क. व्यवस्थाको युगको आफ्नो कामको बारेमा परमेश्वरको प्रकाश सम्बन्धमा
२१. यस समयमा सारा पृथ्वीमा उहाँको कामको थालनी गर्नु नै इस्राएलमा रहेको यहोवाको कार्यको महत्त्व, उद्देश्य र चरणहरू थिए, यस कार्यले इस्राएललाई आफ्नो केन्द्र बनायो र बिस्तारै अन्यजाति राष्ट्रहरूमा यो फैलियो। एउटा नमुना स्थापना गर्न र सारा ब्रह्माण्डमा भएका सबै मानिसहरूले उहाँको सुसमाचार नसुनेसम्म त्यस नमुनालाई फैलाउन उहाँले यही सिद्धान्तबमोजिम यस ब्रह्माण्डभरि काम गर्नुहुन्छ। पहिला इस्राएलीहरू नोआका सन्तान थिए। यी मानिसहरूले केवल यहोवाको सास मात्र प्राप्त गरेका थिए र जीवनका आधारभूत आवश्यकताहरू कसरी पूरा गर्ने त्यस कुरालाई मात्र पर्याप्त मात्रामा बुझेका थिए, तर यहोवा कस्तो परमेश्वर हुनुहुन्थ्यो वा मानिसको लागि उहाँको इच्छा के थियो भन्ने तिनीहरूलाई थाहा थिएन, सारा सृष्टिका परमप्रभुलाई कसरी आदर दिने भन्ने कुरा त परै जाओस्। पालन गर्नु पर्ने कुनै नियम तथा कानुन[क] वा सृष्टि गरिएका कुराहरूले सृष्टिकर्ताप्रति गर्नु पर्ने कुनै कर्तव्य पो थिए कि भन्ने बारेमा आदमका सन्तानलाई अत्तोपत्तो थिएन। उनीहरूलाई केवल यति कुरा मात्र थाहा थियो कि पतिले परिश्रमका साथ पसीना बगाएर आफ्नो परिवारको पालनपोषण गर्नुपर्छ र पत्नीले आफ्ना पतिको अधीनमा बस्दै यहोवाले सृष्टि गर्नुभएको मानवजातिलाई निरन्तरता दिनुपर्छ। अर्को शब्दमा भन्नु पर्दा, परमेश्वरका नियमहरू कसरी पछ्याउने वा सम्पूर्ण सृष्टिका प्रभुलाई कसरी सन्तुष्ट पार्ने भन्ने जस्ता केही पनि कुराहरू केवल यहोवाको सास र उहाँको जीवन मात्रै भएका मानिसहरूलाई थाहा थिएन। तिनीहरूले अत्यन्तै थोरै कुरा मात्र बुझ्थे। तिनीहरूको हृदयमा कुटिलता वा छल कपट नभए पनि र तिनीहरूका बीचमा ईर्ष्या र विवाद विरलै उत्पन्न हुने गरेको भए पनि, उनीहरूलाई सम्पूर्ण सृष्टिका मालिक यहोवाको बारेमा कुनै ज्ञान वा समझ थिएन। मानिसका यी पुर्खाहरूलाई केवल यहोवाले दिनुभएका कुराहरू खाने र यहोवाका कुराहरू उपभोग गर्ने कुरा मात्र थाहा थियो, तर तिनीहरू यहोवाको आदर गर्न जान्दैनथे। तिनीहरूले घुँडा टेकेर आराधना गर्नु पर्ने व्यक्ति परमप्रभु नै हुनुहुन्छ भन्ने कुरा तिनीहरूलाई थाहा थिएन। यदि त्यसो हो भने तिनीहरूलाई कसरी उहाँका प्राणीहरू भनेर भन्न सकिन्छ? यदि त्यसो हो भने, “यहोवा सारा सृष्टिका प्रभु हुनुहुन्छ” र “मानिसले उहाँलाई प्रकट गरोस्, उहाँको महिमा गरोस् र उहाँको प्रतिनिधित्व गरोस् भनेर उहाँले मानिसलाई सृष्टि गर्नुभयो” भन्ने कुरा व्यर्थमा बोलिएको हो त? यहोवालाई पटक्कै आदर नगर्ने मानिसहरू कसरी उहाँको महिमाको गवाही बन्न सक्थे र? तिनीहरू कसरी उहाँको महिमाको प्रकटीकरण हुन सक्थे र? “मानिसलाई मैले मेरै स्वरूपमा सृष्टि गरेँ” भन्ने यहोवाका वचनहरू दुष्ट शैतानको हातमा हतियार बन्ने थिएनन् र? के ती वचनहरू यहोवाले मानवजातिलाई गरेको सृष्टिमाथि कै अपमानको रूपमा रहने थिएनन् र? कामको त्यो चरण पूरा गर्नको निम्ति परमप्रभुले मानवजातिलाई सृष्टि गर्नुभएपछि आदमदेखि नोआको पालासम्म तिनीहरूलाई कुनै शिक्षा वा मार्गदर्शन दिनुभएन। बरु जलप्रलयले संसारलाई नाश गरेपछि मात्र उहाँले औपचारिक रूपमा नोआ तथा आदमका सन्तान अर्थात् इस्राएलीहरूलाई डोर्याउन थाल्नुभयो। तिनीहरूले सारा इस्राएलमा आफ्नो जीवन बिताउने क्रममा उहाँले इस्राएलमा गर्नुभएको काम र उहाँले बोल्नुभएका वाणीहरूले तिनीहरूलाई मार्गदर्शन दिए, यसले मानवजातिलाई यो कुरा देखाउँछ कि मानिसहरूले उहाँबाट जीवन पाऊन् र धुलोबाट सृष्टि गरिएका मानवजातिको रूपमा खडा होऊन् भनेर तिनीहरूभित्र सास फुकिदिन मात्र यहोवा सक्षम हुनुहुन्न, तर उहाँ मानवजातिलाई भस्म पार्न र सराप्न पनि सक्नुहुन्छ साथै मानवजातिलाई शासन गर्न आफ्नो छडीको प्रयोग पनि गर्न सक्नुहुन्छ। त्यसो हो भने के यहोवाले पृथ्वीमा मानिसलाई जीवन दिन सक्नुहुन्छ अनि दिन र रातको समयअनुसार मानवजातिको माझमा बोल्न र काम गर्न सक्नुहुन्छ भन्ने तिनीहरूले देखे? मान्छे उहाँले उठाउनुभएको धुलोबाट आएको हो र उसलाई उहाँले नै बनाउनुभएको हो भन्ने कुरा उहाँले सृष्टि गर्नुभएको मानिसले जानोस् भनेर मात्र उहाँले यो कार्य गर्नुभयो। यति मात्र होइन अन्यजातिहरू र राष्ट्रहरू (जो वास्तवमा इस्राएलबाट अलग थिएनन्, तर इस्राएलकै हाँगा थिए, तिनीहरू पनि आदम र हव्वाबाट नै आएका थिए) ले इस्राएलबाट सुसमाचार पाउन सकून् भनेर उहाँले आफ्नो पहिलो काम इस्राएलमा गर्नुभयो, ताकि ब्रह्माण्डमा सृष्टि गरिएका सबै प्राणीहरूले यहोवाको आदर गर्न सकून् र उहाँलाई महान् मान्न सकून्। यहोवाले इस्राएलमा आफ्नो काम सुरु नगरेर मानवजातिको सृष्टि गरेपछि तिनीहरूलाई पृथ्वीमा बेफिक्रि जीवन जिउन दिनुभएको भए मानिसको शारीरिक प्रकृतिको कारण (यो प्रकृति भनेको आफूले देख्न नसक्ने चीजहरू मानिसले कहिले पनि बुझ्न नसक्नु हो, यसको अर्थ के हो भने मानवजातिलाई सृष्टि गर्नुहुने परमप्रभु नै हुनुहुन्छ भन्ने कुरा उसलाई थाहा हुने थिएन र त्यसो किन गर्नुभयो भन्ने कुरा त परै जाओस्) मानवजातिलाई सृष्टि गर्नुहुने यहोवा नै हुनुहुन्छ वा उहाँ सारा सृष्टिका मालिक हुनुहुन्छ भनेर उसले कहिले पनि थाहा पाउने थिएन। यदि यहोवाले मानिसलाई सृष्टि गरेपछि उसलाई पृथ्वीमा राखेर तिनीहरूलाई केही समयसम्म अगुवाइ गर्नको लागि मानवजातिको बीचमा नबसी आफ्नो हात टकटक्याउँदै आफ्नो बाटो लाग्नुभएको भए सम्पूर्ण मानवता शून्यतामा फर्किने थियो। स्वर्ग तथा पृथ्वी र उहाँले बनाउनुभएका सबै असंख्य चिजहरू, र सम्पूर्ण मानवजाति शून्यतामा फर्कने थिए, त्योभन्दा पनि बढी त तिनीहरूलाई शैतानले कुल्चने थियो। यसरी “पृथ्वीमा अर्थात् उहाँको सृष्टिको बीचमा उहाँ उभिने ठाउँ वा एक पवित्र स्थान हुनुपर्दछ” भन्ने यहोवाको इच्छा चकनाचूर हुनेथियो। यसैले मानवजातिको सृष्टिपछि तिनीहरूको जीवनलाई मार्गदर्शन दिन र तिनीहरूसँग कुराकानी गर्नको लागि उहाँ तिनीहरूका बीचमा रहन सक्षम हुनुभयो—यो सबै कुरा उहाँले आफ्नो इच्छालाई महसुस गर्न र आफ्नो योजना हासिल गर्नका लागि गर्नुभएको थियो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। व्यवस्थाको युगको काम
२२. व्यवस्थाको युगको अवधिमा, मिश्रबाट मोशालाई पछ्याउने इस्राएलीहरूलाई हस्तान्तरण गर्नको निम्ति भनेर यहोवाले मोशालाई धेरै आज्ञाहरू दिनुभयो। यी आज्ञाहरू यहोवाले इस्राएलीहरूको निम्ति दिनुभएको थियो, र मिश्रसँग ती आज्ञाहरूको केही पनि सम्बन्ध थिएन; इस्राएलीहरूलाई नियन्त्रण गर्नको निम्ति ती आज्ञाहरू दिइएका थिए र उहाँले तिनीहरूलाई मागहरू गर्नको निम्ति ती आज्ञाहरूको प्रयोग गर्नुभयो। तिनीहरूले शबाथको दिनको पालना गर्ने कि नगर्ने, वा आफ्ना आमाबाबुलाई आदर गर्ने कि नगर्ने वा मूर्तिहरूको पूजा गर्ने कि नगर्ने—तिनीहरू धर्मी छन् कि पापी छन् भन्ने कुराको न्याय यिनै सिद्धान्तहरूका आधारमा गरिन्थ्यो। तिनीहरूमध्ये कोहीलाई यहोवाको आगोद्वारा भस्म पारियो, कोहीलाई ढुङ्गाले हानेर मारियो र कोहीले यहोवाबाट आशिष् प्राप्त गरे, अनि तिनीहरूले आज्ञाहरू पालना गरेका छन् कि छैनन् भन्ने कुराको आधारमा यसको तय गरिन्थ्यो। शबाथको दिन पालना नगर्नेहरूलाई ढुङ्गाले हानेर मारियो। शबाथको दिन पालना नगर्ने पूजाहारीहरूलाई यहोवाको आगोले भस्म पार्यो। आफ्ना आमाबाबुको आदर नगर्नेहरूलाई पनि ढुङ्गाले हानेर मारिए। यी सबै कुराको आज्ञा यहोवाले नै दिनुभएको थियो। मानिसहरूको जीवनलाई अगुवाइ गर्ने क्रममा तिनीहरूले उहाँका वचन सुनून् र तिनको पालना गरून् अनि उहाँको विरोधी नहोऊन् भनेर यहोवाले आफ्ना आज्ञा र व्यवस्थाहरू स्थापित गर्नुभयो। नयाँ जन्मेका मानवजातिलाई नियन्त्रणमा राख्न र योभन्दा बढी त आफ्नो भविष्यको कार्यको निम्ति जग तयार गर्नको निम्ति उहाँले यी व्यवस्थाहरूको प्रयोग गर्नुभयो। यसैले यहोवाले गर्नुभएको कार्यलाई आधार मानेर नै पहिलो युगलाई व्यवस्थाको युग भनिएको हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। व्यवस्थाको युगको काम
२३. व्यवस्थाको युगको अवधिमा मानव जातिलाई डोऱ्याउने काम यहोवाको नाउँमा गरिएको थियो र पृथ्वीमा पहिलो चरणको काम सुरु भएको थियो। यस चरणमा मन्दिर र वेदी निर्माण गर्ने काम समावेश थियो र इस्राएली मानिसहरूलाई डोऱ्याउन र तिनीहरूका बीचमा काम गर्नका लागि व्यवस्थाको प्रयोग गरिएको थियो। इस्राएलका मानिसहरूलाई डोऱ्याएर उहाँले पृथ्वीमा आफ्नो कामका लागि एउटा आधार सुरु गर्नुभयो। यही आधारबाट उहाँले आफ्नो काम इस्राएलभन्दा बाहिर फैलाउनुभयो, जसको अर्थ यो हो, कि इस्राएलबाट सुरु गरेर उहाँले आफ्नो कामलाई बाहिरीतिर बढाउनुभयो, यसरी पछि आउने पुस्ताहरूले यहोवा परमेश्वर हुनुहुन्छ, र यहोवाले नै आकाश र पृथ्वी साथै सबै थोक सृष्टि गर्नुभयो, र सबै प्राणी यहोवाले नै बनाउनुभएको हो भनी क्रमिक रूपमा थाहा पाए। उहाँले आफ्नो काम इस्राएलका मानिसहरूद्वारा तिनीहरूभन्दा बाहिरसम्म फैलाउनुभयो। इस्राएल देश पृथ्वीमा यहोवाको काम भएको पहिलो पवित्र स्थान थियो, र इस्राएल भूमिमा नै परमेश्वरले पृथ्वीमा पहिलो काम गर्नुभएको थियो। व्यवस्थाको युगको काम त्यही थियो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
२४. जब परमेश्वरले आफ्नो व्यवस्थापन योजनाको आधिकारिक काम सुरु गर्नुभयो, त्यसबेला उहाँले ती धेरै नियमहरू स्थापित गर्नुभयो जुन मानिसले पालन गर्नुपर्थ्यो। ती नियमहरू मानिसलाई पृथ्वीमा मानिसको सामान्य जीवन जिउने अनुमति दिनका निम्ति थिए, यस्तो सामान्य जीवन जुन परमेश्वर र उहाँको मार्गनिर्देशनबाट अलग गर्न नसकिने हुन्छ। परमेश्वरले मानिसलाई पहिले वेदीहरू कसरी बनाउने, वेदीहरू कसरी स्थापना गर्ने भन्ने कुरा बताउनुभयो। त्यसपछि, उहाँले मानिसलाई बलिहरू कसरी चढाउने सो बताउनुभयो, र मानिस कसरी जिउनुपर्छ भन्ने कुरा—उसले जीवनमा कुन कुरामा ध्यान दिनुपर्छ, उसले के पालन गर्नुपर्छ अनि उसले के गर्नुपर्छ र के गर्नुहुँदैन भन्ने कुराहरू स्थापित गर्नुभयो। परमेश्वरले मानिसका लागि जे प्रबन्ध गर्नुभयो त्यो सबै कुरालाई समेट्ने किसिमको थियो र यी रीतिथिति, नियम र सिद्धान्तहरूको आधारमा उहाँले मानिसको आचरणको मानकीकरण गर्नुभयो, तिनीहरूको जीवनलाई डोऱ्याउनुभयो, तिनीहरूका सुरुआतलाई परमेश्वरको व्यवस्थातिर डोऱ्याउनुभयो, तिनीहरूलाई परमेश्वरको वेदीको अगि आउन डोऱ्याउनुभयो, परमेश्वरले मानिसका निम्ति बनाउनुभएका सबै कुराको बीचमा जीवन बिताउनु तिनीहरूलाई डोऱ्याउनुभयो जसमा सुव्यवस्था, निरन्तरता र सन्तुलन थियो। परमेश्वरले सबैभन्दा पहिले यी साधारण नियम र सिद्धान्तहरू मानिसका लागि सीमा तोक्न प्रयोग गर्नुभयो, यसैले कि मानिसमा परमेश्वरको आराधना गर्ने सामान्य जीवन होस्; उहाँको छ हजार वर्षे व्यवस्थापन योजनाको सुरुको विशेष विषय यही हो। ती नीति र नियमहरूले धेरै व्यापक विषय समेट्छन्, ती व्यवस्थाको युगमा परमेश्वरले मानव जातिलाई डोऱ्याउने मुख्य कुराहरू हुन्, व्यवस्थाको युगभन्दा पहिले आएका मानिसहरूले ती स्वीकार र आज्ञापालन गर्नुपर्थ्यो, ती व्यवस्थाको युगमा परमेश्वरले गर्नुभएका कामहरूको लिखित विवरण हुन्, अनि ती सबै मानव जातिमाथि परमेश्वरको नेतृत्व मार्गनिर्देशनको वास्तविक प्रमाण हुन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
२५. यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, भन्नुपर्दा, उहाँले मानव जातिका पुर्खा, हव्वा र आदमलाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई अरू कुनै बौद्धिकता वा बुद्धि दिनुभएन। तिनीहरू पहिलेदेखि नै पृथ्वीमा बसिरहेका भए तापनि तिनीहरूले प्रायः केही पनि बुझेका थिएनन्। यसैले, मानव जातिलाई सृष्टि गर्ने यहोवाको काम आधा मात्र भएको थियो, र त्यो पूर्ण हुनु अझै बाँकी नै थियो। उहाँले माटोबाट मानिसको ढाँचा मात्र बनाउनुभएको थियो र त्यसलाई उहाँको सास दिनुभयो, तर उहाँलाई आदर गर्ने पर्याप्त इच्छा मानिसलाई दिनुभएन। सुरुमा, मानिसमा उहाँलाई आदर गर्ने वा उहाँको भय मान्ने मन थिएन। मानिसले केवल उहाँका वचनहरू कसरी सुन्नुपर्छ भन्ने मात्र जानेको थियो, तर पृथ्वीको जीवन र मानव जीवनको सामान्य नियमहरूको आधारभूत ज्ञानको बारेमा ऊ अनजान थियो। अनि यसरी, यहोवाले पुरुष र स्त्रीलाई सृष्टि गर्नुभयो र सात दिनको योजना पूरा गर्नुभएको भए तापनि, उहाँले कुनै पनि प्रकारले मानिसलाई सृष्टि गर्ने कार्य पूरा गर्नुभएको थिएन, किनकि मानिस एक भुस मात्र थियो, र उसमा मानिस हुनुको वास्तविकताको अभाव थियो। मानिसले केवल यति मात्र जान्दथ्यो, कि मानव जातिलाई सृष्टि गर्नुहुने यहोवा हुनुहुन्छ, तर यहोवाको वचन र कानुनहरू कसरी पालन गर्नुपर्छ भन्ने उसलाई अलिकति पनि ज्ञान थिएन। त्यसकारण मानव जाति अस्तित्वमा आएपछि पनि यहोवाको काम पूरा हुनु अझै बाँकी नै थियो। उहाँले अझै पनि मानव जातिलाई उहाँको सामु आउन पूर्ण रूपमा अगुवाइ गर्नु बाँकी नै थियो, ताकि तिनीहरू पृथ्वीमा एकसाथ जिउन र उहाँको आदर गर्न सकून्, ताकि उहाँको अगुवाइद्वारा तिनीहरू पृथ्वीमा सामान्य मानव जीवनको सही बाटोमा आउन सकून्। यस तरिकाले मात्र मुख्य रूपले यहोवाको नाउँमा सञ्चालन गरिएको काम पूरा सक्थ्यो; अर्थात्, यसरी मात्र संसारको सृष्टि गर्ने यहोवाको काम पूर्ण रूपमा समाप्त हुन सक्थ्यो। यसैले, मानव जातिलाई सृष्टि गर्नुभएपछि, मानव जातिले उहाँका आदेश र कानुनको पालन गर्न सकोस् र पृथ्वीमा सामान्य मानव जीवनका सबै गतिविधिहरूमा भाग लिन सकोस् भनेर उहाँले हजारौं वर्षसम्म पृथ्वीमा मानव जातिको जीवनलाई डोऱ्याउनु पऱ्यो। त्यसपछि मात्र यहोवाको काम पूर्ण रूपमा सकियो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
२६. यहोवाले आफ्नो कार्य गर्नुभएको दुई हजार वर्षको अवधिभन्दा अगाडि मानिसलाई केही पनि थाहा थिएन र प्रायः सबै मानवजाति भ्रष्टतामा गिरेको थियो, जलप्रलयले संसारलाई नष्ट गर्नु अगाडि सम्ममा तिनीहरू छाडापन र भ्रष्टाताको गहिराइमा पुगिसकेका थिए, यसरी तिनीहरूको हृदय पूर्ण रूपमा यहोवा रहित र उहाँको मार्गको चाहना नगर्ने भएको थियो। यहोवाले गर्न लाग्नुभएको कार्यलाई तिनीहरूले कहिल्यै पनि बुझेनन्; तिनीहरूमा समझशक्तिको अभाव थियो, तिनीहरूमा ज्ञान अझै थोरै मात्र थियो, तिनीहरू सास फेर्ने यन्त्रहरू झैँ मानिस, परमेश्वर, संसार र जीवन जस्ता कुराहरूका बारेमा पूर्ण रूपमा अनभिज्ञ थिए। पृथ्वीमा तिनीहरू सर्प झैँ धेरै प्रलोभनमा संलग्न भए र तिनीहरूले यहोवालाई रिस उठाउने धेरै कुराहरू भने, तर तिनीहरू अनभिज्ञ भएको कारण यहोवाले तिनीहरूलाई सजाय दिने वा अनुशासनमा राख्ने गर्नुभएन। जलप्रलयपछि जब नोआ ६०१ वर्ष पुगे तब यहोवा औपचारिक रूपमा नोआकहाँ देखा पर्नुभयो अनि उनी र उनका परिवारलाई पथप्रदर्शन गर्नुभयो, यस क्रममा उहाँले नोआ र तिनका सन्तानहरूका साथमा जलप्रलयबाट बाँचेका पक्षी र जनावरहरूलाई व्यवस्थाको युग अन्त नभएसम्म २,५०० वर्ष अगुवाइ गर्नुभयो। उहाँले इस्राएलमा २,२०० वर्ष औपचारिक रूपमा काम गर्नुभयो र इस्राएल तथा त्यस बाहिर एकसाथ ५०० वर्ष काम गर्नुभयो, यसरी उहाँले जम्मा २,५०० वर्ष काम गर्नुभयो। त्यस अवधिमा उहाँले यहोवाको सेवा गर्नको लागि मन्दिर बनाउनुपर्छ, पूजाहारीले लगाउने कपडा लगाउनुपर्छ, बिहान मन्दिरभित्र खाली खुट्टा हिँडेर जानुपर्छ नत्रता तिनीहरूका जुत्ताहरूले मन्दिरलाई अपवित्र पार्छन् र मन्दिरको माथिल्लो भागबाट आगो झरेर तिनीहरूलाई जलाएर मार्छ भनेर इस्राएलीहरूलाई निर्देशन दिनुभयो। तिनीहरूले आफ्नो कर्तव्य निभाए र यहोवाका योजनाहरूमा समर्पित भए। तिनीहरूले मन्दिरमा यहोवासँग प्रार्थना गरे र यहोवाको प्रकाश प्राप्त गरेपछि अर्थात् यहोवा तिनीहरूसँग बोल्नुभएपछि तिनीहरूले भीडको अगुवाइ गरे र तिनीहरूलाई तिनीहरूका परमेश्वर यहोवाको आदर गर्न सिकाए। अनि यहोवाले तिनीहरूलाई एउटा मन्दिर र वेदी बनाउनुपर्छ, र यहोवाले तोक्नुभएको समयमा, अर्थात, निस्तारको बेलामा तिनीहरूले परमेश्वरको सेवाको निम्ति बलिदान गर्नलाई भर्खरै जन्मेका बाछा र थुमाहरूलाई वेदीमा तयार पारेर राख्नुपर्छ भनी भन्नुभयो, जसले तिनीहरूलाई अन्य कुराहरूबाट रोक्थ्यो र यहोवाको आदर गर्ने कुरालाई तिनीहरूको हृदयमा हालिदिन्थ्यो। तिनीहरूले यस व्यवस्थाको पालना गरे कि गरेनन् भन्ने कुरा यहोवाप्रति तिनीहरूको निष्ठाको मापन बन्यो। यहोवाले तिनीहरूको निम्ति उहाँको सृष्टिको सातौँ दिनलाई शबाथको दिन भनेर पनि ठहराइदिनुभयो। शबाथको दिनपछिको दिनलाई उहाँले पहिलो दिन अर्थात् यहोवाको प्रशंसा गर्ने, बलिदान चढाउने र उहाँको निम्ति सङ्गीत बजाउने दिनको रूपमा ठहराइदिनुभयो। यस दिन, मानिसहरूले यहोवाको वेदीको बलिदानहरू आनन्द मानेर खान सकून् भनेर यहोवाले वेदीमा भएको बलिदानलाई तिनीहरूको बीचमा बाँड्नको निम्ति सबै पूजाहारीहरूलाई भेला गराउनुभयो। तिनीहरूले परमेश्वरसँग मिलेर खाएका र तिनीहरू उहाँका चुनिएका मानिसहरू (यो इस्राएलीसँगको उहाँको करार थियो) भएका हुनाले यहोवाले तिनीहरूलाई धन्यका भन्नुभयो। यसैले आजका दिनसम्म पनि इस्राएलका मानिसहरूले यहोवा तिनीहरूका मात्रै परमेश्वर हुन्, अन्यजातिहरूका परमेश्वर होइनन् भनी भन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। व्यवस्थाको युगको काम
२७. यहोवाले धेरै वाणीहरू बोल्नुभएको र धेरै काम गर्नुभएको भए तापनि उहाँले यी अनभिज्ञ मानिसहरूलाई मानव कसरी हुने, कसरी जिउने र कसरी यहोवाको मार्गलाई बुझ्ने भन्ने कुरा सिकाउँदै सकारात्मक तरिकाले पथ-प्रदर्शन मात्र गर्नुभयो। उहाँले गर्नुभएको कामको धेरैजसो हिस्सा मानिसहरूलाई उहाँको मार्ग पालना गर्न र उहाँका व्यवस्था अनुसरण गर्न प्रेरित गर्नु नै थियो। सतही रूपमा भ्रष्ट भएका मानिसहरूमा यो कार्य गरिएको थियो; यसले तिनीहरूको स्वभाव वा जीवनको प्रगतिलाई रूपान्तरण गर्ने सम्मको काम भने गरेन। उहाँको चासो भनेको व्यवस्थाको प्रयोग गरेर मानिसहरूलाई प्रतिबन्ध लगाउनु र नियन्त्रण गर्नु मात्र थियो। त्यस बेलाका इस्राएलीहरूको निम्ति यहोवा मन्दिरमा रहने परमेश्वर अर्थात् स्वर्गका परमेश्वर मात्र हुनुहुन्थ्यो। उहाँ बादलको खाँबो र आगोको ज्वाला हुनुहुन्थ्यो। तिनीहरूले आजका मानिसहरूले व्यवस्था र आज्ञाहरूको रूपमा जानेका कुराहरूको पालना गरून् भन्ने मात्रै उहाँले चाहनुभयो—तिनलाई नियमहरू पनि भन्न सकिन्छ—किनकि यहोवाले तिनीहरूलाई रूपान्तरण गर्न होइन, तर मानिसले प्राप्त गर्नुपर्ने थप कुराहरू तिनीहरूलाई दिन र आफ्नै मुखले तिनीहरूलाई सिकाउनको निम्ति उहाँले यसो गर्नुभयो किनकि सृष्टि गरिएपछि केही कुरा पनि मानिसको स्वामित्वमा थिएन। यसैले यहोवाले पृथ्वीमा रहँदाको जीवनमा मानिसहरूले प्राप्त गर्नुपर्ने कुराहरू तिनीहरूलाई दिएर उहाँले अगुवाइ गरेका मानिसहरूलाई तिनीहरूका पुर्खा आदम र हव्वाभन्दा उत्कृष्ट बनाउनुभयो किनकि उहाँले तिनीहरूलाई दिनुभएको कुरा उहाँले सुरुमा आदम र हव्वालाई दिनुभएको कुराभन्दा उत्कृष्ट थियो। जे होस्, यहोवाले इस्राएलमा गर्नुभएको कुराको उद्देश्य मानवजातिलाई पथ-प्रदर्शन गर्नु र तिनीहरूका सृष्टिकर्तालाई चिन्ने बनाउनु मात्र थियो। उहाँले तिनीहरूमाथि विजय हासिल गर्नुभएन वा तिनीहरूलाई रूपान्तरण गर्नुभएन, तर केवल तिनीहरूको नेतृत्व मात्र गर्नुभयो। व्यवस्थाको युगमा यहोवाको कार्यको सारांश यही नै हो। यो नै इस्राएलको सम्पूर्ण भूमिमा उहाँले गर्नुभएको कार्यको पृष्ठभूमि तथा सत्य कथा, सार हो, साथै यो मानवजातिलाई आफ्नो हातको नियन्त्रणमा राख्न यहोवाले गर्नुभएको छ हजार वर्ष लामो कार्यको सुरुवात पनि हो। यसबाट नै उहाँको छ हजार वर्षे व्यवस्थापन योजनामा थप कार्यको जन्म भयो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। व्यवस्थाको युगको काम
फूटनोट:
क. मूल पाठमा “आज्ञा पालना गरिनुपर्ने” भन्ने वाक्यांश समावेश छैन।