६. म परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्छु, तर म अझै जवान छु, मैले मेरो परिवार र मेरो जीवनचर्याका लागि कडा मेहनत गर्नुपर्छ, र मैले गर्न चाहेका कुराहरू अझ पनि धेरै छन्। यदि बुढेसकालसम्म पर्खेँ र परमेश्वरमा विश्वास गर्ने समय पाएँ भने के अझै पनि म मुक्ति पाउनेछु?
सन्दर्भका लागि बाइबलका पदहरू:
“यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?” (मत्ती १६:२६)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
मेरो आत्माले महान् काम गर्ने समय, र अन्यजाति राष्ट्रहरूमाझ मैले मेरो काम सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सबै सृजित प्राणीहरू प्रत्येकलाई तिनीहरूको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो रूपमा अगाडि बढ्न सकोस् र त्यो नतिजाहरू हासिल गर्न अझ बढी सक्षम होस्। त्यसैले, म तँबाट के माग गर्छु भने, अझै पनि तँ आफ्नो सम्पूर्ण सत्त्वलाई मेरा सबै काममा अर्पण गर्, अनि, अझ बढी, मैले तँमा गरेका मेरा कामलाई तँ स्पष्ट रूपमा खुट्ट्या र सही रूपमा चिन्, र तँ आफ्नो सम्पूर्ण शक्ति मेरो काममा समर्पित गर्, ताकि मेरो कामले अझ ठूला नतिजाहरू हासिल गर्न सकोस्। यो कुरा तैँले बुझ्नैपर्छ। आपसमा होड गर्न, आकस्मिक योजना खोज्न, वा आफ्नो देहका लागि सुख खोज्नबाट टाढा बस्, ताकि मेरो काममा ढिलाइ नहोस्, र तेरो अद्भुत भविष्यमा छेकथुन नहोस्। तिमीहरूलाई जोगाउनु त कता हो कता, त्यस्ता कार्यले तिमीहरूमाथि विनाश मात्र ल्याउन सक्छ। के यो तेरो मूर्खता हुनेछैन र? तँ आज लिप्त हुने कुरा नै तेरो भविष्यलाई बिगारिरहेको कुरा हो, जबकि तैँले आज सहने पीडाले नै तेरो सुरक्षा गरिरहेको छ। तँ यी चीजहरूबारे स्पष्ट रूपमा सचेत हुनुपर्छ, ताकि आफूलाई उम्किन कठिन लाग्ने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र बाटो बिराएर बाक्लो कुहिरोभित्र छिरेर फेरि कहिल्यै सूर्य भेट्टाउन असक्षम हुनबाट जोगिन सक्। जब बाक्लो कुहिरो हट्छ, तब तैँले आफूलाई महान् दिनको न्यायमाझ पाउनेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो
मेरा वचनबाहिर जिउनेहरू, परीक्षाको संकष्टदेखि भाग्नेहरू, के तिनीहरू सबै संसारमा यता-उता बरालिरहँदैनन् र? तिनीहरू शरद्का पातहरूझैँ एक ठाउँमा नबसी घरी यता, घरी उता सलबलाउँछन्, मेरा सान्त्वनाका वचनहरूको त कुरै नगरौं। मेरो सजाय र शोधनले तिनीहरूलाई नपछ्याए तापनि के तिनीहरू एक ठाउँदेखि अर्को ठाउँमा, स्वर्गको राज्य बाहिरका सडकहरूमा भौतारिने भिखारीहरू होइनन् र? के संसार साँच्चै तेरो विश्राम स्थल हो त? के तैँले मेरो सजायलाई पन्छाएर साँच्चै नै यस संसारबाट सन्तुष्टिको सबैभन्दा मन्द मुस्कान प्राप्त गर्न सक्छस्? के तैँले तेरो क्षणिक आनन्दलाई तेरो हृदयको लुकाउन नमिल्ने रिक्ततालाई ढाक्नको निम्ति प्रयोग गर्न सक्छस्? तैँले तेरो परिवारका सबैलाई मूर्ख बनाउन सक्लास्, तर तैँले मलाई कहिल्यै पनि मूर्ख बनाउन सक्दैनस्। तेरो विश्वास अत्यन्तै थोरै भएको कारण आजको दिनसम्म पनि तँमा जिन्दगीले दिने आनन्द पत्ता लगाउने शक्ति छैन। म तँलाई आग्रह गर्छु: मानिसले सहन नसक्ने दुःख सहेर सम्पूर्ण जीवन मामुली र देहको निम्ति व्यस्त रहनुभन्दा मेरो निम्ति इमान्दारीपूर्वक आधा जीवन जिउनु तेरो लागि असल हुन्छ। मेरो सजायबाट भागेर आफैलाई जोगाउनुको उद्देश्य के छ र? मेरो क्षणिक सजायबाट लुकेर अनन्तको लज्जा, अनन्तको सजायको कटनी गर्नुको के अर्थ छ र? वास्तवमा म कसैमाथि पनि मेरा मागहरू जबरजस्ती थोपर्दिनँ। यदि कोही मेरा सबै योजनाहरूप्रति साँचो रूपमा समर्पित हुने इच्छा गर्छ भने, तिनीहरूसँग म तुच्छ व्यवहार गर्नेछैन। तर सबै मानिसहरूले ममाथि विश्वास गर्नुपर्छ, जसरी अय्यूबले म, यहोवामाथि विश्वास गरे। यदि तिमीहरूको विश्वासले थोमाको विश्वासलाई जित्छ भने तिमीहरूको विश्वासले मेरो प्रशंसा प्राप्त गर्नेछ, तिमीहरूको निष्ठामा तिमीहरूले मेरो परमानन्द पाउनेछौ र तिमीहरूका दिनमा तिमीहरूले मेरो महिमा पक्कै पाउनेछौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। वास्तविक व्यक्ति हुनुको अर्थ के हो
दाजुभाइ हो, ब्यूँझ! दिदीबहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि गुमेको समय फिर्ता लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले त्यसका लागि चाहे जति पटक पनि अध्ययन गरेर पुनः परीक्षा दिन सक्छौ। तर, मेरो दिनमा ढिलाइ हुनेछैन। याद राख! याद राख! यी मेरो अर्तीका दयालु वचनहरू हुन्। तिमीहरूको आँखाकै अगाडि संसारको परिणाम उजागर भएको छ, र महाविपत्तिहरू चाँडै आउनेछन्। कुन चाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको खानपिन र वस्त्र? तिमीहरूले यी कुराहरूलाई तौलने समय आएको छ! अबदेखि शङ्का नगर! तिमीहरू यी कुरालाई गम्भीरतापूर्वक लिन एकदमै डराएका छौ, होइन र?
कति दयनीय! कति दरिद्र! कति अन्धो! मानिसहरू कति निर्दयी हुन्छन्! तिमीहरू वास्तवमा मेरो वचनका निम्ति कान थुन्छौ—के म तिमीहरूसँग व्यर्थमा बोलिरहेको छु? तिमीहरू अझै पनि अति अल्छे छौ—किन? किन त्यसो भयो? के तिमीहरूमा कहिल्यै यस्तो विचार आएन? म कसका लागि यी कुराहरू भन्छु? ममा विश्वास गर! म तिमीहरूको मुक्तिदाता हुँ! म तिमीहरूको सर्वशक्तिमान् हुँ! सतर्क रह! सतर्क रह! खेर गएको समय फेरि कहिल्यै फर्केर आउनेछैन—यो कुरा याद राख! पछुतोलाई निको पार्ने औषधि संसारमा कहीँ छैन! त्यसकारण, म तिमीहरूलाई अरू के नै भन्न सक्थेँ र? के मेरो वचन तिमीहरूको होसियारीपूर्ण मनन, तिमीहरूको बारम्बारको मननयोग्य छैन? तिमीहरू मेरो वचनप्रति कति बेपरवाह छौ र आफ्नो जीवनप्रति कति अजिम्मेवार छौं; म यसलाई कसरी सहन सक्छु? कसरी सक्छु?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३०
मानिसहरूले ज्ञान प्राप्त गर्ने प्रक्रियाको दौरान, सबै प्रकारका विधिहरू प्रयोग गरेर, चाहे त्यो कथाहरू सुनाएर होस्, तिनीहरूलाई केवल केही ज्ञान दिएर होस्, वा तिनीहरूलाई आफ्ना चाहना वा आकाङ्क्षाहरू पूरा गर्न दिएर होस्, शैतानले मानिसहरूलाई कुन चाहिँ बाटोमा लैजान चाहन्छ? मानिसहरू ज्ञान सिक्नुमा केही गलत छैन, यो पूर्ण रूपमा स्वाभाविक र न्यायोचित छ भन्ने सोच्छन्। आकर्षक लाग्ने तरिकाले भन्दा, उच्च आकाङ्क्षाहरू स्थापित गर्नु वा महत्त्वाकाङ्क्षाहरू राख्नु भनेको सङ्कल्प हुनु हो, र यो जीवनमा सही मार्ग हुनुपर्छ। यदि व्यक्तिले आफ्ना आकाङ्क्षाहरू साकार पार्न सक्छ, वा आफ्नो जीवनकालमा सफल करियर स्थापित गर्न सक्छ भने, के त्यो जिउने अझ गौरवशाली तरिका होइन र? यसरी, व्यक्तिले आफ्ना पुर्खाहरूलाई सम्मान गर्न सक्छ मात्रै होइन तर आउने पुस्ताहरूका लागि आफ्नो छाप छोड्ने मौका पनि पाउन सक्छ—के यो राम्रो कुरा होइन र? यो सांसारिक मानिसहरूको नजरमा राम्रो कुरा हो, र तिनीहरूका लागि यो उचित र सकारात्मक हुनुपर्छ। तर, के शैतानले आफ्ना दुष्ट मनसायहरूले मानिसहरूलाई यस्तो बाटोमा लैजान्छ र त्यसपछि त्यति नै हो त? अवश्य होइन। वास्तवमा, मानिसका आकाङ्क्षाहरू जतिसुकै भव्य भए पनि, मानिसका चाहनाहरू जतिसुकै यथार्थवादी भए पनि वा ती जतिसुकै उचित भए पनि, मानिसले हासिल गर्न चाहेका सबै कुरा, मानिसले खोजेका सबै कुरा दुई शब्दसँग अटुट रूपमा जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिलाई उसको जीवनभरि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्, र ती शैतानले मानिसमा हालिदिन चाहेका कुरा हुन्। यी दुई शब्द के हुन्? ती “ख्याति” र “प्राप्ति” हुन्। शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: “ख्याति” र “प्राप्ति।” मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरू निसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिमा फसेपछि, उसले उप्रान्त उज्यालो, न्यायवान्, वा सुन्दर र असल कुराहरू खोज्दैन। किनभने ख्याति र प्राप्तिको प्रलोभन मानिसहरूका लागि अत्यन्तै ठूलो हुन्छ, र यी कुराहरू मानिसहरूले आफ्नो जीवनभरि र अनन्तकालसम्म पनि अनन्त रूपमा पछ्याउन सक्ने कुरा हुन्। के यो वास्तविक अवस्था होइन र?
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
शैतानले मानिसका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, उसलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र उसलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुरा बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, उसमा यी साङ्लाहरू हुँदा, ऊसँग त्यसबाट उम्किने न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, ऊ यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छ। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
परमेश्वर उहाँको देखापराइको अभिलाषा राख्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका वचनहरू मान्नेहरूलाई खोजिरहनुभएको छ, उहाँको आज्ञा नबिर्सनेहरू र आफ्नो हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई खोजिरहनुभएको छ, र उहाँसामु बालकहरूझैँ समर्पित हुने र प्रतिरोधी नहुनेहरूलाई खोजिरहनुभएको छ। यदि तँ आफैलाई परमेश्वरमा अर्पित गर्छस्, र कुनै शक्तिद्वारा रोकिँदैनस् भने, परमेश्वरले तँलाई निगाहका साथ हेर्नुहुनेछ, र तँलाई आशिष् प्रदान गर्नुहुनेछ। यदि तँसँग उच्च हैसियत, सम्माननीय प्रतिष्ठा, ज्ञानको भण्डार, विविध सम्पत्ति, र धेरै मानिसहरूको समर्थन छ, तैपनि तँ यी कुराहरूको झमेला अनुभूत गर्दैनस् र उहाँको बोलावट र उहाँको आज्ञा स्वीकार गर्न र तँबाट परमेश्वरले माग्नुभएका कार्यहरू गर्नका लागि अझै पनि परमेश्वरका सामु आउँछस् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा सबैभन्दा अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा न्यायवान् प्रयास हुनेछन्। यदि तैँले हैसियत वा तेरा आफ्नै लक्ष्यहरूका खातिर परमेश्वरको बोलावटलाई अस्वीकार गर्छस् भने, तैँले गर्ने सबै कुराहरू श्रापित हुनेछन्, र अझ बढी, परमेश्वरद्वारा घृणित समेत हुनेछन्। सायद, तँ राष्ट्रपति, वैज्ञानिक, पाष्टर, वा एल्डर होस्, तर तँ जति नै उच्च पदमा भए पनि, यदि तँ आफ्नै कामहरू अघि बढाउन आफ्नो क्षमता र ज्ञान प्रयोग गर्छस् भने, तँ जहिले पनि असफल व्यक्ति हुनेछस् र परमेश्वरका आशिष्हरूबाट सधैँ वञ्चित हुनेछस्, किनकि परमेश्वर तैँले गर्ने कुनै पनि कुरा स्वीकार गर्नुहुन्न, र तेरो काम न्यायवान् छ भनेर उहाँ मान्नुहुन्न, वा तँ मानवजातिको फाइदाका लागि काम गरिरहेको छस् भनी मान्यता दिनुहुन्न। उहाँ तैँले गर्ने सबै काम परमेश्वरले मानिसलाई दिने सुरक्षालाई टाढा धकेल्न मानव ज्ञान र बल प्रयोग गर्नु हो, र त्यो परमेश्वरका आशिष्हरू इन्कार गर्नु हो भनेर भन्नुहुनेछ। उहाँ तैँले मानवजातिलाई अन्धकारतिर, मृत्युतिर र मानिस परमेश्वरविहीन भएको र उहाँका आशिष्हरू गुमाएको असीमित अस्तित्वको सुरुवाततिर डोर्याइरहेको छस् भनेर भन्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ
मानवजातिको भविष्यप्रति परमेश्वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस पाइला दर पाइला क्षय र फर्कन नसक्ने मार्गतिर हिँडिरहेको कुराले उहाँलाई पीडा दिन्छ। यो कुरा कसैले कहिल्यै विचार गरेको छैन: परमेश्वरको हृदयलाई पूर्ण रूपमा छियाछिया बनाएको र दुष्टलाई खोज्न उहाँलाई छोडेको त्यस्तो मानवजाति कतातिर लागेको हुन सक्छ? यसैकारणले गर्दा नै कसैले पनि परमेश्वरको रिस महसुस गर्ने प्रयास गर्दैन, कसैले पनि परमेश्वरलाई प्रसन्न पार्ने मार्ग खोज्दैन वा परमेश्वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, कसैले पनि परमेश्वरको शोक र पीडा बुझ्ने प्रयास गर्दैन। परमेश्वरको आवाज सुनेपछि पनि, मानिस आफ्नै मार्गमा हिँड्न जारी राख्छ, परमेश्वरबाट टाढा जान जिद कस्छ, परमेश्वरको अनुग्रह र हेरचाहबाट तर्कन्छ, उहाँको सत्यताबाट अलग बस्छ, परमेश्वरको शत्रु शैतानका हातमा आफूलाई बेच्न रुचाउँछ। र कसले सोचेको छ कि, यदि मानिस आफ्नो जिदमा लागिरह्यो भने, परमेश्वरलाई अत्यन्तै अवहेलना गर्ने यस मानवजातिप्रति उहाँले कस्तो व्यवहार गर्नुहुनेछ? परमेश्वरले मानिसलाई बारम्बार चेतावनी र अर्ती दिने कारण के हो भने, उहाँले आफ्नो हातमा अभूतपूर्व विपत्तिहरू तयार पार्नुभएको छ, जो मानिसको देह र आत्मालाई असह्य हुनेछ, जो देहका निम्ति दण्ड मात्र हुँदैनन्, बरु आत्माप्रति लक्षित हुन्छन् भन्ने कुरा कसैलाई थाहा छैन। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्वरको योजना विफल हुन्छ, र उहाँका चेतावनी र अर्तीहरूको कुनै प्रतिक्रिया दिइँदैन, तब उहाँले कस्तो रिस पोखाउनुहुनेछ? यो कुनै पनि सृजित प्राणीले कहिल्यै अनुभव नगरेको र थाहा नपाएको किसिमको हुनेछ। त्यसैले म भन्छु, यी विपत्तिहरू अभूतपूर्व छन्, र कहिल्यै दोहोरिनेछैनन्। किनकि परमेश्वरको योजना भनेको, मानवजातिलाई यो एक पटक मात्रै सृष्टि गर्नु र मानवजातिलाई यो एक पटक मात्रै मुक्ति दिनु हो। यो पहिलो पटक र अन्तिम पटक पनि हो। त्यसकारण, परमेश्वरले मानवजातिलाई यस पटक मुक्ति दिनुपछाडिका श्रमसाध्य अभिप्रायहरू र उत्कट प्रत्याशालाई कसैले बुझ्न सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ