३. क्रूसमा, प्रभु येशूले भन्नुभयो, “यो सकियो” (यूहन्ना १९:३०), यसरी मानवजातिलाई मुक्ति दिने परमेश्वरको काम पूरा भएको प्रमाणित गर्नुभयो। हामीले प्रभु येशूमा विश्वास गर्ने भएकाले, हाम्रा पापहरू पहिले नै क्षमा गरिएका छन्, र हामी आफ्नो विश्वासद्वारा धर्मी ठहरिएका छौं। जब प्रभु आउनुहुन्छ, हामी सीधै स्वर्गीय राज्यमा उठाइलगिनेछौं। परमेश्वरले अझै पनि किन सत्यता व्यक्त गर्ने र मानिसको न्याय र उसलाई शुद्ध पार्ने काम गर्नुपर्छ र?
सन्दर्भका लागि बाइबलका पदहरू:
“यसरी धेरैको पाप बोक्नको लागि एकपटक ख्रीष्टको बलि चढाइयो; र उहाँलाई पर्खिनेहरूका निम्ति उहाँ पापरहित रूपमा मुक्ति दिन दोस्रोपटक देखा पर्नुहुनेछ” (हिब्रू ९:२८)।
“किनभने यदि हामीले सत्यताको ज्ञान पाएपछि पनि जानी-जानी पाप गर्छौँ भने, त्यसउप्रान्त पापका निम्ति कुनै बलिदान बाँकी रहँदैन, तर न्यायमा पर्ने निश्चित भयपूर्ण पर्खाइ र प्रज्वलित आक्रोश हुनेछ, जसले शत्रुहरूलाई निल्नेछ” (हिब्रू १०:२६-२७)।
“अनि यदि कुनै मानिसले मेरा वचनहरू सुन्छ तर तिनलाई पालन गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर मुक्ति दिन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एउटा छ: मैले बोलेको त्यो मार्गले आखिरी दिनमा उसको न्याय गर्नेछ” (यूहन्ना १२:४७-४८)।
“अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन; तर उहाँले जे सुन्नुहुन्छ उहाँले त्यही बोल्नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्ना १६:१२-१३)।
“किनभने परमेश्वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर परमेश्वरले शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसका स्वभावहरू पूर्ण रूपमा हटाउने अझ ठूलो काम गर्नु पनि आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यस कामले मानवजातिलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, मार्ग र जीवन प्राप्त गर्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको देहको शरीरद्वारा छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र शैतानी भ्रष्ट स्वभावहरू अझै रहिरहे। दोस्रो देहधारण उप्रान्त पापबलिका रूपमा सेवा गर्नका लागि होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा मुक्ति दिनका लागि हो। यो यसकारण गरिएको हो ताकि जसका पापहरू क्षमा गरिएका छन्, तिनीहरू पापबाट मुक्त होऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभाव परिवर्तन हासिल गरून्, र यसरी शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन र परमेश्वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएपछि र अनुग्रहको युग सुरु भएदेखि, परमेश्वरले मुक्तिको कामको सुरुवात गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब परमेश्वर मानवजातिलाई तिनीहरूको विद्रोहीपनका लागि न्याय गर्ने र सजाय दिने काम गर्नुहुन्छ, जसमार्फत मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुन्छ। यसपछि मात्र परमेश्वर उहाँको मुक्तिको कामलाई टुङ्ग्याउनुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
भर्खरै छुटकारा पाएको, र परिवर्तन वा परमेश्वरको सिद्धीकरणबाट नगुज्रेको तँजस्तो पापी—के तँ परमेश्वरका अभिप्रायहरूअनुरूपको हुन सक्छस्? अझै आफ्नो पुरानो सत्त्व बोकेको तेरो सन्दर्भमा भन्नुपर्दा, येशूले तँलाई मुक्ति दिनुभएको थियो, र परमेश्वरले दिनुभएको मुक्तिका कारण तँ पापको होइनस् भन्ने साँचो हो, तर यसले तँ पापरहित वा फोहोररहित छस् भन्ने कुरा प्रमाणित गर्दैन। यदि तँ परिवर्तनबाट गुज्रेको छैनस् भने, तँ कसरी पवित्र पारिन सक्छस्? भित्री रूपमा, तँ फोहोरले भरिएको छस्, र तँ स्वार्थी र नीच छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—सपना देखिराख्! परमेश्वरमाथिको विश्वासमा तैँले एउटा कदम छुटाएको छस्; तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तनबाट गुज्रेको छैनस्। तँ परमेश्वरका अभिप्रायहरूअनुरूपको हुनका लागि, परमेश्वरले तँलाई परिवर्तन गर्न र पखाल्न व्यक्तिगत रूपमै काम गर्नुपर्छ; नत्र भने, तँलाई छुटकारा मात्र दिइएको हुन्छ र तँलाई पवित्र पारिने कुनै सम्भावना हुँदैन। त्यस अवस्थामा, तँ परमेश्वरको साथमा अद्भुत आशिष्हरूको आनन्द उठाउन अयोग्य छस्, किनभने तँ मानिसलाई व्यवस्थापन गर्ने परमेश्वरको काममा एक कदम पछि परेको छस्, जुन मानिसलाई परिवर्तन गर्ने र सिद्ध पार्ने महत्त्वपूर्ण चरण हो। यसर्थ, भर्खरै छुटकारा दिइएको पापी, तँ प्रत्यक्ष रूपमा परमेश्वरको उत्तराधिकार प्राप्त गर्न असक्षम छस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। उपाधि र पहिचानको सम्बन्धमा
मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिएन। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा पाप स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट मुक्ति दिन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। … आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू ल्याउन सकिन्छ। मानिसहरूले यी वचनहरू स्वीकार गरेर तिनीहरूमा आएका परिवर्तनहरू मानिसहरूले अनुग्रहको युगमा चिह्न र चमत्कारहरू स्वीकार गरेर तिनीहरूमा आएका परिवर्तनहरूभन्दा अत्यन्तै ठूला हुन्छन्। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर अनि प्रार्थना गरेर ऊबाट दुष्टात्माहरू निकालिए, तर मानिसभित्रका भ्रष्ट स्वभावहरू अझै रहिरहे। मानिसलाई उसको बिमारीबाट निको पारियो र उसका पापहरू क्षमा गरिए, तर मानिसले ऊभित्रका शैतानी भ्रष्ट स्वभावहरू कसरी फाल्न सक्छ भन्ने कुरा आउँदा, उसमा यो काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको आस्थाका कारण मात्रै छुटकारा दिइयो र उसका पापहरू क्षमा गरियो, तर मानिसको पापी प्रकृति हटाइएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रह्यो। मानिसका पापहरू परमेश्वरको देहधारणमार्फत क्षमा गरिएका थिए, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्छ, तर मानिसलाई उप्रान्त कसरी पाप नगर्ने बनाउन सकिन्छ, र उसका भ्रष्ट स्वभाव र पापी प्रकृतिलाई कसरी पूर्ण रूपले फाल्न र उसको जीवन स्वभाव कसरी केही हदसम्म परिवर्तन गर्न सकिन्छ भन्ने सवालमा, ऊसँग यो समस्या समाधान गर्ने कुनै उपाय छैन। मानिसका पापहरू क्षमा गरिएका छन्, र यो परमेश्वरको क्रूसीकरणको कामका कारण हो, तर मानिस आफ्ना पुराना शैतानी भ्रष्ट स्वभावहरूभित्रै जिउन जारी राख्छ। यस्तो भएकोले, मानिसलाई उसका शैतानी भ्रष्ट स्वभावहरूबाट पूर्ण रूपमा मुक्ति दिइनैपर्छ, उसको पापी प्रकृति फेरि कहिल्यै विकास नहुने गरी, पूर्ण रूपले फालिनैपर्छ, र उसको स्वभाव रूपान्तरित हुनैपर्छ। यसका निम्ति मानिसले जीवनमा वृद्धि हुने मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने मार्गलाई बुझ्नु आवश्यक हुन्छ। यसका साथै, मानिसले यो मार्गअनुसार अभ्यास गर्नु आवश्यक हुन्छ, ताकि उसको स्वभाव बिस्तारै परिवर्तित हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, ताकि उसले गर्ने सबथोक परमेश्वरका अभिप्रायहरूअनुरूप होऊन्, ताकि उसले आफ्नो शैतानी भ्रष्ट स्वभाव फाल्न सकोस् र ताकि ऊ शैतानको अन्धकारको प्रभावबाट उम्कन सकोस्, यसरी ऊ पापबाट पूर्ण रूपमा निस्कन सकोस्। तब मात्र मानिसले पूर्ण मुक्तिको अनुग्रह पाएको हुनेछ। जुन बेला येशू आफ्नो काम गर्दै हुनुहुन्थ्यो, उहाँबारे मानिसको ज्ञान अझै धमिलो र अस्पष्ट नै थियो। मानिस सधैँ उहाँ दाऊदको पुत्र भएको विश्वास गर्थ्यो, र उहाँ एक महान् अगमवक्ता, मानिसलाई उसका पापहरूबाट छुटकारा दिने परोपकारी प्रभु हुनुहुन्छ भनेर भन्थ्यो। कोही-कोही आफ्नो विश्वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तर, मानिस आफैभित्र गहिरो जरा गाडेर बसेका शैतानी भ्रष्ट स्वभावहरू पत्ता लाउन असमर्थ थियो, न त उसलाई ती स्वभावहरू कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्वासले सम्पूर्ण परिवारमा आशिष् ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्थ्यो भने, उसलाई मानकअनुरूपको विश्वासी मानिन्थ्यो। यस प्रकारका विश्वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले छुटकारा पाउँथे। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण, कामको त्यो चरण समाप्त भएपछि, न्याय र सजायको काम अझै बाँकी नै रह्यो। यो चरण भनेको मानिसलाई वचनको माध्यमद्वारा शुद्ध पार्नका लागि हो, र यसरी उसलाई पछ्याउने मार्ग दिनका लागि हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति फाल्न असफल हुनेथ्यो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले, मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम समाप्तिमा पुगिसकेको छ, र परमेश्वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसका भ्रष्ट स्वभावहरू अझै ऊभित्रै रहन्छन्, मानिसले अझै पनि पाप गर्न र परमेश्वरको प्रतिरोध गर्न सक्छ, र परमेश्वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। त्यसैले कामको यस चरणमा परमेश्वर वचन प्रयोग गरेर मानिसका भ्रष्ट स्वभावहरू खुलासा गर्नुहुन्छ, र उसलाई उचित मार्गअनुरूप अभ्यास गर्न लगाउनुहुन्छ। यस चरणको काम अघिल्लोभन्दा बढी अर्थपूर्ण छ, साथै अझ बढी फलदायी पनि छ, किनकि अहिले वचनले नै सिधै मानिसको जीवनलाई भरणपोषण गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपमा नवीकरण हुन सक्षम बनाउँछ; यो अझै पूर्ण कामको चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्वरको देहधारणको महत्त्व पूरा गरेको छ र मानिसको मुक्तिका लागि परमेश्वरको व्यवस्थापनको योजनालाई पूर्ण रूपमा पूरा गरेको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
आखिरी दिनहरू आइसकेका छन्। यावत् थोकहरू तिनका प्रकारअनुसार वर्गीकरण गरिन्छन्, र तिनका फरक-फरक गुणहरूका आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्वरले मानिसहरूका परिणाम र गन्तव्य प्रकाश गर्नुहुने समय ठ्याक्कै यही हो। यदि मानिसहरू सजाय र न्याय अनुभव गर्दैनन् भने, तिनीहरूको विद्रोहीपन र अधार्मिकता खुलासा गर्न सकिँदैन। केवल सजाय र न्यायमार्फत यावत् थोकका परिणामहरू प्रकट गर्न सकिन्छ। मानिसहरू आफूलाई सजाय दिइँदा र न्याय गरिँदा मात्र आफू साँचो रूपमा के हो त्यो देखाउँछन्। दुष्टलाई दुष्टको साथमा, असललाई असलको साथमा राखिनेछ, र सबै मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ। सजाय र न्यायमार्फत, यावत् थोकका परिणाम प्रकाश गरिनेछ, ताकि दुष्टलाई दण्ड र असललाई इनाम दिन सकियोस्, र असङ्ख्य मानिसले परमेश्वरको प्रभुत्वमा आफूलाई समर्पण गरून्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसहरूको भ्रष्टता चरमबिन्दुमा पुगेकाले, र तिनीहरूको विद्रोहीपन अत्यन्तै गम्भीर बनेकाले, परमेश्वरको मुख्यतः सजाय र न्याय समावेश भएको र आखिरी दिनहरूमा प्रकाश हुने धर्मी स्वभावले मात्र मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्न र पूर्ण पार्न र दुष्टतालाई प्रकाश गर्न सक्छ, र यसरी सबै अधर्मीहरू गम्भीर रूपमा दण्डित हुनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
जो आखिरी दिनहरूमा परमेश्वरको न्याय र सजायको काममा—अर्थात्, अन्तिम शुद्धीकरणको कामको अवधिमा—दृढ रहन सक्छन्, तिनीहरू नै परमेश्वरसँगै अन्तिम विश्राममा प्रवेश गर्नेछन्; यसरी, जो विश्राममा प्रवेश गर्छन् तिनीहरू सबै परमेश्वरको अन्तिम शुद्धीकरणको काम भोगेपछि मात्र शैतानको प्रभावलाई तोडेर मुक्त भएका र उहाँद्वारा प्राप्त गरिएका हुनेछन्। यी मानिसहरू, जो अन्ततः परमेश्वरद्वारा प्राप्त गरिएका हुनेछन्, तिनीहरू अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई शुद्धीकरण गर्नु हो, अन्तिम दिनको विश्रामका खातिर हो; नत्र, मानवजातिको कुनै पनि सदस्य तिनीहरूको प्रकारअनुसार वर्गीकृत हुन, वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्वरको शुद्धीकरणको कामले मात्र मानवको अधार्मिकता पखाल्नेछ, र उहाँको सजाय र न्यायको कामले मात्र मानवजातिका ती विद्रोही तत्त्वहरूको खुलासा गर्नेछ, जसले गर्दा मुक्ति दिन सकिनेलाई मुक्ति दिन नसकिनेबाट र बाँकी रहनेहरूलाई बाँकी नरहनेहरूबाट खुट्ट्याइनेछ। जब यो काम समाप्त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च क्षेत्रमा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरू मानव विश्रामको दिनमा प्रवेश गर्नेछन् र परमेश्वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशाना हुन् र खराब र अधर्मी मानिस हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्वरका लागि श्रम पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूको खराबीको कारण साथै मुक्त गरिनलाई तिनीहरूको विद्रोहीपन र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। … दुष्टलाई दण्ड र असललाई इनाम दिने परमेश्वरको अन्तिम कामको एउटै उद्देश्य भनेको नै पूरै मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले विशुद्ध रूपमा शुद्ध पारिएको मानवजातिलाई अनन्त विश्राममा ल्याउन सक्नुहोस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्वरले दुष्टलाई नष्ट पार्नुभएन, तर बाँकी रहन दिनुभयो भने, सारा मानवजाति विश्राममा प्रवेश गर्न अझै पनि असमर्थ हुनेथियो, र परमेश्वर सारा उनीहरूलाई अझ उत्तम क्षेत्रमा ल्याउन असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण रूपमा सिद्धिने थिएन। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र पारिनेछ; यसरी मात्र परमेश्वर शान्तिपूर्वक विश्राममा बस्न सक्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्