सत्यता कसरी पछ्याउने (२७)

“सत्यता कसरी पछ्याउने” अन्तर्गत रहेको “आफूलाई त्याग्नु” विषयको सम्बन्धमा, हामीले “आफू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने” विषयभित्रका धारणा र कल्पनाहरूसँग सम्बन्धित विषयवस्तुसम्म सङ्‍गति गर्‍यौँ। विगतमा केही पटक, हामीले “देहधारी परमेश्‍वरबारेका धारणा र कल्पनाहरू त्याग्‍ने” विषयमा सङ्‍गति गर्‍यौँ। आज हामी यसै विषयको सङ्‍गतिलाई जारी राख्नेछौँ। देहधारी परमेश्‍वरबारेका धारणा र कल्पनाहरूका सम्बन्धमा भन्दा, हामीले देहधारी परमेश्‍वरको सामान्य मानवतासँग सम्बन्धित केही विषयहरूमा सङ्‍गति गर्‍यौँ, होइन र? त्यसोभए पछिल्लो पटक हामीले के विषयमा सङ्‍गति गर्‍यौँ? हामीले देहधारी परमेश्‍वरको सामान्य मानवताको जियाई र प्रकाशहरूसँग सम्बन्धित केही निश्‍चित प्रकटीकरणहरूका बारेमा, साथै देहधारी परमेश्‍वरले सामान्य मानवताभित्र रहेर आत्मआचरण र कामकुराहरू गर्ने केही सिद्धान्तहरूका बारेमा सङ्‍गति गर्‍यौँ, अनि त्यसपछि हामीले देहधारी परमेश्‍वरले उहाँको मानवताको हिसाबमा के-कस्ता कुराहरू गर्नुहुन्न भन्‍ने विषयमा सङ्‍गति गर्‍यौँ। यी पक्षहरूका बारेमा सङ्‍गति गर्दा यसले मानिसहरूलाई परमेश्‍वरको देहधारी शरीरको स्वभाव सार र उहाँको आत्मआचरणका सिद्धान्तहरू र कामकुराहरू गर्ने सिद्धान्तहरूलाई, साथै उहाँका केही निश्‍चित प्रकटीकरण र प्रकाशहरूलाई अझ राम्ररी बुझ्‍न मद्दत गर्छ। जब हामी देहधारी परमेश्‍वरका यी प्रकटीकरणहरूका बारेमा सङ्‍गति गर्छौँ—चाहे ती तथ्यहरू, उदाहरणहरूका रूपमा होस्, वा कामकुराहरू गर्ने निश्‍चित सिद्धान्तहरूका रूपमा होस्—तब तिनमा जीवनका सबै प्रकारका सानातिना मामलाहरू समावेश हुन्छन्। तिनमा मानिसहरूका धारणा र कल्पनाहरूमा हुने कुनै पनि महान्, अग्रगामी कार्यहरू वा प्रशंसायोग्य उदात्त कार्यहरू समावेश भएजस्तो देखिँदैन; देहधारी परमेश्‍वरका प्रकटीकरणहरू सबै अत्यन्तै सामान्य र अत्यन्तै साधारण हुन्छन्। देहधारी परमेश्‍वर यस साधारण, भ्रष्ट मानवजातिको बीचमा जिउनुहुने हुनाले नै, उहाँका यी सामान्य र व्यावहारिक प्रकटीकरणहरू, एक हिसाबमा, परमेश्‍वरको देहधारी शरीरको मानवताका अपरिहार्य प्रकटीकरणहरू हुन्, र अर्को हिसाबमा, मानवजातिको बीचमा जिउनुहुने देहधारी परमेश्‍वरको सामान्य आवश्यकता हुन्। अवश्य नै, यी सामान्य र व्यावहारिक प्रकटीकरणहरूले मानिसहरूलाई परमेश्‍वरलाई चिन्‍ने सम्बन्धमा केही जानकारी वा मार्गहरू पनि प्रदान गर्छन्। तिनले मानिसहरूलाई मानिसहरूका बीचमा देहधारी परमेश्‍वरको व्यावहारिक जियाई र आत्मआचरणका व्यावहारिक सिद्धान्तहरूमार्फत परमेश्‍वरको व्यावहारिकता र सामान्यतालाई चिन्‍न अनुमति दिन्छन्, र स्वर्गमा हुनुहुने परमेश्‍वरलाई चिन्‍न पनि अनुमति दिन्छन्, र यसले तिनीहरूलाई स्वर्गमा हुनुहुने परमेश्‍वरलाई अझ सही रूपमा बुझ्‍न, र पृथ्वीमा एक सामान्य, साधारण व्यक्तिको रूपमा रहेको उहाँको सारलाई सही रूपमा बुझ्‍न सक्षम तुल्याउँछ।

कतिपय मानिसहरूले यसो भन्छन्, “तपाईंले देहधारी परमेश्‍वरको सामान्य मानवतासँग सम्बन्धित भनेर बताउनुभएका यी कुराहरू र उदाहरणहरू सबै अत्यन्तै साधारण छन्; ती सबै दैनिक जीवनका अत्यन्तै नगन्य र सामान्य कुराहरू हुन्। के तपाईं रहस्यमय र बुझ्‍न नसकिने, वा निकै भव्य देखिने केही तथ्यहरूका बारेमा कुरा गर्न सक्नुहुन्छ?” यसमा म यसो भन्छु, अहिलेसम्म, वास्तवमा त्यस्ता कुनै कुराहरू भएका छैनन्। देहधारी परमेश्‍वर सामान्य मानवताको वास्तविकतामा, र एक निश्‍चित जियाइको वातावरणमा जिउनुहुन्छ, र परमेश्‍वर स्वयम्‌को काम गर्नेबाहेक, उहाँले आफ्नो बाँकी समय आफ्‍नो सामान्य मानवताको जीवनको दायराभित्र दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दै वा मण्डलीका केही सानातिना समस्याहरू सम्हाल्दै बिताउनुहुन्छ। त्यसैले, उहाँले आफूलाई आचरणमा ढाल्ने र कामकुराहरू गर्ने सिद्धान्त र मान्यताहरूसँग सम्बन्धित रहेका हामीले सङ्‍गति गरेका उदाहरणहरूबाहेक, उहाँले तिमीहरूले कल्पना गर्ने कुनै पनि महान्, अग्रगामी कार्यहरू वा असाधारण कामहरू गर्नुहुन्न। यो मानिसहरूका लागि अप्रत्याशित हुन सक्छ, र यो मानिसहरूका धारणा र कल्पनाहरू अनुरूप नहुन सक्छ, तर वास्तवमा कुराहरू यस्तै छन्। देहधारी परमेश्‍वरको विषयमा रहेको हाम्रो सङ्‍गति मुख्य रूपमा आफ्‍नो सामान्य मानवतामा देखाउनुहुने देहधारी परमेश्‍वरका केही प्रकटीकरणहरू, जियाई, र आत्मआचरण तथा कामकुराहरू गर्ने निश्‍चित सिद्धान्तहरूसँग सम्बन्धित छ। यो संसारका महान् व्यक्तित्वहरू र प्रसिद्ध मानिसहरूका कार्यहरू कसरी वर्णन गरिन्छन् त्यो कुराभन्दा फरक छ। जब संसारका मानिसहरूले कुनै महान्, प्रसिद्ध, वा असाधारण व्यक्तित्वको बारेमा कुरा गर्छन्, तब तिनीहरूले सधैँ उनीहरू कति अद्वितीय, असाधारण, र महान् छन् भन्‍ने बारेमा कुरा गर्छन्, र तिनीहरूले उनीहरूको आकर्षणको बारेमा कुरा गर्छन्, मुख्य रूपमा उनीहरू कति उच्च र भव्य छन् भन्‍ने कुरामा ध्यान केन्द्रित गर्छन्। तर, हामीले देहधारी परमेश्‍वरका बारेमा बताउने कुराहरू संसारले ती असाधारण व्यक्तित्वहरू र महान् मानिसहरूका बारेमा भन्‍ने कुराभन्दा ठीक विपरीत हुन्छन्। हामी मुख्य रूपमा देहधारी परमेश्‍वर कसरी सामान्य, व्यावहारिक, र साधारण हुनुहुन्छ, अनि असाधारण हुनुहुन्न भन्‍ने बारेमा कुरा गर्छौँ। हामी केवल ठोस उदाहरणहरूका बारेमा कुरा गर्छौँ—त्यो पनि दैनिक जीवनका सानातिना उदाहरणहरू—र उहाँको आत्मआचरण र कामकुराहरू गर्ने कार्यमा समावेश हुने सिद्धान्त र दृष्टिकोणहरू के-के हुन् भन्‍ने बारेमा कुरा गर्छौँ। आत्मआचरण र कामकुराहरू गर्ने यी विचार र दृष्टिकोणहरू, सिद्धान्तहरू, र विधिहरू सबै सामान्य मानवताको विवेक र समझमा आधारित हुन्छन्। हामी मुख्य रूपमा उहाँले आफूलाई कसरी आचरणमा ढाल्नुहुन्छ र उहाँले कसरी कामकुराहरू गर्नुहुन्छ भन्‍ने बारेमा कुरा गर्छौँ। तर, संसारमा, निकै थोरै मानिसहरूले मात्र आफूलाई कसरी आचरणमा ढाल्ने भन्‍ने बारेमा कुरा गर्छन्। कतिपय मानिसहरूले यस विषयमा कुरा गरेका भए पनि, तिनीहरूले धेरै निश्‍चित उदाहरणहरू दिन सकेका छैनन्, आत्मआचरणका कुनै सिद्धान्तहरू व्यक्त गर्न सक्‍नु त झनै परको कुरा हो। तिनीहरूले प्रसिद्ध मानिसहरू र महान् व्यक्तित्वहरूसँग आफूलाई आचरणमा ढाल्ने र कामकुराहरू गर्ने बारेमा के-कस्ता सकारात्मक सिद्धान्तहरू, सकारात्मक विधिहरू, वा सही विचार र दृष्टिकोणहरू हुन्छन् भन्‍ने बारेमा कुरा गर्दैनन्। तिनीहरू केवल उनीहरूका उपलब्धिहरू, उनीहरूको प्रतिभा र सिकाइ, र उनीहरूको स्वभावको बारेमा कुरा गर्छन्, र तिनीहरूले यी कुराहरूका कारण मानवजातिको बीचमा कस्तो प्रकारको प्रभुत्वशाली स्थान ओगटेका छन् भन्‍ने बारेमा पनि कुरा गर्छन्। तिनीहरूले बताउने कुराहरू आज हामीले सङ्‍गति गरिरहेको देहधारी परमेश्‍वरसँग भएको र उहाँले धारण गर्नुभएको सामान्य मानवताको ठीक विपरीत हुन्छन्। परमेश्‍वरको देहधारी शरीरले तिमीहरूलाई जान्न र बुझ्‍न दिने कुराहरू भनेका उहाँको सामान्य र व्यावहारिक मानवताभित्र उहाँले जिउनुभएका र उहाँसँग भएका आत्मआचरण र कामकुराहरू गर्ने सिद्धान्त र मान्यताहरू हुन्। आत्मआचरण र कामकुराहरू गर्ने यी सिद्धान्त र मान्यताहरू परमेश्‍वरले मुक्ति दिन चाहनुहुने मानवजातिका लागि उहाँले गर्नुभएका मागहरूसँग पूर्ण रूपमा मेल खान्छन्। परमेश्‍वरको देहधारी शरीरसँग यस्तो मानवता हुन्छ, र यस सामान्य र व्यावहारिक मानवताभित्र उहाँसँग आत्मआचरण र कामकुराहरू गर्ने उहाँका सिद्धान्त र मान्यताहरूका साथै—विभिन्‍न विचार र दृष्टिकोणहरू हुन्छन्। यसकारणले गर्दा मात्रै उहाँले परमेश्‍वर स्वयम्‌को काम गर्नमा परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्नुहुन्छ, र देहधारी परमेश्‍वरले यस युगमा राम्ररी पूरा गर्नुपर्ने काम र सेवकाइलाई यस्तो मानवताभित्र पूरा गर्न सक्नुहुन्छ, अनि उहाँले मानवजातिलाई यस युगमा परमेश्‍वरले व्यक्त गर्न चाहनुभएको प्रतिनिधिमूलक स्वभाव पूर्ण रूपमा चिनाउन सक्नुहुन्छ, र—अवश्य नै—परमेश्‍वरले कामको यस चरणमा गर्न चाहनुभएको सत्यता व्यक्त गर्ने कामका लागि उहाँ पूर्ण रूपमा सक्षम हुन सक्नुहुन्छ। यदि परमेश्‍वरको देहधारी शरीरले जिएको, प्रकट गरेको, र उहाँसँग भएको मानवता सार, हामीले सङ्‍गति गरिरहेको यो सामान्यता, व्यावहारिकता, र साधारणपन नभएको भए, वा हामीले सङ्‍गति गरिरहेको आत्मआचरणका यी सिद्धान्त र मान्यताहरू उहाँसँग हुनुको साटो गैरविश्‍वासीहरूले कुरा गर्ने र आदर गर्ने प्रसिद्ध मानिसहरू र महान् व्यक्तित्वहरूको मानवता सार भएको भए, यसको परिणाम के हुनेथियो? (उहाँले हामीलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा हिँड्न अगुवाइ गर्न सक्नुहुनेथिएन।) यसको परिणाम पूर्ण रूपमा फरक परिस्थिति हुनेथियो। मानौँ परमेश्‍वरको देहधारी शरीरसँग कुनै गैरविश्‍वासी महान् व्यक्तित्व वा प्रसिद्ध व्यक्तिको मानवता सार थियो—एक यस्तो व्यक्ति जो उच्च, असाधारण, अद्वितीय, रहस्यमय र बुझ्‍न नसकिने छ। यस्तो प्रकारको व्यक्तिसँग आफूलाई आचरणमा ढाल्ने र कामकुराहरू गर्ने कुरामा कुनै सीमा हुँदैन, उसले निरन्तर झूट बोल्छ, र आफूलाई नियम-पालन गर्ने वा असल व्यवहार गर्ने तरिकाले आचरणमा ढाल्दैन वा कामकुराहरू गर्दैन, र आफ्नो स्थान जान्दैन वा कर्तव्यनिष्ठ भई काम गर्दैन, अनि उसका खोज, विचार, र दृष्टिकोणहरू गैरविश्‍वासीहरूका जस्तै हुन्छन्—केवल उच्च र भव्य कुराहरू पछ्याउने, र वरदान, ज्ञान, र अलौकिक क्षमताहरूमा ध्यान केन्द्रित गर्ने खालका हुन्छन्। यस्तो प्रकारको व्यक्तिले तिमीहरूलाई कस्तो प्रकारको मार्गमा डोऱ्याउनेथियो? (तिनीहरूले हामीलाई मुक्तिको मार्गमा डोऱ्याउन सक्नेथिएनन्। यसको विपरीत, तिनीहरूलाई पछ्याउनेहरू झन्-झन् भ्रष्ट र दुष्ट मात्रै बन्नेथिए।) त्यस्तो व्यक्तिसँग आत्मआचरणका सकारात्मक सिद्धान्तहरू हुँदैनन्; आत्मआचरण सम्बन्धी तिनीहरूका विधि र सिद्धान्तहरू सकारात्मक हुँदैनन्, तर शैतानी हुन्छन्। यसरी, शैतानको स्वामित्वमा हुने यस व्यक्तिको आत्मआचरणका सिद्धान्त र मान्यताहरूले तिनीहरूको मानवता सारलाई राम्ररी प्रतिनिधित्व गर्छन्। यस्तो प्रकारको मानवता सार भएको व्यक्तिका खोजहरू र उसले हिँड्ने मार्ग के-के हुन्? ती ठ्याक्कै शैतानका जस्तै हुन्छन्। तिनीहरूका खोजहरू र तिनीहरू हिँड्ने मार्ग सबै शैतानबाट आएका हुन्छन् र ती शैतानसँग मिल्ने हुन्छन्। त्यसोभए के तिनीहरूलाई पछ्याउनेहरूले तिनीहरूको अगुवाइलाई पछ्याउने, तिनीहरूका जस्तै खोजहरू राख्ने थिएनन् र, अनि तिनीहरू उही मार्गमा हिँड्नेथिएनन् र? (हिँड्नेथिए।) ती मानिसहरूले तिनीहरूको अगुवाइलाई पछ्याउनेथिए, आत्मआचरणका तिनीहरूका सिद्धान्तहरूको नक्कल गर्नेथिए, र तिनीहरूले जस्तै ज्ञान, हैसियत, अलौकिकता, र उच्च र भव्य कुराहरू, हरेक असाधारण कुरा, अनि रहस्यमय र बुझ्‍न नसकिने भनेर मानिसहरूले ठानेका हरेक कुरा पछ्याउनेथिए। त्यस्तो व्यक्तिलाई पछ्याएर कसैले पनि मुक्ति हासिल गर्न सक्नेथिएन; बरु, तिनीहरू झन्-झन् पतित बन्नेथिए। त्यस्तो समूहलाई मण्डली भन्न सकिनेथिएन, मुख्य कारण के हो भने, तिनीहरू सबैले आफूलाई परमेश्‍वरको कामबाट अलग गरेका हुनेथिए र तिनीहरूसँग पवित्र आत्माको काम हुनेथिएन। तिनीहरूले पछ्याउने अगुवा परमेश्‍वरद्वारा स्थापित गरिएको हुँदैन, परमेश्‍वरद्वारा पठाइएको हुनु त परको कुरा हो। तिनीहरू सबैले आफूलाई मण्डली भने पनि, त्यसको कुनै फाइदा हुनेथिएन; परमेश्‍वरले तिनीहरूलाई बेवास्ता गर्नुहुनेथियो। तिनीहरू सबैले आफूलाई मण्डली भनेर जतिसुकै भने पनि, परमेश्‍वरले तिनीहरूलाई स्वीकार गर्नुहुनेथिएन, र पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेथिएन। त्यो अगुवाले मानिसहरूलाई आफूलाई जे मन पर्छ त्यही गर्न सिकाउनेथियो; उसले मानिसहरूलाई आफूभित्र जे छ त्यही प्रदान गर्नेथियो, र मानिसहरूले उसबाट प्राप्त गर्ने कुरा त्यही नै हुनेथियो। तिनीहरूसँग सत्यता हुँदैन, र तिनीहरूले मानिसहरूलाई कुनै पनि सकारात्मक कुराहरू प्रदान गर्न वा तिनीहरूलाई सही दिशामा मार्गदर्शन गर्न सक्नेथिएनन्, त्यसैले मानिसहरूले तिनीहरूबाट सत्यता प्राप्त गर्नु असम्भव हुनेथियो। बढीमा, मानिसहरूले तिनीहरूबाट अलिकति ज्ञान प्राप्त गर्न र गैरविश्‍वासी संसारबाट केही पेसागत सीपहरू वा कुनै निश्‍चित क्षेत्रमा केही क्षमताहरू मात्र सिक्न सक्नेथिए। छोटकरीमा भन्दा, सामान्यता र व्यावहारिकता नभएको, वा जीवनको रूपमा ईश्‍वरीय सार नभएको, यस्तो व्यक्तिलाई देहधारी परमेश्‍वर भनेर भन्न सकिनेथिएन; उसले मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन सक्नेथिएन, न त उसले मानिसहरूलाई मुक्तिको मार्गमा डोऱ्याउन नै सक्नेथियो। यी तथ्यहरूलाई हेर्दा, के मानवजातिको बीचमा, परमेश्‍वरको देहधारी शरीरबाहेक परमेश्‍वरको काम गर्नका लागि उहाँको प्रतिनिधित्व गर्न सक्ने अरू कोही छ त? (छैन।) के मानवजातिलाई तिनीहरूका भ्रष्ट स्वभावहरूबाट मुक्ति दिनका लागि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्ने कोही छ त? (छैन।) साधारण मानवजातिका कुनै पनि सदस्यसँग हुने जीवन र मानवता सार लगभग सबै उस्तै हुन्छन्—त्यस्तो जीवन र मानवता सार सबैलाई शैतानले भ्रष्ट तुल्याएको हुन्छ; मानिसहरूका हकमा, भ्रष्ट स्वभावहरू नै तिनीहरूको जीवन हुन्। यसरी, मानिसहरूको मानवताको दृष्टिकोणबाट हेरे पनि वा मानिसहरूको जीवन सारको दृष्टिकोणबाट हेरे पनि, सम्पूर्ण मानवजातिमध्ये एक जना व्यक्ति पनि देहधारी परमेश्‍वरको यस कामका लागि दक्ष छैन, न त कुनै भ्रष्ट मानवले भ्रष्ट मानवजातिलाई भ्रष्टताबाट मुक्ति दिनका लागि परमेश्‍वरको प्रतिनिधित्व नै गर्न सक्छ। स्वाभाविक रूपमा, यी तथ्यहरूले मानिसहरूलाई यो पनि बताउँछन्: कुनै पनि भ्रष्ट मानवले मानवजातिलाई सकारात्मक कुराहरू के-के हुन् र नकारात्मक कुराहरू के-के हुन् भनेर बताउन सक्दैन, र कुनै पनि भ्रष्ट मानवले मानिसहरूलाई सत्यता के हो वा परमेश्‍वरका अभिप्रायहरू वास्तवमा के हुन् भनेर बताउन सक्दैन। भ्रष्ट मानवहरूले अरू मानिसहरूलाई प्रदान गर्ने कुरा भनेको ज्ञान मात्रै हो, साथै भ्रष्ट मानवजातिले पछ्याउने विभिन्‍न सीप, क्षमता, वा वरदानहरू, र आत्मआचरण र कामकुराहरू गर्ने सम्बन्धी विभिन्‍न युक्तिहरू, संसारसँग व्यवहार गर्ने दर्शनहरू, र शैतानबाट आउने विभिन्‍न विचार र दृष्टिकोणहरू हुन्। सबै जातिका मानवहरूमा एउटा साझा विशेषता हुन्छ। यो साझा विशेषता के हो? तिनीहरू सबैले तिनीहरूको बीचमा रहेका तुलनात्मक रूपमा सकारात्मक, वा तुलनात्मक रूपमा असल-अभिप्राय भएका, रूढिवादी, र परम्परागत कुराहरूलाई सकारात्मक कुराहरू मान्छन्, र तिनलाई सत्यता र परमेश्‍वरका अभिप्रायहरूको स्थानमा राख्ने प्रयास गर्छन्। मानिसहरूले यी कुराहरूलाई पक्रिराखेर तिनीहरूले साँचो मार्ग प्राप्त गरेका छन् र मुक्ति हासिल गर्न सक्छन् भन्‍ने विश्‍वास गर्छन्। वास्तवमा, मानवजातिका लागि परमेश्‍वरले गर्नुभएका मागहरूसँग यी कुराहरूको पटक्कै कुनै सम्बन्ध हुँदैन। हेर् त, मानवजातिको बीचमा, मानिसहरू जतिसुकै चतुर भए पनि, तिनीहरूका वरदानहरू जतिसुकै महान् भए पनि वा तिनीहरू जतिसुकै प्रतिभाशाली र विद्वान भए पनि, वा तिनीहरूको मानवता बाहिरी रूपमा जतिसुकै दयालु र परोपकारी देखिए पनि, एकै जना व्यक्तिले पनि सत्यता बुझ्‍न सक्दैन, र एकै जना व्यक्तिले पनि सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनेर खुट्ट्याउन सक्दैन। परमेश्‍वरले आफ्नो काम गर्नुभन्दा पहिले, र परमेश्‍वरले आफ्ना वचनहरू व्यक्त गर्नुभन्दा पहिले, लगभग सबैले परम्परागत संस्कृतिलाई सकारात्मक कुरा मान्थे, र कतिपय मानिसहरूले त परम्परागत संस्कृतिलाई सत्यताको रूपमा आदर समेत गर्थे। त्यसकारण, तैँले यसलाई जसरी हेरे पनि, यदि देहधारी परमेश्‍वरले सामान्य मानवताभित्र यी सत्यताहरू व्यक्त गर्ने र यो काम गर्नुको सट्टा, मानवजातिको कुनै सदस्यले यो काम गरेको भए, उसले मानिसहरूलाई परमेश्‍वरका वचन र अभिप्रायहरूबाट पथभ्रष्ट हुने मार्गमा मात्र डोऱ्याउनेथियो।

एउटा सरल उदाहरण हेरौँ। यदि मानिसहरूलाई नृत्य कार्यक्रमका लागि पोसाकहरू छनौट गर्न भनियो भने, तिनीहरूले कसरी छनौट गर्नेछन्? सैद्धान्तिक रूपमा, सबैलाई के थाहा हुन्छ भने, परमेश्‍वरमा विश्‍वास गर्नेहरूले नृत्य कार्यक्रम उत्पादन गर्दा, विशेष गरी अनलाइनमा प्रकाशित गरिने भिडियोका लागि, तिनीहरूले लगाउने लुगा र तिनीहरूको आचरणले परमेश्‍वरका मानिसहरूको प्रतिनिधित्व गर्छ। त्यसैले, छनौट गरिएका पोसाकहरू मर्यादित र उचित हुनुपर्छ, अनौठा पहिरनहरू होइन। मर्यादित र उचित हुने कुराको हकमा भन्दा, यसमा धेरै कुराहरू समावेश हुन्छन्। मानिसहरूका धारणाहरूअनुसार, कस्तो प्रकारको लुगालाई मर्यादित र उचित मानिन्छ त? यो विभिन्‍न जातीय समूहहरूले सबैभन्दा बढी लगाउने लुगा हो, जुन तुलनात्मक रूपमा परम्परागत र रूढिवादी हुन्छ र सबैका लागि उपयुक्त देखिन्छ। यो अनौठो वा धेरै चल्तीको हुँदैन। मानिसहरूका धारणाहरूअनुसार, तिनीहरूले मर्यादित र उचित लुगा मान्ने कुरा यही हो। कार्यक्रमहरूका लागि पोसाकहरू छनौट गर्ने सम्बन्धमा मण्डलीका धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूको दृष्टिकोण के हुन्छ? हेर् त, चलचित्र छायाङ्कन गर्दा, पोसाकको जिम्मेवारीमा रहेको व्यक्तिले राख्ने दृष्टिकोणहरूले वास्तवमा धेरैजसो मानिसहरूको दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ। उसले छनौट गर्ने लुगाका शैलीहरू असी र नब्बेको दशकमा धेरैजसो मानिसहरूले लगाउने खालका हुन्छन्। रङहरू प्रायजसो नीलो, खाकी, वा खैरो हुन्छन्, ती कति गाढा वा हल्का छन् भन्‍ने कुरामा मात्रै भिन्नता हुन्छ। समग्रमा, ती दुई वा तीन वटा साधारण रङहरू मात्रै हुन्छन्। उसले केही चहकिला रङहरू किन छनौट गर्दैन? मानिसहरूका धारणाहरूअनुसार, परमेश्‍वरमा विश्‍वास गर्नेहरू सबै मर्यादित र उचित खालका असल मानिसहरू हुन्, त्यसैले तिनीहरूले आफ्ना लुगाहरूका लागि यस्ता केही सबैभन्दा आम, सबैभन्दा साधारण रङहरू छनौट गर्नुपर्छ। हेर् त, पोसाकहरूको शैली र रङ छनौट गर्ने जस्तो सरल मामलाले मानिसहरूको हृदयमा भएका परमेश्‍वरमा विश्‍वास गर्ने बारेका धारणाहरू र भ्रामक विचार र दृष्टिकोणहरूलाई पूर्ण रूपमा प्रकट गर्छ। अर्थात्, मानिसहरूले आफूभित्र एउटा अत्यन्तै गम्भीर धारणा पालेका हुन्छन्; धेरै मानिसहरूले के विश्‍वास गर्छन् भने, परमेश्‍वरमा विश्‍वास गर्नका लागि पुराना तरिकाहरूमा टाँसिनु र परम्परालाई पुनर्स्थापित गर्नु आवश्यक छ। तिनीहरूका धारणाहरूअनुसार, परम्परागत, पुराना, पिछडिएका, र बासी कुराहरू मात्रै सकारात्मक कुराहरू हुन्, र यी कुराहरूले मात्रै परमेश्‍वरलाई प्रसन्न पार्छन्। के धेरैजसो मानिसहरूले यही सोच्छन्? (सोच्छन्।) मानिसहरूको दिमागमा यही कुरा हुन्छ। मानिसहरू सबैले ती परम्परागत, पिछडिएका, पुराना, र प्राचीन कुराहरूलाई सकारात्मक कुराहरूका रूपमा परिभाषित गर्छन्। त्यसकारण, कार्यक्रम उत्पादनमा, मानिसहरूले पोसाकका रङ र शैलीहरूका सम्बन्धमा सही छनौटहरू समेत गर्न सक्दैनन्, जुन सबैभन्दा सरल र सबैभन्दा आधारभूत मामलाहरूमध्ये एक हो। तिनीहरू सबैले यस समस्यालाई आफ्ना धारणाहरू प्रयोग गरेर मापन गर्छन्, र तिनीहरू निकै रूढिवादी, साथै निकै मूर्ख र जिद्दी हुन्छन्। मलाई भन, मानिसहरूसँग परमेश्‍वरको बारेमा कति धेरै धारणाहरू रहेको हुनुपर्छ! मानिसहरूले परिभाषित गरेका सकारात्मक कुराहरू, र परमेश्‍वरलाई मन पर्छ भनेर मानिसहरूले सोच्ने कुराहरू, सबै मानिसहरूका धारणाहरूमा कल्पना गरिएका परम्परागत संस्कृति हुन्, वा मानवजातिको बीचमा सांसारिक मानिसहरूले स्वीकार गरेका र मान्यता दिएका कुराहरू हुन्; सत्यतासँग तिनको पटक्कै कुनै सम्बन्ध हुँदैन। त्यसोभए मलाई भन, म परम्परावादी हुँ कि आधुनिकतावादी हुँ? (परमेश्‍वर न त परम्परावादी हुनुहुन्छ न त आधुनिकतावादी नै हुनुहुन्छ।) कतिपय मानिसहरूले यसो भन्छन्, “तपाईंले सङ्‍गति गर्नुभएको कुराबाट, हामीलाई के थाहा भएको छ भने, तपाईंलाई परम्परागत संस्कृति मन पर्दैन, किनभने तपाईं वर्तमानमा जिउनुहुन्छ। कम्तीमा पनि, तपाईं परम्परागत हुनुहुन्न, र तपाईं पुराना तरिकाहरूमा टाँसिनुहुन्न।” तिमीहरू म परम्परागत छैन भनेर भन्छौ, त्यसोभए के म आधुनिकतावादी हुँ त? (होइन।) म आधुनिकतावादी होइन भनेर तिमीहरूले कसरी भन्न सक्छौ? (आज संसारका मानिसहरूलाई चल्तीका कुराहरू निकै मन पर्छ, तर परमेश्‍वरले हामीलाई मर्यादित र उचित हुन सिकाउनुहुन्छ, जुन चल्तीका कुराहरूको विपरीत हुन्छ।) आजका मानिसहरूलाई मात्रै चल्तीका कुराहरू मन पर्ने होइन; प्राचीन कालका मानिसहरूलाई पनि चल्तीका कुराहरू मन पर्थ्यो। गैरविश्‍वासीहरू सबैलाई चल्तीका कुराहरू मन पर्छ। चल्तीका कुराहरू मन पर्नुको अर्थ त्यस व्यक्ति आधुनिकतावादी हो भन्‍ने हुँदैन। त्यसोभए यो प्रश्नको जवाफ कसरी दिनुपर्छ? यसबारे अलिकति मनन गर्। के तैँले मलाई कहिल्यै प्राचीन लुगा लगाएको देखेको छस्? के म परम्परागत लुगा लगाउँछु? म आधुनिक लुगा लगाउँछु। यसमा देहधारी परमेश्‍वरको सामान्य मानवता समावेश हुन्छ। देहधारी परमेश्‍वर जुनसुकै युगमा जिउनुभए पनि, र त्यस युगका मानिसहरू आधारभूत आवश्यकताहरू सम्हाल्ने सन्दर्भमा विकासको जुनसुकै स्तरमा पुगेका भए पनि, उहाँको सामान्य मानवताले स्वाभाविक रूपमा नै यसका लागि तिनीहरूले जस्तै विधि अपनाउँछ; उहाँ पछाडि जानुहुनेछैन। के यो सामान्य मानवताको प्रकटीकरण होइन र? (हो।) उहाँको सामान्य मानवतामा चेतना हुन्छ, त्यसैले आधारभूत आवश्यकताहरूको कुरामा, उहाँलाई स्वाभाविक रूपमा के छनौट गर्नु उपयुक्त हुन्छ भन्‍ने थाहा हुन्छ। यो एउटा पक्ष हो। अर्को कुरा, परम्परा होस् वा आधुनिकता होस्, यो कुनै एउटा रूप होइन, बरु यसले विचार र दृष्टिकोणको प्रवृत्तिलाई प्रतिनिधित्व गर्छ। त्यसोभए परम्परा सकारात्मक कुरा हो, कि आधुनिकता सकारात्मक कुरा हो? मेरो विचारमा, यी दुवै सकारात्मक कुरा होइनन्। सत्यतासँग यी दुवैको कुनै सम्बन्ध हुँदैन; यी दुवै शैतानको प्रभावअन्तर्गत भ्रष्ट मानवजातिले उत्पादन गरेको कुरा हो। चाहे त्यो परम्परागत विचार र दृष्टिकोण होस्, वा आधुनिक विचार र दृष्टिकोण होस्, परमेश्‍वरबाट नआउने जुनसुकै कुरा सकारात्मक कुरा होइन, तर नकारात्मक कुरा हो। चाहे ती परम्परागत आधारभूत आवश्यकताहरू होऊन्, वा आधुनिक आधारभूत आवश्यकताहरू होऊन्, तिनको उद्देश्य सधैँ सामान्य मानवताका आवश्यकताहरू पूरा गर्नु नै हो। देहधारी परमेश्‍वर जुनसुकै युगमा जन्मनुभए पनि, उहाँ सामान्य र व्यावहारिक मानवताभित्र जिउनुहुन्छ, र उहाँको आत्मआचरण र कामकुराहरू गर्ने सिद्धान्तहरू परिवर्तन हुँदैनन्। उहाँले गर्ने हरेक कुरामा र उहाँले हरेक कुरालाई गर्ने व्यवहारमा, उहाँले परमेश्‍वरको वचनको सिद्धान्त र उहाँको भित्री जीवन स्वभावबाट उत्पन्न हुने सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ; उहाँले परम्परालाई जोगाउने वा पछ्याउने गर्नुहुन्न, न त उहाँले आधुनिकतालाई पछ्याउने वा चल्तीका कुराहरूको पछि लाग्ने नै गर्नुहुन्छ। त्यसकारण, उहाँलाई पछ्याउनेहरूका लागि देहधारी परमेश्‍वरका मागहरू न त परम्परामा आधारित हुन्छन् न त आधुनिकताबाट प्रभावित नै हुन्छन्। उहाँसँग भएका र उहाँले सङ्‍गति गर्नुहुने विभिन्‍न विचार र दृष्टिकोणहरू वा सत्यताहरू सबै परमेश्‍वरबाट, परमेश्‍वरको ईश्‍वरीय सार र परमेश्‍वरको जीवनबाट उत्पन्न हुन्छन्; न त परम्परागत संस्कृतिसँग न त आधुनिक ज्ञानसँग नै तिनको कुनै सम्बन्ध हुन्छ।

परमेश्‍वरको घरले उत्पादन गरेका नृत्य कार्यक्रमहरूका लागि छनौट गरिएका पोसाकहरूलाई हेर्दा, के तिमीहरूले कुनै सिद्धान्तहरू खुट्ट्याउन सकेका छौ? ती शैलीहरू र ती रङहरू किन छनौट गरिए? यदि तिमीहरूले यहाँका सिद्धान्तहरू बुझ्‍न सक्छौ भने, तिमीहरूले साँच्चै सत्यतालाई अलिकति बुझेका छौ, र तिमीहरूसँग आत्मिक बुझाइ छ; यदि तैँले यस्तो सरल मामलामा समेत सिद्धान्तहरू बुझ्‍न सक्दैनस् भने, तँ अत्यन्तै कमजोर क्षमता भएको अन्योलमा परेको व्यक्ति होस्, र यति धेरै वर्षसम्म प्रवचनहरू सुनेर पनि तैँले सत्यता बुझेको छैनस्। सुरुमा, जब हामी नृत्य कार्यक्रमहरू उत्पादन गर्छौँ, तब प्रस्तुतकर्ताहरूले लगाउने लुगाहरू परम्परागत हुन्छन् कि आधुनिक हुन्छन्? (ती आधुनिक हुन्छन्।) ती सबै आधुनिक लुगाहरू हुन्—त्यो पनि साधारण, दैनिक पहिरनहरू। कतिपय मानिसहरूले यो कुरा बुझ्दैनन्, र यसो भन्छन्, “हाम्रा नृत्य कार्यक्रमहरू कलात्मक कार्यक्रमहरू हुन्, त्यसकारण प्रस्तुतकर्ताहरूले मञ्चका पोसाकहरूको साटो साधारण, दैनिक पहिरनहरू मात्रै किन लगाउँछन्? मोती र टल्किने कुराहरू भएका पहिरनहरू विशेष रूपमा सुन्दर हुन्छन्। ती राष्ट्रिय स्तरका नृत्य टोलीहरूले मञ्चमा लगाउने पहिरनहरू हेर्नुहोस् त—ती सुन्दर, उत्कृष्ट, र भव्य हुन्छन्, र बत्तीको प्रकाश पर्दा ती चम्किला देखिन्छन्। यदि हामीले कार्यक्रमहरू उत्पादन गर्दा हाम्रा प्रस्तुतकर्ताहरूले पनि त्यस्ता पहिरनहरू लगाए भने, के त्यसले उनीहरूलाई अझ राम्रो देखाउने र परमेश्‍वरलाई अझ बढी महिमा दिनेथिएन र? के त्यसले परमेश्‍वरको घरको शक्तिलाई अझ राम्ररी प्रकट गर्नेथिएन, अनि गैरविश्‍वासीहरू वा धर्मका मानिसहरूलाई परमेश्‍वरको घरको सामर्थ्य अझ राम्ररी देखाउनेथिएन र?” के यो दृष्टिकोण सही छ? (छैन।) मलाई यो कुरा भन, सबैभन्दा पहिले—हामीले नृत्य कार्यक्रमहरू उत्पादन गर्दा प्रस्तुतकर्ताहरूले सुन्दर पोसाकहरूको साटो साधारण, दैनिक पहिरनहरू किन लगाउँछन्? (यदि दाजुभाइ-दिदीबहिनीहरू सबैले नाच्दा विशेष रूपमा सुन्दर पोसाकहरू लगाए भने, दर्शकहरूले लुगाहरू र प्रस्तुतकर्ताहरू कस्ता देखिन्छन् भन्‍ने कुरामा ध्यान केन्द्रित गर्नेछन्। तर यदि उनीहरूले साधारण लुगाहरू लगाए र उनीहरू मर्यादित र उचित मानिसहरू जस्ता देखिए भने, दर्शकहरू यी बाहिरी कुराहरूबाट आकर्षित हुनेछैनन्, र उनीहरूले परमेश्‍वरका वचनहरूमा आफ्नो मन केन्द्रित गर्नेछन्।) तिमीहरू एउटा कुरामा सही छौ—सुन्दर पोसाकहरू नलगाउनुको कारण मानिसहरूलाई रूप र बाहिरी देखावटमा ध्यान केन्द्रित गर्नबाट रोक्नु हो। अर्को एउटा कुरा पनि छ, जुन सबैभन्दा महत्त्वपूर्ण छ: चाहे त्यो नाच्ने काम होस् वा गाउने काम होस्, जब हामी कार्यक्रमहरू उत्पादन गर्छौँ, तब त्यसको उद्देश्य के हो? (परमेश्‍वरको गवाही दिनु।) एउटै मात्र लक्ष्य यही हो। चाहे नाच्ने काम होस् वा गाउने काम होस्, यो सबै परमेश्‍वरको गवाही दिनका लागि गरिएको हुन्छ। यो कुरा कुनै व्यक्तिलाई प्रमुख रूपमा देखाउनका लागि गरिएको हुँदैन, न त यो कसैलाई खुसी पार्नका लागि नै गरिएको हुन्छ; यो कुरा परमेश्‍वरको गवाही दिनका लागि मात्र गरिएको हुन्छ। त्यसैले, प्रस्तुतकर्ताहरूले परमेश्‍वरको गवाही दिने उद्देश्य हासिल गर्ने खालका सरल, जिउमा ठिक्क हुने, मर्यादित र उचित, र सुरुचिपूर्ण देखिने लुगाहरू लगाउनु नै पर्याप्त हुन्छ। प्रकृतिको हिसाबमा, हामीले उत्पादन गर्ने कार्यक्रमहरू मनोरञ्जनात्मक कार्यक्रमहरू होइनन्। मनोरञ्जनात्मक कार्यक्रमहरू भनेका के हुन्? मनोरञ्जनात्मक कार्यक्रमहरू भनेका मानिसहरूले आफ्नो फुर्सदको समयमा मनोरञ्जनका लागि हेर्ने कुराहरू हुन्; ती मानिसहरूलाई खुसी पार्नका लागि मात्रै देखाइन्छ। जब मानिसहरूले विश्राम गर्छन्, तब तिनीहरूले रमाइलो गर्न, आराम गर्न, खुसी महसुस गर्न, आफ्ना चिन्ताहरू बिर्सन, र तनाव कम गर्नका लागि कार्यक्रम हेर्छन्। त्यसपछि, तिनीहरू यसबारे नसोची वा यसबारे कुनै भावना नराखी आफूले गर्नुपर्ने जुनसुकै काममा फर्किन्छन्। मनोरञ्जनात्मक कार्यक्रमहरू भनेका यिनै हुन्। हामीले गर्ने कार्यक्रमहरूको हकमा नि? रूपको हिसाबमा, ती मनोरञ्जन हुन्, तर सारमा, ती मानिसहरूलाई खुसी पार्नका लागि होइनन्, न त ती कलात्मक सीप प्रदर्शन गर्नका लागि नै गरिएका हुन्छन्। हामीले उत्पादन गर्ने कार्यक्रमहरूको लक्ष्य भनेको परमेश्‍वरको गवाही दिनु हो। उदाहरणका लागि, भजन कार्यक्रमहरू उत्पादन गर्दा, परमेश्‍वरका वचनहरूका भजनहरूको उद्देश्य परमेश्‍वरका वचनहरूको सत्यताको गवाही दिनु र त्यसलाई प्रसार गर्नु हो, जसले मानिसहरूलाई परमेश्‍वरको अघि आउने बनाउँछ; अनुभवात्मक भजनहरूको उद्देश्य परमेश्‍वरको कामले हासिल गरेका प्रभावहरू र परमेश्‍वरको कामले मानिसहरूमा उत्पादन गरेका परिणामहरूको गवाही दिनु हो। छोटकरीमा भन्दा, हामीले जुनसुकै प्रकारका कार्यक्रमहरू उत्पादन गरे पनि, ती विशुद्ध मनोरञ्जनात्मक कार्यक्रमहरू होइनन्। तिनको उद्देश्य मानिसहरूको ध्यान खिच्नु वा मानिसहरूलाई समय बिताउन र मनोरञ्जन गर्न मद्दत गर्नु होइन, कलात्मक सीप प्रदर्शन गर्नु त झनै होइन। हामीले उत्पादन गर्ने कार्यक्रमहरूको एउटै मात्र लक्ष्य छ, त्यो हो परमेश्‍वरका वचनहरू प्रसार गर्नु र परमेश्‍वरको कामको गवाही दिनु, परमेश्‍वर देह बन्नुभएको छ र उहाँले कामको नयाँ चरण अघि बढाइरहनुभएको छ भन्‍ने कुरा अझ धेरै मानिसहरूलाई थाहा दिनु, परमेश्‍वरको कामले पहिले नै मानिसहरूको एउटा समूह प्राप्त गरिसकेको छ, र परमेश्‍वरले अहिले काम गरिरहनुभएको छ र बोलिरहनुभएको छ भन्‍ने कुरा अझ धेरै मानिसहरूलाई थाहा दिनु। हामीले उत्पादन गर्ने कार्यक्रमहरूको एउटै मात्र उद्देश्य यही हो। हामीले उत्पादन गर्ने कार्यक्रमहरूको उद्देश्य यही भएकाले, यदि मानिसहरूले सुन्दर लुगाहरू र गाढा मेकअप लगाए, र सबै प्रकारका पहिरनहरू लगाए भने, के त्यो परमेश्‍वरको गवाही दिने लक्ष्यसँग बाझिँदैन र? (बाझिन्छ।) त्यो बाझिन्छ। त्यसकारण, हामी प्रस्तुतकर्ताहरूले के लगाउँछन् भन्‍ने कुरामा ध्यान केन्द्रित गर्दैनौँ। हामीले ध्यान केन्द्रित गर्ने एउटै मात्र कुरा के हो? हामी कार्यक्रमहरूले प्रस्तुत गर्ने कुरा—दाजुभाइ-दिदीबहिनीहरूको आचरण, नृत्यका चालहरू, र कार्यक्रमहरूको रूपले—मानिसहरूको ध्यान खिच्न सक्छ कि सक्दैन, र तिनले मानिसहरूलाई ती मन पराउने र तिनमा रुचि राख्‍ने बनाउन सक्छन् कि सक्दैनन्, जसद्वारा मानिसहरूलाई अनुकूल प्रभाव पार्न सकियोस् र मानिसहरूलाई परमेश्‍वरको कामको खोजी गर्न, परमेश्‍वरका वचनहरू स्वीकार गर्न, र दाजुभाइ-दिदीबहिनीहरूसँगै मिलेर भजन गाउन र परमेश्‍वरको आराधना गर्न इच्छुक बन्न मद्दत गर्न सकियोस् भन्‍ने कुरामा मात्रै ध्यान केन्द्रित गर्छौँ—हामीले हासिल गर्न चाहने उद्देश्य यही हो। यो उद्देश्य हासिल गर्नका लागि, प्रस्तुतकर्ताहरूका पहिरन र रूपको हिसाबमा, उनीहरू मर्यादित र उचित, सफा र चिटिक्क देखिनुपर्छ, र उनीहरूको आचरण निकै असल हुनुपर्छ; बाँकी कुराहरूको हकमा—सुन्दर पोसाकहरू, गाढा मेकअप, र सबै प्रकारका पहिरनहरू—ती सबैले नकारात्मक प्रभावहरू पार्छन्। कस्ता नकारात्मक प्रभावहरू? यदि नाच्ने दिदीबहिनीहरू सबैले अप्सराहरूले जस्तै लुगा लगाएका छन्, र दाजुभाइहरू सबैले सुन्दर केटाहरू वा धनी उत्तराधिकारीहरूले जस्तै लुगा लगाएका छन् भने, जब मानिसहरूले यो देख्छन्, तब तिनीहरूले यसो सोच्नेछन्, “तिमीहरूले त देखावटी पो गरिरहेका छौ। के तिमीहरूले खराब अभिप्रायहरू पालेका छैनौ र? के तिमीहरूले मानिसहरूलाई प्रलोभनमा पारिरहेका छैनौ र?” यदि मानिसहरूमा यस्ता विचारहरू छन् भने, त्यो राम्रो होइन। दाजुभाइ-दिदीबहिनीहरूले मर्यादित र उचित, र सुरुचिपूर्ण र उपयुक्त तरिकाले लुगा लगाउँछन्। समग्रमा, उनीहरू सुन्दर नदेखिए पनि, उनीहरू निकै सफा, चिटिक्क, मर्यादित, र सुरुचिपूर्ण हुन्छन्। जब मानिसहरूले उनीहरूलाई हेर्छन्, तब तिनीहरूले यी मानिसहरूको आचरण असल छ, उनीहरू परमेश्‍वरमा विश्‍वास गर्नेहरू हुन्, र उनीहरूले उत्पादन गरिरहेको कार्यक्रम परमेश्‍वरको गवाही दिने कार्यक्रम हो, कुनै कुटिल वा दुष्ट कुरा होइन भन्‍ने देख्छन्। हेर् त, गैरविश्‍वासी कार्यक्रमहरू सबैमा आँखा झिम्क्याउने, फ्लाइङ किस दिने, वा प्रस्तुतकर्ताहरूको शरीर प्रदर्शन गर्ने कार्य हुन्छ। नाच्दा, आफ्नो कला प्रदर्शन गर्नुका साथै, प्रस्तुतकर्ताहरूले आफ्नो मोहकता पनि प्रदर्शन गर्छन्, र अलिकति पनि सकारात्मक मार्गदर्शन प्रदान गर्दैनन्। यसको विपरीत, हामीले उत्पादन गर्ने कार्यक्रमहरूले पूर्ण रूपमा सकारात्मक मार्गदर्शन प्रदान गर्छन्। दर्शकहरूले अनुचित विचारहरू पाल्न चाहे पनि, तिनीहरूले त्यसो गर्नका लागि कुनै अवसर वा छिद्रहरू भेट्टाउँदैनन्। यदि तिनीहरूले प्रस्तुतकर्ताहरूको शरीर र अनुहारका बनावटहरू हेर्न चाहे भने, तिनीहरूले राम्ररी हेर्न सक्दैनन्; यदि तिनीहरूले कसले आफ्नो मोहकता प्रदर्शन गरिरहेको छ भनेर हेर्न चाहे भने, तिनीहरूले त्यो पनि देख्न सक्दैनन्। तिनीहरूले एउटा मात्र अभिव्यक्ति देख्छन्—मुस्कान—जसले पूर्ण रूपमा मर्यादित र उचित आचरणलाई प्रस्तुत गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रा कार्यक्रमहरू देखावटी गर्नका लागि वा कसैलाई खुसी पार्नका लागि होइनन्, तर परमेश्‍वरको गवाही दिने कामको लागि हुन्; यो एउटा मुख्य सिद्धान्त हो। यसका साथै, हामीले नृत्य समूहका लागि छनौट गरेका लुगाका शैलीहरू—टी-सर्ट, स्वेटसर्ट, र स्वेटपाइन्टहरू—लगाएर नाच्दा नाच्‍ने मानिसहरूलाई निकै सहज महसुस हुन सक्छ, तर कतिपय युवाहरूलाई आफ्नै रुचिका कारण ती खासै मन नपर्न सक्छ। तिनीहरूलाई यी शैलीहरू अत्यन्तै साधारण छन्, यी दैनिक रूपमा लगाइने अनौपचारिक पहिरन मात्रै हुन्, घरवरिपरि लगाइने कुराहरू हुन् भन्‍ने लाग्छ, तर मर्यादित र उचित लुगाहरू भनेका ठ्याक्कै यिनै हुन्। टी-सर्ट, स्वेटसर्ट, र स्वेटपाइन्टहरू आजकल अनौपचारिक पहिरनका सबैभन्दा आम शैलीहरू हुन्। हामी यी शैलीहरू किन छनौट गर्छौँ? मैले के अवलोकन गरेको छु भने यस शैलीको अनौपचारिक पहिरन पहिलो पटक देखा परेको सम्भवतः कम्तीमा पनि केही दशक भइसकेको छ। हामी अहिले हाम्रा कार्यक्रमहरूका लागि यो शैली छनौट गर्छौँ किनभने अर्को केही दशकमा पनि यो पुरानो वा अप्रचलित हुनेछैन भन्‍ने कुरालाई हामीले विचार गरेका छौँ। यसबाहेक, यो शैली सबै उमेर समूह र सबै सामाजिक वर्गका मानिसहरूका लागि उपयुक्त छ; चाहे तिनीहरू साधारण मानिसहरू होऊन् वा उच्च वर्गका मानिसहरू होऊन्, तिनीहरू सबैले आफ्नो दैनिक जीवनमा घरमा यस्ता लुगाहरू लगाउँछन्। यसका साथै, यी लुगाहरू खुकुला हुन्छन् र नाच्नका लागि सहज हुन्छ। यसरी, हामीले अन्ततः मञ्चका पोसाकहरूका लागि लुगाको यो शैली तय गर्‍यौँ। मञ्चमा ती लगाउने मानिसहरूलाई ती मन परून् वा नपरून्, यो शैली मञ्चका लागि उपयुक्त छ; अर्थात्, न त दर्शकहरूले न त लगाउनेहरूले नै यस्ता लुगाहरूमा कुनै खोट भेट्टाउन सक्छन्। लगाउनेहरूले यसो भन्न सक्छन्, “तपाईंले हाम्रा लागि छनौट गर्नुभएका यी लुगाहरू अत्यन्तै भद्दा छन्; म मेरो दैनिक जीवनमा यस्ता लुगाहरू कहिल्यै लगाउनेछैनँ।” यसमा मेरो जवाफ के हो भने, तैँले आफ्नो दैनिक जीवनमा के लगाउँछस् भन्‍ने कुरामा म हस्तक्षेप गर्दिनँ। तैँले के लगाउँछस् र तँलाई के मन पर्छ भन्‍ने कुराले तँ को होस् भन्‍ने कुरालाई प्रतिनिधित्व गर्छ; तिनले तेरो मानवता र सारलाई प्रतिनिधित्व गर्छन्। यदि तँलाई सरल, सुरुचिपूर्ण, मर्यादित, र उचित लुगाहरू मन पर्दैन, तर त्यसको साटो अनौठा लुगाहरू मन पर्छ भने, तँ निकै अनौठो छस्। यदि तँलाई आफ्नो छाती र ढाड देखाउन, कपाल खुला छोड्न, र ठूला चस्माहरू लगाउन मन पर्छ, र तँ सधैँ कुनै सेलिब्रेटीले जस्तै व्यवहार गर्छस् भने, म त भन्छु तँ परमेश्‍वरको घरको सदस्य होइनस्। तँलाई मर्यादित र उचित हुन मन पर्दैन; कम्तीमा पनि, तँ मसँग मिल्दैनस्। मर्यादित र उचित, र सुरुचिपूर्ण र उपयुक्त हुनु—लुगाका शैलीहरू छनौट गर्ने सिद्धान्त यही हो। त्यसोभए लुगाका रङहरू कसरी छनौट गर्नुपर्छ त? कतिपय मानिसहरूले यसो भन्छन्, “सेतोले पवित्रतालाई प्रतिनिधित्व गर्छ, हरियोले जीवनलाई प्रतिनिधित्व गर्छ, रातोले उत्सवलाई प्रतिनिधित्व गर्छ, र पहेँलोले मित्रतालाई प्रतिनिधित्व गर्छ, त्यसैले हामीले यी रङहरू मात्रै छनौट गर्नुपर्छ।” म भन्छु यो पूर्ण रूपमा बकवास हो; रङहरूले कुनै पनि कुराको प्रतिनिधित्व गर्दैनन्। त्यसोभए कुन-कुन रङहरू लगाउने त्यस सम्बन्धी सिद्धान्त के हो? यो कुरा अत्यन्तै सरल छ; एउटा मात्र सिद्धान्त छ: यो क्यामेरामा सफा देखिनुपर्छ। विशेष गरी, कतिपय रङहरू अत्यधिक गाढा र निकै चहकिला हुन्छन्, र मानिसहरूले आफ्नो दैनिक जीवनमा विरलै ती लगाउन सक्छन्, तर हामीले मञ्चको प्रभाव र तिनले प्रदान गर्ने दृश्य प्रभावका लागि यी रङहरू छनौट गर्‍यौँ। एक हिसाबमा, यी रङहरू तुलनात्मक रूपमा अत्यधिक गाढा र चहकिला हुन्छन्, त्यसैले तिनले प्रदान गर्ने मञ्चको प्रभाव राम्रो हुन्छ। अर्को हिसाबमा, यीमध्ये धेरैजसो रङहरू त्यति अनौठा हुँदैनन्; तिनमा कुनै पनि फिका रङहरू हुँदैनन्, र मानिसहरूलाई विकर्षित गर्ने कुनै पनि रङ हुँदैन, त्यसैले यसरी उत्पादन गरिएका भिडियोहरूले राम्रो प्रभाव पार्छन्।

मैले भर्खरै सङ्‍गति गरेका कुराहरू नृत्य कार्यक्रमका पोसाकहरू छनौट गर्ने सिद्धान्तहरू थिए। तिमीहरूले यीमध्ये कुन-कुन पक्षहरूलाई स्पष्ट रूपमा बुझ्यौ? मलाई भन, के मैले विचार गरेका यी सिद्धान्तहरू उपयुक्त छन्? (छन्।) यो मुख्य रूपमा परमेश्‍वरको गवाही दिने, परमेश्‍वरलाई अपमानित गर्ने प्रयास नगर्ने, र उत्कृष्ट परिणामहरू हासिल गर्ने सिद्धान्तहरूमा केन्द्रित छ, होइन र? (हो।) के यसमा विकृत वा चरम कुनै पक्षहरू छन्? (छैनन्।) के यसमा पुराना तरिकाहरूमा टाँसिने कुनै तत्त्व छ? (छैन।) यो कुनै पनि हिसाबमा विकृत वा पुराना तरिकाहरूमा टाँसिने खालको छैन। त्यसोभए पोसाकहरू छनौट गर्ने हाम्रा यी सिद्धान्तहरूले परम्परालाई पछ्याउँछन्, कि आधुनिकतालाई पछ्याउँछन्? (तिनले न त परम्परालाई पछ्याउँछन् न त आधुनिकतालाई नै; हामीले उत्पादन गर्ने कार्यक्रमहरूले परमेश्‍वरको गवाही दिने परिणाम हासिल गर्न सक्छ भने, त्यो नै सबैभन्दा उत्तम कुरा हो।) तिमीहरूले अन्ततः यो कुरा बुझेका छौ; यी कार्यक्रमहरूको उद्देश्य परमेश्‍वरको गवाही दिनु हो, अरू केही होइन। परमेश्‍वरको गवाही दिनका लागि हामीले परमेश्‍वरलाई अपमानित गर्ने प्रयास गर्नु हुँदैन वा परमेश्‍वरको घरलाई नराम्रो देखाउनु हुँदैन भन्‍ने कुरा विचार गर्नुपर्छ। अवश्य नै, हामीले पोसाकहरूको कपडा र त्यसको शैली लगाउन सहज हुने किसिमको हुनुपर्छ भन्‍ने कुरालाई पनि विचार गर्नुपर्छ। भन्नुको अर्थ, तैँले यी लुगाहरू लगाएको देख्ने कुनै पनि मर्यादित र उचित व्यक्तिले ती स्वीकार्य छन्, तँ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति जस्तो देखिन्छस्, र तँ गैरविश्‍वासी, वा कुनै चलचित्रको कलाकार वा गायक जस्तो होइन तर परमेश्‍वरका मानिसहरूको प्रतिनिधित्व गर्न सक्‍ने व्यक्ति जस्तो छस् भन्‍ने सोच्नेछ—र एकै नजरमा, तँ मर्यादित र उचित व्यक्ति होस् भन्‍ने कुरा जोकोहीले भन्न सक्छ। यसबाट हेर्दा, के कामकुराहरूलाई हेर्ने मेरा दृष्टिकोणहरू र मेरो सामान्य मानवताभित्र मैले पालन गर्ने सिद्धान्तहरू तिमीहरूका जस्तै छन् भन्‍ने तिमीहरूलाई लाग्छ? (लाग्दैन।) ती पक्कै पनि उस्तै छैनन्। त्यसोभए मलाई भन, के मैले पालन गर्ने यी सिद्धान्तहरू उच्च र भव्य छन्? के ती असाधारण छन्? ती पटक्कै उच्च र भव्य छैनन्। ती निकै सामान्य छन्। मैले कामकुराहरू गर्दा अपनाउने सिद्धान्तहरू र हासिल गर्न खोज्ने परिणामहरू सबै अत्यन्तै व्यावहारिक छन्, र म कहिल्यै देखावटी गर्दिनँ। यदि तिमीहरू सबैले कामकुराहरूलाई हेर्ने तरिकाअनुसार हामी जाने हो भने, कार्यक्रमहरूका लागि पोसाकहरू छनौट गर्दा हामी कि त परम्परागत हुनेथियौँ र पुराना तरिकाहरूमा टाँसिनेथियौँ, कि त हामीले सांसारिक चल्तीका कुराहरूलाई पछ्याउनेथियौँ। कतिपय मानिसहरूले यसो भन्छन्, “संसारमा स्मोकी आँखाको मेकअप, नक्कली परेला, नाकको फुली र ठूला झुम्काहरू लोकप्रिय छन्। हामीले पनि दाजुभाइ-दिदीबहिनीहरूलाई सुन्दर र आकर्षक देखिने गरी सजाउनुपर्छ। उनीहरूका लुगाहरू सुन्दर हुनुपर्छ भन्‍ने मात्रै होइन, उनीहरूको मेकअप पनि मोहित पार्ने खालको हुनुपर्छ। उनीहरू संसारका गायकहरू र चलचित्रका कलाकारहरूभन्दा कम हुनु हुँदैन, र अझै उत्कृष्ट र भव्य देखिनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नेहरू उनीहरूभन्दा बढी कुलीन हुनुपर्छ, त्यसैले प्रस्तुतकर्ताहरूलाई सजाउँदा हामीले यही दिशा लिनुपर्छ।” त्यसोभए यी प्रस्तुतकर्ताहरू मञ्चमा जाँदा उनीहरूमा एउटा पनि सुन्दर कुरा किन हुँदैन त? किनभने मैले यहाँ हरेक कुराको जाँच गरिरहेको छु। तिनीहरू आधुनिकतावादी होऊन् वा परम्परावादी होऊन्, तिनीहरू सबैलाई पन्छाइएको छ—तिनीहरूसँग आफ्ना “सीपहरू” प्रदर्शन गर्ने कुनै अवसरहरू छैनन्। तिनीहरूलाई मैले रोकेको छु। यदि तिमीहरूले जाँच गर्ने काम गरिरहेको भए, के तिमीहरूले यी मानिसहरूलाई आफ्ना “सीपहरू” प्रदर्शन गर्ने अवसर दिनेथियौ? (दिनेथिएनौँ।) किन नदिनेथिएनौ? (यदि अवसर दिइयो भने, तिनीहरूले बाटो बिराउनेथिए। तिनीहरूले परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरू पालन गर्नेथिएनन्।) यदि अवसर दिइयो भने, तिनीहरूले प्रस्तुतकर्ताहरूलाई पिशाचहरू जस्तै सजाउनेथिए। तिनीहरूले समाजमा लोकप्रिय भएका जस्तै खालका मनोरञ्जनात्मक कार्यक्रमहरू उत्पादन गर्नेथिए, परमेश्‍वरको गवाही दिनका लागि लक्षित कार्यक्रमहरूलाई मानिसहरूलाई खुसी पार्ने मनोरञ्जनात्मक कार्यक्रमहरूमा परिणत गर्नेथिए, र तिनमा प्रस्तुत हुने मानिसहरूलाई पिशाच र भूतहरू जस्तै देखाउनेथिए। के त्यति बेला कार्यक्रमहरू हेर्न लायक हुनेथिए त? कार्यक्रमहरूको प्रकृति परिवर्तन हुनेथियो; तिनले परमेश्‍वरको गवाही दिनेथिएनन् तर परमेश्‍वरलाई अपमानित गर्ने प्रयास गर्नेथिए, र ती श्राप र प्रतिबन्धको योग्य हुनेथिए। यो कर्तव्य पूरा गर्ने कार्य हुनेथिएन, तर दुष्टता गर्ने कार्य हुनेथियो। बुझ्यौ? (बुझ्यौँ।) तिमीहरूले यस्तो सानो कुरा समेत बुझेका थिएनौ। अब मैले यसलाई अझ स्पष्ट र सरल रूपमा राखेको हुनाले, कतिपय मानिसहरूलाई अचानक यस्तो महसुस हुन्छ: “ए कुरा त त्यस्तो पो रहेछ। परमेश्‍वरको घरले आफ्ना नृत्य कार्यक्रमहरूका लागि किन यस्ता पोसाकहरू छनौट गर्नुहुन्छ भन्‍ने कुरा अब मलाई थाहा भयो।” जुनसुकै युग भए पनि, मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त के हो त? सबै कुरामा परमेश्‍वरको वचनलाई सिद्धान्तको रूपमा लिनु हो। कामको कुनै पनि भाग गर्दा वा कुनै पनि मामला सम्हाल्दा, तिमीहरूको पहिलो लक्ष्य मानिसहरूको आत्मिक वृद्धि गर्नु नै हुनुपर्छ, र तिमीहरूको दोस्रो लक्ष्य परमेश्‍वरको कामको गवाही दिनु भन्‍ने हुनुपर्छ। सिद्धान्तहरू यिनै दुई वटा हुन्। त्यसैले, सबै मामलाहरूमा, मानिसहरूले पालन गर्नुपर्ने दुई सिद्धान्तहरू यिनै हुन्। त्यसोभए, देहधारी परमेश्‍वरको सामान्य मानवताभित्र हुने सामान्यता र व्यावहारिकतामा पनि यी सिद्धान्तहरूलाई पालन गर्ने कुरा मात्रै समावेश हुन्छ। सिद्धान्तहरू परिवर्तन हुँदैनन्; देहधारी परमेश्‍वरले न त परम्परालाई पछ्याउनुहुन्छ न त आधुनिकतालाई नै। मेरो सामान्य मानवताभित्र मैले पालन गर्ने सिद्धान्त भनेको विवेक र समझको दायराभित्र रहेर आफूलाई आचरणमा ढाल्नु र कामकुराहरू गर्नु हो। त्यसोभए परमेश्‍वरको घरको काम गर्दा म कुन सिद्धान्तहरू पालन गर्छु त? मैले गर्ने हरेक कुरामा मानिसहरूलाई फाइदा पुऱ्याउनु हो—तिनीहरूलाई फाइदा पुऱ्याउने र तिनीहरूको आत्मिक वृद्धि गर्ने कुराहरू गर्नु हो। यसका साथै, परमेश्‍वरको गवाही दिने र परमेश्‍वरका वचनहरू प्रसार गर्ने सिद्धान्तहरू पालन गर्दै, परमेश्‍वरको गवाही दिने काम गर्नु हो। के तिमीहरूलाई कुरा यही हो जस्तो लाग्छ? (लाग्छ।) यसरी सङ्‍गति गरेपछि, के तिमीहरूले अब मलाई अझ राम्ररी बुझेका छौ? (बुझेका छौँ।) यदि मैले यी कुराहरूका बारेमा विस्तृत रूपमा कुरा गरिनँ भने, तिमीहरू यसबारे स्पष्ट हुनेछैनौ। तिमीहरूले यस्तो सरल कुरा समेत बुझ्‍न सक्दैनौ। वास्तवमा, यो कुरा पटक्कै गहन छैन; यो सबै अत्यन्तै व्यावहारिक र साधारण छ। यो कति साधारण छ त? यो सामान्य मानवताको चेतनासँग अत्यन्तै मेल खान्छ। भन्नुको अर्थ, यदि तँसँग सामान्य मानवताको चेतना छ भने, तैँले यसलाई बुझ्‍न सक्छस्, तर छैन भने, तँलाई यो बुझ्‍न निकै गाह्रो हुनेछ—मैले यसलाई स्पष्ट र पूर्ण रूपमा व्याख्या गरेपछि, यसलाई सरल रूपमा राखेपछि र तँलाई स्पष्ट रूपमा बताएपछि मात्रै के भइरहेको छ भन्‍ने कुरा तैँले बुझ्‍नेछस्। यो यति सरल कुरा हो, जुन सत्यता सिद्धान्तहरूको स्तरसम्म पनि पुग्दैन, तैपनि तिमीहरूले यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनौ। यहाँ के भइरहेको छ? के यो मामला गहन र बुझ्‍न नसकिने किसिमको छ? (छैन।) त्यसोभए तिमीहरूले यसलाई किन स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनौ? वृहत् रूपमा भन्दा, तिमीहरूले सत्यता नबुझेकोले हो। अझ विस्तृत रूपले भन्दा, तिमीहरूको सामान्य मानवता र चेतनामा केही कुराहरूको कमी छ र अवगुणहरू छन्, त्यसैले हो। मर्यादित र उचित हुने कुरामा, तिमीहरू परम्परामा र पुराना तरिकाहरूमा टाँसिन्छौ। सामान्य मानवताको कुरामा, तिमीहरू सामान्य मानवता हुनु भनेको मूर्ख जस्तै निष्कपट हुनु हो भन्‍ने सोच्छौ। के यसले तिमीहरूको क्षमता साँच्चै कमजोर छ र तिमीहरूसँग कुनै बोध सामर्थ्य छैन भन्‍ने कुरा देखाउँदैन र? (देखाउँछ।) समस्या ठ्याक्कै त्यही हो। ठीक छ, यसबारे यति नै पर्याप्त छ।

हामीले पछिल्लो पटक “देहधारी परमेश्‍वरलाई भ्रष्ट मानवजातिसँग एउटै स्तरमा नराख्ने” विषयअन्तर्गत देहधारी परमेश्‍वर “दाउपेच गर्नुहुन्‍न” भन्‍ने विषयमा सङ्गति गर्‍यौँ। आज हामी “अरूलाई प्रहार नगर्नु” भन्ने विषयमा सङ्गति गर्नेछौँ। अरूलाई प्रहार नगर्नु भनेको देहधारी परमेश्‍वरको सामान्य मानवतामा भएको सार र जियाइको एउटा भाग हो अनि यो मानिसहरूलाई व्यवहार गर्दा सामान्य मानवताको विवेक र समझले पालन गर्ने सिद्धान्तहरूमध्ये एक हो। अर्थात्, देहधारी परमेश्‍वर कम्तीमा पनि, तँसँग शान्तिपूर्वक सङ्गत गर्न सक्नुहुन्छ। तँ जस्तोसुकै प्रकारको व्यक्ति भए पनि, राम्रो क्षमता भएको व्यक्ति भए पनि वा कमजोर क्षमता भएको व्यक्ति भए पनि वा राम्रो मानवता भएको व्यक्ति भए पनि वा कमजोर मानवता भएको व्यक्ति भए पनि, देहधारी परमेश्‍वर तँसँग सही रूपमा व्यवहार गर्न र तँसँग मित्रैलो रूपमा मिलेर बस्न सक्नुहुन्छ। यदि मैले तँमा कुनै खोट वा दोष छ वा तेरो मानवताभित्र कुनै खराब सार छ वा तैँले कुनै दुष्ट कार्य गरेको छस् भन्‍ने पत्ता लगाएँ भने, अवसर मिलेमा वा परिस्थितिहरूले दिएमा, म तँसँग खुलस्त रूपमा सङ्गति गर्नेछु। यदि तँ यो स्वीकार गर्न सक्छस् भने, म तेरा समस्याहरू खुलस्त रूपमा खुलासा गर्नेछु र ती समाधान गर्ने मार्ग तँलाई औँल्याइदिनेछु। तर यदि तँ यो स्वीकार गर्न सक्दैनस् भने, म उपयुक्त समयमा, आफूले पत्ता लगाएको वास्तविक जीवनको समस्या प्रयोग गरेर तँलाई सम्झाउन, खुलासा गर्न र सतर्क गराउन सक्छु, तेरो समस्या के हो—चाहे त्यो तेरो मानवताको समस्या होस्, तेरो क्षमताको समस्या होस् वा तेरो भ्रष्ट स्वभावको समस्या होस्—त्यो तँलाई थाहा दिन सक्छु। तँसँग हुने समस्याका आधारमा, म तँलाई सम्झाउनेछु र अर्ती दिनेछु, तँलाई तेरा अपर्याप्तताहरू वा तेरो समस्या कहाँ छ भनी थाहा दिनेछु, त्यसपछि म तँलाई यस प्रकारको समस्याको सार के हो र यो समस्या भएका मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ भनेर बताउनेछु। यदि तँ यो स्वीकार गर्न इच्छुक छस् र देहविरुद्ध विद्रोह गर्न अनि सत्यता अभ्यास गर्न सक्षम छस् भने, म तँलाई अभ्यासको मार्ग र यस प्रकारको समस्यालाई कसरी सम्हाल्ने र कसरी समाधान गर्ने भनी बताउनेछु। म तेरा समस्या र दोषहरूलाई तँविरुद्ध हतियारका रूपमा वा फाइदा उठाउने कमजोर पक्षहरूका रूपमा चलाउनेछैनँ र त्यसपछि, बेलाबेलामा तेरो खिल्ली उडाउनेछैनँ र तँलाई गिल्ला गर्नेछैनँ वा तीबारे व्यङ्ग्यात्मक टिप्पणीहरू गर्नेछैनँ। म त्यसो गर्नेछैनँ; म तँलाई र तेरा विद्यमान समस्याहरूलाई न्यायपूर्ण र वस्तुगत रूपमा लिनेछु। यदि मैले तँलाई केही सम्झाइदिएँ तर तँमा सचेतनाको कमी छ र मैले भनेको कुराको तँसँग कुनै सम्बन्ध छ भन्‍ने तँ महसुस नै गर्दैनस् वा यदि मैले तँलाई तेरो समस्याको प्रकृति गम्भीर छ भनेर बताएँ तर तँ त्यो स्वीकार गर्दैनस् र तँ त्यो इन्कार गर्छस्, त्यसको प्रतिरोध गर्छस् अनि तर्क गर्न र आफूलाई सही साबित गर्न बहानाहरूसमेत बनाउँछस् भने, म परिस्थितिका आधारमा कामकुराहरूको मूल्याङ्कन गर्नेछु। यदि तैँले गर्ने काम अत्यन्तै महत्त्वपूर्ण छ र तेरो समस्याले मण्डलीको कामलाई असर गरेको छ भने, म तँ यस कर्तव्यका लागि उपयुक्त छस् कि छैनस् भनेर विचार गर्नेछु। तर यदि तँ एक साधारण विश्‍वासी मात्रै होस् र तैँले गर्ने कर्तव्य र तेरा प्रकटीकरणहरूले मण्डलीको काममा वा परमेश्‍वरका चुनिएका मानिसहरूमा धेरै प्रभाव पार्दैनन् र यो तेरो व्यक्तिगत समस्या मात्रै हो भने, म सदिच्छाले तँलाई सम्झाउनेछु र मद्दत गर्नेछु। यदि तँ यसलाई गम्भीरतापूर्वक लिँदैनस् भने, म तँप्रति कुनै द्वेष राख्नेछैनँ र अवश्य नै, म तँलाई यो कुरा स्विकार्न बाध्य पार्न हरसम्भव प्रयास गर्नेछैनँ। म यस मामिलालाई एकदमै विवेकी रूपमा लिनेछु र म सदिच्छाले तँलाई निरन्तर सम्झाउनेछु र मद्दत गर्नेछु। यदि मैले तेरो समस्याको सारले तँ आफूलाई वा अरूलाई नकारात्मक परिणामहरू दिनेछ भन्‍ने देख्न सकेँ भने, म आफ्नो विवेकबाट प्रेरित भएर तँलाई मूर्ख बनेको हेरेर मात्रै बस्नुको साटो, सदिच्छाले तँलाई सम्झाउनेछु र मद्दत गर्नेछु। म तँलाई यसो भन्दै त्यतिकै चित्रण गर्नेछैनँ, “तँ आशारहित छस्, परमेश्‍वर तँलाई घृणा गर्नुहुन्छ र तँ नाश हुने व्यक्ति होस्,” झन् मैले मुख खोलेर यसो भन्दै तँलाई श्राप दिनु त परै जाओस्, “तँ दियाबलस, तँ शैतानको वंशज, तँ परमेश्‍वरको प्रतिरोध गर्ने व्यक्ति होस्।” म पटक्कै यसो गर्नेछैनँ। मेरो पहिचान विशेष भएकाले, म प्रायः आफूलाई एकदमै विवेकी रूपमा वशमा राख्छु: म कुनै व्यक्तिलाई कसरी व्यवहार गर्छु र ऊसँग कसरी बोल्छु भन्‍ने कुरा ऊ को हो त्यसमा निर्भर हुनुपर्छ—यो एउटा पक्ष हो। यसबाहेक, मैले कसैलाई पनि त्यतिकै चित्रण गर्नु हुँदैन। अनि अर्को कुरा, मैले आफ्नो बोल्ने लबज, शब्द चयन वा वाक्यांशमार्फत आफूले अर्को व्यक्तिलाई भन्ने र गर्ने कुरा सदिच्छाले गरेको हो र दुर्भावविना गरेको हो भनी महसुस गराउनैपर्छ। मेरो मनसायको कुरा गर्दा, म तँलाई सच्चा रूपले मद्दत गर्ने प्रयास गरिरहेको छु; म तैँले घुमाउरो बाटो लिएको देख्न चाहन्नँ, न त तैँले कामकुराहरू सामना गर्दा तँ कमजोर भएको, हिचकिचाएको वा तैँले आफ्नो दिशा गुमाएको वा बाटो बिराएको नै देख्न चाहन्छु। बरु, मैले सङ्गति गरेर तँलाई मद्दत गरेपछि, म तैँले आफूलाई सही रूपमा हेर्न सकेस्, नकारात्मकतामा फस्नबाट जोगिन सकेस्, तेरा भ्रष्ट स्वभावहरू र तँमा भएका समस्याहरूको सही बुझाइ प्राप्त गर्न सकेस् र आफूलाई सही रूपमा व्यवहार गर्न सकेस्, त्यसपछि परमेश्‍वरका वचनहरूबाट अभ्यासको मार्ग खोज्न सकेस् र परमेश्‍वरका वचनहरूअनुसार अलिअलि गर्दै आफ्ना भ्रष्ट स्वभावहरू र आफ्ना समस्याहरू समाधान गर्न सकेस्, साथै अरूसँग मित्रैलो रूपमा मिलेर बस्न उनीहरूलाई मद्दत गर्न सकेस् भन्‍ने आशा गर्छु। अर्थात्, म मानिसहरूसँग अन्तरक्रिया गर्दा आफूले भन्‍ने र गर्ने कुराले तिनीहरूलाई परमेश्‍वरका अभिप्रायहरू बुझ्न, परमेश्‍वर मानिसहरूबाट के-कस्ता सिद्धान्तहरू माग गर्नुहुन्छ, मानिसहरूमा हुने विभिन्‍न समस्याहरूप्रति परमेश्‍वरका मनोवृत्ति र दृष्टिकोणहरू के-के हुन्, परमेश्‍वरका मागहरू पूरा गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि मानिसहरूले कसरी यी समस्याहरू सम्हाल्नुपर्छ र आफ्ना समस्याहरू समाधान गर्न कसरी सत्यता खोज्नुपर्छ भनेर जान्‍न सक्षम तुल्याउन सकोस् भन्‍ने कुरा सुनिश्‍चित गर्ने प्रयास गर्छु। मेरो उद्देश्य भनेको मानिसहरूलाई सबै प्रकारका मानिस, घटना र कामकुराहरूसँग व्यवहार गर्दा र तिनीहरूका भ्रष्ट स्वभावहरू प्रकट हुँदा यी समस्याहरूलाई सही रूपमा लिन र समाधान गर्न मद्दत गर्नु हो, जसको अन्तिम परिणामस्वरूप तिनीहरू सत्यता र परमेश्‍वरको अधीनमा रहन्छन्। अवश्य नै, मैले यी वर्षहरूमा काम गर्दा र बोल्दा सम्पर्कमा आएका विभिन्न मानिसहरूका आधारमा, एउटा तथ्य चिनेको छु: मैले मानिसहरूसँग जतिसुकै शान्तपूर्वक बोले पनि र कुराकानी गरे पनि, मसँग जतिसुकै सदिच्छा भए पनि वा कसैलाई मद्दत गर्न चाहने मेरो मानसिकता जुनै प्रकारको भए पनि, निकै थोरै मानिसहरूले मात्र मैले भन्ने कुरा र मैले त्यो भन्नुको कारण अनुभूत गर्न वा बुझ्न सक्छन्, त्यसपछि, मैले बोलेका शब्दहरू र मैले तिनीहरूसँग सङ्गति गरेको विषयवस्तुमार्फत, तिनीहरूको वास्तविक जीवनमा प्रगति गर्न वा वास्तविक, व्यावहारिक मद्दत प्राप्त गर्न सक्छन्। तर मानिसहरूले अन्ततः मसँग कुराकानी र अन्तरक्रिया गरेर जतिसुकै कटनी गरे पनि र प्राप्त गरे पनि, मानिसहरूसँग अन्तरक्रिया गर्ने मेरा सिद्धान्तहरू परिवर्तन हुँदैनन्। कतिपय मानिस यसो भन्छन्, “त्यसोभए तपाईँ किन आफ्नो विधि परिवर्तन गर्नुहुन्न?” मलाई भन त, म किन आफ्नो विधि परिवर्तन गर्दिनँ? के मैले आफ्नो विधि परिवर्तन गर्नुपर्छ र? मानिसहरूसँग बोल्दा, मोशालाई दस आज्ञा घोषणा गरिदिएझैँ, के मैले पनि उच्च स्थानबाट बोल्नुपर्छ? के मेरो आवाज आकाशमा मेघगर्जनजस्तो हुनुपर्छ वा के मैले यस्तो कुनै प्रकारको लबज अपनाउनुपर्छ, ताकि मानिसहरू डराऊन्, मैले भनेको कुरा सजिलै याद गरून् अनि त्यो अभ्यास गर्न इच्छुक र अधीनमा हुन सक्षम होऊन्? वा मानिसहरूसँग कुराकानी गर्दा, यदि म सधैँ तिनीहरूलाई सराप्ने र चित्रण गर्ने लबजमा बोल्छु भने, के मानिसहरूले त्यसपछि पाठ सिक्नेछन् त? के तिनीहरूले त्यसपछि त्यो स्वीकार गर्न सक्नेछन् त? (सक्नेछैनन्।) के तिमीहरूलाई तिनीहरूले किन सक्नेछैनन् भन्‍ने थाहा छ? विगतमा जब यहोवाले मोशामार्फत दस आज्ञाहरू जारी गर्नुभयो, तब इस्राएलीहरूले आकाशमा मेघ गर्जेको आवाज सुने र बिजुली चम्केको देखे—के यसले तिनीहरूलाई यहोवाविरुद्ध विद्रोह गर्न र उहाँलाई गलत ठहराउनबाट रोक्यो त? तैँले बोल्न प्रयोग गर्ने विधि, तेरा शब्दहरूको विषयवस्तु, वा बोल्नुपछाडिको तेरो मनसाय जस्तोसुकै भए पनि, जहाँसम्म सुन्ने व्यक्तिको कुरा छ, यदि ऊसँग व्यक्तिपरक रूपमा सत्यता स्वीकार गर्ने र सकारात्मक कुराहरूलाई प्रेम गर्ने इच्छुकता र आवश्यकता छ भने—यदि उसको हृदयमा यो आवश्यकता छ भने—तैँले बोल्न जुनसुकै विधि प्रयोग गरे पनि, उसले यसलाई स्वीकार गर्न सक्नेछ र यसलाई सजिलै याद गर्नेछ। तर, यदि उसको हृदयमा यो आवश्यकता छैन भने, उसलाई सकारात्मक कुराहरू र नकारात्मक कुराहरू के हुन् भन्‍ने थाहा भए पनि, तैँले भनेको कुरा जतिसुकै सही भए पनि वा यसको स्रोत र मनसाय जतिसुकै उचित भए पनि, उसले तैँले भनेको कुनै पनि कुरा स्वीकार गर्नेछैन वा त्यसलाई हृदयमा लिनेछैन। त्यसकारण, मेरो दृष्टिकोणमा, यी कुराहरू गर्ने मेरो सिद्धान्त भनेको म जोकोहीसँग सामान्य रूपमा नै सङ्गति गर्छु। कसैले मबाट के प्राप्त गर्न र कटनी गर्न सक्छ र उसले सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने कुराको हकमा भन्दा, मुख्य कुरा उसले सत्यतालाई प्रेम गर्छ कि गर्दैन र ऊसँग सामान्य मानवताका आवश्यकताहरू छन् कि छैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। यदि ऊ जन्मजात रूपमा सकारात्मक कुराहरूलाई प्रेम गर्छ भने, जब म ऊसँग यसरी सामान्य रूपमा अन्तरक्रिया गर्छु र कुराकानी गर्छु, तब उसले मैले के भनेँ, यी वचनहरूपछाडिका सिद्धान्तहरू के हुन् र मैले उसलाई के गर्न आदेश दिएँ भनेर मनन गर्न सक्नेछ; उसले पछि यी कुराहरू मनन गर्नेछ, तिनलाई मनमा राख्नेछ, त्यसपछि यी वचनहरूअनुसार अभ्यास गर्नेछ। यदि यस व्यक्तिको मानवतामा सकारात्मक कुराहरूको कुनै आवश्यकता छैन भने, मैले जे भने पनि, त्यो व्यर्थ हुन्छ। मैले उसलाई काँटछाँट गरे पनि, अनुशासनमा राखे पनि वा ताडना नै दिए पनि, त्यसले केही गर्दैन। ताडना पाएपछि, उसले बाहिरी रूपमा असल व्यवहार र आज्ञाकारी भएको देखाउन सक्छ तर उसको हृदयमा सकारात्मक कुराहरूको कुनै आवश्यकता नहुने हुनाले, कामकुराहरू अगाडि बढिसकेपछि, उसको हृदयमा सकारात्मक वचनहरू, सकारात्मक कुराहरू वा सत्यता सिद्धान्तहरूको कुनै नामोनिसाना हुँदैन अनि ऊ चाँडै पहिलेकै अवस्थामा फर्किनेछ। त्यसकारण, यस्ता मानिसहरूलाई, तैँले जतिसुकै भने पनि, तिनीहरूले सामान्य मानवताका आवश्यकताहरू विकास गरून् भनेर तिनीहरूलाई परिवर्तन गर्न सक्दैनस्। यो एउटा पक्ष हो। यसबाहेक, अरूलाई प्रहार नगर्नु भनेको मूलतः मैले तिमीहरूलाई व्यवहार तरिकाका मेरा सिद्धान्तहरूमध्ये एक हो। तँ जस्तोसुकै प्रकारको व्यक्ति भए पनि, तैँले सत्यता पछ्याए पनि वा नपछ्याए पनि, मैले तेरो कुनै निश्चित समस्या खुलासा गरे पनि, यो केवल यस समस्याको सार चिरफार गर्नका लागि हुन्छ ताकि तैँले यसलाई पूर्ण रूपमा बुझ्न र जान्न सकेस्, भविष्यमा आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रगति गर्न सकेस्, उही गल्तीहरू गर्न र मण्डलीको काममा बाधा दिन वा त्यसलाई कमजोर पार्न छोड्न सकेस्—यो तँलाई मद्दत गर्नका लागि गरिएको हुन्छ, तँलाई समस्यामा पार्न वा तँविरुद्ध प्रयोग गर्नका लागि कुनै कुरा खोज्नका लागि होइन। त्यसैले, मैले विगतमा भएका कुराहरू उठाए पनि, यो तेरो उत्साहलाई मार्न वा तँलाई चोट पुऱ्याउनका लागि हुँदैन, तर तँलाई तेरा समस्याहरूको सार जान्न, सत्यताको कुनै निश्चित पक्षको पूर्ण बुझाइ हासिल गर्न, आफूबारे बुझाइ प्राप्त गर्न, परमेश्‍वरका अभिप्रायहरूअनुरूप कसरी काम गर्ने भनी जान्न र अन्ततः परमेश्‍वरका वचनहरूका सिद्धान्तहरूअनुसार सही रूपमा अभ्यास गर्न सक्षम तुल्याउनका लागि हुन्छ। के तिमीहरूलाई देहधारी परमेश्‍वर कहिल्यै अरूलाई प्रहार गर्नुहुन्न भन्‍ने तथ्यको कुनै बोध छ? (हामीलाई केही बोध छ।)

देहधारी परमेश्‍वरले अरूलाई प्रहार नगर्नुबाहेक, बेलाबेलामा मानिसहरूलाई प्रोत्साहन पनि दिनुहुन्छ। कतिपय मानिसको कद सानो हुन्छ र तिनीहरू कमजोर हुन्छन्; तिनीहरू आफ्नो मानवताको हिसाबमा त्यति बलिया हुँदैनन्, तिनीहरूमा कामकुराहरू गर्ने दृढताको कमी हुन्छ वा तिनीहरू प्रायजसो सबै प्रकारका कामकुराहरूद्वारा बाँधिएका हुन्छन्, सत्यता कसरी खोज्ने भनी जान्दैनन् र आफ्ना कर्तव्यहरू सामान्य रूपमा निर्वाह गर्न सक्दैनन्। यस्ता परिस्थितिहरूमा, म तिनीहरूलाई तिनीहरूले अगाडिको मार्ग देख्न सकून् भनेर केही प्रोत्साहन दिनेछु, ताकि तिनीहरूले आफूलाई कुनै मामिलाभित्र फसेको र त्यसद्वारा बाँधिएको नपाऊन्। जब तँ प्रोत्साहनका यी शब्दहरू सुन्छस्, तब मैले भनेको कुरा तेरो पहुँचबाहिर छ भन्‍ने तँलाई लाग्न सक्छ, तर मेरो उद्देश्य तँलाई तेरा सोच र धारणाहरूले ल्याएको बोझ त्याग्न, उप्रान्त ती कुराहरूद्वारा नबाँधिन र तिनलाई पछाडि छोड्न, त्यसपछि परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न आफ्नो कर्तव्यमा आफ्नो सम्पूर्ण सामर्थ्य लगाउन मद्दत गर्नु हो। कतिपय मानिस पहिले असफलताका मार्गहरूमा हिँडेका हुन्छन् वा तिनीहरूले परमेश्‍वरको घरका सिद्धान्तहरू उल्‍लङ्घन गर्ने कामकुराहरू गरेका हुन्छन् वा तिनीहरूमा केही स्पष्ट विद्रोही व्यवहारहरू रहेका हुन्छन् र कतिपय मानिसले त आफ्ना कार्यहरूद्वारा मण्डलीको काममा केही घाटा पुऱ्याउँदै अवरोध र बाधाहरूसमेत पुऱ्याएका हुन्छन्। यदि मैले आफ्नो सङ्गतिमा कहिलेकाहीँ यी कुराहरू उल्लेख गरेँ भने, मेरो उद्देश्य तेरो उत्साह मार्नु होइन, न त म कुनै द्वेष नै राखिरहेको हुन्छु; बरु, मेरो उद्देश्य भनेको अरूले उही गल्तीहरू नगरून् भनेर उनीहरूलाई सम्झाउनका लागि तेरो मामिलाका तथ्यहरूलाई उदाहरणका रूपमा प्रयोग गर्नु हो—मेरो उद्देश्य सत्यताको एउटा पक्षबारे स्पष्ट रूपमा सङ्गति गर्नु हो, ताकि अझ धेरै मानिसले यसबाट तैँले हिँडेको मार्ग गलत छ र यो कसरी गलत छ भन्‍ने कुरा देख्न सकून्, ताकि तिनीहरूले यसबाट पाठ सिक्न सकून्, त्यसपछि अझ धेरै मानिसलाई उही मार्गमा नहिँड्न चेतावनी दिनु र कामकुराहरू गर्दा तिनीहरूले के-कस्ता सिद्धान्तहरू पालन गर्नुपर्छ भनी सम्झाउनु हो। विशेष गरी मानिसहरूका विभिन्न भ्रष्ट स्वभावहरूबारे सङ्गति गर्दा र ती खुलासा गर्दा, मैले दिने उदाहरणहरू वा मैले सङ्गति गर्ने कुनै निश्‍चित स्थितिमा धेरै मानिस समावेश हुन सक्छन् वा केही निश्‍चित मानिस र कामकुरा समावेश हुन सक्छन्। यी कुराहरूबारे सङ्गति गर्नुको उद्देश्य तिमीहरूलाई उदाङ्गो पार्ने र तिमीहरूलाई लज्जित तुल्याउने अवसर खोज्नु होइन; मैले उठाउने तथ्यहरू वा मैले खुलासा गर्ने स्थितिहरूको कुरा गर्दा, हामीले सङ्गति गरिरहेको विषय र सत्यताको पक्षसँग मात्रै तिनको सम्बन्ध हुन्छ। मैले तँलाई व्यक्तिगत रूपमा नचिन्न सक्छु र तेरो जीवनमा यस्तो कुरा भएको छ भन्‍ने मलाई थाहा नहुन सक्छ, तर मैले दिएको उदाहरण वा मैले खुलासा गरेको स्थिति तँभित्र घटेको हुन सक्छ र तँ आफूलाई त्यससँग दाँज्छस्। जब कतिपय मानिस आफूलाई त्यस्ता कुराहरूसँग दाँज्छन्, तब तिनीहरू सोच्छन्, “के कसैले मेरो कुरा लगायो? मेरो जीवनमा यो कुरा भएको थियो र ममा यो समस्या थियो र म यस स्थितिमा थिएँ भन्‍ने कुरा तपाईँलाई कसरी थाहा भयो?” म के भन्छु भने, मलाई वास्तवमा कुनै निश्चित व्यक्तिको जीवनमा यस प्रकारको कुरा भएको थियो वा ऊ यस प्रकारको स्थितिमा थियो भन्‍ने थाहा हुँदैन तर मैले सङ्गति गर्ने सत्यताहरूमा—वा मैले खुलासा गर्ने समस्याहरूमा—यो स्थिति, यस प्रकारको समस्या वा यो निश्‍चित प्रकारको उदाहरण समावेश हुन्छ। यस प्रकारको स्थिति र यो निश्‍चित प्रकारको उदाहरण प्रतिनिधिमूलक हुने हुनाले र तिनले मानिसहरूलाई निश्चित प्रकारका मानिस, घटना र कामकुराहरू जान्न र कुनै निश्चित प्रकारको व्यक्तिको सार जान्न पर्याप्त रूपमा सक्षम तुल्याउन सक्ने हुनाले, उदाहरणहरू दिँदा, म मण्डलीमा घटेका केही निश्‍चित घटना उद्धृत गर्न वा केही निश्‍चित स्थिति छलफल गर्नबाट जोगिन सक्दिनँ। यसरी, केही मानिस, घटना र कामकुराहरू समावेश हुनु अपरिहार्य नै हुन्छ। तर मसँग निश्चित मानिसहरूलाई प्रहार गर्ने अलिकति पनि अभिप्राय हुँदैन; मेरो उद्देश्य त मानिसहरूलाई सम्झाउनु र अर्ती दिनु मात्र हो, जसले परमेश्‍वरका अधिकांश चुनिएका मानिसहरूलाई लाभ पाउन सक्षम बनाउँछ। जब म प्रवचनहरू दिँदा र सङ्गति गर्दा केही उदाहरण दिन्छु, तब त्यो कुनै निश्चित व्यक्तिप्रति पटक्कै लक्षित हुँदैन; यो केवल सत्यतामा सङ्गति गर्न र कुनै निश्चित समस्याको सार खुलासा गर्नका लागि हुन्छ, ताकि तिमीहरू समस्याको सारबारे अझ स्पष्ट हुन सके र तिमीहरूले त्यसलाई अझ राम्ररी बुझ्न सके। तिमीहरूले समस्याको सार बुझेर आफूमा यो समस्या छ भनेर पहिचान गरे पनि वा तिमीहरूले यसमा समावेश मानिस, घटना र कामकुराहरूलाई छर्लङ्गै देखे पनि, तिमीहरूले सम्बन्धित सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न, तिनलाई आफूभित्रका समस्याहरू समाधान गर्नका लागि प्रयोग गर्न र सत्यता वास्तविकतामा प्रवेश हासिल गर्न सक्नेछौ। मैले जुनसुकै प्रकारको समस्याबारे सङ्गति गरे पनि, चाहे त्यो तँभित्र रहेको समस्या होस् वा अरूभित्र रहेको समस्या, म सत्यतामा सङ्गति गर्न र तिमीहरूलाई कुनै निश्चित प्रकारको समस्याको सार र वास्तविकता अझ राम्ररी बुझ्न मद्दत गर्न मात्रै यसो गर्छु; यो कुनै निश्‍चित व्यक्ति वा कुनै निश्‍चित प्रकारको व्यक्तिप्रति लक्षित हुँदैन। अवश्य नै, मैले कुनै समस्याबारे सङ्गति गर्दा दिने उदाहरणको मूल रूप तँमा घटेको कुनै कुरा हुन सक्छ र मैले उदाहरण दिनका लागि यो मामिला प्रयोग गरेको हुन सक्छु। तर यो उदाहरण दिँदा, मैले आफ्नो मात्रै समस्या खुलासा गरिरहेको हुँदिनँ; बरु, तेरो समस्या सबैमा—सम्पूर्ण मानवजातिमा—पाइने समस्याहरूको प्रतिनिधि हुन्छ। अवश्य नै, समस्या खुलासा गर्नुको उद्देश्य समस्या समाधान गर्नु मात्रै हुन्छ, तँलाई प्रहार गर्नु होइन। त्यसैले, जब तँ यस प्रकारको परिस्थिति सामना गर्छस्, तब तैँले यसलाई सही रूपमा लिनुपर्छ; यो मेरो काम हो। मेरो काम, एक हिसाबमा, तिमीहरूलाई सबै सत्यता, सत्यताका सबै पक्ष प्रदान गर्नु हो र अर्को हिसाबमा तिमीहरूभित्रका समस्याहरू, भ्रष्ट मानवजातिका विभिन्न स्थिति र तिनीहरूभित्रका सबै भ्रष्ट स्वभाव, साथै भ्रष्ट स्वभावहरूसँग सम्बन्धित समस्याहरू खुलासा गर्नु हो। यो मेरो काम हो। मेरो काममा, सत्यता प्रदान गर्नुबाहेक, भ्रष्ट मानवजातिको भ्रष्टताको वास्तविकता खुलासा गर्नु पनि समावेश हुने हुनाले, यस काममा मेरा मनसायहरू असल हुन्छन्। म तिमीहरूलाई मद्दत गर्न र साथ दिन, तिमीहरूलाई सम्झाउन र भरणपोषण गर्न चाहन्छु, ताकि तिमीहरूले समस्याको सार स्पष्ट रूपमा देख्न सके र तिमीहरू आफ्ना भ्रष्ट स्वभावहरूविरुद्ध विद्रोह गर्न सक्षम बन्न सके, ताकि तिमीहरू उप्रान्त आफ्ना भ्रष्ट स्वभावहरूभित्र नजिओ, तर आफूलाई परिवर्तन गर्न, आफ्ना हातमा भएको दुष्टता त्याग्न, परमेश्‍वरसामु पश्चात्ताप गर्न र परमेश्‍वरले माग गरेका सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्षम बने, यसरी सत्यताप्रतिको अधीनता र परमेश्‍वरप्रतिको अधीनता हासिल होस्।

मैले तिमीहरूका जस्तोसुकै समस्याहरू खुलासा गरे पनि, र यी समस्याहरू खुलासा गर्दा मैले जुनसुकै विधि वा बोल्ने लवज प्रयोग गरे पनि, म तिमीहरूलाई मद्दत गर्ने र तिमीहरूलाई मुक्तिको मार्गमा लाग्न सहयोग गर्ने सिद्धान्त र मनसायमा आधारित भएर यसो गर्छु। म कुनै खराब अभिप्राय राख्दिनँ—यो पूर्ण रूपमा असल अभिप्रायले नै हुन्छ। कुनै निश्चित व्यक्ति वा कुनै प्रकारको व्यक्तिभित्र रहेको समस्याको सार खुलासा गर्दा मैले कहिलेकाहीँ प्रयोग गर्ने शब्दहरू त्यति परिष्कृत नभए पनि, मेरो उद्देश्य कसैलाई प्रहार गर्नु वा दबाउनु होइन, तर समस्याको सारलाई विश्लेषण गर्नु हो ताकि मानिसहरूसँग खुट्ट्याउने क्षमता हुन सकोस् र तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू फाल्न सकून्। यसभित्र, कुनै दाउपेच हुँदैन, तँलाई प्रहार गर्ने वा तँलाई दबाउने कुनै मनसाय हुँदैन, र तेरा लाजमर्दो कुराहरू उदाङ्गो पार्ने वा तँलाई लज्जित तुल्याउने कुनै मनसाय हुँदैन। मैले केही समस्याहरूबारे सङ्गति गर्दा, कुनै निश्चित प्रकारको व्यक्तिको व्यवहार वा स्वभाव र सारलाई चित्रण गरे पनि, त्यो चित्रण वस्तुगत तथ्यहरूसँग पूर्ण रूपमा मिल्दो हुन्छ। उदाहरणका लागि, यदि तँ अहङ्कारी र आत्म-धर्मी छस्, सधैँ तानाशाही रूपमा काम गर्छस्, र तैँले अवरोध र बाधा पुर्‍याउने कामहरू गरेको छस्, र मैले तँलाई “यदि तैँले यसो गरिरहिस् र जति गरे पनि पश्चात्ताप गर्न मानिनस् भने, तेरो सार यही हो, र तँप्रतिको परमेश्‍वरको मनोवृत्ति भनेको तँलाई पन्छाउनु वा तँलाई तिरस्कार गर्नु हो” भनेर बताएँ भने, के यी वचनहरूले तँलाई प्रहार गरिरहेका हुन्छन् त? हुँदैनन्। यी कुराहरू कुनै निश्चित सन्दर्भमा भनिए पनि, र तिनलाई यसरी भनिए पनि, मैले तँलाई दिने प्रबन्ध र मद्दत, र तँप्रतिको मेरा अपेक्षाहरू परिवर्तन हुँदैनन्; तँलाई अझै पनि पश्चात्ताप गर्ने अवसर दिइन्छ। यदि तैँले पछुतो महसुस गर्छस्, आफूलाई परिवर्तन गर्छस्, र तँ बदलिन्छस् भने, परमेश्‍वरको घरले अझै पनि तँलाई तँ जुन प्रकारको कर्तव्यका लागि उपयुक्त छस् त्यसमा बढुवा दिनेछ; म त्यसको बाधक कहिल्यै बन्नेछैनँ। हरेक व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गर्दा र सत्यता नबुझ्दा केही गल्तीहरू गर्छ, तर कतिपय मानिसहरू पश्चात्ताप गर्न सक्षम हुन्छन्, र उनीहरूले केही असल कुराहरू गरेका हुन्छन् र केही असल कार्यहरू गरेका हुन्छन्। मानौँ दाजुभाइ-दिदीबहिनीहरूले त्यस्ता व्यक्तिलाई सिफारिस गर्दै यसो भन्छन्, “यो व्यक्तिले साँच्चै पश्चात्ताप गरेको छ र ऊ पहिले जस्तो थियो त्योभन्दा फरक छ। पहिले, ऊ अहङ्कारी र छाडा थियो, मानव रूपविनाको थियो; उसले केही दुष्ट कुराहरू गरेर मण्डलीको काममा अवरोध र बाधा दियो र परमेश्‍वरका भेटीहरूमा घाटा पुर्‍यायो, त्यसैले मण्डलीले उसलाई निकाल्यो। तर निकालिएपछि, उसलाई ठूलो पछुतो भयो, र अहिले उसले पश्चात्ताप गरेको छ। उसले घाटाको भर्पाई गर्न पहल समेत गर्‍यो, उसलाई फेरि स्वीकार गर्न मण्डलीलाई अनुरोध गर्‍यो, उसले फेरि कहिल्यै दुष्टता नगर्ने वाचा गर्‍यो, र ऊ मण्डलीमा सबैभन्दा सानो बन्न, र परमेश्‍वरको घरले उसलाई जे गर्न भने पनि त्यसमा अधीनमा बस्न इच्छुक छ।” यदि तुलनात्मक रूपमा उसको नजिक भएका मानिसहरूले उसको पूर्ण बुझाइ प्राप्त गरेपछि उसलाई सिफारिस गर्न चाहन्छन् भने, म त भन्छु, यदि उसले साँच्चै पश्चात्ताप गरेको छ, र अहिले परमेश्‍वरको घरको कामका लागि उसको आवश्यकता छ भने, उसलाई फेरि प्रयोग गर्न सकिन्छ; म त्यसको बाधक बन्नेछैनँ। त्यसै गरी केही व्यक्तिहरूले व्यक्तिगत रूपमा मप्रति त्यति मित्रवत् नभएका कामहरू गरेका भए पनि, यदि तिनीहरूले बढुवाका सर्तहरू पूरा गर्छन् भने, म बाधक बन्नेछैनँ; म तिनीहरूलाई एउटा अवसर दिनेछु। त्यसकारण, प्रवचनहरूमा होस् वा वास्तविक जीवनमा, र वातावरण वा सन्दर्भ जस्तोसुकै भए पनि, म तँलाई निष्पक्ष र न्यायपूर्ण रूपमा व्यवहार गर्नेछु। वातावरणले अनुमति दिने प्रसंगहरूमा, म असल अभिप्रायले तिमीहरूलाई मद्दत गर्नेछु वा तिमीहरूले आफ्ना कर्तव्यहरूमा कस्तो गरिरहेका छौ भनी सोध्नेछु। यदि यो विशेष कामको परिस्थिति हो भने, म तिमीहरूलाई मद्दत र सहयोग गर्न पनि सक्दो प्रयास गर्नेछु, तिमीहरूलाई केही पेसागत काममा प्रशिक्षण, मार्गदर्शन, वा मद्दत प्रदान गर्नेछु। कहिलेकाहीँ म तिमीहरूसँग विचार-विमर्श गरिरहेको र तिमीहरूसँग विचारहरू आदानप्रदान गरिरहेको हुन्छु। मैले कहिलेकाहीँ, “तैँले गरेको काम स्वीकार्य छैन” भनेर भने पनि, मैले केवल सत्य बोलिरहेको र सीधा कुरा गरिरहेको हुन्छु। मैले तिमीहरूलाई दबाउन यस्ता कुराहरू भनिरहेको हुँदिनँ, तर तिमीहरूसँग विचारहरू आदानप्रदान गर्न वा विचार-विमर्श गर्नका लागि भनिरहेको हुन्छु। म तिमीहरूलाई बोल्ने र आफ्नो क्षमता प्रयोग गर्ने अवसरहरू दिन सक्दो प्रयास गर्छु, ताकि तिमीहरूको क्षमता, प्रतिभाहरू, तिमीहरूले सिकेको ज्ञान, तिमीहरूसँग भएको सामान्य ज्ञान, वा तिमीहरूले सँगालेको अनुभवलाई पूर्ण रूपमा उपयोग गर्न सकियोस्। यदि परिणामहरू राम्रा छैनन् भने, म यति मात्र भन्छु, “तैँले गरेको काम त्यति राम्रो छैन। अझै मनन गर् र खोजी गर्, र तैँले यसलाई अझ राम्ररी गर्न सक्छस् कि हेर्।” म सधैँ तिमीहरूलाई अधिकतम सहयोग, प्रबन्ध, र मद्दत दिन्छु, ताकि जीवनमा होस् वा आफ्नो कर्तव्य पूरा गर्ने क्रममा होस्, तिमीहरूले मसँग कुराकानी र अन्तरक्रिया गर्दा लाभ प्राप्त गर्न सक। काम सम्बन्धी मेरो सिद्धान्त यही हो, र मेरो दैनिक जीवनमा पनि यही कुरा लागू हुन्छ। कहिलेकाहीँ, जब म मानिसहरूसँग अन्तरक्रिया र कुराकानी गर्छु, तब हामी अपरिहार्य रूपमा दैनिक जीवनका केही सानातिना मामलाहरूबारे कुरा गर्छौं, जसमा आधारभूत आवश्यकताहरू, स्वस्थ रहने कुरा, औषधि, र यस्तै अन्य बाह्य कुराहरू समावेश हुन्छन्, र कतिपय मानिसहरूले जीवनका सानातिना मामलाहरूबारे केही दृष्टिकोण, भनाइहरू, वा सामान्य ज्ञान उल्लेख गर्छन्। सामान्य ज्ञानका सबै पक्षहरूको हकमा, म केवल मेरा व्यक्तिगत दृष्टिकोणहरू व्यक्त गर्छु। यदि तँलाई मैले भनेको कुरा सही छ भन्‍ने लाग्छ भने, तैँले यसलाई स्वीकार गर्न सक्छस्; यदि तँलाई मैले भनेको कुरा गलत छ भन्‍ने लाग्छ भने, म मेरो पहिचान र हैसियत प्रयोग गरेर तँलाई दबाउनेछैनँ, र तँलाई यसो भन्‍नेछैनँ, “मैले भनेको सबै कुरा सही छ। मैले जुनसुकै लवज प्रयोग गरे पनि, वा तँलाई मैले भनेको कुरा मन परे पनि वा नपरे पनि, के मैले तँलाई हानि गर्न वा तँमाथि अन्याय गर्न सक्छु र? तैँले यस कुरालाई स्वीकार गर्नैपर्छ!” म यसो गर्नेछैनँ; म कुराहरूलाई स्वाभाविक रूपमा चल्न दिनेछु। उदाहरणका लागि, तैँले खाना पकाउँदा धेरै नुन हालिस्, र म धेरै नुन खानु स्वास्थ्यका लागि खराब हो भनेर भन्छु। कतिपय मानिसहरूले यसलाई स्वीकार गर्दैनन्; यदि तिनीहरूले कम नुन प्रयोग गरे भने, खाना स्वादहीन हुन्छ र त्यसमा स्वादको कमी हुन्छ भन्‍ने तिनीहरूलाई लाग्छ। तिनीहरू आफ्नै स्वादअनुसार खाने जिद्दी गर्छन्। म भन्छु तँसँग यसो गर्ने स्वतन्त्रता छ, र म हस्तक्षेप गर्नेछैनँ। “धेरै नुन खानु स्वास्थ्यका लागि खराब हुन्छ” भन्‍ने भनाइ सत्यताको स्तरसम्म नपुगे पनि, यो जीवनको सामान्य ज्ञान हो। परमेश्‍वरले मानिसहरूका लागि सृष्टि गर्नुभएको यस भौतिक शरीरको हकमा भन्दा, यसलाई प्रतिदिन आवश्यक पर्ने नुनको निश्चित मात्रा हुन्छ; यो मात्रा नाघ्दा व्यक्तिको शरीरलाई हानि पुग्नेछ र यसले परिणामहरू ल्याउनेछ। कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जसलाई सधैँ आफूमा पोषक तत्त्वहरूको कमी छ भन्‍ने लाग्छ, त्यसैले तिनीहरू निरन्तर पोसिलो खाना खान्छन्। अन्त्यमा, तिनीहरूको अत्यधिक पोषक तत्त्वको सेवनले स्वास्थ्य समस्याहरू निम्त्याउँछ, र तिनीहरूले हेरफेर गर्नुपर्ने हुन्छ। परमेश्‍वरले सृष्टि गर्नुभएको यस भौतिक शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वहरूको मात्रा परमेश्‍वरले मानवजातिका लागि सृष्टि गर्नुभएको अन्न, तरकारी, फलफूल, र मासुको अनुपातसँग सम्बन्धित हुन्छ। यदि तैँले यी अनुपातहरूअनुसार खाइस् भने, तैँले आधारभूत स्वास्थ्य कायम राख्न सक्छस्; यदि तैँले यी अनुपातहरूलाई बेवास्ता गरिस् र आफ्ना रुचिहरूअनुसार जथाभाबी र अन्धाधुन्ध रूपमा खाइस् भने, तँमा स्वास्थ्य समस्याहरू विकास हुनेछन्। म तँलाई यी तथ्यहरू बताउँछु, तर तैँले तिनलाई स्वीकार गर्दैनस्। तँ यस्तो सोच्छस्, “प्रवचन दिनु र सत्यतामा सङ्गति गर्नु नै तपाईंको सामर्थ्य हो, तर तपाईंले दैनिक जीवनका यी मामलाहरू बुझ्नुहुन्न। मैले तपाईंको कुरा सुन्नु पर्दैन, किनभने यसमा सत्यता समावेश छैन।” म के भन्छु भने तैँले यसलाई स्वीकार नगर्ने निर्णय गर्न सक्छस्, र तँ आफ्नै रुचिहरूअनुसार जिउन सक्छस्, तर तैँले के जान्नुपर्छ भने यदि तैँले मेरा वचनहरू स्वीकार गर्न सकिनस् भने, ढिलो वा चाँडो तँमा स्वास्थ्य समस्याहरू विकास हुनेछन्। तैँले आफ्नो निर्णयको मूल्य चुकाउनेछस्। मैले त केवल मेरा दृष्टिकोणहरू व्यक्त गरिरहेको छु; म तँलाई दबाउन मेरो हैसियत प्रयोग गर्नेछैनँ। अर्को कुरा, यदि तैँले मेरा दृष्टिकोणहरू स्वीकार गरिनस् भने, म तँलाई बाध्य पार्नेछैनँ, न त म सकारात्मक कुराहरू स्वीकार नगरेकोमा तँ अत्यन्तै मूर्ख र जिद्दी छस् भनेर नै भन्‍नेछु। वास्तवमा, तँ साँच्चै त्यस्तै छस्, तर म कहिल्यै त्यसो भन्दिनँ। म दैनिक जीवनको कुनै सानो कुरालाई लिएर तिललाई पहाड बनाएर तँलाई अर्ती-उपदेश दिनेछैनँ। म त्यसो गर्नेछैनँ, किनभने त्यो मेरो जिम्मेवारी होइन। म त्यसो गर्न चाहन्नँ पनि। मैले सङ्गति गरेर अनि प्रवचन दिएर पहिले नै मेरो जिम्मेवारी पूरा गरिसकेको हुन्छु; यो कार्य मेरो सेवकाइको दायराभित्र पर्छ। तैँले हरेक दिन के खान्छस् भन्‍ने कुराको हकमा, तँ आफैले त्यो कुरा सम्हाल्छस्। परमेश्‍वरले मानवजातिका लागि के कुरा अनि कति मात्रामा सृष्टि गर्नुभयो, र प्रत्येक मौसममा के-कस्ता खानेकुरा र विशेष परिकारहरू उत्पादन हुन्छन्—तैँले यी सबै कुराहरू कसरी प्रयोग गर्छस् त्यो तेरो आफ्नै हातमा हुन्छ; तैँले ती कुरालाई आफै बाँडफाँट गर्न सक्छस्। यदि तेरो मानवताको विवेक र समझ सामान्य र स्वस्थ छ भने, तैँले तिनलाई सन्तुलित रूपमा प्रयोग र बाँडफाँट गर्नेछस्। यदि तेरो समझ स्वस्थ छैन भने, तैँले तिनलाई अत्यधिक रूपमा प्रयोग वा बाँडफाँट गर्नेछस्, र यसले अन्ततः तेरो भौतिक शरीरमा जेसुकै परिणामहरू ल्याए पनि त्यो तैँले मात्रै भोग्नेछस्। त्यसकारण, यस मामलाको कुरामा म अत्यन्तै तर्कसङ्गत हुन्छु; म तँलाई मेरा दृष्टिकोणहरू मात्रै बताउँछु, र म तँलाई ती कुरा स्वीकार गर्न बाध्य पार्नेछैनँ। कहिलेकाहीँ, जब म तिमीहरूमा केही खराब जीवनशैलीका बानीबेहोराहरू छन् भन्‍ने देख्छु, तब म तिमीहरूलाई ती कुरा परिवर्तन गर्न पनि लगाउनेछैनँ; म केवल सामान्य रूपमा सम्झाउनेछु। यदि तिमीहरूले यसलाई स्वीकार गरेनौ वा तिमीहरू परिवर्तन भएनौ भने, म थप केही भन्‍नेछैनँ। जीवनशैलीका बानीबेहोराहरूलाई सुधार गर्नु वास्तवमा निकै सजिलो हुन्छ। गलत वा अवाञ्छनीय जीवनशैलीका बानीबेहोराहरूलाई सुधार गरिनुपर्छ; यो सकारात्मक कुराहरू स्वीकार गर्ने मनोवृत्ति हो। सकारात्मक कुराहरू स्वीकार गर्ने मनोवृत्ति हुनु र इच्छा हुनु सामान्य मानवताभित्र हुनुपर्ने आधारभूत चेतनाको एउटा भाग हो। कतिपय मानिसहरूले सकारात्मक कुराहरूलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छन्। तिनीहरूले तिनलाई गम्भीरतापूर्वक लिँदैनन्, र तिनीहरू अभ्यास गर्ने आफ्ना गलत तरिकाहरू र कामकुराहरू गर्ने गलत तरिकाहरूमा लागिरहन्छन्। कतिपय मानिसहरूले यसो समेत भन्छन्, “म यतिका वर्षसम्म यसरी नै जिएको छु र कुनै परिणामहरू आएका छैनन्।” यो त स्वभावको समस्या हो। यो कस्तो प्रकारको स्वभाव हो? यो जिद्दीपन र हठीपनको स्वभाव, र सही दृष्टिकोण वा सकारात्मक कुराहरू स्वीकार नगर्ने स्वभाव हो। म तँलाई भन्दै छु, यो भ्रष्ट स्वभावको सङ्केत हो, र तैँले यसलाई परिवर्तन गर्नुपर्छ र फाल्नुपर्छ। अभ्यास गर्ने तेरा गलत तरिकाहरू र तेरो त्यो हठी मनोवृत्तिलाई परिवर्तन गरिनुपर्छ; त्यसपछि मात्रै तँमा साँचो परिवर्तन आउन सक्छ।

कतिपय मानिसहरू अरूलाई प्रहार गर्न मन पराउँछन्; यो राम्रो होइन। यदि मैले तिमीहरूले कुनै गलत काम गरेको देखेँ भने, म तर्कसङ्गत रूपमा मेरा दृष्टिकोणहरू व्यक्त गर्नेछु र असल अभिप्रायले तिमीहरूलाई सम्झाउनेछु। कामकुराहरू गर्ने मेरो तरिका यही हो। यसका साथै, यदि कुनै निश्चित समस्याहरूका कारणले तिमीहरूका भ्रष्ट स्वभावहरू खुलासा हुनुपर्छ भने, म तिनलाई कुनै सङ्कोचविना खुलासा गर्नेछु; यो त मानिसहरूप्रति जिम्मेवार हुनु हो। जब म मानिसहरूका समस्याहरू खुलासा गर्छु, तब म समस्याहरूको सार खुलासा गर्छु र ती वास्तवमा कस्ता छन् भनेर देखाउँछु; म प्रावधानहरू लागू गर्दिनँ वा तिललाई पहाड बनाउँदिनँ। म यसो गर्छु किनभने यो कुरा मेरो कामको दायराभित्र पर्छ, म खुलासा गरिनुपर्ने कुरालाई खुलासा गर्छु, र भन्‍नुपर्ने कुराभन्दा एक शब्द पनि कम भन्दिनँ। त्यसकारण, कामकुराहरू गर्दा मेरा सिद्धान्तहरू हुन्छन्। एक हिसाबमा, दैनिक जीवनमा, म मेरा दृष्टिकोणहरू के हुन् भनेर तँलाई थाहा दिँदै, चेतनाको सिद्धान्तमा आधारित भएर यी मामलाहरूलाई लिन्छु। यदि तैँले ध्यान दिइस्, यसलाई हृदयमा लिइस्, र तँसँग सामान्य मानवताको चेतना छ भने, मैले यसबारे प्रवचन नदिइकनै, तैँले यी विचार र दृष्टिकोणहरूलाई स्वीकार गर्नेछस् वा सही रूपमा लिनेछस्। अर्को हिसाबमा, काममा, म तिमीहरूका समस्याहरूबाट पन्छिनेछैनँ, न त म तिमीहरूलाई लज्जित तुल्याउने डरले बोल्नबाट पछि नै हट्नेछु। म तिमीहरूका समस्याहरू र तिमीहरूका भ्रष्ट स्वभावहरूलाई खुलासा गर्नेछु, ताकि तिमीहरूले यससँग सम्बन्धित समस्याहरू जान्न सक र आफ्ना भ्रष्ट स्वभावहरू फाल्न सक। मेरो उद्देश्य भनेको तिमीहरूलाई सही मार्गमा लाग्न सक्षम तुल्याउनु हो। तिमीहरूसँग जीवनका समस्या भए पनि वा कामका समस्या भए पनि, यदि यसमा भ्रष्ट स्वभावहरू वा सत्यता समावेश छ भने, म समस्याबाट पन्छिनेछैनँ; म तिमीहरूसँग यसबारे स्पष्ट रूपमा सङ्गति गर्नेछु। मैले जसरी सङ्गति गरे पनि वा कुनै समस्यालाई जसरी लिए पनि, मेरा आफ्नै विधि र सिद्धान्तहरू हुन्छन्। जब मैले मेरो जिम्मेवारी पूरा गर्ने समय आउँछ, तब म यो काम आफै गर्छु। म तिमीहरूलाई लज्जित तुल्याउँछु कि भन्‍ने कुरामा डराउँदिनँ; म तिमीहरूका समस्याहरू र भ्रष्ट स्वभावहरूलाई खुलासा गर्नेछु ताकि तिमीहरूले तिनलाई जान्न सक। यो मेरो जिम्मेवारी हो। यदि तिमीहरूका समस्याहरूमा भ्रष्ट स्वभावहरू वा सत्यता सिद्धान्तहरू समावेश छैनन् भने, तिमीहरूलाई आफूले चाहेअनुसार छनौट गर्ने र अभ्यास गर्ने स्वतन्त्रता र अधिकार हुन्छ; म हस्तक्षेप गर्नेछैनँ। त्यसकारण, मैले तिमीहरूका समस्याहरू खुलासा गरे पनि वा नगरे पनि, यसमा तिमीहरूलाई प्रहार गर्ने, तिमीहरूलाई बाँध्ने, वा तिमीहरूलाई दमन गर्ने कुरा समावेश हुँदैन। दैनिक जीवनमा, आधारभूत आवश्यकताहरू जस्ता सिद्धान्तहरू समावेश नहुने मामलाहरूका लागि, म तिमीहरूलाई आफै छनौट गर्ने प्रशस्त स्वतन्त्रता दिन्छु। तर, यदि यसमा सिद्धान्तको मामला समावेश छ—अर्थात्, यदि यसमा भ्रष्ट स्वभावहरू समावेश छन्, वा काम गर्ने, आफ्नो कर्तव्य पूरा गर्ने, परमेश्‍वर, वा सत्यताप्रतिको तिमीहरूको मनोवृत्ति समावेश छ भने—मैले यसबारे सङ्गति गर्नुपर्ने हुन्छ। हेर् त, मैले कुनै कुरा जसरी गरे पनि, म त्यसमा विचार पुर्‍याउँछु, होइन र? मेरा सिद्धान्तहरू छन्। सत्यता, परमेश्‍वर वा सत्यताप्रतिको तिमीहरूको मनोवृत्ति, वा मण्डलीको काम र आफ्नो कर्तव्य पूरा गर्ने कुराप्रतिको तिमीहरूको मनोवृत्ति समावेश नहुने कुनै पनि कुरामा, म हस्तक्षेप गर्दिनँ; म आफ्नै काममा ध्यान दिन्छु। विशेष गरी व्यक्तिगत छनौट र व्यक्तिगत प्राथमिकताका मामलाहरूको कुरामा, म कहिल्यै हस्तक्षेप गर्दिनँ। उदाहरणका लागि, कतिपय दिदीबहिनीहरूलाई आफ्नो कपाल लामो राख्न, बाट्न, वा माथि बाँध्न मन पर्छ, र कतिपय दाजुभाइहरूलाई आफ्नो कपाल छोटो राख्न वा खौरिन मन पर्छ; तिमीहरूलाई त्यसो गर्ने स्वतन्त्रता छ, र म कहिल्यै हस्तक्षेप गर्दिनँ। कतिपय दाजुभाइ-दिदीबहिनीहरू खानेकुरा छान्‍ने खालका हुन्छन् र विशेष गरी कुनै निश्चित प्रकारको खाना खान मन पराउँछन्, वा तिनीहरूसँग कुनै निश्चित जीवनशैलीको नराम्रो बानी हुन्छ; म यी कुराहरूमा पनि कहिल्यै हस्तक्षेप गर्दिनँ। यदि यो खराब जीवनशैलीको बानीले तिनीहरूको स्वास्थ्य, तिनीहरूको कर्तव्यको प्रदर्शन, वा मण्डलीको कामलाई असर गर्छ भने, मैले तिनीहरूलाई सम्झाउनुपर्छ र मद्दत गर्नुपर्छ, वा तिनीहरूलाई मद्दत गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई अह्राउनुपर्छ। तर, दाजुभाइ-दिदीबहिनीहरूले मद्दत गर्दा कतिपय मानिसहरूले त्यसलाई स्वीकार गर्दैनन्, र आफूलाई बाँधिएको र दबाब दिइएको महसुस हुन्छ समेत भन्छन्; अन्त्यमा, तिनीहरू कसैलाई नभनी चुपचाप मण्डली छोड्छन्, र दाजुभाइ-दिदीबहिनीहरू सबै निराश हुन्छन्। म भन्छु, “तँ निराश हुनु गलत हो। हामी मानिसहरूको स्वतन्त्रतामा हस्तक्षेप गर्दैनौँ। यदि तिनीहरू जान चाहन्छन् भने, जाऊन्; त्यो तिनीहरूको छनौट हो। म पटक्कै निराश हुँदिनँ।” म किन निराश हुँदिनँ? किनभने तिनीहरूलाई मद्दत गर्नु मेरो दायित्व हो, मेरो मानवतामा मैले गर्नुपर्ने कुरा हो भन्‍ने मलाई लाग्छ। मैले तिनीहरूलाई दिने मद्दत कुनै प्रकारको गुन वा दान होइन; कुरा के मात्र हो भने, तिनीहरूको अवस्थाबारे सुनेपछि, म तिनीहरूलाई मद्दत गर्ने कार्यभार तिमीहरूलाई दिन बाध्य हुन्छु। तिनीहरूले मण्डलीमा पूर्णकालीन रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेका छन्। यदि तिनीहरूको खराब जीवनशैलीको बानीले तिनीहरूको स्वास्थ्यमा असर गर्यो र तिनीहरूमा स्वास्थ्य समस्याहरू विकास भए भने, के दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई प्रेमले मद्दत गर्नु पर्दैन र? यो मानवजातिका लागि आधारभूत सामाजिक नैतिकता हो। तर यदि तिनीहरूले यस्तो प्रकारको मद्दत स्वीकार गर्दैनन्, र हृदयमा विकर्षण वा दबाब महसुस गर्छन् भने, हामी तिनीहरूलाई बाध्य पार्नेछैनौँ, र हामी तिनीहरूको स्वतन्त्रतामा हस्तक्षेप गर्नेछैनौँ। त्यसोभए जब ती मानिसहरूले मण्डली छोड्छन्, तब कतिपय मानिसहरू किन निराश महसुस गर्छन्? तँ निराश महसुस गर्छस् किनभने तिनीहरूप्रति आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नु तिनीहरूप्रतिको एक प्रकारको गुन हो भन्‍ने तँलाई लाग्छ। तिनीहरूले यसको कदर गरेनन्, यो गुनलाई स्वीकार गरेनन्, र तैँले चाहेजस्तो गरेनन्, जसले तेरा भावनाहरू र तेरो अभिमानमा चोट पुर्‍यायो। भनाइ नै छ नि, तिनीहरूले तेरो असल अभिप्रायलाई तेरै अनुहारमा फ्याँकिदिए, त्यसैले तँ निराश महसुस गर्छस्। म पटक्कै निराश हुँदिनँ। यसलाई बुझ्ने मेरो तरिका तिमीहरूको भन्दा फरक छ। म के भन्छु भने, मैले यस मामलाबाट पाठ सिक्नुपर्छ र भविष्यमा फेरि यस्तो मूर्खतापूर्ण काम गर्नु हुँदैन। हरेकको आ-आफ्नै आकाङ्क्षा हुन्छ। तैँले मानिसहरूलाई आफ्नो नियन्त्रणमा राखेर पनि तिनीहरूले खुसी महसुस गरून् र तेरो प्रशंसा गरून् भन्‍ने अपेक्षा गर्नु हुँदैन, हुन्छ त? त्यो त अत्यन्तै हास्यास्पद कुरा हुनेछ। तैँले मानिसहरूलाई स्वतन्त्रता दिनुपर्छ र तिनीहरूलाई स्वतन्त्र रूपमा छनौट गर्न दिनुपर्छ। यदि तैँले भनेको कुरा सही छ भन्‍ने तिनीहरूलाई लाग्यो भने, तिनीहरूले यसलाई स्वीकार गर्ने र यी वचनहरूअनुसार अभ्यास गर्ने निर्णय गर्न सक्छन्; यदि तैँले भनेको कुरा गलत छ भन्‍ने तिनीहरूलाई लाग्यो भने, तिनीहरूले यसलाई स्वीकार नगर्ने निर्णय पनि गर्न सक्छन्। तिनीहरूसँग निर्णय गर्ने अधिकार हुन्छ। तैँले तिनीहरूलाई तेरो असल अभिप्राय स्वीकार गर्न बाध्य पार्नु हुँदैन। तिनीहरूले यसलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्‍ने कुरा मनोवृत्तिको कुरा हो; तिनीहरूसँग त्यसो गर्ने स्वतन्त्रता हुन्छ। बढीमा तैँले तिनीहरूजस्ता मानिसहरूमा हुने समस्याहरूका बारेमा सङ्गति गर्न सक्छस्, र तैँले यस्तो प्रकारको व्यक्तिबाट सिकेका पाठहरू र तैँले तिनीहरूमा देखेका समस्याहरूको सारमा सङ्गति गर्न सक्छस्, जसले तँलाई मानिसहरूलाई कसरी खुट्ट्याउने, मानिसहरूलाई कसरी हेर्ने, र परमेश्‍वरको वचनको सिद्धान्तअनुसार यस्ता मानिसहरूलाई कसरी व्यवहार गर्ने, र उप्रान्त कसरी मूर्खतापूर्ण कामहरू नगर्ने भनेर सिक्न मद्दत गर्छ। त्यसोभए तिमीहरूले कहाँ गल्ती गर्छौ? तिमीहरूले जसलाई मद्दत गरे पनि, तिमीहरू भावनाहरूमा आधारित भएर काम गर्छौ, र यस्तो समेत सोच्छौ, “हेर त मसँग कति धेरै प्रेम छ, र म कति प्रेमिलो छु।” यो सिद्धान्तहरूअनुसार काम गर्नु होइन, तर आफ्नै इच्छा र प्राथमिकताहरूका आधारमा मानिसहरूलाई व्यवहार गर्नु नै हो; यो भावनाहरूमा आधारित भएर कामकुराहरू गर्नु हो। मैले जोसँग कुरा गरे पनि वा जसलाई व्यवहार गरे पनि, म सिद्धान्तहरूमा आधारित भएर बोल्छु र काम गर्छु; यसमा भावनाहरू प्रवेश गर्दैनन्। बोल्दा र काम गर्दा, म पूर्ण रूपमा विवेक र असल अभिप्रायले काम गर्छु, र मैले सबैसँग अपनाउनुपर्ने शैली यही हो। विशेष गरी, सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेका दाजुभाइ-दिदीबहिनीहरूसँग, मैले ठ्याक्कै यसरी नै काम गर्नुपर्छ। यो मेरो दायित्व र जिम्मेवारी हो। मैले यो जिम्मेवारी पूरा गरेँ भने, त्यति नै पर्याप्त हुन्छ। तिनीहरूले स्वीकार गर्ने निर्णय गर्न सक्छन्, वा तिनीहरूले इन्कार गर्ने निर्णय गर्न सक्छन्; म मानिसहरूलाई बाध्य पार्दिनँ। यदि तिनीहरूले स्वीकार गरे भने, म खुसी हुन्छु; यदि तिनीहरूले स्वीकार गरेनन् भने, म दुःखी हुँदिनँ। मैले त सिद्धान्तहरूअनुसार आफूले गर्नुपर्ने केही कुराहरू मात्रै गरिरहेको थिएँ; मैले केवल मेरो जिम्मेवारी पूरा गरिरहेको थिएँ। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।)

वातावरण जस्तोसुकै भए पनि, मानिसहरूसँग अन्तरक्रिया गर्दा, म सबै प्रकारका मानिसहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्न र सबै प्रकारका कामकुराहरूलाई सम्हाल्न सक्छु। यदि, जीवनमा, मैले मानिसहरूलाई केही मद्दत प्रदान गरेँ वा मानिसहरूको आत्मिक वृद्धि गर्ने केही कुराहरू भनेँ भने पनि, यो सिद्धान्तहरूअनुसार कामकुराहरू गर्ने एउटा भाग हो; यो भावनाहरूमा आधारित भएर काम गर्नु होइन। मानिसहरूको प्रकृति सार खुलासा गर्ने, मानिसहरूका भ्रष्ट स्वभावहरू खुलासा गर्ने, र विशिष्ट मामलाहरूमा मानिसहरूका भ्रष्टताका विभिन्न प्रकटीकरणहरू र भ्रष्ट स्थितिहरू, साथै विभिन्न समस्याहरूको सार खुलासा गर्ने जस्ता सत्यतामा सङ्गति गर्ने कुराको हकमा पनि, म सिद्धान्तहरूअनुसार काम गर्छु; म भावनाहरूमा आधारित भएर काम गर्दिनँ, न त म मानव इच्छाले नै काम गर्छु। जब मानिसहरूले कामकुराहरू गर्छन्, तब तिनीहरूले सधैँ आफूले कोसँग व्यवहार गरिरहेका छन् भन्‍ने कुरामा, र आफ्नै मनस्थिति र रुचिहरूमा आधारित भएर काम गर्छन्। तिनीहरूले आफूलाई मन पर्ने र आफूसँग मिल्ने मानिसहरूप्रति केही पक्षपात देखाउँछन्, र यी मानिसहरूलाई केही फाइदाहरू दिन्छन्, जबकि तिनीहरूले आफूलाई मन नपर्ने र आफूसँग नमिल्ने मानिसहरूलाई प्रहार गर्छन् र बहिष्कार गर्छन्; तिनीहरूले मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्न सक्दैनन्। तिनीहरूले कि त भावनाहरूमा आधारित भएर काम गर्छन् कि त दुष्ट कार्यहरू गर्छन्; छोटकरीमा भन्दा, तिनीहरूले सिद्धान्तहरूअनुसार कामकुराहरू गर्दैनन्। जब म मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गत गर्छु, तब तिनीहरू जोसुकै भए पनि, म तिनीहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्छु। त्यसै गरी, गैरविश्‍वासीहरूसँग अन्तरक्रिया र सङ्गत गर्दा पनि, मेरा सिद्धान्त र सीमाहरू हुन्छन्। यदि तिनीहरूले केही द्वन्द्वात्मक शब्दहरू, वा अभद्र, अशिष्ट, वा अपमानजनक शब्दहरू बोले पनि, म जस्तालाई त्यस्तै प्रतिक्रिया दिनेछैनँ। यदि मैले कामकुराहरू गर्नका लागि तिनीहरूसँग अन्तरक्रिया गर्नुपर्छ भने, म तिनीहरूसँग अन्तरक्रिया गर्नेछु; यदि मैले कामकुराहरू गर्नु पर्दैन भने, म तिनीहरूबाट जोगिने र तिनीहरूलाई इन्कार गर्ने छनौट गर्नेछु। यदि कुनै व्यक्ति नीच चरित्रको छ र सधैँ अरूबाट फाइदा उठाउन र लाभहरू माग्न चाहन्छ, र, मैले उसलाई मद्दत गरे पनि, उसले अझै पनि यसलाई सही रूपमा लिन वा ऊ परिवर्तन हुन सक्दैन भने, अर्थात् उसको मानवता खराब छ भने, म ऊबाट टाढा बस्छु। छोटकरीमा भन्दा, म दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा होस् वा गैरविश्‍वासीहरूसँग अन्तरक्रिया गर्दा होस्, म सिद्धान्तहरूअनुसार काम गर्न सक्छु; कम्तीमा पनि, म मानवताको विवेक र समझका सीमाहरूअनुसार मानिसहरूसँग अन्तरक्रिया गर्छु। के तिमीहरूले यो कुरा हासिल गर्न सक्छौ? (सक्दैनौँ।) भ्रष्ट मानवहरूले जोसुकैसँग अन्तरक्रिया गरे पनि, तिनीहरूले सधैँ आफ्नै हितहरूको रक्षा गर्छन्, वा सिद्धान्तहरूविना, भावना र रुचिहरूमा आधारित भएर मानिसहरूलाई व्यवहार गर्छन्। यदि यो व्यक्ति तिनीहरूसँग मिल्‍ने र तिनीहरूको राम्रो सम्बन्ध भएको य व्यक्ति हो भन्‍ने तिनीहरूलाई लाग्छ भने, तिनीहरूले उसलाई मद्दत गर्न, उसलाई प्रेम देखाउन, उसलाई चीजहरू दिन, र उससँग नजिकको सम्पर्क राख्न सक्छन्। तर यदि यस व्यक्तिले तिनीहरूका भावनाहरूमा चोट पुर्‍याउने कुनै काम गर्यो भने, तिनीहरूले भन्छन्, “म उसलाई फेरि कहिल्यै भेट्नेछैनँ, र म उससँग फेरि कहिल्यै अन्तरक्रिया गर्नेछैनँ। मलाई साँच्चै पछुतो छ! म पहिले उसलाई कति राम्रो गर्थेँ र उसलाई कति धेरै मद्दत गरेँ, तैपनि उसले मलाई यस्तो व्यवहार गर्यो। ऊ कृतघ्न, बैगुनी व्यक्ति हो!” तिनीहरूले मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्नका लागि सिद्धान्तहरूअनुसार काम गर्न सक्दैनन्। जब तिनीहरूले जोसुकैप्रति असल व्यवहार गर्छन्, तब तिनीहरूले भावनाहरूमा आधारित भएर त्यसो गर्छन्, र यदि तिनीहरूले जोसुकैप्रति खराब व्यवहार गर्छन् भने, यो तिनीहरूको व्यक्तिगत प्राथमिकताको कारणले भएको हुन्छ; तिनीहरूले गर्ने सबै कुरा आफ्ना भावनाहरूलाई सन्तुष्ट पार्नका लागि मात्रै हुन्छ। त्यसकारण, यदि तिनीहरूले कसैलाई मद्दत गरे र उसलाई फाइदा पुर्‍याए, तर त्यो व्यक्तिले कृतघ्न मात्रै नभई तिनीहरूका भावनाहरूमा चोट पनि पुर्‍यायो भने, तिनीहरू अत्यन्तै दुःखी र आहत हुनेछन्, र तिनीहरूले गुनासो गर्नेछन्, आफ्ना प्रयासहरू खेर गएको महसुस गर्नेछन्। तिनीहरू यसलाई स्वीकार गर्न अनिच्छुक हुनेछन्, र फेरि कहिल्यै यसो गर्नेछैनन्। मलाई भन, यदि मैले यस्तो प्रकारको परिस्थितिको सामना गरेँ भने, म यसलाई कसरी सम्हाल्नेछु? पहिलो कुरा, तैँले यस मामलालाई मानिसहरूले एक-अर्कालाई गुन लगाउने दृष्टिकोणबाट मूल्याङ्कन गर्नु हुँदैन; तैँले यस्तो प्रकारको परिस्थितिलाई भावनाहरूमा आधारित भएर जाँच्नु हुँदैन। तैँले यस्ता मानिसहरूलाई परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूमा आधारित भएर खुट्ट्याउनुपर्छ; तैँले तिनीहरूलाई भावनाहरूमा आधारित भएर खुट्ट्याउनु र हेर्नुको सट्टा, तिनीहरूको मानवता र तिनीहरूले हिँड्ने मार्ग, साथै परमेश्‍वरप्रतिको, सत्यताप्रतिको, र तिनीहरूको कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्तिलाई खुट्ट्याउनुपर्छ। कसैलाई यसरी हेर्नु निकै बढी सही कुरा हो। यो कुनै व्यक्ति वा मामलालाई भावनाहरू वा तेरा व्यक्तिगत लाभ र घाटामा आधारित भएर मूल्याङ्कन गर्नु होइन, तर तिनीहरूलाई परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूमा आधारित भएर मूल्याङ्कन गर्नु हो। कुनै व्यक्ति वा मामलालाई यसरी हेर्नु सही र सिद्धान्तहरूअनुरूप हुन्छ। जब तैँले मानिसहरू र कामकुराहरूलाई यसरी हेर्छस्, तब तैँले एक पटक मद्दत गरेको व्यक्ति कृतघ्न भएको कारणले तँ दुःखी र आहत हुनेछैनस्, न त तैँले एक पटक कसैबाट गुन प्राप्त गरेको कारणले तैँले ऊप्रति गहिरो कृतज्ञता नै महसुस गर्नेछस्; बरु, तैँले तिनीहरूलाई सिद्धान्तहरूअनुसार सही रूपमा व्यवहार गर्न सक्नेछस्। एउटा सामान्य भनाइ छ: “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ।” साधारण मानिसहरू अझै पनि परम्परागत संस्कृतिका यस्ता विचार र दृष्टिकोणहरूको तर्कभित्र जिउँछन्। तिनीहरूले कामकुराहरू वा मानिसहरूलाई परमेश्‍वरका वचनहरू वा सत्यतामा आधारित भएर हेर्दैनन्, न त तिनीहरूले मानिसहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार नै गर्छन्। तिनीहरूले के विश्‍वास गर्छन् भने, तैँले मानिसहरूलाई कसरी व्यवहार गर्छस् भन्‍ने कुरामा, तिनीहरूलाई धोका नदिने, तिनीहरूलाई हानि नगर्ने, तिनीहरूलाई नहिर्काउने, तिनीहरूलाई गाली नगर्ने, वा तिनीहरूप्रति दुष्ट कुराहरू नगर्ने बाहेक, तँ तिनीहरूप्रति असल पनि हुनुपर्छ। विशेष गरी, यदि कसैले तँलाई गुन देखाएको छ भने, तैँले त्यसलाई दोबर रूपमा चुकाउनुपर्छ; नत्र भने, तँ कृतघ्न हुन्छस्। के मानिसहरूलाई यी तरिकाहरूले व्यवहार गर्नु भनेको मानिसहरूप्रति असल हुनु हो भनेर मानिन्छ त? (मानिँदैन।) त्यसोभए मानिसहरूप्रति साँच्चै असल हुनु भनेको के हो? यो मानव भावनाहरूमा आधारित भएर कसैलाई प्रेम गर्नु, वास्ता गर्नु, र हेरचाह गर्नु होइन, तर परमेश्‍वरका वचनहरूअनुसार सिद्धान्तहरूमा आधारित भएर कामकुराहरू गर्नु हो। धेरैजसो मानिसहरूले सिद्धान्तहरूमा आधारित भएर कामकुराहरू गर्ने अवस्था हासिल गर्न सक्दैनन्; मानिसहरूले भावनाहरूमा आधारित भएर मात्रै कामकुराहरू गर्छन्, सिद्धान्तहरूमा आधारित भएर होइन। भावनाहरूमा आधारित भएर कामकुराहरू गर्नु र सिद्धान्तहरूमा आधारित भएर कामकुराहरू गर्नु अत्यन्तै फरक कुरा हुन्; ती दुई फरक मार्गहरू हुन्। भावनाहरूमा आधारित भएर कामकुराहरू गर्ने कार्य मानव इच्छाद्वारा दूषित हुन्छ—जब तैँले कसैलाई मद्दत गर्छस्, तब त्यो तेरा व्यक्तिगत भावनाहरूका आवश्यकताहरू सन्तुष्ट पार्नका लागि गरिएको हुन्छ; त्यो मामलाहरूलाई निष्पक्ष रूपमा सम्हाल्‍ने कार्य होइन। यदि यस व्यक्तिले तँप्रति गहिरो कृतज्ञता महसुस गर्यो भने, तैँले ऊप्रति निरन्तर असल व्यवहार गर्नेछस्; यदि उसले यसको कदर गरेन र तेरो हृदयमा चोट पुर्‍यायो र तेरा भावनाहरूमा चोट पुर्‍यायो भने, तैँले उसलाई उप्रान्त मद्दत गर्नेछैनस्। त्यसोभए के तैँले सिद्धान्तहरूविना काम गरिरहेको हुँदैनस् र? (हुन्छु।) यो सिद्धान्तहरूविना काम गर्नु हो। त्यसोभए सिद्धान्तहरूअनुसार कामकुराहरू गर्नु भनेको के हो? यो एक व्यक्तिको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नु, आवश्यकताअनुसार अरूलाई मद्दत गर्नु, र तिनीहरूले यसलाई जसरी चाहन्छन् त्यसरी नै लिन दिनु हो। यदि तिनीहरू तेरो मद्दत स्वीकार गर्न इच्छुक छन् भने, त्यो धेरै राम्रो कुरा हो; यदि तिनीहरू यसलाई स्वीकार गर्न अनिच्छुक छन् भने, तैँले तिनीहरू आशिषित छैनन् भनेर भन्नु हुँदैन, न त तँ निराश, दुःखी, वा हताश नै हुनु पर्छ, तर तैँले अझै पनि तिनीहरूलाई सही रूपमा व्यवहार गर्नुपर्छ। सिद्धान्तहरूअनुसार कामकुराहरू गर्नु भनेको यही हो। के तिमीहरूले “अरूलाई प्रहार नगर्ने” सम्बन्धी यो सिद्धान्त बुझ्यौ? (बुझ्यौँ।)

मानिसहरूका बीचमा जिउँदा र तिनीहरूसँग अन्तरक्रिया र कुराकानी गर्दा, परमेश्‍वरको देहधारी शरीरले अपनाउने एउटा सिद्धान्त भनेको तिनीहरूलाई प्रहार नगर्नु हो। अरूलाई प्रहार नगर्ने कुरामा मानिसहरूलाई व्यवहार गर्ने र सत्यताको बारेमा सङ्गति गर्ने सिद्धान्तहरू समावेश हुन्छन्। अरूलाई प्रहार नगर्ने बाहेक, देहधारी परमेश्‍वरसँग मानिसहरूलाई व्यवहार गर्ने अर्को सिद्धान्त छ, जुन हो, बदला नलिनु। मानिसहरूले बदला लिने मामलालाई कसरी हेर्छन्? यदि कोही हेपिन्छ वा उसलाई चोट पुर्‍याइन्छ, त्यसपछि उसले उचित रूपमा जबाफी प्रहार गर्छ वा प्रतिकार गर्छ भने, के मानिसहरूलाई यो स्वीकार्य लाग्छ? (लाग्छ।) तर परमेश्‍वरको हकमा, के यो मानिसहरूलाई कसरी व्यवहार गर्ने त्यसको सिद्धान्त हो त? (होइन।) मानवजातिमाझ, जोकोहीले बदला लिन सक्छ, र हरेक व्यक्ति बदला लिन सक्षम हुन्छ; हरेक व्यक्तिसँग बदला लिने नैसर्गिक प्रवृत्ति, साथै बदला लिने अभिप्राय र चाहना हुन्छ। यदि कसैले तँलाई मौखिक रूपमा अपमान गरेको छ वा तँलाई चोट पुर्‍याएको छ भने, तैँले अहिले नै बदला लिन नसके पनि, तँसँग इज्जत छ, तँ हेप्न वा खेलबाड गर्न सकिने व्यक्ति होइनस्, तँ मूर्ख होइनस्, र तँसँग सामान्य मानवताको समझ छ, अनि तैँले कुराहरू बुझ्न र निर्णय गर्न सक्छस् भनेर उसलाई थाहा दिन तैँले अझै पनि बदला लिने अवसर खोज्नेछस्। त्यसोभए मानिसहरूसँग बदला लिने यी विचारहरू कसरी आउँछन् त? ती सामान्य मानवताको विवेक र समझबाट आउँछन्, कि शैतानी भ्रष्ट स्वभावहरूको उग्रताबाट आउँछन्? (शैतानी भ्रष्ट स्वभावहरूको उग्रताबाट।) यो कुरा स्पष्ट छ। यदि कोही हेपिन्छ, ऊबाट फाइदा उठाइन्छ, वा उसलाई छल गरिन्छ भने, जब ऊसँग कुनै हैसियत हुँदैन, तब ऊसँग बदला लिने अवसर हुँदैन, र उसको परिस्थितिहरूले यसो गर्ने अनुमति दिँदैनन्, त्यसैले उसले यी सबै कुराहरूलाई आफ्नो हृदयमा गाडेर राख्छ, र ती एक प्रकारको घृणामा परिणत हुन्छन्। यो घृणाको कारण, र उसले यो अनुचित व्यवहार प्राप्त गरेको कारण, ऊ समाजप्रति, मानवजातिप्रति, र उसले शत्रुको रूपमा हेर्ने हरेक व्यक्तिप्रति शत्रुवत् बन्न सक्छ। जब कुनै व्यक्तिसँग हैसियत हुन्छ, जब परिस्थितिहरूले अनुमति दिन्छन्, र उसले बदला लिने अवसर पाउँछ, तब ऊ बदलाका कार्यहरू गर्न सक्षम हुन्छ, र यसरी उसलाई कुनै बेला चोट पुर्‍याउने वा उसलाई हेला गर्नेहरूले उसको प्रतिकार भोग्छन् र आफ्नो उचित सजाय पाउँछन्। उसले यसरी जिउनु भनेको आफूमा साहस हुनु हो, र उसले बल्‍ल यो रिस रागबाट आफूलाई मुक्त गरेको छ भन्‍ने महसुस गर्छ। मानवजातिमाझ, यसो गर्ने जोकोहीलाई समाजले वा उसको विवेकले दोषी ठहराउनेछैन। त्यसैले, मानिसहरूले बदला लिनु कुनै अनुचित, लाजमर्दो कुरा होइन भन्‍ने विश्‍वास गर्छन्, न त तिनीहरूले यसलाई सकारात्मक वा नकारात्मक कुरा नै मान्छन्। तर, अनुग्रहको युगदेखि कामको यस चरणसम्म, परमेश्‍वरले बोल्नुभएका सबै वचनहरूमा मानिसहरूलाई अरूसँग बदला लिनू भन्‍ने एउटा पनि वाक्य तैँले भेट्टाउन सक्दैनस्। परमेश्‍वरले मानिसहरूलाई कहिल्यै यसो भन्नुभएको छैन, “यदि कसैले तँलाई चोट पुर्‍याएको छ, वा यदि कसैले तँलाई छल गरेको छ भने, तैँले बदला लिनैपर्छ, तैँले आँखाको बदला आँखा, दाँतको बदला दाँत हुने गरी उसलाई त्यसको बदला फर्काउनैपर्छ।” के बदला लिने कुरा परमेश्‍वरले तँलाई मानिसहरूलाई कसरी व्यवहार गर्ने भनेर बताउनुभएका सिद्धान्तहरूमध्ये एक हो र? (होइन।) अनुग्रहको युगमा, परमेश्‍वरले मानिसहरूलाई अरूसँग कसरी व्यवहार गर्ने भनेर के बताउनुभयो? धैर्यता, सहनशीलता, र प्रेमका साथ व्यवहार गर्नुपर्छ। अरू के छ? (आफ्ना शत्रुहरूलाई प्रेम गर, र यदि कसैले तेरो देब्रे गालामा हिर्काउँछ भने, उसलाई दाहिने गाला पनि थापिदेऊ।) अरू के छ? अरूलाई सत्तरी गुणा सात पटक क्षमा गर। “सत्तरी गुणा सात” भन्‍ने सङ्ख्या प्रतिनिधिमूलक सङ्ख्या मात्रै हो; यसको अर्थ वास्तवमा त्यति धेरै पटक भन्‍ने होइन। तँलाई कुनै गलत काम गर्ने सबैलाई तैँले क्षमा गर्न सक्, तिनीहरूलाई अनगिन्ती पटक क्षमा गर्न सक् भनेर परमेश्‍वरले यो भन्‍नुभएको हो; यो एउटा सिद्धान्त हो। धैर्यता, सहनशीलता, नम्रता, आफ्ना शत्रुहरूलाई प्रेम गर्नु, देब्रे गालामा हिर्काउँदा दाहिने गाला थापिदिनु, र अरूलाई सत्तरी गुणा सात पटक क्षमा गर्नु—अनुग्रहको युगमा प्रायजसो बोलिएका कुराहरू यिनै हुन्। त्यसोभए के यी वचनहरूबाट मानिसहरूलाई व्यवहार गर्ने सिद्धान्तहरू प्राप्त गर्न सकिन्छ त? अरूलाई व्यवहार गर्दा मानिसहरूले पालन गरून् भनी परमेश्‍वरले माग गर्नुहुने सिद्धान्तहरू के-के हुन्? के तिनमा आँखाको बदला आँखा, दाँतको बदला दाँत हुन्छ भन्‍ने कुरा समावेश छ? (छैन।) के तिनमा जस्तालाई त्यस्तै गर्नुपर्छ भन्‍ने कुरा समावेश छ? (छैन।) के तिनमा बदला लिनुपर्छ भन्‍ने कुरा समावेश छ? (छैन।) यीमध्ये कुनै पनि कुरा समावेश छैनन्। अनुग्रहको युगमा परमेश्‍वरले भन्नुभएका यी प्रत्येक कुराहरू एक निश्‍चित प्रकारको व्यवहार र अभ्यास भए पनि, ती सबै अरूलाई व्यवहार गर्ने भनी परमेश्‍वरले मानिसहरूलाई बताउनुहुने सिद्धान्तहरू हुन्। त्यसैले, आखिरी दिनहरूका कामको यस चरणमा, अरूलाई कसरी व्यवहार गर्ने भन्‍ने विषयमा परमेश्‍वरले मानिसहरूलाई के बताउनुहुन्छ? मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्नू, तिनीहरूका सामर्थ्य र असल गुणहरू हेर्नू, तिनीहरूका कमजोरी र खराबीहरू नहेर्नू। निश्‍चित रूपमा अरू के छ? अरूलाई छल नगर्नू, विवाद नगर्नू, वा प्रहार नगर्नू, र अरूसँग मेलमिलापका साथ सहकार्य गर्नू। के यी सबै मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्‍ने निश्‍चित सिद्धान्तहरू हुन्? (हुन्।) युग जुनसुकै भए पनि, अरूलाई कसरी व्यवहार गर्ने भनेर परमेश्‍वरले दिनुहुने निश्‍चित सिद्धान्तहरूमध्ये एउटाले पनि मानिसहरूलाई बदला लिनू भनेर भन्दैन। एउटाले पनि यसो भन्दैन, “यदि कसैले तँलाई चोट पुर्‍यायो भने, उसलाई चोट पुर्‍या; यदि कसैले तँलाई हिर्कायो भने, तैँले उसलाई यसको बदलामा हिर्काउनैपर्छ; यदि उसले तँलाई मुक्का हान्यो भने, उसलाई जबाफी मुक्का हान्; यदि उसले तँलाई सराप्यो भने, उसलाई पनि सराप्।” परमेश्‍वरले कहिल्यै यस्तो एउटा शब्द पनि भन्नुभएको छैन। परमेश्‍वरले तँलाई अरूसँग मेलमिलापका साथ सहकार्य गर्न र मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्न माग गर्नुहुन्छ। अर्को व्यक्ति तैँले हेला गर्ने व्यक्ति, तँलाई एक पटक चोट पुर्‍याउने वा छल गर्ने व्यक्ति, वा तँलाई प्रहार गर्ने वा तँलाई गलत ठहराउने व्यक्ति हुन सक्छ। तर ऊ परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्ति हो भने, तैँले ऊसँग निष्पक्ष रूपमा व्यवहार गर्नुपर्छ र ऊसँग मेलमिलापका साथ सहकार्य गर्नुपर्छ। सिद्धान्त यही हो, र सामान्य मानवता भएको व्यक्तिले अरूलाई कसरी व्यवहार गर्छ भन्‍ने कुरामा ऊसँग हुनुपर्ने र उसले पालन गर्नुपर्ने सिद्धान्त यही हो। सामान्य मानवताको विवेक र चेतना भएका मानिसहरूले यी सत्यता सिद्धान्तहरूलाई स्वीकार गर्नेछन् र अरूसँग निष्पक्ष रूपमा व्यवहार गर्ने अभ्यास गर्नेछन्। सामान्य मानवताको विवेक र चेतना नभएकाहरूले यी वचनहरू सुन्दा तिनलाई एक प्रकारको धर्मसिद्धान्त वा धार्मिक शिक्षाको रूपमा लिनेछन्। यदि कसैले सत्यता स्वीकार गर्न नसक्ने मानिसहरूको हित, अभिमान, हैसियत, वा इज्जतमा अतिक्रमण गर्यो भने, तिनीहरूले आफ्नै उग्रतालाई खुलासा गर्नेछन्। तिनीहरूले अर्को पक्षसँग बदला लिने र त्यसको भर्पाई माग गर्ने मात्रै होइन, तर तिनीहरूले आफ्नो प्रतिकारलाई बढाउँदै, अर्को पक्षलाई दोबर रूपमा जबाफी प्रहार समेत गर्नेछन्। यदि कसैले तिनीहरूलाई चोट पुर्‍याएको छ, तिनीहरूलाई चिढ्याएको छ, तिनीहरूलाई अनादर देखाएर तिनीहरूको अपमान गरेको छ, वा तिनीहरूसँग कुनै मौखिक विवाद वा शारीरिक झगडा समेत गरेको छ भने, तिनीहरूले बदला लिनेछन् र उसलाई दोबर रूपमा जबाफी प्रहार गर्नेछन्। मानिसहरूलाई कसरी व्यवहार गर्ने भनेर परमेश्‍वरले माग गर्नुहुने सिद्धान्तहरू पालन गर्न तिनीहरू पूर्ण रूपमा असमर्थ हुन्छन्।

देहधारी परमेश्‍वरले मानिसहरूसँग बदला नलिनुहुने विषयसँग सम्बन्धित धेरै वास्तविक उदाहरणहरू पनि छन्। मानिसहरूले अरूलाई कसरी व्यवहार गर्छन् भन्‍ने कुरामा परमेश्‍वरले मानिसहरूसँग गर्नुहुने माग भनेको तिनीहरूले बदला नलिनु भन्‍ने सिद्धान्त पालन गर्नुपर्छ भन्‍ने हो, किनभने देहधारी परमेश्‍वरसँग उहाँको वास्तविक जीवन र कामको वातावरणमा यस्तो प्रकारको सामान्य मानवता, र यस्तो प्रकारको मानवता सार हुन्छ। उहाँसँग यस्तो प्रकारको मानवता सार हुन्छ भन्‍नुको अर्थ के हो? यसको अर्थ उहाँले मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने कुरामा आत्मआचरणको यस्तो सिद्धान्तलाई कडाइका साथ पालन गर्न सक्नुहुन्छ, र उहाँले मानवजाति र मानिसहरूका समूहमाझ कसरी जिउनुहुन्छ भन्‍ने कुरामा आत्मआचरणको यस सिद्धान्तलाई कडाइका साथ पालन गर्न सक्नुहुन्छ भन्‍ने हो। किनभने उहाँसँग यस्तो जीवन सार हुन्छ, र उहाँसँग यस्तो जीवन सार हुने हुनाले नै उहाँको जियाइमा यस्तो वास्तविकता हुन्छ। देहधारी परमेश्‍वर मानिसहरूका बीचमा व्यावहारिक रूपमा जिउनुहुन्छ; उहाँले मानिसहरूसँग अन्तरक्रिया र कुराकानी गर्ने वास्तविक जीवन बिताउनुहुन्छ—उहाँ शून्यतामा जिउनुहुन्न। देहमा जिउँदा, उहाँ अपरिहार्य रूपमा मानिसहरूको सम्पर्कमा आउनुहुनेछ, उहाँले कुराकानी गर्नुहुनेछ, र अन्तरक्रिया गर्नुहुनेछ। भ्रष्ट मानवजातिसँग अन्तरक्रिया र कुराकानी गर्दा, उहाँलाई अपरिहार्य रूपमा अनुचित व्यवहार गरिनेछ, अनादर गरिनेछ, भेदभाव गरिनेछ, छल गरिनेछ, हेपिनेछ, र वास्तविकतासँग नमिल्ने तरिकाले गलत ठहराइनेछ। म यस्तो प्रकारको अनुचित व्यवहारलाई कसरी लिन्छु? यी वर्षहरूमा मानिसहरूका बीचमा जिउँदा, अविश्‍वासीहरूका बीचमा मैले भोगेका विभिन्न प्रकारका अनुचित व्यवहारहरूको त कुरै छोडौँ, पारिवारिक परिवेश, स्थानीय मण्डली, र म सम्पर्कमा आउन सक्ने सबै उच्च-स्तरीय अगुवा र कामदारहरू अनि साधारण दाजुभाइ-दिदीबहिनीहरूको कुरा गर्दा मात्रै पनि, मलाई भन, के सबैले मलाई निष्पक्ष रूपमा व्यवहार गर्न सकेका छन् त? (छैनन्।) पक्कै पनि सकेका छैनन्। म तिमीहरू जस्तै हुँ—म एक साधारण विश्‍वासी भएको छु, र म परिवारको सदस्य पनि भएको छु। जब म परिवारको सदस्य थिएँ, तब मैले सबै प्रकारका अनुचित व्यवहार भोगेँ। परिवारमा, दाजुभाइ-दिदीबहिनीहरूका बीचमा, जो सबैभन्दा बलवान् हुन्छ उसैको अन्तिम निर्णय हुन्छ, र जो निष्कपट र समझदार हुन्छ ऊ सधैँ हेपिन्छ र उसलाई अनुचित व्यवहार गरिन्छ। मलाई पारिवारिक परिवेशभित्र भएका केही निश्‍चित घटनाहरू याद छ। यी घटनाहरूमा, यदि दुराग्रही, असमझदार भएको भए, र कोलाहल नमच्चाएको भए, हेपाइ हुने थिएन वा अनुचित व्यवहार गरिनेथिएन। तर यदि समझदार भएको भए र यी घटनाहरूलाई तर्कसङ्गत रूपमा लिएको भए, हेपाइ हुनेथियो। यदि अरूले बखेडा झिके र असमझदार बने भने, तिनीहरूले जबरजस्ती तँबाट फाइदा उठाउनेथिए र निर्लज्ज रूपमा काम गर्नेथिए। मलाई निर्लज्ज रूपमा काम गर्न आउँदैन; मलाई समझदार हुन र त्यस्ता मामलाहरूलाई तर्कसङ्गत रूपमा लिन मात्रै आउँछ, तर समझदार हुँदा म हेपिन्थेँ। यस संसारलाई हेर्: मानिसहरूको समूह जस्तोसुकै भए पनि, निष्पक्षता र धार्मिकताले शक्ति हातमा लिँदैनन्। जसले निर्लज्ज रूपमा काम गर्न सक्छ, कोलाहल मच्चाउन सक्छ, र असमझदार तर्कहरूलाई जबरजस्ती अघि बढाउन सक्छ उसैले परिस्थितिलाई हातमा लिन्छ। तँ जति धेरै समझदार हुन्छस्, र तैँले निष्पक्षता, विवेक, र चेतनालाई जति धेरै महत्त्व दिन्छस्, तँलाई खडा हुन त्यति नै गाह्रो हुनेछ, र तँ त्यति नै बढी हेपिनेछस्। परिवारभित्र पलाई पनि यस्तै हुन्थ्यो; मलाई परिवारका अन्य सदस्यहरूले हेपेका थिए। स्थानीय मण्डलीमा पनि, केही मानिसहरूले मलाई सधैँ भेदभाव गर्थे। मैले तिनीहरूलाई चिढ्याएको वा तिनीहरूलाई चोट पुर्‍याएको थिइनँ। त्यो बेला म जवान भएकोले, मैले अलिक सक्रिय र उत्साही रूपमा काम गरेकोले, र भेलाहरूमा उपस्थित हुन र विभिन्न गतिविधिहरूमा भाग लिन इच्छुक भएकोले मात्रै पनि, कतिपय मानिसहरूले मलाई सधैँ पूर्वाग्रहका साथ हेर्थे र मलाई खराब मनसायले हेर्थे। यसबाहेक, तिनीहरूले मलाई मेरो पिठ्यूँपछाडि सरापे र मलाई गलत ठहराए, सबै प्रकारका खराब कुराहरू भने। पछि, जब म अन्य ठाउँका मण्डलीहरूमा गएँ र त्यहाँका स्थानीय दाजुभाइ-दिदीबहिनीहरूसँगै बसेँ, तब पनि त्यस्तै हुन्थ्यो। मैले जेसुकै गरे पनि, कतिपय मानिसहरूले धारणाहरू विकास गर्थे, र कतिपयले त मलाई गिल्ला समेत गर्थे, मलाई होच्याउँथे, र मेरो पिठ्यूँपछाडि मलाई गलत ठहराउँथे। मैले जस्तोसुकै अनुचित व्यवहार भोगे पनि, यतिका वर्षमा मैले मलाई कुनै बेला चोट पुर्‍याउने कसैलाई पनि कहिल्यै बदला लिएको छैन। कतिपय मानिसहरूले मलाई सरापेका होलान् वा मलाई गलत ठहराएका होलान्, वा मेरो बारेमा अत्यन्तै खराब कुराहरू समेत भनेका होलान्, तर मैले तिनीहरूसँग कहिल्यै बदला लिएको छैन। बदला नलिनुको अर्थ के हो? कस्ता प्रकारका व्यवहारहरूलाई बदला लिनु भनिन्छ? बदला लिने व्यवहारका धेरै रूपहरू हुन्छन्। एक प्रकारको बदला भनेको मानिसहरूका विगतका दुष्कर्महरू तिनीहरूकै सामु तेर्स्याउनु, र मसँग अहिले हैसियत छ, विगतमा तिनीहरूले मलाई सराप्दा र मेरो आलोचना गर्दा मलाई कस्तो महसुस भएको थियो, र अहिले मसँग हैसियत भएकोले, यदि मैले तिनीहरूलाई निराकरण गर्न र तिनीहरूसँग बदला लिन चाहें भने यो अत्यन्तै सजिलो हुनेछ भनी तिनीहरूलाई थाहा दिनु हो। तर मैले कहिल्यै त्यसो गरेको छैन, न त म कहिल्यै गर्ने नै छु। म किन त्यसो गर्नेछैनँ? मेरो हृदयमा सबै प्रकारका मानिसहरूलाई व्यवहार गर्ने सिद्धान्तहरू छन्। यदि कसैको मानवता खराब छ र ऊ दुष्ट व्यक्ति हो भने, उसले मलाई चोट पुर्‍याए पनि यो कुनै ठूलो कुरा होइन। तर यदि उसले मण्डलीलाई बाधा दिन्छ, परमेश्‍वरको घरका हितहरूलाई हानि गर्छ, मण्डलीका प्रशासनिक आदेशहरू उल्‍लङ्घन गर्छ, मण्डलीका सिद्धान्तहरू उल्‍लङ्घन गर्छ, वा कामको प्रबन्धविरुद्ध जान्छ भने, परमेश्‍वरको घरमा प्रशासनिक आदेशहरू हुने हुनाले, यसले स्वाभाविक रूपमा उसलाई तह लगाउनेछ। यदि दाजुभाइ-दिदीबहिनीहरू अन्धा छन् र तिनीहरूसँग कुनै खुट्ट्याउने क्षमता छैन, र तिनीहरूले उसलाई अगुवाको रूपमा निर्वाचित गर्न चाहन्छन् भने, म तिनीहरूसँग अगुवाहरू निर्वाचित गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरूका विषयमा सङ्‍गति गर्नेछु। यदि यस व्यक्तिको बारेमा दाजुभाइ-दिदीबहिनीहरूसँग खुट्ट्याउने क्षमता छ भने, तिनीहरूले उसलाई निर्वाचनबाट बाहिरिनू भनेर भन्न सक्छन्; यदि तिनीहरूसँग कुनै खुट्ट्याउने क्षमता छैन र तिनीहरूले उसलाई निर्वाचित गरे भने, उसलाई अगुवा बन्‍ने प्रयास गर्न देऊ। दाजुभाइ-दिदीबहिनीहरूले पर्याप्त कष्ट भोगेपछि, तिनीहरूले स्वाभाविक रूपमा उसलाई खुट्ट्याउन सक्नेछन् र उसलाई हटाउनेछन्। एक हिसाबमा, यसले दाजुभाइ-दिदीबहिनीहरूलाई पाठ सिकाउनेछ; तिनीहरूले मानिसहरूलाई कसरी खुट्ट्याउने र कसरी चिन्ने भनेर सिक्न सक्छन्। अर्को हिसाबमा, यो परमेश्‍वरको घरका प्रशासनिक आदेशहरू र सबै प्रकारका मानिसहरूलाई सम्हाल्ने परमेश्‍वरको घरका सिद्धान्तहरूलाई कडाइका साथ पालन गर्नु हो। अनि यहाँ अझै महत्त्वपूर्ण अर्को एउटा कुरा छ: परमेश्‍वरको घर, अर्थात् मण्डली भनेको पवित्र आत्माले काम गर्ने ठाउँ हो, जहाँ परमेश्‍वरले शासन गर्नुहुन्छ; यो परमेश्‍वरको घर हो। यो परमेश्‍वरको घर हो भन्‍नुको अर्थ के हो? यसको अर्थ सत्यताले शासन गर्छ भन्‍ने हो, जसको अर्थ यहाँ सत्यताको नै अन्तिम निर्णय हुन्छ भन्‍ने हो। मण्डलीमा आउने हरेक व्यक्तिको उपयुक्त परिणाम र गन्तव्य हुन्छ। कसलाई राखिन्छ, को छोडेर जान्छ, वा को बस्छ, को कस्तो वातावरणमा हुन्छ, र परमेश्‍वरको घरले उसलाई कसरी सम्हाल्छ—यी सबैका लागि परमेश्‍वरको आफ्नै समय हुन्छ। कसैले मलाई चोट पुर्‍याएको छ, मलाई चिढ्याएको छ, मलाई सरापेको छ, वा मलाई फसाएको छ र मेरो पिठ्यूँपछाडि मलाई गलत ठहराएको छ भन्‍ने तथ्यलाई म मेरो नजरमा सिद्धान्तहरू उल्‍लङ्घन गरेको मान्दिनँ। त्यसोभए सिद्धान्तहरू उल्‍लङ्घन गर्नु भनेको के हो त? यो परमेश्‍वरको घरका हितहरूलाई हानि गर्नु र प्रशासनिक आदेशहरू उल्‍लङ्घन गर्नु हो। परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ। ढिलो वा चाँडो, दुष्ट मानिसहरूले प्रतिफल पाउनेछन्; हरेकले आफ्ना कार्यहरूअनुसार आफूले पाउनुपर्ने दण्ड पाउनेछन्। सबै प्रकारका मानिसहरूलाई सम्हाल्‍ने काम मण्डलीको काम हो र अगुवा र कामदारहरूले गर्नुपर्ने काम हो; मैले यो काम सीधै गर्नुपर्ने कुनै आवश्यकता छैन। यस्ता कुराहरूलाई सम्हाल्‍ने मेरो सिद्धान्त यही हो। विगतमा कसैले मलाई जेसुकै गरेको वा भनेको भए पनि, त्यो आदरपूर्ण भए पनि वा अपमानजनक भए पनि, त्यो उचित भए पनि वा अनुचित भए पनि, म ऊसँग निष्पक्ष रूपमा व्यवहार गर्न सक्छु। तँ परमेश्‍वरको घरमा मण्डली जीवन जिउँछस् भने, वा तैँले परमेश्‍वरमा विश्‍वास गरेको छोटो समय मात्रै भएको छ र सत्यता बुझेको छैनस्, र पवित्र आत्माको काम त्यस चरणसम्म पुगेको छैन भने, तँ परमेश्‍वरको घरमा रहन सक्छस्। मानिसहरूका परिणामहरू अन्तिम रूपमा घोषणा गर्ने समय आउनुअघि, म पर्खन सक्छु। मप्रतिको तेरो मनोवृत्तिलाई मात्रै म तेरो परिणाम निर्धारण गर्ने पर्याप्त प्रमाणको रूपमा प्रयोग गर्नेछैनँ। त्यसकारण, मलाई कुनै बेला चोट पुर्‍याउने कसैसँग पनि म बदला लिनेछैनँ; म ऊसँग सिद्धान्तहरूअनुसार व्यवहार गर्नेछु।

म मण्डलीका कतिपय मानिसहरूको सम्पर्कमा आएको छु; तिनीहरूमध्ये कतिपयले मसँग अलिक अभद्र रूपमा र आदरविना बोल्छन्। मप्रति तिनीहरूको यस्तो प्रकारको मनोवृत्ति थियो भन्‍ने देखेर, मैले तिनीहरूलाई बेवास्ता गरेँ। मलाई भन, के यसको अर्थ तिनीहरूप्रति मेरो खराब मनोवृत्ति थियो भन्‍ने हो? (होइन।) त्यसोभए के मैले तिनीहरूको मनोवृत्तिको कारण तिनीहरूलाई काटछाँट गर्नुपर्थ्यो र ताडना दिनुपर्थ्यो त? मैले वास्तवमा कहिल्यै त्यस्तो कुरा गरेको छैन। अन्ततः के भयो भने कतिपय दाजुभाइ-दिदीबहिनीहरूले यो सहन सकेनन्। तिनीहरूले मेरो पक्ष लिँदै भने, “परमेश्‍वरसँग बोल्दा यस व्यक्तिको मनोवृत्ति कसरी यस्तो हुन सक्छ? उसलाई सफा गरेर हटाऊ!” दाजुभाइ-दिदीबहिनीहरू अत्यन्तै आक्रोशित थिए। त्यस व्यक्तिको निरन्तरको व्यवहारको आधारमा, तिनीहरूले उसलाई सिद्धान्तहरूअनुसार सफा गरेर हटाए। दाजुभाइ-दिदीबहिनीहरूले उसलाई सफा गरेर हटाएका छन् भन्‍ने देखेर, मैले मेरो हृदयमा यस्तो कुरा थाहा पाएँ, “यस व्यक्तिको मानवताका सामान्य प्रकटीकरणहरू त्यति राम्रा छैनन् रहेछ। मप्रति खराब मनोवृत्ति राखेको कारणले मात्रै त उसलाई दाजुभाइ-दिदीबहिनीहरूले सम्हाल्नेथिएनन्; सायद, धेरैजसो कुराहरूमा यस व्यक्तिको व्यवहार नराम्रो छ।” मण्डलीले उसलाई सम्हाल्दा सिद्धान्तहरूअनुसार काम गरिरहेको थियो; यसबारे भन्नका लागि मसँग केही थिएन। दाजुभाइ-दिदीबहिनीहरूले यस कुरालाई कसरी सम्हाल्ने निर्णय गरे त्यसलाई म कदर गर्छु, र म तिनीहरूको निर्णयलाई कदर गर्छु। तर तिमीहरूले मप्रति अभद्र हुने कुनै व्यक्तिलाई सम्हालेको कारणले यो कदर आएको होइन—मैले कदर गर्ने कुरा भनेको मानिसहरूलाई सम्हाल्ने मण्डलीका सिद्धान्तहरू हुन्। मलाई भन, मैले मानिसहरूलाई कसरी व्यवहार गर्छु त्यस सम्बन्धी रहेको यो सिद्धान्त सही छ त? (छ।) मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्‍ने कुरामा, मैले स्थानीय मण्डलीका अगुवाहरूलाई विगतमा मलाई गलत ठहराउने वा मलाई मौखिक रूपमा अपमान गर्नेहरूलाई सम्हाल्नू भनेर कहिल्यै भनेको छैन। यसको विपरीत, यदि स्थानीय मण्डलीले तिनीहरूमध्ये केही व्यक्तिहरूलाई सुसमाचार निर्देशक वा अगुवा र कामदार हुन बढुवा दिन्छ र निर्वाचित गर्छ भने, म बाधा दिँदिनँ; म तिनीहरूलाई अवसर दिन्छु। मेरो गृहनगरको मण्डलीका मानिसहरूका हकमा यो विशेष गरी लागू हुन्छ—तिनीहरूले आफूले गर्नुपर्ने जुनसुकै कर्तव्यहरू गर्छन्। मलाई एक पटक चोट पुर्‍याउने वा चिढ्याउनेहरूसँग बदला लिनका लागि मैले कसैलाई अधिकार दिएको छैन; मैले कहिल्यै यस्तो एउटा पनि काम गरेको छैन। म मेरो हृदयमा यस कुरालाई कसरी हेर्छु? यदि त्यस्ता मानिसहरूले साँच्चै सत्यता पछ्याउँछन् र तिनीहरूका स्वभावहरू परिवर्तन हुन्छन् भने, तिनीहरूले मुक्ति प्राप्त गर्ने आशा हुन्छ। तिनीहरूले पहिले मलाई भनेका खराब कुराहरू तिनीहरूको मानवताका समस्याहरू थिए, जुन तिनीहरूका भ्रष्ट स्वभावहरूले गर्दा आएका थिए। त्यो बेला, तिनीहरूले सत्यता बुझेका थिएनन्, र सबैमा क्रूर स्वभावहरू थिए। तिनीहरूले आफूले हेला गर्नेहरूलाई केही खराब कुराहरू भन्नु र केही अनुचित कुराहरू गर्नु अपरिहार्य नै थियो। विशेष गरी, जब तिनीहरूले डाहा गर्ने वा हेला गर्नेहरूलाई बढुवा दिइन्थ्यो, तब तिनीहरूको हृदयमा डाह, ईर्ष्या, र घृणा उत्पन्न हुन्थ्यो। त्यसपछि तिनीहरूका भ्रष्ट स्वभावहरूले तिनीहरूलाई नियन्त्रण गर्थे र तिनीहरूलाई यस्तो व्यवहार गर्न प्रेरित गर्थे, र तिनीहरूले दुष्ट शब्दहरू बोल्थे। यो तिनीहरूका भ्रष्ट स्वभावहरू, र तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरूले गर्दा भएको थियो। तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय अलिकति पनि थिएन भन्‍ने तथ्य बाहेक, तिनीहरूले जुनसुकै खराब कुरा पनि भन्न सक्थे; तिनीहरूले आफ्नो रिस पोख्न मद्दत गर्ने जुनसुकै कुरा, तिनीहरूलाई आफ्नो घृणा कम गर्न दिने जुनसुकै कुरा, र तिनीहरूलाई आफ्ना लक्ष्यहरू हासिल गर्नदिने जुनसुकै कुरा भन्थे। मानिसहरूले मेरो पिठ्यूँपछाडि जस्तोसुकै खराब कुराहरू भनेका भए पनि वा जस्तोसुकै नराम्रा कुराहरू गरेका भए पनि, यदि यो भ्रष्ट स्वभावहरूको सामान्य प्रकटीकरणको दायराभित्र पर्छ र परमेश्‍वरले क्षमा गर्न सक्नुहुने कुरा हो भने, परमेश्‍वरले सबै कुरामाथि सार्वभौमिकता राख्‍नुहुने हुनाले, परमेश्‍वरले तिनीहरूलाई अवसरहरू दिनुहुनेछ, तिनीहरूलाई बढुवा दिन, संवर्धन गर्न, र प्रयोग गर्न अनुमति दिनुहुनेछ, र कतिपय मानिसहरूलाई सिद्ध समेत पार्न सकिन्छ। तर, यदि यी प्रकटीकरणहरू सामान्य मानवताका भ्रष्ट स्वभावहरूको दायराभन्दा बाहिर छन् र परमेश्‍वरले तिनीहरूलाई दोषी ठहराउनुभयो भने, परमेश्‍वरले यी सबै कुराको छानबिन गर्नुहुने हुनाले, परमेश्‍वरले यी मानिसहरूलाई के गर्नुहुनेछ, वा उहाँले तिनीहरूका लागि के प्रबन्ध गर्नुहुनेछ र उहाँले तिनीहरूलाई कसरी सम्हाल्नुहुनेछ भन्‍ने कुरा परमेश्‍वरको हातमा हुन्छ। मैले यसबारे चिन्ता गर्नुपर्ने कुनै आवश्यकता छैन, न त मैले हस्तक्षेप गर्नुपर्ने नै आवश्यकता हुन्छ। त्यसकारण, जब मलाई केही अनुचित व्यवहार गरिन्छ वा म मलाई प्रहार गर्ने र मलाई दोषी ठहराउने वचनहरू सुन्छु, तब म मेरो हृदयमा अलिकति दुःख वा उदासी महसुस गर्छु, तर म कुनै कुरा गर्नका लागि सिद्धान्तहरू उल्‍लङ्घन गर्नेछैनँ। म यी कुराहरू याद मात्रै गर्दिनँ, तर म यी मानिसहरूको मानवता सारलाई अझ गहिरिएर हेर्छु, जुन तिनीहरूको व्यवहारमार्फत खुलासा हुन्छ। तर, तिनीहरूका यी सबै व्यवहार र प्रकटीकरणहरू, तिनीहरूको मानवता, र तिनीहरूको स्वभाव सारका बारेमा अन्ततः के निर्णय गरिन्छ, र तिनीहरूको अन्तिम परिणाम के हुनेछ भन्‍ने कुराको हकमा, म यसलाई एउटै तरिकाले मात्रै सम्हाल्छु: म यो सबै परमेश्‍वरको हातमा छोडिदिन्छु। किनभने परमेश्‍वरले सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ, सबैको भाग्य परमेश्‍वरको हातमा हुन्छ, र परमेश्‍वरले सबै मानिसहरूको भाग्यमाथि सार्वभौमिकता राख्नुहुन्छ। म तिमीहरूको कुनै पनि परिणाम निर्धारण गर्दिनँ। मैले यी सबै कुराहरू छर्लङ्गै देख्न सके पनि, मेरो हृदयमा यसलाई परिभाषित गर्न र यसमाथि निर्णय गर्न सके पनि, र मेरो हृदयमा तेरो बारेमा रायहरू राख्न सके पनि, म तँलाई कहिल्यै सार्वजनिक रूपमा यस्तो-उस्तो भनी ठहर गर्दिनँ; म त्यस्तो कुरा गर्दिनँ। यदि मण्डलीले तँलाई सम्हाल्न चाहन्छ भने, म मेरा रायहरू दिन सक्छु, तर मण्डलीले तँलाई सम्हाल्ने कुरामा म हस्तक्षेप गर्दिनँ वा बाटोमा उभिँदिन। यसका साथै, परमेश्‍वरका आत्माले तँमाथि आफ्‍नो सार्वभौमिकता प्रयोग गर्नुहुँदा त्यसमा म हस्तक्षेप गर्दिनँ। म यी सिद्धान्तहरूका आधारमा मानिसहरूलाई व्यवहार गर्छु, त्यसैले मलाई गरिएका अनुचित कुराहरू र मसँग अन्तरक्रिया गरेकाहरूले मलाई भनेका खराब कुराहरू ममै आएर रोकिन्छन्—र ती एक इन्च पनि अगाडि बढ्दैनन्। ती एक इन्च पनि अगाडि बढ्दैनन् भन्‍नुको अर्थ के हो? यसको अर्थ जसले मेरो बारेमा खराब कुराहरू भनेको भए पनि, मलाई हेपेको भए पनि, मेरो अपमान गरेको भए पनि, वा मलाई चोट पुर्‍याएको भए पनि, मैले यो कुरा कहिल्यै कसैलाई भनेको छैन, उससँग बदला लिने कुरा त परै जाओस्। कतिपय मानिसहरूले यसो भन्छन्, “त्यो कुरा भएको धेरै वर्ष भइसक्यो—के तपाईंले यी मानिसहरूलाई बिर्सिनुभएको छ?” व्यक्तिको जीवनमा, सधैँ केही न केही कुराहरू हुन्छन् जसले गहिरो छाप छोड्छन् र तिनलाई कहिल्यै बिर्सन सकिँदैन। मैले यी कुराहरू बिर्सेको छु भन्‍ने होइन, न त मैले ती बोध गर्न सक्दिनँ भन्‍ने नै हो, मैले तिनलाई बुझेको छैन भन्‍ने कुरा त झनै होइन। म रिस राग नराख्न र बदला नलिन सक्षम छु किनभने मेरो हृदयमा रिस राग र बदला जस्ता कुराहरू छैनन्; यो मैले मानिसहरूलाई व्यवहार गर्ने मेरो सिद्धान्त बनेको छ। यस सिद्धान्तको एउटा पक्ष भनेको सबैलाई निष्पक्ष रूपमा व्यवहार गर्नु हो। सबै मानिसहरूको नियति परमेश्‍वरको हातमा हुन्छ। सबैको परिणाम र गन्तव्य तिनीहरूले गरेका कुराहरू, तिनीहरूका प्रकटीकरणहरू, सत्यता र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति, र तिनीहरू हिँड्ने मार्गसँग सम्बन्धित हुन्छन्; ती यी कारकहरूद्वारा निर्धारित हुन्छन्। कसैले मलाई जे गरेको भए पनि त्यो उसको परिणाम र गन्तव्य मापन गर्ने मापदण्ड वा कारक होइन। त्यसकारण, बदला नलिने कुराको हकमा भन्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मैले सबै प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्छु, त्यसमा मेरा सिद्धान्तहरू हुन्छन्। यदि तैँले मलाई चोट पुर्‍याएको छस्, मलाई हानि गरेको छस्, मलाई छल गरेको छस्, वा मेरो अपमान गरेको छस् वा मलाई सरापेको समेत छस् भने, म तँसँग बदला लिनेछैनँ, किनभने बदला लिने कार्य मैले मानिसहरूलाई कसरी व्यवहार गर्छु त्यस सम्बन्धी मेरो सिद्धान्त होइन, न त यो अरूलाई कसरी व्यवहार गर्ने भनी परमेश्‍वरले मानिसहरूलाई सिकाउनुभएको सिद्धान्त नै हो। त्यसकारण, अरूलाई कसरी व्यवहार गर्ने भन्‍ने विषयमा मानिसहरूलाई सिद्धान्तहरू बताउनुअघि, परमेश्‍वरले मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने कुरामा उहाँका आफ्नै सिद्धान्तहरू पनि हुन्छन्। परमेश्‍वरका वचनहरूमा, र परमेश्‍वरले मानिसहरूलाई सिकाउनुहुने सबै सिद्धान्तहरूमा, अरूसँग बदला लिने भन्‍ने जस्तो कुनै सिद्धान्त छैन। के तिमीहरूले कुरा यही हो भनेर भन्छौ त? (भन्छौँ।) के मैले यी वर्षहरूमा सङ्गति गरेका सत्यता सिद्धान्तहरूसँग मैले सबै प्रकारका मामलाहरूलाई सम्हाल्ने र सबै प्रकारका मानिसहरूलाई व्यवहार गर्ने मेरा सिद्धान्तहरू बाझिन्छन् त? (बाझिँदैनन्।)

देहधारी परमेश्‍वर उहाँको सामान्य मानवतामा रहेर बदला नलिन सक्षम हुनुहुन्छ—के भ्रष्ट मानवहरूलाई त्यसो गर्न सजिलो हुन्छ त? (हुँदैन।) यो कुरा किन सजिलो छैन? (भ्रष्ट मानवहरू अरू मानिसहरूसँग अन्तरक्रिया गर्दा, प्रायजसो आफ्ना भ्रष्ट स्वभावहरू र उग्रतामा भर पर्छन्, त्यसैले तिनीहरू अरूसँग बदला लिन निकै प्रवृत्त हुन्छन्।) भ्रष्ट मानवहरूमा क्रूर स्वभाव हुन्छ, त्यसैले तिनीहरू बदला लिनबाट आफूलाई रोक्न असमर्थ हुन्छन्। अरूलाई कसरी व्यवहार गर्ने भनेर परमेश्‍वरले मानिसहरूलाई के-कस्ता सिद्धान्तहरू बताउनुहुन्छ भन्‍ने तिनीहरूलाई थाहा हुन्छ, तर तिनीहरूले तिनलाई पालन गर्न सक्दैनन्, किनभने तिनीहरूमा क्रूर स्वभाव हुन्छ। तैँले बोल्दा तिनीहरूलाई चोट पुर्‍याउने तेरो कुनै अभिप्राय नभए पनि, यदि तँ होसियार भइनस् र तिनीहरूलाई चोट पुग्ने एउटै कुरा भनिस् भने, तिनीहरू अपमानको कारणले रिसले चूर हुनेछन् र तिनीहरूले तँसँग बदला लिन चाहनेछन्। तिनीहरूले तँलाई प्रहार गर्नका लागि यसलाई ठूलो कुरा बनाउने प्रयास पनि गर्नेछन्; तिनीहरूले तेरो पिठ्यूँपछाडि तेरो बदनाम गर्नेछन् र तँलाई निन्दा गर्नेछन्, र अरूसँग तेरो बारेमा खराब कुरा बोल्नेछन्, तँ कति महत्त्वाकाङ्क्षी र कपटी छस् भनी बताउनेछन्, जबकि वास्तवमा त्यस्तो पटक्कै हुँदैन। तैँले अन्जानमा तिनीहरूलाई चोट पुग्ने केही कुरा मात्रै भनेको थिइस्; तँसँग कुनै खराब मनसाय थिएन, तैपनि तिनीहरूले तँसँग बदला लिन सक्छन्। हेर् त, के यस्ता मानिसहरूको क्रूर स्वभाव डरलाग्दो हुँदैन र? (हुन्छ।) कतिपय मानिसहरू, अरूसँग बदला लिनका लागि, असमझदार हुन सक्छन्, तिनीहरूले निर्लज्ज रूपमा व्यवहार गर्न सक्छन्, र झोँक देखाउन र कोलाहल समेत मच्चाउन सक्छन्; यो सिद्धान्तहरूअनुरूप हुँदैन। भ्रष्ट मानवहरूले प्रायजसो यसरी नै व्यवहार गर्छन्, होइन र? बदला लिने सम्भावनाको सामना गर्दा म कसरी काम गर्छु? अरूले मसँग जसरी व्यवहार गरे पनि, म तिनीहरूसँग बदला लिँदिनँ, न त म निर्लज्ज रूपमा व्यवहार नै गर्छु। समय जहिले भए पनि, मेरा आत्मआचरणका सिद्धान्तहरू परिवर्तन हुन सक्दैनन्। म समझदार हुनैपर्छ, र मैले मानवताको चेतनाको दायराभित्र रहेर आफूलाई आचरणमा ढाल्नुपर्छ र कामकुराहरू गर्नुपर्छ। तँ तर्कहीन छस् र तँमा मानवता छैन भन्दैमा मैले तँसँग बदला लिन मानवताविहीन विधिहरूको सहारा लिन सक्दिनँ; त्यो अनुचित हुनेछ। मैले मेरो कामलाई दृढतापूर्वक पक्रनुपर्छ र मेरा आत्मआचरणका सिद्धान्तहरूलाई दृढतापूर्वक पक्रनुपर्छ। तँमा मानवता छैन र तैँले मानवले जस्तो काम नगरेकै भरमा मात्रै म मेरा आत्मआचरणका सिद्धान्तहरू त्याग्नेछैनँ। म अझै पनि आफूलाई जसरी आचरणमा ढाल्नुपर्ने हो त्यसरी नै ढाल्नेछु; मेरा आत्मआचरणका सिद्धान्तहरू अपरिवर्तित रहन्छन्। मैले घरमा ठ्याक्कै यसरी नै काम गरेँ। भाँडा माझ्ने, घर मिलाउने, र सफा गर्ने जस्ता कुराहरूमा, अरूले जतिसुकै कोलाहल मच्चाए पनि वा तिनीहरू जतिसुकै असमझदार भए पनि, म अझै पनि आफूले गर्नुपर्ने काम गर्थेँ, र मैले अनुचित व्यवहार भोगेको कारणले मैले कहिल्यै कसैसँग बदला लिइनँ। अन्त्यमा, आमाबुबाले मलाई के उपाधि दिए? तिनीहरूले म उच्च विचार भएको व्यक्ति हुँ भनेर भने। आजसम्म, मलाई यी वचनहरू स्पष्ट रूपमा याद छ। मानिसहरूलाई व्यवहार गर्ने मेरो सिद्धान्त यही हो, र यो आजसम्म पनि अपरिवर्तित नै छ। मैले घरमा मात्रै यसरी काम गरिनँ, तर पछि, जब म विभिन्न मण्डलीहरूमा गएँ र दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्कमा आएँ, तब पनि यो सिद्धान्त परिवर्तन भएन। मलाई भन, के यो मानवता सारद्वारा निर्धारित छ? (छ।) के तिमीहरूले यो हासिल गर्न सक्छौ? (सक्दैनौँ।) यो कुरा गाह्रो छ, होइन र? तैँले प्रयास गर्दा-गर्दै आफूलाई थकाए पनि तैँले यो हासिल गर्न सक्नेथिएनस्। मानिसहरू आफ्नो अभिमानका लागि लड्न र आफ्नो पक्षमा तर्क गर्न मात्रै चाहन्छन्, तैपनि तिनीहरूले आत्मआचरणका सीमा र सिद्धान्तहरू बिर्सन्छन्। कसैले पनि कहिल्यै आत्मआचरणका सीमा र सिद्धान्तहरू पालन गरेको छैन। किन कसैले पनि तिनलाई पालन गर्दैन? किनभने मानिसहरूभित्रको जीवनमा सामान्य मानवता र सिद्धान्तहरूको कमी हुन्छ। मानिसहरूको जीवन तिनीहरूका भ्रष्ट स्वभावहरू हुन्, जुन शैतानबाट आएका हुन्छन्। तैँले जेसुकै गरे पनि, तेरो व्यवहारलाई नियन्त्रण र मार्गदर्शन गर्ने सिद्धान्त सधैँ भ्रष्ट स्वभावहरूबाट आएको हुन्छ। तैँले जस्तोसुकै तर्क प्रयोग गरे पनि वा तेरा कार्यहरूको आधार जेसुकै भए पनि, यो सबै भ्रष्ट स्वभावहरूबाट आएको हुन्छ। त्यसकारण, भ्रष्ट मानवहरूलाई सिद्धान्तहरूअनुसार मानिसहरूसँग अन्तरक्रिया गर्ने कार्य अत्यन्तै गाह्रो हुन्छ। हेर् त, मैले बताएका जीवनका यी कुराहरू अत्यन्तै साधारण सुनिँदैनन् र? तर भ्रष्ट मानवजातिमाझ यसरी व्यवहार गर्नुलाई उच्च विचार हुनु हो भनेर चित्रण गरिन्छ। उच्च विचार हुने यो गुण धेरैजसो मानिसहरूमा हुँदैन र तिनीहरूले यो प्राप्त गर्न सक्दैनन्, तिनीहरूले कुनै नम्रता देखाउन सक्ने कुरा त परै जाओस्। सिद्धान्तहरूअनुसार अरूसँग अन्तरक्रिया गर्न सक्ने कुरामा तिनीहरू अत्यन्तै कमजोर हुन्छन्, किनभने यी कुराहरू भ्रष्ट मानवतामा हुँदै हुँदैनन्। मानिसहरूले सिद्धान्तहरूलाई दृढतापूर्वक पक्रन सक्दैनन् भन्‍ने होइन, बरु तिनीहरूसँग कुनै सिद्धान्त नै हुँदैनन्। तैँले जेसुकै भने पनि वा गरे पनि, वा तैँले जेसुकैको सामना गरे पनि, तेरा भ्रष्ट स्वभावहरू प्रकट हुन्छन्। तेरा व्यक्तिगत प्राथमिकताहरू, भावनाहरू, हितहरू, घमण्ड र अभिमान, अनि ख्याति, प्राप्ति, र हैसियतप्रतिको तृष्णा, तेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू, र बदला लिने र मानिसहरूको खेदो खन्‍ने तेरो चाहना लगायतका, सबै कुरा देखा पर्छन्। यी कुराहरूले तैँले भन्‍ने र गर्ने कुरालाई हातमा लिन्छन् र तिनलाई नियन्त्रण गर्छन्, र यसले तेरो हृदयलाई यी भ्रष्ट स्वभावहरूले पूर्ण रूपमा ओगटेको छ भन्‍ने देखाउँछ। यसरी, जब तैँले घाटा भोग्छस्, तब तैँले आफ्नो रिसलाई निल्न सक्दैनस्; तैँले हार मान्नुअघि कसले जित्ने रहेछ भनेर हेर्नलाई लड्न जिद्दी गर्छस्। अन्त्यमा के हुन्छ? आफ्नो अभिमान जितेर फिर्ता लिन, आफ्नो इज्जत पुनर्स्थापित गर्न, र आफ्नै हितहरूको सुरक्षा गर्न, तैँले विवेकका सीमाहरू पार गर्नेछस् र अर्को पक्षसँग उन्मत्त रूपमा प्रतिस्पर्धा गर्नेछस् र लड्नेछस्, र कुनै पनि नीच स्तरमा गिरेर निर्लज्ज रूपमा बदला समेत लिनेछस्। अनि जब तैँले बदला लिन्छस्, तब तँ रिसले चूर नहोउञ्जेल उसलाई सराप्छस्। तैँले उसलाई जति धेरै सराप्छस्, तँलाई यसले तेरो घृणा कम गर्छ भन्‍ने त्यति नै कम महसुस हुन्छ; तैँले उसलाई जति धेरै सराप्छस्, तेरो रिस त्यति नै बढ्छ; तैँले उसलाई जति धेरै सराप्छस्, तेरो घृणा त्यति नै गहन हुन्छ, त्यसपछि हात हालाहाल गर्ने समय आउँछ। शारीरिक लडाइँ सुरु भएपछि, शत्रुता जन्मन्छ; परिस्थिति सुधार्न नसकिने बन्छ, र पछि हट्ने कुनै बाटो हुँदैन। त्यसैले, बदला लिनु लगभग भ्रष्ट मानवजातिको आफ्‍नै विशेष क्षेत्र हो। तैँले बदला लिन सक्छस् भन्‍ने तथ्यले तँमाथि तेरो विवेक र समझको कुनै नियन्त्रण छैन भन्‍ने कुरालाई प्रमाणित गर्छ। यसबाहेक, तिमीहरूमध्ये कतिपयमा विवेक र समझ हुँदै हुँदैन। यसरी, जब तैँले कुनै परिस्थितिको सामना गर्छस्, तब अर्को पक्षले तेरा हितहरूलाई हानि गर्छ भने वा तेरो अभिमानमा चोट पुर्‍याउँछ भने, तँ उसलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्न असमर्थ हुने मात्र होइन, तर तैँले निर्लज्ज रूपमा बदला पनि लिन्छस्, यसो गर्नका लागि विवेक र नैतिकताका सीमाहरू पार गर्छस्, र तेरो बदला निकै उचित छ भन्‍ने समेत सोच्छस्। तैँले निरन्तर सत्यता सिद्धान्तहरू र आत्मआचरणका सिद्धान्तहरूलाई दुष्ट कार्यहरूले प्रतिस्थापन गर्छस्। तैँले जिउने कुरा दियाबलसको मुहार र रूप हो, तैपनि तँलाई अझै पनि आफूले जितेको र फाइदा प्राप्त गरेको महसुस हुन्छ। वास्तवमा, परमेश्‍वरले यसलाई कसरी हेर्नुहुन्छ त? परमेश्‍वरको नजरमा कस्तो प्रकारको व्यवहार र आफूलाई आचरणमा ढाल्ने कस्तो तरिका सकारात्मक कुराहरू हुन्, र परमेश्‍वरद्वारा मान्यता प्राप्त छन्? यो सबैभन्दा महत्त्वपूर्ण र मुख्य कुरा हो। बाहिरी रूपमा, कतिपय मानिसहरू अत्यन्तै चनाखो हुने हुनाले, वाक्पटु हुने हुनाले, आफ्नो घमण्ड र अभिमानको सुरक्षा कसरी गर्ने भनी जान्ने हुनाले, मानिसहरूसँग बदला लिने अवसरहरू कसरी खोज्ने भनी जान्ने हुनाले, र कसरी कोलाहल मच्चाउने र कसरी निर्लज्ज रूपमा काम गर्ने भन्‍ने कुरा जान्ने हुनाले, तिनीहरूले जेसुकैको सामना गरे पनि कहिल्यै घाटा भोग्दैनन्, र तिनीहरूले कुनै पनि पीडा भोग्नु नपरी, सुख र सहजताको आनन्द लिन सक्छन्। तिनीहरूले आफूलाई चिढ्याउने वा चोट पुर्‍याउने जोकोहीलाई जबाफी प्रहार गर्न सक्छन्, बाहिरी प्रतिष्ठा र वास्तविक फाइदाहरू दुवै प्राप्त गर्न सक्छन्, र आफ्नो अभिमानमा कहिल्यै चोट पुग्न दिँदैनन्। तर, तिनीहरूले कहिल्यै सत्यता स्वीकार गर्नेछैनन् वा मानिसहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्नेछैनन्, र विवेक र नैतिकताका सीमाहरू पार गर्ने कुराहरू समेत गर्न सक्छन्। आफ्नै अभिमान र हितहरूको रक्षा गर्न बदला लिने र मानिसहरूलाई चोट पुर्‍याउने कार्य—परमेश्‍वरको नजरमा, यी सबै दुष्ट कार्यहरू हुन्। तैँले आफ्नो घमण्ड र अभिमानको सुरक्षा गरेको र आफ्ना शारीरिक हितहरू जोगाएको हुन सक्छस्, तर तैँले परमेश्‍वरले सिकाउनुहुने सिद्धान्तहरूअनुसार कहिल्यै आफूलाई आचरणमा ढालेको वा मानिसहरूलाई व्यवहार गरेको हुँदैनस्। त्यसोभए परमेश्‍वरले यसलाई कसरी हेर्नुहुन्छ? तैँले उहाँको अगाडि कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गरेको छैनस्। तँ अत्यन्तै धूर्त र अत्यन्तै ठूलो षड्यन्त्रकारी होस्। तँ बाहिरी प्रतिष्ठा, वास्तविक फाइदाहरू, र व्यक्तिगत हितहरूका लागि प्रतिस्पर्धा गर्छस्, र आफ्नो अभिमानको लागि लड्छस्। आफ्नो घमण्ड र अभिमानको रक्षा गर्नका लागि, तैँले परमेश्‍वरले तँलाई सिकाउनुहुने आत्मआचरणका सिद्धान्तहरूलाई कहिल्यै हृदयमा लिँदैनस्, र तिनलाई कहिल्यै पालन गर्दैनस्। त्यसकारण, कतिपय मानिसहरूका शारीरिक हितहरूले कुनै घाटा नभोगेको जस्तो देखिए पनि, र तिनीहरूले निकै सफल, सुन्दर, र आदरणीय जीवन बिताएको जस्तो देखिए पनि, तिनीहरूमा परमेश्‍वरका वचनहरूको जीवन-प्रदान गर्ने सत्यता अलिकति पनि हुँदैन; तिनीहरूले यो प्राप्त गरेका हुँदैनन्। तिनीहरूसँग कुराहरू बोध गर्ने कुनै क्षमता पनि हुँदैन; तिनीहरूले यसलाई बोध गर्न सक्दैनन् र यसलाई बुझ्दैनन्। के यो त आफ्‍नो जीवनको हिसाबमा घाटा भोग्नु होइन र? (हो।) तिनीहरूले सत्यता प्राप्त गरेका हुँदैनन्, तिनीहरूको जीवनले घाटा भोगेको हुन्छ, र परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुहुन्न, तैपनि तिनीहरूलाई अझै पनि आफू निकै चलाख भएको, र आफूले कुनै घाटा नभोगेको महसुस हुन्छ। त्यस्ता मानिसहरू सबैभन्दा मूर्ख हुन्!

के देहधारी परमेश्‍वरले मानिसहरूलाई व्यवहार गर्नुहुने सिद्धान्तहरूमार्फत, तिमीहरूले दैनिक जीवनमा मैले आफूलाई कसरी आचरणमा ढाल्छु भन्‍ने कुरा अलिक राम्ररी बुझेका छौ? (बुझेका छौँ।) के त्यसोभए मानिसहरूलाई व्यवहार गर्दा तिमीहरूले के-कस्ता सिद्धान्तहरू पालन गर्नुपर्छ भन्‍ने कुरामा पनि तिमीहरू अलिक स्पष्ट भएका छौ? (स्पष्ट भएका छौँ।) कतिपय मानिसहरूले तँ कमजोर र काँतर छस् अनि तँलाई हेप्न सजिलो छ भन्‍ने सोचे पनि, र तिनीहरूले यसरी सोच्छन् भन्‍ने कुरा तैँले महसुस गर्न सके पनि—र तिनीहरूले तँलाई यसरी नै व्यवहार गरे पनि—तैँले अझै पनि मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्ने सिद्धान्त पालन गर्नुपर्छ। यदि तैँले तिनीहरूलाई मद्दत गर्न सक्छस् भने, तैँले तिनीहरूलाई मद्दत गर्न सत्यतामा सङ्गति गर्नुपर्छ; यदि तिनीहरू सत्यता स्वीकार गर्ने मानिसहरू होइनन्, वा सकारात्मक कुराहरूलाई प्रेम गर्ने मानिसहरू होइनन् भने पनि, तैँले अझै पनि तिनीहरूलाई सिद्धान्तहरूअनुसार सही रूपमा व्यवहार गर्नुपर्छ। अझै व्यापक अर्थमा भन्दा, हर समय, परमेश्‍वरले सबै कुरामाथि र सबै मानिसहरूको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍नेमा म दृढ रूपमा विश्‍वास गर्छु। मानवजातिको नियति, हरेक व्यक्तिको नियति, परमेश्‍वरको हातमा छ, कोही पनि परमेश्‍वरको सार्वभौमिकता र योजनाबद्ध कार्यबाट उम्कन सक्दैन, र कोही पनि परमेश्‍वरको नजरको छानबिनबाट उम्कन सक्दैन भन्‍ने कुरामा म मेरो हृदयमा निश्चित छु। अझै नजिकबाट हेर्दा, परमेश्‍वरको घर यस्तो ठाउँ हो जहाँ परमेश्‍वरका वचनहरूले शासन गर्छन् र जहाँ सत्यताले शासन गर्छ। अझै तोकेर भन्दा, परमेश्‍वरको घरमा प्रशासनिक आदेशहरू छन्, मण्डलीमा प्रावधानहरू छन्, र हरेक अवधिमा कामको प्रबन्धहरू हुन्छन्। परमेश्‍वरको घरले सबै प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्छ भन्‍ने कुरामा, यसले सम्भव भएसम्म, तिनीहरूलाई सत्यता सिद्धान्तहरूअनुसार सम्हाल्नेछ, र निकालिनुपर्ने वा सम्हाल्नुपर्ने एउटै व्यक्तिलाई पनि उम्कन दिनेछैन। ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, र अविश्‍वासीहरू, साथै सत्यतालाई प्रेम नगर्नेहरू, खराब मानवता भएकाहरू, र सत्यता नपछ्याउनेहरू, सबै परमेश्‍वरको नजरमा हटाइनुपर्ने निसानाहरू हुन्। ढिलो-चाँडो, यी मानिसहरूलाई हटाइनेछ र निकालिनेछ, जबकि साँच्चै सत्यता पछ्याउनेहरू, वा कम्तीमा पनि परमेश्‍वरका लागि श्रम गर्न इच्छुक हुने र ठीकैको मानवता भएकाहरूले, परमेश्‍वरको घरमा सृजित प्राणीहरूको कर्तव्य गरिरहनेछन्। मानव संसारको हकमा भन्दा, यो परमेश्‍वरको सार्वभौमिकताको अधीनमा छ; मण्डलीको हकमा भन्दा, परमेश्‍वरको घरमा प्रशासनिक प्रावधानहरू र सत्यता सिद्धान्तहरू छन्। त्यसैले, अरू मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने कुरामा, पालन गर्नुपर्ने दुई वटा सिद्धान्तहरू यिनै हुन्। के तिमीहरू यस पक्षमा स्पष्ट भयौ? (स्पष्ट भएका छौँ।) जीवनमा निश्चित मानिसहरूको सम्पर्कमा आउने र अन्तरक्रिया गर्ने कुराको हकमा भन्दा, यदि मैले केही अप्रिय परिस्थितिहरूको सामना गरेँ वा कसैले मेरा दृष्टिकोणहरूसँग नमिल्ने कुराहरू भन्यो भने, म यसलाई सही रूपमा सम्हाल्नेछु। यदि पछि मैले तैँले भनेको कुरामा मनन र चिन्तन गरेर प्रमाणीकरण प्राप्त गरेँ, र त्यो सही छ भन्‍ने निर्धारण गरेँ भने, म त्यसलाई स्वीकार गर्नेछु; यदि तैँले भनेको कुरा गलत छ भने, म तँलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्नेछु। यदि तँसँग अन्तरक्रिया गर्ने प्रक्रियामा मनमुटाव, द्वन्द्व, वा अप्रियता हुन्छ, र यसमा सत्यता, मण्डलीको काम, वा तेरा भ्रष्ट स्वभावहरू समावेश हुन्छन् भने, अवसर आयो भने म तँसँग सङ्गति गर्नेछु, ताकि तैँले सत्यता बुझ्न र तँभित्र रहेका समस्याहरू छर्लङ्गै देख्न सक्। यदि यो अवसर कहिल्यै आएन वा तँसँग यसबारे सङ्गति गर्न आवश्यक भएन भने, यदि तँ त्यसो गर्न इच्छुक छस् भने, तैँले आफै खोज्न सक्छस्। यदि तेरो स्वभाव निकै अहङ्कारी छ, वा यदि तैँले मेरो अनुहारमै हेरेर धृष्टतापूर्वक बोल्छस् र मलाई अपमान गर्छस् भने, ढुक्क हो, म तँलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्नेछु। तैँले मेरो अपमान गर्छस् वा विगतमा मेरो अपमान गरेको छस् भन्‍ने कारणले मात्रै भने म तँलाई पटक्कै काटछाँट गर्नेछैनँ; म त्यस्तो कुरा गर्नेछैनँ। यदि तैँले मेरो अपमान गरेको छस् भने, यो जानाजानी थियो कि अन्जानमा थियो भनेर मैले हेर्नुपर्छ। यदि यो अन्जानमा थियो भने, म यसलाई यो कहिल्यै भएकै थिएन जसरी लिनेछु। म तँ मूर्ख भइरहेको थिइस्, तँमा चेतनाको कमी थियो, र नसोची बोलिरहेको थिइस् भनेर मानिलिनेछु—तैँले बोलेपछि, तेरा शब्दहरूको प्रकृति के थियो भन्‍ने तँलाई थाहा थिएन, र तैँले के भनिरहेको थिइस् भन्‍ने तँलाई थाहा थिएन; यो बकवास मात्रै थियो। तर, यदि यो जानाजानी थियो भने, तैँले मसँग मात्रै यसरी सोच्छस् र काम गर्छस्, कि तँ धेरै मानिसहरूप्रति, मण्डलीप्रति, र परमेश्‍वरको घरप्रति शत्रुवत् छस् भनेर हेर्नका लागि मैले सबैसँग यस मामिलामा सङ्गति र छलफल गर्नुपर्छ; खास परिस्थिति के हो भनी मैले बुझ्नुपर्छ। यदि तँ मप्रति मात्रै शत्रुवत् हुन्छस् भने, म तँलाई अवलोकन गर्नेछु; म पहिले तँलाई पश्चात्ताप गर्ने अवसर दिनेछु, र तँ वास्तवमा कस्तो प्रकारको व्यक्ति होस् भनेर पनि हेर्नेछु। यदि, मप्रति शत्रुवत् हुने बाहेक, तँ परमेश्‍वरको घर, मण्डली, र सबै दाजुभाइ-दिदीबहिनीहरूप्रति पनि शत्रुवत् छस्, सधैँ परमेश्‍वरको घरलाई हाँसोको पात्र बनेको देख्न चाहन्छस् र सधैँ मलाई हाँसोको पात्र बनेको देख्न चाहन्छस्; यदि ठूलो रातो अजिङ्गर र धर्मको संसारले मेरो बारेमा आधारहीन अफवाहहरू बनाउँदा तैँले ताली बजाउँछस् र खुसीयाली मनाउँछस्, र तैँले जानाजानी मलाई बदनाम गर्दै र दाजुभाइ-दिदीबहिनीहरूलाई भ्रमित पार्दै, ती कुरा दाजुभाइ-दिदीबहिनीहरूका बीचमा फैलाउने समेत गर्छस् भने पनि, म सिद्धान्तहरूअनुसार नै काम गर्नेछु। म तँसँग बदला लिनेछैनँ; म तँलाई परमेश्‍वरको घरका प्रशासनिक आदेशहरूअनुसार सम्हाल्नेछु, जुन कार्य निष्पक्ष र उचित हुन्छ। म अगुवा र कामदारहरूलाई प्रशासनिक आदेशहरू हेर्न लगाउनेछु, म पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई यस मामिलालाई खुट्ट्याउन र सम्हाल्न लगाउनेछु, र यसलाई अन्ततः कसरी सम्हालिन्छ भन्‍ने कुरा म मण्डली र परमेश्‍वरको घरको हातमा छोडिदिनेछु। म सिद्धान्तहरूअनुसार काम गर्छु; ढुक्क हो, म मानिसहरूलाई पूर्ण निष्पक्षताका साथ व्यवहार गर्छु। यदि कुनै व्यक्ति परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यता पछ्याउने असल व्यक्ति हो भने, ऊ पक्कै पनि परमेश्‍वरको घरमा रहनेछ। तर यदि कुनै व्यक्ति परमेश्‍वरको घरप्रति र परमेश्‍वरप्रति शत्रुवत् रहेको दुष्ट व्यक्ति हो, शैतानको स्वामित्वमा रहेको व्यक्ति हो, र दुष्ट पिशाच हो भने, परमेश्‍वरको घरले त्यस्तो कुनै पनि व्यक्तिलाई पटक्कै छोड्नेछैन। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) यदि तँ ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, दुष्ट पिशाचहरू, वा शैतानका नोकरहरूको वर्गमा पर्छस् भने, मैले तँलाई कसरी व्यवहार गर्छु भन्‍ने कुरामा पनि म सिद्धान्तहरूअनुसार काम गर्नेछु; म तँलाई अन्याय गर्नेछैनँ। तैँले अन्जानमा मेरो अपमान गरेको होस् कि, वा तँमा मप्रति व्यक्तिगत रूपमा नकारात्मक विचार र दृष्टिकोणहरू मात्रै छन् भन्‍ने कुरा मैले बुझ्नुपर्छ—मेरो रूप साधारण र सामान्य भएकोले, म प्रभावशाली नभएकोले, मेरो पृष्ठभूमि प्रतिष्ठित नभएकोले, मेरो सुरुवात सामान्य भएकोले, र म एक साधारण व्यक्ति भएकोले तैँले मलाई हेला गर्छस् र अनादरपूर्ण कुराहरू भन्दै बारम्बार मेरो अपमान गर्छस् कि, सम्पूर्ण मण्डली र परमेश्‍वरको घरप्रति नै तँमा खराब विचार र शत्रुता छन् भनेर मैले बुझ्नुपर्छ। मैले तेरो बारेमा जान्नुपर्छ। तैँले मेरो अपमान गरेपछि, मण्डलीप्रति, दाजुभाइ-दिदीबहिनीहरूप्रति, तेरो कर्तव्यप्रति, र परमेश्‍वरको घरका विभिन्न कामहरूप्रति पर्दा पछाडि तेरो मनोवृत्ति कस्तो छ भनेर मैले हेर्नुपर्छ। मैले तेरो बारेमा सही बुझाइ प्राप्त गरेपछि, म तँलाई सिद्धान्तहरूअनुसार सम्हाल्नेछु। म तँलाई पटक्कै अन्याय गर्नेछैनँ; तँलाई निकालियो भने पनि, त्यो तँलाई अन्याय गरेको हुँदैन। परमेश्‍वरको घरले तँलाई सम्हाल्ने कार्य पूर्ण रूपमा सही हुनेछ। तर तँलाई सम्हाल्नुअघि, म आफै, “उसलाई मण्डलीबाट सफा गर!” भनेर पटक्कै भन्‍नेछैनँ। म पटक्कै त्यसो गर्नेछैनँ। यस मामिलाबारे जान्न, छानबिन गर्न, सम्हाल्न, र समाधान गर्न म परमेश्‍वरको घरका प्रक्रियाहरू पालन गर्छु, र अन्ततः यो मामिला सिद्धान्तहरूअनुसार सम्हालियो भन्‍ने कुरा सबैका लागि स्वीकार्य बनाउँछु। तिमीहरूले आफ्ना कर्तव्यहरूबाट बर्खास्त गरिएका, सम्हालिएका, र निकालिएकाहरूलाई नै हेर्न सक्छौ, र परमेश्‍वरको घरले तिनीहरूलाई सम्हालेको तरिकासँग मप्रतिको तिनीहरूको मनोवृत्तिको कुनै सम्बन्ध छ कि छैन भनेर हेर्न सक्छौ। यसका साथै, कतिपय मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन्, तैपनि तिनीहरू अझै पनि मसँग गैरविश्‍वासीहरू जस्तै बोल्छन्। यो सुन्दा म मेरो हृदयमा वितृष्णा महसुस गर्छु, तर मैले तिनीहरूलाई तिनीहरूकै अगाडि काटछाँट गरेको छैन, न त म कहिल्यै तिनीहरूको पछि नै लागेको छु। कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जो जवान र उग्र हुन्छन्, र तिनीहरूले जोसँग बोले पनि “ओइ” भनेर सम्बोधन गर्छन्, तिनीहरूमा शिष्टाचारको बोध हुँदैन, र तिनीहरू कहिल्यै शिष्टाचार नसिकेका मानिसहरू जस्ता देखिन्छन्। मैले यस्ता मानिसहरूलाई पनि काटछाँट गरेको छैन; मैले कहिल्यै त्यस्तो कुरा गरेको छैन। छोटकरीमा भन्दा, तिमीहरूले जतिसुकै लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तिमीहरूसँग कुनै जग भए पनि वा नभए पनि, तिमीहरूको मानवता जस्तोसुकै भए पनि, तिमीहरूले जुनसुकै कर्तव्य गरे पनि, वा मैले तिमीहरूलाई एक पटक मात्रै भेटेको भए पनि वा तिमीहरूसँग धेरै पटक अन्तरक्रिया गरेको भए पनि, म तिमीहरूको प्रकृति सारलाई केही हदसम्म बोध गरेको छु र यसबारे मेरो निश्चित दृष्टिकोण छ, र निश्चित व्यक्तिहरूका हकमा त मलाई तिनीहरूको चरित्र कस्तो छ भन्‍ने पनि थाहा छ। मैले कसैको प्रकृति सार बोध गरेको छु र यसबारे ममा निश्चित दृष्टिकोण छ भन्‍ने कुरा त्यस व्यक्तिको परिणामसँग सम्बन्धित हुँदैन, तर त्यस व्यक्तिको चरित्र कस्तो छ भन्‍ने मलाई थाहा हुनुचाहिँ त्यस व्यक्तिको परिणामसँग सम्बन्धित हुन्छ। तिनीहरूमा यस्ता प्रकारका व्यवहार र प्रकटीकरण हुन्छन्, त्यसैले तिनीहरूलाई व्यवहार गर्ने मेरा सिद्धान्तहरू छन् र मलाई तिनीहरूको चरित्रबारे थाहा छ। मानिसहरूका लागि मसँग सिद्धान्तहरू भए पनि र मलाई तिनीहरूको चरित्र थाहा भए पनि, के मैले कसैलाई सम्हालेको तैँले देखेको छस्? मैले कहिल्यै कसैलाई सम्हालेको छैन। म परमेश्‍वरको सार्वभौमिकता र उहाँका प्रबन्धहरूको प्रतीक्षा गर्छु। साथै, म यी मामिलाहरू मण्डलीको हातमा छोडिदिन्छु; मण्डलीले तिनलाई सिद्धान्तहरूअनुसार सम्हाल्नेछ। मानिसहरूलाई कसरी व्यवहार गर्ने त्यस सम्बन्धी मेरो सिद्धान्तबारे तिमीहरूलाई कस्तो लाग्यो? (यो सत्यता सिद्धान्तहरूसँग मिल्छ; अर्थात्, परमेश्‍वरले सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ र प्रबन्ध गर्नुहुन्छ भन्‍ने कुरासँग मिल्छ।) ठीक भन्यौ, परमेश्‍वरले सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ र प्रबन्ध गर्नुहुन्छ; सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूका हातमा छोडिनुपर्छ। यी सिद्धान्तहरूमा सत्यतामा समर्पित हुने र परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुने कुरा पनि समावेश हुन्छन्। तिमीहरूमा यो सचेतना र यो मनोवृत्ति हुनुपर्ने मात्र होइन, तर तिमीहरूले यसरी नै काम र अभ्यास पनि गर्नुपर्छ।

देहधारी परमेश्‍वरसँग परमेश्‍वरको जीवन हुन्छ, र उहाँसँग आफ्नो जीवनको रूपमा ईश्‍वरीय सार हुन्छ। अरू कुनै पनि कुराभन्दा पहिले, उहाँ आफैले गर्नुहुने हरेक कुराप्रति उहाँसँग रहेको सिद्धान्त, दृष्टिकोण, र विधिहरूले सत्यता सिद्धान्तहरूलाई उल्लङ्घन गर्न सक्दैनन्। उहाँको सामान्य मानवताको व्यक्तित्व र अभिव्यक्तिको तरिका जस्तोसुकै भए पनि, वा उहाँ जस्तो प्रकारका मानिसहरूका बीचमा जिउनुभए पनि, पहिलो कुरा त, उहाँले पालन गर्नुहुने सिद्धान्तहरूले सत्यता सिद्धान्तहरूलाई उल्लङ्घन गर्न सक्दैनन्; ती परमेश्‍वरको जीवन र परमेश्‍वरको सारसँग मिल्ने हुन्छन्। आफूलाई कसरी आचरणमा ढाल्ने भनी देहधारी परमेश्‍वरले तिमीहरूलाई सिकाउनुहुने हुनाले, उहाँ आफै सुरुमा त्यस्तो व्यक्ति हुनैपर्छ—उहाँसँग त्यस्तो जियाइ र त्यस्तो सार हुने हुनाले नै उहाँले तिमीहरूलाई त्यस्तो व्यक्ति बन्न सिकाउन सक्नुहुन्छ। यस बुँदामा मात्रै पनि, परमेश्‍वरको देहधारी शरीरसँग तिमीहरूलाई मानव जीवनको सही मार्गमा डोर्‍याउने, तिमीहरूलाई मुक्तिको मार्गमा डोर्‍याउने, र तिमीहरूलाई परमेश्‍वरसामु ल्याउने पर्याप्त क्षमता र सर्तहरू हुन्छन्, जसले तिमीहरूलाई परमेश्‍वरमा समर्पित मनोवृत्ति र हृदय प्राप्त गर्न सक्षम तुल्याउँछ। यदि तिमीहरूले मैले बोलेका यी वचनहरू र मैले दिएका यी प्रवचनहरू अभ्यास गर्न र प्राप्त गर्न सक्यौ भने, यी वचनहरूले तिमीहरूलाई आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मानिसहरू बन्न पर्याप्त रूपमा सक्षम तुल्याउन सक्छन्। परमेश्‍वरको देहधारी रूप सामान्य मानवता र वास्तविक जीवनमा जिउनुहुन्छ, र जियाइको यो तरिका र अस्तित्वको रूपले मानिसहरूसँग सीमित सम्पर्क हुन मात्र अनुमति दिए पनि, सीमित सङ्ख्याका मानिसहरूसँग अन्तरक्रिया गर्दा उहाँले मानिसहरूलाई कसरी व्यवहार गर्ने भनेर पालन गर्नुहुने विभिन्न सिद्धान्तहरू परमेश्‍वरले मानिसलाई सिकाउनुहुने आत्म-आचरणका सिद्धान्तहरूसँग बाझिँदैनन् वा तीनको बीचमा द्वन्द्व हुँदैन, तर तीसँग मिल्छन्। त्यसकारण, सबै प्रकारका मानिसहरूको सामान्य मानवताका प्रकटीकरणहरू वा भ्रष्ट स्वभावहरूका प्रकटीकरणहरूको कुरामा, ती मप्रतिको व्यक्तिगत अपमान वा धृष्टता भए पनि वा नभए पनि, र ती मेरो आफ्नै व्यक्तित्व, प्राथमिकताहरू, वा त्यो बेलाका भावनाहरूसँग मिले पनि वा नमिले पनि, म सबैलाई सही रूपमा व्यवहार गर्न सक्छु। यदि तैँले सधैँ मलाई शङ्का गर्छस्, तँ मबाट जोगिन खोज्छस्, र मेरो विरुद्ध दाउपेच गर्छस्, वा मैले तेरो विरुद्ध दाउपेच गरिरहेको छु भनेर सधैँ सोच्छस् भने पनि, म अझै पनि तँलाई सही रूपमा व्यवहार गर्न सक्छु। तैँले जस्तोसुकै भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, तैँले झूट बोले पनि, मलाई शङ्का गरे पनि, मेरो बारेमा अनुमान लगाए पनि, मबाट जोगिन खोजे पनि र सधैँ मबाट टाढा बस्न चाहे पनि, वा तेरो हृदयमा मेरो विरुद्ध दाउपेच गरे पनि, म तँलाई सही रूपमा व्यवहार गर्न सक्छु। म तँसँग बदला लिन पटक्कै तेरा विधिहरू प्रयोग गर्नेछैनँ—म आँखाको बदला आँखा र दाँतको बदला दाँत गर्नेछैनँ। मैले तैँले के सोचिरहेको छस् भन्‍ने कुरा जाने पनि, र तैँले मेरो विरुद्ध कसरी दाउपेच गर्न र मलाई कसरी व्यवहार गर्न चाहन्छस् भन्‍ने कुरा जाने पनि, र तैँले मलाई अत्यन्तै अमैत्रीपूर्ण नजरले हेर्छस् भन्‍ने कुरा मैले देखे पनि, म अझै पनि तँलाई सही रूपमा व्यवहार गर्न सक्छु। ढुक्क हो, म तँसँग पटक्कै बदला लिनेछैनँ। तँसँग बदला नलिएर, मैले त वास्तवमा तँलाई शोषण गर्ने अवसर खोजिरहेको छु, र मैले तेरो विरुद्ध दाउपेच गरिरहेको छु भन्‍ने तँलाई लाग्न सक्छ। तैँले त्यसो सोच्नु गलत हो; तैँले मेरो बारेमा अनुमान लगाइरहेको छस्। मैले मानिसहरूलाई कसरी व्यवहार गर्छु त्यस सम्बन्धी मेरा सिद्धान्तहरूबारे मैले तिमीहरूलाई पहिले नै बताइसकेको छु। के अब तिमीहरूले मेरो कुरा बुझ्यौ? (बुझ्यौँ।) त्यसोभए, के मसँग मिलजुल हुन धेरै सजिलो छ? के मसँग व्यवहार गर्न मानिसहरूलाई सजिलो लाग्छ? (परमेश्‍वरले हामीलाई इमानदारीका साथ व्यवहार गर्नुहुन्छ, त्यसैले हामी परमेश्‍वरसँग खुला र इमानदार हुनुपर्छ।) यो सिद्धान्त सही छ। तर यदि तँ खुलस्त र इमानदार हुन सक्दैनस् भने, मलाई भन्, के म तँलाई काटछाँट गर्नेछु र तैँले विगतमा गरेका कुनै पनि अप्रिय कुराहरू खुलासा गर्नेछु? (गर्नुहुनेछैन।) मेरो हृदयमा तेरो बारेमा खराब छावि हुनेछ, र म मनमनै यो व्यक्ति अत्यन्तै षड्यन्त्र गर्ने खालको छ, हरेक शब्द निचोरेर निकाल्नुपर्ने जस्तै गरी अड्किँदै बोल्छ, र मानिसहरूसँग सीधा व्यवहार गर्दैन भन्‍ने सोच्नेछु। तर मेरो हृदयमा तेरो बारेमा खराब छवि भए पनि, म तेरो खेदो खन्‍नेछैन। यदि धेरैजसो मानिसहरूले तैँले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य ठीकै रूपमा गरिरहेको छस्, तर तेरो स्वभाव अलिक छली छ, तँ मसँग सीधा व्यवहार गर्दैनस्, र तँ सधैँ मेरो अगाडि देखावटी गर्छस् र धाक लगाउँछस् भनेर रिपोर्ट गरे भने, म अझै पनि तँलाई सही रूपमा व्यवहार गर्न र समय बित्दै जाँदा तँलाई परिवर्तन हुने अवसरहरू दिन सक्नेछु। म तिमीहरूले कस्ता भ्रष्ट स्वभावहरू प्रकट गर्छौ भनेर हेर्ने, त्यसपछि “म अलिकति पनि गल्ती सहन सक्दिनँ। तँसँग जस्तोसुकै भ्रष्ट स्वभावहरू भए पनि म तिनलाई एकै नजरमा छर्लङ्गै देख्न सक्छु। यदि तैँले मलाई विश्‍वास गर्दैनस् भने, तैँले आफ्नो हृदयमा के सोचिरहेको छस् भन्‍ने कुरा म खुलासा गर्नेछु, र म सही छु कि छैन भनेर तैँले हेर्न सक्छस्” भनेर भन्‍ने पटक्‍कै गर्नेछैनँ। म यी कुराहरू गर्दिनँ। म मानिसहरूका भ्रष्ट स्वभावहरूका विभिन्न प्रकटीकरणहरूलाई सही रूपमा लिन्छु—जसमा तिनीहरूको बोलीवचन, व्यवहार, र तिनीहरूका विचार र दृष्टिकोणहरूमा प्रकट हुने कुराहरू समावेश हुन्छन्। यदि तँ सत्यता पछ्याउने र सकारात्मक कुराहरूलाई प्रेम गर्ने व्यक्ति होस् भने, तैँले सत्यता सिद्धान्तहरूअनुसार आफ्ना यी भ्रष्ट स्वभाव र स्थितिहरूलाई बिस्तारै परिवर्तन गर्नेछस्। यदि तँ सत्यता पछ्याउने व्यक्ति होइनस् भने, तँलाई जबरजस्ती मलजल गर्नु समेत व्यर्थ हुनेछ; तँ परिवर्तन हुनेछैनस्। मेरो उपस्थितिमा तँ मप्रति जतिसुकै भद्र र शिष्ट भए पनि, त्यसको कुनै फाइदा छैन—त्यसले तैँले सत्यता अभ्यास गर्ने वा तँ सत्यताको अधीनमा बस्‍ने कुरालाई प्रतिस्थापन गर्न सक्दैन। मेरो अगाडि तँ भद्र भए पनि वा अभद्र भए पनि, म तँलाई सही रूपमा व्यवहार गर्नेछु। विगतमा, कतिपय मानिसहरूले आफ्नो सानो कद र सत्यताको बुझाइको कमीको कारण, मसँग अन्तरक्रिया र कुराकानी गर्दा धेरै भ्रष्ट स्वभावहरू प्रकट गर्थे, र तिनीहरूले धेरै विद्रोहीपन र प्रतिरोध पनि प्रदर्शन गर्थे। तर पछि, तिनीहरूले पछुतो महसुस गरे र आफूलाई सुधारे, अनि केही वर्षपछि, तिनीहरूले केही सत्यताहरू बुझे र तिनीहरू परिवर्तन भए। संयोगवस, परमेश्‍वरको घरले तिनीहरूलाई फेरि बढुवा दियो। तिनीहरूलाई बढुवा दिइएको छ भन्‍ने सुन्दा, म मेरो हृदयदेखि निकै खुसी भएँ। हेर् त, म रिस राग राख्दिनँ, होइन र? (राख्नुहुन्न।) म अझै पनि तिनीहरूलाई सही रूपमा व्यवहार गर्न सक्छु। म यसो भन्दिनँ, “पहिले, तँ मप्रति अनादरपूर्ण भइस्, तैँले मैले भनेको कुनै पनि कुरा सुनिनस्, र तैँले मेरो भावनामा चोट पुर्‍याउने धेरै कुराहरू गरिस्। अहिले तँलाई फेरि बढुवा दिइएको छ। तैँले पहिले गरेका ती सबै कुराहरू मलाई थाहा छ भनेर मैले तँलाई थाहा दिनैपर्छ; मैले ती कुराहरू बिर्सेको छु भन्‍ने नसोच्।” म यी कुराहरू गर्दिनँ। बरु, म तिनीहरूलाई सान्त्वना दिँदै यसो भन्छु, “गम्भीरतापूर्वक पछ्याऊ। कुनै मानसिक बोझ नराख।” जब मानिसहरूको कद सानो हुन्छ र तिनीहरूले सत्यता बुझ्दैनन्, तब तिनीहरू सबैले विद्रोहीपन प्रकट गर्नेछन्, किनभने मानिसहरू भ्रष्ट स्वभावहरूको नियन्त्रणमा जिउँछन्, र जसको हृदयमा सत्यताले शासन गरेको हुँदैन तिनीहरूले आफैलाई नियन्त्रण गर्न सक्दैनन्, र आफ्नो इच्छाविपरीत कुराहरू भन्छन् र गर्छन्। भ्रष्ट स्वभावहरूद्वारा जिउने मानिसहरू यस्तै हुन्छन्। त्यसकारण, सत्यता पछ्याउँदा कुनै मानसिक बोझ नराख। म कुनै पनि व्यक्ति, वा मानिसहरूको कुनै पनि जातिलाई पटक्कै पूर्वाग्रहका साथ हेर्नेछैनँ। म तेरो शिक्षाको स्तरलाई, वा तेरो विगतलाई हेर्दिनँ। म तेरो मानवता सार र तेरो खोज, साथै सत्यताप्रतिको तेरो मनोवृत्ति, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति, र आफ्‍नो कर्तव्यप्रतिको तेरो मनोवृत्तिलाई मात्रै हेर्छु। यदि तँ कुनै समय आफ्नो कर्तव्य पूरा गर्दा झाराटारुवा थिइस्, र तैँले परमेश्‍वरको घरमा केही घाटा पुर्‍याएको थिइस् वा आफ्नो कर्तव्य गर्दा अवरोध र बाधाहरू ल्याउने दुष्ट कार्यहरू समेत गरेको थिइस् भने, ती कुराहरू मेरो दिमागमा स्पष्ट रहेको भए पनि र मेरो सम्झनामा अङ्कित भए पनि, मैले तँलाई कसरी हेर्छु भन्‍ने कुरामा म ती कुराहरूबाट प्रभावित हुनेछैनँ वा भ्रमित हुनेछैनँ। म तँलाई वृहत् दृष्टिकोणले हेर्नेछु; तैँले अहिले आफ्नो कर्तव्य कसरी गर्छस् र आफ्नो कर्तव्यलाई कसरी लिन्छस्, र तँ अझै पनि पहिले जस्तै झाराटारुवा छस् कि छैनस् भन्‍ने कुरालाई हेर्दै, म तँलाई सत्यता सिद्धान्तहरूअनुसार हेर्नेछु। विगतमा तैँले परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्न सकिनस्, र मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्‍न खोज्दै अत्यन्तै सतर्क भएर काम गरिस्। के तैँले अहिले आफूलाई सुधारेको र परिवर्तन गरेको छस्? के तैँले सत्यता सिद्धान्तहरूअनुसार केही सत्यताहरू अभ्यास गर्न सक्छस्? तँ सधैँ शारीरिक सुखको लालसा गर्थिस्; के तँ अहिले कठिनाइ सहन सक्छस्? के तैँले इमानदारीपूर्वक आफूलाई अर्पण गरिरहेको छस्? के तैँले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा सत्यता खोज्न सक्छस्? के तँमा अलिकति बफादारी र इमानदारी छ? के तैँले पहिलेको तुलनामा प्रगति र परिवर्तन गरेको छस्? मैले हेर्ने कुराहरू यिनै हुन्। यदि तँ विगतमा सधैँ झाराटारुवा हुन्थिस्, सुखमा लिप्त हुन्थिस्, र परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्दैनथिइस्, र तँ अहिले पनि यस्तै छस् भने, मेरो हृदयमा तँप्रति कुनै सकरात्मक भावनाहरू हुनेछैनन्। यदि तँ विगतमा त्यस्तो थिइस् भने, मेरो हृदयमा तेरो बारेमा खराब छाप भए पनि, अहिले तँ परिवर्तन भएको हुनाले, म निकै खुसी छु। अनि म तँलाई सान्त्वना दिँदै यसो समेत भन्‍नेछु, “अबदेखि यसरी नै पछ्या। विगतमा, तेरो कद अत्यन्तै सानो थियो, तँ जवान र अपरिपक्व थिइस्, र तैँले खराब कामहरू गर्दै जथाभाबी गरिस्; यी सबै तेरा लागि पाठ हुन्। तैँले आफ्नो झाराटारुवापन र आफ्ना दुष्ट कार्यहरू समाधान गर्न सत्यता पछ्याउनुपर्छ, त्यसपछि तँ साँच्चै परिवर्तन भएको हुनेछस्।” म तँलाई सान्त्वना र प्रोत्साहन दिनेछु। यदि ती दुष्ट मानिसहरू थिए भने, तँ परिवर्तन भएको देखेर, तिनीहरूले तँप्रति डाहा गर्थे र तँलाई घृणा गर्थे। तिनीहरू तँप्रति भद्र हुनेथिएनन्, र तिनीहरूले यसो भन्‍नेथिए, “तैँले विगतमा गरेका अप्रिय कुराहरू मैले खुलासा गर्नैपर्छ र तँ पहिले कति घिनलाग्दो थिइस् भनेर मानिसहरूलाई देखाउनैपर्छ। मलाई यी सबै कुरा थाहा छैन भन्‍ने नसोच्!” हेर् त, भ्रष्ट मानिसहरू चलाख बन्न, सानातिना युक्तिहरू खेल्न, आफ्नो उपस्थिति महसुस गराउन, मानिसहरूका कमजोरीहरू खुलासा गर्न, र मानिसहरूका अप्रिय विगतहरू खोतल्न मात्रै मन पराउँछन्। म साँच्चै कहिल्यै त्यस्ता कुराहरू गर्दिनँ। म मानिसहरूलाई कहिल्यै त्यस्ता कुराहरू भन्दिनँ। म तिनीहरूलाई प्रोत्साहन दिने र शान्त पार्ने प्रयास मात्रै गर्छु, ताकि तिनीहरूले आफ्नो हृदयमा शान्ति महसुस गरून् र सत्यता पछ्याउनु असल कुरा हो भन्‍ने महसुस गरून्। जब म तिनीहरू अलिकति परिवर्तन भएका छन् भन्‍ने देख्छु, तब मैले तिनीहरूलाई प्रोत्साहन दिनैपर्छ, तिनीहरूले प्रगति गरेका छन् भनी तिनीहरूलाई थाहा दिनुपर्छ, र तिनीहरूलाई केही प्रेरणा र आत्मविश्वास दिनुपर्छ। मलाई भन्, मानिसहरूलाई यसरी व्यवहार गर्दा, के मैले सिद्धान्तहरूभित्र रहेर काम गरिरहेको हुन्छु? (हो।) के म प्राकृतिकपन वा उग्रताबाट काम गर्छु? (गर्नुहुन्‍न।) कतिपय मानिसहरूले यसो भन्छन्, “के तपाईंको स्मरणशक्ति कमजोर भएर हो? सायद तपाईंलाई यी कुराहरूको वास्ता छैन कि? कि तपाईं प्राकृतिक रूपमै फराकिलो सोचाइ भएको व्यक्ति हुनुहुन्छ?” मलाई भन्, के व्यक्तित्व, फराकिलो सोचाइ हुनु, वा स्मरणशक्तिसँग यसको कुनै सम्बन्ध छ? (छैन।) कुनै व्यक्ति प्राकृतिक रूपमै फराकिलो सोचाइ भएको र असल व्यक्तित्व भएको भए पनि, यदि ऊ भ्रष्ट स्वभावहरूको नियन्त्रणमा जिउँछ भने, उसले अझै पनि मानिसहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्न वा मानिसहरूलाई सही मार्गमा लाग्ने अवसरहरू दिन सक्दैन; उसले यो कुरा हासिल गर्न सक्दैन। बढीमा, भ्रष्ट मानिसहरूले यसो भन्‍नेछन्, “म तेरा कमजोरीहरू खुलासा गर्नेछैनँ; नत्र मानिसहरूले मलाई गिल्ला गर्नेछन्।” तिनीहरूले अभिमानको खातिर र संसारका मानिसहरूको दबाबको कारणले गर्दा यसो गर्छन्, त्यसरी आफूलाई आचरणमा ढाल्दा तिनीहरू तुच्छ र उदारताको कमी भएकाजस्ता देखिनेछन् भन्‍ने चिन्ता गर्छन्। तिनीहरूले मानिसहरूका कमजोरीहरू खुलासा गर्नबाट आफूलाई रोक्नुको कारण आफ्नै अभिमानको सुरक्षा गर्नु मात्रै हुन्छ, तर के तिनीहरूले मानिसहरूका लागि केही सही मार्गहरू औँल्याउन सक्छन् त? (सक्दैनन्।) धेरैजसो मानिसहरूका हकमा, यदि तिनीहरूले बदला लिनबाट आफूलाई रोक्न सक्छन् भने त्यो पहिले नै निकै राम्रो कुरा हो—तिनीहरूलाई अरू मानिसहरूलाई मद्दत गर्नू वा उनीहरूको भलाइ चाहनू भनेर भन्‍नु त तिनीहरूको क्षमताभन्दा बाहिरको कुरा हो। बढीमा, तिनीहरूलाई यस्तो महसुस हुन्छ, “तिमीले राम्रो गर्छौ कि गर्दैनौ भन्‍ने कुरासँग मेरो कुनै सरोकार छैन।” कतिपय मानिसहरूले यस्तो घोषणा गर्छन्, “म सद्गुण भएको नम्र व्यक्ति हुँ; मैले मानिसहरूसँग बदला लिनु हुँदैन,” तर तिनीहरूले आफ्नो हृदयमा यस्तो सोच्छन्, “तेरो लागि परिस्थिति खराब होस्। यदि तैँले राम्रो गरिस् भने, मलाई भित्र असहज महसुस हुनेछ। अन्ततः तँ मर्ने दिन आउँदा म खुसी हुनेछु!” तिनीहरूका शब्दहरू परोपकार, धार्मिकता, र नैतिकताले भरिएका हुन्छन्, तर तिनीहरूको हृदय कुटिल र क्रूर हुन्छ। तिनीहरूले राम्रो सुनिने कुराहरू मात्रै भन्छन्, जबकि तिनीहरूको हृदय जोकोहीको भन्दा बढी दुर्भावपूर्ण हुन्छ। मुखमा रामराम बगलीमा छुरा हुनु भनेको यही हो; ढोङ्गी हुनु भनेको यही हो। हेर् त, के भ्रष्ट मानिसहरूले सत्यता सिद्धान्तहरूका आधारमा अरू मानिसहरूलाई व्यवहार गर्न सक्छन् त? भ्रष्ट मानिसहरूले एउटा कुरा सोच्छन् र अर्को कुरा गर्छन्। बाहिरी रूपमा, आफूलाई आदरणीय, परिष्कृत, र प्रभावशाली देखाउनका लागि, तिनीहरूले केही राम्रो सुनिने कुराहरू भन्छन्, तर तिनीहरूले आफ्नो हृदयमा त्यसरी सोच्दैनन्, र अरूलाई लडाउनका लागि गोप्य रूपमा कामहरू गर्छन्। त्यसकारण, गैरविश्‍वासीहरूले मानिसहरूलाई व्यवहार गर्ने तरिकाको बारेमा भन्दा, तिनीहरूले तँसँग बदला नलिए पनि, तेरो भलाइ पनि चाहँदैनन्। तिनीहरूले मानिसहरूलाई व्यवहार गर्ने तरिका सत्यता सिद्धान्तहरूअनुरूप हुँदैन। जब तिनीहरूले तैँले राम्रो गरिरहेको देख्छन्, तब तिनीहरूलाई आफ्नो हृदयमा असहज र डाहा महसुस हुन्छ; जब तिनीहरूले तैँले खराब गरिरहेको देख्छन्, तब मौका पाए भने, तिनीहरूले तेरो घाउमा नुनचुक छर्किनेछन् वा तँलाई केही लात्ती समेत हान्नेछन्, त्यसपछि मात्रै तिनीहरूले आफ्नो घृणा कम भएको महसुस गर्नेछन्। तिनीहरूलाई त बदला लिनबाट आफूलाई रोक्न नै निकै गाह्रो हुन्छ—मानिसहरूप्रति सिद्धान्तनिष्ठ हुन त तिनीहरूलाई झनै गाह्रो हुन्छ; तिनीहरूसँग त्यस्तो मानवता हुँदैन।

देहधारी परमेश्‍वर एक साधारण व्यक्ति बन्नुभयो। उहाँको दैनिक जीवनमा, उहाँले मानिसहरूलाई व्यवहार गर्ने तरिका कम्तीमा पनि विवेक र समझको सीमाभित्र हुन्छ; यो पटक्कै यस मापदण्डभन्दा तल झर्नेछैन, र यो यसभन्दा माथि मात्रै हुन सक्छ। देहधारी परमेश्‍वरले मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा भनिरहनु पर्दैन। उहाँसँग ईश्‍वरीय सार हुने हुनाले, उहाँ तँलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न अझै बढी सक्षम हुनुहुन्छ, र उहाँले पटक्कै तेरो खेदो खन्‍नुहुनेछैन। यो त परमेश्‍वरको घरले सबै प्रकारका मानिसहरूलाई व्यवहार गर्ने तरिका जस्तै हो—सबै तहका अगुवा र कामदारहरूलाई बर्खास्त गर्ने, मानिसहरूको कर्तव्यको प्रबन्धमा हेरफेर गर्ने वा तिनीहरूलाई बर्खास्त गर्ने, सबै प्रकारका मानिसहरूलाई सफा गर्ने, र यस्तै अन्य कुराहरू, सबै सिद्धान्तहरूअनुसार गरिन्छ, कसैको प्राथमिकताका आधारमा निर्णय गरिँदैन; यी निर्णयहरूमा मण्डलीका धेरैजसो मानिसहरूले सहमति जनाएका हुन्छन्। त्यसैले परमेश्‍वरको घरमा सत्यताले नै पूर्ण रूपमा शासन गर्छ; यो साँचो हो। सामान्य मानवता भएका मानिसहरूले समेत सामान्य मानिसहरूमा हुने विवेकको मापदण्डअनुरूप कामकुराहरू गर्न सक्छन्, र जब सत्यता सिद्धान्तहरू समावेश हुन्छन्, तब तिनीहरूले अझै पनि सामान्य मानिसहरूको विवेक र समझको मापदण्डहरू पालन गर्न सक्छन्—देहधारी परमेश्‍वरले धारण गर्नुभएको सामान्य मानवताको हकमा त यो कुरा झन् कति धेरै लागू हुन्छ। मण्डलीको काम, तिमीहरूले गर्ने कर्तव्यहरू, र तिमीहरूका भ्रष्ट स्वभावहरू समावेश हुने मामिलाहरूको हकमा, उहाँ तिमीहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्न झनै बढी सक्षम हुनुहुन्छ। म, यो साधारण र सामान्य व्यक्तिले, तिमीहरूसँग कसरी अन्तरक्रिया गर्छु र सम्पर्कमा आउँछु भन्‍ने कुरामा, मैले सत्यतामा जसरी सङ्गति गरे पनि वा जस्तोसुकै समस्याहरू सम्हाले पनि, मलाई भन, के मेरो यो सामान्य मानवता तिमीहरूको भरोसाको योग्य छ? (छ।) के तिमीहरूले मबाट जोगिनका लागि सुरक्षा घेरा निर्माण गर्नु आवश्यक छ? (छैन।) त्यसैले म तिमीहरूलाई यो कुरा बताउँछु: मसँग बोल्दा र अन्तरक्रिया गर्दा, तँ खुला र इमानदार मात्रै हुनु आवश्यक छ। मैले तेरो बारेमा जतिसुकै जाने पनि वा मैले तेरो बारेमा जेसुकै जाने पनि, म तँलाई सिद्धान्तहरूअनुसार नै व्यवहार गर्नेछु। मप्रति तेरो मनोवृत्ति जस्तोसुकै भए पनि, म अझै पनि तँलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्नेछु। तँ ढुक्क हुन सक्छस्; मबाट जोगिनु पर्ने कुनै आवश्यकता छैन। मेरो ईश्‍वरीय सार र ईश्‍वरीय जीवनलाई एकातिर पन्छ्याउँदा पनि, मेरो यो सामान्य र व्यावहारिक पक्ष, यो साधारण व्यक्तिसँग भएको मानवता सार मात्रै पनि तिमीहरूले भरोसा गर्न सक्ने कुरा हो। हामीले जेसुकै कुरा छलफल गरिरहेको भए पनि, तँसँग जटिल मानसिकता हुनु हुँदैन। तँ सरल र खुलस्त हुनु मात्रै आवश्यक हुन्छ। यदि तैँले कुनै कठिनाइहरूको सामना गरिरहेको छस् भने, तिनका बारेमा सीधै कुरा गर्। जसरी तँ कुनै अपरिचित व्यक्तिबाट जोगिन्छस् त्यसरी मबाट जोगिनु पर्ने कुनै आवश्यकता छैन। यदि तँ सधैँ मबाट जोगिन खोज्छस् भने, म तँलाई एउटा कुरा बताउनेछु: तँ अत्यन्तै मूर्ख होस्, र तँ अन्धो होस्! मैले के काम गर्छु भन्‍ने तँलाई थाहा छैन र? तँ मबाट जति धेरै जोगिन खोज्छस्, अन्त्यमा तँ सत्यता प्राप्त गर्न त्यति नै कम सक्षम हुनेछस्। के यो आफैलाई पछाडि तान्नु र आफैलाई बरबाद गर्नु होइन र? यदि तैँले सधैँ परमेश्‍वरको देहधारी रूपलाई शङ्का गर्छस् र तँ उहाँबाट जोगिन खोज्छस्, र उहाँले जसरी सत्यता बोले पनि र सङ्गति गरे पनि, तैँले सधैँ छानबिनको मनोवृत्ति कायम राख्छस्, तैँले यो सत्यता हो भनेर स्वीकार गरे पनि उहाँले भन्नुभएको कुरा स्वीकार गर्दैनस् भने, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि वा आशिष्‌ नदिनुहुने मात्रै होइन, तर यसको विपरीत परमेश्‍वरले तँबाट आफ्नो मुहार लुकाउनुहुनेछ र तँलाई बेवास्ता गर्नुहुनेछ। यदि तैँले मलाई विश्‍वास गर्दैनस् भने, कुरा यस्तै हो कि होइन आफै प्रयास गरेर हेर्। यदि मसँग, अर्थात् सामान्य मानवता भएको यो साधारण व्यक्तिसँग अन्तरक्रिया गर्दा तँसँग कुनै सिद्धान्तहरू हुँदैनन्, तँलाई मसँग कसरी अन्तरक्रिया गर्ने भन्‍ने थाहा छैन, र परमेश्‍वरले तँलाई सिकाउनुहुने सिद्धान्तहरूअनुसार मलाई कसरी व्यवहार गर्ने भन्‍ने तँलाई थाहा छैन भने, के तैँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पनि त्यसरी नै व्यवहार गर्नेथिएनस् र? (हो।) यदि तैँले स्वर्गमा हुनुहुने परमेश्‍वरसँग त्यसरी नै अन्तरक्रिया गरिस् भने, परिणामहरू के हुनेछन्? (हामीलाई दोषी ठहराइनेछ र ढालिनेछ।) तँ फेरि गलत भइस्। परमेश्‍वरले स्वेच्छाचारी रूपमा मानिसहरूलाई ढाल्नुहुन्न। तर, तँसँग परमेश्‍वरको वास्तविक स्वरूप देख्ने अवसर कहिल्यै हुनेछैन, न त तँ कहिल्यै योग्य नै हुनेछस्; यो एउटा तथ्य हो। तँ परमेश्‍वरको वास्तविक स्वरूप देख्न कहिल्यै योग्य हुनेछैनस्—तैँले परमेश्‍वरको पिठ्यूँ समेत देख्न सक्नेछैनस्। यसको अर्थ के हो? यसको अर्थ परमेश्‍वरले तँलाई उहाँको सृजित प्राणीको रूपमा कहिल्यै स्वीकार गर्नुहुनेछैन भन्‍ने हो। अय्यूबले यहोवाको पिठ्यूँ देखे भन्‍नुको अर्थ के थियो? अब्राहामले परमेश्‍वरको आफ्नै आवाजले उनीसँग बोलेको सुने भन्‍नुको अर्थ के थियो? (परमेश्‍वरले तिनीहरूलाई अनुमोदन गर्नुभयो।) यसको अर्थ तिनीहरू परमेश्‍वरसँग कुराकानी गर्न, स्वर्गमा हुनुहुने परमेश्‍वरसँग कुराकानी गर्न, उहाँको वास्तविक स्वरूपसँग, परमेश्‍वरका आत्मासँग कुराकानी गर्न योग्य थिए भन्‍ने हो। परमेश्‍वरले तिनीहरूलाई सृजित प्राणीहरूका रूपमा पहिचान गर्नुभयो र स्वीकार गर्नुभयो। परमेश्‍वरले तिनीहरूलाई सृजित प्राणीहरूका रूपमा मान्यता दिनुभयो। परमेश्‍वरले तिनीहरूलाई प्राप्त गर्नुभयो। यसको महत्त्व अत्यन्तै गहन छ! परमेश्‍वर तिनीहरूलाई हेर्न इच्छुक हुनुहुन्थ्यो र तिनीहरूसँग कुराकानी गर्न इच्छुक हुनुहुन्थ्यो। परमेश्‍वर तिनीहरूलाई स्वर्गबाट बोल्दै गर्दा आफ्‍नो आवाज सुन्न दिन इच्छुक हुनुहुन्थ्यो। परमेश्‍वर तिनीहरूलाई उहाँको आत्मिक शरीर देखाउन, तिनीहरूलाई यो प्रकट गर्न इच्छुक हुनुहुन्थ्यो। मानवजातिका लागि यो कति ठूलो आशिष्‌ हो! यो अत्यन्तै ठूलो सम्मान हो! के तिमीहरू यसको खोजी गर्छौ? तिमीहरूले यो कुरा खोजी गर्ने आँट नगर्न सक्छौ, तर तिमीहरूसँग यसको इच्छा हुनैपर्छ। त्यसोभए यो इच्छा साकार पार्नका लागि तिमीहरूले कसरी अभ्यास गर्नुपर्छ? पहिले, देहधारी परमेश्‍वर, यो साधारण र सामान्य व्यक्तिलाई तिमीहरूले व्यवहार गर्ने तरिकाबाट आफ्नो अभ्यास सुरु गर। तैँले उहाँसँग कसरी अन्तरक्रिया गर्नुपर्छ र उहाँलाई कसरी व्यवहार गर्नुपर्छ? जब तैँले उहाँलाई उहाँको मूर्त रूपमा देख्छस्, यदि तैँले उहाँसँग सामान्य रूपमा अन्तरक्रिया गर्न सक्छस्, उहाँको बारेमा सबै कुरा स्वीकार गर्न सक्छस्, उहाँसँग खुलस्त र इमानदार हुन सक्छस्, र उहाँसँग अन्तरक्रिया र सङ्गत गर्नमा कुनै बाधाहरू वा कठिनाइहरू हुँदैनन् भने, परमेश्‍वरको अगाडि—कम्तीमा पनि मेरो नजरमा—म तँसँग अन्तरक्रिया गर्न इच्छुक हुनेछु; म तँप्रति विकर्षित महसुस गर्नेछैनँ। तब तैँले परमेश्‍वरको आवाज सुन्न, स्वर्गबाट बोल्दै गरेको परमेश्‍वरको आफ्नै आवाज सुन्न, र परमेश्‍वरको आकृति देख्ने अवसर पाउन सक्छस् र तँ यसको निम्ति योग्य हुन सक्छस्। अवश्य नै, अहिले तिमीहरू यस लक्ष्यबाट अझै धेरै टाढा छौ; म तिमीहरूलाई एउटा मार्ग मात्रै दिइरहेको छु। यदि तिमीहरूले म, यो साधारण व्यक्तिले प्रस्तुत गर्ने यो बाधा समेत पार गर्न सक्दैनौ, तैपनि तैँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न चाहन्छस् भने, म तँलाई एउटा कुरा बताउनेछु: त्यो पटक्कै सम्भव छैन! त्यो त साँच्चै मनगढन्ते सोच हो!

ठीक छ, आजका लागि हाम्रो सङ्गति यहीँ अन्त्य गरौँ। बिदा!

सेप्टेम्बर १४, २०२४

अघिल्लो: सत्यता कसरी पछ्याउने (२६)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्