सत्यता कसरी पछ्याउने (१२)
सत्यता पछ्याउनुको पहिलो अभ्यास: त्याग्नु
आ. मानिसहरूका पछ्याइ, आकाङ्क्षा, र कामनाहरूलाई त्याग्नु
ग. आफ्नो परिवारबाट पैदा हुने पछ्याइ, आकाङ्क्षा र कामनाहरूलाई त्याग्नु
विगत केही भेलाहरूमा, हामीले “मानिसहरूका खोज, आदर्श र इच्छाहरू” त्याग्ने शीर्षकअन्तर्गत विवाहका विषयहरूबारे सङ्गति गर्यौँ, होइन र? (हो।) हामीले विवाहसँग सम्बन्धित विषयहरूमा लगभग सङ्गति गरेर सकिसकेका छौँ। यसपटक, हामीले परिवारसँग सम्बन्धित विषयहरूमा सङ्गति गर्नुपर्छ। हामी सुरुमा परिवारका के-कस्ता पक्षहरूमा मानिसहरूका खोज, आदर्श र इच्छाहरू समावेश हुन्छन् भनेर हेरौँ। परिवारको अवधारणाबारे मानिसहरू अनजान त पक्कै हुँदैनन्। यो विषय उठाउँदा मानिसहरूको मनमा सबभन्दा पहिले आउने कुरा परिवारको बनावट र सदस्यहरू, र परिवारसँग सम्बन्धित केही मामिला र मानिसहरू हुन्। परिवारसँग सम्बन्धित त्यस्ता धेरै विषयहरू छन्। तर तेरो मनमा जति धेरै बिम्ब र विचारहरू भए पनि, के ती कुराहरू आज हामीले सङ्गति गर्न लागेको “मानिसहरूका खोज, आदर्श र इच्छाहरू” त्याग्ने कार्यसँग सम्बन्धित छन् त? हामीले हाम्रो सङ्गति सुरु गर्नुपहिले ती कुराहरू सम्बन्धित छन् कि छैनन् भनेरसमेत तिमीहरूलाई थाहा छैन। त्यसकारण, हामीले सङ्गति सुरु गर्नुपहिले, के तिमीहरू मलाई मानिसहरूको विचारमा परिवार भनेको के हो, वा तिमीहरूलाई परिवारको सन्दर्भमा त्यागिनुपर्ने जस्तो लागेको कुरा के हो, त्यो बताउन सक्छौ? यसभन्दा पहिले हामीले मानिसहरूका खोज, आदर्श र इच्छाहरूसँग सम्बन्धित धेरै पक्षहरूबारे कुरा गर्यौँ। के तिमीहरूले हामीले सङ्गति गरेको यो विषय संलग्न हरपक्ष पहिचान गर्यौ? जुन-जुन पक्ष संलग्न भएको भए पनि, मानिसहरूले त्याग्नुपर्ने कुरा भनेको यो मामिला स्वयम् होइन, बरु यसलाई लिने तिनीहरूका गलत विचार र दृष्टिकोण, साथै यस विषयमा मानिसहरूमा रहेका विभिन्न समस्याहरू हुन्। यस्ता पक्षहरूबारे हामीले सङ्गति गर्नुपर्ने कुराको मुख्य विषय नै यी विभिन्न समस्याहरू हुन्। यी विभिन्न समस्याहरू मानिसहरूको सत्यता पछ्याइमा असर पार्ने कुराहरू हुन्, अर्थात् अझ ठ्याक्कै रूपमा भन्दा, यी सबै कुराहरू मानिसहरूलाई सत्यता पछ्याउन र सत्यतामा प्रवेश गर्नबाट बाधा दिने कुराहरू हुन्। भन्नुको अर्थ, यदि कुनै मामिलामा रहेको तेरो ज्ञानमा विचलन वा समस्याहरू छन् भने, त्यो मामिलाप्रतिको तेरो मनोवृत्ति, त्यसलाई लिने, वा सम्हाल्ने शैलीमा पनि सम्बन्धित समस्याहरू हुनेछन्, र यी सम्बन्धित समस्याहरू नै हामीले सङ्गति गर्नुपर्ने विषयहरू हुन्। हामीले किन ती विषयहरूमा सङ्गति गर्नुपर्छ? किनभने यी समस्याहरूले सत्यता पछ्याउने तेरो कार्यमा र कुनै पनि मामिलाप्रतिको तेरो सही र सिद्धान्तपरक दृष्टिकोणहरूमा ठूलो वा भारी रूपमा प्रभाव पार्छन्, र तिनले स्वाभाविक रूपमै यो मामिलासम्बन्धी तेरो अभ्यासको विधिको शुद्धतामा, साथै यसलाई सम्हाल्ने तेरा सिद्धान्तहरूमा पनि असर पार्छन्। हामीले व्यक्तिगत चासो, रुचि, र विवाहका विषयहरूमा सङ्गति गरेजस्तै, परिवारको विषयमा पनि सङ्गति गरिरहेका छौँ किनभने मानिसहरूमा परिवारबारे कैयौँ गलत विचार, दृष्टिकोण र मनोवृत्तिहरू छन्, अनि परिवार आफैले पनि मानिसहरूमा कैयौँ नकारात्मक प्रभावहरू पार्छ, र यी नकारात्मक प्रभावहरूले तिनीहरूलाई स्वतः गलत विचार र दृष्टिकोणहरू अपनाउने तुल्याउँछन्। यी गलत विचार र दृष्टिकोणहरूले सत्यता पछ्याउने तेरो कार्यमा असर गर्छन्, र तँलाई चरम अवस्थामा पुर्याउँछन्, जसले गर्दा जब-जब तँलाई परिवारसम्बन्धी मामिलाहरू आइपर्छन्, वा जब-जब तैँले परिवारसम्बन्धी सवालहरू सामना गर्छस्, तब-तब तँसँग यी मामिला र सवालहरू सम्हाल्ने वा सुल्झाउने, र तिनले पैदा गर्ने विभिन्न समस्याहरू समाधान गर्ने सही दृष्टिकोण वा बाटो हुँदैन। यही नै हाम्रो यी हरेक विषयसम्बन्धी सङ्गतिको सिद्धान्त हो, र यही नै समाधान गरिनुपर्ने मुख्य समस्या पनि हो। त्यसकारण, परिवारको विषयमा कुरा गर्दा, परिवारले तिमीहरूमाथि के-कस्ता नकारात्मक प्रभावहरू पार्छ, र यसले के-कस्ता तरिकाले तिमीहरूको सत्यता पछ्याउने कार्यमा बाधा दिन्छ, के तिमीहरू बताउन सक्छौ? तेरो विश्वासको मार्गमा र तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा, र तैँले सत्यता पछ्याउँदा वा सत्यता सिद्धान्तहरू खोजी गर्दा, र सत्यता अभ्यास गर्दा, परिवारले कुन-कुन तरिकाले तेरो सोचमा, तेरो व्यवहारबारेका सिद्धान्तहरूमा, र तेरो मूल्य-मान्यता, र जीवनसम्बन्धी दृष्टिकोणमा प्रभाव र बाधा पार्छ? अर्को शब्दमा भन्नुपर्दा, तँ एउटा परिवारमा जन्मेको छस्, त्यसकारण त्यो परिवारले तेरो दैनिक विश्वासी जीवनमा, अनि सत्यता र सत्यताको ज्ञानप्रतिको तेरो पछ्याइमा, के-कस्ता प्रभावहरू, के-कस्ता विचार र दृष्टिकोणहरू, र के-कस्ता बाधा र व्यवधानहरू ल्याउँछ? विवाहको विषयमा सङ्गति गर्दा यसले सिद्धान्त पछ्याएजस्तै, परिवार विषयक सङ्गति पनि सिद्धान्तअनुरूप नै हुनुपर्छ। तैँले औपचारिक अर्थमा वा तेरा सोच र दृष्टिकोणहरूको हिसाबमा परिवारको अवधारणा त्याग्नुपर्छ भनेर यसले भन्दैन, न त यसले तैँले आफ्नो वास्तविक, भौतिक परिवार, वा तेरो भौतिक परिवारको कुनै पनि सदस्य त्याग् भनेर नै भन्छ। बरु, यसले त परिवारले तँलाई पार्ने विभिन्न नकारात्मक प्रभावहरू तैँले त्याग्नुपर्छ, अनि तैँले सत्यता पछ्याउने कार्यमा परिवारले ल्याउने बाधा र व्यवधानहरू त्याग्नुपर्छ भनेर भन्छ। अझै तोकेर भन्दा, यो भन्न सकिन्छ कि तैँले सत्यता पछ्याउँदा र कर्तव्य पूरा गर्दा, तेरो परिवारले तैँले महसुस र अनुभव गर्न सक्ने खालका, र तँलाई बन्धनमा पार्ने, निश्चित र ठ्याक्कै मिल्दो उल्झन र समस्याहरू पैदा गर्छ, जसले गर्दा तँ मुक्त हुन वा प्रभावकारी रूपमा कर्तव्य पूरा गर्न र सत्यता पछ्याउन सक्दैनस्। यी उल्झन र समस्याहरूले गर्दा, यो “परिवार” भन्ने शब्द वा यससँग सम्बन्धित मानिसहरू वा मामिलाहरूले पैदा गर्ने बन्धन र प्रभावहरू त्याग्ने कार्य तेरो लागि गाह्रो हुन्छ, र परिवारको अस्तित्वको कारण वा परिवारले तँलाई पार्ने कुनै पनि नकारात्मक प्रभावहरूको कारण, तेरो विश्वास र तेरो कर्तव्य निर्वाहको सिलसिलामा, तँलाई आफू दमनमा परेको महसुस हुन्छ। यी उल्झन र समस्याहरूले प्रायजसो तेरो विवेकलाई पनि आक्रान्त पार्छन् र तेरो शरीर र मनलाई पनि मुक्त हुनबाट रोक्छन्, अनि तिनले तँलाई आफ्नो परिवारबाट प्राप्त विचार र दृष्टिकोणहरूविरुद्ध गएमा आफूसँग कुनै मानवता हुनेछैन, र आफूले आफ्नो नैतिकता र आफूलाई व्यवहारमा ढाल्ने न्यूनतम मापदण्ड र सिद्धान्तहरू गुमाउनेछु भन्ने निरन्तर महसुस गराउनेछन्। जब पारिवारिक सवालहरूको कुरा आउँछ, तब तँ प्रायजसो नैतिकता र सत्यता अभ्यासबीचको खतरा रेखामा यताउता गर्छस्, र आफूलाई मुक्त गर्न र छुटाउन सक्दैनस्। यहाँ, विशिष्ट समस्याहरू के-के छन्—के तिमीहरूले कुनै समस्याबारे विचार गर्न सक्छौ? के मैले अहिले भर्खरै उल्लेख गरेका कुराहरूमध्ये तिमीहरूले कुनै कुरा आफ्नो दैनिक जीवनमा अनुभव गर्ने गरेका छौ? (परमेश्वरको सङ्गतिबाट, मलाई के याद आयो भने, मसँग आफ्नो परिवारबारे केही गलत दृष्टिकोणहरू थिए, त्यसकारण मैले सत्यता अभ्यास गर्न सकिनँ, र त्यो अभ्यास गर्नेबारेमा मलाई विवेकले दोष दिइरहेको थियो। यसभन्दा पहिले, मैले आफ्नो अध्ययन सकेर आफ्नो कर्तव्य पूरा गर्नमा समर्पित हुन्छु भन्ने चाहेको थिएँ, तर मलाई भित्री रूपमा दोधार भयो। मेरो परिवारले मलाई हुर्काएको र यतिका समयसम्म मेरो अध्ययनको खर्च बेहोरेकोले, अहिले म विश्वविद्यालयबाट स्नातकोत्तर गरेर आएको छु र यदि मैले पैसा कमाएर मेरो परिवारलाई सहयोग गरिनँ भने, म परिवारप्रतिको जिम्मेवारी पूरा नगर्ने र मानवताको कमी भएको व्यक्ति बन्नेछु भन्ने मलाई लाग्यो, र यो कुराले गर्दा मेरो विवेक भारी भयो। त्यो बेला, यस विषयमा मेरो मनभित्र धेरै महिनासम्म अन्तर्द्वन्द्व चल्यो, त्यसपछि बल्ल मैले परमेश्वरका वचनहरूमा यसबाट मुक्त हुने उपाय पाएँ, र मैले आफ्नो कर्तव्य पूरा गर्न सक्दो गर्ने निर्णय गरेँ। मलाई लाग्छ, परिवारसँग सम्बन्धित यी गलत दृष्टिकोणहरूले मानिसहरूलाई वास्तवमै असर पुर्याउँछन्।) यो एउटा ठेट उदाहरण हो। यी कुराहरू मानिसहरूलाई बाँध्ने परिवारका अदृश्य बन्धनहरू हुनुका साथै आफ्नो परिवारप्रतिका भावना, विचार वा दृष्टिकोणहरूले मानिसहरूको जीवन, खोज र विश्वासको विषयमा पैदा गर्ने समस्याहरू हुन्। केही निश्चित हदसम्म, यी समस्याहरूले तेरो हृदयको गहिराइमा दबाब र बोझ पैदा गर्छन्, जसबाट भित्री मनमा समय-समयमा खराब भावनाहरू उत्पन्न भइरहन्छन्। अरू बुँदा कसले थप्न सक्छ? (परमेश्वर, मेरो दृष्टिकोण के छ भने, बच्चाबाट हुर्केर ठूलो भइसकेको हुनाले, मैले परिवारप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र मेरा आमाबुबाका सबै चिन्ता र समस्याहरू समाधान गर्नुपर्छ। तर मैले आफ्नो कर्तव्य पूर्णकालीन रूपमा निर्वाह गरिरहेको हुनाले, मैले मेरा आमाबुबाप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न वा उहाँहरूको लागि केही कुरा गर्न सकेको छैनँ। मेरा आमाबुबा अझै पनि हातमुख जोड्न दौडधुप गरिरहनुभएको देख्दा, मलाई हृदयमा म उहाँहरूप्रति ऋणी छु जस्तो लाग्छ। मैले सुरुमा परमेश्वरमा विश्वास गर्दा, यो कुराको कारण मैले उहाँलाई झन्डै धोका दिएँ।) यो परिवारले गर्ने संस्कृतीकरणद्वारा व्यक्तिको सोच र विचारहरूमा पर्ने एउटा नकारात्मक प्रभाव पनि हो। तैँले त झन्डै मात्र परमेश्वरलाई धोका दिइस्, तर कतिपय मानिसहरूले त साँच्चै नै परमेश्वरलाई धोका दिए। परिवारसम्बन्धी दह्रिलो धारणाहरूको कारण, तिनीहरूले आफ्नो परिवार त्याग्न सकेनन्। अन्त्यमा, तिनीहरूले आफ्नो परिवारको लागि निरन्तर जिउने र आफ्नो कर्तव्य त्याग्ने निर्णय गरे।
परिवार सबैको हुन्छ, सबैजना पृथक परिवारमा जन्मेका हुन्छन्, र सबैजना नै पृथक पारिवारिक वातावरणबाट आएका हुन्छन्। परिवार सबैको लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ, यसले व्यक्तिको जीवनमा सबैभन्दा ठूलो प्रभाव पार्छ, र त्यो प्रभाव भित्रैसम्म परेको हुन्छ र त्यसलाई छोड्न र त्याग्न गाह्रो हुन्छ। मानिसहरूले त्याग्न नसक्ने र तिनीहरूलाई छोड्न गाह्रो हुने कुरा भनेको परिवारको घर वा घरका सरसामान, भाँडाकुँडा, र घरका अरू चीजबीजहरू होइनन्, बरु परिवारभित्रका सदस्यहरू, वा यससँगै रहने वातावरण र स्नेह हुन्। मानिसहरूको मनमस्तिष्कमा बसेको परिवारको अवधारणा यही हो। उदाहरणको लागि, परिवारका पाका सदस्यहरू (बाजे-बजू र आमाबुबा), तेरै उमेरका व्यक्तिहरू (दाजुभाइ-दिदीबहिनीहरू, र जीवनसाथी), र युवा पुस्ता (तेरा आफ्नै छोराछोरी): परिवारसम्बन्धी मानिसहरूको धारणाअनुसार यी महत्त्वपूर्ण सदस्यहरू हुन्, र ती हरेक परिवारका महत्त्वपूर्ण अङ्गहरू पनि हुन्। मानिसहरूको लागि परिवार भनेको के हो? मानिसहरूको लागि यो भावनात्मक भरणपोषण र आत्मिक आधार हो। परिवारको अरू अर्थ के हुन्छ? यो व्यक्तिले न्यानोपन प्राप्त गर्ने, मनका कुरा पोखाउने, वा लाड-प्यार गर्ने र मनमौजी बन्ने ठाउँ हो। कतिपय मानिसहरू परिवार सुरक्षित आश्रय हो, भावनात्मक भरणपोषण प्राप्त गर्ने र व्यक्तिको जीवन सुरु हुने ठाउँ हो भनेर भन्छन्। अरू के छ? मलाई बताओ त। (परमेश्वर, मलाई लाग्छ परिवार घर भनेको मानिसहरू हुर्कने-बढ्ने ठाउँ हो, परिवारका सदस्यहरूले एकअर्कालाई साथ दिने र एकअर्कामा भर पर्ने ठाउँ हो।) एकदम राम्रो। अरू के छ? (मलाई त परिवार न्यानो आश्रय स्थल हो जस्तो लाग्थ्यो। बाहिरी संसारमा मैले जति नै अन्याय भोगे पनि, घर फर्कँदा, परिवारको साथ र बुझाइको कारण मैले आफ्नो मुड र मनस्थिति हरकिसिमले तनावरहित पार्न सक्छु, त्यसकारण त्यो अर्थमा परिवार सुरक्षित आश्रय स्थल हो जस्तो लाग्थ्यो।) परिवार आराम र न्यानोपनले भरिएको स्थान नै हो, होइन र? मानिसहरूको विचारमा परिवार महत्त्वपूर्ण छ। जब-जब कुनै व्यक्ति खुसी हुन्छ, तब-तब उसले आफ्नो परिवारसँग आफ्नो खुसी बाँड्न चाहन्छ; त्यसरी नै जब जब कुनै व्यक्ति व्याकुल र दुःखित हुन्छ, तब-तब उसले आफ्ना समस्याहरू आफ्नो परिवारसामु राख्न सक्छु भन्ने आशा गरेको हुन्छ। जब-जब मानिसहरूलाई कुनै आनन्द, रिस, शोक, र खुसी महसुस हुन्छ, तब-तब तिनीहरूले यी कुराहरू कुनै दबाब वा बोझविनै आफ्नो परिवारलाई बाँड्ने गर्छन्। हरेक व्यक्तिको लागि, परिवार एउटा न्यानोपनले भरिएको स्थान र सुन्दर कुरा हो, परिवार चेतनाको एउटा भरणपोषण हो, जसलाई मानिसहरूले आफ्नो जीवनको कुनै पनि विन्दुमा त्याग्न वा त्यसविना रहन सक्दैनन्, र परिवार बस्ने घर मानिसहरूको मन, शरीर, र आत्मालाई औधी साथ प्रदान गर्ने स्थान हो। त्यसकारण, परिवार हरेक व्यक्तिको लागि एक अपरिहार्य भाग हो। तर मानिसहरूको अस्तित्व र जीवनमा अति महत्त्वपूर्ण रहेको यो स्थानले तिनीहरूको सत्यता पछ्याउने कार्यमा के-कस्ता नकारात्मक असरहरू पार्छ? सर्वप्रथम त, मानिसहरूको अस्तित्व र जीवनको लागि परिवार जति नै महत्त्वपूर्ण भए पनि, वा तिनीहरूको अस्तित्व र जीवनमा यसले जुनसुकै भूमिका निर्वाह गरे पनि र जुनसुकै काम गरे पनि, यसले सत्यता पछ्याउने मानिसहरूको मार्गमा निश्चय नै ठूला-साना दुवै किसिमका समस्याहरू पैदा गर्छ। सत्यता पछ्याउने मानिसहरूको मार्गमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरे पनि, यसले जोगिनै गाह्रो हुने हरकिसिमका विचलन र समस्याहरू पनि पैदा गर्छ। अर्थात्, मानिसहरूले सत्यता पछ्याउने र अभ्यास गर्ने क्रममा, परिवारले पैदा गर्ने विभिन्न मनोवैज्ञानिक र वैचारिक समस्याहरू, साथै औपचारिक पक्षसँग सम्बन्धित समस्याहरूले मानिसहरूलाई अत्यन्तै धेरै दुःख दिन्छन्। त्यसोभए, यी समस्याहरूपछाडि वास्तवमा के कुरा लुकेका हुन्छन्? सत्यता पछ्याउने क्रममा, मानिसहरूले अवश्यै विभिन्न सङ्ख्या र हदमा यी समस्याहरू अनुभव गरिसकेका हुन्छन्, यति मात्र हो कि तिनीहरूले भित्री समस्याहरू वास्तवमा के हुन् भनेर ध्यानपूर्वक विचार र मनन मात्र गरेका हुँदैनन्। यसअलावा, तिनीहरूले यी समस्याहरूका सार पनि पहिचान गरेका हुँदैनन्, मानिसहरूले बुझ्नुपर्ने र पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरू पहिचान गर्नु त परको कुरा हो। त्यसकारण, आज हामी परिवारको विषयमा, र सत्यता पछ्याउने मानिसहरूको मार्गमा परिवारले के-कस्ता समस्या र बाधाहरू ल्याउँछ, साथै परिवारको मामिलामा मानिसहरूले के-कस्ता खोज, आदर्श र इच्छाहरू त्याग्नुपर्छ भन्नेबारेमा सङ्गति गरौँ। यो अत्यन्तै वास्तविक समस्या हो।
१. आफ्नो परिवारबाट प्राप्त गरेको पहिचान त्याग्नु
परिवारको विषय निकै ठूलो भए पनि, यसले निश्चित समस्याहरू बोकेको हुन्छ। आज हामीले सङ्गति गर्न लागेको समस्या भनेको मानिसहरूले सत्यता पछ्याउने क्रममा परिवारको कारण सामना गर्ने नकारात्मक प्रभाव, हस्तक्षेप र बाधा हो। अनि, परिवारको विषयमा व्यक्तिले त्याग्नुपर्ने पहिलो समस्या के हो? यो व्यक्तिले परिवारबाट प्राप्त गर्ने पहिचान हो। यो महत्त्वपूर्ण कुरा हो। अब हामी यो कुरा कति महत्त्वपूर्ण छ भन्नेबारेमा खास रूपमा कुरा गरौँ। हरेक व्यक्ति फरक परिवारबाट आएको हुन्छ, हरेक परिवारको आफ्नै पृथक पृष्ठभूमि र जिउने वातावरण, जीवनको आफ्नै गुणस्तर, र जिउने आफ्नै खास तरिका अनि आफ्नै जीवन व्यवहार हुन्छन्। हरेक व्यक्तिले आफ्नो परिवारको जिउने वातावरण र पृष्ठभूमिबाट एउटा पृथक पहिचान लिएर आएको हुन्छ। यो पृथक पहिचानले समाज र अरूहरूमाझ रहेको हरेक व्यक्तिको खास मूल्य मात्रै प्रतिनिधित्व गर्दैन, यो त आफैमा एक पृथक चिन्ह र प्रतीक पनि हो। त्यसोभए यो प्रतीकले के जनाउँछ? यसले व्यक्ति उसको समूहमा विशिष्ट मानिन्छ कि नीच मानिन्छ भन्ने कुरा जनाउँछ। यो पृथक पहिचानले समाजमा र अरू मानिसहरूमाझ व्यक्तिको हैसियत निर्धारित गर्छ, र यो हैसियत व्यक्तिले आफू जन्मेको परिवारबाट प्राप्त गरेको हुन्छ। त्यसकारण, तेरो पारिवारिक पृष्ठभूमि र तँ बस्ने परिवारको प्रकार अत्यन्तै महत्त्वपूर्ण हुन्छ, किनभने अरू मानिसहरूमाझ र समाजमा रहेको तेरो पहिचान र हैसियतसित ती कुराहरूको सम्बन्ध हुन्छ। त्यसकारण, तेरो पहिचान र हैसियतले नै समाजमा तेरो स्थान विशिष्ट छ कि नीच छ, तँलाई अरूले आदर र उच्च सम्मान गर्छन् गर्दैनन्, र तँलाई आदरसाथ हेर्छन् कि घृणा गर्छन्, पक्षपात गर्छन् कि, कि कुल्चीमिल्ची पो पार्छन् कि भन्ने कुरा निर्धारित गर्छ। मानिसहरूले आफ्नो परिवारबाट प्राप्त गर्ने पहिचानले समाजमा रहेको तिनीहरूको परिस्थिति र भविष्यमा असर पार्ने हुनाले नै, यो विरासतमा प्राप्त गरिने पहिचान हरेक व्यक्तिको लागि अत्यन्तै प्रभावपूर्ण र महत्त्वपूर्ण हुन्छ। यसले यो समाजमा रहने तेरो प्रतिष्ठा, हैसियत र मूल्यमा, अनि यो जीवनमा हुने तेरो सम्मान र अपमान बोधमा असर गर्ने हुनाले, र ठ्याक्कै यही कारणले नै, तँ आफैले पनि आफ्नो पारिवारिक पृष्ठभूमिलाई र परिवारबाट प्राप्त हुने आफ्नो पहिचानलाई ठूलो महत्त्व दिने प्रवृत्ति हुन्छ। यो मामिलाले तँलाई एकदमै भारी प्रभाव पार्ने हुनाले, तेरो अस्तित्वको मार्गको लागि यो अत्यन्तै महत्त्वपूर्ण र अर्थपूर्ण कुरा हुन्छ। यो यस्तो महत्त्वपूर्ण र अर्थपूर्ण मामिला भएको हुनाले, यसले तेरो प्राणको गहिराइमा एउटा महत्त्वपूर्ण स्थान ओगटेको हुन्छ, र तेरो दृष्टिकोणमा यो निकै अर्थपूर्ण हुन्छ। आफ्नो परिवारबाट प्राप्त गरेको यो पहिचान तेरो लागि निकै महत्त्वपूर्ण हुने मात्र होइन, तैँले आफूले चिनेका वा नचिनेका जोकोही व्यक्तिको पहिचानलाई पनि त्यही स्थानमा बसेर, त्यही नजरले र त्यही तरिकाले हेर्नेसमेत गर्छस्, र तैँले तेरो सम्पर्कमा आउने जोकोही व्यक्तिको पहिचान तौलन पनि यही दृष्टिकोण नै प्रयोग गर्छस्। तिनीहरूको पहिचानलाई तैँले तिनीहरूको चरित्र मूल्याङ्कन गर्न, र तिनीहरूलाई कसरी लिने र तिनीहरूसँग कसरी अन्तरक्रिया गर्ने भनेर निर्धारित गर्न, अर्थात् तिनीहरूसँग मित्रवत् रूपमा, आफू समान ठानेर अन्तरक्रिया गर्ने कि, वा तिनीहरूअघि झुकेर तिनीहरूले भनेको हरेक कुरा मान्ने, वा तिनीहरूसित तिरस्कार र भेदभावपूर्ण नजरले हेर्दै सामान्य अन्तर्क्रिया गर्ने, वा तिनीहरूसँग अमानवीय तरिकाले असमान व्यवहार गर्दै अन्तरक्रिया गर्ने भनेर निर्धारित गर्न प्रयोग गर्छस्। मानिसलाई हेर्ने र विभिन्न कुराहरूलाई लिने यी तरिकाहरू मुख्य रूपमा व्यक्तिले आफ्नो परिवारबाट प्राप्त गरेको पहिचानले नै निर्धारित गर्छ। तेरो पारिवारिक पृष्ठभूमि र स्थितिले नै समाजमा तेरो हैसियत कस्तो हुनेछ भन्ने कुरा निर्धारित गर्छ, र तेरो सामाजिक हैसियत कस्तो छ भन्ने कुराले मानिसहरू र परिस्थितिहरूलाई तैँले कसरी हेर्छस् र लिन्छस् त्यसका तौरतरिका र सिद्धान्तहरू निर्धारित गर्छ। त्यसकारण, व्यक्तिले विभिन्न कुराहरूलाई जे-जसरी लिन्छ त्यससम्बन्धी मनोवृत्ति र तरिकाहरू धेरै हदसम्म उसले आफ्नो परिवारबाट प्राप्त गरेको पहिचानमै निर्भर हुन्छन्। मैले यहाँ किन “धेरै हदसम्म” भन्दै छु? यहाँ केही खास परिस्थितिहरू छन् जसबारे हामी कुरा गर्नेछैनौँ। धेरैजसो मानिसहरूको हकमा, परिस्थिति मैले भर्खरै व्याख्या गरेको जस्तै हुन्छ। हरेक व्यक्ति आफ्नो परिवारबाट प्राप्त गरेको पहिचान र सामाजिक हैसियतबाट प्रभावित हुने प्रवृत्ति हुन्छ, र हरेक व्यक्तिमा यही पहिचान र सामाजिक हैसियतअनुसार नै मानिसहरू र परिस्थितिहरूलाई हेर्ने र लिने तरिकाहरू अपनाउने प्रवृत्ति हुन्छ—यो अत्यन्तै स्वाभाविक कुरा हो। परिवारले स्वाभाविक रूपमै व्यक्तिलाई प्रदान गरेको अपरिहार्यता र अस्तित्वसम्बन्धी दृष्टिकोणकै कारणले गर्दा नै ठ्याक्कै, उसको अस्तित्व र जीवनशैलीसम्बन्धी दृष्टिकोणको उत्पत्ति उसले आफ्नो परिवारबाट प्राप्त गरेको पहिचानमै निर्भर हुन्छ। व्यक्तिले आफ्नो परिवारबाट प्राप्त गरेको पहिचानले नै मानिसहरू र परिस्थितिहरूलाई हेर्ने र लिने उसका तौरतरिका र सिद्धान्तहरू निर्धारित गर्छ, र त्यही पहिचानले नै मानिसहरू र परिस्थितिहरूलाई हेर्ने र लिने क्रममा उसले छनौट र निर्णयहरू गर्दा अपनाउने मनोवृत्ति पनि निर्धारित गर्छ। यसले मानिसहरूमा अपरिहार्य रूपमै एउटा एकदमै गम्भीर समस्या पैदा गर्छ। एक हिसाबमा, मानिसहरू र परिस्थितिहरूलाई हेर्ने र लिने मानिसहरूका विचार र दृष्टिकोणहरूको उत्पत्तिलाई परिवारले अपरिहार्य रूपमै प्रभाव पारेको हुन्छ भने, अर्को हिसाबमा, यसलाई व्यक्तिले आफ्नो परिवारबाट प्राप्त गरेको पहिचानले पनि प्रभाव पार्ने गर्छ—र यो प्रभावबाट उम्कन मानिसहरूलाई एकदमै गाह्रो हुन्छ। परिणामस्वरूप, मानिसहरूले सही तरिकाले, तर्कसङ्गत ढङ्गले, र उचित रूपमा आफूलाई व्यवहार गर्न, वा अरूलाई निष्पक्ष रूपले व्यवहार गर्न सक्दैनन्, र तिनीहरूले परमेश्वरले सिकाउनुभएका सत्यता सिद्धान्तअनुरूप हुने तरिकाले मानिसहरू र सबै कुरालाई लिन पनि सक्दैनन्। यसको साटो, तिनीहरू विभिन्न कुराहरू सम्हाल्ने तरिकामा लचक हुन्छन्, अनि आफ्नो र अरूको पहिचानमा रहेका भिन्नताहरूको आधारमा तिनीहरूले सिद्धान्तहरू लागू गर्दै छनौटहरू गर्छन्। समाजमा र अरू मानिसहरूमाझ विभिन्न कुराहरूलाई हेर्ने र लिने मानिसहरूका तौरतरिकाहरूमा तिनीहरूको परिवारको स्थितिले प्रभाव पार्ने हुनाले, यी तौरतरिकाहरू विभिन्न कुराहरूलाई लिनेबारे परमेश्वरले मानिसहरूलाई बताउनुभएका सिद्धान्त र तौरतरिकाहरूसँग अवश्यै मिल्दैनन्। अझै स्पष्टसित भन्नुपर्दा, यी तौरतरिकाहरू परमेश्वरले सिकाउनुभएका सिद्धान्त र तौरतरिकाहरूप्रति विरोधात्मक, द्वन्द्वात्मक र उल्लङ्घनपूर्ण हुन्छन्। यदि मानिसहरूका काम गर्ने तौरतरिकाहरू तिनीहरूले आफ्नो परिवारबाट प्राप्त गरेका पहिचान र सामाजिक हैसियतमा आधारित छन् भने, तिनीहरूको आफ्नै पृथक वा विशेष पहिचान र अरूका पहिचानहरूको कारण, अपरिहार्य रूपमै तिनीहरूले काम गर्ने फरक वा खास तौरतरिका र सिद्धान्तहरू अपनाउनेछन्। तिनीहरूले अपनाउने यी सिद्धान्तहरू सत्यता होइनन्, न त यी सत्यताअनुरूप नै हुन्छन्। यी कुराहरूले मानवता, विवेक र समझ उल्लङ्घन गर्ने मात्र नभई, अझै गम्भीर रूपमा, सत्यतासमेत उल्लङ्घन गर्छन्, किनभने यी कुराहरूले व्यक्तिको रुचि र चासोहरूको आधारमा, र मानिसहरूले एकअर्कामाथि थोपर्ने मापदण्डको हदको आधारमा, उसले के कुरा स्विकार्नुपर्छ वा के कुरा इन्कार्नुपर्छ भनेर निर्धारित गर्छन्। त्यसकारण, यो प्रसङ्गमा, मानिसहरूले विभिन्न कुराहरूलाई हेर्ने र लिने सिद्धान्तहरू अनुचित हुन्छन् र सत्यताअनुरूप हुँदैनन्, र ती पूर्ण रूपमा मानिसहरूका भावनात्मक खाँचाहरू र फाइदा लिनैपर्ने तिनीहरूका बाध्यताहरूमा आधारित हुन्छन्। तैँले आफ्नो परिवारबाट विशिष्ट पहिचान वा नीच पहिचान जेसुकै प्राप्त गरेको भए पनि, यो पहिचानले तेरो हृदयमा एउटा स्थान लिएको हुन्छ, र कतिपय मानिसहरूको हकमा त यसले एकदमै महत्त्वपूर्ण स्थानसमेत लिएको हुन्छ। त्यसकारण, यदि तँ सत्यता पछ्याउन चाहन्छस् भने, यो पहिचानले सत्यता पछ्याउने तेरो कार्यमा अपरिहार्य रूपमै प्रभाव र हस्तक्षेप ल्याउनेछ। अर्थात्, सत्यता पछ्याउने क्रममा, तैँले अपरिहार्य रूपमै मानिसहरूसँग कस्तो व्यवहार गर्ने र विभिन्न कुराहरूलाई कसरी लिने भन्नेजस्ता समस्याहरू सामना गर्नेछस्। यी समस्या र महत्त्वपूर्ण मामिलाहरूको कुरा आउँदा, तैँले अपरिहार्य रूपमै आफ्नो परिवारबाट प्राप्त पहिचानसँग सम्बन्धित दृष्टिकोण र विचारहरू अपनाउँदै मानिसहरू र परिस्थितिलाई हेर्नेछस्, र तँ मानिसहरूलाई हेर्ने र विभिन्न कुराहरूलाई सम्हाल्ने यो अत्यन्तै पुरातन वा सामाजीकृत तरिका प्रयोग नगरी बस्न सक्दैनस्। तैँले आफ्नो परिवारबाट प्राप्त गरेको पहिचानले तँलाई समाजमा तेरो हैसियत विशिष्ट वा नीच जे-जस्तो छ भन्ने महसुस गराए पनि, यो पहिचानले सत्यता पछ्याउने तेरो कार्यमा, जीवनसम्बन्धी तेरो सही दृष्टिकोणमा, र सत्यता पछ्याउने तेरो सही मार्गमा असर पार्नेछ। अझै किटेर भन्नुपर्दा, यसले विभिन्न कुराहरूलाई लिने तेरा सिद्धान्तहरूमा पनि असर पार्नेछ। कुरा बुझ्यौ?
विभिन्न परिवारहरूले मानिसहरूलाई विभिन्न पहिचान र सामाजिक हैसियत प्रदान गर्छन्। राम्रो सामाजिक हैसियत र विशिष्ट पहिचान भनेको मानिसहरूले आनन्द उठाउने र मस्ती गर्ने कुरा हो, जबकि सानो र निम्न परिवारको पहिचान प्राप्त गरेकाहरूलाई भने आफू सानो हुँ भन्ने महसुस हुन्छ, तिनीहरूलाई अरूको सामना गर्न सरम लाग्छ, र तिनीहरूलाई आफूलाई गम्भीर रूपमा लिइँदैन वा उच्च आदर दिइँदैन भन्ने पनि लाग्छ। त्यस्ता मानिसहरू प्रायजसो पक्षपातमा पनि पर्छन्, जसले गर्दा तिनीहरूलाई हृदयको गहिराइमा वेदना हुन्छ र तिनीहरूको आत्मसम्मान पनि घट्छ। उदाहरणको लागि, कतिपय मानिसहरूको आमाबुबा खेती गरेर सागसब्जी बेच्ने साना किसान हुन सक्छन्; कतिपय मानिसहरूका आमाबुबा सडकमा पसल राखेर वा फुटपाथमा कराउँदै सरसामान बेच्ने साना व्यापारीहरू हुन सक्छन्; कतिपय मानिसहरूका आमाबुबा लुगा सिलाउने र मर्मत गर्ने शिल्प कलामा काम गर्ने, वा हातमुख जोड्न र सारा परिवार पाल्न हस्तकलाको काममा भर पर्ने हुन सक्छन्। कतिपय मानिसहरूका आमाबुबा फोहोर सफा गर्ने वा बच्चा हेर्न जस्ता सेवा-क्षेत्रमा काम गर्ने हुन सक्छन्; कतिपयका आमाबुबा सामान सार्ने वा यातायात क्षेत्रमा काम गर्ने हुन सक्छन्; कतिपय मालिस गर्ने, ब्युटिसियन, वा कपाल काट्ने काम गर्ने हुन सक्छन्, र अन्य आमाबुबाहरू मानिसहरूको लागि विभिन्न कुरा मर्मत गर्ने काम गर्नेहरू हुन सक्छन्, जस्तै जुत्ता, साइकल, चस्मा, आदि इत्यादि। कतिपय आमाबुबासँग उच्च हस्तकला सीप हुन सक्छ र तिनीहरूले गरगहना वा घडीजस्ता कुराहरू मर्मत गर्न सक्छन्, जबकि अरूहरूको सामाजिक स्थिति अझै निम्नस्तरको हुन सक्छ र तिनीहरू आफ्ना छोराछोरी पाल्न र परिवार हुर्काउन कवाडी बटुल्ने र बेच्ने काममा भर पर्न सक्छन्। समाजमा यी सबै आमाबुबाको हैसियत तुलनात्मक रूपमा निम्नस्तरको हुन्छ, र परिणामस्वरूप, तिनीहरूको परिवारको हरेक व्यक्तिको सामाजिक हैसियत पनि अवश्यै निम्नस्तरकै हुन्छ। त्यसकारण, दुनियाँको नजरमा, यी परिवारबाट आएका मानिसहरूको हैसियत र पहिचान कमजोर हुन्छ। व्यक्तिको पहिचान हेर्न र व्यक्तिको मोल मापन गर्न समाजले यो दृष्टिकोण अपनाउने हुनाले नै, यदि तेरा आमाबुबा साना किसान हुन् र कसैले तँलाई “तिम्रा आमाबुबा के गर्नुहुन्छ? तिम्रो परिवार कस्तो छ?” भनेर सोध्यो भने, तैँले “मेरा आमाबुबा त … अँ उहाँहरू … को हुनुहुन्छ भनेर भन्न लायक हुनुहुन्न” भनेर जबाफ दिनेछस्, र तिनीहरूले के गर्छन् भनेर बताउन तँलाई आँटै आउनेछैन, किनभने तँलाई त्यो भन्न धेरै सरम लाग्छ। कक्षाका साथी र अरू मित्रहरूलाई भेट्दा वा खाना खान बाहिर जाँदा, मानिसहरूले आफ्नो परिचय दिएर आफ्नो राम्रो पारिवारिक पृष्ठभूमि वा आफ्नो उच्च सामाजिक हैसियतबारे कुरा गर्छन्। तर यदि तेरो परिवार साना किसान, साना व्यापारी, वा ठेले व्यापारी हुन् भने, तँ यो कुरा बताउन चाहँदैनस् र तँलाई सरम लाग्छ। समाजमा एउटा यस्तो भनाइ प्रचलित छ, “बहादुरको गाउँ नसोध्नू।” यो भनाइ अत्यन्तै आदर्शमय सुनिन्छ, र निम्न सामाजिक हैसियत हुनेहरूको लागि यसले आशाको त्यान्द्रो र ज्योतिको झलक, र सान्त्वनाको सानो थोपा प्रदान गर्छ। तर समाजमा त्यस्तो वाक्य किन प्रचलित हुन्छ? के यो समाजका मानिसहरूले आफ्नो पहिचान, महत्त्व, र सामाजिक हैसियतलाई अत्यधिक ध्यान दिने भएर हो? (हो।) कमजोर पृष्ठभूमिबाट आएका मानिसहरूमा निरन्तर आत्मविश्वासको कमी हुन्छ, त्यसकारण तिनीहरूले आफ्नो हैसियत र पहिचान निम्नस्तरको भए पनि, आफ्नो मानसिक स्थिति उच्च छ, जुन सिकेर सिकिने कुरा होइन भन्ने सोच्दै, आफूलाई सान्त्वना दिन, साथै अरूलाई आश्वस्त पार्न यो भनाइ प्रयोग गर्छन्। तेरो पहिचान जति नै निम्न तहको भए पनि, यदि तेरो मानसिक स्थिति उच्च छ भने, यसले तँ विशिष्ट पहिचान र हैसियत भएका मानिसहरूभन्दा पनि आदरणीय व्यक्ति हुन्छस् भन्ने प्रमाणित गर्छ। यसले कुन समस्या इङ्गित गर्छ? “बहादुरको गाउँ नसोध्नू” भनेर मानिसहरूले जति धेरै भन्छन्, यसले तिनीहरू आफ्नो पहिचान र सामाजिक हैसियतलाई त्यति नै धेरै वास्ता गर्छन् भन्ने प्रमाणित गर्छ। विशेष गरी, जब व्यक्तिको पहिचान र सामाजिक स्थिति अत्यन्तै कमजोर र निम्नस्तरको हुन्छ, तब उसले आफूलाई सान्त्वना दिन र आफ्नो हृदयको खोक्रोपन र असन्तुष्टि परिपूर्ति गर्न यो भनाइ प्रयोग गर्छ। कतिपय मानिसहरूका आमाबुबा त साना व्यापारी र ठेले व्यापारी, साना किसान र शिल्पकारभन्दा पनि दयनीय अवस्थामा, वा समाजका महत्त्वहीन, तुच्छ र कम आम्दानीवाला काम गर्ने आमाबुबाभन्दा पनि दयनीय अवस्थामा हुन्छन्, त्यसकारण तिनीहरूले आफ्ना आमाबुबाबाट प्राप्त गर्ने पहिचान र सामाजिक हैसियत अझै निम्नस्तरीय हुन्छन्। उदाहरणको लागि, समाजमा कतिपय मानिसहरूका आमाबुबाको नाम बदनामपूर्ण हुन्छ, तिनीहरूले आफूले गर्नुपर्ने कुरा गर्दैनन्, र तिनीहरूसँग समाजले स्विकारेको पेसा वा स्थिर आम्दानी हुँदैन, त्यसकारण तिनीहरूलाई आफ्नो परिवार बाँच्ने खर्च जोड्नै गाह्रो हुन्छ। कतिपय आमाबुबाले निरन्तर जुवातास खेल्छन् र हरेक पटक नै पैसा हार्छन्। अन्त्यमा, तिनीहरूको परिवार टाट पल्टिन्छ र तिनीहरूसँग सुक्को हुँदैन, जसले गर्दा तिनीहरूले दैनिक खर्च बेहोर्न सक्दैनन्। यस्तो परिवारमा जन्मेका छोराछोरीहरू झुत्रे लुगा लगाउँछन्, भोकभोकै बस्छन्, र गरिबीमा जिउँछन्। स्कूलले अभिभावक-शिक्षक बैठक बोलाउँदा, तिनीहरूका आमाबुबा कहिल्यै देखा पर्दैनन्, र शिक्षकहरूलाई तिनीहरू जुवा खेल्न गएका छन् भन्ने थाहा हुन्छ। शिक्षकहरू र कक्षाका साथीहरूको नजरमा यी बालबालिकाहरूको पहिचान र हैसियत कस्तो हुन्छ त्यो भनिरहनु पर्दैन। यस्तो परिवारमा जन्मेका छोराछोरीले निश्चय नै अरूसामु आफ्नो शिर ठाडो पार्न सक्दिनँ भन्ने महसुस गर्छन्। तिनीहरूले राम्रो पढ्ने र धेरै मेहनत गर्ने गरे पनि, र तिनीहरू दह्रिलो मनका भए पनि र भीडभन्दा माथि उठ्न सके पनि, यो परिवारबाट तिनीहरूले पाएको पहिचानले अरूको नजरमा तिनीहरूको हैसियत र महत्त्व निर्धारित गरिसकेको हुन्छ—यसले व्यक्तिलाई साह्रै दमित र सन्तप्त महसुस गराउँछ। यो सन्ताप र दमन कहाँबाट आउँछ? यो स्कूलबाट, शिक्षकहरूबाट, समाजबाट, र विशेष गरी मानिसहरूसँग व्यवहार गर्नेसम्बन्धी मानवजातिको गलत दृष्टिकोणबाट आउँछ। के यस्तै हुँदैन र? (यस्तै हुन्छ।) समाजमा कतिपय आमाबुबाको नाम विशेष रूपमा बदनाम भएको त हुँदैन, तर तिनीहरूले केही नराम्रो काम गरेका हुन्छन्। उदाहरणको लागि, हिनामिना गर्ने र घुस खाने काम गरेर, वा गैरकानुनी कामकुराहरू गर्दै कानुन तोडेर वा सट्टेबाजी गर्दै नाफा कुम्ल्याएर जेल र सजाय भोगेका आमाबुबालाई लिऊँ। यसको परिणामस्वरूप, तिनीहरूले आफूसँगै परिवारका सदस्यहरूलाई पनि यो बेइज्जतीमा फसाएर परिवारमा नकारात्मक र प्रतिकूल असर पारेका हुन्छन्। त्यसकारण, यस्तो परिवारमा जन्मेको व्यक्तिको पहिचानमा अझै ठूलो असर पुगेको हुन्छ। तिनीहरूको पहिचान र सामाजिक हैसियत नीचो हुने मात्र होइन, तिनीहरूलाई हेलाको नजरले समेत हेरिन्छ, र “हिनामिना गर्ने” वा “चोरको सन्तान” भनेरसमेत भनिन्छ। व्यक्तिलाई एकपटक यस्तो नाम दिइएपछि, यसले उसको पहिचान र सामाजिक हैसियतमा अझै ठूलो असर पार्छ, र समाजमा रहेको तिनीहरूको दुर्दशालाई अझै दुर्दशापूर्ण बनाउँछ, जसले गर्दा तिनीहरूलाई आफ्नो शिर उच्च पार्न सक्दिनँ भन्ने अझै बढी महसुस हुन्छ। तैँले जति नै धेरै प्रयास गरे पनि वा तँ जति नै मित्रवत् भए पनि, तैँले आफ्नो पहिचान र सामाजिक हैसियत परिवर्तन गर्न सक्दैनस्। यस्ता परिणामहरू पनि अवश्यै व्यक्तिको पहिचानमा परिवारले पार्ने असरहरू नै हुन्। त्यसै गरी, तुलनात्मक रूपमा जटिल पारिवारिक संरचनाहरू पनि हुन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरूको साक्खै आमा हुँदैनन्, सौतेनी आमा मात्रै हुन्छन्, र तिनीहरू हुर्कँदै गर्दा त्यो सौतेनी आमाले तिनीहरूप्रति दया गर्ने वा तिनीहरूको कुरा बुझ्ने, र तिनीहरूलाई वास्ता गर्ने वा आमाको माया दिने काम खासै गर्दिन। त्यसकारण, तिनीहरू यस्तो परिवारमा रहेको कारण यसले तिनीहरूलाई एउटा विशेष पहिचान दिन्छ, अर्थात् कसैद्वारा पनि मन नपराइने पहिचान। यो विशेष पहिचान पाएपछि, तिनीहरूको हृदयमा अझै कालो छायाँ पर्छ र तिनीहरूलाई अरूहरूमाझ आफ्नो हैसियत अरू सबैको भन्दा पनि निम्नस्तरको छ भन्ने लाग्छ। तिनीहरूलाई कुनै खुसीको आभास हुँदैन, अस्तित्वको कुनै अनुभूति हुँदैन, जिउनुको उद्देश्य महसुस गर्नु त परको कुरा हो, र तिनीहरूलाई आफू साँच्चै नै नीचो र अभागी रहेको महसुस हुन्छ। विशेष परिस्थितिहरूको कारण कतिपय मानिसहरूको आमाले एकपछि अर्को विवाह गरेकी हुनाले, तिनीहरूको पारिवारिक संरचना जटिल हुन्छ, त्यसकारण तिनीहरूका सौतेनी बुबाहरू धेरै हुन्छन् र तिनीहरूलाई आफ्नो खास बुबा को हो भन्ने थाहै हुँदैन। यस्तो विशेष खालको परिवारमा रहेर यो व्यक्तिले कस्तो पहिचान पाउँछ, त्यो भनिरहनु पर्दैन। अरूको नजरमा तिनीहरूको सामाजिक हैसियत नीचो हुन्छ, र कतिपय मानिसहरूले समय-समयमा यो व्यक्तिलाई अपमानित गर्न, र निन्दा गर्न र रिस उठाउन उसका परिवारसँग सम्बन्धित यी समस्या वा केही विचारहरू प्रयोग गर्छन्। यसले समाजमा यो व्यक्तिको पहिचान र हैसियत नीचो पारिदिने मात्रै होइन, यसले त उसलाई अरूसामु लज्जित महसुससमेत गराउँछ, अनि उसले आफ्नो अनुहार देखाउनसमेत सक्दैन। सङ्क्षेपमा, मैले भर्खरै उल्लेख गरेको यो विशेष खालको परिवारबाट मानिसहरूले पाउने विशेष पहिचान र सामाजिक हैसियत, वा आम किसिमको सामान्य परिवारबाट मानिसहरूले पाउने सामान्य पहिचान र सामाजिक हैसियत तिनीहरूको हृदयभित्र रहने मन्द पीडा हो। यो बन्धन पनि हो र बोझ पनि हो, तर मानिसहरूले यसलाई त्याग्न सक्दैनन्, र तिनीहरू यो कुरा छोड्न इच्छा पनि गर्दैनन्। किनभने हरेक व्यक्तिको लागि, घरपरिवार नै तिनीहरू जन्मे-हुर्केको ठाउँ हो, र यो भरणपोषणले भरिपूर्ण स्थान पनि हो। आफ्नो परिवारबाट नीचो र सानो सामाजिक हैसियत र पहिचान पाएका मानिसहरूको हकमा भन्दा, तिनीहरूको लागि परिवार असल र खराब दुवै हो, किनभने मनोवैज्ञानिक रूपमा मानिसहरू परिवारविना बाँच्न सक्दैनन्, तर तिनीहरूका वास्तविक र वस्तुगत खाँचोहरूको हिसाबमा हेर्दा, परिवारले तिनीहरूको लागि विभिन्न हदका अपमानहरू निम्त्याएका हुन्छन्, जसले गर्दा तिनीहरूले अरू मानिसहरूमाझ र समाजमा आफूले पाउनुपर्ने सम्मान र बुझाइ प्राप्त गर्न सकेका हुँदैनन्। त्यसकारण मानिसहरूको यो वर्गको लागि, घरपरिवार तिनीहरूले प्रेम गर्ने ठाउँ पनि हो र घृणा गर्ने ठाउँ पनि हो। समाजमा यस्तो परिवारलाई महत्त्वपूर्ण ठान्ने वा धेरै सम्मान गर्ने गरिँदैन, बरु अरूद्वारा तिनीहरू पक्षपात र हेलाको नजरले हेर्ने गरिन्छन्। ठीक यही कारणले गर्दा नै, यस्तो परिवारमा जन्मेका मानिसहरूले त्यस्तै खाले पहिचान, हैसियत र महत्त्व पाएका हुन्छन्। यो परिवारमा जन्मेको कारण तिनीहरूले महसुस गर्ने सरमले तिनीहरूको भित्री भावनाहरूमा, दृष्टिकोणहरूमा, अनि विभिन्न कुराहरूलाई लिने तिनीहरूका शैलीहरूमा पनि प्राय गहिरो प्रभाव पारिरहेको हुन्छ। यसले सत्यता पछ्याउने तिनीहरूको कार्यमा र सत्यता पछ्याउने क्रममा तिनीहरूले गर्ने सत्यता अभ्यासमा पनि धेरै हदसम्म अपरिहार्य रूपमै प्रभाव पारिरहेको हुन्छ। यी कुराहरूले मानिसहरूको सत्यता पछ्याउने र अभ्यास गर्ने कार्यमा असर पार्न सक्ने हुनाले, र ठ्याक्कै यही कारणले गर्दा नै, तैँले आफ्नो परिवारबाट जस्तो पहिचान पाएको भए पनि, त्यसलाई त्याग्नुपर्छ।
कतिले यसो भन्न सक्छन्: “तपाईँले भर्खरै उल्लेख गर्नुभएका आमाबुबाहरू सबै साना किसान, साना व्यापारी, ठेले व्यापारी, सफाइकर्मी, र सानातिना काम गर्ने मानिसहरू हुन्। यसप्रकारका सामाजिक हैसियतहरू अत्यन्तै नीचा हुन्छन्, र मानिसहरूले यी कुराहरू त्याग्नु नै सही हुन्छ। ‘मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ’ भन्ने भनाइले भनेजस्तै, मानिसहरूले माथितिर हेर्नुपर्छ र उच्च उद्देश्य राख्नुपर्छ, र निम्न हैसियतसँग सम्बन्धित यी कुराहरू हेर्नु हुँदैन। उदाहरणको लागि, साना किसान को बन्न चाहन्छ र? साना व्यापारी को बन्न चाहन्छ र? हरेक व्यक्ति धेरै पैसा कमाउन, उच्च पदाधिकारी बन्न, समाजमा हैसियत पाउन, र द्रुत सफलता हासिल गर्न चाहन्छ। सानो उमेरबाटै कसैले पनि साना किसान बन्ने, र खेतमा काम गरेर खान-लाउन पुगे त्यसैमा सन्तुष्ट हुने आकाङ्क्षा लिएको हुँदैन। यी कुरालाई कसैले पनि ठूलो प्रगति गर्नु हो भनेर भन्दैनन्, यस्तो सोच्ने मानिसहरू छँदै छैनन्। यस्ता परिवारहरूले मानिसहरूलाई सरममा पार्ने र यस्तो पहिचानको कारण अनुचित व्यवहार सामना गराउने हुनाले नै, तिनीहरूले आफ्नो परिवारबाट पाएको पहिचान त्याग्नुपर्छ।” के कुरा यही होइन र? (अहँ, होइन।) अहँ, होइन। यदि हामीले यो कुरालाई फरक पक्षबाट छलफल गर्ने हो भने, कतिपय मानिसहरू राम्रो स्थिति वा राम्रो जिउने वातावरण वा उच्च सामाजिक हैसियत भएको परिवारमा जन्मेका हुन्छन्, त्यसकारण तिनीहरूले विशिष्ट पहिचान र सामाजिक हैसियत प्राप्त गरेका हुन्छन्, र तिनीहरूलाई हर ठाउँमा उच्च सम्मान दिइन्छ। हुर्कँदै जाँदा, तिनीहरूलाई तिनीहरूका आमाबुबा र बाजे-बजूले पुलपुल्याउँछन्, समाजमा तिनीहरूलाई गरिने व्यवहारको त कुरै नगरौँ। तिनीहरूको विशेष र कुलीन पारिवारिक पृष्ठभूमिको कारण, स्कुलमा तिनीहरूका शिक्षक र सहपाठीहरू सबैले तिनीहरूलाई आदर गर्छन्, र कसैले पनि तिनीहरूलाई हेप्ने आँट गर्दैनन्। शिक्षकहरूले तिनीहरूसँग नरम र शिष्ट भाषामा कुरा गर्छन्, र तिनीहरूका सहपाठीहरूले तिनीहरूसँग विशेष आदरसाथ व्यवहार गर्छन्। तिनीहरू विशिष्ट पृष्ठभूमि र राम्रो स्थिति भएका परिवारबाट आएका हुनाले, यसले तिनीहरूलाई समाजमा उच्चकुलीन पहिचान प्रदान गर्छ र अरूले तिनीहरूलाई निकै आदर गर्छन्, यसकारण तिनीहरूमा श्रेष्ठताको भाव हुन्छ र तिनीहरूले आफूसँग सम्मानजनक पहिचान र सामाजिक हैसियत छ भन्ने महसुस गर्छन्। परिणामस्वरूप, तिनीहरूले कुनै पनि समूहमा कसैको भावनाबारे विचारै नगरी जे मन लाग्यो त्यही भन्दै, अत्यधिक आत्मविश्वास प्रदर्शन गर्छन्, र आफूले गर्ने जुनसुकै काम पनि बिनारोकटोक गर्ने गर्छन्। अरूको लागि, तिनीहरू परिष्कृत र विशिष्ट देखिन्छन्, ठूलो सोच राख्न, खुलेर बोल्न, र काम गर्न नडराउनेजस्ता देखिन्छन्, र तिनीहरूले जे भने पनि वा जे गरे पनि, तिनीहरूको दह्रिलो पारिवारिक पृष्ठभूमि र साथको कारण, तिनीहरूलाई सहयोग गर्न सदैव कोही न कोही विशिष्ट मानिस तत्पर रहन्छ, र तिनीहरूले गर्ने सबै काम सहजसाथ अघि बढ्छ। कामकुराहरू जति सहजसाथ अघि बढ्छन्, तिनीहरूलाई त्यति नै आफू श्रेष्ठ रहेको महसुस हुन्छ। तिनीहरूले जहाँ गए पनि, रवाफ देखाउने र भीडभन्दा माथि उठ्ने, अनि अरूभन्दा पृथक देखिने अभिप्राय राख्छन्। अरूसँग बसेर खाँदा, तिनीहरूले ठूलो भाग रोज्छन्, र त्यो पाएनन् भने, तिनीहरूलाई रिस उठ्छ। दाजुभाइ-दिदीबहिनीहरूसँग बस्दा, तिनीहरूले सबैभन्दा राम्रो ओछ्यान अर्थात्, घाम आउने, वा हिटरको छेउ, वा ताजा हावा आउने ठाउँतिर सुत्ने जिद्दी गर्छन्, र यो तिनीहरूको मात्रै हुनुपर्छ। के यो श्रेष्ठताको भाव होइन र? (हो।) कतिपय मानिसहरूका आमाबुबाले धेरै पैसा कमाएका हुन्छन्, वा तिनीहरू सरकारी जागिरे हुन्छन्, वा धेरै तलब भएका प्रतिभावान् व्यक्तिहरू हुन्छन्, त्यसकारण तिनीहरूका परिवार निकै सहजता र सुखमा रहेका हुन्छन्, र तिनीहरूलाई खाने-लाउने चिन्ता हुँदैन। परिणामस्वरूप, त्यस्ता मानिसहरूले आफूलाई अत्यन्तै श्रेष्ठ ठान्छन्। तिनीहरू जे मन लाग्यो त्यही लगाउँछन्, सबैभन्दा फेसनमा रहेको कपडा किन्छन् र फेसन सकिएपछि ती कपडा फ्याँक्छन्। तिनीहरू जे मन लाग्यो त्यही खान सक्छन्—तिनीहरूले एक वचन मात्रै बोल्नुपर्छ, अनि कसैले ल्याइदिइहाल्छ। तिनीहरूले केही कुराको चिन्ता गर्नुपर्दैन, र तिनीहरू आफूलाई अत्यन्तै श्रेष्ठ ठान्छन्। यस्तो सौभाग्यशाली परिवारबाट प्राप्त पहिचानले गर्दा, यदि तिनीहरू महिला हुन् भने अरूको नजरमा तिनीहरू राजकुमारी, अनि पुरुष हुन् भने काजी नै बनेका हुन्छन्। यस्तो परिवारबाट तिनीहरूले के प्राप्त गरेका हुन्छन्? कुलीन पहिचान र सामाजिक हैसियत। तिनीहरूले यस्तो परिवारबाट सरम होइन, वैभव पाएका हुन्छन्। तिनीहरू जे-जस्तो वातावरणमा वा जे-जस्ता मानिसहरूको समूहमा भए पनि, तिनीहरूले सधैँ आफू अरूभन्दा माथि रहेको महसुस गर्छन्। तिनीहरूले यस्ता कुराहरू भन्छन्, “मेरा आमाबुबा धनी व्यापारी हुन्। मेरो परिवारसँग पैसै-पैसा छ। मैले त्यो जहिले मन लाग्यो तहिले खर्च गर्न सक्छु, र मैले कहिल्यै बजेट बनाउनुपर्दैन,” वा “मेरा आमाबुबा उच्च पदाधिकारीहरू हुन्। म आफ्नो काम गर्न जहाँ गए पनि मेरो एकै शब्दले, सामान्य प्रक्रियाबाट नगई काम भइहाल्छ। तिमीहरूलाई काम पूरा गर्न कति मेहनत लाग्छ, तिमीहरूले उचित प्रक्रिया पूरा गर्नुपर्छ, आफ्नो पालो पर्खिनुपर्छ, र मानिसहरूलाई ज्यूज्यू गर्नुपर्छ। मलाई हेर त, मैले त गर्नुपर्ने कामबारे मेरा आमाबुबाको मान्छेलाई भन्नु मात्रै पर्छ, अनि काम भइहाल्छ। कस्तो लाग्यो मेरो पहिचान र सामाजिक हैसियत!” के यसमा तिनीहरू आफूलाई श्रेष्ठ ठान्छन्? (ठान्छन्।) कतिपय मानिसहरू भन्छन्: “मेरा आमाबुबा सेलिब्रेटी हुनुहुन्छ, त्यसकारण उहाँहरूको नाम इन्टरनेटमा खोज अनि आउँछ कि आउँदैन हेर।” जब कसैले सेलिब्रेटी सूची हेर्छ र तिनीहरूका आमाबुबाको नाम साँच्चै त्यहाँ हुन्छ, यसले यी मानिसहरूलाई श्रेष्ठताको आभास दिन्छ। तिनीहरू जहाँ गए पनि, कसैले तिनीहरूलाई “तपाईँको नाम के हो?” भनेर सोध्यो भने, तिनीहरूले “मेरो नाम के हो मतलब छैन, तर मेरा आमाबुबा फलाना-फलाना हुन्” भनेर भन्छन्। तिनीहरूले अरूलाई आफ्नो पहिचान र सामाजिक हैसियत बताउन सुरुमा आफ्ना आमाबुबाको नाम नै बताउँछन्। कतिपय मानिसहरू मनमनै सोच्छन्: “तिम्रो परिवारको हैसियत छ, तिम्रा आमाबुबा दुवै पदाधिकारी, वा सेलिब्रेटी, वा धनी व्यापारी हुन्, त्यसकारण तिमी उच्च पदाधिकारी वा धनाढ्य आमाबुबाका सन्तान हौ। म त के हुँ र?” यसरी सोचेपछि, तिनीहरूले यस्तो जबाफ दिन्छन्, “मेरा आमाबुबा कोही खास व्यक्ति हुनुहुन्न, उहाँहरू औसत ज्याला कमाउने साधारण श्रमिक हुनुहुन्छ, त्यसकारण धाक लगाउनुपर्ने केही छैन—तर मेरा पुर्खाहरू कुनै राजवंशको बेला प्रधानमन्त्री थिए।” अरूहरू भन्छन्: “तपाईँको पुर्खा प्रधानमन्त्री थिए। मतलब, तपाईँको हैसियत विशेष छ। तपाईँ प्रधानमन्त्री खलकको हुनुहुँदो रहेछ। प्रधानमन्त्री खलकको मान्छे साधारण व्यक्ति होइन, तपाईँ पनि सेलिब्रेटीकै सन्तति हुनुहुँदो रहेछ!” देखिस् त, व्यक्तिले आफूलाई सेलिब्रेटीसँग सम्बन्धित बनाइसकेपछि, उसको पहिचान फरक हुन्छ, उसको सामाजिक हैसियत तुरुन्तै माथि उठ्छ, र ऊ आदरणीय व्यक्ति बन्छ। अनि, अरू मानिसहरू पनि छन् जो यसो भन्छन्: “मेरा पुर्खाहरू धनाढ्य व्यापारीका पुस्ता थिए। उनीहरू अत्यन्तै धनी थिए। पछि, सामाजिक परिवर्तन र सामाजिक प्रणालीमा आएको परिवर्तनको कारण, उनीहरूको सम्पत्ति जफत गरियो। अहिलेका मानिसहरू बस्ने कैयौँ घरहरू रहेको यहाँदेखि दशौँ माइलसम्म मेरा पुर्खाका घरहरू थिए। विगतमा, मेरो परिवारको घरका चार-पाँच सय, वा कम्तीमा पनि, दुई-तीन सय कोठा थिए, र सबै गरी एक सयभन्दा बढी नोकरचाकर थिए। मेरा हजुरबा व्यापारका प्रमुख हुनुहुन्थ्यो। उहाँ कहिल्यै आफै काम गर्नुहुन्नथ्यो, अरूलाई काम गर्न आदेश मात्र दिनुहुन्थ्यो। हजुरआमा ऐसको जीवन जिउनुहुन्थ्यो, र उहाँहरू दुवैलाई लुगा लाइदिने र धोइदिने सेवकहरू थिए। पछि, सामाजिक वातावरणमा आएको परिवर्तनले परिवार बरबाद भयो, अनि हामी कुलीन वर्गमा रहेनौँ, सर्वसाधारण बन्यौँ। विगतमा, मेरो परिवार निकै ठूलो र प्रतिष्ठित थियो। यदि तिनीहरूले गाउँको एक छेउमा खुट्टा पछार्थे भने, गाउँको अर्को कुनासम्म थर्किन्थ्यो। उनीहरू को हुन् भनेर सबैले चिनेका थिए। म त्यस्तो परिवारको हुँ, यो तपाईँलाई कस्तो लाग्यो? निकै असाधारण छ, होइन र? तपाईँले मलाई आदर गर्नुपर्छ, कि कसो हो?” अझै अरूहरू यसो भन्छन्: “तपाईँका पुर्खाहरूको सम्पत्ति त्यति ठूलो कुरा होइन। मेरा पुर्खा त सम्राट थिए, र त्यसमा पनि पहिलो सम्राट। भनिन्छ, मेरो थर त्यहीँबाट आएको हो। मेरो परिवार सबै उनकै साक्खे सन्तान हुन्, टाढाका नातेदार होइनन्। तपाईँलाई यो कस्तो लाग्यो? अब तपाईँलाई मेरो पुर्खाको पृष्ठभूमि थाहा भएकोले, के तपाईँले मलाई पुनः सम्मानको नजरले हेर्दै थोरै भए नि आदर गर्नुपर्दैन र? के तपाईँले मलाई उच्च नजरले हेर्नुपर्दैन र?” अनि कतिपय मानिसहरू यसो भन्छन्: “मेरो कुनै पुर्खा सम्राट नभए पनि, एक जना जनरल थिए जसले अनगिन्ती शत्रुहरू मारेका, र अनगिन्ती सैन्य पराक्रम गरेका थिए, र सैन्य अदालतका महत्त्वपूर्ण व्यक्ति बनेका थिए। मेरो परिवार सबै उनकै साक्खे सन्तान हुन्। आजको दिनसम्मै, मेरो परिवारले मेरा पुर्खाहरूले हस्तान्तरण गरेका मार्सल आर्ट सिक्ने गर्छ, र यो कुरा बाहिरका मानिसहरूबाट गुप्त राखिएको छ। तपाईँलाई यो कस्तो लाग्यो? के मेरो पहिचान विशेष छैन र? के मेरो हैसियत विशिष्ट छैन र?” मान्छेले तथाकथित पुर्खौली परिवारबाट, साथै आफ्ना आधुनिक परिवारबाट प्राप्त गर्ने यी सामाजिक पहिचानहरूलाई मानिसहरू सम्मानजनक र वैभवपूर्ण ठान्छन्, र यो कुरालाई समय-समयमा तिनीहरू आफ्नो पहिचान र सामाजिक हैसियतको प्रतीकको रूपमा धाकरवाफ र फाइँफुट्टी लगाउँछन्। एक हिसाबमा, तिनीहरू आफ्नो पहिचान र हैसियत असाधारण छ भनेर प्रमाणित गर्न यसो गर्छन्। अर्को हिसाबमा, यी कथाहरू भनिरहँदा, मानिसहरूले आफ्नो लागि उच्च स्थान र सामाजिक हैसियत निर्माण गर्दै, अरूमाझ आफ्नो भाउ बढाउने र असाधारण र विशेष देखिने प्रयास गरिरहेका हुन्छन्। यसरी असाधारण र विशेष बन्नुको उद्देश्य के हो? अरूबाट अझै धेरै सम्मान, प्रशंसा, र आदर पाउनु हो, ताकि उसले अझै आरामदायी, सहज, र इज्जतदार जीवन जिउन सकोस्। उदाहरणको लागि, कतिपय विशेष परिस्थितिहरूमा, यस्ता मानिसहरू पनि हुन्छन् जो निरन्तर समूहभित्र आफ्नो उपस्थिति महसुस गराउन, वा अरूबाट सम्मान र आदर पाउन असक्षम रहन्छन्। त्यसकारण, तिनीहरूले आफ्नो उपस्थिति महसुस गराउन र आफू असाधारण हुँ भनेर मानिसहरूलाई देखाउन, अनि मानिसहरूले तिनीहरूलाई भाउ र सम्मान दिऊन् भनेर यस्ता अवसरहरू खोज्दै आफ्नो विशेष पहिचान वा विशेष पारिवारिक पृष्ठभूमि प्रयोग गर्ने गर्छन्, ताकि मानिसहरूमाझ तिनीहरूलाई प्रतिष्ठा प्राप्त होस्। तिनीहरू भन्छन्: “मेरो आफ्नै पहिचान, हैसियत, र क्षमता साधारण भए पनि, मेरा एक पुर्खा मिङ वंशका राजपरिवारका सल्लाहकार थिए। तपाईँले फलाना-फलानाबारे सुन्नुभएको छ? उनी मेरा पुर्खा हुन्, मेरा जिजुबाजेका जिजुबाजे, र उनी राजपरिवारका महत्त्वपूर्ण सल्लाहकार थिए। उनी ‘गुरुयोजनाकार’ भनेर चिनिन्छन्। उनी खगोल विज्ञानदेखि भुगोलसम्म, प्राचीनदेखि आधुनिक इतिहाससम्म, र चिनियाँदेखि विदेशी मामलाहरूसम्मका विशेषज्ञ थिए। उनी भविष्यवाणी पनि गर्न सक्थे। उनले प्रयोग गरेको फेङ सुई कम्पास हाम्रो परिवारमा अझै छ।” तिनीहरूले यसबारेमा बारम्बार कुरा नगरे पनि, समयसमयमा अरूलाई आफ्ना पुर्खाहरूको सानदार इतिहास बताइरहने गर्छन्। तिनीहरूको कुरा साँचो हो कि होइन भन्ने कसैलाई थाहा हुँदैन, र यीमध्ये कति त बनावटी कुरा हुन सक्छन्, र कतिचाहिँ साँचो पनि हुन सक्छन्। चाहे जे भए पनि, मानिसहरूको मनमा, तिनीहरूले आफ्नो परिवारबाट प्राप्त गर्ने पहिचान अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यसले अरूहरूमाझ तिनीहरूको स्थान र हैसियत, मानिसहरूमाझ तिनीहरूले प्राप्त गर्ने व्यवहार, साथै मानिसहरूमाझ हुने तिनीहरूको अवस्था र दर्जा निर्धारित गर्छ। यस्तो ठ्याक्कै किन हुन्छ भने, अरूहरूमाझ हुँदा मानिसहरूले आफ्नो परिवारबाट प्राप्त पहिचानको कारण प्राप्त हुने यी कुराहरू महसुस गर्ने गर्छन्, र तिनीहरू यी कुराहरूलाई अत्यन्तै महत्त्वपूर्ण मान्छन्। परिणामस्वरूप, तिनीहरूले समय-समयमा आफ्नो परिवारको इतिहासका यी “वैभवपूर्ण” र “सानदार” अध्यायहरूको धाक लगाउँछन्, र यस क्रममा आफ्नो परिवारका लाजलाग्दा कुराहरू, वा तिनीहरूलाई हेला वा भेदभावमा पार्न सक्ने पारिवारिक पृष्ठभूमिका कुरा वा पक्षहरू उल्लेख गर्नबाट बारम्बार टाढै बस्छन्। छोटकरीमा भन्दा, मानिसहरूले आफ्नो परिवारबाट प्राप्त गर्ने पहिचान तिनीहरूको हृदयमा औधी प्यारो हुन्छ। त्यसैले, जब तिनीहरूले कुनै विशेष घटनाहरू अनुभव गर्छन्, तब मानिसहरूबाट मान्यता प्राप्त गर्न र अरूहरूमाझ हैसियत हासिल गर्न तिनीहरूले प्राय आफ्नो विशेष पारिवारिक पहिचानलाई पूँजी र आफ्नो धाक देखाउने कारणको रूपमा प्रयोग गर्ने गर्छन्। तर चाहे तेरो परिवारले तँलाई वैभव वा सरम जे दिए पनि, वा परिवारबाट तैँले प्राप्त गर्ने पहिचान र सामाजिक हैसियत कुलीन वा नीचो जे भए पनि, जहाँसम्म तेरो सरोकारको कुरा छ, तेरो लागि परिवार त्योभन्दा बढी अरू केही होइन। यसले तँ सत्यता बुझ्न सक्छस् कि सक्दैनस्, सत्यता पछ्याउन सक्छस् कि सक्दैनस्, वा सत्यता पछ्याउने मार्ग हिँड्न सक्छस् कि सक्दैनस् भन्ने कुरा निर्धारित गर्दैन। त्यसकारण, मानिसहरूले यसलाई अत्यन्तै महत्त्वपूर्ण मामिलाको रूपमा लिनु हुँदैन, किनभने यसले व्यक्तिको नियति निर्धारित गर्दैन, न त व्यक्तिको भविष्य नै निर्धारित गर्छ, यसले व्यक्ति हिँड्ने मार्ग निर्धारित गर्नु त परको कुरा हो। तैँले आफ्नो परिवारबाट प्राप्त गर्ने पहिचानले अरूहरूमाझ तेरा आफ्नै भावना र अनुभूतिहरू मात्रै निर्धारित गर्न सक्छ। परिवारबाट प्राप्त तेरो पहिचान तैँले घृणा गर्ने वा धाक लगाउने जे-जस्तो कुरा भए पनि, त्यसले तँ सत्यता पछ्याउने मार्ग हिँड्न सक्नेछस् कि छैनस् भन्ने कुरा निर्धारित गर्न सक्दैन। त्यसकारण, जब सत्यता पछ्याउने कुरा आउँछ, तैँले आफ्नो परिवारबाट कस्तो पहिचान वा सामाजिक हैसियत प्राप्त गर्छस् भन्ने कुराले केही फरक पार्दैन। तैँले प्राप्त गर्ने पहिचानले तँलाई उच्च र सम्मानित भएको महसुस गराए पनि, यो उल्लेख गर्नसमेत लायक हुँदैन। अथवा, यदि यसले तँलाई सरम, हीनताबोध, र कमजोर आत्मसम्मान महसुस गराउँछ भने पनि, यसले सत्यता पछ्याउने तेरो कार्यमा असर पार्नेछैन। के यस्तै होइन र? (हो।) यसले सत्यता पछ्याउने तेरो कार्यमा अलिकति पनि असर पार्नेछैन, न त यसले परमेश्वरअघि सृष्टि गरिएको प्राणीको रूपमा रहेको तेरो पहिचानमै असर पार्नेछ। बरु यसविपरीत, परिवारबाट तैँले जस्तोसुकै पहिचान र सामाजिक हैसियत प्राप्त गरेको भए पनि, परमेश्वरको दृष्टिकोणबाट हरेक व्यक्तिले मुक्ति पाउने उस्तै अवसर पाएको हुन्छ र उसले उस्तै हैसियत र पहिचानसहित कर्तव्य निभाउने र सत्यता पछ्याउने काम गरिरहेको हुन्छ। परिवारबाट तैँले प्राप्त गर्ने पहिचान आदरणीय भए पनि वा लाजमर्दो भए पनि, यसले तेरो मानवता निर्धारित गर्दैन, न त यसले तैँले लिने मार्ग नै निर्धारित गर्छ। तैपनि, यदि तैँले यसलाई धेरै महत्त्व दिन्छस्, र यसलाई आफ्नो जीवन र अस्तित्वको महत्त्वपूर्ण भागको रूपमा लिन्छस् भने, तैँले यसलाई दह्रिलो गरी पक्रिराख्नेछस्, कहिल्यै छोड्नेछैनस्, र यस कुरामा गर्व गरिरहनेछस्। यदि तैँले आफ्नो परिवारबाट प्राप्त गर्ने पहिचान कुलीन खालको छ भने, तैँले यसलाई एक किसिमको पूँजीको रूपमा लिनेछस्, जबकि यदि तैँले आफ्नो परिवारबाट प्राप्त गर्ने पहिचान निम्नस्तरको किसिमको छ भने, तैँले यसलाई लाजमर्दो कुरा मान्नेछस्। चाहे तैँले आफ्नो परिवारबाट प्राप्त गर्ने पहिचान कुलीन, वैभवपूर्ण, वा लाजमर्दो जे-जस्तो भए पनि, यो तेरो व्यक्तिगत बुझाइ हो, र यो तेरो भ्रष्ट मानवताको दृष्टिकोणबाट तैँले हेरेको कारण आउने नतिजा मात्रै हो। यो केवल तेरो आफ्नै भावना, अनुभूति र बुझाइ हो, जुन सत्यतासँग मिल्दैन र सत्यतासँग त्यसको कुनै सम्बन्ध हुँदैन। तेरो सत्यता पछ्याउने कार्यको लागि यो पूँजी होइन, र अवश्य नै, तेरो सत्यता पछ्याउने कार्यमा यो बाधा पनि होइन। यदि तेरो सामाजिक हैसियत कुलीन र उच्च छ भने, त्यसको अर्थ यो तेरो मुक्तिको लागि पूँजी हुन्छ नै भन्ने हुँदैन। यदि तेरो सामाजिक हैसियत निम्न र मामुली स्तरको छ भने, यो सत्यता पछ्याउने तेरो कार्यमा बाधा हुन्छ नै भन्ने हुँदैन, झन् यो तेरो मुक्तिप्रतिको खोजमा बाधा हुने त कुरै नगरौँ। परिवारको वातावरण र पृष्ठभूमि, जीवनको गुणस्तर, र जिउने अवस्थाहरू सबै परमेश्वरको हुकुमअनुसार नै हुने भए पनि, परमेश्वरसामु व्यक्तिको साँचो पहिचानसँग ती कुराहरूको कुनै सम्बन्ध हुँदैन। कुनै व्यक्ति जुनसुकै परिवारबाट आएको भए पनि, वा उसको पारिवारिक पृष्ठभूमि सानदार वा नीचो जे-जस्तो भए पनि, परमेश्वरको नजरमा ऊ सृष्टि गरिएको प्राणी मात्रै हो। तेरो परिवारको पृष्ठभूमि प्रभावशाली भए पनि र तेरो पहिचान र हैसियत कुलीन भए पनि, तँ सृष्टि गरिएको प्राणी मात्रै होस्। त्यसै गरी, यदि तेरो पारिवारिक हैसियत निम्नस्तरको छ र अरूले तँलाई हेप्छन् भने पनि, परमेश्वरको नजरमा तँ सृष्टि गरिएको साधारण प्राणी नै होस्—तँमा त्यस्तो कुनै विशेष कुरा छैन। फरक-फरक पारिवारिक पृष्ठभूमिले मानिसहरूलाई हुर्कने फरक-फरक वातावरण प्रदान गर्छ, र परिवारको फरक-फरक जिउने वातावरणले मानिसहरूलाई भौतिक कुराहरू, संसार र जीवनलाई लिने फरक-फरक दृष्टिकोण प्रदान गर्छ। कुनै व्यक्ति जीवनमा सम्पन्न भए पनि वा खाँचोमा भए पनि, वा व्यक्तिको पारिवारिक परिस्थिति राम्रो भए पनि वा नभए पनि, यो त फरक-फरक मानिसहरूको लागि फरक-फरक अनुभव मात्रै हो। तुलनात्मक रूपमा भन्दा, गरिब र मामुली जिउने अवस्था भएका परिवारबाट आएका मानिसहरूले जीवनको गहन अनुभव गरेका हुन्छन्, जबकि धनी र एकदमै सौभाग्यशाली परिवारबाट आएका मानिसहरूको हकमा कुरा गर्दा, तिनीहरूले यो कुरा प्राप्त गर्नु थप कठिन हुन्छ, होइन र? (हो।) तँ जस्तोसुकै पारिवारिक पृष्ठभूमिमा हुर्केको भए पनि, र तैँले त्यो पारिवारिक वातावरणबाट जस्तोसुकै पहिचान र सामाजिक हैसियत प्राप्त गरेको भए पनि, जब तँ परमेश्वरको अघि आउँछस्, जब परमेश्वरले तँलाई सृष्टि गरिएको प्राणीको रूपमा मान्नुहुन्छ र स्विकार्नुहुन्छ, तब परमेश्वरको नजरमा तँ अरू मानिसहरूजस्तै हुन्छस्, तँ अरू मानिसहरूसमान हुन्छस्, तँमा त्यस्तो कुनै विशेष कुरा हुँदैन, र तेरो लागि परमेश्वरका मापदण्डहरूमा उहाँले उही विधि र मानकहरू लागू गर्नुहुन्छ। यदि तँ “मेरो विशेष सामाजिक हैसियत छ” भनेर भन्छस् भने, परमेश्वरको अघि तैँले यो “विशेषपन” लाई बेवास्ता गर्नुपर्छ; यदि तँ “मेरो सामाजिक हैसियत नीचो छ” भनेर भन्छस् भने, तैँले यो “नीचता” लाई पनि बेवास्ता गर्नुपर्छ। परमेश्वरको अघि, तिमीहरू प्रत्येकले आफ्नो परिवारबाट प्राप्त पहिचानबाट टाढा जानुपर्छ, त्यसलाई त्याग्नुपर्छ, सृष्टि गरिएको प्राणीको रूपमा परमेश्वरले दिनुभएको पहिचान स्विकार्नुपर्छ, र सृष्टि गरिएको प्राणीको कर्तव्य राम्ररी निभाउन यही पहिचान अपनाउनुपर्छ। यदि तँ राम्रो परिवारबाट आएको होस् र तेरो कुलीन हैसियत छ भने, तैँले घमण्ड गर्नुपर्ने कुरा केही छैन, र तँ अरूभन्दा कुलीन छैनस्। यस्तो किन हो? परमेश्वरको नजरमा, जबसम्म तँ सृष्टि गरिएको मानव होस्, तबसम्म तँ भ्रष्ट स्वभावले भरिएकै हुन्छस्, र तँ परमेश्वरले मुक्ति दिन चाहनुहुने मानिसहरूमध्येकै एक होस्। त्यसै गरी, यदि तैँले आफ्नो परिवारबाट प्राप्त गरेको पहिचान नीचो र मामुली छ भने, तैँले परमेश्वरले दिनुभएको सृष्टि गरिएको प्राणीको पहिचान स्विकार्नुपर्छ, र परमेश्वरले दिनुहुने मुक्ति स्विकार्न तँ सृष्टि गरिएको प्राणीको रूपमा उहाँको अघि आउनुपर्छ। तैँले यसो भन्न सक्छस्: “मेरो परिवारको सामाजिक हैसियत निम्नस्तरको छ, र मेरो पहिचान पनि निम्नस्तरकै छ। मानिसहरूले मलाई हेलाको नजरले हेर्छन्।” तर परमेश्वरले यसको मतलब हुँदैन भनेर भन्नुहुन्छ। आज, परमेश्वरको अघि, तँ आफ्नो परिवारबाट प्राप्त पहिचानवाला व्यक्तिको रूपमा देखिन छोडेको छस्। तेरो अहिलेको पहिचान भनेको सृष्टि गरिएको प्राणीको पहिचान हो, र तैँले स्वीकार गर्नुपर्ने कुरा भनेको परमेश्वरले तँलाई दिनुभएका मापदण्डहरू हुन्। परमेश्वरले कसैलाई पक्षपात गर्नुहुन्न। उहाँले तेरो पारिवारिक पृष्ठभूमि वा तेरो पहिचान हेर्नुहुन्न, किनभने उहाँको नजरमा, तँ पनि अरूजस्तै होस्। तँलाई शैतानले भ्रष्ट तुल्याएको छ, तँ भ्रष्ट मानवजातिको सदस्य होस्, र परमेश्वरको अघि तँ सृष्टि गरिएको प्राणी होस्, त्यसकारण तँ परमेश्वरले मुक्ति दिन चाहनुहुने मानिसहरूमध्येको एक होस्। तँ उच्च पदाधिकारी वा अत्यन्तै धनी आमाबुबाको सन्तान भए पनि, तँ सुविधासम्पन्न युवक वा राजकुमारी भए पनि, वा तँ साना किसान वा कुनै साधारण व्यक्तिको सन्तान भए पनि, त्यसले केही फरक पार्दैन। यी कुराहरू महत्त्वपूर्ण छैनन्, र परमेश्वरले यीमध्ये कुनै पनि कुरा हेर्नुहुन्न, किनभने परमेश्वरले चाहनुभएको त तँलाई एक व्यक्तिको रूपमा मुक्ति दिनु हो। उहाँ तेरो भ्रष्ट स्वभाव बदल्न चाहनुहुन्छ, तेरो पहिचान होइन। तेरो भ्रष्ट स्वभाव तेरो पहिचानले निर्धारित गर्दैन, न त तेरो महत्त्व नै तेरो पहिचानले निर्धारित गर्छ, अनि तेरो भ्रष्ट स्वभाव तेरो परिवारबाट आएको पनि हुँदैन। परमेश्वरले तँलाई मुक्ति दिन चाहनुभएको तेरो हैसियत मामुली छ भनेर होइन, र तेरो हैसियत विशिष्ट छ भनेर त झन् हुँदै होइन। बरु, परमेश्वरले तँलाई उहाँको योजना र उहाँको व्यवस्थापनको कारण, तँलाई शैतानले भ्रष्ट तुल्याएको कारण, अनि तँ भ्रष्ट मानवजातिको सदस्य भएको कारण चुन्नुभएको हो। परमेश्वरको अघि, तैँले आफ्नो परिवारबाट जस्तोसुकै पहिचान प्राप्त गरेको भए पनि, तँ अरू सबैजस्तै नै होस्। तिमीहरू सबै मानवजातिका सदस्यहरू हौ, जसलाई शैतानले भ्रष्ट तुल्याएको छ, र जसमा भ्रष्ट स्वभाव छ। तिमीहरूमा विशेष त्यस्तो केही पनि छैन। अवस्था यस्तै होइन र? (हो।) त्यसकारण, अर्कोपटक तिमीहरूको नजिकको कसैले “म त काउन्टी प्रमुख थिएँ”, वा “म त प्रान्तीय गभर्नर थिएँ” भन्छ, वा कसैले “मेरा पुर्खाहरू सम्राट थिए” भनेर भन्छ, वा कसैले “म संसद थिएँ” वा “म राष्ट्रपतिमा उठेको थिएँ” भनेर भन्छ, वा कसैले “म त ठूलो कम्पनीको प्रमुख थिएँ” वा “म त सरकारी कम्पनीको हाकिम थिएँ” भनेर भन्छ भने, त्यसमा ठूलो कुरा के हुन्छ र? के तँ कुनै बेला प्रमुख कार्यकारी वा मुख्य अधिकृत थिइस् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ र? यो संसार र यो समाजले मानिसहरूको पहिचान र सामाजिक हैसियतलाई ठूलो महत्त्व दिन्छ, र तेरो पहिचान र सामाजिक हैसियतअनुसार तँसँग कसरी व्यवहार गर्ने भनेर निर्णय गर्छ। तर अहिले तँ परमेश्वरको घरमा छस्, र तँ विगतमा कति सानदार थिइस् वा तेरो पहिचान कति सानदार र वैभवपूर्ण थियो भन्ने आधारमा तँलाई परमेश्वरले फरक रूपमा हेर्नुहुनेछैन। विशेष गरी अहिले उहाँले तँलाई सत्यता पछ्याउन लगाउनुहुने हुनाले, के तेरा योग्यता, सामाजिक हैसियत, र महत्त्व प्रदर्शन गर्नुको कुनै औचित्य हुन्छ त? (अहँ, कुनै औचित्य हुँदैन।) के त्यसो गर्नु मूर्खता हुन्छ? (हुन्छ।) मूर्ख मानिसहरूले आफूलाई अरूसँग तुलना गर्न यी कुराहरू प्रयोग गर्ने प्रवृत्ति हुन्छ। कतिपय नयाँ विश्वासीहरू यस्ता पनि छन् जसको कद सानो हुन्छ र जसले सत्यता बुझेका हुँदैनन्, र यसले गर्दा तिनीहरूले अरूसँग आफूलाई तुलना गर्न समाज र परिवारबाट पाएका यी कुराहरू प्राय प्रयोग गरिरहने गर्छन्। तर परमेश्वरमाथिको आफ्नो विश्वासमा केही जग र कद बसालेका मानिसहरूले भने प्रायजसो यसो गर्ने गर्दैनन्, न त तिनीहरूले यी कुराहरूबारे बोल्ने नै गर्छन्। आफ्नो परिवारको पहिचान वा सामाजिक हैसियतलाई पुँजीको रूपमा प्रयोग गर्नु सत्यताअनुरूपको कुरो होइन।
मैले यसबारे धेरै सङ्गति गरिसकेको हुनाले, के तैँले अहिले आफ्नो परिवारबाट प्राप्त गर्ने पहिचानबारे मैले भनेको कुरा बुझिस्? (बुझेँ।) यसबारे मलाई भन्। (परमेश्वर, यसबारे म भन्छु। मानिसहरूले आफू जन्मेको परिवार, र समाजमा रहेको आफ्नो परिवारको पहिचान र हैसियतलाई विशेष महत्त्व दिन्छन्। कमजोर सामाजिक हैसियत भएको परिवारमा जन्मेका मानिसहरूले आफूलाई अरूभन्दा अलि सानो ठान्ने प्रवृत्ति हुन्छ। तिनीहरूलाई आफ्नो कुल कमजोर छ, र समाजमा तिनीहरूले आफ्नो शिर ठाडो पार्न सक्दैनन् भन्ने लाग्छ, त्यसकारण तिनीहरू आफ्नो सामाजिक हैसियत बढाउन लागिपर्न चाहन्छन्; तुलनात्मक रूपमा उच्च प्रतिष्ठा र हैसियत भएको परिवारमा जन्मेका मानिसहरू निकै अहङ्कारी र घमण्डी हुन्छन्, तिनीहरू धाक लाउन पराउँछन्, र तिनीहरूमा आफू ठूलो हुँ भन्ने जन्मजात भावना हुन्छ। तर वास्तवमा, मानिसहरूको सामाजिक हैसियत सबभन्दा महत्त्वपूर्ण कुरा होइन, किनभने परमेश्वरको अगाडि, मानिसहरूको एउटै पहिचान र हैसियत हुन्छ—तिनीहरू सबै सृष्टि गरिएका प्राणीहरू हुन्। व्यक्तिको पहिचान र हैसियतले उसले सत्यता पछ्याउन, सत्यता अभ्यास गर्न वा मुक्ति पाउन सक्छ सक्दैन भन्ने कुरा निर्धारित गर्न सक्दैन, त्यसकारण व्यक्तिले आफूलाई आफ्नो पहिचान र हैसियतको आधारमा बन्धनमा राख्नु हुँदैन।) एकदम राम्रो। सत्यता नपछ्याउने मानिसहरूले व्यक्तिको पहिचान र सामाजिक हैसियतको धेरै वास्ता गर्छन्, त्यसकारण कतिपय विशेष परिस्थितिहरूमा, तिनीहरूले यस्ता कुराहरू भन्छन्: “हाम्रो मण्डलीको फलानो-फलानोलाई चिन्नुहुन्छ, तिनीहरूको परिवार त एकदमै सम्पन्न छ!” तिनीहरूले “सम्पन्न” भन्ने शब्द उच्चारण गर्दा, तिनीहरूको आँखा ठूलो-ठूलो हुन्छ, जसले तिनीहरूमा एकदमै डाही र ईर्ष्यालु मानसिकता छ भन्ने देखाउँछ। तिनीहरूका ती ईर्ष्यालु भावनाहरू यति लामो समयदेखि बढ्दै त्यस्तो बिन्दुमा पुगेको हुन्छ कि तिनीहरूले यस्ता मानिसहरूप्रति र्याल काढ्दै यसो भन्छन्, “ओहो, के तिमी ऊ त्यहाँका मानिसहरूलाई चिन्छौ, उनको बुबा एक उच्च पदाधिकारी हुन्, र उनका बुबा काउन्टी प्रमुख हुन्, उनका बुबा मेयर हुन्, र उतातिरका, उनका बुबा सरकारी विभागका सचिव हुन्!” जब तिनीहरूले राम्रो लुगा लगाउने, वा चिटिक्क मिलाएर वस्त्र पहिरिने, वा अलिकति स्तर वा ज्ञान भएको, वा विशेष उच्च गुणस्तरीय कुराहरू प्रयोग गर्ने कसैलाई देख्छन्, तिनीहरू ईर्ष्याले भरिन्छन् र यस्तो सोच्छन्, “तिनीहरूको परिवार धनी छ, तिनीहरू त पक्कै पैसामै लडीबडी खेल्छन् होला,” अनि तिनीहरू आदर र ईर्ष्याले जल्छन्। जब तिनीहरूले कुनै कम्पनीको मालिकबारे कुरा गर्छन्, तब त्यो व्यक्तिको पहिचानबारे तिनीहरूले त्यो व्यक्ति आफैले भन्दा बढी ख्याल गर्छन्। त्यो व्यक्तिले कहिल्यै कुरा नगरे पनि तिनीहरूले भने सधैँ उसैको कामबारे कुरा गरिरहन्छन्, र मण्डलीको अगुवा छनौट गर्ने समय आएपछि तिनीहरूले उसैलाई भोटसमेत दिन्छन्। तिनीहरूले आफूभन्दा उच्च सामाजिक हैसियत भएका मानिसहरूलाई विशेष ठान्छन्, र तिनीहरूलाई विशेष ध्यान दिन्छन्। तिनीहरूले सधैँ ती मानिसहरूलाई फुर्काउने, तिनीहरूको नजिक हुने, र तिनीहरूलाई चापलुसी गर्ने प्रयास गरिरहेका हुन्छन्, र यस क्रममा आफैलाई घृणा गर्दै यस्तो सोचिरहेका हुन्छन्, “किन मेरो बुबा कुनै पदाधिकारी हुनुहुन्न? म किन यो परिवारमा जन्मेँ? मेरो परिवारबारे म किन राम्रो कुरा केही भन्न सक्दिनँ? तिनीहरू जन्मेका परिवारहरू कि त अधिकारीहरूका कि त धनी व्यवसायीहरूका परिवारहरू हुन्, जबकि मेरो परिवारसँग केही पनि छैन। मेरा दाजुभाइ-दिदीबहिनीहरू सबै साधारण मानिसहरू हुन्, खेतबारीमा काम गर्ने साना किसान हुन् र ती सबै समाजको सबैभन्दा तल्लो स्तरमा छन्। अनि मेरा आमाबुबाबारे त झन् कुरै नगरे राम्रो—उहाँहरू त शिक्षित पनि हुनुहुन्न। कस्तो लाजमर्दो कुरा!” कसैले तिनीहरूका आमाबुबाबारे उल्लेख गर्नेबित्तिकै, तिनीहरू कुरा टार्छन् र यसो भन्छन्, “यो विषयमा त कुरै नगरौँ, अरू नै विषयमा कुरा गरौँ न। हाम्रो मण्डलीका फलानो-फलानोबारे कुरा गरौँ न। तिनको व्यवस्थापन पद हेरौँ न, अगुवा कसरी बन्ने तिनलाई थाहा छ। तिनले यो काम गरेको दशकौँ भइसक्यो, कसैले पनि तिनको ठाउँ लिन सक्दैन। तिनी त नेतृत्व गर्नै जन्मेका हुन्। हाम्रो बारेमा पनि यस्तै भन्न सकिने भए कति राम्रो हुन्थ्यो। अहिले तिनले परमेश्वरमा पनि विश्वास गरेर, आशिष्माथि अर्को आशिष् पाएका छन्। तिनी साँच्चै आशिषित व्यक्ति हुन्, किनकि समाजमा व्यक्तिले चाहने सबै कुरा तिनले पहिल्यै पाइसकेका छन्, र अहिले तिनी परमेश्वरको घरमा आएकाले, तिनी राज्यमा प्रवेश गर्न पनि र सुन्दर गन्तव्य पाउन पनि सक्छन्।” जब कुनै पदाधिकारी परमेश्वरको घरमा आउँछ, तब तिनीहरूलाई लाग्छ कि त्यो व्यक्ति मण्डलीको अगुवा बन्नुपर्छ, र उसले सुन्दर गन्तव्य पाउनुपर्छ। तर यसको निर्णय कसले गर्छ? के तिनीहरूले अन्तिम निर्णय गर्छन् त? (गर्दैनन्।) यो त स्पष्टतः अविश्वासीहरूले बोल्ने कुरा हो। यदि तिनीहरूले कसैलाई अलिकति क्षमता र जन्मजात प्रतिभा भएको, राम्रो लुगा लगाएको र जीवनमा राम्रा कुराहरूको आनन्द लिएको, अनि राम्रो कार चलाएको र ठूलो घरमा बसेको देख्छन्, तब तिनीहरू लगातार त्यो व्यक्तिसँग घुलमिल हुन्छन्, उसको चापलुसी गर्छन् र उसलाई मक्ख पार्न खोज्छन्। त्यसपछि अरू त्यस्ता मानिसहरू पनि छन् जसलाई आफूसँग उच्च सामाजिक हैसियत र प्रतिष्ठा छ भन्ने लाग्छ। जब तिनीहरू परमेश्वरको घरमा आउँछन्, तिनीहरूले जहिले पनि विशेष अधिकारहरू माग्छन्, दाजुभाइ-दिदीबहिनीहरूमाथि हुकुम लाद्छन्, तिनीहरूसँग दासजस्तो व्यवहार गर्छन्, किनभने तिनीहरूलाई पदाधिकारीको जीवन जिउने बानी परेको हुन्छ। के त्यस्ता मानिसहरूले आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना अधीनस्थ हुन् भन्ने सोच्दैनन् र? जब मण्डली अगुवा छनौट गर्ने समय आउँछ, तब तिनीहरू चुनिएनन् भने, रिसाउँछन् र भन्छन्, “म अबदेखि विश्वास गर्नेछैनँ, परमेश्वरको घर निष्पक्ष छैन, यसले मानिसहरूलाई मौका दिँदैन, परमेश्वरको घरले मानिसहरूलाई तुच्छ देख्छ!” बाहिरी संसारमा तिनीहरूलाई पदाधिकारी बन्ने बानी परेको हुन्छ, र तिनीहरूले आफूलाई निकै ठूलाबडा ठान्छन्, त्यसकारण जब तिनीहरू परमेश्वरको घरमा आउँछन्, तब तिनीहरूले सधैँ निर्णय गर्ने, सबै कुरामा नेतृत्व लिने, र विशेषाधिकारहरू माग्ने प्रयास गरिरहेका हुन्छन्, र तिनीहरूले परमेश्वरको घरलाई पनि संसार र समाजजस्तै ठान्छन्। बाहिरी संसारमा कोही कुनै पदाधिकारीकी श्रीमती हुन सक्छे, तर परमेश्वरको घरमा आएपछि पनि ऊ आफूलाई पदाधिकारीकी श्रीमतीलाई झैँ व्यवहार गरियोस् भन्ने चाहन्छे र ऊ मानिसहरूलाई आफ्नो चापलूसी गर्न र आफूलाई पछ्याउन लगाउन चाहन्छे। भेलाहरूको समयमा, यदि विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले उसलाई अभिवादन गर्न बिर्से भने, ऊ रिसाउँछे र सङ्गतिमा आउन छोड्छे, किनभने उसलाई लाग्छ कि मानिसहरूले उसलाई गम्भीरतापूर्वक लिँदैनन्, र परमेश्वरमा विश्वास गर्नु पनि अर्थहीन छ। के यो अनुचित होइन र? (हो।) समाजमा तेरो पहिचान जति नै विशेष भए पनि, जब तँ परमेश्वरको घरमा आउँछस्, तैँले त्यो विशेष पहिचान गुमाउँछस्। परमेश्वर र सत्यतासामु, मानिसहरूको एउटै मात्र पहिचान हुन्छ, जुन सृष्टि गरिएको प्राणीको पहिचान हो। बाह्य संसारमा, तँ सरकारी पदाधिकारी भए पनि वा पदाधिकारी पत्नी भए पनि, वा तँ समाजको कुलीन वर्गको सदस्य भए पनि वा लेखापढी गरिखाने व्यक्ति भए पनि, वा तँ जर्नेल भए पनि सिपाही भए पनि, परमेश्वरको घरमा तेरो एउटा मात्र पहिचान हुन्छ, जुन सृष्टि गरिएको प्राणीको पहिचान हो। तँमा त्यस्तो विशेष केही पनि छैन, त्यसैले विशेषाधिकारहरू खोज्ने वा मानिसहरूलाई तेरो आराधना गर्न लगाउने नगर्। अनि, विशेष इसाई परिवारबाट वा पुस्तौँदेखि प्रभुमा विश्वास गर्ने परिवारबाट आएका अझै अरू मानिसहरू पनि हुन्छन्। सायद तिनीहरूकी आमाले कुनै सेमिनरीमा तालिम लिएकी हुन्छे, र तिनीहरूको बुबा पाष्टर हुन्छ। तिनीहरूलाई धार्मिक समुदायमा राम्रो आदर गरिन्छ, र विश्वासीहरू तिनीहरूको वरिपरि भेला हुने गर्छन्। परमेश्वरको कार्यको यस चरणलाई स्वीकार गरेपछि, तिनीहरूलाई अझै पनि आफूसँग पहिलेको जस्तै पहिचान छ भन्ने लाग्छ, तर तिनीहरू सपनाको देशमा बाँचिरहेका हुन्छन्! अब तिनीहरूले सपना देख्न छोडेर बिउँझने समय भएको छ। तँ पास्टर भए पनि अगुवा भए पनि त्यसले केही फरक पर्दैन; परमेश्वरको घरमा आएपछि, तैँले परमेश्वरको घरका नियमहरू बुझ्नुपर्छ र आफ्नो पहिचान परिवर्तन गर्न सिक्नुपर्छ। तैँले गर्नुपर्ने पहिलो कुरा यही हो। तँ कुनै उच्च पदाधिकारी होइनस्, न त तँ लेखापढी गरिखाने व्यक्ति नै होस्, तँ धनी व्यापारी पनि होइनस्, न त तँ गरिब र दरिद्र नै होस्। जब तँ परमेश्वरको घर आउँछस्, तेरो एउटै मात्र पहिचान हुन्छ, जुन परमेश्वरले तँलाई दिनुभएको पहिचान हो—अर्थात्, सृष्टि गरिएको प्राणीको पहिचान। अनि, सृष्टि गरिएका प्राणीहरूले के गर्नुपर्छ? तैँले आफ्नो पारिवारिक इतिहास वा परिवारबाट पाएको सामाजिक हैसियतको धाक दिनु हुँदैन, न त परमेश्वरको घरमा मनलागी गर्न र विशेषाधिकारहरू खोज्नहतु आफ्नो उच्च सामाजिक हैसियत प्रयोग गर्नु नै हुन्छ, र तैँले परमेश्वरको घरमा सार्वभौम शासकले जस्तो व्यवहार गर्न र अन्तिम निर्णयहरू आफै गर्नहेतु आफूले समाजबाट बटुलेको अनुभव र तेरो सामाजिक हैसियतले तँलाई दिने श्रेष्ठताको भावना निश्चय नै प्रयोग गर्नु हुँदैन। बरु, परमेश्वरको घरमा तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, उचित तरिकाले व्यवहार गर्नुपर्छ, आफ्नो पारिवारिक पृष्ठभूमि उल्लेख गर्नु हुँदैन, श्रेष्ठताको कुनै पनि भावना पाल्नु हुँदैन र हीनताबोध पनि हुनु हुँदैन; तैँले हीन महसुस गर्नु वा श्रेष्ठता बोध गर्नु जरुरी छैन। छोटकरीमा भन्दा, तैँले सृष्टि गरिएको प्राणीले गर्नुपर्ने काम आज्ञाकारी भएर राम्ररी गर्नु जरुरी छ र तैँले सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कर्तव्य राम्ररी पूरा गर्नु पनि जरुरी छ। कतिपय मानिसहरूले भन्छन्: “त्यसोभए के यसको मतलब मैले आफूलाई नियन्त्रणमा राख्नु र कम बोल्नुपर्छ भन्ने हो?” होइन, तैँले आफूलाई नियन्त्रणमा राख्नु वा कम बोल्नु आवश्यक छैन, तँ सबैको कुरा मान्ने बन्नु आवश्यक छैन, र तैँले निश्चय नै उच्च र शक्तिशाली छु भनेर व्यवहार गर्नु पनि आवश्यक छैन। तैँले अरूभन्दा पृथक हुने प्रयास गर्नु जरुरी छैन, तैँले देखावटी व्यवहार गर्नु जरुरी छैन, र तैँले सबैलाई खुसी पार्न विभिन्न कुरामा सम्झौता गर्नु पनि जरुरी छैन। परमेश्वरले मानिसहरूलाई निष्पक्ष र न्यायसङ्गत तरिकाले व्यवहार गर्नुहुन्छ, किनभने परमेश्वर सत्यता हुनुहुन्छ। परमेश्वरले मानिसहरूको लागि धेरै वचनहरू बोल्नुभएको छ र धेरै मापदण्डहरू तय गर्नुभएको छ, र अन्त्यमा उहाँले तँलाई गर्न लगाउनुहुने कुरा भनेको सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य ठीकसँग पूरा गर्न र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने हरकाम ठीकसँग गर्न हो। मानिसहरूले आफ्नो परिवारबाट पाएको पहिचानको यो मामिला सम्हाल्ने कुरा गर्दा, तैँले परमेश्वरका वचनहरूको आधारमा अनि सत्यतालाई मापदण्डको रूपमा लिएर मानिसहरू र परिस्थितिलाई हेर्नुपर्छ, र सोहीअनुसार आफ्नो व्यवहार प्रस्तुत गर्ने र काम गर्ने गर्नुपर्छ, तर तैँले आफ्नो परिवारले दिएको श्रेष्ठताको भाव प्रदर्शन गर्नु हुँदैन। अनि, यदि तँ विपन्न परिवारबाट आएको होस् भने, तैँले अवश्य नै यो कति खराब कुरा हो भनेर खुलाउँदै सबैलाई सुनाउँदै हिँड्नु आवश्यक छैन। अरू कतिपय मानिसहरूले भन्न सक्छन्: “के परमेश्वरको घरले ‘बहादुरको गाउँ नसोध्नू’ भनेर भन्छ?” के यो भनाइ सत्यता हो? (होइन।) यो भनाइ सत्यता होइन, त्यसैले तैँले यो भनाइको आधारमा केही पनि मापन गर्नु हुँदैन, न त यसलाई परमेश्वरले तँलाई दिनुभएका मापदण्डहरू पालना गर्ने मानकको रूपमा प्रयोग गर्न नै मिल्छ। तैँले आफ्नो परिवारबाट पाएको पहिचानको कुरा गर्दा, तेरो लागि परमेश्वरको मापदण्ड यो हो कि तैँले तेरो कर्तव्य निर्वाह गर्नैपर्छ। परमेश्वरसामु, तेरो एकमात्र पहिचान भनेको सृष्टि गरिएको प्राणीको पहिचान हो, त्यसैले सृष्टि गरिएको असल प्राणी बन्नमा असर गर्न सक्ने, वा यसो गर्नबाट तँलाई रोक्ने कुराहरू तैँले त्याग्नुपर्छ। तैँले आफ्नो हृदयमा यी कुराहरूको लागि ठाउँ बनाउनु हुँदैन, न त यी कुरालाई धेरै महत्त्व दिनु नै हुन्छ। बाहिरी स्वरूपको हिसाबमा होस् वा मनोवृत्तिको हिसाबमा होस्, तैँले आफ्नो परिवारबाट प्राप्त अलग पहिचानलाई त्याग्नुपर्छ। तँलाई यो कुरा कस्तो लाग्छ? के यसो गर्नु सम्भव छ? (छ।) सायद तैँले आफ्नो परिवारबाट सम्मानजनक पहिचान प्राप्त गरेको हुन सक्छ, वा सायद तेरो पारिवारिक पृष्ठभूमिले तेरो पहिचानमा छायाँ पारेको हुन सक्छ। तर जे-जस्तो भए पनि, मलाई आशा छ, तँ त्यसबाट स्वतन्त्र भएर हिँड्नेछस्, यस मामिलालाई गम्भीरतापूर्वक लिनेछस्, र त्यसपछि जब तेरो जीवनमा कुनै विशेष परिस्थितिहरू आइपर्छन्, र यी कुराहरूले तेरो कर्तव्य पूरा गर्ने कार्यमा असर पार्छन्, र मानिसहरूलाई गर्ने तेरो व्यवहार प्रभावित पार्छन्, र विभिन्न कुराहरूलाई लिने तेरा सही सिद्धान्तहरू, र अरूसँग मिलेर बस्ने तेरा सिद्धान्तहरू प्रभावित पार्छन्, तब मलाई आशा छ, तँ आफ्नो परिवारबाट प्राप्त पहिचानबाट प्रभावित हुन छोड्नेछस्, र उचित तरिकाले सबैलाई व्यवहार गर्न र सबै कुरा सम्हाल्न सक्नेछस्। उदाहरणको लागि, मानौँ मण्डलीमा कुनै व्यक्ति यस्तो छ, जो सधैँ आफ्नो कर्तव्यमा झाराटारूवा हुन्छ र जसले सधैँ बाधा दिने काम गर्छ। तैँले त्यसलाई कसरी निराकरण गर्नुपर्छ? तैँले “मैले उनलाई काटछाँट गर्नुपर्छ, किनभने यदि मैले उनलाई काटछाँट गरिनँ भने यसले मण्डलीको काममा असर पार्नेछ” भन्ने सोच्दै यसबारे लामो समय विचार गर्छस्। त्यसकारण तैँले उसलाई काटछाँट गर्ने निर्णय गर्छस्। तर उसले गल्ती स्वीकार गर्न मान्दिन, र धेरै बहानाहरू बनाउँछे। तँलाई ऊसँग डर लाग्दैन, त्यसकारण तैँले उसलाई सङ्गति दिने र काटछाँट गर्ने कामलाई निरन्तरता दिन्छस्। अनि उसले भन्छे, “के तपाईँलाई थाहा छ, म को हुँ?” अनि तैँले जवाफ दिन्छस्, “तपाईँ को हुनुहुन्छ भन्ने कुराले मलाई के फरक पार्छ र?” उसले भन्छे: “मेरो श्रीमान् तपाईँको श्रीमानको मालिक हुनुहुन्छ। यदि तपाईँले आज मलाई समस्यामा पार्नुभयो भने, तपाईँको श्रीमान् समस्यामा पर्नेछन्।” तैँले यसो भन्छस्: “यो परमेश्वरको घरको काम हो। यदि तपाईँले यो काम राम्रोसँग गर्नुभएन र बाधा दिने काम गरिरहनुभयो भने, म तपाईँलाई तपाईँको कर्तव्यबाट बर्खास्त गर्नेछु।” अनि उसले भन्छे, “जे भए पनि, मैले के हुनेछ भनेर तपाईँलाई बताएको छु। के गर्नुपर्ने हो, आफै निर्णय गर्नुहोस्!” यसरी “आफै निर्णय गर्नुहोस्” भनेर उसले भन्नुको अर्थ के हो? उसले तँलाई के भनिरहेकी छे भने, यदि तैँले उसलाई बर्खास्त गर्ने हिम्मत गरिस् भने, उसले तेरो श्रीमान्लाई पनि निकालिदिनेछे। यो बेला, तैँले यस्तो सोचिरहेको हुन्छस्, “यो महिलाको पछाडि शक्तिशाली मान्छे छ, त्यसैले त ऊ सधैँ घमण्डी तरिकाले बोल्छे,” त्यसपछि तैँले आफ्नो भाव परिवर्तन गर्छस् र भन्छस्: “ठीक छ, यसपटक म यो कुरा छोडिदिन्छु, तर अर्कोपटक छोड्दिनँ! मैले जे भनेँ त्यो तपाईँलाई पेच पार्न भनेको होइन, यो सब मण्डलीको कामको लागि हो। हामी सबै परमेश्वरमा विश्वास गर्ने विश्वासी दाजुभाइ-दिदीबहिनीहरू हौँ, हामी सबै एउटै परिवार हौँ। यसबारे सोच्नुहोस् त, म मण्डली अगुवा हुँ, यसको लागि म कसरी जिम्मेवारी नलिई बस्न सक्छु र? यदि मैले जिम्मेवारी नलिने भए, तपाईँहरू मलाई चुन्नु नै हुन्थेन, चुन्नुहुन्थ्यो त?” तैँले परिस्थिति सहज पार्ने प्रयास गर्न थाल्छस्। के यसको पछाडि कुनै सिद्धान्तहरू छन्? तेरो हृदयको गहिराइभित्रको रक्षात्मक पर्खाल ढलेको छ, र तँ सिद्धान्तहरूमा अडिग रहने आँट गर्दैनस्, र लुरुक्क हुन्छस्। के यस्तै भएको होइन र? (हो।) त्यसरी तैँले उसलाई छोडिदिन्छस्। तँलाई आफ्नो पहिचान उसको जस्तो कुलीन नभएको, र उसको सामाजिक स्थिति तेरोभन्दा उच्च भएकोमा लाज हुन्छ, त्यसैले तँ उसको नियन्त्रणमा परी उसले भनेको मान्न बाध्य हुन्छस्। तिमीहरू दुवैले परमेश्वरमा विश्वास गरे पनि, तँ उसको धम्कीमा पर्छस्। यदि तँ सामाजिक हैसियतले पार्ने प्रभावबाट मुक्त हुन सक्दैनस् भने, तैँले सिद्धान्तहरू परिपालन गर्न सक्नेछैनस्, सत्यता अभ्यास गर्न सक्नेछैनस्, र तँ परमेश्वरसामु विश्वासयोग्य हुनेछैनस्। यदि तँ परमेश्वरप्रति विश्वासयोग्य हुँदैनस् भने, के परमेश्वरले तँलाई स्वीकार गर्नुहुनेछ र? के परमेश्वरले तँलाई भरोसा गर्नुहुनेछ र? के उहाँले अझै पनि तँलाई महत्त्वपूर्ण काम सुम्पनुहुनेछ र? उहाँको लागि तँ भरोसाहीन व्यक्ति बन्नेछस्, किनकि महत्त्वपूर्ण क्षणमा, तैँले आफ्नो हित रक्षा गर्न परमेश्वरको घरका हितहरू बेच्दिइस्। महत्त्वपूर्ण क्षणमा, तँ समाज र शैतानबाट आउने दुष्ट शक्तिहरूदेखि डराइस्, जसले गर्दा तैँले परमेश्वरको घरका हितहरू बेच्दिइस् र तँ आफ्नो गवाहीमा अडिग रहन सकिनस्। यो एक गम्भीर अपराध हो र परमेश्वरलाई अपमान गर्नुको धब्बा हो। यस्तो किन हो? किनभने यसो गर्दा, तैँले सृष्टि गरिएको प्राणीको रूपमा रहेको तेरो पहिचानप्रति विश्वासघात गरेको हुन्छस्, र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कामको सिद्धान्त उल्लङ्घन गरेको हुन्छस्। यो मामिला सम्हाल्दा, तँ आफ्नो सामाजिक हैसियत र समाजमा रहेको तेरो पहिचानबाट प्रभावित भइस्। कुनै पनि समस्या सामना गर्दा, यदि तँ आफ्नो परिवारबाट प्राप्त पहिचानद्वारा सिर्जित नकारात्मक प्रभावहरू छोड्न सक्दैनस् भने, तैँले अनपेक्षित कुराहरू गर्दै यी समस्याहरूप्रति प्रतिक्रिया दिन सक्छस्। एक अर्थमा, यी कुराले तँलाई सत्यता उल्लङ्घन गर्ने बनाउनेछन्, र अर्को अर्थमा, यी कुराले तँलाई पूर्ण अन्योलमा पारी के छनौट गर्ने भन्ने नै थाहा नहुने तुल्याइदिन्छन्। यी कुराले तँलाई सजिलै अपराध र पछुतोमा पुर्याउँछन्, त्यसकारण परमेश्वरसामु तँ कलङ्कित हुनेछस् र परमेश्वरले मानवजातिलाई दिनुभएको सिद्धान्त अर्थात्, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु, र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने काम गर्नु भन्ने सिद्धान्त उल्लङ्घन गर्ने व्यक्ति बन्नेछस्। यसबारे सोच् त, यो मामिला अलि सानो छ तर गम्भीरताको आधारमा यो निकै महत्त्वपूर्ण छ, होइन र? (हो।)
२. आफ्नो परिवारबाट आएको मानसिकतालाई त्याग्नु
क. विचारहरूका हिसाबमा आफ्नो परिवारबाट आएको मानसिकता
मैले भर्खरै परिवारबाट प्राप्त पहिचान त्याग्नेबारे सङ्गति गरेँ। के यो काम गर्न सजिलो छ? (हो, सजिलो छ।) के यो काम गर्न सजिलो छ? के-कस्ता परिस्थितिहरूमा यो कुराले तँलाई असर गर्नेछ र बाधा दिनेछ? जब तँसँग यस विषयमा सही र स्पष्ट बुझाइ हुँदैन, तब निश्चित प्रकारको वातावरणमा तँ यसद्वारा प्रभावित हुनेछस्, र यसले तेरो कर्तव्य राम्ररी पूरा गर्ने क्षमतामा असर पार्नेछ, र विभिन्न कुराहरू सम्हाल्ने तेरा तौरतरिकाहरू र यसका नतिजाहरू प्रभावित पार्नेछ। तसर्थ, जहाँसम्म परिवारबाट प्राप्त हुने पहिचानको कुरा आउँछ, तैँले यसलाई सही रूपमा लिनुपर्छ, र यसबाट प्रभावित वा नियन्त्रित हुनु हुँदैन, बरु यसको साटो परमेश्वरले मानिसहरूलाई दिनुभएका विधिहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्नुपर्छ, र सोहीअनुसार सामान्य रूपमा आफूलाई व्यवहारमा ढाल्ने र काम गर्ने गर्नुपर्छ। यस तरिकाले, तँसँग सृष्टि गरिएको स्वीकार्य प्राणीसँग यस पक्षमा हुनुपर्ने मनोवृत्ति र सिद्धान्तहरू हुनेछन्। अर्को, हामी परिवारले सिकाउने कुराले तिमीहरूलाई पार्ने प्रभावहरूलाई त्याग्नेबारेमा सङ्गति गर्नेछौँ। यस समाजमा, संसारसँग व्यवहार गर्ने मानिसहरूका सिद्धान्तहरू, जिउने र अस्तित्वमा रहने तिनीहरूका विधिहरू, र धर्म र विश्वासप्रतिका तिनीहरूका मनोवृत्ति र धारणाहरू, साथै मानिस, घटना, र कामकुराहरूप्रति तिनीहरूका विविध धारणा र विचारहरू—यी सबै अपरिहार्य रूपमै परिवारद्वारा सिकाइने कुरा हुन्। मानिसहरूले सत्यता बुझ्नुभन्दा पहिले—तिनीहरू जति नै उमेरका भए पनि, वा तिनीहरू जुनै लिङ्गका भए पनि, वा तिनीहरू जुनै पेसामा संलग्न भएका भए पनि, वा सबै कुराप्रति तिनीहरूको मनोवृत्ति जे-जस्तो भएको भए पनि, चाहे त्यो चरम भए पनि वा तर्कसङ्गत भए पनि—छोटकरीमा भन्दा, हरकिसिमका कुराहरूमा, विभिन्न कुराहरूप्रतिको मानिसहरूको विचार र दृष्टिकोण, अनि तिनीहरूको मनोवृत्तिमा परिवारले ठूलो प्रभाव पारेको हुन्छ। अर्थात्, परिवारद्वारा व्यक्तिलाई पार्ने विभिन्न किसिमका सिकाइने कुराका प्रभावहरूले नै धेरै हदसम्म त्यस व्यक्तिको विभिन्न कुराहरूप्रतिको मनोवृत्ति र ती कुराहरूलाई लिने उसको विधि, साथै अस्तित्वसम्बन्धी उसको दृष्टिकोण निर्धारित गर्छन्, र उसको विश्वास पनि प्रभावित पार्छन्। परिवारले मानिसहरूलाई यति धेरै सिकाउने र प्रभाव पार्ने हुनाले, संसारसँग व्यवहार गर्ने मानिसहरूका तरिका र सिद्धान्तहरू, साथै अस्तित्वप्रतिको तिनीहरूको हेराइ, र विश्वासप्रतिको तिनीहरूको दृष्टिकोण अपरिहार्य रूपमा परिवारबाटै आउँछन्। परिवार आफैमा सत्यता उत्पन्न हुने ठाउँ होइन, न त यो सत्यताको स्रोत नै हो, र तेरो परिवारद्वारा तँलाई सिकाइने कुनै पनि विचार र दृष्टिकोण वा बाँच्ने तरिका “तेरै भलाइको लागि हो” भन्ने बहानामा सिकाइन्छ। तेरो परिवारद्वारा तँलाई सिकाइने यी कुराहरू तेरा आमाबुबा, अग्रज, वा पुर्खाहरू जोबाट आएका भए पनि, छोटकरीमा भन्दा, ती सबैको उद्देश्य तँलाई समाजमा र अरूमाझ आफ्नै हितहरूको रक्षा गर्न सम्भव तुल्याउनु, तँलाई हेपाइमा पर्नबाट रोक्नु, र तँलाई मानिसहरूमाझ अझ बढी सहजता र चतुर्याइँका साथ जिउन सम्भव तुल्याउनु हो, ताकि तेरा आफ्नै हितहरूलाई सम्भव भएसम्म अधिकतम रक्षा गर्न सकियोस्। तैँले आफ्नो परिवारबाट प्राप्त गर्ने सिकाइको उद्देश्य तँलाई सुरक्षा दिनु, तँलाई हेपाइमा पर्न वा कुनै अपमान भोग्नबाट रोक्नु, र तँलाई अब्बल व्यक्ति बन्न मद्दत गर्नु हो। तैँले अरूलाई हेपिस् वा हानि गरिस् भने पनि, तँ आफैलाई चाहिँ हानि नभए हुन्छ। तेरो परिवारले तँलाई सिकाएका सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्, र तँलाई सिकाएर तँभित्र घुसाइएका सबै विचारहरूको सार र मुख्य उद्देश्य पनि यिनै हुन्। के यो कुरा यस्तै होइन र? (हो।) यदि तैँले आफ्नो परिवारले सिकाउँदै तँभित्र घुसाएका सबै कुराहरूको उद्देश्य र सारबारे विचार गरिस् भने, के त्यहाँ सत्यतासँग मेल खाने कुनै कुरा हुन्छ? यदि यी कुराहरू मानवताका नैतिकता वा वैध अधिकार र हितसँग मिल्छन् भने पनि, के सत्यतासँग तिनको कुनै सम्बन्ध हुन्छ? के ती सत्यता हुन्? (होइनन्।) ती अवश्यै सत्यता होइनन्, यो निश्चयसाथ भन्न सकिन्छ। तेरो परिवारले तँलाई सिकाउने कुराहरू मानिसहरूलाई जति नै सकारात्मक र वैध, मानवीय र नैतिक लागे पनि, ती सत्यता होइनन्, न त तिनले सत्यता नै प्रतिनिधित्व गर्न सक्छन्, र तिनले अवश्यै सत्यताको स्थान लिन पनि सक्दैनन्। तसर्थ, जब परिवारको कुरा आउँछ, तब यी कुराहरू मानिसहरूले त्याग्नुपर्ने अर्को पक्ष हुन्। खास गरी यो पक्ष के हो त? यो परिवारले सिकाउने कुराले तँलाई पार्ने प्रभाव हो—परिवारको हकमा तैँले त्याग्नुपर्ने दोस्रो पक्ष यही हो। हामीले परिवारले सिकाउने कुराले तँलाई पार्ने प्रभावहरूबारे छलफल गरिरहेका हुनाले, पहिले हामी यी सिकाइने कुराका प्रभावहरू ठ्याक्कै के-के हुन् भन्नेबारे कुरा गरौँ। यदि हामीले तिनलाई सही र गलतसम्बन्धी मानिसहरूको अवधारणाअनुसार छुट्टयायौँ भने, केहीचाहिँ तुलनात्मक रूपमा सही, सकारात्मक र प्रस्तुतयोग्य छन्, र तिनलाई अरूसामु प्रस्तुत गर्न सकिन्छ, जबकि केहीचाहिँ तुलनात्मक रूपमा स्वार्थी, घृणित, नीच, तुलनात्मक रूपमा नकारात्मकबाहेक अरू केही छैनन्। तर जे भए पनि, परिवारबाट आउने यी सिकाइने कुराका प्रभावहरू सुरक्षा दिने वस्त्रको तह जस्तै हुन् जसले सामूहिक रूपमा व्यक्तिका देहगत हितहरूको रक्षा गर्छन्, अरूमाझ उसको मर्यादा सुरक्षित राख्छन्, र उसलाई हेपाइमा पर्नबाट रोक्छन्। यस्तै हुन्छ, होइन र? (हो।) त्यसोभए, अब हामी व्यक्तिको परिवारले उसमा के-कस्ता सिकाइने कुराका प्रभावहरू पार्छ भन्नेबारे कुरा गरौँ।
“रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” को चिरफार
जब तँलाई परिवारका अग्रजहरूले “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” भनेर बारम्बार भन्छन्, यो तैँले आफूलाई राम्रो देखाउनमा महत्त्व दिएस्, तँ सम्मानपूर्वक जिएस्, र तैँले बेइज्जत हुने कामकुरा नगरेस् भन्नका लागि हो। तर त्यसोभए यो भनाइले मानिसहरूलाई सकारात्मक तरिकाले डोर्याउँछ कि नकारात्मक तरिकाले? के यसले तँलाई सत्यतामा डोर्याउन सक्छ? के यसले तँलाई सत्यता बुझ्न अगुवाइ गर्न सक्छ? (अहँ, सक्दैन।) निश्चय नै सक्दैन! परमेश्वरले मानिसहरूबाट माग गर्ने कुरा भनेको तिनीहरू इमानदार हुनुपर्छ भन्ने हो। जब तैँले अपराध गरेको हुन्छस्, वा केही गलत गरेको हुन्छस्, वा परमेश्वरको विरुद्ध विद्रोह गर्ने र सत्यताको विरुद्ध जाने केही गरेको हुन्छस्, तब तैँले आत्मचिन्तन गर्नुपर्छ, आफ्नो गल्ती चिन्नुपर्छ, र आफ्ना भ्रष्ट स्वभावहरूलाई चिरफार गर्नुपर्छ; यसरी मात्रै तैँले साँचो पश्चात्ताप हासिल गर्न सक्छस्, र त्यसपछि परमेश्वरका वचनहरूअनुसार काम गर्न सक्छस्। इमानदार बन्ने अभ्यास गर्न मानिसहरूमा कस्तो प्रकारको मानसिकता हुनुपर्छ? के आवश्यक मानसिकता र “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने भनाइले देखाउने दृष्टिकोणबीच कुनै मतभेद छ? (छ।) उक्त मतभेद के हो? “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने भनाइले मानिसहरूलाई आफ्नो उत्कृष्ट प्रभाव जमाउन र आफूलाई राम्रो देखाउने कामहरू बढी गर्नलाई महत्त्व दिन—बरु खराब वा अपमानजनक कामहरू नगर्न, आफ्नो कुरूप पक्ष नदेखाउन—र सम्मान वा इज्जत नभएको जीवन नजिउन भन्छ। आफ्नो अभिमानको खातिर, आफूलाई राम्रो देखाउनका खातिर, व्यक्तिले आफू पूर्ण रूपमा बेकम्मा छु भनी भन्न सक्दैन, अरूलाई आफ्नो नराम्रो पाटो र लाजमर्दो पक्षहरू बताउने कुरा त परै जाओस्, किनभने व्यक्तिले सम्मानजनक र इज्जतिलो जीवन जिउनुपर्छ, र इज्जत हुनका लागि अभिमान चाहिन्छ, र अभिमान हुनका लागि ढोँग गर्नुपर्ने र आफूलाई सजाउनुपर्ने हुन्छ। के यो कुरा इमानदार व्यक्ति हुनुसँग बाझिँदैन र? (बाझिन्छ।) तँ इमानदार व्यक्ति बनिरहँदा, तैँले “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने भनाइलाई पहिले नै त्यागिसकेको हुन्छस्। यदि तँ इमानदार व्यक्ति बन्न चाहन्छस् भने, आफ्नो स्वरूपलाई महत्त्व नदे; व्यक्तिको स्वरूपको मूल्य एक पैसा पनि हुँदैन। सत्यताको उपस्थितिमा, व्यक्तिले आफ्नो खुलासा गर्नुपर्छ, ढोँग गर्नु वा बनावटी रूप देखाउनु हुँदैन। व्यक्तिले परमेश्वरसामु आफ्ना साँचो विचारहरू, आफूले गरेका गल्तीहरू, र सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेका तरिकाहरू जस्ता आफूबारेका सबै सत्य-तथ्य प्रकट गर्नुपर्छ, र यी कुराहरूलाई आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसामु पनि उदाङ्गो पार्नुपर्छ। यो आफ्नो अभिमानको खातिर जिउनु होइन, बरु इमानदार व्यक्ति बन्नका लागि जिउनु, सत्यतालाई पछ्याउनका लागि जिउनु, साँचो सृजित प्राणी बन्नका लागि जिउनु, र परमेश्वरलाई सन्तुष्ट पार्न र मुक्ति पाउनका लागि जिउनु हो। तर जब तँ यो सत्यता बुझ्दैनस्, र परमेश्वरका अभिप्रायहरू बुझ्दैनस्, तब तेरो परिवारले तँलाई सिकाएका कुराहरू तेरो हृदयमा हाबी हुने गर्छन्। त्यसैले जब तँ केही गलत गर्छस्, तब तँ त्यसलाई लुकाउँछस् र ढोँग गर्छस्, र यसो सोच्छस्, “मैले यसबारे कसैलाई बताउन मिल्दैन, र म यो कुरा थाहा पाउने अरू कसैलाई पनि यसबारे मानिसहरूलाई बताउन दिनेछैन। यदि तिमीहरूमध्ये कसैले कसैलाई भन्यौ भने, म त्यसलाई सजिलै जान दिनेछैन। मेरो अभिमान पहिलो प्राथमिकता हो। जिउनु भनेको आफ्नो अभिमानबाहेक अरू केहीका लागि होइन, जुन अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ। यदि कुनै व्यक्तिसँग अभिमान छैन भने, उसले आफ्नो सबै इज्जत गुमाउँछ। त्यसैले तँ साँचो बोल्न सक्दैनस्, तैँले ढोँग गर्नुपर्ने हुन्छ, तैँले ढाकछोप गर्नुपर्ने हुन्छ, नत्र तँसँग अभिमान वा इज्जत रहनेछैन, र तेरो जीवन बेकम्मा हुनेछ। यदि कसैले तँलाई आदर गर्दैन भने, तँ केवल बेकम्मा हुन्छस्, तँ केवल निकृष्ट रद्दी हुन्छस्।” के यसरी अभ्यास गरेर इमानदार व्यक्ति बन्न सम्भव हुन्छ? के आफूलाई उदाङ्गो पार्न र आफूलाई चिरफार गर्न सम्भव हुन्छ? (अहँ, हुँदैन।) अवश्य नै, यसो गरेर तैँले “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने भनाइ पालन गरिरहेको हुन्छस्, जुन तेरो परिवारले सिकाइमार्फत तँमा हालिदिएको कुरा हो। तैपनि, यदि तैँले सत्यता पछ्याउन र सत्यता अभ्यास गर्नको लागि यो भनाइ त्यागिस् भने, यसले तँलाई असर गर्न छोड्नेछ, र यो तेरो आदर्श वाक्य वा तेरा कार्यहरूको सिद्धान्त बन्न छोड्नेछ, र यसको साटो तैँले जे गर्छस् त्यो “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने यो भनाइको पूर्णविपरीत हुनेछ। तँ आफ्नो अभिमानको खातिर जिउनेछैनस्, न त आफ्नो मर्यादाको खातिर नै जिउनेछस्, बरु यसको साटो, तँ सत्यता पछ्याउने र इमानदार व्यक्ति बन्ने खातिर जिउनेछस् र तैँले परमेश्वरलाई सन्तुष्ट पार्न र साँचो सृजित प्राणीका रूपमा जिउन खोज्नेछस्। यदि तँ यस सिद्धान्तमा अडिग रहन्छस् भने, तँलाई तेरो परिवारले सिकाएका कुराहरूलाई तैँले त्यागिसकेको हुनेछस्।
“जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” को चिरफार
परिवारले एकदुई वटा भनाइले मात्रै होइन, अनगिन्ती प्रसिद्ध उद्धरण र उक्तिहरूको बाढीद्वारै मानिसहरूलाई सिकाउने गर्छ। उदाहरणको लागि, के तेरो परिवारका अग्रज र आमाबुबाले प्रायजसो “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने भनाइ उल्लेख गर्दैनन् र? (हो।) तिनीहरूले तँलाई यसो भनिरहेका हुन्छन्: “मानिसहरूले आफ्नो प्रतिष्ठाकै खातिर बाँच्नुपर्छ। मानिसहरूले आफ्नो जीवनकालमा राम्रो छवि बनाउन र अरूको मनमा राम्रो छाप छोड्नबाहेक अरू केही खोज्नु हुँदैन। तिमीले जोसँग कुरा गरे पनि, तिनीहरूसँग मिठासपूर्ण शब्दहरू बोल, चिप्लो घस्ने र दया देखाउने शब्दहरू मात्र बोल, र तिनीहरूलाई नचिढ्याऊ। बरु, अझ धेरै असल कामकुरा र दयालु कार्यहरू गर।” परिवारले सिकाउने कुराको यो विशेष प्रभावले मानिसहरूको व्यवहार वा आचरणका सिद्धान्तहरूमा निश्चित प्रभाव पार्छ, जसको परिणामस्वरूप तिनीहरूले अपरिहार्य रूपमा ख्याति र प्राप्तिलाई ठूलो महत्त्व दिन्छन्। अर्थात्, तिनीहरूले आफ्नो ख्याति, प्रसिद्धि, मानिसहरूको मनमा तिनीहरूले सिर्जना गर्ने छाप, र तिनीहरूले गर्ने हरेक काम र व्यक्त गर्ने हरेक रायबारे अरूले गर्ने मूल्याङ्कनलाई ठूलो महत्त्व दिन्छन्। मानिसहरूले ख्याति र प्राप्तिलाई ठूलो महत्त्व दिन्छन्, त्यसैले ती प्रसिद्ध भनाइहरूका शब्दहरू र परम्परागत संस्कृतिमा कामकुराहरूसँग व्यवहार गर्ने सिद्धान्तहरू तिनीहरूको हृदयमा हाबी हुन्छन्, यहाँसम्म कि तिनलाई पूर्ण रूपमा ओगट्छन्। थाहै नपाईकन, तिनीहरूले सत्यता र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् कि छैनन् भन्ने कुरालाई महत्त्वहीन देख्न थाल्छन्, र तिनीहरूले त्यस्ता विचारहरूलाई पूर्ण रूपमा त्याग्न पनि सक्छन्। तिनीहरूको हृदयमा, “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने जस्ता शैतानका दर्शनहरू र परम्परागत संस्कृतिका चर्चित भनाइहरू अत्यन्तै महत्त्वपूर्ण बन्छन्। यी शैतानका भनाइहरूले तेरो हृदय ओगट्छन्, जसले गर्दा तँ अरू मानिसहरूले तेरो बारेमा गर्ने मूल्याङ्कनहरूप्रति, र विशेष गरी तैँले सबैभन्दा बढी चासो राख्नेहरूले तँलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुराप्रति अत्यन्तै चिन्तित हुन्छस्। यो तैँले हरेक दिनको हरेक क्षण एउटा पनि विवरण नछोडी जान्न चाहने कुरा हो। कतिपय मानिसहरू अरू मानिसहरूले वास्तवमा तिनीहरूको पिठ्युँ पछाडि तिनीहरूका बारेमा के भन्छन् भन्ने कुरामा विशेष ध्यान दिन्छन्, यहाँसम्म कि भित्तामा कान थापेर सुन्ने, ढोकाको कापबाट लुकेर सुन्ने, र तिनीहरूका बारेमा अरू मानिसहरूले लेखेका कुराहरू गोप्य रूपमा पढ्ने हदसम्म पुग्छन्। कसैले तिनीहरूको नाम लिनेबित्तिकै, तिनीहरू आफ्नो बारेमा के भनिँदै छ र टिप्पणीहरू अनुकूल छन् कि छैनन् भनी तुरुन्तै सुन्छन्। कसैले आफूलाई सुखभोगी र अल्छी भनेको सुनेपछि, तिनीहरू आफ्नो बारेमा अरूको राय कसरी परिवर्तन गर्ने भनी मनन गर्छन्, र त्यसपछि निकै लगनशीलताका साथ कार्य गर्छन्। केही समयपछि, तिनीहरू अरू कसैले आफूलाई अल्छी भनेको सुन्दैनन्, तर तिनीहरू अझै पनि बेचैन हुन्छन्, त्यसैले, जानीजानी होस् वा अनजानमा, तिनीहरू अरूको अगाडि यसो भन्छन्, “म अलिकति अल्छी छु।” मानिसहरू जवाफ दिन्छन्, “तँ अब अल्छी छैनस्, तँ पहिलेभन्दा धेरै लगनशील भएको छस्।” तिनीहरू निकै खुसी हुन्छन्, र सोच्छन्, “मेरो बारेमा सबैको राय परिवर्तन भएको छ। सबैले मेरो व्यवहारलाई ध्यान दिएजस्तो देखिन्छ।” तैँले गर्ने सबै कुरा सत्यता अभ्यासका लागि गरेको हुँदैनस्, न त परमेश्वरलाई सन्तुष्ट पार्नको लागि गरेको हुन्छस्, बरु, यो त तेरो आफ्नै प्रतिष्ठाको लागि गरेको हुन्छस्। यस तरिकाले, तैँले गर्ने सबै कुरा अचेतन रूपमै के बनेको हुन्छ? यो एउटा धार्मिक कार्य बनेको हुन्छ। तेरो सार के बनेको हुन्छ? तँ फरिसीको ठेट उदाहरण बनेको हुन्छस्। तेरो मार्ग के बनेको हुन्छ? यो एक ख्रीष्टविरोधीको मार्ग बनेको हुन्छ। परमेश्वरले यसलाई यसरी नै चित्रण गर्नुहुन्छ। त्यसकारण, तैँले गर्ने सबै कुराको सार परिवर्तन भएको छ, यो अहिले फरक भएको छ; तैँले सत्यता अभ्यास गरिरहेको वा सत्यता पछ्याइरहेको हुँदैनस्, बरु ख्याति र प्राप्ति पछ्याइरहेको हुन्छस्। अन्त्यमा, परमेश्वरको नजरमा तेरो कर्तव्य निर्वाह एक शब्दमा भन्दा मानकअनुरूप छैन। यस्तो किन हुन्छ? किनभने तँ परमेश्वरले तँलाई सुम्पनुभएको कुरामा वा सृजित प्राणीको रूपमा तैँले पूरा गर्नुपर्ने कर्तव्यमा नभई आफ्नो प्रतिष्ठाप्रति मात्र अर्पित छस्। परमेश्वरले यस्तो परिभाषा दिनुहुँदा, तैँले हृदयमा के महसुस गर्छस्? यतिका वर्ष परमेश्वरमा तैँले गरेको विश्वास व्यर्थ भयो भन्ने हो? त्यसोभए, के त्यसको अर्थ तैँले सत्यता पटक्कै पछ्याइरहेको थिइनस् भन्ने हो? तैँले सत्यता पछ्याइरहेको थिइनस्, बरु आफ्नो प्रतिष्ठालाई विशेष ध्यान दिइरहेको थिइस्, र यसको मूल जड तेरो परिवारले तँमाथि पारेका सिकाइने कुराका प्रभावहरू हुन्। तँलाई सिकाइएको सबैभन्दा प्रभावशाली भनाइ के हो? “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने भनाइले तेरो हृदयमा गहिरो जरा गाडेको छ र यो तेरो आदर्श वाक्य बनेको छ। तँ सानो छँदैदेखि तँलाई यो भनाइले प्रभावित पारिएको र यो सिकाइएको छ, र ठूलो भएपछि पनि आफ्नो परिवारको अर्को पुस्तालाई र आफ्ना वरिपरिका मानिसहरूलाई प्रभावित पार्न तँ यो भनाइ दोहोर्याइरहन्छस्। अझै गम्भीर कुरा त अवश्यै के हो भने, तैँले यस भनाइलाई आफूलाई आचरणमा ढाल्ने र कामकुराहरूलाई सम्हाल्ने आफ्नो विधि र सिद्धान्तका रूपमा अपनाएको छस्, र तैँले त्यसलाई आफ्नो जीवनमा पछ्याउने लक्ष्य र दिशाको रूपमा समेत अपनाएको छस्। तर तेरो लक्ष्य र दिशा गलत छन्, त्यसैले अन्तिम परिणाम पनि अवश्यै नकारात्मक नै हुनेछ। किनकि तैँले गर्ने सबै कुरा सारमा आफ्नो ख्यातिको खातिर मात्र हुन्छ, र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने भनाइ अभ्यास गर्नको खातिर मात्र हुन्छ—यो सत्यतालाई पछ्याउनु होइन। तैपनि तँ आफैलाई यो कुरा थाहै छैन। तँलाई यो भनाइमा कुनै गल्ती छैन भन्ने लाग्छ, किनभने, के मानिसहरू आफ्नो ख्यातिका लागि जिउँदैनन् र? यस्तो आम भनाइ नै छ, “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ।” यो भनाइ निकै सकारात्मक र जायज देखिन्छ, त्यसैले तैँले अचेतन रूपमै यसका सिकाइने कुराका प्रभावहरू स्विकार्छस् र यसलाई सकारात्मक कुरा ठान्छस्। एकपटक यस भनाइलाई सकारात्मक कुरा ठानेपछि, तैँले अचेतन रूपमै यसलाई पछ्याइरहेको र अभ्यास गरिरहेको हुन्छस्। साथै, तैँले अनजानमा र भ्रममा परेर यसलाई सत्यता मापदण्ड ठान्छस्। जब तैँले यसलाई सत्यता मापदण्ड ठान्छस्, तब परमेश्वरले भन्नुभएको कुरा तँभित्र घुस्न छोड्छ, र तैँले उहाँको कुरा बुझ्न पनि सक्दैनस्। तैँले अन्धाधुन्ध रूपमा “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने यो आदर्श वाक्य अभ्यास गर्छस् र त्यहीअनुसार व्यवहार गर्छस्, र तैँले अन्त्यमा यसबाट प्राप्त गर्ने कुरा भनेको राम्रो प्रतिष्ठा हो। तैँले पाउन चाहेको कुरा पाएको हुन्छस्, तर त्यसो गर्ने क्रममा तैँले सत्यता उल्लङ्घन गरेको र त्यागेको हुन्छस्, र मुक्ति पाउने मौका गुमाएको हुन्छस्। यसको अन्तिम नतिजा यही हुने हुनाले, तैँले तेरो परिवारले तँलाई सिकाएको “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने विचार त्याग्नुपर्छ र छोड्नुपर्छ। यो तैँले पक्रिराख्नुपर्ने कुरा होइन, न त यो तैँले अभ्यास गर्न जीवनभर मेहनत र ऊर्जा लगाउनुपर्ने भनाइ वा विचार नै हो। तेरो मस्तिष्कमा हालिएको र तँलाई सिकाइएको यो विचार र दृष्टिकोण गलत छ, त्यसकारण तैँले यसलाई त्याग्नुपर्छ। यो सत्यता नभएकोले मात्रै होइन, बरु यसले तँलाई बहकाएर अन्त्यमा विनाशमा पुर्याउने र यसका परिणामहरू अत्यन्तै गम्भीर हुने भएकोले तैँले यसलाई त्याग्नुपर्छ। तेरो लागि, यो साधारण भनाइ मात्रै होइन, बरु एउटा क्यान्सर नै हो, अर्थात् मानिसहरूलाई भ्रष्ट तुल्याउने माध्यम र विधि हो। यस्तो किन हो भने, परमेश्वरका वचनहरूमा, मानिसहरूको लागि उहाँले दिनुभएका सबै मापदण्डहरूमा, परमेश्वरले मानिसहरूलाई कहिल्यै पनि राम्रो प्रतिष्ठाको पछि लाग्न, वा प्रतिष्ठा खोज्न, वा मानिसहरूको अनुमोदन प्राप्त गर्न वा मानिसहरूबाट स्याबासी पाउनका लागि मानिसहरूमाझ राम्रो छाप छोड्न लगाउनुभएको छैन, न त उहाँले कहिल्यै मानिसहरूलाई ख्याति पाउन वा राम्रो प्रतिष्ठा स्थापित गरिछोड्नको लागि बाँच्न नै लगाउनुभएको छ। मानिसहरूले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरून्, र उहाँमा र सत्यतामा समर्पित होऊन् भन्ने मात्रै परमेश्वर चाहनुहुन्छ। तसर्थ, जहाँसम्म तेरो कुरा छ, यो भनाइ तेरो परिवारले तँमाथि लादेको एक प्रकारको सिकाइ मात्र हो, र यसलाई तैँले त्याग्नुपर्छ।
“अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ” को चिरफार
परिवारले सिकाउने कुराले व्यक्तिलाई पार्ने अर्को पनि प्रभाव छ। उदाहरणका लागि, आमाबुबा वा अग्रजहरूले तँलाई प्रोत्साहन दिने प्रयास गर्दा, तिनीहरू प्रायः यसो भन्छन्, “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ।” यसो भन्नुपछाडिको तिनीहरूको उद्देश्य भनेको तँलाई कष्ट सहन, मेहनती र दृढ हुन सिकाउनु, र तैँले जे गरे पनि त्यसमा कष्ट भोग्न नडराउने बन्न सिकाउनु हो, किनभने कष्ट सहने, कठिनाइको प्रतिरोध गर्ने, लगनशीलता देखाउने, र डटिलड्ने जोस हुने मानिसहरू मात्र अब्बल हुन सक्छन्। “अब्बल हुनु” को अर्थ के हो? यसको अर्थ हेपाइमा नपर्नु, वा हेयको नजरले नहेरिनु, वा भेदभावमा नपर्नु हो; यसको अर्थ मानिसहरूमाझ उच्च प्रतिष्ठा र हैसियत प्राप्त गर्नु, बोल्ने र आफ्नो कुरा सुनाइपाउने अधिकार हुनु, र निर्णय लिने अधिकार हुनु हो; यसको अर्थ अरूहरूमाझ राम्रो र उच्च गुणस्तरको जीवन बिताउन सक्नु, र मानिसहरूलाई आफ्नो आदर, प्रशंसा र ईर्ष्या गर्ने बनाउनु हो। आधारभूत रूपमा, यसको अर्थ तँ सम्पूर्ण मानवजातिको माथिल्लो तहमा छस् भन्ने हुन्छ। “माथिल्लो तह” भनेको के हो? यसको मतलब तेरो खुट्टामुनि धेरै मानिस छन् र तैँले तिनीहरूबाट कुनै दुर्व्यवहार सहनु पर्दैन भन्ने हो—“अब्बल हुनु” भनेको यही हो। अब्बल हुनका लागि, तैँले “ठूलो कष्ट सहनुपर्छ,” जसको अर्थ तैँले साधारण मानिसहरूले सहन नसक्ने कष्ट सहन सक्नुपर्छ। अब्बल हुनुअघि, तैँले मानिसहरूको गिल्ला, व्यङ्ग्य, अपमान, र यहाँसम्म कि तिनीहरूको खिसीटिउरी, आदि समेत सहन सक्नुपर्छ। अर्थात्, शारीरिक कष्टको साथसाथै, तैँले जनमतबाट आउने व्यङ्ग्य र उपहासलाई पनि स्वीकार गर्न सक्नुपर्छ। यस्तो प्रकारको व्यक्ति बन्न सिकेर मात्रै तँ मानिसहरूमाझ सफल हुन र आफ्नो लागि स्थान सुरक्षित गर्न सक्छस्। यस भनाइको उद्देश्य मानिसहरूलाई फेदमा पुग्नुको सट्टा अब्बल बन्न प्रयास गराउनु हो, किनभने फेदमा पुग्नु अत्यन्तै दुःखद कुरा हो—तँलाई दुर्व्यवहार गरिन्छ, तँ शक्तिहीन हुन्छस्, र तेरो इज्जत र गौरव हुँदैन। “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ” भन्ने भनाइ आमाबुबाले बालबालिकालाई शिक्षा दिँदा सबैभन्दा बढी भन्ने भनाइ हो। तिनीहरूको उद्देश्य पनि, त्यसरी नै, तेरो लागि सबैभन्दा राम्रो कुरा गर्नु हो—यसको उद्देश्य अरूमाझ तेरो शक्ति र ख्याति भएको, तैँले मीठो खान र रमाइलो गर्न पाएको, र तँ जहाँ गए पनि, तँलाई कसैले पनि हेप्ने आँट नगर्ने, र त्यसको सट्टा तैँले निरङ्कुश रूपमा काम गर्न र हैकम चलाउन सक्ने, र सबै जना तेरो अगाडि झुक्ने र तेरो चाकरी गर्ने वातावरण बनाउनु हो। तेरा आमाबुबा तँ अब्बल भएको चाहन्छन्; एकातिर, यो तेरै खातिर हो, र अर्कोतिर, यो परिवारको नामलाई गौरव दिलाउन र तेरा पुर्खाहरूलाई सम्मान गर्नका लागि हो, ताकि तेरा आमाबुबा र परिवारका अन्य सदस्यहरू तेरो महिमामा रमाउन सकून्। जब तँ अब्बल हुन्छस्, विलासी गाडीहरू चलाउँछस्, महलमा बस्छस्, र मानिसहरू तेरो वरिपरि झुम्मिन्छन् र तँलाई चापलुसी गर्छन्, तब तेरो परिवारले पनि तँसँगै राम्रो जीवनको आनन्द लिनेछ, तिनीहरूले चाहेको बेला सबै प्रकारका विदेशी स्वादिष्ट परिकारहरू खानेछन्, र तिनीहरू आफूलाई मन लागेको ठाउँ जहाँ पनि जानेछन्। तँ स्वेच्छाचारी, घमण्डी, निडर, र लापरवाह भएर सबै कुरालाई आफ्नो इशारामा नचाउन, हरेक चाहना पूरा गर्न, आफूले चाहेको जे पनि गर्न, र कानुनभन्दा माथि उठेर समेत जिउन सक्नेछस्। तँलाई यसरी सिकाउनुमा तेरो परिवारको उद्देश्य यो हो: तँलाई अन्यायमा पर्न नदिनु र तँलाई अब्बल बनाउनु। सिधै भन्नुपर्दा, तिनीहरूको उद्देश्य तँलाई अरूद्वारा शासित हुने र हेपिने व्यक्ति होइन, बरु अरूमाथि हुकुम चलाउन, अरूलाई आदेश दिन, र अरूलाई हेप्न सक्ने व्यक्ति बनाउनु हो। के यो कुरा यस्तै होइन र? (हो।) के तेरो परिवारले तँमाथि पार्ने यस्तो सिकाइने कुराका प्रभावले तँलाई फाइदा गर्छ? (गर्दैन।) यसले तँलाई फाइदा गर्दैन भनेर तँ किन भन्छस्? यदि हरेक परिवारले अर्को पुस्तालाई यसरी नै शिक्षा दियो भने, के यसले सामाजिक द्वन्द्व बढाउने र समाजलाई अझै बढी प्रतिस्पर्धी र पक्षपाती बनाउनेछैन र? यस्तोमा त सबैजना शीर्ष स्थानमा पुग्न चाहन्छन्, कोही पनि तल्लो स्तरमा रहन, वा साधारण व्यक्ति बन्न चाहँदैनन्—तिनीहरू सबै अरूमाथि शासन गर्ने र अरूलाई हेप्न सक्ने व्यक्ति बन्न चाहन्छन्। के त्यस्तो भयो भने समाज अझै पनि राम्रै रहिरहन सक्छ भन्ने तँलाई लाग्छ? यस्तो हुन्थ्यो भने, समाज अवश्यै सकारात्मक दिशाउन्मुख हुनेथिएन, र यसले सामाजिक द्वन्द्वहरू तीव्र पार्ने, मानिसहरूबीच प्रतिस्पर्धा बढाउने, र मानिसहरूबीचको विवाद अझै भड्काउने मात्रै थियो। उदाहरणको लागि स्कुललाई लिऊँ। विद्यार्थीहरू अरू कसैले नदेख्ने गरी मेहनतसाथ अध्ययन गरेर एकअर्कालाई जित्न खोज्छन्, तर जब तिनीहरूले एकअर्कालाई भेट्छन् तिनीहरू भन्छन्, “अहो, मैले फेरि बिदामा अध्ययन गरिनँ। मैले त एउटा गज्जबको ठाउँमा गएर दिनभरि रमाइलो गरेँ। तिमी कहाँ गयौ?” अनि अर्कोले भन्छ: “यो बिदामा त म सुतेको सुतेकै गरेँ र पढिनँ।” तिनीहरू दुवैलाई अर्कोले बिदाभरि मरेतुल्य हुने गरी पढेको छ भन्ने थाहा हुन्छ, तर दुवैले कसैले नदेखी अध्ययन गरेको वा धेरै मेहनत गरेको कुरा स्विकार्दैनन्, किनभने सबैजना शीर्ष स्थानमा पुग्न चाहन्छन् र अरू कसैले तिनीहरूलाई जितेको चाहँदैनन्। बरु तिनीहरूले अध्ययन गरिनँ भनेर भन्छन्, किनकि तिनीहरू अरूलाई यो कुरा थाहा होस् भन्ने चाहँदैनन्। यसरी झूट बोल्नुको के फाइदा छ र? तैँले आफ्नै लागि पढिरहेको हुन्छस्, अरूको लागि होइन। यदि तैँले यति सानो उमेरमै झूट बोल्न सक्छस् भने, के तँ समाजमा प्रवेश गरेपछि सही बाटोमा हिँड्न सक्छस् र? (सक्दिनँ।) समाजमा प्रवेश गरेपछि व्यक्तिगत स्वार्थ, पैसा र हैसियतका कुराहरू आउँछन्, त्यसैले प्रतिस्पर्धा झन्झन् तीव्र बन्दै जान्छ। आफ्नो लक्ष्य प्राप्त गर्नको लागि मानिसहरूले केही कसर बाँकी राख्दैनन् र आफ्नो पहुँचका हर स्रोतसाधन प्रयोग गर्छन्। तिनीहरू आफ्नो लक्ष्य प्राप्त गर्न जे पनि गर्न इच्छुक हुन्छन् र गर्न सक्छन्, चाहे त्यसको लागि जस्तोसुकै मूल्य चुकाउनु नै किन नपरोस्, चाहे त्यहाँ पुग्न अपमान नै सहनु किन नपरोस्। यदि अवस्था यसरी नै अघि बढिरह्यो भने, समाज कसरी राम्रो हुन सक्छ? यदि सबैले यसो गरे भने, मानवजाति कसरी राम्रो हुन सक्छ? (यो राम्रो हुन सक्दैन।) यी हरप्रकारका अनुचित सामाजिक प्रचलन र दुष्ट प्रवृत्तिको जड भनेको परिवारद्वारा मानिसहरूको सिकाइ नै हो। त्यसोभए, यस सम्बन्धमा परमेश्वर के माग गर्नुहुन्छ? के परमेश्वर मानिसहरू अब्बल होऊन्, अनि मध्यम, साधारण, मामुली, वा सामान्य नहोऊन्, बरु महान्, प्रसिद्ध, र उच्च होऊन् भन्ने माग गर्नुहुन्छ? के परमेश्वर मानिसहरूबाट यही माग गर्नुहुन्छ? (गर्नुहुन्न।) तेरो परिवारद्वारा तँलाई सिकाइएको “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ” भन्ने भनाइले तँलाई सकारात्मक दिशामा डोर्याउँदैन, र सत्यतासँग पनि यसको अवश्यै कुनै सम्बन्ध छैन भन्ने कुरा निकै प्रस्ट छ। तँलाई कष्ट सहन सिकाउनुमा तेरो परिवारका उद्देश्यहरू अशुद्ध छन्; यी उद्देश्यहरूमा सधैँ केही षड्यन्त्र हुन्छ, र ती अत्यन्तै घृणास्पद र बेइज्जतीपूर्ण हुन्छन्। मानिसहरूमा भ्रष्ट स्वभावहरू हुने हुनाले परमेश्वर तिनीहरूलाई कष्ट भोग्न भन्नुहुन्छ। तिनीहरूका भ्रष्ट स्वभावहरू शुद्ध पारिनका लागि, तिनीहरूले न्याय र सजाय, काटछाँट, साथै परीक्षा र शोधन स्वीकार गर्नैपर्छ; तिनीहरूले यो कष्ट भोग्नैपर्छ। यो एउटा वस्तुगत तथ्य हो। यसबाहेक, परमेश्वर मानिसहरूलाई कष्ट भोग्न माग गर्नुहुन्छ, त्यसैले तिनीहरूले त्यसो गर्नुपर्छ। सृजित प्राणीका रूपमा तिनीहरूले गर्नुपर्ने कुरा यही हो; सामान्य मानिसका रूपमा तिनीहरूले वहन गर्नुपर्ने कुरा र तिनीहरूमा हुनुपर्ने मनोवृत्ति यही हो। तर, परमेश्वर तँलाई अब्बल हुन माग गर्नुहुन्न। उहाँ तँलाई सत्यता बुझ्ने, परमेश्वरका वचनहरू सुन्ने, र उहाँमा समर्पित हुन सक्ने एक साधारण, सामान्य व्यक्ति हुन मात्र माग गर्नुहुन्छ—त्यो नै पर्याप्त छ। तैँले परमेश्वरलाई चकित पार् वा पृथ्वी हल्लाउने कुरा गर् भनेर परमेश्वरले कहिले पनि तँलाई भन्नुहुन्न, न त तँ सेलिब्रेटी वा महान् व्यक्ति बन्नुपर्छ भनेर नै उहाँ भन्नुहुन्छ। उहाँ त बस तँ एक साधारण, सामान्य र व्यावहारिक व्यक्ति भएको चाहनुहुन्छ। तैँले जति नै कष्ट सहन सके पनि, वा तैँले कष्ट सहन सके पनि नसके पनि, यदि अन्त्यमा तँ परमेश्वरको डर मान्न र दुष्टताबाट अलग रहन सकिस् भने, तँ बन्न सक्ने उत्कृष्ट प्रकारको व्यक्ति यही नै हो। परमेश्वरले तँ अब्बल बनेको चाहनुहुन्न, बरु साँचो सृजित प्राणी बनेको र सृजित प्राणीको कर्तव्य निर्वाह गर्न सक्ने व्यक्ति बनेको चाहनुहुन्छ। यस्तो व्यक्ति मामुली र साधारण हुन्छ, ऊ गैरविश्वासी वा भ्रष्ट मानिसहरूको नजरमा उच्च वा महान् बनेको व्यक्ति होइन, सामान्य मानवता, विवेक, र समझ भएको व्यक्ति हुन्छ। हामीले यस पक्षबारे पहिले नै धेरै सङ्गति गरिसकेका छौँ, त्यसैले अब हामी यसबारे विस्तृत छलफल गर्नेछैनौँ। “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ” भन्ने यो भनाइ तैँले त्याग्नुपर्ने कुरा हो भन्ने कुरा स्पष्ट छ। अनि, तैँले त्याग्नुपर्ने कुरा ठ्याक्कै के हो त? त्यो कुरा तेरो परिवारले तैँले पछ्याउनैपर्छ भनी तँलाई सिकाउँदै औँल्याइदिएको दिशा हो। अर्थात्, तैँले आफ्नो पछ्याउने दिशा परिवर्तन गर्नुपर्छ। अब्बल हुनका खातिर, वा भीडभन्दा माथि उठ्न र उल्लेखनीय व्यक्ति बन्न, र यसरी अरूबाट उच्च सम्मान पाउनका खातिर चाहिँ केही पनि नगर्। बरु, तैँले यी अभिप्रायहरू, उद्देश्यहरू, र मनसायहरू त्यागेर र साँचो सृजित प्राणी बन्नको लागि वास्तविकताको धरातलमा रही सबै कुरा गर्नुपर्छ। “वास्तविकताको धरातलमा रही” भनेर मैले भन्नुको अर्थ के हो? सबैभन्दा आधारभूत सिद्धान्त भनेको परमेश्वरले मानिसहरूलाई सिकाउनुभएका तौरतरिका र सिद्धान्तहरूअनुसार सबै कुरा गर्नु हो। तैँले गर्ने कुराले सबैलाई चकित नपार्ने वा तिनीहरूले त्यसलाई राम्रो नमान्ने, तिनीहरूले त्यसको प्रशंसा र कदर त झनै नगर्ने भए पनि, तर यो तैँले गर्नुपर्ने कुरा हो, र तँ यसमा निरन्तर लागिरहन्छस् र यो गरिरहन्छस्, र यसलाई सृजित प्राणीले निर्वाह गर्नुपर्ने कर्तव्यका रूपमा लिन्छस् भने, तँ परमेश्वरका नजरमा मानकअनुरूपको सृजित प्राणी हुनेछस्—कुरा यति सरल छ। तैँले परिवर्तन गर्नुपर्ने कुरा भनेको तेरो आत्म-आचरणसम्बन्धी पछ्याइ र जीवनप्रतिको तेरो दृष्टिकोण हो।
“सद्भाव खजाना हो; धैर्यता सान हो” को चिरफार
परिवारले तँलाई सिकाउने र प्रभावित गर्ने अन्य केही तरिका छन्, जस्तै “सद्भाव खजाना हो; धैर्यता सान हो” भन्ने भनाइ। तेरा परिवारका सदस्यहरू तँलाई अक्सर यस्तो निर्देशन दिन्छन्: “अरूप्रति दयालु हुनु, कसैसँग झगडा नगर्नू, र शत्रुहरू नबनाउनू। यदि तैँले धेरै शत्रु बनाइस् भने, तँ समाजमा आधार जमाउन सक्नेछैनस्, र यदि तँलाई घृणा गर्ने र हानि गर्न खोज्ने मानिसहरू धेरै छन् भने, तँ सुरक्षित हुनेछैनस्—तेरो परिवार र प्रियजनहरूले कुनै पनि बेला खतरा सामना गर्न सक्छन्, र तैँले आफ्नो करियर र काममा समेत कठिनाइ र बाधाहरू सामना गर्न सक्छस्। त्यसकारण तैँले ‘सद्भाव खजाना हो; धैर्यता सान हो’ भनेर जान्नुपर्छ। सबैसँग मिलेर बस्, राम्रो सम्बन्धलाई नबिगार्, बोल्दा सधैँ अरू मानिसलाई पनि ठाउँ छोडिदे, मानिसहरूको अहम्मा चोट पुग्न नदे, र तिनीहरूका कमजोरीहरू खुलासा नगर्। मानिसहरूले सुन्न नचाहने कुराहरू नभन् वा भन्न छोड्। मानिसहरूलाई तारिफ मात्रै गर्—अति धेरै तारिफ गरेर अहिलेसम्म कोही पनि समस्यामा परेको छैन। तैँले ठूला र साना दुवै मामिलाहरूमा सहनशीलता देखाउन र सम्झौता गर्न सिक्नुपर्छ, किनभने ‘सम्झौता गरे द्वन्द्व समाधान गर्न सजिलो हुन्छ।’” हेर् त, कहिलेकाहीँ तेरो परिवारले तँमा यी दुई विचार र दृष्टिकोणहरू भरिदिन्छ: एक त, तँ अरूप्रति दयालु हुनुपर्छ; यसका साथै, तँ सहनशील हुनुपर्छ, जथाभाबी बोल्नु हुँदैन, र यदि तँसँग भन्नुपर्ने केही छ भने, घर पुगेर आफ्नो परिवारलाई नभनेसम्म तैँले आफ्नो मुख बन्द गर्नुपर्छ। अथवा त्योभन्दा राम्रो त, आफ्नो परिवारलाई पनि नभन्, किनभने गोप्य कुराहरू कुनै न कुनै तरिकाले बाहिर फुस्किहाल्छन्—तैँले भनेको कुरा बाहिरिएपछि, तँलाई राम्रो हुनेछैन। मानिसहरू यस समाजमा आधार जमाउन र बाँच्नका लागि सहनशील हुन र मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्न सिक्नैपर्छ। तँ आफ्नो बोली-व्यवहारमा चिप्लो र धूर्त हुनुपर्छ। तेरो मनमा जे छ त्यही भन्न मिल्दैन। यदि तँ अघि बढेर आफ्नो मनमा भएको कुरा भन्छस् भने, त्यो त सरासर मूर्खता हो! कतिपय मानिस जथाभाबी बोल्ने खालका हुन्छन् र आफ्नो मनमा जे आउँछ त्यही भन्छन्। यस्तो व्यक्तिले आखिरमा आफ्नो मालिकलाई चिढ्याउन सक्छ। त्यसपछि मालिकले उसलाई अप्ठ्यारोमा पारिदिन्छ, उसको बोनस रद्द गरिदिन्छ र सधैँ उसमा गल्ती खोज्छ र उसलाई सास्ती दिन्छ। अन्त्यमा, त्यसउप्रान्त ऊ त्यहाँ बस्नै सक्दैन—ऊ काम छोड्न चाहन्छ तर जीविकोपार्जनको अरू कुनै उपाय नहुने हो कि भनी चिन्ता गर्छ, त्यसैले ऊ सहन मात्रै सक्छ। त्यसपछि उसका परिवारका सदस्यहरूले उसलाई हप्काउँछन्: “तँ दुर्व्यवहारको लायक छस्! मानिसहरूलाई अविलम्ब चिढ्याउने गरेकोले तँ यसकै लायक छस्—अन्तिम नतिजा यही हो! हामीले तँलाई आफ्नो बोलीमा अझै चिल्लो हुन र केही भन्नुअघि सोच्न भनेका थियौँ, तर तँलाई त ठाडै बोल्नुपर्छ। यस्तो दुष्ट र अन्धकार समाजमा गुजारा गर्न त्यति सजिलो छ र? तँ जहाँ काम गर्ने भए पनि, तैँले मानिसहरूलाई कहिल्यै चिढ्याउनु हुँदैन। तँ सधैँ आफूलाई असल व्यक्ति ठान्छस् र आफ्ना कुनै शत्रु छैनन् भन्ठान्छस्। ल, अब तैँले दुःखद परिणामहरूका रूपमा फल प्राप्त गरेको छस्। यो तेरो लागि एउटा पाठ होओस्! अबदेखि यो भनाइ याद राख्: ‘सद्भाव खजाना हो; धैर्यता सान हो’!” उसलाई यो पाठ सिकाइएपछि, ऊ यो याद गर्छ, र यस्तो सोच्छ, “मेरा आमाबुबाका वचनहरू कति साँचो रहेछन्। यी सबै हाम्रा पूर्वजहरूले निकालेका अनुभव र पाठहरू हुन्। तिनलाई बेवास्ता गर्नु हुँदैन। ठूला मान्छेले भनेको नमान्दा दुःख पाइन्छ, त्यसैले म अबदेखि यो याद राख्नेछु।” ऊ परमेश्वरमा विश्वास गर्न र परमेश्वरको घरमा सामेल हुन थालेपछि पनि “सद्भाव खजाना हो; धैर्यता सान हो” भन्ने भनाइ याद राख्छ, त्यसैले ऊ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई देख्नेबित्तिकै अभिवादन गर्छ, र तिनीहरूसँग मीठा वचनहरू मात्रै बोल्छ। मण्डलीको काम गरेको त्यति धेरै समय नभएको र कामको अनुभव नभएको कुनै अगुवाले सबैलाई धेरै सुझाव र मद्दत दिन आग्रह गर्दा, ऊ तुरुन्तै तारिफका शब्द बोल्छ: “तिमी धेरै राम्रो काम गरिरहेका छौ। यदि तिमी हामीलाई अगुवाइ नगरिरहेका भए, हामीलाई पछ्याउने कुनै मार्ग नै छैन जस्तो लाग्नेथ्यो।” अर्को अवसरमा, कसैले आफ्नो छली स्वभाव चिन्दा ऊ भन्छ, “तिमी छली छैनौ, तिमी साँच्चै इमानदार छौ, छली त म पो हुँ त।” अरू कसैले उसलाई अप्रिय टिप्पणी गर्दा, ऊ मनमनै सोच्छ, “तेरा टिप्पणीहरू जतिसुकै अप्रिय भए पनि, म सहनशील हुनेछु र ती नसुनेझैँ गर्नेछु। म तेरो तारिफ समेत गर्नेछु र तँलाई खुसामद गर्ने प्रयास गर्नेछु; अति धेरै तारिफ गरेर अहिलेसम्म कोही पनि समस्यामा परेको छैन!” अरूले उसलाई कुनै राय व्यक्त गर्न वा सङ्गतिमा खुल्न आग्रह गर्दा, ऊ साँचो बोल्दैन, र सबैसँग मुस्कुराइरहन्छ। मानिसहरूले उसलाई दुई मुखे मोहक भन्छन्, र ऊ मनमनै सोच्छ: “म वर्षौंदेखि यस्तै छु, र यति लामो समयमा मैले कहिल्यै हानि भोगेको छैन; संसारसँग व्यवहार गर्ने मेरो सर्वोच्च सिद्धान्त यही हो।” के ऊ चिप्ले माछा होइन र? (हो।) कतिपय मानिसले समाजमा धेरै वर्षदेखि यसरी नै चलाखी गर्दै आएका छन्, र तिनीहरू परमेश्वरको घरमा आएपछि पनि त्यसो गर्न जारी राख्छन्। तिनीहरू कहिल्यै एउटा पनि साँचो वचन बोल्दैनन्, तिनीहरू कहिल्यै हृदयदेखि बोल्दैनन्, र आफूलाई चिन्नेबारे कुरा गर्दैनन्। जुनसुकै दाजुभाइ वा दिदीबहिनीले ऊसँग हृदयदेखि कुरा गरे पनि, ऊ साँचो बोल्दैन, र ऊ वास्तवमा को हो भन्ने कुरा कसैले पनि बुझ्न सक्दैन। ऊ आफूले सोच्ने कुरा वा आफ्ना दृष्टिकोणहरू कहिल्यै प्रकट गर्दैन। ऊ सबैसँग अत्यन्तै राम्रो सम्बन्ध कायम राख्छ, त्यसैले तँ उसलाई वास्तवमा कस्ता मानिसहरू मन पर्छन् वा ऊ अरूका बारेमा वास्तवमा के सोच्छ भन्ने कुरा कहिल्यै थाहा पाउँदैनस्। तैँले उसलाई जसको बारेमा सोधे पनि, उसले त्यो व्यक्ति खराब छैन वा निकै राम्रो छ भनेर भन्नेछ। यदि कसैले उसलाई त्यस व्यक्तिमा कुनै कमीकमजोरी वा त्रुटिहरू देखेका छौ कि भनेर सोध्यो भने, ऊ देखेको छैन भनेर भन्नेछ, तर भित्रभित्रै ऊ यस्तो सोच्छ: “त्यो त मलाई त्यस व्यक्तिलाई चिढ्याउन लगाउन खोजेको होइन र? म त्यो पक्कै पनि गर्नेछैनँ! यदि मैले तँलाई साँचो कुरा भनेँ र त्यो कुरा ऊसम्म पुग्यो भने, के ऊ मेरो शत्रु बन्नेछैन र? मेरो परिवारले मलाई धेरै अघिदेखि शत्रुहरू नबनाउनू भनेर भनेको छ, र मैले तिनीहरूका वचनहरू बिर्सेको छैन। के तँ मलाई मूर्ख ठान्छस्? के तँलाई आफूले सत्यताका केही वचन सङ्गति गरेकै कारण म मेरो परिवारबाट प्राप्त गरेको शिक्षा र सिकाइहरू बिर्सन्छु जस्तो लाग्छ? त्यस्तो हुनेछैन! मैले हर समय ‘सद्भाव खजाना हो; धैर्यता सान हो’ र ‘सम्झौता गरे द्वन्द्व समाधान गर्न सजिलो हुन्छ’ भन्ने भनाइ पालन गर्नैपर्छ। यी भनाइहरू मेरा ढाल हुन्। म कसैको कमजोरी उल्लेख गर्दिनँ, र यदि कसैले मलाई उक्साउँछ भने, म उसलाई सहनशीलता देखाउँछु। जसले अप्रिय टिप्पणी गर्छ, जसले मलाई काटछाँट गर्छ, म उसलाई सहनशीलता देखाउँछु। मेरो उद्देश्य सबैसँग शान्ति कायम राख्नु हो। मैले मानिसहरूसँग राम्रो सम्बन्ध कायम राख्नुपर्छ। मैले सिद्धान्तहरू पालन गर्न मिल्दैन, म त्यति मूर्ख हुनु हुँदैन। मैले परिस्थितिसँग अनुकूल हुन सिक्नुपर्छ। कछुवाहरू किन यति लामो समयसम्म बाँच्छन्? किनभने तिनीहरू खतरा महसुस गर्नेबित्तिकै आफ्नो खपटाभित्र लुक्छन्, होइन र? त्यसरी तिनीहरू आफूलाई जोगाउन र हजारौँ वर्षसम्म बाँच्न सक्छन्। लामो जीवन जिउने तरिका यही हो, र संसारसँग व्यवहार गर्ने तरिका पनि यही हो।” तैँले यस्तो मानिसले कुनै पनि साँचो वा वास्तविक कुरा बोलेको सुन्नेछैनस्; उसका साँचो दृष्टिकोणहरू र उसको आत्मआचरणको सीमा कहिल्यै प्रकट हुँदैनन्। ऊ ती कुराहरूलाई आफ्नो हृदयमा लुकाउँछ, जहाँ ती कुराहरू उसलाई मात्रै थाहा हुन्छ। यस्तो व्यक्ति बाहिरी रूपमा सबैसँग मिलनसार हुन्छ, दयालु हृदय भएजस्तो देखिन्छ, र कहिल्यै कसैलाई चोट पुर्याउँदैन वा हानि गर्दैन। तर वास्तवमा, ऊ सच्चा मान्छे खुसी पारिहिँड्ने व्यक्ति र चिप्ले माछा हो। यस्तो व्यक्तिलाई मण्डलीमा कतिपय मानिसले सधैँ मन पराउँछन्, किनभने ऊ कहिल्यै ठूला गल्ती गर्दैन र कहिल्यै आफ्नो वास्तविक रूप देखाउँदैन। मण्डलीका अगुवाहरू र दाजुभाइ-दिदीबहिनीहरूको विचार के हो भने, ऊ सबैसँग राम्ररी मिल्छ। ऊ मनतातो हुन्छ र आफ्नो कर्तव्य निर्वाह गर्नमा गम्भीर हुँदैन। ऊ बाहिरी रूपमा अत्यन्तै आज्ञाकारी र विनम्र हुन्छ, र आफूलाई जे गर्न भनिन्छ त्यही मात्रै गर्छ। ऊ आफ्ना वचनहरूले वा मामिलाहरूलाई सम्हाल्दा कहिल्यै अरूलाई चोट पुर्याउँदैन, र ऊ कहिल्यै कसैको फाइदा उठाउँदैन। ऊ कहिल्यै अरूबारे नराम्रो कुरा गर्दैन, र ऊ कहिल्यै मानिसहरूको पिठ्युँपछाडि उनीहरूलाई गलत ठहराउँदैन। तर, ऊ अरूका बारेमा के सोच्छ वा उनीहरूबारे के विचार राख्छ भन्ने कुरा कसैले जान्दैन, र उसमा आफ्नो कर्तव्य निर्वाहमा कुनै इमानदारी देखिँदैन। नजिकबाट विचार गर्दा, तँलाई यस्तो व्यक्ति अलिक कुटिल र बुझ्न गाह्रो छ, र उसलाई मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न राख्नु समस्याग्रस्त हुनेछ भन्ने समेत महसुस हुन्छ। के यस्तो व्यक्तिसँग व्यवहार गर्न गाह्रो हुँदैन र? (हो।) बाहिरी रूपमा, उसले आफ्नो कर्तव्य पूरा गरिरहेजस्तो देखिन्छ, तर ऊ परमेश्वरको घरले भनेका सिद्धान्तहरूलाई कहिल्यै हृदयमा लिँदैन। ऊ आफूलाई मन लागेअनुसार कामकुरा गर्छ, र आफूले कुनै ठूला गल्ती नगरेसम्म झारा टारे मात्र हुन्छ र कुरो त्यतिमै सकिन्छ भन्ने सोच्छ। कसैले उसमा कुनै गल्ती भेट्टाउन वा कुनै कमजोरी औँल्याउन सक्दैन; ऊ त्रुटिहीन रूपमा काम गर्छ। तर ऊ भित्री रूपमा के सोचिरहेको हुन्छ? के ऊ आफ्नो कर्तव्य तत्परताले निर्वाह गरिरहेको हुन्छ? यदि मण्डलीका प्रशासनिक आदेशहरूको बन्धन वा मण्डलीका अगुवाहरू र दाजुभाइ-दिदीबहिनीहरूको सुपरिवेक्षण नभएको भए, के यस्तो व्यक्ति दुष्ट मानिसहरूसँग हातेमालो गर्नेथ्यो र तिनीहरूसँग मिलेर दुष्ट काम गर्नेथ्यो? यसको ठूलो सम्भावना छ; परिस्थितिहरूले अनुमति दिएमा, उसले त्यसो गर्नेछ। यस्तो व्यक्ति सबैभन्दा समस्याजनक, नमुना चिप्ले माछा र बूढो स्याल हो। ऊ कसैसँग पनि बाझ्दैन। यदि कसैले उसलाई चोटिलो कुरा भन्यो, वा भ्रष्ट स्वभाव प्रकट गर्यो र उसको इज्जतमा आँच पुर्यायो भने, ऊ के सोच्छ? “म सहनशीलता देखाउनेछु। म तँसँग बाझ्नेछैनँ, तर एक दिन आउनेछ जब तँ हाँसोको पात्र बन्नेछस्!” जब त्यस व्यक्तिले केही गलत गर्छ र हाँसोको पात्र बन्छ वा उसलाई काटछाँट गरिन्छ, तब ऊ गोप्य रूपमा त्यसमै रमाउँछ र उक्त व्यक्तिमाथि हाँस्छ। जब मण्डलीमा दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले बाधा पुर्याइरहेका हुन्छन्, तब ऊ उनीहरूलाई खुलासा गर्दैन, बरु अगुवा र कामदारहरू र मण्डलीको काममाथि हाँस्न पर्खन्छ। ऊ आफूमा के-कस्ता समस्याहरू छन् भनी चिन्तन गर्दै गर्दैन। ऊ अरूलाई चोट पुर्याउन सक्ने कुनै कुरा भन्दैन, र उसले कसैको दुष्कर्म वा खराब कार्यहरू छर्लङ्गै देख्न सके पनि, आफूले देख्न सक्छु भनी प्रकट गर्दैन। ऊ प्रायः झूटो आवरण, र सत्यता सिद्धान्तहरू समावेश नहुने काम गर्ने तरिकाहरू देखाउँछ। उसको हृदयको वास्तविकता कसैले पनि देख्न सक्दैन, र उसका साँचो विचार र दृष्टिकोणहरू कसैले पनि जान्दैन। यस्ता मानिसहरू सबैभन्दा कपटी र व्यवहार गर्न गाह्रो हुन्छन्। त्यसोभए यस्ता मानिसहरूप्रति परमेश्वरको घरले कस्तो मनोवृत्ति राख्छ? यदि तिनीहरूलाई सहायता गर्न सकिन्छ, र तिनीहरूका समस्याहरूलाई सत्यताबारे सङ्गति गरेर समाधान गर्न सकिन्छ भने, त्यो अवश्य पनि अझ राम्रो हो। यदि तिनीहरू सत्यता स्वीकार गर्दैनन् भने, अवरोध वा बाधाहरू खडा नगरेसम्म तिनीहरूलाई सेवा प्रदान गर्न अनुमति दिन सकिन्छ। यदि तिनीहरूले केही समय सेवा प्रदान गरेपछि दुष्टता समेत गर्न सक्छन्, र तिनीहरूको सेवाले फाइदाभन्दा बढी हानि गर्छ भने, तिनीहरूलाई दुष्ट मानिसका रूपमा निकालिनुपर्छ। सिद्धान्त यही हो। तिनीहरूलाई किन यसरी सम्हालिन्छ? किनभने यस्ता मानिसहरू सत्यता अलिकति पनि स्वीकार गर्दैनन्—तिनीहरू अविश्वासी हुन्—तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नमा समेत अर्पित हुँदैनन्, र मण्डलीमा दुष्ट मानिस र ख्रीष्टविरोधीहरूले बाधाहरू खडा गरिरहेको बेला तिनीहरू दर्शक बनेर अगुवाहरू र कामदारहरूमाथि हाँस्न समेत सक्छन्। अनि, तिनीहरूले के भूमिका निर्वाह गर्छन्? के यो शैतान र दियाबलसहरूको भूमिका हो? (हो।) जब तिनीहरू आफ्ना दाजुभाइ-दिदीबहिनीहरूप्रति धैर्यता देखाउँछन्, यसमा न त साँचो सहनशीलता हुन्छ न त साँचो प्रेम नै हुन्छ। तिनीहरू आफ्नै रक्षा गर्नका लागि र कुनै शत्रु नबनाउन वा आफ्नो बाटोमा खतरा ननिम्त्याउन यसो गर्छन्। तिनीहरू आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्नको लागि उनीहरूप्रति सहनशील भएका हुँदैनन्, न त तिनीहरूले प्रेमको कारणले नै यसो गरेका हुन्छन्, तिनीहरूले सत्यता पछ्याउन र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नको लागि यसो गर्नु त झनै परको कुरा हो। तिनीहरूको मनोवृत्ति भनेको पूर्ण रूपमा भौँतारिएर हिँड्ने र अरूलाई बहकाउने कार्यमा केन्द्रित रहने मनोवृत्ति हो। त्यस्ता मानिसहरू अरूलाई खुसी पार्न खोज्ने मानिस र चिप्ले माछा हुन्। तिनीहरूलाई सत्यता मन पर्दैन र तिनीहरू सत्यता पछ्याउँदैनन्, बरु बहावसँगै बग्ने गर्छन्। तिनीहरूले आफ्नो परिवारबाट लिने सिकाइले आफूलाई आचरणमा ढाल्ने र कामकुराहरूलाई सम्हाल्ने तिनीहरूका तरिकाहरूमा ठूलो प्रभाव पार्छ भन्ने कुरा प्रस्ट छ। अनि संसारलाई सम्हाल्ने तिनीहरूका यी तरिका र सिद्धान्तहरू तिनीहरूको मानवता सारबाट अविभाज्य हुन्छन् भनेर अवश्यै भन्नैपर्छ। यसबाहेक, तिनीहरूको परिवारले तिनीहरूलाई सिकाउने कुराका प्रभावले तिनीहरूका कार्यहरूलाई अझै स्पष्ट र ठोस बनाउने काम मात्र गर्छ, र यसरी तिनीहरूको प्रकृति सार अझ पूर्ण रूपमा प्रकट हुन्छ। त्यसकारण, यस्ता मानिसहरूका हकमा, यदि तिनीहरू पूर्ण रूपमा विश्वासघाती र दुष्ट छैनन्, तर तिनीहरूमा केही सानातिना अपराध र समस्या मात्रै छन् भने, तिनीहरूलाई अझै पनि प्रेमले सहायता गरिनुपर्छ। अवश्य पनि, यदि तैँले सत्यता स्वीकार गर्न सकिस् भने त्यो अझ राम्रो हुनेछ। यदि तँ कहिल्यै सत्यता स्वीकार गर्दैनस् भने, तँ कम्तीमा पनि दुष्टता गर्न र बाधाहरू खडा गर्नबाट जोगिन सक्नुपर्छ, र तैँले परमेश्वरको घरको हितको रक्षा गर्न पनि सक्नुपर्छ। यदि तैँले यसरी सेवा प्रदान गरिस् भने, भविष्यमा परमेश्वरले मानिसहरूको परिणाम निर्धारण गर्नुहुँदा, तैँले प्राप्त गर्ने दण्ड कम गरिनेछ। यो पहिले नै परमेश्वरको अनुग्रह हो। यसरी अभ्यास गरेर, तँसँग गुमाउनुपर्ने केही हुँदैन र पाउनुपर्ने सबै कुरा हुन्छ, होइन र? यदि त्यस्ता मानिसहरूलाई तिनीहरूका परिवारद्वारा सिकाइएका शैतानका दर्शनहरू पूर्ण रूपमा त्याग्न भनियो भने, यो सजिलो हुनेछैन, किनभने यसमा तिनीहरूको मानवता सार जोडिएको हुन्छ। यी चिप्ले माछाहरू र अरूलाई खुसी पार्न खोज्ने मानिसहरू सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्। तिनीहरूका लागि ती कुराहरू त्याग्न त्यति सरल वा सजिलो छैन, किनभने—तिनीहरूका परिवारले सिकाएका कुराहरूलाई एकातिर पन्छाउने हो भने पनि—तिनीहरू आफै शैतानका दर्शनहरूका आसक्त विश्वासी हुन्, र तिनीहरूले संसारसँग व्यवहार गर्ने यो मनोवृत्ति मन पराउने मात्र हो। यो संसारसँग व्यवहार गर्नेप्रति तिनीहरूको आफ्नै व्यक्तिपरक मनोवृत्ति हो। तर यदि तिनीहरू चलाख छन्, र आफ्नै हितहरू कुनै पनि हिसाबले खतरामा नपरेका वा सम्झौता नगरिएका अवस्थामा तिनीहरू यीमध्ये केही तरिकाहरू त्याग्छन् र परमेश्वरको घरका हितहरूको उचित रक्षा गर्छन् भने, त्यो वास्तवमा तिनीहरूका लागि राम्रो कुरा हुनेछ, किनभने कम्तीमा पनि यसले तिनीहरूको दायित्व कम गर्न र तिनीहरूप्रति परमेश्वरको ताडनालाई हल्का पार्न सक्छ, र परमेश्वरको ताडनालाई उहाँको इनाम र स्मरणमा बदल्न सक्छ। त्यो कति राम्रो हुनेथ्यो! के त्यो राम्रो कुरा हुन्थेन र? (हुन्थ्यो।) यस पक्षको हाम्रो सङ्गति यतिमै समाप्त हुन्छ।
“जो धेरै बोल्छ उसले धेरै गल्ती गर्छ” को चिरफार
परिवारले अरू कस्ता प्रकारका कुराहरू सिकाउँछ? के “धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ” भन्ने वाक्यांश यसमा पर्छ? (पर्छ।) उदाहरणका लागि, तेरा आमाबुबाले तँलाई प्रायः यसो भनिरहन्छन्: “परिस्थिति जेसुकै भए पनि, हतारमा नबोल्, नत्र ढिलोचाँडो तैँले घाटा भोग्नेछस्! तैँले याद गर्नैपर्छ, ‘धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ।’ यदि तैँले धेरै बोलिस् भने, तँ पक्कै पनि कतै न कतै चुक्नेछस्। बोल्नुअघि, पहिले अरू सबैले के भन्छन् भनेर हेर्। यदि तँ बहुमतको पछि लागिस् भने, तँलाई ठीक हुनेछ। तर यदि तँ सधैँ पृथक देखिने प्रयास गर्छस्, र तेरो साहेब, हाकिम, वा तेरो वरपरका मानिसहरूले के सोचिरहेका छन् भनेर नजानी तँ सधैँ हतारमा बोल्छस् र आफ्नो दृष्टिकोण व्यक्त गर्छस्, अनि तेरो साहेब वा हाकिमले त्यस्तै सोचेको रहेनछ भने, तिनीहरूले तँलाई समस्यामा पार्नेछन्। के त्यसबाट कुनै फाइदाको कुरा आउन सक्छ र? अबुझ, तैँले भविष्यमा होसियार हुनुपर्छ। धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ। यो कुरा याद गर्, र हतारमा नबोल्! मुख त खान र सास फेर्नको लागि, आफूभन्दा ठूलोसँग मीठो बोल्नको लागि, र अरूलाई खुसी पार्ने प्रयास गर्नको लागि हो, साँचो बोल्नको लागि होइन। तैँले आफ्ना शब्दहरू बुद्धिमानी ढङ्गले छान्नुपर्छ, तैँले चलाकी र तौरतरिकाहरू प्रयोग गर्नुपर्छ, र तैँले आफ्नो दिमाग लाउनुपर्छ। तेरो मुखबाट शब्दहरू फुत्कनुपहिले, तिनलाई घाँटीमै रोक् र तीबारे मस्तिष्कभित्र बारम्बार विचार गर्, र ती बोल्ने ठीक समय नआएसम्म पर्खेर बस्। तैँले वास्तवमा जे भन्छस्, त्यो पनि परिस्थितिमा निर्भर हुनुपर्छ। यदि तैँले आफ्नो विचार व्यक्त गर्न थालिस्, तर मानिसहरूले यसलाई राम्रोसँग नलिएको, वा तिनीहरूको प्रतिक्रिया राम्रो नभएको देखिस् भने, आफ्नो कुरा तुरुन्तै रोकिहाल् र सबैलाई खुसी पार्ने तरिकाले कसरी भन्न सकिन्छ भनी सोचेर मात्रै आफ्नो कुरालाई निरन्तरता दे। बाठो बच्चाले गर्ने नै त्यही हो। यदि तैँले त्यसो गरिस् भने, तँ समस्यामा पर्नेछैनस् र सबैले तँलाई मन पराउनेछन्। अनि, सबैले तँलाई मन पराए भने, के त्यसले तेरो फाइदा गर्नेछैन र? के त्यसले भविष्यमा तेरो लागि अझै धेरै अवसर पैदा गर्नेछैन र?” तेरो परिवारले तँलाई कसरी राम्रो नाम कमाउने, कसरी अरूभन्दा माथि पुग्ने, र अरूको बीचमा आफ्नो प्रतिष्ठा कसरी कायम राख्ने भनेर मात्रै सिकाउँदैन, तँलाई कसरी बाहिरी आवरणद्वारा अरूलाई छल गर्ने, साँचो कुरा नबोल्ने, र अझ भनौँ भने आफ्नो मनको सबै कुरा नपोख्ने भनेर पनि सिकाउँछ। कतिपय मानिसले साँचो कुरा बोल्दा केही नोक्सानी बेहोर्छन्, र तिनीहरूले आफ्नो परिवारले सिकाएको यो भनाइ याद गर्दा एउटा पाठ सिक्छन्। तिनीहरू यो भनाइ—“धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ”—अभ्यास गर्न झन्-झन् इच्छुक हुन्छन्, र यसलाई आफ्नो मूलमन्त्र बनाउँछन्। अरू मानिस कुनै नोक्सानी बेहोर्नुभन्दा पहिले नै आफ्नो परिवारले सिकाउने कुरा हृदयदेखि नै स्वीकार गर्छन्, र परिस्थिति जेसुकै भए पनि निरन्तर यो भनाइ अभ्यास गर्छन्। अभ्यास गर्दै जाँदा, तिनीहरूलाई आफ्ना आमाबुबा र अग्रजहरू साँच्चै नै आफ्नो भलाइका लागि काम गरिरहेका छन् भन्ने झन्-झन् महसुस हुन्छ: “उहाँहरूले मलाई यो भनाइ, ‘धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ’ भनेर बताएकोमा म कति भाग्यमानी छु। नत्र, मेरो बढी बोल्ने बानीले गर्दा, मैले कति नोक्सानी बेहोर्नुपर्थ्यो होला, कति मानिसहरूले मलाई समस्यामा पार्थे होलान्, मैले कति तिरस्कारपूर्ण नजरहरू पाउँथेँ होला, र मैले कति गिल्ला र उपहास सामना गर्नुपर्थ्यो होला, कसलाई के थाहा। यो भनाइ अत्यन्तै उपयोगी र लाभदायक छ!” परमेश्वरमा विश्वास गरेपछि पनि, तिनीहरू अझै पनि यो नै सबैभन्दा उपयोगी र लाभदायक भनाइ हो भन्ने सोच्छन्। जब दाजुभाइ-दिदीबहिनीहरूले कुनै सङ्कोचविना आफ्ना हृदय खोल्छन् र आफ्ना स्थितिहरू, आफ्ना भ्रष्टताका प्रकटीकरणहरू, वा आफ्ना अनुभवात्मक बुझाइका बारेमा सङ्गति गर्छन्, तब तिनीहरू पनि सङ्गति गर्न र कुनै सङ्कोचविना हृदय खोल्ने व्यक्ति बन्न चाहन्छन्, र आफूले यतिका वर्षसम्म दबाएर राखेका भावनाहरूबाट केही बेरका लागि राहत पाउन वा तीबाट केही हदसम्म छुटकारा र स्वतन्त्रता प्राप्त गर्नका लागि, आफ्नो हृदयमा भएका विचार वा बुझाइका बारेमा इमानदारीपूर्वक कुरा गर्न चाहन्छन्। तर तिनीहरूले हरेक पटक आफ्ना आमाबुबाले आफ्नो दिमागमा हालिदिएको कुरा—“धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ। हतारमा नबोल्। अरूको कुरा सुन्न सिक्। रेडियोको रिसिभर जस्तो बन्, लाउडस्पिकर जस्तो नबन्”—याद गर्दा, आफूले भन्न चाहेका सबै दबिएका शब्द निल्छन्। अरू सबैले बोलिसक्दा पनि, तिनीहरू अझै केही पनि बोल्दैनन्। तिनीहरू मनमनै यस्तो सोच्छन्: “धन्न, मैले यस पटक केही पनि बोलिनँ। यदि म बोलेको भए, मैले सबैमा मेरो बारे खराब छाप पार्नेथिएँ होला। नबोल्दा, सबैले म साँच्चै इमानदार छु र त्यति छली छैन, म प्राकृतिक रूपमै कम बोल्ने व्यक्ति हुँ जो धेरै सोच्दैन, जसमा त्यति धेरै भ्रष्टता छैन, र विशेष गरी जसमा परमेश्वरबारे धारणाहरू छैनन् भन्ने सोच्नेछन्—तिनीहरूले म तुलनात्मक रूपमा शुद्ध व्यक्ति हुँ भन्ने मात्रै सोच्नेछन्। तिनीहरूमा मेरो बारेमा यस्तो छाप हुनु निकै राम्रो कुरा हो—मैले किन आफ्नो हृदय खोलेर आफ्नो भ्रष्टता खुलासा गर्नुपर्यो र? आखिरकार, ‘धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ’ भन्ने भनाइ मेरो लागि सही नै साबित भएको जस्तो देखिन्छ, त्यसैले म यसरी नै व्यवहार गरिरहनेछु।” “धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ” भन्ने भनाइमा टाँसिनाले तिनीहरूलाई आफूले केही प्राप्त गरेको र कुनै नोक्सानी नबेहोरेको महसुस गराउँछ, त्यसैले तिनीहरू अरूसँग हृदय खोल्न र सङ्गति गर्न इच्छुक हुँदैनन्। यो क्रम चलिरहन्छ, तर एक दिन तिनीहरूलाई अत्यन्तै निसास्सिएको र कुण्ठित महसुस हुन्छ, र तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूसामु हृदय खोल्न र आफ्नो मनको कुरा भन्न चाहन्छन्, तर तिनीहरूलाई आफ्नो मुख सिलबन्दी गरिएको जस्तो महसुस हुन्छ, र तिनीहरू एउटा शब्द पनि निकाल्न सक्दैनन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई भन्न नसक्ने हुनाले, तिनीहरू आफ्नो हृदयदेखि नै परमेश्वरसँग बोल्न चाहन्छन्, तर जब तिनीहरू उहाँको अगाडि घुँडा टेक्छन्, तब तिनीहरूलाई के भन्ने, त्यो कसरी व्यक्त गर्ने, वा आफ्ना विचारहरू कसरी बनाउने भन्ने थाहा हुँदैन—तिनीहरू मौन हुन्छन्। यतिका वर्षसम्म दबिएका भावनाहरूले तिनीहरूलाई पूर्ण रूपमा निसास्सिएको, र अन्धकारमय र घिनलाग्दो जीवन जिइरहेका छन् भन्ने महसुस गराउँछ। जब तिनीहरू परमेश्वरलाई आफ्नो हृदयको कुरा बताउने र आफ्ना भावनाहरू पोख्ने मन बनाउँछन्, तब तिनीहरूसँग शब्दहरू हुँदैनन् र तिनीहरूलाई कहाँबाट सुरु गर्ने, वा कसरी भन्ने भन्ने थाहा हुँदैन। के तिनीहरू दयनीय छैनन् र? (हो, तिनीहरू दयनीय छन्।) त्यसोभए किन परमेश्वरलाई भन्नको लागि तिनीहरूसँग केही हुँदैन? तिनीहरू परमेश्वरलाई आफ्नो हृदयमा भएको कुरा बताउन चाहन्छन्, तर तिनीहरूसँग शब्दै हुँदैन, र अन्तिममा बस यति कुरा मात्रै निस्कन्छ: “हे परमेश्वर, बिन्ती छ मलाई मैले बोल्नुपर्ने शब्दहरू दिनुहोस्!” अनि परमेश्वरले भन्नुहुन्छ: “तैँले भन्नुपर्ने कुरा धेरै छन्, तर तँ भन्न चाहन्नस्, अनि मौका दिँदा पनि तँ त्यो कुरा भन्दैनस्, त्यसकारण मैले तँलाई दिएको सबै कुरा फिर्ता लिँदै छु। म तँलाई यो कुरा दिनेछैनँ, तँ यो पाउन लायक नै छैनस्।” त्यतिबेला मात्रै तिनीहरूलाई यी विगत वर्षहरूमा धेरै कुरा गुमाएछु भन्ने महसुस हुन्छ। तैँले पहिले सिद्धताको ढोँग गर्ने गरेको भए पनि, दाजुभाइ-दिदीबहिनीहरूले अनुभवात्मक गवाहीहरू बाँड्न सकेको र केही लाभहरू प्राप्त गरेको देख्दा, विशेष गरी तिनीहरूले कुनै सङ्कोचविना आफ्ना हृदय खोलेको र आफ्नै भ्रष्टताको चिरफार गरेको शान्तपन देख्दा, तँलाई लाज लाग्छ, र तँ आफूले यति धेरै भ्रष्टता प्रकट गरेको भए पनि यसबारे एउटा शब्द पनि भन्न असक्षम रहेको सोच्छस्, र आफू किन यति धेरै पछि परिरहेको भनेर अचम्म मान्छस्। तैँले यतिका वर्षसम्म परमेश्वरमा विश्वास गरेको छस्, र तँ आफ्नो आत्म-ज्ञान पनि बाँड्न चाहन्छस्, र परमेश्वरका वचनहरूबारे आफ्नो अनुभव बाँड्न चाहन्छस्, र परमेश्वरबाट अलिकति अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न चाहन्छस्, र सानो लाभ हासिल गर्न चाहन्छस्। तर दुर्भाग्यवश, तँ बारम्बार “धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ” भन्ने विचारमा टाँसिने हुनाले, र प्रायजसो यो विचारद्वारा बाँधिने र नियन्त्रित हुने हुनाले, तँ यतिका वर्षसम्म यही भनाइका लागि जिएको छस्, तैँले परमेश्वरबाट अन्तर्दृष्टि वा ज्योति प्राप्त गरेको छैनस्, र जीवन प्रवेशको कुरामा तँ अझै पनि पूर्ण रूपमा दरिद्र र कङ्गाल छस्। यस प्रकारका मानिसहरूले यो भनाइ र विचार—“धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ”—लाई सिद्धताका साथ अभ्यास गरेका छन् र यसलाई निकै राम्ररी पालन गरेका छन्, तर यतिका वर्षसम्म परमेश्वरमा विश्वास गरे तापनि, तिनीहरूले सत्यताको केही पनि प्राप्त गरेका छैनन्, र तिनीहरू गरिब र अन्धा नै रहेका छन्। परमेश्वरले तिनीहरूलाई मुख दिनुभयो, तर तिनीहरूसँग सत्यताबारे सङ्गति गर्ने अलिकति पनि क्षमता छैन, न त आफ्ना भावना र ज्ञानबारे कुरा गर्ने क्षमता नै छ, दाजुभाइ-दिदीबहिनीहरूसँग कुराकानी गर्ने क्षमताको त कुरै छोडौँ। अझ दयनीय कुरा त के हो भने, तिनीहरूसँग परमेश्वरसँग कुरा गर्ने क्षमता समेत छैन, र तिनीहरूले यस्तो क्षमता गुमाइसकेका छन्। के त्यस्ता मानिसहरू दयनीय होइनन् र? (हुन्।) दयनीय र शोचनीय। के तँलाई बोल्न मन नपर्ने होइन र? के तँलाई सधैँ धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ भन्ने डर लाग्दैन र? त्यसोभए तैँले कहिल्यै केही पनि भन्नु हुँदैन। तँ आफ्नो विवेकको बोध र सत्यता बुझेर आफूले बोध गर्न सक्ने कुराहरू लुकाउँछस्, तिनलाई दबाउँछस् र बन्द गरेर राख्छस् ताकि तँ तीद्वारा निर्देशित नहो। तँलाई निरन्तर आफ्नो इज्जत गुम्ला, आफ्ना हितहरूमा हानि पुग्ला, अरूले आफूलाई छर्लङ्गै देख्लान्, र अरूको नजरमा आफू सिद्ध नभइएला र तिनीहरूले आफ्ना कमजोरीहरू देख्लान् भन्ने डर लाग्छ, त्यसैले तँ ढोँग रच्न र आफ्नो भेष बदल्न सक्दो प्रयास गर्छस्, र आफूले भित्र सोच्ने कुरा कहिल्यै बाँड्दैनस्। फलस्वरूप, तँ आफ्नो विवेक र समझ गुमाउँछस्, र तँ सत्यता बुझे तापनि यसलाई व्यवहारमा लागु गर्न सक्दैनस्, र आफैलाई हानि पुर्याउँछस्। तँलाई कसले यस्तो हानि पुर्यायो? मूल रूपमा, तेरो परिवारले तँलाई सिकाएका कुराले नै तँलाई हानि पुर्याएका हुन्। तर तेरो आफ्नै दृष्टिकोणबाट हेर्दा, तँलाई शैतानी दर्शनहरूअनुसार जिउन मन पर्ने हुनाले नै तँ आफ्नो परिवारले सिकाएका कुराहरू सही छन् भनी विश्वास गर्ने छनौट गर्छस्, र तँप्रतिका परमेश्वरका मागहरू सकारात्मक छन् भनी विश्वास गर्दैनस्। तँ तेरो परिवारले तँलाई सिकाउने कुराका प्रभावहरूलाई नै सकारात्मक कुराका रूपमा लिने, र परमेश्वरका वचनहरू, उहाँका मागहरू, र उहाँको भरणपोषण, सहयोग, र शिक्षणलाई आफू जोगिएर हिँड्नुपर्ने कुराहरू, वा नकारात्मक कुराका रूपमा लिने निर्णय गर्छस्। त्यसकारण, परमेश्वरले सुरुमा तँलाई जति नै धेरै कुरा प्रदान गर्नुभएको भए पनि, यतिका वर्षसम्म तैँले देखाएको संशय र इन्कारको अन्तिम परिणाम के हुन्छ भने, परमेश्वरले सबै कुरा फिर्ता लिनुहुन्छ र तँलाई केही पनि दिनुहुन्न, किनभने तँ त्यो कुरा पाउन लायक नै छैनस्। त्यसकारण, त्यो अवस्थामा पुग्नुभन्दा पहिले, तैँले यस सम्बन्धमा तेरो परिवारले तँलाई सिकाउने कुराका प्रभावहरू त्याग्नुपर्छ, र “धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ” भन्ने गलत विचार स्विकार्नु हुँदैन। यो भनाइले तँलाई झन् कुण्ठित, झन् धूर्त, र झन् ढोँगी बनाउँछ। यो कुरा मानिसहरू इमानदार हुनुपर्छ भन्ने परमेश्वरको मापदण्ड, र तिनीहरू स्पष्ट र खुलस्त हुनुपर्छ भन्ने उहाँको सर्तको पूर्ण विपरीत र विरोधाभासपूर्ण छ। परमेश्वरको विश्वासी र परमेश्वरलाई पछ्याउने व्यक्तिको रूपमा, तैँले सत्यता पछ्याउने पूर्ण अठोट गरेको हुनुपर्छ। अनि जब तैँले सत्यता पछ्याउने पूर्ण अठोट गरेको हुन्छस्, तब तैँले तेरो परिवारले तँमाथि पारेका असल सिकाइने कुराका प्रभावहरू भन्ठानेका कुराहरू त्याग्ने पूर्ण अठोट गर्नुपर्छ—यसमा कुनै छनौट हुनु हुँदैन। तेरो परिवारले तँमाथि जे-जस्ता सिकाइने कुराका प्रभावहरू पारेको भए पनि, ती तेरो लागि जति असल वा फाइदाजनक भए पनि, तिनले तँलाई जति रक्षा गरे पनि, ती कुरा मानिसहरू र शैतानबाट आएका हुन्, र तैँले तिनलाई त्याग्नुपर्छ। परमेश्वरका वचनहरू र मानिसहरूप्रतिका उहाँका मापदण्डहरू तेरो परिवारले तँलाई सिकाउने कुराका प्रभावहरूसँग बाझिने भए पनि, वा तिनले तेरा हितहरूमा हानि गर्ने भए पनि, वा तेरा अधिकारहरू खोस्ने भए पनि, अनि तिनले तेरो रक्षा गर्दैनन् बरु तँलाई अरूसामु खुलासा गरेर मूर्ख देखाइदिन्छन् भन्ने तँलाई लागे पनि, तैँले अझै पनि तिनलाई सकारात्मक कुराहरूको रूपमै लिनुपर्छ, किनभने ती परमेश्वरबाट आएका हुन्, ती सत्यता हुन्, र तैँले तिनलाई स्विकार्नुपर्छ। यदि तेरो परिवारले तँलाई सिकाउँदै तँमाथि हालिदिएका कुराहरूले तेरो सोच र व्यवहारमा, अस्तित्वसम्बन्धी तेरो दृष्टिकोणमा र तैँले हिँड्ने मार्गमा प्रभाव पारेका छन् भने, तैँले तिनलाई त्याग्नुपर्छ र तिनलाई अङ्गालिराख्नु हुँदैन। बरु, तैँले तिनलाई परमेश्वरका समानान्तर तथ्यहरूले प्रतिस्थापित गर्नुपर्छ, र त्यसो गर्ने क्रममा, तैँले तेरो परिवारले तँलाई सिकाउँदै तँमाथि हालिदिएका यी कुराहरूका अन्तर्निहित समस्या र सार निरन्तर देख्नु र पहिचान गर्नुपर्छ, र त्यसपछि अझै सही, व्यावहारिक, र साँचो रूपमा परमेश्वरका वचनहरूअनुसार कार्य र अभ्यास गर्ने गर्नुपर्छ। परमेश्वरबाट आएका विचारहरू, मानिसहरू र परिस्थितिलाई हेर्ने दृष्टिकोणहरू, र अभ्यासका सिद्धान्तहरू स्वीकार गर्नु—यही नै सृष्टि गरिएको प्राणीले पूरा गर्नैपर्ने जिम्मेवारी हो, र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा हो, र यही नै सृष्टि गरिएको प्राणीमा हुनैपर्ने विचार र दृष्टिकोण पनि हो।
“नक्कली भलाद्मी बन्नुभन्दा त साँचो खलनायक बन्नु बेस हो” को चिरफार
कतिपय परिवारका आमाबुबाले छोराछोरीमा मानिसहरूले आफ्नो जीवन अस्तित्व, सम्भाव्यता, र भविष्यको लागि सकारात्मक र फाइदाजनक ठान्ने कुराहरू हालिदिनेबाहेक, तुलनात्मक रूपमा चरम र विकृत रहेका केही विचारहरू पनि हालिदिन्छन्। उदाहरणको लागि, कतिपय आमाबुबाले भन्छन्: “नक्कली भलाद्मी बन्नुभन्दा त साँचो खलनायक बन्नु बेस हो।” यो तैँले आफूलाई के कस्तो व्यवहारमा ढाल्नुपर्छ भनेर बताउने भनाइ हो। “नक्कली भलाद्मी बन्नुभन्दा त साँचो खलनायक बन्नु बेस हो” भन्ने यो भनाइले तँलाई कि एउटा, कि अर्को छनौट गर्न लगाउँछ। यसले तँलाई मानिसहरूको पिठ्यूँपछाडि कुनै काम गर्नुभन्दा, साँचो खलनायक बन्न सुझाउँछ, अर्थात् यसले खुलेआम खराब व्यक्ति बन्ने विकल्प रोजाउँछ। त्यसरी, तैँले गर्ने कुराहरू त्यति असल होइनन् भन्ने मानिसहरूले सोचे पनि, तिनीहरूले अझै पनि तँलाई सम्मान र अनुमोदन गर्नेछन्। यसको अर्थ, तैँले जति नै खराब कुराहरू गरे पनि, ती कुराहरू मानिसहरूको अगाडि नै गर्नुपर्छ, खुलेआम रूपमा र केही कुरा नलुकाई नै गर्नुपर्छ। कतिपय आमाबुबाले आफ्ना छोराछोरीलाई यस्तै कुरा सिकाउँछन् र यसरी नै शिक्षा दिन्छन्। घृणास्पद र खराब विचार र व्यवहार बोक्ने समाजका मानिसहरूलाई तिनीहरूले घृणा नगर्ने मात्रै होइन, तिनीहरूले त आफ्ना छोराछोरीलाई यसो भन्दैसमेत शिक्षा दिन्छन्: “यी मानिसहरूलाई कम नसम्झनू। वास्तवमा, तिनीहरू खराब मानिसहरू नै हुन् भन्ने छैन—तिनीहरू त नक्कली भलाद्मीभन्दा पनि राम्रा हुन सक्छन्।” एक हिसाबमा, तिनीहरूले तँलाई कस्तो व्यक्ति बन्ने भनेर बताउँछन् भने अर्को हिसाबमा, तिनीहरूले तँलाई कसरी मानिसहरूलाई चिन्ने, कस्ता मानिसहरूलाई सकारात्मक ठान्ने, र कस्ता मानिसहरूलाई नकारात्मक ठान्ने भनेर नकारात्मक कुराबाट सकारात्मक कुरा कसरी खुट्ट्याउने, अनि कसरी व्यवहार गर्ने भनेर सिकाउँछन्—तिनीहरूले तँलाई दिने शिक्षा र सिकाइ प्रक्रिया यस्तै हुन्छ। त्यसोभए, सिकाउने त्यस्तो प्रक्रियाले मानिसहरूमा कस्तो प्रभाव पार्छ? (असलता र दुष्टताबीच भिन्नता नछुट्याउने बनाउँछ।) ठीक भन्यौ, असलता र दुष्टता, र सही र गलतबीच भिन्नता नछुट्याउने बनाउँछ। अब, हामी सुरुमा मानिसहरूले यी तथाकथित खलनायक र नक्कली भलाद्मीहरूलाई कसरी हेर्छन् त्यो कुरा हेरौँ। सर्वप्रथम त मानिसहरूले साँचो खलनायकहरू खराब मानिसहरू होइनन्, बरु नक्कली भलाद्मीहरू खराब मानिसहरू हुन् भनेर सोच्छन्। बाहिरी रूपमा असल भएको नाटक गर्ने तर अरूको पिठ्यूँपछाडि खराब कुराहरू गर्ने मानिसहरूलाई नक्कली भलाद्मीहरू भनेर भनिन्छ। तिनीहरूले मानिसहरूसामु हरकिसिमका परोपकार, धार्मिकता, र नैतिकताबारे कुरा गर्छन्, तर तिनीहरूको पिठ्यूँपछाडि अनेक किसिमका खराब कुराहरू गर्छन्। तिनीहरूले यस्ता हरकिसिमका खराब कुराहरू गर्छन् तर यति नै बेला मुखले भने मिठा-मिठा कुराहरू गर्छन्—यस्ता मानिसहरू तिरस्कारका पात्र बन्छन्। जहाँसम्म साँचो खलनायकहरूको कुरा छ, तिनीहरू मानिसहरूको पिठ्यूँपछाडि जति खराब हुन्छन् अगाडि पनि त्यति नै खराब हुन्छन्, तैपनि तिनीहरू मानिसहरूको तिरस्कारका पात्र बन्नुको सट्टा जोरदार समर्थन र अध्ययन गरिने आदर्श पात्र बन्छन्। यस्तो भनाइ र दृष्टिकोणले खासमा असल व्यक्ति भनेको र खराब व्यक्ति भनेको के हो भन्ने मानिसहरूको अवधारणा गोलमटोल पारिदिन्छ। त्यसकारण, मानिसहरू निश्चित हुँदैनन् र कुरा के हो भनेर जान्दैनन्, र तिनीहरूको अवधारणा अत्यन्तै अस्पष्ट बन्छ। जब परिवारले मानिसहरूलाई यसरी सिकाइदिन्छ, तब कतिले त यस्तोसमेत विचार गर्छन्, “साँचो खलनायक बनेर मैले सीधा कुरा गरिरहेको छु। मैले खुलस्त काम गरिरहेको छु। यदि मैले केही भन्नु छ भने म सीधै भन्छु। यदि म तिमीलाई चोट पुर्याउँछु, वा मलाई तिमी मन पर्दैन, वा तिमीबाट फाइदा लुट्न चाहन्छु भने, त्यो मैले सीधै गर्नुपर्छ र यसबारेमा तिमीलाई थाहा दिनुपर्छ।” यो कस्तो तर्क हो? यो कस्तो प्रकारको प्रकृति सार हो? जब दुष्ट मानिसहरूले खराब कुरा र दुष्कर्म गर्छन्, तिनीहरूले यसको लागि सैद्धान्तिक आधार भेट्टाउनुपर्छ, र तिनीहरूले भेट्टाउने तर्क यही हो। तिनीहरू भन्छन्: “हेर, मैले गरिरहेको यो कुरा त्यति राम्रो छैन, तर यो नक्कली भलाद्मी बन्नुभन्दा त राम्रो हो। म यो मानिसहरूको अगाडि नै गर्छु, र यसबारे सबैलाई थाहा हुन्छ—सीधा बन्नु भनेकै यही हो!” यसरी, खलनायकहरूले आफूलाई सीधा मान्छे बनाउँछन्। मानिसहरूले आफ्नो मनमा यस्तो सोचाइ राखेपछि, साँचो सत्यनिष्ठा र साँचो दुष्टताबारेका तिनीहरूका अवधारणाहरू थाहै नपाई अस्पष्ट बन्छन्। सीधा व्यक्ति बन्नु भनेको के हो त्यो तिनीहरूलाई थाहै हुँदैन, र तिनीहरूले यस्तो सोच्छन्, “मैले भनेको कुराले चाहे अरूलाई चोट पुगे पनि, वा यो सही भए नि नभए नि, यो उचित भए नि नभए नि, वा यो सिद्धान्त र सत्यताअनुरूप भए नि नभए नि, केही फरक पर्दैन। जबसम्म मैले बोल्ने आँट गर्छु र परिणामहरूबारे वास्ता गर्दिनँ, जबसम्म मेरो स्वभाव साँचो र मेरो प्रकृति सीधा हुन्छ, र म सीधा कुरा गर्छु, र जबसम्म मैले कुनै भित्री उद्देश्य बोकेको हुँदिनँ, तबसम्म यो उचित नै हुन्छ।” के यसो गर्नु भनेको सही र गलत उल्ट्याउनु होइन र? (हो।) यसरी, नकारात्मक कुराहरू सकारात्मक कुराहरूमा परिणत हुन्छन्। त्यसकारण कतिपय मानिसहरूले यसलाई आधार बनाएर यो भनाइअनुसार नै आफूलाई व्यवहारमा ढाल्छन्, र यस्तो सोच्दै तिनीहरू न्यायको पक्षमा छन् भन्ने मान्यता राख्छन्, “चाहे जे होस्, मैले तिमीबाट फाइदा लुटिरहेको छैन, न त मैले तिम्रो पिठ्यूँपछाडि चलाकी नै गरिरहेको छु। मैले त निष्कपट र खुलस्त रूपमा काम गरिरहेको छु। तिमीलाई जे मन लाग्छ त्यही सोच। मेरो लागि त सीधा हुनु भनेकै यही हो! भनाइ नै छ नि, ‘नबिराउनु, नडराउनु,’ त्यसकारण जे मन लाग्छ त्यही सोच!” के यो शैतानको तर्क होइन र? के यो डाँकुहरूको तर्क होइन र? (हो।) के तैँले खराब कुराहरू गर्नु, कुनै कारणविना समस्या पैदा गर्नु, निरङ्कुश शासकले जस्तो व्यवहार गर्नु, अनि दुष्कर्म गर्नु उचित हुन्छ त? दुष्कर्म गर्नु भनेको दुष्कर्म गर्नु नै हो: यदि तैँले गरेको कामको सार दुष्टता हो भने, त्यो दुष्टता दुष्टता नै हो। तेरा कार्यहरूलाई केले मापन गरिन्छ? तिनलाई तेरा अभिप्रायहरू गलत थिए थिएनन् वा तैँले ती काम खुलस्त रूपमा गरिस् गरिनस्, वा तेरो साँचो स्वभाव थियो थिएन भन्ने आधारमा मापन गरिँदैन। तिनलाई त सत्यता र परमेश्वरका वचनहरूद्वारा मापन गरिन्छ। सबै कुरा मापन गर्ने मापदण्ड सत्यता नै हो, र त्यो वाक्य यहाँ पनि पूर्ण रूपमा लागू हुन्छ। यदि सत्यताको मापनअनुसार, कुनै कुरा दुष्टता हो भने, त्यो दुष्टता नै हो; यदि कुनै कुरा सकारात्मक हो भने, त्यो सकारात्मक नै हो; र यदि कुनै कुरा सकारात्मक होइन भने, त्यो पक्कै सकारात्मक होइन। अनि मानिसहरूले जुन कुरालाई सीधा कुरा र साँचो स्वभाव र सोझो प्रकृति भएको अवस्था ठान्छन्, त्यो चाहिँ के हो? त्यो त शब्दहरू बङ्ग्याउनु र जबरजस्ती तर्क लाद्नु, अवधारणाहरूमा झुक्किनु, र निरर्थक कुरा गर्नु हो, त्यसलाई मानिसहरूलाई बराल्नु भनेर भनिन्छ, र यदि तैँले मानिसहरूलाई बराल्छस् भने, तँ दुष्कर्म गर्दै छस्। चाहे मानिसहरूको पिठ्यूँपछाडि वा अगाडि जहाँ गरिएको भए पनि, दुष्टता भनेको दुष्टता नै हो। कसैको पिठ्यूँपछाडि गरिएको दुष्ट्याइँ अधमता हो, जबकि कसैको अगाडि गरिएको दुष्ट्याइँ साँच्चै नै द्वेषपूर्ण र क्रूर कार्य हो, र ती सबै दुष्टतासँग सम्बन्धित छन्। त्यसकारण मलाई भन त, के मानिसहरूले “नक्कली भलाद्मी बन्नुभन्दा त साँचो खलनायक बन्नु बेस हो” भन्ने भनाइ स्विकार्नुपर्छ? (अहँ, स्विकार्नु हुँदैन।) कुनचाहिँ सकारात्मक हो—नक्कली भलाद्मीको व्यावहारिक सिद्धान्तहरू कि साँचो खलनायकको व्यावहारिक सिद्धान्तहरू? (कुनै पनि होइन।) ठीक भन्यौ, ती दुवै नकारात्मक छन्। त्यसैले, नक्कली भलाद्मी पनि नबन, साँचो खलनायक पनि नबन, अनि आफ्ना आमाबुबाका निरर्थक कुराहरू पनि नसुन। किन आमाबुबाले सधैँ निरर्थक कुराहरू बोल्छन्? किनभने तेरा आमाबुबाले पनि आफूलाई त्यस्तै व्यवहारमा ढालेका छन्। तिनीहरूले निरन्तर यस्तो महसुस गर्छन्, “मेरो स्वभाव साँचो छ, म साँचो व्यवहार गर्ने, सीधा कुरा गर्ने, आफ्नो भावनाको कुरा इमान्दारीसाथ बताउने, र वीर मर्यादा प्रदर्शन गर्ने व्यक्ति हुँ, म सोझो व्यक्ति हुँ र मैले हल्लाहरूबारे चिन्ता गर्नु पर्दैन, म भद्र व्यवहार गर्छु र सही बाटो हिँड्छु, अनि मैले केको डर मान्ने? म कुनै कुरा गलत गर्दिनँ, त्यसकारण पिशाचहरूले मेरो ढोका ढकढक्याउलान् भनेर म डर मान्दिनँ!” अहिले पिशाचहरूले तेरो ढोका ढकढक्याइरहेका छैनन्, तर तैँले गरेका दुष्कर्महरूको कमी छैन र ढिलोचाँडो तैँले दण्ड पाउनेछस्। तँ सीधा छस् र तैँले कुनै हल्लाको डर मान्दैनस्, तर सीधा हुनुले के प्रतिनिधित्व गर्छ? सत्यता हो? के सीधा हुनु भनेको सत्यताअनुरूप हुनु हो? के तैँले सत्यता बुझेको छस्? आफ्ना दुष्कर्महरूको लागि बहाना र निहुँहरू सोच्ने नगर्, यसो गर्नुको कुनै अर्थ छैन! जबसम्म कुनै कुरा सत्यताअनुरूप हुँदैन, तबसम्म त्यो दुष्टता नै हुन्छ! तँलाई आफूमा साँचो स्वभाव छ भन्नेसमेत लाग्छ। अनि, के तँमा साँचो स्वभाव छ भन्दैमा, यसको अर्थ तैँले अरूबाट फाइदा लिन सक्छस् भन्ने हुन्छ र? कि तैँले अरूलाई हानि गर्न सक्छस् भन्ने हुन्छ? यो कस्तो तर्क हो? (यो शैतानको तर्क हो।) यो त डाँकु र दियाबलसहरूको तर्क हो! तैँले दुष्कर्म गर्छस्, तैपनि यसलाई सही र उचित भन्छस्, र बहाना बनाउँदै यसलाई सही साबित गर्न खोज्छस्। के यो लाजपचुवा कुरा होइन र? (हो।) म तँलाई फेरि पनि भन्छु, परमेश्वरका वचनहरूमा मानिसहरूलाई साँचो खलनायक वा नक्कली भलाद्मी बन्न दिनेबारे केही उल्लेख गरिएको छैन, न त साँचो खलनायक वा नक्कली भलाद्मी बन्नेबारे कुनै मापदण्ड नै दिइएको छ। यी भनाइहरू सबै मानिसहरूलाई धोका दिने र बहकाउने घोर दुष्ट शब्दहरू हुन्। यी कुराहरूले सत्यता नबुझ्ने मानिसहरूलाई अन्योलमा पार्न सक्छन्, तर यदि तैँले आज सत्यता बुझिस् भने, तैँले अबउप्रान्त यस्ता भनाइहरू अङ्गाल्नु वा यी भनाइहरूद्वारा प्रभावित हुनु हुँदैन। मानिसहरू नक्कली भलाद्मी भए पनि साँचो खलनायक भए पनि, तिनीहरू सबै दियाबलस, पशु, र बदमासहरू हुन्, तिनीहरू कोही असल हुँदैनन्, तिनीहरू सबै अधमहरू हुन्, र तिनीहरू सबै दुष्टहरूसँग सम्बन्धित हुन्। यदि तिनीहरू दुष्ट होइनन् नै भने पनि तिनीहरू क्रूर हुन्छन्, र नक्कली भलाद्मी र साँचो खलनायकबीच रहेको एउटै मात्रै भिन्नता भनेको तिनीहरूले गर्ने कामको शैली मात्र हो: एउटाले सार्वजनिक रूपमा गर्छ, र अर्कोले गुप्त रूपमा। यसको साथै, तिनीहरूले व्यवहार गर्ने तरिका पनि फरक-फरक हुन्छ। एउटाले खुलेआम दुष्कर्म गर्छ भने, अर्कोले मानिसहरूको पिठ्यूँपछाडि फोहोरी खेल खेल्छ; एउटा अलि बढी कपटी र षडयन्त्रकारी हुन्छ भने, अर्को निरंकुश, अहङ्कारी, र आक्रामक हुन्छ; एउटा घिनलाग्दो र छली हुन्छ भने, अर्को घृणित र घमण्डी हुन्छ। ती काम गर्ने दुई शैतानी तरिका हुन्, एउटा खुल्लमखुल्ला रूपमा र अर्को गुप्त रूपमा। यदि तैँले खुलेआम काम गर्छस् भने तँ साँचो खलनायक होस्, र यदि तँ गुप्त रूपमा काम गर्छस् भने, तँ नक्कली भलाद्मी होस्। यसमा धाक लाउनुपर्ने कुरा के छ र? यदि तैँले यसलाई आफ्नो आदर्श वचनको रूपमा लिन्छस् भने, के तँ मूर्ख होइनस् र? त्यसकारण, यदि तँलाई तेरो परिवारले सिकाएका कुराहरू वा यस विषयमा तँमा हालिदिएको सोचले गहन हानि गरेको छ भने, वा यदि तैँले त्यस्ता कुराहरू अङ्गालिरहेको छस् भने, मलाई आशा छ तैँले ती कुराहरू त्याग्न सक्छस्, र सक्दो चाँडो तिनलाई चिन्न र तिनको वास्तविकता देख्न सक्छस्। यो भनाइमा अल्झिन छोड्, र यसले तँलाई रक्षा गरिरहेको वा तँलाई सच्चा व्यक्ति वा चरित्र, मानवता र साँचो स्वभाव भएको व्यक्ति बनाइरहेको छ भन्ने सोच्न छोड्। यो भनाइ व्यक्तिले आफ्नो व्यवहार प्रस्तुत गर्ने मापदण्ड होइन। जहाँसम्म मेरो कुरा छ, म त यो भनाइको पूर्ण भर्त्सना गर्छु, र यो भनाइ मेरो लागि सबैभन्दा घृणास्पद कुरा हो। मलाई नक्कली भलाद्मीप्रति मात्रै होइन, साँचो खलनायकप्रति पनि घृणा लाग्छ—दुवै प्रकारका मानिसहरू मेरो लागि घृणास्पद छन्। त्यसकारण, यदि तँ नक्कली भलाद्मी होस् भने, मेरो दृष्टिकोणमा तेरो कुनै काम छैन, र तँ सुधारको लायकसमेत छैनस्। अनि, यदि तँ साँचो खलनायक होस् भने, तँ झन् खराब होस्। तँलाई साँचो मार्गबारे राम्ररी थाहा छ र पनि तैँले जानीजानी पाप गर्छस्, र तँलाई सत्यता राम्ररी थाहा भएर पनि जानीजानी यसलाई उल्लङ्घन गर्छस् अनि तैँले त्यो अभ्यास गर्दैनस्, बरु खुलेआम सत्यताको विरोध गर्छस्, त्यसकारण तँ छिटो मर्नेछस्। यस्तो नसोच्, “मेरो प्रकृति सीधा कुरा गर्ने किसिमको छ, र म नक्कली भलाद्मी होइन। म खलनायक भए पनि, म साँचो खलनायक हुँ।” तँ कसरी साँचो भइस्? तेरो “साँचोपन” सत्यता होइन, न त यो सकारात्मक कुरा नै हो। तेरो “साँचोपन” त तेरो अहङ्कारी र क्रूर स्वभावहरूको सारको प्रकटीकरण हो। तँ साँचो शैतान, साँचो दियाबलस, र साँचो दुष्टता भन्ने हिसाबमा मात्रै “साँचो” होस्, सत्यता वा कुनै साँचो वास्तविक कुराजस्तो साँचो होइनस्। त्यसकारण, तेरो परिवारले तँलाई सिकाएको “नक्कली भलाद्मी बन्नुभन्दा त साँचो खलनायक बन्नु बेस हो” भन्ने भनाइ तैँले त्याग्नुपर्छ, किनभने परमेश्वरले मानिसहरूलाई सिकाउनुहुने व्यवहारसम्बन्धी सिद्धान्तहरूसँग यसको कुनै सम्बन्ध छैन, न त यो ती कुराहरूको कहीँकतै नजिक नै छ। त्यसकारण, तैँले यसलाई अङ्गालिरहनुको सट्टा सक्दो चाँडो त्याग्नुपर्छ।
“थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ” को चिरफार
तेरो परिवारबाट आउने अर्को प्रकारको सिकाइ पनि छ। उदाहरणका लागि, तेरा अग्रजहरू सधैँ तँलाई यसो भन्छन्: “भीडमा धेरै नदेखिइस्; तैँले संयमी हुन सिक्नुपर्छ। विशेष गरी, तेरा वरदान, प्रतिभा, वा बुद्धिमत्ता धेरै नदेखा, नत्र अरूले तेरो डाहा गर्नेछन्। यो ‘थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ,’ र ‘लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ’ भन्ने भनाइहरू जस्तै हो। यदि तँ आफूलाई जोगाउन, र मानिसहरूमाझ दीर्घकालीन, स्थिर स्थान बनाउन चाहन्छस् भने, थुतुनो निकाल्ने व्यक्ति नबन्। तँ संयमी हुनुपर्छ र धेरै पृथक बन्ने कोसिस गर्नु हुँदैन; टुप्पोमा एक्लै भइन्छ। यदि तँ सधैँ अरूमाझ चर्चामा आउन खोज्छस् भने, तैँले ध्यान तान्नेछस्; कसैले तेरो डाहा गर्न र तँलाई घृणा गर्न सक्छ, र तँलाई सास्ती दिनेबारे सोच्न थाल्न सक्छ। मण्डलीमा अगुवा वा टोली अगुवा नबन्—एक पटक तैँले केही गलत गरिस् भने, तँ समस्यामा पर्नेछस्; मानिसहरूले तँलाई उदाहरण बनाउनेछन् र तँलाई जिम्मेवार ठहराउनेछन्। तैँले कछुवाले जस्तै आफूलाई जोगाउन सिक्नुपर्छ। तैँले जस्तोसुकै परिस्थिति सामना गरे पनि, कछुवा जस्तै लुत्रुक्क पर्, अनि तँ धेरै समस्याबाट जोगिनेछस्।” तेरा आमाबुबाका शब्दहरू सुनेपछि, तँलाई तिनीहरू साँच्चै अन्तर्ज्ञान भएका मानिस हुन्, र उमेरले बुद्धि ल्याउँछ भन्ने लाग्छ। कतिपय मानिसले धेरै वर्ष परमेश्वरमा विश्वास गरेका हुन्छन् तर तिनीहरू अगुवा बन्न चाहँदैनन्; तिनीहरू कछुवा जस्तै लुत्रुक्क पर्नु नै उत्तम हो भन्ने सोच्छन्। जब अगुवा चुन्ने समय आउँछ, तब तिनीहरू अस्वीकार गर्न सबै प्रकारका कारण र बहानाहरू निकाल्छन्, र आफू पारिवारिक मामिलाहरूमा धेरै व्यस्त भएको वा आफ्नो क्षमता कमजोर भएको र त्यसैले आफू अगुवा बन्न नसक्ने भन्छन्। निर्वाचित भइहाले पनि, तिनीहरू अगुवाका रूपमा सेवा गर्न इच्छुक हुँदैनन्। तिनीहरू भित्रभित्रै मनन गर्छन्: “हँ! थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ। जति अग्लो चढ्यो, त्यति नै नराम्ररी झरिन्छ। टुप्पोमा एक्लै भइन्छ। म कहिल्यै अगुवा बन्न चाहन्नँ, न त म अरूभन्दा माथि उठ्न र उच्च पद प्राप्त गर्न चाहन्छु, त्यसैले म कहिल्यै नराम्ररी बजारिनेछैन। हेर् त, अगुवाको रूपमा निर्वाचित भएका धेरै मानिस काम गर्न नसकेका वा दुष्टता गरेका कारण बर्खास्त भए। कतिपय त साधारण विश्वासी बन्ने मौका समेत नपाई निकालिए नै। के यो ठ्याक्कै ‘थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ,’ र ‘लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ’ भन्ने ती भनाइहरू वास्तविकतामा लागू भएको होइन र? त्यसैले, मानिसहरूले आफूलाई जोगाउन सिक्नुपर्छ; चाहे जेसुकै होस्, आफ्नो थुतुनो ननिकाल्, र अगुवा नबन्। समाजको कुनै पनि समूहमा, सधैँ ‘थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ।’ तैँले थुतुनो निकाल्दा तँ उच्च उडानमा हुनेछस्, तर जब तँलाई प्रहार हुन्छ, तब पछुतो गर्न धेरै ढिला भइसकेको हुनेछ।” तिनीहरूका यी दृष्टिकोणहरू सबै तिनीहरूका आमाबुबा र अग्रजहरूका गम्भीर, बारम्बार दोहोरिने शिक्षाहरूबाट आउँछन्, जुन तिनीहरूको अनुभवको आवाज हो। तिनीहरूका आमाबुबा निहुरिएर तिनीहरूको कानमा जीवनको अर्तीबुद्धि सुनाउँछन्, र भन्नलाई बाँकी केही पनि राख्दैनन्। निहुरिएर कसैको कानमा केही कुरा भन्नुको अर्थ के हो? उदाहरणका लागि, तेरी आमाले तेरो कानमा भन्छे: “यदि मैले यस जीवनमा एउटा कुरा सिकेको छु भने, त्यो ‘थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ’ भन्ने हो। यदि कोही सधैँ चर्चामा आउन खोज्छ भने, उसलाई सास्ती दिइने सम्भावना हुन्छ। के तँलाई थाहा छ, तेरा बुबा अहिले किन यति शान्त रहनुहुन्छ, र उहाँ किन चर्चामा आउन वा अधिकारी बन्ने कुरा उल्लेख गर्न मन पराउनुहुन्न? किनभने उहाँलाई विगतमा सास्ती दिइएको थियो। तेरा बुबासँग साहित्यिक प्रतिभा, वाक्पटुता, र नेतृत्व सीपहरू छन्, तर उहाँ धेरै उत्कृष्ट हुनुभएकाले, अरू मानिस उहाँको डाहा गर्थे र उहाँलाई सास्ती दिन्थे। तैँले तेरा बुबाको पाठबाट सिक्नैपर्छ! तैँले ‘थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ’ भन्ने भनाइलाई आफ्नो हृदयमा राख्नुपर्छ र यसलाई कहिल्यै बिर्सनु हुँदैन। तेरी आमाको नाताले मैले तँलाई दिन सक्ने सबैभन्दा राम्रो कुरा यही नै हो।” त्यसपछि तैँले “थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ” भन्ने भनाइ याद गर्छस्, र जब-जब तँ यसलाई सम्झन्छस्, यसले तँलाई तेरो बुबाको दुःखको याद दिलाउँछ, जसको निराश अनुहारले तेरो मनमा गहिरो छाप छोडेको थियो। त्यसैले, जब-जब तँ थुतुनो निकाल्न चाहन्छस्, जब-जब तँ आफ्ना विचारहरू व्यक्त गर्न चाहन्छस्, जब-जब तँ परमेश्वरको घरमा इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्न चाहन्छस्, तब “थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ” भन्ने भनाइ तेरो मनमा आउँछ, र त्यसैले तँ पछि हट्छस्। तँ मनमनै सोच्छस्, “मसँग जे-जस्ता प्रतिभा वा सामर्थ्यहरू भए पनि, म तिनलाई देखाउन सक्दिनँ; म संयमी हुनैपर्छ। आफ्नो सम्पूर्ण हृदय, मन, र शक्तिलाई आफ्नो कर्तव्य निर्वाह गर्नमा लगाउनेबारे परमेश्वरका वचनहरूका हकमा, म यसलाई पूर्ण रूपमा स्वीकार गर्न सक्दिनँ। म धेरै उत्साही हुनु हुँदैन। यदि म धेरै उत्साही भएँ र मण्डलीको काम सम्हाल्न मैले थुतुनो निकालेँ भने, मैले केही गलत गरेको र काममा घाटा ल्याएको, र मलाई जिम्मेवार ठहराइएको खण्डमा के गर्ने? मैले यो जिम्मेवारी कसरी वहन गर्नुपर्छ? के मलाई निकालिनेछैन र? के म थुतुनो निकालेको व्यक्ति हुनेछैनँ र? त्यसैले, म जेसुकै गरूँ, मैले अनिवार्य रूपमा आफ्नो लागि उम्कने बाटो राख्नैपर्छ, मैले अनिवार्य रूपमा पहिले आफूलाई जोगाउन सिक्नैपर्छ, र बोल्नु र काम गर्नुअघि मैले ममाथि कुनै खतरा नभएको सुनिश्चित गर्नैपर्छ। यो काम गर्ने सबैभन्दा बुद्धिमानी तरिका हो, किनभने मेरी आमाले भनेजस्तै: ‘थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ।’” यो भनाइ तेरो हृदयमा गहिरो रूपमा गाडिएको छ र यसले तेरो दैनिक जीवनमा पनि गहिरो प्रभाव पार्छ। अझ गम्भीर कुरा त, अवश्य पनि, यसले कर्तव्य निर्वाह गर्नेप्रति तेरो मनोवृत्तिलाई असर गर्छ। के यो गम्भीर समस्या होइन र? (हो।) त्यसकारण, जब-जब तँ आफ्नो कर्तव्य निर्वाह गर्दै आफ्नो सम्पूर्ण शक्तिले परमेश्वरप्रति आफूलाई समर्पित गर्न चाहन्छस्, तँ सधैँ “थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ” भन्ने विचारले रोकिन्छस्, जसले गर्दा तँ अत्यधिक सतर्क हुन्छस् र हिचकिचाउँछस्, र कदम चाल्न अति डराउँछस्। तैँले जे गरिरहेको भए पनि, तँ सधैँ एउटा वैकल्पिक योजना राखिरहन र आफ्नो लागि लचकता छोड्न रोज्छस्, र आफ्नै लागि उम्कने बाटो तय गरेपछि सीमितताभित्र रहेर अलिकति कर्तव्य निर्वाह गर्छस्। तँलाई के लाग्छ? के यस सम्बन्धमा तेरो परिवारले सिकाएको कुराले तँलाई प्रकट र निराकरण हुनबाट अधिकतम हदसम्म जोगाउँछ? तेरो लागि, यो अर्को ढाल हो, होइन र? (हो।)
हामीले अहिलेसम्म सङ्गति गरेका सबै कुराको आधारमा हेर्दा, मानिसहरूलाई आफ्नो परिवारद्वारा सिकाएको कारण तिनीहरूसँग कति ओटा वटा सुरक्षा मन्त्र छन्? (सात ओटा।) यति धेरै सुरक्षा मन्त्र भएपछि, के कुनै पनि सामान्य दियाबलस र पिशाचले तेरो क्षेत्रमा अतिक्रमण गर्ने आँट गर्दैन भन्ने कुरा साँचो हो? यी सबै सुरक्षा मन्त्रले तँलाई अत्यन्तै सुरक्षित र सहज महसुस गराउँछन्, र यो मानव संसारमा निकै खुसीसाथ जिउन दिन्छन्। साथै, तिनले तँलाई परिवार तेरो लागि कति महत्त्वपूर्ण छ, र परिवारले तँलाई दिने सुरक्षा र सुरक्षा मन्त्रहरू कति सामयिक र महत्त्वपूर्ण छन् भन्ने कुरा महसुस गराउँछन्। यी सुरक्षा मन्त्रहरूको कारण तैँले जब कुनै ठोस फाइदा र सुरक्षा पाउँछस्, तँलाई तेरो परिवार महत्त्वपूर्ण छ, र तैँले यसमा सधैँ भरोसा गर्नेछस् भन्ने महसुस हुनेछ। जब-जब तँलाई कठिनाइहरू हुन्छ र जब-जब तँलाई निर्णय गर्न गाह्रो र घबराहट हुन्छ, तब-तब तैँले एकछिन आफूलाई सम्हालेर सोच्नेछस्, “मेरा आमा र बुबाले मलाई के भन्नुभएको थियो? मेरा अग्रजहरूले मलाई के सीप सिकाउनुभएको थियो? उहाँहरूले मलाई दिनुभएको आदर्श वाक्य के थियो?” तँ तेरो परिवारले तँभित्र हालिदिएका विभिन्न विचार र वातावरणहरूमा तुरुन्तै, जन्मजात ढङ्गले र अवचेतन रूपमा फर्केर जान्छस्, र तिनै कुराहरूबाट सुरक्षा खोज्ने र माग्ने गर्छस्। त्यस्तो बेला, परिवार तेरो सधैँको दह्रिलो, अटल, र अपरिवर्तित सुरक्षित आश्रय, सहारा, सहयोग र प्रेरणा बन्छ, र तँलाई जिइरहन ऊर्जा दिने अनि स्तब्ध र निर्णयहीन अवस्थामा पुग्नबाट रोक्ने मनोवैज्ञानिक आधार बन्छ। यस्तो बेला, तँ यस्तो गहन भावनाले भरिन्छस्: “परिवार मेरो लागि औधी महत्त्वपूर्ण छ, यसले मलाई यति धेरै मानसिक शक्ति प्रदान गर्छ, साथै यो मेरो आत्मिक सहाराको स्रोत पनि हो।” तैँले यस्तो सोच्दै आफूलाई बारम्बार बधाई पनि दिन्छस्, “मेरा आमाबुबाले मलाई जे बताउनुभयो, त्यो मैले सुन्नु मेरो सौभाग्यको कुरा हो, अन्यथा, अहिलेसम्म म साह्रै लाजमर्दो परिस्थितिमा पुगिसकेको हुन्थेँ, अर्थात् कि त मलाई हेपिनेथियो कि त चोट पुर्याइनेथियो। सौभाग्यले, मसँग यो जादुको छडी, र सुरक्षा मन्त्र छ। त्यसकारण, परमेश्वरको घरमा र मण्डलीमा पनि, आफ्नो कर्तव्य पूरा गर्दा पनि, मलाई कसैले हेप्नेछैन, र म मण्डलीद्वारा हटाइने वा कारबाही गरिने खतरामा पर्नेछैनँ। यी कुराहरू सायद मेरो जीवनमा कहिल्यै आउनेछैनन्, किनभने मेरो परिवारले मलाई सिकाएका कुराहरूले मलाई सुरक्षा दिन्छ।” तर तैँले एउटा कुरा बिर्सेको छस्। तैँले तँ आफैले कल्पना गरेको सुरक्षा मन्त्रको वातावरण र तैँले आफूलाई सुरक्षा गर्न सक्छु भन्ठानेको स्थानमा जिइरहेको छस्, तर तैँले परमेश्वरको आज्ञा पूरा गरेको छस् कि छैनस् त्यो तँलाई थाहै छैन। परमेश्वरले तँलाई दिनुभएको आज्ञालाई तैँले बेवास्ता गरेको छस्, र सृष्टि गरिएको प्राणीको रूपमा रहेको तेरो पहिचान, र सृष्टि गरिएको प्राणीको रूपमा तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई बेवास्ता गरेको छस्। तैँले आफ्नो कर्तव्य पूरा गर्दा अपनाउनुपर्ने मनोवृत्ति र तैँले समर्पित गर्नुपर्ने सबै कुराहरूलाई पनि बेवास्ता गरेको छस्, र तैँले लिनुपर्ने जीवनसम्बन्धी साँचो दृष्टिकोण र मूल्य-मान्यताहरूको स्थान तँलाई तेरो परिवारले सिकाएका कुराहरूले लिएका छन्, र तँलाई तेरो परिवारले सिकाएका कुराहरूले मुक्ति पाउने तेरो अवसरहरूमा पनि असर र प्रभाव पारेका छन्। त्यसकारण, हरेक व्यक्तिले आफ्नो परिवारले आफूलाई सिकाइने कुराका प्रभावहरू त्याग्नु अत्यन्तै महत्त्वपूर्ण छ। यो अभ्यास गर्नैपर्ने सत्यताको एउटा पक्ष हो, र यो कुनै ढिलाइ नगरी प्रवेश गर्नैपर्ने वास्तविकता पनि हो। यस्तो किन हो भने, यदि समाजले तँलाई केही कुरा भन्छ भने, तैँले यसलाई इन्कार गर्न तर्कसङ्गत वा अवचेतन निर्णय गर्ने सम्भावना हुन्छ; यदि अपरिचित व्यक्ति वा तँसँग सम्बन्धित नरहेको कुनै व्यक्तिले तँलाई केही कुरा भन्यो भने, तैँले यसलाई स्वीकार गर्ने कि नगर्ने भनेर तर्कसङ्गत किसिमले वा सोचविचार गरेर निर्णय गर्ने प्रवृत्ति हुन्छ; तर यदि तेरो परिवारले तँलाई केही कुरा भन्यो भने, तैँले नहिचकिचाई वा वास्तविकता नबुझी यसलाई स्विकार्ने प्रवृत्ति हुन्छ, र यो वास्तवमा तेरो लागि खतरनाक कुरा हो, किनभने परिवारले व्यक्तिलाई कहिल्यै हानि गर्दैन, र परिवारले तेरो भलाइको लागि, तेरो सुरक्षाको लागि, र तेरै लाभको खातिर सबै कुरा गर्छ भन्ने तैँले सोचेको हुन्छस्। यो कल्पित सिद्धान्तको आधारमा हेर्दा, परिवारबाट पाउने यी अस्पृश्य र ठोस कुराहरूद्वारा मानिसहरू सहजै विचलित र प्रभावित हुन सक्छन्। ठोस कुराहरू भनेका परिवारका सदस्यहरू अनि परिवारका सबै कामकुराहरू हुन् भने, अस्पृश्य कुराहरू भनेका परिवारबाट आउने विभिन्न विचार र शिक्षा, साथै कसरी व्यवहार गर्ने र कामकुराहरू कसरी गर्ने भनी तँलाई अभ्यस्त पार्ने कुराहरू हुन्। के कुरा यही होइन र? (हो।)
परिवारले तँलाई सिकाउने कुराका प्रभावहरूबारे छलफल गर्नुपर्ने कुरा धेरै छन्। आज यी कुराहरू सङ्गति गरिसकेपछि, तिमीहरूले यी सबैबारे मनन गर्नुपर्छ र यी कुराको सार निकाल्नुपर्छ, अनि मैले आज उल्लेख गरेका विचार र दृष्टिकोणहरू बाहेक कुन-कुन विचार र दृष्टिकोणहरूले तिमीहरूको दैनिक जीवनमा असर पार्छन् भनेर सोच्नुपर्छ। हामीले भर्खरै सङ्गति गरेकामध्ये धेरैजसो कुरा दुनियाँसित कसरी व्यवहार गर्ने भन्नेसम्बन्धी मानिसहरूका सिद्धान्त र तौरतरिकाहरूसँग सम्बन्धित छन्, र केही थोरै विषयहरू मानिसहरू र विभिन्न कुराहरूलाई हेर्नुसँग सम्बन्धित छन्। मानिसहरूमाथि परिवारले पार्ने सिकाइने कुराका प्रभावहरूको क्षेत्रमा लगभग यी सबै कुराहरू पर्छन्। केही विषयहरू जीवनलाई हेर्ने मानिसहरूको दृष्टिकोण वा दुनियाँसित गर्ने व्यवहारसँग सम्बन्धित छैनन्, त्यसकारण ती कुराबारे हामी थप कुरा गर्नेछैनौँ। अब, आजको हाम्रो सङ्गति यतिमै समाप्त हुन्छ। अर्कोपटक भेटौँला!
फेब्रुअरी ११, २०२३