परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ
तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्वरको योजना र उहाँको विधिविधानका खातिर तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि सबै थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ। सुरुमा मानिस अस्तित्वमा आएदेखि नै, ब्रह्माण्डलाई व्यवस्थापन गर्दै, अनि सबै थोक परिवर्तन हुने व्यवस्थाहरू र तिनीहरूका चालहरूको मार्गचित्रलाई निर्देशन गर्दै परमेश्वरले यसरी नै आफ्नो काम गर्दै आउनुभएको छ। यावत् थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्वरबाट आएको मिठास, झरी र शीतले गुपचुप र अनजानमै पोषण दिइरहन्छन्; सबै थोकहरू जस्तै, मानिस अन्जानमै परमेश्वरको बाहुलीको योजनाबद्ध कार्यअन्तर्गत जिउँछ। मानिसको हृदय र आत्मा परमेश्वरको पकडभित्र हुन्छ, र उसको जीवनको सबै थोकमा परमेश्वरले नजर राख्नुहुन्छ। तैँले यो सब कुरालाई विश्वास गरे पनि वा नगरे पनि, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र यावत् थोक परमेश्वरको विचारअनुसार सर्नेछन्, परिवर्तन हुनेछन्, नवीकरण हुनेछन् र लोप हुनेछन्। परमेश्वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ।
जसरी रात नजिकिँदै जाँदा मानिस बेखबर हुन्छ, किनभने मानिसको हृदयले रात कसरी नजिकिँदैछ भनी थाहा पाउन सक्दैन, न त यो कहाँबाट आउँछ भनी उसले जान्दछ। जसरी रात बिस्तारै बितेर जान्छ, मानिसले उज्यालोलाई स्वागत गर्छ, तर उज्यालो कहाँबाट आउँछ र यसले रातको अँध्यारोलाई कसरी हटायो भन्ने बारेमा मानिसले अति कम मात्र जान्दछ र यसप्रति अझै कम सचेत रहन्छ। यिनै दिन र रात भइरहने क्रमले नै मानिसलाई एउटा कालखण्डबाट अर्को कालखण्डमा, एउटा ऐतिहासिक सन्दर्भबाट अर्को ऐतिहासिक सन्दर्भमा पुर्याउँछ र यस क्रममा हरेक युगमा परमेश्वरको कार्य भएको छ र हरेक युगको निम्ति उहाँको योजना पूरा भएको छ भन्ने कुरालाई सुनिश्चित गर्छ। मानिस परमेश्वरलाई पछ्याउँदै यी सबै विभिन्न कालखण्डहरूमा हिँडेको छ, तैपनि परमेश्वर यावत् थोक र जीवित प्राणीहरूको भविष्यमाथि सार्वभौम हुनुहुन्छ भनी उसले जान्दैन, न त परमेश्वरले सबै थोकहरूलाई कसरी निर्देशित गर्नुहुन्छ र प्रबन्ध गर्नुहुन्छ भन्ने नै उसले जान्दछ। यसले वर्तमान समयको मानिसलाई अनि अति प्राचीनकालको मानिसलाई समेत छलेको छ। यसो हुनुको कारण परमेश्वरका कार्यहरू अत्यन्त अदृश्य भएर होइन, न त परमेश्वरको योजना साकार हुन बाँकी रहेर नै हो, तर मानिसको हृदय र आत्मा परमेश्वरबाट अति टाढा भएको कारण हो, यो यति टाढा छ कि मानिसले परमेश्वरको सेवा गर्दा पनि ऊ शैतानको सेवामा रहन्छ र उसलाई यो कुरा अझै थाहा छैन। परमेश्वरका कदमहरू र परमेश्वरको देखापराइलाई कसैले पनि सक्रियतापूर्वक खोज्दैन, अनि कोही पनि परमेश्वरको हेरचाह र सुरक्षामा रहन इच्छुक छैन। बरु, यस संसारसँग र यो दुष्ट मानवजातिले पछ्याउने अस्तित्वका नियमहरूसँग अनुकुल रहनका लागि तिनीहरू शैतान अर्थात् दुष्टको क्षयमा भर पर्न इच्छुक हुन्छन्। यस अवस्थामा, मानिसको हृदय र आत्मा मानिसले शैतानलाई दिने कोसेली र शैतानको खाद्य पदार्थ बन्छ। अझ बढी, मानव हृदय र आत्मा शैतान बस्ने ठाउँ, साथै त्यसको यथोचित खेल मैदान भएको छ। यसरी मानिसले मानव हुनुका सिद्धान्तहरूका साथै मानव अस्तित्वको मूल्य र महत्त्वको बुझाइ थाहा नै नपाइकन गुमाउँछ। मानिसको हृदयमा परमेश्वरका व्यवस्थाहरू अनि परमेश्वर र मानिस बीचको करार क्रमिक रूपमा धुमिल्लिँदै जान्छ र उसले परमेश्वरलाई खोज्न वा उहाँको ख्याल गर्न छोड्छ। समय बित्दै जाँदा, मानिसले परमेश्वरले उसलाई सृष्टि गर्नुको महत्त्वको बुझाइ गुमाउँछ, न त उसले परमेश्वरको मुखबाट निस्केको वचन र परमेश्वरबाट आएका सबै कुरा नै बुझ्छ। त्यसपछि मानिसले परमेश्वरका व्यवस्थाहरू र कानूनहरूको प्रतिरोध गर्न थाल्छ, अनि उसको हृदय र आत्मा भावशून्य बन्छ…। परमेश्वरले सुरुमा सृष्टि गर्नुभएको मानिसलाई गुमाउनुहुन्छ, अनि मानिसले उसको मौलिक मूललाई गुमाउँछ: मानवजातिको दुःखान्त यही नै हो। वास्तवमा, प्रारम्भदेखि अहिलेसम्म नै परमेश्वरले मानवजातिको निम्ति दुःखद घटनाहरूलाई प्रस्तुत गर्नुभएको छ, जसमा मानिस नै नायक र पीडित दुवै बन्छ। अनि यो दुःखद घटनाको निर्देशक को हो भनी कसैले जवाफ दिन सक्दैन।
संसारको व्यापक फैलावटमा महासागरहरू भरिएर मैदानमा परिणत हुन्छन्, र जमिनहरू बगेर महासागरहरूमा परिवर्तन हुन्छन, यो क्रम असङ्ख्य रूपमा जारी रहन्छ। सबै कुराका बीचमा रहेका यावत् थोकमाथि सार्वभौम हुनुहुने बाहेक, यस मानवजातिलाई अगुवाइ र मार्गनिर्देशित गर्न सक्षम कोही पनि छैन। मानवजातिका निम्ति पसिना बगाउने वा तयारी गर्न सक्ने “शक्तिशाली व्यक्ति” कोही पनि छैन, मानवजातिलाई ज्योतिको गन्तव्यतिर अगुवाइ गर्ने र संसारका अन्यायहरूबाट मुक्त गर्न सक्ने व्यक्ति अझै कम छन्। मानवजातिको भविष्यप्रति परमेश्वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस क्रमिक रूपमा पतन र फर्कन नसक्ने विनाशको मार्गतिर लागिरहेको कुराले उहाँलाई पीडा दिन्छ। यो कुरा कसैले कहिल्यै विचार गरेको छैन: परमेश्वरको हृदयलाई पूर्ण रूपमा छियाछिया बनाउने र दुष्टलाई खोज्न उहाँलाई त्याग्ने त्यस्तो मानवजाति कुन दिशातिर लागेको हुन सक्छ? यसैकारणले गर्दा नै कसैले पनि परमेश्वरको क्रोध महसुस गर्न खोज्दैन, कसैले परमेश्वरलाई सन्तुष्ट पार्ने मार्ग खोज्दैन वा परमेश्वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, कसैले पनि परमेश्वरको शोक र पीडा बुझ्न खोज्दैन। परमेश्वरको आवाज सुनेपछि पनि परमेश्वरको अनुग्रह र वास्ताबाट तर्केर, उहाँको सत्यताबाट उम्केर मानिस परमेश्वरबाट विमुख भइरहन्छ र परमेश्वरको शत्रु शैतानको हातमा आफूलाई बेच्न रुचाउँछ। अनि यदि मानिस आफ्नो हठीपनमै अडिग भइरह्यो भने, परमेश्वरलाई तीव्र रूपमा घृणा गर्ने मानवजातिप्रति परमेश्वरले कस्तो व्यवहार गर्नुहुनेछ भन्ने कुरालाई कसले विचार गरेको छ र? परमेश्वरले यस अघि कहिल्यै नभएको विपत्ति उहाँको बाहुलीले तयार पार्नुभएको हुनाले उहाँले मानिसलाई पटक-पटक याद दिलाउनुभएको र अर्ती दिनुभएको कसैले जान्दैनन्, जुन विपत्ति मानव देह र प्राणको निम्ति असह्य हुनेछ, यो देहका निम्ति दण्ड मात्र नभई प्राणलाई निसाना बनाउने पनि हो। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्वरको योजना विफल हुन्छ, र उहाँका याद दिलाउने कुराहरू र अर्तीहरू चुक्ता हुँदैनन्, तब उहाँले कस्तो क्रोध पोखाउनुहुनेछ? यो कुनै पनि सृष्टि गरिएका प्राणीहरूले कहिल्यै नभोगेका र नजानेका किसिमको हुनेछ। त्यसैले म भन्छु, यो विपत्ति पहिले कहिल्यै आएको थिएन र फेरि कहिल्यै आउने छैन। किनकि मानवजातिलाई सृष्टि गर्ने परमेश्वरको योजना यो एक पटकको लागि मात्रै हो र मानवजातिलाई मुक्ति दिने पनि यो एक पटकको लागि मात्रै हो। यो पहिलो पटक पनि र अन्तिम पनि हो। यसकारण, परमेश्वरले मानवजातिलाई मुक्ति दिन यस पटक गर्नुहुने कडा परिश्रम र जोशपूर्ण अपेक्षा कसैले बुझ्न सक्दैन।
परमेश्वरले यो संसार सृष्टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी मानिसलाई ल्याउनुभयो। पछि मानिसको आमाबुबा र नातेदारहरू भए, अनि ऊ एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै उसलाई परमेश्वरको विधिभित्र रहनलाई निर्धारित गरिएको थियो। परमेश्वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीहरूलाई वृद्धि गराएर वयस्कमा पुर्याउँछ। यस प्रक्रियामा, मानिस परमेश्वरको हेरचाहमा नै वृद्धि भइरहेको छ भन्ने कसैले महसुस गर्दैन; बरु, मानिस आफ्ना आमाबुबाको प्रेमपूर्ण हेरचाहमा वृद्धि भइरहेको हुन्छ र उसको वृद्धिलाई उसैको जीवनको अन्तर्निहित शक्तिले निर्देशन गर्छ भन्ने तिनीहरू विश्वास गर्छन्। यस्तो हुन्छ किनभने उसको जीवन कसले दिएको वा यो कहाँबाट आउँछ भन्ने मानिसले जान्दैन, जीवनको अन्तर्निहित शक्तिले कसरी आश्चर्यकर्महरू पैदा गर्छ भन्ने कुरा त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो र लगनशीलता नै उसको अस्तित्वको स्रोत हो अनि उसको मनमा भएका आस्थाहरू नै उसको अस्तित्वका जगहरू हुन् भन्ने मात्र उसले जान्दछ। मानिस परमेश्वरको अनुग्रह र उहाँको बन्दोबस्तबारे अनजान हुन्छ र परमेश्वरले उसलाई दिनुभएको जीवनलाई उसले यसरी नै बरबाद गर्छ…। परमेश्वरले दिनरात हेरचाह गर्नुभएको मानवजातिमध्ये एक जनाले पनि उहाँको आराधना गर्न आफैलाई अग्रसर गर्दैन। परमेश्वरले मानिसमा काम मात्रै गरिरहनु हुन्छ, जसको निम्ति आफूले योजना बनाएअनुसार उहाँले कुनै पनि अपेक्षा राख्नुहुन्न। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझन्छ अनि जीवनको मूल्य र अर्थलाई, उसलाई परमेश्वरले दिनुभएको सबै कुराको निम्ति उहाँले चुकाउनुभएको मूल्य र मानिस उहाँतिर फर्कन्छ भनी उहाँले गर्नुभएको उत्सुकता सहितको प्रतीक्षालाई महसुस गर्नेछ भनी अपेक्षाको साथ परमेश्वरले यसो गर्नुहुन्छ। मानव जीवनको उद्गम र निरन्तरतासँग सम्बन्धित रहस्यहरूभित्र कसैले नियालेको छैन। यी सबै कुरालाई बुझ्नुहुने परमेश्वरले मात्र चोट र प्रहारलाई चूपचाप सहनुहुन्छ, जुन प्रहार परमेश्वरबाट प्राप्त गरेको हरेक थोकको निम्ति धन्यवादी समेत नहुने मानिसले उहाँलाई दिन्छ। जीवनले सामान्य रूपमा ल्याउने सबै कुराहरूको आनन्द मानिसले लिन्छ, र परमेश्वरलाई मानिसले विश्वासघात गर्छ, बिर्सन्छ र उहाँबाट खोस्छ भन्ने कुरा त “सामान्य नै हो”। के परमेश्वरको योजना यति धेरै महत्त्वको हुन सक्छ? के परमेश्वरको बाहुलीबाट आएको यो जीवित प्राणी अर्थात् मानिस साँच्चै यति धेरै महत्त्वपूर्ण हुन सक्छ? निश्चित रूपमा नै, परमेश्वरको योजना महत्त्वपूर्ण छ; यद्यपि, परमेश्वरको बाहुलीद्वारा सृष्टि गरिएको यो जीवित प्राणी उहाँको योजनाको खातिर मात्र अस्तित्वमा छ। यसकारण, परमेश्वरले यस मनावजातिप्रतिको घृणाको खातिर आफ्नो योजनालाई बर्बाद पार्न सक्नुहुन्न। मानिसको देहको निम्ति होइन तर मानिसको जीवनको निम्ति, उहाँको योजना र उहाँले फुक्नुभएको सासको निम्ति परमेश्वरले सारा कष्टहरू सहनुहुन्छ। मानिसको देहलाई फिर्ता लिनको निम्ति होइन, तर उहाँले फुक्नुभएको जीवनको सासको निम्ति उहाँले यसो गर्नुहुन्छ। यो नै उहाँको योजना हो।
यस संसारमा आउने सबैले जीवन र मृत्युबाट भएर जानुपर्छ, र तीमध्ये धेरै जना मृत्यु र पुनर्जन्मको चक्रबाट भएर गएका छन्। जो जीवित छन् तिनीहरू चाँडै मर्नेछन्, र मरेकाहरू चाँडै फर्कनेछन्। यी सबै कुरा जीवनको मार्ग हो जुन परमेश्वर आफैले प्रत्येक जीवित प्राणीहरूका लागि प्रबन्ध गर्नुभएको छ। यद्यपि यो मार्ग र चक्र त्यो खास तथ्य हो जुन मानिसले हेरोस् भन्ने परमेश्वर चाहनुहुन्छ: परमेश्वरले मानिसलाई दिनुभएको जीवन अन्तहीन छ, भौतिकता, समय वा स्थानद्वारा बाधा नपुग्ने किसिमको छ। परमेश्वरले मानिसलाई प्रदान गर्नुभएको जीवनको रहस्य यस्तो छ र यो जीवन उहाँबाट नै आएको हो भन्ने कुराको प्रमाण हो। धेरैले जीवन परमेश्वरबाट आएको हो भनी विश्वास नगरे पनि र तिनीहरूले परमेश्वरको अस्तित्वलाई चाहे स्वीकार गरे पनि वा इन्कार गरे पनि मानिसले अनिवार्य रूपमा परमेश्वरबाट आएका कुराहरूको उपभोग गर्दछ। यदि परमेश्वरले एक दिन अचानक हृदय परिवर्तन गर्नुभयो र संसारमा भएका सबै फेरि प्राप्त गर्ने र उहाँले दिनुभएको जीवन फिर्ता लिने इच्छा गर्नुभयो भने कोही पनि रहनेछैन। परमेश्वरले जीवित र निर्जीव सबै कुराहरूको लागि आपूर्ति गर्न आफ्नो जीवन प्रयोग गर्नुहुन्छ, र उहाँको शक्ति र अधिकारको सद्गुणद्वारा सबै थोकलाई असल क्रममा राख्नुहुन्छ। यो त्यस्तो तथ्य हो जुन कसैले पनि कल्पना गर्न वा बुझ्न सक्दैन, र यी बुझ्न नसकिने तथ्यहरू नै परमेश्वरको जीवनशक्तिको प्रकटीकरण र साक्षी हो। अब म तँलाई एउटा रहस्य बताउँछु: परमेश्वरको जीवनको महानता र उहाँको जीवनको शक्ति कुनै पनि सिर्जित प्राणीका लागि बुझ्न नसकिने छ। विगतमा जस्तो थियो अहिले पनि यो त्यस्तै छ, आउने समयमा पनि यो त्यस्तै रहनेछ। मैले बताउने दोस्रो रहस्य यो हो: सारा सिर्जित प्राणीहरूको जीवनको स्रोत परमेश्वरबाट आउँदछ, चाहे ती रूप वा ढाँचामा जतिसुकै फरक होऊन्; तँ जस्तोसुकै प्रकारको जीवित प्राणी भए पनि तँ परमेश्वरद्वारा तोकिएको जीवन मार्गको विरुद्ध जान सक्दैनस्। जसरी भए पनि, मानिसले यो बुझोस् भन्ने म चाहन्छु: परमेश्वरको वास्ता, सुरक्षा र प्रबन्धविना मानिसले जति नै कोसिस गरे पनि वा जति नै कठिन संघर्ष गरे पनि उसले प्राप्त गर्नुपर्ने ती सबै कुराहरू प्राप्त गर्न सक्दैन। परमेश्वरबाट जीवनको आपूर्ति भएन भने, मानिसले जिउनुको मूल्य र जीवनको अर्थलाई गुमाउँछ। आफ्नो जीवनको मोललाई व्यर्थमा खेर फाल्ने मानिसलाई परमेश्वरले कसरी यस्तो लापरवाह हुने अनुमति दिन सक्नुहुन्छ? मैले पहिले भनेझैँ: परमेश्वर तेरो जीवनको स्रोत हुनुहुन्छ भन्ने कुरालाई नबिर्सी। यदि परमेश्वरले दिनुभएका सबै कुराको कदर गर्न मानिसले सकेन भने, परमेश्वरले सुरुमा जे दिनुभयो त्यो मात्र फिर्ता लिनुहुन्न, तर उहाँले मानिसलाई दिनुभएको भन्दा दोबर मूल्य उसलाई तिर्न लगाउनुहुन्छ।
मे २६, २००३