परमेश्‍वरको काम र मानिसको काम

मानिसको कति काम पवित्र आत्माको काम हो र कति चाहिँ मानिसको अनुभव हो? मानिसहरूले यी प्रश्‍नहरू अझै पनि बुझ्दैनन् भनी भन्‍न सकिन्छ, र तिनीहरूले पवित्र आत्माको कामको सिद्धान्तहरू बुझेका छैनन् त्यसकारण त्यसो भएको हो। जब म “मानिसको काम” भन्‍छु, निश्‍चय नै मैले जोसँग पवित्र आत्माको काम छ वा पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसहरूलाई उल्लेख गरिरहेको हुन्छु। मैले मानिसको इच्छाबाट उत्पन्‍न भएको कामलाई उल्लेख गरेको होइनँ, तर प्रेरितहरू, सेवकहरू, वा पवित्र आत्माको कामको क्षेत्रभित्र पर्ने साधारण दाजुभाइ तथा दिदीबहिनीहरूको कामलाई उल्लेख गरेको हो। यहाँ “मानिसको काम” ले देहधारी परमेश्‍वरको कामलाई बुझाउँदैन, तर पवित्र आत्माले मानिसहरूमा प्रदर्शन गर्नुहुने कामका सिद्धान्तहरू र क्षेत्रलाई बुझाउँछ। यी सिद्धान्तहरू पवित्र आत्माको कामका सिद्धान्तहरू र क्षेत्रहरू भए तापनि, यिनीहरू देहधारी परमेश्‍वरको कामका सिद्धान्तहरू र क्षेत्रजस्तै होइनन्। मानिसको काममा मानिसको सार र सिद्धान्तहरू हुन्छन्, र परमेश्‍वरको काममा परमेश्‍वरको सार र सिद्धान्तहरू हुन्छन्।

पवित्र आत्माको प्रवाहमा गरिएको काम चाहे परमेश्‍वरको आफ्नै काम होस् वा प्रयोग गरिएका मानिसहरू काम होस्, त्यो काम पवित्र आत्माको काम हो। परमेश्‍वर स्‍वयम्‌को सारतत्त्व आत्मा हुनुहुन्छ, जसलाई पवित्र आत्मा वा सात गुणा प्रबल आत्मा भन्‍न सकिन्छ। जे भए तापनि, तिनीहरू परमेश्‍वरका आत्मा हुन्, यद्यपि परमेश्‍वरको आत्मालाई फरक युगहरूमा फरक नामले सम्बोधन गरिएको छ। उहाँहरूको सार एउटै हो। त्यसैले, परमेश्‍वर स्‍वयम्‌को काम नै पवित्र आत्माको काम हो, साथै देहधारी परमेश्‍वरको काम पवित्र आत्माले गर्नुहुने कामबाहेक अरू केही होइन। प्रयोग गरिएका मानिसहरूले गर्ने काम पनि पवित्र आत्माको काम नै हो। तैपनि, परमेश्‍वरको काम पवित्र आत्माको पूर्ण अभिव्यक्ति हो, जुनचाहिँ पूर्णतया साँचो हुन्छ, तर प्रयोग गरिएका मानिसहरूको काममा थुप्रै मानवीय कुराहरू मिसिएका हुन्छन्, र ती पवित्र आत्माको प्रत्यक्ष अभिव्यक्ति होइनन्, त्यो उहाँको पूर्ण अभिव्यक्ति हुने कुरा त परै जाओस्। पवित्र आत्माको काम अनेक छन् र कुनै सर्तहरूद्वारा सीमित छैनन्। पवित्र आत्माको काम फरक मानिसहरूमा फरक-फरक छन्; त्यसले फरक सारतत्त्व प्रकट गर्छ, र यो युग र देश अनुसार फरक हुन्छ। निश्‍चय नै, पवित्र आत्माले फरक तरिकाले र विभिन्‍न सिद्धान्तहरू अनुसार काम गर्नुभए तापनि यो काम जसरी गरिए पनि वा जुनसुकै मानिसहरूमा गरिएको भए पनि त्यसको सारतत्त्व सधैँ फरक हुन्छन्; फरक मानिसहरूमा गरिने सबै कामको फरक-फरक सिद्धान्तहरू हुन्छन्, र ती सबैले आफ्नो उद्देश्यको सारतत्त्व प्रतिनिधित्व गर्न सक्छ। यसो हुनुको कारण चाहिँ पवित्र आत्माको काम क्षेत्रको हिसाबले पूर्णतया निर्दिष्ट छ र पूर्णतया मापन गर्न सकिन्छ। देहधारण हुनुभएको शरीरमा गरिएको काम मानिसहरूमा गरिएको काम जस्तै हुँदैन, र जुन व्यक्तिमा काम गरिन्छ उसको योग्यता अनुसार काम फरक हुन्छ। देहधारी शरीरमा गरिने काम मानिसहरूमा गरिने काम होइन, र यो काम मानिसहरूमा गरिने काम जस्तै होइन। संक्षिप्तमा, काम जसरी गरिने भए तापनि फरक वस्तुमा गरिने काम कहिल्यै उही हुँदैनन्, र उहाँले काम गर्नुहुने मानिसहरूको स्थिति र प्रवृत्ति अनुसार उहाँले काम गर्नुहुने सिद्धान्तहरू फरक-फरक हुन्छन्। पवित्र आत्माले मानिसहरूमा अन्तर्निहित सारको आधारमा फरक-फरक काम गर्नुहुन्छ र उनीहरूको सारतत्त्वभन्दा ज्यादा हुने गरी उहाँले तिनीहरूलाई माग गर्नुहुन्‍न, न त उहाँले उनीहरूको अन्तर्निहित क्षमतालाई नाघ्‍ने गरी काम गर्नुहुन्छ। त्यसैले, मानिसमा गरिने पवित्र आत्माको कामले मानिसहरूलाई कामको उद्देश्यको सार देख्‍ने तुल्याउँछ। मानिसको अन्तर्निहित सार परिवर्तन हुँदैन; उसको अन्तर्निहित क्षमता सीमित हुन्छ। पवित्र आत्माले मानिसहरूलाई प्रयोग गर्नुहुन्छ वा उनीहरूको योग्यताको सीमितता अनुसार उनीहरूमा काम गर्नुहुन्छ, ताकि त्यसबाट उनीहरूले फाइदा लिन सकून्। जब प्रयोग गरिएका मानिसहरूमा पवित्र आत्माले काम गर्नुहुन्छ, तब ती मानिसहरूको क्षमता र अन्तर्निहित योग्यता प्रस्फुटन हुन्छन्, रोकिएका हुँदैनन्। उनीहरूको अन्तर्निहित योग्यता कामको सेवामा प्रयोग गरिएको हुन्छ। यसलाई यसो भन्‍न सकिन्छ कि उहाँले आफ्नो काममा प्रयोग गर्न सकिने मानिसहरूको भागहरूलाई प्रयोग गर्नुहुन्छ, ताकि कामको परिणामहरू प्राप्‍त गर्न सकियोस्। यसको विपरीत, देहधारी शरीरमा गरिने कामले प्रत्यक्ष रूपमा आत्माको काम व्यक्त गर्छ र त्यसलाई मानिसको मन र सोचविचारले दूषित बनाएको हुँदैन; न त मानिसहरूको वरदानहरूले न त मानिसको अनुभवले वा मानिसको जन्मसिद्ध अवस्थाले नै त्यसलाई पहुँच गर्न सक्छ। पवित्र आत्माका सबै असङ्ख्य कामको अर्थ मानिसलाई फाइदा पुर्‍याउनु र सुसज्‍जित पार्नु हो। जे भए तापनि, कतिपय मानिसहरू सिद्ध तुल्याइएका हुन्छ भने कतिपयमा चाहिँ सिद्धताको अवस्था हुँदैन, जसको अर्थ उनीहरूलाई सिद्ध तुल्याउन सकिँदैन र उनीहरूलाई मुक्ति दिन निकै कठिन हुन्छ, र उनीहरूसँग पवित्र आत्माको काम भएको हुन सक्‍ने भए तापनि, उनीहरूलाई अन्तमा हटाइन्छन्। पवित्र आत्माको काम मानिसहरूलाई सुसज्‍जित पार्नुको लागि भए तापनि, तैपनि पवित्र आत्माको काम भएका सबै जना पूर्ण रूपमा सिद्ध बनाइनेछन् भनी भन्‍न सकिँदैन, किनकि धेरै मानिसहरूले अनुसरण गरिरहेको मार्ग उनीहरूलाई सिद्ध बनाउने मार्ग होइन। उनीहरूसँग पवित्र आत्माको एकपक्षीय काम मात्र छ, तर न त उनीहरूसँग मानवीय सहकार्यको कुनै कुरा छ, न त उनीहरूको मानवीय अनुसरण नै सही छ। त्यसैले, यी मानिसहरूमा गरिने पवित्र आत्माको कामले सिद्ध तुल्याइएका मानिसहरूलाई सेवा पुर्‍याउँछ। पवित्र आत्माको कामलाई मानिसहरूले प्रत्यक्ष रूपमा देख्‍न सक्दैनन्, न त मानिसहरूले त्यसलाई प्रत्यक्ष रूपमा स्पर्श नै गर्न सक्छन्। यसलाई केवल कामको वरदान पाएकाहरूले मात्र व्यक्त गर्न सक्छन्, अर्थात् मानिसहरूको अभिव्यक्तिहरूद्वारा पवित्र आत्माको काम अनुयायीहरूलाई प्रदान गरिन्छ।

पवित्र आत्माको काम थुप्रै किसिमका मानिसहरू र थुप्रै फरक अवस्थाहरूबाट सम्पन्‍न गरिन्छन् र पूरा गरिन्छन्। देहधारी परमेश्‍वरको कामले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्न सक्‍ने, र सम्पूर्ण युगमा मानिसहरूको प्रवेशलाई पनि प्रतिनिधित्व गर्न सक्‍ने भए तापनि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरूले ले नै मानिसहरूको प्रवेशका विस्तृत विवरणका काम सम्पन्‍न गर्नु आवश्‍यक छ, देहधारी परमेश्‍वरले होइन। त्यसैले, परमेश्‍वरको काम वा परमेश्‍वरको आफ्नो सेवकाइ चाहिँ परमेश्‍वरको देहधारी शरीरको काम हो, जुन मानिसले उहाँको सट्टामा गर्न सक्दैन। पवित्र आत्माको काम धेरै किसिममा मानिसहरूबाट सम्पन्‍न गरिएको हुन्छ; कुनै एक व्यक्तिले यसलाई पूर्णतया हासिल गर्न सक्दैन, र कुनै एक व्यक्तिले यसलाई पूर्णतया व्यक्त गर्न सक्दैन। मण्डलीहरू अगुवाइ गर्नेहरूले पनि पवित्र आत्माको कामलाई पूर्णतया प्रतिनिधित्व गर्न सक्दैनन्; तिनीहरूले केही अगुवाइका काम मात्र गर्न सक्छन्। त्यसैले पवित्र आत्माको कामलाई तीन भागमा विभाजन गर्न सकिन्छ: परमेश्‍वरको आफ्नै काम, प्रयोग गरिएका मानिसहरूको काम, र पवित्र आत्माको प्रवाहमा रहेकाहरूमा काम। परमेश्‍वरको आफ्नै कामचाहिँ सम्पूर्ण युगलाई अगुवाइ गर्नु हो; प्रयोग गरिएका मानिसहरूको काम भनेको, परमेश्‍वरले आफ्नो काम पूरा गर्नुभएपछि परमेश्‍वरद्वारा पठाइनु वा परमेश्‍वरबाट आदेशहरू प्राप्त गर्नु हो, परमेश्‍वरका अनुयायीहरूलाई अगुवाइ गर्नु हो, र परमेश्‍वरको काममा सहकार्य गर्नेहरू यिनीहरू नै हुन्; प्रवाहमा भएकाहरूमाथि पवित्र आत्माले गर्नुभएको काम चाहिँ उहाँका सबै कामलाई कायम राख्‍नु हो, अर्थात् उहाँका सम्पूर्ण व्यवस्थापन र उहाँको साक्षी कायम राख्‍नु हो, यसको साथ-साथै सिद्ध बनाउन सकिनेहरूलाई सिद्ध बनाउनु हो। सँगसँगै, यी तीन भाग पवित्र आत्माको कामको पूर्णता हुन्, तर परमेश्‍वर स्‍वयम्‌को काम विना, व्यवस्थापनको काम त्यसको पूर्णतामा निष्‍क्रिय रहन्छ। परमेश्‍वर स्‍वयम्‌को काममा सबै मानिसहरूको काम समावेश हुन्छ, र यसले सम्पूर्ण युगको कामको पनि प्रतिनिधित्व गर्छ, अर्थात् परमेश्‍वर स्‍वयम्‌को कामले पवित्र आत्माको प्रत्येक गतिशीलता र प्रचलनलाई प्रतिनिधित्व गर्छ, भने प्रेरितहरूको काम परमेश्‍वरको आफ्नो काम पछि आउँछ र त्यसबाट अघि बढ्छ, र त्यसले युगलाई अगुवाइ गर्दैन, न त त्यसले सारा युगमा पवित्र आत्माको कामको प्रचलनलाई नै प्रतिनिधित्व गर्छ। मानिसले गर्नुपर्ने काम मात्र तिनीहरूले गर्छन्, जसमा व्यवस्थापन कार्यसँग कुनै सम्बन्ध हुँदैन। परमेश्‍वर स्‍वयम्‌ले गर्नुहुने काम व्यवस्थापन कार्यभित्रकै एउटा परियोजना हो। मानिसको काम चाहिँ प्रयोग गरिएका मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्य मात्र हो, र यो व्यवस्थापन कार्यसँग सम्बन्धित छैन। यथार्थमा ती दुवै पवित्र आत्माको काम भए तापनि, कामका पहिचानहरू र प्रतिनिधित्वहरूमा भिन्‍नताहरू भएको कारण परमेश्‍वर स्‍वयम्‌को काम र मानिसको कामको बीचमा स्पष्‍ट र ठोस भिन्‍नताहरू छन्। यसबाहेक, पवित्र आत्माले गर्नुभएको कामको हदमा पहिचानहरूमा भिन्‍नता हुनुका साथै उद्देश्यमा फरक हुन्छ। यिनीहरू पवित्र आत्माको कामका सिद्धान्तहरू र क्षेत्र हुन्।

मानिसको कामले उसको अनुभव र उसको मानवतालाई दर्साउँछ। मानिसले दिने कुरा र उसले गर्ने कामले उसकै प्रतिनिधित्व गर्छ। मानिसको अन्तर्दृष्टि, मानिसको तार्किक क्षमता, मानिसको तर्क, र उसको प्रचुर कल्पना-शक्ति यी सबै कुरा उसको काममा समावेश भएका हुन्छन्। मानिसको अनुभवले विशेष रूपमा उसको कामलाई दर्शाउन सक्षम हुन्छ, र व्यक्तिका अनुभवहरू उसको कामको भागहरू बन्छन्। मानिसको कामले उसको अनुभव अभिव्यक्त गर्न सक्छ। जब केही मानिसहरूले नकारात्मक कुरा अनुभव गर्छन्, तिनीहरूको सङ्‍गतिको अधिकांश भाषामा नकारात्मक तत्त्वहरू समावेश हुनेछन्। यदि तिनीहरूको अनुभव एक निश्‍चित समयको निम्ति सकारात्मक छ र तिनीहरू सकारात्मक धारणाको मार्गमा विशेष गरी रहे भने, तिनीहरूको सङ्‍गति अत्यन्त उत्साहजनक हुन्छ, र मानिसहरूले तिनीहरूबाट सकारात्मक बन्दोबस्तहरू प्राप्‍त गर्न सक्छन्। यदि एक जना कामदार एक निश्‍चित समयको निम्ति नकारात्मक बन्छ भने उसको सङ्गतले सधैँ नकारात्मक तत्त्वहरू बोकी हिँड्छ। यस किसिमको सङ्‍गत निराशाजनक हुन्छ, र अरू व्यक्तिहरू पनि उसको सङ्गतपछि अन्जानमै निराश बन्‍नेछन्। अगुवाको आधारमा नै उसलाई पछ्याउने व्यक्तिहरूको अवस्था परिवर्तन हुन्छ। एक कामदार भित्रपट्टि जस्तो छ, उसले त्यही कुरा व्यक्त गर्छ, र पवित्र आत्माको काम प्रायजसो मानिसको स्थितिसँगै परिवर्तन हुन्छ। उहाँले मानिसहरूको अनुभव अनुसार काम गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दबाब दिनुहुन्‍न, तर मानिसहरूबाट तिनीहरूको अनुभवको सामान्य गति अनुसार माग गर्नुहुन्छ। अर्थात् मानिसको सङ्‍गत परमेश्‍वरको वचनभन्दा फरक हुन्छ। मानिसले सङ्‍गति गर्ने कुराले तिनीहरूको व्यक्तिगत अन्तर्दृष्टि र अनुभवलाई बताउँछ, यस क्रममा तिनीहरूले परमेश्‍वरको कामको आधारमा आफ्‍ना अन्तर्दृष्टि र अनुभव व्यक्त गर्छ। तिनीहरूको जिम्मेवारी परमेश्‍वरले काम गर्नुहुन्छ वा बोल्‍नुहुन्छ, त्यसमध्ये तिनीहरूले अभ्यास गर्नुपर्ने वा प्रवेश गर्नुपर्ने कुरा के हो भनी पत्ता लगाउनु हो, त्यसपछि अनुयायीहरूलाई ती प्रदान गर्नु हो। त्यसकारण, मानिसको कामले उसको प्रवेश र अभ्यासलाई प्रतिनिधित्व गर्छ। निश्‍चय नै, यस किसिमको काममा मानिसका शिक्षाहरू र अनुभव वा केही मानवीय विचार मिश्रित हुन्छ। जे भए तापनि पवित्र आत्माले काम गर्नुहुन्छ, चाहे मानिसमा होस् वा देहधारी परमेश्‍वरमा होस्, कामदारहरूले ती के हुन् भनी सधैँ व्यक्त गर्छन्। काम गर्नुहुने पवित्र आत्मा नै हुनुभए तापनि, मानिस स्वाभाविक रूपमा जो हो, काम त्यसैमा आधारित भएको हुन्छ, किनकि पवित्र आत्माले जगविना काम गर्नुहुन्‍न। अर्को शब्दमा, काम शून्यताबाट आउँदैन, तर सधैँ यथार्थ परिस्थितिहरू र वास्तविक अवस्थाहरू अनुसार गरिएको हुन्छ। यसरी मात्र मानिसको स्वभाव रूपान्तरित हुन सक्छ र उसका पुराना धारणा र विचारहरू परिवर्तन हुन सक्छन्। मानिसले व्यक्त गर्ने कुरा उसले देख्‍ने, अनुभव गर्ने र कल्पना गर्न सक्‍ने कुरा नै हो, अनि मानिसको सोच-विचारले त्यसलाई हासिल गर्न सक्छ, चाहे त्यो सिद्धान्त होस् वा धारणाहरू होस्। मानिसको कामले मानिसको अनुभवको क्षेत्रलाई पार गर्न सक्दैन, काम जुनसुकै आकारको भए तापनि मानिसले देख्‍ने कुरा, मानिसले सोच्‍ने कुरा वा कल्पना गर्ने कुरालाई त्यसले पार गर्न सक्दैन। परमेश्‍वरले व्यक्त गर्नुहुने सबै कुरा उहाँ स्‍वयम्‌ को हुनुहुन्छ भन्‍ने कुरा नै हो, र यो मानिसले प्राप्‍त गर्न सक्दैन—यो मानिसको सोचाइभन्दा बाहिर छ। उहाँले सबै मानिसहरूलाई अगुवाइ गर्ने आफ्नो काम व्यक्त गर्नुहुन्छ, र यो मानव अनुभवको विवरणहरूसँग सम्बन्धित छैन, बरु यसले उहाँको आफ्नो व्यवस्थापनसँग सरोकार राख्‍छ। मानिसले व्यक्त गर्ने कुराचाहिँ उसको अनुभव हो भने परमेश्‍वरले व्यक्त गर्नुहुने कुराचाहिँ उहाँको सारतत्त्व हो, जुन उहाँको अन्तर्निहित स्वभाव हो, यो मानिसको पहुँचभन्दा बाहिर छ। मानिसको अनुभव चाहिँ परमेश्‍वरले व्यक्त गर्नुभएको उहाँको सारतत्त्वको आधारमा हासिल गरिएको उसको अन्तर्दृष्टि र ज्ञान हो। यस किसिमको अन्तर्दृष्टि र ज्ञानलाई मानिसको सारतत्त्व भनिन्छ, र तिनीहरूको अभिव्यक्तिको आधारचाहिँ मानिसको अन्तर्निहित स्वभाव र क्षमता हो—यसैकारण तिनीहरूलाई पनि मानिसको सारतत्त्व भनिन्छ। मानिस उसले अनुभव गर्ने र देख्‍ने कुराको बारेमा सङ्‍गति गर्न सक्षम छ। आफूले अनुभव नगरेको, नदेखेको, वा तिनीहरूको सोचाइले भ्याउन नसक्‍ने, तिनीहरूभित्र नभएका कुराहरूको बारेमा कसैले पनि सङ्‍गति गर्न सक्दैन। यदि मानिसले व्यक्त गर्ने कुरा उसको अनुभवबाट आएको होइन भने त्यो उसको परिकल्पना वा सिद्धान्त हो। सरल भाषामा भन्‍नुपर्दा, उसको वचनमा कुनै वास्तविकता हुँदैन। यदि तँ कहिल्यै पनि समाजको सम्पर्कमा आएको थिइनस् भने तँ समाजको जटिल सम्बन्धहरूसँग स्पष्‍ट सङ्‍गत गर्न सक्षम हुने थिएनस्। यदि तेरो परिवार नभएको भए, परिवारका समस्याहरूको बारेमा कुरा गर्ने अरू थिए भने, तिनीहरूले भनेका अधिकांश कुरा तैँले बुझ्दैनथिस्। त्यसैले, मानिसले सङ्‍गत गर्ने र उसले गर्ने कामले उसको भित्री सारतत्त्वको प्रतिनिधित्व गर्छ। यदि कसैले सजाय र न्यायको बारेमा उसको बुझाइसँग सङ्‍गत गर्‍यो, तर तँसँग त्यसको कुनै अनुभव थिएन भने तैँले उसको ज्ञानलाई इन्कार गर्ने साहस गर्ने थिइनस्, शत प्रतिशत त्यसमा सहमत हुन साहस गर्ने कुरा त परै जाओस्। किनकि तैँले तिनीहरूले सङ्‍गत गरेको कुरा कहिल्यै अनुभव गरेको छैनस्, तैँले कहिल्यै थाहा पाएको थिइनस्, र तेरो मनले त्यसको बारेमा कल्पना गर्न सक्दैन। तिनीहरूको ज्ञानबाट तैँले लिन सक्‍ने कुरा भनेको भविष्‍यमा सजाय र न्याय भएर जानका लागि चाहिने एक मार्ग हो। तर यो मार्ग एक सैद्धान्तिक ज्ञान मात्र हुन सक्छ; यसले तेरो आफ्नो बुझाइको ठाउँ लिन सक्दैन, न त तेरो अनुभवको नै। सायद तिनीहरूले भनेको कुरा सही नै छ भनी तँ विचार गर्छस्, तर तेरो आफ्‍नै अनुभवमा तँ त्यो कुरा धेरै किसिमले अव्यावहारिक भएको पत्ता लगाउँछस्। सायद तैँले सुन्‍ने कतिपय कुराहरू पूर्णतया अव्यावहारिक भएको महसुस गर्छस्; त्यो समयमा यसको धारणालाई लिन्छस्, र तैँले त्यसलाई स्वीकार गरे तापनि, तैँले अनिच्छुक रूपमा मात्रै स्वीकार गर्छस्। तर तेरो आफ्नै अनुभवमा, तैँले जुन कुराबाट ज्ञान प्राप्‍त गरेको छस्, त्यो धारणा तेरो व्यवहार गर्ने तरिका बन्छ, र तैँले जति धेरै तपाईंले व्यवहार गर्छस्, तैँले सुनेका वचनहरूको साँचो मूल्य र अर्थलाई त्यति नै बुझ्छस्। तैँले आफैले अनुभव गरिसकेपछि तैँले अनुभव गरेको कुराको ज्ञानको बारेमा त्यसपछि तैँले कुरा गर्न सक्छस्। यसको साथै, तैँले कसको ज्ञान वास्तविक र व्यावहारिक छ अनि कसको ज्ञान सिद्धान्तमा आधारित छ र व्यर्थको छ भनी छुट्याउन पनि सक्छस्। त्यसैले, तैँले स्वीकार गरेको ज्ञान सत्यतासँग मेल खान्छ कि खाँदैन भन्‍ने कुरा तैँले व्यावहारिक रूपमा त्यसलाई अनुभव गरेको छस् कि छैनस् भन्‍ने कुरामा निर्भर रहन्छ। जब तेरो अनुभवमा सत्यता हुन्छ, तब तेरो ज्ञान व्यावहारिक र मूल्यवान् बन्‍नेछ। आफ्‍नो अनुभवबाट तैँले विवेक र अन्तर्दृष्टि पनि हासिल गर्न सक्छस्, आफ्‍नो ज्ञानलाई गहिराउन सक्छस्, र तैँले आफूसँग कसरी व्यवहार गर्नुपर्छ भन्‍ने बारेमा तैँले तेरो बुद्धि र सामान्य चेतनालाई वृद्धि गर्न सक्छस्। मानिसहरूले व्यक्त गर्ने त्यस्तो ज्ञान जसको सत्यता छैन, त्यो सिद्धान्त हो, चाहे त्यो जतिसुकै उच्‍चकोटीको किन नहोस्। यस किसिमको व्यक्ति शरीरका विषयमा धेरै बुद्धिमान ठहरिन सक्छ तर आत्मिक कुराको विषयमा कुनै भेद छुट्याउन सक्दैन। किनकि यस किसिमका मानिसहरूसँग आत्मिक मामिलाको बारेमा कुनै पनि अनुभव हुँदैन। यी मानिसहरूले आत्मिक मामिलामा प्रकाश पाएका हुँदैनन् र आत्मिक कुराहरू बुझ्दैनन्। तैँले जुनसुकै ज्ञान व्यक्त गरे पनि, यदि त्यो तेरो सारतत्त्व हो भने त्यो तेरो व्यक्तिगत अनुभव हो, तेरो वास्तविक ज्ञान हो। सिद्धान्तको बारेमा मात्र कुरा गर्ने मानिसहरू—यी मानिसहरूसँग न त सत्यता हुन्छ न त वास्तविकता नै हुन्छ—छलफललाई पनि तिनीहरूको अस्तित्व भन्‍न सकिन्छ, किनकि उनीहरूको गहिरो सोचविचारद्वारा मात्रै तिनीहरू आफ्नो सिद्धान्तको निर्क्योलमा आइपुगेका छन् र यो उनीहरूको गम्भीर चिन्तनको परिणाम हो। तैपनि यो केवल सिद्धान्त मात्र हो, यो कल्पनाभन्दा अरू केही होइन! सबै प्रकारका मानिसहरूको अनुभवहरूले उनीहरूभित्र भएका कुराहरूको प्रतिनिधित्व गर्छन्। कुनै पनि आत्मिक अनुभव नभएको कसैले पनि सत्यताको ज्ञानको बारेमा बोल्‍न सक्दैन, न त विविध आत्मिक कुराहरूको सही ज्ञानको बारेमा नै कुरा गर्न सक्छन्। मानिसले जे व्यक्त गर्छ त्यो उभित्र जे छ त्यही हो—यो निश्‍चित हो। यदि कसैले आत्मिक कुराहरूको ज्ञान र सत्यताको ज्ञान प्राप्‍त गर्ने चाहना गर्छ भने उससँग वास्तविक अनुभव हुनुपर्छ। यदि तैँले मानव जीवनका सामान्य चेतनाका बारेमा स्पष्‍टसँग बोल्‍न सक्दैनस् भने तैँले त्योभन्दा कति थोरै मात्रामा आत्मिक कुराहरूको बारेमा बोल्‍न सक्‍नेछौ? मण्डलीहरूलाई अगुवाइ गर्न, मानिसहरूलाई जीवन दिन, र मानिसहरूका निम्ति प्रेरितहरू बन्‍न सक्‍नेहरू यथार्थता अनुभव हुनुपर्छ; उनीहरूसँग आत्मिक कुराहरूको सही बुझाइ हुनुपर्छ र उनीहरूमा सत्यताको सही किसिम बुझाइ र अनुभव हुनुपर्छ। यस किसिमका मानिसहरू मात्र मण्डलीहरूलाई अगुवाइ गर्ने सेवक वा प्रेरितहरू बन्‍न योग्य हुन्छन्। अन्यथा, उनीहरूले साना व्यक्तिहरूको रूपमा पछ्याउन मात्रै सक्छन् र अगुवाइ गर्न सक्‍दैनन्, मानिसहरूलाई जीवन उपलब्ध गराउन सक्‍ने प्रेरितहरू बन्‍न सक्‍ने त परै जाओस्। किनकि प्रेरितहरूको कार्य हतार गर्नु वा झगडा गर्नु होइन; बरु जीवन सम्‍बन्धी सेवाको काम गर्नु र अरूलाई तिनीहरूको स्वभाव रूपान्तरण गर्न अगुवाइ गर्नु हो। यो कार्य गर्नेहरूलाई गाह्रो जिम्मेवारी पूरा गर्नको लागि नियुक्ति गरिएको हुन्छ, यस्तो कार्य जो-कोहीले पूरा गर्न सक्दैन। यस किसिमको काम केवल जीवन भएकाहरूले मात्र पूरा गर्न सक्छन्, अर्थात्, सत्यताको अनुभव गरिसकेकाहरूले मात्र पूरा गर्न सक्छन्। यस किसिमको काम त्यतिकै छोडेर हिँड्ने, हतार गर्ने वा आफैलाई खर्च गर्न इच्छुकहरू जोकसैले पूरा गर्न सक्दैन; सत्यताको अनुभव नभएका, नछिवलिएका वा न्याय नगरिएका मानिसहरू यस किसिमको काम गर्न असक्षम हुन्छन्। अनुभव नभएका मानिसहरू, यथार्थता नभएका मानिसहरू, वास्तविकतालाई स्पष्‍टसँग देख्‍न नसक्‍ने हुन्छन् किनकि उनीहरू आफैमा यस किसिमको सार हुँदैन। त्यसैले, यस किसिमको व्यक्ति अगुवापनको काम गर्न असक्षम हुने मात्र होइन, तर यदि लामो समयसम्म तिनीहरू सत्यतारहित भइरहन्छन् भने उनीहरू विनाशको पात्र बन्‍नेछन्। तैँले व्यक्त गर्ने अन्तर्दृष्टि तैँले जीवनमा अनुभव गरेका कठिनाइहरूको प्रमाणको रूपमा खडा हुन सक्छ, जुन कुराहरूको निम्ति तँलाई सजाय दिइएको हुन्छ, र जुन विषयको निम्ति तेरो न्याय गरिएको हुन्छ। परीक्षाहरूको हकमा पनि यही कुरा लागू हुन्छ: जहाँ व्यक्तिलाई शोधन गरिएको हुन्छ, जहाँ व्यक्ति कमजोर हुन्छ—यी ती क्षेत्र हुन् जसमा व्यक्तिले अनुभव गरेको हुन्छ, जसमा व्यक्तिको मार्ग हुन्छ। उदाहरणका लागि, यदि कसैले वैवाहिक सम्बन्धमा नैराश्यता भोग्छन् भने उनीहरूले प्रायजसो यस्तो सङ्गति गर्छन्, “परमेश्‍वरलाई धन्यवाद होस्, परमेश्‍वरको प्रशंसा होस्, मैले परमेश्‍वरको हृदयको चाहनालाई सन्‍तुष्‍ट पार्नुपर्छ र मैले मेरो सम्पूर्ण जीवन अर्पण गर्नुपर्छ, र मैले मेरो वैवाहिक सम्बन्धलाई पूर्णतया परमेश्‍वरको हातमा समर्पण गर्नुपर्छ। म मेरो सारा जीवन परमेश्‍वरमा समर्पण गर्न इच्छुक छु।” मानिसभित्र भएका सबै कुराहरू सङ्गतिद्वारा प्रदर्शन गर्न सकिन्छ। चाहे उनीहरू चर्को स्वरमा बोलून् वा शान्त स्वरमा बोलून्, व्यक्तिको बोलीवचनको ढाँचा अनुभवका विषयहरू होइन र तिनले उनीहरूसँग के छ र उनीहरू को हुन् भन्‍ने कुराको प्रतिनिधित्व गर्न सक्दैनन्। यी कुराहरूले व्यक्तिको चरित्र असल कि खराब छ, वा उनीहरूको प्रकृति असल छ कि खराब छ भन्‍ने मात्र बताउन सक्छ, तर कसैसँग अनुभव छ कि छैन त्यस कुरासँग तिनलाई तुलना गर्न सकिँदैन। बोल्दा आफैलाई व्यक्ति गर्न सक्‍ने क्षमता, वा बोलीको सीप वा गति केवल अभ्यासको प्रतिफल हो र यसले व्यक्तिको अनुभवलाई प्रतिस्थापन गर्न सक्दैन। जब तँ आफ्नो व्यक्तिगत अनुभवहरूको बारेमा कुरा गर्छस्, तब तैँले महत्वपूर्ण ठानेका र तँभित्र भएका सबै कुराहरूका बारेमा सङ्गति गर्छस्। मेरो बोलीले मेरो अस्तित्वको प्रतिनिधित्व गर्छ, तर मैले भन्‍ने कुरा मानिसको पहुँचभन्दा बाहिर छ। मैले भन्‍ने कुरा मानिसले अनुभव गर्ने कुरा होइन, र यो मानिसले देख्‍न सक्‍ने कुरा पनि होइन; यो मानिसले छुन सक्‍ने कुरा पनि होइन, तर मैले भन्‍ने कुरा म स्‍वयम्‌ नै हुँ। कतिपय मानिसहरूले मैले शिक्षा दिने कुरा नै मैले गरेको अनुभव हो भनी स्वीकार गर्छन्, तर त्यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो भनी तिनीहरूले पहिचान गर्दैनन्। अवश्‍य नै, मैले जे भन्छु त्यो मैले अनुभव गरेको कुरा हो। छ हजार वर्षसम्म व्यवस्थापनको काम गर्ने म नै हुँ। मैले मानवजातिको सृष्‍टिको सुरुआतदेखि वर्तमान समयसम्म भएका सबै कुरा अनुभव गरेको छु; कसरी म त्यसको बारेमा चर्चा गर्न असक्षम हुन्छु र? जब मानिसको प्रकृतिको कुरा आउँछ, मैले त्यो स्पष्‍ट देखेको छु; मैले त्यो लामो समयदेखि अवलोकन गरेँ। कसरी म त्यसको बारेमा स्पष्‍टसँग कुरा गर्न असक्षम हुन सक्छु र? मैले मानिसको सारलाई स्पष्‍ट रूपमा देखिसकेको छु, त्यसकारण म मानिसलाई सजाय दिन र उसको न्याय गर्न योग्य छु, किनकि सबै मानिस मबाट आएका हुन् तर उनीहरू शैतानद्वारा भ्रष्‍ट बनाइएका छन्। निश्‍चय नै, मैले गरेको कामलाई मूल्याङ्कन गर्न म योग्य छु। यो काम मेरो शरीरले नगरेको भए पनि, यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो, र मसँग जे छ र म जे हुँ त्यो यही हो। त्यसैले, त्यसलाई व्यक्त गर्न र मैले गर्नुपर्ने काम गर्न म योग्य छु। मानिसहरूले भन्‍ने कुरा भनेका उनीहरूले अनुभव गरेका कुरा हुन्। त्यो उनीहरूले देखेका, उनीहरूको मनले बुझ्‍न पुग्‍न सक्‍ने, र उनीहरूको चेतनाले थाहा पाउन सक्‍ने कुरा हुन्। तिनीहरूले सङ्‍गति गर्न सक्‍ने कुरा यही हो। परमेश्‍वरको देहधारी शरीरले बोल्‍नुभएका वचनहरू आत्माको प्रत्यक्ष अभिव्यक्ति हुन् र यी वचनहरूले आत्माद्वारा गरिएको काम व्यक्त गर्छन्, जुनचाहिँ शरीरले अनुभव गरेको वा देखेको छैन, तैपनि उहाँले आफ्नो अस्तित्वलाई व्यक्त गर्नुहुन्छ, किनकि देहको सारतत्त्व आत्मा नै हो, र उहाँले आत्माको काम व्यक्त गर्नुहुन्छ। यो आत्माले अघिबाटै गरिसक्‍नुभएको काम हो, तापनि त्यो देहको पहुँचभन्दा बाहिर छ। देहधारणपछि, देहको अभिव्यक्तिद्वारा उहाँले मानिसहरूलाई परमेश्‍वरको अस्तित्व थाहा गर्न सक्षम तुल्याउनुहुन्छ र मानिसहरूलाई परमेश्‍वरको स्वभाव र उहाँले गर्नुभएको काम देख्‍ने तुल्याउनुहुन्छ। मानिसको कामले मानिसहरूलाई उनीहरू केमा प्रवेश गर्नुपर्छ र उनीहरूले के बुझ्‍नुपर्छ सोबारे ठूलो स्पष्टता दिन्छ; यसमा मानिसहरूलाई सत्यताको बुझाइ र अनुभवतिर अगुवाइ गर्ने कुरा समावेश हुन्छ। मानिसको काम भनेको मानिसहरूलाई पालनपोषण गर्नु हो; परमेश्‍वरको काम भनेको मानिसहरूको निम्ति नयाँ मार्ग र नयाँ युगहरूको सुरुवात गरिदिनु, र मरणशील मानिसहरूले थाहा गर्न नसक्‍ने कुरा मानिसहरूलाई प्रकट गरिदिनु हो, यसरी तिनीहरूले उहाँको स्वभाव बुझ्‍न सक्छन्। परमेश्‍वरको काम भनेको सबै मानवजातिलाई अगुवाइ गर्नु हो।

पवित्र आत्माका सबै कार्य मानिसहरूको फाइदाको निम्ति गरिएका हुन्छन्। यसले मानिसहरूलाई सुधार गर्छ; मानिसहरूलाई फाइदा नगर्ने कुनै कार्य छैन। चाहे सत्यता सतही होस् वा गहन होस्, र सत्यता ग्रहण गर्नेहरूको क्षमता जस्तोसुकै होस्, पवित्र आत्माले जे पनि गर्नुहुन्छ, त्यसले मानिसहरूलाई फाइदा गर्छ। तर पवित्र आत्माको काम प्रत्यक्ष रूपमा गरिँदैन; उहाँसँग सहकार्य गर्ने मानिसहरूद्वारा नै यसलाई व्यक्त गरिनुपर्छ। केवल यसरी मात्रै पवित्र आत्माको कामको परिणामहरू प्राप्‍त गर्न सकिन्छ। निश्‍चय नै, जब पवित्र आत्माले प्रत्यक्ष रूपमा काम गर्नुहुन्छ, यसमा कुनै मिलावट हुँदैन; तर जब पवित्र आत्माले मानिसद्वारा काम गर्नुहुन्छ, यो अत्यन्तै कलङ्कित बन्छ र यो पवित्र आत्माको मौलिक काम हुँदैन। यसकारण, सत्यता फरक हदमा परिवर्तन हुन्छ। अनुयायीहरूले पवित्र आत्माको मौलिक अभिप्राय प्राप्‍त गर्दैनन् तर पवित्र आत्माको काम र मानिसको अनुभव र ज्ञानको संयोजन प्राप्‍त गर्छन्। अनुयायीहरूले पवित्र आत्माको कामको जुन हिस्सा प्राप्‍त गर्छन् त्यो सही हुन्छ, जबकी उनीहरूले प्राप्‍त गर्ने मानिसको अनुभव र ज्ञान फरक-फरक हुन्छ किनकि सेवकहरू फरक छन्। पवित्र आत्माको प्रकाश र अगुवाइ पाएका सेवकहरूले यो प्रकाश र अगुवाइ हासिल गर्छन्। यी अनुभवहरूभित्र मानिसको मन र अनुभव साथै मानवताको सार, समावेश हुन्छ, त्यसपछि, तिनीहरूले प्राप्त गर्नुपर्ने ज्ञान वा अन्तर्दृष्टि तिनीहरूले प्राप्त गर्छन्। यो चाहिँ सत्यता अनुभव गरिसकेपछिको मानिसको अभ्यास गर्ने तरिका हो। यस किसिमको अभ्यास गर्ने तरिका सधैँ एक समानको हुँदैन, किनकि मानिसहरूले फरक किसिमले अनुभव गर्छन् र मानिसहरूले अनुभव गर्ने कुराहरू पनि फरक नै हुन्छन्। यस किसिमले पवित्र आत्माको उही प्रकाशले पनि फरक ज्ञान र अभ्यास ल्याउँछ, किनकि प्रकाश प्राप्‍त गर्नेहरू फरक हुन्छन्। कतिपय मानिसहरूले अभ्यास गर्ने क्रममा सानातिना गल्तीहरू गर्छन् भने कतिपयले ठूलै गल्ती पनि गर्छन्, र कतिपयले चाहिँ गल्ती बाहेक केही पनि गर्दैनन्। मानिसहरूको बुझ्‍ने क्षमता फरक-फरक हुने भएकोले यस्तो हुन्छ, साथै उनीहरूमा अन्तर्निहित क्षमताको कारण पनि यस्तो हुन्छ। कतिपय मानिसहरूले सन्देश सुनेपछि एक किसिमले बुझ्छन्, र कतिपयले सत्यता सुनिसकेपछि अर्कै किसिमले बुझ्छन्। कतिपय मानिसहरूले हल्का रूपमा तलमाथि बुझ्छन् भने कतिपयले त सत्यताको वास्तविक अर्थ बुझेकै हुँदैनन्। त्यसैले, एक व्यक्तिले अरूलाई कसरी अगुवाइ गर्नेछ भन्‍ने कुरालाई उसको बुझाइले निर्देशित गर्छ; यो साँचो हो, किनकि व्यक्तिको काम उसको अस्तित्वको अभिव्यक्ति नै हो। सत्यताको सही बुझाइ भएकाहरूले अगुवाइ गरेका मानिसहरूसँग पनि सत्यताको सही बुझाइ हुन्छ। गलत बुझाइ भएका मानिसहरू भए तापनि त्यस्ता मानिसहरू अत्यन्त थोरै हुन्छन्, र प्रत्येक व्यक्तिमा त्रुटि हुनेछ भन्‍ने छैन। यदि कुनै व्यक्तिको सत्यता सम्‍बन्धी बुझाइमा त्रुटि छ भने उसलाई पछ्याउनेहरू पनि गलत नै हुनेछन्, र यी मानिसहरू वचनको हरेक धारणामा गलत हुनेछन् भन्‍नेमा कुनै शङ्का हुँदैन। अनुयायीहरूले सत्यता कति मात्रामा बुझ्छन् भन्‍ने कुरा सेवकहरूमा निर्भर हुन्छ। निश्‍चय नै, परमेश्‍वरबाट आएको सत्यता सही हुन्छ, र यसमा कुनै गल्ती हुँदैन, र यो पूर्णतया निश्‍चित हुन्छ। तैपनि सेवकहरू पूर्णतया सही नहुन सक्छन् र पूर्णतया भरोसायोग्य हुन्छन् भनेर भन्‍न पनि सकिँदैन। यदि सेवकहरूसँग सत्यतालाई अभ्यास गर्ने व्यावहारिक तरिका छ भने अनुयायीहरूसँग पनि त्यही किसिमको अभ्यास गर्ने तरिका हुनेछ। यदि सेवकहरूसँग सत्यता अभ्यास गर्ने व्यावहारिक तरिका छैन तर धर्मसिद्धान्त मात्र छ भने अनुयायीहरूसँग कुनै वास्तविकता हुनेछैन। अनुयायीहरूको योग्यता र प्रवृत्ति जन्मजात निर्धारित हुन्छ र यो सेवकहरूसँग सम्बन्धित हुँदैन, तर अनुयायीहरूले कति मात्रामा सत्यता बुझ्छन् र परमेश्‍वरलाई चिन्छन् भन्‍ने कुरा सेवकहरूमा निर्भर हुन्छ (यो केही मानिसहरूमा मात्र लागू हुन्छ)। सेवक जस्तो हुन्छ, उसले अगुवाइ गर्ने अनुयायीहरू पनि त्यस्तै हुनेछन्। सेवकले जे कुरा व्यक्ति गर्छ, त्यो उसको सार हो, यसमा कुनै पूर्वाग्रह हुँदैन। उसलाई पछ्याउनेहरूसँग उसले माग गर्नेहरू नै उसले चाहना गरेको कुरा हो वा उसले हासिल गर्न सक्‍ने कुरा हुन्। आफूले जे गर्ने गरेका छन् त्यही कुराको आधारमा अधिकांश सेवकहरूले आफ्ना अनुयायीहरूबाट ती कुरा माग गर्छन्, यद्यपि उनीहरूका अनुयायीहरूले त्यति धेरै कुरा हासिल गर्न सक्दैनन्—र हासिल गर्न नसकिने त्यही कुरा नै व्यक्तिको प्रवेशको बाधक बन्छ।

काँटछाँट गरिएका, निराकरण गरिएका, न्याय गरिएका र सजाय दिइएकाहरूले गर्ने काममा ठूलो भिन्‍नता हुन्छ, र उनीहरूको कामको अभिव्यक्ति धेरै हदसम्म ठीक हुन्छ। काम गर्न आफ्नो स्वाभाविक गुणमा निर्भर रहने मानिसहरूले ठूला गल्तीहरू गर्छन्। असिद्ध मानिसहरूको कामले उनीहरूको आफ्नो अत्यन्तै धेरै स्वाभाविक गुण व्यक्त गर्छन्, जसले पवित्र आत्माको काममा ठूलो बाधा दिन्छ। व्यक्तिको क्षमता जतिसुकै राम्रो भए तापनि परमेश्‍वरले आदेश दिनुभएको काम गर्न त्यो व्यक्ति काँटछाँट, निराकरण, र न्यायको प्रक्रिया भएर जानैपर्छ। यदि उनीहरू त्यस किसिमको न्याय भएर गएका छैनन् भने उनीहरूले जतिसुकै राम्ररी काम गरे पनि त्यो काम सत्यताको सिद्धान्तहरूसँग एकरूप हुँदैन र त्यो काम उनीहरूको आफ्नै स्वाभाविक र मानवीय गुणको उपज बन्छ। काँटछाँट, निराकरण, र न्यायको प्रक्रिया भएर नगएका मानिसहरूको तुलनामा यो प्रक्रियाबाट भएर गएका मानिसहरूको काम धेरै हदसम्म ठीक हुन्छ। न्याय भएर नगएका मानिसहरूले मानव बौद्धिकता र जन्‍मजात प्रतिभासँग मिसिएको मानवीय शारीरिकपन र विचारहरूभन्दा अरू कुनै कुरा व्यक्त गर्दैनन्। परमेश्‍वरको कामको सही मानवीय अभिव्यक्ति यो होइन। यस किसिमका मानिसहरूको अनुसरण गर्नेहरू उनीहरूको जन्मसिद्ध क्षमताद्वारा आकर्षित भएका हुन्छन्। उनीहरूले मानिसको अन्तर्दृष्‍टि र अनुभव धेरै मात्रामा व्यक्त गर्छन्, जुन परमेश्‍वरको मौलिक अभिप्रायबाट अलगिएको हुन्छ र त्यसबाट धेरै हदसम्म तलमाथि भएको हुन्छ, त्यसकारण यस किसिमको व्यक्तिको कामले मानिसहरूलाई परमेश्‍वरको अगाडि ल्याउन सक्दैन, बरु तिनीहरूलाई मानिसको अगाडि ल्याउँछ। त्यसैले, न्याय र सजायको प्रक्रिया भएर नगएका मानिसहरू परमेश्‍वरले आदेश गर्नुभएको कामलाई अघि बढाउन अयोग्य हुन्छन्। योग्य सेवकको कामले मानिसहरूलाई सही मार्गमा ल्याउन सक्छ र उनीहरूलाई सत्यताको ठूलो प्रवेश प्रदान गर्छ। उसको कामले मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन सक्छ। साथै, उसले गर्ने काम व्यक्ति पिच्छे फरक हुन सक्छ र यो नीतिनियमद्वारा बाँधिएको हुँदैन, जसले गर्दा मानिसहरूले जीवनमा क्रमिक रूपमा वृद्धि हुन र सत्यताप्रतिको अझै गहन प्रवेश प्राप्त गर्नको लागि छुटकारा र स्वतन्‍त्रता प्राप्त गर्छन् क्षमता। अयोग्य सेवकको काम मापदण्डभन्दा धेरै टाढा हुन्छ। उसको काम मूर्खता हो। उसले मानिसहरूलाई नीतिनियमहरूमा मात्र ल्याउन सक्छ, र उसले मानिसहरूबाट माग गर्ने कुरा व्यक्ति पिच्छे फरक हुँदैन; उसले मानिसहरूको वास्तविक आवश्‍यकताहरू बमोजिम काम गर्दैन। यस किसिमको काममा थुप्रै नीतिनियम र सिद्धान्तहरू हुन्छन्, अनि त्यसले मानिसहरूलाई वास्तविकतामा ल्याउन सक्दैन, न त जीवन वृद्धिको सामान्य अभ्यास नै ल्याउँछ। यसले मानिसहरूलाई केवल अर्थहीन एक-दुई वटा नीतिनियमहरूको अनुयायी बन्‍न सक्षम तुल्याउँछ। यस किसिमको अगुवाइले मानिसहरूलाई अन्यत्रै डोर्‍याउन सक्छ। उसले तँलाई आफूजस्तै बनाउँछ; उसले तँलाई उसँग जे छ र ऊ जो हो त्यस्तै बनाउँछ। अगुवाहरू योग्य छन् कि छैन भनी छुट्याउन उनीहरूले अगुवाइ गर्ने मार्ग र उनीहरूको कामको परिणामलाई अनुयायीहरूले एउटा मुख्य कुराको रूपमा हेर्नु, र अनुयायीहरूले सत्यता अनुरूप सिद्धान्तहरू प्राप्‍त गरेका छन् कि छैनन् भनेर हेर्नु, र उनीहरूले आफ्नो रूपान्तरण सुहाउँदो अभ्यासका तरिकाहरू पाएका छन् कि छैनन् भनेर पनि हेर्नु हो। तैँले फरक किसिमका मानिसहरूका फरक-फरक कामको बीचमा भिन्‍नता छुट्याउनुपर्छ; तँ मूर्ख अनुयायी बन्‍नु हुँदैन। मानिसहरूको प्रवेशको लागि यो विशेष रूपले महत्त्वपूर्ण छ। यदि तैँले कुन व्यक्तिको अगुवापनमा सही मार्ग छ र कुन व्यक्तिकोमा छैन भनी छुट्याउन सक्षम भइनस् भने तँ सजिलैसँग भ्रममा पर्नेछस्। यी सबै कुराले तेरो जीवनमा प्रत्यक्ष सरोकार राख्‍छ। असिद्ध मानिसहरूको काममा धेरै प्राकृतिकपन हुन्छ; यसमा धेरै मानवीय इच्छा मिश्रित हुन्छन्। उनीहरूको अस्तित्व नै तिनीहरूको प्राकृतिकपन हो—उनीहरू त्यससँगै जन्मिएका हुन्छन्। यो चाहिँ निराकरण गरिसकेपछिको जीवन वा रूपान्तरण भइसकेपछिको वास्तविकता होइन। त्यस्तो व्यक्तिले कसरी जीवनको खोजी गर्नेहरूलाई समर्थन गर्न सक्छ? मानिससँग जुन जीवन छ यो उसको जन्मसिद्ध बौद्धिकता वा क्षमतामा नै हो। यस किसिमको बौद्धिकता वा क्षमता परमेश्‍वरले मानिसबाट माग गर्नुभएको कुराबाट धेरै टाढा हुन्छ। यदि मानिस सिद्ध बनाइएको छैन र उसको भ्रष्‍ट स्वभावलाई छिँवलिएको र निराकरण गरिएको छैन भने उसले व्यक्त गर्ने कुरा र सत्यता बीच ठूलो अन्तर रहन्छ; उसले व्यक्त गर्ने कुराहरू अस्पष्ट कुराहरूसँग मिश्रित हुनेछ, जस्तै उसको कल्पना र एकोहोरो अनुभव। साथै, उसले जसरी काम गरे तापनि सारा मानिसहरूको प्रवेशको लागि समग्र लक्ष्य र सत्यता छैन भन्‍ने मानिसहरूले महसुस गर्छन्। मानिसहरूबाट माग गरिने अधिकांश कुराहरू उनीहरूको क्षमताभन्दा बाहिरको कुरा हुन्छ, मानौं उनीहरू काठमा टुसुक्‍क बस्‍न लगाएको हाँस हुन्। यो मानवीय इच्छाको काम हो। मानिसको भ्रष्‍ट स्वभाव, उसका सोचविचारहरू, र उसको धारणाले उसको शरीरको सबै अङ्‍गलाई दुषित बनाउँछ। मानिस सत्यता अभ्यास गर्ने प्रवृत्ति सहित जन्मेको हुँदैन, न त उसँग सत्यतालाई प्रत्यक्ष रूपमा बुझ्‍ने प्रवृत्ति नै हुन्छ। त्यसमा मानिसको भ्रष्‍ट स्वभाव थपौं—जब यस किसिमको प्राकृतिक व्यक्तिले काम गर्छ, के यसले अवरोधहरू ल्याउँदैन र? तर सिद्ध बनाइएको व्यक्तिमा मानिसहरूले बुझ्‍नुपर्ने सत्यताको अनुभव, र उनीहरूको भ्रष्‍ट स्वभावहरूको ज्ञान हुन्छ, ताकि उसको काममा भएको व्यर्थ र अवास्तविक कुराहरू विस्तारै हराएर जाऊन्, मानवीय व्यभिचार कम हुँदै जाओस्, र उसको काम र सेवा परमेश्‍वरले माग गर्नुभएको मापदण्डको झन्-झन् नजिक आउन सकोस्। यसरी उसको काम सत्यताको वास्तविकतामा प्रवेश गरेको हुन्छ र त्यो वास्तविक पनि बनेको हुन्छ। मानिसको मनमा भएको सोचविचारले पवित्र आत्माको कामलाई रोक्छ। मानिससँग प्रशस्‍त कल्पना र उचित तर्क पाइन्छ, र उसँग विभिन्‍न मामिलाहरू समाधान गर्ने लामो अनुभव पनि हुन्छ। यदि मानिसका यी पक्षहरू काँटछाँट र सुधार भएर गएनन् भने यी सबैले काममा अवरोध ल्याउँछन्। त्यसैले, मानिसको कामले उच्‍चतम शुद्धता हासिल गर्न सक्दैन, विशेष गरी असिद्ध मानिसहरूको कामले।

मानिसको काम एक निश्‍चित दायराभित्र रहन्छ र यो सीमित छ। एक व्यक्तिले एक निश्‍चित चरणको काम गर्न सक्छ र सम्पूर्ण युगको काम गर्न सक्दैन—अन्यथा, उसले मानिसहरूलाई नीतिनियमहरूमा डोर्‍याउनेछ। मानिसको काम एक निश्‍चित समय वा चरणमा मात्र लागु हुन्छ। किनकि मानिसको अनुभवको आफ्नो क्षेत्र हुन्छ। कसैले पनि मानिसको कामलाई परमेश्‍वरको कामसँग तुलना गर्न सक्दैन। मानिसको अभ्यास गर्ने तरिकाहरू र सत्यता सम्बन्धी उसको ज्ञान निश्‍चित क्षेत्रमा लागु हुन्छन्। मानिसले पछ्याउने मार्ग पूर्ण रूपमा पवित्र आत्माको इच्छा हो भनी भन्‍न सकिँदैन, किनकि मानिस पवित्र आत्माद्वारा मात्रै प्रकाशित हुन सक्छ, र पवित्र आत्माद्वारा पूर्ण रूपमा भरिन सक्दैन। मानिसले अनुभव गर्न सक्‍ने कुराहरू सबै सामान्य मानवताको क्षेत्रभित्र पर्छन् र यसले सामान्य मानव मनमा भएको सोचविचारको दायरालाई नाघ्‍न सक्दैन। साँचो अनुभवको वास्तविकतामा जिउन सक्‍नेहरू यही दायराभित्र पर्छन्। जब तिनीहरूले सत्यताको अनुभव गर्छन्, यो सँधै पवित्र आत्माद्वारा प्रकाशित सामान्य मानव जीवनको अनुभव हो; यस किसिमको अनुभव सामान्य मानव जीवनबाट विचलित हुँदैन। उनीहरूले आफ्नो मानव जीवन जिउने कार्यको आधारमा पवित्र आत्माको प्रकाशको सत्यता अनुभव गर्छन्। साथै, यो सत्यता व्यक्ति पिच्छे फरक हुन्छ, र यसको गहिराइ व्यक्तिको अवस्थामा निर्भर रहन्छ। व्यक्तिले हिँडिरहेको मार्ग सत्यता पछ्याउने कसैको सामान्य मानव जीवन हो भनेर मात्रै भन्‍न सकिन्छ, र यसलाई पवित्र आत्माद्वारा प्रकाशित सामान्य व्यक्तिले हिँड्ने मार्ग हो भनी भन्‍न सकिन्छ। उनीहरूले हिँड्न मार्ग नै पवित्र आत्माले लिनुहुने मार्ग हो भनी भन्‍न सकिँदैन। सामान्य मानवीय अनुभवमा, मानिसहरूले उही मार्ग पछ्याउँदैनन्, त्यसकारण पवित्र आत्माको काम पनि उही किसिमको हुँदैन। साथै, मानिसहरूले अनुभव गर्ने वातावरण र उनीहरूको अनुभवको दायरा उही नहुने भएकोले, र तिनीहरूको मन र सोचविचारको मिश्रणको कारण, तिनीहरूको अनुभव फरक-फरक हदमा मिश्रित हुन्छन्। प्रत्येक व्यक्तिले आफ्नो फरकपन र व्यक्तिगत अवस्थाहरू बमोजिम सत्यतालाई बुझ्‍छ। सत्यताको वास्तविक अर्थ सम्बन्धी उनीहरूको बुझाइ पूर्ण हुँदैन र यो केवल त्यसको एउटा पक्ष वा केही पक्षहरू मात्र हुन्छन्। मानिसले अनुभव गर्ने सत्यताको क्षेत्र पनि व्यक्तिको अवस्था अनुसार व्यक्ति पिच्छे फरक हुन्छ। यस किसिमले, उही सत्यताको ज्ञान पनि फरक मानिसहरूले व्यक्त गर्दा उही हुँदैन। मानिसको अनुभवमा सधैँ सीमितता हुन्छ र यसले पवित्र आत्माको इच्छालाई पूर्णरूपमा प्रतिनिधित्व गर्न सक्दैन, न त मानिसको कामलाई परमेश्‍वरको कामको रूपमा हेर्न सकिन्छ, चाहे मानिसले व्यक्त गर्ने कुरा परमेश्‍वरको इच्छासँग मिल्दोजुल्दो नै किन नहोस् र चाहे मानिसको अनुभव पवित्र आत्माको सिद्ध तुल्याउने कामसँग मिल्दोजुल्दो नै किन नहोस्। परमेश्‍वरले उसको जिम्मामा सुम्पिदिनुभएको काम गर्दै मानिस परमेश्‍वरको सेवक मात्र बन्‍न सक्छ। पवित्र आत्माले दिनुभएको ज्ञानलाई र उसले आफ्नो व्यक्तिगत अनुभवहरूबाट प्राप्त गरेका सत्यताहरूलाई मात्रै मानिसले व्यक्त गर्न सक्छ। मानिस अयोग्य छ र उसले पवित्र आत्माको माध्यम बन्‍नको लागि आवश्यक सर्तहरू पूरा गर्दैन। उसको काम परमेश्‍वरको काम हो भन्‍ने अधिकार उसलाई दिइएको छैन। मानिससँग मानिसको काम गर्ने सिद्धान्तहरू छन्, र सबै मानिसहरूसँग फरक-फरक अनुभवहरू हुन्छन् र फरक-फरक सर्तहरू हुन्छन्। मानिसको काममा पवित्र आत्माद्वारा प्रकाश दिइएको उसका सबै अनुभवहरू पनि समावेश हुन्छन्। यी अनुभवहरूले मानिसको अस्तित्वलाई मात्रै प्रतिनिधित्व गर्छन् र यसले परमेश्‍वरको अस्तित्व वा पवित्र आत्माको इच्छालाई प्रतिनिधित्व गर्दैन। त्यसैले, मानिसले हिँड्ने मार्गलाई पवित्र आत्माले हिँड्नुहुने मार्ग भनेर भन्‍न सकिँदैन, किनकि मानिसको कामले परमेश्‍वरको कामलाई प्रतिनिधित्व गर्दैन, र मानिसको काम र मानिसको अनुभव पवित्र आत्माको पूर्ण इच्छा होइनन्। मानिसको काम नीतिनियममा पतन हुन सक्‍ने सम्भावना रहन्छ, र उसको कामको पद्दति सजिलै सीमित क्षेत्रमा बन्धित हुन्छ, र त्यसले मानिसहरूलाई स्वतन्‍त्र मार्गमा अगुवाइ गर्न सक्दैन। अधिकांश अनुयायीहरू सीमित क्षेत्रमा जिउँछन्, र उनीहरूको अनुभवको क्षेत्र पनि सीमित हुन्छ। मानिसको अनुभव सधैँ सीमित रहेको छ; उसको कामको पद्दति पनि थोरै प्रकारमा सीमित रहेको छ र त्यसलाई पवित्र आत्माको काम वा परमेश्‍वर स्वयंको कामसँग तुलना गर्न सकिँदैन। किनकि आखिरमा मानिसको अनुभव सीमित हुन्छ। तैपनि परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, यो नीतिनियमबाट बाँधिएको हुँदैन; जसरी गरिए पनि यो कुनै एउटा पद्दतिमा सीमित हुँदैन। परमेश्‍वरको काममा कुनै पनि नीतिनियम हुँदैन—उहाँका सबै काम मुक्त छन् र स्वतन्‍त्र छन्। मानिसले उहाँलाई पछ्याउन जति नै धेरै समय खर्च गरे तापनि उसले परमेश्‍वरको काम गर्ने तरिकालाई शासन गर्ने नियमहरू बुझ्‍न सक्दैन। उहाँको काम सैद्धान्तिक हुने भए तापनि, यो सधैँ नयाँ तरिकाबाट गरिन्छ र त्यसमा नयाँ विकासहरू हुन्छन्, र यो मानिसको पहुँचभन्दा बाहिर हुन्छ। एउटै समयावधिमा परमेश्‍वरले फरक-फरक किसिमका थुप्रै काम गर्न सक्‍नुहुन्छ र मानिसहरूलाई अगुवाइ गर्ने फरक तरिकाहरू अपनाउन सक्‍नुहुन्छ, ताकि मानिसहरूले सधैँ नयाँ प्रवेश पाऊन् र परिवर्तित होऊन्। तैँले उहाँको कामको नियम पत्ता लगाउन सक्दैनस् किनकि उहाँले सधैँ नयाँ तरिकाले काम गरिरहनुहुन्छ, र यसरी मात्रै परमेश्‍वरका अनुयायीहरू नीतिनियमबाट बाँधिएका हुँदैनन्। परमेश्‍वर स्वयंको कामले सधैँ मानिसहरूको धारणालाई इन्कार गर्छ र त्यसको विपरित काम गर्छ। उहाँलाई साँचो हृदयले पछ्याउने र अनुसरण गर्ने मानिसहरूले मात्र आफ्नो स्वभाव रूपान्तरण भएको पाउन सक्छन् र स्वतन्‍त्र भएर जिउन सक्छन्, यसैले उनीहरू कुनै नियमद्वारा बाँधिएका हुँदैनन् वा धार्मिक धारणाहरूद्वारा बाँधिएका हुँदैनन। मानिसको आफ्नो अनुभव र आफूले हासिल गर्न सक्‍ने कुराको आधारमा उसको कामले मानिसहरूबाट मागहरू गरेको हुन्छ। यी आवश्यकताहरूको मापदण्ड एक निश्‍चित क्षेत्रिभत्र सीमित भएको हुन्छ, र अभ्यासका पद्दतिहरू पनि अत्यन्तै सीमित हुन्छन्। यसरी अनुयायीहरू अजानमा यो सीमित क्षेत्रभित्रै जिउँछन्; समय बित्दै जाने क्रममा, यी कुराहरू नीतिनियम र धर्मविधिहरू बन्छन्। परमेश्‍वरको सिद्ध तुल्याउने प्रक्रिया भएर नगएको र उहाँको न्याय प्राप्‍त नगरेको कुनै पनि व्यक्तिले कामको एक समयावधिमा अगुवाइ गरेको छ भने, उसका अनुयायीहरू सबै धार्मिक विधिमा जिउने र परमेश्‍वरको विरोध गर्ने विज्ञहरू बन्‍नेछन्। त्यसैले, यदि कुनै व्यक्ति योग्य अगुवा हो भने त्यो व्यक्ति न्यायको प्रक्रिया भएर गएको हुनुपर्छ र सिद्ध तुल्याउने कार्यलाई स्वीकार गरेको हुनुपर्छ। न्याय भएर नगएका व्यक्तिहरूसँग पवित्र आत्माको काम हुन सक्‍ने भए तापनि उनीहरूले अस्पष्ट र अवास्तविक कुराहरू मात्रै व्यक्त गर्छन्। समयसँगै, उनीहरूले मानिसहरूलाई अस्पष्ट र अलौकिक नीतिनियमहरूमा डोर्‍याउनेछन्। परमेश्‍वरले गर्नुहुने काम मानिसको देहसँग मिल्दैन। यो मानिसको सोचविचारसँग मिल्दैन, तर मानिसको धारणा विपरीत हुन्छ; यो व्यर्थका धार्मिक रङ्‍गहरूद्वारा कलङ्कित तुल्याइएको हुँदैन। परमेश्‍वरको कामको प्रतिफलहरू उहाँद्वारा सिद्ध नतुल्याइएको व्यक्तिले हासिल गर्न सक्दैन; यो मानिसको सोचाइबाट बाहिरको कुरा हो।

मानिसको विचारमा काम भनेको मानिसले अत्यन्तै सहजै हासिल गर्ने कुरा हो। उदाहरणको लागि, धार्मिक संसारका पाष्टर र अगुवाहरू आफ्‍नो काम गर्नका लागि आफ्‍ना वरदान र पदहरूमा भर पर्छन्। तिनीहरूलाई लामो समयसम्‍म पछ्याउने मानिसहरू तिनीहरूका वरदानहरूद्वारा सङ्क्रमित हुनेछन् र तिनीहरूको केही सारत्वद्वारा प्रभावित हुनेछन्। तिनीहरूले मानिसहरूका वरदान, क्षमता र ज्ञानमा ध्यान केन्द्रित गर्छन्, र तिनीहरूले अलौकिक कुराहरू अनि धेरै गहन, अवास्तविक सिद्धान्तहरूमा ध्यान दिन्छन् (अवश्य नै, यी गहन सिद्धान्तहरू अप्राप्य छन्)। तिनीहरूले मानिसहरूका स्वभावमा हुने परिवर्तनमा होइन, तर प्रचार गर्न र काम गर्नको लागि मानिसहरूलाई तालिम दिन, मानिसहरूको ज्ञान र तिनीहरूको प्रशस्‍त धार्मिक सिद्धान्तहरूलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको स्वभाव कति परिवर्तन हुन्छ भन्‍नेमा ध्यान केन्द्रित गर्दैनन्, न त मानिसहरूले कति धेरै सत्यतालाई बुझ्छन् भन्‍नेमा नै ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको सारमा चासो दिँदैनन्, तिनीहरूले मानिसहरूको सामान्य र असामान्य स्थितिहरूलाई जान्‍ने प्रयास गर्नु त परै जाओस्। तिनीहरूले मानिसहरूका धारणाहरूलाई खण्डन गर्दैनन्, न त तिनीहरूले आफ्‍ना धारणाहरूलाई प्रकट नै गर्छन्, तिनीहरूले मानिसहरूका त्रुटिहरू वा भ्रष्टताहरूका लागि तिनीहरूलाई काट-छाँट गर्नु त परै जाओस्। तिनीहरूलाई पछ्याउने धेरैजसोले तिनीहरूका वरदानहरूद्वारा सेवा गर्छन्, अनि तिनीहरूले व्यक्त गर्ने भनेका त्यही धार्मिक धारणाहरू र धर्मशास्‍त्रीय सिद्धान्तहरू मात्र हुन्, जुन वास्तविकताको छुवाइभन्दा बाहिर छन् र मानिसहरूलाई जीवन दिन पूर्ण रूपमा असमर्थ छन्। वास्तवमा, तिनीहरूको कामको सार भनेको प्रतिभाको वृद्धि-विकास गर्नु, केही पनि नभएको व्यक्तिलाई प्रतिभावान् तुल्याई सेमिनारी दीक्षान्तसम्म शिक्षा-दीक्षा दिनु हो जसले पछि गएर काम गर्छ र अगुवाइ गर्छ। के परमेश्‍वरको छ हजार वर्षको काममा तैँले कुनै नियमहरू पत्ता लगाउन सक्छस्? मानिसले गर्ने काममा धेरै नियम र बन्देजहरू हुन्छन्, र मानव मष्तिष्क अत्यन्तै कट्टरपन्थी हुन्छ। त्यसकारण, मानिसले व्यक्त गर्ने भनेका उसको अनुभवको क्षेत्र भित्रका ज्ञान र अनुभूतिहरू नै हुन्। मानिसले यसभन्दा बाहेकको कुनै पनि कुरा व्यक्त गर्न सक्दैन। मानिसको अनुभव वा ज्ञान उसका अन्तर्निहित वरदान वा उसको जन्‍मजात क्षमताबाट आउँदैनन्; ती परमेश्‍वरको अगुवाइ र प्रत्यक्ष गोठालोपनको कारण आउँछन्। मानिससँग यस गोठालोपनलाई स्वीकार गर्ने क्षमता मात्रै हुन्छ र ईश्‍वरत्व के हो त्यसलाई प्रत्यक्ष रूपमा व्यक्त गर्न सक्‍ने क्षमता हुँदैन। मानिस स्रोत हुन सक्दैन; ऊ स्रोतबाट आउने पानीलाई स्वीकार गर्ने भाँडो मात्रै बन्‍न सक्छ। मानवको जन्‍मजात क्षमता अर्थात मानवको रूपमा व्यक्तिमा हुनुपर्ने गुण नै यही हो। यदि व्यक्तिले परमेश्‍वरको वचनलाई स्वीकार गर्ने क्षमतालाई गुमाउँछ र मानवको जन्‍मजात क्षमतालाई गुमाउँछ भने, त्यस व्यक्तिले सबैभन्दा बहुमूल्‍य कुरालाई पनि गुमाउँछ, र सृष्टि गरिएको मानिसको कर्तव्यलाई पनि गुमाउँछ। यदि व्यक्तिमा परमेश्‍वरको वचनको वा उहाँको कामको कुनै ज्ञान वा अनुभव छैन भने, त्यस व्यक्तिले सृष्टि गरिएको प्राणीको रूपमा आफूले पूरा गर्नुपर्ने कर्तव्यलाई गुमाउँछ, र उसले सृष्टि गरिएको प्राणीको गरिमालाई पनि गुमाउँछ। ईश्‍वरत्व के हो त्यसलाई व्यक्त गर्नु परमेश्‍वरको अन्तर्निहित गुण हो, चाहे यो देहमा व्यक्त गरियोस् वा पवित्र आत्माले प्रत्यक्ष रूपमा व्यक्त गर्नुभएको होस्; परमेश्‍वरको सेवकाइ यही हो। परमेश्‍वरको काम वा त्यसपछिको अवधिमा मानिसले आफ्‍नै अनुभवहरू वा ज्ञानलाई व्यक्त गर्छ (अर्थात्, उसले ऊ जे हो त्यही व्यक्त गर्छ); मानिसको जन्‍मजात क्षमता र मानिसको कर्तव्य यही हो, र मानिसले हासिल गर्नुपर्ने कुरा यही हो। मानिसको अभिव्यक्ति परमेश्‍वरले जे व्यक्त गर्नुहुन्छ त्यसको मापदण्डबाट निकै नै चुक्‍ने भए तापनि, र मानिसको अभिव्यक्ति विभिन्‍न नियमहरूले बाँधिने भए तापनि, मानिसले आफूले पूरा गर्नुपर्ने कर्तव्यलाई पूरा गर्नैपर्छ र उसले जे गर्नु आवश्यक छ त्यो गर्नैपर्छ। मानिसले आफ्‍नो कर्तव्यलाई पूरा गर्नको लागि मानवीय रूपमा सम्‍भव भएको सबै कुराहरू गर्नुपर्छ, र उसले त्यसप्रति अलिकति पनि संदेह गर्नु हुँदैन।

वर्षौंसम्‍म काम गरिसकेपछि, मानिसले आफ्‍नो धेरै वर्षको कामको अनुभवलाई र साथसाथै उसले बटुलेका ज्ञान-बुद्धि र नियमहरूलाई सारांशित गर्नेछ। धेरै समयसम्‍म काम गरेको व्यक्तिले पवित्र आत्माको कामको गतिविधिलाई कसरी अनुभूति गर्ने सो जान्दछ; उसले पवित्र आत्माले कहिले काम गरिरहनुभएको हुन्छ र कहिले काम गरिरहनुभएको हुँदैन सो जान्दछ; बोझ बोक्दै कसरी सङ्गति गर्ने सो उसलाई थाहा हुन्छ; अनि पवित्र आत्माको कामको सामान्य स्थिति र मानिसहरूको जीवनमा हुने वृद्धिको सामान्य स्थितिको बारेमा ऊ सचेत हुन्छ। वर्षौंसम्‍म काम गरेको र पवित्र आत्माको कार्यलाई जान्‍ने व्यक्ति यस्तै हुन्छ। लामो समयसम्‍म काम गरेकाहरूले सुनिश्‍चितताको साथ र हतार नगरीकन बोल्छन्; भन्‍नको लागि तिनीहरूसँग केही नहुँदा पनि, तिनीहरू शान्त हुन्छन्। भित्री रूपमा, तिनीहरूले पवित्र आत्‍माको कार्यको खोजी गर्नको लागि निरन्तर रूपमा प्रार्थना गर्न सक्छन्। कार्यमा तिनीहरू अनुभवी हुन्छन्। लामो समयसम्‍म काम गरेको, धेरै अनुभव बटुलेको र धेरै पाठहरू सिकेको व्यक्तिभित्र धेरै कुरा हुन्छ जसले पवित्र आत्माको कार्यमा बाधा पुर्‍याउँछ; उसको दीर्घकालीन कामको खराबी यही हो। भर्खरै काम गर्न सुरु गरेको व्यक्तिमा मानव पाठहरू वा अनुभवद्वारा बदलाव आएको हुँदैन र विशेष रूपमा ऊ पवित्र आत्‍माले कसरी काम गर्नुहुन्छ भन्‍नेबारे अन्योलमा हुन्छ। तैपनि, कार्यको सिलसिलामा, उसले पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्‍ने अनुभूति गर्न क्रमिक रूपमा सिक्दै जान्छ, अनि पवित्र आत्माको कार्यलाई प्राप्त गर्न के गर्नुपर्छ, अरूको कमजोरीहरूमा प्रहार गर्नको लागि के गर्नुपर्छ, र काम गर्नेहरूमा हुनुपर्ने त्यस्तै अन्य आम ज्ञानबारे ऊ सचेत हुन्छ। समय बित्दै जाँदा, कार्यसम्‍बन्धी त्यस्तो बुद्धि र सामान्य ज्ञानबारे उसलाई उसको हतकेला जत्तिकै थाहा हुन्छ, र काम गर्ने क्रममा उसले यसलाई सहजै प्रयोग गरेको देखिन्छ। तैपनि, जब पवित्र आत्‍माले आफ्‍नो काम गर्ने तरिकालाई परिवर्तन गर्नुहुन्छ, उसले कामसम्‍बन्धी आफ्‍नो पुरानो ज्ञान र कामसम्‍बन्धी पुराना नियमहरूलाई नै पालना गरिरहन्छ र कामको नयाँ गतिशीलताको बारेमा उसलाई त्यति थाहा हुँदैन। वर्षौंको काम अनि पवित्र आत्‍माको उपस्थिति र अगुवाइको भरिपूर्णताले उसलाई कामसम्‍बन्धी झन्-झन् बढी पाठहरू र झन्-झन् बढी अनुभव दिन्छ। त्यस्ता कुराहरूले उसलाई आत्मविश्‍वासले भर्छ, र त्यो आत्मविश्‍वास घमण्ड होइन। अर्को शब्‍दमा भन्दा, ऊ आफ्‍नो कामप्रति निकै प्रसन्‍न हुन्छ र पवित्र आत्माको कामबारे उसले प्राप्त गरेको सामान्य ज्ञानप्रति सन्तुष्ट हुन्छ। खास गरी, अरूले प्राप्त नगरेका कुराहरू पाएको वा अनुभूति गरेकोमा त्यसले उसलाई आफूप्रति अझै बढी आत्मविश्‍वास प्रदान गर्छ; यस्तो लाग्छ ऊभित्रको पवित्र आत्माको कामलाई कहिल्यै पनि निभाउन सकिँदैन, जबकि अन्य व्यक्तिहरू यस किसिमको विशेष व्यवहार पाउन अयोग्य छन्। ऊजस्तै वर्षौंसम्‍म काम गरेका र जसको प्रयोग निकै बहुमूल्य छ त्यस्ता मानिसहरू मात्र यो प्राप्त गर्न योग्य छन्। यी कुराहरू उसले पवित्र आत्माको नयाँ कार्यलाई स्वीकार गर्ने कार्यमा निकै ठूलो बाधा बन्छन्। उसले नयाँ कार्यलाई स्वीकार गर्न सके तापनि, उसले रातारात त्यसो गर्न सक्दैन। यसलाई स्वीकार गर्नुअघि निश्‍चय पनि ऊ धेरै मोडहरू र घुम्तीहरू भएर जान्छ। उसका पुराना धारणाहरूको निराकरण गरिसकेपछि र उसको पुरानो स्वभावलाई न्याय गरिसकेपछि मात्रै यो अवस्थालाई क्रमिक रूपमा उल्ट्याउन सकिन्छ। यी चरणहरू भएर नगईकन, उसले आफ्‍ना पुराना धारणाहरूलाई त्याग्‍दैन र तीसँग नमिल्‍ने नयाँ शिक्षणहरू र कार्यलाई सहजै स्वीकार गर्दैन। मानिसमा निराकरण गर्नुपर्ने सबैभन्दा कठिन कुरो यही नै हो, र यसलाई परिवर्तन गर्न सजिलो छैन। यदि सेवकको रूपमा, उसले तुरुन्तै पवित्र आत्माको कामलाई बुझ्‍न र यसका गतिशीलतालाई सारांशित गर्न सक्छ, र यदि ऊ कामसम्‍बन्धी आफ्‍ना अनुभवहरूद्वारा सीमित हुँदैन र पुरानो कामको आधारमा नयाँ कार्यलाई स्वीकार गर्न सक्छ भने, ऊ ज्ञानी मानिस र योग्य सेवक हो। मानिसहरू प्रायजसो यस्तै हुन्छन्: तिनीहरू कामसम्‍बन्धी आफ्‍नो अनुभवलाई सारांशित गर्न नसकीकनै धेरै वर्ष काम गर्छन्, वा, कामसम्‍बन्धी तिनीहरूको अनुभव र ज्ञान-बुद्धिलाई सारांशित गरिसकेपछि, नयाँ काम स्वीकार गर्न तिनीहरूलाई बाधा हुन्छ र तिनीहरूले पुरानो र नयाँ कामलाई उचित रूपमा बुझ्‍न वा सही रूपमा लिन सक्दैनन्। मानिसहरूलाई सम्‍हाल्‍न साँच्‍चै निकै कठिन छ! तिमीहरूमध्ये धेरैजसो यस्तै छौ। पवित्र आत्माको वर्षौंको कार्यलाई अनुभव गरेकाहरूले नयाँ कार्यलाई स्वीकार गर्न कठिन मान्छन्, र तिनीहरू पन्छ्याउन नसक्‍ने धारणाहरूले सधैँ भरिपूर्ण हुन्छन्, जबकि भर्खरै काम गर्न सुरु गरेको मानिसमा कामको बारेमा सामान्य ज्ञानको कमी हुन्छ र उसलाई सबैभन्दा सरल विषयहरूलाई कसरी सम्‍हाल्‍ने भन्ने समेत थाहा हुँदैन। तिमीहरू साँच्‍चै कठिन छौ! केही ज्येष्ठहरू यति अभिमानी र घमण्‍डी छन् कि तिनीहरूले आफूहरू कहाँबाट आएको हो भन्ने कुरा नै बिर्सेका छन्। तिनीहरूले जवान मानिसहरूलाई सधैँ नीच रूपमा हेर्छन्, तैपनि तिनीहरूले नयाँ कामलाई स्वीकार गर्न सक्दैनन् र तिनीहरूले वर्षौंदेखि संगालेर राखेका धारणाहरूलाई छोड्न सक्दैनन्। ती जवान, अनजान मानिसहरूले पवित्र आत्माको नयाँ कार्यलाई केही हदसम्‍म स्वीकार गर्न सक्‍ने भए तापनि र तिनीहरू अलिक उत्साहित हुने भए तापनि, तिनीहरू सधैँ अलमलमा पर्छन् र समस्याहरू आइपर्दा के गर्ने तिनीहरूलाई थाहै हुँदैन। तिनीहरू उत्साहित हुन्छन् तैपनि अनजान हुन्छन्। पवित्र आत्माको कामको बारेमा तिनीहरूसँग थोरै मात्र ज्ञान हुन्छ र तिनीहरूले त्यसलाई आफ्‍नो जीवनमा प्रयोग गर्न सक्दैनन्; यो पूर्ण रूपमा बेकामको सिद्धान्त मात्रै हुन्छ। तिमीहरूजस्ता मानिसहरू धेरै नै छन्; प्रयोगयोग्य त कति जना छन् र? पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाशलाई पालन गर्न सक्‍ने र परमेश्‍वरको इच्‍छा अनुसार चल्‍न सक्‍ने कति जना छन् र? आजसम्‍म पछ्याउनेहरूको रूपमा रहँदै आएका तिमीहरू अत्यन्तै आज्ञाकारी छौ जस्तो देखिन्छौ, तर वास्तवमा, तिमीहरूले तिमीहरूका धारणाहरूलाई त्यागेका छैनौ, तिमीहरूले अझै पनि बाइबलमा खोजी गरिरहेका छौ, अस्पष्टतामा विश्‍वास गरिरहेका छौ, वा धारणाहरूमा अलमलिरहेका छौ। आजको वास्तविक कार्यलाई होसियारी साथ अनुसन्धान गर्ने वा यसको गहिराइमा जाने कोही पनि छैन। तिमीहरूले आजको मार्गलाई तिमीहरूका पुराना धारणाहरूद्वारा स्वीकार गरिरहेका छौ। त्यस्तो विश्‍वासद्वारा तिमीहरूले के प्राप्त गर्न सक्छौ? के भन्‍न सकिन्छ भने तिमीहरूमा त्यस्ता धेरै धारणाहरू लुकेका छन् जसलाई प्रकट गरिएको छैन, र तिमीहरूले तिनलाई सहजै प्रकट नगरीकन, तिनलाई लुकाउन सबैभन्दा ठूलो प्रयास गरिरहेका छौ। नयाँ कार्यलाई तिमीहरूले इमानदारिताको साथ स्वीकार गर्दैनौ, र तिमीहरूले तिमीहरूका पुराना धारणाहरूलाई त्याग्‍ने सोच बनाउँदैनौ; तिमीहरूमा जीविकोपार्जनसम्‍बन्धी अति धेरै दर्शनहरू छन्, र तिनीहरू अत्यन्तै ठोस् छन्। तिमीहरूले आफ्‍ना पुराना धारणाहरूलाई त्याग्दैनौ र तिमीहरूले मन नलागी-नलागी नयाँ कार्यको सामना गर्छौ। तिमीहरूको हृदय अत्यन्तै कुटिल छ, र तिमीहरूले नयाँ कार्यका चरणहरूलाई हृदयमा राख्दै-राख्दैनौ। के तिमीहरूजस्तो बेकामेहरूले सुसमाचार फैलाउने काम गर्न सक्छौ र? के तिमीहरूले यसलाई सम्पूर्ण ब्रह्माण्डभरि फैलाउने काम लिन सक्छौ र? तिमीहरूका यी परिपाटीहरूले तिमीहरूलाई तिमीहरूको स्वभाव परिवर्तन गर्न र परमेश्‍वरलाई चिन्‍नबाट रोकिरहेको छ। यदि तिमीहरूले यसलाई जारी राख्यौ भने, तिमीहरूलाई हटाइने निश्‍चित छ।

तिमीहरूले परमेश्‍वरको कार्यलाई मानिसको कार्यबाट कसरी अलग गर्ने हो सो कुरा जान्‍नैपर्छ। तैँले मानिसको काममा के देख्‍न सक्छस्? मानिसको काममा मानिसको अनुभवका धेरै तत्वहरू हुन्छन्; मानिसले ऊ जे हो त्यही व्यक्त गर्छ। परमेश्‍वरको आफ्‍नै कामले पनि उहाँ जे हुनुहुन्छ त्यसलाई व्यक्त गर्छ, तर उहाँको सारत्व मानिसको भन्दा फरक छ। मानिसको सारत्वले मानिसको अनुभव र जीवनलाई (मानिसले आफ्‍नो जीवनमा जे अनुभव गर्छ वा जे कुराको सामना गर्छ, वा जिउनको लागि उसँग जे-जस्ता दर्शनहरू छन् त्यसलाई) प्रतिनिधित्व गर्छ, र फरक-फरक वातावरणमा जिउने मानिसहरूले फरक-फरक सारत्वलाई व्यक्त गर्छन्। तँसँग समाजका अनुभवहरू छन् या छैनन् र तेरो परिवारमा वास्तवमा तँ के-कसरी बस्छस् र यसभित्र तैँले के-कस्तो अनुभव गर्छस्, यी सबै कुराहरू तैँले जे व्यक्त गर्छस् त्यसमा देख्‍न सकिन्छ, जबकि देहधारी परमेश्‍वरको काममा तैँले उहाँसँग सामाजिक अनुभवहरू छन् कि छैनन् भनेर देख्‍न सक्दैनस्। मानिसको सारको बारे उहाँलाई राम्ररी थाहा छ र उहाँले सबै प्रकारका मानिसहरूसँग सम्‍बन्धित सबै प्रकारका अभ्यासहरूलाई प्रकट गर्न सक्‍नुहुन्छ। मानिसका भ्रष्ट स्वभावहरू र विद्रोही बानीबेहोरालाई प्रकट गर्नमा उहाँ अझै सिपालु हुनुहुन्छ। उहाँ सांसारिक मानिसहरूका बीचमा जिउनुहुन्‍न, तर मरणशीलहरूको प्रकृति र सांसारिक मानिसहरूको सारा भ्रष्टताबारे उहाँलाई थाहा छ। उहाँको सारत्व यही नै हो। उहाँले संसारसँग व्यवहार गर्नुहुन्‍न, तैपनि संसारसँग व्यवहार गर्ने नियमहरू उहाँलाई थाहा छ, किनभने उहाँले मानव प्रकृतिलाई राम्ररी बुझ्‍नुहुन्छ। आज र विगत दुवैमा, मानिसको आँखाले देख्‍न नसक्‍ने र मानिसको कानले सुन्‍न नसक्‍ने पवित्र आत्माको काम उहाँलाई थाहा छ। यसमा त्यो ज्ञान-बुद्धि पर्छ जुन जीवन जिउने दर्शन अनि मानिसहरूले बुझ्‍न नसक्‍ने आश्‍चर्य होइन। उहाँको सारत्व यही हो, जुन मानिसहरूको निम्ति खुला छ र मानिसहरूबाट लुकाइएको पनि छ। उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो असाधारण व्यक्तिको सारत्व होइन, तर त्यो आत्माका अन्तर्निहित गुणहरू र सारत्व हो। उहाँले संसारको भ्रमण गर्नुहुन्‍न तर यसको सबै कुरा जान्‍नुहुन्छ। उहाँले “नर-वानरहरू” लाई सम्पर्क गर्नुहुन्छ जोसँग कुनै ज्ञान वा अन्तर्दृष्टि छैन, तर उहाँले ज्ञानभन्दा उच्‍च अनि महान् मानवहरूभन्दा माथिका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँ सुस्त र बोधो मानिसहरूका बीचमा बस्‍नुहुन्छ जो मानवताविहीन छन् र जसले मानवताको प्रचलन र जीवनलाई बुझ्दैनन्, तर उहाँले मानवजातिलाई मानवजातिको नीच र तुच्छ मानवतालाई प्रकट गर्दै सामान्य मानवतामा जिउन लगाउन सक्‍नुहुन्छ। यो सबै उहाँको सारत्व हो, र यो सारत्व कुनै पनि मासु र रगतले बनेको व्यक्तिको भन्दा उच्‍च छ। उहाँको लागि, उहाँले गर्नुपर्ने काम गर्नको लागि र भ्रष्ट मानवजातिको सारलाई पूर्णरूपमा प्रकट गर्नको लागि जटिल, कष्टकर, र घिनलाग्दो सामाजिक जीवनको अनुभव गर्नु जरुरी छैन। घिनलाग्दो सामाजिक जीवनले उहाँको देहलाई सुधार गर्दैन। उहाँको काम र वचनले मानिसको स्वभावलाई मात्रै प्रकट गर्छन् तर यिनले मानिसलाई संसारको सामना गर्नको लागि अनुभव र पाठहरू प्रदान गर्दैनन्। जब उहाँले मानिसलाई जीवन दिनुहुन्छ उहाँले समाज वा मानिसको परिवारको अनुसन्धान गर्नु जरुरी छैन। मानिसलाई उदाङ्गो पार्नु र न्याय गर्नु उहाँको देहका अनुभवहरूको अभिव्यक्ति होइन; यो त मानिसको अवज्ञाको बारेमा लामो समयको ज्ञान अनि मानिसको भ्रष्टताप्रतिको घृणापश्चात उहाँले मानिसको अधर्मसम्‍बन्धमा गर्नुभएको प्रकाश हो। उहाँले गर्नुहुने सबै कामको उद्देश्य मानिसलाई उहाँको स्वभाव प्रकट गर्नु र उहाँको सारत्वलाई व्यक्त गर्नु हो। उहाँले मात्रै यो काम गर्न सक्‍नुहुन्छ; यो मासु र रगतले बनेको व्यक्तिले हासिल गर्न सक्‍ने कुरा होइन। उहाँको कामबाट मानिसले उहाँ कुन प्रकारको व्यक्ति हुनुहुन्छ भनेर भन्‍न सक्दैन। उहाँको कामको आधारमा पनि मानिसले उहाँलाई सृष्टि गरिएको प्राणीको रूपमा वर्गीकरण गर्न सक्दैन। उहाँको सारत्वले पनि उहाँलाई सृष्टि गरिएको व्यक्तिको रूपमा वर्गीकरण गर्न नसकिने तुल्याउँछ। मानिसले उहाँलाई गैर-मानव मात्रै ठान्छ, तर उहाँलाई कुन वर्गमा राख्‍ने हो सो कुरा जान्दैन, त्यसकारण मानिस उहाँलाई परमेश्‍वरको वर्गमा राख्‍न बाध्य हुन्छ। मानिसले त्यसो गर्नु अतार्किक छैन, किनभने परमेश्‍वरले मानिसहरूका बीचमा मानिसले गर्न नसक्‍ने धेरै काम गर्नुभएको छ।

परमेश्‍वरले गर्नुहुने कामले उहाँको देहको अनुभवलाई प्रतिनिधित्व गर्दैन; मानिसले गर्ने कामले उसको अनुभवको प्रतिनिधित्व गर्छ। हरेक व्यक्तिले आफ्‍नो व्यक्तिगत अनुभवको बारेमा कुरा गर्छ। परमेश्‍वरले प्रत्यक्ष रूपमै सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ, जबकि मानिसले उसले अनुभव गरेको सत्यतासम्‍बन्धी अनुभवलाई मात्रै व्यक्त गर्न सक्छ। परमेश्‍वरको कामका कुनै पनि नियमहरू छैनन् र यो समय वा भौगोलिक सीमाहरूमा सीमित छैन। उहाँ जे हुनुहुन्छ सो उहाँले कुनै पनि समय, कुनै पनि स्थानमा व्यक्त गर्न सक्‍नुहुन्छ। उहाँले आफ्‍नो इच्‍छाअनुसार काम गर्नुहुन्छ। मानिसको कामका अवस्था र प्रसंग हुन्छन्; तीविना उसले काम गर्न सक्दैन र परमेश्‍वरसम्‍बन्धी आफ्‍नो ज्ञान वा सत्यतासम्‍बन्धी आफ्नो अनुभवलाई व्यक्त गर्न सक्दैन। कुनै कुरा परमेश्‍वरको आफ्‍नै काम हो कि मानिसको काम हो भनेर बताउनको लागि, तैँले ती दुईबीचको भिन्‍नतालाई तुलना मात्रै गर्नुपर्छ। यदि परमेश्‍वर स्वयम्‌ले गर्नुभएको कुनै काम छैन र मानिसले गरेको काम मात्रै छ भने, तैँले मानिसका शिक्षणहरू अरू कुनै पनि व्यक्तिको क्षमताभन्दा उच्‍च, धेरै परको रहेछ भनी स्पष्ट रूपमै जान्‍नेछस्; तिनीहरूको बोल्‍ने शैली, काम-कुराहरू सम्‍हाल्‍नेसम्‍बन्धी तिनीहरूका सिद्धान्तहरू, र तिनीहरूको अनुभवी र स्थिर किसिमको काम गर्ने शैली अरूको पहुँचभन्दा बाहिर हुन्छन्। तिमीहरूले असल क्षमता र उत्कृष्ट ज्ञान भएका यी मानिसहरूलाई सराहना गर्छौ, तर तैँले परमेश्‍वरको काम र वचनहरूबाट उहाँको मानवता कति उच्‍च छ भन्‍ने कुरा देख्‍न सक्दैनस्। बरु, उहाँ साधारण हुनुहुन्छ, र, काम गर्दा, उहाँ सामान्य र वास्तविक हुनुहुन्छ तैपनि मरणशीलहरूले नाप्‍न नसक्‍ने हुनुहुन्छ, जसले मानिसहरूलाई उहाँप्रति एक प्रकारको श्रद्धाभावको अनुभूति गराउँछ। शायद आफ्‍नो कामप्रतिको व्यक्तिको अनुभव निश्‍चित रूपमा उच्च हुनसक्छ, वा उसको कल्‍पना र तर्क निश्‍चित रूपमा उच्च हुनसक्छ, र उसको मानवता निश्‍चित रूपमा असल हुनसक्छ; त्यस्ता गुणहरूले मानिसहरूको सराहना मात्रै प्राप्त गर्न सक्छ, तर तिनीहरूमा विस्मय र डर जागृत गर्न सक्दैन। जसले राम्ररी काम गर्न सक्छन्, जोसँग निश्‍चित रूपमा गहन अनुभव छ, र जसले सत्यताको अभ्यास गर्न सक्छन् तिनीहरूलाई मानिसहरूले सराहना गर्छन्, तर त्यस्ता मानिसहरूले कहिल्यै पनि विस्मय जागृत गर्न सक्दैनन्, सराहना र ईर्ष्या मात्रै जागृत गर्न सक्छन्। तर परमेश्‍वरको कार्यलाई अनुभव गरेका मानिसहरूले परमेश्‍वरलाई सराहना गर्दैनन्; बरु, तिनीहरूले ठान्छन् कि उहाँको काम मानव पहुँचभन्दा बाहिर छ र मानिसको लागि बुझ्‍न नसकिने छ, अर्थात् यो ताजा अनि आश्चर्यको छ। जब मानिसहरूले परमेश्‍वरको कामलाई अनुभव गर्छन्, तब उहाँसम्‍बन्धी तिनीहरूको पहिलो ज्ञान भनेको उहाँ बुझ्‍न नसकिने, बुद्धिमानी, र आश्चर्यको हुनुहुन्छ भन्‍ने हुन्छ, र तिनीहरूले अचेत रूपमा उहाँलाई आदर गर्छन् र उहाँले गर्नुहुने कामको रहस्यलाई अनुभव गर्छन्, जुन मानव मनको पहुँचभन्दा बाहिर छ। मानिसहरूले उहाँका मापदण्डहरूलाई पूरा गर्न, उहाँका इच्‍छाहरूलाई सन्तुष्ट तुल्याउन सकौं भन्‍ने मात्रै चाहन्छन्; तिनीहरूले उहाँलाई नाघ्‍न चाहँदैनन्, किनभने उहाँले गर्नुहुने काम मानिसको सोचाइ र कल्‍पनाभन्दा बाहिर जान्छ र त्यसलाई उहाँको सट्टामा मानिसले गर्न सक्दैन। मानिस स्वयम्‌ले समेत उसका अपर्याप्तताहरूलाई जान्दैन, तैपनि परमेश्‍वरले नयाँ मार्ग ल्याउनुभएको छ र मानिसलाई अझै नयाँ र अझै सुन्दर संसारमा ल्याउनको लागि आउनुभएको छ, त्यसकारण मानवजातिले प्रगति गरेको छ र नयाँ सुरुवात गरेको छ। मानिसहरूले परमेश्‍वरको लागि अनुभव गर्ने भनेका सराहना होइन, अथवा, सराहना मात्रै होइन। तिनीहरूको सबैभन्दा गहन अनुभव भनेको विस्मय र प्रेम हो; तिनीहरूले परमेश्‍वर वास्तवमै आश्चर्यको हुनुहुन्छ भन्ने अनुभव गर्छन्। उहाँले मानिसले गर्न नसक्‍ने काम गर्नुहुन्छ र मानिसले भन्‍न नसक्‍ने कुराहरू भन्नुहुन्छ। परमेश्‍वरको कामलाई अनुभव गरेका मानिसहरूसँग सधैँ वर्णन गर्न नसकिने अनुभूतिहरू हुन्छन्। पर्याप्त रूपमा गहन अनुभव पाएका मानिसहरूले परमेश्‍वरको प्रेमलाई बुझ्‍न सक्छन्; तिनीहरूले उहाँको प्रेमिलो स्वभावलाई अनुभव गर्न सक्छन्, उहाँ अत्यन्तै ज्ञानी हुनुहुन्छ, अत्यन्तै आश्चर्यका हुनुहुन्छ भन्ने अनुभव गर्न सक्छन्, र त्यसकारण तिनीहरूका बीचमा असीमित शक्ति पैदा हुन्छ। यो डर वा बेलाबखतको प्रेम र आदर होइन, बरु यो त मानिसप्रतिको परमेश्‍वरको करुणा र ऊप्रतिको सहनशीलताको गहन अनुभूति हो। तैपनि, उहाँको दण्ड र न्यायलाई अनुभव गरिसकेका मानिसहरूले उहाँको प्रतापलाई र उहाँले कुनै पनि अपराधहरूलाई सहनुहुन्‍न भन्‍ने कुरालाई अनुभूति गर्छन्। उहाँको धेरै काम अनुभव गरिसकेका मानिसहरूले समेत उहाँलाई बुझ्‍न सक्दैनन्; उहाँलाई साँचो रूपमा आदर गर्ने सबैले उहाँको काम मानिसहरूको धारणाहरूअनुरूप छैन बरु सधैँ तिनीहरूका धारणाहरू विरुद्ध जान्छ भन्‍ने कुरा जान्दछन्। मानिसहरूले उहाँलाई पूर्ण रूपमा सराहना गर्नु वा उहाँलाई देखावटी समर्पणता दिनु आवश्यकता छैन; बरु, तिनीहरूले साँचो श्रद्धा र साँचो समर्पणता हासिल गर्नुपर्छ। उहाँको धेरैजसो काममा, साँचो अनुभव सहितका जोसुकैले उहाँप्रति साँचो श्रद्धाको अनुभूति गर्छन्, जुन सराहनाभन्दा उच्‍च छ। उहाँको दण्ड र न्याय दिने कार्यको कारण मानिसहरूले उहाँको स्वभावलाई देखेका छन्, त्यसकारण तिनीहरूले आफ्‍नो हृदयमा उहाँलाई आदर गर्छन्। परमेश्‍वरको आदर गरिनुपर्छ र उहाँको आज्ञा पालना गरिनुपर्छ, किनभने उहाँको सारत्व र उहाँको स्वभाव सृष्टि गरिएका प्राणीहरूको जस्तो छैन बरु ती त सृष्टि गरिएका प्राणीहरूको भन्दा उच्‍च छन्। परमेश्‍वर स्वअस्तित्वमा हुनुहुन्छ र अनन्‍त हुनुहुन्छ, उहाँलाई सृष्टि गरिएको होइन, र श्रद्धा र आज्ञापालनको योग्य परमेश्‍वर मात्रै हुनुहुन्छ; यसको लागि मानिस योग्य छैन। त्यसकारण, उहाँको कार्यलाई अनुभव गरिसकेकाहरू र उहाँलाई साँचो रूपमा चिनेकाहरूले उहाँप्रति श्रद्धाको अनुभूति गर्छन्। तैपनि, उहाँसँग सम्‍बन्धित आफ्‍ना धारणाहरूलाई त्याग्‍न नसक्‍नेहरूसँग—उहाँलाई परमेश्‍वरको रूपमा लिँदै-नलिनेहरूसँग—उहाँप्रति कुनै श्रद्धा हुँदैन, र तिनीहरूले उहाँलाई पछ्याए तापनि, तिनीहरू जितिएका हुँदैनन्; तिनीहरूको प्रकृति नै अनाज्ञाकारी हुन्छ। यसरी काम गरेर उहाँले के हासिल गर्न चाहनुहुन्छ भने सृष्टि गरिएका सबै प्राणीहरूमा सृष्टिकर्ताको लागि श्रद्धा गर्ने हृदय होस्, तिनीहरूले उहाँको आराधना गरून्, र निःशर्त रूपमा तिनीहरू उहाँको प्रभुत्वमा समर्पित होऊन्। उहाँको सबै कामले हासिल गर्नुपर्ने अन्तिम परिणाम यही हो। यदि त्यस्तो कार्यलाई अनुभव गरिसकेका मानिसहरूले परमेश्‍वरलाई अलिकति पनि आदर गर्दैनन् भने, र यदि तिनीहरूको विगतको अवज्ञा परिवर्तन नै हुँदैन भने, तिनीहरूलाई निश्‍चय नै हटाइन्छ। यदि परमेश्‍वरप्रति व्यक्तिको मनोवृत्ति भनेको उहाँको सराहना गर्ने वा उहाँलाई टाढैबाट आदर गर्ने, र उहाँलाई अलिकति पनि प्रेम नगर्ने किसिमको छ भने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय नभएको व्यक्ति आइपुगेको परिणाम-स्थल यही हो, र त्यस व्यक्तिमा सिद्ध पारिनको लागि चाहिने शर्तहरूको कमी हुन्छ। यदि त्यति धेरै कामले व्यक्तिको साँचो प्रेम प्राप्त गर्न सक्दैन भने, त्यस व्यक्तिले परमेश्‍वरलाई प्राप्त गरेको छैन र उसले सच्‍चा रूपमा सत्यतालाई पछ्याउँदैन। परमेश्‍वरलाई प्रेम नगर्ने व्यक्तिले सत्यतालाई प्रेम गर्दैन, तसर्थ उसले परमेश्‍वरलाई प्राप्त गर्न सक्दैन, परमेश्‍वरको स्वीकृती प्राप्त गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूले पवित्र आत्‍माको कार्यलाई जसरी अनुभव गरे तापनि, र तिनीहरूले जसरी न्यायको अनुभव गरे तापनि, तिनीहरूले परमेश्‍वरलाई श्रद्धा गर्न सक्दैनन्। यी त्यस्ता मानिसहरू हुन् जसको प्रकृतिलाई परिवर्तन गर्न सकिँदैन र जोसँग अत्यन्तै दुष्ट स्वभाव छ। परमेश्‍वरको आदर नगर्नेहरू सबैलाई हटाइनुपर्छ, तिनीहरूलाई दण्डका पात्रहरू बनाइनुपर्छ, र दुष्ट काम गर्नेहरूलाई जस्तै दण्ड दिइनुपर्छ, अधर्म कुराहरू गर्नेहरूलाई भन्दा बढी कष्ट दिइनुपर्छ।

अघिल्लो: सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ

अर्को: परमेश्‍वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको कामको दर्शन (२)

अनुग्रहको युगमा पश्‍चात्तापको सुसमाचार प्रचार गरिएको थियो, अनि मानिसले त्यसमा विश्‍वास गर्‍यो भने उसले मुक्तिपाउँथ्यो। आज, मुक्तिको सट्टामा...

अध्याय ३

विजयी राजा उहाँको महिमित सिंहासनमा बस्नुहुन्छ। उहाँले छुटकाराको काम पूरा गर्नुभएको छ र उहाँका सारा मानिसहरूलाई महिमामा प्रकट हुन...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्