सत्यता कसरी पछ्याउने (८)

यसभन्दा पहिले हामीले सत्यताको खोजी कसरी गर्ने भन्‍नेबारे पहिलो मुख्य पक्ष, अर्थात् त्याग्नु भन्‍ने विषयमा सङ्गति गर्‍यौँ। त्याग्‍नु भन्‍ने सन्दर्भमा, हामीले अभ्यासको पहिलो पक्ष, अर्थात् विभिन्न नकारात्मक संवेगहरू त्याग्नेबारे सङ्गति गर्‍यौँ। मानिसहरूका विभिन्‍न नकारात्मक संवेगहरूका बारेमा सङ्गति गर्नु र तिनलाई चिरफार गर्नुको मुख्य उद्देश्य ती नकारात्मक संवेगहरूभित्र लुकेर रहेका विभिन्‍न गलत तथा विकृत विचार र दृष्टिकोणहरूलाई सम्‍बोधन गर्नु हो। होइन त? (हो।) अर्थात्, मानिसहरूको हृदयका नकारात्मक संवेगहरू समाधान गरेर, हामीले विभिन्‍न प्रकारका मानिस, घटना, र परिस्थितिहरूप्रति तिनीहरूले आफ्‍नो हृदयको गहिराइमा राख्‍ने नकारात्मक विचार तथा दृष्टिकोणहरूलाई सम्‍बोधन गर्ने उद्देश्य राख्छौँ। अवश्य नै, विभिन्‍न नकारात्मक संवेगहरूलाई खुलासा र चिरफार गरेर, अनि मानिसहरूलाई सही विचार, दृष्टिकोण, र बुझाइ प्रदान गरेर पनि मानिसहरूका विभिन्‍न नकारात्मक संवेगहरूलाई समाधान गर्न सकिएला। यो मानिसहरूको दैनिक जीवन वा जीवनको मार्गमा तिनीहरूमाथि परिस्थितिहरू आइपर्दा गलत र विकृत विचार र दृष्टिकोणहरूको सतावट वा बन्धनमा नपरून्, बरु, हरेक दिन, र तिनीहरूको जीवनमा हरेक दिन आइपर्ने मानिस, घटना, र परिस्थितिहरूलाई सत्यतासँग मिल्‍ने सकारात्मक र सही विचार र दृष्टिकोणका साथ सामना गरून् भन्नको लागि हो। तसर्थ, वास्तविक जीवनमा मानिस, घटना, र परिस्थितिहरूलाई सामना गर्दा तिनीहरूले आवेगपूर्ण प्रतिक्रिया दिनेछैनन्, तर सामान्य मानव विवेक र समझको क्षेत्रमा जिउनेछन्, र आफ्‍नो जीवन र जीवनको मार्गमा सामना गर्ने हरेक परिस्थितिलाई परमेश्‍वरले सिकाउनुभएको सही र सटीक तरिकाहरू प्रयोग गरी तर्कसङ्गत रूपमा लिन र सम्‍हाल्‍न सक्‍नेछन्। यसो गर्नुको एउटा पक्ष भनेको मानिसहरू सही विचार र दृष्टिकोणको मार्गदर्शन र प्रभावमा जिउन सकून् भन्‍ने हो। अर्को पक्ष भनेको यी सकारात्मक विचार र दृष्टिकोणहरूको मार्गदर्शन र प्रभावमा रही हरेक परिस्थितिलाई सही तरिकाले सम्‍हालून् भन्‍ने हो। अवश्य नै, हरेक परिस्थितिलाई सही तरिकाले सम्‍हाल्‍न सक्‍ने क्षमता नै अन्तिम उद्देश्य होइन। अन्तिम उद्देश्य भनेको परमेश्‍वरमा विश्‍वास गर्नेहरूले हासिल गर्नुपर्ने कुरा हासिल गर्नु हो, अर्थात् परमेश्‍वरको डर मान्नु र दुष्टताबाट अलग बस्‍नु, परमेश्‍वरमा र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनु, उहाँले तयार गर्नुभएका हरेक वातावरणप्रति समर्पित हुनु, र उहाँ सार्वभौम हुनुभएको आफ्‍नो नियतिप्रति समर्पित हुनु, अनि हरेक व्यक्ति, घटना, र परिस्थितिमाझ, हरेक वातावरणमा तर्कसङ्गत रूपमा जिउनु हो। संक्षेपमा भन्दा, हामीले मानिसहरूका नकारात्मक संवेग वा नकारात्मक विचार र दृष्टिकोण, जेसुकैको बारेमा सङ्गति र जाँच गरिरहेका भए पनि, यो सबै सृष्टि गरिएको प्राणीले हिँड्नुपर्ने, र सामान्य व्यक्तिसँग परमेश्‍वरले माग गर्नुहुने जीवन मार्गसँग सम्‍बन्धित छन्। अनि, अवश्य नै, यो कुरा सृष्टि गरिएको प्राणीले मानिसहरू र कामकुराहरूलाई कसरी हेर्छ, आफूलाई कसरी व्यवहारमा ढाल्छ र कार्य गर्छ भन्‍ने सन्दर्भमा उसले बोकेर हिँड्नुपर्ने सिद्धान्तहरूसँग पनि सम्‍बन्धित छ। विभिन्‍न नकारात्मक संवेगहरू त्याग्‍ने कार्य बाहिरी रूपमा मानिसहरूका नकारात्मक संवेगहरू समाधान गर्ने र ती नकारात्मक संवेगहरूभित्र लुकेर रहेका नकारात्मक र मिथ्या विचार तथा दृष्टिकोणहरूलाई सम्‍बोधन गर्ने कार्यसँग सम्‍बन्धित छ। तर वास्तवमा, आधारभूत रूपमा यो कार्य मानिसहरूलाई मार्गदर्शन गर्ने, तिनीहरूलाई भरणपोषण र सहयोग गर्ने, वा मानिसहरूलाई विभिन्‍न प्रकारका वातावरण, मानिस, घटना र परिस्थितिहरूको सामना गर्दा आफ्‍नो आनीबानी कसरी प्रस्तुत गर्ने, र कसरी साँचो र सामान्य व्यक्ति, तर्कसङ्गत व्यक्ति, परमेश्‍वरले तिनीहरूसँग माग गर्नुहुने प्रकारको व्यक्ति, उहाँले प्रेम गर्नुहुने व्यक्ति, र परमेश्‍वरलाई खुसी पार्ने व्यक्ति कसरी बन्‍ने भनेर सिकाउने कार्यसँग सम्‍बन्धित छ। अन्य सत्यता सिद्धान्तहरू पनि व्यक्तिको आनीबानीसँग सम्‍बन्धित हुन्छन् भन्‍ने अर्थमा यो पनि अरू जस्तै छ। झट्ट हेर्दा, विभिन्‍न नकारात्मक संवेगहरू त्याग्‍ने विषय पूर्ण रूपमा साधारण भावना, वा वर्तमानमा मानिसहरू जिइरहेको अवस्थासँग सम्‍बन्धित छ जस्तो देखिन्छ। तर वास्तवमा, यी भावना र सरल स्थितिहरू मानिसहरूले हिँड्ने मार्ग र तिनीहरूले आफ्‍नो आनीबानी प्रस्तुत गर्ने सिद्धान्तहरूसँग सम्‍बन्धित छन्। व्यक्तिको दृष्टिकोणबाट हेर्दा, ती महत्त्वहीन र उल्‍लेख गर्न समेत लायक नरहेका जस्ता देखिन्छन्। तैपनि, ती कुराहरू मानिसहरूको दृष्टिकोण अनि तिनीहरूले विभिन्‍न मानिस घटना, र परिस्थितिहरूलाई सामना गर्दा लिने दृष्टिकोण र अडानसँग सम्‍बन्धित हुने हुनाले, ती कुराहरू व्यक्तिको आनीबानीसँग सम्‍बन्धित छन्। अझै निश्‍चित रूपमा भन्दा, ती कुराहरू मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने, आफूलाई कसरी व्यवहारमा ढाल्ने र कार्य गर्ने कुरासँग सम्‍बन्धित छन्। यी नकारात्मक संवेग अनि नकारात्मक विचार र दृष्टिकोणहरू मानिसहरू र कामकुराहरूहरूलाई कसरी हेर्ने, आफूलाई कसरी व्यवहारमा ढाल्ने र कार्य गर्ने कुरासँग सम्‍बन्धित रहेका हुनाले, तिनलाई मानिसहरूको दैनिक जीवनमा निरन्तर जाँच र मनन गरिनुपर्छ। अवश्य नै, मानिसहरूले मननको प्रक्रियामा आफूमा नकारात्मक संवेग वा नकारात्मक र मिथ्या विचार तथा दृष्टिकोणहरू पत्ता लगाउनेबित्तिकै तुरुन्तै तिनलाई सुधार गर्न, र यी नकारात्मक संवेग तथा मिथ्या विचार र दृष्टिकोणहरूको ठाउँमा सत्यता सिद्धान्तहरू अनुरूपका सकारात्मक र सही विचार र दृष्टिकोणहरू राख्‍न सक्‍नु पनि अपरिहार्य हुन्छ। यसले तिनीहरूलाई परमेश्‍वरका वचनहरूलाई जग अनि सत्यतालाई मापदण्डको रूपमा लिएर मानिसहरू र कामकुराहरूलाई हेर्न, र आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न सक्षम तुल्याउँछ। यो मानिसहरूको स्वभाव रूपान्तरण हुने तरिका पनि हो ताकि त्यो परमेश्‍वर अनुरूप होस्, र तिनीहरूले परमेश्‍वरको डर हासिल गरून्, र दुष्टताबाट अलग बसून्। हामीले माथि सङ्गति गरेका कुराहरू “सत्यता कसरी पछ्याउने” विषयको “त्याग्‍नु” भन्‍ने पहिलो पक्षका मुख्य विवरणहरू हुन्। अवश्य नै, विभिन्‍न मानव भावनाहरूमध्ये, सम्पूर्ण रूपमा प्रतिनिधित्व गर्न नसकिने र नकारात्मक वा मिथ्या विचार र दृष्टिकोणहरूसँग पनि सम्‍बन्धित निश्‍चित, सानातिना नकारात्मक संवेग, वा केही निश्‍चित नकारात्मक संवेगहरू पनि छन्। यी नकारात्मक संवेग वा मिथ्या विचार र दृष्टिकोणहरूले मानिसहरूमा न्यूनतम प्रभाव पार्छन् भनेर भन्‍न सकिन्छ, त्यसकारण हामी तिनका बारेमा एक-एक गरी विस्तृत रूपमा सङ्गति गर्नेछैनौँ।

यसभन्दा पहिले हामीले सङ्गति गरेका सबै नकारात्मक संवेगहरूले मानिसहरूको वास्तविक जीवन वा तिनीहरूको जीवनको मार्गमा रहने समस्याहरूलाई आधारभूत रूपमा प्रतिनिधित्व गर्न सक्छन्। यी भावनाहरू मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने, र आफूलाई कसरी व्यवहारमा ढाल्ने र कार्य गर्नेसम्‍बन्धी विभिन्‍न दृष्टिकोणहरूसँग सम्‍बन्धित छन्। मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने, अनि आफूलाई कसरी व्यवहारमा ढाल्ने र कार्य गर्नेसम्‍बन्धी यी विभिन्‍न नकारात्मक विचार तथा दृष्टिकोणहरू वृहत् दिशानिर्देशन, मुख्य सिद्धान्त र मानिसहरूले सत्यतालाई पछ्याउने कार्यसँग सम्‍बन्धित हुन्छन्। त्यसकारण, मानिसहरूले आफ्‍ना विचार र दृष्टिकोणहरूमै यी कुराहरूलाई त्याग्‍नु र सम्‍बोधन गर्नुपर्छ। बाँकी रहेका केही निश्‍चित, गैर-प्रतिनिधिमूलक, वा अझ व्यक्तिगत मामिलाहरू—जस्तै खानपान, पहिरन, व्यक्तिगत जीवन, इत्यादि—मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने, र आफूलाई कसरी व्यवहारमा ढाल्ने र कार्य गर्नेसम्‍बन्धी मुख्य सिद्धान्तहरूसँग सम्‍बन्धित छैनन्, र तिनमा सकारात्मक र नकारात्मक कुराहरूका बीचमा भिन्‍नता छुट्याउने कार्य समावेश छैनन् भनेर भन्‍न सकिन्छ। त्यसकारण, ती कुराहरू हामीले सङ्गति गरिरहेको विषयको परिधिभित्र पर्दैनन्। उदाहरणको लागि, कसैले “मलाई कालो रङ्ग भएका कुराहरू मन पर्छ” भन्छ भने त्यो तिनीहरूको स्वतन्त्रता, अर्थात् तिनीहरूको व्यक्तिगत स्वाद र रुचि हो। के यो कुनै सिद्धान्तसँग सम्बन्धित हुन्छ? (अहँ, हुँदैन।) यो कुरा व्यक्तिले मानिसहरू र कामकुराहरूलाई कसरी हेर्छ भन्‍ने कुरासँग सम्‍बन्धित हुँदैन, तिनीहरूले आफूलाई कसरी व्यवहारमा ढाल्छन् र कार्य गर्छन् भन्‍ने कुरासँग सम्बन्धित हुनु त झन् टाढाको कुरा हो। उदाहरणको लागि, नजिकको कुरा देख्‍न नसकेर चस्मा लाउने व्यक्तिले यसो भन्छ, “मलाई सुनौलो रङ्गको रिम भएको फ्रेम मन पर्छ।” अनि अरू कसैले भन्छ, “सुनौलो रङ्गको रिम त पुरानो शैलीको भइसक्यो। मलाई त रिम विनाको चश्‍मा मन पर्छ।” के यो मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने, र आफूलाई कसरी व्यवहारमा ढाल्ने र कार्य गर्ने विषयसँग सम्‍बन्धित हुन्छ? (अहँ, हुँदैन।) यो कुरा मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने, र आफ्‍नो आनीबानी र व्यवहार कसरी प्रस्तुत गर्ने विषयसँग सम्‍बन्धित हुँदैन। अरूले यसो भन्छन्, “दैनिक कामकाज र सरसफाइप्रति ममा नकारात्मक संवेगहरू छन्। मलाई सधैँ ती कुराहरू कष्टप्रद र मेरो जीवनमा थकावट ल्याउने जस्तो लाग्छन्। खाना खानु समेत झिजो लाग्दो कुरा हो। खाना पकाउन एक घण्टाभन्दा बढी लाग्छ, र खाएपछि, मैले मालमत्ता धुनुपर्छ, भाँडा माझ्‍नुपर्छ, र भान्छा कोठा सफा गर्नुपर्छ, र यी कुराहरू पनि निकै झिजो लाग्दो हुन्छन्।” अझ अरूले भन्छन्, “जीवन कति कष्टकर छ। हरेक ऋतुमा लुगा बदल्नुपर्छ, र पनि गर्मी याममा जति पातलो लुगा लगाए पनि गर्मी हुन्छ, र जाडो याममा जति बाक्‍लो लुगा लगाए पनि जाडो नै हुन्छ। यो भौतिक शरीर साँच्‍चै पीडादायी छ!” तिनीहरूको कपाल मैलो हुँदा तिनीहरू धुन चाहँदैनन्, तर नधोएपछि, तिनीहरूलाई चिलाउँछ। तिनीहरू अल्छे र फोहोरी देखिन्छन्। तिनीहरूले कपाल नधोई धर पाउँदैनन्, तर धुँदा पनि झर्को मान्छन्, र सोच्छन्, “कपाल नै नभए कति राम्रो हुन्थ्यो होला? सधैँ काट्नु र नुहाउनु कति झिजो लाग्दो हुन्छ!” के यी नकारात्मक संवेगहरू हुन्? (हुन्।) के यी नकारात्मक संवेगहरू समाधान गरिनुपर्छ? के ती कुराहरू त्यागिनुपर्ने विभिन्‍न नकारात्मक संवेगहरूमा पर्छन्? (अहँ, पर्दैनन्।) किन पर्दैनन्? (यी त शरीरको भौतिक जीवनसँग सम्‍बन्धित बानी र मामिला मात्रै हुन्।) महिलाहरू, विशेष गरी वयस्क महिलाहरू भाँडा माझ्‍ने, सरसफाइ गर्ने, र नुहाउने जस्ता सानातिना दैनिक क्रियाकलापहरू सम्‍हाल्‍न सक्छन्। पुरुषहरूको हालत अलिक खराब हुन्छ। तिनीहरूलाई खाना पकाउने, लुगा धुने र घरका कामकाज झर्कोलाग्दो लाग्छ। विशेष गरी लुगा धुने काम तिनीहरूलाई निकै गाह्रो लाग्छ। के तिनीहरूले लुगा धुनुपर्छ? तिनीहरूलाई धुनुपर्छ जस्तो लाग्दैन। के तिनीहरूले धुनु पर्दैन? लुगा निकै फोहोर छन्, अनि अरूले गिल्‍ला गर्छन् भन्‍ने चिन्ताले तिनीहरूले एक छिन पानीले पखाल्छन्। यी सानातिना दैनिक मामिलाहरूलाई सम्‍हाल्‍ने कार्यप्रति महिला र पुरुषहरूको शैली र मनोवृत्ति फरक-फरक हुन्छ। महिलाहरू सानातिना कुरामा ध्यान दिने र सटीक हुन्नन्, र सरसफाइ र देखिने कुरामा ध्यान दिन्छन्, तर तुलनात्मक रूपमा पुरुषहरूले यस्ता कुरा सम्‍हाल्‍ने कार्यमा अलिक लापरवाही गर्न सक्छन्। तर त्यो कुनै गलत कार्य होइन। धेरै फोहोरी हुनु राम्रो होइन; विशेष गरी अरूसँग बस्दा, तैँले आफ्‍ना धेरै त्रुटिहरू खुलासा गरिरहेको हुनेछस् र नतिजास्वरूप तिनीहरूले तँलाई मन पराउनेछैनन्। यी त्रुटिहरू तेरो मानवताका खराबीहरू हुन्, र तैँले जित्‍नुपर्ने कुराहरूलाई जित्‍नुपर्छ, र समाधान गर्नुपर्ने कुराहरूलाई समाधान गर्नुपर्छ। अलिक लगनशील बन्, आफ्‍नो बस्‍ने ठाउँमा सबै कुराहरू व्यवस्थित बना, आफ्‍ना लुगा र ब्लाङ्केटहरू राम्ररी पट्या, र दुई-दुई वा केही दिनको अन्तरालमा आफ्‍नो काम गर्ने ठाउँ सफा र व्यवस्थित गर् ताकि अरूलाई झिजो नहोस्—यो कुरा यति सरल छ। तैँले चुनौती महसुस गरिरहनु पर्दैन, पर्छ त? (पर्दैन।) जहाँसम्‍म तैँले व्यक्तिगत रूपमा कति पटक नुहाउँछस् वा लुगा फेर्छस् भन्‍ने कुरा छ, अरूको मनस्थितिमा असर नपारुञ्जेल त्यसले मतलब राख्दैन। मापदण्ड यही हो। यदि तैँले लामो समयसम्‍म नुहाइनस्, कपाल धोइनस्, वा लुगा फेरिनस् भने, तँ गन्‍हाउन थाल्छस्, र कोही पनि तेरो नजिक आउन मान्दैन, र त्यो ठीक हुँदैन। तैँले कम्तीमा पनि अरूको मनस्थितिलाई असर नगर्ने गरी नुहाउने र आफूलाई अरूको अघि प्रस्तुत गर्न योग्य बनाउनुपर्छ। तँसँग कुरा गर्दा तिनीहरूले नाक-मुख छोप्‍न नपरोस्, र तेरो कारणले लज्‍जित हुन नपरोस्। यदि अरूले तँसँग यस्तै व्यवहार गरे र तैँले यसलाई ध्यान दिइनस् वा वास्ता गरिनस् भने, तँ त्यसरी नै निरन्तर जिइरहन सक्छस्। कसैले पनि तँसँग अत्यधिक मागहरू गरेको छैन। जतिसम्‍म स्विकार्न सक्छस् त्यतिसम्‍म गर्। तर यदि तँलाई लाज लाग्छ भने, आफ्‍नो बस्‍ने वातावरण र सरसफाइलाई ध्यान दिने सक्दो प्रयास गर्, ताकि यी कुराहरूले अरूलाई बाधा नहोस्। यसको उद्देश्य तेरो जीवनमा अनावश्यक बोझ वा तनाव नहोस् र तैँले अरूको भावनालाई पनि बुझ्‍न सक् भन्‍ने हो। अरूलाई दबाब दिने वा अरूमाथि आफ्नो प्रभाव लाद्ने नगर्। सामान्य मानव विवेक र समझको न्यूनतम मापदण्ड यही हो। यदि तँमा यति कुरा समेत छैन भने, तैँले कसरी भद्रताको साथ आफ्‍नो आनीबानी प्रस्तुत गर्न सक्छस्? त्यसकारण, सामान्य मानवता भएको व्यक्तिले प्राप्त गर्न सक्नुपर्ने यी कुराहरूलाई त्यति धेरै व्याख्या गरिरहनु पर्दैन। परमेश्‍वरको घरलाई तँलाई निश्‍चित काम वा आदेश दिने आवश्यकता हुँदैन। तैँले यी कुराहरू आफै सम्‍हाल्‍न सक्‍नुपर्छ। मैले माथि उल्‍लेख गरेका व्यक्तिगत मामिलाहरू मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने, आफूलाई कसरी व्यवहारमा ढाल्ने र कार्य गर्ने त्यससँग सम्‍बन्धित सिद्धान्त वा मापदण्डसँग सम्‍बन्धित छैनन्। त्यसकारण, यी कुराहरू सम्‍हाल्‍नका लागि तैँले आधारभूत मानव विवेक र समझमा भरोसा गर्न सक्छस्। सामान्य मानव विवेक र समझ भएको व्यक्तिमा यो स्तरको बौद्धिकता हुनुपर्छ। यसलाई ठूलो कुरा बनाइरहनु पर्ने आवश्यकता छैन, यति मात्र होइन, यी सानातिना कुरालाई सत्यता पछ्याएर बुझाइ वा समाधान प्राप्त गर्नुपर्ने कुराहरूका रूपमा लिनु हुँदैन, किनभने यी कुराहरू सामान्य मानवता भएको कुनै पनि व्यक्तिले हासिल गर्न सक्‍ने कुराहरू हुन्। भद्र हुनु भनेको के हो भन्‍ने कुरा सानो कुकुरले समेत बुझेको हुन्छ। यदि मानवले यो कुरा बुझ्दैनन् भने, तिनीहरूले मानव हुनुको मापदण्ड पूरा गर्दैनन्, होइन र? (हो।) मेरो एउटा घरपालुवा कुकुर छ। यो कुकुर निकै राम्रो छ, यसको ठूलो आँखा, फराकिलो मुख, र राम्रो आकारको नाक छ। एक पटक, यसले खानेकुराको निहुँमा आफ्‍नै बच्चासँग झगडा गर्‍यो, र बच्‍चाले नाकमा टोकिदियो। त्यसपछि यसको नाकको बीचमा एउटा सानो घाउ भयो, जसले यसको रूप नै बिगारिदियो। मैले तुरुन्तै औषधी लगाएर भनेँ, “अब हामीले के गर्न सक्छौँ र? यदि यस्तो राम्रो कुकुरको अनुहारमा घाउको खत बस्यो भने, यो कस्तो नराम्रो देखिनेछ!” मैले त्यसलाई भनेँ, “अबदेखि, हामी बाहिर जाँदा हामीलाई नपछ्या। यदि मानिसहरूले तेरो अनुहारको चोट देखे भने, तँलाई कुरूप सोच्नेछन्।” यो सुनेपछि, यसले सहमतिको आवाज निकाल्यो, एकछिन टोलायो, र आँखा ठूलो-ठूलो पार्‍यो। मैले भनेँ, “तँ घाइते भएको छस्। तेरो नाकमा यति ठूलो घाउ भएको छ, मानिसहरूले त्यो देखे भने तिनीहरू हाँस्‍न सक्छन्। तँ आराम गरेर निको हुनुपर्छ। तैँले आफू पूरै निको नभइञ्‍जेलसम्‍म हामीलाई पछ्याउनु हुँदैन।” मेरो कुरा सुनेपछि, त्यसले अर्को आवाज निकालेन, र बाहिर जाने जिद्दी गरेन। मैले सोचेँ, कुकुरलाई समेत सबै कुराको समझ हुन्छ। केही समयपछि, घाउ बिस्तारै सुक्दै गयो र त्यसमा निकै सुधार आयो, त्यसकारण मैले त्यसलाई बाहिर लगेँ। एक जना बहिनीले त्यो सानो कुकुरलाई देखेर भनिन्, “ए, तिम्रो नाकमा के भयो?” यो सुनेपछि, त्यो फनक्‍कै फर्केर पछाडि पनि नहेरी सीधै कारमा दौडेर गयो, र फर्कनै मानेन। जब त्यो बहिनीले त्यससँग कुरा गर्न थालिन्, तब त्यसले आफूलाई सम्हाल्यो, र पानी दिँदा खायो। त्यो भागेन। तर उनले “तिम्रो नाकमा के भयो?” भनेर सोध्‍नेबित्तिकै, त्यो फनक्‍कै फर्केर पछाडि पनि नहेरी कुदेर गयो। हामी घर फर्केपछि मैले त्यसलाई सोधेँ, “तेरो नाकमा चोट लागेको थियो, अनि बहिनीले तँलाई यसको बारेमा सोध्दा तँ किन भागिस्? के तँलाई लाज लाग्यो?” त्यसले लाज मान्दै मलाई हेर्‍यो, निरन्तर शिर लुरुक्‍क पारिरह्यो र साह्रै लाजले मलाई अनुहारमा समेत हेर्न सकेन। त्यो मेरो हातमा लुरुक्‍क परेर आयो र मलाई मसार्न र समाउन दियो। मैले भनेँ, “अबदेखि तैँले आफ्‍नो बच्‍चासँग झगडा गर्नु हुँदैन। यदि तँलाई घाउ भयो र फेरि खत बस्यो भने, तँ कुरूप देखिन सक्छस्। मानिसहरू तँलाई देखेर हाँस्‍नेछन्। तैँले अनुहार कहाँ लुकाउनेछस्?” हेर त, पाँच वर्षको सानो कुकुरलाई समेत लाज मान्‍नु भनेको के हो थाहा छ। अनुहारमा घाउ भएको कारण र मानिसहरूले हाँसोमा उडाउँछन् भन्‍ने डरले यसलाई लुक्‍न आउँछ। यदि एउटा सानो कुकुरमा यस्तो बौद्धिकता हुन्छ भने, के मानिसहरूमा पनि हुनु पर्दैन र? (हुनुपर्छ।) मानिसहरूमा पनि यो हुनुपर्छ, अर्थात् यो तिनीहरूको समझको दायराभित्र हुनुपर्ने कुरा हो। भद्र हुनु भनेको के हो? सुधारिएर अरूको घृणा वा अस्वीकारमा नपर्नु भनेको के हो? तँमा यो मापदण्ड हुनुपर्छ। यो दैनिक जीवनको सबैभन्दा सरल मामिला हो, र सामान्य विवेक र समझद्वारा, तैँले मानिसहरूको भ्रष्ट स्वभाव वा नकारात्मक संवेगहरूलाई समाधान गर्ने कार्य जस्ता सत्यतामाथि सङ्गति नगरी परिस्थितिहरू सम्हाल्न सक्छस्। अवश्य नै, यदि तँ आफ्‍नै घरमा बस्छस् भने, तँ अलिक अव्यवस्थित हुन सक्छस्, र मापदण्डहरू त्यति कडा हुँदैनन्। तर, यदि तँ अरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग बस्छस् भने, तैँले आफ्‍नो सामान्य मानवतालाई राम्रो अवस्थामा राखेको छस् भन्‍ने कुरा सुनिश्‍चित गर्नुपर्छ। यसको लागि हामीसँग कुनै निश्‍चित नियम वा कडा मापदण्डहरू नभए पनि, सामान्य मानवको रूपमा, तँलाई यी कुराहरूको बोध हुनुपर्छ। यी कुराहरू सामान्य मानवता भएका मानिसहरूले गर्नुपर्ने र तिनीहरूमा हुनुपर्ने कुराहरू हुन्। यी कुराहरू मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने, आफूलाई कसरी व्यवहारमा ढाल्ने र कार्य गर्नेसम्‍बन्धी विचार, दृष्टिकोण, हेराइ, वा अडानसँग सम्‍बन्धित छैनन्, र ती कुराहरू जीवनको ठूलो मार्ग, दिशा, वा उद्देश्यसँग अवश्यै सम्‍बन्धित छैनन्। परिणामस्वरूप, तैँले यी मामिलाहरूलाई सामान्य मानव विवेक र समझका मापदण्डहरू अनुसार समाधान गर्नु नै उचित हुनेछ, ताकि यी कुराहरूका कारण अरूले तेरो कुरा नकाटून् वा तँलाई घृणा नगरून्। जहाँसम्‍म व्यक्तिगत बानी, रुचि, व्यक्तित्वको भिन्‍नता, वा सिद्धान्तहरूसँग सम्‍बन्धित नरहेका मामिलाहरूको सन्दर्भमा निर्णयहरूको कुरा छ, यी कुराहरू, जो विचार र दृष्टिकोणहरूसँग सम्‍बन्धित हुँदैनन्, तँ यीबारे आफै निर्णय गरेर आफ्‍नो बानी-बेहोरालाई कायम राख्‍न स्वतन्त्र छस्। परमेश्‍वरको घरले हस्तक्षेप गर्नेछैन। परमेश्‍वरले मानिसहरूलाई स्वतन्त्र इच्‍छा र आधारभूत विवेक र समझ दिनुभएको छ, जसकारण हरेक व्यक्तिले आफ्‍नै चासो, रुचि र बानी, वा आफ्‍नो व्यक्तित्व अनुसारको जीवनशैली छनौट गर्न सक्छन्। तँलाई जकड्ने, बाँध्ने, वा दोष दिने अधिकार कसैसँग छैन। सत्यता सिद्धान्त वा परमेश्‍वरका वचनहरूमा उल्‍लेख गरिएका उहाँका मापदण्डहरूसँग सम्‍बन्धित नरहेका मामिलाहरूका हकमा, अर्थात्, अझै निश्‍चित रूपमा भन्दा, मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने, आफूलाई कसरी व्यवहारमा ढाल्ने र कार्य गर्ने विषयसँग सम्‍बन्धित नरहेका मामिलाहरूका हकमा, मानिसहरूसँग अरूको हस्तक्षेप बिना आफ्‍नो जीवनशैली छनौट गर्ने अधिकार हुन्छ। यदि व्यक्तिगत मामिलाहरूका विषयमा अगुवा, समूह अगुवा, वा सुपरभाइजरले तँलाई आलोचना वा हस्तक्षेप गर्‍यो भने, तँसँग तिनीहरूलाई इन्कार गर्ने अधिकार हुन्छ। संक्षिप्तमा, सामान्य मानवताका यी मामिलाहरू परमेश्‍वरका वचनका मापदण्डहरू वा सत्यता सिद्धान्तहरूसँग सम्‍बन्धित हुँदैनन्। जबसम्‍म तँलाई सहज र उचित लाग्छ, र तेरो व्यवहारले अरूलाई कुनै असर पार्दैन वा बाधा दिँदैन भने, त्यो ठीकै हुन्छ। उदाहरणको लागि, यदि तँलाई राम्रा वस्‍त्र लगाउन र सफा रहन मन पर्छ भने, यसले अरूलाई असर नगरूञ्जेलसम्म यो समस्या होइन। तर यदि राती अबेर भएको छ र अरू एघार बजे सुत्‍नुपर्छ, तर तँ अझै पनि लुगा धोइरहेको छस् वा सरसफाइ गरिरहेको छस् भने, त्यो स्वीकार्य हुँदैन। यदि तँ आफ्‍नै घरमा छस् र तैँले अरूको जीवनमा असर गरिरहेको छैनस् भने, तँलाई इच्छा लागे बिहान चार-पाँच बजेसम्‍म रातभरि नसुती बस्‍न सक्छस्। त्यो तेरो स्वतन्त्रता हो। तर, अहिले तँ विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग बसिरहेको हुनाले, तेरो व्यवहारले अरूको दैनिकी र तालिकामा असर गर्नेछ। त्यो राम्रो होइन। त्यसो गरेर, तैँले सही तरिकाले आफ्‍नो अधिकार र स्वतन्त्रताको अभ्यास गरिरहेको हुँदैनस्; बरु, तैँले त स्वेच्‍छाचारी व्यवहार गरिरहेको हुन्छस्, जसलाई मानवताको कमी हुनु भनेर भनिन्छ। आफ्‍नै स्वतन्त्रताको लागि र आफ्‍नै देहका रुचि र इच्छाहरूलाई पूरा गर्नका लागि, तँ अरूको जीवनमा बाधा दिन्छस् र तिनीहरूको विश्राम गर्ने समय समेत खोस्छस्। यो व्यवहार सामान्य मानवताको विवेक र समझसँग मिल्दैन। यसलाई परिवर्तन गरिनुपर्छ। यो आनीबानीसम्बन्धी सिद्धान्तहरूसँग सम्‍बन्धित छ। यो तेरो व्यक्तिगत जीवनशैली वा सरसफाइ गर्ने बानीमा कुनै गलत कुरा छ भन्‍ने कुरासँग सम्बन्धित छैन। यो त तैँले आफ्‍नो आनीबानी कसरी प्रस्तुत गर्छस् भन्‍ने बारेका सिद्धान्तहरूसम्‍बन्धी एउटा समस्या हो। तैँले अरूको भावना, मनस्थिति, वा चासोहरूमा ध्यान दिँदैनस्। तैँले अरूका चासोहरूको मूल्यमा ई आफ्‍नै चासोहरूको रक्षा र संरक्षण गर्छस्। यस्तो व्यवहार आफ्‍नो आनीबानी प्रस्तुत गर्नेसम्‍बन्धी परमेश्‍वरका मापदण्ड वा परमेश्‍वरले माग गर्ने आनीबानीका सिद्धान्तहरू अनुरूप हुँदैन। त्यसकारण, सामान्य मानवताका कुनै पनि रुचि, चासो, जीवनशैलीको छनोट, बानी, स्वतन्त्रता, अधिकार, इत्यादि कुरा सामान्य मानवता मानिनका लागि ती कुरा व्यक्तिको विवेक र समझको दायराभित्र रहनुपर्छ। यदि यी कुराहरू सामान्य मानव विवेक र समझका सीमाहरूभन्दा बाहिर गए भने, त्यो सामान्य मानवता होइन, हो त? (होइन।) सामान्य मानव विवेक र समझको सीमाभित्र तैँले सामान्य व्यक्तिले जस्तो व्यवहार गरिरहेको हुन्छस्। यदि तँ सामान्य मानव विवेक र समझको सीमाभन्दा बाहिर जान्छस् र अझै पनि आफ्‍नो स्वतन्त्रतालाई जोड दिन्छस् भने, तैँले सामान्य व्यक्तिले जस्तो व्यवहार गरिरहेको हुँदैनस्; तँ अर्धमानव हुन्छस्। यो परिवर्तन हुनुपर्ने कुरा हो, र यो कुरा स्पष्ट हुनुपर्छ। के कुरा स्पष्ट हुनुपर्छ? के कुरा स्पष्ट हुनुपर्छ भने यी व्यक्तिगत मामिलाहरूलाई सामान्य मानव विवेक र समझका सीमाभित्र नै सम्‍हाल्‍नुपर्छ, र यो आफ्‍नो आनीबानी सम्‍बन्धी सिद्धान्त हो। तेरो व्यक्तिगत बानी, माग, जीवनशैली सम्‍बन्धी निर्णयहरू, इत्यादि कुरा सबै तेरो हातमा हुन्छन्, तर ती कुरा सामान्य मानव विवेक र समझको सीमाभन्दा बाहिर जानु हुँदैन। यी मामिलाहरूका बारेमा कुनै निश्‍चित मापदण्डहरू छैनन्।

सत्यता कसरी खोजी गर्ने भन्‍ने खण्डको पहिलो भागमा “त्याग्नु” अर्थात् हीनताबोध, घृणा, रिस, अवसाद, हैरानी, चिन्ता, तनाव, र दबाब जस्ता विभिन्न नकारात्मक संवेगहरूलाई त्याग्ने विषयबारे कुरा गर्नुपर्दा, आधारभूत रूपमा मुख्य दिशागत मामिला र हामीले सङ्गति गर्नुपर्ने सिद्धान्तहरूसँग सम्‍बन्धित समस्याहरू यिनै हुन्। सिद्धान्त वा दिशासँग सम्‍बन्धित नरहेका सानातिना गौण समस्याबारे हामीले यसभन्दा अगाडि नै व्यापक रूपमा सङ्गति गर्‍यौँ। जहाँसम्म आफ्ना व्यक्तिगत समस्याहरूप्रति तैँले महसुस गर्ने हिचकिचाहट, असन्तुष्टि, नाखुसी इत्यादिको कुरा छ, यदि ती कुराहरू साँचो विचार र दृष्टिकोणहरूसँग सम्‍बन्धित छैनन् र व्यक्तिले कसरी मानिसहरू र कामकुराहरूलाई हेर्छ वा आफूलाई कसरी व्यवहारमा ढाल्छ र कार्य गर्छ भन्‍ने कुराका सिद्धान्तसँग सरोकार राख्दैनन् भने, ती तेरा आफ्नै व्यक्तिगत मामिलाहरू हुन्। तैँले तिनलाई आफ्नो विवेक र समझको क्षेत्रमा रही मिलाउनु र सम्बोधन गर्नुपर्छ। उदाहरणको लागि, तँ भोकाएको छस् र तँलाई खाना पकाउन मन छैन, तर भोकै काम गर्न सक्दैनस्। त्यस्तो अवस्थामा तैँले खाना पकाउनु पर्दा तँलाई झर्को लाग्छ। तैँले सोच्न सक्छस्, “के यो नकारात्मक संवेग हो?” यो नकारात्मक संवेग होइन; यो त तेरो शारीरिक अल्छीपन र खाना पकाउन मन नपर्ने बानी हो। यो तेरो भ्रष्ट देहको मामिला हो। यदि तेरो आर्थिक स्थितिले धान्छ भने, तैँले भान्से राख्न सक्छस्। यदि तँसँग आर्थिक स्रोत छैन भने, यो कुरा तँ आफैले मात्रै समाधान गर्न सक्छस्। तेरो जीवनका यी समस्याहरू समाधान गर्ने दायित्व अरूको होइन; यो तेरो आफ्नै जिम्मेवारी हो। खाने, लुगा लाउने, दाँत माझ्ने र सरसफाइ गर्ने जस्ता सानातिना कामहरू मानव जीवनका भाग हुन्। ती कुराहरू मानिसको अस्तित्वमै अन्तर्निहित हुन्छन्। मानिसहरू बिरालो-कुकुरभन्दा फरक छन्। तैँले बिरालोको बच्चा वा कुकुरको बच्चा पालेपछि, त्यसको खानपानको जिम्मेवार तँ नै हुन्छस्। त्यो भोकाएपछि, तैँले त्यसलाई खुवाउनुपर्छ। तर मानिसहरूको हकमा यस्तो हुँदैन; मानिसहरूले जीवनका यी पक्षहरूलाई आफै सम्हाल्नुपर्छ र यी कुराहरूको जिम्मेवारी लिनुपर्छ। यो बोझ होइन; सामान्य मानवता भएका मानिसहरूले यी कुराहरूलाई कसरी राम्ररी सम्हाल्ने भनी सिक्न सिक्छन्। कतिपय मानिसहरूलाई आफूले यी कुराहरू कहिल्यै नगरेको भन्‍ने लाग्न सक्छ, विशेष गरी पुरुषहरूले। किनभने तिनीहरूका आमाबुबा वा परिवारका सदस्यहरूको निकै रेखदेख र पुलपुल्याइमा परेर तिनीहरूले खाना पकाउन, लुगा धुन वा आफ्नो जीवनका कुराहरू सम्‍हाल्‍न कहिल्यै सिकेनन्। यो पारिवारिक वातावरणको परिणाम हो। तर, आफ्ना आमाबुबालाई छोडेर स्वतन्त्र रूपमा बस्न थालेपछि, तिनीहरू आफ्नो लुगा धुने र आफ्नो ओछ्यान मिलाउने लगायतका सबै कुरा आफै गर्न सक्छन्। वास्तवमा, यी सामान्य मानवताले हासिल गर्न सक्ने कुराहरू हुन्। वयस्क व्यक्तिका लागि यी कठिन कार्यहरू होइनन्, र बोझिलो कुरा पक्कै पनि होइनन्। यी समस्याहरू सहजै समाधान गर्न सकिन्छ। यदि गुणस्तरीय जीवनसम्बन्धी तेरा मापदण्ड उच्च छन् भने, तैँले अझै राम्रो गर्न सक्छस्। यदि गुणस्तरीय जीवनसम्बन्धी तेरा अपेक्षाहरू अलिक नरम वा न्यून छन् भने, तँ यसबारे अलिक लापरवाह हुन सक्छस्। यी सबै सिद्धान्तहरूसँग सम्‍बन्धित नरहेका मामिला हुन्।

सत्यता कसरी खोजी गर्ने भन्‍नेसम्बन्धी पहिलो मुख्य विषय, अर्थात् विभिन्न नकारात्मक संवेगहरू त्याग्ने विषयका बारेमा हामी हाम्रो सङ्गतिलाई यहीँ टुङ्ग्याऔँ, किनभने यो लगभग समाप्त भएको छ। यसपछि, सत्यतालाई पछ्याउने प्रक्रियाको क्रममा, नकारात्मक संवेगहरू त्याग्नेबाहेक, व्यक्तिले आफ्ना खोज, आदर्श र इच्छाहरू त्याग्नुपर्छ। सत्यता कसरी पछ्याउने भन्‍नेसम्बन्धी अभ्यासमा “त्याग्ने” कार्यको दोस्रो मुख्य पक्ष यही हो, जसको बारेमा हामी आज सङ्गति गर्नेछौँ। मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्नु भन्‍ने कुरा के तिमीहरूले बुझ्यौ? (हो, हामीले बुझ्यौँ।) भर्खरै मैले “त्याग्नु” सम्बन्धी यो निश्चित अभ्यासका विषयहरू उल्लेख गरेँ, र तिमीहरूले तिनलाई टिपोट पनि गरेका छौ। अब, यो विषयलाई जाँचौँ: मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्नु भन्‍ने विषयमा हामीले कुरा गर्दा मनमा के आउँछ? तिमीहरू के-कस्ता उदाहरणहरू सम्झन सक्छौ? (म मानिसहरूमा हुने आदर्श विचारहरूलाई सम्झन्छु, जसको बारेमा परमेश्‍वरले यसभन्दा पहिले सङ्गति गर्नुभएको छ, जस्तै अभिनय गर्ने, सेलिब्रेटी वा सुपरस्टार बन्ने आकाङ्क्षा राख्नेजस्ता विशेष प्रतिभा भएका मानिसहरू। लेख्‍ने क्षमता र केही साहित्यिक प्रतिभा भएका अन्य मानिसहरू परमेश्‍वरको घरमा लेख-रचनाको काम गर्ने र लेखक बन्ने आकाङ्क्षा राख्न सक्छन्। यी कुराहरू मानिसहरूमा पैदा हुने केही आदर्श विचारहरू हुन्।) अरू केही छ? (मानिसहरू सफलताका साथै आफ्ना सम्भावना र आशाहरू पछ्याउँछन्, र आशिषहरू प्राप्त गर्ने चाहना राख्छन्।) अझै सोच त, अरू के छ? यहाँ के कुरालाई जोड दिनुपर्छ? यो त मानिसहरूले त्याग्नुपर्ने खोज, आदर्श र इच्छाहरूसँग सम्‍बन्धित छ। मानिसहरूका विलासी इच्छा अनि आफ्ना सम्भावना र नियतिप्रति तिनीहरूले राख्‍ने आशाबाहेक, मानिसहरूको वास्तविक जीवनको सन्दर्भमा, मानव अस्तित्वका जरुरी परिस्थितिहरूमा, मानिसहरूले त्याग्नुपर्ने खोज, आदर्श र इच्छाहरूमा अरू के-के कुरा पर्दछन्? परमेश्‍वरमाथिको तेरो विश्‍वास र सत्यता पछ्याउने तेरो कार्यमा असर पार्न सक्ने जीवनका केही महत्त्वपूर्ण मामिलाहरू के-के हुन्? (मानिसहरू विवाह गर्ने उमेरमा पुगेपछि, तिनीहरू विवाहले उत्पन्न गर्ने अवरोधहरूमा पर्न सक्छन्। यसका साथै, जब व्यक्तिको करियर परमेश्‍वरमाथिको उसको विश्‍वाससँग बाझिन्छ, तब उसले आफ्नै करियरलाई पछ्याउने निर्णय गर्न सक्छ। यी दुई वटा पक्षहरू पनि त्यागिनुपर्छ।) ठीक भनिस्। विगत केही वर्षदेखिको परमेश्‍वरमाथिको तेरो विश्‍वासले तँलाई परिणाम र बुझाइ प्रदान गरेको छ। तैँले सही तरिकाले दुई महत्त्वपूर्ण पक्षहरू, अर्थात् विवाह र करियरको बारेमा चर्चा गरिस्। यी दुई मुख्य विषयहरू मानव जीवनको मार्गका जीवनपर्यन्त मामिलाहरूसँग सम्‍बन्धित कुराहरू हुन्। विवाह हरेक व्यक्तिको लागि महत्त्वपूर्ण कुरा हो, र व्यक्तिको करियर पनि उम्कन नसकिने र अपरिहार्य मामिला हो। यी दुईबाहेक अरू कुनै मुख्य मामिलाहरू छन्? (परिवार, आमाबुबा र छोराछोरीसँग गर्ने व्यवहारको पक्ष पनि छ। जब यी मामिलाहरू परमेश्‍वरमाथिको विश्‍वास र सत्यतालाई पछ्याउने कार्यसँग बाझिन्छन्, तब मानिसहरूलाई यी कुराहरू त्याग्न गाह्रो हुन्छ।) तिमीहरूले रूपरेखा तयार पार्दा यति लामा वाक्यहरू प्रयोग गर्नु हुँदैन। यसभन्दा पहिले, हामीले विवाह र करियरबारे चर्चा गर्‍यौँ। त्यसोभए, यो विषयलाई के भन्न सकिन्छ? (परिवार।) ठीक भन्यौ, परिवार पनि एउटा मुख्य पक्ष हो। के यसमा हरेक व्यक्ति पर्छ? (पर्छ।) यसमा हरेक व्यक्ति पर्छ, र यो विषय पर्याप्त रूपमा निर्दिष्ट र प्रतिनिधिमूलक छ। विवाह, परिवार, र करियर सबै नै मानिसहरूका खोज, आदर्श र इच्छाहरूको मूल भावसँग सम्‍बन्धित मुख्य विषयहरू हुन्। मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्नेसम्बन्धी जम्‍मा चार वटा मुख्य विषयहरू छन्। तीमध्ये तीन वटालाई तिमीहरूले सही तरिकाले पहिचान गरेका छौ, जुन निकै राम्रो कुरा हो। यो विषयको लागि विस्तृत सङ्गति आवश्यक पर्छ जस्तो लाग्छ, यो तिमीहरूको मनमा पहिले देखि नै रहिआएको विषय हो, र यो तिमीहरूको जीवन वा तिमीहरूको कद र अनुभवसँग निकटतम सम्बन्ध रहेको विषय हो। अर्को विषय पनि छ, जुन वास्तवमा निकै सरल छ। त्यो के हो? यो व्यक्तिका चासो र रुचिहरू हुन्। के त्यो सरल छैन र? (छ।) म किन व्यक्तिका चासो र रुचिहरू भन्छु? यो विषयलाई नजिकबाट नियालेर हेर अनि चासो र रुचिहरू हामीले छलफल गर्नुपर्ने मानिसहरूका खोज, आदर्श र इच्छाहरूसँग सम्‍बन्धित छन् कि छैनन् भनी हेर। (छन्।) के विवाह ती कुरासँग सम्‍बन्धित छ? (छ।) के परिवार ती कुरासँग सम्‍बन्धित छ? (छ।) के करियर ती कुरासँग सम्‍बन्धित छ? त्यो पनि छ। यी चारवटामा हरेक पक्ष व्यक्तिको खोज, आदर्श र इच्छाहरूसँग सम्‍बन्धित छ। हरेक पक्ष तिनीहरूको हृदयको गहिराइमा रहेका यससम्बन्धी कल्पना र निश्चित मापदण्ड, र तिनीहरूले आफ्नो देह र भावनामा प्राप्त गर्न चाहेका कुरासँग सम्बन्धित हुन्छन्। हरेक पक्षको निश्चित तत्त्व र ठोस खोजहरू हुन्छन्, र यसमा व्यक्तिले ती कुराहरूका लागि गर्ने प्रयास र चुकाउने मूल्य पनि समावेश हुन्छ। हरेक पक्ष व्यक्तिको सम्पूर्ण जीवनभरिका विचार र दृष्टिकोणहरूसँग सम्‍बन्धित हुन्छन्, त्यस्ता विचार र दृष्टिकोणहरूलाई प्रभाव पार्छन् र व्यक्तिले सही उद्देश्यहरू पछ्याउने कार्यमा असर पार्न सक्छन्। अवश्य नै, यसले व्यक्तिले कसरी मानिसहरू र कामकुराहरूलाई हेर्छ र आफूलाई कसरी व्यवहारमा ढाल्ने र कार्य गर्ने भन्‍ने कुरालाई पनि प्रभाव पार्छ। मैले समग्रमा भन्‍ने हो भने, तिमीहरूलाई यो अस्पष्ट र बुझ्न गाह्रो लाग्न सक्छ। त्यसकारण हामी हरेक पक्षको बारेमा एक-एक गरी सङ्गति गरौँ, तिनलाई होसियारी साथ जाँचौँ, अनि तिमीहरूले यी विषयहरूका बारेमा क्रमिक रूपमा बुझ्न सक्छौ। यी कुराहरू स्पष्ट भएपछि, मानिसहरूले यहाँ आफूले लागू र पालना गर्नुपर्ने सिद्धान्तहरूलाई खोज्न सक्छन्।

सुरुमा, हामी चासो र रुचिहरूका बारेमा कुरा गरौँ। चासो र रुचिहरू मानिसहरूले रमाइलोका लागि बेला-बेला गर्ने कार्य, वा क्षणिक मनोरञ्जन वा अध्ययनसम्बन्धी रुचिसँग सम्‍बन्धित हुँदैनन्—क्षणिक कुराहरूसँग तिनको कुनै सम्‍बन्ध हुँदैन। यहाँ, चासो र रुचिहरूले व्यक्तिको आत्मिक अस्तित्व र उसको प्राणको गहिराइमा रहेको सच्‍चा तृष्णा र खोजलाई जनाउँछन्। तिनीहरूले यिनै कुराहरूका लागि काममा लाग्छन् र योजना बनाउँछन्, र त्योभन्दा पनि बढी तिनीहरूले यी चासो र रुचिहरूलाई पूरा गर्न वा थप विकास गर्न, वा आफ्नै चासो र रुचिहरूसँग मिल्‍ने काम गर्नका लागि ठोस प्रयास र मेहनत गर्छन्। यस सन्दर्भमा चासो र रुचिहरूले मानिसहरूले लक्ष्य र आदर्शहरू तय गरेका छन्, र मूल्य चुकाएका, ऊर्जा लगाएका, वा निश्चित कार्यहरू पनि गरेका छन् भन्‍ने कुरालाई जनाउँछ। उदाहरणको लागि, तिनीहरूले आफ्ना चासो र रुचिहरूका लागि सम्‍बन्धित ज्ञान अध्ययन गरेका छन्, यो ज्ञान अध्ययन गर्न आफ्नो दैनिक जीवनको धेरैजसो समय बिताएका छन्, र यस व्यावहारिक ज्ञान र ठोस बुझाइ प्राप्त गरेका छन्। उदाहरणको लागि, कतिपय मानिसहरूलाई चित्रकलामा विशेष चासो र रुचि हुन्छ, र यी चित्रहरू कुनै व्यक्तिको तस्विर वा प्राकृतिक दृश्य बनाए जस्तो सरल हुँदैनन्। यो कार्य सरल चासो र रुचिहरूभन्दा व्यापक हुन्छ। तिनीहरू चित्रकलाका विभिन्न सीपहरू सिक्छन्, जस्तै खाका, प्राकृतिक दृश्य, र तस्विर चित्रण, र कतिले त तेल र मसी चित्रण समेत अध्ययन गर्छन्। तिनीहरूले यसरी अध्ययन गर्नुको कारण तिनीहरूका चासो र रुचिहरूबाट मात्रै पैदा हुँदैन, तर चित्रकलाप्रति तिनीहरूमा रहेको चासोका कारण तिनीहरूले विकास र स्थापित गरेका आदर्श, अनि तिनीहरूमा भएका इच्छाहरूबाट पैदा हुन्छ। तिनीहरूले आफ्नो सारा जीवनको ऊर्जा समेत चित्रकलामा लगाउन, निपुण चित्रकार बन्न, र चित्रकलालाई व्यवसायको रूपमा लिन चाहन्छन्। यो व्यवसायमा लाग्‍नुभन्दा पहिले, व्यापक तयारी र योजनाको आवश्यकता हुन्छ, जस्तै थप शिक्षा र तालिमको लागि विशेष स्कूलहरूमा पढ्ने, चित्रकलाका विभिन्न पक्षहरूको अध्ययन गर्ने, स्थलगत खाकाचित्र बनाउने, विशेषज्ञ र पोख्त चित्रकारहरूबाट मार्गदर्शन लिने, र प्रतिस्पर्धाहरूमा सहभागी हुने, आदि। यी सबै क्रियाकलापहरू तिनीहरूका खोज, आदर्श र इच्छाहरूमा केन्द्रित हुन्छन्। अवश्य नै, यी सबै खोज, आदर्श र इच्छाहरू तिनीहरूका चासो र रुचिहरूमा आधारित हुन्छन्। यी चासो र रुचिहरूका कारण नै तिनीहरूले आफ्नो जीवनका खोज, आदर्श र इच्छाहरूको विकास गरेका हुन्छन्। कतिपय मानिसहरूलाई इतिहास, र त्यसमा पनि प्राचीन र वर्तमान, स्वदेशी र विदेशी इतिहास अध्ययन गर्ने ठूलो उत्साह हुन्छ। तिनीहरूका चासो बढ्दै गएपछि, तिनीहरूले आफूलाई यस क्षेत्रको एउटा प्रतिभाको रूपमा हेर्न थाल्छन्, र यस क्षेत्रसँग सम्‍बन्धित करियर पछ्याउन बाध्य भएको महसुस गर्छन्। तिनीहरूले शिक्षालाई निरन्तरता दिन्छन् र अघि बढाउँछन्। अवश्य नै, यो प्रक्रियाको दौरान तिनीहरूका खोज, आदर्श र इच्छाहरूले आकार र मूर्तरूप लिइरहन्छन्, र तिनीहरूले अन्ततः इतिहासकार बन्ने चाहना राख्छन्। इतिहासकार बन्‍नुभन्दा पहिले, तिनीहरूको धेरैजसो समय र ऊर्जा यही चासो र रुचिमा केन्द्रित हुन्छ। कतिपय मानिसहरू अर्थशास्‍त्रमा साह्रै चासो राख्छन्, र हिसाबकिताबको काम गर्न अनि अर्थशास्त्रसम्बन्धी कुराहरू अध्ययन गर्न मन पराउँछन्। तिनीहरू एक दिन आर्थिक क्षेत्रमा उत्कृष्ट वा सफल व्यक्ति बन्ने आशा गरेका हुन्छन्। छोटकरीमा, तिनीहरू आफ्नो चासो र रुचिमा आधारित खोजको विकास पनि गर्छन्, र त्यो चासो र रुचिसँग सम्‍बन्धित आदर्श र इच्छाहरूको विकास गर्छन्। यसका साथै, तिनीहरू सिक्‍न, अनुसन्धान गर्न, आफ्नो शिक्षालाई अघि बढाउन, र आफ्ना चासो र रुचिहरूसँग सम्‍बन्धित विस्तृत ज्ञान प्राप्त गर्नका लागि आफ्नो समय र ऊर्जा खर्च गर्छन्, काम गर्छन् र मूल्य चुकाउँछन्। अन्यलाई अभिनय कला, नृत्य, गायन, वा निर्देशनजस्ता कलाको निकै लगाव हुन्छ। यस्ता चासो र रुचिहरूको विकास गरेपछि, यी चासो र रुचिहरूबाट प्रेरित भएर, तिनीहरूका आदर्श र इच्छाहरूले बिस्तारै आकार र ठोस रूप लिन थाल्छन्। तिनीहरूका आदर्श र इच्छाहरू क्रमिक रूपमा आफ्नो जीवनका उद्देश्य बन्दै गएपछि, तिनीहरूले यी उद्देश्यहरू पछ्याउनमा आफ्नो प्रयास, श्रम, र मेहनत समर्पित पनि गर्छन्। कतिपय मानिसहरूलाई शिक्षाको क्षेत्रमा काम गर्न मन पर्छ। आफ्ना चासो र रुचिहरूसँग सम्‍बन्धित करियर पछ्याउनका लागि तिनीहरू मनोविज्ञान र अन्य सान्दर्भिक ज्ञानजस्ता शिक्षाका विभिन्न पक्षहरूको अध्ययन गर्छन्। कतिपय मानिसहरूलाई डिजाइन, इन्जिनियरिङ, प्रविधि, इलेक्ट्रोनिक्स वा कीरा-फट्याङ्ग्रा, सूक्ष्‍मजीव, र विभिन्न पशु-प्राणीका व्यवहार, जीविका, उत्पत्ति, इत्यादि कुराहरू मन पर्छ। कतिपय मानिसहरूलाई मिडियाको काम मन पर्छ र मिडिया क्षेत्रमा वक्ता, प्रस्तोता, रिपोर्टर, इत्यादिको रूपमा काम गर्न चाहन्छन्। आफ्ना विविध चासो र रुचिहरूद्वारा प्रेरित भएर, मानिसहरूले व्यापक रूपमा सिकाइ र अनुसन्धानलाई निरन्तरता दिन्छन्, र क्रमिक रूपमा त्यस क्षेत्रको बुझाइ प्राप्त गर्छन्। तिनीहरूको हृदयमा तिनीहरूका खोज, आदर्श र इच्छाहरू गहन बन्दै र आकार लिँदै जान्छन्। अवश्य नै, आफ्ना खोज, आदर्श र इच्छाहरूले क्रमिक रूपमा आकार लिँदै जाने क्रममा, तिनीहरू आफ्ना आदर्श र इच्छाहरूतर्फ लागिपर्ने र अघि बढ्ने कार्य पनि गर्छन्। तिनीहरूले गर्ने हरेक विशिष्ट कार्यले तिनीहरूको ऊर्जा, समय, जवानी, र भावना र प्रयासहरू समेत यिनै कुरामा खर्चन्छ।

व्यक्तिका चासो र रुचिहरू जुनसुकै क्षेत्र वा उद्योगमा भए पनि, जुनसुकै वर्गमा परे पनि, तिनीहरूले एउटा खोजको सल्काएर त्यससँग सम्‍बन्धित आदर्श र इच्छाहरूलाई स्थापित गरेपछि, तिनीहरूको जीवनको उद्देश्य र दिशा पनि निश्चित बन्छ। जब व्यक्तिको आदर्श र इच्छाहरू उसको जीवनको उद्देश्य बन्छ, तब यो संसारमा तिनीहरूको भविष्यको मार्ग लगभग तय हुन्छ। मैले किन यो तय हुन्छ भनेर भनेँ? यहाँ सम्बोधन गरिएको समस्या के हो? यो तैँले आफ्नो चासो र रुचिहरूबाट पैदा हुने आदर्श र इच्छाहरूलाई निर्धारित गरेपछि, तैँले त्यो दिशामा अटल र दृढ भावना र मानसिकता राख्ने र जीवनभरिको ऊर्जा, समय र मूल्य चुकाउने हदसम्मै मेहनत र सङ्घर्ष गर् पर्छ। तैँले स्थापित गरिसकेका जीवन उद्देश्यहरूले तेरो जीवन, नियति, सम्भावना, र तेरो अन्तिम गन्तव्य पनि अन्ततः तैँले स्थापित गरिसकेका जीवन उद्देश्यहरूबाट प्रभावित हुनेछन्, र तीसँग यी कुराहरू जोडिन्छन्। यहाँ मैले जोड दिन चाहेको मुख्य बुँदा के हो? व्यक्तिले निश्चित चासो वा रुचिको आधारमा आफ्ना खोज, आदर्श र इच्छाहरू स्थापित गरेपछि, ऊ तटस्थ रहन र केही नगरी बस्न छोड्छ। निश्चित चासो र रुचिहरूका कारण ठोस कार्यहरूले आकार लिन थाल्छन्। यसका साथै, यी निश्चित कार्यहरूको निर्देशनमा रही, तैँले आफ्नै आदर्श र इच्छाहरू स्थापित गर्नेछस्। त्यसबेलादेखि, तेरो हृदय रोकिनेछैन, र तेरो खुट्टा अचल हुनेछैन। तेरो नियति आफ्ना आदर्श र इच्छाहरूको लागि आफ्नो जीवन जिउने हुन्छ। तैँले कहिल्यै थोरै ज्ञान हासिल गरेर त्यतिमै चित्त बुझाउनेछैनस्। तँमा यस्ता प्रतिभा, क्षमता र गुणहरू भएको कारण, तैँले अवश्यै आफ्नो लागि उपयुक्त पद खोज्‍नेछस्, वा तैँले कुनै पछुतोबिना यो संसारमा र भीडको बीचमा उचाइ लिने र असाधारण व्यक्ति बन्ने अटुट प्रयास गर्नेछस्। तैँले विजय पाउँछु भन्‍ने ठोस विश्‍वासका साथ आफ्ना आदर्श र इच्छाहरूलाई पछ्याउनेछस्, र ती कुरा हासिल गर्नका लागि कुनै पनि मूल्य चुकाउन, कुनै पनि कठिनाइ, खतरा, र कष्ट सहनसमेत तयार हुनेछस्। मानिसहरूले किन यसो गर्न सक्छन्? आफ्ना चासो र रुचिहरूका आधारमा आदर्श र इच्छाहरूको विकास गरेपछि, तिनीहरूले किन यस्तो व्यवहार गर्न सक्छन्? (तिनीहरूले आफ्ना आदर्श हरूलाई पूरा गर्न, उच्चतर कुराहरू पछ्याउन, र अरूभन्दा माथि उठ्नका लागि यसो गर्छन्। परिणामस्वरूप, तिनीहरू कुनै पनि कठिनाइको सामना गर्दा पछि हट्दैनन्, बरु आफ्ना आदर्श र इच्छाहरूलाई पछ्याउने कार्यलाई जारी राख्छन्।) मानिसहरूमा जन्मजात अन्तर्ज्ञान हुन्छ। यदि तिनीहरूलाई आफ्‍ना सामर्थ्यहरू के हुन्, आफ्ना चासो र रुचिहरू के हुन् भन्‍ने कहिल्यै थाहा भएन भने, तिनीहरूलाई आफ्नो स्थान छैन भन्‍ने लाग्छ, तिनीहरू आफ्नै मूल्य बुझ्न सक्दैनन्, र तिनीहरूलाई आफू बेकामको छु भन्‍ने अनुभूति हुन्छ। तिनीहरूले आफ्नो मूल्य प्रदर्शन गर्न सक्दैनन्। तर, व्यक्तिले आफ्ना चासो र रुचिहरूलाई पत्ता लगाएपछि, यी कुराहरू तिनीहरूको मूल्य प्राप्त गर्ने पुल वा उत्प्रेरणा बन्छन्। तिनीहरू आफ्ना आदर्श हरूलाई पछ्याउन, अझै मूल्यवान् जीवन जिउन, उपयोगी व्यक्ति बन्न, भीडबाट माथि उठ्न र देखिन, सम्‍मान र अनुमोदन पाउन, अनि असाधारण व्यक्ति बन्नका लागि मूल्य चुकाउन तयार हुन्छन्। यसरी, तिनीहरू सन्तुष्ट जीवन जिउन, यो संसारमा सफल करियर बनाउन, र आफ्ना आदर्श र इच्छाहरूलाई पूरा गरेर बहुमूल्य जीवन जिउन सक्छन्। मानिसहरूका व्यस्त भीडहरूलाई हेर्दा, तिनीहरू जस्ता प्राकृतिक रूपमै वरदानप्राप्त, उच्‍च आदर्श र इच्छाहरू तय गरेका, र अटुट प्रयासद्वारा अन्तत: यी कुराहरू हासिल गरेका मानिसहरू थोरै मात्र देखिन्छ। तिनीहरूले आफूलाई मन पर्ने काम गरेर करियर बनाएका छन्, आफूले चाहेको ख्याति, नाफा, र प्रतिष्ठा कमाएका छन्, आफ्नो मूल्य देखाएका छन्, र आफ्नो गरिमा प्राप्त गरेका छन्। मानिसहरूले पछ्याउने कुरा यही हो। आफ्नो पृथक चासो र रुचिहरूद्वारा उत्प्रेरित भएर, हरेक व्यक्तिले आफ्नै खोज, आदर्श र इच्छाहरू निर्माण गरेको हुन्छ। अवश्य नै, आफ्ना आदर्श र इच्छाहरू तय गरेपछि, तिनीहरूले यी आदर्श र इच्छाहरू हासिल नगर्न पनि सक्छन्। तर, मानिसहरूले आफ्ना आदर्श र इच्छाहरू तय गरेपछि, तिनीहरूमा यी खोजहरू भएपछि, तिनीहरूले आफूलाई साधारण रहन दिनेछैनन्। भनिन्छ नि, सबै मानिस आफ्नो क्षमता प्रदर्शन गर्न चाहन्छन भन्‍ने, र अरूले तिनीहरूलाई अनुपम ठानून् भन्‍ने चाहन्छन्। कोही पनि यसो भन्‍ने साधारण व्यक्ति बन्न चाहँदैन, “मेरो जीवन यस्तै रहनेछ। म गाई गोठालो, किसान, डकर्मी, वा कुचीकार बन्न सक्छु। म त ढुवानीकर्ता वा वितरक ड्राइभर समेत बन्न सक्छु।” कसैसँग पनि त्यस्तो आदर्श हुँदैन। मानौँ तँ यसो भन्छस्, “के खुसी ढुवानीकर्ता बन्‍नु पनि आदर्श हुन्छ?” तब सबैले यसो भन्दै प्रतिक्रिया दिनेछन्, “अहँ, त्यो त आदर्श हुँदै होइन! ढुवानी कम्पनीको मालिक बन्‍नु, विश्‍व प्रसिद्ध मालिक बन्‍नु, त्यो चाहिँ आदर्श र इच्छा हो!” कसैले पनि साधारण व्यक्तिको रूपमा आफ्नो भूमिकालाई स्विकार्दैन। कुनै व्यक्तिले कुनै चासो वा रुचिको थोरै गन्ध पाउनेबित्तिकै, समाजमा एउटा प्रतिष्ठित व्यक्ति बन्ने वा साधारण सफलता हासिल गर्ने करोडौँमा एक मौका छ भने पनि, उसले हरेस खाँदैन। उसले यसको लागि १२० प्रतिशत मेहनत गर्नेछ र कुनै पनि मूल्य चुकाउनेछ, होइन र? (हो।) मानिसहरूले कहिल्यै हरेस खाँदैनन्।

मानिसहरूका चासो र रुचिहरूबाट पैदा हुने आदर्श र इच्छाहरूको प्रकृति कस्तो हुन्छ? हामीले यहाँ मानिसहरूका चासो र रुचिहरूबारे खुलासा गरिरहेका छैनौँ, त्यसैले हामीले वास्तवमा के कुराबारे खुलासा र चिरफार गरिरहेका छौँ त? के त्यो मानिसहरूका निश्‍चित चासो र रुचिहरूबाट पैदा हुने खोज, आदर्श र इच्छाहरूबारे होइन र? (हो।) के हामीले मानिसहरूले आफ्‍ना खोज, आदर्श र इच्छाहरूको कारण प्रदर्शन गर्ने विभिन्‍न व्यवहार र तिनीहरूले हिँड्ने मार्गहरूबारे खुलासा गरिरहेका छैनौँ र? के हामीले खुलासा गरिरहेको सार यही होइन र? (हो।) त्यसोभए मानिसहरूले आफ्‍ना खोज, आदर्श र इच्छाहरूको खातिर लिने मार्गहरू के-के हुन्? कुनै पनि व्यक्तिका खोज, आदर्श र इच्छाहरूले उसलाई कस्तो मार्गमा लैजान्छन्? तिनीहरूले कस्ता लक्ष्यहरू हासिल गर्छन्? आफ्‍ना खोज, आदर्श र इच्छाहरू पूरा गर्ने क्रममा, मानिसहरूले आफ्‍नो ऊर्जा र समय लगाउने, साथै अझै धेरै पीडा सहने र हरकिसिमका शारीरिक श्रम, थकान, तनाव, र अरू त्यस्तै कठिनाइहरू सहनेबाहेक, सबैभन्दा महत्त्वपूर्ण रूपमा, तिनीहरूले लिने मार्ग के हो? अर्थात्, मानिसहरूले आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्न लागिपर्दा, आफ्‍ना खोज, आदर्श र इच्छाहरू पूरा हुने अवस्था हासिल गर्न तिनीहरूले लिनुपर्ने मार्ग के हो? सर्वप्रथम, मानिसहरूले यो संसारमा आफ्‍ना खोज, आदर्श र इच्छाहरू पूरा गर्नको लागि आफ्‍नो पहिलो कदमको रूपमा के कुरा अध्ययन गर्नुपर्छ? (सबै किसिमका ज्ञान।) ठीक भन्यौ, तिनीहरूले सबै किसिमका ज्ञान सिक्‍नुपर्छ र ती कुराले आफूलाई सुसज्‍जित पार्नुपर्छ। तिनीहरूको ज्ञान जति धेरै प्रशस्‍त, व्यापक, र गहन हुन्छ, तिनीहरू आफ्ना खोज, आदर्श र इच्छाहरूमा त्यति नै धेरै नजिक हुँदै जान्छन्। तिनीहरूको ज्ञान जति धेरै व्यापक, प्रशस्‍त, र गहन हुँदै जान्छ, तिनीहरूलाई अनुभवी व्यक्तिको रूपमा पहिचान गरिने सम्‍भावना त्यति नै धेरै हुन्छ, र तिनीहरूले समाजमा त्यति नै उच्च हैसियत प्राप्त गर्छन्। यसको साथै, तिनीहरूको ज्ञान जति व्यापक, प्रशस्‍त, र गहन हुन्छ, तिनीहरूले त्यति नै बढी समय र ऊर्जा खर्चिनुपर्छ भन्‍ने यसको अर्थ हुन्छ। यो शारीरिक ऊर्जाको दृष्टिकोणबाट भनिएको कुरा हो। यसको साथै, आधारभूत ज्ञान प्राप्त गरेपछि, मानिसहरू आफ्‍ना खोज, आदर्श र इच्छाहरू पूरा गर्ने कार्यमा एक कदम अगाडि बढेका हुन्छन्। तर पर्याप्त ज्ञान प्राप्त गर्नु पहिलो कदम, अर्थात् सबैभन्दा तल्‍लो तहको जग मात्रै हो। यसपछि, मानिसहरूले आफूलाई समाजमा र भीडमा डुबाउनुपर्छ वा डाई लगाउने वा मासु पेल्ने मेसिनजस्ता तिनीहरूका आदर्श र इच्छाहरू खारिने ठाउँहरूमा डुबाउनुपर्छ, र हरतर्फका शक्तिहरूसँग प्रतिस्पर्धा, सङ्घर्ष, र होड गर्नुपर्छ, र विभिन्‍न प्रतियोगिता, प्रतिस्पर्धा, र सभाहरूमा सहभागी हुनुपर्छ। धेरै ऊर्जा खर्च गर्ने क्रममा, आफ्‍ना खोज, आदर्श र इच्छाहरू पूरा हुने अवस्था हासिल गर्नको लागि, मानिसहरूले विभिन्‍न परिस्थितिहरू र वातावरणहरूसँग पनि समायोजित हुनुपर्छ। यसको साथै, यो डाई लगाउने ठाउँमा, मानिसहरू भीडमा समायोजित हुन र समाजका प्रक्रियाहरू र व्यवहार नियमहरूमा समायोजित हुनको लागि आफ्‍नो ज्ञानमा भर पर्नुपर्ने हुन्छ, र आफूले भीडबाट सिकेको कुरामा, साथै आफूसँग पहिलेदेखि रहेका विधि, दर्शन, र अस्तित्वजीवी नियमहरूमा अझै बढी भर पर्नुपर्ने हुन्छ। यो प्रक्रियाद्वारा, मानिसहरू क्रमिक रूपमा आफ्‍ना खोज, आदर्श र इच्छाहरूको उद्देश्यहरूको नजिक पुग्छन्। कैयौँ कठिन घटनाहरूमा बाँचेपछि, अनि धेरै घुम्ती र मोडहरू पार गरेपछि, अन्तिम परिणाम के हुन्छ? तिनीहरूले विजेताहरूको रूपमा मुकुट पाउँछन्, र हरुवाहरूले केही पनि पाउँदैनन्। अन्त्यमा, यो परिणाम प्राप्त गरेपछि, तिनीहरूले आफ्‍नो जीवनका खोज, आदर्श र इच्छाहरू हासिल गर्छन्, र आफ्‍नो क्षेत्रमा आफ्ना जीवन लक्ष्यहरू पुरा गरेर आफ्नो दह्रिलो स्थान बनाउँछन्। त्यो बेलासम्‍म, मानिसहरू पहिले नै आधा उमेरका वा वृद्ध भइसकेका हुन्छन्, कति त आँखा राम्ररी देख्‍न नसक्‍ने, कपाल खुइलिएको, कान राम्ररी नसुन्‍ने र दाँत झरेको अवस्थामा पुगेर आफ्‍नो अन्तिम वर्षहरूमा जिइरहेका समेत हुन्छन्। त्यो उमेरमा, तिनीहरूले आफ्‍ना आदर्श र इच्छाहरू हासिल गरेका हुने भए पनि, धेरै हानिकारक कुराहरू पनि गरेका हुन्छन्। तिनीहरूले आफ्‍नो सारा जीवन यसमा लगाएका हुन्छन्। आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्नको लागि, आफ्‍नो जीवनभर तिनीहरूले आफ्‍नो इच्छाविपरीत धेरै कुराहरू बोलेका, नैतिकता र विवेकविपरीत धेरै कार्यहरू गरेका र धेरै सीमाहरू नाघेका, र धेरै अनुचित र अनैतिक कार्यहरूमा सहभागिता जनाएका समेत हुन्छन्। तिनीहरूले अरूलाई छल गरेका र आफू पनि धेरै पटक छलमा परेका हुन्छन्, र तिनीहरूले अरूलाई पराजित गरेका र आफू पनि अरूद्वारा पराजित भएका हुन्छन्। तिनीहरूले बाँच्‍नु र यो आधार पाउनु भाग्यको कुरा हो, र तिनीहरूको जीवन सिद्धजस्तो देखिन्छ, मानौँ तिनीहरूले आफ्‍नो महत्त्व पूरा गरेका छन् र व्यर्थमा जिएका छैनन्। तिनीहरूले आफ्‍नो सारा जीवन आफ्‍ना आदर्श र इच्छाहरूको लागि सङ्घर्ष गरेका, र बहुमूल्य र अर्थपूर्ण जीवन जिएका छन् जस्तो देखिन्छ। तैपनि, तिनीहरू आफूले लिनुपर्ने स्वव्यवहारको मार्ग देख्‍न सक्दैनन्, तिनीहरूमा आफ्‍नो जीवनसम्‍बन्धी कुनै पनि नीतिवाक्य हुँदैन, र तिनीहरूले आफ्‍नो सारा जीवन, मानवता, समाज, र आफैसँग समेत लडाइँ गर्दै आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्न नै सङ्घर्ष गरिरहेका हुन्छन्। तिनीहरूले आफ्‍नो स्वव्यवहारको लागि चाहिने विवेक, सीमा, र सिद्धान्तहरू गुमाएका हुन्छन्। तिनीहरूका आदर्श र इच्छाहरू पूरा भएका भए पनि, र तिनीहरूले हरेक चरणमा तय गरेका जीवन लक्ष्यहरू विभिन्‍न मोड र घुम्तीहरूपछि हासिल भएका भए पनि, तिनीहरूलाई भित्री रूपमा शान्ति वा सन्तुष्टि महसुस हुँदैन। सरल रूपमा भन्दा, तिनीहरूले आफ्‍नै चासो र रुचिहरूको लागि स्थापित गरेका खोज, आदर्श र इच्छाहरूले तिनीहरूलाई अन्ततः ख्याति र नाफा पछ्याउने मार्गमा पुर्‍याएको हुन्छ। आफ्‍ना अन्तिम उद्देश्यहरू हासिल गरेपछि, तिनीहरूलाई आत्मसम्‍मान कमाएको छु, आफ्नो स्थान पाएको छु, र ख्याति र नाफा दुवै कमाएको र पाएको छु भन्‍ने लागे पनि, मानिसहरूले साँचो रूपमा बुझ्‍नुपर्ने भविष्य, गन्तव्य, र मानव अस्तित्वको महत्त्वबारे तिनीहरू अनजान नै रहन्छन्। तिनीहरू पाको उमेरमा पुगेपछि, तिनीहरूलाई आफूले पछ्याएका सबै कुरा भ्रामक र खोक्रा थिएछन् भन्‍ने कुरा झन्झन् बढी महसुस हुँदै जान्छ। खोक्रो र भ्रामक अवस्थाले तिनीहरूमा एकपछि अर्को रित्तोपन र डर ल्याउँछ। वृद्ध अवस्थामा पुगेपछि मात्रै मानिसहरूले आफूले पछ्याएका आदर्श र इच्छाहरूले आफ्नो अभिमान सन्तुष्ट पार्ने र क्षणिक ख्याति र नाफा दिलाउने काम मात्र गरे, तर त्यो क्षणिक सान्त्वनाबाहेक केही पनि होइन रहेछ भन्‍ने कुरा महसुस गर्छन्। त्यस्तो सान्त्वना तुरुन्तै असहजता र डरमा परिवर्तन हुन्छ, किनभने मानिसहरू वृद्ध अवस्थामा पुग्दै गएपछि, तिनीहरूले आफ्‍नो भविष्य के हुन्छ, तिनीहरू के हुनेछन्, र मृत्युपछि के हुनेछ भन्‍नेबारेमा मनन गर्ने सम्‍भावना धेरै हुन्छ, अनि जब यी प्रश्‍नहरू अनुत्तरित हुन्छन्, जब तिनीहरूमा यी मामिलाहरूबारे कुनै सही सोच र दृष्टिकोण हुँदैन, तब तिनीहरूले डर र असहजता महसुस गर्न थाल्छन्। यो असहजता र डरले तिनीहरूलाई त्यो बेलासम्‍म सताउँछ, जुन बेला तिनीहरूले आँखा चिम्‍लन्छन् र मृत्युवरण गर्छन्। ख्याति र नाफाबाट आउने आनन्द मानव हृदयबाट तुरुन्तै हराएर जान्छ, र व्यक्तिले यसलाई खोस्‍ने र पकडमा राख्‍ने जति प्रयास गर्छ, यो त्यति नै सहज रूपमा हराएर जान्छ, र यो आनन्दको अनुभूति सहजै असहजता र डरमा परिवर्तन हुन्छ। परिणामस्वरूप, मानिसहरूका विभिन्‍न चासो र रुचिहरूबाट पैदा हुने आदर्श र इच्छाहरू जेसुकै भए पनि, तिनले अन्ततः तिनीहरूलाई ख्याति र फाइदा पछ्याउने मार्गमा पुर्‍याउँछन्, र मानिसहरूले अन्त्यमा हासिल गर्ने उद्देश्य र प्राप्त गर्ने कुरा ख्याति र नाफाबाहेक अरू केही हुँदैन। यस्तो ख्याति र फाइदाले मानिसहरूलाई क्षणिक सान्त्वना मात्रै दिन्छ र देहको अभिमानलाई क्षणिक रूपमा सन्तुष्ट मात्रै पर्छ। जब मानिसहरूले सत्यता बुझेका हुँदैनन्, तब तिनीहरूले आफ्‍ना खोज, आदर्श र इच्छाहरू वास्तविक हुन् भन्‍ने महसुस गर्छन्, यी कुराले तिनीहरूलाई स्थिर बनाउनेछ, संसारमा आफ्‍नो स्थान खोज्‍नु राम्रो हो, आफ्‍नो जीवनलाई निश्‍चित दिशातिर नियन्त्रण गर्नु र यसलाई काबुमा राख्‍नु, अनि आफ्‍नै नियतिको मालिक बन्‍नु राम्रो हुन्छ भन्‍ने महसुस गर्छन्। तर आफ्‍ना आदर्श र इच्छाहरू पूरा भएपछि, बल्‍ल मानिसहरूको चेत खुल्छ। अनि, यो चेत खुलाइको कारण के हो? तिनीहरूले जुन कुराको लागि आफ्‍नो जीवनको ऊर्जा खर्च गरे त्यो हातले पक्रन नसकिने वा हृदयले महसुस गर्न नसकिने खोक्रो कुरा हो भन्‍ने महसुस हुनु नै यसको कारण हो। तिनीहरूले यसलाई जति धेरै पक्रने र पकडमा राख्‍ने प्रयास गर्छन्, यो त्यति नै धेरै चिप्‍लेर जान्छ, र यसले तिनीहरूलाई रिक्तता र खोक्रोपनको अझै ठूलो अनुभूति गराउँछ, अनि अवश्य नै यसले अझै धेरै डर र पछुतोको अनुभूति पनि गराउँछ। मानिसहरूमा चासो र रुचिहरू हुने भएकाले, तिनीहरूले आदर्श र इच्छाहरू विकास गर्छन्, र यी आदर्श र इच्छाहरूले एक भ्रम पैदा गर्छन् र यो भ्रमले मानिसहरूलाई तिनीहरूसँग आफ्‍नो जीवन नियन्त्रण गर्ने, आफ्‍नो जीवन मार्ग नियन्त्रण गर्ने, र आफ्‍नो अस्तित्वको स्वरूप र उद्देश्य निर्धारित गर्ने क्षमता छ भन्‍ने विश्‍वास दिलाउँछ। यो भ्रमको मूल जडको रूपमा, मानिसहरूले सत्यता पछ्याउँदैनन् र सत्यताप्रति तिनीहरूको कुनै प्रेम छैन भन्‍ने तथ्य लुकेर रहेको हुन्छ, र अवश्य नै मानिसहरूले सत्यता नबुझेको कारण यसो हुन्छ भनेर पनि भन्‍न सकिन्छ। जब मानिसहरूले सत्यता बुझ्दैनन्, तब तिनीहरूले स्वभावैले तिनीहरूको देह वा आत्मालाई सन्तुष्ट महसुस गराउने कुराहरू पछ्याउँछन्। यी कुराहरू तिनीहरूबाट जति नै टाढा रहेका भए पनि, तिनीहरूले यी कुराहरू प्राप्त गर्न र पकडमा राख्‍न सक्छन् भन्‍ने तिनीहरूलाई महसुस भयो भने, यसको लागि तिनीहरू मूल्य चुकाउन र आफ्‍नो जीवनभरको ऊर्जा र समय खर्चनसमेत तयार हुन्छन्। मानिसहरूले सत्यता नबुझ्‍ने हुनाले, तिनीहरूले आफ्‍ना चासो र रुचिहरूलाई आफ्‍नो जीवन लक्ष्यहरू पछ्याउने कोसेढुङ्गा, र एक किसिमको योग्यता वा पुँजी हो भन्ठान्छन्, र यसको लागि तिनीहरू कुनै पनि मूल्य चुकाउन तयार हुन्छन्। तैँले यो मूल्य चुकाएपछि, यो मार्ग हिँड्न थालेपछि, तँ शैतान र संसारका प्रचलनहरू र व्यवहार नियमहरूले नियन्त्रण गरेको मार्ग हिँड्न बाध्य हुन्छस् भन्‍ने कुरा तँलाई थाहा हुँदैन। यसको साथै, तँ समाजको डाई लगाउने ठाउँ, र समाजको मासु पेल्‍ने मेसिनमा अनायासै डुब्‍न बाध्य हुन्छस्। यसले तँलाई डाई गरेर जुनै रङ्गको बनाए पनि, यसले तँलाई पेलेर जे-जस्तो बनाए पनि, तेरो मानवता जति नै विकृत बने पनि, तैँले आफैलाई यसो भन्दै सान्त्वना दिन्छस्, “मेरा आदर्श र इच्छाहरू पूरा गर्न, र मेरो भविष्यको खातिर, मैले यो सहनैपर्छ!” तैँले आफूलाई बारम्‍बार यसो भन्छस्, “म समाजअनुसार बदलिनुपर्छ, र म जस्तोसुकै रङ्गको बने पनि, मैले यसलाई स्विकारेर यहीअनुसारको बन्‍नुपर्छ।” यी सबै फरक-फरक वातावरणअनुसार आफूलाई अनुकूल बनाउने क्रममा, तैँले आफूमाथि लगाइने विभिन्‍न रङ्गहरूअनुसार आफ्‍नो भेस बदलिरहेको हुन्छन्, र फरक शैली र चरित्र लिएर निरन्तर आफ्‍नो फरक-फरक रूप स्विकारिरहेको हुन्छस्। यसरी, मानिसहरू अनजानमा झन्झन् अचेत बन्दै जान्छन्, तिनीहरूले झन्झन् लज्‍जाबोध गुमाउँदै जान्छन्, र तिनीहरूका, इच्छा, र निर्णयहरू निर्देशित वा नियन्त्रण गर्न तिनीहरूका विवेक र समझ झन्झन् असमर्थ हुँदै जान्छन्। अन्त्यमा, विभिन्‍न हदसम्‍म, धेरैजसो मानिसहरूले आफ्ना आदर्श र इच्छाहरू पछ्याउँछन् र हासिल पनि गर्छन्। अवश्य नै, केही व्यक्तिहरूले जे-जसरी पछ्याए पनि वा जति नै धेरै प्रयास गरे पनि र जति नै कष्ट भोगे पनि, तिनीहरू अझै पनि आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्न असक्षम रहन्छन्। तर अन्तिम परिणाम जे भए पनि, मानिसहरूले केचाहिँ प्राप्त गर्छन् त? सफल हुनेहरूले ख्याति र नाफा पाउँछन्, जबकि असफल हुनेहरूले यो ख्याति र नाफा पाउन सक्दैनन्, तर तिनीहरूले प्राप्त गर्ने कुरा पनि सफल मानिसहरूको जस्तै नै हुन्छ—तिनीहरूले पनि शैतान, यो दुष्ट मानवजाति, र सम्पूर्ण सामाजिक संयन्त्र र समाजको दुष्ट प्रभावले उत्प्रेरित गर्ने विभिन्‍न हानि र नकारात्मक विचारहरू प्राप्त गर्छन्। नत्र, मानिसहरूले किन पो “मैले धेरै भोटो फटाएको छु,” “चलाख बूढो स्याल,” “अनुभवी र चलाख सर्प,” वा “धेरै आँधीहरू सामना गरेको,” आदि इत्यादिजस्ता वाक्यांशहरू बारम्बार प्रयोग गर्थे र? तैँले आफ्‍ना आदर्श र इच्छाहरू पछ्याउने हुनाले, तैँले समाजको यो डाई लगाइने ठाउँमा र मासु पेल्‍ने मेसिनमा धेरै कुराहरू पनि “सिक्छस्।” तैँले आफ्‍नो शारीरिक अन्तर्निहित क्षमतामा नरहेका कुराहरू “सिक्छस्”—यहाँ “सिक्छस्” भन्‍ने शब्‍दलाई उद्धरण चिन्हभित्र राखिनुपर्छ। अनि यो “सिक्‍नु” ले केलाई जनाउँछ? यसको अर्थ समाज, शैतान, र दुष्ट मानवजातिले तेरो मगजमा सामान्य मानव विवेक र समझविपरीतका विभिन्‍न विचारहरू हालिदिनु हो, जसले गर्दा तँ झन्झन् विवेक र समझविहीन भएर जिउँछस्, तँलाई लज्‍जाबोध झन्झन् नहुन थाल्छ, र तैँले सामान्य मानिसहरू र सही मार्ग हिँड्ने मानिसहरूलाई झन्झन् घृणा गर्दै जान्छस्। यसअलावा, सबैभन्दा खराब परिणाम के हुन्छ? तैँले सामान्य मानवता, विवेक, र समझ भएका मानिसहरूलाई झन्झन् हेलाको नजरले हेर्ने मात्रै होइन, तैँले विवेक र नैतिकतालाई धोका दिने मानिसहरूको घृणित कार्यहरूप्रति समेत डाहा र सम्‍मान गर्छस्, र तिनीहरूका घृणित कार्य र खराब व्यवहारबाट तिनीहरूले प्राप्त गरेका भौतिक सम्पत्ति वा आर्थिक लाभहरूप्रति डाहा गर्छस्। के यसको परिणाम यही होइन र? (हो।) यो त झन् भयानक परिणाम हो, अर्थात् मानिसहरूले आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्ने प्रयास गर्दा, तिनीहरूको मुहार झन्झन् भयङ्कर र डरलाग्दो हुँदै जान्छ, तिनीहरूको विवेक र समझ क्रमिक रूपमा हराउँदै जान्छ, र तिनीहरूको नैतिक दृष्टिकोण, जीवन दृष्टिकोण, र व्यवहार झन्झन् दुष्ट, कुरूप, घिनलाग्दो, र तुच्छ बन्दै जान्छ।

व्यक्तिले चासो र रुचिहरू विकास गरेको क्षणदेखि उसले आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्दासम्‍मको यो प्रक्रियामा, तिनीहरूले हिँड्ने मार्ग र तिनीहरू संलग्‍न हुने कार्यहरू—अर्थात्, तिनीहरूको वर्तमान जीवनको सबै परिस्थिति—समाज र दुष्ट प्रचलनहरूले गाँजेको जीवन परिस्थिति हो भनेर भन्‍न सकिन्छ। वास्तवमा, यो एउटा यस्तो प्रक्रिया पनि हो जुन बेला मानिसहरूले आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्ने प्रयासमा शैतानको चालबाजी, कुल्चाइ, र शोषण सहर्ष स्वीकार गर्छन्। यो प्रक्रिया शैतानले मानिसहरूलाई थप रूपमा र अझै निर्दिष्ट तवरले सबै कुरामा भ्रष्ट तुल्याउने प्रक्रिया पनि हो। तैँले सामना गर्ने हरेक परिस्थितिमा, शैतानले तेरो दिमागमा तैँले आफ्‍ना उद्देश्यहरू हासिल गर्नको लागि, आवश्यक पर्ने हर कुनै माध्यम प्रयोग गर्नुपर्छ, र सकारात्मक र सामान्य मानवताले पालना गर्नुपर्ने मानव मर्यादा, व्यक्तिगत सत्यनिष्ठा, नैतिक सीमाहरू, आफ्‍नो विवेक, र उचित स्वव्यवहारको मापदण्डजस्ता कुराहरू त्याग्‍नुपर्छ भन्‍ने विचार निरन्तर हालिदिन्छ। यसले तँलाई भ्रममा पारेर यी कुराहरू क्रमिक रूपमा त्याग्‍न लगाउने हुनाले, यसले तेरो विवेक, समझ, र नैतिक सीमा, साथै तँसँग भएको थोरै लाजमा पनि चुनौती दिन्छ। यसले यी कुराहरूमा चुनौती दिइसकेपछि, यसले तँलाई दुष्ट प्रचलनहरूको बहकाउ, परीक्षा, नियन्त्रण, र कुल्चीमिल्चीमाझ निरन्तर सम्झौताहरू गर्न लगाउँछ। अनि, निरन्तर सम्झौता गर्ने प्रक्रियामा, तैँले मानिसहरू र परिस्थितिहरूलाई कसरी हेर्ने र कसरी कस्तो व्यवहारमा आफूलाई ढाल्‍ने र कार्य गर्ने भन्‍नेबारेमा शैतानले हालिदिएका विचार र दृष्टिकोणहरू छनौट गर्छस्, र शैतानले तँमा हालिदिएका विचार र दृष्टिकोणहरूलाई, साथै र व्यवहार र कार्य गर्ने शैतानकै तौरतरिका र विधिहरूलाई सक्रिय रूपमा अभ्यास गर्छस्। तँ इच्छा नलागी-नलागी र अनायासै यी सबै कार्यमा संलग्‍न हुन्छस्, तर यो सँगसँगै, आफ्‍ना आदर्श र इच्छाहरू हासिल गर्नको लागि, तँ अरूसित अनुकूल बन्‍ने मनोवृत्तिले यो सबै स्वेच्छा र सक्रियपूर्वक गर्न तयार हुन्छस्। छोटकरीमा भन्दा, यो प्रक्रियामा, मानिसहरू निष्क्रिय रहन्छन्, तर अर्को दृष्टिकोणबाट हेर्दा, तिनीहरू शैतानको नियन्त्रण र भ्रष्टतामा सक्रिय रूपमा लागिरहेका हुन्छन्। आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्ने प्रयास गर्दा, तिनीहरू सारा समय समाजको दुष्ट प्रचलनहरूको डाई लगाउने ठाउँमा, अर्थात्‌ यी कुराहरूको पकडमा रहेर जिउँछन्। त्यसैगरी, तिनीहरू इच्छुक र अनिच्‍छुक दुवै अवस्थामा रही जटिल र विरोधाभासपूर्ण मनस्थितिमा जिउँछन्, र वास्तविक वातावरणमा त्यो जटिल पनि हुन्छ र विरोधाभासपूर्ण पनि हुन्छ। यो प्रक्रियाद्वारा, मानिसहरू आफूले पछ्याउँदै आएका आदर्शहरू, इच्छाहरू, र जीवन लक्ष्यहरूको नजिक पुग्‍ने क्रममा, तिनीहरू झन्झन् कम मानवजस्तो बन्छन्, तिनीहरूको विवेक झन्झन् अचेत बन्दै जान्छ, र तिनीहरूको समझशक्ति घटेर जान्छ। तैपनि, मानिसहरूले आफूसँग आदर्श र इच्छाहरू छन् भनेर भित्रै मनदेखि विश्‍वास गर्छन्, कतिले त आफ्‍ना आदर्श र इच्छाहरू नै दृढ निश्‍चयताहरू हुन्, र आफ्‍नो हृदयमा दृढ निश्‍चयता छ भन्‍नुको अर्थ आफूमा विश्‍वास छ, र जीवनमा व्यक्तिको यस्तै विश्‍वास हुनुपर्छ भनेर समेत भन्छन्। तिनीहरूले के विश्‍वास गर्छन् भने, तिनीहरूमा विश्‍वास भएको कारण तिनीहरू सामान्य मानवजाति हुन्, त्यसकारण तिनीहरूले आफ्‍ना पहिलेका विधिहरू र अस्तित्वजीवी नियमहरूअनुसार आफ्ना खोजहरू जारी राख्‍नुपर्छ, र जबसम्‍म यसका परिणामहरू असल हुन्छन्, र जबसम्म यसले तिनीहरूलाई आफ्‍नो जीवनका आदर्श र लक्ष्यहरूको नजिक ल्याउँछ, तबसम्‍म तिनीहरूले यसको लागि चुकाउने जुनसुकै मूल्य पनि सार्थक नै हुन्छ, चाहे यसको लागि सबैथोक नै गुमाउनु किन नपरोस्। परिणामस्वरूप, इच्छुक र अनिच्‍छुक दुवै हुने विरोधाभासपूर्ण मनस्थितिमा रहेर, मानिसहरूले निरन्तर शैतानको नियन्त्रण, यसका विचारहरू, र यसका चालबाजी र चलाकीहरू स्विकारिरहन्छन्। मानिसहरूलाई समाज र दुष्ट प्रचलनहरूले भ्रष्ट तुल्याएका छन् भन्‍ने कुरा राम्ररी थाहा भएर पनि, यस्ता परिस्‍थितिहरूमा, तिनीहरूले आफ्‍ना आदर्शहरू पूरा गर्न र आफ्‍नो जीवन लक्ष्य हासिल गर्ने आफ्‍नो खोजलाई जोडदार रूपमा निरन्तरता दिन्छन्। तिनीहरूले कुनै पनि आवश्यक माध्यम प्रयोग गर्न आफू सक्षम रहेको र आफूले कहिल्यै हरेस नखाएको कारण, आफूलाई बधाई दिँदै, आफूमा अहिलेसम्‍म निरन्तर अघि बढ्ने दृढता रहेको कुराप्रति आनन्द लिन्छन्। आफ्‍ना आदर्श र इच्छाहरू पछ्याउने क्रममा, मानिसहरूले देखाउने व्यवहारहरूलाई, साथै तिनीहरूले लिने मार्ग र तिनीहरूमा हुने विभिन्‍न रूपान्तरणहरूलाई हेर्दा, आफ्ना आदर्श र इच्छाहरू पूरा गर्ने प्रयासको मार्ग कस्तो हो? (यो विनाशमा पुर्‍याउने मार्ग हो।) यो फर्केर आउन नसकिने बाटो हो, जहाँ मानिसहरू जति अगाडि बढ्छन्, परमेश्‍वरबाट त्यति नै टाढा जान्छन्। यसलाई विनाशको मार्ग हो भनेर पनि भन्‍न सकिन्छ। मानिसहरूले स्थापित गरेका आदर्श र इच्छाहरूले पुर्‍याउने जीवन लक्ष्यहरूमा तिनीहरूलाई शैतानले पर्खिरहेको हुन्छ। अनि, यी जीवन लक्ष्यहरूको साथमा, तिनीहरूलाई साथ दिने र पछ्याउने कुरा सत्यता, र परमेश्‍वरका वचनहरू हुँदैनन्। त्यसोभए केचाहिँ हुन्छ त? (शैतान, र यसका दुष्ट प्रचलनहरू र संसारसँग व्यवहार गर्ने विभिन्न दर्शनहरू हुन्छन्।) तिनीहरूलाई शैतानले, र यसका नियन्त्रण, भ्रष्टता, चलाकी, र निरन्तरका परीक्षाले पछ्याइरहेका हुन्छन्। यो फर्केर आउन नसकिने, विनाशको मार्ग हो, होइन र? (हो।) किनभने मानिसहरूले आफ्‍ना आदर्श र इच्छाहरू पछ्याउने क्रममा, तिनीहरूले आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्ने कार्यलाई लक्ष्यको रूपमा पछ्याइरहेका हुँदैनन्, बरु तिनीहरूले यी कुराहरू पछ्याउने कार्यलाई ख्याति र सम्पत्ति कमाउने मुख्य प्रेरणा-शक्ति र जगको रूपमा प्रयोग गरिरहेका हुन्छन्। यो मामिलाको सार र सत्यता यही हो। यो मार्गले मानिसहरूलाई ख्याति र फाइदाप्रति, र संसारका दुष्ट प्रचलनहरूप्रति झन्झन् तृषित मात्रै बनाउँदै लैजान्छ। यो मार्गले मानिसहरूलाई झन्झन् गहिराइमा डुबाउँदै मात्रै लैजान्छ, जसले गर्दा तिनीहरू झन्झन् भ्रष्ट, र झन्झन् समझ र विवेक नभएको व्यक्ति बन्दै जान्छन्, र यसरी तिनीहरू सकारात्मक कुराहरूबाट टाढिन्छन्। यो सँगसँगै, यसले सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने जीवन जिउने अझै व्यावहारिक तरिका र जीवन लक्ष्यहरूबाट तिनीहरूलाई झन्झन् टाढा लैजान्छ। यसले गर्दा मानिसहरूको भ्रष्ट स्वभावले झन्झन् गहिरो जरा गाड्छ, र यसले तिनीहरूलाई परमेश्‍वरको सार्वभौमिकता र योजनाबद्ध कार्यबाट झन्झन् टाढा मात्रै बनाउँछ। अनि अवश्‍य नै, यसले मानिसहरूलाई सकारात्मक र नकारात्मक कुराहरूबीच भिन्‍नता छुट्याउन झन्झन् गाह्रो बनाउँदै जान्छ। तथ्य यही हो। त्यसोभए, हामीले यी समस्याहरू कसरी समाधान गर्न सक्छौँ? हामीले मानव खोज, आदर्श र इच्छाहरूको सार बुझेपछि, हामीले केबारे सङ्गति गर्नुपर्छ? यो मानिसहरूका खोज, आदर्श र इच्छाहरू कसरी त्याग्‍ने भन्‍ने विषयमा हुनुपर्छ, होइन र? (हो।)

हामीले भर्खरै आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्ने प्रयास कसरी फर्केर आउन नसकिने, र विनाशमा पुर्‍याउने मार्ग हो भनेर सङ्गति गरिरहेका थियौँ—त्यसोभए के मानिसहरूले त्यस्तो जीवन शैली त्याग्‍नुपर्दैन त? (पर्छ।) तिनीहरूले आफ्‍नो जिउने शैली त्याग्‍नु र परिवर्तन गर्नुपर्छ: यो जीवनको न त सही तरिका न त सही मार्ग नै हो। यो सही होइन, त्यसकारण यसलाई त्याग्‍नुपर्छ, आफ्‍नो जिउने शैली परिवर्तन गर्नुपर्छ र जीवन र अस्तित्वसम्‍बन्धी सही शैली अपनाउनुपर्छ। अनि अवश्य नै, मानिसहरूले अरूका चासो र रुचिहरूलाई कसरी लिने, र अरूका खोज, आदर्श र इच्छाहरूलाई कसरी लिने भन्‍नेबारेमा सही शैली अपनाउनुपर्छ। मानिसहरूका प्रतिभा र वरदानहरू, साथै यी चासो र रुचिहरूले तिनीहरूलाई आफ्‍ना खोज, आदर्श र इच्छाहरू स्थापित गर्न सहयोग गर्छन्, साथै यी कुराले तिनीहरूलाई आफूले पछ्याउने लक्ष्यहरू निर्माण गर्न पनि सहयोग गर्छन्। तर यी लक्ष्यहरू सही हुँदैनन्, र मानिसहरूलाई फर्केर आउन नसकिने मार्गमा लैजान्छन्, र यसरी तिनीहरूलाई परमेश्‍वरबाट झन्झन् टाढा लगेर विनाशमा पुर्‍याउँछन्। यी लक्ष्यहरू सही नभएकाले, सही कार्यदिशा के हो त? सुरुमा हामी के कुरा हेरौँ भने, मानिसहरूमा चासो र रुचिहरू हुनु सही हो कि होइन, अर्थात् के तिनीहरूका चासो र रुचिहरूलाई नकारात्मक कुराहरूको वर्गमा राख्‍न सकिन्छ कि सकिँदैन? (अहँ, सकिँदैन।) मानिसहरूका चासो र रुचिहरू अन्तर्निहित रूपमा गलत हुन्छन् भन्‍ने हुँदैन र अवश्य नै यी नकारात्मक कुराहरू हुन् भनेर पनि भन्‍न सकिँदैन। यी कुराहरूलाई निन्दा वा आलोचना गरिनु हुँदैन। मानिसहरूसित निश्‍चित क्षेत्रमा चासो, रुचि, र प्रतिभाहरू हुनु सामान्य मानवताको भाग हो—हरेक व्यक्तिमा यी कुराहरू हुन्छन्। कतिलाई नाच्‍न मन पर्छ, कतिलाई गाउन, चित्र बनाउन, प्रस्तुति दिन, मेकानिक काम गर्न, अर्थशास्‍त्र, इन्जिनियरिङ, औषधि, खेतीबारी, पानी जहाज चलाउने, वा निश्‍चित खेलकुदहरू मन पर्छ, अरूलाई भूगोल, भूविज्ञान, वा उडान शिक्षा मन पर्छ, अनि अवश्य नै, कति अरूलाई अलिक अस्पष्ट विषयहरू अध्ययन गर्न मन पर्छ। व्यक्तिका चासो र रुचिहरू जे-जस्ता भए पनि, यी सबै मानवता र सामान्य मानव जीवनका भाग हुन्। यी कुराहरूलाई नकारात्मक कुराहरू भनेर नराम्रो बनाउनु हुँदैन, न त यी कुरालाई आलोचना न त प्रतिबन्ध गर्नु नै हुन्छ। अर्थात्, तँमा भएको कुनै पनि चासो र रुचि जायज नै हुन्छ। यसरी, कुनै पनि चासो वा रुचि जायज हुने हुनाले र यी कुरालाई अस्तित्वमा रहन पनि दिइनुपर्ने हुनाले, यी कुराहरूसँग सम्‍बन्धित आदर्श र इच्छाहरूलाई कसरी लिइनुपर्छ? उदाहरणको लागि, कतिपय मानिसहरूलाई सङ्गीत मन पर्छ। तिनीहरूले “म सङ्गीतकर्मी वा सङ्गीत निर्देशक बन्‍न चाहन्छु” भनेर भन्छन्, त्यसपछि अध्ययन गरेर सङ्गीतमा अघि बढ्नको लागि अरू सबै कुरा बेवास्ता गर्छन्, र सङ्गीतकर्मी बन्‍ने जीवन लक्ष्य र दिशा निर्धारित गर्छन्। के यसो गर्नु ठीक हुन्छ? (यसो गर्नु ठीक हुँदैन।) यदि तँ परमेश्‍वरमा विश्‍वास गर्दैनस् भने, यदि तँ संसारकै पाटो होस् र तैँले आफ्‍ना चासो र रुचिहरूद्वारा स्थापित गरेका आदर्श र इच्छाहरू पूरा गर्नको लागि नै आफ्‍नो जीवन कटाउँछस् भने, यसबारेमा हामीलाई केही भन्‍नु छैन। अहिले, परमेश्‍वरको विश्‍वासीको रूपमा, यदि तँसँग त्यस्ता चासो र रुचिहरू छन् र तँ आफ्‍ना चासो र रुचिहरूद्वारा आफूले स्थापना गरेका आदर्श र इच्छाहरू पूरा गर्नको लागि पूरै जीवनकालको मूल्य चुकाउँदै सारा जीवन समर्पित गर्न चाहन्छस् भने, त्यो असल बाटो हो कि खराब बाटो हो? के त्यो कुरा प्रवर्धन गर्न लायक कुरा हो? (यो प्रवर्धन गर्न लायक कुरा होइन।) यो प्रवर्धन गर्न लायक कुरा हो कि होइन भनेर अहिल्यै कुरा नगरौँ; सबै कुरालाई गम्‍भीरतासाथ हेर्नुपर्छ, त्यसकारण यो सही हो कि गलत हो भनेर निर्धारित गर्न तैँले त्यो काम कसरी गर्छस्? तैँले परमेश्‍वरका शिक्षाहरू र उहाँले तँलाई दिनुहुने मुक्ति र तँबाट गर्नुभएका अपेक्षाहरू, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरका अभिप्राय, तेरो मिसन, र तेरो कर्तव्यसँग तैँले स्थापित गरेका खोज, आदर्श र इच्छाहरूको कुनै सम्‍बन्ध छ कि छैन, र तिनले तँलाई आफ्‍नो मिसन पूरा गर्न र आफ्‍नो कर्तव्य अझै प्रभावकारी रूपमा पूरा गर्न सहयोग गर्छन् कि गर्दैनन्, वा तिनले तैँले मुक्ति पाउने सम्‍भावना बढाउँछन् कि बढाउँदैनन् र तँलाई परमेश्‍वरको अभिप्राय पूरा गर्न सहयोग गर्छन् कि गर्दैनन् भन्‍ने कुराहरू सोचविचार गर्नुपर्छ। साधारण व्यक्तिको रूपमा, तैँले आफ्‍ना आदर्श र इच्छाहरू पछ्याउनु तेरो अधिकार हो, तर तैँले आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्ने र यो मार्ग पछ्याउने क्रममा, के तिनले तँलाई मुक्तिको मार्गमा डोर्‍याउँछन्? के तिनले तँलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा डोर्‍याउँछन्? के तिनले अन्तिममा तँलाई परमेश्‍वरप्रतिको पूर्ण समर्पण र आराधनामा डोर्‍याउँछन्? (डोर्‍याउँदैनन्।) त्यो कुरा पक्‍का छ। तिनले डोर्‍याउँदैनन्, त्यसकारण परमेश्‍वरको विश्‍वासीको रूपमा, तेरा चासो, तेरा रुचिहरू, र तेरा प्रतिभा र वरदानहरूसमेतको कारण स्थापित भएका आदर्श र इच्छाहरू सकारात्मक कुरा हुन् कि नकारात्मक? तँमा ती हुनु हुन्छ कि हुँदैन? (ती नकारात्मक कुराहरू हुन्; हामीसँग त्यस्ता कुराहरू हुनु हुँदैन।) तँमा ती कुरा हुनु हुँदैन। त्यसोभए, व्यक्तिका आदर्श र इच्छाहरूको प्रकृति कस्तो बन्छ? त्यो सकारात्मक कुरा बन्छ कि नकारात्मक? ती कुराहरू तँसँग हुनुपर्ने कुराहरू बन्छन् कि तँसँग हुन नहुने कुराहरू बन्छन्? (ती नकारात्मक कुराहरू, अर्थात् मसँग हुन नहुने कुराहरू बन्छन्।) ती कुराहरू तँसँग हुन नहुने कुराहरू बन्छन्। कतिपय मानिसहरू भन्छन्, “यदि ममा ती कुराहरू हुनु हुँदैन भने, यसको अर्थ तपाईंले मेरो अधिकार खोसिरहनुभएको हुन्छ!” मैले तेरो अधिकार खोसिरहेको छैनँ; मैले त मानिसहरूले कस्तो मार्ग हिँड्नुपर्छ र सत्यता कसरी खोजी गर्ने भन्‍नेबारेमा कुरा गरिरहेको छु। मैले तेरो अधिकार खोसिरहेको छैनँ; निर्णय गर्ने अधिकार तेरो हो, र तैँले छनौट गर्न सक्छस्। तर यो मामिलाको प्रकृति के हो र यसलाई कसरी मूल्याङ्कन गर्ने भन्‍ने कुरा गर्नुपर्दा, यसमा हाम्रो तर्कको आधार छ र हामीले जथाभाबी बोलिरहेका छैनौँ। यदि तैँले परमेश्‍वरका वचनहरूलाई आफ्‍नो आधारको रूपमा लिएर सत्यताको दृष्टिकोणले बोलिस् भने, कुनै पनि व्यक्तिका आदर्श र इच्छाहरू सकारात्मक हुँदैनन्। अवश्य नै, अझै सटीक रूपमा भन्दा, यदि परमेश्‍वरको विश्‍वासीको रूपमा तँ सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न चाहन्छस् भने, यदि तँ सत्यता पछ्याउन र परमेश्‍वरको डर मान्‍ने, दुष्टताबाट अलग बस्‍ने, र परमेश्‍वरमा समर्पित हुने स्थिति हासिल गर्न चाहन्छस् भने, तँमा सांसारिक मानिसहरूमा हुने जस्तै आदर्श र इच्छाहरू हुनु हुँदैन। अर्को शब्‍दमा भन्दा, यदि तँ सत्यता पछ्याउन र मुक्ति पाउन चाहन्छस् भने, तैँले सुरुमा आफ्‍ना खोज, आदर्श र इच्छाहरू त्याग्‍नुपर्छ। यसलाई फरक तरिकाले भन्दा, यदि तँ सत्यता पछ्याउन र मुक्ति पाउन चाहन्छस् भने, तैँले आफ्‍ना आदर्श र इच्छाहरू पछ्याउनु हुँदैन, र तैँले विशेष गरी ख्याति र नाफा पाउने उद्देश्‍यले यी आदर्श र इच्छाहरू पछ्याउने कार्य प्रयोग गर्नु हुँदैन। के यसलाई यसरी बताउन सकिन्छ? (सकिन्छ।) अब यो सबै स्पष्ट भयो। परमेश्‍वरको विश्‍वासीको रूपमा, तैँले सत्यता पछ्याउन इच्छा गर्ने र मुक्ति पाउन चाहने हुनाले, तैँले आफ्‍ना खोज, आदर्श र इच्छाहरू त्याग्‍नुपर्छ, यो मार्ग छोड्नुपर्छ, अर्थात् ख्याति र नाफा खोज्‍ने यो मार्ग, अनि यी आदर्श र इच्छाहरू त्याग्‍नुपर्छ। तैँले आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्ने कार्यलाई आफ्‍नो जीवन लक्ष्यको रूपमा छनौट गर्नु हुँदैन; बरु, यो लक्ष्य त सत्यता पछ्याउने र मुक्ति पाउने लक्ष्य हुनुपर्छ।

कतिपय मानिसहरू सोध्छन्, “मैले आफ्‍ना खोज, आदर्श र इच्छाहरू पूरा गर्न नसक्‍ने रहेछु, र मैले ती सब त्यागेको छु, त्यसकारण मैले आफ्‍ना चासो र रुचिहरूबारे चाहिँ के गर्ने?” त्यो तेरो आफ्‍नै कुरा हो। तँसँग चासो र रुचिहरू हुन सक्छन्, तर यी कुराले तेरो सामान्य खोजमा बाधा दिँदैनन्, तँलाई आफ्‍नो कर्तव्य निर्वाह गर्न र आफ्‍नो मिसन पूरा गर्नमा हस्तक्षेप गर्दैनन्, र तेरो जीवन लक्ष्यहरू वा तैँले लिने मार्गमा असर पुर्‍याउँदैनन् भने, तैँले यी चासो र रुचिहरूलाई राख्‍न सक्छस्। अनि अवश्य नै, यो कुरालाई यसरी पनि बुझ्‍न सकिन्छ: यी चासो र रुचिहरू तेरो मानवताका भाग भएकाले, तैँले यी कुरा परमेश्‍वरले तँलाई दिनुभएका कुराहरू हुन् भनेर पनि भन्‍न सक्छस्। व्यक्तिको रूप, परिवार, पृष्ठभूमि, र बाँच्‍ने स्थानजस्ता सबै कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। त्यसकारण, तँसँग भएका चासो र रुचिहरू परमेश्‍वरले तँलाई दिनुभएको हो भन्‍ने कुरा हामी इन्कार गर्न सक्दैनौँ। यो तथ्य इन्कार्न सकिँदैन, र यो कुरा निश्‍चित छ। उदाहरणको लागि, कतिपय मानिसहरू भाषा, चित्रकला र सङ्गीतमा, अनि आवाज र रङ्गहरू छुट्याउनमा दक्ष हुन्छन्। तर यी कुराहरू तेरा विशेष सीप भए पनि वा चासो र रुचिहरू भए पनि, ती सबै मानवताकै भाग हुन् भनेर भन्‍न सकिन्छ। परमेश्‍वरले किन मानिसहरूलाई निश्‍चित चासो र रुचिहरू दिनुहुन्छ? यो तेरो मानव जीवनलाई अलिक बढी सम्‍पन्‍न र रङ्गिन बनाउनको लागि हो, ताकि तँलाई जीवनको सही मार्ग हिँड्न असर नपारी तेरो जीवनमा मनोरञ्जन र खाली समयका तत्त्वहरू थपिन सकून्, र तेरो जीवन त्यति निरस, न्यास्रो, र एकोहोरो नहोस्। उदाहरणको लागि, जब भेलाहरूमा भजनहरू गाउने समय आउँछ, बाजागाजा बजाउन सक्‍ने व्यक्तिले पियानो वा गितार बजाएर साथ दिन सक्छ। यदि कसैले बजाउन सक्दैन भने, कसैले पनि यो खुसी पाउन सक्दैनन्। यदि कसैले बाजागाजा बजाएर साथ दिन सक्छ भने, बाजागाजा नबजाई गाउँदा भन्दा राम्रो हुन्छ, र सबैलाई रमाइलो लाग्छ। यसको साथै, यसले क्षितिज फराकिलो बनाउँछ, अनुभवहरू सम्पन्‍न बनाउँछ, र जीवनले अझै बढी गहनता पाउँछ, मानिसहरूलाई जीवन अझै सुन्दर छ भन्‍ने महसुस हुन्छ, र तिनीहरूको मुड अझै प्रफुल्लित बन्छ। यो कुरा तिनीहरूका सामान्य मानवता र परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरूले लिने मार्ग दुवैको लागि फाइदाजनक हुन्छ। उदाहरणको लागि, यदि तँलाई चित्र बनाउन मन पर्छ भने, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवन पट्यारलाग्दो भएको बेला, तैँले हास्यव्यङ्ग्य चित्रहरू कोर्न, र मानिसहरूका निश्‍चित नकारात्मक अभिव्यक्ति र अनुहारहरू, र नकारात्मक भनाइहरू चित्रित गर्दै चतुर र रमाइला कार्टुनहरू बनाउन सक्छस्, र त्यसपछि त्यसलाई सानो पुस्तिका बनाएर ती नकारात्मक व्यक्तिहरूलगायत सबैलाई बाँड्न सक्छस्। जब तिनीहरूले यो देखेर “छ्या, यो त मेरो चित्र होइन” भनेर भन्छन्, तब तिनीहरू हाँस्छन् र खुसी मान्छन्, र त्यसपछि तिनीहरू नकारात्मक हुन छोड्नेछन्। के यो राम्रो कुरा होइन र? यसको लागि धेरै मेहनत लागेन, तैपनि यसले तिनीहरूलाई नकारात्मकताबाट सजिलै निस्कन मद्दत गर्‍यो। खाली समयमा, चित्र बनाउने, वाद्ययन्त्र बजाउने, कलाबारे छलफल गर्ने, वा विभिन्‍न प्रकारका नकारात्मक मानिसहरू, फरक-फरक प्रकारका अहङ्कारी व्यक्तिहरू, र स्वेच्‍छाचारी ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूलगायत विभिन्‍न पात्रहरूको अभिनय गर्ने र प्रस्तुति दिने गर्दा, यसले मानिसहरूलाई आफ्‍नो समझ सुधार्न र आफ्‍नो क्षितिज बढाउन सहयोग गर्छ। के यो राम्रो कुरा होइन र? यी चासो र रुचिहरू कसरी उपयोगी हुँदैनन् र? मानिसहरूको लागि ती फाइदाजनक नै हुन्छन्। तैपनि, यदि तैँले आफ्‍ना चासो र रुचिहरूको कारण आदर्श र इच्छाहरू पैदा गरिस्, र यी कुराले तँलाई फर्केर आउन नसकिने बाटोतर्फ लैजान्छन् भने, ती तेरो लागि राम्रा हुँदैनन्। तर यदि तैँले आफ्‍नो मानवताको लागि अन्तर्ज्ञान दिने किसिमले, आफ्नो जीवनलाई अझ सम्पन्‍न र रङ्गिन पार्ने गरी, र आफूलाई अझै खुसी र रमाइलो दिलाउँदै अझै भरपुर, स्वतन्त्र, र मुक्त तरिकाले जीवन जिउन मदत मिल्ने गरी आफ्‍ना चासो र रुचिहरू प्रयोग गर्न सक्छस् भने, तेरा चासो र रुचिहरूले सकारात्मक प्रभाव पार्नेछन्, र सबैलाई फाइदा पुर्‍याउनेछन् र तँलाई सुधारको मार्ग दिनेछन्, र यस क्रममा तेरो कर्तव्यमा र तेरो मिसन पूरा गर्ने कार्यमा पनि तँलाई असर गर्नेछैनन्। अवश्‍य नै, केही हदसम्‍म ती कुराले तँलाई आफ्‍नो कर्तव्य पूरा गर्न सहयोग नै गर्नेछन्। जब तँ निराश वा हतोत्साहित अवस्थामा हुन्छस्, तब गीत गाउँदा, वाद्ययन्त्र बजाउँदा, वा जीवन्त र उत्साहित तालको सङ्गीत बजाउँदा त्यसले तेरो मुड उज्यालो पार्छ, र तँलाई परमेश्‍वरअघि प्रार्थना गर्न आउन सहयोग गर्छ। तैँले नकारात्मकता बोक्‍न, गुनासो गर्न, वा हरेस खान छोड्नेछस्। यसको साथै, तैँले आफ्‍नो कमजोरी र खराबी पत्ता लगाउनेछस्, र आफू अत्यन्तै कमजोर र कष्ट वा गतिरोध सहन नसक्‍ने रहेको महसुस गर्नेछस्। सङ्गीत साधनहरू बजाउँदा त्यसले तँलाई आफ्‍नो मुड सुधार्न सहयोग गर्नेछ; कसरी जिउने त्यो जान्‍नु भनेको यही हो। के यी चासो र रुचिहरूले सकारात्मक प्रभाव पारिरहेका हुँदैनन् र? (हुन्छन्।) चासो र रुचिहरूलाई त्यस्ता औजारहरूको रूपमा हेर्न सकिन्छ, र उचित रूपमा प्रयोग गरियो भने, तिनले तेरो मुड बदल्न सक्छन् र तँलाई अझै सामान्य र उचित जीवन जिउन मदत गर्छन्। केही हदसम्‍म, तिनले सत्यता वास्तविकतामा हुने तेरो प्रवेशलाई शीघ्र वा सहज बनाउँछन् र तँलाई आफ्‍नो कर्तव्य निर्वाह गर्न सहयोग गर्न थप औजार प्रदान गर्छन्। अवश्‍य नै, कतिपय मानिसहरूको मानवता खराब र दुष्ट हुन्छ; तिनीहरू सधैँ ख्रीष्टविरोधी स्वभाव बोकेर हिँड्ने महत्त्वाकाङ्क्षी हुन्छन्, वा तिनीहरू ख्रीष्टविरोधी नै हुन्छन्। तिनीहरूको लागि, चासो र रुचिहरू हुनु समस्याजनक हुन्छ, किनभने तिनीहरूले यी कुराहरूलाई पुँजीजीको रूपमा प्रयोग गरेर आफ्‍नै बारेमा मात्रै विचार गर्छन्, जसले अवश्य नै दुष्ट कार्यहरू गर्ने तिनीहरूको आक्रामकता र आँट बढाउँछ। त्यसकारण, चासो र रुचिहरू अन्तर्निहित रूपमा आफैमा खराब वा नकारात्मक कुराहरू होइनन्। असल र सामान्य मानिसहरूले यी कुरालाई सकारात्मक कुराको लागि प्रयोग गर्छन्, जबकि खराब, दुष्ट र नकारात्मक मानिसहरूले यी कुरालाई दुष्ट र खराब कार्यहरू गर्नको लागि प्रयोग गर्छन्। त्यसकारण, चासो र रुचिहरूले तँलाई कि त अझै राम्रो बनाउँछन्, कि त अझै खराब बनाउँछन्, के कुरा त्यही होइन र? (हो।) अब, मानिसहरूको खोज, आदर्श र इच्छाहरू कसरी त्याग्‍ने भन्‍ने विषयवस्तुमा फर्कौँ। चासो र रुचिहरूको सार बुझेपछि, मानिसहरूले कसैका चासो र रुचिहरूलाई रङ्गिन चश्‍माले हेर्नु हुँदैन, र तिनीहरूले चासो वा रुचि भएका मानिसहरूलाई निश्‍चय नै इन्कार्नु हुँदैन। चासो र रुचिहरू सामान्य मानवताका भाग हुन्, र मानिसहरूले यी कुराहरूलाई सही रूपमा लिनुपर्छ। तेरा चासो र रुचिहरूले अरूको जीवनमा असर पुर्‍याउन वा अरूलाई असुविधा दिन थालेका नहुन्जेलसम्‍म वा यदि तँ अरूलाई असर पार्दै वा बाधा दिँदै आफ्‍ना चासो र रुचिहरू रक्षा गर्दैनस् भने, यी कुरा उचित नै हुन्छन्। यसबाहेक, तेरा चासो र रुचिहरू जायज कुरा हुन्, र मानिसहरूले यी कुराहरूलाई उचित रूपमा लिऊन् र उचित रूपमा प्रयोग र सदुपयोग गरून् भन्‍ने नै अपेक्षा गरिन्छ। अनि अवश्य नै, यी कुरालाई प्रयोग र सदुपयोग गर्ने सबैभन्दा उत्कृष्ट र सही तरिका भनेको यी चासो र रुचिहरूलाई तैँले गर्ने काममा र तैँले निर्वाह गर्ने कर्तव्यमा सबैभन्दा ठूलो प्रभाव पार्न दिनु, र यी कुरालाई खेर नफाली पूर्ण हदसम्‍म सदुपयोग गर्नु हो। कतिपय मानिसहरू भन्छन्, “मेरा चासो र रुचिहरूले मेरो कर्तव्य पूरा गर्नमा निकै ठूलो भूमिका निभाउन सक्छन्, तर मलाई यो क्षेत्रमा रहेको मेरो ज्ञान अहिले पर्याप्त रूपमा काफी र व्यापक छैन जस्तो लाग्छ। म अझै अघि बढेर यो क्षेत्रसँग सम्‍बन्धित विषयहरूलाई अझै राम्ररी र व्यवस्थित अध्ययन गरेर, त्यो ज्ञानलाई आफ्‍नो कर्तव्यमा लगाउन चाहन्छु। के मैले त्यसो गर्न सक्छु?” हो, सक्छस्। परमेश्‍वरको घरले तिमीहरूलाई बारम्बार सिकिरहन प्रोत्साहन दिन्छ। ज्ञान एउटा औजार हो, र यदि यसमा व्यक्तिको विचारलाई खराब वा नष्ट गर्ने कुनै कुरा छैन भने, तैँले यसलाई अझै अध्ययन गरेर यससम्बन्धी तेरो बुझाइ अझै गहन बनाउन सक्छस्। तैँले यसलाई आफ्‍नो कर्तव्य निर्वाह गर्ने एउटा सकारात्मक र फाइदाजनक औजारको रूपमा प्रयोग गरेर आफ्‍नो कर्तव्यलाई प्रभावकारी र असरदार बनाउन सक्छस्। के त्यो असल कुरा होइन र? के यो उचित शैली होइन र? (हो।) अवश्य नै, अभ्यासको यो तरिका आफ्‍ना चासो र रुचिहरू प्रयोग गर्ने उचित तरिका पनि हो, यसको साथै, मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्‍ने सही तरिका पनि हो। यसमा तैँले आफ्‍ना चासो र रुचिहरू सही तरिकाले प्रयोग र लागू गरिरहेको हुन्छस्, यी कुरालाई व्यक्तिगत उद्देश्य हासिल गर्न वा व्यक्तिगत आकाङ्क्षा र इच्छाहरू पूरा गर्ने उद्देश्य हासिल गर्नको लागि प्रयोग गरिरहेको हुँदैनस्। त्यसकारण यो अभ्यास गर्ने उचित र सही तरिका हो, र यो अवश्य नै अभ्यासको सही र सकारात्मक तरिका पनि हो। यसको साथै, यसले खोज, आदर्श र इच्छाहरू कसरी त्याग्‍ने त्यसको ठोस मार्गको रूपमा पनि काम गर्छ।

हामीले चासो र रुचिहरूलाई कसरी सही रूपमा लिने भन्‍ने विषयलाई स्पष्ट पारेका छौँ; अब, साँचो रूपमा त्याग्‍नुले केलाई जनाउँछ? हामीले चासो र रुचिहरूलाई आलोचना वा निन्दा गरिरहेका छैनौँ, बरु मानिसहरूले चासो र रुचिहरूद्वारा आफ्‍नो जग र पुँजीको रूपमा स्थापित गर्ने खोज, आदर्श र इच्छाहरूलाई चिरफार गरिरहेका छौँ। परिणामस्वरूप, यी खोज, आदर्श र इच्छाहरू नै साँच्‍चै त्यागिनुपर्ने कुराहरू हुन्। हामीले योभन्दा पहिले तैँले आफ्‍ना चासो र रुचिहरूलाई सकारात्मक भूमिका खेल्न र सकारात्मक प्रभाव ल्याउन दिनुपर्छ भनेर सङ्गति गरेका थियौँ—यो कार्य मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्‍ने कार्यको सक्रिय अभ्यासको विधि हो। अर्को हिसाबमा, मानिसहरूले आफ्‍ना चासो र रुचिहरू छन् भन्दैमा आफ्‍नै आदर्श र इच्छाहरू पछ्याउनु हुँदैन—यो त्याग्‍ने अझै व्यावहारिक तरिका हो। अर्को शब्‍दमा भन्दा, एउटा पक्ष भनेको आफ्‍ना चासो र रुचिहरूलाई राम्ररी प्रयोग गर्नु हो भने, अर्को पक्ष भनेको तैँले आफ्‍ना चासो र रुचिहरूको कारण स्थापित भएका आदर्श र इच्छाहरू पछ्याउनु हुँदैन, अर्थात् तेरा चासो र रुचिहरूको कारण तँमा आउने जीवन लक्ष्यहरू नपछ्या। त्यसोभए तैँले आफ्‍ना चासो र रुचिहरूलाई सामान्य रूपमा लागू गरिरहेको, र आदर्श र इच्छाहरू पछ्याइरहेको छस् भनेर कसरी निर्धारित गर्न सक्छस्? यदि तँसँग कुनै चासो वा रुचि छ, र तैँले यसलाई आफ्‍नो काममा, आफ्‍नो कर्तव्य पूरा गर्दा, र आफ्‍नो दैनिक जीवनमा सही तरिकाले लागू गरिस् भने, यदि तेरो खोजको लक्ष्य आफूलाई प्रदर्शन गर्नु वा आफैलाई देखाउनु होइन भने, र आफ्‍नो लोकप्रियता बढाउनु वा आदर कमाउनु, सम्‍मान, र प्रशंसा कमाउनु निश्चय नै होइन भने, र अझ खास गरी तेरा चासो र रुचिहरूको कारण मानिसहरूको हृदयमा ठाउँ लिएर, आफैलाई स्थापित गर्नु र तिनीहरूलाई तँलाई पछ्याउन लगाउनु अवश्यै होइन भने, तैँले आफ्‍ना चासो र रुचिहरूलाई सकारात्मक, उचित, मर्यादित र तर्कसङ्गत रूपमा प्रयोग गरिरहेको छस्, जुन सामान्य मानवताअनुरूप र परमेश्‍वरका अभिप्रायअनुरूप छ, र तैँले तिनलाई सत्यता सिद्धान्तहरूअनुसार प्रयोग गरिरहेको छस्। तर यदि तैँले आफ्‍ना चासो र रुचिहरू प्रयोग वा लागू गर्ने क्रममा, तँ अरूलाई तेरो आदर गर्न र तँलाई स्विकार्न लगाउँछस्, विशेष गरी, आफूलाई प्रदर्शन गर्ने जोडदार उद्देश्य राख्छस् भने, यदि तँ अरूलाई अनैतिक रूपमा, निर्लज्‍जतापूर्वक, र जबरजस्ती तेरो कुरा सुन्‍न र स्विकार्न लगाउँछस्, र अरूले जेजस्तो महसुस गरे पनि आफ्‍ना चासो र रुचिहरू प्रदर्शन गर्दै आफ्नो अभिमान सन्तुष्ट पार्छस्, र अन्तिममा अरूलाई नियन्त्रण गर्न, तिनीहरूको हृदयमा ठाउँ प्राप्त गर्न, र मानिसहरूमाझ प्रतिष्ठा स्थापित गर्नको लागि आफ्‍ना चासो र रुचिहरूलाई पुँजीको रूपमा प्रयोग गर्छस्, र आफ्‍ना चासो र रुचिहरूको कारण तैँले अन्तिममा ख्याति र फाइदा हासिल गर्छस् भने, यो कार्य न त चासो र रुचिहरूको उचित प्रयोग हुन्छ, न त तेरा चासो र रुचिहरूको सामान्य अवलम्‍बन नै हुन्छ। त्यस्ता कार्यहरूलाई निन्दा गरिनुपर्छ, अरूहरूद्वारा ती कुराहरू चिनिनु र इन्कार गरिनुपर्छ, र अवश्य नै, मानिसहरूद्वारा ती कुराहरू त्यागिनु पनि पर्छ। जब आफूमा निश्‍चित प्रतिभा र सीपहरू छन् भनेर अरूलाई देखाउनको लागि, र तेरा चासो र रुचिहरू तिनीहरूका भन्दा उच्च छन् भनेर देखाउनको लागि, तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्ने अवसरहरू प्रयोग गर्छस्, वा अगुवा, इन्‍चार्ज, वा असाधारण प्रतिभा भएको व्यक्ति हुँ भन्‍ने बहाना बनाउँछस्, तब यस्तो खालको काम गराइ अनुचित हुन्छ। यसमा मानिसहरूमाझ आफ्‍नो प्रतिष्ठा स्थापित गर्न र आफ्‍ना महत्त्वाकाङ्क्षा र इच्छाहरू पूरा गर्नको लागि आफ्‍ना चासो र रुचिहरू सदुपयोग गर्ने बहाना बनाउने कार्य संलग्‍न हुन्छ। यसलाई ठ्याक्‍कै रूपमा भन्दा, यो प्रक्रिया वा कार्यदिशा भनेको तेरा चासो र रुचिहरू र ती कुराहरूप्रतिको मानिसहरूको सम्‍मानलाई तेरा खोज, आदर्श र इच्छाहरू पूरा गर्नको लागि गलत रूपमा प्रयोग गर्नुसरह हो। तैँले त्याग्‍नुपर्ने कुरा यही हो। कतिपय मानिसहरू भन्छन्, “यो कुरा सुनेपछि पनि कसरी त्याग्‍ने भन्‍ने मलाई अझै थाहा छैन।” वास्तवमा, के त्याग्‍नु सजिलो छ त? जब तँसँग कुनै पृथक चासो र रुचिहरू हुन्छन्, तब यदि तैँले केही गरिनस् भने, यी चासो र रुचिहरू तेरो मानवताभित्रै रहन्छन् र तैँले लिने मार्गसँग तिनको कुनै सम्‍बन्ध हुँदैन। तैपनि, मानिसहरूमाझ ख्याति प्राप्त गर्ने प्रयास गर्दै वा आफ्‍नो लोकप्रियता बढाउने, अझै धेरै मानिसहरूमाझ आफूलाई परिचित गराउने, र धेरैको ध्यान खिच्‍ने प्रयास गर्दै, तैँले निरन्तर आफ्‍ना चासो र रुचिहरू प्रदर्शन गरिरहन थालेपछि, यो प्रक्रिया र यो कार्यदिशा काम गर्ने सरल तरिका हुँदैन। अनि, यी सबै कार्य र व्यवहारहरू मिसिएर व्यक्तिले लिने मार्ग निर्मित हुन्छ। त्यसोभए, यो मार्ग के हो त? यो परमेश्‍वरको घरमा रही आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्ने, अरूको आदर पाउने, र आफ्‍ना महत्त्वाकाङ्क्षा र इच्छाहरू सन्तुष्ट पार्ने स्थिति हासिल गर्ने प्रयास हो। तैँले यस्तो प्रयास थालेपछि, तँ जुन मार्गमा हुन्छस्, त्यो फर्केर आउन नसकिने, र विनाशमा पुर्‍याउने मार्ग बन्छ। के तैँले तुरुन्तै फर्कनुपर्ने, यी कार्यहरू सच्‍याउनुपर्ने, र यी कार्यहरू र महत्त्वाकाङ्क्षा र इच्छाहरू त्याग्‍नुपर्ने होइन र? कतिपयले “कसरी त्याग्‍ने मलाई अझै थाहा छैन” भनेर भन्‍न सक्छन्। त्यसो भए, नत्याग्। यो “नत्याग्” भनेको के हो? यसको अर्थ तैँले आफ्‍ना चासो र रुचिहरूलाई लुकाएर राख्‌ र तिनलाई नदेखाउन सक्दो प्रयास गर् भन्‍ने हो। कतिपयले सोध्‍न सक्छन्, “तर यदि आफ्‍नो कर्तव्य पूरा गर्नको लागि मैले यसो गर्नैपर्ने हुन्छ भने, के मैले यी कुराहरू देखाउने?” जब तैँले त्यसो गर्नैपर्ने हुन्छ, जब तैँले ती कुराहरू देखाउनैपर्ने हुन्छ, तब तैँले त्यसै गर्नुपर्छ—त्यो यस्तो कुरा देखाउने सही समय नै हुन्छ। तैपनि, यदि तँ अहिले आफ्‍ना आदर्श र इच्छाहरू पछ्याउने मार्गमा छस् भने, ती कुराहरू प्रकट नगर्। जब तँलाई ती कुराहरूको देखावा गर्ने चाहना हुन्छ, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, दह्रिलो सङ्कल्‍प गर्नुपर्छ, यी इच्छाहरूलाई काबुमा राख्‍नुपर्छ, र यो सँगसँगै परमेश्‍वरको छानबिन र अनुशासन स्विकार्नुपर्छ, आफ्‍नो हृदयलाई नियन्त्रण गरेर आफ्‍ना महत्त्वाकाङ्क्षा र इच्छाहरूलाई कोक्रोमै थुनेर नामेट हुने पार्नुपर्छ, र तिनलाई वास्तविकतामा कहिल्यै परिणत हुन दिनु हुँदैन—यसो गर्नु राम्रो हुन्छ? (हुन्छ।) के यसो गर्न सजिलो छ? यो सजिलो छैन, छ त? अलिअलि प्रतिभा भयो भने त कसले पो त्यो देखाउन चाहँदैन र? विशेष सीप भएका व्यक्तिहरूको त झन् कुरै नगरौँ। कतिपय मानिसहरूले खानेकुरा पकाउन र खाना तयार गर्न सक्छन्, र जहाँ गए पनि तिनीहरूले यो कुरा देखाउन चाहन्छन्, र आफूलाई “टोफु सुन्दरी” वा “नुडल रानी” भनेर समेत भन्छन्। के यी सानातिना सीपहरू देखाउन लायक छन् त? यदि तिनीहरूमा असाधारण वरदान भएको भए, तिनीहरूको अहङ्कार झन् कति धेरै बढ्नेथियो? तिनीहरू निस्सन्देह नै फर्केर आउन नसकिने बाटोमा पुग्‍नेथिए। अनि अवश्य नै, मानिसहरूले आफ्ना चासो र रुचिहरूको कारण गलत मार्ग वा फर्केर आउनै नसकिने मार्ग लिनेबाहेक, तिनीहरूमध्ये धेरैजसोमा परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा ती चासो र रुचिहरूको कारण सक्रिय विचारहरू हुने गर्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरूले आफ्‍नो मनमस्तिष्कमा आफूले स्थापित गरेका आदर्श र इच्छाहरू निरन्तर खेलाइरहने, वा आफ्ना पूरा नभएका आदर्श र इच्छाहरूबारे निरन्तर आफूलाई स्मरण गराइरहने, र कहिल्यै पूरा नभएका यी आदर्श र इच्छाहरू अझै छन् भनेर हृदयमा आफूलाई निरन्तर सम्झाइरहने गर्छन्। तिनीहरूले यी कुराहरूबारे कहिल्यै कुनै मूल्यविशेष नचुकाएको वा कुनै अभ्यासविशेष लागू नगरेको भए पनि, यी आदर्श र इच्छाहरूले तिनीहरूको हृदयको गहिराइमा गहिरो जरा गाडेका हुन्छन्, र तिनीहरूले यी कुराहरू कहिल्यै त्यागेका हुँदैनन्।

यसभन्दा पहिले, हामीले आदर्श र इच्छाहरू पूरा गर्ने खोज, साथै यो संसारको मार्ग पछ्याउने कार्य भनेको फर्केर आउनै नसकिने मार्ग हो, त्यो विनाशमा पुर्‍याउने बाटो हो भनेर सङ्गति गर्‍यौँ। यो र सत्यता पछ्याउने कार्य दुई समानान्तर रेखाहरूजस्तै हुन्, यी दुई रेखाहरूको मिलनबिन्दु कहिल्यै आउनेछैन, र अवश्य नै, यी दुई कुराहरू पनि कहिल्यै एकअर्कासँग जोडिनेछैनन्। यदि तँ परमेश्‍वरलाई विश्‍वास गर्छस् र सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न चाहन्छस् भने, तैँले यसभन्दा पहिले हृदयमा राखेको कुनै पनि आदर्श र इच्छाहरू पूर्ण रूपमा त्याग्‍नुपर्छ। यी कुराहरूलाई सँगालेर राख्‍ने वा प्यारो ठान्‍ने नगर्; यी कुराहरूलाई त फ्याँक्‍नुपर्छ। आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्न खोज्‍नु र सत्यता पछ्याउनु तेल र पानीको बाटो जस्तै हो। यदि तँसँग आदर्श र इच्छाहरू छन् र तिनलाई पूरा गर्न चाहन्छस् भने, तैँले सत्यता पछ्याउन सक्‍नेछैनस्। यदि सत्यता बुझेर अनि धेरै वर्ष अनुभव प्राप्त गरेर, तैँले ठोस रूपमा सत्यता पछ्याउनतिर आफ्‍नो मनलाई केन्द्रित गर्न चाहन्छस् भने, तैँले आफ्ना विगतका आदर्श र इच्छाहरू त्याग्‍नुपर्छ, र तिनलाई आफ्‍नो विवेक वा प्राणको गहिराइबाट पूर्ण रूपमा हटाउनुपर्छ। यदि तँ सत्यता पछ्याउन चाहन्छस् भने, तेरा आदर्श र इच्छाहरू कहिल्यै पूरा हुनेछैनन्। बरु, ती कुराहरूले सत्यता पछ्याउने तेरो कार्यमा र सत्यता वास्तविकतामा हुने तेरो प्रवेशमा बाधा दिनेछन्, तँलाई खुट्टा समातेर घिसार्नेछन् र सत्यता पछ्याउने तेरो मार्ग कठिन र चुनौतीपूर्ण बनाउनेछन्। अब तँलाई तैँले आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्न सक्‍नेछैनस् भन्‍ने कुरा थाहा भएको हुनाले, यी कुराहरूसँग निर्णयात्मक रूपमा सम्‍बन्ध तोड्नु, र यी कुराहरूलाई पूर्ण रूपमा त्याग्‍नु, यी कुराहरूबारे फेरि विचार नगर्नु, र यी कुराहरूबारे कुनै भ्रम नबोक्‍नु नै राम्रो हुन्छ। यदि तँ यसो भन्छस् भने, “मलाई अझै पनि सत्यता पछ्याउने र मुक्ति पाउने मार्गप्रति त्यति चासो छैन। मैले सत्यता पछ्याउन सक्छु कि सक्दिनँ, अनि म सत्यता पछ्याउने व्यक्ति हो कि होइन मलाई अझै थाहा छैन। म अझै पनि मुक्ति प्राप्त गर्ने यो मार्गप्रति अस्पष्ट छु। यसविपरीत, मसँग सांसारिक आदर्श र इच्छाहरू पछ्याउने अत्यन्तै ठोस मार्ग, र अत्यन्तै ठोस योजना र रणनीति छ।” यदि तैँले यसो भन्छस् भने, तैँले आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्नको लागि सत्यता पछ्याउने र आफ्‍नो कर्तव्य पूरा गर्ने मार्ग त्याग्‍न सक्छस्। अनि, आफ्‍नै आदर्श र इच्छाहरू पछ्याउने कि सत्यता पछ्याउने भन्‍नेबारेमा तँ निश्‍चित छैनस् भने, अवश्य नै म तँलाई केही समयसम्‍म शान्त बस् भन्‍ने सल्‍लाह दिन्छु। सायद तँ परमेश्‍वरको घरमा थप एकदुई वर्ष बस्‍नुपर्छ: तैँले परमेश्‍वरका वचनहरू जति धेरै खाने-पिउने गर्छस्, तैँले जति धेरै वातावरणहरू अनुभव गर्छस्, परिस्थितिहरूलाई कसरी लिने भन्‍ने तेरो दृष्टिकोण र शैली पनि त्यति नै धेरै परिपक्‍व बन्‍नेछ, र तेरो मुड र स्थितिमा त्यति नै धेरै सुधार आउनेछ, जुन अवश्य नै तेरो लागि विशाल आशिष्‌ हुनेछ। सायद केही वर्षपछि, तैँले निश्‍चित सत्यताहरू बुझ्‍नेछस्, संसार र मानवताबारे पूर्ण अन्तर्ज्ञान पाउनेछस्, र त्यसपछि तैँले आफ्‍ना आदर्श र इच्छाहरू पूर्ण रूपमा त्याग्‍न सक्‍नेछस् र परमेश्‍वरका योजनाबद्ध कार्यहरू स्विकार्दै आफ्‍नो बाँकी जीवनभर उहाँलाई पछ्याउन तयार हुनेछस्। परमेश्‍वरको घरमा तैँले जति ठूला कठिनाइहरू सामना गरे पनि, आफ्‍नो कर्तव्य निभाउन र आफ्‍नो मिसन पूरा गर्नमा तँ दृढ रहन सक्‍नेछस्। अनि, सबैभन्दा महत्त्वपूर्ण कुरा, तैँले आफ्‍ना पहिलेका आदर्श र इच्छाहरू पूर्ण रूपमा त्याग्‍ने सङ्कल्प र निर्णय गरेको हुन्छस्, जसले गर्दा तैँले नडगमगाई दृढ रूपमा सत्यता पछ्याउन सक्‍नेछस्। तैपनि, यदि तँ अहिले निश्‍चित हुन सक्दैनस् र तैँले सत्यता पछ्याउन सक्छस् कि सक्दैनस् भनेर एकदुई वर्षमै पुनः मूल्याङ्कन गर्न चाहन्छस् भने, परमेश्‍वरको घरले तँलाई जबरजस्ती गर्नेछैन, वा “तँ अलमलिएको छस् र तँ अस्थिर छस्” भनेर भन्‍नेछैन। एकदुई वर्षपछि, तैँले अझै बढी परमेश्‍वरका वचनहरू पढेपछि, अझै धेरै प्रवचनहरू सुनेपछि, थोरै भए पनि सत्यता बुझेपछि, र तेरो मानवता परिपक्‍व बनेपछि, विभिन्‍न कुराहरू हेर्ने तेरो दृष्टिकोण, जीवनलाई हेर्ने तेरो हेराइ, र संसारलाई हेर्ने तेरो नजर परिवर्तन हुनेछ। तर त्यो बेला, तेरा निर्णयहरू अहिलेको भन्दा केही हदसम्म अलि सही हुनेछन्, वा गैरविश्‍वासीहरूको एउटा भनाइ प्रयोग गरी भन्दा, त्यो बेला तँलाई के चाहिन्छ, तैँले कुन मार्ग लिनुपर्छ, र तँ कस्तो व्यक्ति हुनुपर्छ भन्‍ने कुरा तँलाई थाहा हुनेछ। यो एउटा पक्ष हो। मानौँ, तँलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्यप्रति अलिकति पनि चासो छैन र तेरा आमाबुबा वा सहकर्मीले तँलाई सुसमाचार सुनाएकोले मात्रै परमेश्‍वरमा विश्‍वास गरेको थिइस्, र करले वा नम्रता देखाउनको लागि मात्रै तैँले सुसमाचार ग्रहण गरेको थिइस्; अनि तँ मन नलागी-नलागी भेलाहरूमा सहभागिता जनाउने र परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्ने गर्छस्, तर यस क्रममा तैँले के सोच्छस् भने, मण्डलीका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू खराब छैनन्, र कम्तीमा पनि, तिनीहरूले मानिसहरूलाई हेप्दैनन्, र परमेश्‍वरको घर समझको कुरा चल्‍ने ठाउँ हो, यहाँ सत्यताको अख्तियारी चल्छ, र यहाँ मानिसहरू अरूद्वारा दबिने वा हेपिने गर्दैनन्, र परमेश्‍वरको घर गैरविश्‍वासीहरूको संसारभन्दा राम्रो छ भन्‍ने महसुस हुन्छ; तर तैँले कहिल्यै आफ्‍ना आदर्श र इच्छाहरू त्यागेको वा परिवर्तन गरेको छैनस्, बरु यसविपरीत, पहिले तैँले मनमा राखेका यी आदर्श र इच्छाहरू तेरो हृदय, मनमस्तिष्क, र आत्माको गहिराइमा झन्झन् दह्रिला र गाढा भइरहेका छन्; र यी कुराहरू झन्झन् गाढा हुँदै जाने क्रममा, तँलाई परमेश्‍वरमाथिको विश्‍वास, सत्यताबारे गरिने सङ्गति, साथै दैनिक वचनहरू, कार्यहरू, र जीवन शैली आदि इत्यादि कुराहरू झन्झन् न्यास्रो र निरस बन्दै जान्छन्; अनि तँलाई अप्ठ्यारो लाग्छ, र सत्यता पछ्याउनेबारेमा कुनै सोचसमेत आउँदैन, सत्यता पछ्याउने कार्यप्रति तँमा कुनै चासो हुँदैन, र जीवनको सही मार्ग हिँड्ने, कसरी उचित व्यवहार गर्ने, वा सकारात्मक कुराहरू भनेका के हुन् भन्‍नेबारेमा तँसँग कुनै राम्रो विचार हुँदैन; यदि तँ यस्तो व्यक्ति होस् भने, म तँलाई भन्छु, छिटो गरेर आफ्‍ना आदर्श र इच्छाहरू पछ्याउन गइहाल्! यो संसारमा तेरो लागि एउटै ठाउँ छ, र त्यो दुष्टताको जटिल र अराजक प्रवृत्तिहरूमाझ रहेको ठाउँ हो। त्यहाँ तैँले अवश्य नै आफूले आशा गरेजस्तै आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्नेछस् र आफूले इच्छा गरेका कुराहरू प्राप्त गर्नेछस्। परमेश्‍वरको घर तँ रहन लायक ठाउँ होइन, यो तेरो आदर्श स्थान होइन, र अवश्य नै, सत्यता पछ्याउने कार्य तैँले लिन चाहने कार्य पनि होइन, र विशेष गरी भन्दा यो तँलाई चाहिने कुरा हुँदै होइन। अहिले तेरा आदर्श र इच्छाहरूले आकार लिइरहेको बेलामै, र तँ जवान छँदै र संसारमा गएर लागिपर्ने ऊर्जा वा स्रोत-साधन तँमा हुँदा नै, मौकाको फाइदा उठाएर छिटो-छिटो परमेश्‍वरको घर छोडिहाल्, र आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्न गइहाल्। परमेश्‍वरको घरले तँलाई समातेर राख्‍नेछैन। आशिष्‌हरू प्राप्त गर्ने आशा गुमाएको दिनसम्‍म र आफ्‍नो अनुभवात्मक गवाही दिन तँसँग केही शब्‍द नहुँदाको समयसम्‍म, र तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने काम अझै नसकाएर पचास, साठी, सत्तरी, वा अठार वर्षको उमेरसम्‍म पर्खेर सत्यता पछ्याउने चाहना गर्ने बेला हुँदासम्‍म नपर्खी—त्यो बेलासम्‍म धेरै ढिलो भइसकेको हुनेछ। यदि तँ परमेश्‍वरको घरमा बस्‍न चाहँदैनस् भने, तैँले आफूलाई बरबादीमा पुर्‍याउनेछस्। तँजस्ता मानिसहरूले, आफ्‍ना इच्छाहरूविपरीत गएर आफ्‍ना खोज, आदर्श र इच्छाहरू त्याग्‍नुपर्ने कुनै आवश्यकता हुँदैन। किनभने मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्‍ने विषयमा मैले छलफल गरेको आधार के थियो भने तँ सत्यता पछ्याउने व्यक्ति होस् वा अहिले तैँले सत्यता पछ्याउन सुरु नगरेको भए पनि, तैँले हृदयमा त्यस्तो व्यक्ति बन्छु भनेर निर्णय गरेको छस्, र तैँले मुक्ति पाए पनि नपाए पनि, तँ बाँचे पनि मरे पनि, तैँले परमेश्‍वरको घर छोड्नेछैनस्। मैले त यस्ता मानिसहरूलाई सम्‍बोधन गरिरहेको छु। अवश्‍य नै, मैले यसमा एउटा स्पष्टीकरण थप्‍नुपर्छ: मैले आज “मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्‍ने” विषयमा सङ्गति गरिरहेको बेला, मैले मानिसहरूले सत्यता पछ्याउन र मुक्ति पाउन इच्छा गर्छन् भन्‍ने आधारमा यसो गरिरहेको छु। यो सत्यता पछ्याउन र मुक्ति पाउन इच्छुक रहेका मानिसहरूप्रति विशेष रूपमा लक्षित छ। तिनीहरूबाहेकका, अर्थात् सत्यता पछ्याउने र मुक्ति पाउने मार्ग, दिशा, तत्परता वा सङ्कल्प नभएका मानिसहरूले आजको विषय सुन्‍नु आवश्यक छैन। यो मैले थपेको स्पष्टीकरण हो; यो अत्यावश्यक छ, होइन र? (हो।) हामी मानिसहरूलाई स्वतन्त्रता दिन्छौँ र कसैलाई पनि जबरजस्ती गर्दैनौँ। मानिसहरूलाई हामी कुनै पनि सत्यता सिद्धान्त, शिक्षा, भरणपोषण, साथ वा सहयोग तर्कसङ्गतताको आधारमा र तिनीहरू इच्छुक छन् भन्‍ने सर्त पालना गरेर प्रदान गरिरहेका हुन्छौँ। यदि तँ सुन्‍न इच्छुक छैनस् भने, तैँले आफ्‍नो कान थुनेर सुन्‍न र स्विकार्न इन्कार गर्न सक्छस् वा छोडेर जान पनि सक्छस्—यी दुवै कुरा स्वीकार्य छन्। परमेश्‍वरको घरमा हुने सत्यताको सङ्गति कसैलाई पनि जबरजस्ती स्वीकार गर्न लगाइँदैन। परमेश्‍वरले मानिसहरूलाई स्वतन्त्रता दिनुहुन्छ र कसैलाई पनि कर गर्नुहुन्‍न। मलाई भन् त, के यो राम्रो कुरा हो? (हो।) के तिनीहरूलाई जबरजस्ती गर्नुपर्ने आवश्यकता छ? (छैन।) जबरजस्ती गर्नुपर्ने आवश्यकता छैन। सत्यताले जीवन, अर्थात् अनन्त जीवन ल्याउँछ। यदि तँ यो कुरा स्विकार्न इच्छुक छस्, र तैँले यसलाई स्विकार्छस् र यसमा समर्पित हुन्छस् भने, तैँले यो प्राप्त गर्नेछस्। यदि तँ यसलाई स्विकार्दैनस्, बरु यसलाई इन्कार र विरोध गर्छस् भने, तैँले यो प्राप्त गर्नेछैनस्। तर तैँले यो प्राप्त गर्न सके पनि नसके पनि, तैँले यसका परिणामहरू स्विकार्नैपर्छ। के कुरा यही होइन र? (हो।)

सत्यता पछ्याउने क्रममा निश्‍चित कुराहरू त्याग्‍नु आवश्यक छ भन्‍नेबारेमा मैले सङ्गति गर्नुको कारण के हो भने, सत्यता पछ्याउने र मुक्ति पाउने कार्य पनि मानिसहरूले म्याराथनमा सहभागिता जनाएजस्तै हो। म्याराथनमा सहभागी हुने मानिसहरूमा असाधारण शारीरिक बल वा असाधारण सीप हुनुपर्छ भन्‍ने हुँदैन, तर तिनीहरूमा कष्ट सहन सक्‍ने निश्‍चित क्षमता र दृढता हुनुपर्छ, र तिनीहरूमा विश्‍वास, साथै दृढ रहने सङ्कल्‍प हुनुपर्छ। म्याराथनमा सहभागी हुने प्रक्रियामा, आफ्‍नो गन्तव्यमा अझै सहज रूपमा, अझै स्वतन्त्र रूपमा, वा आफूले चाहेजस्तै गरी पुग्‍नको लागि, यी आत्मिक तत्त्वहरूबाहेक, मानिसहरूले अवश्य नै निश्‍चित बोझहरू पनि क्रमिक रूपमा त्याग्‍नुपर्ने हुन्छ। म्याराथन खेलकुदले गन्तव्यमा पुगेका सहभागीहरूको दर्जालाई ध्यान दिँदैन; बरु, यसले त त्यो दौडको क्रममा व्यक्तिहरूद्वारा गरिएको दौड-प्रदर्शन, तिनीहरूको दृढता, धैर्यता, र त्यस प्रक्रियामा तिनीहरूद्वारा अनुभव गरिएका सबै कुरालाई ध्यान दिन्छ। के यस्तै हुन्छ, होइन र? (हो।) परमेश्‍वरमाथिको विश्‍वासको कुरामा, सत्यता पछ्याउने र अन्तिममा मुक्ति पाउने कार्य पनि म्याराथनजस्तै हो; यसको लागि धेरै लामो प्रक्रिया चाहिन्छ, र यो प्रक्रियामा सत्यता पछ्याउने कार्यसँग सम्‍बन्धित नरहेका धेरै कुराहरू त्याग्‍नु पनि आवश्यक हुन्छ। यस्ता कुराहरू सत्यतासँग सम्‍बन्धित नरहेका मात्रै हुँदैनन्, अझै महत्त्वपूर्ण कुरा त, यी कुराहरूले सत्यता पछ्याउने तेरो कार्यमा बाधासमेत दिन सक्छन्। परिणामस्वरूप, यी कुराहरू त्याग्‍ने र समाधान गर्ने प्रक्रियामा, व्यक्तिले अपरिहार्य रूपमै पीडा सहनुपर्ने र निश्‍चित कुराहरू त्यागेर सही निर्णयहरू गर्नुपर्ने हुन सक्छ। सत्यता पछ्याउनको लागि मानिसहरूले धेरै कुराहरू त्याग्‍नुपर्ने हुन्छ किनभने यी कुराहरू सत्यता पछ्याउने मार्गभन्दा अन्यत्रै मोडिन्छन्, र परमेश्‍वरले मानिसहरूलाई मार्गदर्शन गर्नुहुने सही जीवन लक्ष्य र दिशाविरुद्ध जान्छन्। सत्यताविरुद्ध जाने र व्यक्तिलाई सत्यता पछ्याउन र जीवनमा सही मार्ग लिनबाट रोक्‍ने यस्तो कुनै पनि कुरा नकारात्मक कुरा हो, त्यो सब ख्याति र फाइदा पछ्याउन, वा प्रशस्त सम्पत्ति र पैसाजस्ता परिणामहरू प्राप्त गर्नको लागि पछ्याउने कुरा हो। आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्ने मार्ग मानिसहरूको क्षमता, साथै तिनीहरूको ज्ञान, तिनीहरूको मिथ्या विचार र दृष्टिकोण, र संसारसँग व्यवहार गर्ने तिनीहरूका विभिन्‍न दर्शन, साथै तिनीहरूका विभिन्न विधि, चलाकी, र युक्तिहरूमा निर्भर रहन्छन्। व्यक्तिले आफ्‍ना आदर्श र इच्छाहरू पछ्याउने कार्यमा जति धेरै जोड दिन्छ, ऊ सत्यताबाट, परमेश्‍वरका वचनहरूबाट, र परमेश्‍वरले तिनीहरूलाई देखाउनुहुने सही मार्गबाट त्यति नै धेरै टाढा जान्छ। व्यक्तिको हृदयमा रहेका तथाकथित आदर्श र इच्छाहरू वास्तवमा खोक्रा कुराहरू हुन्, यी कुराहरूले तँलाई आफूलाई उचित व्यवहारमा कसरी ढाल्ने, परमेश्‍वरलाई कसरी आराधना गर्ने र बुझ्‍ने, वा परमेश्‍वरमा, परमेश्‍वरको इच्छामा, र सार्वभौमिकतामा कसरी समर्पित हुने, र अन्य यस्तै सकारात्मक कुराहरू सिकाउन सक्दैनन्। जब तँ आफ्‍ना आदर्श र इच्छाहरू पछ्याउँछस्, तब तैँले सत्यतासँग मिल्‍ने यीमध्ये कुनै पनि सकारात्मक र मूल्यवान् कुराहरू प्राप्त गर्न सक्दैनस्। मानिसहरूका खोज, आदर्श र इच्छाहरूतर्फ अभिमुख रहेको जुनसुकै जीवन मार्गको उस्तै अन्तिम लक्ष्य, सार, र प्रकृति हुन्छ—ती सबै नै सत्यताविरुद्ध जान्छन्। तर सत्यता पछ्याउने मार्ग फरक हुन्छ। यसले तेरो जीवन मार्ग सही रूपमा अगुवाइ गर्नेछ—यो केही हदसम्‍म फराकिलो रूपले बोलिएको कुरा हो। अझै निश्‍चित रूपमा भन्दा, यसले विभिन्‍न मानिसहरू, घटनाहरू, र परिस्थितिहरूलाई तैँले कसरी लिन्छस् त्यस सम्‍बन्धमा तँभित्र रहेका गलत र विकृत विचार र दृष्टिकोणहरूलाई खुलासा गर्छ। यो सँगसँगै, यसले तँलाई सही र सटीक विचार र दृष्टिकोणहरूबारे जानकारी दिनेछ, त्यसबारे तँलाई निर्देशित गर्नेछ, र यस्ता कुराहरू तँलाई प्रदान गर्नेछ र सिकाउनेछ। अनि अवश्य नै, तैँले मानिसहरू र परिस्थितिलाई हेर्ने क्रममा, आफूलाई उचित व्यवहारमा ढाल्ने र कार्य गर्ने क्रममा, तँसँग कस्ता विचार र दृष्टिकोणहरू हुनुपर्छ भन्‍ने कुरा पनि यसले तँलाई बताउनेछ। सत्यता पछ्याउने मार्गले तँलाई कसरी आफूलाई उचित व्यवहारमा ढाल्ने र कार्य गर्ने, कसरी सामान्य मानवताका सीमाहरूमा रही जिउने, र सत्यता सिद्धान्तहरूअनुसार कसरी आफूलाई उचित व्यवहारमा ढाल्ने भन्‍ने कुरा बताउनेछ। कम्तीमा पनि, तँ विवेक र समझको मापदण्डभन्दा तल जानु हुँदैन—तँ मानवजस्तै भएर मानवकै रूपमा जिउनुपर्छ। यसबाहेक, यो मार्गले तँलाई तैँले हरेक मामिलालाई हेर्दा र हरेक कामकुरा गर्दा तँमा हुनुपर्ने विचार, दृष्टिकोण, हेराइ, र अडानहरूबारे अझै निश्‍चित रूपमा जानकारी दिनेछ। यी सही विचार, दृष्टिकोण, हेराइ, र अडानहरू व्यक्तिले अपनाउनुपर्ने उचित स्वव्यवहार र कार्यहरूका सही मापदण्ड र सिद्धान्तहरू पनि हुन्। जब व्यक्तिले सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र विभिन्न कुराहरूलाई हेर्न, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न सुरु गर्नुको वास्तविकता हासिल गर्छ वा ऊ त्यसमा प्रवेश गर्छ, तब ऊ मुक्ति पाएको व्यक्ति बन्छ। अनि जब व्यक्तिले मुक्ति पाएर सत्यता प्राप्त गर्छ, तब विभिन्‍न कुराहरूलाई हेर्ने उसको दृष्टिकोण पूर्ण रूपमा परिवर्तन हुन्छ, र त्यो परमेश्‍वरका वचनहरूअनुरूप र परमेश्‍वरसँग मिल्‍ने हुन्छ। जब यो चरणमा आइपुग्छ, तब व्यक्तिले परमेश्‍वरविरुद्ध विद्रोह गर्न छोड्छ, र परमेश्‍वरले उसलाई सजाय दिन वा न्याय गर्न छोड्नुहुन्छ, र उहाँले उसलाई घृणा गर्न पनि छोड्नुहुन्छ। यस्तो किन हुन्छ भने, यस्ता व्यक्तिहरू अबउप्रान्त परमेश्‍वरका शत्रु रहँदैनन्, तिनीहरू परमेश्‍वरविरुद्ध खडा हुन छोड्छन्, र परमेश्‍वर साँच्‍चै नै र सही रूपमा आफ्‍ना सृष्टि गरिएका प्राणीहरूको सृष्टिकर्ता बन्‍नुहुन्छ। यस्तो हुँदा, मानिसहरू परमेश्‍वरको प्रभुत्वको अधीनमा फर्केका हुन्छन्, र परमेश्‍वर मानिसहरूले उहाँलाई प्रदान गर्ने आराधना, समर्पण, र डरमा रमाउनुहुन्छ। सबै कुरा स्वाभाविक रूपमा आ-आफ्‍नो ठाउँमा बस्छन्। परमेश्‍वरले सृष्टि गर्नुभएको सबै कुरा मानवजातिको लागि हुन्छन्, र त्यसपछि मानवजातिले परमेश्‍वरको सार्वभौमिकतामा रही सबै थोक व्यवस्थापन गर्छन्। सबै कुरा मानवजातिको व्यवस्थापनमुनि रहन्छन्, सबै कुराले परमेश्‍वरले तय गर्नुभएका नियम र नीतिहरू पछ्याउँछन्, र यसरी सबै कुरा व्यवस्थित ढङ्गले प्रगति गर्दै निरन्तर अघि बढ्छन्। मानवजातिले परमेश्‍वरले सृष्टि गर्नुभएको सबै थोकको आनन्द लिन्छन्, र सबै थोक मानवजातिको व्यवस्थापनको अधीनमा व्यवस्थित ढङ्गले अस्तित्वमा रहन्छन्। सबै थोक मानवजातिको लागि हुन्छन्, र सबै थोकको लागि मानवजाति हुन्छन्। यो सबै कुरा अत्यन्तै सद्भावपूर्ण र व्यवस्थित हुन्छन्, र यो सबै परमेश्‍वरको सार्वभौमिकता र मानवजातिलाई उहाँले दिनुभएको मुक्तिबाट आएका हुन्छन्। यो साँच्‍चै नै सुन्दर कुरा हो। आफ्ना खोज, आदर्श र इच्छाहरू त्याग्‍नुको अन्तिम अर्थमध्ये एउटा यो पनि हो। तँलाई थाहै छ, अहिले तैँले आफ्‍ना क्षणिक आदर्श र इच्छाहरू त्यागे पनि, अन्त्यमा तैँले प्राप्त गर्ने कुरा भनेको सत्यता हो, र यो कुरा जीवन हो, र यो अत्यन्तै बहुमूल्‍य कुरा हो। तैँले त्यागेका व्यर्थका आदर्श र इच्छाहरूको तुलनामा, यी कुराहरू त कति हजार वा कति लाख गुणा मूल्यवान् छन्, कसलाई के थाहा र। यी कुराहरूलाई त लगभग तुलना पनि गर्न सकिँदैन। के यो कुरा यस्तै होइन र? (हो।) अवश्य नै, एउटा कुरा स्पष्ट पारिनुपर्छ: मानिसहरूले के कुरा बुझ्‍नुपर्छ भने, आफ्ना आदर्श र इच्छाहरू पछ्याउँदा त्यसले तँलाई कहिल्यै पनि कसरी आफूलाई उचित व्यवहारमा ढाल्ने भन्‍ने कुरा सिकाउँदैन। तँ जन्‍मेको दिनदेखि नै, तेरा आमाबुबाले तँलाई यसो भन्दै आएका थिए, “तैँले झूट बोल्‍न सिक्‍नुपर्छ, आफ्‍नो रक्षा गर्न सिक्‍नुपर्छ, र अरूलाई तँमाथि हेपाइ व्यवहार गर्न नदे। जब कसैले तँलाई हेप्छ, तब तँ कठोर हुनुपर्छ, त्यसैले तँ कमजोर नबन्, तँलाई सजिलै हेप्‍न सकिन्छ भनेर अरूलाई सोच्‍न नदे। यसको साथै, समाजमा दह्रिलो गरी खडा हुन सक्‍नलाई, तैँले ज्ञान बटुलेर आफूलाई दह्रिलो बनाउनुपर्छ। तँ ख्याति र नाफाको पछि लाग्‍नुपर्छ, महिलाहरू आत्मनिर्भर हुनुपर्छ, र पुरुषहरूले संसारको बोझ बोक्‍नुपर्छ।” सानै उमेरदेखि, तेरा आमाबुबाले तँलाई यसरी नै शिक्षा दिए, मानौँ तिनीहरूले तँलाई आफ्नो उचित व्यवहार अपनाउन सिकाइरहेका थिए; तर वास्तवमा, तिनीहरूले तँलाई यो संसारतर्फ र यो दुष्ट प्रवाहतर्फ धकेल्न, तँलाई सकारात्मक के हो र नकारात्मक के हो भन्‍ने कुरामा अनभिज्ञ छोड्न, न्याय र दुष्टताबीच कसरी भिन्‍नता छुट्याउने, र सकारात्मक र नकारात्मक कुराहरू कसरी चिन्‍ने भन्‍नेबारेमा अनभिज्ञ छोड्नको लागि सक्दो प्रयास गरिरहेका थिए, यसो गर्नको लागि जे गर्नुपरे पनि त्यो गरिरहेका थिए, र लाग्थ्यो, यसको लागि तिनीहरूले आफ्‍नो ज्यानैसमेत जोखिममा पारिरहेका थिए। यसको साथै, तेरा आमाबुबाले तँलाई यस्तो कुरा पनि सिकाए, “जेसुकै गर्न परे पनि गर्, तर अरूसँग धेरै विनम्र नबन्। अरूलाई सहनु भनेको आफूप्रतिको क्रूरता हो।” तैँले सबभन्दा पहिले कुरा बुझ्‍न थालेदेखि नै तिनीहरूले तँलाई यसरी नै शिक्षा दिँदै आएका छन्, र त्यसपछि स्कुलमा, र समाजमा, सबैले तँलाई त्यही कुराहरू सिकाउँदै आएका छन्। तैँले मानवको रूपमा व्यवहार गर्‌ भनेर होइन, बरु तँ पिशाच बन्, तैँले झूट बोल्, दुष्ट काम गर्, र तँ नष्ट हू भनेर तिनीहरूले तँलाई यो सिकाउँछन्। तैँले परमेश्‍वरमा विश्‍वास गरेपछि मात्रै तँलाई कुनै पनि व्यक्तिले इमानदार व्यक्तिको रूपमा व्यवहार गर्नुपर्छ, र सत्य र तथ्यहरू बोल्‍नुपर्छ भन्‍ने थाहा हुन्छ। अनि, तैँले साहस बटुलेर बल्‍ल सत्य बोल्‍न सक्छस्, र तैँले आफ्‍नो विवेक र नैतिक सीमाहरू पालना गरेर सत्य कुरा बोल्छस्, तर तँलाई समाजले तिरस्कार गर्छ, तेरो परिवारले दोष दिन्छ, तेरा साथीहरूले तँलाई गिल्‍ला गर्छन्, र अन्त्यमा के हुन्छ? तँलाई कडा प्रहार हुन्छ, तैँले यो सहन सक्दैनस्, र कसरी उचित व्यवहार अँगाल्ने भनेर तँलाई थाहै हुन छोड्छ। मानवको रूपमा उचित व्यवहार प्रस्तुत गर्नु गाह्रो छ, तर पिशाच बन्‍नु सजिलो छ भन्‍ने तँलाई लाग्छ। त्यसोभए, पिसाच बनेर यो समाजको दुष्ट प्रवाह पछ्या न त—कसैले केही पनि भन्‍नेछैन। सारा मानवजातिमध्येबाट पनि कसैले तँलाई कसरी उचित व्यवहार प्रस्तुत गर्ने भनेर सिकाउँदैन। परमेश्‍वरमा विश्‍वास गरेपछि, तैँले यो सुन्छस् कि, परमेश्‍वरले बोल्‍नुहुने हरेक वचन र परमेश्‍वरले गर्नुहुने हरेक कुरा तँ साँचो मानव बन्‍न सक् भनेर तँलाई कसरी उचित व्यवहार प्रस्तुत गर्ने, र कसरी सत्यता अभ्यास गर्ने भनेर सिकाउनेबारेमा हुन्छ। परमेश्‍वरका वचनहरूमा मात्रै तैँले साँचो मानव जीवन के हो भन्‍ने कुराको साँचो उत्तर भेट्टाउन सक्छस्। परिणामस्वरूप, कसरी मानिसहरू र विभिन्न कुराहरूलाई हेर्ने, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने भन्‍ने कुरा पूर्णतया परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई मापदण्डको रूपमा लिएर गरिनुपर्छ। व्यक्तिले जस्तै व्यवहार गर्नु भनेको यही हो। जब तैँले परमेश्‍वरका वचनहरूअनुसार आफूलाई उचित व्यवहारमा ढाल्ने आधार बुझ्छस्, र सत्यता सिद्धान्तहरू बुझेर तिनमा प्रवेश गर्छस्, तब तँलाई उचित व्यवहार कसरी प्रस्तुत गर्ने भन्‍ने थाहा हुनेछ र तँ वास्तविक मानव बन्‍नेछस्। यो उचित रूपमा स्वव्यवहार पालन गर्ने कार्यको जग हो, र यस्ता व्यक्तिहरूको जीवन मात्रै सार्थक हुन्छ, र तिनीहरू मात्रै जिउन योग्य हुन्छन् र मर्न लायक हुँदैनन्। तर यसविपरीत, पिशाचहरूले जस्तो व्यवहार गर्ने, र मानव छाला ओढेर हिँड्ने जिउँदा लासहरू बाँच्‍न लायक हुँदैनन्। यस्तो किन हो? किनभने परमेश्‍वरले सृष्टि गर्नुभएको हरेक कुरा मानवजातिको लागि, परमेश्‍वरका सृष्टि गरिएका प्राणीहरूको लागि तयार गरिएको हो, पिशाचहरूको लागि होइन। तैपनि किन त्यस्ता मानिसहरू आज पनि अझै जिउँदै रहन सकिरहेका छन् त? के तिनीहरू परमेश्‍वरले मुक्ति दिन चाहनुभएका मानिसहरूको फाइदाको भागीदार भइरहेका छैनन् र? यदि दियाबलस र शैतानहरूलाई सेवा प्रदान गर्ने काममा प्रयोग गर्ने, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई नकारात्मक कुराहरू चिन्‍न र दियाबलसको सारको वास्तविकता देख्‍न मदत गर्ने, परमेश्‍वरको यो चरणको मुक्तिको काम नभएको भए, परमेश्‍वरले तिनीहरूलाई धेरै पहिले नै नष्ट गरिसक्‍नुभएको हुनेथ्यो, किनभने यी मानिसहरू परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुरामा रमाउन योग्य छैनन्, र यिनीहरूले परमेश्‍वरले बनाउनुभएका कुराहरू खेर फाल्ने र बरबाद पार्ने काम गर्छन्। परमेश्‍वरले यो देख्‍नुहुँदा, उहाँले के विचार गर्नुहुन्छ जस्तो तँलाई लाग्छ? के उहाँ राम्रो मुडमा हुनुहुनेछ? (हुनुहुनेछैन।) त्यसकारण, परमेश्‍वर सामान्य मानवता भएका मानिसहरूको एउटा समूहलाई तुरुन्तै मुक्ति दिन चाहनुहुन्छ, जो साँचो मानवहरू हुन्, र उहाँ तिनीहरूलाई कसरी उचित व्यवहार प्रस्तुत गर्ने भन्‍ने कुरा सिकाउन चाहनुहुन्छ। जब यी मानिसहरूले मुक्ति प्राप्त गर्छन्, तब यिनीहरू रहिरहन, र नष्ट नगरिन लायक बन्छन्—त्यसपछि परमेश्‍वरको महान् काम पूरा हुनेछ। भन्‍नुको अर्थ, यी कुराहरूले सटीक र सही हुनुको स्तर हासिल गरे पनि नगरे पनि, तिनीहरूको जीवन अस्तित्वका नियमहरू, जीवनलाई हेर्ने तिनीहरूको दृष्टिकोण, तिनीहरूले लिने मार्ग, साथै तिनीहरूको खोज, र परमेश्‍वर, सत्यता, र सकारात्मक कुराहरूलाई लिने तिनीहरूको मनोवृत्ति जब कम्तीमा सत्यताविरुद्ध नजाने हदमा पुगेका, तर परमेश्‍वरको स्वभाव चिढ्याउने हदमा भने निश्‍चय नै नपुगेका हुन्छन्, र जब आधारभूत रूपमा परमेश्‍वरमा समर्पित हुन सक्‍ने भएर यी मानिसहरू नष्ट नहुने बनेका हुन्छन्—तब परमेश्‍वरको महान् काम पूरा भएको हुनेछ। यो महान् काम पूरा हुनु भनेको के हो? यसको अर्थ परमेश्‍वरले मुक्ति दिनुभएका मानिसहरू सदासर्वदा रहिरहन सक्छन्, तिनीहरू सधैँभरिको लागि जिइरहन सक्छन् भन्‍ने हुन्छ। यसलाई मानव भाषामा भन्‍नुपर्दा, यो मानवजातिका उत्तराधिकारीहरू हुनेछन्, अर्थात् परमेश्‍वरले सृष्टि गर्नुभएका मनिसहरूका पुर्खाका उत्तराधिकारीहरू हुनेछन्, र यहाँ सबै कुरालाई व्यवस्थित गर्न सक्‍ने मानवहरू हुनेछन्। त्यसपछि, परमेश्‍वरलाई सहज महसुस हुनेछ, त्यसपछि उहाँले विश्राम लिनुहुनेछ, र उहाँले यी कुराहरूबारे चिन्ता गर्न छोड्नुहुनेछ। सबै कुराहरूको आफ्‍नै नीति र नियमहरू हुनेछन्, जसलाई परमेश्‍वरले पहिले नै स्थापित गर्नुभएको हुन्छ, र परमेश्‍वरले ती कुराहरूलाई कुनै सोच, विचार, वा परियोजना प्रदान गर्नुपर्दैन। सबै कुराहरू आफ्नै नीति र नियमहरूभित्र रहेर अस्तित्वमा रहन्छन्, र मानिसहरूले ती कुराहरूलाई कायम राख्‍ने र व्यवस्थित गर्ने काम मात्र गर्नुपर्छ। मानिसहरूको यस्तो जाति भएपछि, के परमेश्‍वरले अझै पनि चिन्ता गरिरहनुपर्छ जस्तो तँलाई लाग्छ? के उहाँले अझै पनि यस्ता कुराहरूको चिन्ता गरिरहनुपर्छ त? परमेश्‍वरले विश्राम गर्नुहुनेछ, र जब उहाँले विश्राम गर्नुहुन्छ, उहाँको महान् काम पूरा हुने समय आएको हुन्छ। अनि अवश्य नै, यो मानिसहरूले हर्षोल्‍लास गर्ने समय पनि हुनेछ—अर्थात्, तिनीहरूले सत्यता पछ्याएको जगमा अन्ततः मुक्ति पाउनेछन्, अनि त्यसउप्रान्त परमेश्‍वरविरुद्ध विद्रोह गर्न छोड्नेछन्, र परमेश्‍वरका अभिप्रायसँग मिल्नेछन्। मानिसहरूलाई परमेश्‍वरले प्राप्त गर्नुभएको हुनेछ, र तिनीहरूले त्यसउप्रान्त मृत्यु भोग्‍नुपर्दैन—त्यो बेला तिनीहरूले मुक्ति पाइसकेका हुनेछन्। के यो हर्षोल्‍लास मनाउन लायक कुरा होइन र? (हो।) अब, यस्ता र यति ठूला फाइदाहरू हुने भएकोले, र परमेश्‍वरका अभिप्रायहरू यिनै हुन् भन्‍ने कुरा तँलाई थाहा भइसकेको हुनाले, के मानिसहरूले यसभन्दा पहिले राखेका आफ्ना ती तुच्छ आदर्श र इच्छाहरू त्याग्‍नु सार्थक हुँदैन र? (हुन्छ।) तिमीहरूले यसलाई जे-जसरी मापन गरे पनि यो उचित नै हुन्छ। यसरी, यो उचित भएको हुनाले, के तैँले यस्ता कुरा त्याग्‍नुपर्दैन र? (पर्छ।) सिद्धान्तको हिसाबमा, यी कुराहरू त्याग्‍नुपर्छ भनेर हरेकलाई थाहा हुन्छ, तर यो कार्य निश्‍चित रूपमा कसरी गरिन्छ? वास्तवमा, यो निकै सरल छ। यसको अर्थ तैँले आफ्‍ना आदर्श र चाहनाहरूबारे कुनै पनि हिसाबमा कुनै कार्य गर्दैनस्, कुनै प्रयास गर्दैनस्, वा कुनै पनि मूल्य चुकाउँदैनस्। तैँले यी कुरालाई तेरो दिमाग भर्न दिँदैनस् वा तैँले यी कुराको लागि कुनै त्याग गर्दैनस्। यसको साटो, तँ परमेश्‍वरकहाँ फर्किन्छस्, आफ्‍ना व्यक्तिगत चाहना र आदर्शहरू त्याग्छस्, यी कुराहरूप्रति मरिहत्ते गर्न छोड्छस्, र निदाउँदा तैँले यी कुराहरूबारे सपनासमेत देख्‍न छोड्छस्। बरु, हृदयमा तैँले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गतर्फ आफ्‍नो दिशा र इच्छा सार्छस्। अनि दिनदिनै, तैँले गर्ने सबै कुरा, तेरा विचार, ऊर्जा, र तैँले चुकाउने मूल्य सबै सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्नलाई हुनेछन्—र यसरी नै, तैँले यी कुराहरू क्रमिक रूपमा त्याग्‍नेछस्।

“मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्‍ने” भन्‍ने विषयको आजको सङ्गतिबारे भन्‍नुपर्दा, के मैले यसबारे विस्तृत रूपमा सङ्गति गरेँ? कसरी त्याग्‍ने के तिमीहरूलाई थाहा छ? कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “अहो, तपाईंले यो कुरा उठाउनुभन्दा पहिले नै मैले यी कुराहरू त्यागेको छु।” तर त्यो साँचो नै हो भन्‍ने छैन। वास्तवमा, सत्यता पछ्याउने प्रक्रियाद्वारा मात्रै मानिसहरूले क्रमिक रूपमा संसारको दुष्ट प्रवाहको वास्तविकता देख्छन्, अनि तिनीहरूले ख्याति र नाफा पछ्याउने गैरविश्‍वासीहरूको मार्ग पनि क्रमिक रूपमा देख्छन् र त्याग्छन्। यदि तैँले अझै सत्यता पछ्याएको छैनस्, र तैँले त्याग्‍नेबारेमा आफ्‍नो हृदयमा विचार मात्रै गरेको छस् भने, त्यो साँचो रूपमा त्याग्‍नु होइन। तैँले त्याग्‍ने तयारी गर्नु र साँचो रूपमा त्याग्‍नु दुई फरक-फरक कुराहरू हुन्—त्यसमा अझै पनि भिन्‍नता हुन्छ। त्यसकारण, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यता पछ्याउन थाल्‍नु हो, र यो कुरा कहिल्यै कदापि परिवर्तन हुनु हुँदैन—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। तैँले सत्यता पछ्याउन थालेपछि, आफ्ना आदर्श र इच्छाहरू त्याग्‍नु अझै सजिलो हुन्छ। यदि तैँले सत्यता स्विकार्दैनस्, र बस “म साँच्‍चै यी आदर्श र इच्छाहरू त्याग्‍न चाहन्छु। म डाई लगाउने ठाउँमा रङ्गिन वा मासु पेल्ने मेसिनमा पेलिन चाहन्‍नँ” भनेर मात्र भन्छस् भने, र यदि तँ अझै पनि जीवित रहिरहन चाहन्छस् भने, म तँलाई भन्छु, त्यो सम्‍भव छैन। तैँले कुनै पनि हालतमा त्यस्तो, तँलाई फाइदा हुने अवस्था प्राप्त गर्नेछैनस्! यदि तँ सत्यता पछ्याउन चाहँदैनस्, तर आफ्ना आदर्श र इच्छाहरूचाहिँ त्याग्‍न चाहन्छस् भने, त्यो असम्‍भव हुन्छ। सबै सामान्य मानिसहरूमा आदर्श र इच्छाहरू हुन्छन्, विशेष गरी केही वरदान वा प्रतिभा भएका मानिसहरूमा यस्ता कुराहरू हुन्छन्। खुसीसाथ एकलै बस्‍ने र साधारण जीवन जिउनको लागि आफूलाई एक्ल्याउने व्यक्ति कहाँ हुन्छ र? यस्तो व्यक्ति कहीँ हुँदैन। हरव्यक्ति माथि उठ्न, आफ्‍नो लागि केही गर्न, तेजस्वी रूप प्राप्त गर्न, र आफ्‍नो जीवन अझै सहज बनाउन चाहन्छन्। यदि तँ आफ्ना व्यक्तिगत आदर्श र इच्छाहरू त्याग्‍न, मुक्ति पाउन, र अर्थपूर्ण जीवन जिउन चाहन्छस् भने, तैँले सत्यता स्विकार्नुपर्छ, सत्यता पछ्याउनुपर्छ, र परमेश्‍वरको काममा समर्पित हुनुपर्छ—यस तरिकाले तैँले आशा पाउनेछस्। यसको लागि एउटै बाटो भनेको परमेश्‍वरका वचनहरू सुन्‍नु र परमेश्‍वरलाई पछ्याउनु हो। त्यसकारण, सबै परिवर्तनहरू स्पष्ट देखिनुको बाबजुत पनि, एउटा कुरा आधारभूत रूपमा अझै उस्तै नै रहन्छ—र त्यो हो, सत्यता पछ्याउने कार्य। यो सबैभन्दा महत्त्वपूर्ण विषय हो, होइन र? (हो।) ल ठीक छ, हाम्रो यो विषयको आजको सङ्गति यहीँ टुङ्ग्याऊँ। जय मसीह!

डिसेम्‍बर १७, २०२२

अघिल्लो: सत्यता कसरी पछ्याउने (७)

अर्को: सत्यता कसरी पछ्याउने (९)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्