विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्
सेवाकर्ताहरूको काम विजयको कामको पहिलो चरण थियो। आज विजयको कामको दोस्रो चरण हो। विजयको काममा पनि किन सिद्ध बनाइने कुरा उल्लेख गरिएको छ? यो भविष्यका लागि आधार निर्माण गर्नलाई हो। आज विजयको कामको अन्तिम चरण हो; यसपछि मानवजातिलाई सिद्ध पारिने कार्यको औपचारिक सुरुआत गर्ने महासङ्कष्टको अनुभव गर्ने समय आउनेछ। अहिले मुख्य विषय विजय हो, तर अहिले सिद्धताको प्रक्रियाको पहिलो चरणको समय पनि हो। यो पहिलो चरणमा मानिसहरूको ज्ञान र समर्पणतालाई सिद्ध बनाउनु आवश्यक छ, जसले वास्तवमा विजयको कामका लागि आधार तयार गर्छ। यदि तँलाई सिद्ध पारिनु छ भने, तँ भविष्यको महासङ्कष्टमाझ दृढ भएर खडा रहन सक्नुपर्छ र कामको अर्को चरणलाई फैलाउन तैँले आफ्ना सबै थोक दिनुपर्छ; सिद्ध पारिनुको अर्थ यही हो, र यस्तो समय परमेश्वरले मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गरिने समय पनि हो। आज हामी विजय गरिने बारेमा कुरा गर्दै छौं, जुन सिद्ध पारिने बारेमा कुरा गर्नुजस्तै हो। तर आज गरिने काम भविष्यमा सिद्ध पारिनुको आधार हो; सिद्ध पारिनका लागि, मानिसहरूले कठिन परिस्थितिको अनुभव गर्नैपर्छ, र कठिन परिस्थितिको यो अनुभवको आधार जितिने कार्यमा हुनुपर्छ। यदि मानिसहरूमा आजको जग छैन भने—यदि तिनीहरू पूर्ण रूपमा जितिएका छैनन् भने—कामको अर्को चरणमा तिनीहरूलाई दृढ भएर खडा हुन गाह्रो हुनेछ। जितिनु मात्रै अन्तिम लक्ष्य होइन। यो त शैतानको अगाडि परमेश्वरको गवाही दिने एउटा चरण मात्र हो। सिद्ध पारिनुचाहिँ अन्तिम लक्ष्य हो, र यदि तँलाई सिद्ध पारिएन भने, तँ नष्ट हुनेछस्। भविष्यमा कठिनाइको सामना गर्नुपर्दा मात्र तेरो वास्तविक कद देखिनेछ; भन्नुको अर्थ, तब मात्र परमेश्वरप्रतिको तेरो प्रेमको शुद्धताको स्तर स्पष्ट हुनेछ। आज मानिसहरूले भन्ने गरेको कुरा यो हो: “परमेश्वरले जेसुकै गर्नुभए पनि हामी उहाँमा समर्पित हुनु नै पर्छ। त्यसैले हामी प्रतिभार हुन इच्छुक छौं जसले परमेश्वरको महान् शक्ति र परमेश्वरको स्वभावको प्रकट गर्न सक्छ। परमेश्वर हामीप्रति दयालु हुनुभए पनि वा उहाँले हामीलाई सराप दिनुभए पनि, वा उहाँले हाम्रो न्याय गर्नुभए पनि, हामी अझै पनि परमेश्वरप्रति कृतज्ञ छौं।” तैँले यसो भन्नुले तँमा केही मात्रामा ज्ञान छ भन्ने मात्र देखाउँछ, तर यस्तो ज्ञान वास्तविकतामा प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा यो ज्ञान वास्तविक हो कि होइन भन्ने कुरामा निर्भर हुन्छ। आज मानिसहरूमा त्यस्तो अन्तर्दृष्टि र ज्ञान हुनु भनेको विजयको कामको प्रभाव हो। तँ सिद्ध पारिन सक्छस् कि सक्दैनस् भन्ने कुरा कठिनाइको सामना गर्नुपर्दा मात्र देख्न सकिन्छ, र त्यस बेला तैँले आफ्नो हृदयबाट परमेश्वरलाई साँच्चै प्रेम गर्छस् कि गर्दैनस् भन्ने कुरा देखिनेछ। यदि तेरो प्रेम साँच्चै शुद्ध छ भने, तैँले यसो भन्नेछस्: “हामी प्रतिभार हौं, हामी परमेश्वरका हातका सृष्टि गरिएका प्राणीहरू हौं।” जब तैँले अन्यजाति राष्ट्रहरूमा सुसमाचार फैलाउँछस्, तब तैँले भन्नेछस्, “म सेवा मात्रै गर्दै छु। हामीभित्रको भ्रष्ट स्वभावहरू प्रयोग गरेर परमेश्वरले हामीलाई उहाँको धर्मी स्वभाव देखाउन यी सबै कुरा भन्नुभएको छ; यदि उहाँले त्यस्ता कुराहरू नभन्नुभएको भए, हामी परमेश्वरलाई देख्न सक्नेथिएनौं, उहाँको बुद्धि बुझ्न सक्नेथिएनौं, न त त्यति महान् मुक्ति र त्यति महान् आशिष् पाउन नै सक्नेथियौं।” यदि तँसँग साँच्चै यो व्यावहारिक ज्ञान छ भने, त्यो पर्याप्त छ। तर तैँले आज भन्ने धेरैजसो कुरामा कुनै ज्ञान छैन, र त्यो नारा मात्र हो: “हामी प्रतिभार र सेवाकर्ताहरू हौं; हामी जितिन र परमेश्वरका निम्ति गहन गवाही दिन चाहन्छौं।” चिच्याएर मात्र त्यसको अर्थ तँसँग वास्तविकता छ भन्ने हुँदैन, न त यसले तँसँग कद छ भनी प्रमाणित नै गर्छ; तँसित वास्तविक ज्ञान हुनुपर्छ, र तेरो ज्ञानलाई जाँच गरिनुपर्छ।
परमेश्वरले यो समय अवधिमा व्यक्त गर्नुभएका यी वाणीहरूलाई तैँले अझै धेरै पढ्नुपर्छ र तेरा कार्यहरूलाई तुलना गरी हेर्नुपर्छ: तँ पूर्ण रूपमै एक प्रतिभार होस् भन्ने कुरा एक निरपेक्ष तथ्य हो! आज तेरो ज्ञानको हद कति छ? तेरा उपायहरू, तेरा विचारहरू, तेरा व्यवहार, तेरा बोलीवचन र कामहरू—के यी सबै अभिव्यक्तिहरू परमेश्वरको धार्मिकता र पवित्रताका निम्ति प्रतिभार होइनन् र? के तिमीहरूका अभिव्यक्तिहरू परमेश्वरका वचनहरूद्वारा खुलासा गरिएको भ्रष्ट स्वभावका प्रकटीकरणहरू होइनन् र? तेरा सोचाइ र विचारहरू, तेरा प्रेरणाहरू र तँमा प्रकट भएको भ्रष्टताले परमेश्वरको धर्मी स्वभावका साथै उहाँको पवित्रतालाई देखाउँछ। परमेश्वर पनि फोहोरको देशमा जन्मिनुभएको थियो, तर उहाँ फोहोरद्वारा कलङ्कित हुनुभएको छैन। उहाँ तँजस्तै त्यही फोहोरी संसारमा बस्नुहुन्छ, तर उहाँमा विवेक र समझ छ, र उहाँले फोहोरलाई घृणा गर्नुहुन्छ। तैँले आफ्नो बोलीवचन र काममा रहेको कुनै फोहोर फेला पार्न सक्दैनस्, तर उहाँले फेला पार्न सक्नुहुन्छ र उहाँले तँलाई ती कुराहरू देखाइदिनुहुन्छ। तेरा ती पुराना कुराहरू—तेरो विकास, समझ र ज्ञानमा रहेको कमी, र तेरो पछौटे जीवनशैली—ती सबैलाई आजको प्रकाशले ज्योतिमा ल्याएको छ; परमेश्वर यसरी काम गर्न पृथ्वीमा आउनुभयो भने मात्रै मानिसहरूले उहाँको पवित्रता र धर्मी स्वभावलाई देख्छन्। उहाँले तेरो न्याय गर्नुहुन्छ र तँलाई सजाय दिनुहुन्छ, जसले गर्दा तैँले समझ प्राप्त गर्छस्; कहिलेकहीँ, तेरो दुष्ट प्रकृति प्रकट हुन्छ र उहाँले त्यो तँलाई देखाइदिनुहुन्छ। उहाँले आफ्नो हत्केलालाई जस्तै मानिसको सारको बारेमा पनि जान्नुहुन्छ। उहाँ तिमीहरूको माझमा जिउनुहुन्छ, उहाँले तैँले खानेजस्तै भोजन खानुहुन्छ र उहाँ उही वातावरणमा बस्नुहुन्छ—तैपनि, उहाँले धेरै कुरा जान्नुहुन्छ; उहाँले तँलाई खुलासा गर्न सक्नुहुन्छ र मानवताको भ्रष्ट सारलाई देख्न सक्नुहुन्छ। उहाँले सांसारिक कुराहरूसँग सम्बन्धित मानिसका दर्शनहरू र कुटिलता र छलीपनलाई भन्दा बढी अरू कुनै कुरालाई तिरस्कार गर्नुहुन्न। खास गरी उहाँले मानिसहरूका दैहिक अन्तरक्रियाहरूलाई घृणा गर्नुहुन्छ। उहाँ सांसारिक कुराहरूप्रतिको मानिसका दर्शनहरूसित परिचित नहनुहोला, तर मानिसहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई उहाँले स्पष्ट रूपमा देख्न र पर्दाफास गर्न सक्नुहुन्छ। उहाँले यी कुराहरूका माध्यमबाट मानिससँग बोल्न र उसलाई सिकाउनका लागि काम गर्नुहुन्छ, उहाँले यी कुराहरू मानिसहरूको न्याय गर्न र उहाँको आफ्नै धर्मी र पवित्र स्वभाव प्रकट गर्न प्रयोग गर्नुहुन्छ। यसरी मानिसहरू उहाँको कामका निम्ति प्रतिभारहरू बन्छन्। केवल देहधारी परमेश्वरले मात्र मानिसको भ्रष्ट स्वभाव र शैतानका सबै कुरूप अनुहारहरूलाई स्पष्ट पार्न सक्नुहुन्छ। उहाँले तँलाई दण्ड नदिनुभए पनि, र तँलाई उहाँको धार्मिकता र पवित्रताका लागि प्रतिभारको रूपमा मात्र प्रयोग गर्नुभए पनि, तैँले लज्जित महसुस गर्छस् र लुक्ने कुनै ठाउँ पाउँदैनस्, किनकि तँ अति नै फोहोरी छस्। उहाँले मानिसमा प्रकट भएका ती कुराहरू प्रयोग गरेर बोल्नुहुन्छ, र जब यी कुराहरू प्रकाशमा ल्याइन्छन् तब मात्र मानिसहरूले परमेश्वर कतिसम्म पवित्र हुनुहुन्छ भनी जान्दछन्। उहाँले मानिसहरूमा भएको थोरै अपवित्रतालाई समेत बेवास्ता गर्नुहुन्न, चाहे ती तिनीहरूको हृदयमा भएका फोहोरी विचारहरू नै किन नहोऊन्; यदि मानिसहरूका बोलीवचन र कामहरू उहाँका अभिप्रायहरूसँग मिल्दैनन् भने, उहाँले तिनीहरूलाई क्षमा गर्नुहुन्न। उहाँका वचनहरूमा, मानिस वा अरू कुनै कुराको फोहोरको निम्ति कुनै ठाउँ छैन—यो सबैलाई प्रकाशमा ल्याइनुपर्छ। तब मात्र तैँले उहाँ साँच्चै मानिसजस्तो हुनुहुन्न भनी देख्नेछस्। यदि मानिसहरूमा थोरै मात्र पनि फोहोर छ भने, उहाँले तिनीहरूलाई पूर्ण रूपमा घृणा गर्नुहुन्छ। कहिलेकहीँ यस्ता समयहरू पनि हुन्छन् जब मानिसहरूले बुझ्न सक्दैनन् र भन्छन्, “परमेश्वर, तपाईं किन त्यति धेरै रिसाउनुहुन्छ? तपाईं किन मानिसका कमजोरीहरूबारे विचार गर्नुहुन्न? तपाईं किन मानिसहरूप्रति थोरै क्षमाशील हुन सक्नुहुन्न? तपाईं किन मानिसको बारेमा ख्याल गर्ने गर्नुहुन्न? मानिसहरू कुन हदसम्म भ्रष्ट छन् भन्नेबारेमा तपाईंलाई स्पष्टसँग थाहा छ, तैपनि तपाईं किन अझै उनीहरूसँग यस्तो व्यवहार गर्नुहुन्छ?” उहाँले पापलाई घृणा गर्नुहुन्छ, त्यसप्रति उहाँले यसलाई तिरस्कार गर्नुहुन्छ, र तँमा विद्रोहीपनको थोरै मात्र लक्षण छ भने पनि उहाँले विशेष रूपमा घृणा गर्नुहुन्छ। तैँले विद्रोही स्वभाव प्रकट गर्दा, उहाँले त्यो देख्नुहुन्छ र अत्यन्तै घिनाउनुहुन्छ—असाधारण तिरस्कारको साथ घृणा गर्नुहुन्छ। यिनै कुराहरूद्वारा उहाँको स्वभाव र परमेश्वर के हुनुहुन्छ भन्ने कुरा प्रकट हुन्छन्। जब तैँले आफैलाई तुलना गर्छस्, तब तैँले देख्छस् कि उहाँले मानिसले खाने खाना नै खानुभए पनि, उनीहरूको जस्तै लुगाफाटा लगाउनुभए पनि, तिनीहरू रमाउने कुराहरूमै रमाउनुभए पनि र तिनीहरूसँगै जिउनु र बस्नुभए पनि, उहाँ मानिसजस्तो हुनुहुन्न। के यो प्रतिभारको महत्त्व होइन? मानवका यिनै कुराहरूमार्फत परमेश्वरको शक्ति दर्साइन्छ; अन्धकारमार्फत ज्योतिको अनमोल अस्तित्व प्रस्ट पारिन्छ।
अवश्य नै, परमेश्वरले तिमीहरूलाई यसैको खातिर मात्र प्रतिभार बनाउनुहुन्न। बरु, जब यो कामले फल फलाउँछ तब मात्र मानिसको विद्रोह परमेश्वरको धर्मी स्वभावका लागि एउटा प्रतिभार हो भन्ने स्पष्ट हुन्छ, र तिमीहरू प्रतिभार भएकाले मात्र तिमीहरूसित परमेश्वरको धर्मी स्वभावको प्राकृतिक अभिव्यक्ति चिन्ने मौका हुन्छ। तिमीहरूको विद्रोहको कारण तिमीहरूलाई न्याय र सजाय गरिन्छ, तर तिमीहरूको विद्रोहले नै तिमीहरूलाई प्रतिभार पनि बनाउँछ, र तिमीहरूले तिमीहरूको विद्रोहको कारण नै परमेश्वरले तिमीहरूलाई प्रदान गर्नुहुने ठूलो अनुग्रह प्राप्त गर्छौ। तिमीहरूको विद्रोह परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धिको प्रतिभार हो र तिमीहरूको विद्रोहको कारणले नै तिमीहरूले यति ठूलो मुक्ति र आशिष् प्राप्त गरेका छौ। तिमीहरूलाई बारम्बार मैले न्याय गरेको भए पनि, मानिसले पहिले कहिल्यै नपाएको ठूलो मुक्ति तिमीहरूले पाएका छौ। यो काम तिमीहरूका लागि अत्यन्त महत्त्वपूर्ण छ। “प्रतिभार” हुनु पनि तिमीहरूका लागि अत्यन्तै मूल्यवान् कुरा हो: तिमीहरू प्रतिभार भएकाले, तिमीहरूको उद्धार भयो र तिमीहरूले मुक्तिको अनुग्रह प्राप्त गऱ्यौ, त्यसैले के प्रतिभार अत्यन्त मूल्यवान् छैन र? के यो ठूलो महत्त्वको कुरा होइन र? तिमीहरू परमेश्वर बस्नुभएकै क्षेत्रमा, त्यही फोहोरी देशमा बस्छौ, यसैले तिमीहरू प्रतिभार हौ र तिमीहरूले सबैभन्दा ठूलो मुक्ति प्राप्त गर्छौ। यदि परमेश्वर देह नबन्नुभएको भए, तिमीहरू जस्तो तुच्छ मानिसहरूप्रति को दयालु हुन्थ्यो होला र कसले तिमीहरूजस्तो नीच मानिसहरूलाई हेरचाह गर्थ्यो होला? कसले तिमीहरूलाई वास्ता गर्थ्यो होला? यदि परमेश्वर तिमीहरूमाझ काम गर्न देह नबन्नुभएको भए तिमीहरूले तिमीहरूभन्दा पहिलेका मानिसहरूले कहिल्यै नपाएको यो मुक्ति कहिले पाउनेथियौ? यदि म तिमीहरूको हेरचाह गर्न, तिमीहरूका पापहरूको न्याय गर्न देह नबनेको भए, के तिमीहरू धेरै अघि नै पातालमा पर्नेथिएनौ र? यदि म देह नबनेको भए र तिमीहरूको माझमा मैले आफैलाई नम्र नबनाएको भए, तिमीहरू परमेश्वरको धर्मी स्वभावको एक प्रतिभार कसरी हुन सक्थ्यौ र? के मैले मानिसको रूप धारण गरेकोले र तिमीहरूलाई महान् मुक्ति प्राप्त गर्न सक्षम बनाउन म तिमीहरूमाझ आएकोले नै तिमीहरू प्रतिभार भएका होइनौ र? के म देह बनेकोले नै तिमीहरूले यो मुक्ति प्राप्त गरेका होइनौ र? यदि परमेश्वर तिमीहरूसँग बस्नका लागि देह नबन्नुभएको भए, के तिमीहरूले अझै पनि मानव नरकमा कुकुर र सुँगुरभन्दा तुच्छ जीवन जिउँदैछौ भनी थाहा पाउनेथियौ? के तिमीहरू देहको मेरो कामको प्रतिभार भएकोले नै तिमीहरूलाई सजाय र न्याय गरिएको छैन र? तिमीहरूका निम्ति प्रतिभारको कामभन्दा उपयुक्त अर्को काम छैन, किनकि तिमीहरू प्रतिभार भएकाले नै तिमीहरूलाई न्यायको माझमा मुक्ति दिइएको छ। के तिमीहरूलाई तिमीहरू प्रतिभारको रूपमा काम गर्न योग्य हुनु तिमीहरूको जीवनको आशिष् हो जस्तो लाग्दैन? तिमीहरूले केवल प्रतिभारको काम गर्छौ, तैपनि तिमीहरूले यस्तो मुक्ति प्राप्त गर्छौ, जुन तिमीहरूले पहिले कहिल्यै न त पाएका न त कल्पना गरेका थियौ। आज, तिमीहरूको कर्तव्य एक प्रतिभार हुनु हो र तिमीहरूले पाउने इनामचाहिँ भविष्यमा पाउने अनन्तका आशिष्हरू हुन्। तिमीहरूले पाएको मुक्ति आजको दिनको कुनै क्षणिक अन्तर्ज्ञान वा बितेर जाने ज्ञानको केही भाग मात्र होइन, यो त ठूलो आशिष् अर्थात् जीवनको अनन्त निरन्तरता हो। मैले तिमीहरूलाई जित्न “प्रतिभार” प्रयोग गरेको भए पनि, तिमीहरूले बुझ्नुपर्छ कि यो मुक्ति र आशिष् तिमीहरूलाई प्राप्त गर्नका लागि दिइएको हो; यो विजयको लागि हो, र यो तिमीहरूलाई मैले अझ राम्ररी मुक्ति दिऊँ भनेर पनि हो। “प्रतिभार” तथ्य हो, तर तिमीहरू प्रतिभार हुनुको कारण तिमीहरूको विद्रोहीपन हो र यही कारणले गर्दा नै तिमीहरूले ती आशिष्हरू प्राप्त गरेका छौ, जुन अरू कसैले कहिल्यै प्राप्त गरेको छैन। आज तिमीहरूलाई हेर्न र सुन्न लगाइएको छ; भोलि तिमीहरूले प्राप्त गर्नेछौ, र त्योभन्दा पनि बढी, तिमीहरू ठूलो रूपमा आशिषित हुनेछौ। यसैले, के प्रतिभारहरू ठूलो मूल्यका छैनन् र? आजको विजयको कामका प्रभावहरूलाई प्रतिभारको रूपमा काम गर्ने तिमीहरूका विद्रोही स्वभावहरूद्वारा प्राप्त गरिन्छ। भन्नुको मतलब, सजाय र न्यायको दोस्रो घटनाको चरमोत्कर्ष भनेको तिमीहरूको फोहोर र विद्रोहलाई एक प्रतिभारको रूपमा प्रयोग गर्नु हो, जसले तिमीहरूलाई परमेश्वरको धर्मी स्वभाव देखाउँछ। जब तिमीहरूले न्याय र सजायको दोस्रो घटनामा आफैलाई फेरि समर्पित तुल्याउँछौ, तब परमेश्वरको धर्मी स्वभावको सम्पूर्णता तिमीहरूलाई खुल्लमखुल्ला प्रकट गरिन्छ। भन्नुको अर्थ, जब तिमीहरूले विजयको कामलाई स्वीकार गर्ने कार्य समाप्त हुन्छ, त्यसै बेला तिमीहरूले प्रतिभारको कर्तव्य पूरा गर्ने काम पनि समाप्त हुन्छ। तिमीहरूलाई नाम दिने मेरो उद्देश्य होइन। बरु, म विजयको कामको पहिलो घटनालाई पूरा गर्न परमेश्वरको धर्मी र उल्लङ्घन गर्न नसकिने स्वभाव प्रकट गर्दै तिमीहरूको सेवा-कर्ताहरूको भूमिकालाई प्रयोग गर्दै छु। तिमीहरूका तुलनात्मक कुराद्वारा, प्रतिभारको रूपमा काम गर्ने तिमीहरूका विद्रोहीपनद्वारा विजयको कामको दोस्रो घटनाका प्रभावहरू हासिल हुन्छन्, र यसरी परमेश्वरको धर्मी स्वभाव सम्पूर्ण रूपमा तिमीहरूलाई देखाइन्छ, जसलाई पहिलो घटनामा पूर्ण रूपमा प्रकट गरिएको थिएन र तिमीहरूलाई परमेश्वरको धर्मी स्वभाव, उहाँ जे हुनुहुन्छ त्यो सबै सम्पूर्ण रूपमा देखाइन्छ, जसमा उहाँको कामको बुद्धि, आश्चर्य र निष्कलङ्क पवित्रता सामेल छन्। यस्तो कार्यको प्रभाव विभिन्न अवधिमा गरिएका विजयद्वारा र विभिन्न हदका न्यायद्वारा हासिल गरिन्छ। न्याय जति चरमोत्कर्षको नजिक पुग्छ, त्यति नै बढी त्यसले मानिसहरूको विद्रोही स्वभाव प्रकट गर्छ, र विजय पनि उत्ति नै बढी प्रभावकारी हुन्छ। विजयको यो कामको अवधिमा परमेश्वरको सम्पूर्ण धर्मी स्वभावलाई स्पष्ट पारिन्छ। विजयको कामलाई दुई चरणमा विभाजन गरिएको छ, र यसका फरकफरक चरण र हदहरू छन्, र अवश्य नै, हासिल गरिने प्रभावहरू पनि फरकफरक नै छन्। भन्नुको अर्थ, मानिसहरूको समर्पणको हद अझै गहन बनेको छ। यसपछि मात्र मानिसहरूलाई सिद्धताको सही मार्गमा पूर्ण रूपमा ल्याइन्छ; विजयका सबै काम पूरा भएपछि मात्र (जब दोस्रोपटकको न्यायले अन्तिम प्रभाव हासिल गरेको हुन्छ) मानिसहरूको न्याय गरिँदैन, बरु जीवनको अनुभव गर्ने सही मार्गमा प्रवेश गर्न दिइन्छ। किनकि न्याय विजयको एक प्रतिनिधित्व हो, र विजयले न्याय र सजायको रूप लिन्छ।
सबैभन्दा पिछडिएको र फोहोरी ठाउँमा देहधारण गरेर मात्रपरमेश्वरले आफ्नो पवित्र र धर्मी स्वभाव सम्पूर्ण रूपमा प्रकट गर्न सक्नुहुन्छ। अनि उहाँको धर्मी स्वभाव केमार्फत प्रकट हुन्छ? यो उहाँले मानिसका पापहरूको न्याय गर्दा, उहाँले शैतानको न्याय गर्दा, उहाँले पापलाई तिरस्कार गर्दा, र उहाँको प्रतिरोध गर्ने र उहाँविरुद्ध विद्रोह गर्ने शत्रुहरूलाई उहाँले घृणा गर्दा त्यसमार्फत प्रकट हुन्छ। आज म जे वचनहरू बोल्छु ती मानिसका पापहरूको न्याय गर्न, मानिसको अधार्मिकताको न्याय गर्न, साथै मानिसको विद्रोहीपन अनि मानिसको कुटिलपन र छलीपनलाई श्राप दिनका लागि हुन्। मानिसका बोलीवचन र कार्यहरूमा परमेश्वरका अभिप्रायहरूअनुरूप नभएका सबै कुराको न्याय गरिनुपर्छ, र मानिसको सबै विद्रोहीपनलाई पापको रूपमा चित्रण गरिन्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूमा केन्द्रित हुन्छन्; उहाँ आफ्नो धर्मी स्वभाव प्रकट गर्न मानिसको अधार्मिकताको न्याय, मानिसको विद्रोहीपनको श्राप, र मानिसका सबै कुरूप मुहारहरूको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता उहाँको धर्मी स्वभावको प्रतिनिधित्व हो, र वास्तवमा उहाँको पवित्रता नै उहाँको धर्मी स्वभाव हो। तिमीहरूका भ्रष्ट स्वभावहरू नै आजका वचनहरूको प्रसङ्ग हुन्—म तिनकै आधारमा बोल्छु, न्याय गर्छु, र विजयको काम गर्छु। यो मात्रै व्यावहारिक काम हो, र यसरी मात्र परमेश्वरको पवित्रतालाई पूर्ण रूपमा प्रकाण्ड बनाउन सकिन्छ। यदि तँमा भ्रष्ट स्वभावको नामोनिसान नै छैन भने, परमेश्वरले तेरो न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई आफ्नो धर्मी स्वभाव नै देखाउनुहुनेछ। तँसँग भ्रष्ट स्वभावहरू भएकाले, परमेश्वरले तँलाई त्यतिकै छोड्नुहुनेछैन, र यसमार्फत नै उहाँको पवित्रता देखिन्छ। यदि परमेश्वरले मानिसको फोहोरीपन र विद्रोहीपन अत्यन्तै धेरै छ भन्ने देख्नुभयो तर उहाँले बोल्नुभएन वा तेरो न्याय गर्नुभएन, न त तेरो अधार्मिकताका लागि तँलाई सजाय नै दिनुभयो भने, यसले उहाँ परमेश्वर हुनुहुन्न भन्ने प्रमाणित गर्नेथियो, किनभने उहाँमा पापप्रति कुनै घृणा हुनेथिएन; उहाँ मानिसजस्तै फोहोरी हुनुहुनेथियो। आज, तेरो फोहोरको कारणले गर्दा नै म तेरो न्याय गर्छु, र तेरो भ्रष्टता र विद्रोहीपनको कारणले गर्दा नै म तँलाई सजाय दिन्छु। म तिमीहरूलाई मेरो शक्तिको धाक लगाइरहेको वा तिमीहरूलाई जानाजानी दमन गरिरहेको छैनँ; म यी कुराहरू गर्छु किनभने फोहोरको यो भूमिमा जन्मेका तिमीहरू फोहोरद्वारा नराम्ररी दूषित भएका छौ। फोहोरी ठाउँहरूमा बस्ने सुँगुर जस्तै, तिमीहरूले आफ्नो निष्ठा र मानवता गुमाएका छौ। तिमीहरूको फोहोर र भ्रष्टताको कारणले गर्दा नै तिमीहरूको न्याय गरिन्छ र म तिमीहरूमाथि मेरो क्रोध खन्याउँछु। यी वचनहरूको न्यायको कारणले गर्दा नै तिमीहरूले परमेश्वर नै धर्मी परमेश्वर हुनुहुन्छ, र परमेश्वर नै पवित्र परमेश्वर हुनुहुन्छ भनेर देख्न सकेका छौ; उहाँको पवित्रता र उहाँको धार्मिकताको कारणले गर्दा नै उहाँ तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि आफ्नो क्रोध खन्याउनुहुन्छ; उहाँले मानवजातिको विद्रोहीपन देख्नुहुने हुनाले नै उहाँ आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुन्छ। मानवजातिको फोहोर र भ्रष्टताले उहाँको पवित्रतालाई प्रकट गर्छ। उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ, जो पवित्र र निष्खोट हुनुहुन्छ, तैपनि फोहोरको भूमिमा जिउनुहुन्छ भन्ने देखाउन यो नै पर्याप्त छ। यदि कुनै व्यक्ति अरूसँगै हिलोमा लडीबुडी गर्छ, र उसमा पवित्र कुरा केही पनि छैन, र उसमा कुनै धर्मी स्वभाव छैन भने, ऊ मानिसको अधार्मिकताको न्याय गर्न योग्य हुँदैन, न त ऊ मानिसको न्याय गर्न नै योग्य हुन्छ। फोहोरी मानिसहरू आफ्नै प्रकारका मानिसहरूबारे तजबिज गर्न कसरी योग्य हुन सक्छन्? पवित्र परमेश्वर स्वयम्ले मात्रै सम्पूर्ण फोहोरी मानवजातिको न्याय गर्न सक्नुहुन्छ। मानिसले कसरी मानिसका पापहरूको न्याय गर्न सक्छ? मानिसले कसरी मानिसका पापहरू देख्न सक्छ, र मानिसलाई दोषी ठहराउन मानिस कसरी योग्य हुन सक्छ? यदि परमेश्वर मानिसका पापहरूको न्याय गर्न योग्य हुनुहुन्नथ्यो भने, उहाँ कसरी धर्मी परमेश्वर स्वयम् हुन सक्नुहुन्छ? मानिसले भ्रष्ट स्वभावहरू प्रकट गर्ने हुनाले नै परमेश्वर उसलाई न्याय गर्नका निम्ति बोल्नुहुन्छ, र त्यसपछि मात्र मानिसले उहाँ पवित्र परमेश्वर हुनुहुन्छ भन्ने कुरा देख्न सक्छ। परमेश्वरले मानिसका पापहरूका लागि उसको न्याय गर्नुहुन्छ र उसलाई सजाय दिनुहुन्छ, र यी पापहरू खुलासा गर्नुहुन्छ। यो न्यायबाट कुनै पनि व्यक्ति वा वस्तु उम्कन सक्दैन। फोहोरी भएका सबै कुराको उहाँद्वारा न्याय गरिन्छ। यसरी मात्र परमेश्वरको स्वभाव धर्मी भएको भनी प्रकट हुन्छ। यदि त्यसो नभएको भए, तिमीहरू नाम र वास्तविकता दुवैमा प्रतिभार हौ भनेर कसरी भन्न सकिन्थ्यो र?
इस्राएलमा गरिएको काम र आजको कामबीच ठूलो भिन्नता छ। यहोवाले इस्राएलीहरूको जीवनलाई मार्गदर्शन गर्नुभयो, र त्यहाँ त्यति धेरै सजाय र न्याय थिएन, किनभने त्यस समयमा, मानिसहरूले संसारबारे अत्यन्तै कम बुझेका थिए र तिनीहरूमा थोरै मात्र भ्रष्ट स्वभावहरू थिए। त्यस बेला, इस्राएलीहरू यहोवाप्रति पूर्ण रूपमा समर्पित हुन्थे। जब उहाँले तिनीहरूलाई वेदीहरू निर्माण गर्न भन्नुभयो, तिनीहरूले तुरुन्तै वेदीहरू निर्माण गरे; जब उहाँले तिनीहरूलाई पूजाहारीका पोसाकहरू लगाउन भन्नुभयो, तिनीहरू समर्पित भए। ती दिनहरूमा, यहोवा भेडाको बगालको हेरचाह गर्ने गोठालोजस्तै हुनुहुन्थ्यो, अनि भेडाहरूले गोठालोको मार्गदर्शन पछ्याउँथे र खर्कमा घाँस खान्थे; यहोवाले तिनीहरूको जीवनलाई मार्गदर्शन गर्नुभयो, तिनीहरूले कसरी खाने, लगाउने, बस्ने, र यात्रा गर्ने भन्ने कुरामा तिनीहरूलाई अगुवाइ गर्नुभयो। त्यो परमेश्वरको स्वभाव प्रकट गर्ने समय थिएन, किनभने त्यस समयको मानवजाति नवजात थियो; विद्रोही र प्रतिरोधी हुनेहरू थोरै मात्र थिए, मानवजातिमाझ त्यति धेरै फोहोर थिएन, त्यसैले मानिसहरूले परमेश्वरको स्वभावको प्रतिभारका रूपमा काम गर्न सक्दैनथे। फोहोरको भूमिबाट आउने मानिसहरूमार्फत नै परमेश्वरको पवित्रता स्पष्ट पारिन्छ; आज, उहाँ फोहोरको भूमिका यी मानिसहरूद्वारा प्रकट गरिएको फोहोर प्रयोग गर्नुहुन्छ, र उहाँ न्याय गर्नुहुन्छ, यसरी न्यायबीच उहाँ के हुनुहुन्छ भन्ने कुरा प्रकट गर्नुहुन्छ। उहाँ किन न्याय गर्नुहुन्छ? उहाँ न्यायका वचनहरू बोल्न सक्नुहुन्छ किनभने उहाँ पापलाई घृणा गर्नुहुन्छ; यदि उहाँ मानवजातिको विद्रोहीपनलाई घृणा गर्नुहुन्नथ्यो भने उहाँ कसरी त्यति धेरै क्रोधित हुन सक्नुहुन्थ्यो र? यदि उहाँभित्र कुनै घृणा नहुने हो भने, कुनै विकर्षण नहुने हो भने, यदि उहाँ मानिसहरूको विद्रोहीपनलाई वास्ता गर्नुहुन्नथ्यो भने, त्यसले उहाँ मानिसजस्तै फोहोरी हुनुहुन्छ भन्ने प्रमाणित गर्नेथ्यो। उहाँ मानिसको न्याय गर्न र उसलाई सजाय दिन सक्नुहुन्छ किनभने उहाँ फोहोरलाई घृणा गर्नुहुन्छ, र उहाँले घृणा गर्ने कुरा उहाँमा हुँदैन। यदि उहाँमा पनि प्रतिरोध र विद्रोहीपन हुन्थ्यो भने, उहाँले प्रतिरोधी र विद्रोही हुनेहरूलाई घृणा गर्नुहुनेथिएन। यदि आखिरी दिनहरूको काम अझै पनि इस्राएलमा गरिँदै हुन्थ्यो भने, त्यसमा कुनै अर्थ हुनेथिएन। आखिरी दिनहरूको काम सबैभन्दा अन्धकारमय र सबैभन्दा पिछडिएको ठाउँ, चीनमा किन गरिँदै छ? यो उहाँको पवित्रता र धार्मिकता प्रकट गर्नका लागि हो। छोटकरीमा भन्दा, ठाउँ जति अन्धकारमय हुन्छ, परमेश्वरको पवित्रता त्यति नै बढी प्रकट हुन सक्छ। वास्तवमा, यी सबै परमेश्वरको कामका खातिर हुन्। आज मात्रै तिमीहरूले परमेश्वर स्वर्गबाट ओर्लेर तिमीहरूबीच खडा हुनुभएको छ, तिमीहरूको फोहोर र विद्रोहीपनद्वाराप्रकट गरिनुभएको छ भन्ने महसुस गरेका छौ, र अहिले मात्रै तिमीहरूले परमेश्वरलाई चिनेका छौ। के यो सबैभन्दा ठूलो उन्नयन होइन र? वास्तवमा, तिमीहरू चीनमा चुनिएका मानिसहरूको एउटा समूह हौ। अनि तिमीहरू चुनिएका हुनाले र तिमीहरूले परमेश्वरको अनुग्रहको आनन्द लिएका हुनाले, र तिमीहरू यस्तो ठूलो अनुग्रहको आनन्द लिन योग्य नभएका हुनाले, यसले यो सब तिमीहरूलाई गरिएको सर्वोच्च उन्नयन हो भन्ने प्रमाणित गर्छ। परमेश्वर तिमीहरूसामु देखा पर्नुभएको छ, र तिमीहरूलाई उहाँको पवित्र स्वभाव सम्पूर्ण रूपमा प्रकट गर्नुभएको छ, र उहाँले ती सबै तिमीहरूलाई दिनुभएको छ, र तिमीहरूले आनन्द लिन सक्ने सबै आशिष्हरूको आनन्द लिने तुल्याउनुभएको छ। तिमीहरूले परमेश्वरको धर्मी स्वभाव चाखेका मात्रै छैनौ, तर, त्यसभन्दा पनि बढी, तिमीहरूले परमेश्वरको मुक्ति, परमेश्वरको छुटकारा, र परमेश्वरको असीमित, अनन्त प्रेम चाखेका छौ। तिमीहरू, सबैभन्दा फोहोरीहरूले यस्तो ठूलो अनुग्रहको आनन्द लिएका छौ—के तिमीहरू आशिषित छैनौ र? के यो परमेश्वरले तिमीहरूलाई उचाल्नुभएको होइन र? तिमीहरू सबैभन्दा तल्लो हैसियत भएका मानिस हौ; तिमीहरू अन्तर्निहित रूपमै यस्तो ठूलो आशिष्को आनन्द लिन अयोग्य छौ, तैपनि परमेश्वरले अपवादका रूपमा तँलाई उचाल्नुभएको छ। के तँलाई लाज लाग्दैन र? यदि तँ आफ्नो कर्तव्य पूरा गर्न असक्षम छस् भने, अन्ततः तँ आफैदेखि लज्जित हुनेछस्, र तैँले आफैलाई दण्ड दिनेछस्। आज, तँलाई ताडना दिइएको छैन, न त तँलाई दण्ड नै दिइएको छ; तेरो देह सुरक्षित र सकुशल छ—तर अन्ततः यी वचनहरूले तँलाई लज्जित पार्नेछन्। आजसम्म, मैले कसैलाई पनि खुला रूपमा सजाय दिएको छैनँ; मेरा वचनहरू कठोर होलान्, तर म मानिसहरूप्रति कस्तो व्यवहार गर्छु? म तिनीहरूलाई सान्त्वना दिन्छु, र तिनीहरूलाई अर्ती दिन्छु, र तिनीहरूलाई सम्झाउँछु। म तिमीहरूलाई मुक्ति दिनका लागि बाहेक अरू कुनै कारणले यसो गर्दिनँ। के तिमीहरू साँच्चै मेरा अभिप्रायहरू बुझ्दैनौ र? तिमीहरू सबैले म जे भन्छु त्यो बुझ्नुपर्छ, र त्यसबाट उत्प्रेरित हुनुपर्छ। अहिले मात्रै धेरै मानिसले बुझ्छन्: के यो आशिष् ठ्याक्कै प्रतिभार हुनुबाट आउँदैन र? के प्रतिभार हुनु सबैभन्दा आशिषित कुरा होइन र? अन्ततः सुसमाचार प्रचार गर्न जाँदा तिमीहरूले यसो भन्नेछौ: “हामी प्रारुपिक प्रतिभारहरू हौँ।” तिनीहरूले तिमीहरूलाई सोध्नेछन्, “तिमीहरू प्रारुपिक प्रतिभार हौ भन्नुको अर्थ के हो?” अनि तँ भन्नेछस्, “हामी परमेश्वरको काम, र उहाँको महान् शक्तिका प्रतिभार हौँ। परमेश्वरको धर्मी स्वभाव सम्पूर्ण रूपमा हाम्रो विद्रोहीपनद्वारा प्रकाशमा ल्याइन्छ; हामी परमेश्वरको आखिरी दिनहरूको कामको सेवा गर्ने वस्तुहरू हौँ, हामी उहाँको कामका उपाङ्ग हौँ, र यसका औजार पनि हौँ।” त्यो सुनेपछि तिनीहरूमा कौतूहल जाग्नेछ। त्यसपछि, तँ भन्नेछस्, “हामी परमेश्वरद्वारा गरिने सम्पूर्ण ब्रह्माण्डको कामको सम्पन्नताका, र सम्पूर्ण मानवजातिमाथिको उहाँको विजयका नमुना र प्रतिरूप हौँ। हामी पवित्र होऔँ वा फोहोरी होऔँ, समग्रमा, हामी अझै पनि तिमीहरूभन्दा बढी आशिषित छौँ, किनभने हामीले परमेश्वरलाई देखेका छौँ, र उहाँले हामीलाई विजय गर्नुभएको अवसरमार्फत, परमेश्वरको महान् शक्ति देखाइएको छ; हामी फोहोरी र भ्रष्ट भएकाले मात्रै उहाँको धर्मी स्वभाव झल्किएको छ। के तिमीहरू परमेश्वरको आखिरी दिनहरूको कामको यसरी गवाही दिन सक्षम छौ? तिमीहरू योग्य छैनौ! यो परमेश्वरले हामीलाई गर्नुभएको उन्नयनबाहेक अरू केही होइन! हामी अहङ्कारी नभए पनि, हामी गर्वका साथ परमेश्वरको प्रशंसा गर्न सक्छौँ, किनभने कसैले पनि यस्तो ठूलो प्रतिज्ञा प्राप्त गर्न सक्दैन, र कसैले पनि यस्तो ठूलो आशिष्को आनन्द लिन सक्दैन। हामी यति धेरै फोहोरी भएर पनि, परमेश्वरको व्यवस्थापनको दौरान प्रतिभारका रूपमा काम गर्न सकेकोमा हामी साँच्चै कृतज्ञ महसुस गर्छौँ।” अनि जब तिनीहरू सोध्छन्, “नमूना र प्रतिरूपहरू भनेका के हुन्?”, तब तँ भन्छस्, “हामी मानवजातिमध्ये सबैभन्दा विद्रोही र सबैभन्दा फोहोरी हौँ; हामीलाई शैतानद्वारा सबैभन्दा गहन रूपमा भ्रष्ट तुल्याइएको छ, र हामी देहका सबैभन्दा पिछडिएका र नीच हौँ। हामी शैतानद्वारा प्रयोग गरिएकाहरूका गतिला उदाहरण हौँ। आज, हामी परमेश्वरद्वारा मानवजातिमध्ये विजय गरिने पहिलो समूहका रूपमाछानिएका छौँ, र हामीले परमेश्वरको धर्मी स्वभाव देखेका छौँ र उहाँको प्रतिज्ञाको उत्तराधिकार प्राप्त गरेका छौँ; हामीलाई अझ धेरै मानिसलाई विजय गर्न प्रयोग गरिँदै छ, यसरी हामी मानवजातिमध्ये विजय गरिएकाहरूका नमूना र प्रतिरूप हौँ।” यी वचनहरूभन्दा उत्तम गवाही अरू कुनै छैन, र यो तेरो सर्वोत्तम अनुभव हो।