सत्यता कसरी पछ्याउने (१३)
केही समयदेखि हामीले “सत्यता कसरी पछ्याउने” शीर्षकअन्तर्गत “त्याग्नु” भन्ने विषयमा सङ्गति गर्दै आइरहेका छौँ। के तिमीहरूले यस विषयसँग सम्बन्धित विभिन्न पक्षहरूबारे विचार गर्यौ? मानिसहरूले त्याग्नुपर्ने भनी हामीले सङ्गति गरेका कुराहरूको हकमा, के मानिसहरूलाई ती कुराहरू त्याग्नु सजिलो हुन्छ? सङ्गतिहरू सुनेपछि, के तिमीहरूले ती विषयवस्तुको आधारमा आफूबारे सोचविचार र चिन्तन गर्यौ? के तिमीहरूले ती विषयवस्तु र दैनिक जीवनमा तिमीहरूले बाहिरी रूपमा देखाउने र प्रकट गर्ने कुराहरूबीच कुनै तुलना गर्यौ? (मैले सामान्यतया यसबारे विचार गरेँ। पछिल्लो सङ्गतिमा परमेश्वरले, परिवारले हामीमाथि पार्ने सिकाइने कुराका प्रभावहरू त्याग्नेबारे सङ्गति गर्नुभयो, र मलाई के महसुस भयो भने, मेरो जीवनमा म सामान्यतया संसारसँग व्यवहार गर्ने यी शैतानी दर्शनहरू पालना गर्ने रहेछु, जस्तै “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” जुन मेरो परिवारले ममा हालिदिएको कुरा हो। यस्ता विचारहरू स्वीकार गरेपछि, आफूले गर्ने सबै कुरामा मैले मर्यादा र हैसियतलाई महत्त्व दिएँ, इज्जत गुमाउने डर मानेँ, र म इमान्दार व्यक्ति बन्न सकिनँ।) विभिन्न कुराहरूलाई त्याग्ने विषयमा हामीले सङ्गति गरेको यो सबै विषयवस्तुले मुख्य रूपमा विभिन्न मामिलाहरूप्रतिका मानिसहरूका विचार र दृष्टिकोणहरूलाई सम्बोधन गरेको छ। त्यस्ता मामिलाहरूप्रतिका मानिसहरूका गलत विचार र दृष्टिकोणहरू खुलासा गरेर, यसले तिनीहरूलाई यी कुराहरू खुट्याउन र यी कुराबारे स्पष्ट ज्ञान प्राप्त गर्न, र त्यसपछि सकारात्मक तरिकाले यी कुराहरू त्याग्न र यी कुराको बन्धनमा नपर्न सक्षम तुल्याउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यी विचार र दृष्टिकोणहरूद्वारा नबाँधिनु, बरु परमेश्वरका वचनहरू र सत्यतालाई आफ्नो मापदण्डको रूपमा सही तरिकाले अपनाएर बाँच्न र अस्तित्वमा रहन सक्नु हो। यदि मानिसहरू विभिन्न सत्यताहरूको वास्तविकतामा प्रवेश गर्न चाहन्छन् भने, तिनीहरूसँग सबै दृष्टिकोणबाट प्राप्त ज्ञान र अनुभव हुनुपर्छ। खास गरी, तिनीहरूसँग विभिन्न कुराहरूबारेका निष्क्रिय र नकारात्मक विचार र दृष्टिकोणहरूको स्पष्ट बुझाइ हुनुपर्छ। यदि तिनीहरूले यी कुराहरू राम्ररी खुट्याउन सक्छन् भने मात्रै तिनीहरूले सक्रिय रूपमा यी कुराहरू त्याग्न र यी कुराहरूद्वारा अब फेरि नबहकिन र नबाँधिन सक्छन्। त्यसकारण, विभिन्न सत्यताहरूको वास्तविकतामा प्रवेश गर्न र सत्यता पछ्याउने परिणाम प्राप्त गर्नका लागि, मानिसहरूले प्राय आफ्नो बारेमा मनन गर्ने र विभिन्न विचार र दृष्टिकोणहरूद्वारा दैनिक जीवनमा आफू क सरी बाँधिएको र नियन्त्रित भएको छु भनेर सोच्ने गर्नुपर्छ, वा दैनिक जीवनमा विभिन्न कुराहरूबारे आफूले प्राय के-कस्ता विचार र दृष्टिकोणहरू राख्ने गरेको छु भनेर पत्ता लगाउने प्रयास गर्नुपर्छ, अनि यी विचार र दृष्टिकोणहरू सही र सत्यताअनुरूप छन् कि छैनन्, यी सकारात्मक हुन् कि होइनन्, र यी परमेश्वरबाट आएका हुन् कि मानव अभिप्रायहरू वा शैतानबाट आएका हुन् भनेर पनि खुट्ट्याउनुपर्छ। यो एकदमै महत्त्वपूर्ण पाठ हो, र यो वास्तविकताको एउटा यस्तो पक्ष हो जसमा मानिसहरू आफ्नो दैनिक जीवनमा हरदिन प्रवेश गर्नुपर्छ। अर्थात्, दैनिक जीवनमा, तैँले विभिन्न मानिसहरू, मामिला र परिस्थितिहरू सामना गरे पनि नगरे पनि, तैँले के-कस्ता विचार र दृष्टिकोणहरू राखेको छस्, र यी विचारहरू र दृष्टिकोणहरू सही र सत्यताअनुरूप छन् कि छैनन् भनेर सधैँ जाँच्नुपर्छ—यो एकदमै महत्त्वपूर्ण पाठ हो। तेरो दैनिक जीवनमा, तैँले आफ्ना कर्तव्यहरू पूरा गर्न बिताउने सामान्य समयबाहेक, यस पक्षमा तैँले गर्ने प्रवेशले तेरो जीवनको ८० देखि ९० प्रतिशत समय ओगटेको हुनुपर्छ। यसरी मात्रै तैँले नकारात्मक कुराहरूसम्बन्धी सबै विचार र दृष्टिकोणहरू त्यागेर सत्यता वास्तविकतामा प्रवेश गर्ने आशा गर्न सक्छस्। के पनि भन्न सकिन्छ भने, तैँले पूर्णतः परमेश्वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डका रूपमा लिएर मानिसहरू र विभिन्न कुराहरूलाई हेर्ने, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्छस् भने मात्रै तँसँग त्यस्तो आशा हुन्छ; तब मात्र तैँले अन्त्यमा मुक्ति प्राप्त गर्ने आशा गर्न सक्छस्। यदि तैँले आफ्नो दैनिक जीवनमा, कर्तव्यहरू पूरा गर्ने सामान्य समयबाहेकको क्षणमा, तेरो दिमाग बाँकी ८० देखि ९० प्रतिशत समय खाली हुन्छ, वा तँ आफ्नो शारीरिक जीवन, हैसियत र प्रतिष्ठाबारे मात्रै सोच्छस् भने, तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न पनि र सत्यता खोजी गर्ने अवस्था हासिल गर्न पनि सजिलो हुनेछैन। यदि यीमध्ये कुनै पनि कुरा हासिल गर्न तँलाई सजिलो भएन भने, तैँले मुक्ति पाउने सम्भावना धेरै कम हुनेछ। त्यसोभए, मुक्ति प्राप्त गर्ने कुरा केमा निर्भर हुन्छ त? एक अर्थमा, यो कुरा परमेश्वरले तँमा कसरी काम गर्नुहुन्छ र पवित्र आत्माले तँमा काम गर्नुहुन्छ कि हुन्न भन्नेमा निर्भर हुन्छ; अर्को अर्थमा, यो तेरो व्यक्तिपरक लगनशीलता, र तैँले कति मूल्य चुकाउँछस्, र तैँले सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न कति ऊर्जा र समय खर्चन्छस् भन्नेमा निर्भर हुन्छ। यदि तैँले प्रायजसो सोच्ने र गर्ने कुरा सत्यता पछ्याउने कार्यसँग सम्बन्धित छैन भने, तैँले गर्ने कुरा मुक्ति पाउने कार्यसँग पनि सम्बन्धित छैन—यो अपरिहार्य तथ्य र अपरिहार्य परिणाम हो। त्यसोभए अघि बढ्दै जाँदा तिमीहरूले के गर्नुपर्छ? एउटा पक्ष के हो भने, तिमीहरूले सङ्गति गरिएको हरेक विषय नजिकबाट पछ्याउनुपर्छ, र त्यसपछि सक्रिय रूपमा मनन गर्दै त्यो विषय बुझ्ने प्रयास गर्नुपर्छ, अर्थात् हामीले कुनै विषयमा सङ्गति गरिसकेपछि, साँचो र सही ज्ञान अनि साँचो पश्चात्ताप हासिल गर्नको लागि तिमीहरूले त्यो कुरा ताजै हुँदा आफ्नो बारे मनन गर्न थालिहाल्नुपर्छ। हामीले सङ्गति गरिसकेपछि तुरुन्तै वा हाम्रो सङ्गतिको केही भाग बुझ्नेबित्तिकै, तँ सत्यताको यो पक्षबारे जान्न सक्षम हुनुपर्नाको उद्देश्य तेरो आफ्नै विचार र दृष्टिकोणमा सबैभन्दा आधारभूत चेतना निर्माण गर्नु हो, ताकि पछि जब तैँले दैनिक जीवनमा यी कुराहरूसँग सम्बन्धित मामिलाहरू सामना गर्छस्, तब सत्यता सिद्धान्तहरूसम्बन्धी तेरो पहिलेको ज्ञान र बुझाइ नै ती मामिलामा तेरो अनुभव डोर्याउने आधारभूत विचार र दृष्टिकोणहरू बनून्। तैँले यस्तो चेतना र सटीक र सही ज्ञान प्राप्त गरेपछि, कम्तीमा पनि, यस मामिलामा रहेको तेरो मनोवृत्ति र बुझाइ सकारात्मक र सक्रिय हुनेछन्। अर्थात्, यो घटना आउनुभन्दा पहिले नै तैँले खोप लाएर निश्चित हदसम्म प्रतिरक्षा पाइसकेको हुनेछस्, र जब यस्तो अवस्था साँच्चै आइपर्छ, तेरो असफलताको सम्भावना कम हुनेछ, साथै तैँले परमेश्वरलाई धोका दिने सम्भावना पनि कम हुनेछ, र तँ सत्यता वास्तविकतामा प्रवेश गर्ने सम्भावना धेरै हदसम्म बढ्नेछ। यो त महामारी आउँदाजस्तै हो: यदि तैँले खोप लगाइनस् भने, तँ बाहिर ननिस्की घरभित्रै बस्न बाध्य हुनेछस्, र यसो गर्दा सङ्कक्रमणको जोखिम शून्य बन्छ। तर यदि तँ बाहिर निस्किस् र यताउता गइस्, अनि बाहिरी संसारको सम्पर्कमा आइस् भने, तैँले खोप लगाउनैपर्छ। तर के यो खोपले सङ्क्रमणको सम्भावना हटाउँछ? अहँ, हटाउँदैन, तर यसले सङ्क्रमणको सम्भावना कम गर्छ। यसले गर्दा तँसँग रोग-प्रतिरोध क्षमता हुनेछ भनेर भन्दा पर्याप्त हुन्छ। सत्यता खोजी गर्ने प्रक्रिया विभिन्न सत्यताहरूको ज्ञानबाट सुरु हुन्छ। यदि तँलाई विभिन्न सत्यताहरूभित्रबाट आएका सही र सकारात्मक अभिव्यक्ति र सिद्धान्तहरू थाहा छ, साथै प्रत्येक सत्यताले प्रकट गर्ने विभिन्न नकारात्मक र खराब विचार र दृष्टिकोणहरूको पनि निश्चित ज्ञान छ भने, जब यस्तै घटना फेरि घट्छ, तेरा छनौटहरू शैतानले तँमा हालिदिएका नकारात्मक र खराब विचार र दृष्टिकोणहरूको मापदण्डमा आधारित हुनेछैनन्, र तँमा त्यस्ता विचार र दृष्टिकोणहरूमा अडिग रहने मनोवृत्ति हुनेछैन। यस चरणमा, तँ सत्यता वास्तविकताको यस पक्षमा प्रवेश गर्न अझै बाँकी नै रहेको हुने भए पनि र तेरो दृष्टिकोण तटस्थ हुन सक्ने भए पनि, तैँले यी सकारात्मक विचार र दृष्टिकोणहरू स्वीकार गरेपछि, तँसँग नकारात्मक विचार र दृष्टिकोणहरूको निश्चित ज्ञान हुनेछ, र यसरी तैँले भविष्यमा यस्तै मामिला सामना गर्दा, कम्तीमा पनि तँ यस्तो मामिलासँग सम्बन्धित रहेका सकारात्मक र नकारात्मक विचार र दृष्टिकोणहरूबीच भिन्नता छुट्याउन सक्ने हुनेछस्, र तँसँग यो मामिला सम्हाल्ने निश्चित मापदण्डहरू हुनेछन्। यी मापदण्डहरूको आधारमा, सत्यतालाई प्रेम गर्ने र मानवता भएका मानिसहरू सत्यताको मापदण्डअनुसार सत्यता अभ्यास गर्न र मानिसहरू र परिस्थितिहरूलाई हेर्न, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न अझै बढी इच्छुक हुनेछन्। केही हदसम्म, यसले तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न, परमेश्वरका मापदण्डहरूअनुसार उहाँप्रति समर्पित हुन, र परमेश्वरले तेरो लागि तय गर्नुभएका मानिसहरू, मामिलाहरू र परिस्थितिहरू स्वीकार गर्न ठूलो मद्दत गर्नेछ। यस दृष्टिकोणबाट हेर्दा, के कुनै व्यक्तिले जति धेरै सत्यताहरू बुझेको हुन्छ, त्यति नै धेरै ऊ सत्यता वास्तविकतामा प्रवेश गर्ने सम्भावना हुन्छ, र जति राम्ररी उसले नकारात्मक कुराहरू बुझेको हुन्छ, त्यति नै बढी उसले यी नकारात्मक कुराहरूविरुद्ध विद्रोह गर्ने सम्भावना हुन्छ भनेर भन्न सकिन्छ? (हो, भन्न सकिन्छ।) तसर्थ, चाहे तँ सत्यता पछ्याउन इच्छुक भए पनि नभए पनि, वा तैँले सत्यता पछ्याउने मन बनाए पनि नबनाए पनि, वा तँ सत्यता पछ्याउने बाटोमा हिँडे पनि नहिँडे पनि, र चाहे तेरो क्षमता जे-जस्तो नै भए पनि वा तैँले सत्यतालाई जे-जसरी बोध गरे पनि, छोटकरीमा भन्दा, यदि मानिसहरू सत्यता पछ्याउन चाहन्छन् भने, यदि तिनीहरू सत्यताको मापदण्ड बुझ्न, र सत्यता अभ्यास गर्न र सत्यतामा प्रवेश गर्न चाहन्छन् भने, हरप्रकारका नकारात्मक कुराहरू खुट्ट्याउनु र बुझ्नु अत्यावश्यक हुन्छ। सत्यता पछ्याउन र सत्यता वास्तविकतामा प्रवेश गर्नको लागि पूरा गर्नुपर्ने पूर्वसर्तहरू यिनै हुन्।
कतिपय मानिसहरू सत्यता बुझ्दैनन्, र हामीले अहिले सङ्गति गरिरहेका विभिन्न विषयहरूको हकमा, तिनीहरूलाई सधैँ यस्तो लाग्छ: “मैले यी विषयहरूबारे कहिल्यै विचार गरेको छैनँ, न त मैले यी कुरा अनुभव नै गरेको छु। तपाईँले यी विषयहरूबारे जे भनिरहनुभएको छ त्यो कुरा र मेरा आफ्नै विभिन्न समस्याहरू, भ्रष्ट स्वभावहरू, र भ्रष्टताको प्रकटीकरणबीच म केही सम्बन्ध देख्न सक्दिनँ, त्यसकारण तपाईँले यी विषयहरूमा कुरा गर्नु र मैले सत्यता पछ्याउनुमा के सम्बन्ध छ? तपाईँको कुरा र मैले सत्यता वास्तविकतामा प्रवेश गर्नुमा खासै सम्बन्ध छ जस्तो देखिन्न, हैन र? तपाईँ किन मानिसहरूको सकारात्मक प्रवेशसँग सम्बन्धित केही उच्च र गहन विषयहरूबारे कुरा गर्नुहुन्न? किन सधैँ दैनिक जीवनका यी नकारात्मक र सानातिना मामिलाहरू मात्रै खुलासा गर्नुहुन्छ?” के यो विचार सही छ कि गलत छ? (गलत छ।) जब यस्ता विचारहरू बोक्ने मानिसहरूले दैनिक जीवनका ती सानातिना मामिलाहरूबारे सुन्छन्, विशेष गरी जब ती मामिलाहरूबारे केही उदाहरणहरू दिइन्छ, तब तिनीहरूलाई दिक्क लाग्छ र तिनीहरू सुन्न चाहँदैनन्। तिनीहरूले यस्तो सोच्छन्, “यो विषयवस्तु साह्रै सामान्य र सतही छ। यसमा कुनै ठूलो कुरा छैन, यो साह्रै सरल छ। मैले यो कुरा सुन्नेबित्तिकै, तुरुन्तै बुझिहाल्छु। यो साह्रै सजिलो छ। सत्यता यस्तो हुनु हुँदैन, यो त यस्तो कुराभन्दा अझै बढी गहन हुनुपर्छ, र मानिसहरूले बुझ्न र एकदुई वाक्य स्मरण गर्न सक्नुपहिले यसलाई धेरै पटक सुन्नुपर्ने हुनुपर्छ। तपाईँले अहिले जुन कुरा गर्दै हुनुहुन्छ, ती त दैनिक जीवनका सानातिना मामिलाहरू, साथै दैनिक जीवनमा हुने सामान्य मानवताका केही प्रकटीकरणहरू हुन्। के यो कुरा हाम्रो लागि अलिक सतही भएन र?” के तँलाई यस्ता विचारहरू बोक्ने मानिसहरूको सोच सही हुन्छ जस्तो लाग्छ? (होइन, तिनीहरू गलत हुन्छन्।) तिनीहरू किन गलत हुन्छन्? तिनीहरूमा के समस्या हुन्छ? सर्वप्रथम, के मानिसहरूका विचार र दृष्टिकोणहरू तिनीहरूको दैनिक जीवनबाट अलग रहेका हुन्छन् त? (अहँ, हुँदैनन्।) के तिनीहरूका विभिन्न प्रकटीकरण र मनोवृत्तिहरू तिनीहरूको दैनिक जीवनबाट अलग रहेका हुन्छन्? (अहँ, हुँदैनन्।) अहँ, यी कुनै पनि कुराहरू अलग रहेका हुँदैनन्। मानिसहरूका भ्रष्ट स्वभावहरू, विचार र दृष्टिकोणहरू, विभिन्न मामिलाहरूबारेका तिनीहरूका विचार र अभिप्रायहरू, कामकुराहरू गर्ने तिनीहरूको निश्चित तौरतरिकाहरू, साथै तिनीहरूको मस्तिष्कबाट निस्कने विचार र दृष्टिकोणहरू सबका सब दैनिक जीवनमा तिनीहरूले देखाउने विभिन्न प्रकटीकरण र व्यवहारहरूबाट अलग गर्न नसकिने हुन्छन्। यसबाहेक, दैनिक जीवनका यी विभिन्न प्रकटीकरण र व्यवहारहरू, साथै आफूमाथि आइपर्ने विभिन्न मामिलाहरूप्रतिका मानिसहरूका विचार, दृष्टिकोण, र मनोवृत्तिहरू मानिसहरूको भ्रष्ट स्वभावसँग सम्बन्धित विशिष्ट कुराहरू हुन्। सत्यता पछ्याउनुको उद्देश्य मानिसहरूको गलत विचार र दृष्टिकोण परिवर्तन गर्नु हो, र मानिसहरूको विचार र दृष्टिकोण परिवर्तन गरेर, अनि हरप्रकारका मानिसहरू, मामिला र परिस्थितिहरूप्रतिको तिनीहरूको मनोवृत्ति परिवर्तन गरेर, मानिसहरूको भ्रष्ट स्वभाव मिल्काउनु, अनि सत्यता र परमेश्वरप्रतिको तिनीहरूको विद्रोहीपन र विश्वासघातका साथै परमेश्वरको विरोध गर्ने तिनीहरूको प्रकृति सार मिल्काउनु हो। तसर्थ, यदि तँ सत्यता पछ्याउन चाहन्छस् भने, के तैँले दैनिक जीवनमा आउने तेरा विभिन्न गलत विचार र दृष्टिकोणहरू फाल्नु र परिवर्तन गर्नु अत्यावश्यक हुँदैन र? के सबैभन्दा महत्त्वपूर्ण कुरा यही होइन र? (हजुर, हो।) त्यसकारण, मैले बताउने कुराहरू जतिसुकै सतही वा साधारण देखिए पनि, ती कुराहरूबारे विद्रोही मानसिकता नराख्। ती कुराहरू निश्चय नै कम महत्त्वका छैनन्। तिनले तेरो हृदय र मस्तिष्क ओगट्छन्, र तिनले तैँले सामना गर्ने हरेक व्यक्ति, मामिला र परिस्थितिसम्बन्धी तेरा विचार र दृष्टिकोणहरू नियन्त्रित गर्छन्। यदि तैँले दैनिक जीवनमा यी गलत विचार र दृष्टिकोणहरू परिवर्तन वा परित्याग गर्दैनस् भने, आफूले सत्यता स्विकारेको छु र आफूसँग सत्यता वास्तविकता छ भन्ने तेरो दाबी खोक्रा शब्दहरू मात्र हुनेछन्। यो त तँलाई क्यान्सर भएको जस्तै हो—यसको उपचार सक्रिय रूपमा गरिनुपर्छ। क्यान्सरका कोषहरू जुनसुकै अङ्गमा भए पनि, चाहे ती तेरो रगतमा भए पनि वा छालामा भए पनि, वा चाहे ती सतहमा भए पनि वा गहिराइमा लुकेका भए पनि, तैँले उपचार गर्नुपर्ने पहिलो कुरा भनेकै शरीरमा रहेका ती क्यान्सरका कोषहरू हुन्। ती क्यान्सरका कोषहरू हटाइसकेपछि मात्रै, तैँले लिने विभिन्न पोषक तत्त्वहरू तेरो शरीरले लिन्छ र ती तत्त्वहरूले तँभित्र काम गर्न सक्छन्। तब यस तरिकाले तेरो शरीरका सबै अङ्गहरूले सामान्य रूपमा काम गर्न सक्छन्। त्यो रोग हटेपछि, तेरो शरीर अझै स्वस्थ र सामान्य हुनेछ। अनि, यस्ता मानिसहरू त्यो रोगबाट पूरै निको हुन्छन्। मानिसहरूद्वारा सत्यता पछ्याइनु भ्रष्ट स्वभावहरू त्याग्ने प्रक्रिया हो, र यो सत्यता वास्तविकतामा प्रवेश गर्ने प्रक्रिया पनि हो। भ्रष्ट स्वभाव त्याग्ने प्रक्रिया भनेको मानिसहरू परिवर्तन हुने र विभिन्न गलत र नकारात्मक विचार र दृष्टिकोणहरूबाट मुक्त हुने प्रक्रिया हो। यो मानिसहरूले आफूलाई विभिन्न सही र सकारात्मक विचार र दृष्टिकोणहरूले सुसज्जित पार्ने प्रक्रिया पनि हो। अनि, सकारात्मक विचार र दृष्टिकोणहरू के हुन्? ती सत्यताका वास्तविकता, सिद्धान्त, र मापदण्डहरूसँग सम्बन्धित कुराहरू हुन्। सत्यता वास्तविकतामा प्रवेश गर्नलाई, मानिसहरूले सत्यता खोजी गरेर जीवन, अस्तित्व, र अरूसँग गरिने व्यवहारबारेका तिनीहरूका गलत विचार र दृष्टिकोणहरू चिरफार गरेर बुझ्नुपर्छ, र त्यसपछि ती कुराहरूलाई एकपछि अर्को गरेर समाधान गर्नु र त्याग्नुपर्छ। छोटकरीमा भन्दा, सत्यता पछ्याउनु भनेको मानिसहरूलाई आफ्ना सबै त्रुटिपूर्ण र गलत विचार र दृष्टिकोणहरू त्याग्न लगाउनु, र हरप्रकारका कुराहरूबारे सही विचार र दृष्टिकोणहरू राख्दै सत्यता सिद्धान्तहरूअनुरूपका विचार र दृष्टिकोणहरू अपनाउन लगाउनु हो। यस तरिकाले मात्रै मानिसहरूले पूर्ण रूपमा परमेश्वरको वचनहरूलाई आधार मानेर अनि सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र कामकुरालाई हेर्ने, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने, र कार्य गर्ने उद्देश्य हासिल गर्न सक्छन्। मानिसहरूले सत्यता पछ्याएर प्राप्त गर्ने अन्तिम परिणाम यही हो, र मानिसहरूले मुक्ति प्राप्त गरेपछि अन्तिममा जिउन सक्ने सत्यता वास्तविकता पनि यही हो। के तिमीहरूले यो कुरा बुझ्यौ? (बुझ्यौँ।)
पछिल्लो भेलामा, हामीले परिवारको सन्दर्भमा “त्याग्ने” विषय सङ्गति गर्यौँ। त्यतिखेर परिवार शीर्षकअन्तर्गत हामीले सङ्गति गरेको कुरा के थियो? (त्यो सङ्गति सत्यता पछ्याउने हाम्रो मार्गमा परिवारले दिने बाधा र अवरोधहरू, साथै परिवारको हकमा हामीले के-कस्ता खोज, आदर्श र इच्छाहरू त्याग्नुपर्छ भन्नेबारे थियो। परमेश्वरले दुइटा कुरा उल्लेख गर्नुभयो, एउटाचाहिँ आफ्नो परिवारबाट प्राप्त पहिचान त्याग्नुपर्छ भन्ने, र अर्कोचाहिँ परिवारले सिकाउने कुराहरूले हामीहरूलाई पार्ने प्रभावहरू त्याग्नुपर्छ भन्ने थियो।) वास्तवमा यी दुई कुरा नै थिए। पहिलो कुरा, तैँले आफ्नो परिवारबाट प्राप्त पहिचान त्याग्नुपर्छ भन्ने हो। मानिसहरूले यस विषयमा बुझ्नुपर्ने सत्यता सिद्धान्तहरू के-के हुन् के तँलाई थाहा छ? मेरा सङ्गतिहरू सुनेपछि, यदि मैले कुनै निश्चित सारांश प्रदान गरिनँ भने, आफै कसरी सारांश निकाल्ने के तिमीहरूलाई थाहा छ? मैले यी कुराहरू र यीसँग सम्बन्धित निश्चित कुराहरूबारे सङ्गति गरेपछि, के तिमीहरूले सत्यताको यस पक्षमा मानिसहरूले पालना गर्नुपर्ने सिद्धान्तहरू सारांशित गर्यौ त? यदि ती सिद्धान्त कसरी सारांशित गर्ने भन्ने कुरा तँलाई आउँछ भने, तँ ती सिद्धान्त अभ्यास गर्न सक्षम हुनेछस्; यदि ती सिद्धान्त कसरी सारांशित गर्ने भनेर तँलाई आउँदैन, र तँ केही छरपस्ट ज्योतिहरूमै अल्झेर बस्छस्, र तँलाई तीबारेका सत्यता सिद्धान्तहरू के-के हुन् भन्ने थाहा छैन भने, तँ ती सिद्धान्त अभ्यास गर्न सक्षम हुनेछैनस्। यदि ती सिद्धान्त कसरी अभ्यास गर्ने भनेर तँलाई आउँदैन भने, तँ सत्यता वास्तविकताको यो पक्षमा कहिल्यै प्रवेश गर्नेछैनस्। तैँले आफ्ना समस्याहरू के-के हुन् भन्ने कुरा पत्ता लगाइस् भने पनि, ती कुरालाई मेरा वचनहरूसँग जोडेर हेर्न सक्दैनस्, र अभ्यास गर्नको लागि तैँले तीसँग सम्बन्धित सिद्धान्तहरू पनि पत्ता लगाउन सक्दैनस्। तैँले आफ्नो परिवारबाट प्राप्त पहिचान त्याग्ने विषयबारे सङ्गति गर्नुको मुख्य उद्देश्य भनेको तैँले त्यो पहिचानसँग सम्बन्धित विभिन्न प्रभावहरूद्वारा ग्रस्त नभई मानिसहरू र परिस्थितिहरूलाई हेर्न, र त्यसैअनुरूप आफूलाई व्यवहारमा ढाल्न र काम गर्न सक् भन्ने हो। यदि तैँले आफ्नो परिवारबाट प्राप्त गरेको पहिचान विशिष्टीकृत छ भने, तैँले त्यो पहिचानलाई सही तरिकाले लिनुपर्छ। तैँले आफूलाई प्रतिष्ठित छु, वा अरूभन्दा बढी योग्य छु, वा तेरो पहिचान विशेष छ भन्ने महसुस गर्नु हुँदैन। अरूसँग हुँदा, तैँले परमेश्वरले मानिसहरूलाई जुन सिद्धान्तहरूअनुसार अर्ती दिनुहुन्छ त्यही सिद्धान्तअनुसार सही रूपमा कुराकानी गर्न र सबैसँग सही व्यवहार गर्न सक्नुपर्छ, र यसको साटो तैँले हरेक परिस्थितिमा आफ्नो प्रदर्शन गर्न र हरेक अवस्थामा अरूलाई तँप्रति उच्च नजरले हेर्ने तुल्याउन आफ्नो पारिवारिक प्रतिष्ठित पृष्ठभूमिलाई पूँजीको रूपमा प्रयोग गर्नु हुँदैन। मानौँ, तैँले आफ्नो परिवारबाट प्राप्त पहिचान त्याग्न सक्दैनस्, र सधैँ आफ्नो पारिवारिक पृष्ठभूमिलाई पूँजीको रूपमा प्रयोग गर्छस्, अनि अत्यन्तै घमण्डी, स्वेच्छाचारी, र ठालु व्यक्तिजस्तो व्यवहार गर्छस्। अनि मानौँ, तैँले अरूको अगाडि रवाफ देखाउँछस् र आफ्नो प्रदर्शन गर्छस्, र आफ्नो पारिवारिक पृष्ठभूमि र आफ्नो परिवारबाट प्राप्त विशेष पहिचानबारे निरन्तर धाक लगाउँछस्। यसको साथै, मानौँ तँ भित्री रूपमा निकै घमण्डी र अहङ्कारी छस्, र अरूसँग कुरा गर्दा निकै हेपाहा र ढिट व्यवहार गर्छस्, र मानिसहरूलाई गाली गर्न र दबाउन प्राय आफ्नो पहिचानलाई पूँजीको रूपमा प्रयोग गर्छस्—अर्को शब्दमा भन्दा, मानिसहरूलाई तँमा सामान्य समझको कमी छ भन्ने लाग्छ—र तैँले सबैलाई साधारण ठान्छस्, अनि विशेष गरी जब तँ मानिसहरूको सम्पर्कमा आउँछस् र तिनीहरूसँग व्यवहार गर्छस्, तैँले आफूभन्दा कमजोर वा निम्न स्तरका मानिसहरूलाई केही न कामको ठान्छस्, र तिनीहरूसँग कुरा गर्दा तँ निकै आक्रामक हुन्छस्, हेपेर बोल्छस्, र अरूलाई खाउँला जस्तै गर्छस्। अनि मानौँ, तैँले अरूलाई निरन्तर गाली गर्न चाहन्छस्, र सधैँ अरूलाई हुकुम दिने र हप्काउने गर्दै, दासहरूलाई जस्तो व्यवहार गर्छस्, र सधैँ तेरो पहिचान प्रतिष्ठित छ भन्ने विश्वास गर्छस्, र तँ अरूसँग मेलमिलापमा रहन सक्दैनस्, र आफूभन्दा तल्लो हैसियतका मानिसहरूसँग सही तरिकाले व्यवहार गर्न सक्दैनस्—यी सबै भ्रष्ट स्वभावहरू हुन्, र यी सबै मानिसहरूले त्याग्नुपर्ने कुराहरू हुन्। जब व्यक्तिको पारिवारिक पृष्ठभूमि र सामाजिक हैसियत प्रतिष्ठित हुन्छ, तब यस्ता भ्रष्ट स्वभावहरू देखिने र पैदा हुने हुन्छ। तसर्थ, यस्तो व्यक्तिले आफ्नो बोलीवचन र व्यवहारबारे मनन गर्नुपर्छ, र आफ्ना विचार र दृष्टिकोणहरू, विशेष गरी पारिवारिक पहिचानसँग सम्बन्धित कुराहरूबारे मनन गर्नुपर्छ। उसले त्यस्ता विचार र दृष्टिकोणहरू त्याग्नुपर्छ र आफ्नो विशेष सामाजिक हैसियतको फलस्वरूप बाँचिरहेका विभिन्न मानवताहरूबाट पछि हट्नुपर्छ। अर्को शब्दमा भन्दा, यस्तो व्यक्तिले आफ्नो परिवारबाट प्राप्त पहिचान त्याग्नुपर्छ। धेरैजसो मानिसहरूले आफ्नो सामाजिक हैसियत कमजोर छ भन्ने नै सोच्छन्। खास गरी, समाजमा प्रायजसो हेयको नजरले हेरिने, अनि भेदभाव र दुर्व्यवहारमा परिरहने मानिसहरूले प्रायजसो आफ्नो पहिचान तुच्छ छ भन्ने महसुस गर्छन्, र तिनीहरूको विशेष पारिवारिक वातावरणले तिनीहरूमा ल्याउने लज्जाले तिनीहरूलाई निकै तल्लो दर्जाको अनुभूति गराउँछ। यो अनुभूतिले तिनीहरूलाई बारम्बार हीन महसुस गराउँछ र अरूसँग सद्भाव र समतापूर्ण तरिकाले घुलमिल हुन असमर्थ तुल्याउँछ। अवश्य नै, यस्ता मानिसहरूले आफूलाई विभिन्न तरिकाले प्रकटीकरण गर्छन्। कतिपय मानिसहरूले प्रतिष्ठित हैसियत र पहिचान भएका मानिसहरूलाई विशेष आदरसाथ हेर्छन्, तिनीहरूको अघिपछि घुम्छन्, तिनीहरूको चापलुसी गर्छन्, तिनीहरूसँग मीठो बोल्छन् र तिनीहरूको खुट्टा ढोग्छन्। तिनीहरूले सधैँ अन्धाधुन्ध ती मानिसहरूकै बोली बोल्छन् र यस विषयमा तिनीहरूसँग कुनै सिद्धान्त वा मर्यादा हुँदैन, र तिनीहरू ती मानिसहरूकै इसारामा चल्न र नोकरजस्तै हुकुम मान्न र गोटी बन्न तयार हुन्छन्। यस्ता मानिसहरूले काम गर्ने सिद्धान्तहरू पनि सत्यतासँग मेल खाँदैनन्, किनभने तिनीहरूले आफ्नो मनको गहिराइमा आफ्नो पहिचान तुच्छ छ, आफू दयनीय बन्नकै लागि जन्मेको हुँ, आफू धनी वा कुलीन सामाजिक पहिचान भएकाहरूसँग समान धरातलमा उभिन योग्य छैनँ, आफ्नो जन्म ती मानिसहरूको दास हुनलाई नै भएको हो, र आफूले ती मानिसहरूको कुरा सुन्नुपर्छ र हुकुम मान्नुपर्छ भन्ने विश्वास गर्छन्। तिनीहरूलाई आफू दास बनेजस्तो लाग्दैन। तिनीहरूले त यो सामान्य कुरा हो, र अवस्था यस्तै नै हुनुपर्छ भन्ने सोच्छन्। यी कस्ता प्रकारका विचार र दृष्टिकोणहरू हुन्? के यी विचार र दृष्टिकोणहरू एक प्रकारका आत्म-अपमान होइनन् र? (हुन्।) अनि, यस्ता मानिसहरू पनि छन् जसले धनी मानिसहरू आफ्नो घमण्डी, स्वेच्छाचारी, बेसरम र अहङ्कारी शैलीमा बाँचिरहेको देख्छन्, र डाहाले जल्दै त्यस्ता मानिसहरूकै पछि दौडन्छन्, र मौका पाए यी धनी मानिसहरूले जस्तै स्वेच्छाचारी र घमण्डी रूपमा जिउँथेँ भनेरसमेत आशा गर्छन्। तिनीहरू स्वेच्छाचारी र घमण्डी हुनु गलत होइन भन्ने सोच्छन्; बरु यसविपरीत, तिनीहरू यी कुराहरूलाई आकर्षक र रोमाञ्चक गुण मान्छन्। त्यस्ता मानिसहरूका विचार र दृष्टिकोणहरू पनि गलत छन् र ती कुराहरू त्याग्नुपर्छ। तेरो पहिचान वा हैसियत जे-जस्तो भए पनि, यो सबै परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तेरो लागि परमेश्वरले जस्तोसुकै परिवार वा पारिवारिक पृष्ठभूमि पूर्वनिर्धारित गर्नुभएको भए पनि, तैँले यसबाट प्राप्त गर्ने पहिचान न त लाजमर्दो हुन्छ न त सम्मानजनक नै हुन्छ। तैँले आफ्नो पहिचानलाई कसरी लिने भन्ने कुराको सिद्धान्त सम्मान र लाजको सिद्धान्तमा आधारित हुनु हुँदैन। परमेश्वरले तँलाई जस्तोसुकै परिवारमा राखे पनि, उहाँले तँलाई जुनसुकै परिवारबाट जन्मन दिए पनि, परमेश्वरसामु तेरो एउटै मात्र पहिचान हुन्छ, र त्यो पहिचान सृष्टि गरिएको प्राणीको पहिचान हो। परमेश्वरको अघि, तँ सृष्टि गरिएको प्राणी होस्, त्यसकारण परमेश्वरको नजरमा, तँ फरक पहिचान र सामाजिक हैसियत भएको समाजको जोकोही व्यक्तिसमान छस्। तिमीहरू सबै भ्रष्ट मानवजातिका सदस्य हौ, र तिमीहरू सबै परमेश्वरले मुक्ति दिन चाहनुभएका मानिसहरू हौ। अनि अवश्य नै, परमेश्वरसामु, तिमीहरू सबैले सृष्टि गरिएका प्राणीहरूको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने समान अवसर पाएका हुन्छौ, र तिमीहरू सबैसँग सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने समान अवसर हुन्छ। यस स्तरमा, परमेश्वरले तँलाई दिनुभएको सृष्टि गरिएको प्राणीको पहिचानको आधारमा, तैँले आफ्नो पहिचानलाई उच्च ठान्नु हुँदैन, न त तैँले यसलाई तुच्छ नै ठान्नु हुन्छ। बरु, तैँले परमेश्वरबाट आउने तेरो पहिचान, अर्थात् सृष्टि गरिएको प्राणीको पहिचानलाई सही रूपमा लिनुपर्छ, र सबैसँग समान धरातलमा रहेर, अनि परमेश्वरले मानिसहरूलाई सिकाउनुहुने र अर्ती दिनुहुने सिद्धान्तहरूअनुसार सद्भावपूर्ण ढङ्गले घुलमिल हुनुपर्छ। अरू मानिसहरूको सामाजिक हैसियत वा सामाजिक पहिचान जस्तोसुकै भए पनि, र तेरो आफ्नै सामाजिक हैसियत वा सामाजिक पहिचान जस्तोसुकै भए पनि, परमेश्वरको घरमा र परमेश्वरसामु आउने हरकसैको एउटै मात्र पहिचान हुन्छ, जुन सृष्टि गरिएको प्राणीको पहिचान हो। तसर्थ, निम्न सामाजिक हैसियत र पहिचान भएकाहरूले हीन महसुस गर्नु हुँदैन। तँसँग प्रतिभा भए पनि नभए पनि, तेरो क्षमता जतिसुकै उच्च भए पनि, र तँसँग सामर्थ्य भए पनि नभए पनि, तैँले आफ्नो सामाजिक हैसियत त्याग्नुपर्छ। तैँले मानिसहरूलाई तिनीहरूको पारिवारिक पृष्ठभूमि र पारिवारिक इतिहासको आधारमा विशिष्ट वा दयनीय भनेर श्रेणीकरण गर्ने र ठूलो-सानो स्थानमा राख्ने वा वर्गीकरण गर्ने विचार वा दृष्टिकोणहरू पनि त्याग्नुपर्छ। तैँले आफ्नो कमजोर सामाजिक पहिचान र हैसियतको कारण हीन महसुस गर्नु हुँदैन। तेरो पारिवारिक पृष्ठभूमि त्यति शक्तिशाली र शानदार नभए पनि, र तैँले पाएको हैसियत तुच्छ भए पनि, परमेश्वरले तँलाई त्याग्नुभएको छैन भन्ने कुरामा तँ खुसी हुनुपर्छ। परमेश्वरले दयनीय मानिसहरूलाई फोहोरको डङ्गुर र धूलोबाट माथि उठाउनुहुन्छ, र अरू मानिसहरूलाई जस्तै तँलाई पनि सृष्टि गरिएको प्राणीको रूपमा समान पहिचान दिनुहुन्छ। परमेश्वरको घरमा र परमेश्वरसामु, तेरो पहिचान र हैसियत परमेश्वरद्वारा चुनिएका अरू सबै मानिसहरूको जस्तै समान छ। यो कुरा महसुस गरेपछि, तैँले आफ्नो हीनताबोध त्याग्नुपर्छ र तँ यसैमा टाँस्सिरहनु हुँदैन। प्रतिष्ठित र ठूलो सामाजिक हैसियत भएकाहरू, वा तेरो भन्दा उच्च सामाजिक हैसियत भएकाहरूलाई भेट्दा, तँ तिनीहरूसामु झुक्ने वा सधैँ मुस्कुराइरहने गर्नुपर्दैन, तिनीहरूलाई कुनै आदर दिइरहनुपर्ने त झन् कुरै आउँदैन। बरु, तैँले तिनीहरूलाई आफूसमान ठान्नुपर्छ, तिनीहरूसँग आँखा जुधाउन सक्नुपर्छ, र तिनीहरूसँग सही व्यवहार गर्नुपर्छ। यदि तिनीहरू प्रायजसो बलमिचाहा हुन्छन् वा घमण्डले फुल्छन्, र आफूलाई उच्च सामाजिक हैसियत भएको ठान्छन् भने पनि, तैँले तिनीहरूलाई सही रूपमा लिनुपर्छ र तिनीहरूको जोरजबरजस्तीमा पर्न वा तिनीहरूको कुनै पनि बढप्पनदेखि डराउन इन्कार गर्नुपर्छ। तिनीहरूको व्यवहार जे-जस्तो भए पनि वा तिनीहरूले तँलाई जे-जस्तो व्यवहार गरे पनि, तँलाई थाहा हुनुपर्छ कि जबसम्म तँ र तिनीहरू सबै सृष्टि गरिएका प्राणीहरू र मुक्ति दिनको लागि परमेश्वरले चुन्नुभएका मानिसहरू हुन्छौ, तबसम्म तिमीहरू परमेश्वसामु समान नै हुन्छौ। तेरो तुलनामा तिनीहरूमा त्यस्तो केही विशेष हुँदैन। परमेश्वरको नजरमा, तिनीहरूको तथाकथित विशेष पहिचान र हैसियत अस्तित्वमा हुँदैन, र उहाँले त्यस्तो कुरा पहिचान गर्नुहुन्न। तसर्थ, तैँले आफ्नो परिवारबाट प्राप्त गरेको पहिचानको कुराबाट तँ बाँधिनु जरुरी छैन, न त यसको कारण हीन महसुस गर्नु नै जरुरी छ। तेरो निम्न सामाजिक हैसियतको कारण, तैँले अरू मानिसहरूसँग समान धरातलमा उभिएर अन्तरक्रिया गर्ने कुनै पनि अवसर त्याग्नु, वा परमेश्वरको घरमा र परमेश्वरसामु परमेश्वरले तँलाई दिनुभएको कुनै पनि अधिकार, जिम्मेवारी र दायित्वहरू त्याग्नु त झनै पर्दैन। अनि अवश्य नै, तैँले मुक्ति पाउने आफ्नो अधिकार वा आशा पनि त्याग्नु हुँदैन। परमेश्वरको घरमा, परमेश्वरको अघि धनी र गरिबबीच, अनि उच्च र न्यून सामाजिक हैसियतबीच कुनै भेदभाव छैन, र विशेष पारिवारिक पृष्ठभूमि भएको कोही पनि विशेष व्यवहार वा विशेषाधिकार पाउन योग्य हुँदैन। परमेश्वरको अघि, सबै मानिसहरूको एउटै मात्र पहिचान हुन्छ, जुन सृष्टि गरिएको प्राणीको पहिचान हो। साथै, परमेश्वरको अघि, सबै मानिसहरूको प्रकृति सार पनि समान नै हुन्छ। परमेश्वरले मुक्ति दिन चाहनुहुने मानवजाति केवल एउटै प्रकारको हुन्छ, र त्यो भ्रष्ट मानवजाति हो। त्यसकारण, तेरो पहिचान वा सामाजिक हैसियत कुलीन वा नीचो जे भए पनि, तिमीहरू सबै परमेश्वरले मुक्ति दिन चाहनुहुने मानिसहरू हौ।
मानौँ, कसैले तँलाई यसो भन्यो, “तिम्रो परिवार हेर त, तिनीहरू यति गरिब छन् कि तिमीसँग राम्रो लुगा पनि छैन; तिम्रो परिवार यति गरिब छ कि तिमी प्राथमिक तहको विद्यालयसम्म मात्र पढ्यौ र कहिल्यै उच्च माध्यमिक विद्यालयमा पढेनौ; तिम्रो परिवार यति गरिब छ कि तिमी जहिल्यै झोल र तरकारी मात्रै खान्छौ, र तिमीले चकलेट, पिज्जा, वा कोकाकोला कहिल्यै पनि खाएको छैनौ।” यस्तो परिस्थिति तैँले कसरी सम्हाल्नुपर्छ? के तँलाई हीनताबोध वा निराश महसुस हुन्छ? के तँ मनमनै परमेश्वरसँग गुनासो गर्छस्? के तँ त्यो व्यक्तिले भनेको कुराले विचलित हुन्छस्? (अहिले त म विचलित हुँदिनँ।) अहिले हुँदैनस्, तर यसभन्दा पहिले त हुन्थिस्, होइन र? विगतमा, कसैको परिवार धनी, वा सम्पन्न र प्रतिष्ठित देख्दा, तैँले भन्थिस्, “अहो! तिनीहरू त महलमा बस्छन् र तिनीहरूसँग कार पनि छ। तिनीहरू धेरै पटक विदेश गएका छन्। म त आफ्नो गाउँबाट बाहिर पनि कहिल्यै गएको छैनँ, र म कहिल्यै रेल चढेको छैनँ। तिनीहरू द्रुत गतिको रेलमा यात्रा गर्छन्, प्रथम श्रेणीमा यात्रा गर्छन्, विलासी जहाजको यात्रामा जान्छन्, र फ्रान्सेली डिजाइनर ब्रान्ड र इटालियन गहना लगाउँछन्। मैले कसरी पहिले यस्ता कुनै कुराहरूबारे नसुनेको हो?” त्यस्ता मानिसहरूको नजिक हुँदा, तँलाई आफू तिनीहरूभन्दा सानो छु भन्ने महसुस हुन्छ। सत्यता सङ्गति गर्दा र परमेश्वरमा विश्वास गर्दा, तँमा केही हदसम्म आत्मविश्वास हुन्छ। तर ती मानिसहरूसँग आफ्नो परिवार र पारिवारिक जीवनबारे कुरा गर्दा, तँलाई भाग्न र उम्कन मन लाग्छ, र तँलाई आफू तिनीहरूजति राम्रो छैनँ, र आफू बाँच्नुभन्दा मर्नु नै निको हो भन्ने लाग्छ। अनि, तँ यस्तो सोच्छस्, “म किन यस्तो परिवारमा बस्छु? मैले संसारको केही कुरा देखेको छैनँ। अरूले आफ्नो हातमा हातकै क्रिम लगाउँछन्, तर म भने मेरो हातमा अझै पनि भ्यासलिन नै लगाउँछु; अरूले अनुहारमा क्रिमसमेत प्रयोग गर्दैनन्, सीधै ब्युटी पार्लर जान्छन्, जबकि मलाई त ब्युटी पार्लर कहाँ छ भन्नेसमेत थाहा छैन; अरू सेडान कारमा घुम्छन्, तर त्यो मेरो लागि धेरै महँगो कुरा हो, मैले त साइकल चलाउन पाएँ पनि म भाग्यमानी हुन्छु, र कहिलेकहीँ त मैले गोरुगाडा वा गधागाडा चढ्नुपर्छ।” त्यसैले, जब-जब तँ त्यस्ता मानिसहरूसँग कुरा गर्छस्, तब-तब तँलाई आफैप्रति अनिश्चित महसुस हुन्छ र आफ्नो पहिचानको कुरा खोल्न तँलाई लाज लाग्छ र तैँले यसबारे उल्लेख गर्ने आँटै गर्दैनस्। हृदयमा तँलाई परमेश्वरप्रति केही हदसम्म आक्रोश र रिस हुन्छ, र तैँले सोच्छस्, “तिनीहरू सबै मजस्तै सृष्टि गरिएका प्राणीहरू हुन्।” “तैपनि परमेश्वरले तिनीहरूलाई किन जीवनको यति धेरै आनन्द लिन दिनुहुन्छ? किन उहाँले तिनीहरूलाई त्यसप्रकारको पारिवारिक र सामाजिक हैसियत पाउने पूर्वनिर्धारित गर्नुभयो? अनि, मेरो परिवार किन यति गरिब छ? मेरो आमाबुबा किन समाजको तल्लो तहमा छन्, र किन तिनीहरूसँग कुनै क्षमता वा सीपहरू छैनन्? यसबारे सोच्दा मात्रै पनि मलाई रिस उठ्छ। जब म यस विषयमा कुरा गर्छु, मलाई मेरा आमाबुबाबारे उल्लेख गर्न मन लाग्दैन, किनभने तिनीहरू साह्रै असमर्थ र असक्षम छन्! सेडान कारमा घुम्ने र महलमा बस्ने त कुरै छोडौँ, म त सहर गएर बस चढ्न र द्रुत गतिको रेल चढ्न, वा सहरका पार्कहरूमा खेल्न पाए पनि खुसी हुन्थेँ, तर तिनीहरूले मलाई त्यहाँ लगेकै छैनन्, एकपटक पनि लगेका छैनन्! मसँग जीवनको कुनै अनुभव नै छैन। मैले राम्रो खाना खाएको, वा राम्रो कार चढेको छैनँ, र जहाजमा उड्ने त मेरो सपना मात्र हो।” यी सबैबारे सोच्दा तँलाई हीनताबोध हुन्छ, र यो मामिलाले तँलाई प्राय बाँधेर राख्छ, त्यसैले तँ तेरो भन्दा खासै फरक पहिचान र हैसियत नभएका दाजुभाइ-दिदीबहिनीहरूसँग नै प्राय भेटघाट गर्ने गर्छस्, र तैँले मनमनै यस्तो सोच्छस्: “सङ्गत गुनाको फल भन्ने भनाइ साँचो रहेछ। ती मानिसहरूलाई हेरौँ न, तिनीहरू सबै धनी छन्, अनि तिनीहरू वरिष्ठ सरकारी अधिकारीहरू, करोडपतिहरू, महाधनी बाउआमाका छोराछोरीहरू, शक्तिशाली व्यापारीहरू, र विदेश पढेर फर्केका र स्नातकोत्तर गरेकाहरू, साथै कर्पोरेट प्रमुख र होटेल प्रबन्धकहरू हुन्। तिनीहरूलाई हामीजस्ता साधारण मानिसहरूसँग तुलना गरौँ न। हामी त सबै कि त किसान हौँ कि त बेरोजगार। हाम्रो परिवार ग्रामीण ठाउँमा बस्छन्, हामीले प्राथमिक विद्यालयको शिक्षा मात्र पाएका छौँ, र हामीले संसारको केही कुरा देखेका छैनौँ। हामी गाईवस्तु गोठाला गर्छौँ, सडकमा पसल चलाउँछौँ, र जुत्ता मर्मत गर्छौँ। हामी कस्ता मानिसहरू हौँ? के हामी झुत्रे झुण्ड मात्र होइनौँ र? ती मानिसहरूलाई हेर त, ती सबै उत्कृष्ट र स्टाइलिश छन्। हामीजस्ता धूले मानिसहरूबारे सोच्दा त, मलाई बेकारजस्तो लाग्छ र दुःख लाग्छ।” यतिका वर्ष परमेश्वरमा विश्वास गरेपछि पनि, तैँले यो कुरा कहिल्यै त्यागेको हुँदैनस्, र तँलाई प्राय हीनताबोध र उदासी महसुस भइरहन्छ। यस्ता मानिसहरूका विचार र दृष्टिकोणहरू प्रस्टै गलत छन्, र यो कुराले मानिसहरू र परिस्थितिहरूप्रतिको तिनीहरूको दृष्टिकोणको सहीपन, र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने तिनीहरूको तौरतरिकामा गम्भीर असर गर्छ। यी विचार र दृष्टिकोणहरू सामाजिक प्रवृत्ति र सामाजिक प्रक्रियाद्वारा प्रभावित भएका हुन्छन्। अझै ठ्याक्कैसँग भन्दा, ती विचार र दृष्टिकोणहरू अवश्य नै दुष्ट मानव र परम्परागत संस्कृतिद्वारा सिकाइने कुराका प्रभावहरूका उपज हुन्। ती भ्रष्ट कुराहरू भएकाले र ती दुष्ट प्रवृत्तिहरूसँग सम्बन्धित भएकाले, तैँले त्यस्ता विचार र दृष्टिकोणहरू त्याग्नुपर्छ र ती कुराको बाधा वा बन्धनमा पर्ने गर्नु हुँदैन। कतिपय मानिसहरू भन्छन्: “म यस्तो परिवारमा जन्मिएँ, र यो तथ्य बदल्न सकिँदैन। यस्ता विचार र दृष्टिकोणहरूले मेरो मन निरन्तर भारी तुल्याउँछन्, र ती कुरा त्याग्न गाह्रो छ।” ती कुरा त्याग्न गाह्रो छ, यो वास्तवमा एउटा तथ्य हो, तर यदि तँ निरन्तर गलत विचार र दृष्टिकोणमा अल्झिरहिस् भने, तैँले ती कुरा कहिल्यै त्याग्नेछैनस्। यदि तँ सही विचार र दृष्टिकोणहरू स्विकार्छस् भने, तैँले गलत विचारहरू बिस्तारै त्याग्नेछस्। मैले यसो भन्नुको अर्थ के हो? त्यो के हो भने, तैँले ती कुरा एकैचोटि त्यागेर, धनी मानिसहरू वा उच्च हैसियत र मूल्य भएका मानिसहरूसँग समान र सामान्य हिसाबमा अन्तरक्रिया गरिहाल्न सक्दैनस्। एकै पटकमा यसो गर्नु असम्भव हुन्छ, तर कम्तीमा पनि तँ यस मामिलाबाट मुक्त हुनचाहिँ सक्नेछस्। यदि तँमा हीनताबोधको समस्या अझै छ भने पनि, यदि तँलाई अझै पनि यो कुराले तेरो हृदयको गहिराइमा कता-कता विचलित बनाउँछ भने पनि, तैँले केही हदसम्म यसबाट स्वतन्त्रता प्राप्त गरिसकेको हुनेछस्। अनि अवश्य नै, यसपछि तैँले सत्यता पछ्याउने क्रममा, क्रमिक रूपमा अझ बढी स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्नेछस्। जब सबै विविध तथ्यहरू खुलासा हुन्छन्, तैँले विभिन्न मानिस, मामिला, र परिस्थितिहरूको सार अझ स्पष्ट देख्नेछस्, र सत्यतासम्बन्धी तेरो बुझाइ झन्झन् गहन हुनेछ। जब तँसित त्यस्ता मामिलाहरूबारे अझै भित्री अन्तर्ज्ञान हुन्छ, तेरो जीवन अनुभव र त्यस्ता मामिलाहरूसम्बन्धी तेरो ज्ञान बढ्नेछ। यससँगै सत्यताप्रतिको तेरो मनोवृत्ति अझै बढी सक्रिय र सकारात्मक बन्नेछ, र तँ झन्झन् कम रूपमा मात्रै नकारात्मक कुराहरूद्वारा बाधित हुनेछस्। त्यसपछि त के तँ परिवर्तन भएको हुनेछैनस् र? अनि, जब तैँले तेरो भन्दा अत्यन्तै फरक पहिचान र हैसियतवाला कुनै व्यक्ति भेट्छस् र ऊसँग कुराकानी र उठबस गर्छस्, तब कम्तीमा पनि तँलाई भित्री डर हुनेछैन, न त तँ भाग्ने नै छस्, बरु तैँले उसलाई सही रूपमा लिन सक्नेछस्, र त्यसउप्रान्त तँ उसको बन्धनमा पर्न वा ऊ कति महान् र प्रतिष्ठित छ भनेर सोच्न छोड्नेछस्। एकचोटि मानिसहरूको भ्रष्ट सार बुझेपछि, तैँले हरप्रकारका मानिसहरूसँग ठीकसँग व्यवहार गर्न सक्नेछस्, र त्यसरी सबै मानिसहरूसँग आदर पनि नगरी वा हेला पनि नगरी, र भेदभाव पनि नगरी वा उच्च पनि नठानी, मेलमिलापमा रहन, अन्तरक्रिया गर्न र उठबस गर्न सक्नेछस्। यसरी, के तैँले सत्यता पछ्याएर आउने नतिजा क्रमिक रूपमा प्राप्त गर्नेछैनस् र? (गर्नेछु।) यो नतिजा प्राप्त गरेपछि, तैँले सत्यतालाई अझै बढी प्रेम गर्नेछस्, तँमा सकारात्मक कुराहरूप्रति अझै बढी झुकाव हुनेछ, अनि तँमा सत्यताप्रति पनि अझै बढी झुकाव हुनेछ, र समाज वा संसारका कुनै पनि व्यक्तिलाई उसको विशिष्ट पहिचान र हैसियतको कारण सम्मान गर्नुको सट्टा परमेश्वर र सत्यतालाई आदर गर्नेतर्फ अझै बढी झुकाव हुनेछ। तैँले सम्मान र आदर गर्ने कुराहरू, साथै तैँले पछ्याउने र आराधना गर्ने कुराहरू फरक हुनेछन्, र ती बिस्तारै नकारात्मक कुराहरूबाट सकारात्मक कुराहरूमा, र सत्यतामा परिवर्तन हुनेछन् वा अझै ठ्याक्कै रूपमा भन्दा, त्यो परमेश्वरमा, परमेश्वरका वचनहरूमा, र परमेश्वरको पहिचान र हैसियतमा परिवर्तन हुनेछन्। यसरी, तँ क्रमिक रूपमा यस पक्षको सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। अर्थात्, तैँले यस पक्षमा आफ्नो भ्रष्ट स्वभाव र शैतानको बन्धन बिस्तारै त्याग्नेछस्, र बिस्तारै मुक्ति प्राप्त गर्नेछस्—यस प्रक्रियामा संलग्न हुने कुरा नै यही हो। यो गाह्रो छैन; बाटो तेरै अगाडि छ। जबसम्म तैँले सत्यता पछ्याउँछस्, तबसम्म तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्। अनि अन्त्यमा, तँ कुन वास्तविकतामा प्रवेश गर्नेछस्? तैँले आफ्नो परिवारबाट जस्तोसुकै हैसियत प्राप्त गरे पनि, तँ अब यो कुलीन छ कि नीचो छ भनेर सोचमग्न वा चिन्तित हुनेछैनस्। बरु, तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्नेछस्, अनि सृष्टि गरिएको प्राणीको रूपमै मानिसहरू र परिस्थितिहरूलाई हेर्न, र आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न सक्नेछस्, अनि सृष्टि गरिएको प्राणीको रूपमै परमेश्वरको अघि जिउन सक्नेछस्, अनि हरदिन वर्तमानमा जिउन सक्नेछस्, र यो सबै कुरा सृष्टि गरिएको प्राणीको पहिचान लिएरै गर्नेछस्—तँ यही परिणाम पछ्याइरहेको हुनेछस्। के यो राम्रो परिणाम होइन र? (हजुर, हो।) जब मानिसहरू वास्तविकताको यो पक्षमा प्रवेश गर्छन्, तिनीहरूको हृदय स्वतन्त्र र मुक्त हुन्छ। कम्तीमा पनि, तँलाई आफ्नो परिवारबाट प्राप्त पहिचानले चिन्तित तुल्याउनेछैन, र तैँले आफ्नो हैसियत उच्च छ कि नीच छ भनेर वास्ता गर्न छोड्नेछस्। यदि तेरो पहिचान प्रतिष्ठित छ र कतिपय मानिसहरूले तँलाई आदरसाथ हेर्छन् भने पनि, तँलाई घृणित महसुस हुनेछ; यदि तेरो पहिचान तुच्छ छ र कतिपय मानिसहरूले तँलाई भेदभाव गर्छन् भने पनि, तँलाई यस कुराले सङ्कुचित वा त्रसित तुल्याउनेछैन, न त तँ यसबारे दुखी वा नकारात्मक नै बन्नेछस्। त्यसउप्रान्त, कहिल्यै पनि तैँले द्रुत गतिको रेल चढेको नचढेको, ब्युटी पार्लर गएको नगएको, विदेश घुमेको नघुमेको, पश्चिमी खाना खाएको नखाएको, वा धनी मानिसहरूले जस्तै विशेष भौतिक सुविधाहरूको आनन्द लिएको नलिएको भन्ने आधारमा चिन्ता, दुःख वा हीनताबोध महसुस गर्न छोड्नेछस्। तँ त्यस्ता कुराहरूको बन्धन र समस्यामा पर्न छोड्नेछस्, र तैँले हरप्रकारका मानिस, परिस्थिति, र मामिलाहरूलाई सही रूपमा लिन, अनि सामान्य रूपमा कर्तव्य पूरा गर्न सक्नेछस्। के त्यसपछि तँ स्वतन्त्र र मुक्त हुनेछैनस् र? (हुनेछु।) यसरी तेरो हृदय मुक्त हुनेछ। जब तँ सत्यताको यो पक्षको वास्तविकतामा प्रवेश गरेको हुन्छस्, र जब तँ शैतानको बन्धनबाट मुक्त भएको हुन्छस्, तँ साँच्चै नै परमेश्वरको अघि जिउने सृष्टि गरिएको प्राणी, र परमेश्वरले चाहनुहुने सृष्टि गरिएको प्राणी बन्नेछस्। अहिलेसम्ममा, तँलाई परिवारबाट प्राप्त पहिचान र हैसियत त्याग्ने मार्गबारे स्पष्ट भइसकेको हुनुपर्छ।
पछिल्लोपटक हामीले अर्को विषय—अर्थात् परिवारले सिकाउने कुराले तँलाई पार्ने प्रभावहरूलाई त्याग्नेबारे—पनि छलफल गर्यौँ। कुनै व्यक्तिको परिवारद्वारा उसलाई सिकाइने कुराका प्रभावहरू ऊ सानो हुँदैदेखि सुरु हुन्छन्। त्यो व्यक्ति वयस्क अवस्थामा पुगेपछि, उसले आफूलाई सिकाइएका यी विचार र दृष्टिकोणहरू बिस्तारै आफ्नो जीवनमा लागू गर्न थाल्छ। उसले निश्चित मात्रामा जीवन अनुभव प्राप्त गर्दासम्म, उसले आफूलाई परिवारले सिकाएका यी विभिन्न विचार र दृष्टिकोणहरू स्वतन्त्र रूपमा अभ्यास गर्न थालिसकेको हुन्छ, र यस आधारमा उसले विभिन्न कुराहरूसँग अन्तरक्रिया गर्ने अझ परिष्कृत, अझै विशिष्ट, र आफ्नो लागि अझै लाभदायक विभिन्न सिद्धान्त, तौरतरिका र चलाकीहरू बटुलिसकेको हुन्छ। के भन्न सकिन्छ भने, परिवारद्वारा व्यक्तिलाई सिकाइने कुराका प्रभाव ऊ समाज र समुदायमा प्रवेश गर्ने क्रममा उसको प्रारम्भिक ज्ञानको काम गर्छ, र यसले उसलाई अरूमाझ जिउने क्रममा विभिन्न परिस्थितिहरू सम्हाल्न विभिन्न तरिका र युक्तिहरू स्वतन्त्र रूपमा प्रयोग गर्न सक्षम बनाउँछ। परिवारद्वारा सिकाइने कुराका प्रभावहरू एक किसिमको प्रारम्भिक ज्ञान भएकाले, यी कुराहरू प्रत्येक व्यक्तिको हृदयमा टाँसिएका र जरा गाडेर बसेका हुन्छन्। यी कुराहरूले मानिसहरूको जीवन, तिनीहरूले आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने तौरतरिका, र जीवनप्रतिको तिनीहरूको दृष्टिकोणलाई पनि प्रभाव पार्छन्। तर यी सिकाइने कुराका प्रभावहरू सकारात्मक नहुने भएकाले, यी कुराहरू मानिसहरूले सत्यता पछ्याउने क्रममा त्याग्नुपर्ने कुराहरू पनि हुन्। यस्तो शिक्षणतँमा हालिदिने विचार र दृष्टिकोणहरू चाहे तेरो हृदयको अन्तस्करणभित्रै पैदा भए पनि नभए पनि, वा यी कुराले चाहे तेरो भित्री गहिराइमा ठूलो स्थान ओगटे पनि नओगटे पनि—र तैँले आफ्नो अस्तित्वको क्रममा त्यस्ता विचार र दृष्टिकोणहरू चाहे पहिले नै साँचो पुष्टि गरिसकेको वा अभ्यास गरिसकेको भए पनि नभए पनि—यी सिकाइने कुराका प्रभावहरूले तेरो जीवनलाई अहिले र भविष्यमा विभिन्न हदमा प्रभाव पार्ने नै छन्, र त्यसरी तेरो जीवन मार्ग छनौट अनि विभिन्न कुराहरू हेर्ने तेरो मनोवृत्ति र सिद्धान्तहरू प्रभावित तुल्याउने नै छन्। के भन्न सकिन्छ भने, धेरैजसो परिवारले मानिसहरूलाई संसारसँग व्यवहार गर्ने सबैभन्दा आधारभूत उपाय र दर्शनहरू प्रदान गर्छन्, ताकि तिनीहरू समाजमा जिउन र बाँच्न सकून्। उदाहरणको लागि, हामीले पछिल्लो भेलामा आमाबुबाले सधैँ बोलिरहने भनाइहरूबारे सङ्गति गर्यौँ, जस्तै “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” साथै “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ” र “थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ।” अरू के-के थिए? “सद्भाव खजाना हो; धैर्यता सान हो,” र “धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ।” तेरो परिवारले तँलाई सिकाएका यी विभिन्न विचार र दृष्टिकोणहरू तैँले स्पष्ट रूपमा लागू वा अभ्यास गरे पनि नगरे पनि, ती तेरो जीवनका प्रारम्भिक ज्ञान हुन्। मैले “प्रारम्भिक ज्ञान” भन्नुको अर्थ के हो? मैले भन्नुको अर्थ के हो भने, यो कुरा तँलाई संसारसँग व्यवहार गर्ने शैतानका दर्शनहरू स्विकार्न प्रेरित गर्ने र उक्साउने कुरा हो। तेरो परिवारबाट आएका यी भनाइहरूले तँभित्र दुनियाँसित व्यवहार गर्ने सबैभन्दा आधारभूत तरिका र जीवित रहने सबैभन्दा आधारभूत तरिका हालिदिएको छ, ताकि यो समाजमा प्रवेश गरेपछि, तैँले ख्याति, लाभ र हैसियत पछ्याउन कडा परिश्रम गर्नेछस्, आफ्नो वास्तविक रूप लुकाउन र अझ राम्रो देखाउन, र आफूलाई अझ राम्ररी सुरक्षित गर्न प्रयास गर्नेछस्, र मानिसहरूमाझ श्रेष्ठ बन्न, र शीर्षमा पुग्न, र अरूभन्दा माथि रहन प्रयास गर्नेछस्। तेरो लागि, तेरो परिवारले तँलाई सिकाएका यी कुराहरू दुनियाँसित व्यवहार गर्ने नियम र युक्तिहरू हुन् जसले तँलाई समाजमा प्रवेश गर्न र दुष्ट प्रवृत्तिहरूमा घुलमिल हुन उत्प्रेरणा प्रदान गर्छन्।
पछिल्लोपटक हामीले परिवारले मानिसहरूमा पार्ने सिकाइने कुराका प्रभावहरूबारे सङ्गति गर्यौँ। तर यीबाहेक पनि, यस्ता सिकाइने कुराका प्रभावहरू अझै कति हो कति छन्, त्यसैले हामी यी कुराहरूबारे हाम्रो सङ्गति जारी राखौँ। उदाहरणको लागि, कतिपय आमाबुबाले छोराछोरीहरूलाई भन्छन्, “सँगै हिँड्ने तीन जनामध्ये, कम्तीमा एक जना मेरो शिक्षक हुन सक्छ।” यो कसले भन्यो? (कन्फ्युसियसले।) यो वास्तवमा कन्फ्युसियसले नै भनेको कुरा हो। अनि, कतिपय आमाबुबाले छोराछोरीहरूलाई भन्छन्: “जहाँ गए पनि तैँले सीप सिक्नुपर्छ। त्यो सिकेपछि, तँसँग विशेषज्ञ क्षेत्रको सीप हुनेछ, र तैँले जागिर पाउँदिनँ भनेर कहिल्यै चिन्ता लिनुपर्दैन, र हर परिस्थितिमा तँ समस्या समाधान गर्ने व्यक्ति बन्नेछस्। ‘सँगै हिँड्ने तीन जनामध्ये, कम्तीमा एक जना मेरो शिक्षक हुन सक्छ’ भनेर प्राचीन ऋषिहरूमध्येका एकले यो कुरा राम्रोसँग बताएका छन्। अरूको माझमा हुँदा, तैँले विशेषज्ञ क्षेत्रमा कोसँग सीप छ भनेर हेर्नुपर्छ। तिनीहरूले थाहै नपाई त्यो कुरा गोप्य रूपमा सिक्, त्यसपछि त्यसमा तँ पोख्त भएपछि, त्यो तेरो सीप बन्नेछ, र तैँले आफ्नो हातमुख जोड्न पैसा कमाउन सक्नेछस्, अनि तैँले जीवनमा कहिल्यै पनि आधारभूत आवश्यकताहरूबारे चिन्ता गर्नु पर्दैन।” अरूको माझमा हुँदा सीपहरू सिक्नुपर्छ भनेर तेरा आमाबुबाले भन्नुको उद्देश्य के हो? (संसारमा हामीलाई अगाडि बढाउनु।) सीपहरू सिक्नुको उद्देश्य आफैलाई दह्रिलो बनाउनु, शीर्षमा पुग्नु, अरूबाट गुप्त रूपमा सीपहरू लिन सिक्नु, र आफ्ना सामर्थ्यहरू बिस्तारै बढाउँदै लैजानु हो। यदि मानिसहरूमाझ तेरो ठूलो सामर्थ्य छ भने, तँसँग रोजीरोटी पनि हुनेछ, ख्याति र सौभाग्य पनि हुनेछ। अनि, जब तँसँग ख्याति र सौभाग्य दुवै हुन्छ, मानिसहरूले तँलाई उच्च नजरले हेर्नेछन्। यदि तँसँग वास्तविक सीप छैन भने, कसैले पनि तँलाई उच्च नजरले हेर्नेछैन, त्यसैले तैँले गोप्य रूपमा अरूबाट सीपहरू सिक्नुपर्छ, अरूका दह्रिला पक्ष र कुशलताहरू टिप्नुपर्छ, र बिस्तारै तिनीहरूभन्दा दह्रिलो बन्नुपर्छ—तब मात्र तँ शीर्षमा पुग्न सक्छस्। कतिपय आमाबुबाले छोराछोरीहरूलाई यसो भन्छन्, “यदि तँ मानिसहरूको नजरमा मर्यादित देखिन चाहन्छस् भने, तैँले तिनीहरूले नदेखेको बेला कष्ट भोग्नुपर्छ,” र यसको उद्देश्य फेरि पनि आफ्ना छोराछोरीलाई अरूको सम्मान र ठूलो आदर पाउने अवस्थामा पुर्याउनु नै हो। यदि तँ अरूले नदेखेको बेला सीप सिक्न कडा परिश्रम गर्दै लगनसाथ काम गर्छस् र ठूलो कठिनाइ सहन्छस् भने, तैँले ती सीप सिकिसकेपछि, आफ्नो प्रतिभाले सबैलाई प्रभावित पार्न सक्नेछस्, र जब मानिसहरूले तँलाई तुच्छ ठान्छन् वा हेप्छन्, तब तैँले आफ्नो प्रतिभा देखाउन सक्छस्, अनि त्यसउप्रान्त कसैले पनि तँलाई हेप्ने हिम्मत गर्नेछैन। तँ साधारण र सामान्य देखिए पनि, र तैँले धेरै नबोले पनि, तँसँग सामान्य मानिसहरूको क्षमताले नभ्याउने प्राविधिक कौशलताका केही सीपहरू हुनेछन्, त्यसैले अरूले तँलाई ती सीपहरूको लागि सम्मान गर्नेछन् र तेरो उपस्थितिमा आफूलाई सानो महसुस गर्नेछन्, र तिनीहरूलाई मद्दत गर्न सक्ने व्यक्तिको रूपमा तँलाई हेर्नेछन्। यस तरिकाले, के मानिसहरूमाझ तेरो मूल्य बढेको हुँदैन र? अनि तेरो मूल्य बढ्दै जाँदा, के यसले तँलाई मर्यादित देखाउँदैन र? यदि तँ अरूहरूमाझ प्रतिष्ठित हैसियत कमाउन चाहन्छस् भने, तैँले तिनीहरूले नदेखेको बेला कठिनाइ र पीडा सहनुपर्छ। तैँले जति धेरै कठिनाइ सहे पनि, यसलाई सहँदै अघि बढिराख्, र तँ कति सक्षम छस् भनेर मानिसहरूले देखेपछि, तेरा सबै कष्टहरू सार्थक साबित हुनेछन्। अनि, तेरा आमाबुबाले तँलाई “यदि तँ मानिसहरूको नजरमा मर्यादित देखिन चाहन्छस् भने, तैँले तिनीहरूले नदेखेको बेला कष्ट भोग्नुपर्छ” भनेर भन्नुको उद्देश्य के हो? तिनीहरूको उद्देश्य तैँले अरूमाझ भेदभाव वा हेपाइ सहनुको सट्टा प्रतिष्ठित हैसियत प्राप्त गर् र तिनीहरूको उच्च आदर कमा भन्ने हो, ताकि तैँले जीवनमा राम्रा कुराहरूको आनन्द लिन मात्र होइन, अरूको सम्मान र समर्थन प्राप्त गर्न पनि सक्। समाजमा यस्तो हैसियत भएका मानिसहरूलाई अरूले नहेप्ने मात्र होइन, तिनीहरू जहाँ गए पनि तिनीहरूको लागि सबै कुरा सहज रूपमा अघि बढ्ने पनि हुन्छ। जब मानिसहरूले तँलाई आउँदै गरेको देख्छन्, तब तिनीहरूले भन्नेछन्, “अहो, तपाईँ पो हुनुहुँदो रहेछ, तपाईँ आउनु त हाम्रो लागि सौभाग्यको कुरा हो? तपाईँलाई भेट्न पाउनु कस्तो सम्मानको कुरा हो! तपाईँको कुनै काम थियो कि? म मिलाइदिइहाल्छु नि। ए, टिकट किन्न आउनुभएको हो? ठीक छ, लाइनमा बस्नुपर्दैन। म तपाईँको लागि सबैभन्दा राम्रो सिट लिइदिनेछु। आखिर हामी साथी पो हौँ त!” तैँले त्यो कुरा मान्छस् र सोच्छस्, “अहो, मेरो यो सेलिब्रिटीको स्तरले साँच्चै अद्भुत काम गर्ने रहेछ। अग्रजहरूले ‘यदि तँ मानिसहरूको नजरमा मर्यादित देखिन चाहन्छस् भने, तैँले तिनीहरूले नदेखेको बेला कष्ट भोग्नुपर्छ’ भनेर भनेको ठीकै हो। समाज वास्तवमै त्यस्तै छ, र यो कुरा एकदमै वास्तविकतामा आधारित छ! यदि मसँग यो प्रतिष्ठा नभएको भए, मलाई कसले पो ध्यान दिन्थ्यो र? यदि एक साधारण व्यक्तिले जस्तो लाइनमा बस्नु परेको भए, अरूले पनि हेयको नजरले हेर्थे र कुल्चीमिल्ची पार्थे, र अगाडि पुग्दा सायद टिकट पनि दिन्थेनन् होला।” जब तँ अस्पतालमा डाक्टर भेट्न लाइनमा बसिरहेको हुन्छस्, तब कसैले तँलाई हलको परबाट देखेर भन्छ, “तपाईँ त फलानो होइन र? तपाईँ किन लाइनमा पर्खिरहनुभएको? म तपाईँको लागि तुरुन्तै एक विशेषज्ञ बोलाइहाल्छु, ताकि तपाईँ लाइनमा बस्न नपरोस्।” तैँले भन्छस्: “मैले अहिलेसम्म भुक्तानी गरेको छैन।” अनि, तिनीहरूले भन्छन्, “पर्दैन, बिलको पैसा म तिर्छु।” तैँले यसबारे विचार गर्छस् र यस्तो सोच्छस्, “सेलिब्रेटी हुनु राम्रो रहेछ। कसैले नदेखेको बेला त्यति धेरै कष्ट सहेको आखिर व्यर्थ त भएन। मैले समाजमा साँच्चै विशेष आदर पाउन सक्छु। यो समाज एकदमै वास्तविकता-केन्द्रित छ, राम्रो व्यवहार पाउनलाई सेलिब्रेटी भए पुग्छ। कस्तो राम्रो!” फेरि पनि, तैँले भोगेको कष्ट व्यर्थ भएन भनेर आनन्द मान्छस्, र अरूले नदेखेको बेला यति कठिनाइ र कष्ट भोग्नु सार्थक भयो भन्ने सोच्छस्! तँ यस कुरामा निरन्तर चकित हुन्छस्, र सोच्छस्, “अस्पतालमा डाक्टर भेट्न मैले लाइन बस्नुपर्दैन। जब म प्लेन टिकट किन्छु तब राम्रो सिट पाउन सक्छु, र जहाँ गए पनि मलाई विशेष व्यवहार गरिन्छ। मेरो प्रभावले मलाई पछाडिको ढोकाबाट पनि भित्र लैजान सक्छ। कस्तो राम्रो! समाज यस्तै हुनुपर्छ, र समानता आवश्यक छैन। मानिसहरूले आफूले गरेको मेहनतअनुसार फल पाउनुपर्छ। अरूले नदेखेको बेला दुःख गरिएन भने, तिनीहरूले हेर्दा मर्यादित देखिन सकिन्छ त? उदाहरणको लागि, मलाई हेर न। अरूले नदेखेको बेला मैले दुःख गरेँ, ताकि तिनीहरूले देख्दा मैले यस्तो विशेष आदर पाउन सकूँ, किनकि म यो पाउन योग्य छु।” यस्तो अवस्था हुँदा, यदि मानिसहरूले अरूसँग सम्बद्ध हुन र समाजमा कामकुराहरू पूरा गर्न चाहन्छन् भने, तिनीहरू के कुरामा भर पर्छन्? तिनीहरू विभिन्न कामकुराहरू गर्ने आफ्नो क्षमता बढाउन आफ्नो प्रतिभा र सीपहरूमा भर पर्छन्। कुनै व्यक्ति आफ्नो प्रयासमा सफल हुन्छ हुँदैन वा समाजमा ऊ कामकुरा मिलाउन कति सिपालु छ भन्ने कुरा उसको प्रतिभा वा मानवतामा आधारित हुँदैन, न त यो ऊसँग सत्यता छ छैन भन्ने कुरामै आधारित हुन्छ। समाजमा कुनै निष्पक्षता वा समानता हुँदैन। अनि, जबसम्म तँ पर्याप्त रूपमा लगनशील हुन, र अरूले नदेखेको बेला दुःख गर्न सक्छस्, र जबसम्म तँ पर्याप्त रूपमा निरङ्कुश र भयङ्कर हुन्छस्, तबसम्म तैँले अरूहरूमाझ उच्च हैसियत बनाउन सक्छस्। विगतमा पनि मानिसहरूले मार्शल आर्ट्स संसारमा मास्टर बन्नको लागि प्रतिस्पर्धा गर्थे, र तिनीहरूले दिनरात निरन्तर धेरै पीडा सहन्थे र अभ्यास गर्थे, र अन्तिममा तिनीहरूले विभिन्न मार्शल आर्ट्स स्कुललहरूको सबै शैलीहरूमा निपुणता हासिल गरेर आफ्नै छुट्टै पृथक शैली निर्माण गर्थे, र त्यसमा अजेय नभइञ्जेल अभ्यास गरेर त्यो शैलीलाई सिद्ध पार्थे। अनि, अन्त्यमा के हुन्थ्यो? मार्शल आर्ट्स प्रतियोगितामा, तिनीहरूले सबै प्रमुख विद्यालयका लडाकुहरूलाई हराएर मार्शल आर्ट्स संसारको मास्टरको दर्जा प्राप्त गर्थे। अरूको अगाडि मर्यादित देखिनको लागि, तिनीहरू हरकारको पीडा सहन तयार हुन्थे, र बन्द कोठाभित्र कतिपय कालो कलाहरू पनि अभ्यास गर्थे। आठ-दश वर्षको अभ्यासपछि, तिनीहरू यति विज्ञ बन्थे कि मार्शल आर्ट्स संसारमा कसैले पनि तिनीहरूलाई प्रतियोगितामा पराजित गर्न, वा बाहिर कतै हत्या गर्न सक्दैनथ्यो, र तिनीहरूले विष पिए पनि, त्यो विष आफ्नो शरीरबाट निकालेर फाल्न सक्थे। यसरी तिनीहरूले मार्शल आर्ट्स संसारको मास्टरको रूपमा आफ्नो स्थान बलियो बनाउँथे र कसैले पनि तिनीहरूको पदमा चुनौती दिन सक्दैनथ्यो—अरूको नजरमा मर्यादित देखिनु भनेको यही हो। अरूको अगाडि मर्यादित देखिनको लागि, प्राचीन समयका मानिसहरूले शाही परीक्षामा भाग लिन्थे र विद्वतापूर्ण सम्मान जित्थे। आजकल, मानिसहरू कलेज जान्छन्, स्नातकोत्तर प्रवेश परीक्षा दिन्छन्, र पिएचडीको लागि अध्ययन गर्छन्—तिनीहरू पनि कठिनाइहरूको बाबजुद आफ्नो अध्ययनमा दृढ रहन्छन्, र बिहानदेखि राति अबेरसम्म, अनि वर्षौँ वर्षसम्म बेकारको ज्ञान सिक्नमा आफ्नो समय खेर फाल्छन्। कहिलेकहीँ तिनीहरू यति थकित हुन्छन् कि तिनीहरूलाई थप अध्ययन गर्न मन लाग्दैन, र तिनीहरू विश्राम लिन चाहन्छन्, तर तिनीहरूका आमाबुबाले तिनीहरूलाई यसो भन्दै हकार्छन्, “तैँले कहिलेचाहिँ अलिकति आसालाग्दो गरी पढ्ने हो? के तँ अझै अरूको अगाडि मर्यादित देखिन चाहँदैनस्? यदि चाहन्छस् भने, तिनीहरूले नदेखेको बेलामा तँ कसरी पीडा नसही यसो गर्न सक्छस्? थोरै समय विश्राम नपाउँदैमा तँ मरिहाल्ने त होइन नि, हो त? पढ्न जा! गएर होमवर्क गर्!” तिनीहरूले भन्छन्, “मैले मेरो होमवर्क पूरा गरेर आजको पाठ दोहोर्याइसकेँ। के तपाईँहरू अब मलाई केही समय आराम गर्न दिन सक्नुहुन्छ?” तर तिनीहरूका आमाबुबाले जवाफ दिन्छन्: “हुँदैन! यदि तँ मानिसहरूको नजरमा मर्यादित देखिन चाहन्छस् भने, तैँले तिनीहरूले नदेखेको बेला कष्ट भोग्नुपर्छ!” तिनीहरूले यसबारे विचार गर्छन् र यस्तो सोच्छन्, “मेरा आमाबुबाले मेरै भलाइको लागि यो सब गरिरहनुभएको छ, तर पनि म किन रमाइलो गर्नमै यति धेरै जिद्दी र लालायित छु? मैले उहाँहरूले भनेको कुरा मान्नुपर्छ। भनाइ नै छ ठूलो मान्छेले भनेको नमान्दा दुःख पाइन्छ, त्यसैले मैले मेरा आमाबुबाको कुरा मान्नुपर्छ। उहाँहरू बाँकी जीवनभरि यस्तै हुनुहुनेछ। यदि मैले उहाँहरूलाई श्रेय दिलाइनँ भने, उहाँहरूलाई निराश पार्नेछु। यसबाहेक, मैले जीवनमा अझै धेरै गर्नु छ, त्यसैले लामो अवधिमा थोरै पीडा सहँदा के नै हुन्छ र?” यो सोचेपछि, तिनीहरूले अध्ययन गर्न, पाठहरू दोहोर्याउन, र होमवर्क गर्नमै आफ्नो सारा ऊर्जा लगाउँछन्। तिनीहरू अध्ययन गर्दै मध्यरातसम्म बस्छन् र जतिसुकै थकाइ लागे पनि त्यो पार गर्न सफल हुन्छन्। यसरी जीवनको बाटोमा, मानिसहरू निरन्तर आफ्नो परिवारले पारेका विचार र अभिव्यक्तिरूपी सिकाइने कुराका प्रभावहरूद्वारा निरन्तर प्रेरित हुन्छन्, जस्तै “यदि तँ मानिसहरूको नजरमा मर्यादित देखिन चाहन्छस् भने, तैँले तिनीहरूले नदेखेको बेला कष्ट भोग्नुपर्छ,” जसले तिनीहरूलाई निरन्तर प्रोत्साहन र उत्प्रेरणा दिइरहन्छन्। आफ्नो भविष्य र सम्भाव्यताहरूको खातिर र अरूको छेउमा मर्यादित देखिनको लागि, तिनीहरूले मानिसहरूले नदेख्दा निरन्तर सीप र ज्ञान सिक्छन्। तिनीहरूले आफूलाई बलियो बनाउनको लागि ज्ञान र विभिन्न सीपहरूद्वारा सुसज्जित हुन्छन्। तिनीहरूले आफूलाई उत्प्रेरित गर्न र आफ्नो जोस जगाउनको निम्ति विभिन्न प्राचीन व्यक्तित्वहरू वा सफल मानिसहरूका अद्भुत कामहरू हेर्छन्। तिनीहरूले यो सब आफ्नो भविष्यको गरिबी, औसतपन र दीनहीनता हटाउन, र भेदभावमा पर्ने आफ्नो नियति परिवर्तन गर्ने उद्देश्यले गर्छन्, ताकि तिनीहरू उच्च व्यक्ति, कुलीन वर्गको सदस्य र अरूले उच्च नजरले हेर्ने व्यक्ति बन्न सकून्। तिनीहरूको परिवारले तिनीहरूमा पारेका यी सिकाइने कुराका प्रभावहरू तिनीहरूको दिमागमा बारम्बार चलिरहन्छन्, र बिस्तारै, यी टिप्पणी र भनाइहरू तिनीहरूको अन्तर्निहित विचार र दृष्टिकोणहरू र दुनियाँसित व्यवहार गर्ने तिनीहरूको तौरतरिकाका साथै अस्तित्वसम्बन्धी तिनीहरूको अन्तर्निहित दृष्टिकोण र तिनीहरूले पछ्याउने लक्ष्य बन्छन्।
कतिपय आमाबुबाले छोराछोरीहरूलाई यसो भन्छन्, “तैँले अरूसँग मित्रता गाँस्न सिक्नुपर्छ। भनाइ नै छ, ‘जसरी एउटा बारलाई तीन घोचाको आड चाहिन्छ, त्यसरी नै एक सक्षम मानिसलाई पनि तीन व्यक्तिको साथ चाहिन्छ।’ अपमानित सङवंशका राजनीतिज्ञ किन हुई[क] का पनि तीन साथी थिए। तँ जहाँ गए पनि, अरूसँग घुलमिल हुन र राम्रो आपसी सम्बन्ध कायम राख्न सिक्। कम्तीमा पनि, तैँले केही घनिष्ठ साथीहरू बनाउनैपर्छ। समाजमा प्रवेश गरेपछि, तैँले जीवन, काम र तेरो आफ्नै कामकाजमा हरप्रकारका कठिनाइहरू सामना गर्नेछस्। यदि तँलाई मद्दत गर्ने साथीहरू छैनन् भने, तैँले नानाथरी कठिनाइहरू र अप्ठ्यारा परिस्थितिहरू एक्लै सामना गर्नुपर्नेछ। यदि तँलाई केही घनिष्ठ मित्र बनाउने युक्तिहरू थाहा छ भने, तैँले यी अप्ठ्यारा परिस्थितिहरू र कठिनाइहरू सामना गर्नुपर्दा, तँलाई समस्याबाट बाहिर निकाल्न र तेरा प्रयासहरूमा तँलाई सफल हुन मद्दत गर्न ती साथीहरू अगाडि आउनेछन्। यदि तँ ठूलाठूला कुराहरू हासिल गर्न चाहन्छस् भने, तैँले कम्मर कसेर साथीहरू बनाउन लागिपर्नुपर्छ। तैँले तेरा प्रयासहरू र तेरो भविष्यको जीवन र अस्तित्वमा सहयोग पाउन हरप्रकारका शक्तिशाली मानिसहरू आफ्नो पक्षमा राख्न सक्नुपर्छ। तैँले तँलाई काम पूरा गर्न सघाउने र तेरो सेवा गर्ने विभिन्न मानिसहरूबाट फाइदा लिन सक्नुपर्छ।” तर आमाबुबाले सामान्यतया यसप्रकारको विचार वा दृष्टिकोण खुलस्त रूपले बताउने, वा छोराछोरीलाई साथी बनाउनुपर्छ, मानिसहरूबाट फाइदा लिनुपर्छ, र आफ्नो प्रयासमा सफल हुन मदत गर्ने साथीहरू खोज्नुपर्छ भनेर सीधै भन्ने गर्दैनन्। तैपनि, समाजमा कतिपय आमाबुबाहरू हैसियत र प्रतिष्ठावाल, वा एकदमै सिपालु र षड्यन्त्रकारी हुन्छन्, र तिनीहरूले आफ्ना बोलीवचन र व्यवहार दुवैले आफ्ना बच्चाहरूलाई प्रभावित पार्छन्। यसबाहेक, जब तिनीहरूले दैनिक जीवनमा बोल्ने र गर्ने कुराहरूमा तिनीहरूका छोराछोरीहरूले तिनीहरूका विचार, दृष्टिकोण र दुनियाँसित व्यवहार गर्ने तौरतरिका देख्छन् र सुन्छन्, यसले छोराछोरीमा सिकाइने कुराका प्रभाव पारिदिन्छ। अनि, तैँले सही तरिकाले सकारात्मक र नकारात्मक कुराहरूबीच भिन्नता आकलन गर्न र खुट्याउन नसक्ने अवस्था भएर, तँ अनजानमै आफ्ना आमाबुबाका बोलीवचन र व्यवहारबाट प्रभावित हुन्छस् र तिनीहरूका विचार र दृष्टिकोणहरू स्विकार्छस्, वा यी विचार र दृष्टिकोणहरू अनजानमै तेरो हृदयको गहिराइमा गाडिएर तेरो काम गर्ने सबैभन्दा आधारभूत आधार र सिद्धान्त बन्छन्। तेरा आमाबुबाले तँलाई “अझै बढी साथीहरू बना, मानिसहरूलाई तेरो लागि काम गर्न लगाउन, र तिनीहरूको सामर्थ्यलाई आफ्नो फाइदामा लगाउन सिक्, र तेरो वरपरका मानिसहरूबाट लाभ उठाउन सिक्” भनेर सीधै नभन्न सक्छन्। तर तिनीहरूले आफूले प्रचार गर्ने विचार र दृष्टिकोणहरू व्यवहारमा लागू गरेर तँलाई सङ्क्रमित पार्छन् र ती कुराहरू सिकाउँछन्। यसरी यस मामिलामा तेरा आमाबुबा तेरो पहिलो शिक्षक बन्छन्, र तँलाई विभिन्न कुराहरूप्रति कसरी व्यवहार गर्ने, मानिसहरूसँग कसरी घुलमिल हुने, र यस समाजमा कसरी साथी बनाउने भनेर सिकाउँछन्, र साथमा तिनीहरूले तँलाई साथी बनाउनुको उद्देश्य के हो, तैँले किन साथी बनाउनुपर्छ, तैँले कस्तो किसिमको साथी बनाउनुपर्छ, समाजमा कसरी आफ्नो दह्रिलो स्थान बनाउनुपर्छ भन्ने कुराहरूलगायत आफ्नो दह्रिलो स्थान बनाउने आधारभूत ज्ञान र विधिहरू पनि सिकाउँछन्। यसरी, तेरा आमाबुबाले आफूले सिकाउने कुराहरू व्यवहारमा लागू गर्दै तँलाई सिकाइदिन्छन्। अनि, बाल्यकालदेखि बढेर वयस्क अवस्थामा पुग्ने क्रममा, थाहा नभई तँभित्र यी विचार र दृष्टिकोणहरूले बिस्तारै आकार लिन थाल्छन्, र ती साधारण चेतनाबाट ठोस विचार, दृष्टिकोण, र व्यवहारहरूमा परिणत हुन्छन्, र चरणबद्ध रूपमा ती तेरो हृदय र प्राणमा गाडिएर संसारसँग व्यवहार गर्ने तेरो तौरतरिका र दर्शन बन्छन्। अब, दुनियाँसित व्यवहार गर्ने तौरतरिकाको रूपमा यो “जसरी एउटा बारलाई तीन घोचाको आड चाहिन्छ, त्यसरी नै एक सक्षम मानिसलाई पनि तीन व्यक्तिको साथ चाहिन्छ” भन्ने भनाई तँलाई कस्तो लाग्यो? (यो खराब छ।) के यो संसारमा साँचो मित्र भन्ने कोही हुन्छ र? (हुँदैन।) त्यसोभए किन बारलाई तीन घोचाको आड चाहिन्छ? तीन घोचा हुनुको के अर्थ छ? यसलाई अझ स्थिर बनाउनु मात्र त हो। दुई घोचाले बार स्थिर हुँदैन, र एउटाले त झन् पटक्कै हुँदैन। अनि, यहाँ संलग्न रहेको दुनियाँसित व्यवहार गर्ने सिद्धान्त के हो? सक्षम व्यक्ति जति नै सक्षम भए पनि, उसले एक हातले ताली बजाउन सक्दैन, र ऊ एकलै कहीँ पुग्दैन। यदि तँ केही कुरा हासिल गर्न चाहन्छस् भने, तँलाई मदत गर्ने मानिसहरू चाहिन्छ। यदि तँ मानिसहरूले तँलाई सहयोग गरून् भन्ने चाहन्छस् भने, तैँले कस्तो आचरण अँगाल्ने, यस दुनियाँप्रति कसरी व्यवहार गर्ने, र कामकुरा फत्ते गर्न कसरी धेरै साथी बनाएर शक्ति भेला गर्ने भनेर सिक्नुपर्छ। कुनै पनि कुरा हासिल गर्न, चाहे त्यो ठूलो होस् वा सानो, चाहे त्यो करियर बनाउने होस्, वा समाजमा पाइला टेक्ने होस्, वा अझ ठूलो कुरा हासिल गर्ने कार्य होस्, त्यसको लागि तँसँग तैँले भरोसा गर्ने वा तँलाई आदर गर्ने मानिसहरू, र तैँले आफूले पूरा गर्न चाहेका कार्य पूरा गर्न मद्दतहेतु प्रयोग गर्न सकिने मानिसहरू हुनुपर्छ, अन्यथा यो एक हातले ताली बजाउने प्रयास गरेजस्तै हुनेछ। अनि, यो संसारमा कुनै पनि कुरा गर्नको लागि पूरा गर्नुपर्ने नियमहरू पनि अवश्य नै यिनै हुन्, किनभने समाजमा कुनै निष्पक्षता हुँदैन, केवल षड्यन्त्र र सङ्घर्ष मात्र हुन्छ। यदि तँ सही बाटोमा हिँड्छस् र उचित अभियानमा लाग्छस् भने, कसैले पनि अनुमोदन गर्दैन, यसले यो समाजमा कामै गर्दैन। तैँले जुनसुकै प्रकारको प्रयत्न गरे पनि, तँलाई मद्दत गर्ने र समाजमा शक्ति जम्मा गर्ने केही मानिसहरू तँसँग हुनैपर्छ। तँ जहाँ गए पनि, यदि तँसँग झुक्ने र तँसँग डराउने मानिसहरू हुन्छन् भने, समाजमा तेरो स्थान बलियो हुनेछ, तँलाई आफ्ना प्रयत्नहरू अघि बढाउन निकै सजिलो हुनेछ, र तँलाई अनुमोदन गर्ने मानिसहरू पनि हुनेछन्। यो दुनियाँसित व्यवहार गर्ने एउटा मनोवृत्ति र तरिका हो। तैँले जे गर्न चाहे पनि, तेरा आमाबुबाले सधैँ तँलाई भन्नेछन्, “जसरी एउटा बारलाई तीन घोचाको आड चाहिन्छ, त्यसरी नै एक सक्षम मानिसलाई पनि तीन व्यक्तिको साथ चाहिन्छ।” अनि, दुनियाँसित व्यवहार गर्ने यो सिद्धान्त सही छ कि गलत? (गलत छ।) यसमा के गलत छ? (व्यक्तिले कुनै कुरा हासिल गर्न सक्छ सक्दैन भन्ने कुरा उसको शक्ति वा प्रतिभामा होइन, परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा निर्भर हुन्छ।) यो परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा निर्भर हुन्छ, र यो एउटा पक्ष हो। यसअलावा, मानिसहरूले समाजमा अरूले तिनीहरूलाई मद्दत गरून् भन्ने चाहना राख्नुको उद्देश्य के हो? (आफूलाई अरूभन्दा माथि उठ्न सक्षम बनाउनु।) ठीक भन्यौ। तँलाई सहयोग गर्ने यी तीन खाँबोहरू स्थापित गर्नुको उद्देश्य भनेको तेरो लागि ठाउँ बनाउनु र दह्लिलो पकड स्थापित गर्नु हो। यसरी काम गर्दा, कसैले पनि तँलाई तल झार्न सक्दैन, र यदि एउटा खाँबो ढल्यो भने पनि, अरू दुई खाँबोले तँलाई आड दिनेछन्। यो समाजमा, केही हदसम्म शक्ति भएका मानिसहरूले कानुन, मानिसहरूको भावना, वा आम मानिसहरूको विचारबारे चिन्ता नगरी सजिलैसँग काम गर्न सक्छन्। के मानिसहरूको लक्ष्य नै यही होइन र? (हो।) यस तरिकाले, तँ समाजमा अन्तिम निर्णय गर्ने र बोल्न सक्ने व्यक्ति बन्न सक्छस्, अनि न त कानुनले न त कुनै जनमतले तेरो स्थान हल्लाउन वा तँलाई अस्थिर पार्न सक्छ। यो समाजको प्रचलनमा अनि कुनै पनि सामाजिक समूहमा तैँले अन्तिम निर्णय गर्न सक्नेछस्। भेट्नुपर्ने अख्तियारको व्यक्ति तँ नै हुनेछस्। तब, के तैँले आफ्नो इच्छाअनुसार गर्न सक्दैनस् र? तँ त कानुनभन्दा माथि उठ्न सक्छस्, मानिसहरूको भावनाभन्दा माथि, जनमतभन्दा माथि, नैतिकताभन्दा माथि, र विवेकले लाउने दोषभन्दा माथि उठ्न सक्छस्। के मानिसहरूले हासिल गर्न चाहने लक्ष्य यही होइन र? (हो।) मानिसहरूले हासिल गर्न चाहने लक्ष्य यही हो। मानिसहरूलाई तिनीहरूका महत्त्वाकाङ्क्षा र इच्छाहरू हासिल गर्न मदत गर्ने कार्यको मुख्य आधार यही हो। तँलाई थाहा होला, कतिपय मानिसहरूले समाजमा दाजुभाइ हौँ भनेर शपथ खाएका हुन्छन्। तिनीहरूमध्ये, जेठो दाइ कुनै निगमको प्रमुख कार्यकारी अधिकृत हुन्छ, कान्छो भाइ कुनै समूहको अध्यक्ष हुन्छ, र अरूचाहिँ राजनीतिज्ञहरू वा अन्डर्वर्ल्ड बोसहरू हुन्छन्। कतिपय मानिसका साथीहरू अस्पताल निर्देशकहरू वा मुख्य सर्जनहरू वा प्रमुख नर्सहरू हुन्छन्, र कतिपय मानिसहरूले आफ्नै कामको क्षेत्रका केही असल साथीहरू बनाएका हुन्छन्। के यी मानिसहरूले विचार र चासो मिलेकोले यस्ता साथीहरू बनाएका हुन्छन् त? कि तिनीहरू असल अभियानलाई सँगै समर्थन गर्न चाहेकाले यसो गर्छन्? (त्यस्तो हुँदैन।) त्यसोभए तिनीहरूले किन त्यसो गर्छन् त? किनभने तिनीहरू एकप्रकारको शक्ति जम्मा गर्न, अनि त्यो शक्तिलाई विस्तार र वृद्धि गर्न चाहन्छन्, र अन्ततः त्यसैमा भर परेर समाजमा पकड बनाउने र अस्तित्वमा रहिरहने, अरूभन्दा माथि उठेर बाँच्ने, र भोगविलास र ऐसको जीवनमा रमाउने गर्छन्; कसैले पनि तिनीहरूलाई हेप्ने हिम्मत गर्नेछैन, तिनीहरूले अपराध नै गरेका छन् भने पनि, कानुनले समेत तिनीहरूलाई सजाय दिने हिम्मत गर्नेछैन। अनि यदि तिनीहरूले अपराध गर्दै छन्, तिनीहरूका साथीहरू तिनीहरूलाई मद्दत गर्न अगाडि बढ्नेछन्। एउटा साथीले तिनीहरूको पक्षमा बोल्नेछ, अर्को साथीले अदालतमा कुरा मिलाउन र वरिष्ठ राजनीतिज्ञहरूसित सजायमाफको पैरवी गर्न मद्दत गर्नेछ, र त्यसैले तिनीहरू २४ घण्टा पनि नपुग्दै पुलिस थानाबाट बाहिर निस्कनेछन्। तिनीहरूले जतिसुकै गम्भीर अपराध गरे पनि, तिनीहरूलाई केही हुँदैन र तिनीहरूले जरिवाना पनि तिर्नुपर्दैन। अन्त्यमा, साधारण मानिसहरूले भन्नेछन्: “होइन हो, त्यो मान्छे त वास्तवमै केही न केही त हो। यस्तो गम्भीर अपराध गरेपछि पनि त्यो मान्छे कसरी तुरुन्तै छुट्यो? हामी भएको भए त, हाम्रो काम तमाम भइहाल्थ्यो, होइन र? हामी जेलमै जाकिन्थ्यौँ, होइन र? उसका साथीहरू हेर त। हामीले चाहिँ किन त्यस्ता साथीहरू बनाउन नसकेको? किन त्यस्ता मानिसहरू हाम्रो पहुँचभन्दा बाहिर रहेको?” अनि मानिसहरू ईर्ष्यालु बन्छन्। यी सबै कुरा सामाजिक अन्याय र समाजमा निरन्तर पैदा हुने दुष्ट प्रचलनको कारण आएका हुन्छन्। यो समाजमा मानिसहरूलाई कुनै सुरक्षाको अनुभूति हुँदैन। त्यसैले तिनीहरू सधैँ कुनै निश्चित शक्तिको चापलुसी गर्न र एकअर्काका शक्तिहरू तुलना गर्न चाहन्छन्। विशेष गरी समाजको तल्लो तहमा जिउनेहरूको हकमा, तिनीहरूसँग जीविकोपार्जन गर्ने केही माध्यमहरू भए पनि, तिनीहरूलाई कहिले खतरा वा कठिनाइ सामना गर्नुपर्ने हो केही थाहा हुँदैन, र तिनीहरू कुनै अप्रत्याशित विपत्तिमा परिएला, वा कुनै दुर्घटना भोगिएला भनेर साह्रै डराउँछन्, विशेष गरी कानुनसँग सम्बन्धित कुनै पनि कुरासँग तिनीहरू अति डराउँछन्, त्यसैले तिनीहरू पुलिस वा अदालतसँग मुछिने कुनै पनि कुरा पाउने चाहना कहिल्यै नराखी जीवन जिउँछन्। यो समाजमा मानिसहरूमा सुरक्षाको कुनै अनुभूति नहुने हुनाले, तिनीहरूले भरोसाको लागि निरन्तर साथीहरू बनाउनुपर्छ र शक्तिशाली सहयोगीहरू खोज्नुपर्छ। तँलाई थाहै होला, साना बच्चाहरू स्कुलमा हुँदा, तिनीहरूले खेल्नको लागि दुई-तीन जना साथी बनाउनुपर्छ। नत्र, एक्लै भएर तिनीहरूले सधैँ हेपाइ सहनुपर्ने हुन्छ। अनि, तिनीहरूले दुर्व्यवहारबारे शिक्षकलाई बताउने आँट पनि गर्दैनन्, किनभने त्यसो गरे भने, स्कुलबाट घर फर्कँदा तिनीहरूले पक्कै पनि कुटाइ खानेछन्। शिक्षकहरूले तँलाई राम्रो व्यवहार गरे पनि र तेरो पढाइ राम्रो भए पनि, यदि तँलाई साथीहरू कसरी बनाउने वा वरपरका ठगहरूसँग कसरी मिल्ने भन्ने थाहा छैन भने, र यदि तैँले तिनीहरूलाई मन नपर्ने कुरा गर्न पुगिस् भने, तँ समस्यामा पर्नेछस्। अनि कहिलेकहीँ, यदि तैँले तिनीहरूलाई मन नपर्ने कुरा गरिनस् भने पनि, तिनीहरूले तैँले राम्रोसँग पढिरहेको देख्दा, तँलाई बहकाउने प्रयास गर्नेछन्, र यदि तैँले तिनीहरूको कुरा मानिनस् भने, तँलाई हेपिनेछ वा कुटपिट गरिनेछ। विद्यालय वातावरणले समेत मानिसहरूलाई असुरक्षित महसुस गराउँछ भने, यो संसार साँच्चै डरलाग्दो छ, होइन र? त्यसकारण, यस विषयमा तेरो परिवारले तँमा पार्ने सिकाइने कुराका प्रभावहरू एक हिसाबमा तेरो आमाबुबाले तँलाई देखाउने उदाहरणबाट आउँछ, र अर्को हिसाबमा, समाजबारे मानिसहरूमा रहेको असुरक्षाको अनुभूतिबाट आउँछ। यो समाजमा कुनै निष्पक्षता नभएकोले, अनि तेरो मानव अधिकार र हितहरू कुनै पनि शक्ति वा फाइदाले रक्षा गर्न नसक्ने हुनाले, मानिसहरू प्रायजसो यो समाजको भय र डरले घेरिएका हुन्छन्। फलस्वरूप, तिनीहरूले स्वाभाविक रूपमै “जसरी एउटा बारलाई तीन घोचाको आड चाहिन्छ, त्यसरी नै एक सक्षम मानिसलाई पनि तीन व्यक्तिको साथ चाहिन्छ” भन्ने विचारका सिकाइने कुराका प्रभावहरू स्विकार्छन्, किनभने मानिसहरू अस्तित्वमा रहने वास्तविक वातावरणमा, यस्ता विचार र दृष्टिकोणहरू तिनीहरूको अस्तित्वमा आड दिनको लागि आवश्यक हुन्छन्, जसले तिनीहरूलाई एकान्त र एकलोपनको जीवनबाट भरोसा र सुरक्षाको अनुभूतिमा स्थानान्तर हुन मदत गर्छन्। तसर्थ, मानिसहरूले यो संसारमा शक्तिप्रतिको भरोसा र साथीहरूप्रतिको भरोसालाई अत्यन्तै महत्त्वपूर्ण ठान्छन्।
“जसरी एउटा बारलाई तीन घोचाको आड चाहिन्छ, त्यसरी नै एक सक्षम मानिसलाई पनि तीन व्यक्तिको साथ चाहिन्छ” भनी हामीले भर्खरै उल्लेख गरेको भनाइबाहेक, मानिसहरूलाई परिवारले सिकाउने तरिकाहरूबारे कुरा गर्दा, अरू अझै खास तरिकाहरू पनि छन् जसमार्फत परिवारले तिनीहरूलाई शिक्षादीक्षा दिने गर्छ। उदाहरणको लागि, आमाबुबाले छोरीहरूलाई यस्तो कुरा भन्दै शिक्षा दिने गर्छन्: “‘महिलाले आफ्नो सराहना गर्नेहरूको लागि आफूलाई सुन्दर बनाउँछे, जबकि पुरुषले उसलाई बुझ्नेहरूको लागि आफ्नो ज्यान बलिदान दिन्छ।’ साथै, ‘कुरूप महिलाहरू हुँदैनन्, र हुन्छन् नै भने ती अल्छी मात्र हुन्छन्।’ महिलाहरूले आफूलाई प्रेम गर्न, र राम्रो वस्त्र लगाउन, र आफूलाई सुन्दर बनाउन सिक्नुपर्छ। यसो गर्दा, तँ जहाँ गए पनि, मानिसहरूले तँलाई मन पराउनेछन्, र धेरै मानिसहरूले तेरो लागि काम गरिदिनेछन् र तँलाई अनुमोदन गर्नेछन्। यदि मानिसहरूले तँलाई मन पराउँछन् भने, स्वाभाविक रूपमै तिनीहरूले तँलाई समस्यामा पार्ने वा दुःख दिने गर्दैनन्।” कतिपय आमाबुबाले छोरीहरूलाई भन्छन्: “केटीहरूले राम्रो लुगा लगाउन, मेकअप गर्न सिक्नुपर्छ, र अझै महत्त्वपूर्ण कुरा, तिनीहरूले सुशील हुन सिक्नुपर्छ।” तिनीहरूले वास्तवमा तैँले आफूलाई प्रदर्शन गर्न सिक्नु जरुरी छ भनेर भनिरहेका हुन्छन्। तिनीहरूले यस्तो कुरा पनि भन्छन्: “बलवान् स्त्री नबन्नू। स्त्री बलवान् र आत्मनिर्भर हुनुको के फाइदा छ? त्यस्ता महिलाहरूले कहिल्यै राम्रो लुगा लाउँदैनन्, पुरुषजस्तै जिउँछन्, र हतारहतार दिनभर दौडधुप गर्छन्, र तिनीहरू सुशील पनि हुँदैनन्। महिलाहरू त पुरुषहरूको माया पाउन जन्मेका हुन्। तिनीहरूले आत्मनिर्भर हुनु वा कुनै सीप सिक्नु आवश्यक छैन। तिनीहरूले केवल राम्रो लुगा लगाउन, र पुरुषलाई कसरी खुसी पार्ने भनेर सिक्नुपर्छ, र महिलाले जे गर्नुपर्ने हो त्यही कुरा राम्ररी गर्नुपर्छ। पुरुषहरूले मन पराउने र माया गर्ने स्त्री जीवनभर खुसी हुनेछिन्।” यस विषयमा केही महिलाहरूलाई आमाबुबाले यसरी नै सिकाएका हुन्छन्। एक हिसाबले, तिनीहरूले आफ्नी आमाले महिलाको रूपमा कसरी व्यवहार गर्नुहुन्छ भनेर हेर्ने गर्छन्। अनि अर्को हिसाबमा, आमाबुबाले तिनीहरूलाई सिकाएपछि तिनीहरू सधैँ राम्रो लुगा लगाउँदै र आफूलाई सुन्दर बनाउँदै, हेर्दा साँच्चै सुन्दर देखिने महिलाहरूमा परिणत हुन्छन्। के यस्ता महिलाहरू हुन्छन्? (हुन्छन्।) यस्तो पारिवारिक वातावरणमा हुर्केका महिलाहरूले आफ्नो रूप, वस्त्र र स्त्री पहिचानलाई ठूलो महत्त्व दिन्छन्। तिनीहरू मेकअप नगरी र लुगा नबदली घरबाट बाहिर निस्कँदैनन्। कतिपय महिलाहरूलाई काममा जतिसुकै व्यस्त भए पनि, घर छोड्नुअघि आफ्नो कपाल धुनुपर्छ, नुहाउनुपर्छ, र केही अत्तर लगाउनुपर्छ, नत्र तिनीहरू बाहिर नै जाँदैनन्, र जब तिनीहरूसँग केही काम हुँदैन, तिनीहरू ऐना हेरेर कपाल मिलाइरहन्छन्। यी महिलाहरूले हरदिन कति पटक ऐना हेर्छन् कसलाई पो थाहा होला र! “महिलाले आफ्नो सराहना गर्नेहरूको लागि आफूलाई सुन्दर बनाउँछे, जबकि पुरुषले उसलाई बुझ्नेहरूको लागि आफ्नो ज्यान बलिदान दिन्छ” भन्नेजस्ता विचार र दृष्टिकोणहरूद्वारा तिनीहरू गहन रूपमा सिकाइएका हुन्छन्, त्यसकारण तिनीहरू आफ्नो जिउडाल र अनुहारको रूपमा धेरै ध्यान दिन्छन्। यदि तिनीहरूको रूप अलि नराम्रो देखियो भने, तिनीहरू बाहिर जाँदैनन्, र डन्डीफोर आएको छ भने त बाहिर अनुहार नै देखाउँदैनन्। यदि कुनै दिन मेकअप गर्ने मन लागेन भने, तिनीहरू बाहिर जाँदैनन्। अथवा, यदि तिनीहरूले कपाल काटेर यो त्यति राम्रो भएन, र तिनीहरू हेर्दा त्यति राम्रा देखिएनन् भने, तिनीहरू काम गर्न बाहिर जाँदैनन्, किनभने मानिसहरूले तिनीहरूलाई नराम्रो सोच्लान् भन्ने तिनीहरूलाई लाग्छ। त्यस्ता महिलाहरू त्यस्तै कुराहरूको लागि नै दिनभर जिउने गर्छन्। यदि तिनीहरूको हातमा लामखुट्टेले टोकेको दाग छ भने, तिनीहरूले हात लुकाएर राख्छन्, वा यदि त्यो दाग तिनीहरूको खुट्टामा छ भने, तिनीहरू स्कर्टमा सुन्दर देखिन्नँ भन्दै खुट्टा छोप्छन्, र तिनीहरू बाहिर पनि जाँदैनन्, र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्। सानोतिनो हरेक कुराले तिनीहरूलाई निराश तुल्याउँछ र अघि बढ्नबाट रोक्छ, त्यसैले तिनीहरूको लागि जीवन अत्यन्तै कठिन र थकाइलाग्दो बन्छ। एउटी महिलाको रूपमा आफ्नो मर्यादा कायम राख्न र कुरूप महिला बन्नबाट जोगिन, तिनीहरूले आफ्नो अनुहार, रूप र केशको हेरचाह गर्न ठूलो पीडा सहन्छन् र धेरै मेहनत गर्छन्, र कुरूप महिला बन्नबाट जोगिन तिनीहरूले आफ्नो पहिलेका खराब बानी र आलस्य त्याग्छन्। काममा जति नै व्यस्त भए पनि, तिनीहरूलाई धेरै ध्यान दिएर उत्कृष्ट रूपमा लुगा लगाउनुपर्छ र आफूलाई राम्रो देखाउनुपर्छ। यदि तिनीहरूको परेला मिलेन भने, फेरि दोहोर्याएर मिलाउँछन्। यदि गालामा सबैतिर बराबर रातो लागेन भने, फेरि दोहोर्याएर लगाउँछन्। तिनीहरू कम्तीमा पनि एकदुई घण्टा मेकअप नलगाई त बाहिर नै जाँदैनन्। कतिपय महिलाहरू त बिहान उठ्नेबित्तिकै नुहाउने अनि लुगा लगाउने र फेर्ने आफ्नो दैनिकी सुरु गर्छन्। तिनीहरू एउटा सोच्छन् र फेरि अर्को गर्छन्, घरी यो लगाउँछन्, घरी त्यो लगाउँछन्, अनि आधा दिन भइसक्दा पनि तिनीहरू घरबाट बाहिर निस्केका हुँदैनन्। यी अर्थहीन कुराहरूले तिनीहरूको सीमित समय र शक्ति लिएपछि, तिनीहरूलाई निश्चय नै धेरै गाह्रो हुन्छ। तिनीहरूले कुनै पनि गम्भीर काम गर्न सक्दैनन्, र तिनीहरूले आँखा खोल्नेबित्तिकै, राम्रो लुगा लगाउने र आफूलाई सुन्दर बनाउनेबारे मात्रै विचार गर्छन्। यीमध्ये कतिपय त आफ्नी आमाको विचार र दृष्टिकोणबाट प्रभावित भएका हुन्छन्, जबकि अरूलाई चाहिँ के गर्नुपर्छ भनेर तिनीहरूका आमाले नै स्पष्ट रूपमा बताएका हुन्छन्, र कतिपयले आफ्नी आमाको उदाहरणबाट सिकेका हुन्छन्। छोटकरीमा भन्दा, यी सबै कुरा परिवारले मानिसहरूलाई सिकाउने तौरतरिकाहरू हुन्।
कतिपय परिवारले “छोरीहरूलाई धनी सन्तानजस्तो हुर्काउनुपर्छ, र छोराहरूलाई गरिब सन्तानजस्तो हुर्काउनुपर्छ” भन्ने धारणा राखेका हुन्छन्। के तैँले यो भनाइ सुनेको छस्? (हो, सुनेको छु।) यो भनाइको अर्थ के हो? तिनीहरू सबै सन्तान नै हुन्, तैपनि किन केटीहरूलाई धनी सन्तानजस्तो गरी, र केटाहरूलाई गरिब सन्तानजस्तो गरी हुर्काउनुपर्छ? परम्परागत संस्कृतिले सामान्यतया पुरुषलाई महत्त्व दिन्छ र महिलालाई कम महत्त्व दिन्छ, तैपनि किन यो भनाइले केटाहरूलाई भन्दा केटीहरूलाई बढी महत्त्व दिएजस्तो देखिन्छ? यदि छोरीलाई धनी सन्तानजस्तै हुर्काइयो भने, ऊ कस्तो छोरी बन्छे? ऊ कस्तो बन्नेछे? (बिग्रेकी, घमण्डी र अहङ्कारी बन्नेछे।) स्वेच्छाचारी, कमजोर, कुनै पनि कठिनाइ सहन नसक्ने, हेरचाह गर्न नसक्ने, तर्कहीन, अनुचित, र असल र खराबबीच भिन्नता छुट्याउन नसक्ने—त्यस्तो व्यक्ति कस्तो व्यक्ति हो? के यो कसैलाई शिक्षा दिने सही तरिका हो त? (होइन।) यस्तो हुर्काइले जो-कसैलाई बिगार्नेछ। यदि तैँले आफ्नी छोरीलाई धनी सन्तानलाई जस्तै हुर्काउँछस् भने, ऊ आफ्नो हरेक आधारभूत आवश्यकता पूरा गर्ने पारिवारिक वातावरणमा त हुर्केली, र ऊसँग परिष्कृत व्यवहार भएजस्तो पनि देखिएला, तर के उसले व्यवहारका वास्तविक सिद्धान्तहरू बुझ्नेछे त? यदि उसले बुझ्दिन भने, यस्तो अभिभावक शैलीले उसको सुरक्षा गर्नुको सट्टा उसैलाई चोट पुर्याइरहेको र उसैलाई हानि गरिरहेको हुन्छ। अनि, यस सिद्धान्तको आधारमा आफ्ना छोरीहरू हुर्काउनुको पछाडि आमाबुबाको अभिप्राय के हुन्छ? यसरी हुर्काइएकी छोरी परिष्कृत हुनेछे र ऊ उसलाई राम्रो लुगा किनिदिने, उसको लागि केही पैसा खर्च गरिदिने, वा उसलाई थोरै उपहार र निगाह प्रदान गर्ने पुरुषहरूसँग सजिलै फस्नेछैन। त्यसकारण, औसत पुरुषले उसलाई सजिलै मोहित पार्न सक्नेछैन। उसको मन जित्न, र उसलाई मोहित पार्न, र विवाह गर्न उसको हात पाउन त्यो पुरुष अत्यन्तै धनी, र सिद्ध, र अत्यन्तै परिष्कृत, र अत्यन्तै बुद्धिमानी र चलाख, र अत्यन्तै बाठो सज्जन हुनुपर्छ। त्यस्तो व्यक्तिसँग आफ्नी छोरी विवाह गरिदिनु राम्रो हो कि होइन, तँलाई के लाग्छ? यो पक्कै पनि राम्रो कुरा होइन, हो त? यसबाहेक, यदि तैँले आफ्नी छोरीलाई धनी सन्तानजस्तै हुर्काइस् भने, कसरी रमाइलो गर्ने, कसरी राम्रो लुगा लगाउने, र कसरी राम्रो खाना खाने भनेर जान्नेबाहेक, के उसले मानिसहरूको वास्तविकता चिन्न सक्नेछे र? के ऊसँग अस्तित्वजीवी कुनै सीप हुनेछ र? के ऊ लामो समयसम्म अरूसँग बस्न सक्नेछे र? सक्छे नै भन्ने छैन। उसलाई आफ्नै जीवन व्यवस्थित राख्न समस्या हुन सक्छ, र त्यस्तो अवस्थामा यस्ता छोरीहरू बेकार हुन्छन्। तिनीहरू बिग्रेका, आत्मभोगी र घमण्डी, स्वेच्छाचारी र निर्लज्ज, अनि ऐयास र हैकम जमाउन खोज्ने, सम्झौता नगर्ने र जिद्दी गर्ने हुन्छन्, र तिनीहरूलाई खाने, पिउने र रमाइलो गर्नेबारेमा मात्र थाहा हुन्छ। यी कुराहरूबाहेक, यस्तो छोरीसँग जीवनमा अघि बढ्नको लागि आवश्यक पर्ने आधारभूत सामान्य ज्ञान पनि हुँदैन, जसले गर्दा अदृश्य रूपमा उसको भावी अस्तित्व र पारिवारिक जीवनमा समस्या आउनेछ। आमाबुबाले आफ्नी छोरीलाई यसरी शिक्षा दिनु राम्रो कुरा होइन। तिनीहरूले उसलाई आफूलाई व्यवहार ढाल्ने सिद्धान्तहरू सिकाएका हुँदैनन्, केवल जीवनको आनन्द कसरी लिने भनेर मात्र सिकाएका हुन्छन्। त्यसकारण यदि उसले भविष्यमा पर्याप्त पैसा कमाउन सकिन भने, के उसले कठिनाइ सहनुपर्दैन र? तब के उसलाई बाँच्न गाह्रो हुँदैन र? के उसले त्यो सहन सक्छे र? के भविष्यमा कठिनाइहरू सामना गर्दा ऊ कमजोर हुनेछैन र? के यी सबै कठिनाइहरू सामना गर्न आवश्यक पर्ने धैर्य ऊसँग हुनेछ र? हुनेछ नै भन्ने निश्चित छैन। भौतिक जीवनको धेरै आनन्द लिने, र सहजता र विलासिताको जीवन बिताउने धेरै बानी परेका, र कहिल्यै कष्ट नभोगेका मानिसहरूको मानवता सबैभन्दा ठूलो समस्या के हो? त्यो के हो भने, तिनीहरू कमजोर हुन्छन् र तिनीहरूसँग कठिनाइ सहने इच्छाशक्ति हुँदैन, र यस्ता मानिसहरू अन्ततः बरबाद हुनेछन्। त्यसैले, बच्चाहरूले आफ्नो परिवारबाट प्राप्त गर्ने शिक्षा, चाहे त्यो आमाबुबाबाट आएको होस् वा चाहे सामाजिक प्रचलनबाट आएको होस्, त्यो मूलतः मानिसहरूमाझबाटै आएको हुन्छ। चाहे यी विविध भनाइहरू मानिसहरूको विचार वा दृष्टिकोणमा परिणत भए पनि, वा तिनीहरूको जीवनशैली वा अस्तित्वजीवी पद्धति बने पनि, यी कुराहरूले मानिसहरूलाई चरम, पूर्वाग्रहपूर्ण र विकृत दृष्टिकोणबाट यी मामिलाहरू हेर्न लगाउँछन्। छोटकरीमा भन्दा, पारिवारिक प्रभावबाट आउने यी भनाइहरूले मानिसहरू र परिस्थितिहरूलाई हेर्ने मानिसहरूको तौरतरिका, अनि आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने तिनीहरूको तौरतरिकामा धेरथोर हदको प्रभाव पारेका हुन्छन्। अनि, यी कुराहरूले तँलाई प्रभाव पार्ने हुनाले, तेरो सत्यता पछ्याइ पनि यी कुराहरूद्वारा प्रभावित बन्ने गर्छ। त्यसकारण, आमाबुबाबाट आउने यी भनाइ, विचार र दृष्टिकोणहरू आदर्शवान् र उत्कृष्ट भए पनि नभए पनि, वा नीच र मूर्खतापूर्ण भए पनि, सबैले यी कुराहरूलाई पुनः जाँच गर्नुपर्छ, पुनः मूल्याङ्कन गर्नुपर्छ, र यी कुराको भित्री वास्तविकता चिन्न सिक्नुपर्छ। यदि यी कुराले तँलाई निश्चित रूपमा प्रभाव पार्छन्, वा तेरो जीवनमा र तेरो सत्यता पछ्याइमा बाधा दिन्छन्, वा तेरो जीवन पूरै भद्रगोल पार्छन्, वा मानिस, घटना र परिस्थितिहरू सामना गर्दा तँलाई सत्यता खोजी गर्न र सत्यता स्विकार्नबाट रोक्छन् भने, तैँले बस यी कुराहरू त्यागिहाल्नुपर्छ।
संवेगात्मक क्षमता, वा इक्यू, र बौद्धिक क्षमता, वा आइक्यूको अवधारणाबारे समाजमा केही दाबीहरू चलिरहेका हुन्छन्। यी दाबीहरूले के भन्छन् भने मानिसहरूलाई धेरै आइक्यू चाहिँदैन, तर धेरै इक्यू भने हुनुपर्छ। आइक्यू व्यक्तिको क्षमतासँग बढी सम्बन्धित हुन्छ, जबकि इक्यू व्यक्तिले दुनियाँसँग व्यवहार गर्ने युक्तिहरूसँग बढी सम्बन्धित हुन्छ। यी दुई शब्दहरूबारे मेरो आधारभूत बुझाइ यही हो। सायद तेरो बौद्धिक क्षमता निकै बढी होला, र तँ पढाइमा साँच्चै अगाडि र ज्ञानले भरपुर होलास्, र तैँले राम्रोसँग कुराकानी गर्न सक्लास्, र तेरो बाँच्ने क्षमता निकै बलियो होला, तर तेरो संवेगात्मक बौद्धिकता उच्चस्तरको नहुन सक्छ, र दुनियाँसँग व्यवहार गर्नको लागि पनि तँसँग कुनै युक्ति नहोला, वा तँ थोरै युक्तिवाला भए पनि, तेरा माध्यमहरू त्यति परिष्कृत नहुन सक्छन्। यस्तो अवस्थामा, विशेषज्ञ क्षेत्रमा रहेको तेरो ज्ञान, सीप, र प्रवीणताले समाजमा तँलाई जसोतसो अघि बढ्न र आधारभूत रोजीरोटी कमाउन मात्रै सहयोग गर्छ। उच्च संवेगात्मक बौद्धिकता भएका मानिसहरू चतुर हुनमा निकै सिपालु हुन्छन्। तिनीहरूले समाजका विभिन्न शक्तिहरू, अनुकूल भौगोलिक वातावरण वा उपयुक्त अवसरहरू, र लाभप्रद जानकारीहरू प्रयोग गर्दै प्रचारबाजी र चलखेल गर्छन्, र यस क्रममा तिनीहरूले अनुल्लेखनीय कुरालाई बढाइचढाइ गरेर समाज वा समुदायभित्र निश्चित प्रभाव पार्ने ठूलो कुरा बनाउँछन्, ताकि तिनीहरू आफै प्रख्यात बनून्, र अन्त्यमा भीडबाट माथि उठेर ख्याति र हैसियतवाला व्यक्ति बनून्। यस्तो व्यक्तिमा उच्च संवेगात्मक बौद्धिकता र चलाखीहरू हुन्छन्। यस्ता चलाख मानिसहरू वास्तवमा धूर्त पिशाच राजाहरू हुन्। तर आजको समाजले उच्च संवेगात्मक बौद्धिकताकै वकालत गर्छ, र कतिपय परिवारले त यसो भन्दै आफ्ना बच्चाहरूलाई सिकाउँछन्: “तँसँग धेरै आइक्यू हुनु राम्रो कुरा हो, तर तँमा उच्च संवेगात्मक बौद्धिकता पनि हुनु आवश्यक छ। तँलाई आफ्ना कक्षाका साथीहरू, सहकर्मीहरू, नातेदारहरू, र साथीहरूसँग कुराकानी गर्दा यो कुरा चाहिन्छ। यो समाजले सबैभन्दा बढी वकालत गर्ने कुरा तेरो क्षमता होइन, बरु कसरी चलाख हुने, आफूलाई कसरी राम्रो देखाउने, आफैलाई कसरी प्रवर्धन गर्ने, र समाजका हरकिसिमका शक्तिहरू र अनुकूल अवस्थाहरूबाट कसरी फाइदा लिने र ती कुरालाई कसरी आफ्नो हितमा लगाउने र सेवा गराउने भनेर जान्नु हो—चाहे त्यो तैँले धन कमाउने अवसर बनाउन वा प्रसिद्ध हुनलाई गरेको किन नहोस्। त्यस्ता सबै मानिसहरू उच्च संवेगात्मक बौद्धिकता भएका मानिसहरू हुन्।” केही खास परिवार वा ख्याति र प्रतिष्ठा भएका केही आमाबुबाले आफ्ना छोराछोरीलाई प्रायजसो यसरी शिक्षा दिन्छन्: “संवेगात्मक बौद्धिकता भएको पुरुषलाई पुरुष र महिला दुवैले मन पराउँछन्, जबकि संवेगात्मक बौद्धिकता नभएको पुरुषलाई कसैले पनि मन पराउँदैन। संवेगात्मक बौद्धिकता भएको महिलालाई पुरुष र महिला सबैले मन पराउँछन्, र धेरै पुरुषहरूले उनलाई पछ्याउनेछन्। जबकि, यदि कुनै महिलासँग संवेगात्मक बौद्धिकता छैन भने, उनी जतिसुकै सुन्दर भए पनि थोरैले मात्रै उनलाई पछ्याउनेछन्।” आजको समाजमा जिउने क्रममा, यदि मानिसहरूले तिनीहरूका परिवारले गर्ने यस्ता दाबीहरूको भित्री वास्तविकता खुट्याउन सक्दैनन् भने, तिनीहरू अनजानमै यी विचार र दृष्टिकोणहरूबाट प्रभावित हुनेछन्, र प्राय आफ्नो आइक्यू मापन गर्नेछन्, र तिनीहरूले विशेष गरी आफूसँग संवेगात्मक बौद्धिकता छ कि छैन, र वास्तवमा आफ्नो इक्यू कति उच्च छ भनेर निर्धारित गर्न निश्चित मापदण्डहरूअनुसार आफूलाई जाँच्नेछन्। तँलाई यी कुराहरूबारे दह्रिलो वा स्पष्ट चेतना भए पनि नभए पनि, यस विषयमा तेरो परिवारले तँलाई सिकाउने कुराका प्रभावहरूको असर तँमाथि पर्न थालिसकेको हुन्छ। यी कुराहरू अदृश्य हुन सक्छन्, र यी कुराले तेरो विचारमा प्रमुख स्थान ओगटेको नहुन सक्छ। तर जब तैँले यी कुराहरू सुन्छस् र जब तैँले यी कुराको वास्तविकता बुझ्दैनस्, यी कुराले तँलाई केही हदसम्म सिकाउन थालिसकेका हुन्छन्।
परिवारले सिकाउने कुराका प्रभावहरू अरू पनि छन्। उदाहरणको लागि, आमाबुबाले प्रायजसो आफ्ना सन्तानलाई यसो भन्छन्, “जब तँ अरूको साथमा हुन्छस्, तब तँलाई कसरी चलाख हुने भन्ने थाहा हुँदैन र तँ सधैँ मूर्ख र अनभिज्ञ हुन्छस्। भनाइ नै छ, ‘कसैले घण्टी बजाए, त्यसको आवाज सुन्नुपर्छ; कसैले केही बोले, उसको आवाज सुन्नुपर्छ।’ त्यसैले जब मानिसहरू तँसँग कुरा गरिरहेका हुन्छन्, तब तिनीहरूले भनेको कुरा सुन्न सिक्नुपर्छ, अन्यथा तँ धोकामा पर्नेछस् र तैँले विशेषाधिकारको मूल्य चुकाउनुपर्नेछ!” के कतिपय आमाबुबाले प्राय यसो भन्दैनन् र? तिनीहरूले वास्तवमा के भन्न खोजिरहेका हुन्छन्? इमान्दार व्यक्ति नबन्, बरु बढी चलाख बन्। अर्को शब्दमा भन्दा, अर्को व्यक्तिले के भनिरहेको छ त्यसपछाडिको अर्थ पत्ता लगा, उसका शब्दहरूपछाडि रहेको अतिरिक्त अर्थ ध्यान दिएर सुन्, अरूले वास्तवमा के भनिरहेका छन् अनुमान गर्न सिक्, र त्यसपछि त्यो अव्यक्त अर्थको आधारमा त्यस्तै उपाय वा युक्तिहरू अपना। निष्क्रिय नबन्, अन्यथा तँ धोकामा पर्नेछस् र तैँले विशेषाधिकारको मूल्य चुकाउनुपर्नेछ। तेरा आमाबुबाको दृष्टिकोणबाट हेर्दा, यी शब्दहरू सबै राम्रो अभिप्रायका हुन्छन्, र ती तँलाई मूर्खतापूर्ण काम गर्नबाट बचाउन, वा यस दुष्ट समुदायका अरूद्वारा बेचिनबाट बचाउन, र अरूलाई तँबाट फाइदा लिन नदिन वा तँलाई कुनै मूर्खता गर्नबाट बचाउनको लागि हुन्। तर के यो भनाइ सत्यताअनुरूप छ त? (अहँ, छैन।) अहँ, छैन। कहिलेकहीँ मानिसहरूले अरूले भनेको कुरामा लुकेका अर्थहरू पत्ता लगाउन सक्छन्। तैँले ध्यान नदिए पनि, लुकेका अर्थहरू सुन्न सक्छस्। तब, तैँले के गर्नुपर्छ? तेरा आमाबुबाले तँलाई बताउने यो भनाइ, अर्थात् “कसैले घण्टी बजाए, त्यसको आवाज सुन्नुपर्छ; कसैले केही बोले, उसको आवाज सुन्नुपर्छ” भन्ने भनाइअनुसार, तँ सधैँ अरूप्रति सतर्क र चनाखो रहनुपर्छ, र तिनीहरूबाट सतर्क रहने क्रममा, तिनीहरूले तँलाई हानि वा छल गर्नुपहिले नै तैँले सुरक्षा उपायहरू अपनाउनुपर्छ। अनि अझ महत्त्वपूर्ण कुरा, तैँले नै सुरुमा प्रहार गर्नुपर्छ र आफूलाई निष्क्रिय राख्नु वा दुबिधामा पार्नु हुँदैन। के तेरा आमाबुबाले तँलाई यो भनाइ बताएर प्राप्त गर्न चाहेको अन्तिम उद्देश्य यही होइन र? (हो।) यो भनेको के हो भने, तँ अरूसँग कुराकानी गर्दा, तिनीहरूले तँलाई हानि गरे पनि नगरे पनि, तँ निष्क्रिय रहनु हुँदैन। तैँले आफै अग्रसर हुनुपर्छ र परिस्थितिलाई आफ्नै हातमा लिनुपर्छ, ताकि जब-जब कसैले तँलाई हानि गर्न चाहन्छ, तब-तब तैँले आफैलाई बचाउन मात्र होइन, बरु आफै अग्रसरता देखाउँदै तिनीहरूलाई प्रहार र हानि गर्दै तिनीहरूभन्दा बढी भयानक र निर्दयी हुनसमेत सक्। वास्तवमा, तेरा आमाबुबाका शब्दहरूको उद्देश्य र मूल अर्थ यही हो। यदि यस तरिकाले विश्लेषण गर्ने हो भने, यो भनाइ सत्यताअनुरूप छैन, र उहाँले “यसैले तिमीहरू सर्पहरूझैँ बुद्धिमान् र ढुकुरहरूझैँ हानिरहित होओ” भनेर मानिसहरूलाई भन्नुहुँदाको आशयसँग पूरै विपरीत छ। परमेश्वरले मानिसहरूलाई बताउनुहुने सिद्धान्त र बुद्धिमानी तरिकाहरू तिनीहरूलाई अरूका धूर्त योजनाहरू बुझ्न मदत गर्नको लागि, र तिनीहरूलाई परीक्षामा पर्नबाट र दुष्ट मानिसहरूसँगको सङ्गतबाट जोगाउन, र दुष्टता तह लगाउन दुष्ट तरिकाहरू नै प्रयोग गर्नबाट रोक्दै, यसको साटो सत्यता सिद्धान्तहरू प्रयोग गर्दै हरेक दुष्कर्म र हरेक दुष्ट व्यक्ति तह लगाउन मदत गर्नको लागि हुन्। जबकि आमाबुबाले आफ्ना छोराछोरीहरूलाई सिकाउने विधि, अर्थात् “कसैले घण्टी बजाए, त्यसको आवाज सुन्नुपर्छ; कसैले केही बोले, उसको आवाज सुन्नुपर्छ” भन्ने भनाइ, दुष्टताको प्रतिकार दुष्टताले नै गर्नु भन्ने कुरा हो। त्यसकारण, यदि अर्को व्यक्ति दुष्ट छ भने, तँ त्यो व्यक्तिभन्दा पनि बढी दुष्ट हुनुपर्छ। अनि, यदि उसका शब्दहरूमा लुकेको अर्थ छ भने, तँ ऊभन्दा उत्कृष्ट हुन्छस् र त्यो अर्थ पहिचान गर्न सक्छस्, र सँगसँगै, तैँले त्यो लुकेको अर्थको आधारमा, तिनीहरूलाई तह लगाउन, तिनीहरूको प्रतिकार गर्न, तिनीहरूलाई वशमा पार्न, तिनीहरूलाई तेरो डर मान्ने र तँमा समर्पित हुने बनाउन, र तिनीहरूलाई तँ हेप्नुपर्ने वा जोरी खोज्नुपर्ने व्यक्ति होइनस् भनी महसुस गराउन त्यस्तै विधि र युक्तिहरू प्रयोग गर्न सक्छस्। दुष्टताको प्रतिकार दुष्टताले गर्नु भनेको यही हो। प्रस्टै छ, तँलाई दिइने यो अभ्यासको बाटो र अभ्यासको मापदण्ड र यो भनाइबाट हासिल हुने परिणामले तँलाई दुष्ट्याइँ गर्न र साँचो मार्गबाट टाढा जानतर्फ डोर्याउनेछन्। जब तेरा आमाबुबाले तँलाई यसरी व्यवहार गर्न लगाउँछन्, तब तिनीहरूले तँलाई सत्यता भएको वा सत्यतामा समर्पित हुने व्यक्ति हुन भनिरहेका हुँदैनन्, न त तिनीहरूले तँलाई सृष्टि गरिएको सच्चा प्राणी हुन नै लगाइरहेका हुन्छन्। तिनीहरूले तँलाई तैँले सामना गर्ने दुष्ट व्यक्तिभन्दा पनि बढी दुष्ट तरिकाहरू प्रयोग गरेर दुष्टतालाई प्रतिकार गर्न र हराउन भनिरहेका हुन्छन्। तेरा आमाबुबाले भन्न खोजेको नै यही हो। के यसो भन्ने कुनै आमाबुबा छन्? “यदि कुनै दुष्ट व्यक्तिले तँलाई आक्रमण गर्यो भने, संयम अपनाउनू। तैँले त्यसलाई बेवास्ता गर्नुपर्छ र त्यसको भित्री वास्तविकता बुझ्नुपर्छ। सबभन्दा पहिले, त्यो व्यक्तिभित्रको दुष्ट व्यक्तिको सार पहिचान गर्नू, र त्यो वास्तवमा कस्तो व्यक्ति हो भनेर पत्ता लगाउनू। अनि दोस्रोमा, आफूभित्र भएका त्यस्तै वा त्यो व्यक्तिको जस्तै दुष्कर्महरू र भ्रष्ट स्वभावहरू पहिचान गर्नू, त्यसपछि ती कुराहरू समाधान गर्न सत्यता खोजी गर्नू।” के कुनै आमाबुबाले आफ्ना छोराछोरीलाई यस्तो कुरा बताउँछन्? (बताउँदैनन्।) जब तेरा आमाबुबाले तँलाई “कसैले घण्टी बजाए, त्यसको आवाज सुन्नुपर्छ; कसैले केही बोले, उसको आवाज सुन्नुपर्छ। तँ सचेत रहनुपर्छ, अन्यथा तँ धोकामा पर्नेछस् र तैँले विशेषाधिकारको मूल्य चुकाउनुपर्नेछ, र त्यसैले तैँले सुरुमै प्रहार गर्न सिक्नुपर्छ” भनेर भन्छन्, तब तेरो आमाबुबाले यसो भन्नुपछाडिको मूल अभिप्राय जे भए पनि, वा यसबाट हासिल हुने अन्तिम परिणाम जे भए पनि, यसले तँलाई अझै भयानक, अझै शक्तिशाली, अझै हेपाहा, अझै अहङ्कारी, र अझै आक्रामक बनाउँछ, ताकि दुष्ट मानिसहरू तँसँग डराऊन् र तिनीहरू तँलाई देख्दा जोगिएर समेत हिँडून्, र तँसँग निहुँ खोज्ने आँट नगरून्। के कुरा यही होइन र? (हो।) त्यसकारण, के त्यसोभए तेरा आमाबुबाले तँलाई इन्साफको बोध भएको व्यक्ति, वा सत्यता भएको व्यक्तिमा परिणत गर्नको लागि, र तँलाई “सर्पहरूझैँ बुद्धिमान् र ढुकुरहरूझैँ हानिरहित” व्यक्ति नबनाउनको लागि यसो भनेका हुँदैनन् भनेर भन्न सकिन्छ त? तिनीहरूको उद्देश्य त तँलाई समाजमा एक शक्तिशाली व्यक्ति हुनुपर्छ, अरूभन्दा पनि दुष्ट हुनुपर्छ, र आफूलाई बचाउन दुष्टता प्रयोग गर्ने व्यक्ति बन्नुपर्छ भनेर भन्नु हो नि, होइन र? (हो।) जब तेरा आमाबुबाले तँलाई “कसैले घण्टी बजाए, त्यसको आवाज सुन्नुपर्छ; कसैले केही बोले, उसको आवाज सुन्नुपर्छ” भनेर भन्छ, तब यो तिनीहरूको मूल अभिप्राय भए पनि नभए पनि वा यो हासिल गरिने अन्तिम प्रभाव भए पनि नभए पनि, र तेरा आमाबुबाले तँलाई त्यस्ता कार्यहरू गर्ने अभ्यासका सिद्धान्त र विधिहरू बताए पनि, वा यसको साटो त्यस्ता कुराहरूप्रतिको तिनीहरूका विचार र दृष्टिकोणहरू बताए पनि, यो प्रष्टै छ कि यीमध्ये कुनै पनि कुरा सत्यतासँग मेल खाँदैनन्, र यी सबै नै परमेश्वरका वचनहरूविपरीत हुन्छन्। तेरा आमाबुबाले तँलाई एक दुष्ट व्यक्ति बन्न लगाउँछन्, इमान्दार व्यक्ति बन्न लगाउँदैनन्, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने बुद्धिमान् व्यक्ति बन्न लगाउने त झन् कुरै नगरौँ। यो प्रष्टै छ कि तेरा आमाबुबाले तँलाई प्रदान गर्ने शिक्षा र अभ्यस्तीकरण सकारात्मक कुराहरू होइनन्, न त ती सही मार्ग नै हुन्। तेरा आमाबुबाले तँलाई रक्षा गर्न चाहेका भए पनि, र त्यसो गर्ने क्रममा राम्रै अभिप्राय राखेका भए पनि, ती कुराहरूले हासिल गरेको प्रभाव घातक हुन्छ। तिनीहरूले तेरो रक्षा गर्न नसकेका मात्र होइनन्, तँलाई गलत बाटोसमेत औँल्याएका छन्, जसले गर्दा तँ अहिले खराब काम गर्छस् र तँ दुष्ट व्यक्ति बनेको छस्। तिनीहरूले तेरो रक्षा गर्न नसकेका मात्र होइनन्, तँलाई परीक्षा र अधर्ममा समेत पारेर, परमेश्वरको वास्ता र सुरक्षाबाट टाढा लैजाँदै तँलाई वास्तवमै हानि गरेका हुन्छन्। यस दृष्टिकोणबाट हेर्दा, तेरो परिवारले तँलाई सिकाउने कुराका प्रभावहरूले तँलाई स्वार्थी, ढोँगी, अनि प्रसिद्धि, लाभ, र सामाजिक हैसियतको लालची बनाउने सम्भावना अधिक हुन्छ, र ती कुराहरूले तँलाई खराब प्रचलनहरूमा अझै राम्ररी घुलमिल गराउने, अरूसँग अन्तरक्रिया गर्नको लागि अझै परिष्कृत चलाखीहरू प्रदान गर्ने, र तँलाई अरूको अघि बेइमान, दुष्ट, अहङ्कारी र घमण्डी बनाउने सम्भावना पनि अधिक हुन्छ, जसले गर्दा तँसित कसैले पनि निहुँ खोज्ने वा तँमाथि हात उठाउने हिम्मत गर्नेछैनन्। तेरा आमाबुबाको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले तँलाई सिकाउनको लागि यी विधिहरू प्रयोग गरेका हुन्छन् ताकि तँ समाजमा सुरक्षित हुन, वा केही हदसम्म, तँ एक सम्मानित व्यक्ति बन्न सक्। तर सत्यताको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले तँलाई सृष्टि गरिएको साँचो प्राणी हुन दिँदैनन्। तिनीहरूले तँलाई परमेश्वरका शिक्षाहरू र परमेश्वरले तँलाई आफूलाई व्यवहारमा ढाल्नहेतु दिनुभएका तौरतरिकाहरूबाट टाढा भड्काउँछन्, र तिनीहरूले तँलाई परमेश्वरले अनुसरण गर्न लगाउनुभएको लक्ष्यबाट झन्झन् टाढा पनि जानेसमेत तुल्याउन्। तेरा आमाबुबाले तँलाई यस्तो अभ्यस्तीकरण र यस्तो शिक्षा प्रदान गर्नुपछाडिको तिनीहरूको मूल अभिप्राय जे भए पनि, तँलाई सिकाइएका यी विचारहरूले तँलाई ख्याति, नाफा, र खोक्रोपनका, साथै तैँले जिउने र प्रकट गर्ने सबै दुष्कर्महरू मात्र निम्त्याएका हुन्छन्, र यी कुराहरूले तँलाई समाजमा यी सिकाइने कुराका प्रभावहरूको व्यावहारिकताको थप पुष्टि मात्र दिलाएका हुन्छन्, र त्योभन्दा बढ्ता केही दिलाएका हुँदैनन्।
तेरो परिवारले तँलाई सिकाउने, “कसैले घण्टी बजाए, त्यसको आवाज सुन्नुपर्छ; कसैले केही बोले, उसको आवाज सुन्नुपर्छ” भन्नेजस्ता भनाइहरूलाई अलगअलग रूपमा विचार गर्ने हो भने, तैँले तीबारे खासै केही सोच्नेछैनस्। तँलाई यी भनाइहरू सामान्य र व्यापक नै लाग्नेछ, र त्यस्ता भनाइ, विचार र दृष्टिकोणहरूमा कुनै ठूलो समस्या छैन भन्ने लाग्नेछ। तर यदि तैँले तिनलाई सत्यतासँग तुलना गरिस् र तिनलाई विस्तृत रूपमा चिरफार गर्न सत्यता प्रयोग गरिस् भने, यी भनाइहरूमा वास्तवमा ठूला समस्या रहेको तँलाई स्पष्ट हुन्छ। उदाहरणको लागि, यदि तेरा आमाबुबाले सधैँ तँलाई “कसैले घण्टी बजाए, त्यसको आवाज सुन्नुपर्छ; कसैले केही बोले, उसको आवाज सुन्नुपर्छ” भनेर भन्छन् र तैँले यो जीवनअस्तित्व शैली कुशलतापूर्वक प्रयोग गर्छस् भने, मानिसहरूलाई भेट्नेबित्तिकै तैँले “यसको अर्थ के हो? उसले किन त्यसो भन्यो?” भन्दै निरन्तर र अवचेतन रूपमा र थाहै नपाई यस्ता कुराहरूबारे अनुमान लगाउनेछस्। अनि तैँले स्वतः अरू मानिसहरूको सोचहरूबारे अनुमान गर्नेछस्, तिनीहरूले के भन्दै छन् भनेर निरन्तर सुन्नेछस् र तँलाई बानी परेको यही सोचअनुसार तिनीहरूसँग कुराकानी गर्नेछस्, त्यसकारण तैँले सत्यताबारे, वा अरूसँग कसरी मिलेर बस्ने, वा अरूसँग अन्तरक्रिया गर्ने सिद्धान्तहरू के-के हुन्, वा अरूसँग कुराकानी गर्ने सिद्धान्तहरू के-के हुन्, वा मानिसहरूले भनेका कुराहरूमा तैँले बुझेका कुराहरूलाई कसरी लिने, वा परमेश्वरले सिकाउनुहुने मार्ग के हो, वा यस्ता मानिसहरूलाई कसरी चिन्ने, वा तिनीहरूलाई कसरी सम्हाल्ने भन्नेबारे, र तेरा आमाबुबाले तँलाई कहिल्यै नसिकाएका अभ्यासका त्यस्तै अन्य सिद्धान्तहरूबारे विचार गरिरहेको हुनेछैनस्। तेरा आमाबुबाले तँलाई अरू मानिसहरूले सोचिरहेको कुरा अनुमान लगाउन सिक्नु भनेर बताएका थिए, र तैँले यो तरिकाको अभ्यास राम्ररी गरेको छस्; तँ यसमा पोख्त भइसकेको अवस्थामा पुगेको छस् र अब तँ यसो नगरी बस्न सक्दैनस्। तसर्थ, यी कुराहरूको लागि मानिसहरूले नियमित रूपमा आफूलाई शान्त बनाएर, ध्यानपूर्वक सोच्नु र वास्तविक कुरा पत्ता लगाउने प्रयास गरिरहनु जरुरी छ। एक अर्थमा, तैँले यी कुराहरूलाई स्पष्ट रूपमा चिरफार गर्ने र खुट्याउने गर्नुपर्छ। अर्को अर्थमा, जब-जब यी कुराहरू आइपर्छन्, तब-तब तैँले आफ्नो सोच्ने शैली र मानिसहरू र परिस्थितिलाई हेर्ने तौरतरिका परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। भन्नुको अर्थ, तैँले त्यस्ता कुराहरू सामना गर्ने आफ्नो विचार र दृष्टिकोणहरू परिवर्तन गर्नुपर्छ। अनि अर्कोपटक, जब तैँले कसैले बोलेको सुन्छस्, र जब तिनीहरूले वास्तवमा के भन्न खोजेका हुन् भनेर अनुमान गर्ने प्रयास गर्छस्, तब तैँले यसप्रकारको सोच्ने शैली र मानिसहरूलाई सम्हाल्ने यस्तो तौरतरिका त्याग्नुपर्छ, र यसबारे राम्ररी विचार गर्नुपर्छ: “तिनले यसो भन्नुको अर्थ के हो? तिनले सीधै बोल्दैनन् र जहिले पनि घुमाएर कुरा गर्छन्। ती व्यक्ति छली रहेछन्। आखिर, तिनले भनिरहेको कुरा खासमा के रहेछ? त्यो कुराको सार के हो? के त्यो कुरा म स्पष्ट रूपमा बुझ्न सक्छु? यदि त्यो कुरा स्पष्ट रूपमा बुझ्न सक्छु भने, म सत्यतासँग मेल खाने तर्क र विचारहरू प्रयोग गरेर, स्पष्ट रूपमा व्याख्या गर्दै तिनलाई यो पक्षको सत्यता बुझाउन तिनीसँग सङ्गति गर्नेछु। म तिनलाई मद्दत गर्नेछु र तिनका गलत विचार र दृष्टिकोणहरू सच्याउनेछु। यसको साथै, तिनको बोल्ने तरिका छलपूर्ण छ। तर तिनले त्यसो भन्नुको अर्थ के हो, वा तिनले किन यस्तो घुमाउरो कुरा गर्छन्, म जान्न चाहन्नँ। तिनले वास्तवमा के भन्न खोजेको हो भनेर अनुमान गर्न म प्रयत्न र ऊर्जा खर्चन चाहन्नँ। म त्यो मूल्य चुकाउन चाहन्नँ, र यस सम्बन्धमा केही पनि गर्न चाहन्नँ। मैले तिनी छली व्यक्ति हुन् भनेर मात्रै चिन्नु आवश्यक छ। तर तिनी छली भए पनि, म तिनीसँग कुनै छलकपट संलग्न हुनेछैनँ। तिनले जति धेरै घुमाउरो कुरा गरे पनि, म तिनीसँग सिधा कुरा गर्नेछु, जे भन्नुपर्ने हो त्यही नै भन्नेछु, र जे-जस्तो कुरा हो त्यही कुरा नै बोल्नेछु। प्रभु येशूले भन्नुभएको छ, ‘तर तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्ने होस्’ (मत्ती ५:३७)। छललाई इमानदारिताले सम्बोधन गर्नु सत्यता अभ्यास गर्ने सर्वोच्च मापदण्ड हो।” यदि तँ यसरी अभ्यास गर्छस् भने, तैँले तेरा आमाबुबाले तँलाई सिकाएका र अभ्यस्त बनाएका तौरतरिकाहरू त्याग्नेछस्, र अभ्यासका तेरा सिद्धान्तहरू पनि परिवर्तन हुनेछन्। त्यसपछि तँ सत्यता पछ्याउने व्यक्ति बन्नेछस्। तैँले तेरा आमाबुबाले तँलाई सिकाएका जुनसुकै पक्ष त्यागे पनि, जब त्यससँग सम्बन्धित कुराहरू फेरि आइपर्छन्, तब तैँले परमेश्वरका वचनहरूलाई आधारको रूपमा लिएर, अनि सत्यतालाई मापदण्डको रूपमा प्रयोग गरेर, र ती कुरालाई पूर्ण रूपमा सही र सकारात्मक विचार र दृष्टिकोणहरूमा परिणत गरेर, तीबारे रहेका तेरा गलत विचार र दृष्टिकोणहरू परिवर्तन गर्नेछस्। भन्नुको अर्थ, यदि तैँले परमेश्वरको वचन र सत्यतालाई आफ्नो अभ्यासको आधार र मापदण्डको रूपमा लिएर यो मामिलालाई मूल्याङ्कन गर्ने, हेर्ने र सम्हाल्ने गर्छस् भने, तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस्। तर यसविपरीत, यदि तैँले अझै पनि यो मामिला सम्हाल्ने मापदण्ड, आधार, र अभ्यासका सिद्धान्तहरूको रूपमा तेरा आमाबुबाले तँलाई सिकाएका तरिकाहरू वा तिनीहरूले तँमा हालिदिएका विचार र दृष्टिकोणहरू प्रयोग गर्छस् भने, अभ्यास गर्ने यस्तो तरिका सत्यता अभ्यास गर्नु होइन, न त यो सत्यता पछ्याउनु नै हो। अन्ततः, सत्यता पछ्याएर मानिसहरूले प्राप्त गर्ने भनेको सत्यताको बुझाइ र अनुभव हो। यदि तँ सत्यता पछ्याउँदैनस् भने, तैँले सत्यताको बुझाइ वा अनुभव प्राप्त गर्नेछैनस्। तैँले पाउने कुरा त तेरो परिवारले तँलाई सिकाएको यो भनाइ अभ्यास गर्ने कार्यको बुझाइ र अनुभव मात्रै हुनेछ। अनि, अरूले परमेश्वरका वचनहरूसम्बन्धी आफ्ना अनुभव र बुझाइबारे कुरा गर्दा, तैँले केही बोल्न सक्दैनस्, किनभने तँसँग भन्ने कुरा केही हुँदैन। तँसँग त तेरो परिवारले तँलाई सिकाएका विचार र दृष्टिकोणहरूको व्यावहारिक बुझाइ र अनुभव मात्रै हुन्छ। अनि, तैँले ती कुराहरूबारे केही पनि बोल्न सक्दैनस्, र ती कुराहरू बताउने तँसँग कुनै उपाय हुँदैन। त्यसकारण, तैँले जुन कुरा अभ्यास गर्छस् अन्त्यमा तैँले बुझ्ने कुरा पनि त्यही नै हुनेछ। यदि तैँले अभ्यास गरेको कुरा सत्यता हो भने, तैँले प्राप्त गर्ने कुरा परमेश्वरको वचन र सत्यताको बुझाइ र अनुभव हुनेछ। यदि तँ आफ्ना आमाबुबाले तँलाई दिएका शिक्षा र निर्देशनहरू अभ्यास गर्छस् भने, तैँले बुझ्ने कुरा भनेको तेरो परिवारले तँलाई गरेको शिक्षणअभ्यस्तीकरण र परम्परागत शिक्षाको अनुभव हुनेछ, र तैँले प्राप्त गर्ने कुरा भनेको शैतानले तँभित्र हालिदिएका विचारहरू र शैतानले तँलाई दिएको भ्रष्टता मात्रै हुनेछ। तैँले यस्ता कुराहरू जति गहन रूपमा सराहना गर्छस्, त्यति नै तँलाई शैतानका ती भ्रष्ट विचार र दृष्टिकोणहरू उपयोगी र व्यावहारिक छन् लाग्नेछ, र त्यति नै गहन रूपमा तँ शैतानद्वारा भ्रष्ट पारिनेछस्। तर यदि तैँले सत्यता अभ्यास गरिस् भने के हुन्छ? तँसँग सत्यता, र परमेश्वरले तँलाई बताउनुहुने वचन र सिद्धान्तहरूको बुझाइ र अनुभव झन्झन् बढी हुनेछ, अनि तँलाई सत्यता नै सबैभन्दा बहुमूल्य कुरा हो, र परमेश्वर मानव जीवनको स्रोत हुनुहुन्छ, र परमेश्वरका वचनहरू मानिसहरूको जीवन हुन् भन्ने लाग्नेछ।
तँलाई हुर्काउने र गाँस, बास, र शिक्षा दिनेबाहेक, तेरो परिवारले तँलाई अरू के दिएको छ? यसले तँलाई समस्या मात्रै दिएको छ, होइन र? (हो।) यदि तँ यस्तो परिवारमा नजन्मेको भए, तेरो परिवारले तँमाथि पारेका ती सबै सिकाइने कुराका प्रभावहरू अस्तित्वमै हुन्थेनन्। तर तेरो परिवारले तँमाथि पार्ने सिकाइने कुराका प्रभावहरू अस्तित्वमा नरहे पनि, समाजले तँमाथि पार्ने सिकाइने कुराका प्रभावहरू भने अझै पनि अस्तित्वमा हुने नै थिए—त्यसैले तँ ती कुराहरूबाट उम्कन सक्दैनस्। तैँले जुनसुकै दृष्टिकोणबाट यो कुरा हेरे पनि, र यी सिकाइने कुराका प्रभावहरू चाहे परिवारबाट वा चाहे समाजबाट आएका भए पनि, यी विचार र दृष्टिकोणहरू शैतानबाटै आएका हुन्छन्। यति मात्र हो कि समाजका यी विभिन्न भनाइहरूलाई प्रत्येक परिवारले दृढताको अलगअलग हदमा र अलगअलग बुँदाहरूमा जोड दिएर स्विकार्ने गर्छन्। अनि, त्यसपछि तिनीहरूले आफ्नो परिवारको अर्को पुस्तालाई शिक्षा दिन र सिकाउन त्यसैअनुसारका विधिहरू प्रयोग गर्छन्। हरेक व्यक्तिले ऊ कस्तो परिवारमा जन्मेको हो सोही आधारमा विभिन्न हदमा हरप्रकारका शिक्षण प्राप्त गरेको हुन्छ। तर वास्तवमा, यी सिकाइने कुराका प्रभावहरू समाज र शैतानबाट उत्पन्न भएका हुन्छन्। यति मात्र हो कि यी सिकाइने कुराका प्रभावहरूलाई आमाबुबाको अझै ठोस बोली र व्यवहारको माध्यमबाट मानिसहरूको दिमागमा गहिरो गरी घुसाइन्छ, र त्यसो गर्नलाई अझ प्रत्यक्ष विधिहरू प्रयोग गरेर मानिसहरूलाई यी सिकाइने कुराका प्रभावहरूप्रति अझ ग्रहणशील पारिन्छ, ताकि मानिसहरूले यस्तो शिक्षण स्विकारून् र यो तिनीहरूको दुनियाँसँग व्यवहार गर्ने सिद्धान्त र तौरतरिका बनून्, अनि मानिसहरू र परिस्थितिलाई हेर्ने, र आफूलाई व्यवहारमा ढाल्ने र काम गर्ने तिनीहरूको आधार बनून्। उदाहरणको लागि, हामीले भर्खरै कुरा गरेको “कसैले घण्टी बजाए, त्यसको आवाज सुन्नुपर्छ; कसैले केही बोले, उसको आवाज सुन्नुपर्छ” भन्ने विचार र दृष्टिकोण पनि तेरो परिवारले आउने सिकाइने कुराको प्रभाव नै हो। मानिसहरूमाथि तिनीहरूको परिवारले जस्तोसुकै प्रकारको सिकाइने कुराको प्रभाव पारे पनि, तिनीहरूले यसलाई पारिवारिक सदस्यको दृष्टिकोणबाट हेर्छन्, र त्यसैले यसलाई सकारात्मक कुराको रूपमा, र आफ्नो रक्षाको लागि प्रयोग गर्न सकिने आफ्नै व्यक्तिगत मन्त्रको रूपमा स्वीकार गर्छन्। यस्तो किन हुन्छ भने, मानिसहरूलाई लाग्छ कि तिनीहरूका आमाबुबाबाट आउने सबै कुरा ती आमाबुबाको अभ्यास र अनुभवको परिणाम हो। अनि, संसारका हरेक मानिसहरूमध्ये, ती आमाबुबाले मात्र तिनीहरूलाई कहिल्यै हानि गर्नेछैनन्, र ती आमाबुबाले मात्र तिनीहरूलाई राम्रो जीवन जिउन दिन र तिनीहरूको सुरक्षा गर्न चाहन्छन्। त्यसकारण, मानिसहरूले कुनै समझशक्ति प्रयोग नगरी आफ्ना आमाबुबाबाट आउने विभिन्न विचार र दृष्टिकोणहरू स्वीकार गर्छन्। यसरी, तिनीहरूले स्वतः नै यी विभिन्न विचार र दृष्टिकोणहरूको शिक्षण स्वीकार गर्छन्। यी विभिन्न विचार र दृष्टिकोणहरूद्वारा सिकाइएपछि, तिनीहरूले यी कुरामा शङ्का गर्ने वा तिनको भित्री वास्तविकता बुझ्ने कहिल्यै गर्दैनन्, किनभने तिनीहरूले प्रायजसो आफ्ना आमाबुबाले पनि यस्तै कुरा बोलेको सुन्छन्। जस्तै, “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ।” अनि, यो भनाइको अर्थ के हो? यसको अर्थ के हो भने, तेरा आमाबुबा सही भए नि वा गलत भए नि, तेरा आमाबुबाले तँलाई जन्माएका र हुर्काएका हुनाले, तेरो लागि तेरा आमाबुबाले गर्ने सबै कुरा सही हुन्छन्। तैँले तिनीहरू सही छन् कि गलत छन् भनेर मूल्याङ्कन गर्न सक्दैनस्, न त तैँले तिनीहरूको कुरा इन्कार गर्न सक्छस्, तिनीहरूको विरोध गर्न सक्नु त परको कुरा हो। यो आमाबुबाप्रतिको भक्ति हो। तेरा आमाबुबाले गलत काम गरेका छन् नै भने पनि, र तिनीहरूका केही विचार र दृष्टिकोणहरू पुरानो वा गलत नै छन् भने पनि, वा तिनीहरूले तँलाई शिक्षा दिने तरिका र तँलाई सिकाउने विचार र दृष्टिकोणहरू सही वा सकारात्मक छैनन् नै भने पनि, तैँले तिनीहरूलाई शङ्का वा अस्वीकार गर्नु हुँदैन, किनकि भनाइ नै छ कि “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ।” जब आमाबुबाको कुरा आउँछ, तैँले तिनीहरू सही छन् कि गलत छन् भनेर खुट्याउने वा मूल्याङ्कन गर्ने कहिल्यै गर्नु हुँदैन, किनभने सन्तानले पाएको जीवन र सबै कुरा आमाबुबाबाटै आएका हुन्छन्। तेरो आमाबुबाभन्दा माथि कोही पनि हुँदैन, त्यसैले यदि तँसँग विवेक छ भने, तैँले तिनीहरूको आलोचना गर्नु हुँदैन। तेरा आमाबुबा जतिसुकै गलत, बेठीक वा असिद्ध भए पनि, तिनीहरू तेरा आमाबुबै हुन्। तिनीहरू नै तेरा सबैभन्दा नजिकका मानिसहरू हुन्, जसले तँलाई हुर्काए, जसले तँसँग सबैभन्दा राम्रो व्यवहार गर्छन्, र जसले तँलाई तेरो जीवन दिए। के यो भनाइलाई सबैले स्वीकार गर्दैनन् र? अनि, ठ्याक्कै यही मानसिकता रहेकोले नै, तेरा आमाबुबाले तँलाई बिनाहिचकिचाहट जस्तोसुकै व्यवहार गर्न, र विभिन्न विधिहरू प्रयोग गरी तँलाई हरप्रकारका काम गर्ने दिशातर्फ डोर्याउन, र तँमा विभिन्न विचारहरू हालिदिन सकिन्छ भन्ने सोच्छन्। तिनीहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले यस्तो सोच्छन्, “मेरा अभिप्रायहरू सही छन्, यो तेरो आफ्नै भलाइको लागि हो। तँसँग भएका सबै कुराहरू मैले नै दिएको हो। तँलाई मैले जन्माएँ-हुर्काएँ, त्यसैले मैले तँलाई जे-जस्तो व्यवहार गरे पनि, म गलत हुन सक्दिनँ, किनभने मैले गर्ने सबै कुरा तेरो आफ्नै भलाइको लागि हो र म तँलाई चोट पुर्याउने वा हानि गर्नेछैनँ।” छोराछोरीको दृष्टिकोणबाट हेर्दा, के आमाबुबाप्रतिको तिनीहरूको मनोवृत्ति “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ” भन्ने भनाइमा आधारित हुनु सही हो त? (होइन, यो गलत छ।) यो पक्कै पनि गलत छ। त्यसोभए तिमीहरूले यो भनाइलाई कसरी बुझ्नुपर्छ? यो भनाइ गलत छ भन्ने कुरा हामी कति पक्षबाट चिरफार सक्छौँ? यदि हामीले यसलाई छोराछोरीको दृष्टिकोणबाट हेर्यौँ भने, तिनीहरूको जीवन र शरीर तिनीहरूका आमाबुबाबाट आएका हुन्छन्, तिनीहरूको आमाबुबासँग तिनीहरूलाई हुर्काउने र शिक्षा दिने दया पनि हुन्छ, त्यसकारण छोराछोरीले आमाबुबाको हरेक शब्द पालन गर्नुपर्छ, आमाबुबाप्रतिको सन्तानको दायित्व पूरा गर्नुपर्छ, र आमाबुबाका गल्तीहरू खोतल्नु हुँदैन। यी शब्दहरूको इङ्गित अर्थ के हो भने, तैँले आफ्ना आमाबुबाको असली रूप खुट्ट्याउनु हुँदैन। यदि हामीले यसलाई यो दृष्टिकोणबाट विश्लेषण गर्यौँ भने, के यो दृष्टिकोण सही हुन्छ? (होइन, यो गलत हुन्छ।) हामीले यो मामिलालाई सत्यताअनुसार कसरी लिनुपर्छ? यसलाई भन्ने सही तरिका के हो? के छोराछोरीको शरीर र जीवन तिनीहरूका आमाबुबाले तिनीहरूलाई दिएका हुन् त? (होइन।) व्यक्तिको दैहिक शरीर उसका आमाबुबाबाट जन्मन्छ, तर बच्चा जन्माउने आमाबुबाको क्षमता कहाँबाट आउँछ? (यो परमेश्वरले दिनुभएको हो र परमेश्वरबाट आउँछ।) अनि, व्यक्तिको प्राण? यो कहाँबाट आउँछ? यो पनि परमेश्वरबाटै आउँछ। त्यसैले मूल रूपमा, परमेश्वरले नै मानिसहरूको सृष्टि गर्नुभएको हो, र यी सबै कुरा उहाँले नै पूर्वनिर्धारित गर्नुभएको हो। तँलाई यो परिवारमा जन्म लिनको लागि परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हो। परमेश्वरले यो परिवारमा एउटा प्राण पठाउनुभयो, त्यसपछि तँ यस परिवारमा जन्मिस्, अनि तेरा आमाबुबासँग तेरो यो पूर्वनिर्धारित सम्बन्ध रहेको हो—यो कुरा परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हो। परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारणको कारण नै, तेरा आमाबुबाले तँलाई जन्माउन सकेका हुन् र तँ यो परिवारमा जन्मेको होस्। यसलाई मूल रूपमा हेर्दा यस्तै देखिन्छ। तर यदि परमेश्वरले यसरी पूर्वनिर्धारित नगर्नुभएको भए के हुन्थ्यो? तेरा आमाबुबाले तँलाई कहिल्यै जन्माउँदैनथे, र तिनीहरूसँग तेरो यो आमाबुबा-बच्चाको सम्बन्ध कहिल्यै नहुनेथ्यो। रगतको कुनै साइनो, कुनै पारिवारिक स्नेह, र कुनै सम्बन्ध हुनेथिएन। तसर्थ, व्यक्तिलाई उसका आमाबुबाले जीवन दिएका हुन्छन् भन्नु गलत छ। अर्को पक्ष के हो भने, यसलाई छोराछोरीको नजरबाट हेर्दा, तिनीहरूका आमाबुबा तिनीहरूभन्दा एक पुस्ता अग्रज हुन्छन्। तर जहाँसम्म हरेक मानिसहरूको कुरा छ, आमाबुबा पनि अरू सबैजस्तै हुन्, र तिनीहरू सबै भ्रष्ट मानवजातिका सदस्यहरू हुन्, र तिनीहरू सबैमा शैतानको भ्रष्ट स्वभाव छ। तिनीहरू अरूभन्दा फरक पनि छैनन्, र तँभन्दा पनि फरक छैनन्। तिनीहरूले तँलाई शारीरिक रूपमा जन्म दिएका भए पनि, र तँसँगको देह र रगतको सम्बन्धको हिसाबमा, तिनीहरू तँभन्दा एक पुस्ता जेठा भए पनि, मानव स्वभाव सारको हिसाबमा, तिमीहरू सबै शैतानको सत्ताको अधीनमा जिइरहेका छौ, र तिमीहरू सबैलाई शैतानले भ्रष्ट तुल्याएको छ र तिमीहरू सबैमा भ्रष्ट, शैतानी स्वभावहरू छन्। सबै मानिसहरूमा भ्रष्ट शैतानी स्वभावहरू छन् भन्ने तथ्यलाई हेर्दा, सबै मानिसहरूको सार एउटै छ। व्यक्तिको वरिष्ठता, वा उसको उमेर, वा ऊ यस संसारमा कति चाँडो वा ढिलो आयो भन्ने कुराको बाबजुद पनि, मानिसहरूमा उस्तै भ्रष्ट स्वभाव सार छ, तिनीहरू सबै शैतानद्वारा भ्रष्ट पारिएका मानिसहरू हुन्, र यस हिसाबमा तिनीहरूमाझ केही भिन्नता छैन। तिनीहरूको मानवता राम्रो भए पनि वा नराम्रो भए पनि, तिनीहरू सबैमा भ्रष्ट स्वभाव हुने हुनाले, मानिसहरू र मामिलाहरूलाई हेर्ने, र सत्यताप्रति व्यवहार गर्ने प्रक्रियामा तिनीहरू सबैले समान दृष्टिकोण र अडान लिन्छन्। यस अर्थमा, तिनीहरूमाझ कुनै भिन्नता छैन। यसको साथै, यो दुष्ट मानवजातिमाझ जिउने हर-कसैले यो संसारमा हाबी रहेका विविध विचार र दृष्टिकोणहरूलाई नै स्विकार्छन्, चाहे त्यो बोलीमा होस् वा सोचमा होस्, वा चाहे त्यो स्वरूपमा होस् वा विचारधारामा होस्, अनि तिनीहरूले शैतानबाट आएका हरकिसिमका विचारहरूलाई नै स्विकार्छन्, चाहे त्यो राष्ट्रको शिक्षाबाट होस् वा चाहे त्यो सामाजिक प्रचलनहरूको शिक्षणबाट होस्। तर यी कुराहरू सत्यतासँग बिलकुलै मेल खाँदैनन्। तिनमा कुनै सत्यता हुँदैन, र मानिसहरूले पनि निश्चय नै सत्यता के हो भनेर बुझ्दैनन्। यस दृष्टिकोणबाट हेर्दा, आमाबुबा र छोराछोरी समान हुन्छन् र तिनीहरूका विचार र दृष्टिकोणहरू पनि समान हुन्छन्। यति मात्र हो कि तेरा आमाबुबाले यी विचार र दृष्टिकोणहरू २०-३० वर्ष पहिले स्विकारेका थिए, जबकि तैँले अलिक पछि स्विकारिस्। भन्नुको अर्थ, सामाजिक पृष्ठभूमि उही हो, र तँ सामान्य व्यक्ति होस् भने, तँ र तेरा आमाबुबा दुवैले शैतानबाट आएको उही भ्रष्टता, सामाजिक प्रचलनहरूको उही अभ्यस्तीकरण, र समाजका विभिन्न दुष्ट प्रवृत्तिहरूबाट उत्पन्न उही विचार र दृष्टिकोणहरू स्विकारेका छौ। यो दृष्टिकोणबाट हेर्दा, छोराछोरी र तिनीहरूका आमाबुबाको प्रकार एउटै हुन्छ। परमेश्वरको दृष्टिकोणबाट हेर्दा, उहाँले पूर्वतय, पूर्वनिर्धारित, र छनौट गर्नुहुन्छ भन्ने कुरालाई छोड्ने हो भने पनि, परमेश्वरको नजरमा, आमाबुबा र छोराछोरी दुवै सृष्टि गरिएका प्राणीहरू हुन्, र त्यसैले तिनीहरू उस्तै हुन्, र तिनीहरू परमेश्वरलाई आराधना गर्ने सृष्टि गरिएका प्राणीहरू भए पनि नभए पनि, तिनीहरू सबै सामूहिक रूपमा सृष्टि गरिएका प्राणीहरूकै रूपमा चिनिन्छन्, र तिनीहरू सबैले परमेश्वरको सार्वभौमिकता, योजनाबद्ध कार्य र बन्दोबस्तहरू स्विकारिरहेका हुन्छन्। यो दृष्टिकोणबाट हेर्दा, परमेश्वरको नजरमा आमाबुबा र छोराछोरीको हैसियत समान हुन्छ, र तिनीहरू सबैले उस्तै र समान रूपमा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्त स्विकार्छन्। यो वस्तुनिष्ठ तथ्य हो। यदि तिनीहरू सबै परमेश्वरद्वारा चुनिएका हुन् भने, तिनीहरू सबैसँग सत्यता खोजी गर्ने समान अवसरहरू हुन्छ। अनि अवश्य नै, तिनीहरूसँग परमेश्वरको दण्ड र न्याय स्विकार्ने पनि समान अवसर हुन्छ, र मुक्ति पाउने पनि समान अवसर हुन्छ। माथिका यी समानताहरूबाहेक, आमाबुबा र छोराछोरीबीच एउटै मात्र भिन्नता हुन्छ, र त्यो के हो भने तथाकथित पारिवारिक पदानुक्रममा आमाबुबाको दर्जा छोराछोरीको भन्दा ठूलो हुन्छ। यो पारिवारिक पदानुक्रमको तिनीहरूको दर्जा भनेको के हो? यो भनेको तिनीहरू २०-३० वर्षको उमेरले, अर्थात् एक पुस्ताले मात्र जेठा हुन्छन्—यो उमेरको ठूलो भिन्नताभन्दा बढी अरू केही होइन। अनि आमाबुबाको विशेष हैसियतको कारण, छोराछोरीले सन्तानोचित व्यवहार गर्नुपर्छ र आमाबुबाप्रतिका दायित्वहरू पूरा गर्नुपर्छ। व्यक्तिले आमाबुबाप्रति पूरा गर्नुपर्ने जिम्मेवारी यही मात्र हो। तर छोराछोरी र आमाबुबा सबै एउटै भ्रष्ट मानवजातिको भाग भएकाले, आमाबुबा छोराछोरीका नैतिक उदाहरण होइनन्, न त तिनीहरू छोराछोरीको सत्यता पछ्याइको लागि मापदण्ड वा आदर्श नमुना नै हुन्, अनि न त तिनीहरू परमेश्वरको आराधना गर्न र उहाँमा समर्पित हुनका लागि नै छोराछोरीका आदर्श नमुना हुन्। अवश्य नै, आमाबुबा सत्यताको देहधारण होइनन्। मानिसहरूले आमाबुबालाई विनासर्त आज्ञापालन गरिने नैतिक उदाहरण र व्यक्तित्वहरू मान्नैपर्ने कुनै दायित्व वा जिम्मेवारी हुँदैन। छोराछोरीहरू आमाबुबाको आचरण, व्यवहार र स्वभाव सार खुट्याउन डराउनु हुँदैन। भन्नुको अर्थ, आफ्ना आमाबुबासँग व्यवहार गर्दा, मानिसहरूले “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ” भन्नेजस्ता विचार र दृष्टिकोणहरू पालना गर्नु हुँदैन। यो दृष्टिकोण परमेश्वरको पूर्वनिर्धारणअन्तर्गत आमाबुबाले तँलाई जन्म दिएका हुन् र तिनीहरू तँभन्दा २०, ३० वा ४० वा ५० वर्ष पाका छन् तथ्यमा आधारित छ। यो देह र रगतको सम्बन्धको दृष्टिकोणबाट मात्र, अनि तिनीहरूको हैसियत र पारिवारिक पदानुक्रममा तिनीहरूको दर्जाको हिसाबमा मात्र, तिनीहरू छोराछोरीहरूभन्दा फरक छन्। तर यो भिन्नताको कारण, मानिसहरूले आमाबुबालाई कुनै गल्ती नगर्ने व्यक्तिहरू ठान्छन्। के यो सही हो त? यो गलत र तर्कहीन छ र यो सत्यतासँग मेल खाँदैन। आमाबुबा र छोराछोरीबीच यो देह र रगतको सम्बन्ध भएकोले, कतिपय व्यक्तिहरू आमाबुबासँग कस्तो व्यवहार गर्ने भनेर अचम्मित हुन्छन्। यदि आमाबुबाले परमेश्वरमा विश्वास गर्छन् भने, तिनीहरूलाई विश्वासीको रूपमा व्यवहार गर्नुपर्छ; यदि तिनीहरूले परमेश्वरमा विश्वास गर्दैनन् भने, तिनीहरूलाई गैरविश्वासीहरूको रूपमा व्यवहार गर्नुपर्छ। आमाबुबा जुनसुकै प्रकारका मानिसहरू भए पनि, तिनीहरूलाई सम्बन्धित सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ। यदि तिनीहरू दियाबलसहरू हुन् भने, तैँले तिनीहरू दियाबलसहरू हुन् भनेर भन्नुपर्छ। यदि तिनीहरूसँग मानवता छैन भने, तैँले तिनीहरूसँग मानवता छैन भनेर भन्नुपर्छ। यदि तिनीहरूले तँलाई सिकाउने विचार र दृष्टिकोणहरू सत्यताअनुरूप छैनन् भने, तैँले यी कुराहरू सुन्नु वा स्विकार्नु पर्दैन, र तैँले तिनीहरूको वास्तविकता खुट्ट्याएर खुलासासमेत गर्न सक्नुपर्छ। यदि तेरा आमाबुबाले “म यो तेरो आफ्नै भलाइको लागि गर्दै छु” भनेर भन्छन्, र झोँक्किँदै कोलाहल मच्चाउँछन् भने, के तैँले वास्ता गर्नेछस्? (अहँ, म वास्ता गर्नेछैनँ।) यदि तेरा आमाबुबाले विश्वास गर्दैनन् भने, तिनीहरूलाई कुनै ध्यान नदे, र यो कुरालाई यही छोडिदे। यदि तिनीहरूले यति ठूलो कोलाहल मच्चाउँछन् भने, तैँले तिनीहरू दियाबलसहरू हुन्, अरू केही होइनन् भनेर देख्नेछस्। परमेश्वरमाथिको विश्वाससँग सम्बन्धित यी सत्यताहरू नै मानिसहरूले सबैभन्दा बढी स्विकार्नुपर्ने विचार र दृष्टिकोणहरू हुन्। तर तिनीहरूले यी कुराहरू स्वीकार वा पालना गर्नै सक्दैनन्, त्यसैले तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? तिनीहरूले परमेश्वरका वचनहरू नै बुझ्दैनन्, त्यसैले तिनीहरू अर्धमानव हुन्, होइन र? तैँले यस्तो सोच्नुपर्छ: “तपाईँहरू मेरा आमाबुबा भए पनि, तपाईँहरूसँग कुनै मानवता छैन। तपाईँहरूबाट जन्म लिएकोमा, म साँच्चै नै लज्जित छु! अहिले तपाईँहरू वास्तवमा को हुनुहुन्छ भनेर मैले बुझेको छु। तपाईँहरूभित्र मानव आत्मा छैन, तपाईँहरू सत्यता बुझ्नुहुन्न, तपाईँहरू त्यस्तो स्पष्ट र सरल सिद्धान्तहरू पनि सुन्न सक्नुहुन्न, तैपनि तपाईँहरू नसोची टीकाटिप्पणी गर्नुहुन्छ र निन्दनीय कुराहरू बोल्नुहुन्छ। अब मैले बुझिसकेँ, र मैले मेरो हृदयमा आफूलाई तपाईँहरूबाट पूरै अलग गरेको छु। तर बाहिरी रूपमा, मैले अझै पनि तपाईँहरूलाई खुसी पार्नुपर्छ, र मैले अझै पनि तपाईँहरूको सन्तानको रूपमा केही जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। यदि मसँग स्रोतसाधन भयो भने, म तपाईँहरूलाई केही स्वास्थ्य सामग्रीहरू किनिदिन्छु, तर यदि मसँग स्रोतसाधन भएन भने, म तपाईँहरूलाई भेट्न आउनेछु, बस त्यति हो। तपाईँहरूले जे भने पनि, म तपाईँहरूको विचार खण्डन गर्नेछैनँ। तपाईँहरू निरर्थक हुनुहुन्छ, र म तपाईँहरूलाई त्यस्तै हुन दिनेछु। तर्क नै नबुझ्ने तपाईँहरूजस्ता दियाबलसहरूलाई के भन्नु छ र? तपाईँहरूले मलाई जन्म दिएर यतिका वर्ष हुर्काउनुभएको कुरालाई कदर गर्दै, म तपाईँहरूलाई भेट्न र हेरचाह गर्न आइरहनेछु। नत्र त, म तपाईँहरूलाई वास्तासमेत गर्दिनथेँ र म बाँचुञ्जेल तपाईँहरूलाई भेट्नै चाहन्नथेँ।” तँ किन तिनीहरूलाई फेरि भेट्न वा तिनीहरूसँग सम्बन्ध कायम राख्न चाहँदैनस्? किनभने तैँले सत्यता बुझेको छस्, र तैँले तिनीहरूको सार राम्ररी देखेको छस्, र तिनीहरूका विभिन्न मिथ्या विचार र दृष्टिकोणहरू सबै देखेको छस्, र यी मिथ्या विचार र दृष्टिकोणहरूबाट तैँले तिनीहरूको मूर्खता, हठीपन, र दुष्टता बुझेको छस्, र तिनीहरू दियाबलस हुन् भनेर स्पष्टै देखेको छस्, त्यसकारण तँलाई तिनीहरूप्रति वितृष्णा जाग्छ र घिन लाग्छ र तँ तिनीहरूलाई हेर्न चाहँदैनस्। तँभित्रको त्यो थोरै विवेकको कारण मात्रै तँ छोरा वा छोरीको रूपमा आफ्ना केही जिम्मेवारीहरू र आमाबुबाप्रतिका दायित्वहरू पूरा गर्न बाध्य छु भन्ने महसुस गर्छस्, त्यसकारण तँ तिनीहरूलाई नयाँ वर्षको समयमा र बैङ्क बिदामा भेट्न जान्छस्, र यसलाई त्यतिमै सीमित राख्छस्। जबसम्म तिनीहरूले तँलाई परमेश्वरमा विश्वास गर्न वा कर्तव्य निभाउनबाट रोक्न जबरजस्ती गरेका हुँदैनन्, तबसम्म समय हुँदा तिनीहरूलाई भेट्न जाने गर्। यदि तँ वास्तवमै तिनीहरूलाई भेट्न चाहँदैनस् भने, तिनीहरूको हालखबर बुझ्न फोन गर्, बेलाबखत पैसा पठा, र तिनीहरूलाई केही उपयोगी सामानहरू किनिदे। चाहे तिनीहरूको हेरचाह गर्ने कार्य होस्, वा तिनीहरूलाई भेट्ने, तिनीहरूलाई लुगा किनिदिने, तिनीहरूको सुस्वास्थ्यको सरोकार देखाउने, वा बिरामी हुँदा तिनीहरूलाई स्याहार्ने कार्य होस्—यो सबै तैँले आफ्ना सन्तानीय दायित्वहरू पूरा गर्नु र आफ्नो भावना र विवेकसँग सम्बन्धित आफ्ना आवश्यकताहरू पूरा गर्नु मात्रै हो। त्यो कुरा त्यति नै हो, र त्यो सत्यता अभ्यास गर्ने कार्यको रूपमा गणना हुँदैन। तँलाई तिनीहरूप्रति जति नै घिन लागे पनि, वा तैँले तिनीहरूको सार जति नै स्पष्ट देख्न सके पनि, तिनीहरू जीवित रहुञ्जेल, तैँले छोरा वा छोरीको रूपमा आवश्यक दायित्वहरू र आवश्यक जिम्मेवारीहरू वहन गर्नुपर्छ। तँ सानो हुँदा तेरा आमाबुबाले तेरो हेरचाह गरेका थिए, र जब तिनीहरू पाका हुन्छन्, तँसँग स्रोतसाधन हुन्जेल तैँले तिनीहरूको हेरचाह गर्नुपर्छ। तिनीहरूलाई मन लाग्यो भने तँसँग किचकिच गर्न दे। जबसम्म तिनीहरूले तँमा हालिदिन खोजेका तिनीहरूका विचार र दृष्टिकोणहरू तैँले सुन्दैनस्, र तिनीहरूले भनेको कुरा स्विकार्दैनस्, र जबसम्म तँ तिनीहरूको कुराले विचलित वा विवश हुँदैनस्, तबसम्म यो कुरा ठीकै हुन्छ, र यसले कदमा तँ बढेको छस् र परमेश्वरसामु आफ्नो गवाहीमा तँ अडिग भइसकेको छस् भन्ने कुरा प्रमाणित गर्छ। तैँले तिनीहरूको हेरचाह गरेको कारण उहाँले तँलाई दोषी ठहराउनुहुनेछैन, र उहाँले तँलाई “तँ किन यति भावुक हुन्छस्? तैँले सत्यता स्विकारेको र सत्यता पछ्याइरहेको छस्, तैपनि कसरी अझै तँ तिनीहरूको हेरचाह गर्न सक्छस्?” भनेर भन्नुहुनेछैन। तैँले आफूलाई व्यवहारमा ढाल्ने सबैभन्दा आधारभूत जिम्मेवारी र दायित्व यही हो, र त्यो भनेको परिस्थितिले भ्याएसम्म आफ्नो दायित्व पूरा गर्नु हो। यसको मतलब तँ भावुक भइरहेको छस् भन्ने हुँदैन, र परमेश्वरले यसैको कारण तँलाई दोषी ठहराउनुहुनेछैन। यो संसारमा, अवश्य नै तैँले तेरा आमाबुबाबाहेक कसको लागि पो दायित्व र जिम्मेवारीहरू पूरा गर्नुपर्छ र, अरू कसैप्रति पनि तेरो कुनै जिम्मेवारी र दायित्व हुँदैन—तेरा साक्खै दाजुभाइ-दिदीबहिनी, तेरा साथीसङ्गी, वा तेरा काकाकाकी, मामा-माइजू र फुपू-फुपाजु कसैप्रति त्यस्तो जिम्मेवारी र दायित्व हुँदैन। तिनीहरूलाई खुसी पार्नुपर्ने, वा तिनीहरूबाट कृपा लिनुपर्ने वा तिनीहरूलाई मद्दत गर्नुपर्ने तेरो कुनै दायित्व हुँदैन। के कुरो यही होइन र? (हो।)
“आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ” भन्ने दाबीबारे के मैले स्पष्टसित बताएँ? (बताउनुभयो।) त्यसोभए, आमाबुबा को हुन् त? (भ्रष्ट मानिसहरू।) ठीक भन्यौ, आमाबुबा भ्रष्ट मानिसहरू नै हुन्। तँलाई कहिलेकहीँ आमाबुबाको सम्झना आउँछ र तँ सोच्छस्, “मेरा आमाबुबाले यी विगत दुई वर्ष कसरी बिताइरहनुभएको होला? के उहाँहरू मलाई याद गर्नुहुन्छ? के उहाँहरू अवकाश हुनुभयो? के उहाँहरूको जीवनमा कुनै कठिनाइहरू होलान्? के उहाँहरू बिरामी हुँदा उहाँहरूलाई हेरचाह गर्ने कोही होला?” मानौँ, तैँले यी कुराहरू सोचिरहेको छस् र तँ यसरी घोरिन्छस्, “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ। मेरा आमाबुबाले मलाई कुटपिट गर्नुहुन्थ्यो र मलाई गाली गर्नुहुन्थ्यो, किनभने मैले उहाँहरूको अपेक्षा पूरा गर्न सक्थिनँ, अनि उहाँहरूले मलाई यस्तो गहिरो प्रेम गर्नुभएको कारण उहाँहरू हताश बन्नुहुन्थ्यो। मेरा आमाबुबा सबैभन्दा असल हुनुहुन्छ, र संसारमा मलाई सबैभन्दा धेरै माया गर्ने उहाँहरू नै हुनुहुन्छ। अहिले जब म मेरा आमाबुबाको खराब गुणहरूबारे विचार गर्छु, ती कुरालाई म खराब गुणहरूको रूपमा देख्दिनँ, किनभने आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ।” अनि तैँले यसबारे जति धेरै विचार गर्छस्, त्यति नै धेरै तिनीहरूलाई भेट्ने तँलाई इच्छा हुन्छ। के यस्तो सोच्नु राम्रो हो त? (अहँ, होइन।) अहँ, होइन। तैँले कसरी सोच्नुपर्छ? तैँले यसरी मनन गर्नुपर्छ: “म सानो छँदा मेरा आमाबुबाले मलाई कुटपिट गर्थे, गाली गर्थे, र मेरो आत्मसम्मानमा चोट पुर्याउँथे। तिनीहरूले मसित दयालु कुरा गर्ने वा मलाई उत्साह दिने कहिल्यै गरेनन्। तिनीहरूले मलाई पढ्न जबरजस्ती गर्थे, र मलाई नाच्न र गाउन सिक्न, अनि गणित प्रतियोगिताको लागि पढ्न जबरजस्ती गर्थे—यी सबै कुराहरू मलाई मन नपर्ने कुराहरू थिए। मेरा आमाबुबा वास्तवमै झिजोलाग्दा थिए। तर अहिले म परमेश्वरमा विश्वास गर्छु र म स्वतन्त्र छु। मैले कलेज पूरा गर्नुअघि नै कर्तव्य पूरा गर्नको लागि घर छोडेँ। असल त परमेश्वर हुनुहुन्छ। मलाई मेरा आमाबुबाको सम्झना आउँदैन। तिनीहरूले मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्थे। मेरा आमाबुबा दियाबलसहरू हुन्।” त्यसपछि तैँले फेरि सोच्छस्, “यस्तो सोच्नु ठीक होइन। आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ। मेरो सबैभन्दा नजिकका मानिसहरू मेरा आमाबुबै हुन्, त्यसैले उहाँहरूलाई सम्झना गर्नु मात्र सही कुरा हो।” के यस्तो सोच्नु सही हो? (होइन, यो गलत हो।) त्यसोभए सोच्ने सही तरिका के हो त? (हामी के सोच्थ्यौँ भने, आमाबुबाले जे गरे पनि, उनीहरूले हाम्रै लागि सोचेर त्यसो गर्छन्, र उनीहरूले आफूले गर्ने सबै कुरामा हाम्रो लागि राम्रो सोचेका हुन्छन्, र उनीहरूले हामीलाई कहिल्यै हानि गर्दैनन्। तर अहिले परमेश्वरले गर्नुभएको सङ्गतिले मलाई के महसुस गराएको छ भने, मेरा आमाबुबा पनि भ्रष्ट मानिसहरू नै हुन्, जसले शैतानबाट विभिन्न विचार र दृष्टिकोणहरू स्विकारेका छन्। पत्तै नपाई, हाम्रा आमाबुबाले हामीमा धेरै शैतानी विचारहरू हालिदिएका छन्, जसले गर्दा हामी हाम्रो व्यवहार र कार्यमा सत्यताबाट धेरै टाढा गएका छौँ, र शैतानी दर्शनहरूअनुसार जिउने भएका छौँ। अहिले मलाई मेरा आमाबुबाको हृदयमा के छ भन्नेबारे स्पष्ट भएको छ, त्यसैले म तिनीहरूबारे कमै मात्र सम्झने र सोच्ने गर्छु।) आफ्ना आमाबुबासँग व्यवहार गर्दा, तँ पहिले तर्कसङ्गत रूपमा यो रक्तसम्बन्धबाट बाहिर निस्कनुपर्छ र आफूले स्विकारिसकेका र बुझिसकेका सत्यताहरू प्रयोग गरेर आमाबुबाको वास्तविकता चिन्नुपर्छ। आफ्ना आमाबुबालाई तिनीहरूका आचरणसम्बन्धी विचार, दृष्टिकोण र अभिप्रायहरूको आधारमा, र आचरणसम्बन्धी सिद्धान्त र तौरतरिकाको आधारमा चिन्नुपर्छ, र यसो गर्दा तिनीहरू पनि शैतानद्वारा भ्रष्ट भएका मानिसहरू हुन् भन्ने पुष्टि हुन्छ। तैँले तेरा आमाबुबालाई सत्यताको दृष्टिकोणबाट हेर्, तिनीहरू सधैँ उच्च अनि तँप्रति निस्स्वार्थी र दयालु छन् भनेर नसोच, किनभने यदि तैँले तिनीहरूलाई त्यसरी हेरिस् भने, तिनीहरूमा के समस्याहरू छन् भनेर तैँले कहिल्यै पत्ता लगाउनेछैनस्। तेरा आमाबुबालाई आफ्नो पारिवारिक सम्बन्ध, वा छोरा वा छोरीको रूपमा रहेको तेरो भूमिकाको दृष्टिकोणबाट नहेर्। यस क्षेत्रबाट बाहिर निस्की, अनि तिनीहरूले संसारसँग, सत्यतासँग, र मानिसहरू, मामिलाहरू र विभिन्न कुराहरूसँग कसरी व्यवहार गर्छन् भनेर हेर्। साथै, अझ स्पष्ट रूपमा भन्दा, मानिसहरू र परिस्थितिहरूलाई कसरी हेर्ने, र आफूलाई के-कसरी व्यवहारमा ढाल्ने र कार्य गर्ने भन्नेबारे तँलाई तेरा आमाबुबाले सिकाएका विचार र दृष्टिकोणहरूलाई हेर्—तैँले तिनीहरूलाई पहिचान गर्नुपर्ने र खुट्ट्याउनुपर्ने यसरी नै हो। यस तरिकाले, तिनीहरूका मानव गुणहरू र तिनीहरू शैतानद्वारा भ्रष्ट भएको तथ्य बिस्तारै स्पष्ट हुनेछ। अनि, तिनीहरू कस्ता मानिसहरू हुन्? यदि तिनीहरू विश्वासी होइनन् भने, परमेश्वरमा विश्वास गर्ने मानिसहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो छ? यदि तिनीहरू विश्वासी हुन् भने, सत्यताप्रति तिनीहरूको मनोवृत्ति कस्तो छ? के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन्? के तिनीहरू सत्यतालाई प्रेम गर्छन्? के तिनीहरूलाई सकारात्मक कुराहरू मन पर्छ? जीवन र संसारप्रति तिनीहरूको दृष्टिकोण के छ? अनि यस्तै अन्य कुराहरू के छन्? यदि तैँले यी कुराहरूको आधारमा आफ्ना आमाबुबालाई खुट्याउन सक्छस् भने, तँसँग स्पष्ट विचार हुनेछ। यी कुराहरू स्पष्ट भएपछि, तेरो मनमा रहेको तेरा आमाबुबाको उच्च, कुलीन र अटल हैसियत परिवर्तन हुनेछ। अनि जब यो परिवर्तन हुन्छ, तब तेरा आमाबुबाले देखाएको मातृ र पितृ प्रेम—साथै तिनीहरूका निश्चित बोली र व्यवहार, र तँलाई उच्च लाग्ने तिनीहरूका छविहरू—यी कुराहरू तेरो मनमा त्यति गहिरो गरी गाडिएर बसेका हुनेछैनन्। तेरा आमाबुबाको तँप्रतिको प्रेमको निःस्वार्थपन र महान्ता, साथै तँलाई हेरचाह, सुरक्षा, र स्नेह प्रदान गर्नेतर्फको तिनीहरूको समर्पणले थाहै नपाई तेरो मनमा महत्त्वपूर्ण स्थान ओगट्न छोड्नेछ। मानिसहरूले प्राय यसो भन्छन्, “मेरा आमाबुबाले मलाई धेरै माया गर्नुहुन्छ। म घरबाट टाढा हुँदा, मेरी आमाले सधैँ मलाई ‘खाना खाइस्? समयमा खाना खाँदै छस्?’ भनेर सोध्नुहुन्छ। बुबाले सधैँ ‘तँसँग पुग्दो पैसा छ? पैसा छैन भने, म अलिकति पठाइदिन्छु’ भनेर भन्नुहुन्छ। अनि, म भन्छु, ‘मसँग पैसा छ, चाहिँदैन,’ र बुबाले जवाफ दिनुहुन्छ, ‘होइन, यसरी हुँदैन, तैँले पैसा छ भने पनि, म केही पैसा पठाउँछु।’” वास्तविकता के हो भने, तेरा आमाबुबाले मितव्ययी जीवन बिताउँछन् र आफ्नो लागि पैसा खर्च गर्न हिचकिचाउँछन्। तिनीहरूले तँलाई मदत गर्न त्यो पैसा प्रयोग गर्छन्, ताकि तँ घरबाट टाढा हुँदा तँसँग खर्च गर्ने अलिअलि पैसा होस्। तेरा आमाबुबाले सधैँ भन्छन्, “घरमा हुँदा धेरै पैसा खर्च नगर्नू, तर यात्रा गर्दा केही थप पैसा बोक्नू। बाहिरतिर जाँदा अलि बढी बोक्नू। तँसँग पुग्दो पैसा छैन भने, मलाई भन्, र म तँलाई केही पैसा पठाइदिन्छु वा तेरो कार्डमा हालिदिन्छु।” तेरा आमाबुबाको निःस्वार्थ चिन्ता, ख्याल, हेरचाह, अनि लाडप्यार र पुलपुल्याइ लगायतका कुराहरू सधैँ तेरो नजरमा तिनीहरूको निःस्वार्थ समर्पणको अमेट छाप भएर बस्नेछ। तेरो हृदयको गहिराइमा, यो निःस्वार्थ समर्पण तेरो र तिनीहरूबीचको सम्बन्ध घनिष्ठ पार्ने शक्तिशाली र न्यानो भावना बनेर पनि बसेको हुन्छ। यसले गर्दा तैँले तिनीहरूलाई त्याग्न सक्दैनस्, र यसले तँलाई तिनीहरूबारे चिन्ता गर्ने, फिक्री गरिरहने, निरन्तर सम्झना गरिरहने बनाउँछ, र यसले तँलाई यस्तो भावुकतामा फसेर तिनीहरूको स्नेहको बन्धनमा निरन्तर फस्न इच्छुक पनि बनाउँछ। अनि, यो कस्तो कुरा हो? तेरा आमाबुबाको प्रेम साँच्चै निःस्वार्थ छ। तर तेरा आमाबुबाले तँलाई जति वास्ता गरे पनि, वा तिनीहरूले तँलाई खर्च दिन वा तँलाई चाहिने सबै कुरा किनिदिन एकएक पैसा कन्जुस्याइँ गर्दै बचत गरे पनि, यो तेरो लागि अहिले त आशिष् हुन सक्ला, तर पछि गएर राम्रो हुँदैन। तिनीहरू जति निस्वार्थ हुन्छन्, र तँलाई जति राम्रो व्यवहार गर्छन्, र तेरो जति वास्ता गर्छन्, त्यति नै तँलाई यो स्नेहबाट मुक्त हुन र यसलाई त्याग्न वा बिर्सन गाह्रो हुन्छ, र त्यति नै तँलाई तिनीहरूको सम्झना हुन्छ। अनि, जब तँ सन्तानीय जिम्मेवारी पूरा गर्न वा तिनीहरूप्रतिको कुनै दायित्व पूरा गर्न असफल हुन्छस्, तँलाई तिनीहरूप्रति झन् बढी दुःख लाग्छ। यी परिस्थितिहरूमा, तँसँग तिनीहरूको वास्तविकता देख्ने, वा तिनीहरूको प्रेम र समर्पण र तेरो लागि गरिएका सबै कुरा बिर्सने, वा ती कुरालाई अनुल्लेखनीय ठान्ने हृदय नै हुँदैन—यो तेरो विवेकको प्रभाव हो। के यो तेरो विवेकले सत्यता प्रतिनिधित्व गर्छ? (अहँ, गर्दैन।) तेरा आमाबुबाले तँसँग किन यस्तो व्यवहार गर्छन्? किनभने तिनीहरूमा तँप्रतिको स्नेह हुन्छ। त्यसोभए के तँप्रतिको तिनीहरूको मायाले तिनीहरूको मानवता सार प्रतिनिधित्व गर्न सक्छ? के यसले सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति प्रतिनिधित्व गर्न सक्छ? अहँ, सक्दैन। यो त ती आमाहरूको जस्तै कुरा भयो जो सधैँ भन्छन्, “तँ मेरो आफ्नै देह र रगत होस्, मैले तँलाई हुर्काउन पसिना बगाएँ र दासले झैँ काम गरेँ। तैँले हृदयमा के सोचिरहेको छस् भनेर मलाई कसरी थाहा नहुन सक्छ र?” यी घनिष्ठ पारिवारिक सम्बन्ध र यो देहगत-रक्त सम्बन्धको कारण तिनीहरूले तँलाई राम्रो व्यवहार गर्छन्, तर के तिनीहरूले वास्तवमै तँसँग राम्रो व्यवहार गरिरहेका छन् त? के यो साँच्चै तिनीहरूको वास्तविक रूप हो त? के यो तिनीहरूको मानवता सारको साँचो अभिव्यक्ति हो त? हो नै भन्ने छैन। तिनीहरूसँग तेरो रगतको सम्बन्ध भएकोले, तिनीहरूले आफ्नो जिम्मेवारीबोध गर्दै तँसँग राम्रो व्यवहार गर्नुपर्छ भन्ने सोच्छन्। तर तिनीहरूको सन्तानको रूपमा, तैँले सोच्छस् कि तिनीहरूले तँसँग मायाले राम्रो व्यवहार गरेका हुन्, र तँलाई तिनीहरूको यो ऋण तिर्न सक्दिनँ भन्ने लाग्छ। यदि तैँले तिनीहरूको मायाको ऋण पूरै तिर्न सकिनस् भने पनि, वा यसको सबैभन्दा सानो अंश मात्रै तिर्न सकिनस् भने पनि, तेरो विवेकले तँलाई दोषी ठहराउनेछ। के तेरो विवेकले तँलाई दोष दिँदा तँमा आउने त्यो भावना सत्यताअनुरूप हुन्छ? अर्को शब्दमा भन्दा, यदि तिनीहरू तेरा आमाबुबा नभएर तँसँग अन्तरक्रिया गर्ने कुनै समूहका साधारण मानिसहरू मात्र थिए भने, के तिनीहरूले तँलाई यसरी व्यवहार गर्नेथिए? (गर्नेथिएनन्।) तिनीहरूले पक्कै पनि यस्तो व्यवहार गर्नेथिएनन्। यदि तिनीहरू तेरा आमाबुबा थिएनन् र तँसँग कुनै रगतको नाता थिएन भने, तँप्रतिको तिनीहरूको व्यवहार र मनोवृत्ति विभिन्न तरिकाले फरक हुनेथियो। तिनीहरूले पक्कै पनि तेरो वास्ता गर्ने, तेरो रक्षा गर्ने, तँलाई प्यारो गर्ने, तेरो हेरचाह गर्ने, वा निःस्वार्थ तेरो निम्ति जुनसुकै कुरा समर्पण गर्ने काम नगर्नेथिए। त्यसोभए तिनीहरूले तँसँग कस्तो व्यवहार गर्नेथिए त? सायद तिनीहरूले तँलाई सानो देखेर अनि कुनै सामाजिक अनुभव नभएको कारण हेप्नेथिए, वा तेरो निम्न स्थिति र हैसियतको कारण तँलाई भेदभाव गर्नेथिए, र सधैँ तँसँग हेपाहा शैलीमा बोलेर तँलाई पाठ सिकाउने प्रयास गर्नेथिए; वा सायद तिनीहरूले तँलाई औसत रूपको ठान्नेथिए, र तैँले तिनीहरूसँग कुरा गरेमा, तिनीहरूले तँलाई कुनै ध्यान दिनेथिएनन्, र तँ तिनीहरूको दर्जामा पुग्न नसक्नेथिइस्; वा सायद तिनीहरूले तँलाई कुनै कुरामा काम नलाग्ने ठान्नेथिए, र तँसँग अन्तरक्रिया गर्ने वा तँसँग कुनै सम्बन्ध राख्ने नगर्नेथिए; वा सायद तिनीहरूले तँलाई कपटरहित ठान्नेथिए, र त्यसैले यदि तिनीहरूले कुनै कुराबारे जान्न चाहेमा, सधैँ तँलाई नै सुरुमा सोध्नेथिए र तँबाट जवाफहरू प्राप्त गर्न खोज्नेथिए; वा सायद तिनीहरूले तँबाट कुनै न कुनै तरिकाले अनुचित फाइदा उठाउने चाहना गर्नेथिए, जस्तै तैँले कुनै कुरा मोलतोल गरेर सस्तोमा किन्दा, तिनीहरूले सधैँ फाइदाको केही हिस्सा, वा किनमेलकै केही भाग लिन चाहनेथिए; वा सायद तँ सडकमा लडेर तिनीहरूको सहयोग चाहिएको बेला, तिनीहरूले तँलाई हेर्नेसमेत थिएनन्, बरु तँलाई लात हानेर हिँड्नेथिए; वा सायद तँ बसमा चढ्दा, तैँले तिनीहरूलाई आफ्नो सिट नदिएमा, तिनीहरूले “म यति बूढो छु, र पनि किन तँ मलाई सिट छोड्दैनस्? तँ किन यस्तो अबुझ भएको? के तेरा आमाबुबाले तँलाई कुनै संस्कार सिकाएनन्!” भनेर भन्नेथिए। अनि तिनीहरूले तँलाई एक शब्दसमेत फर्काउन दिनेथिएनन्। यदि यस्तो अवस्था हो भने, तैँले आफ्नो हृदयको गहिराइमा लुकेको मातृ प्रेम र पितृ प्रेम तिनीहरूको मानवताको साँचो प्रकाश हो होइन भनेर पत्ता लगाउनु जरुरी छ। तँ प्राय तिनीहरूको तँप्रतिको निःस्वार्थ समर्पण र तिनीहरूको महान् मातृ प्रेम र पितृ प्रेमले उत्प्रेरित हुन्छस्, र तँ तिनीहरूप्रति धेरै आसक्त हुन्छस्, तिनीहरूको सम्झना गर्छस्, र निरन्तर आफ्नै जीवनद्वारा तिनीहरूको ऋण तिर्न चाहन्छस्। यसको कारण के हो? यदि यो विवेकबाट मात्रै आउने कुरा हो भने, यो समस्या त्यति गहिरो छैन र यसलाई सुधार्न सकिन्छ। तर यदि यो तिनीहरूप्रतिको स्नेहबाट आएको हो भने, यो एकदमै समस्याजनक कुरा हो। तँ झन्झन् यसको गहिराइमा डुब्दै जानेछस् र बाहिर निस्कन सक्नेछैनस्। तँ प्राय यही स्नेहमा अल्झिरहनेछस् र आफ्ना आमाबुबालाई सम्झना गर्नेछस्, र कहिलेकहीँ त तैँले आमाबुबाको मायाको ऋण तिर्न परमेश्वरलाई समेत धोका दिनेछस्। उदाहरणको लागि, यदि तैँले तेरा आमाबुबा अस्पतालमा गम्भीर बिरामी छन्, वा तिनीहरूको जीवनमा गम्भीर घटना घटेको छ र तिनीहरू कुनै कठिनाइमा परेका छन् र त्यसबाट तिनीहरू निस्कन सकेका छैनन् र तिनीहरू दुःखी छन् र तिनीहरूको हृदय टुटेको छ भन्ने सुनिस् भने, वा तेरा आमाबुबाको मृत्यु हुन लागेको छ भन्ने खबर सुनिस् भने, तँ के गर्छस्? त्यो बेला, तेरो स्नेहले तेरो विवेकलाई जित्छ कि, कि परमेश्वरले तँलाई सिकाउनुभएका सत्यता र उहाँका वचनहरूले तेरो विवेकलाई कुनै निर्णय गर्न उत्प्रेरित गर्छन् भनेर जान्ने कुनै उपाय छैन। यी मामिलाहरूको परिणाम तैँले आमाबुबा र छोराछोरीबीचको सम्बन्धलाई कसरी हेर्छस्, आमाबुबासँग कस्तो व्यवहार गर्ने भन्ने सत्यतामा तँ कति प्रवेश गरेको छस्, तैँले तिनीहरूको वास्तविकता कति देख्न सक्छस्, मानवजातिको प्रकृति सारबारे तैँले कति बुझेको छस्, र तैँले आफ्ना आमाबुबाको चरित्र र मानवता सार, साथै तिनीहरूको भ्रष्ट स्वभावबारे कति धेरै बुझेको छस् भन्ने कुरामा भर पर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यी मामिलाहरूको परिणाम तैँले पारिवारिक स्तरमा सम्बन्धहरूलाई कसरी लिन्छस् भन्ने कुरामा, र तैँले लिनुपर्ने सही विचारहरूमा भर पर्छ—तैँले तरो जीवनमा यी कुनै पनि मामिलाहरू आइपर्नुभन्दा पहिले आफूलाई सुसज्जित तुल्याउनुपर्ने यिनै विभिन्न सत्यताहरूले हो। अरू सबैलाई—नातेदार र साथीहरू, काकी र काकाहरू, हजुरबा-हजुरआमा र अन्य बाहिरी व्यक्तिहरूलाई—सजिलै छोड्न सकिन्छ, किनकि व्यक्तिको स्नेहमा तिनीहरूले महत्त्वपूर्ण स्थान ओगट्दैनन्। यी मानिसहरूलाई सजिलै त्याग्न सकिन्छ, तर आमाबुबा अपवाद हुन्। व्यक्तिको लागि, यो संसारमा आमाबुबा मात्रै सबैभन्दा नजिकका नातेदार हुन्। तिनीहरू उसको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्ने मानिसहरू हुन् र उसको जीवनकालमा तिनीहरूले महत्त्वपूर्ण प्रभाव पार्छन्, त्यसैले तिनीहरूलाई त्याग्नु सजिलो छैन। यदि आज तैँले तँमाथिको तेरो परिवारको शिक्षणद्वारा उत्पन्न विभिन्न विचारहरूबारे केही स्पष्ट बुझाइ प्राप्त गरेको छस् भने, यसले आमाबुबाप्रतिको तेरो स्नेह त्याग्न मद्दत गर्न सक्छ, किनभने तँमाथिको तेरो परिवारका सिकाइने कुराका प्रभावहरू केवल अस्पृश्य दाबीहरू मात्र हुन्, र सबैभन्दा खास सिकाइने कुरा त वास्तवमा तेरै आमाबुबाबाट आएको हुन्छ। तेरा आमाबुबाको एउटा वाक्य, वा कुनै कार्य गर्नेप्रति तिनीहरूको मनोवृत्ति, वा कुनै कुरा सम्हाल्ने तिनीहरूको तौरतरिका र माध्यमहरू—यी कुराहरू तँलाई कसरी सिकाइन्छ भनेर व्याख्या गर्ने सबैभन्दा सही तरिका हुन्। तेरो परिवारले तँलाई सिकाएका विचार, कार्य, र भनाइहरूलाई विभिन्न तरिकाले पत्ता लगाएर खास रूपमा पहिचान गरिसकेपछि, तैँले तेरा आमाबुबाको भूमिका, चरित्र, जीवन दृष्टिकोण, र काम गर्ने तौरतरिकाको सारबारे सही मूल्याङ्कन र ज्ञान प्राप्त गर्नेछस्। तैँले यो सही मूल्याङ्कन र ज्ञान प्राप्त गरेपछि, तेरा आमाबुबाको भूमिकाबारे तेरो दिमागमा रहेको तेरो धारणा अदृश्य रूपमा बिस्तारै सकारात्मकबाट नकारात्मकमा परिणत हुनेछ। अनि, तेरा आमाबुबाको भूमिका पूर्ण रूपमा नकारात्मक छ भन्ने महसुस गरेपछि, तैँले बिस्तारै आफ्नो भावनात्मक सहारा, आत्मिक घनिष्ठता, र तँप्रतिको तिनीहरूको विभिन्न प्रकारको महान् प्रेम त्याग्न सक्नेछस्। त्यो बेलासम्म, तँलाई के महसुस भइसक्नेछ भने, तेरो हृदयको गहिराइमा रहेको तेरा आमाबुबाको छवि यति उच्च रहेछ कि, त्यो त तैँले स्कुलको किताबमा पढेको “मेरो बुबाको ढाडमा” भन्ने निबन्धको जस्तै, साथै ताइवानी चलचित्रमा रहेको र चिनियाँ भाषी समाजमा पनि चर्चित रहेको धेरै वर्ष पहिलेको त्यो “आमा संसारमा सर्वश्रेष्ठ हुनुहुन्छ” भन्ने लोकप्रिय गीतको जस्तै रहेछ—यी कुराहरू समाज र संसारले मानवजातिलाई शिक्षा दिने तरिका हुन्। जब तँलाई यी कुराहरूपछाडिको सार वा साँचो रूप थाहा हुँदैन, तब तँलाई शिक्षाका यी विधिहरू सकारात्मक छन् भन्ने लाग्छ। तेरो अहिलेको मानवताको आधारमा, यी कुराहरूले तेरा आमाबुबाको तँप्रतिको प्रेमलाई अझै ठूलो पहिचान र त्यो प्रेमको महान्ताप्रति अझै ठूलो विश्वास दिलाउँछन्, र फलस्वरूप यी कुराहरूले तेरो हृदयको गहिराइमा तेरा आमाबुबाको प्रेम निःस्वार्थ, महान् र पवित्र छ भन्ने छाप पारिदिन्छन्। तसर्थ, तेरा आमाबुबा जतिसुकै खराब भए पनि, तिनीहरूको प्रेम अझै पनि निस्वार्थ र ठूलो नै लाग्छ। तेरो लागि यो एक निर्विवाद तथ्य हो जसलाई कसैले पनि इन्कार गर्न सक्दैन, र कसैले पनि तेरा आमाबुबाबारे नराम्रो शब्द बोल्न सक्दैन। यसको फलस्वरूप, तँ तिनीहरूको भित्री वास्तविकता देख्न वा तिनीहरूको खुलासा गर्न चाहँदैनस्, र यसको साथै, तँ आफ्नो हृदयको गहिराइमा तिनीहरूको लागि एउटा निश्चित ठाउँ राख्न पनि चाहन्छस्, किनभने तँलाई के विश्वास हुन्छ भने आमाबुबाको प्रेम सधैँ सबैभन्दा माथि हुन्छ, यो त्रुटिरहित, महान्, र पवित्र हुन्छ, र कसैले पनि यो तथ्य इन्कार गर्न सक्दैन। तेरो विवेक र व्यवहारको आधार रेखा यही हो। यदि कसैले आमाबुबाको प्रेम महान् वा त्रुटिरहित छैन भनेर भन्यो भने, तँ तिनीहरूसँग मरिहत्ते गर्दै झगडा गर्न तम्सिन्छस्—यो तर्कविसङ्गत कार्य हो। मानिसहरूले सत्यता बुझ्नुअघि, तिनीहरूको विवेकको प्रभावले तिनीहरूलाई केही परम्परागत विचार र दृष्टिकोणहरू अङ्गालिराख्न, वा केही नयाँ विचार र दृष्टिकोणहरू पैदा गर्न पनि प्रेरित गर्नेछ। तैपनि, यसलाई सत्यताको दृष्टिकोणबाट हेर्दा, यी विचार र दृष्टिकोणहरू प्रायजसो तर्कविसङ्गत नै हुन्छन्। सत्यता बुझिसकेपछि, तैँले यी कुराहरूलाई सामान्य तर्कसङ्गतपनको दायराभित्र रही सम्हाल्न सक्छस्। यसरी, मानवतामा विवेक र समझ दुवै हुन्छ। यदि विवेक यी कुराहरूको स्तरमा पुग्न वा मापनमा आउन सक्दैन, वा विवेकको प्रभावमा रहेर यी कुराहरू नियमसङ्गत वा सकारात्मक भएनन् भने, यी कुराहरूलाई नियमसङ्गत पार्न र सुधार्नको लागि मानिसहरूले आफ्नो तर्कसङ्गतपन प्रयोग गर्न सक्छन्। अनि, मानिसहरूले कसरी यो तर्कसङ्गतपन हासिल गर्छन्? यसको लागि, मानिसहरूले सत्यता बुझ्नुपर्छ। सत्यता बुझेपछि, तिनीहरूले सबै कुरालाई अझै सटीक र सही रूपमा व्यवहार गर्ने, छनौट गर्ने र खुट्याउने गर्नेछन्। यसरी, तिनीहरूले साँचो तर्कसङ्गतपन हासिल गर्नेछन्, र समझले अन्तस्करणलाई जितेको अवस्थामा तिनीहरू पुग्नेछन्। व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गरेपछि जे हुन्छ, त्यसको प्रकटीकरण यही हो। तैँले अहिले यी वचनहरू वास्तवमै बुझ्न सक्दैनस् होला, तर एकपटक वास्तविक अनुभव पाइसकेपछि र सत्यता बुझिसकेपछि, तैँले यी कुराहरू बुझ्नेछस्। अब, “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ” भन्ने यो भनाइ तर्कसङ्गतपनबाट आएको हुन्छ कि विवेकबाट? यो भनाइ तर्कसङ्गत छैन, यो त विवेकको प्रभावमा व्यक्तिको स्नेहबाट उत्पन्न हुन्छ। त्यसोभए के यो भनाइ तर्कसङ्गत छ त? अहँ, यो तर्कविसङ्गत छ। यो किन तर्कविसङ्गत छ? किनभने यो व्यक्तिको स्नेहबाट उत्पन्न हुन्छ, र यो सत्यताअनुरूप छैन। त्यसोभए, कुन बिन्दुमा तैँले आमाबुबालाई तर्कसङ्गत रूपमा हेर्न र व्यवहार गर्न सक्छस्? त्यो तैँले सत्यता बुझेर यो कुराको सार र जड बुझेपछि गर्न सक्छस्। त्यसो गरिसकेपछि, तैँले आफ्ना आमाबुबालाई विवेकको प्रभावअनुसार व्यवहार गर्नेछैनस्, त्यसउप्रान्त स्नेहले भूमिका खेल्न छोड्नेछ, न त विवेकले नै कुनै भूमिका खेल्नेछ, अनि तैँले आफ्ना आमाबुबालाई सत्यताअनुसार हेर्न र व्यवहार गर्न सक्नेछस्—तर्कसङ्गत हुनु भनेको यही हो।
आमाबुबाप्रति कसरी व्यवहार गर्ने भन्ने विषयमा, के मैले स्पष्ट सङ्गति गरेँ? (गर्नुभयो।) यो एक महत्त्वपूर्ण मामिला हो। परिवारका सबै सदस्यहरूले भन्छन्, “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ,” तर तँलाई यो सही हो कि होइन भन्ने थाहै हुँदैन, त्यसैले तँ चुपचाप यो कुरा स्विकार्छस्। त्यसपछि जब तेरा आमाबुबाले अमिल्दो कुरा गर्छन्, तैँले मनन गर्दै यस्तो सोच्छस्, “मानिसहरू भन्छन् ‘आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ,’ त्यसकारण मैले मेरा आमाबुबा सही छैनन् भनेर कसरी भन्न सक्छु? परिवारको कुरा परिवारमै सीमित हुनुपर्छ, अरूलाई यसबारे बताउनु हुँदैन, यसलाई सहेर बस्नुपर्छ।” “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ” भन्ने यो गलत भनाइको सिकाइने कुराका प्रभावहरूबाहेक, अर्को भनाइ पनि छ: “परिवारको कुरा परिवारमै सीमित हुनुपर्छ।” त्यसकारण तैँले यस्तो सोच्छस्, “मेरो आफ्नै आमाबुबाको लागि कसलाई दोष दिने? म बाहिरी मानिसहरूलाई यो लाजमर्दो कुरा बताउन सक्दिनँ। मैले यसलाई लुकाएरै राख्नुपर्छ। मेरा आमाबुबासँग गम्भीर हुनुको के अर्थ छ र?” परिवारबाट आएका सिकाइने कुराका प्रभावहरू मानिसहरूको दैनिक जीवनमा, तिनीहरूको जीवन मार्गमा, र तिनीहरूको अस्तित्वजीवी सिलसिलामा सधैँ रहिरहन्छन्। मानिसहरूले सत्यता बुझ्नु र सत्यता प्राप्त गर्नुअघि, तिनीहरूले आफ्नो परिवारले तिनीहरूलाई सिकाएका यी विभिन्न विचार र दृष्टिकोणहरूको आधारमा मानिसहरू र परिस्थितिलाई हेर्ने, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्छन्। तिनीहरूलाई यी विचारहरूले प्राय बहकाउने, व्याकुल पार्ने, नियन्त्रित पार्ने, र हातखुट्टा बाँध्ने गर्छन्। तिनीहरू यी विचारहरूद्वारा निर्देशितसमेत हुन्छन्, र प्रायजसो मानिसहरूलाई गलत ठान्छन् र गलत कामहरू गर्छन्, साथै बारम्बार परमेश्वरका वचनहरू र सत्यता उल्लङ्घन गर्छन्। मानिसहरूले परमेश्वरका धेरै वचनहरू सुनेका छन् नै भने पनि, र तिनीहरूले नियमित रूपमा परमेश्वरका वचनहरू प्रार्थना-पाठ र सङ्गति गर्ने गरेका भए पनि, तिनीहरूको परिवारले तिनीहरूलाई सिकाएका यी दृष्टिकोणहरूले तिनीहरूको विचार र हृदयमा गहिरो जरा गाडेको हुनाले, तिनीहरूलाई यी दृष्टिकोणहरूको भित्री वास्तविकताबारे कुनै समझ हुँदैन, न त तिनीहरूसँग यी कुराहरूको विरोध गर्ने क्षमता नै हुन्छ। तिनीहरूले परमेश्वरका वचनहरूको शिक्षा र भरणपोषण प्राप्त गरिरहँदा पनि, तिनीहरू अझै यिनै विचारहरूद्वारा प्रभावित हुन्छन्, र तिनीहरूको बोली, कार्य र जीवनशैली पनि यिनै विचारहरूद्वारा मार्गनिर्देशित भएका हुन्छन्। त्यसकारण, मानिसहरूलाई तिनीहरूको परिवारले सिकाएका यी विचारहरूको अचेतन मार्गनिर्देशनमा रहेर, तिनीहरूले परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्नबाट आफूलाई प्राय रोक्न सक्दैनन्। तैपनि, तिनीहरू आफूले सत्यता अभ्यास गरिरहेको र सत्यता पछ्याइरहेको छु भन्ने सोच्छन्। तिनीहरूको परिवारले तिनीहरूलाई अभ्यस्त गराएका यी विभिन्न भनाइहरू सत्यताअनुरूप छैनन् भन्ने कुरा तिनीहरूलाई अत्तोपत्तो हुँदैन। अझ गम्भीर कुरा त के हो भने, परिवारले मानिसहरूलाई सिकाएका यी भनाइहरूले तिनीहरूलाई बारम्बार सत्यता उल्लङ्घन गर्ने बाटोमा लैजान्छन्, तर तिनीहरूलाई यो कुराको सुइँकोसमेत हुँदैन। त्यसकारण, यदि तँ सत्यता पछ्याउन र सत्यता वास्तविकतामा प्रवेश गर्न चाहन्छस् भने, तैँले सुरुमा तेरो परिवारबाट तँमाथि आउने विभिन्न सिकाइने कुराका प्रभावहरूलाई स्पष्ट रूपमा देख्नु र चिन्नुपर्छ, र त्यसपछि तेरो परिवारले तँलाई सिकाएका यी विभिन्न विचारहरूबाट मुक्त हुने प्रयास गर्नुपर्छ। अवश्य नै, यो निश्चयताका साथ भन्न सकिन्छ कि, तैँले तेरो परिवारको तँमाथिको अभ्यस्तीकरणबाट मुक्त हुनैपर्छ। तँ त्यो परिवारबाट आएको होस् भन्दैमा, तैँले यसो गर्नुपर्छ वा तँ यसरी बाँच्नुपर्छ भन्ने नसोच्। तँलाई तेरो परिवारका परम्पराहरू अँगाल्नुपर्ने वा कार्य र व्यवहार गर्ने यसका विभिन्न तौरतरिका र माध्यम अपनाउनुपर्ने कुनै जिम्मेवारी वा दायित्व हुँदैन। तेरो जीवन परमेश्वरबाट आएको हो। आज तँलाई परमेश्वरले चुन्नुभएको छ, र तैँले पछ्याउन चाहेको लक्ष्य मुक्तिको लक्ष्य हो, त्यसैले तैँले तेरो परिवारले तँलाई सिकाएका विभिन्न विचारहरूलाई मानिसहरू र विभिन्न कुराहरूलाई हेर्ने तेरो दृष्टिकोण, तेरो व्यवहार र कार्यको आधारको रूपमा प्रयोग गर्नु हुँदैन। बरु, तैँले परमेश्वरका वचनहरू र उहाँका विभिन्न शिक्षाहरूअनुसार मानिसहरू र विभिन्न कुराहरूलाई हेर्ने, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्नुपर्छ। यसरी मात्र तैँले अन्त्यमा मुक्ति प्राप्त गर्न सक्छस्। तर अवश्य नै, परिवारले पार्ने सिकाइने कुराका प्रभावहरू यहाँ सूचीबद्ध गरिएका कुराहरूमा मात्र सीमित हुँदैनन्। मैले तीमध्ये केही मात्र उल्लेख गरेको छु। विभिन्न परिवार, कुल, समाज, जात, र धर्मबाट आउने विभिन्न किसिमका पारिवारिक शिक्षाहरू छन्, र यी कुराले मानिसहरूका विचारहरूलाई विभिन्न तरिकाले अभ्यस्त पारिदिन्छन्। यी विभिन्न विचारहरूका यस्तो अभ्यस्तीकरण जुनसुकै जात वा धार्मिक संस्कृतिबाट आएका भए पनि, जबसम्म यो सत्यतासँग मेल खाँदैन, र जबसम्म यो परमेश्वरबाट नभई मानिसहरूबाट आएको हुन्छ, तबसम्म यसलाई त्याग्नैपर्छ, किनकि यो त्यस्तो कुरा हो जसबाट मानिसहरूले आफूलाई मुक्त गर्नैपर्छ। तिनीहरू यसैमा अल्झिरहनु हुँदैन, यसलाई अँगाल्न हुने त झन् कुरै नगरौँ। यी सबै कुराहरू मानिसहरूले छोड्नु र त्याग्नुपर्ने कुराहरू हुन्। यसरी मात्र मानिसहरू साँचो रूपमा सत्यता पछ्याउने मार्गमा हिँड्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्।
परिवारले व्यक्तिमाथि गराउने शिक्षणबाट आउने यी भनाइहरू, जसबारे हामीले सङ्गति गरिसकेका छौँ, यी भनाइहरू एक हिसाबमा प्रतिनिधिमूलक छन् भने, अर्को हिसाबमा, यी भनाइहरूबारे मानिसहरूमाझ प्राय कुरा भइरहने गर्छ। कतिपय विशेष र गैरप्रतिनिधिमूलक भनाइहरूको हकमा भने, हामी अहिले ती कुराहरूबारे कुरा गर्नेछैनौँ। परिवारको विषयमा हामीले गरेको सङ्गति तिमीहरूलाई कस्तो लाग्यो? के यो कुनै किसिमले लाभदायक भएको छ? (हो, भएको छ।) के यो विषयमा सङ्गति गर्न आवश्यक छ? (छ।) हरेकको परिवार हुन्छ र हरेकलाई परिवारले शिक्षण गराएको हुन्छ। परिवारले तँभित्र हालिदिने कुराहरू सबै विष हुन्, सबै आत्मिक अफिम हुन्, र यी कुराले तँलाई नमिठो पीडा दिन्छन्। जब तेरा आमाबुबाले तँभित्र यी कुराहरू हालिदिए, त्यो बेला तँलाई अफिम खाँदाजस्तै, साह्रै रमाइलो भएको थियो। तँलाई हरहिसाबले सहज महसुस भयो, मानौँ तँ कुनै आनन्दित संसारमै प्रवेश गरेको छस्। तर केही समयपछि ती प्रभावहरू हटे, त्यसैले तैँले यस्तो उत्तेजना खोजिरहनुपर्ने भयो। अब यो आत्मिक अफिमले तेरो समस्या र खलबली अन्त्य गर्दैन। आजको दिनसम्म, तँलाई यो कुराबाट मुक्त हुन वास्तवमै गाह्रो भएको छ, र यो कुरा छोटो समयमा त्याग्न सकिने कुनै चीज होइन। यदि मानिसहरूले आफूलाई शिक्षण गराइएका यी विचार र दृष्टिकोणहरू त्याग्न चाहन्छन् भने, तिनीहरूले केही समय र ऊर्जा खर्चेर भए पनि यी कुराहरू पहिचान गर्नुपर्छ, र केस्रा-केस्रा छुट्याउँदै यी कुरालाई प्रस्टसँग चिन्नुपर्छ र यी कुराको भित्री वास्तविकता बुझ्नुपर्छ। त्यसपछि, जब-जब सम्बन्धित मामिलाहरू देखा पर्छन्, तिनीहरूले यी कुराहरू त्याग्न र तीविरुद्ध विद्रोह गर्न सक्नुपर्छ, र यस्ता विचार र दृष्टिकोणहरूका सिद्धान्तहरूअनुसार कार्य गर्नु हुँदैन, बरु परमेश्वरले मानिसहरूलाई सिकाउनुभएका तौरतरिकाअनुसार अभ्यास र काम गर्नुपर्छ। यी केही वचनहरू सरल सुनिन्छन्, तर यी वचनहरू अभ्यास गर्न मानिसहरूलाई २०-३० वर्ष, वा पूरै जीवन पनि लाग्न सक्छ। सायद तैँले तेरो परिवारले तँभित्र हालिदिएका यी भनाइहरूद्वारा उत्पन्न विचार र दृष्टिकोणहरूसँग लड्न, र यी विचार र दृष्टिकोणहरूबाट आफूलाई मुक्त गर्न र अलग्याउनको लागि पूरै जीवनकाल नै बिताउन पनि सक्छस्। यसो गर्नको लागि, तैँले आफ्नो भावना र ऊर्जा लगाउनुपर्छ, र केही शारीरिक कठिनाइहरू पनि भोग्नुपर्छ। अनि, तँसँग परमेश्वरप्रतिको ठूलो इच्छा हुनुपर्छ र सत्यताको तृष्णा गर्ने र सत्यता पछ्याउने चाहना पनि हुनुपर्छ। यी कुराहरू धारण गरेर मात्र तैँले बिस्तारै परिवर्तन हासिल गर्न र बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्। सत्यता र जीवन प्राप्त गर्न यति गाह्रो छ। जब मानिसहरूले धेरै प्रवचनहरू सुनेका हुन्छन्, तिनीहरूले परमेश्वरमाथिको विश्वासबारे केही धर्मसिद्धान्तहरू बुझेका हुन्छन्, तर साँच्चै सत्यता बुझ्न र परिवारले पार्ने सिकाइने कुराका प्रभावहरू र गैरविश्वासीहरूका विचार र दृष्टिकोणहरू चिन्न सक्षम हुन सजिलो छैन। प्रवचनहरू सुनेपछि तैँले सत्यता बुझ्न सके पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने कार्य रातारात हुने कुरा होइन, के यो सही हो? (सही हो।) ठीक छ, आजको लागि हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। जयमसीह!
फेब्रुअरी २५, २०२३
फूटनोटहरू:
क. मूल पाठमा “अपमानित सङवंशका राजनीतिज्ञ” भन्ने वाक्यांश समावेश छैन।