सत्यता कसरी पछ्याउने (१६)

पछिल्लो भेलामा केबारे सङ्गति गरियो? (पछिल्लो भेलामा, परमेश्‍वरले मुख्यगरी परम्परा, अन्धविश्‍वास, र धर्मका सम्बन्धमा परिवारले सिकाउने कुराहरू त्याग्नेबारे सङ्गति गर्नुभयो। परमेश्‍वरले “बिदा हुँदा मःम, फर्की आउँदा नुडल,” र “दाहिले आँखा फुर्फुराउँदा शुभ हुन्छ तर देब्रे आँखा फुर्फुराउँदा दुर्भाग्य हुन्छ,” भन्‍नेजस्ता केही अन्धविश्‍वासी भनाइहरू, साथै चिनियाँ नयाँ वर्ष र अन्य बिदाहरूसँग सम्बन्धित परम्परागत रीतिरिवाजले मानिसहरूमाथि पार्ने प्रभावहरूबारे विस्तारमा सङ्गति गर्नुभयो। सँगसँगै, परमेश्‍वरले हाम्रो लागि यी परम्परागत र अन्धविश्‍वासी भनाइ र अभ्यासहरूलाई हेर्ने सही तरिकाबारे, अर्थात् केही घटनाहरू वास्तवमै घटनेछन् भनेर विश्‍वास गर्ने र सँगसँगै सबथोक परमेश्‍वरको हातमा छ भनेर पनि विश्‍वास गर्नेबारे सङ्गति गर्नुभयो। यी भनाइहरूले जे कुरा जनाउन सक्ने भए पनि वा जे-जस्ता घटनाहरू घटन सक्ने भए पनि, हामी सबैले स्विकार्ने र विनम्र मनोवृत्ति अपनाउनुपर्छ र आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तको अधीनमा राख्न सक्नुपर्छ।) पछिल्लो भेलाको हाम्रो सङ्गतिका आधारभूत तत्वहरू यिनै थिए। परिवारहरूले परम्परा, अन्धविश्‍वास, र धर्म सम्बन्धमा मानिसहरूलाई सिकाउने विषयवस्तुबारे, हामीले मानिसहरूले दैनिक जीवनमा सामना गर्ने केही कुराहरू विस्तारमा सङ्गति गर्‍यौँ। हामीले सङ्गति गरेको विषयवस्तुले हामी सबैलाई थाहा भएको चिनियाँ मानिसहरूको दैनिक जीवनमा संलग्न हुने परम्परा, अन्धविश्‍वास र धर्महरू मात्र समेटेको र यसले हरेक राष्ट्र र जात प्रतिनिधित्व नगर्ने भए पनि, विभिन्न क्षेत्रमा र विभिन्न जातमाझ बस्ने मानिसहरूले अपनाउने परम्परा, अन्धविश्‍वास र धर्महरूको प्रकृति यिनीहरूको जस्तै हुन्छ—तिनीहरू सबैले पुर्खाहरूबाट हस्तान्तरण गरिएकै केही परम्परा, जियाइ शैली र अन्धविश्‍वासी भनाइहरू अपनाउँछन्। यी अन्धविश्‍वासी कुराहरू मानिसहरूको मनको मनोवैज्ञानिक प्रभाव भए पनि वा वस्तुगत वास्तविकता भए पनि, छोटकरीमा, यी कुराहरूप्रतिको तेरो मनोवृत्ति यी अन्धविश्‍वासहरूपछाडिको प्रमुख सोच र सार प्रस्टसित चिन्ने हुनुपर्छ। सँगसँगै, तँ यी कुराहरूको प्रभाव वा बाधामा पर्नु हुँदैन। बरु, तैँले मानिसहरूको सबथोक परमेश्‍वरको हातमा हुन्छ, मानिसहरूमाथि चालहरू चल्ने अन्धविश्‍वास होइन, र निश्‍चय नै मानिसहरूको भाग्य वा तिनीहरूको दैनिक जीवनमाथि शासन गर्ने पनि अन्धविश्‍वास होइन भनी विश्‍वास गर्नुपर्छ। अन्धविश्‍वासहरू वास्तविक भए पनि नभए पनि, यी कुराहरू प्रभावकारी वा साँचो जे भए पनि, र जुनै अवस्थामा पनि, यस्ता मामलाहरू सम्हाल्दा, मानिसहरूमा सत्यतासँग मिल्ने सिद्धान्त हुनुपर्छ। तिनीहरू यी अन्धविश्‍वासहरूको मोह वा नियन्त्रणमा पर्नु हुँदैन, र तिनीहरूले निश्‍चय नै यी अन्धविश्‍वासहरूलाई तिनीहरूले पछ्याउने सामान्य लक्ष्य वा तिनीहरूले गर्ने सिद्धान्त अभ्यासमा हस्तक्षेप गर्न दिनु हुँदैन। परम्परा, अन्धविश्‍वास, र धर्महरूमध्ये, अन्धविश्‍वासले मानिसहरूको जीवन, सोच, र विविध मामलाबारेको दृष्टिकोणमाथि सबभन्दा ठूलो हस्तक्षेप र सबभन्दा ठूलो प्रभाव पार्छ। मानिसहरू सामान्यतया यी अन्धविश्‍वासी भनाइ र परिभाषाहरू त्याग्ने आँट गर्दैनन्, र यी अन्धविश्‍वासहरूले सिर्जना गर्ने जीवनका समस्याहरू कहिल्यै हल हुँदैनन्। मानिसहरूले आफ्नो दैनिक जीवनमा यी अन्धविश्‍वासी भनाइहरूको जन्जिर तोड्ने आँट नगर्नुले यो प्रमाणित गर्छ कि तिनीहरूमा अझै पनि परमेश्‍वरमाथिको पर्याप्त आस्था छैन। तिनीहरूले अझै पनि सबथोकमाथि परमेश्‍वरको सार्वभौमिकता हुन्छ र मानवजातिको भाग्यमाथि उहाँको सार्वभौमिकता हुन्छ भन्ने तथ्यलाई साँचो रूपमा देखेका वा शुद्ध रूपमा बुझेका छैनन्। त्यसकारण, जब मानिसहरूले कुनै अन्धविश्‍वासी भनाइ वा अन्धविश्‍वाससँग सम्बन्धित केही भावनाहरू सामना गर्छन्, तब तिनीहरूको हातखुट्टै बाँधिनेछन्। विशेषगरी जीवन र मृत्यु, तिनीहरूको भाग्य, वा तिनीहरूका प्रियजनहरूको जीवन र मृत्युसम्बन्धी ठूला घटनाहरूमा, मानिसहरू यी तथाकथित अन्धविश्‍वासी वर्जित मान्यता र भनाइहरूको जन्जिरमा झनै बढी पर्छन्, र धेरै हदसम्म तिनीहरू आफूलाई मुक्त गर्न असक्षम हुन्छन्। तिनीहरू आफूले कुनै वर्जित मान्यता तोडेर त्यो साँचो पो हुन पुग्ने हो कि, आफूलाई कुनै दुर्भाग्यले भेट्ने हो कि, र आफूलाई केही नराम्रो पो हुने हो कि भनी निरन्तर डराइरहेका हुन्छन्। अन्धविश्‍वासको कुरा आउँदा, मानिसहरू मामलाको सार छर्लङ्गै बुझ्न सधैँ असक्षम हुन्छन्, र तिनीहरू हरप्रकारका अन्धविश्‍वासी भनाइहरूको जन्जिरबाट मुक्त हुन झनै कम सक्षम हुन्छन्। तिनीहरू अन्धविश्‍वासले मानिसहरूको जीवनमाथि पार्ने प्रभाव बुझ्न पनि अवश्यै असक्षम हुन्छन्। मानव व्यवहारको दृष्टिकोणबाट र अन्धविश्‍वासबारे मानिसहरूका सोच र विचारहरूको परिप्रेक्ष्यबाट हेर्दा, तिनीहरूका सोचका चेतना र दृष्टिकोणहरू अझै पनि धेरै हदसम्म शैतानकै प्रभावमा र भौतिक संसारभन्दा बाहिरको एकप्रकारको अदृश्य शक्तिको नियन्त्रणमा हुन्छन्। त्यसकारण, मानिसहरूले परमेश्‍वरलाई पछ्याइरहँदा र उहाँका वचनहरू स्विकारिरहँदा, तिनीहरू अझै पनि आफ्नो भाग्य, जीवन र मृत्यु, र अस्तित्वसँग सम्बन्धित अन्धविश्‍वासी भनाइहरूकै नियन्त्रणमा हुन्छन्। यसको मतलब, तिनीहरूको सोचको भित्री गहिराइमा, तिनीहरू अझै पनि यी अन्धविश्‍वासी भनाइहरू साँच्चिकै वास्तविक हुन् भनेर विश्‍वास गर्छन्। अनि, तिनीहरूले यो विश्‍वास गर्नुको अर्थ के हो? यसको अर्थ मानिसहरू अझै पनि तिनीहरूको भाग्य परमेश्‍वरले नै नियन्त्रण र योजनाबद्ध गर्नुहुन्छ भन्‍ने कुरा साँच्चिकै पहिचान गर्नेभन्दा पनि, यी अन्धविश्‍वासपछाडिका अदृश्य शक्तिहरूकै नियन्त्रणमा परिरहेका छन् भन्ने हो। यसको अर्थ यो पनि हो कि तिनीहरू आफ्नो भाग्य परमेश्‍वरको हातमा राखेर पूरै खुसी वा ढुक्क छैनन्, बरु तिनीहरू अनैच्छिक रूपमा शैतानद्वारै नियन्त्रित भइरहेका छन्। उदाहरणको लागि, नियमित व्यवसाय गर्ने मानिसहरू, प्राय: यात्रा गरिरहने मानिसहरू, र अनुहार पढ्ने, आठ ट्राइग्राम र आइ चिङ्, यिन र याङ्का अध्ययन, आदि इत्यादिजस्ता अन्धविश्‍वासी गतिविधिमा धेरथोर विश्‍वास गर्ने गरेका मानिसहरूको दैनिक जीवन, अस्तित्वको नियम, धारणा, आदिजस्ता कुराहरू यी अन्धविश्‍वासहरूकै गहिरो प्रभाव, नियन्त्रण र चालबाजीमा परेका हुन्छन्। यसको मतलब, तिनीहरूले जे गरे पनि, त्यसको सैद्धान्तिक आधार अन्धविश्‍वासमै हुनुपर्छ। उदाहरणको लागि, बाहिर निस्किने बेलामा, तिनीहरूले पात्रोमा के लेखिएको छ, र कुनै वर्जित कुराहरू छन् छैनन् भनी हेर्नुपर्छ। व्यवसाय सञ्चालन गर्ने, सम्झौतापत्रमा हस्ताक्षर गर्ने, घर किनबेच गर्ने, आदिजस्ता कार्यहरू गर्दा, तिनीहरूले त्यो दिन जसरी पनि पात्रो हेर्नैपर्छ। पात्रो हेरेनन् भने, तिनीहरू अनिश्‍चित हुन्छन् र के कसो हुने हो भनेर अनभिज्ञ रहन्छन्। पात्रो पढेर कार्य र निर्णय गर्दा मात्र तिनीहरूले ढुक्‍क र मनको शान्ति महसुस गर्छन्। यसको साथै, तिनीहरूले केही वर्जित मान्यताहरू तोडेको नतिजास्वरूप केही नराम्रा कुराहरू हुने हुनाले, यी अन्धविश्‍वासहरू साँचो हुन् भन्ने तिनीहरूको ज्ञान र विश्‍वास त्यसपछि झनै निश्‍चित बन्छन्, र त्यसपछि तिनीहरू यी अन्धविश्‍वासहरूद्वारा बाँधिन्छन्। तिनीहरूलाई झनै बलियो गरी यो विश्‍वास हुन्छ कि मानिसहरूको नियति, भाग्य, र जीवन-मृत्यु अन्धविश्‍वासी भनाइद्वारा नियन्त्रित हुन्छन् र अदृश्य र रहस्यमयी संसारमा एउटा अदृश्य र विशाल हातले तिनीहरूको भाग्य र तिनीहरूको जीवन र मृत्यु नियन्त्रण गरिरहेको हुन्छ। त्यसकारण, तिनीहरू सबै अन्धविश्‍वासी भनाइहरू, विशेषगरी तिनीहरूका जीवन र अस्तित्वसँग नजिकको सम्बन्ध राख्ने भनाइहरूमा जोससाथ विश्‍वास गर्छन्, यतिसम्म कि परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरूले मानिसहरूको भाग्य परमेश्‍वरको हातमा हुन्छ भनेर मौखिक रूपले स्वीकार र विश्‍वास गर्ने भए पनि, तिनीहरू हृदयको गहिराइमा प्राय: विविध अन्धविश्‍वासी अभिव्यक्तिहरूद्वारा अनैच्छिक रूपमा बाधित र नियन्त्रित भई नै रहेका हुन्छन्। कतिपय मानिसहरूले त के कुरा केसँग बाझिन्छ, व्यक्तिको भाग्यमा के हुने लेखिएको छ, र यस्तै अन्य अन्धविश्‍वासी अभिव्यक्तिहरूजस्ता यी तथाकथित जीवन वर्जनाहरू सत्यता सिद्धान्तहरू हुन् भन्ठान्छन्, र यिनैलाई पालना गर्छन्। मानिसहरूले अन्धविश्‍वासहरूप्रति राख्ने यी मनोवृत्तिहरूले तिनीहरूले परमेश्‍वरसामु सत्यता र परमेश्‍वरका वचनप्रति राख्ने मनोवृत्तिहरूमा गम्भीर प्रभाव पार्छन्। यी मनोवृत्तिहरूले सृष्टि गरिएको प्राणीको रूपमा मानिसहरूले सृष्टिकर्ताप्रति राख्ने मनोवृत्तिहरूमा पनि गम्भीर प्रभाव पार्छन्, र यी मनोवृत्तिहरूले ती मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्तिमा अवश्यै असर पुर्‍याउँछन्। यस्तो किन हुन्छ भने, मानिसहरूले परमेश्‍वरलाई पछ्याउँदा, तिनीहरू अझै पनि शैतानले तिनीहरूभित्र हालिदिएका अन्धविश्‍वाससँग सम्बन्धित विविध सोचाइ र भनाइहरूद्वारा स्वेच्छिक र अनैच्छिक रूपमा नियन्त्रित र बाधित भइरहेका हुन्छन्। अनि सँगसँगै, मानिसहरूलाई अन्धविश्‍वाससँग सम्बन्धित यी विभिन्न सोचाइ र भनाइहरू त्याग्न पनि कठिन भइरहेको हुन्छ।

परिवारले मानिसहरूलाई अभ्यस्त गराउने कुराहरूमध्ये, वास्तवमा अन्धविश्‍वासहरूले नै तिनीहरूलाई सबभन्दा गम्भीर रूपमा हस्तक्षेप गर्छन्, र तिनीहरूमाथि सबभन्दा गहन र दीर्घकालीन प्रभाव जमाउँछन्। त्यसकारण, अन्धविश्‍वासहरूको कुरा गर्नुपर्दा, मानिसहरूले आफ्नो वास्तविक जीवनमा यी अन्धविश्‍वासहरूलाई एकएक गरी छानबिन गर्नु र चिन्नुपर्छ, र तिनीहरूले अन्धविश्‍वासको सन्दर्भमा आफ्नो निकट परिवार, संयुक्त परिवार, वा वंशबाट कुनै खालको अभ्यस्तीकरण वा प्रभाव प्राप्त गरेका छन् छैनन् भनी हेर्नुपर्छ। यदि प्राप्त गरेका छन् भने, तिनीहरूले यी अन्धविश्‍वाहरूमा टाँसिनुभन्दा यिनलाई एकएक गरी त्याग्नुपर्छ, किनकि सत्यतासँग यी कुराहरूको कुनै सम्बन्ध छैन। जब कुनै व्यक्तिको दैनिक जीवनमा परम्परागत जियाइ शैलीको अभ्यास बारम्बार प्रकट हुन्छ, त्यसले उसलाई आज्ञाकारीपूर्वक र अनैच्छिक रूपमा शैतानको नियन्त्रणमा रहने तुल्याउन सक्छ। अझ भन्‍ने हो भने, मानिसहरूको सोच प्रभावित पार्ने अन्धविश्‍वासी भनाइहरू मानिसहरूलाई शैतानको सत्ताको बलियो नियन्त्रणमा राख्न झनै बढी सक्षम हुन्छन्। त्यसकारण, परम्परा र धर्महरूबाहेक, अन्धविश्‍वाससम्बन्धी जुनसुकै सोच, विचार, भनाइ वा नियमहरू तत्काल त्याग्नुपर्छ, र तिनमा टाँसिइरहनु हुँदैन। परमेश्‍वरसँग कुनै वर्जित मान्यताहरू छैनन्। परमेश्‍वरका वचनहरू, मानवजातिप्रतिका मापदण्डहरू, र उहाँको इच्छा परमेश्‍वरको वचनमा प्रस्ट रूपमा व्यक्त गरिएका छन्। यसको साथै, परमेश्‍वरले उहाँका वचनहरूमा मानिसहरूलाई भन्‍नुहुने वा तिनीहरूको लागि तोक्‍नुहुने सबथोक सत्यतासँग सम्बन्धित छ र त्यसमा कुनै नौलो तत्वहरू छैनन्। परमेश्‍वरले मानिसहरूलाई कस्तो व्यवहार गर्ने र कस्ता मामलामा कस्ता सिद्धान्तहरू पालना गर्ने भनेर प्रस्ट र सिधा रूपमा बताउने काम मात्र गर्नुहुन्छ। त्यस्ता कुनै वर्जित मान्यता र कुनै मिहिन विवरण वा भनाइहरू छैनन्। मानिसहरूले पालना गर्नुपर्ने भनेकै तिनीहरूका आफ्नै वास्तविक परिस्थितिअनुसार सत्यता सिद्धान्तहरूमा आधारित भएर कार्य गर्नु हो। परमेश्‍वरका वचनहरू अभ्यास गर्न र सत्यता सिद्धान्तहरू पालना गर्नको लागि, तैँले मिति वा समय हेर्नु पर्दैन; त्यस्ता कुनै वर्जित मान्यताहरू छैनन्। त्यस्तो कुनै पात्रो हेर्नु पनि आवश्यक छैन, राशिफल, वा औँशी पूर्णे हेर्नुपर्ने त झन् कुरै आउँदैन; तैँले यी कुराहरूबारे चिन्ता लिनु पर्दैन। परमेश्‍वरको प्रभुत्वमा र उहाँको सार्वभौमिकतामा मानिसहरू स्वतन्त्र र मुक्त हुन्छन्। तिनीहरूको हृदय ढुक्‍क, आनन्दित र शान्त हुन्छ, अत्यास वा डरले भरिएको हुँदैन, र दबाब पनि अवश्यै हुँदैन। अत्यास, डर र दबाब भनेका विविध अन्धविश्‍वासी भनाइहरूले ल्याउने भावना मात्र हुन्। सत्यता, परमेश्‍वरका वचन, परमेश्‍वरका मापदण्ड, र पवित्र आत्माको कामले मानिसहरूलाई शान्ति र आनन्‍द, स्वतन्त्रता र मुक्ति, र आराम र खुसी दिन्छन्। तर अन्धविश्‍वासले मानिसहरूलाई त्यसको ठ्याक्कै उल्टो कुरा दिन्छ। त्यसले तेरो हातखुट्टा बाँध्छ, यो वा त्यो त्यो गर्नबाट वञ्चित गराउँछ, र यो वा त्यो खान रोक लगाउँछ। तैँले जे गरे पनि गलत हुन्छ र त्यसमा वर्जित मान्यता संलग्‍न हुन्छ, अनि सबथोक पुरानो पात्रोकै कुराअनुसार हुनुपर्छ। चन्द्र पात्रोले कुन समय तोकेको छ, कुन बार के काम गर्न मिल्छ, बाहिर जान मिल्छ मिल्दैन—कपाल काट्ने, नुहाउने, वस्‍त्र फेर्ने, र मानिसहरूलाई भेट्नेजस्ता कुरामा समेत सबैका आआफ्नै वर्जित मान्यताहरू हुन्छन्। विशेषगरी, बिहे र अन्त्येष्टि, घर सर्ने, सरसामान लिन-पुर्‍याउन जाने, र जागिर खोज्ने कामको लागि पात्रोमा झन बढी भर परिन्छ। शैतानले मानिसहरूको हातखुट्टा दह्रोसित बाँध्‍न अनेकथरीका अन्धविश्‍वासी र अनौठा भनाइहरू प्रयोग गर्छ। शैतानले त्यसो गर्नुको उद्देश्य के हो? (मानिसहरूलाई नियन्त्रण गर्नु हो।) आधुनिक भाषामा भन्नुपर्दा, त्यसले आफ्नो प्रभाव जमाइरहेको हो। अनि, त्यसको अर्थ के हो? त्यसको अर्थ मानिसहरूलाई त्यसको उपस्थिति महसुस गराउनु, र त्यसले प्रस्तुत गर्ने वर्जित कुराहरूसम्बन्धी दाबीहरू साँचो हुन्, अन्तिम निर्णण त्यसैले गर्छ, त्यसले यी काम गर्न सक्छ, र तैँले सुनिनस् भने त्यसले केही कुरा देखाउनेछ भनेर थाहा दिनु हो। अनि, त्यो रूपक कस्तो छ? त्यो यस्तो छ: “बुढी महिलाले लिपस्टिक लगाउनुको उद्देश्य तेरो ध्यान आकृष्ट गर्नु हो।” त्यसको अर्थ यो हो कि यदि तैँले सुनिनस् वा यो वर्जित मान्यता उल्लङ्घन गरिस् भने, कहिले भन्ने मात्र हो, तर तैँले परिणामहरू बेहोर्नैपर्नेछ। यदि मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, तिनीहरू यी वर्जित मान्यताहरूदेखि डराइरहेका हुन्छन्, किनभने आखिर मानिसहरू देहले बनेका हुन्छन्, र तिनीहरू आत्मिक संसारका हरस्वरूपका दियाबलस र शैतानसँग लड्न सक्दैनन्। तर अब तँ परमेश्‍वरसामु फर्किसकेकोले, तेरा सोच र तेरो जीवनको हरदिनलगायत तेरो सबथोक परमेश्‍वरको नियन्त्रणमा छ। परमेश्‍वरले तेरो निगरानी र रक्षा गर्नुहुन्छ। तँ परमेश्‍वरको प्रभुत्वमा जिउँछस् र रहन्छस्, र तँ शैतानको पकडमा छैनस्। त्यसैले, अबउप्रान्त तैँले यी वर्जित मान्यताहरू मान्‍नुपर्दैन। तर यसविपरीत, यदि तँ अझै पनि शैतानले तँलाई हानि गर्न सक्छ, वा तैँले शैतानको कुरा नसुनेमा वा अन्धविश्‍वासमा भनिएका वर्जित कुराहरूमा विश्‍वास नगरेमा तँलाई नराम्रो हुनेछ भनी डर मान्छस् भने, यसले तँ अझै शैतानले तेरो भाग्य नियन्त्रण गर्न सक्छ भनी विश्‍वास गर्छस् भन्ने प्रमाणित गर्छ। त्यो सँगसँगै, यसले यो पनि प्रमाणित गर्छ कि तँ शैतानको चालबाजीप्रति समर्पित हुन इच्छुक छस् र परमेश्‍वरको सार्वभौमिकता स्विकार्न अनिच्छुक छस्। शैतानले यो सबै गर्नुको उद्देश्य त्यो साँच्चिकै छ भनेर मानिसलाई थाहा दिनु हो। त्यसले आफ्नो जादूयी शक्ति प्रयोग गरेर मानवजाति र हरेक जीवित प्राणीलाई पकडमा राख्न चाहन्छ। यी जीवित प्राणीहरूलाई पकडमा राख्नुको उद्देश्य तिनीहरूलाई बर्बाद पार्नु हो, र त्यसले तिनीहरूलाई बर्बाद पार्नुको उद्देश्य र अन्तिम परिणाम भनेको तिनीहरूलाई निल्नु हो। अनि अवश्य नै, तिनीहरूलाई पकडमा राख्नुको उद्देश्य मानिसहरूद्वारा त्यसको आराधना गराउनु पनि हो। यदि दियाबलस शैतानले आफ्नो प्रभाव जमाउन चाहन्छ भने, त्यसले केही प्रभावकारिता प्रस्तुत गर्नु आवश्यक हुन्छ। उदाहरणको लागि, त्यसले अण्डालाई दिसामा परिणत गर्न सक्छ। यो अण्डा कुनै दुष्टात्मालाई दिइएको हुन्छ, र यदि तँ भोकाएको छस् र त्यो खान चाहन्छस्, र त्यसलाई दियाबलसबाट खोस्ने कोसिस गर्छस् भने, त्यसले तँलाई त्यसको शक्ति थाहा दिलाउन त्यो अण्डालाई दिसामा परिणत गर्नेछ। तँ त्योदेखि त्रसित हुनेछस् र खानाको निम्ति त्योसित होड गर्ने आँट गर्नेछैनस्। यदि कुनै कुराले तँलाई त्यसबाट त्रसित तुल्याउँछ, र त्यसपछि अर्को कुराले पनि तँलाई त्यसबाट त्रसित तुल्याउँछ भने, तैँले बिस्तारै त्यसलाई आँखा चिम्लेर विश्‍वास गर्न थाल्नेछस्। यदि तैँले त्यसलाई आँखा चिम्लेर लामै समय विश्‍वास गरिस् भने, तैँले हृदयको गहिराइबाटै त्यसलाई आराधना गर्न सुरु गर्नेछस्। के शैतानका कार्यहरूका लक्ष्य यिनै होइनन् र? शैतानले प्रस्ट रूपमा यिनै लक्ष्यहरूको निम्ति काम गर्छ। दक्षिण वा उत्तर जहाँ भए पनि, र त्यो जुनसुकै मानवजातिको भए पनि, तिनीहरू सबैले घुँडा टेकेर दुष्ट र अशुद्ध आत्माहरूको आराधना गर्छन्। तिनीहरू किन ती आत्माहरूलाई घुँडा टेकेर आराधना गर्छन्? किन तिनीहरूले घुँडा टेकेर आराधना गर्ने ती दुष्ट र अशुद्ध आत्माहरूको लागि पुस्तौँपुस्ता धूप बालिराखिन्छ? यदि तँ ती वास्तविक होइनन् भनेर भन्छस् भने, त्यतिका धेरै मानिसहरूले किन पुस्तौँपुस्ता तिनैमा विश्‍वास गर्छन् र तिनैको लागि धूप बाल्ने, तिनैलाई ढोग्ने, र तिनैको लागि भाकल गर्ने र भाकल पूरा गर्ने गर्छन्? के त्यो ती दुष्ट र अशुद्ध आत्माहरूले केही गरेकोले गर्दा होइन र? यदि तँ दुष्टात्माहरूको वचन सुन्दैनस् भने, तिनले तँलाई बिरामी पार्नेछन्, तेरा काम बिगार्नेछन्, तँमाथि दुर्भाग्य निम्त्याउनेछन्, तेरो परिवारका गाईगोरु बिरामी पार्नेछन् र जोत्न असक्षम बनाउनेछन्, र तेरो परिवारको गाडीसमेत दुर्घटनामा पार्नेछन्। तिनले तँलाई दुःख दिने उपायहरू खोज्नेछन्, र तिनले जति बढी उपायहरू खोज्छन्, तँलाई त्यति नै बढी दुःख हुनेछ। तैँले पालना गर्न अस्वीकार गर्न सक्दैनस्, र अन्त्यमा, तँसित घुँडा टेकेर तिनलाई आराधना गर्नुको कुनै विकल्प हुनेछैन, र तँ स्वेच्छाले शीर निहुराएर तिनैप्रति समर्पित हुनेछस्, त्यो पल ती आत्माहरू खुसी हुनेछन्। त्यसउप्रान्त तँ तिनैको मान्छे हुनेछस्। समाजका ती मानिसहरूलाई हेर् जो स्यालका आत्माद्वारा वा पवित्रस्थलमा देखिने आत्मिक संसारका विविध सत्वहरूद्वारा नियन्त्रित हुन्छन्। हामी यसलाई के भन्छौँ? हामी यसलाई दुष्टात्मा चढ्नु र दुष्टात्माले बास गर्नु भन्छौँ। आम मानिसहरूमाझ यसलाई आत्माद्वारा नियन्त्रित हुनु वा आफ्नो शरीर केही कुराको नियन्त्रणमा पर्नु भनिन्छ। जब दुष्टात्माहरूले नियन्त्रण गर्ने शरीरहरू खोज्न थाल्छन्, ती शरीरवालाहरू त्यसलाई त्यसो गर्न दिन इच्छुक हुँदैनन्, त्यसैले दुष्टात्माहरूले तिनीहरूमाथि हस्तक्षेप र बाधा पुर्‍याउँछन्, र तिनीहरूको परिवारमा दुर्घटना र समस्या निम्त्याउँछन्। व्यवसायमा लागेकाहरूलाई घाटा बेहोर्ने र कहिल्यै कुनै ग्राहक नपाउने तुल्याउँछन्; यति अवरोध पार्छन् कि तिनीहरू जीविका चलाउनै सक्दैनन् र तिनीहरूको प्रगति औधी कठिन भइदिन्छ। अनि अन्त्यमा, तिनीहरू समर्पित र सहमत हुन्छन्। तिनीहरू सहमत भएपछि, दुष्टात्माहरूले तिनीहरूको शरीर प्रयोग गरेर काम गर्ने, केही सङ्केत र अचम्मका कार्यहरू प्रस्तुत गर्ने, अरू मानिसहरूलाई आफूतिर तान्ने, रोगहरू उपचार गर्ने, भाग्य पढ्ने, मृतात्माहरू बोलाउन मद्दत गर्ने, आदिजस्ता कामसमेत गर्छन्। के दुष्टात्माहरूले मानिसहरूलाई छल्न, भ्रष्ट पार्न र नियन्त्रण गर्न यी विधिहरू प्रयोग गरिरहेका छैनन् र?

यदि परमेश्‍वरका विश्‍वासीहरूले यी अन्धविश्‍वासी भनाइहरूबारे अविश्‍वासीहरूले जस्तै विचार र राय बोक्छन् भने, यो कस्तो प्रकृति हो? (यो परमेश्‍वरको अवज्ञा र ईशनिन्दा गर्नु हो।) ठिक भनिस्, यो अत्यन्तै सही जवाफ हो, यो परमेश्‍वरविरुद्धको गम्भीर ईशनिन्दा हो! तँ परमेश्‍वरलाई पछ्याउँछस् र उहाँमा विश्‍वास गर्छु भन्छस्, तर त्यो सँगसँगै, तँ अन्धविश्‍वासहरूद्वारा नियन्त्रित र बाधित भइरहेको छस्। तँ अन्धविश्‍वासहरूले मानिसहरूमा स्थापित गरेका सोचहरू पछ्याउनसमेत सक्छस्, र अझै गम्भीर कुरा त, तिमीहरूमध्ये कति जना त अन्धविश्‍वासम्बन्धी यी सोच र तथ्यहरूको भयसमेत मान्छौ। यो परमेश्‍वरविरुद्धको सबैभन्दा ठूलो ईशनिन्दा हो। तँ परमेश्‍वरको साक्षी दिन असक्षम मात्र नभई, शैतानलाई पछ्याएर तैँले परमेश्‍वरको सार्वभौमिकताको प्रतिरोध पनि गरिरहेको छस्—यो परमेश्‍वरविरुद्धको ईशनिन्दा हो। कुरो बुझिस्? (बुझेँ।) अन्धविश्‍वासमा विश्‍वास गर्ने वा अन्धविश्‍वासहरू पछ्याउने मानिसहरूको सार भनेको परमेश्‍वरविरुद्ध ईशनिन्दा गर्नु हो, त्यसैले के तैँले अन्धविश्‍वासले तँलाई अभ्यस्त पारेका विविध कुराहरू त्याग्नुपर्दैन र? (त्याग्नुपर्छ।) ती कुराहरू त्याग्न अभ्यास गर्ने सबैभन्दा सरल उपाय भनेको तैँले आफूलाई ती कुराहरूद्वारा बाधित हुन नदिनु हो, चाहे ती अन्धविश्‍वासहरू साँचो होऊन् वा नहोऊन्, र चाहे ती कुराले जेसुकै नै किन ननिम्त्याऊन्। कुनै निश्‍चित वस्तुबारे अन्धविश्‍वासले भनेका अभिव्यक्तिहरू वस्तुगत रूपमा साँचो भए पनि, तँ ती कुराहरूद्वारा बाधित वा नियन्त्रित हुनु हुँदैन। किन? किनभने सबथोक परमेश्‍वरले योजनाबद्ध गर्नुहुन्छ। शैतानले कुनै कुरा हासिल गर्न सक्ने भए पनि, त्यो परमेश्‍वरकै अनुमतिले हुन्छ। परमेश्‍वरको अनुमतिबिना, परमेश्‍वरले भन्नुभएझैँ, शैतानले तेरो टाउकोको एउटा रौँसमेत छुने आँट गर्दैन। यो तथ्य हो, र यो मानिसहरूले विश्‍वास गर्नुपर्ने सत्यता हो। त्यसकारण, तेरो जुनै आँखा फर्फराए पनि, वा तैँले तेरो दाँत झरेको, कपाल झरेको, वा मृत्युको सपना देखे पनि, वा जस्तोसुकै दुःस्वप्‍न देखे पनि, तैँले के विश्‍वास गर्नु पर्छ भने, यी कुराहरू परमेश्‍वरका हातमा छन्, र तँ ती कुराहरूद्वारा प्रभावित वा बाधित हुनु हुँदैन। परमेश्‍वरले पूरा गर्न चाहनुहुने कुराहरू र परमेश्‍वरले तोक्नुभएका कुराहरू कसैले बदल्न सक्दैन। परमेश्‍वरले तोक्नुभएका र योजना गर्नुभएका कुराहरू पहिल्यै हासिल भइसकेका तथ्यहरू हुन्। तँलाई कुनै पूर्वाभास भए पनि नभए पनि वा आत्मिक संसारका यी दियाबलस र शैतानले तँलाई जे-जस्तो सङ्केत दिए पनि, तँ ती कुराहरूद्वारा बाधित हुनु हुँदैन। यो सबै परमेश्‍वरको हातमा हुन्छ र मानिसहरू परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ भनेर विश्‍वास गर्ने काम मात्र गर्। हुनै लागेका वा हुनै नसक्ने कुराहरू सबै परमेश्‍वरकै नियन्त्रण र उहाँकै पूर्णनिर्धारणमा हुन्छन्। ती कुराहरू कसैले बदल्न सक्दैन, र ती कुराहरूमा बाधा पुर्‍याउन त झन् कसैले सक्दै सक्दैन। यो एउटा तथ्य हो। मानिसहरूले घुँडा टेकेर आराधना गर्नुपर्ने भनेको सृष्टिकर्तालाई हो, अन्धविश्‍वासलाई साँचो पार्न वा पुनर्स्थापित गर्न सक्ने आत्मिक संसारको कुनै शक्तिलाई होइन। दियाबलस र शैतानको जादूयी शक्ति जति ठूलो भए पनि, तिनीहरूले जेजस्ता आश्‍चर्यकर्महरू गर्न सक्ने भए पनि, वा जेजस्ता कुराहरू साँचो पार्न सक्ने भए पनि, वा तिनीहरूले व्यक्तिका जस्तासुकै पूर्वाभास र जस्तासुकै अन्धविश्‍वासी भनाइहरूलाई वास्तविकतामा परिणत गर्न सक्ने भए पनि, यीमध्ये कुनै पनि कुराले मानिसहरूको भाग्य तिनीहरूको हातमा हुन्छ भन्ने अर्थ दिँदैन। मानिसहरूले जसलाई घुँडा टेकेर आराधना गर्ने र विश्‍वास गर्ने काम गर्छन् त्यो दियाबलस र शैतान नभएर सृष्टिकर्ता हुनुपर्छ। परम्परा, अन्धविश्‍वास र धर्मबारे परिवारले सिकाउने कुराहरूको विषयमा, मानिसहरूले बुझ्नुपर्ने कुराहरू यिनै हुन्। छोटकरीमा भन्दा, चाहे त्यो परम्परा, अन्धविश्‍वास वा धर्म जेसुकैबारे नै किन नहोस्, जबसम्‍म कुनै कुराको परमेश्‍वरका वचन, सत्यता वा मानिसहरूप्रतिका परमेश्‍वरका मापदण्डहरूसँग कुनै सम्बन्ध हुँदैन, तबसम्‍म मानिसहरूले त्यो कुरा छोड्‍ने र त्याग्ने गर्नैपर्छ। चाहे त्यो एउटा जीवनशैली होस् वा एकप्रकारको सोच, वा चाहे त्यो एउटा नियम होस् वा सिद्धान्त, जबसम्‍म त्यसमा सत्यता संलग्न हुँदैन, त्यो कुरा मानिसहरूले त्याग्‍नैपर्छ। उदाहरणको लागि, मानिसहरूको धारणामा, इसाई, क्याथोलिक, यहूदी, आदिजस्ता धर्मसँग सम्बन्धित कुराहरू अन्धविश्‍वास, परम्परा वा मूर्तिपूजाको तुलनामा आदर्शमयी र पवित्र मानिन्छन्। मानिसहरूले आफ्नो धारणामा र आफ्नो मनको गहिराइमा ती कुराहरूप्रति केही कदर वा निगाह अनुभूति गर्छन्, तर त्यसो भए पनि, मानिसहरूले धर्मसँग सम्बन्धित प्रतीक, चाडपर्व र निशानहरू त्याग्नुपर्छ र ती कुराहरूलाई धेरै नै प्रिय ठान्ने वा सत्यतालाई झैँ व्यवहार गर्ने, घुँडा टेकेर आराधना गर्ने, वा आफ्नो हृदयमा ती कुराहरूको लागि ठाउँ सुनिश्‍चित गर्ने काम गर्नु हुँदैन। यसो गर्नु हुँदै हुँदैन। धार्मिक प्रतीक, धार्मिक क्रियाकलाप, धार्मिक चाडपर्व, केही प्रतिकात्मक धार्मिक कुराहरू, साथै धर्मका तुलनात्मक रूपले आदर्शमयी केही भनाइहरू, आदि सबै हामीले कुरा गरेको धर्मको शीर्षकभित्रै पर्छन्। छोटकरीमा भन्दा, यो सबै भन्नुको उद्देश्य भनेको तँलाई एउटा तथ्य बुझाउनु हो: अन्धविश्‍वास, परम्परा, र धर्मसम्बन्धी कुराहरूको सवाल आउँदा, चाहे ती आदर्शमयी वा तुलनात्मक रूपले नौलो जेजस्तो भए पनि, जबसम्‍म ती कुराहरूमा सत्यता संलग्न हुँदैन र जबसम्‍म सत्यतासँग ती कुराहरूको कुनै सम्बन्ध हुँदैन भने, तबसम्‍म ती सबै कुराहरू त्याग्नुपर्छ, र मानिसहरू ती कुराहरूमा टाँसिइरहनु हुँदैन। अनि अवश्यै, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने विषयहरूलाई विशेष रूपमै त्याग्नुपर्छ र ती विषयहरूलाई राखिराख्‍नु कदापि हुँदैन। मानिसहरूले आफ्ना परिवारको अभ्यस्तीकरण र प्रभावबाट आउने यी सबै कुराहरूलाई प्रस्ट रूपमा एकएक गरी त्याग्नुपर्छ, र आफूलाई ती कुराहरूद्वारा प्रभावित हुन दिनु हुँदैन। उदाहरणको लागि, तैँले क्रिसमसको समयमा केही दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्‍ने क्रममा, तिनीहरूलाई देख्नेबित्तिकै “मेरी क्रिसमस! ह्याप्पी क्रिसमस!” भन्छस्। के “मेरी क्रिसमस” भन्नु राम्रो हो? (अहँ, होइन।) के यसो भन्नु उचित हो, “यसले येशू जन्मेको दिन स्मरण गर्ने भएकोले, के हामीले यो दिन छुट्टी गरेर केही काम नगर्दा हुँदैन र, अनि हामी काम र कर्तव्यमा जति व्यस्त भए पनि, के हामीले काम रोकेर विगतको परमेश्‍वरको कामको सबभन्दा स्मरणीय दिन स्मरण गर्नमा ध्यान दिनुपर्दैन र?” (अहँ, यो उचित होइन।) यो किन उचित होइन? (किनभने यो परमेश्‍वरले विगतमा गर्नुभएको काम हो, र यसको सत्यतासँग कुनै सम्बन्ध छैन।) धर्मसिद्धान्तको हिसाबले, खास कुरा यही हो। सैद्धान्तिक रूपमा, तिमीहरूले यस मामलाको जड बुझेका छौ, तर वास्तविक रूपमा बुझेका छौ त? यो सबभन्दा सरल मामला हो, तैपनि तिमीहरू मलाई जवाफ दिनै सक्दैनौ। मानिसहरूले यस्ता कामहरू गरेको परमेश्‍वरलाई मन पर्दैन; यस्तो देख्दा उहाँलाई घिन लाग्छ। यो यति सरल छ। चाडपर्वको उत्सवमा, अविश्‍वासीहरू “नयाँ वर्षको शुभकामना! क्रिसमसको शुभकामना” भन्छन्! यदि तिनीहरूले मलाई शुभकामना दिएमा म शिर हल्लाएर “तिमीलाई पनि!” मात्र भन्छु, मतलब “तिमीलाई पनि क्रिसमसको शुभकामना” भन्न खोजेको हुन्छु। यो शुभकामना दिने काममा म झारा टार्छु, अनि त्यतिमै सकिन्छ। तर म दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्दा कहिल्यै यस्तो भन्दिनँ। तर किन भन्दिनँ? किनभने यो अविश्‍वासीहरूको चाड, अर्थात् वाणिज्य चाड हो। पश्‍चिमी मुलुकहरूमा, चाहे त्यो परम्परागत होस् वा मानवनिर्मित, लगभग सबै चाडपर्व वास्तवमा वाणिज्यसँग सम्बन्धित र अर्थतन्त्रसँग जोडिएको हुन्छ। लामो इतिहास बोकेका केही राष्ट्रहरूमा समेत, तिनीहरूका चाडपर्वहरू विरलै परम्परासँग सम्बन्धित हुन्छन् र २० औँ शताब्दीदेखि बिस्तारै विविध वाणिज्य गतिविधिका रूपमा विकसित भएका छन्, र व्यापारीहरूका ती चाडपर्वहरू व्यापारका उत्कृष्ट अवसरहरू बनेका छन्। तर यी चाडपर्वहरू वाणिज्यमूलक वा परम्परागत जे भए पनि, जुनसुकै अवस्थामा पनि, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूसँग यी चाडपर्वहरूको कुनै सम्बन्ध छैन। अविश्‍वासीहरू वा धार्मिक व्यक्तिहरूसमेत यी चाडपर्वहरूप्रति जति नै उत्साहित भए पनि वा यी चाडपर्वहरू जुनसुकै देश वा राष्ट्रमा जतिसुकै भव्य र सानदार हुने गरेका भए पनि, परमेश्‍वरलाई पछ्याउने हामीजस्ता मानिसहरूसँग यी चाडपर्वहरूको कुनै सम्बन्ध छैन र यी हामीले मान्‍नुपर्ने चाडपर्व होइनन्, उत्सव मनाउने वा स्मरण गर्ने त कुरै छाडौँ। अविश्‍वासीहरूका परम्परागत चाडपर्वहरू, चाहे ती जुनसुकै जातका, जातिगत समूहका, वा समयका भए पनि, ती चाडपर्वहरूको पनि कुरै नगरे हुन्छ। परमेश्‍वरको कामका तीन चरणहरूको प्रत्येक अवधि र प्रत्येक खण्डसँग सम्बन्धित वार्षिकोत्सवहरूको समेत हामीसँग कुनै सम्बन्ध छैन। उदाहरणको लागि, व्यवस्थाको युगका चाडपर्वहरूको हामीसँग कुनै सम्बन्ध छैन, र अनुग्रहको युगका इस्टर, क्रिसमस, आदिको पनि हामीसँग निश्‍चय नै कुनै सम्बन्ध छैन। अनि, यी कुराहरूबारे सङ्गति गरेर, मैले मानिसहरूलाई बुझाउन चाहेको कुरा के हो? यो हो कि परमेश्‍वरले आफूले गर्ने कामहरूमा कुनै चाडपर्व वा नियमहरू पालना गर्नुहुन्न। उहाँले स्वन्त्र रूपमा र मुक्त भएर, बिनाकुनै वर्जित मान्यता कार्य गर्नुहुन्छ, र उहाँले कहिल्यै कुनै चाडपर्वहरू स्मरण गर्नुहुन्न। चाहे त्यो परमेश्‍वरको विगतको कामको सुरुवात, अन्त्य वा कुनै विशेष दिन नै भए पनि, परमेश्‍वरले त्यो कहिल्यै स्मरण गर्नुहुन्न। परमेश्‍वरले स्मरण गर्नुहुन्न र मानिसहरूलाई यी मिति, दिन, वा समयबारे सिधै सचेत पार्ने काम गर्नुहुन्न। एकातिर, यसले मानिसहरूलाई यो बताउँछ कि परमेश्‍वरले यी दिनहरू स्मरण गर्नुहुन्न र यी दिनहरूबारे वास्ता गर्नुहुन्न। अर्कोतिर, यसले मानिसहरूलाई यो बताउँछ कि तिनीहरूले यी दिनहरू स्मरण गर्नु वा मनाउनु आवश्यक छैन र तिनीहरूले यी दिनहरू पालना गर्नु हुँदैन। मानिसहरूले परमेश्‍वरको कामसँग सम्बन्धित कुनै पनि दिन वा समय याद राख्नु आवश्यक छैन, तिनलाई स्मरण गर्ने त कुरै छाडौँ। अनि, मानिसहरूले के गर्नुचाहिँ आवश्यक छ? तिनीहरूले परमेश्‍वरको योजनाबद्ध कार्यप्रति समर्पित हुने र परमेश्‍वरको मार्गदर्शनमा उहाँको सार्वभौमिकता स्विकार्ने काम गर्नु आवश्यक छ। तिनीहरूले सत्यता स्विकार्नु र आफ्नो दैनिक जीवनमा त्यसलाई पालना गर्नु आवश्यक छ। यो त्यति सरल छ। यसरी, के मानिसहरूको जीवन झनै सहज र सुखद हुनेछैन र? (हुनेछ।) त्यसकारण, यी मामलाहरूबारे सङ्गति गर्दा हरव्यक्तिलाई मुक्ति र स्वतन्त्रता प्राप्त हुन्छ, न कि बन्धन। किनभने एकातिर, यी विषयहरू वस्तुगत तथ्य र साँचो कुराहरू हुन जसलाई मानिसहरूले बुझ्नुपर्छ, र अर्कोतिर, यी कुराहरूले मानिसहरूलाई मुक्त तुल्याउने र तिनीहरूले पालना गर्नुनपर्ने यी कुराहरू त्याग्न मदत गर्ने काम पनि गर्छन्। यो सँगसँगै, यी कुराहरूले मानिसहरूलाई यो पनि थाहा दिलाउँछन् कि यी कुराहरूले सत्यता प्रतिनिधित्व गर्दैनन्, र मानिसहरूले पालना गर्नुपर्ने परमेश्‍वरको मार्ग एउटै मात्र छ, र त्यो सत्यता हो। कुरो बुझिस्? (बुझेँ।)

परिवारको विषयबारे कुरा गर्नुपर्दा, आफ्नो परिवारले सिकाउने कुराहरू त्याग्नुको अलावा, मानिसहरूले त्याग्नुपर्ने अन्य पक्षहरू छन्। हामीले पहिले परिवारले गराउने अभ्यस्तीकरणले व्यक्तिको सोचमा पर्ने प्रभावबारे सङ्गति गर्‍यौँ, र त्यसपछि परिवारले मानिसहरूलाई अभ्यस्त पार्ने जीवनसम्बन्धी विविध भनाइहरूबारे सङ्गति गर्‍यौँ। सबै परिवारहरूले मानिसहरूलाई स्थिर जीवन र वृद्धि हुने अवसर प्रदान गर्छन्। मानिसहरू हुर्कँदै बढ्ने क्रममा, तिनीहरूलाई परिवारले सुरक्षाको भावना, भर पर्ने आधार, र आधारभूत आवश्यकताहरूको स्रोत पनि प्रदान गर्छन्। तिनीहरूको भावनात्मक आवश्यकता पूर्ति गर्नुको अलावा, परिवारले मानिसहरूका भौतिक आवश्यकताहरू पनि पूरा गरिदिन्छन्। हुर्कने क्रममा, तिनीहरूले आफूलाई चाहिने जीवनका आवश्यकताहरू र जीवनसम्बन्धी केही सामान्य ज्ञान पनि अवश्यै प्राप्त गर्छन्। मानिसहरूले आफ्नो परिवारबाट प्राप्त गर्ने कुराहरू धेरै छन्, त्यसैले हरव्यक्तिको निम्ति, परिवार भनेको जीवनको एउटा पाटो हो जसलाई छुटाउन कठिन हुन्छ। परिवारले मानिसहरूलाई दिने फाइदाहरू धेरै छन्, तर त्यसलाई हाम्रो सङ्गतिको विषयवस्तुको दृष्टिकोणबाट हेर्दा, परिवारले मानिसहरूमाथि ल्याउने विविध नकारात्मक प्रभावहरू र जीवनप्रतिका नकारात्मक मनोवृत्ति र दृष्टिकोणहरू पनि धेरै नै छन्। यसको मतलब, तेरो परिवारले तेरो भौतिक जीवनको लागि आवश्यक धेरै कुराहरू दिन्छ, तेरा आधारभूत आवश्यकताहरू भरणपोषण गर्छ, र तँलाई भावनात्मक आधार र साथ दिन्छ, तर त्यो सँगसँगै त्यसले तँलाई केही अनावश्यक समस्याहरू पनि दिन्छ। सत्यता बुझ्नुपहिले मानिसहरूलाई यी समस्याहरूबाट उम्किन र यी समस्याहरू त्याग्न अवश्यै कठिन हुन्छ। निश्‍चित हदसम्म, तेरो परिवारले तेरो दैनिक जीवन र अस्तित्वमा ठूला र साना दुवै खाले बाधाहरू ल्याउँछन्, जसले परिवारप्रतिको तेरो भावनालाई प्राय: जटिल र विरोधाभासी तुल्याउँछ। तेरो परिवारले तेरा भावनात्मक चाहनाहरू पूरा गरिदिनुका साथै भावनात्मक रूपमा तेरो जीवनमा हस्तक्षेप पनि गर्ने भएकोले, “परिवार” भन्ने शब्दले धेरैजसो मानिसहरूमा जटिल र व्यक्त गर्न कठिन सोचहरू पैदा गराउँछ। तैँले विगतका यादहरू, आत्मीयता, अनि अवश्यै परिवारप्रतिको कृतज्ञताले भरिपूर्ण भएको महसुस गर्छस्। तर त्यो सँगसँगै, तेरो परिवारले तँमाथि ल्याएका उल्झनहरूले तँलाई परिवार समस्याको ठूलो स्रोत हो भन्ने पनि महसुस गराउँछ। त्यसो भन्नुको मतलब, कुनै व्यक्ति वयस्क बनेपछि, आफ्नो परिवारबारेको उसको अवधारणा, सोचाइ र हेराइ तुलनात्मक रूपमा जटिल बन्छ। यदि उसले आफ्नो परिवारलाई पूर्ण रूपमा त्याग्यो, छोड्यो, वा परिवारबारे सोच्न छोड्यो भने, उसको विवेकले त्यो सहन सक्नेछैन। यदि उसले आफ्नो परिवारबारे सोच्ने, परिवारबारे सोचेर रमाउने, र बच्चाको बेलाझैँ सम्पूर्ण हृदयले आफूलाई परिवारमै होम्‍ने गर्छ भने, ऊ त्यसो गर्न अनिच्छुक हुनेछ। मानिसहरूले आफ्नो परिवारसँग व्यवहार गर्दा प्राय: यसप्रकारको स्थिति, र यसप्रकारका सोच, विचार वा अवस्थाहरू अनुभव गर्छन्, र यी सोच र विचारहरू वा अवस्थाहरू पनि परिवारले गराउने अभ्यस्तीकरणबाटै आउँछन्। आज हामी यही शीर्षक अर्थात् परिवारले मानिसहरूमाथि ल्याउने बोझबारे सङ्गति गर्नेछौँ।

हामीले भर्खरै परिवारले प्राय: कसरी मानिसहरूलाई विवादित र असहज महसुस गराउँछ भन्नेबारे सङ्गति गर्‍यौँ। तिनीहरू पूर्ण रूपमा त्याग्न त चाहन्छन् तर आफ्नो विवेकमा दोषबोध महसुस गर्छन् र हृदयले त्याग्न चाहँदैन। यसरी तिनीहरूले त्याग्दैनन् भने, र यसको साटो सम्पूर्ण हृदयले आफ्नो परिवारप्रति समर्पित र समाहित हुन्छन् भने, तिनीहरू के गर्ने भन्नेबारे प्राय: अनिर्णित रहन्छन्, किनभने तिनीहरूका केही विचारहरू परिवारसँग नमिल्ने हुन्छन्। त्यसैले, मानिसहरू आफ्नो परिवार सम्हाल्न अत्यन्तै कठिन हुने महसुस गर्छन्; तिनीहरू परिवारसित पूर्ण रूपमा मिल्न सक्दैनन्, तर सम्बन्ध पूरै तोड्न पनि सक्दैनन्। त्यसोभए, आज हामी व्यक्तिले आफ्नो परिवारसँगको सम्बन्ध कसरी सम्हाल्नुपर्छ भन्नेबारे सङ्गति गरौँ। यो शीर्षकले परिवारबाट आउने केही बोझहरू समेट्छ, र यो परिवार त्याग्नेसम्बन्धी विषयको तेस्रो शीर्षक अर्थात् आफ्नो पारिवारिक बोझ त्याग्ने भन्‍ने शीर्षक हो। यो एक महत्त्वपूर्ण विषय हो। परिवारबाट आउने बोझहरूसम्बन्धी तिमीहरूले बुझ्न सक्ने केही कुराहरू के-के हुन्? के ती आफ्ना जिम्मेवारी, दायित्व, सन्तानीय भक्ति, आदिसँग सम्बन्धित छन्? (हजुर।) परिवारबाट आउने बोझहरूमा व्यक्तिले आफ्नो परिवारको निम्ति पूरा गर्नुपर्ने जिम्मेवारी, दायित्व र सन्तानीय भक्ति पर्छन्। एकातिर, यी कुरा व्यक्तिले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू हुन्, र अर्कोतिर—निश्‍चित परिस्थितिहरूमा र निश्‍चित व्यक्तिहरूको हकमा—यी कुरा व्यक्तिको जीवनका बाधाहरू हुन्, र यिनै बाधाहरूलाई हामी बोझ भन्छौँ। पारिवारिक बोझको सम्बन्धमा भन्नुपर्दा, हामी यसलाई दुई पक्षबाट छलफल गर्न सक्छौँ। एउटा पक्ष आमाबुबाका अपेक्षाहरू हो। हरेक आमाबुबा वा अग्रजसँग आफ्ना छोराछोरीप्रति ठूला-साना विविध अपेक्षाहरू हुन्छन्। तिनीहरू आफ्ना छोराछोरीले मेहनतसाथ अध्ययन गर्नेछन्, सुशील व्यवहार गर्नेछन्, स्कूलमा उत्कृष्ट नतिजा ल्याउनेछन्, उत्कृष्ट विद्यार्थी बन्नेछन्, र अल्छी गर्नेछैनन् भनी आशा गर्छन्। तिनीहरू आफ्ना छोराछोरीलाई शिक्षक र सहपाठीहरूले सम्मान गरून्, र तिनीहरूको ग्रेड नियमित रूपमा ८० भन्दा माथि होस् भन्ने चाहन्छन्। बच्चाले ६० अङ्क प्राप्त गरेमा उसलाई पिटिनेछ, र उसले ६० भन्दा कम अङ्क ल्याएमा उसले भित्तामा फर्केर आफ्ना गल्तीहरूबारे सोच्नुपर्नेछ, वा सजायस्वरूप नहल्लीकन उभिनुपर्नेछ। उसलाई खान, सुत्न, टिभी हेर्न, वा कम्प्युटरमा खेल्न दिइनेछैन, र उसलाई पहिले किनिदिने भनिएका राम्रा कपडा र खेलौनाहरू अब किनिदिइनेछैन। हरेक आमाबुबाहरू आफ्ना छोराछोरीप्रति विविध अपेक्षाहरू राख्छन् र उनीहरूमाथि ठूलाठूला आशाहरू राख्छन्। तिनीहरू आफ्ना छोराछोरीले जीवनमा सफलता पाउनेछन्, आफ्नो करियरमा फड्को मार्नेछन्, र आफ्ना पुर्खा र परिवारलाई सम्मान र गौरव दिलाउनेछन् भनी आशा गर्छन्। कुनै पनि आमाबुबाले आफ्ना छोराछोरी मगन्ते, किसान, वा लुटेरा र डाँका बनेको चाहँदैनन्। आमाबुबाहरू आफ्ना छोराछोरीले समाज प्रवेश गरेपछि दोस्रो दर्जाका नागरिक बनून्, फोहोर टिपून्, फूटपाथ व्यापारी बनून्, हिँड्दैहिँड्दै सामान बेचून्, वा अरूको हेय दृष्टिमा परून् भन्ने पनि चाहँदैनन्। छोराछोरीले आमाबुबाका यी अपेक्षाहरू पूरा गर्न सके वा नसके पनि, र जुनै अवस्था भए पनि, आमाबुबामा छोराछोरीप्रति अनेक अपेक्षाहरू हुने गर्छन्। तिनीहरूका अपेक्षाहरू भनेको तिनीहरूलाई राम्रो र आदर्शवान्‌ लाग्ने कुरा वा खोजहरू आफ्ना छोराछोरीमाथि थोपर्ने, उनीहरूमा आशा भरिदिने, र उनीहरूले आमाबुबाका यी इच्छाहरू पूरा गर्नेछन् भनी आशा गर्ने काम हो। त्यसोभए आमाबुबाका यी चाहनाहरूले तिनीहरूका छोराछोरीमाथि अनजानमा के-कस्ता परिणामहरू सिर्जना गर्छन्? (दबाब।) यी कुराहरूले दबाब सिर्जना गर्छन्, अनि अरू के सिर्जना गर्छन्? (बोझ।) यी कुराहरू दबाब र जन्जिर बन्छन्। आमाबुबाले आफ्ना छोराछोरीप्रति अपेक्षाहरू राख्ने भएकाले, तिनीहरूले छोराछोरीलाई ती अपेक्षाहरूअनुसार नै अनुशासनमा राख्छन्, मार्गदर्शन गर्छन्, र शिक्षा दिन्छन्; तिनीहरू आफ्ना अपेक्षाहरू पूरा गरून् भनेर छोराछोरीमा लगानी गर्ने वा उनीहरूको लागि जतिसुकै मूल्य तिर्ने कामसमेत गर्छन्। उदाहरणको लागि, आमाबुबाहरू आशा गर्छन् कि तिनीहरूका छोराछोरी स्कूलमा उत्कृष्ट बन्नेछन्, कक्षाकै उत्कृष्ट हुनेछन्, हरेक जाँचमा ९० भन्दा बढी अङ्क ल्याउनेछन्, सधैँ एक नम्बरमा आउनेछन्—वा नराम्रै भए पनि, पाँचौ स्थानभन्दा तल कहिल्यै आउनेछैनन्। यी अपेक्षाहरू व्यक्त गरिसकेपछि, के आमाबुबाले पनि आफ्ना छोराछोरीलाई यी लक्ष्यहरूमा पुग्न मद्दत गर्न निश्‍चित त्यागहरू गरिरहेका हुँदैनन् र? (हुन्छन्।) यी लक्ष्यहरूमा पुग्नलाई छोराछोरीले बिहान सबेरै उठेर पाठहरू दोहोर्‍याउनेछन् र घोक्नेछन्, र उनीहरूलाई साथ दिन आमाबुबा पनि सबेरै उठ्नेछन्। गर्मीयाममा तिनीहरूले छोराछोरीलाई फ्यान चलाइदिने, चिसो पेयपदार्थ बनाइदिने वा आइसक्रिम किनिदिने गर्छन्। तिनीहरू बिहान उठेर सुरुमै छोराछोरीको लागि सोया दुध, डो स्टिक, र अण्डा तयार पार्छन्। विशेषगरी परीक्षाको समयमा, आमाबुबाले आफ्ना छोराछोरीलाई एउटा फ्राइ डो स्टिक र दुइटा अण्डा खान दिन्छन्, र यी चिजहरूले उनीहरूलाई १०० अङ्क ल्याउन मद्दत गर्नेछ भन्ने आशा गर्छन्। यदि तैँले “यो सबै खान सक्दिनँ, एउटा अण्डा भए पुग्छ” भनिस् भने, तिनीहरूले यसो भन्नेछन्, “ए मूर्ख, एउटा मात्र अण्डा खाइस् भने तैँले १० अङ्क मात्र ल्याउनेछस्। आमाको लागि अर्को पनि खा त। सक्दो कोसिस गर्; यदि तैँले यो खाइस् भने, तैँले सय अङ्क ल्याउनेछस्।” बच्चाले भन्छ, “म भर्खरै त उठेको, अहिले नै खान सक्दिनँ।” “हुँदैन, तैँले खानैपर्छ! असल बनेर आमाले भनेको मान्। आमाले यो तेरै निम्ति गरेकी हो, त्यसैले आमाको लागि भए पनि यो खा त।” अनि, बच्चाले मनन गर्छ, “आमाले निकै ख्याल राख्‍नुहुन्छ। उहाँले गर्ने सबथोक मेरै लागि हो, त्यसैले म खानेछु।” खान त अण्डा नै खाइन्छ, तर के निलिन्छ? दबाब; हिचकिचाहट र अनिच्छा निलिन्छ। खानु राम्रो हो र आमासँग उच्च अपेक्षाहरू छन्, र मानवता र विवेकको नजरले हेर्दा यी कुराहरू स्विकार्नुपर्छ, तर समझको आधारमा हेर्दाचाहिँ, व्यक्तिले यस्तो प्रेम नकार्नुपर्छ र यस्तो कार्यशैली स्विकार्नु हुँदैन। तर कठै, तैँले गर्न सक्ने केही छैन। यदि तैँले खाइनस् भने, ऊ रिसाउनेछे, र तैँले कुटाइ र गाली खानेछस् र तैँले श्रापसमेत पाउनेछस्। कतिपय आमाबुबा भन्छन्, “आफूलाई हेर् त, एउटा अण्डा खानसमेत यति गाह्रो हुने कस्तो काम नलाग्ने छस्। एउटा फ्राइ डो स्टिक र दुइटा अण्डा, के त्यो सय अङ्कबराबर होइन? के यो सबै तेरै राम्रोको लागि होइन? तर तँ भने खानै सक्दैनस्—यदि तँ यति खान सक्दैनस् भने भविष्यमा तैँले मागेर खानेछस्। आफ्नो रोज्‍जी गर्!” कतिपय बालबालिका यस्ता हुन्छन् कि जो साँच्चिकै खान सक्दैनन्, तर आमाबुबाले उनीहरूलाई जबरजस्ती खान लगाउँछन्, र पछि उनीहरूले त्यो सबै बान्ता गर्छन्। बान्ता गर्नु आफैमा ठूलो कुरा होइन, तर उनीहरूका आमाबुबा झन् बढी रिसाउँछन्, र छोराछोरीले सहानुभूति वा बुझाइ नपाउने मात्र नभई, धिक्कार पनि खानेछन्। धिक्कारिने सँगसँगै उनीहरूले आफूद्वारा आमाबुबालाई निराश तुल्याइएको अनुभूति गर्छन् र आफूलाई झन् बढी दोष् दिन्छन्। यी बालबालिकाको जीवन सजिलो छैन, छ र? (सजिलो छैन।) बान्ता गरेपछि, तँ बाथरूममा एक्लै रुन्छस्, र अझै बान्ता गरिरहेको नाटक गर्छस्। बाथरूमबाट बाहिर निस्किँदा तैँले छिटोछिटो आँसु पुछ्छस्, र आमालाई देखाउँदैनस्। अनि, किन त्यसो गर्छस्? यदि उसले देखी भने, तैँले गाली र सरापसमेत भेट्नेछस्: “तँलाई हेर्, कस्तो काम नलाग्ने; केको लागि रोइरहेको छस्? तँ केही न कामको छस्, तँ यति राम्रो खानासमेत खान सक्दैनस्। तँ के खान चाहन्छस्? अर्को छाक खान नपाउने भए त यो खान सक्थिस् होला, होइन र? तँ दुःख भोग्नकै लागि जन्मेको होस्! यदि तैँले मेहनतसाथ अध्ययन गरिनस्, परीक्षामा राम्रो गरिनस् भने, तैँले मागेर खानेछस्!” तेरी आमाले बोलेको प्रत्येक शब्द तँलाई सिकाउनको लागि हो जस्तो देखिन्छ, तर त्यो धिक्कारेको जस्तो पनि देखिन्छ—तर तैँले के महसुस गर्छस्? तैँले तेरा आमाबुबाको अपेक्षा र प्रेम महसुस गर्छस्। त्यसैले, यो परिस्थितिमा, तेरी आमाले जति कठोरतापूर्वक बोले पनि तैँले उसका शब्दहरू आँखामा आँसु बोकेर स्विकार्ने र निल्ने गर्नुपर्छ। तैँले खान सकिनस् भने पनि, सहेर खानुपर्छ, र यदि तँलाई अमन भए पनि तैँले खानैपर्छ। के यो जीवन भोग्‍न सजिलो छ त? (अहँ, छैन।) किन सजिलो छैन? तैँले आमाबुबाका अपेक्षाबाट कस्तो शिक्षा पाउँछस्? (परीक्षामा राम्रो गर्नुपर्छ र सफल भविष्य बनाउनुपर्छ भन्‍ने शिक्षा।) तैँले तेरो प्रण देखाउनुपर्छ, तेरी आमाको प्रेम, मेहनत र त्याग साकार पार्नुपर्छ, र आमाबुबाका अपेक्षाहरू हासिल गर्नुपर्छ र तिनीहरूलाई निराश तुल्याउनु हुँदैन। तिनीहरूले तँलाई औधी प्रेम गर्छन्, तेरो लागि सबथोक दिएका छन्, र आफ्नो जीवनमार्फत तेरो लागि सबथोक गरिरहेका छन्। अनि, तिनीहरूका सबै त्याग, शिक्षा र प्रेम के बनेका हुन्छन् त? ती तैँले तिर्नैपर्ने ऋण बनेका हुन्छन्, र त्यो सँगसँगै, ती तेरो बोझ बनेका हुन्छन्। बोझ यसरी नै उत्पन्न हुन्छ। आमाबुबाले आफ्नै नैसर्गिक प्रवृत्तिबाट, आफ्नै प्रेमले वा सामाजिक दायित्वको कारण यी कुराहरू गर्ने भए पनि, अन्त्यमा, तँलाई शिक्षा दिन वा व्यवहार गर्न यी विधिहरू प्रयोग गर्नु, र तँभित्र अनेक प्रकारका विचारहरूसमेत भर्नुले तेरो प्राणलाई स्वतन्त्रता, मुक्ति, आराम, वा खुसी दिनेछैन। अनि, यी कुराहरूले तँमाथि के ल्याउँछन्? दबाब र डर ल्याउँछन्, तेरो विवेकमाथि निन्दा र असहजता ल्याउँछन्। अरू केके ल्याउँछन्? (जन्जिर र बन्धनहरू ल्याउँछन्।) जन्जिर र बन्धनहरू ल्याउँछन्। यसको साथै, आमाबुबाका यस्ता अपेक्षाहरूमा रहँदा, तँसित तिनीहरूको आशाको लागि जिउनुबाहेक अर्को कुनै विकल्प हुनेछैन। तिनीहरूका अपेक्षाहरू पूरा गर्न, तिनीहरूका अपेक्षाहरूमा नचुक्न, र तिनीहरूलाई तँप्रतिको आशा गुमाउन नदिनको निम्ति, तैँले प्रत्येक विषय लगन र इमानदारीसाथ हरेक दिन अध्ययन गर्छस्, र तिनीहरूले गर्नू भनेको हरेक थोक गर्छस्। तिनीहरूले तँलाई टिभी हेर्न दिनेछैनन्, त्यसैले तैँले साँच्चिकै हेर्न चाहँदाचाहँदै पनि आज्ञाकारीपूर्वक टिभी हेर्दैनस्। यसरी तैँले नहेर्न सक्नुको कारण के हो? (आमाबुबालाई निराश तुल्याइएला भन्ने डरले गर्दा हो।) तँलाई डर लाग्छ, यदि तैँले आमाबुबाका कुरा सुनिनस् भने, तेरो शैक्षिक स्तर साँच्चिकै खस्किनेछ, र तैँले प्रतिष्ठित विश्‍वविद्यालयमा भर्ना पाउन सक्नेछैनस्। तँ तेरो आफ्नै भविष्यबारे निश्‍चित हुँदैनस्। यस्तो लाग्छ तेरा आमाबुबाको नियन्त्रण, धिक्कार, र दबाब नहुने हो भने, तँलाई तेरो अगाडिको मार्गमा के छ भन्‍ने नै थाहा हुँदैन। तँ तिनीहरूको बन्धनबाट मुक्त हुने आँट गर्दैनस्, र तँ तिनीहरूको जन्जिरबाट मुक्त हुने पनि आँट गर्दैनस्। तैँले तिनीहरूलाई तेरो लागि हरप्रकारका नियमहरू तोक्न र तँलाई गोटीझैँ चलाउन दिन मात्र सक्छस्, तर तिनीहरूको अवज्ञा गर्ने आँट गर्न सक्दैनस्। एक अर्थमा, तँमा आफ्नो भविष्यबारे कुनै निश्‍चितता छैन; अर्को अर्थमा, विवेक र मानवताको कारण तँ तिनीहरूको अवज्ञा गर्न र चित्त दुखाउन चाहिरहेको छैनस्। तिनीहरूको बच्चा भएको नाताले, तँलाई तैँले तिनीहरूको कुराहरू सुन्नुपर्छ किनभने तिनीहरूले गर्ने सबथोक तेरै राम्रोको लागि हो, र तेरै भविष्य र सम्भाव्यताको लागि हो भन्ने महसुस हुन्छ। त्यसैले, जब तिनीहरूले तेरो लागि अनेक प्रकारका नियमहरू तोक्छन्, तब तैँले बस मौन रूपमा तिनीहरूको आज्ञापालन गर्छस्। तँ हृदयमा सय गुणा अनिच्छुक भए पनि, तिनीहरूको आदेश मान्न बाध्य हुन्छस्। तिनीहरूले तँलाई टिभी हेर्ने वा मनोरञ्जनात्मक पुस्तक पढ्ने अनुमति दिँदैनन्, त्यसैले तैँले ती हेर्ने वा पढ्ने गर्दैनस्। तिनीहरूले तँलाई यो वा त्यो सहपाठीहरूसित मित्रता गाँस्न नदिने भएकाले, तैँले उनीहरूलाई साथी बनाउँदैनस्। तिनीहरूले तँलाई जुन समयमा उठ्नू भन्छन् तँ त्यही समयमा उठ्छस्। तिनीहरूले तँलाई जुन समयमा आराम गर्नू भन्छन्, तँ त्यही समयमा आराम गर्छस्। तिनीहरूले तँलाई जति लामो समय अध्ययन गर्नू भन्छन् तँ त्यति नै लामो समय अध्ययन गर्छस्। तैँले कतिवटा किताब पढ्‍नुपर्छ, र कतिवटा अतिरिक्त सीपहरू सिक्नुपर्छ, त्यो तिनीहरूले नै भन्छन्, र जबसम्म तिनीहरूले तँलाई सिक्नको लागि आर्थिक स्रोतहरू प्रदान गर्छन्, तबसम्म तैँले तिनीहरूलाई आफूमाथि शासन र नियन्त्रण गर्न दिई नै रहन्छस्। खासगरी, केही आमाबुबाले आफ्ना छोराछोरीले आफूलाई उछिन्न सकून् भन्ने आशाले र आफूले पूरा गर्ने नसकेको इच्छा छोराछोरीले पूरा गरून् भन्ने झनै ठूलो आशाले आफ्ना छोराछोरीमाथि विशेष अपेक्षाहरू राख्ने गर्छन्। उदाहरणको लागि, कतिपय आमाबुबा आफै डान्सर बन्न चाहेका तर तिनीहरू हुर्केको युग वा पारिवारिक परिस्थितिहरूजस्ता विविध कारणले अन्त्यमा तिनीहरूले त्यो इच्छा पूरा गर्न नसकेका हुन सक्छन्। त्यसैले, तिनीहरू त्यो इच्छा तँमाथि लाद्‌छन्। पढाइमा उत्कृष्ट हुनेहरूमध्येमा पर्न र कुनै प्रतिष्ठित विश्‍वविद्यालयमा भर्ना पाउनुपर्ने दबाबबाहेक, तिनीहरूले तँलाई नृत्य कक्षामा पनि भर्ना गरिदिन्छन्। तिनीहरूले तँलाई विद्यालयभन्दा बाहिर विविध नृत्यशैलीहरू सिक्न, कक्षामा अझ बढी सिक्न, घरमा अझ बढी अभ्यास गर्न, र कक्षामा सर्वोत्कृष्ट बन्न लगाउँछन्। अनि अन्त्यमा, तिनीहरूले तँलाई एउटा प्रतिष्ठित विश्‍वविद्यालयमा भर्ना प्राप्त गर्न मात्र नभई, तँलाई एक डान्सर बन्न पनि दबाब दिन्छन्। तेरा विकल्पहरू कि त डान्सर बन्ने कि त कुनै प्रतिष्ठित विश्‍वविद्यालयमा पढ्ने, र त्यसपछि ग्राजुएट स्कूलमा जाने र पि.एच.डी. गर्ने हुन्छन्। तँसित रोज्नको लागि यी दुई मार्गहरू मात्र छन्। तिनीहरूले अपेक्षाहरू राख्दै, एकातिर, तैँले स्कूलमा मेहनतसाथ अध्ययन गर्ने, एउटा प्रतिष्ठित विश्‍वविद्यालयमा भर्ना प्राप्त गर्ने, तेरा साथीहरूभन्दा अलग देखिने, र समृद्ध र गौरवशाली भविष्य बनाउने आशा गर्छन्। अर्कोतिर, तिनीहरूका अपूरा इच्छाहरू तँमाथि लाद्छन्, र तैँले तिनीहरूको निम्ति ती इच्छाहरू पूरा गर्न सक्‍ने आशा गर्छन्। यसरी, शैक्षिक क्रियाकलाप वा तेरो भावी करियरको सम्बन्धमा, तैँले एकैपटक दुईवटा बोझहरू बोक्छस्। एक अर्थमा, तैँले तिनीहरूका अपेक्षाहरू पूरा गर्नुपर्छ र तिनीहरूले तेरो लागि गरेका सबै कुराको ऋण तिर्नुपर्छ, र अन्त्यमा तेरा साथीहरूभन्दा अलग देखिने कोसिस गर्नुपर्छ ताकि तिनीहरूले राम्रो जीवनमा रमाउन सकून्। अर्को अर्थमा, तिनीहरूले आफ्नो बैँसमा हासिल गर्न नसकेका सपनाहरू तैँले पूरा गर्नुपर्छ र तिनीहरूलाई तिनीहरूका इच्छाहरू पूरा गर्न मद्दत गर्नुपर्छ। यो थकानलाग्दो कुरा हो, होइन र? (हो।) तँलाई यीमध्ये एउटा बोझ उठाउन नै गाह्रो परिसकेको हुन्छ; जुन भए पनि एउटा नै तँलाई भारी पर्छ र तैँले सास फेर्न पनि सक्दैनस्। विशेषगरी आजको अत्यन्तै तीब्र प्रतिस्पर्धाको युगमा, आमाबुबाले आफ्ना छोराछोरीमाथि लाद्‌ने विविध अपेक्षाहरू सोझै असहनीय र अमानवीय छन्; ती सम्पूर्ण रूपले अनुचित छन्। अविश्‍वासीहरू यसलाई के भन्छन्? भावनात्मक दबाब। अविश्‍वासीहरूले यसलाई जे भने पनि, तिनीहरूले यो समस्या हल गर्न सक्दैनन्, र यो समस्याको सार प्रस्ट बुझाउन सक्दैनन्। तिनीहरूले यसलाई भावनात्मक दबाब भन्छन्, तर हामी के भन्छौँ? (जन्जिर र बोझ भन्छौँ।) हामी यसलाई बोझ भन्छौँ। बोझको सम्बन्धमा भन्नुपर्दा, के त्यो कुनै व्यक्तिले बोक्नुपर्ने चिज हो त? (होइन।) यो तैँले लिने थप वा अतिरिक्त कुरा हो। यो तेरो पाटो होइन। यो तेरो शरीर, हृदय र प्राणमा भएको वा तिनलाई आवश्यक पर्ने कुरा होइन, यो पछि थपिएको कुरा हो। यो बाहिरबाट आउँछ, तँभित्रबाट होइन।

तेरो अध्ययन र करियर छनोटको लागि तेरा आमाबुबासँग अनेक प्रकारका अपेक्षाहरू हुन्छन्। यो सँगसँगै तिनीहरूले तँलाई तिनीहरूका अपेक्षाहरू पूरा गर्न लगाउन थुप्रै त्याग गरेका र धेरै समय र शक्ति खर्चेका हुन्छन्। एकातिर, यो तँलाई तिनीहरूका इच्छाहरू पूरा गर्न मद्दत गर्नलाई हो; अर्कोतिर, यो तिनीहरूका आफ्नै अपेक्षाहरू पूरा गर्नलाई पनि हो। तेरा आमाबुबाका अपेक्षाहरू उचित भए पनि नभए पनि, छोटकरीमा भन्नुपर्दा, आमाबुबाका यस्ता व्यवहारहरू, साथै तिनीहरूका दृष्टिकोण, मनोवृत्ति, र तौरतरिकाहरू हरेक व्यक्तिको लागि अदृश्य जन्जिर बन्छन्। तिनीहरूले जे-जस्ता बहाना बनाए पनि, चाहे त्यो तँप्रतिको प्रेम वा तेरो भावी सम्भाव्यताको लागि हो, वा तँ भविष्यमा राम्रोसित बाँच्न सक्षम हुनको लागि हो भनेर बताए पनि, यी दबाबहरूको उद्देश्य, यी दबाबका तरिकाहरू, र तिनीहरूको सोचको सुरुवाती बिन्दु जोकसैको लागि पनि एकप्रकारका बोझ हुन्। ती बोझहरू मानवजातिका आवश्यकता होइनन्। मानवजातिका आवश्यकता नभएकाले, ती बोझहरूले व्यक्तिको मानवतालाई विकृत पार्ने, भ्रष्ट पार्ने र टुक्र्याउने परिणाम मात्र दिन सक्छन्; ती बोझहरूले व्यक्तिको मानवतालाई सताउने, हानि गर्ने र दबाउने गर्छन्। यी परिणामहरू हितकारी हुँदैनन्, घातक हुन्छन्, र यिनले व्यक्तिको जीवनलाई समेत असर पार्छन्। आमाबुबाको भूमिकामा, तिनीहरूले तँलाई मानवताको खाँचोभन्दा विपरीत हुने कामहरू, वा मानवताको नैसर्गिक प्रवृत्तिविरुद्ध जाने वा त्यसलाई उछिन्ने कुराहरू गर्न लागउँछन्। उदाहरणको लागि, तिनीहरूले आफ्ना छोराछोरीलाई उनीहरू हुर्कने समयमा एक रातमा पाँचछ घण्टा मात्र सुत्ने अनुमति दिन सक्छन्। छोराछोरीलाई राति ११ बजेभन्दा पहिले आराम गर्न दिइँदैन, र उनीहरू बिहान ५ बजे उठ्नैपर्छ। उनीहरूले कुनै मनोरञ्जनात्मक गतिविधिहरू गर्न पाउँदैनन्, न त आइतबारको दिन आराम गर्न नै पाउँछन्। उनीहरूले गृहकार्यको केही निश्‍चित अंश सकाउनैपर्छ र केही निश्‍चित मात्रामा पाठ्यक्रमबाहिरका पाठहरू पढ्नैपर्छ, र कतिपय आमाबुबाले त तिनीहरूका छोराछोरीले कुनै विदेशी भाषा पनि सिक्नैपर्छ भनी जिद्दी गर्छन्। छोटकरीमा भन्नुपर्दा, स्कूलमा पढाइने कोर्सहरूका अतिरिक्त तैँले धेरैवटा थप सीप र ज्ञान पनि सिक्नैपर्छ। यदि तैँले अध्ययन गरिनस् भने, तँ असल, आज्ञाकारी, मेहनती, वा समझदार बच्चा होइनस्; बरु तँ बेकारको, केही न कामको र मूर्ख होस्। आफ्ना छोराछोरीको सर्वोत्तम होस् भन्ने आशाको नाममा, आमाबुबाले सुत्ने स्वतन्त्रता, तेरो बाल्यावस्थाको स्वतन्त्रता, र तेरो बाल्यावस्थाका सुखद क्षणहरूबाट समेत तँलाई वञ्चित गराउँछन्, र त्यो सँगसँगै तँलाई तैँले नाबालिगको रूपमा पाउनुपर्ने हरप्रकारका अधिकारहरूबाट वञ्चित गराउँछन्। कम्तीमा पनि, उदाहरणको लागि, जब तेरो शरीरलाई आराम चाहिन्छ—तेरो शरीरलाई आराम पुग्नको लागि सातदेखि आठ घण्टाको सुताइ आवश्यक पर्छ—तिनीहरूले तँलाई पाँचदेखि छ घण्टासम्म मात्र आराम गर्न दिन्छन्, वा कहिलेकाहीँ तँ सातदेखि आठ घण्टासम्म सुत्छस्, अनि एउटा कुरा हुन्छ जुन तँ सहनै सक्दैनस्, र त्यो के हो भने, तेरा आमाबुबाले तँसित अनवरत कचकच गरिरहन्छन्, वा यस्ता कुराहरू भन्नेछन्, “अबदेखि तँ स्कूल जानुपर्दैन। घरमै सुतेर बस्! अब सुत्न मनपर्ने भएपछि, पूरै जीवन घरमै सुतेर बिता। स्कूल जानै मन नपरेपछि, भविष्यमा मागेर खा!” तँ एकपटक मात्र के चाँडै उठिनस् अनि तँलाई यस्तो व्यवहार गरिहालिन्छ; के यो अमानवीय व्यवहार होइन र? (हो।) त्यसैले, यस्तो अप्ठ्यारो परिस्थितिबाट जोगिनको लागि, तैँले सम्झौता गर्न र आफूलाई काबुमा राख्नुको विकल्प हुँदैन; तँ ५ बजे उठेरै छोड्छस् र राति ११ बजेपछि मात्र सुत्न जान्छस्। के तँ इच्छापूर्वक यसरी आफूलाई काबुमा राख्छस् त? के तँलाई त्यसो गर्नमा खुसी लाग्छ त? लाग्दैन। तर तँसित अरू उपाय नै हुँदैन। यदि तैँले तेरा आमाबुबाले भनेजस्तै गरिनस् भने, तिनीहरूले तँलाई घुरेर हेर्न वा गाली गर्न सक्छन्। तिनीहरूले तँलाई नपिट्लान्, तर यसो भन्नेछन्, “हामीले तेरो स्कूलको झोला फोहोरमा फाल्यौँ। अबदेखि तँ स्कूल जानुपर्दैन। यसरी नै बस्। तँ १८ वर्ष पुगेपछि फोहोर टिप्न गए हुन्छ!” यस्तो आलोचनाको बाढीपछि, तिनीहरूले तँलाई न त पिट्नेछन् न त गाली गर्नेछन्, बरु यसैगरी उक्साइरहनेछन्, र तैँले त्यो कुरा सहन सक्दैनस्। तँ के कुरा सहन सक्दैनस्? तँ तेरा आमाबुबाले यसो भनेको सहन सक्दैनस्, “यदि तँ थप एकदुई घण्टा सुतिस् भने भविष्यमा तैँले खाते भएर माग्दै खानुपर्नेछ।” तँलाई त्यो थप दुई घण्टा सुतेकोमा भित्री रूपमा अत्यन्तै असहज र दुःखी महसुस हुन्छ। तँलाई त्यो थप दुई घण्टाको सुताइको कारण तँ आफ्ना आमाबुबाप्रति ऋणी भएको, र तिनीहरूले तँमाथि त्यतिका वर्ष त्यतिका धेरै मेहनत लगाएबापत, साथै तेरो लागि तिनीहरूको गम्भीर चासो लगाएबापत तैँले तिनीहरूलाई निराश पारेको महसुस हुन्छ। तैँले आफूलाई घृणा गर्छस्, र सोच्छस्, “म किन यति बेकामे छु? म त्यो थप दुई घण्टाको सुताइले के गर्न सक्छु? के त्यसले मेरो ग्रेड सुधार्ने वा मलाई प्रतिष्ठित विश्‍वविद्यालयमा भर्ना पाउन मद्दत गर्नेछ? म कसरी यति बेपरवाह हुन सक्छु? अलार्म बजेपछि म उठिहाल्नुपर्छ। मैले किन सुताइ समय थप लम्ब्याएको होला?” तैँले त्यसबारे फेरि सोच्छस्: “म वास्तवमै थकित छु। मलाई साँच्चिकै आराम चाहिएको छ!” त्यसपछि तैँले थप सोच्छस्: “मैले यस्तो सोच्न मिल्दैन। के यस्तो सोच्नु मेरा आमाबुबालाई अवज्ञा गर्नु होइन र? यदि मैले यस्तो सोचेँ भने, के म भविष्यमा साँच्चिकै मगन्ते बन्नेछैन र? यस्तो सोच्नु भनेको मेरा आमाबुबालाई निराश तुल्याउनु हो। मैले उहाँहरूको कुरा सुन्नुपर्छ र अति मनोमानी हुनु हुँदैन।” यसरी, तेरा आमाबुबाले बनाएका विविध दण्ड र नियमहरू, साथै तिनीहरूका विविध दबाबहरू—उचित र अनुचित दुवै—मा तँ झन्झन् आज्ञाकारी बन्छस्, तर त्यो सँगसँगै, तेरा आमाबुबाले तेरो लागि गर्ने सबथोक तेरो लागि जन्जिर र बोझ बन्छ। तैँले जति कोसिस गरे पनि, तँ त्यसबाट मुक्त हुन वा त्यसबाट लुक्न सक्दैनस्; तँ जताजता जान्छस् तैँले यो बोझलाई त्यतैत्यतै बोकिहिँड्न मात्र सक्छस्। यो कस्तो बोझ हो? “मेरा आमाबुबाले गर्ने सबथोक मेरो भविष्यको निम्ति हो। म सानै र अज्ञानी छु, त्यसैले मैले मेरा आमाबुबाको कुरा सुन्नैपर्छ। उहाँहरूले गर्ने सबथोक सही र राम्रो हुन्छ। उहाँहरूले धेरै दुःख भोगेर मेरो लागि अति धेरै गर्नुभएको छ। मैले उहाँहरूको लागि कडा मेहनत गर्नुपर्छ, मेहनतसाथ अध्ययन गर्नुपर्छ, भविष्यमा राम्रो जागिर खोज्नुपर्छ र पैसा कमाएर उहाँहरूलाई पाल्नुपर्छ, उहाँहरूलाई राम्रो जीवन दिलाउनुपर्छ, र उहाँहरूको ऋण तिर्नुपर्छ। मैले गर्नुपर्ने र सोच्नुपर्ने त्यही हो।” तर जब तँ तेरा आमाबुबाले तँलाई गरेको व्यवहारबारे सोच्छस्, तैँले अनुभव गरेका कठिन वर्षहरू, तैँले गुमाएको सुखद बाल्यकाल, र विशेषगरी तेरा आमाबुबाले दिएको भावनात्मक दबाब सम्झन्छस्, भित्री रूपमा तँलाई अझै लाग्छ कि तिनीहरूले गरेको सबथोक तेरो मानवताको आवश्यकताको लागि थिएन, न त त्यो तेरो प्राणका आवश्यकताहरूको लागि नै थियो। त्यो त एउटा बोझ थियो। तर तैँले यस तरिकाले सोचेर पनि, तेरा आमाबुबाले गरेको सबथोक वा तँप्रतिको तिनीहरूको मनोवृत्तिलाई परमेश्‍वरले तँलाई भन्नुभएको अनुसार घृणा गर्ने, उचितसित र सिधै सामना गर्ने, र तर्कसङ्गत रूपमा जाँच्ने आँट कहिल्यै गरिनस्। तैँले तेरा आमाबुबालाई सबभन्दा उचित तरिकाले व्यवहार गर्ने आँट कहिल्यै गरिनस्; के यथार्थ यही होइन र? (हो।) अहिलेसम्म, अध्ययन गर्ने र करियर रोज्ने मामलामा, के तिमीहरूले आफ्ना आमाबुबाहरूले तिमीहरूको लागि गरेका प्रयासहरू र तिरेका मूल्यहरू, अनि तिनीहरूले तिमीहरूलाई गर्नू भनेर भनेका कुराहरू र तिमीहरूले के पछ्याउनुपर्छ भनेर तिनीहरूले गरेका दाबीहरू खुट्ट्याएर हेरेका छौ? (मैले यी कुराहरू पहिले खुट्ट्याएर हेरेको थिइनँ र मेरा आमाबुबाले जे गर्नुहुन्थ्यो त्यो मप्रतिको प्रेमको कारण र मेरो भविष्यको राम्रोको लागि हो भन्ठान्थेँ। तर अब परमेश्‍वरको सङ्गति पाएपछि, मसँग थोरै खुट्ट्याउने क्षमता छ, त्यसैले म त्यो कुरालाई त्यस तरिकाले हेर्दिनँ।) त्यसोभए, यो प्रेमको पछाडि के लुकेको छ? (जन्जिर, बन्धन, र बोझ।) खासमा, त्यो मानव स्वतन्त्रताको वञ्चिति र बाल्यकालको खुसीको वञ्चिति हो; यो अमानवीय दमन हो। यदि त्यसलाई दुर्व्यवहार भनियो भने, तिमीहरूले आफ्नो विवेकको नजरबाट यो शब्द स्विकार्न सक्दैनौ होला। त्यसकारण यसलाई मानव स्वतन्त्रता र बाल्यकालको खुसीको वञ्चिति, साथै नाबालिगहरूमाथि गरिने दमनको स्वरूपको रूपमा मात्र व्याख्या गर्न सकिन्छ। यदि हामीले यो हेपाइ हो भन्ने हो भने, त्यो पनि अलि उचित हुनेथिएन। यति मात्र हो कि तँ सानो र अज्ञानी छस्, अनि हरेक कुरामा तिनीहरूको अन्तिम आदेश चल्छ। तेरो संसारमाथि तिनीहरूको पूर्ण नियन्त्रण छ र अनजानमा तँ तिनीहरूको गोटी बन्छस्। तिनीहरूले तँलाई जे गर्नू भन्छन् तँ त्यही गर्छस्। यदि तिनीहरू तैँले नृत्य अध्ययन गरेको चाहन्छन् भने, तैँले त्यो अध्ययन गर्नुपर्छ। यदि तैँले “मलाई नृत्य अध्ययन गर्न मन छैन; मलाई त्यसमा रमाइलो लाग्दैन, म तालमा नाच्न सक्दिनँ, र मेरो शारीरिक सन्तुलन खराब छ” भनेर भनिस् भने, तिनीहरूले यसो भन्नेछन्, “तर अफसोस। तैँले यो अध्ययन गर्नैपर्छ किनकि यो मलाई मनपर्छ। तैँले मेरो लागि यो काम गर्नुपर्छ!” तैँले रुँदै भए पनि यो अध्ययन गर्नैपर्छ। कहिलेकाहीँ तेरी आमाले यस्तो समेत भन्नेछे, “आमाको निम्ति नृत्य सिक्, तेरी आमाले भनेको मान्। तँ अहिले सानै छस् र बुझ्दैनस्, तर तँ ठूलो भएपछि तैँले यो कुरा बुझ्नेछस्। म यो तेरै राम्रोको लागि गरिरहेकी छु; म सानो छँदा मसित स्रोतसाधन थिएन, मलाई नृत्य सिक्नको लागि कसैले पैसा दिएन। आमाको बाल्यकाल सुखद थिएन। तर अहिले तेरो त अत्यन्तै राम्रो छ। तैँले नृत्य सिक्‍न सक् भनेर तेरो बुबा र मैले पैसा कमाएर बचत गर्छौँ। तँ त सानी राजकुमारी, सानो राजकुमारजस्तै होस्। तँ अत्यन्तै भाग्यमानी छस्! आमा र बुबाले यसो गरिरहेका छन् किनभने हामी तँलाई माया गर्छौँ।” यो सुन्दा तैँले कस्तो जवाफ दिन्छस्? तँ निःशब्द हुन्छस्, हैन र? (हो।) आमाबुबाहरू प्राय: के विश्‍वास गर्छन् भने, छोराछोरीले केही पनि बुझ्दैनन्, र वयस्क मानिसहरूले भनेको जे पनि साँचो हुन्छ; तिनीहरू बालबालिकाले सही र गलत छुट्ट्याउन वा के सही हो भनी आफैले सूक्ष्म जाँच गर्न सक्दैनन् भन्ने सोच्छन्। त्यसैले, आफ्ना छोराछोरी परिपक्व हुनुपहिले नै आमाबुबाले उनीहरूलाई गलत मार्गमा डोर्‍याउन र उनीहरूको आलोकाँचो हृदयलाई भावशून्य पार्नको लागि तिनीहरू आफैलाई समेत खासै आत्मविश्‍वास नभएका त्यस्ता कुराहरू प्राय: भनिरहन्छन्, र यसरी आफ्ना छोराछोरीलाई तिनीहरूका बन्दोबस्तहरू कुनै विकल्पबिना, इच्छापूर्वक वा अनिच्छापूर्वक, पालना गर्न बाध्य पार्छन्। यसरी शिक्षा दिने, दिमागमा विचारहरू भरिदिने, र आफ्ना छोराछोरीलाई गर्नू भनी दबाब दिइने केही कुराहरूको सम्बन्धमा, अझ धेरै आमाबुबाहरूले जे मन लाग्यो त्यो भनेर प्राय: आफूलाई सत्य सावित गर्छन्। साथै, मुलभूत रूपमा ९९.९% आमाबुबाहरूले कुनै पनि काम कसरी गर्ने र कसरी बुझ्ने भनेर आफ्ना छोराछोरीलाई मार्गदर्शन गर्ने सही र सकारात्मक विधिहरू प्रयोग गर्दैनन्। बरु, तिनीहरूले तिनीहरूका आफ्नै एकतर्फी रूचिहरू र तिनीहरूलाई राम्रा लागेका कुराहरू जबरजस्ती आफ्ना छोराछोरीमा लाद्छन् र उनीहरूलाई ती कुरा स्विकार्न बाध्य पार्छन्। अनि, बालबालिकाले स्विकार्ने ९९.९% कुराहरू अवश्य नै सत्यतासँग मिल्दैनन्, र ती कुराहरू मानिसहरूमा हुनुपर्ने सोच र विचारहरूसमेत हुँदैनन्। यो सँगसँगै, ती कुराहरू यो उमेरका बच्चाहरूको मानवताका आवश्यकताहरूसँग पनि मिल्दैनन्। उदाहरणको लागि, पाँचछ वर्ष पुगेका कतिपय बालबालिकाहरू गुडिया र उफ्रने डोरीसँग खेल्छन्, वा कार्टुन हेर्छन्। के यो सामान्य होइन र? यो परिस्थितिमा आमाबुबाको एउटै जिम्मेवारी के हुन्छ? निरीक्षण गर्ने, नियमन गर्ने, सकारात्मक मार्गदर्शन प्रदान गर्ने, यो समयमा आफ्ना छोराछोरीलाई नकारात्मक कुराहरू नस्विकार्न मद्दत गर्ने, र यो उमेर समूहले स्विकार्नुपर्ने सकारात्मक कुराहरू स्विकार्न दिने। उदाहरणको लागि, यो उमेरमा उनीहरूले अरू बालबालिकासँग घुलमिल हुन, आफ्नो परिवारलाई प्रेम गर्न, र आफ्ना आमा र बुबालाई प्रेम गर्न सिक्नुपर्छ। आमाबुबाले उनीहरूलाई अझ राम्रो शिक्षा दिनुपर्छ, र मान्छे परमेश्‍वरबाट आउँछ, र उनीहरू असल बालबालिका बन्‍नुपर्छ र उनीहरूले परमेश्‍वरका वचनहरू सुन्न र उनीहरू समस्यामा हुँदा वा आज्ञापालन गर्न हिचकिचाउँददा प्रार्थना गर्न सिक्‍नुपर्छ, र शिक्षाका यस्तै अरू सकारात्मक पक्षहरू बुझ्‍नुपर्छ भनेर बुझाउनुपर्छ—बाँकी उनीहरूका बचकाना चाहनाहरू पूरा गर्ने कुराहरू हुन्। उदाहरणको लागि, बालबालिकाले कार्टुन हेर्न र गुडियासित खेल्न चाहेमा उनीहरूलाई दोष दिनु हुँदैन। कतिपय आमाबुबाहरू आफ्नो पाँचछ वर्षको बच्चाले कार्टुन हेरिरहेको र गुडियासित खेलिरिहेको देखेमा यसरी गाली गर्छन्: “तेरो कामै छैन! तँ पढ्नमा वा यो उमेरको उचित काम गर्नमा ध्यान दिँदैनस्। कार्टुन हेरेर के हुन्छ? त्यसमा मुसा र बिरालो मात्र हुन्छ, के तँ योभन्दा राम्रो काम गर्न सक्दैनस्? ती कार्टुन जनावरबारे मात्र हुन्छन्, के तँ मान्छे भएको चिज हेर्न सक्दैनस्? तँ कहिले ठूलो हुन्छस्? त्यो गुडिया फ्याँकिदे! गुडियासित खेल्ने तेरो उमेर गइसक्यो। तँ बेकामे छस्!” के तँलाई बालबालिकाले यो कुरा सुन्दा ठूला मानिसहरूले भन्न खोजेको कुरा बुझ्छन् भन्ने लाग्छ? यो उमेरको बच्चाले गुडिया र हिलोसित नखेलेर के गर्छन् त? के उनीहरूले एटम बम्ब बनाउनुपर्ने हो? कि सफ्टवेयर लेख्‍नुपर्ने हो? के उनीहरू त्यसो गर्न सक्षम हुन्छन्? यो उमेरमा उनीहरू ब्लक, खेलौना गाडी, र गुडियासितै खेल्‍नुपर्छ; त्यो सामान्य हो। खेलेर थकित भएपछि, उनीहरूले आराम गर्नुपर्छ र स्वस्थ र खुसी हुनुपर्छ। उनीहरूले मनोमानी व्यवहार गर्दा वा समझमा नआउने बन्दा, वा उनीहरूले जानाजान समस्या सिर्जना गर्दा, ठूला मानिसहरूले उनीहरूलाई यसरी सम्झाउनुपर्छ: “तिमी लापरवाह भइरहेका छौ। असल बच्चाले यस्तो व्यवहार गर्दैन। परमेश्‍वरलाई यो कुरा मन पर्दैन, र आमा र बुबालाई पनि यो कुरा मन पर्दैन।” आमाबुबाको जिम्मेवारी भनेको छोराछोरीलाई परामर्श दिनु हो, तिनीहरूका आफ्नै वयस्क विधि र अन्तर्ज्ञान, अनि वयस्क चाहना र महत्त्वाकाङ्क्षाहरू प्रयोग गरी उनीहरूमा कुनै विचार घुसाउनु वा कुनै कुरा थोपर्नु होइन। छोराछोरीको उमेर जति भए पनि, आमाबुबाले उनीहरूप्रति पूरा गर्नुपर्ने जिम्मेवारीहरू भनेका सकारात्मक मार्गदर्शन, शिक्षा, पर्यवेक्षण, र परामर्श प्रदान गर्नु मात्र हो। छोराछोरीले उग्र सोच, अभ्यास, र व्यवहारहरू देखाएको देख्दा, उनीहरूलाई सच्याउन आमाबुबाले सकारात्मक सल्लाह र मार्गदर्शन दिनुपर्छ, उनीहरूलाई के सही र के गलत, के सकारात्मक र के नकारात्मक हो भनी थाहा दिनुपर्छ। आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। यसरी, आमाबुबाको उचित शिक्षा र मार्गदर्शनमा रही छोराछोरीले आफूलाई पहिले थाहा नभएका धेरै कुराहरू अचेतन रूपमै सिक्नेछन्। अनि, जब मानिसहरूले सानै उमेरदेखि थुप्रै सकारात्मक कुराहरू स्विकार्छन् र सही र गलतबारे थोरबहुत कुराहरू सिक्छन्, तब तिनीहरूको प्राण र मानवता सामान्य र स्वतन्त्र हुनेछ—तिनीहरूको प्राणले कुनै क्षति वा दमन भोग्नेछैन। तिनीहरूको भौतिक शरीर जेजस्तो भए पनि, कम्तीमा तिनीहरूको मनमस्तिष्क स्वस्थ र अविकृत हुन्छ, किनभने तिनीहरू हितकारी शैक्षिक वातावरणमा हुर्किए, तिनीहरूलाई घातक शैक्षिक वातावरणमा दबाइएन। छोराछोरी हुर्कने क्रममा आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व भनेको छोराछोरीलाई दबाब नदिनु, नबाँध्नु, वा उनीहरूको रोजाइमा हस्तक्षेप नगर्नु, र एकपछि अर्को बोझ नथप्नु हो। छोराछोरीको व्यक्तित्व र क्षमता जेजस्तो भए पनि, छोराछोरी हुर्कँदै गर्दा, आमाबुबाको जिम्मेवारी भनेको त उनीहरूलाई सकारात्मक र हितकारी दिशामा मार्गदर्शन गर्नु हो। छोराछोरीले अनौठो र अनुचित भाषा, व्यवहार वा सोच प्रकट गर्दा आमाबुबाले समयमै आत्मिक सल्लाह अनि व्यवहारगत मार्गदर्शन र सुधार प्रदान गर्नुपर्छ। छोराछोरी पढ्न इच्छुक छन् छैनन्, उनीहरू कतिको राम्ररी पढ्छन्, उनीहरूमा ज्ञान र सीप सिक्ने रूचि कति छ, र उनीहरू ठूला भएपछि के गर्न सक्छन् भन्ने सन्दर्भमा, यी कुराहरू उनीहरूको प्राकृतिक गुण र रूचिहरू अनि उनीहरूको रूचि कता ढल्केको छ त्यो बमोजिम नै हुनुपर्छ, र यसरी उनीहरूको हुर्काइको बेलामा उनीहरूलाई स्वस्थ, स्वतन्त्र र बलियो रूपमा हुर्कन दिनुपर्छ—आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। साथै, आमाबुबाले आफ्ना छोराछोरीको वृद्धि, पढाइ र करियरप्रति राख्नुपर्ने मनोवृत्ति नै यही हो, तिनीहरूले आफ्नै इच्छा, आकाङ्क्षा, रूचि र चाहनासमेत छोराछोरीमाथि थोपरेर उनीहरूलाई ती पूरा गर्न लगाउनु हुँदैन। यसरी, एकातिर, आमाबुबाले थप त्यागहरू गर्नुपर्दैन; र अर्कोतिर, छोराछोरीले स्वतन्त्र रूपमा हुर्कन र आमाबुबाको सही र उचित शिक्षाबाट सिक्नुपर्ने कुरा हासिल गर्न सक्छन्। सबभन्दा महत्त्वपूर्ण कुरा भनेको आमाबुबाले आफ्ना छोराछोरीलाई उनीहरूका प्रतिभा, रूचि र मानवताअनुसार सही रूपमा व्यवहार गर्नु हो; यदि तिनीहरूले आफ्ना छोराछोरीलाई “मानिसहरूको नियति परमेश्‍वरको हातमा हुन्छ” भन्ने सिद्धान्तअनुसार व्यवहार गर्छन् भने, अन्तिम परिणाम जरूर राम्रो हुनेछ। छोराछोरीलाई “मानिसहरूको नियति परमेश्‍वरको हातमा हुन्छ” भन्ने सिद्धान्तअनुसार व्यवहार गर्नु भनेको तँलाई तेरा छोराछोरीको व्यवस्थापन गर्नबाट वञ्चित गराउनु होइन; उनीहरूलाई अनुशासनमा राख्न आवश्यक छ भने तैँले उनीहरूलाई अनुशासनमा राख्नुपर्छ, र आवश्यकताअनुसार कठोर बन्नुपर्छ। कठोर होस् वा उदार, छोराछोरीलाई व्यवहार गर्ने सिद्धान्त भनेको, हामीले भर्खरै भनेजस्तै, उनीहरूलाई आफ्नो प्राकृतिक मार्ग पछ्याउन दिनु, केही सकारात्मक मार्गदर्शन र मदत दिनु, र त्यसपछि छोराछोरीलाई उनीहरूको वास्तविक परिस्थितिअनुसार सीप, ज्ञान वा स्रोतसाधनको सम्बन्धमा आफ्नो क्षमताले भ्याएसम्म केही सहयोग र मद्दत गर्नु हो। आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो, छोराछोरीलाई इच्छा नलागेको काम गर्न वा मानवताविरुद्धको कुनै पनि काम गर्न बाध्य पार्नु होइन। छोटकरीमा भन्‍नुपर्दा, छोराछोरीप्रतिका अपेक्षाहरू वर्तमान सामाजिक प्रतिस्पर्धा र आवश्यकता, सामाजिक प्रवृत्ति वा दाबीहरू, वा समाजमा मानिसहरूले छोराछोरीलाई कस्तो व्यवहार गर्छन् भन्नेसम्बन्धी विविध विचारहरूमा आधारित हुनु हुँदैन। छोराछोरीप्रतिका अपेक्षाहरू अरू कुनै पनि कुरामा नभई परमेश्‍वरका वचनहरूमा र “सबथोक परमेश्‍वरको हातमा हुन्छ” भन्ने सिद्धान्तमा आधारित हुनुपर्छ। मानिसहरूले सबभन्दा बढी गर्नुपर्ने कुरा नै यही हो। भविष्यमा आफ्ना छोराछोरी कस्ता मान्छे हुनेछन्, उनीहरूले कस्तो जागिर रोज्नेछन्, र उनीहरूको भौतिक जीवन कस्तो हुनेछ भन्ने कुरा आउँदा, यी कुराहरू कसको हातमा हुन्छन्? (परमेश्‍वरको हातमा हुन्छन्।) ती आमाबुबा वा अरू कसैको हातमा नभई परमेश्‍वरको हातमा हुन्छन्। आमाबुबाले आफ्नै भाग्य त नियन्त्रण गर्न सक्दैनन् भने, के तिनीहरूले छोराछोरीको भाग्य नियन्त्रण गर्न सक्छन् त? मानिसहरू आफैले त आफ्नो भाग्य नियन्त्रण गर्न सक्दैनन् भने, के तिनीहरूका आमाबुबाले सक्छन् त? त्यसैले, आमाबुबाको नाताले, मानिसहरूले आफ्ना छोराछोरीको पढाइ र करियर सम्हाल्ने सम्बन्धमा मूर्खतापूर्ण कामहरू गर्नु हुँदैन। तिनीहरूले आफ्ना छोराछोरीलाई समझदार तरिकाले व्यवहार गर्नुपर्छ, र आफ्ना अपेक्षाहरूलाई छोराछोरीको निम्ति बोझ बनाउनु हुँदैन; आफ्ना त्याग, मूल्य, र कठिनाइहरूलाई छोराछोरीको लागि बोझ बनाउनु हुँदैन; र परिवारलाई छोराछोरीको शुद्धीकरण गर्ने ठाउँ बनाउनु हुँदैन। यो आमाबुबाले बुझ्नुपर्ने तथ्य हो। तिमीहरूमध्ये कतिले सोध्‍न सक्छौ, “त्यसोभए, छोराछोरीले आमाबुबासँग कस्तो सम्बन्ध राख्नुपर्छ? के उनीहरूले तिनीहरूलाई साथीजस्तो व्यवहार गर्नुपर्छ, कि वरिष्ठ-कनिष्ठको सम्बन्ध कायम राख्नुपर्छ?” तैँले यो कुरा आफूलाई जसरी उचित लाग्छ त्यसरी सम्हाल्दा हुन्छ। छोराछोरीलाई मनपर्ने कुरा रोज्न दे र तँलाई जे उत्तम लाग्छ त्यो गर्। यी सबै महत्त्वहीन कुराहरू हुन्।

छोराछोरीले आफ्ना आमाबुबाका अपेक्षाहरू कसरी सम्हाल्नुपर्छ? यदि तैँले छोराछोरीलाई भावनात्मक दबाब दिने आमाबुबा भेट्थिस् भने, यदि त्यस्ता अनुचित र पैशाचिक प्रवृत्तिका आमाबुबा भेट्थिस् भने, तैँले के गर्नेथिस्? (म तिनीहरूको शिक्षण सुन्न छोडिदिनेथेँ; म परमेश्‍वरको वचनअनुसार विभिन्‍न कुराहरू हेर्नेथेँ।) एकातिर, तैँले के बुझ्नुपर्छ भने तिनीहरूका शैक्षिक विधिहरू सैद्धान्तिक रूपमा गलत छन्, र तिनीहरूले तँलाई गर्ने व्यवहार तेरो मानवताको लागि घातक छ र त्यसले तँलाई तेरो मानव अधिकारबाट पनि वञ्चित गराउँछ। अर्कोतिर, तँ आफैले मानिसहरूको भाग्य परमेश्‍वरको हातमा हुन्छ भन्ने कुरामा विश्‍वास गर्नुपर्छ। तँलाई के अध्ययन गर्न मन छ, तँ के कुरामा उत्कृष्ट छस्, वा तेरो मानवीय क्षमताले के हासिल गर्न सक्छ—यी सबै कुरा परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छन्, र यी कुराहरू कसैले बदल्न सक्दैन। तेरा आमाबुबाले नै तँलाई जन्म दिए पनि, तिनीहरूले पनि यी कुनै पनि कुराहरू बदल्न सक्दैनन्। त्यसकारण, तेरा आमाबुबाले तँलाई जे गर्न दबाब दिए पनि, यदि त्यो तैँले काम गर्न वा हासिल गर्न नसक्ने, वा गर्न नचाहने कुरा हो भने, तैँले अस्वीकार गर्न सक्छस्। तैँले तिनीहरूसित बहस गरेर अनि अरू पक्षमा तिनीहरूका अपेक्षाहरू परिपूर्ति गरेर पनि तँबारेको तिनीहरूको चिन्ता कम गर्न सक्छस्। तैँले यसो भन्: “चिन्ता नगर्नूस्; मानिसहरूको भाग्य परमेश्‍वरको हातमा हुन्छ। म गलत मार्ग कदापि हिँड्नेछैन; म निश्‍चय नै सही मार्ग हिँड्नेछु। परमेश्‍वरको मार्गदर्शनद्वारा म अवश्यै एक सच्चा व्यक्ति अर्थात् असल व्यक्ति बन्नेछु। मप्रतिका तपाईंहरूका आशालाई म निराशामा परिणत गर्नेछैन, र तपाईंहरूले मलाई मायाले हुर्काउनुभएको कुरा बिर्सनेछैन।” यी शब्दहरू सुनेपछि आमाबुबाले कस्तो प्रतिक्रिया देलान्? यदि आमाबुबाहरू अविश्‍वासी हुन् वा दियाबलसको स्वामित्‍वका मानिसहरू हुन् भने, तिनीहरू क्रोधित बन्नेछन्। किनभने जब तैँले “म तपाईंहरूले मलाई मायाले हुर्काउनुभएको कुरा बिर्सनेछैन र म तपाईंहरूलाई निराश तुल्याउनेछैन” भनेर भन्छस्, ती खोक्रा शब्दहरू मात्र हुन्। के तैँले यो कुरा पूरा गरेको छस्? के तैँले तिनीहरूले भनेको कुरा पूरा गरिस्? के तँ तेरा साथीहरूमाझ अलग देखिन सक्छस्? के तँ उच्च तहको अधिकारी बन्न वा टन्नै सम्पत्ति कमाउन सक्छस् ताकि तिनीहरूले राम्रो जीवन जिउन सकून्? के तँ तिनीहरूलाई ठोस लाभ प्राप्त गर्न मद्दत गर्न सक्छस्? (सक्दिनँ।) यो अज्ञात कुरा हो; यी सबै अनिश्‍चित कुराहरू हुन्। तर तिनीहरू रिसाए पनि, खुसी भए पनि, वा मौन रूपमा सहँदै बसे पनि, तैँले कस्तो मनोवृत्ति राख्नुपर्छ? मानिसहरू यो संसारमा आउनुको उद्देश्य परमेश्‍वरले तिनीहरूलाई सुम्पिनुभएको मिसन पूरा गर्नलाई हो। मानिसहरू आफ्ना आमाबुबाका अपेक्षाहरू पूरा गर्न, तिनीहरूलाई खुसी पार्न, तिनीहरूलाई गौरव दिलाउन, वा तिनीहरूलाई अरू मानिसहरूसामु प्रतिष्ठित जीवन जिउन दिनको निम्ति जिउनु हुँदैन। यो तेरो जिम्मेवारी होइन। तिनीहरूले तँलाई हुर्काए; त्यसको लागि जति मूल्य परे पनि तिनीहरूले इच्छापूर्वक त्यसो गरे। तँलाई हुर्काउनु तिनीहरूको जिम्मेवारी र दायित्व थियो। तिनीहरूले तँमाथि कति अपेक्षाहरू राखे, यी अपेक्षाहरूको कारण तिनीहरूले कति दुःख भोगे, तिनीहरूले कति पैसा खर्च गरे, कति मानिसहरूले तिनीहरूलाई इन्कार गरे र हेयको दृष्टिले हेरे, र तिनीहरूले कति त्याग गरे, त्यो सबै स्वेच्छिक कुरा थियो। तैँले त्यो कुरा मागेको होइन; तैँले तिनीहरूलाई त्यसो गराएको होइन, न त त्यो परमेश्‍वरले नै गराउनुभएको हो। तिनीहरूले आफ्नै मनसायले यसो गरेका हुन्। तिनीहरूको दुष्टिकोणबाट हेर्दा, तिनीहरूले त्यो काम आफ्नै लागि मात्र गरे। बाहिरबाट हेर्दा, त्यसको उद्देश्य तेरो राम्रो जीवन र आशाजनक भविष्य होस् भन्ने थियो, तर खासमा त्यो तिनीहरूको गौरव बढाउन र अपमान नहोस् भन्नको लागि थियो। त्यसकारण, तँमा तिनीहरूको ऋण तिर्ने दायित्व छैन, न त तँप्रतिका तिनीहरूका चाहनाहरू पूरा गर्ने दायित्व नै छ। अनि, तँमा किन यो दायित्व छैन? किनभने यो परमेश्‍वरले तँलाई गराउनुभएको काम होइन; यो उहाँले तँलाई दिनुभएको दायित्व होइन। तिनीहरूप्रतिको तेरो दायित्व भनेको तिनीहरूलाई तेरो आवश्यकता पर्दा छोराछोरीले जे गर्नुपर्छ त्यही गर्ने हो, र एउटा बच्चाको रूपमा तेरा जिम्मेवारीहरू पूरा गर्ने सक्दो प्रयास गर्ने हो। तिनीहरूले तँलाई जन्माएका र हुर्काएका भए पनि, तिनीहरूप्रतिका तेरा जिम्मेवारीहरू भनेका तिनीहरूलाई तेरो आवश्यकता पर्दा लुगा धोइदिने, खाना बनाइदिने, र सरसफाइ गरिदिने, अनि तिनीहरू बिरामी हुँदा तिनीहरूको नजिक भइदिने मात्र हुन्। कुरो त्यत्ति नै हो। तिनीहरूले जे भन्छन् त्यही गर्नु र तिनीहरूको दास बन्नु तेरो दायित्व होइन। अझ भन्‍ने हो भने, तिनीहरूका अपूरा इच्छाहरू पूरा गर्नु तेरो दायित्व होइन, होइन र? (हो।)

छोराछोरीप्रतिका आमाबुबाका अपेक्षाहरूको अर्को पक्ष पनि छ, जुन पारिवारिक व्यावसाय वा पुर्ख्यौली व्यापार सम्हाल्नु हो। उदाहरणको लागि, केही परिवारहरू चित्रकारका परिवार हुन्छन्; तिनीहरूका पुर्खादेखि चलिआएको नियम के हो भने, प्रत्येक पुस्तामा यो पारिवारिक व्यावसाय सम्हाल्ने र परिवारको परम्परा जारी राख्‍ने एकजना व्यक्ति हुनैपर्छ। मानौँ, तेरो पुस्तामा यो भूमिका तेरो भागमा पर्छ, तर तँलाई चित्रकला मन पर्दैन र त्यसमा रूचि छैन; तँ त्योभन्दा सजिला विषयहरू अध्ययन गर्न रुचाउँछस्। त्यस्तो परिस्थितिमा, तँसित अस्वीकार गर्ने अधिकार हुन्छ। तेरो परिवारको परम्परा सम्हाल्नु तेरो दायित्व होइन, र तँमा मार्शल आर्ट, विशेष कला वा सीप, आदिजस्ता पारिवारिक व्यवसाय वा पुर्ख्यौली व्यापार सम्हाल्ने कुनै दायित्व हुँदैन। तिनीहरूले तँलाई जे कुरा सम्हाल्नू भन्छन् त्यो कुरा सम्हाल्नु तेरो दायित्व होइन। अन्य केही परिवारहरूमा, प्रत्येक पुस्ताले ओपेरा गाउँछ। तेरो पुस्तामा तेरा आमाबुबाले तँलाई सानै उमेरदेखि ओपेरा गाउन सिक्न लगाउँछन्। तैँले त्यो सिकिस्, तर भित्री मनमा तँलाई त्यो मन पर्दैन। तसर्थ, यदि तँलाई कुनै करियर रोज्न लगाइन्थ्यो भने, तँ ओपेरासँग सम्बन्धित कुनै पनि करियरमा कदापि संलग्न हुँदैनथिस्। तँलाई हृदयको गहिराइबाटै यो पेशा मन पर्दैन; यस्तो अवस्थामा, तँसित अस्वीकार गर्ने अधिकार हुन्छ। किनभने तेरो भाग्य तेरा आमाबुबाको हातमा छैन—तैँले रोज्ने करियर, तेरा रूचिहरूको झुकाव, तैँले गर्न चाहने काम, र तैँले लिन चाहेको बाटो, सबै परमेश्‍वरका हातमा हुन्छन्। यो सबै परमेश्‍वरले योजनाबद्ध गर्नुहुन्छ, तेरो परिवारको कुनै सदस्यले र निश्‍चय नै तेरा आमाबुबाले गर्दैनन्। कुनै पनि बच्चाको जीवनमा आमाबुबाले खेल्ने भूमिका भनेको उक्त बच्चा हुर्कने क्रममा अभिभावकत्व, हेरचाह, र साथ प्रदान गर्नु मात्र हो। योभन्दा राम्रा अवस्थाहरूमा, आमाबुबाले आफ्ना छोराछोरीलाई सकारात्मक मार्गदर्शन, शिक्षा र निर्देशन दिन सक्छन्। तिनीहरूले पूरा गर्न सक्ने भूमिका यही मात्र हो। तँ ठूलो भएर स्वतन्त्र भएपछि, तेरा आमाबुबाको भूमिका भनेको भावनात्मक आड र भावनात्मक भरोसा बन्‍ने मात्र हो। जुन दिन तँ सोचाइ र जीवनशैलीमा स्वतन्त्र बन्छस् त्यही दिन तँप्रतिका तेरा आमाबुबाका जिम्मेवारी र दायित्वहरू पूरा हुन्छन्; यसरी तिनीहरूसँगको तेरो सम्बन्ध शिक्षक र विद्यार्थी, अभिभावक र आश्रितको सम्बन्ध हुन छोडेको हुन्छ। वास्तविकता यही त हो, होइन र? (हो।) कतिपय मानिसहरूका आमाबुबा, नातेदार र साथीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन्; तिनीहरू आफै मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। यहाँ के भइरहेको हुन्छ? यो परमेश्‍वरको पूर्वनिर्धारणसँग सम्बन्धित छ। परमेश्‍वरले तँलाई चुन्नुभएको हो, तिनीहरूलाई होइन; परमेश्‍वरले तिनीहरूको हात प्रयोग गरेर तँलाई वयस्कतासम्म हुर्काउनुहुन्छ र त्यसपछि तँलाई परमेश्‍वरको परिवारमा ल्याउनुहुन्छ। एउटा बच्चाको नाताले, तैँले आफ्ना आमाबुबाका अपेक्षाहरूप्रति राख्नुपर्ने मनोवृत्ति भनेको सही र गलत छुट्ट्याउने क्षमता राख्‍नु हो। यदि तिनीहरूले तँप्रति गर्ने व्यवहार परमेश्‍वरका वचनहरूसित वा “मानिसहरूको नियति परमेश्‍वरको हातमा हुन्छ” भन्ने तथ्यसित मिल्दैन भने, तैँले तिनीहरूका अपेक्षाहरू अस्वीकार गर्न र तेरा आमाबुबासँग तर्क गरेर तिनीहरूलाई बुझाउन सक्छस्। यदि तँ अझै नाबालिग छस् र तिनीहरूले जबरजस्ती तँलाई दमन गर्छन्, र तिनीहरूले भनेकै कुरा तँलाई गर्न लगाउँछन् भने, तैँले मौन रूपमा परमेश्‍वरलाई प्रार्थना गरेर उहाँलाई तेरो लागि निकास खोल्न दिन मात्र सक्छस्। तर यदि तँ वयस्क होस् भने, तैँले तिनीहरूलाई अवश्यै यसो भन्न सक्छस्: “हुँदैन, मैले तपाईंले मेरो लागि तोक्नुभएको मार्गअनुसार जिउनु जरुरी छैन। मैले मेरो जीवनको मार्ग, मेरो जिउने तरिका, र मेरो पछ्याइको लक्ष्य तपाईंले मेरो लागि तोक्नुभएको मार्गअनुसार रोज्नु आवश्यक छैन। मलाई हुर्काउने तपाईंहरूको दायित्व पहिल्यै पूरा भइसकेको छ। यदि हामीले एकअर्कासित मिल्न अनि साझा पछ्याइ र लक्ष्यहरू बोक्न सक्यौँ भने, हाम्रो सम्बन्ध यथावत रहन सक्छ; तर यदि हामीले एउटै आकाङ्क्षा र लक्ष्यहरू बोक्न छाड्यौँ भने, अहिलेको लागि हामी एकअर्काबाट छुट्टिन सक्छौँ।” यो कुरा कस्तो सुनिन्छ? के तैँले यसो भन्ने आँट गर्नेथिस्? तेरा आमाबुबासँग यसरी औपचारिक रूपमै सम्बन्ध तोड्न अवश्यै आवश्यक छैन, तर कम्तीमा पनि, तेरो हृदयको गहिराइमा, तैँले यो कुरा प्रस्ट रूपमा बुझ्नुपर्छ: तेरा आमाबुबा तेरा सबभन्दा नजिकका मानिसहरू भए पनि, तँलाई साँच्चिकै जीवन दिने, जीवनको सही मार्ग हिँड्न सक्षम बनाउने, र राम्रो आचरण अँगाल्ने सिद्धान्तहरू बुझाउने तिनीहरू होइनन्। त्यो परमेश्‍वर हुनुहुन्छ। तेरा आमाबुबाले तँलाई सत्यता प्रदान गर्न वा सत्यतासम्बन्धी कुनै सही सल्लाह दिन सक्दैनन्। त्यसैले, आमाबुबासँगको तेरो सम्बन्धको कुरा गर्नुपर्दा, तिनीहरूले तँमा जति लगानी गरेका भए पनि, वा तँमाथि जति पैसा र मेहनत खर्चेका भए पनि, तैँले आफूलाई दोषको भारी बोकाउनु पर्दैन। किन पर्दैन? (किनभने यो त आमाबुबाकै जिम्मेवारी र दायित्व हो। यदि आमाबुबाले आफ्ना छोराछोरी उनीहरूका साथीसङ्गीभन्दा फरक होऊन् भनेर, अनि आमाबुबाका आफ्नै इच्छाहरू पूरा गर्नलाई यो सबै गर्छन् भने, यी तिनीहरूका आफ्नै अभिप्राय र मनसायले गरिएका हुन्; यो परमेश्‍वरले तिनीहरूलाई गर्नू भनेर तोक्नुभएको होइन। त्यसकारण, दोषी महसुस गर्नुपर्ने कुनै आवश्यकता छैन।) यो त एउटा पक्ष मात्र हो। अर्को पक्ष के हो भने, तँ अहिले सही मार्ग हिँडिरहेको छस्, सत्यता पछ्याइरहेको छस्, र सृष्टि गरिएको प्राणीका कर्तव्यहरू निभाउन सृष्टिकर्तासामु आइरहेको छस्; त्यसकारण, तैँले तिनीहरूप्रति कुनै ग्लानि महसुस गर्नु हुँदैन। तिनीहरूले तँप्रति पूरा गरेको भनिएको जिम्मेवारी परमेश्‍वरका बन्दोबस्तहरूमा भएकै कुरा थियो। यदि तिनीहरूले तँलाई हुर्काउने क्रममा तँ खुसी थिइस् भने, त्यो तेरो सौभाग्य थियो। यदि तँ दुखी थिइस् भने, त्यो पनि अवश्यै परमेश्‍वरकै बन्दोबस्त थियो। आज परमेश्‍वरले तँलाई छोडिहिँड्न दिनुभएकोमा र तेरा आमाबुबाको सार के हो र तिनीहरू कस्ता मानिसहरू हुन् भनी प्रस्ट रूपमा बुझ्न दिनुभएकोमा तँ आभारी हुनुपर्छ। तेरो हृदयको गहिरामै यो सबै कुराको सही बुझाइ हुनुपर्छ, साथै तँसँग त्यसको सही समाधान र त्यसलाई सम्हाल्ने उपाय हुनुपर्छ। के तँलाई यस तरिकाले भित्री रूपमा बढी शान्ति महसुस हुँदैन र? (हुन्छ।) यदि तँ बढी शान्त छस् भने, त्यो धेरै राम्रो हो। चाहे जेसुकै भए पनि, यी मामलाहरूमा, तँलाई तेरा आमाबुबाले पहिले र अहिले जे-जस्ता कुराहरू गर्नैपर्छ भनेर दबाब दिएका भए पनि, तैँले सत्यता र परमेश्‍वरको इच्छा बुझ्ने भएकोले र तैँले परमेश्‍वर मानिसहरूले के गरून् भन्‍ने मापदण्ड दिनुहुन्छ—र तेरा आमाबुबाका अभिलाषाहरूबाट तँलाई कस्ता परिणामहरू आउनेछन् भनेर पनि बुझ्ने भएकोले—तैँले अबउप्रान्त कुनै पनि रूपमा यस मामलाबारे बोझ महसुस गर्नु जरुरी छैन। तैँले आफ्ना आमाबुबालाई निराश तुल्याएको महसुस गर्नुपर्ने आवश्यकता छैन, र तैँले आफूले परमेश्‍वरमा विश्‍वास गर्न र कर्तव्यहरू निभाउन रोजेर आफ्ना आमाबुबालाई राम्रो जीवन र साथ दिन अनि तिनीहरूप्रति सन्तानीय जिम्मेवारी पूरा गर्न नसकेको, र यसले तिनीहरूलाई भावनात्मक रूपमा खोक्रो बनाएको महसुस गर्नुपर्ने पनि आवश्यकता छैन। तैँले त्यसबारे दोषी महसुस गर्नुपर्ने आवश्यकता नै छैन। यी कुराहरू त आमाबुबाले आफ्ना छोराछोरीलाई दिने बोझहरू हुन्, र यी सबै नै तैँले त्याग्नुपर्ने कुराहरू हुन्। यदि तँ सबथोक परमेश्‍वरको हातमा हुन्छ भन्ने कुरामा साँच्चिकै विश्‍वास गर्छस् भने, तैँले तिनीहरूले जीवनभर कति कठिनाइ भोग्छन् र कति खुसी प्राप्त गर्छन् भन्ने कुरा पनि परमेश्‍वरकै हातमा हुन्छ भनी विश्‍वास गर्नुपर्छ। तँ कर्तव्यनिष्ठ सन्तान हुनु वा नहुनुले केही फरक पार्दैन—तँ कर्तव्यनिष्ठ सन्तान भएको कारण तेरा आमाबुबाले कम दुःख भोग्ने र तँ कर्तव्यनिष्ठ सन्तान नभएकोले तिनीहरूले बढी दुःख भोग्ने होइन। परमेश्‍वरले तिनीहरूको भाग्य धेरै पहिले नै पूर्वनिर्धारण गरिसक्‍नुभएको छ, र तिनीहरूप्रतिको तेरो मनोवृत्तिको कारणले वा तिमीहरूबीचको भावनाको गहिराइले यो कुरामा केही परिवर्तन हुनेवाला छैन। तिनीहरूको आफ्नै भाग्य छ। चाहे तिनीहरू जीवनभर धनी होऊन् वा गरीब, तिनीहरूको लागि परिस्थितिहरू उतारचढावरहित होऊन् वा नहोऊन्, वा तिनीहरूले जस्तोसुकै जीवनको गुणस्तर, भौतिक लाभ, सामाजिक हैसियत र जियाइका परिस्थितिहरू प्राप्त गरे पनि, यी कुनै कुराको पनि तँसित खासै केही सम्बन्ध हुँदैन। यदि तँलाई तिनीहरूप्रति ग्लानि महसुस हुन्छ भने, र यदि तैँले तिनीहरूलाई केही दिनु छ र तँ तिनीहरूको छेउमा हुनुपर्छ भने, तँ तिनीहरूको छेउमै भए पनि के फरक पर्नेथ्यो र? (केही फरक पर्नेथेन।) तेरो विवेक शुद्ध र ग्लानिरहित हुन त सक्थ्यो होला। तर यदि तँ हरेक दिन तिनीहरूको छेउमा भइस्, र तैँले तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगरेको, सांसारिक कुराहरू पछ्याएको, अनि महत्त्वहीन कुराकानी र गफ गरेको देखिस् भने, तँलाई कस्तो महसुस हुनेथ्यो? के तैँले हृदयमा सहज महसुस गर्नेथिस्? (गर्नेथिनँ।) के तँ तिनीहरूलाई बदल्न सक्छस्? के तँ तिनीहरूलाई बचाउन सक्छस्? (सक्दिनँ।) यदि तिनीहरू बिरामी परे अनि तैँले तिनीहरूको छेउमा रहन र तिनीहरूको दुःख अलि कम गर्न, र छोरोछोरीको नाताले तिनीहरूलाई केही सहजता प्रदान गर्न सकिस् भने, तिनीहरू निको भएपछि तिनीहरूलाई शारीरिक रूपमा पनि आराम महसुस हुनेछ। तर यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्नेबारे एउटा पनि कुरा गरिस् भने, जवाफमा तिनीहरूले तँसित आठदस वटा प्रतिवाद गर्न सक्छन्, र तँ दुई जुनी वाक्क हुने गरी घिनलाग्दा भ्रमहरू बोल्न सक्छन्। बाहिरी रूपमा, तेरो विवेक शान्त हुन सक्ला, र तैँले तिनीहरूले तँलाई व्यर्थै हुर्काएका छैनन्, तँ दयाहीन कृतघ्न व्यक्ति होइनस् र तैँले छिमेकीको हाँसोको पात्र बन्ने केही गरेको छैनस् भन्ने अनुभूति गर्लास्। तर तेरो विवेक शान्त छ भन्दैमा, के त्यसको अर्थ तैँले तिनीहरूका विविध विचार, दृष्टिकोण, जीवनप्रतिको हेराइ, र जियाइका तरिकाहरू हृदयको गहिराइबाट साँच्चिकै स्विकार्नु भन्ने हुन्छ र? के तँ तिनीहरूसित साँच्चिकै मिल्छस् र? (मिल्दिनँ।) फरक मार्ग हिँड्ने र फरक दृष्टिकोण राख्ने दुईथरीका मानिसहरू, चाहे तिनीहरूको जस्तोसुकै शारीरिक वा भावनात्मक नाता वा सम्बन्ध नै किन नहोस्, तिनीहरूले एकअर्काको दृष्टिकोण परिवर्तन गर्न सक्दैनन्। ती दुई पक्षले सँगै बसेर विभिन्‍न कुराहरू छलफल गरेनन् त ठिकै हुन्छ, तर छलफल सुरु गर्नेबित्तिकै तिनीहरू विवाद गर्न थाल्छन्, द्वन्द्व सिर्जना हुन्छ, अनि तिनीहरूले एकअर्कालाई घृणा गर्नेछन् र एकअर्काबाट दिक्क हुनेछन्। तिनीहरू बाहिरी रूपमा रगतले जोडिएका भए पनि, भित्री रूपमा शत्रु हुन्, आगो र पानीजतिकै नमिल्ने दुईथरिका मानिसहरू हुन्। त्यो अवस्थामा, यदि तँ अझै तिनीहरूको छेउमै छस् भने, तँ केको लागि छेउमै बसेको हो? के तँ निराश हुने कुनै कारण मात्र खोजिरहेको छस्, कि अरू नै केही कारण हो? हरेकपटक तिनीहरूलाई भेट्दा तँलाई पछुतो महसुस हुनेछ, र यसलाई आफैले निम्त्याएको दुःख भनिन्छ। कतिपय मानिसहरू सोच्छन्: “मैले मेरा आमाबुबालाई नदेखेको धेरै वर्ष भयो। विगतमा, उहाँहरूले केही घृणास्पद कामहरू गर्नुभयो, परमेश्‍वरविरुद्ध ईशनिन्दा गर्नुभयो, र परमेश्‍वरमाथिको मेरो विश्‍वासको विरोध गर्नुभयो। उहाँहरू अहिले धेरै पाको उमेरका हुनुहुन्छ; अहिलेसम्म उहाँहरू बद्लिसकेको हुनुपर्छ। त्यसैले उहाँहरूले गर्नुभएका खराब कुराहरूबारे मैले दुखेसो पोख्नु हुँदैन; ती सबै धेरैजसो बिर्सिसकिएका छन्। साथै, भावना र विवेक दुवै पक्षमा मलाई उहाँहरूको याद आउँछ, र मलाई उहाँहरूलाई कस्तो छ होला भन्ने लागिरहन्छ। त्यसैले सायद म उहाँहरूलाई भेट्न जानेछु।” तर घर फर्केको एक दिनमै तिनीहरूप्रतिको विगतको तेरो घृणा फेरि जाग्छ, र तँलाई पछुतो हुन्छ: “के यसलाई परिवार भनिन्छ? के यिनीहरू आमाबुबा हुन्? के यिनीहरू शत्रुहरू होइनन् र? यिनीहरू पहिले पनि यस्तै थिए, यिनीहरूको चरित्र अझै पनि त्यस्तै छ; यिनीहरू थोरै पनि बद्लिएका छैनन्!” तिनीहरू कसरी बद्लिन सक्थे त? तिनीहरू सुरुमा जस्ता थिए सधैँ त्यस्तै रहनेछन्। के तैँले तिनीहरू पाको हुँदै गएपछि बद्लिएका होलान् र तिमीहरू मिलेर बस्न सक्छौ भन्ने सोचेको थिइस्? तिनीहरूसँग मिलेर बस्ने सम्भावना नै छैन। तँ फर्केर घर प्रवेश गर्नेबित्तिकै तिनीहरूले तैँले हातमा कुनै समुन्द्री खानेकुरा, वा सायद डिजाइनर झोला र कपडा, वा सुनचाँदीका गहनाजस्ता कुनै महङ्गो चिज बोकेको छस् कि भनी हेर्नेछन्। तैँले दुइटा प्लास्टिकका झोलाहरू, एउटामा बफ्याइएको रोटी र अर्कोमा एकदुइटा केराहरू ल्याएको देख्नेबित्तिकै, तिनीहरूले तँ अझै गरिब रहेछस् भनेर बुझ्नेछन् र कचकच गर्न थाल्नेछन्: “फलानोकी छोरी विदेश गएर एउटा विदेशी बिहे गरी। उसले आमाबुबालाई शुद्ध सुनका चुराहरू किनिदिएकी छे र मौका मिल्नेबित्तिकै तिनीहरूले ती देखाइहाल्छन्। फलानोको छोराले गाडी किन्यो र उसलाई फुर्सद हुनेबित्तिकै आफ्ना आमाबुबालाई घुमाउन लैजान्छ र वैदेशिक यात्रा गराउँछ। तिनीहरू सबैजना आफ्ना छोराछोरीको सफलतामा रमाइरहेका छन्! फलानोकी छोरी कहिल्यै रित्तो हात घर आउँदिन। उसले आफ्ना आमाबुबाको लागि खुट्टा धुने भाँडा र मसाज कुर्सी किनिदिन्छे, र उसले किन्ने कपडा कि त रेशमको हुन्छ कि त ऊनीको। तिनीहरूका यति कर्तव्यनिष्ठ छोराछोरीहरू छन्; तिनीहरूले गरेको हेरचाह खेर गएन! हामीले त यो परिवारमा दयाहीन बैगुनीहरू मात्र हुर्काएछौँ!” यो त ठूलो अपमान हो, होइन र? (हो।) तिनीहरूले तेरो बफ्याइएको रोटी र केरा त हेर्दा पनि हेर्दैनन्, अनि तँचाहिँ अझै बच्चाको रूपमा जिम्मेवारीहरू र सन्तानीय भक्ति पूरा गर्नेबारे सोच्छस्। तेरा आमाबुबाले बफ्याइएको रोटी र केरा मन पराउँथे र तैँले तिनीहरूलाई धेरै वर्षदेखि नभेटेकोले तिनीहरूसित फेरि नजिक हुन र तेरो दोषी विवेक मेटाउन यी कुराहरू किन्छस्। तर फर्केपछि, तैँले यो दोष मेटाउन नसक्ने मात्र नभई, उल्टै आलोचनासमेत खेप्छस्; अनि, तँ निराश भएर घरबाट बाहिर निस्किन्छस्। के तैँले आमाबुबा भेट्न घर जानुको कुनै अर्थ थियो त? (थिएन।) तँ लामो समय घर फर्केको छैनस् तर तिनीहरूलाई तेरो याद आउँदैन; तिनीहरू यसो भन्दैनन्: “तँ फर्केर मात्र आए पुग्छ। तैँले केही किन्नै पर्दैन। तँ सही मार्गमा रहेको, स्वस्थ जीवन जिइरहेको, र सबै रूपमा सुरक्षित रहेको देख्दा राम्रो लाग्छ। एकअर्कालाई भेटेर मर्मस्पर्शी कुराकानी गर्न पाउनु नै सन्तोषजनक कुरा हो।” यी वर्षहरूमा तेरो हालखबर राम्रो भएको नभएको, वा तैँले तेरा आमाबुबाको सहयोग आवश्यक पर्ने कुनै कठिनाइ वा समस्याजनक मामलाहरू सामना गरेको नगरेकोबारे तिनीहरू चासो दिँदैनन्। तिनीहरू सहानुभूतिको एउटा शब्द पनि व्यक्त गर्दैनन्। तर यदि तिनीहरूले साँच्चिकै यस्ता कुराहरू भनेमा, के तँ त्यहाँबाट निस्कनै नसक्ने थिइनस् र? तिनीहरूले तँलाई गाली गरेपछि, तँ आफूलाई सच्याउँछस् र पूर्ण रूपमा जायज र कुनै दोषरहित महसुस गर्छस्, अनि मनमनै सोच्छस्: “म यहाँबाट निस्कनुपर्छ, यो साँच्चिकै शुद्धीकरण गर्ने ठाउँ रहेछ! तिनीहरूले मेरो छाला उतार्नेछन्, मेरो मासु खानेछन्, र अझै मेरो रगत पिउन चाहनेछन्।” व्यक्तिको लागि भावनात्मक रूपमा सम्हाल्न सबभन्दा कठिन सम्बन्ध भनेको आमाबुबासँगको सम्बन्ध हो, तर खासमा, यो पूर्णतया व्यवस्थापन गर्नै नसकिने कुरो होइन। सत्यता बुझ्ने आधारमा मात्र मानिसहरूले यो मामलालाई सही र चेतनशील रूपमा हेर्न सक्छन्। त्यसैले, भावनाको दृष्टिकोणबाट सुरु नगर्, र सांसारिक मानिसहरूको अन्तर्ज्ञान वा दृष्टिकोणबाट पनि सुरु नगर्। बरु, आफ्ना आमाबुबाप्रति परमेश्‍वरका वचनअनुसार उचित ढङ्गले व्यवहार गर्। आमाबुबाले वास्तवमा के भूमिका खेल्छन्, वास्तवमा आमाबुबाको लागि छोराछोरीको महत्त्व कति हुन्छ, छोराछोरीले आमाबुबाप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ, र मानिसहरूले आमाबुबा र छोराछोरीबीचको सम्बन्ध कसरी सम्हाल्ने र समाधान गर्ने गर्नुपर्छ? मानिसहरूले भावनाको आधारमा यी कुराहरू हेर्नु हुँदैन, न त तिनीहरू कुनै गलत विचार वा प्रचलित भावनाद्वारा प्रभावित हुन नै मिल्छ; ती कुराहरू परमेश्‍वरका वचनअनुसार सही ढङ्गले हेरिनुपर्छ। यदि परमेश्‍वरले तोक्नुभएको परिवेशमा, तँ आफ्ना आमाबुबाप्रतिको कुनै पनि जिम्मेवारी पूरा गर्न चुकिस्, वा यदि तँ तिनीहरूको जीवनमा कुनै प्रकारको भूमिका खेल्दैनस् भने, के त्यो अनुत्तरदायी सन्तान हुनु हो? त्यस्तो हुँदा, के तेरो विवेकले तँलाई घोच्नेछ? तेरा छिमेकी, सहपाठी, र नातेदार सबैले तेरो पिठ्युँपछाडि तँलाई धिक्कार्नेछन् र तेरो आलोचना गर्नेछन्। तिनीहरूले तँलाई अनुत्तरदायी बच्चा भनेर बोलाउनेछन् र यसो भन्नेछन्: “तेरा आमाबुबाले तेरो निम्ति औधी त्याग गरे, तेरो लागि औधी कठिन प्रयत्न गरे, र तँ सानै छँदादेखि तेरो लागि औधी काम गरे, अनि तँचाहिँ बैगुनी बच्चा बनेर कुनै अत्तोपत्तोबिना हराउँछस्, र तँ सुरक्षित छस् भनेर जानकारी पनि गराउँदैनस्। तँ नयाँ वर्षमा फर्केर नआउने मात्र होइन, आमाबुबालाई एकचोटि फोन गर्ने वा खबर पठाउने कामसमेत गर्दैनस्।” हरेकपटक यस्ता कुराहरू सुन्दा तेरो विवेकबाट रगत र आँसु बग्छ, र तँलाई निन्दनीय अनुभूति हुन्छ। “ओहो, उहाँहरू सही हुनुहुन्छ।” तेरो अनुहार तातिएर रातोपिरो हुन्छ, र तेरो हृदय सियोले घोचेझैँ काँप्छ। के तँसित यस्ता अनुभूतिहरू थिए? (हजुर, पहिले थिए।) के तेरा छिमेकी र नातेदारहरूले तँलाई अनुत्तरदायी बच्चा भनेको सही थियो? (थिएन। म अनुत्तरदायी बच्चा होइन।) तेरो तर्क सुना। (यी वर्षहरूमा म मेरा आमाबुबाको छेउमा नरहे पनि, वा मैले उहाँहरूका इच्छाहरू सांसारिक मानिसहरूले झैँ पूरा गर्न नसके पनि, हामीले परमेश्‍वरमा विश्‍वास गर्ने यो मार्गमा हिँड्ने कुरा परमेश्‍वरद्वारा पूर्वनिर्धारित थियो। यो जीवनको सही मार्ग हो, र यो धर्मी कुरा हो। यही कारणले म भन्छु कि म अनुत्तरदायी भइरहेको थिइनँ।) तेरो तर्क अझै पनि विगतमा मानिसहरूले बुझ्ने गरेका धर्मसिद्धान्तहरूमा आधारित छ; तँसँग वास्तविक व्याख्या र वास्तविक बुझाइको कमी छ। अरू कसले आफ्ना सोचहरू भन्न चाहन्छ? (मलाई याद छ, जब म पहिलोपटक विदेश गएँ, हरेकपटक मैले आमाबुबालाई म विदेशमा के गरिरहेकी छु भनेर थाहा नभएको, सायद उहाँहरूले मलाई कर्तव्यनिष्ठ नभएकी भनेर आलोचना गरेको, आमाबुबाको हेरचाह गर्नको लागि म उहाँहरूको छेउमा नभएकीले म अनुत्तरदायी छोरी बनेकोबारे सोच्दा—मलाई यी सोचहरूद्वारा बन्धन र नियन्त्रणमा परेको अनुभूति हुन्थ्यो। हरेकपटक यो सोच्दा, मलाई म आमाबुबाप्रति ऋणी छु भन्ने महसुस हुन्थ्यो। तर आज परमेश्‍वरको सङ्गतिमार्फत मलाई महसुस भयो कि पहिले मेरा आमाबुबाले मेरो जुन हेरचाह गर्नुभयो त्यो उहाँहरूले आफ्ना अभिभावकीय जिम्मेवारीहरू पूरा गर्नुभएको थियो, उहाँहरूले मप्रति देखाउनुभएको माया परमेश्‍वरद्वारा पूर्वनिर्धारित थियो, र म परमेश्‍वरप्रति आभारी हुनुपर्छ र मैले उहाँको प्रेमको ऋण तिर्नुपर्छ। अब त म परमेश्‍वरमा विश्‍वास गर्छु र जीवनको सही मार्ग हिँड्छु, जुन धर्मी कुरा हो, त्यसैले मैले आमाबुबाप्रति आभारी महसुस गर्नु जरुरी छैन। यसबाहेक, आमाबुबालाई छोराछोरीले छेउमै बसेर हेरचाह गर्नु नगर्नु पनि परमेश्‍वरद्वारा पूर्वनिर्धारित गरिएको हुन्छ। यी कुराहरू बुझेपछि, म आफूले हृदयमा अनुभूति गरेको आभारीपन धेरथोर रूपमा त्याग्न सक्छु।) धेरै राम्रो। सर्वप्रथम, धेरैजसो मानिसहरू कर्तव्य निभाउनलाई घर छोड्न रोज्‍नुको कारण भनेको केही हदसम्म त्यो व्यापक वस्तुगत परिस्थिति हो, जसले तिनीहरूलाई आफ्ना आमाबुबालाई छाडेर जान बाध्य तुल्याउँछ; तिनीहरू आमाबुबालाई हेरचाह गर्न र साथ दिन तिनीहरूको छेउमा बस्न सक्दैनन्। तिनीहरूले इच्छापूर्वक आमाबुबालाई छाड्न रोज्छन् भन्ने होइन; यो त वस्तुगत कारण हो। अर्को कुरा, व्यक्तिपरक रूपमा भन्नुपर्दा, तँ तेरा कर्तव्यहरू निभाउन बाहिर जानुको कारण तैँले आफ्ना आमाबुबालाई छोड्न र जिम्मेवारीहरूबाट भाग्न चाहेर होइन, त्यो परमेश्‍वरको बोलावटले गर्दा हो। परमेश्‍वरको कामसँग सहकार्य गर्न, उहाँको बोलावट स्विकार्न, र सृष्टि गरिएको प्राणीका कर्तव्यहरू निभाउनको निम्ति, तँसित आमाबुबालाई छोड्नुबाहेक अरू विकल्प थिएन; तँ तिनीहरूलाई साथ दिन र हेरचाह गर्न तिनीहरूको छेउमै बसिरहन मिल्थेन। तैँले जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोडेको त होइनस् नि, होइन र? जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छाड्नु अनि परमेश्‍वरको बोलावट स्विकार्न र तेरा कर्तव्यहरू निभाउन तिनीहरूलाई छोड्नुपर्ने हुनु—के यी दुई फरक प्रकृतिका कुरा होइनन् र? (हजुर।) तेरो हृदयमा, तँसित आमाबुबाका लागि भावनात्मक सम्बन्ध र सोचहरू हुन्छन्; तेरो भावना खोक्रो हुँदैन। यदि वस्तुगत परिस्थितिहरूले साथ दिन्छन् र तँ आफ्नो कर्तव्य पनि निभाउँदै तिनीहरूको छेउमा रहन सक्छस् भने, तँ तिनीहरूको छेउमा बस्न इच्छुक हुनेथिस्, र नियमित रूपमा तिनीहरूको ख्याल गरिरहेको र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेथिस्। तर वस्तुगत परिस्थितिका कारणले गर्दा तैँले तिनीहरूलाई छोड्नैपर्छ; तँ तिनीहरूको छेउमा बस्न मिल्दैन। यो होइन कि तँ तिनीहरूको बच्चा भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्, बरु यो हो कि तैँले त्यो पूरा गर्नै सक्दैनस्। के यसको प्रकृति फरक छैन र? (छ।) यदि तैँले कर्तव्यनिष्ठ सन्तान नबन्न र आफ्ना जिम्मेवारीहरू पूरा नगर्न घर छोडिस् भने, त्यो अनुत्तरदायी हुनु हो र त्यसमा मानवता हुँदैन। तेरा आमाबुबाले तँलाई हुर्काए, तर तँ आफ्ना पखेटाहरू फिँजाएर आफ्नो बाटो लाग्न आत्तुर छस्। तँ आमाबुबा हेर्न चाहँदैनस्, र तिनीहरू कुनै कठिनाइमा परेको सुन्दा तँ केही चासो दिँदैनस्। तँ आफूसँग स्रोतसाधन भएर पनि मद्दत गर्दैनस्; तँ नसुनेझैँ गर्छस् र अरूलाई तेरो बारेमा जे मन लाग्छ त्यो भन्न दिन्छस्—तँ बस आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्। यो अनुत्तरदायी हुनु हो। तर के अहिलेको अवस्था यस्तो हो त? (होइन।) धेरै मानिसहरूले कर्तव्य निभाउन आफ्नो सहर, प्रान्त, वा आफ्नो देशसमेत छाडेका छन्; तिनीहरू आफ्नो गृहनगरबाट धेरै टाढा छन्। साथै, विविध कारणहरूले गर्दा तिनीहरूलाई आफ्ना परिवारसँग सम्पर्कमा रहन सहज छैन। बेलाबेलामा, तिनीहरू आफ्नो गृहनगरबाट आएका मानिसहरूलाई आफ्ना आमाबुबाको हालखबर सोध्छन् र तिनीहरू अझै स्वस्थ छन् र तिनीहरूको गुजारा चलिरहेको छ भन्ने सुनेर राहत महसुस गर्छन्। खासमा, तँ अनुत्तरदायी होइनस्; तँ आफ्ना आमाबुबाबारे चासो राख्न वा तिनीहरूप्रतिका जिम्मेवारीहरू पूरा गर्नसमेत नचाहहने गरी मानवता नै नभएको बिन्दुमा पुगेको छैनस्। विविध वस्तुगत कारणहरूले गर्दा नै तैँले यो निर्णय गर्नुपरेको हो, त्यसैले तँ अनुत्तरदायी होइनस्। यसका दुई कारणहरू यिनै हुन्। अनि अर्को एउटा कुरा पनि छ: यदि तेरा आमाबुबा तँलाई असाध्यै सताउने वा परमेश्‍वरमाथिको विश्‍वासमा बाधा दिने मानिसहरू होइनन् भने, यदि तिनीहरूले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा साथ दिन्छन् भने, वा यदि तिनीहरू तँजस्तै परमेश्‍वरमा विश्‍वास गर्ने दाजुभाइ-दिदीबहिनी, र परमेश्‍वरको घरका सदस्यहरू हुन् भने, भित्री रूपमा आफ्ना आमाबुबाबारे सोच्दा तिमीहरूमध्ये कसले मौन रूपमा परमेश्‍वरलाई प्रार्थना गर्दैन? तिमीहरूमध्ये कसले आफ्ना आमाबुबालाई—साथै तिनीहरूको स्वास्थ्य, सुरक्षा, र जीवनका सम्पूर्ण आवश्यकताहरू—परमेश्‍वरको हातमा सुम्पिँदैन? आमाबुबालाई परमेश्‍वरको हातमा सुम्पनु नै तिनीहरूप्रति सन्तानीय सम्मान देखाउने सबभन्दा उत्तम तरिका हो। तँ तिनीहरूले जीवनमा अनेकथरी कठिनाइहरू भोगून्, नराम्रो जीवन जिऊन्, राम्ररी खान नपाऊन्, वा तिनीहरूको स्वास्थ्य खराब होस् भन्ने आशा गर्दैनस्। हृदयको गहिराइमा, तँ निश्‍चय नै परमेश्‍वरले तिनीहरूलाई रक्षा गरून् र सुरक्षित राखून् भन्‍ने आशा गर्छस्। यदि तिनीहरू परमेश्‍वरका विश्‍वासी हुन् भने, तँ तिनीहरूले कर्तव्यहरू निभाउन र आफ्नो गवाहीमा खरो उत्रिन सकून् आशा गर्छस्। यो व्यक्तिले मानवीय जिम्मेवारीहरू पूरा गर्नु हो; मानिसहरूले आफ्नै मानवताद्वारा यति मात्र हासिल गर्न सक्छन्। यसअलावा, सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने, वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि र अत्यन्तै धेरै सत्यताहरू सुनेपछि, मानिसहरूमा कम्तीमा पनि यो थोरै बुझाइ र बोध हुन्छ: मान्छेको भाग्य स्वर्गले निर्धारण गर्छ, मान्छे परमेश्‍वरको हातमा जिउँछ, र परमेश्‍वरबाट हेरचाह र सुरक्षा पाउनु भनेको छोराछोरीले दिने चासो, सन्तानीय भक्ति वा साथभन्दा ज्यादा महत्त्वपूर्ण कुरा हो। के तँलाई तेरा आमाबुबा परमेश्‍वरको हेरचाह र रक्षामा छन् भने राहत महसुस हुँदैन र? तैँले तिनीहरूबारे चिन्ता लिनुपर्दैन। यदि चिन्ता लिन्छस् भने, त्यसको अर्थ तँ परमेश्‍वरमा भरोसा गर्दैनस् भन्ने हुन्छ; उहाँमाथिको तेरो आस्था अति सानो छ। यदि तँ आफ्ना आमाबुबाबारे साँच्चै चिन्तित र व्याकुल छस् भने, तैँले बारम्बार परमेश्‍वरलाई प्रार्थना गर्ने, तिनीहरूलाई परमेश्‍वरको हातमा सुम्पने, र परमेश्‍वरलाई सबथोक योजनाबद्ध र बन्दोबस्त गर्न दिने गर्नुपर्छ। परमेश्‍वरले मानवजातिको भाग्यमाथि शासन गर्नुहुन्छ, र तिनीहरूको हरेक दिन र तिनीहरूलाई हुने हरेक कुरामाथि उहाँले नै शासन गर्नुहुन्छ, तसर्थ तँ अझै केको चिन्ता लिन्छस्? तँ तेरो आफ्नै जीवनसमेत नियन्त्रण गर्न सक्दैनस्,[क] तँ आफैसँग एक टन कठिनाइहरू छन्; तैँले तेरा आमाबुबालाई सदा खुसीसाथ जिउन दिन के गर्न सक्छस्? तैँले गर्न सक्ने भनेकै सबथोक परमेश्‍वरको हातमा सुम्पनु हो। यदि तिनीहरू विश्‍वासी हुन् भने, तिनीहरूलाई सही मार्गमा डोर्‍याउनुहोस् भनी परमेश्‍वरलाई अनुरोध गर् ताकि अन्त्यमा तिनीहरूले मुक्ति पाउन सकून्। यदि तिनीहरू विश्‍वासी होइनन् भने, तिनीहरूलाई जे मन लाग्यो त्यही मार्ग हिँड्न दे। अरूभन्दा दयालु र केही मानवता बोकेका आमाबुबाको हकमा, तैँले तिनीहरूलाई आशिषित् तुल्याउनुहोस् ताकि बाँकी वर्षहरू तिनीहरूले खुसीसाथ बिताउन सकून् भनी परमेश्‍वरलाई प्रार्थना गर्न सक्छस्। परमेश्‍वरले कसरी काम गर्नुहन्छ भनेर भन्नुपर्दा, उहाँसित आफ्ना बन्दोबस्तहरू छन्, र मानिसहरू तीप्रति समर्पित हुनुपर्छ। त्यसैले, समग्रमा, मानिसहरूको विवेकमा आफ्ना आमाबुबाप्रति पूरा गर्नुपर्ने जिम्मेवारीहरूबारे एउटा चेतना हुन्छ। यो चेतनाले व्यक्तिमा आमाबुबाप्रति जे-जस्तो मनोवृत्ति ल्याए पनि, चाहे त्यो चिन्ता होस् वा तिनीहरूको छेउमा बस्ने इच्छा होस्, त्यो जे भए पनि, मानिसहरूले वस्तुगत परिस्थितिहरूले प्रभाव पारेको कारण आफ्ना आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्न नसकेकोमा दोषी महसुस गर्नु वा दोषी विवेक बोक्‍नु हुँदैन। यी र यस्तै अन्य मामलाहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने मानिसहरूको जीवनको समस्या बन्नु हुँदैन; ती कुराहरू त्यागिनुपर्छ। आफ्ना आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्नेसम्बन्धी यी विषयहरूबारे भन्नुपर्दा, मानिसहरूमा यी शुद्ध बुझाइहरू हुनुपर्छ र तिनीहरूले बाधित महसुस गर्न छोड्नुपर्छ। एक त तँलाई हृदयको गहिराइदेखि नै तँ अनुत्तरदायी छैनस्, र तँ जिम्मेवारीबाट पन्छिरहेको वा भागिरहेको छैनस् भन्ने कुरा थाहा छ। अर्को कुरा, तेरा आमाबुबा परमेश्‍वरको हातमा छन् भने अझै चिन्ता लिनुपर्ने कारण के छ र? व्यक्तिले चिन्ता लिन्छ भने त्यो वाहियात हो। हरव्यक्ति अन्त्यसम्‍मै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूअनुसार सहजसाथ जिउनेछ, बिनाकुनै विचलन आफ्नो मार्गको अन्त्यसम्म पुग्नेछ। त्यसैले, मानिसहरूले यस मामलाबारे अबउप्रान्त चिन्ता लिनु आवश्यक छैन। तँ कर्तव्यनिष्ठ सन्तान होस् होइनस्, तैँले आमाबुबाप्रतिका तेरा जिम्मेवारीहरू पूरा गरेको छस् छैनस्, वा तैँले तेरा आमाबुबाको मायाको ऋण तिर्नुपर्छ पर्दैन—यी तैँले सोच्नुपर्ने कुराहरू होइनन्; ती तैँले त्याग्नुपर्ने कुराहरू हुन्। के यो ठिक होइन र? (हो।)

आफ्ना सन्तानप्रतिका आमाबुबाका अपेक्षाहरूको विषय सम्बन्धमा हामीले अध्ययन र कामका पक्षहरूबारे सङ्गति गर्‍यौँ। यस सम्बन्धमा मानिसहरूले बुझ्नुपर्ने तथ्यहरू केके हुन्? यदि तैँले आफ्ना आमाबुबाको कुरा सुनेर तिनीहरूका अपेक्षाबमोजिम निकै कठोर मेहनतसाथ अध्ययन गर्छस् भने, के त्यसको अर्थ तैँले निश्‍चय नै ठूलो सफलता हासिल गर्नेछस् भन्ने हुन्छ र? के यसो गर्नाले तेरो भाग्य साँच्चिकै बद्लिन सक्छ र? (सक्दैन।) त्यसोभए तेरो भविष्यमा के हुनेवाला छ? परमेश्‍वरले तेरो लागि जे बन्दोबस्त गर्नुभएको छ—तैँले पाउनुपर्ने भाग्य, मानिसहरूमाझ तैँले पाउनुपर्ने स्थान, तैँले हिँड्नुपर्ने मार्ग, र तँसित हुनुपर्ने जियाइ परिवेश—त्यही हुनेवाला छ। परमेश्‍वरले धेरै पहिले नै तेरो लागि यी कुराहरू बन्दोबस्त गरिसक्नुभएको छ। त्यसैले, तेरा आमाबुबाका अपेक्षाहरूबारे तैँले कुनै बोझ बोक्नु जरुरी छैन। यदि तैँले आमाबुबाले भनेअनुसार नै गरिस् भने तेरो भाग्य त्यस्तै रहन्छ; यदि तैँले आमाबुबाका अपेक्षाहरू पूरा गरिनस् र तिनीहरूलाई निराश तुल्याइस् भने पनि तेरो भाग्य उस्तै रहन्छ। तेरो भावी मार्ग जेजस्तो हुनुपर्ने हो, त्यो त्यस्तै नै हुनेछ; त्यो कुरा परमेश्‍वरले पहिल्यै तोकिसक्नुभएको छ। यसैगरी, यदि तैँले आमाबुबाका अपेक्षाहरू पूरा गरिस्, आमाबुबालाई सन्तुष्ट पारिस्, र तिनीहरूलाई निराश पारिनस् भने, के त्यसको अर्थ तिनीहरूले झनै राम्रो जीवन जिउन पाउँछन् भन्ने हुन्छ त? के त्यसले तिनीहरूको दुःख र दुर्व्यवहार भोग्ने भाग्य बदल्न सक्छ र? (सक्दैन।) कतिपय मानिसहरू आमाबुबाले आफूलाई अत्यन्तै मायाले हुर्काएका छन्, र त्यो समयमा आमाबुबाले धेरै दुःख भोगे भन्ने सोच्छन्। त्यसैले तिनीहरू एउटा राम्रो जागिर खोजेर, कठिनाइ सहन, परिश्रम गर्न, लगनशील हुन, र कडा मेहनत गरेर धेरै पैसा र प्रशस्त धन आर्जन गर्न चाहन्छन्। तिनीहरूको उद्देश्य भविष्यमा आफ्ना आमाबुबालाई विलासी महलमा बसाउने, र राम्रो गाडी, राम्रो खानपान र चैनको जीवन दिने हुन्छ। तर वर्षौँको अथक मेहनतपश्‍चात तिनीहरूको जियाइ अवस्था र परिस्थितिहरूमा सुधार आए पनि तिनीहरूका आमाबुबा एक दिन पनि त्यो समृद्ध जीवन जिउन नपाई बित्छन्। यसको दोषी को हो? यदि तैँले परिस्थितिहरूलाई आफ्नै लयमा चल्न दिइस्, परमेश्‍वरलाई योजनाबद्ध गर्न दिइस्, र यो बोझ बोकिनस् भने, तेरा आमाबुबा बितेर जाँदा तँलाई दोषी महसुस हुनेछैन। तर तैँले आमाबुबाको गुन तिर्न र तिनीहरूलाई राम्रो जीवन जिउन मद्दत गर्न हड्डी खियाएर पैसा कमाइस्, तर तिनीहरू बितेर गए भने, तैँले कस्तो महसुस ग्र्नछस्? यदि तैँले आफ्नो कर्तव्यपालनमा ढिलाइ गरिस् र सत्यता प्राप्त गर्नमा ढिलो भयो भने, के तैँले अझै पनि बाँकी जुनी आरामसाथ जिउन सक्नेछस् र? (सक्नेछैन।) तेरो जीवन प्रभावित हुनेछ, र तैँले “आमाबुबालाई निराश तुल्याएको” बोझ बाँकी जीवनभर सधैँ बोकिरहनेछस्। कतिपय मानिसहरू आमाबुबालाई निराश नतुल्याउन र आफूलाई मायाले हुर्काएकोमा तिनीहरूको गुन तिर्नको निम्ति ठूलो मेहनतसाथ काम गर्छन्, प्रयत्न गर्छन् र पैसा कमाउँछन्। पछि, तिनीहरू धनी बनेपछि र राम्रो खाने हैसियतका भएपछि, तिनीहरूले आमाबुबालाई खान बोलाउँछन् र टेबलभरि मिठामिठा खाना मगाउँछन्, र यसो भन्छन्: “खानूस् न। मलाई याद छ, म सानो छँदा यी तपाईहरूलाई मनपर्ने खाना थिए; खानूस्!” तर, ती आमाबुबालाई बुढेसकाल लागेर तिनीहरूका धेरैजसो दाँत झरिसकेका हुन्छन् र अहिले तिनीहरूलाई धेरै भोक लाग्दैन, त्यसैले तिनीहरू सागसब्जी र नूडलजस्ता नरम र सजिलै पच्‍ने खानाहरू रोज्छन् र एकदुई गासमै अघाउँछन्। त्यस्तो ठूलो टेबुलभरि उब्रेको खाना देख्दा तँलाई दुःख लाग्छ। तर तेरा आमाबुबालाई निकै रमाइलो लाग्छ। यस्तो पाको उमेरमा तिनीहरूले खानुपर्ने नै यति हो; यो सामान्य हो, तिनीहरू धेरै कुरा माग्दैनन्। तँ भित्री रूपमा बेखुसी हुन्छस्, तर के कारणले बेखुसी हुन्छस्? तैँले यी कुराहरू गर्नु वाहियात थियो। तेरा आमाबुबाले जीवनकालमा कति खुसी र कठिनाइ भोग्नेछन् भन्ने कुरा धेरै पहिले नै तय भएको थियो। तेरो इच्छाको कारण त्यो कुरा बदल्न सकिँदैन र तेरो भावनात्मक सन्तुष्टिको लागि त्यसलाई बदल्न सकिँदैन। त्यो कुरा परमेश्‍वरले धेरै पहिले नै तोक्नुभएको थियो, त्यसैले मानिसहरूले जे गरे पनि त्यो वाहियात हो। यी तथ्यहरूले मानिसहरूलाई के बताउँछन्? आमाबुबाले गर्नुपर्ने भनेको तँलाई हुर्काउने र तँलाई स्वस्थ र सहज रूपमा बढ्न, सही मार्ग हिँड्न, र सृष्टि गरिएको प्राणीको रूपमा तेरा जिम्मेवारी र दायित्वहरू पूरा गर्न दिनु हो। त्यो सबैको उद्देश्य तेरो भाग्य बदल्ने होइन, र त्यसले वास्तवमै तेरो भाग्य बदल्न सक्दैन; ती कुराहरूले तँलाई वयस्कतासम्म हुर्काउन र जीवनको सही मार्ग हिँडाउन सहयोगी र मार्गदर्शक भूमिका मात्र खेल्छन्। आमाबुबाको लागि आफ्नै हात प्रयोग गरी खुसी सिर्जना गर्न खोज्नु, तिनीहरूको भाग्य बदल्‍न, वा तिनीहरूलाई ठूलो धन अनि राम्रो खानपान दिन खोज्‍नु, तैँले गर्न नहुने काम हो। यी मूर्खतापूर्ण सोचहरू हुन्। यो तैँले बोक्नुपर्ने बोझ होइन, यो त तैँले त्याग्नुपर्ने बोझ हो। तैँले कुनै अर्थहीन त्याग गर्नु हुँदैन वा तेरो विवेक वा भावनाका व्यक्तिगत चाहनाहरू पूरा गर्नहेतु र आमाबुबालाई निराश पार्नबाट बच्‍नहेतु तिनीहरूको गुन तिर्न, तिनीहरूको भाग्य बदल्न, र तिनीहरूलाई बढी आशिष् र कम दुःख पाउने तुल्याउन अर्थहीन कामहरू गर्नु हुँदैन। यो तेरो जिम्मेवारी होइन, र यो तैँले सोच्नुपर्ने कुरा होइन। आमाबुबाले आफ्नै अवस्थाअनुसार र परमेश्‍वरले तय गर्नुभएको अवस्था र परिवेशअनुसार सन्तानप्रतिका जिम्मेवारीहरू पूरा गर्नुपर्छ। सन्तानले आमाबुबाको लागि के गर्नुपर्छ भन्ने कुरा पनि उनीहरूले हासिल गर्न सक्ने अवस्था र उनीहरूको परिवेशमै आधारित हुन्छ; कुरो यति हो। आमाबुबा र सन्तानले गर्ने सबथोकको उद्देश्य आफ्नो प्रयासको फलस्वरूप अर्को पक्षले राम्रो, खुसीपूर्ण, र थप आदर्श जीवन जिउन सकोस् भनेर आफ्नो शक्ति वा स्वार्थी चाहनामार्फत अर्को पक्षको भाग्य बदल्ने हुनु हुँदैन। आमाबुबा होऊन् वा सन्तान, हरव्यक्तिले परिस्थितिलाई परमेश्‍वरले बन्दोबस्त गर्नुभएका परिवेशहरूअनुसार आफ्नै लयमा चल्न दिनुपर्छ, आफ्नो प्रयास वा व्यक्तिगत आकाङ्क्षाहरूमार्फत परिस्थितिहरू बदल्‍न खोज्‍नु हुँदैन। तँसित तेरा आमाबुबाबारे यस्ता सोचहरू भएकै कारण तिनीहरूको भाग्य बद्लिनेछैन—तिनीहरूको भाग्य परमेश्‍वरले धेरै पहिल्यै तोकिसक्नुभएको छ। परमेश्‍वरले नै तिनीहरूको जीवनको दायरामा तैँले जिउनुपर्ने, तिनीहरूद्वारा तँ हुर्काइनुपर्ने, र तिनीहरूसित तेरो यो सम्बन्ध हुनुपर्ने तोक्नुभएको हो। त्यसैले, तिनीहरूप्रतिको तेरो जिम्मेवारी भनेको तेरो आफ्नै अवस्थाअनुसार तिनीहरूलाई साथ दिने र केही दायित्वहरू निभाउने मात्र हो। तेरा आमाबुबाको हालको परिस्थिति बदल्न चाहने वा तिनीहरूले अझै राम्रो जीवन जिऊन् भन्‍ने चाहने सम्बन्धमा भन्नुपर्दा, त्यो सबै अनावश्यक कुरा हो। अथवा, तेरा छिमेकी र नातेदारलाई तँलाई आदर गर्ने तुल्याउनु, तेरा आमाबुबालाई सम्मान दिलाउनु, परिवारभित्र तेरा आमाबुबाको लागि प्रतिष्ठा जोगाउनु—यो त झनै अनावश्यक कुरा हो। त्यस्ता एकल आमाबुबाहरू पनि छन् जसले आफ्नो जोडी गुमाए र तँलाई वयस्कतासम्म आफैले हुर्काए। तँलाई तिनीहरूको लागि त्यो काम कति कठिन थियो भनेर झनै बढी महसुस हुन्छ, र तँ आफ्नो पूरै जीवन तिनीहरूको ऋण फिर्ता र पूर्ति गर्नमा बिताउन चाहन्छस्, यतिसम्म कि तँ तिनीहरूले भनेको जे पनि गर्छस्। तिनीहरूले तँबाट के माग्छन्, के अपेक्षा गर्छन्, साथै तँ आफैचाहिँ के गर्न इच्छुक छस्, यी सबै तेरो जीवनका बोझहरू बन्नेछन्—तर यस्तो हुनु हुँदैन। सृष्टिकर्ताको छेउमा, तँ एक सृष्टि गरिएको प्राणी होस्। तैँले यो जुनीमा गर्नुपर्ने भनेको आमाबुबाप्रतिका तेरा जिम्मेवारीहरू मात्र होइन, सृष्टि गरिएको प्राणीको रूपमा तेरा जिम्मेवारी र कर्तव्यहरू पनि पूरा गर्नु हो। तैँले परमेश्‍वरका वचन र सत्यता सिद्धान्तहरूको आधारमा मात्र तेरा आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्न सक्छस्, तेरा भावनात्मक चाहना वा तेरो विवेकका चाहनाहरूको आधारमा जेसुकै गरेर पूरा गर्न सक्दैनस्। परमेश्‍वरका वचन र सत्यता सिद्धान्तहरूअनुसार तिनीहरूप्रतिका तेरा जिम्मेवारीहरू पूरा गर्नु पनि अवश्यै सृष्टि गरिएको प्राणीको रूपमा तेरा कर्तव्यहरूको पाटो नै हो; यो परमेश्‍वरले मान्छेलाई दिनुभएको जिम्मेवारी हो। यो जिम्मेवारीको परिपूर्ति मानव आवश्यकताहरूमा नभई परमेश्‍वरका वचनहरूमा आधारित हुन्छ। त्यसैले, तैँले परमेश्‍वरका वचनहरूअनुसार तेरा आमाबुबालाई सजिलै सम्मान दिन सक्छस्, र तिनीहरूप्रति आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छस्। यो यति सजिलो छ। के यो काम गर्न सजिलो छ? (छ।) यो सजिलो हुनुको कारण के हो? यसमा रहेको सार, साथै मानिसहरूले पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरू, अत्यन्तै प्रस्ट छन्। सार यो हो कि न त आमाबुबाले न त सन्तानले एकअर्काको भाग्य बदल्न सक्छन्। तैँले कडा मेहनत गरे नि नगरे नि, तँ तेरा जिम्मेवारीहरू पूरा गर्न इच्छुक भए नि नभए नि, त्यो कुनै कुराले पनि अर्को पक्षको भाग्य बदल्न सक्दैन। तैँले तिनीहरूलाई आफ्नो हृदयमा राख्छस् राख्दैनस् भन्ने कुराले भावनात्मक चाहना मात्र देखाउँछ, र यो कुराले कुनै पनि तथ्य बद्लिनेछैन। त्यसैले, मानिसहरूको लागि सबभन्दा सरल काम भनेको आमाबुबाका अपेक्षाहरूले ल्याउने विविध बोझहरू त्याग्नु हो। पहिलो कुरा, तैँले यी सबै कुराहरूलाई परमेश्‍वरका वचनअनुसार हेर्नुपर्छ, र दोस्रो कुरा, तैँले आमाबुबासँगको तेरो सम्बन्धलाई परमेश्‍वरका वचनअनुसार हेर्ने र सम्हाल्ने गर्नुपर्छ। यो त्यति सजिलो छ। के यो सजिलो छैन र? (छ।) यदि तैँले सत्यता स्विकारिस् भने, यी सबै कुराहरू सजिला हुनेछन्, र तेरो अनुभवको क्रममा, तँलाई तथ्य यही हो भनेर झन्झन् बढी महसुस हुनेछ। कसैले पनि व्यक्तिको भाग्य बदल्न सक्दैन; व्यक्तिको भाग्य परमेश्‍वरको हातमा मात्र हुन्छ। तैँले जति कोसिस गरिस् भने पनि, त्यो काम लाग्नेछैन। कतिपयले अवश्यै यसो भन्नेछन्: “तपाईंले भन्नुभएका सबै कुराहरू तथ्य हुन्, तर मलाई यस तरिकाले व्यवहार गर्नु अति अमानवीय कुरा हो जस्तो लाग्छ। मेरो विवेकलाई सधैँ ग्लानि महसुस हुन्छ, म यो सहन सक्दिनँ।” यदि तँ यो सहन सक्दैनस् भने, तेरा भावनालाई सन्तुष्ट तुल्या; तेरा आमाबुबालाई साथ दे र तिनीहरूको छेउमै बस्, तिनीहरूको सेवा गर्, कर्तव्यनिष्ठ सन्तान हू, र सही गलत जे भए नि तिनीहरूले भनेकै काम गर्—तिनीहरूको पुच्छर र नोकर बन्, त्यो सब ठिक हुन्छ। त्यसो गरिस भने, कसैले पनि तेरो तेरो कुरा काट्नेछैन, र तेरो बृहत परिवारले समेत तँ कति कर्तव्यनिष्ठ छस् भनेर कुरा गर्नेछन्। तर अन्त्यमा, घाटा हुने तँलाई मात्र हो। तैँले कर्तव्यनिष्ठ बच्चाको रूपमा आफ्नो छवि जोगाएको हुन्छस्, तैँले तेरो भावनात्मक आवश्यकता पूरा गरेको हुन्छस्, तेरो विवेकले तँलाई घोचेको हुँदैन, र तैँले आफ्ना आमाबुबाको मायाको ऋण तिरेको हुन्छस्, तर यसमा तैँले बेवास्ता गरेको र गुमाएको एउटा कुरा छ: तैँले यी सबै मामलाहरूलाई परमेश्‍वरका वचनअनुसार हेर्ने र सम्हाल्ने गरिनस्, र तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य निभाउने अवसर गुमाएको छस्। यसको अर्थ के हो? यसको अर्थ यो हो कि तँ आमाबुबाप्रति कर्तव्यनिष्ठ बनेको छस् तर परमेश्‍वरलाई विश्‍वासघात गरेको छस्। तैँले सन्तानीय भक्ति देखाइस् र तेरा आमाबुबाको देहका भावनात्मक चाहनाहरू पूरा गरिस्, तर परमेश्‍वरविरुद्ध विद्रोह गरिस्। तँ सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्यहरू निभाउनुको साटो कर्तव्यनिष्ठ सन्तान हुन रोज्छस्। यो परमेश्‍वरको सबभन्दा ठूलो अपमान हो। तँ कर्तव्यनिष्ठ सन्तान होस्, तैँले आमाबुबालाई निराश पारेको छैनस्, तँसित विवेक छ, र तैँले सन्तानको रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्छस् भन्दैमा, परमेश्‍वरले तँ उहाँको आज्ञापालन गर्ने र मानवता भएको व्यक्ति होस् भन्नुहुनेछैन। यदि तँ तेरो विवेकका खँचाहरू र तेरो देहका भावनात्मक खाँचाहरू मात्र पूरा गर्छस्, तर यो मामला हेर्ने र सम्हाल्ने आधार र सिद्धान्तहरूको रूपमा परमेश्‍वरका वचन वा सत्यता स्विकार्दैनस् भने, तैँले परमेश्‍वरप्रति सबभन्दा ठूलो अवज्ञा देखाउँछस्। यदि तँ योग्य सृष्टि गरिएको प्राणी हुन चाहन्छस् भने, तैँले सुरुमा सबथोक परमेश्‍वरका वचनअनुसार हेर्ने र गर्ने गर्नुपर्छ। यसैलाई योग्यता, मानवता र विवेक भएको भनिन्छ। यसविपरीत, यदि तँ यो मामला हेर्ने वा सम्हाल्ने आधार र सिद्धान्तहरूको रूपमा परमेश्‍वरका वचनहरू स्विकार्दैनस्, र तँ बाहिर गएर कर्तव्यहरू निभा भनी परमेश्‍वरले गर्नुभएको बोलावट पनि स्विकार्दैनस्, वा तँ आमाबुबाको छेउमा रहन, तिनीहरूलाई खुसी दिन, तिनीहरूलाई अन्तिम दिनहरूमा रमाउन दिन, र तिनीहरूको मायाको गुन तिर्नको निम्ति आफ्ना कर्तव्यहरू निभाउन ढिलाइ गर्छस् वा त्यो अवसर गुमाउँछस् भने, परमेश्‍वरले तँलाई मानवता वा विवेकबिनाको चिज भनेर भन्नुहुनेछ। तँ सृष्टि गरिएको प्राणी होइनस्, र उहाँले तँलाई चिन्नुहुनेछैन।

आमाबुबाका अपेक्षाहरू सम्हाल्ने सम्बन्धमा, कस्ता सिद्धान्तहरू पछ्याउनुपर्छ र कस्ता बोझहरू त्याग्नुपर्छ भन्ने कुरा के अब प्रस्ट छ? (प्रस्ट छ।) त्यसोभए, मानिसहरूले बोक्ने बोझहरू ठ्याक्कै के-के हुन्? तिनीहरूले आफ्ना आमाबुबाका कुरा सुन्नैपर्छ र आमाबुबालाई राम्रो जीवन जिउन दिनैपर्छ; तिनीहरूका आमाबुबाले गर्ने सबथोक तिनीहरूकै राम्रोको लागि हो; र कर्तव्यनिष्ठ सन्तान हुनको लागि तिनीहरूले आफ्ना आमाबुबाले जे भन्छन् त्यो गर्नैपर्छ। साथै, वयस्क व्यक्तिको रूपमा, तिनीहरूले आफ्ना आमाबुबाको लागि काम गर्ने, आमाबुबाको मायाको ऋण तिर्ने, उनीहरूप्रति कर्तव्यनिष्ठ हुने, उनीहरूलाई साथ दिने, उदास वा दुखित नबनाउने, निराश नपार्ने, र उनीहरूको दुःख कम गर्न वा पूर्ण रूपमा हटाउन सबथोक गर्ने गर्नैपर्छ। यदि तँ यो कुरा पूरा गर्न सक्दैनस् भने, तँ बैगुनी र अनुत्तरदायी होस्, तँ दैवी प्रतिशोध र अरूको तिरस्कार भोग्न लायक छस्, र तँ खराब व्यक्ति होस्। के यी तेरा बोझहरू होइनन् र? (हुन्।) यी कुराहरू मान्छेका बोझहरू भएकाले, मानिसहरूले सत्यता स्विकारेर उचित रूपमा यी कुराहरू सामना गर्नुपर्छ। सत्यता स्विकारेर मात्र यी बोझ र गलत सोच तथा दृष्टिकोणहरू त्याग्न र बदल्न सकिन्छ। यदि तँ सत्यता स्विकार्दैनस् भने, के तेरो लागि अर्को मार्ग हुन्छ? (हुँदैन।) यसर्थ, चाहे त्यो परिवारको बोझ त्याग्ने होस् वा देहको, त्यो सबैको लागि सुरुमा सही सोच तथा दृष्टिकोणहरू अनि सत्यता स्विकार्नुपर्छ। जब तैँले सत्यता स्विकार्न सुरु गर्छस्, तब तँभित्रका यी गलत सोच तथा दृष्टिकोणहरू बिस्तारै भत्किने, खुट्टिने र बुझिनेछन्, र बिस्तारै ती नकारिनेछन्। यी गलत सोच तथा दृष्टिकोणहरूलाई भत्काउने, खुट्ट्याउने, अनि त्याग्ने र इन्कार्ने क्रममा, तैँले बिस्तारै यी मामलाहरूप्रतिको तेरो मनोवृत्ति र हेराइ परिवर्तन गर्नेछस्। तेरो मानव विवेक र भावनाबाट आउने ती सोचहरू बिस्तारै कमजोर हुनेछन्; त्यसउप्रान्त तिनले तँलाई समस्या दिन वा तेरो मनमस्तिष्कको गहिराइमा तँलाई बाँध्न, तेरो जीवन नियन्त्रित वा प्रभावित पार्न, वा तेरो कर्तव्यपालनमा हस्तक्षेप गर्न छाड्नेछन्। उदाहरणको लागि, यदि तैँले सही सोच तथा दृष्टिकोणहरू अनि सत्यताको यो पक्ष स्विकारेको छस् भने, जब तैँले आफ्ना आमाबुबाको मृत्युको समाचार सुन्छस्, तब उनीहरूको निम्ति आँसु मात्र झार्नेछस्, तर यतिका वर्षसम्म तँलाई हुर्काउनमा उनीहरूले देखाएको मायाको ऋण आफूले नतिरेको, उनीहरूलाई ज्यादै दुःख दिएको, उनीहरूलाई अलिकति पनि त्यसको परिपूर्ति नगरेको, वा उनीहरूलाई राम्रो जीवन जिउन नदिएकोबारे तैँले केही पनि सोच्‍नेछैनस्। तैँले यी कुराहरूको लागि आफूलाई दोष दिन छोडिसकेको हुनेछस्—बरु, तैँले सामान्य मानव भावनाका जरुरतहरूबाट निस्कने सामान्य अभिव्यक्तिहरू प्रस्तुत गर्नेछस्; तैँले आँसु झार्नेछस् र त्यसपछि उनीहरूप्रतिको थोरै तड्पन अनुभव गर्नेछस्। परिस्थितिहरू चाँडै नै स्वाभाविक र सामान्य बन्नेछन्, र तँ चाँडै सामान्य जीवनमा फर्किनेछस् र कर्तव्यहरू निर्वाह गर्नेछस्; तँ यस मामलाद्वारा समस्यामा पर्नेछैनस्। तर यदि तैँले यी सत्यताहरू स्विकार्दैनस् भने, जब तैँले तेरा आमाबुबाको मृत्युको खबर सुन्छस्, तब तँ अनवरत रूपमा रुनेछस्। तँलाई उनीहरूप्रति दुःखी महसुस हुनेछ किनकि तेरा आमाबुबाको पूरै जिन्दगी सहज थिएन र उनीहरूले तँजस्तो अनुत्तरदायी सन्तान हुर्काए; उनीहरू बिरामी हुँदा तँ उनीहरूको नजिक भइनस्, र उनीहरूको मृत्यु हुँदा तैँले उनीहरूको अन्त्येष्टिमा बिलौना गर्ने वा जूठो बार्ने गरिनस्; तैँले उनीहरूलाई निराश तुल्याइस् र राम्रो जीवन जिउन दिइनस्। तँ लामो समयसम्म यो दोषी भावना बोकेर जिउनेछस्, र त्यसबारे सोच्दा तँ रुनेछस् र हृदयमा कताकता दुखाइ महसुस गर्नेछस्। जबजब तैँले त्यससँग सम्बन्धित परिस्थितिहरू वा मानिस, घटना र वस्तुहरू सामना गर्छस्, तबतब तैँले भावुक प्रतिक्रिया जनाउनेछस्; यो दोषी भावना तेरो बाँकी जीवनभर तँसँगै रहनसमेत सक्छ। अनि, यसको कारण के हो? त्यो के हो भने, तैँले सत्यता वा सही सोच तथा दृष्टिकोणहरूलाई कहिल्यै तेरो जीवनको रूपमा स्विकारिनस्; तेरा पुराना सोच तथा दृष्टिकोणहरू तँमाथि निरन्तर हाबी भएका छन्, र तिनले तेरो जीवन प्रभावित पारेका छन्। त्यसैले, तैँले तेरो बाँकी जीवन तेरा आमाबुबाको मृत्युको पीडामा बिताउनेछस्। यो अविरल दुःखले थोरै दैहिक असहजताभन्दा ठूला परिणामहरू निम्त्याउनेछ; त्यसले तेरो जीवन, कर्तव्यपालनप्रतिको तेरो मनोवृत्ति, मण्डलीको कामप्रतिको तेरो मनोवृत्ति, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति, साथै कुनै पनि व्यक्तिप्रतिको वा तेरो प्राणसँग सम्बन्धित मामलाप्रतिको तेरो मनोवृत्तिलाई असर पार्नेछ। तँ अझ बढी मामलाहरूप्रति निराश र निरुत्साहित, आशाहीन र निष्क्रिय बन्न सक्छस्, र तैँले जीवनप्रतिको आस्था अनि कुनै पनि कुराप्रतिको उत्साह वा उत्प्रेरणा, आदि इत्यादिसमेत गुमाउन सक्छस्। समयक्रममा, त्यसको असर तेरो सामान्य दैनिक जीवनमा मात्र सीमित हुनेछैन; त्यसले कर्तव्यपालनप्रतिको तेरो मनोवृत्ति र जीवनमा तैँले लिने मार्गलाई पनि असर पार्नेछ। यो एकदमै खतरनाक कुरा हो। यो खतराको परिणामस्वरूप तैँले सृष्टि गरिएको प्राणीको रूपमा पर्याप्त मात्रामा कर्तव्य निभाउन नसक्‍ने हुन सक्छ, र तैँले बीचैमा कर्तव्यपालन छोड्न वा आफूले निभाउने कर्तव्यहरूप्रति प्रतिरोधी मुड र मनोवृत्ति राख्नसमेत सक्नेछस्। छोटकरीमा भन्‍नुपर्दा, समयसँगै यस्तो परिस्थिति अपरिहार्य रूपमा खराब बन्नेछ र यसले तेरो मुड, भावना, र मानसिकता घातक दिशातिर अगाडि बढाउनेछ। कुरो बुझिस्? (बुझेँ।) आजका यी विषयहरूको सङ्गतिले, एक हिसाबमा तँलाई सही सोच र दृष्टिकोणहरू स्थापित गर् भन्छ, जसको स्रोत यी मामलाहरूकै सारमा आधारित हुन्छ। ती कुराका जड र सार त्यस्तै भएकाले, मानिसहरूले तिनलाई चिन्नुपर्छ र तिनीहरू ती प्रकटीकरणहरूद्वारा वा भावना र उत्तेजनाबाट आउने सोच र दृष्टिकोणहरूद्वारा भ्रमित हुनु हुँदैन। यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, यसो गरेमा मात्र मानिसहरू घुमाउरो बाटो प्रयोग गर्न वा विचलनमा पर्नबाट जोगिन सक्छन्, र यसको साटो तिनीहरू परमेश्‍वरद्वारा शासित र योजनाबद्ध गरिएको परिवेशमा, जस्तो आइपर्छ त्यही रूपमा जीवन जिउनेछन्। सारांशमा भन्नुपर्दा, यी सही सोच र दृष्टिकोणहरू स्विकारेर अनि तिनको मार्गदर्शनमा हिँडेर मात्र मानिसहरूले यी पारिवारिक बोझहरू फाल्न, यी बोझहरू त्याग्न, र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्। यसो गरेर, व्यक्तिले निरन्तर उत्तेजना, भावना वा विवेकका असरहरूद्वारा निर्देशित नभई, अझ बढी स्वतन्त्र र निर्बाध रूपमा, शान्ति र खुसीसाथ जीवन जिउन सक्छ। यति धेरै छलफल गरिसकेपछि, के तैँले अब आमाबुबाका अपेक्षाहरूले सिर्जना गर्ने बोझहरूबारे केही बुझाइ प्राप्त गरेको छस्? (हजुर।) अब तैँले केही शुद्ध बुझाइ प्राप्त गरेकोले, के तेरो आत्माले अझ बढी आनन्दित र मुक्त अनुभूति गर्दैन र? (गर्छ।) जब तँसित वास्तविक बुझाइ, अनि वास्तविक स्वीकार र समर्पण हुन्छ, तब तेरो आत्मा मुक्त हुनेछ। यदि तँ प्रतिरोध र अस्वीकार गरिरहन्छस्, वा यी सत्यतालाई सिद्धान्तको रूपमा मात्र लिन्छस्, र यी मामलाहरूलाई तथ्यहरूको आधारमा हेर्दैनस् भने, तेरो लागि त्याग्ने काम गाह्रो हुनेछ। तैँले यी मामलाहरू सम्हाल्न देहका सोच र भावनाहरूका योजनाअनुसार मात्र कार्य गर्न सक्नेछस्; अन्त्यमा, तँ यिनै भावनाहरूको जालोमा जिउनेछस्, जहाँ पीडा र दुःख मात्र हुन्छ, र कसैले पनि तँलाई मुक्ति दिन सक्नेछैन। यो भावनात्मक जालोमा अल्झिएका यी मामलाहरू सामना गर्दा, मानिसहरूले त्यसबाट निकास पाउँदैनन्। तैँले सत्यता स्विकारेर मात्र भावनाका उल्झन र बन्धनहरूबाट मुक्ति पाउन सक्छस्, होइन र? (हो।)

आफ्ना सन्तानको अध्ययन र करियर रोजाइबारेका आमाबुबाका विविध अपेक्षा र हेराइका अलावा विवाहबारे पनि तिनीहरूसित विविध अपेक्षाहरू हुन्छन्, हुँदैनन् र? केही यस्ता अपेक्षाहरू के-के हुन्? ल भन् त। (सामान्यतया, आमाबुबाले छोरीलाई भविष्यमा उसको श्रीमान कम्तीमा धनी, घर र गाडी भएको, र उसको हेरचाह गर्न सक्ने हुनैपर्छ भनेर भन्नेछन्। मतलब, ऊ तिनीहरूकी छोरीको भौतिक चाहनाहरू पूरा गर्न सक्ने र जिम्मेवारीबोध भएको हुनुपर्छ। यी कुराहरू जोडी छान्ने मापदण्डहरू हुन्।) आमाबुबाले भन्ने कतिपय कुराहरू तिनीहरूका आफ्नै अनुभवबाट आउँछन्, र तिनीहरूले मनमा तेरो हितबारे सोचे पनि, त्यसमा अझै केही समस्याहरू हुन्छन्। तेरो विवाहप्रति अपेक्षाहरू राख्‍ने सम्बन्धमा, आमाबुबाका पनि आफ्नै राय र रूचिहरू हुन्छन्। तिनीहरू आफ्ना सन्तानले त्यस्तो जोडी खोजून् भन्ने अपेक्षा गर्छन्, जोसँग कम्तीमा पनि पैसा, हैसियत र क्षमता होस्, र जो शक्तिशाली होस् ताकि घरभन्दा बाहिर ऊ अरूको दबाबमा नपरोस्। अरूले तँलाई हेपेमा, यो व्यक्ति तिनीहरूविरुद्ध उभिन र तेरो रक्षा गर्न सक्ने हुनैपर्छ। तैँले यसो भन्‍न सक्छस्, “मलाई मतलब छैन। म त्यस्तो भौतिकवादी व्यक्ति होइन। म त मलाई प्रेम गर्ने र मैले पनि प्रेम गर्ने व्यक्ति खोज्न चाहन्छु।” यसको जवाफमा, तेरा आमाबुबाले भन्छन्, “तँ किन यस्तो मूर्ख भएको? किन यति अबुझ भएको? तँ सानै र अनुभवहीन छस्, र जीवनमा आइपर्ने कठिनाइहरू बुझ्दैनस्। के तैँले कहिल्यै ‘गरिबलाई त सबै कुराले हेप्छ’ भन्ने भनाइ सुनेको छस्? जीवनमा तँलाई जे कुराको लागि पनि पैसा नै चाहिन्छ; के तँलाई बिनापैसा तैँले राम्रो जीवन जिउनेछस् भन्ने लाग्छ? तैँले धनी र सक्षम व्यक्ति खोज्नुपर्छ।” तैँले जवाफ दिन्छस्, “तर धनी र सक्षम मानिसहरू पनि भरपर्दो हुँदैनन्।” तेरा आमाबुबाले जवाफ दिन्छन्, “तिनीहरू भरपर्दो नभए पनि तैँले सुरुमा आफ्ना आधारभूत आवश्यकताहरू पूरा गर्नुपर्छ। तैँले जे चाहन्छस् त्यही खान र लाउन पाउनेछस्, र तैँले राम्रो खान र लाउन पाउनेछस्, यो कुरामा सबैले डाहा गर्नेछन्।” तैँले यस्तो जवाफ दिन्छस्, “तर मेरो आत्मा खुसी हुनेछैन।” यसमा तेरा आमाबुबाले यसो भन्छन्, “आत्मा के हो र? त्यो कहाँ हुन्छ? तेरो आत्मा खुसी नभएर के भो त? जबसम्म तँलाई शारीरिक सहजता हुन्छ, तबसम्‍म अरू कुराले केही फरक पर्दैन!” कतिपय मानिसहरू यस्ता पनि छन्, जो वर्तमान जीवन परिस्थितिको आधारमा, एकल नै रहन चाहन्छन्। तिनीहरू निकै पाका भए पनि डेट गर्न चाहँदैनन्, वैवाहिक जीवनमा प्रवेश गर्नु त झन् परको कुरा। यो कुराले आमाबुबालाई चिन्तित तुल्याउँछ, त्यसैले उनीहरू तिनीहरूलाई विवाह गर्न आग्रह दिइरहन्छन्। उनीहरू तिनीहरूलाई ब्लाइन्ड डेटमार्फत सम्भावित जोडी चिनाउँछन्। उनीहरू आफ्ना सन्तानको विवाह गराउन तिनीहरूसित राम्रो जोडी मिल्ने र सम्मानयोग्य व्यक्ति चाँडो खोज्न सम्भव भएका सबथोक गर्छन्; तिनीहरूको जोडी राम्रो नमिले पनि कम्तीमा तिनीहरूको योग्यताचाहिँ राम्रो हुनुपर्छ, जस्तै विश्‍वविद्यालय उतीर्ण, स्नातकोत्तर वा विद्यावारिधि गरेको, वा विदेशमा अध्ययन गरेको। कतिपय मानिसहरू आफ्ना आमाबुबाको गनगन सहन सक्दैनन्। सुरुमा, तिनीहरू आफू एकल भएको र आफ्नो मात्र ख्याल राख्नु परेकोमा खुसी मान्छन्। विशेषगरी परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि तिनीहरू कर्तव्यपालनमा हरदिन निकै व्यस्त हुन्छन् र तिनीहरूलाई यी कुराहरूबारे सोच्ने समय नै हुँदैन, त्यसैले तिनीहरू डेट जाँदैनन् र भविष्यमा पनि विवाह गर्नेछैनन्। तर तिनीहरू आमाबुबाको सूक्ष्म जाँचबाट बच्‍न सक्दैनन्। तिनीहरूका आमाबुबाले असहमति जनाउँछन्, तिनीहरूलाई सधैँ आदेश र दबाब दिइरहन्छन्। उनीहरूले आफ्ना सन्तानलाई देख्नेबित्तिकै गनगन गर्न थाल्छन्: “के तँ कसैसित डेट गइरहेको छैनस्? के तैँले कसैलाई मन पराएको छैनस्? उसलाई चाँडो घर लिएर आइज ताकि हामीले ऊ तेरो लागि ठिक छ छैन जाँच्न सकौँ। यदि ऊ सुहाउँदो छ भने खुरुक्क बिहे गरिहाल्; तेरो उमेर ढल्किसक्यो! महिलाहरू तीस पुगेपछि विवाह गर्दैनन् र पुरुषहरू पैँतिस पुगेपछि जोडी खोज्दैनन्। तँ के गर्न खोज्दै छस्, संसार उल्टो पार्न खोज्दै छस्? बिहे गरिनस् भने, बुढेसकालमा तेरो हेरचाह कसले गर्नेछ?” आमाबुबाहरू सधैँ चिन्ता लिन्छन् र यही कुरामा लागिरहन्छन्, तैँले यो वा त्यो खालको व्यक्ति खोज् भन्‍ने चाहन्छन्, र तँलाई जोडी खोजेर बिहे गर्न दबाब दिन्छन्। तर विवाह गरेपछि पनि तेरा आमाबुबाले तँलाई कर लगाइरहन्छन्: “मेरो उमेर छँदै एउटा बच्चा जन्माइहाल्। म उसलाई हेरिदिऊँला।” तैँले भन्छस्, “तपाईंले मेरा सन्तान हेरिदिनु पर्दैन। चिन्ता नगर्नूस्।” जवाफमा उनीहरूले यसो भन्छन्, “‘चिन्ता नगर्नूस्’ भनेर के भन्न खोजेको? चाँडो एउटा बच्चा जन्माइहाल्! जन्मेपछि उसको हेरचाह म गर्नेछु। ऊ अलि ठूलो भएपछि तैँले हेर्दा हुन्छ।” आमाबुबाले सन्तानप्रति जे-जस्ता अपेक्षाहरू राखे पनि—आमाबुबाको मनोवृत्ति जे-जस्तो भए पनि वा यी अपेक्षाहरू सही भए नि नभए नि—सन्तानको लागि त्यो सधैँ बोझ नै हुन्छ। यदि तिनीहरूले आमाबुबाका कुरा सुन्ने गर्छन् भने, तिनीहरूले असहज र बेखुसी महसुस गर्नेछन्। यदि तिनीहरू आमाबुबाका कुरा सुन्दैनन् भने, तिनीहरूको विवेकले घोच्नेछ: “मेरा आमाबुबा गलत हुनुहुन्न। उहाँहरू धेरै पाका भइसक्नुभो र मैले विवाह गरेको र बच्चाबच्ची जन्माएको हेर्न पाउनुभएको छैन। उहाँहरू दुःखी महसुस गर्नुहुन्छ, त्यसैले मलाई विवाह गर्न र सन्तान जन्माउन आग्रह गर्नुहुन्छ। यो पनि उहाँहरूको जिम्मेवारी नै हो।” त्यसैले, यस मामलामा आमाबुबाका अपेक्षाहरू सम्हाल्ने सम्बन्धमा, मानिसहरूलाई भित्री रूपमा कताकता यो एउटा बोझ हो भन्ने सधैँ लागिरहन्छ। तिनीहरूले उनीहरूको कुरा सुने नि नसुने नि, यो गलत देखिन्छ, र जे गरे पनि तिनीहरूलाई आमाबुबाका आदेश वा चाहनाहरू पूरा नगर्नु भनेको अति अपमानजनक र अनैतिक कुरा हो भन्ने अनुभूति हुन्छ। यो तिनीहरूको विवेक घोच्‍ने मामला हो। कतिपय आमाबुबाहरू सन्तानको जीवनमा समेत हस्तक्षेप गर्छन्: “चाँडो विवाह गरेर सन्तान जन्माइहाल्। मलाई ठूलो, तन्दुरुस्त नाति जन्माइदे।” यसरी तिनीहरू बच्चाको लैङ्गिकतामा समेत हस्तक्षेप गर्ने कोसिस गर्छन्। कतिपय आमाबुबा यसो पनि भन्छन्, “तेरो पहिल्यै एउटी छोरी छे, चाँडो मलाई एउटा नाति जन्माइदे, मलाई नाति र नातिनी दुवै चाहिन्छ। तेरो जाहान र तँ दिनभर परमेश्‍वरमा विश्‍वास गर्ने र कर्तव्य निभाउने काममै व्यस्त हुन्छस्। तैँले गर्नुपर्ने काम गरिरहेको छैनस्; सन्तान पाउनु ठूलो कुरा हो। तँलाई ‘तीनवटा सन्तानीय अभक्तिमध्ये उत्तराधिकारी नजन्माउनु सबभन्दा खराब हो’ भन्ने कुरा थाहा छैन? के तँलाई एउटी छोरी पाएर पुग्छ जस्तो लाग्छ? तैँले चाँडो एउटा नाति जन्माउनु बेस हुन्छ! तँ हाम्रो परिवारको एक्लो सन्तान होस्; यदि तैँले मेरो लागि नाति नजन्माउने हो भने, के हाम्रो परिवारको वंश समाप्त हुँदैन र?” अनि, तैँले मनन् गर्छस्, “ठिक हो, यदि परिवारको वंश मबाट समाप्त भयो भने, के मैले पुर्खाहरूलाई निराश तुल्याइरहेको हुनेछैन र?” यसरी, विवाह नगर्नु गलत हुन्छ, अनि विवाह गर्ने तर सन्तान नजन्माउने गर्नु पनि गलत हुन्छ; तर एउटी छोरी मात्र जन्माएर पनि पुग्दैन, तैँले छोरा पनि जन्माउनैपर्छ। कतिपय मानिसहरूले सुरुमा छोरा जन्माउँछन्, तर तिनीहरूका आमाबुबाले यसो भन्छन्, “एउटाले पुग्दैन। केही भइहाल्यो भने के गर्ने? अर्को एउटा जन्मा ताकि तिनीहरू एकअर्काको साथी बन्न सक्छन्।” सन्तानको लागि आमाबुबाको वचन नै कानुन हो र उनीहरू पूर्णतया अनुचित हुन सक्छन् र सबभन्दा टेढो तर्क व्यक्त गर्न सक्छन्—उनीहरूका सन्तान तिनलाई कसरी सम्हाल्ने भनेर अन्योलमा हुन्छन्। आमाबुबाहरू सन्तानको जीवन, काम, विवाह, र विविध कुराहरूप्रतिको तिनीहरूको मनोवृत्तिमाथि हस्तक्षेप र आलोचना गर्छन्। सन्तानले आफ्नो रिस दबाउन मात्र सक्छन्। तिनीहरू आमाबुबाबाट लुक्न वा भाग्न सक्दैनन्। तिनीहरूले आमाबुबालाई गाली गर्न वा शिक्षा दिन सक्दैनन्—त्यसोभए तिनीहरूले के गर्न सक्छन् त? तिनीहरू त्यो सहन्छन्, उनीहरूलाई सकेसम्म कम भेट्ने प्रयास गर्छन्, र भेट्नै परे पनि यी मामलाहरू उठाउँदैनन्। यदि यी मामलाहरूबारे कुरा उठिहालेमा, तिनीहरू तुरुन्तै त्यो कुरा छाडेर कतै गएर लुक्छन्। तर कतिपय त्यस्ता मानिसहरू हुन्छन्, जो आफ्ना आमाबुबाका अपेक्षाहरू पूरा गर्न र उनीहरूलाई निराश नपार्न, आमाबुबाले भनेका कुराहरूमा सहमत हुन्छन्। तँ हिचकिचाउँदै भए पनि डेटिङ् जान्छस्, विवाह गर्छस्, र सन्तान जन्माउँछस्। तर एउटा मात्र बच्चा भएर हुँदैन; तैँले धेरै नै जन्माउनुपर्छ। तेरा आमाबुबाले भनेका कुराहरू पूरा गर्न र उनीहरूलाई खुसी र आनन्द दिन तँ यो काम गर्छस्। तैँले आमाबुबाका चाहनाहरू पूरा गर्न सके नि नसके नि, उनीहरूले गर्नू भनी दबाब दिने कुराहरू जुनसुकै बच्चाको लागि समस्याजनक हुन्छ। तेरा आमाबुबा कानुनविपरीत केही पनि गरिरहेका हुँदैनन्, त्यसैले तैँले उनीहरूको आलोचना गर्न, त्यसबारे अरू कसैसित कुरा गर्न, वा उनीहरूसित बहस गर्न पनि मिल्दैन। यो प्रक्रिया चलिरहँदा, उक्त मामला तेरो बोझ बन्छ। तँलाई सधैँ के लाग्छ भने, तेरा आमाबुबाले विवाह र गर्न र सन्तान जन्माउन दिएको दबाब पूरा गर्न नसकुन्जेल, तैँले तेरा आमाबुबा र पुर्खाहरूलाई प्रस्ट विवेकद्वारा सामना गर्न सक्नेछैनस्। यदि तैँले आमाबुबाका कुराहरू पूरा गरेको छैनस् भने—अर्थात्, डेट गएको, विवाह गरेको, र उनीहरूले भनेझैँ सन्तान जन्माएर वंश निरन्तरता दिएको छैनस् भने—तँलाई भित्री रूपमा दबाब महसुस हुनेछ। तेरा आमाबुबाले यी मामलाहरूमा हस्तक्षेप नगर्ने, र तँलाई परिस्थिति जस्तो आइपर्छ त्यस्तै रूपमा सामना गर्ने स्वतन्त्रता दिने भनेर भने मात्र तँ अलि तनावरहित हुन सक्छस्। तर तेरा नातेदार, साथीसँगी, सहपाठी, सहकर्मी, र अरू सबैले तेरो निन्दा गर्छन् र तेरो पिठ्युँपछाडि तेरो बारे कुरा काट्छन् भने, त्यो पनि तेरो लागि बोझ नै हुन्छ। तँ २५ वर्ष पुगेर अविवाहित हुँदा, तँलाई त्यो खासै महत्त्वपूर्ण हो जस्तो लाग्दैन, तर जब तेरो उमेर ३० पुग्छ, तँलाई त्यो खासै राम्रो होइन भन्ने अनुभूति हुन थाल्छ, त्यसैले तँ यी नातेदार र परिवारका सदस्यहरूबाट पन्छिन्छस्, र यो कुरा उठाउँदैनस्। अनि यदि तँ ३५ वर्ष पुगेर पनि अविवाहित नै छस् भने, मानिसहरूले यसो भन्नेछन्, “तैँले किन बिहे नगरेको? के तँलाई केही समस्या छ? तँ अलि विचित्र छस्, होइन र?” यदि तँ विवाहित होस् तर सन्तान चाहँदैनस् भने, तिनीहरूले यसो भन्नेछन्, “तिमीले बिहे गरेपछि सन्तान किन नजन्माएको? अरू मानिसहरू बिहे गरेर एउटी छोरी र त्यसपछि छोरा जन्माउँछन्, वा पहिला छोरा र त्यसपछि छोरी जन्माउँछन्। तँ किन सन्तान चाहँदैनस्? तँलाई के भएको छ? के तँसित कुनै मानव भावना छैन? के तँ सामान्य व्यक्ति त होस्?” चाहे त्यो आमाबुबाबाट आओस् वा समाजबाट, यी मामलाहरू फरकफरक परिवेश र पृष्ठभूमिमा तेरो लागि बोझ बन्छन्। विशेषगरी तेरो कुनै खास उमेरमा तँलाई आफूले केही गल्ती गरेँ भन्ने महसुस हुन्छ। उदाहरणको लागि, यदि तेरो उमेर तीस र पचासबीच छ र तँ अझै अविवाहित छस् भने, तँ मानिसहरूलाई भेट्ने आँट गर्दैनस्। तिनीहरू भन्छन्, “त्यो महिलाले जीवनभर कहिल्यै बिहे गरिन, त्यो बुढीकन्या हो, उसलाई कसैले चाहँदैन र बिहे गर्दैन।” “त्यो केटोले जीवनभर कहिल्यै बुढी पाएन।” “तिनीहरूले किन बिहे गरेनन्?” “के थाहा, तिनीहरूमै केही गडबडी हुन सक्छ।” तैँले राम्ररी सोच्छस्, “ममा केही गडबडी छैन। तर मैले किन बिहे गरिनँ? मैले आमाबुबाको कुरा सुनिनँ र उहाँहरूलाई निराश तुल्याइरहेको छु।” मानिसहरू भन्छन्, “त्यो केटोले बिहे गरेको छैन, त्यो केटीले बिहे गरेकी छैन। हेर त तिनीहरूका आमाबुबा अहिले कति दयनीय छन्। अरू आमाबुबाले नातिनातिना र पनातिपनातिना पाइसके, तर तिनीहरू भने अझै एक्लै छन्। के तिनीहरूका पुर्खाले केही खराब काम गरेको हुनुपर्छ? के यसले परिवार अपुताली हुँदैन र? तिनीहरूको वंश धान्ने कुनै सन्तान हुनेछैन। त्यो परिवारलाई के भएको हो?” अहिले तेरो मनोवृत्ति जति अडिग भए पनि, जबसम्म तँ मरणशील र साधारण व्यक्ति हुन्छस् र तँसित यो मामला बुझ्न पर्याप्त सत्यता हुँदैन, ढिलोचाँडो त्यसले तँलाई समस्या र बाधा दिनेछ। आजकल, समाजमा ३४/३५ वर्षका अविवाहित मानिसहरू हुन्छन्, जुन ठूलो कुरा होइन। तर ३५/३६ र त्योमाथिका अविवाहित मानिसहरू कम हुन्छन्। अविवाहित मानिसहरूको अहिलेको उमेर समूहको आधारमा, यदि तँ ३५ मूनि छस् भने, सायद तैँले यस्तो सोच्छस्, “विवाहित नहुनु सामान्य कुरा हो, त्यसबारे कसैले केही भन्दैन। यदि मेरा आमाबुबाले केही भन्न चाहन्छन् भने, भनून्। म डराउँदिनँ।” तर तँ ३५ कटेपछि, मानिसहरूले तँलाई फरक नजरले हेर्नेछन्। तिनीहरूले तँ एक्ली, अविवाहित, वा सबैले छोडेकी महिला होस् भनेर भन्नेछन्, र तैँले त्यो सहन सक्नेछैनस्। यो कुरा तेरो बोझ बन्नेछ। यदि यो कुराबारे तँसित प्रस्ट बुझाइ वा अभ्यासका निश्‍चित सिद्धान्तहरू छैनन् भने, ढिलोचाँडो यो तेरो लागि चिन्ताको विषय बन्नेछ, वा यसले कुनै विशेष समयमा तेरो जीवनमा अवरोध पुर्‍याउनेछ। के यसमा मानिसहरूले बुझ्नुपर्ने केही सत्यताहरू छैनन् र? (छन्।)

विवाह गर्ने र सन्तान जन्माउने सन्दर्भमा, यी मामलाहरूले ल्याउने बोझहरू त्याग्न मानिसले के-कस्ता सत्यताहरू बुझ्नुपर्छ? सर्वप्रथम, के वैवाहिक जोडीको छनोट मानव इच्छाले तय गर्छ? (गर्दैन।) तैँले गएर आफूले चाहेको जस्तोसुकै व्यक्ति भेट्न सक्छस् भन्‍ने हुँदैन, र परमेश्‍वरले तेरो लागि ठ्याक्कै तैँले चाहेजस्तै व्यक्ति तयार गर्नुहुनेछ भन्‍ने पनि निश्‍चय नै हुँदैन। बरु के हुन्छ भने, तेरो वैवाहिक जोडी को हुनेछ भनी परमेश्‍वरले पहिल्यै तोकिसक्नुभएको हुन्छ; त्यो जो हुनुपर्ने हो, त्यही नै हुनेछ। तँ तेरा आमाबुबाका चाहनाले वा तिनीहरूले अगाडि सारेका सर्तहरूले निम्त्याएको हस्तक्षेपद्वारा प्रभावित हुनुपर्दैन। अझ भन्‍ने हो भने, के तेरा आमाबुबाले तँलाई खोज्न लगाएको धनी र उच्च हैसियतवाल व्यक्तिले तेरो भावी धन र हैसियत निर्धारण गर्न सक्छ र? (सक्दैन।) सक्दैन। यस्ता धेरै महिलाहरू छन् जसले धनाढ्य परिवारमा विवाह गरे तर अन्त्यमा तिनीहरू घरबाट निकालिए र बाटोमा फोहोर टिप्ने अवस्थामा पुगे। धन र प्रतिष्ठाको लागि निरन्तर सामाजिक सिँढी चढ्न खोजेर अन्त्यमा तिनीहरू बर्बाद हुन्छन्, र तिनीहरूको छवि नष्ट भई साधारण मानिसहरूको भन्दा खराब बन्छ। तिनीहरू थोत्रो बोरा बोकेर डुल्दै प्लास्टिक र क्यानका बोत्तल सङ्कलन गर्दै दिन बिताउँछन्, र ती बोत्तलहरू थोरै पैसामा बेच्छन्, र अन्त्यमा एउटा क्याफेमा गएर एक कप कफी किनेर पिउँछन् ताकि तिनीहरूले आफू अझै पनि धनी व्यक्तिकै जीवन जिइरहेको छु भन्ने महसुस गर्न सकून्। कस्तो दुःखद कुरो! विवाह भनेको जीवनको एउटा महत्त्वपूर्ण घटना हो। आफू कस्ता आमाबुबाबाट जन्मिने भन्‍ने कुरा भाग्‍यमै पूर्वनिर्धारित भएझैँ, विवाह पनि तेरा आमाबुबाका वा परिवारका चाहनामा आधारित हुँदैन, न त त्यो तेरो व्यक्तिगत रुचि र प्राथमिकतामै आधारित हुन्छ; त्यो पूर्णतया परमेश्‍वरको पूर्वनिर्धारणभित्र पर्छ। सही समय आएपछि तैँले सही व्यक्ति भेट्नेछस्; उचित समय आएपछि तैँले आफूसुहाउँदो व्यक्ति भेट्नेछस्। अदृश्य र रहस्यमय संसारका यी सबै बन्दोबस्तहरू परमेश्‍वरको नियन्त्रण र सार्वभौमिकतामा हुन्छन्। यस मामलामा, मानिसहरूले अरूका बन्दोबस्तहरूमा ध्यान दिनु, अरूद्वारा निर्देशित हुनु, वा अरूको चालबाजी र प्रभावमा पर्नु आवश्यक छैन। त्यसैले, विवाहको कुरा आउँदा, तेरा आमाबुबासँग जे-जस्ता अपेक्षाहरू भए पनि, र तँसित जे-जस्ता योजनाहरू भए पनि, तँ न त तेरा आमाबुबाको प्रभावमा न त तेरा आफ्नै योजनाहरूको प्रभावमा पर्नु आवश्यक छ। यो मामला पूर्णतया परमेश्‍वरको वचनमा आधारित हुनुपर्छ। तैँले जोडी खोजिरहेको भए पनि नभए पनि, फरक पर्दैन—तैँले जोडी खोजिरहेकै भए पनि, परमेश्‍वरको वचनअनुसार खोज्नुपर्छ, तेरा आमाबुबाका मापदण्ड वा चाहना र तिनीहरूका अपेक्षाहरूअनुसार होइन। त्यसैले, विवाहको कुरा आउँदा, तेरा आमाबुबाका अपेक्षाहरू तेरो लागि बोझ बन्नु हुँदैन। वैवाहिक जोडी खोज्नु भनेको तेरो आफ्नै बाँकी जीवनको र तेरो जोडीको जिम्मेवारी ग्रहण गर्नु हो; यो परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनु हो। यो तेरा आमाबुबाका मापदण्ड वा अपेक्षाहरू पूरा गर्नु होइन। तैँले जोडी खोज्ने नखोज्ने र तैँले कस्तो जोडी खोज्‍ने भन्ने कुरा तेरा आमाबुबाका अपेक्षाहरूमा आधारित हुनु हुँदैन। यस मामलामा तेरा आमाबुबासँग तँलाई नियन्त्रणमा राख्ने अधिकार छैन; परमेश्‍वरले तिनीहरूलाई सुरुदेखि अन्त्यसम्म तेरो विवाहको बन्दोबस्त गर्ने अधिकार दिनुभएको छैन। यदि तँ विवाहको लागि जोडी खोजिरहेको छस् भने, तैँले परमेश्‍वरका वचनहरूअनुसार नै खोज्नुपर्छ; यदि तँ जोडी नखोज्‍ने विकल्प रोज्छस् भने, त्यो तेरो स्वतन्त्रता हो। तँ यसो भन्छस्: “मेरो पूरै जीवनमा, म आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेको भए पनि नभए पनि, अविवाहित नै रहन रुचाउँछु। म एक्लै हुनु भनेको अति स्वतन्त्र हुनु हो—म चराझैँ पखेटा फरफर पार्दै सजिलै उडिजान सक्छु। मसँग परिवारको बोझ हुँदैन र जहाँ गए पनि म मात्र हुन्छु। यो गज्जब हो! म एक्लै हुन्छु, तर एक्लो महसुस गर्दिनँ। मसित परमेश्‍वर हुनुहुन्छ, उहाँले मलाई साथ दिइरहनुभएको छ; म प्रायजसो एक्लो महसुस गर्दिनँ। कहिलेकाहीँ म सबथोकबाट टाढा होऊँ जस्तो लाग्छ, शरीरलाई चाहिने पनि त्यही हो। केही समय सबथोकबाट टाढिनु नराम्रो कुरा होइन। हरेकपटक मलाई खोक्रो वा एक्लो महसुस हुँदा, म परमेश्‍वरसामु आउनेछु र उहाँसँग अन्तरङ्ग कुराकानी गर्नेछु र उहाँलाई आफ्ना केही कुरा भन्नेछु। म उहाँका वचनहरू पढ्नेछु, भजनहरू सिक्नेछु, जीवन अनुभवहरूसम्बन्धी गवाही भिडियोहरू हेर्नेछु, र परमेश्‍वरको घरका चलचित्रहरू हेर्नेछु। यो गज्जब हुन्छ, र त्यसपछि मलाई कहिल्यै एक्लो महसुस हुँदैन। मलाई पछि एक्लो महसुस होला नहोला त्यसबारे मलाई मतलब छैन। जे भए पनि, म अहिले एक्लो महसुस गर्दिनँ; मेरो वरपर थुप्रै दाजुभाइ-दिदीबहिनीहरू छन् जोसँग म मर्मस्पर्शी कुराकानी गर्न सक्छु। वैवाहिक जोडी खोज्नु अलि कष्टदायक हुन सक्छ। साँच्चिकै राम्रो जीवन जिउन सक्ने सामान्य मानिसहरू धेरै छैनन्, त्यसैले म त्यस्तो व्यक्ति खोज्न चाहँदिनँ। यदि मैले कोही भेटेँ र हामीबीच तालमेल नमिलेर हाम्रो सम्बन्धविच्छेद भयो भने, त्यो सबै झन्झट भोग्नुको के अर्थ हुन्छ र? मैले यो कुरा प्रस्ट बुझिसकेकोले, जोडी नखोज्नु नै राम्रो हुन्छ। यदि विवाह गर्नको लागि कोही खोज्नुको उद्देश्य क्षणिक खुसी र आनन्द मात्र हो, र तेरो सम्बन्धविच्छेद भएरै छोड्छ भने, त्यो झन्झट मात्र हो, र म त्यस्तो झन्झट सहन तयार छैन। सन्तान जन्माउने सन्दर्भमा भन्नुपर्दा, आफू मानवजाति भएको—र उत्तराधिकारी जन्‍माउने साधन मात्र नभएको नाताले—परिवारको वंशलाई निरन्तरता दिनु न त मेरो जिम्मेवारी न त दायित्व नै हो। जसले निरन्तरता दिन चाहन्छ उसले दिँदा हुन्छ। कुनै पनि थर एक व्यक्तिको मात्र अंश होइन।” परिवारको वंश टुट्दैमा के हुन्छ र? के त्यो देहको थरको कुरा मात्र होइन र? प्राणहरूबीच एकअर्कासँग सम्बन्ध हुँदैन; तिनीहरूबीच उत्तराधिकार वा निरन्तरताको कुनै कुरा हुँदैन। सम्पूर्ण मानवजातिको पुर्खा एउटै हो; हरव्यक्ति उक्त पुर्खाकै सन्तति हो, त्यसैले मानवजातिको वंश अन्त्य हुने प्रश्‍नै आउँदैन। कुनै वंशलाई निरन्तरता दिनु तेरो जिम्मेवारी होइन। जीवनमा सही मार्गमा हिँड्नु, स्वतन्त्र र मुक्त जीवन जिउनु, र साँचो सृष्टि गरिएको प्राणी हुनु नै मानिसले पछ्याउनुपर्ने कुराहरू हुन्। मानवजाति जन्माउने मेसिन हुनु तैँले बोक्नुपर्ने बोझ होइन। परिवारको निम्ति सन्तान जन्माउनु वा परिवारको वंशलाई निरन्तरता दिनु पनि तेरो जिम्मेवारी होइन। परमेश्‍वरले तँलाई यो जिम्मेवारी दिनुभएको छैन। जसले सन्तान जन्माउन चाहन्छ उसले जनमाउँदा हुन्छ; जसले आफ्नो वंशलाई निरन्तरता दिन चाहन्छ उसले दिँदा हुन्छ; जो त्यो जिम्मेवारी लिन चाहन्छ उसले लिँदा हुन्छ; तँसँग त्यसको कुनै सम्बन्ध छैन। यदि तँ त्यो जिम्मेवारी लिन इच्छुक छैनस् र त्यो दायित्व पूरा गर्न अनिच्छुक छस् भने, ठिकै छ, त्यो तेरो अधिकारको कुरा हो। के यो उचित होइन र? (हो।) यदि तेरा आमाबुबाले गनगन गरिरहन्छन् भने, तैँले तिनीहरूलाई यसो भन्न सक्छस्: “यदि तपाईंलाई मैले तपाईंहरूको लागि सन्तान जन्माइरहेको र परिवारको वंशलाई निरन्तरता दिइरहेको छैन भनेर नराम्रो लाग्छ भने, अर्को सन्तान जन्माएर उसलाई निरन्तरता दिन लगाउनेबारे सोच्नूस्। जे होस्, यो मेरो चासोको कुरा पनि होइन; तपाईंले त्यसको लागि जसलाई चाहनुहुन्छ उसैलाई खटाउनूस्।” यसो भनेपछि के तेरा आमाबुबासँग जवाफ दिने कुरा केही पनि नहुनेछैन र? छोराछोरीले विवाह गर्ने र सन्तान जन्माउने सन्दर्भमा, आमाबुबाले परमेश्‍वरमा विश्‍वास गरे पनि नगरे पनि, तिनीहरूलाई यो पाको उमेरमा के थाहा हुनुपर्छ भने, व्यक्तिको श्रीसम्पत्ति वा गरिबी, छोराछोरीको सङ्ख्या, र जीवनमा उसको वैवाहिक स्थिति स्वर्गले निर्धारण गर्ने कुरा हुन्; ती सबै पहिल्यै निर्धारित गरिएका हुन्छन्, र ती कसैले निर्धारण गर्न सक्ने कुरा होइनन्। त्यसकारण, यदि आमाबुबाले आफ्ना सन्तानबाट जबरजस्ती यी कुराहरू माग्छन् भने, तिनीहरू निस्सन्देह नै अज्ञानी आमाबुबा हुन्, तिनीहरू मूर्ख र अनभिज्ञ व्यक्तिहरू छन्। मूर्ख र अनभिज्ञ आमाबुबासँग व्यवहार गर्दा, तिनीहरूका कुराहरूलाई हावाजस्तो मानिदे र एउटा कानले सुनेर अर्कोले उडाइदे, कुरो त्यहीँ सकिन्छ। यदि तिनीहरूले अति नै गनगन गरेमा तैँले यसो भन्न सक्छस्, “ठिक छ, म वाचा गर्छु, म भोलि नै बिहे गर्नेछु, पर्सि नै एउटा बच्चा जन्माउनेछु, र त्यसको भोलिपल्ट तपाईंलाई एउटा नाति थमाइदिनेछु। तपाईं के भन्नुहुन्छ?” तिनीहरूको रिस अलि कम गरा र फनक्क फर्केर हिँडिहाल्। के त्यो कुरा सम्हाल्ने सही तरिका यही होइन र? जे भए पनि, तैँले यो मामलालाई राम्रोसित बुझ्नुपर्छ। जहाँसम्म विवाहको कुरा छ, पहिला विवाह परमेश्‍वरले तोक्नुहुन्छ भन्ने कुरालाई थाती राखौँ। यस मामलाप्रति परमेश्‍वरको मनोवृत्ति भनेको मानिसहरूलाई नै छान्ने अधिकार दिने हो। तैँले अविवाहित नै रहन वा वैवाहिक जीवनमा प्रवेश गर्न रोज्न सक्छस्; तैँले दम्पति भएर जीवन जिउन सक्छस्, वा एउटा ठूलै परिवार बनाउने रोज्न सक्छस्। यो तेरो स्वतन्त्रताको कुरा हो। यी निर्णयहरू गर्नुमा तँसित जे आधार भए पनि वा तैँले जे उद्देश्य वा नतिजा हासिल गर्न चाहे पनि, छोटकरीमा भन्नुपर्दा, यो अधिकार तँलाई परमेश्‍वरले दिनुभएको हो; तँसँग रोज्ने अधिकार छ। यदि तँ “म आफ्नो कर्तव्यपालनमा निकै व्यस्त छु, म अझै सानै छु, र विवाह गर्न चाहँदिनँ। म अविवाहित रहन, पूर्णकालीन रूपमा आफूलाई परमेश्‍वरमा अर्पित गर्न, र आफ्ना कर्तव्यहरू राम्ररी निभाउन चाहन्छु। म विवाहको ठूलो मामला पछि सम्हाल्नेछु—जब म पचास वर्षको हुन्छु र मलाई एक्लो महसुस भइरहेको हुन्छ, जब मसँग भन्नुपर्ने धेरै कुरा हुन्छ तर व्यक्त गर्ने ठाउँ हुँदैन, तब म कोही खोज्नेछु” भनेर भन्छस् भने, त्यो पनि ठिक छ, परमेश्‍वरले तँलाई निन्दा गर्नुहुनेछैन। यदि तैँले “मलाई मेरो जवानी सक्किनै लागेको अनुभूति हुन्छ, मैले बाँकी जवानीको सदुपयोग गर्नैपर्छ। मसँग जवानी, सौन्दर्य र चमक हुँदैखेरि साथ र कुराकानीको लागि मैले चाँडो जोडी खोज्नुपर्छ, मलाई प्रिय ठान्‍ने र प्रेम गर्ने, मैले मेरा दिनहरू बिताउन र विवाह गर्न सक्‍ने व्यक्ति खोज्‍नुपर्छ” भनेर भन्छस् भने, यो पनि तेरो अधिकार हो। यसमा एउटा कुराचाहिँ अवश्यै हुन्छ: यदि तँ वैवाहिक जीवनमा प्रवेश गर्ने निर्णय गर्छस् भने, सुरुमा तैँले मण्डलीभित्र के-कस्ता कर्तव्यहरू निभाइरहेको छस्, तँ अगुवा होस् कि सेवक, तँ परमेश्‍वरको घरमा जगेर्नाको लागि छानिएको छस् छैनस्, तैँले महत्त्वपूर्ण काम वा कर्तव्यहरू गरिरहेको छस् छैनस्, तैँले अहिले कस्ता कार्यहरू पाएको छस्, र तेरो वर्तमान परिस्थिति कस्तो छ भनेर तैँले राम्ररी विचार गर्नुपर्छ। यदि तँ वैवाहिक जीवनमा प्रवेश गरिस् भने, के त्यसले तेरो कर्तव्यपालनमा प्रभाव पार्नेछ? के त्यसले त्यसपछि तेरो सत्यता पछ्याइमा पनि प्रभाव पार्नेछ? के त्यसले अगुवा वा सेवकको रूपमा तेरो कामलाई असर गर्नेछ? के त्यसले तैँले मुक्ति प्राप्त गर्ने कुरामा असर गर्नेछ? यी सबै तैँले विचार गर्नुपर्ने प्रश्‍नहरू हुन्। परमेश्‍वरले तँलाई यस्तो अधिकार दिनुभएको भए पनि, तैँले यो अधिकार प्रयोग गर्दा, तैँले आफूले के निर्णय गर्न लागेको छु र यो निर्णयले कस्ता परिणामहरू ल्याउन सक्छन् भनेर राम्रोसित विचार गर्नुपर्छ। जे-जस्ता परिस्थितिहरू आइपर्न सक्‍ने भए पनि, तैँले अरूलाई दोष लगाउनु हुँदैन, न त परमेश्‍वरलाई नै दोष लगाउनु हुन्छ। तैँले आफ्नो निर्णयका परिणामहरूको जिम्मेवारी लिनुपर्छ। कतिपय मानिसहरू भन्छन्: “म विवाह गर्न मात्र होइन, थुप्रै छोराछोरी पनि जन्माउन चाहन्छु। एउटा छोरा जन्मेपछि, एउटी छोरी जन्माउनेछु, र हामी जीवनभर सुखी परिवारको रूपमा जिउनेछौँ, खुसी र सौहार्दपूर्वक एकअर्कालाई साथ दिनेछौँ। मेरो उमेर ढल्केपछि, मेरा छोराछोरी नजिक आएर मेरो हेरचाह गर्नेछन्, र मैले जीवनको परम आनन्द पाउनेछु! कति कति सुन्दर होला त्यो जीवन! जहाँसम्‍म कर्तव्यपालन गर्ने, सत्यता पछ्याउने र मुक्ति पाउने कुरा छ, ती सबै गौण हुन्। म अहिले ती कुराहरूबारे चिन्ता लिन्‍नँ। म पहिला सन्तान जन्माउने कुरो टुङ्ग्याउनेछु।” त्यो पनि तेरो अधिकार हो। तर तेरो निर्णयले अन्त्यमा तँलाई जे-जस्ता परिणामहरू दिए पनि, ती तीतामिठा, अमिलो वा टर्रो जे-जस्ता भए पनि, ती कुरा तँ आफैले बेहोर्नुपर्छ। परमेश्‍वरलगायत कसैले पनि तेरा निर्णयहरूको मूल्य तिर्ने वा जिम्मेवारी लिनेछैन। कुरो बुझिस्? (बुझेँ।) यी मामलाहरू प्रस्टसित वर्णन गरिएका छन्। विवाहको सन्दर्भमा, तैँले आफूले त्याग्नुपर्ने बोझहरू त्याग्नुपर्छ। अविवाहित रहन रोज्नु तेरो स्वतन्त्रता हो, वैवाहिक जीवनमा प्रवेश गर्न रोज्नु पनि तेरो स्वतन्त्रता हो, र थुप्रै सन्तान जन्माउन रोज्नु पनि तेरो स्वतन्त्रता नै हो। तेरो रोजाइ जे भए पनि, त्यो तेरो स्वतन्त्रताको कुरा हो। एकातिर, वैवाहिक जीवनमा प्रवेश गर्नुको अर्थ यो होइन कि तैँले यसरी आमाबुबाको मायाको ऋण तिरेको छस् वा आफ्नो सन्तानीय कर्तव्य पूरा गरेको छस्; अविवाहित रहने निर्णय गर्नुको अर्थ पनि अवश्यै यो होइन कि तैँले तेरा आमाबुबाको अवज्ञा गरिरहेको छस्। अर्कोतिर, वैवाहिक जीवनमा प्रवेश गर्न वा थुप्रै सन्तान जन्माउन रोज्नु पनि न त परमेश्‍वरको आज्ञापालन नगर्नु नै हो न त उहाँको अवज्ञा गर्नु नै हो। यसको लागि तेरो निन्दा गरिनेछैन। अविवाहित रहन रोजेकै कारण परमेश्‍वरले तँलाई अन्त्यमा मुक्ति प्रदान गर्नुहुने पनि होइन। छोटकरीमा भन्‍नुपर्दा, तँ अविवाहित भए पनि, वा तँसित धेरै सन्तान भए पनि, तैँले अन्त्यमा मुक्ति पाउन सक्नेछस् कि छैनस् भन्ने कुरा परमेश्‍वरले यी पक्षहरूको आधारमा निर्धारण गर्नुहुनेछैन। परमेश्‍वरले तेरो वैवाहिक पृष्ठभूमि वा वैवाहिक स्थिति हेर्नुहुन्न; उहाँले त तँ सत्यता पछ्याइरहेको छस् छैनस्, कर्तव्यपालनप्रति तेरो मनोवृत्ति कस्तो छ, तैँले कति सत्यता स्विकारेको र पालना गरेको छस्, र तँ सत्यता सिद्धान्तअनुसार कार्य गर्छस् गर्दैनस् भन्ने कुरा मात्र हेर्नुहुन्छ। अन्त्यमा, परमेश्‍वरले तेरो वैवाहिक स्थितिलाई पनि एकातिर पन्छाउनुहुनेछ, र तैँले मुक्ति प्राप्त गर्नेछस् कि छैनस् भन्‍ने कुरा निर्धारण गर्न तैँले रोजेको जीवन मार्ग, तेरा जिउने सिद्धान्तहरू, र जीवित रहन तैँले प्रयोग गर्ने नियमहरू जाँच्नुहुनेछ। यसमा हामीले उल्लेख गर्नैपर्ने एउटा तथ्य अवश्यै छ। जो अविवाहित वा सम्बन्धविच्छेद भएका छन्, जो वैवाहिक सम्बन्धमा प्रवेश गरेका छैनन् वा त्यसबाट निस्केका छन्, तिनीहरूको लागि एउटा फाइदा छ, त्यो के हो भने, तिनीहरूले विवाहको संरचनाभित्र कसैको लागि वा केही कुराको लागि पनि जिम्मेवार हुनुपर्दैन। तिनीहरूले यी जिम्मेवारी र दायित्वहरू बोक्नुपर्दैन, त्यसैले तिनीहरू तुलनात्मक रूपमा बढी स्वतन्त्र हुन्छन्। तिनीहरूसित बढी समय, बढी ऊर्जा, र केही हदसम्म बढी व्यक्तिगत स्वतन्त्रता हुन्छ। उदाहरणको लागि, वयस्क व्यक्तिको रूपमा, तँ कर्तव्यपालन गर्न बाहिर जाँदा, तँलाई कसैले पनि बन्देज लगाउन सक्दैन—तेरा आमाबुबासँग पनि त्यो अधिकार हुँदैन। तैँले आफै परमेश्‍वरलाई प्रार्थना गर्छस्, उहाँले तेरो लागि बन्दोबस्तहरू गर्नुहुनेछ, र तँ झोला बोकेर निस्कन सक्छस्। तर यदि तँ विवाहित होस् र तेरो परिवार छ भने, तँ त्यति नै मात्रामा स्वतन्त्र हुँदैनस्। तैँले उनीहरूको जिम्मेवारी लिनुपर्छ। सर्वप्रथम, जियाइ अवस्था र आर्थिक स्रोतसाधनको सन्दर्भमा, तैँले उनीहरूलाई कम्तीमा खाना र कपडा प्रदान गर्नुपर्छ, र छोराछोरी साना हुँदा तैँले उनीहरूलाई स्कुल लानुपर्छ। तैँले यी जिम्मेवारीहरू बोक्नैपर्छ। यी परिस्थितिहरूमा, विवाहित मानिसहरू स्वतन्त्र हुँदैनन्, किनभने तिनीहरूसँग आफूले पूरा गर्नैपर्ने सामाजिक र पारिवारिक दायित्वहरू हुन्छन्। अविवाहित र छोराछोरी नभएकाहरूको लागि यो कुरा सजिलो छ। परमेश्‍वरको घरमा कर्तव्यपालन गर्दा तिनीहरू भोकै वा चिसोमा बस्नेछैनन्; तिनीहरूले गाँस र बास पाउनेछन्। तिनीहरूले पारिवारिक जीवनका खाँचोहरूको कारण दौडधुप गरेर पैसा कमाउनुपर्दैन। फरक यही हो। अन्त्यमा, विवाहको सन्दर्भमा, कुरो त्यही हो: तैँले कुनै बोझ बोक्नुपर्दैन। चाहे तेरा आमाबुबाका अपेक्षाहरू होऊन्, समाजका परम्परागत दृष्टिकोणहरू होऊन्, वा तेरा आफ्नै अनावश्यक चाहनाहरू होऊन्, तैँले कुनै बोझ बोक्नुपर्दैन। अविवाहित रहन वा वैवाहिक जीवनमा प्रवेश गर्न रोज्नु तेरो अधिकार हो, र कहिले अविवाहितपन छोड्ने र कहिले वैवाहिक जीवनमा प्रवेश गर्ने भनी निर्णय गर्नु पनि तेरो अधिकार हो। परमेश्‍वरले यस मामलामा कुनै निष्कर्षात्मक निर्णय गर्नुहुन्न। वैवाहिक जीवनमा प्रवेश गरेपछि, तैँले कति सन्तान जन्माउनेछस् भन्ने सन्दर्भमा, यो परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा हो, तर तेरो वास्तविक परिस्थिति र पछ्याइको आधारमा तँ आफैले पनि विकल्पहरू रोज्न सक्छस्। परमेश्‍वरले तँमाथि कुनै नियमहरू थोपर्नुहुनेछैन। मानौँ, तँ लखपति, करोडपति वा अरबपति होस्, र तैँले यसो भन्छस्, “मेरो लागि आठदस जना सन्तान हुनु समस्याको कुरा होइन। धेरै छोराछोरी भएर मेरो कर्तव्यपालन गर्ने ऊर्जामा कमी आउनेछैन।” यदि तँ उक्त झन्झटदेखि डराउँदैनस् भने, छोराछोरी जन्मा; परमेश्‍वरले तेरो निन्दा गर्नुहुनेछैन। विवाहबारेको तेरो मनोवृत्तिको कारण परमेश्‍वरले तेरो मुक्तिबारे उहाँको मनोवृत्ति बदल्नुहुनेछैन। वास्तविकता यही हो। कुरो प्रस्ट भयो? (हजुर।) अर्को पक्ष के हो भने, यदि तँ अहिले अविवाहित रहन रोज्छस् भने, तँ अविवाहित भएकै कारण तैँले उच्चताको भावना राख्नै हुँदैन, र यसो भन्न हुँदैन: “म अविवाहित कुलीन वर्गको सदस्य हुँ र परमेश्‍वरको उपस्थितिमा मुक्तिको प्राथमिकता पाउने मेरो अधिकार छ।” परमेश्‍वरले तँलाई यो विशेषाधिकार दिनुभएको छैन, कुरो बुझिस्? तैँले यसो पनि भन्‍न सक्छस्, “म विवाहित हुँ। के त्यसले मलाई निकृष्ट बनाउँछ?” तँ निकृष्ट छैनस्। तँ अझै पनि भ्रष्ट मानवजातिको एक सदस्य होस्; तँ वैवाहिक जीवनमा प्रवेश गरेको कारण तेरो स्तर घटेको वा तँलाई कुल्चिमिल्ची पारिएको छैन, न त तँ अरूभन्दा बढी भ्रष्ट, मुक्ति पाउन कठिन, वा परमेश्‍वरको हृदयको लागि घातक भएर परमेश्‍वरले तँलाई मुक्ति दिन नचाहनुभएको नै छ। यी सबै मानिसहरूका गलत सोच र दृष्टिकोणहरू हुन्। व्यक्तिको वैवाहिक स्थितिसँग ऊप्रतिको परमेश्‍वरको मनोवृत्तिको कुनै सम्बन्ध हुँदैन, न त कुनै व्यक्तिले अन्त्यमा मुक्ति पाउन सक्छ सक्दैन भन्नेसित नै उसको वैवाहिक स्थितिको कुनै सम्बन्ध हुन्छ। त्यसोभए मुक्ति पाउने कुरा केसँग सम्बन्धित हुन्छ? (यो सत्यता स्विकार्नेप्रति व्यक्तिको मनोवृत्ति के छ भन्‍नेमा आधारित हुन्छ।) ठिक भनिस्, यो सत्यतालाई हेर्ने र स्विकार्नेप्रतिको व्यक्तिको मनोवृत्तिमा, र मानिसहरू र वस्तुहरूलाई हेर्न र आफूलाई उचित व्यवहारमा ढाल्न र कार्य गर्नको लागि परमेश्‍वरका वचनहरूलाई आधारको रूपमा र सत्यतालाई मापदण्डको रूपमा प्रयोग गर्न सक्छन् सक्दैनन् भन्ने कुरामा आधारित हुन्छ। व्यक्तिको अन्तिम परिणाम मापन गर्ने आधार यही हो। अब हामी हाम्रो सङ्गतिको यो बिन्दुमा पुगेकाले, के तँ विवाहको मामलाले ल्याउने बोझलाई आधारभूत रूपमा त्याग्न सक्छस्? (सक्छु।) यी कुराहरू त्याग्न सकेमा तेरो सत्यता पछ्याइमा फाइदा पुग्नेछ। यदि तँलाई यो कुरामा विश्‍वास लाग्दैन भने, तैँले विवाहित मानिसहरूलाई तिनीहरूको मुक्ति पाउने आशा कस्तो छ भनी सोध्न सक्छस्, र तिनीहरूले “म धेरै वर्षसम्म विवाहित थिएँ र परमेश्‍वरमाथिको मेरो विश्‍वासको कारण सम्बन्धविच्छेद भयो, र म मुक्ति पाउछु भन्ने आँट गर्दिनँ” भनेर भन्‍नेछैनन्। तैँले तीसको दशकमा रहेका र विवाह नगरेका ती मानिसहरूलाई सोध्न सक्छस्, तर विश्‍वास गरेका त्यतिका वर्षमा, तिनीहरूले सत्यता पछ्याएकै हुँदैनन् र तिनीहरू अविश्‍वासीहरूजस्तै हुन्छन्। तैँले तिनीहरूलाई सोध्न सक्छस्, “के तिमीले यस तरिकाले परमेश्‍वरमा विश्‍वास गरेर मुक्ति पाउन सक्छौ?” तिनीहरूले पनि मुक्ति पाउन सक्छु भन्ने आँट गर्नेछैनन्। के यस्तै हुँदैन र? (हजुर।)

विवाहबारे मानिसहरूले बुझ्नुपर्ने सत्यताहरू यिनै हुन्। हामीले सङ्गति गरेका कुनै पनि विषय थोरै शब्दमा प्रस्टसित व्याख्या गर्न सकिँदैन। विश्‍लेषण गर्नुपर्ने त्यस्ता धेरै विविध तथ्यहरू, साथै विविध प्रकारका मानिसहरूका परिस्थितिहरू छन्। यी विविध परिस्थितिहरूको आधारमा, मानिसहरूले बुझ्नुपर्ने सत्यताहरू थोरै शब्दमा प्रस्टसित व्याख्या गर्न सकिँदैन। हरेक समस्याको लागि, मानिसहरूले बुझ्नुपर्ने सत्यता र तथ्यगत वास्तविकताहरू छन्, र त्योभन्दा बढी मानिसहरूले राख्ने गलत सोच र दृष्टिकोणहरू छन्, र यी कुराहरू पनि बुझ्नुपर्छ। यी गलत सोच र दृष्टिकोणहरू अवश्यै मानिसहरूले त्याग्नुपर्ने कुराहरू हुन्। जब तैँले यी कुराहरू त्याग्छस्, तब यस्तो मामलामाथिका तेरा सोच र दृष्टिकोणहरू तुलनात्मक रूपले सकारात्मक र सही हुनेछन्। त्यसपछि, जब तैँले यस्तो मामला फेरि सामना गर्छस्, तब तँ त्यसद्वारा बिलकुलै बाधित हुनेछैनस्; तँ केही गलत र निरर्थक सोच र दृष्टिकोणहरूद्वारा बाधित र प्रभावित हुनेछैनस्। तँ यस्ता कुराको बन्धन वा बाधामा पर्नेछैनस्; बरु, तैँले यो मामलालाई राम्ररी सामना गर्न सक्नेछस्, अनि अरू वा आफूबारे तेरो मूल्याङ्कन तुलनात्मक रूपले सही हुनेछ। मानिसहरूले परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार मानिसहरू र वस्तुहरूलाई हेर्दा, सोहीअनुसार व्यवहार र कार्य गर्दा, तिनीहरूमा मूर्तरूप लिन सक्ने सकारात्मक नतिजा यही हो। ल ठिक छ, आजको लागि हाम्रो सङ्गति यहीँ टुङ्ग्याऔँ। जयमसीह!

अप्रिल १, २०२३

फूटनोटहरू:

क. मूल पाठमा “तँ आफैलाई नियन्त्रण गर्न समेत सक्दैनस्” भन्ने उल्लेख छ।

अघिल्लो: सत्यता कसरी पछ्याउने (१५)

अर्को: सत्यता कसरी पछ्याउने (१७)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्