८. तपाईंले आखिरी दिनका परमेश्वर एउटी महिलाको रूपमा देहधारण हुनुभएको छ भनी गवाही दिनुहुन्छ। हामी त्यो कुरा स्वीकार गर्न सक्दैनौं। बाइबलमा लेखिएको छ, कि येशूले स्वर्गका परमेश्वरलाई पिता भन्नुभयो, र स्वर्गका परमेश्वरले येशूलाई प्रिय पुत्र भन्नुभयो। के पिता र पुत्रहरू पुरुष होइनन् र? बाइबलले यो पनि भन्छ कि, “स्त्रीको शिर पुरुष हो” (१ कोरिन्थी ११:३)। त्यसैले महिलाहरूको कुनै अधिकार हुँदैन, त्यसो भए तपाईंले किन आखिरी दिनका परमेश्वर एउटी महिलाको रूपमा देहधारण हुनुभएको छ भनी भन्नुहुन्छ?
परमेश्वरका सान्दर्भिक वचनहरू:
परमेश्वरद्वारा गरिएको कामको हरेक चरणको आफ्नै व्यावहारिक महत्त्व हुन्छ। त्यतिखेर, जब येशू आउनुभयो, उहाँ पुरुषको रूपमा आउनुभयो, र यस पटक जब परमेश्वर आउनुहुन्छ, उहाँको रूप महिला छ। यसबाट, तैँले के देख्न सक्छस् भने परमेश्वरले पुरुष र महिला दुवैको सृष्टि गर्नु उहाँको कामका लागि उपयोगी हुन सक्छ, र उहाँको हकमा लिङ्गको कुनै भेद हुँदैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँ आफूलाई मन लागेको जुनसुकै देह धारण गर्न सक्नुहुन्छ, र उक्त देहले उहाँको प्रतिनिधित्व गर्न सक्छ; चाहे पुरुष होस् वा महिला, यो परमेश्वरको देहधारी शरीर भएसम्म यसले उहाँको प्रतिनिधित्व गर्न सक्छ। यदि येशू आउनुहुँदा एउटी महिलाका रूपमा देखा पर्नुभएको भए, अर्को शब्दमा भन्दा, यदि पवित्र आत्माद्वारा बालकको सट्टा बालिका गर्भधारण गरिएको भए पनि, कामको त्यो चरण त्यसै गरी पूरा भएको हुनेथियो। यदि त्यस्तो भएको भए, कामको वर्तमान चरण यसको सट्टा पुरुषद्वारा गरिनुपर्नेथियो, तर काम त्यसै गरी पूरा हुने नै थियो। प्रत्येक चरणमा गरिने कामको आफ्नै महत्त्व हुन्छ; कामको कुनै पनि चरणले अर्कोलाई दोहोर्याउँदैन, तर ती एक-अर्कासँग बाझ्न पनि बाझिँदैनन्। त्यतिखेर, येशूले आफ्नो काम गर्नुहुँदा, उहाँलाई एक मात्र पुत्र भनिन्थ्यो, र “पुत्र” ले पुरुष लिङ्गलाई जनाउँछ। यस वर्तमान चरणमा एक मात्र पुत्रलाई किन उल्लेख गरिँदैन? किनभने कामका मागहरूले येशूको भन्दा फरक लिङ्ग आवश्यक तुल्याएका छन्। परमेश्वरको हकमा लिङ्गको कुनै भेद हुँदैन। उहाँ आफूलाई जसरी इच्छा लाग्छ त्यसरी आफ्नो काम गर्नुहुन्छ, र आफ्नो काम गर्दा उहाँ कुनै पनि बन्धनमा पर्नुहुन्न, बरु अत्यन्तै स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्नै व्यावहारिक महत्त्व हुन्छ। परमेश्वर दुई पटक देह बन्नुभयो, र आखिरी दिनहरूमा भएको उहाँको देहधारण अन्तिम पटक हो भन्ने कुरा स्वतः स्पष्ट छ। उहाँ आफ्ना सबै कार्य प्रकट गर्न आउनुभएको छ। यदि यस चरणमा उहाँ देह नबन्नुभएको भए र मानिसले देख्नेगरी उहाँले व्यक्तिगत रूपमा काम नगर्नुभएको भए, मानिस सधैँभरि परमेश्वर त महिला होइन, पुरुष मात्र हुनुहुन्छ भन्ने धारणामा टाँसिइरहनेथियो। यसभन्दा पहिले, सम्पूर्ण मानवजाति परमेश्वर पुरुष मात्र हुन सक्नुहुन्छ र महिलालाई परमेश्वर भन्न सकिँदैन भन्ने विश्वास गर्थे, किनभने सम्पूर्ण मानवजाति महिलाहरूमाथि पुरुषहरूको अख्तियार हुने ठान्थे। तिनीहरू कुनै पनि महिलाले अख्तियार लिन सक्दिन, पुरुषहरूले मात्र सक्छन् भन्ने विश्वास गर्थे। अझ भन्नुपर्दा, तिनीहरू पुरुष भनेको महिलाको शिर हो र महिलाले पुरुषको आज्ञापालन गर्नैपर्छ र उसलाई उछिन्न सक्दिन भनेर समेत भन्थे। विगतका समयहरूमा, पुरुष महिलाको शिर भनिँदा, यो सर्पद्वारा मोहित पारिएका आदम र हव्वाप्रति लक्षित थियो—सुरुमा यहोवाद्वारा सृष्टि गरिएका पुरुष र महिलाप्रति होइन। अवश्य नै, एउटी महिलाले आफ्नो श्रीमान्को पालन गर्नैपर्छ र उसलाई प्रेम गर्नैपर्छ, अनि एउटा श्रीमान्ले आफ्नो परिवारलाई खुवाउन र पालनपोषण गर्न सिक्नैपर्छ। मानवजातिले पृथ्वीमा आफ्नो जीवनमा पालन गर्नैपर्ने भनेर यहोवाद्वारा प्रस्ट पारिएका व्यवस्था र विधानहरू यिनै हुन्। यहोवाले महिलालाई भन्नुभयो, “तेरो चाहना तेरो श्रीमान्तर्फ हुनेछ, र उसले तँमाथि शासन गर्नेछ।” मानवजातिले (मतलब, पुरुष र महिला दुवैले) यहोवाको प्रभुत्वअन्तर्गत सामान्य जीवन जिउन सकून्, र मानवजातिको जीवन एउटा ढाँचामा चल्न सकोस्, र त्यसको उचित क्रम नबिग्रियोस् भन्नका लागि मात्र उहाँले यसरी बोल्नुभयो। त्यसकारण, यहोवाले पुरुष र महिलाले कसरी काम गर्नुपर्छ भन्नेबारे उचित नियमहरू बनाउनुभयो, यद्यपि यो पृथ्वीमा जिउने सबै सृजित प्राणीका हकमा मात्रै लागु हुन्थ्यो, र परमेश्वरको देहधारी शरीरसँग यसको कुनै सम्बन्ध थिएन। परमेश्वर कसरी आफ्ना सृजित प्राणीहरू जस्तै हुन सक्नुहुन्थ्यो र? उहाँका वचनहरू उहाँले सृष्टि गर्नुभएको मानवजातितर्फ मात्रै लक्षित थिए; मानवजातिले सामान्य जीवन जिउन सकून् भनेर नै उहाँले पुरुष र महिलाका लागि नियमहरू स्थापित गर्नुभयो। सुरुमा, जब यहोवाले मानवजातिको सृष्टि गर्नुभयो, उहाँले पुरुष र महिला दुवै गरी दुई प्रकारका मानव बनाउनुभयो; र त्यसैले उहाँका देहधारी शरीरहरूमा पुरुष र महिलाको विभाजन छ। उहाँले आदम र हव्वासँग बोल्नुभएका वचनहरूका आधारमा आफ्नो काम निर्धारण गर्नुभएन। उहाँ दुई पटक देह बन्नुभएको कुरा पूर्ण रूपमा उहाँले पहिलो पटक मानवजातिको सृष्टि गर्दाको उहाँको सोचाइअनुसार निर्धारण गरिएको छ; अर्थात्, उहाँले आफ्ना दुई देहधारणको काम भ्रष्ट तुल्याइनुभन्दा पहिलेका पुरुष र महिलाका आधारमा पूरा गर्नुभएको छ। यदि मानवजातिले सर्पद्वारा प्रलोभनमा पारिएका आदम र हव्वालाई यहोवाद्वारा बोलिएका वचनहरू लिएको र तिनलाई परमेश्वरको देहधारणको काममा लागु गरेको हो भने, के येशूले पनि उहाँकी श्रीमतीलाई जसरी प्रेम गर्नुपर्ने हो त्यसरी नै प्रेम गर्नुपर्नेथिएन र? यसरी, के परमेश्वर अझै पनि परमेश्वर नै रहनुहुनेथियो र? अनि यस्तो भएपछि, के उहाँले अझै पनि आफ्नो काम पूरा गर्न सक्नुहुनेथियो र? यदि परमेश्वरको देहधारी शरीर महिला हुनु गलत हुन्थ्यो भने, के परमेश्वरले महिलाको सृष्टि गर्नु पनि सबैभन्दा ठूलो गल्ती हुनेथिएन र? यदि मानिसहरू अझै पनि परमेश्वरले महिलाका रूपमा देहधारण गर्नु गलत हुनेछ भन्ने विश्वास गर्छन् भने, विवाह नगर्नुभएका वा आफ्नी श्रीमतीलाई प्रेम नगर्नुभएका येशूले पनि वर्तमान देहधारणले जत्तिकै गल्ती गर्नुभएको हुनुहुनेथिएन र? तँ वर्तमान दिनमा परमेश्वरको देहधारणको सत्यतालाई मापन गर्न यहोवाले हव्वालाई बोल्नुभएका वचनहरू प्रयोग गर्छस् भने, तैँले अनुग्रहको युगमा देह बन्नुभएका प्रभु येशूको न्याय गर्न यहोवाले आदमलाई बोल्नुभएका वचनहरू नै प्रयोग गर्नुपर्छ। के यी एउटै र उही होइनन् र? तँ सर्पद्वारा मोहित नपारिएको पुरुषका आधारमा प्रभु येशूको मापन गर्छस् भने, तैँले सर्पद्वारा मोहित पारिएकी महिलाका आधारमा आजको देहधारणको सत्यतालाई गलत ठहराउन मिल्दैन। यो अन्याय हुनेछ! यसरी परमेश्वरलाई मापन गर्नुले तँसँग कुनै समझ छैन भन्ने प्रमाणित गर्छ। जब यहोवा दुई पटक देह बन्नुभयो, त्यतिखेर उहाँको देहको लिङ्ग सर्पद्वारा मोहित नपारिएका पुरुष र महिलासँग सम्बन्धित थियो; सर्पद्वारा मोहित नपारिएका पुरुष र महिलाअनुरूप नै उहाँ दुई पटक देह बन्नुभयो। येशूको पुरुषत्व सर्पद्वारा मोहित पारिएको आदमको जस्तै थियो भन्ने नसोच्। यी दुई पूर्ण रूपमा असम्बन्धित छन्, ती दुई फरक प्रकृतिका पुरुषहरू हुन्। पक्कै पनि येशूको पुरुषत्वले उहाँ सबै महिलाको शिर हुनुहुन्छ तर सबै पुरुषको होइन भन्ने प्रमाणित गर्न सक्दैन, होइन र? के उहाँ सबै यहूदीका (पुरुष र महिला दुवैका) राजा हुनुहुन्न र? उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ, महिलाको शिर मात्र नभई पुरुषको शिर पनि हुनुहुन्छ। उहाँ सबै सृजित प्राणीका प्रभु र सबै सृजित प्राणीका शिर हुनुहुन्छ। तँ येशूको पुरुषत्वलाई महिलाको शिरको प्रतीक हो भनेर कसरी निर्धारण गर्न सक्छस्? के यो ईशनिन्दा हुनेछैन र? येशू भ्रष्ट नतुल्याएको पुरुष हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ; उहाँ ख्रीष्ट हुनुहुन्छ; उहाँ नै प्रभु हुनुहुन्छ। उहाँ भ्रष्ट तुल्याइएको आदमजस्तो पुरुष कसरी हुन सक्नुहुन्छ? येशू भनेको परमेश्वरको परमपवित्र आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। उहाँ आदमको पुरुषत्व भएको परमेश्वर हुनुहुन्छ भनेर तैँले कसरी भन्न सकिस्? त्यस्तो हो भने, के परमेश्वरको सबै काम गलत हुनेथिएन र? के यहोवाले येशूभित्र सर्पद्वारा मोहित पारिएको आदमको पुरुषत्व समाहित गर्नुहुनेथियो र? के वर्तमान समयको देहधारण लिङ्गमा येशूभन्दा फरक तर प्रकृतिमा उहाँजस्तै हुनुहुने देहधारी परमेश्वरको कामको अर्को दृष्टान्त होइन र? के तँ अझै पनि महिला नै सर्पद्वारा मोहित पारिने पहिलो व्यक्ति भएकीले, देहधारी परमेश्वर महिला हुन सक्नुहुन्न भनेर भन्ने आँट गर्छस्? के तँ अझै पनि महिला सबैभन्दा फोहोरी र मानवजातिको भ्रष्टताको स्रोत भएकीले, परमेश्वर महिलाका रूपमा देह बन्न बिलकुलै सक्नुहुन्न भन्ने आँट गर्छस्? के तँ “महिलाले सधैँ पुरुषको पालन गर्नुपर्छ र उसले कहिल्यै परमेश्वरलाई प्रकट गर्न वा प्रत्यक्ष रूपमा प्रतिनिधित्व गर्न सक्दिन” भन्ने कुरामा अडिग रहन आँट गर्छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्
यदि परमेश्वर देहमा पुरुषका रूपमा मात्र आउनुभएको भए, मानिसहरूले उहाँलाई पुरुषका रूपमा, पुरुषहरूका परमेश्वरका रूपमा परिभाषित गर्नेथिए र उहाँलाई महिलाहरूका परमेश्वर हुनुहुन्छ भनी कहिल्यै विश्वास गर्नेथिएनन्। त्यसपछि पुरुषहरूले परमेश्वर पुरुषहरूकै लिङ्गको हुनुहुन्छ, परमेश्वर पुरुषहरूका शिर हुनुहुन्छ भनी ठान्नेथिए—तर त्यसोभए महिलाहरूबारे चाहिँ के नि? यो अन्याय हो; के यो पक्षपातपूर्ण व्यवहार होइन र? यदि यस्तो भएको भए, परमेश्वरले मुक्ति दिने सबै जना उहाँजस्तै पुरुष हुनेथिए र एउटी पनि महिलाले मुक्ति पाउनेथिइन। परमेश्वरले मानवजाति सृष्टि गर्नुहुँदा, आदमलाई सृष्टि गर्नुभयो र उहाँले हव्वालाई सृष्टि गर्नुभयो। उहाँले आदमलाई मात्र सृष्टि गर्नुभएन, तर आफ्नै स्वरूपमा पुरुष र महिला दुवै बनाउनुभयो। परमेश्वर पुरुषहरूका मात्र परमेश्वर हुनुहुन्न—उहाँ महिलाहरूका पनि परमेश्वर हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
यदि येशूको काम मात्रै गरिएको भए, र त्यसको परिपूरकका रूपमा आखिरी दिनहरूको यस चरणको कामद्वारा त्यसलाई परिपूरण नगरिएको भए, मानिस सधैँभरि येशू मात्र परमेश्वरका एक मात्र पुत्र हुनुहुन्छ, अर्थात्, परमेश्वरको एउटा मात्र पुत्र छ, र त्यसपछि अर्को नाम लिएर आउने जोकोही परमेश्वरका एक मात्र पुत्र हुनेछैन, परमेश्वर स्वयम् त झनै हुनेछैन भन्ने धारणामा टाँसिइरहनेथियो। मानिसमा पापबलि बन्ने वा परमेश्वरको तर्फबाट शक्ति ग्रहण गर्ने र सम्पूर्ण मानवजातिलाई छुटकारा दिने जोकोही परमेश्वरका एक मात्र पुत्र हुन् भन्ने धारणा रहेको छ। कतिपय मानिस यस्ता छन् जो आउने व्यक्ति पुरुष भएसम्म, उहाँलाई परमेश्वरका एक मात्र पुत्र र परमेश्वरको प्रतिनिधिको रूपमा मान्न सकिन्छ भन्ने विश्वास गर्छन्। यस्ता मानिस समेत छन् जो येशू यहोवाका पुत्र, उहाँका एक मात्र पुत्र हुनुहुन्छ भनेर भन्छन्। के यी मानिसका अत्यन्तै त्रुटिपूर्ण धारणाहरू होइनन् र? यदि परमेश्वर अन्तिम युगमा कामको यो चरण पूरा गर्न नआउनुभएको भए, परमेश्वरको विषयमा सम्पूर्ण मानवजाति एउटा कालो छायाले ढाकिएको हुनेथियो। यदि यस्तो भएको भए, पुरुषले आफूलाई महिलाभन्दा उच्च ठान्नेथियो, र महिलाहरूले कहिल्यै आफ्नो शिर ठाडो पार्न सक्नेथिएनन्, र त्यसपछि एउटी महिलाले पनि मुक्ति पाउन सक्नेथिइन। मानिसहरू सधैँ परमेश्वर पुरुष हुनुहुन्छ, र अझ भन्नुपर्दा उहाँले महिलालाई सधैँ तिरस्कार गर्नुभएको छ र तिनलाई मुक्ति दिनुहुनेछैन भन्ने विश्वास गर्छन्। यदि यस्तो भएको भए, के यहोवाद्वारा सृष्टि गरिएका र भ्रष्ट पनि तुल्याइएका सबै महिलाले कहिल्यै मुक्ति पाउने अवसर पाउनेछैनन् भन्ने कुरा साँचो हुनेथिएन र? त्यसोभए के यहोवाले महिलाको सृष्टि गर्नु, अर्थात् हव्वाको सृष्टि गर्नु व्यर्थ हुनेथिएन र? अनि के महिला अनन्तसम्म नाश हुनेथिइन र? यसकारणले गर्दा, आखिरी दिनहरूको कामको चरण महिलालाई मात्र होइन, सम्पूर्ण मानवजातिलाई मुक्ति दिनका लागि गरिन्छ। यदि कसैले परमेश्वर महिलाका रूपमा देहधारी हुनु महिलालाई मुक्ति दिनका लागि मात्रै थियो भन्ने सोच्छ भने, त्यो व्यक्ति अझ बढी मूर्ख हुनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्
येशू र म एउटै आत्माबाट आउँछौँ। हाम्रा देहहरू असम्बन्धित भए पनि, हाम्रा आत्माहरू एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम एउटै नभए पनि, हाम्रो सार एउटै हो; हाम्रा देहहरूले फरक-फरक रूप धारण गर्छन्, तर यो युगमा आएको परिवर्तन र हाम्रो कामका फरक-फरक मागहरूले गर्दा हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसैले हामीले अगाडि ल्याउने काम र हामीले मानिसलाई प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। त्यसैकारण मानिसले आज जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जुन युगमा आएको परिवर्तनले गर्दा हो। उहाँहरूको देहका लिङ्ग र रूप फरक भए पनि, र उहाँहरू एउटै परिवारमा नजन्मनुभएका, एउटै कालखण्डमा त झनै नजन्मनुभएका भए पनि, उहाँहरूको आत्मा एउटै हो। उहाँहरूका देहहरूबीच रगतको वा कुनै पनि प्रकारको शारीरिक नाता नभए पनि, उहाँहरू दुई फरक कालखण्डका परमेश्वरका देहधारी शरीर हुन् भन्ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू परमेश्वरका देहधारी शरीर हुन् भन्ने कुरा खण्डन गर्न नसकिने सत्यता हो। यद्यपि, उहाँहरू एउटै रगतका हुनुहुन्न र उहाँहरूको साझा मानव भाषा छैन। (एक जना यहूदीहरूको भाषा बोल्ने पुरुष हुनुहुन्थ्यो, र अर्की चिनियाँ भाषा मात्रै बोल्ने महिला हुनुहुन्छ।) यिनै कारणले गर्दा उहाँहरू प्रत्येकले गर्नुपर्ने काम गर्नका लागि उहाँहरू फरक-फरक देशमा, र फरक-फरक कालखण्डमा पनि जिउनुभएको छ। उहाँहरू एउटै आत्माका हुनुहुन्छ—अर्थात्, एउटै सारका हुनुहुन्छ—भन्ने तथ्यको बाबजुद, उहाँहरूको देहका बाहिरी आवरणहरूमा पूर्ण समानता केही पनि छैन। उहाँहरूको साझा कुरा भनेको एउटै मानवता मात्रै हो, तर उहाँहरूको देहको बाहिरी रूप र उहाँहरूको जन्मको परिस्थितिको कुरा गर्नुपर्दा, उहाँहरू उस्तै हुनुहुन्न। यी कुराहरूले उहाँहरूको सम्बन्धित काममा वा उहाँहरूबारे मानिसको ज्ञानमा कुनै प्रभाव पार्दैनन्, किनभने, अन्तिम विश्लेषणमा, उहाँहरू एउटै आत्माका हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैन। उहाँहरूबीच रगतको सम्बन्ध नभए पनि, उहाँहरूको सम्पूर्ण सत्त्व उहाँहरूको आत्माको नियन्त्रणमा हुन्छ, जसले उहाँहरूलाई फरक-फरक कालखण्डमा फरक-फरक काम गर्न सक्षम बनाउँछ, र उहाँहरूका देहहरू फरक-फरक रगतका हुन्। उदाहरणका लागि, यहोवाको आत्मा येशूका आत्माका पिता हुनुहुन्न, र येशूका आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्न: उहाँहरू एउटै र उही आत्माका हुनुहुन्छ। त्यसै गरी, आजका देहधारी परमेश्वर र येशूबीच रगतको सम्बन्ध छैन, तर उहाँहरू एक हुनुहुन्छ—किनभने उहाँहरूको आत्मा एक हुनुहुन्छ। परमेश्वर कृपा र प्रेमपूर्ण दयाको काम, साथै मानिसको धर्मी न्याय र सजायको काम, र मानिसमाथि श्राप ल्याउने काम गर्न सक्नुहुन्छ; र अन्त्यमा, उहाँ संसारलाई नष्ट गर्ने र दुष्टहरूलाई दण्ड दिने काम गर्न सक्नुहुन्छ। के उहाँ यी सबै आफैले गर्नुहुन्न र? के यो परमेश्वरको सर्वशक्तिमान्ता होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्
परमेश्वर पवित्र आत्मा, आत्मा, सात गुणा तीव्र आत्मा वा सबै कुरालाई समेट्ने आत्मा मात्र हुनुहुन्न, मानव पनि हुनुहुन्छ—साधारण मानव, अत्यन्तै आम मानव पनि हुनुहुन्छ। उहाँ पुरुष मात्र होइन, स्त्री पनि हुनुहुन्छ। उहाँहरू उस्तै हुनुहुन्छ किनकि उहाँहरू दुवै मानिसबाट जन्मनुभएको हो, फरक के छ भने एक जना पवित्र आत्माद्वारा गर्भमा आउनुभयो भने अर्कोचाहिँ मानवबाट जन्मिनुभयो, तथापि उहाँ आत्माद्वारा सीधै आउनुभएको हो। परमेश्वरका दुवै देहधारी देहले परमेश्वर पिताको काम लिनुभएकाले भन्ने तथ्यमा उहाँहरू उस्तै हुनुहुन्छ, र एक जनाले छुटकाराको काम गर्नुभयो जबकि अर्कोले विजयको काम गर्नुहुन्छ त्यसैले फरक हुनुहुन्छ। दुवैले परमेश्वर पिताको प्रतिनिधित्व गर्नुहुन्छ, तर एक प्रेमिलो-दयालुपन र कृपाले भरिएको उद्धारक हुनुहुन्छ भने अर्कोचाहिँ क्रोध र न्यायले भरपूर धार्मिकताका परमेश्वर हुनुहुन्छ। एक जना छुटकाराको काम सुरुवात गर्ने सर्वोच्च सेनापति हुनुहुन्छ, जबकि अर्कोचाहिँ विजयको काम पूरा गर्ने धर्मी परमेश्वर हुनुहुन्छ। एक जना सुरु हुनुहुन्छ भने अर्को अन्त्य। एक जना पापरहितको शरीर हुनुहुन्छ भने अर्को छुटकाराको कामलाई पूरा गर्ने, कामलाई जारी राख्ने र कहिले पनि पाप नगर्ने शरीर हुनुहुन्छ। दुबै छुट्टाछुट्टै शरीरमा बास गर्ने, छुट्टै ठाउँमा जन्म लिनुभएका र हजारौँ वर्षको अन्तरमा आउनुभएका एउटै आत्मा हुनुहुन्छ। यद्यपि उहाँहरूको काम एक-अर्कामा परिपूरक छ, कुनै द्वन्द्व नभएको र एउटै सासमा भन्न सकिने किसिमको छ। दुवै मानिसहरू हुनुहुन्छ तर एउटाचाहिँ छोरा र अर्कोचाहिँ शिशु छोरी हुनुहुन्थ्यो। यतिका वर्षसम्म, मानिसहरूले आत्मा र मानिस, पुरुषलाई मात्र होइन, तर मानव धारणाहरूसँग मेल नखाने धेरै कुराहरू पनि देखेका छन्, यसरी, मानिसहरूले मलाई कहिले पनि पूर्ण रूपमा बुझ्न सक्दैनन्, र तिनीहरू म अस्तित्वमा वास्तवमै भएजस्तो, तैपनि म मिथ्या सपना भएजस्तो सधैँ मलाई आधा विश्वास गर्छन् र आधा शङ्का गर्छन्, त्यसकारण, आजको दिनसम्म, मानिसहरूले परमेश्वर के हुनुहुन्छ भनेर अझै जान्दैनन्। के तँ एउटा सामान्य वाक्यमा मेरो सारांश साँच्चै निकाल्न सक्छस्? के तँ साँच्चै, “येशू नै परमेश्वर हुनुहुन्छ, र परमेश्वर नै येशू हुनुहुन्छ” भन्ने हिम्मत गर्न सक्छस्? के तँ साँच्चै “परमेश्वर नै आत्मा हुनुहुन्छ र आत्मा नै परमेश्वर हुनुहुन्छ” भन्ने हिम्मत गर्छस्? के तँ “परमेश्वर देहको भेषमा आउनुभएको मानव मात्र हुनुहुन्छ” भन्ने हिम्मत गर्न सक्छस्? के तँमा साँच्चै “येशूको स्वरूप परमेश्वरको महान् स्वरूप हो” भन्ने हिम्मत छ? परमेश्वरको स्वभाव र स्वरूपलाई पूर्ण रूपमा व्याख्या गर्नका निम्ति के तँ आफ्नो साहित्यिक क्षमता प्रयोग गर्न सक्छस्? के तँ “परमेश्वरले आफ्नो स्वरूपमा पुरुषलाई मात्र बनाउनुभयो, महिलालाई होइन” भन्ने हिम्मत गर्न सक्छस्? यदि तैँले यसो भनिस् भने कुनै पनि महिला मैले चुनिएका भित्र पर्दैनन्, महिलाहरू मानवजातिको एक वर्ग हुनु त परै जाओस्। अब परमेश्वर के हुनुहुन्छ भन्ने कुरा तँ साँच्चै जान्दछस्? के परमेश्वर मानव हुनुहुन्छ? के परमेश्वर आत्मा हुनुहुन्छ? के परमेश्वर साँच्चै पुरुष हुनुहुन्छ? के मैले गर्न लागेको काम येशूले मात्र पूरा गर्न सक्नुहुन्छ? यदि मेरो सारको सारांश निकाल्न माथिका मध्ये कुनै एउटाको मात्रै छनौट गर्छस् भने, तँ अत्यन्तै अज्ञानी बफादार भक्त होस्। यदि मैले एक पटक मात्र देहधारणको काम गरेँ भने, के तिमीहरू मलाई सीमित गर्नेथियौ? के तैँले मलाई एकै नजरमा पूर्ण रूपमा साँच्चै बुझ्न सक्छस्? तेरा जीवनकालमा तैँले भोगेका कुराहरूकै आधारमा पूर्ण रूपमा साँच्चै मेरो सारांश निकाल्न सक्छस्? यदि मेरा दुवै देहधारणहरूमा मैले एउटै काम गरेको भए, तिमीहरूले मलाई कसरी बुझ्नेथियौ? के तिमीहरू मलाई सधैँका निम्ति क्रूसमा टाँगिदिने थियौ? के परमेश्वर तैँले भनेजस्तो साधारण हुनुहुन्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको बारेमा तेरो बुझाइ के छ?