परमेश्‍वर स्वयम् अद्वितीय ९

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (३)

यस समयावधिमा हामीले परमेश्‍वरलाई पहिचान गर्ने सम्बन्धमा धेरै चीजका बारेमा कुरा गरिसकेका छौँ र भर्खरै पनि यसैसँग सम्बन्धित एउटा अत्यन्तै महत्त्वपूर्ण विषयको बारेमा कुरा गरेका थियौँ। शीर्षक के हो? (सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ।) मैले उजागर गरेका बुँदाहरू र विषयवस्तुहरूले सबैमा स्पष्ट प्रभाव पारेको जस्तो लाग्छ। पछिल्लो पटक हामीले परमेश्‍वरले मानवका लागि निर्माण गर्नुभएका अस्तित्व सम्‍बन्धी केही वातावरणीय पक्षहरूका बारेमा कुरा गरेका थियौँ, यसका साथै मानव जीवन धान्नका लागि परमेश्‍वरले तयार गर्नुभएका विभिन्न किसिमका जीविकाको आवश्यकताका बारेमा पनि कुरा गर्‍यौं। वास्तवमा, परमेश्‍वरले जे गर्नुहुन्छ त्यो मानवजातिको अस्तित्वको लागि एउटा वातावरण तयार गर्ने कार्यमा मात्रै सीमित छैन, न त तिनीहरूको दैनिक जीविकोपार्जनमा नै यो सीमित छ। बरु, यस अन्तर्गत मानिसहरूको अस्तित्व र मानवजातिको जीवनसँग सम्‍बन्धित रहेका विभिन्‍न पाटा र पक्षहरू सम्‍बन्धी रहस्यमय र अत्यावश्यक धेरै कार्यलाई पूरा गर्ने काम पर्दछन्। यी सबै परमेश्‍वरका कार्यहरू हुन्। परमेश्‍वरका यस्ता सबै कार्यहरू उहाँले केवल मानव जीवन धान्न र तिनीहरूको दैनिक जीविकाका लागि वातावरण तयार गर्ने कार्यमा मात्र सीमित नभई त्यस्ता कार्यले अझ वृहत् क्षेत्रलाई ओगटेका छन्। यी दुई प्रकारका कार्यहरू बाहेक उहाँले मानव जाति बाँच्नका लागि आवश्यक पर्ने धेरै किसिमका वातावरण र अवस्थाहरूको समेत निर्माण गर्नुहुन्छ। यही विषयमा आज हामी छलफल गर्न गइरहेका छौं। यो पनि परमेश्‍वरको कार्य अन्तर्गत पर्दछ; अन्यथा यहाँ यसका बारेमा कुरा गर्नु अर्थहीन हुनेथियो। यदि मानिसहरूले परमेश्‍वरका बारेमा जान्न चाहन्छन् तर “परमेश्‍वर” भन्‍ने शब्दको बारेमा तिनीहरूमा केवल शाब्दिक बुझाइ मात्र छ, वा परमेश्‍वरसँग के छ र उहाँ के हुनुहुन्छ भन्‍ने विविध पक्षहरूका बारेमा मात्र ज्ञान छ भने त्यो साँचो बुझाइ होइन। त्यसो हो भने परमेश्‍वरलाई बुझ्‍ने मार्ग के हो? यो भनेको उहाँका कार्यबाट उहाँको बारेमा जान्‍नु हो, र उहाँका बहुआयामिक पक्षबाट उहाँको बारेमा जान्‍नु हो। यसकारण जब परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुभयो त्यसबेला परमेश्‍वरले गर्नुभएका सबै कार्यका विषयवस्तुको बारेमा हामीले थप सङ्गति गर्नुपर्छ।

परमेश्‍वरले सबै कुराको सृष्टि गर्नुभएदेखि नै ती सबै चिजहरू उहाँले तय गर्नुभएका नियमका आधारमा उपयुक्त तवरले काम गरिरहेका छन् र नियमित रूपमा निरन्तर चलिरहेका छन्। उहाँको दृष्टि र उहाँको नियमको छत्रछायामा मानव जाति बाँचिरहेको छ र सबै चिजहरू व्यवस्थित रूपमा निरन्तर विकसित भइरहेका छन्। यी नियमहरू परिवर्तन गर्न वा नष्ट गर्न सक्ने कोही छैन। यसको कारण के हो भने परमेश्‍वरका नियम अनुसार सबै वृद्धि हुँदै जान्छन् र उहाँको नियम र व्यवस्थापनका कारण सबै जीवहरू बाँच्न सक्छन्। यसको अर्थ यो हो कि परमेश्‍वरको नियमका आधारमा नै रीतपूर्वक सबै प्राणीहरू अस्तित्वमा आउँछन्, तिनीहरूको वृद्धि-विकास हुन्छ, हराएर जान्छन्, र तिनीहरूको पुनर्जन्म हुन्छ। जब वसन्त ऋतुको आगमन हुन्छ तब झरीले स्वच्छ मौसमको अनुभूति गराउँछ र धर्तीलाई भिजाउँछ। जमिन नरम हुन थाल्छ, र जमिनबाट घाँस उम्रिन थाल्छ र बिस्तारै-बिस्तारै रूखहरू हरिया हुँदै जान्छन्। यी हरेक जीवित प्राणीहरूले पृथ्वीमा स्वच्छ नयाँ जीवनशक्ति ल्याउँछन्। जब सबै प्राणीहरू अस्तित्वमा आउँछन् र तिनीहरूको वृद्धि-विकास हुँदै जान्छ तब यस्तै देखिन्छ। वसन्तको न्यानो अनुभव गर्न र नयाँ वर्षको शुभारम्भ गर्न सबै प्रकारका जनावरहरू आ—आफ्नो आश्रय स्थलबाट बाहिर निस्कन्छन्। सबै प्राणीहरू ग्रीष्म ऋतुको न्यानो ताप्छन् र यस ऋतुको न्यानोपनमा आनन्दित हुन्छन्। तिनीहरू द्रुत गतिमा बढ्छन्। रूखहरू, घाँस र सबै प्रकारका बोट-बिरुवाहरू तीव्र गतिमा बढ्छन् र अन्त्यमा तिनीहरू फुल्छन् र फल दिन्छन्। ग्रीष्म ऋतुमा मानवसहित सबै प्राणीहरू निकै व्यस्त रहन्छन्। वर्षा ऋतुमा वर्षातले शरद ऋतुको शीतलतालाई स्वागत गर्न थाल्छ अनि सबै प्रकारका जीवित प्राणीहरूले अन्नबाली भित्र्याउने समयको आगमनको अनुभूति गर्न थाल्छन्। हरेक वनस्पतिमा फल लाग्न थाल्छन् र मानिसहरू शिशिरको तयारीका लागि यी विभिन्न प्रकारका फलहरू भित्र्याउन थाल्छन्। शिशिर ऋतुमा सबै प्राणीहरू शान्तपनमा चुपचाप बस्नुका साथै चिसो मौसमसँगै आराम गर्न थाल्छन् र यस मौसममा मानिसहरूले पनि विश्राम लिन्छन्। वसन्तदेखि ग्रीष्म, वर्षातदेखि शिशिर हरेक ऋतुहरूका यी सबै परिवर्तनहरू परमेश्‍वरद्वारा स्थापित नियमअनुसार भइरहन्छन्। उहाँले हरेक चीजको नेतृत्व गर्नुहुन्छ। यी नियमहरूको प्रयोग गर्दै उहाँले सबै कुराहरूलाई साथै मानवजातिलाई नेतृत्व गर्नुहुन्छ र तापक्रम र मौसमअनुसार फरक रहेको वातावरणलाई अस्तित्वको लागि तयार गर्दै, मानव जातिका लागि एक सम्पन्न र रङ्गीन जीवन मार्ग तयार गर्नुभएको छ। यसकारण अस्तित्वका लागि निर्मित यस प्रकारको वातावरणमा मानव जाति व्यवस्थित रूपमा बाँच्न र आफ्नो वंश विकास गर्न सक्षम हुन्छ। मानव जातिले यी नियमहरू परिवर्तन गर्न सक्दैनन् र कुनै पनि व्यक्ति वा प्राणीले यो नियम उल्‍लङ्घन गर्न सक्दैन। संसारमा अनगिन्ती परिवर्तनहरू आएका छन्। समुन्द्रहरू मैदान भएका छन् भने मैदानहरू समुन्द्रमा परिणत भएका छन्। तथापि यी नियमहरू निरन्तर लागू भइरहेका छन्। यी नियमहरू अस्तित्वमा छन् किनभने परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, र उहाँको शासन र उहाँको व्यवस्थापनका कारण सबै चीज अस्तित्वमा छन्। यस प्रकारको क्रमबद्ध र वृहत् वातावरणमा यी नियम र शासनसँगै मानव जीवन अगाडि बढिरहन्छ। यी नियमहरूका अधीनमा मानव जातिका पुस्तौँ-पुस्ता चलेका थिए र यिनै नियमका अधीनमा मानव जातिका पुस्तौँ-पुस्ता अस्तित्वमा रहेका छन्। मानिसले बाँच्नका लागि यो व्यवस्थित वातावरणका साथै परमेश्‍वरद्वारा सृजित सबै थोकहरूको आनन्द पुस्तौँ-पुस्तादेखि लिइरहेका छन्। यद्यपि मानिसहरूलाई लाग्न सक्छ कि यस प्रकारका नियमहरू जन्मजात बनेका हुन् र तिनीहरूले यिनीहरूलाई सामान्य रूपमा लिन्छन्। परमेश्‍वरले यी नियमहरू बनाइरहनु भएको छ, जेसुकै भए तापनि यी नियमहरूमाथि परमेश्‍वरले योजनाबद्ध कार्य गरिरहनुभएको छ र परमेश्‍वर यस अपरिवर्तनीय कार्यमा लागिरहनु भएको छ भन्‍ने कुरा उनीहरूले महसुस गर्न सक्दैनन्। यस अपरिवर्तनीय कार्यमा उहाँको उद्देश्य भनेको मानव जातिको अस्तित्वको रक्षा गर्नु हो ता कि मानव जाति सँधैभरि बाँचिरहोस्।

समग्र मानव जातिको पालन-पोषण गर्न परमेश्‍वरले सबै कुराहरूको सीमा निर्धारण गर्नुहुन्छ

आज म परमेश्‍वरले मानव जातिको पालन पोषणका लागि सबै थोकहरूमा तय गर्नुभएका यी सबै प्रकारका नियमहरू कसरी लागू हुन्छन् भन्‍ने विषयमा बताउन गइरहेको छु। यो एक वृहत् विषय हो, त्यसैले हामी यसलाई विभिन्न भागमा विभाजन गर्न सक्छौं र तिमीहरूका लागि स्पष्ट रूपमा चित्रण गर्न सकियोस् भन्‍ने हेतुले एक पटकमा एउटा विषयको मात्र छलफल गर्छौं। यो तरिकाले तिमीहरूलाई बुझ्न सजिलो हुनेछ र तिमीहरूले यसलाई विस्तारै बुझ्दै जानेछौ।

पहिलो भाग: परमेश्‍वरले हरप्रकारको भूभागको लागि सीमा निर्धारित गर्नुहुन्छ

आउनुहोस् हामी पहिलो भागबाट सुरु गरौं। जब परमेश्‍वरले सबै थोकको सिर्जना गर्नुभयो तब उहाँले हिमाल, समथर मैदान, मरुभूमि, पहाड, नदी र तालतलैयाका लागि सीमा निर्धारण गर्नुभयो। यस पृथ्वीमा हिमाल, समथर मैदान, मरुभूमि र पहाड लगायत पानीका विभिन्‍न रूपहरू छन्। यिनीहरूले पृथ्वीमा विभिन्न प्रकारको भूभाग निर्माण गरेका छन्, होइन र? यिनीहरूको बीचमा परमेश्‍वरले सीमा निर्धारण गर्नुभएको छ। जब हामी सीमा रेखाको कुरा गर्छौ, यसको अर्थ यो हो कि हिमालको आफ्नै आकार छ, समथर मैदानको आफ्नै आकार छ, मरुभूमिका केही निश्चित सीमाहरू छन् र पहाडले निश्चित क्षेत्र ओगटेको छ। यसैगरी पानीको पनि निश्चित रूपहरू छन्, जस्तै, नदी नाला तथा तालतलैया। यस अर्थमा भन्नु पर्दा जब परमेश्‍वरले सबै थोकको सिर्जना गर्नुभयो तब उहाँले सबै कुराको स्पष्ट विभाजन गर्नुभयो। पहाडको अर्धव्यास कति किलोमिटर हुनुपर्दछ र यसको क्षेत्र के हो भनेर परमेश्‍वरले पहिला नै निर्धारण गरिसक्नुभएको छ। त्यस्तै उहाँले समथर मैदानको अर्धव्यास कति किलोमिटर हुनु पर्दछ र यसको क्षेत्र के हो भनेर पनि निर्धारण गरिसक्नुभएको छ। परमेश्‍वरले सबै थोकको निर्माण गर्दा उहाँले मरुभूमिको सीमा निर्धारण गर्नुभयो, साथै पहाडहरूको श्रेणी र तिनीहरूको अनुपात निर्धारण गरी सीमाबद्ध बनाउनुभयो। यस्ता सबै कुराहरू परमेश्‍वरद्वारा निर्धारण गरिएको थियो। उहाँले नदी र तालतलैयाको सिर्जना गर्दा तिनीहरूको श्रेणी निर्धारण गर्नुभयो। यी सबैको आ—आफ्नै सीमा निर्धारण गरिएको छ। त्यसो हो भने “सीमा” को बारेमा कुरा गर्दा यसको अर्थ के हो? हरेक थोकका लागि नियम बनाएर परमेश्‍वरले ती हरेक थोकमाथि कसरी शासन गर्नुहुन्छ भन्‍ने विषयमा भर्खरै हामीले कुरा गर्‍यौं। यस अर्थमा पृथ्वीको परिक्रमण वा समयको परिवर्तनसँगै हिमालका श्रेणी र सिमाना बढ्दैनन् वा घट्दैनन्। तिनीहरू निश्चित छन्, अपरिवर्तनीय छन् र परमेश्‍वरले तिनीहरूको अपरिवर्तनीयतालाई निर्देश गर्नुहुन्छ। समथर मैदानहरूको क्षेत्र, तिनीहरूको सीमा र तिनीहरू कसरी घेरिएका हुन्छन् भन्‍ने सबै परमेश्‍वरद्वारा निर्धारण गरिएको छ। तिनीहरूका आफ्नै सीमा छन्, जस्तो कि एक समथर मैदानमा एक्कासि माटोको ढिस्को उठ्न असम्भव छ। समथर मैदान अकस्मात् हिमालमा परिवर्तन हुन सक्दैन—यो असम्भव छ। हामीले भर्खरै कुरा गरेका नियमहरू र सीमाको अर्थ यही हो। मरुभूमिका सन्दर्भमा भन्दा, हामी यहाँ मरुभूमिका विशेष कार्यहरूका बारेमा वा कुनै अन्य भूभाग वा भौगोलिक क्षेत्रका बारेमा कुरा गर्दैनौँ, केवल तिनीहरूका सीमाको कुरा गर्नेछौं। परमेश्‍वरको नियमको अधीनमा, मरुभूमिको पनि सीमा विस्तार हुने छैन। यसो हुनुको कारण के हो भने परमेश्‍वरले यसका लागि नियम र सीमा निर्धारण गरिदिनुभएको छ। यसको क्षेत्र कति ठूलो छ र यसको कार्य के हो, यो केले घेरिएको छ र यो कहाँ अवस्थित छ भन्‍ने सम्पूर्ण कुराहरू परमेश्‍वरले पहिला नै निर्धारण गरिदिनुभएको छ। यसले आफ्नो सीमा नाघ्नेछैन वा स्थान परिवर्तन गर्नेछैन र आफै यसको क्षेत्र बढ्ने छैन। नदी तथा तालतलैयाबाट बग्ने पानीको प्रवाह सदैव व्यवस्थित र अविरल छ। यिनीहरू कहिल्यै पनि आफ्नो दायरा वा सीमाभन्दा बाहिर जाँदैनन्। जुन दिशामा बग्नुपर्ने हो त्यही दिशामा तिनीहरू व्यवस्थित रूपले निरन्तर बगिरहन्छन्। यसकारण परमेश्‍वरको नियमको अधीनमा पृथ्वीको परिक्रमण वा समयको परिवर्तनसँगै कुनै पनि नदी नाला वा तालतलैयाहरू अकस्मात् सुक्नेछैनन् वा अकस्मात् तिनीहरूले आफ्‍नो प्रभाव वा प्रवाहको मात्रा परिवर्तन गर्नेछैनन्। यो सबै परमेश्‍वरको नियन्त्रणमा छ। यसको तात्पर्य यो हो कि यस मानव जातिको बीचमा परमेश्‍वरद्वारा सिर्जना गरिएका सबै थोकहरूको स्थान, क्षेत्र र सीमा निर्धारण गरिएको छ। यस कारण जब परमेश्‍वरले सबै थोकको सिर्जना गर्नुभयो तब तिनीहरूको सीमा पनि निर्धारण गरिएको थियो र तिनीहरू स्वेच्छाचारी रूपले बदलिन, नवीकरण हुन वा परिवर्तन हुन सक्दैनन्। “स्वेच्छाचारी” भनेको के हो? यसको अर्थ यो हो कि तिनीहरू मौसम, तापक्रम वा पृथ्वीको परिक्रमणको गतिका कारण अनियमित रूपमा आफ्नो मूल रूप परिवर्तन गर्ने, फैलने, वा वास्तविक आकार परिवर्तन गर्ने जस्ता कार्य गर्दैनन्। उदाहरणका लागि हिमालको एक निश्चित उचाइ हुन्छ, यसको निश्चित क्षेत्रफल भएको आधार हुन्छ, यसको निश्चित उचाइ हुन्छ र यहाँ निश्चित मात्रामा वनस्पति पैदा हुन्छन्। यो सबै परमेश्‍वरद्वारा योजनाबद्ध तथा गणना गरिएको छ र यो कसैको स्वेच्छाले परिवर्तन हुनेछैन। समथर मैदानी क्षेत्रका बारेमा कुरा गर्दा अधिकांश मानिसहरू समथर मैदानी भूभागमा बसोबास गर्दछन् र मौसममा आएको कुनै पनि परिवर्तनले तिनीहरूको क्षेत्र वा अस्तित्वको महत्त्वमा कुनै प्रभाव पार्दैन। परमेश्‍वरद्वारा सृजित यी विभिन्न भूभाग तथा भौगोलिक वातावरणमा रहेका चिजहरू स्वेच्छाले परिवर्तन हुने छैनन्। उदाहरणका लागि मरुभूमिको संरचना, भूमिगत खनिज भण्डारको प्रकार, मरुभूमिमा भएको बालुवाको प्रकार र यसको रङ्ग, मरुभूमिको मोटाइ आदि जस्ता कुराहरू स्वेच्छाले परिवर्तन हुँदैनन्। किन तिनीहरू स्वेच्छाले परिवर्तन हुँदैनन्? यसको मुख्य कारण परमेश्‍वरको नियम र व्यवस्थापन हो। परमेश्‍वरले सृष्टि गर्नुभएका यी सबै विभिन्न भूभाग र भौगोलिक वातावरणमा उहाँले सबै थोकलाई योजनाबद्ध र व्यवस्थित तवरले व्यवस्थापन गरिरहनुभएको छ। यसकारण परमेश्‍वरद्वारा सृजित थोकहरू हजारौं तथा दशौं हजार वर्ष पश्चात् अहिले पनि यी भौगोलिक वातावरण अवस्थित छन् र अहिलेसम्म पनि यिनले निरन्तर आफ्नो कार्य गरिरहेका छन्। पृथ्वीमा ज्वालामुखी विस्फोट हुने केही निश्चित समय हुन्छ, भूकम्प जाने निश्चित समय हुन्छ र भूमण्डलमा केही मुख्य परिवर्तनहरू आउन सक्छन् तथापि अवश्य पनि परमेश्‍वरले कुनै पनि भूभागको मूल कार्य हराउन दिनुहुन्न। यो सबै परमेश्‍वरको व्यवस्थापन, उहाँको शासन र नियममाथिको उहाँले स्थापना गर्नुभएको नियन्त्रणका कारण सम्भव भएको छ। मानव जातिले देखेका र भोग गरेका सबै थोकहरू यस पृथ्वीमा व्यवस्थित तवरले अस्तित्वमा रहिरहन सक्छन्। त्यसोभए पृथ्वीमा अस्तित्वमा रहेका यी सबै विभिन्न भूभागको व्यवस्था परमेश्‍वरले किन गर्नुहुन्छ? विभिन्न भौगोलिक वातावरणमा अस्तित्वमा रहेका सबै सजीव प्राणीहरूको स्थिर वातावरण रहिरहोस् र उक्त स्थिर वातावरणमा तिनीहरू बाँच्न र वृद्धि-विकास हुन सकून् भन्‍ने उहाँको उद्देश्य हो। यस पृथ्वीमा भएका चलायमान तथा स्थिर सबै थोकहरू र नाकको प्वालबाट सास फर्ने तथा सास नफर्नेहरू सबै मिलेर मानव जातिको अस्तित्वका लागि एउटा अनुपम वातावरण निर्माण गरेका छन्। केवल यस प्रकारको वातावरणले मात्र मानव जातिको पुस्तौँ-पुस्तालाई पालन-पोषण गर्न सक्छ र केवल यस प्रकारको वातावरणले मात्र मानव जातिलाई पुस्तौँ-पुस्तापछिसम्म पनि निरन्तर रूपमा शान्तिपूर्वक बाँच्न अनुमति दिन सक्छ।

मैले भर्खरै जे कुरा गरेँ त्यो एउटा वृहत् विषय हो, यसैले सायद यो कुरा तिमीहरूको जीवनबाट हटेको जस्तो देखिन्छ, तर तिमीहरू सबैले यसलाई बुझ्न सक्छौ भन्‍ने मलाई आशा छ। भन्‍नुको अर्थ, परमेश्‍वरको प्रभुत्वमा भएका सबै कुराहरूमाथिका परमेश्‍वरका नियमहरू धेरै महत्त्वपूर्ण छन्—वास्तवमा धेरै महत्त्वपूर्ण छन्! यी नियमहरूका अधीनमा रहेका सबै प्राणीहरूको वृद्धिको पूर्वसर्त के हो? यो परमेश्‍वरको शासनको कारणले हो। उहाँको शासनको कारणले नै सबै थोकले उहाँको शासनमा रही आ-आफ्‍ना कार्यहरूलाई जारी राख्छन्। उदाहरणको लागि, पहाडहरूले वनजङ्गलको पालनपोषण गर्छन् र वनजङ्गलले पनि यसको बदलामा तिनीहरूभित्र बस्ने विभिन्न चराचुरुङ्गी र जीव-जनावरहरूको पालनपोषण गर्छन्। समथर भूभागहरू अन्नबाली लगाउन मानिसहरूका निम्ति र विभिन्न चराचुरुङ्गी तथा जीव-जनावरहरूको निम्ति तयार गरिएको मञ्च हो। तिनले बहुसङ्ख्यक मानवजातिलाई समथर भूभागमा बसोबास गर्न सम्भव तुल्याउँछन् र मानिसहरूका जीवनमा सुविधा प्रदान गर्छन्। र घाँसे मैदानहरू, अर्थात् घाँसे मैदानका विशाल भूमिहरू पनि समथर भूभागहरूमा नै पर्छन्। घाँसे मैदानहरूले पृथ्वीको सतहको निम्ति वनस्पतिको आवरण प्रदान गर्छ। तिनीहरूले माटोको रक्षा गर्छन्, घाँसे मैदानमा बसोबास गर्ने वस्तुभाउ, भेडा र घोडाहरूको पालनपोषण गर्छन्। मरुभूमिले पनि आफ्नै कार्य गर्छ। यो मानव बसोबासको स्थान होइन; यसले आर्द्र मौसमलाई सुक्खा बनाउने भूमिका खेल्छ। नदी र तालहरूको प्रवाहले मानिसहरूको निम्ति सहज तरिकाले पिउने पानी ल्याउँछ। तिनीहरू जहाँ बग्छन् मानिसहरूले पिउने पानी प्राप्त गर्छन् र सबै थोकका पानीका आवश्यकताहरू सहजै पूरा हुन्छन्। यिनीहरू विभिन्न भूभागहरूको निम्ति परमेश्‍वरले तय गर्नुभएका सीमाहरू हुन्।

दोस्रो भाग: परमेश्‍वरले हरप्रकारको जीवित प्राणीका लागि सीमा निर्धारित गर्नुहुन्छ

परमेश्‍वरले तय गर्नुभएका यी सीमाहरूको कारण, विभिन्न भूभागहरूले अस्तित्वको निम्ति फरक किसिमका वातावरणहरू सृजना गरेका छन्, र अस्तित्वका लागि सृजित यी वातावरणहरू विभिन्न किसिमका चराचुरुङ्गीहरू र जीव-जनावरहरूका लागि सहज बनेका छन् र त्यसले तिनीहरूलाई बाँच्ने ठाउँ पनि दिएको छ। यसैबाट विभिन्न जीवित प्राणीहरूलाई अस्तित्वको निम्ति आवश्यक वातावरणहरूका सीमाहरूको विकास भयो। यो हामीले अब कुरा गर्न गइरहेको दोस्रो भाग हो। सर्वप्रथम, चराचुरुङ्गी, जनावर र कीरा-फट्याङ्ग्राहरू कहाँ बस्छन्? के तिनीहरू वनजङ्गल र कुञ्जहरूमा बस्छन्? यी तिनीहरूका वासस्थान हुन्। यसैले, विभिन्न भौगोलिक वातावरणहरूका निम्ति सीमाहरू स्थापित गर्ने बाहेक परमेश्‍वरले विभिन्न चराचुरुङ्गी, जीव-जनावर, माछा, कीरा-फट्याङ्ग्रा र सबै बोटबिरुवाहरूको निम्ति पनि सीमाहरू निर्धारण गर्नुभयो र नियमहरू स्थापित गर्नुभयो। विभिन्न भौगोलिक वातावरणहरू बीचको भिन्नताको कारण र फरक-फरक भौगोलिक वातावरणहरूको अस्तित्वको कारण, विभिन्न प्रकारका चराचुरुङ्गी, जीव-जनावर, माछा, कीरा-फट्याङ्ग्रा र सबै बोटबिरुवाहरूका अस्तित्वको निम्ति फरक-फरक वातावरणहरू छन्। चराचुरुङ्गी, जीव-जनावर र कीरा-फट्याङ्ग्राहरू विभिन्न बोटबिरुवाहरूका माझमा बस्छन् र माछाहरू पानीमा बस्छन् अनि बोटबिरुवाहरू जमिनमा उम्रन्छन्। जमिनले पहाड, समथर भूमि र पर्वत जस्ता विभिन्न क्षेत्रहरूलाई समेट्छ। चराचुरुङ्गी र जनावरहरूले आफ्नै वासस्थान पाएपछि तिनीहरू यताउता अर्थात् आफूलाई जता मन लाग्यो त्यता जाँदैनन्। वनजङ्गल र पहाडहरू तिनीहरूका वासस्थानहरू हुन्। यदि कुनै एक दिन तिनीहरूका वासस्थानहरू नष्ट पारिए भने यो क्रम अस्तव्यस्त हुन जान्छ। यो व्यवस्था अस्तव्यस्त हुने बित्तिकै यसका परिणामहरू के हुन्छन्? सबैभन्दा पहिले कसलाई चोट पर्छ? पहिले मानवजातिलाई चोट पर्छ। परमेश्‍वरले स्थापित गर्नुभएका यी नियम र सीमाहरूभित्र के तिमीहरूले कुनै अनौठा घटनाहरू देखेका छौ? उदाहरणको निम्ति, हात्तीहरू मरुभूमिमा हिँडेको। के तिमीहरूले यस्तो केही देखेका छौ? यदि यस्तो साँच्चै भयो भने, यो धेरै अनौठो घटना हुनेथियो, किनकि हात्तीहरू वनजङ्गलमा बस्छन् र तिनीहरूको अस्तित्वको निम्ति परमेश्‍वरले तयार गर्नुभएको वातावरण त्यही हो। तिनीहरूको अस्तित्वको निम्ति तिनीहरूका आफ्नै वातावरण र वासस्थानहरू छन्, यसैले तिनीहरूले यताउता किन दौडनु पर्यो र? के कसैले सिंह र बाघहरूलाई समुद्रको किनारमा हिँडिरहेका देखेको छ? छैन, तिमीहरूले देखेका छैनौ। सिंह र बाघहरूको वासस्थान वनजङ्गल र पहाडहरू हुन्। के कसैले ह्वेल वा सार्कहरूलाई मरुभूमिमा पौडँदै गरेको देखेको छ? छैन, तिमीहरूले देखेका छैनौ। ह्वेल र सार्कहरूले समुद्रमा आफ्नो वासस्थान बनाएका छन्। मानवहरू बस्ने वातावरणमा के खैरो भालुसँग बस्ने मानिसहरू छन्? के घरभित्र र घरबाहिर सधैँ मयूर वा अन्य चराचुरुङ्गीहरूद्वारा घेरिएका मानिसहरू छन्? के कसैले चिल वा जङ्गली हाँसहरू बाँदरहरूसँग खेलेको देखेको छ? (छैन।) यी सबै अनौठा घटनाहरू हुनेथिए। तिमीहरूलाई अनौठा लाग्ने यी कुराहरू मैले बताउनुको कारण सबै थोकहरू परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् भन्‍ने कुरा तिमीहरूलाई बुझाउनको निम्ति हो—चाहे तिनीहरू एक निश्चित ठाउँमा राखिएका हुन् वा तिनीहरूले आफ्ना नाकबाट सास फेर्न सकून् वा नसकून्—अस्तित्वका निम्ति तिनीहरूका आफ्नै नियमहरू छन्। परमेश्‍वरले यी जीवित प्राणीहरूलाई सृष्टि गर्नुभन्दा धेरै अगाडि तिनीहरूको निम्ति उहाँले तिनीहरूका आफ्नै घरहरू र तिनीहरूको अस्तित्वको निम्ति तिनीहरूका आफ्नै वातावरणहरू तयार गर्नुभएको थियो। यी जीवित प्राणीहरूसँग आफ्नो अस्तित्वको निम्ति तिनीहरूका आफ्नै निश्चित वातावरण, तिनीहरूका आफ्नै खाना र तिनीहरूका आफ्नै वासस्थानहरू थिए र तिनीहरूसँग तिनीहरूका अस्तित्वको निम्ति उपयुक्त निश्चित स्थानहरू, तिनीहरूको अस्तित्वको निम्ति उपयुक्त तापक्रम भएका ठाउँहरू थिए। यसैले तिनीहरू आफूलाई मन लागे अनुसार यताउता जाँदैनन् वा मानवजातिको अस्तित्वलाई खतरामा पार्दैनन् वा मानिसहरूको जीवनलाई असर पार्दैनन्। मानवजातिको अस्तित्वको निम्ति सर्वश्रेष्ठ वातावरण प्रदान गर्दै परमेश्‍वरले यसरी नै सबै कुराहरूको व्यवस्थापन गर्नुहुन्छ। सबै थोकहरू भित्रका जीवित प्राणीहरूको अस्तित्वका निम्ति जीवन धान्ने खाना तिनीहरूको आफ्नै वातावरणमा हुन्छ। त्यही खानाद्वारा तिनीहरू आफ्नो अस्तित्वको निम्ति आफ्नै रैथाने वातावरणमा जोडिएका हुन्छन्। परमेश्‍वरले तिनीहरूको निम्ति स्थापित गर्नुभएका नियमहरूअनुसार त्यस्तो किसिमको वातावरणमा तिनीहरूले जिउने, वृद्धि हुने र अगाडि बढ्ने काम जारी राख्छन्। यस्ता किसिमका नियमहरूको कारण, परमेश्‍वरको पूर्वनिर्धारणको कारण सबै जीवित प्राणीहरू मानवजातिसँग सद्भावका साथ जिउँछन् र मानवजाति सबै थोकसँगको पारस्परिक अन्तरनिर्भरताको आधारमा एक साथ अस्तित्वमा छ।

तेस्रो भाग: परमेश्‍वरले मानवजातिलाई भरणपोषण गर्नका लागि वातावरण र पर्यावरण कायम राख्‍नुहुन्छ

परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुभयो र तिनीहरूको निम्ति सीमाहरू स्थापित गर्नुभयो; तीमध्येमा उहाँले सबै किसिमका जीवित प्राणीहरूको पालनपोषण गर्नुभयो। त्यही बेला, उहाँले मानवजातिको अस्तित्वको निम्ति विभिन्न माध्यमहरू पनि तयार पार्नुभयो, यसैले तैँले देख्न सक्छस्, कि मानवजातिको अस्तित्वको निम्ति केवल एउटै मात्र माध्यम छैन, न त तिनीहरूको अस्तित्वको निम्ति एउटै किसिमको वातावरण मात्र छ। परमेश्‍वरले मानवको निम्ति विभिन्न किसिमका खाना र पानीका स्रोतहरू तयार गर्नुभएको विषयमा हामीले यस अगाडि नै कुरा गर्‍यौं, जुन मानवजातिको जीवनलाई देहमा निरन्तरता दिनको निम्ति अत्यन्तै जरुरी छ। तैपनि, यस मानवजातिको बीचमा सबै मानिसहरूले अन्नले मात्र जीवन निर्वाह गर्दैनन्। भौगोलिक वातावरण र भूभागको कारण मानिसहरूसँग जीवित रहने धेरै माध्यमहरू छन्। जीवित रहने सम्‍बन्धी यी सबै माध्यमहरू परमेश्‍वरले तयार गर्नुभएको हो। यसैले सबै मानवजाति प्राथमिक रूपले खेतीपातीमा नै संलग्न छन् भन्‍ने छैन। अर्थात्, सबै मानिसहरूले अन्नबालीबाट नै खाना प्राप्त गर्छन् भन्‍ने छैन। हामीले कुराकानी गर्न गइरहेको विषयको तेस्रो भाग यही हो: मानवजातिका विभिन्न किसिमका जीवनशैलीहरूको कारणले सीमाहरू पैदा भएका हुन्। त्यसो भए मानवका अन्य के-कस्ता किसिमका जीवनशैलीहरू छन्? विभिन्न खानाको स्रोतका आधारमा अन्य कस्ता किसिमका मानिसहरू छन्? कैयौँ प्राथमिक प्रकारहरू छन्।

पहिलोचाहिँ शिकारी जीवनशैली हो। त्यो के हो भनेर सबैलाई थाहा छ। शिकार गरेर बाँच्ने मानिसहरूले के खान्छन्? (शिकार।) तिनीहरूले जङ्गलका चरा र जीव-जनावर खान्छन्। “शिकार” चाहिँ आधुनिक शब्द हो। सिकारीहरूले यसलाई “शिकार” को रूपमा सोच्दैनन्; तिनीहरूले यसलाई खानाको रूपमा अर्थात् तिनीहरूको दैनिक निर्वाहको वस्तुको रूपमा सोच्छन्। उदाहरणको लागि, तिनीहरूले एउटा मृग भेट्टाउँछन्। तिनीहरूले यो मृग भेट्टाएपछि, यो किसानले जमिनबाट भोजन प्राप्त गरे जस्तै हो। किसानले जमिनबाट खाना प्राप्त गर्छ र उसले खाना देख्दा ऊ खुसी हुन्छ र ऊ ढुक्‍क हुन्छ। खाने अन्न भएको कारण परिवार भोको रहनेछैन। किसानको हृदय चिन्तारहित हुन्छ र उसले सन्तुष्टिको अनुभव गर्छ। आफूले समातेको कुरा देखेर सिकारीले पनि ढुक्‍क र सन्तुष्टिको अनुभूति गर्छ किनकि अब उसले खानाको बारेमा चिन्ता लिनुपर्दैन। अर्को भोजनको निम्ति केही खानेकुरा छ र भोकै बस्नुपर्दैन। ऊ बाँच्नको लागि शिकार गर्ने व्यक्ति हो। शिकार गरेर जीवन निर्वाह गर्नेमध्ये धेरैजसो मानिसहरू पहाडी वनजङ्गलहरूमा बस्छन्। तिनीहरूले खेतीपाती गर्दैनन्। त्यहाँ खेतीयोग्य जमिन प्राप्त गर्न कठिन हुन्छ, त्यसैले तिनीहरू विभिन्न जीवित प्राणीहरू, विभिन्न किसिममा सिकारहरूको भरमा बाँच्छन्। यो पहिलो किसिमको जीवनशैली हो जुन सामान्य मानिसहरूको भन्दा फरक छ।

दोस्रो किसिमचाहिँ पशुपालकहरूको जीवनशैली हो। जीविकोपार्जनको निम्ति पशुपालन गर्ने मानिसहरूले खेतीपाती पनि गर्छन्? (गर्दैनन्।) त्यसो भए तिनीहरूले के गर्छन्? तिनीहरू कसरी बाँच्छन्? (तिनीहरूले धेरैजसो समय जीविकोपार्जनको निम्ति वस्तुभाउ र भेडाहरूको हेरचाह गर्छन्, र हिउँदको बेलामा आफ्ना वस्तुभाउलाई मार्छन् र खान्छन्। तिनीहरूको प्रमुख खाद्य सामाग्री गोमांस र खसीको मासु हो, तिनीहरूले दूध चिया पिउँछन्। पशुपालकहरू चारै ऋतु व्यस्त रहे तापनि, तिनीहरूले राम्ररी नै खान्छन्। तिनीहरूसँग प्रशस्त दूध, दुग्ध पदार्थहरू र मासु हुन्छन्।) जीविकोपार्जनको निम्ति पशुपालन गर्ने मानिसहरूले मुख्यतया गोमांस र खसीको मासु खान्छन्, भेडा र गाईको दूध पिउँछन् र तिनीहरूका कपालमा बतास र अनुहारमा घाम पार्दै जमिनमा पशु र घोडाहरूमाथि चढेर आफ्ना पशुहरूको हेरचाह गर्छन्। तिनीहरूले आधुनिक जीवनका तनावहरूको सामना गर्दैनन्। तिनीहरूले विशाल नीलो आकाश र घाँसे मैदानहरूलाई दिनभरि नियाल्छन्। पशुपालन गरेर आफ्नो जीवन निर्वाह गर्ने धेरैजसो मानिसहरू घाँसे मैदानहरूमा बस्छन् र तिनीहरूले पुस्तौँदेखि आफ्नो फिरन्ते जीवनलाई निरन्तरता दिइरहेका छन्। घाँसे मैदानको जीवन केही हदसम्म एकलो किसिमको भए तापनि, यो धेरै खुसी जीवन पनि हो। यो खराब किसिमको जीवन पद्धति होइन।

तेस्रो किसिमको जीवनशैली मछुवाहरूको जीवनशैली हो। मानवजातिको सानो हिस्सा समुद्रका किनार वा साना टापुहरूमा बस्छन्। तिनीहरूको वरिपरि पानी, अगाडि समुद्र हुन्छ। यी मानिसहरूले जीविकोपार्जनको निम्ति माछा मार्छन्। जीविकोपार्जनको निम्ति माछा मार्नेहरूको खानाको स्रोत के हो? सबै किसिमका माछा, समुद्री खाना र समुद्रका अन्य उत्पादनहरू तिनीहरूको खानाको स्रोत हुन्। जीविकोपार्जनको निम्ति माछा मार्नेहरूले खेतीपाती गर्दैनन्, तर हरेक दिन माछा मारेर बिताउँछन्। तिनीहरूको प्रमुख खानामा विभिन्न किसिमका माछा र समुद्री उत्पादनहरू पर्छन्। तिनीहरूले चामल, पीठो र दैनिक आवश्यकताका वस्तुहरूको निम्ति यी कुराहरूको बेचबिखन पनि गर्छन्। पानीको नजिक बसोबास गर्नेहरूको फरक जीवनशैली यही हो। पानीको नजिक बसोबास गरेर तिनीहरू खानाको निम्ति यसैमा भर पर्छन् र माछा मारेर जीविकोपार्जन गर्छन्। माछा मार्ने कामले तिनीहरूलाई खाना मात्र दिने होइन, तर यो जीविकोपार्जनको माध्यम पनि हो।

जमिनमा खेतीपाती गर्ने बाहेक, मानवजाति माथि उल्लिखित तीन किसिमका जीवनशैली अनुसार जिउँछन्। तैपनि, बहुसङ्ख्यक मानिसहरूले जीविकोपार्जनको निम्ति खेतीपाती गर्छन् र थोरै मानिसहरू मात्र पशुपालन गरेर, माछा मारेर र शिकार गरेर बाँच्छन्। अनि खेतीपाती गरेर जीविकोपार्जन गर्ने मानिसहरूलाई के कुराको आवश्यकता पर्छ? तिनीहरूलाई आवश्यक पर्ने कुरा जमिन हो। पुस्तौँ पुस्तादेखि तिनीहरू जमिनमा अन्नबाली रोपेर बाँचेका छन् र चाहे तिनीहरूले सागसब्जी, फलफूल वा अन्नबालीहरू जे रोपून् तिनीहरूले आफ्ना खाना र दैनिक आवश्यकताका कुराहरू पृथ्वीबाट नै प्राप्त गर्छन्।

यी फरक मानव जीवनशैलीहरूलाई आड दिने आधारभूत सर्तहरू के-के हुन्? के तिनीहरू बाँच्न सक्‍ने वातावरणहरूलाई आधारभूत तहमा संरक्षण गर्नु बिलकुलै आवश्यक छैन र? अर्थात्, शिकार गरेर जीवन निर्वाह गर्नेहरूले पहाडी वनजङ्गल वा चराचुरुङ्गी र जीव-जनावरहरू गुमाउने हो भने तिनीहरूको जीविकोपार्जनको स्रोत रहँदैन। यो जाति र यस किसिमका मानिसहरूले लिनु पर्ने दिशा अनिश्चित बन्न पुग्छ र तिनीहरू लोप पनि हुन सक्छन्। अनि आफ्नो जीविकोपार्जनको निम्ति पशुपालन गर्नेहरूको हकमा के हुन्छ? तिनीहरू केमा भर पर्छन्? तिनीहरू तिनीहरूको वस्तुभाउमा होइन, तर ती वस्तुभाउ बाँच्न सक्‍ने वातावरण—घाँसे मैदानहरूमा निर्भर हुन्छन्। यदि घाँसे मैदानहरू नहुने हो भने पशुपालन गर्नेहरूले आफ्ना वस्तुभाउलाई कहाँ चराउनेथिए? वस्तुभाउ र भेडाहरूले के खानेथिए? वस्तुभाउविना यी फिरन्ते मानिसहरूको जीविकोपार्जन हुनेथिएन। तिनीहरूको जीविकोपार्जनको स्रोतविना यी मानिसहरू कहाँ जानेथिए? तिनीहरू जीवित रहन धेरै कठिन हुनेथियो; तिनीहरूको भविष्य रहनेथिएन। यदि पानीको स्रोत नहुने हो र नदी तथा तालहरू पूर्णरूपमा सुक्ने हो भने, बाँच्नको निम्ति पानीमा भर पर्ने सबै माछाहरू अझै जीवित रहनेथिए र? तिनीहरू जीवित रहनेथिएनन्। जीविकोपार्जनको निम्ति पानी र माछामा भर पर्ने यी मानिसहरू निरन्तर रूपमा जीवित रहनेथिए? तिनीहरूसँग खाना वा तिनीहरूको जीविकोपार्जनको स्रोत नभएपछि यी मानिसहरू निरन्तर रूपमा जीवित रहन सक्नेथिएनन्। अर्थात्, यदि कुनै जाति तिनीहरूको जीविकोपार्जन वा तिनीहरूको अस्तित्व सम्बन्धी समस्यामा परे भने, उक्त जातिको निरन्तरता हुनेछैन, र तिनीहरू पृथ्वीबाट हराउन सक्छन् र लोप हुन सक्छन्। अनि खेतीपाती गर्नेहरूले आफ्ना जमिन गुमाए भने, तिनीहरूले सबै किसिमका बोटबिरुवा रोप्न पाएनन् र ती बोटबिरुवा खाना प्राप्त गर्न सकेनन् भने, त्यसको परिणाम के होला? के खानाविना मानिसहरू भोकमरीले मर्दैनन् र? यदि मानिसहरू भोकमरीले मरिरहेका छन् भने के मानवको त्यो जात सखाप हुँदैनन् र? यसैले परमेश्‍वरले विभिन्न किसिमका वातावरणहरूको जगेर्ना गर्नुको उद्देश्य यही हो। परमेश्‍वरले विभिन्न वातावरण र पर्यावरणहरू अनि ती भित्रका विभिन्न जीवित प्राणीहरूको जगेर्ना गर्नुको एउटै उद्देश्य मात्र छ—र त्यो हरेक किसिमका मानिसहरूको पालनपोषण गर्नु, विभिन्न भौगोलिक वातावरणहरूमा बसोबास गर्ने मानिसहरूको पालनपोषण गर्नु हो।

यदि सृष्टिका सबै थोकले तिनीहरूका आफ्ना नियमहरू गुमाए भने, तिनीहरूको अस्तित्व नै रहनेथिएन; यदि सबै थोकका नियमहरू हराए भने, सबै थोकका बीचमा जिउने प्राणीहरू पनि निरन्तर रहनेथिएनन्। मानवजातिले आफ्नो अस्तित्वको निम्ति भर परेको वातावरण पनि गुमाउनेथियो। यदि मानवजातिले ती सबै कुराहरू गुमाए भने, तिनीहरूले अहिले गरे जसरी निरन्तर रूपमा पुस्तादेखि पुस्तासम्म फस्टाउन र वृद्धि हुन सक्‍नेथिएनन्। परमेश्‍वरले तिनीहरूको पालनपोषण अर्थात् मानवजातिलाई फरक तरिकाले पालनपोषण गर्नको निम्ति सृष्टिका सबै थोक आपूर्ति गरिदिनुभएको कारण मानवजाति अहिलेसम्म जीवित रहेका हुन्। परमेश्‍वरले विभिन्न तरिकाले मानवजातिको पालनपोषण गर्नुभएको कारणले नै मानवजाति अहिलेको वर्तमान समयसम्म जीवित रहेको हो। जीवित रहनको निम्ति निश्चित अनुकूल वातावरण र प्राकृतिक नियमहरू असल क्रममा भएको कारण, पृथ्वीका सबै किसिमका मानिसहरू, सबै किसिमका जातिहरू तोकिएको क्षेत्रहरूमा जीवित रहन सक्छन्। कोही पनि यी क्षेत्रहरू वा तिनीहरूका बीचमा भएका सीमाहरूबाट बाहिर जान सक्दैन, किनकि तिनलाई तय गर्ने परमेश्‍वर नै हुनुहुन्छ। परमेश्‍वरले किन यसरी सीमाहरू तय गर्नुभयो? यो सबै मानवजातिको निम्ति अत्यन्तै महत्त्वपूर्ण कुरा हो—वास्तवमा नै धेरै महत्त्वपूर्ण कुरा हो! परमेश्‍वरले हरेक जीवित प्राणीको निम्ति क्षेत्र तय गर्नुभयो र हरेक किसिमका मानवजातिको अस्तित्वको माध्यम तोकिदिनुभयो। उहाँले पृथ्वीका विभिन्न किसिमका मानिसहरू र विभिन्न जातिहरूको विभाजन गर्नुभयो र तिनीहरूको निम्ति क्षेत्र स्थापित गरिदिनुभयो। अब हामीले छलफल गर्ने कुरा यही नै हो।

चौथो भाग: परमेश्‍वरले फरकफरक जातिका लागि सीमा निर्धारित गर्नुहुन्छ

चौथो कुरा, परमेश्‍वरले विभिन्न जातिहरूको बीचमा सीमाहरू तोक्‍नुभयो। पृथ्वीमा गोरा मानिसहरू, काला मानिसहरू, खैरा मानिसहरू र पहेँला मानिसहरू छन्। यी फरक किसिमका मानिसहरू हुन्। परमेश्‍वरले यी फरक किसिमका मानिसहरूको जीवनका क्षेत्र पनि तोकिदिनुभयो र थाहै नपाई मानिसहरू परमेश्‍वरको व्यवस्थापनमा जीवित रहनको निम्ति तिनीहरूका उचित वातावरणमा बसोबास गर्छन्। कोही पनि त्यसभन्दा बाहिर जान सक्दैन। उदाहरणको निम्ति, गोरा मानिसहरूलाई नै लिऔं। तिनीहरूमध्ये धेरैजसो बसोबास गर्ने भौगोलिक क्षेत्र कुन हो? तिनीहरूमध्ये धेरैजसो युरोप र अमेरिकामा बसोबास गर्छन्। काला मानिसहरू मुख्यतया अफ्रिकामा बसोबास गर्छन्। खैरा मानिसहरू मुख्यतया, थाइल्याण्ड, भारत, म्यानमार, भियतनाम र लाओस जस्ता दक्षिणपूर्वी एसिया र दक्षिण एसियामा बसोबास गर्छन्। पहेँला मानिसहरू मुख्यतया एसिया अर्थात् चीन, जापान र दक्षिण कोरिया जस्ता देशहरूमा बसोबास गर्छन्। परमेश्‍वरले यी फरक किसिमका जातिहरूलाई फरक तरिकाले वितरण गर्नुभयो, यसैले यी फरक जातिहरूलाई संसारका फरक-फरक भागहरूमा वितरण गरिएको छ। परमेश्‍वरले धेरै अगाडि नै संसारका यी फरक-फरक भागहरूमा मानवजातिका हरेक जातिको अस्तित्वको निम्ति सुहाउँदो वातावरण तयार पार्नुभयो। अस्तित्वका लागि तयार पारिएका यी वातावरणहरूभित्र परमेश्‍वरले तिनीहरूका निम्ति विभिन्न रङ्ग र बनावटका माटोहरू तयार गर्नुभयो। अर्को शब्दमा, गोरा मानिसहरूका शरीरहरू जुन तत्वहरूले बनेका हुन्छन्, ती काला मानिसहरूका शरीरहरू बन्ने तत्वहरूभन्दा फरक हुन्छन्, र ती अन्य जातिका शरीरहरू बन्ने तत्वहरूभन्दा पनि फरक हुन्छन्। जब परमेश्‍वरले सबै थोक बनाउनुभयो, परमेश्‍वरले त्यस जातिको निम्ति सुहाउँदो वातावरण पहिले नै तयार गर्नुभएको थियो। परमेश्‍वरले यसो गर्नुको उद्देश्य त्यस किसिमका मानिसहरू वृद्धि भएर सङ्ख्यामा धेरै भएपछि तिनीहरूलाई निश्चित क्षेत्रभित्र राख्नु थियो। परमेश्‍वरले मानवजातिहरूको सृष्टि गर्नु अगाडि उहाँले यी सबै कुराहरू पहिले नै सोच्नुभएको थियो—उहाँले गोरा मानिसहरूलाई वृद्धि हुने र जीवित रहनको निम्ति युरोप र अमेरिका संरक्षण गरेर राख्नुभयो। यसैले परमेश्‍वरले पृथ्वीको सृष्टि गर्नुहुँदा नै उहाँसँग योजना थियो, जमिनको त्यस खण्डमा उहाँले राखेका कुराहरू र त्यस जमिनको खण्डमा उहाँले पालनपोषण गर्नुभएका कुराको निम्ति परमेश्‍वरसँग लक्ष्य र उद्देश्य थियो। उदाहरणको निम्ति, त्यस जमिनमा कस्ता पहाडहरू, कति समथर भूभागहरू, पानीका कति स्रोतहरू, कस्ता किसिमका चराचुरुङ्गी र जनावरहरू, कस्ता माछाहरू र कस्ता बोटबिरुवाहरू हुनेछन् भन्‍ने कुराको तयारी परमेश्‍वरले धेरै अघि नै गर्नुभएको थियो। निश्‍चित प्रकारको मानव, निश्‍चित जातिको अस्तित्वको तयारी गर्ने क्रममा, परमेश्‍वरले हरेक कोणबाट विभिन्‍न कुराको बारेमा विचार गर्नु आवश्यक थियो: भौगोलिक वातावरण, माटोको बनावट, चराचुरुङ्गी र जनावरहरूका विभिन्न प्रजातिहरू, विभिन्न प्रकारका माछाका आकारहरू, माछाहरूका शरीरहरू बनाउने तत्वहरू, पानीको गुणस्तरमा भिन्नताका साथै विभिन्न किसिमका बोटबिरुवाहरूका भिन्नता…। परमेश्‍वरले ती सबै कुरा धेरै पहिले नै तयार गर्नुभएको थियो। परमेश्‍वरले गोरा मानिसहरूको निम्ति त्यही किसिमको वातावरणको सृजना गर्नुभयो र तयार गर्नुभयो, अनि त्यो स्वभाविक रूपले तिनीहरूकै हो। परमेश्‍वरले सबै कुराको सृष्टि गर्नुहुँदा धेरै सोचविचार गर्नुभयो र योजना अनुसार काम गर्नुभयो भन्‍ने कुरा तिमीहरूले देखेका छौ? (हो, विभिन्न प्रकारका मानिसहरूको निम्ति परमेश्‍वरका सोचविचारहरू विचारशील छन् भन्‍ने हामीले देखेका छौँ। विभिन्न किसिमका मानवहरू जीवित रहनको निम्ति उहाँले सृष्टि गर्नुभएको वातावरणमा कस्ता किसिमका चराचुरुङ्गी, जीव-जनावर र माछाहरू, कति वटा पहाड-पर्वत र कति समथर भूभागहरू तयार गर्ने भन्‍ने कुराहरूको बारेमा उहाँले धेरै विचारशील र सुनिश्चित भएर सोचविचार गर्नुभयो।) उदाहरणको निम्ति गोरा मानिसहरूलाई लिऔं। गोरा मानिसहरूले मुख्यतया के-कस्ता खानेकुरा खान्छन्? गोरा मानिसहरूले खाने कुराहरू एसियाका मानिसहरूले खानेभन्दा फरक हुन्छन्। गोरा मानिसहरूले खाने प्रमुख खानेकुराहरूमा मासु, अण्डा, दूध र कुखुरा पर्छन्। रोटी र भात जस्ता खानाहरूलाई थालको एक छेउमा पूरक खानाको रूपमा राखिन्छ। सागसब्जीको सलाद खाँदा पनि त्यसमा सेकाएको गोमांस वा कुखुराको मासु हाल्ने गर्छन्, र गहुँबाट बनिएका खानेकुरा खाँदा पनि त्यसमा पनिर, अण्डा वा मासु थप्ने गर्छन्। यसको अर्थ, तिनीहरूको प्रमुख खानामा गहुँ वा चामल पर्दैनन्; तिनीहरूले धेरै मात्रामा मासु र पनिर खान्छन्। तिनीहरूका खानामा धेरै क्यालोरी हुने भएकोले तिनीहरूले प्रायः अत्यन्तै चिसो पानी पिउँछन्। यसैले, सेता मानिसहरू असाधारण तवरले मजबुत हुन्छन्। तिनीहरूलाई यस्तो जीवनशैली अपनाउन दिने तिनीहरूको जीवनशैलीको स्रोत र तिनीहरूका अस्तित्वको निम्ति परमेश्‍वरले तयार पार्नुभएको जिउने वातावरणहरू यस्ता छन्, जुन अरू जातिका मानिसहरूको जीवनशैलीभन्दा भिन्न छ। यस्तो किसिमको जीवनशैलीमा कुन सही वा कुन गलत भन्‍ने कुरा हुँदैन—यो जन्मजात, परमेश्‍वरले पहिले नै तोक्नुभएको हो र यो परमेश्‍वरको आदेश र उहाँको व्यवस्थापनद्वारा उत्पन्न हुन्छ। यस जातिको जीवनशैली यस्तो हुनुको कारण र तिनीहरूका जीविकोपार्जनका स्रोतहरू यी हुनुको कारण तिनीहरूका जात र, परमेश्‍वरले तिनीहरूको अस्तित्वको निम्ति तयार पार्नुभएको वातावरण नै हो। गोरा मानिसहरूको अस्तित्वको निम्ति परमेश्‍वरले तयार गर्नुभएको वातावरण र त्यस वातावरणबाट तिनीहरूले प्राप्त गर्ने दैनिक जीविकाका साधनहरू सम्पन्न र प्रचुर छन्।

परमेश्‍वरले अरू जातिहरूको अस्तित्वको निम्ति पनि आवश्यक वातावरणहरू तयार गर्नुभयो। काला मानिसहरू पनि छन्—काला मानिसहरू कहाँ बसोबास गर्छन्? तिनीहरू मुख्यतया मध्य र दक्षिण अफ्रिकामा बसोबास गर्छन्। परमेश्‍वरले त्यस किसिमको वातावरणमा तिनीहरूको निम्ति के तयार गर्नुभयो? सदाबहार वनहरू, सबै किसिमका चराचुरुङ्गी तथा जीव-जनावरहरू, मरुभूमिहरू र मानिसहरूको नजिकै रहने सबै किसिमका बोटबिरुवाहरू। तिनीहरूको निम्ति पानीको स्रोतहरू, जीविकोपार्जनका साधनहरू, र खाना छन्। परमेश्‍वरले तिनीहरूलाई पक्षपात गर्नुभएको छैन। तिनीहरूले जे गरे तापनि तिनीहरूको अस्तित्व कहिल्यै पनि खास समस्या बनेको छैन। तिनीहरूले पनि संसारको निश्चित स्थान र निश्चित क्षेत्र ओगटेका छन्।

अब पहेँला मानिसहरूको बारेमा कुरा गरौं। पहेँला मानिसहरू मुख्यतया पृथ्वीको पूर्वी भागमा बस्छन्। पूर्व र पश्चिमको वातावरण र भौगोलिक अवस्थितिमा के-के फरक छन्? पूर्वको जमिनको धेरैजसो भाग मलिलो र पदार्थ तथा खनिज भण्डारले सम्पन्न छ। अर्थात्, जमिनमाथि र जमिनमुनिका स्रोतहरूले भरपूर छ। अनि यस समूहका मानिसहरू, यस जातिका निम्ति परमेश्‍वरले मिल्दो माटो, जलवायु र तिनीहरूको निम्ति सुहाउँदो विभिन्न भौगोलिक वातावरणहरू पनि तयार पार्नुभयो। यहाँको भौगोलिक वातावरण र पश्‍चिमको वातावरणको बीचमा धेरै भिन्नता भए तापनि, मानिसहरूका निम्ति आवश्यक खाना, जीविकाहरू र जीविकोपार्जनका स्रोतहरू पनि परमेश्‍वरले तयार पार्नुभयो। यो बाँच्नको निम्ति पश्चिमका गोरा मानिसहरूको भन्दा फरक वातावरण मात्र हो। तर मैले तिमीहरूलाई भन्नुपर्ने एउटा कुरा के हो? पूर्वीय जातिका मानिसहरूको सङ्ख्या तुलनात्मक रूपमा ठूलो छ, त्यसैले परमेश्‍वरले पश्चिमभन्दा फरक रहेको पृथ्वीको यस भागमा धेरै तत्वहरू थप्नुभयो। त्यहाँ परमेश्‍वरले धेरै फरक भूभागहरू र सबै किसिमका प्रशस्त पदार्थहरू थप्नुभयो। त्यहाँका प्राकृतिक सम्पदाहरू प्रशस्त छन्; पूर्वीय जातिका ठूलो सङ्ख्यालाई पालनपोषण गर्न पुग्ने गरी भूभाग पनि विविध र फरक छ। पूर्वलाई पश्चिमबाट यही कुराले पृथक राख्छ कि—दक्षिणदेखि उत्तरसम्म, पूर्वदेखि पश्चिमसम्म—पूर्वको जलवायु पश्चिमको भन्दा राम्रो छ। चार ऋतुहरू स्पष्टसँग छुट्टिन्छन्, तापक्रमहरू सुहाउँदा छन्, प्राकृतिक सम्पदाहरू प्रचुर छन् र प्राकृतिक दृष्य तथा भूभागका प्रकारहरू पश्चिमको भन्दा धेरै नै असल छ। परमेश्‍वरले किन यसो गर्नुभयो? परमेश्‍वरले गोरा मानिसहरू र पहेँला मानिसहरूको बीचमा तर्कसंगत सन्तुलनको सृजना गर्नुभयो। यसको अर्थ के हो? यसको अर्थ यही हो कि गोरा मानिसहरूका खाना, तिनीहरूले प्रयोग गर्ने वस्तुहरू र तिनीहरूका निम्ति उपलब्ध कुराहरूका सबै पक्षहरू पहेँला मानिसहरूले आनन्द लिन सक्ने कुराहरूभन्दा धेरै असल छन्। यद्यपि, परमेश्‍वर कुनै जातिप्रति पक्षपाती हुनुहुन्न। परमेश्‍वरले पहेँला मानिसहरूलाई जिउनको निम्ति अझ सुन्दर र असल वातावरण दिनुभयो। सन्तुलन यही नै हो।

परमेश्‍वरले कुन किसिमका मानिसहरू संसारको कुन भागमा बस्‍नुपर्छ भनेर पहिले नै पूर्वनिर्धारण गर्नुभएको छ; के मानिसहरू यी सीमाहरूदेखि बाहिर जान सक्छन्? (अहँ, सक्दैनन्।) कस्तो आश्‍चर्यजनक कुरा! विभिन्‍न युगहरू वा असाधारण समयहरूमा युद्ध वा अतिक्रमणहरू भए तापनि, ती युद्ध र अतिक्रमणहरूले हरेक जातिको निम्ति परमेश्‍वरले अघिबाटै पूर्वनिर्धारण गर्नुभएको जीवन अस्तित्वको वातावरणलाई कुनै पनि हालतमा नष्ट गर्न सक्दैनन्। अर्थात्, परमेश्‍वरले निश्‍चित किसिमका मानिसहरूको निम्ति संसारको निश्‍चित भाग तोक्‍नुभएको छ र तिनीहरू ती सीमाहरूदेखि बाहिर जान सक्दैनन्। मानिसहरूमा तिनीहरूको क्षेत्र परिवर्तन वा विस्तार गर्ने कुनै किसिमको महत्वाकाङ्क्षा भए तापनि, परमेश्‍वरको अनुमतिविना त्यो कुरा हासिल गर्न धेरै कठिन हुनेछ। यसमा तिनीहरू सफल हुन धेरै कठिन हुनेछ। उदाहरणको निम्ति, गोरा मानिसहरू आफ्नो क्षेत्र विस्तार गर्न चाहन्थे र तिनीहरूले केही अन्य देशहरूलाई उपनिवेश बनाए। जर्मनहरूले केही देशहरूमाथि हमला गरे र बेलायतले एकपल्ट भारतमाथि कब्जा गर्‍यो। यसको परिणाम के भयो? अन्त्यमा तिनीहरू असफल भए। तिनीहरूको असफलताबाट हामी के बुझ्छौँ? परमेश्‍वरले पहिले नै पूर्वनिर्धारण गर्नुभएको कुरालाई नष्ट गर्ने अनुमति छैन। त्यसकारण, तैँले बेलायतको विस्तारले जति नै ठूलो गति लिन सकेको देखेको भए तापनि, भारतको स्वामित्वमा रहेको भूमि छोड्दै, तिनीहरू अन्त्यमा पछि हट्नु नै पर्‍यो। त्यो भूमिमा बस्‍ने मानिसहरू अझै पनि भारतीय नै हुन्, बेलायती होइनन्, किनभने परमेश्‍वरले त्यस्तो अनुमति दिनुहुन्‍न। इतिहास वा राजनीतिशास्‍त्रमा शोध-अध्ययन गर्ने केही व्यक्तिहरूले यसबारेमा शोध-सिद्धान्तहरू उपलब्ध गराएका छन्। तिनीहरूले किन बेलायत असफल भयो भन्‍ने बारेमा कारणहरू दिँदै के भन्छन् भने, केही निश्‍चित जातिमाथि विजय गर्न नसकिने कारणले वा अन्य कुनै मानवीय कारणले यस्तो भएको हुन सक्छ…। यी वास्तविक कारणहरू होइनन्। वास्तविक कारण त परमेश्‍वर हुनुहुन्छ—उहाँले यस्तो हुन दिनुहुन्‍न। परमेश्‍वरले केही निश्‍चित जातिलाई कुनै निश्‍चित भूमिमा निरन्तर जिउन दिनुहुन्छ र तिनीहरूलाई त्यहीँ बसोबास गराउनुहुन्छ, र यदि परमेश्‍वरले तिनीहरूलाई त्यो भूमिबाट अन्यत्र जान दिनुहुन्‍न भने तिनीहरू अन्यत्र जान सक्दैनन्। यदि परमेश्‍वरले तिनीहरूलाई कुनै निश्‍चित क्षेत्र प्रदान गर्नुहुन्छ भने तिनीहरू त्यही क्षेत्रमा जिउनेछन्। मानवजातिले यी निश्‍चित क्षेत्रहरूबाट आफूलाई मुक्त गर्न वा बाहिर निकाल्न सक्दैनन्। यो निश्‍चित छ। अतिक्रमणकारीहरूको शक्ति जति नै ठूलो भए पनि वा अतिक्रमित हुनेहरू जति नै कमजोर भए पनि, अतिक्रमणकारीहरूको सफलता अन्ततः परमेश्‍वरले नै निर्णय गर्नुहुन्छ। यो कुरा उहाँले पहिले नै पूर्वनिर्धारित गरिसक्‍नुभएको हुन्छ र यसलाई कसैले पनि बदल्न सक्दैन।

परमेश्‍वरले विविध जातिहरूलाई माथि उल्लेख गरिएअनुरूप वितरित गर्नुभएको छ। अनि, परमेश्‍वरले जातिहरूलाई वितरित गर्नको लागि के-कस्तो काम गर्नुभएको छ? सबैभन्दा पहिले, उहाँले ठूलो परिमाणको भौगोलिक वातावरण तयार गर्नुभयो र मानिसहरूका लागि विभिन्‍न स्थानहरू तोक्‍नुभयो, र त्यसपछि सोही स्थानहरूमा पुस्तौँपुस्ता हुर्किए। यो कुरा निर्धारित भइसकेको छ—तिनीहरूको अस्तित्वको लागि निश्‍चित क्षेत्र निर्धारित भइसकेको छ। तिनीहरूको जीवन, तिनीहरूले के खान्छन्, तिनीहरूले के पिउँछन्, तिनीहरूको जीविका—ती सबै कुराहरू परमेश्‍वरले धेरै पहिले नै निर्धारित गरिसक्‍नुभएको छ। जब परमेश्‍वरले यावत् थोकको सृष्टि गर्दै हुनुहुन्थ्यो, उहाँले विभिन्‍न प्रकारका मानिसहरूका लागि विभिन्‍न प्रकारका तयारीहरू गर्नुभयो: माटोका विभिन्‍न प्रकारका संरचनाहरू छन्, विभिन्‍न प्रकारका हावापानीहरू छन्, विभिन्‍न वनस्पतिहरू छन् र विभिन्‍न भौगोलिक वातावरणहरू छन्। विभिन्‍न स्थानहरूमा विभिन्‍न चराचुरुङ्गी र वन्यजन्तुहरू छन्, विभिन्‍न प्रकारका पानीहरूमा आ-आफ्नै विशेष प्रकारका माछा र जलउत्पादनहरू छन्। कीराफट्याङ्ग्राहरूको प्रकारसमेत परमेश्‍वरले नै निर्धारण गर्नुहुन्छ। उदाहरणको लागि, अमेरिकी महाद्वीपमा उम्रने कुराहरू सबै एकदमै ठूला, एकदमै अग्ला र एकदमै मजबुत हुन्छन्। हिमाली जङ्गलमा हुने रूखबिरुवाका जराहरू त्यति गहिराइमा जाँदैनन्, तर ती रूखबिरुवाहरू अग्ला हुन्छन्। तिनीहरूको उचाइ सय मिटर वा सोभन्दा बढी पनि हुन्छ तर एशियाका धेरैजसो जङ्गलका रूखबिरुवाहरू त्यति अग्ला हुँदैनन्। उदाहरणको लागि, घ्यू-कुमारी वनस्पतिको कुरा गरौँ। जापानमा तिनीहरू एकदमै साँघुरिएका र पातला हुन्छन् तर संयुक्त राज्यमा हुने घ्यू-कुमारी धेरै ठूला हुन्छन्। यहीँनेर भिन्‍नता छ। यो उही वनस्पति हो, यसको उही नाम छ, तर अमेरिकी महाद्वीपमा यो बढेर एकदमै अग्लो हुन्छ। यी विविध पक्षहरूमा भएका भिन्‍नताहरू मानिसहरूले देख्‍न वा अनुभूति गर्न नसक्लान्, तर जब परमेश्‍वरले यावत् थोकहरू सृष्टि गर्दै हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई छुट्याउनुभयो र फरकफरक जातिहरूको लागि फरकफरक भौगोलिक वातावरणहरू, फरकफरक फाँटहरू र फरकफरक जीवजन्तुहरू तयार गर्नुभयो। परमेश्‍वरले यस्तो किन गर्नुहुन्छ भने उहाँले विभिन्‍न प्रकारका मानिसहरू बनाउनुभएको छ र उहाँलाई तिनीहरू हरेकका आवश्यकताहरू के-कस्ता छन् र तिनीहरूको जीवनशैली के-कस्तो छ भन्‍ने थाहा छ।

परमेश्‍वरले सबैमाथि शासन गर्नुहुन्छ र सबैलाई भरणपोषण गर्नुहुन्छ, उहाँ सबै थोकका परमेश्‍वर हुनुहुन्छ

यी कुराहरूको बारेमा केही कुराकानी गरिसकेपछि, के तिमीहरूले अहिले हामीले भर्खरै छलफल गरेको मुख्य विषयको बारेमा केही थाहा पायौ? के तिमीहरूले यो कुरा बुझ्न सुरु गरेको अनुभूति गर्छौ? मलाई विश्‍वास छ, किन मैले वृहत् विषयअन्तर्गत यी पक्षहरूबारे कुरा गर्ने निर्णय गरेँ भनेर अहिले तिमीहरूलाई मोटामोटी थाहा भइसकेको हुनुपर्छ। के तिमीहरूलाई मोटामोटी थाहा भयो त? सायद तिमीहरूले यसलाई कति बुझ्यौ भनेर अलिअलि कुरा गर्न सक्छौ होला। (सारा मानवजातिले परमेश्‍वरले यावत् थोकको लागि निर्धारण गर्नुभएका नियमहरूद्वारा नै पोषण प्राप्त गर्दै आएका छन्। जब परमेश्‍वरले यी नियमहरू निर्धारण गर्दै हुनुहुन्थ्यो, उहाँले फरकफरक जातिलाई फरकफरक वातावरणहरू, फरकफरक जीवनशैलीहरू, फरकफरक खानाहरू र फरकफरक हावापानी र तापक्रमहरू प्रदान गर्नुभयो। उहाँले यस्तो गर्नुभयो ताकि सारा मानवजाति पृथ्वीमा बसोबास गर्न र बाँच्न सकून्। यसबाट म मानवजातिको अस्तित्वको लागि परमेश्‍वरले बनाउनुभएका योजनाहरू एकदमै सटीक छन् भन्‍ने देख्‍न सक्छु, र म उहाँको बुद्धि र सिद्धता अनि हामी मानिसहरूको लागि उहाँको प्रेम देख्‍न सक्छु।) (परमेश्‍वरले निर्धारित गर्नुभएको व्यवस्था र सीमाहरूलाई कुनै व्यक्ति, घटना वा अन्य कुराहरूले परिवर्तन गर्न सक्दैन। यो सबै उहाँको शासनअन्तर्गत पर्छ।) यावत् थोकको वृद्धिको लागि परमेश्‍वरले निर्धारण गर्नुभएको नियमहरूको दृष्टिकोणबाट हेर्दा, के सम्पूर्ण मानवजातिलाई, यसका सारा विविधताहरूमाझ, परमेश्‍वरद्वारा नै आपूर्ति र पोषण प्रदान गरिएको छैन र? यदि यी नियमहरूलाई नष्ट गरिएको भए वा यदि परमेश्‍वरले मानवजातिका लागि यी नियमहरू स्थापित नगर्नुभएको भए, मानवजातिको भविष्य कस्तो हुन्थ्यो? मानिसहरूले आफ्नो अस्तित्वको आधारभूत वातावरणलाई गुमाएपछि, के तिनीहरूसँग खानाको कुनै स्रोत हुनेथ्यो र? खानाको स्रोत नै समस्या बन्‍ने सम्भावना हुनेथ्यो। यदि मानिसहरूले आफ्नो खानाको स्रोत गुमाए भने, अर्थात् यदि तिनीहरूले कुनै पनि खानेकुरा भेट्टाउन सकेनन् भने, तिनीहरू कति दिनसम्म निरन्तर बाँच्न सक्थे? सम्भवतः तिनीहरू एक महिना पनि टिक्‍न सक्‍नेथिएनन्, र तिनीहरूको अस्तित्व नै समस्या बन्‍नेथ्यो। त्यसैले, मानिसहरू जीवित रहनको लागि, तिनीहरूको निरन्तर अस्तित्व, प्रजनन र जीविकाको लागि, परमेश्‍वरले गर्नुहुने हरेक काम एकदमै महत्त्वपूर्ण छ। परमेश्‍वरले उहाँको सृष्टिका वस्तुहरूमाझ गर्नुहुने हरेक काम मानवजातिको अस्तित्वसँग निकट रूपमा सम्बन्धित र अभिन्‍न छ। यदि मानवजातिको अस्तित्व समस्या बन्यो भने, के परमेश्‍वरको व्यवस्थापन निरन्तर रहन सक्थ्यो? के परमेश्‍वरको व्यवस्थापन अझै अस्तित्वमा रहिरहन सक्थ्यो? परमेश्‍वरको व्यवस्थापन उहाँले पोषण प्रदान गर्नुहुने सम्पूर्ण मानवजातिको अस्तित्वसँग सहअस्तित्वमा रहन्छ, त्यसैले उहाँले उहाँको सृष्टिका यावत् थोकमाझ जे-जस्तो तयारी गर्नुभए पनि र मानिसहरूको लागि जेसुकै गर्नुभए पनि, यी सबै उहाँका लागि आवश्यक छन् र मानवजातिको अस्तित्वको लागि अत्यावश्यक छन्। यदि यावत् थोकको लागि परमेश्‍वरले निर्धारित गर्नुभएका यी नियमहरूलाई छोडियो भने, यदि यी नियमहरूलाई उल्लङ्घन वा भङ्ग गरियो भने, सारा सृष्टि अबउप्रान्त अस्तित्वमा रहनेथिएनन्, मानवजातिको अस्तित्वको लागि रहेको वातावरण निरन्तर अस्तित्वमा हुनेथिएन, न त तिनीहरूको दैनिक भरणपोषण न त मानवजाति आफै नै अस्तित्वमा रहनेथ्यो। यही कारणले गर्दा, परमेश्‍वरले गर्नुहुने मानवजातिको मुक्तिको व्यवस्थापन पनि अस्तित्वबाट हराउनेथ्यो।

हामीले छलफल गरेको हरेक कुरा, हरेक चीज, हरेक वस्तु घनिष्ठ रूपमा हरेक व्यक्तिको अस्तित्वसँग जोडिएको छ। तिमीहरूले भन्छौ होला, “तपाईंले भनिरहनुभएको कुरा अत्यन्तै विशाल छ, यो कुरा हामीले देख्‍न सक्‍ने कुरा होइन,” र सायद यसो भन्‍ने मानिसहरू पनि छन् होला, “तपाईंले जे भनिरहनुभएको छ त्यससँग मेरो कुनै सम्बन्ध छैन।” तथापि, यो कुरा नबिर्सी कि तँ केवल यावत् थोकको एउटा भागको रूपमा बाँचिरहेको छस्; तँ परमेश्‍वरको शासनअन्तर्गत सृष्टि गरिएका यावत् थोकहरूमध्येको एक होस्। परमेश्‍वरको सृष्टिका कुराहरूलाई उहाँको नियमबाट अलग गर्न सकिँदैन र कुनै पनि व्यक्तिले आफैलाई उहाँको नियमबाट अलग गर्न सक्दैन। उहाँको नियम गुमाउनु र उहाँको प्रबन्ध गुमाउनुको अर्थ मानिसहरूका जीवनहरू, मानिसहरूका दैहिक जीवनहरू गायब हुनु हो। मानवजातिको अस्तित्वको निम्ति परमेश्‍वरले वातावरणहरू स्थापना गर्नुको महत्त्व यही हो। तँ कुन जातिको होस् वा तँ कुन जमिनको टुक्रामा बस्छस् भन्‍ने कुराले केही महत्त्व राख्दैन, चाहे पश्‍चिम होस् वा पूर्व—तैँले परमेश्‍वरले मानवजातिको अस्तित्वको निम्ति स्थापना गर्नुभएको वातावरणबाट आफैलाई अलग गर्न सक्दैनस् र मानवहरूको अस्तित्वको निम्ति उहाँले स्थापना गर्नुभएको पालनपोषण र वातावरणको प्रबन्धदेखि तैँले आफैलाई अलग गर्न सक्दैनस्। तेरो जीविकोपार्जनको माध्यम जे सुकै भए पनि, बाँच्‍नको निम्ति र देहमा तेरो जीवन धान्‍नको निम्ति तँ जेमा भर परे पनि, तैँले परमेश्‍वरको नियम र उहाँको व्यवस्थापनदेखि आफैलाई अलग गर्न सक्दैनस्। कतिपय मानिसहरू भन्छन्: “म किसान होइन; म बाँच्नको लागि बाली लगाउँदिन। म आफ्नो खानाको लागि स्वर्गमा निर्भर हुँदिन, त्यसैले परमेश्‍वरले स्थापना गर्नुभएको जीवन-अस्तित्वको वातावरणभित्र मेरो जीवनको अस्तित्व रहेको छैन। मलाई त्यस प्रकारको वातावरणले केही पनि दिएको छैन।” के त्यो सही हो? तँ भन्छस् कि तँ बाँच्नको लागि बाली लगाउँदैनस्, तर के तँ अन्‍न खाँदैनस्? के तँ मासु र अण्डा खाँदैनस्? अनि के तँ सागसब्जी र फलफूल खाँदैनस्? तैँले खाने हरेक कुरा, तँलाई आवश्यक पर्ने सबै कुरा परमेश्‍वरले मानवजातिको लागि स्थापना गर्नुभएको जीवन-अस्तित्वको वातावरणसँग अभिन्‍न छन्। अनि मानवजातिलाई आवश्यक पर्ने सबै कुराहरूको स्रोत परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोकहरूसँग अभिन्‍न छन्, र समग्र रूपमा यी सबै कुराहरू मिलेर तेरो जीवन-अस्तित्वको वातावरण बन्छ। तैँले पिउने पानी, तैँले लगाउने वस्‍त्र र तैँले प्रयोग गर्ने सबै कुरा—यीमध्ये कुनचाहिँ परमेश्‍वरको सृष्टिका कुराहरूबाट प्राप्त गरिँदैनन् र? कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वरको सृष्टिका कुराहरूबाट प्राप्त नगरिने कुराहरू पनि छन्। तपाईं हेर्नुस् न, प्लास्टिक तीमध्ये एउटा हो। यो रासायनिक पदार्थ हो, मानिसले बनाएको कुरा हो।” के त्यो सही हो? प्लास्टिक वास्तवमा मानिसले बनाएको हो, र यो एक रासायनिक पदार्थ हो, तर प्लास्टिक बन्‍ने मूल तत्वहरू कहाँबाट आए? ती मूल तत्वहरू परमेश्‍वरले सृष्टि गर्नुभएका पदार्थहरूबाट प्राप्त गरिएका थिए। तैँले देख्‍ने र आनन्द लिने कुराहरू, तैले प्रयोग गर्ने सबै कुराहरू, ती सबै नै परमेश्‍वरले सृष्टि गर्नुभएका पदार्थहरूबाट प्राप्त गरिन्छन्। भन्‍नुको अर्थ, मानिस जुनसुकै जातिमा पर्ने भए पनि, तिनीहरूको जीविका जस्तोसुकै भए पनि वा तिनीहरू जुनसुकै प्रकारको जीवन-अस्तित्वको वातावरणमा बाँचे पनि, तिनीहरूले परमेश्‍वरले उपलब्ध गराउनुभएका कुराहरूबाट आफूलाई अलग्याउन सक्दैनन्। त्यसो भए, हामीले आज छलफल गरेका यी कुराहरू “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने हाम्रो विषयसँग सम्बन्धित छन्? के हामीले आज छलफल गरेका यी कुराहरू यो बृहत् विषयअन्तर्गत पर्छन्? (पर्छन्।) सायद मैले आज बताएकामध्ये केही कुराहरू अलि अमूर्त र छलफल गर्न गाह्रो होलान्। तथापि, मलाई लाग्छ, तिमीहरूले अहिले यसबारेमा अलि बढी बुझिसकेका छौ।

सङ्गतिका यी पछिल्ला केही समयहरूमा, हामीले सङ्गति गरेका विषयहरूको दायरा अलि फराकिलो र तिनीहरूको क्षेत्र व्यापक रहँदै आएको छ, त्यसैले तिमीहरूले यी सबैलाई बुझ्‍नको लागि केही प्रयत्‍न गर्नुपर्ने हुन्छ। किनभने यी विषयहरू परमेश्‍वरप्रतिको मानिसहरूको विश्‍वासमा पहिले कहिल्यै पनि व्याख्या नगरिएका कुराहरू हुन्। केही मानिसहरूले यी कुराहरूलाई रहस्यको रूपमा सुन्दै आएका छन् र केही मानिसहरूले चाहिँ यिनलाई कथाको रूपमा सुन्दै आएका छन्—कुन दृष्टिकोणचाहिँ सही छ? यी सबै कुरालाई तिमीहरूले कुन दृष्टिकोणबाट सुन्दै आएका छौ? (परमेश्‍वरले कति विधिवत् रूपमा उहाँको सृष्टिका यावत् थोकलाई व्यवस्थित रूपमा मिलाएर राख्‍नुभएको छ, र यावत् थोकका नियमहरू छन् भनी हामीले देखेका छौं, र यी वचनहरूमार्फत हामीले परमेश्‍वरका कार्यहरू र मानवजातिको मुक्तिको लागि उहाँका सावधानीपूर्ण बन्दोबस्तहरूलाई बुझ्न सक्छौं।) सङ्गतिका यी समयहरूमा, के तिमीहरूले यावत् थोकमाथिको परमेश्‍वरको व्यवस्थापनको क्षेत्र कति टाढासम्म फैलिएको छ भन्‍ने देख्यौ त? (सम्पूर्ण मानवजातिमाथि, सबै कुरामाथि।) के परमेश्‍वर एउटा जातिको मात्रै परमेश्‍वर हुनुहुन्छ? के उहाँ एक प्रकारका मानिसहरूको मात्र परमेश्‍वर हुनुहुन्छ? के उहाँ मानवजातिको एक सानो भागको मात्र परमेश्‍वर हुनुहुन्छ? (होइन, उहाँ त्यस्तो हुनुहुन्‍न।) त्यस्तो अवस्था नभएको हुनाले, यदि परमेश्‍वरसम्‍बन्धी तिमीहरूको ज्ञानअनुसार उहाँ मानवजातिको एक सानो भागको मात्र परमेश्‍वर हुनुहुन्छ भने वा उहाँ केवल तिमीहरूको मात्र परमेश्‍वर हुनुहुन्छ भने, के यो दृष्टिकोण सही हुन्छ त? परमेश्‍वरले यावत् थोकको व्यवस्थापन र तीमाथि शासन गर्नुहुने भएकोले, मानिसहरूले यावत् थोकमाथिको उहाँको शासनमा प्रकट हुने उहाँका कार्यहरू, उहाँको बुद्धि, र उहाँको सर्वशक्तिमान्‌तालाई देख्‍नुपर्छ। यो कुरा मानिसहरूले जान्‍नुपर्ने कुरा हो। यदि तैँले परमेश्‍वरले यावत् थोकको व्यवस्थापन र सम्पूर्ण मानवजातिमाथि शासन गर्नुहुन्छ भनेर भन्छस् तर तँसँग मानवजातिमाथिको उहाँको शासनको बारेमा कुनै अन्तर्दृष्टि छैन भने, के तैँले परमेश्‍वरले यावत् थोकमाथि शासन गर्नुहुन्छ भनी साँचो रूपले स्वीकार गर्न सक्छस् र? तैँले आफ्नो हृदयमा सोच्न सक्छस्, “म सक्छु, किनभने मैले मेरो जीवनलाई सम्पूर्ण रूपमा परमेश्‍वरले शासन गर्नुभएको देख्छु।” तर के परमेश्‍वर साँच्‍चै त्यति सानो हुनहुन्छ? होइन, उहाँ सानो हुनुहुन्‍न! तैँले केवल तेरो निम्ति परमेश्‍वरले प्रदान गर्नुहुने मुक्ति देख्छस्, तँमा उहाँले गर्नुहुने काम देख्छस् र तैँले यी कुराहरूबाट मात्रै उहाँको शासनलाई देख्छस्। यो त क्षेत्रको हिसाबमा अति सानो छ र यसले परमेश्‍वरसम्‍बन्धी साँचो ज्ञान पाउने तेरो सम्भावनामा प्रतिकूल प्रभाव पार्छ। यसले यावत् थोकमाथिको परमेश्‍वरको शासनबारे तेरो साँचो ज्ञानलाई पनि सीमित तुल्याउँछ। यदि तैँले परमेश्‍वरसम्‍बन्धी तेरो ज्ञानलाई परमेश्‍वरले तेरो लागि प्रबन्ध गर्नुहुने कुराहरू र तँलाई उहाँले प्रदान गर्नुहुने मुक्तिमा मात्रै सीमित गर्छस् भने, तँ उहाँले हरेक कुरामाथि शासन गर्नुहुन्छ, यावत् थोकमाथि शासन गर्नुहुन्छ र सम्पूर्ण मानवजातिमाथि शासन गर्नुहुन्छ भन्‍ने कुरा पहिचान गर्न कहिल्यै सक्षम हुनेछैनस्। जब तँ यी सबै कुराहरू पहिचान गर्न असफल हुन्छस्, के साँच्‍चै नै तैँले तेरो नियतिमाथि परमेश्‍वरले शासन गर्नुहुन्छ भन्‍ने तथ्यलाई पहिचान गर्न सक्छस्? अहँ, तैँले सक्दैनस्। तेरो हृदयमा तैँले कहिल्यै पनि त्यो पक्षलाई पहिचान गर्न सक्‍नेछैनस्—तँ कहिल्यै पनि बुझाइको त्यति उच्‍च तहमा पुग्‍न सक्‍नेछैनस्। मैले जे भनिरहेको छु त्यो तैँले बुझ्दैछस्, हो? वास्तवमा, तिमीहरूले यी विषयहरूको बारेमा, मैले बोलिरहेको यो विषयवस्तुको बारेमा, कति हदसम्म बुझ्न सक्छौ भन्‍ने मलाई थाहा छ, त्यसो भए म किन यसबारेमा निरन्तर बोलिरहेको छु त? किनभने यी विषयहरू परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिले, परमेश्‍वरबाट मुक्ति प्राप्त गर्न चाहने हरेक व्यक्तिले बुझ्‍नुपर्ने कुराहरू हुन्—यी विषयहरूलाई बुझ्‍न अत्यावश्यक छ। यस क्षणमा तैँले यी कुराहरू नबुझ्ने भए पनि, कुनै दिन जब तेरो जीवन र सत्यतासम्‍बन्धी तेरो अनुभव कुनै निश्‍चित तहमा पुग्छ, जब तेरो जीवन स्वभावको परिवर्तन कुनै निश्‍चित तहमा पुग्छ र तैँले कुनै निश्‍चित कद हासिल गर्छस्, तब मात्र सङ्गतिमा मैले कुरा गरिरहेका यी विषयहरूले परमेश्‍वरसम्‍बन्धी ज्ञानको तेरो खोजीलाई साँचो रूपले भरणपोषण र परिपूर्णता प्रदान गर्नेछन्। यसकारण, यी वचनहरू यावत् थोकमाथि परमेश्‍वरले शासन गर्नुहुन्छ भन्‍नेबारे तिमीहरूको भावी बुझाइको लागि र परमेश्‍वर स्‍वयम्‌सम्‍बन्धी तिमीहरूको बुझाइको लागि जग बसाल्न र तिमीहरूलाई तयार गर्नको लागि हुन्।

मानिसहरूको हृदयमा परमेश्‍वरसम्‍बन्धी बुझाइ जति धेरै हुन्छ, उहाँको स्थान पनि तिनीहरूको हृदयमा त्यति नै मात्रामा रहन्छ। तिनीहरूको हृदयमा परमेश्‍वरबारेको ज्ञानको परिमाण जति ठूलो हुन्छ, परमेश्‍वर पनि तिनीहरूको हृदयमा त्यति नै ठूलो हुनुहुन्छ। यदि तैँले जानेको परमेश्‍वर खाली र अस्पष्ट हुनुहुन्छ भने तैँले विश्‍वास गरेको परमेश्‍वर पनि खाली र अस्पष्ट नै हुनुहुन्छ। तैँले जानेको परमेश्‍वर तेरो आफ्नै व्यक्तिगत जीवनको आयाममा सीमित हुनुहुन्छ र साँचो परमेश्‍वर स्वयम्‌सँग त्यसको कुनै सम्बन्ध हुँदैन। त्यसैले, परमेश्‍वरका व्यावहारिक कार्यहरूको बारेमा जान्‍नु, परमेश्‍वरको वास्तविकता र उहाँको सर्वशक्तिमान्‌ताको बारेमा जान्‍नु, परमेश्‍वर स्वयम्‌को साँचो पहिचानको बारेमा जान्‍नु, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सोबारेमा जान्‍नु, उहाँका सृष्टिका सबै थोकहरूमाझ उहाँले प्रकट गर्नुभएका कार्यहरूको बारेमा जान्‍नु—यी कुराहरू परमेश्‍वरको ज्ञानलाई पछ्याउने हरेक व्यक्तिको निम्ति धेरै महत्त्वपूर्ण छन्। मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन् कि सक्दैनन् भन्‍नेबारेमा तिनीहरूको प्रत्यक्ष सम्बन्ध छ। यदि तैँले परमेश्‍वरसम्‍बन्धी तेरो बुझाइलाई वचनहरूमा मात्र सीमित गरिस् भने, यदि तैँले यसलाई तेरा आफ्नै थोरै अनुभवहरूमा सीमित गरिस् भने, परमेश्‍वरको अनुग्रह के हो भनेर तैँले ठानेको कुरा वा परमेश्‍वरसम्‍बन्धी तेरा थोरै गवाहीहरूमा सीमित गरिस् भने, म त भन्छु तैँले विश्‍वास गरेको परमेश्‍वर कदापि साँचो परमेश्‍वर स्वयम्‌ हुनुहुन्‍न। यति मात्र होइन, तैँले विश्‍वास गरेको परमेश्‍वर काल्पनिक परमेश्‍वर हुनुहुन्छ, साँचो परमेश्‍वर हुनुहुन्‍न भनेर पनि भन्‍न सकिन्छ। यो किन हो भने साँचो परमेश्‍वर उहाँ नै हुनुहुन्छ जसले हरेक थोकमाथि शासन गर्नुहुन्छ, हरेक थोकको माझमा हिँड्नुहुन्छ र हरेक थोकको व्यवस्थापन गर्नुहुन्छ। सारा मानवजाति र हरेक थोकको नियति आफ्नै हातले सम्हाल्‍ने उहाँ नै हुनुहुन्छ। मैले बताइरहेको परमेश्‍वरका काम र कदमहरू मानिसहरूको सानो हिस्सामा मात्र सीमित छैनन्। अर्थात्, ती अहिले उहाँलाई पछ्याउने मानिसहरूमा मात्र सीमित छैनन्। उहाँका कार्यहरू सबै थोकहरूको माझमा, सबै थोकहरूको अस्तित्वमा र सबै थोकहरूको परिवर्तनको नियमहरूमा प्रकट भएका छन्। यदि तैँले परमेश्‍वरका सृष्टिका सबै थोकहरूको माझमा उहाँका कार्यहरूलाई देख्‍न वा पहिचान गर्न सक्दैनस् भने, तँ उहाँका कुनै पनि कार्यहरूको गवाही बन्‍न सक्दैनस्। यदि तँ परमेश्‍वरको निम्ति गवाही बन्‍न सक्दैनस् भने, यदि तैँले आफूले जानेको, तेरा आफ्नै विचारहरू र तेरो दिमागको साँघुरो घेराभित्र सीमित, सानो तथाकथित “परमेश्‍वर” को बारेमा निरन्तर बोल्छस् भने, यदि तैँले त्यस प्रकारको परमेश्‍वरको बारेमा निरन्तर कुरा गर्छस् भने, परमेश्‍वरले तेरो विश्‍वासको कहिले पनि प्रशंसा गर्नुहुनेछैन। तँ परमेश्‍वरको गवाही बन्दा, यदि तैँले परमेश्‍वरको अनुग्रहमा कसरी आनन्द लिन्छस्, उहाँको अनुशासन र ताडनालाई तैँले कसरी स्वीकार गर्छस्, उहाँसम्‍बन्धी तेरो गवाहीमा कसरी उहाँका आशिष्‌हरूको आनन्द लिन्छस् भन्‍ने आधारमा मात्र तैँले यसो गरिस् भने, त्यो कुनै पनि हालतमा यथेष्ट हुँदैन र उहाँलाई सन्तुष्टि दिने कुराको नजिक पनि हुँदैन। यदि तँ उहाँको इच्छासँग मेल खाने तवरले परमेश्‍वरको गवाही बन्‍न चाहन्छस् भने, साँचो परमेश्‍वर स्वयम्‌को गवाही बन्‍न चाहन्छस् भने, तैँले उहाँका कार्यहरूबाट परमेश्‍वरसँग जे छ र परमेश्‍वर जो हुनुहुन्छ सो देख्‍नुपर्छ। उहाँले हरेक थोकलाई नियन्त्रणमा लिनुभएको कुराबाट तैँले परमेश्‍वरको अख्तियार देख्‍नुपर्छ र उहाँले सारा मानवजातिको निम्ति कसरी प्रबन्ध गर्नुहुन्छ भन्‍ने सत्यता देख्‍नुपर्छ। तेरो दैनिक जीविका र तेरो जीवनका आवश्यकताहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने कुरा मात्र तैँले स्वीकार गर्छस्, तर परमेश्‍वरले सारा मानवजातिको प्रबन्धको निम्ति उहाँका सृष्टिका सबै थोक लिनुभएको छ भन्‍ने सत्यता र सबै थोकमाथि शासन गर्दै उहाँले सबै मानवजातिको अगुवाइ गर्दै हुनुहुन्छ भन्‍ने कुरालाई देख्‍दैनस् भने, तैँले कहिल्यै पनि परमेश्‍वरको गवाही दिन सक्‍नेछैनस्। यो सबै भन्‍नुपछाडिको मेरो उद्देश्य के हो? मैले यस्तो गरेँ ताकि तिमीहरूले यसलाई हल्‍का रूपमा नलेओ, मैले बोलेका यी विषयहरू तिमीहरूको व्यक्तिगत जीवन प्रवेशसित अप्रासङ्गिक छन् भनेर गलत तवरले विश्‍वास नगर र यी विषयहरूलाई एक किसिमको ज्ञान वा सिद्धान्तको रूपमा मात्र नलेओ। यदि मैले भनेको कुरालाई त्यस किसिमको मनोवृत्तिको साथ सुन्यौ भने, तिमीहरूले एउटा कुरा पनि प्राप्त गर्नेछैनौ। तिमीहरूले परमेश्‍वरलाई चिन्‍ने यो महान् मौका गुमाउनेछौ।

यी सबै कुराहरू बताउनुपछाडिको मेरो लक्ष्य के हो त? मेरो लक्ष्य मानिसहरूलाई परमेश्‍वर चिन्‍ने बनाउनु हो, मानिसहरूलाई परमेश्‍वरका व्यावहारिक कार्यहरू बुझ्ने तुल्याउनु हो। जब तैँले परमेश्‍वर र उहाँका कार्यहरूलाई बुझ्छस्, तब मात्र तैँले उहाँलाई चिन्‍ने अवसर वा सम्भावना हुन्छ। उदाहरणको लागि, यदि तैँले कुनै व्यक्तिलाई बुझ्न चाहन्थिस् भने, तैँले उसलाई कसरी बुझ्नेथिस्? के त्यो उसको बाह्य रूपलाई हेरेर हुन्थ्यो? के त्यो उसले के-कस्तो वा के-कसरी कपडा लगाउँछ भनी हेरेर हुन्थ्यो? के यो ऊ कसरी हिँड्छ भनी हेरेर हुन्थ्यो? के त्यो तिनीहरूको ज्ञानको दायरालाई हेरेर हुन्थ्यो? (होइन।) त्यसो भए, तँ कुनै व्यक्तिलाई कसरी बुझ्छस्? तैँले व्यक्तिको बोली र व्यवहार, तिनीहरूको विचार र तिनीहरूले व्यक्त गर्ने कुराहरू वा आफ्नै बारेमा गरेका खुलासाहरूलाई हेरेर त्यसको आधारमा तिनीहरूको मूल्याङ्कन गर्छस्। यसप्रकार तैँले कुनै व्यक्तिलाई चिन्‍न पुग्छस्, कुनै व्यक्तिलाई बुझ्न पुग्छस्। त्यसै गरी, यदि तिमीहरूले परमेश्‍वरलाई चिन्‍न चाहन्छौ भने, यदि तिमीहरू उहाँको व्यावहारिक पक्ष, उहाँको साँचो पक्षलाई बुझ्न चाहन्छौ भने, तिमीहरूले उहाँलाई उहाँका कार्यहरूमार्फत र उहाँले गर्नुहुने हरेक व्यावहारिक कुरामार्फत चिन्‍नुपर्छ। यो नै सर्वोत्तम तरिका हो, र यो नै एक मात्र तरिका हो।

मानवजातिलाई जीवन-अस्तित्वको स्थिर वातावरण प्रदान गर्नको लागि परमेश्‍वरले यावत् थोकहरू बीचको सम्बन्धहरूलाई सन्तुलित गर्नुहुन्छ

परमेश्‍वरले यावत् थोकमाझ उहाँका कार्यहरू प्रकट गर्नुहुन्छ र यावत् थोकमाथि शासन गर्नुहुन्छ र यावत् थोकको नियम-व्यवस्थालाई नियन्त्रण गर्नुहुन्छ। हामीले भर्खरै मात्र परमेश्‍वरले कसरी यावत् थोकको नियम-व्यवस्था नियन्त्रण गर्नुहुन्छ र साथै उहाँले यी नियम-व्यवस्था अन्तर्गत सम्पूर्ण मानवजातिलाई कसरी आपूर्ति र भरण-पोषण प्रदान गर्नुहुन्छ भन्‍ने बारेमा कुरा गर्‍यौं। यो एउटा पक्ष हो। यसपछि, हामी अर्को पक्षको बारेमा कुरा गर्न गइरहेका छौँ जुन परमेश्‍वरले सबै कुरामाथि नियन्त्रण कायम गर्नको लागि प्रयोग गर्नुहुने तरिका हो। म परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभएपछि तिनिहरुबीचको सम्बन्धलाई कसरी सन्तुलित गर्नुभयो भन्‍नेबारेमा कुरा गर्दैछु। यो पनि तिमीहरूको लागि अलि ठूलो विषय हो। यावत् थोक बीचको सम्बन्धलाई सन्तुलित गर्नु—के यो मानिसहरूले हासिल गर्न सक्ने कुरा हो त? होइन, मानिसहरूले यस्तो उपलब्धि प्राप्त गर्न सक्दैनन्। मानिसहरूले विनाश गर्न मात्र सक्छन्। तिनीहरू यावत् थोकहरु बीचको सम्बन्धलाई सन्तुलनमा राख्न सक्दैनन्; तिनीहरूले ती कुराहरूको व्यवस्थापन गर्न सक्दैनन् र त्यस्तो ठूलो अख्तियार र शक्ति मानवजातिको पकडभन्दा बाहिर छ। परमेश्‍वर स्‍वयम्‌सँग मात्र यस प्रकारको कार्य गर्न सक्ने शक्ति छ। तर यस्तो कार्य गर्नुमा परमेश्‍वरको के उद्देश्य छ—यो केको लागि हो? यो पनि मानवजातिको जीवन-अस्तित्वसँग सम्बन्धित छ। परमेश्‍वरले गर्न चाहनुहुने हरेक कुरा जरुरी छन्—उहाँले गर्न पनि सक्ने वा नगर्न पनि सक्ने कुनै कुरा नै छैन। उहाँले मानवजातिको जीवन-अस्तित्वलाई सुरक्षा गर्न र मानिसहरूलाई बाँच्नको लागि अनुकूल वातावरण प्रदान गर्न, उहाँले केही अपरिहार्य, अत्यावश्यक कार्यहरू गर्नुपर्छ।

“परमेश्‍वरले यावत् थोकलाई सन्तुलन गर्नुहुन्छ” भन्‍ने पदावलीको शाब्दिक अर्थबाट यो एकदमै फराकिलो विषय हो जस्तो देखिन्छ। सबभन्दा पहिले, यसले मानिसहरूलाई “यावत् थोकलाई सन्तुलन गर्ने” कुराले यावत् थोकमाथि परमेश्‍वरको आधिपत्यलाई जनाउँछ भन्‍ने अवधारणा प्रदान गर्छ। “सन्तुलन गर्नु” भन्नुको अर्थ के हो? सबभन्दा पहिले, “सन्तुलन गर्नु” ले कुनै कुरालाई सन्तुलनबाहिर जान नदिनु भन्‍ने जनाउँछ। यो भनेको चीजबीजहरूको तौल लिन तराजु प्रयोग गर्नु जस्तै हो। तराजुलाई सन्तुलन गर्न दुवैतिर राखिने तौल उही हुनुपर्छ। परमेश्‍वरले विविध प्रकारका कुराहरू सृष्टि गर्नुभयो: आफ्नै स्थानमा स्थिर गरिएका कुराहरू, चहलपहल गर्ने कुराहरू, जीवित रहेका कुराहरू, सास फेर्ने कुराहरू, र साथसाथै सास नफेर्ने कुराहरू। के यी सबै कुराहरूले एक-अर्कालाई सुदृढ पनि पार्ने र एक-अर्कालाई नियन्त्रण पनि गर्ने गरी एक-अर्काबीचमा अन्तर्निर्भरता वा परस्पर सम्बद्धताको सम्बन्ध हासिल गर्न सजिलो छ त? यी सबै कुराहरूभित्र अवश्य पनि सिद्धान्तहरू छन्, तर तिनीहरू निकै जटिल छन्, छैनन् त? परमेश्‍वरको लागि यो मुस्किल छैन, तर मानिसहरूका लागि यो अध्ययन गर्नुपर्ने अत्यन्तै जटिल विषय हो। “सन्तुलन गर्नु” एकदमै सरल शब्द हो। तथापि, यदि मानिसहरूले यसबारेमा अध्ययन गर्नुपर्‍यो भने, र यदि मानिसहरूले आफैले सन्तुलन सृजना गर्नुपर्ने भयो भने, सबै विधाका प्राज्ञिक वर्ग अर्थात् मानव-जीवविज्ञानवेत्ता खगोलशास्त्री, भौतिकविज्ञानवेत्ता, रसायनशास्त्री र इतिहासशास्त्रीहरू समेतले काम गरे भने पनि यस्तो शोध-अध्ययनको अन्तिम नतिजा के नै हुन्थ्यो र? यसको नतिजा केही पनि हुँदैनथियो। किनभने परमेश्‍वरले गर्नुभएको यावत् थोकको सृष्टि अत्यन्तै अविश्‍वसनीय छ र मानवजातिले यसका रहस्यहरूलाई कहिल्यै पनि खोतल्न सक्नेछैनन्। जब परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभयो, उहाँले तिनीहरूको बीचमा सिद्धान्त स्थापित गर्नुभयो, परस्पर नियन्त्रण, परिपूरकता र भरणपोषणको लागि जीवन-अस्तित्वका विभिन्न तौरतरिकाहरू स्थापित गर्नुभयो। यी विभिन्न तौरतरिकाहरू एकदमै जटिल छन् र तिनीहरू निश्चय पनि सरल वा एकदिशात्मक छैनन्। मानिसहरूले आफ्नो मनमस्तिष्क, आफूले हासिल गरेका ज्ञान र आफूले अवलोकन गरेका घटनाहरूलाई यावत् थोकमाथि परमेश्‍वरको नियन्त्रण हुनुपछाडिका सिद्धान्तहरूलाई पुष्टि वा अध्ययन गर्नको लागि प्रयोग गर्दा, यी कुराहरू पत्ता लगाउन असाध्यै मुस्किल छन्, र कुनै पनि परिणाम हासिल गर्न पनि अत्यन्तै मुस्किल छ। मानिसहरूले कुनै पनि परिणाम हासिल गर्न एकदमै गाह्रो छ; परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोकमाथि शासन गर्न मानव सोचविचार र ज्ञानमा निर्भर रहेर मानिसहरूले तिनीहरूलाई सन्तुलित गर्न अत्यन्तै मुस्किल छ। किनभने यदि मानिसहरूले सबै कुराहरूको जीवन-अस्तित्वका सिद्धान्तहरू जान्दैनन् भने, तिनीहरूले यस प्रकारको सन्तुलनलाई कसरी सुरक्षा गर्ने भन्‍ने जान्दैनन्। त्यसकारण, यदि मानिसहरूले यावत् थोकहरूलाई व्यवस्थापन र शासन गर्नुपर्‍यो भने, तिनीहरूले यो सन्तुलनलाई नाश गर्ने सम्भावना एकदमै अधिक हुन्थ्यो। सन्तुलन नाश हुनेबित्तिकै, मानवजातिको जीवन-अस्तित्वको वातावरण नाश हुन्थ्यो, र जब त्यस्तो हुन्थ्यो, तब यसपछि लगत्तै मानवजातिको जीवन-अस्तित्वको निम्ति संकष्ट आउँथ्यो। यसले विपत्ति ल्याउँथ्यो। यदि मानवजाति विपत्तिमाझ जिइरहेको छ भने, तिनीहरूको भविष्य कस्तो हुन्थ्यो होला? यसको परिणाम लेखाजोखा गर्न एकदमै गाह्रो हुन्थ्यो, र निश्चितताका साथ अनुमान गर्न असम्भव हुन्थ्यो।

त्यसो भए, परमेश्‍वरले यावत् थोकहरूबीचको सम्बन्धहरूलाई कसरी सन्तुलन गर्नुहुन्छ त? पहिलो, संसारमा यस्ता केही ठाउँहरू छन् जुन वर्षैभरि बरफ र हिउँले ढाकिएका हुन्छन्, जबकि अन्य ठाउँहरूमा चार वटै ऋतु वसन्तजस्ता हुन्छन् र शिशिर याम कहिल्यै पनि आउँदैन र यस्ता ठाउँहरूमा तिमीहरूले कहिल्यै पनि बरफले कतै-कतै ढाकेको वा हिउँ फुसफुसाएको देख्नेछैनौं। यहाँ, हामी बृहत् जलवायुको बारेमा कुराकानी गर्दैछौं र यो उदाहरण परमेश्‍वरले यावत् थोक बीचको सम्बन्धहरूमा सन्तुलन ल्याउनुहुने धेरै तरिकाहरूमध्येको एक हो। दोस्रो तरिका यस्तो छ: एक थरी पहाडका श्रृंखलाहरू हरियालीमा ढाकिएको छ, भुइँभरि सबै प्रकारका बोटबिरुवाहरू कार्पेट बिछ्याइएजस्तै गरी रहेका छन्, जङ्गलको क्षेत्र यति बाक्ला छन् कि जङ्गलबाट हिँड्दाखेरि माथि घाम नै देख्न सकिन्न। तर अर्कोथरि पहाडका श्रृंखलाहरूलाई हेर्ने हो भने त्यहाँ घाँसको एउटा पात पनि उम्रेको हुँदैन, केवल उजाड, अस्तव्यस्त पहाडको एकपछि अर्को पत्रहरू मात्र हुन्छन्। बाहिरी रूपमा, दुवै प्रकारका पहाडहरू आधारभूत रूपमा धूलो पदार्थको ठूलो थुप्रो लागेर पहाड बनेका हुन् तर एउटाचाहिँ बाक्लो जङ्गलले ढाकिएको हुन्छ भने अर्कोचाहिँ वनबुट्यान विहीन, घाँसको एउटा पात पनि नभएको हुन्छ। परमेश्‍वरले यावत् थोक बीचको सम्बन्धहरूलाई सन्तुलित गर्नुहुने दोस्रो तरिका यही हो। तेस्रो तरिका यस्तो छ: एकातिर हेर्दा तिमीहरूले अन्तहीन घाँसे मैदान, छालजस्तै तरङ्गित हुने हरियाली देख्न सक्छौ। अर्कोतिर हेर्दा भने तिमीहरूले आँखाले देखेसम्‍म टाढासम्मै मरुभूमि, उजाड ठाउँ, हावाले बालुवा उडाउँदा आउने सुइँय्यँ-सुइँय्यँ आवाजमाझ एउटा पनि जीवित कुरो नभएको, अनि पानी त थोपै नभएको देख्न सक्छौ। चौथो तरिका यस्तो छ: एकातिर हेर्दा सब थोक सागर, पानीको त्यो विशाल आयाममुनि डुबेको देखिन्छ भने अर्कोतिर हेर्दा तिमीहरूले ताजा फोहराको एक थोपा पानी भेट्न पनि ज्यान दिनुपर्छ। पाँचौँ तरीका यस्तो छ: यतातिरको भूमिमा पानी परेको परेकै गर्छ र जलवायु एकदमै कुहिरो लाग्ने र आर्द्रतापूर्ण हुन्छ जबकि अर्कोतिरको भूमिमा आकाशमाथि एकदमै कडा घाम छ र पानीको एक थोपा पर्नु भनेको एकदमै दुर्लभ घटना हुन्छ। छैटौँ तरिका यस्तो छ: एउटा ठाउँमा पठार छ जहाँ हावा एकदमै पातलो छ र त्यहाँ मानिसलाई सास फेर्न एकदमै गाह्रो हुन्छ जबकि अर्को ठाउँमा दलदले र होचो भूमि छ जसले बसाइँ सर्दै हिँड्ने विभिन्न प्रकारका चराचुरुङ्गीहरूको बासस्थानको काम गर्छ। यिनीहरू विभिन्न प्रकारका जलवायुहरू हुन् वा यिनीहरू विभिन्न भौगोलिक वातावरणहरूसँग मेल खाने जलवायु वा वातावरणहरू हुन्। भन्नुको अर्थ, परमेश्‍वरले मानवजातिको लागि जीवन-अस्तित्वको आधारभूत वातावरणलाई बृहत् वातावरणको हिसाबमा सन्तुलन गर्नुहुन्छ, हावापानीदेखि भौगोलिक वातावरणसम्म र माटोका विभिन्न तत्वहरूदेखि पानीका स्रोतहरूको संख्यासम्मका कुराहरू सबै नै मानिसहरू बाँच्ने हावा, तापक्रम र आर्द्रतामा सन्तुलन ल्याउनको लागि सन्तुलन गर्नुहुन्छ। यी बिलकुलै फरक-फरक भौगोलिक वातावरणहरूको कारणले गर्दा नै मानिसहरूले स्थिर हावा प्राप्त गर्छन्, र विभिन्न ऋतुहरूको तापक्रम र आर्द्रता स्थिर रहन्छ। यसले मानिसहरूलाई तिनीहरू सधैँ जीवन-अस्तित्वको जुन वातावरणमा जिउँदै आएका थिए सोही प्रकारको वातावरणमा निरन्तर जिउन सक्षम तुल्याउँछ। सर्वप्रथम, बृहत् वातावरणलाई सन्तुलित गर्नुपर्छ। विभिन्न भौगोलिक स्थानहरू, बनौटहरूका साथसाथै विभिन्न हावापानीहरू बीचका परिवर्तनहरूको प्रयोग गरी यस्तो गरिन्छ जसले तिनीहरूलाई परमेश्‍वरले चाहनुभएको र मानवजातिलाई चाहिने सन्तुलन मिलाउनको लागि एक-अर्कालाई सीमित र नियन्त्रण गर्न दिन्छ। बृहत् वातावरणको दृष्टिकोणबाट बोल्दाको कुरो यही हो।

अब हामी अझै विस्तृत विवरणहरू, जस्तै वनस्पतिको बारेमा कुरा गर्नेछौ। तिनीहरूको सन्तुलन कसरी हासिल गरिन्छ त? भन्नुको अर्थ, कसरी वनस्पतिलाई जीवन-अस्तित्वको सन्तुलित वातावरणभित्र निरन्तर बाँच्न सक्षम तुल्याइन्छ त? यसको जबाफ हो: तिनीहरूको जीवन-अस्तित्वको वातावरण सुरक्षित गर्नको लागि विभिन्न प्रकारका वनस्पतिहरूको आयु, वृद्धि दर, र प्रजनन दरहरूको व्यवस्थापन गरेर। उदाहरणको लागि सानो घाँसलाई लिऊँ—वसन्तमा मुना, ग्रीष्ममा फूल, शरदमा फल हुन्छन्। फल भुइँमा खस्छ। अर्को साल, फलको बीउ टुसाउँछ र उही नियम-व्यवस्थाअनुसार निरन्तर बढ्दै जान्छ। घाँसको आयु एकदमै छोटो हुन्छ; हरेक बीउहरू भुइँमा खस्छन्, जरा र टुसा पलाउँछन्, फूल फुल्छन्, फल फल्छन्, र सम्पूर्ण प्रक्रिया तीन ऋतुहरूपश्चात अर्थात् वसन्त, ग्रीष्म र शरदपश्चात मात्र पूरा हुन्छन्। सबै प्रकारका रुखहरूको पनि आफ्नै आयु र टुसाउने र फल लाग्ने विभिन्न अवधिहरू हुन्छन्। केही रुखहरू ३० देखि ५० वर्षपछि मर्छन्—यो तिनीहरूको आयु हो। तर तिनीहरूको फल भुइँमा खस्छन् जसबाट जरा र टुसा पलाउँछ, फूल फुल्छ र फल लाग्छ अनि अर्को ३० देखि ५० वर्षसम्म बाँच्छ। तिनीहरूको पुनरावृत्ति दर यही हो। कुनै बूढो रुख मर्छ र नयाँ रुख उम्रन्छ; यसकारण, तैँले जङ्गलमा सधैँ रुखहरू उम्रिरहेको देख्छस्। तर तिनीहरूको पनि आफ्नै सामान्य चक्र हुन्छ र तिनीहरूको जन्म र मृत्यु हुन्छ। केही रूखहरू हजार वर्षभन्दा बढी बाँच्छन्, र केही त तीन हजार वर्षसम्म पनि बाँच्न सक्छन्। चाहे यो जुनसुकै प्रकारको वनस्पति नै किन नहोस् वा यसको जतिसुकै लामो आयु नै किन नहोस्, सामान्य रूपमा भन्दा परमेश्‍वरले यो कति वर्ष बाँच्छ भन्‍ने तथ्य, यसको प्रजनन क्षमता, यसको प्रजननको गति र आवृत्ति, र यसले उत्पादन गर्ने सन्तान संख्याको आधारमा यसको सन्तुलनको व्यवस्थापन गर्नुहुन्छ। यसले घाँसदेखि रूखसम्मका वनस्पतिहरूलाई सन्तुलित पर्यावरणीय वातावरणभित्र बाँच्न र वृद्धि हुन सक्षम तुल्याउँछ। त्यसकारण, जब तैँले पृथ्वीको जङ्गललाई हेर्छस्, यसभित्र उम्रने सबै थोक, घाँस र रुखहरू सबैले निरन्तर आफ्नै नियम-व्यवस्थाहरूअनुसार प्रजनन क्रिया गरिरहेका र वृद्धि भइरहेका हुन्छन्। तिनीहरूलाई अतिरिक्त परिश्रम वा मानवजातिबाट कुनै मद्दत आवश्यक पर्दैन। तिनीहरूसँग आफ्नै प्रकारको सन्तुलन भएकोले मात्र तिनीहरूले तिनीहरूको आफ्नो जीवन-अस्तित्वको वातावरणलाई कायम गरी राख्न सकेका छन्। तिनीहरूसँग जीवन-अस्तित्वको उपयुक्त वातावरण भएकोले मात्र संसारका जङ्गलहरू र घाँसे मैदानहरू पृथ्वीमा निरन्तर बाँचिरहन सक्षम छन्। तिनीहरूको अस्तित्वले मानिसहरूको पुस्तौँ-पुस्ताका साथै जङ्गल र घाँसे मैदानहरूमा बासस्थान हुने चराचुरुङ्गीहरू, जन्तुहरू, कीराफट्याङ्ग्राहरू र सबै प्रकारका सूक्ष्मजीवहरूजस्ता हरप्रकारका जीवित प्राणीहरूलाई पोषण प्रदान गर्छन्।

परमेश्‍वरले सबै प्रकारका जनावरहरू बीचको सन्तुलनलाई पनि नियन्त्रण गर्नुहुन्छ। उहाँले कसरी यो सन्तुलन नियन्त्रण गर्नुहुन्छ त? यो कुरा वनस्पतिहरूको जस्तै छ—उहाँले तिनीहरूको सन्तुलनको व्यवस्थापन गर्नुहुन्छ र तिनीहरूको संख्यालाई तिनीहरूको प्रजनन क्षमता, तिनीहरूको प्रजननको परिमाण र आवृत्ति, र जनावरहरूको संसारमा तिनीहरूले खेल्ने भूमिकाको आधारमा निर्धारण गर्नुहुन्छ। उदाहरणको लागि, सिंहले वनघोडालाई खान्छ, त्यसकारण यदि सिंहहरूको संख्या वनघोडाको भन्दा धेरै भयो भने, वनघोडाहरूको नियति के हुन्थ्यो होला? तिनीहरू लोप हुन्थे। अनि यदि वनघोडाहरूले सिंहहरूको भन्दा एकदमै थोरै मात्र सन्तानोत्पादन गर्थे भने, तिनीहरूको नियति के हुन्थ्यो? तिनीहरू पनि लोप हुन्थे। त्यसकारण, वनघोडाहरूको संख्या सिंहहरूको भन्दा अत्यन्तै धेरै हुनुपर्छ। यस्तो हुनुपर्छ किनभने वनघोडाहरू आफ्नो लागि मात्र अस्तित्वमा रहँदैनन्, बरु तिनीहरू त सिंहको लागि समेत अस्तित्वमा रहन्छन्। तिमीहरूले यसरी पनि भन्न सक्छौ: हरेक वनघोडा वनघोडाहरूको समग्रताको एक हिस्सा हो, तर यो सिंहहरूको मुखको भोजन पनि हो। सिंहहरूको प्रजननको गति वनघोडाहरूको भन्दा बढी कहिल्यै पनि हुन सक्दैन ताकि तिनीहरूको संख्या वनघोडाहरूको भन्दा धेरै नहोस्। यस प्रकारले मात्र सिंहहरूको खानाको स्रोतको प्रत्याभूति हुन्छ। अनि यसकारण, सिंहहरू वनघोडाहरूको प्राकृतिक शत्रु भए पनि, मानिसहरूले बारम्बार यी दुवै प्रजातिहरूलाई एउटै क्षेत्रमा आराम गरिराखेको देख्छन्। वनघोडाहरू तिनीहरूलाई सिंहले शिकार गरी खाए पनि लोप हुँदैनन् वा तिनीहरूको संख्या घट्दैन अनि सिंहहरूको “राजा” को हैसियत भएकै कारणले तिनीहरूको संख्या बढ्छ भन्‍ने छैन। यो सन्तुलन परमेश्‍वरले धेरैअघि स्थापित गर्नुभएको कुरा हो। अर्थात्, परमेश्‍वरले सबै जनावरबीचमा सन्तुलनको नियम-व्यवस्था स्थापित गर्नुभयो ताकि तिनीहरूले यस प्रकारको सन्तुलन प्राप्त गर्न सकून्, र मानिसहरूले प्रायः देख्ने कुरा यही हो। के वनघोडाहरूको प्राकृतिक शत्रु सिंह मात्रै हो त? होइन, गोहीहरूले पनि वनघोडाहरूलाई खान्छन्। वनघोडाहरू त एकदमै लाचार जनावरजस्तै देखिन्छन्। तिनीहरूसँग सिंहको जस्तो भयानकता छैन अनि जब तिनीहरूले यो डरलाग्दो शत्रु सिंहको सामना गर्छन्, तब तिनीहरूले गर्न सक्ने सबै कुरा भनेको भाग्नु मात्र हो। तिनीहरू प्रतिरोध गर्नको लागि पनि शक्तिहीन छन्। जब तिनीहरूले सिंहलाई दौडेर जित्न सक्दैनन्, तिनीहरूले आफूलाई यसको खाना हुन दिन मात्र सक्छन्। यो कुरालाई जनावरको संसारमा बारम्बार देख्न सकिन्छ। जब यस प्रकारको कुरा तिमीहरूले देख्छौ, तब तिमीहरूमा के-कस्ता अनुभूति र विचारहरू आउँछन्? के तिमीहरू वनघोडाप्रति दुःखी महसुस गर्छौ? के तिमीहरू सिंहलाई घृणा गर्छौ? वनघोडाहरू कति सुन्दर देखिन्छन्! तर सिंहहरू भने सधैँ तिनीहरूलाई लोभी आँखाले हेरिरहेका हुन्छन्। अनि वनघोडाहरू भने मूर्खता गर्दै टाढा भागेर जाँदैनन्। तिनीहरूले सिंहलाई चिसो छहारी मुनि तिनीहरूलाई पर्खेर बसेको देख्छन्। कुनै पनि क्षण यसले आएर तिनीहरूलाई खान सक्छ। तिनीहरूलाई आफ्नो हृदयमा यो कुरा थाहा हुन्छ, तर अझै पनि तिनीहरूले उक्त स्थान छोड्दैनन्। यो अचम्मलाग्दो कुरा हो, यस्तो अचम्मको कुरो जसले परमेश्‍वरको पूर्वनिर्धारित गन्तव्य र उहाँको शासनलाई प्रकट गर्छ। तैँले वनघोडाप्रति दुःखित महसुस गर्छस् तर तैँले यसलाई बचाउन सक्दैनस्, अनि तैँले सिंहलाई घृणा गर्छस् तर तैँले यसलाई नाश गर्न सक्दैनस्। वनघोडा परमेश्‍वरले सिंहको लागि तयार गर्नुभएको खाना हो, तर सिंहहरूले जति धेरै खाए पनि वनघोडाहरू लोप भएर जाँदैनन्। सिंहले जन्माउने बच्चाहरूको संख्या एकदमै थोरै हुन्छ, र तिनीहरूले एकदमै ढिलो गरी बच्चा जन्माउँछन्, त्यसकारण तिनीहरूले जति धेरै वनघोडा खाए पनि, तिनीहरूको संख्याले वनघोडाहरूको संख्यालाई कहिल्यै पनि उछिन्नेछैन। यसमा सन्तुलन छ।

यस प्रकारको सन्तुलन कायम राख्नुपछाडि परमेश्‍वरको लक्ष्य के छ त? यसको सम्बन्ध मानिसहरूको जीवन-अस्तित्वको वातावरणका साथै मानवजातिको जीवन-अस्तित्वसँग छ। यदि वनघोडा वा सिंहको त्यस्तै प्रकारको सिकारले—हरिण वा अन्य जनावरहरूले—एकदमै सुस्त गतिमा प्रजनन गरे र सिंहको संख्या अत्याधिक रूपमा बढ्यो भने, मानवजातिले कस्तो प्रकारको खतराको सामना गर्नुपर्थ्यो? सिंहले आफ्नो सिकारलाई खानु सामान्य घटना हो तर सिंहले व्यक्तिलाई खानु दुःखद कुरा हो। यो दुःखद कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन, यो उहाँको शासन अन्तर्गत हुने कुरा होइन, यो उहाँले मानवजातिमा ल्याउनुभएको कुरा हो भन्‍ने त परै जाओस्। बरु यो त मानिसहरूले आफैले आफूमाथि ल्याउने कुरा हो। यसर्थ, परमेश्‍वरले देख्नुभएअनुसार, सबै थोक बीचमा हुने सन्तुलन मानवजातिको जीवन-अस्तित्वको लागि अत्यावश्यक छ। चाहे त्यो वनस्पति होस् वा जनावर होस्, कुनैले पनि आफ्नो उचित सन्तुलन गुमाउनु हुँदैन। वनस्पति, पशुपंक्षी, पहाड र तालहरू—परमेश्‍वरले मानवजातिको जीवन-अस्तित्वको लागि नियमित पर्यावरणीय वातावरण तयार गर्नुभएको छ। मानिसहरूले यस प्रकारको नियमित पर्यावरणीय वातावरण अर्थात सन्तुलित वातावरण पाउँदा मात्र तिनीहरूको जीवन-अस्तित्व सुरक्षित रहन्छ। यदि रुख वा घाँसहरूको प्रजनन कमजोर भएको भए वा तिनीहरूको प्रजननको गति अति सुस्त भएको भए, के माटोले आर्द्रता गुमाउँदैनथ्यो र? यदि माटोले आर्द्रता गुमाएको भए, के यो अझै पनि स्वस्थ हुन्थ्यो र? यदि माटोले वनस्पति र आर्द्रता गुमायो भने, यसमा चाँडो क्षयीकरण हुन्थ्यो र यसको सट्टामा बालुवा बन्थ्यो। जब माटो बिग्रन्थ्यो, तब मानवजातिको जीवन-अस्तित्वको वातावरण पनि विनाश हुन्थ्यो। उक्त विनाशसँगै थुप्रै विपत्तिहरू आउँथे। यस प्रकारको सन्तुलनविना, यस प्रकारको पर्यावरणीय वातावरणविना, यावत् थोकबीच सन्तुलन नभएर मानिसहरूलाई बारम्बार विपत्तिहरू आइपर्थे। उदाहरणको लागि, जब वातावरणीय असन्तुलनले भ्यागुताहरूको पर्यावरणीय वातावरणको विनाश हुन्छ, तब तिनीहरू सबै एकसाथ जम्मा हुन्छन्, तिनीहरूको संख्या अत्याधिक रूपमा बढ्छ र तिनीहरू ठूलो संख्यामा सहरी बाटोमा उफ्रिहिँडेको समेत मानिसहरूले देख्छन्। यदि भ्यागुताहरूको ठूलो संख्याले मानिसहरूको वातावरणलाई ढाक्छन् भने त्यसलाई के भनिन्थ्यो? विपत्ति। किन यसलाई विपत्ति भनिन्थ्यो? मानवजातिका लागि फाइदाजनक यी साना प्राणीहरू तिनीहरू जुन ठाउँमा रहन उपयुक्त छ त्यही ठाउँमा रहे भने मात्र मानिसहरूको लागि उपयोगी हुन्छन्; तिनीहरूले मानिसहरूको जीवन-अस्तित्वको वातावरणको सन्तुलन कायम गर्न सक्छन्। तर यदि तिनीहरू विपत्ति बन्छन् भने तिनीहरूले मानिसहरूको जीवनको सुव्यवस्थितपनमा असर पुर्‍याउनेछन्। भ्यागुताहरूले आफ्नो शरीरमा ल्याउने सबै कुरा र तत्त्वहरूले मानिसहरूको जीवनको गुणस्तरमा असर पुर्‍याउन सक्छन्। तिनीहरूले मानिसहरूको शारीरिक अङ्गहरूमा आक्रमण हुने पनि गराउँछन्—यो विपत्तिहरूको एक प्रकार हो। मानिसहरूले बारम्बार भोगेको अर्को प्रकारको विपत्ति अनगिन्ती सलहहरूको आगमन हो। के यो विपत्ति होइन र? हो, यो एकदमै डरलाग्दो विपत्ति हो। मानिसहरू जति नै सक्षम भए पनि—मानिसहरूले हवाइजहाज, तोप र एटम बमहरू बनाउन सक्छन्—तर जब सलहले आक्रमण गर्छ, मानवजातिसँग यसको के समाधान छ र? के तिनीहरूले तिनमा तोप प्रयोग गर्न सक्छन् र? के तिनीहरूले तिनलाई मेशिन गनले हान्न सक्छन् र? अहँ, तिनीहरूले सक्दैनन्। अनि तिनीहरूले तिनलाई भगाउनको लागि कीटनाशक औषधि छर्कन सक्छन् र? त्यो पनि सजिलो काम होइन। यी साना सलहहरू के गर्न आउँछन् त? तिनीहरूले निश्‍चित रूपमा बाली र अन्न खान्छन्। जहाँ-जहाँ सलहहरू जान्छन्, त्यहाँ-त्यहाँ बालीहरूको पूर्ण विनाश हुन्छ। सलहहरूको आक्रमणको समयमा, किसानहरूले पूरै एक वर्षसम्म भर पर्न सक्ने खानालाई सलहहरूले आँखा झिमिक्‍क गर्दा पूरै खाइसक्छन्। मानिसहरूको लागि, सलहहरूको आगमन टाउको दुखाइ मात्र होइन—यो त विपत्ति हो। त्यसो भए, हामीलाई थाहा भयो कि अनगिन्ती सलहहरू देखिनु एक प्रकारको विपत्ति हो, तर मुसाहरू के हुन् त? यदि मुसा खाने सिकारी चराहरू छैनन् भने, तिनीहरूको संख्या एकदमै छिटो बढ्छ, तिमीहरूले कल्पना गर्न सक्ने भन्दा पनि छिटो बढ्छ। अनि यदि मुसाहरू अनियन्त्रित रूपमा फैलिए भने, के मानिसहरूले राम्रो जीवन जिउन सक्छन्? मानिसहरूले कस्तो प्रकारको अवस्थाको सामना गर्नुपर्थ्यो? (महामारी।) तर के तिमीहरू महामारी एक मात्रै परिणाम हुनेथियो भनी सोच्छौ? मुसाहरूले जे पनि चपाउनेछन्, र तिनीहरूले काठ पनि टोक्नेछन्। यदि घरमा दुई वटा मात्र मुसा छन् भने घरमा बस्ने हरेकलाई हैरानी हुन्छ। कहिलेकाहीँ तिनीहरूले तेल चोरी खान्छन् र कहिलेकाहीँ तिनीहरूले रोटी र अन्न खान्छन्। अनि तिनीहरूले नखाने कुराहरूलाई चपाएर भद्रगोल पार्छन्। तिनीहरूले कपडा, जुत्ता, फर्निचर चपाउँछन्—तिनीहरूले हरेक कुरा चपाउँछन्। कहिलेकाहीँ तिनीहरू आलमारीमा चढ्छन्—के मुसा हिँडेपछि ती थालबटुकाहरू अझै पनि प्रयोग गर्न सकिन्छ र? तिनीहरूलाई निसंक्रमण गरे पनि तैँले अझै असहज महसुस गर्छस्, त्यसैले तैँले तिनीहरूलाई बाहिर फालिदिन्छस्। मुसाले मानिसहरूलाई दिने हैरानी यिनै हुन्। मुसाहरू साना प्राणीहरू भए पनि, मानिसहरूसँग तिनीहरूको हल निकाल्ने तरिका नै छैन, बरु तिनीहरूले तिनको हरेक लुटपाट सहनुपर्छ। बाधा खडा गर्नका लागि एक जोडी मुसा नै काफी छन्, मुसाको बथानको त कुरै नगरौं। यदि तिनीहरूको संख्या अत्याधिक रूपमा बढ्यो र तिनीहरू विपत्ति बने भने, परिणाम सोच्नै नसकिने हुन्थ्यो। कमिलाजस्ता साना प्राणीहरू पनि विपत्ति बन्छन्। यदि त्यस्तो भयो भने त, तिनीहरूले मानवजातिमा गर्ने हानि पनि बेवास्ता गर्न नसकिने हुन्थ्यो। कमिलाहरूले घरमा यति धेरै हानि गर्छन् कि ती घरहरू लड्छन्। तिनीहरूको तागतलाई बेवास्ता गर्नु हुँदैन। यदि विभिन्न प्रकारका चराचुरुङ्गीहरूले विपत्ति ल्याए भने त, के त्यो डरलाग्दो हुँदैनथियो र? (हुन्थ्यो।) अर्को तरिकाले भन्दा, जनावरहरू वा जीवित प्राणीहरू, चाहे तिनीहरू जुनसुकै प्रकारका नै किन नहुन्, तिनीहरूको सन्तुलन बिग्रियो भने, तिनीहरू वृद्धि हुनेछन्, प्रजनन गर्नेछन् र असामान्य दायरा, अनियमित दायरामा बाँच्नेछन्। त्यसले मानवजातिको लागि कल्पना गर्नै नसकिने परिणामहरू ल्याउँथ्यो। त्यसले मानिसहरूको अस्तित्व र जीवनहरूमा मात्र असर पुर्‍याउँदैनथियो, बरु त्यसले त मानवजातिमा विपत्ति ल्याउँथ्यो र उक्त विपत्ति मानिसहरूले पूर्ण विनाश र लोप हुने नियति भोग्ने हदसम्मको हुन्थ्यो।

परमेश्‍वरले सबै थोक सृजनुभयो उहाँले तिनीहरूलाई सन्तुलनमा ल्याउनको निम्ति अर्थात् पहाड-पर्वत र ताल-तलैयाको, बोट बिरुवा र सबै किसिमका जीवजन्तु, चरा-चुरुङ्गी र कीरा-फट्याङ्ग्राहरूको जीवनको अवस्थालाई सन्तुलनमा राख्‍नको निम्ति सबै किसिमका विधि र तरिकाहरूको प्रयोग गर्नुभयो। उहाँले स्थापना गर्नुभएको व्यवस्थाको अधीनमा रहेर सबै किसिमका जीवित प्राणीहरूलाई जिउन र वृद्धि हुन दिनु उहाँको लक्ष्य थियो। सृष्टिका कुनै पनि थोकहरू यी व्यवस्था बाहिर जान सक्दैनन् र व्यवस्थालाई तोड्न सकिँदैन। यस आधारभूत किसिमको वातावरणमा मात्र मानव पुस्तादेखि पुस्तासम्म सुरक्षितसाथ बाँच्‍न र वृद्धि हुन सक्छन्। यदि कुनै जीवित प्राणी परमेश्‍वरले स्थापित गर्नुभएको परिमाण वा क्षेत्रदेखि बाहिर जान्छ वा यदि यसले उहाँले तोक्‍नुभएको वृद्धि दर, प्रजनन आवृत्ति वा सङ्ख्यालाई नाघ्छ भने मानवजातिको अस्तित्वको वातावरण विनाशका विभिन्‍न हदहरूले ग्रसित हुनेछ। साथै, मानवजातिको अस्तित्व जोखिममा पर्नेछ। यदि एक किसिमको जीवित प्राणी सङ्ख्यामा अत्यन्तै धेरै छ भने यसले मानिसहरूको खाना लुट्नेछ, मानिसहरूको पानीको स्रोतहरू नष्ट गर्नेछ र तिनीहरूको मातृ-भूमिलाई बरबाद पार्नेछ। त्यसरी, मानवजातिको प्रजनन वा अस्तित्वको अवस्था तत्कालै प्रभावित हुनेछ। उदाहरणको लागि, पानी सबै थोकको लागि महत्वपूर्ण छ। यदि अत्याधिक संख्यामा मुसा, कमिला, सलह, भ्यागुता, वा अन्य कुनै प्रकारका जनावरहरू छन् भने, तिनीहरूले अझ धेरै पानी पिउँछन्। तिनीहरूले धेरै पानी पिउन थालेपछि, पिउने पानीको स्रोत भएको सीमित क्षेत्र र जलीय क्षेत्रहरूमा मानिसहरूले पिउने पानी र पानीको स्रोत न्यून हुन जान्छ र तिनीहरूले पानीको अभाव भोग्छन्। यदि सबै प्रकारका जनावरहरूको संख्या बढेको कारण मानिसहरूको पिउने पानी नष्ट हुन्छ, दूषित बन्छ, वा त्यसको आपूर्ति बन्द हुन्छ भने, जीवन-अस्तित्वको त्यस प्रकारको कठोर वातावरणमा मानवजातिलाई गम्भीर चुनौती आइलाग्छ। यदि एक किसिमको वा अनेक किसिमका जीवित प्राणीहरूले तिनीहरूको उचित सङ्ख्या पार गरे भने हावा, तापक्रम, आर्द्रता र मानवजाति बाँच्‍ने ठाउँभित्रको हावाको संयोजन विभिन्‍न हदले विषाक्त र नष्ट हुनेछ। यी परिस्थितिहरूमा मानवहरूको अस्तित्व र नियति पनि यी पर्यावरणीय कारकहरूद्वारा उत्पन्न खतरामा पर्नेछ। यसैले, यी सन्तुलनहरू गुमे भने मानिसहरूले सास फेर्ने हावा बरबाद हुनेछ, तिनीहरूले पिउने पानी दूषित हुनेछ र तिनीहरूको लागि आवश्यक पर्ने तापक्रमहरू पनि परिवर्तन हुनेछ र विभिन्‍न हदहरूमा प्रभावित हुनेछ। यदि त्यसो भयो भने स्वभाविक रूपमा मानवजातिको अधीनमा रहेको बाँच्‍ने वातावरणहरूमाथि ठूला प्रभाव र चुनौतीहरू आइपर्नेछन्। मानवहरूको अस्तित्वका आधारभूत वातावरणहरू नष्ट पारिएको यस्तो किसिमको परिदृष्यमा मानवजातिको नियति र सम्भावनाहरू के होलान् त? यो एकदमै गम्भीर समस्या हो! सृष्टिका हरेक थोकहरू मानवजातिको निम्ति के कारणले अस्तित्वमा छन्, उहाँले सृष्टि गर्नुभएका हरप्रकारका वस्तुहरूको के भूमिका छ, हरेक वस्तुको मानवजातिमा कस्तो किसिमको प्रभाव हुन्छ र यसले मानवजातिलाई कुन हदसम्म फाइदा दिन्छ भन्‍ने कुरा परमेश्‍वरलाई थाहा भएकोले, परमेश्‍वरको हृदयमा यो सबैको योजना भएकोले र उहाँले सृष्टि गर्नुभएका सबै थोकहरूका हरेक पक्षहरूको व्यवस्थापन उहाँले गर्नुहुने भएकोले, उहाँले गर्नुहुने हरेक कुरा मानवजातिको निम्ति धेरै महत्त्वपूर्ण र आवश्यक छन्। यसैले अब उप्रान्त जब-जब तैँले परमेश्‍वरले सृष्टि गर्नुभएका कुराहरूको बीचमा केही पर्यावरणीय घटनाहरू देख्छस् वा परमेश्‍वरले सृष्टि गर्नुभएका थोकहरूको बीचमा केही प्राकृतिक नियमले काम गरेको देख्छस्, तब-तब तैँले परमेश्‍वरले सृष्टि गर्नुभएको हरेक थोकको आवश्यकताको बारेमा कुनै पनि शङ्का गर्नेछैनस्। तैँले परमेश्‍वरको सबै थोकहरूको प्रबन्ध र मानवजातिको निम्ति उपलब्ध गराउने उहाँका विविध तरिकाहरूको बारेमा अबउप्रान्त मनमानी निर्णयहरू गर्न अनभिज्ञ शब्दहरू प्रयोग गर्नेछैनस्। न त तँ परमेश्‍वरका सृष्टिका सबै थोकहरूको निम्ति उहाँका व्यवस्थाहरूको बारेमा मनमानी निष्कर्षहरूमा नै पुग्‍ने छस्। अवस्था यस्तै हो नि, होइन र?

हामीले भर्खरै कुरा गरिरहेको यो सबै के हो त? एकै क्षण सोच त। परमेश्‍वरले गर्नुहुने हरेक काम-कुरामा उहाँको आफ्नै अभिप्राय हुन्छ। उहाँको अभिप्राय मानिसहरूको लागि बुझ्न नसकिने भए पनि, यो सधैँ जटिल र शक्तिशाली रूपमा मानवजातिको जीवन-अस्तित्वसँग जोडिएको हुन्छ। यो पूर्ण रूपमा अपरिहार्य छ। किनभने परमेश्‍वरले कहिल्यै पनि व्यर्थको काम गर्नुभएको छैन। उहाँले गर्नुहुने हरेक काम-कुरापछाडिका सिद्धान्तहरूमा उहाँको योजना र उहाँको बुद्धि मिसिएर आएका हुन्छन्। उक्त योजनापछाडिका लक्ष्य र अभिप्राय मानवजातिको संरक्षण गर्नको लागि, मानवजातिलाई विपत्ति, अन्य जीवित प्राणीहरूले गर्ने विध्वंस र परमेश्‍वरको सृष्टिका कुनै पनि कुराले मानिसहरूलाई गर्ने जुनसुकै प्रकारको हानि टार्न मद्दत गर्नको लागि हुन्छन्। त्यसो भए, हामीले यो विषयभित्र देखेका परमेश्‍वरका कार्यहरू परमेश्‍वरको अर्को तरिका हो जसमार्फत उहाँले मानवजातिलाई भरणपोषण गर्नुहुन्छ भनेर भन्न सकिन्छ त? के हामीले यी कार्यहरूमार्फत परमेश्‍वरले मानवजातिलाई खुवाउँदै र गोठाला गर्दै हुनुहुन्छ भनेर भन्न सकिन्छ त? (सकिन्छ।) के यो विषय र हाम्रो सङ्गतिको “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने मूल भावको बीचमा दह्रिलो सम्बन्ध छ? (छ।) यसमा एकदमै दह्रिलो सम्बन्ध छ र यो विषय त्यसको एउटा पक्ष हो। यी विषयहरूको बारेमा कुरा गर्नुभन्दा अगाडि, मानिसहरूसित परमेश्‍वर, परमेश्‍वर स्‍वयम्‌ र उहाँका कार्यहरूको बारेमा केही अस्पष्ट कल्पना मात्रै थिए—तिनीहरूसँग साँचो बुझाइको अभाव थियो। तथापि, जब मानिसहरूलाई उहाँका कार्यहरू र उहाँले गर्नुभएका काम-कुराहरूको बारेमा बताइन्छ, तिनीहरूले परमेश्‍वरले जे गर्नुहुन्छ त्यसका सिद्धान्तहरूलाई बुझ्न र बोध गर्न सक्छन्, र तिनीहरूले ती कुराहरूको बुझाइ हासिल गरी तिनलाई प्राप्त गर्न सक्ने ठाउँसम्म पुग्छन्। परमेश्‍वरले यावत् थोकको सृष्टि गर्ने र तिनीहरूमाथि शासन गर्नेजस्ता कुनै काम-कुराहरू गर्दा उहाँको हृदयमा हरप्रकारका जटिल परिकल्पना, सिद्धान्त र नियमहरू हुने भए तापनि, के तिमीहरूले सङ्गतिको दौरान तिनीहरूको एक भागको बारेमा सिकेर मात्र पनि तिनीहरू परमेश्‍वरका कार्यहरू हुन् र तिनीहरू हुन सक्ने हदसम्म वास्तविक छन् भनी आफ्नो हृदयमा बुझाइ हासिल गर्न सम्भव छैन र? (छ।) त्यसो भए, परमेश्‍वर सम्‍बन्धी तिमीहरूको वर्तमान ज्ञान पहिलेको भन्दा कति फरक छ त? यो यसको सारमा फरक छ। पहिले, तिमीहरूको बुझाइ औधी खोक्रो, औधी अस्पष्ट थियो, तर अहिले तिमीहरूको बुझाइमा परमेश्‍वरका कार्यहरूसँग मेल खाने, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्योसँग मेल खाने एकदमै धेरै ठोस प्रमाण छन्। त्यसकारण, मैले भनेका सबै कुरा परमेश्‍वर सम्‍बन्धी तिमीहरूको बुझाइको लागि सानदार शैक्षिक सामग्रीहरू हुन्।

फेब्रुवरी ९, २०१४

अघिल्लो: परमेश्‍वर स्वयम् अद्वितीय ८

अर्को: परमेश्‍वर स्वयम् अद्वितीय १०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्