एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (२)
मानिसको स्वभाव मेरो सारभन्दा धेरै फरक छ, किनकि मानिसको स्वभाव पूर्णतया शैतानबाट उत्पन्न हुन्छ; मानिसको स्वभाव शैतानद्वारा चलाइएको र भ्रष्ट पारिएको छ। यसर्थ, मानिस त्यसको दुष्टता र कुरूपताको प्रभावमा जिउँछ। मानिस सत्यताको संसारमा वा पवित्र वातावरणमा हुर्कँदैन, मानिस ज्योतिमा जिउने कुरा त परै जाओस्। यसैले, जन्मेदेखि नै स्वभावमा सत्यता हुनु कसैको निम्ति पनि सम्भव छैन, परमेश्वरको भय र आज्ञापालन गर्ने सारको साथमा कोही जन्मन सक्ने कुरा त गर्दै-नगरौं। यसको विपरीत, मानिसहरूमा परमेश्वरको विरोध गर्ने, अवज्ञा गर्ने र सत्यतालाई प्रेम नगर्ने प्रकृति छ। मैले छलफल गर्न चाहेको समस्या यही प्रकृति—विश्वासघात—नै हो। हरेक व्यक्तिले परमेश्वरको विरोध गर्ने कार्यको स्रोत विश्वासघात नै हो। यो मानिसमा मात्रै अस्तित्वमा रहने समस्या हो, ममा होइन। केही ले सोध्नेछन्: सबै मानिसहरू ख्रीष्ट जस्तै संसारमा बसोबास गर्छन् भने किन सबै मानिसहरूमा परमेश्वरलाई विश्वासघात गर्ने प्रकृति छ, तैपनि ख्रीष्टमा यो छैन? तिमीहरूका निम्ति स्पष्ट रूपमा व्याख्या गरिनुपर्ने समस्या यही हो।
मानवजातिको अस्तित्वको आधार आत्माको दोहोरिने देहधारण हो। अर्को शब्दमा, हरेक व्यक्तिले आत्माको देहधारण भएपछि देहमा मानव जीवन प्राप्त गर्छ। कुनै व्यक्तिको शरीर जन्मिएपछि देह आफ्नो सीमासम्म नपुगुञ्जेल त्यसको जीवनले निरन्तरता दिन्छ, जुन अन्तिम क्षण हो, जब आत्माले आफ्नो आवरण त्याग्छ। कुनै व्यक्तिको आत्मा लगातार आउने र जाने यो प्रक्रिया बारम्बार दोहोरिन्छ र यसरी नै मानवजातिको अस्तित्व कायम हुन्छ। देहको जीवन मानिसको आत्माको जीवन पनि हो र मानिसको आत्माले मानिसको देहको अस्तित्वलाई समर्थन गर्छ। यसको अर्थ हो, हरेक व्यक्तिको जीवन तिनीहरूको आत्माबाट आउँछ र जीवन देहमा अन्तर्निहित हुँदैन। यसैले, मानिसको स्वभाव देहबाट नभई आत्माबाट आउँछ। हरेक व्यक्तिको आत्मालाई मात्रै तिनीहरूले कसरी शैतानका परीक्षा, कष्टहरू र भ्रष्टताको अनुभव गरेका छन् भन्ने कुरा थाहा हुन्छ। यी कुराहरू मानिसको देहको निम्ति अज्ञात छन्। यसैले, मानवजाति अनजानमा अझै अँध्यारो, अझै घिनलाग्दो र अझै बढी दुष्ट बन्छ, मानिस र मबीचको दूरी निरन्तर बढ्दै जान्छ र मानवजातिको निम्ति जीवन निरन्तर अँध्यारो बन्छ। शैतानले मानवजातिका आत्माहरूलाई आफ्नो पकडमा राख्छ, यसैले निश्चय नै मानिसको देहलाई पनि शैतानले ओगटेको छ। यस्तो देह र यस्तो मानवजातिले कसरी परमेश्वरको विरोध नगरोस्? तिनीहरू कसरी उहाँसँग अन्तर्निहित रूपले मिल्न सक्छन् र? मैले शैतानलाई मध्य आकाशमा फ्याँक्नुको कारण त्यसले मलाई विश्वासघात गरेकोले नै हो। त्यसो भए मानव कसरी तिनीहरूका संलग्नतादेखि स्वतन्त्र हुन सक्छन्? त्यसैले विश्वासघात मानव प्रकृति हो। मलाई भरोसा छ यस तर्कलाई बुझेपछि तिमीहरूले ख्रीष्टको सारमा पनि केही हदसम्म विश्वास गरेको हुनुपर्छ। परमेश्वरका आत्माले पहिरनुभएको देह परमेश्वरको आफ्नै देह हो। परमेश्वरका आत्मा सर्वोच्च हुनुहुन्छ; उहाँ सर्वशक्तिमान्, पवित्र र धर्मी हुनुहुन्छ। यसैगरी, उहाँको देह पनि सर्वोच्च, सर्वशक्तिमान्, पवित्र र धर्मी छ। यस्तो देहले मानवजातिको निम्ति धर्मी, हितकारी, पवित्र, महिमित र शक्तिशाली काम मात्र गर्न सक्छ; उहाँले सत्यताको उल्लङ्घन गर्ने, नैतिकता र न्यायको उल्लङ्घन गर्ने केही पनि गर्न सक्नुहुन्न, परमेश्वरका आत्मालाई विश्वासघात गर्ने कुरा त परै जाओस्। परमेश्वरका आत्मा पवित्र हुनुहुन्छ र उहाँको देहलाई शैतानले भ्रष्ट पार्न सक्दैन; उहाँको देहको सार मानिसको देहभन्दा फरक छ। किनकि शैतानले मानिसलाई भ्रष्ट पारेको हो, परमेश्वरलाई होइन; शैतानले परमेश्वरको देहलाई कदापि भ्रष्ट पार्न सकेन। यसैले मानिस र ख्रीष्ट एउटै स्थानमा बास गर्नुहुने भए तापनि मानिसलाई मात्र शैतानले वशमा राख्छ, प्रयोग गर्छ र पासोमा पारेको छ। यसको विपरीत, ख्रीष्ट अनन्तदेखि शैतानको भ्रष्टतादेखि अभेद्य हुनुहुन्छ, किनकि शैतान कहिले पनि उच्च स्थानमा उक्लन सक्षम हुनेछैन र कहिले पनि परमेश्वरको नजिक जान सक्नेछैन। आज तिमीहरू सबैले बुझ्नुपर्छ कि मलाई विश्वासघात गर्ने भनेको शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिले मात्र हो। विश्वासघातको कुरा ख्रीष्टमा कुनै पनि हालतमा लागू हुँदैन।
शैतानद्वारा भ्रष्ट पारिएका सबै आत्माहरू शैतानका सत्तामा गुलाम बनाइएका छन्। ख्रीष्टमा विश्वास गर्नेहरूलाई मात्र छुट्याइएका, शैतानको शिविरबाट बचाइएका र आजको राज्यमा ल्याइएका छन्। यी मानिसहरू शैतानको प्रभावमा बस्न छोडिसके। यति हुँदाहुँदै पनि, मानिसको प्रकृतिले अझ पनि मानिसको देहमा नै जरा गाडेको छ, यसको अर्थ तिमीहरूका आत्मा बचाइएको भए तापनि तिमीहरूको स्वभाव अझ पनि पहिलेको जस्तै छ र तिमीहरूले मलाई विश्वासघात गर्ने शतप्रतिशत सम्भावना छ। यसैले मेरो काम लामो समयसम्म रहन्छ किनकि तिमीहरूको प्रकृति जिद्दी छ। अहिले तिमीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा आफ्नो क्षमताले भ्याएसम्मका कठिनाइहरूबाट गुज्रिरहेका छौ, तैपनि तिमीहरू हरेक मलाई विश्वासघात गर्न र शैतानको सत्तामा, उसको शिविरमा, तिमीहरूका पुराना जीवनमा फर्कन सक्षम छौ—यो निर्विवाद तथ्य हो। त्यस बेला, तिमीहरूले अहिले गरेजस्तै मानवताको भाग वा मानवको जस्तै स्वरूपलाई प्रस्तुत गर्न तिमीहरूको निम्ति सम्भव हुनेछैन। गम्भीर अवस्थाहरूमा, तिमीहरू नष्ट पारिनेछौ र योभन्दा बढी कहिले पनि देहधारण गर्न नपाउने गरी अनन्तका लागि नष्ट पारिनेछौ, हदैसम्मको दण्ड पाउनेछौ। तिमीहरूका अगाडि रहेको समस्या यही हो। म तिमीहरूलाई यस तरिकाले सम्झाउँदै छु, ताकि, पहिलो कुरा, मेरो काम व्यर्थमा नजाओस् र दोस्रो कुरा, ताकि तिमीहरू सबै ज्योतिको दिनहरूमा जिउन सक। वास्तवमा, मेरो काम व्यर्थमा छ कि छैन भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण समस्या होइन। तिमीहरूले सुखी जीवन र अद्भुत भविष्य प्राप्त गर्न सक्षम हुनुचाहिँ महत्त्वपूर्ण छ। मानिसहरूको आत्मा बचाउनु मेरो काम हो। यदि तेरो आत्मा शैतानको हातमा पर्यो भने तेरो शरीर शान्तिमा जिउनेछैन। यदि मैले तेरो शरीरको रक्षा गरिरहेको छु भने तेरो आत्मा पनि अवश्य नै मेरो हेरचाहमा रहनेछ। यदि मैले तँलाई साँच्चै घृणा गर्छु भने तेरो शरीर र आत्मा एकै चोटि शैतानको हातमा पर्नेछन्। त्यस बेलाको तेरो अवस्थाको कल्पना गर्न सक्छस्? यदि एक दिन तिमीहरूमा मेरा वचनहरू हराए भने, कि त म तिमीहरूलाई शैतानको हातमा सुम्पिदिनेछु, जसले तिमीहरूलाई मेरो रिस पूर्ण रूपमा गायब नहुञ्जेलसम्म कष्टदायी यातनामा पार्नेछ, कि त तिमीहरू छुटकारा दिन नसकिने मानवहरूलाई म आफै दण्ड दिनेछु किनकि मलाई विश्वासघात गर्ने तिमीहरूका हृदय कहिले पनि परिवर्तन हुनेछैनन्।
तिमीहरूभित्र मप्रतिको विश्वासघात कति रहेको छ भन्ने कुरा हेर्नको निम्ति अब तिमीहरू सबैले सकेसम्म छिटो आफैभित्र हेर्नुपर्छ। म उत्कटताको साथ तिमीहरूको जबाफको प्रतीक्षा गरिरहेको छु। मसँग लापरवाही भएर व्यवहार नगर। म मानिसहरूसँग कहिल्यै खेलबाड गर्दिनँ। म केही गर्नेछु भनेर म भन्छु भने म त्यो निश्चय नै गर्नेछु। म आशा गर्छु तिमीहरू हरेकले मेरा वचनहरू गम्भीरता पूर्वक लिनेछौ र तिनीहरूलाई विज्ञान उपन्यासको रूपमा सोच्नेछैनौ। म तिमीहरूबाट ठोस कार्य भएको चाहन्छु, तिमीहरूका कल्पनाहरू होइन। अब, तिमीहरूले मेरा देहायबमोजिमका प्रश्नहरूको जवाफ दिनुपर्छ:
१. यदि तँ साँच्चै नै सेवाकर्ता होस् भने के तैँले लापरवाही वा नकारात्मकताको कुनै तत्त्वविना निष्ठावान् भएर मेरो सेवा गर्न सक्छस्?
२. मैले तेरो कहिले पनि सराहना नगरेको कुरा यदि तैँले पत्ता लगाइस् भने के तैँले अझ पनि अडिग भएर आजीवन मलाई सेवा पुर्याउनेछस्?
३. तैँले धेरै प्रयत्नहरू गर्दागर्दै पनि यदि म अझ तँप्रति उदासीन नै छु भने, के तैँले यस अस्पष्टताका बीच मेरो निम्ति निरन्तर काम गरिरहन सक्नेछस्?
४. तैँले मेरो लागि खर्च गरेपछि यदि मैले तेरा स-साना मागहरू पूरा गरिनँ भने, के तँ मसँग निरुत्साहित र निराश हुनेछस् वा अझ क्रोधित भएर गाली गर्नेछस्?
५. यदि तँ मप्रति धेरै प्रेम राख्दै सधैँ निष्ठावान् रहिआएको छस्, तथापि तैँले बिरामी, गरिबी र तेरा मित्र तथा आफन्तहरूबाट त्यागिएको पीडाको कष्ट भोग्छस् वा तैँले जीवनमा अन्य दुर्गतिहरू सहिस् भने, के मप्रतिको तेरो निष्ठा र प्रेम अझ पनि निरन्तर रहनेछ?
६. यदि मैले गरेको कुरा तैँले तेरो हृदयमा कल्पना गरेका कुरासँग मेल खाएन भने, तेरो भावी मार्गमा तँ कसरी हिँड्नेछस्?
७. यदि तैँले प्राप्त गर्ने आशा गरेका थोकहरू प्राप्त गरिनस् भने के तँ निरन्तर रूपमा मेरो अनुयायी हुन सक्छस्?
८. यदि तैँले मेरो कार्यको उद्देश्य र महत्त्वलाई कहिले पनि बुझेको छैनस् भने, के तँ मनोमानी तवरले निर्णयहरू नगर्ने र निष्कर्षहरू ननिकाल्ने आज्ञाकारी व्यक्ति बन्न सक्छस्?
९. के तैँले म मानवजातिमाझ सँगै रहँदा मैले बोलेका सबै वचनहरू र मैले गरेका सबै कामहरूलाई कदर गर्न सक्छस्?
१०. के तैँले केही प्राप्त नगरे तापनि मेरो निम्ति आजीवन पिडा सहन राजी भई मेरो वफादार अनुयायी बन्न सक्छस्?
११. के तैँले तेरो भावी अस्तित्वको मार्गको लागि विचार, योजना वा तयारी गर्ने कार्यलाई मेरो खातिर त्याग्न सक्छस्?
यी प्रश्नहरूले तिमीहरूको निम्ति मेरा अन्तिम आवश्यकताहरूलाई प्रतिनिधित्व गर्छन् र तिमीहरू सबैले मलाई जवाफ दिन सक्नेछौ भन्ने मेरो आशा छ। यदि तँलाई सोधिएका एक वा दुई प्रश्नहरूलाई तैँले पूरा गरेको छस् भने तैँले प्रयास जारी राख्नुपर्छ। यदि तैँले यी आवश्यकताहरूमध्ये एउटैलाई पनि पूरा गरेको छैनस् भने तँ निश्चय नै नरकमा फालिने किसिमको व्यक्ति होस्। यस्ता मानिसहरूलाई मैले केही भन्ने आवश्यकता छैन, किनकि तिनीहरू निश्चय नै मसँग मिल्ने मानिसहरू होइनन्। कुनै पनि परिस्थितिहरूमा मलाई विश्वासघात गर्नेलाई म कसरी मेरो घरमा राख्न सकुँला र? धेरैजसो परिस्थितिहरूमा मलाई धोका दिनेहरूको हकमा, अन्य बन्दोबस्तहरू गर्नु अगाडि म तिनीहरूको कामको अवलोकन गर्नेछु। यद्यपि, मलाई जुनसुकै परिस्थितिहरूमा विश्वासघात गर्न सक्ने सबैलाई म कहिले पनि बिर्सनेछैनँ; मेरो हृदयमा म तिनीहरूलाई सम्झनेछु र तिनीहरूका दुष्ट कामहरूको बदला लिने मौका पर्खनेछु। मैले उठाएका आवश्यकताहरू तिमीहरूले आफैमा जाँच गर्नुपर्ने समस्याहरू हुन्। मलाई आशा छ तिमीहरू सबैले तिनीहरूलाई गम्भीरता पूर्वक लिन सक्छौ र मसँग लापरवाही तरिकाले व्यवहार गर्दैनौ। निकट भविष्यमा, म मेरा आवश्यकताहरू विरुद्ध तिमीहरूले दिएका जबाफहरूको जाँच गर्नेछु। त्यस बेलासम्म, म तिमीहरूबाट ज्यादा केही माग गर्नेछैनँ र तिमीहरूलाई थप गम्भीर चेतावनी दिनेछैनँ। बरु, म मेरो अधिकारको प्रयोग गर्नेछु। सुरक्षित राखिनुपर्नेहरू सुरक्षित राखिनेछन्, इनाम दिइनुपर्नेहरूलाई इनाम दिइनेछ, शैतानकहाँ सुम्पिइनुपर्नेहरूलाई शैतानकहाँ सुम्पिइनेछ, कठोर दण्ड दिइनुपर्नेहरूलाई कठोर दण्ड दिइनेछ र नष्ट गरिनुपर्नेहरूलाई नष्ट गरिनेछ। यसैले मेरा दिनहरूमा मलाई विचलित पर्नेहरू कोही पनि हुनेछैनन्। के तँ मेरा वचनहरूमा विश्वास गर्छस्? के तँ प्रतिशोधमा विश्वास गर्छस्? मलाई ठग्नेहरू र मलाई विश्वासघात गर्नेहरूलाई म दण्ड दिने छु भन्ने कुरामा तँ विश्वास गर्छस्? त्यो दिन चाँडो आओस् भन्ने आशा गर्छस् कि ढिलो आओस् भन्ने आशा गर्छस्? तँ दण्डदेखि आतङ्कित हुनेमा पर्छस् कि दण्ड सहनै पर्ने भए तापनि मेरो विरोध गर्नेहरूमा पर्छस्? जब त्यो दिन आउँछ, तँ हर्ष र हाँसोमा बस्नेछस् कि तँ रुने वा दाह्रा किट्नेछस् के तँ त्यो कुराको कल्पना गर्न सक्छस्? तेरो अन्त्य कस्तो हुनेछ भन्ने तैँले आशा गरेको छस्? तैँले ममाथि सय प्रतिशत विश्वास गर्छस् कि सय प्रतिशत शङ्का गर्छस् भन्ने कुरालाई तैँले कहिल्यै गम्भीर भएर विचार गरेको छस्? तेरा कार्य र व्यवहारहरूले तँमाथि कस्ता परिणाम र प्रतिफलहरू ल्याउनेछन् भनेर के तैँले कहिल्यै ध्यान दिएर विचार गरेको छस्? के तँ मेरा वचनहरू पूरा हुनेछन् भन्ने साँच्चै आशा गर्छस् कि मेरा वचनहरू पूरा हुनेछन् भनेर आतङ्कित हुन्छस्? यदि मेरा वचनहरू पूरा गर्नलाई म चाँडै नै जानेछु भन्ने तँ आशा गर्छस् भने तेरा आफ्नै शब्दहरू र कार्यहरूलाई तैँले कसरी लिनुपर्छ? यदि तँ मेरो प्रस्थानको आशा गर्दैनस् र मेरा सबै वचनहरू तत्कालै पूरा हुनेछन् भन्ने आशा गर्दैनस् भने तैँले आखिर ममाथि किन विश्वास गर्छस्? तँ किन मलाई पछ्याइरहेको छस् भन्ने तँलाई साँच्चै थाहा छ? यदि तेरो कारण तेरो क्षितिजलाई विस्तार गर्ने मात्र हो भने, तैँले त्यसको लागि आफैँलाई कष्ट दिनु आवश्यक छैन। यदि आशिषित हुनु र आसन्न विपत्तिलाई टार्नलाई हो भने तेरा आफ्नै व्यवहारप्रति तेरो किन चासो छैन? तैँले मेरा मागहरू पूरा गर्न सक्छस् कि सक्दैनस् भनेर तँ किन आफैँलाई सोध्दैनस्? आउनेवाला आशिष्हरू प्राप्त गर्नको निम्ति तँ योग्यको छस् कि छैनस् भनेर तँ किन आफैँलाई सोध्दैनस्?