सत्यता कसरी पछ्याउने (३८)
यस अवधिमा, हामीले “सत्यता कसरी पछ्याउने” अन्तर्गत रहेको “देहधारी परमेश्वरबारे आफ्ना धारणा र कल्पनाहरू त्याग्ने” विषयवस्तुमा सङ्गति गर्दै आएका छौँ। विगतका केही पटक, हामीले परमेश्वरसँग मौन समझदारी हुने विषयमा सङ्गति गरेका छौँ। यस विषयअन्तर्गत, हामीले पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसका हरेक पक्षका विवरणहरूका बारेमा—उनको काम, उनको व्यक्तिगत अभ्यास, इत्यादिका बारेमा—विशिष्ट रूपमा सङ्गति गरेका छौँ। पछिल्लो पटक, हामीले पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसले परमेश्वरको सेवा गर्दा आफ्नो काम नत्याग्ने विषयमा सङ्गति गरेका थियौँ। उहाँले आफ्नो काम नत्याग्ने विषयवस्तुका बारेमा तिमीहरूलाई कुन-कुन मुख्य बुँदाहरू याद छन्? (मलाई परमेश्वरले सङ्गति गर्नुभएको के कुरा याद छ भने, परमेश्वरको सेवा गर्दा, पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसले मण्डलीका विभिन्न काम गर्दा उहाँसँग सधैँ बोझ र जिम्मेवारीको बोध हुन्छ, र उहाँको जीवनको सामान्य कुरा यही हो। यो बुँदाले मलाई साँच्चै छोयो। साथै, समस्या र कठिनाइहरूको सामना गर्नुहुँदा, उहाँसँग अभ्यासका केही मार्ग हुन्छन्, जसलाई हामीले पनि अनुकरण गर्नुपर्छ। पहिलो कुरा के हो भने, कठिनाइहरूको सामना गर्नुहुँदा, उहाँ एकान्तमा जानुहुन्छ र प्रार्थना गर्नुहुन्छ, र समाधानको मार्ग खोज्नुहुन्छ। यदि धेरै मानिस छन् र शान्त वातावरण छैन भने, उहाँ दाजुभाइ-दिदीबहिनीहरूलाई सङ्गति गर्न र सामूहिक रूपमा मार्ग खोज्न एकै ठाउँमा भेला गर्नुहुन्छ। अर्को कुरा के हो भने, उहाँ मण्डलीको कामको अवस्था, काममा भएका समस्याहरू, र दाजुभाइ-दिदीबहिनीहरूका स्थितिहरूबारे बुझेर समाधानको मार्ग खोज्नुहुन्छ। पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसले आफ्नो काममा सत्यता खोज्ने र परमेश्वरका अभिप्रायहरू खोज्ने तरिकाहरू यिनै हुन्। परमेश्वरले हाम्रो त्रुटिपूर्ण दृष्टिकोण पनि खुलासा गर्नुभयो, त्यो के हो भने हामीलाई पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिस पवित्र आत्माको प्रबोधन र मार्गदर्शन प्राप्त गर्न सक्नुहुन्छ र परमेश्वरले उहाँप्रति गर्नुभएको विशेष र अनुग्रही व्यवहारका कारण काम गर्दा सिद्धान्तहरू बोध गर्न सक्नुहुन्छ भन्ने लाग्छ। वास्तवमा, कुरा त्यस्तो होइन—उहाँले यी कुराहरू कष्ट भोगेर र मूल्य चुकाएर, अनि आफ्नो इमानदारी र आस्थाका साथ अलि-अलि गर्दै कामकुराहरू अनुभव गरेर प्राप्त गर्नुभएको हो। परमेश्वरले चिन्ह र चमत्कारहरू देखाउँदै उहाँलाई यी कुराहरू प्राप्त गर्न सक्षम बनाउनुभएको होइन। यसले हाम्रा धारणा र कल्पनाहरूलाई पनि चकनाचुर पार्यो। अन्त्यमा, परमेश्वरले हामीसँग एउटा माग गर्नुभयो, जुन हाम्रा लागि उहाँको आशा पनि हो: हामीले अहिले नै परमेश्वरसँग मौन समझदारी हासिल गर्न नसके पनि, हामी सुरुमा परमेश्वरप्रति इमानदार हुन र परमेश्वरमा साँचो आस्था राख्न आफैलाई तालिम दिन सक्छौँ; हामीले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि, हरेस खानु हुँदैन, र हामी ती समाधान गर्नका लागि परमेश्वरमा भर पर्न र सत्यता खोज्न सक्छौँ। यदि हामीले यसरी नै पछ्याइरहन सक्यौँ भने, हामीले पक्कै पनि मुक्ति प्राप्त गर्न सक्छौँ; परमेश्वरले हामीलाई यस्तो प्रतिज्ञा दिनुभयो। मलाई यो मार्ग तुलनात्मक रूपमा स्पष्ट छ जस्तो लाग्छ।) धेरै राम्रो। सत्यताको यस पक्षमा सङ्गति गर्दा तिमीहरूलाई धेरै मद्दत पुगेको जस्तो देखिन्छ, होइन र? (हो।) परमेश्वरको सेवा गर्ने हकमा, उनको काममा होस् वा उनको व्यक्तिगत अभ्यासमा, पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिससँग अभ्यासका धेरै विशिष्ट मार्ग हुन्छन्। वास्तवमा, तिमीहरूले अभ्यासका यी विशिष्ट मार्गहरू, वा केही कार्य, तरिका, र विधि बोध गर्न सक्नुपर्छ। तर, तिमीहरूमध्ये धेरैजसोले यी कुराहरूमा ध्यान दिँदैनौ। पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसमा प्रकट भएका यी अत्यन्तै व्यावहारिक प्रकटीकरण र कार्यहरूका बारेमा तिमीहरू सबैसँग धारणा र कल्पनाहरू छन्, र तिमीहरूले परमेश्वरको सेवा गर्ने सन्दर्भमा पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसको अभ्यासका विशिष्ट मार्गहरू याद गरेका छैनौ। त्यसैले, तिमीहरू यति धेरै वर्षसम्म पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिससँग सम्पर्कमा रहेर अन्तरक्रिया गरे पनि उनीबाट परमेश्वरको सेवा गर्नेसम्बन्धी र व्यक्तिगत अभ्याससम्बन्धी सिद्धान्तहरू सिकेका छैनौ, न त यससँग सम्बन्धित सत्यता वास्तविकता नै सिकेका छौ। त्यसोभए, के तिमीहरूले मैले सङ्गति गरेको विषयवस्तुमार्फत यसको पुष्टि प्राप्त गरेका छौ? (छौँ।) अब तिमीहरूले यसको पुष्टि प्राप्त गरिसकेपछि, के यसले तिमीहरूलाई परमेश्वरको सेवा कसरी गर्ने भनेर सिक्न, वा परमेश्वरको सेवा गर्ने क्रममा तिमीहरूको आफ्नै अभ्यास र प्रवेश के हुनुपर्छ भनेर जान्न पनि मद्दत गर्छ? (गर्छ।) यदि मैले यसबारे सङ्गति नगरेको भए, पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसले कसरी काम गर्छन् र कसरी परमेश्वरको सेवा गर्छन् भन्नेबारे तिमीहरूसँग एउटा अनुभूति र छाप मात्रै हुनेथियो, तर तिमीहरू यसभित्रका सिद्धान्त र अभ्यासका मार्गहरू बोध गर्न सक्नेथिएनौ, होइन र? (हो।)
आज, परमेश्वरसँग मौन समझदारी हुने विषयको हाम्रो सङ्गतिलाई जारी राखौँ। परमेश्वरको सेवा गर्ने क्रममा पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसको अर्को अत्यन्तै महत्त्वपूर्ण अभ्यास—वा, अर्को तरिकाले भन्दा, काम गर्ने क्रममा उनले आफै ध्यान दिने र पालन गर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण र निर्णायक सिद्धान्त—के हो भने उनी आफू हिँड्ने मार्गमा धेरै ध्यान दिन्छन्। यो बुँदा अत्यन्तै महत्त्वपूर्ण छ; अगुवा र कामदारहरूका लागि होस् वा साधारण अनुयायीहरूका लागि होस्, यो अत्यन्तै महत्त्वपूर्ण सिद्धान्त हो। परमेश्वरमा विश्वास गर्ने उनको व्यक्तिगत मार्ग र परमेश्वरको सेवा गर्ने क्रम दुवैमा, पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसको एउटा अत्यन्तै महत्त्वपूर्ण र अत्यन्तै प्रमुख पक्ष के हो भने, उनी आफू हिँड्ने मार्गमा धेरै ध्यान दिन्छन्। आफू हिँड्ने मार्गमा ध्यान दिनुको अर्थ ठ्याक्कै के हो? यसको अर्थ के हो भने, परमेश्वरको सेवा गर्ने क्रममा, आफूले गर्ने कामको हरेक क्षेत्रमा, उनी उआफूले गर्ने कुराका लक्ष्य, दिशा, र सिद्धान्तहरू वास्तवमा परमेश्वरका अभिप्रायहरूअनुरूप छन् कि छैनन्, ती वास्तवमा परमेश्वरले माग गर्ने कुरासँग मिल्छन् कि मिल्दैनन्, वा तिनले वास्तवमा परमेश्वरको काम र परमेश्वरको घरका हितहरूको रक्षा गर्छन् कि गर्दैनन् भन्ने कुरामा ध्यान दिन्छन्—यो सबैभन्दा आधारभूत कुरा हो। पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसले आफू हिँड्ने मार्गमा ध्यान दिनुको प्रकटीकरण यही हो; यो उनले आफ्नो हृदयमा पालन गर्ने सिद्धान्त पनि हो, र यो आफू हिँड्ने मार्गबारे उनको हृदयमा हुने आधारभूत विचार हो। आफू हिँड्ने मार्गमा ध्यान दिनु कुनै आम धर्मसिद्धान्त वा नारा होइन, यो त हरेक क्षेत्रका मामिलाहरूमा प्रतिबिम्बित हुन्छ। कतिपय मामिला व्यक्तिको दैनिक जीवनसँग सम्बन्धित हुन्छन्, र कतिपय मामला परमेश्वरको घरको कामसँग सम्बन्धित हुन्छन्। हामी व्यक्ति हिँड्ने मार्गको विषयसँग सम्बन्धित के-कस्ता विशिष्ट प्रकटीकरणहरू छन् भन्नेबारे सङ्गति गरौँ।
मण्डलीको सर्वोच्च अगुवाका रूपमा, पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसले आफ्नो दैनिक जीवनमा सुरुमा के कुरा सुनिश्चित गर्नुपर्छ भने, हरेक पक्षमा, दाजुभाइ-दिदीबहिनीहरूले उनमा देख्ने कुराबाट उनीहरूले लाभ प्राप्त गरून् र उनीहरूको आत्मिक उन्नति होस्, वा कम्तीमा पनि, उनले उनीहरूलाई आफू एक सकारात्मक व्यक्ति, असल व्यक्ति, र विवेक र समझ भएको व्यक्ति भएको कुरा देखाउनुपर्छ—अर्थात्, कम्तीमा पनि, मानिसहरूको नजरमा उनी एक मर्यादित र सिधा व्यक्ति, र भरोसायोग्य व्यक्ति हुनुपर्छ। सर्वप्रथम, पुरुष र महिलाबीचका मामिलाहरूको सम्बन्धमा, पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसले यस सन्दर्भमा आफूले हिँड्ने मार्गमा, साथै यस सन्दर्भमा आफ्ना प्रकटीकरण, व्यवहार, र अभ्यासमा धेरै ध्यान दिन्छन्। पुरुष र महिलाबीचका मामिलाहरूमा, उनी लिङ्गहरूबीचको सीमाहरूमा धेरै ध्यान दिन्छन्, र विपरीत लिङ्गी जोकोहीसँग पनि एक्ला-एक्लै सम्पर्क वा नजिकको सम्पर्क गर्नबाट जोगिनका लागि सक्दो प्रयास गर्छन्। यो उनले आफ्नो अभ्यासमा अपनाउने तरिका हो। विशेष गरी तुलनात्मक रूपमा राम्रो देखिने र तुलनात्मक रूपमा आकर्षक देखिने विपरीत लिङ्गीहरूसँग सम्पर्क गर्दा, पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिस निकै सतर्क हुन्छन्। विशेष परिस्थितिहरूमा, कहिलेकाहीँ कामसँग सम्बन्धित सम्पर्क अपरिहार्य हुन्छ—अर्थात्, जब जुनै निश्चित कामले गर्दा कसैले केही मामिलाको सम्बन्धमा ब्रदरसँग एक्ला-एक्लै सल्लाह माग्नुपर्ने हुन्छ। यी विशेष परिस्थितिहरूबाहेक, पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसले विपरीत लिङ्गीसँग एक्ला-एक्लै सम्पर्क गर्नबाट जोगिनका लागि सक्दो प्रयास गर्छन्। यदि मण्डलीको कामले गर्दा उनले विपरीत लिङ्गी कसैसँग सम्पर्क गर्नुपर्यो भने, त्यहाँ कम्तीमा दुई वा तीन जना मानिसहरू उपस्थित हुनैपर्छ; अनावश्यक समस्याबाट जोगिनका लागि मात्रै भए पनि त्यहाँ दाजुभाइ-दिदीबहिनीहरू उपस्थित हुनैपर्छ। मण्डलीको सर्वोच्च अगुवाका रूपमा, पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिस मानिसहरूको नजरमा हैसियत भएका व्यक्ति हुन्। तिमी पुरुष भए पनि वा महिला भए पनि, तिम्रो रूप जस्तोसुकै भए पनि, तिमी अग्लो भए पनि वा होचो भए पनि, तिमी सुन्दर भए पनि, र तिम्रा व्यक्तिगत योग्यताहरू वा तिम्रा व्यक्तिगत ज्ञान र प्रतिभाहरू जस्तोसुकै भए पनि, मानिसहरूको नजरमा, तिमीसँग हैसियत भएसम्म, तिम्रो शिरमाथि एउटा आभा हुनेछ, तिम्रो मूल्यमा वृद्धि हुन्छ, र तिम्रो प्रतिष्ठा बढ्छ। विशेष गरी विपरीत लिङ्गी मानिसहरूको नजरमा—तिमीसँग हैसियत छ भने, तिम्रो उमेर वा रूप जस्तोसुकै भए पनि, तिनीहरूका लागि तिम्रो बारेमा सबै कुरा राम्रो हुन्छ। सुरुमा, मानिसहरूको नजरमा तिमी औसत देखिन्थ्यौ, र तिम्रो कार्य सक्षमता पनि औसत थियो, तर तिमीसँग हैसियत भएपछि, तिम्रो बारेमा मानिसहरूको दृष्टिकोण परिवर्तन हुन्छ; तिनीहरू सबैले तिमीलाई उच्च सम्मान गर्छन्, त्यसपछि प्रलोभन आउँछ। यस प्रलोभनको एउटा पक्ष भनेको पुरुष र महिलाबीचका मामिलाहरूसँग सम्बन्धित प्रलोभन हो। परमेश्वरको घरको सर्वोच्च अगुवाका रूपमा, पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसले पनि यो प्रलोभनको सामना गर्छन्। उनीसँग हैसियत भएको हुनाले, धेरै विपरीत लिङ्गी मानिसको नजरमा, उनी निकै सुन्दर पनि छन्, उनीसँग आकर्षक चालढाल छ, उनी हँसमुख र ठट्यौला छन्, उनीसँग कार्य सक्षमता छ, र उनीसँग एक असाधारण व्यक्तिको हाउभाउ र शैली छ। म यो कुरा त्यति उचित रूपमा भनिरहेको छैनँ होला, तर यो एउटा तथ्य पनि हो। त्यसकारण, विपरीत लिङ्गी धेरै मानिसहरूले उनीप्रति खुलेरै आफूलाई आकर्षित गर्न नखोजे पनि, तिनीहरूले आफ्नो हृदयमा ब्रदरलाई विशेष सम्मान गर्छन्। कतिपय त यस्ता मानिसहरू पनि हुन्छन् जसले भित्री रूपमा ब्रदरप्रति र्याल चुहाउँछन् र सधैँ उनीसँग नजिक हुन चाहन्छन्। मलाई भन, यदि विपरीत लिङ्गी मानिसहरू सधैँ उनीसँग नजिक हुन र टाँसिन चाहन्छन् भने, के यो प्रलोभन ठूलो हो? (हो।) कतिपय विपरीत लिङ्गी मानिसहरू कुराकानीमा वा शारीरिक रूपमा उनीसँग नजिक हुने मात्रै गर्दैनन्। बरु, तिनीहरूले कामुक र उत्तेजक इशाराहरू गर्छन्, आँखा झिम्क्याउँछन् र आँखा जुधाउँछन्, विशिष्ट स्वरमा बोल्छन्, वा आफूलाई प्रदर्शन गर्न र देखाउनका लागि सुन्दर लुगा लगाउँछन्, वा तिनीहरूले उनका लागि केही मीठो खानेकुरा बनाएर वा उनलाई केही राम्रो कुरा किनेर उनको चापलुसी गर्ने प्रयास गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूले उनलाई रिझाउने प्रयास गर्छन्। मलाई भन त, जब यी कुराहरू हुन्छन्, तब के एक वयस्कले के भइरहेको छ भनेर स्पष्ट रूपमा देख्न सक्छ? (सक्छ।) त्यसोभए जब यी कुराहरू हुन्छन् तब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले तिनलाई कसरी लिन्छन्? एउटा कुरा के हो भने, उनी जानी-जानी त्यस्ता मानिसहरूबाट टाढा बस्छन्। अर्को कुरा, उनले सीधै तिनीहरूको रिझाइलाई इन्कार गर्छन्। यसबाहेक, उपयुक्त समयमा, उनले त्यस्ता मानिसहरूलाई खुलासा पनि गर्छन् र तिनीहरूलाई समस्याबारे सतर्क गराउँछन्। यदि यी कुराहरू गर्ने व्यक्ति बढुवा गर्न र संवर्धन गर्न सकिने व्यक्ति हो, जसले कहिलेकाहीँ मात्रै अलिकति भ्रष्ट स्वभाव प्रकट गर्छे, र जसको प्रकृति सार माथि उल्लिखित प्रकारको व्यक्तिको जस्तो छैन भने, उनले उसलाई सम्झाउँछन् र मद्दत गर्छन्, र उसलाई काटछाँट गर्छन् र खुलासा गर्छन्। यदि उसले पश्चात्ताप गर्न सकी भने, उसलाई राखिन्छ र संवर्धन गर्न जारी राखिन्छ; यदि उसले पश्चात्ताप गरिन, र ऊ ठ्याक्कै त्यही प्रकारको व्यक्ति हो भने, उसलाई राख्न सकिँदैन। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यी मामलाहरूलाई कसरी लिन्छन् भन्ने कुरामा सिद्धान्तहरू हुन्छन्। यदि कुनै लम्पटले यस्तो प्रकारको व्यक्तिलाई भेटेको भए, त्यसले उसलाई आफ्नो छेउमा राख्नेथियो, हरेक दिन उसलाई हेरेर आनन्द लिनेथियो, र ऊसँग टाँसिन पाउँदा, प्रफुल्लित र निकै खुसी महसुस गर्नेथियो। तर जब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यस्तो प्रकारको व्यक्तिलाई भेट्छन्, तब उनी ऊबाट टाढा बस्छन्, उसलाई आफ्नो कर्तव्य पूरा गर्न अन्यत्र पठाउँछन्, र उसलाई आफ्नो छेउमा राख्दैनन्। विशेष परिस्थितिहरूमा, जस्तै सहकर्मीहरूको भेलाको दौडान वा कामको रिपोर्ट गर्नुपर्दा, ब्रदरले यस्तो प्रकारको व्यक्तिबाट सकेसम्म टाढा रहनका लागि केही विधिहरू अपनाउँछन्, ऊसँग एकला-एकलै सम्पर्क गर्दैनन् वा थोरै मात्र सम्पर्क गर्छन्, उसलाई फाइदा उठाउने कुनै मौका दिँदैनन्, र ऊप्रति कुनै अनुकूल भावनाहरू छन् भन्ने उसलाई महसुस गर्न दिँदैनन्। अर्को शब्दमा भन्दा, ब्रदर सबैप्रति निष्पक्ष हुन्छन्, र उनले अरू सबैलाई जस्तै उसलाई पनि व्यवहार गर्छन्, उनले उसलाई गर्ने व्यवहारमा कुनै विशेष कुरा हुँदैन, र ऊसँग एकला-एकलै सम्पर्क गर्ने उनको कुनै अभिप्राय छैन भन्ने महसुस गराउँछन्। उसले जतिसुकै चापलुसी गरे पनि, र उसले जस्तोसुकै व्यवहार गरे पनि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले उसलाई बेवास्ता गर्छन्; उनले कुराहरूलाई कडाइका साथ काममा नै सीमित राख्छन्।
दैनिक जीवनमा वा मण्डलीको काम गर्दा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको रूपमा उनको भूमिकालाई विचार गर्दा, उनले विपरीत लिङ्गी मानिसहरूले उनको चापलुसी गर्ने परिस्थितिहरूको अपरिहार्य रूपमा नै प्रायजसो सामना गर्नेछन्। एक पटक, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले केही अगुवा र कामदारहरूसँग कामको बारेमा सङ्गति गरिरहेका थिए। ब्रदर उनीहरूको अगाडि बसिरहेका थिए, र उनले सङ्गति गरिरहँदा, एउटी सिस्टर उठिन् र भनिन्, “यो कोठा यति ठूलो छ, र ब्रदर यति सानो स्वरमा बोलिरहनुभएको छ, म उहाँको कुरा सुन्नै सक्दिनँ।” यति भनेर, उनी ब्रदरतिर गइन् र उनको ठीक छेउमा बसिन्। त्यस बेला कोठामा अरू एक दर्जन जति मानिसहरू थिए, र जब उनीहरूले उनलाई ब्रदरतिर गइरहेको देखे, तब उनीहरूले उनी के गर्न गइरहेकी छिन् भन्ने कुरा बुझेका थिएनन्। उनी यति निर्लज्ज भएर सबैको अगाडि ब्रदरको ठीक छेउमा बस्छिन् भनेर उनीहरू कसैले पनि कल्पना गर्न सकेका थिएनन्। एक सेकेन्ड पनि नहिचकिचाई, ब्रदर हतार-हतार उठे। यो महिला उनीसँग टाँसिने आफ्नो प्रयासमा असफल भए पनि, उनी अलिकति पनि लज्जित भइनन् र उनको अनुहार रातो भएन; बरु, उनले ब्रदरलाई निकै अप्ठ्यारो महसुस गराइन्। ब्रदरले यस्तो परिस्थिति पहिले कहिल्यै अनुभव गरेका थिएनन्, र त्यसरी अचानक उठ्नु आत्मरक्षाको एउटा नैसर्गिक प्रतिक्रिया थियो। त्यस बेला उपस्थित सबैलाई निकै अप्ठ्यारो महसुस भयो र उनीहरू एकछिन त के गर्ने के नगर्ने भन्ने अवस्थामा पुगे। केही पनि नभएझैँ गरी आफ्नो सङ्गति जारी राख्दै ब्रदर कोठामा यताउता हिँडिरहे। के तिमीलाई उनले निकै छिटो प्रतिक्रिया दिए भन्ने लाग्दैन र? केही बेर उभिएर सङ्गति गरेपछि, ब्रदरले ती महिलालाई भने, “गएर उता बस!” यति धेरै मानिसहरूले उनलाई हेरिरहेको हुनाले, उनलाई पनि अलिक अप्ठ्यारो महसुस भयो। धेरैजसो मानिसहरूलाई यी महिलाको बारेमा कस्तो छाप पर्यो जस्तो तिमीलाई लाग्छ? उनीहरूलाई यस्तो लाग्यो, “यो साँच्चै आँखा खोल्ने कुरा हो; यो विशाल संसार साँच्चै कल्पना गर्न सकिने हरेक अनौठो कुराले भरिएको छ! धेरै निर्लज्ज मानिसहरू छन्। तिनीहरूले कुनै कुराको वास्ता गर्दैनन् र तिनीहरूमा लाजको कुनै बोध हुँदैन!” सार्वजनिक स्थानमा यति उत्तेजक व्यवहार गर्नु, र ब्रदरले बोलेको सुन्न नसकेको भन्ने ठूलो बहाना समेत बनाउनु—यदि तिमीले साँच्चै सुन्न सकेकी थिइनौ भने, के तिमीले एउटा स्टुल ल्याएर अलिक नजिक बस्न सक्दिनथ्यौ र? तिमी किन उनको ठीक छेउमा बस्नुपर्छ र उनीसँग टाँसिनुपर्छ? म त्यस बेला जवान थिएँ र मैले यस्तो कुरा पहिले देखेको थिइनँ, त्यसैले मलाई अचम्म लाग्यो। त्यसपछि, यस विषयमा मेरा आँखाहरू खुले, र मलाई मानिसहरू साँच्चै जटिल हुन्छन् भन्ने महसुस भयो! बाहिरी रूपमा हेर्दा ऊ परमेश्वरमा विश्वास गर्ने व्यक्तिजस्ती देखिन्थी, र ऊ चालीस वर्ष नाघेकी वयस्क थिई—त्यो उमेरमा, ऊ वास्तवमा यस्तो काम गर्न सक्षम थिई, त्यो पनि सार्वजनिक स्थानमा! ऊ आफ्नो उद्देश्यमा सफल नभए पनि र केही नभएको भए पनि, यो दृश्य मानिसहरूलाई अकल्पनीय लाग्यो। म किन यो अकल्पनीय थियो भनेर भन्छु? किनभने, यदि यस्तो व्यक्तिले सार्वजनिक स्थानमा यस्तो काम गर्न सक्छे भने, मानिसहरूको पिठ्यूँ पछाडि, एकान्तमा उसले आफूलाई कसरी आचरणमा ढाल्छे होला? के उसमा वास्तवमा लाजको कुनै बोध हुन्छ? यस्तो प्रकारको व्यक्ति अत्यन्तै डरलाग्दो हुन्छ! त्यो घटना अनुभव गरेपछि, ब्रदरलाई पनि अप्ठ्यारो लाग्यो र अचम्म लाग्यो; उनले यस्तो अपेक्षा गरेका थिएनन्। उनका आँखाहरू पनि खुले, र उनले भने, “त्यसोभए हैसियतले व्यक्तिलाई यति ठूलो मोहकता दिने रहेछ! म त्यति अग्लो छैन र मसँग त्यति धेरै मोहकता छैन जस्तो मलाई लाग्छ, र पनि कसैले मप्रति यस्तो व्यवहार कसरी गर्न सक्यो? हैसियतले ल्याउने प्रलोभनहरू धेरै र अत्यन्तै डरलाग्दा रहेछन्—म होसियार हुनुपर्छ! भविष्यमा यस्ता परिस्थितिहरूको सामना गर्दा, म प्रायजसो बोल्दाखेरि उभिनुपर्छ, र म एउटै ठाउँमा उभिइरहनु हुँदैन। नत्र भने, यदि उनले मलाई निरन्तर त्यही ठाउँमा उभिरहेको देखिन् भने, उनले मेरो नजिक सर्ने र मकहाँ आउने विचार गर्नेछिन्, र म निकै अप्ठ्यारो स्थितिमा पर्नेछु। म त अरू मानिसहरू उपस्थित हुँदा, विपरीत लिङ्गी मानिसहरूले सामान्यतया कुनै कदम चाल्ने आँट गर्दैनन् भन्ने सोच्थेँ। यति धेरै मानिसहरू उपस्थित हुँदा पनि, उनले कदम चाल्ने आँट गर्छिन् भनेर मैले कहिल्यै अपेक्षा गरेको थिइनँ। यी महिला त साँच्चै अचम्मकी रहिछिन्—उनी अत्यन्तै निर्लज्ज छिन्!” त्यसपछि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसका आँखाहरू खुले, र जब उनले फेरि यस्तो प्रकारको व्यक्तिलाई भेट्थे, तब उनले एउटा विधि अपनाउँथे: यदि उनले कुनै व्यक्ति सधैँ उनीसँग नजिक हुने प्रयास गरिरहेको देखे, र उनले ऊ निर्लज्ज छे, उसमा लाजको कुनै बोध छैन, र उसले सार्वजनिक स्थानमा यस्तो काम गर्छे भन्ने देखे भने, ब्रदरले सबैको अगाडि उसलाई सीधै भन्थे, “मबाट टाढा बस। गएर उता बस!” उनले यो समस्या समाधान गर्न यो विधि प्रयोग गर्थे। यो घटना घटेपछि, मैले ती महिलालाई फेरि कहिल्यै देखिनँ। मैले पछि के सुनेँ भने, मण्डलीमा यो व्यक्तिको निरन्तरको व्यवहार यस्तै थियो: जो अगुवा बन्थ्यो, जसको हैसियत हुन्थ्यो, ऊ उसैसँग टाँसिन्थी। ऊ आफ्नो मूल सम्प्रदायमा हुँदा, ऊ प्रेरितहरू र निर्णय गर्ने मानिसहरूसँग मात्रै टाँसिन्थी। उसको यो युक्तिले धेरैजसो अगुवा र कामदारहरूमा काम गर्यो र उनीहरूले यसलाई राम्ररी स्वीकार गरे, तर पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यसलाई अन्त्य गरिदिए। पछि, यो व्यक्तिलाई मण्डलीबाट निष्कासित गरियो।
पुरुष र महिलाबीचका मामलाहरूमा प्रलोभनको सामना गर्नुअघि नै, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले पुरुष र महिलाबीचका मामलाहरूको विषयमा मानिसहरूले कसरी व्यवहार गर्नुपर्छ र तिनीहरूले के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे अगुवा र कामदारहरूसँग पहिले नै प्रायजसो सङ्गति गरिरहेका हुन्थे। यसबाहेक, अगुवा र कामदारहरूले सेवामा कसरी सहकार्य गर्नुपर्छ भन्नेबारेमा उनले कामका प्रबन्धहरूमा तोकेर नै नियमहरू पनि बनाएका थिए: विपरीत लिङ्गी मानिसहरूले एकला-एकलै सहकार्य गर्नु हुँदैन। विशेष परिस्थितिहरूमा, यदि सहकार्य गर्नका लागि कुनै उपयुक्त तेस्रो व्यक्ति छैन भने, तुलनात्मक रूपमा ठूलो उमेरको अन्तर भएका विपरीत लिङ्गी मानिसहरूबीच सहकार्य हुनुपर्छ। यो विशेष परिस्थितिबाहेक, आधारभूत रूपमा, मण्डलीका अगुवा र कामदारहरूबीच पुरुष र महिलाको एकला-एकलै सहकार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ। यो कुरालाई कामका प्रबन्धहरूमा स्पष्ट रूपमा तोकिएको छ, होइन र? (हो।) आफ्नो काममा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले मण्डलीको कामको सम्बन्धमा केही जवान र अधबैँसे महिलाहरूसँग प्रायजसो अन्तरक्रिया गर्छन्, र उनले प्रायजसो यी मानिसहरूको सामना गर्नुपर्ने हुन्छ। त्यसकारण, कतिपय मानिसहरूमा मानवीय कामनाहरूबाट उत्पन्न भई पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसप्रति आकर्षण हुने, र उनीहरूले उनलाई सङ्केतहरू दिने कुरा अपरिहार्य हुन्छ। ब्रदरले यस विषयमा अभ्यासका केही सिद्धान्तहरू पनि अपनाएका छन्। कामको बारेमा सङ्गति गर्दा होस्, भेलाहरू सञ्चालन गर्दा होस्, वा यात्रा गर्दा होस्, ब्रदरले विपरीत लिङ्गी व्यक्तिसँग एकला-एकलै सम्पर्क गर्नबाट जोगिनका लागि सक्दो प्रयास गर्छन्। विशेष गरी, निश्चित व्यक्तिहरूमा ब्रदरप्रति आकर्षण हुन्छ र उनीहरू चापलुसी गर्ने केही व्यवहारमा पनि संलग्न हुन्छन्। त्यस्तो व्यक्तिको हकमा, यदि उनले उसलाई खुलासा गरेपछि वा इन्कार गरेपछि पनि उसले उनलाई झर्को लगाइरहन्छ भने, एउटा अन्तिम उपाय हुन्छ: उसलाई गम्भीर रूपमा काटछाँट गर्नुपर्छ। उनले उसलाई चोट पुगेको महसुस हुने, ब्रदर चिसो र निर्दयी छन् भन्ने महसुस हुने, उनीप्रतिको उसको आकर्षण गुम्ने, र ऊ उप्रान्त नजिक जान नचाहने हदसम्म काटछाँट गर्छन्। त्यसपछि ब्रदरको मन ढुक्क हुन सक्छ। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले प्रायजसो के सङ्गति गर्छन् भने परमेश्वरको सेवा गर्नेहरूले, सबैभन्दा पहिले, पुरुष र महिलाबीचका मामलाहरूमा गल्ती गर्नु हुँदैन र पाप गर्नु हुँदैन—उनले दृढतापूर्वक पक्री राख्ने सिद्धान्त यही हो। व्यक्तिले गल्ती गर्दैन र पाप गर्दैन भन्ने कुरालाई सुनिश्चित गर्नका लागि, उसले विपरीत लिङ्गी मानिसहरूलाई गर्ने व्यवहारमा निश्चित विधि र तरिकाहरू अपनाउनुपर्छ। पहिलो कुरा, व्यक्तिले विपरीत लिङ्गी मानिसहरूसँग एकला-एकलै सम्पर्क गर्नबाट जोगिनका लागि सक्दो प्रयास गर्नुपर्छ। यसका साथै, व्यक्तिले कुनै निश्चित विपरीत लिङ्गी व्यक्तिलाई व्यक्तिगत रूपमा हेरचाह वा ख्याल गर्नु हुँदैन, वा त्यो व्यक्तिलाई विशेष ध्यान दिनु हुँदैन—व्यक्तिले कुनै पनि विपरीत लिङ्गी व्यक्तिलाई मनोकल्पनाहरूमा लिप्त हुने अवसर दिनु हुँदैन। कुनै विपरीत लिङ्गी महिलामा ब्रदरप्रति आकर्षण भए पनि वा उसले चापलुसी गर्ने केही व्यवहारहरू प्रदर्शन गरे पनि, ब्रदरले उसलाई इन्कार गर्न र उसलाई खुलासा गर्न र चेतावनी दिन सम्भव भएसम्म सबै कुरा गर्छन्, र उसलाई फाइदा उठाउने कुनै मौका नदिई, ऊबाट टाढा बस्छन्। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको व्यक्तिगत अभ्यासका केही प्रकटीकरणहरू यिनै हुन्, र यी पुरुष र महिलाबीचका मामलाहरूको हकमा उनले पालन गर्ने सिद्धान्तहरू पनि हुन्। अवश्य नै, ती परमेश्वरको सेवा गर्नेहरूले पालन गर्नुपर्ने सिद्धान्तहरूको एउटा पक्ष पनि हुन्। तिमी परमेश्वरको सेवा गर्ने व्यक्ति नभए पनि, तिमीले पुरुष र महिलाबीचका मामलाहरूमा गल्ती गर्दैनौ वा पाप गर्दैनौ भन्ने कुरालाई तिमीले सुनिश्चित गर्नुपर्छ। यो आत्मआचरणको सबैभन्दा आधारभूत सिद्धान्त हो। यदि तिमीले यसलाई पक्री राख्न समेत सक्दैनौ, र तिमीले अझै पनि गल्ती गर्न सक्छौ र अझै पनि पाप गर्न सक्छौ भने, परमेश्वरले क्रूसमा बगाउनुभएको बहुमूल्य रगतले तिमीलाई छुटकारा दिन सक्दैन, होइन र? पुरुष र महिलाबीचका मामलाहरूमा, “गल्ती गर्नु” ले एक क्षणको लागि गलत मार्गमा जानु र प्रलोभनमा पर्नुलाई जनाउँछ, जबकि “पाप गर्नु” ले निरन्तरको बानीको रूपमा पुरुष र महिलाबीचको अवैध सम्बन्धहरूमा संलग्न हुनुलाई जनाउँछ। मण्डलीमा पुरुष र महिलाबीचका मामलाहरूमा गल्ती गर्ने जोकोहीको हकमा, यदि ऊ अगुवा वा कामदार हो भने, ब्रदरले उसलाई चेतावनी दिनेछन् र उसलाई काटछाँट गर्नेछन्। यदि उसले बारम्बार हप्काउँदा पनि आफ्नो आनीबानी सुधार गर्दैन र उसले कुराहरूलाई अझै अगाडि बढाउँछ भने, परमेश्वरको घरले उसलाई बर्खास्त गर्नेछ र अगुवा वा कामदार हुने उसको योग्यता खारेज गर्नेछ। यस्ता मामलाहरूको सामना गर्दा, बारम्बार हप्काउँदा पनि आफ्नो मार्ग सुधार नगर्नेहरू पतन हुनेछन्, र तिनीहरू तिनमा फस्नेछन् र तिनीहरूले मण्डलीको काम छोड्नेछन्—त्यस्ता मानिसहरूलाई प्रयोग गर्न सकिँदैन। तिनीहरू काम गर्न असक्षम हुने मात्र होइन, तिनीहरूले परमेश्वरलाई अपमानित गर्ने प्रयास गर्न पनि सक्छन्; तिनीहरूलाई बर्खास्त गरिनुपर्छ। यसका साथै, पुरुष र महिलाबीचका मामलाहरूमा गल्ती गर्नेहरूका हकमा, तिनीहरू अगुवा र कामदारहरू भए पनि वा साधारण विश्वासीहरू भए पनि, यदि ब्रदरले त्यस्ता मानिसहरूलाई भेटे भने उनले तिनीहरूलाई चेतावनी दिनेछन्। मैले प्रायजसो ब्रदरले दिने गरेको सुनेको एउटा चेतावनी बाइबलको एउटा सन्दर्भ हो: यदि कसैले जानी-जानी र मनसायपूर्वक पाप गर्छ भने, पापबलि समेत रहँदैन। मूल भनाइ के हो? (“यदि हामीले जानी-जानी पाप गर्छौँ भने..., त्यसउप्रान्त पापका निम्ति कुनै बलिदान बाँकी रहँदैन” (हिब्रू १०:२६)।) यसको अर्थ यदि तिमीले जानी-जानी पाप गर्यौ भने, पापबलि रहँदैन भन्ने हो। हामीले यहाँ कुरा गरिरहेका पुरुष र महिलासम्बन्धी समस्याहरूले उचित प्रेम सम्बन्ध र विवाहलाई जनाउँदैन, तर पुरुष र महिलाबीचको अनुचित सम्बन्धहरू, अर्थात्, पुरुष र महिलाबीचका सम्बन्धहरूमा हुने अनियमिततालाई जनाउँछ। उदाहरणका लागि, त्रिकोणात्मक प्रेम सम्बन्धहरू वा विवाह बाहिरका सम्बन्धहरूमा संलग्न हुनु; अन्धाधुन्ध यौन सम्बन्धहरूमा संलग्न हुनु, विपरीत लिङ्गी धेरै मानिसहरूसँग यौन सम्बन्ध राख्नु, र विपरीत लिङ्गी धेरै मानिसहरूसँग सम्बन्ध राख्नु, र बारम्बार हप्काउँदा पनि सुधार नगर्नु; वा प्रेम सम्बन्ध वा विवाहको आधारविना विपरीत लिङ्गी व्यक्तिसँग सम्बन्ध राख्नु, बरु त्यो विपरीत लिङ्गी व्यक्तिसँग खेलबाड गर्नु, वा विपरीत लिङ्गी धेरै मानिसहरूसँग खेलबाड समेत गर्नु। यी पुरुष र महिलाबीचका अनुचित सम्बन्धहरू हुन्; यो पाप गर्नु हो। उचित प्रेम सम्बन्ध होइन भने वा उचित वैवाहिक सम्बन्ध होइन भने, त्यस्तो कुनै पनि कुरा पाप हो। सुसमाचार प्रचार गर्ने क्रममा वा मण्डलीको जीवनमा विपरीत लिङ्गी मानिसहरूबीच यस्तो अनुचित सम्बन्ध उत्पन्न भयो भने, ब्रदरले प्रायजसो उनीहरूसँग यसरी सङ्गति गर्छन्, “यदि हामीले जानी-जानी पाप गर्छौँ भने..., त्यसउप्रान्त पापका निम्ति कुनै बलिदान बाँकी रहँदैन।” यसको अर्थ के हो? यसको अर्थ यदि तिमीले बारम्बार हप्काउँदा पनि आफ्नो आनीबानी सुधार गर्दैनौ र सधैँ पाप गर्छौ भने, पापबलि रहँदैन, र तिम्रो त्यो पाप स्थायी रूपमा दोषी ठहराइने अपराध बन्छ; तिमीले परिणामहरू भोग्नुपर्नेछ र दण्ड पाउनुपर्नेछ। यदि कुनै व्यक्तिका पापहरूलाई क्षमा गर्न सकिँदैन भने, ऊ परमेश्वरको मुक्ति स्वीकार गर्नका लागि अयोग्य हुन्छ, र ऊ नाश हुने व्यक्ति हुन्छ। तिमीले पुरुष र महिलाबीचका मामलाहरूसँग सम्बन्धित अपराधहरू लगायत जस्तोसुकै अपराध गरे पनि, यदि पापबलि रहँदैन भने, तिम्रो अपराधलाई पापको रूपमा ठहर गरिन्छ, तिमी दण्डको पात्र बन्छौ, र परमेश्वरको नजरमा तिमी छुटकाराको पात्र हुँदैनौ। छुटकाराको पात्र नहुनुको परिणाम के हो? त्यो के हो भने तिमीले परमेश्वरले तिमीलाई मुक्ति दिनुहुने आधारभूत सर्त गुमाउँछौ। त्यसपछि तिमी उप्रान्त परमेश्वरका चुनिएका मानिसहरूको सदस्य रहँदैनौ। तिमी परमेश्वरका चुनिएका मानिसहरूमध्ये एक नहुने हुनाले, तिमीलाई परमेश्वरले मुक्ति दिनुहुनेहरूको पङ्क्तिबाट पहिले नै बाहिर निकालिसकिएको हुन्छ, र परमेश्वरको घरमा तिम्रो कुनै भाग वा हिस्सा हुँदैन।
पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्वरको घरमा सर्वोच्च स्थान ओगट्ने हुनाले, उनले प्रायजसो पुरुष र महिलाबीचको प्रलोभनसँग सम्बन्धित समस्याहरूको सामना गर्छन्। एउटा कुरा के हो भने, उनले यस मामलाको सम्बन्धमा आफ्ना दृष्टिकोण, अडान, र अभ्यासका सिद्धान्तहरू सबैलाई स्पष्ट पार्छन्। अर्को कुरा, त्यस्ता कुराहरूको सामना गर्दा, उनले सार्वजनिक रूपमा अर्को पक्षलाई अझै स्पष्ट रूपमा कुरालाई जोड दिनेछन्, वा यस मामलाको सम्बन्धमा उनको दृष्टिकोण र अडान के हो, र उनको मनोवृत्ति कस्तो छ भन्ने कुरा अर्को पक्षलाई स्पष्ट रूपमा थाहा दिनेछन्। उनकै शब्दमा भन्दा, जब तिमीले कुनै विपरीत लिङ्गी व्यक्तिले तिमीप्रति रुचि देखाइरहेको वा तिम्रो चापलुसी गरिरहेको देख्छौ, तब तिमी कठोर हुनुपर्छ र उसलाई स्पष्ट रूपमा इन्कार गर्नुपर्छ। तिमीले फाइदा उठाउने कुनै अवसर उसलाई दिनु हुँदैन; उसलाई फाइदा उठाउने कुनै मौका नदेऊ, र ऊ पछि हट्नेछ। इन्कार गर्नमा तिमीले अत्यन्तै अप्ठ्यारो महसुस गर्नु हुँदैन, र तिमीले उसको भावनालाई जोगाउनु हुँदैन। तिमी कठोर र कडा हुनुपर्छ। जब तिमीले यस्तो प्रकारको व्यक्तिलाई भेट्छौ, तब तिमी अझै बढी कडा हुनुपर्छ। तिमी कुन हदसम्म कडा हुनुपर्छ? तिमीले उसलाई तिमी चिसो र निर्दयी व्यक्ति हौ, तिमी सबै प्रस्तावहरूप्रति अभेद्य छौ, र तिमीमा कुनै भावनाहरू छैनन् भन्ने महसुस गराउने हदसम्म। अन्ततः, धेरैजसो विपरीत लिङ्गी मानिसहरूले ब्रदर यस्तो प्रकारको व्यक्ति हुन् र उनलाई यस्तो प्रकारको व्यवहार मन पर्दैन भन्ने देख्छन्, र यस्तो सोच्छन्, “यदि मैले तपाईंलाई यस्तो व्यवहार गरेँ भने, के तपाईंले मलाई पनि हप्काउनुहुनेछ? के तपाईंले मलाई अप्ठ्यारो स्थितिमा पार्नुहुनेछ?” जब कतिपय विपरीत लिङ्गी मानिसहरूले यो परिणामको बारेमा विचार गर्छन्, तब तिनीहरूले उनको चापलुसी गर्ने आँट गर्दैनन्। मलाई भन त, यो कुरा ब्रदरका लागि राम्रो कुरा हो कि नराम्रो कुरा हो? (राम्रो कुरा हो।) ब्रदर निकै खुसी हुन्छन्: “तिमीले आँट नगर्नु नै राम्रो हो। आँट नगर्नु नै ठ्याक्कै सही कुरा हो।” ब्रदर यति कडा र कठोर हुने हुनाले, र मानिसहरूको नजरमा कसैको भावनालाई नजोगाउने हुनाले, विपरीत लिङ्गी धेरै मानिसहरूले उनीप्रति खराब मनसाय राख्ने आँट गर्दैनन्; तिनीहरू अलिक डराउँछन् र उनीसँग नजिक जान आँट गर्दैनन्। के यसले ब्रदरलाई धेरै समस्याबाट जोगाउँदैन र? (जोगाउँछ।) यसरी अभ्यास गर्नेबारे तिमीहरूलाई के लाग्छ? (यो राम्रो हो।) यसमा राम्रो कुरा के छ? (यसले विपरीत लिङ्गी मानिसहरूलाई फाइदा उठाउने कुनै मौका दिँदैन, जसले गर्दा धेरै प्रलोभनबाट बच्न सकिन्छ।) यदि अलिकति हैसियत भएको औसत व्यक्तिले विपरीत लिङ्गी मानिसहरूको आराधनाको आनन्द लिन पाएन भने, उसलाई निराश महसुस हुन्छ, र उसले यस्तो सोच्छ, “मसँग यति उच्च हैसियत छ, तैपनि एउटै पनि विपरीत लिङ्गी व्यक्ति मसँग टाँसिन वा नजिक हुन, मसँग माया पिरती गाँस्न वा प्रेममा मसँग हात बढाउन आउँदैन।” आम हिसाबमा भन्दा, तिमी पुरुष भए पनि वा महिला भए पनि, यदि कसैले तिम्रो आराधना गर्दैन भने, के तिमीलाई भित्र निराश महसुस हुँदैन र? यदि विपरीत लिङ्गी मानिसहरूमा तिमीप्रति आकर्षण हुन्थ्यो, तिमीप्रति आशक्ति हुन्थ्यो, तिनीहरूले तिमीलाई आफ्नो सपनाको व्यक्तिको रूपमा लिन्थे, वा तिमीलाई प्रेम समेत गर्थे र तिमीलाई पछ्याउँथे भने, के तिमीहरूमध्ये धेरैजसोलाई अद्भुत महसुस हुने थिएन र हृदयमा यस कुराको निकै आनन्द लिने थिएनौ र? (हो।) धेरैजसो मानिसहरूलाई यो डरलाग्दो कुरा हो भन्ने नै महसुस हुँदैन, न त तिनीहरूलाई यो समस्याजनक कुरा हो भन्ने नै महसुस हुन्छ। परमेश्वरको सेवा गर्ने व्यक्तिको रूपमा, यदि तिमी गैरविश्वासीहरू जस्तै तिमीसँग हैसियत नहुँदा, विपरीत लिङ्गी मानिसहरू तिमीप्रति आशक्त होऊन् र तिमीसँग नजिक हुन खोजून् भन्ने चाहना गर्छौ, र तिमीसँग हैसियत हुँदा, यदि विपरीत लिङ्गी मानिसहरू तिमीप्रति आशक्त हुन्छन्, तिमीप्रति मोहित हुन्छन्, तिनीहरूले तिम्रो प्रशंसा गर्छन्, तिमीलाई पछ्याउँछन्, वा तिमीलाई कामुक नजरले हेर्छन् भने, तिमीले तिनीहरूलाई इन्कार नगर्ने मात्र होइन तर यसको आनन्द पनि लिन्छौ र यसमा डुब्छौ भने, तिमी परमेश्वरको सेवा गर्न असक्षम हुन्छौ। कतिपय मानिसहरूले भन्छन्, “म किन परमेश्वरको सेवा गर्न असक्षम हुनेछु र? यो त अरू मप्रति आशक्त हुनु मात्रै हो, यस कुरा वास्तविकतामा परिणत त भएको छैन। तिनीहरूको आशक्ति तिनीहरूको कुरा हो। तिनीहरूको आशक्तिसँग मेरो के सम्बन्ध छ र? मानिसहरू मसँग नजिक हुन खोज्ने, मेरो आराधना गर्ने, र मप्रति आशक्त हुने कुराको अलिकति आनन्द लिनुमा के गल्ती छ र? यो तिनीहरूको स्वतन्त्रता हो। मैले तिनीहरूका प्रस्तावहरूलाई किन इन्कार गर्नुपर्छ र?” मलाई भन, यसमा के खराबी छ? तिमीले तिनीहरूका प्रस्तावहरूलाई किन इन्कार गर्नुपर्छ? (यदि कसैले विपरीत लिङ्गी मानिसहरूले आफूलाई पछ्याउँदा त्यसलाई इन्कार गर्दैन, र उसको विचार र मन सधैँ रोमान्टिक प्रेममा फसेको हुन्छ भने, उसको हृदय आफ्नो कर्तव्यमा हुनेछैन। यसरी, उसले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेछैन।) एउटा वस्तुगत र व्यावहारिक कुरा के हो भने तिमीले आफूलाई राम्ररी सुरक्षित राख्नुपर्छ, ताकि तिमीले परमेश्वरको अगाडि पाप नगर वा परमेश्वरलाई तिमीप्रति घृणा लाग्ने नबनाऊ। तिमीले अरूले के सोच्छन् भन्ने कुरामा हस्तक्षेप गर्न त सक्दैनौ, तर कम्तीमा पनि, तिमीले अरूलाई तिम्रो मनोवृत्ति थाहा दिनुपर्छ, र त्यस्ता कुराहरूको सामना गर्दा के गर्ने भन्ने कुरा तिमी आफैलाई थाहा हुनुपर्छ। यदि कुनै विपरीत लिङ्गी व्यक्ति तिमीप्रति आशक्त हुन्छ र तिमीसँग नजिक हुन खोज्छ, यहाँसम्म कि मोहित हुने र प्रशंसा गर्ने हदसम्म पुग्छ, र तिमीले उसको प्रस्तावहरूलाई इन्कार गर्दैनौ बरु तिनको आनन्द लिन्छौ भने, तिमी दिनभरि यी अल्झिएका भावनाहरूको संसारमा जिउनेछौ, र तिमी अपरिहार्य रूपमा नै प्रेमको पासोमा पर्नेछौ र वासनामा फस्नेछौ। व्यक्ति प्रेमको पासोमा र वासनामा फसेपछि, के उसको हृदय परमेश्वरको अगाडि आउन सक्छ? के उसले आफ्नो काम गर्न सक्छ? के उसले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छ? (सक्दैन।) उसको रोमान्टिक स्नेह र वासनाले गर्दा यी उचित कार्यहरू सबै बरबाद हुनेछन्, र पवित्र आत्माले ऊभित्र काम गर्नु असम्भव हुनेछ। तिमी भन्छौ, “मलाई आफ्नो सीमा थाहा हुनेछ। जब म फुर्सदमा हुन्छु र मैले काम गरिरहेको वा मेरो कर्तव्य निर्वाह गरिरहेको हुँदिनँ, तब म प्रेम सम्बन्धका कुराहरूबारे सोच्नेछु र विपरीत लिङ्गीले मलाई दिने रोमान्टिक स्नेह र प्रेमको आनन्द लिनेछु। जब काम गर्ने समय आउँछ, तब म यी कुराहरूलाई पन्छाउनेछु। म यी कुराहरूलाई सहजै सम्हाल्न सक्छु र तिनलाई नियन्त्रणमा राख्न सक्छु। आनन्द लिने समयमा म यसको आनन्द लिनेछु, र आनन्द लिने समय नहुँदा म काम गर्नेछु, र काम गरिरहँदा म यी कुराहरूद्वारा बाँधिनेछैनँ।” मलाई भन, के यो सम्भव छ? (छैन।) एउटा कुरा के हो भने, मानवको जन्मजात प्रवृत्तिको दृष्टिकोणबाट हेर्दा, मानिसहरू आधारभूत रूपमा एकैपटक दुई वटा कुरामा ध्यान केन्द्रित गर्न असक्षम हुन्छन्। अर्को कुरा—र यो मुख्य बुँदा हो—उहाँको सेवा गर्नेहरूका लागि परमेश्वरका मागहरूको दृष्टिकोणबाट हेर्दा, तिम्रो कर्तव्य निर्वाह गर्न, परमेश्वरको सेवा गर्न, र परमेश्वरको कार्यभार पूरा गर्नका लागि, तिमीले आफ्नो सम्पूर्ण शरीर र मन अर्पण गर्नुपर्छ। काम गर्दा र परमेश्वरको सेवा गर्दा तिमीसँग इमानदारी हुनुपर्छ र तिमीले आफ्नो सर्वस्व दिनुपर्छ, र तिमीले आधा-अधुरो मनले काम गर्नु हुँदैन। यदि, परमेश्वरको सेवा गर्दा र मण्डलीको काम गर्दा, तिमीले अरू कुराहरू पनि गरिरहेको छौ, अरू कुराहरूबारे सोचिरहेको छौ, वा तिम्रो हृदय अरू कुराहरूले भरिएको छ भने, परमेश्वरले तिमीलाई प्रेरित गर्ने सम्भावना नै हुँदैन। परमेश्वर फोहोरी मन्दिरमा बास गर्नुहुन्न, र परमेश्वरले त्यस्तो व्यक्तिलाई प्रयोग गर्नुहुन्न। प्रलोभनमा जिउनु, प्रेमको पासोमा फस्नु, र परमेश्वरको सेवा गर्दा वासना र रोमान्टिक प्रेमको आनन्द लिनु—यो परमेश्वरविरुद्धको निन्दा हो। त्यसकारण, परमेश्वरका मागहरूको हिसाबमा हेर्दा, जब कुनै व्यक्ति यो स्थितिमा फसेको हुन्छ, तब परमेश्वरले काम गर्नुहुन्न। कतिपय मानिसहरूले भन्छन्, “मेरो हृदयमा परमेश्वर हुनुहुन्छ। मैले अझै पनि मण्डलीको काम गर्न सक्छु। मैले मण्डलीको काममा बाधा पुर्याएको छैन।” तिमी गलत छौ; तिमीलाई आफूप्रति राम्रो महसुस भइरहेको मात्र हो। वास्तविकतामा, परमेश्वरले तिमीलाई पहिले नै त्यागिसक्नुभएको छ, र उहाँले धेरै अघि नै तिमीमा काम गर्न छोडिसक्नुभएको छ, किनभने यस बेला परमेश्वरले तिमीलाई प्रयोग गर्नै सक्नुहुन्न। जब तिम्रो स्थिति सामान्य अवस्थामा फर्किन्छ, जब तिमी परमेश्वरको सेवा गर्न उपयुक्त हुन्छौ, र जब तिमीले परमेश्वरले तिमीलाई दिनुभएको काम आफ्नो सम्पूर्ण हृदय, आफ्नो सम्पूर्ण शक्ति, र आफ्नो सम्पूर्ण मनले पूरा गर्न सक्छौ—जब तिम्रो स्थिति र तिम्रो हृदयले यी सर्तहरू पूरा गर्छन्—त्यसपछि मात्रै परमेश्वरले तिमीलाई प्रयोग गर्न सक्नुहुन्छ। पुरुष र महिलाबीचका मामलाहरूको हकमा, यदि तिमी यस हिसाबमा प्रलोभनमा पर्छौ र परमेश्वरको सेवा गर्दा प्रेमको पासोमा फस्छौ, र यसमा मज्जा लिन्छौ र यसको आनन्द लिन्छौ भने, परमेश्वरले तिमीलाई उहाँको सेवा गर्ने व्यक्तिको रूपमा लिन धेरै अघि नै छोडिसक्नुभएको हुनेछ, र तिमी उप्रान्त परमेश्वरको सेवा गर्न योग्य हुनेछैनौ। त्यसकारण, अगुवा र कामदारहरूका लागि माग यो हो: यदि तिमी कसैसँग प्रेम सम्बन्धमा छौ भने, यस्तो प्रकारको कर्तव्य निर्वाह नगर; तिमीले केही साधारण कर्तव्यहरू निर्वाह गर्न सक्छौ, तर तिमीले परमेश्वरको सेवा गर्न मिल्दैन। यदि तिमी प्रेम सम्बन्धमा रहन चाहन्छौ, र विवाह गर्न र आफ्नो जीवन जिउन चाहन्छौ भने, तिमीले पहिले यी कुराहरूलाई ध्यान दिनुपर्छ। त्यसपछि, यदि तिमीले बढुवा गरिने र संवर्धन गरिने सर्तहरू पूरा गर्यौ भने, समय सही हुँदा परमेश्वरको घरले तिमीलाई प्रयोग गर्न सक्छ। यदि तिमीले सर्तहरू पूरा गर्दैनौ भने, तिमीले आफ्नो जीवन जिउन जारी राख्न सक्छौ र आफ्नो क्षमताभित्रका केही कर्तव्यहरू निर्वाह गर्न सक्छौ। परमेश्वरको घरले तिमीलाई तिम्रो कर्तव्य निर्वाह गर्ने अधिकारबाट वञ्चित गर्नेछैन, तर तिमीले परमेश्वरको सेवा गर्न मिल्दैन। भन्नुको अर्थ, तिमीले एकै पटक परमेश्वरको सेवा गर्नु र तिमी प्रेम सम्बन्धमा पनि रहनु असम्भव हुन्छ। यदि तिमी प्रेम सम्बन्धमा रहन चाहन्छौ भने, तिमीले परमेश्वरको सेवा गर्न मिल्दैन; यदि तिमी परमेश्वरको सेवा गर्न चाहन्छौ भने, प्रेम सम्बन्धमा नबस—माग यही हो। परमेश्वरको सेवा गर्ने व्यक्तिको रूपमा, जब तिमीले पुरुष र महिलाबीचको प्रलोभनको सामना गर्छौ, यदि तिमीसँग यस मामलालाई समाधान गर्न अभ्यासका सही सिद्धान्तहरू छैनन् र तिमी अन्ततः प्रलोभनमा पर्छौ भने, परमेश्वरको सेवा गर्ने तिम्रो मार्ग अन्त्य भएको हुन सक्छ। यदि तिमीसँग यस्तो प्रकारको समस्यालाई पूर्ण रूपमा रोक्न र समाधान गर्न अभ्यासको उपयुक्त मार्ग छ, र तिमीले आफूलाई त्यस्तो प्रलोभनमा पर्न दिँदैनौ, र यदि, तिम्रो व्यक्तिपरक इच्छाद्वारा, तिमीले त्यस्ता कुराहरूलाई दृढतापूर्वक इन्कार गर्न सक्छौ र तिमी तीबाट टाढा बस्न सक्छौ, र तिनलाई तिम्रो जीवनमा घट्न दिँदैनौ भने, तिमी परमेश्वरको सेवा गर्ने मार्गमा हिँडिरहने अझै आशा हुन्छ। त्यसकारण, पुरुष र महिलाबीचका मामलाहरूको सन्दर्भमा पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसका अभ्यासका यी केही सिद्धान्तहरू र अभ्यासका मार्गहरू तिमीहरू सबैले पाठ सिक्नुपर्ने कुराहरू हुन्, र तिमीहरूले अभ्यास गर्नुपर्ने कुराहरू पनि यिनै हुन्।
परमेश्वरको सेवा गर्ने व्यक्तिको रूपमा, परमेश्वरले तिमीलाई यो हैसियत दिनुको अर्थ तिम्रो लागि के हो र तिमीप्रतिका उहाँका मागहरू के-के हुन् भन्ने कुरा तिमीलाई थाहा हुनुपर्छ। जब तिमीसँग यो हैसियत हुन्छ, र विपरीत लिङ्गी मानिसहरूले तिमीलाई ईर्ष्या र सराहनाका साथ हेर्छन्, र तिमीप्रति आशा राख्छन्, वा तिमीलाई पछ्याउँछन् र तिम्रो चापलुसी समेत गर्छन्, तब यसलाई कसरी सम्हाल्ने भन्ने तिमीलाई थाहा हुनुपर्छ। यदि तिमीले यसलाई राम्ररी सम्हालेनौ भने, यसका परिणामहरू हुनेछन्। यदि तिमीसँग हैसियत छैन भने, पुरुष र महिलासम्बन्धी प्रलोभन ठूलो नहुन सक्छ, तर तिमीसँग हैसियत भएपछि, यो प्रलोभन पछि गएर अझै ठूलो हुनेछ, र तिमीले त्यस्तो प्रलोभनको सामना गर्ने सम्भावना बढ्नेछ। यदि तिमीले यस मामलाको गम्भीरता र यसले ल्याउन सक्ने परिणामहरूलाई स्पष्ट रूपमा देख्न सक्दैनौ, र जब त्यस्ता कुराहरू हुन्छन्, तब तिम्रो मनोवृत्तिमा तिमी अनिर्णायक हुने, तिनलाई इन्कार नगर्ने वा तीबाट टाढा नबस्ने मात्र होइन, तर तिमीले विपरीत लिङ्गीले तिमीलाई दिइएको रोमान्टिक प्रेम र तिमीलाई दिएको भावनात्मक सन्तुष्टिको आनन्द लिन आफ्नो हैसियतको फाइदा पनि उठाउँछौ भने, तिमी समस्यामा पर्नेछौ। यदि तिमी प्रलोभनमा पर्यौ भने, परमेश्वरले तिमीलाई घृणा गर्नुहुनेछ र तिमीलाई त्याग्नुहुनेछ, र तिमी उप्रान्त परमेश्वरको सेवा गर्न सक्षम हुनेछैनौ। परमेश्वरको सेवा गर्ने व्यक्तिका लागि, यो परिणाम अत्यन्तै गम्भीर हुन्छ; तिमीहरू यो परिणामबारे सचेत हुनुपर्छ। परमेश्वरको सेवा गर्ने क्रममा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले पुरुष र महिलाबीचका मामलाहरूका परिणामहरूलाई अत्यन्तै गम्भीर रूपमा लिन्छन्। आफ्नो तर्फबाट, उनले यी समस्याहरूलाई पूर्ण रूपमा रोक्न र समाधान गर्न केही सही विधि र तरिकाहरू, साथै अभ्यासका उपयुक्त सिद्धान्तहरू अपनाएका छन्। मानिसहरू भावनाहरूको यस संसारमा जिउने भए पनि र तिनीहरूले अपरिहार्य रूपमा पुरुष र महिलाबीचको प्रलोभनको सामना गर्ने भए पनि, यी समस्याहरू समाधान गर्ने उपायहरू अझै पनि छन्। यो त तिमीले तिनलाई कसरी लिन्छौ भन्ने कुरामा मात्र निर्भर हुन्छ; यो परमेश्वरको सेवा गर्ने र परमेश्वरको कार्यभार पूरा गर्ने तिम्रो सङ्कल्प र इच्छा कस्तो छ भन्ने कुरामा मात्र निर्भर हुन्छ। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले सायद तिमीहरूसँग यस पक्षमा पनि सङ्गति गरेका छन्: यति धेरै वर्षसम्म परमेश्वरको सेवा गर्दा, उनले कहिल्यै कुनै विपरीत लिङ्गी व्यक्तिको हात छोएका छैनन्, न त उनले जानी-जानी कुनै विपरीत लिङ्गी व्यक्तिलाई छोएका नै छन् वा उनीहरूसँग ठोक्किएका छन्—उनले यसो भन्ने आँट गर्छन्। यसबाहेक, ब्रदरले तिमीहरूलाई के पनि भनेका छन् भने, उनले कुनै पनि विपरीत लिङ्गी व्यक्तिलाई फकाउन कहिल्यै कामुक शब्दहरू वा यौन सङ्केत दिने भाषा प्रयोग गरेका छैनन्। अवश्य नै, यस सन्दर्भमा कसैले पनि इन्कार गर्न वा उनलाई दोष दिन अघि सर्न सक्दैन; यी सबै तथ्यहरू हुन्। यति धेरै वर्षसम्म परमेश्वरको सेवा गर्दा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले सधैँ यसरी नै काम गरेका छन्, र उनको मनोवृत्ति यति नै दृढ छ। उनले साना-ठूला केही प्रलोभनहरूको सामना गरेका छन्, विभिन्न परिस्थितिहरू अनुभव गरेका छन्, र उनी सबै प्रकारका विपरीत लिङ्गी मानिसहरूको सम्पर्कमा आएका छन्—सुन्दरीहरू, राम्रो शरीर भएकाहरू, वरदान भएकाहरू, र प्रतिभा भएकाहरू; उनी ती सबैको सम्पर्कमा आएका छन्। अन्त्यमा, उनले यसो भन्ने आँट गर्छन्, “यति धेरै वर्षसम्म परमेश्वरको सेवा गर्दा, मैले कहिल्यै कुनै विपरीत लिङ्गी व्यक्तिको हात छोएको छैनँ, न त मैले कुनै विपरीत लिङ्गी व्यक्तिसँग शारीरिक रूपमा छोएको नै छु वा उनीहरूसँग ठोक्किएको नै छु।” यो विजयी गवाही हो। यदि, धेरै वर्षसम्म परमेश्वरको सेवा गरेपछि, तिमीसँग पनि यस्तो गवाही छ, र तिमीले आफै सार्वजनिक रूपमा यसो भन्ने आँट गर्छौ, र कुनै पनि विपरीत लिङ्गी व्यक्तिले यसलाई इन्कार गर्न वा तिमीलाई दोष दिन सक्दैन भने, तिमी यस हकमा आफ्नो गवाहीमा दृढ रहेका छौ, र तिमीलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ। यो अत्यन्तै महत्त्वपूर्ण विषय हो। सिद्धान्तहरूलाई पक्री राख्न सक्नु र पुरुष र महिलाबीचका मामलाहरूको हिसाबमा दृढ रहन सक्नुले तिमीसँग परमेश्वरप्रति साँचो विश्वास राख्ने, परमेश्वरप्रति इमानदारी कायम राख्ने, र परमेश्वरको लागि ख्याल हुने माग गर्छ; यसका साथै, तिमीसँग तिम्रो चरित्रमा सामर्थ्य र असल गुणहरू पनि हुनुपर्छ। अहिले, तिमीहरूले आफूसँग यस्तो गवाही छ भन्ने आँट गर्न सक्दैनौ होला, किनभने तिमीहरूमध्ये कतिपयले पहिले गल्तीहरू गरेका छौ होला, र कतिपयले अपराधहरू समेत गरेका छौ होला। तर यदि, दश, बीस, वा तीस वर्षको समयमा, हरेक दश वर्षमा तिमीले “मैले यति धेरै वर्षसम्म परमेश्वरको सेवा गरेको छु, र मैले पुरुष र महिलाबीचका मामलाहरूमा गल्ती गरेको छैनँ, न त मैले यस हिसाबमा कुनै अपराधहरू नै छोडेको छु” भनेर भन्छौ भने, त्यसपछि तिमीसँग पुरुष र महिलाबीचका मामलाहरूको हकमा गवाही हुनेछ, र परमेश्वरको नजरमा, तिमी यस हिसाबमा उत्तीर्ण हुनेछौ। परमेश्वरको सेवा गर्ने व्यक्तिको रूपमा यस्तो गवाही प्राप्त गर्नका लागि, तिमीसँग सबैभन्दा पहिले यस मामलाको बारेमा सचेतना, अठोट, र सङ्कल्प हुनुपर्छ, र यससम्बन्धी अभ्यासका सिद्धान्तहरूलाई दृढतापूर्वक पक्री राख्न सक्नुपर्छ। पवित्र आत्माको प्रबोधन र अगुवाइ प्राप्त गर्न, र परमेश्वरको आफ्नै न्याय, सजाय, र सिद्धता प्राप्त गर्नका लागि चाहिने सबैभन्दा आधारभूत सर्तहरूमध्ये एउटा यही हो। यदि तिमीले पुरुष र महिलाबीचका मामलाहरूमा ठूला गल्तीहरू गरेको छैनौ तर निरन्तर साना गल्तीहरू गर्छौ भने, यसले यस मामलाको हिसाबमा तिम्रो सचेतना र सङ्कल्प र यस हिसाबमा परमेश्वरलाई सन्तुष्ट पार्ने तिम्रो इच्छा त्यति बलियो छैन, र तिमीसँग परमेश्वरप्रति धेरै इमानदारी छैन र तिमीले परमेश्वरको ख्याल गर्दैनौ भन्ने प्रमाणित गर्छ। त्यस्तो अवस्थामा, तिम्रो चरित्रमाथि प्रश्न उठाइनुपर्छ। यदि तिमीले दश वर्षसम्म परमेश्वरमा विश्वास गर्दा पनि तिमीसँग यस्तो गवाही छैन, र बीस वर्षको समयमा पनि तिमीसँग यस्तो गवाही छैन, र तीस वर्षको समयमा पनि तिमीले निरन्तर साना गल्तीहरू गरिरहन्छौ भने, तिम्रो चरित्रलाई खारेज गरिनुपर्छ—तिम्रो चरित्रमा समस्या छ। पुरुष र महिलाबीचका मामलाहरू भनेका मानिसहरूका लागि एक प्रकारको जाँच पनि हुन्। तिनले तिम्रो चरित्रको जाँच गर्छन्, तिम्रो खोजको जाँच गर्छन्, परमेश्वरको कार्यभारप्रतिको तिम्रो मनोवृत्ति कस्तो छ भन्ने कुराको जाँच गर्छन्, र उहाँको सेवा गर्दा तिमीले परमेश्वरको कार्यभार पूरा गर्न सक्छौ कि सक्दैनौ भन्ने कुराको जाँच गर्छन्। त्यसोभए, के तिमीहरूलाई यस विषयमा गवाही प्राप्त गर्न कुनै कठिनाइहरू हुन्छन्? (हामीलाई कठिनाइहरू हुन्छन्, तर हामीसँग सहकार्य गर्ने सङ्कल्प छ।) तिमीले मुख्य पक्षहरूबाट सुरु गर्नुपर्छ। पहिले तिमीले कुनै अपराध गर्दैनौ भन्ने कुरालाई सुनिश्चित गर, त्यसपछि बिस्तारै आफ्ना गल्तीहरू सच्याउँदै जाऊ। तिमीसँग कुनै गल्ती नभएपछि, अपराधहरू हुनेछैनन्। मार्ग यही हो। तिमीले बारम्बार परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। यदि तिम्रो हृदयमा परमेश्वर हुनुहुन्छ भने, परमेश्वरले तिमीलाई रोक्नुहुनेछ र तिमीलाई ताडना दिनुहुनेछ, जसले गर्दा तिम्रो हृदयले यी कुराहरूप्रति वितृष्ण महसुस गर्नेछ। यसबाहेक, परमेश्वरले, तिम्रो इमानदारी देखेर, उपयुक्त वातावरणहरू खडा गर्नुहुनेछ ताकि यी प्रलोभनहरू तिमीमाथि आइ नपरून्। किनभने परमेश्वरलाई मानिसहरूका कमजोरीहरू थाहा हुन्छ, र परमेश्वरलाई मानिसहरूको कद पनि थाहा हुन्छ; जब यी प्रलोभनहरू तिमीमाथि आइपर्दैनन्, तब तिमीले ठूलो सुरक्षा प्राप्त गरेका हुन्छौ। जब तिमी निश्चित कदमा पुग्छौ, तब परमेश्वरले तिमीलाई रक्षा नगर्नुभए पनि र तिमीले केही प्रलोभनको सामना गरे पनि, तिमी त्यसमा फस्नेछैनौ किनभने तिमीसँग कद हुन्छ। त्यसपछि तिमी गवाही पाउने अवस्थाको नजिक हुनेछौ, होइन र? (हो।) पुरुष र महिलाबीचका मामलाहरूमा हामी यति मात्रै सङ्गति गर्नेछौँ। लगभग, तिमीहरूले अब यससँग सम्बन्धित समस्याहरू समाधान गर्ने मार्ग, त्यस्ता मामलाहरूप्रति तिमीहरूसँग हुनुपर्ने सही विचार र दृष्टिकोणहरू, र यससँग सम्बन्धित प्रलोभनमा फस्दा मानिसहरूलाई हुने प्रभाव र हानि बुझ्नुपर्छ।
परमेश्वरको सेवा गर्ने क्रममा, मानिसहरूले बारम्बार सामना गर्नुपर्ने र सामना गर्नैपर्ने पुरुष र महिलाबीचका मामलाहरूबाहेक, तिनीहरूले सामना गर्नुपर्ने अर्को कुरा भनेको पैसा र हितहरू हुन्। मानिसहरूले हैसियत प्राप्त गरेपछि, तिनीहरू बारम्बार पैसाले प्रतिनिधित्व गर्ने केही भौतिक फाइदाहरूको सम्पर्कमा आउँछन्। परमेश्वरको सेवा गर्ने व्यक्तिको रूपमा, मण्डलीमा रहेको पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको हैसियतको कारणले गर्दा, उनी मण्डलीको पैसाको सम्पर्कमा आउने सम्भावना साधारण दाजुभाइ तथा दिदीबहिनीहरूको भन्दा बढी हुन्छ; अर्थात्, उनी मण्डलीको पैसाको सम्पर्कमा आउने पहिलो व्यक्तिहरूमध्येका एक हुन सक्छन्। मण्डलीको पैसा र सम्पत्तिको व्यवस्थापनको सम्बन्धमा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले कामको प्रबन्ध र व्यवस्थापन प्रणालीहरू तर्जुमा गरे, र हरेक मण्डली, जिल्ला, र क्षेत्रले भेटीको रकमलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्नेबारे स्पष्ट प्रावधानहरू बनाए। यी व्यवस्थापन प्रणालीहरू र सान्दर्भिक सिद्धान्तहरू सबै मण्डलीहरूलाई जारी गरिएपछि, पैसा र सम्पत्ति व्यवस्थापन गर्ने अधिकार मण्डलीहरूलाई सुम्पिइयो—अर्थात्, सबै स्तरका अगुवा र कामदारहरूले माथिको कामको प्रबन्ध र प्रावधानहरूअनुसार यस मामलालाई लागू गर्दै, हरेक मण्डलीको स्तरमा व्यवस्थापन गरिनुपर्थ्यो। यसबाट हेर्दा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस व्यक्तिगत तवरले मण्डलीको भेटीको रकमको सम्पर्कमा लगभग आउँदैनन्; चाहे ती मण्डलीबाट भेटीका रकमहरू होऊन् वा क्षेत्रीय स्तरबाट आएका होऊन्, उनी तिनको सम्पर्कमा आउँदैनन्। कतिपय मण्डलीका अगुवाहरू वा क्षेत्रीय अगुवाहरूले भेटीको रकम व्यवस्थापन गर्ने काम ब्रदरलाई सुम्पिँदासमेत, तिनलाई प्राप्त गरेपछि, ब्रदरले तिनलाई आफूसँग राख्दैनन्, बरु मण्डलीको आर्थिक समूहलाई सुम्पिन्छन्। उनले सिद्धान्तहरूअनुसार ती रकमलाई सबै मण्डलीहरूमा वितरण गर्न आर्थिक समूहलाई लगाउँछन्, ताकि पूर्णकालीन रूपमा आफ्ना कर्तव्य निर्वाह गर्ने कर्मचारीहरू तथा अगुवा र कामदारहरूका लागि जीवनयापन र यात्रा खर्च बेहोर्न सकियोस्, र तिनलाई परमेश्वरको घरका विभिन्न कामहरूका लागि आवश्यक पर्ने रकमको रूपमा पनि प्रयोग गर्न सकियोस्। मण्डलीको भेटीको रकम सबै मण्डलीले निर्वाचित गरेका आर्थिक कर्मचारीहरूले नै व्यवस्थापन गर्छन्। रकम जतिसुकै भए पनि, भेटीको रकमलाई मण्डलीका विभिन्न प्रशासनिक क्षेत्रहरूमा उपयुक्त मानिसहरूले व्यवस्थापन गर्छन्। भेटीको रकमको कुल परिमाण वा हरेक मण्डलीमा कसले कति भेटी चढाउँछ भन्ने कुराको सन्दर्भमा, ब्रदरले यी मामलाहरूको वास्ता कहिल्यै गर्दैनन्, न त उनले यी मामलाहरूको बारेमा सोधपुछ नै गर्छन्। बरु, उनी त मण्डलीको कामका लागि रकम पर्याप्त छ कि छैन, भेटीको रकम उब्रिएको छ कि छैन, र तिनलाई कसरी व्यवस्थापन गरिएको छ भन्ने कुराको मात्र वास्ता गर्छन्। यसबाहेक, उनले विशेष अवधिहरूमा भेटीहरूका सम्बन्धमा प्रावधानहरू पनि बनाएका छन्; विशेष गरी, उनले एकपटक यस्तो प्रावधान बनाएका थिए, “गरिब मानिसहरूले भेटी चढाउनु हुँदैन, जबकि धनीहरूको भेटीमा कुनै सीमा छैन।” जे भए पनि, भेटीको रकमको सम्बन्धमा, ब्रदरले कहिल्यै पनि कुनै पनि परिमाणको भेटीको रकमलाई आफ्नै खानपान वा मोजमज्जाको व्यवस्था गर्नका लागि आफ्नो भनेर लिएका छैनन्। उनको व्यक्तिगत जीवनयापनको खर्च हुँदासमेत, अतिथि सत्कारक परिवारहरू वा कुनै निश्चित मण्डलीले नै ती सम्हाल्न मद्दत गर्छन्। ब्रदर स्वयम् विरलै मात्र मण्डलीको भेटीको रकमको सम्पर्कमा आउँछन्; भेटीको रकम प्रशासनिक संरचनाभित्र नै लगभग घुम्छ, जसका एकाइहरू व्यक्तिगत मण्डलीहरू हुन्। अवस्था यस्तै छ। यसबाहेक, ब्रदर आफ्नो दैनिक खाना, लुगाफाटो, र खर्चको मामलामा निकै मितव्ययी छन्। चाहे त्यो लुगा होस्, मोजा होस्, वा जुत्ता होस्, उनले तिनलाई धेरै लामो समयसम्म लगाउँछन्; ती फाट्दासमेत, उनलाई ती फ्याँक्न मन लाग्दैन, बरु उनी तिनलाई टाल्छन् र लगाइरहन्छन्। उनी पैसाको मामलामा अत्यन्तै मितव्ययी छन्। यद्यपि, मण्डलीको कामका लागि आवश्यक पर्ने औजार र उपकरणहरूका लागि, ब्रदरले सधैँ मानिसहरूलाई राम्रो गुणस्तर र उचित मूल्य भएका कुराहरू किन्न लगाउँछन्, र पैसा बचाउनका लागि मात्रै कमसल उत्पादनहरू किन्न दिँदैनन्। मण्डलीको कामका लागि उनले यसरी पैसा खर्च गर्छन्। आफ्ना लागि सामानहरू किन्ने सन्दर्भमा, उनले सस्तो कुराहरू किन्छन्; ती लगभग प्रयोग गर्न योग्य छन् भने हुन्छ। कहिलेकाहीँ, कतिपय प्रेमपूर्ण र परोपकारी दाजुभाइ तथा दिदीबहिनीहरूले ब्रदर काममा निकै व्यस्त र निकै थकित भएको देख्छन्, र उनको शरीरलाई पोषण दिन स्वास्थ्यवर्धक कुराहरू किन्नका लागि उनलाई गोप्य रूपमा पैसा दिन्छन्। ब्रदरले भन्छन्, “म तिम्रो असल अभिप्रायको कदर गर्छु। मेरो स्वास्थ्य राम्रो छ र मलाई यो पैसा चाहिँदैन। यदि तिमी भेटी चढाउन चाहन्छौ भने, त्यो परमेश्वरलाई नै चढाऊ र मण्डलीलाई देऊ। व्यक्तिगत रूपमा, मलाई कुनै कुराको कमी छैन, त्यसैले तिमीले मलाई पैसा दिनु पर्दैन।” ब्रदरले अरूले उनलाई दिएको पैसा कहिल्यै स्वीकार गर्दैनन्। उनी भन्छन्, “काम गर्दा र परमेश्वरको सेवा गर्दा, मैले कुनै पनि व्यक्तिगत मानिसको सेवा गरिरहेको हुँदिनँ, न त मैले कसैको चापलुसी गर्न नै यसो गरिरहेको हुन्छु। म त केवल परमेश्वरको सेवा गर्ने व्यक्ति हुँ।” उनले त्यस्तो पैसा कहिल्यै स्वीकार गर्दैनन्; उनले मानिसहरूलाई ती पैसा मण्डलीलाई सुम्पन लगाउँछन्। कहिलेकाहीँ दाजुभाइ तथा दिदीबहिनीहरूले उनलाई पैसा दिन जिद्दी गर्छन्। त्यो प्राप्त गरेपछि, ब्रदरले त्यो पैसा आफू त्यतिबेला जुन मण्डलीमा छन् त्यही मण्डलीमा राख्छन्, र मानिसहरूलाई त्यसलाई भेटीको रकमको रूपमा सुरक्षित राख्न र खातामा अभिलेख गर्न लगाउँछन्। आर्थिक खाताहरूको हकमा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले तिनलाई स्पष्ट राख्न सचेत प्रयास गर्छन्। एउटा कुरा के हो भने, उनले दाजुभाइ तथा दिदीबहिनीहरूले उनलाई दिएको पैसा स्वीकार गर्दैनन्। अर्को कुरा, परमेश्वरको सेवा गर्ने व्यक्तिको रूपमा र परमेश्वरको घरको अगुवाको रूपमा, उनले दाजुभाइ तथा दिदीबहिनीहरूले परमेश्वरलाई चढाउने पैसा अर्थात् भेटीहरूलाई उचित रूपमा व्यवस्थापन गर्छन्; उनले ती सबैलाई मण्डलीको सामान्य कामको खर्चमा प्रयोग गर्न लगाउँछन्, र दुष्ट मानिसहरू वा ख्रीष्ट विरोधीहरूलाई त्यसको दुरुपयोग गर्न दिँदैनन्, न त ठूलो रातो अजिङ्गरलाई नै त्यो हत्याउन दिन्छन्। यसबाहेक, उनले भेटीहरूलाई राम्ररी व्यवस्थापन गर्न र खाताहरू स्पष्ट छन् भन्ने कुरा सुनिश्चित गर्नका लागि उपयुक्त मानिसहरूको प्रबन्ध गर्छन्। उनी भन्छन्, “यी भेटीका रकमहरू दाजुभाइ तथा दिदीबहिनीहरूले परमेश्वरलाई चढाएका भेटी हुन्; ती मण्डलीलाई चढाइएका होइनन्, न त ती अगुवाहरू वा कुनै व्यक्तिलाई नै चढाइएका हुन्। ती परमेश्वरलाई चढाइएका हुनाले, ती भेटीहरू हुन् र ती परमेश्वरको पैसा हुन्; परमेश्वरको सेवा गर्नेहरूले तिनलाई राम्ररी व्यवस्थापन गर्नुपर्छ र उचित रूपमा सुरक्षित राख्नुपर्छ, र तिनलाई परमेश्वरको घरको काम अघि बढाउनमा खर्च गर्नुपर्छ। तिनीहरूले खर्च गर्नुपर्ने पैसा खर्च गर्नुपर्छ र खर्च गर्न नहुने पैसा खर्च गर्नु हुँदैन, र यी भेटीका रकमहरूलाई सिद्धान्तहरूअनुसार खर्च गर्नुपर्छ, साथै हरेक खर्च परमेश्वरको घरको कामलाई सुरक्षित राख्न र परमेश्वरको घरका हितहरूलाई सुरक्षित राख्नका लागि प्रयोग गरिएको छ भनेर सुनिश्चित गर्नुपर्छ। यसरी, मेरो जिम्मेवारी पूरा हुन्छ।” कतिपय मानिसहरूले उनलाई केही प्रेम देखाउने, उनको ख्याल राख्ने र उनलाई पैसा दिने चाहना राख्ने कुराको हकमा, उनले कहिल्यै पनि त्यो स्वीकार गर्दैनन्। उनले त्यो स्वीकार नगर्नुको कारण के हो? उनी भन्छन्, “परमेश्वरले मलाई जे प्रदान गर्नुभएको छ, त्यो पर्याप्त छ। खाना, लुगाफाटो, दैनिक आवश्यकताहरू, र बासस्थानको हकमा, परमेश्वरले दिनुभएको अनुग्रह नै प्रशस्त र प्रचुर छ। मलाई थप इनाम वा आम्दानी चाहिँदैन, न त मलाई दाजुभाइ तथा दिदीबहिनीहरूले चढाएका भेटीहरूको आनन्द लिनु नै आवश्यक छ।” उनको दृष्टिकोण यस्तो छ। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्वरको सेवा गर्ने क्रममा, मण्डलीको भेटीको रकमको हकमा, उनले आफ्ना लागि व्यक्तिगत सरसामानहरू किन्नका लागि कहिल्यै पनि मण्डलीको भेटीको रकम खल्तीमा हालेका छैनन्, र उनले परमेश्वरका भेटीहरूलाई कहिल्यै पनि आफ्नो भनेर लिएका छैनन् र तिनलाई आफ्नै बैङ्क खातामा जम्मा गरेका छैनन्। त्यसैले तिमीहरू पूर्ण रूपमा ढुक्क हुन सक्छौ: पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरलाई चढाउने भेटीहरूलाई कहिल्यै पनि आफ्नो भनेर लिनेछैनन्; उनले तिनलाई आफ्नो निजी सम्पत्ति बनाउनेछैनन्। उनको आफ्नै दैनिक खर्चहरूको हकमा, ती सबै परमेश्वरले प्रदान गर्नुभएका कुरा हुन् र पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको रूपमा उनले आनन्द लिनुपर्ने कुराहरू हुन्। “उनले आनन्द लिनुपर्ने कुराहरू” भन्नुको अर्थ के हो? यसको अर्थ उनले यी कुराहरूको आनन्द लिनु भनेको कुनै विलासी चाहना होइन, र सबैले यो कुरा बुझ्न सक्छन्; यी आनन्दका सबैभन्दा साधारण रूपहरू हुन्। यी कुराहरूको हकमा उनका मागहरू उच्च छैनन्। उनको वर्तमान जीवनस्तर तीसदेखि पचास वर्षअघिको भन्दा धेरै राम्रो छ भन्ने उनलाई लाग्छ। उनीसँग पर्याप्त खाना र लुगाफाटो छ, र उनी घरमा पाकेको साधारण खाना खान्छन्, र त्यो खाना उनलाई सबैभन्दा स्वादिष्ट लाग्छ। वास्तवमा, उनको दैनिक जीवनमा खाना, लुगाफाटो, दैनिक आवश्यकताहरू, र बासस्थानको खर्च बढीमा अमेरिकी मध्यम वर्गको स्तरमा छ, वा त्यो स्तरसम्म पनि पुग्दैन। एउटा कुरा के हो भने, उनी स्वयम् दैहिक मोजमज्जाको पछि लाग्दैनन् र सुखसुविधाको लालसा गर्दैनन्। उनको दैनिक जीवन मुख्यतया परमेश्वरको सेवा गर्ने सबै काम र मामलाहरूमा नै केन्द्रित हुन्छ। उनी विलासी रेस्टुरेन्टहरूमा जाँदैनन् र विलासी होटेलहरूमा बस्दैनन्, अझ उनले विलासी पानीजहाजको यात्रा त कहिल्यै गरेका छैनन्, र उनले रमणीय ठाउँहरू वा ऐतिहासिक स्थलहरूको यात्रा गरेका छैनन्; उनले यी कुराहरूमा कहिल्यै पैसा खर्च गरेका छैनन्। यसका साथै, आफ्ना व्यक्तिगत सरसामानहरूका लागि, उनले बढीमा अमेरिकी स्वदेशी ब्रान्डका लुगाफाटो वा दैनिक आवश्यकताका सामानहरू किन्छन्। सामानहरू किन्ने हकमा उनको दृष्टिकोण र सिद्धान्त भनेको कहिल्यै पनि उच्च मूल्य नतिर्नु हो। उनले कुनै राम्रो कुरा लगाउँदा वा कुनै राम्रो कुरा खाँदासमेत, त्यो मैले उनका लागि प्रबन्ध गरिदिएको कुरा हुन्छ। वा कुनै दाजुभाइ वा दिदीबहिनीले उनलाई ब्रान्डको घडी किनिदिएको, राम्रो टोपी किनिदिएको, राम्रो छालाको जुत्ता किनिदिएको, वा राम्रो सुट किनिदिएको हुन सक्छ। ब्रदर मुख्यभूमि चीनमा हुँदा, उनले निकै राम्रो गुणस्तरको सुट किनेका थिए। सबैभन्दा जाडो यामका केही दिनहरूबाहेक, उनले प्रायजसो वर्षभरि नै त्यो लगाउँथे, र यतिका वर्षहरूपछि पनि, उनीसँग अझै त्यो सुट छ। पछि, कतिपय दाजुभाइ तथा दिदीबहिनीहरूले उनलाई केही ब्रान्डका सुटहरू किनिदिए। आफूलाई त्यति धेरै चाहिँदैन भन्ने लागेर, उनले उच्च स्तरको कपडाबाट बनेको एउटा सुट एक जना अगुवालाई दिए। उनी विशेष गरी मितव्ययी व्यक्ति हुन्; उनको दैनिक जीवनको जुनसुकै पक्ष भए पनि, उनी आफ्नो खर्चको मामलामा निकै सिद्धान्तनिष्ठ छन्। बाहिरी रूपमा, यी व्यक्ति आफूले खाने र लगाउने कुराको बारेमा त्यति धेरै वास्ता गर्दैनन् जस्तो देखिन्छ, तर वास्तवमा, उनले यी सबै कुराहरू बुझ्छन्। लुगाका कुन शैलीहरू व्यक्तिलाई मर्यादित र भद्र देखाउने खालका मानक र परम्परागत किसिमका छन्, र कुन-कुन शैलीहरू अनौठो र अपारम्परिक छन्—उनलाई यो सबै थाहा छ। उनले खाना, लुगाफाटो, र मोजमज्जामा ध्यान मात्रै नदिएका हुन्।
मण्डलीमा, कतिपय प्रेमपूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले प्रायजसो पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसका लागि केही राम्रा कुराहरू किनिदिन्छन्। प्रायजसो, उनले यी कुराहरू आफ्नो वरिपरि रहेका, खाँचोमा परेका र निष्कपटताका साथ आफूलाई अर्पण गर्ने दाजुभाइ तथा दिदीबहिनीहरू र अगुवा र कामदारहरूलाई दिन्छन्। यदि केही खानेकुरा छ भने, उनले त्यो सबैलाई सँगै खानका लागि अतिथि सत्कारक परिवारहरूलाई दिन्छन्; यदि लुगाफाटो छ भने, उनले ती सीधै आफ्नो वरिपरि रहेका, लुगाफाटोको कमी भएका दाजुभाइहरूलाई दिन्छन्। उनले व्यक्तिगत रूपमा निकै कम कुराको आनन्द लिन्छन्। पैसा, फाइदाहरू, र भौतिक मोजमज्जाको हकमा, उनी निकै होसियार छन्। उनले मुख्यभूमि चीनमा काम गरेको समयमा, कहिलेकाहीँ, भेलापछि, उनले हतार-हतार अर्को ठाउँमा जानका लागि गाडी चढ्नुपर्थ्यो। उनी पुग्दा खाना खाने समय बितिसकेको हुने हुनाले, उनी बसपार्क नजिकैको खानाको पसलमा चाउचाउ, राइस नुडल्स, वा फ्राइड नुडल्स खान्थे, र यसैलाई राम्रो खाना मानिन्थ्यो। कतिपय मानिसहरूले मासु नभएका परिकारहरू देखेर नाक खुम्च्याउँथे र खान अस्वीकार गर्थे, र भुटेका परिकारहरू पनि खान चाहन्थे, जबकि कतिपय मानिसहरूले बियरसमेत पिउँथे, तर ब्रदरलाई सडकको खाना खानु नै निकै राम्रो लाग्थ्यो। हेर त, उनले कहिल्यै पनि प्रख्यात परिकार वा स्वादिष्ट खानाहरू खाने कुरामा ध्यान दिँदैनन्, र उनी आफू कुनै उच्च वर्गको व्यक्ति हुँ र आफूले आफ्नो हैसियत सुहाउँदो कुराहरू खानुपर्छ भनेर कहिल्यै विश्वास गर्दैनन्। उनले कहिल्यै पनि यसरी सोच्दैनन्; उनी त केवल परमेश्वरको सेवा गर्ने व्यक्ति हुन्, केवल एक साधारण व्यक्ति हुन् भन्ने उनलाई लाग्छ। उनी भन्छन्, “यदि परमेश्वरले मलाई उच्च नपार्नुभएको भए, म केवल शारीरिक श्रम गर्ने व्यक्ति हुनेथिएँ, र कसैले पनि मेरो त्यति वास्ता गर्नेथिएन। मण्डलीमा, परमेश्वरले मलाई उच्च पार्नुभएकोले मात्रै मैले उहाँको सेवा गर्ने र मण्डलीलाई अगुवाइ गर्ने र दाजुभाइ तथा दिदीबहिनीहरूलाई अगुवाइ गर्ने उहाँको कार्यभार स्वीकार गर्ने अवसर पाएको छु। परमेश्वरको घरमा मेरो हैसियत उच्च छ; सबैले मेरो कुरा सुन्छन् र मलाई उच्च सम्मान गर्छन्। म मूल्यवान् छु र मेरो महत्त्व छ जस्तो देखिन्छ, तर वास्तवमा, म एक साधारण व्यक्ति मात्र हुँ; म केही पनि होइन, र मसँग घमण्ड गर्ने कुनै कुरा छैन।” उनले बारम्बार यसो भन्छन्। यसबाहेक, बीस वर्षअघि उनी सधैँ यस्तो विचार गर्थे, “परमेश्वरले म जस्तो व्यक्तिलाई किन प्रयोग गर्नुहुन्छ? म त एक साधारण व्यक्ति मात्र हुँ।” उनलाई आफू जति धेरै साधारण छु भन्ने लाग्छ, उनलाई परमेश्वरले मलाई उच्च पार्दै हुनुहुन्छ, र यसरी मात्रै मैले परमेश्वरको कार्यभार स्वीकार गर्ने र परमेश्वरको सेवा गर्ने यो अवसर पाउन सकेको हुँ भन्ने त्यति नै धेरै लाग्छ। उनले जति धेरै यसरी सोच्छन्, उनी त्यति नै धेरै कृतज्ञ हुन्छन्, उनी परमेश्वरप्रति त्यति नै धेरै आभारी हुन्छन्, र उनलाई परमेश्वरले मलाई असाधारण रूपमा उच्च पार्दै हुनुहुन्छ भन्ने त्यति नै धेरै लाग्छ। तसर्थ, उनले बारम्बार दाजुभाइ तथा दिदीबहिनीहरूलाई भन्छन्, “म एक भ्रष्ट व्यक्ति मात्र हुँ, एक साधारण व्यक्ति मात्र हुँ। परमेश्वरले मलाई उच्च पार्नुभएकोले मात्रै म उहाँको सेवा गर्न सक्षम भएको हुँ।” यसको तात्पर्य के हो? मानिसहरूले आफ्नो सीमा जान्नैपर्छ; तिनीहरूले के कुराको आनन्द लिनुपर्छ र के कुराको आनन्द लिनु हुँदैन—परमेश्वरको सेवा गर्ने मानिसहरूको रूपमा, तिनीहरू आफ्नो हृदयमा यसबारे स्पष्ट हुनुपर्छ। पैसा, फाइदाहरू, र भौतिक मोजमज्जाको हकमा, उनले सचेत छनौटहरू गर्छन् र सचेत अभ्यासहरू गर्छन्। म यतिका वर्षदेखि उनको सम्पर्कमा छु र मैले उनीसँग अन्तरक्रिया गरेको छु, र उनको मानवतालाई हेर्दा, मैले के देखेको छु भने यी सबै भौतिक र आर्थिक मामलाहरू, जस्तै दैहिक मोजमज्जा, जीवनयापनको खर्च, खाना, लुगाफाटो, बासस्थान, र यातायातको हकमा उनका मागहरू उच्च छैनन्। उदाहरणका लागि, यदि कसैले कुनै कुरा कति मीठो वा कति स्वादिष्ट छ भनेर भन्यो भने, उनी भन्छन्, “यसको के अर्थ छ र? कुनै कुरा जतिसुकै स्वादिष्ट भए पनि, त्यो पेटमा पुगेपछि सबै उस्तै हुन्छ। तिमीले जतिसुकै राम्रो खाए पनि, त्यो सबै व्यर्थ हुन्छ।” हेर त, उनी यस्तै प्रकारका व्यक्ति हुन्। वास्तवमा, उनलाई पनि के कुरा स्वादिष्ट हुन्छ भन्ने थाहा छ। उनले खाना, लुगाफाटो, र मोजमज्जाको बारेमा त्यति धेरै वास्ता नगर्नुको अर्थ उनले यी कुराहरू बुझ्दैनन् भन्ने होइन, अझ उनी मूर्ख छन् भन्ने त झन् हुँदै होइन—तिमीले उनलाई मूर्ख ठान्नु हुँदै हुँदैन। कतिपय मानिसहरूले यसो भन्छन्, “उनी त केवल मूर्ख र सीधासादा छन्, र उनले धेरै संसार देखेका छैनन्।” तिमीले धेरै संसार देखेका छौ होला, तर यदि तिमीसँग हैसियत भएको भए, तिमीले खाना, लुगाफाटो, र मोजमज्जाको बारेमा विशेष ध्यान दिनेथियौ, र तिमीले विदेशी स्वादिष्ट परिकारहरू खानेथियौ र उच्च स्तरका लुगाहरू लगाउनेथियौ; तिमीले आफूले आनन्द लिनुपर्ने कुराको दायरा नाघ्नेथियौ, र विवेकले तिमीलाई दोष नदिईकन, अर्थहीन, असीमित, र सिद्धान्तविहीन तरिकाले कुराहरूको आनन्द लिनेथियौ। हेर त, के मानिसहरू एकअर्काभन्दा फरक हुँदैनन् र? (हुन्छन्।) कतिपय मानिसहरूले हैसियत प्राप्त गरेपछि, तिनीहरू निकै उच्च स्तरका रेस्टुरेन्टहरूमा जान्छन्, र कुन रेस्टुरेन्टहरूमा विदेशी स्वादिष्ट परिकारहरू पाइन्छ र कुन प्रख्यात सेफहरूले राम्रो पकाउँछन् भनेर बारम्बार सोधपुछ गर्छन्; र किनमेल गर्न जाँदा, तिनीहरू सधैँ प्रख्यात भोजनालय र पेस्ट्री पसलहरूमा जान्छन्। ब्रदरले प्रायजसो पेस्ट्रीहरू खाँदैनन्; विशेष परिस्थितिहरूमा उनी भोको हुँदा, उनले भोक मेटाउन अलिकति खान सक्छन्। उनले कहिल्यै पेस्ट्रीहरू किन्दैनन्, न त उनले कुन खानेकुराहरू प्रख्यात परिकार हुन् भनेर कहिल्यै सोधपुछ नै गर्छन्। धेरै अगुवा र कामदारहरूले हैसियत प्राप्त गरेपछि, तिनीहरूले गर्ने पहिलो कुरा भनेको आफ्ना लागि कुराहरूको पूर्ण सेट तयार गर्नु हो। तिनीहरूले खाने, लगाउने, बस्ने, र प्रयोग गर्ने कुराहरू सबै तिनीहरूको पहिचान र हैसियतसँग मेल खाने हुनुपर्छ, र ती सबै उच्च स्तरका र उत्कृष्ट गुणस्तरका हुनुपर्छ। तिनीहरूले सधैँ कुन कुराहरू प्रयोग गर्नका लागि सबैभन्दा राम्रा छन्, कुन खाना सबैभन्दा स्वादिष्ट छ, र कुन कुराहरू सबैभन्दा महँगा छन् भनेर सोधपुछ गर्छन्, र त्यो थाहा पाएपछि, तिनीहरूले ती कुराहरू प्राप्त गर्ने उपायहरू सोच्छन्। तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरलाई चढाउने भेटीहरूलाई आफ्नो भनेर लिन्छन्, र तिनलाई आफूले चाहेजसरी प्रयोग गर्छन् र आफूले चाहेजसरी खर्च गर्छन्। तिनीहरूले हैसियत प्राप्त गरेपछि, तिनीहरूलाई यस्तो लाग्छ, “परमेश्वरको पैसा मेरो हो, र मेरो पैसा पनि परमेश्वरको हो। म स्वयम् परमेश्वरको हुँ, त्यसैले मैले परमेश्वरको पैसा लिन सक्छु र त्यसलाई आफूले चाहेजसरी खर्च गर्न सक्छु। यदि परमेश्वरले त्यो खर्च गर्न सक्नुहुन्न भने, म उहाँको लागि त्यो खर्च गरिदिनेछु।” तिनीहरू आफैले निर्णय गर्ने जिम्मा लिन्छन्। के यस्ता मानिसहरू ठूलो खतरामा हुँदैनन् र? (हुन्छन्।) परमेश्वरको सेवा गर्ने क्रममा हैसियत प्राप्त गरेपछि, तिनीहरूले गर्ने पहिलो कुरा भनेको भेटीहरूमाथि आँखा गाड्नु हो, र तिनीहरूले यस्तो विचार गर्छन्, “हाम्रो मण्डलीसँग कति पैसा छ? पैसा कसले सुरक्षित राखिरहेको छ? के पैसा सुरक्षित राख्ने व्यक्तिले मेरो कुरा सुन्छ? मैले पहिले पैसाको केही भाग लिनुपर्छ र त्यसलाई आफूसँग राख्नुपर्छ; त्यसरी मलाई त्यो खर्च गर्न सजिलो हुनेछ—मैले काम गर्नुपर्छ! मसँग अहिले हैसियत छ, र म परमेश्वरको सेवा गर्ने व्यक्ति हुँ। मेरा कुनै पनि लुगा, पेटी, वा छालाका जुत्ताहरू ब्रान्डका होइनन्, मेरो कम्प्युटर र मोबाइल फोन दुवै पुराना छन्, मेरो कोठाका कुनै पनि फर्निचर रोजउडका होइनन्, र मैले प्रयोग गर्ने कुनै पनि सिरकहरू सक्कली रेशमका होइनन्। के यी सबै कुराहरू बदल्नु पर्दैन र? के यी कुराहरूलाई पूर्ण रूपमा नयाँ रूप दिनु पर्दैन र?” तिनीहरू खाना, लुगाफाटो, र मोजमज्जाको बारेमा निकै ध्यान दिने बन्छन्। मलाई भन त, के यस्ता मानिसहरूले परमेश्वरको सेवा गर्न सक्छन्? के तिनीहरू सित्तैमा खान खोज्ने अल्छीहरू मात्र होइनन् र? अमेरिकामा, गैरविश्वासीहरूले व्यापार सञ्चालन गर्दा, साहूको कार्यालय नै सानो र साधारण हुने गर्छ। यद्यपि, चिनियाँ मानिसहरूले व्यापार सञ्चालन गर्दा, त्यो खुल्नुभन्दा अघि नै, तिनीहरूले गर्ने पहिलो कुरा भनेको साहूको कार्यालय सजाउनु हो, र त्यसलाई दरबारजस्तो देखिने गरी सजाउँछन्; त्यहाँ चिया पस्कने सुन्दर महिलाहरू, र तिनीहरूको सेवा गर्ने विशेष कर्मचारीहरू पनि हुन्छन्—तिनीहरू भव्य प्रदर्शन गर्ने कुरामा विशेष ध्यान दिने बन्छन्। मण्डलीका कतिपय झूटा अगुवा र झूटा कामदारहरूले पनि यस्तै दयनीय व्यवहार गर्छन्। कतिपय मानिसहरू अगुवा वा कामदारसमेत हुँदैनन्, तर कामको एउटा पक्षको लागि मात्र जिम्मेवार हुन्छन्, तैपनि तिनीहरूले विशेष व्यवहारको आनन्द लिन चाहन्छन्। तिनीहरू बाहिर जाँदा, तिनीहरूले आफ्नो विशेष प्रयोगको लागि गाडी पठाइनुपर्छ भनेर माग गर्छन्, र भन्छन्, “यदि तिमीहरू मलाई काम गराउन चाहन्छौ भने, तिमीहरूले मेरो विशेष प्रयोगका लागि गाडी पठाउनैपर्छ। म गाडीविना बाहिर जान सक्दिनँ। गाडीविना, मैले कसरी काम गर्न सक्छु?” तिनीहरू पुराना गाडीहरूलाई हेलासमेत गर्छन्, र यस्तो सोच्छन्, “के तिमीहरूलाई मेरो मूल्य कति छ भन्ने थाहा छ? के तिमीहरूलाई मैले सम्हाल्ने मामलाहरू कति महत्त्वपूर्ण छन् भन्ने थाहा छ? तिमीहरूले मलाई एउटा राम्रो सेडान गाडी उपलब्ध गराउनैपर्छ; त्यसमा नेभिगेसन र एयर कन्डिसनिङ हुनैपर्छ।” तिनीहरूका मागहरू निकै उच्च हुन्छन्। तिनीहरूका धेरै विलासी चाहनाहरू हुन्छन्, र तिनीहरूले जुनसुकै माग गर्न पनि आँट गर्छन्। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस पैसा र भौतिक मोजमज्जाको हकमा निकै होसियार छन्। उनले आफ्नो दैनिक जीवनलाई कडाइका साथ नियमन गर्छन् र आफूसँग कडाइका साथ केही कुराहरूको माग पनि गर्छन्। पहिलो, पैसाको कुरामा उनले कुराहरू स्पष्ट राख्नैपर्छ। उनले परमेश्वरका भेटीहरूलाई आफूले चाहेजसरी उडाउन र आफूले चाहेजसरी प्रयोग गर्न, र विलासी रूपमा खर्च गर्नका लागि आफ्नो तलवको रूपमा पटक्कै लिनेछैनन्—उनले पटक्कै यसो गर्नेछैनन्। यसबाहेक, उनी भेटीहरूको व्यवस्थापन र प्रयोगको हकमा पनि असाधारण रूपमा कडा छन्। ब्रदरले मण्डलीका सबै प्रशासनिक क्षेत्रहरूमा भेटीहरू व्यवस्थापन गर्नका लागि उपयुक्त मानिसहरूको प्रबन्ध गरिनुपर्छ भनेर प्रावधान बनाएका छन्। विशेष गरी, उनको पहुँच पुग्ने दायराभित्र, उनले व्यक्तिगत रूपमा भेटीहरू व्यवस्थापन गर्नका लागि मानिसहरूको प्रबन्ध गर्छन्। उनले सधैँ के भन्छन्? “भेटीका रकमहरू परमेश्वरका भेटीहरू हुन्। यदि हामीले तिनलाई राम्ररी व्यवस्थापन गरेनौँ र तिनलाई ठूलो रातो अजिङ्गरले हत्यायो भने, यो मानवको रूपमा हामी आफ्नो कर्तव्यमा चुक्नु हो, र यो हाम्रो जिम्मेवारी पूरा गर्नमा हामीले ल्याएको असफलता हो; यो सबैभन्दा ठूलो अपराध हो। यसबाहेक, यदि हामीले सिद्धान्तहरूअनुसार भेटीहरू व्यवस्थापन गर्न सकेनौँ र भेटीहरूलाई मण्डलीको काममा प्रयोग गरेनौँ भने, वा यदि हाम्रो लापरवाही र अनुचित व्यवस्थापनले परमेश्वरका भेटीहरूमा नोक्सानी पुर्यायो र कामलाई असर गर्यो भने, यो हाम्रो जिम्मेवारी हो, र हामी परमेश्वरप्रति ऋणी हुन्छौँ।” के तिमीहरूले ब्रदरले यी कुराहरू भनेको कहिल्यै सुनेका छौ? (सुनेका छौँ।) धेरैजसो साधारण दाजुभाइ तथा दिदीबहिनीहरूले सायद ती सुनेका छैनन् होला, तर अगुवा र कामदारहरूले यी कुराहरू सुनेको हुनुपर्छ। एउटा कुरा के हो भने, उनले आफै यसो गर्छन्; अर्को कुरा, उनले तिमीहरूलाई सिकाउँछन् र तिमीहरूलाई यसरी नै काम गर्न मार्गदर्शन गर्छन्। ब्रदरले यी कुराहरू भन्दा यो तिमीहरूका लागि उपयोगी हुन्छ। सायद तिमीहरूसँग भेटीहरू राम्ररी व्यवस्थापन गर्ने सङ्कल्प छ र ब्रदरले भनेका यी कुराहरू तिमीहरूका लागि अलिक अनावश्यक छन् भन्ने तिमीहरूलाई लाग्छ होला, तर ब्रदरले तिमीहरूलाई सम्झाउँछन् र तिमीहरूलाई छानबिन गर्न मद्दत गर्छन्, र यसरी तिमीहरूले कम गल्तीहरू गर्न सक्छौ। यो पनि सम्भव छ कि तिमीहरूले भेटीहरूलाई कसरी राम्ररी व्यवस्थापन गर्ने भन्ने पटक्कै बुझेका छैनौ, र परमेश्वरप्रतिको तिमीहरूको सेवामा, तिमीहरूलाई भेटीहरूको व्यवस्थापनसम्बन्धी मामलाहरूको बारेमा अलिकति पनि चेतना छैन। त्यस्तो अवस्थामा, जब ब्रदरले यस कुराका मामलाहरूमा तिमीहरूसँग सङ्गति गर्छन्, तब तिमीहरूले ध्यान दिएर सुन्नुपर्छ र सिक्नमा आफ्नो हृदय लगाउनुपर्छ; तिमीहरूले उनका कुराहरूलाई एक कानले सुनेर अर्को कानले उडाउनु हुँदैन।
भेटीहरू व्यवस्थापन गर्नु भनेको परमेश्वरको सेवा गर्ने, परमेश्वरको घरको कामलाई सुरक्षित राख्ने, र परमेश्वरका हितहरूलाई सुरक्षित राख्ने एउटा निकै महत्त्वपूर्ण काम हो। यो प्रशासनिक कामको एउटा पक्ष भए तापनि, परमेश्वरको सेवा गर्ने व्यक्तिको रूपमा, तिमीले यस कामको महत्त्वलाई बुझ्नैपर्छ र यसलाई गम्भीरताका साथ लिनैपर्छ। मानौँ, तिमीलाई सधैँ यस्तो लाग्छ, “ती परमेश्वरका भेटीहरू हुन्—हामीसँग तिनको के सरोकार छ र? तिनलाई मण्डलीको काम गर्नका लागि प्रयोग गरिन्छ; ती हामीलाई दिइएका होइनन्, र त्यो पैसा हाम्रो खल्तीमा आउनेछैन, न त खर्च गर्नका लागि हामीलाई एक पैसा नै दिइनेछ। तसर्थ, यो पैसा कसले प्रयोग गर्छ, कसले प्रयोग गर्दैन, यसलाई कसरी प्रयोग गरिन्छ, यसलाई उचित रूपमा प्रयोग गरिएको छ कि छैन, कुनै नोक्सानी भएको छ कि छैन, र कति नोक्सानी भएको छ—हामीसँग यी कुनै पनि कुराको केही सरोकार छैन। हामी ती कुराहरूको वास्ता गर्दैनौँ। हामी केवल मण्डलीलाई राम्ररी मलजल गर्नेछौँ र आफ्नै काम राम्ररी गर्नेछौँ, त्यति भए पुग्छ।” भेटीहरूलाई कसरी व्यवस्थापन गर्ने, तिनलाई उचित रूपमा व्यवस्थापन गरिएको छ कि छैन, कुनै नोक्सानी भएको छ कि छैन, र तिनलाई व्यवस्थापन गर्ने मानिसहरू उपयुक्त छन् कि छैनन् भन्ने कुराको हकमा, तिमीले यी कुनै पनि कुराको वास्ता गर्दैनौ, र तीमध्ये कुनै पनि कुराको सोधपुछ, सुपरिवेक्षण, वा अनुगमन गर्दैनौ। त्यसोभए, परमेश्वरको नजरमा तिम्रो सेवालाई कसरी ठहर गरिनेछ? तिम्रो लागि, परमेश्वरका हितहरू र परमेश्वरको घरका हितहरूको तिमीसँग पटक्कै कुनै सरोकार छैन; तिमीमा परमेश्वरप्रति कुनै निष्कपटता छैन र परमेश्वरप्रतिको कुनै ख्याल छैन, र तिम्रो हृदयमा परमेश्वरको लागि कुनै ठाउँ छैन—परमेश्वरले तिमीलाई मन पराउनुहुन्न। परमेश्वरका हितहरू र परमेश्वरको घरका हितहरूसँग सम्बन्धित मामलाहरूप्रति तिमीले पटक्कै वास्ता गर्दैनौ र तिमीमा कुनै निष्कपटता छैन। तिमी परमेश्वरको घरका हितहरूलाई सुरक्षित राख्ने काम कहिल्यै गर्दैनौ, तिमी आफ्ना जिम्मेवारीहरू वा दायित्वहरू पूरा गर्दैनौ, र तिमीले भेटीहरूको व्यवस्थापनलाई परमेश्वरले तिमीलाई दिनुभएको मिसनभित्रको एउटा कामको रूपमा लिएका छैनौ। त्यसैले, परमेश्वरले तिमीलाई साह्रै मन पराउनुहुन्न। परमेश्वरले तिमीलाई मन नपराउनुको अर्थ उहाँले तिमीलाई प्रयोग गर्नुहुन्न भन्ने होइन; उहाँले अझै पनि तिमीलाई प्रयोग गर्न सक्नुहुन्छ, तर उहाँमा तिमीप्रतिको त्यति धेरै राम्रो प्रभाव हुँदैन। तिमीमा परमेश्वरप्रति कुनै निष्कपटता छैन। तिम्रो लागि परमेश्वरका हितहरूको कुनै महत्त्व छैन र तिमी तिनलाई पटक्कै हृदयमा लिँदैनौ। तिमी परमेश्वरका हितहरूलाई अरू कसैका हितहरूको रूपमा समेत लिन्छौ। तिम्रो दृष्टिकोण के हो भने यो तिम्रो सरोकारको विषय होइन र तिमी केवल रमिता हेरेर बस्न सक्छौ; परमेश्वरका हितहरूमा जतिसुकै ठूलो नोक्सानी भए पनि, तिमी चिन्तित वा व्याकुल हुँदैनौ। तिमी परमेश्वरका हितहरूलाई कहिल्यै सुरक्षित राख्दैनौ। त्यसोभए परमेश्वरले तिमीलाई कसरी हेर्नुहुन्छ? तिमी भन्छौ, “म परमेश्वरप्रति निष्कपट छु,” तर परमेश्वर भन्नुहुन्छ, तिमी छली बनिरहेका छौ र तिमीले झूट बोलिरहेका छौ। तिमीले परमेश्वरको वेदीमा चढाउने कुराहरू झूट हुन्; तिमीले परमेश्वरका भेटीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेका छैनौ, र यस सम्बन्धमा तिम्रो कुनै गवाही छैन, त्यसैले परमेश्वरप्रतिको तिम्रो निष्कपटतामाथि प्रश्न उठाउनैपर्छ। तिमीले परमेश्वरको कार्यभारप्रति आफ्नो सम्पूर्ण शरीर र मन समर्पित गरिरहेका छैनौ। के कुरा यही होइन र? (हो।) हेर त, के मानिसहरूका लागि परमेश्वरका मागहरू उच्च छन्? परमेश्वरले सबै पक्षहरूमा तिम्रो निष्कपटताको जाँच गर्नुहुन्छ। परमेश्वरले उहाँप्रतिको र परमेश्वरको घरका हितहरूप्रतिको तिम्रा विचार, दृष्टिकोण, र मनोवृत्ति, साथै तिम्रा वास्तविक कार्यहरूमार्फत तिम्रो निष्कपटताको जाँच गर्नुहुन्छ। उहाँले यी कुराहरू उहाँको सेवा गर्ने व्यक्तिको रूपमा तिमी मानकअनुरूप छौ कि छैनौ भनेर नाप्नका लागि प्रयोग गर्नुहुन्छ, र साथै तिमीले अन्ततः मुक्ति हासिल गर्न सक्छौ कि सक्दैनौ, तिमी उहाँले खोजिरहनुभएको उहाँका अभिप्रायहरू अनुरूप हुने र उहाँका अभिप्रायहरूलाई ख्याल गर्ने प्रकारको व्यक्ति हौ कि होइनौ, र तिमी उहाँले सिद्ध पार्न चाहनुभएको प्रकारको व्यक्ति हौ कि होइनौ भनेर नाप्न पनि प्रयोग गर्नुहुन्छ। परमेश्वरले तिम्रा नाराहरू सुन्नुहुन्न, र उहाँले तिमीले व्यक्त गर्ने सङ्कल्पहरू सुन्नुहुन्न; परमेश्वरले तिम्रा वास्तविक कार्यहरू हेर्न चाहनुहुन्छ।
पहिले मुख्यभूमि चीनमा, मण्डलीको काम गर्दा, कतिपय अगुवा र कामदारहरूले मनोमानी ढङ्गले भेटीहरू उडाए, र परमेश्वरका भेटीहरूलाई अनुमतिविना मोटरसाइकलहरू किन्नसमेत प्रयोग गरे; तिनीहरू निर्लज्ज भई ती चढेर हिँड्थे। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले कहिल्यै पनि मोटरसाइकल वा गाडी किनेका छैनन्; उनले केही साइकल र तीनपाङ्ग्रे साइकलहरू मात्र किनेका छन्। मण्डलीको काम गरेको यतिका वर्षहरूमा, ब्रदरले आफ्नो लागि कहिल्यै कुनै विलासिताका सामानहरू किनेका छैनन्, न त उनले कुनै उच्च-स्तरीय सञ्चार उपकरणहरू नै किनेका छन्। जब औसत व्यक्तिसँग अलिकति हैसियत हुन्छ, तब उसले पहिले आफ्नै लागि फाइदाहरू खोज्छ, हैसियतका फाइदाहरूको आनन्द लिन्छ—मीठो खानेकुरा खाने, राम्रो लुगा लगाउने, र राम्रा कुराहरू प्रयोग गर्ने काम गर्छ। ब्रदरले यस्तो कहिल्यै गरेका छैनन्। मैले केही पटक मण्डलीका अगुवा र कामदारहरूले ब्रदरकहाँ भेटीको रकम ल्याएको देखेँ, र उनले सधैँ त्यो पैसा भेटीको रकम व्यवस्थापन गर्ने जिम्मेवारी पाएका मानिसहरूलाई सुम्पन भन्थे। ब्रदरले कहिल्यै पनि व्यक्तिगत रूपमा पैसा व्यवस्थापन गर्दैनन्, तर उनले भेटीहरू व्यवस्थापन गर्ने सिद्धान्तहरूका बारेमा अगुवा र कामदारहरूसँग बारम्बार सङ्गति गर्छन्, जस्तै तिनलाई कहाँ प्रयोग गर्नु सबैभन्दा उपयुक्त हुन्छ त्यो कुरा, र यदि गलत प्रयोग वा दुरुपयोगका कुनै घटनाहरू पत्ता लागेमा, तिनको रिपोर्ट गरिनुपर्छ र तिनलाई निराकरण गरिनुपर्छ। भेटीहरू व्यवस्थापन गर्ने मानिसहरू छान्ने सिद्धान्तहरूका सम्बन्धमा, ब्रदरले प्रायजसो के भन्छन् भने, यसका लागि धेरै भेटी चढाउने वा अरूलाई मद्दत गर्न र दिन मन पराउने दाजुभाइ तथा दिदीबहिनीहरूलाई छान्नुपर्छ, किनभने यी मानिसहरू तुलनात्मक रूपमा भरपर्दा हुन्छन्। ब्रदरबाहेक, मैले भेटीहरूलाई यति कडाइका साथ व्यवस्थापन गर्ने अरू कसैलाई कहिल्यै देखेको छैनँ। धेरैजसो मानिसहरूले यस्तो सोच्छन्, “परमेश्वरको घरसँग विशाल सम्पत्ति छ। यो सबै पैसा सित्तैमा आउँछ; यसलाई कमाउनका लागि कसैले कडा परिश्रम गर्नु पर्दैन। जब तिमी अगुवा वा कामदार बन्छौ, तब तिमीले यसलाई जसरी मन लाग्यो त्यसरी खर्च गर्न सक्छौ। यो पैसा सबैले चढाएको हो, त्यसैले यो सबैको हो।” धेरै कम मानिसहरूले मात्र यस्तो सोच्छन्, “यो पैसा परमेश्वरका भेटीहरू हो। यसको प्रकृति अन्य प्रकारका पैसाको भन्दा फरक छ। मानिसहरूले यसलाई राम्ररी व्यवस्थापन गर्नुपर्छ। यो पैसा मण्डलीको काममा प्रयोग गरिनुपर्छ र सुसमाचार प्रचार गर्ने काममा प्रयोग गरिनुपर्छ; यो कुनै पनि व्यक्तिको प्रयोगका लागि होइन।” निकै कम मानिसहरूसँग मात्र यस्तो अवधारणा हुन्छ। हेर त, ब्रदरले भेटीको रकमलाई यसरी नै होसियारी र सावधानीपूर्वक सम्हाल्छन्, र उनले तिनलाई यति कडाइका साथ व्यवस्थापन गर्छन्। यदि कसैले भेटीहरू हिनामिना गरेको वा उडाएको कुरा उनले सुने भने, उनी निकै आक्रोशित हुन्छन्; उनले भेलाहरूमा उसलाई काटछाँट गर्नेछन्, र यस प्रकारको कुराको प्रकृति र यसका परिणामहरूलाई चिरफार गर्नेछन्। कतिपय मानिसहरू डराउँछन् र भेटीहरू हिनामिना गर्ने वा उडाउने आँट गर्दैनन्, तर तिनीहरू अझै पनि सकारात्मक र सक्रिय रूपमा भेटीहरू व्यवस्थापन गर्ने कार्यमा चुक्छन्। तिमीले परमेश्वरका भेटीहरूलाई कसरी सम्हाल्छौ भन्ने कुराको हकमा, यदि तिमीसँग भएको हैसियत औसत छ र तिमीले पहुँच पाउन सक्ने पैसाको रकम निकै सानो छ भने, जब तिमीलाई यो नगण्य वा थोरै मात्र उपयोगी छ भन्ने लाग्छ, तब यो तिम्रो लागि प्रलोभन नहुन सक्छ, तर यसको अर्थ यो प्रलोभन तिमीमाथि आइपर्दैन भन्ने होइन। यदि तिम्रो मानवता त्यति राम्रो छैन, तिमीमा विवेक र समझ छैन, र, विशेष गरी, भेटीहरूप्रतिको तिम्रो मनोवृत्ति गलत र गैरजिम्मेवारपूर्ण छ भने—जसले तिमीमा परमेश्वरको डर मान्ने हृदय छैन भन्ने प्रमाणित गर्छ—त्यसो हो भने, तिमी सजिलै पैसाको लोभमा फस्नेछौ र सजिलै यस प्रलोभनमा पनि पर्नेछौ। उदाहरणका लागि, मानौँ तिमी एक अगुवा वा कामदार हौ र मण्डलीहरूको भ्रमण गर्दा तिमी भेटीको रकमको सम्पर्कमा आउँछौ। यदि कुनै मण्डलीसँग भेटीको रकम एक वा दुई हजार युआन मात्र छ भने, तिमीलाई लोभ नलाग्न सक्छ, र तिमीले भन्न सक्छौ, “यी परमेश्वरका भेटीहरू हुन्। तिनलाई राम्ररी व्यवस्थापन गर्नुपर्छ, र तिनलाई मण्डलीको काममा प्रयोग गर्नुपर्छ।” तिमीले यसरी नै सोच्छौ होला, र तिमीले यसरी काम पनि गर्छौ होला। तर यदि कुनै मण्डलीसँग ठूलो मात्रामा भेटीको रकम छ, यदि त्यो दशौँ हजार वा लाखौँ युआन जति छ भने, के तिमीलाई लोभ लाग्छ? के तिमीले आफ्नो हृदयलाई नियन्त्रणमा राख्न सक्छौ अनि तिमी भेटीहरू हिनामिना वा दुरुपयोग गर्नबाट जोगिन सक्छौ? भन्न गाह्रो छ। धेरैजसो अगुवा र कामदारहरू सानो रकमका भेटीहरूको सम्पर्कमा आउँदा लोभिँदैनन्, तर रकम ठूलो हुँदा भने तिनीहरू लोभिन्छन्। विशेष गरी केही विशेष परिस्थितिहरूमा, तिनीहरूले भेटीहरूमाथि आँखा लगाउन सक्छन्—के तिनीहरूमाथि प्रलोभन आइपर्ने भनेको ठ्याक्कै यस्तै बेला होइन र? तीस वर्षअघि, हेनानको एउटा क्षेत्रमा मण्डलीको अगुवाइको काम गर्ने एक जना व्यक्ति थिए। मण्डलीले पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसलाई बुझाउनू भनेर उनलाई दश हजार युआन भेटीको रकम सुम्पियो। त्यस समयमा यो रकमलाई ठूलो धनराशि मानिन्थ्यो। पैसा पाएपछि, त्यो व्यक्तिले सोच्यो, “यदि मैले यो दश हजार युआन मेरो गृहनगरमा लगेर व्यापार गरेँ भने, दश हजार बीस हजारमा परिणत हुनेछ, बीस हजार चालीस हजारमा, र चालीस हजार असी हजारमा परिणत हुनेछ। त्यो समय आएपछि, म परमेश्वरको घरलाई दश हजार युआन फिर्ता गर्नेछु। यो त यो दश हजारलाई पूँजीको रूपमा प्रयोग गरेजस्तै हुनेछ। मैले यसलाई आफ्नै लागि हडपिरहेको हुनेछैनँ; मैले यसलाई सापटी लिइरहेको छु।” हेर त, यस्तै सक्रिय विचारहरूले नै उसलाई भेटीहरू लिएर भाग्न प्रेरित गर्यो। यो सुनेपछि, ब्रदर महाक्रोधित भए, र उनले दश हजार युआन सानो रकम होइन र यसलाई फिर्ता ल्याउने उपाय खोज्नुपर्छ भनेर भने। मण्डलीको काम यति धेरै थियो, र परमेश्वरका वचनहरूका पुस्तकहरू छाप्ने खर्च यति धेरै थियो; धेरै ठाउँमा पैसाको आवश्यकता थियो। त्यस समयमा मण्डलीका लागि दश हजार युआन अत्यन्तै महत्त्वपूर्ण थियो, र ठ्याक्कै पैसा चाहिएको बेलामा, त्यो व्यक्ति पैसा लिएर भाग्यो। कति ठूलो नोक्सान! ब्रदरले यो पैसा फिर्ता ल्याउने उपाय सोच्ने प्रयास गरे। पछि, ब्रदरले त्यस व्यक्तिसँग सङ्गति गर्न र यस विषयमा छलफल गर्न, अनि उसलाई भेटीहरू हिनामिना र दुरुपयोग गर्नुको गम्भीरता र परिणामहरूका बारेमा कुरा गर्नका लागि एक उपयुक्त व्यक्ति फेला पारे। अन्ततः, ऊ खर्च नभएको पैसा फिर्ता गर्न सहमत भयो। हेर त, जब एक औसत व्यक्तिले यो परिस्थितिको सामना गर्छ र दश हजार युआन देख्छ, तब उसलाई लोभ लाग्न सक्छ र उसले यसलाई हिनामिना र दुरुपयोग गर्ने आँट गर्न सक्छ। अनि पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले मण्डलीको काम गरेको समयमा उनको हातबाट कति पटक दश हजार युआन आए-गएको थियो? उनको हातबाट जतिसुकै पैसा आए-गएको भए पनि, उनले कहिल्यै यसो भनेका छैनन्, “म आफ्नै लागि एउटा उम्कने बाटो खुला राख्छु। म मेरो वृद्धावस्थामा आफ्नो सहाराका लागि केही पैसा राख्छु, मेरो स्वास्थ्यको हेरचाह गर्नका लागि केही पैसा राख्छु, र केही विलासिताका सामानहरू किन्छु। पछिल्लो पटक मैले आफूलाई मन परेको एउटा कुरा देखेको थिएँ, तर त्यो किन्नका लागि मसँग पर्याप्त पैसा थिएन। अहिले मसँग पर्याप्त पैसा भएकोले, म सामानहरू किन्नका लागि यसलाई राख्नेछु।” उनले यस्तो कहिल्यै गरेका छैनन्। अहिले तिमीहरूका हकमा भन्दा, तिमीहरूले परमेश्वरमा विश्वास गरेका वर्षहरू र तिमीहरूको उमेरको आधारमा, सायद तिमीहरूलाई तीस वर्षअघि घटेका धेरै कुराहरूबारे थाहा नहुन सक्छ, तर तिमीहरू सबैलाई अहिले भइरहेका कुराहरूबारे थाहा छ। उनको हातबाट परमेश्वरका जतिसुकै भेटीहरू आए-गएका भए पनि, उनले आफ्नो वृद्धावस्थाको सहाराका लागि, आफ्नो स्वास्थ्यको हेरचाह गर्न, वा आफ्नै खानपान र मनोरञ्जनमा खर्च गर्नका लागि एक पैसा पनि राखेका छैनन्। ब्रदरले तिमीहरूका सामु यो कुराको ग्यारेन्टी दिने आँट गर्छन्। यदि तिमीहरू परमेश्वरको सेवा गर्ने अगुवाहरू भएका भए, के तिमीहरूले यो कुरा हासिल गर्न सक्थ्यौ? के तिमीहरूले यो ग्यारेन्टी दिने आँट गर्थ्यौ? (अहँ।) तिमीहरूले यो हासिल गर्न सक्दैनौ, तर पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यो हासिल गरेका छन्। यति मात्र होइन, उनले आफ्ना लागि विलासी गाडीहरू, ब्रान्डका घडीहरू, वा उच्च-स्तरीय उपकरणहरू किन्नका लागि कहिल्यै पनि भेटीहरू प्रयोग गरेका छैनन्। उनले यसरी भेटीहरू कहिल्यै प्रयोग नगरेका मात्र होइन, तर परमेश्वरका भेटीहरू कसरी प्रयोग गरिनुपर्छ र तिनलाई कसरी खर्च गरिनुपर्छ भन्नेबारे निश्चित नियमहरू पनि बनाएका छन्। उनले भेटीहरूलाई असाधारण रूपमा राम्ररी व्यवस्थापन गर्छन्, र सम्भव भएसम्मको सबैभन्दा ठूलो मानव प्रयास गर्छन्—अर्थात्, उनले हासिल गर्न सक्ने र उनको पहुँचभित्र रहेको दायराभित्र, उनले भेटीहरूको सुरक्षा गर्न आफ्नो सर्वस्व दिन्छन्, र परमेश्वरका सबै भेटीहरू परमेश्वरको घरको काममा प्रयोग हुन्छन् र ती सबै सिद्धान्तहरूअनुसार प्रयोग हुन्छन् भनेर सुनिश्चित गर्छन्। साधारण विश्वासीहरूलाई यी कुराहरूबारे थाहा नहुन सक्छ, तर मण्डलीका माथिल्लो तहका अगुवा र कामदारहरूको एउटा हिस्सालाई यसबारे थाहा हुनुपर्छ। धेरै भेटी चढाउने ती दाजुभाइ तथा दिदीबहिनीहरूका सन्दर्भमा भन्दा, परमेश्वरको घरले तिनीहरूलाई सिद्धान्तहरूअनुसार नै व्यवहार गर्छ: यी दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रयोग गरिनुपर्ने बेलामा प्रयोग गरिन्छ, र तिनीहरू जुन कर्तव्य निर्वाह गर्नका लागि उपयुक्त हुन्छ तिनीहरूले त्यही कर्तव्य निर्वाह गर्छन्। ब्रदरले कसैले धेरै भेटी चढाएको भरमा अपवाद गरेर उसलाई बढुवा दिने सम्भावना नै हुँदैन। ब्रदरले यस्तो काम कहिल्यै गरेका छैनन्। बढीमा, धेरै भेटी चढाउनेहरूसँग कर्तव्यको कुनै निश्चित पक्ष गर्दा एउटा फाइदा हुन्छ: तिनीहरूका परिवारहरू तुलनात्मक रूपमा सम्पन्न हुन्छन्, र तिनीहरूले धेरै चढाएका पनि हुन्छन्—यदि मण्डलीको वरपरका क्षेत्रमा भेटीहरू सुरक्षित राख्न उपयुक्त कुनै परिवारहरू छैनन् भने, मण्डलीको पैसा र सम्पत्तिको सुरक्षा गर्ने कर्तव्य निर्वाह गर्ने कामका लागि तिनीहरूलाई नै प्राथमिकता दिइन्छ। यस्तो प्रबन्ध पनि सिद्धान्तहरूमा आधारित हुन्छ, किनभने त्यस्ता मानिसहरू तुलनात्मक रूपमा बढी भरपर्दा हुन्छन्।
अगुवा र कामदारहरूका हकमा, परमेश्वरको सेवा गर्ने क्रममा र काम गर्दा, पैसा समावेश हुने मामलाहरू तिनीहरू बारम्बार सम्पर्कमा आउनुपर्ने र तिनीहरूले सामना गर्नुपर्ने कुरा हुन्, र ती तिनीहरूले बेवास्ता गर्न नमिल्ने कुरा पनि हुन्। जब तिमीले पैसा समावेश हुने मामलाहरूको सामना गर्छौ, तब यदि तिमीले पालन गर्ने दृष्टिकोण र तरिकाहरू परमेश्वरका अभिप्रायहरूसँग मिल्दैनन्, र तिनले परमेश्वरमा घृणा र वितृष्णा जगाउँछन् भने, परमेश्वरको सेवा गर्ने व्यक्तिको रूपमा तिम्रो चरित्र, र उहाँप्रतिको तिम्रो मनोवृत्तिको हकमा तिमीप्रतिको परमेश्वरको मूल्याङ्कन तीव्र रूपमा घट्नेछ। विशेष गरी, कतिपय महिलाहरूले खानपान, लुगाफाटो, र मोजमज्जामा विशेष ध्यान दिन्छन्, र उच्च-स्तरीय लुगाहरू र उच्च-स्तरीय सौन्दर्य प्रसाधनहरू मन पराउँछन्। यदि तिनीहरू कुनै धनी अतिथि सत्कारक परिवारमा गए जहाँ तिनीहरूले मीठो खान्छन्, मोजमज्जा गर्छन्, र खर्च गर्नका लागि पैसा पाउँछन् भने, तिनीहरू त्यहीँ बस्नेछन् र त्यहाँबाट जानेछैनन्। तिनीहरूले बारम्बार कुखुराको मासुको सुप पिउँछन् र पौष्टिक तत्वहरू खान्छन्, र खानाको समयमा, कसैले तिनीहरूका लागि सीधै खाना ल्याइदिन्छ, र तिनीहरू शाही पत्नीहरू हुन् झैँ गरी तिनीहरूको सेवा गर्छ। तिनीहरूलाई यी कुराहरूको आनन्द लिन मात्र मन पर्छ। कतिपय महिलाहरूले अगुवा र कामदार बनेपछि उच्च-स्तरीय विलासिताका सामानहरूको आनन्दसमेत लिन्छन्; तिनीहरूको हैसियत जति उच्च हुन्छ, तिनीहरूले आनन्द लिने कुराहरूको स्तर त्यति नै उच्च हुन्छ, र तिनीहरूको हैसियत जति उच्च हुन्छ, तिनीहरूको खर्च र व्यय त्यति नै उच्च हुन्छ। मण्डलीमा भेटीहरू व्यवस्थापन गर्ने कतिपय मानिसहरूसँग हैसियतका फाइदाहरूमा लिप्त हुने यी अगुवा र कामदारहरूको बारेमा खुट्ट्याउने क्षमता हुँदैन। तिनीहरूले परमेश्वरको घर संसारजस्तै हो भन्ने सोच्छन्; तिनीहरूले परमेश्वरको घरमा परमेश्वरको सेवा गर्ने मानिसहरूलाई आफ्ना हाकिम वा सांसारिक अगुवाहरू हुन् जस्तै व्यवहार गर्छन् र तिनीहरूलाई भेटी चढाउँछन्। अगुवा र कामदारहरूले जति पैसा मागे पनि तिनीहरूले उनीहरूलाई ती दिन्छन्, र विलासिताका सामानहरू किन्न पैसा माग्दासमेत तिनीहरूले इन्कार गर्दैनन्। तिनीहरूले जति रकम मागिएको भए पनि दिन्छन्, एक पैसा पनि कम दिने आँट गर्दैनन्, र तिनीहरूले भेटीहरू खर्च गर्नुका पछाडि उनीहरूका अभिप्राय र उद्देश्यहरूका बारेमा कहिल्यै अनुसन्धान गर्दैनन्। अगुवा र कामदारहरूले भेटीहरू कसरी खर्च गर्छन् भनेर सुपरिवेक्षण र अनुसन्धान गर्ने अधिकार भेटीहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएका कर्मचारीहरूसँग हुन्छ, र तिनीहरूसँग भेटीको हरेक रकमको उद्देश्यबारे सोध्ने दायित्व र जिम्मेवारी पनि हुन्छ। उदाहरणका लागि, यदि कुनै अगुवा वा कामदारले भेटीहरू प्रयोग गर्न चाहन्छ भने, तिमीले उसलाई यो कुरा सोध्नुपर्छ, “तिमीले यो पैसा केका लागि प्रयोग गर्न गइरहेको छौ? तिमीलाई यति धेरै पैसा किन चाहियो?” यदि तिनीहरूले तिम्रो सुपरिवेक्षण स्वीकार गर्दैनन् र तिमीलाई यसबारे सोधपुछ गर्न दिँदैनन् भने, तिमीले सम्झौता गर्नु हुँदैन; तिमी सिद्धान्तहरूमा अडिग रहनुपर्छ र तिमीले भन्नुपर्छ, “म भेटीहरू व्यवस्थापन गर्छु, त्यसैले म परमेश्वरका भेटीहरूको असल अभिरक्षक हुनैपर्छ। मैले कुराहरू जाँच्नैपर्छ। यदि तिमीले यसलाई स्पष्ट रूपमा व्याख्या गरेनौ भने त्यसले काम चल्दैन।” कतिपय अगुवा र कामदारहरूले प्रयोग गर्ने सौन्दर्य साधनहरूको मूल्य सयौँ वा हजार युआन वा सोभन्दा बढी पर्छ; कतिपयको त हजारौँ वा दशौँ हजार युआन वा सोभन्दा बढीसमेत पर्छ। जब तिनीहरू लुगा किन्न मलमा जान्छन्, तब तिनीहरूले कहिल्यै मूल्यबारे सोध्दैनन्; तिनीहरूले आफूले चाहेको जुनसुकै सामान किन्छन्, र तिनीहरूका लागि नै निश्चित रूपमा पैसा तिर्ने मानिसहरू हुन्छन्, जसले एकै पटकमा दशौँ हजार युआनभन्दा बढी खर्च गर्छन्। तिनीहरूले आँखा नझिम्क्याई वा आफ्नो हृदयमा अलिकति पनि असहज महसुस नगरी यसरी भेटीहरू उडाउँछन्, र पैसा तिर्ने मानिसहरू दासहरू झैँ तिनीहरूको पछि-पछि लाग्छन् र तिनीहरूलाई पछ्याउँछन्। के तिनीहरू पशुहरूको बगाल, दियाबलसहरूको बगाल होइनन् र? भेटीहरू खर्च गर्दा तिमीले कसरी यति न्यायोचित र सहज महसुस गर्न सक्छौ? के ती भेटीहरू तिमीले खर्च गर्नका लागि हुन् र? अनि यस्ता उच्च-स्तरीय सौन्दर्य प्रसाधनहरूसमेत प्रयोग गर्नका लागि—के तिमी योग्य छौ र? तिमीले एउटा मिसन पूरा गर्न र एउटा कार्यभार पूरा गर्नका लागि परमेश्वरको सेवा गर्छौ; तिमी यहाँ मोजमज्जा खोज्न र रमाइलो गर्न आएका होइनौ, न त तिमी यहाँ महारानी वा सेवानिवृत्त सम्राट बन्न नै आएका हौ। मण्डलीको काम गर्दा, तिमीले कष्ट भोग्नुपर्छ र मूल्य चुकाउनुपर्छ; परमेश्वरको सेवा गर्नका लागि तिमीले साधारण मानिसहरूले भन्दा कैयौँ गुणा बढी मूल्य चुकाउनुपर्छ। तिमी यहाँ शरीरको आनन्द लिन आउनुको साटो, तिमीले आफ्नो इमानदारी अर्पण गर्नुपर्छ। परमेश्वरले उहाँको सेवा गर्नेहरूले उहाँको बोझलाई ख्याल गरून् र मण्डलीको काम राम्ररी गरून् भन्ने माग गर्नुहुन्छ, तिनीहरूले शरीरको आनन्द लिऊन् र हैसियतका फाइदाहरूको आनन्द लिऊन् भन्ने होइन। तिमीले मोजमज्जा गर्न सक भनेर परमेश्वरले तिमीलाई यो काम दिनुभएको होइन। तिमीले मोजमज्जा गर्नु निर्लज्जता हो; यो समझविहीन र मानवताविहीन कुरा हो—एउटा दियाबलसले गर्ने काम यही हो। तिमी परमेश्वरको घरको खाना सित्तैमा खान्छौ, र परमेश्वरले तिमीलाई सत्यता पनि आपूर्ति गर्नुहुन्छ र जीवन पनि आपूर्ति गर्नुहुन्छ—तिमीले पहिले नै प्रशस्तै प्राप्त गरिसकेका छौ। तैपनि तिमी अझै लुकिछिपी भेटीहरू खर्च गर्न चाहन्छौ। के तिमी परमेश्वरको सेवा गर्नु भनेको सांसारिक जागिर खानु र तलब लिनुजस्तै हो भन्ने सोच्छौ? यदि तिमीले जागिर खाएर तलब लिइरहेका भए पनि, तिमीले त्यति धेरै पैसा कमाउन सक्नेथिइनौ। परमेश्वरको सेवा गर्दा कुनै तलब र कुनै लाभांश पाइँदैन। जब तिमीले आफूलाई अर्पण गर्छौ र परमेश्वरको सेवा गर्न उहाँलाई आफ्नो इमानदारी अर्पण गर्छौ, तब तिमीले प्राप्त गर्ने कुरा सत्यता हो, तिमीले प्राप्त गर्ने कुरा जीवन हो, र तिमीले प्राप्त गर्ने कुरा मुक्ति हो—विलासिताका सामानहरू होइनन्, र दैहिक आनन्द होइन। यसबाहेक, के तिमीसँग भएको त्यो अलिकति इमानदारीलाई ती विलासिताका सामानहरूसँग साट्न सकिन्छ र? ती कुराहरू कमाउनका लागि संसारमा काम गर्दा तिमीले कति कष्ट भोग्नुपर्थ्यो र कति मूल्य चुकाउनुपर्थ्यो? बढीमा, तिमीले आफूलाई खान र लाउन मात्र पुर्याउन सक्थ्यौ, तैपनि तिमी अझै राम्रा कुराहरूको आनन्द लिन चाहन्छौ। परमेश्वरको सेवा गर्ने मानिसहरूले आनन्दमा ध्यान केन्द्रित गर्नु हुँदैन, न त तिनीहरूले दैहिक सुखसुविधामा नै ध्यान केन्द्रित गर्नुपर्छ। तिनीहरूले शरीरको आनन्द लिनुको साटो कष्ट भोग्ने, मूल्य चुकाउने, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने कुरामा, अनि सत्यता प्राप्त गर्न परमेश्वरको सजाय र न्याय स्वीकार गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ। शरीरको आनन्द लिनु, भोज र मोजमज्जाको आनन्द लिनु, र खानपान र रमाइलोको आनन्द लिनु—त्यो गैरविश्वासीहरूको जीवन हो; यो तिनीहरूको जीवनप्रतिको दृष्टिकोण र तिनीहरूको पछ्याइ हो। हेर त, वर्षौँको दौडान, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले आफ्नो काम गर्दै जाँदा, हरेक बितेर जाने वर्षसँगै झन्-झन् व्यस्त भएका छन्, उनको कामको बोझ हरेक बितेर जाने वर्षसँगै बढेको छ, उनी हरेक बितेर जाने वर्षसँगै झन्-झन् थकित भएका छन्, र हरेक बितेर जाने वर्षसँगै झन्-झन् वृद्ध भएका छन्। यसका बाबजुद, दाजुभाइ तथा दिदीबहिनीहरूमा उनको राम्रो प्रभाव परोस् भनेर आफूलाई जवान देखाउन कुनै पनि शृङ्गारका प्रसाधनहरूको आनन्द लिने कुरामा उनले कहिल्यै ध्यान केन्द्रित गरेका छैनन्; उनले यी कुराहरूमा कहिल्यै ध्यान केन्द्रित गरेका छैनन्। दैहिक आनन्दप्रतिको उनको दृष्टिकोणको हकमा भन्दा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले कहिल्यै यसो भन्दैनन्, “म परमेश्वरको सेवा गर्ने व्यक्ति भएको हुनाले, म पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस भएको हुनाले, म यी भेटीहरूको आनन्द लिनका लागि योग्य छु। मैले जे किने पनि, मैले राम्रो कुरा किन्नुपर्छ, मैले सबैभन्दा उच्च स्तरको कुरा किन्नुपर्छ।” उनमा यो विलासी चाहना छैन। उनी आफ्नो कामले गर्दा यति धेरै थकित हुन्छन्, तैपनि कहिलेकाहीँ जब परमेश्वरको घर उनलाई केही अतिरिक्त पोषण प्राप्त गर्न केही मीठो कुरा खान दिने स्थितिमा हुन्छ, तब उनलाई यो अनावश्यक छ, र यसको आनन्द लिनु एउटा विलासी चाहना हो भन्नेसमेत लाग्छ। हेर त, पैसा, भौतिक कुराहरू, र दैहिक आनन्दको कुरा आउँदा उनी आफूप्रति निकै कडा छन्, होइन र? (हो।) यदि तिमीहरूसँग हैसियत भएको भए, के तिमीहरूलाई यो एउटा विलासी चाहना हो भन्ने लाग्थ्यो? (यदि सर्तहरू पूरा हुन सके भने, हामीलाई यो एउटा विलासी चाहना हो भन्ने लाग्नेथिएन।) यो विलासी चाहना हो कि होइन भन्ने कुरा परिस्थितिमा भर पर्छ: पहिलो कुरा, यो व्यक्तिको शारीरिक अवस्थामा भर पर्छ। दोस्रो कुरा, यो परमेश्वरको घरको काममा तिनीहरूको योगदानमा भर पर्छ। तिमीहरूमध्ये धेरैजसोले परमेश्वरको घरको काममा विरलै कुनै योगदान दिएका छौ, अर्थात्, तिमीहरूले परमेश्वरको घरको कुनै पनि कामलाई अगाडि बढाउनमा कुनै ठोस भूमिका निर्वाह गरेका छैनौ—तिमीहरू केवल आफ्नो श्रम दिन्छौ; तिमीहरूले मण्डलीलाई आपूर्ति गर्छौ भनेर भन्न सकिँदैन, र तिमीहरूले परमेश्वरका चुनिएका मानिसहरूको जीवनका लागि आपूर्ति गर्छौ भनेर भन्न सकिँदैन, तिमीहरू मण्डलीको कामप्रति अर्पित छौ भनेर भन्न सकिने कुरा त परै जाओस्। यदि तिमीहरूका मागहरू यस्ता छन् भने, त्यो एउटा विलासी चाहना हो। यसबाहेक, तिमीहरूमध्ये धेरैजसो अझै जवान छौ र तिमीहरूको शारीरिक अवस्था ठीकै छ। दैनिक जीवनमा तिमीहरूको घरमा पाकेको दैनिक खानाको पोषण पर्याप्त हुन्छ। यदि तिमीहरूले नियमित रूपमा बढी व्यायाम पनि गर्यौ भने, तिमीहरूलाई विशेष पोषणको आवश्यकता पर्दैन। कतिपय व्यक्तिहरू शारीरिक रूपमा कमजोर भएकाले तिनीहरूलाई स्वास्थ्यलाभको आवश्यकता परे तापनि, केही पौष्टिक पूरकहरू खानु नै पर्याप्त हुन्छ। तर पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस तिमीहरूभन्दा फरक छन्। पहिलो कुरा, ब्रदरले मण्डलीको काममा र परमेश्वरको घरमा योगदान दिएका छन्; यो सबैका लागि स्पष्ट छ र यो एउटा निर्विवाद तथ्य हो। दोस्रो कुरा, ब्रदरले परमेश्वरको घरको कामका लागि यति धेरै ऊर्जा र रगत-पसिना लगाएका छन् र यति धेरै मूल्य चुकाएका छन्। अहिले परमेश्वरको घरसँग साधनहरू भएकोले, यदि उनले केही अतिरिक्त पोषण प्राप्त गर्नका लागि केही मीठो कुरा खाए भने पनि, त्यसलाई विलासी चाहना मानिँदैन, होइन र? (हो।) धेरैजसो मानिसहरूका लागि, यस्ता मागहरू हुनु एउटा विलासी चाहना हुन्छ, किनभने तिनीहरूसँग असल मानवता हुँदैन, तिनीहरूले परमेश्वरको घरको काममा त्यति धेरै योगदान दिएका हुँदैनन्, र तिनीहरू यस प्रकारको व्यवहारको आनन्द लिन पटक्कै योग्य हुँदैनन्, होइन र? (हो।) मलाई भन त, यदि परमेश्वरको सेवा गर्ने व्यक्तिको नजर सधैँ भेटीहरूमाथि गडेको हुन्छ, उसले सधैँ भेटीहरूका बारेमा योजना बुन्छ, र भेटीहरूको आनन्द लिन्छ अनि शरीरको आनन्द लिन्छ, वा यदि उसले भेटीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिँदैन र तिनलाई व्यवस्थापन गर्दैन, र भेटीहरूमा नोक्सान हुँदा, उसले यसको भर्पाई गर्ने उपायहरू सोच्दैन, र ऊ आफ्नो जिम्मेवारी पूरा गर्नमा पूर्ण रूपमा चुक्छ भने—के परमेश्वर यसरी उहाँको सेवा गर्ने व्यक्तिसँग सन्तुष्ट हुनुहुनेछ? (हुनुहुनेछैन।) परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरलाई चढाउने भेटीहरू मण्डलीको काम गर्नका लागि प्रयोग गरिन्छ। मानौँ तिमीले यस्तो सोच्छौ, “जे भए पनि, यो पैसा मैले खर्च गर्नका लागि होइन, न त यो मैले वितरण गर्न वा व्यवस्थापन गर्नका लागि नै हो; मसँग यो प्रयोग गर्ने अधिकारसमेत छैन। तसर्थ, यो पैसा कसले खर्च गर्छ, यो कहाँ खर्च हुन्छ, र तिनीहरूले धेरै खर्च गर्छन् कि थोरै खर्च गर्छन् भन्ने कुरासँग मेरो कुनै सरोकार छैन। यी मामलाहरू सबै गोप्य हुन सक्छन्, त्यसैले म यसबारे वास्ता गर्नेछैनँ वा सोधपुछ गर्नेछैनँ। यदि मैले साँच्चै कुनै समस्याहरू पत्ता लगाए पनि, मैले हस्तक्षेप गर्नु पर्दैन; यो कुरा मेरो जिम्मेवारीको दायराभित्र पर्दैन।” के यो मनोवृत्ति सही छ? (छैन।) मानौँ भेटीहरू व्यवस्थापन गर्ने व्यक्ति अनुपयुक्त छ, भेटीहरू चोर्ने वा भेटीहरू दुरुपयोग गर्ने घटनाहरू भएका छन्, र सिद्धान्तहरूको उल्लङ्घन गरेर भेटीहरू प्रयोग गर्ने धेरै घटनाहरू पनि भएका छन्—यदि तिमीले यी कुराहरू पत्ता लगायौ तर तिनलाई रोकेनौ वा तिनलाई निराकरण गरेनौ भने, के परमेश्वरको सेवा गर्ने व्यक्तिसँग हुनुपर्ने मनोवृत्ति यही हो? (होइन।) भेटीहरूलाई सही रूपमा प्रयोग गर्नु र व्यवस्थापन गर्नु परमेश्वरको सेवा गर्ने व्यक्तिसँग हुनुपर्ने एउटा सिद्धान्त हो, होइन र? (हो।) परमेश्वरको सेवा गर्दा सामना गर्नुपर्ने दोस्रो समस्या यही हो—पैसा, भौतिक आनन्द, र दैहिक आनन्दको मामला।
परमेश्वरको सेवा गर्दा व्यक्तिले सामना गर्नुपर्ने अर्को पक्ष पनि छ, र त्यो हो हैसियत। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यस स्थानमा रहेर काम गर्ने भए पनि, उनले मानिसहरूलाई दबाउन वा मानिसहरूलाई नियन्त्रण गर्नका लागि कहिल्यै हैसियतको प्रयोग गर्दैनन्। बरु, यस स्थानमा रहेर, उनले आफ्ना जिम्मेवारीहरू पूरा गर्छन् र आफ्नो काम राम्ररी गर्छन्, र उनले हैसियतका फाइदाहरूको आनन्द कहिल्यै लिँदैनन्। आफ्नो दैनिक जीवनमा, ब्रदरले विरलै विशेष हेरचाह र व्यवहारको आनन्द लिन्छन्। आफ्नो दैनिक आहारमा, उनले आफ्नो लागि विशेष रूपमा तयार पारिएको खानाको कहिल्यै आनन्द लिएका छैनन्; बढीमा, कुनै ठूलो भेला हुँदा, कसैले ब्रदरका लागि मासुको एउटा अतिरिक्त परिकार बनाउन सक्छ, र त्यो पहिले नै निकै राम्रो कुरा हो। कहिलेकाहीँ, उनीहरूले केही उसिनेका रोटी वा मःमहरू बनाउन सक्छन्, र यसलाई विशेष व्यवहार मानिन्छ। उनी कतिपय अतिथि सत्कारक परिवारहरूमा जाँदा र त्यस्तो व्यवहार प्राप्त नगर्दा समेत, ब्रदरलाई यो निकै सामान्य कुरा हो भन्ने लाग्छ र उनले कुनै विशेष तरिकाले व्यवहार गरियोस् भनेर माग गर्दैनन्। परमेश्वरको घरमा काम गर्दा, उनी धनीहरू बस्ने क्षेत्रमा गए पनि वा गरिबहरू बस्ने क्षेत्रमा गए पनि, जियाइको अवस्था जस्तोसुकै भए पनि वा खाना र बास राम्रो भए पनि वा नभए पनि, उनले यसलाई सही तरिकाले लिन सक्छन्। उनले खराब अवस्था भएका ठाउँहरूबारे गुनासो गर्दैनन्, न त उनी राम्रो अवस्था भएका ठाउँहरूको सुखसुविधामा यति धेरै आसक्त भएर त्यहीँ बसिरहने र जाँदै नजाने नै गर्छन्। आफू पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस भएकै कारणले उनले कहिल्यै कुनै विशेष मानकको व्यवहार माग गरेका छैनन्। उनले यी कुराहरूमा कहिल्यै ध्यान केन्द्रित गर्दैनन्; उनले लगभग दाजुभाइ-दिदीबहिनीहरूले जस्तै सामूहिक खाना खान्छन्। कतिपय अतिथि सत्कारक परिवारहरूको मानवता त्यति राम्रो नहुँदा र तिनीहरू तुलनात्मक रूपमा स्वार्थी हुँदा, आफ्नै परिवारका सदस्यहरूका लागि राम्रो खाना राख्दा र ब्रदरलाई दिनचाहिँ हिचकिचाउँदा समेत, ब्रदर यस कुराबाट बन्धनमा पर्दैनन् र अझै पनि यसलाई सही तरिकाले लिन सक्छन्। उनी भन्छन्, “म एक साधारण व्यक्ति मात्रै हुँ। मैले अरूले मलाई निकै राम्रो व्यवहार गरून् भनेर माग गर्नु हुँदैन। मैले जसको सेवा गर्छु, उहाँ परमेश्वर हुनुहुन्छ। मैले मसँग हैसियत भएको कारणले दाजुभाइ-दिदीबहिनीहरू मप्रति अत्यन्तै आदरपूर्ण र सम्मानजनक होऊन् वा तिनीहरूले मलाई विशेष हेरचाह गरून् भनेर माग गर्नु हुँदैन। दाजुभाइ-दिदीबहिनीहरू मलाई उनीहरूले चाहेअनुसार व्यवहार गर्न स्वतन्त्र छन्। मैले यी कुराहरूलाई परमेश्वरप्रतिको मेरो सेवामा असर गर्न दिनु हुँदैन।” उनले मानिसहरूसँग उच्च मागहरू गर्दैनन्, होइन र? (हो।) यसबाहेक, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले हैसियतको स्थानबाट काम गर्दैनन्। मण्डलीमा केही अप्रत्याशित घटनाहरू वा आफू पहिले कहिल्यै सम्पर्कमा नआएका कुराहरूको सामना गर्दा, ब्रदरले यस मामलाको बारेमा सङ्गति गर्न अगुवा र कामदारहरूसँग भेला बोलाउँछन्। सङ्गतिको दौडान, उनले केवल यसको अध्यक्षता गर्छन्; के गर्नुपर्छ भन्ने बारेमा आफ्नै अनुमानहरू गर्नका लागि उनी आफ्नै इच्छामा भर पर्दैनन्। बरु, खोजी गर्दा, उनले कामकुराहरूलाई सम्हाल्ने अझ राम्रा तरिकाहरूका बारेमा अगुवा र कामदारहरूसँग सङ्गति गर्छन्। उनले आफ्नै अनुमानहरू लगाउने र अगुवा र कामदारहरूलाई आफ्नै इच्छाअनुसार काम गर्न निर्देशन दिन आफ्नो हैसियतको प्रयोग गर्ने गर्नुको सट्टा, सङ्गतिको मनोवृत्ति र खोजी गर्ने मनोवृत्तिका साथ मण्डलीमा उठेका समस्याहरू समाधान गर्छन्। जब उनले यस मामलाको बारेमा छलफल र सङ्गति गर्न अगुवा र कामदारहरूलाई बोलाउँछन्, तब उनले परमेश्वरको घरका हितहरूको रक्षा गर्न सक्ने तरिकाले कसरी काम गर्ने, र पछिका नकारात्मक प्रभावहरूबाट बच्न सक्ने र लुकेका खतराहरूलाई कम गर्न सक्ने तरिकाले कसरी काम गर्ने भनेर पनि खोजी गरिरहेका हुन्छन्। खोजी गर्ने मनोवृत्तिका साथ, र परमेश्वरको घरका हितहरू र परमेश्वरको घरको कामको रक्षा गर्ने, र दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना कर्तव्यहरू सामान्य रूपमा निर्वाह गर्नका लागि हुनुपर्ने सबै अवस्थाहरूको उचित रूपमा रक्षा गर्ने सिद्धान्तका साथ, उनले यस मामलाको बारेमा सङ्गति गर्न अगुवा र कामदारहरूसँग भेला बोलाउँछन्। उनीसँग हैसियत, साथै आफ्नै व्यक्तिपरक अभिप्राय र विचारहरू भए पनि, उनले अझै पनि होसियार र सतर्क हृदय राख्छन्, यस मामलाको बारेमा छलफल गर्न र सँगै खोजी गर्नका लागि सान्दर्भिक पेशागत विशेषज्ञता भएका दाजुभाइ-दिदीबहिनीहरू वा अगुवा र कामदारहरूलाई खोज्छन्। उनले यसो किन गर्छन्? यसो गर्नुमा उनको मनसाय के हुन्छ भने, मानिसहरू यस अन्धकारमय र दुष्ट समाजमा जन्मेका हुनाले, तिनीहरूले स्पष्ट रूपमा देख्न नसक्ने कुराहरू सधैँ धेरै नै हुन्छन्; व्यक्ति जतिसुकै उमेरको भए पनि, उसले अनुभव नगरेका वा नदेखेका कुराहरू सधैँ धेरै हुन्छन्; र कोही पनि सिद्ध हुँदैन—सबैका आ-आफ्ना क्षेत्रहरू हुन्छन् जसमा तिनीहरू निपुण हुँदैनन् वा जसलाई तिनीहरूले बुझ्दैनन्, र मामलाहरूको सामना गर्दा, व्यक्तिसँग केही विचारहरू भए पनि, ती विचारहरू सही छन् कि छैनन् भनेर तिनीहरू निश्चित हुन सक्दैनन्, त्यसैले तिनीहरूले सङ्गति गर्नु र खोजी गर्नु आवश्यक हुन्छ। जब उनले सङ्गति गर्छन्, तब उनले दुई वटा पक्षबाट त्यसो गर्छन्। सकारात्मक पक्षमा, उनले कामकुराहरू यसरी गरियो भने के हुन्छ र कामकुराहरू त्यसरी गरियो भने के हुन्छ भन्ने बारेमा सङ्गति गर्छन्; नकारात्मक पक्षमा, उनले कामकुराहरू यसरी गरिएन भने के हुन्छ भन्ने बारेमा सङ्गति गर्छन्। परमेश्वरको घरमा समाधान गर्नुपर्ने समस्याहरूलाई अझ राम्ररी सम्हाल्न, परमेश्वरको घरका हितहरूको उचित रूपमा रक्षा गर्न, र दाजुभाइ-दिदीबहिनीहरूका अधिकार र हितहरूको उचित रूपमा रक्षा गर्नका लागि उनले हरेक दृष्टिकोणबाट सङ्गति गर्छन्, ताकि तिनीहरूको जीवन प्रवेश र तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्ने वातावरण र अवस्थाहरू प्रभावित वा क्षतिग्रस्त नहोऊन्। अवश्य नै, यसले परमेश्वरको घरको कामलाई अझ राम्ररी रक्षा गर्छ ताकि यो व्यवस्थित रूपमा अघि बढ्न सकोस्, र उनी अन्ततः परमेश्वरको सेवा गर्ने व्यक्तिले पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीहरू पूरा गर्न, परमेश्वरलाई लेखा दिन, र परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छन्। हेर त, के यो मनसाय र यो सिद्धान्त परमेश्वरका अभिप्रायहरू अनुरूप छन्? (छन्।) उनीसँग हैसियत भए पनि, र धेरै वर्षसम्म काम गरेर उनले मण्डलीमा हुने धेरै घटनाहरू वा अवस्थित धेरै समस्याहरूका बारेमा कार्य अनुभव र प्रत्यक्ष अनुभव दुवै प्राप्त गरेका भए पनि, र उनले धेरै सत्यताहरू बुझेका र उनीसँग वास्तविक प्रवेश भए पनि, अचानक उत्पन्न हुने र उनले पहिले कहिल्यै सामना नगरेका केही मामलाहरूको सामना गर्दा, उनले अझै पनि सङ्गति गर्नका लागि अगुवा र कामदारहरूलाई बोलाउनेछन्, र परमेश्वरको घरका हितहरूको अधिकतम रूपमा रक्षा गर्न उपयुक्त सिद्धान्तहरू र सम्हाल्ने उपयुक्त योजनाहरू खोज्नेछन्। उनीसँग हैसियत भए पनि र उनले अधिकार चलाउन र आदेशहरू जारी गर्न पाउने भए पनि, कुनै मामला जति धेरै हैसियतसँग सम्बन्धित हुन्छ र यसमा जति धेरै अन्तिम निर्णयहरू गर्ने कार्य समावेश हुन्छ, उनी त्यति नै बढी सतर्क हुन्छन् र उनले त्यति नै कम मात्रामा लापरवाह रूपमा काम गर्छन्। उनको पद र उनको हैसियतको आधारमा, र उनको वर्षौँको कार्य अनुभवको आधारमा त, उनीसँग अन्तिम निर्णय गर्ने र आफै अन्तिम अधिकार राख्ने, त्यसपछि तिमीहरूलाई यो कुरा लागू गर्न लगाउने शक्ति र फाइदा भए पनि, उनले यसो गरेका छैनन्, न त उनले हैसियतको विशेषाधिकारको आनन्द नै लिएका छन्। कुनै मामला जति महत्त्वपूर्ण हुन्छ, वा कुनै मामला जति जटिल हुन्छ—यो परमेश्वरको नामसँग जति धेरै सम्बन्धित हुन्छ वा परमेश्वरको घरको कामसँग जति धेरै सम्बन्धित हुन्छ—उनले यसलाई सम्हाल्न त्यति नै बढी सतर्कता अपनाउँछन्। उनले जथाभावी निष्कर्ष निकाल्दैनन् वा निर्णय गर्दैनन्, बरु परमेश्वरको डर मान्ने हृदयका साथ खोजी गर्छन् र सङ्गति गर्छन्, र अभ्यासका लागि सिद्धान्त र योजनाहरू निर्धारण गरेपछि मात्रै कदम चाल्छन्। हैसियतप्रतिको आफ्नो तरिकामा पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको एउटा प्रकटीकरण यही हो।
हैसियतप्रतिको आफ्नो तरिकामा पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको अर्को प्रकटीकरण छ: उनले मानिसहरूलाई काटछाँट गर्दा, तिनीहरूको कर्तव्यको प्रबन्धमा हेरफेर गर्दा, वा तिनीहरूलाई बर्खास्त गर्दा, उनले सधैँ सत्यता सिद्धान्तहरूअनुसार काम गर्छन्; उनले हैसियतको स्थानबाट मानिसहरूलाई हप्काउने वा दबाउने गर्दैनन्। कहिलेकाहीँ ब्रदरले मानिसहरूलाई काटछाँट गर्दा, कतिपयले यसो भन्नेछन्, “मैले त परमेश्वरमा विश्वास गरेको हुँ, तिमीमा होइन। तिमी परमेश्वर होइनौ, त्यसैले मैले तिम्रो कुरा किन सुन्ने?” के ब्रदरले त्यस्ता मानिसहरूसँग यस कुरालाई लिएर निहुँ खोजेका छन्? के उनले त्यो भनाइको कारणले तिनीहरूलाई कारबाही गरेका छन्, तिनीहरूका लागि कामकुराहरू कठिन बनाएका छन्, वा तिनीहरूलाई निष्कासित गरेका छन्? (छैनन्।) मलाई थाहा भएसम्म, ब्रदरले कहिल्यै त्यस्तो काम गरेका छैनन्। ब्रदरले मण्डलीको काम गरिरहेका यी वर्षहरूमा, जनशक्ति र प्रशासनिक काम गर्दा, उनले धेरै झूटा अगुवाहरूलाई बर्खास्त गरेका छन्, र मण्डलीले पनि धेरै सफाइको काम गरेको छ। धेरै मानिसहरूलाई पूर्णकालीन कर्तव्य मण्डलीहरूबाट अल्पकालीन कर्तव्य मण्डलीहरू, साधारण मण्डलीहरू, वा ख समूहहरूमा सरुवा गरिएको छ। सधैँ कतिपय यस्ता मानिसहरू हुन्छन् जो ब्रदरप्रति अवज्ञाकारी हुन्छन् र जसले द्वेष पाल्छन्, र यसो भन्छन्, “तिमी पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस हौ त के भयो र? मैले तिमीमा विश्वास गरेको होइन, तर परमेश्वरमा पो विश्वास गरेको हुँ!” ब्रदरले त्यस्ता मानिसहरूलाई पनि सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छन्, र भन्छन्, “अवश्य नै तिमीले ममा विश्वास गर्दैनौ, र मैले तिमीलाई ममा विश्वास गर भनेर भनेको पनि छैन। मैले तिमीलाई काटछाँट गरेको, तिमीलाई कारबाही गरेको, र तिमीलाई बर्खास्त गरेको कुरा सत्यता सिद्धान्तहरूमा आधारित छ र यो परमेश्वरको घरको कामको रक्षा गर्नका लागि हो।” उनले यसो भन्छन्, र अवश्य नै, उनले यस सिद्धान्तअनुसार काम पनि गर्छन्। उनले तिमीलाई उनमा विश्वास गर्न भनेका छैनन्, र यसबाहेक, यदि तिमीले उनमा विश्वास गर्यौ भने, तिमी हिँड्ने मार्ग गलत हुनेछ। ब्रदरले विभिन्न मामलाहरूलाई सम्हाल्ने, विभिन्न समस्याहरू समाधान गर्ने, र यी झूटा अगुवा र झूटा कामदारहरूलाई बर्खास्त गर्ने सिद्धान्तहरू परमेश्वरका अभिप्रायहरू अनुरूप छन् कि छैनन् भनेर मात्रै हेर, र उनले तिमीलाई काटछाँट गर्ने कार्य सत्यता सिद्धान्तहरू अनुरूप छ कि छैन भनेर हेर। यदि यो सत्यता सिद्धान्तहरू अनुरूप छ र परमेश्वरका अभिप्रायहरू अनुरूप छ भने, तिमीले आफूलाई अधीनमा राख्नुपर्छ। तिमी यस व्यक्तिको अधीनमा रहिरहेका हुँदैनौ, न त तिमी यस व्यक्तिको अधीनमा नै रहनुपर्छ। तिमी सत्यताको, परमेश्वरको अधीनमा रहिरहेका हुन्छौ। यदि ब्रदरले तिमीलाई काटछाँट गर्ने र तिमीलाई बर्खास्त गर्ने कार्य सत्यता सिद्धान्तहरू अनुरूप छ तैपनि तिमी अवज्ञाकारी नै रहन्छौ भने, त्यो तिमीले सत्यता स्वीकार नगरेको हो—यो तिम्रो समस्या हो, ब्रदरको समस्या होइन; उनीसँग कुनै समस्या छैन। उनले हैसियतको स्थानबाट तिमीलाई हप्काउँदैनन्, तिमीलाई बन्धनमा पार्दैनन्, वा तिमीलाई नियन्त्रण गर्दैनन्। उनले सिद्धान्तहरूअनुसार काम गर्छन् र सिद्धान्तहरूअनुसार नै तिमीलाई सम्झाउँछन्। उनले तिमीलाई काटछाँट गर्ने कार्य परमेश्वरको घरका हितहरूको रक्षा गर्ने र परमेश्वरको घरको कामको रक्षा गर्ने कुरामा, र आफ्ना जिम्मेवारीहरू राम्ररी पूरा गर्ने, परमेश्वरले उनलाई दिनुभएको कार्यभार पूरा गर्ने, र परमेश्वरप्रति आफ्नो अर्पण चढाउने कुरामा आधारित हुन्छ। सत्यतासम्बन्धी उनको सङ्गति समस्याहरूप्रति लक्षित हुन्छ, मानिसहरूप्रति होइन। तैपनि तिमी सधैँ, “मैले तिमीमा विश्वास गरेको होइन, तर परमेश्वरमा पो विश्वास गरेको हुँ” भन्दै कराउँछौ र ब्रदरसँग बहस गर्न निरन्तर यी शब्दहरू प्रयोग गर्छौ। आफ्नै मनलाई सोध: तिमीले सत्यता अभ्यास नगरेको हो, कि ब्रदरले केही गलत गरेका हुन्? के ब्रदरले तिमीलाई उनमा विश्वास गर्न भनेका थिए? ब्रदरको हैसियत पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको हैसियत हो, र पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको पहिचान र हैसियत परमेश्वरको सेवा गर्ने व्यक्तिको हैसियत हो; उनको हैसियत परमेश्वरको हैसियत होइन, उनको जीवन परमेश्वरको जीवन होइन, र उनी परमेश्वर स्वयम् हुन् भनेर परमेश्वरले कहिल्यै गवाही दिनुभएको छैन। सुरुदेखि अन्त्यसम्म, परमेश्वरले तिमीहरूलाई उनी परमेश्वरले प्रयोग गर्नुभएका व्यक्ति हुन्, उनी भ्रष्ट मानवजातिका एक सदस्य हुन्, र उनी परमेश्वरले उत्थान गर्नुभएका व्यक्ति हुन्, परमेश्वरको सेवा गर्ने र परमेश्वरले प्रयोग गर्न सक्ने व्यक्ति हुन् भनेर मात्रै बताउनुभएको छ। परमेश्वरले तिमीले उनमा विश्वास गर्नुपर्छ भनेर कहिल्यै गवाही दिनुभएको छैन। तैपनि तिमी सधैँ, “मैले तिमीमा विश्वास गरेको होइन” भन्दै कराउँछौ र तिमी सधैँ यस मामलामा बहस गर्ने र यसलाई स्पष्ट रूपमा व्याख्या गरियोस् भन्ने जिद्दी गर्छौ। यो तिम्रो समस्या हो; यो तिमीले सत्यता स्वीकार नगरेको हो। तिमी कहाँ गलत भएका छौ भनेर हेर्नका लागि तिमी किन आफैलाई जाँच्दैनौ? ब्रदरले तिमीलाई किन काटछाँट गरे? ब्रदरले तिमीलाई काटछाँट गर्नुको कारण के थियो? यदि यो मानव इच्छाबाट व्यक्तिगत रिस पोख्ने मामला थियो भने, उनी गलत छन्। तर यदि तिमीले सिद्धान्तहरूअनुसार आफ्नो काम नगरेको र लापरवाह दुष्कर्म गरेको, जसले गर्दा अवरोध र बाधा उत्पन्न भएको कारणले यसो गरिएको थियो भने; वा यदि तिम्रो झाराटारुवापनले मण्डलीको काममा बाधा पुर्यायो र मण्डलीको काममा क्षति ल्यायो भने, ब्रदरले तिमीलाई काटछाँट गर्ने कार्य पूर्ण रूपमा परमेश्वरका अभिप्रायहरू अनुरूप छ र दोषरहित छ। ब्रदरले तिमीलाई कारबाही गर्ने कार्य पनि सिद्धान्तहरू अनुरूप नै छ र यो गलत छैन; यो पूर्ण रूपमा परमेश्वरका अभिप्रायहरू अनुरूप छ, परमेश्वरले यसलाई निन्दा गर्नुहुन्न, र अझ भन्नुपर्दा, परमेश्वरले यसलाई स्मरण गर्नुहुन्छ र परमेश्वरले यसलाई अनुमोदन गर्नुहुन्छ। तिमी परमेश्वरले अनुमोदन गर्नुहुने व्यक्ति र परमेश्वरले अनुमोदन गर्नुहुने कार्यहरूप्रति सधैँ प्रतिरोधी महसुस गर्छौ र सधैँ तिनको निन्दा गर्छौ, र तिमी यसो भन्दै कराइरहन्छौ, “मैले तिमीमा विश्वास गरेको होइन।” के यो निहुँ खोज्ने हुनु र अविवेकी हुनु होइन र? (हो।) यो निहुँ खोज्ने हुनु र अविवेकी हुनु हो। परमेश्वरले प्रयोग गर्नुहुने व्यक्ति, परमेश्वरको सेवा गर्ने र उहाँका अभिप्रायहरू अनुरूप हुने व्यक्तिप्रति तिमी सधैँ विरोधी हुन्छौ, र तिमी सधैँ उनलाई शत्रुतापूर्ण दृष्टिले हेर्छौ। त्यसोभए हेर: उनको पछाडि रहेर उनलाई प्रयोग गरिरहनुहुने को हुनुहुन्छ? उहाँ त परमेश्वर हुनुहुन्छ। उनले गर्ने कुरा परमेश्वरका अभिप्रायहरू अनुरूप हुन्छ; परमेश्वरले उनलाई प्रयोग गर्नुहुन्छ, र परमेश्वरले उनको सेवालाई अनुमोदन गर्नुहुन्छ। यदि तिमी उनको विरोध गर्न उठ्छौ भने, यो परमेश्वरको विरोध गर्नु सरह हुन्छ। परमेश्वरले मोशालाई प्रयोग गर्नुहुँदा दुई सय पचास जना अगुवाहरू उनको विरोध गर्न उठेको घटनाको प्रकृति र यसको प्रकृति एउटै हो। तिमीले विश्वास गरेको व्यक्ति पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस होइन भनेर तिमी भन्छौ। ठीक छ, परमेश्वरले तिमीलाई उनमा विश्वास गर्न भनेर भन्नुभएको छैन। पक्कै पनि, उनले तिमीलाई काटछाँट गर्नुअघि तिमीले उनमा विश्वास गरेका थिएनौ, होइन र? ब्रदरले तिमीलाई काटछाँट गर्नुको कारण तिमीले आफ्नो कर्तव्य राम्ररी पूरा गर, तिमीले सत्यता सिद्धान्तहरूअनुसार काम गर, र तिमीले आफ्ना जिम्मेवारीहरू पूरा गर र तिमी झाराटारुवा तरिकाले काम गर्न वा अवरोध र बाधा उत्पन्न गर्नबाट जोगिऊ भन्ने हो। उनले तिमीलाई बर्खास्त गर्नु पनि परमेश्वरको घरको कामको रक्षा गर्नका लागि हो, किनभने यदि उनले तिमीलाई बर्खास्त नगरेका भए, परमेश्वरको घरको कामले क्षति भोग्नेथियो; उनले परमेश्वरको घरका हितहरूको रक्षा गर्नका लागि नै तिमीलाई बर्खास्त गर्छन्। तर तिमीलाई बर्खास्त गरिएपछि, तिमी अप्रसन्न हुन्छौ र तिमीलाई चित्त बुझ्दैन; तिमी निहुँ खोज्ने र अविवेकी हुँदै, विकृत तर्कहरू समेत बोल्छौ, र उनले तिमीलाई छोडिदेऊन् र तिमीलाई सजायबाट मुक्त गरून् भन्ने समेत चाहन्छौ। के यी त शैतानका विचारहरू होइनन् र? के त्यस्ता मानिसहरू दियाबलसहरू होइनन् र? (हुन्।) पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले आफ्नो काम कुन सिद्धान्तहरूमा आधारित गर्छन्? उनले यसलाई यी दुई प्रमुख सिद्धान्तहरूमा आधारित गर्छन्: परमेश्वरको घरका हितहरूको रक्षा गर्ने र परमेश्वरका चुनिएका मानिसहरूको जीवनप्रति जिम्मेवार हुने, तर हैसियतको स्थानबाट तिमीहरूलाई धम्की दिने, तिमीहरूलाई तर्साउने, वा तिमीहरूको शोषण गर्ने होइन। उनले कहिलेकाहीँ तिमीहरूलाई हप्काउँछन्, जसलाई मानव दृष्टिकोणबाट हेर्दा, त्यो उनको गरम मिजासबाट उत्पन्न भएको जस्तो देखिन्छ, तर उनले तिमीहरूलाई किन हप्काउँछन्? यदि तिमीहरूले गर्ने सबै कुरा सिद्धान्तहरू अनुरूप हुन्थ्यो, र तिमीहरूले पालना गर्नुपर्ने सिद्धान्तहरूलाई पक्री राख्न सक्थ्यौ, तिमीहरूले स्पष्ट रूपमा देख्न नसक्ने मामलाहरूको बारेमा परामर्श गर्न र सत्यता खोज्न सक्थ्यौ, र तिमीहरूले लागू गर्नुपर्ने कामलाई सिद्धान्तहरूअनुसार समयमै लागू गर्न सक्थ्यौ भने, के तिमीहरूलाई अझै पनि काटछाँट गरिन्थ्यो र हप्काइन्थ्यो? (त्यसो गरिँदैनथ्यो।) उनले तिमीहरूलाई काटछाँट गर्छन् र तिमीहरूलाई हप्काउँछन्, र उनी कहिलेकाहीँ अलिकति रिसाए पनि र उनको गरम मिजास अलिकति प्रकट भए पनि, म यसमा कुनै गल्ती देख्दिनँ, किनभने तिमीहरूले गर्ने कुराहरू अवरोध र बाधाबाहेक केही पनि हुँदैनन्, जुन अत्यन्तै रिस उठ्दो कुरा हो। व्यक्तिको व्यक्तित्व जतिसुकै असल र जतिसुकै नम्र भए पनि, उनीहरू अझै पनि रिसाउनेछन्। सामान्य मानिसहरू सबैमा खुसी, रिस, दुःख, र आनन्द हुन्छ; कसैले अत्यन्तै रिस उठ्दो काम गरेको देख्दा, रिस नउठ्नु असम्भव नै हुन्छ—रिस व्यक्त नगर्नुचाहिँ असामान्य कुरा हुनेछ। कतिपय मानिसहरूले सधैँ आफूसँग इन्साफको बोध छ र आफू असल व्यक्ति हुँ भनेर दाबी गरिरहेका हुन्छन्, तर जब परमेश्वरको घरका हितहरूमा क्षति पुग्छ र अरूले परमेश्वरका भेटीहरू खेर फाल्छन्, तब यसबारे थाहा पाएपछि तिनीहरूलाई अलिकति पनि दुःख वा आक्रोश महसुस हुँदैन। जब तिनीहरूले कसैले अवरोध र बाधा उत्पन्न गरिरहेको वा आफ्नो काम झाराटारुवा तरिकाले गरिरहेको देख्छन्, तब तिनीहरूले उनीहरूलाई कहिल्यै हप्काउँदैनन्, र उनीहरूलाई मद्दत गर्न कहिल्यै सङ्गति गर्दैनन्, उनीहरूलाई सिद्धान्तहरूअनुसार सम्झाउने कुरा त परै जाओस्। के यो इन्साफको बोध हुनु हो? के यो सामान्य मानवता हो? (होइन।) यसरी काम गर्दा यसले मानिसहरूमा कुनै आत्मिक वृद्धि नल्याउने मात्रै होइन, तर यसले तिमीलाई परमेश्वरलाई जवाफ दिने कुनै बाटो पनि बाँकी राख्नेछैन। तिमी अरूप्रति गैरजिम्मेवार हुन्छौ र उनीहरूलाई कुनै साँचो प्रेम वा मद्दत दिँदैनौ, तिमीसँग परमेश्वरप्रति कुनै इमानदारी हुने कुरा त परै जाओस्। तिमीले परमेश्वरको घरका हितहरूको अलिकति पनि रक्षा गर्दैनौ, तैपनि तिमीले आफूसँग इन्साफको बोध छ भनेर भन्छौ। तिमीसँग कस्तो इन्साफको बोध छ? तँ केवल मान्छे खुसी पारिहिँड्ने व्यक्ति, चिप्ले माछा होस्; तँ केवल एक जीवित शैतान होस्! यदि तँसँग साँच्चै इन्साफको बोध थियो भने, परमेश्वरको घरका हितहरूमा क्षति पुग्दा तँलाई किन दुःख लाग्दैन? यदि कसैले तँलाई सराप्छ वा तेरो बारेमा केही नराम्रो भन्छ भने, तँलाई यति धेरै दुःख लाग्छ, जसले गर्दा तँ धेरै दिन र रातसम्म सुत्न सक्दैनस्, र तैँले उनीहरूलाई जीवनभर घृणा समेत गर्न सक्छस् र त्यो एउटा वाक्य जीवनभर कहिल्यै बिर्संदैनस्। तैपनि परमेश्वरको घरका हितहरूले जतिसुकै ठूलो क्षति भोगे पनि, तँलाई अलिकति पनि वास्ता हुँदैन। तँसँग कस्तो इन्साफको बोध छ? तँ केवल एक स्वार्थी र घृणास्पद प्रकारको व्यक्ति होस्; तँ पटक्कै इन्साफको बोध भएको व्यक्ति होइनस्। ब्रदरसँग पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको हैसियत त छ, तर उनीसँग यो हैसियत नभएको भए पनि, र उनले एक साधारण अगुवा वा कामदारको रूपमा आफ्नो काम गरेका भए पनि, यदि उनले कसैले परमेश्वरका भेटीहरू खेर फालिरहेको वा दुष्ट मानिसहरूले अवरोध र बाधा उत्पन्न गरिरहेको देखे भने, के उनले हस्तक्षेप गर्नेथिए? के उनले आफ्ना जिम्मेवारीहरू पूरा गर्नेथिए? उनले त्यसै गरी आफ्ना जिम्मेवारीहरू पूरा गर्नेथिए, र त्यसै गरी हस्तक्षेप गर्नेथिए, आफूले सकेसम्म व्यापक दायरामा हस्तक्षेप गर्नेथिए, आफूले सकेसम्म धेरै बोल्नेथिए, र काम गर्न र परमेश्वरको घरका हितहरूको रक्षा गर्न आफ्नो सक्दो प्रयास गर्नेथिए। त्यसकारण, काम गर्ने र परमेश्वरको सेवा गर्ने कुरामा पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको मनोवृत्ति, साथै तिमीहरूप्रतिको उनको मनोवृत्ति र उनले तिमीहरूलाई व्यवहार गर्ने तरिका र विधिहरूलाई हेर्दा, उनले हैसियतको स्थानबाट काम गर्दैनन् भन्ने कुरा देख्न सकिन्छ। उनका लागि, यो हैसियत एउटा जिम्मेवारी र मिसन हो; यो परमेश्वरले उनलाई दिनुभएको मिसन हो, परमेश्वरले उनलाई दिनुभएको जिम्मेवारी हो, र विशेष गरी जब तिमीहरूले उनलाई “ब्रदर” भनेर बोलाउँछौ, तब उनलाई आफ्नो जिम्मेवारी ठूलो छ भन्ने अझ बढी महसुस हुन्छ। मण्डलीको जीवन, मण्डलीको प्रशासनिक काम, जनशक्तिसम्बन्धी काम, र कामको अन्य पक्षहरू, साथै जताततैका मण्डलीहरूमा उपयुक्त अगुवा र कामदारहरू छन् कि छैनन्, सुसमाचारको कामको जिम्मेवारी लिन उपयुक्त मानिसहरू छन् कि छैनन्, सामान्य मामिलाहरूको काम गर्ने उपयुक्त मानिसहरू छन् कि छैनन्, जताततैका मण्डलीहरूमा सुसमाचार फैलाउने कामको प्रगति कस्तो छ, प्राप्त गरिएका मानिसहरूमध्ये कति प्रतिशत मानिसहरू बाँकी छन्, मण्डलीमा सामेल भएकाहरूलाई मलजल गर्नका लागि उपयुक्त मानिसहरू छन् कि छैनन्, र उनीहरूलाई व्यवस्थापन गर्न र उनीहरूको अनुगमन गर्नका लागि उपयुक्त मानिसहरू छन् कि छैनन्—यी सबै कुराहरू उनले वास्ता गर्ने र ध्यान दिने कुराहरू हुन्, र ती उनको कामका सबैभन्दा उच्च प्राथमिकताका कुराहरू हुन्। हरेक दिन, यी सबै कुराहरू नै उनले बोल्ने, आफ्नो हृदयमा सोच्ने, चिन्ता गर्ने, र वास्ता गर्ने कुराहरू हुन्। उनले हैसियतले उनलाई दिने सम्मानहरूको कहिल्यै आनन्द लिएका छैनन्, न त उनले हैसियतले उनलाई दिने उत्कृष्ट सुविधाहरूको नै आनन्द लिएका छन्। आफ्नो हृदयमा, उनले यी कुराहरूमा ध्यान केन्द्रित गर्दैनन्; उनले ध्यान केन्द्रित गर्ने कुरा भनेको आफ्ना जिम्मेवारीहरू पूरा गर्न र परमेश्वरले उनलाई दिनुभएको कार्यभार र मिसन पूरा गर्नका लागि आफ्नो सक्दो प्रयास गर्नु हो।
कतिपय अगुवा र कामदारहरूले हैसियत प्राप्त गरेपछि, दाजुभाइ-दिदीबहिनीहरूलाई प्रवचन दिनका लागि सानोतिनो कुरामा पनि भेला बोलाउँछन्, बिहान दुई-तीन घण्टा र दिउँसो दुई-तीन घण्टा प्रवचन दिन्छन्। जब तिनीहरूले प्रवचन दिन्छन्, तब दाजुभाइ-दिदीबहिनीहरूले कुनै व्यावहारिक कुरा सुन्नेछु भनेर उत्सुकताका साथ आशा गर्छन्, तर तिनीहरूले त्यहाँ शब्द र धर्मसिद्धान्तहरू मात्रै बोल्छन्, कुनै पनि वास्तविक समस्याहरू समाधान नगरी उच्च सुनिने शब्दहरू बोल्छन् र भावनाहरू जगाउँछन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू व्यस्त छन् कि छैनन् भन्ने कुराको वास्ता गर्दैनन्; तिनीहरूले प्रवचन दिनका लागि सानोतिनो कुरामा पनि उनीहरूलाई भेला बोलाउँछन्, र वास्तविक कामचाहिँ गर्दैनन्। फरिसीहरूले जस्तै, तिनीहरूलाई धर्मसिद्धान्तहरू बोल्न र नाराहरू लगाउन मात्रै आउँछ। तिनीहरूले कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्—तिनीहरूले जीवन प्रवेशसम्बन्धी समस्याहरू समाधान गर्न सक्दैनन्, र सुसमाचारको काम, मलजल गर्ने काम, मण्डलीको प्रशासनिक काम, सामान्य मामिलाहरूको काम, र जनशक्तिसम्बन्धी काम होस्, वा विभिन्न विशेष क्षेत्रहरूका कामहरू होऊन्, तिनीहरूले कामको कुनै पनि पक्ष गर्न वा त्यसको जिम्मेवारी लिन सक्दैनन्। यसबाहेक, तिनीहरूले पेशागत ज्ञान सिक्दैनन्, परमेश्वरको वचन खाँदैनन् र पिउँदैनन्, सत्यतामा मेहनत गर्दैनन्, र आफ्नो काम झाराटारुवा तरिकाले मात्रै गर्छन्। तिनीहरूले सानोतिनो कुरामा पनि प्रवचन दिन्छन् अनि आफूले आफ्नो काम राम्ररी गरेको छु र त्यस दिनको खानाको पैसा कमाएको छु भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरूले हैसियतका फाइदाहरूको आनन्द लिन्छन्, मानौँ यो उचित र सही कुरा हो, र यसो गर्दा तिनीहरूलाई न्यायोचित र सहज महसुस हुन्छ। खाना खाने समय हुँदा, तिनीहरूले सधैँ मीठो खाना खान चाहन्छन्, र भन्छन्, “तिमीले मःमः वा भुटेको मासु किन बनाएनौ? दिनभरि मेरो काम कति थकाउने थियो! बिहान तीन-चार घण्टा, र दिउँसो तीन-चार घण्टा भेला थियो। मैले यति धेरै बोलेँ कि, मेरो मुख नै सुक्यो! मलाई मेरो शरीरलाई पोषण दिने केही असल खानेकुरा चाहिन्छ!” वास्तवमा, तिनीहरूले धर्मसिद्धान्तहरू मात्रै प्रचार गर्छन् र नाराहरू मात्रै लगाउँछन्, कुनै पनि समस्या समाधान गर्दैनन्। तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् तर अझै पनि हैसियतका फाइदाहरूको आनन्द लिन चाहन्छन्, र जब तिनीहरूलाई बर्खास्त गरिन्छ, तब तिनीहरूलाई यति धेरै अन्याय भएको महसुस हुन्छ कि, तिनीहरू धेरै दिनसम्म रोइरहन्छन्। तिनीहरूले आफूले ठ्याक्कै के गल्ती गरेँ भनेर हेर्नका लागि आफैलाई जाँच्दैनन्, र तिनीहरूले आफूलाई अलिकति पनि चिन्दैनन्। के त्यस्ता मानिसहरू परमेश्वरको सेवा गर्नका लागि योग्य हुन्छन्? पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसलाई हेर: आफ्नो काम गर्दा, उनले सधैँ वास्तविक समस्याहरू समाधान गर्छन्। हरेक चरणमा, उनले निरन्तर रूपमा अगुवा र कामदारहरूको पद हेरफेर गर्ने आधारभूत प्रशासनिक काम गरिरहेका हुन्छन्। यसबाहेक, उनले दैनिक रूपमा विशेष कामको विभिन्न क्षेत्रहरूको अनुगमन गर्छन्, र मण्डलीको सामान्य मामिलाहरूको काममा जे-जस्ता समस्याहरू छन् तिनलाई सम्हाल्छन्। उनले निरन्तर रूपमा दुई वटा सबैभन्दा महत्त्वपूर्ण कामहरू गरिरहेका हुन्छन्—सुसमाचारको काम र अगुवा र कामदारहरूलाई मलजल गर्ने काम। उनले कहिल्यै यस्तो सोचेका छैनन्, “म बूढो हुँदै छु। के अब म पछाडि हट्ने समय आएको हो? के अब मैले विश्राम गर्ने र मेरो बुढ्यौलीको आनन्द लिने समय आएको हो?” उनीसँग अहिले पनि धेरै जोस छ, र उनी भन्छन्, “मैले परमेश्वरले मलाई दिनुभएको मिसन राम्ररी पूरा गर्नुपर्छ। मैले जति धेरै सत्यता बुझ्छु, मैले अगुवा र कामदारहरूलाई मलजल गर्ने र दाजुभाइ-दिदीबहिनीहरूलाई मलजल गर्ने काम त्यति नै विस्तृत रूपमा र राम्ररी गर्नुपर्छ, ताकि सबै अगुवा र कामदारहरूले सत्यता सिद्धान्तहरूअनुसार मण्डलीको काम राम्ररी गर्न सकून्, र सबै दाजुभाइ-दिदीबहिनीहरूले असल मण्डली जीवन जिउन सकून् र सबै जना सत्यता वास्तविकतामा प्रवेश गर्न सकून्।” हेर त, उनले आफ्ना लागि कामहरू थपिरहन्छन् र आफ्ना लागि गर्ने कुराहरू खोजिरहन्छन्; उनको हृदयमा सधैँ एउटा बोझ हुन्छ। कतिपय मानिसहरू एक-दुई वर्षसम्म अगुवा र कामदार भएपछि, आफ्ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुन थाल्छन्, र सोच्छन्, “विगतका केही वर्षहरूमा मण्डलीको काम गर्दा त्यो निकै व्यस्त र थकाइलाग्दो भएको छ। अब विश्राम गर्ने र आनन्द लिने समय आएको छ। यसबाहेक, म बूढो हुँदै छु; म पछाडि हट्नुपर्छ!” तिनीहरूले यसलाई “पछाडि हट्ने” भन्ने राम्रो सुनिने नाम समेत दिन्छन्। “पछाडि हट्नु” को अर्थ के हो? यसको अर्थ तिनीहरूले आफूलाई अनुभवी कार्यकर्ता मान्छन्, आफ्नो पेन्सन लिने समय आएको छ, आफ्नो बुढ्यौलीको आनन्द लिने समय आएको छ, र तिनीहरू आफ्ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुन योग्य छन् भन्ने सोच्छन्। तँसँग के योग्यता छ? तैँले के वास्तविक काम गरेको छस्? पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यति धेरै वर्षसम्म काम गरेका छन् र आफ्ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुने कुरा कहिल्यै गरेका छैनन् र पछाडि हट्ने कुरा कहिल्यै गरेका छैनन्। तैँले गरेको थोरै कामलाई हेर्दा, आफ्ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुनका लागि तँसँग के योग्यता छ? कतिपय मानिसहरूले त संसारका तरिकाहरूको नक्कल समेत गर्छन्: “म पछाडि हट्नुपर्छ। अबदेखि जवान मानिसहरूलाई काम गर्न दिऊँ!” यो कस्तो दृष्टिकोण हो? मलाई यो किन यति घिनलाग्दो लाग्छ? परमेश्वरको सेवा गर्ने मानिसहरू वास्तवमा सेवानिवृत्त हुने कुरा? त्यसोभए के तैँले पनि पेन्सन लिन चाहन्छस्, र मानिसहरूले तँलाई “अनुभवी कार्यकर्ता” भनेर बोलाऊन् भन्ने पनि चाहन्छस्? तँ कसरी यति निर्लज्ज हुन सक्छस्? परमेश्वरको सेवा गर्नबाट सेवानिवृत्त हुने—के तँ नरकमा सेवानिवृत्त हुनदेखि डराउँदैनस्? के तँ नरकमा सेवानिवृत्त हुन इच्छुक छस्? तँ कसरी आफ्नो बढाइचढाइ गर्न यति सिपालु हुन सक्छस्? तँ पछाडि हट्न र अनुभवी कार्यकर्ता बन्न समेत चाहन्छस्! मलाई लाग्छ तँ केवल काम नगर्ने हाकिम बन्न चाहन्छस्, तँ केवल मण्डलीको भरमा बाँच्न चाहन्छस्, र तँ केवल आफ्ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुन चाहन्छस्! के तँ आफ्ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुनका लागि योग्य छस्? परमेश्वरको सेवा गर्दा पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसको दृष्टिकोण कस्तो हुन्छ? उनी भन्छन्, “परमेश्वरले मलाई यो मिसन दिनुभएको छ, त्यसैले म मेरो सम्पूर्ण जीवन परमेश्वरलाई सुम्पिनेछु। म परमेश्वरको कार्यभार पूरा गर्नका लागि जिउनुपर्छ; यो लक्ष्य परिवर्तन हुन सक्दैन, र परमेश्वरले मलाई सुम्पनुभएको काम रोकिन सक्दैन। यदि म बीचमै भागेँ र मैले मेरो मिसन त्यागेँ भने, यो परमेश्वरलाई धोका दिनु हो र म श्रापित हुन योग्य हुन्छु! यदि परमेश्वरले मलाई उप्रान्त प्रयोग गर्नुभएन भने मात्रै मैले काम गर्न छोड्न सक्छु। जबसम्म परमेश्वरले मलाई प्रयोग गर्नुहुन्छ, मलाई मण्डली सुम्पनुहुन्छ, र मलाई मण्डलीको काम सुम्पनुहुन्छ, तबसम्म म अन्त्यसम्म लागिरहनुपर्छ र मैले परमेश्वरले मलाई दिनुभएको कार्यभार पूरा गर्नुपर्छ।” पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले कहिले सेवानिवृत्त हुने भनेर कहिल्यै सोचेका छैनन्; उनले सधैँ यसरी नै काम गर्छन्। उनीसँग यो बोझ छ। उनले सधैँ आफ्नो हृदयमा गर्नुपर्ने धेरै कामहरू छन् भन्ने महसुस गर्छन्, र गर्नुपर्ने सबै कामले गर्दा उनी निकै व्यस्त हुन्छन्। त्यसैले उनले कामकुराहरूलाई तिनको महत्त्व र आतुरीअनुसार प्राथमिकता दिन्छन्, महत्त्वपूर्ण काम गर्नमा ध्यान केन्द्रित गर्छन्, र निरन्तर रूपमा मुख्य काम गर्नमा ध्यान केन्द्रित गर्छन्। उनको आइतबार बिदा हुँदैन र कुनै विश्रामको दिन हुँदैन; वर्षौँसम्म, उनी कुनै विश्रामविना व्यस्त रहन्छन्। उनले आफ्ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुने बारेमा कहिल्यै सोच्दैनन्, न त उनले हैसियतका फाइदाहरूको आनन्द लिनका लागि सेवानिवृत्त हुने बारेमा नै सोच्छन्। उनलाई हैसियत आफ्ना लागि त्यति महत्त्वपूर्ण छ भन्ने लाग्दैन; उनलाई आफूसँग हैसियत छ भन्ने महसुस हुँदैन। उनलाई यो परमेश्वरले दिनुभएको कार्यभार हो, र यो काम गर्नु सम्मानको कुरा हो भन्ने महसुस हुन्छ; उनलाई परमेश्वरको सेवा गर्नु अत्यन्तै गौरवशाली काम हो भन्ने महसुस हुन्छ। परमेश्वरको सेवा गर्ने कार्यलाई कसरी बुझ्नुपर्छ? यसको अर्थ परमेश्वरले तिमीलाई एउटा मिसन दिनुहुन्छ, र उहाँले कामको एउटा पक्ष गर्नुहुँदा उहाँलाई तिम्रो सहकार्यको आवश्यकता हुन्छ; परमेश्वरका मागहरू के-के हुन्, परमेश्वरका अभिप्रायहरू के-के हुन्, परमेश्वरका इच्छाहरू के-के हुन्, परमेश्वरले के हासिल गर्न चाहनुहुन्छ र उहाँले के-कस्ता परिणामहरू प्राप्त गर्ने अभिप्राय राख्नुहुन्छ, र परमेश्वरको इच्छा के हो—परमेश्वरले तिमीलाई ती कुरा सुम्पनुहुन्छ र उहाँको इच्छा पूरा हुन सकोस् भनेर तिमीलाई सहकार्य गर्न लगाउनुहुन्छ, र तिमीले यो बोझ लिन्छौ र यो काम गर्न थाल्छौ। परमेश्वरको सेवा गर्नु भनेर यसलाई नै भनिन्छ। परमेश्वरको सेवा गर्ने कामको दायरालाई हेर्दा, के परमेश्वरको सेवा गर्नु भनेको समाजमा जागिर खानु, व्यापार चलाउनु, वा आफ्नै उद्यममा संलग्न हुनु जस्तै हो? (अहँ, होइन।) यो कसरी फरक छ? (समाजमा जागिर खानु भनेको आफ्नै हितहरूका लागि हो। परमेश्वरको सेवा गर्नु भनेको परमेश्वरको घरका हितहरूको रक्षा गर्नु र परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नु हो।) परमेश्वरको सेवा गर्नु भनेको आफ्ना लागि तलब कमाउनु होइन, यो आफ्नै उद्यममा संलग्न हुनु होइन, र यो आफ्नै व्यापार चलाउनु होइन; बरु, यो परमेश्वरको व्यवस्थापनसँग सहकार्य गर्नु, मानिसका जिम्मेवारीहरू पूरा गर्नु र मानिसको मिसन पूरा गर्नु हो, र यो परमेश्वरले तिमीलाई सुम्पनुभएका कुराहरू गर्नु, परमेश्वरले तिमीलाई सुम्पनुभएको काम गर्नु हो। तिमीले गर्ने कुरा परमेश्वरका मागहरू, परमेश्वरले तिमीलाई दिनुभएको कार्यभार, परमेश्वरको इच्छा, र परमेश्वरका अभिप्रायहरूअनुसार गरिनुपर्छ। यसमा मानव इच्छा मिसिएको हुनु हुँदैन, यस क्रममा तिमीले “म यसलाई यसरी गर्न चाहन्छु, म यसलाई यसरी गर्ने योजना बनाउँछु, मैले यसलाई यसरी गर्न सक्छु, म यसलाई यसरी गर्न इच्छुक छु” जस्ता कुराहरू भन्नु हुँदैन। बरु, सबै पक्षहरूमा र सबै कुराहरूमा, तिमीले यसो भन्दै खोजी गर्नुपर्छ: “परमेश्वरले मलाई के गर्न भन्नुभएको छ? परमेश्वरले के निर्देशन दिनुभएको छ? परमेश्वरले के माग गर्नुभएको छ? के मैले परमेश्वरका मागहरूअनुसार काम गरिरहेको छु? के परमेश्वर सन्तुष्ट हुनुहुन्छ?” तिमीले परमेश्वरको सेवा गरिरहेको हुनाले, तिमीले यसरी काम गर्दा परमेश्वर तिमीसँग सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न भनेर तिमीले सधैँ खोजी गर्नुपर्छ, र तिमीले सधैँ आफैलाई जाँच्नुपर्छ: “के मैले यसरी काम गर्दा अवरोध उत्पन्न भइरहेको छ? के यसमा कुनै मानव इच्छा मिसिएको छ? के मैले आफ्नै इच्छाको आधारमा यो गरिरहेको छु? के यसरी काम गर्नु परमेश्वरका अभिप्रायहरू अनुरूप हुन्छ? के परमेश्वरले यसलाई स्वीकार गर्नुहुन्छ? के यो असल कार्य हो?” तिमीले सधैँ यसरी खोजी गर्नुपर्छ र आफैलाई जाँच्नुपर्छ; यसरी अभ्यास गर्नु मात्रै परमेश्वरको सेवा गर्नु हो। यसरी, तिमीले परमेश्वरबाट प्राप्त गर्ने कुरा हैसियत होइन, तर एउटा जिम्मेवारी हो। आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको आफ्नै उद्यममा संलग्न हुनुको सट्टा, तिमीले गर्नुपर्ने काम गर्नु, तिमीले बोल्नुपर्ने शब्दहरू बोल्नु, र तिमीले अर्पण गर्नुपर्ने भाग अर्पण गर्नु मात्रै हो। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले हैसियतलाई हेर्ने दृष्टिकोण यस्तो छ: “यदि मैले मानिसहरूलाई मेरो अगाडि ल्याएँ, र तिनीहरूले मेरो कुरा मात्रै सुने, र परमेश्वरमा विश्वास गरे पनि उहाँको कुरा सुनेनन्, र मैले परमेश्वरलाई नाम मात्रको बनाएँ भने, मेरा पापहरू साँच्चै ठूला हुनेछन्, र मलाई युगौँयुगसम्म पापीको रूपमा दोषी ठहराइनेछ। यदि मैले मानिसहरूसँग सङ्गति गर्ने कुरा र मैले उनीहरूलाई गर्नका लागि अगुवाइ गर्ने कामको अन्तिम परिणामहरू उनीहरू परमेश्वरको अगाडि आउन सक्छन्, परमेश्वरलाई कसरी खोज्ने भन्ने जान्दछन्, उनीहरूले परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्छन्, र कामकुराहरू गर्दा परमेश्वरका अभिप्रायहरू खोज्न र सत्यता सिद्धान्तहरू खोज्न जान्दछन् भन्ने हुन्छ, र यो देख्दा परमेश्वर सन्तुष्ट बन्नुहुन्छ भने, मैले यसरी परमेश्वरको सेवा गर्दा मानिसहरूलाई परमेश्वरको अगाडि ल्याएको हुन्छु, मेरो सेवा परमेश्वरका अभिप्रायहरू अनुरूप हुन्छ, र यो एउटा सफलता हुन्छ। यदि मैले मानिसहरूलाई मेरो अगाडि ल्याएँ, र सबैले मेरो कुरा सुने र ममाथि आशा राखे, तर तिनीहरूले परमेश्वरमाथि आशा राख्न वा परमेश्वरलाई खोज्न जानेनन्, र तिनीहरूले मामलाहरूको सामना गर्दा, तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझेनन् र सत्यता सिद्धान्तहरूअनुसार काम गर्न जानेनन् भने, म परमेश्वरप्रतिको मेरो सेवामा असफल भएको हुन्छु, र म पापी बनेको हुन्छु।” हेर त, उनीसँग यो सचेतना छ। त्यसकारण, धेरै पटक, अगुवा र कामदारहरूसँग सङ्गति गर्दा होस् वा साधारण दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्दा होस्, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले उनीहरूलाई सत्यता सिद्धान्तहरू बताउँछन्, उनीहरूले आफ्नो दैनिक जीवनमा वा आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा समस्याहरूको सामना गर्दा परमेश्वरको वचन खोज्न र परमेश्वरलाई प्रार्थना गर्न लगाउँछन्, र उनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा भ्रष्ट स्वभावहरू प्रकट गर्दा वा सिद्धान्तहरू उल्लङ्घन गर्दा, परमेश्वरको वचनका आधारमा आत्म-चिन्तन गर्न र आफैलाई चिन्न, उनीहरूलाई ताडना दिन परमेश्वरलाई अनुरोध गर्न, र परमेश्वरको सजाय र न्याय स्वीकार गर्न लगाउँछन्। यसबाहेक, कामका धेरै भागहरू गर्दा, उनले परमेश्वरको वचनको गवाही दिइरहेका हुन्छन् र सत्यताको गवाही दिइरहेका हुन्छन्। कहिलेकाहीँ उनले तिमीलाई उनको कुरा मान्नू भनेर भन्छन्, तर त्यो कुन प्रसंगमा हुन्छ? त्यो तब हुन्छ जब उनले भनेको कुरा परमेश्वरका अभिप्रायहरू अनुरूप छ, र यदि तिमीले उनले भनेजस्तै गर्यौ भने त्यो गलत हुनेछैन भन्ने कुरामा उनी शतप्रतिशत निश्चित भएका हुन्छन्। तिम्रो कद यति सानो भएको हुनाले, तिमीले आफै सत्यता कसरी खोज्ने भन्ने नजान्ने हुनाले, र परमेश्वरका मागहरू के-के हुन् भन्ने नजान्ने हुनाले, उनले तिमीलाई सीधै के गर्ने भनेर बताउँछन्; उनले भनेजस्तै गर, र यो पक्कै पनि परमेश्वरका अभिप्रायहरू अनुरूप हुनेछ। उनले तिमीलाई गर्ने यो माग पक्कै पनि परमेश्वरका मागहरूको विपरीत जाँदैन र यसले तिनको खण्डन गर्दैन, यो पक्कै पनि परमेश्वरलाई धोका दिनु होइन, यसलाई पक्कै पनि परमेश्वरले निन्दा गर्नुहुन्न, यो पक्कै पनि परमेश्वरका अभिप्रायहरू अनुरूप हुन्छ, र यसले पक्कै पनि परमेश्वरको घरका हितहरूको रक्षा गर्छ। त्यसकारण, तिमीले उनको कुरा सुन्नु पक्कै पनि गलत हुँदैन। तिमीले उनको कुरा सुन्नु भनेको तिमी यस व्यक्तिको अधीनमा रहनु होइन, बरु सत्यताको अधीनमा रहनु र परमेश्वरको अधीनमा रहनु हो, होइन र? (हो।)
भ्रष्ट मानवजातिका लागि, हैसियत वास्तवमा मानिसहरूका लागि पुरुष र महिलाबीचका सम्बन्धहरू, पैसा, वा दैहिक हितहरूभन्दा ठूलो प्रलोभन हो, र यसले व्यक्ति हिँडिरहेको मार्गलाई अझ बढी प्रकट गर्न सक्छ। विशेष गरी परमेश्वरको सेवा गर्ने व्यक्तिका हकमा, जब ऊसँग हैसियत हुँदैन, तब ऊ सत्यता पछ्याउन सक्षम देखिन्छ, र जोसका साथ आफूलाई अर्पण गर्न सक्षम देखिन्छ; उसले निकै सतर्कताका साथ काम गर्छ, ऊसँग दीन हृदय हुन्छ, र उसले सत्यता सिद्धान्तहरू खोज्न सक्छ। तर, जब ऊसँग हैसियत हुन्छ, तब ऊ अझै पनि यी सत्यता सिद्धान्तहरू र अभ्यासका यी मार्गहरूमा अडिग रहन सक्छ कि सक्दैन भन्ने कुरा यो व्यक्ति कुन मार्गमा हिँडिरहेको छ भन्ने कुरामा निर्भर हुन्छ। जब सत्यता पछ्याउने व्यक्ति योग्य हुन्छ वा परमेश्वरको सेवा गर्ने स्थानमा हुन्छ, तब उसले आफू हिँड्ने मार्ग सही छ कि छैन भन्ने कुरामा ध्यान दिन्छ। जब सत्यता नपछ्याउने व्यक्तिले हैसियत प्राप्त गर्छ, तब उसको सक्कली रूप प्रकट हुन्छ। त्यसकारण, जब कतिपय मानिसहरूसँग हैसियत हुँदैन, तब तिनीहरूमा ख्रीष्टविरोधी स्वभावहरू भएजस्तो मात्रै देखिन्छ, र तिनीहरूका भ्रष्ट स्वभावका केही पक्षहरू केही हदसम्म स्पष्ट हुन्छन्, तर जब तिनीहरूसँग हैसियत हुन्छ, तब तिनीहरूले शक्ति हातमा लिन र अन्तिम निर्णय गर्न सक्छन्, र तिनीहरूले स्वतन्त्र राज्यहरू खडा गर्न सक्छन्। यसको अर्थ तिनीहरूमा ख्रीष्टविरोधी स्वभावहरू मात्रै हुन्छन् भन्ने होइन, बरु तिनीहरू ख्रीष्टविरोधीहरू नै हुन् भन्ने हुन्छ। यसरी, धेरै मानिसहरूसँग जब हैसियत हुँदैन, तब तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न सक्छन्, र तिनीहरूसँग हैसियत हुनेबित्तिकै, तिनीहरू ख्रीष्टविरोधीहरू नै बन्छन्—तिनीहरूसँग हैसियत हुनेबित्तिकै, तिनीहरूको सक्कली रूप प्रकट हुन्छ। जब यस्तो प्रकारको व्यक्तिसँग हैसियत हुँदैन, तब उसले कहिल्यै आफूलाई चिन्दैन र ऊ आफ्ना भ्रष्ट स्वभावहरूका बारेमा सङ्गति गर्न खुलस्त हुँदैन—यो एउटा प्रमुख विशेषता हो। अर्को विशेषता भनेको सत्यता स्वीकार नगर्नु र सत्यता अभ्यास नगर्नु हो। जब कसैले ऊसँग मागहरू राख्छ वा उसलाई काटछाँट गर्छ र कुनै निश्चित क्षेत्रमा आएको उसको समस्या औँल्याउँछ, तब उसले अर्को व्यक्तिसँग हैसियत छ कि छैन भनेर हेर्नुपर्छ। यदि यो कुरा भन्ने व्यक्ति म, वा ब्रदर, वा ऊभन्दा माथिल्लो स्तरका अगुवा हो भने, उसले भन्नेछ, “तपाईंले भन्नुभएको कुरा सही छ, म यसलाई स्वीकार गर्छु र यसको अधीनमा रहन्छु।” यदि हैसियत नभएको व्यक्तिले उसलाई तिनै समस्याहरू औँल्याइदियो भने, उसले यसलाई अलिकति पनि स्वीकार गर्नेछैन। उसले काटछाँट स्वीकार गर्छ कि गर्दैन भन्ने कुरा उसलाई काटछाँट गर्ने व्यक्तिको हैसियत उच्च छ कि निम्न छ भन्ने कुरामा निर्भर हुन्छ। जब ऊसँग हैसियत हुन्छ, तब उसले हैसियतको आडमा काम गर्छ र कामकुराहरू गर्छ; उसले कहिल्यै आफ्नो चिरफार गर्दैन वा आफूलाई चिन्दैन, र उसले कहिल्यै सत्यता स्वीकार गर्दैन वा काटछाँट स्वीकार गर्दैन—यदि उसले स्वीकार गरे पनि, यो सतही स्वीकार मात्रै हुन्छ। काटछाँटका शब्दहरू सुनेपछि, उसले आफूलाई नजाँच्ने वा आत्म-चिन्तन नगर्ने मात्र होइन, तर उसले आफ्नो हृदयमा यसो पनि भन्छ, “तपाईंसँग हैसियत छ, त्यसैले तपाईंले भनेका सबै कुरा सही छन्। यदि तपाईंसँग हैसियत नभएको भए, म तपाईंलाई पटक्कै वास्ता गर्नेथिइनँ, र म तपाईंका कुराहरूलाई पटक्कै हृदयमा लिनेथिइनँ!” उसले सत्यता स्वीकार नगर्ने मात्र होइन, तर उसले आफ्नै इच्छाअनुसार काम पनि गर्छ; ऊ आफ्ना कार्यहरूमा स्वेच्छाचारी, मनमानी, र हठी हुन्छ, र उसले स्वतन्त्र राज्यहरू खडा गर्न र आफ्नै उद्यममा संलग्न हुन समेत सक्छ। उसले सोच्छ, “अब मसँग हैसियत भएको हुनाले, मेरो अख्तियारको दायरा जतिसुकै ठूलो भए पनि, म त्यस दायराभित्र मेरो व्यक्तिगत प्रतिष्ठा स्थापित गर्नेछु र मेरो व्यक्तिगत हैसियत सुरक्षित गर्नेछु। अरू कसैलाई पनि हस्तक्षेप गर्ने अधिकार छैन, र काम कसरी गरिन्छ भन्ने कुरामा म नै अन्तिम निर्णय गर्छु। परमेश्वर पन्छिनुपर्छ, सत्यता पन्छिनुपर्छ; पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस, परमेश्वरको घरको कामका प्रबन्धहरू, र सत्यता सिद्धान्तहरू सबै पन्छिनुपर्छ। म जे चाहन्छु त्यही गर्नेछु, र म जसरी चाहन्छु त्यसरी नै गर्नेछु। म नै सर्वोच्च सिद्धान्त हुँ, र मेरा शब्दहरू नै मापदण्ड हुन्!” यसो भन्नु र यसो गर्नु परमेश्वरका अभिप्रायहरू अनुरूप छ कि छैन र सत्यता सिद्धान्तहरू अनुरूप छ कि छैन, वा परमेश्वरले सङ्गति गर्नुभएको कुरा यही हो कि होइन भनेर उसले कहिल्यै खोज्दैन। जब उसले प्रशासनिक र कर्मचारीसम्बन्धी काम गर्छ, तब उसले कहिल्यै कामका प्रबन्धहरू खोज्दैन, न त उसले कामका प्रबन्धहरूअनुसार काम नै गर्छ; बरु, उसले जसरी चाहन्छ त्यसरी नै काम गर्छ, स्थानीय तानाशाह र डाँकाका नाइकेका रूपमा काम गर्छ, र उसले मण्डलीमा राजाहरूले जस्तै शक्ति हातमा लिन्छ र अन्तिम निर्णय गर्छ। के यिनीहरू ख्रीष्टविरोधी हुन्? (हुन्।) के त्यस्ता मानिसहरूले परमेश्वरको सेवा गरिरहेका हुन्छन्? (हुँदैनन्।) अलिकति कष्ट भोगे पछि र अलिकति मूल्य चुकाए पछि, यस्तो व्यक्ति आफ्ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुन चाहन्छ, र उसले सधैँ आफूलाई उचाल्छ, सधैँ साना व्यक्तिगत समूहहरू बनाउँछ, र सधैँ आफ्नै हितहरूका लागि गुटबन्दी गर्छ—यस्ता मानिसहरू ख्रीष्टविरोधीहरू नै हुन्। यदि तिमीहरू परमेश्वरको सेवा गर्दा यो मार्गमा हिँड्छौ भने, तिमीहरू पूर्ण रूपमा खत्तम हुन्छौ, र तिमीहरू हटाइने कुरा निश्चित हुन्छ। गैरविश्वासीहरूका शब्दमा भन्दा, हैसियत भनेको दुईधारे तरवार हो। तिमीले यसलाई जिम्मेवारीको रूपमा लिन सक्छौ, र अवश्य नै, तिमीले यसलाई आफ्ना चाहना र महत्त्वाकाङ्क्षाहरू साकार पार्ने साधन र माध्यमको रूपमा पनि लिन सक्छौ; यो तिम्रा लागि परमेश्वरको सेवा गर्ने र मुक्ति प्राप्त गर्ने छोटो बाटो बन्न सक्छ, र यसले तिमीलाई नाश हुने अवस्थामा पनि पुर्याउन सक्छ। यो तिमी कुन मार्गमा हिँड्छौ भन्ने कुरामा निर्भर हुन्छ, र यो तिमीले यस हैसियतलाई कसरी लिन्छौ भन्ने कुरामा निर्भर हुन्छ।
पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यो हैसियत प्राप्त गरेपछि, उनले हरेक मामला र हरेक व्यक्तिलाई सम्हाल्दा पालन गरेका सिद्धान्तहरू—चाहे माथिल्लो स्तरका अगुवा र कामदारहरूलाई सम्हाल्दा होस्, कुनै पनि समूहको सुपरिवेक्षकलाई सम्हाल्दा होस्, वा अवरोध र बाधा पुर्याउने साधारण विश्वासीहरूलाई सम्हाल्दा होस्—ती सबै उनले खोजेका र बहु-दृष्टिकोणबाट विचार गरेका सिद्धान्तहरू हुन्छन्। विशेष गरी जब उनले पहिलो पटक मण्डलीको काम गर्न सुरु गरे, तब अगुवा र कामदारहरू वा साधारण विश्वासीहरूलाई सम्हाल्दा उनी निकै होसियार र सतर्क हुन्थे। कम्तीमा पनि, उनले एउटा सिद्धान्त पालन गर्थे: “जब म कसैलाई सम्हाल्छु, तब यो मेरो आफ्नै इच्छाअनुसार हुँदैन, न त उसले मलाई चिढ्याएको कारणले नै म उसलाई सम्हाल्छु। यो व्यक्तिसँग मेरो कुनै व्यक्तिगत दुस्मनी नहुन सक्छ, उसले मलाई निकै राम्रो व्यवहार गर्न सक्छ, मसँग उसको निकै नजिकको सम्बन्ध रहेको हुन सक्छ, र उसले मेरो निकै सराहना समेत गर्न सक्छ। तर यदि उसले परमेश्वरको घरको काममा अवरोध र बाधा पुर्याएको छ र ऊ संवर्धन गर्न उपयुक्त छैन भने, परमेश्वरको घरको कामको रक्षा गर्ने सिद्धान्तको आधारमा, उसलाई सम्हाल्नुपर्ने बेलामा मैले उसलाई सम्हाल्नुपर्छ।” सुरु-सुरुमा, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई सम्हाल्दा होस्, वा झूटा विश्वासीहरू, अविश्वासीहरू, र दुष्ट मानिसहरूलाई सम्हाल्दा होस्, वास्तवमा उनले पर्याप्त छुट दिएका थिए। उनले किन पर्याप्त छुट दिए? किनभने सुरु-सुरुमा, जब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिस मानिसहरूको सम्पर्कमा आए र मण्डलीको कामको सम्पर्कमा आए, तब उनले परमेश्वरका अभिप्रायहरू, विभिन्न प्रकारका मानिसहरूको प्रकृति सार र तिनीहरूलाई सम्हाल्ने सिद्धान्तहरू, वा विभिन्न प्रकारका मानिसहरूका कार्य र व्यवहारले मण्डलीको काम र मण्डलीको जीवनमा कस्तो प्रकारको प्रभाव पार्छ भन्ने कुरा पूर्ण स्पष्टताका साथ देखिसकेका थिएनन्, र उनीसँग यी मामलाहरूलाई सम्हालेको कुनै अनुभव थिएन। त्यसकारण, उनले सधैँ मानिसहरूप्रति सहनशीलता देखाए र तिनीहरूलाई सकेसम्म धेरै अवसरहरू दिए, र परमेश्वरमा साँचो विश्वास गर्ने कसैलाई पनि अन्याय नगर्ने प्रयास गरे। बाहिरी रूपमा, कतिपय मानिसहरू परमेश्वरका साँचो विश्वासीहरू जस्ता देखिन्थे र तिनीहरूले कुराहरू त्याग्थे र आफूलाई अर्पण गर्थे, तर कहिलेकाहीँ तिनीहरूले अवरोध र बाधा पुर्याउने कामहरू पनि गर्थे, र उनले अझै पनि तिनीहरूलाई पश्चात्ताप गर्ने अवसरहरू दिन्थे। किनभने मानिसहरू सबै भ्रष्ट मानव हुन्, तिनीहरूमध्ये कसैले पनि सत्यता बुझ्दैनन्, न त तिनीहरूले परमेश्वरका अभिप्रायहरू नै बुझ्छन्, र तिनीहरू सबै आफ्ना भ्रष्ट स्वभावहरूद्वारा जिउँछन्। त्यसकारण, सुरुमा, जब पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसलाई मण्डलीको प्रशासनिक काम, कर्मचारीसम्बन्धी काम, सामान्य मामिलाको काम, र कामका अन्य कुराहरूसम्बन्धी सिद्धान्तहरूको बारेमा त्यति धेरै ज्ञान थिएन, तब उनले मण्डलीको कामको विभिन्न कुराहरूलाई सतर्कता र सहनशीलताका साथ सम्हाले, र उनले मण्डलीका विभिन्न प्रकारका मानिसहरूलाई पनि यसरी नै व्यवहार गरे। सुरुको केही समयसम्म, जताततै मण्डलीका अगुवाहरूमाझ, खराब मानवता भएका वा वास्तविक काम गर्न नसक्ने हैसियत ओगटेका केही मानिसहरू थिए। सत्यताका विभिन्न पक्षहरू—परमेश्वरले मानिसहरूका भ्रष्ट स्वभाव र प्रकृति सारलाई गर्नुभएको खुलासा, परमेश्वरले विभिन्न प्रकारका मानिसहरूलाई गर्नुभएको ठहर, इत्यादि—बिस्तारै प्रकट र व्यक्त भएपछि मात्रै पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले, एक हिसाबमा, धेरै कार्य अनुभव सँगाले, मानिसहरूलाई हेर्ने र कामकुराहरूलाई हेर्ने कुरामा उनी झन्-झन् सटीक बन्दै गए, र विभिन्न प्रकारका मानिसहरूको सारलाई सही रूपमा देख्न थाले। यसका साथै, परमेश्वरले झन्-झन् धेरै सत्यताहरू व्यक्त गर्नुभएपछि, उनले पनि झन्-झन् धेरै सत्यताहरू बुझे। जब यी दुई पक्षहरू जोडिए, तब मण्डलीको प्रशासनिक काम, कर्मचारीसम्बन्धी काम, सामान्य मामिलाको काम, र कामको अन्य कुराहरूप्रतिका उनको प्रदर्शन झन्-झन् सटीक, सिद्धान्तहरूसँग झन्-झन् मिल्दो, परमेश्वरका अभिप्रायहरूसँग झन्-झन् अनुरूप, र परमेश्वरको घरको कामको झन्-झन् रक्षा गर्ने खालको बन्यो। यसरी, उनी बिस्तारै धेरैजसो मानिसहरूप्रति सहनशीलता देखाउने, तिनीहरूप्रति धैर्यवान् हुने, र तिनीहरूलाई अवसरहरू दिने प्रारम्भिक चरणबाट मण्डलीलाई सफा गर्ने—विभिन्न प्रकारका दुष्ट मानिसहरू, ख्रीष्टविरोधीहरू, र अविश्वासीहरूलाई सफा गर्ने, र अवरोध र बाधा पुर्याउने विभिन्न प्रकारका मानिसहरूलाई सफा गर्ने—चरणमा सरे; अनि त्यसपछि उनी मण्डलीमा कर्तव्य निर्वाह गर्ने कर्मचारीहरूलाई वर्गीकरण गर्ने र तिनीहरूलाई मण्डलीहरूमा विभाजन गर्ने, र पूर्णकालीन कर्तव्य मण्डलीहरूबाट पूर्ण-समय कर्तव्य पूरा गर्ने मापदण्डहरू पूरा नगर्ने विभिन्न प्रकारका मानिसहरूलाई निरन्तर सफा गर्ने चरणमा सरे। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले यो काम सधैँ नै गर्दै आएका छन्। परमेश्वरले बाटो देखाउनुभएपछि, र परमेश्वरले बिस्तारै विभिन्न सत्यताहरू व्यक्त गर्नुभएपछि, उनले पनि बिस्तारै धेरै सत्यताहरू बुझे, मण्डलीको कामका विभिन्न पक्षहरूलाई अघि बढाउने सिद्धान्तहरू बिस्तारै बोध गरे, र काम अझै राम्ररी गरे। यसमा अलौकिक कुरा पटक्कै छैन, होइन र? (हो।)
पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले काम गर्दा देखाएका—कामका विभिन्न कुराहरूप्रतिको उनको मनोवृत्ति र उनले पालन गरेका सिद्धान्तहरूका आधारमा हेर्दा—यो व्यक्तिले परमेश्वरको सेवा गर्ने क्रममा आफू हिँड्ने मार्गमा धेरै ध्यान दिन्छन् भन्ने कुरा देख्न सकिन्छ। उनले हैसियत र ख्यातिलाई महत्त्व दिँदैनन्, न त उनले मानिसहरूका बीचमा रहेको आफ्नो प्रतिष्ठा र आफ्नो व्यक्तिगत नामलाई नै महत्त्व दिन्छन्; बरु, परमेश्वरको सेवा गर्ने यस यात्रामा आफू कुन मार्गमा हिँडिरहेको छु भन्ने कुरामा नै उनले ध्यान दिन्छन्। उनले यस मामलालाई निकै सतर्कताका साथ लिन्छन्, ख्रीष्टविरोधीको मार्गमा हिँड्नबाट, आफ्नै उद्यममा संलग्न हुनबाट, समूह र गुटहरू बनाउनबाट, वा स्वतन्त्र राज्य खडा गर्नबाट आफूलाई होसियारीपूर्वक जोगाउँछन्। उनले गर्ने कामको हरेक कुराले परमेश्वरको घरका हितहरूको रक्षा गर्छ, परमेश्वरको कामको रक्षा गर्छ, र राज्यको सुसमाचारको फैलावट र प्रगतिको सकेसम्म धेरै रक्षा गर्छ। परमेश्वरको सेवा गर्ने क्रममा, उनले परिस्थितिअनुसार काम गर्दैनन् र आफूले चाहेअनुसार काम गर्दैनन्; बरु, आफ्नो हृदयको गहिराइमा, उनले कुराहरूलाई विचार गर्छन् र उनका आफ्नै विचार र दृष्टिकोणहरू हुन्छन्। उनले निरन्तर विचार गर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण बुँदा—जुन तिमीहरूका लागि पनि अत्यन्तै महत्त्वपूर्ण बुँदा हो—के हो भने उनले हर समय यस्तो विचार गर्छन्, “के मैले हिँडिरहेको मार्ग सही छ? के मैले आफूले बोल्ने र गर्ने कुरामा, परमेश्वरको इच्छा पालन गरिरहेको छु? के मैले परमेश्वरको घरको कामको रक्षा गरिरहेको छु? के मैले सबैलाई इन्साफपूर्ण व्यवहार गरिरहेको छु? के मैले मानिसहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गरिरहेको छु? अपराध गरेकाहरूका हकमा, के मैले तिनीहरूलाई पश्चात्ताप गर्ने अवसर दिएको छु? के मैले तिनीहरूलाई मद्दत र सहयोग गरेको छु? यदि यस प्रकारको व्यक्ति ख्रीष्टविरोधी हो भन्ने निश्चित छ, र मेरो व्यक्तिगत सुरक्षाको रक्षा गर्नका लागि, मैले उसलाई चिढ्याइनँ र उसलाई सफा गरिनँ भने, के यसले मण्डलीलाई हानि पुर्याउनेछ? त्यसोभए के परमेश्वरको अगाडि मेरो सेवा असफल हुनेछ? के यसलाई परमेश्वरले अनुमोदन गर्नुहुनेछैन? के यसलाई परमेश्वरले दोषी ठहराउनुहुनेछ?” उनले जस्तोसुकै काम गरे पनि, उनले पहिले मण्डलीको कामका बारेमा विचार गर्छन्, र परमेश्वरको घरका हितहरूलाई विचार गर्छन्, र आफूले गर्ने कुरा परमेश्वरका अभिप्रायहरू अनुरूप छ कि छैन भनेर पनि विचार गर्छन्। उनले विचार गर्ने कुरा उनको आफ्नै हैसियत, नाम, मूल्य, प्रतिष्ठा, वा उनको शक्तिको हद होइन; बरु, उनले हरेक काम गर्दा आफूले लिने मार्ग सही छ कि छैन, र आफूले पालन गर्ने सिद्धान्त र मापदण्डहरू सत्यतासँग मिल्छन् कि मिल्दैनन् भनेर विचार गर्छन्। उदाहरणका लागि, मानौँ कुनै विशेष कामको सुपरिवेक्षक वा समूह अगुवा यो कामको जिम्मेवारी लिन सक्षम छ, तर यो व्यक्तिले सत्यता त्यति धेरै पछ्याउँदैन, उसको जीवन प्रवेश कमजोर छ, उसले प्रायजसो भ्रष्ट स्वभावहरूका आधारमा काम गर्छ, र उसमा धेरै कमीकमजोरी र खराबीहरू छन्—तर ऊबाहेक, यो कामको जिम्मेवारी लिन अझ उपयुक्त व्यक्ति कोही छैन। यस्तो प्रकारको समस्याको सामना गर्दा ब्रदरले के गर्छन्? उनी सहनशील र धैर्यवान् हुनुपर्छ, र उसले त्यस व्यक्तिलाई प्रायजसो सहयोग र मद्दत पनि गर्नुपर्छ र त्यस व्यक्तिलाई व्यावहारिक मार्गदर्शन दिनुपर्छ। एक हिसाबमा, उनले यसो गर्नु भनेको आफ्नो जिम्मेवारी पूरा गर्नु र आफूले गर्नुपर्ने कुरा गर्नु हो; अर्को हिसाबमा, अझ व्यापक दृष्टिकोणबाट भन्दा, यो उनले गर्नुपर्ने कामको एउटा भाग र परमेश्वरको सेवा गर्दा उनले पूरा गर्नुपर्ने जिम्मेवारी पनि हो। निश्चित रूपमा भन्दा, यो यस कामको प्रगति र अस्तित्वको रक्षा गर्नु पनि हो; अर्थात्, यो अत्यन्तै निश्चित र अत्यन्तै सूक्ष्म पक्षबाट परमेश्वरको घरमा यस कामको अगाडिको विकास र अस्तित्वको रक्षा गर्नु हो। त्यसकारण, यस्तो समूह अगुवा वा सुपरिवेक्षकलाई गर्ने व्यवहारमा, उनले त्यस व्यक्तिसँग अझ बढी सङ्गति गर्नुपर्छ र त्यस व्यक्तिलाई अझ बढी मद्दत गर्नुपर्छ। यदि ऊ अझै पनि परिवर्तन भएन भने, उनले काटछाँट र खुलासा गर्नुपर्छ, जसका लागि कहिलेकाहीँ केही कठोर शब्दहरू बोल्नुपर्ने हुन्छ, र कहिलेकाहीँ हृदय छेड्ने र रिस उठाउने केही शब्दहरू बोल्नुपर्ने हुन्छ। जुनसुकै विधि प्रयोग गरिए पनि, उनको अन्तिम लक्ष्य भनेको यस कामको अस्तित्वलाई कायम राख्नु हो, यसलाई खारेज गर्नु होइन। ब्रदरले जेसुकै गरे पनि, उनले परमेश्वरको घरका हितहरूको रक्षा गर्न र परमेश्वरको घरको कामको रक्षा गर्नका लागि हरसम्भव प्रयास गर्छन्, यसलाई कमजोर पार्ने, बाधा पुर्याउने, वा आफूलाई स्थापित गर्ने काम गर्दैनन्। आत्मिक बुझाइ नभएका कतिपय मानिसहरूले सिद्धान्तहरू बुझ्दैनन्, न त तिनीहरूले परमेश्वरको घरको कामको रक्षा गर्ने तरिकाले परमेश्वरको सेवा कसरी गर्ने भन्ने नै जान्दछन्। जब तिनीहरूले ब्रदरले कसैलाई काटछाँट गरेको देख्छन्, तब तिनीहरूले ब्रदरलाई त्यो व्यक्ति पक्कै मन पर्दैन, र उनले त्यो व्यक्तिलाई बर्खास्त गर्न चाहन्छन् भन्ने मानिलिन्छन्। त्यसैले तिनीहरू हावा जता बहन्छ त्यतै जान्छन्; ब्रदरले जसलाई काटछाँट गर्छन्, तिनीहरूले पनि उसैलाई काटछाँट गर्छन्, र तिनीहरूले अझ कठोर रूपमा काटछाँट गर्छन्। तिनीहरू मनमनै सोच्छन्, “म अझै कडा कदम चाल्नेछु—म तँलाई बर्खास्त गर्नेछु! म यस काममा पर्ने प्रभावको बारेमा विचार गर्नेछैनँ। मलाई रिस उठेको बेला, म आफ्नो नियन्त्रण गुमाउनेछु, टेबुल ठटाउनेछु, तँलाई बर्खास्त गर्नेछु, तँलाई ख समूहमा पठाउनेछु, र तँलाई तेरो कर्तव्य पूरा गर्नबाट निलम्बन गर्नेछु! म तेरो समूह भङ्ग गर्नेछु, र म तेरो समूह अब अस्तित्वमा नरहने कुरालाई सुनिश्चित गर्नेछु!” तिमीहरूलाई यो तरिका कस्तो लाग्छ? के यो तुरुन्तै र निर्णायक रूपमा काम गर्नु हो? के तिनीहरूलाई काम कसरी गर्ने भन्ने थाहा हुन्छ? (हुँदैन।) तिनीहरूले यसो गरेर ब्रदरको नामको रक्षा गरेका छौँ भन्ने सोच्छन्, र मनमनै यसो भन्छन्, “ब्रदर, तपाईं यति धेरै रिसाउनुभएको छ, तैपनि उसलाई बर्खास्त गर्न तपाईंलाई निकै अप्ठ्यारो लागिरहेको छ। मानिसहरूलाई चिढ्याउन तपाईंलाई निकै अप्ठ्यारो लाग्छ, त्यसैले म तपाईंको लागि उसलाई बर्खास्त गरिदिन्छु।” ब्रदरले आफ्नो सहनशीलता र धैर्यता अनि आफ्नो काटछाँटको पछाडि कुन-कुन सिद्धान्तहरू पालन गर्छन् भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। वास्तवमा, काटछाँट एउटा विधि हो, र अन्तिम लक्ष्य भनेको मानिसहरूलाई आफ्ना कर्तव्यहरू अझ राम्ररी पूरा गर्न सक्षम तुल्याउनु र परमेश्वरको घरमा यस कामको निरन्तरता र अस्तित्वको उचित रूपमा रक्षा गर्नु हो। तिनीहरूले त्यो समूह अगुवालाई बर्खास्त गर्न ब्रदरलाई निकै अप्ठ्यारो लाग्छ भन्ने सोच्छन्, त्यसैले तिनीहरूले सीधै उसलाई दबाउँछन्, समूह भङ्ग गर्छन्, र मानिसहरूलाई आफ्ना कर्तव्यहरू पूरा गर्नबाट रोक्छन्। यदि तिनीहरूले मण्डलीको कामलाई बरबाद गरे भने, तिनीहरू खुसी हुन्छन् र निकै धर्मी समेत महसुस गर्छन्। मलाई भन त, के तिनीहरूले गर्ने कुरा परमेश्वरका अभिप्रायहरू अनुरूप हुन्छ? (यो परमेश्वरका अभिप्रायहरू अनुरूप हुँदैन।) समस्या सम्हाल्ने व्यक्तिसँग व्यक्तिगत अभिप्राय र मनसायहरू छन् कि छैनन् भन्ने कुरालाई अहिलेका लागि पन्छाएर राखौँ; यदि त्यस्तो व्यक्तिलाई साँच्चै परमेश्वरको सेवा गर्न दिइयो भने, के उसले अवरोध र बाधा पुर्याउने बाहेक अरू केही गर्नेछैन भन्ने हुँदैन र? के त्यस्तो व्यक्तिले परमेश्वरको सेवा गर्न सक्छ? (सक्दैन।) तिमीले केही धर्मसिद्धान्तहरू मात्रै बुझ्छौ तर सिद्धान्तहरू जान्दैनौ; समस्याहरूको सामना गर्दा, तिनलाई कसरी समाधान गर्ने भन्ने तिमीलाई थाहा हुँदैन, र तिमीलाई कसरी परमेश्वरको घरका हितहरूको रक्षा गर्ने भन्ने थाहा हुँदैन। तिमी मण्डलीको काम राम्ररी गर्न चाहन्छौ तर तिमीलाई यो कसरी गर्ने भन्ने थाहा हुँदैन। यहाँ समस्या के हुन्छ त? तिमीले मुखले भन्छौ, “म साँच्चै परमेश्वरको घरका हितहरूको रक्षा गर्न चाहन्छु। म मण्डलीको काममा अवरोध र बाधा पुर्याउनदेखि डराउँछु, र म मण्डलीको काम बिगार्नदेखि डराउँछु। म परमेश्वरलाई दुःखी बनाउनदेखि पनि डराउँछु; म परमेश्वरले चिन्ता गर्नुभएको चाहन्नँ, र म परमेश्वरलाई सन्तोषजनक जवाफ दिन चाहन्छु।” तर वास्तविकतामा, तिम्रा कार्य र व्यवहारले अवरोध र बाधा पुर्याइरहेका हुन्छन्, र कुराहरूलाई कमजोर पारिरहेका हुन्छन्। मलाई भन, यहाँ समस्या के हो? मेरो तर्फबाट भन्दा, म तिमीहरूसँग कुराहरूलाई बढाइचढाइ गर्नेछैनँ; म तिमीहरूको मानवता कस्तो छ भनेर भन्नेछैनँ, न त म तिमीहरूले व्यक्तिगत रिस पोखिरहेका छौ कि छैनौ भनेर नै भन्नेछु। तिमीहरूको समस्या जुनसुकै पक्षमा भए पनि, समग्रमा, तिमीहरूको कद अत्यन्तै सानो छ। तिमीहरूको कद अत्यन्तै सानो छ भन्ने कुरालाई निश्चित रूपमा कसरी व्याख्या गर्नुपर्छ? यसको अर्थ के हो भने, तिमीहरूले साँच्चै सत्यता सिद्धान्तहरू बुझ्दैनौ; यदि कसैले तिमीहरूलाई अगुवाइ गरेन भने, तिमीहरू सबैले लापरवाह रूपमा दुष्कर्म गर्न सक्छौ, र मण्डलीको कामलाई पूर्ण रूपमा लथालिङ्ग बनाएर, यसलाई चिन्नै नसकिने अवस्थामा पुर्याउन समेत सक्छौ। मण्डलीका मानिसहरू आतङ्कित अवस्थामा हुनेछन्, र कामको सबै पक्षहरूले कुनै परिणाम दिनेछैनन्—यो लगभग ठप्प हुनेछ। तिमीहरूले सिद्धान्तहरू बुझ्दैनौ, तिमीहरूको कद अत्यन्तै सानो छ, तिमीहरूले अत्यन्तै थोरै सत्यता सिद्धान्तहरू बुझ्छौ, तिमीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्दैनौ, र परमेश्वरका मागहरू के हुन् भन्ने तिमीहरूलाई थाहा हुँदैन—यो त सत्यता नबुझ्नु हो। परमेश्वरको घरमा आठ वा दस वर्षसम्म आफ्नो कर्तव्य पूरा गर्दा यसले तिमीहरूलाई पूँजी दिन्छ, तिमीहरूले मण्डलीका मामिलाहरूबारे मनमानी निर्णयहरू गर्न सक्छौ, र तिमीहरूले परमेश्वरको सेवा गर्न सक्छौ भन्ने नसोच। तिमीहरू अझै पनि यसबाट धेरै टाढा छौ। तिमीहरूको कद अत्यन्तै सानो छ; तिमीहरूले केही धर्मसिद्धान्तहरू मात्रै बुझ्छौ तर तिमीहरू सत्यता बुझ्ने स्तरमा पुगेका छैनौ, त्यसैले तिमीहरूका बोलीवचन र व्यवहारहरू सत्यता सिद्धान्तहरू अनुरूप हुँदैनन्। भन्नुको अर्थ, मण्डलीमा उत्पन्न हुने विभिन्न समस्याहरूलाई सत्यता सिद्धान्तहरूअनुसार कसरी सम्हाल्ने भन्ने तिमीहरूलाई थाहा छैन। अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले सत्यताको बारेमा सङ्गति गरेर समस्याहरू समाधान गर्न सक्दैनौ। तिमीहरूले प्रचार गर्न सक्ने धर्मसिद्धान्तहरूको कुनै काम हुँदैन। फलस्वरूप, तिमीहरूले बोल्ने शब्दहरू र तिमीहरूले गर्ने कुराहरू परमेश्वरका अभिप्रायहरू अनुरूप हुन सक्दैनन्। तिमीहरूले जतिसुकै लामो समयदेखि आफ्नो कर्तव्य निर्वाह गरिरहेका भए पनि, तिमीहरू अझै पनि परमेश्वरको इच्छा पछ्याउनबाट चुक्छौ। त्यसकारण, तिमीहरूको कद अत्यन्तै सानो छ, र तिमीहरू अझै सत्यता बुझ्ने स्तरमा पुगेका छैनौ। यो तिमीहरूको सानो कदको प्रकटीकरण हो। तिमीहरूसँग आकाङ्क्षाहरू छन्, इच्छाहरू छन्, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्प छ, र तिमीहरूमध्ये कतिपयले प्रायजसो कसम समेत खान्छौ, तर तिमीहरूको कद अझै पनि अत्यन्तै सानो छ, र तिमीहरूमा सराहना गर्न लायक केही पनि छैन भन्ने कुरा एउटा अकाट्य तथ्य हो। तिमीहरूले बुझ्ने केही शब्द र धर्मसिद्धान्तहरू परमेश्वरको सेवा गर्ने काम लिनका लागि लगभग अपर्याप्त हुन्छन्, परमेश्वरको सेवा गर्ने भारी जिम्मेवारी वहन गर्नका लागि अपर्याप्त नै हुन्छन्। तिमीसँग परमेश्वरको लागि आफूलाई अर्पण गर्ने इमानदारी भए पनि वा नभए पनि, तिम्रा अभिप्रायहरू असल भए पनि र तिमीले राम्रो गर्न चाहे पनि, तिमीले अझै पनि अवरोध पुर्याउन, बाधा पुर्याउन, र कुराहरूलाई कमजोर पार्न सक्छौ। यसले तिमीहरूको कद निकै कम छ, र तिमीहरूले अझै पनि आफूलाई धेरै सत्यताहरूले सुसज्जित गर्नुपर्छ भन्ने देखाउँछ। के तिमीहरूले बुझ्यौ? तिमीहरूको हालको कदको आधारमा, तिमीहरूलाई हैसियत दिइए पनि, तिमीहरूले काम गर्न सक्नेछैनौ। मैले यी दिनहरूमा तिमीहरूसँग परमेश्वरको सेवा गर्ने बारेमा पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसका कार्य र अभ्यासहरू, उनका व्यक्तिगत प्रकटीकरणहरू र उनले पालन गर्ने सिद्धान्तहरू, उनका विचारहरू, उनका दृष्टिकोणहरू, र हरेक काम गर्दा उनमा हुने अभिप्रायको बारेमा सङ्गति गरेको छु—यसले तिमीहरूलाई परमेश्वरको सेवा कसरी गर्ने र सही मार्गमा कसरी हिँड्ने भनेर सिकाइरहेको छ। तिमी अगुवा वा कामदार बनेपछि, तिमीसँग हैसियत हुन्छ र तिम्रो शिरमाथि एउटा आभा हुन्छ भन्ने नसोच। वास्तवमा, त्यहाँ कुनै आभा हुँदैन; त्यो हैसियत एउटा जिम्मेवारी मात्रै हो। पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसलाई हेर: के मानिसहरूद्वारा आदर गरिनु, प्रशंसा गरिनु, उचालिनु, तारिफ गरिनु, र चापलुसी गरिनुमा उनले कहिल्यै आनन्द लिएका छन् र? उनले यी कुराहरूमा आनन्द लिँदैनन्। जब उनले तिमीहरूले मूर्खतापूर्ण कामहरू गरेका देख्छन्, तब उनी चिन्तित र व्याकुल हुन्छन् र मलाई यी मामलाहरूबारे बताउँछन्, र यी कुराहरू सुन्दा म पनि निकै व्याकुल हुन्छु। म किन व्याकुल हुन्छु? तिमीहरूले यति धेरै वर्षसम्म प्रवचनहरू सुनेका छौ, तैपनि तिमीहरूको कद अझै पनि अत्यन्तै सानो छ। यदि तिमीहरूले आफ्नो कद सानो छ भन्ने महसुस गर्न, आफ्नो औकात के हो भन्ने जान्न, उप्रान्त हैसियत नपछ्याउन, र उप्रान्त आफू असल छु भन्ने महसुस नगर्न सक्यौ भने, त्यसलाई केही आत्मचेतना भएको मानिनेछ। तर, धेरैजसो मानिसहरूमा अझै आत्मचेतना छैन। यस्तो सानो कद लिएर, तिमीहरूले कुनै काम गर्न सक्दैनौ, तिमीहरूले कुनै कार्यको जिम्मेवारी लिन सक्दैनौ, र तिमीहरूले कुनै पनि काम आत्मनिर्भर रूपमा पूरा गर्न सक्दैनौ। त्यसमाथि, तिमीहरू सधैँ मूर्खतापूर्ण कुराहरू र बेतुकका कुराहरू गर्छौ, र तिमीहरूले अवरोध र बाधा पुर्याउँछौ, तैपनि तिमीहरू यसबारे अचेत रहन्छौ र अझै पनि आफैप्रति निकै राम्रो महसुस गर्छौ। मलाई भन, म कसरी चिन्तित र व्याकुल नभई बस्न सक्छु र? म तिमीहरूलाई हैसियत, खोक्रो ख्याति, र सुविधाहरू जस्ता व्यर्थका कुराहरूमा ध्यान केन्द्रित गराउनुको सट्टा, सत्यतामा ध्यान केन्द्रित गराउने उपायहरू खोज्ने प्रयास गर्छु; ती कुराहरूमा ध्यान केन्द्रित गर्नु अर्थहीन हुन्छ। कसले यो भजनलाई इमानदारीपूर्वक गाउँछ, कसले यसलाई मानिसहरूलाई छुने तरिकाले गाउँछ, र कुन मानिसहरूलाई यो भजन कसरी गाउने भन्ने थाहा छैन वा गाउन मन पराउँदैनन् भनेर हेर्नका लागि तिमीहरूले “परमेश्वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ” भन्ने भजन गाइरहेको बेला म तिमीहरूलाई अवलोकन गर्छु। के मैले यसरी अवलोकन गर्नु सही हो? के मैले तिमीहरूको पिठ्यूँ पछाडि तिमीहरूको जासुसी गरिरहेको हुन्छु? वास्तवमा, यो तिमीहरूको जासुसी गर्नु होइन; यो तिमीहरूका लागि बोझ हुनु हो, तिमीहरूका लागि आशाहरू हुनु हो, र तिमीहरूप्रति अपेक्षाहरू हुनु हो। म आउने दिनहरूमा तिमीहरूले मूर्खतापूर्ण कुराहरू र बेतुकका कुराहरू गरेको बारेमा मैले अत्यन्तै कम सुन्न पाऊँ भन्ने आशा गर्छु; म तिमीहरूको जीवनको वृद्धि छिटो हुनेछ, तिमीहरूले विभिन्न मामलाहरू अनुभव गर्न र विभिन्न वातावरणहरू अनुभव गर्न सक्नेछौ, र विभिन्न मानिस, घटना र कामकुराहरूलाई खुट्ट्याउन सिक्नेछौ, र तिमीहरूले कर्तव्यको जुनसुकै पक्ष निर्वाह गरिरहेको भए पनि, तिमीहरूले सत्यताको लागि मेहनत गर्नेछौ र सिद्धान्तहरूअनुसार काम गर्न सक्नेछौ भन्ने आशा गर्छु। सत्यताको लागि मेहनत गर्नुको अर्थ के हो? यसको अर्थ सबै कुरामा सत्यता खोज्नु, सत्यता सिद्धान्तहरूअनुसार कडाइका साथ अभ्यास गर्नु, र आफूले पत्ता लगाएका कुनै पनि समस्याहरू समाधान गर्नका लागि तुरुन्तै सत्यता खोज्न सक्षम हुनु हो—यो सचेत रूपमा सत्यता पछ्याउनु र सिद्धान्तहरूअनुसार काम गर्ने अवस्थामा पुग्नु हो। आफूले सामना गर्ने हरेक कुरामा, तिमीहरूले सत्यताअनुसार कसरी अभ्यास गर्ने, र तिमीहरूसँग अझै पनि समाधान गर्नुपर्ने कुनै समस्याहरू छन् कि छैनन् भनेर आफैलाई सोध्दै, आत्म-चिन्तन गर्नुपर्छ, र तिमीहरूमा के कुराको कमी छ, तिमीहरूले आफूलाई के कुराले सुसज्जित गर्नुपर्छ, र तिमीहरूले आफ्नो कमीलाई कसरी पूरा गर्नुपर्छ भन्ने कुरालाई तिमीहरूले प्रायजसो महसुस गर्न सक्नुपर्छ। यसका साथै, तिमीहरूले निर्वाह गर्ने कर्तव्यमा तिमीहरूले कुन-कुन सत्यता सिद्धान्तहरू बुझेका छौ, र तिमीहरूले अझै पनि कुन-कुन सत्यता सिद्धान्तहरू बुझेका छैनौ, कुन-कुन सिद्धान्तहरू खोज्नुपर्छ, र कुन-कुनमा परमेश्वरको प्रबोधन र मार्गदर्शन आवश्यक छ भन्ने कुरालाई तिमीहरूले जान्न सक्नुपर्छ। विशेष गरी परमेश्वरको सेवा गर्दाको अवधिमा, तिमीहरूले परमेश्वरको सेवा गर्दा कुन-कुन सिद्धान्तहरूमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने कुरा महसुस गर्न सक्नुपर्छ, र तिमीहरू सिद्धान्तहरूअनुसार काम गर्न सक्षम हुनुपर्छ। तिमीहरू हिँड्ने मार्ग सही छ कि छैन, र यो मुक्ति प्राप्त गर्नका लागि सत्यता पछ्याउने मार्ग हो कि होइन भन्ने कुरामा पनि तिमीहरूले ध्यान दिनुपर्छ।
मण्डलीको काम गर्नु भनेको गैरविश्वासी संसारमा जागिर खानु जस्तो होइन। तिमीले जसको सेवा गरिरहेका छौ उहाँ परमेश्वर हुनुहुन्छ। यो गम्भीर मामला हो; यो कुनै खेल होइन। यसलाई खेल जस्तो ठान्नु भनेको तिम्रो आफ्नै गन्तव्यलाई मजाकको रूपमा लिनु बराबर हो। यदि तिमी कुन मार्गमा हिँडिरहेका छौ भन्ने तिमीलाई अझै पनि थाहा छैन भने, तिमीले आफैलाई जाँच्नमा ध्यान केन्द्रित गर्नुपर्छ। यदि तिमी हिँडिरहेको मार्ग सत्यता पछ्याउने मार्ग होइन, तर फरिसीहरूको मार्ग हो, झूटा अगुवाहरूको मार्ग हो, ख्रीष्टविरोधीहरूको मार्ग हो भन्ने तिमीलाई पहिले नै थाहा छ भने, तिमीले के गर्नुपर्छ? के यो पनि खोज्नुपर्ने एउटा दिशा होइन र? (हो।) यदि तिमी हिँडिरहेको मार्ग सही छ कि छैन भन्ने कुरामा तिमी अनिश्चित छौ भने, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसले परमेश्वरको सेवा गर्ने बारेमा आज हामीले सङ्गति गरेको कुरालाई हेर: उनले कसरी व्यवहार गर्छन्, उनले के अभ्यास गर्छन्, उनले के कुरालाई महत्त्व दिन्छन्, र उनले कस्ता विचार र दृष्टिकोणहरू राख्छन्, साथै उनले विशेष सतर्कता र विशेष इमानदारी र गम्भीरताका साथ लिने क्षेत्रहरूलाई हेर। यी पक्षहरूबाट सुरु गर, यी पक्षहरूमा मेहनत गर, र आफ्ना पाइलाहरूलाई ध्यान देऊ। तिमीसँग हैसियत भएको र तिमीले परमेश्वरको सेवा गर्ने हुनाले, तिमी उच्च स्थानमा उभिन सक्छौ र तिमीले आदेशहरू दिन सक्छौ, र लाज नमानी शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न र नाराहरू लगाउन सक्छौ भन्ने नसोच। यो तिम्रो आफ्नै गन्तव्यप्रति, परमेश्वरको कामप्रति, र परमेश्वरले तिमीलाई दिनुभएको मिसनप्रतिको गैरजिम्मेवार मनोवृत्ति हो। यदि तिमीसँग यस्तो मनोवृत्ति छ भने, तिमी ठूलो खतरामा हुन्छौ; तिमीलाई सजिलै ठेस लाग्नेछ, तिमी सजिलै लड्नेछौ, तिमीले सजिलै बाटो बिराउनेछौ, तिमी सजिलै ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेछौ, र तिमीले सजिलै परमेश्वरका मागहरू विपरीत काम गर्नेछौ। यो परिणामबाट जोगिनका लागि, तिमीले के गर्नुपर्छ? कम्तीमा पनि, तिमीले परमेश्वरको सेवा गर्ने क्रममा तिमीले के-कस्ता अपराधहरू गरेका छौ वा के-कस्ता घुमाउरा बाटाहरू लिएका छौ भनेर जाँच्नुपर्छ। तिमीले पाठहरू सिक्नुपर्छ र अनुभव प्राप्त गर्नुपर्छ, र भविष्यमा परमेश्वरको सेवा गर्ने क्रममा तिमी हिँड्ने मार्ग फरिसीहरूको मार्ग होइन, र ख्रीष्टविरोधीहरूको मार्ग होइन, तर सत्यता पछ्याउने मार्ग हो भन्ने कुरा सुनिश्चित गर्ने प्रयास गर्नुपर्छ। मैले यसरी सङ्गति गर्दा के तिमीहरूले बुझ्न सक्छौ? (हामी बुझ्न सक्छौँ।) त्यसोभए आजका लागि हाम्रो सङ्गति यहीँ समाप्त गरौँ। बिदा!
मार्च १, २०२५