सत्यता कसरी पछ्याउने (१४)

आफ्नो उत्पत्तिका आधारमा मानिसहरूका तीन वर्ग

दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका विशेषताहरू

हालै, हामीले एउटा विषयमा सङ्गति गरेका थियौँ, जुन फरक-फरक वर्गका मानिसहरूलाई तिनीहरूको उत्पत्तिका आधारमा छुट्याउनु हो। यो मानिसहरूको जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूको व्यापक विषयअन्तर्गत देखा पर्ने विशेष विषय हो। हामीले यो विशेष विषयसँग सम्बन्धित केही विषयवस्तुमा सङ्गति गर्‍यौँ—त्यसमा के समावेश थियो? (परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको उत्पत्ति अनुसार तीन प्रकारमा वर्गीकरण गर्नुभयो: पशुबाट पुनर्जन्म लिएकाहरू, दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरू, र मानिसहरूबाट पुनर्जन्म लिएकाहरू। पहिलो पटक, परमेश्‍वरले पशुबाट पुनर्जन्म लिएका मानिसहरूका चार वटा विशेषताका बारेमा सङ्गति गर्नुभयो: पहिलो, तिनीहरूसँग विकृत बोध हुन्छ; दोस्रो, तिनीहरू विशेष रूपमा बोधा हुन्छन्; तेस्रो, तिनीहरू विशेष रूपमा अलमल्ल परेका हुन्छन्; र चौथो विशेषता भनेको तिनीहरू मूर्ख हुन्छन्। दोस्रो पटक, परमेश्‍वरले दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको चरित्रका बारेमा सङ्गति गर्नुभयो: पहिलो, तिनीहरूलाई झूट बोल्‍ने लत लागेको हुन्छ; दोस्रो, तिनीहरू पथभ्रष्ट हुन्छन्; अनि तेस्रो भनेको तिनीहरू दुष्ट हुन्छन्। सङ्गति मुख्यतः तिनीहरूको झूट बोल्ने लत र पथभ्रष्ट हुनु गरी दुइटा प्रकटीकरणमा केन्द्रित थियो।) झूट बोल्ने लतको मुख्य प्रकटीकरण भनेको छल हो। पथभ्रष्ट हुनु प्रकटीकरणहरूका हकमा भन्दा, हामीले तिनलाई पनि वर्गीकरण गऱ्यौँ—कति वटा प्रकटीकरणहरू थिए? (तीन वटा थिए। पहिलो प्रकटीकरण स्वभावसँग सम्बन्धित छ; किटेर भन्दा, कुटिल हुनु। दोस्रोमा देहको दुष्ट कामवासना समावेश हुन्छ। अनि अर्को भनेको अनौठो हुनु हो; अर्थात्, प्रायजसो श्रवण र अरू इन्द्रियका भ्रमहरू अनुभव गर्नु, र सधैँ असामान्य व्यवहार देखाउनु।) सामान्यतया यसमा समावेश भएको कुरा यही हो।

आ. दोस्रो विशेषता: पथभ्रष्टता

पछिल्लो पटक हामीले दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका पथभ्रष्ट पक्षका केही प्रकटीकरणहरूबारे सङ्गति गरेका थियौँ। मैले मण्डलीले सङ्ग्रहित गरेका निष्कासन दस्ताबेजहरूमा एक जना व्यक्तिका प्रकटीकरणहरूबारेमा पढेको थिएँ—सबैले सुन र उसका प्रकटीकरणहरू हामीले सङ्गति गरेको कुरासँग सम्बन्धित छन् कि छैनन् भनेर हेर। यो व्यक्ति खेतमा तरकारीखेती गर्ने जिम्मेवारीमा थियो। उसका मुख्य प्रकटीकरणहरू यसरी वर्णन गरिएका थिए: “उसको मानवता दुर्भावनापूर्ण छ, र माथिप्रतिको उसको मनोवृत्ति अनादरपूर्ण छ,” र केही विशिष्ट प्रकटीकरणहरू सूचीकृत थिए। पहिलो प्रकटीकरण यस्तो थियो: “उसले माथिका लागि तरकारी खेती गर्ने ठाउँ लापरवाह रूपमा छनौट गऱ्यो। पछि, यो ठाउँ होचो छ र यहाँ पानी जम्ने सम्भावना छ भन्‍ने पत्ता लाग्यो। त्यहाँ लगाइएको मल पानीले बगाउँथ्यो, जसले गर्दा सागसब्जी निकै स-साना हुन्थे। मल फेरि हाल्नुपर्छ भन्‍ने उसलाई थाहा थियो तर उसले हाल्दै हालेन। उसले सागसब्‍जी राम्ररी बढिरहेका छैनन् भन्‍ने देख्यो तर केही पनि गरेन—उसले माथिलाई जानी-जानी कमसल तरकारी खान दियो।” यो पहिलो प्रकटीकरण थियो। दोस्रो प्रकटीकरण यस्तो थियो: “सामान्यतया, ऊ दाजुभाइ-दिदीबहिनीहरूका लागि रोपिएका सागसब्जीको मात्रै स्याहार गरेर हिँड्थ्यो। माथिका लागि उत्पादन गरिएका सागसब्जीको कुरा गर्नुपर्दा, उसले त्यसको हेरचाह वा व्यवस्थापन गर्दैनथियो—उसले त्यो मामलाबारे चिन्ता गर्दैनथियो वा त्यसबारे केही गर्दैनथियो।” तेस्रो प्रकटीकरण यस्तो थियो: “उसलाई ती तरकारीहरूमा धेरै कीरा लागेका छन्, जसले ती सागसब्‍जीलाई टोकेर प्वालै-प्वाल पारी घिनलाग्दा देखिने र खान लायक नरहने तुल्याएका छन् भन्‍ने थाहा थियो, तर उसले प्रभावकारी हुन्छ कि हुँदैन भन्‍ने वास्ता नगरी कीटनाशक औषधी त्यत्तिकै छरिदियो। अरूले उसलाई सागसब्जीबाट किराहरू टिपेर फाल भन्दा, ऊ पूर्ण रूपमा उदासीन हुन्थ्यो, र उसले सोच्थ्यो, ‘यसबारे किन यति चिन्ता गर्नु? मैले गर्नुपर्ने कार्य धेरै छन्—म हरेक दिन यी सागसब्जीहरूलाई रुँगेर बस्‍न सक्दिनँ!’” देखिस्, उसले हृदयमा यही सोच्थ्यो—अरूले उसलाई याद दिलाउँदा पनि, ऊ अझै पनि कार्य गर्दैनथियो। चौथो प्रकटीकरण यस्तो थियो: “माथिका लागि सागसब्जी रोप्ने बारेमा उसले हृदयमा यस्तो सोच्थ्यो: ‘मैले उब्जाएका तरकारी जस्ता भए पनि, तपाईँले ती नै खानुपर्नेछ। यदि ती राम्रा भए, तपाईँले राम्रा तरकारीहरू खान पाउनुहुनेछ। यदि मैले कुनै राम्रा सागसब्जी उब्जाइनँ भने, ती नखानुहोस्। जे भए पनि, मैले ती तपाईँका लागि उब्जाएको हुँ—तपाईँ मप्रति कृतज्ञ हुनुपर्छ!’” उसका हृदयमा रहेका दुर्भावनापूर्ण विचारहरू यिनै थिए, र उसले आफूसँग बस्‍ने मानिसहरूलाई यी विचारहरू बताएको थियो। “जब अरूले उसलाई माथिलाई सागसब्जी पुर्‍याउँदा सडेका सागसब्जीका पातहरू राख्‍ने डालो प्रयोग नगर्नू भनेर सम्झाए, तब उसले भन्यो, ‘म त्यसबारे कुनै प्रत्याभूति दिन सक्दिनँ।’” देखिस्, अरूले उसलाई सम्झाए, र पनि उसले सुनेन। उसले जे मन लाग्यो त्यही मात्रै गर्थ्यो। यो चौथो प्रकटीकरण थियो। पाँचौँ प्रकटीकरण यस्तो थियो: “उसले माथिका लागि उब्जाइएका सागसब्जीहरूलाई हृदयमा कुनै चेतनाविना, अलिकति पनि पछुतो नगरी यसरी नै व्यवहार गर्थ्यो। जब कसैले उसलाई थप सजग हुनलाई सम्झाउँथ्यो, तब ऊ प्रतिरोधी र वितृष्ण हुन्थ्यो। जसले उसलाई सुझाव दियो—उसले त्यो व्यक्तिलाई घृणा गर्थ्यो।” अगुवा र कामदारहरूले जम्मा पाँचवटा प्रकटीकरण निकाले। तिनीहरूले यस व्यक्तिका आम प्रकटीकरणहरू, साथै सत्यताप्रतिको उसको मनोवृत्ति र कर्तव्यप्रतिको उसको मनोवृत्तिलाई सारांशीकृत गरे, र तिनीहरूले निश्‍चित उदाहरणहरू पनि सूचीकृत गरे। सारांश निकै राम्रो थियो। यो सुनेपछि तिमीहरूलाई कस्तो लाग्यो? के यी प्रकटीकरणहरू भएको व्यक्तिसँग असल मानवता हुन्छ? (हुँदैन।) यो कति खराब थियो? के यस व्यक्तिका प्रकटीकरणहरू हामीले सङ्गति गरेका दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका प्रकटीकरणहरूसँग मिले? (मिले।) ती कुन प्रकटीकरणसँग मिले? (यस्ता मानिसहरू दुष्ट हुनुको प्रकटीकरण।) दुष्ट हुनुको साथसाथै, के उसमा दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको विशेषता अर्थात् पथभ्रष्ट हुनुका कुनै प्रकटीकरणहरू थिए? (थिए।) यो कसरी प्रस्ट भयो? (साधारण मानिसहरूले माथिका लागि सागसब्जी उब्जाउँदा राम्रो जमिन छनौट गर्नुलाई प्राथमिकता दिनेथिए, तर उसले दाजुभाइ-दिदीबहिनीहरूको चापलुसी गर्ने निर्णय गऱ्यो—उसले दाजुभाइ-दिदीबहिनीहरूका लागि उब्जाइएका सागसब्जीको मात्रै हेरचाह गऱ्यो। माथिका लागि उब्जाइएका सागसब्जीहरूका लागि, उसले रूखो जमिन छनौट गऱ्यो, तिनको हेरचाह गर्ने वा किरा नियन्त्रण गर्ने काम गरेन, र सधैँ माथिलाई कमसल सागसब्जी खान दियो। उसमा माथिप्रति, परमेश्‍वरप्रति शत्रुवत् मनोवृत्ति थियो।) उसमा माथिप्रति किन शत्रुवत् मनोवृत्ति थियो? के माथिले उसलाई चिढ्याएका थिए? (थिएनन्। उसको मनोवृत्ति उसको प्रकृति सारले निर्धारित गरेको थियो—उसले परमेश्‍वरलाई र सकारात्मक कुराहरूलाई घृणा गर्थ्यो।) मैले यस व्यक्तिलाई साँच्‍चै कहिल्यै चिनेको थिइनँ—मैले ऊसँग कहिल्यै कुनै व्यवहार गरेको थिइनँ। त्यसोभए उसले कसरी आफ्नो हृदयमा यस्तो गहिरो घृणा पाल्न सक्थ्यो? यो उसको प्रकृतिको समस्या हो। एक हिसाबमा, यो दुष्ट थियो; अर्को हिसाबमा, यो पथभ्रष्ट थियो, होइन र? के यो त ठूलो रातो अजिङ्गरको जस्तै होइन र? (हो।) उसले परमेश्‍वर र सकारात्मक कुराहरूलाई जसरी व्यवहार गर्थ्यो त्यसमा उसको हृदयमा एउटा प्रकारको घृणा झल्किन्थ्यो। यदि तैँले उसलाई के भइरहेको छ भनेर सोधिस् भने, ऊ आफैले स्पष्ट रूपमा व्याख्या गर्न सक्नेथिएन—उसलाई बस घृणा महसुस हुन्थ्यो। उसले परमेश्‍वर र सत्यतालाई विशेष रूपमा घृणा गर्थ्यो, उसले सकारात्मक कुराहरूलाई विशेष रूपमा घृणा गर्थ्यो। के यो पथभ्रष्ट हुनु होइन र? (हो।) यस्तो प्रकारको व्यक्ति दियाबलस हो। यदि तैँले उसलाई “तिमी कसमा विश्‍वास गर्छौ?” भनेर सोधिस् भने उसले निश्चित रूपमा नै परमेश्‍वरमा विश्‍वास गर्छु भनेर भन्‍नेथियो। उसले परमेश्‍वरमा विश्‍वास गर्छ, तैपनि परमेश्‍वरलाई घृणा गर्छ—यसले दियाबलसको मानसिकता प्रकट गर्छ। पथभ्रष्ट हुनु भनेको यही हो। म किन यसो भन्छु? पहिलो कुरा, मैले यो व्यक्तिलाई पटक्‍कै चिनेको थिइनँ, र मैले उसलाई कहिल्यै काटछाँट गरेको थिइनँ, तैपनि उसले मप्रति यस्तो गहिरो घृणा पालेको थियो—यो पथभ्रष्ट हुनु हो। दोस्रो कुरा, दाजुभाइ-दिदीबहिनीहरूले नै उसलाई यी सागसब्जीहरू रोप्न दिने प्रबन्ध गरेका थिए। यदि ऊ त्यसो गर्न इच्छुक थिएन भने, उसले समस्या उठाउन सक्थ्यो, तर उसले तरकारी बारीमा आफ्नो रिस पोख्यो। रोपेपछि, उसले त्यसको उचित हेरचाह गरेन र माथिलाई कमसल सागसब्जी खान दियो। तेस्रो कुरा, दाजुभाइ-दिदीबहिनीहरूका लागि सागसब्जी उब्जाउन ऊ निकै इच्छुक थियो र उसले तिनको निकै राम्रो हेरचाह गर्थ्यो, तर माथिका लागि सागसब्जी उब्जाउने कुरा आउँदा, ऊ हृदयमा अनिच्छुक थियो। ऊ विशेष रूपमा घृणाले भरिएको थियो, र किन यस्तो भयो भन्‍ने कुरा स्पष्ट छैन—उसलाई कसैले पनि चिढ्याएको थिएन, तैपनि उसले माथिलाई र परमेश्‍वरलाई यसरी व्यवहार गऱ्यो। के यो पथभ्रष्ट हुनु होइन र? (हो।) यो पथभ्रष्ट प्रेरक शक्ति धेरै ठूलो रहेछ! एक हिसाबमा, यो दुष्ट हो; अर्को हिसाबमा, यो पथभ्रष्ट हो—दियाबलसको प्रकृति यही हो। चाहे परमेश्‍वरको घरले प्रेमका साथ दियाबलसहरूलाई जति नै सहनशील र धैर्य रूपमा व्यवहार गरोस्, चाहे परमेश्‍वरको घरले तिनीहरूलाई मुक्ति प्राप्त गर्ने मौकाहरू जति नै देओस्, तिनीहरूले यी कुराहरू पटक्‍कै बुझ्दैनन्। तिनीहरू हृदयमा परमेश्‍वर र परमेश्‍वरको घरलाई घृणा मात्रै गर्छन्। यसको सारा कारण के हो भने दियाबलसको प्रकृति भनेको ठ्याक्कै परमेश्‍वरलाई घृणा गर्नु र सकारात्मक कुराहरूलाई घृणा गर्नु नै हो। यसको कारण के हो भनेर कसैले पनि स्पष्ट रूपमा भन्‍न सक्दैन—दियाबलसहरूले केवल परमेश्‍वर र सकारात्मक कुराहरूप्रति आधारहीन घृणा पाल्छन्। यसलाई पथभ्रष्ट हुनु भनिन्छ। ऊ हरेक दिन केका बारेमा सोचिरहेको हुन्थ्यो? “मैले उब्जाएका तरकारी जस्ता भए पनि, तपाईँले ती नै खानुपर्नेछ। यदि ती राम्रा भए, तपाईँले राम्रा तरकारीहरू खान पाउनुहुनेछ। यदि मैले कुनै राम्रा सागसब्जी उब्जाइनँ भने, ती नखानुहोस्। जे भए पनि, मैले ती तपाईँका लागि उब्जाएको हुँ—तपाईँ मप्रति कृतज्ञ हुनुपर्छ!” के उसको हृदयका कुराहरू पथभ्रष्ट थिएनन् र? ऊ जे सोचिरहेको थियो, त्यो सबै दुष्ट र कुटिल थियो। विवेक र समझ भएका मानिसहरूलाई उसका विचारहरू अकल्‍पनीय लाग्छ—उसले किन यस्तो सोच्छ भनेर तिनीहरूले पूर्ण रूपमा बुझ्नै सक्दैनन्। दियाबलसहरूले ठ्याक्कै यस्तै व्यवहार गर्छन्। तिनीहरूले हृदयमा जे सोचे र चिन्तन गरे ती सबै अन्धकारमय र दुष्ट कुराहरू थिए। के यस्तो—दियाबलस जस्तो व्यक्तिले—सत्यता स्वीकार गर्न सक्छ? (सक्दैन।) ऊसँग आधारभूत मानव नैतिकता, वा विवेक र समझ समेत थिएन। परमेश्‍वरको कुरा उठ्दा, ऊ क्रोधित हुन्थ्यो र उसलाई घृणा महसुस हुन्थ्यो। अरूले उसलाई कुनै अर्को कार्य गर्न आग्रह गर्दा, ऊ त्यति प्रतिरोधी हुन्थेन; माथिका लागि सागसब्जी उब्जाउने कार्यमा मात्रै ऊ विशेष रूपमा प्रतिरोधी हुन्थ्यो। यो दुष्ट हुनु हो, यो पथभ्रष्ट हुनु हो। तैँले उसलाई ऊ किन यति प्रतिरोधी भएको भनेर सोध्न सक्छस्—यो हृदयको मामला हो, र उसले यसको जड ठ्याक्कै कहाँ छ भनेर स्पष्ट रूपमा भन्‍न नसक्ला। के तिमीहरूले यो समस्याको जड कहाँ छ भन्‍ने कुरा प्रस्ट रूपमा देख्‍न सक्छौ? उसले परमेश्‍वरलाई किन यस्तो व्यवहार गऱ्यो? धेरैजसो मानिसहरूलाई यो अत्यन्तै अचम्‍मको कुरा लाग्नेथियो: “परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिले कसरी परमेश्‍वरलाई यस्तो व्यवहार गर्न सक्छ? के ऊ गैरविश्‍वासी होइन र?” अब, सत्यताबारे गरिएको सङ्गतिमार्फत, के तिमीहरूले फरक-फरक प्रकारका मानिसहरूको सार र उत्पत्तिलाई अलिक स्पष्ट रूपमा देख्‍न सक्छौ? (सक्छौँ।) अब तिमीहरूले अलिक स्पष्ट रूपमा देख्‍न सक्‍नुपर्ने हो—यिनीहरू ठ्याक्कै दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिस हुन्, र तिनीहरूको प्रकृति नै परमेश्‍वरलाई घृणा गर्नु हो।

मलाई भन, के दियाबलसहरूबाट पुनर्जन्म भएका मानिसहरू परिवर्तन हुन सक्छन्? (सक्दैनन्।) तिनीहरू ठूलो रातो अजिङ्गर जस्तै हुन्छन्। तिनीहरू पनि सही शब्दहरू बोल्न सक्छन्, विवेक र नैतिकता अनुरूपका शब्दहरू बोल्न सक्छन्—तर तिनीहरू आफूले भनेका कुराहरू बिलकुलै लागू गर्न सक्दैनन्। तिनीहरू धेरै कर्णप्रिय शब्दहरू बोल्न सक्छन्, तर जब तिनीहरूले वास्तविक कुराहरू गर्ने समय आउँछ, तब तिनीहरू एउटा पनि गर्न सक्दैनन्। तिनीहरू किन ती काम गर्न सक्दैनन्? किनभने भित्री रूपमा, तिनीहरू दियाबलसहरू हुन्छन्। यदि तिनीहरूले सकारात्मक कुराहरू गरे, र मानव विवेकको मानक अनुरूपका कुराहरू गरे भने तिनीहरूलाई भित्री रूपमा असहज र तनाव हुनेथियो। जब तिनीहरूले दुष्कर्म गर्छन्, दियाबलसहरूले गर्ने कुरा गर्छन्, दियाबलसहरूले सोच्‍ने कुरा सोच्छन्, तब मात्रै तिनीहरूलाई भित्री रूपमा सहज र हर्ष महसुस हुन्छ। यस्तो प्रकारको व्यक्तिको साँचो अनुहार यही हो। यदि तैँले तिनीहरूसँग व्यर्थका कुराकानी गरिस्, देहगत जीवनका मामलाहरूका बारेमा कुरा गरिस्, वा वर्तमान घटना र राजनीतिका बारेमा समेत छलफल गरिस् भने समेत, तिनीहरू चुपचाप बस्‍न सक्छन्। तर सङ्गतिको विषयवस्तुले सकारात्मक कुराहरू, सत्यता, परमेश्‍वर, परमेश्‍वरको पहिचान, परमेश्‍वरको सार, परमेश्‍वरको काम, मानिसप्रति परमेश्‍वरका अभिप्रायहरू, वा मानिसप्रति परमेश्‍वरका मागहरू छुने बित्तिकै, तिनीहरूलाई हृदयमा वितृष्ण र प्रतिरोधी बन्छन्—तिनीहरू त्यो सुन्‍न चाहँदैनन्। तिनीहरू काँडा र सियोमा बसेको जस्तो गरी, आफ्नो कान र गाला कन्याउन थाल्छन्। तिनीहरूको हृदय अराजकता र असहजताले भरिन थाल्छ, मानौँ तिनीहरूको भित्री भागमा जङ्गली रूपमा झारहरू उम्रिरहेका छन्। तिनीहरूलाई थप एक सेकेन्ड पनि बस्‍नु यातना भोग्‍नु जस्तै हो भन्‍ने लाग्छ, र तिनीहरूमध्ये कति जना त ठाउँको ठाउँ उठेर जाने समेत गर्नेछन्। कतिपय मानिसहरू, देखाउनका लागि, अत्यन्तै शिष्टताको साथ त्यहीँ बसे पनि र उठेर नहिँडे पनि, तिनीहरूको मन बरालिसकेको हुन्छ—तिनीहरूका विचार धेरै अघि बादलमाथि उडेर गएका हुन्छन्, र तिनीहरूले तैँले भनेको कुरा सुनिरहेका नै हुँदैनन्। तिनीहरूमा किन यी प्रकटीकरणहरू हुन्छन्? किनभने हृदयमा, तिनीहरू परमेश्‍वर र सकारात्मक कुराहरूबाट विकर्षित हुन्छन्। तिनीहरूलाई सत्यताप्रति चासो हुँदैन; तिनीहरू यसलाई आत्मसात् गर्न सक्दैनन् र स्वीकार गर्न अनिच्छुक हुन्छन्। भेलाको बेला सत्यताबारे सङ्गति हुने बित्तिकै, तिनीहरू “मैले गएर केही कुरा मिलाउनुपर्ने छ,” वा “मैले फोन गर्नुपर्ने छ” भनेर त्यहाँबाट जाने सबै किसिमका बहानाहरू सोच्छन्। तिनीहरू भाग्‍नका लागि कुनै पनि बहाना प्रयोग गर्न चाहन्छन्। त्यस्ता मानिसहरू साँच्‍चै नै पथभ्रष्ट हुन्छन्। यदि कसैले आफू परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने व्यक्ति हुँ भनेर मान्छ भने, उसमा यी प्रकटीकरणहरू हुनु हुँदैन। तर सकारात्मक कुराहरूसँग सम्बन्धित वा परमेश्‍वरसँग सम्बन्धित मामलाहरूका कुरा आउँदा, दियाबलसहरूबाट पुनर्जन्म भएका मानिसहरूमा यी प्रकटीकरणहरू हुन्छन्—यो तिनीहरूको आफ्नै नियन्त्रणभन्दा बाहिर हुन्छ र यो तिनीहरूको प्रकृति सारको मामला हो। यसलाई तिनीहरूको उत्पत्तिले निर्धारित गरेको हुन्छ, र कसैले पनि यो तथ्य परिवर्तन गर्न सक्दैन। जब तँ सत्यता, सकारात्मक कुराहरू, परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्छस्, तब तिनीहरूलाई तैँले तिनीहरूलाई न्याय गरिरहेको छस्, यसले तिनीहरूको जीवन समाप्त गर्नेवाला छ जस्तो महसुस हुन्छ। तिनीहरूले परमेश्‍वर, सत्यता, र सकारात्मक कुराहरूलाई कसरी लिन्छन् भन्ने कुराको साँचो भित्री स्थिति यही हो। अवश्य नै, यो त्यस्ता मानिसहरूको दुष्ट सारको एक प्रकारको प्रकटीकरण पनि हो। तिनीहरूलाई सकारात्मक कुराहरू, सत्यता, र परमेश्‍वरप्रति विकर्षण र घृणा हुने हुनाले, तिनीहरूले आफ्नो भित्री संसारमा हरेक दिन जे सोच्छन् र चिन्तन गर्छन् त्यसको सकारात्मक कुराहरू, सत्यता, वा परमेश्‍वरको कामसँग कुनै सम्बन्ध हुँदैन। तिनीहरूले हृदयमा विचार गर्ने सबै कुरा पथभ्रष्ट कुरासँग सम्बन्धित हुन्छ। तिनीहरूले मानिसहरूका बीचमा हैसियत र प्रतिष्ठा पाउनका लागि आफूलाई कसरी प्रदर्शन गर्ने, मानिसहरूलाई बहकाउन, हैसियत प्राप्त गर्न, र अझै धेरै मानिसहरूलाई तिनीहरूको अनुमोदन गर्न र उच्च मान्न लगाउन कसरी कार्य गर्ने, मानिसहरूको हृदय जित्न र तिनीहरूको अनुमोदन प्राप्त गर्न कसरी कार्य गर्ने, र परमेश्‍वरको घर वा हरेक स्तरका अगुवाहरूबाट कसरी पहिचान र प्रवर्द्धनहरू प्राप्त गर्ने भन्‍ने बारेमा सोच्छन्। तिनीहरूले सोच्ने सबै कुरा र तिनीहरूले गर्ने सबै कुरामा प्रतिस्पर्धा गर्ने, लडाइँ गर्ने, खोस्‍ने, छल गर्ने, युक्ति रच्‍ने, षड्यन्त्र गर्ने, उक्साउने, ठग्ने, नियन्त्रण गर्ने, र बहकाउने प्रकृति हुन्छ, होइन र? (हो।) तिनीहरूले यी कुराहरू गर्नका लागि कुनै कसर बाँकी राख्दैनन्—तिनीहरू कुनै पनि कठिनाइ भोग्‍न इच्छुक हुन्छन्। तिनीहरूले कष्ट भोग्दाको सम्पूर्ण प्रक्रियामा, के दुष्कर्म गर्ने, कसको विरुद्धमा हिसाबकिताब गर्ने, र के-कस्ता उद्देश्यहरू हासिल गर्ने भन्‍ने बारेमा योजना र युक्तिहरू बनाइरहेका हुन्छन्। तिनीहरूले गर्ने सबै कुरामा रणनीति हुन्छ, खास नियत हुन्छ। बाहिरी रूपमा, तिनीहरू सत्यताको विरुद्धमा जाने कुराहरू सार्वजनिक रूपमा बोल्दैनन्, न त तिनीहरू मण्डलीको काममा अवरोध वा बाधा ल्याउने कामकुराहरू सार्वजनिक रूपमा नै गर्छन्, र तिनीहरू परमेश्‍वरलाई सार्वजनिक रूपमा आलोचना, आक्रमण, वा ईश्‍वरनिन्दा त झनै गर्दैनन्। तिनीहरू यी स्पष्ट दुष्ट कार्यहरू गर्दैनन्। तर तिनीहरूको भित्री संसारमा, तिनीहरू सत्यता वा सकारात्मक कुराहरूसँग सम्बन्धित कुनै कुराबारे कहिल्यै विचार गर्दैनन्, र मानव विवेक र समझ, वा नैतिकतासँग सम्बन्धित कुनै कुराबारे समेत कहिल्यै विचार गर्दैनन्। त्यसोभए तिनीहरू के कुराबारे विचार गर्छन्? तिनीहरूको मन पूर्ण रूपमा युक्ति, चलाकी, हिसाब-किताब, चाल, र षड्यन्त्रमा फसेको हुन्छ। त्यसकारण, बाहिरबाट, तैँले तिनीहरूले सार्वजनिक रूपमा परमेश्‍वरको प्रतिरोध गरेको नदेखे पनि, वा तिनीहरूले परमेश्‍वरको विरुद्धमा गुनासो गर्ने, परमेश्‍वरप्रति शङ्का गर्ने, परमेश्‍वरको आलोचना गर्ने, वा परमेश्‍वरको विरुद्धमा ईश्‍वरनिन्दा गर्ने शब्दहरू बोलेको नसुने पनि, तिनीहरूको हृदय परमेश्‍वरका वचनहरू, परमेश्‍वरको काम, र परमेश्‍वरको कामसँग सम्बन्धित कुनै पनि कुराप्रति निन्दा, खिसी, र अनादरको मनोवृत्तिले भरिएको हुन्छ। परमेश्‍वरले चाहे जे भन्‍नुभए पनि, मानिसहरूबाट परमेश्‍वरले गर्नुहुने मागहरू चाहे जे भए पनि, परमेश्‍वरका अभिप्रायहरू चाहे जे भए पनि, वा परमेश्‍वरले गर्नुहुने विभिन्‍न प्रकारका कामहरू पछाडि रहेका सिद्धान्तहरू चाहे जे भए पनि, तिनीहरू ती कुराहरूलाई कहिल्यै ध्यान दिँदैनन् वा स्वीकार गर्दैनन्—यी मानिसहरूमा, यी सकारात्मक कुराहरू प्राप्त गर्ने कुनै भाँडो नै हुँदैन। तैँले तिनीहरूले यी सकारात्मक कुराहरूलाई सार्वजनिक रूपमा प्रतिरोध वा निन्दा गरिरहेको नदेखे पनि, तिनीहरूको हृदयको गहिराइबाट हेर्दा, तिनीहरू ती कुराबाट विकर्षित हुन्छन् र तिनीहरू तिनलाई तिरस्कार गर्छन्। प्रवचनहरू सुन्दा, तिनीहरू सत्यता कसरी स्वीकार गर्ने र सत्यता कसरी अभ्यास गर्ने भनेर मनन गरिरहेका हुँदैनन्, बरु मानिसहरूलाई तिनीहरूको मान गर्ने र तिनीहरूलाई आदर्श ठान्ने बनाउन सकियोस् भनेर आफूले सुनेका ताजा ज्योति र वाक्यांशहरूलाई कसरी सारांशीकृत गर्ने र ती कुरालाई अरूसँग सङ्गति गर्न र बाँड्नका लागि आफ्नै शब्दहरूमा कसरी परिणत गर्ने भनेर मनन गरिरहेका हुन्छन्। तिनीहरू मनमनै सोच्छन्, “यदि मैले भर्खरै मण्डलीमा जोडिएका मानिसहरूलाई यी वचनहरू प्रचार गरेँ भने, मैले अझै धेरै मानिसहरूबाट आदर र आदर्शमय छवि प्राप्त गर्न सक्‍नेछु, र मानिसहरूका बीचमा मेरो हैसियत अझै उच्च हुनेछ। यो हैसियत मैले कति धेरै धर्मसिद्धान्त बुझ्छु र बोध गर्छु, र मैले यसलाई कति विस्तारमा बुझ्छु भन्ने कुरामा आधारित हुनेछ।” तिनीहरूले बसेर प्रवचन सुने पनि—धेरै ध्यान दिएर र लगनशीलताको साथ समेत सुने पनि, र धेरै मेहनत गरे पनि—तिनीहरूको मनोवृत्ति सकारात्मक हुँदैन र तिनीहरूको मनसाय शुद्ध हुँदैन। तिनीहरू सत्यता स्वीकार गर्ने मनोवृत्तिले सुन्दैनन्, तर ईश्वरशास्त्र अध्ययन गरिरहेको जस्तै त्यसबारे चिन्तन गर्छन्, प्रवचनहरूमा भनिएका कुरालाई बाइबलसँग तुलना गर्छन्। तिनीहरू आफूलाई चिन्‍न, वास्तविक पछुतो विकास गर्न, तिनीहरू आफ्ना विभिन्न समस्याहरूको खोजी गर्न, र परमेश्‍वरका वचनबाट समाधानको मार्ग र अभ्यासका सिद्धान्त खोज्न परमेश्‍वरका वचनहरू स्विकार्ने र आफूलाई तीसँग तुलना गर्ने गर्दैनन् ताकि तिनीहरूले आफ्ना भ्रष्ट स्वभाव फाल्न, सत्यता सिद्धान्तहरू अनुरूप कार्य र व्यवहार गर्न, र परमेश्‍वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न सकून्—तिनीहरूको उद्देश्य पटक्‍कै त्यो हुँदैन। तिनीहरूको उद्देश्य के हुन्छ? आफूलाई अझै धेरै धर्मसिद्धान्तहरूद्वारा सुसज्जित गर्नु हो ताकि तिनीहरूले स्वाङ गर्न र आफ्नो देखावा गर्न सकून् र मानिसहरूले तिनीहरूलाई उच्च मानून् र पुजून्। पहिलो उद्देश्य त्यही हो। तिनीहरूको दोस्रो उद्देश्य भनेको आशिष्‌हरू प्राप्त गर्ने सबैभन्दा सरल मार्ग खोज्नु हो। प्रवचनहरू सुनेपछि र यो साँचो मार्ग हो भनेर पुष्टि गरेपछि, तिनीहरू आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको आशा कति छ, मुक्ति प्राप्त गर्ने तिनीहरूको आशा कति छ भनेर मनन गर्न थाल्छन्। त्यसपछि तिनीहरूले छली ढङ्गले परमेश्‍वरका चुनिएका मानिसहरू र परमेश्‍वरको घरको भरोसा जित्‍नका लागि, र तिनीहरूले सहने कष्टहरू र तिनीहरूले चुकाएको मूल्य परमेश्‍वरलाई देखाउनका लागि कष्ट सहने र मूल्य चुकाउने विधि प्रयोग गर्ने निर्णय गर्छन्। तिनीहरूले यसरी परमेश्‍वरमा विश्‍वास गरेर ठूला आशिष्‌हरू र सुन्दर गन्तव्य प्राप्त गर्न सकिन्छ भन्‍ने सोच्छन्। देखिस्, प्रवचनहरूप्रति र सत्यताको हरेक पक्षप्रतिको तिनीहरूको मनोवृत्ति त्यसलाई केवल स्वीकार गरेर अभ्यास र अनुभव गर्नु भन्‍ने हुँदैन—बरु, तिनीहरूमा गुप्त योजना र युक्तिहरू हुन्छन्। तिनीहरू सधैँ प्रवचन र सङ्गतिका निश्‍चित वाक्यांशहरू वा ठेट उद्धरणहरू प्रयोग गरेर आफ्नो मन र भाषणकलालाई सुसज्जित गर्ने आशा गरिरहेका हुन्छन्, ताकि दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन, सबैलाई तिनीहरूको अन्धभक्ति गर्न लगाउन सकियोस्, र आफूले मानिसहरूका बीचमा प्रतिष्ठा प्राप्त गर्न र अरूबाट उच्च आदर पाउन सकियोस्। के त्यस्ता मानिसहरू अत्यन्तै पथभ्रष्ट छन् भन्‍ने कुरा देखाउनका लागि प्रवचनहरू सुन्दा तिनीहरूले राख्ने यी विचार, अभिप्राय, र मनोवृत्तिहरू पर्याप्त हुँदैनन् र? (हुन्छन्।) के कसैले तिनीहरूमा रहेको यो पथभ्रष्ट प्रेरक शक्तिलाई सुधार गर्न सक्छ? यदि तैँले तिनीहरूलाई “यसरी सोच्नु भनेको सत्यता स्वीकार नगर्नु हो—यो सत्यता पछ्याउने व्यक्तिमा हुनुपर्ने मनोवृत्ति होइन। यदि तिमीले यसरी सोच्छौ भने, सत्यताले तिमीमा कुनै असर गर्नेछैन; यसले तिमीलाई मुक्ति प्राप्त गर्न सक्षम तुल्याउनेछैन। तिमीले सत्यता स्वीकार गर्नुपर्छ, यसभित्र अभ्यासका सिद्धान्तहरू खोज्नुपर्छ, र वास्तविक जीवनमा परमेश्‍वरका वचनहरूको अभ्यास र अनुभव गर्नुपर्छ, ताकि परमेश्‍वरका वचनहरू तिम्रो सत्यता वास्तविकता बन्‍न सकून् र अन्ततः तिम्रो जीवन बनून्” भनेर भनिस् भने—के तिनीहरूले त्यो हासिल गर्न सक्नेथिए? (सक्नेथिएनन्।) किन सक्नेथिएनन्? के त्यो तिनीहरूले पर्याप्त मेहनत नगरेकाले हो, कि सत्यतामा गरिएको हाम्रो सङ्गतिले तिनीहरूको भावनालाई ध्यानमा नराखेकोले वा यसमा तिनीहरूको स्थितिप्रति लक्षित सत्यताको उचित आपूर्ति समावेश नभएकोले हो? (दुवै होइन।) त्यसोभए यसको कारण के हो त? (यो सत्यतालाई घृणा गर्ने तिनीहरूको सारद्वारा निर्धारित हुन्छ।) त्यसकारण, यी मानिसहरूका प्रकटीकरणहरूलाई तिनीहरूको सारबाट अलग गर्न सकिँदैन भनेर भन्‍नु नै पर्छ—ती घनिष्ठ रूपमा जोडिएका हुन्छन्। कसैले पनि तिनीहरूको हृदयका विचारहरूलाई सच्याउन सक्दैन, र कसैले पनि यी मानिसहरू, जो दियाबलस हुन्, तिनीहरूको दुष्ट प्रकृति सार परिवर्तन गर्न सक्दैन। तिनीहरू सत्यतालाई घृणा गर्छन् र सत्यतालाई इन्कार गर्छन्, त्यसकारण सत्यताले तिनीहरूलाई परिवर्तन गर्न सक्दैन। त्यसोभए के यस्तो व्यक्तिलाई सहयोग गर्न नै सकिँदैन भन्‍न सकिन्छ? (सकिन्छ।) यसको उत्तर निश्चित रूपमा नै सकिन्छ भन्‍ने हुन्छ। किन? किनभने तिनीहरूको प्रकृति सार दियाबलसहरूको सार हो। तिनीहरूले प्रकाश गर्ने सबै कुरा पूर्ण रूपमा दियाबलसहरूको प्रकृतिद्वारा नियन्त्रित हुन्छ—यो भ्रष्टताको अस्थायी प्रकटीकरण पटक्‍कै होइन, न त यो भ्रष्ट मानवजातिको दुष्ट भ्रष्ट स्वभावहरूको प्रकटीकरण नै हो। किनभने तिनीहरू दियाबलसहरू हुन्, सृजित मानवहरू होइनन्—समस्याको जड यही हो।

यस्तो व्यक्तिले प्रवचनहरू सुन्दा केही थप प्रकटीकरणहरू देखाउँछ—परमेश्‍वरको घरले हरेक पटक सत्यताबारे सङ्गति गर्दा र यसमा निश्‍चित मानिसहरूका दुष्ट कार्य र प्रकटीकरणहरूलाई खुलासा र चिरफार गर्ने कार्य समावेश हुँदा, तिनीहरू यस्ता कुराहरू भन्छन्: “के तपाईंले पहिलेको त्यो घटनाबारे कुरा गरिरहनुभएको छैन र? मलाई त्यसबारे सबै थाहा छ। यो कुरा उठाउनुको पछाडि तपाईंको उद्देश्य ठ्याक्कै के हो भन्‍ने मलाई थाहा छ। के तपाईंले आफ्नो अख्तियार स्थापित गर्न र मानिसहरूलाई आफ्‍नो कुरा सुन्‍न लगाउनका लागि यस विषयको सङ्गति र चिरफार प्रयोग गर्ने प्रयास मात्रै गरिरहनुभएको छैन र? के तपाईं कतिपय मानिसहरूलाई पाठ सिकाउन, र कतिपय मानिसहरूलाई दमन गर्न चाहनुहुन्छ भन्‍ने मात्रै होइन र? के यो त अभियान सुरु गर्नु मात्रै होइन र? मूर्खले मात्रै तपाईंले भन्‍नुभएको कुरामा विश्‍वास गर्नेथियो! मूर्खले मात्रै तपाईंको कुरा सुन्नेथियो र सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्नेथियो!” देखिस्, तिनीहरूले सत्यताका केही पक्षसँग सम्बन्धित मानिसहरूका केही उदाहरण, अभिव्यक्ति, वा विशिष्ट प्रकटीकरणहरू सुन्दा पनि, तिनीहरूले बुझ्ने अरूले बुझ्ने कुराभन्दा पूर्ण रूपमा फरक हुन्छ। तिनीहरूले यी कुराहरूलाई सही रूपमा बोध गर्न वा सही रूपमा लिन सक्दैनन्, र तिनीहरूले तथ्यहरूलाई बङ्ग्याउन र सकारात्मक कुराहरूलाई गलत र दोषी समेत ठहराउन सक्छन्। तिनीहरूले हृदयमा सोच्ने कुरा सधैँ अन्धकारमय हुन्छ, तैपनि तिनीहरूलाई आफू निकै चलाख छु र आफूलाई वास्तविक कुरा थाहा छ भन्‍ने लाग्छ। के यो पथभ्रष्ट होइन र? यो त ठूलो रातो अजिङ्गरको जस्तै व्यवहार हो—ठूलो रातो अजिङ्गरले जब सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीले मानिसहरूलाई निकाल्छ वा निष्कासित गर्छ, तब यो अरूले देख्‍न सकून् भनेर शक्ति प्रदर्शनका रूपमा गरिन्छ भनेर भन्छ, तर त्यसले जब परमेश्‍वरको घरले, मण्डलीले मानिसहरूलाई निकाल्छ, तब यो मण्डलीलाई शुद्ध पार्ने कार्य हो भनेर कहिल्यै भन्दैन। किनभने तिनीहरू सत्यता बोध गर्न नसक्‍ने गैरविश्‍वासी दियाबलसहरू हुन्; तिनीहरूले सधैँ सकारात्मक कुराहरूलाई बङ्ग्याउँछन्, गलत ठहराउँछन्, र दोषी ठहराउँछन्, र तिनीहरूले सकारात्मक कुराहरूलाई सही मानसिकताले पटक्कै लिनेछैनन्। तिनीहरू मानिसहरूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो भनेर मान्नुभन्दा बरु तिनीहरू बाँदरहरूबाट विकसित भएका हुन्, तिनीहरू अजिङ्गरहरूका सन्तान हुन् भनेर विश्‍वास गर्नेथिए। भर्खरै, मैले केही वैज्ञानिक अनुसन्धानकर्ताहरूले मानवजातिको पुर्खा, करोडौँ वर्ष पहिलेको विशाल मुसाको प्रजाति थियो भनेर समेत भनेको सुनेँ—कस्तो हास्यास्पद र विचित्र सिद्धान्त! यदि तैँले तिनीहरूलाई मानिसहरूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो भनेर मान्न, मानिसहरूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो भनेर विश्‍वास गर्न लगाउने प्रयास गरिस् भने, तैँले यो कुरा चाहे जसरी भने पनि, तिनीहरू यसलाई मान्न इन्कार गर्छन्। यो तथ्य तिनीहरूको आँखा अगाडि प्रस्तुत गरिए पनि, तिनीहरू अझै पनि विश्‍वास गर्दैनन्। तिनीहरू मानिसहरू बाँदरहरूबाट विकसित भएका हुन्, वा तिनीहरू मुसाका सन्तान हुन्, वा तिनीहरू अजिङ्गरहरूका सन्तान हुन् भन्‍ने मात्रै विश्‍वास गर्छन्। तिनीहरूले मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो—मानिसको जीवन र सास परमेश्‍वरले दिनुभएको हो भनेर विश्‍वास गर्नुको सट्टा यस्ता प्रकारका दियाबलसीय शब्दहरूमा विश्‍वास गर्नेथिए। तिनीहरू यो विश्‍वास गर्दैनन्, यसलाई मान्दैनन्, र यो तथ्यलाई स्वीकार गर्न अनिच्छुक हुन्छन्। के यो पथभ्रष्ट होइन र? (हो।) यदि तैँले तिनीहरू अजिङ्गरहरूका सन्तान हुन् भनेर भनिस् भने, तिनीहरू खुसी हुन्छन्। यदि तैँले तिनीहरू बाँदरहरूबाट विकसित भएका हुन् र तिनीहरू बाँदरहरूका सन्तान हुन् भनेर भनिस्, वा एउटा ठूलो मुसा तिनीहरूको पुर्खा हो भनेर भनिस् भने, तिनीहरू भन्छन्, “हो, कस्तो सम्मानको कुरा!” तर यदि तैँले मानिसहरूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो भनेर भनिस् भने, तिनीहरू शत्रुवत् बन्छन्—तिनीहरूका आँखा रिसले रातोपिरो हुन्छन्, र तिनीहरू तँप्रति घृणाले भरिन्छन्। यो कति पथभ्रष्ट कुरा हो!

दियाबलसहरूबाट पुनर्जन्म भएका मानिसहरू सत्यताबारे गरिने सङ्गतिका शब्दहरू सुन्‍न सबैभन्दा बढी अनिच्छुक हुन्छन्। विशेष गरी जब त्यस्ता शब्दहरू आफैलाई चिन्‍ने, विभिन्‍न प्रकारका मानिसहरूको स्थितिलाई चिरफार गर्ने, सत्यता वास्तविकताहरूमा कसरी प्रवेश गर्ने, वा सत्यताको अभ्यास गर्ने सिद्धान्तहरू के हुन्, तीसँग सम्बन्धित हुन्छन्, तब तिनीहरूलाई हृदयमा चरम विकर्षण हुन्छ, यसका साथै, तिनीहरू विकृत बुझाइ र रायहरू फैलाउँछन्। उदाहरणका लागि, जब मण्डलीले कतिपय दुष्कर्मीहरूलाई निकाल्छ, तब यस्तो प्रकारको व्यक्तिले यस्ता कुरा भन्दै अरूलाई उक्साउँछ, “परमेश्‍वरको घरलाई मानिसहरूप्रति कुनै प्रेम छैन। यो त तिनीहरूले गोरुले खेत जोतेपछि ती गोरुलाई काटिरहेका छन् भनेजस्तै छ,” वा, “यी मानिसहरूले माथिल्लो स्तरका अगुवाहरूलाई चिढ्याएकाले नै तिनीहरूलाई निकालिएको हो।” तिनीहरू परमेश्‍वरको घरभित्र रहेको मण्डलीलाई पखाल्‍ने कामलाई सही रूपमा लिन सक्दैनन्, न त तिनीहरूसँग विशुद्ध बुझाइ नै हुन्छ—तिनीहरू यसबारे विकृत रूपमा सोच्ने र बोल्ने गर्छन्। तैँले तिनीहरूको मुखबाट विवेक वा समझका कुनै पनि शब्दहरू सुन्‍नेछैनस्, न त सकारात्मक कुराहरू जनाउने कुनै शब्दहरू नै सुन्‍नेछस्, सत्यता सिद्धान्तहरू अनुरूप कुरा त झनै सुन्नेछैनस्। तिनीहरूको हृदय गुनासा, अवज्ञा, र गथासोले भरिएको हुन्छ। जब तिनीहरूले असंयमित रूपमा आफ्ना दृष्टिकोणहरू व्यक्त गर्छन्, तब तिनीहरूले भन्‍ने कुराहरू र प्रकट गर्ने विचार र दृष्टिकोणहरू सबै पथभ्रष्ट र विकृत हुन्छन्। तँलाई यो अकल्पनीय लाग्छ—तैँले कसरी तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेका र प्रवचन सुनेका यति धेरै वर्ष भयो, र बाहिरी रूपमा तिनीहरू कति शिष्ट देखिन्छन् र खराब देखिँदैनन् भन्‍ने बारेमा सोच्छस्, र तिनीहरूले कसरी निर्णायक समयमा यी बेतुका कुराहरू भन्‍न सक्छन् भन्‍ने कुरामा तँलाई आश्चर्य लाग्छ। तिनीहरूले अन्ततः आफ्ना साँचो विचारहरू, तिनीहरूले आफ्ना हृदयमा लामो समयदेखि लुकाएका कुराहरू खुलासा गरेका हुन्छन्—के यसले साँच्‍चै नै तिनीहरूको समस्या प्रकट गर्दैन र? (गर्छ।) तिनीहरूले खुलासा गरेका साँचो विचारहरू पूर्ण रूपमा बङ्ग्याइएका तर्क र विधर्महरू हुन्छन्। त्यसोभए के तिनीहरूले अस्थायी खराब मुडका कारण यी बङ्ग्याइएका तर्क र विधर्महरू व्यक्त गरेका थिए त? (थिएनन्।) अवश्य नै थिएनन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेका र प्रवचनहरू सुनेका वर्षहरू जतिसुकै भए पनि, यी विचारहरू सधैँ तिनीहरूको हृदयमा लुकेका हुन्छन्, र ती कहिल्यै पनि बाहिर प्रकट हुँदैनन्। तर जब निर्णायक क्षण आउँछ र तिनीहरूले आफूले भन्‍न चाहेका कुरा नभनी बस्न सक्दैनन्, तब यो ज्वालामुखी जस्तै विस्फोट हुन्छ—यो तिनीहरूभित्र अत्यन्तै तीव्र रूपमा उम्लिरहेको हुन्छ, र एक दिन तिनीहरूले यसलाई थामेर राख्न सक्दैनन्, र यो पथभ्रष्ट रिस विस्फोट हुन्छ। जब तिनीहरूको दियाबलसीय प्रकृति प्रस्फुटन हुन्छ, तब सबै किसिमका विकृत तर्क र विधर्म र भ्रमहरू देखा पर्छन्—तिनीहरू परमेश्‍वरबारे गुनासोका शब्दहरू, परमेश्‍वरको निन्दा गर्ने शब्दहरू, परमेश्‍वरलाई अपमान गर्ने शब्दहरू, मानिसहरूप्रति ईर्ष्या र घृणाका शब्दहरू, उक्साउने शब्दहरू बोल्छन्—तिनीहरूले सबै किसिमका दियाबलसीय शब्दहरू बोल्छन्, र त्यसपछि मात्रै तैँले तिनीहरू दियाबलस हुन् र तिनीहरू पूर्ण रूपमा प्रकट भएका छन् भन्‍ने महसुस गर्छस्। यसभन्दा पहिले, प्रवचनहरू सधैँ तिनीहरूका लागि बुझ्‍न नसकिने कुरा हुन्थे र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्ष कहिल्यै सत्यता बुझेका थिएनन् भन्‍ने तैँले याद गरेको थिइस्। तैँले तिनीहरूको क्षमता कमजोर छ र सत्यता तिनीहरूको बुझ्‍ने क्षमताभन्दा बाहिर छ भन्‍ने अनुमान गरिस्, त्यसकारण तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीका रूपमा लिइस् र तिनीहरूलाई सहयोग गर्ने प्रयास गरिस्। तैँले तिनीहरूसँग मनका कुरा खोलिस् र तेरा आफ्नै भ्रष्ट स्वभावहरू कसरी पखालिएका छन् भन्‍ने बारेमा कुरा गरिस्। तर तैँले तिनीहरूसँग जसरी सङ्गति गरे पनि, तिनीहरूले तिनीहरू वास्तवमा कस्ता छन् भनेर कुरा गर्न कहिल्यै आफ्नो हृदय खोलेनन्। तैँले कहिल्यै यो कुरा बुझ्न सकिनस्: तिनीहरू किन आफ्नो हृदय खोल्न सक्थेनन्? तिनीहरूले किन आफ्नो वास्तविक स्थिति उदाङ्गो पारेनन्? के तिनीहरूले कहिल्यै भ्रष्ट स्वभावहरू प्रकट नगरेका हुन सक्छन्? तैँले कहिल्यै पनि तिनीहरूलाई छर्लङ्ग देख्‍न सकिनस्, र तैँले तिनीहरू शिष्ट र सरल अनि सोझा छन् भन्ने समेत ठान्‍ने गर्थिस्। अहिले मात्रै तिनीहरूको दियाबलसीय प्रकृति प्रस्फुटन भएपछि र तिनीहरूले परमेश्‍वरबारे गुनासो गर्ने र ईश्‍वरनिन्दा गर्ने अत्यन्तै धेरै कुराहरू भनेपछि तिनीहरूसँग वास्तवमा कुनै मानवता छैन र तिनीहरू पूर्ण रूपमा दियाबलसीय प्रकृतिका छन् भन्‍ने तैँले देख्छस्। तँलाई यस्तो लाग्छ, “यो व्यक्ति भयानक छ! उसले परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्ष भएको छ, तर उसले सधैँ हृदयमा सत्यतालाई घृणा र प्रतिरोध गरेको रहेछ! उसले कसैसँग खुलस्त कुरा नगर्नु कुनै अचम्मको कुरा होइन—उसलाई त अरूले उसको दियाबलसीय प्रकृति छर्लङ्ग देख्‍नेछन् भन्‍ने डर लागेको रहेछ! ऊ खाँटी दियाबलस हो!” तैँले उसको सार छर्लङ्ग देखेपछि, तँलाई यति वर्ष तँ पूर्ण रूपमा अन्धो भएको रहेछस् भन्‍ने लाग्छ—हरेक दिन ऊसँग आफ्नो कर्तव्य निर्वाह गर्दै र मण्डली जीवन जिउँदै, पूरै समय उसलाई असल व्यक्ति, परमेश्‍वरको घरको सदस्य, परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये एक भनेर सोचेको रहेछस्, र तँसँग ऊबारे कुनै सुझबुझ रहेनछ। त्यो अत्यन्तै डरलाग्दो परिस्थिति हो! यदि तँ दाजुभाइ-दिदीबहिनीहरूसँग जिउँछस् र अन्तरक्रिया गर्छस्, र तैँले कसैमा भ्रष्ट स्वभावहरू छन् वा उसले आफ्‍नो कर्तव्यमा सिद्धान्तहरू उल्लङ्घन गर्छ भन्‍ने पत्ता लगाउँछस्, र तैँले ऊसँग सत्यताबारे सङ्गति गर्छस् र उसलाई सहयोग गर्छस्, र उसले यसलाई स्वीकार गर्न र कृतज्ञता व्यक्त गर्न सक्छ भने, तँलाई निकै सन्तुष्टि हुनेछ—तँलाई यो व्यक्ति अत्यन्तै असल छ, उसले सत्यतालाई प्रेम गर्छ भन्‍ने महसुस हुनेछ; तँलाई ऊबाट बिलकुलै विकर्षण महसुस हुनेछैन। तर यदि तैँले कुनै दियाबलससँग कैयौँ वर्ष सङ्गत गर्छस्, र उसलाई सधैँ दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गर्छस्, र प्रायजसो उसलाई सहयोग गर्छस्, साथ दिन्छस्, र उसलाई प्रेम, धैर्य, र सहिष्णुता देखाउँछस्, तैपनि, उसले तँलाई निकै शत्रुताको साथ व्यवहार गर्छ, तँलाई सधैँ आफ्‍नो शत्रु मानेर तँप्रति सतर्क हुन्छ, र उसले हृदयमा सत्यतालाई अलिकति पनि स्वीकार गर्दैन, र ऊ दियाबलस बाहेक केही पनि होइन भन्‍ने कुरा तैँले झन्-झन् महसुस गर्छस् भने—तँलाई कस्तो लाग्‍नेथियो? हामीले भर्खरै उल्लेख गरेको निष्कासित व्यक्तिको हकमा भन्दा—यदि तिमीहरूले यस्तो प्रकारको व्यक्तिसँग सङ्गत गर्‍यौ, र कुनै दिन उसको मानवता यति दुष्ट छ कि, उसले हृदयमा परमेश्‍वरलाई घृणा गर्ने र सत्यतालाई पटक्‍कै स्वीकार नगर्ने मात्र होइन, तर उसलाई प्रेमका साथ सहयोग गर्नेहरूलाई पनि उसले घृणा गर्छ भन्‍ने पत्ता लगायौ, जसले गर्दा तँ यस्तो व्यक्ति खाँटी दियाबलस हो भन्‍ने कुरामा निश्‍चित भइस् भने, तँलाई कस्तो लाग्‍नेथियो? (मलाई म साँच्‍चै नै मूर्ख भएको छु भन्‍ने लाग्थ्यो।) सुरुमा, तँलाई तँ मूर्ख भएको छस् भन्‍ने लाग्‍नेथियो, र तैँले त्यस्तो व्यक्तिमा कसरी यति धेरै व्यर्थको मेहनत गरेछस् भनेर तँलाई अचम्म लाग्‍नेथियो। अरू के लाग्नेथियो? (मलाई अलिक घिन लाग्‍नेथियो।) कोप्रति घिन लाग्थ्यो? ऊप्रति कि आफूप्रति? (ऊप्रति घिन लाग्थ्यो, तर उसलाई खुट्ट्याउन नसकेकोमा आफूप्रति पनि घिन लाग्‍नेथियो।) त्यसोभए, के तँ भविष्यमा अझै पनि उसलाई भेट्न वा ऊसँग सङ्गत गर्न चाहनेथिइस्? (चाहनेथिइनँ।) त्यसोभए तैँले ऊसँग कस्तो सम्बन्ध स्थापित गर्न चाहनेथिइस्? ऊसँग सङ्गत गर्दा तैँले कस्तो शैली अपनाउन चाहनेथिइस्? (म उसलाई फेरि कहिल्यै हेर्न चाहनेथिइनँ—म ऊबाट जति टाढा बस्न सक्छु, त्यति नै राम्रो हुनेछ।) त्यसोभए यदि, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले कहिलेकहीँ अझै पनि उसलाई भेट्नुपर्दा वा ऊसँग कामबारे छलफल गर्नुपर्दा, र तँ ऊबाट जोगिन सकिनस् भने के गर्नेथिइस्? के तिमीहरूले यसका लागि कुनै सिद्धान्त र अभ्यासको पथ निकालेका छौ? तिमीहरूलाई ऊप्रति घिन लाग्छ र त्यसकारण तिमीहरू ऊबाट जोगिन र उसलाई हेर्न चाहँदैनौ, तर यदि तिमीहरूले उसलाई आफ्नो कर्तव्यमा भेट्न मानेनौ भने, यसले काममा ढिलाइ गर्नेछ र असर गर्नेछ—त्यसकारण तिमीहरूले के गर्नुपर्छ? के तिमीहरूसँग कुनै असल समाधानहरू छन्? (छैनन्।) त्यसोभए म तिमीहरूलाई दुई वटा समाधानहरू बताउनेछु। पहिलो के हो भने, यदि यस्तो व्यक्ति सेवा दिन मण्डलीमा रहन सक्छ भने, जब तँ आफ्नो कर्तव्यमा ऊसँग सम्पर्कमा हुनु पर्दैन, तब तँ सम्पर्कमा नबसे पनि हुन्छ। किनभने तँलाई ऊप्रति घिन लाग्छ, ऊसँग सम्पर्कमा हुँदा अप्ठ्यारो र पीडादायी महसुस हुन्छ, र उसले तँलाई ऊप्रति घिन लाग्छ भन्‍ने कुरा थाहा पाउन पनि सक्छ, जुन कुराले उसलाई व्याकुल तुल्याउँछ। त्यसकारण, तैँले ऊसामु पहिलेको जस्तै आफ्नो हृदय उदाङ्गो पार्नु र आफ्ना भित्री विचारहरू बताउनु पर्दैन। बरु, बस सहिष्णु र धैर्यवान् बन्, र बुद्धिमानी विधिहरू प्रयोग गरेर ऊसँग अन्तरक्रिया गर्—त्यो नै पर्याप्त हुन्छ। यो एउटा सिद्धान्त हो। अर्को के हो भने, जब तँ आफ्नो काममा ऊसँग सम्पर्कमा हुनुपर्ने हुन्छ, तब तैँले उसलाई दिइएको काम र सम्बन्धित सत्यता सिद्धान्तहरू स्पष्ट रूपमा व्याख्या गर्नुपर्ने हुन्छ। तैँले ध्यान दिनुपर्ने एउटा बुँदा छ—तैँले उसलाई खटाइएको उसले काम सफलतापूर्वक पूरा गर्न सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ। यदि उसले आम रूपमा यो कामका केही भाग पूरा गर्न सक्छ भने, ऊसँग सङ्गति गरेर निष्पक्ष र वस्तुगत रूपमा मामला सम्हाल्। तर यदि ऊ यो काममा सधैँ झाराटारुवा र गैरजिम्मेवार हुन्छ भने, तँलाई उसलाई काम सुम्पँदा सहज महसुस हुनु हुँदैन, बरु तैँले अरू कसैलाई छनौट गर्नुपर्छ। यदि यस विन्दुमा, उपयुक्त उम्मेदवार छैन र तँसँग उसलाई प्रयोग गर्ने बाहेक अरू कुनै विकल्प छैन भने, तैँले के गर्नुपर्छ? तैँले उसलाई सुपरिवेक्षण गर्ने कसैको प्रबन्ध गर्नुपर्छ। उसले वास्तविक काम नगरिरहेको वा बाधा वा अवरोधहरू ल्याउने तरिकाले व्यवहार गरिरहेको पत्ता लगाउने बित्तिकै, यसबारे तुरुन्तै रिपोर्ट गर्नुपर्छ। यदि उसलाई सुपरिवेक्षण गर्ने व्यक्तिले प्रभावकारी रूपमा त्यसो गर्न सकेन भने, थप एउटा समाधान छ: अगुवा र कामदारहरूले व्यक्तिगत रूपमा उसको सुपरिवेक्षण गर्नुपर्छ र उसको कामको अनुगमन गर्नुपर्छ, र यी अनुगमनहरूको निरन्तरता अलिक बढी हुनुपर्छ। किनभने त्यस्ता मानिसहरू अत्यन्तै भरहीन हुन्छन्; तिनीहरूलाई नजिकबाट निगरानी नगर्ने बित्तिकै, तिनीहरूले दुष्कर्म गर्ने र मण्डलीको काममा अवरोध र बाधा दिने सम्भावना हुन्छ, त्यसपछि तिनीहरूलाई प्रयोग गर्दा आइपर्ने घाटाहरू फाइदाहरूभन्दा बढी हुन्छन्। त्यसकारण, यदि तैँले तिनीहरूसँग कामका लागि अन्तरक्रिया गर्नु नै पर्छ भने, तँ यसबाट जोगिन सक्दैनस्। तैँले तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूको साँचो रूप देख्‍न सक्छस् भन्दैमा तँ तिनीहरूबाट टाढा बस्‍न वा तैँले तिनीहरूलाई बेवास्ता गर्न सक्दैनस्—त्यो गैरजिम्मेवारीको प्रकटीकरण हुनेछ। तैँले तिनीहरूलाई खुट्ट्याउन सक्‍ने हुनाले, र तिनीहरूको प्रकृति सार दियाबलसको सार हो भन्‍ने तँलाई थाहा हुने हुनाले, र तिनीहरूले दुष्कर्म गर्न र बाधाहरू दिन सक्छन् भन्‍ने तँलाई थाहा हुने हुनाले, डर वा घृणाका कारण तिनीहरूलाई बेवास्ता गर्नुको सट्टा, तिनीहरूको सुपरिवेक्षण र अनुगमन गर्ने जिम्मेवारी तँमा अझै बढी हुन्छ। अगुवा वा कामदारका रूपमा, तेरो सबैभन्दा ठूलो जिम्मेवारी भनेको परमेश्‍वरको घरका ढोकाहरूको रक्षा गर्नु, परमेश्‍वरको घरको कामको सुरक्षा गर्नु, र दाजुभाइ-दिदीबहिनीहरूको हेरचाह गर्नु हो। अहिले एउटा दियाबलसले आफ्‍नो साँचो रूप प्रकट गरेकोले र तैँले उसलाई छर्लङ्ग देखिसकेकोले र ऊ कस्तो दुष्ट मानिस हो भन्‍ने कुरा थाहा पाइसकेकोले, तैँले उसलाई अझै राम्ररी सुपरिवेक्षण गर्नुपर्छ, ताकि उसले सकेसम्म प्रभावकारी रूपमा सेवा प्रदान गरोस्—तैँले गर्नुपर्ने कुरा यही हो। तैँले उसलाई छर्लङ्ग देखेको आधारमा मात्रै उसलाई ध्यान नदिने वा उसलाई बुझाइनुपर्ने काम स्पष्ट रूपमा व्याख्या नगर्ने गर्नु हुँदैन, वा उसले तँलाई कामसँग सम्बन्धित समस्याहरूका बारेमा सोध्दा पनि ऊसँग सङ्गति गर्न नमान्‍ने गर्नु हुँदैन। के त्यो त परमेश्‍वरको घरको काममा आफ्नो रिस पोख्नु होइन र? के त्यो परमेश्‍वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशलाई बेवास्ता गर्नु होइन र? यदि तैँले यसो गरिस् भने, तँ गलत हुन्छस्—यसको अर्थ तैँले आफ्नो जिम्मेवारी पूरा गरेको छैनस् भन्‍ने हुन्छ। तेरो व्यक्तिगत जीवनमा, तैँले ऊसँग पटक्‍कै व्यवहार नगर्न सक्छस्, र तैँले उप्रान्त पहिलेको जस्तै ऊसँग सङ्गत नगर्न सक्छस्। तर यदि परमेश्‍वरको घरको कामले तँलाई ऊसँग अन्तरक्रिया गर्न र सङ्गत गर्न आवश्यक गराउँछ भने, तँ यो जिम्मेवारीबाट पछि हट्न सक्दैनस्—यो तेरो कर्तव्य र जिम्मेवारी हो, र तैँले यसबाट जोगिन बहानाहरू बनाउन सक्दैनस्। दियाबलसहरूको हकमा भन्दा, केवल आफ्नो दूरी कायम राख्‍ने, तिनीहरूलाई इन्कार गर्ने, तिनीहरूबाट जोगिने, र हृदयमा तिनीहरूप्रति तिरस्कार र वितृष्ण महसुस गर्ने शैली परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुँदैन। तैँले तिनीहरूलाई सुपरिवेक्षण र रोकटोक पनि गर्नुपर्छ। यदि तिनीहरू सेवा दिन इच्छुक छन् भने, तैँले तिनीहरूलाई सहयोग गर्नुपर्छ र उचित रूपमा सेवा दिनका लागि तिनीहरूलाई प्रयोग गर्नुपर्छ—तिनीहरूलाई सकेसम्म प्रभावकारी रूपमा सेवा दिन सक्षम तुल्याउनुपर्छ। यदि तिनीहरू उचित रूपमा सेवा दिँदैनन् र, एक क्षण पनि निगरानी नगरी छोड्दा, मण्डलीको काममा बाधा दिन र त्यसलाई बरबाद गर्न सक्छन् भने, तिनीहरूले ल्याउने हानि तिनीहरूको उपयोगिताभन्दा बढी हुन्छ, र तिनीहरूलाई तुरुन्तै निकाल्‍नुपर्छ। त्यस्ता नकारात्मक उदाहरणहरूलाई आवश्यक परेको बेला चिरफारका लागि उठाउनुपर्छ, ताकि दाजुभाइ-दिदीबहिनीहरूले सुझबुझ प्राप्त गर्न सकून्, दियाबलसहरू र शैतानहरूको प्रकृति सार छर्लङ्ग देख्‍न सकून्, त्यसपछि तिनलाई हृदयदेखि इन्कार गर्न सकून्, र तिनीहरूको बहकाइ, बाधा, वा नियन्त्रणमा नपरून्। दियाबलसहरू र शैतानहरूलाई प्रयोग गर्नु, परमेश्‍वरका चुनिएका मानिसहरूको सेवा गर्नका लागि सबै कुरा प्रयोग गर्नु भनेको यही हो। यो तिमीहरूको जिम्मेवारी हो—तिमीहरूले गर्नुपर्ने कुरा यही हो। तर तिमीहरूसँग यो जिम्मेवारीको बोध छैन। तिमीहरूले यसभन्दा पहिले भनेको जस्तै—तिमीहरूले यस्तो व्यक्तिबारे सुझबुझ प्राप्त गरेपछि, तिमीहरूलाई घृणा लाग्छ र तिमीहरूलाई उप्रान्त ऊसँग भेट्न मन लाग्दैन, र यदि तिमीहरूले उसलाई देख्यौ भने, तिमीहरू तर्किन्छौ, र सकेसम्म टाढा बस्छौ। तिमीहरूसँग भएको समाधान त्यति मात्र हो। परमेश्‍वरको घरको कामका लागि, परमेश्‍वरको घरका हितहरूका लागि, वा दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशका लागि तिमीहरूसँग कुनै बोझको बोध छैन। यो तिमीहरूको कद हो—यो प्रकट भएको छ, होइन त? तैँले दियाबलसको सार छर्लङ्ग देख्छस्, त्यसपछि तँ उसलाई देख्दा ऊबाट तर्किन्छस्। तर तैँले दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्दैनस्, र नतिजा स्वरूप, तिनीहरूलाई हानि हुन्छ। तँ अगुवा वा कामदारका रूपमा रहेको आफ्नो जिम्मेवारी पूरा गर्न असफल हुन्छस्—यो जिम्मेवारीबाट विमुख हुनु हो। जब दियाबलस अझै प्रकट भइसकेको हुँदैन, तब तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई सचेत गराउनुपर्छ, तिनीहरूलाई दुष्ट मानिसहरूप्रति सावधान हुन सम्झाउनुपर्छ, दियाबलसले के गरेको छ, उसले किन त्यस्ता कुराहरू गरेको छ, उसका कार्यको प्रकृति के हो, यी कार्यहरूले के-कस्ता प्रभावहरू ल्याउन सक्छन् र तिनले के-कस्ता परिणामहरू ल्याउन सक्छन्, परमेश्‍वरले यो दियाबलसलाई कसरी ठहर गर्नुहुन्छ, र उसलाई कस्तो शैलीले व्यवहार गर्नुपर्छ भनेर बताउनुपर्छ। दाजुभाइ-दिदीबहिनीहरूले सुझबुझ प्राप्त गरेपछि, र दियाबलसले सेवा प्रदान गरिसकेपछि र दाजुभाइ-दिदीबहिनीहरू वा परमेश्‍वरको घरका लागि उसको कुनै मूल्य नभएपछि, तैँले उसलाई निकाल्‍नुपर्छ, यसरी यो दियाबलस र शैतानको जीवन नै समाप्त गर्नुपर्छ। बुद्धि यसैलाई भनिन्छ—सिद्धान्तहरू अनुसार काम गर्नु र अभ्यासको मार्ग हुनु भनेको यही हो। तँ आफ्नो व्यक्तिगत जीवनमा यस्तो व्यक्तिसँग कसरी सङ्गत गर्छस् त्यो तेरो आफ्नो कुरा हो—त्यो तेरो स्वतन्त्रता हो। तर अगुवा वा कामदारका रूपमा, तैँले एउटा जिम्मेवारी वहन गर्नु नै पर्छ: तैँले दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्नु नै पर्छ, र परमेश्‍वरको घर र मण्डलीको कामका हितहरूको संरक्षण गर्नु नै पर्छ। यो सिद्धान्तका आधारमा, दियाबलसका रूपमा रहेको यस्तो व्यक्तिले अहिले सेवा दिइरहेको छ भने, तैँले ऊविरुद्ध हतार-हतार कारबाही गर्नु हुँदैन। तैँले उसको काम सुपरिवेक्षण गर्नुपर्छ र उसले के गरिरहेको छ भनेर हेर्नका लागि उसको हरेक चाल नजिकबाट अवलोकन गर्नुपर्छ। कुनै कुरा गलत छ भन्‍ने कुनै लक्षणहरू देखा पर्ने बित्तिकै, तैँले तुरुन्तै उसलाई खुलासा गर्ने र काट-छाँट गर्ने, वा पदबाट हटाउने कार्य अभ्यास गर्नुपर्छ। यदि खुलासा र काट-छाँट भएपछि उसले थोरै सेवा दिन सक्छ भने, त्यो मण्डलीको कामका लागि फाइदाजनक नै हुन्छ। तर उसले सेवा दिन चाहँदैन, असल मार्ग लिइरहेको छैन, र बाधा तथा अवरोध दिनुका साथै दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन आफ्ना दुष्ट नङ्ग्राहरू फैलाउन लागेको छ भन्‍ने पत्ता लागेपछि, दियाबलसले आफ्‍नो साँचो रूप प्रकट गर्ने समय त्यही हो, र ऊविरुद्ध कारबाही गर्ने सही समय त्यही हुन्छ। उसलाई सेवा गर्ने मौका दिइयो तर उसले उचित रूपमा सेवा दिएन—त्यसो हो भने उसलाई समूह ख मा पठा। यदि परिस्थिति गम्भीर छ भने, उसलाई निकाल्‍ने वा निष्कासित गर्ने अभ्यास गर्—शैतानको नियतिलाई अन्त्य गर्ने क्षण पनि यही हो। जबसम्‍म तिमीहरूले यी दुई सिद्धान्तहरू पालना गर्छौ, तबसम्‍म तिमीहरूले दुष्ट मानिसहरू र दियाबलसहरूलाई सिद्धान्त अनुरूप व्यवहार गर्न सक्‍नेछौ। के यसरी कार्य गर्नु भनेको आफ्नो जिम्मेवारी पूरा गर्नु हो? (हो।) एक हिसाबमा, तँसँग दियाबलसहरूप्रति सुझबुझ हुनेछ, तँलाई तिनीहरूले उप्रान्त बहकाउनेछैनन् वा बाधा दिनेछैनन्, र तैँले उप्रान्त मूर्ख कामकुराहरू गर्नेछैनस्—कम्तीमा पनि, तैँले दियाबलसहरूका रूपमा रहेका यस्ता मानिसहरूसँग उप्रान्त सत्यताबारे सङ्गति गर्न छोड्नेछस्। तेरो हृदयमा, तैँले यो कुरा जान्‍नेछस्: यो मान्छे दियाबलस हो—ऊसँग सत्यताबारे सङ्गति गर्नु भनेको सुँगुरको अघि मोती फ्याँक्नु जस्तै हो; ऊसँग जसरी सत्यतामा सङ्गति गरिए पनि, त्यो व्यर्थ हुनेछ। त्यसरी, तैँले मूर्ख कामकुराहरू गर्न जारी राख्नेछैनस्। तैँले ऊसँग उसले बुझ्नुपर्ने केही धर्मसिद्धान्तहरू, र उसले पालन गर्नुपर्ने प्रावधानहरूका बारेमा मात्रै कुरा गर्नेछस्—त्यो नै पर्याप्त हुन्छ। यदि तैँले यसरी अभ्यास गरिस् भने, मण्डलीको काममा असर पर्नेछैन। तर यदि तैँले सिद्धान्तहरू बुझेको छैनस् भने, तँ मूर्ख कुराहरू गर्न सक्छस्। अर्को हिसाबमा, सत्यतालाई अलिकति पनि स्वीकार नगर्ने यी सेवाकर्ता र दियाबलसहरूलाई अगुवा र कामदारहरूले उचित रूपमा सुपरिवेक्षण र उपयोग गर्नुपर्छ। यसरी अभ्यास गर्दा यसले मण्डलीको काममा हानि हुँदैन भन्‍ने कुरा सुनिश्‍चित गर्न सक्छ, साथै दियाबलसहरू र शैतानहरूद्वारा बहकाइन र बाधा दिइनबाट दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिन सक्छ। बुझिस्? (बुझेँ।) तैँले दुष्ट मानिसहरू र दियाबलसहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका रूपमा बिलकुलै व्यवहार गर्नु हुँदैन। तँसँग दियाबलसहरू र दुष्ट मानिसहरूबारे सुझबुझ भएसम्म, तैँले उप्रान्त मूर्ख कुराहरू गर्नेछैनस्। विगतमा, मानिसहरूमा सुझबुझको कमी हुन्थ्यो र तिनीहरूले धेरै मूर्ख कुराहरू गर्थे—सधैँ दुष्ट मानिसहरू र दियाबलसहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका रूपमा व्यवहार गर्थे, र दियाबलसहरूलाई सधैँ आफ्नो खिल्ली उडाउन दिन्थे। जब तैँले दियाबलसहरूसँग सङ्गति गर्न आफ्नो हृदय खोल्थिस्, तब तिनीहरू सोच्थे, “तँ कति इमानदार, कति शुद्ध र खुलस्त छस्—तँ साँच्‍चै नै मूर्ख होस्!” र मनमनै तँलाई गिज्याउँथे। अहिले तँसँग दियाबलसहरूबारे सुझबुझ भएको हुनाले, तैँले उप्रान्त यस्तो मूर्ख काम गर्नेछैनस्। तँलाई अहिले के थाहा भयो भने, तैँले साँचा दाजुभाइ-दिदीबहिनीहरू, सत्यता पछ्याउने र मानवता भएका मानिसहरूसँग मात्रै सङ्गतिमा आफ्नो हृदय खोल्नुपर्छ वा तिनीहरूलाई साथ दिनु र सहयोग गर्नुपर्छ—दियाबलसहरूसँग होइन। यो एउटा पक्ष हो। अर्को के हो भने तँ उप्रान्त दियाबलसहरूप्रति डरपोक हुँदैनस् वा तिनीहरूसँग डराउँदैनस्। तिनीहरू दियाबलसहरू हुन् भन्‍ने तँलाई थाहा हुन्छ, र तिनीहरूले आफ्नो हृदयमा के सोचिरहेका छन् भन्‍ने तँलाई थाहा हुन्छ। अहिले तैँले तिनीहरूका बारेमा सुझबुझ प्राप्त गरेको हुनाले, तिनीहरूलाई उचित रूपमा कसरी व्यवहार गर्ने भन्‍ने तँलाई थाहा छ। तैँले सधैँ तिनीहरूलाई नजिकबाट नियाल्नुपर्छ—तिनीहरूले के गर्ने प्रयास गरिरहेका छन्, तिनीहरूले आफ्नो हृदयमा के कुराको हिसाबकिताब र षड्यन्त्र गरिरहेका छन्, तिनीहरूले कामका कुन-कुन भागहरूमा बाधा, अवरोध, र ध्वस्त पार्न सक्छन्, तिनीहरूले अरूलाई उक्साउन र बहकाउन कस्ता शब्दहरू प्रयोग गर्न सक्छन्, र तिनीहरूले के-कस्ता उद्देश्यहरू हासिल गर्ने प्रयास गरिरहेका छन् भन्‍ने कुरा हेर्नुपर्छ। तैँले यी सबै कुराहरू स्पष्ट रूपमा देखेपछि, तैँले उचित रूपमा कसरी व्यवहार गर्ने भन्‍ने कुरा जान्‍नेछस्, र तैँले सत्यता सिद्धान्तहरू पालना गरिरहेको हुनेछस्।

हामीले दियाबलसहरूबाट पुनर्जन्म हुने मानिसहरूका पथभ्रष्ट प्रकटीकरणहरूलाई खुट्ट्याउने बारेमा सङ्गति गरेपछि, सायद तिमीहरूमध्ये धेरैजसोको हृदयमा अब केही स्पष्टता आएको छ र तिमीहरूमा अलिक सुझबुझ पनि छ—जस्तै, यति धेरै वर्ष अन्तरक्रिया गरेपछि, कुन-कुन मानिसहरू दियाबलसहरू जस्ता देखिन्छन्, जसलाई तिमीहरूले अबदेखि आफ्ना साँचो भावनाहरू बताउनेछैनौ; र कुन-कुन मानिसहरू दाजुभाइ-दिदीबहिनीहरू हुन्, जससँग तिमीहरूले अझै धेरै सङ्गत गर्नेछौ, जोसँग अझै नजिक हुनेछौ, र कुनै कुरा आइपर्दा—थप सङ्गति गर्नेछौ। यसरी, तिमीहरूले हरेक प्रकारको व्यक्तिलाई व्यवहार गर्दा सिद्धान्त अनुरूप व्यवहार गर्नेछौ, र तिमीहरूले गल्ती गर्नेछैनौ। तर के धेरैजसो मानिसहरू दियाबलसहरूलाई खुट्ट्याउने, दियाबलसहरूको प्रकृतिलाई छर्लङ्ग देख्‍ने अवस्थामा पुग्‍न सक्छन्? अनि यदि दियाबलस सेवा दिन इच्छुक छ भने, के तिनीहरूले दियाबलसको सेवा उपयोग गर्न सक्छन्? धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूले यसरी अभ्यास गर्न सक्दैनन्—तर अगुवा र कामदारहरूले यसरी अभ्यास गर्न सक्‍नु नै पर्छ। तिनीहरूले त्यसो गर्न सक्नु नै पर्छ भनेर मैले किन भनेँ? किनभने अगुवा वा कामदारका रूपमा, तैँले कामकुराहरूलाई राम्ररी जाँच्नुपर्छ। तैँले दुष्ट व्यक्तिले दुष्कर्म गरिरहेको पत्ता लगाएपछि, तैँले उसलाई तुरुन्तै खुलासा गर्न र चिरफार गर्न, र उसका बाधा र अवरोधहरूलाई काबुमा राख्न सक्नुपर्छ। यदि तैँले यसरी अभ्यास गर्न सक्छस् भने, तैँले मण्डलीको कामको सामान्य प्रगतिलाई सुनिश्‍चित गर्न सक्‍नेछस्, र दाजुभाइ-दिदीबहिनीहरू सुरक्षित हुनेछन्—तिनीहरूको सुझबुझमा वृद्धि हुनेछ, र दियाबलसहरूको बाधाका कारण तिनीहरूको जीवन प्रवेशमा घाटा हुनेछैन। यदि तँ यसरी अभ्यास गर्न सक्दैनस् भने—यदि तँ दियाबलसहरूलाई काबुमा पार्न सक्दैनस्, ढोकाको रक्षा गर्न सक्दैनस् भने—दियाबलसहरू निरन्तर बाधा दिन आउनेछन्। आज तिनीहरूले एउटा व्यक्तिलाई बाधा दिन्छन्, उसलाई नकारात्मक र सुसमाचार प्रचार गर्ने कार्यप्रति उदासीन बनाउँछन्; भोलि तिनीहरूले अर्को व्यक्तिलाई बाधा दिन्छन्, उसलाई आफ्नो कर्तव्य निर्वाह गर्न नचाहने बनाउँछन्, यसरी काममा ढिलाइ हुन्छ र तँ प्रतिस्थापन गर्नका लागि व्यक्ति खोज्न बाध्य हुन्छस्। तैँले निरन्तर केही अप्रत्याशित र अनपेक्षित परिस्थितिहरू सम्हाल्नुपर्ने हुन्छ। के यसरी काम गर्नु अत्यन्तै निष्क्रिय कार्य हुँदैन र? (हुन्छ।) त्यसोभए अगुवा वा कामदारका रूपमा, के तँ मानकअनुरूप हुनबाट निकै चुकेको हुँदैनस् र? यदि तैँले अगुवा वा कामदारका रूपमा सेवा गरिरहेको थिइनस् भने, तैँले आफ्नो जीवन प्रवेश, परमेश्‍वरका वचनहरू खाने-पिउने कार्य, र आफ्नो कर्तव्य व्यवस्थापन गर्न सक्नेथिइस्। तर तैँले अगुवा वा कामदारका रूपमा सेवा गर्न थालेपछि, तँ हरेक दिन व्यस्त हुन्छस्—आत्तिँदै दौडधूप गर्छस्, र हतार-हतार काम गर्छस्। कि त ख्रीष्ट-विरोधी वा दुष्ट व्यक्ति देखा पर्छ र मण्डलीमा बाधा दिन्छ, कि त कतिपय दाजुभाइ-दिदीबहिनीहरू नकारात्मक बन्छन् र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनन्, कि त नयाँ विश्‍वासी अफवाहहरूद्वारा बहकिन्छ र उप्रान्त विश्‍वास गर्न चाहँदैन र ऊ पछि हट्छ। काम पर्याप्त रूपमा पूरा भइरहेको हुँदैन, जसले गर्दा जताततै समस्याहरू देखा पर्छन्, र यी समस्याहरू निरन्तर देखा पर्दा तँ अत्तालिन्छस् र हैरान हुन्छस् र तैँले हरेक दिनको सामना गर्न सक्दैनस्, राम्ररी खान वा सुत्न सक्दैनस्—तैपनि, काम अझै राम्ररी पूरा हुँदैन। त्यो कामका लागि साह्रै अयोग्य हुनु हो। त्यस्तो अगुवा वा कामदार मानकअनुरूप पटक्कै हुँदैन। तँ मानकअनुरूप हुँदैनस् भनेर म किन भन्छु? किनभने सबैले सत्यता बुझ्ने र सुझबुझ प्राप्त गर्ने गरी, तैँले देखा पर्न सुनिश्चित यी समस्याहरूका बारेमा अग्रिम रूपमा स्पष्ट रूपमा सङ्गति गरिनस् ताकि समस्याहरू देखापर्दा ती तुरुन्तै समाधान हुन सकून्। अर्को शब्दमा भन्दा, तैँले धेरैजसो मानिसहरूलाई यी कुराहरू सहन सक्‍ने क्षमताले सुसज्जित गर्न सजग तुल्याइनस्। अन्त्यमा, जब यी कुराहरू एकपछि अर्को गर्दै घटे, तब तँ अत्यन्तै निष्क्रिय बनिस्—सधैँ गडबडी मिलाउने, सधैँ दुष्परिणामहरू सफा गर्ने मात्रै गरिस्। यसको अर्थ तँ अगुवा वा कामदारका रूपमा मानकअनुरूप हुनबाट धेरै चुकेको हुन्छस्। तैँले विभिन्‍न प्रकारका दियाबलसहरूलाई व्यवहार गर्ने तरिकामा, तिनलाई सम्हाल्ने तेरा विधिहरू अनुचित हुन्छन्, तैँले गर्ने काम अपर्याप्त हुन्छ, र त्यसकारण मण्डलीका काममा निरन्तर बाधा पुग्छ, यो निरन्तर समस्याहरूले ग्रसित हुन्छ। तैँले सधैँ कुराहरूलाई समाधान गर्नुपर्ने र तिनलाई मिलाउनुपर्ने हुन्छ, त्यसकारण तँ अत्यन्तै व्यस्त हुन्छस्, र यो काम गर्ने कार्य अत्यन्तै कठिन हुन्छ।

के तिमीहरूलाई दियाबलसहरूबाट पुनर्जन्म लिने मानिसहरूलाई व्यवहार गर्ने दुई वटा सिद्धान्त याद छ? तीमध्ये मुख्य कुन हो? दियाबलसहरू र शैतानहरूको डर नमान र तिनीहरूबाट नतर्क। बरु, तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूको सार छर्लङ्ग देख्न, र तिनीहरूका विचारको प्रवृत्तिलाई बोध गर्न सिक; अर्थात्, तिनीहरूले मण्डलीमा के गर्न चाहन्छन्, र तिनीहरूले के-कस्ता उद्देश्यहरू हासिल गर्न चाहन्छन् भन्‍ने कुरा स्पष्ट रूपमा देख। यसरी, तिमीहरूले निष्क्रियतालाई पहलमा परिणत गर्न सक्छौ, र तिनीहरूलाई खुलासा गर्न र निराकरण गर्न सक्रिय रूपमा अग्रसरता जनाउन सक्छौ। यदि, दियाबलसहरू र शैतानहरूले बोलेको र व्यवहार गरेको देख्दा, तँलाई घिन मात्रै लाग्छ र तँ तिनीहरूलाई कुनै ध्यान दिन वा तिनीहरूसँग सहकार्य गर्न चाहँदैनस् र त्यत्ति मात्र हो भने—दियाबलसहरू र शैतानहरूले मण्डलीको काममा बाधा र अवरोध दिइरहेको देख्दा यसलाई बेवास्ता समेत गर्छस् भने—के यसरी कार्य गर्नु परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन्छ? (हुँदैन।) दियाबलसहरू र शैतानहरूले मण्डलीमा घुसपैठ गरेपछि, तिनीहरूले नियम पालना गर्ने तरिकाले मण्डली जीवन जिउनेछैनन्, नियम पालना गर्ने तरिकाले सेवा प्रदान गर्नु त परको कुरा हो। तिनीहरूले अपरिहार्य रूपमा नै बोल्नेछन् र कामकुरा गर्नेछन्, यहाँसम्म कि आफ्ना उद्देश्यहरू हासिल नभएसम्म तिनीहरू हरेस खाँदैनन्। त्यसकारण, दियाबलसहरूसँग व्यवहार गर्दा, तिमीहरू बुद्धिमान हुनुपर्छ, र सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्नुपर्छ। खुलासा र इन्कार गरिनुपर्नेहरूलाई खुलासा र इन्कार गर्नुपर्छ। जब दियाबलस अझै प्रकट भएको हुँदैन, तब यदि ऊ सेवा दिन तयार हुन्छ भने, उसलाई सेवा दिन उपयोग गर्, अनि उसले सेवा दिइरहेको बेला उसको नजिकबाट निगरानी गर्। उदाहरणका लागि, यदि तैँले कामको निश्‍चित विषयवस्तुको कार्यभारी रहेको निश्‍चित सुपरिवेक्षकलाई छर्लङ्ग देख्‍न सक्दैनस्—तैँले ऊ अरू दाजुभाइ-दिदीबहिनीहरू जत्तिको सरल र खुलस्त छैन, ऊ कहिल्यै कसैलाई साँचो कुरा पूर्ण रूपमा बताउँदैन, र काममा कठिनाइ वा समस्याहरू सामना गर्दा, उसले समाधान खोज्दैन भन्‍ने देख्छस् भने—तैँले उसको परिस्थितिको जरा पत्ता लगाउने पहल गर्नुपर्छ। तँ निष्क्रिय भएर, उसले काम बरबाद नगरेसम्म पर्खेर बस्‍ने त्यसपछि “काम बिग्रेपछि चेत खोल्ने” प्रयास गर्नु हुँदैन। तैँले ऊसँग कुरा गर्नुपर्छ र आफ्नो कर्तव्यप्रतिको उसको मनोवृत्ति कस्तो छ, ऊसँग कामका लागि विशिष्ट योजना र प्रबन्धहरू छ कि छैन, ऊसँग काम गर्ने सिद्धान्तहरू छ कि छैन, उसले कामका प्रबन्धहरू अनुसार काम गर्न सक्छ कि सक्दैन, र उसले आफूभन्दा माथि रहेकाहरूलाई छल गर्न र आफूभन्दा तलका मानिसहरूबाट कुराहरू लुकाउन, र आफ्नै तरिकाले कामकुरा गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा हेर्नुपर्छ। के यी कुराहरू तैँले ध्यान दिनुपर्ने कुराहरू होइनन् र? (हुन्।) मानौँ तैँले कुनै व्यक्ति दियाबलस हो भन्‍ने पत्ता लगाइस्, त्यसकारण तैँले ऊसँग अन्तरक्रिया गर्न छोडिस्, र यसो समेत भनिस्, “यो दियाबलस अत्यन्तै भयानक छ—उसलाई देख्दा मात्रै पनि मलाई घिन लाग्छ। म अबदेखि ऊसँग बोल्‍नेछैनँ। मैले आफू र उसको बीचमा स्पष्ट रेखा कोर्नुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूलाई पनि स्पष्ट रेखा कोर्न लगाउनुपर्छ—सबैले उसलाई बेवास्ता गर्नुपर्छ।” के यसरी व्यवहार गर्नु ठीक हुन्छ? यो व्यवहार गर्ने मूर्ख तरिका हो। यो न त चलाख तरिका हो न त बुद्धिमानी तरिका नै हो, र यो कद हुनु होइन। के तँलाई ऊसँग नबोलेकोले मात्रै पनि तँ चलाख छस् भन्‍ने लाग्छ? के तँ परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने व्यक्ति होस्? के तैँले आफ्नो जिम्मेवारी पूरा गरेको छस्? के तैँले बगालको रक्षा गर्ने र परमेश्‍वरको घरको ढोकाको रेखदेख गर्ने बोझ वहन गरेको छस्? के तैँले यी कुराहरूका बारेमा पनि सोच्नु पर्दैन र? दियाबलसहरूप्रति सुझबुझ हुनुपर्ने मानिसहरूबाट परमेश्‍वरले गर्नुहुने मागको अर्थ दियाबलसहरूलाई इन्कार गर्नु नै पर्याप्त हुन्छ भन्‍ने पटक्कै हुँदैन। तैँले दियाबलसहरूलाई सुपरिवेक्षण गर्न र रोक्न पनि सक्नुपर्छ; यदि दियाबलस अझै प्रकट भएको छैन र ऊ सेवा दिन चाहन्छ भने, तैँले उसलाई उपयोग गर्न पनि सक्नुपर्छ—यी कुराहरू पनि तैँले निर्वाह गर्नुपर्ने कर्तव्य, तैँले पूरा गर्नुपर्ने जिम्मेवारी हुन्, र यो पूर्ण रूपमा मण्डलीको कामको संरक्षण गर्नका लागि हो। यदि तैँले कुनै व्यक्ति अत्यन्तै रहस्यमय व्यक्ति हो, उसले भन्ने सबै कुरा खोटरहित हुन्छ र कसैले पनि उसलाई बुझ्न सक्दैन भन्‍ने देखिस् भने, यो व्यक्ति अत्यन्तै खतरनाक हुन्छ र ऊ भरोसा गर्न लायक हुँदैन। विशेष गरी यदि तैँले एकदमै कुटिल, धूर्त, चतुर तरिकाले व्यवहार गर्ने व्यक्ति देखिस्—जो कहिल्यै कसैलाई साँचो कुरा पूर्ण रूपमा बताउँदैन, र ऊसँग अन्तरक्रिया गर्ने वा सङ्गत गर्ने धेरैजसो दाजुभाइ-दिदीबहिनीले उसलाई छर्लङ्ग देख्‍न सक्दैनन् भने—त्यस्तो व्यक्तिलाई पन्छाएर एकलै छोडिदिनु हुँदैन। बरु तँ उसको नजिक जानुपर्छ, ऊसँग सम्पर्क गर्नुपर्छ र कुरा गर्नुपर्छ, ताकि तेरो सुझबुझ र अन्तर्ज्ञानमा वृद्धि हुन सकोस्, अनि तैँले उसले के सोचिरहेको छ, उसको व्यवहारको स्रोत र मनसाय के हो, उसले के गर्ने योजना बनाइरहेको छ, उसले आफ्नो कर्तव्य निर्वाह गर्दा काम वहन गर्न सक्छ कि सक्दैन, मण्डलीको काममा बाधा दिन र स्वतन्त्र राज्य स्थापना गर्न सक्छ कि सक्दैन, र उसले कर्तव्य निर्वाह गर्दा त्यसले फाइदाभन्दा बढी हानि गर्छ कि, र अन्त्यमा फाइदाभन्दा बढी घाटा हुन्छ कि भन्‍ने कुरा देख्‍न सकेस्। देखिस्—के अगुवा वा कामदार हुनु सरल कुरा हो? जब मण्डलीमा त्यस्तो व्यक्ति भेटिन्छ, तब तँ ऊबाट नटाढिनुपर्ने र ऊबाट नतर्किनुपर्ने मात्र होइन, बरु तँ सक्रिय रूपमा उसको निकट जानुपर्छ र सम्पर्कमा आउनुपर्छ। यसो गर्नुको उद्देश्य के हो? यो उसको परिस्थितिलाई राम्ररी बुझ्नु र सतर्कताका उपायहरू अपनाउनु हो। उदाहरणका लागि, यदि तैँले निरन्तर तेरो व्यक्तिगत जानकारीबारे खोजीनिधो गर्ने अवसरहरू खोजिरहेको चिनियाँ कम्युनिस्ट पार्टीको एजेन्ट वा जासुसलाई भेटिस्, र ऊ जासुस हो भन्‍ने तँलाई हृदयमा महसुस भयो भने, तँ त्यस व्यक्तिबाट सतर्क हुनुपर्छ, र तैँले उसलाई आफ्नो वास्तविक परिस्थितिबारे पटक्‍कै बताउनु हुँदैन। तैँले अझै महत्त्वपूर्ण कुरा पनि याद गर्नैपर्छ: तैँले उसलाई तेरो फोन नम्बर, इमेल खाता, इत्यादि कुरा थाहा दिनु हुँदैन। तर, यदि तँ उसले तेरो परिस्थितिबारे खोजिनिधो गर्छ भन्‍ने कुराप्रति मात्रै सतर्क हुन्छस्, तर ऊ अरू कोसँग सम्पर्कमा छ, उसले कसको जानकारी सोधिरहेको छ, र मण्डलीको कुन परिस्थितिबारे सोधिरहेको छ भन्‍ने जस्ता कुराहरूलाई तैँले पूर्ण रूपमा बेवास्ता गर्छस् र छोडिदिन्छस्—यसो गर्दा तँ निकै चलाख भइरहेको छस् भन्‍ने समेत सोच्छस् भने—तैँले यस मामलालाई सम्हालेको तरिका कस्तो हुन्छ? के तैँले कुनै बुद्धि देखाएको हुन्छस्? के तैँले आफूमा कद छ भन्‍ने देखाएको हुन्छस्? के तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुन्छस्? के तैँले परमेश्‍वरको घरका हितहरू संरक्षण गरेको र दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गरेको हुन्छस्? यदि तैँले यी कुराहरूलाई पटक्‍कै ख्याल गर्दैनस् भने, तँ पूर्ण रूपमा स्वार्थी र घृणित व्यक्ति होस्। मानौँ तैँले कुनै दियाबलसका रूपमा रहेको कुनै व्यक्ति भेट्छस्, र उसले तँ कहाँको होस् र तेरो परिवारमा कसैले परमेश्‍वरमा विश्‍वास गर्छ कि गर्दैन भनेर सोध्छ; उसले जानकारी खोजिरहेको छ भन्‍ने तँलाई थाहा हुन्छ, त्यसकारण तैँले आफ्नो वास्तविक परिस्थिति खुलासा नगरी उसलाई पन्छाउन केही कुरा त्यत्तिकै भन्छस्, त्यसपछि तैँले प्रश्नहरू उल्ट्याएर उसलाई सोध्छस्, “तिमी कहाँका हौ? तिम्रो परिवारमा कसले परमेश्‍वरमा विश्‍वास गर्छ? तिम्रो गृहनगरको मण्डलीमा मण्डली जीवन कस्तो छ? के चिनियाँ कम्युनिस्ट पार्टीले त्यहाँका विश्‍वासीहरूलाई पक्राउ गर्छ? के तिमी कहिल्यै पक्राउ परेका छौ?” चिनियाँ कम्युनिस्ट पार्टीको एजेन्ट वा जासुसले यो सुनेपछि, मनमनै सोच्छ, “सधैँ प्रश्नहरू गर्ने म नै हुन्छु—कसैले पनि मलाई कहिल्यै फर्केर सोधपुछ गरेको छैन। यो व्यक्तिको दिमाग रहेछ!” तैँले उसलाई प्रश्‍नहरू सोधिरहेको देखेर, उसलाई उसको पहिचान खुलासा हुनेछ भन्‍ने चिन्ता हुन्छ र त्यसकारण उसले विषय परिवर्तन गर्नेछ। तैँले यस्तो व्यक्तिलाई ध्यान दिएर अवलोकन गर्नुपर्छ। यदि तैँले ऊ अत्यन्तै शङ्कास्पद छ, र ऊ चिनियाँ कम्युनिस्ट पार्टीका जासुस हुने सम्भावना ८० प्रतिशत छ भन्‍ने कुरा पुष्टि गरिस् भने, ऊबाट तँ सतर्क हुनुपर्छ—तैँले दाजुभाइ-दिदीबहिनीहरूका बारेमा अलिकति पनि जानकारी खुलासा गर्नु हुँदैन। यदि दाजुभाइ-दिदीबहिनीहरू ऊबाट पटक्‍कै सतर्क भएनन् र यस व्यक्तिलाई कुनै कुरा बाँकी नराखी, कुनै पनि विषयमा कुरा गर्न इच्छुक हुँदै, आफूलाई थाहा भएका सबै कुरा बताए भने, यसले मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई सजिलै खतरामा पार्छ। त्यसकारण तैँले त्यस्तो व्यक्तिलाई नजिकबाट नियाल्नुपर्छ—ऊ निरन्तर कसको सम्पर्कमा आउँछ, उसले निरन्तर कोबाट जानकारी प्राप्त गर्ने प्रयास गर्छ, उसले गुप्तमा दाजुभाइ-दिदीबहिनीहरूको फोन नम्बर जाँच गरिरहेको छ कि, वा तिनीहरूको कम्प्युटरमा रहेका खाताहरू जाँच गरिरहेको छ कि, वा मानिसहरूको पिठ्युँ पछाडि परमेश्‍वरको घरको आन्तरिक जानकारी खोजिरहेको छ कि भनेर अवलोकन गर्नुपर्छ। तैँले उसलाई नजिकबाट नियाल्नुपर्छ—तैँले उसलाई सफल हुन दिनु हुँदैन। तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई यो व्यक्तिको विरुद्धमा सतर्क हुन पनि भन्‍नुपर्छ—यदि उसले बारम्बार जानकारी खोजीनिधो गर्छ भने, ऊबाट टाढा बस्नुपर्छ, र मानिसहरूलाई दुर्व्यवहार नगर्न भनी उसलाई चेतावनी दिनुपर्छ। यसका साथै, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउनका लागि के-कस्ता विधर्म र भ्रमहरू फैलाइरहेको छ भन्‍ने कुरा पनि तैँले हेर्नुपर्छ—यदि तैँले त्यस्ता समस्याहरू पत्ता लगाइस् भने, तैँले तिनलाई तुरुन्तै सम्हाल्नुपर्छ र समाधान गर्नुपर्छ। यसरी अभ्यास गर्नु भनेको मण्डलीको कामको संरक्षण गर्नु र दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्नु हो—यो अगुवा र कामदारहरूको जिम्मेवारी हो, र यो परमेश्‍वरका चुनिएका मानिसहरूको पनि जिम्मेवारी हो। यदि तँ चुप लागेर बस्छस् र केही गर्दैनस्, र उसलाई आफूले चाहे अनुसार खोजीनिधो गर्न दिन्छस् भने, केही मूर्ख मानिसहरू वा विश्‍वासमा सतही जग भएका नयाँ विश्‍वासीहरूले उसलाई सबै कुरा बताउने सम्भावना हुन्छ। त्यसपछि, मुख्य भूमि चीनको पुलिसले तिनीहरूको परिवारका सदस्य र आफन्तहरूलाई तुरुन्तै पक्राउ गर्न थाल्न सक्छ, जसले गर्दा निश्‍चित मण्डली र निश्‍चित दाजुभाइ-दिदीबहिनीहरूमा समस्या आइपर्न सक्छ। जस्तोसुकै समस्या पैदा भए पनि, जे भए पनि, यदि अगुवा वा कामदारका रूपमा तैँले दियाबलसका रूपमा रहेको व्यक्ति पत्ता लगाइस् तर तुरुन्तै उपायहरू अपनाइनस्, सतर्कताको काम उचित रूपमा अघि बढाइनस्, र फलस्वरूप कतिपय मूर्ख र अज्ञानी मानिसहरूले खुलासा गर्न नहुने धेरै कुराहरू खुलासा गर्छन् र दाजुभाइ-दिदीबहिनीहरूको जानकारी चुहावट गर्छन्, जसले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूमा समस्या ल्याउँछ भने, त्यो तँ जिम्मेवारी विमुख हुनु हो। मलाई भन्, यस मामलामा तेरो कर्तव्य निर्वाह कस्तो भयो? के तैँले त्यो राम्ररी पूरा गरिस्? (गरिनँ।) आफ्नो कर्तव्य राम्ररी पूरा नगर्नु—के यो तैँले परमेश्‍वरलाई निराश तुल्याएको मामला हो? (हो।) यो त परमेश्‍वरलाई निराश तुल्याउनु हो। यदि तिमीहरू आफै विदेशमा निकै सुरक्षित छौ तर तिमीहरूको आफ्नै मूर्खताका कारण चिनियाँ कम्युनिस्ट पार्टीको एजेन्टले तिमीहरूलाई झुक्क्याइदिन्छ भने, यसले खतरनाक परिणामहरू ल्याउनेछ; यसले मुख्य भूमिमा रहेका तिमीहरूको गृहनगरका मण्डली र दाजुभाइ-दिदीबहिनीहरूमा प्रकोप ल्याउनेछ। के तिमीहरू त्यस्तो परिणाम हेर्न इच्छुक छौ? (छैनौँ।) यदि व्यक्तिमा थोरै विवेक र थोरै मानवता छ भने, ऊ यस्तो घटना घटेको हेर्न अनिच्छुक हुनुपर्छ; ऊ आफै अहिले चाहे जहाँ भए पनि, उसले मुख्य भूमिमा कुनै पनि दाजुभाइ-दिदीबहिनीहरूले सतावट भोगेको हेर्न चाहँदैन। यदि कसैले “अँ, अहिले म विदेशमा सुरक्षित छु—को पक्राउ पर्छ मलाई के मतलब! यदि कसैले कष्ट भोग्छ भने त्यसको मसँग के सम्बन्ध हुन्छ र? मलाई मेरो आफ्नै परिवारको समेत वास्ता छैन। मलाई कुनै स्नेह छैन” भनेर भन्छ भने—के त्यस्तो व्यक्तिमा मानवता हुन्छ? (हुँदैन।) उसमा कुनै मानवता हुँदैन—व्यक्तिले त्यसरी सोच्नु हुँदैन। यदि तँ आफूसँग विवेक र मानवता छ भनेर दाबी गर्छस् भने, कम्तीमा पनि तैँले मुख्य भूमिमा रहेका आफ्ना आफन्तहरू र मण्डलीमा समस्या ल्याउनु हुँदैन। त्यसकारण, जब तैँले दियाबलसहरूको सामना गरिरहेको हुन्छस्, तब तिनीहरूप्रतिको सुझबुझ हुनु मात्रै पर्याप्त हुँदैन—तैँले व्यापक रूपमा सोच्नु पनि पर्छ। तैँले आफूलाई खुलासा नगर्ने, साथै मुख्य भूमिमा रहेका तेरा आमाबुबा र आफन्तहरू र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि नपुग्ने कुरालाई सुनिश्‍चित गर्ने तरिकाले कसरी कार्य गर्ने भन्‍ने बारेमा सोच्नुपर्छ। तैँले मण्डलीको काम संरक्षण गर्ने र परमेश्‍वरको घरको ढोकाको रक्षा गर्ने आफ्नो जिम्मेवारी पूरा गर्नु नै पर्छ। मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। यदि तैँले सक्दो प्रयास गरेको छस् भने, तैँले गर्न नसक्‍ने केही कुराहरू भएका कारण वा तैँले कुनै मामलालाई छर्लङ्ग नदेखेका कारण कुनै कुरा गलत भयो भने पनि, तँ दोषी हुँदैनस्—सबै कुरा परमेश्‍वरको हातमा छ। तर मानिसहरूको दृष्टिकोणबाट हेर्दा, मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारीबारे तँ स्पष्ट हुनुपर्छ। तँ त्यसबाट पछि हट्नु हुँदैन, र तैँले आफ्नो बारेमा मात्रै सोच्न मिल्दैन—तैँले आफ्नो वरिपरिका दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीको कामलाई पनि ख्याल गर्नुपर्छ। के अहिले अभ्यासको यो मार्ग स्पष्ट भएको छ? (भएको छ।) देखिस्, यदि यी कुराहरूमा सङ्गति नगरिएको भए, तिमीहरूले सबैभन्दा निर्णायक र महत्त्वपूर्ण कुराहरूलाई बेवास्ता गर्नेथियौ, र अझै पनि के सोच्‍नेथियौ भने दियाबलसहरू र शैतानहरूसँग कसरी व्यवहार गर्ने भन्‍ने तिमीहरूलाई थाहा छ। वास्तवमा, तिमीहरूले अभ्यासका सिद्धान्तहरू बुझ्दैनौ—तिमीहरूको वास्तविक कद यही हो।

तैँले सत्यता, सकारात्मक कुराहरू, र परमेश्‍वरप्रति दियाबलसहरूको मनोवृत्तिलाई अवगत गर्न सके वा नसके पनि, तिनीहरूको सार, जे भए पनि, सत्यतालाई घृणा गर्ने, सकारात्मक कुराहरूलाई घृणा गर्ने, र परमेश्‍वरलाई घृणा गर्ने नै हुन्छ। पथभ्रष्ट हुनु भनेको यही हो। चाहे तिनीहरूले प्रकाश गर्ने शब्दहरूबाट होस् वा तिनीहरूको हृदयका विचार र दृष्टिकोणहरूबाट होस्, सत्यताप्रतिको, सकारात्मक कुराहरूप्रतिको, र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिलाई देख्‍न सकिन्छ। यो मनोवृत्ति अनुसार मूल्याङ्कन गर्दा, दियाबलसहरूले सत्यतालाई पटक्‍कै स्वीकार गर्दैनन्, सकारात्मक कुराहरूलाई पटक्‍कै स्वीकार गर्दैनन्, र अवश्य नै, तिनीहरूले परमेश्‍वरको आराधना पटक्‍कै गर्दैनन् भनेर निश्‍चितताको साथ भन्‍न सकिन्छ। त्यसकारण, तिनीहरूले मानिसहरूबाट आउने कुनै पनि सही सुझाव, अभिव्यक्ति, वा अर्ती स्वीकार गर्दैनन्। त्यसोभए, परमेश्‍वरबाट आउने सत्यता सिद्धान्तहरू, परमेश्‍वरका चेतावनीहरू, परमेश्‍वरले गर्नुहुने मागहरू, र मानिसहरूका लागि परमेश्‍वरले दिनुभएका शिक्षाहरूका हकमा भन्दा, तिनीहरू यी सबै कुरालाई अझै बढी तुच्छ ठान्छन् र तिनलाई कहिल्यै स्वीकार गर्दैनन्। बरु, तिनीहरू हृदयमा आफूले मन पराउने जुनसुकै कुरा, आफूलाई फाइदा गर्ने जुनसुकै कुराबारे षड्यन्त्र गरिरहेका हुन्छन्। तिनीहरू आफ्नो हैसियत, प्रतिष्ठा, अभिमान, र गन्तव्यका बारेमा षड्यन्त्र गर्छन्; तिनीहरू आफ्नो वास्तविक जीवनमा आफूले आनन्द लिन, प्राप्त गर्न, र हासिल गर्न चाहेका जुनसुकै फाइदाहरूका बारेमा षड्यन्त्र गर्छन्। यो तिनीहरूको भित्री संसार हो, र तिनीहरूको प्रकृति सार दुष्ट छ भन्‍ने कुरा देखाउन यो नै पर्याप्त हुन्छ। यो पथभ्रष्ट प्रकृति सार कहिल्यै परिवर्तन हुनेछैन। सुरुदेखि अन्त्यसम्मै, तिनीहरूले गर्ने सबै कुरा, र तिनीहरूका सबै विचार र दृष्टिकोणहरूको सत्यता वास्तविकतासँग कुनै सम्बन्ध हुँदैन, र परमेश्‍वरका शिक्षाहरू वा मानव जीवनको सही मार्गसँग तिनको कुनै सरोकार हुँदैन; ती सबै दुष्ट नकारात्मक कुराहरू हुन्। तैँले दुष्ट सार भएका मानिसहरूसँग सत्यताबारे चाहे जसरी सङ्गति गरे पनि, तिनीहरूलाई प्रेमको साथ जसरी सहयोग गर्ने प्रयास गरे पनि, तैँले तिनीहरूको मन छुन सक्दैनस्, तिनीहरूका विचार र दृष्टिकोणहरू परिवर्तन गर्न सक्दैनस्, र तिनीहरूले हरेक दिन दुष्टताबारे मात्र सोच्ने तिनीहरूको जीवनशैली परिवर्तन गर्न सक्दैनस्। अवश्य नै, तैँले तिनीहरूले पछ्याउने उद्देश्यहरू पनि परिवर्तन गर्न सक्दैनस्, न त तिनीहरूले हरेक मामलाको युक्ति रच्ने शैली र दिशा नै परिवर्तन गर्न सक्छस्। दियाबलसहरूका रूपमा रहेका यी मानिसहरू सुरुदेखि अन्त्यसम्मै उस्तै रहन्छन्। तिनीहरूको दुष्ट सार परिवर्तन हुनेछैन। तिनीहरूले परमेश्‍वरको नाम नत्यागी वा साँचो मार्ग नछोडी, सधैँ परमेश्‍वरको घरमा कर्तव्य पूरा गरेका भए पनि, तिनीहरूले सत्यता स्वीकार नगर्ने हुनाले, र तिनीहरूले विचार गर्ने र मनन गर्ने सबै कुरा नकारात्मक कुरा र दुष्ट कुराहरूसँग सम्बन्धित हुने हुनाले, तिनीहरूले आफ्ना भ्रष्ट स्वभाव फाल्ने कुनै सम्भावना हुँदैन, र तिनीहरूको मानवतामा पनि कुनै परिवर्तन आउन सक्दैन। अवश्य नै, एउटा कुरा निश्‍चित छ: यी मानिसहरूले मुक्ति प्राप्त गर्ने कुनै सम्भावना हुँदैन। तिनीहरूको गन्तव्य के हो भन्‍ने बारेमा त बताइरहनु नै पर्दैन। हामीले यहाँ सङ्गति गरिरहेको कुरा तिनीहरूको गन्तव्य के हो भन्‍ने होइन। हामी तिनीहरूको प्रकृति सार खुट्ट्याउने र चिरफार गर्ने कार्यमा केन्द्रित छौँ।

दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको पथभ्रष्ट प्रकृति सारको पहिलो प्रकटीकरण—“कुटिल हुनु”—का बारेमा अब पूर्ण रूपमा सङ्गति भइसकेको छ। हामीले मुख्य रूपमा, तिनीहरूले सकारात्मक कुराहरूलाई कसरी लिन्छन्, त्यस सम्बन्धी तिनीहरूका विभिन्‍न मनोवृत्ति र प्रकटीकरणहरू, साथै तिनीहरूले आफ्नो हृदयमा पाल्ने र राख्‍ने विभिन्‍न विचार र दृष्टिकोणहरूका बारेमा सङ्गति गऱ्यौँ। चाहे ती तिनीहरूका ठोस प्रकट गरिएका कुराहरू र प्रकटीकरणहरू हुन्, वा तिनीहरूले खुलासा गर्ने आँट नगर्ने तिनीहरूको हृदयका गहिराइमा लुकेका कुराहरू हुन्, यी सबैले तिनीहरू साधारण भ्रष्ट मानिसहरू होइनन् भन्‍ने कुरा प्रमाणित गर्छन्। तिनीहरूसँग साधारण भ्रष्ट मानिसहरूको विवेक र समझ हुँदैन। यी मानिसहरूसँग साधारण भ्रष्ट मानिसहरूको मानवता हुँदैन भनेर पनि भन्‍न सकिन्छ। यसलाई सरल रूपमा भन्दा, यी मानिसहरूसँग कुनै मानवता हुँदैन। तिनीहरूका विचार र दृष्टिकोण चाहे जति नै दुष्ट भए पनि, तिनीहरूको अभिव्यक्ति, कार्य, व्यवहार र आचरण चाहे जति नै दुष्ट भए पनि र मानवतासँग जति नै नमिल्ने भए पनि, तिनीहरूलाई यसबारे पटक्‍कै थाहा हुँदैन। तिनीहरू आफ्नो प्रकृति सारलाई दुष्ट, सत्यता विपरीत, वा सत्यताप्रति शत्रुवत् भनेर कहिल्यै पनि ठहर गर्दैनन्। तैँले तिनीहरूसँग चाहे जसरी सङ्गति गरे पनि, तिनीहरू अझै पनि आफ्ना भ्रष्ट स्वभावको क्षेत्रभित्र जिउँछन्। यी मानिसहरू एक-अर्कासँग सङ्गत गर्दा, विशेष रूपमा मिलेर बस्छन्, र तिनीहरू आफ्नो खराबीमा विशेष रूपमा समान विचारका हुन्छन्। तर हृदयमा, तिनीहरू सत्यता बुझ्ने र सत्यता पछ्याउने मानिसहरूबाट अत्यन्तै विकर्षित हुन्छन् र तिनीहरूलाई तिरस्कार गर्छन्।

ख. देहका यौन चाहनाहरूमा लिप्त हुनु

यस अघि, दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको पथभ्रष्ट प्रकृति सारको बारेमा छलफल गर्दा, हामीले तिनीहरूको “कामुकता” र “यौन उत्तेजकता” बारे उल्लेख गरेका थियौँ, जुन देहको यौन कामनाका दुई प्रकारका प्रकटीकरणहरू हुन्। यी दुई बाहेक, “कामुकता” र “यौन उत्तेजन” सँग सम्बन्धित अर्को पक्ष पनि छ, जुन एक प्रकारको बाहिरी व्यवहार वा मानवताको जियाई हो, जुन “छाडापन” हो। “कामुकता” र “छाडापन” लाई प्रायजसो सँगै जोडिन्छ। “छाडापन” को अर्थ के हो के तँलाई थाहा छ? (अनैतिक र असंयमित व्यवहार र आचरण, र अरूलाई व्यर्थमा जिस्क्याउनु।) “छाडापन” को अर्थ लिप्तता हो—यसको अर्थ अनैतिक र असंयमित हुनु हो। देहको यौन कामनाका सन्दर्भमा यस्तो प्रकारको व्यक्तिका दुष्ट प्रकटीकरणहरूलाई चिरफार गर्नका लागि यी तीन पक्षहरू नै पर्याप्त हुनुपर्छ। वयस्कहरूले कामुकता, यौन उत्तेजन, र छाडापनका प्रकटीकरणलाई बुझ्न सक्नुपर्छ। यो अमूर्त कुरा होइन, किनभने दैनिक जीवनमा त्यस्ता मामलाहरू र त्यस्ता मानिसहरूका बारेमा सामान्य रूपमा नै देखिन्छ र सुनिन्छ। त्यसोभए त्यस्ता मानिसहरूका मुख्य प्रकटीकरणहरू के-के हुन्? पुरुष र महिलाका बीचमा रहेका सम्बन्धहरूका हकमा भन्दा, तिनीहरू असंयमित हुन्छन्, तिनीहरूसँग कुनै सीमारेखा हुँदैन, र तिनीहरूमा कुनै लाजको बोध हुँदैन। तिनीहरूको यौन कामनाको कुरा आउँदा, तिनीहरू विशेष रूपमा लिप्त हुन्छन्, यसलाई नियन्त्रण गर्दैनन्, र तिनीहरूसँग बिलकुलै संयम हुँदैन। साथसाथै, तिनीहरूलाई आफ्नो यौन कामनामा लिप्त हुने बारे कुनै लाज लाग्दैन। तिनीहरू चाहे जति नै उमेरका भए पनि, तिनीहरू जुनसुकै लिङ्गका भए पनि, वा तिनीहरूको वैवाहिक स्थिति चाहे जस्तो भए पनि, तिनीहरूलाई विपरीत लिङ्गप्रति विशेष चासो हुन्छ र तिनीहरूले उनीहरूलाई विशेष ध्यान दिन्छन्। जब पनि तिनीहरूले मानिसहरूको समूह भेट्छन्, तब तिनीहरू आफूलाई चासो लागेको विपरीत लिङ्गी व्यक्तिहरूलाई ध्यान दिन्छन्। यो ध्यान भनेको तिनीहरूलाई सामान्यभन्दा बढी हेरिरहने, तिनीहरूसँग कुराकानी गर्ने, वा तिनीहरूसँग सामान्य रूपमा सङ्गत गर्ने कार्य मात्रै हुँदैन—तिनीहरू पुरुष र महिलाको बीचमा हुने यौन कामनाका बन्धनमा फस्छन् र रोमान्टिक सम्बन्धहरूमा प्रवेश गर्छन्। जब आफूले मन पराउने व्यक्तिको कुरा आउँछ, तब त्यो व्यक्ति चाहे जति नै उमेरको भए पनि, र अर्को पक्षले सहमति जनाए पनि वा नजनाए पनि, तिनीहरूले यो व्यक्तिलाई मन पराएसम्म, तिनीहरूले उसलाई छेडछाड गर्न पहल गर्नेछन्, यहाँसम्म कि अर्को पक्षको ध्यान आकर्षित गर्न केही असामान्य कार्य वा व्यवहार समेत गर्नेछन्। उदाहरणका लागि, बेला-बेलामा तिनीहरूले अर्को व्यक्तिका लागि मिठो खाना बनाउनेछन्; बिदाका बेला, तिनीहरूले उसलाई उपहारहरू दिनेछन्; कारण भए पनि वा नभए पनि, तिनीहरूले अर्को व्यक्तिलाई मेसेज पठाउनेछन्—बिहान, “उठिसक्यौ?” भनेर सोध्छन्, र राती, “नुहायौ?” भनेर सोध्छन्। केही दिनपछि तिनीहरूले यसो भन्‍नेछन्, “आजभोलि मौसम चिसो भएको छ—न्याना लुगा लगाएर बस्‍नू, र चिसो नलागोस्। यदि तिमीलाई कुनै कुरा चाहिएको छ भने, मलाई सहयोग माग्‍न सक्छौ!” तिनीहरू प्रायजसो चिन्ता व्यक्त गर्छन्, र अर्को व्यक्तिलाई हैरान पार्ने बहानाका रूपमा यसलाई प्रयोग गर्छन्। यस्तो प्रकारको व्यक्तिले कहिले पनि एक-दुई जना, वा दुई-तीन जना व्यक्तिहरूलाई मात्रै छेडछाड गर्ने प्रयास गर्दैन—उसले आफूलाई मन पर्ने जोकोहीलाई त्यसो गर्छ। ऊ आफूले देखेको सबैलाई मन पराउँछ; उसलाई कोही आकर्षक लाग्ने बित्तिकै वा उसको बारेमा राम्रो अनुभूति पाउने बित्तिकै, उसले तुरुन्तै कामुक विचारहरू विकास गर्छ र त्यो व्यक्तिलाई फकाउने प्रयास गर्छ। ऊ जुनसुकै समूहमा भए पनि वा ऊ जुनसुकै वातावरणमा भए पनि, ऊ यो कुरा कहिल्यै बिर्सिँदैन। ऊ चाहे जहाँ गए पनि, ऊ सधैँ आफूले मन पराएका विपरीत लिङ्गका चार-पाँच जना, वा एक दर्जन जति साथी वा विश्‍वासपात्रहरूलाई निसाना बनाउँछ। यदि उसले शारीरिक सम्पर्क गर्न सक्यो भने, उसले यसलाई रोमान्टिक सम्बन्धमा प्रवेश गर्ने उद्देश्य हासिल गरेको कुराका रूपमा लिन्छ। अनि यदि यो अझै पनि रोमान्टिक सम्बन्धको स्तरमा पुगेको छैन भने, यसरी नै अरूलाई छेडछाड गर्दा मात्रै पनि उसलाई निकै राम्रो महसुस हुन्छ—उसलाई दिनहरू मीठा र सन्तोषजनक लाग्छन्। यदि वातावरणले दिँदैन र उसले विपरीत लिङ्गको व्यक्तिलाई छेडछाड गर्न सकेन भने, उसलाई उदासी हुन्छ। यदि कसैले उसलाई यस्तो व्यवहार अनुचित हुन्छ भनेर याद दिलायो भने, उसले हृदयमा ईख राख्छ। यदि कसैले उसलाई लापरवाह ढङ्गले मानिसहरूलाई छेडछाड गर्नबाट रोक्यो भने, ऊ हृदयमा प्रतिरोधी र विरोधी बन्छ, र यस्तो समेत सोच्छ, “यो मेरो अधिकार हो—मलाई रोक्नका लागि तिमीलाई केले योग्य बनाउँछ? मैले जे गरिरहेको छु त्यो मेरो स्वतन्त्रता हो! म न त कानुन तोडिरहेको छु न त अपराध गरिरहेको छु, त्यसकारण मलाई नियन्त्रण गर्ने प्रयास गर्ने तिमी को हौ?” वातावरण जेसुकै भए पनि, यस्तो प्रकारको व्यक्तिलाई सधैँ, आफूलाई व्यस्त राख्‍नका लागि कुनै प्रकारको मनोरञ्जन खोज्नुपर्छ भन्‍ने लाग्छ—उसलाई सधैँ समय बिताउन, आफ्नो जीवन भर्न र आफूलाई अझै आनन्दित बनाउनका लागि केही विपरीत लिङ्गी साथीहरू वा यौन साथीहरू खोज्नुपर्छ भन्‍ने लाग्छ। नत्र भने, उसलाई उसको जीवन खोक्रो, झ्याउलाग्दो छ, र त्यसमा चासो लाग्दो कुराको कमी छ भन्‍ने लाग्छ। कतिपय मानिसहरू अथक रूपमा छेडछाड गरिएपछि, अनलाइन अश्लील सामग्री नहेरी बस्न सक्दैनन्, तिनीहरू आफ्नो देहको यौन कामनामा, लम्पट र असंयमित रूपमा जिउँछन्, र अवस्थाले अनुमति दिएसम्म, तिनीहरू जेसुकै गर्न सक्षम हुन्छन्। दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूलाई, अवसर वा वातावरण जेसुकै भए पनि, तिनीहरूको जीवन जतिसुकै कठिन भए पनि, तिनीहरूको कामको बोझ जतिसुकै ठूलो भए पनि, र वातावरणले साथ दिए पनि वा नदिए पनि, सधैँ यौन कामनामा लिप्त हुने आवश्यकता महसुस गर्छन्, र विपरीत लिङ्गको व्यक्तिलाई सम्पर्क गर्ने र छेडछाड गर्ने अवसरहरू खोज्नुपर्छ, यसरी आफ्नो यौन कामनालाई पूर्ण रूपमा सन्तुष्ट पार्नुपर्छ। यदि तिनीहरूको देहको यौन कामना सन्तुष्ट हुन सकेन भने, तिनीहरूको मनको कामनालाई सन्तुष्ट पार्नु समेत पर्याप्त हुन्छ। पथभ्रष्ट हुनु भनेको यही हो—तिनीहरू निकै पथभ्रष्ट हुन्छन्। कतिपय मानिसहरू वृद्ध अवस्थामा पुगिसकेका हुन्छन्, तिनीहरूका छोराछोरी विवाहित हुन्छन् र उनीहरूको आफ्नै परिवार हुन्छ, तैपनि तिनीहरू अझै पनि आफ्नो यौन कामनामा अत्यन्तै लिप्त र असंयमित हुन्छन्, तिनीहरूसँग लाजको कुनै अनुभूति नै हुँदैन। जब तिनीहरू आफूलाई मन पर्ने विपरीत लिङ्गी देख्छन्, तब तिनीहरू उनीहरूसँग एकलै बस्‍ने अवसरहरू सिर्जना गर्ने हरेक तरिकाबारे सोच्छन्—त्यसपछि त्यस व्यक्तिको हात समात्छन्, उसलाई अङ्गालो हाल्छन्, वा छुन्छन्, र केही कामुक, ठट्टापूर्ण टिप्पणीहरू गर्छन् वा केही उत्तेजक कुराहरू भन्छन्। त्यसो गर्दा, तिनीहरूले क्रमिक रूपमा कतिपय विपरीत लिङ्गी मानिसहरूलाई बाधा दिन्छन्। यो कामुक हुनु हो। यस्तो प्रकारको व्यक्ति कुन हदसम्म कामुक हुन्छ? जब उसले आकर्षक वा सुन्दर ज्यान भएको विपरीत लिङ्गी व्यक्ति देख्छ, तब उसमा वासनाका विचारहरू पैदा हुन थाल्छन्। विपरीत लिङ्गी व्यक्तिले नरम, आकर्षक, र तुलनात्मक रूपमा कर्णप्रिय आवाजमा बोलेको सुन्दा मात्रै पनि त्यसले तिनीहरूमा वासनाका विचारहरू पैदा गर्न सक्छ। यी वासनाका विचारहरू आन्दोलित भएपछि, तिनीहरूले यी कुराहरूका बारेमा कहिलेकहीँ मात्र सोच्ने होइन—बरु, तिनीहरू ती कुराहरूका बारेमा प्रायजसो सोचिरहन्छन्। तिनीहरूले खाँदा, काम गर्दा, सपना देख्दा समेत तीबारे सोच्छन्, र हरेक दिन तिनीहरूको मन यी वासनाका विचारहरूले भरिएको हुन्छ। तिनीहरूमा कामुकताको दुष्ट सार हुने हुनाले, तिनीहरू कुनै पनि संयमविना आफ्नो देहको यौन कामनामा लिप्त हुन सक्छन्। जब तिनीहरू सम्पत्ति र हैसियत भएको राम्रो परिवारको कुनै व्यक्ति देख्छन्—धनी जवान महिला वा समृद्ध श्रीमती, वा अग्लो, धनी, र सुन्दर पुरुष, वा समृद्ध व्यापारी देख्छन्—तब तिनीहरूमा वासनाका विचारहरू पैदा हुन थाल्छन्। त्यस्ता मानिसहरू कति गम्भीर रूपमा कामुक हुन्छन् हेर त! अनि अझै खराब अवस्थाहरू पनि छन्। मण्डलीमा, एक जना ब्रदर थियो जसले राम्ररी गाउने गर्थ्यो। ऊ कुनै “चर्चित स्तरको” गायक त थिएन—केवल उसको आवाज अलिक मिठो थियो। के भएछ भने, कतिपय महिलाहरूले उसको गायन सुनेपछि, ऊप्रति राम्रा भावनाहरू विकास गरे र ऊसँग विवाह गर्न चाहे। यी महिलाहरूले यो ब्रदर कस्तो देखिन्छ भनेर कहिल्यै देखेका थिएनन्। ऊ कति वर्षको हो, उसको व्यक्तित्व कस्तो छ, उसको शैक्षिक स्तर के हो, उसको क्षमता कस्तो छ, वा परमेश्‍वरमाथिको उसको विश्‍वास कस्तो छ भन्‍ने तिनीहरूलाई थाहा थिएन। तिनीहरूले यीमध्ये कुनै कुराबारे ख्याल गरेनन्, तैपनि तिनीहरू अझै पनि ऊसँग विवाह गर्न चाहन्थे, र उसको आवाज सुनेपछि मात्रै पनि तिनीहरूका वासनापूर्ण विचारहरू आन्दोलित हुन्थे। मलाई भन, के त्यस्ता दियाबलसहरूमा पथभ्रष्ट प्रकृति हुँदैन र? सामान्य व्यक्तिले, कसैले राम्ररी गाएको सुन्दा, बढीमा अलिक ईर्ष्या गर्नेथियो तर त्यो व्यक्तिसँग विवाह गर्ने बारेमा कहिल्यै विचार गर्नेथिएन। यदि उसले साँच्‍चै नै कसैलाई विवाह गर्न चाह्यो भने, उसले त्यस्तो निर्णय गर्नुभन्दा पहिले त्यो व्यक्तिको चरित्र र पारिवारिक अवस्थालाई बुझ्नेथियो, जस्तै ऊ कति वर्षको छ, ऊ कस्तो देखिन्छ, उसको चरित्र कस्तो छ, उसको परिवार कस्तो छ—सबै पक्षहरू सन्तोषजनक छन् भने मात्रै उसले ऊसँग विवाह गर्ने बारेमा विचार गर्नेथियो। तर दियाबलस रहेका मानिसहरू फरक हुन्छन्—कतिपय महिलाहरू, पुरुषले राम्रो गीत गाएको सुनेपछि, अघि बढेर उसलाई विवाह गर्न चाहन्छन्; कतिपय पुरुषहरू, आकर्षक महिलालाई देखेपछि, अघि बढेर उसलाई विवाह गर्न चाहन्छन्। के त्यस्ता मानिसहरू डरलाग्दा हुँदैनन् र? तिनीहरू डरलाग्दा र विकर्षक दुवै हुन्छन्! जब पनि तिनीहरू हैसियत, ज्ञान, वाक्पटुता, वा विशेष सामर्थ्य भएको व्यक्ति देख्छन्, वा जब तिनीहरू सुन्दरी वा सुन्दर व्यक्ति देख्छन्, तब तिनीहरूमा वासनाका विचारहरू पैदा हुन थाल्छन्। जब तिनीहरू त्यस्ता मानिसहरू देख्छन्, तब तिनीहरू सधैँ उनीहरूलाई ट्वाल्‍ल परेर हेर्छन्; तिनीहरूको आँखा एकोहोरो अडिएको हुन्छ, तर तिनीहरूको मन अत्यन्तै सक्रिय हुन्छ र तिनीहरूको यौन कामना बढिरहेको हुन्छ—यो वासनापूर्ण विचारहरू हुनु हो। जब पनि कसैले विपरीत लिङ्गी मानिसहरूलाई एकोहोरो हेरेको हेर्‍यै गर्छ—अनि कतिपयले दुष्ट नजरले हेर्छन्, वा मुख खोलेर र्‍याल समेत चुहाउँछन्—त्यो वासनापूर्ण विचारहरू हुनु हो। तिनीहरूका वासनाका विचारहरू आन्दोलित भएपछि, तिनीहरू अरूलाई छुन थाल्छन्। यसलाई पथभ्रष्ट हुनु भनिन्छ। परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूको दृश्यात्मक वासना, श्रवणको वासना, वा देहको यौन कामना क्रियाशील भएसम्म, तिनीहरूमा वासनाका विचारहरू हुनेछन्—यस्ता मानिसहरू दियाबलसहरू हुन्। के दियाबलसहरूका यौन कामनालाई मानवताको विवेक र समझले प्रतिबन्धित गर्छ वा बाँध्छ? यो बाँधिन्न, त्यसकारण तिनीहरूको यौन कामना निरन्तर उर्लन्छ, र तिनीहरूले निरन्तर छाडापनका प्रकटीकरणहरू देखाउँछन्—तिनीहरू निकै लम्पट हुन्छन्। तिनीहरूलाई आफ्नो वरिपरि कति जना मानिसहरू छन्, तिनीहरूको आफ्‍नो उमेर कति हो, वा अर्को पक्षले तिनीहरूलाई मन पराउँछ कि घिन मान्छ र तिरस्कार गर्छ भन्‍ने कुराको वास्ता हुँदैन—यो व्यक्ति तिनीहरूले चाहना गरेका व्यक्ति भएसम्म, तिनीहरूले आफ्नो यौन कामनालाई अधिकतम हदसम्म सन्तुष्ट पार्दै वासनाका विचारहरू राख्‍नेछन् र तिनीहरू मनोकल्पनाहरूमा लिप्त हुनेछन्। के त्यो घिनलाग्दो कुरा होइन र? यस्ता मानिसहरू अत्यन्तै कामुक हुन्छन्। तिनीहरूले विपरीत लिङ्गी व्यक्तिसँग सम्बन्ध राख्‍ने अवसर भेट्टाउन नसके पनि, तिनीहरू अझै पनि अरूलाई जिस्काउन चाहन्छन्। यो व्यवहारका प्रकटीकरणहरू के हुन् भने तिनीहरूले तँसँग आँखा जुधाएर जिस्किने सङ्केतहरू पठाउँछन्, तँलाई सम्पर्क गर्ने र तेरो नजिक हुने हरेक तरिकाबारे सोच्छन्—तेरो छेउबाट जाँदा जानी-जानी हात, काँध, वा पिठ्युँमा छुन्छन्—र जिस्किने कुराहरू भन्‍ने गर्छन्, जुन सबै जानी-जानी गरिएका हुन्छन्। यसले तिनीहरूको हृदय पहिले नै वासनाले भरिएको छ भन्‍ने देखाउँछ। सामान्य वयस्कहरू, विपरीत लिङ्गी मानिसहरूसँग अन्तरक्रिया गर्दा, सीमा, संयम, र परिधिहरू कायम राख्छन्। चाहे यौन कामना, विचार, बोलीवचन, शारीरिक सम्पर्कका हकमा होस्, वा मानिसहरूका बीचमा रहेको शारीरिक दूरी जस्ता कुराहरूका हकमा होस्, यो सबै तिनीहरूको विवेक र समझद्वारा शासित र नियन्त्रित हुन्छ। तर कामुक र छाडा मानिसहरू यस्ता हुँदैनन्। अवसर जेसुकै भए पनि, वरपर जति धेरै मानिसहरू भए पनि, वा त्यो बेला परिस्थिति जस्तोसुकै भए पनि, र तिनीहरूको आफ्नै उमेर र वैवाहिक स्थिति जस्तोसुकै भए पनि, अर्को पक्ष इच्छुक भए पनि वा नभए पनि, वा अर्को पक्षलाई तिनीहरूप्रति विकर्षण महसुस भए पनि, तिनीहरू अझै पनि जे मन लग्यो त्यही गर्छन्, जथाभाबी आफ्नो यौन कामनामा लिप्त हुन्छन्। छाडा हुनु भनेको यही हो। यस्ता मानिसहरू कुनै कुराले रोकिँदैनन्—तिनीहरू नैतिक सीमाहरू समेत पालन गर्दैनन्; तिनीहरू पूर्ण रूपमा लिप्त हुन्छन्। वास्तवमा, कतिपय मानिसहरू आफ्नो लिप्ततामा कुन हदसम्‍म जान्छन्? यहाँसम्म कि तिनीहरू विपरीत लिङ्गी व्यक्तिका संवेदनशील अङ्गहरू खुलस्त रूपमा नियालेर हेर्छन्। यदि विपरीत लिङ्गी व्यक्तिको आँखा उज्यालो, सुन्दर छ भने, उसले आफ्नो हृदयमा जे छ त्यो कुरा भन्ने, त्यस व्यक्तिसँग कुराकानी गर्ने वा कामबारे छलफल गर्ने जुनै पनि अवसर सिर्जना गर्नेछ, त्यस व्यक्तिको आँखामा एकोहोरो हेरिरहनेछ। यदि विपरीत लिङ्गी कुनै व्यक्तिको छाला गोरो, नरम, र कोमल छ भने, जानी-जानी होस् वा अनजानमा होस् ऊ बारम्बार त्यसलाई हेरिरहन्छ। यदि विपरीत लिङ्गी कुनै व्यक्ति अग्लो, पातलो छ भने, ऊ गुप्त रूपमा पछाडिबाट हेर्छ, एकोहोरो हेरिरहन्छ। यसलाई यौन कामनाले भरिनु भनिन्छ। के यस्ता मानिसहरू पथभ्रष्ट हुन्छन्? (हुन्छन्।) कतिपय नाबालिगहरू, वा विवाहित वयस्कहरू पनि हुन्छन्, जो प्रायजसो अश्लील सामग्री वा मिस वर्ल्ड जस्ता सौन्दर्य प्रतियोगिताहरू हेर्छन्, जहाँ महिलाहरूले अत्यन्तै अङ्ग प्रदर्शन गर्ने गरी लुगा लगाउँछन्—जुन तिनीहरूको दृश्यात्मक वासनालाई सन्तुष्ट पार्न पर्याप्त हुन्छ। तिनीहरू यसरी जति धेरै लिप्त हुन्छन्, तिनीहरूको यौन कामना र कामुक विचारहरूलाई काबुमा राख्‍न र नियन्त्रण गर्न त्यति नै गाह्रो हुन्छ। के यो दियाबलसहरूको प्रकटीकरण हो? (हो।) के सामान्य मानिसहरू यसरी जिउनेथिए त? के तिनीहरूले यसरी आफूलाई आचरणमा ढाल्नेथिए? (ढाल्‍नेथिएनन्।) कतिपय पूर्वीय पुरुषहरू तुलनात्मक रूपमा रूढिवादी हुन्छन्, र जब तिनीहरू पश्चिममा आउँछन् र धेरै महिलाहरूले अङ्ग प्रदर्शन गर्नेगरी लुगा लगाएका देख्छन्, तब तिनीहरू जिज्ञासु बन्छन् र तिनीहरूलाई थप एक-दुई पटक हेर्न मन लाग्छ, तर केही समयपछि, जब तिनीहरूलाई यसको बानी पर्छ, तब उप्रान्त तिनीहरूलाई जिज्ञासा हुँदैन—यो सामान्य प्रकटीकरण हो। कतिपय अविवाहित मानिसहरू पनि हुन्छन् जसलाई यौन कामनाका मामलाहरूबारे अलिक जिज्ञासा हुन्छ, वा जसले कहिलेकहीँ, वस्तुगत वातावरणका कारण केही दुष्ट वासना विकास गर्छन्। यी सबै सामान्य शारीरिक प्रतिक्रियाहरू हुन्—यसलाई पथभ्रष्ट हुनु भनेर भन्‍न सकिँदैन। तर दियाबलस रहेका मानिसहरू साधारण मानिसहरूसरह हुँदैनन्। तिनीहरूको पथभ्रष्टता सामान्य मानिसहरूको भन्दा बढी हुन्छ—यो निकै असामान्य हुन्छ। तिनीहरूलाई यौन कामनाबारे जिज्ञासा मात्रै हुने वा तिनीहरूमा सामान्य शारीरिक प्रतिक्रिया वा आवश्यकताहरू मात्र हुने होइन—तिनीहरू लम्पट र यौन व्यभिचारी हुन्छन्। जब तिनीहरू दुष्ट वासनामा लिप्त हुन्छन्, तब तिनीहरूलाई पटक्कै लाज लाग्दैन। पथभ्रष्ट हुनु भनेको यही हो। तिनीहरू कुन हदसम्‍म पथभ्रष्ट हुन्छन्? विपरीत लिङ्गीको छाला, आँखा, ज्यान, वा रूपलाई हेरेर मात्रै—वा तिनीहरूको आवाज सुनेर मात्रै समेत—तिनीहरूमा वासनाका विचारहरू पैदा हुन थाल्छन्, र त्यसपछि त्यो व्यक्तिसँग सम्पर्कमा आउने वा उसको नजिक हुने हरेक अवसर सृजना गर्छन्, यहाँसम्‍म कि आफ्नो यौन कामना सन्तुष्ट पार्ने कार्यहरू गर्न अझै अग्रसरता समेत जनाउँछन्। पथभ्रष्ट हुनु भनेको यही हो।

पथभ्रष्ट हुनुको अर्को प्रकटीकरण के हो भने यी मानिसहरू, जुनसुकै वातावरणमा भए पनि, सधैँ विपरीत लिङ्गका फरक-फरक मानिसहरूले घेरिएका हुन्छन्। त्यस्तो व्यक्तिले एकै पटकमा विपरीत लिङ्गका धेरै जना सदस्यहरूलाई छेडछाड गर्छ र प्रायजसो धेरै मानिसहरूसँग अस्पष्ट सम्बन्ध कायम राख्छ। अस्पष्ट सम्बन्ध भन्‍नुको अर्थ के हो? यो भनेको मित्रताको जस्तो तर रोमान्टिक सम्बन्ध जस्तै सम्बन्ध पनि हो—तिनीहरूको सम्बन्ध वास्तवमा कस्तो छ भनेर कसैले पनि स्पष्ट रूपमा भन्‍न सक्दैन। विपरीत लिङ्गी व्यक्तिसँग उसको कुनै स्पष्ट सीमा हुँदैन; उसको सम्बन्ध निकै अस्पष्ट हुन्छ—ऊ निरन्तर जिस्किन्छ, र कुराहरू धमिला र अस्पष्ट हुन्छन्। के यी प्रकटीकरणहरू कामुक प्रकृतिद्वारा शासित हुन्छन्? (हुन्छन्।) मानव सम्बन्धहरूका नैतिकता र सदाचारका हिसाबमा भन्दा, आजको संसारका दुष्ट प्रचलनहरूले उप्रान्त यस्तो घटनालाई आलोचना समेत गर्दैनन्। मानिसहरू यसलाई सक्षम हुनु, फेसनेबल हुनु भन्छन्—तिनीहरू यसलाई यौन रूपमा आजाद हुनु भन्छन्। त्यसकारण कतिपय मानिसहरूले यस्ता प्रकारका विचार र दृष्टिकोणहरू मण्डलीमा ल्याउँछन्। तिनीहरू यस्तो विश्‍वास गर्छन्, “म विपरीत लिङ्गको चाहे जति धेरै मानिसहरूसँग रोमान्टिक रूपमा संलग्‍न भए पनि, यो मेरो स्वतन्त्रता हो। अहिले कानुनले समेत यसलाई निन्दा गर्दैन, त्यसकारण म विपरीत लिङ्गका कति जना साथीहरूसँग रोमान्टिक रूपमा संलग्‍न हुन्छु भनेर छनौट गर्ने अधिकार मसँग छ, र मैले आफ्नो यौन कामनालाई कसरी सम्हाल्ने भनेर छनौट गर्ने अधिकार मसँग छ। मैले आफूलाई हानि गर्नु हुँदैन—मैले आफ्नो यौन कामनालाई पूर्ण रूपमा निकास गर्नुपर्छ।” के यो दुष्ट तर्क होइन र? (हो।) समाजका प्रचलनहरूले प्रवर्द्धन गर्ने रायहरूसँग जति धेरै मानिसहरू सहमत भए पनि वा जतिले तिनको वकालत गरे पनि, जति धेरै मानिसहरूले ती अभ्यास गरे पनि, परमेश्‍वरको घरमा यस्ता विधर्म र भ्रमहरूलाई “पथभ्रष्ट” भनेर चित्रण गरिन्छ, र यस्ता विधर्म र भ्रमहरूलाई पक्रिराख्‍नेहरूलाई पनि “अनाचारी” भनेर चित्रण गरिन्छ—निर्दिष्ट रूपमा भन्दा, तिनीहरू “कामुक” र “छाडा” हुन्छन्। के यो चित्रण सही छ? (छ।) मानिसहरूको शरीरको हरेक कार्य र जन्मजात प्रवृत्तिहरूलाई मानवतामा आधारित आधारभूत स्तरको नियमन गरिनुपर्ने हुन्छ। अनि यो नियमन के कुरामा भर पर्छ? यो मानिसहरूको विवेक र समझमा भर पर्छ। विवेक र समझभित्रको लाजको बोधले व्यक्तिका शारीरिक आवश्यकताहरू र उसको यौन कामनालाई उचित रूपमा नियमन गर्नुपर्छ। यदि तँ यसलाई नियमन गर्दैनस् वा नियन्त्रण गर्दैनस्, बरु तँ यौन कामनामा लिप्त हुन्छस् भने, त्यसलाई छाडा हुनु भनिन्छ, जसलाई कामुक हुनु भनिन्छ। यदि तँमा त्यस्ता प्रकटीकरणहरू छन् भने, तँ पथभ्रष्ट होस्। पथभ्रष्टता नकारात्मक कुरा हो—यो सकारात्मक कुरा पटक्‍कै होइन। किनभने यो मानिसहरूको मानवतामा हुने लाजको बोधको सीमाभन्दा बाहिर जान्छ, परमेश्‍वरले मानिसहरूबाट माग गर्नुहुने सामान्य चेतनाको सीमाभन्दा बाहिर जान्छ; यसले मानवताका सीमाहरू पार गर्छ र यसले दाजुभाइ-दिदीबहिनीहरूको सामान्य जीवनमा बाधा र हानि पुऱ्याउँछ। त्यसकारण, पथभ्रष्टतालाई दुष्ट कुरा, नकारात्मक कुराका रूपमा अवश्य नै चित्रण गरिन्छ; यो बिलकुलै सकारात्मक कुरा होइन। मण्डलीले, परमेश्‍वरको घरले यौन आजादीलाई पटक्‍कै प्रवर्धन गर्दैन। परमेश्‍वरको घरले के कुरालाई प्रवर्धन गर्छ? (मर्यादित र सभ्य हुनुलाई, र सामान्य मानवताको जियाइलाई।) परमेश्‍वरको घरले सन्तहरूको शिष्टता, र विवेक र समझको साथ आफूलाई आचरणमा ढाल्‍ने कार्यलाई प्रवर्धन गर्छ। कम्तीमा पनि, यौन चाहना र शारीरिक आवश्यकताहरूको कुरामा, व्यक्तिमा लाजको बोध हुनैपर्छ। अर्थात्, यदि तँ विवाह गर्न चाहन्छस्, यदि तँ सामान्य रोमान्टिक सम्बन्धमा रहन चाहन्छस् भने, यो परमेश्‍वरले मानिसहरूका लागि नियोजन गर्नुभएका विवाहका सिद्धान्तहरू अनुरूप हुनुपर्छ—यसमा हाडनाता करणी, छाडापन, वा कामुकता समावेश हुनु हुँदैन। बुझिस्? (बुझेँ।)

भर्खरै हामीले दियाबलस रहेका मानिसहरूको पथभ्रष्टताका केही प्रकटीकरणहरूका बारेमा सङ्गति गर्‍यौँ। के तिमीहरूलाई केही सुझबुझ प्राप्त गर्न सहयोग गर्नका लागि यस्तो विषयमा सङ्गति गरेको राम्रो कुरा हो? (हो।) प्रकटीकरण जेसुकै भए पनि, यदि यो सामान्य मानिसहरूको भ्रष्ट स्वभावको दायराभन्दा बाहिर जान्छ वा यो मानिसहरूको जन्मजात प्रकृति र नैसर्गिक गुणको दायराभन्दा बाहिर जान्छ भने, यो असामान्य कुरा हो—यो दियाबलसहरूको प्रकटीकरण हो। हामीले भर्खरै सङ्गति गरेका कुराहरूमध्ये, एकदमै कुटिल सोचाइ र व्यवहार भएका मानिसहरूबाहेक, अर्को प्रकारको व्यक्ति पनि हुन्छ, जसले स्पष्ट रूपमा ती कुटिल प्रकटीकरणहरू प्रदर्शन नगर्ला, तर जसको स्पष्ट प्रकटीकरण भनेको विशेष रूपमा कामुक र छाडा हुनु हो। यी स्पष्ट प्रकटीकरणहरू हुनुले ऊसँग दियाबलसहरूको पथभ्रष्ट सारको एउटा पक्ष पनि हुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्छ। त्यसोभए के यी स्पष्ट प्रकटीकरणहरू भएका मानिसहरू दियाबलसहरू हुन् भनेर निश्‍चितताको साथ भन्‍न सकिन्छ? (सकिन्छ।) तिनीहरू कुनै पनि बेला आफ्नो यौन कामनामा लिप्त हुन्छन्, तिनीहरूको हृदय दुष्ट वासनाले भरिएको हुन्छ, र तिनीहरूलाई देहको यौन कामनासँग सम्बन्धित मामलाहरूमा विशेष चासो हुन्छ—तिनीहरूको चासो सामान्य मानिसहरूको शारीरिक आवश्यकताहरूभन्दा बाहिर जान्छ। अर्थात्, तिनीहरू जुनसुकै उमेरका भए पनि, तिनीहरू जुनसुकै लिङ्गी भए पनि, वा तिनीहरूको वैवाहिक स्थिति चाहे जे भए पनि, तिनीहरूको देहको यौन कामनाका प्रकटीकरणहरू सामान्य मानिसहरूको भन्दा बाहिर जान्छन्, र सामान्य मानिसहरूका आवश्यकताहरूभन्दा पनि बाहिर जान्छन्। यस क्षेत्रमा तिनीहरूको प्रकटीकरण सामान्य छैन भनेर भन्‍नका लागि यो नै पर्याप्त हुन्छ। तिनीहरूलाई चित्रण गर्न दुई वटा शब्द प्रयोग गरेर भन्दा, तिनीहरू विशेष रूपमा “कामुक” र “छाडा” हुन्छन्। अर्थात्, तिनीहरूका शारीरिक आवश्यकताहरू अत्यन्तै असामान्य हुन्छन्। जब पनि तिनीहरू कुनै क्षेत्रमा निश्‍चित सबल पक्ष वा अनुकूल जन्मजात अवस्था भएको विपरीत लिङ्गी व्यक्ति देख्छन्, तब तिनीहरूमा वासनाका विचारहरू पैदा हुन सक्छन् र तिनीहरूले यौन कामना निकास गर्न सक्छन्। उदाहरणका लागि, जब तिनीहरू सेतो, मिलेको दाँत भएको, र निकै सुन्दर र मीठो मुस्कान भएको, वा निकै राम्रो कपाल वा आँखा भएको विपरीत लिङ्गी व्यक्ति देख्छन्, तब तिनीहरूमा वासनाका विचारहरू पैदा हुन सक्छन्। विपरीत लिङ्गी व्यक्तिको जुनसुकै विशेषता तिनीहरूलाई राम्रो वा सुन्दर लागे पनि, तिनीहरूमा वासनाका विचारहरू आउन सक्छन्—अनि तिनीहरूले अर्को व्यक्तिप्रतिको आफ्नो लगाव र सराहना व्यक्त गर्ने माध्यमका रूपमा यौन कामनाको निकास प्रयोग गर्छन्। के यो घिनलाग्दो कुरा होइन र? यो अत्यन्तै घिनलाग्दो कुरा हो! कतिपय दुष्ट मानिसहरूले विपरीत लिङ्गी व्यक्तिले निश्‍चित अनुहारको हाउभाउ देखाएको देख्दा वासनाका विचारहरू विकास गर्छन्, जस्तै बोल्दा अलिक आँखीभौँ उठाउनु, वा मुस्कुराउँदा गालामा खाल्टा बस्‍नु वा निकै मोहक स्थिर दृष्टि प्रदर्शन गर्नु। तिनीहरूमा उत्पन्न हुने वासनापूर्ण विचारहरूको आवृत्ति र सङ्ख्या अचिन्तनीय र अकल्पनीय हुन्छ। सामान्य मानिसहरूलाई त्यो कुरा अचम्‍म लाग्छ: “यदि कुनै व्यक्ति राम्रो देखिन्छ भने, उसलाई थप एक-दुई पटक हेर्नु ठीकै हुन्छ—तर त्यसले कसरी वासनाका विचारहरू पैदा गर्न र यौन कामना निकास गर्न सक्छ? के त्यो विकृत कुरा होइन र?” सामान्य मानिसहरूले वासनाका विचारहरू पैदा गर्दैनन् भनेर सोचेका कुराहरूले दुष्ट मानिसहरूमा वासनाका विचारहरू पैदा गर्न र तिनीहरूलाई वासना निकास गर्न लगाउन सक्छन्, र सामान्य मानिसहरूले यसलाई बुझ्न सक्दैनन्। पथभ्रष्ट हुनु भनेको यही हो। सरल रूपमा भन्दा, यसलाई विकृत हुनु, वासना-विकृत हुनु भनेर भनिन्छ। कतिपय महिलाहरूमा, राम्रो मांसपेशी, सुगठित अनुहार भएको, र अग्लो कद भएको पुरुषलाई देख्दा पनि वासनाका विचारहरू पैदा हुन सक्छन्। वा जब तिनीहरूले केही सीप, केही क्षमता भएको, र त्यसमाथि सम्पत्ति र हैसियत भएको पुरुष देख्छन्, तब तिनीहरूभित्र वासनाका विचारहरू निरन्तर आन्दोलित हुन्छन्। तिनीहरूले उसलाई कदर गर्ने वा ऊ सभ्य छ भन्‍ने सोच्ने मात्र होइन, उसलाई अलिकति बढी मन पराउने मात्र होइन, र ऊसँग रोमान्टिक रूपमा संलग्‍न हुन वा ऊसँगको सम्बन्ध पछ्याउन चाहने मात्र होइन—बरु, तिनीहरूको हृदयमा निरन्तर ऊप्रतिको वासनाका विचारहरू आन्दोलित हुन्छन्। मलाई भन, के यो घिनलाग्दो कुरा होइन र? के यो पथभ्रष्ट हुनु होइन र? (हो।) वासनाका विचारहरू बारम्बार आन्दोलित हुनु असामान्य कुरा हो—यो पथभ्रष्ट कुरा हो।

हामी दियाबलसहरूबाट पुनर्जन्म लिने मानिसहरूमा देखा पर्ने कामुकता र छाडापनका प्रकटीकरणहरूबारे हाम्रो सङ्गतिलाई यहीँ समाप्त गर्नेछौँ। अब हामी “यौन उत्तेजकता” का बारेमा कुरा गरौँ। यौन उत्तेजन वास्तवमा कामुकता र छाडापन दुवैसँग सम्बन्धित हुन्छ; यो एउटै कुरालाई फरक दृष्टिकोणबाट भन्ने तरिका मात्रै हो। यसले कतिपय मानिसहरूले, विपरीत लिङ्गी व्यक्तिलाई फकाउन र उसमा सकारात्मक छाप पार्नका लागि प्रायजसो उसको अगाडि आफ्नो मोहक हाउभाउ देखाउने कार्यलाई जनाउँछ। उदाहरणका लागि, कतिपय महिलाहरूलाई गाढा रातो र कामुक देखिने लिपस्टिक लगाउन, मेकअप लगाएर तिनीहरूको आँखा निकै आकर्षक देखिने बनाउन, र निकै वृद्ध भए पनि लाली समेत लगाउन मन पर्छ। पहिरन छनौट गर्दा, तिनीहरू सधैँ सेक्सी, आकर्षक, र ध्यान खिच्ने खालका बन्नमा ध्यान दिन्छन्; बोल्दा, विपरीत लिङ्गी व्यक्तिलाई आकर्षित गर्न सक्‍ने गरी नखरालु वा प्यारो बन्‍ने प्रयास गर्छन्; र इत्यादि। कतिपय पुरुषहरू प्रायजसो महिलाहरू तिनीहरूमाथि भर परून् भनेर आफूलाई दह्रिलो पाखुरा भएका नायकहरूका रूपमा प्रस्तुत गर्छन्। तिनीहरू महिलाहरूका अगाडि प्रायजसो आफ्ना मांसपेशीहरू फुलाएर देखाउँछन्, पेटका मांसपेशीहरू देखाउनका लागि सजिलै आफ्नो शर्ट खोल्छन्, र विपरीत लिङ्गीलाई आकर्षित गर्न यी माध्यमहरू प्रयोग गर्छन्। तिनीहरूको उद्देश्य विपरीत लिङ्गीहरूमा आफ्‍नोबारे राम्रो छाप पार्नु वा प्रेम सम्बन्धका लागि कोही भेट्टाउनु मात्रै होइन, बरु विपरीत लिङ्गीहरूलाई फकाउनु, तिनीहरूलाई चासो देखाउने बनाउनु, त्यसपछि तिनीहरूलाई यौन कामनामा फसाउनु हो। तिनीहरूको उद्देश्य यही हो। के यो यौन रूपमा उत्तेजक हुनु होइन र? (हो।) यो उत्तेजक हुनु हो। गैरविश्‍वासीहरूले त्यस्ता मानिसहरूलाई “छाडा” भन्छन्। यी “वेश्या” हरूले के-कस्ता कुराहरू गर्छन्? यदि महिला हो भने, उसले लिपस्टिक समेत यो-त्यो भनेर छनौट गर्छे। उसले साधारण लिपबाम प्रयोग गर्दिन, र उसले इज्जतदार र सभ्य मानिसहरूले प्रयोग गर्ने लिपस्टिकलाई पनि घृणा गर्छे, र ती पर्याप्त रूपमा उत्कृष्ट छैनन् भन्‍ने ठान्छे। उसले पुरुषहरूको हृदयलाई तरङ्गित पार्ने, तिनीहरूलाई लोभ्याउने, र तिनीहरूलाई पूर्ण रूपमा मन्त्रमुग्ध बनाएर आफ्नो प्रेममा पार्ने उद्देश्यले, विशेष रूपमा लगाउँदा आफ्ना ओठहरूलाई निकै यौन उत्तेजक र मोहक देखाउने कामुक रङ्गहरू छनौट गर्छे। पुरुषहरूसँगको आफ्नो अन्तरक्रियामा, उसले प्रायजसो उत्तेजक व्यवहारहरू प्रदर्शन गर्छे, यौन कामना पोख्छे, र यो सबै तिनीहरूलाई फकाउने उद्देश्यले गरिएको हुन्छ। पुरुषहरू जति धेरै हुन्छन्, विशेष गरी उसले मन पराउने प्रकारका पुरुषहरू जति धेरै हुन्छन्, त्यति नै ऊ उत्साहित र सक्रिय बन्छे, र उसले आफूलाई प्रदर्शन गर्न जति सक्दो गर्छे, आफ्नो वाकपटुताको धाक लगाउँछे, अझै परिष्कृत शब्दभण्डार प्रयोग गर्छे, आफ्‍नो अनुहारको हाउभाउमा विशेष ध्यान दिन्छे, र विशेष रूपमा आकर्षक तरिकाले लुगा लगाउँछे। यसलाई उत्तेजक हुनु भनिन्छ। के उत्तेजक मानिसहरू र कामुक मानिसहरूका बीचमा कुनै भिन्‍नता हुन्छ? के तिनीहरू एउटै प्रकारका हुन्? (हुन्।) तिनीहरू एउटै ड्याङका मुला हुन्। एउटाले सक्रिय रूपमा फकाउँछ, अर्को सक्रिय रूपमा कामुकतामा संलग्‍न हुन्छ। यी दुवै यौन कामनामा लिप्त हुनु, यौन कामना पोखिनु र लम्पटताका प्रकटीकरण हुन्, जुन सबै पथभ्रष्ट प्रकृति सारद्वारा शासित हुन्छन्। यस्तो उत्तेजक प्रकारका मानिसहरू, चाहे पुरुष होऊन् वा महिला होऊन्, तिनीहरूका उमेर वा वैवाहिक स्थिति जेसुकै होस्, तिनीहरू कुनै पनि परिस्थितिमा आफ्नो व्यवहार नियन्त्रण गर्दैनन्, न त तिनीहरू आफ्नो यौन कामना नियन्त्रण वा व्यवस्थापन नै गर्छन्। बरु, तिनीहरू लम्पट र लापरवाह हुन्छन्, सक्रिय रूपमा अग्रसरता समेत देखाउँछन्—तिनीहरू विशेष लुगा लगाउँछन्, विशेष हाउभाउ देखाउँछन्, विशेष भाषा, विशेष बोलीवचनको शैली प्रयोग गर्छन्, र विपरीत लिङ्गीको ध्यान आकर्षित गर्न, तिनीहरूलाई कुराकानीमा आकर्षित गर्न, तिनीहरूलाई पासोमा पार्न विशेष कुराहरू गर्छन्, र आदि इत्यादि। त्यसकारण, त्यस्ता मानिसहरू कामुक मात्रै हुँदैनन्, तर उत्तेजक पनि हुन्छन्। “उत्तेजक” भन्‍ने शब्द साँच्‍चै नै निकै घिनलाग्दो शब्द हो। छोटकरीमा भन्दा, त्यस्ता मानिसहरूले कामुकता देखाए पनि वा उत्तेजकता देखाए पनि, तिनीहरूले यौन कामना पोख्ने तरिका छाडा हुन्छ, तिनीहरूले यौन कामना पोख्ने कार्यको प्रकृति छाडा हुन्छ, र तिनीहरूको सार पथभ्रष्ट हुन्छ। त्यस्ता मानिसहरूका प्रकटीकरणहरू कामुक भए पनि वा उत्तेजक भए पनि, ती सामान्य मानिसहरूका शारीरिक आवश्यकताहरूभन्दा बाहिर जान्छन्, र तिनीहरूमा विवेक र समझको संयमको कमी हुन्छ। त्यसकारण, त्यस्ता मानिसहरू पूर्ण रूपमा दुष्ट मानिसहरू हुन्। तैँले यसलाई जसरी हेरे पनि, तिनीहरू असल मानिसहरू होइनन्, बरु दियाबलसहरू हुन्। कुनै पनि समूहमा, त्यस्तो एउटा मात्र दियाबलसको उपस्थितिले पनि बाधा ल्याउनेछ। इज्जतदार र सभ्य मानिसहरूलाई तिनीहरूसँग घिन लाग्छ, जबकि सानो कदका, वा कुनै सुझबुझ वा अडान नभएका मानिसहरू—विशेष गरी जनावरबाट पुनर्जन्म लिनेहरू—प्रायजसो तिनीहरूबाट बहकिन्छन् र तिनीहरूको हैरानी भोग्छन्। सारांशमा भन्दा, यी दुष्ट प्रकटीकरणहरू प्रदर्शन गर्ने दियाबलसहरू जुनसुकै समूहमा भए पनि आपत् हुन्, जसले कसैलाई पनि कुनै फाइदा वा सहयोग दिँदैनन्, किनभने तिनीहरूको यौन कामना बारम्बार पोखिन्छ, जसले प्रायजसो कतिपय मानिसहरूको दैनिक जीवन र सामान्य विचारहरूमा बाधा दिन्छ।

मलाई भन, के यो कामुक, छाडा, र उत्तेजक प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउन सजिलो हुन्छ? (हुन्छ।) वयस्कहरूले तिनीहरूलाई खुट्ट्याउन सक्छन्, र सायद आजभोलि नाबालिग बच्‍चाहरूले समेत खुट्ट्याउन सक्छन्। त्यसकारण, धेरैजसो मानिसहरूले दियाबलसहरूको दुष्ट सार भएका मानिसहरूलाई भेट्दा, तिनीहरूमा केही अनुभूति, केही सुझबुझ त हुनुपर्ने हो; तिनीहरू थाहै पाउन नसक्‍ने गरी मूर्ख हुनेछैनन्। त्यसकारण, जब तिमीहरूले त्यस्ता मानिसहरूलाई भेट्छौ, तब के तिनीहरूसँग कसरी व्यवहार गर्ने भन्‍ने तिमीहरूलाई थाहा हुन्छ? के तिमीहरूले तिनीहरूलाई इन्कार गर्नेछौ? यदि तैँले आफूलाई मन नपर्ने कसैलाई भेटिस् भने, तैँले उसलाई इन्कार गर्छस् होला। तर यदि त्यो वास्तवमा तँलाई मन पर्ने व्यक्ति हो—तेरो सपनाको प्रेमी, तेरो आदर्श जीवनसाथी हो भने—के उसलाई इन्कार गर्न तँलाई सजिलो हुनेथियो? तिनीहरू यस्तो प्रकारका व्यक्ति हुन् भन्‍ने तँलाई स्पष्ट रूपमा थाहा हुन्छ, तर तिनीहरूको रूप अत्यन्तै आकर्षक हुने हुनाले वा तिनीहरूको कुनै सबल पक्षले तँलाई अत्यन्तै छुने हुनाले, तिनीहरूले तेरो मन चोर्छन् र तँलाई मोहनी लगाउँछन्—यस्तो परिस्थितिमा, तिनीहरूलाई इन्कार गर्न तँलाई गाह्रो हुन्छ। यदि तैँले तिनीहरूलाई इन्कार गरिनस् भने, के तँ खतरामा हुँदैनस् र? (हो, त्यो प्रलोभनमा पर्नु हो।) के यो प्रलोभनमा पर्नु मात्रै हो? यो यौन कामनाको घुमाउरो भङ्गालोमा पर्नु हो। के यौन कामनाको घुमाउरो भङ्गालोमा परेको व्यक्तिलाई आफूलाई मुक्त गर्न सजिलो हुन्छ? (अहँ, हुँदैन।) तिनीहरू तँलाई चासो देखाउँछन् र ख्याल गर्छन्, प्रेम र वास्ता देखाउँछन्, साथै तिनीहरू तँलाई निरन्तर स-साना निगाहहरू प्रस्ताव गर्छन्। तँलाई भित्री रूपमा असाधारण रूपमा न्यानो महसुस हुन्छ, र तँ सोच्छस्, “संसारमा मलाई यति राम्ररी व्यवहार गर्ने अरू कोही छैन; यो मेरो सपनाको राजकुमार, मेरो सपनाको प्रेमी हो।” यदि ऊ कामुक र छाडा व्यक्ति हो भने, उसले अरूलाई पनि त्यस्तै व्यवहार गर्छ भन्ने कुरा तैँले महसुस गर्न सक्दैनस्। तँ तिनीहरूका सबै विपरीत लिङ्गी साथीहरूमध्ये एउटा मात्रै होस्; तिनीहरूका लागि, तँ तिनीहरूले आफ्नो लामो जीवन यात्रामा भेटेर जाने व्यक्ति—केवल एक बिसौनी—मात्रै होस्। जब तिनीहरूले तँसँग पर्याप्त रूपमा रमाइलो गरिसक्छन् र तिनीहरूलाई तँप्रति उप्रान्त कुनै आकर्षण रहँदैन, तब तँ तिनीहरूले त्याग्‍ने व्यक्ति बन्छस्। तिनीहरूले तँलाई लुगा वा थोत्रो कपडा जस्तै गरी निर्दयी ढङ्गले त्याग्छन्, र त्यसपछि चाहिँ तैँले पीडा महसुस गर्नेछस्। जब तिनीहरूले तँलाई त्याग्‍ने निर्णय गर्छन्, तब तँ रुनु व्यर्थ हुन्छ, तैँले तिनीहरूलाई बिन्ती गर्नु व्यर्थ हुन्छ, तिनीहरूको अघि तैँले घुँडा टेक्नु समेत व्यर्थ हुन्छ; कतिपय मानिसहरूले त आत्महत्या समेत गर्छन्, तर त्यो पनि व्यर्थ नै हुन्छ—तिनीहरूलाई कुनै पनि कुराले छुन सक्दैन। तँप्रति तिनीहरूमा उप्रान्त यौन आवश्यकताहरू नभएपछि, तिनीहरूले तँप्रति उप्रान्त कुनै भावनाहरू छैनन्, तिनीहरूले तँलाई उप्रान्त प्रेम गर्दैनन् भनेर भन्‍नेछन्, र तिनीहरू तँलाई प्रतिस्थापन गर्न अर्को सिकार खोज्न जानेछन्। त्यसपछि मात्रै तँलाई त्यस्ता मानिसहरू उपयुक्त वैवाहिक साथी होइनन्, सपनाको राजकुमार, जीवनसाथी, वा सपनाको प्रेमीको विचार सबै छली चलाकी मात्रै हो भन्‍ने पत्ता लाग्छ, त्यसपछि मात्रै तैँले यौन कामना साँचो प्रेम होइन भन्‍ने महसुस गर्छस्। त्यस्ता कामुक र छाडा मानिसहरूले चाहे जोसँग प्रेम सम्बन्ध गाँसे पनि, तिनीहरूमा यौन कामना मात्रै हुन्छ र तिनीहरूसँग कुनै साँचो प्रेम हुँदैन। तिनीहरूले तँसँग सधैँ रहने, वा कुनै जिम्मेवारी पूरा गर्ने कुनै अभिप्राय कहिल्यै राख्दैनन्। तिनीहरू यौन कामनाको खेलमा मात्रै लिप्त हुन्छन्। तिनीहरूले पर्याप्त रूपमा रमाइलो गरेपछि र तिनीहरूको यौन कामना सन्तुष्ट भएपछि, तिनीहरूले तँलाई दोस्रो पटक फर्केर हेर्न समेत चाहनेछैनन्, र तँप्रति दया गर्ने झमेला समेत लिनेछैनन्। तिनीहरूले आफ्नो नयाँ निसाना भेट्टाएपछि, तँ निभेको आगो बन्छस्, त्यसपछि तँ रुन मात्रै सक्छस्। त्यसकारण, पुरुष होस् वा महिला होस्, प्रेम सम्बन्धमा रहँदा वा जीवनसाथी खोज्दा, व्यक्तिले कहिलेकहीँ त्यस्ता दुष्ट मानिसहरू भेट्छ। तिनीहरूले तँप्रति कामुक विचारहरू विकास गर्छन् र तँलाई आफ्नो पासोमा फसाउँछन्, तैपनि तिनीहरूले तँलाई साँच्चै प्रेम गर्छन् भन्‍ने तँलाई विश्‍वास हुन्छ र तँ तेरो जीवनको खुसी त्यस्ता व्यक्तिलाई सुम्पन्छस्। तँलाई पन्छाइएपछि र त्यागिएपछि मात्रै तैँले उसलाई गलत मूल्याङ्कन गरेको रहेछस्, यो व्यक्ति जिम्मेवारीहरू पूरा गर्न सक्‍ने मानवता भएको व्यक्ति होइन, तर कामुक र छाडा व्यक्ति हो भन्‍ने कुरा तैँले महसुस गर्छस्। त्यति बेलासम्म, पछुतो गर्नका लागि ढिला भइसकेको हुन्छ; यो विवाहको मामिलामा कठिन बाटो लिनु हो। सामान्य मानवता भएको व्यक्तिका हकमा भन्दा, खेलबाड गरिनुको अनुभवले आजीवन पीडा ल्याउन सक्छ, तर दियाबलसहरू चाहे जति धेरै मानिसहरूसँग खेलबाड गरे पनि उदासीन नै रहन्छन्; तिनीहरूलाई भाग्यमानी, खुसी, र सन्तुष्टि समेत महसुस हुन्छ, तिनीहरू अझै धेरै विपरीत लिङ्गी मानिसहरूलाई फकाएर खेलौना बनाउन सके त हुनेथियो भन्‍ने उत्कट चाहना गर्छन्। तिनीहरू यसलाई आफ्नो जीवनकालको खुसीका रूपमा लिन्छन्, र यसलाई आफ्नो सीप र क्षमता भन्छन्। सामान्य मानिसहरूले तिनीहरूसँग व्यवहार गर्ने कष्ट उठाउन सक्दैनन्। त्यसकारण, यदि तँ सम्बन्धमा रहन चाहन्छस् भने, आँखा खुला राख् र कुराहरूलाई स्पष्ट रूपमा हेर्; तैँले जे गरे पनि, दियाबलसलाई चाहिँ नचून्। यदि तैँले सामान्य व्यक्तिसँग प्रेम सम्बन्ध गाँसिस् भने, तैँले प्रेम सम्बन्ध तोडे पनि, उसले तँलाई त्यति गहन रूपमा चोट पुर्‍याउनेछैन; कम्तीमा पनि, तिमीहरू साधारण साथीहरूका रूपमा रहन सक्छौ। तर यदि तँ दियाबलससँग संलग्‍न भइस् भने, तेरो सम्पूर्ण जीवन तिनीहरूको हातमा बरबाद हुनेछ। मलाई भन्, सामान्य व्यक्तिमा कति निष्कपटता र साँचो स्‍नेह हुन्छ? यो जीवनकालमा तिनीहरूसँग कति ऊर्जा हुन्छ? यदि तँ कसैसँग सम्बन्धमा प्रवेश गर्दा हरेक पटक ठगिन्छस्, जसले गर्दा तँलाई छल र खेलबाडमा परेकोमा गहन रूपमा चोट पुग्छ भने, तँ आफ्नो सम्पूर्ण जीवनको मार्ग यो छायामुनि रहेर हिँड्नेछस्, जसले गर्दा तेरो अस्तित्व अत्यन्तै पीडादायी हुनेछ। त्यसकारण, विपरीत लिङ्गी व्यक्तिसँग प्रेम सम्बन्धमा रहँदा होस् वा सङ्गत गर्दा होस्, तँ सबैभन्दा बढी यी कामुक र छाडा मानिसहरूबाट सतर्क हुनुपर्छ। तँ पुरुष भए पनि वा महिला भए पनि, यदि तैँले मानिसहरूलाई छर्लङ्ग देख्‍न सक्दैनस् र कुनै व्यक्ति कामुक र छाडा छ कि छैन भन्‍ने तँलाई थाहा छैन भने, ठगिनु र जीवनभरि पछुतो भोग्‍नुबाट जोगिनका लागि लापरवाह रूपमा तिनीहरूसँग सङ्गत नगर्। तीता परिणामहरू देखा परेपछि, तिनको सामना गर्ने व्यक्ति तँ मात्रै हुन्छस्; कसैले पनि तेरो स्थान लिन सक्दैन, र कसैले पनि तेरो चोट लागेको हृदयलाई सान्त्वना दिन सक्दैन। तैँले मानिसहरूलाई छर्लङ्ग देख्‍न सक्छु भनेर भने पनि, तैँले सही ढङ्गले त्यसो गर्न सक्दैनस् होला। आजभोलि कसैका बारेमा निश्‍चित हुन सकिँदैन। व्यक्तिले मुक्ति प्राप्त गर्नुभन्दा पहिले, उसमा सत्यता पछ्याउने चाहना मात्रै हुन्छ; उसमा सभ्य मानवता छ जस्तो देखिन्छ होला, तर तँ ऊसँग जिइस् भने कामकुरा वास्तवमा कस्तो हुनेछ भन्‍ने कुरा अनिश्‍चित हुन्छ। सत्यता नबुझ्ने र मुक्ति नपाएको कुनै पनि व्यक्ति भरपर्दो हुँदैन। तिनीहरू किन भरपर्दा हुँदैनन्? मलाई भन्, यो दुष्ट संसारमा जिउँदा, के सत्यता प्राप्त नगरी, कुनै पनि प्रलोभनलाई प्रतिरोध गर्न र कुनै पनि दुष्ट प्रचलनको बीचमा दृढ रहन सक्‍ने कोही छ? एक जना पनि छैन। त्यसकारण, भरपर्दा मानिसहरू कोही छैनन्। भरपर्दा मानिसहरू कोही छैनन् भन्‍नुको अर्थ के हो? यसको अर्थ पुरुष होस् वा महिला होस्, जोकोहीका लागि, विवाहमा प्रवेश गर्नु नै दुःखान्तको सुरुवात हो। दैनिक आवश्यकताहरू पूरा गर्नुपर्दा र दिन प्रति दिन जीवनका विभिन्‍न सानातिना कुरा र झमेलाहरूको सामना गर्नुपर्दा, यी दुई जना मानिसहरू अन्त्यसम्म रहन सक्छन् कि सक्दैनन्, तिनीहरूले बाटोमा एक-अर्कालाई साथ दिनेछन् कि दिनेछैनन्, तिनीहरू खुसी हुनेछन् कि हुनेछैनन्, र तिनीहरूसँग एउटै जग र साझा पछ्याइहरू हुनेछन् कि हुनेछैनन् भनेर भन्‍न गाह्रो हुन्छ। त्यसकारण, व्यक्ति विवाहमा प्रवेश गरेपछि र उसले वास्तविक जीवन सामना गर्न थालेपछि, कष्ट सुरु हुन्छ। हेर् त, जब तँ एकल हुन्छस्, तब सबै कुरा सम्हाल्न सजिलो हुन्छ; तैँले आफ्ना लागि आफै निर्णय गर्न सक्छस्। तर जब दुई जना मानिसहरू सँगै जिउँछन्, तब के तैँले सबै निर्णय आफै गर्न सक्छस्? के अर्को व्यक्ति तँ अनुकूल हुनेछ? के तँ तिनीहरूको इच्छाअनुसार चल्नेछस्? के तिनीहरूले तँलाई हेरचाह र ख्याल गर्नेछन्? के तैँले तिनीहरूको हेरचाह गर्नेछस्? यी सबै अज्ञात कुराहरू हुन्। यदि तैँले भेट्ने व्यक्ति कामुक र छाडा छैन, र तँलाई तिमीहरू एक-अर्काका लागि उपयुक्त छौ र तिमीहरू विवाह गर्न सक्छौ भन्‍ने लाग्छ भने पनि, तिनीहरूले अन्ततः विवाहको संरचनाभित्र रहेका आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा अज्ञात हुन्छ, र तँ यस दायराभित्र रहेर तिनीहरूसँग अन्त्यसम्मै हिँड्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा पनि अज्ञात हुन्छ। तँ आफैमा समेत सुनिश्‍चितता र आत्मविश्‍वासको कमी छ, जसले अरू पनि त्यस्तै हुन्छन् भन्‍ने कुरा प्रमाणित गर्छ—त्यो भनिरहनु पर्दैन, होइन र? (हो।)

यदि, तेरो दैनिक जीवनमा, तैँले यस्ता कामुक, उत्तेजक, र छाडा प्रकारका मानिसहरू भेटिस्, र तिनीहरू तँसँग नजिक हुने प्रयास गर्छन् भने, त्यसो गर्दा तिनीहरूको उद्देश्य के हो भन्‍ने कुरा तैँले जान्नुपर्छ। यदि तँ तिनीहरूलाई इन्कार गर्दैनस्, वा यदि तेरो डरपोकपना, सोझोपन, मूर्खता र अज्ञानता, वा अनुभवात्मक ज्ञानको कमीका कारण तँ तिनीहरूको मनसाय पूरा हुन दिन्छस्, जसले गर्दा प्रतिकूल परिणामहरू देखा पर्छन् भने, अन्ततः, परिणामहरू भोग्‍ने व्यक्ति तँ नै हुनेछस्। कामुक र छाडा मानिसहरूले—दियाबलसहरूले—यौन कामना पोखेको वा अनैतिक कुराहरू गरेकोमा कहिल्यै कुनै ग्लानि वा पछुतो महसुस गर्दैनन्। तिनीहरूलाई यसको कुनै महत्त्व छैन भन्‍ने लाग्छ; तिनीहरू तिनीहरूले फाइदा लिइरहेका छन्, र जीवनमा मानिसहरू यस्तै हुनुपर्छ भन्‍ने सोच्छन्। तर यदि तँ सामान्य व्यक्ति होस् भने, तेरो मानवताभित्र रहेको विवेक र समझले त्यस्ता प्रहार, कष्ट, र गम्भीर हानि पटक्कै सहन सक्दैन। त्यसकारण, यदि तैँले त्यस्ता कामुक र छाडा मानिसहरू भेटिस् भने, तँ होसियार हुनुपर्छ। तँ प्रलोभनमा नफस्नका लागि, मलाई रक्षा गर्नुहोस् भनी तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ। विशेष गरी यदि अर्को व्यक्तिसँग धेरै गुप्त चलाकीहरू छन्, ऊ अनुभवी खेलाडी हो, र ऊ तेरो सपनाको प्रेमी पनि हो, तैँले पछ्याउने सपना देखेको व्यक्ति पनि हो भने, तँ सजिलै प्रलोभनमा पर्न सक्छस् र तँ सजिलै सुधार गर्न नसकिने परिस्थितिमा पर्न सक्छस्, जसले गर्दा तैँले अन्ततः कसैले पनि हेर्न नचाहने खराब परिणाम भोग्‍न सक्छस्। त्यो बेलासम्म, तेरो हृदय, मन, र देहले केही हदसम्म विनाश भोगेको हुनेछ। त्यसपछि, जब तँ आफ्नो कर्तव्य पूरा गर्न र उहाँलाई पछ्याउन परमेश्‍वरको अघि आउँछस्, तब धेरै कुराहरू फरक हुनेछन्—ती सुरुमा जस्ता थिए, कहिल्यै त्यस्ता हुनेछैनन् र ती पहिले जस्ता थिए त्यस्तो अवस्थामा कहिल्यै फर्केर आउन सक्दैनन्। कसैले यौन कामनासँग सम्बन्धित केही असामान्य वा उतारचढावपूर्ण अनुभवहरू भोगेपछि, यसले उसको हृदयमा केही भयानक छाप छोड्छ, जुन कुरालाई कुनै पनि सामान्य व्यक्तिले आफ्नो सम्पूर्ण जीवनभरि सजिलै बिर्सिँदैन। अलि अलि गर्दै समय बित्दै जाँदा, यी यादहरू र यो पीडा बिस्तारै हराउन सक्‍ने भए पनि, यदि यी घटनाहरूले तँलाई केही मात्रामा हानि र बरबादी दिएका छन् भने, ती तेरो हृदयमा सधैँ रहने डरलाग्दा सपनाका रूपमा रहनेछन्। यस जीवनमा, तँ कहिले पनि आफ्नो पहिलेको जीवनमा फर्केर जान सक्‍नेछैनस्; उप्रान्त तेरो भित्री संसार पहिलेको जस्तो विशुद्ध र सरल हुनेछैन, र तँलाई आफ्नो पहिलेको स्थिति फेरि प्राप्त गर्न असम्भव हुनेछ। यस विन्दुमा, जब तँ आफ्नो कर्तव्य पूरा गर्न आउँछस्, तब तेरो हृदयमा थप बोझ हुनेछ जुन तँ त्याग्‍न चाहनेछस् तर सक्नेछैनस्। यो बोझले के जनाउँछ? यसले हानि भोगेको अनुभवका विभिन्न यादहरूलाई जनाउँछ। यी यादहरूका बारेमा सोच्दा तँलाई वाक्‍क लाग्नेछ, र तिनले तेरो हृदय र भावनाहरूलाई पनि बारम्बार बाधा दिनेछन्। त्यसकारण, उप्रान्त तेरो भित्री संसार पहिलेको जस्तो विशुद्ध र सरल हुनेछैन; अब तेरा भावनाहरूमा सामान्य मानवतामा हुनु नहुने धेरै कुराहरू समावेश हुनेछन्। निश्‍चित हदसम्‍म, यसले तेरो जीवनमा, कर्तव्य निर्वाहमा हस्तक्षेप गर्नेछ, र परमेश्‍वरमाथिको तेरो विश्‍वासमा र सत्यता पछ्याइमा पनि हस्तक्षेप गर्नेछ। बोझ भनेको यही हो। त्यसकारण, उमेर जतिसुकै भए पनि, कुनै व्यक्ति दियाबलससँगको रोमान्टिक सम्बन्धको प्रलोभनमा परेपछि, ऊ स्वाभाविक रूपमै अवर्णनीय दिक्दारीमा पर्छ। सामान्य व्यक्तिका लागि, यो राम्रो कुरा होइन।

वास्तविक जीवनमा, मानिसहरूले प्रायजसो केही कामुक र छाडा व्यक्तिहरू भेट्छन्। हामीले आज यी वचनहरूबारे सङ्गति गरेपछि, तिमीहरूले यस्ता व्यक्तिहरूका बारेमा सुझबुझ प्राप्त गरेका हुनाले र तिनीहरू सामान्य मानिसहरू होइनन् बरु दियाबलसहरू हुन् भन्‍ने थाहा पाएका हुनाले, जब तिनीहरूले तँलाई फकाउने प्रयास गर्छन्, तब तैँले तिनीहरूलाई दृढ रूपमा इन्कार गर्न सक्छस्। तिनीहरूलाई अप्रत्यक्ष रूपमा र भद्र रूपमा इन्कार नगर, वा तिनीहरूलाई इन्कार गर्न अत्यन्तै लाज मान्‍ने, वा त्यस्ता मानिसहरूको डर समेत मान्‍ने नगर। अवश्य नै, यदि तँलाई ऊ दियाबलस हो कि होइन भन्‍ने वास्ता छैन, र तँ “म तीस-चालीस वर्षको भइसकेँ र मैले अझै विवाह अनुभव गरेको छैनँ; यदि कसैलाई साँच्‍चै नै मप्रतिको यस्तो खाँचो छ भने, म खुसीसाथ स्वीकार गर्नेछु” भनेर भन्छस् भने, परिणामहरू के हुन सक्छन् भनी वा मनोवैज्ञानिक घाउहरू के हुनेछन् भनी तँलाई वास्ता नभएकोले, म थप केही भन्‍नेछैनँ। विपरीत लिङ्गीसँगको फकाइका विरुद्धमा कुनै सतर्कता वा सावधानी नभएका केही मूर्ख मानिसहरूले प्रलोभनको सामना गर्नु पर्दा, तिनीहरूले कुन सही मनोवृत्ति अपनाउनुपर्छ भन्‍ने कुरा थाहा दिनु नै मैले यो कुरा भन्‍नुको उद्देश्य हो। यदि तँलाई कुनै व्यक्ति कामुक र छाडा छ भन्‍ने कुराको वास्ता छैन, ऊ दियाबलस हो भन्‍ने कुराको वास्ता छैन, र उसलाई तँ मन परेकोले मात्रै पनि तँलाई निकै सम्मान महसुस हुन्छ भने—यो गैरविश्‍वासीहरूको भनाइ जस्तै हो: “पुरुषले उसलाई बुझ्ने व्यक्तिका लागि आफ्नो ज्यान दिन्छ, जबकि स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे”—अनि तँ सोच्छस्, “स्त्रीका रूपमा, यदि कसैले मलाई साँच्‍चै नै मन पराउँछ भने, यसले मेरो रूप स्वीकार्य छ भन्‍ने देखाउँछ, त्यसकारण मैले अत्यन्तै सम्मान महसुस गर्नुपर्छ। त्यसोभए ऊ साहसको साथ मकहाँ आओस्; म यसलाई स्वागत गर्छु, र म उसलाई दुवै हात खोलेर अङ्गाल्नेछु”—यो मनोवृत्ति कस्तो हो? मलाई भन, के “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने भनाइ स्त्रीहरूप्रति सम्मानजनक छ? (छैन।) पुरुषले आफूलाई बुझ्नेहरूका लागि आफ्नो ज्यान बलिदान गर्नु नै पर्छ, र स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउनु नै पर्छ—के यो भनाइ सही छ? (छैन।) महिलाहरू किन यति नीच हुन्छन्? पुरुषहरू पनि नीच नै हुन्छन्। त्यसकारण पुरुषहरूले अरूका लागि आफ्नो ज्यान दिनैपर्छ। जो तेरो विश्‍वासपात्र हुन्छ ऊ नै तेरो मालिक हुन्छ, जसका लागि तैँले आफ्नो ज्यान बलिदान गर्नुपर्छ—तेरो जीवन किन यति मूल्यहीन छ? के तेरो जीवन तेरो आफ्नो नभई अरूको हुन सक्छ? परमेश्‍वरले मानव जीवनलाई सबैभन्दा बढी महत्त्व दिनुहुन्छ, किनभने यो जीवन, यो सास परमेश्‍वरले दिनुभएको हो; यो सृजित देहले चल्न र जीवित प्राणी बन्‍न सक्‍नका लागि आवश्यक आधारभूत सर्त हो। यदि तैँले आफ्नो जीवनलाई बहुमूल्य ठान्दैनस्, तर लापरवाह रूपमा यो अरूलाई सुम्पन्छस् र तिनीहरूका लागि यसलाई बलिदान गर्छस् भने, यसले के देखाउँछ? के यसले तँ नीच छस् भन्‍ने देखाउँदैन र? (हो।) यसले तेरो जीवनको कुनै मूल्य छैन भन्‍ने देखाउँछ। तैँले आफ्नो जीवनलाई बहुमूल्य मान्दैनस्, तैँले आफ्नो जीवनलाई सबैभन्दा अर्थपूर्ण र बहुमूल्य कुराहरू गर्नका लागि प्रयोग गर्दैनस्, तर तँलाई बुझ्‍ने जोकोहीका लागि तँ त्यत्तिकै मर्न सक्छस्। यसले तेरो जीवन अत्यन्तै सस्तो छ भन्‍ने देखाउँछ; यो कुकुर, बिरालो, वा कुखुराको जीवन जस्तै कुहिएको, मूल्यहीन जीवन मात्रै हो। त्यसोभए, के “पुरुषले उसलाई बुझ्ने व्यक्तिका लागि आफ्नो ज्यान दिन्छ” भन्‍ने भनाइ सही छ? (छैन।) यो भनाइले मानिसहरूलाई अपमानित गर्छ, मानिसहरूलाई अनादर गर्छ; यो जीवनलाई बहुमूल्य नठान्ने भनाइ हो। अरूका लागि सजिलै मर्नु—के मानव जीवन सजिलै आउँछ? जीवन सजिलै आउँदैन; व्यक्ति यति सजिलै मर्नु हुँदैन। त्यसकारण, “पुरुषले उसलाई बुझ्ने व्यक्तिका लागि आफ्नो ज्यान दिन्छ” भन्‍ने भनाइ गलत र अस्वीकार्य छ। त्यसोभए के “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने भनाइ सही छ? (यो पनि सही छैन।) यो कुन हिसाबमा गलत छ? के तिमीहरूलाई कुनै बेला यो भनाइ साँच्‍चै मन पर्थ्यो, तिमीहरूले यसलाई साँच्‍चै अनुमोदन गर्थ्यौ, र यसलाई सत्यता, आदर्श वाक्यका रूपमा समेत लिएका थियौ? के तँलाई प्रशंसा गर्ने कोही व्यक्ति कहिल्यै आएको छ? यदि तँलाई प्रशंसा गर्ने व्यक्ति तँलाई मन पर्ने व्यक्ति थियो भने, के तँलाई सम्मान महसुस भयो? (ठ्याक्कै सम्मान महसुस त भएन, सायद भित्री रूपमा खुसी चाहिँ भयो।) त्यसोभए त्यो सम्मानको अनुभूति हुनुभन्दा त्यति टाढाको कुरा होइन। के यो खुसी असल कुरा हो? (होइन।) किन होइन? (स्त्रीले पुरुषको कदर र स्‍नेहका लागि आफूलाई सजाउनु, ऊ पुरुषहरूका लागि मात्रै जिउनु, यसमा आफ्ना सबै विचारहरू लगाउनु—मलाई यसरी जिउनु निकै नीच हो जस्तो लाग्छ।) के योभन्दा फरक विचार छन्? “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने भनाइले नै महिलालाई पुरुषभन्दा असमान स्थानमा राख्छ। महिलाहरूले पुरुषहरूलाई खुसी पार्न आफूलाई सुन्दर बनाउनुपर्छ, पुरुषहरूको खुसीका खातिर जिउनुपर्छ, र कसैले उनीहरूलाई मन पराउँदा र प्रशंसा गर्दा सम्मानित महसुस गर्नुपर्छ भनेर यसले तोक्छ। यो असमानता हो; यो आफैमा नै महिलाको न्यून हैसियतको साँचो प्रतिबिम्ब हो। “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने भनाइको तात्पर्य के हो भने चाहे महिलालाई आफ्नो सुन्दर रूपका कारण अरूले मन पराऊन्, वा सुन्दर देखिनका लागि आफूलाई कसरी सजाउने भन्‍ने थाहा पाएका कारण उसले पुरुषहरूको स्‍नेह आकर्षित गरोस्, उसलाई यसको कारण खुसी र गौरवान्वित महसुस हुनुपर्छ। यो आफैमा पनि महिलाहरूलाई गिराउनु हो। यो भनाइले महिलाहरूलाई तिनीहरूको अस्तित्वको मूल्य, तिनीहरूको खुसीको स्रोत भनेको तिनीहरूलाई मन पराउने कुनै व्यक्ति हुनु हो, र यदि त्यस्तो व्यक्ति छैन भने, तिनीहरूलाई अभागी र व्याकुलता महसुस हुनुपर्छ, र कसैले पनि तिनीहरूलाई किन मन पराउँदैन, अनि महिलाका रूपमा, तिनीहरूले व्यर्थको र असफल जीवन जिइरहेका छन् कि छैनन् भन्‍ने बारेमा चिन्तन गर्नुपर्छ भनेर भन्छ। त्यसोभए, के “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने भनाइ महिलालाई अपमान गर्नु होइन र? (हो।) “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने वाक्यांशमा, के प्रशंसकले प्रायजसो पुरुषलाई जनाउँदैन र? यो भनाइले नै पनि पुरुषलाई मालिकको स्थानमा, महिलाभन्दा माथि राख्छ। यसको अर्थ महिलालाई पुरुषले—मालिकले—मन पराउँछ र कदर गर्छ भने, उसले त्यस कुराप्रति सम्मान महसुस गर्नुपर्छ। यदि कुनै पुरुषले—मालिकले—उसलाई मन पराउँदैन भने, उसमा केही गलत छ, ऊ प्रेम गर्न लायक छैन, ऊ जीवनमा असफल छे, र ऊ महिला बन्‍न योग्य छैन। हेर् त, यसले पुरुषहरूको हैसियतलाई थाहा नपाउने तरिकामा उचाल्छ, जसले तिनीहरूलाई स्त्रीहरूको घाँटीमा टेक्ने र तिनीहरूमाथि हावी हुने तुल्याउँछ। “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने भनाइको त्रुटि यहीँ छ। यसको साथै, के पुरुषहरूले महिलालाई तिनीहरूको रूप र श्रृङ्गारका लागि मात्रै मन पराउँछन्? कि महिलाहरू कोमल, सद्गुणी, इज्जतदार, र शालीन छन् भन्‍ने देखेर मात्रै तिनीहरू उनीहरूलाई मन पराउँछन्? के पुरुषहरूले आफ्नो आँखालाई प्रसन्‍न पार्नका लागि मात्रै महिलाहरूलाई मन पराउँछन्? (अहँ, यो देहको यौन कामना सन्तुष्ट पार्नका लागि हो।) त्यसोभए महिलाहरूले पुरुषहरूलाई प्रसन्‍न पार्न र खुसी पार्न प्रयास गर्नुको उद्देश्य के हो त? (यो पनि देहको यौन कामनामा लिप्त हुनका लागि नै हो।) अर्थात्, पुरुष र महिला दुवैलाई एक-अर्काको खाँचो हुन्छ, र यीमध्ये सबैभन्दा आधारभूत खाँचो भनेको देहको यौन कामना हो। महिलाप्रतिको पुरुषको खाँचो उनको रूप मन पराउनुसँग मात्रै सम्बन्धित हुँदैन, तर, यसका आधारमा, उसलाई शारीरिक रूपमा प्राप्त गर्नु—अझै स्पष्ट रूपमा भन्दा, आफ्‍नो यौन कामना सन्तुष्ट पार्न उनको शरीर प्राप्त गर्नु हो। त्यसकारण, “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने भनाइको पछाडि रहेको उद्देश्य वास्तवमा पुरुषको यौन कामना सन्तुष्ट पार्नु हो। यसका लागि महिलाहरूले आफ्नो रूप र श्रृङ्गार पुरुषका लागि मन पर्दो बनाउने मात्र होइन, तर पुरुषको यौन कामना सन्तुष्ट पार्ने कार्य पनि आवश्यक हुन्छ। के त्यो जीवन जिउने अत्यन्तै नीच तरिका होइन र? यदि महिलाहरूले अझै पनि यो भनाइ सही छ, यो तिनीहरूले हासिल गर्नुपर्ने र पालना गर्नुपर्ने कुरा हो भन्‍ने सोच्छन् भने, तिनीहरूले आफैलाई अपमानित गरिरहेका हुन्छन्। पुरुषहरूमा महिलाहरूप्रतिको यौन आवश्यकताहरू हुन्छन् र तिनीहरू उनीहरूका शरीरसँग खेल्न चाहन्छन्; यदि महिलाहरूले यसलाई घृणित र घृणास्पद ठान्‍नुको सट्टा, अझै पनि आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान, सर्वोच्च सम्मान हो भन्‍ने महसुस गर्दै आफ्ना प्रशंसकहरूका लागि आफूलाई सुन्दर बनाउँछन् भने, के तिनीहरूले आफैलाई अपमानित गरिरहेका हुँदैनन् र? (हुन्छन्।) यो त महिलाहरूलाई तिनीहरूको अधिकारबाट पूर्ण रूपमा वञ्चित गर्नु हो। यसले महिलाहरूलाई अस्तित्वमा रहने तिनीहरूको अधिकार, इज्जत, र मानव अधिकारहरूबाट वञ्चित गर्ने मात्र होइन, तर यसले तिनीहरूलाई यो सबैभन्दा ठूलो सम्मान हो भन्‍ने सोच्न पनि लगाउँछ। के यो क्रूरता होइन र? यो अत्यन्तै क्रूर कार्य हो! कुनै स्वायत्तता र कुनै मानव अधिकार नहुने बाहेक, महिलाको खुसी, हर्ष, र प्रसन्नता पुरुषहरूलाई खुसी पार्ने र तिनीहरूलाई पूर्ण रूपमा सन्तुष्ट पार्ने आधारमा मात्रै हासिल गर्न सकिन्छ। महिलाहरूले जस्तोसुकै अमानवीय व्यवहार भोगे पनि, तिनीहरूबाट अझै पनि यसप्रति गर्व गर्नुपर्ने माग गरिन्छ। के यो महिलालाई दुर्व्यवहार गर्नु र बरबाद गर्नु होइन र? चाहे तिनीहरू आधुनिक महिलाहरू हुन् वा प्राचीन महिलाहरू हुन्, तिनीहरू सबैले “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने भनाइलाई आफ्नो आदर्श वाक्य, आफ्नो जीवनको उद्देश्यका रूपमा लिन्छन्। के यो पूर्ण रूपमा गलत कुरा होइन र? के यो मानिसहरूलाई दुर्व्यवहार गर्न र बहकाउनका लागि शैतानले प्रयोग गर्ने चलाकी होइन र? (हो।) यदि तँ महिला होस्, र पुरुषले तँलाई मन पराउँछ, उसको हृदय तँप्रति दुष्ट वासनाले भरिएको छ भने, तँलाई त्यो थाहा भयो भने तँलाई घिन लाग्‍नेथियो कि अत्यन्तै सम्मानित महसुस हुनेथियो? (घिन लाग्‍नेथियो।) जब उसले तेरा बारेमा सोच्छ, तब उसले तेरो शरीर, र तेरो रूपबारे मात्रै सोच्छ, साथै आफ्नो यौन कामना पनि निकास गर्छ। उसले तँलाई जति धेरै मन पराउँछ, ऊ तँप्रति त्यति नै यौन कामनाले भरिन्छ; तेरो कुरा आउँदा, उसमा उत्तेजित हुने भनेको पूर्ण रूपमा वासनाका विचारहरू हुन्। उसले तँलाई आफ्नो हातमा लिनका लागि सके जति सबै माध्यमहरू समेत प्रयोग गर्छ, ताकि उसले तेरो शरीरको आनन्द लिन, आफ्नो यौन कामना पूर्ण रूपमा सन्तुष्ट पार्न, र आफ्नो यौन कामना पोख्न सकोस्। यदि तँलाई ऊसँग तेरोबारे त्यस्ता अभिप्रायहरू छन् भन्‍ने थाहा भएमा, के तैँले अझै पनि “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने भनाइ सही छ भन्‍ने सोच्नेथिइस्? के तँलाई अझै पनि कसैले मन पराउनु र कदर गर्नु सम्मानको कुरा हो भन्‍ने लाग्‍नेथियो? (लाग्‍नेथिएन।) यदि तँ लाजको बोध भएको, र इज्जत भएको महिला होस् भने, तँलाई यो भनाइसँग घिन लाग्नुपर्छ, र तैँले त्यस्ता मानिसहरूले तँलाई मन पराउँदा घृणा मान्नुपर्छ र इन्कार गर्नुपर्छ। यसरी जिउँदा मात्रै तँसँग इज्जत हुन्छ। तँलाई साँचो रूपमा रुचाउने र कदर गर्ने व्यक्तिले तेरो चरित्रको गुणस्तर, तेरो पछ्याइको कारण, तैँले सत्यता बुझेकोले, र उसले तँबाट केही ज्ञानवर्धक कुरा प्राप्त गर्न र तँबाट सहयोग प्राप्त गर्न पनि चाहने हुनाले त्यसो गर्छ—उसले आफ्नो यौन कामनामा लिप्त हुन र त्यसलाई सन्तुष्ट पार्न तेरो शरीर हेरेर रमाउन चाहने हुनाले होइन। यदि कसैले तेरो चरित्र जस्तोसुकै भए पनि वा तैँले सत्यता पछ्याए वा नपछ्याए पनि, तँलाई रुचाउँछ, र केवल तेरो रूप र शारीरिक बनावट मनमोहक देखिने भएकोले र यसले उसको यौन कामनालाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्‍ने भएकोले त्यसो गर्छ, र तैपनि तँलाई यसबारे कुनै विकर्षण वा तिरस्कार महसुस हुँदैन, बरु उसले तँलाई मन पराउँछ भन्‍ने लाग्छ भने—विशेष गरी, उसले शारीरिक रूपमा तँलाई छेडछाड गरेको हुनाले, तँलाई उसले मन पराएको छ भन्‍ने अझै बढी महसुस हुन्छ भने—अनि तँलाई यसबाट सम्मानित समेत महसुस हुन्छ भने, तैँले आफूलाई अपमानित गरिरहेको हुन्छस्। यदि तेरो शरीरप्रति जोसुकैसँग कुनै खराब नियत वा दुष्ट अभिप्राय भए पनि, तँलाई वास्ता हुँदैन, र उसले तँलाई मन पराएसम्म, तैँले यसलाई आफ्नो विशेष सम्मान ठान्छस् र यसद्वारा सम्मानित महसुस गर्छस् भने, तँ चरित्र र गरिमा भएको व्यक्ति होइनस्, न त तँ असल महिला नै होस्। मानौँ कसैसँग तँप्रति यौनिक चाहना छ र तँ आफूलाई बुझ्ने व्यक्ति भेटिएको, र यौन चाहना पोख्ने अवसर पनि भेटिएको महसुस गर्छस्; एउटा हातले ताली बज्दैन, र तिमीहरू दुई जना अनैतिक सम्बन्ध गाँस्छौ किनभने तिमीहरू एउटै ड्याङका मुला हौ। त्यस अवस्थामा, तँ कुनै निष्ठा र इज्जत नभएको, मन पराउन अयोग्य व्यक्ति होस्; तँ कामुक र छाडा मानिसहरूकै वर्गमा पर्छस्। यदि तँ साँच्‍चै नै गरिमा भएको महिला होस् भने, त्यस्ता कामुक र छाडा मानिसहरूले तँलाई मन पराउँदा तँलाई घृणा, विकर्षण, र घिन लाग्‍नुपर्छ। अवश्य नै, यदि कसैले तँलाई साँचो रूपमा तेरो मानवता, तेरा पछ्याइहरू, वा तँसँग निश्‍चित सबल पक्ष भएकोले मन पराउँछ भने, त्यो पनि सम्मानित महसुस गर्न लायक कुरा होइन। मानिसहरूले “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भनेर भन्‍नुको उद्देश्य पुरुषले महिलालाई कदर गर्नु जत्तिको सरल कुरा पक्कै पनि होइन। यसले पुरुषहरूलाई महिलाभन्दा माथि अवश्य नै राख्छ। अझै सही रूपमा भन्दा, यो भनाइ पुरुष श्रेष्ठ छन् र महिला निकृष्ट छन् भन्‍ने मान्यताबाट आएको थियो। यसका साथै, वास्तविकता के हो भने कुनै पनि सामाजिक प्रणालीमा महिलाहरू कमजोर समूह हुन्, जसलाई पुरुषहरूको उपाङ्ग र खेलौनाका रूपमा लिइन्छ। त्यसकारण, “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने भनाइ सबै महिलाहरूका लागि पूर्ण रूपमा लाजमर्दो कुरा हो। यदि महिलाहरूले यो भनाइलाई विशेष रूपमा अनुमोदन गरे भने, यो महिलाहरूका लागि दुःखको कुरा हो, र यसलाई अनुमोदन गर्ने सबै महिलाहरूप्रति व्यक्तिलाई घृणा हुनुपर्छ। त्यसोभए के पुरुषहरूले “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने दृष्टिकोणलाई अनुमोदन गर्नुपर्छ? (गर्नु हुँदैन।) यदि कुनै पुरुषले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाइरहेकी महिला देख्यो भने, के उसलाई त्यस्तो महिला अत्यन्तै अपमानजनक तरिकाले जिइरहेकी छे भन्‍ने लाग्दैन र, के उसले पनि त्यस्तो महिलालाई हेयको दृष्टिले हेर्नेछैन र? (हेर्नेछ।)

“स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने भनाइ सही छ कि छैन भन्‍ने कुरा के अब तिमीहरूले स्पष्ट रूपमा देख्यौ? (यो गलत छ।) यो भनाइ सकारात्मक कुरा होइन, न त यो सही विचार वा दृष्टिकोण नै हो। बाइबल र परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूमा हेर त—के महिलाहरूलाई तिनीहरूले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउनुपर्छ भन्‍ने कुनै वाक्य छ? के पुरुष र महिलाको हैसियतलाई स्तरमा विभाजित गर्ने, पुरुष महिलाभन्दा माथि छ भन्‍ने कुनै वाक्य छ? अहँ, छैन। बाइबलमा उत्पत्तिको पुस्तकमा के लेखिएको छ भने महिला पुरुषको हाडको हाड र मासुको मासु हो। पुरुष र महिला दुवै परमेश्‍वरद्वारा सृजित मानव हुन्; तिनीहरू परमेश्‍वरको अघि समान हुन्छन्, र तिनीहरूमा कुनै स्तर विभाजन हुँदैन, श्रेष्ठ र निकृष्टका बीचमा कुनै भिन्‍नता हुँदैन। मानिसहरूलाई श्रेष्ठ र निकृष्ट स्तरमा विभाजन गर्नु र हैसियतका स्तरहरू छुट्याउनु त शैतानले गर्ने कुरा हो; यो शैतानले महिलाहरूलाई गर्ने दमन र सतावटको वास्तविक प्रमाण हो। परमेश्‍वरले सुरुमा मानवजातिलाई सृष्टि गर्नुभएको समयदेखि नै, परमेश्‍वरका नजरमा पुरुष र महिला समान छन्। तिनीहरू दुवै सृजित प्राणीहरू र परमेश्‍वरको मुक्तिका पात्रहरू हुन्। परमेश्‍वरले कहिल्यै पुरुष श्रेष्ठ छन् र महिला निकृष्ट छन् भनेर भन्‍नुभएको छैन, न त उहाँले पुरुष महिलाको शिर वा मालिक हुनुपर्छ, पुरुष महिलाभन्दा माथि हुनुपर्छ, कुनै पनि काममा पुरुषले महिलामाथि अग्रता जमाउनुपर्छ, वा पुरुषहरूका आफ्नै राय हुन्छन् र तिनीहरू आधारस्तम्भ हुन् जबकि महिलाहरूले अझै बढी पुरुषको कुरा सुन्नुपर्छ भनेर नै भन्‍नुभएको छ। परमेश्‍वरले कहिले पनि त्यस्ता कुराहरू भन्‍नुभएको छैन। शैतानले भ्रष्ट तुल्याएका कारण मात्रै मानिसहरूका बीचमा पुरुष श्रेष्ठ छन् र महिला निकृष्ट छन् भन्‍ने भनाइहरू पैदा भए, र त्यसपछि यो प्रचलन समाज र सम्पूर्ण मानवजातिमा देखा पऱ्यो, जसले गर्दा पुरुषको अख्तियारमुनि महिलाहरूलाई निरन्तर दमन गरियो। सत्यता बुझाइको कमीका कारण, शैतानका सबै किसिमका दुष्ट प्रचलनहरूको प्रभावमा परेपछि र बहकाउमा परेपछि, महिलाहरूलाई तिनीहरू पुरुषपछि दोस्रो स्थानमा आउँछन् वा पुरुषभन्दा न्यून हैसियतका छन् भन्‍ने लाग्छ। त्यसकारण, आजको दिनसम्म, धेरै महिलाहरू अझै पनि “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने भनाइ सही छ भन्‍ने विश्‍वास गर्छन्। यो अत्यन्तै दुःखको कुरा हो। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरू अझै पनि विभिन्‍न निश्‍चित मामलाहरूमा शैतानका विभिन्‍न विचार र दृष्टिकोणहरूद्वारा बहकाउमा र नियन्त्रणमा पर्छन्। यो सानो मामला पनि अत्यन्तै उदाहरणात्मक छ, होइन र? (हो।) महिलाहरूले स्वेच्छाले आफूलाई नीच तुल्याउनुको कारण के हो? समग्र सामाजिक वातावरणले नै महिलाहरूलाई पुरुषहरू सरह समान हैसियत प्राप्त गर्न नसक्ने तुल्याउँछ, र पुरुषहरूलाई प्राथमिकता दिनुपर्ने र तिनीहरूका लागि अनुकूल अवस्थाहरू सिर्जना गर्नुपर्ने, र पुरुषहरूलाई सन्तुष्ट पार्न धेरै त्यागहरू गर्नैपर्ने र ठूलो मूल्य चुकाउनैपर्ने तुल्याउँछ। यसको कारण समाज, शैतानले अगुवाइ गर्ने विभिन्‍न दुष्ट प्रचलनहरू हुन्। त्यसकारण अहिले, यस विषयमा सत्यता बुझेपछि, के “स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे” भन्‍ने भनाइबारे एउटा निश्‍चित निष्कर्ष आएको छैन र? (हो।) यो भनाइ त्रुटिपूर्ण र बेतुके छ, अनि यो सत्यता अनुरूप छैन, होइन र? (हो।) वास्तविक परिस्थिति सुनेपछि, के महिलाहरूलाई यतिका वर्ष तिनीहरूले निकै पीडित र दमनपूर्ण जीवन जिएका रहेछन् भन्‍ने लाग्दैन र? त्यसोभए के महिलाहरूले अझै पनि आफ्ना प्रशंसकहरूका लागि आफूलाई सुन्दर बनाउनुपर्छ? (पर्दैन।) सृजित मानवजातिका सदस्यहरूका रूपमा, महिलाहरू लिङ्ग र शारीरिक बनावटका हिसाबमा मात्रै पुरुषहरूभन्दा फरक हुन्छन्; अरू पक्षहरूमा, कुनै पनि भिन्‍नताहरू पटक्‍कै हुँदैनन्। परमेश्‍वरका नजरमा, पुरुष र महिलाका हैसियतमा कुनै पनि भिन्‍नता हुँदैन। परमेश्‍वरले कुनै पनि परिस्थितिमा, महिलाहरूबाट गरिने मागहरू, पुरुषहरूबाट गरिने मागहरू भन्दा भिन्न कहिल्यै बनाउनुभएको छैन। परमेश्‍वरले चुन्नुहुने मानिसहरूको सङ्ख्या, मुक्तिको आशा, कर्तव्य पूरा गर्ने तिनीहरूका अवसर, तिनीहरूले पूरा गर्न सक्‍ने कर्तव्य, र तिनीहरूले निर्वाह गर्न सक्‍ने काम जस्ता पक्षहरूमा, महिलाहरू आधारभूत रूपमा पुरुषहरूसरह हुन्छन्; महिलाहरू पुरुषहरूभन्दा कम हुँदैनन्। वास्तविक परिस्थिति यही हो।

यसअघि हामीले दियाबलसहरूको प्रकृति सार भएका ती दुष्ट मानिसहरूको कामुकता, छाडापन, र उत्तेजकताका प्रकटीकरणहरूका बारेमा, साथै रोमान्टिक सम्बन्धहरूमा प्रवेश गर्ने वा जीवनसाथी खोज्ने सम्बन्धमा व्यक्तिले दुष्ट मानिसहरूको सामना गरेमा, तिनीहरूसँग कसरी व्यवहार गर्ने भन्‍ने बारेमा कुरा गरेका थियौँ। के तिमीहरू एक पटक रोमान्स अनुभव गर्न, एक पटक बेफिक्र व्यवहार गर्न, र आफूलाई एक पटक लिप्त गर्न यस्तो व्यक्ति भेट्ने आशा गर्छौ? (गर्दैनौँ।) त्यसोभए के तिमीहरू आफ्नो सपनाको प्रेमी, आफ्नो प्रारब्धको सङ्गी, आफ्नो सुकुमार वा सुकुमारीलाई भेट्ने आशा गर्छौ? (गर्दैनौँ।) तैँले त्यसको आशा गरे पनि वा नगरे पनि फरक पर्दैन। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तैँले प्रकृति सार दुष्ट भएका यी कामुक, छाडा, र उत्तेजक मानिसहरूलाई खुट्ट्याउनैपर्छ, र तँ तिनीहरूबाट टाढा बस्नुपर्छ। गैरविश्‍वासीहरूको शब्दमा भन्दा, यीमध्ये धेरैजसो मानिस अनुभवी खेलाडी हुन्, जो ठाँटिला र रोमान्टिक हुन्छन्। धेरैजसो वयस्कहरूले यस्ता व्यक्तिहरूलाई भेट्दा तिनीहरूलाई चिन्न सक्नुपर्छ; सायद एक-दुई पटक अन्तरक्रिया गरेपछि, धेरैजसो वयस्कहरूले तिनीहरू यस्तै प्रकारका व्यक्ति हुन् भन्‍ने थाहा पाउनेछन्। यस्तो प्रकारको व्यक्तिले अरूलाई जिस्काउँदा कुनै भेदभाव गर्दैन; तँ चाहे जति उमेरको भए पनि, तँ अलिक सुन्दर भएसम्म, उसले तँलाई जिस्काउन सक्छ, जसले गर्दा तँलाई के भइरहेको छ भन्‍ने अलिकति पनि थाहै नभई तँ उसको पासोमा पर्न सक्छस्। तिनीहरू तँसँग सधैँ कोमल, नरम शब्दहरू बोल्छन्, र तँलाई वास्ता, हेरचाह, र ख्याल देखाउँछन्। तिनीहरू तँसँग आँखा जुधाउने मौकाहरू खोज्छन्, तँलाई चिया वा पानी खुवाउँछन्, र कहिलेकाहीँ तँलाई स-साना उपहार, चकलेट, आदि-इत्यादि किनेर समेत दिन्छन्। जब तँ पूर्ण रूपमा असतर्क हुन्छस्, तब तिनीहरू तेरा प्रतिरक्षाका घेराहरू तोडेर तेरो हृदयमा प्रवेश गर्छन्। अनजानमै, तैँले तिनीहरूबारे सोच्नु मात्र पर्छ र तँलाई भित्र काउकुती लागेको अनुभूति हुन्छ; यदि तैँले तिनीहरूलाई केही दिनसम्म देखिनस् भने, तँलाई केही कुरा हराइरहेको जस्तो लाग्छ, र तँ सोच्छस्, “मेरो वरिपरिको कसैले पनि तिनीहरूले जस्तो मेरो परवाह गर्दैन। मलाई त म ऊसँग प्रेममा परेको छु जस्तो लाग्छ। के ऊ पनि मसँग प्रेममा परेको हो?” यो कस्तो प्रकारको स्थिति हो? (प्रलोभनमा पर्नु।) कतिपय अनुभवी खेलाडीहरू अरूलाई छोडिदिएर आफूतिर तान्न सिपालु हुन्छन्; केही समयसम्म तेरो परवाह गरेपछि र तेरो भोक बढाएपछि, तिनीहरू तँसँगको सम्पर्क पूर्णतः तोड्छन्, र तँलाई आफै तिनीहरूको पासोमा पर्ने तुल्याउँछन्। जब तैँले तँ तिनीहरूको प्रेममा परेको छस् र तँ तिनीहरूविना बाँच्‍न सक्दैनस् भन्‍ने महसुस गर्छस्, तब तँ प्रेमको पासोमा परेको हुन्छस्, र तँलाई मोहनी लागेको हुन्छ। मोहनी लागेपछि, तँ पूर्ण रूपमा तिनीहरूको कब्जामा हुन्छस्। मानिसहरू पर्ने यो प्रेमको पासो के हो? यो पारिवारिक स्‍नेह, मित्रता, वा मानिसहरूका बीचमा हुने वास्ता र प्रेम होइन, बरु यो त यौन कामनाको जाल हो। यौन कामनाको पासोमा परेपछि, तैँले सजिलै नियन्त्रण गुमाउन सक्छस्। पन्चान्नब्बे प्रतिशतभन्दा बढी मानिसहरू, विशेष गरी युवाहरूले यसलाई जित्न सक्दैनन् र तिनीहरू यस्तो पासोबाट उम्कन सक्दैनन्। त्यसोभए के गर्नुपर्छ त? तँलाई यस्तो पासोबाट उम्कन निकै गाह्रो हुन्छ भन्‍ने थाहा भएको हुनाले, तँ आफूलाई यसमा पर्न नदे। तँलाई पासोमा डोऱ्याउन सक्‍ने मानिसहरू, कामकुराहरू, वा वातावरणहरूबाट टाढा बस्‍न हरसम्भव कुरा गर्। केही समयसम्म तिनीहरूबाट टाढा बस्, र परमेश्‍वरलाई प्रार्थना गर् र परमेश्‍वरका वचनहरू पढ्। बिस्तारै, तेरा यौन आवश्यकताहरू बिलाउनेछन् र हराउनेछन्, पासोले उप्रान्त तँलाई पकडमा राख्‍नेछैन, र तैँले यो प्रलोभनलाई आधारभूत रूपमा जितेको हुनेछस्। तर, तैँले अर्को पटक त्यस्ता प्रलोभन र पासोहरूको सामना गर्दा तेरो अवस्था के हुनेछ, तैँले तिनलाई जित्न सक्नेछस् कि सक्नेछैनस् भन्‍ने कुरा अज्ञात हुन्छ। एउटै मात्र तरिका भनेको प्रार्थना गर्न र सत्यताको खोजी गर्न, र विभिन्‍न प्रलोभनहरूबाट टाढा बस्नका लागि बारम्बार परमेश्‍वरसामु आउनु हो। अवश्य नै, आफूलाई सत्यताले सुसज्जित गर्नु र सत्यता बुझ्नु सबैभन्दा आधारभूत कुराहरू हुन्। तर आफूलाई सत्यताले सुसज्जित गर्नु सरल कुरा होइन; यसका लागि तैँले केही अनुभवहरू भोग्‍नुपर्छ, र तेरो कद त्यति चाँडै बढ्दैन, त्यसकारण विभिन्‍न पक्षहरूमा तेरा प्रतिरक्षाहरू पनि त्यति चाँडै स्थापित गर्न सकिँदैन। त्यसोभए के गर्नुपर्छ? तँ प्रायजसो परमेश्‍वरसामु जिउनुपर्छ, तँसँग परमेश्‍वरका वचनहरूको मार्गदर्शन, पवित्र आत्माको काम, र परमेश्‍वरको सुरक्षा हुनैपर्छ। यी सबै कुराहरू स्थानमा हुँदा, साथै तँसँग व्यक्तिगत सङ्कल्प हुँदा, त्यस्ता प्रलोभनहरूको सामना गर्दा तँसँग प्रतिरक्षाका उपायहरू हुनेछन्। यसका साथै, जब तँलाई मामलाको प्रकृति र यसले ल्याउने परिणामहरू थाहा हुन्छ, तब तँ सचेत भई त्यस्ता वातावरणहरूबाट जोगिनेछस्, जसले तँसँग त्यस्ता प्रलोभनहरूलाई इन्कार गर्ने सङ्कल्प छ भन्‍ने कुरा प्रमाणित गर्नेछ। त्यसपछि, तेरो मनोवृत्ति र तेरो व्यक्तिपरक कामनाका कारण, परमेश्‍वरले तँलाई त्यस्ता प्रलोभनहरूबाट उम्कन सहयोग गर्नुहुनेछ। यदि तैँले त्यस्तो वातावरणको सामना गर्छस् अनि हृदयमा वितृष्णा र घृणा महसुस गर्छस् तर कसरी इन्कार गर्ने भन्‍ने तँलाई थाहा छैन भने, परमेश्‍वरलाई प्रार्थना गर्, तेरो सुरक्षा गर्न र तेरा लागि यस्तो वातावरण हटाइदिनका लागि उहाँलाई अनुरोध गर्। जब तँसँग त्यस्ता बिन्ती र चाहनाहरू हुन्छन्, तब सायद, मण्डलीको कामका आवश्यकताहरूका कारण, तेरा लागि खतरनाक प्रलोभन हुने त्यो व्यक्तिलाई टाढा पठाइनेछ, जसले गर्दा उसलाई तँसँग फेरि सम्पर्क गर्न असहज हुनेछ, र तैँले उप्रान्त उसलाई भेट्नेछैनस्। यो परमेश्‍वरले तँलाई सहयोग गर्नु हो; यो परमेश्‍वरको सुरक्षा हो। परमेश्‍वरले तेरो व्यक्तिगत कामना, मनोवृत्ति, दृढता, र सङ्कल्प देख्‍नुहुने हुनाले, उहाँले तँलाई तेरो कामना पूरा गर्न सक्रिय र पूर्ण रूपमा सहयोग गर्नुहुनेछ, र तेरो सुरक्षा गर्ने नतिजा हासिल गर्नुहुनेछ। जब यो व्यक्ति जान्छ र उसले उप्रान्त तँलाई सताउन छोड्छ, तब तँलाई भित्री रूपमा अलिक खोक्रो महसुस हुन सक्छ, ऊ जानु अलिकति अफसोसको कुरा हो भनी सोच्न सक्छस्, र यस्तो कल्पना समेत गर्न सक्छस्, “यदि ऊ अझै पनि यहाँ भएको भए, के हामी मिलेर बस्न सक्थ्यौँ?” कहिलेकाहीँ, त्यस्ता विचारहरू पैदा हुन सक्छन्, तर परमेश्‍वरको सुरक्षाद्वारा, तँलाई अन्ततः प्रलोभनबाट टाढा राखिएको हुन्छ। अचेत रूपमा, तेरो हृदयबाट यो मामला बिस्तारै हराउँछ, यो बिस्तारै तँबाट टाढा जान्छ, र समय बित्दै जाँदा तैँले आफ्नो शान्ति पुनःप्राप्त गर्छस्, र तँ आफ्नो पहिलेको जीवन स्थिति र सामान्य मानसिकतामा फर्केर आउँछस्। यस विन्दुमा, मामला समाप्त हुन्छ। यो तेरा लागि कुनै खतरा बनेको वा यसले तँलाई बाधा दिएको हुँदैन, बरु शैतानमाथिको तेरो विजयको, र दियाबलसबाट अलग बस्नु तथा त्यसलाई इन्कार गर्नुको शक्तिशाली प्रमाण र गवाही बनेको हुन्छ। के यो अत्यन्तै राम्रो कुरा होइन र? (हो।) जब यो प्रलोभनले तँलाई खतरामा पार्न लागेको थियो, तब त्यो खतरनाक क्षणमा, तेरो मनोवृत्ति र सहकार्यका कारण, परमेश्‍वरले तेरो सुरक्षा गर्नुभयो। परमेश्‍वरले तेरो लागि उपयुक्त वातावरण खडा गर्नुभयो, जसले गर्दा तँ दृढ रहन सकिस्। यसले तेरो कदको वृद्धिलाई बढावा दिन्छ; यसले तेरो आस्था बढाउनेछ, सत्यता अभ्यास गर्ने तेरो सङ्कल्प र कामना बढाउनेछ, तँलाई प्रेरणा दिनेछ, र तेरो कद वृद्धि गराउनेछ। यो प्रलोभन तँमाथि आइपर्दा, यदि तँ यसलाई इन्कार गर्न वा यसबाट जोगिन अनिच्छुक हुन्छस्, तँ सत्यता अभ्यास गर्न अनिच्छुक हुन्छस्, तँ यसलाई स्वतन्त्र रूपमा विकास हुन मात्र दिन्छस्, र तँ यो प्रलोभन स्वीकार गर्न, दियाबलसको उत्पीडन र बन्धनलाई समेत स्वीकार गर्न इच्छुक हुन्छस्, र तैँले यस्तो स्थितिको झन्-झन् आनन्द लिन्छस्, तँ यस्तो वातावरणमा जिउन झन्-झन् इच्छुक हुन्छस्, र तँ परमेश्‍वरलाई यस्तो वातावरण हटाइदिनुहोस् भनी अनुरोध गर्दै सक्रिय रूपमा प्रार्थना गर्दैनस् भने—यस मामलाप्रतिको तेरो मनोवृत्ति यस्तो रहेछ भन्‍ने देखेर, परमेश्‍वरले तँलाई जबरजस्ती गर्नुहुनेछैन। परमेश्‍वरका कार्यहरूमा, उहाँले कसैलाई कहिल्यै बाध्य पार्नुहुन्न। तँलाई यो व्यक्ति यति धेरै मन पर्ने हुनाले, उसले तँलाई यस्तो ठूलो खुसी र हर्ष दिन सक्छ, तँलाई सुख-चैन दिन सक्छ भन्‍ने तँलाई लाग्‍ने हुनाले, परमेश्‍वरले तँलाई त्यस्तो हर्ष र खुसीबाट वञ्चित गर्नुहुनेछैन, न त परमेश्‍वरले यो व्यक्तिलाई टाढा नै लैजानुहुनेछ। जहाँसम्म परिणामहरूको कुरा छ, ती तैँले एकलै सहनै पर्छ। के हुनेछ भने, तँ बिस्तारै दियाबलसहरू, दुष्ट, कामुक, र छाडा मानिसहरूको प्रलोभन र वासनाको बन्धनमा पर्नेछस्, र अन्ततः आफ्नो विवेकको हप्की र परमेश्‍वरको उपस्थिति गुमाउनेछस्। देहका यौन कामनाहरूमा लिप्त हुनुको खुसी र हर्ष प्राप्त गरेपछि, तँलाई कुनै लाज लाग्दैन र तैँले आफूलाई त्यस्तो प्रलोभनबाट अलग गर्न सक्दैनस्—आफूलाई पतितताको हातमा छोड्नु भनेको यही हो। तँलाई आफू सबैभन्दा खुसी व्यक्ति हुँ भन्‍ने लाग्छ, तँ यो खुसी र हर्षको निकै आनन्द उठाउँछस्, तँसँग यस्तो खुसी र हर्ष हुनु सौभाग्यको कुरा हो भन्‍ने महसुस गर्छस्, र तँ प्रेमको यस्तो पासोमा परेर अत्यन्तै सन्तुष्ट हुन्छस्। त्यसपछि परमेश्‍वरले अझै के गर्न वा भन्‍न सक्नुहुन्छ त? परमेश्‍वरले तँलाई कुनै सङ्केत दिनुहुनेछैन, तँलाई कुनै कुराबारे चेतावनी दिनुहुनेछैन, र केही पनि गर्नुहुनेछैन। बस गएर रमा। यौन कामनाहरूको पासोमा परेका मानिसहरूका अन्तिम परिणामहरू पूर्वानुमान गर्न सकिने हुन्छन्। प्रेमको पासोमा पर्ने कुनै पनि व्यक्ति अन्त्यमा खुसी वा हर्षपूर्ण हुँदैन; यसको विपरीत, परिणाम पीडादायी र दुःखदायी मात्रै हुन सक्छ। तैँले एकलै त्यस्ता परिणामहरू भोग्‍नुपर्छ, र तँ ती भोग्‍न लायक हुन्छस्। के परमेश्‍वर सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ? (गर्नुहुन्छ।) परमेश्‍वरले तेरा छनौटहरूलाई सम्‍मान गर्नुहुन्छ। यस्तो नसोच्, “परमेश्‍वरले मेरो निगरानी गर्नुहुनेछ र ठीक ठाउँमा राख्‍नुहुनेछ; उहाँले मलाई प्रेममा पर्न दिनुहुनेछैन, न त मलाई मेरा यौन आवश्यकताहरू पूरा गर्न नै दिनुहुनेछ।” तँ गलत छस्; परमेश्‍वरले तँलाई हस्तक्षेप गर्नुहुन्न। परमेश्‍वर तँलाई प्रलोभनमा पर्नबाट, दुष्ट मानिसहरूको बहकाउमा पर्नबाट, शैतानको विध्वंस र गम्भीर हानिबाट सुरक्षा दिन पो चाहनुहुन्छ त। तर यदि तँ शैतानको पछि लाग्‍ने छनौट गर्छस् भने, परमेश्‍वरले त्यो तेरो स्वतन्त्रता र तेरो छनौट हो भनेर भन्‍नुहुन्छ; तँ इच्छुक भएसम्म, तँलाई त्यसबारे पछुतो नलागेसम्म, परमेश्‍वरले तँलाई बाध्य पार्नुहुनेछैन; तैँले जे रोप्छस् त्यसको फल पनि तैँले मात्र पाउँछस्, र जब समय आउँछ र तँ अत्यन्तै दुःखको साथ रोइरहेको हुन्छस्, तब परमेश्‍वरले तँलाई सम्झाउनुभएन भनेर गुनासो नगर्, र परमेश्‍वरले तँलाई सुरक्षा दिनुभएन भनेर गुनासो नगर्। परमेश्‍वर तँलाई सुरक्षा दिन चाहनुहुन्छ, परमेश्‍वर तँ प्रलोभनबाट टाढा बसेको चाहनुहुन्छ, तर तँ इन्कार गर्छस्। यदि तँलाई मन पर्ने व्यक्ति, तँ प्रेमको पासोमा अल्झिएको व्यक्तिलाई परमेश्‍वरले अन्तै पठाउने हो भने, तँ उसलाई खोज्दै हिँड्नेथिइस्, तैँले पागलले जस्तो व्यवहार गर्नेथिइस्, तैँले नियन्त्रण गुमाउनेथिइस्, तैँले परमेश्‍वरबारे गुनासो गर्नेथिइस्, परमेश्‍वरलाई तेरा भावनाहरूलाई ख्याल नगरेकोमा र आफ्ना कठिनाइहरू नबुझेकोमा हप्काउनेथिइस्। त्यसकारण परमेश्‍वरले त्यसो गर्नुहुनेछैन; परमेश्‍वरले मानिसहरूलाई तिनीहरू गर्न इच्छुक नहुने कुराहरू गर्न लगाउनुहुनेछैन। तैँले त्यो मार्ग आफै छनौट गरेको हुनाले, अन्त्यमा पैदा हुने भयानक परिणामहरू तैँले एकलै भोग्नैपर्छ। कसैले पनि तेरा लागि भोगिदिनेछैन। के अब यो मामला स्पष्ट छ? (छ।)

यदि कतिपय मानिसहरू दियाबलसहरू र शैतानहरूका बन्धनहरूको—दुष्ट मानिसहरूका बन्धनहरूको—सामना गर्छन् र तिनलाई इन्कार गर्दैनन् बरु तिनीहरू तीसँग आफ्नो जीवन बिताउन तयार हुन्छन् भने, यो तिनीहरूको आफ्नै छनौट हो। जब यसले अन्ततः तीता नतिजाहरू ल्याउँछ, तब तिनीहरूले अरूलाई दोष दिनु हुँदैन; तिनीहरूले अत्यन्तै नीच र अत्यन्तै पथभ्रष्ट भएकोमा आफैलाई मात्र घृणा गर्न सक्छन्, र तिनीहरूले आफ्नै अनुहारमा थप्पड हान्नुपर्छ र आफूलाई सराप्नुपर्छ। तैँले अन्तिममा जुनसुकै तीतो फल कटनी गरे पनि, परमेश्‍वरसँग यसको कुनै सम्बन्ध हुँदैन। यसो नभन्, “परमेश्‍वरले किन मलाई सुरक्षा दिनुभएन? त्यो बेला परमेश्‍वरले किन मलाई रोक्‍नुभएन?” म तँलाई भन्छु, परमेश्‍वरलाई त्यस्तो कुनै अनिवार्यता छैन; उहाँले तँलाई जे भन्‍नुपर्ने हो त्यो स्पष्ट रूपमा बताइसक्नुभएको छ। तँ स्वतन्त्र रूपमा सोच्ने क्षमता भएको व्यक्ति होस्; परमेश्‍वरले तँलाई स्वतन्त्र इच्छा दिनुभएको छ, र तँसँग स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार छ। त्यसकारण, तैँले कुनै कुरा सामना गर्दा परमेश्‍वरले तँलाई छनौट गर्ने अधिकार दिनुहुन्छ। तँसँग छनौट गर्ने अधिकार भएको हुनाले, तैँले अन्तिममा कटनी गर्ने तीतो फल तेरो आफ्नै छनौटबाट आएको हुन्छ, त्यसकारण तैँले परमेश्‍वरबारे गुनासो गर्नु हुँदैन वा जहाँ सकिन्छ त्यहाँ दोष थोपार्नु हुँदैन। परमेश्‍वरले गर्नुहुने काम भनेको तँलाई सत्यता बताउनु र मुक्तिको मार्ग देखाउनु हो। तैँले परमेश्‍वरलाई पछ्याउने छनौट गर्छस् कि शैतानलाई पछ्याउने छनौट गर्छस् भन्‍ने कुराको हकमा भन्दा, त्यो तेरो कुरा हो। यदि तँ आशिषित व्यक्ति होस् र तँ सत्यता पछ्याउन इच्छुक छस् भने, परमेश्‍वरलाई पछ्या। यदि तँ सत्यतालाई प्रेम गर्दैनस्, बरु संसारलाई प्रेम गर्छस् र दुष्टतालाई प्रेम गर्छस् भने—यदि तेरो जीवन व्यर्थको जीवन मात्रै हो भने—शैतानलाई पछ्याउने छनौट गर्; कसैले पनि तँलाई रोक्दैन। आजसम्म पनि, कतिपय मानिसहरूले अझै पनि परमेश्‍वर र परमेश्‍वरको घरलाई गलत रूपमा बुझ्छन्, र सधैँ यसो भनेर गुनासो गर्छन्, “म तीस-चालीसको दशकमा पुगिसकेको छु, म प्रेममा परेको छैनँ वा मैले विवाह गरेको छैनँ—परमेश्‍वरको घरले यसो गर्न दिँदैन!” परमेश्‍वरको घरले कहिलेचाहिँ मानिसहरूलाई प्रेम सम्बन्धमा बस्‍न वा विवाह गर्नबाट प्रतिबन्धित गरेको छ? यो तेरो स्वतन्त्रता हो; परमेश्‍वरको घरले हस्तक्षेप गर्दैन। तर, एउटा सर्त छ: यदि तैँले त्यसो गरिस् भने, तैँले पूर्णकालीन कर्तव्यको मण्डलीमा कर्तव्य पूरा गर्न सक्दैनस्, किनभने रोमान्टिक सम्बन्धमा हुँदा र त्यस उप्रान्त आफ्नो कर्तव्य पूरा गर्ने मन नहुने हुँदा त्यसले मण्डलीको काममा विलम्ब गराउँछ। यदि तँ साँच्‍चै नै प्रेम सम्बन्धमा बस्‍न र विवाह गर्न चाहन्छस् भने, सुरुमा तैँले जिम्मेवारी पाएको काम हस्तान्तरण गर्, अनि हामी अस्थायी रूपमा अलग हुनेछौँ। के यस विषयका सिद्धान्तहरूमा सबै जना स्पष्ट भएका छौ? (छौँ।) यदि कोही प्रेम सम्बन्धमा रहन वा विवाह गर्न चाहन्छ भने, त्यो एकदम ठीक कुरा हो; कसैले पनि यसलाई प्रतिबन्धित गर्दैन। तर, विपरीत लिङ्गी व्यक्तिलाई अन्धाधुन्ध छेडछाड गर्नु र मण्डली जीवनमा बाधा दिनु स्वीकार्य हुँदैन। अरूलाई अन्धाधुन्ध छेडछाड गर्नेहरू दियाबलसहरू हुन्; तिनीहरू दुष्ट, कामुक, र छाडा मानिसहरू हुन्, र परमेश्‍वरको घरले त्यस्ता मानिसहरूको उपस्थितिलाई पटक्‍कै अनुमति दिँदैन। यस्तो प्रकारको व्यक्ति मानिसहरूको जुनसुकै समूहमा भए पनि उसले अरूलाई अन्धाधुन्ध छेडछाड गर्छ र दुर्व्यवहार गर्छ। आपत्झैँ, उसले आतङ्क मच्चाउँछ र मानिसहरूलाई सधैँ बेचैन र असहज महसुस गराउँछ। उसले जहाँ मण्डली जीवन जिउँछ, त्यहाँ उसले ल्याउने बाधाहरूले फोहोरी वातावरण पैदा गर्छन् र मण्डलीलाई अराजक अस्तव्यस्ततामा परिणत गर्छन्। तिनीहरूले मण्डलीको काममा हानि गर्ने मात्र होइन, तर कर्तव्य पूरा गरिरहेका दाजुभाइ-दिदीबहिनीहरूको सामान्य सुव्यवस्थामा पनि बाधा दिन्छन्। त्यस्ता मानिसहरूलाई कडाइका साथ निगरानी र प्रतिबन्धित गर्नुपर्छ, र गम्भीर असर पार्नेहरूलाई अलग राख्‍नु वा निकालिनु पर्छ। कतिपय मानिसहरू भन्छन्, “मैले थोरै मानिसहरूलाई मात्रै हानि गरेको छु—त्यो ठूलो समस्या होइन, हो र?” यदि तँ थोरैलाई हानि गर्न सक्छस् भने, तँ दर्जनौँलाई पनि हानि गर्न सक्छस्। तँ यस्तै प्रकारको दुष्ट लन्ठू होस्। मण्डलीमा लापरवाह ढङ्गमा अरूलाई छेडछाड गर्नु र अनुचित रूपमा यौन कामना पोख्नु—त्यसरी मानिसहरूलाई हानि गर्नु—स्वीकार्य हुँदैन। यदि तँ मानिसहरूलाई छेडछाड गर्न चाहन्छस् भने, गैरविश्‍वासी संसारका व्यभिचारी स्थानहरूमा जा; त्यहाँ कसैले पनि तँलाई प्रतिबन्धित गर्दैन। तर परमेश्‍वरको घर, दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने ठाउँ, गम्भीर, शान्त, र पवित्र छ; यसलाई बाधा दिन वा क्षय गर्न कुनै पनि दियाबलस वा शैतानहरूलाई यसले अनुमति दिँदैन। यदि कसैले मण्डलीलाई प्रेम गर्ने ठाउँ वा यौन व्यभिचारको ठाउँ, इच्छा अनुसार यौन कामनामा लिप्त हुने ठाउँमा परिणत गर्न चाहन्छ भने, त्यो पटक्‍कै स्वीकार्य हुँदैन! यो मण्डली, परमेश्‍वरको कामको स्थल हो, मानिसहरूलाई शुद्ध पार्न र सिद्ध पार्न पवित्र आत्माले काम गर्ने ठाउँ हो। पुरुष होस् वा महिला होस्, सबै जना मर्यादित र सभ्य हुनुपर्छ, र तिनीहरूले उचित काममा ध्यान दिनुपर्छ। अरूलाई उच्छृङ्खल रूपमा छेडछाड गर्ने अनुमति छैन, न त अनुचित रूपमा यौन कामना पोख्ने अनुमति नै छ। यदि तँ आफ्नो यौन कामना नियन्त्रण गर्न सक्दैनस् र यसलाई पोख्न मात्रै चाहन्छस् भने, विवाह गर्नका लागि उपयुक्त व्यक्ति छनौट गर्; मण्डलीभित्रका अरूलाई अन्धाधुन्ध छेडछाड नगर्। अरूलाई अन्धाधुन्ध छेडछाड गर्ने र दाजुभाइ-दिदीबहिनीहरूमा आक्रोश उत्पन्न गराउने जोकोहीलाई तुरुन्तै निकालिनु पर्छ वा निष्कासित गरिनुपर्छ, नत्र उसले मण्डली जीवनमा बाधा दिन जारी राख्नेछ। बुझ्यौ? (बुझ्यौँ।) पुरुष र महिलाबीच सीमाहरू हुनुपर्छ। यदि पुरुष कामका कारण नभई, वा ध्यान दिनुपर्ने महत्त्वपूर्ण मामलाहरूका कारण नभई, महिलाहरूका बीचमा आफूलाई प्रदर्शन गर्न, यौन कामना पोख्न, र तिनीहरूलाई अन्धाधुन्ध छेडछाड गर्नका लागि सधैँ महिलाहरूको समूहमा बस्छ भने, यो दुर्व्यवहार हो। यदि कुनै महिला, कारणले होस् वा कारणविना होस्, सधैँ पुरुषहरूको समूहमा बस्छे, सधैँ लापरवाह ढङ्गले तिनीहरूलाई छेडछाड गर्छे, तिनीहरूसँग आँखा जुधाउँछे र आफ्नो आकर्षण प्रदर्शन गर्छे भने, उसलाई पनि दियाबलसलाई जस्तै व्यवहार गरिनुपर्छ। यदि तैँले सामान्य रूपमा कामबारे छलफल वा सङ्गति गरिरहेको छस् भने, यो स्वीकार्य हुन्छ, तर अरूलाई अन्धाधुन्ध छेडछाड गर्नु र जिस्किनु स्वीकार्य हुँदैन। खैलाबैला पैदा गर्ने कुनै पनि यस्तो व्यवहारले मण्डली जीवनमा बाधा दिन्छ र मण्डलीको कामको सामान्य सुव्यवस्थालाई बरबाद गरिरहेको हुन्छ, र परमेश्‍वरको घरमा यसको अनुमति हुँदैन। सबैले यी कामुक, छाडा, र यौन उत्तेजक दियाबलसहरूलाई इन्कार गर्नुपर्छ र सबै जना तिनीहरूबाट टाढा बस्नुपर्छ। जब धेरैजसो मानिसहरू तिनीहरूलाई इन्कार गर्न, खुलासा गर्न, र तिनीहरूबाट अलग बस्न खडा हुन्छन्, अरूलाई छेडछाड गर्ने तिनीहरूको प्रयास असफल हुन्छ र तिनीहरूले कुनै पनि परिस्थितिमा आफ्‍नो इच्छा अनुसार गर्न नपाऊन् भन्‍ने कुरालाई सुनिश्‍चित गरिन्छ, तब तिनीहरूले आफूले गरिरहेको कुरालाई बिस्तारै रोक्नेछन्। यदि तिनीहरू सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्, र तिनीहरू फुर्सतको क्षण पाउँदा केवल लापरवाही ढङ्गले अरूलाई छेडछाड गर्छन् र बाधा दिन्छन्, रोमान्टिक सम्बन्धहरूमा संलग्‍न हुँदै दौडधूप गर्छन्, र रोमान्टिक सम्बन्धमा हुनुको अनुभूतिको आनन्द लिन्छन् भने, तिनीहरूलाई तुरुन्तै निकाल्। तुरुन्तै कसिएको गाँठो काटेर यी व्यभिचारी व्यक्तिहरूलाई कारबाही गर्—मानिसहरूलाई बाधा दिने कुनै अवसर तिनीहरूलाई नदे। हाम्रो सङ्गतिबाट, के अहिले यो मामला स्पष्ट भएको छ? (छ।) के तिमीहरूले केही प्राप्त गरेका छौ? के तिमीहरूसँग अभ्यासको मार्ग छ? के अब तिमीहरूसँग यस्तो कामुक र छाडा व्यक्तिबारे सुझबुझ छ? (छ।) के तिमीहरूलाई आफूलाई कसरी आचरणमा ढाल्‍ने, आफ्नो उचित स्थानमा कसरी बस्‍ने, र सामान्य मानवताको दायरामा आफूले गर्नुपर्ने कुरा कसरी गर्ने भन्‍ने कुरा स्पष्ट भयो? (भयो।) यसभित्र, मानिसहरूले बुझ्नुपर्ने सत्यताहरू र तिनीहरू स्पष्ट हुनुपर्ने सुझबुझका सिद्धान्तहरू पनि छन्, र अवश्य नै, मानिसहरूले अभ्यास गर्नुपर्ने सत्यता सिद्धान्तहरू र तिनीहरूले लिनुपर्ने मार्गहरू पनि छन्। यी सबै कुरा स्पष्ट पारिएपछि, यो मामला पूर्ण रूपमा व्याख्या गरिएको छ।

आजको हाम्रो सङ्गति यतिमै समाप्त हुन्छ। बिदा!

फेब्रवरी ११, २०२४

अघिल्लो: सत्यता कसरी पछ्याउने (१३)

अर्को: सत्यता कसरी पछ्याउने (१५)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्