सबैले भ्रष्टता प्रकट गर्नुहुन्छ, तर म आफूले गर्ने सबै कुरामा सत्यता खोजी गर्छु र बिरलै मात्र भ्रष्टता प्रकट गर्छु।” के यस्ता मानिसहरू आफूलाई साँच्‍चिकै चिन्ने मानिसहरू हुन् त? तिनीहरूले आफ्नो भ्रष्टता स्विकार्ने आँट गर्दैनन्; यही नै सत्यतथ्य हो। तिनीहरूको सोचाइमा मूल्य चुकाउनु, साथै केही धेरै बोल्नु, केही धेरै कष्ट सहनु वा आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न सबथोक त्यागेर आफूलाई समर्पित गर्नु सबै सत्यताअनुरूप र सही कुरा हुन्। यदि तिमीहरूले तिनीहरूलाई “सबै मानिसहरूमा भ्रष्टता हुने भएकोले, के तपाईँले त्यसरी सोच्दा आफू गलत हुने डर लाग्दैन?” भनेर सोध्यौ भने, तिनीहरूले भन्नेछन्: “होइन, यो ठीक छ। मलाई डर लाग्दैन। म आफ्नो अभिप्रायमा सही छु।” हेर, तिनीहरूले कसरी आफ्ना महत्त्वाकाङ्क्षा, चाहना र अभिप्रायहरूलाई सकारात्मक कुराझैँ लिन्छन्। के यसप्रकारका मानिसहरूले आफ्नो भ्रष्टता स्विकार्छन् त? (अहँ, स्विकार्दैनन्।) वस्तुनिष्ठ दृष्टिकोणबाट हेर्दा, तिनीहरूले आफ्नो भ्रष्टता स्विकार्दै स्विकार्दैनन्। अनि, आफ्नो भ्रष्टता नै नस्विकार्ने मान्छेले साँचो पश्‍चात्ताप गर्छ त? (अहँ, गर्दैन।) तिनीहरूले बिलुकुलै पश्‍चात्ताप गर्नेछैनन्; तिनीहरूले कहिल्यै गर्नेछैनन्। के तिनीहरूमा साँचो समर्पण हुन्छ त? (हुँदैन।) त्यो त झनै कम हुन्छ। तिनीहरू सत्यता के हो भन्ने पनि जान्दैनन्, अनि कसरी समर्पित हुन सक्छन् र? तिनीहरू जेमा समर्पित हुन्छन्, त्यो भनेकै तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू हुन्। तिनीहरू आफ्नै चाहनाअनुसार सबै काम गर्दै जीवन जिउँछन्, र कहिल्यै सत्यता नखोजी आफ्नै इच्छामा मात्र आधारित रहेर बोल्ने, काम गर्ने र मार्ग रोज्‍ने गर्छन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरूले कहिल्यै सत्यता खोज्दैनन्, तर किन प्रवचन चाहिँ सुन्छन् नि?” प्रवचन सुन्दैमा, तिनीहरूले सत्यता खोज्न सक्छन् भन्ने होइन; यो त परमेश्‍वरमा विश्‍वास गर्ने एउटा पक्ष मात्र हो। के प्रवचन नसुनेको भए वा भेलामा नगएको भए, तिनीहरू खुलासा हुन्थेनन् र? त्यसैले, तिनीहरू यो प्रक्रिया भएर जानु जरुरी छ, तर प्रवचन सुन्नुको अर्थ तिनीहरू सत्यता स्विकार्ने वा आफ्नो भ्रष्टता स्विकार्ने मानिसहरू हुन् भन्ने हुँदैन; कसैले नि यस्तो अनुमान लगाउनु हुँदैन। आफूमा भ्रष्टता छ भनेर स्विकार्नु सजिलो कुरा होइन, र सत्यतालाई प्रेम नगर्नेहरूका लागि त यसो गर्नु झन् गाह्रो छ।

हामीले भर्खरै के भन्यौँ भने, आफूलाई नचिन्ने मानिसहरूमा दुई भिन्न विशेषताहरू हुन्छन्: एउटा, तिनीहरू मूलभूत रूपमा सत्यतालाई प्रेम गर्दैनन्, र दोस्रो, तिनीहरू आफूभित्र भ्रष्ट स्वभाव छ भनेर कहिल्यै स्विकार्दैनन्। अनि, तिमीहरू चाहिँ आफूलाई चिन्ने मामिलाबाट कति पर छौ त? (अहिले त, हामीले अझै पनि आफूलाई चिनेका छैनौँ, र आफैलाई घृणा गर्ने बिन्दुसम्म पुगिसकेका छैनौँ।) तिमीहरू धेरै पर छौ। आफूलाई चिन्नु भनेको मुख्य गरी आफ्नो भ्रष्ट स्वभाव, आफ्नो प्राथमिकता र आफ्नो गलत विचार एवं व्यवहार चिन्नु हो। यो नै मुख्य कुरा हो, र आत्मज्ञानका अन्य पक्षहरू गौण हुन्। तैँले तबमात्र साँचो रूपमा सत्यता स्विकार्न र साँचो पश्‍चात्ताप गर्न सक्छस्, जब तैँले आफूमा भ्रष्ट स्वभाव छ र आफूभित्र परमेश्‍वरले मानिसहरूलाई देखाउनुभएका हरप्रकारका प्रकृति सार र भ्रष्टताका प्रकटीकरणहरू छन् भनेर स्विकार्छस्, र जब तैँले ती कुराहरूको निर्दिष्ट सूची बनाउन र ती निर्दिष्ट तथ्य, व्यवहार र प्रकटीकरणहरू कुनै पनि सत्यताअनुरूप छैनन्, सबै परमेश्‍वरविरुद्ध छन् र ती सबैलाई उहाँ घृणा गर्नुहुन्छ भनेर स्विकार्न सक्छस्। आजकल, जब मानिसहरूले सत्यता स्विकारेको दाबी गर्छन्, त्यो बेला तिनीहरूले यसलाई धर्मसिद्धान्तको हिसाबमा मात्र स्विकारिरहेका हुन्छन् र केही हदसम्म आफ्नो व्यवहार परिवर्तन गरिरहेका हुन्छन्। तर त्यसपछि पनि तिनीहरू अझै शैतानी भ्रष्ट स्वभावमै र शैतानको दर्शनअनुसार नै जिइरहेका हुन्छन्; तिनीहरू बिलकुलै बदलिएका हुँदैनन्। व्यवहार बदल्दैमा स्वभाव बदलिएको भन्ने हुँदैन। आफ्नो स्वभाव बदल्न व्यक्तिले आफ्नो प्रकृति सार अनि आफ्नो भ्रष्ट स्वभाव चिन्‍नुपर्छ—यो सुरुवाती कदम हो। आफ्ना कार्यहरू समस्याग्रस्त छन्, आफू असल व्यक्ति होइन वा आफू दियाबलस एवं शैतान हुँ भन्‍ने कुरा मात्रै चिन्नेहरू अझै पनि आफ्नो प्रकृति सार चिन्न र आफ्नो स्वभाव बदल्नबाट धेरै पर हुन्छन्।

अंश ४४

यदि मानिसहरूले आफूलाई बुझ्नु छ भने, आफ्ना भ्रष्ट स्वभाव बुझ्नैपर्छ र तिनीहरूसँग आफ्नो वास्तविक स्थितिको बोध हुनैपर्छ। आफ्नै अवस्थालाई बुझ्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आफ्नै भावनाहरू र विचारहरूलाई बुझ्नु हो। प्रत्येक समय अवधिमा, मानिसहरूका सोच र विचारहरू एउटा मुख्य कुराद्वारा नियन्त्रित हुँदै आएको छ। यदि तैँले आफ्ना विचारहरूलाई बुझ्न सक्छस् भने, तैँले तिनका पछाडि रहेका कुराहरूलाई पनि बुझ्न सक्छस्। मानिसहरूले आफ्ना भावनाहरू र विचारहरूलाई नियन्त्रण गर्न सक्दैनन्। यद्धपि ती भावनाहरू र विचारहरू कहाँबाट आउँछन्, ती पछाडि रहेका अभिप्रायहरू के-के हुन्, ती भावना र विचारहरू कसरी उत्पन्‍न हुन्छन्, तिनलाई कुन कुराले नियन्त्रण गर्छ र तिनका प्रकृति के हो सो तिनीहरूले जान्‍नु पर्छ। व्यक्तिको स्वभाव परिवर्तन भएपछि, त्यो परिवर्तित अंशले पैदा गरेका र ऊ लागिपर्ने सोच, विचार, दृष्टिकोण र उद्देश्यहरू पहिलेका भन्दा एकदमै फरक हुनेछन्—मूलतः ऊ सत्यतानिकट पुग्‍नेछ र सत्यताअनुरूप हुनेछ। मानिसहरूमा परिवर्तित नभएका कुराहरू, अर्थात् तिनीहरूका पुराना सोच, विचार, दृष्टिकोण, साथै तिनीहरूले मन पराउने र पछ्याउने कुराहरू, सबै अति बिटुलो, फोहोरी र घृणित हुन्छन्। व्यक्तिले सत्यता बुझेपछि यी कुराहरू खुट्टयाउन र प्रस्ट देख्न सक्छ; त्यसैले, ऊ यी कुरा त्याग्न र बेवास्ता गर्न सक्छ। यस्ता मानिसहरू निश्चय नै कुनै न कुनै तरिकामा परिवर्तन भएका हुन्छन्। तिनीहरू सत्यता स्विकार्न, अभ्यास गर्न र केही सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। सत्यता नबुझ्ने मानिसहरूले यी भ्रष्ट वा नकारात्मक कुरालाई देख्न सक्दैनन्, न त खुट्ट्याउन नै सक्छन्; तसर्थ, तिनीहरू ती कुरा त्याग्न सक्दैनन्, झन् बेवास्ता गर्नु त परै जाओस्। यो भिन्‍नताको कारण के हो? किन तिनीहरू सबै विश्‍वासीहरू भएर पनि केहीले नकारात्मक र अशुद्ध कुराहरू खुट्ट्याउन र त्याग्न सक्छन्, जबकि अरूले ती कुरा प्रष्ट देख्दैनन्, नत आफूलाई तीबाट मुक्त गर्न नै सक्छन्? यो कुरा व्यक्तिले सत्यतालाई प्रेम गर्ने र पछ्याउने गर्छ कि गर्दैन भन्‍ने कुरासँग सिधै सम्बन्धित छ। जब सत्यता पछ्याउनेहरूले केही समयसम्म परमेश्‍वरको वचन खाने र पिउने गर्छन्, अनि केही समयसम्म प्रवचन सुन्छन्, तब सत्यता बुझ्न र निश्चित कुराहरू प्रस्ट देख्न सक्छन्; तिनीहरूले आफ्नो जीवनमा प्रगति गरेका हुन्छन्। यसको विपरीत, सत्यतालाई प्रेम नगर्नेहरू उही रूपमा भेलामा जाने, परमेश्‍वरको वचन पढ्ने र प्रवचन सुन्‍ने भए पनि, सत्यता बुझ्न सक्दैनन् र जति नै वर्ष विश्‍वास गरेको भए पनि, तिनीहरूसँग जीवन प्रवेश हुँदैन। यी मानिसहरू सत्यता नपछ्याएको कारण असफल भए। सत्यता नपछ्याउनेहरूले जति नै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका भए पनि सत्यता बुझ्न सक्दैनन्। तिनीहरू आफूमा कुनै परिस्थिति आइपर्दा, त्यो प्रस्ट देख्दैनन्, तिनीहरू झन्डै-झन्डै धर्मको व्यक्तिजस्तै हुन्छन्। तिनीहरूले वर्षौँ विश्‍वास गरेर केही हासिल गरेका हुँदैनन्। तिमीहरू अहिले कति सत्यता बुझ्छौ? तिमीहरू कुन कुराहरू प्रस्ट देख्न सक्छौ? के तिमीहरू नकारात्मक कुरा र मानिसहरूलाई खुट्ट्याउन सक्छौ? तँ परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो, वा आफूले वास्तवमा कसलाई विश्‍वास गर्छु भन्‍ने कुरामा तँ स्पष्ट छैनस्। तैँले आफ्नो दैनिक जीवनका विचार र अभिप्रायहरूलाई स्पष्टसँग खुट्ट्याउन सक्दैनस्, तँलाई आफूले परमेश्‍वरको विश्‍वासीको रूपमा कुन मार्ग पछ्याउनुपर्छ भन्‍ने राम्ररी थाहा छैन, अनि तँ आफूले कामकुरा गर्दा वा आफ्नो कर्तव्य निर्वाह गर्दा कसरी सत्यता अभ्यास गर्नुपर्छ भनेर स्पष्ट छैनस्। यिनीहरू कुनै जीवन प्रवेश नभएका मानिस हुन्। तैँले सत्यता बुझेर अनि सत्यता कसरी अभ्यास गर्ने भनी जानेर मात्र विभिन्‍न किसिमका मानिसहरूलाई खुट्ट्याउन, विभिन्‍न परिस्थितिहरूलाई स्पष्ट रूपमा देख्न, सत्यता अनुरूप कामकुरा गर्न, परमेश्‍वरका मापदण्डहरू पूरा गर्न, र बढ्दो रूपमा परमेश्‍वरको इच्छा नजिक पुग्न सक्छस्। यस्तो तरिकाले पछ्याएर मात्र तैँले परिणामहरू पाउनेछस्।

अंश ४५

मानिसभित्र प्रायः केही नकारात्मक स्थिति हुन्छन्। तीमध्ये, केही स्थितिले मानिसहरूलाई प्रभाव पार्न र सीमित गर्न सक्छन्। केही स्थितिले कुनै व्यक्तिलाई साँचो मार्गबाट तर्काएर गलत दिशामा लैजानसमेत सक्छन्। मानिसहरूले पछ्याउने कुरा, ध्यान दिने कुरा, र चुन्‍ने मार्ग—यी सब तिनीहरूको भित्री स्थितिसँग सम्बन्धित हुन्छन्। मानिसहरू कमजोर छन् कि सबल छन् भन्‍ने कुरा झनै तिनीहरूको भित्री स्थितिसँग सम्बन्धित हुन्छ। उदाहरणका लागि, अहिले धेरै मानिस परमेश्‍वरको दिनलाई विशेष जोड दिन्छन्। तिनीहरू सबैमा यो चाहना हुन्छ: तिनीहरू परमेश्‍वरको दिन झट्टै आओस् भन्‍ने तृष्णा गर्छन् ताकि आफूलाई यो कष्ट, बिमारी, सतावट र अरू खालका पीडाबाट मुक्त गर्न सकून्। मानिसहरू के सोच्छन् भने, जब परमेश्‍वरको दिन आउँछ, तब तिनीहरूले आफूले अहिले भोग्‍ने पीडाबाट राहत पाउनेछन्, फेरि कहिल्यै पीडा भोग्‍नेछैनन् र आशिषहरूको आनन्द उठाउनेछन्। यदि कुनै व्यक्तिले यस्तो खालको स्थितिमा परमेश्‍वरलाई बुझ्न वा सत्यता पछ्याउन खोज्छ भने, उसको जीवन प्रगति एकदमै सीमित हुनेछ। तिनीहरूलाई कुनै रोकवाट वा कुनै अप्रिय कुरा आइपर्दा, तिनीहरूभित्रका सबै कमजोरी, नकारात्मकता, र विद्रोहीपन बाहिर निस्किन्छ। त्यसैले, यदि कुनै व्यक्तिको स्थिति असामान्य वा गलत छ भने, उसको पछ्याइको उद्देश्य पनि गलत र निश्चित रूपमा अशुद्ध हुनेछ। कतिपय मानिस गलत स्थितिबाटै प्रवेश गर्न खोज्छन्, तैपनि आफूले आफ्नो पछ्याइमा राम्रो गरिरहेको छु, परमेश्‍वरको मापदण्डअनुरूप कामकुरा गरिरहेको छु, र सत्यताअनुसार अभ्यास गरिरहेको छु भन्‍ने सोच्छन्। तिनीहरू आफू परमेश्‍वरका अभिप्रायविरुद्ध गएको छ वा उहाँको इच्छाबाट तर्किएको छ भन्‍ने विश्‍वास गर्दैनन्। तँलाई त्यस्तो लाग्न सक्छ, तर जब तँलाई कुनै अप्रिय घटना वा वातावरणले केही कष्ट दिन्छ, तेरा कमजोर पक्ष अनि तैँले हृदयदेखि नै प्रेम गर्ने र पछ्याउने कुराहरूलाई प्रभाव पार्छ, तब तँ नकारात्मक हुनेछस्, तेरा आशा र सपनाहरू साकार हुनेछैनन् र तँ प्राकृतिक रूपमै कमजोर हुनेछस्। त्यसैले, तेरो त्यतिबेलाको स्थितिले तँ कमजोर छस् कि सबल छस् भनेर निर्धारित गर्छ। अहिले, धेरै मानिसलाई आफू निकै सबल छु, आफूसँग अलिकति कद र पहिलाभन्दा धेरै आस्था छ भन्‍ने लाग्छ। तिनीहरू आफूले परमेश्‍वरप्रतिको विश्‍वासको सही मार्गमा पाइला चाल्न थालेको छु, र त्यो मार्गमा अरूले तिनीहरूलाई टेवा दिनु पर्दैन भन्‍ने सोच्छन्। यस्तो अवस्थामा, किन तिनीहरू आफूलाई निश्चित परिस्थिति वा कठिनाइ आइपर्दा नकारात्मक वा कमजोर हुन्छन् त? त्यसोभए किन तिनीहरू गुनासो गर्ने र विश्‍वास त्याग्‍ने गर्छन् त? यसले सबैमा केही नकारात्मक र असामान्य स्थिति हुन्छन् भन्‍ने देखाउँछ। मानिसमा हुने केही अशुद्धतालाई त्याग्न सजिलो हुँदैन। तँ सत्यता पछ्याउने व्यक्ति भए पनि, ती कुरा पूर्णतया त्याग्न सक्दैनस्। यो त परमेश्‍वरका वचनहरूको प्रकटीकरणको आधारमा गरिनैपर्छ। मानिसहरूले आफ्नै स्थितिलाई चिन्तन गरेर बुझेपछि, तिनलाई परमेश्‍वरका वचनसँग तुलना गर्नैपर्छ, अनि आफ्ना भ्रष्ट स्वभाव हटाउनैपर्छ। तब मात्र तिनीहरूको स्थिति बिस्तारै परिवर्तन हुनेछ। तर मानिसहरूले परमेश्‍वरका वचन पढेर आफ्नो स्थिति चिन्‍नेबित्तिकै तुरुन्तै तिनलाई परिवर्तन गर्न सक्छन् भन्‍ने होइन। यदि मानिसहरूले परमेश्‍वरको वचन बारम्बार पढ्छन्, आफ्नो स्थिति स्पष्टसँग देख्छन्, अनि परमेश्‍वरलाई प्रार्थना गर्ने र सत्यतातर्फ लाग्‍ने गर्छन् भने, जब तिनीहरूको भ्रष्टता प्रकट हुन्छ, वा जब तिनीहरू भविष्यमा असामान्य स्थितिमा हुन्छन्, तब तिनीहरू त्यसलाई चिन्‍न, परमेश्‍वरलाई प्रार्थना गर्न र सत्यता प्रयोग गरेर समस्या समाधान गर्न सक्षम हुनेछन्, अनि तिनीहरूको गलत स्थितिलाई उल्ट्याउन सकिनेछ र तिनीहरू बिस्तारै परिवर्तित हुन सक्नेछन्। यसरी, तिनीहरू आफ्नो अशुद्धता र मानिसले पाल्ने ऊभित्रका त्याग्‍नुपर्ने कुराहरू त्याग्न सक्षम हुनेछन्। मानिसहरूसँग परिणाम हासिल गर्नअघि निश्चित स्तरको अनुभव हुनैपर्छ।

धेरै मानिस परमेश्‍वरमा विश्‍वास गर्न थाल्दादेखि नै आफ्नो धारणा र कल्पनाको आधारमा आशिष्को पछि लाग्छन्, फलस्वरूप, आफ्नो धारणासँग नमिल्ने कुराहरू आइपर्दा नकारात्मक र कमजोर बन्छन्। तिनीहरू परमेश्‍वरलाई शङ्का गर्न थाल्छन् अनि उहाँबारे धारणा र गलत अवधारणासमेत पाल्न थाल्छन्। यदि तिनीहरूसँग कसैले पनि सत्यताबारे सङ्गति गरेन भने, तिनीहरू दृढ रहन सक्नेछैनन्, र कुनै पनि समयमा परमेश्‍वरलाई धोका दिन सक्छन्। म तिमीहरूलाई एउटा उदाहरण भन्छु। मानौँ कुनै व्यक्तिले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा सधैँ धारणा र कल्पना पालेको छ। यो व्यक्ति के विश्‍वास गर्छ भने, यदि उसले आफ्नो परिवार त्याग्यो र आफ्नो कर्तव्य निभायो भने, परमेश्‍वरले उसलाई सुरक्षा र आशिष् दिनुहुनेछ, अनि उसको परिवारलाई हेरचाह गर्नुहुनेछ, र परमेश्‍वरले यही नै गर्नुपर्छ। त्यसपछि एक दिन, उसलाई आफूले नचाहेको कुरा आइपर्छ—ऊ बिरामी हुन्छ। अरूको घरमा पाहुना भएर जिउनु आफ्नै घरमा हुनु जत्तिको सजिलो हुँदैन, र सायद तिनीहरूले उसको त्यति राम्ररी ख्याल राख्दैनन्। उसले यो सहन सक्दैन, अनि ऊ लामो समयसम्म नकारात्मक र निराश हुन्छ। ऊ सत्यता पछ्याउने र स्विकार्ने पनि गर्दैन। यसको अर्थ, मानिसहरूभित्र केही स्थिति हुन्छन्, र यदि तिनीहरूले ती स्थितिहरू गलत हुन् भनेर चिन्दैनन्, बुझ्दैनन् वा महसुस गर्दैनन् भने, तिनीहरूसँग लगाब भए पनि र तिनीहरूले निकै पछ्याए पनि, कुनै मोडमा पुगेर यस्तो परिस्थितिको सामना गर्नेछन्, जसले तिनीहरूको वास्तविक भित्री स्थिति प्रकट गर्छ, अनि तिनीहरूलाई ठेस खुवाउँछ र असफल बनाउँछ। आत्मचिन्तन गर्न र आफूलाई चिन्‍न नसक्नुको परिणाम यस्तो हुन्छ। सत्यता नबुझ्ने सबै जना यस्तै हुन्छन्; तिनीहरू कहिले ठेस खानेछन् र असफल हुनेछन्, कहिले नकारात्मक र कमजोर हुनेछन्, वा कहिले परमेश्‍वरलाई धोका दिन सक्ने बन्‍नेछन् त्यो तँलाई थाहै हुँदैन। हेर् त, सत्यता नबुझ्नेहरूले कति धेरै खतरा सामना गर्नैपर्ने हुन्छ! तर सत्यता बुझ्नु सरल कुरा होइन। तँलाई अन्त्यमा प्रकाशको झिल्का प्राप्त गर्न, अलिकति सत्यता पाउन, र अलिकति सत्यता बुझ्न सक्न धेरै समय लाग्छ। तेरो अभिप्राय अत्यन्तै दूषित र समाधान गर्न नसकिने छ भने, त्यसले तेरो बुझाइको सानो झिल्कालाई सधैँ निभाइदिनेछ, र तँमा भएको थोरै आस्थालाई समेत मेटाइदिनेछ, र यो निश्चय नै अति खतरनाक हो। अहिले, मुख्य समस्या के हो भने, सबै मानिसको हृदयमा परमेश्‍वरबारे निश्चित धारणा र कल्पना छ, तर तिनीहरू ती खुलासा हुनुअघि स्विकार्दैनन्; ती भित्र लुकेका हुन्छन्, र तँलाई ती कुन समयमा वा कुन परिस्थितिमा निस्किनेछन् र मानिसहरूलाई ठेस खान लगाउनेछन् भनेर थाहै हुँदैन। सबै मानिसमा असल आकाङ्क्षा भए पनि, र तिनीहरूले असल विश्‍वासी बन्‍न र सत्यता हासिल गर्न चाहे पनि, तिनीहरूको अभिप्राय अति दूषित हुन्छन्, र तिनीहरूमा सत्यता पछ्याउन र जीवनमा प्रवेश गर्न रोक्ने अति धेरै धारणा र कल्पना हुन्छन्। तिनीहरू यी कुराहरू गर्न चाहन्छन् तर गर्न सक्दैनन्। उदाहरणका लागि, काटछाँट र निराकरण गरिँदा, मानिसहरूलाई समर्पित हुन कठिन हुन्छ, जब तिनीहरूलाई जाँच वा शोधन गरिन्छ, तब तिनीहरू परमेश्‍वरसँग बहस गर्न चाहन्छन्। तिनीहरू आफू बिरामी पर्दा वा आफूलाई कुनै विपत्ति आइपर्दा, सुरक्षा नगरेको भन्दै परमेश्‍वरलाई दोष दिन्छन्। यस्ता मानिसहरूले कसरी परमेश्‍वरको काम अनुभव गर्न सक्छन्? तिनीहरूसँग परमेश्‍वरलाई आदर गर्ने आधारभूत हृदय पनि हुँदैन, त्यसैले तिनीहरू कसरी सत्यता हासिल गर्न सक्छन्? केही मानिस सानोभन्दा सानो कुरा आफूले चाहेअनुसार नहुँदा नकारात्मक बन्छन्; तिनीहरू अरूले मूल्याङ्कन गरेको कारण ठेस खान्छन्, र आफू पक्राऊ पर्दा परमेश्‍वरलाई धोका दिन्छन्। यो साँचो हो, व्यक्तिलाई भविष्य कस्तो हुन्छ, त्यो सुखद हुन्छ कि बरबाद हुन्छ भनेर कहिल्यै थाहा हुँदैन। हरेक व्यक्तिमा उसले पछ्याउन वा प्राप्त गर्न चाहने कुरा हुन्छ; तिनीहरूमा आफूलाई मन पर्ने कुराहरू हुन्छन्। आफूलाई मन पर्ने कुराहरू पछ्याउँदा दुर्भाग्य निम्तिन सक्छ, तर तिनीहरूलाई यो महसुस हुँदैन, र अझै पनि आफूले पछ्याउने र मन पराउने कुराहरू सही हुन् र ती कदापि गलत छैनन् भन्‍ने लाग्छ। तर यदि कुनै दिन दुर्भाग्य आइलाग्यो भने, र तिनीहरूले पछ्याउने र मन पराउने कुराहरू तिनीहरूबाट खोसियो भने, तिनीहरू नकारात्मक र कमजोर हुनेछन्, र तिनीहरू फेरि उठ्न सक्नेछैनन्। तिनीहरूलाई के भयो भनेर थाहा हुनेछैन, र तिनीहरूले परमेश्‍वर अन्यायी हुनुहुन्छ भनेर दोष लगाउनेछन्, र परमेश्‍वरलाई धोका दिने तिनीहरूको हृदय प्रकट हुनेछ। यदि मानिसहरूले आफूलाई नचिनेमा, आफ्नो कमजोर पक्ष कहाँ छ भनेर जान्‍नेछैनन्, न त आफू कहाँ सजिलै असफल हुन वा ठेस खान सक्छ भनेर नै जान्‍नेछन्। यो साँच्चै दयनीय अवस्था हो। त्यसैले हामी भन्छौँ, यदि कुनै व्यक्तिले आफूलाई चिन्दैन भने, ऊ कुनै पनि समय ठेस खान वा असफल हुन सक्छ, र आफ्नो अन्त्य निम्त्याउन सक्छ।

धेरै मानिसले यसो भनेका छन्: “म सत्यताको सबै तत्व बुझ्छु, तर ती अभ्यास गर्नै सक्दिनँ।” यसले मानिसहरू किन सत्यता अभ्यास गर्दैनन् भन्‍ने कुराको जड कारण खुलासा गर्छ। कस्ता मानिसहरूले सत्यता बुझेर पनि त्यो अभ्यास गर्न सक्दैनन्? निश्चय नै, सत्यतादेखि दिक्क मान्‍ने र सत्यतालाई घृणा गर्ने मानिसहरूले मात्र सत्यता अभ्यास गर्न सक्दैनन्, र यो तिनीहरूको प्रकृतिमा रहेको समस्या हो। सत्यतालाई प्रेम गर्ने मानिसहरूले, सत्यता नबुझे पनि, आफ्नो विवेकअनुसार काम गर्नेछन्, र खराबी गर्नेछैनन्। यदि कुनै व्यक्तिको प्रकृति सत्यतादेखि दिक्क छ भने, उसले कहिल्यै सत्यता अभ्यास गर्न सक्नेछैन। सत्यतादेखि दिक्क मान्‍ने मानिसहरूले सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न नभई आशिष् प्राप्त गर्न मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाए पनि, त्यो सत्यता प्राप्त गर्नहेतु हुँदैन, बरु पूर्णत: आशिष् प्राप्त गर्नका लागि हुन्छ। उदाहरणका लागि, सताइने र आफ्नो घर फर्कन नसक्ने कतिपय मानिस मनमनै यसो सोच्छन्, “मैले परमेश्‍वरमा विश्‍वास गरेको कारण मलाई सताइन्छ र म घर फर्कन सक्दिनँ। एक दिन परमेश्‍वरले मलाई झन् राम्रो घर दिनुहुनेछ; परमेश्‍वरले मलाई व्यर्थमा कष्ट भोग्न दिनुहुनेछैन,” वा “म जहाँ भए पनि, परमेश्‍वरले मलाई खानेकुरा दिनुहुनेछ, र उहाँले मलाई निकासहीन मार्गमा हिँड्न दिनुहुनेछैन। यदि उहाँले मलाई निकासहीन मार्गमा हिँड्न दिनुहुन्छ भने, उहाँ वास्तविक परमेश्‍वर हुनुहुन्‍न। परमेश्‍वर त्यसो गर्नुहुन्‍न।” के मानिसमा यस्ता कुराहरू हुँदैनन् र? केही मानिस यस्तो सोच्छन्, “मैले आफूलाई परमेश्‍वरमा समर्पित गर्न आफ्नो परिवार त्यागेको छु, र परमेश्‍वरले मलाई सत्तामा भएकाहरूको हातमा सुम्पनु हुँदैन; म यस्तो जोसका साथ लागिपरेको छु, परमेश्‍वरले मलाई सुरक्षा गरेर आशिष् दिनुपर्छ। हामी परमेश्‍वरको दिन आएको अति तृष्णा गर्छौँ, त्यसैले परमेश्‍वरको दिन चाँडोभन्दा चाँडो आउनुपर्छ। परमेश्‍वरले मानिसका इच्छाहरू पूरा गर्नुपर्छ।” धेरै मानिस यस्तो सोच्छन्—के यो मानिसको अत्यधिक चाहना होइन र? मानिसहरूले सधैँ यस्तो सोच्दै परमेश्‍वरसँग अत्यधिक मागहरू गरेका छन्: “हामीले आफ्नो कर्तव्य पूरा गर्न आफ्नो परिवार त्यागेका छौँ, त्यसैले परमेश्‍वरले हामीलाई आशिष् दिनुपर्छ। हामीले परमेश्‍वरको मागअनुसार कार्य गरेका छौँ, त्यसैले परमेश्‍वरले हामीलाई इनाम दिनुपर्छ।” धेरै मानिस परमेश्‍वरलाई विश्‍वास गर्ने क्रममा आफ्नो हृदयमा यस्ता कुराहरू पाल्छन्। तिनीहरू अरू मानिस आफूलाई परमेश्‍वरमा समर्पित हुन सहजै परिवारबाट टाढिएको र उनीहरूले सबथोक त्यागेको देख्छन्, अनि सोच्छन्, “तिनीहरूले यतिका लामो समयसम्म आफ्नो परिवार त्यागेका छन्, तिनीहरूलाई कसरी आफ्नो घरको याद नआएको? तिनीहरू यो कुरालाई कसरी जित्छन्? म किन यसलाई जित्न सक्दिनँ? म किन आफ्नो परिवार, श्रीमान (वा श्रीमती) र बालबच्चा त्याग्न सक्दिनँ? किन परमेश्‍वर तिनीहरूप्रति अनुग्रही हुनुहुन्छ र म प्रति हुनुहुन्‍न? किन पवित्र आत्मा मलाई अनुग्रह बर्साउने वा मसँग बस्ने गर्नुहुन्‍न?” यो कस्तो स्थिति हो? मानिसहरूमा समझको एकदमै कमी छ; तिनीहरू सत्यता अभ्यास गर्दैनन् अनि परमेश्‍वरबारे गुनासो गर्छन्, र आफूले गर्नुपर्ने कुरा गर्दैनन्। मानिसहरूले सत्यता पछ्याउने मार्ग चुन्‍नुपर्छ, तर तिनीहरू सत्यतादेखि वाक्‍क मान्छन्, तिनीहरू देहसुखको लालसा गर्छन्, र सधैँ आशिष् र अनुग्रह पाउन खोज्छन्, अनि त्यससँगसँगै परमेश्‍वर मानिसबाट अत्यधिक माग गर्नुहुन्छ भनी गुनासो गर्छन्। तिनीहरू आफूप्रति परमेश्‍वर अनुग्रही हुनुभएको, आफूलाई परमेश्‍वरले अझै आशिष् बर्साइरहनुभएको, र देहसुख अनुभूति गर्न दिनुभएको माग गरिरहन्छन्—के यिनीहरू इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्ने मानिस हुन्? तिनीहरू सोच्छन्, “मैले आफ्नो कर्तव्य निभाउन आफ्नो परिवार त्यागेको छु र मैले कति कष्ट भोगेको छु। परमेश्‍वर मप्रति अनुग्रही हुनुपर्छ, ताकि मलाई आफ्नो घरको याद नआओस् र मसँग त्याग गर्ने सङ्कल्प होस्। उहाँले मलाइ बल दिनुपर्छ, तब म नकारात्मक र कमजोर हुनेछैन। अरू मानिसहरू एकदमै सबल छन्, परमेश्‍वरले मलाई पनि सबल बनाउनुपर्छ।” मानिसहरूले बोल्ने यी शब्दहरू पूर्णत: समझहीन र आस्थाहीन छन्। यी सब मानिसहरूको अत्यधिक माग पूरा नगरिएकाले बोलिएका हुन्, जसले गर्दा तिनीहरू परमेश्‍वरसँग असन्तुष्ट भएका छन्। यी सबै कुरा तिनीहरूको हृदयबाट प्रकट हुन्छन्, र तिनले पूर्णत: मानिसहरूको प्रकृतिलाई दर्शाउँछन्। यी कुराहरू मानिसभित्र हुन्छन्, र यी तिनलाई फालिएन भने, तिनले मानिसहरूलाई कुनै पनि समय वा ठाउँमा परमेश्‍वरबारे गुनासो गर्न र परमेश्‍वरलाई गलत बुझ्न लगाउन सक्छन्। मानिसहरूले परमेश्‍वरको निन्दा गर्ने सम्भावना हुनेछ, र तिनीहरूले कुनै पनि क्षण र ठाउँमा साँचो मार्गलाई छोड्न सक्छन्। यो एकदमै स्वभाविक हो। के अब तिमीहरू यो कुरा प्रस्ट देख्छौ? मानिसहरूले आफ्नो प्रकृतिबाट प्रकट हुने कुराहरूलाई चिन्नैपर्छ। यो एकदमै गम्भीर मामला हो जसलाई सावधानीपूर्वक सम्हाल्नुपर्छ, किनकि यसले मानिसहरू आफ्नो गवाहीमा दृढ रहन सक्छन् कि सक्दैनन् अनि तिनीहरूले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरालाई समेट्छ। अलिकति सत्यता बुझ्ने मानिसहरूको कुरा गर्दा, यदि तिनीहरूले आफूले यी कुराहरू प्रकट गरिरहेको महसुस गर्छन्, र यो समस्या पत्ता लगाउँदा, यदि यसलाई जाँच्न र खोतलेर निकाल्न सक्छन् भने, त्यो समस्या समाधान गर्न सक्नेछन्। यदि तिनीहरूले आफूले यी कुराहरू प्रकट गरिरहेको महसुस गर्दैनन् भने, कुनै हालतमा यो समस्या समाधान गर्न सक्दैनन्, अनि परमेश्‍वरको प्रकाश वा तथ्यहरूको खुलासालाई पर्खेर बस्न मात्रै सक्छन्। सत्यतालाई प्रेम नगर्ने मानिसहरूले आत्मचिन्तनलाई महत्त्व दिँदैनन्। तिनीहरू सधैँ यो महत्त्वहीन कुरा हो भन्‍ने ठान्छन् र यस्तो सोच्दै आफूमा लिप्त हुनेछन्, “सबै जना यस्तै छन्—अलिअलि गुनासो गर्नु ठूलो कुरा होइन। परमेश्‍वरले यसलाई क्षमा गर्नुहुनेछ र याद राख्नुहुनेछैन।” मानिसहरू समस्या समाधान गर्नहेतु आत्मचिन्तन गर्ने र सत्यता खोज्ने तरिका जान्दैनन्, तिनीहरू यी कुनै पनि कुरा अभ्यास गर्न सक्दैनन्। तिनीहरू सबै अलमल्लमा हुन्छन्, खास गरी अल्छी हुन्छन्, साथै परनिर्भर र कल्पनामा डुब्ने हुन्छन्। तिनीहरू यस्तो तृष्णा गर्छन्: “एक दिन परमेश्‍वरले हामीमा आमूल परिवर्तन ल्याउनुहुनेछ, त्यसपछि हामी यस्तो अल्छी पटक्कै हुनेछैनौँ, हामी पूर्णत: पवित्र हुनेछौँ, र परमेश्‍वरको शक्तिलाई सम्मान गर्नेछौँ।” यो काल्पनिक कुरा हो, र यो साँच्चै अवास्तिक हो। यदि कुनै व्यक्तिले यति धेरै प्रवचन सुनिसकेपछि यस्ता धारणा र कल्पनाहरू व्यक्त गर्न सक्छ भने, ऊसँग परमेश्‍वरको कामबारे ज्ञान छैन, र उसले आजको दिनसम्म, परमेश्‍वर मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ भनेर स्पष्टसँग देखेकै छैन। यस्ता मानिसहरू अत्यन्तै अज्ञानी हुन्छन्। किन परमेश्‍वरको घरले सधैँ आफूलाई र परमेश्‍वरको स्वभावलाई चिन्‍नेबारे सङ्गति गर्छ? यो हेरक व्यक्तिका लागि अति महत्त्वपूर्ण छ। यदि तँ परमेश्‍वर मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ भनेर साँच्चै देख्न सक्छस् भने, तैँले आफूलाई चिन्‍नमा ध्यान केन्द्रित गर्नुपर्छ, र तँ नियमित रूपमा आत्मचिन्तनमा संलग्न हुनुपर्छ—अनि मात्र तैँले वास्तविक जीवन प्रवेश हासिल गर्नेछस्। जब तँ आफूले भ्रष्टता प्रकट गरिरहेको महसुस गर्छस्, तब के सत्यता खोज्न सक्नेछस्? के तँ परमेश्‍वरलाई प्रार्थना गर्न र आफ्नो देहगत कुरा त्याग्न सक्नेछस्? यो नै सत्यता अभ्यासको पूर्वसर्त हो, र यो महत्त्वपूर्ण चरण हो। यदि तँ आफूलाई आइपर्ने र आफूले गर्ने हरेक कुरामा सत्यताअनुरूप कसरी अभ्यास गर्ने भन्‍नेबारे जानकार हुन सक्छस् भने, तँलाई सत्यता अभ्यास गर्न सजिलो हुनेछ र तँसँग जीवन प्रवेश हुनेछ। यदि तँ आफूलाई चिन्‍न सक्दैनस् भने, तेरो जीवन प्रगति कसरी हुन सक्छ? तँ जति नै नकारात्मक र कमजोर भए पनि, यदि आत्मचिन्तन गर्दैनस् र आफूलाई चिन्दैनस्, वा परमेश्‍वरलाई प्रार्थना गर्दैनस् भने, यसले तँ सत्यतालाई प्रेम गर्दैनस्, तँ सत्यता पछ्याउने व्यक्ति होइनस् र तैँले कहिल्यै सत्यता प्राप्त गर्न सक्नेछैनस् भनेर मात्र प्रमाणित गर्छ।

पहिले, कतिपय मानिस यस्तो सोच्थे: “हामी ठूलो रातो अजिङ्गरको चाँडै पतन होस् भन्‍ने तृष्णा गर्छौँ र परमेश्‍वरको दिन चाँडै आउनेछ भन्‍ने आशा गर्छौँ। के यी जायज मागहरू होइनन्? के परमेश्‍वरको दिनको शीघ्र आगमनको तृष्णा गर्नु र परमेश्‍वरको महिमा सकेसम्म चाँडो होस् भनेर चाहना गर्नु एउटै होइन र?” तिनीहरू यो कुरा व्यक्त गर्न सुटुक्क केही कर्णप्रिय तरिकाहरू खोज्छन्, तर वास्तवमा, तिनीहरू यी कुराबाट आफ्नै फाइदा हुने मात्र आशा गरिरहेका हुन्छन्। यदि तिनीहरूले यी आफ्नै खातिर नगरिरहेका भए, केका लागि तृष्णा गर्नेथे? मानिसहरू यो दयनीय वातावरण र पीडादायी संसारबाट तुरुन्तै उम्किन पाइयोस् भन्‍ने मात्र तृष्णा गर्छन्। खास गरी, केही मानिसले पहिले परमेश्‍वरका ज्येष्ठ पुत्रहरूलाई गरिएका प्रतिज्ञाहरू देख्छन् अनि यसको तीब्र तृष्णा गर्छन्। तिनीहरूलाई ती वचनहरू पढ्दा, मृगतृष्णाझैँ हुनेछ। मानिसभित्रका स्वार्थी इच्छाहरू पूर्ण रूपमा त्यागिएका छैनन्, त्यसैले तैँले जति नै सत्यता पछ्याए पनि, त्यो सदा आधा मनको मात्र हुनेछ। सत्यता नपछ्याउने धेरै मानिस सधैँ परमेश्‍वरको दिन आएको तृष्णा गर्छन् ताकि तिनीहरूले आफ्नो कष्टबाट राहत र स्वर्गको राज्यका आशिषहरू पाउन सकून्। त्यो नआउँदा, तिनीहरू पीडाले छटपटिन्छन्, र केही मानिस त यसरी चिच्याउँछन्: “परमेश्‍वरको दिन कहिले आउनेछ? मैले अझै पनि विवाह गरेको छैनँ, म अब कुरिरहन सक्दिनँ! मैले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनुपर्छ, म अब सहन सक्दिनँ। मैले बालबच्चा पनि पाउनुपर्छ ताकि तिनीहरूले मलाई बुढेसकालमा हेरचाह गर्न सकून्! परमेश्‍वरको दिन चाँडो आउनुपर्छ! त्यसका लागि सबै जना सँगै प्रार्थना गरौँ!” सत्यता पछ्याउने मानिसहरू कसरी कुनै गुनासो नगरी आजसम्म सत्यता पछ्याइरहन सक्छन्? के तिनीहरूले परमेश्‍वरको वचनको डोऱ्याइ र साथ पाएका छैनन् र? मानिसहरूमा अति धेरै अशुद्धता हुन्छन्, के तिनीहरूले शोधन नस्विकारे काम चल्छ? कष्ट नभोगी तिनीहरू कसरी परिवर्तित हुन सक्छन्? मानिसहरूलाई निश्चित हदसम्म शोधन गरिनैपर्छ, र तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्यहरूप्रति थप कुनै गुनासो नगरी समर्पित हुन इच्छुक हुनैपर्छ—तब तिनीहरू पूर्ण रूपमा परिवर्तित हुनेछन्।

अंश ४६

भ्रष्ट मानवजातिमा, पुनर्जन्म भएका पिशाचहरू वा दुष्टात्माहरूको वशमा रहेकाहरूबाहेक, मानिसहरूको प्रकृति सार एउटै हुन्छ। कतिपय मानिसहरू सधैँ विभिन्न प्रकारका मानिसहरूभित्र कस्ता प्रकारका आत्माहरू हुन्छन् भनेर अध्ययन गर्न मन पराउँछन्, तर यो यथार्थपरक हुँदैन; यसमाथि ध्यान केन्द्रित गर्दा सजिलै विचलन आउन सक्छ। कतिपय मानिसहरूलाई केही अलौकिक घटनाहरू अनुभव गरेको कारण आफ्नो आत्मामा केही गडबडी छ भन्ने लागिरहन्छ, जबकि अरू मानिसहरूलाई आफू कहिल्यै बदलिन नसकेको देखेर आफ्नो आत्मामा समस्या छ भन्ने लागिरहन्छ। वास्तवमा, व्यक्तिको आत्मामा कुनै समस्या भए नि नभए नि, मानव प्रकृति एउटै हुन्छ—यसले परमेश्‍वरप्रति प्रतिरोध र विश्‍वासघात गर्छ। मानिसहरूको भ्रष्टताको सीमा पनि लगभग समान नै हुन्छ, ठीक त्यसरी नै जसरी तिनीहरूको प्रकृतिमा समानता हुने गर्छ। कतिपय मानिसहरू आफ्नो आत्मामा केही गडबडी छ भनेर सधैँ शङ्का गर्दै यस्तो सोच्छन्, “मैले कसरी यस्तो काम गर्न सकें? मैले यस्तो त कहिल्यै सोचेको पनि थिइनँ होला! के मेरो आत्मामा कुनै गडबडी छ?” तिनीहरू परमेश्‍वरले तिनीहरूलाई चुन्नुभएको छ कि छैन भन्नेमा पनि शङ्का गर्छन् र परिणामस्वरूप तिनीहरू अझ धेरै नकारात्मक हुन्छन्। कतिपय मानिसहरूले परिस्थितिहरूलाई शुद्ध रूपमा बोध गर्छन् र आफूले जेसुकै गरेको भए पनि, परमेश्‍वरका वचनहरूअनुसार सत्यता खोज्‍न र आत्मचिन्तन गर्नमा मात्र ध्यान केन्द्रित गर्छन्: “मैले यो कसरी गर्न सकेँ? मैले कस्तो स्वभाव प्रकट गरेँ? कुन प्रकृतिले यसलाई नियन्त्रण गर्छ? कसरी म सत्यताअनुरूप काम गर्न सक्छु?” यसरी आत्मचिन्तन गर्नाले सत्यता बुझ्न र अभ्यासको मार्ग पत्ता लगाउन, अनि आत्मज्ञान प्राप्त गर्न सजिलो हुन्छ। हरेक व्यक्तिको आत्मपरीक्षण गर्ने तरिका र मार्ग फरकफरक हुन्छन्; कतिपय व्यक्तिहरू सत्यता खोज्‍ने र आफूलाई चिन्ने कुरामा केन्द्रित हुन्छन्, तर अरूहरू भने सधैँ अस्पष्ट एवं अवास्तविक कुराहरूमा केन्द्रित हुन्छन्, जसले प्रगति गर्न कठिन बनाउँछ र सजिलै नकारात्मकतामा लैजान्छ। तैँले अहिले के बुझ्नुपर्छ भने, तेरो आत्मा जस्तोसुकै भए पनि, कसैले पनि आत्माको कुरा देख्न वा छुन सक्दैन, त्यसैले यसमा अति ध्यान केन्द्रित गर्दा भूमरीमा परिनेछ। ध्यान केन्द्रित गर्नुपर्ने मुख्य कुरा त मानवजातिको प्रकृति सार हो, जुन मानिसहरूलाई चिन्ने कुरासँग सम्बन्धित छ, र यदि तँ मानिसहरूको प्रकृति सार चिन्न सक्छस् भने, तैँले मानिसहरू स्वयम्‌लाई चिन्न सक्नेछस्। परमेश्‍वरमा विश्‍वास गर्दा ध्यान केन्द्रित गर्नुपर्ने सबभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्तिको प्रकृति सारमा के कुराहरू हुन्छन्, के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट हुन सक्छन्, र यी कुराहरू हल गर्न सत्यताका कुन पक्षहरू चाहिन्छन् भनेर स्पष्ट देख्नु हो। यसरी परमेश्‍वरको कार्य अनुभव गरेर मात्र व्यक्तिले सत्यता प्राप्त गर्न र आफ्नो भ्रष्ट स्वभाव धोइपखाली गर्न सक्छ। तर आफू स्वयम्‌‌लाई कसरी चिन्ने? आफ्नो प्रकृति कसरी चिन्ने? व्यक्तिले आफ्ना कार्यहरूको माध्यमबाट प्रकट हुने स्वभावअनुसार नै उसको प्रकृति कस्तो छ भनेर देख्न सक्छ, त्यसैले आफू‌लाई चिन्ने मुख्य कडी भनेको आफ्नो भ्रष्ट स्वभाव चिन्नु हो। आफ्नो भ्रष्ट स्वभाव चिनेर मात्रै व्यक्तिले आफ्नो प्रकृति सार बुझ्न सक्छ र आफ्नो भ्रष्ट स्वभाव स्पष्ट देख्नु भनेको पूर्ण रूपमा आफैलाई बुझ्नु हो। आफूलाई चिन्नु एक गहन कार्य हो र कुनै व्यक्तिले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुराको मुख्य कडी भनेको उसले आफू‌लाई कसरी चिनेको छ भन्ने हो। आफूलाई वास्तविक रूपमा चिनेर मात्रै व्यक्तिले साँचो पश्‍चात्ताप गर्न सक्छ, र उसले यसरी सजिलै सत्यता स्विकार्न र मुक्तिको मार्गमा पाइला राख्न सक्छ। आफूलाई नचिन्ने मानिसहरूले सत्यता स्विकार्नु नै असम्भव हुन्छ, साँचो पश्‍चात्तापको त कुरै नगरौँ। तसर्थ, मुख्य सवाल भनेको आफू स्वयम्‌‌को भ्रष्ट स्वभाव बुझ्नु हो। झुटो आत्मिकता किमार्थ नपछ्याओ; व्यक्तिको आत्मा के हो भनेर सधैँ ध्यान केन्द्रित गर्दा विचलन आई मानिसहरूलाई बहकाउन वा हानि गर्न सजिलो हुन्छ। मानिसहरूले आफूलाई चिन्ने, आफ्नो भ्रष्ट स्वभाव बुझ्ने र मान्छेको प्रकृति सार स्पष्ट देख्ने कुरामा ध्यान केन्द्रित गर्नु यथार्थपरक हुन्छ र यी सबै कुराहरू भ्रष्ट स्वभावको समस्या हल गर्नका लागि र मानिसहरूलाई सत्यता पछ्याउन र परमेश्‍वरको मुक्ति पाउनका लागि लाभदायक हुनेछ।

मानवजातिलाई शैतानले भ्रष्ट बनाइसकेपछि तिनीहरूको प्रकृति सार लगभग उस्तै हुन्छ, केही मामुली भिन्नता मात्रै हुन्छ। यसो हुनुको कारण सबैको पुर्खा एकै हुनु, सबै एकै संसारमा जिउनु र सबैले एकै खालका भ्रष्टता अनुभव गरेको हुनु हो। तिनीहरू सबैमा सामान कुराहरू रहेका हुन्छन्। तैपनि, कतिपय मानिसहरू एउटा वातावरणमा एक प्रकारका काम गर्न सक्षम हुन्छन्, अनि कतिपय मानिसहरू अर्को वातावरणमा अर्को प्रकारका काम गर्न सक्षम हुन्छन्; कतिपय मानिसहरू शिक्षित भएर केही सभ्य हुन्छन्, अनि कतिपय मानिसहरू अशिक्षित भएर असभ्य हुन्छन्; कतिपय मानिसहरूमा परिस्थितिहरूबारे एक प्रकारको दृष्टिकोण हुन्छ, र अरू मानिसहरूमा परिस्थितिहरूबारे फरक प्रकारको दृष्टिकोण हुन्छ; कतिपय मानिसहरू एक प्रकारको सामाजिक वातावरणमा बस्छन् र कतिपय मानिसहरू अर्को प्रकारको सामाजिक वातावरणमा बस्छन्, अनि तिनीहरूको फरकफरक वंशपरम्परागत रीतिरिवाज र रहनसहन रहेका हुन्छन्। तैपनि, मान्छेको प्रकृतिभित्र प्रकटीकरण हुने कुराहरूको सार एकै हुन्छ। त्यसैले आफूभित्र कस्तो प्रकारको आत्मा रहेको छ भनेर तैँले सधैँ चासो लिइरहनु वा यो दुष्टात्मा पो हो कि भनेर सधैँ चिन्तित भइरहनु जरुरी छैन। यो त्यस्तो कुरा हो जहाँसम्म मान्छे पुग्न सक्दै सक्दैन; परमेश्‍वरलाई मात्र यसबारे थाहा हुन्छ, र मान्छेले यसबारे थाहा पाउन सक्यो भने पनि उसलाई यसको कुनै काम हुँदैन। सधैँ आफ्नो आत्माबारे विश्‍लेषण वा विचारविमर्श गर्ने इच्छा राखेर केही फाइदा छैन; यो त अत्यन्तै अज्ञानी र अन्योल व्यक्तिले गर्ने काम हो। जब तैँले कुनै गल्ती वा कुनै तरिकाको अपराध गरेको हुन्छस्, तब यसो भन्दै आफूलाई शङ्का नगर्: “के मेरो आत्मामा कुनै गडबडी छ? के यो कुनै दुष्टात्माको काम हो? मबाट यस्तो हास्यास्पद काम कसरी हुन सक्यो?” चाहे तैँले जेसुकै गरे पनि, समस्याको जडमा पुग्नलाई तैँले आफ्नो प्रकृति नियाल्नुपर्छ र मानिसहरू प्रवेश गर्नुपर्ने सत्यता खोजी गर्नुपर्छ। यदि तँ आफ्नो आत्मा जाँच्छस् भने, तेरो हात खाली नै हुनेछ—यदि तैँले आफूभित्र कस्तो खाले आत्मा छ भनेर थाहा पाइस् नै भने पनि, अझै तैँले आफ्नो प्रकृति चिन्न सक्नेछैनस्, न त आफ्नो समस्या हल नै गर्न सक्नेछस्। तसर्थ, कतिपय मानिसहरू सधैँ आफूमा कस्तो खाले आत्मा छ भन्नेबारे कुरा गरिरहेका हुन्छन्, र तिनीहरू आफू औधि नै आत्मिक वा विज्ञ भएजस्तै गर्छन्, जबकि यथार्थमा तिनीहरू झन् बढी कच्चा र मूर्ख हुन्छन्। कतिपय मानिसहरू विशेष आत्मिक रूपमा बोल्ने गर्छन्, र आफूले बोल्ने शब्दहरू निकै गहन छन् र सामान्य मानिसहरूले ती बुझ्ने छैनन् भन्ने सोच्छन्। तिनीहरू भन्छन्, “हाम्रो आत्मा के हो भनेर हामीले जाँच्नु महत्त्वपूर्ण छ। हामीमा मानव आत्मा छैन भने, हामीले परमेश्‍वरमा विश्‍वास गरे पनि, हामीले मुक्ति पाउन सक्दैनौँ। परमेश्‍वरलाई हामीसँग दिक्क मान्ने नबनाउनुहोस्।” कतिपय मानिसहरू यो कुरा सुनेर भ्रमित हुन्छन् र धोका खान्छन, यी शब्दहरू उचित छन् भनेर भित्रैबाट महसुस गर्छन्, र आफूमा कस्तो खाले आत्मा छ भनेर जाँच्न सुरु गर्छन्। आफ्नो आत्मालाई यसरी विशेष रूपमा ध्यान दिएर, तिनीहरू विक्षिप्त हुन्छन्, जुनसुकै काम गर्दा पनि आफ्नो आत्मा जाँच्छन् र अन्ततः एउटा समस्या पत्ता लगाउँछन्: “किन म जुनसुकै काम गर्दा पनि सत्यताविरुद्ध जान्छु? ममा किन मानवता वा समझ रत्तीभर नभएको हो? पक्कै पनि म एउटा दुष्टात्मा हुनुपर्छ।” वास्तवमा, खराब प्रकृति र सत्यतारहित हुँदा, मान्छेले सत्यताअनुरूप हुने गरी कसरी कुनै काम गर्न सक्छ र? तिनीहरूका कार्य जतिसुकै असल भए पनि, अझै तिनीहरूले सत्यता अभ्यास गर्दैनन् र अझै तिनीहरू परमेश्‍वरप्रति प्रतिरोधी हुन्छन्। मान्छेको प्रकृति खराब छ, यसलाई शैतानले भ्रष्ट पारेको र बदलेको छ; तिनीहरूमा मानव रूप छैन, तिनीहरू परमेश्‍वरविरुद्ध पूरै विद्रोह र प्रतिरोध गर्छन्, अनि तिनीहरू परमेश्‍वरबाट यति पर छन् कि तिनीहरूले परमेश्‍वरको इच्छाअनुरूप हुने गरी सम्भवतः केही पनि गर्न सक्दैनन्। मान्छेको अन्तर्निहित प्रकृतिभित्र परमेश्‍वरसँग मिल्ने केही पनि छैन। यो एकदमै स्पष्ट छ।

कतिपय मानिसहरू सधैँ अत्यधिक संवेदनशील हुन्छन् र आफूले आत्मिक विषयहरू बुझ्छु कि बुझ्दिनँ वा आफू कस्तो प्रकारको आत्मासँग सम्बन्धित छु भन्ने कुरालाई निकै महत्त्व दिन्छन्, र यस क्रममा आफ्नो प्रकृति बुझ्ने विषयलाई किनारा लगाउँछन्। यो त भुइँको टिप्दा गोजीको फुत्काएजस्तै कुरा हो। के यसरी वास्तविक कुरा उपेक्षा गरी भ्रामक कुरा समात्नु मूर्खता होइन र? यतिका वर्ष अध्ययन गरेर, के तैँले आत्माका कुरा वा प्राणका विषयहरू पूर्ण रूपमा बुझेको छस्? के तेरो आत्मा कस्तो छ भनेर तैँले देखेको छस्? यदि तैँले तेरो प्राणको गहिराइभित्र गएर प्रकृति सारको विषयवस्तु खोतल्दैनस्, र बरु यसको साटो, सधैँ आफ्नो आत्मा कस्तो छ भनेर अध्ययन मात्र गर्छस् भने, के तेरो अध्ययनले कुनै नतिजा दिन्छ र? के यो अन्धोले मैनबत्ती बालेर मैन नाश गर्नुजस्तो होइन र? तँ आफ्ना वास्तविक कठिनाइहरू एकातिर पन्छाउँछस् र तिनलाई कसरी हल गर्न सकिन्छ भनेर सोच्दैनस्, बरु सधैँ कुटिल विधिहरू अपनाउँदै आफूमा कस्तो प्रकारको आत्मा छ भनेर मात्रै विचार गरिरहन्छस्, तर के यसबाट कुनै समस्या हल हुन सक्छ र? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर सत्यता पछ्याउँदैनस्, र कहिल्यै इमानदार कार्यमा संलग्‍न हुँदैनस्, बरु सधैँ आफ्नो आत्माको अध्ययन गरिहन्छस् भने, तँ अत्यन्त मूर्ख व्यक्ति होस्। साँच्चै बुद्धिमानी व्यक्तिमा यस्तो मनोवृत्ति हुन्छ: “परमेश्‍वरले जे गर्नु भए पनि वा उहाँले मलाई जसरी व्यवहार गर्नु भए पनि, म जतिसुकै भ्रष्ट भए पनि वा मेरो मानवता जस्तोसुकै भए पनि, सत्यता पछ्याउने र परमेश्‍वरलाई चिन्न प्रयास गर्ने मेरो दृढ संकल्पमा म अटल रहिरहनेछु।” परमेश्‍वरलाई चिनेर मात्रै व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न सक्छ र परमेश्‍वरको इच्छा पूरा गर्न उसले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ; यही नै मानव जीवनको दिशा हो, मानवले हासिल गर्न प्रयास गर्नुपर्ने कुरा नै यही हो, र यही नै मुक्तिको एकमात्र मार्ग हो। अहिले, वास्तविकता भनेको सत्यता पछ्याउनु, आफ्नो भ्रष्ट प्रकृति चिन्नु, आफ्नो भ्रष्ट स्वभावबाट मुक्त हुन सत्यता बुझ्नु र परमेश्‍वर सन्तुष्ट हुनुहुने गरी कर्तव्य निर्वाह गर्न सक्षम हुनु हो। सत्यता वास्तविकतामा प्रवेश गर्नु र साँचो व्यक्तिको रूपमा जिउनु—यही नै वास्तविकता हो। वास्तविकता भनेको परमेश्‍वरलाई प्रेम गर्नु, परमेश्‍वरप्रति समर्पित हुनु र परमेश्‍वरको गवाही दिनु हो। परमेश्‍वरले चाहनुहुने नतिजाहरू यिनै हुन्। छुन र देख्न नसकिने कुराबारे अनुसन्धान गर्नु बेकार हो। वास्तविकतासँग त्यसको कुनै सम्बन्ध हुँदैन, र परमेश्‍वरको कार्यको प्रभावसँग पनि त्यसको कुनै लिनुदिनु हुँदैन। अहिले तँ भौतिक शरीरमा रहेकोले, तैँले सत्यता बुझ्ने, कर्तव्य राम्रोसँग निर्वाह गर्ने, इमानदार व्यक्ति बन्ने र आफ्नो स्वभाव बदल्ने कुरा पछ्याउनुपर्छ। यी सबै अधिकांश मानिसहरूले हासिल गर्न सक्‍ने कुराहरू हुन्।

कतिपय मानिसहरूमा स्पष्ट रूपमै दुष्टात्माहरूको काम हुन्छ र तिनीहरू दुष्टात्माको वशमा समेत हुन सक्छन्। के यस्ता व्यक्तिहरूले परमेश्‍वरमा विश्‍वास गरेर मुक्ति पाउन सक्छन् त? यो भन्न कठिन छ, र यो तिनीहरूले समझदार कार्य गर्छन् गर्दैनन् र तिनीहरूमा सामान्य मानसिक स्थिति छ छैन भन्ने कुरामा निर्भर रहन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा तिनीहरूले सत्यता बुझ्न सक्छन् सक्दैनन्, र व्यवहारमा सत्यता लागू गर्छन् गर्दैनन् भन्ने हो। यदि तिनीहरूले यो मापदण्ड पूरा गर्न सक्दैनन् भने, तिनीहरूले मुक्ति पाउन सम्भव हुँदैन। अहिले तिमीहरू सबैसँग सामान्य समझ छ, तिमीहरू सबै सामान्य रूपमा बोल्छौ र तिमीहरूले कसैले पनि अलौकिक वा असामान्य घटना अनुभव गरेका छैनौ। कहिलेकाहीँ तिमीहरूको स्थिति केही असामान्य भए पनि र तिमीहरूका कतिपय काम गर्ने तरिकाहरू गलत भए पनि, यी सबै मानव प्रकृतिका प्रकटीकरण हुन्। वास्तवमा, यो अरू मानिसहरूको हकमा पनि उस्तै हुन्छ—तिनीहरूको प्रकटीकरणको पृष्ठभूमि र समय मात्र फरकफरक हुने हो। अहिले तिमीहरूको कद सानो देखिन्छ र अरूले आत्माका विषयवस्तु र अभिव्यक्तिहरू बोलेको सुनेपछि तिमीहरूले पनि त्यही कुराको नक्कल र अनुसरण गर्छौ, र तिमीहरूले आत्माको विषयवस्तु निकै राम्रोसँग बुझेजस्तो र आफू निकै महान्‌ व्यक्ति भएजस्तो गर्छौ। आत्मिक क्षेत्रको विषयवस्तु परमेश्‍वरले मात्रै बुझ्नु र नियन्त्रित गर्नुहुन्छ, र मानिसहरूले उहाँका वचनहरूबाट थोरै मात्र बुझ्न सके पनि त्यो धेरै राम्रो हुन्छ, त्यसैले कसैले आत्मिक क्षेत्रलाई पूर्ण रूपमा कसरी बुझ्न सक्छ र? यस्ता कुराहरूमा सधैँ घोत्लिँदा पथप्रष्ट हुन सजिलो हुँदैन र? आलकल सबै मानिसहरूभित्र यो स्थिति रहेको हुन्छ। तैँले यी विषयहरूबारे सधैँ गम्भीर रूपमा छलफल नगरे पनि र ती कुराको कारण तँ कमजोर नभए पनि वा नलडे पनि, तँ अझै अरूका ती शब्दहरूबाट अस्थायी रूपमा प्रभावित हुन सक्नेछस्। तैँले यसप्रकारका मामिलामा धेरै ध्यान नदिए पनि, तँ अझै पनि तेरो हृदयमा आत्माका कुराहरूमा केन्द्रित हुने जोखिममा छस्, अनि कुनै दिन तैँले साँच्चै नै केही गलत काम गर्दै ठक्कर खाने र लडखडाउने समय आयो भने, “के मेरो आत्मा पनि गलत छ?” भनेर सोच्दै, तैँले आफैलाई शङ्का गर्नेछस्। तँ सामान्यतया कहिल्यै शङ्का गर्दैनस्, र अरूलाई शङ्कामा डुबेको देख्दा तिनीहरूलाई निरर्थक सम्झन्छस्। तर कुनै एक दिन तँ निराकरणमा पर्दा वा अरू कसैले तँलाई शैतान वा दुष्टात्मा भन्दा, तैँले त्यसमा विश्‍वास गर्नेछस्, र तिनीहरूजस्तै तँ पनि आफूलाई बाहिर निकाल्न नसक्ने गरी शङ्कामा डुब्नेछस्। वास्तवमा अधिकांश मानिसहरू यो समस्याको जोखिममा हुन्छन्, र तिनीहरूले आत्माका कुराहरूलाई अत्यन्त महत्त्वपूर्ण ठान्छन् र आफ्नै प्रकृति वा जीवन प्रवेशको बुझाइ हासिल गर्नेजस्ता कुरालाई उपेक्षा गर्दछन्। यसले तिनीहरूलाई वास्तविकताबाट पूर्ण रूपमा विच्छेद गराउँछ र यो एउटा अनुभवात्मक विचलन हो।

तिमीहरू सबैले आफ्नो प्रकृति चिन्न र आफ्नो प्रकृतिको कुन पक्षले आफूलाई सजिलै गलत काम गर्न वा पथभ्रष्ट हुन प्रेरित गर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ, अनि यस आधारमा तिमीहरूले अनुभव र सिकाइहरू सारांशित गर्नुपर्छ। खास गरी सेवाकार्य, जीवन अनुभव र आफ्नो प्रकृति चिन्ने सन्दर्भमा क्रमिक रूपमा गहन ज्ञान विकसित गरेर मात्रै तिमीहरूले आफ्नो स्थितिबारे बुझ्न र सही दिशामा वृद्धि हुन सक्नेछौ। यदि तैँले सत्यताका यी पक्षहरू प्राप्त गर्न सक्छस् र तिनलाई आफ्नो आन्तरिक जीवन बनाउन सक्छस् भने, तँ निकै नै स्थिर हुनेछस्, र तैँले आफूले नबुझेका कुराबारे गैरजिम्मेवार वा जथाभाबी टिप्पणीहरू गर्नेछैनस्, र तँ आफ्ना शब्दहरूको वास्तविकतामा केन्द्रित हुनेछस्, र तैँले वास्तविक कुराहरूबारे सङ्गति गर्नेछस्। जब मानिसहरूले आफ्नो प्रकृतिबारे गहिरो ज्ञान र सत्यताबारे गहिरो बुझाइ प्राप्त गर्छन्, तब तिनीहरूले अझ बढी औचित्यपूर्ण ढङ्गले बोल्नेछन्, र अबउप्रान्त जथाभाबी रूपमा बोल्नेछैनन्। सत्यता नभएका व्यक्तिहरू सधैँ साधारण बुद्धिका हुन्छन्, र तिनीहरूले जुनसुकै कुरा बोल्ने साहस गर्छन्; कतिपय मानिसहरू त यस्ता हुन्छन् कि तिनीहरूले सुसमाचार प्रचार गरिरहेको बेला केही थप मानिसहरू प्राप्त गर्नहेतु धार्मिक मानिसहरूलाई पछ्याउन र परमेश्‍वरको निन्दा गर्न पनि सङ्कोच मान्दैनन्। तिनीहरूले आफू को हुँ भन्ने पनि हेक्का राख्दैनन्, न त आफ्नो प्रकृतिबारे तिनीहरूमा कुनै बुझाइ नै हुन्छ, र तिनीहरूमा परमेश्‍वरको कुनै डर हुँदैन। कतिपय मानिसहरू यो कुनै ठूलो कुरा होइन भन्ने ठान्छन्, तर के यो साँच्चै नै कुनै ठूलो कुरा होइन त? जब कुनै दिन तिनीहरूले यो समस्याको गम्भीरता बुझ्छन्, तब तिनीहरूलाई डर लाग्‍नेछ। यस्तो गर्नु कति भयानक कुरा हो! तिनीहरूले यो मामिलाको सार राम्रोसित बुझ्न सक्दैनन्, तर तिनीहरू आफूलाई निकै बुद्धिमान्‌ र सबै कुरा बुझ्नेसमेत ठान्छन्; तर तिनीहरूलाई आफूले परमेश्‍वरलाई चिढ्याउँदै छु भन्‍ने कुराको हेक्‍का नै हुँदैन र आफू कसरी नष्ट हुनेछु भन्नेबारे पनि तिनीहरू अनभिज्ञ नै हुन्छन्। यदि तँ आफ्नै प्रकृति चिन्दैनस् भने, नरक वा आत्मिक संसारसँग सम्बन्धित सबै मामिलाहरू बुझ्नु तेरो लागि व्यर्थ हुन्छ। अहिले मुख्य कुरा भनेको आफूलाई चिन्‍नेबारे र आफ्नो प्रकृति सार चिन्नेबारे रहेका कठिनाइहरू हल गर्नु हो। तँलै तेरो प्रकृतिले प्रकट गरेको हरेक स्थिति बुझ्नुपर्छ—यदि तैँले यसो गर्न सक्दैनस् भने, अन्य कुनै पनि बुझाइ व्यर्थ हुनेछ; आफूमा कस्तो प्रकारको आत्मा वा प्राण रहेको छ भनेर हेर्न तैँले आफूलाई जति धेरै विश्‍लेषण गरे पनि त्यो सबै व्यर्थ हुनेछ। मुख्य कुरा भनेको तेरो प्रकृतिमा रहेका ती विभिन्न कुराहरूबारे बुझ्नु हो जुन वास्तवमै तँभित्र रहेका छन्। अब, तँभित्र जस्तोसुकै आत्मा भए पनि, तँ अहिले सामान्य सोच भएको व्यक्ति होस्, त्यसैले तैँले सत्यता बुझ्ने र स्विकार्ने कुरा पछ्याउनुपर्छ। यदि तँ सत्यता बुझ्न सक्छस् भने, तैँले सत्यताअनुसार काम गर्नुपर्छ—यही नै मान्छेको कर्तव्य हो। आत्माको मामिलामा घोत्लिरहनु तेरो लागि हितकर हुँदैन, र यो व्यर्थ छ र यसले कुनै लाभ दिँदैन। आजकल सबैतिरका मण्डलीबाट दुष्टात्माहरूको काम भएका मानिसहरूको खुलासा भइरहेको छ। यदि यस्ता मानिसहरूले सत्यता बोध गर्न सक्छन् भने, तिनीहरूसँग अझै पनि आशा हुन्छ, तर यदि तिनीहरूले सत्यता बोध गर्न वा स्विकार्न सक्दैनन् भने, तिनीहरूलाई हटाउन मात्र सकिनेछ। यदि व्यक्तिले सत्यता बोध गर्न सक्छ भने, यसले उसमा अझै पनि सामान्य समझ रहेको देखाउँछ र यदि उसले अझ धेरै सत्यताहरू बुझ्छ भने, शैतानले उसलाई छल्न वा नियन्त्रणमा राख्न सक्दैन, र उसले मुक्ति पाउने आशा रहन्छ। यदि ऊ पिशाचहरूको वशमा छ र अधिकांश समय उसको समझ सामान्य हुँदैन भने, ऊ पूर्ण रूपमा समाप्त भइसकेको छ र थप समस्या निम्तिन नदिन उसलाई हटाउनुपर्छ। तुलनात्मक रूपले अलि सामान्य समझ भएको कुनै व्यक्तिको हकमा भने, ऊभित्र जस्तोसुकै आत्मा भए पनि, जबसम्म उसमा आत्मिक विषयवस्तुबारे अलिकति मात्रै पनि बुझाइ रहन्छ र जसबम्‍म उसले सत्यता बुझ्न र स्विकार्न सक्छ, तबसम्‍म उसले मुक्ति पाउने आशा रहन्छ। कुनै मान्छेमा सत्यता स्विकार्ने क्षमता नहुन सक्छ, तर यदि उसले प्रभावकारी ढङ्गले प्रवचनहरू सुन्छ, सत्यता सङ्गति गर्दा त्यो बुझ्न र बोध गर्न सक्छ, र उसले सामान्य सोच राख्छ र ऊ बेतुकको छैन भने, उसले मुक्ति पाउने आशा हुन्छ। तर मलाई के डर लाग्छ भने, यस्ता मानिसहरू पनि हुनेछन् जो आत्मिक विषयवस्तु वा मानव शब्दहरू बुझ्दैनन् र अरूले सत्यताबारे जे-जसरी सङ्गति गरे पनि तिनीहरूले त्यो बुझ्न सक्दैनन्; यस्ता मानिसहरू समस्या खडा गर्ने खालका हुन्छन् र तिनिहरूले सेवाकर्ताको रूपमा पनि काम गर्न सक्दैनन्। अर्को कुरा के हो भने, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू सत्यतामा र सत्यता पछ्याउने कार्यमा मात्र केन्द्रित हुनुपर्छ। तिनीहरूले आत्माबारे बोल्न, अध्ययन गर्न वा बुझ्नमा केन्द्रित भइरहनु हुँदैन। यस्तो गर्नु बेतुक र हास्यास्पद हुन्छ। अहिले मुख्य कुरा भनेको व्यक्तिले सत्यता स्विकार्न, सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्छ सक्दैन भन्ने हो। यो नै मुख्य कुरा हो, तर व्यक्तिले आफूलाई चिन्न र आत्मचिन्तन गर्न सक्छ सक्दैन, र ऊ आफ्नै प्रकृति बुझ्न सक्ने व्यक्ति हो होइन भन्ने कुरा सबभन्दा महत्त्वपूर्ण छ! तेरो आफ्नै आत्मा के हो भनेर अध्ययन गर्नु निरर्थक र विशेष व्यर्थ छ। यदि तँ सधैँ आफनो आत्मा के हो, तेरो प्राणलाई के भइरहेको छ, तँसँग कस्तो आत्मा छ, तेरो आत्मा उच्च वा न्यूनकोटिको छ, तँ कुन आत्माको पुनर्जन्म होस्, तँ पहिले कतिपटक आइसकेको छस्, तेरो अन्तिम परिणाम के हुनेछ वा भविष्यमा के हुनेछ भन्‍नेजस्ता कुराहरू अध्ययन गरिरहन्छस् भने, यसले महत्त्वपूर्ण कुराहरूमा हस्तक्षेप पुर्‍याउँछ। तैँले यी कुराहरू विस्तार रूपमा अध्ययन गरे पनि, जब कुनै दिन अरू मानिसहरू सत्यता बुझेर वास्तविकतामा प्रवेश गर्छन्, तब तँसँग केही पनि रहनेछैन। तैँले महत्त्वपूर्ण मामिलामा हस्तक्षेप गरेर त्यसलाई आफैमाथि निम्त्याएको हुनेछस्। तैँले गलत मार्ग समातेको हुनेछस् र परमेश्‍वरमा व्यर्थ विश्‍वास गरेको हुनेछस्। त्यसपछि तैँले कसलाई दोष दिनेछस्? कसैलाई दोष दिनु बेकार हुनेछ; आखिर यी सबै तेरो आफ्नै अज्ञानताबाट आएका हुनेछन्।

अंश ४७

के तिमीहरू अब कसरी परमेश्‍वरलाई पछ्याउने र कसरी सत्यता पछ्याउने मार्ग हिँड्ने भनेर स्पष्ट रूपमा देख्छौ? खासमा परमेश्‍वरमा विश्‍वास गर्नु र परमेश्‍वरलाई पछ्याउनु भनेको के हो? के यो केही कुराहरू त्याग्नु, परमेश्‍वरको लागि आफूलाई अर्पित गर्न र केही कष्ट सहन सक्षम हुनु र अन्तिम बिन्दुसम्‍मै परमेश्‍वरलाई पछ्याउनु, र यति नै हो त? परमेश्‍वरलाई यसरी पछ्याएर के कसैले सत्यता प्राप्त गर्न सक्छ र? के यसरी कसैले मुक्ति प्राप्त गर्न सक्छ र? के तिमीहरू आफ्नो हृदयमा यी कुराहरूबारे स्पष्ट छौ? कतिपय मानिसहरू के सोच्छन् भने, एकपटक कुनै व्यक्तिले न्याय, सजाय, निराकरण र काटछाँट भोगिसकेपछि वा उसको साँचो रङ खुलासा भइसकेपछि, उसको परिणाम निर्धारित भइहाल्छ र उसले मुक्ति पाउने कुनै आशा रहँदैन। अधिकांश मानिसहरू यस मामिलालाई स्पष्ट रूपमा बुझ्न सक्दैनन्, तिनीहरू चौबाटोमा हिचकिचाउँदै बसिरहेका हुन्छन्, र तिनीहरूलाई अगाडिको मार्ग कसरी हिँड्ने थाहै हुँदैन। के यसको अर्थ तिनीहरूमा अझै पनि परमेश्‍वरको कामबारे साँचो ज्ञान छैन भन्ने होइन र? के परमेश्‍वरको काम र परमेश्‍वरद्वारा मान्छेलाई दिइने मुक्तिबारे सधैँ सन्देह राख्नेहरूसँग कुनै साँचो विश्‍वास हुन्छ र? सामान्यतया, जब कतिपय मानिसहरूलाई निराकरण र काटछाँट गर्न बाँकी हुन्छ र तिनीहरूले अझैपनि कुनै वाधा-व्यवधानको सामना गरेका हुँदैनन्, तिनीहरूलाई आफूले सत्यताको खोजी गर्नुपर्छ र आफ्‍नो विश्‍वासमा परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट तुल्याउनुपर्छ भन्‍ने लाग्छ। तैपनि, तिनीहरूले अलिकति ठक्‍कर खाइसकेपछि वा कुनै कठिनाइ देखा परिसकेपछि, तिनीहरूको धोका दिने प्रकृति देखा पर्छ, जुन हेर्दा घृणास्पद देखिन्छ। पछि गएर, तिनीहरूले पनि घृणित महसुस गर्छन्, र अन्तिममा आफ्‍नै अन्त्यबारे यसो भन्दै निष्कर्ष निकाल्छन्, “मेरो लागि सबै समाप्त भयो! यदि म यस्तो गर्न सक्‍छु भने, के त्यसको अर्थ म सकिएँ भन्‍ने हुँदैन र? परमेश्‍वरले मलाई कहिल्यै पनि मुक्ति दिनुहुनेछैन।” धेरै मानिसहरू यही स्थितिमा छन्। सबैजना यस्तै छन् भनेर पनि भन्‍न सकिन्छ। मानिसहरूले किन आफैप्रति यस्तो निष्कर्ष निकाल्छन् त? तिनीहरूले अझैपनि मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायलाई बुझ्दैनन् भन्‍ने यसले प्रमाणित गर्छ। एकपटक मात्रै काटछाँट र निराकरणमा पर्दा पनि यसले तँलाई लामो समयसम्म नकारात्मकतामा लैजान सक्छ, र तैँले यसबाट आफूलाई बाहिर निकाल्नै नसक्‍ने हुन सक्छ, यहाँसम्म कि तैँले आफ्नो कर्तव्य पनि छोड्न सक्छस्; सानो घटनाले समेत तँलाई तर्साएर अबउप्रान्त सत्यता पछ्याउनबाट रोक्न र तँलाई त्यहीँ अड्काएर राख्‍न सक्छ। मानौँ, आफू त्रुटिविहीन र निष्खोट छु भन्‍ने अनुभव गर्दा मात्रै मानिसहरू आफ्नो पछ्याइमा जोसिला हुन्छन्, तर आफू अत्यन्तै भ्रष्ट भएको थाहा पाउँदा, तिनीहरूसँग सत्यताको पछि लागिरहने हृदय नै हुँदैन। धेरै मानिसहरूले निराशा र नकारात्मकताका यस्ता शब्‍दहरू बोलेका छन्, “अवश्य नै मेरो लागि सबै सकियो; परमेश्‍वरले मलाई मुक्ति दिनुहुने छैन। यदि परमेश्‍वरले मलाई क्षमा दिनुभयो भने पनि, मैले आफूलाई क्षमा दिन सक्दिन; म कहिल्यै पनि परिवर्तन हुन सक्दिनँ।” मानिसहरूले परमेश्‍वरको इच्‍छालाई बुझ्दैनन्, जसले तिनीहरूले अझैपनि उहाँको कामलाई जानेका छैनन् भन्‍ने देखाउँछ। वास्तवमा, मानिसहरूले आफ्ना सबै अनुभवहरूको दौरान कहिलेकाहीँ केही भ्रष्ट स्वभाव प्रकट गर्नु वा दूषित तरिकाले वा गैरजिम्मेवार ढङ्गले वा झाराटारुवा किसिमले वा बफादारीविना काम गर्नु स्वाभाविक कुरा हो। यस्तो हुनुको कारण मानिसहरूमा भ्रष्ट स्वभाव हुनु हो; यो अटुट नियम हो। यदि यी प्रकटीकरणहरू हुँदैनथे भने, तिनीहरूलाई किन पो भ्रष्ट मानवजाति भनिन्थ्यो र? यदि मानवजाति भ्रष्ट हुँदैनथ्यो भने, परमेश्‍वरले गर्नुहुने मुक्तिको कार्य पनि निरर्थक हुनेथ्यो। अब समस्या के हो भने, मानिसहरूले सत्यता नबुझ्ने हुनाले, तिनीहरू आफूलाई साँचो रूपमा नबुझ्‍ने भएकाले, र तिनीहरूले आफ्नै स्थिति स्पष्टसँग देख्न नसक्ने हुनाले, तिनीहरूलाई प्रकाश देखाउन र खुलासा र न्यायका वचनहरू बोलिदिन परमेश्‍वरको आवश्यकता पर्छ। अन्यथा, तिनीहरू चेतनाशून्य र मन्दबुद्धिकै रहनेछन्। यदि परमेश्‍वरले यसरी काम गर्नुनभएको भए, मानिसहरू कहिल्यै बदलिने थिएनन्। हरेक चरणमा तिमीहरूसामु आउने कठिनाइहरू जेसुकै भए पनि, म तिमीहरूसँग सत्यताबारे सङ्गति गर्ने नै छु, र तिमीहरूलाई स्पष्टता र मार्गदर्शन प्रदान गर्ने नै छु, र जबसम्म तिमीहरू सही मार्गमा प्रवेश गर्न सक्षम रहन्छौ, तबसम्म त्यो पर्याप्त नै रहनेछ। अन्यथा, मानिसहरू सधैँ चरमतातर्फ अघि बढ्नेछन्। तिनीहरू सधैँ निकासरहित बाटोतर्फ लाग्नेछन्, र त्यहाँबाट तिनीहरू अगाडि जाने कुनै बाटो हुनेछैन र हिँड्दाहिँड्दै तिनीहरूले आफैबारे कुनै निष्कर्ष निकाल्नेछन्। जब मानिसहरूले भर्खरै मात्र परमेश्‍वरको कार्य अनुभव गर्न थालेका हुन्छन्, त्यो बेला तिनीहरूले आफूलाई बुझेकै हुँदैनन्। धेरैपटक असफल र खुलासा भइसकेपछि, तिनीहरूले अन्ततः आफैबारे निष्कर्ष निकाल्छन्। तिनीहरूले भन्छन्: “म दियाबलस हुँ, म शैतान हुँ! मेरो लागि सबै कुरा सकिए। अब मैले मुक्ति पाउने कुनै मौका छैन। म मुक्तिबाट धेरै पर छु।” मानिसहरू वास्तवमा निकै कमजोर हुन्छन् र तिनीहरूलाई सम्हाल्न निकै कठिन हुन्छ, र हिँड्दाहिँड्दै तिनीहरू चरमतातर्फ अघि बढ्नेछन्। जब मानिसहरूले आफ्नो भ्रष्टता निकै गहिरो रहेको र आफू दियाबलस भएको देख्न सक्दैनन्, तब तिनीहरू अहङ्कारी र आत्मधर्मी बन्छन्; तिनीहरूलाई आफूले असङ्ख्य कठिनाइहरू झेलेको, आफू परमेश्‍वरलाई प्रेम गर्ने मान्छे रहेको, र स्वर्गको राज्यमा प्रवेश गर्न आफू योग्य रहेको भन्ने लाग्छ। तर जब मानिसहरूले आफ्नो भ्रष्टताको गहिराइ बुझ्छन्, र आफू मानव स्वरूपमा जिउने नगरेको, बरु दियाबलस एवं शैतान रहिरहेको महसुस गर्छन्, तब तिनीहरू निराशामा पुग्छन् र आशाहीन बन्छन्; अनि आफूलाई परमेश्‍वरले दोषी ठहर्‍याउनुपर्थ्यो, र खुलासा गरेर निकाल्दिनुपर्थ्यो भन्ने सोच्छन्। मानिसहरूले आफूलाई नबुझ्दा अहङ्कारी र आत्मधर्मी हुन्छन्, र जब आफूलाई बुझ्छन्, तिनीहरू निराशामा पुग्छन्। मानिसहरू यसरी नै कष्टप्रद र कठिन हुन्छन्। यदि तिनीहरूले सत्यता स्वीकार गर्न सके भने, यदि तिनीहरूले एक दिन परमेश्‍वरको इच्छा बुझ्न सके भने, तिनीहरूले यसो भन्नेछन्ः “मेरो भ्रष्टता सधैँ यति गहिरो थियो र अन्ततः मैले यसलाई पहिचान गरेको छु। भाग्यवश, परमेश्‍वरले मलाई मुक्ति दिनुभयो, र अब म प्रभावशाली जीवन देख्न सक्छु र जीवनको सही मार्ग हिँड्न सक्छु। अब परमेश्‍वरलाई कसरी धन्यवाद प्रकट गरूँ, मलाई थाहै छैन।” यो त सपनाबाट बिउँझेर प्रकाश देख्नुजस्तै हो। के तिनीहरूले महान्‌ मुक्ति पाएका छैनन् र? के तिनीहरूले परमेश्‍वरको स्तुति गर्नुपर्दैन र? कतिपय मानिसहरू मृत्यु नजिक हुँदा पनि आफूलाई बुझ्दैनन्; तिनीहरू अझै पनि अहङ्कारी नै हुन्छन् र तिनीहरूले तथ्यहरूको खुलासा स्वीकार गर्न सक्दैनन्। तिनीहरूलाई आफू निकै असल भएजस्तो लाग्छः “म एउटा असल व्यक्ति हुँ, मैले त्यस्तो कसरी गर्न सक्थेँ र?” यस्तो लाग्छ कि तिनीहरूलाई गलत आरोप लगाइएको छ। कतिपय मानिसहरूले वर्षौँसम्म परमेश्‍वरको कार्य अनुभव गरेका हुन्छन् तर अन्त्यमा तिनीहरूले अझै पनि आफ्नो प्रकृति बुझ्दैनन्। तिनीहरू सधैँ आफू असल मान्छे रहेको सोच्छन् र आफूले अन्योलको क्षणमा परेर गल्ती गरेको ठान्छन्, र तिनीहरू आजसम्‍म पनि आफू निकालिँदा समर्पित हुँदैनन्। यसप्रकारको व्यक्ति अति नै अहङ्कारी र अज्ञानी हुन्छ, र उसले सत्यता स्वीकार नै गर्दैन। यस्ताहरू कहिल्यै रूपान्तरित भएर मानव प्राणी बन्न सक्नेछैनन्। यसबाट तिमीहरूले थाहा पाउन सक्छौ कि मानिसहरूको प्रकृति परमेश्‍वरप्रति प्रतिरोधी र विश्‍वासघाती हुने भए पनि तिनीहरूको प्रकृतिमा भिन्नताहरू हुन्छन्। यसको लागि, मानिसहरूको प्रकृतिबारे एक गहन बुझाइ आवश्यक पर्छ।

मानिसहरूको प्रकृतिमा हामीले बुझ्नैपर्ने केही साझा विशेषताहरू हुन्छन्। सबै मानिसहरू परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्षम हुन्छन्—यो साझा विशेषता हो—तथापि, प्रत्येक व्यक्तिको आफ्नै महत्त्वपूर्ण कमजोरी हुन्छ। कोही मानिसहरू शक्ति मन पराउँछन्, कोही हैसियत मन पराउँछन्; कोही पैसालाई पुज्छन्, र कोहीचाहिँ भौतिक सुखलाई पुज्छन्। यी कुराहरू मानिसहरूको प्रकृतिमा हुने भिन्नताहरू हुन्। कति मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि धेरै कठिनाइहरू झेलेर पनि दह्रिलोसँग खडा हुन सक्छन् भने, कति अरू मानिसहरू थोरै कठिनाइ सामना गर्नुपर्दा पनि नकारात्मक हुन्छन्, गुनासो गर्छन् र दह्रिलोसँग खडा हुन असफल हुन्छन्। त्यसोभए यस्तो किन हुन्छ, जहाँ दुवैले परमेश्‍वरमा विश्‍वास गरिरहेका, र दुवैले परमेश्‍वरको वचन खानपिन गरिरहेका हुन्छन्, तर कुनै परिस्थिति आइपर्दा तिनीहरूको प्रतिक्रिया फरकफरक हुन्छ? यसले के दर्साउँछ भने, गहिरोसँग भ्रष्ट भएका मानिसहरू सबैमा शैतानको प्रकृति हुने भए पनि, तिनीहरूको मानवताको गुणस्तर फरकफरक हुन्छ। कति मानिसहरू सत्यताप्रति दिक्क मान्छन् र सत्यतालाई घृणा गर्छन्, तर अरू मानिसहरू सत्यतालाई प्रेम र स्वीकार गर्न सक्षम हुन्छन्। कति मानिसहरू देखाउने भ्रष्ट स्वभाव अधिक गम्भीर हुन्छ भने, अरूको कम गम्भीर हुन्छ। कति मानिसहरू अलि बढी दयालु हुन्छन्, र अरूचाहिँ धेरै क्रूर हुन्छन्। तर तिनीहरूका शब्द, व्यवहार र प्रकटीकरण फरकफरक भए पनि, तिनीहरूका भ्रष्ट स्वभावहरू उस्तै हुन्छन्; तिनीहरू सबै भ्रष्ट मानवहरू हुन्, तिनीहरू सबै शैतानकाहरू हुन्। यो तिनीहरूबीचको साझा विशेषता हो। व्यक्तिको प्रकृतिले ऊ को हो भनेर परिभाषित गर्छ। तर प्रकृतिको सन्दर्भमा व्यक्ति-व्यक्तिबीच समानता भए पनि, प्रत्येक व्यक्तिलाई उसको सारअनुसार अलगअलग व्यवहार गरिनुपर्छ। उदाहरणको लागि, दुष्ट कामवासना सबै मानिसहरूमा रहने साझा विशेषता हो। सबैमा यो कुरा हुन्छ र कसैले पनि यसलाई सजिलै हटाउन सक्दैन। तथापि, यसबारे केही मानिसहरूको विशेष बलियो झुकाव हुन्छ। जबजब यसप्रकारका मानिसहरूले विपरीतलिङ्गी संलग्न परीक्षा सामना गर्छन्, त्यसमा तिनीहरूले माथ खान्छन्। तिनीहरूको हृदय वशमा पर्छ र तिनीहरू प्रलोभनमा पर्छन्; तिनीहरू कुनै पनि समय अर्को व्यक्तिसँग भाग्न र परमेश्‍वरप्रति विश्‍वासघात गर्न तयार हुन्छन्। यसरी, यस्ता मानिसहरूमा दुष्ट प्रकृति हुन्छन् भनेर भन्न सकिन्छ। कतिपय मानिसहरूले जब यसप्रकारको कुरा सामना गर्छन्, तब तिनीहरूले केही कमजोरी देखाए पनि वा केही दुष्ट कामवासना प्रकट गरे पनि, तिनीहरूले सीमा नाघेर कुनै पनि काम गर्दैनन्। तिनीहरू आफूलाई संयमित राख्न र यसप्रकारको परिस्थितिबाट बच्न सक्षम हुन्छन्; तिनीहरू दैहिकता त्याग्न र प्रलोभनबाट परै बस्‍न सक्छन्। यसर्थ, तिनीहरूको प्रकृति दुष्ट छ भनेर भन्न सकिँदैन। मानिसहरू देहमा जिउँछन्, त्यसैले तिनीहरूमा दुष्ट कामवासना हुन्छ; तर कतिपय मानिसहरू स्वेच्छाचारी र उत्ताउला हुन्छन्, तिनीहरू कामवासनामै लिप्त हुन्छन् र मण्डलीको काममा बाधाव्यवधान ल्याउने कामहरूसमेत गर्छन्। तर कतिपय मानिसहरू यस्ता हुँदैनन्। तिनीहरू सत्यता पछ्याउन र सत्यताअनुसार काम गर्न सक्षम हुन्छन्, र तिनीहरू दैहिकता त्याग्न सक्छन्। हरेक मानिसमा देहको कामवासना भए पनि, तिनीहरू एकै प्रकारले व्यवहार गर्दैनन्। यसरी मानिसहरूका प्रकृति सारहरू भिन्नभिन्न हुन्छन्। कतिपय मानिसहरू पैसाको लालची हुन्छन्। तिनीहरूले पैसा वा राम्रा कुराहरू देख्नेबित्तिकै लिइहाल्न खोज्छन्। तिनीहरूमा यी कुराहरू हासिल गर्ने अत्यन्तै तीव्र चाहना हुन्छ। यी मानिसहरू प्रकृतिले नै लालची हुन्छन्। जुनसुकै भौतिक सम्पत्ति देखे पनि, त्यसको लालच गरिहाल्छन्, र तिनीहरूले परमेश्‍वरको भेटी चोर्ने वा दुरूपयोग गर्ने हिम्मतसमेत गर्छन्—तिनीहरूले लाखौँ वा करोडौँ रुपैयाँ समात्नेसमेत हिम्मत गर्छन्। जति धेरै पैसा हुन्छ, त्यति नै तिनीहरू साहसी बन्छन्। तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय बिलकुलै हुँदैन। यो लालची प्रकृति हो। कतिपय मानिसहरूको विवेक मण्डलीको केही पैसा खर्च गरेपछि छटपटाउँछ। तिनीहरू तुरुन्तै परमेश्‍वरसामु घुँडा टेकेर प्रार्थना गर्छन्, तिनीहरूमा पश्‍चात्तापको आँसु हुन्छ र तिनीहरू परमेश्‍वरसँग क्षमा माग्छन्। तर हरेकमा भ्रष्ट स्वभाव र कमजोरी हुन्छ भन्दैमा त्यस्ता मानिसहरू पैसाको लालची हुन्छन् भनेर हामी भन्न सक्दैनौँ, र ती मानिसहरूले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्नुले तिनीहरूको कार्य तिनीहरूमा रहेको भ्रष्ट स्वभावहरूको एक प्रकटीकरण मात्र थियो भन्ने प्रमाणित गर्छ। कतिपय मानिसहरू अरूप्रति आलोचनात्मक हुन्छन्। तिनीहरूले यसो भन्ने गर्छन्, “यो व्यक्तिले यसपटक मण्डलीको केही रुपैयाँ खर्च गरेको छ, अर्कोपटक त्यो हजारौँ रूपयाँ हुन सक्छ। ऊ पक्कै पनि भेटी चोर्ने व्यक्ति हो र उसलाई निकाल्‍नुपर्छ।” यस तरिकाले बोल्नु भनेको यसमा केही आलोचनात्मक प्रकृति हुनु हो। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले तिनीहरूले निश्‍चय नै भ्रष्टता प्रकट गर्नेछन् र कैयौँ खराब कामहरू गर्नेछन्। यो सामान्य कुरा हो, तर आफ्नो भ्रष्टता प्रकट गर्ने व्यक्ति दुष्ट प्रकृति भएको व्यक्तिसमान हुँदैन। यी दुई प्रकारका मानिसहरूले केही समान कामहरू गर्न सक्लान्, तर तिनीहरू प्रकृतिमा भिन्न हुन्छन्। उदाहरणको लागि, जब कुनै व्यक्ति सत्यता पछ्याउने मार्ग हिँड्दै इमानदार व्यक्ति बन्न खोज्छ, तब उसले समयसमयमा अवश्यै झुट, छल वा चलाखी प्रकट गर्छ, तर दियाबालसले झुट बोल्नु र छल गर्नु उसको प्रकृतिकै भाग हो र त्यसले जतिबेला पनि र जुनसुकै कुरामा झुट बोल्नेछ। यसमा, दुवैले ढँटुवा व्यवहार प्रदर्शित गर्न सक्ने भए पनि, दियाबलसको सार र सत्यता पछ्याउने व्यक्तिको सार मूलभूत रूपमा भिन्न हुन्छन्। त्यसकारण, इमानदार बन्‍न खोज्ने मानिसहरूलाई क्षणिक समय भ्रष्टता प्रकटीकरण गरेकै कारण दियाबलस र शैतान हुन् भनेर भन्नु उचित हुन्छ र? झुट बोल्ने वा अरूलाई छल्ने अपराध गर्नुको अर्थ तिनीहरू सधैँ झुट बोल्ने र अरूलाई छल्ने दियाबलसहरू हुन् नै भन्ने हुँदैन। मानिसहरूको प्रकृति सार एकै प्रकारको नहुने भएकोले, तिनीहरू सबैलाई हामी एउटै डालोमा हाल्न सक्दैनौँ। क्षणिक अपराध गर्ने व्यक्तिलाई दियाबलससँग तुलना गर्नु एकप्रकारको स्वेच्छाचारी आलोचना र निन्दा हो। यही कुराले मानिसहरूलाई सबभन्दा धेरै हानि गर्छ। यदि तँमा समझशक्ति छैन र तँ परिस्थितिहरूलाई स्पष्ट देख्न सकदैनस्‌ भने, तैँले आँखा चिम्लेर बोल्न वा अन्धाधुन्ध नियम लागू गर्नु हुँदैन, अन्यथा तैँले अरूलाई हानि पुर्‍याउनेछस्। आत्मिक बुझाइ नभएका तर नियमहरू पालना गर्न मनपराउने मानिसहरूले अन्य व्यक्तिहरूको आलोचना वा निन्दा गर्ने अधिक सम्भावना हुन्छ। सत्यता नबुझ्ने मानिसहरूले सिद्धान्तविना बोल्ने र काम गर्ने गर्छन्, अनि यसरी लापरवाही तरिकाले बोल्ने र स्वेच्छाचारी ढङ्गले अरूको आलोचना वा निन्दा गर्ने मानिसहरूले आफूलाई पनि र अरूलाई पनि फाइदा पुर्‍याउँदैनन्।

व्यक्ति परमेश्‍वरको इच्छाअनुरूप हुनको लागि उहाँप्रतिको विश्‍वासमा कुन लक्ष्यसम्म पुग्नुपर्छ भन्‍ने कुरा तिमीहरूलाई हृदयमा थाहै छैन। धेरै कम मानिसहरू मात्र परमेश्‍वरको मापदण्डहरूअनुसार उहाँमाथि पूर्ण विश्‍वास गर्न सक्षम हुन्छन्। तिमीहरूभित्र अत्यन्तै धेरै समस्याहरू छन्, तर सायद तिमीहरूले अहिलेसम्म महसुस गरेकै छैनौ र तिमीहरू अझैसम्म तीबारेमा स्पष्ट छैनौ। यसले तिमीहरूले अझै पनि सत्यता बुझेका छैनौ, तिमीहरू आत्मचिन्तन गर्न सक्दैनौ, तिमीहरूले अझैसम्म आफूभित्र आफ्नो प्रकृतिका विभिन्न विचार र पक्षहरू पत्ता लगाएको छैनौ र तिमीहरू अझै पनि ती कुराहरू विश्‍लेषण गर्न असक्षम छौ भन्ने देखाउँछ। कुनै दिन, जब तिमीहरूले धेरै प्रवचन सुनिसकेका हुन्छौ र जब तिमीहरूसँग अनुभव हुन्छ, तब तिमीहरूले सत्यता बुझ्नेछौ। त्यसपछि मात्र, तिमीहरू साँचो आत्मज्ञान पाउन सक्षम हुन्छौ। तिमीहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गरेको भए पनि, तिमीहरूले अझै पनि आफ्नो भ्रष्ट स्वभावहरूबाट छुटकारा पाएका छैनौ, र तिमीहरूको प्रकृतिभित्र अझै पनि कैयौँ सतही कुराहरू छन्, र तिमीहरू अझै पनि राम्रो लुगा लगाउन र असल कुराहरूको आनन्द लिन मन पराउँछौ। जब कतिपय मानिसहरूले राम्रो कपडा लगाउँछन् वा राम्रो फोन भेट्छन्, तब तिनीहरूको बोलीको लवज फेरिन्छ; जब कतिपय महिलाहरूले अग्लो हिल भएको जुत्ता वा चप्पल लगाउँछन्, तब तिनीहरूको हिँड्ने तरिका बदलिन्छ, र त्यसपछि तिनीहरूलाई आफू को हुँ भन्ने पनि थाहा हुँदैन। जब मानिसहरूले आफ्नो हृदयभित्र के-कस्ता कुराहरू पाल्छन्, र तिनीहरूबाट यस्ता खराब, कुरूप र सतही कुराहरू प्रकटीकरण गराउने कस्तो प्रकृति हो भन्ने कुरा आउँछ, तब मानिसहरूले आफ्नै भ्रष्ट स्वभाव र आफ्नो प्रकृतिभित्र रहेका कुराहरू चिन्नुपर्ने हुन्छ। तर मानिसहरूले यी भ्रष्ट स्वभावहरू महसुस गर्नसक्ने भए पनि हल गर्नचाहिँ सक्दैनन्, तिनीहरूले आफ्नै इच्छाशक्तिकमा निर्भर रहेर यस्ता स्वभावहरू नियन्त्रित गर्न र बाहिर प्रकट हुनबाट रोक्न मात्र सक्छन्। मानिसहरूको अनुभव गहिरो हुँदै जाँदा, तिनीहरूको प्रकृति र सत्यताका सबै पक्षहरूको ज्ञान गहिरो हुँदै जाँदा र बिस्तारै परमेश्‍वरका मापदण्डहरू बुझेर त्यसमा प्रवेश गर्दैजाँदा, तिनीहरूका भ्रष्ट स्वभावहरू र तिनीहरूका प्रकृतिका पक्षहरू बिस्तारै बदलिन थाल्छन्। सुरुमा, तिनीहरूको आत्मज्ञान निकै सतही हुन्छ। तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू स्विकार्न सक्छन्, तर सत्यता खोज्न र आफ्नो भ्रष्टताको सार चिन्न सक्दैनन्। केही ज्ञान प्राप्त गरेपछि, तिनीहरूले आफूलाई नियन्त्रित गर्न र कठा मेहनत गरेर देहसुख त्याग्‍न र नतिजाहरू हासिल गर्न् चाहन्छन्, तर तिनीहरूको प्रयास व्यर्थ हुन जान्छ र तिनीहरू अझै पनि समस्याको मूलजडसम्म पुग्न सक्दैनन्। पछि गएर, जब तिनीहरूले सत्यतालाई साँचो रूपमा बुझ्छन् र जब आफ्नो भ्रष्ट स्वभावलाई राम्रोसँग चिन्छन्, तिनीहरूले आफैलाई घृणा गर्न थाल्छन्। त्यसबेला, देहसुख त्याग्नको लागि तिनीहरूले धेरै प्रयास लगाइरहनु पर्दैन, तिनीहरूले सक्रिय भएर सत्यता अभ्यास गर्न र सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छन्। कहिलेकाहीँ, तिनीहरूले पूर्ण रूपमा सत्यता बुझ्न नसके पनि, कम्तीमा तिनीहरूले आफ्नो विवेक र समझको आधारमा काम गर्न सक्छन्। मानिसहरूले पहिलोपटक परमेश्‍वरका वचनहरू अनुभव गर्न थाल्दा, तिनीहरू सबैले कठिनाइ सामना गर्छन्; किनभने तिनीहरूले सत्यता बुझ्दैनन् र सिद्धान्तहरूलाई आधार बनाउन जान्दैनन्, तिनीहरू सधैँ यो कुरा वा त्यो कुरा कसरी गर्ने भनेर सोधिरहन्छन् र तिनीहरूले नियमहरू मात्र पालना गर्न सक्छन्। यसबाहेक, मानिसहरू सधैँ नकारात्मक स्थितिहरूबाट बाधित हुन्छन् र कहिलेकाहीँ तिनीहरूसँग अगाडि बढ्ने कुनै मार्ग नै हुँदैन। जहाँसम्‍म नकारात्मक स्थितिहरूको सवाल छ, यदि ती स्थितिहरू सङ्गतिद्वारा हल गर्न सकिने खालका छन् भने, मानिसहरूले सङ्गति गरेरै ती स्थितिहरू हल गर्नुपर्छ। सङ्गति गरेर हल गर्न नसकिने नकारात्मक स्थितिहरूलाई भने तैँले बेवास्ता गर्न सक्छस्। बरु त्यसको साटो, तैँले सामान्य रूपमा अभ्यास र प्रवेश गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ र सत्यताबारे अझ धेरै सङ्गति गर्नुपर्छ। एक दिन, जब तैँले स्पष्टसँग सत्यता बुझ्छस् र जब तैँले धेरै कुराहरूको भित्री वास्तविकता देख्छस्, तब तेरो नकारात्मक स्थितिहरू स्वभाविक रूपमै हराउँदै जानेछन्। के तिमीहरूका पुराना, नकारात्मक स्थितिहरू पहिल्यै हराइसकेका छैनन् र? कम्तीमा पनि, तिमीहरूले ती कुराहरू पहिलेभन्दा धेरै कम अनुभव गर्दछौ। बस मेहनतपूर्वक सत्यता पछ्याउने कुरामा ध्यान केन्द्रित गर, अनि तिमीहरूले सबै समस्याहरू समाधान गर्न सक्नेछौ। अनि, तिमीहरू आफ्ना समस्याहरू समाधान गर्न सक्ने भएपछि, तिमीहरूले प्रगति गरेका हुनेछौ र तिमीहरूको वृद्धिविकास भएको हुनेछ। जब मानिसहरूले जीवनसम्‍बन्धी तिनीहरूको दृष्टिकोण, र तिनीहरूको अस्तित्वको अर्थ र आधार पूर्ण रूपमा परिवर्तन भइञ्‍जेल अनुभव गर्छन्, जब तिनीहरू आफ्‍ना हड्डीहरूसमेत परिवर्तन गरेर अर्कै व्यक्ति बनेका हुन्छन्, के यो अद्‌भुत हुँदैन र? यो निकै ठूलो परिवर्तन, पृथ्वी हल्‍लाउने परिवर्तन हो। जब तँ संसारको ख्याति, लाभ, हैसियत, पैसा, सुख-चैन, शक्ति र वैभवप्रति चासो नराख्‍ने बन्छस्, र तिनलाई सहजै त्याग्‍न सक्छस्, तब मात्रै तँमा मानवको जस्तो स्वरूप हुन्छ। अन्तिममा परमेश्‍वरद्वारा पूर्ण तुल्याइनेहरू यस्तै मानिसहरूको समूह हो; तिनीहरू सत्यताका लागि जिउँछन्, परमेश्‍वरको लागि जिउँछन्, र जुन कुरा न्यायी छ त्यसैको लागि जिउँछन्। यो साँचो मानवको स्वरूप हो।

कतिपय मानिसहरूले सोध्नेछन्, “मानव प्राणी वास्तवमा के हो?” आजकलका कुनै पनि मानिसहरू मानव प्राणी होइनन्। यदि तिनीहरू मानव प्राणी होइनन् भने, तिनीहरू के हुन् त? तिमीहरू तिनीहरूलाई जनावर, पशु, शैतान वा दियाबलस भन्न सक्नेछौ; जे भए पनि, तिनीहरू मानव छालाको आवरणभित्र मात्र छन्, तर तिनीहरूलाई मानव प्राणी भन्न सकिँदैन, किनभने तिनीहरूमा सामान्य मानवता छैन। तिनीहरूलाई जनावर भन्दा केही ठीक होला, तर मानिसहरूसँग भाषा, दिमाग र सोचहरू भएकोले, र तिनीहरू विज्ञान र निर्माणका काममा संलग्न हुन सक्‍ने हुनाले, तिनीहरूलाई उच्चकोटिको जनावरको रूपमा सूचीबद्ध गर्न सकिन्छ। तर मानिसहरू शैतानद्वारा निकै गहिरोसँग भ्रष्ट पारिएका छन्, तिनीहरूले धेरै पहिले नै आफ्नो विवेक र समझ गुमाइसकेका छन्, र तिनीहरू परमेश्‍वरप्रति बिलकुलै समर्पित हुने वा परमेश्‍वरको डर मान्‍ने गर्दैनन्। तिनीहरूलाई दियाबलस र शैतान भन्नु सबै प्रकारले जायज छ। तिनीहरूको प्रकृति शैतानको भएकोले र तिनीहरूले शैतानी स्वभाव प्रकट गर्ने र शैतानी दृष्टिकोण व्यक्त गर्ने भएकाले, तिनीहरूलाई दियाबलस एवं शैतान भन्नु अधिक उचित हुन्छ। मानिसहरू अति गहिरोसँग भ्रष्ट भइसकेका छन् र तिनीहरूमा मानव स्वरूप नै छैन। तिनीहरू पशु र जनावरजस्तै छन्, तिनीहरू दियाबलसहरू हुन्। अहिले मानिसहरू एउटा वा अर्को कुनै वस्तु होइनन्, तिनीहरू न त मानव प्राणीसँग मिल्दाजुल्दा छन्, न त पिशाचहरूसँग नै मिल्दाजुल्दा छन्, र तिनीहरूमा साँचो मानव स्वरूप नै छैन। लामो समयदेखिका केही विश्‍वासीहरूले धेरै वर्षको अनुभवपश्‍चात परमेश्‍वरसँग केही घनिष्ठता प्राप्त गर्छन् र थोरैबहुत रूपमा परमेश्‍वरलाई बुझ्न सक्छन्, अनि तिनीहरूले थोरबहुत रूपमा परमेश्‍वरले चिन्ता गर्नुहुने कुराहरूबारे चिन्ता गर्छन् र थोरबहुत रूपमा परमेश्‍वरले सोच्‍नुहुने कुराहरूबारे सोच्छन्—यसको अर्थ तिनीहरूमा केही मानव स्वरूप छ र तिनीहरू आधा-स्वरूपका छन्। नयाँ विश्‍वासीहरूले अझैसम्म सजाय र न्याय, वा त्यति धेरै काटछाँट र निराकरण भोगेका हुँदैनन्, तिनीहरूले सत्यताबारे पनि धेरै सुनेका हुँदैनन्, र तिनीहरूले बस परमेश्‍वरका वचनहरू पढेका हुन्छन्, तर तिनीहरूसँग कुनै साँचो अनुभव हुँदैन। परिणामस्वरूप, तिनीहरू धेरै पछि परेका हुन्छन्। व्यक्तिको अनुभवको गहिराइले नै तिनीहरू कति परिवर्तन हुन्छन् भन्ने कुरा निर्धारित गर्छ। तैँले जति कम परमेश्‍वरका वचनहरू अनुभव गर्छस्, त्यति नै कम सत्यता बुझ्छस्। यदि तँसँग कुनै पनि अनुभव नै छैन भने, तँ ठ्याक्कै जीवित शैतान हुन्छस्, र तँ दियाबलस हुन्छस्, यो कुरा सरल र स्पष्ट छ। के तँ यो कुरामा विश्‍वास गर्छस्? तैँले एक दिन ती वचनहरू बुझ्नेछस्। के अहिले कुनै असल मानिसहरू छन् त? यदि मानिसहरूसँग मानव स्वरूप नै छैन भने, हामी तिनीहरूलाई कसरी मानव प्राणी भन्न सक्छौँ र? तिनीहरूलाई असल मानिसहरू त झनै भन्न सक्दैनौँ। तिनीहरूसँग मानव खोल मात्र हुन्छ, तर तिनीहरूमा मानव सार हुँदैन, त्यसैले तिनीहरूलाई मानव खोल अओढेका पशुहरू भन्दा कुनै अतिशयोक्ति हुँदैन। यदि कोही परमेश्‍वरको कार्य अनुभव गरेर मानव स्वरूप भएको व्यक्ति बन्न चाहन्छ भने, उसले परमेश्‍वरका वचनहरूको प्रकटीकरण, सजाय र न्याय अनुभव गर्नैपर्छ, तब मात्र उसले अन्ततः परिवर्तन हासिल गर्न सक्छ। यही नै मार्ग हो; यदि परमेश्‍वरले यस्तो नगर्नुभएको भए, मानिसहरू परिवर्तन हुन सक्दैनथे। परमेश्‍वरले बिस्तारै-बिस्तारै यसरी नै काम गर्नुपर्छ। मानिसहरूले न्याय र सजाय अनुभव गर्नुपर्छ, तिनीहरूलाई निरन्तर काटछाँट र निराकरण गरिनुपर्छ, अनि तिनीहरूले भ्रष्ट स्वभावहरू देखाउने तरिकाहरू खुलासा गरिनुपर्छ। मानिसहरूले आत्मचिन्त गर्न र सत्यता बुझ्न सकेमा मात्र सही मार्ग हिँड्न सक्छन्। केही समयसम्मको अनुभवपछि र केही सत्यता बुझेपछि मात्र, मानिसहरू दह्रिलो गरी खडा हुने केही निश्‍चयता हुन्छ। मैले देखिरहेको छु, तिमीहरू अझै पनि कदमा निकै साना छौ, तिमीहरू थोरै मात्र सत्यता बुझ्छौ, र तिमीहरू पर्याप्त रूपमा कर्तव्य निर्वाह गर्न सक्दैनौ। तिमीहरू कर्तव्यमा निकै सक्रिय रूपमा व्यस्त भएको देखिए पनि, वास्तविकतामा तिमीहरू सबैजना खतराको बिन्दुमा छौ। तिमीहरूमा कुनै सत्यता वास्तविकता रहेको म देख्दिनँ, र तिमीहरू सत्यता पछ्याउने मानिसहरू हौ होइनौ भनेर भन्न कठिन छ। यसले तिमीहरूलाई ठूलो खतरामा पार्छ। मैले यस्ता वचनहरू धेरैपटक बोलेको छु, तर धेरै मानिसहरूले यी वचनहरूको अर्थ नै बुझ्दैनन्। कतिपय मानिसहरू भन्छन्ः “अहिले परमेश्‍वरमाथिको मेरो विश्‍वासमा मसँग यति धेरै उत्साह छ कि मैले ठक्कर खाने पनि छैन वा मेरो बाटो भुल्ने पनि छैन। परमेश्‍वरले ममाथि यति अनुग्रहपूर्वक व्यवहार गर्नुहुन्छ कि मलाई कुनै पनि खतरा नै छैन।” परमेश्‍वरले हरेक व्यक्तिलाई अनुग्रहपूर्वक व्यवहार गर्नुहुन्छ र तिनीहरूलाई रक्षा गर्नुहुन्छ, तर तँ सत्यता वास्तविकतामा प्रवेश गरेको छैनस्, त्यसैले तँ स्वभाविक रूपमै खतरामा छस्। परीक्षाहरू सामना गर्दा, के तैँले दह्रिलो गरी खडा हुनसक्ने ग्यारेन्टी गर्न सक्छस्? कुनै पनि व्यक्तिले यसप्रकारको ग्यारेन्टी दिने साहस गर्दैन। धेरै मानिसहरू केही शब्द र धर्मसिद्धान्तहरूबारे बोल्न मात्र सक्छन्। यसले तिनीहरू सत्यता बुझ्छन् भन्ने अर्थ दिँदैन र निश्‍चय नै यसले तिनीहरूमा वास्तविक कद छ भन्ने अर्थ पनि दिँदैन, तैपनि तिनीहरू यी सबै आफूले लगभग हासिल गरिसकेको सोच्छन्। यदि कुनै व्यक्तिले यस्तो कुरा गर्न सक्छ भने, यसले ऊ धेरै पछि रहेको देखाउँछ। सत्यता वास्तविकता नहुने हरेक व्यक्ति खतराको बिन्दुमा जिइरहेका हुन्छन्। यो बिलकुलै साँचो कुरा हो।

अंश ४८

परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूमध्ये कस्तो प्रकारको व्यक्तिले मुक्ति पाउने सम्भावना सबभन्दा कम हुन्छ, र कस्तो प्रकारको प्रकृतिले विनाशतर्फ डोर्‍याउने सम्भावना सबभन्दा धेरै हुन्छ? यो कुरा के तिमीहरू स्पष्ट देख्न सक्छौ? कुनै व्यक्ति चाहे अगुवा होस् वा अनुयायी, उसको सामान्य प्रकृति कस्तो हुन्छ? मानव प्रकृतिभित्र हुने साझा तत्व भनेको परमेश्‍वरप्रतिको विश्‍वासघात हो; हरेक व्यक्तिले परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छ। यो परमेश्‍वरप्रतिको विश्‍वासघात भनेको के हो? यसको प्रकटीकरण कस्तो हुन्छ? के परमेश्‍वरमा विश्‍वास गर्न छोड्नेहरूले मात्र उहाँप्रति विश्‍वासघात गर्ने हुन्? मानिसहरूले मान्छेको सार के हो भन्ने बुझ्‍नुपर्छ र यसको जड समात्नुपर्छ। तेरो रिसका आवेगहरू, खोटहरू, खराब बानीहरू र लालनपालनको कमी सबै सतही पक्षहरू हुन्। यदि तँ सधैँ यस्ता मामुली कुराहरूमा टाँसिइरहन्छस्, जथाभाबी नियमहरू लागू गर्छस् र आवश्यक कुराहरू बुझ्न असफल हुन्छस्, र आफ्नो प्रकृतिका अन्तर्निहित कुराहरू र तेरो भ्रष्ट स्वभाव समाधान नगरी छोड्छस् भने, तँ अन्ततः अझै पनि पथभ्रष्ट नै हुनेछस् र तैँले परमेश्‍वरको प्रतिरोध गरिछोड्नेछस्। मानिसहरूले कुनै पनि समय र कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्—यो एउटा गम्भीर समस्या हो। सायद केही समयको लागि तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुन सक्ला, तँ उत्साहित भएर आफूलाई अर्पित गर्न सक्लास् र केही भक्तिसाथ कर्तव्य निर्वाह गर्न सक्लास्; वा यो अवधिमा तँमा एकदमै सामान्य समझ र विवेक हुन सक्ला, तर मानिसहरू अस्थिर र चञ्चल नै हुन्छन्, र एउटै मात्रै घटनाले कुनै पनि क्षण कुनै पनि ठाउँमा तिनीहरूलाई परमेश्‍वरप्रति प्रतिरोध र विश्‍वासघात गराउन सक्छ। उदाहरणको लागि, कसैसँग एकदमै सामान्य समझ हुन सक्छ, पवित्र आत्माको काम हुन सक्छ, अनि व्यवहारिक अनुभव, बोझको बोध र कर्तव्यनिर्वाहप्रति भक्तिभाव हुन सक्छ, तर जब तिनीहरूको विश्‍वास एकदमै मजबुत भइरहेकको हुन्छ, ठीक त्यही बेला परमेश्‍वरको घरले तिनीहरूले आराधना गर्ने ख्रीष्टविरोधीलाई निष्कासित गर्छ, अनि तिनीहरूमा धारणाहरू पैदा हुन थाल्छन्। तिनीहरू तुरुन्तै नकारात्मक हुन्छन्, र तिनीहरूले आफ्नो कामप्रतिको उत्साह गुमाउँछन्, लापरवाही र झाराटारुवा किसिमले कर्तव्य निर्वाह गर्छन्, अबउप्रान्त प्रार्थना गर्न चाहँदैनन्, र यसो भन्दै गुनासो गर्छन्, “प्रार्थना किन गर्ने? यदि त्यस्तो असल व्यक्ति पनि निष्कासित हुन सक्छ भने, मुक्ति कसले पाउन सक्छ र? परमेश्‍वरले मानिसहरूप्रति यस्तो व्यवहार गर्न हुँदैन!” तिनीहरूका यी शब्दहरूको प्रकृति कस्तो छ? एउटा मात्र घटना तिनीहरूको चाहनासँग मेल नखाँदा, तिनीहरू परमेश्‍वबारे निष्कर्ष निकालिहाल्छन्। के यो परमेश्‍वरप्रतिको विश्‍वासघातको प्रकटीकरण होइन र? मानिसहरू पथभ्रष्ट भई कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरबाट टाढा जान सक्छन्; केही परिस्थिति सामना गर्नेबित्तिकै परमेश्‍वरप्रति धारणाहरू बनाउने र परमेश्‍वरको आलोचना र निन्दा गर्ने हुन सक्छन्—के यो परमेश्‍वरप्रतिको विश्‍वासघातको प्रकटीकरण होइन र? यो निकै ठूलो कुरा हो। तँलाई अहिले लाग्‍न सक्छ कि तँसँग परमेश्‍वरबारे कुनै पनि धारणा छैन र तँ उहाँप्रति समर्पित हुन सक्छस्, तर यदि तैँले कुनै गल्ती गरिस् र तँ अकस्मात्‌ कठोर काटछाँट र निराकरणमा परिस् भने, के तँ अझै पनि समर्पित हुन सक्नेछस् त? समाधानको लागि सत्यता खोज्न सक्‍नेछस्? यदि तँ समर्पित हुन वा तेरो विद्रोही भावना समाधान गर्न सत्यता खोज्न सक्दैनस् भने, तैँले अझै पनि परमेश्‍वरप्रति विश्‍वासघात गर्ने सम्भावना छ। तैँले वास्तवमा “म परमेश्‍वरमा अबउप्रान्त विश्‍वास गर्दिनँ।” भनेर नभनेको हुन सक्छ, तर त्यो क्षण तेरो हृदयले पहिल्यै उहाँप्रति विश्‍वासघात गरिसकेको हुन्छ। तैँले मानव प्रकृति वास्तवमा के हो भनेर स्पष्ट बुझ्नुपर्छ। के यो प्रकृतिको सार विश्‍वासघात होइन र? अत्यन्तै थोरै मानिसहरूले मात्र मान्छेको प्रकृति सार स्पष्ट देख्न सक्छन्। निःसन्देह नै, कतिपय मानिसहरूमा थोरै विवेक र तुलनात्मक रूपमा अलि असल मानवता हुन्छ, जबकि अरूहरूमा कुनै मानवता हुँदैन, तर कसैको मानवता असल होस् वा खराब, वा तिनीहरूको क्षमता राम्रो होस् वा कमजोर, त्यसमा रहने साझा कुरा यो हो कि तिनीहरू सबैले परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्। मानव प्रकृति सारभूत रूपमा परमेश्‍वरप्रति विश्‍वासघात गर्ने खालको हुन्छ। तिमीहरूले विगतमा सोच्ने गर्थ्यौ, “शैतानद्वारा भ्रष्ट पारिएका मानवहरू प्रकृतिले नै परमेश्‍वरप्रति विश्‍वासघाती हुने भएकाले, यसमा मैले गर्नसक्ने केही छैन, बरु म क्रमिक रूपमा परिवर्तन हुन सक्छु।” के तिमीहरू अहिले पनि यसरी नै सोच्छौ? त्यसोभए मलाई भन त, भ्रष्ट नपारिईकन पनि कसैले परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छ? भ्रष्ट नपारिईकन पनि मानिसहरूले अझै परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्। जब परमेश्‍वरले मानवको सृष्टि गर्नुभयो, उहाँले तिनीहरूलाई स्वतन्त्र इच्छा दिनुभयो। मानवहरू विशेष रूपले कमजोर हुन्छन्; तिनीहरूमा परमेश्‍वरनजिक आउने र “परमेश्‍वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, र हामी सृष्टि गरिएका प्राणी हौँ” भन्ने अन्तर्निहित चाहना हुँदैन। मानिसहरूमा यस्तो कुनै पनि अवधारणा हुँदैन। स्वाभाविक रूपमै तिनीहरूमा सत्यता हुँदैन, न त तिनीहरूभित्र परमेश्‍वरलाई आराधना गर्ने कुरासँग सम्बन्धित कुनै कुरा नै हुन्छ। परमेश्‍वरले मानिसहरूलाई स्वतन्त्र इच्छा दिनुभयो, तिनीहरूलाई सोच्‍न दिनुभयो, तर मानिसहरू सत्यता स्विकार्दैनन्, परमेश्‍वरलाई बिलकुलै चिन्दैनन्, र उहाँको आज्ञापालन र आराधना कसरी गर्ने भनेर बुझ्दैनन्। यी कुराहरू मानिसहरूमा पाइँदैन, त्यसैले भ्रष्ट नपारिईकन पनि तैँले अझै परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छस्। अनि, तैँले परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छस् भनेर किन भन्‍ने त? जब शैतान तँलाई लोभ्याउन आउँछ, तैँले शैतानलाई पछ्याउँछस् र परमेश्‍वरप्रति विश्‍वासघात गर्छस्। तै परमेश्‍वरबाट सृष्टि गरिएको होस् तर उहाँलाई नै पछ्याउँदैनस्, बरु शैतानलाई पछ्याउँछस्—के यसले तँलाई विश्‍वासघाती बनाउँदैन र? परिभाषाअनुसार विश्‍वासघाती भनेको विश्‍वासघात गर्ने व्यक्ति हो। के तैँले यसको सार पूर्ण रूपमा बुझ्छस्? तसर्थ, मानिसहरूले कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्। मानिसहरूले तब मात्र परमेश्‍वरप्रति विश्‍वासघात गर्दैनन्, जब तिनीहरू पूर्ण रूपमा परमेश्‍वरको राज्य र उहाँको प्रकाशमा रहन्छन्, जब शैतानसँग सम्बन्धित सबै कुराहरू नष्ट गरिएको हुन्छ र जब तिनीहरूलाई पाप गर्न लोभ्याउने वा प्रेरित गर्ने कुनै कुरा बाँकी रहँदैन। यदि अझै पनि मानिसहरूलाई पाप गर्न प्रेरित गर्ने कुनै कुरा छ भने, तिनीहरूले अझै पनि परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्नेछन्। तसर्थ, मानव बेकारको वस्तु हो। तैँले केही शब्द र धर्मसिद्धान्त फलाक्न सक्ने भएकोले तँलाई लाग्‍न सक्छ कि तैँले केही सत्यता बुझ्छस् र परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्दैनस्, तँलाई कम्तीमा पनि—सुनचाँदी नभए पनि—माटाका भाँडाभन्दा अधिक मूल्यवान्‌, तामा वा फलाम मानिनुपर्छ, तर तैँले आफूलाई ज्यादा महत्त्व दिँदै छस्। के तँलाई थाहा छ, मानवहरू वास्तवमा के हुन्? मानिसहरूले कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्, तिनीहरू एक पैसाका पनि छैनन्; ठ्याक्‍कै त्यस्तै, जस्तो परमेश्‍वरले भन्नुभएको छ: मानवहरू पशुहरू हुन्, बेकारका दुरात्माहरू हुन्। तर हृदयमा मानिसहरूले यसरी सोच्दैनन्। तिनीहरू यस्तो सोच्छन्, “मलाई लाग्दैन म बेकारको दुरात्मा हुँ! म यो मामिला किन स्पष्ट देख्न सक्दिनँ? मलाई कसरी यो अनुभव हुन नसकेको हो? परमेश्‍वरमाथिको मेरो विश्‍वास साँचो छ; मसँग आस्था छ, त्यसैले म परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्दिनँ। परमेश्‍वरका सबै वचनहरू सत्यता हुन्, तर मैले ‘मानिसहरूले कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्’ भन्‍ने वाक्यांश बुझ्न सकिरहेको छैनँ। मैले पहिल्यै परमेश्‍वरको प्रेम देखेको छु; म उहाँप्रति कुनै पनि समय कहिल्यै विश्‍वासघात गर्न सक्दिनँ।” मानिसहरूले हृदयमा सोच्ने कुरा यही हो, तर परमेश्‍वरका वचनहरू तथ्य हुन्, ती हावामा बोलिएका होइनन्। तिमीहरूसामु हरकुरा स्पष्ट पारिन्छ, तिमीहरूलाई पूर्ण विश्‍वस्त तुल्याइन्छ; यसरी मात्र तैँले आफ्नो भ्रष्टता पहिचान गर्न र विश्‍वासघातको समस्या समाधान गर्न सक्छस्। राज्यमा कुनै पनि विश्‍वासघात हुनेछैन; जब मानिसहरू परमेश्‍वरको प्रभुत्वमा रहन्छन् र शैतानको नियन्त्रणमा हुँदैनन्, तब तिनीहरू साँचो रूपमा स्वतन्त्र हुन्छन्। त्यसपछि, परमेश्‍वरप्रति विश्‍वासघात हुनेबारे चिन्ता गर्नुपर्नेछैन; यस्तो चिन्ता अनावश्यक र सतही हुनेछ। भविष्यमा, तिमीहरूभित्र परमेश्‍वरप्रति विश्‍वासघात गर्ने केही छैन भनेर घोषित गरिन सक्छ, तर अहिले यस्तो अवस्था छैन। मानिसहरूमा भ्रष्ट स्वभाव भएकोले, तिनीहरूले कुनै पनि समय परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्। केही परिस्थितिहरूको उपस्थितिले विश्‍वासघाततर्फ डोर्‍याउने र केही परिस्थिति वा दबाबविना तैँले परमेश्‍वरप्रति विश्‍वासघात नगर्ने भन्ने होइन—दबाबविना पनि तैँले उहाँप्रति विश्‍वासघात गर्न सक्छस्। यो मान्छेको भ्रष्ट सारको समस्या हो, मान्छेको प्रकृतिको समस्या हो। तैँले अहिले केही पनि नसोचिरहेको वा नगरिरहेको भए पनि, तेरो प्रकृतिको वास्तविकता साँच्‍चै नै अस्तित्वमा रहेको हुन्छ, र यसलाई कसैले पनि मेटाउन सक्दैन। तँभित्र परमेश्‍वरप्रति विश्‍वासघात गर्ने प्रकृति भएकोले, उहाँ तेरो हृदयमा हुनुहुन्न; तेरो हृदयको गहिराइमा परमेश्‍वरको लागि कुनै ठाउँ छैन र त्यहाँ सत्यता पनि छैन; तसर्थ, तैले कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छस्। स्वर्गदूतहरूचाहिँ फरक हुन्छन्, तिनीहरूमा परमेश्‍वरको स्वभाव वा सार नभए पनि तिनीहरूलाई परमेश्‍वरले उहाँकै सेवाको लागि, र उहाँका आदेशहरू सबैतिर पुर्‍याउनको लागि सृष्टि गर्नुभएको हुनाले, तिनीहरूले पूर्ण रूपमा उहाँको आज्ञपालन गर्न सक्छन्। तिनीहरू पूर्ण रूपमा परमेश्‍वरका हुन्। मानवको हकमा भने, परमेश्‍वरले तिनीहरूलाई पृथ्वीमा जिऊन् भनेर सृष्टि गर्नुभएको हो, तिनीहरूलाई उहाँको आराधना गर्ने क्षमता दिनुभएको छैन। तसर्थ, मानवले परमेश्‍वरप्रति विश्‍वासघात र प्रतिरोध गर्न सक्छ। यसले यो प्रमाणित गर्छ कि मानवलाई जोकसैले प्रयोग गर्न र लोभ्याउन सक्छ; तिनीहरूको आफ्नै सार्वभौमिकता हुँदैन। मानवहरू त्यस्तै प्राणीहरू हुन्, जो पूरै मर्यादाहीन र बेकारका छन्!

परमेश्‍वरले मान्छेको विश्‍वासघाती प्रकृति खुलासा गर्नुहुन्छ ताकि मानिसहरूले यो विषय र आफूबारे साँचो बुझाइ हासिल गर्न सकून्, र ताकि मानिसहरू बदलिन सुरु गर्न सकून् र यस पक्षबाट अभ्यासका मार्गहरू खोज्ने प्रयास गर्न सकून्, र कुन कुरामा तिनीहरूले परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन् र परमेश्‍वरप्रति विश्‍वासघात गराउने आफूमा कस्ता भ्रष्ट स्वभावहरू छन् भनेर बुझ्न सकून्। जब तँ आफूले विभिन्न पक्षहरूमा परमेश्‍वरविरुद्ध विद्रोह नगर्ने र अधिकांश पक्षहरूमा उहाँप्रति विश्‍वासघात नगर्ने बिन्दुमा पुग्छस्, अनि जब तँ आफ्नो जीवनको यात्राको अन्त्यमा आइपुग्छस्, अर्थात् परमेश्‍वरको काम समाप्त हुने क्षणसम्‍म आइपुग्छस्, तब भविष्यमा परमेश्‍वरप्रति विश्‍वासघात गर्छु गर्दिनँ भन्नेबारे तैँले चिन्ता गर्नुपर्ने आवश्यकता हुँदैन। म किन यो भन्दै छु? मानिसहरू शैतानद्धारा भ्रष्ट पारिनुअघि, शैतानले लोभ्याउँदा तिनीहरूले परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्थे। जब शैतान नै नष्ट भएको हुन्छ, के मानिसहरूले परमेश्‍वरप्रति विश्‍वासघात गर्न बन्द गर्नेछैनन् र? त्यो समय अझै पनि आइसकेको छैन। मानिसहरूभित्र अझै पनि शैतानको भ्रष्ट स्वभाव छ, जसले गर्दा तिनीहरूले कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्। जब तैँले जीवनलाई निश्‍चित चरणसम्म अनुभव गरिसकेको हुन्छस्, र जहाँ तैँले परमेश्‍वरप्रति प्रतिरोध र विश्‍वासघात गर्ने सबै विचार, धारणा र कल्पना त्यागिसकेको हुन्छस्; जब तैँले सत्यता बुझेको हुन्छस्, जब तेरो हृदयमा धेरै सकारात्मक कुराहरू हुनेछन्; जब तैँले आफूलाई नियन्त्रण गर्न र आफ्ना कार्यहरूको मालिक बन्न सक्नेछस्; र जब तैँले अबउप्रान्त अधिकांश परिस्थितिहरूमा परमेश्‍वरप्रति कुनै विश्‍वासघात गर्नेछैनस्, तब शैतान नष्ट भएपछि तँ पूर्ण रूपमा परिवर्तन हुनेछस्। वर्तमान कामको चरण भनेको मान्छेको विश्‍वासघात र विद्रोहको भावना हल गर्नलाई हो। भविष्यका मानवजातिले परमेश्‍वरप्रति विश्‍वासघात गर्नेछैनन्, किनभने शैतानलाई तह लगाइसकिएको हुनेछ। त्यसउप्रान्त शैतानले मानवजातिलाई छल गर्ने र भ्रष्ट तुल्याउने मामला रहनेछैन; र त्यसपछि यो कुरा त्यसपछि मानवजातिसँग असम्बद्ध हुनेछ। अहिले, मानिसहरूलाई मान्छेको विश्‍वासघाती प्रकृति बुझ्न भनिएको छ, किनभने यो अत्यन्तै महत्त्वपूर्ण विषय हो। तिमीहरूले यहीँबाट सुरु गर्नुपर्छ। परमेश्‍वरप्रति विश्‍वासघात गर्ने प्रकृतिमा के हुन्छ? अनि, के-कस्ता कुराहरू विश्‍वासघातका प्रकटीकरणहरू हुन्छन्? मानिसहरूले कसरी चिन्तन गर्नु र बुझ्नुपर्छ? तिनीहरूले कसरी अभ्यास र प्रवेश गर्नुपर्छ? यी सबै कुरा स्पष्ट बुझ्नु र देख्नुपर्छ। जबसम्म कसैभित्र विश्‍वासघातको प्रकृति रहिरहन्छ, तिनीहरूले कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्। तिनीहरूले परमेश्‍वरलाई खुल्लमखुल्ला नइन्कारे पनि वा नबेचे पनि तिनीहरूले अझै पनि त्यस्ता धेरै कुराहरू गर्न सक्छन् जसलाई मानिसहरू विश्‍वासघात मान्दैनन्, तर सारमा ती कुराहरू विश्‍वासघात नै हुन्छन्। यसको अर्थ, मानिसहरूसँग कुनै स्वायत्तता हुँदैन; तिनीहरूलाई शैतानले सुरुमै वशमा पारिसकेको छ। यदि तँ भ्रष्ट नपारिईकनै पनि परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छस् भने, अहिले तँभित्र शैतानको भ्रष्ट स्वभाव भरिएको अवस्थामा त झन् तैँले कति धेरै विश्‍वासघात गर्न सक्छस् होला? के तँ जुनसुकै समय र जुनसुकै ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न झन् बढी सक्षम भएको छैनस् र? वर्तमान काम ती भ्रष्ट स्वभावहरूबाट छुटकारा दिलाउनको लागि हो, र तँलाई परमेश्‍वरप्रति विश्‍वासघात गर्ने बनाउने कुराहरू कम गर्नको लागि हो, र यसरी तँलाई सिद्ध पारिने र परमेश्‍वरको उपस्थितिमा उहाँबाट तँलाई स्विकारिने अधिक मौका प्रदान गर्नको लागि हो। जब तैँले विभिन्न मामिलाहरूमा परमेश्‍वरको धेरैभन्दा धेरै कार्य अनुभव गर्दै जान्छस्, तब तैँले केही सत्यताहरू प्राप्त गर्न र केही हदसम्म सिद्ध पारिन सक्नेछस्। यदि अझै पनि शैतान र पिशाचहरू तेरो परीक्षा लिन आए भने वा दुष्टात्माहरू तँलाई छल वा बाधाअवरोध गर्न आए भने, तैँले केही समझ प्रयोग गर्न सक्नेछस् र परमेश्‍वरप्रति विश्‍वासघात गर्ने खालका थोरैभन्दा थोरै काम गर्नेछस्। यो मानिसभित्र समयसँगै विकास हुने कुरा हो। जब पहिलोपटक मानव सृष्टि गरियो, तिनीहरूलाई परमेश्‍वरको आराधना वा आज्ञापालन गर्नुपर्छ भन्ने थाहा थिएन, न त तिनीहरूलाई परमेश्‍वरप्रति विश्‍वासघात गर्नु के हो भन्ने नै थाहा थियो। जब शैतान तिनीहरूलाई लोभ्याउन आयो, तिनीहरूले शैतानलाई पछ्याए र परमेश्‍वरप्रति विश्‍वासघात गरे, तिनीहरू विश्‍वासघाती बने, किनभने तिनीहरूलाई असल र खराब छुट्याउन आउँदैनथ्यो, र परमेश्‍वरलाई आराधना गर्ने क्षमता तिनीहरूमा थिएन—तिनीहरूलाई मानवजातिको सृष्टिकर्ता परमेश्‍वर हुनुहुन्छ र तिनीहरूले कसरी उहाँलाई आराधना गर्नुपर्छ भन्ने पनि थाहा थिएन। अहिले, परमेश्‍वरले उहाँबारेका सत्यता, अर्थात् उहाँको सार, स्वभाव, सर्वशक्तिमान्‌ता, व्यावहारिकता, आदि इत्यादि कुराहरूबारे ज्ञान प्रदान गरेर मानिसहरूलाई मुक्ति दिनुहुन्छ, ताकि यी सत्यताहरू तिनीहरूको जीवन बनोस्, र यसरी तिनीहरूलाई स्वायत्तता प्राप्त होस् र तिनीहरू सत्यताअनुसार जीउन सक्षम होऊन्। तैँले जति गहिरोसित परमेश्‍वरका वचनहरू, र ती वचनहरूको न्याय र सजाय अनुभव गर्छस्, त्यति नै गहिरोसित आफ्नो भ्रष्ट स्वभाव बुझ्न सक्नेछस् र यसले तँलाई परमेश्‍वरको आज्ञापालन गर्ने, उहाँलाई प्रेम गर्ने र सन्तुष्ट तुल्याउने संकल्प प्रदान गर्नेछ। तैँले जति धेरै परमेश्‍वरलाई चिन्छस्, त्यति नै धेरै तेरो भ्रष्ट स्वभाव त्याग्न सक्नेछस्, अनि तँभित्र परमेश्‍वरप्रति विश्‍वासघात गर्ने कुराहरू त्यति नै थोरै हुनेछन् र परमेश्‍वरसँग मिल्ने कुराहरू त्यति नै धेरै हुनेछन्, र यसरी तैँले शैतानमाथि पूर्ण काबु र विजय प्राप्त गर्नेछस्। सत्यता साथमा हुँदा, मानिसहरूले स्वायत्तता पाउँछन्, अनि त्यसउप्रान्त तिनीहरू शैतानबाट छलिने वा विवश पारिनेछैनन्, र तिनीहरूले अति साँचो मानव जीवन जिउनेछन्। कतिपय मानिसहरू सोध्छन्: “यदि मान्छेमा भ्रष्ट स्वभाव छ र उसले कुनै पनि समय कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छ भने, अझै पनि परमेश्‍वरले मान्छेलाई पूर्ण बनाएको छु भनेर कसरी भन्न सक्नुहुन्छ?” पूर्ण बनाउनुको अर्थ परमेश्‍वरको कार्य अनुभव गरेर मानिसहरूले परमेश्‍वर र आफ्नो प्रकृति चिन्नेछन्, र परमेश्‍वरको आराधना र आज्ञापालन कसरी गर्ने भनेर बुझ्नेछन् भन्‍ने हो। मतलब, तिनीहरूले परमेश्‍वरको काम र मान्छेको कामबीच फरक छुट्याउन सक्नेछन्, पवित्र आत्माको काम र दुष्टात्माको कामबीचको फरक पहिचान गर्नेछन्, अनि शैतान एवं पिशाचहरूले कसरी परमेश्‍वरको प्रतिरोध गर्छन्, मानवजातिले कसरी परमेश्‍वरको प्रतिरोध गर्छ, अनि सृष्टि गरिएको प्राणी के हो र सृष्टिकर्ता को हुनुहुन्छ भनेर बुझ्न सक्नेछन्। मानिसहरूमा यी सबै कुराहरू तिनीहरूको सृष्टिपछि परमेश्‍वरको कार्यमार्फत हालिन्छ। त्यसैले, अन्तिममा पूर्ण बनाइएका मानवहरू सुरुका भ्रष्ट नपारिएका मानवहरूभन्दा बढी महत्त्वपूर्ण र मूल्यवान्‌ हुन्छन्, किनभने परमेश्‍वरले तिनीहरूमा केही कुरा थप्‍नुभएको र तिनीहरूभित्र केही ढलाइ गर्नुभएको छ। तसर्थ, अन्तिममा पूर्ण बनाइएका मानवहरूसँग आदम र हव्वाभन्दा बढी स्वायत्तता हुन्छ, अनि तिनीहरूसँग परमेश्‍वरको आराधना र आज्ञापालन गर्नेबारे र आफूलाई कसरी आचरणमा राख्ने भन्नेबारे अझ राम्रो बुझाइ हुनेछ। आदम र हव्वालाई यी कुराहरू थाहा थिएन। सर्पले लोभ्याएपछि तिनीहरूले असल र खराबको ज्ञान दिने रुखको फल खाए, र त्यसपछि तिनीहरूलाई लज्जा महसुस भयो, तर परमेश्‍वरलाई कसरी आराधना गर्ने भनेर अझै थाहा भएन। त्यसबेलादेखि अहिलेसम्म मानवजाति झन्झन् भ्रष्ट हुँदै गयो। यो निकै गहन कुरा हो; कसैले पनि यसलाई स्पष्ट बुझ्न सक्दैन। मानव देहको स्वभाविक प्रवृत्तिको कारण मानिसहरूले कुनै पनि समय र कुनै पनि ठाउँमा परमेश्‍वरप्रति विश्‍वासघात गर्न सक्छन्, तर अन्त्यमा परमेश्‍वरले मान्छेलाई पूर्ण बनाएर उसलाई अर्को युगमा ल्याउनुहुनेछ। यो कुरा बुझ्न मानिसहरूलाई कठिन छ; यसलाई बिस्तारै-बिस्तारै मात्रै अनुभव गर्न सकिन्छ। सत्यता बुझिसकेपछि, यो स्वतः स्पष्ट हुनेछ।

मानिसहरूले परमेश्‍वरलाई किन चिन्नुपर्छ? किनभने परमेश्‍वरलाई नचिन्दा मानिसहरूले उहाँप्रति प्रतिरोध गर्नेछन्। यदि व्यक्तिले सत्यता बुझ्दैन भने, उसलाई शैतान र दुष्टात्माहरूले छलमा पार्न र प्रयोग गर्न सक्नेछन्। तिनीहरू शैतानको प्रभावबाट उम्कन सक्‍नेछैनन् र यसरी मुक्ति पाउन असफल हुनेछन्। तर यदि व्यक्तिले सत्यता बुझ्छ भने, ऊसँग परमेश्‍वरबारे साँचो ज्ञान हुनेछ, र ऊ उहाँप्रति साँचो रूपमा समर्पित हुन, उहाँको गवाही दिन र उहाँद्वारा प्राप्त गरिन सक्षम हुनेछ। शैतानले चाहेर पनि यस्तो व्यक्तिलाई छलमा पार्न र प्रयोग गर्न सक्नेछैन; शैतानको प्रभावबाट पूरै मुक्त हुनु र मुक्ति पाउनुको अर्थ यही हो, र यही नै मानिसहरूले परमेश्‍वरलाई चिन्नुपर्छ भन्ने परमेश्‍वरको मापदण्डको अर्थ हो। यदि तैँले परमेश्‍वरलाई चिन्छस् भने, उहाँबाट मुक्ति पाउन सक्छस्; परमेश्‍वरलाई नचिनीकन, तैँले मुक्ति पाउन सक्दैनस्। यदि कसैले परमेश्‍वरको इच्छालाई बुझ्दैन र बिलकुलै सत्यता पछ्याउँदैन, बरु आफूभित्रको शैतानी स्वभावअनुसार जिउँछ र केही मात्रामा सत्यता बुझे पनि अभ्यास गर्दैन, अनि अझै पनि जानाजान अपराध गर्छ भने, उसलाई साँच्चै नै मुक्ति दिन नसकिने हुन्छ। अनि अहिले, तिमीहरूचाहिँ कुन स्थितिमा छौ त? अहिले, जबसम्म तँसित आशाको सानो त्यान्द्रो हुन्छ, तबसम्‍म परमेश्‍वरले तेरा विगतका अपराधहरू सम्झनु भए नि नभए नि, तैँले कस्तो मानसिकता कायम राख्नुपर्छ? “मैले आफ्नो स्वभावगत परिवर्तन पछ्याउनुपर्छ, परमेश्‍वरबारेको ज्ञान पछ्याउनुपर्छ, र शैतानद्वारा फेरि कहिल्यै मूर्ख तुल्याइनु हुँदैन, अनि परमेश्‍वरको नाउँलाई लाजमा पार्ने कुनै कुरा कहिल्यै गर्नु हुँदैन।” मानिसहरू अहिले निकै गहिरोसँग भ्रष्ट पारिएका छन् र कुनै पनि मूल्यका छैनन्। तिनीहरूले मुक्ति पाउन सक्छन् कि सक्दैनन् अनि तिनीहरूसित कुनै आशा छ कि छैन भनी कुन मुख्य क्षेत्रहरूले निर्धारण गर्छन्? प्रवचन सुनेपछि तैँले सत्यता बोध गर्न सक्छस् कि सक्दैनस्, तैँले सत्यतालाई अभ्यास गर्न सक्छस् कि सक्दैनस् अनि तँ परिवर्तन हुन सक्छ कि सक्दैनस् त्यो नै मुख्य कुरो हो। यी नै मुख्य क्षेत्रहरू हुन्। यदि तैँले अफसोस मात्रै गर्छस्, अनि जब तैँले कामकुरा गर्ने समय आउँछ, तब तँ त्यही पुरानो तरिकाहरूमा, सत्यता नपछ्याएर मात्रै होइन, तर पुराना धारणा, विधि र नियमहरूमा अझै टाँसिएरसमेत, अनि आत्मचिन्तन नगरेर र आफूलाई चिन्न नखोजेर मात्रै होइन, तर झन्झन् खराब भएरसमेत, आफूलाई जे मन लाग्यो त्यही गर्छस्, र अझै पनि आफ्नो पुरानो मार्गमै हिँड्ने जिद्दी गरिरहन्छस् भने, तँ आशारहित हुनेछस् र मेटिनेछस्। परमेश्‍वरबारेको अधिक ज्ञान र आफूबारेको गहन ज्ञानले, तँ आफूलाई दुष्कर्म र पाप गर्नबाट रोक्न अधिक समक्ष हुनेछस्। तेरो प्रकृतिबारे तँमा जति धेरै गहन ज्ञान हुन्छ, तैँले त्यति नै धेरै आफूलाई रक्षा गर्न सक्नेछस्, अनि आफ्नो अनुभव एवं सिकाइ सारांशित गरिसकेपछि तँ फेरि असफल हुनेछैनस्। वास्तवमा, हरेकमा केही न केही दोष हुन्छ; तर परमेश्‍वरले यसको लागि तिनीहरूलाई जबाफदेही बनाउनुहुन्न। यस्तो कुरा सबैमा हुन्छ, तर यो कति मात्रामा हुन्छ भन्ने कुरा मात्र हो; कतिपयबारे भन्न सकिन्छ, तर कति अरूबारे सकिन्न। कतिपय मानिसहरू अरूले थाहा पाउने गरी काम गर्छन्, तर कतिपय मानिसहरू कसैले पनि थाहा नपाउने गरी काम गर्छन्। हरेक व्यक्तिमा अपराध र दोष हुन्छ, र तिनीहरू सबैले अहङ्कार र आत्मधार्मिकताजस्ता केही भ्रष्ट स्वभाव प्रकट गर्छन्; तिनीहरू सबैको काममा केही विचलन वा कहिलेकाहीँ विद्रोहीपन हुन्छ। यी सबै बुझ्न सकिने कुरा हुन्; भ्रष्ट मानवजातिले यी कुरा टार्न सक्दैन। तर एकपटक मानिसहरूले सत्यता बुझेपछि, तिनीहरू ती कुरा हटाउन र त्यसउप्रान्त कुनै अपराध नगर्न सक्षम हुनुपर्छ; तिनीहरू त्यसउप्रान्त विगतका अपराधहरूबाट पिरोलिनु आवश्यक छैन। मानिसहरूले पश्‍चात्ताप गर्न सक्छन् कि सक्दैनन्, तिनीहरू साँचो रूपमा परिवर्तन भएका छन् कि छैनन् भन्‍ने नै मुख्य कुरा हो। पश्‍चात्ताप गर्ने र परिवर्तन हुनेहरू नै मुक्ति पाउनेहरू हुन्, पूर्ण रूपमा पश्‍चात्तापहीन र अपरिवर्तित रहनेहरूलाई अवश्य हटाइनुपर्छ। यदि सत्यता बुझेपछि, मानिसहरूले अझैपनि जानीजानी अपराध गर्छन् भने, यदि जे-जसरी काटछाँट, निराकरण वा खबरदारी गर्दा पनि, तिनीहरू दृढ रूपमा पश्‍चात्तापहीन र अपरिवर्तित रहे भने, त्यस्ता मानिसहरू मुक्ति पाउन नसक्‍ने अवस्थामा हुन्छन्।

अघिल्लो: कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू

अर्को: भ्रष्ट स्वभावहरू कसरी हटाउने भन्‍नेसम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्