सत्यता कसरी पछ्याउने (११)

हामीले पछिल्लो भेलामा कहाँसम्म सङ्गति गरेका थियौँ? हामीले “सत्यता कसरी पछ्याउने” भन्‍ने खण्डमा विवाहको सन्दर्भमा “त्याग्ने” शीर्षकबारे सङ्गति गरेका थियौँ। हामीले विवाहको शीर्षकमा थुप्रै पटक सङ्गति गरेका छौँ—हामीले पछिल्लोपटक मुख्यतः केबारे सङ्गति गरेका थियौँ? (हामीले विवाहबारेका विविध मनोकल्पनाहरू त्याग्ने र विवाहित मानिसमा विवाहबारे हुने केही विकृत विचार र बुझाइहरू सच्याउने, साथै यौनिक चाहनालाई सही तरिकाले सम्हाल्नेबारे सङ्गति गरेका थियौँ। अन्त्यमा, हामीले वैवाहिक सुख खोज्नु हाम्रो मिसन होइन भनी सङ्गति गरेका थियौँ।) हामीले “विवाहबारेका विविध मनोकल्पनाहरू त्याग्ने” शीर्षकमा सङ्गति गरेका थियौँ, त्यसोभए तिमीहरूले कति बुझ्यौ र कति सम्झिन सक्छौ? के हामीले मुख्य गरी विवाहप्रति मानिसमा हुने अवास्तविक, अव्यावहारिक, बचकना र अविवेकी राय अनि चाहनाबारे सङ्गति गरेका थिएनौँ र? (गरेका थियौँ।) विवाहलाई सही ढङ्गमा समेट्नु र बुझ्नु अनि सही तरिकाले लिनु—यो नै विवाहप्रति मानिसमा हुनुपर्ने मनोवृत्ति हो। विवाहलाई खेलको रूपमा लिनु हुँदैन, न त त्यसलाई व्यक्तिका सम्पूर्ण कल्पना र अवास्तविक पछ्याइ पूरा गर्ने कुरा नै ठान्नु हुन्छ। विवाहबारेका विविध मनोकल्पनाहरूमा के कुराहरू पर्छन्? यी कल्पनाहरू र जीवनप्रति मानिसमा हुने विविध मनोवृत्तिबीच कुनै निश्चित सम्बन्ध हुन्छ र, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, ती कुरा मानिसले संसार र समाजबाट प्राप्त गर्ने विवाहसम्बन्धी विविध भनाइ, व्याख्या, र मनोवृत्तिसँग सम्बन्धित छन्। यी भनाइ, व्याख्या र मनोवृत्तिहरू समाज र सम्पूर्ण मानवजातिबाट लिइएका अनगिन्ती अवास्तविक र झूटा भनाइ र दृष्टिकोण हुन्। मानिसले किन यी कुराहरू त्याग्नुपर्छ? किनभने यी कुराहरू भ्रष्ट मानवजातिबाट आउँछन्, किनभने ती विवाहको सम्बन्धमा दुष्ट संसारबाट पैदा भएका सबै प्रकारका दृष्टिकोण र मनोवृत्ति हुन्, अनि यी विचार र मनोवृत्तिहरू परमेश्‍वरले मानवजातिलाई तोकेको विवाहको परिभाषा र अवधारणाबाट पूर्णतया अलग बन्छन्। परमेश्‍वरले मानवजातिका लागि तोकेको विवाहको अवधारणा र परिभाषा मानव जिम्मेवारी र दायित्व, साथै मानिसले जीवनमा अपनाउनुपर्ने मानवता, विवेक र समझमा बढी केन्द्रित छन्। विवाहबारे परमेश्‍वरको परिभाषाले मुख्यतः मानिसलाई कसरी आफ्ना जिम्मेवारीहरू विवाहको संरचनाभित्र सही तरिकाले सम्हाल्ने भनी अर्ती दिन्छ। यदि तँ अविवाहित होस् र तैँले वैवाहिक जिम्मेवारीहरू पूरा गर्नु पर्दैन भने पनि विवाहबारे परमेश्‍वरको परिभाषा सही ढङ्गमा बुझ्नुपर्छ—यो एउटा पक्ष हो। अर्को पक्ष हो, परमेश्‍वर मानिसलाई वैवाहिक संरचनाभित्र तिनीहरूले लिनुपर्ने जिम्मेवारीहरू बहन गर्न तयार हुन अर्ती दिनुहुन्छ। विवाह कुनै खेल वा बच्चाले भाँडाकुटी खेलेजस्तो होइन। व्यक्तिले मनमा थाहा पाउनुपर्ने र विचार गर्नुपर्ने पहिलो कुरा के हो भने विवाह जिम्मेवारीको सङ्केत हो। व्यक्तिले आफ्नो सामान्य मानवतामा पूरा गर्नुपर्ने जिम्मेवारीहरूका लागि आफूलाई तयार पार्नु झनै महत्त्वपूर्ण छ। तर विवाहबारे शैतान र दुष्ट संसारका धारणा, बुझाइ र भनाइहरू के कुरामा बढी ध्यान दिन्छन्? तिनले भावना र यौन चाहनाहरूमा रमाउन, शारीरिक चाहनाहरू पूरा गर्न, र विपरीत लिङ्गीप्रतिको दैहिक जिज्ञासा पूरा गर्न, साथै अवश्य पनि मानव आडम्बर पूरा गर्नमा बढी ध्यान दिन्छन्। तिनले जिम्मेवारी वा मानवताबारे कहिल्यै बताउँदैनन्, झन् परमेश्‍वरले तोकेका विवाहमा संलग्न दुई पक्ष अर्थात् पुरुष र स्त्रीले वैवाहिक संरचनाभित्र कसरी आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ, आफ्नो दायित्व पूरा गर्नुपर्छ, अनि पुरुष र स्त्रीले गर्नुपर्ने हर कुरा राम्ररी गर्नुपर्छ बताउनु त परै जाओस्। विवाहबारे संसारले मानिसलाई सिकाउने विविध व्याख्या, भनाइ, र मनोवृत्तिहरूले मानव भावना र चाहना पूरा गर्न, ती अनुसन्धान र खोजी गर्नमा बढी ध्यान दिन्छन्। त्यसकारण, यदि तैँले विवाहबारे समाजका यी विविध भनाइ, बुझाइ, वा मनोवृत्तिहरू स्विकार्छस् भने, यी दुष्ट विचारहरूको प्रभाव हटाउन सक्नेछैनस्। अझै सटिक रूपमा भन्नुपर्दा, तँ विवाहबारे संसारका यी दृष्टिकोणहरूले भ्रष्ट तुल्याइनबाट जोगिन सक्नेछैनस्। तँलाई यी विचार र दृष्टिकोणद्वारा भ्रष्ट र प्रभावित तुल्याइएपछि, तँ यी विचारहरूको नियन्त्रणमा पर्नबाट जोगिन सक्नेछैनस्, र साथै, तैँले पनि गैरविश्‍वासीहरूले झैँ यी दृष्टिकोणद्वारा मूर्ख बनाइन र चालबाजीमा पर्न स्विकार्नेछस्। गैरविश्‍वासीहरूले विवाहबारे यी विचार र दृष्टिकोणहरू स्विकारेपछि, प्रेम र आफ्नो यौन चाहना पूरा गर्नेबारे कुरा गर्छन्। त्यसै गरी, तैँले पनि यी विचार र दृष्टिकोणहरू रोकटोकविना स्विकारिसकेपछि, प्रेम र आफ्नो यौन चाहना पूरा गर्नेबारे कुरा गर्नेछस्। यो हुन्छै हुन्छ र तँ यसबाट उम्किन सक्दैनस्। जब तँसँग विवाहको सही परिभाषा हुँदैन, अनि विवाहप्रति सही बुझाइ र मनोवृत्ति हुँदैन, तब तैँले स्वाभाविक रूपमा विवाहबारे संसारका, समाजका र मानवजातिका सबै विविध दृष्टिकोण र भनाइहरू स्विकार्नेछस्। यदि तँ ती सुन्छस्, देख्छस्, तीबारे जान्दछस्, र यी विचारहरूसित लड्ने तँसित कुनै प्रतिरोधात्मक क्षमता छैन भने, तँ थाहै नपाई यस प्रकारको सामाजिक वातावरणबाट प्रभावित हुनेछस्, र तैँले थाहै नपाई विवाहसम्बन्धी यी दृष्टिकोण र भनाइहरू स्विकार्नेछस्। जब तँ आफूभित्र यी कुराहरूलाई स्विकार्छस्, तब विवाहप्रतिको तेरो मनोवृत्तिलाई यी विचार र दृष्टिकोणहरूले प्रभावित पारेरै छाड्छन्। तँ एक्लै नजिउने हुनाले, विवाहसम्बन्धी संसार, समाज र मानवजातिका विविध भनाइहरूद्वारा प्रभावित र नियन्त्रितसमेत हुने प्रबल सम्भावना हुन्छ। तिनले तँमाथि नियन्त्रण जमाएपछि, तँलाई तीबाट मुक्त हुन एकदमै कठिन हुनेछ, र तँ आफूलाई आफ्नो विवाह कस्तो हुनुपर्छ भनेर कल्पना नगरी बस्नै सक्दैनस्।

पछिल्लोपटक, हामीले विवाहबारे विविध कल्पनाहरूबारे सङ्गति गऱ्यौँ, र यी कल्पनाहरू विवाहबारे दुष्ट मानवजातिका अनेकौँ गलत बुझाइ र दृष्टिकोणबाट आउँछन्। यी बुझाइ र दृष्टिकोणहरू सबै, चाहे निर्दिष्ट होऊन् वा सामान्य, सत्यता पछ्याउने व्यक्तिले त्याग्नुपर्ने कुरा हुन्। पहिलो कुरा, उसले विवाहका विविध गलत परिभाषा र बुझाइहरू सबै त्याग्नुपर्छ; दोस्रो कुरा, उसले सही ढङ्गले आफ्नो लागि जोडी चुन्नुपर्छ; र तेस्रो कुरा, विवाह गरिसकेकाहरूले आफ्नो विवाहलाई सही रूपले लिनुपर्छ। यहाँ “सही” भन्‍ने शब्दले मानिसहरूमा हुनुपर्ने मनोवृत्ति र जिम्मेवारीलाई जनाउँछ, जुन तिनीहरूमा हुनुपर्छ भनी परमेश्‍वर आदेश र निर्देशन दिनुहुन्छ। मानिसले के बुझ्नुपर्छ भने विवाह प्रेमको प्रतीक होइन र वैवाहिक जीवनमा प्रवेश गर्नु भनेको वैवाहिक सुखको महलमा प्रवेश गर्नु होइन, न त्यो दुःखको चिहानमा पस्नु नै हो, झन् विवाहको पहिरन, हिराको औँठी, मण्डली, अनन्त प्रेमको बाचा बाँध्नु, क्यान्डल लाइट डिनर, प्रेमलीला, वा दुई जनाको संसार हुनु त परै जाओस्—यीमध्ये कुनै पनि कुराले विवाहलाई दर्साउँदैन। त्यसकारण, जब हामी विवाहबारे कुरा गर्छौँ, तैँले गर्नुपर्ने पहिलो काम भनेको तेरो हृदयमा रोपिएका विवाहसम्बन्धी कल्पनाहरूका साथै विवाहबारे तेरा कल्पनाहरूबाट उत्पन्न हुने साङ्केतिक कुराहरू हटाउनु हो। के तिमीहरूले विवाहको सही व्याख्याबारे सङ्गति गरेर र शैतानको दुष्ट संसारबाट आउने विविध विकृत विचारहरू चिरफार गरेर विवाहको परिभाषालाई अझै सही ढङ्गमा बुझेका छौ? (छौँ।) अविवाहितहरूको सम्बन्धमा भन्नुपर्दा, के यी कुराहरू भन्दा के तिमीहरू विवाहको मामलाबारे अलि बढी स्थिर महसुस गर्दैनौ र? अनि के यसले तिमीहरूलाई अन्तर्ज्ञान बढाउन मद्दत गर्दैन र? (गर्छ।) तिमीहरूको अन्तर्ज्ञान कुन पक्षमा बढ्छ? (विवाहबारे मेरो पहिलेका कल्पनाहरूमा फूल, हिराको औँठी, विवाहको पहिरन, र अनन्त प्रेमको बाचा बाँध्नेजस्ता अस्पष्ट कुराहरू मात्र पर्थे। अहिले, परमेश्‍वरले सङ्गति दिनुभएको सुनेपछि, मैले के बुझेको छु भने विवाह वास्तवमा परमेश्‍वरद्वारा तोकिएको हुन्छ, र त्यो दुई जना मानिस मिलेर एकअर्काप्रति विचारशील हुन, एकअर्काको हेरचाह गर्न, र एकअर्काका लागि जिम्मेवारी लिन सक्नु हो। यो जिम्मेवारी बोध हो, र विवाहबारे यो विचार अझ बढी व्यावहारिक छ र यसमा ती अस्पष्ट कुराहरू पर्दैनन्।) तेरो अन्तर्ज्ञान वृद्धि भएको छ नि, हैन? सामान्य अर्थमा, तेरो अन्तर्ज्ञान वृद्धि भएको छ। ससाना कुरामा, के पहिले तैँले कदर गर्ने र तँलाई मोहित पार्ने वस्तुहरूका मापदण्डहरू अलि परिवर्तन भएका छन्? (हो, परिवर्तन भएका छन्।) तँ सधैँ आफूले अग्लो, धनी, सुन्दर पुरुष, वा गोरी, धनी, सुन्दरी महिला खोज्न चाहेको कुरा गर्ने गर्थिस्; अहिले तँ के कुरामा ध्यान दिन्छस्? कम्तीमा पनि, तैँले कसैको मानवतामा, र ऊ भरोसायोग्य छ कि छैन र उसमा जिम्मेवारीको बोध छ कि छैन भनेर ध्यान दिन्छस्। ल भन् त, यदि कसैले यो निर्देशन, यो उद्देश्य, र यो विधिबमोजिम जोडी रोज्छ भने, उसको वैवाहिक सम्बन्ध सुखी हुने कि ऊ दुःखी भई सम्बन्धविच्छेद हुने बढी सम्भावना हुन्छ? (ऊ खुसी हुने सम्भावना बढी हुनेछ।) ऊ खुसी हुने सम्भावना अलि बढी हुन्छ। हामी किन यस खालको विवाह शतप्रतिशत सुखी हुने निश्चित छ भनेर भन्दैनौँ? यसका के-कति कारण छन्? कम्तीमा पनि, एउटा कारण हो, मानिसहरूले गल्ती गर्न सक्छन् र कसैसँग विवाह गर्नुअघि तिनलाई राम्ररी बुझ्न सक्दैनन्। अर्को कारण हो, कसैले विवाह गर्नुअघि विवाहबारे सुन्दर कल्पनाहरू गर्दै यस्तो सोचेको हुन सक्ला, “हाम्रो व्यक्तित्व मिल्छ र हाम्रा आकाङ्क्षाहरू एउटै छन्। उसले मलाई हामीले विवाह गरेपछि ऊ जिम्मेवारी उठाउन र उसका दायित्वहरू पूरा गर्न इच्छुक छ, र उसले मलाई कहिल्यै निराश नतुल्याउने वचन पनि दिएको छ।” तर तिनीहरूले विवाह गरेपछि, वैवाहिक जीवनमा सबथोक तिनीहरूले चाहेको जस्तो हुँदैन, सबथोक राम्ररी चल्छ भन्‍ने हुँदैन। साथै, कतिपय मानिस सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छन्, जबकि कतिपय मानिसमा खराब र दुष्ट मानवता नदेखिएला, तर तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन् र सत्यता पछ्याउँदैनन्। तिनीहरू विवाह गरेर सँगै बस्दा, उसको मानवतामा भएको थोरै जिम्मेवारी वा दायित्वको बोध बिस्तारै हटेर जान्छ, समय बित्दै जाँदा ऊ परिवर्तन हुन्छ, र उसले आफ्नो साँचो रूप देखाउँछ। ल भन् त, यदि विवाहित जोडीबीच एउटाले सत्यता पछ्याउँछ तर अर्कोले पछ्याउँदैन, यदि तैँले एकतर्फी रूपमा सत्यता पछ्याउँछस् तर उसले सत्यता बिलकुलै स्विकार्दैन भने, तँ उसलाई कतिन्जेल सहन सक्नेछस्? (धेरै बेर सक्नेछैनस्।) तैँले रिसाउँदै उसको जीवनका केही आनीबानी वा उसको मानवतामा भएका केही सानातिना कमीकमजोरीहरू सहन सक्छेस्, तर समयको दौरान, तिमीहरू दुईको कुरा मिल्नेछैन वा तिमीहरू भिन्नाभिन्नै कुरा पछ्याउँछौ। ऊ सत्यता पछ्याउँदैन, न त सकारात्मक कुराहरूलाई प्रेम नै गर्छ, र ऊ त सधैँ संसारका दुष्ट प्रवृत्तिका कुराहरू मन पराउँछ। क्रमिक रूपमा, तिमीहरूबीच झन्-झन् कम बोलचाल हुँदै जानेछ, तेरा आकाङ्क्षाहरू छताछुल्ल हुनेछन्, र जिम्मेवारीहरू पूरा गर्ने उसको चाहना चाँडै तुहिन्छ। के यस प्रकारको विवाह सुखी विवाह हो? (होइन।) यदि तँ खुसी छैनस् भने तैँले के गर्नुपर्छ? (यदि दुई व्यक्ति सँगै जिउन सक्दैनन् भने सकेसम्म चाँडो छुट्टिनुपर्छ।) सही भनिस्। सुरुमा यो विचार आएदेखि तिनीहरू छुट्टिइन्जेल कति समय लाग्छ? सुरुमा, ती दुई राम्रैसँग मिल्छन्, र केही समय राम्ररी मिलेपछि, तिनीहरू झगडा गर्न थाल्छन्। तिनीहरू झगडा गरेपछि फेरि मिल्छन्, र मिलेपछि स्त्रीले पुरुष परिवर्तन नभएको देख्छे, त्यसैले ऊ सहन्छे, र केही समय सहेपछि, तिनीहरू फेरि ठाकठुक पर्न थाल्छन्। यो झगडा चरम बिन्दुमा पुगेपछि, फेरि सबै ठिक हुन्छ, र ऊ सोच्छे, “हाम्रो ठ्याक मिल्दैन र सुरुमा मैले यस्तो होला भनेर कल्पना गरेकी थिइनँ। सँगै जिउनु पीडादायी हुन्छ। के हामीले सम्बन्धविच्छेद गर्नुपर्ने हो? तर हामीलाई यो मोडमा पुग्न निकै कठिन भएको छ र हामी धेरैपटक छुट्टिएर फेरि मिलेका छौँ। मैले त्यति सजिलै ऊसित सम्बन्धविच्छेद गर्नु पटक्कै हुँदैन। मैले यो सहनु नै पर्छ। एक्लै जिउनु कहिल्यै दुई जना सँगै जिउनुजस्तो राम्रो हुँदैन।” त्यसकारण ऊ एक-दुई वर्ष सहन्छे; ऊ उसलाई जति हेर्छे त्यति नै असन्तुष्ट महसुस गर्छे, र यो क्रम जति लम्बिन्छ ऊ त्यति नै कुण्ठित हुन्छे। सँगै जिउँदा उसलाई खुसी मिल्दैन, र तिनीहरूका कुराकानी झन्-झन् कम मिल्छन्। ऊ उसका त्रुटिहरू झन्-झन् बढेको देख्छे र आफूले उसलाई सहन गर्न झन्-झन् कम चाहेको महसुस गर्छे। पाँच-छ वर्षपछि, ऊ त्यो बिलकुलै सहन सक्दिन, रिसले चुर हुन्छे, र ऊबाट पूरै अलग्गिन चाहन्छे। उसले यसरी पूरै अलग हुने निर्णय गर्नुअघि यसबारे सुरुदेखि अन्त्यसम्म सबै कुरा सोच्नैपर्छ र सम्बन्धविच्छेद गरेपछि आफू कसरी जिउने भनेर प्रस्टसित र राम्ररी नसोची हुँदैन। ती सबैबारे राम्ररी सोचेपछि, उसले सङ्कल्प गर्न सक्दिन, तर त्यसबारे धेरैपटक राम्ररी सोचेपछि अनकनाउँदै आफ्ना श्रीमानलाई छोड्ने निर्णय गर्छे र सोच्छे, “म ऊसित सम्बन्धविच्छेद गर्नेछु। योभन्दा एक्लै शान्तिको जीवन जिउनु राम्रो हुन्छ।” ती दुई सधैँ ठाकठुक परिरहन्छन् र मिलेर बस्न सक्दैनन्। उसले विगतमा सहन सकेको कुरा अहिले असहनीय भएको छ। उसलाई देख्दा ऊ खिन्न हुन्छे, उसले बोलेको सुन्दा रिस उठ्छ, र उसको आवाज सुन्दा, उसको उपस्थिति, उसको कपडा, र उसले प्रयोग गरेका चीजबीज देख्दासमेत दिगमिग र वाकवाकी लाग्छ। यो असहनीय मोडमा पुगेको छ जहाँ ती दुई एकअर्काका लागि नौलो व्यक्ति बनेका छन् र उसले ऊसित सम्बन्धविच्छेद गर्नुपर्छ। उसले ऊसित सम्बन्धविच्छेद गर्नुपर्ने के आधार थियो? ती दुई सँगै जिउनु अत्यन्तै पीडादायी थियो, र उसलाई एक्लै बस्नु राम्रो हुन्छ। जब कुरा यो मोडमा पुग्छ, तबउसो ऊ उसको सम्पर्कमा रहनेछैन। तिनीहरूबीच कुनै भावना हुँदैन, उसले यसबारे राम्ररी सोचेकी छे र यस्तो बुझेकी छे: एक्लै जिउनु राम्रो हुन्छ, जसरी गैरविश्‍वासीहरू प्राय: भन्‍ने गर्छन्, “एक्लै जिउँदा अरू कसैको चिन्ता लिनु पर्दैन।” अन्यथा, उसले सधैँ उसको बारेमा सोचिरहनुपर्ने र “उसले खायो कि खाएन? उसले राम्ररी लुगा लाएको छ कि छैन? ऊ राम्ररी सुतिरहेको छ कि छैन? के उसलाई घरदेखि टाढा काम गर्दा थकाइ लागिरहेको छ? के उसलाई धम्काइँदै छ? उसलाई कस्तो लागिरहेको छ?” भनी चिन्ता लिइरहनुपर्ने हुन्थ्यो। उसले सधैँ उसको बारेमा चिन्ता लिइरहनुपर्ने हुन्थ्यो। तर अहिले, उसलाई एक्लै जिउनु नै बढी शान्तिमय लाग्छ, अरू कसैबारे सोच्नु वा चिन्ता लिनु पर्दैन। यस्तो पुरुष त्यस्ता कुराको योग्य हुँदैन। ऊ उसको चिन्ता, प्रेम, र उसले उसका लागि कुनै जिम्मेवारी लिनु को लायक छैन, र उसमा मन पर्दा केही पनि छैन। अन्त्यमा, उसले सम्बन्धविच्छेदका लागि निवेदन हाल्छे, तिनीहरूको वैवाहिक जीवन समाप्त हुन्छ, अनि ऊ कहिल्यै पछाडि फर्किँदैन र पछुताउँदिन। यस्ता विवाह हुन्छन् नि, हुँदैनन् र? (हुन्छन्।) विगतका दयालुपन र अघिल्लो जुनीको वैरभावजस्ता विभिन्न कारण पनि विवाहहरू हुने गर्छन्। हामीले पहिले छलफल गरेजस्तै, कतिपय मानिसहरू एक व्यक्ति अर्कोप्रति ऋणी भएको कारण सम्बन्ध जोड्छन्। जोडीबीच कि त स्त्री पुरुषप्रति ऋणी हुन्छे, कि चाहिँ पुरुष स्त्रीप्रति ऋणी हुन्छ। अघिल्लो जुनीमा, एउटाले अत्यन्तै धेरै फाइदा लिएको, अति धेरै ऋणी भएको हुन सक्छ, त्यसैले यो जुनीमा तिनीहरूलाई मिलाइएका हुन् ताकि उक्त व्यक्तिले आफ्नो ऋण तिर्न सकोस्। यस्ता धेरै विवाह सुखी हुँदैनन्, तर तिनीहरू सम्बन्धविच्छेद गर्न सक्दैनन्। चाहे तिनीहरू परिवार वा छोराछोरी भएको कारण होस्, वा अरू केही कारणले गर्दा सँगै बस्नुपर्ने बाध्य होऊन्, जे होस् उक्त जोडी एकअर्कासँग मिलेर बस्न सक्दैन, तिनीहरू सधैँ झगडा गर्ने, ठाकठुक पर्ने गर्छन्, र तिनीहरूको व्यक्तित्व, रुचि, पछ्याइ, र सोख बिलकुलै मेल खाँदैनन्। तिनीहरू एकअर्कालाई मन पराउँदैनन् र सँगै जिउँदा तिनीहरू कसैलाई खुसी प्राप्त हुँदैन, तर तिनीहरू सम्बन्धविच्छेद गर्न सक्दैनन्, त्यसैले मृत्युपर्यन्त सँगै रहन्छन्। मृत्यु नजिकिँदै गर्दा पनि तिनीहरू एकअर्कालाई गिल्ला गर्छन् र “म तँलाई अर्को जुनीमा भेट्न चाहँदिनँ!” भन्छन्। तिनीहरू एकअर्कालाई अति घृणा गर्छन्, हैन र? तर यो जुनीमा तिनीहरू सम्बन्धविच्छेद गर्न सक्दैनन्, र यो परमेश्‍वरद्वारा तोकिएको हुन्छ। यी सबै फरक-फरक प्रकारका विवाहहरू, तिनीहरूका संरचना वा उत्पत्ति जेजस्ता भए पनि, तँ विवाहित भए पनि नभए पनि, तैँले सधैँ कुनै पनि अवस्थामा विवाहबारे आफूमा भएका विविध अवास्तविक र बचकना कल्पनाहरू त्याग्नुपर्छ; तैँले विवाहलाई सही तरिकाले सम्हाल्नुपर्छ र मानिसहरूको भावना र चाहनासित खेलबाड गर्नु हुँदैन, झन् विवाहबारे तँलाई समाजले सिकाउने गलत दृष्टिकोणहरूको पासोमा फस्नु, आफूलाई विवाहबारे कस्तो लाग्छ भनेर घोत्लिनु त परको कुरा हो: के तेरो जोडीले तँलाई प्रेम गर्छ? के तँलाई आफ्नो जोडीले प्रेम गरेको अनुभूति गर्न सक्छस्? के तँ अझै आफ्नो जोडीलाई प्रेम गर्छस्? तँसँग तेरो जोडीका लागि अझै पनि कति प्रेम छ? के तेरो जोडीलाई अझै तँप्रति कुनै अनुभूति हुन्छ? के तँलाई अझै आफ्नो जोडीप्रति कुनै अनुभूति हुन्छ? यी कुराहरू अनुभूति गर्नु वा यी कुराहरूबारे घोत्लिनु आवश्यकता छैन—ती सबै निरर्थक र अर्थहीन कुरा हुन्। तँ यी कुराहरूमा जति घोत्लिन्छस्, त्यति नै तँलाई आफ्नो विवाह सङ्कटमा छ भन्‍ने लाग्छ, र तँ यी सोचहरूमा जति धेरै डुब्छस्, त्यति नै तँ विवाहको पासोमा फसेको छस् भन्‍ने प्रमाणित हुन्छ, अनि तँ निश्चय नै खुसी हुनेछैनस् वा तँमा कुनै सुरक्षाको बोध हुनेछैन। किनभने जब तँ यी विचार, दृष्टिकोण र सोचहरूमा डुब्छस्, तब तेरो विवाह बिग्रिन्छ, तेरो मानवता कुरूप बन्छ, र तँ पनि विवाहबारे समाजका विविध विचार र दृष्टिकोणको पूर्ण नियन्त्रण र फन्दामा पर्छस्। त्यसकारण, विवाहबारे समाज र दुष्ट मानवजातिबाट आउने विविध दृष्टिकोण र भनाइका सन्दर्भमा भन्नुपर्दा, तैँले ती सही रूपमा खुट्ट्याउन सक्नैपर्छ, अनि यी दृष्टिकोण र भनाइहरूलाई अस्वीकार पनि गर्नैपर्छ। अरू मानिसले जे भने पनि वा विवाहबारे तिनीहरूका भनाइहरू जसरी परिवर्तन भए पनि, अन्ततः मानिसले विवाहबारे परमेश्‍वरको परिभाषा त्याग्नु हुँदैन, न त मानिसहरू विवाहबारे दुष्ट संसारका दष्टिकोणहरूद्वारा प्रभावित हुनु वा आफ्नो दृष्टि धमिल्याउनु नै हुन्छ। सोझै भन्नुपर्दा, विवाह भनेको व्यक्तिको जीवनको किशोरावस्थादेखि वयस्क अवस्थासम्मको एक भिन्न चरणको सुरुवात हो। अर्थात्, तँ वयस्क भएपछि जीवनको भिन्न चरणमा प्रवेश गर्छस्, र जीवनको यो चरणमा विवाहमा प्रवेश गर्छस् र आफूसित रगतको नाता नभएको व्यक्तिसँग जिउँछस्। तँ उक्त व्यक्तिसँग जिउन थालेको दिनदेखि, मतलब श्रीमती वा श्रीमानको रूपमा, तैँले आफ्नो काँधमा वैवाहिक जीवनका सम्पूर्ण कुराको जिम्मेवारी र दायित्वहरू बोक्नुपर्छ र, त्यतिमात्र नभएर, तिमीहरू दुवैले वैवाहिक जीवनका सम्पूर्ण कुरा सँगै सामना गर्नैपर्छ। भन्नुको अर्थ, विवाहले कुनै व्यक्तिले आफ्नो आमाबुबा छोडेको छ, एकल जीवनलाई बिदाइ गरेको छ, र अरू कसैसित मिलेर दुई मानिसको जीवनमा प्रवेश गरेको छ भन्‍ने जनाउँछ। यही चरणमा दुई मानिसले सँगै जीवनको सामना गर्छन्। यो चरणले तँ जीवनको फरक चरणमा प्रवेश गर्नेछस्, साथै तैँले अवश्य नै जीवनका सबै प्रकारका परीक्षा सामना गर्नेछस् भन्‍ने जनाउँछ। तैँले कसरी विवाहको संरचनाभित्र जीवन सम्हाल्नेछस् अनि तैँले र तेरो जोडीले विवाहको संरचनाभित्र आइपर्ने सबै कुरा सँगै मिलेर कसरी सामना गर्नेछस् भन्‍ने कुराहरू तेरा लागि परीक्षा हुन सक्लान्, वा तँलाई सिद्ध पार्ने कुरा हुन सक्छन् वा ती विध्वंसक हुन सक्छन्। ती पक्कै पनि जीवनमा थप अनुभवका स्रोत पनि हुन सक्छन्; ती तँलाई जीवनको गहन बुझाइ र कदर प्रदान गर्ने स्रोत हुन सक्छन्, हैन र? (हो।) हामी विवाह र विवाहबारेका मनोविविध कल्पनाहरूको सही बुझाइ भएको शीर्षकसम्बन्धी हाम्रो पुनरावृत्ति यही अन्त्य गर्नेछौँ।

हामीले पछिल्लोपटक अर्को शीर्षकमा सङ्गति गरेका थियौँ, जुन वैवाहिक सुखको पछि लाग्नु तेरो मिसन होइन भन्‍ने थियो। हामीले यो शीर्षकमा सङ्गति गर्दा केमा जोड दियौँ? (हामीले हाम्रो जीवनको खुसी आफ्नो जोडीलाई सुम्पनु हुँदैन, र हामीले आफ्नो जोडीलाई आकर्षित गर्न वा आफ्नो तथाकथित प्रेम जोगाउनका निम्ति मात्र उसलाई मन पर्ने कुरा गर्नै हुँदैन। हामीले आफू सृष्टि गरिएका प्राणी हौँ अनि वैवाहिक जीवनमा आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू सृष्टि गरिएका प्राणीको रूपमा हामीले पूरा गर्नुपर्ने कर्तव्य र जिम्मेवारीहरूसँग बाझिँदैन भन्‍ने कुरा बिर्सनु हुँदैन।) धेरै मानिस आफ्नो जीवनको खुसी आफ्नो विवाहमाथि निर्भर बनाउँछन्, अनि तिनीहरूको खुसी पछ्याउने लक्ष्य विवाहमा सुख र सिद्धता पछ्याउनु हुन्छ। तिनीहरू यदि आफ्नो विवाह सुखी छ र आफू आफ्नो जोडीसँग खुसी छ भने, आफ्नो जीवन सुखी जीवन हुनेछ भन्‍ने विश्‍वास गर्छन्, त्यसैले तिनीहरू आफ्नो वैवाहिक सुखलाई निरन्तरको प्रयासमार्फत प्राप्त हुने आजीवन मिसन ठान्छन्। यसकारण, आफू वैवाहिक जीवनमा प्रवेश गर्छन्, धेरै मानिस आफ्नो विवाहलाई “ताजा” राख्न धेरै कुराबारे सोच्दै दिमाग खियाउँछन्। “ताजा” भन्नुको अर्थ के हो? यसको अर्थ हो, मानिसहरूले भन्‍ने गरेझैँ विवाह गरेको जति नै भए पनि, दुई व्यक्ति सधैँ आफूहरू एकै हुन् र एकअर्कालाई कहिल्यै छोड्न सक्दैनन् भन्‍ने ठान्छन्, जस्तै तिनीहरू डेट गर्न थाल्दा एकअर्कालाई छोड्न सक्दैनथे, र तिनीहरू सधैँ एकसाथ रहन र कहिल्यै नछुट्न चाहन्छन्। त्यसबाहेक, तिनीहरू जहाँसुकै र हर समय, सधैँ आफ्नो जोडीबारे सोचिरहेका र उसलाई सम्झिरहेका हुन्छन्, अनि तिनीहरूको हृदय जोडीको आवाज, मुस्कान, बोली र व्यवहारले भरिएको हुन्छ। यदि तिनीहरूले एकै दिन पनि आफ्नो जोडीको आवाज सुनेनन् भने, तिनीहरूको हृदयमा उदासी छाउँछ, र यदि तिनीहरूले आफ्नो जोडीलाई एकै दिन पनि नदेखेमा, तिनीहरूलाई आफ्नो आत्मा गुमेझैँ लाग्छ। तिनीहरू यी कुरा वैवाहिक सुखको प्रतीक र सङ्केत हुन् भन्‍ने सोच्छन्। त्यसैले, कतिपय तथाकथित पूर्णकालीन गृहिणीहरू घरमै बस्छन् र आफ्ना श्रीमान घर आउने प्रतीक्षा गर्नुलाई सबैभन्दा खुसीको कुरा हो भन्‍ने अनुभूति गर्छन्। यदि आफ्ना श्रीमान समयमा घर आएन भने, तिनीहरू श्रीमानलाई कल गर्छन्, अनि तिनीहरूले सोध्ने पहिलो प्रश्न के हुन्छ? (तपाईं कति बजे घर आइपुग्नुहुन्छ?) तिमीहरूले प्राय: यो सुन्छौ जस्तो देखिन्छ—यो प्रश्नले धेरैको हृदयमा गहिरो जरा गाडेको हुन्छ। पहिलो प्रश्न “तपाईं कति बजे घर आइपुग्नुहुन्छ?” भन्‍ने हो। तिनीहरूले यो कुरा सोधिसकेपछि, सही जवाफ पाए पनि नपाए पनि, जे होस् सुखी वैवाहिक जीवनमा महिलाको प्रेमरोग प्रकट हुन्छ। यो त वैवाहिक सुख पछ्याउनेहरूको जीवनमा हुने सामान्य स्थिति हो। तिनीहरू घरमा चुपचाप आफ्नो जोडी कामबाट फर्कने प्रतीक्षा गर्छन्। यदि तिनीहरू बाहिर निस्किहाले भने, धेरै टाढा जाने वा धेरै बेर बाहिर बस्ने आँट गर्दैनन्, तिनीहरूलाई आफ्नो जोडी घर आउँदा कोही नभेटेमा उसलाई अत्यन्तै चोट पुग्नेछ, निराश र खिन्न हुनेछ भन्‍ने डर हुन्छ। यी मानिसहरू आफ्नो वैवाहिक सुखको पछ्याइमा अत्यन्तै आशा र विश्‍वास राख्छन्, र कुनै मूल्य चुकाउन वा कुनै परिवर्तन गर्न रोकिँदैनन्। कतिपय त परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि पनि पहिले जस्तै वैवाहिक सुख पछ्याइरहन्छन्, आफ्नो जोडीलाई प्रेम गर्न खोज्छन् र सधैँ जोडीलाई आफूलाई उसले प्रेम गर्छ कि गर्दैन भनी सोध्छन्। त्यसकारण, भेलामा कुनै महिलाले यस्तो सोच्ली, “के मेरा श्रीमान् घर आइपुग्नुभो होला? आइपुग्नुभो भने, के उहाँले केही खानुभो होला? के उहाँ थकित हुनुहुन्छ? म अझै भेलामै छु र मलाई अलि असहज महसुस भइरहेको छ। मलाई आफूले उहाँलाई निराश तुल्याएको छु जस्तो लाग्छ।” जब ऊ अर्को भेलामा सहभागी हुन जान्छे, तब उसले आफ्ना श्रीमान्लाई सोध्छे, “तपाईं कति बजे आइपुग्नुहुन्छ होला? यदि म भेलामा भएको बेला आइपुग्नुभो भने के तपाईँलाई एक्लो महसुस हुनेछ?” श्रीमानले जवाफ दिन्छ, “कसरी हुँदैन त? घर खाली हुन्छ र म एक्लै हुन्छु। सामान्यतया, हामी यहाँ सधैँ सँगै हुन्छौँ, र अब आएर म एकाएक एक्लै हुन्छु। तिमीलाई चाहिँ किन सधैँ भेलामा सहभागी हुनुपरेको? तिमी भेलामा जाँदा हुन्छ, तर मभन्दा पहिले घर आइपुग्यौ भने राम्रो हुनेथ्यो!” उसलाई हृदयमा थाहा छ, “ओहो, उहाँले मबाट ज्यादा माग्नुहुन्न, उहाँ आइपुग्नुअघि म घरमै भइदिए पुगिहाल्यो नि।” अर्को भेलामा, ऊ घडी हेरिरहन्छे, र श्रीमानको काम सकिन लागेको समय देखेपछि थपक्क बस्नै सक्दिन र भन्छे, “साथी हो, तिमीहरू जारी राख है, म त घरमा काम परेकाले जानुपर्ने भो।” ऊ हतारपतार घरतिर लाग्दै सोच्छे, “गजब भो, मेरा श्रीमान् अझै आइपुग्नुभा छैन रहेछ! म चाँडो-चाँडो खाना बनाउँछु र घर सफा गर्छु ताकि उहाँले घर आउँदा घर सफा देख्न सक्नुहोओस्, खानाको वासना पाउन सक्नुहोओस्, र घरमा कोही रहेछ भन्‍ने जान्न सक्नुहोओस्। खाना खाने बेला हामी सँगै हुन पाउनु गजब हो! मैले भेलामा केही समय गुमाएको र कम सुनेको अनि कम कुरा प्राप्त गरेको भए पनि, श्रीमान् आइपुग्नुअघि नै म घर पुग्न र उहाँलाई तातो खाना दिन सक्नु धेरै राम्रो कुरा हो, र सुखी विवाह कायम राख्न यो अत्यावश्यक छ।” उसले त्यसपछिका भेलाहरूमा प्राय: यसै गर्छिन् र बेलाबेला भेलाको समय लम्बिन्छ, अनि ऊ हतारपतार घर पुग्दा श्रीमान् आइपुगिसकेको हुन्छ। श्रीमान् अलि रुष्ट र बेखुस हुन्छ, अनि गनगन गर्छ, “तिमीले एउटा भेला छुटाउँदा हुँदैन? तिमी घरमा नहुँदा अनि म घर आउँदा तिमीलाई घरमै नदेख्दा मलाई कस्तो हुन्छ भन्‍ने तिमीलाई थाहा छैन? म खिन्न हुन्छु!” यो सुनेर ऊ निकै भावुक हुन्छे र सोच्छे, “यसको अर्थ, उहाँ मलाई असाध्यै प्रेम गर्नुहुन्छ र उहाँ मविना जिउन सक्नुहुन्न। मलाई घरमा नदेख्दा उहाँ खिन्न हुनुहुन्छ। म अत्यन्तै खुसी छु! उहाँ अलि रिसाएजस्तो लागे पनि, मप्रति उहाँको प्रेम महसुस गर्न सक्छु। अर्कोपटक मैले ख्याल गर्नैपर्छ र भेला जति घण्टासम्म चले पनि, म चाँडै घर नआई हुँदैन। मैले मप्रति उहाँको प्रेमलाई हतोत्साहित गर्नु हुँदैन। मैले भेलाहरूमा अलि कम कुरा प्राप्त गर्नु वा परमेश्‍वरका वचनहरू अलि कम सुन्नु महत्त्वपूर्ण होइन।” ऊ त्यसपछिका भेलाहरूमा सहभागी हुँदा, आफ्ना श्रीमान्को प्रेमको लायक हुनका साथै आफ्नो वैवाहिक जीवनमा आफूले पछ्याउने खुसी कायम राख्न घर पुग्नेबारे मात्र सोच्न सक्छे। उसलाई यदि आफू चाँडै घर पुगिएन भने, श्रीमान्को प्रेमलाई हतोत्साहित पार्नेछु भन्‍ने कता-कता लाग्छ, अनि यदि आफूले त्यसरी उसलाई निराश पारिरह्यो भने, कतै उसले अर्कै खोज्ने र आफूलाई पहिलेजस्तो प्रेम नगर्ने पो हो कि भनेर सोच्छे। ऊ प्रेम गर्नु र प्रेम पाउनु नै खुसी हो भन्‍ने विश्‍वास गर्छे, अनि प्रेम गर्ने र प्रेम पाउने यो सम्बन्ध जोगाइराख्नु उसको जीवनको पछ्याइ हो, त्यो पछ्याउन ऊ सङ्कल्पित छे, त्यसैले कुनै सङ्कोच वा हिचकिचाहटविना सो गर्छे। घरबाट टाढा गएर आफ्नो कर्तव्य निभाउँदा आफ्ना अगुवालाई प्रायः यसो भन्‍ने कतिपय मानिससमेत छन्, “म रातभर घरबाट टाढा रहन सक्दिनँ। म विवाहित हुँ, त्यसैले म घर गइनँ भने मेरा श्रीमान एक्लै हुनेछ। उहाँ राती ब्युँझँदा म त्यहाँ भइनँ भने उहाँ खिन्न हुनुहुनेछ। उहाँले बिहान आँखा खोल्दा म त्यहाँ भइनँ भने उहाँको मन दुख्नेछ। यदि म अक्सर घर फर्किनँ भने, के मेरा श्रीमानले मेरो बफादारी र निर्दोषतामा शङ्का गर्नुहुनेछैन र? हामीले विवाह गर्दा एकअर्काप्रति बफादार रहने सहमति गरेका थियौँ। जे आइपरे पनि, मैले आफ्नो प्रतिज्ञा पूरा गर्नैपर्छ। म उहाँको लायक हुन चाहन्छु, किनभने उहाँले जस्तो मलाई प्रेम गर्ने यो संसारमा अरू कोही छैन। त्यसैले, मेरो निर्दोषता र म उहाँप्रति पूर्णतया बफादार छु भन्‍ने कुरा प्रमाणित गर्न, रातभर घरबाहिर बस्न मिल्दै मिल्दैन। मण्डलीमा काम जति नै चटारो होस् वा मेरो कर्तव्य जति नै जरुरी होस्, जति नै ढिलो भए पनि म राती घर जानैपर्छ।” ऊ यो आफ्नो निर्दोषता र बफादारी कायम राख्नलाई हो भन्छे, तर यो केवल औपचारिकता, भन्नका लागि मात्र हो, वास्तवमा ऊ आफ्नो वैवाहिक जीवन सुखी हुनेछैन र टुट्नेछ भनी डराएकी हुन्छे। ऊ आफ्नो वैवाहिक सुख कायम राख्न बरु आफ्नो कर्तव्य गुमाउन र आफूले निभाउनुपर्ने कर्तव्य त्याग्न तयार हुन्छे, मानौँ वैवाहिक सुख नै आफूले गर्ने हरथोकको प्रेरणा र स्रोत हो। ऊ सुखी विवाहविना सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउन सक्दिन; सुखी विवाहविना ऊ सृष्टि गरिएको असल प्राणी बन्न सक्दिन। ऊ आफूप्रति श्रीमानको प्रेमलाई हतोत्साहित नगर्नु र प्रेम पाइरहनुलाई वैवाहिक सुखका सङ्केत, साथै आफूले पछ्याउनुपर्ने जीवनका लक्ष्य ठान्छे। यदि कुनै दिन उसलाई आफूले त्यति प्रेम नपाएको, वा आफूले कुनै गल्ती गरेर आफूप्रतिको श्रीमानको प्रेमलाई हतोत्साहित पारेको, उसलाई आफूप्रति निराश र अप्रसन्न तुल्याएको लागेमा, उसलाई आफू विवेकहीन भएको जस्तो लाग्नेछ, उसले भेलाहरूमा सहभागी हुन वा परमेश्‍वरका वचनहरू पढ्न छोड्छिन्, र मण्डलीलाई कुनै कर्तव्य निभाउन उसको आवश्यकता पर्दासमेत, उसले अनेकथरि बहाना बनाएर त्यो अस्वीकार गर्छे। उदाहरणका लागि, उसले आफू अस्वस्थ भएको वा घरमा कुनै जरुरी काम परेको बताउँछिन्, र कर्तव्य निर्वाहबाट उम्कन केही निरर्थक र अनौठो बहानासमेत बनाउँछे। यी मानिसहरू वैवाहिक सुखलाई जीवनको अति महत्त्वपूर्ण कुरा ठान्छन्। कतिपय मानिस त आफ्नो वैवाहिक सुख कायम राख्न आफूले सक्ने सबथोक समेत दिन्छन्, र आफ्नो जोडीको हृदयलाई बाँधिराख्न र पक्रिराख्न कुनै मूल्य चुकाउन हिचकिचाउँदैनन् ताकि आफ्नो जोडीले सधैँ प्रेम गरोस्, विवाहको सुरुमा आफूहरूमा भएको प्रेमको भावना कहिल्यै नमरोस्, अनि विवाहबारे तिनीहरूमा भएको सुरुको अनुभूति कहिल्यै नगुमोस्। झनै ठूला त्यागहरू गर्ने कतिपय महिलासमेत छन्: कतिपयले नाक अग्लो पार्छन्, कतिपयले चिउँडोको आकार मिलाउँछन्, र कतिपयले शल्यक्रिया र लिपोसक्सन द्वारा स्तन ठूलो पार्छन्, त्यसका लागि जस्तोसुकै पीडा सहन्छन्। कतिपय महिला आफ्ना पाँसुला एकदमै मोटा छन् भन्‍नेसमेत सोच्छन्, त्यसैले आफ्नो खुट्टा सुडौल बनाउन शल्यक्रिया गराउँछन्, र अन्त्यमा तिनीहरूको नसामा हानि पुग्छ र तिनीहरू उभिनै सक्दैनन्। जब यस्ती महिलाका श्रीमानले यो कुरा देख्छ, तब उसले यसो भन्छ, “पहिले तिम्रो मोटा खुट्टा हुँदा पनि तिमी सामान्य व्यक्ति नै थियौ। अहिले तिमी उभिन सक्दिनौ, र तिमी केही कामको छैनौ। म सम्बन्धविच्छेद गर्न चाहन्छु!” देखिस् त, उसले त्यति ठूलो मूल्य चुकाई तर अन्त्यमा यस्तो नतिजा भोगी। हरेक दिन राम्रो पहिरन लगाउने कतिपय महिला पनि छन्, जो अत्तर छर्कन्छन् र अनुहारमा पाउडर घस्छन्। तिनीहरू आफूलाई जवान र सुन्दर देखाएर आफ्नो जोडीलाई आकर्षित गर्न र सुरुवाती दिनमा जस्तै प्रेम गर्न लगाउन मुहारमा लिपिस्टिक, लालीपाउडर, र आइ श्याडोजस्ता सबै प्रकारका कस्मेटिक प्रयोग गर्छन्। त्यसै गरी, पुरुषहरू पनि वैवाहिक सुखका खातिर थुप्रै त्यागहरू गर्छन्। कसैलाई यसो भनिन्छ, “तिमी त परमेश्‍वरको चिरपरिचित विश्‍वासी हौ। यहाँका धेरै मानिसले तिमीलाई चिन्छन्, त्यसैले तिम्रो बारेमा रिपोर्ट गरिने र तिमी गिरफ्तारमा पर्ने जोखिम छ, त्यसकारण तिमीले यहाँबाट गएर अरू नै कुनै ठाउँमा आफ्नो कर्तव्य निभाउनुपर्छ।” त्यसपछि ऊ परेसान हुन्छ र सोच्छ, “तर म यहाँबाट गएँ भने, के मेरो विवाह टुट्नेछ? के अब त्यो टुट्न थाल्नेछ? यदि मैले घर छोडेँ भने, के मेरी श्रीमती अरू कसैसित लाग्नेछिन्? के अबदेखि हामी आ-आफ्नो बाटो लाग्नेछौँ? के हामी फेरि कहिल्यै सँगै हुनेछैनौँ?” यी कुराहरू सोचेर ऊ खिन्न हुन्छ, त्यसैले यसो भन्दै सौदाबाजी गर्न थाल्छ, “के म बस्न सक्छु? म हप्तामा एकचोटी मात्र घर गए पनि हुन्छ—मैले आफ्नो परिवारको हेरचाह गर्नुपर्छ!” खासमा, ऊ साँच्चै आफ्नो परिवारको हेरचाह गर्नेबारे सोचिरहेको हुँदैन। उसलाई आफ्नी श्रीमती अरू कसैसित भाग्लिन् र आफूले कहिल्यै वैवाहिक सुख पाउनेछैन भन्‍ने डर छ। उसको हृदय चिन्ता र डरले भरिएको हुन्छ, ऊ आफ्नो वैवाहिक सुख यसरी मेटियोस् र हराओस् भन्‍ने चाहँदैन। यस्ता मानिसको हृदयमा, वैवाहिक सुख अरू कुनै पनि कुराभन्दा बढी महत्त्वपूर्ण हुन्छ, र योविना तिनीहरू आफू पूर्णतया आत्मारहित भएको महसुस गर्छन्। तिनीहरूलाई लाग्छ, “सुखी विवाहका लागि प्रेम सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मैले आफ्नी श्रीमतीलाई र उसले मलाई प्रेम गर्ने भएकाले मात्र हाम्रो वैवाहिक जीवन सुखी भएको छ र हामी यहाँसम्म पुग्न सकेका छौँ। यदि परमेश्‍वरप्रतिको मेरो विश्‍वास र मेरो कर्तव्य निर्वाहले गर्दा मैले यो प्रेम गुमाउनुपऱ्यो र यो प्रेमको अन्त्य हुने भयो भने, के त्यसको अर्थ मेरो वैवाहिक सुख अन्त्य भएको हुन्छ, र मैले फेरि यो वैवाहिक सुखमा रमाउन पाउनेछैनँ भन्‍ने होइन र? वैवाहिक सुख रहेन भने हामीलाई के हुनेछ? मेरो प्रेमविना मेरी श्रीमतीको जीवन कस्तो होला? यदि मैले आफ्नी श्रीमतीको प्रेम गुमाएँ भने मलाई के होला? के परमेश्‍वरसामु सृष्टि गरिएको प्राणीको कर्तव्य निभाएर मान्छेको मिसन पूरा गर्नाले यो क्षतिको पूर्ति हुन सक्छ?” तिनीहरूलाई थाहा छैन, तिनीहरूसँग जवाफ छैन, र तिनीहरू सत्यताको यो पक्ष बुझ्दैनन्। त्यसकारण, जब परमेश्‍वरको घरले अरू सबै कुराभन्दा बढी वैवाहिक सुख पछ्याउने मानिसहरू परमेश्‍वरको आफ्ना घर छोडी टाढा गई सुसमाचार प्रचार गरेको र आफ्नो कर्तव्य निभाएको माग गर्छ, तब तिनीहरू प्राय: हतोत्साहित, असहाय हुन्छन्, र आफूले चाँडै वैवाहिक सुख गुमाउनेछु भनेर असहजसमेत महसुस गर्छन्। कतिपय मानिस आफ्नो वैवाहिक सुख कायम राख्न आफ्ना कर्तव्यहरू त्याग्छन् वा निर्वाह गर्न अस्वीकार गर्छन्, र कतिपयले त परमेश्‍वरको घरका महत्त्वपूर्ण बन्दोबस्तहरूसमेत अस्वीकार आफ्नो वैवाहिक सुख कायम राख्न प्राय: आफ्नो जोडीका भावनाहरू बुझ्ने कोसिस गर्ने कतिपय मानिस पनि छन्। यदि आफ्नो जोडी अलि अप्रसन्न भयो वा उसले तिनीहरूको आस्थाप्रति, तिनीहरूले परमेश्‍वरप्रतिको आस्थामा लिएको मार्गप्रति, र तिनीहरूको कर्तव्य निर्वाहप्रति अप्रसन्न वा असन्तुष्ट भएको सङ्केत मात्र देखाउँछ भने, तिनीहरू तुरुन्तै मार्ग परिवर्तन गर्छन् र सम्झौता गर्छन्। तिनीहरू आफ्नो वैवाहिक सुख कायम राख्न आफ्नो जोडीसँग प्रायः सम्झौता गर्छन्, चाहे त्यसका लागि तिनीहरूले कर्तव्य निभाउने मौका त्याग्न अनि आफ्नो जोडीलाई आफू त्यहाँ भएको देखाउन, एक्लो महसुस नगराउन र आफ्नो प्रेम महसुस गराउन भेलाको, परमेश्‍वरको वचन पढ्ने र आत्मिक भक्तिहरू निर्वाह गर्न गर्ने समय नै किन त्याग्न नपरून्; तिनीहरू आफ्नो जोडीको प्रेम गुमाउनु वा त्यो प्रेमरहित हुनुभन्दा यसो गर्न तयार हुन्छन्। किनभने तिनीहरूलाई लाग्छ, यदि आफूले आफ्नो आस्था वा परमेश्‍वरप्रतिको आस्थामा आफूले अपनाएको मार्गका लागि आफ्नो जोडीको प्रेम त्याग्यो भने, यसको अर्थ आफूले आफ्नो वैवाहिक सुख त्यागेको हुन्छ र आफूले अबउप्रान्त वैवाहिक सुख महसुस गर्न सक्नेछैन, र त्यसपछि आफू एक्लो, दयनीय र दुःखी व्यक्ति हुनेछ। दुःखी र दयनीय व्यक्ति हुनुको अर्थ के हो? त्यसको अर्थ, अर्को व्यक्तिको प्रेम वा कदर नपाएको व्यक्ति हुनु हो। यी मानिसहरूले केही धर्मसिद्धान्त र परमेश्‍वरले मुक्तिको काम गर्नुको महत्त्व बुझ्ने भए पनि र पक्कै पनि आफूले सृष्टि गरिएको प्राणीको रूपमा सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउनुपर्छ भन्‍ने बुझे पनि, तिनीहरूले आफ्नो खुसी आफ्नो जोडीलाई सुम्पने र अवश्य नै आफ्नो खुसीलाई आफ्नो वैवाहिक सुखमाथि निर्भर पनि बनाउने हुनाले, तिनीहरूले आफूले के गर्नुपर्छ भन्‍ने बुझे पनि र थाहा पाए पनि, वैवाहिक सुखको पछ्याइ त्याग्न सक्दैनन्। तिनीहरू गल्तीले वैवाहिक सुख पछ्याउनुलाई आफूले यो जीवनकालमा पछ्याउनुपर्ने मिसन ठान्छन्, र गल्तीवश वैवाहिक सुख पछ्याउनुलाई सृष्टि गरिएको प्राणीले पछ्याउनुपर्ने र पूरा गर्नुपर्ने मिसन ठान्छन्। के यो गल्ती होइन र? (हो, यो गल्ती हो।)

वैवाहिक सुख पछ्याउनुमा कहाँनेर त्रुटि छ? के यो विवाहबारे परमेश्‍वरको परिभाषा र उहाँले विवाहित दम्पतीहरूलाई सुम्पने कुरासँग मिल्छ? (अहँ, मिल्दैन।) त्यसमा के गल्ती छ? कतिपय मानिस भन्छन्, “परमेश्‍वरले मानिस एक्लै जिउनु राम्रो होइन भन्नुभएको छ, त्यसैले उहाँले उसका लागि श्रीमती सृष्टि गर्नुभयो, र यिनै श्रीमतीले उसलाई साथ दिइरहन्छे। के यो विवाहबारे परमेश्‍वरको परिभाषा होइन र? के यो वैवाहिक सुख पछ्याउनुको पाटो होइन र? दुई जना मानिसले एकअर्कालाई साथ दिनु र पारस्परिक जिम्मेवारीहरू निभाउनु—त्यसमा के गल्ती छ र?” के विवाहको संरचनाभित्र आफ्ना जिम्मेवारीहरू निभाउनु र वैवाहिक सुख पछ्याउनुलाई सम्झौता नगरी आफ्नो मिसन ठान्नुबीच कुनै भिन्नता छ? (हो, भिन्नता छ।) यसमा के समस्या छ? (तिनीहरू वैवाहिक सुख पछ्याउनुलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण मिसन ठान्छन्, जबकि वास्तवमा जीवित मान्छेले सृष्टिकर्तासामु सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउनु उसको सबैभन्दा ठूलो जिम्मेवारी हो। तिनीहरूले जीवनमा पछ्याउनुपर्ने लक्ष्यलाई गलत बुझेका छन्।) यसमा थप्न चाहने अरू कोही छ? (जब कसैले विवाहमा आफूले पूरा गर्नु पर्ने जिम्मेवारी र दायित्वलाई सही ढङ्गले लिन सक्दैन, तब उसले आफ्नो समय र शक्ति आफ्नो विवाह कायम राख्नमा खर्चनेछ। तर, विवाहका जिम्मेवारीहरूलाई सही ढङ्गले लिनु भनेको सर्वप्रथम आफू सृष्टि गरिएको प्राणी हो र आफूले आफ्नो कर्तव्य निभाउनमा अनि परमेश्‍वरले आफूलाई सुम्पने कुरा र परमेश्‍वरले आफूलाई दिने मिसन पूरा गर्नमा आफ्नो अधिकांश समय बिताउनुपर्छ भन्‍ने कुरा नबिर्सनु हो। त्यसपछि तिनीहरूले विवाहको संरचनाभित्र आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। यी दुई कुराहरू फरक हुन्।) के वैवाहिक सुख पछ्याउनु मानिसले विवाह गरेपछि जीवनमा पछ्याउनुपर्ने लक्ष्य हो? के यसको परमेश्‍वरले तोकेको विवाहसँग कुनै सम्बन्ध छ? (छैन।) परमेश्‍वरले मानिसलाई विवाह दिनुभएको छ, र उहाँले तँलाई तैँले विवाहको संरचनाभित्र पुरुष वा स्त्रीका जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्ने परिवेश दिनुभएको छ। परमेश्‍वरले तँलाई विवाह दिनुभएको छ, यसको मतलब उहाँले तँलाई जोडी दिनुभएको छ। यो जोडीले तँलाई यो जीवनको अन्त्यसम्म साथ दिनेछ र तँलाई जीवनको हरेक चरणमा साथ दिनेछ। मैले “साथ दिनेछ” भन्नुको अर्थ के हो? मेरो भन्नुको मतलब के हो भने तेरो जोडीले तँलाई मद्दत र हेरचाह गर्नेछ, तेरो जीवनमा आइपर्ने सबै कुरा बाँड्नेछ। अर्थात्, तँलाई जति नै कुरा आइपरे पनि, अबउप्रान्त तैँले ती एक्लै सामना गर्नेछैनस्, बरु तिमीहरू दुवैले सँगै ती सामना गर्नेछौ। यसरी जिउँदा जीवन अलि सहज र अझ ढुक्कको हुन्छ, किनकि दुवैले आफूले गर्नुपर्ने काम गर्छन्, दुवैले आफ्ना सीप र क्षमता प्रयोग गर्छन्, र आफ्नो जीवन सुरुवात गर्छन्। यो त्यति सरल छ। तर, परमेश्‍वरले यसो भन्दै मानिसबाट कहिल्यै कुनै माग गर्नुभएन, “मैले तँलाई विवाह दिएको छु। अहिले तँ विवाहित होस्, त्यसैले तैँले आफ्नो जोडीलाई अन्त्यसम्म पूर्ण रूपले प्रेम गर्नैपर्छ र असाध्यै प्रशंसा गरिरहनैपर्छ—यो तेरो मिसन हो।” परमेश्‍वरले तँलाई विवाह दिनुभएको छ, तँलाई जोडी दिनुभएको छ, र जिउने फरक परिवेश दिनुभएको छ। जिउने यस्तो परिवेश र अवस्थामा, उहाँले तेरो जोडीलाई तँसित सबथोक सँगै बाँड्न र सामना गर्न लगाउनुहुन्छ, ताकि तँ अझ स्वतन्त्र र सहज रूपमा जिउन सकेस्, साथसाथै उहाँले तँलाई जीवनको फरक चरणलाई कदर गर्न दिनुहुन्छ। तर, परमेश्‍वरले तँलाई विवाह दिएर विश्‍वासघात गर्नुभएको छैन। मैले यसो भन्नुको मतलब के हो? मेरो मतलब के हो भने परमेश्‍वरले तेरो जीवन, तेरो भाग्य, तेरो मिसन, तैँले जीवनमा पछ्याउने मार्ग, तैँले जीवनमा रोज्ने दिशा, अनि तेरो आस्था फिर्ता लिनुभएको छैन अनि ती सब निर्धारण गर्न तेरो जोडीलाई दिनुभएको छैन। उहाँले महिलाको भाग्य, पछ्याइ, जीवनमार्ग, र जीवनबारे दृष्टिकोण उसको श्रीमानले निर्धारण गर्नैपर्छ वा पुरुषको भाग्य, पछ्याइ, जीवनबारे दृष्टिकोण र जीवन उसकी श्रीमतीले निर्धारण गर्नैपर्छ भनेर भन्नुभएको छैन। परमेश्‍वरले यस्ता कुराहरू कहिल्यै भन्नुभएको छैन र यस तरिकाले कामकुरा तोक्नुभएको छैन। हेर् त, के परमेश्‍वरले मानवजातिका लागि विवाह स्थापना गर्दा कुनै यस्तो कुरा भन्नुभयो? (भन्नुभएन।) परमेश्‍वरले वैवाहिक सुख पछ्याउनु भनेको स्त्री वा पुरुषको जीवनको मिसन हो, र तैँले आफ्नो जीवनको मिसन पूरा गर्न र आफूलाई सृष्टि गरिएको प्राणीको रूपमा सफलतापूर्वक व्यवहार गर्न तेरो वैवाहिक सुखलाई कायम राख्नैपर्छ भनेर कहिल्यै भन्नुभएको छैन—परमेश्‍वरले यस्तो कुनै कुरा भन्नुभएको छैन। न त परमेश्‍वरले यस्तो नै भन्नुभएको छ, “तैँले विवाहको संरचनाभित्र आफ्नो जीवनमार्ग रोज्नैपर्छ। तैँले मुक्ति प्राप्त गर्ने-नगर्ने कुरा तेरो विवाह र तेरो जोडीले निर्धारण गर्नेछ। जीवन र भाग्यबारे तेरो दृष्टिकोण तेरो जोडीले निर्धारण गर्नेछ।” के परमेश्‍वरले कहिल्यै यस्तो कुरा भन्नुभएको छ? (छैन।) परमेश्‍वरले तेरा लागि विवाह तोक्नुभएको छ र तँलाई जोडी दिनुभएको छ। तँ विवाहमा प्रवेश गर्छस् तर परमेश्‍वरसामु तेरो पहिचान र हैसियत परिवर्तन हुँदैन—तँ तँ नै रहन्छस्। यदि तँ स्त्री होस् भने परमेश्‍वरसामु स्त्री नै हुन्छस्; यदि तँ पुरुष होस् भने परमेश्‍वरसामु पुरुष नै हुन्छस्। तर तिमीहरू दुवैको मिल्ने एउटा कुरा छ, त्यो हो, चाहे तँ पुरुष होस् वा स्त्री, सृष्टिकर्तासामु तिमीहरू सबै सृष्टि गरिएका प्राणी हौ। तिमीहरू विवाहको संरचनाभित्र एकअर्कालाई सहन्छौ र प्रेम गर्छौ, एकअर्कालाई सहयोग र साथ दिन्छौ, र यो तिमीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु हो। तर परमेश्‍वरसामु, तैँले पूरा गर्नुपर्ने जिम्मेवारी र मिसनलाई तैँले जोडीप्रति पूरा गर्ने जिम्मेवारीले प्रतिस्थापित गर्न मिल्दैन। त्यसकारण, जब तैँले जोडीप्रति निभाउनुपर्ने जिम्मेवारी र सृष्टि गरिएको प्राणीले परमेश्‍वरसामु निभाउनुपर्ने कर्तव्य बाझिन्छ, तब तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउनु पर्छ, आफ्नो जोडीप्रति जिम्मेवारीहरू पूरा गर्ने होइन। तैँले रोज्नुपर्ने दिशा र लक्ष्य यही हो र, पक्कै पनि, तैँले पूरा गर्नुपर्ने मिसन पनि यही हो। यद्यपि, कतिपय मानिस गल्तीले वैवाहिक सुख पछ्याउनुलाई, वा आफ्नो जोडीप्रति जिम्मेवारीहरू पूरा गर्नु, उस चासो दिनु, हेरचाह गर्नु र प्रेम गर्नुलाई आफ्नो जीवनको मिसन बनाउँछन्, अनि आफ्नो जोडीलाई अति महत्त्व दिन्छन्, नियति ठान्छन्—यो गलत हो। तेरो नियति परमेश्‍वरको सार्वभौमिकतामा हुन्छ र त्यो तेरो जोडीको नियन्त्रणमा हुँदैन। विवाहले तेरो नियति परिवर्तन गर्न सक्दैन न त तेरो नियति परमेश्‍वरको नियन्त्रणमा हुन्छ भन्‍ने तथ्यलाई नै परिवर्तन गर्न सक्छ। तैँले जीवनबारे राख्नुपर्ने दृष्टिकोण र पछ्याउनु पर्ने मार्गको सम्बन्धमा भन्नुपर्दा, तैँले यी कुराहरू परमेश्‍वरका शिक्षण र मापदण्डका वचनहरूमा खोज्नुपर्छ। यी कुराहरू तेरो जोडीमा निर्भर हुँदैनन् र ती उसले निर्णय गर्ने कुरा होइनन्। उसले तँप्रति जिम्मेवारीहरू पूरा गर्नुबाहेक, तँमाथि नियन्त्रण जमाउनु हुँदैन, न त तैँले तेरो जीवनको दिशा परिवर्तन गरेको माग गर्नु हुन्छ, न त कुन मार्ग पछ्याउने भनी निर्णय गर्नु हुन्छ, न त जीवनबारे तेरो कस्तो दृष्टिकोण हुनुपर्छ भनी निर्णय नै गर्नु हुन्छ, झन् तँलाई मुक्ति पछ्याउनमा बाधा दिनु वा अवरोध पुऱ्याउनु त हुँदै हुँदैन। जहाँसम्म विवाहको कुरा छ, मानिसले केवल परमेश्‍वरबाट त्यो स्वीकार गर्न र विवाहबारे मानिसका लागि परमेश्‍वरले तोकेको परिभाषा पालना गर्न, साथै श्रीमान् र श्रीमती दुवैले एकअर्काप्रति जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छन्। तिनीहरूले आफ्नो जोडीको नियति, अघिल्लो जीवन, वर्तमान जीवन, वा आउँदो जीवन निर्धारण गर्न सक्दैनन्, झन् अनन्तकालको त कुरै छाडौँ। तेरो गन्तव्य, तेरो नियति, र तैँले पछ्याउने मार्ग सृष्टिकर्ताले मात्र निर्धारण गर्न सक्नुहुन्छ। त्यसकारण, सृष्टि गरिएको प्राणी भएको नाताले, चाहे तेरो भूमिका श्रीमतीको होस् वा श्रीमानको, तैँले यो जीवनमा पछ्याउनुपर्ने खुसी तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य निभाएर र सृष्टि गरिएको प्राणीको मिसन पूरा गरेर मिल्छ। यो विवाहबाट मिल्दैन, झन् तैँले विवाहको संरचनाभित्र श्रीमती वा श्रीमानका जिम्मेवारीहरू पूरा गरेर मिल्नु त परै जाओस्। अवश्य नै, तैँले पछ्याउन रोज्ने मार्ग र जीवनबारे अपनाउने दृष्टिकोण वैवाहिक सुखमा आधारित हुनु हुँदैन, झन् दम्पतीमध्ये कुनै एकले निर्धारण गर्न मिल्नु त परको कुरा हो—यो तैँले बुझ्नुपर्ने कुरा हो। त्यसैले, वैवाहिक जीवनमा प्रवेश गर्ने मानिसहरू जसले केवल वैवाहिक सुख पछ्याउँछन् र यो पछ्याइलाई आफ्नो मिसन ठान्छन्, तिनीहरूले यस्तो सोच र दृष्टिकोण, आफूले अभ्यास गर्ने तरिका अनि जीवनमा लिएको दिशा परिवर्तन गर्नुपर्छ। तँ परमेश्‍वरले तोकेअनुसार विवाहमा प्रवेश गरेर आफ्नो जोडीसँग जिइरहेको छस्, कुरा त्यति हो, र तिमीहरूले सँगै जिउँदा श्रीमान् वा श्रीमती जिम्मेवारीहरू पूरा गरे पुग्छ। तँ कस्तो मार्ग पछ्याउँछस् र जीवनबारे कस्तो दृष्टिकोण अपनाउँछस् भन्‍ने सन्दर्भमा भन्नुपर्दा, त्यसमा तेरो जोडीको दायित्व हुँदैन र ऊसँग यी कुराहरू निर्धारण गर्ने अधिकार हुँदैन। तेरो विवाह भइसकेको र तँसँग जोडी भए पनि, तेरो तथाकथित जोडीले परमेश्‍वरद्वारा तोकिएको जोडीको भूमिका मात्र निर्वाह गर्न सक्छ। उसले जोडीका जिम्मेवारीहरू मात्र पूरा गर्न सक्छ, र तैँले आफ्नो जोडीसँग असम्बन्धित अरू सबथोक रोज्न र निर्णय गर्न सक्छस्। अवश्य नै, झनै महत्त्वपूर्ण कुरा के हो भने तेरा रोजाइ र निर्णयहरू आफ्नै रुचि र बुझाइमा आधारित हुनु हुँदैन, बरु परमेश्‍वरको वचनमा आधारित हुनुपर्छ। के तैँले यस मामलाबारे सङ्गति बुझिस्? (बुझेँ।) त्यसकारण, जसरी पनि वैवाहिक सुख पछ्याउने वा जुनै पनि त्याग गर्ने कुनै जोडीले विवाहको संरचनाभित्र गर्ने कार्यहरूलाई परमेश्‍वरले सम्झनुहुनेछैन। तैँले आफ्नो जोडीप्रति जति नै राम्ररी वा जति सिद्ध नै तरिकाले पूरा गरे पनि, वा तैँले जति नै आफ्नो जोडीका अपेक्षाहरू पूरा गरे पनि—अर्को शब्दमा भन्नुपर्दा, तैँले आफ्नो वैवाहिक सुखलाई जति नै राम्ररी वा सिद्ध तरिकाले कायम राखे पनि, वा त्यो जति नै मनपर्दो भए पनि—त्यसको अर्थ तैँले सृष्टि गरिएको प्राणीको मिसन पूरा गरेको छस् भन्‍ने होइन, न त त्यसले तँ मापदण्डबमोजिमको सृष्टि गरिएको प्राणी होस् भन्‍ने नै प्रमाणित गर्छ। सायद तँ सिद्ध श्रीमती वा सिद्ध श्रीमान् होस्, तर त्यो विवाहको मापदण्डभित्रै सीमित रहन्छ। परमेश्‍वरले तँ कस्तो व्यक्ति होस् भन्‍ने कुरा तैँले सृष्टिकर्तासामु कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउँछस्, कस्तो मार्ग पछ्याउँछस्, जीवनबारे तेरो कस्तो दृष्टिकोण छ, तैँले जीवनमा के पछ्याउँछस्, र सृष्टि गरिएको प्राणीको मिसन कसरी पूरा गर्छस् भन्‍ने आधारमा मापन गर्नुहुन्छ। परमेश्‍वरले यी कुराहरूद्वारा तैँले सृष्टि गरिएको प्राणीको रूपमा पछ्याउने मार्ग र तेरो भावी गन्तव्य मापन गर्नुहुन्छ। उहाँले यी कुराहरूलाई तैँले कसरी श्रीमती वा श्रीमानको जिम्मेवारी र दायित्व पूरा गर्छस् भन्‍ने आधारमा मापन गर्नुहुन्न, न त तेरो जोडीप्रतिको तेरो प्रेमले उसलाई खुसी तुल्याउँछ कि तुल्याउँदैन भन्‍ने आधारमा नै मापन गर्नुहुन्छ। वैवाहिक सुखको पछि लाग्नु तेरो मिसन होइन भन्‍ने सन्दर्भमा भन्नुपर्दा, आज मैले यी यो शीर्षक टुङ्ग्याउन यी वृत्तान्तहरू दिएको छु। लौ हेर् त, यदि मैले यी मामिलाबारे सङ्गति नगरेको भए, मानिसहरूलाई आफूले तीबारे अलि बुझेको र जानेको छु भन्‍ने लाग्न सक्थ्यो, तर तिनीहरूलाई साँच्चै केही आइपर्दा, तिनीहरू धेरै मिथ्या कुराहरूको बाधा र अवरोधमा पर्नेथिए, मानवजाति अर्थात् सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कार्यहरू पनि राम्ररी गर्न चाहँदै श्रीमती वा श्रीमानका दायित्वहरू पूरा गर्न चाहनेथिए। यद्यपि, यी दुई कुरा एकअर्काप्रति बाझिँदा वा विरोधाभास हुँदा र आपसमा बाधक बन्दा, त्यसलाई कसरी सम्हाल्नुपर्छ भन्‍ने कुरा पूर्णतया प्रस्ट भएको छैन। के अब त्यसबारे यसरी सङ्गति गरेपछि त्यो प्रस्ट भएको छ? (छ।) एकातिर मानिसले आफ्ना धारणामा राम्रो र सही ठान्ने कुराहरू र अर्कोतिर सत्यताअनुसार सकारात्मक, सही र राम्रो कुराहरूबीच भिन्नता छ। यसलाई प्रस्ट पारेपछि त्यो स्पष्ट हुन्छ। मानिसले सकारात्मक र राम्रा ठान्ने कुराहरू प्राय: मानिसको धारणा, कल्पना र भावनाले भरिएका हुन्छन्, र ती सत्यतासँग असम्बन्धित हुन्छन्। मैले “असम्बन्धित” भन्नुको मतलब के हो? मेरो मतलब, ती सत्यता होइनन् भन्‍ने हो। यदि तँ भ्रमपूर्ण कुरा र सत्यता नभएका कुरालाई सकारात्मक कुरा र सत्यता ठान्छस्, अनि ती पछ्याउँछस् र तिनैमा बलियोसित टाँसिन्छस्, तिनलाई सत्यता ठान्छस् भने, तँ सत्यता पछ्याउने मार्गमा हिँड्न सक्नेछैनस्, र तँ सत्यतादेखि एकदमै टाढा पुग्नेछस्। अनि त्यो कसको जिम्मेवारी हो?

हामीले भर्खरै सङ्गति गरेको शीर्षक मानिसहरूले वैवाहिक सुखको पछि लाग्नन छोड्नुपर्छ, र विवाहको संरचनाभित्र आफ्ना जिम्मेवारीहरू मात्र पूरा गरे पुग्छ भन्‍ने थियो। हामीले वैवाहिक सुखको पछि लाग्न छोड्नेबारे सङ्गति सकाएका छौँ, त्यसैले अब हामी अर्को विषयमा सङ्गति गर्नेछौँ: तँ आफ्नो विवाहको दास होइनस्। यो हामीले सङ्गति गर्नुपर्ने विषय हो। कतिपय मानिसले विवाह गरेपछि के विश्‍वास गर्छन्? “अब मेरो जीवन यसरी तय भएको छ। मैले बाँकी जीवनभर यही व्यक्तिसँग जिउनु मेरो नियति हो। मेरा आमाबुबा र परिवारका ठुलाबडा मेरो जीवनभरका सहारा होइनन्, न त मेरा साथीसँगी नै सहारा हुन्। त्यसोभए मेरो जीवनभरको सहारा को हो? म जोसित विवाहमा प्रवेश गर्छु त्यही व्यक्तिमा जीवनभर भर पर्नेछु।” यस प्रकारको सोचबाट प्रेरित भएर धेरै मानिस विवाहलाई एकदमै महत्त्वपूर्ण ठान्छन्, विवाह गरेपछि स्थिर जीवन, आश्रय, र भरपर्दो व्यक्ति मिल्नेछ भनी विश्‍वास गर्छन्। महिलाहरू भन्छन्, “विवाह गरेपछि मैले भर पर्ने बलियो आड पाएको छु।” पुरुषहरू भन्छन्, “विवाह गरेपछि, मैले शान्तिमय घर पाएको छु र भौँतारिन छोडेँ; त्यसबारे सोच्दा मात्र पनि मेरो मन फुरुङ्ङ हुन्छ। मेरा वरिपरिका ती अविवाहित मानिसहरूलाई हेर त। महिलाहरू भर पर्नलायक व्यक्तिविना, स्थिर घरविना, मनको बह पोख्ने सहाराविना दिनभरि यताउता भौँतारी हिँड्छन्, र पुरुषहरूको स्नेहपूर्ण घर छैन। तिनीहरू कति दयनीय छन्!” त्यसकारण, तिनीहरूले आफ्नो वैवाहिक सुखबारे विचार गर्दा, त्यो निकै भरपुर र सन्तोषजनक छ भन्‍ने सोच्छन्। तिनीहरूलाई सन्तुष्ट लाग्नुबाहेक, आफूले आफ्नो विवाह र आफ्नो घरका लागि केही गर्नुपर्छ भन्‍ने अनुभूति हुन्छ। त्यसकारण, कतिपय मानिस विवाह गरेपछि आफ्नो वैवाहिक जीवनका लागि आफूले सक्ने सबै समर्पित गर्न तयार हुन्छन्, अनि आफ्नो विवाहका लागि प्रयत्न, सङ्घर्ष र कडा मिहिनेत गर्न तयार हुन्छन्। कतिपयले दिलोज्यान लगाएर पैसा कमाउँछन् र कष्ट भोग्छन् अनि, पक्कै पनि, त्योभन्दा बढी आफ्नो जीवनको खुसी आफ्नो जोडीलाई सुम्पन्छन्। तिनीहरू आफू जीवनमा खुसी र आनन्दित हुने-नहुने कुरा आफ्नो जोडी कस्तो छ अर्थात् ऊ राम्रो व्यक्ति हो कि होइन; आफूहरूको व्यक्तित्व र रुचि मिल्छ कि मिल्दैन; ऊ रोजीरोटी कमाएर परिवार धान्न सक्ने व्यक्ति हो कि होइन; ऊ भविष्यमा तिनीहरूका आधारभूत आवश्यकताहरू सुनिश्चित गर्न सक्ने अनि खुसी, स्थिर, सुन्दर परिवार दिन सक्ने व्यक्ति हो कि होइन; र ऊ तिनीहरूलाई कुनै पीडा, सङ्कष्ट, असफलता वा रोकावट आइपर्दा सहानुभूति दिन सक्ने व्यक्ति हो कि होइन भन्‍ने कुरामा भर पर्छ भनेर विश्‍वास गर्छन्। तिनीहरूले यी कुराहरू पुष्टि गर्न सँगै बस्दा आफ्नो जोडीप्रति विशेष ध्यान दिन्छन्। तिनीहरूले राम्रो ख्याल गरेर र ध्यान दिएर आफ्नो जोडीको सोच, दृष्टिकोण, बोली-व्यवहार, उसको हर चाल, साथै उसको सबलता र दुर्बलतालाई नियाल्छन् र रेकर्ड गर्छन्। तिनीहरू आफ्नो जोडीले जीवनमा प्रकट गर्ने सम्पूर्ण सोच, दृष्टिकोण, बोली र व्यवहारहरू विस्तारमा सम्झन्छन्, ताकि तिनीहरूले आफ्नो जोडीलाई अझ राम्ररी बुझ्न सकून्। साथै, तिनीहरू आफ्नो जोडीले तिनीहरूलाई अझ राम्ररी बुझोस् भन्‍ने पनि आशा गर्छन्, आफ्नो जोडीलाई हृदयमा बसाउँछन्, र आफूलाई जोडीको हृदयमा राख्छन् ताकि तिनीहरूले एकअर्कालाई अझ काबुमा राख्न सकून्, वा केही आइपर्दा आफ्नो जोडीसामु देखापर्ने, उसलाई मद्दत गर्ने र खडा भएर साथ दिने, प्रोत्साहन दिने र बलियो साथ दिने पहिलो व्यक्ति आफू हुन सकोस्। जिउने यस्ता अवस्थाहरूमा, श्रीमान र श्रीमतीले आफ्नो जोडी कस्तो प्रकारको व्यक्ति हो भनी खुट्ट्याउन विरलै प्रयास गर्छन्, पूर्णतया भावनामा बहेर जोडीका निम्ति जिउँछन्, र भावनामा बगेर नै आफ्नो जोडीको ख्याल गर्छन्, उसलाई सहन्छन्, उसका सबै गल्ती, त्रुटि र पछ्याइहरू सम्हाल्छन्, यहाँसम्म कि उसको हर कुरा मान्छन्। उदाहरणका लागि, कुनै महिलाको श्रीमानले भन्छ, “तिम्रा भेलाहरू निकै लामो चल्छन्। आधा घण्टाका लागि मात्र गएर घर आइहाल।” उसले “म सक्दो प्रयास गर्छु” भनी जवाफ दिन्छे। निश्चय नै, ऊ अर्कोपटक आधा घण्टाका लागि भेलामा जान्छे र घर फर्कन्छे, अनि अब उसको श्रीमानले भन्छ, “निकै राम्रो गरिछौ। अर्कोपटक चाहिँ गएर अनुहार मात्र देखाएर आइहाल।” ऊ भन्छे, “ओहो, तपाईँलाई त्यति साह्रो मेरो अभाव खट्किन्छ! त्यसोभए ठिकै छ, म सक्दो प्रयास गर्नेछु।” निश्चय नै, ऊ अर्कोपटक उसलाई निराश तुल्याउँदिन, भेलामा दश मिनेट जति बसेर घर फर्किहाल्छै। उसको श्रीमान् असाध्यै प्रसन्न हुन्छ र “यो त झनै राम्रो हो!” भन्छ। यदि उसले ऊ पूर्व गएको चाहन्छ भने, ऊ पश्चिम जाने आँट गर्दिन; यदि उसले ऊ हाँसेको चाहन्छ भने, ऊ रुने आँट गर्दिन। उसले ऊ परमेश्‍वरको वचन पढिरहेकी र भजनहरू सुनिरहेकी देख्छ अनि त्यसलाई घृणा गर्छ र उसलाई घृणा लाग्छ, अनि यसो भन्छ, “जतिखेर पनि ती वचन पढेर र ती गीतहरू गाएर के काम? म घरमा भएको बेला तिमीले ती वचन नपढ्दा वा ती गीत नगाउँदा हुँदैन?” उसले “ठिकै छ, हुन्छ, अबदेखि म पढ्नेछैनँ” भनेर जवाफ दिन्छे। उसले त्यसउप्रान्त परमेश्‍वरका वचनहरू पढ्ने वा भजनहरू सुन्ने आँट गर्दिन। उसले श्रीमानको माग सुनेर आफूले परमेश्‍वरमा विश्‍वास गरेको वा परमेश्‍वरका वचनहरू पढेको श्रीमानलाई मन पर्दैन रहेछ भनेर बुझ्छे, त्यसैले श्रीमान् घरमा हुँदा ऊ उसलाई साथ दिन्छे, सँगै टिभी हेर्छे, सँगै खाना खान्छे, बात मार्छे, र उसले गुनासो पोखेको समेत सुन्छे। ऊ श्रीमान् खुसी हुन्छ भने उसका लागि जे पनि गर्नेछे। ऊ यी कुरा जोडीले पूरा गर्नुपर्ने जिम्मेवारी ठान्छे। त्यसोभए, ऊ परमेश्‍वरका वचनहरू कुन समयमा पढ्छे त? ऊ श्रीमान् बाहिर गइन्जेल पर्खिन्छे, त्यसपछि ऊ निस्किनेबित्तिकै ढोका बन्द गर्छे र हतार-हतार पढ्न थाल्छे। ढोकामा कोही आएको सुन्यो भने ऊ तुरुन्तै पुस्तक हटाउँछे र यति डराउँछे कि त्यसपछि पढ्ने आँटै गर्दिन। ढोका खोल्दा त श्रीमान् फर्केको होइन रहेछ भन्‍ने थाहा पाउँछे—उसलाई मनको बाघले मात्र खाएको हुन्छ, त्यसकारण ऊ पढ्न जारी राख्छे। पढ्दै जाँदा उसलाई तनाव हुन्छ, घबराहट हुन्छ, र डर लाग्छ, अनि सोच्छे, “उहाँ साँच्चै घर आउनुभो भने के होला? अहिलेलाई नपढ्नु नै बेस हुन्छ। म उहाँलाई कल गरेर कहाँ हुनुहुन्छ र कतिखेर आइपुग्नुहुन्छ भनी सोध्छु।” ऊ उसलाई कल गर्छे र उसले भन्छे, “आज कामको अलि चटारो परेकाले म तीन-चार बजेपछि मात्र घर आउन सक्छु।” यो सुनेर उसलाई ढुक्क लाग्छ, तर के उसले अझै आफ्नो मनलाई शान्त पारेर परमेश्‍वरका वचनहरू पढ्न सक्छे त? सक्दिन; उसको मन खलबलिएको छ। ऊ हतार-हतार परमेश्‍वरलाई प्रार्थना गर्छे, अनि के भन्छे? के उसले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा आस्थाको कमी छ, श्रीमानदेखि डर लाग्छ, र परमेश्‍वरका वचनहरू पढ्न आफ्नो मन शान्त पार्न सक्दिनँ भनेर भन्छे? उसलाई यी कुराहरू भन्न मिल्दैन भन्‍ने लाग्छ, त्यसकारण ऊसँग परमेश्‍वरलाई भन्‍ने केही हुँदैन। तर ऊ आँखा बन्द गरेर हात जोड्छे। ऊ शान्त हुन्छे र त्यति घबराउँदिन, त्यसैले परमेश्‍वरका वचनहरू पढ्न जान्छे, तर वचनहरू बुझ्दिन। ऊ सोच्छे, “मैले भर्खरै कहाँ पो पढिराथेँ? म के चिन्तन गर्दैथेँ? मेराले सोचहरू पूरै गुमेका रहेछन्।” उसले त्यसबारे जति धेरै सोच्छे, उसलाई त्यति धेरै रिस उठ्छ र असहज हुन्छ: “आज त म पढ्दिनँ। एकपटक आत्मिक भक्तिहरू छुट्दैमा त्यस्तो केही बित्दैन।” तँलाई के लाग्छ? के उसको जीवन राम्रै चलिरहेको छ? (छैन।) यो वैवाहिक कष्ट हो कि वैवाहिक सुख? (कष्ट।) यो मोडमा, कतिपय अविवाहित मानिसले भन्लान्, “त्यसोभए, तिमीले आगोमा हाम फालेकी छ्यौ, होइन र? विवाहको कुनै पक्ष राम्रो छैन, छ त? हेर त, मेरो जीवन कति राम्रो छ, मैले अरू कसैको चिन्ता लिनु पर्दैन, र मलाई भेलाहरूमा सहभागी हुन र आफूले चाहेको बेला आफ्नो कर्तव्य निभाउन रोक्ने कोही छैन।” तैँले आफ्नो जोडीलाई खुसी पार्न र बेलाबेला परमेश्‍वरका वचनहरू पढ्ने र भेलाहरूमा जाने कुरामा सहमत गराउन, हरेक दिन सबेरै उठेर नास्ता बनाउँछेस्, घर सफासुग्घर गर्छस्, कुखुरालाई चारो र कुकुरलाई खानेकुरा दिन्छेस्, र सबै प्रकारका थकाइलाग्दा कामहरू—सामान्यतया पुरुषले गर्ने कामहरूसमेत गर्छेस्। आफ्नो श्रीमानलाई सन्तुष्ट पार्न, तँ नोकर्नीझैँ काममा खटिरहन्छेस्। ऊ घर आउनुअघि नै उसको छालाको जुत्ता टल्काउँछेस् र उसको चप्पल ठिक पार्छेस्, अनि ऊ घर आएपछि, हतार-हतार उसको जिउको धुलो टकटक्याउँछेस् र उसलाई कोट फुकालेर झुन्ड्याउन मद्दत गर्छेस्, र सोध्छेस्, “आज निकै गर्मी छ। तपाईँलाई गर्मी भो? तपाईँलाई तिर्खा लागेको छ? आज तपाईँ के खाना चाहनुहुन्छ? अमिलो वा पिरो? तपाईँको कपडा फेर्नुपर्छ? त्यो कपडा फुकाल्नुस्, म धोइदिउँला।” तँ नोकर्नी वा दासीजस्तै छेस्, तैँले विवाहको संरचनाभित्र पूरा गर्नुपर्ने जिम्मेवारीको दायरा नाघिसकेकी छेस्। तँ तेरो श्रीमानले भनेको जे पनि मान्छेस्, र उसलाई आफ्नो मालिक ठान्छेस्। यस्तो परिवारमा, पतिपत्नीको हैसियतमा प्रस्ट भिन्नता हुन्छ: एक जना दास हुन्छ, अर्को मालिक; एक जना नोकरजस्तो र नम्र हुन्छ, अर्को उग्र र हैकम चलाउने देखिन्छ; एक जना झुक्छ, अर्को घमण्डले फुल्छ। स्पष्टतः विवाहको संरचनाभित्र दुई मानिसको हैसियत असमान हुन्छ। यस्तो किन? के यो दासीले आफैलाई निचो पारिरहेकी होइन र? (हो।) यो दासीले आफैलाई निचो पारिरहेकी हो। तैँले मानवजातिका लागि परमेश्‍वरले तोकेको विवाहप्रतिको जिम्मेवारीलाई कायम गर्ने सकेकी छैनस् र तैँले हद पार गरेकी छेस्। तेरो श्रीमानले जिम्मेवारी निभाउँदैन र केही गर्दैन, तैपनि तँचाहिँ यस्तो जोडीको आदेश पर्खन्छेस् र उसको अख्तियार मान्छेस्, स्वेच्छाले उसकी दासी र नोकर्नी बनेर उसको सेवा गर्छेस् र उसका लागि सबथोक गर्छेस्—तँ कस्तो प्रकारको व्यक्ति होस्? तेरो मालिक चाहिँ ठ्याक्कै को हो? तँ किन यसरी परमेश्‍वरका लागि अभ्यास गर्दैनस्? तेरो जोडीले तेरो भरणपोषण गर्नुपर्छ भनेर परमेश्‍वरले तोक्नुभएको छ; यो त उसले गर्नुपर्ने कुरा हो, ऊप्रति तेरो कुनै दायित्व छैन। तँ आफूले गर्नुपर्ने कुरा गर्छेस्, र पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व पूरा गर्छेस्—के उसले गर्छ? के उसले आफ्नो काम गर्छ? वैवाहिक जीवनमा, भयावह व्यक्ति मालिक हुने अनि कडा मिहिनेत र धेरैजसो काम गर्ने व्यक्ति दास हुने होइन। वैवाहिक जीवनमा, दुवै पक्षले एकअर्काप्रतिका जिम्मेवारीहरू पूरा गर्नुपर्छ र एकअर्कालाई साथ दिनुपर्छ। दुवै पक्षको एकअर्काप्रति जिम्मेवारी हुन्छ, र दुवैले विवाहको संरचनाभित्र दायित्वहरू पूरा गर्नुपर्ने र कामकुरा गर्नुपर्ने हुन्छ। तैँले आफ्नो भूमिकाअनुसार कार्य गर्नुपर्छ; तेरो भूमिका जे भए पनि, तैँले आफूले त्यो भूमिकामा गर्नुपर्ने कुरा गर्नुपर्छ। यदि गर्दैनस् भने, तँ सामान्य मानवताविनाको होस्। बोलीचालीको भाषामा भन्नुपर्दा, तेरो एक पैसाको मूल्य छैन। त्यसोभए यदि कसैको एक पैसाको मूल्य छैन र पनि तँ अझै उसको कुरा मान्न र स्वेच्छाले उसको दास बन्न सक्छस् भने, त्यो पटमूर्खता हो र त्यसले तँलाई नालायक बनाउँछ। परमेश्‍वरमा विश्‍वास गर्नुमा के गलत छ र? के तैँले परमेश्‍वरमा विश्‍वास गर्नु दुष्कर्म हो? के परमेश्‍वरका वचनहरू पढ्नुमा कुनै समस्या छ? यी सबै गर्नुपर्ने सोझा र सम्मानजनक कुरा हुन्। सरकारले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई सताउनुले के देखाउँछ? यसले मानवजाति अत्यन्तै दुष्ट छ भन्‍ने देखाउँछ, अनि यसले दुष्ट शक्ति र शैतानको प्रतिनिधित्व गर्छ। यसले सत्यता वा परमेश्‍वरको प्रतिनिधित्व गर्दैन। त्यसकारण, परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ तँ अरूभन्दा तल वा अरूभन्दा निम्न दर्जाको होस् भन्‍ने होइन। त्यसको विपरीत, परमेश्‍वरमा विश्‍वास गर्दा तँ सांसारिक मानिसभन्दा उच्च बन्छस्, सत्यता पछ्याउँदा तँ परमेश्‍वरको नजरमा आदरणीय हुन्छस्, र उहाँ तँलाई आफ्नो आँखाको नानी ठान्नुहुन्छ। तैपनि तँचाहिँ वैवाहिक जीवनमा अर्को पक्षको नुनको सोझो गर्नकै लागि आफूलाई निचो पार्छस् र निःसङ्कोच आफ्नो जोडीको दास बन्छस्। किन तँ सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउँदा यस्तो व्यवहार गर्दैनस्? किन तँ त्यो गर्न सक्दैनस्? के यो मानव दीनताको अभिव्यक्ति होइन र? (हो।)

तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न, अर्को व्यक्तिसँग शान्तिपूर्वक जिउन र सँगै जीवन बिताउन, अनि आफ्नो जोडीसित जीवन बिताउँदा कस्तो हुन्छ र आफूलाई आइपर्ने सम्पूर्ण कुरा कसरी सँगै मिलेर सम्हाल्ने भनी अनुभव गर्न, तेरो जीवन अझ सम्पन्न र फरक बनाउन सिकेस् भनेर नै परमेश्‍वरले तेरा लागि विवाह तोक्नुभएको छ। तर, उहाँ तँलाई विवाह दिएर विश्‍वासघात गर्नुहुन्न र, अवश्य नै, उहाँ तँलाई तँलाई तेरो जोडीको दास बनाएर धोका दिनुहुन्न। तँ उसको दास होइनस्, र ऊ पनि तेरो मालिक होइन। तिमीहरू बराबर हौ। तेरो आफ्नो जोडीप्रति स्वास्नी वा लोग्नेको जिम्मेवारी मात्र हुन्छ, र तैँले यी जिम्मेवारीहरू पूरा गर्दा, परमेश्‍वर तँलाई योग्य स्वास्नी वा लोग्ने मान्नुहुन्छ। तेरो जोडीसित भएको हर कुरा तँसित छ, र तँ तेरो जोडीभन्दा खराब छैनस्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र सत्यता पछ्याउँछस्, आफ्नो कर्तव्य निभाउन सक्छस्, प्राय: भेलाहरूमा सहभागी हुन्छस्, प्रार्थना गर्दै परमेश्‍वरका वचनहरू पढ्छस्, र परमेश्‍वरसामु आउँछस् भने, यी परमेश्‍वरले स्विकार्ने र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने अनि जिउनुपर्ने सामान्य जीवन हुन्। यसमा लाज मान्नुपर्ने कुनै कुरा छैन, न त तैँले आफूले यस्तो जीवनशैली अपनाउने भएकाले आफ्नो जोडीप्रति कुनै कुराको दायित्व नै महसुस गर्नुपर्छ—आफ्नो जोडीप्रति तेरो कुनै दायित्व छैन। यदि तैँले चाहेमा, तँमा आफ्नो जोडीलाई परमेश्‍वरको कामको गवाही दिने दायित्व छ। तर, यदि ऊ परमेश्‍वरमा विश्‍वास गर्दैन, र तैँले पछ्याउने मार्ग पछ्याउँदैन भने, उसलाई कुनै कुराबारे बताउनु वा व्याख्या गर्नु वा आफ्नो आस्था वा आफूले पछ्याउने मार्गबारे कुनै जानकारी दिनु आवश्यकता छैन वा दायित्व हुँदैन, न त त्यसबारे जान्ने उसको कुनै अधिकार नै हुन्छ। तँलाई साथ दिनु, प्रोत्साहन दिनु र रक्षा गर्नु उसको जिम्मेवारी र दायित्व हो। यदि उसले यो गर्न सक्दैन भने, उसमा मानवता छैन। किन? किनभने तँ सही मार्ग पछ्याउँछस्, र तैँले सही मार्ग पछ्याउने भएकाले नै तेरो परिवार र तेरो जोडी आशिषित् छन् र तँसँगै तिनीहरूले परमेश्‍वरको अनुग्रह पाउँछन्। तेरो जोडीले तेरो आस्था वा तैँले उत्पीडन भोगिरहेको कारण वा तैँले अझ बढी घरायसी कामधन्दा र अन्य कुरा गर्नुपर्छ, वा ऊप्रति तेरो केही दायित्व छ भन्‍ने विश्‍वास गर्दै तँविरुद्ध भेदभाव गर्नु वा तँलाई धम्काउनुको साटो यसरी आशिष् र अनुग्रह पाएकोमा ऊ कृतज्ञ हुनैपर्छ। तेरो ऊप्रति भावनात्मक, आत्मिक, वा अरू कुनै रूपमा दायित्व छैन—उसको चाहिँ तँप्रति दायित्व छ। तैँले परमेश्‍वरमा आस्था राखेको कारण, उसले परमेश्‍वरबाट थप अनुग्रह र आशिष् पाउँछ, र उसले यी कुराहरू अत्यधिक रूपमा पाउँछ। मैले “उसले यी कुराहरू अत्यधिक रूपमा पाउँछ” भन्नुको अर्थ के हो? मेरो भन्नुको अर्थ हो, त्यस्तो व्यक्ति ती कुराहरू पाउन योग्य हुँदैन र उसले ती कुराहरू पाउनु हुँदैन। किन उसले ती पाउनु हुँदैन? किनभने ऊ परमेश्‍वरलाई पछ्याउँदैन र स्विकार्दैन, त्यसैले तैँले परमेश्‍वरमा आस्था राखेको कारण उसलाई अनुग्रह प्राप्त हुन्छ। तँसँगै उसले पनि लाभ र आशिष् पाउँछ, र ऊ तँप्रति कृतज्ञ हुनैपर्छ। अर्को शब्दमा भन्नुपर्दा, उसले यी थप आशिष् र अनुग्रह पाउने भएकाले, आफ्ना जिम्मेवारीहरू झन् पूरा गर्नुपर्छ र तँलाई तेरो परमेश्‍वरप्रतिको विश्‍वासमा झन् साथ दिनुपर्छ। परिवारको एक जनाले परमेश्‍वरमा विश्‍वास गर्नाले गर्दा, कतिपय मानिसको पारिवारिक व्यवसाय राम्ररी चल्छ र ठूलो सफलता मिल्छ। तिनीहरूले धेरै पैसा कमाउँछन्, त्यो परिवारले राम्रो जीवन जिउँछ, तिनीहरू भौतिक तवरमा सम्पन्न बन्छन्, र तिनीहरूको जीवनस्तर बढ्छ—यो सब कसरी भयो? के तिमीहरूमध्ये एक जनाले परमेश्‍वरमा विश्‍वास नगरेको भए तेरो परिवारले यी सबै कुरा पाउन सक्नेथ्यो? कतिपय मानिस “परमेश्‍वरले तिनीहरूलाई राम्रो भाग्य पाउन तोक्नुभएको छ” भन्छन्। यो कुरा परमेश्‍वरले तोक्नुभएको सही हो, तर यदि तिनीहरूको परिवारमा परमेश्‍वरमा विश्‍वास गर्ने त्यो एउटा व्यक्ति नभएको भए, तिनीहरूको व्यवसाय यति अनुग्रहित र आशिषित् हुन्थेन। तिनीहरूसँग परमेश्‍वरमा विश्‍वास गर्ने त्यो व्यक्ति भएकाले, परमेश्‍वरमा विश्‍वास गर्ने त्यो व्यक्तिमा साँचो आस्था भएकाले, उसले इमानदारीसाथ पछ्याउने भएकाले, र ऊ परमेश्‍वरमा अर्पित र समर्पित हुन इच्छुक भएकाले, उसको गैरविश्‍वासी जोडीले अत्यधिक रूपमा अनुग्रह र आशिष् प्राप्त गर्छ। परमेश्‍वर यो सानो कुरा एकदमै सजिलोसित गर्नुहुन्छ। विश्‍वास नगर्नेहरू अझै सन्तुष्ट छैनन्, र तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई दबाउने र धम्काउनेसमेत गर्छन्। देश र समाजले विश्‍वासीहरूलाई दिने उत्पीडन तिनीहरूका लागि विपत्ति बनिसकेको छ, अनि त्यसमाथि पनि तिनीहरूको परिवारका सदस्यहरूले झनै बढी दबाब दबाब दिन्छन्। यस्ता परिस्थितिमा, यदि तँ अझै आफूले तिनीहरूलाई निराश तुल्याइरहेको छु भन्ठान्छस् र आफ्नो विवाहको दास बन्न चाहन्छस् भने, तैँले त्यो गर्नै हुँदैन। तिनीहरू तँलाई परमेश्‍वरमा विश्‍वास गर्न साथ दिँदैनन् भने ठिकै छ; तिनीहरू परमेश्‍वरप्रतिको तेरो विश्‍वासलाई समर्थन गर्दैनन् भने त्यो पनि ठिकै छ। तिनीहरूले ती कुराहरू नगर्न पाउँछन्। तर, तैँले परमेश्‍वरमा विश्‍वास गरेकै कारण तिनीहरूले तँलाई दासजस्तो व्यवहार गर्नु मिल्दैन। तँ दास होइनस्, तँ मानव होस्, मर्यादित र सोझो व्यक्ति होस्। कम्तीमा पनि, परमेश्‍वरसामु तँ सृष्टि गरिएको प्राणी होस्, न कि कसैको दास। यदि तँ दास हुनैपर्छ भने, सत्यता र परमेश्‍वरको मात्र दास हुन सक्छस्, कुनै व्यक्तिको दास हुन सक्दैनस्, झन् तेरो जोडी तेरो मालिक हुन परको कुरा हो। दैहिक सम्बन्धको सन्दर्भमा भन्नुपर्दा, तेरा आमाबुबाबाहेक यो संसारमा तेरो निकटतम व्यक्ति भन्नु नै तेरो जोडी हो। तैपनि तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले, उसले तँलाई शत्रुझैँ व्यवहार गर्छ, आक्रमण गर्छ र सताउँछ। उसले तँ भेलामा सहभागी भएकोमा आपत्ति जनाउँछ, यदि उसले कुनै गफगाफ सुन्यो भने घर आएर तँलाई गाली र दुर्व्यवहार गर्छ। तैँले उसको सामान्य जीवनमा असर नपुऱ्याई घरमा प्रार्थना गर्दा वा परमेश्‍वरका वचन पढ्दासमेत उसले तँलाई गाली र विरोध गर्नेछ र कुटपिटसमेत गर्नेछ। मलाई भन् त, यो कस्तो कुरा हो? के ऊ पिशाच होइन र? के तेरो निकटतम व्यक्ति यही हो? के यस्तो व्यक्तिप्रति तैँले कुनै जिम्मेवारी पूरा गर्नु उचित हुन्छ? (हुँदैन।) अहँ, उचित हुँदैन! त्यसकारण, यस्तो वैवाहिक जीवनमा हुने कतिपय मानिस अझै आफ्नो जोडीले उठ् भन्दा उठ्ने र बस् भन्दा बस्ने गर्छन्, सबथोक त्याग्न तत्पर हुन्छन्, आफ्नो कर्तव्य निर्वाहमा खर्चनुपर्ने समय, आफ्नो कर्तव्य निभाउने अवसर, र आफूले मुक्ति प्राप्त गर्ने अवसरसमेत त्याग्छन्। तिनीहरूले यस्तो काम गर्नु हुँदैन, र कम्तीमा पनि तिनीहरूले यस्ता विचार त्याग्नुपर्छ। परमेश्‍वरबाहेक अरू कसैप्रति कुनै दायित्व हुँदैन। तेरा आमाबुबा, श्रीमान्, श्रीमती, छोराछोरीप्रति तेरो दायित्व हुँदैन, झन् तेरा साथीसँगीप्रति दायित्व हुनु परै जाओस्—तेरो कसैप्रति कुनै दायित्व छैन। मानिसको विवाहलगायत सब थोकको स्रोत परमेश्‍वर नै हुनुहुन्छ। दायित्व कुरा गर्नैपर्दा, मानिसको दायित्व परमेश्‍वरप्रति मात्र हुन्छ। अवश्य नै, परमेश्‍वर तँलाई उहाँको ऋण फिर्ता माग्नुहुन्न, उहाँ तैँले जीवनमा सही मार्ग पछ्याएको मात्र माग गर्नुहुन्छ। विवाहको सन्दर्भमा परमेश्‍वरको सबैभन्दा ठूलो अभिप्राय भनेको तैँले विवाहको कारण आफ्नो मर्यादा र निष्ठा नगुमाएस्, तँ पछ्याउने सही मार्ग नभएको, जीवनबारे आफ्नै दृष्टिकोण वा पछ्याइको दिशाविनाको, अनि सत्यता पछ्याउनसमेत छोड्ने, मुक्ति प्राप्त गर्ने मौका र आफूलाई परमेश्‍वरले दिएको आदेश वा मिसनसमेत त्याग्ने व्यक्ति नबनेस्, बरु स्वेच्छाले आफ्नो विवाहको दास बनेस् भन्‍ने हो। यदि तँ आफ्नो विवाहलाई यसरी सम्हाल्छस् भने, तैँले बिहे गर्दै नगरेको भए राम्रो हुनेथ्यो, तँलाई एक्लो जीवन नै राम्रो सुहाउनेथ्यो। यदि तँ जे गर्दा पनि यस्तो वैवाहिक अवस्था वा संरचनाबाट निस्कन सक्दैनस् भने, आफूलाई वैवाहिक जीवनबाट पूर्णतया मुक्त गर्नु नै उत्तम हुनेछ, र स्वतन्त्र व्यक्तिको रूपमा जिउनु तेरा लागि राम्रो हुनेछ। मैले भनेझैँ, परमेश्‍वरले विवाह तोक्नुको उद्देश्य भनेको तैँले जोडी पाउन, आफ्नो जोडीको साथमा जीवनका उतारचढाव झेल्न र जीवनका हरचरण पार गर्न सकेस्, तँ जीवनको हरचरणमा एक्लो नहोस्, तेरो साथमा कोही होस्, आफ्नो मनका कुराहरू सुनिदिने र आफूलाई सान्त्वना दिने र तेरो ख्याल राख्ने कोही होओस् भन्‍ने हो। यद्यपि, परमेश्‍वर तँसँग आफ्नो मार्ग रोज्ने कुनै अधिकार नहोस् र तँ विवाहको दास बनेस् भनी विवाहलाई प्रयोग गरेर तँलाई बन्धनमा पार्नुहुन्न वा तेरा हातखुट्टा बाँध्नुहुन्न। परमेश्‍वरले तेरा लागि विवाह तोक्नुभएको छ र तेरा लागि जोडी मिलाइदिनुभएको छ; उहाँले तेरा लागि मालिक दिनुभएको होइन, न त उहाँ तँ आफ्नो पछ्याइ, जीवन लक्ष्य, पछ्याइको सही दिशा, र मुक्ति खोज्ने अधिकारविना विवाहभित्र सीमित भएको नै चाहनुहुन्छ। त्यसको विपरीत, चाहे तँ विवाहित होस् वा नहोस्, परमेश्‍वरले तँलाई दिएको सबैभन्दा ठूलो अधिकार भनेको आफ्नो जीवन लक्ष्य पछ्याउने, जीवनबारे सही दृष्टिकोण राख्ने, र मुक्ति खोज्ने अधिकार हो। यो अधिकार तँबाट कसैले खोस्न सक्दैन, र त्यसमा तेरो जोडीलगायत कसैले हस्तक्षेप गर्न मिल्दैन। त्यसैले, तिमीहरूमध्ये आफ्नो वैवाहिक जीवनमा दासको भूमिका खेल्नेहरूले यस्तो जीवनशैली, आफ्नो विवाहको दास हुन चाहनेसम्बन्धी आफ्ना विचार र अभ्यासहरू त्याग्नुपर्छ, अनि त्यो परिस्थितिबाट निस्कनुपर्छ। आफ्नो जोडीको बन्धनमा नपर्, अनि आफ्नो जोडीको संवेग, दृष्टिकोण, बोली, मनोवृत्ति वा उसको कार्यद्वारा समेत प्रभावित, सीमित, नियन्त्रित नहो वा बन्धनमा नपर्। ती सबैबाट बाहिर निस्की अनि बहादुरीसाथ र साहसपूर्वक परमेश्‍वरमा भर पर्। जब तँ परमेश्‍वरका वचनहरू पढ्न चाहन्छस्, तब परमेश्‍वरका वचनहरू पढ्, भेलाहरूमा सहभागी हुनुपर्ने बेला सहभागी हो, किनकि तँ मानव होस्, कुकुर होइनस्, र तँलाई तेरो व्यवहार नियमन गर्न वा तेरो जीवनलाई नियन्त्रण गर्न कोही चाहिँदैन। आफ्नो जीवनको लक्ष्य र दिशा रोज्ने अधिकार तँसँग छ—परमेश्‍वरले तँलाई यो अधिकार दिनुभएको छ, र खास गरी, तँ सही मार्गमा हिँडिरहेको छस्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, जब परमेश्‍वरको घरलाई निश्चित काम गर्न तेरो आवश्यकता पर्छ, जब परमेश्‍वरको घरले तँलाई कुनै कर्तव्य सुम्पन्छ, तब तैँले कर्तव्यनिष्ठ भई कुनै रोजाइ वा वा आनाकानी नगरी सबथोक त्याग्नुपर्छ र आफूले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्छ र परमेश्‍वरले तँलाई दिएको मिसन पूरा गर्नुपर्छ। यदि तैँले यस कामका लागि दस दिन वा एक महिनाका लागि घर छोड्नुपर्छ भने, आफ्नो कर्तव्य राम्ररी निभाउन, परमेश्‍वरले तँलाई सुम्पेको आदेश पूरा गर्न, र उहाँको हृदय सन्तुष्ट तुल्याउन रोज्नुपर्छ—सत्यता पछ्याउनेहरूमा हुनुपर्ने मनोवृत्ति, सङ्कल्प र चाहना यही हो। यदि यो कामका लागि तँ छ महिना, एक वर्ष, वा अनिश्चित कालका लागि घरबाट टाढा रहनुपर्छ भने, तैँले कर्तव्यनिष्ठ भई आफ्नो परिवार र वैवाहिक जोडीलाई त्याग्नुपर्छ र परमेश्‍वरले तँलाई दिएको मिसन पूरा गर्नुपर्छ। किनभने यही बेला परमेश्‍वरको घरको काम र तेरो कर्तव्यलाई तेरो सबैभन्दा बढी आवश्यकता हुन्छ, र यो तेरो वैवाहिक जीवन र तेरो जोडीलाई तेरो सबैभन्दा बढी आवश्यकता पर्ने समय होइन। तसर्थ, तैँले आफू विवाहित हो भने आफ्नो विवाहको दास बन्नैपर्छ वा तेरो विवाह अन्त्य भयो वा टुट्यो भने त्यो बदनाम हुन्छ भन्‍ने सोच्नै हुँदैन। वास्तवमा, त्यो बदनाम होइन, र तैँले विवाह कुन परिस्थितिमा अन्त्य भयो र परमेश्‍वरको बन्दोबस्त के थियो भनेर हेर्नैपर्छ। यदि त्यो परमेश्‍वरले तोक्नुभएको र चलाउनुभएको थियो, र मानिसले निम्त्याएको होइन भने, त्यो गौरवको कुरा हो, त्यो सम्मान हो, किनभने तैँले सही कारणले, परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो मिसन पूरा गर्न आफ्नो विवाह त्यागेको र अन्त्य गरेको छस्। यो त परमेश्‍वरले सम्झने र स्विकार्ने कुरा हो, त्यसैले म यो गौरवको कुरा हो, बदनाम होइन भनेर भन्छु! कतिपय मानिसको विवाह तिनीहरूको जोडीले तिनीहरूलाई छोडेकाले र धोका दिएकाले—बोलीचालीको भाषामा भन्नुपर्दा, तिनीहरूलाई थाङ्नामा सुताउँछ—अन्त्य हुने भए पनि यसमा लाज मान्नुपर्ने कुनै कारण छैन। बरु तैँले यसो भन्नुपर्छ, “यो मेरा लागि सम्मानको कुरा हो। किन? मेरो वैवाहिक जीवन यो मोडमा पुगेर यसरी अन्त्य हुनु परमेश्‍वरले तोक्नुभएको र चलाउनुभएको हो। परमेश्‍वरको मार्गदर्शनले नै मलाई यो कदम चाल्न लगाएको थियो। यदि परमेश्‍वरले यसो नगर्नुभएको भए र मलाई लत्त्याउन उसलाई नलगाउनुभएको भए, ममा यो कदम चाल्ने विश्‍वास र साहस हुने नै थिएन। परमेश्‍वरको सार्वभौमिकता र मार्गदर्शनप्रति आभारी छु! परमेश्‍वरको महिमा होस्!” यो सम्मानको कुरा हो। तैँले सबै प्रकारका विवाहमा यस्तो अनुभव गर्न सक्छस्, परमेश्‍वरको मार्गदर्शनमा सही मार्ग पछ्याउन, परमेश्‍वरले तँलाई दिएको मिसन पूरा गर्न, यस्तो अवस्थामा र यस्तो प्रेरणाले आफ्नो जोडीलाई छोड्न, र आफ्नो वैवाहिक जीवन अन्त्य गर्न रोज्न सक्छस्, र यो बधाई पाइने कुरा हो। रमाउन लायक कम्तीमा एउटा कुरा छ, र त्यो हो तँ अब आफ्नो विवाहको दास रहिनस्। तँ आफ्नो विवाहको दासत्वबाट उम्केको छस् र तैँले अबउप्रान्त आफू विवाहको दास भएकाले र त्यसबाट मुक्त हुन चाहेर पनि नसकेको कारण चिन्ता लिनु, पीडा भोग्नु र सङ्घर्ष गर्नु पर्दैन। त्यस क्षणपश्चात्, तँ उम्केको छस्, तँ स्वतन्त्र छस्, र त्यो राम्रो कुरा हो। यसो भनेर म आशा गर्छु भने विगतमा जसको विवाहको दुःखदायी अन्त्य भएको छ र जसलाई अझै पनि यो कुराले सताइरहन्छ, तिनीहरूले आफ्नो विवाहलाई, त्यसले आफूमा पारेका असरलाई, त्यसले आफूमा ल्याएको घृणा, रिस, र पीडासमेत त्याग्न सक्छन्, अनि तिनीहरूले आफ्नो जोडीका लागि गरेका सम्पूर्ण त्याग र प्रयासहरूको बदलामा वैवाहिक धोका, विश्‍वासघात र उपहास पाएको कारण अबउप्रान्त पीडा र आक्रोश महसुस गर्दैनन्। मलाई आशा छ, तैँले ती सब छोड्छस्, आफू अब विवाहको दास नभएकोमा रमाउँछस्, आफूले वैवाहिक जीवनको मालिकका लागि केही गर्नु वा अनावश्यक त्याग गर्नु नपरेकोमा रमाउँछस्, बरु, परमेश्‍वरको मार्गदर्शन र सार्वभौमिकतामा रहेर जीवनमा सही मार्ग पछ्याउँछस्, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य निभाउँछस्, र अबउप्रान्त खिन्न हुँदैनस् र अरू केहीबारे चिन्ता लिँदैनस्। अवश्य नै, अब तैँले आफ्नो जोडीबारे चासो राख्नुपर्ने, वा चिन्तित र बेचैन हुनुपर्ने वा मनमा उसकै बारेमा सोच्नुपर्ने कुनै आवश्यकता हुँदैन, अबदेखि सबथोक राम्रो हुनेछ, अबउप्रान्त तैँले आफ्नो जोडीसँग व्यक्तिगत मामलाबारे छलफल गर्नुपर्दैन, र तँ उसको बन्धनमा हुनुपर्दैन। तैँले केवल सत्यता खोज्ने र परमेश्‍वरका वचनमा सिद्धान्त र आधार खोज्ने गर्नुपर्छ। तँ स्वतन्त्र भइसकिस् र अब आफ्नो विवाहको दास रहिनस्। भाग्यवश तँ आफ्नो विवाहको भयावह अनुभवबाट निस्केको छस्, सच्चा रूपमा परमेश्‍वरसामु आएको छस्, आफ्नो विवाहको नियन्त्रणमा छैनस्, र तँसँग परमेश्‍वरका वचन पढ्ने, भेलामा सहभागी हुने, र आत्मिक भक्ति गर्न अझ बढी समय छ। तँ पूर्णतया स्वतन्त्र छस्, अबउप्रान्त तैँले अरू कसैको मुडअनुसार निश्चित तरिकाले कार्य गर्नु पर्दैन, कसैको खिसीटिउरी सुन्नु पर्दैन, र कसैको मुड वा भावनालाई विचार गर्नु पर्दैन—तँ एक्लो जीवन जिइरहेको छस्, एकदम राम्रो! तँ अब दास रहिनस्, तँ आफूले मानिसहरूप्रति विविध जिम्मेवारीहरू पूरा गर्नुपरेको वातावरणबाट बाहिर निस्कन सक्छस्, तँ साँचो सृष्टि गरिएको प्राणी हुन, सृष्टिकर्ताको प्रभुत्वमा सृष्टि गरिएको प्राणी हुन, र सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउन सक्छस्—शुद्ध रूपमा यसो गर्नु कति राम्रो कुरा हो! तैँले फेरि कहिल्यै आफ्नो विवाहबारे विवाद गर्नु, चिन्ता लिनु र दुःख भोग्नु, सहनु र कष्ट उठाउनु, वा रिसाउनु पर्दैन, तैँले फेरि कहिल्यै त्यो घृणित वातावरण र जटिल परिस्थितिमा जिउनु पर्दैन। यो एकदम राम्रो हो, यी सबै राम्रा कुरा हुन्, र सबै राम्रै चलिरहेको छ। जब कोही सृष्टिकर्तासामु आउँछ, तब उसले परमेश्‍वरका वचन र सत्यता सिद्धान्तबमोजिम कार्य गर्छ र बोल्छ। सबै कुरा राम्रै चल्छ, ती जथाभाबीका विवादहरू हुन छोड्छन्, र तेरो हृदय शान्त बन्न सक्छ। यी सबै राम्रा कुरा हुन्, तर कतिपय मानिस अझै पनि यस्तो घृणित वैवाहिक वातावरणमा दास हुन इच्छुक हुनु लाजमर्दो कुरा हो र तिनीहरू त्यसबाट उम्कँदैनन् वा बाहिर निस्कँदैनन्। जे भए पनि, मलाई अझै आशा छ, यी मानिसहरूले आफ्नो विवाह अन्त्य नगरे पनि र टुटेको विवाहलाई नबिर्से पनि, कम्तीमा तिनीहरू आफ्नो विवाहको दासचाहिँ हुनु हुँदैन। तेरो जोडी जो भए पनि, उसमा जे प्रतिभा वा मानवता भए पनि, उसको हैसियत जति नै उच्च भए पनि, ऊ जति नै सिपालु र सक्षम भए पनि, ऊ तेरो मालिक होइन। ऊ तेरो जोडी हो, र तिमीहरू बराबर हौ। ऊ तँभन्दा उच्च होइन, न त तँ ऊभन्दा निम्न होस्। यदि उसले आफ्ना वैवाहिक जिम्मेवारीहरू पूरा गर्न सक्दैन भने, तँसँग उसलाई झपार्ने अधिकार छ, र उसलाई ठिक पार्नु र डाँट्नु तेरो दायित्व हो। तैँले आफूलाई ऊ अति खतरनाक छ भनी सोचेर वा उसले तँसँग दिक्क मान्नेछ, तँलाई अस्वीकार गर्नेछ वा त्याग्नेछ भन्‍ने डरले, वा तैँले स्वेच्छाले उसको र आफ्नो विवाहको दास हुन झुक्दै आफ्नो वैवाहिक सम्बन्ध जारी राख्न चाहेकोले गर्दा निचो नपार् वा आफूलाई शोषित हुन नदे—यो उचित होइन। कुनै व्यक्तिले विवाहको संरचनाभित्र यस्तो व्यवहार गर्नु हुँदैन, न त यो कसैले पूरा गर्नुपर्ने जिम्मेवारी नै हो। परमेश्‍वर तँ दास बनेको माग गर्नुहुन्न, न त मालिक बनेको नै माग गर्नुहुन्छ। उहाँ त तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरेको मात्र माग गर्नुहुन्छ, त्यसैले तैँले वैवाहिक जीवनमा आफूले निभाउनुपर्ने जिम्मेवारीहरू सही रूपमा बुझ्नैपर्छ, र आफूले विवाहमा खेल्ने भूमिकालाई पनि सही रूपमा बुझ्ने र प्रस्टसित नियाल्ने गर्नुपर्छ। यदि तैँले निभाउने भूमिका विकृत छ र मानवतासँग वा परमेश्‍वरले तोकेको कुरासँग मिल्दैन भने, तैँले आफूलाई जाँचेर कसरी यो स्थितिबाट बाहिर निस्कने भनी चिन्तन गर्नुपर्छ। यदि आफ्नो जोडीलाई झपार्न मिल्छ भने झपार्; यदि तैँले आफ्नो जोडीलाई झपार्दा अप्रिय परिणाम निस्कन्छ भने, अझ बुद्धिमानी र उचित निर्णय लिनुपर्छ। जे भए पनि, यदि तँ सत्यता पछ्याएर मुक्ति प्राप्त गर्न चाहन्छेस् भने, तैँले आफ्नो विवाहको दास बन्नेसम्बन्धी आफ्ना विचार र अभ्यासहरू त्याग्नुपर्छ। तँ आफ्नो विवाहको दास बन्नै हुँदैन, बरु तैँले त्यो भूमिका त्याग्नुपर्छ, सच्चा मानव बन्नुपर्छ, सृष्टि गरिएको सच्चा प्राणी हुनुपर्छ, र सँगसँगै आफ्नो कर्तव्य निभाउनुपर्छ। बुझिस्? (बुझेँ।)

हामीले भर्खरै “मानिस विवाहको दास बन्नु हुँदैन” भन्‍ने मामलाबारे सङ्गति गऱ्यौँ, र मानिसहरूलाई विवाहबारे आफ्ना मिथ्या विचारहरू त्याग्नू भन्यौँ। अर्थात्, कतिपय मानिस आफूले आफ्नो विवाह टिकाइराख्नैपर्छ अनि विवाह टुट्न र अन्त्य हुनबाट जोगाउन सक्दो गर्नैपर्छ भन्‍ने सोच्छन्। यो लक्ष्य हासिल गर्न तिनीहरू सम्झौता गर्छन्। तिनीहरू आफ्नो विवाह टिकाउन आफ्ना थुप्रै सकारात्मक पछ्याइहरू त्याग गर्छन्, र स्वेच्छाले आफ्नो विवाहको दास बन्छन्। यी मानिसहरू विवाहको अस्तित्व र परिभाषालाई गलत अर्थ लगाउँछन्, अनि विवाहप्रति तिनीहरूको मनोवृत्ति गलत हुन्छ, त्यसकारण तिनीहरूले यस्ता गलत सोच र विचारहरू त्याग्नुपर्छ, यस प्रकारको विकृत वैवाहिक स्थितिबाट टाढिनुपर्छ, विवाहलाई सही रूपले लिनुपर्छ, र विवाहमा आइपर्ने यी समस्याहरूलाई सही ढङ्गले सम्हाल्नुपर्छ—विवाहको सम्बन्धमा मानिसले त्याग्नुपर्ने तेस्रो कुरा यही हो। अब, हामी विवाहसम्बन्धी चौथो मामलामा सङ्गति गर्नेछौँ: विवाह तेरो गन्तव्य होइन। यो पनि एउटा मामला हो। यो हामीले सङ्गति गर्ने शीर्षक भएकाले, यो मानिसको विवाहका वर्तमान परिस्थितिभित्र प्रस्टै देखिने मामला हो। यो सबै प्रकारका वैवाहिक परिस्थितिमा हुन्छ। यो विवाह वा कुनै जीवन स्थितिप्रति मानिसमा हुने एक प्रकारको मनोवृत्ति पनि हो, त्यसैले हामीले यस मामलाबारे सङ्गति गरेर त्यसलाई प्रस्ट्याउनुपर्छ। कतिपय महिला विवाह गरेपछि आफूले आदर्श पति पाएको छु भन्‍ने सोच्छन्। तिनीहरू आफू यो व्यक्तिमा भर पर्न र उसलाई भरोसा गर्न सक्ने, ऊ जीवन यात्रामा बलियो सहारा बन्न सक्ने, र आफूले ऊमाथि भर पर्नुपर्दा ऊ बलियो र भरपर्दो व्यक्ति हुनेछ भन्‍ने ठान्छन्। कतिपय पुरुष आफूले सही महिला भेटाएको छु भन्ठान्छन्। ऊ सुन्दरी र उदार, भद्र र विचारशील, सद्गुणी र बुझकी छे। ऊ यो महिलासँग आफ्नो जीवन स्थिर अनि शान्त र न्यानो घरबार हुने विश्‍वास गर्छ। विवाह गरेपछि मानिसहरू सबै आफूलाई भाग्यमानी र सुखी ठान्छन्। धेरैजसो मानिस विवाह गरेपछि आफ्नो जोडी नै आफूले चयन गरेको भावी जीवनको प्रतीक हो र, अवश्य नै, आफ्नो विवाह नै यो जुनीमा आफूले खोज्ने गन्तव्य हो भनी विश्‍वास गर्छन्। यसको अर्थ के हो? यसको अर्थ हो, विवाह गर्ने हरव्यक्तिले विवाह आफ्नो गन्तव्य हो, र आफ्नो विवाह भइसकेपछि त्यो विवाह आफ्नो गन्तव्य हो भन्‍ने विश्‍वास गर्छ। “गन्तव्य” भन्नुको अर्थ के हो? यसको अर्थ टेको हो। तिनीहरू आफ्नो सम्भावना, भविष्य र खुसी आफ्नो विवाह र आफूले विवाह गरेको जोडीलाई सुम्पन्छन्, त्यसकारण विवाह गरेपछि तिनीहरू आफूलाई फेरि कहिल्यै केही कुराको चाहना वा कुनै चिन्ता नहुने ठान्छन्। किनभने तिनीहरूलाई आफूले गन्तव्य भेटाइसकेको, र त्यो गन्तव्य आफ्नो जोडी र आफूले त्यो जोडीसँग मिलेर बनाउने घरबार दुवै हो भन्‍ने लाग्छ। तिनीहरूले आफ्नो गन्तव्य भेटाइसकेकाले, अबउप्रान्त कुनै कुरा पछ्याउनु वा कुनै कुराको आशा गर्नु आवश्यक छैन। अवश्य नै, विवाहप्रति मानिसका मनोवृत्ति र दृष्टिकोणबाट हेर्दा त यो कुरा वैवाहिक संरचनाको स्थिरताका लागि फाइदाजनक छ। कम्तीमा पनि, यदि कुनै पुरुष वा स्त्रीले आफ्नो वैवाहिक जोडी पक्कापक्की गरेको छ भने, त्यसउप्रान्त अरू विपरीत लिङ्गीसँग मायाप्रीति गाँस्नेछैन वा यौन सम्बन्ध राख्नेछैन। यो धेरैजसो वैवाहिक जोडीका लागि लाभदायक हुन्छ। कम्तीमा पनि, उसको हृदय सम्बन्धको मामलामा शान्त हुनेछ, ऊ एउटै विपरीत लिङ्गी जोडीप्रति आकर्षित हुनेछ र उसलाई आधारभूत जियाइको वातावरणमा एउटै विपरीत लिङ्गी जोडीले स्थिर पार्नेछ—यो राम्रो कुरा हो। तर, कुनै व्यक्ति विवाहमा प्रवेश गर्दा, यदि उसले विवाहलाई आफ्नो गन्तव्य ठान्छ, जबकि आफ्ना सम्पूर्ण पछ्याइ, जीवनप्रतिको दृष्टिकोण, जीवनमा आफूले पछ्याउने मार्ग, र परमेश्‍वरले ऊबाट माग गर्ने कुरालाई फुर्सदमा गर्ने फाल्तु कुरा ठान्छ भने, थाहा नपाउने गरी विवाहलाई आफ्नो गन्तव्य बनाउनु राम्रो कुरा होइन, त्यसको विपरीत त्यो आफूले सही जीवन लक्ष्य पछ्याउने, जीवनबारे सही दृष्टिकोण बनाउने, र मुक्ति पछ्याउने काममा समेत बाधा, ठक्कर, र प्रतिरोध बन्छ। किनभने जब विवाह गर्ने व्यक्तिले आफ्नो जोडीलाई आफ्नो गन्तव्य र यो जीवनको आफ्नो नियति ठान्छ, तब उसले आफ्नो जोडीका विविध भावना, उसको सुख-दुःख आफूसँग सम्बन्धित छ, र आफ्ना सुख-दुःख अनि विविध भावना आफ्नो जोडीसँग सम्बन्धित छ, त्यसैले आफ्नो जोडीको जीवन, मृत्यु, खुसी र आनन्द आफ्नो जीवन, मृत्यु, खुसी र आनन्दसँग गाँसिएको छ भन्‍ने विश्‍वास गर्छ। त्यसकारण, विवाह नै आफ्नो जीवनको गन्तव्य हो भन्‍ने यी मानिसहरूको विचारले तिनीहरूको जीवन मार्ग, सकारात्मक कुरा, र मुक्तिको पछ्याइलाई एकदमै सुस्त र निष्क्रिय बनाउँछ। यदि आफ्नो विवाहमा परमेश्‍वरलाई पछ्याउने व्यक्तिको जोडीले परमेश्‍वरलाई नपछ्याउने बरु सांसारिक कुराहरू पछ्याउने निर्णय गर्छ भने, परमेश्‍वरलाई पछ्याउने व्यक्तिमा आफ्नो जोडीबाट गम्भीर असर पर्नेछ। उदाहरणका लागि, श्रीमती आफूले परमेश्‍वरमा विश्‍वास गर्नुपर्ने र सत्यता पछ्याउनुपर्ने, अनि आफूले जागिर छोडेर कर्तव्य निभाउनुपर्ने, आफूलाई अर्पित र परमेश्‍वरको घरमा समर्पित गर्नुपर्ने विश्‍वास गर्छे, जबकि उसको श्रीमान सोच्छ, “परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो, तर हामीले जिउनु पनि त पर्छ। यदि हामी दुवैले आफ्नो कर्तव्य निभाउने हो भने, पैसाचाहिँ कसले कमाउँछ? घर कसले धान्छ? हाम्रो परिवारको भरणपोषण कसले गर्छ?” यो दृष्टिकोण राखेर ऊ काम जारी राख्ने र सांसारिक कुराहरू पछ्याइरहने निर्णय गर्छ; उसले परमेश्‍वरमा विश्‍वास गर्दिनँ भनेर भन्दैन, र त्यसको विरोध गर्छु पनि भन्दैन। परमेश्‍वरमा विश्‍वास गर्ने श्रीमती सधैँ यस्तो सोचिरहेकी हुन्छे, “मेरा श्रीमान् मेरो गन्तव्य हो। उहाँलाई ठिक छ भने मात्र मलाई ठिक हुन्छ। उहाँलाई ठिक छैन भने, म पनि ठिक हुन सक्दिनँ। हामी एकै रथका दुई पाङ्ग्राजस्तै हौँ। हाम्रा सुख-दुःख एउटै छन्, र हामी सँगै जिउँछौँ र सँगै मर्छौँ। उहाँ जहाँ जानुहुन्छ म त्यहीँ जान्छु। अहिले आफ्नो मार्ग रोज्ने कुरामा हामीबीच विमति पैदा भएको छ र फाटो देखा पर्न थालेको छ, त्यसोभए हाम्रो मेलमिलाप कसरी हुन सक्छ? म परमेश्‍वरलाई पछ्याउन चाहन्छु, तर उहाँ परमेश्‍वरप्रतिको आस्थामा चासो राख्नुहुन्न। यदि उहाँले परमेश्‍वरमा विश्‍वास गर्नुभएन भने, म आफ्नो आस्थामा अघि बढ्न सक्नेछैनँ र मलाई परमेश्‍वरलाई पछ्याऊँ जस्तो लाग्न छोड्नेछ। किनभने सुरुदेखि नै मैले उहाँलाई आफ्नो सर्वस्व, आफ्नो नियति ठानेँ। म उहाँलाई छोड्न सक्दिनँ। यदि उहाँ परमेश्‍वरमा विश्‍वास गर्नुहुन्न भने, हामी दुवैले गर्नेछैनौँ, र यदि उहाँ परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ भने हामी दुवैले गर्नेछौँ। उहाँले परमेश्‍वरमा विश्‍वास गर्नुभएन भने, मलाई आफूमा केही कुराको कमी भएको महसुस हुनेछ, मानौँ मेरो आत्मा खोसिएको छ।” ऊ सधैँ यस मामलाबारे व्याकुल र चिन्तित हुन्छे। ऊ आफ्नो श्रीमानले परमेश्‍वरमा विश्‍वास गर्न सक्ने आशा गर्दै प्राय: प्रार्थना गर्ने गर्छे। तर उसले जसरी प्रार्थना गरे पनि उसको श्रीमान टसमस हुँदैन, परमेश्‍वरमा विश्‍वास गर्दैन। उसलाई तनाव हुन्छ—उसले केचाहिँ गर्नुपर्ने हो? उसले गर्न सक्ने केही छैन, त्यसैले ऊ सक्दो प्रयास गर्छे, र आफ्नो श्रीमान् घरमै हुँदा ऊसँग परमेश्‍वरका वचन पढ्न पढ्छिन्। उसको श्रीमानले परमेश्‍वरका वचन पढ्छ र उसले पढ्दा नाक नखुम्च्याई सुन्छ, तर ऊ सङ्गतिमा सक्रिय रूपले सहभागी हुँदैन। तिनीहरू श्रीमान्-श्रीमती भएको कारण श्रीमानले ऊसँग विवाद गर्दैन। भजनहरू गाउन लगाउँदा, ऊ ती गाउँछ र ती गाउन सिक्छ, तर ती सिकिसकेपछि आफूले ती पूरै सिक्यो कि सिकेन वा आफूलाई ती मन पर्छ कि पर्दैन भनेर भन्दैन। भेलामा सहभागी हुन आग्रह गर्दा, उसलाई केही फुर्सद मिल्यो भने ऊ बेलाबेला श्रीमतीसँग भेलामा जाने गर्छ, तर सामान्यतया ऊ काम र पैसा कमाउनमै व्यस्त हुन्छ। ऊ परमेश्‍वरप्रतिको आस्थाबारे कहिल्यै केही भन्दैन, भेलामा सहभागी हुन वा कर्तव्य निर्वाह गर्न अनुरोध गर्ने कहिल्यै पहल गर्दैन। सङ्क्षेपमा, ऊ ती सब कुराप्रति तातो न चिसो छ। ऊ परमेश्‍वरप्रतिको विश्‍वासको विरोध गर्दैन, तर त्यसको समर्थन पनि गर्दैन, र त्यसप्रति आफ्नो मनोवृत्ति के हो भन्‍ने देखाउँदैन। परमेश्‍वरमा विश्‍वास गर्ने श्रीमतीले यो सब कुरा हृदयमा लिन्छे र सम्झन्छे, अनि यसो भन्छे, “हामी विवाहित दम्पती र परिवार भएकाले, यदि म राज्यमा प्रवेश गरेँ भने उहाँ पनि प्रवेश गर्नैपर्छ। यदि उहाँले मसँगै मेरो आस्था पछ्याउनुभएन भने राज्यमा प्रवेश गर्न वा मुक्ति पाउन सक्नुहुनेछैन, र त्यसपछि मलाई पनि जिउने चाहना हुनेछैन र मर्न मन लाग्नेछ।” ऊ मरिसकेकी नभए पनि, उसको हृदयमा सधैँ यस मामलाको कारण चिन्ता, पीडा र कष्ट भइरहेको हुन्छ र ऊ यस्तो सोचिरहेकी हुन्छे, “यदि कुनै दिन विपत्ति आयो र त्यस विपत्तिमा उहाँको निधन भयो भने, म के गरूँ? अहिले त्यस्तो ठूलो महामारी चलिरहेको छ। उहाँलाई यो महामारीले पक्रियो भने, म त बाँच्न सक्दिनँ। उहाँले परमेश्‍वरप्रतिको मेरो विश्‍वासको विरोध गर्छु भन्नुभएको छैन, तर कुनै दिन मैले अबउसो परमेश्‍वरमा विश्‍वास नगरोस् भन्‍ने चाहना राख्नुभयो भने नि?” उसलाई त्यो समय आउँदा आफूले श्रीमानको कुरा मानेर परमेश्‍वरमा विश्‍वास गर्नेछैनँ र उहाँलाई विश्‍वासघात गर्नेछु भन्‍ने चिन्ता लाग्छ। किनभने उसको हृदयमा, आफ्नो श्रीमान् नै उसको प्राण, उसको जीवन, र अझ उसको सर्वस्व, सबथोक हो। उसलाई आफ्नो अति प्रिय श्रीमानले सबैभन्दा बढी प्रेम गर्छ, र ऊ पनि आफ्नो श्रीमानलाई सबैभन्दा बढी प्रेम गर्छे। तर अहिले ऊ एउटा समस्यामा पर्छे: यदि उसको श्रीमानले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासको विरोध गऱ्यो र उसको प्रार्थनाले काम गरेन भने, के होला? ऊ यसबारे निकै चिन्ता लिन्छे। उसले घरबाट टाढा गएर आफ्नो कर्तव्य निभाउनुपर्दा, आफूलाई पनि परमेश्‍वरको घरमा कर्तव्य निभाउने चाहना भए पनि, जब उसले कर्तव्य निभाउन आफू घर छाडेर टाढा जानुपर्ने, र लामो समयसम्म घरबाट टाढा रहनुपर्ने कुरा थाहा पाउँछे, तब उसलाई असाध्यै पीडा महसुस हुन्छ। किन त्यस्तो भएको? उसलाई आफूले घर छोडेर गएपछि आफ्नो श्रीमानको हेरचाह गर्ने कोही हुनेछैन, श्रीमानको यादले सताउनेछ र श्रीमानको चिन्ता लागिरहनेछ भनेर चिन्ता लाग्छ। उसलाई श्रीमानको चिन्ता लाग्नेछ अनि उसको कमी महसुस हुनेछ र उसको साथविना आफू जिउन सक्दिनँ, आफूले जीवनको आशा र दिशा गुमाउनेछु, र सम्पूर्ण हृदयले आफ्नो कर्तव्य पनि निभाउन सक्दिनँ भन्‍नेसमेत लाग्नेछ। अहिले, त्यसबारे सोच्दा मात्र भने पनि, उसको हृदय पिरोलिन्छ, झन् साँच्चै त्यस्तो भयो भने त के होला त्यसको त कुरै नगरौँ। त्यसकारण, मण्डलीमा ऊ अर्को ठाउँमा गएर आफ्नो कर्तव्य निभाउनका लागि अनुरोध गर्ने आँट कहिल्यै गर्दिन, वा यदि लामो समयसम्म टाढा रहेर केही काम गर्ने कसैको आवश्यकता पऱ्यो र घरबाट टाढा रात कटाउनुपर्छ भने, ऊ त्यो कामका लागि कहिल्यै अग्रसर हुँदिन वा त्यस्तो अनुरोध स्विकार्ने आँट गर्दिन। ऊ दाजुभाइ र दिदीबहिनीहरूका पत्रहरू पुर्‍याउने, वा कहिलेकाहीँ तिनीहरूका लागि आफ्नो घरमा भेला राख्नेजस्ता आफ्नो सामर्थ्यले भ्याउने सबै कुरा मात्र गर्छे, तर कहिल्यै दिनभरि श्रीमानबाट छुट्टिने आँट गर्दिन। यदि कुनै विशेष परिस्थितिले उसको श्रीमान् व्यापारको सिलसिलामा कतै जानैपर्ने भयो वा केही दिनका लागि टाढा गयो भने, श्रीमान जानुभन्दा दुई-तीन दिन अघिदेखि नै आँखै सुन्निने गरी रुन्छे। ऊ किन रुन्छे? उसलाई केको चिन्ता लाग्छ भने, आफ्नो श्रीमान् प्लेन दुर्घटनामा मर्नेछ र उसको शरीरसमेत भेटिनेछैन, त्यसपछि आफूलाई के होला? आफू कसरी जिउनेछ र आफूले दिनहरू पार गर्नेछ? उसको सर्वस्व गुम्नेछ, उसलाई आफ्नो हृदय लुटिएझैँ लाग्नेछ त्यसबारे सोच्दा मात्र पनि ऊ भयभीत हुन्छे, त्यसकारण त्यसबारे सोच्दा ऊ रुन्छे। उसको श्रीमान गइसकेको छैन तर ऊ दुई-तीन दिन अघिदेखि नै रोएको रोएकै छिन्, र ऊ श्रीमान नफर्केसम्म रोइरहन्छे, यति बिघ्न रुन्छे कि श्रीमान रिसाउँछ र भन्छ, “हत्तेरी, उसलाई भएकोचाहिँ के हो? म त मरेकै छैन तर ऊ रोइरहेकी छे। म मरोस् भनेर सराप्दैछिन् कि क्या हो?” उसले गर्न सक्ने केही छैन, ऊ यसो भन्दै रोइ मात्र रहन्छे, “तपाईं नजानुहोस्, मेरो नजरबाट ओझेल नहुनुहोस्।” उसले आफ्नो भाग्य र गन्तव्यलाई आफूले विवाह गरेको श्रीमानका लागि दाउमा राख्छे, र चाहे यो कार्यशैली मूर्खता वा बचकना नै किन नहोस्, यस्ता मानिसहरू त हुन्छन् नै। के यस्ता मानिस पुरुष बढी हुन्छन् कि महिला? (महिला।) यस्ता मानिस महिला बढी देखिन्छन्, महिलाहरू अलि दुर्बल हुन सक्छन्। पुरुष र महिलाबीच जसले जसलाई छाडे पनि, के अझै तिनीहरू जिइरहन सक्छन्? (सक्छन्।) जसले जसलाई छाडे पनि, के त्यो तैँले रोज्न सक्ने कुरा हो? के त्यो तैँले नियन्त्रण गर्न सक्ने कुरा हो? (होइन।) अहँ, त्यो तैँले नियन्त्रण गर्न सक्ने कुरा होइन, त्यसकारण तँ मूर्खतापूर्ण कल्पनामा हराउँछस्, र रुन्छस्, अनि पिरोलिन्छस्, चिन्तित र पीडित हुन्छस्—के यो सबको कुनै अर्थ छ? (छैन।) यी मानिसहरूलाई आफ्नो जोडीलाई हेर्न, उसको हात समाउन, र ऊसँग जिउन पाउनु भनेको आफूले जुनीभरको साथ पाउनु, जस्तै ढुक्क लाग्नु र दिलासा पाउनु हो भन्‍ने लाग्छ। तिनीहरू आफूलाई खान-लाउनको कुनै चिन्ता, हुनेछैन, फिक्री हुनेछैन र आफ्नो जोडी नै आफ्नो गन्तव्य हो भन्ठान्छन्। गैरविश्‍वासीहरूको यस्तो भनाइ नै छ, “यो जुनीमा तिमीलाई पाएँ भने, मलाई अरू केही चाहिँदैन।” यी मानिसहरू आफ्नो विवाह र जोडीप्रति हृदयमा यस्तै महसुस गर्छन्; तिनीहरू आफ्नो जोडी खुसी हुँदा खुसी र आफ्नो जोडी चिन्तित हुँदा चिन्तित हुन्छन्, अनि आफ्नो जोडीलाई कष्ट हुँदा उसलाई पनि कष्ट हुन्छ। आफ्नो जोडीको मृत्यु भयो भने, तिनीहरू पनि जिउन चाहँदैनन्। अनि आफ्नो जोडी अरू कसैसित प्रेममा पऱ्यो भने, तिनीहरू के गर्छन्? (तिनीहरू जिउन चाहँदैनन्।) कतिपय मानिस जिउनै चाहँदैनन्, त्यसैले आत्महत्या गर्छन्, र कतिपयचाहिँ मानसिक सन्तुलन गुमाउँछन्। ल भन् त, यो सब केका लागि हो? कस्तो व्यक्तिले मानसिक सन्तुलन गुमाउँछ? मानसिक सन्तुलन गुमाउनुले आफू आफ्नो जोडीप्रति पागल छ भन्‍ने देखाउँछ। कतिपय स्त्रीहरू आफ्नो श्रीमान् आफ्नो जीवनको गन्तव्य हो, र त्यस्तो पुरुष पाइसकेपछि आफूले फेरि अरू कुनै पुरुषलाई प्रेम गर्नेछैनँ भन्‍ने सोच्छन्—यो त “यो जुनीमा उसलाई पाएँ भने, मलाई अरू केही चाहिँदैन” भन्‍ने कुरा हो। तर उसको श्रीमानले उसलाई निराश तुल्याउँछ, अरू कसैलाई प्रेम गर्छ, र उसलाई बिलकुलै चाहँदैन। त्यसोभए अन्त्यमा के हुन्छ? त्यसपछि ऊ सम्पूर्ण विपरीत-लिङ्गी व्यक्तिहरूलाई असाध्यै घृणा गर्छे। उसलाई अर्को कुनै पुरुष देख्दा, थुक्न, सराप्न, र कुट्न मन लाग्छ। उसमा हिंस्रक प्रवृत्ति विकास हुन्छ, र उनको समझशक्ति खलबलिन्छ। कतिपयले आफ्नो मानसिक सन्तुलन साँच्चै गुमाउँछन्। मानिसले विवाहलाई सही ढङ्गले नबुझ्नुका परिणामहरू यिनै हुन्।

यी मानिसहरू विवाहलाई आफू खुसी पछ्याउन सफल भएको प्रतीक, साथै आफूले लामो समयदेखि सपना देखेको र अहिले हासिल गरेको जीवनको गन्तव्य र लक्ष्य ठान्छन्। तिनीहरूका लागि विवाह भनेको जीवनको अन्तिम उद्देश्य हो, र विवाहसम्बन्धी तिनीहरूको पछ्याइ भनेको यो जीवन आफ्नो जोडीसँगै बिताउनु, सँगै बुढो हुनु, अनि सँगै जिउनु र मर्नु हो। तिनीहरू आफ्नो विवाह आफ्नो गन्तव्य हो भन्‍ने सोच र विचारलाई पुष्टि गर्न, वैवाहिक जीवनमा विवेक र व्यक्तिका जिम्मेवारीको दायराबाहिर थुप्रै कामकुरा गर्छन्। व्यक्तिका जिम्मेवारीको दायराबाहिरका यी कुराहरूमा गम्भीर कुराहरू पर्छन् जसले गर्दा तिनीहरू आफ्नो निष्ठा, मर्यादा, र आफूले पछ्याउने लक्ष्य गुमाउँछन्। उदाहरणका लागि, तिनीहरू प्राय: आफ्नो जोडी हरेक दिन कोसँग हुन्छ, आफू बाहिर गएको बेला उसले के गर्छ, उसको अन्य विपरीत लिङ्गी व्यक्तिहरूसँग कुनै सम्पर्क भयो कि भएन, र उसले अन्य विपरीत लिङ्गी व्यक्तिहरूसँग मित्रताको दायरा नाघ्ने गरी कुनै अन्तरक्रिया वा मैत्री सम्बन्ध राखेको छ कि छैन भनी नजर राख्छन्। कतिपय मानिस आफू आफ्नो जोडी मनमा छ कि छैन र आफूलाई आफ्नो जोडीले अझै पनि प्रेम गर्छ कि गर्दैन भनी हेर्न आफूप्रति आफ्नो जोडीको मनोवृत्ति नियाल्न र जाँच्नमा निकै समय खर्चन्छन्। कतिपय महिला आफ्नो श्रीमान् घर आएपछि उसको कपडा सुँघ्छन्, उसको जिउमा महिलाको कुनै कपाल छ कि भनी हेर्छन्, र उसको सर्टमा अरू महिलाको लिपस्टिक लागेको छ कि भनी चेक गर्छन्। तिनीहरू आफ्नो श्रीमानको फोनमा आफूले नचिन्ने कुनै महिलाको नम्बर छ कि भनेर पनि जाँच्छन्, आफ्नो श्रीमानको कति वटा फोन छ, उसको कोसँग उठबस छ, र उसले हरेक दिन फोनमा भनेको कुरा साँचो हो कि होइन भनेर समेत जाँच्छन्। उदाहरणका लागि, कुनै महिलाले उसको श्रीमानलाई कल गर्छे र सोध्छे, “तपाईं कहाँ हुनुहुन्छ? के गर्दै हुनुहुन्छ?” उसको श्रीमानले “म काममै छु, कागजात जाँच्दै छु” भनेर जवाफ दिन्छ। त्यो महिला भन्छे, “तपाईंले जाँच्दै गरेका कागजातको फोटो खिचेर मलाई पठाउनुस् त।” उसको श्रीमानले त्यो महिलाले भनेअनुसार गर्छ, र त्यसपछि उसले “अफिसमा तपाईँसँग को छ?” भनेर सोध्छे। उसले “म मात्र छु” भनेर जवाफ दिन्छ। ऊ भन्छे, “भिडियो कल गर्नुहोस् त, अफिसमा अरू कोही छ कि, हेरूँ त?” श्रीमानले भिडियो कल गर्छ र उसले एउटी महिला त्यहाँबाट स्वात्तै गएको जस्तो देख्छे र भन्छे, “तपाईंले झूट बोल्नुभो, त्यो आइमाई को हो?” ऊ भन्छ, “ऊ सरसफाइ गर्ने आइमाई हो।” उसले “ए, ठिक छ” भन्छे। त्यसपछि मात्र ऊ ढुक्क हुन्छे। यस्ता मानिसहरू आफ्नो श्रीमानको फोन, ऊ कहाँ छ, दिनभरि ऊ के गरिरहेको छ भनेर चेक गर्छन्। तिनीहरू विवाहबाट यस्ता ठूला अपेक्षाहरू राख्छन् र झनै असुरक्षा महसुस गर्छन्। अवश्य नै, तिनीहरूमा आफ्नो जोडीलाई आफ्नै स्वामित्व र नियन्त्रणमा राख्ने अत्यधिक चाहना हुन्छ। तिनीहरू आफ्नो जोडी नै आफ्नो गन्तव्य हो र आफू जीवनभर आफ्नो जोडीसँग हुनैपर्छ भनेर निश्चित हुने हुनाले, सम्भवतः विवाहमा कुनै गल्ती हुन दिन वा कुनै फाटो, वा कुनै त्रुटि वा सानातिना समस्यासमेत देखा पर्न दिन सक्दैनन्—तिनीहरू यो सब हुन दिन सक्दैनन्। त्यसैले तिनीहरू आफ्नो धेरैजसो ऊर्जा आफ्नो जोडीको निगरानी गर्न, उसलाई केरकार गर्न, ऊ कहाँ गयो र कहाँ छ भनेर सोधपुछ गर्न, अनि उसलाई नियन्त्रण गर्नमा खर्चन्छन्। विशेष गरी तिनीहरू आफ्नो जोडीको कसैसँग चक्कर चल्दा, त्यो सहनै सक्दैनन्। तिनीहरू तमासा लगाउँछन्, लडिबुडी गर्छन्, रुन्छन्, समस्या खडा गर्छन्, र आत्महत्या गर्ने धम्की दिन्छन्। कतिपयले आफ्नो समस्या भेलामा समेत लैजान्छन् र आफ्ना दाजुभाइ र दिदीबहिनीहरूसँग रणनीति छलफल गर्छन्, र यसो भन्छन्, “उहाँ मेरो पहिलो प्रेम, मैले सबैभन्दा बढी प्रेम गर्ने मान्छे हुनुहुन्छ। मैले जीवनभर अर्को पुरुषको हात समातेको वा उसको शरीर छोएको समेत छैनँ। मेरा लागि उहाँ एकमात्र पुरुष हुनुहुन्छ, उहाँ मेरो सर्वस्व हुनुहुन्छ, र यो जीवनमा मेरो भन्नु नै उहाँ हुनुहुन्छ। उहाँ अर्कैसित लाग्नुभएकोको छ र उहाँले मलाई जे गर्नुभएको छ म त्यो सहन सक्दिनँ।” कसैले उसलाई भन्छ, “यो सहन नसक्नुको के काम? भइसकेको कुरालाई बदल्न सक्छौ र? अरू मानिसले तिम्रो श्रीमानको यो चालामाला निकै पहिले देखेको हुन सक्छ।” ऊ जवाफ दिन्छे, “उहाँको यस्तो चालामाला होस् किन नहोस्, जे भएको छ म त्यो स्विकार्नै सक्दिनँ। उहाँलाई दण्डित गर्ने र उहाँकी प्रेमिकालाई मेरो स्थान लिनबाट रोक्ने आइडिया निकाल्न कसले मद्दत गर्छ?” हेर् त, ऊ यति रुष्ट हुन्छे कि आफ्ना समस्यालाई भेलामा ल्याएर त्यसमा सङ्गति गर्छे। के यो सङ्गति हो? यो त अनुचित टीकाटिप्पणी गर्नु, नकारात्मक सन्देश दिनु, र नकारात्मक जानकारी फैलाउनु हो। यो तेरो आफ्नो मामला हो, र तँ घर पुगेपछि ढोका थुनेर उसलाई कुट कि, ऊसित झगडा गर् कि त्यो तेरो कुरा हो, तर तैँले आफ्नो समस्या भेलामा ल्याएर त्यसबारे कुरा गर्नु पटक्कै हुँदैन। यदि तँलाई भेलामा सत्यता खोज्ने इच्छा छ भने, यसो भन्न सक्छस्, “मलाई यस्तो भएको छ, म कसरी आफूलाई यो परिस्थितिबाट निस्कन र ऊद्वारा नियन्त्रित नहुन सक्छु? कसरी म यो मामलालाई परमेश्‍वरप्रतिको मेरो आस्था र मेरो कर्तव्यपालनमा प्रभाव पार्न नदिन सक्छु?” तैँले सत्यता खोज्नु ठिक हो, तर यदि तँ भेलामा गएर आफ्नो विवादबारे कुरा गर्छस् भने, तैँले त्यसो गर्नु हुँदैन। तैँले किन त्यसो गर्नु हुँदैन? तैँले विवाहबारे आफ्नो गलत बुझाइको कारण यो समस्या भोगेको छस् र अहिले आफूलाई आफ्नो हालको परिस्थितिमा पाउँछस्। त्यसपछि तँ यी विवाद र परिणामलाई आफ्ना दाजुभाइ र दिदीबहिनीहरूकहाँ ल्याएर त्यसमा सङ्गति गर्न चाहन्छस्, तर यसले अरू मानिसलाई प्रभाव पार्ने मात्र नभई तँलाई पनि फाइदा गर्दैन। तँ आफ्नो विवादबारे कुरा गर्छस्, तर धेरैजसो मानिस सत्यता बुझ्दैनन् र तिनीहरूमा कद हुँदैन, र तिनीहरूले गर्न सक्ने भनेकै तँलाई आइडिया निकाल्न मद्दत दिने र तेरो विवादको समीक्षा गर्ने मात्र हुन्। तिनीहरूले तँलाई सकारात्मक प्रवेश प्राप्त गर्न मद्दत गर्न सक्दैनन् मात्र होइन, त्यसको विपरीत, परिस्थितिलाई झन् खराब अनि समस्यालाई झन् गम्भीर र जटिल बनाउँछन्। धेरैजसो मानिस नासमझ हुन्छन् र सत्यता वा परमेश्‍वरका अभिप्राय बुझ्दैनन्—के यस्ता मानिसले तँलाई लाभदायी र अमूल्य सहायता दिन सक्छन्? कुनै व्यक्ति भन्छ, “तिमी सधैँ उसकी वैध श्रीमती हुनेछ्यौ। न्यायमाथि दुष्टताको कहिल्यै जित हुँदैन।” के यो सत्यता हो? (होइन।) अर्को व्यक्ति भन्छ, “उसकी प्रेमिकालाई बाटो नदेऊ, उसले तिमीलाई हटाउन सक्छे कि सक्दिन, हामी हेरौँला!” के यो सत्यता हो? (होइन।) मानिसहरूले यस्ता कुरा भनेको सुन्दा तँलाई खुसी लाग्छ कि रिस उठ्छ? तिनीहरू यी कुरा तँलाई आवेगमा ल्याउन कि तैँले सत्यता बुझेस् र तँसित अभ्यासको मार्ग होस् भनेर गर्छन्? अझै अर्कोले भन्छ, “म यो पूर्ण रूपमा बुझ्छु। आजकल असल पुरुषहरू छैनन्। कुनै पनि पुरुष पैसा भएपछि खराब भइहाल्छ।” के यो सत्यता हो? (होइन।) त्यसपछि कुनै व्यक्तिले भन्छ, “तिमीले यो पटक्कै सहनु हुँदैन। तिमीले त्यो केटीलाई आफू त्यति सजिलै हतोत्साहित हुनेछैनौ भनेर देखाउनुपर्छ। उसलाई कोचाहिँ सर्वेसर्वा हो भनेर देखाऊ। ऊ काम गर्ने ठाउँमा गएर सबैलाई बताऊ, तमासा खडा गर, र ऊ तिम्रो श्रीमानकी प्रेमिका हो भनेर भनिदेऊ। तिमी उसकी वैध श्रीमती हौ र निश्चय नै सबै जना तिम्रो पक्षमा हुनेछन्, उसको पक्षमा हुनेछैनन्। उसलाई बाटो छोड्न र पछि हट्न लगाऊ।” के यो सत्यता हो? (होइन।) के यी भनाइहरू अधिकांश मानिसका भ्रमपूर्ण बुझाइ होइनन् र? (हुन्।) अरू कसैले अलि संयमित भएर भन्छ, “ऊ जीवनभर तिमीसँगै रहँदै आएको छ, के तिमी अझै ऊबाट दिक्क भएकी छैनौ? यदि ऊ अरू कसैसित रहन चाहन्छ भने रहन देऊ। उसले पैसा कमाएर ल्याउँछ र तिमीलाई खान र पिउन पुग्छ भने, के त्यो पर्याप्त होइन र? तिमी खुसी हुनुपर्छ, त्यसपछि त उसले तिमीलाई सधैँ तनाव दिइरहेको हुनेछैन। ऊ घर आइरहन्छ र यसलाई आफ्नो घर मान्छ भने, के त्यो पर्याप्त होइन र? तिमी के कुरामा रिसाएकी? तिमीले वास्तवमा यसको फाइदा लिइरहेकी छ्यौ।” यो कुरा सान्त्वनादायी सुनिन्छ, तर के यो सत्यता हो? (होइन।) के कुनै शिष्ट व्यक्तिले यस्ता कुनै कुरा भन्छ? (भन्दैन।) यदि त्यसको आशय कलह मच्चाउनु वा टकराब गराउनु होइन भने, त्यसको आशय परिस्थिति साम्य पार्नु र सिद्धान्तमा नबाँधीकन सम्झौता गर्नु हो। के यसमा उक्त मामलाबारे श्रीमतीले राख्नुपर्ने दृष्टिकोण, अर्थात् सही र सत्यताबमोजिमको दृष्टिकोण झल्काउने कुनै शब्द छ? (छैन।) के धेरैजसो मानिसले यस्ता कुराहरू गर्दैनन् र? (गर्छन्।) यसले के प्रमाणित गर्छ? (धेरैजसो मानिस निकै नासमझ हुन्छन् र तिनीहरूले दिने आइडिया उपयोगी हुँदैन।) धेरैजसो मानिस नासमझ हुन्छन्, तिनीहरू सत्यता पछ्याउँदैनन्, न त सत्यता नै बुझ्छन्। जे होस्, तिनीहरू सत्यता के हो भनेर बुझ्दैनन्, न त तिनीहरू मान्छेका लागि परमेश्‍वरका मापदण्डहरू के हुन् भनेर नै बुझ्छन्। अझै तोकेर भन्नुपर्दा, विवाहको सम्बन्धमा मानिसहरू विवाहमा उत्पन्न हुने समस्याहरूलाई परमेश्‍वरका वचन र विवाहको परिभाषाअनुसार कसरी परमेश्‍वरका अभिप्रायअनुरूप हुने गरी सम्हाल्ने, र आवेशमा नआउने भनेर बुझ्दै बुझ्दैनन्।

तैँले आफूलाई जे समस्या आइपरे पनि, चाहे त्यो ठूलो होस् वा सानो, सधैँ परमेश्‍वरका वचनलाई आफ्नो आधार र सत्यतालाई आफ्नो मापदण्ड बनाएर त्यो समाधान गर्नुपर्छ। त्यसोभए, विवाहमा देखा पर्ने यी समस्याको सम्बन्धमा परमेश्‍वरका वचनमा के आधार छ? सत्यताको मापदण्ड के हो? तेरो जोडी तिमीहरूको विवाहप्रति वफादार छैन भने त्यो उसको समस्या हो। तर तैँले उसको समस्यालाई आफूले विवाहप्रति सही मनोवृत्ति राख्न र जिम्मेवारी बोध गर्नमा प्रभाव पार्न दिनु हुँदैन। ऊ अपराधी हो, तर तैँले उसका अपराधलाई आफूले विवाहप्रति राख्नुपर्ने मनोवृत्तिमा प्रभाव पार्न दिनु हुँदैन। तँ उसलाई आफ्नो गन्तव्य ठान्छस्, तर त्यो तँलाई त्यस्तो लागेको मात्र हो, र वास्तविकता त्यस्तो होइन। परमेश्‍वरले पनि कहिल्यै यस्तो होस् भन्‍ने माग गर्नुभएन वा तोक्नुभएन। तैँले स्नेहमा बगेर, मानव चाहनामा, र अझ प्रस्टसित भन्नुपर्दा, मानव आवेशमा, ऊ तेरो गन्तव्य, आत्मीय जोडी हो भनी जिद्दी गरेको मात्र हो। तैँले जिद्दी गरेर यस्तो विश्‍वास गर्नु गलत हो। तैँले पहिले जे विश्‍वास गरेको भए पनि, जे होस् अब मार्ग परिवर्तन गर्नुपर्छ र परमेश्‍वर मानिसले कस्तो सही सोच र मनोवृत्ति राखेको माग गर्नुहुन्छ, त्यो हेर्नुपर्छ। तेरो जोडी वफादार नहुँदा तैँले त्यो कसरी सम्हाल्नुपर्छ? तैँले झगडा गरेर समस्या खडा गर्नु हुँदैन, र तमासा लगाएर भुईँमा लडीबुडी गर्नु हुँदैन। तैँले के बुझ्नुपर्छ भने, यस्तो हुँदा आकाश खस्दैन, न त गन्तव्यबारे तेरो सपना नै चकनाचुर हुन्छ, न त अवश्य पनि त्यसको अर्थ तेरो विवाह अन्त्य हुनैपर्छ र टुट्नैपर्छ भन्‍ने नै हो, झन् त्यसको अर्थ तेरो विवाह असफल भएको छ वा त्यो अन्त्य हुनै लागेको छ भन्‍ने त हुँदै होइन। के मात्र हो भने, सबैमा भ्रष्ट स्वभाव हुने भएकाले, अनि मानिसहरू संसारका दुष्ट प्रवृत्ति र आम अभ्यासद्वारा प्रभावित हुने र तिनीहरूमा दुष्ट प्रवृत्तिबाट आफूलाई जोगाउने प्रतिरोधात्मक क्षमता नहुने भएकाले, मानिसहरू गल्ती नगर्न, अवफादार नहुन, आफ्ना विवाहमा विचलित नहुन, र आफ्नो जोडीलाई निराश नपार्न सक्दैनन्। यदि तैँले यो समस्यालाई यस दृष्टिकोणबाट हेरिस् भने, यो त्यस्तो ठूलो कुरै होइन। सबै वैवाहिक परिवारमा संसारको सामान्य परिवेश अनि समाजका दुष्ट प्रवृत्ति र आम अभ्यासको प्रभाव छ। साथै, कुनै व्यक्तिको दृष्टिकोणबाट हेर्दा, मानिसमा यौन चाहना हुन्छ, र त्यसको साथै तिनीहरूमा चलचित्र र टिभी नाटकमा देखाइने पुरुष र स्त्रीबीचको प्रेम सम्बन्ध अनि समाजका अश्लील सामग्रीको प्रचलनजस्ता कुराहरूको प्रभाव पर्छ। मानिसलाई आफूले कायम राख्नुपर्ने सिद्धान्तहरू पालना गर्न कठिन हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, मानिसलाई न्यूनतम नैतिकता कायम राख्न कठिन हुन्छ। यौन चाहनाका सीमाहरू सजिलै भत्किन्छन्; यौन चाहना आफैमा भ्रष्ट होइन, तर मानिसमा भ्रष्ट स्वभाव हुने, साथै मानिस यस्तो सामान्य परिवेशमा जिउने भएकाले, जब पुरुष र स्त्रीबीचको सम्बन्धको कुरा आउँछ तब तिनीहरू सजिलै गल्ती गर्ने गर्छन्, र यो तैँले प्रस्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यस्तो सामान्य परिवेशमा भ्रष्ट स्वभावको कसैले पनि प्रलोभन वा लोभ्याइलाई रोक्न सक्दैन। मानव यौन चाहना कुनै पनि बेला र कुनै पनि ठाउँमा पोखिन सक्छ, र मानिसहरू कुनै पनि बेला र कुनै पनि ठाउँमा व्यभिचार गर्न पुग्छन्। यौन चाहनामै समस्या भएर यस्तो हुने होइन, बरु मानिसहरूमै खराब कुरा भएर यस्तो हुने हो। मानिसहरू आफ्ना यौन चाहनालाई आफ्नो नैतिकता, आचारसंहिता र निष्ठा गुम्ने कामहरू गर्न प्रयोग गर्छन्, जस्तै, व्यभिचार गर्ने, अनुचित प्रेम सम्बन्ध गाँस्ने, प्रेमिका बनाउने आदि। त्यसकारण, यदि तैँले, परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको नाताले, यी कुराहरूलाई सही ढङ्गले लिन सकिस् भने, तिनलाई विवेकी ढङ्गमा सम्हाल्न सक्छस्। तँ भ्रष्ट परिएको मानव होस्, र ऊ पनि भ्रष्ट परिएको मानव नै हो, त्यसैले तैँले आफू आफ्नो विवाहप्रति वफादार रहन सक्छस् भन्दैमा ऊ पनि तँजस्तै होस् र वफादार रहोस्, कहिल्यै अवफादार हुनै हुँदैन भनेर माग गर्नु हुँदैन। यस्तो भएमा, तैँले त्यसलाई सही तरिकाले सामना गर्नुपर्छ। किन? हरव्यक्तिलाई यस्तो परिवेश वा प्रलोभन सामना गर्ने अवसर हुन्छ। तँ आफ्नो जोडीलाई बाजले झैँ निगरानी गर्न त सक्छस्, तर त्यसले फरक पार्दैन, र तैँले उसलाई जति नजिकबाट नियाल्छस्, त्यत्ति छिटो र चाँडो त्यो घटना घट्छ। किनभने हरव्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ, हरव्यक्ति दुष्ट समाजको यो सामान्य परिवेशमा जिउँछ, र अत्यन्तै थोरै मानिस लम्पट हुँदैनन्। तिनीहरूलाई त्यस्तो हुनबाट तिनीहरूका परिस्थिति र अवस्थाले मात्र रोकेका हुन्छन्। मानव पशुभन्दा श्रेष्ठ हुने कुरा त्यति धेरै छैन। कम्तीमा, पशुले आफ्ना यौन नैसर्गिक प्रवृत्तिप्रति स्वाभाविक रूपमै प्रतिक्रिया जनाउँछ, तर मानवमा त्यस्तो हुँदैन। मानव जानाजानी लम्पटता र हाडनाता करणीमा संलग्न हुन सक्छ—मानिस मात्र लम्पटतामा संलग्न हुन सक्छ। त्यसकारण, यस दुष्ट समाजको सामान्य परिवेशमा, परमेश्‍वरमा विश्‍वास नगर्नेहरू मात्र नभई लगभग सबै मानिसले यस्ता काम गर्न सक्छन्। यो निर्विवाद तथ्य हो, र व्यक्ति यो समस्याबाट उम्कन सक्दैन। त्यसैले, यस्तो कुरा जोकोहीलाई हुन सक्ने भएकाले, तँ किन आफ्नो श्रीमानलाई त्यस्तो हुन दिँदैनस्? वास्तवमा यस्तो हुनु अत्यन्तै सामान्य कुरा हो। तँ ऊसँग भावनात्मक रूपमा जोडिएको हुनाले मात्र उसले तँलाई त्याग्दा वा फाल्दा, तँ त्यसलाई जित्न र सहन सक्दैनस्। यदि यस्तै घटना अरू कसैलाई भएको भए, तैँले कटु मुस्कान दिँदै सोच्नेथिस्, “यो त सामान्य हो। समाजमा हरव्यक्ति यस्तै हुँदैन र?” त्यो भनाइ कस्तो पो हो? विवाहोत्तर सम्बन्ध राख्नेबारेको भनाइ? (आफ्नो वैवाहिक जीवनलाई सुरक्षित राख्ने, साथसाथै विवाहोत्तर सम्बन्ध पनि बनाउने।) यी सबै चर्चित शब्दहरू र संसारका दुष्ट प्रवृत्तिका कुरा हुन्। मान्छेको लागि यो सराहनीय कुरा हो। यदि कुनै मान्छेले आफ्नो वैवाहिक जीवनलाई सुरक्षित राख्न सक्दैन र विवाहोत्तर सम्बन्ध पनि बनाउन सक्दैन भने, त्यसले उसमा क्षमता नभएको देखाउँछ र मानिसहरू उसलाई हाँसोमा उडाउँछन्। त्यसैले कुनै महिलालाई यस्तो कुरा आइपर्दा, उसले तमासा लगाउन, लडीबुडी गर्न, र आवेश पोख्न, रुन, समस्या खडा गर्न सक्छे, र यस्तो भएकाले खाना खाँदिन, र मर्न, झुन्डिन, र आत्महत्या गर्न चाहन्छे। कतिपय महिला यति साह्रो रिसाउँछन् कि मानसिक सन्तुलन नै गुमाउँछन्। यो कुरा विवाहप्रतिको उसको मनोवृत्तिसँग थाहै नपाउने गरी सम्बन्धित छ, र यो अवश्य पनि “उसको श्रीमान उसको गन्तव्य हो” भन्‍ने विचारसँग सिधै सम्बन्धित छ। यो महिला उसको श्रीमानले तिनीहरूको विवाह टुटाएर भरोसा तोडेको र उसको जीवनको सुन्दर आकाङ्क्षा नष्ट पारेको ठान्छे। उसको श्रीमानले नै पहिले तिनीहरूको विवाहको सन्तुलन बिगारेको, नियम तोडेको, उसलाई फालेको, विवाह वाचा तोडेको, र उसको सुन्दर सपनालाई दुःस्वप्नमा परिणत गरेकाले गर्दा, उसले यी तरिकामा आफ्नो कुरा व्यक्त गर्छे र यस्ता चरम व्यवहार देखाउँछे। यदि मानिसले परमेश्‍वरबाट विवाहको सही बुझाइ स्विकारे भने, अलि बढी विवेकी ढङ्गमा व्यवहार गर्नेछन्। साधारण मानिसलाई यस्तो कुरा आइपर्दा, तिनीहरू चित्त दुखाउनेछन्, रुनेछन्, र तिनीहरूलाई पीडा हुनेछ। तर जब तिनीहरू साम्य भएर परमेश्‍वरका वचन र समाजको सामान्य वातावरणबारे सोच्छन्, र त्यसपछि हरव्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ भन्‍ने वास्तविक परिस्थितिबारे सोच्छन्, तब तिनीहरूले उक्त मामलालाई विवेकी र सही ढङ्गले सम्हाल्नेछन्, र कुकुर हड्डीमा अल्झिएझैँ त्यसमा अल्झिनुभन्दा सलाई त्याग्नेछन्। मैले “त्यसलाई त्याग्नु” भन्नुको अर्थ के हो? मेरो भन्नुको मतलब तेरो श्रीमानले यो कुरा गरेको र ऊ तिमीहरूको विवाहप्रति बेइमान भएको हुनाले, तैँले यो तथ्यलाई स्विकार्नुपर्छ, ऊसँग बसेर कुरा गर्नुपर्छ र यसरी सोध्नुपर्छ, “तपाईँको के योजना छ? अब हामी के गर्ने? हामी हाम्रो विवाहलाई कायम राखौँ कि अन्त्य गरेर छुट्टाछुट्टै बस्ने निधो गरौँ?” बसेर कुरा मात्र गर्; झगडा गर्नु वा समस्या खडा गर्नु आवश्यक छैन। यदि तेरो श्रीमानले विवाहलाई अन्त्य गर्न जोर दिन्छ भने, त्यो ठूलो कुरा होइन। गैरविश्‍वासीहरू प्राय: यसो भन्‍ने गर्छन्, “खुट्टा भए जुत्ता जति पनि,” “पुरुष भनेका सिटी बसजस्तै हो—एउटा गए अर्को आउँछ,” अनि अर्को भनाइ के पो हो? “एउटा आलुका लागि सिङ्गै बोरा नफाल्।” यो आलु कोत्रे मात्र हुँदैन, भित्र कुहिएको पनि छ। के यी भनाइहरू सही हुन्? यी त गैरविश्‍वासीहरूले आफ्नो मन बुझाउन प्रयोग गर्ने कुरा हुन्, तर के सत्यतासँग तिनको कुनै सम्बन्ध छ? (छैन।) त्यसोभए सही सोचाइ र दृष्टिकोण कस्तो हुनुपर्छ? तँलाई त्यस्तो घट्ना आइपर्दा, सर्वप्रथम तँ आवेशमा आउनु हुँदैन, र तैँले रिस थामेर यसो भन्नुपर्छ, “शान्त भएर कुरा गरौँ। तपाईँको के गर्ने योजना छ?” ऊ भन्छ, “मेरो त तिमीसँगै बस्न कोसिस गर्ने योजना छ।” त्यसपछि तँ भन्छेस्, “त्यसोभए, त्यो कोसिस जारी राखौँ। अबउसो कुनै प्रेम सम्बन्ध नराख्नुस्, श्रीमानको जिम्मेवारी निभाउनुस्, र हामी यो समस्या हल गर्न सक्छौँ। यदि तपाईँ त्यसो गर्न सक्नुहुन्न भने, हामी सम्बन्ध तोडेर आ-आफ्नो बाटो लागौँ। परमेश्‍वरले हाम्रो विवाह यहीँ टुङ्गिनुपर्छ भनी तोक्नुभएको हुन सक्छ। यदि त्यसो हो भने, म उहाँको बन्दोबस्त मान्न इच्छुक छु। तपाईँ फराकिलो मार्ग पछ्याउन सक्नुहुन्छ, मचाहिँ परमेश्‍वरप्रतिको आस्थाको मार्ग पछ्याउनेछु, र हामी एकअर्कालाई असर पार्नेछैनौँ। म तपाईँलाई हस्तक्षेप गर्नेछैनँ, र तपाईँले मलाई नियन्त्रण गर्नु हुँदैन। मेरो भाग्य तपाईँमा निर्भर हुँदैन र तपाईँ मेरो गन्तव्य हुनुहुन्न। मेरो भाग्य र गन्तव्य परमेश्‍वरले निर्धारण गर्नुहुन्छ। यो जीवनमा म जहाँ पुगेर रोकिन्छु त्यही मेरो अन्तिम बिसौनी हुनेछ, र म आफ्नो गन्तव्यमा पुगेकी हुनेछु—मैले परमेश्‍वरलाई सोध्नैपर्छ, उहाँलाई थाहा छ, उहाँमा सार्वभौमिकता छ, र म उहाँका योजना र बन्दोबस्तहरूप्रति समर्पित हुन चाहन्छु। जे होस्, यदि तपाईँ हाम्रो विवाह जारी राख्न चाहनुहुन्न भने, हामी शान्तिपूर्वक छुट्टिऔँ। ममा कुनै विशेष सीप नभए पनि र यो परिवार आर्थिक रूपले तपाईँमै निर्भर भए पनि, म तपाईँविना जिउन सक्छु, र म राम्रै जीवन जिउनेछु। परमेश्‍वर एउटा भँगेरालाई त भोको राख्नुहुन्न भने म जीवित मानवका लागि त उहाँले झन् कति धेरै गर्नुहुनेछ। मसँग हातखुट्टा छन्, म आफ्नो हेरचाह गर्न सक्छु। तपाईँले चिन्ता लिनु पर्दैन। यदि परमेश्‍वरले मेरो बाँकी जीवनभर तपाईँविना एक्लो हुने तोक्नुभएको छ भने, म त्यो मान्न र गुनासो नगरी यो तथ्य स्विकार्न इच्छुक छु।” के यसो गर्नु राम्रो कुरा होइन र? (हो, राम्रो हो।) यो निकै राम्रो कुरा हो, होइन र? विवाद र झगडा गर्नु आवश्यक छैन, त्यसबारे सबैले थाहा पाउने गरी कहिल्यै नटुङ्गिने समस्या खडा गर्नु त झनै आवश्यक छैन—त्यो कुनै गर्नु आवश्यक छैन। विवाह तेरो र तेरो श्रीमानको चासोको कुरा हो, अरू कसैको होइन। यदि विवाहमा खटपट भयो भने, तिमीहरू दुईले नै त्यो समाधान गर्नुपर्छ र त्यसको परिणामहरू भोग्नुपर्छ। तँ परमेश्‍वरको विश्‍वासीको नाताले, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ, चाहे परिणाम जेसुकै होस्। अवश्य पनि, विवाहको कुरामा भन्नुपर्दा, जस्तोसुकै फाटो देखा परे पनि वा जे परिणाम उत्पन्न भए पनि, चाहे विवाह रहोस् वा नरहोस्, तैँले आफ्नो विवाहमा नयाँ जीवन सुरु गरे पनि, वा त्यति बेलै र त्यहीँ नै तेरो विवाह अन्त्य भए पनि, विवाह तेरो गन्तव्य होइन, र तेरो श्रीमान पनि तेरो गन्तव्य होइन। परमेश्‍वरले उसलाई त तेरो जीवन र अस्तित्वमा देखा परेर तेरो जीवन यात्रामा तँलाई साथ दिने भूमिका खेल्ने मात्र तोक्नुभएको हो। यदि ऊ तँलाई यात्राको अन्त्यसम्म साथ दिन र अन्तिम अवस्थासम्म तँसँगै हुन सक्छ भने, त्योभन्दा राम्रो केही हुँदैन, र तँले परमेश्‍वरलाई उहाँको अनुग्रहका लागि धन्यवाद दिनुपर्छ। यदि विवाहमा कुनै समस्या आयो भने, चाहे फाटो आओस् वा तँलाई मन नपर्ने केही आइपरोस्, र अन्ततः विवाह अन्त्य भए पनि, त्यसको अर्थ अब तेरो गन्तव्य नै छैन, अब तेरो जिन्दगी अन्धकार भएको छ, वा त्यसमा कुनै उज्यालो छैन, र तेरो भविष्य छैन भन्‍ने होइन। तेरो विवाह अन्त्य हुनु अझ राम्रो जीवनको थालनी हुन सक्छ। यो सब परमेश्‍वरको हातमा छ, र त्यो परमेश्‍वरले नै योजना मिलाउने र बन्दोबस्त गर्ने हो। हुन सक्छ, तेरो विवाह अन्त्य हुँदा तैँले विवाहबारे अझै गहन समझ पाउँछस् र विवाहको मूल्याङ्कन गर्न सक्छस् र विवाहलाई बुझ्छस्। अवश्य पनि, तेरो विवाह अन्त्य हुनु तेरा लागि आफ्नो जीवनको लक्ष्य र दिशा, साथै आफू हिँड्ने मार्गमा महत्त्वपूर्ण मोड हुन सक्छ। त्यसले तँलाई तिता यादहरू छोड्नेछैन, झन् पीडादायी यादहरू छोड्नु त परै जाओस्, न त त्यो सबै नकारात्मक अनुभव र नतिजा नै हुनेछन्, बरु त्यसबाट तैँले सकारात्मक र सक्रिय अनुभवहरू बटुल्नेछस् जुन यदि तँ विवाहित रहेको भए पाउन सक्थिनस्। यदि तेरो विवाह जारी रहेको भए, सायद तँ आफ्नो अन्तिम दिनसम्म सधैँ यस्तै सादा, औसत र फिका जीवन जिउनेथिस्। तर यदि तेरो विवाह अन्त्य भयो र टुट्यो भने, त्यो नराम्रो हो भन्न मिल्दैन। पहिले तँ आफ्नो विवाहको खुसी र जिम्मेवारी, साथै श्रीमानप्रतिको चासो, हेरचाह, ध्यान, वास्ता, र चिन्ताको भावना वा जीवनशैलीद्वारा नियन्त्रित थिइस्। तर, तेरो विवाह अन्त्य भएको दिनदेखि, तेरो जीवनका सबै परिस्थिति, जिउनुका लक्ष्य र जीवनका पछ्याइको आमूल र पूर्ण परिवर्तन हुनेछन्, अनि यो परिवर्तन तेरो विवाह अन्त्य हुनुको नतिजा हो भनेर भन्नैपर्छ। परमेश्‍वर तेरा लागि उहाँले तोकेको विवाहबाट तैँले यही नतिजा, परिवर्तन र रूपान्तरण पाएको चाहनुहुन्छ, अनि उहाँ तैँले आफ्नो विवाह अन्त्य गरेर यही प्राप्त गरेस् भन्‍ने चाहनुहुन्छ। तैँले चोट पाएको र कष्टदायी मार्गमा हिँडेको भए पनि, अनि तैँले विवाहको संरचनाभित्र केही अनावश्यक त्याग र सम्झौताहरू गरेको भए पनि, अन्त्यमा जे प्राप्त गर्छेस् त्यो विवाहित जीवनमा प्राप्त गर्न सकिँदैन। त्यसकारण, अवस्था जे भए पनि, “विवाह तेरो गन्तव्य हो” भन्‍ने सोच र दृष्टिकोण त्याग्नु सही हो। चाहे तेरो विवाह जारी रहोस् वा सङ्कटमा परोस्, वा तेरो विवाह टुट्न लागेको वा अन्त्य भइसकेको होस्, परिस्थिति जस्तोसुकै भए पनि, विवाह नै तेरो गन्तव्य होइन। यो मानिसहरूले बुझ्नुपर्ने कुरा हो।

मानिसले “विवाह व्यक्तिको गन्तव्य हो” भन्‍ने सोच र दृष्टिकोण पाल्नु हुँदैन। यो सोच र दृष्टिकोणले तेरो स्वतन्त्रता र जीवन मार्ग रोज्ने तेरो अधिकारलाई ठूलो जोखिममा पार्छ। मैले “जोखिम” भन्नुको अर्थ के हो? किन म यो शब्द प्रयोग गर्छु? मैले भन्नुको मतलब हो, तैँले कुनै निर्णय गर्दा, वा कुनै कुरा भन्दा वा कुनै दृष्टिकोण स्विकार्दा, यदि त्यो तेरो वैवाहिक खुसी वा तेरो वैवाहिक जीवनको निष्ठासँग सम्बन्धित छ, वा त्यो तेरो जोडी तेरो गन्तव्य र एकमात्र सहारा हो भन्‍ने विचारसँग समेत सम्बन्धित छ भने, तँ दायित्वमा बाँधिनेछस्, अनि तँ अति सचेत र होसियारसमेत हुनेछस्। यसरी थाहै नभई तेरो स्वतन्त्र इच्छा, जीवन मार्ग रोज्ने अधिकार, साथै सकारात्मक कुराहरू र सत्यता पछ्याउने अधिकार सबै यो सोच र दृष्टिकोणको बन्धनमा पर्नेछन् र यहाँसम्म कि यो सोच र दृष्टिकोणले तँबाट ती खोस्नेछन्, त्यसकारण तँ परमेश्‍वरसामु झन्-झन् कम आउनेछस्। तँ परमेश्‍वरसामु झन्-झन् कम आउनुले केलाई सङ्केत गर्छ? मुक्ति प्राप्त गर्ने तेरा आशाहरू बिस्तारै सेलाउनेछन् अनि तेरा जीवन परिस्थितिहरू खराब, दयनीय, अन्धकार, र घटिया बन्नेछन्। त्यस्तो किन हुन्छ? किनभने तैँले तेरा सबै आशा, अपेक्षा, जीवन लक्ष्य र दिशालाई आफूले विवाह गरेको जोडीमा तय गरेको हुन्छस्, र तँ उसलाई तेरो सबथोक ठान्छस्। स्पष्टतः तैँले तेरो जोडीलाई आफ्नो सबथोक ठान्ने भएकाले उसले तेरा सबै अधिकार खोस्छ, तँलाई दिग्भ्रमित र अन्धो बनाउँछ, तेरो निष्ठा र मर्यादा, तेरो सामान्य सोचाइ र विवेक खोस्छ, र उसले तँलाई परमेश्‍वरमा विश्‍वास गर्ने र जीवनभर सही मार्ग पछ्याउने अधिकार, सही दृष्टिकोण राख्ने अधिकार र मुक्ति पछ्याउने अधिकारबाट वञ्चित गराउँछ। साथसाथै, तेरा यी सबै अधिकारहरू तेरो जोडीले सञ्चालन र नियन्त्रण गर्छ, त्यसकारण म यस्ता मानिसहरू दयनीय, घटिया र तल्लो स्तरको जीवन जिउँछन् भन्‍ने गर्छु। यस्तो व्यक्तिको श्रीमान वा श्रीमती कुनै कुरामा अलि बेखुस हुनेबित्तिकै वा कुनै किसिमले असहज महसुस हुनेबित्तिकै, मेरो मुटु ठिक ठाउँमा छैन समेत भन्छ, ऊ यति डराउँछ कि कैयौँ दिनसम्म ऊ खान वा सुत्न सक्दैन र आँसुको धारा बगाउँदै परमेश्‍वरलाई प्रार्थनासमेत गर्छ—ऊ जीवनमा पहिले कहिल्यै कुनै कुरामा यति व्याकुल र चिन्तित भएको थिएन, ऊ साँच्चै चिन्तित हुन्छ—यस्तो केही हुनेबित्तिकै, ऊ मरेतुल्य हुन्छ। किन त्यस्तो? उसलाई आकाश खस्नै लागेको छ, आफ्नो मुख्य सहारा त्यसमा पुरिएर नष्ट हुनेछ, र त्यसको मतलब आफ्नो पनि अन्त्य हुनेछ भन्‍ने ठान्छ। ऊ व्यक्तिको जीवन र मृत्यु सृष्टिकर्ताको हातमा हुन्छ भनेर विश्‍वास गर्दैन, र परमेश्‍वरले आफ्नो श्रीमान वा श्रीमती आफूबाट खोसेर लानुहुनेछ, आफ्नो जोडी, आफ्नो जोडीको साथ, आफ्नो सर्वस्व, र आफ्नो प्राण गुमाउन लगाउनुहुनेछ भनेर अत्यन्तै डराउँछ—यो अत्यन्तै विद्रोही तरिका हो। परमेश्‍वरले तँलाई विवाह दिनुभयो, र तैँले साथ र जोडी पाइसकेपछि परमेश्‍वरबारे सबै बिर्सिन्छस्, तँ उहाँलाई बिलकुलै चाहँदैनस्। तेरो जोडी तेरो परमेश्‍वर, तेरो प्रभु, साथै तेरो सहारा बनेको छ। यो विश्‍वासघात गर्नु हो र यो कसैले परमेश्‍वरविरुद्ध गर्न सक्ने सबैभन्दा विद्रोही कार्य हो। कतिपय त आफ्नो श्रीमान वा श्रीमती अलि रिसाउँदा वा बिरामी पर्दा, यति डराउँछ कि धेरै दिनसम्म भेलामा सहभागी हुँदैन। ऊ कसैलाई भन्दैन, न त आफ्नो कर्तव्य अरू कसैलाई सुम्पन्छ, ऊ बाफझैँ क्षणमै हराउँछ। आफ्नो श्रीमान वा श्रीमतीको जीवन र मृत्यु नै उसको सबैभन्दा चिन्ता र चासोको कुरा हुन्छ, योभन्दा महत्त्वपूर्ण केही हुन सक्दैन—उसका लागि यो कुरा परमेश्‍वर, परमेश्‍वरको आज्ञा, र आफ्नो कर्तव्यभन्दा महत्त्वपूर्ण हुन्छ। यस्ता मानिसले सृष्टि गरिएका प्राणीका रूपमा परमेश्‍वरसामु आफूले राख्नुपर्ने पहिचान, मूल्य र अर्थ गुमाउँछ, र परमेश्‍वर उसलाई घृणा गर्नुहुन्छ। तैँले राम्रो जीवन जिउन सकेस् र तेरो हेरविचार गर्ने कोही होस्, तेरो साथमा कोही होस् भनेर मात्र परमेश्‍वरले तँलाई स्थिर जीवन र जोडी दिनुभएको छ, तैँले परमेश्‍वर र उहाँका वचन बिर्सन वा आफ्नो कर्तव्य निर्वाहको दायित्व र श्रीमान वा श्रीमती पाइसकेपछि मुक्ति पछ्याउने लक्ष्य त्याग्न र त्यसपछि आफ्नो श्रीमान वा श्रीमतीका लागि जिउन सकेस् भनेर होइन। यदि तँ साँच्चै यस्तो कार्य गर्छस्, यदि तँ साँच्चै यसरी जिउँछस् भने, मलाई आशा छ, तैँले सक्दो चाँडो आफ्नो मार्ग परिवर्तन गर्नेछस्। कुनै व्यक्ति तेरा लागि जति नै महत्त्वपूर्ण भए पनि, वा ऊ तेरो जीवन, जियाइ, वा जीवन मार्गमा जति नै महत्त्वपूर्ण भए पनि, ऊ तेरो गन्तव्य होइन किनभने ऊ केवल भ्रष्ट पारिएको मानव हो। परमेश्‍वरले तेरा लागि हालको तेरो श्रीमान् वा श्रीमती बन्दोबस्त गर्नुभएको छ, र तँ ऊसँग जिउन सक्छस्। यदि परमेश्‍वरले आफ्नो मुड परिवर्तन गरेर तेरा लागि अरू कोही बन्दोबस्त गर्नुभयो भने पनि, तँ त्यति नै राम्ररी जिउन सक्छस्, त्यसैले अहिलेको तेरो श्रीमान् वा श्रीमती तेरा लागि एकमात्र व्यक्ति होइन, न त ऊ तेरो गन्तव्य नै हो। तेरो गन्तव्यको जिम्मा लिने एकमात्र व्यक्ति परमेश्‍वर हुनुहुन्छ, अनि मानवजातिको गन्तव्य जिम्मा लिने व्यक्ति परमेश्‍वर हुनुहुन्छ। तैँले आफ्ना आमाबुबा छाडिस् भने पनि तँ बाँच्न र जिउन सक्छस्, अनि तैँले आफ्नो जोडीलाई छाडिस् भने पनि तँ अवश्य त्यसै गरी जिउन सक्छस्। तेरा आमाबुबा तेरो गन्तव्य होइनन्, न त तेरो जोडी नै हो। तँसँग जोडी अर्थात् तेरो आत्मा, तेरो प्राण र तेरो देह जिम्मा लिने व्यक्ति हुँदैमा, जीवनका सबैभन्दा महत्त्वपूर्ण कुराहरू नबिर्सी। यदि तैँले परमेश्‍वरलाई बिर्सिस्, परमेश्‍वरले तँलाई सुम्पेको कुरा बिर्सिस्, सृष्टि गरिएको प्राणीले निभाउनुपर्ने कर्तव्य बिर्सिस्, र आफ्नो पहिचान बिर्सिस् भने, आफ्नो सारा विवेक र समझ गुमाएकी हुनेछस्। अहिले तेरो जीवन जेजस्तो भए पनि, चाहे तँ विवाहित होस् या नहोस्, सृष्टिकर्तासामु तेरो पहिचान कहिल्यै परिवर्तन हुनेछैन। कोही पनि तेरो गन्तव्य हुन सक्दैन, र तैँले आफूलाई कसैको हातमा सुम्पन सक्दैनस्। परमेश्‍वरले मात्र तँलाई उचित गन्तव्य दिन सक्नुहुन्छ, परमेश्‍वर मात्र मानवजातिको अस्तित्व जिम्मा लिने व्यक्ति हुनुहुन्छ, र यो सधैँ यस्तै हुनेछ। प्रस्ट भयो? (भयो।)

हामी विवाहबारे हाम्रो सङ्गति यहीँ टुङ्ग्याउनेछौँ। यदि तिमीहरू आफ्नो विचार, दृष्टिकोण, वा आफ्ना भावनाहरू व्यक्त गर्न चाहन्छौ भने, अहिले व्यक्त गर। (ममा विवाह व्यक्तिको गन्तव्य हो भन्‍ने त्यस्तो दृष्टिकोण र सोच हुने गर्थ्यो। यदि मेरो जोडीको कसैसँग प्रेम सम्बन्ध भएको भए, म हतासिनेथेँ र जिउन सक्दिनथेँ। मैले केही दाजुभाइ र दिदीबहिनीहरूको पनि यस्तै अनुभव सुनेँ र यस्तो भोगाइ अत्यन्तै पीडादायी थियो। तर आज, परमेश्‍वरको सङ्गति सुनेपछि, म यस मामलालाई सही तरिकाले सम्हाल्न सक्छु। पहिलो कुरा, परमेश्‍वरले यो दुष्ट समाजमा मानिसहरूलाई मानिस, घटना र बाहिरी संसारका कुराले लोभ्याउन सक्छ र तिनीहरू सजिलै गल्ती गर्छन् भनेर बताउनुभयो, त्यसैले अब म यस्तो कुरा बुझ्न सक्छु। दोस्रो कुरा, हामीले पनि आफ्नो श्रीमान वा श्रीमतीलाई सही व्यवहार गर्नुपर्छ। हाम्रो वैवाहिक जोडी र हाम्रो जीवनको गन्तव्य होइन। परमेश्‍वर मात्र हाम्रो गन्तव्य हुनुहुन्छ, र परमेश्‍वरमा भर परेर मात्र हामी साँच्चै जिइरहन सक्छौँ। मलाई अब आफूमा यसबारे थोरै नयाँ बुझाइ छ भन्‍ने लाग्छ।) अति उत्तम। हामीले सङ्गति गर्ने सत्यतासम्बन्धी सम्पूर्ण दृष्टिकोण र मनोवृत्तिहरूको आशय मानिसलाई सबै प्रकारका विकृत, गलत, र नकारात्मक सोच र दृष्टिकोण हटाउन सक्षम पार्नु हो; त्यसपछि, तीमाथि सङ्गति गरिन्छ, ताकि मानिसहरूलाई यस्तो मामला आइपर्दा, तिनीहरू सही सोच र दृष्टिकोणले दह्रिला बन्न सकून्, तिनीहरूमा अभ्यासको सही मार्ग हुन सकोस्, ताकि तिनीहरू विचलित नहोऊन्, अनि अबउप्रान्त शैतानबाट नबहकिऊन् र नियन्त्रित नहोऊन्; तीमाथि सङ्गति गरिन्छ ताकि मानिसहरूले चरम कामकुरा नगरून्, ताकि तिनीहरूले परमेश्‍वरबाट सबै कुरा स्विकार्न, सबै कुरामा परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुन, र तिनीहरू सृष्टि गरिएका साँचो प्राणी बन्न सकून्। हुनुपर्ने सही मार्ग यही हो। ठिक छ, आजका लागि हाम्रो सङ्गति यहीँ टुङ्ग्याऔँ। फेरि भेटौँला!

फेब्रुअरी ४, २०२३

अघिल्लो: सत्यता कसरी पछ्याउने (१०)

अर्को: सत्यता कसरी पछ्याउने (१२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्