ङ. परमेश्वरलाई पछ्याउनु भनेको के हो र मानिसलाई पछ्याउनु भनेको के हो
बाइबलमा परमेश्वरका वचनहरू
“मेरा भेडाले मेरो सोर सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्ना १०:२७)।
“यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्” (प्रकाश १४:४)।
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
परमेश्वरलाई पछ्याउने कार्यमा प्रमुख महत्त्वको कुरा भनेको सबै कुरा परमेश्वरको आजको वचनअनुसार नै हुनुपर्छ भन्ने हो: तैँले जीवन प्रवेश वा परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्न खोजिरहेको भए तापनि, सबै कुरा परमेश्वरको आजको वचन वरिपरि नै केन्द्रित हुनुपर्छ। यदि तैँले जेबारे सङ्गति गर्छस् र जे कुरामा प्रवेश गर्न खोज्छस् ती परमेश्वरको आजको वचनवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्वरका वचनहरूप्रति अपरिचित छस्, र तँमा पवित्र आत्माको कार्यको पूर्ण अभाव छ। परमेश्वरले चाहनुहुने भनेका उहाँका पाइलाहरूलाई पछ्याउने मानिसहरू नै हुन्। तैँले पहिले बुझेको कुरा जति सुन्दर र शुद्ध भए तापनि, परमेश्वरले त्यो चाहनुहुन्न, र तैँले यस्ता कुराहरूलाई पन्छाउन सक्दैनस् भने, यी कुराहरू भविष्यमा तेरो प्रवेशमा निकै ठूलो वाधा हुनेछन्। पवित्र आत्माको वर्तमान ज्योतिलाई पछ्याउन सक्नेहरू सबै आशिषित हुन्छन्। विगतका युगका मानिसहरूले पनि परमेश्वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष् नै यही हो। पवित्र आत्माको वर्तमान कार्यलाई पछ्याउन सक्ने, र उहाँले तिनीहरूलाई जता डोर्याउनुभए पनि परमेश्वरलाई नै पछ्याउने गरी परमेश्वरका पाइलाहरूलाई पछ्याउन सक्नेहरू—यिनीहरू परमेश्वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू परमेश्वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट भोगाइ जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। आज, परमेश्वरको वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबैजना पवित्र आत्माको प्रवाहमा हुन्छन्; परमेश्वरको आजको वचनप्रति अपरिचित रहनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर हुन्छन्, र त्यस्ता मानिसहरूलाई परमेश्वरले अनुमोदन गर्नुहुन्न। … “पवित्र आत्माको कार्यलाई पछ्याउनु” को अर्थ परमेश्वरको आजका अभिप्रायहरूलाई बुझ्नु, परमेश्वरका वर्तमान मापदण्डहरूअनुसार काम गर्न सक्नु, आजको परमेश्वरमा समर्पित हुन र उहाँलाई पछ्याउन, र परमेश्वरका सबैभन्दा नयाँ वाणीहरूअनुसार प्रवेश गर्न सक्नु भन्ने हुन्छ। पवित्र आत्माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्वरको प्रशंसा प्राप्त गर्न र परमेश्वरलाई देख्न सक्ने मात्रै होइनन्, तिनीहरूले त परमेश्वरको हालैको कामबाट परमेश्वरको स्वभावलाई पनि जान्न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र विद्रोहीपनलाई, अनि मानिसको स्वभाव र सारलाई पनि जान्न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न पनि सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्वरलाई प्राप्त गर्न सक्ने, र यथार्थ रूपमा साँचो मार्ग भेट्टाउन सफल भएका मानिसहरू हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ
यसैले परमेश्वरको कामबारे तेरा धारणा र कल्पनाहरू जति नै धेरै भए पनि, र तैँले पहिले आफ्नै इच्छाअनुसार जसरी व्यवहार गरे पनि र परमेश्वरका विरुद्धमा विद्रोह गरे पनि, यदि तँ साँचो रूपले सत्यताको पछि लाग्छस्, अनि परमेश्वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्छस्, र ती वचनहरूद्वारा काटछाँट गरिन स्वीकार गर्छस् भने, यदि उहाँले योजनाबद्ध रूपमा गर्नुहुने सबै कुरामा तँ परमेश्वरको मार्गलाई पछ्याउन सक्छस् भने, परमेश्वरका वचनहरूप्रति चासो राख्छस् र उहाँका अभिप्रायहरू बुझ्न सिक्छस्, उहाँका वचनहरू र उहाँका चाहनाहरूअनुसार अभ्यास गर्छस्, खोजीद्वारा समर्पण गर्न सक्छस् भने; र यदि तँ आफ्ना सबै इच्छा, चाहना, विचार र अभिप्रायहरू त्याग्न र परमेश्वरसित आमनेसामने नहुन सक्छस् भने—तैँले परमेश्वरलाई पछ्याइरहेको हुन्छस्। तैँले परमेश्वरलाई पछ्याउँछु भन्लास्, तर यदि तैँले सबै काम आफ्नै इच्छा उद्देश्य र योजनाअनुसार मात्र गर्छस्, र यस कुरालाई परमेश्वरका हातमा छोड्दैनस् भने, के परमेश्वर अझै पनि तेरा परमेश्वर हुनुहुन्छ? अहँ, हुनुहुन्न। यदि परमेश्वर तेरा परमेश्वर हुनुहुन्न भने, जब तँ परमेश्वरलाई पछ्याउँछु भनेर भन्छस्, तब के ती खोक्रा शब्दहरू मात्र हुँदैनन् र? के त्यस्ता शब्दहरू मानिसहरूलाई मूर्ख बनाउने प्रयास होइनन्? तँ परमेश्वरलाई पछ्याउँछु भनेर भन्न सक्छस्, तर तेरा सबै व्यवहार र कामहरू, जीवनप्रतिको तेरो दृष्टिकोण र मूल्य-मान्यताहरू, र तैँले कामकुराहरूलाई लिने र सम्हाल्ने आचरण र सिद्धान्तहरू सबै शैतानबाट आउँदछ—यदि तैँले यी सबै कुरालाई पूर्ण रूपले शैतानका व्यवस्था र तर्कअनुसार सम्हाल्छस् भने, के तँ परमेश्वरको अनुयायी होस्? …
… परमेश्वरमाथिको आस्थालाई व्याख्या गर्ने सबैभन्दा सरल तरिका भनेको परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्नु हो, अनि यही जगमा, उहाँलाई पछ्याउनु, उहाँप्रति समर्पित हुनु, उहाँको सार्वभौमिकता, योजनाबद्ध कार्यहरू र प्रबन्धहरूलाई स्वीकार गर्नु, उहाँका वचनहरूलाई चासो दिनु, उहाँका वचनहरूअनुरूप जिउनु, सबै कुरा उहाँका वचनहरूअनुसार गर्नु, सृष्टि गरिएको एक सच्चा प्राणी बन्नु, र उहाँको भय मान्नु र खराबीबाट अलग बस्नु हो; यो मात्र परमेश्वरमाथिको साँचो आस्था हो। परमेश्वरलाई पछ्याउनु भनेको यही हो। यदि तँ परमेश्वरलाई पछ्याउँछु भन्छस्, तर तेरो हृदयमा परमेश्वरका वचनहरूलाई स्वीकार गर्दैनस्, र ती वचनहरूप्रति शङ्कालु मनोवृति कायम राख्छस्, अनि उहाँको सार्वभौमिकता, योजनाबद्ध कार्यहरू, र प्रबन्धहरूलाई स्वीकार गर्दैनस्, र परमेश्वरले गर्ने कार्यबारे तँसित सधैँ धारणा र गलत बुझाइहरू हुन्छन्, र त्यसबारे गुनासो गर्छस् र तँ सधैँ असन्तुष्ट हुन्छस् भने; र उहाँले गर्ने कार्यलाई सधैँ तेरा आफ्नै धारणा र कल्पनाअनुसार नापिरहेको र विचार गरिरहेको हुन्छस् भने; अनि यदि तँसित सधैँ तेरा आफ्नै सोच र बुझाइहरू हुन्छन् भने—त्यसले समस्या निम्त्याउनेछ। त्यो परमेश्वरको काम अनुभव गर्नु होइन, र त्यो साँचो रूपले उहाँलाई पछ्याउने मार्ग हुँदै होइन। यो परमेश्वरप्रतिको आस्था होइन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। धर्ममा विश्वास गरेर वा धार्मिक समारोहमा सहभागी भएर मुक्ति पाउन सकिँदैन
कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा प्रभाव भएका सम्प्रदायहरूको मात्र खोजतलास गर्दछन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यको मार्गलाई स्वीकारेका भए पनि, तिनीहरू अर्ध-विश्वास गर्नेहरू मात्र हुन्; तिनीहरूले आफ्नो सम्पूर्ण मन र मस्तिष्क दिन सक्दैनन्, तिनीहरू मुखले परमेश्वरका निम्ति आफू स्वयम्लाई समर्पण गर्ने बारेमा वचनहरू बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका हृदय ख्याति, भाग्य र वैभवमाथि केन्द्रित हुन्छन्। तिनीहरूले त्यस्तो कमजोर व्यक्तिले त्यति धेरै मानिसहरूलाई जित्न सक्छ, त्यति मामूली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्ने कुरामा प्रश्न उठाउँछन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगन्य मानिसहरू परमेश्वरद्वारा चुनिएका मानिसहरू हुन् भन्ने कुरामा शङ्का गर्छन्। यदि यस्ता मानिसहरू परमेश्वरका मुक्तिका पात्रहरू हुन्थे भने, स्वर्ग र पृथ्वी उलटपुलट हुन्थ्यो र सम्पूर्ण मानिसहरू हाँस्नेथिए भन्ने तिनीहरू विश्वास गर्छन्। यदि परमेश्वरले यस्ता नगन्य व्यक्तिहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्वर स्वयम बन्नेथिए भन्ने तिनीहरू विश्वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्वासले दूषित भएका हुन्छन्; विश्वास नगर्ने भन्दा बढी, तिनीहरू बेवकुफ पशुहरू हुन्। किनकि तिनीहरूले दर्जा, मर्यादा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र मान्यता दिन्छन्। ख्रीष्टले डोर्याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतातर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काएका विश्वासघाती मात्र हुन्।
तैँले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैँले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैँले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै पनि ख्रीष्टको कामलाई पचाउन गाह्रो मान्ने र यसलाई स्विकार्न अनिच्छुक बन्ने मनोवृत्ति राखिरहन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्वासको कमी छ। तैँले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैँले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै डरको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ।
जे भए पनि, म त भन्छु, सत्यलाई मूल्यवान् नठान्नेहरू सबै अविश्वासी र सत्यताका विश्वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको स्वीकृति प्राप्त गर्नेछैनन्। के अब तैँले तँभित्र कति धेरै अविश्वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? तसर्थ म तँलाई उत्साह प्रदान गर्छु: तैँले सत्यको मार्गलाई चुनेको हुनाले, तैँले आफूलाई सम्पूर्ण हृदयले समर्पण गर्नुपर्दछ; अस्पष्ट वा हतोत्साहित नबन्। तैँले यो बुझ्नुपर्छ कि परमेश्वर संसारको स्वामित्वमा हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको स्वामित्वमा नै हुनुहुन्छ, बरु उहाँ त साँचो रूपले उहाँमा विश्वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँतर्फ समर्पित र विश्वासयोग्य हुनेहरू सबैका हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ परमेश्वरको साँचो विश्वासी होस्?
अगुवा वा सेवकको तह जे भए पनि, तिनीहरूले अलिअलि सत्यता बुझेकाले र तिनीहरूसँग अलिकति प्रतिभा भएकाले यदि तिमीहरूले तिनीहरूको आराधना गऱ्यौ, र तिनीहरूसँग सत्यता वास्तविकता छ र तिनीहरूले तिमीहरूलाई मदत गर्न सक्छन् भन्ने विश्वास गर्यौ भने, अनि यदि तिमीहरूले सबै कुरामा तिनीहरूलाई आदर गऱ्यौ र तिनीहरूमा भर पऱ्यौ, र यसमार्फत मुक्ति पाउने प्रयास गऱ्यौ भने, यो तिमीहरूको मूर्खता र अज्ञानता हुनेछ। अन्त्यमा, यसबाट केही प्राप्त हुनेछैन, किनभने तिमीहरूको सुरुवाती विन्दु नै गलत छ। कसैले जतिसुकै सत्यता बुझे पनि, ऊ ख्रीष्टको ठाउँमा उभिन सक्दैन, र कोही जति नै वरदान प्राप्त भए पनि, यसको अर्थ ऊसँग सत्यता छ भन्ने हुँदैन—त्यसैले अरू मानिसलाई आराधना गर्ने, आदर गर्ने र पछ्याउने जोकोहीलाई अन्त्यमा हटाइनेछ र निन्दा गरिनेछ। परमेश्वरमा विश्वास गर्नेहरूले उहाँलाई मात्र आदर गर्न र पछ्याउन सक्छन्। दर्जा जेसुकै भए पनि, अगुवा र सेवकहरू आम मानिस नै हुन्। यदि तैँले तिनीहरूलाई आफूभन्दा ठिक्क माथिको व्यक्तिको रूपमा हेर्छस्, यदि तँलाई तिनीहरू तँभन्दा माथि छन्, तिनीहरू बढी योग्य छन्, र तिनीहरूले तँलाई अगुवाइ गर्नुपर्छ, तिनीहरू सबै कुरामा अरूभन्दा निकै नै उच्च छन् भन्ने लाग्छ भने, तँ गलत छस्—त्यो तेरो भ्रम हो। अनि यो भ्रमले तँमा के-कस्ता परिणामहरू निम्त्याँछन् त? यसले तँलाई थाहै नपाई तेरा अगुवाहरूलाई वास्तविकतासँग नमिल्ने मापदण्डहरूअनुसार मापन गर्ने, र तिनीहरूका समस्या र कमीकमजोरीहरूलाई सही तरिकाले लिन नसक्ने तुल्याउँछ; यसका साथै, तँलाई थाहै नभई, तँ गहन रूपमा तिनीहरूको विशेष गुण, वरदान र प्रतिभाहरूतर्फ तानिन्छस्, यसरी तँलाई थाहा हुनुअगावै, तैँले तिनीहरूको आराधना गरिरहेको हुन्छस्, र तिनीहरू तेरो ईश्वर बन्छन्। तिनीहरू तेरो आदर्श व्यक्ति, तेरो आराधनाको पात्र बन्न सुरु गरेको क्षणदेखि, तँ तिनीहरूको अनुयायीहरूमध्ये एक बनेको क्षणसम्मको मार्ग नै तँलाई अचेत रूपमा परमेश्वरदेखि टाढा लैजाने मार्ग हो। अनि तँ परमेश्वरबाट क्रमिक रूपमा टाढा जाँदै गर्दा, तैँले आफूले अझै पनि परमेश्वरलाई पछ्याइरहेको छस्, तँ उहाँका घरमा छस्, तँ उहाँका उपस्थितिमा छस् भन्ने विश्वास गरिरहेको हुन्छस् जबकि वास्तवमा, तँलाई शैतानका दास ख्रीष्टविरोधीहरूले टाढा लगिसकेका हुनेछन्। तैँले यो कुरा पत्तै पाउनेछैनस्। यो अत्यन्तै खतरनाक परिस्थिति हो। यो समस्या समाधान गर्न एकातर्फ, ख्रीष्टविरोधीहरूको प्रकृति सार चिन्ने क्षमता, र सत्यतालाई घृणा गर्ने र परमेश्वरलाई प्रतिरोध गर्ने ख्रीष्टविरोधीहरूको कुरूप अनुहार छर्लङ्गै देख्ने क्षमता आवश्यक पर्छ; त्यसैले, यसको लागि ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रम र फन्दामा पार्न प्रायजसो प्रयोग गर्ने शैलीका साथै तिनीहरूले कामकुरा गर्ने तरिकासित परिचित पनि हुनुपर्छ। अर्कोतर्फ, तिमीहरूले परमेश्वरको स्वभाव र सारसम्बन्धी ज्ञानको खोजी गर्नैपर्छ। ख्रीष्ट मात्र सत्यता, बाटो र जीवन हुनुहुन्छ, र कुनै व्यक्तिलाई पुज्दा तँमाथि विपत्ति र दुर्भाग्य आइपर्छ भनेर तँ स्पष्ट हुनैपर्छ। ख्रीष्टले मात्र मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ भनेर तैँले भरोसा गर्नैपर्छ, र तैँले पूर्ण विश्वासका साथ ख्रीष्टलाई पछ्याउन र उहाँप्रति समर्पित हुन जरूरी छ। यो मात्रै मानव जीवनको सही मार्ग हो। कतिपयले यसो भन्लान्: “ठिकै छ, मैले अगुवाहरूको आराधना गर्नुका कारणहरू छन्—म प्रतिभावान् जोकोहीलाई आफ्ना हृदयमा स्वतः आराधना गरिहाल्छु। म मेरा धारणाअनुरूपका कुनै पनि अगुवाको आराधना गर्ने गर्छु।” तैँले परमेश्वरमा विश्वास गरे पनि किन मानिसलाई आराधना गर्ने हठ गर्छस्? आखिरमा, तँलाई मुक्ति दिने को हुनुहुन्छ? कसले तँलाई साँचो रूपमा प्रेम गर्नुहुन्छ र रक्षा गर्नुहुन्छ—के तैँले यो कुरालाई साँच्चै देख्न सक्दैनस्? यदि तँ परमेश्वरलाई विश्वास गर्छस् र उहाँलाई पछ्याउँछस् भने, तैँले उहाँको वचनप्रति चासो राख्नुपर्छ, र यदि कसैले सही तरिकाले बोल्छ र व्यवहार गर्छ, अनि त्यो सत्यता सिद्धान्तहरूअनुरूप छ भने, के यो तँ सत्यताप्रति समर्पित भएको मामला मात्र होइन र? तँ किन यति नीच छस्? किन तँ पछ्याउनको लागि आफूले आराधना गर्ने व्यक्ति खोज्नमै जोड दिन्छस्? तँ किन शैतानको दास हुन मन पराउँछस्? यसको साटो किन सत्यताको सेवक नहुने? यसमा व्यक्तिमा समझ र इज्जत छ कि छैन भन्ने कुरा देखिन्छ। तैँले आफैबाट सुरु गर्नुपर्छ: आफैलाई विभिन्न प्रकारका सत्यताहरूले सुसज्जित गर्, विभिन्न मामला र मानिसहरू प्रकट हुने तरिकाहरू पहिचान गर्न सक्ने बन्, विभिन्न मानिसहरूको व्यवहारको प्रकृति के हो र तिनीहरूले कस्ता स्वभावहरू प्रकट गर्छन् भन्ने कुरा जान्, विभिन्न प्रकारका मानिसहरूको सारलाई छुट्याउन सिक्, र तेरो चिनजानका मानिसहरू कस्ता छन्, तँ कस्तो व्यक्ति होस्, र तेरो अगुवा कस्तो व्यक्ति हो भन्नेबारे स्पष्ट बन्। यी सबै कुरा स्पष्ट रूपमा देखेपछि, तैँले मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार सही तरिकाले लिन सक्नेछस्: यदि तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू हुन् भने, तैँले तिनीहरूलाई प्रेमपूर्वक व्यवहार गर्नेछस्, र यदि तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू नभएर दुष्ट मानिस, ख्रीष्टविरोधी, वा गैरविश्वासीहरू हुन् भने, तैँले तिनीहरूसँग दूरी कायम गर्नेछस् र तिनीहरूलाई त्याग्नेछस्। यदि तिनीहरू सत्यता वास्तविकता भएका मानिसहरू हुन् भने, तैँले तिनीहरूलाई आदर गरे पनि, तिनीहरूको आराधना गर्नेछैनस्। कसैले पनि ख्रीष्टको स्थान लिन सक्दैन; ख्रीष्ट मात्रै व्यावहारिक परमेश्वर हुनुहुन्छ। ख्रीष्टले मात्र मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ, र ख्रीष्टलाई पछ्याएर मात्र तैँले सत्यता र जीवन प्राप्त गर्न सक्छस्। यदि तैँले यी कुराहरूलाई स्पष्ट रूपमा देख्न सक्छस् भने, तँसित कद छ र तँ ख्रीष्टविरोधीहरूको भ्रममा पर्ने सम्भावना हुँदैन, न त तैँले ख्रीष्टविरोधीहरूको भ्रममा पर्छु भनेर डर मान्नु जरुरी नै हुन्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ
जब कसैले परमेश्वरमा विश्वास गर्छ र उहाँलाई पछ्याउँछ, तब सबैभन्दा डर मान्नुपर्ने कुरा भनेको ऊ परमेश्वरका वचनहरू र सत्यताबाट विचलित होला र मान्छेका कारोबार र उद्यमहरूमा संलग्न होला कि भन्ने हो। त्यसो गर्नु भनेको आफ्नै मार्गमा लाग्नु हो। उदाहरणका लागि, मानौँ कुनै मण्डलीले एउटा अगुवा चुन्छ। त्यस अगुवालाई शब्दहरू र धर्मसिद्धान्तहरूको प्रवचन दिन मात्र आउँछ, र ऊ आफ्नै प्रतिष्ठा र हैसियतमा मात्र ध्यान दिन्छ। उसले कुनै व्यावहारिक काम गर्दैन। तर तिमीहरू उसले शब्दहरू र धर्मसिद्धान्तहरूमा राम्ररी र सत्यताबमोजिम प्रवचन दिएको सुन्छौ, र उसले भनेका सबथोक सही ठान्छौ, त्यसैले तिमीहरूले उसको धेरै प्रशंसा गर्छौ र तिमीहरूलाई ऊ कुशल अगुवा लाग्छ। तिमीहरू हरेक कुरामा उसलाई चासो दिन्छौ र अन्त्यमा, उसलाई पछ्याउँछौ, र ऊप्रति पूर्ण आज्ञाकारी हुन्छौ। के त्यसपछि तिमीहरू झूटा अगुवाको बहकाउ र नियन्त्रणमा पर्दैनौ र? अनि के त्यो मण्डली झूटो अगुवा टाउके रहेको धार्मिक समूह बनेको हुँदैन र? झूटो अगुवा टाउके रहेको धार्मिक समूहका सदस्यहरू आफ्ना कर्तव्यहरू निभाइरहेजस्ता देखिन सक्छन्, तर के तिनीहरू साँच्चिकै आफ्ना कर्तव्यहरू निभाइरहेका हुन्छन्? के तिनीहरू साँच्चिकै परमेश्वरको सेवा गरिरहेका हुन्छन्? (हुँदैनन्।) यदि ती मानिसहरू परमेश्वरको सेवा गरिरहेका वा आफ्ना कर्तव्यहरू निभाइरहेका हुँदैनन् भने, के परमेश्वरसँग तिनीहरूको सम्बन्ध हुन्छ? के परमेश्वरसँग सम्बन्धै नभएको गिरोहले उहाँमा विश्वास गर्छ? भन् त, झूटो अगुवाका अनुयायीहरू वा ख्रीष्टविरोधीका नियन्त्रणमा रहेका मानिसहरूसँग पवित्र आत्माको काम हुन्छ? कदापि हुँदैन। अनि तिनीहरूसँग पवित्र आत्माको काम किन हुँदैन? किनकि तिनीहरू परमेश्वरका वचनहरूबाट टाढिएका छन्, र तिनीहरू परमेश्वरमा समर्पित हुँदैनन् र तिनीहरूले उहाँको आराधना गर्दैनन्, बरु झूटा गोठाला र ख्रीष्टविरोधीहरूप्रति ध्यान दिन्छन्—परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ, र तिनीहरूमा थप काम गर्नुहुन्न। तिनीहरू परमेश्वरका वचनहरूबाट टाढिएका छन् अनि उहाँबाट तिरस्कृत भएका छन्, र तिनीहरूले पवित्र आत्माको काम गुमाएका छन्। अनि, के तिनीहरूले परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छन्? (अहँ।) सक्दैनन्, यसको मतलब तिनीहरू समस्यामा छन्। यसकारण, कुनै मण्डलीमा जति नै धेरै मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गरिरहेका भए पनि, तिनीहरूले मुक्ति प्राप्त गर्ने वा नगर्ने कुरा विशेषतः तिनीहरू ख्रीष्टलाई पछ्याइरहेका छन् कि कुनै व्यक्तिलाई, अनि तिनीहरूले साँच्चिकै परमेश्वरको कामको अनुभव गर्दै सत्यता पछ्याइरहेका छन् कि धार्मिक गतिविधिहरू र मान्छेका कारोबार र उद्यमहरूमा संलग्न भइरहेका छन् भन्ने कुरामा निर्भर हुन्छ। त्यो विशेषतः तिनीहरूले सत्यता स्विकार्न र पछ्याउन सक्छन् कि सक्दैनन् र तिनीहरूले समस्या पत्ता लगाएपछि त्यो सुल्झाउनलाई सत्यता खोज्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। मानिसहरूले वास्तवमा के कुराको खोजी गर्छन् र तिनीहरू कुन मार्गमा हिँड्छन्, तिनीहरूले साँच्चै सत्यता स्विकार्छन् कि त्याग्छन्, तिनीहरू परमेश्वरमा समर्पित हुन्छन् कि उहाँको विरोध गर्छन्—परमेश्वरले यी सब कुराहरूलाई निरन्तर जाँचिरहनुभएको हुन्छ। हरेक मण्डली र हरेक व्यक्तिलाई परमेश्वरले अवलोकन हुन्छ। मण्डलीमा जति नै धेरै मानिसहरूले कर्तव्य निर्वाह गरिरहेका वा परमेश्वरलाई पछ्याइरहेका भए पनि, तिनीहरू परमेश्वरदेखि टाढा गएको क्षण, तिनीहरूले पवित्र आत्माको काम गुमाएको क्षण, तिनीहरूले परमेश्वरको काम अनुभव गर्न छोड्छन्, र त्यसैले तिनीहरूले निभाइरहेको कर्तव्यको अनि तिनीहरू आफैको परमेश्वरका काममा कुनै सम्बन्ध र कुनै भूमिका हुँदैन, र यो अवस्थामा तिनीहरू धार्मिक समूह बनिसकेका हुन्छन्। मलाई भन, कुनै मण्डली एक धार्मिक समूहमा परिवर्तन भयो भने यसका परिणामहरू के हुन्छन्? के यी मानिसहरू ठूलो खतरामा छन् भनेर तिमीहरू भन्दैनौ र? तिनीहरूले समस्याको सामना गर्दा कहिल्यै पनि सत्यताको खोजी गर्दैनन् र तिनीहरू सत्यता सिद्धान्तअनुसार कार्य गर्दैनन्, बरु तिनीहरू मानवजातिका बन्दोबस्त र चालबाजीमा पर्छन्। अझै धेरै यस्ता पनि छन् जो आफ्ना कर्तव्यहरू निर्वाह गर्दा प्रार्थना गर्ने वा सत्यता सिद्धान्तहरू खोज्ने कहिल्यै गर्दैनन्; तिनीहरूले केवल अरूलाई सोध्ने र अरूले भनेअनुसार गर्ने, र अरूले दिएको इसारामा काम गर्ने गर्छन्। अरूले जे गर्नू भन्छन्, तिनीहरूले त्यही गर्छन्। तिनीहरूलाई आफ्नो समस्याबारे परमेश्वरसित प्रार्थना गर्नु र सत्यता खोज्नु अस्पष्ट र गाह्रो लाग्छ, त्यसैले तिनीहरू सरल र सजिलो समाधान खोज्छन्। तिनीहरूलाई अरूमा भर पर्नु र अरूले जे भन्छन् त्यो गर्नु सजिलो र सबैभन्दा वास्तविक लाग्छ, त्यसैले तिनीहरूले हरेक कुरामा अरूलाई सोध्दै र अरूले कुरा सुन्दै, अरूले जे भन्यो त्यही गर्छन्। फलस्वरूप, धेरै वर्षसम्म विश्वास गरेर पनि, तिनीहरू समस्याको सामना गर्दा एकपटक पनि प्रार्थना गर्न र उहाँका चाहनाहरू र सत्यताको खोजी गर्न, र सत्यताको बुझाइ हासिल गर्न अनि परमेश्वरका अभिप्रायहरू अनुसार कार्य र व्यवहार गर्न परमेश्वरको अघि आएका हुँदैनन्—तिनीहरूले त्यस्तो अनुभव कहिल्यै गरेका हुँदैनन्। के त्यस्ता मानिसहरूले वास्तवमै परमेश्वरमाथिको विश्वास अभ्यास गर्छन् त? मलाई अचम्म लाग्छ: केही मानिसहरू कुनै धार्मिक समूहमा प्रवेश गरिसकेपछि किन परमेश्वरमा विश्वास गर्नेबाट व्यक्तिमा विश्वास गर्ने र परमेश्वरलाई पछ्याउनेबाट व्यक्तिलाई पछ्याउने मानिस बन्न उद्दत हुन्छन्? किन तिनीहरू त्यति चाँडै परिवर्तन हुन्छन्? परमेश्वरमा त्यतिका वर्ष विश्वास गरिसकेपछि, किन तिनीहरू सबै कुरामा व्यक्तिलाई ध्यान दिने र पछ्याउने गर्छन्? त्यतिका वर्षको विश्वासको बाबजुद तिनीहरूका हृदयमा परमेश्वरका लागि साँच्चिकै कहिल्यै ठाउँ भएन। तिनीहरूले गर्ने हर काममध्ये कुनैको पनि परमेश्वरसँग र उहाँका वचनहरूसँग कहिल्यै केही सम्बन्ध रहेन। तिनीहरूका बोलीवचन, कार्य, जीवन, अरूसँगको व्यवहार, मामला सम्हालाइ, तिनीहरूको कर्तव्य निर्वाह र परमेश्वरप्रतिको सेवासमेत, अनि तिनीहरूका सबै क्रियाकलाप र कर्महरू, तिनीहरूका व्यवहारहरू, र तिनीहरूमा प्रकट हुने हरेक सोच वा विचारसमेत—यीमध्ये कुनै कुराको पनि परमेश्वरमाथिको विश्वास वा परमेश्वरका वचनहरूसँग कुनै सम्बन्ध हुँदैन। के त्यस्तो व्यक्ति परमेश्वरको साँचो विश्वासी हो त? के कसैले परमेश्वरमा विश्वास गरेको वर्षहरूको सङ्ख्याले उसको कद निर्धारण गर्न सक्छ त? के यस्तो परमेश्वरसँग उसको सामान्य सम्बन्ध छ भन्ने प्रमाणित गर्छ त? कदापि गर्दैन। कसैले इमानदारीसाथ परमेश्वरमा विश्वास गर्छ कि गर्दैन भनी हेर्नलाई, उसले हृदयमा परमेश्वरका वचनहरू ग्रहण गर्न सक्छ कि सक्दैन, र ऊ उहाँका वचनहरूमा जिउन र उहाँको काम अनुभव गर्न सक्छ कि सक्दैन भनी हेर्नु महत्त्वपूर्ण छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्न सकिन्छ
परमेश्वरलाई पछ्याउँछौं भनी दाबी गर्नेहरूले आफ्ना आँखाहरू खोल्नु र उनीहरूले वास्तवमा कसमाथि विश्वास गर्छन् भनी राम्ररी हेर्नु राम्रो हुन्छ: तैँले विश्वास गरेको साँच्चै परमेश्वर हुनुहुन्छ कि शैतान हो? यदि तैँले विश्वास गरेको व्यक्ति परमेश्वर हुनुहुन्न, तर तेरा आफ्नै मूर्तिहरू हो भनी जान्दछस् भने तैँले आफैलाई एक विश्वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। यदि तैँले कसमाथि विश्वास गर्छस् भनी साँच्चै जान्दैनस् भने, फेरि तैँले आफैलाई एक विश्वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। त्यसो भन्नु ईश्वरनिन्दा हुनेछ! कसैले पनि तँलाई परमेश्वरमा विश्वास गर्न बाध्य पार्दैन। तिमीहरू ममा विश्वास गर्छु भनेर नभन; मसँग यस्तै कुराकानी धेरै भएको छ, र म त्यो फेरि सुन्न चाहन्नँ, किनकि जुन कुरामा तिमीहरू विश्वास गर्छौ ती तिमीहरूका हृदयभित्रका र तिमीहरूका स्थानीय बदमासहरूका मूर्तिहरू हुन्। सत्य सुन्दा जो आफ्ना टाउको हल्लाउँछन्, जो मृत्युको कुरा सुन्दा हाँस्छन् तिनीहरू सबै शैतानका अण्डाहरू हुन्, तिनीहरू ती मानिसहरू हुन् जसलाई हटाइनेछ। मण्डलीका धेरै मानिसमा कुनै विवेक छैन। जब कुनै बहकाउने कुरा आउँछ, तिनीहरू अप्रत्याशित रूपमा शैतानको पक्षमा खडा हुन्छन्; शैतानको नोकर हो भनी भन्दा तिनीहरू रिसाउने समेत गर्छन्। मानिसहरूले आफूसँग कुनै विवेक छैन भने पनि तिनीहरू सधैँ सत्यता विनाको पक्षमा खडा हुन्छन्, महत्त्वपूर्ण समयमा सत्यताको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यको निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै विवेकको कमी छ? तिनीहरू किन अप्रत्याशित रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले असमझहरूले खराबीलाई प्रेम गर्छन् भन्ने देखाउँदैन र? के यसले तिनीहरू शैतानको बफादार अण्डा हुन् भन्ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्। तिनीहरू शैतानको पक्षमा खडा हुन सक्नुले नै शैतानले यी स-साना भूतहरूलाई साँच्चै प्रेम गर्छ भन्ने पर्याप्त प्रमाण हो, जसले आफ्नो सारा जीवन शैतानका निम्ति लडाइँ गर्दै बिताउँछन्। के यी सबै तथ्यहरू पर्याप्त रूपमा स्पष्ट छैनन्? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने तैँले सत्यको अभ्यास गर्नेहरूलाई किन सम्मान गर्दैनस्, र तँ सत्यता प्रयोग नगर्नेहरूलाई एकै झलक पनि नहेरी किन तुरुन्तै तिनीहरूका पछि लाग्छस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग विवेक छ कि छैन त्यसको मलाई कुनै मतलब छैन। तैँले कति ठूलो मूल्य तिरेको छस् त्यसको मलाई कुनै मतलब छैन। तेरा बल जति नै ठूलो भए पनि मलाई कुनै मतलब छैन, तँ स्थानीय बदमास वा झन्डा बोक्ने अगुवा जो भए पनि मलाई कुनै मतलब छैन। यदि तेरा शक्तिहरू महान् छन् भने पनि त्यो शैतानको सामर्थ्यको सहायताले मात्र हो। यदि तेरो इज्जत ठूलो छ भने पनि त्यो केवल तेरो वरिपरि सत्यको अभ्यास नगर्नेहरू धेरै भएकोले गर्दा मात्र हो। यदि तँ निष्कासन गरिएको छैनस् भने त्यो यसकारण हो कि अहिले निष्कासन गर्ने समय भएको छैन; बरु, यो हटाउने काम गर्ने समय हो। अहिले तँलाई निष्कासन गर्ने कुनै हतार छैन। म केवल त्यस दिन पर्खिरहेको छु जब तँलाई हटाएपछि तँलाई दण्ड दिनेछु। जसले सत्यको अभ्यास गर्दैन त्यसलाई हटाइनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
सम्बन्धित अनुभवात्मक गवाहीहरू
पाष्टरले नियन्त्रण गर्नुका नतिजाहरू
परमेश्वरको सट्टा मानिसलाई पछ्याउँदा सिकेको तितो पाठ
सम्बन्धित भजनहरू
मानिसमा परमेश्वरमाथिको साँचो आस्था छैन
परमेश्वरमा विश्वास गर्नु तर सत्यता नस्विकार्नु भनेको अविश्वासी हुनु हो
ख्रीष्ट सदासर्वदा सत्यता हुनुहुन्छ भनेर दृढतापूर्वक अभिपुष्टि गर