परमेश्वर सबै सृजित प्राणीका प्रभु हुनुहुन्छ
अघिल्ला दुइटा युगको कामको एउटा चरण इस्राएलमा र एउटा यहूदियामा सम्पन्न गरिएको थियो। सामान्य रूपमा भन्नुपर्दा, यस कामको कुनै पनि चरण इस्राएलबाहिर गएन, र प्रत्येक चरण प्रथम चुनिएका मानिसहरूमाथि गरियो। फलस्वरूप, इस्राएलीहरू यहोवा परमेश्वर इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्छन्। येशूले यहूदियामा काम गर्नुभएको र त्यहाँ उहाँले क्रुसीकरणको काम पूरा गर्नुभएको हुनाले, यहूदीहरू उहाँलाई यहूदी मानिसहरूको उद्धारकर्ताका रूपमा हेर्छन्। तिनीहरू सोच्छन्, उहाँ अरू कुनै मानिसहरूको नभई यहूदीहरूको मात्र राजा हुनुहुन्छ; उहाँ बेलायतीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, न त अमेरिकीहरूलाई छुटकारा दिने प्रभु नै हुनुहुन्छ, बरु इस्राएलीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्छ; उहाँले इस्राएलमा यहूदीहरूलाई नै छुटकारा दिनुभएको थियो। वास्तवमा, परमेश्वर यावत् थोकको सार्वभौम हुनुहुन्छ। उहाँ सबै सृजित प्राणीको परमेश्वर हुनुहुन्छ। उहाँ इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुन्न, न त यहूदीहरूको मात्र परमेश्वर नै हुनुहुन्छ; उहाँ सबै सृजित प्राणीको परमेश्वर हुनुहुन्छ। उहाँको कामका अघिल्ला दुइटा चरण इस्राएलमा भएका थिए, र यसको परिणामस्वरूप मानिसहरूले निश्चित धारणाहरू विकास गरेका छन्। तिनीहरू यहोवाले आफ्नो काम इस्राएलमा गर्नुभयो, येशू स्वयम्ले आफ्नो काम यहूदियामा सम्पन्न गर्नुभयो, र त्यसबाहेक, येशूले यो काम देहमा गर्नुभयो भनी विश्वास गर्छन्। कुरा जेसुकै भए पनि, तिनीहरू यो काम इस्राएलबाहिर फैलिएन भन्ने सोच्छन्। परमेश्वरले मिश्रीहरू वा भारतीयहरूमाथि काम गर्नुभएन; उहाँले इस्राएलीहरूमाथि मात्र काम गर्नुभयो। यसरी मानिसहरू विभिन्न धारणाहरू बनाउँछन्, र परमेश्वरको कामलाई एक निश्चित दायरासम्म सीमित गर्छन्। तिनीहरू भन्छन्, परमेश्वरले काम गर्दा चुनिएका मानिसहरूमाथि र इस्राएलमा नै गर्नुपर्छ; परमेश्वर इस्राएलीहरूबाहेक अरू कसैमाथि काम गर्नुहुन्न, न त उहाँको कामको अझ कुनै ठूलो दायरा नै छ। तिनीहरू देहधारी परमेश्वरलाई नियन्त्रणमा राख्ने कुरामा विशेष गरी कडिकडाइ गर्छन्, र उहाँलाई इस्राएलको सिमानाबाहिर जाने अनुमति दिँदैनन्। के यी सबै मानव धारणा मात्रै होइनन् र? परमेश्वरले सबै स्वर्ग र पृथ्वी अनि यावत् थोक बनाउनुभयो, उहाँले सबै सृजित प्राणी बनाउनुभयो, त्यसैले उहाँले आफ्नो काम इस्राएलमा मात्र कसरी सीमित गर्न सक्नुहुन्थ्यो र? यदि त्यसो भएको भए, उहाँले सबै सृजित प्राणी बनाउनुको के अर्थ हुन्थ्यो र? उहाँले सारा संसार सृष्टि गर्नुभयो, र उहाँले आफ्नो छ हजार वर्षे व्यवस्थापन योजना इस्राएलमा मात्र नभई ब्रह्माण्डका हरेक व्यक्तिमाथि सम्पन्न गर्नुभएको छ। चाहे तँ जोसुकै होस्—चिनियाँ, अमेरिकी, बेलायती, रुसी—हरेक व्यक्ति आदमको सन्तति हो; तिनीहरू सबै परमेश्वरद्वारा बनाइएका हुन्। तिनीहरूमध्ये एक जना पनि सृजित प्राणीहरूको सिमानाबाट उम्कन सक्दैन, र तिनीहरूमध्ये एक जनाले पनि आफूलाई “आदमको सन्तति” भन्ने उपाधिबाट अलग गर्न सक्दैन। तिनीहरू सबै सृजित प्राणी हुन्, तिनीहरू सबै आदमका सन्तान हुन्, र तिनीहरू सबै आदम र हव्वाका भ्रष्ट तुल्याइएका सन्तति पनि हुन्। इस्राएलीहरू मात्र नभई सबै मानिस सृजित प्राणी हुन्; यति मात्र हो, कतिपय श्रापित भएका छन्, र कतिपय आशिषित् भएका छन्। इस्राएलीहरूका बारेमा स्वीकार्य कुराहरू धेरै छन्; तिनीहरू सबैभन्दा कम भ्रष्ट भएका हुनाले परमेश्वरले सुरुमा तिनीहरूमाथि काम गर्नुभयो। चिनियाँहरू तिनीहरूको तुलनामा आउँदैनन्; उनीहरू धेरै कम स्तरका छन्। त्यसैले, परमेश्वरले सुरुमा इस्राएलका मानिसहरूमाझ काम गर्नुभयो, र उहाँको कामको दोस्रो चरण मात्रै यहूदियामा सम्पन्न गरिएको थियो—जसले गर्दा मानिसहरूमाझ धेरै धारणा र प्रावधानहरू उत्पन्न भएका छन्। वास्तवमा, यदि परमेश्वरले मानव धारणाहरूअनुसार काम गर्नुभएको भए, उहाँ इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुनेथियो, र यसरी उहाँले आफ्नो काम अन्यजाति राष्ट्रहरूमा फैलाउन सक्नुहुनेथिएन, किनकि उहाँ इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुनेथियो, र सबै सृजित प्राणीको परमेश्वर हुनुहुनेथिएन। अगमवाणीहरूले यहोवाको नाम अन्यजाति राष्ट्रहरूमाझ महान् हुनेछ, यो अन्यजाति राष्ट्रहरूसम्म फैलिनेछ भनी भनेका थिए। यो अगमवाणी किन गरियो? यदि परमेश्वर इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुन्थ्यो भने, उहाँले इस्राएलमा मात्र काम गर्नुहुनेथियो। यसबाहेक, उहाँले यो काम फैलाउनुहुनेथिएन, र त्यस्तो अगमवाणी गर्नुहुनेथिएन। उहाँले यो अगमवाणी गर्नुभएको हुनाले, पक्कै पनि आफ्नो काम अन्यजाति राष्ट्रहरूमाझ, हरेक देश र सबै भूमिमा फैलाउनुहुनेछ। उहाँले यसो भन्नुभएको हुनाले, उहाँले यो गर्नैपर्छ; यो उहाँको योजना हो, किनकि उहाँ स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुने प्रभु, र सबै सृजित प्राणीको परमेश्वर हुनुहुन्छ। उहाँले इस्राएलीहरूमाथि, वा सम्पूर्ण यहूदियाभरि काम गर्नुभए पनि, उहाँले गर्ने काम सम्पूर्ण ब्रह्माण्डको काम, र सम्पूर्ण मानवजातिको काम हो। आज उहाँले ठूलो रातो अजिङ्गरको देशमा—अन्यजाति राष्ट्रमा—गर्ने काम पनि सम्पूर्ण मानवजातिकै काम हो। पृथ्वीमा उहाँको कामको आधार इस्राएल हुन सक्थ्यो; त्यसैगरी, चीन पनि अन्यजाति राष्ट्रहरूमाझ उहाँको कामको आधार हुन सक्छ। के उहाँले अब “यहोवाको नाम अन्यजाति राष्ट्रहरूमाझ महान् हुनेछ” भन्ने अगमवाणी पूरा गर्नुभएको छैन र? अन्यजाति राष्ट्रहरूमाझ उहाँको कामको पहिलो कदम यही काम, उहाँले ठूलो रातो अजिङ्गरको देशमा गर्ने काम हो। देहधारी परमेश्वरले यस भूमिमा काम गर्नुपर्छ, र यी श्रापित मानिसहरूमाथि काम गर्नुपर्छ भन्ने कुरा मानव धारणाहरूसँग विशेष गरी बाझिन्छ; यिनीहरू सबैभन्दा तल्लो स्तरका मानिस हुन्, तिनीहरूको कुनै मूल्य छैन, र तिनीहरू सुरुमा यहोवाद्वारा त्यागिएका थिए। मानिसहरू अरू मानिसद्वारा त्यागिन सक्छन्, तर यदि तिनीहरू परमेश्वरद्वारा त्यागिए भने, तिनीहरूभन्दा हैसियतविहीन अरू कोही हुँदैन, तिनीहरूभन्दा कम मूल्यको अरू कोही हुँदैन। सृजित प्राणीका हकमा, शैतानको अधीनमा पर्नु वा मानिसहरूद्वारा त्यागिनु धेरै पीडा हुने कुरा हो—तर सृजित प्राणी सृष्टिकर्ताद्वारा त्यागिनुको अर्थ उसको हैसियत त्योभन्दा तल हुन सक्दैन भन्ने हो। बका सन्ततिहरू श्रापित थिए, र तिनीहरू यस पिछडिएको देशमा जन्मिए; निस्सन्देह, अन्धकारको प्रभावमुनि रहेका सबै मानिसमध्ये मोआबका सन्ततिहरूको हैसियत सबैभन्दा निम्न छ। यी मानिसहरू अहिलेसम्म सबैभन्दा निम्न हैसियतका भएका हुनाले, तिनीहरूमाथि गरिएको कामले मानव धारणाहरूलाई सबैभन्दा बढी चकनाचुर पार्छ, र त्यो परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजनाको सम्पूर्ण कामका लागि सबैभन्दा लाभदायक पनि छ। यी मानिसहरूमाथि यस्तो काम गर्दा मानव धारणाहरूलाई सबैभन्दा राम्ररी चकनाचुर पार्न सकिन्छ, र यसैद्वारा परमेश्वर एउटा युग आरम्भ गर्नुहुन्छ; यसैद्वारा उहाँ सबै मानव धारणाहरूलाई चकनाचुर पार्नुहुन्छ; यसैद्वारा उहाँ सम्पूर्ण अनुग्रहको युगको काम अन्त्य गर्नुहुन्छ। उहाँको प्रारम्भिक काम यहूदियामा, इस्राएलको सिमानाभित्र सम्पन्न गरिएको थियो, अन्यजाति राष्ट्रहरूमाझ, उहाँले नयाँ युग आरम्भ गर्न कुनै काम गर्नुभएन। कामको अन्तिम चरण अन्यजातिहरूमाथि मात्र सम्पन्न गरिँदैन, बरु श्रापित भएकाहरूमाथि अझ बढी गरिन्छ। यो एउटा पक्ष शैतानलाई अपमानित गर्न सबैभन्दा सक्षम प्रमाण हो, र यसरी, परमेश्वर ब्रह्माण्डका सबै सृजित प्राणीको परमेश्वर, यावत् थोकको प्रभु, जीवन भएका सबै कुराका लागि आराधनाको पात्र “बन्नुहुन्छ”।
आज, परमेश्वरले कुन नयाँ काम सुरु गर्नुभएको छ भनी अझै नबुझ्नेहरू पनि छन्। अन्यजाति राष्ट्रहरूमाझ, परमेश्वरले एउटा नयाँ सुरुवात ल्याउनुभएको छ। उहाँले एउटा नयाँ युग सुरु गर्नुभएको छ, र नयाँ कामको थालनी गर्नुभएको छ—र उहाँ यो काम मोआबका सन्ततिहरूमाथि गर्नुहुन्छ। के यो उहाँको सबैभन्दा नयाँ काम होइन र? युगौँयुगदेखि कसैले पनि यो काम पहिले कहिल्यै अनुभव गरेको छैन। कसैले यसबारे सुनेको समेत छैन, झन् यसलाई बुझ्ने त कुरै छोडौँ। परमेश्वरको बुद्धि, परमेश्वरको आश्चर्यकर्म, परमेश्वरको अथाहपन, परमेश्वरको महानता, र परमेश्वरको पवित्रता सबै कामको यस चरण, आखिरी दिनहरूको काममार्फत प्रकट हुन्छन्। के यो नयाँ काम, मानव धारणाहरूलाई चकनाचुर पार्ने काम होइन र? यसरी सोच्नेहरू पनि छन्: “परमेश्वरले मोआबलाई श्राप दिनुभएकाले र उहाँले मोआबका सन्ततिहरूलाई त्याग्ने भन्नुभएकाले, अब उहाँले तिनीहरूलाई कसरी मुक्ति दिन सक्नुहुन्थ्यो र?” यिनीहरू परमेश्वरद्वारा श्रापित भएका र इस्राएलबाट निकालिएका अन्यजाति हुन्; इस्राएलीहरू तिनीहरूलाई “अन्यजाति कुकुर” भन्थे। सबैको दृष्टिकोणमा, तिनीहरू अन्यजाति कुकुर मात्र होइनन्, त्योभन्दा खराब, विनाशका पुत्र हुन्; अर्थात्, तिनीहरू परमेश्वरका चुनिएका मानिस होइनन्। सुरुमा तिनीहरू इस्राएलको सिमानाभित्र जन्मेका भए पनि, तिनीहरू इस्राएलका मानिसहरूको भाग होइनन्, र तिनीहरूलाई निष्कासित गरेर अन्यजाति राष्ट्रहरूमा पठाइएको थियो। तिनीहरू मानिसहरूमध्यै सबैभन्दा निम्न स्तरका हुन्। तिनीहरू मानवजातिमध्ये सबैभन्दा निम्न स्तरका भएकाले नै परमेश्वर तिनीहरूमाथि नयाँ युगको आरम्भ गर्ने आफ्नो काम सम्पन्न गर्नुहुन्छ, किनकि तिनीहरू भ्रष्ट मानवजातिका प्रतिनिधि हुन्। परमेश्वरको काम अन्धाधुन्ध वा उद्देश्यविहीन हुँदैन; उहाँले आज यी मानिसहरूमाथि गर्ने काम सृजित प्राणीहरूमाथि गरिने काम पनि हो। नोआ सृजित प्राणी थिए, उनका सन्ततिहरू पनि त्यस्तै हुन्। संसारमा मासु र रगतले बनेको जोकोही सृजित प्राणी हो। परमेश्वरको काम सबै सृजित प्राणीप्रति लक्षित हुन्छ; यो कोही सृष्टि गरिएपछि श्रापित भयो कि भएन भन्ने कुरामा निर्भर हुँदैन। उहाँको व्यवस्थापन काम सबै सृजित प्राणीप्रति लक्षित हुन्छ, श्रापित नभएका ती चुनिएका मानिसहरूप्रति होइन। परमेश्वरले आफ्नो काम आफ्ना सृजित प्राणीहरूमाथि गर्ने अभिप्राय राख्नुहुने हुनाले, पक्कै पनि यसलाई सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ, र उहाँले ती मानिसहरूमाथि काम गर्नुहुनेछ जो उहाँको कामका लागि लाभदायक छन्। त्यसकारण, मानिसहरूमाथि काम गर्नुहुँदा उहाँ सबै प्रावधान तोड्नुहुन्छ; उहाँका लागि “श्रापित,” “सजाय पाएको” र “आशिषित्” भन्ने शब्दहरू अस्तित्वमा हुँदैनन्! यहूदी मानिसहरू असल छन्, इस्राएलका चुनिएका मानिसहरू पनि असल छन्; तिनीहरू उच्च क्षमता र असल मानवता भएका मानिस हुन्। सुरुमा, यहोवाले तिनीहरूमाथि नै उहाँको कामको आरम्भ गर्नुभयो, र उहाँको सबैभन्दा प्रारम्भिक काम गर्नुभयो—तर आज तिनीहरूलाई विजयको कामको प्रापक बनाउनु अर्थहीन हुनेछ। तिनीहरू पनि सृजित प्राणीको भाग हुन सक्छन्, र तिनीहरूका बारेमा सकारात्मक कुरा धेरै हुन सक्छन्, तर तिनीहरूमाथि कामको यो चरण सम्पन्न गर्नु व्यर्थ हुनेछ; यसले मानिसहरूलाई विजय गर्न सक्नेछैन, न त यसले सबै सृजित प्राणीलाई विश्वस्त पार्न नै सक्नेछ। यो नै उहाँको कामलाई ठूलो रातो अजिङ्गरको देशका यी मानिसहरूमा सार्नुको उद्देश्य हो। यहाँ सबैभन्दा ठूलो महत्त्वको कुरा भनेको उहाँले एउटा युगको आरम्भ गर्नु, उहाँले सबै प्रावधान र सबै मानव धारणा तोड्नु र उहाँले सम्पूर्ण अनुग्रहको युगको काम अन्त्य गर्नु हो। यदि उहाँको वर्तमान काम अझै पनि इस्राएलीहरूमाथि सम्पन्न गरिन्थ्यो भने, उहाँको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुँदासम्म, सबैले परमेश्वर इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुन्छ, इस्राएलीहरू मात्र परमेश्वरका चुनिएका मानिस हुन्, र इस्राएलीहरू मात्र परमेश्वरको आशिष् र प्रतिज्ञाको उत्तराधिकारी बन्न योग्य छन् भनी विश्वास गर्नेथिए। आखिरी दिनहरूको दौरान ठूलो रातो अजिङ्गरको अन्यजाति देशमा भएको परमेश्वरको देहधारणले सबै सृजित प्राणीको परमेश्वर हुने उहाँको काम सम्पन्न गर्छ, उहाँको सम्पूर्ण व्यवस्थापन काम पूरा गर्छ, र उहाँको व्यवस्थापन कामको चुरो भागलाई ठूलो रातो अजिङ्गरको देशमा समाप्त गर्छ। कामका यी तीन चरणको चुरो मानिसको मुक्ति—अर्थात्, सबै सृजित प्राणीलाई सृष्टिकर्ताको आराधना गर्न लगाउनु हो। तसर्थ, कामको प्रत्येक चरणको ठूलो अर्थ छ; परमेश्वर अर्थ वा महत्त्वविनाको कुनै काम गर्नुहुन्न। एकातिर, कामको यस चरणले एउटा नयाँ युग ल्याउँछ र अघिल्ला दुइटा युगलाई अन्त्य गर्छ; अर्कोतिर, यसले मानिसहरूका सबै धारणा र मानिसहरूको विश्वास गर्ने सबै पुराना तरिका र कामकुरा बुझ्ने पुराना तरिकाहरूलाई चकनाचुर पार्छ। अघिल्ला दुइटा युगको काम विभिन्न मानव धारणाहरूअनुसार सम्पन्न गरिएको थियो; तर यस चरणले मानव धारणाहरूलाई पूर्ण रूपमा हटाउँछ, यसरी मानवजातिलाई पूर्ण रूपमा विजय गर्छ। मोआबका सन्ततिहरूलाई विजय गरेर, मोआबका सन्ततिहरूमाथि गरिएको काममार्फत, परमेश्वरले सम्पूर्ण ब्रह्माण्डका मानिसहरूलाई विजय गर्नुहुनेछ। उहाँको कामको यस चरणको सबैभन्दा गहन अर्थ यही हो, र यो उहाँको कामको यस चरणको सबैभन्दा मूल्यवान् पक्ष हो। अब तँलाई तेरो आफ्नै स्थान निम्न स्तरको छ र तँ निम्न मूल्यको होस् भन्ने थाहा भए पनि, तँलाई अझै पनि तैँले यति ठूलो आशिष्को उत्तराधिकार पाएको छस् र यति ठूलो प्रतिज्ञा प्राप्त गरेको छस्, र तैँले परमेश्वरको यो महान् काम सम्पन्न गर्नका लागि मद्दत गर्न, परमेश्वरको साँचो मुहार हेर्न, परमेश्वरको अन्तर्निहित स्वभाव चिन्न, र परमेश्वरको इच्छा पालन गर्न सक्छस् भन्ने महसुस हुनेछ, जुन तँलाई सबैभन्दा आनन्ददायी कुरा लाग्नेछ। परमेश्वरको कामका अघिल्ला दुइटा चरण इस्राएलमा सम्पन्न गरिएका थिए। यदि आखिरी दिनहरूमा उहाँको कामको यो चरण पनि इस्राएलीहरूमाथि सम्पन्न गरिएको भए, सबै सृजित प्राणीले इस्राएलीहरू मात्र परमेश्वरका चुनिएका मानिस हुन् भनी विश्वास गर्ने मात्र नभई परमेश्वरको सम्पूर्ण व्यवस्थापन योजनाले पनि त्यसको चाहेको नतिजा हासिल गर्न सक्नेथिएन। इस्राएलमा उहाँको कामका दुइटा चरण सम्पन्न गरिएको समयमा, अन्यजाति राष्ट्रहरूमाझ कुनै नयाँ काम—न त नयाँ युगको आरम्भ गर्ने कुनै काम— नै सम्पन्न गरियो। कामको आजको चरण—एउटा नयाँ युगको आरम्भ गर्ने काम—पहिले अन्यजाति राष्ट्रहरूमा सम्पन्न गरिन्छ, र त्यसबाहेक, सुरुमा मोआबका सन्ततिहरूमाथि सम्पन्न गरिन्छ, यसरी सम्पूर्ण युगको आरम्भ हुन्छ। परमेश्वरले मानव धारणाहरूभित्र रहेको कुनै पनि ज्ञानलाई चकनाचुर पार्नुभएको छ, त्यो कुनै पनि रहन दिनुभएको छैन। उहाँले आफ्नो विजयको काममा, मानव धारणाहरू र मानिसहरूका कामकुरा बुझ्ने पुराना, पहिलेका तरिकाहरूलाई चकनाचुर पार्नुभएको छ। उहाँ मानिसहरूलाई परमेश्वरसँग कुनै प्रावधानहरू छैनन्, परमेश्वरबारे कुनै कुरा पुरानो छैन, उहाँले गर्ने काम पूर्ण रूपमा मुक्त, पूर्ण रूपमा स्वतन्त्र छ, र उहाँ आफूले गर्ने सबै कुरामा सही हुनुहुन्छ भनेर देखाउनुहुन्छ। तँ उहाँले सृजित प्राणीहरूमाथि गर्ने कुनै पनि कामप्रति पूर्ण रूपमा समर्पित हुनैपर्छ। उहाँले गर्ने सबै कामको अर्थ हुन्छ, र त्यो मानव रोजाइ र धारणाहरूअनुसार नभई उहाँको आफ्नै अभिप्राय र बुद्धिअनुसार सम्पन्न गरिन्छ। यदि कुनै कुरा उहाँको कामका लागि लाभदायक छ भने, उहाँ त्यो गर्नुहुन्छ; र यदि कुनै कुरा उहाँको कामका लागि लाभदायक छैन भने, त्यो जतिसुकै राम्रो भए पनि उहाँ गर्नुहुन्न! उहाँ आफ्नो कामको अर्थ र उद्देश्यअनुसार काम गर्नुहुन्छ अनि उहाँको कामका प्रापकहरू र स्थान छनौट गर्नुहुन्छ। उहाँ काम गर्दा, विगतका प्रावधानहरू पालन गर्नुहुन्न, न त उहाँ पुराना सूत्रहरू नै पालना गर्नुहुन्छ। बरु, उहाँ कामको महत्त्वअनुसार आफ्नो कामको योजना बनाउनुहुन्छ। अन्ततः उहाँले एउटा वास्तविक परिणाम र अपेक्षित लक्ष्य हासिल गर्नुहुनेछ। यदि आज तैँले यी कुराहरू बुझिनस् भने, यस कामले तँमा कुनै प्रभाव पार्नेछैन।