परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

प्रारम्भमा, परमेश्‍वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्‍वरले अझै कुनै काम गर्नुभएको थिएन। मानवजाति अस्तित्वमा आएपछि र मानवजाति भ्रष्ट भएपछि मात्र उहाँले उहाँको व्यवस्थापनको काम सुरु गर्नुभयो; त्यस घडीदेखि उहाँले विश्राम लिनुभएन, बरु मानवजाति माझ व्यस्त हुन थाल्नुभयो। मानवजातिको भ्रष्टताले गर्दा साथै प्रधान स्वर्गदूतको विद्रोहले गर्दा परमेश्‍वरले उहाँको विश्राम गुमाउनुभयो। यदि परमेश्‍वरले शैतानलाई परास्त गर्नुहुन्न र भ्रष्ट भएको मानवजातिलाई मुक्त गर्नुहुन्न भने, उहाँ फेरि कहिल्यै पनि विश्राममा प्रवेश गर्न सक्षम हुनुहुनेछैन। जसरी मानिसलाई विश्रामको कमी छ, त्यसरी नै परमेश्‍वरलाई पनि विश्रामको कमी छ, र जब फेरि उहाँ एक पटक विश्राम गर्नुहुन्छ, मानवले पनि विश्राम गर्नेछ। विश्राममा जिउनुको अर्थ युद्धरहित, अशुद्धतारहित र कुनै विद्यमान अधार्मिकता रहित जीवन हो भन्ने हुन्छ। भन्नुको तात्पर्य, यो शैतानको विघ्न-बाधाहरू (यहाँ “शैतान” शब्दले वैरी दलहरूलाई जनाउँछ) र शैतानको भ्रष्टता विनाको जीवन हो, अनि न त यो परमेश्‍वरको कुनै विरोधी शक्तिको आक्रमणको जोखिममा हुने जीवन हो; यो सबै थोक आफ्नै तरिका अनुसरण गर्ने र सृष्टिको प्रभुको आराधना गर्न सक्ने जीवन हो, र जसमा स्वर्ग र पृथ्वी पूर्ण रूपमा शान्त हुन्छन्—“मानवको विश्रामपूर्ण जीवन” शब्दहरूको तात्पर्य यही हो। जब परमेश्‍वरले विश्राम गर्नुहुन्छ, तब पृथ्वीमा अधार्मिकता विद्यमान रहनेछैन, न त त्यहाँ वैरी दलहरूबाट कुनै अरू आक्रमण हुनेछ, र मानवजाति एउटा नयाँ राज्यमा प्रवेश गर्नेछ—यस उप्रान्त शैतानद्वारा भ्रष्ट पारिएको मानवजाति हुनेछैन, बरु शैतानद्वारा भ्रष्ट पारिएपछि मुक्त गरिएको मानवजाति हुनेछ। मानवजातिको विश्रामको दिन नै परमेश्‍वरको पनि विश्रामको दिन हुनेछ। परमेश्‍वर मौलिक रूपमा नै विश्राम गर्न असक्षम हुनुभएकोले होइन, विश्राममा प्रवेश गर्न मानवजातिको असक्षमताले नै उहाँले उहाँको विश्राम गुमाउनुभयो। विश्राममा प्रवेश गर्नुको अर्थ सबै थोक ठप्प हुन्छ वा विकसित हुन नै रोकिन्छ भन्ने होइन; न त यसको आशय, परमेश्‍वरले काम गर्न छोड्नुहुन्छ वा मानव जिउन छोड्छ भन्ने नै हो। शैतानलाई नष्ट गरिनु, यसको दुष्कर्मका सरिक हुने दुष्ट मानिसहरूलाई दण्डित गर्नु र निमिट्यान्न पार्नु साथै परमेश्‍वरको सारा वैरी दलहरू अस्तित्वमा नरहनु नै विश्राममा प्रवेश गर्ने सङ्केत हुनेछ। परमेश्‍वर विश्राममा प्रवेश गर्नुको अर्थ उहाँले मानवजातिको मुक्तिको निम्ति यस उप्रान्त उहाँको काम नगर्नु हो भन्ने हुन्छ। मानवजाति विश्राममा प्रवेश गर्नुको अर्थ सबै मानवजाति परमेश्‍वरको ज्योतिभित्र र उहाँको आशिषहरूमुनि, शैतानको भ्रष्टताविना जिउनेछन् र कुनै अधार्मिकता हुनेछैन भन्ने हो। परमेश्‍वरको हेरचाहमुनि, मानव पृथ्वीमा सामान्य रूपमा जिउनेछन्। जब परमेश्‍वर र मानवजाति एकसाथ विश्राममा प्रवेश गर्छन्, यसको अर्थ मानवजातिलाई मुक्त गरिएको छ, शैतानलाई नष्ट पारिएको छ र मानवमा परमेश्‍वरको काम पूर्ण रूपमा पूरा भएको छ भन्ने हुन्छ। परमेश्‍वरले यस उप्रान्त मानवमा काम गर्नुहुनेछैन र तिनीहरू शैतानको अधिकार-क्षेत्रमुनि रहनेछैनन्। त्यसै गरी, परमेश्‍वर यस उप्रान्त व्यस्त हुनुहुनेछैन, र मानव अनवरत गतिमा हुनेछैन; परमेश्‍वर र मानव एकैसाथ विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वर उहाँको मौलिक स्थानमा फर्कनुहुनेछ, र हरेक व्यक्ति तिनीहरूको आ-आफ्नो ठाउँमा फर्कनेछन्। एक पटक परमेश्‍वरको समग्र व्यवस्थापन सिद्धिएपछि परमेश्‍वर र मानव बसोबास गर्ने गन्तव्यहरू यी नै हुन्। परमेश्‍वरको परमेश्‍वरकै गन्तव्य छ र मानवको मानवकै गन्तव्य छ। विश्राम गरिरहँदा, परमेश्‍वरले सबै मानवलाई पृथ्वीमा तिनीहरूको जीवनहरूमा मार्गदर्शन गरिरहनुहुनेछ र उहाँको ज्योतिमा हुँदा, तिनीहरूले स्वर्गमा हुनुहुने एक मात्र साँचो परमेश्‍वरको आराधना गर्नेछन्। यस उप्रान्त, परमेश्‍वर मानवजातिको माझमा बस्नुहुनेछैन, न त मानिसहरू परमेश्‍वरसँगै उहाँको गन्तव्यमा बस्नेछन्। परमेश्‍वर र मानव उही क्षेत्रभित्र रहन सक्दैन; बरु, दुवैको आ-आफ्नै जिउने शैली हुन्छ। परमेश्‍वरले नै सारा मानवजातिलाई मार्गदर्शन गर्नुहुनेछ, र सारा मानवजाति नै परमेश्‍वरको व्यवस्थापन कार्यको निर्दिष्ट रूप हो। मानवलाई नेतृत्व गरिन्छन् र उनीहरू परमेश्‍वर झैँ उही सारका होइनन्। “विश्राम” गर्नुको अर्थ उसको आफ्नै मौलिक स्थानमा फर्कनु हो। यसकारण, जब परमेश्‍वर उहाँको विश्राममा प्रवेश गर्नुहुन्छ, तब यसको अर्थ, उहाँ उहाँको मौलिक स्थानमा फर्कनुभएको छ भन्ने हुन्छ। उहाँ यस उप्रान्त पृथ्वीमा बस्नुहुनेछैन वा मानवजातिको आनन्द र कष्टमा संलग्न हुन मानवजाति माझ हुनुहुनेछैन। जब मानव विश्राममा प्रवेश गर्छन्, यसको अर्थ उनीहरू सृष्टिको साँचो पात्रहरू हुनेछन् भन्ने हो; उनीहरूले पृथ्वीबाट नै परमेश्‍वरको आराधना गर्नेछन् र सामान्य जीवन जिउनेछन्। मानिसहरू यस उप्रान्त परमेश्‍वरप्रति अनाज्ञाकारी हुनेछैनन् वा उहाँको प्रतिरोध गर्नेछैनन् अनि आदम र हव्वाको मौलिक जीवनतिर फर्कनेछन्। उनीहरू विश्राममा प्रवेश गरेपछि परमेश्‍वर र मानवका यी आ-आफ्नै जीवनहरू र गन्तव्यहरू हुनेछन्। शैतान र परमेश्‍वर बीचको युद्धमा शैतानको हार अपरिहार्य प्रचलन हो। यस्तै, परमेश्‍वरको व्यवस्थापन कार्यको पूर्णता र विश्राममा मानवजातिको पुर्ण मुक्ति र प्रवेश पछि विश्राममा परमेश्‍वरको प्रवेश पनि अनिवार्य प्रचलनहरू भएका छन्। मानवजातिको विश्रामको स्थान पृथ्वी हो र परमेश्‍वरको विश्रामको स्थान स्वर्ग हो। जब मानवले विश्राममा परमेश्‍वरको आराधना गर्छन्, तब उनीहरू पृथ्वीमा बस्नेछन् र जब परमेश्‍वरले बाँकी मानवलाई विश्राममा डोर्‍याउनुहुन्छ, तब उहाँले उनीहरूलाई पृथ्वीबाट होइन स्वर्गबाट अगुवाइ गर्नुहुनेछ। परमेश्‍वर अझै पनि आत्मा नै हुनुहुनेछ, जबकि मानव अझै पनि देहमा नै हुनेछन्। परमेश्‍वर र मानव फरक-फरक किसिमले विश्राममा हुन्छन्। परमेश्‍वरले विश्राम गर्नुहुँदा, उहाँ मानव माझ आउनुहुनेछ र देखा पर्नुहुनेछ; मानवले विश्राम लिँदा, स्वर्ग भ्रमणमा जान साथै त्यहाँको जीवनको आनन्द लिन परमेश्‍वरले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गरेपछि, शैतान अस्तित्वमा हुनेछैन; त्यसै गरी, ती दुष्ट मानिसहरू पनि अस्तित्वमा रहन बन्द हुनेछन्। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गर्न अघि पृथ्वीमा परमेश्‍वरलाई सताउनेहरू साथै उहाँका अनाज्ञाकारी भएका वैरीहरूलाई पहिले नै नष्ट गरिएको हुनेछ; तिनीहरूलाई अन्तका दिनहरूको महाविपत्तिहरूद्वारा निर्मूल गरिएका हुनेछन्। एक पटक ती दुष्ट मानिसहरूलाई पूर्ण रूपमा नष्ट पारेपछि, पृथ्वीले शैतानको उत्पीडन कहिल्यै पनि भोग्नेछैन। त्यसपछि मात्र मानवजातिले पूर्ण मुक्ति हासिल गर्नेछ र परमेश्‍वरको काम पूर्ण रूपमा सिद्धिनेछ। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गर्नलाई जरुरी कुराहरू यी नै हुन्।

यी सबै थोकहरूको अन्तको निकटताले परमेश्‍वरको कामको पूर्णताको साथै मानवजातिको विकासको अन्तको सङ्केत गर्छ। यसको अर्थ शैतानद्वारा भ्रष्ट पारिएको, मानव तिनीहरूको विकासको अन्तिम चरणमा पुगेको हुनेछ, अनि आदम र हव्वाका सन्तानहरूले तिनीहरूका सन्तानहरूको वृद्धि गर्ने काम पूरा गरेका हुनेछन् भन्ने हो। यसको अर्थ यो पनि हो कि शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिले निरन्तर विकास गर्न असम्भव हुनेछ भन्ने हुन्छ। आदम र हव्वालाई प्रारम्भमा भ्रष्ट पारिएका थिएन, तर अदनको बगैँचाबाट निकालिएका आदम र हव्वा शैतानद्वारा भ्रष्ट पारिएका थिए। जब परमेश्‍वर र मानव एकसाथ विश्राममा प्रवेश गर्छन्, तब अदनको बगैँचाबाट निकालिएका—आदम र हव्वा—र तिनीहरूका सन्तानहरू आखिरमा अन्तमा आउनेछन्। भविष्यको मानवजाति अझै पनि आदम र हव्वाको सन्तानहरूले रचना गरिएको हुनेछ, तर उनीहरू शैतानको अधिकार-क्षेत्रमुनि बस्ने मानव हुनेछैनन्। बरु, उनीहरू मुक्त गरिएका र शुद्ध पारिएका मानिसहरू हुनेछन्। यो न्याय गरिएका र सजाय दिइएका, र पवित्र भएको मानवजाति हुनेछ। यी मानिसहरू मौलिक रूपमा जस्ता थिए त्यस्ता मानव हुनेछैनन्; यसलाई लगभग यसो भन्न सकिन्छ कि उनीहरू सुरुमा भएका आदम र हव्वा जस्ता थिए त्योभन्दा समग्र रूपमा भिन्न किसिमका मानवजाति हुनेछन्। यी मानिसहरू शैतानद्वारा भ्रष्ट पारिएकाहरू सबैको माझबाट नै छानिएकाहरू हुनेछन्, र उनीहरू परमेश्‍वरको न्याय र सजायको अवधिमा चरम रूपमा दृढ खडा रहनेहरू मध्येका हुनेछन्; उनीहरू भ्रष्ट मानवजाति माझबाट अन्तिम बाँकी रहेका मानवको समूह हुनेछन्। यी मानिसहरू मात्र परमेश्‍वरसँगै अन्तिम विश्राममा प्रवेश गर्न सक्षम हुनेछन्। अन्तका दिनहरूको अवधिमा परमेश्‍वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा दृढ खडा रहन सक्षम हुनेहरू नै—परमेश्‍वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्‍वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्‍वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्‍वरद्वारा हासिल गरिएका यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। सजाय र न्यायको परमेश्‍वरको कामको मूलभूत उद्देश्य मानवजातिको शुद्धीकरण गर्नु र उनीहरूलाई उनीहरूको अन्तिम विश्रामको निम्ति तयारी गर्नु हो; यस्तो शुद्धीकरणविना, कुनै पनि मानवजाति किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सकिँदैनथ्यो। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती अनाज्ञाकारी तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र ती टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछन्। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछन् र उनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा उनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, उनीहरूले विश्रामको उनीहरूको मानव दिन सुरुवात गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, उनीहरू सबैलाई नष्ट पारिनेछन् र शैतानलाई झैँ उनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त उनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशानाहरू हुन् र दुष्ट र अधर्मी मानिसहरू हुन्। उनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र उनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; उनीहरू पनि कुनै समय परमेश्‍वरको सेवा गरे। यद्यपि, जब अन्तको दिन आउँछ, उनीहरूका दुष्टताको कारण साथै मुक्त गरिनलाई उनीहरूको अनाज्ञाकारीता र असक्षमताको परिणामस्वरूप उनीहरूलाई अझ पनि हटाइनेछन् र नष्ट पारिनेछन्; उनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र उनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। चाहे उनीहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, सबै दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू सबैलाई मानवजाति माझ एक पटक पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि नष्ट पारिनेछन्। जहाँ सम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, दुष्ट काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछन्, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तको युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भएका थिए वा थिएनन्, उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्नेहरू र मुक्ति पाउन नसक्नेहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्‍चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई उनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिन्छन्। एक पटक यसरी वर्गीकरण गरिसकेपछि, उनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्‍वरले अन्तको दिनहरूमा विजयको उहाँको कार्यको कार्यान्वयनलाई सिद्ध्याउनुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम कार्यान्वयन गर्नुहुनेछ। वास्तवमा, उहाँले मानवजाति माझ काम गर्न सुरुवात गर्नुभएदेखि नै उनीहरूलाई असल र खराब गरी छुट्टाउँदै आइरहनुभएको छ। यो यस्तो मात्र हुन्छ कि उहाँको काम समाप्‍त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; यो यस्तो होइन कि उहाँको काम पूरा भएपछि उनीहरूलाई वर्गहरूमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्‍नुहुनेछ। दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्‍वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध मानवजाति ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्‍वरले दुष्टलाई नष्ट पार्नुभएन, तर रहन दिनुभयो भने, सबै मानव विश्राममा प्रवेश गर्न अझै असक्षम हुने थियो, र सारा मानवजातिलाई अझ उत्तम राज्यमा ल्याउन परमेश्‍वर असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण हुँदैन थियो। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र हुनेछ; यसरी मात्र परमेश्‍वर शान्तिपूर्वक विश्राममा बस्न सक्षम हुनुहुनेछ।

आजभोली मानिसहरू देहका कुराहरूलाई छोड्न असक्षम छन्; उनीहरू देह, संसार, पैसा, वा उनीहरूका भ्रष्ट स्वभावहरूको विलासलाई छोड्न सक्दैनन्। धेरै जसो मानिसहरूले उनीहरूका आफ्नै शौकहरू बेपरवाह किसिमले गरिहिँड्छन्। वास्तवमा, यी मानिसहरूले उनीहरूको हृदयहरूमा परमेश्‍वरलाई बिलकुलै राख्दैनन्; योभन्दा पनि नराम्रो कुरो त, उनीहरूले परमेश्‍वरको भय मान्दैनन्। उनीहरूको हृदयहरूमा परमेश्‍वर हुनुहुन्न, र त्यसैले परमेश्‍वरले गर्नुहुने सबै कुरा उनीहरूले बुझ्न सक्दैनन् र झनै उहाँले बोल्नुभएका कुराहरू बुझ्नु त परै जाओस्। यस्ता मानिसहरू अति शारीरिक हुन्; उनीहरू अति गहन रूपमा भ्रष्ट छन् र कुनै पनि सत्यताको कमी छ। यसको अलाबा, परमेश्‍वर देहधारी हुन सक्नुहुन्छ भन्ने उनीहरूले विश्‍वास गर्दैनन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्ने जो कोही पनि—अर्थात् दृश्य परमेश्‍वरमा वा उहाँको काम र वचनहरूमा विश्‍वास नगर्ने, बरु स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वरको आराधना गर्ने जो कोही पनि व्यक्तिको हृदयमा परमेश्‍वर हुनुहुन्न। यस्ता मानिसहरू परमेश्‍वरप्रति विद्रोही र प्रतिरोधी हुन्छन्। उनीहरूमा मानवता र सुझबुझको कमी हुन्छ, सत्यताको त कुरै नगरौं। यसको अलाबा, यी मानिसहरूका निम्ति दृश्य र मूर्त परमेश्‍वर अझ धेरै विश्‍वास गर्न सकिँदैन, तैपनि उनीहरूले अदृश्य र अमूर्त परमेश्‍वर धेरै विश्‍वासयोग्य र प्रशन्नकारी भएको ठान्छन्। उनीहरूले खोजेका कुरा वास्तविक सत्यता होइन, न त यो जीवनको साँचो सार नै हो; परमेश्‍वरको इच्छाको कुरा त परै जाओस्। बरु, उनीहरूले उत्तेजना खोज्छन्। जुन-जुन कुराहरूले उनीहरूलाई उनीहरूको आफ्नै इच्छा पूरा गर्न सक्षम तुल्याउँछन्, निसन्देह नै, ती उनीहरूले विश्‍वास गर्ने कुरा र खोजी गर्ने कुरा हुन्। उनीहरूले सत्यता खोज्न होइन, उनीहरूको आफ्नै चाहनाहरूलाई तृप्‍त पार्न मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। के यस्ता मानिसहरू दुष्कर्म गर्नेहरू होइनन् र? उनीहरू अति नै आत्मविश्‍वासी हुन्छन्, र अनि स्वर्गमा हुनुहुने परमेश्‍वरले उनीहरू जस्ता “असल मानिसहरू” लाई नष्ट गर्नुहुनेछ भनी उनीहरूले विश्‍वास गर्दैनन्। सट्टामा, परमेश्‍वरले उनीहरूलाई रहन दिनुहुनेछ र, परमेश्‍वरको निम्ति धेरै थोकहरू गरेका र उहाँप्रति देखाएका ठूलो “बफादारीता” ले गर्दा उहाँले उनीहरूलाई राम्रो इनाम दिनुहुनेछ भन्ने उनीहरूले विश्‍वास गर्छन्। यदि उनीहरूले दृश्य परमेश्‍वरको खोजी गर्नु परेको थियो भने पनि, उनीहरूको चाहनाहरू पूरा नहुने बित्तिकै, उनीहरू तुरुन्तै परमेश्‍वरको विरुद्ध फर्केर आक्रमण गर्थे वा अत्यन्त क्रोधित हुन्थे। उनीहरू आफूलाई सदैव तिनीहरूका आफ्नै चाहनाहरू तृप्‍त पार्न खोज्ने घृणित मानिसहरू जस्तो देखाउँछन्; उनीहरू सत्यताको खोजी गर्ने कुरामा सत्यनिष्ठा मानिसहरू होइनन्। यस्ता मानिसहरू ख्रीष्टलाई पछ्याउने कथित दुष्टहरू हुन्। सत्यतालाई नखोज्ने ती मानिसहरूले सम्भवतः सत्यतामा विश्‍वास गर्न सक्दैनन् र अझै मानवजातिको भविष्यको परिणाम बुझ्न असक्षम हुन्छन्, किनभने उनीहरूले दृश्य परमेश्‍वरको कुनै काम वा वचनहरूलाई विश्‍वास गर्दैनन्—साथै यसमा मानवजातिको भविष्यको गन्तव्यमा विश्‍वास गर्न सक्षम नहुने कुरा पनि पर्छ। यसकारण, उनीहरूले दृश्य परमेश्‍वरलाई पछ्याए तापनि, उनीहरूले अझै दुष्ट काम गर्छन् र सत्यता बिलकुलै खोज्दैनन्, न त उनीहरूले मैले चाहेको सत्यता अभ्यास गर्छन्। उनीहरूलाई नष्ट गरिनेछ भनी विश्‍वास नगर्नेहरूलाई नै यसको विपरीत नष्ट पारिनेहरू उनीहरू नै हुनेछन्। उनीहरूले आफैलाई निकै चलाख छन् भन्ने विश्‍वास गर्छन् र उनीहरूले उनीहरू आफैलाई सत्यता अभ्यास गर्ने मानिसहरू ठान्छन्। उनीहरूले उनीहरूका दुष्ट व्यवहारलाई सत्य ठान्छन्, र यसैले यसलाई रुचाउँछन्। यस्ता दुष्ट मानिसहरू निकै आत्मविश्‍वासी हुन्छन्; उनीहरूले सत्यतालाई सिद्धान्तको रूपमा लिन्छन् र उनीहरूको दुष्ट कर्महरूलाई सत्यताको रूपमा लिन्छन्, तर अन्तमा, उनीहरूले जे छरेका छन् त्यही मात्र कटनी गर्छन्। मानिसहरू जति धेरै आत्मविश्‍वासी हुन्छ र जति धेरै उनीहरू जथाभाबी अहङ्कारी हुन्छन्, र उत्ति नै धेरै उनीहरू सत्यता हासिल गर्न असक्षम हुन्छन्; जति धेरै स्वर्गमा हुनुहुने परमेश्‍वरमा विश्‍वास गर्छन्, उत्ति नै धेरै परमेश्‍वरको प्रतिरोध गर्छन्। दण्ड दिइने मानिसहरू यिनीहरू नै हुन्। मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले परमेश्‍वरलाई चिन्छन् वा चिन्दैनन् र उनीहरू दृश्य परमेश्‍वरको अधीनमा बस्न सक्छन् वा सक्दैनन् भन्ने कुरा बमोजिम निर्धारण गरिनेछ। उनीहरू जसले दृश्य परमेश्‍वरको सेवा गरेका छन्, तैपनि न त उहाँलाई चिन्छन्, न उहाँको अधीनमा बस्छन्, उनीहरूमा सत्यताको कमी हुन्छ। यस्ता मानिसहरू दुष्कर्मीहरू हुन् र दुष्टकर्मीहरू दण्डको भागीदार हुनेछन्; यसको अलाबा, उनीहरू उनीहरूका दुष्ट व्यवहार बमोजिम दण्डित हुनेछन्। परमेश्‍वर मानवले विश्‍वास गरिनको निम्ति हुनुहुन्छ र उहाँ उनीहरूका आज्ञाकारीताको योग्य पनि हुनुहुन्छ। अस्पष्ट र अमूर्त परमेश्‍वरमा विश्‍वास राख्नेहरू परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू हुन् र परमेश्‍वरको अधीनमा बस्न असक्षम हुन्छन्। यदि यी मानिसहरूले अझै उहाँको विजयको कार्यको समय सिद्धिँदासम्म पनि दृश्य परमेश्‍वरमा विश्‍वास गर्न सफल भएनन् भने, देहमा हुनुहुने दृश्य परमेश्‍वरप्रति अनाज्ञाकारी भइरहे र प्रतिरोध गरिरहे भने, यी “अस्पष्टवादी” हरू, निश्‍चय नै, विनाशको पात्रहरू हुनेछन्। यो तिमीहरूकै माझमा रहेको कोहीहरू जस्तो हो—देहधारी परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने, तैपनि देहधारी परमेश्‍वरको अधीनको सत्यता अभ्यास गर्न नसक्ने कोही पनि, ऊ अन्तमा निष्कासन र विनाशको पात्र हुनेछ। यसको अलाबा, अस्पष्ट र अदृश्य परमेश्‍वरको खोजी गरिरहँदा पनि, उहाँद्वारा व्यक्त गर्नुभएको सत्यतालाई खाँदै र पिउँदै, दृश्य परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने कोही भविष्यमा अझ धेरै विनाश पारिने सम्भावनामा हुनेछ। परमेश्‍वरको काम पूरा भएपछि आउने विश्रामको समयसम्म यी मानिसहरूमध्ये कोही पनि रहन सक्नेछैनन्, न त यस्तै व्यक्तिहरू जस्तो एकल व्यक्ति नै विश्रामको त्यो समयमा रहन सक्छन्। शैतानी मानिसहरू उनीहरू नै हुन् जसले सत्यता अभ्यास गर्दैन; उनीहरूको सार नै परमेश्‍वरप्रतिको अनाज्ञाकारीता र प्रतिरोध मध्येको एक हो, र उनीहरूमा उहाँको अधीनमा बस्ने हल्का अभिप्राय पनि हुँदैन। यस्ता मानिसहरू सबैलाई नष्ट पारिनेछ। तँसँग सत्यता हुनु वा नहुनु र तैँले परमेश्‍वरको प्रतिरोध गर्नु वा नगर्नु सो तेरो सारमा निर्भर हुन्छ, तेरो रूप-रङ्गमा वा तैँले कहिलेकाहीँ कसरी बोल्छस् वा कस्तो व्यवहार गर्छस् सो कुरामा निर्भर हुँदैन। कसैलाई नष्ट पारिनेछ वा पारिनेछैन भन्ने कुरा उसको सारद्वारा निर्धारण गरिन्छ; यो उसको आचरण र उसको सत्यताको खोजीद्वारा प्रकट गरिने सारअनुसार निर्धारण गरिन्छ। एक अर्कामा उस्तै भएका उही काम गर्नेहरू र उही परिमाणको काम गर्नेहरू मानिसहरू माझ, मानव सारहरू असल भएकाहरू र सत्यता भएकाहरूलाई रहन दिइनेछन्, जबकि मानव सारहरू खराब भएका र दृश्य परमेश्‍वरको अवज्ञा गर्नेहरू विनाशका पात्रहरू हुनेछन्। मानवजातिको गन्तव्यसँग सम्बन्धित परमेश्‍वरको सबै काम र वचनहरूले नै हरेक व्यक्तिको सार बमोजिम उचित रूपमा निराकरण गर्नेछ; हल्का त्रुटि पनि हुनेछैन, र एउटा गल्ती पनि गरिनेछैन। मानिसहरूले काम गर्दा मात्र मानव संवेग वा आशय परस्पर संसर्गमा आउँछन्। परमेश्‍वरले गर्नुहुने काम नै सबैभन्दा उपयुक्त हुन्छ; उहाँले निश्‍चय नै कुनै पनि प्राणीको विरुद्ध झूटो दाबीहरू गर्नुहुन्न। हाल पनि मानवजातिको भावी गन्तव्यलाई नबुझ्ने र मैले भनेका कुराहरू विश्‍वास नगर्ने धेरै मानिसहरू छन्। ती विश्‍वास नगर्नेहरू, साथै सत्यता अभ्यास नगर्नेहरू सबै, भूतहरू हुन्!

हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र सत्यता अभ्यास गर्नेहरू नै उनीहरू हुन् जसकहाँ परमेश्‍वरले मुक्ति ल्याउनुहुनेछ। सत्य मार्ग थाहा नपाउनेहरू भूतहरू र वैरीहरू हुन्; उनीहरू प्रधान दूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्‍वरका धर्मी विश्‍वासीहरू पनि, के उनीहरूचाहिँ भूतहरू होइनन्? असल विवेक भएकाहरू, तर सत्य मार्ग स्वीकार नगर्ने मानिसहरू भूतहरू हुन्; उनीहरूका सार परमेश्‍वरको प्रतिरोध मध्येको एक हो। सत्य मार्ग स्वीकार नगर्नेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कठिनाइहरू सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। उनीहरू जो संसारलाई त्याग्न अनिच्छुक हुन्छन्, जो उनीहरूका बाबुआमासँग अलग हुन सक्दैनन्, र जसले आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न रुचाउँदैनन् उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। विश्‍वास भएका तर सत्यता अभ्यास नगर्नेहरू, देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू र परमेश्‍वरको अस्तित्वमा बिलकुलै विश्‍वास नगर्नेहरू पनि विनाशका पात्रहरू हुनेछन्। रहन दिइनेहरू सबै शोधनको कष्टहरू भएर गुज्रेका र दृढ खडा रहेकाहरू हुन्; यी साँचो रूपमा परीक्षाहरूलाई सहेका मानिसहरू हुन्। परमेश्‍वरलाई नचिन्ने जो कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई नचिन्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट—विरोधी हो! शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्, यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू नै होइनन् भने? के उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी मानिसहरू नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र उनीहरूप्रति सम्मान र प्रेम बहन गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तँ भूतहरूसँग आबद्ध भइरहेको छैन र? यदि यी दिनहरूका मानिसहरू अझै असल र खराब बीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरको इच्छाको खोजी गर्ने कुनै इरादाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरको इच्छाहरूलाई उनीहरूको आफ्नै झैँ गरी प्रश्रय दिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्‍वरलाई विश्‍वास नगर्ने जो कोही पनि परमेश्‍वरको शत्रु हो। यदि तैँले शत्रुप्रति सम्मान र प्रेम बहन गर्न सक्छस् भने, के तँमा धार्मिकताको भावको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू बहन गर्छस् भने, तब के तँ अनाज्ञाकारी होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी तोडिरहेका हुँदैनन् र? ती मानिसहरू जसले येशूमा मात्र विश्‍वास गर्छन् र अन्तको दिनहरूको देहधारी परमेश्‍वरमा विश्‍वास गर्दैनन्, साथै उनीहरू जसले मौखिक रूपमा देहधारी परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्छन् तर दुष्ट काम गर्छन्, उनीहरू सबै ख्रीष्ट—विरोधीहरू हुन्, परमेश्‍वरमा विश्‍वास नगर्नेहरूको त कुरै नगरौं। यी सबै मानिसहरू विनाशका पात्रहरू हुनेछन्। मानवले अरू मानवको न्याय गर्ने मापदण्ड उनीहरूको आचरणमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्टहरू हुन्। परमेश्‍वरले मानवको न्याय गर्नुहुने मापदण्डचाँहि उनीहरूको सार उहाँको अधीनमा छ वा छैन भन्ने कुरामा आधारित हुन्छ; परमेश्‍वरको अधीनमा रहने व्यक्ति धर्मी व्यक्ति हो, जबकि अधीनमा नरहने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो चाहे त्यो व्यक्तिको आचरण असल होस् वा खराब, र चाहे उनीहरूको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कामहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न शिष्ट शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्‍वरले मानिसहरूको परिणामहरू उनीहरूको आचरण हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी हरेक व्यक्तिले गलत रूपमा विश्‍वास गर्छ; यसकारण, धेरै मानिसहरूले उनीहरूलाई क्षणिक कृपा गर्न परमेश्‍वरलाई छल्न यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको अवस्थामा बाँच्ने मानिसहरू सबैले संकष्टको दिन सहेका हुनेछन् र परमेश्‍वरको निम्ति गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै उनीहरूका कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्‍वरको अधीनमा रहेका मानिसहरू हुनेछन्। सत्यताको अभ्यास गर्नबाट दूर हुने इरादाले सेवा गर्ने अवसरलाई मात्र प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको व्यवस्थापनको निम्ति परमेश्‍वरसँग उपयुक्त मापदण्डहरू छ; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरण बमोजिम मात्र गर्नुहुन्न, न त कुनै व्यक्ति कुनै कालखण्डमा कस्तो काम गर्छ भन्ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्‍चय नै पनि उहाँको निम्ति विगतमा गरिएको सेवाको खातिर कसैको दुष्ट आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले कुनै एक समय परमेश्‍वरको निम्ति गरेको लगानीको कारण नै कसैलाई मृत्युबाट बचाउनुहुनेछ। उनीहरूको दुष्टताको प्रतिफललाई कसैले छल्न सक्दैन, र कसैले उनीहरूको दुष्ट आचरण ढाक्न सक्दैन, र त्यसरी विनाशको यातनाहरू छल्न सक्दैन। यदि मानिसहरूले उनीहरूको आफ्नै कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको आशयचाँहि, उनीहरू परमेश्‍वरप्रति अनन्त रूपमा नै विश्‍वासयोग्य छन् र उनीहरूले इनाम खोजिरहेका छैनन्‌ भन्ने हुन्छ, चाहे उनीहरूले आशिष्‌हरू प्राप्‍त गरून् वा नगरून्, विपत्ति भोगून् वा नभोगून्। यदि मानिसहरूले आशिष्‌हरू देख्दा, उनीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य हुन्छन्, तर उनीहरूले आशिष्‌हरू देख्न नसक्दाचाहिँ उनीहरूको विश्‍वासयोग्यता गुमाउँछन् भने, र, अन्तमा, यदि उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन सक्षम हुँदैनन् वा उनीहरूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, तब उनीहरूले पहिले कुनै समयमा परमेश्‍वरप्रति विश्‍वासयोग्य सेवा गरेकै भए तापनि, उनीहरू अझै पनि विनाशको पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू अन्तमा बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्। मानवजाति एक पटक सही मार्गमा आएपछि, मानिसहरूको सामान्य जीवनहरू हुनेछन्। उनीहरूले आ-आफ्ना कर्तव्यहरू पुरा गर्नेछन् र परमेश्‍वरप्रति पूर्ण रूपमा विश्‍वासयोग्य हुनेछन्। उनीहरूले उनीहरूका अनाज्ञाकारीता र उनीहरूका भ्रष्ट स्वभावहरूलाई पूर्ण रूपमा छोड्नेछन्, र उनीहरू दुवै अनाज्ञाकारीता रहित र प्रतिरोधरहित भएर परमेश्‍वरको निम्ति र परमेश्‍वरको कारणले जिउनेछन्। उनीहरू सबै पूर्ण रूपमा परमेश्‍वरको अधीनमा रहन सक्षम हुनेछन्। परमेश्‍वर र मानवजातिको जीवन यस्तो हुनेछ; यो राज्यको जीवन हुनेछ र यो विश्रामको जीवन हुनेछ।

उनीहरूका पूर्ण रूपमा अविश्‍वासी बालबालिकाहरू र नातेदारहरूलाई मण्डलीतिर खिँचेर लानेहरू अत्यन्त स्वार्थीहरू हुन् र उनीहरूले केवल दया देखाइरहेका हुन्छन्। उनीहरूले विश्‍वास गरे पनि नगरे पनि, यो परमेश्‍वरको इच्छा होस् वा नहोस्, यी मानिसहरू प्रेमिलो हुने कुरामा मात्र केन्द्रित हुन्छन्। केहीले आफ्ना पत्‍नीहरूलाई परमेश्‍वरको सामु ल्याउँछन्, वा आफ्ना आमाबुबाहरूलाई परमेश्‍वरको सामु खिँचेर ल्याउँछन् अनि पवित्र आत्मा यसमा सहमत हुनुभएको छ वा छैन, वा उनीहरूमा काम गरिरहनुभएको छ वा छैन, उनीहरूले “प्रतिभाशाली मानिसहरूलाई” परमेश्‍वरको निम्ति अन्धाधुन्ध रूपमा अपनाई रहन्छन्। यी अविश्‍वासीहरूप्रति दया अघि सारेर के फाइदा लिन सकिन्छ? ती पवित्र आत्माको उपस्थिति नभएकाहरूले परमेश्‍वरलाई पछ्याउने संघर्ष गरे तापनि, कसैले विश्‍वास गरेजस्तो उनीहरूलाई अझै मुक्त गर्न सकिँदैन। उनीहरू जसले मुक्ति पाउन सक्छन्, वास्तवमा उनीहरूलाई पाउन त्यत्ति सजिलो छैन। ती मानिसहरू जो पवित्र आत्माको काम र जाँचहरू भएर गुज्रेका छैनन् र देहधारी परमेश्‍वरद्वारा सिद्ध तुल्याइएको छैनन्, उनीहरूलाई पूर्ण बनाइन सर्वथा अयोग्य हुन्छन्। यसकारण, उनीहरूले सामान्य रूपमा परमेश्‍वरलाई पछ्याउन सुरु गरेदेखि नै, ती मानिसहरूमा पवित्र आत्माको उपस्थितिको कमी हुन्छ। उनीहरूको अवस्थाहरू र वास्तविक स्थितिहरूको प्रकाशमा, उनीहरूलाई केवल पूर्ण बनाउन सकिँदैन। त्यस्तै, पवित्र आत्माले उनीहरूमाथि धेरै सामर्थ्य नखर्चने निर्णय गर्नुहुन्छ, न त उहाँले उनीहरूलाई कुनै किसिमको प्रकाश वा मार्गदर्शन प्रदान गर्नुहुन्छ; उहाँले उनीहरूलाई केवल पछ्याउन मात्र दिनुहुन्छ र अन्तमा उनीहरूका परिणामहरू प्रकट गर्नुहुनेछ—यो नै पर्याप्‍त छ। मानवजातिको जोश र इरादाहरू शैतानबाट आउँछन्, र यी कुराहरूले कुनै पनि हालतमा पवित्र आत्माको काम पूरा गर्न सक्दैनन्। मानिसहरू जस्तोसुकै होऊन्, उनीहरूमा पवित्र आत्माको काम हुनु नै पर्छ। के मानवले मानवलाई पूर्ण बनाउन सक्छन्? पतिले उसको पत्‍नीलाई किन प्रेम गर्छ? पत्‍नीले उनको पतिलाई किन प्रेम गर्छिन्‌? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठा हुन्छन्? किन बुबाआमाहरू आफ्ना छोराछोरीहरूप्रति स्नेही हुन्छन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू मनमा राख्छन्? के उनीहरूको मनसाय उनीहरूका आफ्नै योजनाहरू र स्वार्थी चाहनाहरू तृप्‍त पार्नु होइन र? के उनीहरूको आशय साँच्चै परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर काम गर्नु नै हो त? के उनीहरूले साँच्चै परमेश्‍वरको कार्यको खातिर नै काम गरिरहेका हुन्छन् त? के उनीहरूको मनसाय सृष्टि गरिएका प्राणीका कर्तव्यहरू पूरा गर्नु हो त? उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको क्षणदेखि नै पवित्र आत्माको उपस्थिति हासिल गर्न असक्षम हुनेहरूले पवित्र आत्माको काम कहिल्यै पनि हासिल गर्न सक्दैनन्; यी मानिसहरूलाई नष्ट पारिने पात्रहरूको रूपमा निर्दिष्ट गरिएका छन्। कसैले उनीहरूलाई जति धेरै प्रेम गरे तापनि, यसले पवित्र आत्माको कामलाई प्रतिस्थापन गर्न सक्दैन। मानिसहरूको जोश र प्रेमले मानव मनसायहरूको प्रतिनिधित्व गर्छन्, तर परमेश्‍वरका अभिप्रायहरूको प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरू परमेश्‍वरको कामको प्रतिस्थापन हुन नै सक्छन्। नामधारी रूपमा परमेश्‍वरमा विश्‍वास गर्नेहरू र परमेश्‍वरमा विश्‍वास गर्नुको वास्तविक अर्थ के हो सो नजानिकन नै उहाँलाई पछ्याउनेहरूप्रति कसैले सम्भावित महान्‌ प्रेम वा कृपा अघि सारे, तापनि उनीहरूले अझै परमेश्‍वरको सहानुभूति पाउनेछैनन् न त उनीहरूले पवित्र आत्माको काम नै प्राप्‍त गर्नेछन्। ईमानदार रूपमा परमेश्‍वरलाई पछ्याउने मानिसहरू कमजोर क्षमता भएका र धेरै सत्यताहरू बुझ्न असक्षम भए तापनि उनीहरू कहिलेकाहीँ पवित्र आत्माको काम अझ पनि हासिल गर्न सक्छन्; यद्यपि, सापेक्षित रूपमा असल क्षमता भएका तर ईमानदार रूपमा विश्‍वास नगर्नेहरूले पवित्र आत्माको उपस्थिति पाउन सक्दैनन्। यस्ता मानिसहरूलाई निश्‍चय नै मुक्तिको निम्ति कुनै सम्भावना हुँदैन। उनीहरूले परमेश्‍वरको वचनहरू पढे तापनि वा कहिलेकाहीँ वचनहरू प्रचार गरेको सुने तापनि वा परमेश्‍वरको प्रशंसा गाए तापनि उनीहरू अन्तमा विश्रामको समयसम्म बाँच्न सक्षम हुँदैनन्। मानिसहरूले जोशका साथ खोजी गर्छन् वा गर्दैनन् भन्ने कुरा अरूहरूले कसरी न्याय गर्छन् वा वरिपरिकाहरूले कसरी उनीहरूलाई हेर्छन् भन्ने कुराले निर्धारण गर्दैन, तर पवित्र आत्माले उनीहरूमा काम गर्नुहुन्छ वा गर्नुहुन्न र उनीहरूसँग पवित्र आत्माको उपस्थिति छ वा छैन भन्ने कुराद्वारा निर्धारण गरिन्छ। यसको अतिरिक्त, कुनै अवधिभरि पवित्र आत्माको काम भएर गुज्रेपछि उनीहरूको स्वभाव परिवर्तन भएको छ वा छैन र उनीहरूले परमेश्‍वरको बारे कुनै ज्ञान हासिल गरेका छन् वा छैनन् त्यसमा निर्भर हुन्छ। यदि कुनै व्यक्तिमा पवित्र आत्माले काम गर्नुहुन्छ भने, यो व्यक्तिको स्वभाव क्रमिक रूपमा परिवर्तन हुनेछ, र परमेश्‍वरमा विश्‍वास गर्ने उनीहरूको दृष्टिकोण क्रमिक रूपमा शुद्ध हुँदै जानेछ। मानिसहरूले परमेश्‍वरलाई पछ्याएको जति लामो समय भए तापनि उनीहरू परिवर्तन भएसम्म, यसको अर्थ पवित्र आत्माले उनीहरूमा काम गरिरहनुभएको छ भन्ने हो। यदि उनीहरूमा परिवर्तन आएको छैन भने, पवित्र आत्माले उनीहरूमा काम गरिरहनुभएको छैन। यी मानिसहरूले केही सेवाहरू गरे तापनि उनीहरूलाई यसो गर्न लगाउने कुराचाहिँ असल भाग्य हासिल गर्ने इच्छा नै हो। कहिलेकाहीँ सेवाकर्ता कुराले उनीहरूको स्वभावहरूमा हुने परिवर्तनको अनुभवलाई प्रतिस्थापन गर्न सक्दैन। अन्तमा उनीहरूलाई अझ पनि नष्ट गरिनेछ, किनभने राज्यमा सेवा गर्नेहरूको आवश्यक हुँदैन, न त त्यहाँ सिद्ध बनाइएका र परमेश्‍वरप्रति विश्‍वासयोग्य हुने मानिसहरूका निम्ति सेवा गर्नलाई स्वभाव परिवर्तन नभएकाहरू आवश्यक नै पर्नेछ। “जब कसैले परमेश्‍वरमा विश्‍वास गर्छ, भाग्य पुरै परिवारमाथि मुस्कुराउँछ” भनी विगतका भनिएका ती शब्दहरू अनुग्रहको युगको निम्ति उपयुक्त छन्, तर मानव गन्तव्यसँग असम्बन्धित छन्। तिनीहरू अनुग्रहको युगको एउटा चरणभरि मात्र उपयुक्त थिए। ती शब्दहरूका आशयचाँहि मानिसहरूले उपभोग गरेका शान्ति र भौतिक आशिष्‌हरूप्रति लक्षित थियो; एक जनाले प्रभुमा विश्‍वास गर्दा समग्र परिवार नै प्रभुमा मुक्त हुनेछ भन्ने उनीहरूको आशय थिएन, न त एक जनाले असल भाग्य हासिल गर्दा उसको समग्र परिवारलाई नै विश्राममा ल्याइन्छ भन्ने नै उनीहरूको आशय थियो। कसैले आशिष्‌ पाउँछ वा दुर्गति भोग्छ भन्ने कुरा उसको सार बमोजिम निर्धारण गरिन्छ, कसैको अरूहरूसँग बाँड्न सक्ने कुनै पनि साझा सार बमोजिम होइन। त्यस किसिमको भनाइ वा नियमको राज्यमा कुनै स्थान छैन। यदि कुनै व्यक्ति अन्तमा बाँच्न सक्षम भयो भने, यो उनीहरूले परमेश्‍वरका मापदण्डहरू पुरा गरेको कारणले हो, र यदि उनीहरू अन्तमा विश्रामको समयसम्म रहन असक्षम भए भने, उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भएकाले र उनीहरूले परमेश्‍वरका मापदण्डहरू पूरा नगरेकाले नै हो। हरेकको एउटा सुहाउँदो गन्तव्य छ। यी गन्तव्यहरू हरेकको सारअनुसार निर्धारण गरिन्छ र यसको अरू मानिसहरूसँग कुनै सरोकार छैन। एउटा बालक दुष्ट आचरण उनीहरूको बुबाआमाहरूमा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उनीहरूको बुबाआमासँग बाँड्न नै सकिन्छ, एउटा बुबाआमाको दुष्ट आचरण उनीहरूको छोराछोरीहरूमा सार्न सकिँदैन न त एउटा बुबाआमाको धार्मिकतालाई उनीहरूको छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। हरेकले आ-आफ्नै पापहरू बहन गर्छन्, र हरेकले आ-आफ्नो भाग्य भोग्छन्। कोही पनि अर्को व्यक्तिको प्रतिस्थापन हुन सक्दैन; यो धार्मिकता हो। मानिसको दृष्टिकोणबाट, यदि बुबाआमाको कल्याण हुन्छ भने, उनीहरूका छोराछोरीहरूको पनि कल्याण हुनुपर्छ, र यदि उनीहरूका छोराछोरीहरूले खराबी गर्छ भने, उनीहरूलाई बुबाआमाहरूले ती पापहरूका निम्ति प्रायश्‍चित गर्नुपर्छ। यो मानवीय दृष्टिकोण हो र मानवको काम गर्ने शैली हो; यो परमेश्‍वरको दृष्टिकोण होइन। हरेकको परिणामलाई उनीहरूको आचरणबाट आउने सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काको पापहरू बहन गर्न सक्दैन; यसको अतिरिक्त, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो। उनीहरूका छोराछोरीहरूप्रति बुबाआमाहरूका स्‍नेहपूर्ण हेरचाहले उनीहरूले उनीहरूका छोराछोरीहरूमा धार्मिक कामहरू गर्न सक्छन् भन्ने सङ्केत गर्दैन, न त एउटा बालकको उनीहरूका बुबाआमाहरूप्रति कर्तव्यनिष्ठा स्नेहको अर्थ उनीहरूले उनीहरूका बुबाआमाहरूको सट्टामा धार्मिक कामहरू गर्न सक्छन् भन्ने नै लाग्छ। यही नै वचनहरूको साँचो अर्थ हो, “त्यति बेला खेतमा दुई जना हुनेछन्; एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ। दुई स्त्री जाँतो पिँधिरहेका हुनेछन्; एउटालाई लगिनेछ र अर्कीलाई छोडिनेछ।” मानिसहरूले उनीहरूका दुष्ट कर्म गर्ने छोराछोरीहरूलाई उनीहरूप्रतिको गहन प्रेमको आधारमा विश्राममा लान सक्दैनन्, न त उनीहरूको धार्मिक आचरणको आधारमा उनीहरूका पति वा पत्‍नीलाई विश्राममा लान सक्छन्। यो एउटा प्रशासकीय नियम हो; त्यहाँ कसैको निम्ति छुट हुन सक्दैन। अन्तमा, धार्मिकता गर्नेहरू धार्मिकता गर्नेहरू नै हुन् र दुष्ट काम गर्नेहरू दुष्ट काम गर्नेहरू नै हुन्। धर्मीहरूलाई अन्तमा बाँच्न दिइनेछन्, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछन्। पवित्रहरू भनेका पवित्रहरू नै हुन्; उनीहरू अपवित्र होइनन्। अपवित्रहरू अपवित्र नै हुन्, र उनीहरूका एक अंश पनि पवित्र होइनन्। नष्ट पारिने मानिसहरू सबै दुष्टहरू हुन् र बाँच्नेहरू धर्मीहरू हुन्—यद्यपि दुष्टहरूका छोराछोरीहरूले धर्मी कामहरू नै गरे पनि, र यद्यपि धर्मीका बुबाआमाहरूले दुष्ट काम गरे पनि। विश्‍वास गर्ने पति र अविश्‍वासी पत्‍नी बीच कुनै सम्बन्ध हुँदैन र विश्‍वास गर्ने छोराछोरीहरू र विश्‍वास नगर्ने बुबाआमाहरू बीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा आपसी विरोधीहरू हुन्। विश्राममा प्रवेश गर्न अघि कसैको शारीरिक नाताहरू हुन्छ, तर एक पटक विश्राममा प्रवेश गरेपछि त्यस उप्रान्त उल्लेख गर्ने योग्यको कुनै शारीरिक नाताहरू हुँदैन। उनीहरूका कर्तव्य पूरा गर्नेहरू उनीहरूका कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई अमिल्दो किसिमका प्राणीहरू हुन्। उनीहरूका कर्तव्यहरू पूरा गर्ने प्राणीहरू बाँच्नेछन्, जबकि उनीहरूका कर्तव्य पूरा नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्म नै रहन्छ। के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पतिलाई प्रेम गर्छस्? के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पत्नीलाई प्रेम गर्छस्? के तँ सृष्टि गरिएको सृष्टिको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्ना अविश्‍वासी बुबाआमाप्रति कर्तव्यनिष्ठा छस्? के परमेश्‍वरमा विश्‍वास गर्ने बारेको मानवीय धारणा सही वा गलत छ? तैँले परमेश्‍वरमा किन विश्‍वास गर्छस्? तैँले के पाउन चाहन्छस्? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्छस्? सृष्टि गरिएका सृष्टिहरूको रूपमा उनीहरूका कर्तव्यहरू पूरा गर्न नसक्नेहरू र दिलोज्‍यानले प्रयास नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्। अस्तित्वमा रहेका आजका मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरूका साथै रगतको सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू चकनाचूर पारिनेछन्। विश्‍वासी र अविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्। विश्राममा हुनेहरूले परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्नेछन्, र परमेश्‍वरको अधीनमा रहनेछन्, जबकि परमेश्‍वरप्रति अनाज्ञाकारीहरू सबै नष्ट पारिनेछन्। यस उप्रान्त परिवारहरू पृथ्वीमा रहनेछैनन्, अनि त्यहाँ बुबाआमाहरू वा छोराछोरीहरू वा दाम्पत्य सम्बन्धहरू कसरी हुन सक्थ्यो? विश्‍वास र अविश्‍वासको असंगतताले नै यस्ता शारीरिक नाता-सम्बन्धहरूलाई पूर्ण रूपमा छुट्टाइएको हुनेछ!

मौलिक रूपमा मानवजातिमा कुनै परिवारहरू थिएन; मात्र एक पुरुष र एक महिला मात्र अस्तित्वमा थिए—दुई फरक किसिमका मानव। त्यहाँ कुनै देशहरू थिएन, परिवारहरूको त कुरै नगरौं, तर मानवजातिको भ्रष्टताको परिणामस्वरूप, सबै किसिमका मानिसहरूले आफैलाई अलग-अलग कुलहरूमा, र पछि देशहरू र राष्ट्रहरू विकास हुँदै गए। यी देशहरू र राष्ट्रहरू स-साना अलग-अलग परिवारहरूले बनेका छन्, र यसरी नै, सबै किसिमका मानिसहरूलाई विभिन्न भाषाहरू र सिमानाहरूका आधारमा विभिन्न जातिहरूमा विभाजन गरियो। वास्तवमा, संसारमा जति धेरै जातिहरू भए तापनि, मानवजातिको एउटै पुर्खा छ। प्रारम्भमा, दुई किसिमका मात्र मानव मात्र थिए र यी दुई किसिमहरू पुरुष र महिला थिए। तथापि, परमेश्‍वरको कामको वृद्धि, इतिहासको गतिविधि र भौगोलिक परिवर्तनहरूको कारणले गर्दा, यी दुई किसिमका मानिसहरू केही हदसम्म अझै धेरै किसिमका मानवमा विकास भए। आधारभूत रूपमा, मानवजाति जति धेरै जातिहरूले बनेको भए तापनि, सबै मानवजाति अझै पनि परमेश्‍वरको सृष्टि नै हुन्। मानिसहरू जुनसुकै जातिहरूका होऊन्, उनीहरू सबै उहाँका सृष्टिहरू हुन्; उनीहरू सबै आदम र हव्वाका सन्तानहरू हुन्। तथापि, उनीहरूलाई परमेश्‍वरको हातले बनाइएका होइनन्, तर पनि उनीहरू आदम र हव्वाका सन्तानहरू हुन्, जसलाई परमेश्‍वरले व्यक्तिगत रूपमा सृष्टि गर्नुभएको थियो। मानिसहरू जुनसुकै जातिमा परेको भए पनि, उनीहरू सबै उहाँका सृष्टिहरू हुन्, किनभने उनीहरू मानवजातिमा पर्छन्, जसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, उनीहरूको गन्तव्य मानवजातिको हुनुपर्ने गन्तव्य नै हो र उनीहरूलाई मानवजातिलाई सङ्गठित गर्ने नियमहरूबमोजिम विभाजन गरिएका छन्। अर्थात्, सबै दुष्ट कर्म गर्नेहरू र सबै धर्मीहरू आखिर सृष्टिहरू नै हुन्। दुष्ट काम गर्ने सृष्टिहरूलाई अन्तमा नष्ट गरिनेछन् र धर्मी काम गर्ने सृष्टिहरू बाँच्नेछन्। यी दुई किसिमका सृष्टिहरूका निम्ति सबैभन्दा उपयुक्त व्यवस्थापन यही नै हो। दुष्ट काम गर्नेहरू उनीहरूका अनाज्ञाकारिताको कारणले इन्कार गर्न सक्दैनन् कि उनीहरू परमेश्‍वरका सृष्टिहरू हुँदाहुँदै पनि, उनीहरू शैतानको कब्जामा छन् र त्यसैले उनीहरू मुक्त हुन सक्दैनन्। उनीहरू बाँच्नेछन् भन्ने तथ्यको आधारमा आफैलाई धार्मिक रूपमा आचरण गर्ने सृष्टिहरूले उनीहरूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र तैपनि शैतानद्वारा भ्रष्ट पारिएपछि पनि मुक्ति प्राप्‍त गरेका छन् भनी इन्कार गर्न सक्दैनन्। दुष्ट काम गर्नेहरू परमेश्‍वरप्रति अनाज्ञाकारी हुने सृष्टिहरू हुन्; उनीहरू मुक्त हुन नसकिने सृष्टिहरू हुन् र उनीहरू अघिदेखि नै शैतानद्वारा पूर्ण रूपमा कब्जामा पारिएका सृष्टिहरू हुन्। दुष्ट काम गर्ने मानिसहरू पनि मानिसहरू नै हुन्; उनीहरू चरम रूपमा भ्रष्ट पारिएका र मुक्त गर्न नसकिने मानव हुन्। जसरी उनीहरू पनि सृष्टिहरू नै हुन्, त्यसरी नै धार्मिक आचरण भएका मानिसहरूलाई पनि भ्रष्ट पारिएका छन्, तर उनीहरू उनीहरूका भ्रष्ट स्वभावलाई तोडेर स्वतन्त्र हुन तत्पर हुने र आफूलाई परमेश्‍वरको अधीनमा राख्न सक्षम भएका मानव हुन्। धर्मी धार्मिक आचरण भएका मानिसहरू धार्मिकताले पूर्ण हुँदैनन्; बरु, उनीहरूले मुक्ति पाएका छन् र उनीहरूका भ्रष्ट स्वभावहरूलाई तोडेर स्वतन्त्र भएका छन्; उनीहरू परमेश्‍वरको अधीनमा बस्न सक्छन्। उनीहरू अन्तमा दृढ भएर खडा हुनेछन्, तथापि उनीहरू कहिल्यै पनि शैतानद्वारा भ्रष्ट पारिएका छैनन् भन्ने चाहिँ होइन। आफ्ना सृष्टिहरू माझ परमेश्‍वरको काम समाप्‍त भएपछि, त्यहाँ नष्ट पारिनेहरू र बाँच्नेहरू हुनेछन्। यो उहाँको व्यवस्थापन कार्यको एउटा अपरिहार्य प्रचलन हो; यसलाई कसैले इन्कार गर्न सक्दैन। दुष्ट काम गर्नेहरूलाई बाँच्न दिइनेछैन; अन्तसम्म नै परमेश्‍वरलाई पछ्याउने र उहाँको अधीनमा बस्नेहरू पक्का बाँच्छन्। जसरी यो मानवजातिको व्यवस्थापनको काम हो, त्यसरी नै त्यहाँ रहनेहरू र रद्द गरिनेहरू हुनेछन्। यिनीहरू विभिन्न किसिमका मानिसहरूको विभिन्न परिणामहरू हुन्, र तिनीहरू परमेश्‍वरका सृष्टिहरूका निम्ति सबैभन्दा उपयुक्त व्यवस्थापनहरू हुन्। मानवजातिको निम्ति परमेश्‍वरको आखिरी व्यवस्थापनचाहिँ परिवारहरूलाई तोडेर, राष्ट्रहरूलाई चुर-चुर बनाएर र राष्ट्रिय सीमाहरूलाई नष्ट गरेर विनापरिवार वा विनाराष्ट्रिय सीमाहरूको एउटा व्यवस्थापनमा उनीहरूलाई विभाजन गर्नु हो, किनकि मानव, आखिर, एउटै पूर्खाबाट जन्मेका थिए र परमेश्‍वरका सृष्टि हुन्। सारांशमा, दुष्ट काम गर्ने सृष्टिहरू सबैलाई नष्ट पारिनेछन् र परमेश्‍वरको आज्ञा पालन गर्ने सृष्टिहरू बाँच्नेछन्। यसरी, त्यहाँ कुनै परिवारहरू हुनेछैन, कुनै देशहरू हुनेछैन र विशेष गरी आउने विश्रामको समयमा कुनै राष्ट्रहरू हुनेछैन; यस किसिमका मानवजाति सबैभन्दा पवित्र किसिमका मानवजाति हुनेछन्। मानवजातिले पृथ्वीमा रहेका सबै थोकहरूको हेरचाह गर्न सकोस् भनी आदम र हव्वालाई मौलिक रूपमा सृष्टि गरिएको थियो; मानव मौलिक रूपमा सबै थोकका मालिकहरू थिए। मानवजातिलाई सृष्टि गर्ने परमप्रभुको अभिप्राय चाहिँ उनीहरूलाई पृथ्वीमा अस्तित्वमा रहन दिएर यसमाथि रहेका सबै थोकहरूको हेरचाह गरोस् भन्ने थियो, किनभने मानवजाति मौलिक रूपमा भ्रष्ट पारिएका थिएनन् र दुष्ट काम गर्न असक्षम थिए। तथापि, मानव भ्रष्ट भएपछि, उनीहरू सबै थोकहरूको हेरचाह गर्नेहरू रहेनन्। परमेश्‍वरको मुक्तिको उद्देश्यचाहिँ मानवजातिको यो कामलाई पुनर्स्थापना गर्नु, मानवजातिको मौलिक विवेक र मौलिक आज्ञाकारीता पुनर्स्थापना गर्नु हो; विश्राममा हुने मानवजाति परमेश्‍वरले उहाँको मुक्तिको कामसँगै हासिल गर्ने आशा गर्नुभएको कुराको दुरुस्त प्रतिनिधित्व हुनेछ। तथापि अदनको बगैँचामा भएको जस्तो जीवन हुनेछैन, तैपनि उनीहरूको सार उस्तै हुनेछ; मानवजाति उनीहरूको पहिलेको भ्रष्ट नभएको स्व मात्र हुनेछैन, तर बरु भ्रष्ट भएको मानवजाति र पछि मुक्ति पाएको मानवजाति हुनेछ। यी मुक्ति पाएका मानिसहरू अन्तमा (अर्थात्, परमेश्‍वरको काम समाप्‍त भएपछि) विश्राममा प्रवेश गर्नेछन्। त्यसरी नै, अन्तमा ती दण्ड दिइनेहरूका परिणामहरू पनि पूर्ण रूपमा प्रकट गरिनेछ र परमेश्‍वरको काम समाप्‍त भएपछि मात्र उनीहरूलाई नष्ट पारिनेछन्। अर्को शब्दमा, उहाँको काम सिद्धिएपछि, ती दुष्ट काम गर्नेहरू र ती मुक्त भएकाहरूलाई प्रकट गरिनेछन्, किनभने सबै किसिमका मानिसहरूलाई (चाहे उनीहरू दुष्ट कर्म गर्नेहरू हुन् वा उनीहरूमध्ये मुक्त भएकाहरू हुन्) प्रकट गर्ने कार्य हरेकमाथि एकै समयमा कार्यान्वयन गरिनेछ। दुष्ट काम गर्नेहरूलाई हटाइनेछन् र ती रहन दिइएकाहरूलाई एकै समयमा प्रकट गरिनेछन्। यसकारण, सबै किसिमका मानिसहरूका परिणामहरूलाई उही समयमा प्रकट गरिनेछन्। मुक्तिमा ल्याइएका मानिसहरूको समूहलाई परमेश्‍वरले दुष्ट काम गर्नेहरूलाई पन्छाउन र एक समयमा उनीहरूलाई थोरै मात्र न्याय गर्न वा दण्ड दिन अघि नै विश्राममा प्रवेश गर्न दिनुहुनेछैन; त्यो तथ्यहरूसँग समान हुँदैन। जब दुष्ट काम गर्नेहरूलाई नष्ट गरिन्छन् बाँच्न सक्नेहरू विश्राममा प्रवेश गर्छन्, तब सारा ब्रह्माण्डभरिको परमेश्‍वरको काम पूरा हुनेछ। आशिष्‌हरू पाउनेहरू र दुर्गति भोग्नेहरू माझ कुनै पनि प्राथमिकता क्रम हुनेछैन; ती आशिष्‌ पाउनेहरू सदासर्वदाको निम्ति जिउनेछन्, जबकि दुर्गति भोग्नेहरू सारा अनन्तताको निम्ति नष्ट हुनेछन्। यी दुई चरणका कामहरू उही समयमा पूरा गरिनेछन्। अनाज्ञाकारी मानिसहरूको अस्तित्वको कारणले अधीनमा रहनेहरूको धार्मिकता स्वभाविक रूपमा प्रकट गरिनेछ, र त्यहाँ आशिष्‌ प्राप्‍त गर्नेहरू पनि छन् ताकि दुष्ट काम गर्नेहरूले उनीहरूका दुष्ट आचरणको कारण दुर्गति भोगेको कुरा प्रकट गरिनेछ। यदि परमेश्‍वरले दुष्ट काम गर्नेहरूलाई प्रकट गर्नुभएको थिएन भने, तब इमानदार पूर्वक परमेश्‍वरको अधीनमा रहने मानिसहरूले कहिल्यै पनि सूर्य देख्दैनथे; यदि परमेश्‍वरले उहाँका अधीनमा बस्नेहरूलाई उपयुक्त गन्तव्यमा लानु भएन भने, तब परमेश्‍वरप्रति अनाज्ञाकारी हुने उनीहरूलाई सुहाउने प्रतिफलहरू पाउन सक्षम हुँदैनथे। यो परमेश्‍वरको कामको प्रकृया हो। यदि उहाँले दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने कार्यलाई कार्यान्वयन गर्नुभएको थिएन भने, तब उहाँका सृष्टिहरू उनीहरूका आ-आफ्नो गन्तव्यहरूमा प्रवेश गर्न सक्षम हुने थिएनन्। एक पटक मानवजाति विश्राममा प्रवेश गरेपछि, दुष्ट काम गर्नेहरूलाई नष्ट पारिनेछन् र सबै मानवजाति सही मार्गमा हुनेछ; सबै किसिमका मानिसहरू उनीहरूले गर्नु पर्ने कार्यहरू अनुसार उनीहरूको आ-आफ्नै किसिमसँग हुनेछन्। यो मात्र मानवजातिको विश्रामको दिन हुनेछ, यो मानवजातिको विकासको निम्ति अपरिहार्य प्रचलन हुनेछ, र जब मानवजाति विश्राममा प्रवेश गर्छ अनि मात्र परमेश्‍वरको महान्‌ र आखिरी उपलब्धिले पूर्णता पाउनेछ; यो उहाँको कामको अन्तिम भाग हुनेछ। यो कार्यले मानवजातिको शरीरको पतनशील जीवन साथै भ्रष्ट मानवजातिको जीवनलाई अन्त गर्नेछ। त्यस पश्चात्, मानवजाति नयाँ राज्यमा प्रवेश गर्नेछ। तथापि सबै मानव शरीरमा नै जिउँछन्, तर पनि जीवनको सार र भ्रष्ट मानवजातिको जीवनबीच सार्थक भिन्नताहरू छन्। अस्तित्वको सार्थकता र भ्रष्ट मानवजातिको अस्तित्वको सार्थक तापनि फरक हुन्छ। यद्यपि, यो नयाँ किसिमको व्यक्तिको जीवन हुनेछैन, तर पनि यसलाई मुक्ति प्राप्‍त गरेको मानवजातिको जीवन साथै मानवता र विवेकलाई पुनःप्राप्‍त गरिएको मानवजातिको एउटा जीवन भन्न सकिन्छ। यी ती मानिसहरू हुन् जो कुनै समय परमेश्‍वरप्रति अनाज्ञाकारी थिए, जसलाई परमेश्‍वरले जित्नुभयो र त्यसपछि उहाँले मुक्त गर्नुभयो; यी ती मानिसहरू हुन् जसले परमेश्‍वरको अपमान गरेका थिए र पछि उहाँको गवाही वहन गरे। उहाँको जाँच भएर गुज्रेर र बाँचेपछि उनीहरूको अस्तित्व सबैभन्दा अर्थपूर्ण छ; उनीहरू शैतानको सामु परमेश्‍वरको गवाही दिने मानिसहरू हुन् र बाँच्न योग्यका मानव हुन्। ती नष्ट पारिनेहरूचाहिँ परमेश्‍वरको निम्ति गवाहीको रूपमा खडा हुन नसक्नेहरू र जिइरहन अयोग्यहरू हुन्। उनीहरूको विनाश उनीहरूको दुष्ट आचरणको परिणाम हुनेछ, र यस्तो सर्वनाश नै उनीहरूको निम्ति उत्तम गन्तव्य हो। भविष्यमा, जब मानवजाति सुन्दर राज्यमा प्रवेश गर्नेछ, मानिसहरूले त्यहाँ पाउनेछन् भनी कल्पना गरेका पति र पत्‍नीबीच, बुबा र छोरीबीच, वा आमा र छोरा बीचको कुनै सम्बन्धहरू हुनेछैन। त्यस बेला, हरेक मानवले उनीहरूको आ-आफ्नै वर्ग-समूहलाई पछ्याउनेछ र परिवारहरूलाई पहिले नै चकनाचूर पारिएको हुनेछ। पूर्ण रूपमा असफल भएकोले शैतानले मानवजातिलाई फेरि कहिल्यै पनि बाधा दिनेछैन र मानवजातिमा भ्रष्ट शैतानी स्वभावहरू हुनेछैनन्। ती अनाज्ञाकारी मानिसहरूलाई पहिले नै नष्ट गरिसकेका हुनेछन्, र अधीनमा रहने मानिसहरू मात्र रहनेछन्। यस्तै, अति थोरै परिवार मात्र अखण्ड रहेनछन्; शारीरिक नाता-सम्बन्धहरू कसरी रहिरहन सक्छ? मानवजातिको अघिल्लो शारीरिक जीवनलाई पूर्ण रूपमा निषेध गरिनेछ; तब मानिसहरू माझ शारीरिक नाता-सम्बन्धहरू कसरी रहन सक्छ? भ्रष्ट शैतानी स्वभावहरूविना, मानव जीवन यस उप्रान्त विगतको पुरानो जीवन हुनेछैन, तर बरु नयाँ जीवन हुनेछ। बुबाआमाहरूले छोराछोरीहरू गुमाउनेछन् र छोराछोरीहरूले बुबाआमाहरू गुमाउनेछन्। पतिहरूले पत्नीहरूलाई गुमाउनेछन् र पत्‍नीहरूले पतिहरूलाई गुमाउनेछन्। हाल मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरू रहेको छ, तर सबै जना एक पटक विश्राममा प्रवेश गरेपछि, त्यस उप्रान्त सो रहनेछैन। यस किसिमका मानवजातिले मात्र धार्मिकता र पवित्रता हासिल गर्नेछन्; यस किसिमका मानवजातिले मात्र परमेश्‍वरको आराधना गर्न सक्छन्।

परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उनीहरूलाई पृथ्वीमा राख्नुभयो, र उहाँले उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ। उहाँले उनीहरूलाई मुक्त गर्नुभयो र मानवजातिको निम्ति पापबलिको रूपमा सेवा गर्नुभयो। अन्तमा, उहाँले अझै मानवजातिलाई जित्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्त गर्नुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि नै संलग्न हुनुहुन्छ। परमेश्‍वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्‍वरले पृथ्वीमा र सारा सृष्टिमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्ने हुन्छ। शैतानद्वारा भ्रष्ट भएपछि मानवजातिले परमेश्‍वरको भय मान्ने उनीहरूको हृदय साथै परमेश्‍वरको सृष्टिहरूको अनिवार्य कार्य गुमायो, त्यसैद्वारा उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी शत्रु भए। त्यसपछि मानवजाति शैतानको अधिकार-क्षेत्रमा जियो र शैतानको आज्ञा अनुसरण गर्‍यो; यसरी, परमेश्‍वरसित आफ्नो सृष्टिहरू माझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भयपूर्ण आदरलाई जित्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्‍वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुमाउनुभयो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्त गर्नुपर्छ। यसरी मात्र परमेश्‍वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। मानवलाई परमेश्‍वरको उत्तम आराधना गर्न दिनको निम्ति र पृथ्वीमा उत्तम गरी जिउन दिनको निम्ति ती अनाज्ञाकारिताका सन्तानहरूको आखिरी विनाशलाई कार्यान्वयन पनि गरिनेछ। परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्ने हुन्छ; यसको अर्थ परमेश्‍वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्ने हुन्छ। यसको अर्थ परमेश्‍वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई दृढ रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्‍वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजातिचाहिँ उहाँको आराधना गर्ने, पूर्ण रूपमा उहाँको अधीनमा रहने र उहाँको महिमा प्रकट गर्ने मानवजाति हो। यदि परमेश्‍वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्‍वरप्रति अनाज्ञाकारी भएका ती शत्रुहरूलाई उहाँले नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान्‌ उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँप्रति अनाज्ञाकारी ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ। उहाँले पृथ्वीमाथि अनन्त विजय हासिल गर्नुभएको हुनेछ र उहाँको विरोध गर्नेहरू सबै अनन्तताको निम्ति नष्ट हुनेछन्। यसले मानवजातिलाई सृष्टि गर्ने उहाँको मौलिक अभिप्राय पुनर्स्थापना गर्नेछ; यसले सबै थोक सृष्टि गर्ने उहाँको अभिप्राय पुनर्स्थापना गर्नेछ, यसले सबै थोक माझ र उहाँको शत्रुहरूमाझ पृथ्वीमा उहाँको अधिकार पनि पुनर्स्थापना गर्नेछ। यो उहाँको पूर्ण विजयको सङ्केतहरू हुनेछन्। त्यस पश्चात्, मानवजाति विश्राममा प्रवेश गर्नेछ र सही मार्गमा हुने जीवन सुरुवात गर्नेछ। परमेश्‍वर पनि मानवजातिसँगै अनन्त विश्राममा प्रवेश गर्नुहुनेछ अनि उहाँ आफै र मानव दुवैले साझेदारी गर्ने अनन्त जीवनको प्रारम्भ गर्नुहुनेछ। पृथ्वीमा अशुद्धता र अनाज्ञाकारिता हराइसकेको हुनेछ, सबै क्रन्दनहरू दूर भइसकेको हुनेछन्, र परमेश्‍वरको विरोध गर्ने यस संसारको सबै थोकको अस्तित्व नै मेटिसकेको हुनेछ। परमेश्‍वर र उहाँले मुक्ति दिनुभएका मानिसहरू मात्र रहनेछन्; उहाँको सृष्टि मात्र रहनेछ।

अघिल्लो: मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

अर्को: तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरद्वारा सजाय प्राप्त गर्दा, पत्रुसले यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! मेरो देह अनाज्ञाकारी छ, र तपाईंले मलाई सजाय दिनुहुन्छ...

बाइबल सम्बन्धमा (४)

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनु सरह हो—तर वास्तवमा, के...

परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वर पहिलो पटक पवित्र आत्माद्वारा गर्भधारण भई देह बन्नुभयो, र यो उहाँले गर्न चाहनुभएको कामसँग सान्दर्भिक थियो। अनुग्रहको युग येशूको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्