परमेश्‍वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु

प्रभु येशू ख्रीष्टलाई पछ्याउने अन्य करोडौँ मानिस जस्तै, हामी बाइबलका व्यवस्था र आज्ञाहरू पालन गर्छौँ, प्रभु येशू ख्रीष्टको प्रशस्त अनुग्रहको आनन्द लिन्छौँ, र प्रभु येशू ख्रीष्टको नाममा सँगै भेला हुन्छौँ, प्रार्थना गर्छौँ, प्रशंसा गर्छौँ, र सेवा गर्छौँ—र हामी यो सबै प्रभुको हेरचाह र सुरक्षाअन्तर्गत रहेर गर्छौँ। हामी अक्सर कमजोर हुन्छौँ, र हामी अक्सर बलिया पनि हुन्छौँ। हामी हाम्रा सबै कार्य प्रभुका शिक्षाहरूअनुसार छन् भन्‍ने विश्‍वास गर्छौँ। त्यसकारण, हामी स्वर्गमा हुनुहुने पिताको इच्छा पछ्याउने मार्गमा भएको पनि विश्‍वास गर्छौँ भनेर भनिरहनु पर्दैन। हामी प्रभु येशूको पुनरागमनको, उहाँको महिमाको आगमनको, पृथ्वीमा हाम्रो जीवनको अन्त्यको, राज्यको देखा पराइको, साथै प्रभु आउनुहुन्छ, उहाँ विपत्तिहरू ल्याउनुहुन्छ, उहाँ असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुन्छ, र उहाँ आफूलाई पछ्याउने र आफ्नो पुनरागमनलाई स्वागत गर्ने सबैलाई हावामा उहाँलाई भेट्न माथि लानुहुन्छ भनेर प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएका सबै कुराको तिर्सना गर्छौँ। जब-जब हामी यसबारे सोच्छौँ, हामी भावुक भइहाल्छौँ, हामी आखिरी दिनहरूमा जन्मियौँ र हामीले प्रभुको अवतरण देख्‍ने सौभाग्य पाएका छौँ भनेर हामी आनन्दित हुन्छौँ। हामीले सतावट भोगेका भए पनि, यसको बदलामा हामीले “अत्यधिक र अनन्त महिमाको काम” प्राप्त गरेका छौँ। कति ठूलो आशिष्‌! यो सबै तिर्सना र प्रभुद्वारा प्रदान गरिएको अनुग्रहले हामीलाई निरन्तर प्रार्थना गर्न सचेत गर्छन् र हामीलाई सँगै भेला हुन अझै लगनशील बनाउँछन्। सायद अर्को वर्ष, सायद भोलि, र सायद मानिसले कल्पना गर्न सक्नेभन्दा पनि छोटो समयमा, प्रभु अचानक ओर्लनुहुनेछ, र व्यग्र रूपमा उहाँको प्रतीक्षा गरिरहेका मानिसहरूको समूहका बीचमा देखा पर्नुहुनेछ। हामी प्रभुको देखा पराइ हेर्ने पहिलो समूहमा पर्नका लागि, र उठाई लगिनेहरूमा पर्नका लागि नै एक-अर्कालाई उछिन्न हतार गर्छौँ, र कोही पनि पछि पर्न चाहँदैन। यस दिनको आगमनका लागि हामीले मूल्यको पर्वाह नगरी सबै कुरा समर्पित गरेका छौँ; कतिपयले आफ्ना जागिर छाडेका छन्, कतिपयले आफ्ना परिवार त्यागेका छन्, कतिपयले विवाह परित्याग गरेका छन्, र कतिपयले त आफ्नो सबै बचत समेत भेटी चढाएका छन्। समर्पणका कति निःस्वार्थ कर्महरू! यस्तो इमानदारी र अर्पण निश्चय नै बितेका युगहरूका सन्तहरूको भन्दा पनि परका कुरा हुन्! प्रभुले आफूलाई मन लाग्नेलाई नै अनुग्रह प्रदान गर्नुहुने र आफूलाई मन लाग्नेलाई नै कृपा देखाउनुहुने हुनाले, हामी हाम्रा अर्पण र समर्पणका कार्यहरूलाई उहाँका आँखाले धेरै अघिदेखि नै हेरिरहेका छन् भन्ने विश्‍वास गर्छौँ। त्यसरी नै, हाम्रा हृदयस्पर्शी प्रार्थनाहरू पनि उहाँका कानमा पुगेका छन्, र हामी हाम्रो समर्पणका लागि प्रभुले हामीलाई इनाम दिनुहुनेछ भन्‍ने भरोसा गर्छौँ। यसबाहेक, परमेश्‍वरले संसारको सृष्टि गर्नुअघि नै उहाँले हामीप्रति अनुग्रह देखाउनुभएको थियो, र उहाँले हामीलाई दिएका आशिष्‌ र प्रतिज्ञाहरू कसैले पनि खोस्न सक्दैन। हामी सबै भविष्यको योजना बनाइरहेका छौँ, र हामीले स्वाभाविक रूपमै आफ्नो अर्पण र समर्पणलाई हावामा प्रभुलाई भेट्न उठाई लगिने बदलामा प्रयोग गरिने साधन वा पूँजी बनाएका छौँ। अझ भन्नुपर्दा, हामीले असङ्ख्य राष्ट्र र मानिसमाथि शासन गर्न वा राजाका रूपमा शासन गर्नका लागि अलिकति पनि नहिचकिचाई आफूलाई भविष्यको सिंहासनमा राखेका छौँ। हामी यो सबै कुरालाई स्वाभाविक र अपेक्षित कुराका रूपमा लिन्छौँ।

हामी प्रभु येशूका विरुद्धमा रहेका सबैलाई तिरस्कार गर्छौँ; तिनीहरू सबैले सखाप हुने परिणाम भोग्नेछन्। प्रभु येशू नै मुक्तिदाता हुनुहुन्छ भनेर विश्‍वास नगर्न तिनीहरूलाई कसले भन्यो? अवश्य नै, हामी कहिलेकाहीँ संसारका मानिसहरूप्रति कृपा देखाउनमा प्रभु येशूको सिको गर्छौँ, किनभने तिनीहरू बुझ्दैनन्, र हामी तिनीहरूप्रति सहनशील र क्षमाशील हुनु ठीक हो। हामीले गर्ने सबै कुरा बाइबलका वचनहरूअनुसार हुन्छन्, किनभने बाइबलसँग नमिल्ने हरेक कुरा पाषण्ड र विधर्म हो। यस प्रकारको विश्‍वास हामी प्रत्येकको मनमा गहिरो रूपमा जरा गाडेर बसेको छ। हाम्रो प्रभु बाइबलमा हुनुहुन्छ, र यदि हामी बाइबलबाट छुट्टिएर गएनौँ भने, हामी प्रभुबाट छुट्टिएर जानेछैनौँ; यदि हामीले यो सिद्धान्त पालन गर्‍यौँ भने, हामी मुक्ति प्राप्त गर्नेछौँ। हामी एक-अर्कालाई प्रोत्साहित गर्छौँ, एकले अर्कालाई समर्थन गर्छौँ, र हरेक पटक भेला हुँदा, हामीले भन्‍ने र गर्ने हरेक कुरा प्रभुका अभिप्रायहरूअनुसार होस् र प्रभुद्वारा स्वीकार गरियोस् भन्‍ने आशा गर्छौँ। हाम्रो वातावरण अत्यन्तै शत्रुवत् हुनुका बाबजुद, हाम्रो हृदय प्रसन्नताले भरिएको छ। जब हामी यति सजिलै प्राप्त गर्न सकिने आशिष्‌हरूका बारेमा सोच्छौँ, तब के हामीले त्याग्न नसक्ने कुनै कुरा छ र? के हामीलाई छुट्टिन हिचकिचाहट हुने कुनै कुरा छ र? यो सबै कुरा भनिरहनु पर्दैन, र यो सबै परमेश्‍वरका आँखाको छानबिनअन्तर्गत पर्छ। हामी, गोबरको थुप्रोबाट उठाइएका र खाँचोमा परेका यी मुट्ठीभर मानिस, प्रभु येशूका सबै साधारण अनुयायी जस्तै, उठाई लगिने, आशिषित हुने, र असङ्ख्य राष्ट्रमाथि शासन गर्ने सपना देखिरहेका छौँ। हाम्रो भ्रष्टता परमेश्‍वरका नजरमा उदाङ्गो भएको छ, र हाम्रा चाहना र लोभ परमेश्‍वरका नजरमा दोषी ठहरिएका छन्। तैपनि, यो सबै यति सामान्य र यति युक्तिपूर्ण रूपमा हुन्छ कि, हाम्रा तिर्सनाहरू सही छन् कि छैनन् भनेर हामीमध्ये कसैले पनि सोच्दैन, हामीले विश्‍वास गर्ने सबै कुराको सहीपनमा कसैले शङ्का गर्नु त झनै परको कुरा हो। परमेश्‍वरका अभिप्रायहरू कसले जान्न सक्छ? मानिस हिँड्ने मार्ग ठ्याक्कै कस्तो प्रकारको हुन्छ, हामी खोज्न वा अन्वेषण गर्न जान्दैनौँ; र सोधपुछ गर्नमा त हामी झनै कम रुचि राख्छौँ। किनभने हामी उठाई लगिन सक्छौँ कि सक्दैनौँ, हामी आशिषित हुन सक्छौँ कि सक्दैनौँ, स्वर्गको राज्यमा हाम्रा लागि ठाउँ छ कि छैन, र जीवनको नदीको पानी र जीवनको रूखको फलमा हाम्रो कुनै हिस्सा हुनेछ कि हुनेछैन भन्‍नेबारे मात्र चासो राख्छौँ। के यी कुराहरू प्राप्त गर्नकै खातिर हामीले प्रभुमा विश्‍वास गरेका र उहाँका अनुयायी बनेका होइनौँ र? हाम्रा पापहरू क्षमा भएका छन्, हामीले पश्‍चात्ताप गरेका छौँ, हामीले तीतो कचौराको दाखरस पिएका छौँ, र हामीले आफ्नो पिठ्यूँमा क्रूस राखेका छौँ। हामीले चुकाएको मूल्य प्रभुले स्वीकार गर्नुहुनेछैन भनेर कसले भन्न सक्छ? हामीले पर्याप्त तेल तयार गरेका छैनौँ भनेर कसले भन्न सक्छ? हामीलाई ती निर्बुद्धि कन्या बन्ने वा त्यागिएकाहरूमध्ये एक हुने इच्छा छैन। यसबाहेक, हामी निरन्तर प्रार्थना गर्छौँ, र झूटा ख्रीष्टहरूको बहकाउमा पर्नबाट हामीलाई जोगाउनुहोस् भनी प्रभुलाई बिन्ती गर्छौँ, किनभने बाइबलमा यसो भनिएको छ: “अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ छ वा त्यहाँ छ भनी भन्छ भने विश्‍वास नगर्नू। किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलाठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै बहकाउन सकून्” (मत्ती २४:२३-२४)। हामी सबैले बाइबलका यी पदहरू कण्ठ गरेका छौँ; हामीले ती हृदयङ्गम गरेका छौँ, र हामी तिनलाई बहुमूल्य खजानाका रूपमा, जीवनका रूपमा, र हामी मुक्ति पाउन वा उठाई लगिन सक्छौँ कि सक्दैनौँ भनी निर्णय गर्ने प्रमाण-पत्रका रूपमा हेर्छौँ …

हजारौँ वर्षदेखि, जिउँदाहरू आफ्ना तिर्सना र सपनाहरू आफूसँगै लिएर बितेर गएका छन्, तर तिनीहरू स्वर्गको राज्यमा गएका छन् कि छैनन् भन्‍ने कुरा कसैलाई पनि साँच्चै थाहा छैन। मृतहरू फर्कन्छन्, तिनीहरूले विगतमा भएका सबै कथा बिर्सिसकेका हुन्छन्, तर तिनीहरू अझै पनि पूर्वजहरूका शिक्षा र मार्गहरू पछ्याउँछन्। अनि यसरी, वर्षहरू बित्दै जाँदा र दिनहरू ढल्दै जाँदा, हामीले गर्ने सबै कुरा हाम्रो प्रभु येशूले, हाम्रो परमेश्‍वरले साँच्चै स्वीकार गर्नुहुन्छ कि गर्नुहुन्न भन्‍ने कुरा कसैलाई पनि थाहा छैन। हामी केवल एउटा परिणाम प्राप्त हुने अपेक्षा गर्छौँ र भविष्यमा आइपर्ने सबै कुराबारे अनुमान लगाउँछौँ। तैपनि परमेश्‍वरले हामीकहाँ कहिल्यै देखा नपरेर, हामीसँग कहिल्यै नबोलेर, सधैँ आफ्नो मौनता कायम राख्नुभएको छ। अनि त्यसैले, बाइबललाई पछ्याउँदै र चिन्हहरूअनुसार, हामी स्वेच्छाचारी रूपमा परमेश्‍वरका अभिप्रायहरू र स्वभावका बारेमा निष्कर्ष निकाल्छौँ। हामी परमेश्‍वरको मौनतामा अभ्यस्त भएका छौँ; हामी आफ्नै सोच्ने तरिकाद्वारा हाम्रा कार्यहरूको सही र गलत कुरा मापन गर्न अभ्यस्त भएका छौँ; परमेश्‍वरले हामीसँग गर्ने मागहरूको सट्टामा हामी आफ्ना ज्ञान, धारणा, र नैतिकतामा भर पर्न अभ्यस्त भएका छौँ; हामी परमेश्‍वरको अनुग्रहमा रमाउन अभ्यस्त भएका छौँ; हामी हामीलाई आवश्यक पर्दा जहिले पनि परमेश्‍वरले सहायता प्रदान गर्नमा अभ्यस्त भएका छौँ; हामी सबै कुराका लागि परमेश्‍वरसामु आफ्ना हात पसार्न, र परमेश्‍वरलाई आदेश दिन अभ्यस्त भएका छौँ; पवित्र आत्मा हामीलाई कसरी अगुवाइ गर्नुहुन्छ भन्‍ने कुरामा ध्यान नदिई, हामी प्रावधानहरू पालन गर्न पनि अभ्यस्त भएका छौँ; र, अझ भन्नुपर्दा, हामी आफ्नै मालिक हुने दिनहरूमा अभ्यस्त भएका छौँ। हामी यस्तो परमेश्‍वरमा विश्‍वास गर्छौँ, जसलाई हामीले कहिल्यै आमनेसामने भेटेका छैनौँ। उहाँको स्वभाव कस्तो छ, उहाँसँग के छ र उहाँ के हुनुहुन्छ, उहाँको स्वरूप कस्तो छ, उहाँ आउनुहुँदा हामी उहाँलाई चिन्नेछौँ कि चिन्नेछैनौँ, आदि जस्ता प्रश्नहरू—यीमध्ये कुनै पनि महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण कुरा के हो भने, उहाँ हाम्रो हृदयमा हुनुहुन्छ र हामी सबै उहाँको प्रतीक्षामा छौँ, र उहाँ यस्तो वा त्यस्तो हुनुहुन्छ भनेर हामीले कल्पना गर्न सक्नु नै पर्याप्त छ। हामी हाम्रो आस्थाको कदर गर्छौँ र हाम्रो आत्मिकतालाई बहुमूल्य ठान्छौँ। हामी सबै कुरालाई गोबरका रूपमा हेर्छौँ, र सबै कुरालाई खुट्टामुनि कुल्चन्छौँ। हामी महिमामय प्रभुका विश्‍वासी भएका हुनाले, यात्रा जतिसुकै लामो र कठिन भए पनि, हामीलाई जस्तोसुकै कष्ट र खतराहरू आइपरे पनि, हामीले प्रभुलाई पछ्याउँदा हाम्रा पदचापहरूलाई कुनै पनि कुराले रोक्न सक्दैन। “परमेश्‍वर र थुमाको सिंहासनबाट स्फटिक जस्तै जीवनको सफा पानीको विशुद्ध नदी बगी निस्क्यो। त्यो नदीको दुवै किनारामा जीवनको रूख थियो, जसले बाह्र किसिमका फलहरू फलाउथे र हरेक महिना फल दिन्थे: र त्यस रूखका पातहरू जाति-जातिहरूलाई निको पार्नलाई थियो। अनि त्यहाँ उप्रान्त कुनै सराप हुनेछैन: तर यसभित्र परमेश्‍वर र थुमाको सिंहासन हुनेछ; र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्: अनि तिनीहरूले उहाँको मुहार देख्नेछन्; र तिनीहरूको निधारमा उहाँको नाउँ हुनेछ। त्यहाँ कुनै रात हुनेछैन; र तिनीहरूलाई कुनै बत्ती आवश्यक पर्दैन, न त सूर्यको प्रकाशको नै आवश्यक पर्छ; किनभने परमप्रभु परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुहुन्छ: र तिनीहरूले सदासर्वदा नै शासन गर्नेछन्” (प्रकाश २२:१-५)। हामीले हरेक पटक यी वचनहरू गाउँदा, हाम्रो हृदय असीम आनन्द र सन्तुष्टिले भरिन्छ, र हाम्रा आँखाबाट आँसु बग्छ। हामीलाई छान्नुभएकोमा प्रभुलाई धन्यवाद होस्, प्रभुको अनुग्रहका लागि उहाँलाई धन्यवाद होस्। उहाँले हामीलाई यस जीवनमा सय गुणा दिनुभएको छ र आउँदो संसारमा अनन्त जीवन दिनुभएको छ। यदि उहाँले हामीलाई अहिले नै मर्न भन्नुभयो भने, हामी अलिकति पनि गुनासो नगरी मर्नेछौँ। प्रभु! कृपया चाँडै आउनुहोस्! हामी कति व्यग्रताका साथ तपाईँको तिर्सना गर्छौँ, र हामीले तपाईँका लागि सबै कुरा त्यागेका छौँ भन्‍ने कुरालाई ख्याल गरेर, थप एक मिनेट, एक सेकेन्ड पनि ढिला नगर्नुहोस्।

परमेश्‍वर मौन हुनुहुन्छ, र हामीकहाँ कहिल्यै देखा पर्नुभएको छैन, तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन। उहाँ सम्पूर्ण पृथ्वीको छानबिन गर्नुहुन्छ, र यावत् थोकमाथि शासन गर्नुहुन्छ, र मानिसका सबै वचन, कार्य, र चाललाई हेर्नुहुन्छ। उहाँ आफ्नो व्यवस्थापन योजनाका साथ र चरणबद्ध रूपमा, मौन रूपमा र स्वर्ग र पृथ्वीलाई नहल्लाईकन सञ्चालन गर्नुहुन्छ, तैपनि उहाँका पदचापहरू एक-एक गर्दै अघि बढ्छन् र मानवजातिको झन्-झन् नजिक पुग्छन्, र उहाँको न्यायको आसन ब्रह्माण्डमा बिजुलीको गतिमा खडा गरिन्छ, जसपछि उहाँको सिंहासन तुरुन्तै हामीमाझ अवतरण हुन्छ। कस्तो प्रतापी दृश्य, कस्तो भव्य र गम्भीर परिदृश्य! ढुकुर जस्तै, र गर्जने सिंह जस्तै, आत्मा हामी भीडमाझ आउनुहुन्छ। उहाँ बुद्धि हुनुहुन्छ, उहाँ धार्मिकता र प्रताप हुनुहुन्छ, र उहाँ अख्तियारका साथ र प्रेमिलो-दयालुपनले भरिएर चुपचाप हामीमाझ अवतरण गर्नुहुन्छ। उहाँको आगमनबारे कसैलाई थाहा हुँदैन, उहाँको आगमनलाई कसैले पनि स्वागत गर्दैन, र, अझ बढी, उहाँले गर्न लाग्नुभएका सबै कुरा कसैलाई पनि थाहा हुँदैन। मानिसको जीवन पहिले जस्तै चलिरहन्छ, उसको हृदय भिन्न हुँदैन, र दिनहरू सामान्य रूपमै बित्छन्। परमेश्‍वर हामीमाझ, एक साधारण व्यक्ति जस्तै, अनुयायीहरूमध्ये सबैभन्दा नगण्य र साधारण विश्‍वासी भएर जिउनुहुन्छ। उहाँका आफ्नै पछ्याइहरू छन्, आफ्नै लक्ष्यहरू छन्, र, अझ बढी, उहाँसँग साधारण मानिसहरूमा नहुने ईश्‍वरत्व छ। उहाँको ईश्‍वरत्वको अस्तित्वलाई कसैले पनि याद गरेको छैन, र उहाँको सार र मानिसको सारबीचको भिन्नतालाई कसैले पनि बोध गरेको छैन। हामी बन्धनमा नपरी र डर नमानी उहाँसँगै जिउँछौँ, किनभने हाम्रो नजरमा उहाँ एक नगण्य विश्‍वासी मात्र हुनुहुन्छ। उहाँ हाम्रो हरेक चाल हेर्नुहुन्छ, र हाम्रा सबै सोच र विचार उहाँसमक्ष उदाङ्गो हुन्छन्। उहाँको अस्तित्वमा कसैले पनि चासो लिँदैन, उहाँले निर्वाह गर्ने कार्यका बारेमा कसैले केही पनि कल्पना गर्दैन, र, अझ बढी, उहाँको पहिचानबारे कसैलाई झिनो शङ्का हुँदैन। हामीसँग उहाँको कुनै सरोकार नै छैन जस्तो गरी, हामी केवल आफ्ना पछ्याइहरूलाई निरन्तरता दिन्छौँ …

संयोगवश, पवित्र आत्माले उहाँ “मार्फत” वचनहरूको एउटा खण्ड व्यक्त गर्नुहुन्छ, र यो निकै अप्रत्याशित लागे पनि, हामी यो परमेश्‍वरबाट आएको वाणी हो भनी दृढतापूर्वक विश्‍वास गर्छौँ र यसलाई सहजै परमेश्‍वरबाट आएको भनी स्विकार्छौँ। किनभने, यी वचनहरू जसले व्यक्त गरे पनि, ती पवित्र आत्माबाट आउँछन् भने, हामीले ती स्विकार्नुपर्छ र तिनलाई नकार्न मिल्दैन। अर्को वाणी ममार्फत, वा तँमार्फत, वा अरू कसैमार्फत आउन सक्छ। जोमार्फत आए पनि, सबै परमेश्‍वरको अनुग्रह हो। तर त्यो जोसुकै भए पनि, हामीले यस व्यक्तिको आराधना गर्नु हुँदैन, किनभने चाहे जेसुकै होस्, यो व्यक्ति परमेश्‍वर हुन सक्दैन, न त हामी कुनै पनि हालतमा यस्तो साधारण व्यक्तिलाई हाम्रो परमेश्‍वर हुन छनौट नै गर्नेछौँ। हाम्रो परमेश्‍वर अत्यन्तै महान् र आदरणीय हुनुहुन्छ; यस्तो नगण्य व्यक्ति कसरी उहाँको स्थानमा खडा हुन सक्छ? अझ भन्नुपर्दा, हामी परमेश्‍वर आउनुहुनेछ र हामीलाई स्वर्गको राज्यमा फर्काएर लैजानुहुनेछ भनी प्रतीक्षा गरिरहेका छौँ, त्यसैले यति नगण्य व्यक्ति कसरी यस्तो महत्त्वपूर्ण र कठिन कार्यका लागि योग्य हुन सक्छ? यदि प्रभु फेरि आउनुभयो भने, उहाँ सेतो बादलमा नै आउनुपर्छ, ताकि असङ्ख्य मानिसहरूले देखून्। त्यो कति महिमामय हुनेछ! उहाँ साधारण मानिसहरूको समूहमाझ सुटुक्क लुक्न सक्नु कसरी सम्भव हुन्छ?

तैपनि मानिसहरूका बीचमा लुकेर रहनुभएको यही साधारण व्यक्तिले नै हामीलाई मुक्ति दिने नयाँ काम गरिरहनुभएको छ। उहाँ हामीलाई कुनै स्पष्टीकरण दिनुहुन्न, न त हामीलाई उहाँ आउनुको कारण नै बताउनुहुन्छ, बरु आफ्नो योजना र आफ्नो प्रक्रियाअनुसार उहाँले गर्न चाहनुभएको काम मात्रै गर्नुहुन्छ। उहाँका वचन र वाणीहरू झन्-झन् बारम्बार आउन थाल्छन्। सान्त्वना दिने, अर्ती दिने, सम्झाउने, र चेतावनी दिनेदेखि हप्काउने र ताडना दिनेसम्म; कोमल र शान्त स्वरदेखि शक्तिशाली र प्रतापी वचनहरूसम्म—यी सबैले मानिसलाई ठूलो कृपा र चरम आतङ्क महसुस गराउँछन्। उहाँले भन्नुहुने हरेक कुरा हामीभित्र गहिराइमा लुकेका रहस्यहरूप्रति लक्षित भएजस्तो लाग्छ; उहाँका वचनहरूले हाम्रा हृदय र आत्मालाई घोच्छन्, जसले गर्दा हामी असह्य लाजले भरिन्छौँ, र हामीलाई कहाँ लुक्ने भन्‍ने समेत थाहा हुँदैन। यस व्यक्तिको हृदयमा हुनुहुने परमेश्‍वरले हामीलाई साँच्चै प्रेम गर्नुहुन्छ कि गर्नुहुन्न र उहाँ ठ्याक्कै के गर्न खोजिरहनुभएको छ भन्‍ने कुरामा हामीलाई शङ्का लाग्न थाल्छ। सायद यी दुःखहरू सहेर मात्रै हामी उठाई लगिन सक्छौँ कि? दिमागमा, हामी आउँदो गन्तव्य र हाम्रो भविष्यको नियतिका बारेमा … हिसाबकिताब गरिरहेका हुन्छौँ। अझै पनि, पहिले जस्तै, परमेश्‍वरले हाम्रा बीचमा काम गर्न देह धारण गरिसक्नुभएको छ भनी हामीमध्ये कोही पनि विश्‍वास गर्दैनौँ। उहाँले हामीलाई यति लामो समय साथ दिनुभएको भए पनि, उहाँले हामीसँग आमनेसामने यति धेरै वचनहरू बोलिसक्नुभएको भए पनि, हामी यस्तो साधारण व्यक्तिलाई हाम्रो भविष्यको परमेश्‍वरका रूपमा स्वीकार गर्न अनिच्छुक रहेका छौँ, र हाम्रो भविष्य र हाम्रो नियतिको नियन्त्रण यस नगण्य व्यक्तिलाई सुम्पन त हामी झनै अनिच्छुक छौँ। उहाँबाट हामी जिउँदो पानीको अनन्त आपूर्तिको आनन्द उठाउँछौँ, र उहाँमार्फत हामी मानिस र परमेश्‍वर आमनेसामने हुने जीवन जिउँछौँ। तर हामी स्वर्गमा हुनुहुने प्रभु येशूको अनुग्रहका लागि मात्र कृतज्ञ छौँ, र ईश्‍वरत्व भएको यस साधारण व्यक्तिका भावनाहरूप्रति हामीले कहिल्यै कुनै ध्यान दिएका छैनौँ। पहिले जस्तै, उहाँ यसरी अझै पनि देहमा नम्रतापूर्वक लुकेर आफ्नो काम गर्नुहुन्छ, आफ्नो हृदयको आवाजलाई अभिव्यक्त गर्नुहुन्छ, मानौँ मानवजातिले उहाँलाई गरेको अस्वीकारले उहाँलाई छोएकै छैन, मानौँ उहाँ मानिसको अपरिपक्वता र अज्ञानतालाई सधैँ क्षमा गर्नुहुन्छ, र उहाँप्रतिको मानिसको अनादरपूर्ण मनोवृत्तिप्रति उहाँ सधैँ सहनशील हुनुहुन्छ।

हामीलाई थाहै नदिई, यस नगण्य व्यक्तिले हामीलाई परमेश्‍वरको कामको एकपछि अर्को चरणमा डोऱ्याउनुभएको छ। हामी अनगिन्ती परीक्षा र असङ्ख्य ताडनाबाट गुज्रन्छौँ, र हामीलाई मृत्युद्वारा जाँचिन्छ। हामी परमेश्‍वरको धर्मी र प्रतापी स्वभावका बारेमा थाहा पाउँछौँ, उहाँको प्रेमिलो दयालुपन र कृपाको पनि आनन्द लिन्छौँ, परमेश्‍वरको महान् शक्ति र बुद्धिको कदर गर्न थाल्छौँ, परमेश्‍वरको प्रेमिलो स्वभाव देख्छौँ, र मानिसलाई मुक्ति दिने परमेश्‍वरको व्यग्र अभिप्राय देख्छौँ। यस साधारण व्यक्तिका वचनहरूमा, हामी परमेश्‍वरको स्वभाव र सारलाई चिन्न, परमेश्‍वरका अभिप्रायहरूलाई बुझ्न, मानिसको प्रकृति सारलाई चिन्न, साथै मुक्ति र सिद्धतातर्फको मार्ग देख्न थाल्छौँ। उहाँका वचनहरूले हामीलाई “मर्ने” तुल्याउँछन्, र तिनले हामीलाई “पुनर्जन्म” लिने तुल्याउँछन्; उहाँका वचनहरूले हामीलाई सान्त्वना दिन्छन्, तर हामीलाई अपराधबोध र ऋणीपनको भावनाले पनि भरिदिन्छन्; उहाँका वचनहरूले हामीलाई खुसी र शान्ति दिन्छन्, तर असीम पीडा पनि दिन्छन्। कहिलेकाहीँ हामी उहाँका हातमा भएका थुमाहरू जस्तै हुन्छौँ, जसलाई उहाँको इच्छाअनुसार वध गरिन्छ; कहिलेकाहीँ हामी उहाँको आँखाका नानी जस्तै हुन्छौँ, र उहाँको कोमल प्रेमको आनन्द उठाउँछौँ; कहिलेकाहीँ हामी उहाँको शत्रु जस्तै हुन्छौँ, र उहाँको नजरमा परेपछि उहाँको क्रोधद्वारा खरानीमा परिणत हुन्छौँ। हामी उहाँद्वारा मुक्ति दिइएको मानवजाति हौँ, हामी उहाँका आँखाहरूमा औँसा हौँ, र हामी हराएका भेडा हौँ जसलाई खोज्न उहाँ दिनरात लागिपर्नुभएको छ। उहाँ हामीप्रति कृपालु हुनुहुन्छ, उहाँ हामीलाई घृणा गर्नुहुन्छ, माथि उठाउनुहुन्छ, सान्त्वना र अर्ती दिनुहुन्छ, मार्गदर्शन गर्नुहुन्छ, अन्तर्दृष्टि दिनुहुन्छ, ताडना दिनुहुन्छ र अनुशासनमा राख्नुहुन्छ, र उहाँ हामीलाई श्राप समेत दिनुहुन्छ। रातदिन, उहाँले हाम्रा बारेमा चिन्ता गर्न र हाम्रो सुरक्षा र हेरचाह गर्न कहिल्यै छोड्नुहुन्न, र हाम्रो साथ कहिल्यै छोड्नुहुन्न। उहाँ हाम्रा लागि आफ्नो सम्पूर्ण रगत-पसिना बगाउनुहुन्छ र हरेक मूल्य चुकाउनुहुन्छ। यस नगण्य र साधारण देहका वचनहरूभित्र, हामीले परमेश्‍वरको सम्पूर्णताको आनन्द उठाएका छौँ र परमेश्‍वरले हामीलाई प्रदान गर्नुभएको गन्तव्य देखेका छौँ। यति हुँदाहुँदै पनि, आडम्बरले अझै पनि हाम्रा हृदयभित्र समस्या खडा गर्छ, र हामी अझै पनि यस्तो व्यक्तिलाई हाम्रा परमेश्‍वरका रूपमा सक्रिय रूपमा स्वीकार गर्न अनिच्छुक छौँ। उहाँले हामीलाई यति धेरै मन्‍न, आनन्द लिन यति धेरै कुरा दिनुभएको भए पनि, यीमध्ये कुनै पनि कुराले हाम्रा हृदयमा प्रभुको स्थान लिन सक्दैन। हामी यस व्यक्तिको विशेष पहिचान र हैसियतलाई अत्यन्तै अनिच्छाका साथ मात्रै सम्मान गर्छौँ। जबसम्म उहाँले हामीलाई उहाँ परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर भनेर भन्न आफ्नो मुख खोल्नुहुन्न, तबसम्म हामी उहाँलाई चाँडै आइपुग्न लाग्नुभएका तर लामो समयदेखि हाम्रा बीचमा काम गरिरहनुभएका परमेश्‍वरका रूपमा आफैले कहिल्यै स्विकार्नेछैनौँ।

परमेश्‍वरले विभिन्न विधि र धेरै दृष्टिकोण प्रयोग गर्दै हामीले के गर्नुपर्छ भनेर हामीलाई सचेत गराउन आफ्ना वाणीहरू बोलिरहनुहुन्छ, र साथसाथै आफ्नो हृदयको आवाज पनि व्यक्त गर्नुहुन्छ। उहाँका वचनहरूमा जीवनको शक्ति हुन्छ, तिनले हामीलाई हामीले पछ्याउनुपर्ने मार्ग प्रदान गर्छन्, र सत्यता भनेको ठ्याक्कै के हो भनी बोध गर्न हामीलाई सक्षम बनाउँछन्। हामी उहाँका वचनहरूतर्फ आकर्षित हुन थाल्छौँ, हामी उहाँको बोल्ने स्वर र शैलीमा ध्यान दिन थाल्छौँ, र अवचेतन रूपमा हामी अरूको नजरमा नपर्ने यस व्यक्तिको हृदयको आवाजलाई विशेष ध्यान दिन थाल्छौँ। उहाँ हाम्रा लागि पूर्ण रूपमा समर्पित भएर काम गर्नुहुन्छ, हाम्रा लागि भोक-निद्रा गुमाउनुहुन्छ, हाम्रा लागि रुनुहुन्छ, हाम्रा लागि सुस्केरा हाल्नुहुन्छ, र हाम्रा लागि बिरामी अवस्थामा विलाप गर्नुहुन्छ; उहाँ हाम्रो गन्तव्य र मुक्तिको खातिर अपमान सहनुहुन्छ; अनि हाम्रो संवेदनहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत निकाल्छ। कुनै पनि साधारण व्यक्तिसँग उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो हुँदैन, र कुनै पनि भ्रष्ट मानवले ती कुरा पाउन वा हासिल गर्न सक्दैन। उहाँसँग कुनै पनि साधारण व्यक्तिमा नहुने सहनशीलता र धैर्य छ, र उहाँको प्रेम त्यस्तो चिज हो जुन कुनै पनि सृजित प्राणीसँग हुँदैन। उहाँबाहेक अरू कसैले पनि हामीले सोचिरहेका सबै कुरा थाहा पाउन, वा हाम्रो प्रकृति र सारलाई आफ्नो हातको रेखा जतिकै थाहा पाउन, वा मानवजातिको विद्रोहीपन र भ्रष्टताको न्याय गर्न, वा स्वर्गमा हुनुहुने परमेश्‍वरको तर्फबाट हामीसँग यसरी बोल्न र हामीमा यसरी काम गर्न सक्दैन। उहाँबाहेक अरू कसैसँग पनि परमेश्‍वरको अख्तियार, बुद्धि, र इज्जत हुँदैन; परमेश्‍वरको स्वभाव साथै परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो उहाँमा पूर्ण रूपमा व्यक्त गरिन्छ। उहाँबाहेक अरू कसैले पनि हामीलाई बाटो देखाउन र ज्योति दिलाउन सक्दैन। उहाँबाहेक अरू कसैले पनि सृष्टिदेखि आजसम्म परमेश्‍वरले प्रकट नगर्नुभएका रहस्यहरू खुलासा गर्न सक्दैन। उहाँबाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धन र हाम्रा आफ्नै भ्रष्ट स्वभावहरूबाट मुक्ति दिन सक्दैन। उहाँ परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँ परमेश्‍वरको हृदयको आवाज, परमेश्‍वरका अर्तीहरू, र सारा मानवजातिप्रति परमेश्‍वरका न्यायिक वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले एउटा नयाँ युग, एउटा नयाँ कालखण्डको सुरुवात गर्नुभएको छ, साथै नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम ल्याउनुभएको छ, उहाँले हामीलाई आशा ल्याइदिनुभएको छ र हामीले अस्पष्ट स्थितिमा जिएको जीवनको अन्त्य गर्नुभएको छ, साथै उहाँले हाम्रो सम्पूर्ण सत्त्वलाई पूर्ण रूपमा मुक्तितर्फको मार्ग हेर्न सम्भव तुल्याउनुभएको छ। उहाँले हाम्रो सम्पूर्ण सत्त्वलाई विजय गर्नुभएको छ र हाम्रो हृदय प्राप्त गर्नुभएको छ। त्यस क्षणदेखि, हाम्रा हृदयले सचेतना प्राप्त गरेका छन्, र हाम्रा आत्माहरू पुनर्जीवित भएजस्ता देखिन्छन्: यो साधारण, नगण्य व्यक्ति, हामीमाझ जिउने र यति लामो समयदेखि हामीबाट अस्वीकृत हुनुभएको यो व्यक्ति—के यो हामीले विपना र सपना दुवैमा सम्झिरहने, र रातदिन चाह गर्ने प्रभु येशू हुनुहुन्न र? यो उहाँ नै हुनुहुन्छ! यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ! उहाँ नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ! उहाँले हामीलाई फेरि जिउन र ज्योति देख्न सम्भव तुल्याउनुभएको छ र हाम्रो हृदयलाई भौँतारिनबाट रोक्नुभएको छ। हामी परमेश्‍वरको घर फर्केका छौँ, हामी उहाँको सिंहासनसामु फर्केका छौँ, हामी उहाँसँग आमनेसामने छौँ, हामीले उहाँको मुहार देखेका छौँ, र हामीले अगाडिको बाटो देखेका छौँ। यस समयमा, हाम्रो हृदय उहाँद्वारा पूर्ण रूपमा विजय गरिएको छ; अब हामी उहाँ को हुनुहुन्छ भनी शङ्का गर्दैनौँ, उहाँको काम र उहाँको वचनप्रति प्रतिरोधी महसुस गर्दैनौँ, र हामी उहाँसमक्ष लम्पसार पर्छौँ। हामी हाम्रो बाँकी जीवनभरि परमेश्‍वरका पदचापहरू पछ्याउने, उहाँद्वारा सिद्ध पारिने, उहाँको अनुग्रहको प्रतिदान गर्ने, उहाँले हामीलाई गर्नुभएको प्रेमको प्रतिदान गर्ने, उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूप्रति समर्पित हुने, उहाँको कामसँग सहकार्य गर्ने, र उहाँले हामीलाई सुम्पनुभएको कुरा पूरा गर्न आफ्नो सक्ने सबथोक गर्नेभन्दा बढी अरू केही चाहँदैनौँ।

परमेश्‍वरद्वारा विजय गरिनु भनेको मार्सल आर्ट प्रतियोगिता जस्तै हो।

परमेश्‍वरको हरेक वचनले हाम्रा मुख्य कमजोरीहरूमा प्रहार गर्छ, जसले हामीलाई चोट पुर्‍याउँछ र हामीमा भय पैदा गराउँछ। उहाँले हाम्रा धारणाहरू, हाम्रा कल्पनाहरू, र हाम्रा भ्रष्ट स्वभावहरू खुलासा गर्नुहुन्छ। हाम्रा हरेक वचन र कार्य, हाम्रा हरेक चालदेखि लिएर हाम्रा हरेक सोच र विचारसम्म, हाम्रो प्रकृति सार उहाँका वचनहरूमा प्रकट हुन्छ, जसले हामीलाई डर र कम्पनको स्थितिमा पुर्‍याउँछ र हाम्रो लाज लुकाउने कुनै ठाउँ हुँदैन। एक-एक गर्दै, उहाँले हामीलाई हाम्रा सबै कार्य, हाम्रा लक्ष्य र अभिप्रायहरू, र हामी आफैले कहिल्यै पत्ता नलगाएका भ्रष्ट स्वभावहरू समेतका बारेमा बताउनुहुन्छ, जसले हामीलाई हाम्रो सारा दयनीय अपूर्णता खुलासा भएको महसुस गराउँछ र, अझ बढी, पूर्ण रूपमा कायल तुल्याउँछ। उहाँको विरोध गरेकोमा उहाँ हाम्रो न्याय गर्नुहुन्छ, उहाँलाई ईशनिन्दा गरेको र दोषी ठहराएकोमा उहाँ हामीलाई सजाय दिनुहुन्छ, र उहाँका नजरमा, हामीमा एउटा पनि असल गुण छैन, हामी जीवित शैतान हौँ भन्‍ने महसुस गराउनुहुन्छ। हाम्रा आशाहरू चकनाचुर हुन्छन्; अब हामी उहाँसँग कुनै अत्यधिक मागहरू गर्ने वा उहाँबारे कुनै योजना रच्ने आँट गर्दैनौँ, र हाम्रा सपनाहरू पनि रातारात बिलाएर जान्छन्। यो हामी कसैले पनि कल्पना गर्न र स्विकार्न नसक्ने तथ्य हो। एकै क्षणमा, हामी हाम्रो भित्री सन्तुलन गुमाउँछौँ र अगाडिको बाटोमा कसरी हिँडिरहने, वा हाम्रो विश्‍वासलाई कसरी निरन्तरता दिने भन्‍ने जान्दैनौँ। यस्तो लाग्छ मानौँ हाम्रो विश्‍वास सुरुवाती अवस्थामै फर्केको छ, र मानौँ हामीले प्रभु येशूलाई कहिल्यै भेटेका वा चिन्न पाएका छैनौँ। हाम्रा आँखाअगाडिका सबै कुराले हामीमा अन्योल भरिदिन्छन् र हामीलाई निर्णय गर्न नसक्नेगरी डगमगाउने तुल्याउँछन्। हामी हतास हुन्छौँ, हामी निराश हुन्छौँ, र हाम्रो हृदयको गहिराइमा दबाउन नसकिने आक्रोश र अपमान हुन्छ। हामी कुरा पोख्ने, बाहिर निस्कने बाटो खोज्ने, र, अझ भन्नुपर्दा, हाम्रा मुक्तिदाता येशूको प्रतीक्षा गरिरहने प्रयास गर्छौँ, ताकि हामी उहाँसमक्ष आफ्ना हृदयका कुरा ओकल्न सकौँ। कहिलेकाहीँ हामी बाहिरी रूपमा न त अहङ्कारी न त विनम्र देखिए पनि, हृदयमा हामी पहिले कहिल्यै महसुस नगरेको शून्यताको बोध महसुस गर्छौँ। कहिलेकाहीँ हामी बाहिरी रूपमा असामान्य रूपमा शान्त देखिए पनि, हाम्रो मन आँधीबेहरी आएको समुद्र जस्तै पीडाले रन्थनिएको हुन्छ। उहाँको न्याय र सजायले हाम्रा सबै आशा र सपना खोसेका छन्, हाम्रा अत्यधिक चाहनाहरूको अन्त्य गरेका छन् र उहाँ नै हाम्रा मुक्तिदाता हुनुहुन्छ र उहाँले हामीलाई मुक्ति दिन सक्नुहुन्छ भनी विश्‍वास गर्न हामीलाई अनिच्छुक तुल्याएका छन्। उहाँको न्याय र सजायले हामी र उहाँका बीचमा एउटा खाडल खोलेका छन्, जुन यति गहिरो छ कि कोही पनि यसलाई पार गर्न चाहँदैन। उहाँको न्याय र सजाय हाम्रो जीवनमा हामीले यति ठूलो धक्का, यति ठूलो अपमान भोगेको पहिलो घटना हो। उहाँको न्याय र सजायले हामीलाई परमेश्‍वरको आदर र मानिसको उल्लङ्घनप्रति उहाँको असहिष्णुतालाई साँच्चै अनुभूत गराएका छन्, जसको तुलनामा हामी अत्यन्तै नीच, अत्यन्तै फोहोरी छौँ। उहाँको न्याय र सजायले हामीलाई पहिलो पटक हाम्रो अहङ्कार र अभिमानका बारेमा, र मानिस कसरी कहिल्यै परमेश्‍वरको बराबरी हुन सक्दैन, वा उहाँसँग तुलनीय हुन सक्दैन भन्‍ने कुराका बारेमा सचेत गराएका छन्। उहाँको न्याय र सजायले हामीलाई अब त्यस्ता भ्रष्ट स्वभावहरूमा नजिउने, आफूलाई यस प्रकृति सारबाट जतिसक्दो चाँडो मुक्त गर्ने, साथै उहाँद्वारा घृणित हुन र उहाँका लागि घिनलाग्दो हुन छोड्ने तृष्णा गराएका छन्। उहाँको न्याय र सजायले हामीलाई उहाँका वचनहरूप्रति समर्पित हुन र तिनलाई पालन गर्न इच्छुक बनाएका छन्, र अबदेखि उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूका विरुद्धमा विद्रोह नगर्ने तुल्याएका छन्। उहाँको न्याय र सजायले हामीलाई फेरि एक पटक बाँच्ने चाहना दिलाएका छन् र उहाँलाई हाम्रा मुक्तिदाताका रूपमा स्वीकार गर्न खुसी तुल्याएका छन्…। हामी विजयको कामबाट, नरकबाट, मृत्युको छायाको उपत्यकाबाट बाहिर निस्केका छौँ…। सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई, मानिसहरूको यस समूहलाई प्राप्त गर्नुभएको छ! उहाँले शैतानमाथि विजय हासिल गर्नुभएको छ र आफ्ना असङ्ख्य शत्रुलाई पराजित गर्नुभएको छ!

हामी शैतानी भ्रष्ट स्वभावहरू भएका, युगौँअघि परमेश्‍वरद्वारा पूर्वनिर्धारित गरिएका, र परमेश्‍वरले गोबरको थुप्रोबाट उठाउनुभएका अभावमा रहेका मानिसहरूको यस्तै एउटा साधारण समूह हौँ। हामीले कुनै बेला परमेश्‍वरलाई अस्वीकार गरेका र दोषी ठहराएका थियौँ, तर अब हामी उहाँद्वारा विजय गरिएका छौँ। परमेश्‍वरबाट हामीले जीवन र अनन्त जीवनको मार्ग प्राप्त गरेका छौँ। हामी पृथ्वीमा जहाँसुकै होऊँ, हामीले जस्तोसुकै सतावट र सङ्कष्टहरू भोगौँ, तर हामी सर्वशक्तिमान् परमेश्‍वरको मुक्तिबाट अलग हुन सक्दैनौँ। किनभने उहाँ हाम्रा सृष्टिकर्ता हुनुहुन्छ, र हाम्रो एक मात्र छुटकारा हुनुहुन्छ!

परमेश्‍वरको प्रेम मूलको पानी जस्तै फैलिन्छ, र त्यो तँलाई, मलाई, र अरूलाई, साथै सच्चा रूपमा सत्यता खोज्ने र परमेश्‍वरको देखा पराइको प्रतीक्षा गर्ने सबैलाई दिइन्छ।

जसरी सूर्य र चन्द्रमा पालैपालो उदाउँछन्, त्यसरी नै परमेश्‍वरको काम कहिल्यै रोकिँदैन, र तँमाथि, ममाथि, अरूमाथि, र परमेश्‍वरका पदचापहरूसँगै हिँड्ने र उहाँको न्याय र सजायलाई स्वीकार गर्ने सबैमाथि सम्पन्न गरिन्छ।

मार्च २३, २०१०

अघिल्लो: परमेश्‍वरलाई चिन्‍नु भनेको परमेश्‍वरको डर मान्ने र दुष्‍टताबाट अलग बस्ने मार्ग हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्