सत्यता कसरी पछ्याउने (९)

पछिल्लोपटक हामीले “सत्यता कसरी पछ्याउने” भन्‍ने सन्दर्भमा त्याग्नुपर्ने कुराको दोस्रो भाग—अर्थात्, मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्नेबारे सङ्गति गर्‍यौँ। यस विषयमा हामीले चार वटा कुरा सूचीबद्ध गर्‍यौँ: पहिलो हो, चासो र रुचिहरू; दोस्रो हो, विवाह; तेस्रो हो, परिवार; अनि चौथो हो, करियर। पछिल्लोपटक हामीले चासो र रुचिहरूबारे सङ्गति गर्‍यौँ। मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्नुको एउटा भाग भनेको चासो र रुचिहरूका कारण उत्पन्न हुने मानिसहरूका खोज, आदर्श र इच्छाहरू हो। मेरो सङ्गति सुनेपछि, के सबैमा चासो र रुचिहरूबारे सही मनोवृत्ति र दृष्टिकोण छ त? (छ।) हामीले सङ्गति गर्नुको उद्देश्य चासो र रुचिहरूका कारण उत्पन्न हुने खोज, आदर्श र इच्छाहरू त्याग्नु हो, तर यी कुराहरू त्याग्न तिमीहरूले पहिला चासो र रुचिहरू के हुन् भनेर बुझ्नैपर्छ, त्यसपछि तिनलाई कसरी लिनुपर्छ अनि तिनका कारण उत्पन्न हुने खोज, आदर्श र इच्छा कसरी त्याग्नुपर्छ भनेर बुझ्नैपर्छ। हामीले सकारात्मक वा नकारात्मक जुनै पक्षमा सङ्गति गरे पनि, त्यसले फरक पार्दैन। छोटकरीमा भन्नुपर्दा, यसको उद्देश्य मानिसहरूलाई रुचि सोख के हुन् भनी बुझ्न सक्षम तुल्याउनु, अनि त्यसपछि तिनलाई सही तरिकाले लिएर लागू गर्नु, तिनीहरूलाई अस्तित्वमा रहन उचित स्थान र महत्त्व दिनु, र साथसाथै मानिसहरूलाई गलत, अनुचित, तिनीहरूमा हुन नहुने, परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वास र तिनीहरूको कर्तव्य निर्वाहलाई प्रभावित गर्ने खोज, आदर्श र इच्छा त्याग्न सक्षम तुल्याउनु हो। चासो र रुचिहरूबाट उत्पन्न हुने खोज, आदर्श र इच्छाले तेरो जीवन, अस्तित्व र अस्तित्वप्रतिको तेरो विचारलाई प्रभावित गर्छ भनेर भन्न सकिन्छ; अवश्य नै तिनले तँ हिँड्ने मार्ग अनि यस जीवनमा तेरो कर्तव्य र मिसनमाझ नै ठूलो प्रभाव पार्नेछन्। त्यसैले, निष्क्रिय परिप्रेक्ष्यबाट हेर्दा, चासो र रुचिहरूले मानिसमा उत्पन्न गराउने खोज, आदर्श र इच्छाहरू तिनीहरूले पछ्याउने लक्ष्य होइनन्, न त ती तिनीहरूले पछ्याउने दिशा नै हुन्—झन् ती जीवनप्रतिको दृष्टिकोण र तिनीहरूले यस जीवनकालमा स्थापित गर्नुपर्ने मूल्य हुनु त परको कुरा हो। म मानिसहरूलाई चासो र रुचिहरू के हुन् भन्‍नेबारे सङ्गति गरेर, तिनलाई कसरी सही तरिकाले जान्ने र लिने भनी बताउँछु, अनि त्यसपछि चासो र रुचिहरूले पार्ने प्रभावको परिप्रेक्ष्यबाट तिनीहरूका खोज, आदर्श र इच्छाहरू सही छन् कि छैनन् भनेर जान्न लगाउँछु। भन्नुको अर्थ, म चासो र रुचिहरूलाई कसरी सही तरिकाले लिने भनी मानिसहरूलाई स्पष्टसँग देख्ने तुल्याउन सकारात्मक र नकारात्मक दुवै पक्ष प्रयोग गर्छु। एक त, यदि कसैमा चासो र रुचिहरूबारे सही ज्ञान र सटीक बुझाइ छ, अनि ऊ तिनलाई सही ढङ्गले लिन सक्छ भने, उसले चासो र रुचिहरूबाट उत्पन्न हुने आदर्श र इच्छा पनि साँच्चै त्यागिरहेको हुन्छ। तँमा चासो र रुचिहरूबारे सही बुझाइ भएपछि तैँले तिनलाई लिने विधि र तरिका सही अनि तुलनात्मक रूपमा सिद्धान्त र परमेश्‍वरले मान्छेबाट गर्ने मागअनुरूप हुनेछन्। यसरी, तँलाई चासो र रुचिहरूबाट उत्पन्न हुने खोज, आदर्श र इच्छाहरू सकारात्मक रूपमा त्याग्न सक्षम पारिनेछ। यसअतिरिक्त, यस सङ्गतिले तँलाई चासो र रुचिहरूबाट उत्पन्न हुने खोज, आदर्श र इच्छाहरूले ल्याउने विभिन्न हानिकारक प्रभावहरू, वा तिनले उत्पन्न गर्ने विरोधी, नकारात्मक प्रभाव प्रस्टसँग देख्न पनि मद्दत गर्छ, त्यसपछि यस सङ्गतिले तँलाई यी अनुचित खोज, आदर्श र इच्छाहरू सक्रिय रूपमा त्याग्न सहयोग गर्छ। यो सबबारे हामीले सङ्गति गरेपछि, के कतिपयले यसो भन्‍नेछैनन्: “यस संसारका विभिन्न किसिमका सबै मानिसमा विविध चासो र रुचिहरू हुन्छन्, अनि तिनीहरूका व्यक्तिगत चासो र रुचिहरूले विभिन्न खोज, आदर्श र इच्छाहरूलाई जन्म दिन्छन्। यदि हामी हालको आफ्नो बोल्ने शैलीअनुसार चलेका भए, अनि मानिसहरूले आफ्ना आदर्श र इच्छा नपछ्याएका भए—के यो संसार विकसित भएको हुनेथ्यो? मानवजातिको अस्तित्व र जीवनसँग सम्बन्धित मानवजातिको प्रविधि, संस्कृति र शिक्षाजस्ता क्षेत्रहरू कसरी अझै विकसित भएको हुन सक्थे? के मानवजातिले अझै पनि आफ्नो वर्तमान जीवनशैली अपनाउन सक्नेथ्यो? के यो संसार यो वर्तमान अवस्थामा विकसित भएको हुनेथ्यो? के संसार आदिम समाजजस्तो हुनेथिएन र? के हामीसँग आजको आधुनिक जीवनशैली हुनेथ्यो?” के यो समस्या हो? के सम्भव छ भने हामीले जुनै विषयमा सङ्गति गरे पनि, तिमीहरू सबै “परमेश्‍वरका वचन सत्यता हुन्, तिनलाई स्विकार्नुपर्छ र तिनमा समर्पित हुनुपर्छ” भन्‍ने दृष्टिकोणले ती स्विकार्छौँ, त्यसैले प्राय: तिमीहरूसँग मैले तिमीहरूलाई सङ्गति गर्ने वचनहरू खण्डन गर्ने फरक राय हुँदैन। तर त्यो त्यहाँ त्यस्तो प्रश्न उठाउने कोही पनि नहुनु—वा तेस्रो व्यक्ति नहुनुसमान होइन—होइन र? यदि कसैले साँच्चै त्यस्तो प्रश्न उठाएको भए तिमीहरूले कसरी जवाफ दिनेथ्यौ? (मलाई लाग्छ, यस प्रश्नमा व्यक्त दृष्टिकोण गलत छ, किनकि मानिसका चासो र रुचिहरूले प्रविधिको विकासलाई नियन्त्रण गर्दैनन्, न त युगौँदेखिको प्रगतिलाई नै नियन्त्रण गर्छन्। प्रविधिको विकास र युगौँदेखिको प्रगति सबै परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत हुन्छन्। तँ चासो र रुचिहरू हुने कुनै व्यक्तिले संसारको विकासलाई अगाडि धकेल्न, संसार बदल्न सक्छ भनेर भन्न सक्दैनस्।) तँ बृहत् स्तरमा बोलिरहेको छस्। के यसलाई हेर्ने अन्य कुनै तरिका छन्? यो तँ साँच्चै सत्यता बुझ्छस् कि बुझ्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। के तिमीहरूलाई गैरविश्‍वासीहरूले सङ्गतिका यी वचनहरू सुनेपछि यस्तो प्रश्न उठाउनेछन् भन्‍ने लाग्छ? (सायद उठाउनेछन्।) त्यसोभए, तिनीहरूले यो प्रश्न उठाए भने, तैँले कसरी वस्तुगत तथ्य र सत्यताअनुरूप जवाफ दिन सक्छस्? यदि तँ जवाफ दिन सक्दैनस् भने, तिनीहरूले तँलाई बहकाइएको छ भनी भन्‍नेछन्। तैँले जवाफ दिन नसक्नुले कम्तीमा एउटा तथ्य पुष्टि गर्छ, त्यो हो, तँ सत्यताको यो पक्ष बुझ्दैनस्। के तिमीहरू जवाफ दिन असक्षम छैनौ र? (हामी असक्षम छौँ।) त्यसोभए, यस मामिलाबारे कुरा गरौँ न त।

कतिपय मानिस भन्छन्: “यदि मानवजातिले आफ्नो आदर्श नपछ्याएको भए, के संसार अहिलेको अवस्थामा विकसित हुनेथ्यो र?” यसको उत्तर हुन्छ, “हो”। के यो सरल छैन र? (छ।) यो “हो” को सबैभन्दा सरल, सबैभन्दा सोझो व्याख्या के हो? त्यो हो, मानवजातिले आफ्नो आदर्श पछ्याउनु वा नपछ्याउनुले संसारमा कुनै प्रभाव पार्दैन, किनकि अहिलेसम्मको विश्‍व विकासलाई मानवजातिको आदर्शले अगाडि धकेलेको वा डोऱ्याएको छैन; बरु, मानवजातिलाई त वर्तमानसम्म, आजसम्म सृष्टिकर्ताले डोर्‍याउँदै आउनुभएको छ। मानवजाति आफ्ना खोज, आदर्श र इच्छाहरूविना पनि आजको समयमा आइपुग्ने नै थियो, तर सृष्टिकर्ताको नेतृत्व र सार्वभौमिकताविना आइपुग्ने थिएन। के यस्तो व्याख्या उपयुक्त छ? (छ।) यसबारे केचाहिँ उपयुक्त छ त? के यसले प्रश्नको जवाफ दिन्छ? के यसले प्रश्नको सारलाई व्याख्या गर्छ? यसले त्यो व्याख्या गर्दैन; यसले केवल सैद्धान्तिक रूपमा, परिकल्पना भन्न मिल्ने तरिकामा मात्र प्रश्नको जवाफ दिन्छ। तर एउटा अझ विस्तृत, अत्यावश्यक व्याख्या छ, जसबारे बताइएको छैन। त्यो विस्तृत व्याख्या के हो? सुरुमा हामी सामान्य रूपले कुरा गरौँ। सम्पूर्ण मानवजातिमा, मानिसहरू आ-आफ्नै प्रकारका व्यक्तिलाई पछ्याउँछन्, र हरप्रकारको व्यक्तिको आ-आफ्नै मिसन हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्नेहरूको मिसन भनेको सृष्टिकर्ताको सार्वभौमिकताको गवाही दिनु, उहाँका कार्यबारे गवाही दिनु, उहाँले सुम्पेको कुरा पूरा गर्नु, आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नु, अनि अन्त्यमा मुक्ति पाउनु हो। तिनीहरूको मिसन यही हो। अझ विस्तृत रूपमा भन्नुपर्दा, यो भनेको परमेश्‍वरको वचन र उहाँको कामलाई फैलाउनु, अनि त्यसपछि उहाँको नेतृत्व स्विकार्नु र उहाँको काम अनुभव गर्नु, आफ्नो भ्रष्ट स्वभाव फाल्नु र मुक्ति पाउनु हो। यस्तो व्यक्तिलाई परमेश्‍वर चुन्नुहुन्छ। यस्तो व्यक्तिले उहाँले आफ्नो व्यवस्थापन कार्यमा गर्ने कामसँग सहकार्य गर्छ। यस्तो खालको व्यक्तिको मिसन भनेको आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नु र परमेश्‍वरले आफूलाई सुम्पेको कुरा पूरा गर्नु हो। त्यस्ता मानिसहरू समस्त मानवजातिमध्ये विशिष्ट समूह हुन् भनेर भन्न सकिन्छ। मानिसहरूको यस विशिष्ट समूहले परमेश्‍वरको व्यवस्थापन कार्यमा, उहाँको छ-हजार-वर्षे व्यवस्थापन योजनामा एउटा विशिष्ट मिसन बहन गर्छ; तिनीहरूको एउटा विशिष्ट कर्तव्य र विशिष्ट जिम्मेवारी छ। त्यसैले, मैले चासो र रुचिहरूबाट उत्पन्न हुने खोज, आदर्श र इच्छाहरू त्याग्नू भन्दा, म यी मानिसहरू—जसमा तिमीहरू सबै—ले व्यक्तिगत खोज, आदर्श र इच्छाहरू त्यागेको माग गरिरहेको हुन्छु, किनकि तिमीहरूको मिसन, अनि जिम्मेवारी यस संसारमा नभई परमेश्‍वरको घर र मण्डलीमा छ। भन्नुको अर्थ, यस संसारको विकास र प्रगति वा यसको कुनै पनि प्रवृत्तिसँग तिमीहरू कसैको कुनै साइनो छैन। परमेश्‍वरले तिमीहरूलाई यस संसारको विकास र प्रगतिसम्बन्धी कुनै पनि मिसन प्रदान गर्नुभएको छैन भनेर पनि भन्न सकिन्छ। यो उहाँको आदेश हो। परमेश्‍वरले चुनेका, आफूले मुक्ति दिने मानिसहरूलाई उहाँले प्रदान गरेको मिसन के हो त? त्यो परमेश्‍वरको घरमा आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नु, अनि मुक्ति पाउनु हो। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन उनीहरूबाट माग गर्ने एउटा कुरा भनेको सत्यता पछ्याउनु हो, अनि मानिसहरूले सत्यता पछ्याऊन् भनेर उहाँले तिनीहरूबाट माग गर्ने एउटा तरिका भनेको मानिसका खोज, आदर्श र इच्छाहरू त्याग्नु हो। त्यसैले, यी वचन र माग सम्पूर्ण मानवजातिप्रति लक्षित छैनन्; बरु ती त तिमीहरूप्रति, परमेश्‍वरले चुनेको हरेक व्यक्तिप्रति, अनि मुक्ति पाउन चाहने सबैप्रति लक्षित छन्—र ती अवश्यै मानवजातिको मुक्तिका निम्ति परमेश्‍वरको व्यवस्थापन कार्यमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने सबैप्रति लक्षित छ। तिमीहरूले परमेश्‍वरको व्यवस्थापन योजनाको कार्यमा कस्तो भूमिका खेल्न सक्छौ? परमेश्‍वरले मुक्ति दिने तिनीहरूलाई नै हो। त्यसोभए, परमेश्‍वरले मुक्ति दिने मानिसहरूको कुरा आउँदा, यो “मुक्ति” मा के कुरा समावेश छन्? यसमा परमेश्‍वरका वचन, उहाँको सजाय र न्याय, उहाँको आदेश, उहाँको सार्वभौमिकता र बन्दोबस्त स्विकार्ने, उहाँका सम्पूर्ण वचनमा समर्पित हुने, उहाँको मार्ग पछ्याउने, अनि अन्ततः उहाँको आराधना गर्ने र दुष्टतादेखि टाढा रहने कुरा समावेश छन्; त्यसो गरेर तैँले मुक्ति पाउनेछस्, अनि अर्को युगमा प्रवेश गर्नेछस्। तिमीहरूले समस्त मानवजातिमाझ यही भूमिका खेल्छौ, अनि परमेश्‍वरले तिमीहरूलाई सबै मानिसमाझ प्रदान गरेको विशिष्ट मिसन यही नै हो। अवश्य नै, तिमीहरूको परिप्रेक्ष्यबाट भन्दा, यो समस्त मानवजातिमध्ये तिमीहरूसँग भएको विशेष जिम्मेवारी र कर्तव्य हो। यो परमेश्‍वरद्वारा चुनिएका उहाँका जनहरूको परिप्रेक्ष्यबाट यस मामिलाबारे बोल्नु हो। दोस्रो, परमेश्‍वरले समस्त मानवजातिबाट मानिसहरूको यस विशिष्ट समूहलाई एउटा विशिष्ट मिसन दिनुभएको छ। उहाँलाई तिनीहरूले संसारको विकास, प्रगति वा त्यससँग सम्बन्धित अरू कुनै कुराप्रति कुनै दायित्व वा जिम्मेवारी वहन गर्नु आवश्यक पर्दैन। मानिसहरूको यस विशिष्ट समूहबाहेक, परमेश्‍वरले आफूले नचुनेका बाँकी सबै प्रकारका मानिसहरूलाई तिनीहरूको प्रकृति सार जस्तोसुकै भए पनि विभिन्न मिसन दिनुभएको छ। मानवजातिका विभिन्न कालखण्डमा, विभिन्न सामाजिक परिवेशमा, अनि विभिन्न जातिमाझ, तिनीहरूलाई आफ्ना विभिन्न मिसन जीवनका सबै क्षेत्र समेटेर सबै किसिमका भूमिका खेल्न प्रेरित गर्छन्। परमेश्‍वरले तिनीहरूलाई खेल्न अह्राएका विभिन्न भूमिकाका कारण, तिनीहरू हरेकको आ-आफ्नै चासो र रुचिहरू हुन्छन्। ती चासो र रुचिहरूका पूर्वसर्तअन्तर्गत तिनीहरूमा सबै खालका खोज, आदर्श र इच्छाहरू उत्पन्न हुन्छन्। तिनीहरूमा फरक-फरक युग अनि फरक-फरक सामाजिक परिवेशमा विभिन्न किसिमका खोज, आदर्श र इच्छाहरू हुने भएकाले यो संसारले हरप्रकारका नयाँ कुरा र नयाँ उद्योगहरू पैदा गर्छ—उदाहरणका लागि, प्रविधि, औषधि, व्यापार, अर्थव्यवस्था, अनि शिक्षा, वा कपडा उद्योग र हस्तकलाजस्ता हल्का उद्योग, उड्डयन र समुद्री उद्योग आदि। तसर्थ, आफ्ना विविध खोज, आदर्श र इच्छाहरूका कारण हरेक क्षेत्रमा उदाउने अग्रणी व्यक्तिविशेष, उल्लेखनीय व्यक्ति, अनि विशिष्ट उत्साही मानिसहरू सबैको फरक-फरक समयमा अनि फरक-फरक सामाजिक परिवेशमा आ-आफ्नै मिसन हुन्छ। त्यसका साथै, तिनीहरू आफ्नो खास सामाजिक परिवेशमा निरन्तर आफ्नो मिसन पूरा गरिरहेका हुन्छन्। यसरी, मानवजातिका फरक-फरक कालखण्ड अनि फरक-फरक सामाजिक परिवेशमा यी विशिष्ट मानिसहरूका खोज, आदर्श र इच्छाहरू साकार भएको कारण समाजको लगातार विकास र प्रगति हुन्छ। अनि अवश्य पनि, यसले मानवजातिलाई लगातार विविध गुणस्तरको भौतिक जीवनशैली दिन्छ। उदाहरणका लागि, केही सय वर्षअगाडि बिजुली थिएन, त्यसैले मानिसहरू टुकी बाल्थे। यस्ता विशिष्ट परिस्थितिहरूमा, एक विशिष्ट व्यक्ति देखा पऱ्यो र उसले बिजुली आविष्कार गर्‍यो, र मानवजातिले प्रकाशका लागि बिजुली प्रयोग गर्न थाल्यो। अर्को उदाहरण लिँदा, एक खास परिवेशमा अर्को विशिष्ट व्यक्ति देखा पर्‍यो। उसले बाँसको भाटामा लेख्न अति कष्टकर भएको देख्यो, र कुनै दिन पातलो, समतल सतहमा लेख्न सकिने आस गर्‍यो, जुन सुविधाजनक अनि पढ्न सहज हुनेथ्यो। त्यसपछि उसले कागज उत्पादनका विधिहरूबारे अनुसन्धान गर्न थाल्यो, अनि लगातारको अनुसन्धान, अन्वेषण र प्रयोग गरेर अन्ततः कागजको आविष्कार गर्‍यो। त्यसपछि बाफ इन्जिनको पनि आविष्कार भयो। एक विशिष्ट कालखण्डमा एक विशिष्ट व्यक्ति देखा पर्‍यो, जसलाई हातले काम गर्दा अति थकान हुन्छ, मानवीय ऊर्जा एकदमै खेर जान्छ र त्यो अति नै प्रभावहीन हुन्छ भन्‍ने लाग्यो। यदि मानव श्रमको ठाउँमा कुनै मेसिन वा अन्य कुनै विधि भएको भए, मानिसहरूले धेरै समय बचत गर्नेथिए, अनि अन्य कुराहरूमा समय लगाउन सक्नेथिए। यसरी, अनुसन्धान र अन्वेषण गरेर बाफ इन्जिनको आविष्कार भयो, अनि त्यसपछि बाफ इन्जिनका प्रेरक सिद्धान्तहरू प्रयोग गरेर एकपछि अर्को गर्दै सबैखाले यान्त्रिक कुराहरू आविष्कार गरियो। होइन र? (हो।) यसरी, फरक-फरक समयमा एक विशिष्ट व्यक्ति वा विशिष्ट मानिसहरूको समूहका खोज, आदर्श र इच्छाहरू निरन्तर साकार र पुष्टि हुँदा क्रमिक रूपमा र लगातार हल्का अनि भारी दुवै उद्योगको प्रगति र विकास हुन्छ, जसले गर्दा समस्त मानवजातिको जीवनस्तर र जीवनावस्थामा निरन्तर सुधार हुन्छ। कपडा र हस्तकलाजस्ता हल्का उद्योगहरूमा गुणस्तर, उत्कृष्टता र सटीकता दिनदिनै बढिरहेको छ, र मानवजातिले ती झन्-झन् धेरै रुचाउँछन्। गाडी, रेल, पानीजहाज र हवाईजहाजजस्ता सबै प्रकारका यातायातका साधन अर्थात् भारी उद्योगले मानिसहरूलाई यात्रा गर्न सहज र सुविधाजनक बनाएर तिनीहरूको जीवन एकदमै सहज बनाउँछ। मानवजातिको विकासको साँचो प्रक्रिया र विस्तृत प्रकटीकरण यही नै हो। सङ्क्षेपमा भन्नुपर्दा, हल्का उद्योग होस् वा भारी, जुनै पक्ष भए पनि, सबै थोकको पहल वा उत्पादन एक विशिष्ट व्यक्तिको, वा विशिष्ट व्यक्तिहरूको समूहको चासो र रुचिहरूबाट हुन्छ। तिनीहरूका विशिष्ट चासो र रुचिहरूका कारण तिनीहरूका आ-आफ्नै खोज, आदर्श र इच्छाहरू हुन्छन्। त्यसका साथै, तिनीहरूका विशिष्ट खोज, आदर्श र इच्छाहरूका कारण मानवजातिका विभिन्न कालखण्ड र तिनीहरू जिउने सामाजिक परिवेशमा तिनीहरूमाझका विविध क्षेत्रबाट सबै प्रकारका अझ बढी उन्नत कुराहरू, अझ बढी सुविधाजनक कुराहरू, समस्त मानवजातिको जीवनस्तर बढाउनमा झन् उपयोगी हुने कुराहरू उत्पन्न हुन्छन्। यसले मानवजातिलाई सहजता प्रदान गर्छ र तिनीहरूको जीवनस्तर उकास्छ। हामी यी सबबारे कुरा गर्नेछैनौँ। बरु, हामी यी विशिष्ट व्यक्तिहरूको उत्पत्तितिर नजर लगाउनेछौँ। यी विशिष्ट व्यक्तिहरू फरक-फरक कालखण्डमा कहाँबाट आउँछन्? के यिनीहरूलाई परमेश्‍वरले खटाउनुभएको हुन्न र? (हुन्छ।) यो निस्सन्देह पक्का कुरा हो, र यसलाई कसैले नकार्न सक्दैन। तिनीहरूलाई परमेश्‍वरले खटाउनुभएकाले, तिनीहरूका मिसन पनि परमेश्‍वरको आदेशसँग सम्बन्धित हुन्छ। “परमेश्‍वरको आदेशसँग सम्बन्धित हुन्छ” को अर्थ के हो? यसको अर्थ हो, परमेश्‍वरले यी विशिष्ट व्यक्तिहरूलाई विशिष्ट मिसनहरू दिनुभएको छ, तिनीहरूलाई खास समयमा अघि सर्न, खास समयमा तिनीहरूलाई मन लाग्ने कुरा गर्न लगाउनुभएको छ, अनि त्यसपछि विभिन्न समयमा ती व्यक्तिहरूले गर्ने विशिष्ट कुराहरूमार्फत मानवजातिलाई हौस्याउनुभएको छ। यी विशिष्ट व्यक्तिहरूका कारण संसारमा लगातार झट्टै नदेखिने परिवर्तन र नवीकरणहरू भइरहेका हुन्छन्। मानवजातिको विकास यसरी नै हुन्छ।

यी विशिष्ट चासो र रुचिहरू भएकाहरू अनि परमेश्‍वरले चुनेका चयनित मानिसहरूबीच के भिन्नता छ? भिन्नता के छ भने, परमेश्‍वरले यी मानिसहरूका लागि एक विशिष्ट मिसन तोक्नुभएको भए पनि, यिनीहरू उहाँले मुक्तिका लागि तोकेका मानिस होइनन्, त्यसैले उहाँ तिनीहरूले आफ्नो विशिष्ट युगमा, आफ्नो विशिष्ट समयमा केही विशिष्ट काम गरेको मात्र माग गर्नुहुन्छ। तिनीहरू आफ्नो मिसन पूरा गर्छन्, अनि आफ्नो विशिष्ट समयमा जान्छन्। तिनीहरू पृथ्वीमा जिउँदा परमेश्‍वर तिनीहरूमा मुक्तिको काम गर्नुहुन्न। तिनीहरूसँग केवल यो समाज र मानवजातिको विकास र प्रगतिका लागि, वा विभिन्न कालखण्डमा मानवजातिको जीवनावस्था बदल्नका लागि मात्र मिसन हुन्छ। तिनीहरूको परमेश्‍वरको व्यवस्थापन योजनामा हुने मानवजातिको मुक्तिको कामसँग बिलकुलै सम्बन्ध हुँदैन, त्यसैले तिनीहरूले जुनै प्रकारको मिसन पूरा गरे पनि, मानवजातिका लागि तिनीहरूको योगदान जति नै ठूलो भए पनि, वा मानवजातिमाथि तिनीहरूको प्रभाव जति नै गहन भए पनि, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामसँग तिनीहरूको कुनै सम्बन्ध हुँदैन। तिनीहरू यो संसार, यसका प्रवृत्ति, यसको विकास, अनि यसको हरेक क्षेत्र र उद्योगसँग सम्बन्धित हुन्छन्, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामसँग तिनीहरूको कुनै सम्बन्ध हुँदैन, त्यसैले उहाँले बोल्ने हरेक वचन, मानवजातिलाई प्रदान गर्ने हरेक वचन, उहाँले व्यक्त गर्ने सत्यता र जीवन, वा उहाँले मानवजातिसँग राख्ने विविध मागसँग तिनीहरूको कुनै सम्बन्ध हुँदैन। यसको अर्थ के हो? यसको अर्थ हो, समस्त मानवजातिका लागि, सम्पूर्ण ब्रह्माण्डदेखि लिएर परमेश्‍वरले कुरा गर्ने निश्चित मापदण्ड र सिद्धान्तहरूसम्मका लागि उहाँका वाणीहरू सबै मानिसहरूप्रति लक्षित हुँदैनन्; निश्चय नै, झन् मानव समाजको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विशिष्ट मानिसहरूप्रति लक्षित हुनु त परको कुरा हो। परमेश्‍वरका वचन—सत्यता, मार्ग र जीवन—उहाँले चुनेका चयनित जनहरूप्रति मात्रै लक्षित हुन्छन्। यस मामिलाको व्याख्या सजिलै हुन्छ: परमेश्‍वरका वचन उहाँले चुन्ने जोसुकैप्रति, उहाँले मुक्ति दिन चाहने जोसुकैप्रति, उहाँलाई मुक्ति पाओस् भनी चाहना हुने जोसुकैप्रति लक्षित हुन्छन्। यदि कुनै व्यक्तिलाई परमेश्‍वरले चुन्नुभएन भने, अनि यदि उसलाई मुक्ति दिने परमेश्‍वरको कुनै योजना छैन भने, जीवनसम्बन्धी यी वचनहरू उसलाई भनिएको होइन—तिनमा उसको सहभागिता हुँदैन। के तिमीहरूले बुझ्यौ त? (बुझ्यौँ।) यी विशिष्ट व्यक्तिहरूका विशिष्ट चासो र रुचिहरू हुन्छन्, त्यसैले तिनीहरूका खोज, आदर्श र इच्छाहरू साधारण मानिसहरूका भन्दा भिन्न र उच्च हुन्छन्। तिनीहरूसँग यी विशिष्ट खोज, आदर्श र इच्छाहरू हुने कारण, अनि तिनीहरूसँग फरक वा विशिष्ट चासो र रुचिहरू हुने कारण तिनीहरू मानव समाजको विकासक्रममा महत्त्वपूर्ण भूमिका खेल्छन्, अनि निश्चय नै तिनीहरूले फरक-फरक समयमा आफ्ना महत्त्वपूर्ण मिसनहरू पूरा गर्छन्। तिनीहरूले अन्ततः स्वीकार्य स्तरमा आफ्नो मिसन पूरा गरे पनि वा नगरे पनि, तिनीहरूको त यी चासो र रुचिहरूबाट उत्पन्न हुने खोज, आदर्श र इच्छाहरूसँग मात्रै सम्बन्ध हुन्छ। यी मानिसहरूसँग विशिष्ट मिसन हुने कारण, तिनीहरूले खास समय र खास सामाजिक परिस्थितिमा आफ्ना खोज, आदर्श र इच्छाहरू साकार पार्नैपर्छ। यो नै परमेश्‍वरले तिनीहरूलाई दिने मिसन, तिनीहरूमाथि थप्ने मिसन हो, यो तिनीहरूको जिम्मेवारी हो, र तिनीहरूले यसरी नै कार्य गर्नुपर्छ। तिनीहरूलाई जति नै जति नै शारीरिक, भावनात्मक वा मानसिक तनाव भए पनि, वा तिनीहरूले जति नै ठूलो मूल्य चुकाए पनि, तिनीहरू सबैले आफ्ना आदर्श र इच्छा साकार पारिछाड्न आफूले पूरा गर्नुपर्ने मिसन पूरा गर्नेछन्—वा गर्नैपर्छ, किनकि यो परमेश्‍वरको आदेश हो। परमेश्‍वरको आदेशबाट कोही पनि उम्कन सक्दैन, न त उहाँको सार्वभौमिकता र बन्दोबस्तबाट नै कोही उम्कन सक्छ। त्यसैले, मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्नेबारे हामीले जुन कुरा गरिरहेका छौँ, त्यससँग तिनीहरूको कुनै सम्बन्ध छैन। तिनीहरूको एकअर्कासँग कुनै सम्बन्ध छैन भन्नुको अर्थ के हो? यसको अर्थ हो, मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्नेसम्बन्धी यी वचनहरू तिनीहरूप्रति लक्षित छैनन्। जुनसुकै कालखण्ड भए पनि, जस्तोसुकै सामाजिक परिस्थिति भए पनि, अनि मानवजाति जुनसुकै हदमा विकसित भए पनि, तिनीहरूसँग परमेश्‍वरका यी वचनको कुनै सम्बन्ध हुँदैन। यी वचनहरू तिनीहरूप्रति लक्षित हुँदैनन्, त्यसैले यी वचनहरू तिनीहरूबाट गरिने माग होइनन्। तिनीहरूले परमेश्‍वरको आदेश, सार्वभौमिकता र बन्दोबस्तअन्तर्गत पूरा गर्नुपर्ने मिसन पूरा गर्नैपर्छ। तिनीहरूले फरक-फरक समयमा अनि दुष्ट र भ्रष्ट मानवजातिका फरक-फरक सामाजिक परिस्थितिअन्तर्गत आफूले गर्नुपर्ने कुरा गर्नैपर्छ, आफ्नो दायित्व पूरा गर्नैपर्छ, र आफूले पूरा गर्नुपर्ने मिसन पूरा गर्नैपर्छ। त्यसोभए, तिनीहरूले सेवाकर्ताको भूमिका निभाइरहेका छन् कि प्रतिभारको? तिमीहरूले जे भने पनि हुन्छ। छोटकरीमा भन्नुपर्दा, तिनीहरू परमेश्‍वरद्वारा चुनिएका मानिस होइनन्, न त उहाँले मुक्ति दिन चाहनेहरू नै हुन्—कुरो त्यति हो। त्यसैले, विश्‍वासीहरूले खोज, आदर्श र इच्छाहरू जसरी त्यागे पनि, त्यसले संसार वा मानवजातिको विकासमा ढिलाइ गर्नेछैन; अनि अवश्य नै त्यसले संसारका विभिन्न कालखण्ड र विभिन्न सामाजिक परिस्थितिमा विविध क्षेत्र तथा उद्योगको विकासमा ढिलाइ गर्नेछैन। के कुरा यही होइन र? (हो।) यसको कारण के हो? कारण के हो भने, मानवजाति र समाजका उद्योगहरूको विकाससँग विश्‍वासीहरू वा परमेश्‍वरले चुनेका मानिसहरूको कुनै सम्बन्ध छैन, त्यसैले तिमीहरूले “यदि हामीले तपाईं जे भन्नुहुन्छ त्यही गर्‍यौँ अनि खोज, आदर्श र इच्छाहरू त्याग्यौँ भने, के यो समाज र मानवजातिको विकास भइरहनेछ?” भनेर चिन्ता लिनु पर्दैन। किन तिमीहरू चिन्तित हुने र? तिमीहरू चिन्तित हुनु पर्दैन। परमेश्‍वरसँग योजना र बन्दोबस्तहरू छन्—तँ यो कुरा बुझ्छस् नि, होइन? (हो।) तेरो चिन्ता सतही हो, तैँले कामकुरा स्पष्टसँग नदेखेको र सत्यता नबुझेको कारण त्यस्तो भएको हो।

परमेश्‍वरको विश्‍वासीमा हुनुपर्ने खोज, आदर्श र इच्छाहरू के-के हुन्? तैँले आफ्नो कर्तव्य स्वीकार्य स्तरमा राम्ररी निर्वाह गर्नैपर्छ, परमेश्‍वरले तँलाई सुम्पेको कुरा पूरा गर्नैपर्छ, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता पछ्याउनैपर्छ र अभ्यास गर्नैपर्छ, सत्यतालाई आफ्नो मापदण्ड बनाएर पूर्णतः परमेश्‍वरका वचनअनुसार मानिस र कामकुरालाई हेरेर अनि आफूलाई व्यवहारमा ढालेर र कार्य गरेर सत्यता वास्तविकतामा प्रवेश गर्नैपर्छ। तँमा हुनुपर्ने खोज, आदर्श र इच्छाहरू यिनै हुन्। चासो र रुचिहरूबाट उत्पन्न हुने सांसारिक खोज, आदर्श र इच्छाहरू तैँले त्याग्नुपर्ने कुरा हुन्। तैँले किन ती त्याग्नुपर्छ? तँ मण्डलीबाहिरका मान्छेहरूभन्दा फरक होस्; परमेश्‍वरले तँलाई चुन्नुभएको छ, तैँले सत्यता पछ्याउन रोजेको छस्, र तैँले सत्यता पछ्याउने मार्गमा हिँड्ने निधो गरेको छस्, त्यसैले तेरो जीवन लक्ष्य र दिशामा परिवर्तन आउनुपर्छ, अनि तैँले चासो र रुचिहरूबाट उत्पन्न हुने खोज, आदर्श र इच्छाहरूलाई पूर्णतः र नामनिसान मेट्ने गरी त्याग्नुपर्छ। किन तैँले ती त्याग्नुपर्छ? किनकि त्यो तैँले हिँड्नुपर्ने मार्ग होइन। त्यो त परमेश्‍वरमा विश्‍वास नगर्ने गैरविश्‍वासीहरूको मार्ग हो। यदि तँ त्यो मार्गमा हिँड्न लागिपर्छस् भने, तँ परमेश्‍वरले चुनेकाहरूमध्येको होइनस्। यदि तँ गैरविश्‍वासीहरूले पछ्याउने आदर्श र इच्छा पछ्याउँछस् भने, सत्यता पछ्याउन सक्दैनस्, अनि तैँले मुक्ति पाउन सक्दैनस्। अझ तोकेरै भन्नुपर्दा, यदि तँ आफ्ना खोज, आदर्श र इच्छाहरू त्याग्न सक्दैनस्, अनि झन् ती साकार पार्न चाहन्छस् भने, तँ परमेश्‍वरको काममा समर्पित हुन वा उहाँको डर मान्न र दुष्टतादेखि टाढा रहन सक्दैनस्, अनि तैँले कहिल्यै मुक्ति पाउन सक्दैनस्। यसको अर्थ के हो? आफ्ना खोज, आदर्श र इच्छाहरू त्याग्न नसक्नु, र अझ ती साकार पार्न चाहनु भनेको आफूले सत्यता पछ्याउन छोड्नु, मुक्ति छोड्नु, अनि परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन नचाहनुसरह हो। के कुरा यही होइन र? (हो।) त्यसैले, अन्त्यमा कुरा मैले भनेझैँ हो: यदि तँ सत्यता पछ्याउन चाहन्छस् भने, तैँले सुरुमा चासो र रुचिहरूबाट उत्पन्न हुने खोज, आदर्श र इच्छाहरू त्याग्नुपर्छ। तैँले ती कुरा त्याग्नैपर्छ, किनकि सांसारिक आदर्श र इच्छा पछ्याउनुको सत्यता र मुक्ति पछ्याउनेहरूसँग कुनै सम्बन्ध छैन; त्यो तैँले हिँड्नुपर्ने मार्ग होइन, न त त्यो तैँले आफ्नो जीवनमा स्थापित गर्नुपर्ने र राख्नुपर्ने लक्ष्य र दिशा नै हो। यदि तँ प्रायः यसबारे योजना बनाउँछस् र हिसाबकिताब गर्छस्, दिमाग खियाएर यसबारे चिन्तन र विचार गर्छस् भने, तैँले त्यो जतिसक्दो चाँडै त्याग्नुपर्छ। तैँले एकातिर सत्यता पछ्याउन र मुक्ति पाउन चाहँदै, अनि अर्कोतिर संसारलाई पछ्याउन अनि आफ्ना आदर्श र इच्छा साकार पार्न पनि चाहँदै दुइटै डुङ्गामा खुट्टा राख्न मिल्दैन। यसरी त तैँले ती दुईमध्ये कुनै पनि प्राप्त गर्न वा साकार पार्न नसक्ने मात्र होइन, बरु अझ—र सबैभन्दा महत्त्वपूर्ण कुरा—यसले तेरो मुक्तिलाई असर गर्नेछ। अन्ततः तैँले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम छुटाउनेछस्, मानवजातिलाई परमेश्‍वरले दिने मुक्तिको सर्वोत्तम मौका फुत्कन दिनेछस्, र मुक्ति पाउने मौका गुमाउनेछस्। अन्त्यमा, तँ विपत्तिमा पर्नेछस्, आफ्नो छाती पिट्नेछ्स् र खुट्टा बजार्नेछस्, तर पछुतो गर्न एकदमै ढिलो भइसकेको हुनेछ—यो तेरो दयनीय नियति हुनेछ। यदि तँ बाठो छस् र सत्यता पछ्याउने मन बनाइसकेको छस् भने, तैँले आफूमा कुनै समय भएका, वा अझै पछ्याइरहेका आदर्श र इच्छा त्याग्नुपर्छ। बेवकुफ, मूर्ख, अज्ञानी र दोधारे मानिसहरू—यी मानिसहरू सत्यता पछ्याउन र मुक्ति पाउन चाहन्छन्, तर आफ्ना सांसारिक खोज, आदर्श र इच्छाहरू त्याग्न चाहँदैनन्। तिनीहरू दुवै हातमा लड्डु चाहन्छन्। तिनीहरूलाई यस्तो व्यवहार गर्नु भनेको फाइदा उठाउनु हो, बाठो काम हो भन्‍ने लाग्छ, जबकि वास्तवमा यो सबैभन्दा मूर्ख कार्यशैली हो। बाठा मानिसहरू आफ्ना सांसारिक खोज, आदर्श र इच्छाहरू पूर्णतः त्याग्छन्, अनि सत्यता पछ्याउने र मुक्ति पाउने छनौट गर्छन्। संसार जुनै हदसम्म विकसित भए पनि, अनि विविध क्षेत्र तथा उद्योगहरूको अवस्था वा विकास जे-जस्तो भए पनि, तिनको तँसँग कुनै सम्बन्ध छैन। ती संसारकाहरूले, पृथ्वीमा जिउने ती दियाबलसहरूले, आफूले जे गर्नुपर्ने हो त्यो गरून्। हामीले गर्ने भनेको एक त आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्नु हो भने अर्कोचाहिँ, तिनीहरूको मेहनतको फल खानु हो। कति राम्रो! उदाहरणका लागि, तिनीहरूले आविष्कार गर्ने कम्प्युटर र सफ्टवेयर तँलाई आफ्नो कर्तव्य निर्वाह र काम गर्दा एकदमै काम लाग्छ। त्यो ले र चला, त्यसलाई तेरो सेवा गर्न लगा; तैँले आफ्नो कर्तव्य पूरा गर्दा आफ्नो काम राम्रोसँग पूरा गर्न, आफ्नो कर्तव्य निर्वाहको प्रभावकारिता बढाउन, र त्यसको नतिजा सुधार्न, साथै अझ धेरै समय बचत गर्न त्यसको मद्दत ले। कति राम्रो! तैँले “यो सफ्टवेयरको आविष्कार कसरी भएको थियो? यो कहाँबाट आउँछ? मैले यस सफ्टवेयरमा, यस प्राविधिक क्षेत्रमा कसरी प्रयास लगाउनुपर्छ?” भनेर अनुसन्धान गर्दै आफ्नो दिमाग खियाउनु पर्दैन। यसरी दिमाग खियाउनु नचाहिँदो कुरा हो। तेरो सोच र ऊर्जा यसका लागि बनेको होइन। तैँले यस मामिलामा आफ्नो ऊर्जा वा मस्तिष्कका कोशिकाहरू योगदान गर्नु पर्दैन। योगदान दिनुपर्ने ती सांसारिक मानिसहरूले नै योगदान दिऊन्; तिनीहरूको योगदानपछि, हामी त्यो लिन्छौँ र चलाउँछौँ। कति राम्रो! सबै कुरा तयार अवस्थामा छ। परमेश्‍वरले सबै थोकको बन्दोबस्त पहिले नै गर्नुभयो, त्यसैले तैँले त्यो पछ्याउनु पर्दैन, र तँ यी मामिलामा चिन्तित हुनु पर्दैन वा तैँले प्रयास लगाउनु पर्दैन। तैँले यी मामिलामा कुनै कुरा टाउकोमा लिनु पर्दैन, न त कुनै कुराबारे चिन्ता वा चासो नै लिनुपर्छ। तैँले केवल आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ, सत्यता पछ्याउनुपर्छ, सत्यता बुझ्नुपर्छ, र सत्यता वास्तविकतामा प्रवेश गर्नुपर्छ। के यो नै जीवनको सबैभन्दा सही मार्ग होइन र? (हो।)

के तिमीहरू अब आदर्श र इच्छा पछ्याउने मामिलालाई बुझ्छौ त? कतिपय मानिस भन्छन्: “यदि मानिसहरूले आफ्ना आदर्श नपछ्याएका भए, संसारमा अझै प्रगतिमूलक विकास हुनेथ्यो र?” म भन्छु, हुनेथ्यो। के तिमीहरूले यो उत्तर बुझ्यौ? बुझ्यौ त? (बुझ्यौँ।) त्यसोभए, के तिमीहरू हामीले कुरा गरिरहेको यस समस्याको सार पनि प्रस्टसित देख्छौ त? के वास्तवमा कुरा यस्तै होइन र? (हो।) अन्तिम वचन—संसारको विकास, प्रगति र मामिला—को सन्दर्भमा भन्नुपर्दा, त्यसलाई संसारका दियाबलस, वा संसारका कथित “मानवहरू” ले नै सम्हालून्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूसँग त्यसको कुनै सम्बन्ध छैन। परमेश्‍वरमा विश्‍वास गर्नेहरूको मिसन र जिम्मेवारी के हो? (आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु, सत्यता पछ्याउनु, अनि मुक्ति पाउनु।) ठिक। यो एकदमै विशिष्ट र व्यावहारिक छ। के यो सरल छैन? (छ।) परमेश्‍वरमा विश्‍वास गर्नेहरूले केवल सत्यता पछ्याउनुपर्छ र उहाँको मार्गको पछि लाग्नुपर्छ, अनि अन्ततः मुक्ति पाउनेछन्। यो नै तेरो मिसन, अनि तिमीहरूका लागि परमेश्‍वरको सबैभन्दा ठूलो अपेक्षा र आशा हो। बाँकी कुराहरू परमेश्‍वरले बन्दोबस्त गर्नुहुन्छ, त्यसैले तँ सुर्ताउनु वा चिन्तित हुनु पर्दैन। समय आएपछि, तैँले आफूले आनन्द लिनुपर्ने कुराको आनन्द लिनेछस्, आफूले खानुपर्ने सब थोक खानेछस्, र आफूले प्रयोग गर्नुपर्ने सबै कुरा प्रयोग गर्नेछस्। सबै कुराले तेरो कल्पना र अपेक्षालाई पार गर्नेछन्, अनि प्रचुर मात्रामा हुनेछन्। परमेश्‍वरले तँलाई अभावमा छोड्नुहुनेछैन, न त गरिब हुन नै दिनुहुनेछ। बाइबलमा एउटा हरफ छ, जसले प्रभुको बोझ हल्का छ भनेर भन्छ। मूल हरफले के भन्छ? (“किनकि मेरो जुवा सहज छ, र मेरो बोझ हल्‍का छ” (मत्ती ११:३०)।) के अर्थ त्यही होइन र? (हो।) तैँले आफ्ना खोज, आदर्श र इच्छाहरू त्यागेको माग गर्नु भनेको तँलाई मामुली व्यक्ति बनाउनका लागि होइन, न त अल्छे, न त पछ्याइविनाको व्यक्ति, न त जिउँदो लास वा आत्माहीन व्यक्ति बनाउन नै हो; बरु यो त तेरा पछ्याइका गलत दिशा र लक्ष्य बदल्नका लागि हो। तैँले आफूमा नहुनुपर्ने खोज, आदर्श र इच्छाहरू त्याग्नुपर्छ, अनि सही खोज, आदर्श र इच्छाहरू स्थापित गर्नुपर्छ। यसरी मात्रै तँ जीवनको सही मार्गमा हिँड्न सक्छस्। त्यसोभए, के यो समस्या समाधान भइसक्यो त? यदि मानिसहरूले आफ्ना आदर्श नपछ्याएका भए, के यो संसार विकसित भइरहनेथियो त? यसको उत्तर हो, “भइरहनेथियो।” किन? (किनकि परमेश्‍वरले संसारसँग सम्बन्धित मानिसहरूलाई एउटा मिसन निर्धारण गर्नुभएको छ; यो काम तिनीहरूले गर्नेछन्।) ठिक, किनभने परमेश्‍वरका आफ्नै आदेश र बन्दोबस्तहरू हुन्छन्, त्यसैले तँ सुर्ताउनु पर्दैन। संसारको विकास हुनेछ, र यसका लागि परमेश्‍वरका विश्‍वासीहरू आफैले यो मिसन लिनु, यो जिम्मेवारी र दायित्व पूरा गर्नु आवश्यक छैन। परमेश्‍वरले सबै कुराको बन्दोबस्त गर्नुभएको छ। तैँले परमेश्‍वर कसको बन्दोबस्त गर्नुहुन्छ भनेर चिन्ता लिनुपर्दैन। तैँले सत्यता पछ्याए, परमेश्‍वरको मार्ग पछ्याए, अनि मुक्ति पाए पुग्छ। के तैँले अरू कुनै कुराको चिन्ता लिनुपर्छ? (पर्दैन।) पर्दैन। त्यसैले, मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्नु त तैँले अभ्यास गर्नुपर्ने मार्ग हो। तैँले आफ्ना आदर्श र इच्छा त्यागेपछि संसार वा मानवजाति कस्तो होला भनेर चिन्ता गर्नु पर्दैन। त्यो तैँले चिन्ता गर्नुपर्ने कुरो होइन। यसको तँसँग कुनै सम्बन्ध छैन। परमेश्‍वरले सबै कुराको बन्दोबस्त गर्नुभएको छ। यो त्यति सरल छ। के तैँले बुझिस् त? (बुझेँ।) मैले यसरी सङ्गति गरेर के यस समस्यालाई जरैदेखि उखेलेर फालेको छैनँ र? (फाल्नुभएको छ।) यदि कसैले तिमीहरूलाई फेरि सोध्यो भने, तिमीहरू यस समस्यालाई कसरी हेर्नेछौ र व्याख्या गर्नेछौ? यदि परमेश्‍वरमा विश्‍वास नगर्ने व्यक्तिले “तिमीहरू सधैँ आदर्श नपछ्याउने, आदर्श र इच्छा त्याग्नेबारे कुरा गर्छौ। यदि सबैले तिमीहरूले भनेअनुसार अभ्यास गरेको भए, के संसार अस्तित्वमा रहनेथ्यो? के मानवजातिको विकास भइरहनेथियो?” भन्दै सोध्यो भने, तँ यसो भन्दै जवाफ दिन सक्छस्: “हरेकको आ-आफ्नै आकाङ्क्षा हुन्छ; तैँले तिनीहरूलाई कर गर्न मिल्दैन।” यो संसारको लोकप्रिय भनाइ हो। तैँले यसो भन्नुपर्छ: “परमेश्‍वर मानिसहरूले आफ्ना खोज, आदर्श र इच्छाहरू त्यागेको माग गर्नुहुन्छ; त्यही नै सत्यता हो। यदि तँ यो स्विकार्न इच्छुक छस् भने, यी कुराहरू त्याग्न सक्छस्। यदि तँ यो स्विकार्न इच्छुक छैनस् भने, ती कुरा नत्याग्ने छनौट पनि गर्न सक्छस्। परमेश्‍वरले कसैलाई कर गर्नुहुनेछैन। तैँले आफ्ना खोज, आदर्श र इच्छाहरू त्याग्नु भनेको तेरो स्वेच्छाको कुरा र अधिकार हो। ती कुरा नत्याग्नु पनि तेरो स्वैच्छिक कुरा र अधिकार पनि हो। हरेक व्यक्तिको आफ्नै खास मिसन हुन्छ। समस्त मानवजातिमाझ, हरेक व्यक्तिको आफ्नै मिसन हुन्छ, आफूले खेल्नुपर्ने आफ्नै भूमिका हुन्छ। मानिसहरूका रोजाइ फरक-फरक हुन्छन्, त्यसैले तिनीहरू हिँड्ने मार्ग पनि फरक-फरक हुन्छन्। तँ संसारलाई पछ्याउने, संसारमा आफ्ना आदर्श र इच्छा साकार पार्ने, अनि आफ्ना मूल्यमान्यतालाई मूर्त रूप दिने छनौट गर्छस्, तर मचाहिँ परमेश्‍वरलाई पछ्याउन आफ्ना खोज, आदर्श र इच्छाहरू त्याग्ने, उहाँका वचनहरू सुन्ने, उहाँको मार्ग पछ्याउने, अनि उहाँलाई सन्तुष्ट पार्ने छनौट गर्छु। अन्ततः मैले मुक्ति पाउन सक्नेछु। तँ यो मार्ग पछ्याउँदैनस्, त्यसो गर्न तँ स्वतन्त्र छस्। तँलाई कसैले कर गर्न मिल्दैन।” यो जवाफ कस्तो लाग्यो? (राम्रो लाग्यो।) यदि तँ “मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्ने” विचार स्विकार्न सक्छस् भने, यी वचनहरू तँप्रति लक्षित हुन्। यदि तँ यो स्विकार्न सक्दैनस् भने, तैँले यी वचनहरू सुन्नैपर्छ र स्विकार्नैपर्छ भन्‍ने कुनै सङ्केत छैन। तँ नसुन्ने छनौट गर्न सक्छस्; तँ मानवजातिको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापन कार्य गुमाउने, अनि आफ्नो मुक्ति पाउने मौका त्याग्ने छनौट गर्न सक्छस्। यो तेरो अधिकार हो। तैँले आफ्ना खोज, आदर्श र इच्छाहरू नत्याग्न, अनि संसारमा पसेर आत्मविश्‍वास र हिम्मतका साथ ती साकार पार्न सक्छस्। कसैले तँलाई कर गर्नेछैन, अनि कसैले तेरो निन्दा गर्नेछैन। यो तेरो अधिकार हो। तेरो रोजाइ पनि तेरो मिसन हो, अनि तेरो मिसन भनेको परमेश्‍वरले तँलाई मानिसहरूमाझ खेल्न निर्धारण गरेको भूमिका हो। कुरा त्यति नै हो। तथ्य यही हो। तैँले जेसुकै रोजे पनि, तँ हिँड्ने मार्ग त्यस्तै हुनेछ; तँ जस्तोसुकै मार्गमा हिँडे पनि, तैँले मानिसमाझ त्यही भूमिका खेल्नेछस्। यो त्यति सरल हुन्छ। तथ्यको साँचो यथार्थ त्यही हो। त्यसैले, यी अझै पनि पहिलेकै वचन हुन्: “हरेकको आ-आफ्नै आकाङ्क्षा हुन्छ; तैँले तिनीहरूलाई कर गर्न मिल्दैन।” तर त्यो आकाङ्क्षा कहाँबाट आउँछ? मूलतः यो परमेश्‍वरद्वारा निर्धारित हुन्छ। यदि तँ सत्यता स्विकार्ने अनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने छनौट गर्दैनस् भने, यसको अर्थ परमेश्‍वरले तँलाई चुन्नुभएन, र तैँले मुक्ति पाउने मौका पाउँदैनस् भन्‍ने हो। स्पष्ट रूपमा भन्नुपर्दा, तँसँग यो आशिष् छैन; यो परमेश्‍वरद्वारा निर्धारित थिएन। यदि तँलाई परमेश्‍वरमा विश्‍वास गर्न वा सत्यता पछ्याउनमा रुचि छैन भने—यदि तँ यो पक्ष पछ्याउँदैनस् भने—तँमा यो आशिष् छैन। परमेश्‍वरको घरमा आउन निर्धारित व्यक्तिहरू त्यहाँ आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक हुन्छन्। परमेश्‍वर जे भन्नुहुन्छ, तिनीहरू त्यो सुन्छन्; यदि उहाँ तिनीहरूले आफ्ना खोज, आदर्श र इच्छाहरू त्यागून् भन्‍ने चाहनुहुन्छ भने, तिनीहरू ती त्याग्छन्। यदि तिनीहरूले ती कुरा त्याग्न नसके, कसरी त्याग्ने भनी सोच्दै आफ्नो दिमाग खियाउँछन्। यस्ता व्यक्तिहरू मुक्ति पछ्याउन इच्छुक हुन्छन्। यसको नै तिनीहरूको आत्मालाई सबैभन्दा खाँचो र आवश्यकता हुन्छ, जुन परमेश्‍वरद्वारा निर्धारित हुन्छ, त्यसैले तिनीहरूसँग यो आशिष् हुन्छ, जुन तिनीहरूको सौभाग्य हो। परमेश्‍वरले तेरा लागि जुन भूमिका निर्धारण गर्नुहुन्छ, तैँले त्यही भूमिका खेल्नुपर्छ। स्रोत त्यही नै हो। आशिष् नपाउनेहरू संसारलाई पछ्याउँछन् भने आशिष् पाउनेहरू सत्यता पछ्याउँछन्—के त्यो तथ्य होइन र? (हो।) त्यसोभए, यदि कसैले तिमीहरूलाई फेरि सोध्यो भने, के तिमीहरू जवाफ दिन सक्नेछौ? (हजुर।) सबैभन्दा सरल जवाफ के हो? (हरेकको आ-आफ्नै आकाङ्क्षा हुन्छ; तिनीहरूलाई कर गर्न मिल्दैन।) हरेकको आ-आफ्नै आकाङ्क्षा हुन्छ; तिनीहरूलाई कर गर्न मिल्दैन। तैँले आफ्ना खोज, आदर्श र इच्छाहरू त्यागेको माग गर्नु भनेको तँलाई अभ्यासको मार्ग दिनका लागि मात्र हो। तैँले ती त्याग्ने-नत्याग्ने छनौट गर्न सक्छस्। हरेकको आ-आफ्नै आकाङ्क्षा हुन्छ; तिनीहरूलाई कर गर्न मिल्दैन। यदि तँ स्विकार्छस् भने, यी वचनहरू तँप्रति लक्षित हुन्। यदि तँ स्विकार्दैनस् भने, यी वचनहरू तँप्रति लक्षित होइनन्, अनि खोज, आदर्श र इच्छाहरू त्याग्नुसँग तेरो कुनै सम्बन्ध छैन; तँ स्वतन्त्र छस्। के यो समस्या सुल्झियो त? (हजुर।) यो सुल्झियो, त्यसैले यस विषयबारे कसैले पनि झिजोलाग्दो कुरा गरिरहनेछैन, होइन त? (हो।)

मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्ने सन्दर्भमा अर्को मामिला छ। कतिपय मानिस भन्छन्: “तपाईं अहिले मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्नेबारे कुरा गर्नुहुन्छ—के समय नजिकै भएकाले, आखिरी दिनहरू, विपत्ति, र परमेश्‍वरको दिन आएकाले, तपाईं मानिसहरूले आफ्ना खोज, आदर्श र इच्छाहरू त्यागून् भन्‍ने माग गर्नुहुन्छ?” कुरो त्यही हो? (होइन।) जवाफ नकारात्मक हुन्छ: होइन! त्यसोभए, खास कारणबारे कुरा गरौँ। जवाफ होइन भएकाले, यहाँ पक्कै पनि सङ्गति गर्नुपर्ने र बुझ्नुपर्ने केही विस्तृत मामिला छन्। यसबारे कुरा गरौँ न त: दुई हजार, वा केही सय वर्षअघि नै भनौँ, सम्पूर्ण सामाजिक परिवेश अहिलेको भन्दा फरक थियो; समस्त मानवजातिको अवस्था अहिलेको भन्दा फरक थियो। तिनीहरूको जीवन परिवेश एकदमै सुव्यवस्थित थियो। संसार अहिले जस्तो दुष्ट थिएन, मानव समाज अहिले जस्तो अस्तव्यस्त थिएन, अनि विपत्तिहरू आउँथेनन्। के तैपनि मानिसहरूले आफ्ना खोज, आदर्श र इच्छाहरू त्याग्नुपर्थ्यो। (पर्थ्यो।) किन? कारण देऊ, र आफ्नो खास बुझाइबारे बताऊ। (अहिले मानवजाति शैतानद्वारा भ्रष्ट पारिएकाले, तिनीहरूमा शैतानको भ्रष्ट स्वभाव छ, त्यसैले तिनीहरूले आफ्ना आदर्श र इच्छा पछ्याउँदा, त्यो सब ख्याति, लाभ र हैसियतको पछि लाग्नका लागि हुन्छ। तिनीहरूले ख्याति र लाभ पछ्याउने हुनाले, तिनीहरू एकअर्कासँग सङ्घर्ष र लडाइँ गर्छन्, जीवन-मरणको लडाइँ लड्छन्, अनि नतिजास्वरूप, तिनीहरू शैतानद्वारा झनै गहन रूपमा भ्रष्ट पारिन्छन्, झन्-झनै मानव स्वरूप गुमाउँदै जान्छन् र परमेश्‍वरबाट झन्-झन् टाढा हुन्छन्। यसरी, आदर्श र इच्छा पछ्याउने मार्ग गलत छ भनेर बुझ्न सकिन्छ। त्यसैले, परमेश्‍वरको दिन नजिक आएकाले उहाँ मानिसहरूले आफ्ना खोज, आदर्श र इच्छा त्यागून् भन्‍ने माग गर्नुहुन्छ भन्‍ने होइन; बरु, मानिसहरूले यी कुराहरूलाई प्राथमिकता दिएर पछ्याउनु हुँदैन। तिनीहरूले परमेश्‍वरका वचनअनुसार सही तरिकाले पछ्याउनुपर्छ।) के तिमीहरूलाई मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्नु भनेको अभ्यासको सिद्धान्त हो भन्‍ने लाग्छ? (लाग्छ।) के मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्नु भनेको सत्यता हो? के यो परमेश्‍वरले मान्छेलाई गर्ने माग हो? (हो।) यो सत्यता हो, परमेश्‍वरले मान्छेलाई गर्ने माग हो। त्यसोभए, के यो मानिसहरूले पछ्याउनुपर्ने मार्ग हो? (हो।) यो सत्यता भएकाले, परमेश्‍वरले मान्छेलाई गर्ने विशिष्ट माग, अनि मानिसहरूले पछ्याउनुपर्ने मार्ग भएकाले, के यसलाई समय र पृष्ठभूमिले फरक बनाउँछ? (बनाउँदैन।) किन बनाउँदैन? किनकि सत्यता, परमेश्‍वरका माग, र उहाँको मार्ग समय, स्थान वा परिवेशअनुसार परिवर्तन हुँदैन। जुनै समय भए पनि, जुनै स्थान भए पनि, अनि जुनै ठाउँ भए पनि, सत्यता सधैँ सत्यता नै हुन्छ, अनि परमेश्‍वरले मानिसबाट माग गर्ने मानक बदलिँदैन, न त उहाँले आफ्ना अनुयायीहरूबाट माग गर्ने मानक नै बदलिन्छ। त्यसैले, परमेश्‍वरका अनुयायीहरूका लागि समय, स्थान वा अवस्था जे भए पनि, तिनीहरूले पछ्याउनुपर्ने परमेश्‍वरको मार्ग बदलिँदैन। तसर्थ, अहिलेको युगमा मानिसहरूलाई आफ्ना खोज, आदर्श र इच्छाहरू त्याग्न माग गर्नु भनेको केवल दिन नजिकै भएकाले, वा आखिरी दिनहरू आएकाले मानिससँग गरिएका माग होइनन्; न त दिन कम भएकाले र विपत्तिहरू ठूला भएकाले न त मान्छे विपत्तिमा पर्ने डरले गर्दा मानिसले सत्यता वास्तविकतामा सबैभन्दा छिटो प्रवेश पाउन चरम वा उग्र कामकुरामा मुछिनुपर्ने त्यस्तो आत्तुरी माग गरिएको हो। कारण यो होइन। त्यसोभए, कारण के हो त? जुनसुकै समय भए पनि, चाहे त्यो केही सय, वा हजार वर्षअघि नै किन नहोस्—वर्तमानमा समेत—यस मामिलामा परमेश्‍वरले मानिसबाट गर्ने मागहरू बदलिएका छैनन्। यति मात्र हो, केही हजार वर्षअगाडि, आजभन्दा कुनै समयअघिसम्म, परमेश्‍वरले सार्वजनिक रूपमा मानवजातिलाई यी वचनहरू विस्तृत रूपमा बताउनुभएको थिएन, तर उहाँले मानवजातिबाट गर्ने मागहरू कुनै पनि समयमा कहिल्यै बदलिएका छैनन्। मानवजातिले अभिलेख राख्न सुरु गरेदेखि नै, परमेश्‍वरले कहिल्यै तिनीहरूले लगनशील भई संसारलाई पछ्याएको, वा संसारमा आफ्नै आदर्श र इच्छा साकार पारून् भन्‍ने माग गर्नुभएको छैन। उहाँले तिनीहरूबाट गर्ने एकमात्र माग भनेको तिनीहरूले उहाँका वचन सुनून्, उहाँको मार्ग पछ्याउनु, संसारसँग हिलोमा लडीबडी नखेलून्, र संसारलाई नपछ्याऊन् भन्‍ने हो। संसारका मानिसहरूले नै सांसारिक मामिलाहरू सम्हालून्; तिनीहरूले यी कुरा पूरा गरून्। परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउनेहरूसँग तिनीहरूको कुनै सम्बन्ध हुँदैन। परमेश्‍वरका विश्‍वासीहरूले गर्नुपर्ने एकमात्र कुरा भनेको परमेश्‍वरको मार्गको पछि लाग्नु र उहाँलाई पछ्याउनु हो। परमेश्‍वरको मार्गको पछि लाग्नु भनेको परमेश्‍वरका विश्‍वासी र अनुयायीहरूले निर्वाह गर्नैपर्ने कर्तव्य हो। यस मामिलालाई समय, स्थान वा पृष्ठभूमिले फरक बनाउँदैन। भविष्य मानवजातिले मुक्ति पाएर अर्को युगमा प्रवेश गरेपछि पनि यो माग बदलिनेछैन। परमेश्‍वरका वचन सुन्नु र उहाँको मार्ग पछ्याउनु भनेको परमेश्‍वरको अनुयायीमा उहाँप्रति हुनुपर्ने मनोवृत्ति र विशिष्ट अभ्यास हो। मानिसहरूले परमेश्‍वरका वचन सुनेर अनि उहाँको मार्ग पछ्याएर मात्रै परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छन्। त्यसैले, मानिसहरूले आफ्ना खोज, आदर्श र इच्छाहरू त्यागून् भन्‍ने परमेश्‍वरको माग समयले उत्पन्न गर्दैन, न त विशिष्ट परिवेश वा पृष्ठभूमिको कारण नै उत्पन्न हुन्छ; बरु, मानवजाति अस्तित्वमा रहिन्जेल, परमेश्‍वरले तिनीहरूलाई स्पष्टसँग वचनहरू नदिनुभएको भए पनि, तिनीहरूबाट सधैँ यो मानक र सिद्धान्त माग गर्नुभएको छ। यो कुरा जति जनाले हासिल गर्न सके पनि, जति जनाले उहाँका वचन अभ्यास गर्न सके पनि, वा तिनीहरूले उहाँका जति नै वचन बुझ्न सके पनि, परमेश्‍वरको यो माग बदलिँदैन। बाइबलमा हेर त, त्यहाँ परमेश्‍वरले विशिष्ट समयमा चुनेका ती विशिष्ट व्यक्तिहरू—नोआ, अब्राहम, इसाक, अय्यूब आदिबारे अभिलेखहरू छन्। परमेश्‍वरले तिनीहरूबाट गरेका माग, तिनीहरूले पछ्याएको मार्ग, तिनीहरूका जीवन लक्ष्य र दिशा, साथै तिनीहरूले आफ्नो जीवन र अस्तित्वभरि पछ्याएका लक्ष्य र अपनाएका निश्चित कार्यपद्धति सबैले परमेश्‍वरले मानिसबाट गर्ने मागलाई व्यक्त गर्छन्। परमेश्‍वरले मानिसबाट गर्ने मागहरू केके हुन्? तिनमा मानिसहरूले आफ्ना खोज, आदर्श र इच्छाहरू त्याग्नैपर्छ भन्‍ने कुरा समावेश छ, होइन र? (हो।) तिनीहरू चाहे आत्मामा होस् वा शरीरमा, कोलाहल मच्चाउने, अस्तव्यस्त र दुष्ट मानवजाति, अनि आफ्ना कोलाहलपूर्ण, अस्तव्यस्त र दुष्ट प्रवृत्तिहरूबाट अलग बस्नैपर्छ। पहिले, एउटा शब्द थियो जुन त्यति उपयुक्त थिएन—“चोखो”। वास्तवमा, यस शब्दको अर्थ भनेको तैँले आफ्ना खोज, आदर्श र इच्छाहरू त्यागेको माग गर्नु—तँलाई गैरविश्‍वासी हुनबाट रोक्नु, वा गैरविश्‍वासीहरूले गर्ने काम गर्नबाट रोक्नु, वा गैरविश्‍वासीका पछ्याइ पछ्याउनबाट रोक्नु हो, अनि त्यसको सट्टा विश्‍वासीले पछ्याउनुपर्ने कुराहरू पछ्याउन लगाउनु हो। यसको अर्थ त्यही नै हो। त्यसैले, जब कतिपय मानिस “के समय नजिक आएकाले, आखिरी दिनहरू आएकाले, अनि विपत्तिहरू आएकाले गर्दा परमेश्‍वर मानिसहरूले आफ्ना खोज, आदर्श र इच्छाहरू त्यागेको माग गर्नहुन्छ?” भनेर भन्छन्, तब यसको जवाफ के हुनुपर्छ? यसको जवाफ के हुनुपर्छ भने, परमेश्‍वरले मान्छेबाट गर्ने कुनै र सबै माग सत्यता, अनि मानिसहरूले पछ्याउनुपर्ने मार्ग हुन्। ती माग समय, स्थान, परिवेश, भौगोलिक अवस्थिति, वा सामाजिक पृष्ठभूमि बद्लिएको आधारमा बदलिँदैनन्। परमेश्‍वरका वचन सत्यता, अनादिकालदेखि नबदलिएको सत्यता हुन्, जुन अनन्तकालसम्म बदलिँदैन—त्यसैले, परमेश्‍वरले मान्छेलाई गर्ने हरेक माग र तिनीहरूसामु राख्ने अभ्यासको हरेक विशिष्ट सिद्धान्त उहाँले मानवजाति सृष्टि गर्नुभएपछिका हुन्, जतिबेलासम्म तिनीहरूसँग समयका अभिलेखहरू थिएनन्। ती परमेश्‍वरसँग सह-अस्तित्वमा छन्। अर्को शब्दमा भन्नुपर्दा, मानवहरू अस्तित्वमा आएको समयदेखि, मानवजातिले परमेश्‍वरले तिनीहरूबाट गर्ने मागहरू बुझ्न सकेका छन्। यी मागहरूले जुनै क्षेत्रलाई समेटे पनि, ती सब चिरस्थायी हुन्, र ती बदलिनेछैनन्। समग्रमा, परमेश्‍वरले मान्छेबाट गर्ने माग भनेको उहाँका वचन सुन्नु र उहाँको मार्ग पछ्याउनु हो। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) परमेश्‍वरका मागहरू संसारको विकास, मानव सामाजिक पृष्ठभूमि, समय वा स्थान, वा मानिसहरू जिउने भौगोलिक परिवेश र ठाउँसँग पूर्णतः असम्बन्धित छन्। परमेश्‍वरका वचनहरू सुनेपछि, मानिसहरूले ती कायम राख्नु र अभ्यास गर्नु ठिक हो। परमेश्‍वर मानिसहरूबाट अरू केही माग गर्नुहुन्न। जब तिनीहरू उहाँका वचन सुन्छन् र बुझ्छन्, तब तिनीहरूले त्यो अभ्यास गरे र कायम राखे पुग्छ; तिनीहरूले उहाँको नजरमा स्वीकार्य सृजित प्राणी बन्ने मानक पूरा गरेका हुनेछन्। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) त्यसैले समय, सामाजिक परिवेश वा पृष्ठभूमि, वा भौगोलिक अवस्थिति जे भए पनि, तैँले गर्नुपर्ने कुरा भनेको परमेश्‍वरका वचन सुन्नु, उहाँले भनेका कुरा अनि उहाँले तँबाट माग गर्ने कुरा बुझ्नु हो, अनि त्यसपछि तैँले गर्नुपर्ने अर्को कुरा भनेको ध्यान दिएर सुन्नु, समर्पित हुनु र अभ्यास गर्नु हो। “के अहिले बाहिरी जगतमा आइपर्ने विपत्तिहरू ठूला हुन्छन्? के संसार अस्तव्यस्त छ? के बाहिर संसारमा जानु खतरापूर्ण छ? के मलाई महामारी लाग्न सक्छ? के म मर्न सक्छु? के म विपत्तिमा पर्नेछु? के त्यहाँ प्रलोभनहरू छन्?” जस्ता कुराको चिन्ता नगर्। त्यस्ता कुराबारे सोच्नु बेकार हो, र तिनको तँसँग कुनै सम्बन्ध छैन। तैँले बाहिरी संसारको परिवेशको नभई केवल सत्यता पछ्याउनु र परमेश्‍वरका मार्ग पछ्याउनुको चिन्ता गर्नुपर्छ। बाहिरी संसारको परिवेश जस्तोसुकै भए पनि, तँ सृजित प्राणी होस्, र परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ। सृष्टिकर्ता र सृष्टि गरिएका प्राणीबीचको सम्बन्ध बदलिनेछैन, तेरो पहिचान बदलिनेछैन, अनि परमेश्‍वरको सार बदलिनेछैन। तँ सधैँ परमेश्‍वरका मार्ग पछ्याउनुपर्ने, उहाँका वचन सुन्नुपर्ने र उहाँमा समर्पित हुनुपर्ने व्यक्ति नै रहनेछस्। परमेश्‍वर सधैँ नै तँमाथि शासन गर्ने, तेरो नियति बन्दोबस्त गर्ने, अनि जीवनभरि अगुवाइ गर्ने व्यक्ति रहनुहुनेछ। उहाँसँगको तेरो सम्बन्ध बदलिनेछैन, उहाँको पहिचान बदलिनेछैन र तेरो पहिचान बदलिनेछैन। यी सबका कारण, जुनसुकै समय भए पनि, तेरो जिम्मेवारी, दायित्व र सबैभन्दा ठूलो कर्तव्य भनेको परमेश्‍वरका वचन सुन्नु, तिनमा समर्पित हुनु र ती अभ्यास गर्नु हो। यो कहिल्यै गलत हुनेछैन, र यो सबैभन्दा उच्च मानक हो। के यो मामिला सुल्झियो त? (सुल्झियो।) यो समस्या सुल्झियो। के मैले प्रस्टसँग बोलेँ? के मैले तिमीहरूले भन्दा सही बोलेको छु? (हजुर।) म कुन तरिकामा सही छु त? (हामी मोटामोटी हिसाबमा मात्र बोलिरहेका थियौँ, तर परमेश्‍वरले यस मामिलालाई निकै राम्ररी चिरफार गर्नुभएको छ, र परमेश्‍वरका वचन सत्यता हुन्, मानिसहरूले पालन गर्नुपर्ने तरिका हुन्, अनि मानिसहरूले परमेश्‍वरका वचन सुन्नुपर्छ र उहाँको मार्ग पछ्याउनुपर्छ भनेर पनि सङ्गति गर्नुभएको छ। परमेश्‍वरले यी सबै स्पष्टसँग बताउनुभएको छ।) मैले भनिरहेको कुरा सत्यताको एउटा पक्ष हो। “सत्यताको एउटा पक्ष” भन्‍ने वाक्यांश एक सिद्धान्त हो, त्यसोभए यस सिद्धान्तलाई समर्थन गर्ने के छ त? त्यो पहिले बताइएका विशिष्ट तथ्य र कुरा हुन्। यी सब तथ्यको प्रमाण छ; तीमध्ये कुनै पनि बनावटी होइन, कुनै पनि काल्पनिक होइन। ती सब तथ्य हुन्, वा ती तथ्यहरूको बाहिरी घटनाको सार र वास्तविकता हुन्। यदि तैँले ती बोध गर्न र बुझ्न सकिस् भने, त्यसले तँ सत्यता बुझ्छस् भनेर पुष्टि गर्छ। तिमीहरूले त्यो कुरा सोर उचालेर भन्न नसक्नुको कारण के हो भने, तिमीहरू अझै पनि सत्यताको यो पक्ष बुझ्दैनौ, न त यी घटनाका आधारभूत सार र वास्तविकता नै बुझ्छौ, त्यसैले तिमीहरू आफ्ना भावना र ज्ञानबारे थोरै कुरा गर्छौ, जुन सत्यताभन्दा एकदमै फरक हो। के कुरा यस्तै होइन र? (हो।) यो मामिला सुल्झिसक्यो, त्यसैले यसलाई यतिमै छोडिदिऊँ। चासो र रुचिहरूबाट उत्पन्न हुने खोज, आदर्श र इच्छाहरू त्याग्नुको सन्दर्भमा, के यो प्रश्नलाई थप बुँदाका रूपमा समावेश गर्न आवश्यक थियो? (थियो।) यो आवश्यक थियो। हरेक प्रश्नले सत्यताको केही भागलाई समेट्छ, भन्नुको अर्थ यसले केही तथ्यको वास्तविकता र सारलाई समेट्छ, अनि वास्तविकता र सारको पछाडि जहिले पनि परमेश्‍वरका बन्दोबस्त, योजना, विचार र इच्छा हुन्छन्। अनि अरू के हुन्छ? परमेश्‍वरका केही विशिष्ट विधि, साथै उहाँको कार्यका आधार, लक्ष्य र पृष्ठभूमि। वास्तविकता यिनै हुन्।

हामीले चासो र रुचिहरूबाट उत्पन्न हुने खोज, आदर्श र इच्छाहरू त्याग्ने विषयमा सङ्गति गरिसकेपछि, अर्को विषयमा सङ्गति गर्नुपर्छ। अर्को विषय के हो? त्यो हो, मानिसहरूले विवाहबाट उत्पन्न हुने खोज, आदर्श र इच्छाहरू त्याग्नुपर्छ। स्पष्टतः यस विषयले विवाहसँग सम्बन्धित विभिन्न समस्यालाई समेट्छ। के यो विषय चासो र रुचिहरूभन्दा ठूलो होइन र? तर यसको आकारदेखि नडरा। हामी यस विषयलाई अलिअलि गर्दै टुक्र्याउनेछौँ, सङ्गतिमार्फत बिस्तारै बुझ्नेछौँ र छिचोल्नेछौँ। हामीले यस विषयमा सङ्गति गर्दा अपनाउने तरिका भनेको विवाहको मामिलालाई समस्याको सार, सकारात्मक र नकारात्मक दुवै; विवाहबारे मानिसहरूका विविध बुझाइ, सही र गलत दुवै; तिनीहरूले विवाहमा गर्ने गल्तीहरू, साथै समस्या खडा गर्ने विभिन्न गलत विचार र दृष्टिकोण, अन्ततः मानिसहरूलाई विवाहबाट उत्पन्न हुने खोज, आदर्श र इच्छाहरू त्याग्न सक्षम बनाउने दृष्टिकोण र पक्षद्वारा चिरफार गर्नु हो। “त्याग” हासिल गर्ने सबैभन्दा राम्रो र सजिलो अभ्यास भनेको यो हो: पहिला, तैँले समस्याहरूको सार स्पष्टसँग बुझ्नैपर्छ, अनि ती सकारात्मक छन् कि नकारात्मक भनी जान्नैपर्छ। त्यसपछि तैँले सही र विवेकी ढङ्गमा समस्याहरू सम्हाल्न सक्नैपर्छ। यो कामकुराको सक्रिय पाटो हो। कामकुराको निष्क्रिय पाटोको कुरा गर्नुपर्दा, तैँले समस्याहरूले तँमाथि ल्याउने गलत विचार, दृष्टिकोण र मनोवृत्तिहरू, वा तिनले तेरो मानवतामा उत्पन्न गर्ने विभिन्न हानिकारक र नकारात्मक प्रभावलाई बुझ्न र जान्न सक्नैपर्छ, अनि त्यसपछि यी पक्षहरूबाट त्याग्न सक्नैपर्छ। अर्को शब्दमा भन्नुपर्दा, तैँले यी समस्याहरूले उत्पन्न गर्ने गलत विचारहरूको बन्धन वा नियन्त्रणमा नपरी, अनि तिनलाई आफ्नो जीवनमा नियन्त्रण जमाउन र आफूलाई दुष्ट बाटोमा डोर्‍याउन, वा तँलाई गलत छनौटहरू गर्ने तुल्याउन नदिई यी समस्याहरू बुझ्न र जान्न सक्नैपर्छ। छोटकरीमा भन्नुपर्दा, हामीले सकारात्मक वा नकारात्मक जुनैमा सङ्गति गरे पनि, अन्तिम उद्देश्य भनेको मानिसहरूलाई विवाहको समस्या विवेकी ढङ्गले सम्हाल्न, ती बुझ्न र सम्हाल्नका लागि मिथ्या विचार र दृष्टिकोण नअपनाउन अनि तीप्रति गलत मनोवृत्ति नराख्न सक्षम बनाउनु हो। “त्याग्ने” अभ्यासको सही बुझाइ यही नै हो। लौ त, हामी विवाहबाट उत्पन्न हुने खोज, आदर्श र इच्छाहरूबारे सङ्गति गर्न जारी राखौँ। पहिला, हामी विवाहको परिभाषा, त्यसको अवधारणा के हो भन्‍ने कुरालाई हेरौँ। तिमीहरूमध्ये अधिकांशले विवाह गरेका छैनौ, होइन त? म तिमीहरूमध्ये अधिकांशलाई वयस्क देख्छु। वयस्क हुनुको अर्थ के हो? यसको अर्थ हो, तिमीहरू विवाह गर्ने उमेरमा छौ, वा त्यो उमेर पार गरिसकेका छौ। तिमीहरू त्यस उमेरमा भए पनि वा तिमीहरूले त्यो उमेर पार गरिसकेका भए पनि, हरेक व्यक्तिमा विवाहबारे तुलनात्मक रूपले केही दरिद्र विचार, परिभाषा र अवधारणा हुन्छन्, चाहे ती सही होऊन् वा गलत। त्यसैले सुरुमा हामी वास्तवमा विवाह के हो भनेर खोजबिन गरौँ। सर्वप्रथम, तिमीहरूको आफ्नै शब्दमा: वास्तवमा विवाह के हो त? यदि हामी विवाह के हो भन्‍नेबारे बोल्न को योग्य छ भनेर कुरा गर्न चाहन्छौँ भने, अवश्यै पहिले विवाह गरिसकेका मानिसहरू योग्य छन्। त्यसैले, पहिले हामी विवाह गरिसकेकाहरूबाट सुरु गरौँ, अनि तिनीहरूले आफ्नो कुरा राखिसकेपछि अविवाहित वयस्कहरूतिर जान सक्छौँ। तिमीहरू विवाहसम्बन्धी आफ्ना दृष्टिकोणबारे कुरा गर्न सक्छौ, अनि हामी विवाहसम्बन्धी तिमीहरूको बुझाइ र परिभाषा सुन्नेछौँ। आफूले भन्न चाहेको कुरा भन, चाहे त्यो सुन्नमा राम्रो होस् वा नहोस्—विवाहबारे गुनासा वा विवाहका अपेक्षाहरू, ती सबबारे बोले हुन्छ। (विवाह गर्नुअघि, सबैका अपेक्षाहरू हुन्छन्। केही मानिस धनी जीवनशैली जिउन विवाह गर्छन् भने कतिपयचाहिँ सुखी विवाहको पछि लाग्छन्, सेतो घोडामा सवार राजकुमारको खोजी गर्छन्, सुखी जीवन जिउने कल्पना गर्छन्। त्यस्ता केही मानिस पनि छन्, जो विवाहलाई आफ्नै उद्देश्यहरू हासिल गर्न प्रयोग गर्न चाहन्छन्।) त्यसोभए, तेरो नजरमा वास्तवमा विवाह के हो त? के यो लेनदेन हो? के यो खेल हो? के हो? तैँले बताएका केही परिस्थितिहरू सम्पन्न जीवन जिउनेबारे हुन्, जुन एक प्रकारको लेनदेन हो। अरू केही? (मलाई लाग्छ, मेरा लागि विवाह भनेको मैले तृष्णा गर्ने, मैले लालसा गर्ने कुरा मात्र हो।) अरू को बोल्न चाहन्छ? विवाहित मानिसहरूसँग विवाहबारे के-कस्तो ज्ञान छ? विशेष गरी विवाह गरेको दस वा बिस वर्ष भइसकेका मानिसहरू—तिमीहरू विवाहबारे के सोच्छौ? के तिमीहरूमा सामान्यतया विवाहबारे प्रशस्तै चिन्तन हुँदैन र? एकातिर, तिमीहरूसँग आफ्नो विवाहको अनुभव हुन्छ, अनि अर्कोतिर, तिमीहरूले आफू वरपरका मानिसहरूको विवाह देखेका हुन्छौ; त्यसका साथै, तिमीहरूले किताब, साहित्य र चलचित्रहरूमा देखेका अन्य मान्छेका विवाहबारे विचार गरेका हुन्छौ। त्यसैले, ती पक्षबाट हेर्दा, तँलाई विवाह के हो भन्‍ने लाग्छ? तँ यसलाई कसरी परिभाषित गर्छस्? तँ यसबारे के बुझ्छस्? तँ विवाहलाई कसरी परिभाषित गर्छस्? विवाह गरेको केही वर्ष भइसकेका विवाहित मानिसहरू—खास गरी छोराछोरी हुर्काइसकेकाहरू—तिमीहरू विवाहबारे के सोच्छौ? बताऊ त। (म केही बताउन सक्छु। म सानैदेखि धेरै टेलिभिजन कार्यक्रमहरू हेर्ने गर्थेँ। म सधैँ सुखी वैवाहिक जीवनको तृष्णा गर्थेँ, तर विवाह गरिसकेपछि, त्यो मैले सोचेजस्तो नहुने रहेछ भन्‍ने थाहा पाएँ। विवाह गरेपछि, मैले पहिले त आफ्नो परिवारका लागि कडा परिश्रम गर्नुपऱ्यो, जुन निकै थकाइलाग्दो थियो। अर्को कुरा, मेरा श्रीमान् र मेरो स्वभाव, अनि हामीले तृष्णा गरेका र पछ्याएका कुराबीचको विसङ्गतिले गर्दा—विशेष गरी हामीले पछ्याएका मार्गबीचको भिन्नता—हामीबीच जीवनमा धेरै भिन्नता थिए, यतिसम्म कि हामीबीच भनाभन पर्थ्यो। जीवन कष्टकर थियो। त्यो मोडमा, मलाई आफूले सानो छँदा तृष्णा गरेको सुखी वैवाहिक जीवन वास्तवमा यथार्थ होइन रहेछ भन्‍ने लाग्यो। त्यो त रमाइलो चाहना मात्र थियो, तर वास्तविक जीवन त्यस्तो हुँदैन। विवाहबारे मेरा विचार यिनै हुन्।) त्यसोभए, विवाहबारे तेरो बुझाइचाहिँ यो तितो हुन्छ भन्‍ने हो, होइन त? (हो।) पछाडि फर्केर हेर्दा, तेरा सबै सम्झना र यादहरू तिता, थकाइलाग्दा, पीडादायी र असह्य छन्; तँ व्याकुल भइस्, त्यसैले पछि तैँले विवाहबाट राम्रो अपेक्षा गरिनस्। तँलाई विवाह तेरा इच्छाअनुरूप हुँदैन, त्यो राम्रो वा रोमान्टिक हुँदैन भन्‍ने लाग्छ। तँ विवाहलाई त्रासदीका रूपमा बुझ्छस्—के तैँले भन्न खोजेको त्यही नै हो? (हो।) तँ आफ्नो विवाहमा, चाहे आफूले गर्न सकेका कुरा होस् वा तैँले गर्न नचाहेका कुरा, सबै कुरामा विशेष गरी थकित र दुःखित भइस्, होइन त? (हो।) विवाह तितो हुन्छ—त्यो एक प्रकारको भावना, मानिसले आफूलाई जोड्न सक्ने वा महसुस गर्न सक्ने भावना हो। जुनसुकै प्रकारको भए पनि, सायद अहिले संसारमा विवाह र परिवारबारे धेरै विविध कथनहरू छन्। चलचित्र र किताबहरूमा निकै कथनहरू छन्, अनि विवाह र सम्बन्धका विज्ञहरू पनि छन्, जो सबै खालका विवाहबारे विश्लेषण र चिरफार गर्छन्, विवाहमा मध्यस्थता गर्न ती विवाहमा आउने अन्तरविरोधहरू सम्हाल्छन् र सुल्झाउँछन्। अन्ततः समाजले विवाहसम्बन्धी केही भनाइहरूलाई लोकप्रिय बनाएको छ। तिमीहरू यी लोकप्रिय भनाइमध्ये कुनचाहिँ भनाइसँग सहमत छौ वा कुनचाहिँ भनाइ रुचाउँछौ? (परमेश्‍वर, समाजमा मानिसहरू प्राय: विवाह गर्नु भनेको चिहानमा पस्नुजस्तै हो भन्छन्। मलाई लाग्छ, विवाह गरेर परिवार बसाई सन्तान जन्माएपछि, मानिसहरूलाई जिम्मेवारी आइपर्छ, तिनीहरूले आफ्नो परिवार पाल्न लगातार काम गर्नुपर्छ, अनि त्यसमा दुई व्यक्ति सँगै जिउँदा आइपर्ने अमेल थपिँदा त, सबै खालका समस्या र कठिनाइ उत्पन्न हुन्छन्।) “विवाह चिहान हो” भन्‍ने यो वाक्यांश खासमा के हो त? के चीनमा केही प्रसिद्ध, लोकप्रिय भनाइहरू छन्? के “विवाह चिहान हो” भन्‍ने वाक्यांश निकै लोकप्रिय छैन र? (छ।) अरू कुनै? “विवाह भनेको घेराबन्दीमा परेको सहर हो—बाहिर रहेकाहरू भित्र पस्न चाहन्छन्, र भित्र रहेकाहरू बाहिर निस्कन चाहन्छन्।” अरू कुनै? “प्रेमविनाको विवाह अनैतिक हुन्छ।” तिनीहरू विवाह भनेको प्रेमको चिन्ह हो, अनि प्रेमविनाको विवाह अनैतिक हुन्छ भन्‍ने सोच्छन्। तिनीहरू नैतिकताको स्तर नाप्न रोमान्टिक प्रेमलाई प्रयोग गर्छन्। के विवाहित मानिसहरूमा हुने विवाहको परिभाषा र अवधारणा तिनै हुन्? (हजुर।) छोटकरीमा भन्नुपर्दा, विवाहित मानिसहरूमा तिक्तता भरिएको हुन्छ। यसलाई व्याख्या गर्न एउटा वाक्यांश प्रयोग गर्दा: “विवाह चिहान हो।” के यो त्यति सरल छ? विवाहित मानिसहरू बोलिसके, त्यसैले अब हामी अविवाहित, एकल मानिसहरू के भन्न चाहन्छन्, त्यो सुन्न सक्छौँ। विवाहसम्बन्धी आफ्नो बुझाइबारे को बोल्न चाहन्छ? त्यो बचकना वा वास्तविकताभन्दा परको कल्पना वा अपेक्षा भए पनि, ती सब बताए हुन्छ। (परमेश्‍वर, मलाई त विवाह भनेको दुई व्यक्ति जोडीको रूपमा जिउनु हो, दैनिक आवश्यकताको जीवन हो भन्‍ने लाग्छ।) के तैँले पहिले कहिल्यै विवाह गरेको छस्? के तँसँग कुनै व्यक्तिगत अनुभव छ? (छैन।) दैनिक आवश्यकता, जोडीको रूपमा जिउनु—के तँलाई साँच्चै त्यस्तै लाग्छ? के त्यो व्यावहारिक छ? (मेरो आदर्श विवाह त्यस्तो छैन, तर मैले आफ्ना आमाबुबाको विवाहमा त्यही नै देखेको छु।) तेरा आमाबुबाको विवाह त्यस्तो छ, तर तेरो आदर्श विवाह चाहिँ त्यस्तो छैन। विवाहबारे तेरो बुझाइ र पछ्याइ के हो? (म सानो छँदा, मेरो बुझाइ भनेको आफूले प्रशंसा गर्ने व्यक्ति भेट्टाउनु, अनि त्यसपछि ऊसँग सुखी र रोमान्टिक जीवन जिउनु मात्र थियो।) तँ ऊसँग जिउन, उसको जीवनभर सँगै यात्रा गर्न चाहन्थिस्, होइन त? (हो।) विवाहसम्बन्धी तेरो खास बुझाइ यही हो, जसमा तँ आफै सामेल छस्; तैँले त्यो बुझाइ अरूलाई हेरेर पाइरहेको छैनस्। तैँले अरूको विवाहमा केवल सतही रूप मात्र देख्छस्, अनि तँ आफैले त्यो अनुभव नगरेकाले, तँलाई आफूले देख्ने कुरा तथ्यहरूको वास्तविकता हो कि तथ्यहरूको सतही रूप मात्र हो भन्‍ने थाहा हुँदैन; तँलाई वास्तविक लाग्ने कुरा सदाका लागि तेरा विचार र दृष्टिकोणमा रहनेछन्। विवाहसम्बन्धी जवान मानिसहरूको बुझाइको एउटा पाटो भनेको आफ्नो प्रियतमसँग रोमान्टिक जीवन जिउनु, जीवनभर सँगै यात्रा गर्न, अनि यो जीवन सँगै जिउनु हो। के तिमीहरू सबैसँग विवाहबारे अरू कुनै बुझाइ छ? (छैन।)

कतिपय मानिस भन्छन्: “विवाह भनेको आफूलाई माया गर्ने व्यक्ति भेट्टाउनु हो। ऊ रोमान्टिक छ कि छैन भन्‍ने कुराले फरक पार्दैन, न त तैँले उसलाई धेरै माया गर्नु नै जरुरी छ। कम्तीमा पनि, उसले तँलाई माया गर्नुपर्छ, तँलाई आफ्नो मुटुमा राख्नुपर्छ, अनि तेरो र उसको पछ्याइ, आदर्श, चरित्र, चासो र रुचिहरू मिल्नुपर्छ, ताकि तिमीहरूको आपसमा मन मिलोस् र तिमीहरूले सँगै जिउन सके।” अरू मानिस भन्छन्: “सँगै जिउनका लागि आफूले माया गर्ने अनि आफूलाई माया गर्ने व्यक्ति खोज। खुसी भनेको त्यही हो।” अनि विवाहबारे अरू केहीको बुझाइ यस्तो हुन्छ: “तैँले आर्थिक रूपमा सबल व्यक्ति नै खोज्नुपर्छ, ताकि तैँले जीवनको उत्तरार्धमा खान-लाउन चिन्ता गर्न नपरोस्, अनि तेरो भौतिक जीवन सम्पन्न होस् र तैँले गरिबी भोग्नु नपरोस्। उसको उमेर जति नै भए पनि, वा ऊ जस्तो देखिए पनि, उसको चरित्र जस्तोसुकै भए पनि, अनि उसका स्वाद जेजस्तो भए पनि, ऊसँग पैसा छ भने भइहाल्यो। यदि उसले तँलाई खर्च दिन र तेरा भौतिक आवश्यकता पूरा गर्न सक्छ भने, ऊ स्वीकार्य हुन्छ। यस्तो खालको व्यक्तिसँग जिउँदा खुसी मिल्छ, र तँलाई शारीरिक रूपमा आराम हुन्छ। विवाह भनेको यही हो।” विवाहसम्बन्धी मानिसहरूका केही मापदण्ड र परिभाषा यिनै हुन्। अधिकांश मानिस विवाह भनेको प्रेमी, आफ्नो सपनाको प्रियतम, सुन्दर राजकुमार खोज्नु, अनि ऊसँग जिउनु र एकअर्काको मन मिल्नु हो भनेर बुझ्छन्। उदाहरणका लागि, केही मानिस आफ्नो सपनाको राजकुमार पैसावाल, ख्यातिप्राप्त र सम्पन्न कुनै स्टार वा सेलेब्रिटी होस् भन्‍ने कल्पना गर्छन्। तिनीहरू यस्तो व्यक्तिसँग जिउनु मात्र सराहनीय, सुखद विवाह, आदर्श विवाह हो, अनि यस्तो जीवन मात्रै सुखी हुन्छ भन्‍ने सोच्छन्। कतिपय मानिस आफ्नो जीवनसाथी हैसियत भएको व्यक्ति होस् भन्‍ने कल्पना गर्छन्। कतिपयचाहिँ आफ्नो जीवनसाथी हिस्सी र सुन्दर होस् भन्‍ने कल्पना गर्छन्। अनि केही मानिस भने आफ्नो जीवनसाथी पहुँचवालाको साथी, शक्तिशाली, सम्पन्न परिवारको, धनी व्यक्ति होस् भन्‍ने कल्पना गर्छन्। कतिपय मानिस आफ्नो जीवनसाथी काममा महत्त्वाकाङ्क्षी र सशक्त होस् भन्‍ने कल्पना गर्छन्। केही मानिस आफ्नो जीवनसाथी विलक्षण प्रतिभाको धनी होस् भन्‍ने कल्पना गर्छन्। अनि कतिपय मानिस आफ्नो जीवनसाथीमा केही चारित्रिक गुणहरू होस् भन्‍ने कल्पना गर्छन्। यी सबै र अझ धेरै कुरा नै मानिसले विवाहसम्बन्धी गर्ने माग हुन्, अनि अवश्य नै, तिनीहरूले विवाहसम्बन्धी गर्ने कल्पना, राख्ने धारणा र दृष्टिकोण यिनै हुन्। छोटकरीमा भन्नुपर्दा, पहिले विवाह गरेका मानिसहरू विवाह चिहान हो, विवाहमा प्रवेश गर्नु भनेको चिहान, वा विपत्तिमा प्रवेश गर्नु हो भन्छन्; अविवाहितहरूको कल्पनामा विवाह खास गरी सुखद र रोमान्टिक हुन्छ, अनि तिनीहरू तृष्णा र अपेक्षाले भरिएका हुन्छन्। तर ती विवाहित हुन् वा अविवाहित, कसैले पनि विवाहसम्बन्धी आफ्नो बोध वा बुझाइबारे, वा विवाहको वास्तविक परिभाषा र अवधारणा के हो भन्‍नेबारे राम्ररी बताउन सक्दैन, सक्छ त? (सक्दैन।) विवाहको अनुभव गरेकाहरू भन्छन्: “विवाह चिहान हो, यो तितो हुन्छ।” केही अविवाहितहरू भन्छन्: “विवाहसम्बन्धी तिम्रो बुझाइ गलत छ। तिमी विवाह खराब कुरा हो भन्छौ, किनकि तिमी अति स्वार्थी छौ। तिमीले आफ्नो विवाहमा त्यति यत्न लगाएनौ। तिमीले आफ्ना विविध कमीकमजोरी र समस्याका कारण आफ्नो विवाहलाई लथालिङ्ग पाऱ्यौ। तिमीले आफ्नै हातले आफ्नो विवाह तहसनहस पार्‍यौ।” विवाह भइसकेका कतिपय मानिस अविवाहितहरूलाई यसो भन्‍ने गर्छन्: “तिमी नादान बच्चा हौ, तिमीलाई के नै थाहा छ र? के तिमीलाई विवाह कस्तो हुन्छ भनेर थाहा छ? विवाह एक जना वा दुई जना व्यक्तिसँग सम्बन्धित मामिला होइन—यो त दुई परिवार, वा दुई कुलसँग समेत सम्बन्धित मामिला हुन्छ। त्यसमा धेरै मामिला हुन्छन्, जुन न त सामान्य हुन्छन्, न त सिधा नै। दुई व्यक्ति मात्रै समावेश मामिलामा समेत, यो त्यति सरल हुँदैन। विवाहबारे तेरो बुझाइ र कल्पना जति नै सुखद भए पनि, दिनहरू बित्दै जाँदा यसलाई दैनिक आवश्यकताका जाबो कुराहरूले यसको रङ र मिठास नउडेसम्म पेल्नेछ। तिमीले विवाह गरेका छैनौ, त्यसैले तिमीलाई के नै थाहा छ र? तिमीले कहिल्यै विवाह गरेका छैनौ, कहिल्यै विवाह सम्हालेको छैनौ, त्यसैले तिमी विवाहलाई विश्लेषण वा आलोचना गर्न योग्य छैनौ। विवाहबारेको तेरो बुझाइ कल्पना, मनोरथ हो—यो वास्तविकतामा आधारित छैन!” यसबारे जसले कुरा गरिरहेको भए पनि, त्यसको ठोस कारण छ, तर सबै कुरा भनिसकेपछि र गरिसकेपछि, खासमा विवाह भनेको के हो त? कुन दृष्टिकोणचाहिँ सबैभन्दा सही र त्यसलाई हेर्ने सबैभन्दा वस्तुगत तरिका हो? कुनचाहिँ तरिका सत्यतासँग सबैभन्दा बढी मेल खान्छ? यसलाई कसरी हेर्नुपर्छ? विवाहको अनुभव गरिसकेकाहरूको कुरा गरौँ वा विवाह नगरेकाहरूको, एकातिर विवाहसम्बन्धी तिनीहरूको बुझाइ तिनीहरूका आफ्नै कल्पनाले भरिएको हुन्छ, अनि अर्कोतिर भ्रष्ट मानवजाति विवाहमा आफूले खेल्ने भूमिकाबारे भावनामा चुर्लुम्मै डुबेको हुन्छ। भ्रष्ट मानवजातिले विभिन्न परिवेशमा आफूले अपनाउनुपर्ने सिद्धान्तहरू नबुझ्ने हुनाले, अनि विवाहमा आफूले खेल्ने भूमिका, वा आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारी र दायित्व नबुझ्ने हुनाले, विवाहसम्बन्धी तिनीहरूका कतिपय भनाइ भावनात्मक हुन्छै हुन्छन्, र त्यसमा तिनीहरूको व्यक्तिगत स्वार्थ र आवेश आदि समावेश हुन्छन्। निश्चय नै, कुनै व्यक्ति विवाहित वा अविवाहित जे भए पनि यदि तिनीहरू विवाहलाई सत्यताको परिप्रेक्ष्यबाट हेर्दैनन्, अनि तिनीहरूसँग परमेश्‍वरबाट विवाहबारे आउने शुद्ध बुझाइ र ज्ञान छैन भने, विवाहसम्बन्धी तिनीहरूको सबै व्यावहारिक व्यक्तिगत अनुभवबाहेक, विवाहसम्बन्धी तिनीहरूको बुझाइ धेरै हदसम्म समाज र दुष्ट मानवजातिबाट प्रभावित हुन्छ। यसलाई सामाजिक परिवेश, समाजको प्रवृत्ति र आम राय, साथै विवाहबारे समाजको हरेक तह र तप्काबाट भनिने मिथ्या, पूर्वाग्रही—अनि खास गरी अमानवीय भन्न सकिने—कुराहरूले पनि प्रभावित पार्छन्। अरूले भन्‍ने यस्ता कुराहरूले गर्दा, एकातिर मानिसहरू थाहै नपाई यी विचार र दृष्टिकोणबाट प्रभावित र नियन्त्रित हुन्छन् भने अर्कोतिर, तिनीहरूले थाहै नपाई विवाहसम्बन्धी ती मनोवृत्ति र विवाहलाई हेर्ने तरिकाहरू, साथै विवाहलाई सम्हाल्ने यी तरिका अनि विवाहसम्बन्धी विवाहितहरूको मनोवृत्ति स्विकार्छन्। सुरुमा त, मानिसहरूमा विवाहबारे सकारात्मक बुझाइ हुँदैन, न त यसबारे सकारात्मक र सही बुझाइ अनि ज्ञान नै हुन्छ। त्यसबाहेक, तिनीहरूमा समाज र दुष्ट मानवजाति दुवैले विवाहबारे नकारात्मक र मिथ्या सोचहरू हालिदिन्छन्। त्यसैले, विवाहबारे मानिसका सोच र दृष्टिकोण विकृत अनि दुष्टसमेत बन्छन्। जबसम्म तँ यस समाजमा जिउँछस् र बाँच्छस्, अनि जबसम्म तँसँग हेर्नलाई आँखा, सुन्नलाई कान, र प्रश्नहरूबारे गम्नलाई सोच हुन्छ, तबसम्म तैँले यी मिथ्या सोच र दृष्टिकोण विभिन्न हदमा स्विकार्नेछस्, जसले गर्दा तँमा विवाहबारे गलत, पूर्वाग्रही बुझाइ र ज्ञान हुन्छ। उदाहरणका लागि, एक सय वर्षअघि, मानिसहरूलाई रोमान्टिक प्रेम भनेको के हो भनेर थाहा थिएन, अनि विवाहबारे तिनीहरूको बुझाइ एकदमै सरल थियो। विवाह गर्ने उमेर पुगेपछि, केटा र केटीलाई लमीले आपसमा चिनजान गराइदिन्थ्यो, तिनीहरूका आमाबुबाले सबै कुरा सम्हाल्थे, अनि त्यसपछि दुई विपरीत लिङ्गीको विवाह हुन्थ्यो, तिनीहरू विवाहमा प्रवेश गर्थे अनि सँगै जिउँथे र समय बिताउँथे। यसरी, तिनीहरू अन्त्यसम्मै यस जीवनभरि एकअर्कालाई साथ दिन्थे। विवाह त्यति सरल थियो। विवाह दुई व्यक्तिको मामिला थियो अर्थात् भिन्न परिवारका दुई व्यक्ति सँगै जिउँथे, एकअर्कालाई साथ दिन्थे, एकअर्काको ख्याल राख्थे, अनि सँगै जुनी बिताउँथे। यो त्यति सरल थियो। तर कुनै मोडमा, मानिसहरूले रोमान्टिक प्रेम भन्‍ने गरेको कुरालाई अघि सार्न थाले, अनि विवाहको मामिलामा रोमान्टिक प्रेम थपियो, जुन आजको दिनसम्म कायम छ। यो “रोमान्टिक प्रेम” भन्‍ने अभिव्यक्ति, वा यसको अर्थ वा अवधारणा मानिसहरूलाई आफ्नो मनमा लाज लाग्ने वा यसबारे कुरा गर्न अप्ठ्यारो लाग्ने कुरा हुन छोडेको छ। बरु, यो त एकदमै स्वाभाविक रूपमा मानिसहरूको सोचमा हुन्छ, र मानिसहरूले स्वाभाविक रूपमा यसबारे छलफल गर्छन्, यस हदसम्म कि वयस्क भइनसकेकाहरू पनि रोमान्टिक प्रेम भन्‍ने विषयबारे छलफल गर्छन्। त्यसैले, यस्ता सोच, दृष्टिकोण र कथनहरूले के पुरुष के महिला, के वृद्ध के युवा, सबैमा थाहा नहुने गरी प्रभाव पार्छन्। यसै प्रभावले गर्दा नै विवाहबारे सबैको बुझाइ यति आडम्बरी हुन्छ—अझ ठ्याक्कै भन्नुपर्दा, तिनीहरू पूर्वाग्रही हुन्छन्। सबैले प्रेमसँग खेल्न र आसक्तिसँग खेलबाड गर्न थालेका छन्। मान्छेको कथित “रोमान्टिक प्रेम” त प्रेम र आसक्तिको संयोजन मात्र हो।[क] “प्रेम” भनेको के हो? प्रेम भनेको एक प्रकारको स्नेह हो। “आसक्ति” भनेको के हो? यो भनेको कामवासना हो। विवाह अब दुई व्यक्तिले जोडीका रूपमा सँगै समय बिताउने कुराजस्तो सरल रहेन; बरु यो त स्नेह र कामवासनाका लागि खेलौना बनेको छ। के कुरा यही होइन र? (हो।) मानिसहरूले विवाहलाई कामवासना र स्नेहको संयोजनको रूपमा बुझेका छन्, त्यसैले के तिनीहरूको विवाह राम्रो हुन सक्छ र? पुरुष र स्त्रीहरू सुमधुर जिन्दगी जिउँदैनन्, न त आफ्ना जिम्मेवारी नै राम्रोसँग पूरा गर्छन्, अनि तिनीहरू अव्यावहारिक तरिकाले आफ्ना दिनहरू बिताउँछन्। तिनीहरू प्रायजसो प्रेम, आसक्ति, स्नेह र कामवासनाबारे कुरा गर्छन्। के तँलाई त्यसरी तिनीहरू सुमधुर र स्थिर जिन्दगी जिउन सक्छन् भन्‍ने लाग्छ? (अहँ लाग्दैन।) के यस्ता प्रलोभन र लोभ्याइ पार गर्न सक्ने कुनै व्यक्ति छ? कसैले पनि यस्ता प्रलोभन र लोभ्याइ पार गर्न सक्दैन। समाजमा, मानिसहरू एकअर्काप्रति कामवासना र स्नेहले भरिएका हुन्छन्। तिनीहरू यसलाई रोमान्टिक प्रेम भन्छन्, अनि अहिलेका मानिसहरू विवाहलाई यसैगरी बुझ्छन्; विवाहबारे तिनीहरूको सर्वोच्च मूल्याङ्कन, सबैभन्दा तीव्र स्वाद यही नै हो। त्यसैले, अहिलेका मानिसहरूको वैवाहिक अवस्था चिन्ने नसकिने गरी परिवर्तन भइसकेको छ, र यो भयानक दुरावस्थामा छ। विवाह अब पुरुष र महिलाबीचको मामिलाको रूपमा सरल रहेन; बरु यो त सबै मानिसले, पुरुष र स्त्रीले स्नेह र कामवासनासँग खेल्ने मामिला भएको छ—पूर्णतः भ्रष्ट भएको छ। दुष्ट प्रवृत्तिहरूको लोभ्याइमा परेर वा दुष्ट सोचको शिक्षा पाएर विवाहबारे मानिसहरूको बुझाइ विकृत, असामान्य र दुष्ट बन्छ। यसका अतिरिक्त, समाजका चलचित्र र टिभी कार्यक्रम, साथै साहित्यिक कृति तथा कलाकारीहरूले विवाहबारे व्याख्या अनि कथनलाई निरन्तर झन्-झन् दुष्ट र अनैतिक बनाउँदै लैजान्छन्। निर्देशक, लेखक र कलाकार सबैले विवाहलाई भयानक अवस्थाका रूपमा बढाइचढाइ व्याख्या गर्छन्। यो दुष्टता र कामवासनाले ग्रसित हुन्छ, जसले गर्दा ठिकठाक विवाह अस्तव्यस्त हुन्छ। त्यसैले, रोमान्टिक प्रेम अस्तित्वमा आएदेखि, मानव समाजमा सम्बन्धविच्छेद झन्-झन् सामान्य बन्दै गएको छ, विवाहबाहिरको प्रेमसम्बन्ध पनि त्यति नै सामान्य भएको छ; धेरै बालबच्चा आफ्ना आमाबुबाको सम्बन्धविच्छेदको चोट सहन, एकल आमा वा बुबासँग बस्न, अनि यसरी आफ्नो बाल्यकाल र युवावस्था बिताउन, वा आफ्ना बुबाआमाको अनुचित वैवाहिक परिस्थितिमा हुर्कन बाध्य भएका छन्। यी सब विविध वैवाहिक दुःखदायी घटना, यी गलत वा विकृत विवाहको कारण के हो भने, समाजले वकालत गर्ने विवाहसम्बन्धी दृष्टिकोण यति हदसम्म पूर्वाग्रही, दुष्ट र अनैतिक छ कि तिनमा आचारसंहिता र नैतिकताको अभाव हुन्छ। मानवजातिसँग सकारात्मक वा उचित कुराहरूबारे सही बुझाइ नहुने कारण, समाजले वकालत गर्ने यी सोच तथा दृष्टिकोणहरू जति नै विकृत भए पनि, मानिसहरू ती अनजानमा स्विकार्छन्। यी कुरा महामारीजस्तै हुन्छन्, तेरो शरीरभरि फैलिन्छन्, तेरो हर सोच र विचार नष्ट गर्छ, अनि तेरो मानवताका सही भागहरू नाश गर्छ। तेरो सामान्य मानवताको विवेक र समझ चाँडै धूमिल, अस्पष्ट वा कमजोर बन्छ; त्यसपछि शैतानबाट आउने यी विकृत, दुष्ट, अनि आचारसंहिता वा नैतिकतारहित सोच र दृष्टिकोणले तेरो हृदयमा, र तेरो मानसिक धरातलमा उच्च स्थान ओगट्छ र प्रबल भूमिका खेल्छ। यी कुराले उच्च स्थान ओगटेपछि र प्रबल भूमिका खेलेपछि, विवाहजस्ता मामिलामा तेरा दृष्टिकोण चाँडै यस हदसम्म बाङ्गो र विकृत, अनि आचारसंहिता र नैतिकतारहित बन्छ कि त्यो दुष्ट बन्छ, तर तँलाई त्यो थाहा हुँदैन, र त्यो उचित नै लाग्छ: “सबैले यस्तै सोच्छन्, त्यसैले मैलेचाहिँ किन यस्तै नसोच्ने त? सबैले यस्तो सोच्दा उचित हुन्छ भने, के मैले पनि यस्तो सोच्नु उचित हुँदैन र? त्यसैले, यदि कोही पनि रोमान्टिक प्रेमबारे कुरा गर्न लजाउँदैन भने, म पनि लजाउनु हुन्न। पहिलोचोटी मलाई अलि सङ्कोच, अलि लाज लागेको थियो अनि मुख खोल्न गाह्रो भएको थियो। यसबारे थप केही पटक कुरा गरेपछि, मलाई त्यस्तो भएन। यसबारे अझ धेरै सुनेर अनि कुरा गरेर, म नै त्यसमा भिज्न पुगेँ।” सही हो, तँ बोलिरहेको अनि सुनिरहेको छस्, र यसमा तँ भिजेको छस्, तेरो सोचको गहिराइमा विवाहसम्बन्धी साँचो, मूल बुझाइ अडिग रहन सक्दैन, त्यसैले तैँले सामान्य व्यक्तिका रूपमा आफूमा हुनुपर्ने विवेक र समझ गुमाएको छस्। त्यो गुमाउनुको कारण के हो? त्यसको कारण के हो भने, तैँले विवाहसम्बन्धी तथाकथित “रोमान्टिक प्रेम” को दृष्टिकोण स्विकारेको छस्। विवाहसम्बन्धी यो तथाकथित “रोमान्टिक प्रेम” को दृष्टिकोणले विवाहप्रति तेरो सामान्य मानवतामा रहेको मूल बुझाइ र जिम्मेवारीबोधलाई खप्लक्क निलेको छ। तँ तुरुन्तातुरुन्तै रोमान्टिक प्रेमसम्बन्धी आफ्नो बुझाइलाई व्यक्तिगत रूपमा अभ्यासमा गर्न थाल्छस्। तँ आफूसँग मन मिल्ने, तँलाई प्रेम गर्ने र तैँले प्रेम गर्ने मानिसहरू निरन्तर खोज्छस्, अनि उचित वा अनुचित तरिकाले रोमान्टिक प्रेमको पछि लाग्छस्, ठूलो कष्ट उठाउँछस् अनि निकै निर्लज्ज बन्छस्, यहाँसम्म कि रोमान्टिक प्रेमका निम्ति जीवनभरको ऊर्जा खर्च गर्छस्—त्यसपछि तँ सकिन्छस्। रोमान्टिक प्रेमको पछि लाग्ने क्रममा, मानौँ कुनै महिलाले आफूलाई मन पर्ने व्यक्ति भेट्टाउँछे, र यस्तो सोच्छे: “हामी प्रेम बन्धनमा छौँ, त्यसैले बिहे गरौँ।” बिहे गरिसकेपछि, ऊ केही समय त्यो व्यक्तिसँग बस्छे, त्यसपछि उसमा केही कमीकमजोरी रहेको महसुस गर्छे, अनि सोच्छे: “उसले मलाई मन पराउँदैन, र मलाई पनि ऊ खासै मन पर्दैन। हामी दुईको जोडी मिल्दैन, त्यसैले हाम्रो रोमान्टिक प्रेम एउटा गल्ती थियो। ठिकै छ, हामी सम्बन्धविच्छेद गर्नेछौँ।” सम्बन्धविच्छेदपछि, उसले दुई वा तीन वर्षको बच्चा लिएर यस्तो सोच्दै अर्को व्यक्ति खोज्न तरखर गर्छे: “मेरो पछिल्लो विवाहमा प्रेम नै थिएन, त्यसैले मैले दोस्रो विवाहमा साँचो रोमान्टिक प्रेम भएको सुनिश्चित गर्नुपर्छ। म यसपटक निश्चित हुनुपर्छ, त्यसैले मैले केही समय लगाएर जाँच गर्नुपर्छ।” केही समयपछि, उसले अर्को कसैलाई भेट्छे, “ओहो, ऊ त मेरो सपनाको प्रियतम, मलाई मन पर्ने कल्पना गरेको व्यक्ति हो। उसले मलाई मन पराउँछ, अनि म उसलाई मन पराउँछु। ऊ मदेखि टाढिन सक्दैन अनि म ऊदेखि टाढिन सक्दिनँ; हामी एकअर्काप्रति चुम्बकजस्तै आकर्षित छौँ, र सधैँ सँगै रहन चाहन्छौँ। हामी प्रेम बन्धनमा छौँ, बिहे गरौँ।” त्यसैले, उसले फेरि बिहे गर्छे। बिहे गरेपछि उसले अर्को बच्चा जन्माउँछे, अनि दुई वा तीन वर्षपछि सोच्छे: “यस व्यक्तिमा निकै धेरै कमीकमजोरी रहेछ; ऊ अल्छे र लोभी दुवै छ। ऊ रबाफ देखाउँछ र फुर्ती लगाउँछ, साथै गफ हाँक्न मन पराउँछ। ऊ आफ्ना जिम्मेवारी पूरा गर्दैन, ऊ आफूले कमाएको पैसा परिवारमा खर्च गर्दैन, अनि ऊ दिनभर रक्सी पिउँछ र जुवातास खेल्छ। ऊ मैले प्रेम गर्न चाहेको व्यक्ति होइन। मैले प्रेम गर्ने व्यक्ति यस्तो होइन। अब सम्बन्धविच्छेद!” दुई छोराछोरी लिएर, उसले फेरि सम्बन्धविच्छेद गर्छे। सम्बन्धविच्छेद गरेपछि, ऊ सोच्न थाल्छे: रोमान्टिक प्रेम भनेको के हो? ऊ बताउन सक्दिन। केही मानिसका विवाह दुई वा तीन पटक असफल भएको छ अनि तिनीहरू अन्त्यमा के भन्छन्? “म रोमान्टिक प्रेममा विश्‍वास गर्दिनँ, म मानवतामा विश्‍वास गर्छु।” हेर् त, तिनीहरू घरी यता घरी उता गर्छन्, अनि तिनीहरूलाई केमा विश्‍वास गर्नुपर्ने हो, थाहा हुँदैन। तिनीहरूलाई विवाह के हो भनेर थाहा हुँदैन; तिनीहरू मिथ्या सोच र दृष्टिकोण स्विकार्छन्, अनि यी विचार र दृष्टिकोणलाई आफ्नो मानकका रूपमा प्रयोग गर्छन्। तिनीहरू यी विचार र दृष्टिकोणलाई व्यक्तिगत रूपमा अभ्यास गर्छन्, अनि साथसाथै, विवाह र आफूलाई, साथै अरू मानिसलाई बरबाद गर्छन्; तिनीहरू विभिन्न हदमा आउने पुस्ता र आफूलाई शारीरिक र मानसिक दुवै रूपमा हानि गर्छन्। मानिसहरूले विवाहबारे दुःखी र असहाय महसुस गर्नु, तिनीहरूमा विवाहबारे राम्रो अनुभूति नहुनुको कारणका अंश यिनै कुरा हुन्। मैले भर्खरै विवाहसम्बन्धी मानिसहरूका विविध दृष्टिकोण र परिभाषा, साथै विवाहबारे आधुनिक समयका मानिसहरूले राख्ने गलत दृष्टिकोणका कारण मानव विवाह जुन अवस्थामा पुग्छ त्यसबारे सङ्गति गरेँ; छोटकरीमा भन्नुपर्दा, आधुनिक मानव विवाहको अवस्था राम्रो छ कि नराम्रो? (नराम्रो।) यसले कुनै सम्भावना बोकेको छैन, यसमा आशाको किरण छैन, र यो झनै लथालिङ्ग भएको छ। पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म, मानव विवाह भयावह र दुरावस्थामा छ। अहिलेको पुस्ताका मानिसहरू—चालिस वा पचास वर्षमुनिका मानिसहरू—सबैले अघिल्ला र आउँदा पुस्ताको विवाहको दुर्भाग्य, साथै विवाहबारे यी पुस्ताका दृष्टिकोण, अनि तिनीहरूका असफल वैवाहिक अनुभवहरू देख्छन्। अवश्य पनि, चालिस वर्षमुनिका धेरै मानिस सबैखाले दुर्भाग्यपूर्ण विवाहका सिकार हुन्छन्; तीमध्ये कतिपय एकल आमा हुन्छन्, अन्यचाहिँ एकल बुबा हुन्छन्, तैपनि निस्सन्देह, एकल बुबाहरू तुलनात्मक रूपमा त्यति धेरै हुँदैनन्। कतिपय मानिस आफ्नी साक्खे आमा र सौतेनी बुबासँग हुर्कन्छन् भने कतिपयचाहिँ आफ्नो जन्मदिने बुबा र सौतेनी आमासँग हुर्कन्छन्, अनि अरूचाहिँ फरक-फरक आमाबुबाका भाइबहिनीहरूसँग हुर्कन्छन्। अन्यका बुबाआमाले सम्बन्धविच्छेद गरेका हुन्छन् र फेरि बिहे गर्न चाहन्छन्, अनि उनीहरूलाई दुवैले पाल्न चाहँदैनन्, त्यसैले उनीहरू अनाथ बन्छन्, जो समाजमा केही वर्ष त्यतिकै अल्याङटल्याङ गर्दै वयस्क उमेरमा प्रवेश गर्छन्; त्यसपछि तिनीहरू सौतेनी बुबा वा सौतेनी आमा बन्छन्, वा तिनीहरू एकल आमा वा एकल बुबा बन्छन्। आधुनिक विवाहको अवस्था यस्तो छ। के मानवजातिले यस हदको विवाह व्यवस्थापन गर्नु त शैतानले तिनीहरूलाई भ्रष्ट पारेको परिणाम होइन र? (हो।) मानवजातिको सबैभन्दा आधारभूत अस्तित्व र बढौतीको यो अत्यावश्यक रूप असाध्यै विकृत र भताभुङ्ग भएको छ। तँलाई मानवजाति कसरी जिउँछ भन्‍ने लाग्छ? हर परिवारको जीवन हेर्नु झर्कोलाग्दो हुन्छ, हेर्नसमेत नसकिने खतम हुन्छ। अब यसबारे थप कुरा नगरौँ; जति कुरा गर्‍यो, त्यति नै झर्को लाग्छ, होइन?

हामीले विवाहको विषयमा कुरा गरिरहेको हुनाले, वास्तवमा विवाहको सटीक, सही परिभाषा र अवधारणा के हो भनेर हेर्नुपर्छ। हामीले विवाहको सटीक, सही परिभाषा र अवधारणाबारे कुरा गरिरहेको हुनाले, यस मामिलामा परमेश्‍वरले भनेका र गरेका सबै कुराको आधामा विवाहको सही परिभाषा र अवधारणा दिन, विवाहको वास्तविक अवस्था स्पष्ट पार्न, अनि विवाहको रचना र अस्तित्वपछाडिको मूल अभिप्राय प्रस्ट्याउन परमेश्‍वरका वचनमा जवाफ खोज्नुपर्छ। यदि कसैले विवाहको परिभाषा र अवधारणालाई स्पष्टसँग बुझ्न चाहन्छ भने, उसले सुरुमा मानवजातिका पूर्वजलाई हेर्नैपर्छ। सुरुमा मानवजातिका पूर्वजलाई हेर्नुको कारण हो? मानवजाति आफ्ना पूर्वजको विवाहका कारण नै वर्तमान समयसम्म अस्तित्वमा रहन सकेको छ; अर्थात् आज यति धेरै मानिस हुनुको मूल कारण भनेको परमेश्‍वरले सुरुमा सृष्टि गरेका मानिसहरूबीचको विवाह हो। त्यसैले, यदि कसैले विवाहको सटीक परिभाषा र अवधारणा बुझ्न चाहन्छ भने, उसले सुरुमा मानवजातिका पूर्वजहरूलाई हेर्नैपर्छ। मानवजातिका पूर्वजहरूका लागि विवाहको सुरुवात कहिले भएको थियो? त्यसको सुरुवात परमेश्‍वरले मानिसको सृष्टि गरेसँगै भएको थियो। यसको अभिलेख उत्पत्तिको पुस्तक जत्तिकै पुरानो हो, त्यसैले हामीले बाइबल खोलेर यी खण्डहरूले के भन्छन्, त्यो हेर्नैपर्छ। के अधिकांश मानिस यस विषयमा रुचि राख्छन्? विवाह भइसकेकाहरूले त्यसमा कुरा गर्ने केही पनि छैन, यो एकदमै सामान्य विषय हो भनेर सोच्लान्, तर अविवाहित जवान व्यक्तिहरूले यस विषयमा विशेष रुचि राख्छन्, किनकि तिनीहरूलाई विवाह रहस्यमय अनि आफूलाई त्यसबारे धेरै कुरा थाहा छैन भन्‍ने लाग्छ। त्यसैले हामी जडदेखि नै कुरा गर्न थालौँ। कसैले उत्पत्ति २:१८ पढ त। (“अनि यहोवा परमेश्‍वरले भन्‍नुभयो, मानिस एकलो रहन राम्रो होइन; म त्यसको निम्ति सहयोगी बनाउनेछु।”) त्यसपछि, उत्पत्ति २:२१-२४। (“अनि यहोवा परमेश्‍वरले आदममाथि गहिरो निन्द्रा पारिदिनुभयो, र उनी झपक्क भए: अनि उहाँले उनको एउटा करङ लिनुभयो, त्यस ठाउँमा मासुले बन्द गर्नुभयो; अनि यहोवा परमेश्‍वरले पुरुषबाट जुन करङ लिनुभएको थियो त्यसबाट स्‍त्री बनाउनुभयो, र तिनलाई पुरुषकहाँ ल्याउनुभयो। अनि आदमले भने, यो त मेरै हड्डीहरूको हड्डी र मासुको मासु हो: तिनलाई स्‍त्री भनिनेछ किनभने तिनलाई पुरुषबाट लिइएको थियो। त्यसकारण, पुरुष आफ्ना बुबा र आमालाई छोडिजानेछ, र आफ्नी श्रीमतीसँग जोडिनेछ: अनि उनीहरू एउटै देह बन्नेछन्।”) त्यसपछि, उत्पत्ति ३:१६-१९। (“उहाँले उक्त स्त्रीलाई भन्नुभयो, म तेरा कष्ट र तेरो सुत्केरी-वेदनालाई ज्यादै बढाइदिनेछु; तैँले कष्टमा नै बच्चाहरू जन्माउनेछेस्; र तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ। अनि उहाँले आदमलाई भन्नुभयो, तैँले तेरी श्रीमतीको कुरा सुनेको छस्, र मैले तँलाई यसबाट नखानू भनेर आज्ञा दिएको रुखबाट खाएको छस् त्यसकारण: तेरो खातिर भूमि श्रापित भएको छ; तैँले दुःखमा जीवनभर यसबाट खानेछस्; यसले तँलाई काँडा र घोच्‍ने फूल पनि दिनेछ; अनि तैँले बारीको झारपात खानेछस्; तँ भूमिमा नफर्कुञ्जेलसम्म, तैँले पसिना काढेर गुजारा गर्नेछस्; किनभने तँ यसबाटै निकालिएको थिइस्: तँ धूलो होस् र तँ धूलोमै फर्कनेछस्।”) हामी त्यहीँ रोकिनेछौँ। अध्याय दुईमा पाँच पद अनि अध्याय तीनमा चार पद छन्, शास्त्रपदका कुल नौ पद। उत्पत्तिका यी नौ पदले एउटा कुराको वर्णन गर्छन्, त्यो हो, मानवजातिका पूर्वजहरूको विवाह कसरी भएको थियो। कुरा त्यही होइन? (हो।) के अब तिमीहरूले बुझ्यौ? के तिमीहरूले यसको साधारण अर्थ अलि राम्ररी बुझ्यौ, अनि के तिमीहरू यो सम्झिन सक्छौ? यहाँ छलफल भइरहेको मुख्य कुरा हो? (मानवजातिका पूर्वजहरूको विवाह कसरी भएको थियो भन्‍नेबारे।) त्यसोभए, त्यो वास्तवमा कसरी भएको थियो त? (परमेश्‍वरले त्यसको तयारी गर्नुभएको थियो।) ठिक हो, साँचो कुरा यही हो। परमेश्‍वरले मान्छेका निम्ति त्यो तयार गर्नुभयो। परमेश्‍वरले आदमलाई सृष्टि गर्नुभयो, त्यसपछि उसका लागि जोडी, उसलाई मद्दत गर्न र साथ दिन, ऊसँग जिउन एउटी पत्नी सृष्टि गर्नुभयो। मानवजातिका पूर्वजहरूका लागि विवाहको उत्पत्ति, अनि मानव विवाहको स्रोत यही नै हो। के कुरा यही होइन? (हो।) हामीलाई मानव विवाहको स्रोतबारे थाहा छ: यो परमेश्‍वरले निर्धारण गर्नुभएको थियो। परमेश्‍वरले मानवजातिका पूर्वजका निम्ति जोडी तयार गर्नुभयो, जसलाई पत्नी पनि भन्न सकिन्छ, जसले उसलाई जीवनभर सहयोग र साथ दिनेथिइन्। मानव विवाहको उत्पत्ति र स्रोत यही नै हो। त्यसैले, मानव विवाहको उत्पत्ति र स्रोत हेरिसकेपछि, हामीले विवाहलाई कसरी सही तरिकाले बुझ्नुपर्छ? के तँ विवाह पवित्र कुरा हो भनेर भन्छस्? (हजुर।) के यो पवित्र कुरा हो? के यसको पवित्रतासँग कुनै सम्बन्ध छ? छैन। तैँले यसलाई पवित्र भन्न मिल्दैन। विवाह परमेश्‍वरद्वारा बन्दोबस्त र निर्धारण गरिएको कुरा हो। यसको उत्पत्ति र स्रोत परमेश्‍वरको सृष्टिमा छ। परमेश्‍वरले पहिलो मानव सृष्टि गर्नुभयो, जसलाई सहयोग र साथ दिन, ऊसँग बस्न जोडीको आवश्यकता पर्‍यो, त्यसैले परमेश्‍वरले उसका लागि जोडी सृष्टि गर्नुभयो, अनि त्यसपछि मानव विवाह अस्तित्वमा आयो। कुरा त्यति हो। यो त्यति सरल छ। तँमा विवाहबारे हुनुपर्ने आधारभूत बुझाइ यही नै हो। विवाह परमेश्‍वरबाट आउँछ; उहाँले यसलाई बन्दोबस्त र निर्धारण गर्नुहुन्छ। तैँले कम्तीमा पनि यो नकारात्मक कुरा होइन, बरु यो त सकारात्मक कुरा हो भनेर भन्न सक्छस्। विवाह उचित कुरा हो, मानव जीवनक्रमको अनि मानव अस्तित्वको प्रक्रियाभित्रको एक उचित खण्ड हो भनेर पनि सटीक रूपमा भन्न सकिन्छ। यो दुष्ट कुरा होइन, न त मानवजातिलाई भ्रष्ट बनाउने औजार वा साधन नै हो; यो उचित र सकारात्मक कुरा हो, किनकि यो परमेश्‍वरद्वारा रचना र निर्धारण गरिएको हो, अनि अवश्य नै यसको बन्दोबस्त उहाँले गर्नुभएको हो। मानव विवाहको उत्पत्ति परमेश्‍वरको सृष्टिमा भएको हो, अनि यो उहाँले व्यक्तिगत रूपमा बन्दोबस्त र निर्धारण गरेको कुरा हो, त्यसैले त्यसलाई यो कोणबाट हेर्दा, विवाहबारे राख्नुपर्ने एकमात्र दृष्टिकोण के हो भने, यो परमेश्‍वरबाट आउँछ, यो उचित र सकारात्मक कुरा हो, यो नकारात्मक, दुष्ट, स्वार्थी वा खराब कुरा होइन। यो मानिसबाट आउँदैन, न त शैतानबाट नै आउँछ, झन् प्रकृतिभित्र स्वाभाविक रूपमा विकास हुनु त परको कुरा हो; बरु परमेश्‍वरले आफ्नै हातले यसको सृष्टि गर्नुभयो, अनि यसको बन्दोबस्त र निर्धारण गर्नुभयो। यो बिलकुलै निश्चित कुरा हो। विवाहको सबैभन्दा मौलिक, सटीक परिभाषा र अवधारणा यही नै हो।

अब तैँले मानिसहरूमा हुनुपर्ने विवाहसम्बन्धी सटीक अवधारणा र परिभाषा बुझेको छस्, त्यसोभए यतातिर नजर लगाऔँ: परमेश्‍वरले विवाह निर्धारण र बन्दोबस्त गर्नुको अर्थ के हो त? यो कुरा हामीले भर्खरै पढेको बाइबल पदहरूमा उल्लेख गरिएको छ, अर्थात् मानवजातिसँग विवाह किन छ, परमेश्‍वरका सोच केके थिए, त्यसबेलाका अवस्था र परिस्थिति कस्ता थिए, अनि कस्तो खालको परिस्थितिमा परमेश्‍वरले मानिसलाई यो विवाह प्रदान गर्नुभयो। यहोवा परमेश्‍वरले यस्तो भन्नुभएको थियो: “मानिस एकलो रहन राम्रो होइन; म त्यसको निम्ति सहयोगी बनाउनेछु।” यी वचनले दुइटा कुरा भन्छन्। पहिलो, परमेश्‍वरले यो मानिस जोडीविना, कुरा गर्ने कुनै व्यक्तिविना, वा आफ्नो खुसी र विचार बाँड्ने साथीविना अति एक्लो भएको देख्नुभयो। उहाँले उसको जीवन सुक्खा, नीरस र बेस्वादिलो हुने देख्नुभयो, त्यसैले उहाँमा यस्तो विचार आयो: एउटा व्यक्ति अलि एक्लो हुन्छ, त्यसैले मैले उसका लागि जोडी बनाउनैपर्छ। यो जोडी उसकी पत्नी हुनेछे, जसले जहाँ पनि उसको साथ दिनेछे अनि हर कुरमा सघाउनेछे; ऊ उसको जोडी र पत्नी हुनेछे। जोडीको उद्देश्य उसलाई जीवनभर साथ दिनु, अबउसो उसको जीवन मार्गमा सँगै हिँड्नु हो। चाहे दस, बिस, सय, वा दुई सय वर्ष नै किन नहोस्, यो जोडी उसको साथमा हुनेछे, जहाँ पनि ऊसँगै हुनेछे, ऊसँग कुरा गर्नेछे, सुख-दुःख र हर भावनाहरू ऊसँग बाँड्नेछे, त्यसका साथै, उसलाई साथ दिनेछे र उसलाई एक्लो वा एक्लै हुनबाट रोक्नेछे। परमेश्‍वरको मनमा उत्पन्न हुने यी सोच र विचार मानव विवाहको स्रोतका परिस्थिति हुन्। यी परिस्थितिमा परमेश्‍वरले अरू केही गर्नुभयो। हामी बाइबलको अभिलेखलाई हेरौँ: “अनि यहोवा परमेश्‍वरले आदममाथि गहिरो निन्द्रा पारिदिनुभयो, र उनी झपक्क भए: अनि उहाँले उनको एउटा करङ लिनुभयो, त्यस ठाउँमा मासुले बन्द गर्नुभयो; अनि यहोवा परमेश्‍वरले पुरुषबाट जुन करङ लिनुभएको थियो त्यसबाट स्‍त्री बनाउनुभयो, र तिनलाई पुरुषकहाँ ल्याउनुभयो।” परमेश्‍वरले त्यस मान्छेको एउटा करङ झिक्नुभयो, अनि माटो लिनुभयो, र अर्को मान्छे बनाउन त्यो करङ प्रयोग गर्नुभयो। यो व्यक्तिलाई त्यस मान्छेको करङबाट बनाइएको थियो, उसको करङबाट सिर्जना गरिएको थियो। बोलचालको भाषामा भन्नुपर्दा, यो व्यक्ति—आदमकी जोडीलाई उसको शरीरको मासु र हड्डीबाट बनाइएको थियो, त्यसैले ऊ उसको जोडी भएकाले, ऊ पनि उसको शरीरको अङ्ग थिई भनेर भन्न मिल्दैन? (मिल्छ।) अर्को शब्दमा भन्नुपर्दा, स्त्री ऊबाट निकालिएकी थिई। उसको सृष्टि भएपछि, आदमले उसलाई के भनेर बोलायो? “स्त्री।” आदम पुरुष थियो, ऊ स्त्री थिई; स्पष्टतः तिनीहरू फरक-फरक लिङ्गका फरक-फरक व्यक्ति थिए। परमेश्‍वरले पहिले पुरुषको शारीरिक विशेषता भएको व्यक्ति बनाउनुभयो, त्यसपछि त्यस पुरुषबाट एउटा करङ झिकेर महिलाको शारीरिक विशेषता भएको व्यक्ति सृष्टि गर्नुभयो। यी दुई व्यक्ति एक भएर सँगै बसे, जुन विवाहको गठन हो, अनि यसरी विवाह अस्तित्वमा आयो। त्यसैले, कसैलाई जस्तोसुकै आमाबुबाले हुर्काए पनि, अन्त्यमा गएर तिनीहरू सबै परमेश्‍वरको निर्धारण र बन्दोबस्तअन्तर्गत विवाह गरेर आफ्नो जीवनसाथीसँग जोडिनैपर्छ, र जीवनक्रमको अन्त्यसम्म सँगै चल्नुपर्छ। यो परमेश्‍वरको निर्धारण हो। एकातिर वस्तुगत रूपमा हेर्दा, मानिसहरूलाई जोडीको खाँचो पर्छ; अर्कोतिर व्यक्तिपरक रूपमा हेर्दा, विवाहलाई परमेश्‍वरले निर्धारण गरेको कुराको रूपमा हेरेमा, श्रीमान्-श्रीमती एक, छुट्ट्याउन नमिल्ने एउटा व्यक्ति हुनुपर्छ। यो वस्तुगत र व्यक्तिपरक, दुवै प्रकारको तथ्य हो। त्यसैले, हरेक व्यक्तिले आफू जन्मिएको परिवार छोड्नुपर्छ, विवाह गर्नुपर्छ, अनि आफ्नो जीवनसाथीसँग मिलेर परिवार बसाल्नुपर्छ। यो अवश्यम्भावी कुरा हो। किन? किनकि परमेश्‍वरले यो निर्धारण गर्नुभएको हो, अनि यो उहाँले मानिसको सुरुवातदेखि नै बन्दोबस्त गरेको कुरा हो। यसले मानिसहरूलाई के बताउँछ? तैँले आफ्नो जीवनसाथीका रूपमा जसलाई कल्पना गरे पनि, ऊ तँलाई व्यक्तिपरक रूपमा आवश्यक पर्ने अनि तैँले अपेक्षा गर्ने व्यक्ति भए पनि वा नभए पनि, अनि उसको पृष्ठभूमि जेजस्तो भए पनि, तैँले बिहे गर्ने, जससँग मिलेर परिवार बसाल्ने र यो जीवन बिताउने व्यक्ति निश्चय नै त्यही हो, जसलाई परमेश्‍वरले तेरा लागि बन्दोबस्त गरिसक्नुभएको र तोकिसक्नुभएको छ। के कुरा यही होइन? (हो।) यसको कारण के हो? (परमेश्‍वरको निर्धारण।) त्यो कारण परमेश्‍वरको निर्धारण हो। यसलाई अघिल्लो जुनीको सन्दर्भमा, वा परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, विवाह गर्ने श्रीमान् र श्रीमती वास्तवमा एक हुन्, त्यसैले परमेश्‍वरले तेरा लागि तँ एक हुने व्यक्तिसँग विवाह गर्ने र जीवन बिताउने बन्दोबस्त गर्नुहुन्छ। स्पष्ट रूपमा भन्‍ने हो भने, यो त्यस्तै नै हुन्छ। तैँले बिहे गर्ने व्यक्ति तेरो सपनाको प्रियतम भए पनि वा नभए पनि, ऊ तेरो सुन्दर राजकुमार भए पनि वा नभए पनि, ऊ तैँले अपेक्षा गरेको व्यक्ति भए पनि वा नभए पनि, तैँले उसलाई वा उसले तँलाई प्रेम गरे पनि नगरे पनि, तिमीहरूको बिहे स्वाभाविक रूपमा भाग्य र संयोगले भए पनि वा अरू कुनै परिस्थितिले गर्दा भए पनि, तिमीहरूको बिहे परमेश्‍वरद्वारा निर्धारित हुन्छ। तिमीहरू परमेश्‍वरले एकअर्काका लागि निर्धारण गरेको जोडी, एकअर्कालाई साथ दिन, अनि यो जीवन सँगै बिताउन र अन्त्यसम्मै हातेमाले गरेर हिँड्न निर्धारण गरेका व्यक्ति हौ। के कुरा यही होइन? (हो।) के तिमीहरूलाई यो बुझाइ आडम्बरी वा विकृत लाग्छ? (लाग्दैन।) यो न त आडम्बरी छ, न त विकृत नै। कतिपय मानिस भन्छन्: “तिमीले त्यसो भन्नु गलत होला। यदि यी विवाहहरू साँच्चै परमेश्‍वरले निर्धारण गर्नुभएको हो भने, किन कतिपय विवाह सम्बन्ध विच्छेदमा टुङ्गिन्छन्?” किनकि यी मानिसहरूको मानवतामा समस्या हुन्छ, जुन बेग्लै कुरा हो। यो सत्यता पछ्याइसँग सम्बन्धित कुरा हो, जसबारे हामी पछि सङ्गति गर्नेछौँ। अहिले भने, विवाहको परिभाषा, बुझाइ अनि सटीक अवधारणाबारे कुरा गर्दा, वास्तवमा कुरा त्यही हो। कतिपय मानिस भन्छन्: “तिमी श्रीमान् र श्रीमती एक हुन् भन्छौ, त्यसोभए, के यो गैरविश्‍वासीहरूले ‘हुनुपर्ने त्यो हो भने, त्यस्तै हुनुपर्छ, अनि हुनुपर्ने त्यो होइन भने, त्यस्तो हुनु हुँदैन’, अनि केही राष्ट्रका मानिसले[ख] ‘कसैसँग नौकाविहार गर्ने मौका पाउन सय वर्षको सुकर्म चाहिन्छ, अनि वैवाहिक बन्धनमा बाँधिन हजार वर्षको सुकर्म चाहिन्छ’ भनेर भन्नुजस्तो होइन र?” के तिमीहरूलाई अहिले हामीले कुरा गरिरहेको विवाह र यी भनाइबीच कुनै सम्बन्ध छ भन्‍ने लाग्छ? (लाग्दैन।) ती दुईबीच कुनै सम्बन्ध छैन। विवाहलाई विकास गरेर अस्तित्वमा ल्याइँदैन—यो परमेश्‍वरद्वारा निर्धारित हुन्छ। जब परमेश्‍वर दुई व्यक्तिलाई श्रीमान् र श्रीमती बन्न, एकअर्काका जोडी बन्न निर्धारण गर्नुहुन्छ, तब तिनीहरूले आफूलाई विकास गर्नु पर्दैन। तिनीहरूले के विकास गर्नेथिए? नैतिक चरित्र? मानवता? तिनीहरूले आफूलाई विकास गर्नु आवश्यक छैन। यो त बौद्धमार्गीको बोल्ने तरिका हो, जुन सत्यता होइन, अनि जसको सत्यतासँग कुनै सम्बन्ध छैन। मानव विवाह परमेश्‍वरले बन्दोबस्त र निर्धारण गर्नुहुन्छ। विवाहलाई त्यसको रूपको दृष्टिले होस् वा शाब्दिक रूपमा, परिभाषामा होस् वा अवधारणामा, यसरी नै बुझ्नुपर्छ। के तिमीहरूले बाइबलमा अभिलेख गरिएका वचनमार्फत, यो सङ्गतिमार्फत, विवाहको सटीक, सत्यताअनुरूप परिभाषा र अवधारणा पायौ त? (पायौँ।) यो अवधारणा, यो परिभाषा विकृत छैन; यो रङ्गिन चश्माबाट हेरिने दृष्टिकोण होइन, झन् यसलाई मानव भावनाद्वारा बुझ्नु र परिभाषित गर्नु त बिलकुलै होइन। बरु, यसको एउटा आधार छ; यो परमेश्‍वरका वचन र काममा आधारित छ, अनि यो उहाँका बन्दोबस्त र निर्धारणमा आधारित छ। यस मोडमा पुगिसकेपछि, के सबैले विवाहसम्बन्धी बुझाइ र त्यसको आधारभूत परिभाषा बुझ्यौ त? (बुझ्यौँ।) अब तिमीहरूले यो बुझेका छौ, उप्रान्त विवाहबारे अवस्तुगत कल्पना गर्नेछैनौ, वा विवाहबारे तिमीहरूका गुनासाहरू कम हुनेछन्, होइन त? कतिपयले भन्लान्: “विवाह परमेश्‍वरद्वारा निर्धारित हुन्छ—त्यसमा कुरा गर्नुपर्ने केही छैन—तर विवाह टुट्छ। त्यो चाहिँ के भएको हो त?” यसका धेरै कारण हुन्छन्। भ्रष्ट मानवजातिका भ्रष्ट स्वभाव हुन्छन्, तिनीहरू समस्याको सार छर्लङ्ग देख्न सक्दैनन्, तिनीहरू दुष्टताको वकालत गर्ने हदसम्म आफ्नो कामवासना र अभिरुचि तृप्त पार्नुको पछि लाग्छन्, त्यसैले तिनीहरूको विवाह टुट्छ। यो बेग्लै विषय हो, जसबारे हामी धेरै कुरा गर्नेछैनौँ।

हामी विवाहमा एकअर्कालाई सहयोग र साथ दिनेबारे कुरा गरौँ। परमेश्‍वरले भन्नुभयो: “मानिस एकलो रहन राम्रो होइन; म त्यसको निम्ति सहयोगी बनाउनेछु।” विवाह गरेकाहरूलाई थाहा छ, विवाहले परिवारमा अनि व्यक्तिको जीवनमा आफूले कल्पनै नगरेका कैयौँ फाइदा पुऱ्याउँछ। मानिसहरू एक्लै बस्दा सुरुमा निकै एक्लो र एकल हुन्छन्, आफ्नो मनका कुरा पोख्न, कुरा गर्न, अनि सङ्गत गर्न कोही हुँदैन, जीवन विशेष गरी नीरस र असहाय हुन्छ। तिनीहरूले विवाह गरिसकेपछि यो एक्लोपन र एकाकीपन भोग्नुपर्दैन। तिनीहरूसँग मनको कुरा पोख्न कोही हुन्छ। कहिलेकाहीँ, तिनीहरू आफ्नो जीवनसाथीसँग आफ्ना दुःख पोख्छन्, अनि कहिलेकाहीँ आफ्ना भावना र खुसी साट्छन्, वा रिससमेत पोख्छन्। कहिलेकाहीँ तिनीहरू एकअर्कासँग आफ्नो हृदय खोल्छन्, अनि जीवन आनन्दमय र सुखमय लाग्छ। तिनीहरू एकअर्काका विश्‍वासपात्र हुन्छन्, अनि तिनीहरू एकअर्कालाई विश्‍वास गर्छन्, त्यसैले तिनीहरू एक्लो महसुस गर्न छोड्नुबाहेक, अझ धेरै हर्ष अनुभव गर्छन्, र जोडी पाएकोमा खुसी हुन्छन्। मानिसहरूले व्यक्त गर्नुपर्ने विभिन्न मुड, संवेग र भावना, साथै विविध सोचबाहेक आफ्नो दैनिक जीवनमा, जिउने प्रक्रियामा, धेरै व्यावहारिक मामिलाहरू जस्तै दैनिक आवश्यकताहरू, लुगाफाटा, खानेकुरा र आवासको सामना गर्नुपर्छ। उदाहरणका लागि, मानौँ दुई व्यक्ति सँगै जिउन चाहन्छन्, अनि तिनीहरूलाई सानो गोदाम निर्माण गर्नु आवश्यक पर्छ। त्यो पुरुष डकर्मी हुनुपर्छ, पर्खाल बनाउन इँटा खाप्नुपर्छ, अनि महिलाले चाहिँ उसलाई इँटा दिँदै र मसाला बनाउँदै, वा निधारको पसिना पुछ्दै अनि उसलाई पानी पिलाउँदै मद्दत गर्न सक्छे। ती दुई सँगै कुराकानी गर्छन् र हाँस्छन्, अनि उसको एक सहयोगी छ, जुन राम्रो कुरा हो। साँझ ढल्नअघि नै काम सकिन्छ। यो त पुरानो चिनियाँ गीतिनाटक “अप्सरा जोडी” ले वर्णन गरेझैँ हो: “म पनि तान्छु, तिमीचाहिँ बगैँचामा पानी हाल।” अरू केही? (“तिमी खेत जोत, म कपडा बुन्छु।”) सही हो। एउटाले कपडा बुन्छ भने अर्कोले खेत जोत्छ; एउटा घरभित्रकी मालिक्नी हो, अर्कोचाहिँ घरबाहिरको मालिक। यसरी जिउनु निकै राम्रो कुरा हो। यसलाई एक रथका दुई पाङ्ग्रा वा नङ-मासुको सम्बन्ध भन्न सकिन्छ। यसरी, जीवनमा पुरुषका सीप प्रदर्शनी गरिन्छ, अनि उसमा कमी भएका वा ऊ अदक्ष रहेका क्षेत्रहरूलाई महिलाले पूर्ति गरिदिन्छे; जहाँ महिला कमजोर हुन्छे, त्यहाँ पुरुषले उसलाई माफी दिन्छ, मद्दत र सहायता गर्छ, अनि उनका सबलता पनि प्रदर्शित हुन्छन्, जसले परिवारको पुरुषलाई फाइदा पुग्छ। श्रीमान् र श्रीमती दुवैले आ-आफ्नो कर्तव्य निभाउँछन्, आ-आफ्नो कमीकमजोरी परिपूर्ति गर्न एकअर्काबाट सिक्छन्, अनि घरपरिवारको मेलमिलाप अनि पूरै परिवारको जीवन र अस्तित्व जोगाउन मिलेर काम गर्छन्। अवश्यै, सहचारिताभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तिनीहरूले गरिबीमा होस् वा सम्पन्न हुँदा, जीवनभर एकअर्कालाई साथ र मद्दत दिन्छन्, अनि, जीवन राम्ररी जिउँछन्। छोटकरीमा भन्नुपर्दा, परमेश्‍वरले भन्नुभएझैँ, मानिस एक्लो रहनु राम्रो होइन, त्यसैले उहाँले पुरुषका लागि विवाहको बन्दोबस्त गर्नुभयो—पुरुषले दाउरा चिर्ने र घर-आँगनको देखभाल गर्ने गर्थ्यो, महिलाले खाना पकाउने, सरसफाइ गर्ने, सिउने-तिउने काम गर्ने, अनि पूरै परिवारको सेवा-सुसार गर्ने गर्थी। दुवैले आ-आफ्नो काम राम्ररी गर्छन्, आफूले जीवनमा गर्नुपर्ने काम गर्छन्, अनि तिनीहरूको दिन खुसीले बित्छ। मानव जीवन यो एउटा मोडबाट बाहिरतिर समग्र रूपमा क्रमिक विकास भएको छ, फलस्वरूप मानिसहरू आजका दिनसम्म फैलँदै र बढ्दै गएका छन्। त्यसैले, समग्रमा विवाह मानवजातिका लागि अपरिहार्य छ—तिनीहरूको विकासका निम्ति अपरिहार्य, अनि व्यक्तिगत रूपमा तिनीहरूका लागि अपरिहार्य छ। विवाहको साँचो अर्थ मानवजातिको वृद्धि मात्र होइन, तर अझ महत्त्वपूर्ण, परमेश्‍वरले हरेक पुरुष र महिलाका निम्ति जोडी बन्दोबस्त गर्नका लागि हो, जसले तिनीहरूलाई जीवनको हर घडी साथ दिनेछ, चाहे गाह्रो र कष्टकर हुँदा होस्, वा चाहे सहज, आनन्ददायी र सुखमय हुँदा होस्—ती सब घडीमा तिनीहरूसँग मनको कुरा पोख्न, हृदय र मन एक भई रहन, अनि आफ्नो दुःख, पीडा, खुसी र हर्ष साट्न कोही हुन्छ। परमेश्‍वरले मानिसहरूका लागि विवाहको बन्दोबस्त गर्नुपछाडिको अर्थ यही नै हो, अनि यो हरेक व्यक्तिको व्यक्तिपरक आवश्यकता हो। परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुहुँदा तिनीहरू एक्लो भएको चाहनुभएको थिएन, त्यसैले उहाँले तिनीहरूका लागि विवाहको बन्दोबस्त गर्नुभयो। विवाहमा पुरुष र महिलाले फरक-फरक भूमिका उठाउँछन्, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तिनीहरूले एकअर्कालाई साथ र सहयोग दिनु, हरेक दिन राम्रोसँग बिताउनु, जीवनको बाटोमा राम्ररी हिँड्नु हो। एकातिर, तिनीहरू एकअर्कालाई साथ दिन सक्छन्, अनि अर्कोतिर, एकअर्कालाई सहयोग गर्न सक्छन्—विवाहको अर्थ र यसको अस्तित्वको आवश्यकता यही नै हो। अवश्य नै, मानिसहरूमा विवाहप्रति हुनुपर्ने बुझाइ र मनोवृत्ति पनि यही हो, अनि यो नै तिनीहरूले विवाहप्रति पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व हो।

हामी फर्केर उत्पत्ति ३:१६ लाई हेरौँ। परमेश्‍वरले स्त्रीलाई भन्नुभयो: “म तेरा कष्ट र तेरो सुत्केरी-वेदनालाई ज्यादै बढाइदिनेछु; तैँले कष्टमा नै बच्चाहरू जन्माउनेछेस्; र तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।” परमेश्‍वरले स्त्रीजातिलाई दिएको निर्देशन यही हो, जुन अवश्यै नै आज्ञा पनि हो, जसअन्तर्गत उहाँ विवाहमा महिलाले खेल्ने भूमिका अनि उसले उठाउने जिम्मेवारी निर्धारण गर्नुहुन्छ। महिलाले जन्म दिनैपर्छ, जुन एक हिसाबले उसलाई अघिल्लो अपराधको सजाय थियो, अनि अर्को हिसाबले उसले विवाहमा महिलाका रूपमा स्विकार्नुपर्ने जिम्मेवारी र दायित्व थियो। उसले गर्भधारण गरेर बच्चा जन्माउनेथिई, अनि यसअतिरिक्त, पीडा भोग्दै छोराछोरी जन्माउने थिई। फलस्वरूप, महिलाले विवाह गरिसकेपछि पीडा हुन्छ भन्‍ने डरले बच्चा जन्माउन अस्वीकार गर्नु मिल्दैन। यो गल्ती हो। बच्चा जन्माउनु भनेको तैँले उठाउनुपर्ने जिम्मेवारी हो। त्यसैले, यदि तँ तँलाई साथ दिने, जीवनमा मद्दत गर्ने कोही चाहन्छस् भने, तैँले विवाहमा प्रवेश गर्दा आफूले उठाउने पहिलो जिम्मेवारी र दायित्वबारे विचार गर्नैपर्छ। यदि कुनै महिलाले “म बच्चा जन्माउन चाहन्नँ,” भन्छे भने, पुरुषले यसो भन्‍नेछ, “यदि तिमी बच्चा जन्माउन चाहन्नौ भने, म तिमीलाई चाहन्नँ।” यदि तँ प्रसव पीडा भोग्न चाहँदैनस् भने, तैँले विवाह गर्नु हुन्न। तँ विवाहमा प्रवेश गर्नु हुन्न, तँ यसको योग्य छैनस्। विवाहमा प्रवेश गरेपछि तैँले एक महिलाका रूपमा सुरुमा गर्नुपर्ने कुरा भनेको बच्चा जन्माउनु, अनि यसअतिरिक्त, पीडा भोग्नु हो। यदि तँ यो गर्न सक्दिनस् भने, विवाहमा प्रवेश गर्नु हुन्न। तँ महिला हुन योग्य छैनस् भनेर भन्न नसकिए पनि, कम्तीमा तैँले एक महिलाका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न सकेकी हुँदैनस्। गर्भधारण गर्नु अनि बच्चा जन्माउनु भनेको महिलाबाट गरिने पहिलो माग हो। दोस्रो माग हो, “तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।” तँ पुरुषको जीवनसाथी भएको हुनाले—तैँले महिलाको रूपमा पुरुषसँग विवाह गर्नुले तँ उसको जीवनसाथी होस्, अनि अलि कडाइका साथ भन्नुपर्दा, यसरी तँ उसको एक हिस्सा होस्, त्यसैले तेरो हृदयको चाहना ऊप्रति हुनैपर्छ, जसको तात्पर्य, ऊ तेरो हृदयमा हुनैपर्छ। ऊ तेरो हृदयमा छ भने मात्रै तैँले उसलाई ख्याल राख्न अनि खुसीसाथ साथ दिन सक्छेस्। त्यसपछि मात्रै, तेरा श्रीमान् बिरामी पर्दा, उसले कठिनाइ र अड्चन सामना गर्दा, वा अरू मानिसमाझ अथवा आफ्नै जीवनमा असफलता, ठक्कर, वा कष्ट भोग्दासमेत, तैँले स्त्रीको रूपमा आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न, उसको ख्याल गर्न, कदर गर्न, उसलाई समझदार व्यवहार गर्न मनाउन, उसलाई सान्त्वना दिन, अनि स्त्रीवत् तरिकाले सल्लाह र हौसला दिन सक्छेस्। यो साँचो, झन् राम्रो सहचारिता हो। यसरी मात्रै तेरो विवाह सुखी हुनेछ, अनि त्यसपछि मात्रै तैँले आफ्नो स्त्रीवत् जिम्मेवारी पूरा गर्न सक्नेछेस्। अवश्यै, तँलाई यो जिम्मेवारी तेरा आमाबुबाले नभई परमेश्‍वरले सुम्पनुभएको हो। यो महिलाले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व हो। महिलाका रूपमा तँ यस्तै हुनुपर्छ। तैँले आफ्ना श्रीमानलाई यसरी नै व्यवहार गर्नुपर्छ र उसको ख्याल गर्नुपर्छ; यो तेरो जिम्मेवारी र दायित्व हो। यदि कुनै महिलाले यो गर्न सक्दिन भने, ऊ असल महिला होइन, अनि ऊ अवश्यै स्वीकार्य महिला होइन, किनकि उसले परमेश्‍वरले महिलाबाट माग गर्ने न्यूनतम कुरा समेत गर्न सकेकी छैन: “तेरो इच्छा तेरो पतितिर हुनेछ।” के तैँले बुझिस् त? (बुझेँ।) तैँले पुरुषको अर्धाङ्गिनीको रूपमा, कामकुरा सहज हुँदा, ऊसँग पैसा र शक्ति हुँदा, ऊ बफादार भई तँलाई राम्ररी देखभाल गर्दा, उसले तँलाई हर कुरामा खुसी र सन्तुष्ट पार्दा, आफ्ना श्रीमानलाई श्रद्धा र ख्याल गर्न सक्छेस्। तर उसले कठिनाइ, बिमारी, दिक्दारी, असफलता, हतोत्साह, वा निराशाको सामना गर्दा, उसले चिताएको ढङ्गमा कामकुरा नहुँदा, तँ एक महिलाले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व पूरा गर्न सक्दिनस्, उसलाई हृदयस्पर्शी सान्त्वना दिन, उसलाई समझदारीपूर्ण व्यवहार गर्न मनाउन, हौसला दिन वा साथ दिन सक्दिनस्। यस्तोमा तँ एक असल महिला हुँदिनस्, किनकि तैँले एउटा महिलाको जिम्मेवारी पूरा गरेकी हुँदैनस्, अनि तँ पुरुषका लागि राम्रो जोडी हुँदिनस्। के त्यस्तो महिलालाई खराब महिला भन्न सकिन्छ त? “खराब” को त प्रश्नै उठ्दैन; तर कम्तीमा पनि, तँमा परमेश्‍वरले सामान्य मानवता भएको व्यक्तिबाट माग गर्ने, सामान्य मानवतामा हुनुपर्ने विवेक र समझ छैन—तँ मानवताविहीन महिला होस्। के त्यसो होइन र? (हो।) हामीले महिलाबाट गरिएका मागहरूबारे कुरा गरिसक्यौँ। परमेश्‍वरले आफ्ना श्रीमानप्रति महिलाको जिम्मेवारी बताउनुभएको छ, जुन हो: “तेरो इच्छा तेरो पतितिर हुनेछ।” यो “चाहना” भन्‍ने शब्दले प्रेम वा स्नेहलाई जनाउँदैन; बरु यसको अर्थ त ऊ तेरो हृदयमा हुनैपर्छ भन्‍ने हो। ऊ तेरो प्रिय हुनैपर्छ; तैँले उसलाई आफ्नो प्रियजन, आफ्नो आधा हिस्साका रूपमा व्यवहार गर्नैपर्छ। ऊ तैँले कदर गर्नैपर्ने, साथ दिनैपर्ने, अनि ख्याल राख्नैपर्ने, तिमीहरूबीच जीवनको अन्त्यसम्म आपसी हेरचाह हुनैपर्ने व्यक्ति हो। तैँले उसलाई आफ्नो सारा हृदयले देखभाल र कदर गर्नैपर्छ। यो तेरो जिम्मेवारी हो—यसलाई नै “चाहना” भनिएको हो। अवश्यै, परमेश्‍वरले यहाँ “तेरो इच्छा तेरो पतितिर हुनेछ” भनेर भन्नुहुँदा, यो “चाहना हुनेछ” भन्‍ने वाक्यांश मानिसहरूलाई दिइएको शिक्षा हो। मानवता भएको, स्वीकार्य महिलाका रूपमा, तेरो चाहना तेरा श्रीमानप्रति हुनुपर्छ। यसअतिरिक्त, परमेश्‍वरले तँलाई आफ्ना श्रीमान् र अन्य पुरुष दुवैप्रति चाहना राख्नू भनेर भन्नुभएको छैन। के परमेश्‍वरले यसो भन्नुभएन? (उहाँले यसो भन्नुभएन।) परमेश्‍वरले महिला आफ्नो श्रीमानप्रति बफादार हुनुपर्छ, अनि उसको हृदयमा हुने र उसले चाहना चाहना गर्ने एकमात्र व्यक्ति आफ्ना श्रीमान् हुनुपर्छ भन्‍ने माग गर्नुहुन्छ। उहाँ उसले कुनै व्यक्तिप्रति लक्षित आफ्नो स्नेहलाई परिवर्तन गरेको, वा स्वच्छन्द यौनसम्बन्ध राखेको, आफ्ना श्रीमानप्रति अबफादार बनेको, वा आफ्नो विवाहबाहिर कसैप्रति चाहना राखेको चाहनुहुन्न। बरु, उहाँ त उसले विवाह गरेको व्यक्तिप्रति चाहना राखोस् अनि आफ्नो बाँकी जीवन ऊसँगै बिताओस् भन्‍ने चाहनुहुन्छ। तेरो साँचो चाहना यही व्यक्तिप्रति निर्देशित हुनुपर्छ, तैँले उसैसँग आफ्नो सारा जीवन कडा मेहनत गरेर हेरचाह गर्दै, कदर गर्दै, ख्याल राख्दै, साथ दिँदै, मद्दत गर्दै, अनि सहायता दिँदै बिताउनुपर्छ। के तैँले बुझिस्? (हजुर।) के यो राम्रो कुरा होइन र? (हो।) यस्तो राम्रो कुरा चराचुरुङ्गी, अनि बाँकी सारा प्राणी-जगतमा छ, तर मानवजातिमाझ चाहिँ लगभग छैन नै—तैँले शैतानले मानवजातिलाई कति गहन रूपमा भ्रष्ट तुल्याएको छ भनेर देख्न सक्छस्! हामीले विवाहमा महिलाले पूरा गर्नुपर्ने सबैभन्दा आधारभूत दायित्वका साथै उसले आफ्ना श्रीमानप्रति गर्नुपर्ने व्यवहारका सिद्धान्तहरूबारे स्पष्टसँग सङ्गति गरेका छौँ। त्यसअतिरिक्त, यहाँ अर्को कुरा पनि छ, त्यो हो, परमेश्‍वरले निर्धारण र बन्दोबस्त गरेको विवाह एकल विवाह हो। हामी बाइबलमा यसको आधार कहाँ पाउँछौँ? परमेश्‍वरले पुरुषको शरीरबाट एउटा करङ निकालेर महिला सृष्टि गर्नुभयो—उहाँले पुरुषबाट दुई वा त्योभन्दा बढी करङ निकालेर धेरै महिला सृष्टि भर्नुभएन। उहाँले एउटा मात्र महिला सृष्टि गर्नुभयो। भन्नुको अर्थ, परमेश्‍वरले आफूले सृष्टि गरेको एकमात्र पुरुषका लागि एउटा मात्र महिला सृष्टि गर्नुभयो। त्यसको अर्थ, त्यस पुरुषका लागि एउटा मात्र जोडी थियो। त्यस पुरुषसँग एउटा मात्र अर्धाङ्गिनी थियो, अनि त्यस महिलासँग पनि एउटा मात्र अर्को हिस्सा थियो; यसअतिरिक्त, त्यसका साथै, परमेश्‍वरले महिलालाई सचेत गराउनुभयो, “तेरो इच्छा तेरो पतितिर हुनेछ।” तेरो श्रीमान् को हो? तँ जोसँग विवाह गर्छेस्, त्यही हो, र अरू कोही होइन। त्यो तेरो गोप्य प्रेमी होइन, न त तँलाई साह्रै मन पर्ने प्रख्यात आदर्श व्यक्ति हो, न त तेरो सपनाको सुन्दर राजकुमार नै हो। त्यो तेरो श्रीमान् हो, अनि तँसँग त्यो एउटा मात्र छ। परमेश्‍वरले निर्धारण गरेको विवाह यही हो—एकल विवाह। के परमेश्‍वरका वचनमा यो कुरा छ? (छ।) परमेश्‍वरले भन्‍नुभयो: “मानिस एकलो रहन राम्रो होइन; म त्यसको निम्ति सहयोगी बनाउनेछु।” परमेश्‍वरले उसका लागि थोरै वा धेरै सहयोगी बनाउँछु भनेर भन्नुभएन, त्यो आवश्यक थिएन। एउटा पर्याप्त थियो। परमेश्‍वरले एउटी महिलाले धेरै पुरुषसँग विवाह गर्नुपर्छ, वा एउटा पुरुषले धेरै महिलासँग विवाह गर्नुपर्छ भनेर भन्नुभएन। परमेश्‍वरले एउटा पुरुषका लागि कैयौँ पत्नी बनाउनुभएन, न त उहाँले कैयौँ भिन्न-भिन्न पुरुषबाट करङ निकालेर कैयौँ महिला नै बनाउनुभयो, त्यसैले पुरुषकी पत्नी उसको आफ्नै करङबाट बनेको महिला मात्र हुन सक्छ। के त्यो तथ्य होइन र? (हो।) त्यसैले, मानवजातिको त्यसपछिको विकास क्रममा बहुपत्नी र बहुपति प्रथा देखापरे। त्यस्ता विवाह असामान्य हुन्, र विवाह हुँदै होइनन्। यो सब व्यभिचार हो। केही विशिष्ट परिस्थितिमा त्यसको अपवाद पनि छ, जस्तै पुरुषको मृत्यु हुनु, अनि उसकी पत्नीले अर्को विवाह गर्नु। यो परमेश्‍वरले निर्धारण र बन्दोबस्त गर्नुभएको हो, त्यो गर्न अनुमति छ। सङ्क्षेपमा भन्नुपर्दा, विवाह सधैँ एकल विवाह नै कायम रहिआएको छ। के कुरा यस्तै होइन र? (हो।) प्राकृतिक संसारलाई नै हेरौँ। जङ्गली हाँसले एकल विवाह गर्छ। यदि मान्छेले यी जोडी हाँसमध्ये एउटालाई माऱ्यो भने, अर्को हाँसले कहिल्यै “पुनः विवाह” गर्दैन—ऊ एक्लो हाँस बन्छ। भनिन्छ, हाँसको बथान उड्दा, सबैभन्दा अगाडि उड्ने हाँस प्राय: एक्लो हाँस हुन्छ। एक्लो हाँसका लागि परिस्थिति कठिन हुन्छ। त्यसले आफ्नो बथानका अरू हाँसले गर्न नचाहेका कुराहरू गर्नुपर्छ। अरू हाँसहरू चरिरहेका वा आराम गरिरहेका बेला, बाँकी बथानलाई सुरक्षित राख्नु त्यसको जिम्मेवारी हुन्छ। त्यसले न त चर्न पाउँछ, न त आराम गर्न नै पाउँछ; त्यसले बथानको हिफाजत गर्न आफू वरपरको सुरक्षामा ध्यान लगाउनैपर्छ। त्यसले धेरै कुरा गर्न पाउँदैन। त्यो एक्लो मात्र हुन सक्छ, त्यसले अर्को प्रेमी वा प्रेमिका पाउन सक्दैन। त्यसले बाँचुन्जेल अर्को जोडी लिन पाउँदैन। जङ्गली हाँसले तिनीहरूका लागि परमेश्‍वरले निर्धारण गरेको नियम सधैँ पालना गर्छ, त्यो वर्तमान समयसम्म पनि बदलिएको छैन, तर मानव भने उल्टा छन्। मानव किन यति उल्टा छन्? किनकि शैतानले मानवलाई भ्रष्ट तुल्याएको छ, अनि तिनीहरू दुष्टता र स्वच्छन्द यौनसम्बन्धमा जिउँछन्, तिनीहरू एकल विवाहमा टिकिरहन सक्दैनन्, अनि आफ्नो वैवाहिक भूमिका निभाउन वा आफूले गर्नुपर्ने जिम्मेवारी र दायित्व पूरा गर्न सक्दैनन्। के त्यो सही होइन र? (हो।)

हामी पढ्दै जाऔँ। परमेश्‍वरले भन्‍नुभयो: “तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।” “शासन गर्नेछ” को अर्थ के हो? छरी चलाएर शासन गर्नु, महिलालाई दास बनाउनु? (होइन।) त्यसोभए, यसको अर्थ के हो? (उसको हेरचाह गर्नु अनि उसको जिम्मेवारी लिनु।) “जिम्मेवारी” अर्थ अलि नजिक छ। यो शासन गर्नुचाहिँ महिलाले पुरुषलाई पाप गर्न लोभ्याउने मामिलासँग सम्बन्धित छ। महिलाले सुरुमा परमेश्‍वरका वचन उल्लङ्घन गरेकाले र ऊ सर्पको प्रलोभनमा परेकाले, अनि त्यसपछि आफूले जस्तै परमेश्‍वरलाई धोका दिन पुरुषलाई लोभ्याएकाले, परमेश्‍वर ऊदेखि अलि रिसाउनुभयो, अनि त्यसैले उहाँले उसलाई अग्रसर हुन आफूलाई रोकेको, आफूले गर्ने हरेक कुरामा पुरुषसँग सरसल्लाह गरेको माग गर्नुभयो; उसका लागि पुरुषलाई मालिक बन्न दिनु नै राम्रो हुनेथियो। त्यसोभए, के महिलालाई मालिक बन्ने मौका दिइन्छ त? त्यस्तो मौका दिन सकिएला। महिलाले आफ्नो पतिसँग सरसल्लाह गर्न सक्छे, अनि मालिक बन्न पनि सक्छे, तर आफै निर्णयहरू नलिनु नै राम्रो हुन्छ; उसले आफ्ना श्रीमान, आफ्ना पुरुषसँग सरसल्लाह गर्नैपर्छ। ठूल्ठूला मामिलामा उसले आफ्ना पुरुषसँग सरसल्लाह गर्नु एकदमै राम्रो हुन्छ। महिलाका रूपमा, तैँले आफ्ना श्रीमानलाई साथ दिनुपर्छ मात्र होइन, घरायसी कर्तव्यहरू सम्हाल्न आफ्ना पतिलाई मद्दत पनि गर्नुपर्छ। अझ महत्त्वपूर्ण कुरा, तेरा श्रीमानले परिवारमा अनि तेरो विवाहमा मालिकको भूमिका निभाउनुपर्छ, त्यसैले तैँले गर्ने जुनसुकै कुरामा आफ्ना श्रीमानसँग सरसल्लाह गर्नुपर्छ। लिङ्गहरूबीचको भिन्नताले गर्दा, महिलाहरू आफ्नो सोच, आफ्नो सहनशीलतामा, आफ्नो दृष्टिकोण, वा कुनै पनि किसिमका बाहिरी मामिलामा पुरुषभन्दा अघि हुँदैनन्; त्यसको विपरीत, महिलाभन्दा पुरुष नै अघि हुन्छन्। त्यसैले, लिङ्गहरूबीचको यस भिन्नताका आधारमा, परमेश्‍वरले पुरुषलाई विशिष्ट अख्तियार दिनुभएको छ—परिवारमा पुरुष मालिक हुन्छ, अनि महिला सहायक हुन्छे। महिलाले आफ्ना श्रीमानलाई सहायता दिनुपर्छ, वा साना-ठूला मामिला सम्हाल्न साथ दिनुपर्छ। तर परमेश्‍वरले “त्यसले तँमाथि शासन गर्नेछ” भन्नुहुँदा, त्यसको अर्थ पुरुषहरू हैसियतमा महिलाभन्दा उच्च हुन्छन्, वा पुरुषले सारा समाजमा हैकम चलाउनुपर्छ भन्‍ने थिएन। कुरा त्यस्तो होइन। यसो भन्दा, परमेश्‍वर विवाहको सम्बन्धमा मात्र कुरा गरिरहनुभएको थियो; उहाँ परिवार, अनि पुरुष र महिलाले सम्हाल्ने सानातिना घरायसी मामिलाबारे मात्र कुरा गरिरहनुभएको थियो। सानातिना घरायसी मामिलाको सन्दर्भमा कुरा गर्नुपर्दा, परमेश्‍वर सबथोकमा पुरुषले महिलालाई नियन्त्रण वा करकाप गरेको माग गर्नुहुन्न; बरु, पुरुषले सक्रिय रूपमा आफ्नो परिवारको बोझ र जिम्मेवारी उठाउनुपर्छ, अनि साथसाथै, उसले तुलनात्मक रूपमा कमजोर महिलाको ख्याल गर्नुपर्छ, अनि उसलाई सही मार्गनिर्देशन गर्नुपर्छ। यस दृष्टिकोणले हेर्दा, पुरुषलाई केही विशिष्ट जिम्मेवारी दिइएको छ। उदाहरणका लागि, पुरुषहरू सही र गलतसम्बन्धी मुख्य मामिलाहरूको जिम्मेवारी उठाउन अग्रसर हुनुपर्छ; उसले महिलालाई अग्निकुण्डमा धकेल्नु हुँदैन, न त सामाजिक तिरस्कार, हप्कीदप्की र थिचोमिचो भोग्न नै दिनु हुन्छ। पुरुषले यो जिम्मेवारी उठाउन अग्रसरता लिनुपर्छ। “त्यसले तँमाथि शासन गर्नेछ” भन्‍ने परमेश्‍वरको वचनका कारण उसले छरी चलाएर महिलालाई कज्याउन, वा नियन्त्रण गर्न, वा दास बनाएर आफूलाई मन लागेअनुसार व्यवहार गर्न मिल्छ भन्‍ने होइन। विवाहका पूर्वसर्त र संरचनाअन्तर्गत, परमेश्‍वरसामु पुरुष र महिला बराबर हुन्छन्; यति मात्र हो, पुरुष श्रीमान् हो, र परमेश्‍वरले उसलाई यो अधिकार र जिम्मेवारी दिनुभएको छ। यो एक प्रकारको जिम्मेवारी मात्र हो, कुनै विशिष्ट शक्ति, अनि महिलालाई व्यक्तिभन्दा फरक चीजका रूपमा व्यवहार गर्ने कारण होइन। तिमीहरू दुई बारबार हौ। पुरुष र महिला दुवैलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, यति मात्र हो, पुरुषबाट एक विशिष्ट माग गरिएको छ, जुन के हो भने एकातिर उसले परिवारका बोझ र जिम्मेवारी उठाउनैपर्छ, अनि अर्कोतिर ठूला मामिलाहरू आइपर्दा, ऊ निर्भीक भएर अघि बढ्नुपर्छ अनि पुरुष, अर्थात् श्रीमानको भूमिकाअनुसार उठाउनुपर्ने जिम्मेवारी र दायित्व उठाउनैपर्छ—महिलाको सुरक्षा गर्नु, आफ्नी श्रीमतीलाई महिलाले गर्न नहुने कुराहरू गर्नबाट रोक्न सक्दो गर्नु, वा बोलचालको भाषामा भन्नुपर्दा, उसलाई कठिन समयबाट बचाउनु, महिलाले भोग्नु नपर्ने कष्टबाट जोगाउनु। उदाहरणका लागि, कतिपय मानिस आफ्नो पद-प्रतिष्ठा उच्च पार्न, राम्रोसँग जिउन र धनी बन्न, ख्याति, लाभ र हैसियत पछ्याउन, अनि अरूलाई आफ्नो आदर गर्न लगाउन आफ्नो मालिकलाई आफ्नी श्रीमती, रखेल वा प्रेमिकाका रूपमा सुम्पेर आफ्नी श्रीमतीको देहलाई वेश्यावृत्तिमा लगाउँछन्। आफ्नी श्रीमतीलाई बेचेर आफ्ना लक्ष्य पूरा भएपछि, तिनीहरू आफ्नी श्रीमतीलाई गन्न छोड्छन्, र उसलाई चाहँदैनन्। यो कस्तो खालको मान्छे हो? के त्यस्ता मान्छे छैनन् र? (छन्।) के यस्तो मान्छे दियाबलसरूपी होइन र? (हो।) महिला माथि शासन गर्नुको अर्थ तैँले आफ्ना जिम्मेवारी पूरा गर्नु र उसको सुरक्षा गर्नु हो। किनभने, शारीरिक लैङ्गिकताको दृष्टिकोणले हेर्दा, पुरुषहरू विविध सोच, दृष्टिकोण, स्तर, अनि कामकुराप्रति तिनीहरूको अन्तर्दृष्टिमा महिलाभन्दा अघि हुन्छन्; यो तथ्य हो, जसलाई कसैले नकार्न सक्दैन। त्यसैले, परमेश्‍वरले “त्यसले तँमाथि शासन गर्नेछ” भन्दै महिलालाई पुरुषको हातमा दिएको कुरालाई दृष्टिगत गर्दा, पुरुषले पूरा गर्नुपर्ने जिम्मेवारी भनेको परिवारका बोझ उठाउनु, वा गम्भीर कुराहरू आइपर्दा आफ्नी पत्नीको सुरक्षा र कदर गर्नु, ऊप्रति सहानुभूति राख्नु र उसलाई बुझ्नु; उसलाई प्रलोभनमा नधकेल्नु, बरु श्रीमान् अर्थात् पुरुषले उठाउनुपर्ने जिम्मेवारी उठाउनु हो। यसरी, तैँले परिवारमा अनि विवाहको संरचनाअन्तर्गत आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व पूरा गर्नेछस्, अनि आफ्नी पत्नीलाई तँ उसको भरोसालायक छस्, तँ उसले सँगै जीवन बिताउने व्यक्ति हो, तँ भरपर्दो छस्, अनि तेरा काँध भरपर्दा छन् भनी महसुस गराउनेछस्। जब तेरी पत्नी तँमा भर पर्छे, जब उसलाई केही गम्भीर मामिला सम्हाल्नका लागि कुनै निर्णय लिन तेरो अर्थात् आफ्ना श्रीमानको खाँचो पर्छ, तब तँ सुतिरहेको, वा रक्सी पिइरहेको, वा जुवातास खेलिरहेको, वा सडकहुँदो भौँतारिइरहेको अवस्थामा हुन चाहँदैनस्। यी सब अस्वीकार्य कुरा हुन्; यो कायरता हो। तँ असल मान्छे होइनस्; तैँले आफूले पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गरेको छैनस्। यदि तँ पुरुषका रूपमा सधैँ हर प्रमुख मामिलामा आफ्नी पत्नी अघि सरोस् भन्‍ने चाहन्छस्, अनि यदि तँ पुरुषभन्दा धेरै कोमल भूमिका भएकी उसलाई अग्निकुण्डमा, बतास चलिरहेको र सबैभन्दा उच्च छालहरू मच्चिरहेको ठाउँमा, विविध प्रकारका जटिल मामिलाको भुमरीमा धकेल्छस् भने, यो असल मान्छेले गर्नुपर्ने काम होइन, न त यो असल श्रीमानले गर्नुपर्ने व्यवहार नै हो। तेरो जिम्मेवारी भनेको आफ्नी पत्नीलाई तँप्रति चाहना राख्न, तँलाई साथ दिन, अनि राम्ररी जिउन मद्दत गर्न लगाउनु मात्र होइन; यो त्यति मात्र होइन, तैँले उठाउनुपर्ने जिम्मेवारी पनि छ। उसले तँप्रति आफ्ना जिम्मेवारी पूरा गरेकी छे—के तैँले ऊप्रति आफ्ना जिम्मेवारी पूरा गरेको छस्? उसलाई राम्रो खाना, न्यानो लुगा दिनु, अनि उसको मन ढुक्क बनाउनु मात्र पर्याप्त छैन; अझ महत्त्वपूर्ण कुरा के हो भने, तैँले विविध ठूला मामिला अनि सही र गलतसम्बन्धी विवादमा, उसलाई सबै कुरा सटीक, सही र उचित तरिकाले सम्हाल्न मद्दत गर्न, अनि कुनै चिन्ता हुन नदिन, तँबाट साँचो लाभ प्राप्त गर्न र तैँले श्रीमानका रूपमा पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्छस् भनी देख्न मद्दत गर्न सक्नुपर्छ। विवाहमा महिलाको खुसीको स्रोत यही नै हो। के कुरा यही होइन र? (हो।) तेरो बोली जति नै मिठो भए पनि, वा तैँले उसलाई जति नै आकर्षित गरे पनि, वा उसलाई जति नै साथ दिए पनि, यदि तेरी पत्नी ठूल्ठूला मामिलामा तँमाथि भर पर्न वा तँलाई भरोसा गर्न सक्दिन, यदि तँ आफूले उठाउनुपर्ने जिम्मेवारी उठाउँदैनस्, बरु कोमल महिलालाई अघि सरेर अपमान सहन, वा कुनै पीडा भोग्न दिन्छस् भने, त्यस्तो महिलाले खुसी वा हर्ष महसुस गर्न सक्नेछैन, अनि उसले तँमा कुनै आशा देख्नेछैन। त्यसैले, त्यस्तो व्यक्तिसँग विवाह गर्ने कुनै पनि महिलाले आफूलाई अभागी विवाहित, अनि आफूले आफ्ना जिम्मेवारी पूरा नगर्ने, डरछेरुवा, निकम्मा र डरपोक, भर नपर्दो मान्छेसँग विवाह गरेकाले, उसलाई आफ्नो भावी दिन र जीवन निराश र अन्धकार छ भन्‍ने ठान्छे; उसलाई खुसी महसुस हुनेछैन। त्यसैले, पुरुषहरूले आफ्ना जिम्मेवारी वहन गर्नुपर्छ। एकातिर, यो मानवत्वका लागि आवश्यक पर्छ, अनि अर्कोतिर—र अझ महत्त्वपूर्ण रूपमा—तिनीहरूले यसलाई परमेश्‍वरबाट स्विकार्नुपर्छ। यो नै परमेश्‍वरले विवाहमा हरेक पुरुषलाई दिएको जिम्मेवारी र दायित्व हो। त्यसैले, महिलाका हकमा भन्नुपर्दा: यदि तँ विवाह गर्न र आफ्नो अर्धाङ्ग भेट्टाउन चाहन्छस् भने, कम्तीमा पनि त्यो मान्छे भरपर्दो छ कि छैन भनेर हेर्नैपर्छ। उसको रूप, उचाइ, शिक्षा, ऊ धनी छ कि छैन, अनि उसले धेरै पैसा कमाउँछ कि कमाउँदैन भन्‍ने सबै कुरा गौण हुन्। मुख्य कुरा भनेको त्यो व्यक्तिमा मानवता र जिम्मेवारी बोध छ कि छैन, उसले जिम्मेवारी उठाउँछ कि उठाउँदैन, अनि तँ उसमा भर पर्दा ऊ लड्नेछ कि तँलाई थाम्न सक्नेछ, अनि ऊ भरपर्दो छ कि छैन भनी हेर्नु हो। सटीक रूपमा भन्नुपर्दा, उसले परमेश्‍वरले भन्नुभएझैँ श्रीमानका जिम्मेवारी पूरा गर्न सके पनि नसके पनि, ऊ त्यस्तो व्यक्ति भए पनि नभए पनि; ऊ कम्तीमा पनि परमेश्‍वरको नजरमा मानवता भएको व्यक्ति हुनुपर्छ, अझ महत्त्वपूर्ण त, उसले परमेश्‍वरको मार्ग पछ्याउनुपर्छ। दुई व्यक्ति सँगै जिउँदा, तिनीहरू धनी छन् कि गरिब, तिनीहरूको जीवनस्तर कस्तो छ, तिनीहरूको घरमा के-के छ, वा तिनीहरूको चरित्र मिल्दो छ कि छैन भन्‍ने कुराले कुनै फरक पार्दैन; कम्तीमा पनि, तैँले विवाह गर्ने पुरुषले तँप्रति आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्छ, तँप्रति जिम्मेवारी बोध गर्नुपर्छ, तँलाई आफ्नो हृदयमा राख्नुपर्छ। उसले तँलाई मन पराए पनि वा माया गरे पनि, कम्तीमा पनि तँलाई आफ्नो हृदयमा राख्नुपर्छ, उसले विवाहको संरचनाभित्र पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व पूरा गर्नुपर्छ। त्यसपछि, तेरो जिन्दगी आनन्दमय हुनेछ, तेरा दिनहरू सुखमय हुनेछन्, अनि तेरो भावी मार्ग धूमिल हुनेछैन। यदि कुनै महिलाले विवाह गर्ने पुरुष कहिल्यै भरपर्दो हुँदैन, अनि केही हुनेबित्तिकै भाग्छ र लुक्छ, अनि सबै कुरा ठिक हुँदा आफूमा निकै सीप भएझैँ, आफू साहसी र पुरुषार्थी भएझैँ गरी धाक देखाउँछ र घमण्ड गर्छ, तर केही हुनेबित्तिकै लुत्रुक्क पर्छ भने, के तँलाई त्यो महिला खिन्न हुन्छे भन्‍ने लाग्छ? (लाग्छ।) के ऊ खुसी हुन्छे? (हुँदिन।) एक सुशील, असल महिलाले यस्तो सोच्नेथिई: “म सधैँ उसको हेरचाह र कदर गर्छु, म जे पनि भोग्न, श्रीमतीका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न इच्छुक छु, तर म यस व्यक्तिसँग रहेर कुनै भविष्य देख्दिनँ।” के यस्तो विवाह पीडादायी हुँदैन र? के महिलाले महसुस गर्ने यो पीडा पुरुष, उसको अर्धाङ्गसँग सम्बन्धित छैन र? (छ।) के यो पुरुषको जिम्मेवारी हो? (हो।) पुरुषले आत्मचिन्तन गर्नुपर्छ। उसले सधैँ त्यो आइमाई गनगने छे, ऊ किचकिच गर्न र दोष कोट्याउन मन पराउँछे भनेर गुनासो गर्न मिल्दैन। दुवै पक्षले आफूले आफ्नो दायित्व र जिम्मेवारी पूरा गरिरहेको छु कि छैन, अनि तिनीहरूले परमेश्‍वरका वचन सुनेपछि सोहीअनुरूप सो गरिरहेका छन् कि छैनन् भनी आपसी चिन्तन गर्नुपर्छ। यदि तिनीहरूले ती पूरा गरिरहेका छैनन् भने, झट्टै पूरा गर्नुपर्छ, तुरुन्तै आफूलाई सच्याउनुपर्छ र परिस्थिति सुल्झाउनुपर्छ; त्यो ढिलो भइसकेको हुँदैन। के यो व्यवहार गर्ने राम्रो तरिका हो? (हो।)

अब हामी पढ्दै जाऔँ। यसपछि, परमेश्‍वरले आदमलाई, मानवजातिको पहिलो पूर्वजलाई दिएको अर्को आज्ञा छ। परमेश्‍वरले भन्‍नुभयो: “तैँले तेरी श्रीमतीको कुरा सुनेको छस्, र मैले तँलाई यसबाट नखानू भनेर आज्ञा दिएको रुखबाट खाएको छस् त्यसकारण: तेरो खातिर भूमि श्रापित भएको छ; तैँले दुःखमा जीवनभर यसबाट खानेछस्; यसले तँलाई काँडा र घोच्‍ने फूल पनि दिनेछ; अनि तैँले बारीको झारपात खानेछस्; तँ भूमिमा नफर्कुञ्जेलसम्म, तैँले पसिना काढेर गुजारा गर्नेछस्; किनभने तँ यसबाटै निकालिएको थिइस्: तँ धूलो होस् र तँ धूलोमै फर्कनेछस्” (उत्पत्ति ३:१७-१९)। यो खण्ड मुख्यतः परमेश्‍वरले पुरुषहरूलाई दिएको आज्ञा हो। परिस्थिति जेजस्तो भए पनि, परमेश्‍वरले पुरुषहरूलाई दिएको आज्ञालाई हेर्दा, उहाँको आज्ञा तिनीहरूले विवाहको संरचनाभित्र र परिवारमा पूरा गर्नुपर्ने दायित्व र कार्य हो। परमेश्‍वर पुरुषले विवाहपश्चात् परिवारको जीविका चलाएको माग गर्नुहुन्छ, त्यसको अर्थ तिनीहरूले आफ्नो जीविका चलाउन जीवनभर कडा परिश्रम गर्नैपर्छ। पुरुषहरूले आफ्नो जीविका कायम राख्नुपर्छ, त्यसैले तिनीहरूले परिश्रम गर्नैपर्छ; तिनीहरूले आधुनिक भाषा प्रयोग गर्दै पैसा कमाउन जागिर खोजेर काम गर्नुपर्छ, वा परिवारको जीविका चलाउन जमिनमा अन्नबाली उब्जाएर फसल भित्र्याउनुपर्छ। पुरुषहरूले सम्पूर्ण परिवारको पालनपोषण गर्न, आफ्नो जीविका चलाउन पसिना बगाएर परिश्रम गर्नुपर्छ। पतिहरूका लागि, पुरुषहरूका लागि परमेश्‍वरको आज्ञा यही नै हो; यो तिनीहरूको जिम्मेवारी हो। त्यसैले, विवाहको संरचनाअन्तर्गत पुरुषहरूले “उफ्, मेरो स्वास्थ्य खराब छ!”, “उफ्, आजको समाजमा काम पाउन गाह्रो छ, म निकै तनावमा छु!”, “म हुर्कँदा, मेरा आमाबुबाले मलाई पुल्पुल्याएका थिए, म कुनै काम गर्न सक्दिनँ!” भनेर जोड दिन मिल्दैन। यदि तँ कुनै काम गर्नै सक्दैनस् भने, किन बिहे गरिस् त? यदि तँ परिवार पाल्न सक्दैनस्, र तँमा पूरै परिवारको जीविका चलाउन परिश्रम गर्न क्षमता छैन भने, किन बिहे गरिस् त? यसो भन्नु गैरजिम्मेवार कुरा हो। एकातिर, परमेश्‍वर पुरुषहरूले लगनशील भई काम गरेको माग गर्नुहुन्छ, अनि अर्कोतिर, उहाँ तिनीहरूले जमिनबाट खानेकुरा उब्जाउन परिश्रम गरेको माग गर्नुहुन्छ। अवश्यै, आजकल उहाँ तिमीहरूले जमिनबाट खानेकुरा उब्जनी गर्नुपर्छ भनेर कर गर्नुहुन्न, तर परिश्रम आवश्यकता हो। त्यसैले, पुरुषको जिउडाल निकै हटिलोमटिलो र बलियो हुन्छ भने, तुलनात्मक रूपमा महिलाको चाहिँ कमजोर हुन्छ; तिनीहरू भिन्न हुन्छन्। परमेश्‍वरले पुरुष र महिलाका लागि फरक-फरक जिउडाल बनाउनुभयो। प्राकृतिक रूपमै पुरुषले आफ्नो परिवारको जीविका चलाउन परिश्रम र काम गर्नुपर्छ; उसको भूमिका त्यही हो, ऊ परिवारको मूल खम्बा हो। अर्कोतर्फ, महिलालाई परमेश्‍वरले त्यस्तो आज्ञा दिनुभएको छैन। त्यसोभए, के महिलाले आफूले नरोपेको फसल काट्न, केही नगरी तयार खाना खान पर्खेर बस्न पाउँछे त? त्यो पनि सही होइन। परमेश्‍वरले महिलालाई परिवारको जीविका चलाउन आज्ञा नदिनुभएको भए पनि, ऊ केही नगरी बस्न मिल्दैन। परमेश्‍वरले महिलालाई आज्ञा नदिनुभएकाले तिनीहरू यस मामिलामा हात बाँधेर उभिन मिल्छ भनेर नसोच। कुरा त्यस्तो होइन। महिलाहरूले पनि आफ्ना जिम्मेवारी पूरा गर्नुपर्छ; तिनीहरूले परिवारको जीविका चलाउन आफ्ना श्रीमानलाई सघाउनुपर्छ। महिला जोडी मात्र बन्नु पर्दैन—त्यससँगसँगै उसले आफ्ना पतिलाई परिवारमा उसका जिम्मेवारी र मिसन पूरा गर्न मद्दत गर्नुपर्छ। उसले केवल हात बाँधेर छेउमा उभिएर हेर्दै आफ्ना श्रीमानको मजाक उडाउन मिल्दैन, न त तयार खाना पर्खेर बस्न नै मिल्छ। ती दुईबीच मेल हुनुपर्छ। यसरी, पुरुष र महिलाले पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारी सबै पूरा हुनेछन्, र राम्ररी गरिनेछन्।

हामी पढ्दै जाऔँ। परमेश्‍वरले भन्‍नुभयो: “यसले तँलाई काँडा र घोच्‍ने फूल पनि दिनेछ; अनि तैँले बारीको झारपात खानेछस्।” हेर् त, परमेश्‍वरले पुरुषहरूलाई दिएको श्रममाथि थप बोझहरू छन्; तैँले श्रम गरेर मात्रै पुग्दैन, खेतमा झारपात पनि पलाउँछ, जसलाई तैँले उखेल्नैपर्छ। यसको अर्थ हो, यदि तँ कृषक होस् भने, तैँले रोपाइँबाहेक थप काम गर्नुपर्छ। तैँले झारपात पनि उखेल्नैपर्छ, अनि केही नगरी बस्न मिल्दैन; तैँले आफ्नो परिवार धान्न पुरापुर परिश्रम गर्नैपर्छ, परमेश्‍वरले त्यसै भन्नुभएको छ: “तैँले पसिना काढेर गुजारा गर्नेछस्।” यो वाक्यांशको अर्थ के हो? यसको अर्थ हो, पुरुषहरूको श्रममाथि थप बोझ थपिन्छ। कहिलेसम्म? “तँ भूमिमा नफर्कुञ्जेलसम्म।” तेरो अन्तिम सास रहिन्जेल, जब तैँले जीवनयात्रा पूरा गर्छस्; त्यसपछि तैँले यसरी कार्य गर्नुपर्नेछैन, अनि तेरा जिम्मेवारी पूरा हुनेछ। यो नै परमेश्‍वरले पुरुषहरूलाई दिएको निर्देशन र आज्ञा, साथै जिम्मेवारी र बोझ हो। तैँले इच्छा गरे पनि वा नगरे पनि, यो परमेश्‍वरद्वारा निर्धारित हुन्छ, तँ यसबाट उम्कन सक्दैनस्। त्यसैले, सारा समाजमा वा समस्त मानवजातिमा, यसलाई व्यक्तिपरक वा वस्तुगत, जुनै दृष्टिकोणबाट हेरे पनि, महिलाहरूको तुलनामा पुरुषहरूलाई पृथ्वीमा बाँच्न बढी गाह्रो हुन्छ, जसलाई अवश्यै परमेश्‍वरको निर्धारण र योजनाबद्ध कार्यको परिणाम हो भनेर भन्नैपर्ने हुन्छ। यस मामिलामा, पुरुषहरूले यसलाई परमेश्‍वरबाट स्विकार्नुपर्छ अनि आफूले उठाउनुपर्ने जिम्मेवारी र दायित्व पूरा गर्नुपर्छ; विशेष गरी, परिवार र जीवनसाथी हुने विवाहको संरचनाभित्रका मानिसहरूले जीवन अत्यन्तै कठिन, तितो वा थकाइलाग्दो हुनाले आफ्नो जिम्मेवारी पूरा गर्नबाट उम्किन वा त्यसलाई इन्कार गर्न खोज्नु हुँदैन। यदि तँ “म यो जिम्मेवारी पूरा गर्न चाहन्नँ, र म श्रम गर्न चाहन्नँ” भनेर भन्छस् भने, तँ विवाहबाट पन्छिन वा त्यसलाई रद्द गर्न सक्छस्। त्यसैले, तैँले विवाह गर्नुअघि त्यसबारे राम्रोसँग सोच्नैपर्छ, परमेश्‍वर विवाहित पुरुषले के-कस्ता जिम्मेवारी उठाएको माग गर्नुहुन्छ, तैँले ती पूरा गर्न सक्छस् कि सक्दैनस्, तैँले ती राम्रोसँग गर्न सक्छस् कि सक्दैनस्, तैँले आफ्नो भूमिका राम्ररी निभाउन सक्छस् कि सक्दैनस्, परमेश्‍वरका आज्ञा पालना गर्न सक्छस् कि सक्दैनस्, अनि परमेश्‍वरले तँलाई दिने पारिवारिक बोझ उठाउन सक्छस् कि सक्दैनस् भन्‍नेबारे स्पष्टसँग विचार गर्नैपर्छ र बुझ्नैपर्छ। यदि तँलाई आफूमा यी सब राम्रोसँग गर्न विश्‍वासको कमी छ जस्तो लाग्छ, वा तँमा त्यो गर्ने इच्छुकता छैन भने—यदि तँ त्यो गर्न चाहँदैनस् भने—यदि तँ यो जिम्मेवारी र दायित्वलाई इन्कार गर्छस्, यदि तँ परिवार र विवाहको संरचनाभित्र बोझ उठाउन अस्वीकार गर्छस् भने, तैँले विवाह गर्नु हुँदैन। पुरुष र महिला दुवैका लागि विवाहको अर्थ जिम्मेवारी र बोझ हो; यो सानोतिनो मामिला होइन। यो पवित्र नभए पनि, मेरो बुझाइअनुसार विवाह भनेको कम्तीमा पनि गम्भीर कुरा हो, र मानिसहरूले यसप्रति आफ्नो मनोवृत्ति सुधार्नुपर्छ। विवाह भनेको शारीरिक कामवासनामा संलग्न हुनका लागि होइन, न त यो कसैको क्षणिक भावनात्मक आवश्यकता पूरा गर्नका लागि नै हो, झन् यो कसैको जिज्ञासा मेटाउनका लागि त हुँदै होइन। यो जिम्मेवारी र दायित्व हो; अनि अवश्यै, झनै यो त पुरुष वा महिलासँग विवाहका जिम्मेवारी वहन गर्ने सामर्थ्य छ कि छैन भन्‍ने कुराको पुष्टि र प्रमाण हो। यदि तँलाई आफूसँग विवाहका जिम्मेवारी र दायित्व वहन गर्ने सामर्थ्य छ कि छैन भनेर थाहा छैन, यदि तेरा लागि यी पूर्णतः अज्ञात कुरा हुन्, वा तँलाई विवाह गर्न मन छैन भने—वा तँलाई यो विषयदेखि वाक्कसमेत लाग्छ भने—पारिवारिक जीवनका जिम्मेवारी र दायित्व सानातिना वा ठूल्ठूला, जे भए पनि, यदि तँ ती वहन गर्न चाहँदैनस्, अनि तँ एक्लो रहन चाहन्छस् भने—“परमेश्‍वरले एक्लो रहनु राम्रो होइन भन्नुभएको छ, तर मलाई एक्लो हुनु निकै राम्रो कुरा हो भन्‍ने लाग्छ”—भने, तैँले विवाहलाई इन्कार्न सक्छस्, वा आफ्नो विवाह छोड्नसमेत सक्छस्। यो कुरा व्यक्तिपिच्छे फरक-फरक हुन्छ, अनि हरेक व्यक्तिले स्वतन्त्रतापूर्वक छान्न पाउँछ। तर तैँले जे भने पनि, मानवजातिको सबैभन्दा पहिलो विवाहका सम्बन्धमा परमेश्‍वरले दिएका भनाइ र निर्धारणबारे बाइबलमा अभिलेख गरिएको कुरालाई हेरिस् भने, विवाह भनेको कुनै खेल होइन, सानोतिनो मामिला होइन; अवश्यै, झन् यो मानिसहरूले बताएझैँ चिहान त हुँदै होइन भनेर देख्नेछस्। विवाहको बन्दोबस्त र निर्धारण परमेश्‍वरले गर्नुहुन्छ। मानिसको सुरुवातदेखि नै, परमेश्‍वरले यसको बन्दोबस्त र निर्धारण गर्नुभयो। त्यसैले, ती सांसारिक भनाइहरू—“विवाह चिहान हो,” “विवाह घेराबन्दीमा परेको सहर हो,” “विवाह त्रासदी हो,” “विवाह भनेको विपत्ति हो” इत्यादि—के तिनमा कुनै दम छ? (छैन।) तिनमा दम छैन। यो त भ्रष्ट मानवजातिले विवाहलाई बङ्ग्याएपछि, भ्रष्ट अनि कलङ्कित पारेपछि त्यसबारे राखेको बुझाइ मात्र हो। विवाहलाई बङ्ग्याएपछि, भ्रष्ट अनि कलङ्कित पारेपछि तिनीहरू त्यसको आलोचनासमेत गर्छन्, केही अनुचित भ्रान्तिहरू ओकल्छन्, दुष्ट शब्दहरू छर्छन्, फलस्वरूप, परमेश्‍वरमा विश्‍वास गर्नेहरू पनि बहकिन्छन्, त्यसैले तिनीहरूमा पनि विवाहबारे गलत र असामान्य दृष्टिकोण हुन्छ। के तिमीहरू पनि बहकिएका र भ्रष्ट पारिएका छौ? (छौँ।) त्यसोभए, हाम्रो सङ्गतिमार्फत तँमा विवाहबारे सटीक र सही बुझाइ भएपछि, कसैले फेरि तँलाई “के तिमीलाई विवाह के हो भनेर थाहा छ?” भनी सोध्दा, के तँ अझै पनि “विवाह चिहान हो” भनेर भन्‍नेछस्? (भन्‍नेछैनँ।) के यो भनाइ अझै पनि सही छ? (छैन।) के तैँले त्यसो भन्नु हुन्छ? (हुँदैन।) किन हुँदैन? विवाहलाई परमेश्‍वरले बन्दोबस्त र निर्धारण गर्नुभएको रूपमा हेर्दा, मानिसहरूले विवाहलाई सही तरिकाले लिनुपर्छ। यदि मानिसहरू व्यभिचारी व्यवहार गर्छन् र कामवासनामा लिप्त हुन्छन्, स्वच्छन्द-सम्भोगमा संलग्न हुन्छन् र दुष्परिणाम निम्त्याउँछन्, अनि विवाह चिहान हो भन्छन् भने, म त तिनीहरूले आफ्नै चिहान खनिरहेका छन् र आफैमाथि समस्या निम्त्याउँदै छन् भनेर मात्र भन्न सक्छु; तिनीहरूले गुनासो गर्न मिल्दैन। परमेश्‍वरसँग यसको कुनै सम्बन्ध छैन। के कुरा यस्तै होइन र? विवाह चिहान हो भनेर भन्नु त शैतानले विवाह र सकारात्मक कुरालाई बङ्ग्याउनु र निन्दा गर्नु हो। कुनै कुरा जति सकारात्मक हुन्छ, शैतान र भ्रष्ट मानवजातिले त्यसलाई त्यति नै बङ्ग्याएर दुष्ट कुरामा परिणत गर्छन्। के हो दुष्ट कार्य होइन र? यदि कुनै व्यक्ति पापमा जिउँछ, स्वच्छन्द सम्भोग र त्रिकोण प्रेममा संलग्न हुन्छ भने, किन मानिसहरूले त्यसो केही भन्दैनन्? यदि कुनै व्यक्तिले व्यभिचार गर्छ भने, किन मानिसहरू त्यस्तो केही भन्दैन? उचित विवाह व्यभिचार होइन, न त स्वच्छन्द सम्भोग नै हो, यो शारीरिक कामवासना तृप्त पार्नु होइन, न त सानोतिनो मामिला नै हो; अवश्यै, झन् यो चिहान हुनु त परको कुरा हो। यो सकारात्मक कुरा हो। परमेश्‍वरले मानव विवाह निर्धारण र बन्दोबस्त गर्नुभएको छ, अनि उहाँले यससम्बन्धी कार्यभार र आज्ञा दिनुभएको छ; अवश्य नै, त्योभन्दा पनि, उहाँले आज्ञामार्फत विवाहका दुवै पक्षलाई जिम्मेवारी र दायित्व, साथै विवाहमा के-के समावेश छन् भन्‍नेबारे आफ्ना भनाइहरू दिनुभएको छ। विवाहमा एउटा पुरुष र एउटा महिला मात्र संलग्न हुन सक्छन्। के बाइबलमा परमेश्‍वरले एउटा पुरुष सृष्टि गर्नुभयो, त्यसपछि अर्को पुरुष सृष्टि गर्नुभयो, अनि त्यसपछि तिनीहरूको विवाह गरिदिनुभयो भनेर बताइएको छ त? अहँ छैन, दुई पुरुष वा दुई महिलाबीच समलैङ्गिक विवाह हुन सक्दैन। विवाह एउटा पुरुष र एउटा महिलाबीच मात्र हुन सक्छ। विवाहमा एउटा पुरुष र एउटा महिला संलग्न हुन्छन्, जो जोडी मात्र नभई सहयोगी पनि हुन्छन्, जसले एकअर्कालाई साथ दिन्छन्, एकअर्काको ख्याल राख्छन्, अनि सँगै मिलेर आफ्ना जिम्मेवारी पूरा गर्छन्, राम्रोसँग जिउँछन् अनि जीवनमार्गमा, जीवनको हर कठिन घडीमा, हरेक भिन्न र विशिष्ट समयावधिमा एकअर्कालाई उचितसित साथ दिन्छन्; अनि अवश्यै, तिनीहरू सामान्य समय पनि काट्छन्। विवाहमा दुवै पक्षले वहन गर्नुपर्ने जिम्मेवारी यही नै हो, अनि यो त परमेश्‍वरले तिनीहरूलाई दिएको कार्यभार पनि हो। परमेश्‍वरले दिएको कार्यभार के हो? यो त मानिसहरूले कायम राख्नुपर्ने र अभ्यास गर्नुपर्ने सिद्धान्त हो। त्यसैले, विवाह गर्ने सबैका लागि विवाह अर्थपूर्ण हुन्छ। यसले तेरो व्यक्तिगत अनुभव र ज्ञान, साथै तेरो मानवताको वृद्धि, परिपक्वता, र सिद्धतामा थप प्रभाव पार्छ। अनि त्यसको विपरीत, यदि तँ अविवाहित होस्, वा आफ्ना आमाबुबासँग बस्छस्, वा सारा जीवन एक्लै जिउँछस्, वा तेरो विवाह अनैतिक छ र परमेश्‍वरद्वारा निर्धारित होइन भने, तैँले उचित विवाहबाट प्राप्त हुने जीवन अनुभव, ज्ञान, वा सामना अनुभव गर्नेछैनस्, न त मानवताको वृद्धि, परिपक्वता र सिद्धता नै अनुभव गर्नेछस्। विवाहमा दुई व्यक्तिले आपसी साथ र सहयोग अनुभव गर्नुबाहेक, अवश्य नै जीवनमा आइपर्ने असमझदारी, विवाद र अन्तर्विरोध पनि अनुभव गर्छन्। त्यसका साथै, तिनीहरूले छोराछोरी जन्माउँदाको पीडा, अनि छोराछोरी पढाउने र हुर्काउने, आफ्ना अग्रजहरूको देखभाल गर्ने, आउँदो पुस्ता हुर्केको हेर्ने, आगामी पुस्ताले विवाह गरेको र आफूले जस्तै छोराछोरी जन्माएको हेर्ने, त्यही क्रम दोहोरिएको अनुभव गर्छन्। यसरी, मानिसहरूको जीवनको अनुभव, ज्ञान वा सामना निकै समृद्ध र विविधतायुक्त हुन्छ, होइन त? (हो।) यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्नुअघि, उहाँको काम, वचन, न्याय र सजाय अनुभव गर्नुअघि तँसँग त्यस्तो जीवन अनुभव भएको भए, अनि यसअतिरिक्त, तैँले उहाँमा विश्‍वास गरेपछि उहाँलाई आराधना गर्न र पछ्याउन सकेको भए, तेरो जीवन धेरैजसो मानिसको भन्दा अलि बढी भरपुर हुनेथ्यो; तेरो अनुभव र व्यक्तिगत बुझाइ अलि धेरै हुनेथ्यो। अवश्यै, मैले भनिरहेका यी सब कुरा परमेश्‍वरले निर्धारित गर्नुभएको विवाहको संरचनाअन्तर्गत तैँले आफ्ना जिम्मेवारी र दायित्व, पुरुष र महिलाका जिम्मेवारी र दायित्व, अनि पति र पत्नीका जिम्मेवारी र दायित्व गम्भीरतापूर्वक निभाउनुपर्छ भन्‍ने सिद्धान्तमा आधारित छ। गरिनुपर्ने कुराहरू यिनै हुन्। यदि तैँले आफ्ना जिम्मेवारे र दायित्व निभाइनस् भने, तेरो विवाह गन्जागोल अनि असफल हुनेछ, र अन्त्यमा तेरो विवाह टुट्नेछ। तैँले टुटेको, असफल भएको विवाहका साथै विवाहले निम्त्याउने समस्या, उल्झन, पीडा र अशान्ति अनुभव गर्नेछस्। यदि विवाहमा संलग्न हुने दुई पक्षले एकसाथ अग्रसर भई आफ्ना जिम्मेवारी र दायित्व व्यक्तिगत रूपमा निभाउन सकेनन् भने, बाझाबाझ गर्नेछन् र तिनीहरूबीच अन्तर्विरोध हुनेछ। समय बित्दै जाँदा, तिनीहरू झन्-झन् धेरै बाझाबाझ गर्नेछन्, तिनीहरूबीचको अन्तर्विरोध झन्-झन् गहिरिँदै जानेछ, अनि तिनीहरूको विवाहमा दरारहरू देखापर्न थाल्नेछन्; दरारहरू लामो समयसम्म रहेपछि, तिनीहरूले आफ्नो विवाहको दरार मर्मत गर्न सक्नेछैनन्, र यस्तो विवाह निश्चय नै टुट्नेछ, विनाशतिर लाग्नेछ—त्यस्तो विवाह निश्चय नै असफल हुन्छ। त्यसैले तेरो दृष्टिकोणमा, परमेश्‍वरले निर्धारण गरेको विवाह तेरो इच्छाअनुरूप हुँदैन, र तँलाई त्यो अनुपयुक्त लाग्छ। तँ किन त्यसरी सोच्छस्? किनकि तँ विवाहको संरचनामा परमेश्‍वरका माग र आज्ञाअनुरूप केही पनि गर्दैनस्; तँ स्वार्थी भई आफ्नै आवश्यकता, आफ्नै अभिरुचि र इच्छा, अनि आफ्नै कल्पना साकार पार्नको पछि लाग्छस्। तँ आफूलाई काबुमा राख्दैनस् वा आफ्नो जोडीको खातिर बदलिँदैनस्, न त कुनै पीडा नै सहन्छस्; बरु तँ बहाना बनाउनमा, आफ्नै लाभ र अभिरुचिलाई मात्र जोड दिन्छस्, अनि कहिल्यै आफ्नो जोडीबारे सोच्दैनस्। अन्त्यमा के हुनेछ? तेरो विवाह टुट्नेछ। यो विवाह टुट्नुको कारण मानिसहरूको भ्रष्ट स्वभाव हो। मानिसहरू अति स्वार्थी हुन्छन्, त्यसैले एक हुनुपर्ने पति र पत्नीसमेत सँगै मिलीजुली जिउन, एकअर्काप्रति सहानुभूति राख्न, एकअर्कालाई बुझ्न, सान्त्वना दिन र स्विकार्न, वा एकअर्काका लागि बद्लिन र कतिपय कुरा त्याग्न सक्दैनन्। तैँले मानवजाति कति भ्रष्ट भएको छ भनेर देख्न सक्छस्। विवाहले मानिसको आचरणलाई काबुमा राख्न सक्दैन, न त यसले मान्छेहरूलाई आफ्ना स्वार्थी चाहना त्याग्न लगाउन नै सक्छ, त्यसैले, समाजबाट त्यस्ता कुनै नैतिक सिद्धान्त वा असल अभ्यास आउँदैन, जसले मानिसहरूलाई अझ राम्रो बनाउन सकोस्, वा तिनीहरूको विवेक र समझ कायम राख्न सकोस्। तसर्थ, विवाहको कुरा आउँदा, मानिसहरूले यसलाई परमेश्‍वरले सुरुमा जसरी निर्धारण गर्नुभएको थियो, त्यसरी नै जान्नुपर्छ। अवश्य नै, तिनीहरूले यस मामिलालाई परमेश्‍वरबाट पनि बुझ्नुपर्छ। परमेश्‍वरबाट यी सब बुझ्नु पवित्र कुरा हो, अनि मानिसहरूले यो सब बुझ्न सकेपछि विवाहलाई हेर्ने तिनीहरूको परिपाटी र दृष्टिकोण सही हुनेछ। विवाहसम्बन्धी तिनीहरूको हेर्न परिपाटी र दृष्टिकोण सही हुनुपर्ने कारण तिनीहरूलाई विवाहको अवधारणा र सही परिभाषा जान्न लगाउनु मात्र होइन; त्यो त मानिसहरूले विवाहको सामना गर्दा तिनीहरूलाई अभ्यासको उचित, सही, सटीक, उपयुक्त र व्यावहारिक विधि अपनाउन सक्षम पार्नु पनि हो, ताकि तिनीहरू विवाहलाई सम्हाल्ने तरिकामा शैतानको वा संसारका दुष्ट प्रवृत्तिहरूको बहकाउमा नपरून्। तिमीहरूले परमेश्‍वरका वचनका आधारमा विवाह गर्ने छनौट गर्दा, तिमीहरूमध्ये महिलाहरूले आफ्नो जोडी परमेश्‍वरले भनेअनुसार पुरुषका जिम्मेवारी र दायित्व पूरा सक्ने व्यक्ति हो कि होइन, ऊ तेरो पूरा जीवन सुम्पनलायक छ कि छैन भनेर स्पष्टसँग बुझ्नुपर्छ। तिमीहरूमध्येका पुरुषहरूले कुनै महिला आफ्नो परिवार र पतिका निम्ति आफ्नो फाइदा पन्छाउन, आफ्ना कमीकमजोरी र त्रुटिहरू बदल्न सक्ने व्यक्ति हो कि होइन भनेर स्पष्टसँग बुझ्नुपर्छ। तिमीहरूले यी सब र अझ धेरै कुरा ध्यानमा राख्नुपर्छ। आफ्नो कल्पना, वा क्षणिक रुचि वा सोखहरूमा भर नपर; झन् अन्धाधुन्ध विवाह रोज्न शैतानले तिमीहरूमा हालिदिने प्रेम र रोमान्टिकवादका गलत विचारमा भर पर्ने त कुरै आउँदैन। यस सङ्गतिपछि, के विवाहबारे मानिसहरूमा हुनुपर्ने विचार, दृष्टिकोण, हेर्ने परिपाटी र हेर्ने ढङ्ग, साथै विवाहका सन्दर्भमा तिनीहरूले रोज्नुपर्ने अभ्यास र पालन गर्नुपर्ने सिद्धान्तबारे सबैले स्पष्टसँग बुझ्यौ त? (बुझ्यौँ।)

आज, हामीले विवाहको खोज, आदर्श र इच्छाहरू त्याग्नेबारे अझसम्म कुरा गरेका छैनौँ; हामीले विवाहको परिभाषा र अवधारणालाई मात्र स्पष्ट पारेका छौँ। के मैले यस विषयमा प्रस्टसँग बताएको छैनँ? (तपाईंले बताउनुभएको छ।) मैले प्रस्टसँग बताएको छु। के तिमीहरूको अझै पनि विवाहबारे कुनै गुनासो छ? (छैन।) अनि तैँले कुनै बेला विवाह गरेको, तैँले छोडेको व्यक्तिप्रति तँमा कुनै वैरभाव छ? (छैन।) के विवाहबारे तिमीहरूको असामान्य, पूर्वग्राही बुझाइ र दृष्टिकोण, वा तथ्यसँग नमिल्ने तेरा बचकना कल्पनाहरू अझै छन्? (छैनन्।) तँ अब अझ बढी यथार्थवादी हुनुपर्छ। तर विवाह दैनिक आवश्यकताका सामान्य कुरा होइन। यसले सामान्य मानवता भएका मानिसहरूको जीवन, अनि मानिसहरूका जिम्मेवारी र दायित्वलाई समेट्छन्, अनि त्यसबाहेक, परमेश्‍वरले मानिसहरूलाई चेतावनी दिएको, तिनीहरूबाट माग गरेको, अनि तिनीहरूलाई आज्ञा दिएको अझ धेरै व्यावहारिक मानक र सिद्धान्तहरू छन्। मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व यिनै हुन्, अनि तिनीहरू आफैले वहन गर्नुपर्ने जिम्मेवारी र दायित्व पनि यिनै हुन्। सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने विवाहको ठोस परिभाषा र विवाहको ठोस अस्तित्वको महत्त्व यही हो। लौ त, आजलाई यति नै। फेरि भेटौँला!

जनवरी ७, २०२३

फूटनोटहरू:

क. मूल पाठमा “मान्छेको तथाकथित ‘रोमान्टिक प्रेम’ भनेको प्रेम र आसक्तिको संयोजन मात्र हो” भन्‍ने वाक्यांश समावेश छैन।

ख. मूल पाठमा “केही राष्ट्रका मानिसले भन्‍ने गरेजस्तो” भन्‍ने वाक्यांश समावेश छैन।

अघिल्लो: सत्यता कसरी पछ्याउने (८)

अर्को: सत्यता कसरी पछ्याउने (१०)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्