३. आज, विपत्तिहरू बढ्दो कठोरतासाथ र बारम्बार आइरहेका छन्। यी चिन्हहरूले बाइबलमा अगमवाणी गरिएका आखिरी दिनहरूका ठूला-ठूला विपत्तिहरू सुरु हुन् लागेको सङ्केत गर्दछन्। हामी कसरी परमेश्वरको सुरक्षा प्राप्त गर्न र यी विपत्तिहरूको माझमा जीवित रहन सक्छौं?
परमेश्वरका सान्दर्भिक वचनहरू:
परमेश्वरले यो संसार सृष्टि गर्नुभयो, उहाँले यो मानवजाति सृष्टि गर्नुभयो र त्यसबाहेक, उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताको निर्माता हुनुहुन्थ्यो। परमेश्वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ र परमेश्वर मात्र यस मानवजातिलाई दिनरात निगरानी गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्वरको सार्वभौमिकताबाट अलग हुन सक्दैनन् अनि मानवजातिको इतिहास र भविष्य परमेश्वरको हातले गरेका प्रबन्धहरूबाट उम्कन सक्दैनन्। यदि तँ साँचो इसाई होस् भने, तैँले कुनै पनि देश वा राष्ट्रको उत्थान र पतन परमेश्वरका प्रबन्धहरूअन्तर्गत पर्छ भनी निश्चय नै विश्वास गर्नेछस्। परमेश्वरलाई मात्र कुनै देश वा राष्ट्रको भवितव्य थाहा छ र परमेश्वरले मात्र यस मानवजातिको मार्गलाई नियन्त्रण गर्नुहुन्छ। यदि मानवजाति राम्रो भवितव्य प्राप्त गर्न चाहन्छ भने, यदि कुनै देशले राम्रो भवितव्य प्राप्त गर्न चाहन्छ भने, सबैले परमेश्वरसामु घुँडा टेक्नैपर्छ र उहाँको आराधना गर्नैपर्छ अनि परमेश्वरकहाँ पश्चात्ताप गर्न र आफ्नो पाप स्वीकार गर्न उहाँसामु आउनैपर्छ, नत्र मानिसको भवितव्य र गन्तव्य टार्न नसकिने महाविपत्ति हुनेछ।
नोआले जहाज बनाएको समयलाई फर्केर हेर: मानवजाति गहन रूपमा भ्रष्ट थियो, मानिसहरू परमेश्वरको आशिष्बाट तर्केका थिए, तिनीहरूलाई परमेश्वरले वास्ता गर्न छोड्नुभएको थियो, र तिनीहरूले परमेश्वरका प्रतिज्ञाहरू गुमाएका थिए। तिनीहरू परमेश्वरको ज्योतिविना नै अँध्यारोमा जिउँथे। त्यसपछि तिनीहरू प्रकृतिले नै कामुक बनेका थिए र तिनीहरूले घिनलाग्दो पतिततामा आफैलाई सुम्पेका थिए। यस्ता मानिसहरूले त्यस उप्रान्त परमेश्वरको प्रतिज्ञा पाउन सकेनन्; तिनीहरू परमेश्वरको मुहारको साक्षी हुन वा परमेश्वरको आवाज सुन्न अयोग्य भए, किनकि तिनीहरूले परमेश्वरलाई त्यागेका थिए, परमेश्वरले तिनीहरूलाई दिनुभएका सबै थोक पन्छाएका थिए, र परमेश्वरका शिक्षाहरूलाई बिर्सेका थिए। तिनीहरूका हृदय परमेश्वरबाट टाढा-टाढा भौँतारिए, यसो भएपछि, तिनीहरू यति पतित भए कि तिनीहरूमा अलिकति पनि समझ र मानवता रहेन र तिनीहरू झन्-झन् दुष्ट बने। तब तिनीहरू मृत्युतर्फ झनै नजिक हिँडे र परमेश्वरको क्रोध र दण्डमा परे। नोआले मात्र परमेश्वरको आराधना गरे र दुष्टताबाट अलग बसे, यसरी उनले परमेश्वरको आवाज सुन्न सके र उहाँका आज्ञाहरू सुने। परमेश्वरको वचनका आज्ञाहरू अनुसार उनले जहाज निर्माण गरे, र सबै किसिमका जीवित प्राणीहरूलाई त्यहाँ जम्मा गरे। अनि यसरी, सबै थोक तयार भइसकेपछि, परमेश्वरले संसारमाथि आफ्नो विनाश ल्याउनुभयो। नोआ र उनको परिवारका अरू सात जना सदस्यहरू मात्र त्यस विनाशबाट बचे, किनकि नोआले यहोवालाई आराधना गरे र दुष्टताबाट अलग बसे।
अब वर्तमान युगलाई हेर: परमेश्वरलाई आराधना गर्न र दुष्टता त्याग्न सक्ने नोआजस्ता धर्मी मानिसहरू अस्तित्वमा रहन छोडेका छन्। तैपनि परमेश्वर यस मानवजातिप्रति अझै अनुग्रहशील हुनुहुन्छ र यस अन्तिम युगको मानवजातिप्रति अझै पनि उदारता देखाउनुहुन्छ। परमेश्वर उहाँको देखापराइको अभिलाषा राख्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका वचनहरू मान्नेहरूलाई खोजिरहनुभएको छ, उहाँको आज्ञा नबिर्सनेहरू र आफ्नो हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई खोजिरहनुभएको छ, र उहाँसामु बालकहरूझैँ समर्पित हुने र प्रतिरोधी नहुनेहरूलाई खोजिरहनुभएको छ। यदि तँ आफैलाई परमेश्वरमा अर्पित गर्छस्, र कुनै शक्तिद्वारा रोकिँदैनस् भने, परमेश्वरले तँलाई निगाहका साथ हेर्नुहुनेछ, र तँलाई आशिष् प्रदान गर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ
परमेश्वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छैन—तर मानिसलाई साँचो पश्चात्ताप हासिल गर्न कठिन छ
परमेश्वर निनवेवासीसँग जति नै धेरै रिसाउनुभएको भए पनि, तिनीहरूले उपवासको घोषणा गरी भाङ्ग्रा र खरानी लगाउनेबित्तिकै, उहाँको हृदय बिस्तारै कोमल हुन थाल्यो, अनि उहाँले आफ्नो मन परिवर्तन गर्न थाल्नुभयो। उहाँले तिनीहरूलाई तिनीहरूको सहर नष्ट गर्ने घोषणा गर्नुभएको क्षणअघि—तिनीहरूले आफ्नो पाप स्वीकार र पश्चात्ताप गरेको क्षणअघि—परमेश्वर तिनीहरूसँग अझै पनि रिसाउनुभएको थियो। तिनीहरूले शृङ्खलाबद्ध रूपमा पश्चात्ताप गरेपछि, निनवेका मानिसहरूप्रतिको परमेश्वरको रिस बिस्तारै तिनीहरूप्रतिको कृपा र सहनशीलतामा रूपान्तरित भयो। एउटै घटनामा परमेश्वरको स्वभावका यी दुई पक्षको प्रकटीकरणमा कुनै विरोधाभास छैन। त्यसैले, यस्तो विरोधाभास नहुनुलाई कसरी बुझ्नु र जान्नुपर्छ? परमेश्वरले निनवेका मानिसहरूले पश्चात्ताप गर्नुअघि एउटा र पश्चात्ताप गरेपछि अर्को गरी, यी नितान्त फरक-फरक सार देखाउनुभयो र प्रकट गर्नुभयो, अनि मानिसहरूलाई परमेश्वरको सार साँचो छ र यसले कुनै उल्लङ्घन सहँदैन भन्ने कुरा देख्न दिनुभयो। मानिसहरूलाई निम्न कुराहरू बताउन परमेश्वरले आफ्नो मनोवृत्ति प्रयोग गर्नुभयो: परमेश्वरले मानिसहरूलाई सहनुहुन्न वा तिनीहरूलाई कृपा प्रदान गर्न चाहनुहुन्न भन्ने होइन; बरु, तिनीहरूले बिरलै परमेश्वरसामु साँचो रूपले पश्चात्ताप गर्छन्, र बिरलै आफ्ना दुष्ट मार्गहरू छाड्छन् र आफ्ना हातका हिंसालाई त्याग्छन् भन्ने हो। अर्को शब्दमा भन्दा, जब परमेश्वर मानिससित रिसाउनुहुन्छ, तब उहाँ मानिसले साँचो रूपमा पश्चात्ताप गर्न सकोस् भन्ने आशा गर्नुहुन्छ, अनि उहाँ मानिसको साँचो पश्चात्ताप हेर्न चाहनुहुन्छ, र त्यस्तो अवस्थामा उहाँले मानिसलाई उदारताका साथ आफ्नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्नुहुनेछ। भन्नुको अर्थ, मानिसका दुष्ट कार्यहरूले परमेश्वरको क्रोध निम्त्याउँछन्, जबकि परमेश्वरको कुरा सुन्ने र उहाँको अघि साँचो रूपमा पश्चात्ताप गर्नेहरूलाई, आफ्ना दुष्ट मार्गहरू छाड्न सक्ने र आफ्नो हातको हिंसा त्याग्न सक्नेहरूलाई परमेश्वरको कृपा र सहनशीलता प्रदान गरिन्छ। निनवेवासीलाई उहाँले जस्तो व्यवहार गर्नुभएको थियो, त्यसमा परमेश्वरको मनोवृत्ति अत्यन्तै स्पष्ट रूपमा प्रकट भएको थियो: परमेश्वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छैन, र उहाँले चाहनुहुने भनेको व्यक्तिको साँचो पश्चात्ताप नै हो। मानिसहरू आफ्ना दुष्ट मार्ग छोडेमा र आफ्नो हिंसा त्यागेमा, तिनीहरूप्रति परमेश्वरले आफ्नो हृदय र मनोवृत्ति परिवर्तन गर्नुहुनेछ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २
मेरो कृपा मलाई प्रेम गर्ने र आफूलाई त्याग्नेहरूप्रति व्यक्त हुन्छ। यसबीच, दुष्टमाथि आइपर्ने दण्ड, मेरो धर्मी स्वभावको ठ्याक्कै नै प्रमाण हो, र, त्योभन्दा बढी, मेरो क्रोधको गवाही हो। जब प्रकोप आउँछ, मेरो विरोध गर्नेहरू सबै, भोकमरी र महामारीले पीडित हुँदै गर्दा रुनेछन्। धेरै वर्षदेखि मलाई पछ्याएका, तर सबै प्रकारका दुष्ट कार्यहरू गरेकाहरू आफ्ना पापबाट उम्कनेछैनन्; उनीहरू पनि यस्तो प्रकोपमा डुब्नेछन्, जुन विगतका लाखौँ वर्षमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मेरा अनुयायीहरूमध्ये मप्रति पूर्ण बफादारी देखाएकाहरू रमाउनेछन् र ताली बजाउनेछन्, अनि मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले अवर्णनीय निस्फिक्री खुसीयालीको भाव अनुभव गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षमाझ जिउनेछन्। किनभने म मानिसका असल कार्यलाई कदर गर्छु र उसका दुष्ट कार्यलाई घृणा गर्छु। मैले मानवजातिलाई नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मैले मसँग एउटै मन भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा व्यग्रताका साथ गरिरहेको छु। यसैबीच, मसँग एउटै मन नभएकाहरूलाई, म कहिल्यै बिर्सिन्नँ; म उनीहरूलाई आफ्नो हृदयभित्र सधैँ घृणा गर्छु, उनीहरूलाई उनीहरूका दुष्ट कार्यको जबाफ दिन लगाउने अवसर कुरिरहेको छु, र त्यो कुरा देख्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले उप्रान्त पर्खनु पर्दैन!
मेरो अन्तिम काम मानिसलाई दण्ड दिनका लागि मात्रै होइन, तर मानिसका लागि गन्तव्यको प्रबन्ध गर्नु पनि हो। त्यसभन्दा पनि बढी, यो सबै मानिसहरूलाई मेरा कार्य र काम स्वीकार गराउनका खातिर हो। म प्रत्येक व्यक्तिलाई मैले गरेका सबै थोक सही छन्, र ती मेरो स्वभावको अभिव्यक्ति हुन्, मानवजातिलाई मानिसले उत्पन्न गरेको होइन, अनि प्रकृतिले त झनै होइन, बरु यावत् थोकमाझ भएका सबै जीवित प्राणीको पालनाहार गर्ने म नै हुँ भन्ने कुरा देख्न लगाउनेछु। मेरो अस्तित्वविना मानवजाति नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्नेछैन; मानवजातिले अँध्यारो, चिसो रात र मृत्युको छायाँको अपरिहार्य घाटीको सामना मात्र गर्नेछन्। म मानवजातिको एकमात्र छुटकारा हुँ। म मानवजातिको एकमात्र आशा हुँ र, अझ, ममा नै सबै मानवजातिको अस्तित्व निर्भर छ। मविना मानवजाति तुरुन्तै ठप्प हुनेछ, मविना मानवजातिले केवल विनाशकारी महाविपत्ति भोग्नेछ र तिनीहरूलाई सबै प्रकारका प्रेतात्माले कुल्चिनेछन्, तथापि मलाई कसैले ध्यान दिँदैन। कसैले पनि गर्न नसकेका कार्य मैले गरेको छु, र केही असल कार्यमार्फत मानिसले मेरो ऋण चुकाउनेछ भन्ने मात्र आशा गरेको छु। केहीले मात्र मेरो ऋण चुकाउन सकेका भए पनि, म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर हुन लागेको मेरो कामको अर्को चरण प्रारम्भ गर्नेछु, किनभने मानिसहरूमाझ यी धेरै वर्षहरूमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुसी छु। म मानिसहरूको सङ्ख्याबारे चासो दिन्नँ, बरु उनीहरूको असल कार्यहरूप्रति चासो राख्छु। जे भए पनि, तिमीहरूले आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार पारेका छौ भन्ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, प्रकोपको हमलाबाट तिमीहरूमध्ये कोही पनि जोगिन सक्नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि मबाटै योजनाबद्ध हुन्छ। यदि तिमीहरू मेरा नजरमा असल देखा पर्न सकेनौ भने, विपत्तिको कष्टबाट उम्कन सक्नेछैनौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्
हरप्रकारका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै देश र ठाउँहरूले प्रकोपहरू भोग्नेछन्: महामारी, अनिकाल, बाढी, खडेरी र भूकम्प सबैतिर छन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घटिरहेका छैनन्, न त यी एक वा दुई दिनमा नै सकिनेछन्; बरु, यी प्रकोपहरू त अझ ठूला-ठूला क्षेत्रहरूमा फैलँदै र झन्झन् गम्भीर बन्दै जानेछन्। यस अवधिमा, हरकिसिमका किराका प्रकोपहरू एकपछि अर्को गरी देखा पर्दै जानेछन् र नरभक्षणका घटनाहरू जताततै देखा पर्नेछन्। यो असङ्ख्य देश र मानिसहरूमाथि मेरो न्याय हो। मेरा पुत्रहरू हो! तिमीहरूले विपत्तिहरूको पीडा वा कठिनाइ भोग्नुपर्दैन। मेरो यही चाहना छ कि तिमीहरू चाँडै वयस्क बन र सकेसम्म चाँडो मेरो काँधको बोझ उठाओ। तिमीहरू किन मेरा अभिप्रायहरू बुझ्दैनौ? अब आउने कार्यहरू झन्-झन् कठिन हुँदै जानेछन्। के तिमीहरूको हृदय यति कठोर छ र तिमीहरू सबै काम मेरो हातमा राखेर ती सबै म आफैले कठिनाइसाथ गर्नुपर्ने गरी छोडिदिन्छौ? म यसलाई अझ स्पष्ट रूपमा भन्छु: जीवन परिपक्व हुनेहरू आश्रयस्थलमा प्रवेश गर्नेछन्, र तिनीहरूले कुनै पीडा वा कठिनाइ भोग्नेछैनन्। जीवन परिपक्व नहुनेहरूले पीडा र हानि भोग्नेछन्। मेरा वचनहरू स्पष्ट छन्, छैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६५
भविष्यमा, तँमाथि ठूला परीक्षाहरू आइपर्न सक्छन्—तर आज, यदि तँ परमेश्वरलाई साँचो हृदयले प्रेम गर्छस् भने, र यदि, अगाडि आउने परीक्षाहरू जतिसुकै ठूला भए तापनि, तँलाई जेसुकै भए पनि, तँ आफ्नो गवाहीमा दृढ रहन र परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छस् भने, तेरो हृदयलाई सान्त्वना मिल्नेछ, र तँ भविष्यमा जतिसुकै ठूलो परीक्षाको सामना गर्नुपरे पनि डराउने छैनस्। भविष्यमा के हुनेछ भन्ने कुरा तिमीहरू देख्न सक्दैनौ; तिमीहरू आजका परिस्थितिहरूमा परमेश्वरलाई सन्तुष्ट पार्न मात्र सक्छौ। तिमीहरू कुनै पनि ठूलो काम गर्न असमर्थ छौ—तिमीहरूले वास्तविक जीवनमा परमेश्वरका वचनहरू अनुभव गरेर उहाँलाई सन्तुष्ट पार्नमा ध्यान केन्द्रित गर्नुपर्छ, साथै तिमीहरूले बलियो र जोरदार साक्षी दिनुपर्छ र यसरी शैतानलाई लज्जित पार्नुपर्छ। तेरो देहले सन्तुष्टि नपाएको र दुःख पाएको हुने भए पनि, तैँले परमेश्वरलाई सन्तुष्ट पारेको र शैतानलाई लज्जित पारेको हुनेछस्। यदि तँ सधैँ यसरी नै अभ्यास गर्छस् भने, परमेश्वरले तेरो सामु एउटा बाटो खोलिदिनुहुनेछ। कुनै दिन, एउटा ठूलो परीक्षा आउँदा, अरू लड्नेछन्, तर तँ अझै पनि दृढ रहन सक्नेछस्: तैँले चुकाएको मूल्यको कारण, परमेश्वरले तँलाई सुरक्षा दिनुहुनेछ ताकि तँ दृढ रहन सकेस् र नलडेस्। यदि, साधारणतया, तँ सत्यतालाई व्यवहारमा लागु गर्न र परमेश्वरलाई प्रेम गर्ने साँचो हृदयले परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम छस् भने, परमेश्वरले भविष्यका परीक्षाहरूका दौरान तँलाई पक्कै सुरक्षा दिनुहुनेछ। तँ मूर्ख, सानो कदको र कमजोर क्षमताको भए पनि, परमेश्वर तँप्रति पक्षपाती हुनुहुनेछैन। यो तेरा नियतहरू सही छन् कि छैनन् भन्ने कुरामा निर्भर हुन्छ। मानौँ कि आज तँ परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम छस्—साना, सूक्ष्म विषयहरूमा समेत कडिकडाउ गर्छस्, र सबै कुरामा परमेश्वरलाई सन्तुष्ट पार्छस्—तँसँग परमेश्वरलाई प्रेम गर्ने साँचो हृदय छ, परमेश्वरलाई आफ्नो साँचो हृदय दिन्छस्, र तैँले कतिपय कुरा स्पष्ट रूपमा देख्न नसक्ने भए पनि, तँ आफ्ना नियतहरू सच्याउन र परमेश्वरका अभिप्रायहरू खोज्न परमेश्वरसामु आउन सक्छस्, र तँ परमेश्वरलाई सन्तुष्ट पार्न सबै थोक गर्छस्। अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई अस्वीकार गर्न सक्ने भए पनि, तेरो हृदयले परमेश्वरलाई सन्तुष्ट पारिरहेको हुन्छ, र तँ देहसुखको लालसा गरिरहेको हुँदैनस्। यदि तँ सधैँ यसरी नै अभ्यास गर्छस् भने, तँमाथि ठूला परीक्षाहरू आइपर्दा तँ सुरक्षित हुनेछस्।
परीक्षाहरू मानिसहरूभित्रको कस्तो स्थितितर्फ लक्षित हुन्छन्? ती परमेश्वरलाई सन्तुष्ट पार्नबाट मानिसहरूलाई रोक्ने तिनीहरूभित्रका विद्रोही स्वभावहरूप्रति लक्षित हुन्छन्। मानिसहरूभित्र धेरै अशुद्धता हुन्छन्, र पाखण्डी कुरा धेरै हुन्छ, त्यसैले परमेश्वर मानिसहरूलाई शुद्ध गर्नका लागि तिनीहरूलाई परीक्षाहरूमा पार्नुहुन्छ। तर यदि, आज, तँ परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम छस् भने, भविष्यका परीक्षाहरू तेरो लागि सिद्धता हुनेछन्। यदि, आज, तँ परमेश्वरलाई सन्तुष्ट पार्न असक्षम छस् भने, भविष्यका परीक्षाहरूले तँलाई प्रलोभनमा पार्नेछन्, र तँ अन्जानमै लड्नेछस्, र त्यस समयमा तैँले आफूलाई सम्हाल्न सक्नेछैनस्, किनभने तँ परमेश्वरको कामसँगै अघि बढ्न सक्षम हुनेछैनस् र तैँले वास्तविक कद धारण गरेको हुनेछैनस्। त्यसैले, यदि तँ भविष्यमा दृढ रहन, परमेश्वरलाई अझ सन्तुष्ट पार्न, र उहाँलाई अन्त्यसम्मै पछ्याउन चाहन्छस् भने, आज तैँले एउटा बलियो जग बसाल्नैपर्छ। तैँले सबै कुरामा सत्यतालाई व्यवहारमा लागु गरेर परमेश्वरलाई सन्तुष्ट पार्नैपर्छ र उहाँका अभिप्रायहरूलाई ख्याल गर्नैपर्छ। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, तँभित्र एउटा जग हुनेछ, र परमेश्वरले तँभित्र उहाँलाई प्रेम गर्ने हृदय जगाउनुहुनेछ, र उहाँले तँलाई आस्था दिनुहुनेछ। कुनै दिन, जब तँमाथि साँच्चै एउटा परीक्षा आइपर्छ, तब तँलाई केही पीडा हुन सक्छ र तँ निश्चित बिन्दुसम्म व्याकुल हुन सक्छस्, र तँ मरेजस्तै गरी हृदयविदारक शोकमा पर्न सक्छस्—तर परमेश्वरलाई प्रेम गर्ने तेरो हृदय परिवर्तन हुनेछैन, र त्यो प्रेम अझै गहिरो बन्नेछ। परमेश्वरका आशिष्हरू यस्ता हुन्छन्। यदि तँ आज परमेश्वरले भन्ने र गर्ने सबै कुरा समर्पणको हृदयले स्वीकार गर्न सक्षम छस् भने, तँ पक्कै पनि परमेश्वरद्वारा आशिषित् हुनेछस्, र यसरी तँ उहाँका आशिष् र प्रतिज्ञाहरू उत्तराधिकारमा प्राप्त गर्ने व्यक्ति बन्नेछस्। यदि, आज, तँ अभ्यास गर्दैनस् भने, कुनै दिन तँमाथि परीक्षाहरू आइपर्दा, तँसँग न त आस्था हुनेछ न त प्रेमिलो हृदय हुनेछ, अनि त्यतिबेला उक्त परीक्षा प्रलोभन बन्नेछ; तँ शैतानको प्रलोभनको बीचमा धकेलिनेछस् र तँसँग उम्कने कुनै उपाय हुनेछैन। आज, सानो परीक्षाको सामना गर्दा तँ दृढ रहन सक्षम होलास्, तर कुनै दिन ठूलो परीक्षाको सामना गर्दा तँ दृढ रहन सक्षम हुन्छस् नै भन्ने छैन। कतिपय मानिस आफैसँग निकै खुसी हुन्छन् र तिनीहरू आफू जति राम्रो हुन सकिन्थ्यो त्यति भइसकेको सोच्छन्। यदि तँ यस्तो समयमा अझ गहिराइमा जाँदैनस्, र आत्मगर्वित रहिरहन्छस् भने, तँ खतरामा पर्नेछस्। आज, परमेश्वरले ठूला परीक्षाहरूको काम नगरिरहनुभएको बेला, तँ सबै हिसाबले ठीकै गरिरहेको जस्तो देखिन्छस्, तर जब परमेश्वरले तेरो परीक्षा गर्नुहुन्छ, तब तैँले आफूमा धेरै कमी रहेको पत्ता लगाउनेछस्, किनभने तेरो कद अत्यन्तै सानो छ र तँ ठूला परीक्षाहरू सहन सक्दैनस्। यदि तँ जस्तो छस् त्यस्तै रहन्छस् र अगाडि बढ्न छोडेर सन्तुष्ट महसुस गर्छस् भने, परीक्षाहरू आइपर्दा, तँ लड्नेछस्। तिमीहरूले अक्सर आफ्नो कद कति सानो छ भनी हेर्नुपर्छ; यसरी मात्र तिमीहरूले प्रगति गर्नेछौ। यदि परीक्षाहरूका दौरान मात्रै तँ तेरो कद अत्यन्तै सानो रहेको, तेरो इच्छाशक्ति अत्यन्तै कमजोर रहेको, तँभित्र वास्तविक कुरा ज्यादै कम रहेको, र तँ परमेश्वरका अभिप्रायहरूका लागि अपर्याप्त रहेको देख्छस् भने—यदि तँ त्यतिबेला मात्र यी कुराहरू महसुस गर्छस् भने, त्यो धेरै ढिलो हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो
जो आखिरी दिनहरूमा परमेश्वरको न्याय र सजायको काममा—अर्थात्, अन्तिम शुद्धीकरणको कामको अवधिमा—दृढ रहन सक्छन्, तिनीहरू नै परमेश्वरसँगै अन्तिम विश्राममा प्रवेश गर्नेछन्; यसरी, जो विश्राममा प्रवेश गर्छन् तिनीहरू सबै परमेश्वरको अन्तिम शुद्धीकरणको काम भोगेपछि मात्र शैतानको प्रभावलाई तोडेर मुक्त भएका र उहाँद्वारा प्राप्त गरिएका हुनेछन्। यी मानिसहरू, जो अन्ततः परमेश्वरद्वारा प्राप्त गरिएका हुनेछन्, तिनीहरू अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई शुद्धीकरण गर्नु हो, अन्तिम दिनको विश्रामका खातिर हो; नत्र, मानवजातिको कुनै पनि सदस्य तिनीहरूको प्रकारअनुसार वर्गीकृत हुन, वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्वरको शुद्धीकरणको कामले मात्र मानवको अधार्मिकता पखाल्नेछ, र उहाँको सजाय र न्यायको कामले मात्र मानवजातिका ती विद्रोही तत्त्वहरूको खुलासा गर्नेछ, जसले गर्दा मुक्ति दिन सकिनेलाई मुक्ति दिन नसकिनेबाट र बाँकी रहनेहरूलाई बाँकी नरहनेहरूबाट खुट्ट्याइनेछ। जब यो काम समाप्त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च क्षेत्रमा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरू मानव विश्रामको दिनमा प्रवेश गर्नेछन् र परमेश्वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशाना हुन् र खराब र अधर्मी मानिस हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्वरका लागि श्रम पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूको खराबीको कारण साथै मुक्त गरिनलाई तिनीहरूको विद्रोहीपन र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। … दुष्टलाई दण्ड र असललाई इनाम दिने परमेश्वरको अन्तिम कामको एउटै उद्देश्य भनेको नै पूरै मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले विशुद्ध रूपमा शुद्ध पारिएको मानवजातिलाई अनन्त विश्राममा ल्याउन सक्नुहोस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्वरले दुष्टलाई नष्ट पार्नुभएन, तर बाँकी रहन दिनुभयो भने, सारा मानवजाति विश्राममा प्रवेश गर्न अझै पनि असमर्थ हुनेथियो, र परमेश्वर सारा उनीहरूलाई अझ उत्तम क्षेत्रमा ल्याउन असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण रूपमा सिद्धिने थिएन। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र पारिनेछ; यसरी मात्र परमेश्वर शान्तिपूर्वक विश्राममा बस्न सक्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्