परमेश्‍वर स्वयम् अद्वितीय १०

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (४)

आज हामी एउटा विशेष विषयमा कुराकानी गर्दैछौं। हरेक विश्‍वासीको लागि, जान्‍नुपर्ने, अनुभव गर्नुपर्ने, र बुझ्‍नुपर्ने मुख्य दुई वटा कुरा मात्रै छन्। यी दुई वटा कुरा के-के हुन्? पहिलो भनेको व्यक्तिको व्यक्तिगत जीवन प्रवेश हो, र दोस्रोचाहिँ परमेश्‍वरलाई चिन्‍ने कार्यसँग सम्‍बन्धित छ। हामीले भर्खरै कुरा गर्दै आइरहेको विषयमा, अर्थात् परमेश्‍वरलाई चिन्‍ने विषयमा कुरा गर्दा, के यो हासिल गर्न सकिने कुरा हो भन्‍ने तिमीहरूलाई लाग्छ? यो वास्तवमा धेरैजसो मानिसहरूको पहुँचभन्दा बाहिरको कुरा हो भन्दा अत्योक्ति हुँदैन। तिमीहरू मेरा वचनहरूद्वारा विश्‍वस्‍त नहुन सक्छौ, तर म किन यसो भन्दैछु त? म यसो भन्दैछु किनभने पहिले मैले भनिरहेको कुरालाई तिमीहरूले सुन्दा, मैले जसरी वा जुन शब्‍दहरूद्वारा भने पनि, यी शब्‍दहरू केसँग सम्‍बन्धित छन् भन्‍ने कुरा तिमीहरू शाब्दिक र सैद्धान्तिक दुवै रूपमा बुझ्‍न सक्षम थियौ। तैपनि, तिमीहरू सबैलाई एउटा गम्‍भीर समस्या के थियो भने मैले किन त्यस्ता कुराहरू भनेँ वा मैले किन ती विषयमा कुरा गरेँ सो तिमीहरूले बुझेनौ। यो विषयको मुख्य कुरा नै यही हो। तसर्थ, तिमीहरूले यी कुराहरू सुनेपछि यसले परमेश्‍वर र उहाँका कार्यहरू सम्‍बन्धी तिमीहरूको बुझाइलाई केही थप गरेको र त्यसलाई समृद्ध बनाएको भए पनि, तिमीहरूलाई आफूले परमेश्‍वरलाई चिन्‍नको लागि अझै पनि कठिन प्रयास गर्नुपर्छ भन्‍ने लाग्छ। अर्थात्, मैले भनेका कुरा सुनेपछि, तिमीहरूमध्ये धेरैले यो कुरा मैले किन भनेँ वा परमेश्‍वरलाई चिन्‍ने कार्यसँग यसको सम्‍बन्ध के छ सो बुझ्दैनौ। परमेश्‍वरलाई चिन्‍ने कार्यसँगको यसको सम्‍बन्धलाई तिमीहरूले बुझ्‍न नसक्‍नुको कारण के हो भने तिमीहरूको जीवन अनुभव अत्यन्तै सतही छ। यदि परमेश्‍वरका वचनहरू सम्‍बन्धी मानिसहरूको ज्ञान र अनुभव अत्यन्तै सतही स्तरमा रहन्छ भने, उहाँ सम्‍बन्धी तिनीहरूको धेरैजसो ज्ञान अस्पष्ट र अमूर्त हुनेछ; यो सबै साधारण, धर्म-सैद्धान्तिक, र परिकल्पनापूर्ण हुनेछ। सिद्धान्तको हिसाबमा, यो तार्किक र उचित देखिन वा सुनिन सक्छ, तर धेरैजसो मानिसहरूको मुखबाट आउने परमेश्‍वरसम्‍बन्धी ज्ञान वास्तवमा खोक्रो हुन्छ। अनि यो खोक्रो हुन्छ भनेर म किन भन्दैछु त? किनभने परमेश्‍वरलाई चिन्‍ने विषयमा तैँले जे भन्छस् त्यसमा सत्यता र सटीकता छ कि छैन भन्‍ने बारेमा तँसँग वास्तवमा स्पष्ट बुझाइ नै छैन। त्यसकारण, परमेश्‍वरलाई चिन्‍ने बारेमा धेरैजसो मानिसहरूले धेरै जानकारी र विषयहरू सुने पनि, परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञान अस्पष्ट र अमूर्त परिकल्पना र धर्मसिद्धान्तभन्दा बाहिर जानै बाँकी हुन्छ। त्यसो भए, यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ त? के तिमीहरूले त्यसबारेमा पहिले कहिल्यै विचार गरेका छौ? यदि कसैले सत्यताको खोजी गर्दैन भने, के तिनीहरूसँग सत्यता हुन सक्छ? यदि कसैले सत्यताको खोजी गर्दैन भने, तिनीहरू वास्तविकता विहीन हुन्छन् भन्‍नेमा कुनै प्रश्‍न हुँदैन, त्यसकारण अवश्य नै तिनीहरूसँग परमेश्‍वरका वचनहरूको बारेमा कुनै ज्ञान वा अनुभव हुँदैन। के परमेश्‍वरका वचनहरूको कुनै बुझाइ नभएका मानिसहरूले परमेश्‍वरलाई चिन्‍न सक्छन्? अवश्य सक्दैनन्; यी दुई कुरा अन्तर्निर्भर छन्। त्यसकारण, धेरैजसो मानिसहरू भन्छन्, “परमेश्‍वरलाई चिन्‍नु किन यति कठिन छ? जब म आफैलाई चिन्‍ने बारेमा कुरा गर्छु, म धेरै घण्टासम्‍म कुरा गर्न सक्छु, तर जब परमेश्‍वरलाई चिन्‍ने कुरा आउँछ, मसँग बोल्‍ने कुनै शब्‍द हुँदैन। मैले यस विषयमा थोरै कुरा बताउन सके पनि, मेरा शब्‍दहरू जबरजस्ती व्यक्त गरिएका हुन्छन् र ती व्यर्थका सुनिन्छन्। ती शब्दहरू बोल्दा म आफैलाई पनि अनौठो लाग्छ।” स्रोत यही हो। यदि तँलाई परमेश्‍वरलाई चिन्‍नु अत्यन्तै कठिन छ, उहाँलाई चिन्‍नको लागि धेरै प्रयासको आवश्यकता हुन्छ, वा तँसँग कुरा उठाउनको लागि कुनै विषयहरू छैनन् र अरूलाई र आफूलाई बताउन र प्रदान गर्नको लागि कुनै यथार्थ कुराको बारेमा विचार गर्न सक्दैनस् भन्‍ने लाग्छ भने, तँ परमेश्‍वरका वचनहरू अनुभव गरेको व्यक्ति होइनस् भन्‍ने प्रमाणित हुन्छ। परमेश्‍वरका वचनहरू के हुन्? के उहाँका वचनहरू परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसका अभिव्यक्तिहरू होइनन् र? यदि तैँले परमेश्‍वरका वचनहरूको अनुभव गरेको छैनस् भने, के तँसँग उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको बारेमा कुनै ज्ञान हुन सक्छ र? अवश्य हुन सक्दैन। यी कुराहरू सबै अन्तर्सम्‍बन्धित छन्। यदि तँसँग परमेश्‍वरका वचनहरूको कुनै अनुभव छैन भने, तैँले परमेश्‍वरको इच्‍छालाई बुझ्‍न सक्दैनस्, न त तैँले उहाँको स्वभाव के हो, उहाँले के मन पराउनुहुन्छ, उहाँले केलाई घृणा गर्नुहुन्छ, मानिसहरू सम्‍बन्धी उहाँका मापदण्डहरू के-के हुन्, असल मानिसहरूप्रति उहाँको मनोवृत्ति कस्तो हुन्छ, र दुष्ट मानिसहरूप्रति उहाँको मनोवृत्ति कस्तो हुन्छ भन्‍ने नै जान्‍न सक्छस्; यो सबै तेरो लागि अवश्य नै अस्पष्ट र धूमिल हुन्छ। यदि त्यस्तो अस्पष्टतामा रही तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् भने, जब तैँले आफूलाई सत्यताको खोजी गर्ने र परमेश्‍वरलाई पछ्याउनेहरूमध्ये एक भएको दाबी गर्छस्, तब के त्यस्ता दाबी यथार्थ हुन्छन् र? ती यथार्थ हुँदैनन्! त्यसकारण हामी परमेश्‍वरलाई चिन्‍ने बारेमा कुराकानी गर्ने कार्यलाई जारी राखौं।

तिमीहरू सबै आजको सङ्गतिको विषय सुन्‍न उत्सुक छौ, होइन त? यो “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने विषयसँग सम्‍बन्धित छ, जसको बारेमा हामीले हालै छलफल गर्दै आएका छौं। परमेश्‍वरले कसरी सबै थोकमाथि शासन गर्नुहुन्छ, उहाँले कुन माध्यमद्वारा त्यसो गर्नुहुन्छ, र परमेश्‍वरले सृष्टि गर्नुभएको यस पृथ्वीमा तिनीहरू अस्तित्वमा रहन सकून् भनेर उहाँले सबै थोकलाई कुन-कुन सिद्धान्तहरूका आधारमा व्यवस्थापन गर्नुहुन्छ सोबारेमा मानिसहरूलाई जानकारी दिन विभिन्‍न माध्यम र दृष्टिकोणहरूको प्रयोग गर्दै हामीले कसरी “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने बारेमा धेरै कुरा गरिसकेका छौं। परमेश्‍वरले मानवजातिको लागि कसरी भरणपोषण प्रदान गर्नुहुन्छ भन्‍ने बारेमा पनि हामीले धेरै कुरा गरेका छौं: उहाँले कस्तो माध्यमद्वारा त्यस्तो प्रबन्ध गर्नुहुन्छ, उहाँले मानिसहरूलाई कस्तो प्रकारको जिउने वातावरण प्रदान गर्नुहुन्छ, र उहाँले मानिसको लागि के-कस्ता माध्यमद्वारा अनि कुन-कुन सुरुवात विन्दुबाट एक स्थिर जिउने वातावरण प्रदान गर्नुहुन्छ। सबै थोकमाथिको परमेश्‍वरको प्रभुत्व र प्रशासन, अनि उहाँको व्यवस्थापनको बीचको सम्‍बन्धको बारेमा मैले प्रत्यक्ष रूपमा कुरा नगरेको भए तापनि, उहाँले सबै थोकलाई यसरी प्रशासन गर्नुका कारणहरू, साथै यसरी उहाँले मानवजातिलाई आपूर्ति र भरणपोषण प्रदान गर्नुहुने कारणहरूका बारेमा मैले अप्रत्यक्ष रूपमा बताएको छु। यी सबै उहाँको व्यवस्थापनसँग सम्‍बन्धित छन्। हामीले विभिन्‍न विषयवस्तुको बारेमा कुरा गर्‍यौं: वृहत् वातावरणदेखि मानिसहरूका आधारभूत आवश्यकता र आहारजस्ता स-साना कुराहरूसम्म; परमेश्‍वरले कसरी सबै थोकमाथि शासन गर्नुहुन्छ र तिनीहरूलाई क्रमिक रूपमा संचालन गराउनुहुन्छ भन्‍ने तथ्यदेखि उहाँले हरेक जातिका मानिसहरूका लागि सृष्टि गर्नुभएका सही र उचित जिउने वातावरणसम्म; र आदि इत्यादि कुराहरू। यो व्यापक विषयवस्तु पूर्णतः मानव कसरी देहमा जिउँछ भन्‍ने कुरासँग सम्‍बन्धित छ—अर्थात्, यो सबै नाङ्गो आँखाले देख्‍न सक्‍ने र मानिसहरूले अनुभव गर्न सक्‍ने भौतिक संसारका कुराहरूसँग सम्‍बन्धित छ, जस्तै पहाड-पर्वत, नदी-नाला, समुद्र, मैदान, र यस्तै अन्य कुराहरू। यी सबै देख्‍न र छुन सकिने कुरा हुन्। जब म हावा र तापक्रमको कुरा गर्छु, तिमीहरूले हावाको अनुभव गर्न आफ्‍नै सासको प्रयोग गर्न सक्छौ, र तापक्रम उच्‍च छ कि न्यून छ सो अनुभूति गर्न आफ्‍नो शरीरको प्रयोग गर्न सक्छौ। रूख, घाँस, र जङ्गलका चराचुरुङ्गी र जनावरहरू, आकाशमा उड्ने र जमिनमा हिँड्ने कुराहरू, अनि दुलोबाट निस्कने स-साना पशु-प्राणी सबैलाई मानिसहरूले आफ्‍नै आँखाले देख्‍न र आफ्‍नै कानले सुन्‍न सक्छन्। यी सबै कुराले छुने क्षेत्र निकै वृहत् भए पनि, परमेश्‍वरले सृष्टि गर्नुभएका सबै थोकमध्ये, तिनीहरूले भौतिक संसारलाई मात्रै प्रतिनिधित्व गर्छन्। भौतिक कुराहरू मानिसहरूले देख्‍ने र अनुभव गर्ने कुरा हुन्, भन्‍नुको अर्थ जब तैँले तिनलाई छुन्छस्, तैँले तिनको अनुभूति गर्छस्, र जब तैँले तिनलाई हेर्छस्, तेरो मस्तिष्कले तँलाई स्वरूप, चित्र देखाउँछ। ती यथार्थ र वास्तविक कुरा हुन्; तेरो लागि ती अमूर्त हुँदैनन्, बरु आकार भएका हुन्छन्। ती वर्गाकार वा गोलाकार, वा अग्ला वा होचा हुन सक्छन्, र हरेक वस्तुले तँलाई फरक अनुभूति प्रदान गर्छ। यी सबै कुराले सृष्टिको भौतिक पक्षलाई प्रतिनिधित्व गर्छन्। त्यसकारण, परमेश्‍वरको लागि “सबै थोकमाथि परमेश्‍वरको प्रभुत्व” भन्‍ने वाक्यांशको “सबै थोक” ले के-कस्ता कुराहरूलाई समावेश गर्छ त? त्यसले मानिसले देख्‍न र छुन सक्‍ने कुराहरू मात्रै समावेश गर्दैन; साथै, तिनले सबै अदृश्य र अस्पृश्य कुराहरू समावेश गर्छन्। सबै थोकमाथि परमेश्‍वरको प्रभुत्वको साँचो अर्थहरूमध्ये एउटा यही हो। ती कुराहरू मानवका निम्ति अदृश्य र अस्पृश्य भए पनि, परमेश्‍वरको लागि—जबसम्‍म तिनलाई उहाँका आँखाले अवलोकन गर्न सक्छन् र ती उहाँको सार्वभौमिकताको क्षेत्रभित्र पर्छन् तबसम्‍म—ती वास्तवमा अस्तित्वमा रहन्छन्। ती अमूर्त र अकल्‍पनीय भए पनि, र यस अलावा, मानवका लागि अदृश्य र अस्पृश्य भए पनि, परमेश्‍वरको निम्ति ती वास्तवमा नै र साँचो रूपमा नै अस्तित्वमा हुन्छन्। यो अर्को संसार हो जहाँ परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, र यो उहाँको प्रभुत्व भएको सबै थोकको अर्को क्षेत्र हो। आजको सङ्गतिको विषय यही हो: परमेश्‍वरले आत्मिक संसारमाथि कसरी शासन र प्रशासन गर्नुहुन्छ। यो विषयमा परमेश्‍वरले कसरी सबै थोकमाथि शासन गर्नुहुन्छ र तिनलाई व्यवस्थापन गर्नुहुन्छ भन्‍ने कुरा समेटिने हुनाले, यो भौतिक संसारभन्दा बाहिरको संसार अर्थात्, आत्मिक संसारसँग सम्‍बन्धित छ—तसर्थ, हामीले यो बुझ्‍नु अत्यन्तै महत्त्वपूर्ण छ। यस विषयवस्तुको बारेमा कुराकानी गरेर अनि बुझेर मात्रै मानिसहरूले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने शब्‍दहरूको साँचो अर्थलाई सच्‍चा रूपमा बुझ्‍न सक्छन्। यही कारण आज हामी यस विषयमा छलफल गर्न लागेका छौं; यसको उद्देश्य भनेको “परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, र परमेश्‍वरले सबै थोकको व्यवस्थापन गर्नुहुन्छ” भन्‍ने विषयलाई पूरा गर्नु हो। सायद, जब तिमीहरू यो विषय सुन्छौ, तिमीहरूलाई यो अनौठो वा बुझ्‍न नसकिने लाग्‍न सक्छ, तर तिमीहरूले जे-जस्तो अनुभव गरे पनि, आत्मिक संसार परमेश्‍वरले शासन गर्नुहुने सबै थोकको एउटा भाग भएको हुनाले, तिमीहरूले यस विषयमा बुझाइ प्राप्त गर्नैपर्छ। त्यस्तो बुझाइ प्राप्त गरिसकेपछि, तिमीहरूले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने वाक्यांशको गहन बोध, बुझाइ, र ज्ञान प्राप्त गर्नेछौ।

परमेश्‍वरले कसरी आत्मिक संसारलाई शासन र व्यवस्थापन गर्नुहुन्छ

भौतिक संसारको हकमा, जब-जब मानिसहरूले निश्‍चित कुराहरू वा घटनाहरूलाई बुझ्दैनन्, तब तिनीहरूले उचित जानकारीको खोजी गर्न वा ती कुराहरूको व्युत्पत्ति र पृष्ठभूमिको बारेमा पत्ता लगाउन विभिन्‍न माध्यमहरूको प्रयोग गर्न सक्छन्। तर जब हामीले आज कुरा गरिरहेको संसारको कुरा आउँछ—अर्थात्, भौतिक संसारभन्दा बाहिर अस्तित्वमा रहेको आत्मिक संसारको कुरा आउँछ—यसको बारेमा सिक्‍नको लागि मानिसहरूसँग कुनै माध्यम वा प्रणाली हुँदैन। म किन यसो भन्दैछु त? म यसो किन भन्दैछु भने, मानवजातिको संसारमा भौतिक संसारको हरेक कुरालाई मानिसको भौतिक अस्तित्वबाट अलग गर्न सकिँदैन, र मानिसहरूलाई भौतिक संसारको हरेक कुरालाई आफ्नो भौतिक जियाइ र भौतिक जीवनबाट अलग गर्न सकिँदैन भन्‍ने लाग्‍ने हुनाले, धेरैजसो मानिसहरूले तिनीहरूले देख्‍न सक्‍ने तिनीहरूका आँखा अगाडिका भौतिक कुराको बारेमा मात्रै जान्दछन् वा तिनलाई मात्रै देख्छन्। तैपनि, जब आत्मिक संसारको कुरा आउँछ—भन्‍नुको अर्थ, जब अर्को संसारका सबै थोकको कुरा आउँछ—धेरैजसो मानिसहरूले विश्‍वास गर्दैनन् भन्दा अत्योक्ति हुँदैन। मानिसहरूले यसलाई देख्‍न सक्दैनन्, र यसलाई बुझ्‍न वा यसको बारेमा कुनै कुरा पनि जान्‍न आवश्यक छैन भनी विश्‍वास गर्छन्, तिनीहरूले आत्मिक संसार कसरी भौतिक संसारभन्दा पूर्ण रूपमा फरक छ, र परमेश्‍वरको दृष्टिकोणमा खुला छ—मानवको लागि, यो गुप्त र बन्द भए पनि—भन्‍ने कुरा देख्ने-बुझ्ने वा विश्‍वास गर्नु त परै जाओस्, यसकारण मानिसहरूलाई यस संसारका विभिन्‍न पक्षहरूलाई बुझ्‍ने मार्ग भेट्टाउन निकै कठिन छ। मैले बताउन लागेको आत्मिक संसारका विभिन्‍न पक्षहरू परमेश्‍वरको प्रशासन र सार्वभौमिकतासँग मात्रै सम्‍बन्धित छ; म कुनै पनि रहस्य प्रकट गर्नेछैन, न त म तिमीहरूलाई तिमीहरूले जान्‍न चाहेका कुनै गुप्त कुराहरू नै बताउनेछु। यो कुरा परमेश्‍वरको सार्वभौमिकता, परमेश्‍वरको प्रशासन, र परमेश्‍वरको बन्दोबस्तसँग सम्‍बन्धित भएको हुनाले, तिमीहरूले जान्‍नु आवश्यक रहेको भागको बारेमा मात्रै म बोल्‍नेछु।

सुरुमा, म तिमीहरूलाई एउटा प्रश्‍न गर्छु: तिमीहरूको विचारमा, आत्मिक संसार भनेको के हो? समग्रमा भन्दा, यो भौतिक संसारभन्दा बाहिरको संसार हो, जुन मानिसहरूको लागि अदृश्य र अस्पृश्य दुवै छ। तैपनि तिमीहरूको कल्‍पनामा, आत्मिक संसार कस्तो प्रकारको संसार हुनुपर्छ? सायद, यसलाई देख्‍न नसकेको कारण, तिमीहरूले यसको बारेमा कल्‍पना गर्न सक्दैनौ। तैपनि, जब तिमीहरूले कुनै पौराणिक कथा सुन्छौ, तब तिमीहरूले यसको बारेमा विचार गरिरहेका हुन्छौ, र तिमीहरू यसको बारेमा विचार नगरी बस्नै सक्दैनौ। म किन यसो भन्दैछु त? सानो छँदा धेरै मानिसहरूलाई हुने केही घटना छन्: जब कसैले तिनीहरूलाई डरलाग्दो कथा—भूत वा आत्माको बारेमा कथा—बताउँछन्, तिनीहरू अत्यन्तै भयभीत हुन्छन्। तिनीहरू वास्तवमा किन भयभीत हुन्छन् त? किनभने तिनीहरूले यी कुराहरूको कल्‍पना गरिरहेका हुन्छन्; तिनीहरूले ती कुरालाई देख्‍न नसके पनि, तिनीहरूलाई ती कुराहरू तिनीहरूको कोठामा, कुनै गुप्त वा अँध्यारो कुनामा छन् भन्‍ने लाग्छ, र तिनीहरू यति भयभीत हुन्छन् कि तिनीहरूले सुत्‍ने आँट समेत गर्दैनन्। विशेष गरी राति, तिनीहरू कोठामा एकलै बस्‍न वा आँगनमा एकलै जान अत्यन्तै डराउँछन्। त्यो तिमीहरूको कल्‍पनाको आत्मिक संसार हो, र यो मानिसहरूले डरलाग्दो ठान्‍ने संसार हो। तथ्य के हो भने हरेकले कुनै हदसम्‍म यसको कल्पना गर्छन्, र यसलाई हरेकले थोरै अनुभव गर्न सक्छन्।

हामी आत्मिक संसारको बारेमा कुरा गर्दै यस विषयलाई सुरु गरौं। यो के हो त? म तिमीहरूलाई छोटो र सरल व्याख्या प्रदान गर्छु: आत्मिक संसार एक महत्त्वपूर्ण स्थान हो, जुन भौतिक संसारभन्दा फरक छ। यो महत्त्वपूर्ण छ भनेर म किन भन्छु त? हामी यसको बारेमा विस्तृत रूपमा छलफल गर्दैछौं। आत्मिक संसारको अस्तित्व अपरिहार्य रूपमा नै मानवजातिको भौतिक संसारसँग जोडिएको छ। यसले यावत् थोकमाथिको परमेश्‍वरको प्रभुत्वमा मानव जीवन र मृत्युको चक्रमा मुख्य भूमिका निर्वाह गर्छ; यसको भूमिका यही हो, र यसको अस्तित्व महत्त्वपूर्ण हुनुको एउटा कारण यही हो। यो पञ्‍च-इन्द्रियहरूले अनुभूति गर्न नसक्‍ने स्थान भएको हुनाले, आत्मिक संसार अस्तित्वमा छ कि छैन भन्‍ने कुरालाई कसैले पनि सटीक रूपमा मूल्याङ्कन गर्न सक्दैन। यसका विभिन्‍न पक्षहरू मानव अस्तित्वसँग घनिष्ठ रूपले जोडिएका हुन्छन्, जसको परिणामस्वरूप मानवजातिको जीवनक्रमलाई आत्मिक संसारले वृहत् प्रभाव पार्छ। यसमा परमेश्‍वरको सार्वभौमिकता संलग्‍न हुन्छ कि हुँदैन त? हुन्छ। जब म यसो भन्छु, तब तैँले यो विषयमा मैले किन छलफल गरिरहेको छु सो बुझ्छस्: किनभने यो परमेश्‍वरको सार्वभौमिकता, साथै उहाँको प्रशासनसँग सम्‍बन्धित छ। यस्तो संसारमा—मानिसहरूका लागि अदृश्य रहेको संसारमा—यसको हरेक स्वर्गीय उर्दी, आदेश, र प्रशासन प्रणाली भौतिक संसारको जुनसुकै राष्ट्रका कानूनहरू र प्रणालीहरूभन्दा निकै माथि हुन्छन्, र तिनलाई यो संसारमा जिउने कुनै पनि प्राणीले अवहेलना वा उल्‍लङ्घन गर्ने आँट गर्दैन। के यो परमेश्‍वरको सार्वभौमिकता र प्रशासनसँग सम्‍बन्धित छ त? आत्मिक संसारमा, स्पष्ट प्रशासनिक आदेशहरू, स्पष्ट स्वर्गीय उर्दीहरू, र स्पष्ट विधानहरू हुन्छन्। फरक-फरक स्तर र फरक-फरक क्षेत्रमा सहभागीहरूले आफ्‍ना कर्तव्यहरू कठोरताका साथ पालन गर्छन् र नीति र नियमहरूको पालन गर्छन्, किनभने स्वर्गीय उर्दीको उल्‍लङ्घन गर्दा हुने परिणाम के हुन्छ सो तिनीहरूलाई थाहा छ; परमेश्‍वरले कसरी दुष्टलाई दण्ड र असललाई इनाम दिनुहुन्छ, अनि कसरी उहाँले सबै थोकमाथि प्रशासन चलाउनुहुन्छ र शासन गर्नुहुन्छ सो तिनीहरूलाई स्पष्ट रूपमै थाहा छ। यसको साथै, तिनीहरूले कसरी उहाँले आफ्‍ना स्वर्गीय उर्दीहरू र विधानहरूलाई कार्यान्वयन गर्नुहुन्छ सो स्पष्ट रूपमै देख्छन्। के यी मानवजातिले वास गर्ने भौतिक संसारभन्दा फरक छन् त? तिनीहरू वास्तवमा अत्यन्तै फरक छन्। आत्मिक संसार भौतिक संसारभन्दा पूर्ण रूपमा फरक संसार हो। स्वर्गीय अध्यादेश र विधानहरू हुने भएकाले, यसले परमेश्‍वरको सार्वभौमिकता, प्रशासनलाई यसको अतिरिक्त उहाँको स्वभाव साथै उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई समावेश गर्छ। यो कुरा सुनेपछि, के तिमीहरूलाई मैले यस विषयमा बोल्‍नु अत्यन्तै आवश्यक छ भन्‍ने लागेन? के तिमीहरूलाई यसभित्रका रहस्यहरू जान्‍न मन लागेन? (हो, लाग्यो।) आत्मिक संसारको अवधारणा यही हो। यो भौतिक संसारसँगै सह-अस्तित्वमा हुने, र यो एकसाथ परमेश्‍वरको प्रशासन र सार्वभौमिकताको अधीनमा हुने भए पनि, यस संसारप्रतिको परमेश्‍वरको प्रशासन र सार्वभौमिकता भौतिक संसारको भन्दा निकै कठोर हुन्छ। जब विस्तृत विवरणहरूको कुरा आउँछ, हामीले आत्मिक संसार कसरी मानवजातिको जीवन र मृत्युको चक्रको कार्यसँग सम्‍बन्धित छ भन्‍ने कुराबाट सुरु गर्नुपर्छ, किनभने आत्मिक संसारका सत्वहरूको कामको मुख्य भाग यही हो।

मानवजातिमध्ये, म सबै मानिसहरूलाई तीन वटा प्रकारमा विभाजन गर्छु। पहिलो अविश्‍वासीहरू, अर्थात् धार्मिक आस्था विहीन मानिसहरू हुन्। तिनीहरूलाई अविश्‍वासी भनिन्छ। धेरैजसो अविश्‍वासीहरूले पैसामाथि मात्रै विश्‍वास गर्छन्; तिनीहरूले आफ्‍नै रुचिहरूलाई मात्रै प्राथमिकता दिन्छन्, तिनीहरू भौतिकवादी हुन्छन्, र भौतिक संसारमा मात्रै विश्‍वास गर्छन्—तिनीहरूले जीवन मृत्युको चक्रमा वा देवीदेवता र भूतहरूका बारेमा बताइने कुनै पनि कुरामा विश्‍वास गर्दैनन्। म यी मानिसहरूलाई अविश्‍वासीहरू भनी वर्गीकरण गर्छु, र पहिलो प्रकारका मानिसहरू तिनीहरू नै हुन्। दोस्रो प्रकारका मानिसहरूमा अविश्‍वासीहरू बाहेकका विभिन्‍न विश्‍वासका मानिसहरू पर्छन्। मानवजातिमध्ये, म यी विश्‍वासका मानिसहरूलाई विभिन्‍न मुख्य समूहमा विभाजन गर्छु: पहिलो यहूदी, दोस्रो क्याथोलिक, तेस्रो ख्रीष्टियान, चौथो मुस्लिम, र पाचौं बुद्ध धर्म मान्‍ने हुन्; पाँच प्रकारका मानिसहरू छन्। यी विश्‍वासका विभिन्‍न प्रकारका मानिसहरू हुन्। तेस्रो प्रकारमा परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू पर्छन्, र तिमीहरू यसैमा पर्छौ। त्यस्ता विश्‍वासीहरू आज परमेश्‍वरलाई पछ्याउने मानिसहरू हुन्। यी मानिसहरू दुई प्रकारमा विभाजित छन्: परमेश्‍वरका चुनिएका मानिसहरू, र सेवाकर्ताहरू। यी मुख्य प्रकारहरूलाई स्पष्ट रूपमा अलग गरिएका छन्। तसर्थ, मानवका प्रकार र दर्जालाई तिमीहरूले आफ्‍नो मनमा अब स्पष्ट रूपमा नै भिन्‍नता छुट्याउन सक्छौ, सक्दैनौ त? पहिलो प्रकारमा अविश्‍वासीहरू पर्छन्, र तिनीहरू को हुन् भनेर मैले भनिसकेँ। के आकाशको वृद्ध मानिसमाथि विश्‍वास गर्ने मानिसहरूलाई अविश्‍वासीहरूका रूपमा गन्ती गरिन्छ? धेरैजसो अविश्‍वासीहरूले आकाशको वृद्ध मानिसमा मात्रै विश्‍वास गर्छन्; तिनीहरूले बाली लगाउँदा र कटनी गर्दा भरोसा गर्ने यस व्यक्तिले नै बतास, वर्षा, चट्याङ्ग, र अन्य कुरालाई नियन्त्रण गर्छ भन्‍ने विश्‍वास तिनीहरूको हुन्छ—तैपनि जब परमेश्‍वरमाथिको विश्‍वासको बारेमा कुरा गरिन्छ, तिनीहरू उहाँमा विश्‍वास गर्न इच्‍छुक हुँदैनन्। के यसलाई विश्‍वास हुनु भनेर भन्‍न सकिन्छ? त्यस्ता मानिसहरू अविश्‍वासीहरूमा पर्छन्। तिमीहरूले यो कुरा बुझ्यौ, होइन त? यी वर्गहरूमा नझुक्‍किओ। दोस्रो प्रकारमा विश्‍वासका मानिसहरू पर्छन्, र तेस्रो प्रकारका मानिसहरू हाल परमेश्‍वरलाई पछ्याइरहेका मानिसहरू हुन्। त्यसो भए मैले किन सबै मानवलाई यी प्रकारमा विभाजित गरेँ त? (किनभने फरक-फरक प्रकारका मानिसहरूको अन्त्य र गन्तव्य पनि फरक-फरक नै हुन्छन्।) यसको एउटा पक्ष यही हो। जब यी विभिन्‍न जात र प्रकारका मानिसहरू आत्मिक संसारमा फर्कन्छन्, तिनीहरू प्रत्येक फरक-फरक स्थानमा जानेछन् र जीवन र मृत्युको चक्रको फरक-फरक नियमको अधीनमा रहनेछन्, त्यसैले मैले मानवलाई यी मुख्य प्रकारहरूमा विभाजित गरेको छु।

क. अविश्‍वासीहरूको जीवन र मृत्युको चक्र

हामी अविश्‍वासीहरूको जीवन र मृत्युको चक्रबाट सुरु गरौं। मरेपछि, व्यक्तिलाई आत्मिक संसारको एक परिचरले लैजानेछ। वास्तवमा व्यक्तिको केलाई लगिन्छ? व्यक्तिको देहलाई होइन, तर प्राणलाई लगिन्छ। जब व्यक्तिको प्राणलाई लगिन्छ, तब ऊ विशेषतः भर्खरै मरेका मानिसहरूका प्राणलाई लिने आत्मिक संसारको एउटा निकायमा पुग्छ। मरेपछि जोकोही जाने पहिलो स्थान त्यही हो, र प्राणको लागि त्यो नौलो हुन्छ। जब तिनीहरूलाई यस स्थानमा लगिन्छ, एक अधिकारीले सुरुमा तिनीहरूको नाम, ठेगाना, उमेर, र तिनीहरूका सबै अनुभवहरूको जाँच गरी पुष्टि गर्छ। तिनीहरू जीवित हुँदा तिनीहरूले गरेको सबै कुरा पुस्तकमा लेखिएको हुन्छ र ती सही छन् कि छैनन् प्रमाणित गरिन्छ। यी सबैलाई जाँचिएपछि, उक्त व्यक्तिको जीवनभरिको बानीबेहोरा र कार्यहरूलाई उसले दण्ड पाउनेछ कि मानवको रूपमा पुनर्जन्‍म पाउनेछ भन्‍ने कुरा निर्धारित गर्न प्रयोग गरिन्छ, र यो पहिलो चरण हो। के यो पहिलो चरण डरलाग्दो छ? यो त्यति डरलाग्दो छैन, किनभने भएको के मात्रै हुन्छ भने व्यक्ति अँध्यारो र अपरिचित स्थानमा आइपुगेको हुन्छ।

दोस्रो चरणमा, यदि यस व्यक्तिले आफ्‍नो जीवनकालमा धेरै खराब कुराहरू गरेको छ र धेरै दुष्ट कार्यहरू गरेको छ भने, उसलाई उसको निराकरणको लागि दण्ड दिने स्थानमा लगिनेछ। त्यो खास गरी मानिसहरूलाई दण्ड दिनको लागि नै प्रयोग गरिने स्थान हुनेछ। तिनीहरूलाई कसरी दण्ड दिइन्छ भन्‍ने कुरा तिनीहरूले गरेका पापहरूका साथै मर्नुभन्दा पहिले तिनीहरूले कति वटा दुष्ट कुराहरू गरेका छन् त्यसमा आधारित हुन्छ—यो दोस्रो चरणमा आइपर्ने पहिलो परिस्थिति यही हो। मर्नुभन्दा पहिले गरेका खराब कुराहरू र दुष्ट कार्यहरूका कारण, तिनीहरूको दण्डपछि तिनीहरूको पुनर्जन्‍म हुँदा—अर्थात् तिनीहरू फेरि भौतिक संसारमा जन्‍मिँदा—कतिपय मानिसहरू मानव नै हुनेछन् भने, अरू पशु-प्राणी हुनेछन्। भन्‍नुको अर्थ, व्यक्ति आत्मिक संसारमा फर्केपछि, तिनीहरूलाई तिनीहरूले गरेका दुष्टताको निम्ति दण्ड दिइन्छ; यसको साथै, तिनीहरूले गरेका दुष्ट कुराको कारण, तिनीहरूको अर्को पुनर्जन्ममा, तिनीहरू सायद मानवको रूपमा होइन, बरु पशु-प्राणीको रूपमा फर्कनेछन्। तिनीहरू बन्‍ने पशु-प्राणीमा गाई, घोडा, सुँगुर र कुकुरहरू आदि पर्छन्। कतिपय मानिसहरू चराचुरुङ्गी, वा हाँस वा पानी-हाँसको रूपमा जन्‍मन सक्छन्…। पशु-प्राणीको रूपमा तिनीहरूको पुनर्जन्‍म भएपछि, जब तिनीहरू फेरि मर्छन्, तिनीहरू आत्मिक संसारमा फर्कनेछन्। त्यहाँ, पहिले जस्तै, तिनीहरूको मृत्युभन्दा पहिलेको तिनीहरूको बानीबेहोराको आधारमा, मानवको रूपमा तिनीहरूको पुनर्जन्‍म हुनेछ कि हुनेछैन भन्‍ने कुराको निर्णय आत्मिक संसारले गर्नेछ। धेरैजसो मानिसहरूले धेरै दुष्ट कार्य गर्छन्, र तिनीहरूका पाप अत्यन्तै गम्‍भीर हुन्छन्, त्यसकारण सातदेखि बाह्र पटकसम्‍म तिनीहरूको पुनर्जन्‍म पशु-प्राणीको रूपमा हुनुपर्छ। सातदेखि बाह्र पटकसम्‍म—के त्यो डरलाग्दो कुरा होइन र? (यो डरलाग्दो कुरा हो।) के कुराले तिमीहरूलाई भयभीत तुल्याउँछ? व्यक्ति पशु-प्राणी बन्‍नु—त्यो डरलाग्दो कुरा हो। अनि व्यक्तिको लागि, पशु-प्राणी बन्‍नुको सबैभन्दा पीडादायक कुरा के हो? कुनै भाषा नहुनु, साधारण विचारहरू मात्रै हुनु, पशु-प्राणीले गर्ने कुरा मात्रै गर्न र पशु-प्राणीले खाने कुरा मात्रै खान सक्‍नु, पशु-प्राणीको जस्तो सरल मनस्थिति र शारीरिक हाउभाउ हुनु, सीधा भई हिँड्न नसक्‍नु, मानवसँग संचार गर्न नसक्‍नु, र मानवको कुनै बानीबेहोरा वा क्रियाकलापहरूको सम्‍बन्ध पशु-प्राणीसँग नहुने तथ्य। यसको अर्थ, सबै कुराहरूमध्ये, पशु-प्राणी बन्ने कुराले चाहिँ तिमीहरूलाई जीवित प्राणीहरूमा सबैभन्दा नीच बनाउँछ र यसमा मानव हुनुमा भन्दा धेरै दुःखकष्ट सहनुपर्छ। धेरै दुष्ट काम र ठूला पापहरू गरेका मानिसहरूलाई दिइने आत्मिक संसारको दण्डको एउटा पक्ष यही हो। जब तिनीहरूको दण्डको गम्‍भीरताको कुरा आउँछ, तिनीहरू कस्तो प्रकारको पशु-प्राणी बन्छन् भन्‍ने आधारमा निर्णय हुन्छ। उदाहरणको लागि, के सुँगुर बन्‍नु कुकुर बन्‍नुभन्दा उत्तम हो? के सुँगुर कुकुरभन्दा उत्तम तरिकाले जिउँछ कि खराब तरिकाले? खराब तरिकाले, होइन र? यदि मानिसहरू गाई वा घोडा बन्छन् भने, तिनीहरू सुँगुरभन्दा उत्तम तरिकाले जिउनेछन् कि खराब तरिकाले जिउनेछन्? (उत्तम तरिकाले।) बिरालोको रूपमा व्यक्तिको पुनर्जन्‍म भयो भने के उसलाई अझ बढी सहज हुनेछ? ऊ जे भए पनि पशु नै हुनेछ, र बिरालो हुनु गाई वा घोडा हुनुभन्दा निकै सहज हुनेछ, किनभने बिरालोहरूले आफ्नो धेरैजसो समय आनन्दसाथ निदाएर नै बिताउन पाउँछन्। गाई वा घोडा हुनु अझै बढी कठिन हुन्छ। त्यसकारण, यदि गाई वा घोडाको रूपमा व्यक्तिको पुनर्जन्‍म हुन्छ भने, तिनीहरूले कठिन परिश्रम गर्नुपर्छ—जुन कडा दण्ड सरह हो। कुकुर बन्‍नु गाई वा घोडाभन्दा अलिक उत्तम हो, किनभने मालिकसँग कुकुरको नजिकको सम्‍बन्ध हुन्छ। कतिपय कुकुरहरूले धेरै वर्ष पाल्तु कुकुरको रूपमा बसेपछि, तिनीहरूका मालिकले भन्‍ने धेरै कुरा बुझ्‍न सक्छन्। कहिलेकहीँ, कुकुरले यसको मालिकको मनस्थिति र मापदण्डहरूलाई अपनाउन सक्छ र मालिकले कुकुरलाई राम्रो व्यवहार गर्छ, र कुकुरले राम्रो खान र पिउन पाउँछ, र पीडामा हुँदा यसले हेरचाह पाउँछ। त्यसो भए, के कुकुरले खुशी जीवनको आनन्द लिँदैन र? तसर्थ, कुकुर बन्‍नु गाई वा घोडा बन्‍नुभन्दा उत्तम कुरा हो। यस हकमा, व्यक्तिको दण्डको गम्भीरताले नै कति पटक पशु-प्राणीको रूपमा, साथै कुन प्रकारको पशु-प्राणीको रूपमा उसको पुनर्जन्‍म हुन्छ भन्‍ने कुरालाई निर्धारित गर्छ।

तिनीहरूले आफू जीवित हुँदा धेरै पाप गरेका हुनाले, कतिपय मानिसहरूलाई सातदेखि बाह्र जीवनसम्‍म पशु-प्राणीको रूपमा पुनर्जन्‍म गराएर दण्ड दिइन्छ। पर्याप्त पटक दण्ड पाइसकेर, आत्मिक संसारमा फर्केपछि, तिनीहरूलाई अर्को ठाउँ अर्थात् विभिन्‍न प्राणलाई पहिले नै दण्ड दिइसकिएको र मानवको रूपमा पुनर्जन्‍म हुनको लागि तयार गरिँदै गरिएका प्राणहरू भएको स्थानमा लगिन्छ। यस स्थानमा, हरेक प्राणलाई तिनीहरू कुन प्रकारको परिवारमा जन्‍म लिनेछन्, तिनीहरूको पुनर्जन्‍म भएपछि तिनीहरूले कस्तो प्रकारको भूमिका निर्वाह गर्नेछन्, आदि इत्यादि कुराहरू अनुसार वर्गीकरण गरिन्छ। उदाहरणको लागि, कतिपय मानिसहरू यस संसारमा आएपछि गायक बन्छन्, त्यसकारण तिनीहरूलाई गायकहरूको बीचमा राखिन्छ; कतिपय मानिसहरू संसारमा आएपछि व्यापारी बन्छन्, त्यसकारण तिनीहरूलाई व्यापारीहरूको वर्गमा राखिन्छ; अनि यदि कुनै व्यक्ति मानव बनेपछि वैज्ञानिक शोधकर्ता बन्छ भने, उसलाई वैज्ञानिक शोधकर्ताहरूको बीचमा राखिन्छ। तिनीहरूलाई वर्गीकरण गरिएपछि, प्रत्येकलाई आज मानिसहरूले इमेल पठाएजस्तै गरी फरक-फरक समय र तोकिएको मितिमा पठाइन्छ। यसमा जीवन र मृत्युको एउटा चक्र पूरा हुनेछ। त्यो व्यक्ति आत्मिक संसारमा आइपुगेको समयदेखि तिनीहरूको दण्डको अन्त्यसम्म, वा धेरै पटक पशु-प्राणीको रूपमा तिनीहरूको पुनर्जन्‍म भएर मानवको रूपमा पुनर्जन्‍म हुन तयार भइञ्‍जेलसम्‍ममा, यो प्रक्रिया पूरा हुन्छ।

दण्ड पाइसकेका र पशु-प्राणीको रूपमा पुनर्जन्‍म नभएका मानिसहरूको हकमा, के तिनीहरूलाई मानवको रूपमा पुनर्जन्‍म गराउनको लागि तुरुन्तै भौतिक संसारमा पठाइनेछ? वा, तिनीहरू मानवको बीचमा आइपुग्‍न कति समय लाग्‍नेछ? यो कति पटक हुन सक्छ? यसका लौकिक सीमाहरू छन्। आत्मिक संसारमा हुने सबै कुरा निश्‍चित लौकिक सीमा र नियमहरूको अधीनमा हुन्छन्—जसको बारेमा मैले अङ्कमा व्याख्या गरेँ भने, तिमीहरूले बुझ्‍नेछौ। छोटो समय अवधिमा पुनर्जन्‍म हुनेहरूको हकमा भन्दा, जब तिनीहरू मर्छन्, मानवको रूपमा पुनर्जन्‍म हुनको लागि तिनीहरूका निम्ति पहिले नै तयारी गरिसकिएको हुन्छ। यसो हुनसक्‍ने सबैभन्दा छोटो समय भनेको तीन दिन हो। कतिपय मानिसहरूको लागि, तीन महिना लाग्छ, कतिपयलाई तीन वर्ष लाग्छ, कतिलाई तीस वर्ष लाग्छ, कतिलाई तीन सय वर्ष लाग्छ, अनि यस्तै इत्यादि। त्यसकारण, यी लौकिक नियमहरूका बारेमा के भन्‍न सकिन्छ, र तिनका सर्तहरू के हुन्? ती भौतिक संसार, अर्थात्, मानव संसारलाई प्राणबाट के चाहिन्छ त्यसमा, र यो प्राणले यस संसारमा खेल्नुपर्ने भूमिकामा आधारित हुन्छन्। जब साधारण मानवको रूपमा मानिसहरूको पुनर्जन्‍म हुन्छ, तिनीहरूमध्ये धेरैजसोको तुरुन्तै पुनर्जन्‍म भइहाल्छ, किनभने मानव संसारलाई त्यस्ता साधारण मानिसहरूको तत्काल खाँचो हुन्छ—त्यसकारण, तीन दिनपछि, तिनीहरूलाई तिनीहरू मर्नुभन्दा पहिलेको तिनीहरूको परिवारभन्दा पूर्ण रूपमा फरक परिवारमा फेरि पठाइन्छ। तैपनि, यो संसारमा विशेष भूमिका निर्वाह गर्ने कतिपय मानिसहरू पनि हुन्छन्। “विशेष” को अर्थ मानिसको संसारमा यी मानिसहरूको त्यति ठूलो संख्यामा माग हुँदैन; यस्तो भूमिका निर्वाह गर्नको लागि त्यति धेरै मानिसहरूको आवश्यकता हुँदैन, त्यसकारण यसको लागि तीन सय वर्ष लाग्‍न सक्छ। अर्को शब्‍दमा भन्दा, यो प्राण हरेक तीन सय वर्ष वा हरेक तीन हजार वर्षमा मात्रै आउनेछ। किन यस्तो हुन्छ त? किनभने तीन सय वा तीन हजार वर्षमा मानिसको संसारमा त्यस्तो भूमिकाको आवश्यकता हुँदैन, त्यसकारण तिनीहरूलाई आत्मिक संसारमा कतै राखिन्छ। उदाहरणको लागि कन्फ्युसियसलाई लिऊँ: परम्‍परागत चिनियाँ संस्कृतिमा उनले ठूलो प्रभाव पारेका थिए, र तिनको आगमनले त्यस समयका मानिसहरूको परम्‍परा, ज्ञान, संस्कृति, र विचारधारालाई गहन रूपमा प्रभाव पारेको थियो। तैपनि, हरेक युगमा यस्तो व्यक्तिको आवश्यकता हुँदैन, त्यसकारण पुनर्जन्‍म हुनको लागि तीन सय वा तीन हजार वर्ष प्रतीक्षा गर्दै उनी आत्मिक संसारमा नै रहनु परेको थियो। मानिसको संसारलाई यस्तो व्यक्तिको खाँचो नपर्ने हुँदा, उनले केही नगरी प्रतीक्षा गर्नु परेको थियो, किनभने उनको जस्तो भूमिका निकै कम छन्, र उनले गर्नुपर्ने कुरा थोरै छ। तसर्थ, मानिसको संसारलाई उनको आवश्यकता परेपछि उनलाई पठाउनको लागि धेरैजसो समय उनलाई केही नगराईकन आत्मिक संसारमा कतै राख्‍नु परेको थियो। धेरैजसो मानिसहरूको कति पटक पुनर्जन्‍म हुन्छ भन्‍ने बारेमा रहेका आत्मिक क्षेत्रका लौकिक नियमहरू यिनै हुन्। मानिसहरू साधारण भए पनि वा विशेष भए पनि, तिनीहरूको पुनर्जन्मलाई मिलाउनको लागि आत्मिक संसारसँग उचित नियम र सही अभ्यासहरू छन्, र यी नियम र अभ्यासहरू परमेश्‍वरले नै पठाउनुभएको हो, आत्मिक संसारको कुनै परिचर वा सत्वले यसको निर्णय गर्ने वा नियन्त्रण गर्ने कार्य गर्दैन। तिमीहरूले अब यो कुरा बुझ्यौ, होइन त?

कुनै पनि प्राणको लागि, यसको पुनर्जन्‍म, यस जीवनमा यसको भूमिका के हो, यो कुन परिवारमा जन्‍मन्छ, र यसको जीवन कस्तो हुन्छ भन्‍ने कुराहरू प्राणको अघिल्‍लो जीवनकालसँग सम्‍बन्धित हुन्छ। मानिसको संसारमा सबै प्रकारका मानिसहरू आउँछन्, र तिनीहरूले गर्ने कामजस्तै तिनीहरूले खेल्‍ने भूमिका फरक-फरक हुन्छन्। अनि यी काम के-के हुन् त? कतिपय मानिसहरू ऋण तिर्न आउँछन्: यदि तिनीहरूको पहिलेको जीवनमा तिनीहरूले अरूलाई धेरै पैसा तिर्नु थियो भने, तिनीहरू यो जीवनमा ती कर्जा तिर्न आउँछन्। यसबीच, कतिपय मानिसहरू ऋण उठाउन आएका हुन्छन्: तिनीहरूको पहिलेको जीवनमा तिनीहरूबाट धेरै कुरा र धेरै पैसा ठगी गरी लिइएको हुन्छ; परिणामस्वरूप, तिनीहरू आत्मिक संसारमा आएपछि, यसले तिनीहरूलाई न्याय दिन्छ र तिनीहरूलाई यस जीवनमा तिनीहरूको कर्जा उठाउन दिन्छ। कतिपय मानिसहरू कृतज्ञताको कर्जा तिर्न आएका हुन्छन्: पहिलेको जीवनकालमा—अर्थात्, तिनीहरूको पहिलेको पुनर्जन्ममा—कुनै व्यक्ति तिनीहरूप्रति दयालु रहेको थियो, र यो जीवनमा पुनर्जन्‍म हुने ठूलो अवसर दिइएको हुनाले, तिनीहरू कृतज्ञताका ती कर्जा तिर्न फेरि जन्‍मन्छन्। यसबीच, अरूले यस जीवनमा कसैको जीवन लिन पुनर्जन्‍म लिएका हुन्छन्। अनि तिनीहरूले कसको जीवन लिन्छन् त? तिनीहरूले अघिल्‍लो जीवनमा आफूलाई मार्ने मानिसहरूको जीवन लिन्छन्। समग्रमा, हरेक व्यक्तिको वर्तमान जीवनको तिनीहरूको अघिल्‍लो जीवनकालसँग गहन सम्‍बन्ध हुन्छ; यो सम्‍बन्ध अलग्याउन नसकिने हुन्छ। भन्‍नुको अर्थ, हरेक व्यक्तिको वर्तमान जीवनलाई अघिल्‍लो जीवनले ठूलो प्रभाव पारेको हुन्छ। उदाहरणको लागि, मानौं मर्नुभन्दा पहिले झाङ्गले लीलाई ठूलो रकम ठगी गर्‍यो। त्यसो भए, के झाङ्ग लीप्रति ऋणी भएको हुन्छ? ऊ ऋणी भएको हुन्छ, त्यसकारण लीले झाङ्गबाट आफ्‍नो कर्जा उठाउनु उचित नै हुन्छ। परिणामस्वरूप, तिनीहरू मरेपछि, तिनीहरूको बीचमा चुक्ता गरिनुपर्ने कर्जा हुन्छ। जब तिनीहरूको पुनर्जन्‍म हुन्छ र झाङ्ग मानव बन्छ, लीले कसरी ऊबाट कर्जा सङ्कलन गर्छ त? एउटा तरिका भनेको झाङ्गको छोरा भएर जन्‍मनु हो; झाङ्गले ठूलो रकम कमाउँछ, जुन लीले उडाउँछ। झाङ्गले जति नै धेरै रकम कमाए पनि, उसको छोरा लीले यसलाई उडाइदिन्छ। झाङ्गले जति नै धेरै कमाए पनि, कहिल्यै पर्याप्त हुँदैन; र यसबीच, सधैँ नै उसको छोराले कुनै कारणवश विभिन्‍न तरिकाले आफ्‍नो बुबाको रकम खर्च गर्न पुग्छ। झाङ्ग छक्‍क पर्दै सोच्छन्, “यो मेरो छोराले किन सधैँ यति दुर्भाग्य निम्त्याउँछ? किन अरूका छोराचाहिँ राम्रो बानीबेहोरा भएका छन्? किन मेरो छोराको कुनै लक्ष्य छैन, किन ऊ बेकामे छ र उसले कुनै रकम कमाउन सक्दैन, र मैले किन सधैँ उसलाई सहयोग गर्नुपर्छ? मैले नै उसलाई सहयोग गर्नुपर्ने भएकोले, म गर्नेछु—तर किन मैले जति नै धेरै पैसा दिए पनि, उसलाई सधैँ अझै बढी चाहिन्छ? किन उसले इमानदार रूपमा काम गर्न सक्दैन, बरु अल्‍लारे भएर हिँड्ने, खाने, पिउने, केटी घुमाउने, र बाजी लगाउनेजस्ता कुराहरू गर्छ? आखिर के भइरहेको छ?” त्यसपछि झाङ्गले केही समय सोच्छ, “सायद मैले अघिल्‍लो जीवनकालमा उसको ऋण खाएको छु। ठीकै छ, म यो कर्जा तिर्नेछु! मैले पूरा नतिरेसम्‍म यो कार्य रोकिनेछैन!” त्यो दिन आउन सक्छ जुन दिन लीले आफ्‍नो ऋण पूरै उठाइसक्छ, र ऊ चालीस वा पचासको दशकमा हुँदा, ऊ अचानक आफ्‍नो चेतनामा फर्किन्छ र महसुस गर्छ, “मैले मेरो जीवनको अघिल्‍लो आधा भागमा एउटै राम्रो काम गरेको छैन रहेछु! मेरो बुबाले कमाएको सबै पैसा मैले उडाएको छु, त्यसकारण म असल व्यक्ति हुन सुरु गर्नुपर्छ! म आफैलाई दह्रिलो बनाउनेछु; म इमानदार र उचित रूपमा जिउने व्यक्ति बन्‍नेछु, र म मेरो बुबालाई फेरि कहिल्यै पनि दुःखी तुल्याउनेछैन!” उसले किन यस्तो विचार गर्छ? ऊ किन अचानक असल व्यक्तिमा परिवर्तन हुन्छ? के यसको कुनै कारण छ? कारण के हो? (किनभने लीले आफ्‍नो ऋण उठाइसकेको छ; झाङ्गले आफ्‍नो ऋण तिरिसकेको छ।) यसमा, कारण र प्रभाव छ। यो कथा तिनीहरूको हालको जीवनकालभन्दा धेरै पहिले सुरु भएको हो; तिनीहरूको विगतको जीवनको यो कथालाई वर्तमानमा ल्याइएको हुन्छ, र कसैले पनि अर्को व्यक्तिलाई दोष दिन सक्दैन। झाङ्गले आफ्‍नो छोरालाई जे सिकाए पनि, उसको छोराले कहिल्यै पनि सुनेन न त कुनै मेहनत नै गर्‍यो। ऋण तिरिएको दिनमा, उसको छोरालाई सिकाउनुपर्ने कुनै आवश्यकता परेन—उसले प्राकृतिक रूपमै बुझ्यो। यो एउटा सरल उदाहरण हो। के त्यस्ता धेरै उदाहरणहरू छन् त? (हो, छन्।) यसले मानिसहरूलाई के बताउँछ? (तिनीहरू असल हुनुपर्छ र दुष्ट कार्य गर्नु हुँदैन।) तिनीहरूले कुनै दुष्ट काम गर्नु हुँदैन, र तिनीहरूको गलत कार्यको निम्ति दण्ड दिइनेछ! धेरै अविश्‍वासीहरूले त्यस्ता धेरै दुष्ट कार्य गर्छन्, र तिनीहरूका गलत कार्यको निम्ति दण्ड दिइन्छ, होइन र? तैपनि, के त्यस्तो दण्ड स्वेच्‍छाचारी हुन्छ त? हरेक कार्यको लागि, पृष्ठभूमि हुन्छ र यसको दण्डको पछाडि एउटा कारण हुन्छ। के तैँले कसैलाई रकम ठगेपछि तँलाई केही पनि हुनेछैन भन्‍ने तँलाई लाग्छ? के तँलाई त्यो रकम ठगेपछि, तैँले कुनै पनि परिणामहरूको सामना गर्नुपर्दैन भन्‍ने लाग्छ? त्यस्तो हुनु त असम्‍भव नै हुनेछ; अवश्य नै त्यसका परिणामहरू हुनेछन्! तिनीहरू जो भए पनि वा तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गरे पनि नगरे पनि, सबै व्यक्ति आफ्‍नो व्यवहारको निम्ति जिम्‍मेवार हुनुपर्छ र तिनीहरूले आफ्‍ना कार्यहरूका परिणामहरू भोग्‍नुपर्छ। यस सरल उदाहरणको विषयमा—झाङ्गलाई दण्ड दिइएको, र लीको कर्जा चुक्ता गरिएको विषयमा—के यो कुरा उचित छैन र? जब मानिसहरूले त्यस्ता कार्यहरू गर्छन्, आउने परिणाम यस्तै हुन्छ। यो आत्मिक संसारको प्रशासन कार्यबाट अलग गर्न नसकिने कुरा हो। तिनीहरू अविश्‍वासी भएको बावजुद पनि, परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूको अस्तित्व यी स्वर्गीय आदेश र उर्दीहरूको अधीनमा हुन्छ। ती आदेश र उर्दीबाट कोही पनि उम्‍कन सक्दैन, र यो यथार्थबाट कोही पनि जोगिन सक्दैन।

विश्‍वास नभएका मानिसहरूले प्रायजसो मानवले देख्‍न सक्‍ने सबै कुरा अस्तित्वमा छन्, तर देख्‍न नसकिने सबै कुरा, वा मानिसहरूबाट अत्यन्तै टाढा रहेका कुराहरू अस्तित्वमा छैनन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू “जीवन र मृत्युको चक्र” छैन र कुनै “दण्ड” छैन भनेर विश्‍वास गर्न रुचाउँछन्; यसर्थ, तिनीहरूले कुनै पछुतो नगरीकन पाप गर्छन् र दुष्ट कार्य गर्छन्। त्यसपछि, तिनीहरू दण्डित हुन्छन्, वा पशु-प्राणीको रूपमा पुनर्जन्‍म लिन्छन्। अविश्‍वासीहरूका बीचमा रहेका विभिन्‍न प्रकारका मानिसहरूमध्ये धेरैजसो यही दुष्चक्रमा पर्छन्। किनभने तिनीहरूलाई सबै जीवित प्राणीप्रतिको प्रशासनमा आत्मिक संसार अत्यन्तै कठोर छ भन्‍ने थाहा हुँदैन। तैँले विश्‍वास गरे पनि नगरे पनि यो तथ्य अस्तित्वमा छ, किनभने परमेश्‍वरले आफ्‍नो आँखाले अवलोकन गर्नुहुने क्षेत्रबाट कुनै व्यक्ति वा वस्तु उम्कन सक्दैन, र उहाँका स्वर्गीय आदेश र उर्दीहरूका नियम र सीमितताहरूबाट कुनै व्यक्ति वा वस्तु उम्कन सक्दैन। तसर्थ, यो सरल उदाहरणले सबैलाई के कुरा बताउँछ भने, तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि नगरे पनि, पाप गर्नु र दुष्ट कार्य गर्नु अस्वीकार्य छ, र सबै कामका परिणामहरू हुन्छन्। अर्को व्यक्तिबाट पैसा ठगी गर्ने कुनै व्यक्तिको लागि, त्यस्तो दण्ड उचित नै हुन्छ। आम रूपमा देखिने यस्तो व्यवहारलाई आत्मिक संसारमा दण्डित गरिन्छ, र त्यस्तो दण्ड परमेश्‍वरका आदेश र स्वर्गीय उर्दीद्वारा दिइन्छ। त्यसकारण, गम्‍भीर अपराधी र दुष्ट व्यवहारको निम्ति—बलात्कार र लुटपाट गर्ने, ठगी र छल गर्ने, चोरी र डकैती गर्ने, हत्या र आगजनी गर्ने, आदि इत्यादि—विभिन्‍न हदको गम्‍भीरता सहितको विभिन्न किसिमको दण्ड हुन्छ। विभिन्‍न हदको गम्‍भीरता सहितका यी दण्डहरूमा के-के पर्छन् त? तीमध्ये कतिमा समयको प्रयोग गरी गम्‍भीरताको स्तर तय गरिन्छ, कतिमा भने विभिन्‍न विधिहरूद्वारा त्यसो गरिन्छ; अझै अरूहरूमा मानिसहरूको पुनर्जन्‍म हुँदा कहाँ जान्छन् त्यसलाई निर्धारण गरेर त्यसो गरिन्छ। उदाहरणको लागि, कतिपय मानिसहरू फोहोरी बोल्‍ने हुन्छन्। “फोहोरी बोल्‍ने” ले केलाई जनाउँछ? यसको अर्थ अरूसँग बोल्दा बारम्‍बार मनपरी भन्‍ने र अरूलाई सराप्‍ने द्वेषपूर्ण भाषाको प्रयोग गर्ने भन्‍ने हुन्छ। फोहोरी भाषाले केलाई जनाउँछ? त्यस व्यक्तिसँग दुर्भावनापूर्ण हृदय छ भन्‍ने यसले सङ्केत दिन्छ। अरूलाई सराप दिने फोहोरी भाषा त्यस्ता मानिसहरूको मुखबाट नै प्राय निस्कन्छ, र त्यस्तो फोहोरी भाषाले गम्‍भीर परिणामहरू ल्याउँछ। यी मानिसहरू मरेर उचित दण्ड पाएपछि, तिनीहरू गुँगो भएर जन्‍मन सक्छन्। कतिपय मानिसहरू जिउँदो हुँदा अत्यन्तै कुटिल हुन्छन्; तिनीहरूले प्राय अरूबाट फाइदा लुट्छन्, तिनीहरूका युक्तिहरू खास रूपमा योजनाबद्ध हुन्छन्, र तिनीहरूले अरूलाई धेरै हानि गर्छन्। जब तिनीहरूको पुनर्जन्‍म हुन्छ, तब तिनीहरू अर्धबुद्धि वा मानसिक रूपमा अशक्त भई जन्मन सक्छन्। कतिपय मानिसहरूले प्रायजसो अरूको व्यक्तिगत मामलामा हात हाल्छन्; तिनीहरूका आँखाले नदेख्‍नु पर्ने धेरै कुरा देख्छन्, र तिनीहरूले नजान्‍नु पर्ने धेरै कुरा जान्दछन्। परिणामस्वरूप, जब तिनीहरूको पुनर्जन्‍म हुन्छ, तिनीहरू अन्धा हुन सक्छन्। कतिपय मानिसहरू जीवित हुँदा हातखुट्टा चलाउन अत्यन्तै चतुर हुन्छन्; तिनीहरूले प्रायजसो झगडा गर्छन् र धेरै दुष्ट कार्य गर्छन्। यही कारणले गर्दा, अपाङ्ग, लङ्गडो, वा हात नभएको व्यक्तिको रूपमा तिनीहरूको पुनर्जन्‍म हुन सक्छ; अन्यथा तिनीहरू कुप्रो वा घाँटी बाङ्गिएको व्यक्तिको रूपमा जन्‍मन सक्छन्, एक हातले हिँड्ने, एउटा खुट्टा अर्कोभन्दा छोटो भएको, र यस्तै अन्य रूपमा जन्‍मन सक्छन्। यिनमा, तिनीहरूलाई जीवित हुँदा तिनीहरूले गरेका दुष्ट कामको स्तरको आधारमा विभिन्‍न दण्डहरू प्रदान गरिएको हुन्छ। तिमीहरूलाई कतिपय मानिसहरूको हेराइ किन डेडो हुन्छ भन्‍ने लाग्छ? के त्यस्ता धेरै मानिसहरू छन्? आजभोलि यस्ता मानिसहरू धेरै नै छन्। कतिपय मानिसहरूले तिनीहरूको विगतको जीवनमा आफ्‍नो आँखाको धेरै प्रयोग गरेका र धेरै खराब काम गरेकाले तिनीहरूको हेराइ डेडो हुन्छ, त्यसले गर्दा तिनीहरू डेडो हेराइको समस्यासहित जन्‍मे, र गम्भीर अवस्थाहरूमा, तिनीहरू अन्धोसमेत भएर जन्‍मे। यो दण्ड हो! कतिपय मानिसहरू मर्नुभन्दा पहिले अरूसँग राम्ररी मिलेर बस्छन्; तिनीहरूले आफ्ना आफन्त, इष्टमित्र, सहकर्मी, वा तिनीहरूसँग सम्‍बन्धित अरू मानिसहरूका निम्ति धेरै असल कार्य गर्छन्। तिनीहरूले अरूका लागि परोपकार र हेरचाह प्रदान गर्छन्, वा तिनीहरूलाई आर्थिक रूपमा सहायता गर्छन्, अनि मानिसहरूले तिनीहरूलाई आदरको साथ हेर्छन्। जब त्यस्ता मानिसहरू आत्मिक संसारमा फर्कन्छन्, तिनीहरूलाई दण्ड दिइँदैन। एक अविश्‍वासीलाई कुनै पनि किसिमले दण्ड नदिनुको अर्थ तिनीहरू अत्यन्तै असल व्यक्ति थिए भन्‍ने हुन्छ। परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्नुको सट्टा, तिनीहरूले आकाशको वृद्ध मानिसमा मात्रै विश्‍वास गरे। त्यस्तो व्यक्तिले तिनीहरूभन्दा माथि एउटा आत्मा छ जसले तिनीहरूले गर्ने हरेक कुरा हेर्छ भन्‍ने मात्रै विश्‍वास गर्छ—यो व्यक्तिले विश्‍वास गर्ने भनेको यति मात्रै हो। यसको परिणाम के हुन्छ भने यो व्यक्तिको व्यवहार निकै राम्रो हुन्छ। त्यस्ता मानिसहरू दयालु हृदय भएको र परोपकारी हुन्छन्, र जब तिनीहरू अन्तिममा आत्मिक संसारमा फर्कन्छन्, यसले तिनीहरूलाई अत्यन्तै राम्रो व्यवहार गर्नेछ, र तिनीहरूको चाँडै नै पुनर्जन्‍म हुनेछ। जब तिनीहरू फेरि जन्मन्छन्, तिनीहरू कस्तो प्रकारको परिवारमा आइपुग्‍नेछन्? त्यस्ता परिवार धनी नभए पनि, तिनीहरूको परिवारका सदस्यहरूमा सद्‌भाव हुने हुँदा तिनीहरू कुनै पनि हानिबाट मुक्त हुन्छन्; त्यहाँ, पुनर्जन्‍म भएका यी मानिसहरूले सुरक्षित, खुशीका दिनहरू बिताउँछन्, र हरेक व्यक्तिले आनन्दित भएर असल जीवन जिउनेछ। जब यी मानिसहरू वयस्क हुन्छन्, तिनीहरूको परिवार ठूलो, संयुक्त परिवार हुनेछ, तिनीहरूका छोराछोरी प्रतिभावान् हुनेछन्, तिनीहरूले सफलता पाउनेछन्, अनि तिनीहरूको परिवारले राम्रो सौभाग्यको आनन्द लिनेछन्—र त्यस्तो परिणाम यी मानिसहरूको विगतको जीवनसँग पूर्ण रूपमा सम्‍बन्धित हुन्छ। अर्थात्, मानिसहरू मरेर तिनीहरूको पुनर्जन्‍म भएपछि तिनीहरू कहाँ जान्छन्, तिनीहरू पुरुष बन्छन् कि महिला बन्छन्, तिनीहरूको मिसन के हो, जीवनमा तिनीहरूले के भोग्‍नेछन्, तिनीहरूले के-कस्ता प्रतिरोधहरूको सामना गर्नेछन्, तिनीहरूले कस्ता आशिष् पाउनेछन्, तिनीहरूले कसलाई भेट्नेछन्, र तिनीहरूलाई के हुनेछ—कसैले पनि यी कुराहरूको पूर्वानुमान गर्न, तीबाट जोगिन, वा तीबाट लुक्‍न सक्दैन। भन्‍नुको अर्थ, तेरो जीवनको तय गरिएपछि, तँलाई जेसुकै भए पनि—तैँले यसबाट जोगिन जे-जसरी प्रयास गरे पनि, र जुनसुकै माध्यमको प्रयोग गरे पनि—परमेश्‍वरले आत्मिक संसारमा तेरो लागि तय गर्नुभएको जीवनको मार्गलाई तैँले कुनै पनि हालतमा उल्‍लङ्घन गर्न सक्दैनस्। किनभने जब तेरो पुनर्जन्‍म हुन्छ, तेरो जीवनको भवितव्य पहिले नै तोकिएको हुन्छ। चाहे यो असल होस् वा खराब, सबैले यसको सामना गर्नुपर्छ र अघि बढिरहनुपर्छ। यो यस्तो कुरा हो जसबाट यस संसारमा बस्‍ने कोही पनि जोगिन सक्दैन, र यत्तिको यथार्थ कुरा अरू केही पनि छैन। मैले भन्दै आएको कुरा तिमीहरू सबैले बुझेका छौ, होइन त?

यी कुराहरूलाई बुझिसकेपछि, के तिमीहरूले अहिले अविश्‍वासीहरूको जीवन र मृत्यु चक्रको लागि परमेश्‍वरसित अत्यन्तै सटीक र कठिन जाँच र प्रशासन हुन्छ भन्‍ने देख्यौ? पहिलो, उहाँले आत्मिक क्षेत्रमा विभिन्‍न स्वर्गीय उर्दीहरू, आदेशहरू, र प्रणालीहरूको स्थापना गर्नुभएको छ, र यिनको घोषणा भइसकेपछि, तिनलाई परमेश्‍वरले तय गर्नुभएअनुसार नै आत्मिक संसारका विभिन्‍न आधिकारिक पदहरूमा भएका प्राणीहरूले कठोर रूपमा पालन गर्छन्, र कसैले पनि तिनलाई उल्‍लङ्घन गर्ने आँट गर्दैनन्। त्यसकारण, मानिसको संसारमा मानवजातिको जीवन र मृत्युको चक्रमा, पशु-प्राणी वा मानिस, जुनसुकै रूपमा कुनै व्यक्तिको पुनर्जन्‍म भए पनि, दुवैका लागि नियमहरू छन्। यी नियमहरू परमेश्‍वरबाट आउने हुनाले, तिनलाई तोड्ने आँट कसैले पनि गर्दैन, न त कसैले तिनलाई तोड्न नै सक्छ। परमेश्‍वरको यो सार्वभौमिकताको कारणले गर्दा, अनि त्यस्ता नियमहरू अस्तित्वमा भएको हुनाले मात्रै, मानिसहरूले देख्‍ने भौतिक संसार नियमित र सुव्यवस्थित छ; परमेश्‍वरको यो सार्वभौमिकताको कारणले गर्दा मात्रै मानिसहरू तिनीहरूका निम्ति पूर्ण रूपमा अदृश्य रहेको अर्को संसारसँग शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहन सक्छन्, र यससँग सदभावमा जिउन सक्छन्—जसमध्ये कुनैलाई पनि परमेश्‍वरको सार्वभौमिकताबाट अलग गर्न सकिँदैन। व्यक्तिको देहीय जीवन मरिसकेपछि पनि प्राणसँग अझै जीवन हुन्छ, त्यसैले यो परमेश्‍वरको प्रशासनको अधीनमा नभएको भए यसलाई के हुनेथियो? उक्त प्राण जहाँसुकै घुसपैठ गर्दै जताततै भौँतारिनेथियो, अनि मानव संसारका जीवित कुराहरूलाई हानि समेत गर्नेथियो। त्यस्तो हानि मानवजातिलाई मात्र होइन, वनस्पति र पशु-प्राणीलाई पनि हुनेथियो—तैपनि, हानि गरिने पहिलो कुरा मानिसहरू नै हुनेथिए। यस्तो भएको भए—यदि त्यस्तो प्राण प्रशासनविना भएको भए, त्यसले साँच्‍चै मानिसहरूलाई हानि गरेको भए, र वास्तवमै दुष्ट कुराहरू गरेको भए—यो प्राणलाई पनि आत्मिक संसारमा उचित रूपमा सम्‍हालिनेथियो। यदि अवस्था गम्‍भीर हुन्थ्यो भने, उक्त प्राण चाँडै नै अस्तित्व विहीन हुनेथियो, र यसलाई नष्ट गरिनेथियो। सम्‍भव भए, यसलाई कतै राखिनेथियो र त्यसपछि पुनर्जन्‍म गराइनेथियो। भन्‍नुको अर्थ, आत्मिक संसारले विभिन्‍न प्राणहरूलाई गर्ने प्रशासन सुव्यवस्थित हुन्छ र यस्तो प्रशासनलाई चरणहरू र नियमहरू अनुरूप कार्यान्वयन गरिन्छ। यस्तो प्रशासनको कारणले गर्दा नै मानिसको भौतिक संसार विश्रृंखलतामा परेको छैन, भौतिक संसारका मानिसहरूमा सामान्य मानसिकता, सामान्य चेतना, र व्यवस्थित देहीय जीवन छ। मानिसमा त्यस्तो सामान्य जीवन भएपछि मात्रै देहमा जिउनेहरू पुस्तौँपुस्तासम्‍म निरन्तर उन्‍नति गर्न र वृद्धि-विकास गर्न सक्‍नेछन्।

तिमीहरूले भर्खरै सुनेका वचनहरूको बारेमा तिमीहरू के सोच्छौ? के ती तिमीहरूका लागि नयाँ छन्? आजको सङ्गतिका विषयहरूले तिमीहरूमा कस्तो प्रभाव पार्‍यो? तिनको नवीनता बाहेक, तिमीहरूले अरू कुनै कुराको अनुभूति गर्‍यौ? (मानिसहरूले राम्रो बानीबेहोरा अपनाउनुपर्छ, र हामीले परमेश्‍वर महान् हुनुहुन्छ र उहाँलाई आदर गरिनुपर्छ भन्‍ने देख्‍न सक्छौं।) (परमेश्‍वरले विभिन्‍न प्रकारका मानिसहरूको अन्त्यको बन्दोबस्त कसरी गर्नुहुन्छ भन्‍ने बारेमा परमेश्‍वरले बताउनुभएको कुराकानी सुनिसकेपछि, एक हिसाबमा मलाई के लाग्छ भने, उहाँको स्वभावले कुनै उल्‍लङ्घन सहँदैन, र मैले उहाँको डर मान्‍नुपर्छ; अर्को हिसाबमा, मलाई परमेश्‍वरले कस्तो प्रकारका मानिसहरूलाई मन पराउनुहुन्छ, र उहाँले कस्ता प्रकारका मानिसहरूलाई मन पराउनुहुन्‍न भन्‍ने थाहा भयो, त्यसकारण म उहाँले मन पराउनुहुने मानिसहरू मध्येको एक बन्‍न चाहन्छु।) के यस क्षेत्रमा परमेश्‍वर आफ्‍ना कार्यहरूप्रति सिद्धान्त केन्द्रित हुनुहुन्छ भन्‍ने तिमीहरूले देख्यौ? उहाँले जुन सिद्धान्तहरू अनुसार काम गर्नुहुन्छ ती सिद्धान्तहरू के हुन्? (उहाँले मानिसहरूको अन्त्य तिनीहरूले के गर्छन् त्यसको आधारमा तय गर्नुहुन्छ।) हामीले भर्खरै कुरा गरेको यो विषय अविश्‍वासीहरूको विभिन्‍न प्रकारको अन्त्यसँग सम्‍बन्धित छ। जब अविश्‍वासीहरूको कुरा आउँछ, तब के परमेश्‍वरका कार्यहरू पछाडिको सिद्धान्त असललाई इनाम दिने र दुष्टलाई दण्ड दिने प्रकृतिको छ? कुनै अपवादहरू छन्? (छैनन्।) के परमेश्‍वरका कार्यहरूपछाडि सिद्धान्त छ भन्‍ने तिमीहरूले देख्छौ? अविश्‍वासीहरूले वास्तवमा परमेश्‍वरमा विश्‍वास गर्दैनन्, न त तिनीहरू उहाँका योजनाबद्ध कार्यमा नै समर्पित हुन्छन्। यसअलावा, तिनीहरूलाई उहाँको सार्वभौमिकताको बारेमा थाहा हुँदैन, तिनीहरूले उहाँलाई स्वीकार गर्ने कुरा त परै जाओस्। अझै गम्‍भीर कुरा, तिनीहरूले परमेश्‍वरको विरुद्ध अपवित्र कार्य गर्छन्, र उहाँलाई सराप्छन्, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूप्रति शत्रुवत् हुन्छन्। परमेश्‍वरप्रतिको तिनीहरूको यो मनोवृत्तिको बावजुद पनि, तिनीहरूमाथिको उहाँको प्रशासन उहाँका सिद्धान्तहरूभन्दा बाहिर जाँदैन; उहाँले तिनीहरूमाथि उहाँका सिद्धान्तहरू र उहाँको स्वभावअनुसार सुव्यवस्थित रूपमा प्रशासन गर्नुहुन्छ। तिनीहरूको शत्रुतालाई उहाँले कसरी लिनुहुन्छ त? अज्ञानताको रूपमा लिनुहुन्छ! परिणामस्वरूप, उहाँले यी मानिसहरूलाई—अर्थात्, अविश्‍वासीहरूमध्ये अधिकांशलाई—विगतमा पशु-प्राणीको रूपमा पुनर्जन्‍म गराउनुभयो। त्यसकारण, परमेश्‍वरको नजरमा, अविश्‍वासीहरू वास्तवमा के हुन् त? तिनीहरू सबै पशु हुन्। परमेश्‍वरले पशु साथै मानवजातिलाई व्यवस्थापन गर्नुहुन्छ, र त्यस्ता मानिसहरूको लागि उहाँका सिद्धान्तहरू उही हुन्छन्। यी मानिसहरूलाई उहाँले व्यवस्थापन गर्ने क्रममा पनि, उहाँको स्वभावलाई अझै देख्‍न सकिन्छ, साथै सबै थोकमाथिको उहाँको प्रभुत्वपछाडिका उहाँका नियमहरूलाई पनि देख्‍न सकिन्छ। त्यसकारण, अविश्‍वासीहरूलाई व्यवस्थापन गर्ने भनी मैले भर्खरै उल्‍लेख गरेका सिद्धान्तहरूमा के तिमीहरूले परमेश्‍वरको सार्वभौमिकतालाई देख्छौ? के तिमीहरू परमेश्‍वरको धर्मी स्वभावलाई देख्छौ? (देख्छौं।) अर्को शब्‍दमा भन्दा, उहाँले सबै थोकमध्ये जुन कुराको सन्दर्भमा कार्य गर्नुभए पनि, परमेश्‍वरले आफ्‍नै सिद्धान्तहरू र स्वभावअनुसार कार्य गर्नुहुन्छ। परमेश्‍वरको सार यही हो; उहाँले त्यस्ता मानिसहरूलाई पशुका रूपमा लिनुहुन्छ भन्दैमा उहाँले आफूले तय गर्नुभएका त्यस्ता उर्दी वा स्वर्गीय आदेशहरूलाई कहिल्यै पनि लापरवाही रूपमा तोड्नुहुन्‍न। परमेश्‍वरले कुनै पनि हालतमा लापरवाही रूपमा काम गर्नुहुन्‍न तर सिद्धान्तको आधारमा काम गर्नुहुन्छ, र उहाँका कार्यहरूलाई कुनै पनि तत्त्वले कुनै असर पार्दैन। उहाँले गर्नुहुने हरेक कुरा उहाँका आफ्‍नै सिद्धान्तहरू अनुरूप हुन्छन्। किनभने परमेश्‍वरसँग परमेश्‍वर स्वयम्‌को सार छ; यो उहाँको सारको एउटा पक्ष हो जुन कुनै पनि सृष्टि गरिएको प्राणीमा हुँदैन। उहाँले सृष्टि गर्नुभएका सबै थोकका बीचमा रहेका वस्तु, व्यक्ति, र जीवित प्राणीलाई सम्‍हाल्‍ने, पहुँच गर्ने, व्यवस्थापन गर्ने, प्रशासन गर्ने, र शासन गर्ने कार्यमा परमेश्‍वर कर्तव्यनिष्ठ र जिम्‍मेवार हुनुहुन्छ, र यसमा, उहाँ कहिल्यै पनि लापरवाह हुनुभएको छैन। असलहरूका निम्ति उहाँ अनुग्रही र दयालु हुनुहुन्छ; दुष्टहरूमाथि उहाँले कुनै पछुतो नगरी दण्ड बर्साउनुहुन्छ; अनि विभिन्‍न जीवित प्राणीहरूका निम्ति, उहाँले फरक-फरक समयको मानव संसारका विभिन्‍न मापदण्डहरू अनुसार समयमै र नियमित रूपमा यसरी उचित बन्दोबस्त गर्नुहुन्छ कि यी विभिन्‍न जीवित प्राणीहरूले खेल्‍ने भूमिकाअनुसार नै सुव्यवस्थित रूपमा तिनीहरूको पुनर्जन्‍म हुन्छ र तिनीहरू विधिवत् रूपमा भौतिक संसार र आत्मिक संसारको बीचमा आवतजावत गर्छन्।

जीवित प्राणीको मृत्युले—भौतिक जीवनको समाप्तिले—जीवित प्राणी भौतिक संसारबाट आत्मिक संसारमा गएको छ भन्‍ने देखाउँछ, नयाँ भौतिक जीवनको जन्‍मले जीवित प्राणी आत्मिक संसारबाट भौतिक संसारमा आएको छ र यसले आफ्‍नो भूमिका स्वीकार गरी निर्वाह गर्न सुरु गरेको छ भन्‍ने देखाउँछ। चाहे यो प्राणीको प्रस्थान वा आगमन जे भए तापनि, यी दुवैलाई आत्मिक संसारको कार्यबाट अलग गर्न सकिँदैन। कुनै व्यक्ति भौतिक संसारमा आइपुग्दासम्‍म, त्यो व्यक्ति कुन परिवारमा जानेछ, कुन युगमा तिनीहरू आइपुग्‍नेछन्, कुन घडीमा तिनीहरू आइपुग्‍नेछन्, अनि तिनीहरूले निर्वाह गर्ने भूमिका जस्ता उचित बन्दोबस्तहरू र परिभाषाहरू परमेश्‍वरले आत्मिक संसारमा पहिले नै तयार गरिसक्‍नुभएको हुन्छ। त्यसो भएको हुनाले, यो व्यक्तिको सम्पूर्ण जीवन—तिनीहरूले गर्ने कुराहरू, र तिनीहरूले लिने मार्गहरू—अलिकति पनि तलमाथि नभईकन आत्मिक संसारमा गरिएका बन्दोबस्तहरू अनुसार नै अघि बढ्नेछन्। यसको साथै, भौतिक जीवन समाप्त हुने समय र यो अन्त्य हुने तरिका र स्थान आत्मिक संसारमा स्पष्ट र पत्ता लगाउन सकिने हुन्छ। भौतिक संसारमाथि परमेश्‍वरले शासन गर्नुहुन्छ, र उहाँले आत्मिक संसारमाथि पनि शासन गर्नुहुन्छ, अनि उहाँले प्राणको जीवन र मृत्युको सामान्य चक्रमा ढिलाइ गर्नुहुनेछैन, न त उहाँले त्यस चक्रका बन्दोबस्तहरूमा कहिल्यै कुनै गल्तीहरू नै गर्न सक्‍नुहुन्छ। आत्मिक संसारका आधिकारिक पदहरू धारण गर्नेहरूले आफ्‍ना व्यक्तिगत कार्यहरू गर्छन्, अनि परमेश्‍वरका निर्देशनहरू र नियमहरूअनुसार तिनीहरूले आफूले गर्नुपर्ने काम गर्छन्। तसर्थ, मानवजातिको संसारमा मानिसले हेर्ने हरेक भौतिक घटनाक्रम व्यवस्थित हुन्छन्, र त्यसमा कुनै भद्रगोल अवस्था हुँदैन। यो सबै परमेश्‍वरले सबै थोकमाथि गर्नुहुने सुव्यवस्थित शासनको कारण, साथै उहाँको अख्‍तियारले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍ने तथ्यले गर्दा भएको हो। उहाँको प्रभुत्वमा मानिस जिउने भौतिक संसार, साथै मानवजातिभन्दा पछाडि रहेको अदृश्य आत्मिक संसार पनि समावेश छ। त्यसकारण, यदि मानिसले असल जीवन पाउने चाहना गर्छ, र देख्‍न सकिने सम्पूर्ण भौतिक संसार आफूलाई प्रदान गरिएको चाहना गर्नुका साथै राम्रो परिवेशमा जिउने आशा गर्छ भने, तिनीहरूलाई आत्मिक संसार पनि प्रदान गरिनुपर्छ जसलाई कसैले पनि देख्‍न सक्दैन, जसले मानवजातिको पक्षमा हरेक जीवित प्राणीमाथि शासन गर्छ र जुन सुव्यवस्थित छ। तसर्थ, सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भनेर बताइसकेपछि, के हामीले “सबै थोक” सम्बन्धी हाम्रो चेतना र बुझाइलाई उच्‍च पारेका छैनौं र? (छौं।)

ख. विश्‍वास भएका विविध मानिसहरूको जीवन र मृत्युको चक्र

हामीले भर्खरै पहिलो वर्गका मानिसहरूको अर्थात्, अविश्‍वासीहरूको जीवन र मृत्युको चक्रको बारेमा छलफल गर्‍यौं। अब, हामी दोस्रो वर्गको, अर्थात् विभिन्‍न विश्‍वासका मानिसहरूको बारेमा छलफल गरौं। “विभिन्‍न विश्‍वासका मानिसहरूको जीवन र मृत्युको चक्र” एउटा अर्को अत्यन्तै महत्त्वपूर्ण विषय हो, र तिमीहरूले यसबारेमा केही बुझाइ प्राप्त गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। सबैभन्दा पहिले, हामी “विश्‍वासका मानिसहरू” भन्‍ने वाक्यांशको “विश्‍वासले” केलाई जनाउँछ त्यसको बारेमा कुरा गरौं: यहूदी धर्म, इसाई जगत, क्याथोलिकवाद, इस्लाम, र बुद्ध धर्म गरी मुख्य पाँच धर्म। अविश्‍वासीहरू बाहेक, यी पाँच धर्ममा विश्‍वास गर्ने मानिसहरूले संसारको जनसङ्ख्याको धेरैजसो भाग ओगटेका छन्। यी पाँच धर्महरूमध्ये, धर्ममा नै आफ्‍नो जीविकोपार्जन गर्ने मानिसहरू थोरै मात्र छन्, तैपनि यी धर्महरूका धेरै अनुयायी हुन्छन्। मरेपछि तिनीहरू फरक-फरक स्थानमा जानेछन्। कोबाट “फरक”? अविश्‍वासीहरू, कुनै विश्‍वास नभएका मानिसहरूबाट फरक, जसको बारेमा हामीले भर्खरै कुरा गरिरहेका थियौं। मरेपछि यी पाँच धर्मका विश्‍वासीहरू अर्कै ठाउँमा, अविश्‍वासीहरूको भन्दा फरक अर्कै ठाउँमा जान्छन्। तैपनि, यो अझै पनि उही प्रक्रिया हुन्छ; तिनीहरू मर्नुभन्दा पहिले तिनीहरूले गरेका सबै कुराको आधारमा नै आत्मिक संसारले तिनीहरूको न्याय गर्नेछ, जुन कार्यपछि तिनीहरूलाई सोही अनुरूप अघि बढाइनेछ। तैपनि किन यी मानिसहरूलाई प्रक्रियाको लागि फरक स्थानमा पठाइनेछ त? यसको एउटा महत्त्वपूर्ण कारण छ। यो के हो त? म तिमीहरूलाई एउटा उदाहरणद्वारा यसबारेमा व्याख्या गर्नेछु। तैपनि मैले यसो गर्नुभन्दा पहिले, तिमीहरू सायद मनमनै सोचिरहेका छौ होला: “सायद परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वास थोरै भएकोले होला! तिनीहरू पूर्ण अविश्‍वासी होइनन्।” तैपनि, कारण यो होइन। तिनीहरूलाई अरूबाट टाढा राख्‍नुको एउटा अत्यन्तै महत्त्वपूर्ण कारण छ।

उदाहरणको लागि बुद्ध धर्मलाई लिऊँ। म तिमीहरूलाई एउटा तथ्य बताउनेछु। बुद्ध धर्म मान्‍ने मानिस बुद्ध धर्ममा लागेको व्यक्ति हो, र यो व्यक्तिलाई तिनीहरूको विश्‍वास के हो भन्‍ने थाहा हुन्छ। जब बुद्ध धर्मावलम्‍बीहरू आफ्‍नो कपाल काटेर लामा वा आनी बन्छन्, यसको अर्थ तिनीहरूले मानव संसारका कोलाहललाई छोडेर आफूलाई भौतिक संसारबाट अलग गरेका छन् भन्‍ने हुन्छ। हरेक दिन, तिनीहरूले सूत्र र बुद्धको नाम जप्छन्, शाकाहारी खाना मात्र खान्छन्, भिक्षुको जीवन जिउँछन्, अनि चीसोमा, घिउको दियोको मधुरो ज्योतिमा बसेर आफ्‍ना दिनहरू बिताउँछन्। तिनीहरूले आफ्‍नो सारा जीवन यसरी नै बिताउँछन्। जब बुद्ध धर्मावलम्बीको भौतिक जीवन समाप्त हुन्छ, तब तिनीहरूले आफ्‍नो जीवनको सारांश तयार गर्छन्, तर तिनीहरूलाई आफ्नो हृदयमा भने तिनीहरू मरेपछि कहाँ जानेछन्, तिनीहरूले कसलाई भेट्नेछन्, वा तिनीहरूको परिणाम के हुनेछ भन्‍ने थाहा हुनेछैन: भित्री मनमा, तिनीहरूसँग त्यस्ता कुराको बारेमा स्पष्ट विचार हुँदैन। आफ्‍नो सारा जीवनभरि अन्धाधुन्ध विश्‍वास गर्ने बाहेक तिनीहरूले केही पनि गरेका हुँदैनन्, जुन कार्यपछि तिनीहरू आफ्‍ना अन्धो कामना र आदर्शहरूसहित मानव संसारबाट बिदा हुन्छन्। बुद्ध धर्मावलम्बीहरूले जीवितहरूको संसारलाई छोडेर जाँदा तिनीहरूको भौतिक जीवनको समाप्ति त्यस्तै हुन्छ; त्यसपछि, तिनीहरू आफ्‍नो आत्मिक संसारको मूल स्थानमा फर्कन्छन्। पृथ्वीमा फर्कनको लागि र आफ्नो आत्म-हेरचाहलाई जारी राख्‍नको लागि उक्त व्यक्तिको पुनर्जन्‍म हुन्छ कि हुँदैन भन्‍ने कुरा तिनीहरूको मृत्युभन्दा पहिलेको तिनीहरूको बानीबेहोरा र अभ्यासमा निर्भर हुन्छ। यदि तिनीहरूले आफ्‍नो जीवनकालमा केही पनि गलत गरेका थिएनन् भने, तिनीहरूको तुरुन्तै पुनर्जन्‍म हुन्छ र तिनीहरूलाई फेरि पृथ्वीमा पठाइन्छ, जहाँ उक्त व्यक्ति फेरि पनि लामा वा आनी बन्छ। अर्थात्, तिनीहरूले पहिलो पटक जसरी आत्म-हेरचाहको अभ्यास गरेका थिए त्यसरी नै तिनीहरूले आफ्‍नो भौतिक जीवनकालमा आत्म-हेरचाहको अभ्यास गर्छन्, त्यसपछि तिनीहरूको भौतिक जीवन समाप्त भएपछि, तिनीहरू आत्मिक क्षेत्रमा फर्कन्छन्, जहाँ तिनीहरूको जाँच हुन्छ। त्यसपछि, कुनै समस्या भेटिएन भने, तिनीहरू फेरि मानिसको संसारमा फर्केर फेरि बौद्ध धर्ममा लागेर, आफ्‍नो अभ्यासलाई जारी राख्‍न सक्छन्। तीनदेखि सात पटक पुनर्जन्‍म भइसकेपछि, तिनीहरू फेरि पनि आत्मिक संसारमा फर्कनेछन्, जहाँ तिनीहरू हरेक भौतिक जीवन समाप्त भएपछि जान्छन्। यदि मानव संसारमा हुँदा तिनीहरूका विभिन्‍न योग्यता र व्यवहार आत्मिक संसारका स्वर्गीय आदेशहरू अनुरूप छन् भने, यस विन्दुदेखि, तिनीहरू त्यहीँ नै रहनेछन्; त्यस उप्रान्त मानवको रूपमा तिनीहरूको पुनर्जन्‍म हुनेछैन, न त तिनीहरूले दुष्कर्म गरेकोमा कुनै दण्ड पाउने खतरा नै हुन्छ। तिनीहरू फेरि कहिल्यै पनि यो प्रक्रियामार्फत गुज्रनेछैनन्। बरु, तिनीहरूका परिस्‍थितिहरू अनुरूप, तिनीहरूले आत्मिक क्षेत्रमा एउटा पद धारण गर्नेछन्। बुद्ध धर्मावलम्बीहरूले यसैलाई “बुद्धत्व प्राप्त गर्नु” भनेर भन्छन्। बुद्धत्व प्राप्त गर्नु भनेको मुख्य रूपमा आत्मिक संसारको अधिकारीको रूपमा नियुक्त भई सफलता प्राप्त गरेर, अब उप्रान्त पुनर्जन्‍म नहुनु वा दण्डित हुने खतरामा नपर्नु हो। यसको साथै, यसको अर्थ अब उप्रान्त पुनर्जन्‍म भई मानव भएर कष्ट-भोग नगर्नु भन्‍ने हुन्छ। त्यसकारण, के पशु-प्राणीको रूपमा तिनीहरूको पुनर्जन्‍म हुने कुनै सम्‍भावना हुन्छ? (हुँदैन।) यसको अर्थ तिनीहरू आत्मिक संसारमा एउटा भूमिका लिएर बस्‍नेछन् र अब उप्रान्त तिनीहरूको पुनर्जन्म हुनेछैन भन्‍ने हुन्छ। बुद्ध धर्ममा बुद्धत्व प्राप्त गर्नुको एउटा उदाहरण यही हो। आत्मिक संसारमा फर्केपछि, यस्तो फल प्राप्त नगर्नेहरूको हकमा भन्दा, तिनीहरूलाई उचित अधिकारीले जाँच र प्रमाणीकरण गर्छन्, जसले तिनीहरू जीवित हुँदा तिनीहरूले आत्म-हेरचाहको इमान्दार अभ्यास गरेनन् वा बुद्ध धर्मले तोकेअनुसार सूत्र र बुद्धको नाम जप्दा कर्तव्यनिष्ठ भएनन्, बरु धेरै दुष्ट कार्यहरू गरे र धेरै दुष्ट व्यवहारमा लागे भन्‍ने पत्ता लगाउँछन्। त्यसपछि, आत्मिक संसारमा तिनीहरूको दुष्कर्मको निम्ति न्याय गरिन्छ, अनि त्यसपछि, तिनीहरूलाई निश्‍चित रूपमा दण्ड दिइन्छ। यसमा कुनै अपवाद छैन। त्यसो भए, त्यस्तो व्यक्तिले कहिले फल प्राप्त गर्न सक्छ त? तिनीहरूले कुनै दुष्टता नगरेको जीवनकालमा—आत्मिक संसारमा फर्केपछि, तिनीहरू मर्नुभन्दा पहिले तिनीहरूले कहीँ पनि गल्ती गरेका छैनन् भन्‍ने देखिएमा। त्यसपछि तिनीहरूको पुनर्जन्‍म हुने कार्य जारी रहन्छ, र तिनीहरूले सूत्र जप्दै र बुद्धको नाम पुकार्दै, घिउको दियोको मधुरो ज्योतिको साथमा चिसोमा दिनहरू बिताउँछन्, र कुनै पनि जीवित प्राणीलाई मार्ने कार्यबाट वा कुनै मासु खानबाट टाढा बस्छन्। तिनीहरूले मानिसको संसारमा कुनै सहभागिता जनाउँदैनन्, यसका दुःखलाई तिनीहरूले टाढा छोड्छन् र अरूसँग कुनै विवाद गर्दैनन्। यस प्रक्रियामा, यदि तिनीहरूले कुनै दुष्ट कार्य गरेनन् भने, तिनीहरू आत्मिक संसारमा फर्केपछि र तिनीहरूका सबै कार्य र व्यवहारको जाँच गरिएपछि, तिनीहरूलाई मानव संसारमा फेरि एक पटक पठाइन्छ र यो चक्र तीनदेखि सात पटकसम्‍म दोहोरिन्छ। यो अवधिमा तिनीहरूले कुनै पनि दुष्कर्म गरेनन् भने, तिनीहरूले बुद्धत्व प्राप्त गर्ने कुरामा कुनै पनि प्रभाव पर्नेछैन, र कुनै पनि ढिलाइ हुनेछैन। विश्‍वासका सबै मानिसहरूका जीवन र मृत्युको चक्रको एउटा विशेषता यही हो: तिनीहरूले “फल प्राप्त” गर्न सक्छन् र आत्मिक संसारमा कुनै एउटा पद ग्रहण गर्न सक्छन्; यही कुराले तिनीहरूलाई अविश्‍वासीहरूबाट अलग गर्छ। सर्वप्रथम, तिनीहरू पृथ्वीमा बाँचिरहेको बेला, आत्मिक संसारमा कुनै पद लिन सक्‍ने मानिसहरूले कस्तो व्यवहार गर्छन् त? तिनीहरूले निश्‍चित रूपमा कुनै दुष्ट कार्य गर्नु हुँदैन: तिनीहरूले हत्या, आगजनी, बलात्कार, वा लुटपाट गर्नु हुँदैन; यदि तिनीहरू ठगी, धोका, चोरी वा डकैतीमा लागे भने, तिनीहरूले फल प्राप्त गर्न सक्दैनन्। अर्को शब्‍दमा भन्दा, यदि जुनसुकै प्रकारको दुष्कर्मसँग तिनीहरूको कुनै सम्‍बन्ध वा सम्बद्धता छ भने, तिनीहरू आत्मिक संसारले तिनीहरूलाई प्रदान गर्ने दण्डबाट उम्कन सक्‍नेछैनन्। आत्मिक संसारले बुद्धत्व प्राप्त गर्ने बुद्ध धर्मावलम्बीहरूका निम्ति उचित बन्दोबस्त गर्छ: तिनीहरूलाई बुद्ध धर्ममा विश्‍वास गर्ने, र आकाशको वृद्ध मानिसमा विश्‍वास गर्नेजस्तो देखिनेहरूको प्रशासकको रूपमा नियुक्त गरिन सक्छ—तिनीहरूलाई कुनै निश्चित प्रशासकीय अधिकारक्षेत्र प्रदान गरिन सक्छ। तिनीहरू अविश्‍वासीहरूको मात्रै कार्यभारी हुन सक्छन् वा तिनीहरूले सानातिना कर्तव्यसहितका पदहरू मात्र प्राप्त गर्न सक्छन्। त्यस्ता नियुक्ति तिनीहरूको प्राणको विभिन्‍न प्रकृतिअनुसार प्रदान गरिन्छ। यो बुद्ध धर्मको उदाहरण हो।

हामीले उल्‍लेख गरेका पाँच धर्ममध्ये, इसाई जगत तुलनात्मक रूपमा विशेष छ। के कुराले इसाईलाई विशेष तुल्याउँछ त? यिनीहरू साँचो परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू हुन्। साँचो परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई यहाँ कसरी सूचीकृत गर्न सकिन्छ त? इसाई जगत एक प्रकारको विश्‍वास हो भन्दा, यो विश्‍वाससँग मात्रै सम्‍बन्धित हुन्थ्यो भन्‍नेमा कुनै शङ्का हुँदैन; यो एक प्रकारको रीतिरिवाज, एक प्रकारको धर्म र परमेश्‍वरलाई सच्‍चा रूपमा पछ्याउने मानिसहरूको विश्‍वासभन्दा पूर्ण रूपमा फरक कुरा मात्रै हुन्थ्यो। मैले इसाई जगतलाई मुख्य पाँच धर्ममा सूचीकृत गर्नुको कारण के हो भने यो यहूदी धर्म, बुद्ध धर्म, र इस्लामकै स्तरमा झरेको छ। यहाँका धेरैजसो मानिसहरूले परमेश्‍वर हुनुहुन्छ, वा उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍नेमा विश्‍वास गर्दैनन्; तिनीहरूले उहाँको अस्तित्वमा विश्‍वास गर्ने कुरा त परै जाओस्। बरु, तिनीहरूले धर्मशास्‍त्रको व्याख्या गर्नको लागि पवित्र पुस्तकहरूको प्रयोग गर्ने र मानिसहरूलाई दयालु बन्‍न, कष्ट सहन, र असल कार्य गर्न सिकाउनको लागि धर्मशास्‍त्रको प्रयोग गर्ने मात्रै गर्छन्। इसाई जगत त्यही प्रकारको धर्म बन्‍न पुगेको छ: यसले मानिसलाई व्यवस्थापन गर्ने र मुक्ति दिने परमेश्‍वरको कार्यसँग कुनै सम्‍बन्ध नै नराखी धर्मशास्‍त्रीय सिद्धान्तहरूमा मात्रै ध्यान दिन्छ। यो परमेश्‍वरलाई पछ्याउने तर परमेश्‍वरले वास्तवमा स्वीकार नगर्नुभएका मानिसहरूको धर्म बनेको छ। तैपनि, त्यस्ता मानिसहरूलाई गर्ने व्यवहारको बारेमा पनि परमेश्‍वरसँग सिद्धान्त छ। उहाँले अविश्‍वासीहरूलाई गरेजस्तो जानी-जानी तिनीहरूलाई यत्तिकै व्यवहार गर्ने वा तिनीहरूको निराकरण गर्ने गर्नुहुन्‍न। उहाँले तिनीहरूलाई बुद्ध धर्मावलम्बीहरूलाई जस्तै व्यवहार गर्नुहुन्छ: यदि जीवित हुँदा, एक इसाईले आत्म-अनुशासनको अभ्यास गर्न, दश-आज्ञाको पूर्ण पालन गर्न र व्यवस्था र आज्ञाहरू अनुसार आफ्‍नो व्यवहारलाई कायम राख्‍न, र आफ्‍नो सम्पूर्ण जीवनभरि तिनको पालन गर्न सक्छ भने, तिनीहरूले साँचो रूपमा तथाकथित “उठाइ” प्राप्त गर्नुभन्दा पहिले, तिनीहरूले जीवन र मृत्युको चक्रहरूमार्फत गुज्रिँदै केही समय बिताउनुपर्छ। यो उठाइ प्राप्त गरिसकेपछि, तिनीहरू आत्मिक संसारमा रहन्छन्, जहाँ तिनीहरूले एउटा पद प्राप्त गर्छन् र यसको एक अधिकारी बन्छन्। त्यसै गरी, यदि तिनीहरूले पृथ्वीमा हुँदा दुष्ट कार्य गरे भने—यदि तिनीहरू अत्यन्तै पापी भए र धेरै पाप गरे भने—तिनीहरूलाई अवश्य पनि फरक-फरक हदमा दण्ड र अनुशासन कारबाही गरिन्छ। बुद्ध धर्ममा, फल प्राप्त गर्नु भनेको सर्वोच्‍च परम आनन्दको शुद्ध भूमिमा प्रवेश गर्नु हो, तर इसाई जगतमा तिनीहरूले यसलाई के भन्छन् त? यसलाई “स्वर्गमा प्रवेश गर्नु” र “उठाइ हुनु” भनिन्छ। साँचो रूपमा उठाइ भएकाहरू पनि तीनदेखि सात पटकसम्‍म जीवन र मृत्युको चक्रबाट गुज्रन्छन्, त्यसपछि तिनीहरू मरेर आत्मिक संसारमा आउँछन्, मानौँ तिनीहरू सुतेका थिए। यदि तिनीहरू मापदण्ड अनुरूप छन् भने, तिनीहरू कुनै पद ग्रहण गर्न त्यहीँ रहन सक्छन् र पृथ्वीका मानिसहरूका विपरीत, सरल रूपमा वा प्रचलनअनुसार तिनीहरूको पुनर्जन्‍म हुनेछैन।

यी सबै धर्ममध्ये, तिनीहरूले जुन अन्त्यको बारेमा बताउँछन् र जुन अन्त्य प्राप्त गर्ने प्रयास गर्छन् त्यो बुद्ध धर्मको फल प्राप्त गर्नु सरह हो; के मात्रै हो भने यो “फल” फरक-फरक माध्यमद्वारा प्राप्त गरिन्छ। तिनीहरू सबै उस्तै हुन्। यी धर्महरूका अनुयायीहरूको यो समूह जसले आफ्‍नो व्यवहारमा धार्मिक नियमलाई कडाइका साथ पालन गर्न सक्‍छन्, तिनीहरूलाई परमेश्‍वरले उचित गन्तव्य, जाने उचित स्थान दिनुहुन्छ, र उचित रूपमा व्यवहार गर्नुहुन्छ। यो सबै मनासिब छ, तर यो मानिसहरूले कल्‍पना गरेजस्तो हुँदैन। अब, इसाई जगतका मानिसहरूलाई के हुन्छ भन्‍ने सुनिसकेपछि, तिमीहरूलाई के अनुभूति भयो? के तिमीहरूलाई तिनीहरूको दुर्दशा अनुचित छ भन्‍ने लाग्छ? के तिमीहरूलाई तिनीहरूप्रति सहानुभूति जाग्यो? (थोरै।) गर्न सकिने केही पनि छैन; त्यसको दोषी तिनीहरू नै हुन्। म किन यसो भन्दैछु त? परमेश्‍वरको कार्य साँचो छ; उहाँ जीवित र वास्तविक हुनुहुन्छ, र उहाँको कार्य सारा मानवजाति र हरेक व्यक्तिप्रति लक्षित छ। तब किन तिनीहरूले यसलाई स्वीकार गर्दैनन्? तिनीहरूले किन परमेश्‍वरलाई त्यति उच्छृंखल रूपमा विरोध गर्छन् र सताउँछन्? तिनीहरूले यस प्रकारको परिणाम प्राप्त गर्न पाउँदा समेत आफूलाई भाग्यमानी ठान्‍नुपर्छ, तब किन तिमीहरू तिनीहरूलाई बिचरा ठान्छौ? यसरी तिनीहरूसँग व्यवहार गर्नु भनेको ठूलो सहनशीलता देखाउनु हो। तिनीहरूले जुन हदसम्‍म परमेश्‍वरको विरोध गर्छन्, त्यसको आधारमा त तिनीहरूलाई नष्ट गरिनुपर्ने हो, तैपनि परमेश्‍वरले यसो गर्नुहुन्‍न; बरु उहाँले त इसाई जगतलाई अन्य कुनै पनि साधारण धर्मलाई जस्तै व्यवहार गर्नुहुन्छ। तसर्थ, अरू धर्मका बारेमा थप विवरण प्रदान गर्नुपर्ने कुनै आवश्यकता छ र? यी सबै धर्मको सार भनेको मानिसहरूले अझै बढी कठिनाइ भोग्‍नुपर्छ, कुनै दुष्ट काम गर्नु हुँदैन, असल कार्य गर्नुपर्छ, अरूलाई मनपरी भन्नु हुँदैन, अरूलाई दोषारोपण गर्नु हुँदैन, आफैलाई विवादबाट अलग राख्‍नुपर्छ, र असल मानिस बन्‍नुपर्छ—धेरैजसो धार्मिक शिक्षाहरू यस्तै छन्। त्यसकारण, यदि विश्‍वासका यी मानिसहरूले—विभिन्‍न धर्म र सम्प्रदायका यी अनुयायीहरूले—आफ्‍ना धार्मिक नियमहरूलाई कडाइका साथ पालन गर्न सक्छन् भने, तिनीहरू पृथ्वीमा हुँदाको समयमा तिनीहरूले ठूलो गल्ती वा पाप गर्नेछैनन्; अनि, तीनदेखि सात पटकसम्‍म तिनीहरूको पुनर्जन्‍म भइसकेपछि, यी मानिसहरू—धार्मिक नियमहरूलाई कठोर रूपमा पालन गर्न सक्‍नेहरू—मुख्य रूपमा आत्मिक संसारमा एउटा पद ग्रहण गरेर बस्‍नेछन्। के त्यस्ता मानिसहरू धेरै छन्? (अहँ, छैनन्।) तिमीहरूले के आधारमा उत्तर दियौ? असल काम गर्नु र धार्मिक नियम र व्यवस्थाको पालन गर्नु सजिलो छैन। बुद्ध धर्मले मानिसहरूलाई मासु खान दिँदैन—के तँ त्यसो गर्न सक्छस्? यदि तँ खैरो वस्‍त्र लगाएर दिनभरि गुम्‍बामा बसेर मन्त्र र बुद्धको नाम जप्दै बस्‍नुपर्‍यो भने, के तँ त्यसो गर्न सक्छस्? यो सहज हुनेछैन। इसाई जगतमा दश-आज्ञा, आज्ञाहरू र व्यवस्था छ; के यी पालन गर्न सहज छन्? ती सहज छैनन्, ठीक हो? उदाहरणको लागि, अरूलाई मनपरी नभन्‍ने कार्यलाई लिऊँ: मानिसहरूले यो नियम पालन गर्न सक्दै सक्दैनन्। आफैलाई रोक्‍न नसकेर, तिनीहरूले मनपरी भन्छन्—अनि मनपरी भनिसकेपछि, तिनीहरूले ती शब्‍द फर्काउन सक्दैनन्, त्यसकारण तिनीहरूले के गर्छन्? राति, तिनीहरूले आफ्‍नो पाप स्वीकार गर्छन्। कहिलेकहीँ तिनीहरूले अरूलाई मनपरी भनिसकेपछि पनि अझै आफ्‍नो हृदयमा घृणालाई पालेर राख्छन्, अनि ती मानिसहरूलाई थप हानि गर्ने समयको योजना बनाउने हदसम्‍म जान्छन्। छोटकरीमा भन्दा, यो मृत सिद्धान्तमा जिउनेहरूका निम्ति, पाप वा दुष्ट कार्यबाट टाढा बस्‍न सहज छैन। त्यसकारण, हरेक धर्ममा, थोरै मानिसहरूले मात्रै वास्तवमा फल प्राप्त गर्न सक्छन्। के तँ धेरै मानिसहरूले यी धर्महरू पछ्याउने हुनाले अधिकांशले आत्मिक क्षेत्रमा भूमिका प्राप्त गर्न सक्छन् भन्‍ने अनुमान गर्छस्? त्यस्ता मानिसहरू त्यति धेरै हुँदैनन्; थोरैले मात्रै वास्तवमा यो कुरा हासिल गर्न सक्छन्। विश्‍वासका मानिसहरूका जीवन र मृत्युको चक्रको हकमा सामान्यतः लागू हुने कुरा यही हो। तिनीहरू के कुरामा फरक हुन्छन् भने, तिनीहरूले फल प्राप्त गर्न सक्छन्, र तिनीहरूलाई अविश्‍वासीहरूबाट अलग गर्ने कुरा नै यही हो।

ग. परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्र

यसपछि, हामी परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्रको बारेमा कुरा गरौं। यो तिमीहरूसँग सम्‍बन्धित छ, त्यसैले ध्यान दिएर सुन: सबैभन्दा पहिले, परमेश्‍वरलाई पछ्याउने मानिसहरूलाई कसरी वर्गीकरण गर्न सकिन्छ त्यसको बारेमा विचार गर। (परमेश्‍वरका चुनिएका मानिसहरू, र सेवाकर्ताहरू।) वास्तवमा दुई वर्ग छन्: परमेश्‍वरका चुनिएका मानिसहरू, र सेवाकर्ताहरू। पहिले, हामी परमेश्‍वरका चुनिएका मानिसहरूका बारेमा कुरा गरौं, जो थोरै हुन्छन्। “परमेश्‍वरका चुनिएका मानिसहरू” ले कसलाई जनाउँछ? परमेश्‍वरले सबै थोक सृष्टि गरिसक्‍नुभएपछि र मानिस अस्तित्वमा आइसकेपछि, परमेश्‍वरले उहाँलाई पछ्याउने मानिसहरूको एउटा समूह छनौट गर्नुभयो; यिनीहरूलाई “परमेश्‍वरका चुनिएकाहरू” भनेर भनिन्छ। परमेश्‍वरले यी मानिसहरूलाई छनौट गर्नुको विशेष क्षेत्र र महत्त्व थियो। यो चुनिएका थोरैमा मात्रै सीमित थियो, जो उहाँले महत्त्वपूर्ण कार्य गर्ने क्रममा आउनैपर्छ, यस अर्थमा यो क्षेत्र विशेष छ। अनि महत्त्वचाहिँ के हो त? तिनीहरू परमेश्‍वरले छनौट गर्नुभएको समूह भएका हुनाले, महत्त्व निकै ठूलो छ। अर्थात्, परमेश्‍वरले यी मानिसहरूलाई पूर्ण बनाउन, र तिनीहरूलाई सिद्ध बनाउन चाहनुहुन्छ, अनि उहाँको व्यवस्थापन कार्य समाप्त भएपछि, उहाँले यी मानिसहरूलाई प्राप्त गर्नुहुनेछ। के यो महत्त्व ठूलो छैन र? यसर्थ, चुनिएका यी मानिसहरू परमेश्‍वरका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्, किनभने परमेश्‍वरले प्राप्त गर्न चाहनुभएकाहरू तिनीहरू नै हुन्। सेवाकर्ताहरूको बारेमा भन्दा, हामी अहिलेको लागि परमेश्‍वरको पूर्वनिर्धारित गन्तव्यको विषयलाई छोडौं, र सुरुमा तिनीहरूको उत्पत्तिको कुरा गरौं। “सेवाकर्ता” ले शाब्दिक रूपमा सेवा गर्ने व्यक्तिलाई जनाउँछ। सेवा गर्नेहरू क्षणिक हुन्छन्; तिनीहरूले दीर्घकालीन रूपमा वा सदासर्वदा सेवा गर्दैनन्, बरु तिनीहरूलाई अस्थायी रूपमा काममा लगाइन्छ वा नियुक्त गरिन्छ। तिनीहरूमध्ये धेरैजसोको उत्पत्ति तिनीहरूलाई अविश्‍वासीहरूबाट छनौट गरिएर भएको हुन्छ। तिनीहरूले परमेश्‍वरको कार्यमा सेवाकर्ताको भूमिका निर्वाह गर्नेछन् भनी उर्दी जारी गरिएपछि तिनीहरू पृथ्वीमा आएका हुन्छन्। अघिल्‍लो जीवनमा तिनीहरू पशु-प्राणीका रूपमा रहेका हुन सक्छन्, तर तिनीहरू अविश्‍वासीहरूका रूपमा पनि रहेका हुन सक्छन्। सेवाकर्ताहरूको उत्पत्ति यसरी नै भएको हुन्छ।

हामी परमेश्‍वरका चुनिएका मानिसहरूको बारेमा थप कुरा गरौं। जब तिनीहरू मर्छन्, तब तिनीहरू अविश्‍वासीहरू र विश्‍वासका विभिन्‍न मानिसहरूको भन्दा पूर्ण रूपमा फरक स्थानमा जान्छन्। यो त्यस्तो स्थान हो जहाँ तिनीहरू स्वर्गदूतहरू र परमेश्‍वरका सन्देशवाहकहरूको साथमा हुन्छन्; यो परमेश्‍वरले व्यक्तिगत रूपमा नै प्रशासन गर्नुहुने स्थान हो। यस स्थानमा परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्‍नै आँखाले परमेश्‍वरलाई देख्‍न नसक्‍ने भए तापनि, यो आत्मिक क्षेत्रको अन्य कुनै पनि ठाउँभन्दा फरक हुन्छ; मानिसहरूको यो समूह मरेपछि जाने फरक स्थान यही हो। तिनीहरू मरेपछि, तिनीहरूलाई पनि परमेश्‍वरका सन्देशवाहकहरूले कठोर अनुसन्धान गर्छन्। अनि केको अनुसन्धान गरिन्छ त? परमेश्‍वरका सन्देशवाहकहरूले परमेश्‍वरमाथिको विश्‍वासमा यी मानिसहरूले आफ्‍नो जीवनभरि लिएका मार्गहरू, त्यो समय अवधिमा तिनीहरूले परमेश्‍वरलाई विरोध गरे कि गरेनन् वा सरापे कि सरापेनन्, र तिनीहरूले कुनै गम्‍भीर पाप वा दुष्ट काम गरे कि गरेनन् भन्‍ने अनुसन्धान गर्छन्। कुनै निश्‍चित व्यक्तिलाई बस्‍न दिइन्छ कि ऊ त्यहाँबाट जानुपर्छ भन्‍ने प्रश्‍न यही अनुसन्धानले समाधान गर्नेछ। “जानुपर्छ” भन्‍नुको अर्थ के हो? अनि “बस्‍नु” भनेको के हो? “जानुपर्छ” भनेको तिनीहरूको व्यवहारको आधारमा तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूको दर्जामा रहन्छन् कि रहँदैनन् भन्‍ने हो; “बस्‍नु” को अर्थ आखिरी दिनहरूको अवधिमा परमेश्‍वरले पूर्ण बनाउनुहुने मानिसहरूको बीचमा तिनीहरू रहन सक्छन् भन्‍ने हो। बस्‍नेहरूका लागि, परमेश्‍वरको विशेष बन्दोबस्तहरू हुन्छन्। उहाँको कामको हरेक अवधिमा, उहाँले त्यस्ता मानिसहरूलाई प्रेरितहरूका रूपमा काम गर्न वा मण्डलीहरूलाई जागृत गर्ने वा हेरचाह गर्ने काम गर्न पठाउनुहुन्छ। तैपनि, त्यस्ता काम गर्न सक्‍ने मानिसहरूको एकपछि अर्को पुस्तामा पुनर्जन्‍म हुने अविश्‍वासीको रूपमा बारम्‍बार पुनर्जन्‍म हुँदैन; बरु, तिनीहरू परमेश्‍वरको कार्यका मापदण्ड र चरणहरू अनुसार पृथ्वीमा फर्कन्छन्, र तिनीहरूको बारम्‍बार पुनर्जन्‍म हुँदैन। त्यसो भए, तिनीहरूको पुनर्जन्‍म कहिले हुन्छ भन्‍ने विषयमा कुनै नियमहरू छन् त? के तिनीहरू केही वर्षको अवधिमा बारम्‍बार आउँछन् त? के तिनीहरू त्यसरी बारम्बार आउँछन् त? तिनीहरू त्यसरी आउँदैनन्। यो सबै परमेश्‍वरको कार्य, यसका चरणहरू र उहाँका खाँचोहरूमा आधारित हुन्छ, र कुनै निर्दिष्ट नियमहरू छैनन्। एउटै मात्र नियम के हुन्छ भने जब परमेश्‍वरले आखिरी दिनहरूमा आफ्‍नो कामको अन्तिम चरण पूरा गर्नुहुन्छ, यी चुनिएका मानिसहरू सबै आउनेछन्, र यो आगमन तिनीहरूको अन्तिम पुनर्जन्‍म हुनेछ। अनि किन त्यसो हुन्छ त? यो परमेश्‍वरको कामको अन्तिम चरणमा हासिल गर्नुपर्ने परिणाममा आधारित हुन्छ—किनभने कामको यो अन्तिम चरणको अवधिमा, परमेश्‍वरले चुनिएका यी मानिसहरूलाई सम्पूर्ण तवरमा पूर्ण तुल्याउनुहुनेछ। यसको अर्थ के हो त? यो अन्तिम चरणको अवधिमा, यदि यी मानिसहरूलाई पूर्ण र सिद्ध तुल्याइयो भने, तिनीहरूको पहिलेको जस्तो पुनर्जन्‍म हुनेछैन; मानव हुनुको तिनीहरूको प्रक्रिया, साथै तिनीहरूको पुनर्जन्मको प्रक्रिया पूर्ण रूपमा समाप्त भइसकेको हुनेछ। यो बस्‍नेहरूसँग सम्‍बन्धित छ। त्यसो भए, बस्‍न नसक्‍नेहरू कहाँ जान्छन् त? बस्‍न अनुमति नदिइनेहरूको आफ्‍नै उचित गन्तव्य हुन्छ। सर्वप्रथम, तिनीहरूको दुष्कर्म, तिनीहरूले गरेका गल्तीहरू, अनि तिनीहरूले गरेका पापहरूको परिणामस्वरूप, तिनीहरू पनि दण्डित हुनेछन्। तिनीहरूलाई दण्ड दिइसकिएपछि, परमेश्‍वरले परिस्‍थितिहरू अनुरूप कि त तिनीहरूलाई अविश्‍वासीहरूका बीचमा पठाउने बन्दोबस्त गर्नुहुनेछ कि त विश्‍वासका विभिन्‍न मानिसहरूका बीचमा पठाउने बन्दोबस्त गर्नुहुनेछ। अर्को शब्‍दमा भन्दा, तिनीहरूका लागि दुई वटा सम्भावित परिणाम हुन्छन्: एउटाचाहिँ दण्डित हुनु र पुनर्जन्‍म भएपछि निश्‍चित धर्मका मानिसहरूका बीचमा जिउनु, र अर्कोचाहिँ अविश्‍वासीहरू बन्‍नु। यदि तिनीहरू अविश्‍वासीहरू बने भने, तिनीहरूले सबै अवसर गुमाउनेछन्; तैपनि, यदि तिनीहरू विश्‍वासका मानिसहरू बने भने—उदाहरणको लागि, यदि तिनीहरू इसाई बने भने—तिनीहरूसँग अझै पनि परमेश्‍वरका चुनिएका मानिसहरूको दर्जामा फर्कने अवसर हुनेछ; यसमा अत्यन्तै जटिल सम्‍बन्धहरू छन्। छोटकरीमा, यदि परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये एक जनाले परमेश्‍वरलाई रिस उठाउने कुनै काम गर्छ भने, तिनीहरूलाई अरू कुनै व्यक्तिलाई जस्तै दण्ड दिइनेछ। उदाहरणको लागि, पावललाई लिऊँ, जसको बारेमा हामीले पहिले नै कुरा गरिसकेका छौं। पावल दण्डित हुने व्यक्तिको एउटा उदाहरण हो। मैले केको बारेमा कुरा गरिरहेको छु के त्यो तिमीहरूले बुझ्दैछौ? के परमेश्‍वरका चुनिएका मानिसहरूको क्षेत्र निश्‍चित गरिएको हुन्छ? (प्राय, गरिएको हुन्छ।) यसमध्ये धेरैजसो निश्‍चित गरिएको हुन्छ, तर यसको थोरै भाग निश्‍चित गरिएको हुँदैन। किन त्यसो हुन्छ त? मैले यहाँ सबैभन्दा स्पष्ट कारणको बारेमा उल्‍लेख गरेको छु: दुष्ट कार्य गर्नु। जब मानिसहरूले दुष्ट कार्य गर्छन्, परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्‍न, र जब परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्‍न, तब उहाँले तिनीहरूलाई विभिन्‍न जाति र प्रकारका मानिसहरूका बीचमा फ्याँक्‍नुहुन्छ। यसले तिनीहरूलाई आशाविहीन तुल्याउँछ र तिनीहरू फर्कने कार्य कठिन हुन्छ। यो सबै परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्रसँग सम्‍बन्धित छ।

अर्को विषय सेवाकर्ताहरूको जीवन र मृत्युको चक्रसँग सम्‍बन्धित छ। हामीले भर्खरै सेवाकर्ताहरूको उत्पत्तिको बारेमा कुरा गर्‍यौं; अर्थात्, अघिल्‍लो जीवनमा अविश्‍वासी र पशु-प्राणीको रूपमा रही तिनीहरूको पुनर्जन्‍म भएको हुन्छ भन्‍ने तथ्यको बारेमा कुरा गर्‍यौं। अन्तिम चरणको कामको आगमनसँगै, परमेश्‍वरले अविश्‍वासीहरूबाट त्यस्ता मानिसहरूको समूह छनौट गर्नुभएको छ, र यो समूह विशेष छ। परमेश्‍वरले यी मानिसहरूलाई चुन्‍नुको उद्देश्य तिनीहरूलाई उहाँको सेवा गर्ने मानिसहरू बनाउनको लागि हो। “सेवा” त्यति सुन्दर सुनिने शब्‍द होइन, न त यो हरेकको कामना अनुरूपको कुरा नै हो, तर यो कोप्रति लक्षित छ सो कुरालाई हामीले हेर्नुपर्छ। परमेश्‍वरका सेवाकर्ताहरूको अस्तित्वको विशेष महत्त्व छ। अरू कसैले पनि तिनीहरूको भूमिका निर्वाह गर्न सक्दैन, किनभने तिनीहरूलाई परमेश्‍वरले नै चुन्‍नुभएको हुन्छ। र यी सेवाकर्ताहरूको भूमिका के हो त? तिनीहरूको भूमिका परमेश्‍वरका चुनिएका मानिसहरूको सेवा गर्नु हो। सामान्यतया, तिनीहरूको काम भनेको परमेश्‍वरको कामको निम्ति सेवा दिनु, यसमा सहकार्य गर्नु, र परमेश्‍वरले आफ्‍ना चुनिएकाहरूलाई पूर्ण तुल्याउने कार्यमा सहयोग गर्नु हो। तिनीहरूले परिश्रम गरिरहेको भए पनि, कामको कुनै पक्ष अघि बढाइरहेको भए पनि, वा निश्‍चित कार्यहरू गरिरहेको भए पनि, यी सेवाकर्ताहरूप्रति परमेश्‍वरको मापदण्ड के हुन्छ त? के उहाँ तिनीहरूप्रतिको आफ्‍ना मापदण्डहरूमा अत्यन्तै धेरै कठोर हुनुहुन्छ? (होइन, उहाँले तिनीहरूलाई निष्ठावान हुन मात्र लगाउनुहुन्छ।) सेवाकर्ताहरू पनि निष्ठावान हुनुपर्छ। तेरो उत्पत्ति जे-जस्तो भए पनि वा परमेश्‍वरले तँलाई जुन कारणले छनौट गर्नुभएको भए पनि, तँ परमेश्‍वरप्रति, परमेश्‍वरले तँलाई सुम्‍पनुहुने कुनै पनि कार्यभारहरूप्रति, र तँ जुन कामको निम्ति जिम्‍मेवार छस् त्यस कार्यप्रति र तैँले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरूप्रति तँ निष्ठावान हुनैपर्छ। परमेश्‍वरप्रति निष्ठावान हुन सक्‍ने र उहाँलाई सन्तुष्ट तुल्याउन सक्‍ने सेवाकर्ताहरूको हकमा, तिनीहरूका परिणामहरू के हुनेछन्? तिनीहरू बस्‍न सक्‍नेछन्। के बस्‍ने सेवाकर्ताहरूको लागि यो आशिष् हो? बस्‍नु भनेको के हो? यो आशिष्‌को महत्त्व के हो त? हैसियतमा, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूभन्दा विपरीत देखिन सक्छन्; तिनीहरू फरक देखिन्छन्। तर वास्तविकतामा, के तिनीहरूले यस जीवनमा प्राप्त गर्ने कुरा परमेश्‍वरका चुनिएका मानिसहरूको जस्तै होइन र? कम्तीमा पनि, यो यस जीवनमा उही हुन्छ। तिमीहरूले यसलाई नकार्दैनौ, होइन र? परमेश्‍वरका वाणीहरू, परमेश्‍वरको अनुग्रह, परमेश्‍वरको बन्दोबस्‍त, परमेश्‍वरका आशिष्‌हरू—कसले यी कुराहरूमा आनन्द लिँदैन र? त्यस्तो प्रशस्ततामा सबैले आनन्द लिन्छन्। सेवाकर्ताको पहिचान भनेको सेवा गर्ने व्यक्ति हो, तर परमेश्‍वरको लागि, उहाँले सृष्टि गर्नुभएका सबै थोकमध्ये एउटा थोक मात्रै हो; के मात्रै हो भने तिनीहरूको भूमिका सेवाकर्ताको हो। तिनीहरू दुवै परमेश्‍वरका सृष्टि भएका हुनाले, सेवाकर्ता र परमेश्‍वरको चुनिएको मानिसको बीचमा कुनै भिन्‍नता छ त? वास्तवमा, भिन्‍नता छैन। भनाइमा त, एउटा भिन्‍नता छ; सारमा र तिनीहरूले खेल्‍ने भूमिकामा एउटा भिन्‍नता छ—तर परमेश्‍वरले मानिसहरूको यो समूहलाई अनुचित रूपमा व्यवहार गर्नुहुन्‍न। त्यसो भए, यी मानिसहरूलाई किन सेवाकर्ताको रूपमा परिभाषित गरिन्छ त? तिमीहरूसँग यस विषयमा केही बुझाइ हुनैपर्छ! सेवाकर्ता अविश्‍वासीहरूका बीचबाट आउँछन्। तिनीहरू अविश्‍वासीहरूका बीचबाट आउँछन् भनेर हामीले उल्‍लेख गर्नेबित्तिकै, तिनीहरूको पृष्ठभूमि खराब हुन्छ भन्‍ने कुरा स्पष्टै हुन्छ: तिनीहरू सबै नास्तिक हुन्, र विगतमा पनि त्यस्तै थिए; तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरेका हुँदैनन्, र उहाँप्रति, सत्यताप्रति, र सकारात्मक सबै कुराप्रति तिनीहरू शत्रुवत् रहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरमा वा उहाँको अस्तित्वमा विश्‍वास गरेका हुँदैनन्। त्यसो भए, के तिनीहरूले परमेश्‍वरका वचनहरूलाई बुझ्‍न सक्छन् त? धेरै हदसम्‍म, तिनीहरूले त्यसो गर्न सक्दैनन् भनेर भन्दा अत्योक्ति हुँदैन। जसरी पशु-प्राणीले मानव शब्‍दहरूलाई बुझ्‍न सक्दैनन्, त्यसरी नै सेवाकर्ताहरूले परमेश्‍वरले के भनिरहनुभएको छ, उहाँले के मापदण्ड तोक्नुहुन्छ वा उहाँले किन त्यस्ता मापदण्डहरू तोक्नुहुन्छ भन्‍ने कुरालाई बुझ्‍न सक्दैनन्। तिनीहरूले बुझ्दैनन्; यी कुराहरू तिनीहरूको बुझाइबाहिरका हुन्छन्, र तिनीहरू अन्तर्ज्ञान नपाएको अवस्थामा नै रहन्छन्। यही कारणले गर्दा, यी मानिसहरूसँग हामीले बताएको जीवन हुँदैन। जीवनविना, के मानिसहरूले सत्यतालाई बुझ्‍न सक्छन्? के तिनीहरू सत्यताद्वारा सुसज्‍जित हुन्छन्? के तिनीहरूसँग परमेश्‍वरका वचनहरूको अनुभव र ज्ञान हुन्छ? (हुँदैन।) सेवाकर्ताहरूको उत्पत्ति यसरी नै हुन्छ। तैपनि, परमेश्‍वरले नै यी मानिसहरूलाई सेवाकर्ताहरू बनाउनुहुने भएकोले, तिनीहरूको लागि उहाँले तोक्नुभएका आवश्यक मापदण्डहरू हुन्छन्; उहाँले तिनीहरूलाई नीच ठान्‍नुहुन्‍न, न त उहाँले तिनीहरूसँग झारा टार्ने व्यवहार नै गर्नुहुन्छ। तिनीहरूले उहाँका वचनहरूलाई बुझ्‍न नसके पनि र तिनीहरूसँग जीवन नभए पनि, परमेश्‍वरले तिनीहरूलाई दयालु व्यवहार नै गर्नुहुन्छ, र उहाँले तिनीहरूले पूरा गर्नैपर्ने भनी तोक्नुभएका आवश्यक कुराहरूको हकमा मापदण्डहरू हुन्छन्। तिमीहरूले भर्खरै यी मापदण्डहरूका बारेमा बतायौ: परमेश्‍वरप्रति निष्ठावान हुनु र उहाँले भनेको काम गर्नु। तैँले सेवा गर्दा, तैँले जहाँ आवश्यक छ त्यहाँ सेवा गर्नुपर्छ, र तैँले अन्तिमसम्‍मै सेवा गर्नुपर्छ। यदि तँ निष्ठावान सेवाकर्ता हुन सक्छस् भने, अन्तिमसम्‍मै सेवा गर्न सक्छस् र परमेश्‍वरले तँलाई सुम्पनुभएको कार्यभारलाई पूरा गर्न सक्छस् भने, तैँले मूल्यवान् जीवन जिउनेछस्। यदि तैँले यसो गर्न सक्छस् भने, तँ रहन सक्‍नेछस्। यदि तैँले अलि बढी प्रयास गरिस् भने, यदि तैँले अझै बढी कडा परिश्रम गरिस्, परमेश्‍वरलाई चिन्‍ने तेरो प्रयासलाई दुई गुणा बढाइस् भने, परमेश्‍वरलाई चिन्‍ने बारेमा थोरै बोल्‍न सक्छस् भने, उहाँको गवाही दिन सक्छस् भने, साथै तैँले उहाँको इच्‍छाको कुनै कुरालाई बुझ्‍न सक्छस्, परमेश्‍वरको कार्यमा सहकार्य गर्न सक्छस्, र परमेश्‍वरका अभिप्रायहरूको बारेमा कुनै न कुनै हिसाबले ध्यान दिन सक्छस् भने, सेवाकर्ताको रूपमा तैँले सौभाग्यमा परिवर्तन भएको अनुभव गर्नेछस्। अनि यो सौभाग्यमा हुने परिवर्तन के हुनेछ त? तँ रहन मात्रै सक्‍नेछैनस्। तेरो आचरण र तेरा व्यक्तिगत आकाङ्क्षा र खोजीहरू अनुसार, परमेश्‍वरले तँलाई चुनिएका व्यक्तिहरू मध्येको एक बनाउनुहुनेछ। तेरो सौभाग्यमा हुने परिवर्तन यही हुनेछ। सेवाकर्ताहरूको लागि, यसबारेमा सबैभन्दा उत्तम कुरा के हो त? यो तिनीहरू परमेश्‍वरको चुनिएको मानिस बन्‍न सक्छन् भन्‍ने कुरा नै हो। यदि तिनीहरू त्यस्तो बन्‍न सके भने, यसको अर्थ अब उप्रान्त अविश्‍वासीहरूजस्तो पशु-प्राणीको रूपमा तिनीहरूको पुनर्जन्‍म हुनेछैन। के त्यो असल कुरा होइन र? हो, र यो असल खबर पनि हो: यसको अर्थ सेवाकर्ताहरू पनि परिवर्तन हुन सक्छन्। सेवाकर्ताको हकमा, परमेश्‍वरले तिनीहरूलाई एक पटक सेवा गर्न पूर्वनिर्धारित गर्नुभएपछि, तिनीहरूले सदासर्वदा त्यसो गर्नेछन् भन्‍ने हुँदैन; त्यस्तै भइरहनुपर्छ भन्‍ने छैन। यस व्यक्तिको व्यक्तिगत आचरण सुहाउँदो हुने गरी नै उहाँले त्यस व्यक्तिसँग व्यवहार गर्नुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ।

तैपनि, अन्त्यसम्‍मै सेवा गर्न नसक्‍ने सेवाकर्ताहरू पनि हुन्छन्; सेवाको अवधिमा, आधा बाटोमा नै हार मान्ने र परमेश्‍वरलाई त्याग्‍ने मानिसहरू, साथै धेरै गलत कार्यहरू गर्ने मानिसहरू पनि हुन्छन्। परमेश्‍वरको कार्यलाई धेरै हानि गर्ने र यसमा धेरै घाटा ल्याउने मानिसहरू पनि हुन्छन्, र परमेश्‍वरलाई सराप्‍ने आदि इत्यादि कार्य गर्ने सेवाकर्ताहरू पनि हुन्छन्। यी सुधार गर्न नसकिने परिणामहरूले के सङ्केत गर्छन्? त्यस्तो कुनै पनि दुष्ट कार्यहरूले तिनीहरूका सेवाको समाप्तिलाई जनाउँछ। तेरो सेवाको अवधिमा तेरो आचरण अत्यन्तै खराब रहेकोले र तँ अति हदसम्‍म पुगेको हुनाले, परमेश्‍वरले तेरो सेवा मापदण्ड अनुरूप छैन भन्‍ने देख्‍नुभएपछि, उहाँले तँलाई सेवा गर्ने तेरो योग्यताबाट निकालिदिनुहुनेछ। उहाँले तँलाई अब उप्रान्त सेवा गर्न दिनुहुनेछैन; उहाँले तँलाई उहाँको नजरबाट र परमेश्‍वरको घरबाट निकालिदिनुहुनेछ। के यो तैँले सेवा गर्न नचाहेर हो? के तैँले निरन्तर दुष्ट कार्य गर्न चाहँदैनस् र? के तँ निरन्तर अविश्‍वासयोग्य हुँदैनस् र? त्यसो भए, एउटा सहज समाधान छ: तँलाई सेवा गर्ने तेरो योग्यताबाट हटाइनेछ। परमेश्‍वरको लागि, सेवाकर्तालाई सेवा गर्ने उसको योग्यताबाट हटाउनुको अर्थ यो सेवाकर्ताको अन्त्यको घोषणा गरिएको छ, र ऊ अब उप्रान्त परमेश्‍वरको सेवा गर्नको लागि योग्य हुनेछैन भन्‍ने हुन्छ। परमेश्‍वरलाई अब उप्रान्त यस व्यक्तिको सेवाको खाँचो हुँदैन, र तिनीहरूले जस्तोसुकै राम्रो कुरा बोले पनि, ती शब्‍दहरू व्यर्थ हुनेछन्। जब काम-कुराहरू यस्तो अवस्थामा आइपुगेका हुन्छन्, परिस्थिति समाधान गर्न नसकिने अवस्थामा पुगेको हुनेछ; यस्ता सेवाकर्ताहरू पछि फर्केर आउने कुनै उपाय हुनेछैन। अनि परमेश्‍वरले यस्ता सेवाकर्ताहरूसँग कसरी व्यवहार गर्नुहुनेछ? के उहाँले तिनीहरूलाई सेवा गर्नबाट मात्रै रोक्‍नुहुन्छ? होइन। के उहाँले तिनीहरूलाई रहनबाट मात्रै रोक्‍नुहुन्छ? कि, उहाँले तिनीहरूलाई एकपट्टि राखेर तिनीहरू फर्किऊन् भनेर प्रतीक्षा गर्नुहुन्छ? उहाँले त्यसो गर्नुहुन्‍न। सेवाकर्ताहरूका हकमा, परमेश्‍वर त्यति प्रेमिलो हुनुहुन्‍न, यो साँचो कुरा हो। यदि परमेश्‍वरको सेवाप्रति व्यक्तिको मनोवृत्ति यस्तो छ भने, यो मनोवृत्तिको परिणामस्वरूप, परमेश्‍वरले तिनीहरूलाई सेवा गर्ने तिनीहरूको योग्यताबाट हटाउनुहुनेछ, र फेरि पनि तिनीहरूलाई अविश्‍वासीहरूका बीचमा फ्याँक्‍नुहुनेछ। अनि अविश्‍वासीहरूका बीचमा फ्याँकिएको सेवाकर्ताको भवितव्य के हुन्छ त? यो अविश्‍वासीहरूको जस्तै हुन्छ: तिनीहरूको पुनर्जन्‍म पशु-प्राणीको रूपमा हुनेछ र आत्मिक संसारमा अविश्‍वासीको रूपमा दण्ड प्राप्त गर्नेछन्। यसअलावा, यस व्यक्तिको दण्डमा परमेश्‍वरले कुनै व्यक्तिगत चासो दिनुहुनेछैन, किनभने परमेश्‍वरको कार्यसँग त्यस्तो व्यक्तिको कुनै उचित सम्‍बन्ध हुँदैन। यो परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको जीवनको अन्त्य मात्रै हुँदैन, बरु यो त तिनीहरूको आफ्‍नै भवितव्यको समाप्ति, साथै तिनीहरूको भवितव्यको घोषणा पनि हुन्छ। तसर्थ, यदि सेवाकर्ताहरूले नराम्ररी सेवा गर्छन् भने, तिनीहरूले आफै परिणामहरू भोग्‍नुपर्ने हुन्छ। यदि सेवाकर्ताले अन्तिमसम्‍मै सेवा गर्न सक्दैन, वा आधा बाटोमा सेवा गर्ने उसको योग्यताबाट हटाइन्छ भने, तिनीहरूलाई अविश्‍वासीहरूका बीचमा फ्याँकिनेछ—र यदि यसो भयो भने, यस्तो व्यक्तिलाई चौपायाजस्तै, बौद्धिकता वा चेतना नभएका मानिसहरूलाई जस्तै व्यवहार गरिनेछ। मैले यस कुरालाई यसरी बताउँदा, तिमीहरूले बुझ्‍न सक्छौ, होइन त?

उपर्युक्त कुरा परमेश्‍वरलाई पछ्याउने मानिसहरू र सेवाकर्ताहरूको जीवन र मृत्युको चक्रलाई परमेश्‍वरले कसरी सम्‍हाल्‍नुहुन्छ भन्‍ने बारेमा थियो। यो कुरा सुनेपछि, तिमीहरूलाई कस्तो अनुभूति भयो? के मैले यस विषयमा पहिले कहिल्यै बताएको थिएँ? के मैले कहिल्यै परमेश्‍वरका चुनिएका मानिसहरू र सेवाकर्ताहरूको विषयमा बोलेको छु? मैले वास्तवमा यस विषयमा कुरा गरेको छु, तर तिमीहरूलाई याद छैन। आफ्‍ना चुनिएका मानिसहरू र सेवाकर्ताहरूप्रति परमेश्‍वर धर्मी हुनुहुन्छ। सबै कुराको विषयमा, उहाँ धर्मी हुनुहुन्छ। यसमा तिमीहरूले कहीँ त्रुटि भेट्न सक्छौ? के यसो भन्‍ने मानिसहरू छैनन् र, “चुनिएका मानिसहरूप्रति परमेश्‍वर किन यति सहनशील हुनुहुन्छ? अनि सेवाकर्ताहरूप्रति उहाँ किन थोरै मात्र सहनशील हुनुहुन्छ?” के सेवाकर्ताहरूका लागि कोही खडा हुन चाहन्छ? “के परमेश्‍वरले सेवाकर्ताहरूका लागि थप समय दिन, र तिनीहरूप्रति थप धैर्य र सहनशील हुन सक्‍नुहुन्छ?” के त्यस्तो प्रश्‍न उठाउनु सही कुरा हो? (होइन, यो सही होइन।) किन होइन? (किनभने हामीलाई सेवाकर्ताहरू बनाउने कार्यमार्फत नै वास्तवमा निगाह प्रदान गरिसकिएको हुन्छ।) सेवा गर्नको लागि अनुमति दिएर नै सेवाकर्ताहरूलाई वास्तवमा निगाह प्रदान गरिसकिएको हुन्छ! “सेवाकर्ताहरू” भन्‍ने पदवीविना, र तिनीहरूले गर्ने कामविना, यी मानिसहरू कहाँ हुनेथिए? तिनीहरू चौपायाहरूसँग बस्दै र मर्दै अविश्‍वासीहरूका बीचमा हुनेथिए। परमेश्‍वरको सामुन्ने आउन र परमेश्‍वरको घरमा आउन पाएर तिनीहरूले आज कति महान् अनुग्रह पाएका छन्! यो त निकै ठूलो अनुग्रह हो! यदि परमेश्‍वरले तँलाई सेवा गर्ने यो मौका नदिनुभएको भए, तैँले उहाँको सामुन्ने आउने मौका कहिल्यै पाउने थिइनस्। कम्तीमा पनि, यदि तँ बुद्ध धर्मावलम्बी होस् र तैँले फल प्राप्त गरेको छस् भने पनि, तँ बढीमा आत्मिक संसारको एउटा तल्लो तहको कर्मचारीबाहेक केही पनि होइनस्; तैँले परमेश्‍वरलाई कहिल्यै पनि भेट्नेछैनस्, उहाँको आवाज वा उहाँका वचनहरू सुन्‍नेछैनस्, वा उहाँको प्रेम र आशिष्‌हरू अनुभव गर्नेछैनस्, न त तँ कहिल्यै परमेश्‍वरको आमने-सामने आउने सम्‍भावना नै हुन्छ। बुद्ध धर्मावलम्बीहरूका सामुन्ने हुने कुराहरू भनेका सरल कार्यहरू मात्रै हुन्। तिनीहरूले परमेश्‍वरलाई चिन्‍नु असम्‍भव छ, र तिनीहरूले केवल आज्ञापालन गर्छन् र हुकुम मान्छन्, तर सेवाकर्ताहरूले कामको यो चरणको अवधिमा धेरै कुरा प्राप्त गर्छन्! पहिलो, तिनीहरू परमेश्‍वरको आमने-सामने आउन, उहाँको आवाज सुन्‍न, उहाँका वचनहरू सुन्‍न, र उहाँले मानिसहरूलाई दिनुहुने अनुग्रह र आशिष्‌हरू अनुभव गर्न सक्छन्। यसको साथै, तिनीहरूले परमेश्‍वरद्वारा दिइएका वचन र सत्यताहरूको आनन्द लिन सक्छन्। सेवाकर्ताहरूले साँच्‍चै धेरै कुरा प्राप्त गर्न सक्छन्! तसर्थ, सेवाकर्ताको रूपमा, तैँले उचित प्रयास समेत गर्न सक्दैनस् भने, के परमेश्‍वरले तँलाई राख्‍न सक्‍नुहुन्छ त? उहाँले तँलाई राख्‍न सक्‍नुहुन्‍न। उहाँले तँलाई त्यति धेरै माग्‍नुहुन्‍न, तैपनि उहाँले माग्‍नुभएको केही पनि कुरा तैँले उचित रूपमा गर्दैनस्; तैँले तेरो कर्तव्य पालन गरेको छैनस्। तसर्थ, परमेश्‍वरले तँलाई राख्‍न सक्‍नुहुन्‍न भन्‍ने कुरामा कुनै शङ्का छैन। परमेश्‍वरको धर्मी स्वभाव यही हो। परमेश्‍वरले तँलाई पुलपुल्याउनुहुन्‍न, तर उहाँले तँलाई पक्षपात पनि गर्नुहुन्‍न। परमेश्‍वरले काम गर्नुहुने सिद्धान्तहरू यिनै हुन्। परमेश्‍वरले सबै मानिस र प्राणीहरूलाई यसरी नै व्यवहार गर्नुहुन्छ।

जब आत्मिक संसारको कुरा आउँछ, यदि यसका विभिन्‍न प्राणीहरूले कुनै गलत कार्य गर्छन् वा तिनीहरूले आफ्‍नो काम सही तरिकाले गर्दैनन्, तब तिनीहरूको निराकरण गर्नको लागि परमेश्‍वरसँग सम्‍बन्धित स्वर्गीय आदेश र उर्दीहरू हुन्छन्; यो ठोस कुरा हो। त्यसकारण, परमेश्‍वरको हजारौं वर्षको व्यवस्थापन कार्यको अवधिमा, गलत कार्य गर्ने कतिपय कर्तव्य निर्वाहकर्ताहरूलाई समाप्त पारिएको छ, र कतिलाई आजको दिनसम्‍म नै थुनामा राखिएको र दण्ड दिइएको छ। आत्मिक संसारमा हरेक प्राणीले सामना गर्नुपर्ने कुरा यही हो। यदि तिनीहरूले कुनै गलत वा दुष्ट कार्य गरे भने, तिनीहरूलाई दण्ड दिइन्छ—र यो कुरा परमेश्‍वरले आफ्‍ना चुनिएका मानिसहरू र सेवाकर्ताहरूलाई गर्नुहुने व्यवहार जस्तै छ। तसर्थ, आत्मिक संसार र भौतिक संसार दुवैमा, परमेश्‍वरले जुन सिद्धान्तहरू अनुसार काम गर्नुहुन्छ, ती परिवर्तन हुँदैनन्। तैँले परमेश्‍वरका कार्यहरूलाई देख्‍न सके पनि नसके पनि, तिनका सिद्धान्तहरू परिवर्तन हुँदैनन्। सम्पूर्ण समयमा, परमेश्‍वरले सबै थोकलाई गर्ने व्यवहार र सबै थोकलाई सम्‍हाल्‍ने कार्यमा उही सिद्धान्तहरू अनुसार काम गर्नुभयो। यो अपरिवर्तनीय कुरा हो। परमेश्‍वरले तुलनात्मक रूपमा उचित तरिकाले जिउने अविश्‍वासीहरूलाई दया गर्नुहुनेछ, र हरेक धर्ममा रही राम्रो व्यवहार गर्ने र दुष्ट कार्य नगर्नेहरूलाई अवसरहरू दिनुहुनेछ, र परमेश्‍वरले व्यवस्थापन गर्नुहुने सबै थोकमा तिनीहरूलाई आफ्‍नो भूमिका निर्वाह गर्न र तिनीहरूले गर्नुपर्ने कार्य गर्न दिनुहुनेछ। यसरी नै, परमेश्‍वरलाई पछ्याउनेहरू, र उहाँका चुनिएका मानिसहरूलाई परमेश्‍वरले उहाँका यी सिद्धान्तहरू अनुसार कुनै पनि व्यक्तिलाई पक्षपात गर्नुहुन्‍न। इमानदार रूपमा उहाँलाई पछ्याउन सक्‍ने हरेक व्यक्तिप्रति उहाँ दयालु हुनुहुन्छ, र उहाँलाई इमानदार रूपमा पछ्याउने प्रत्येकलाई उहाँले प्रेम गर्नुहुन्छ। यति मात्रै हो कि यी विभिन्‍न प्रकारका मानिसहरूलाई—अविश्‍वासीहरू, विश्‍वासका विभिन्‍न प्रकारका मानिसहरू, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई—उहाँले दिनुहुने कुराहरू फरक-फरक हुन्छन्। उदाहरणको लागि अविश्‍वासीहरूलाई लिऊँ: तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगरे तापनि, र परमेश्‍वरले तिनीहरूलाई पशुका रूपमा हेर्नुहुने भए तापनि, सबै थोकको बीचमा तिनीहरू प्रत्येकसँग खानलाई खाने कुरा, बस्‍नलाई तिनीहरूको आफ्‍नै स्थान, र जीवन र मृत्युको सामान्य चक्र हुन्छ। दुष्ट कार्य गर्नेहरूलाई दण्ड दिइन्छ, र असल कार्य गर्नेहरू आशिषित हुन्छन् र तिनीहरूले परमेश्‍वरको दया प्राप्त गर्छन्। कुरा यही त हो नि, होइन र? विश्‍वासका मानिसहरूको हकमा, यदि तिनीहरूले एक जन्‍मपछि अर्को जन्‍मसम्‍म तिनीहरूका धार्मिक नियमहरूलाई कठोरताका साथ पालन गर्न सक्छन् भने, ती सबैको पुनर्जन्मपछि, परमेश्‍वरले तिनीहरूका निम्ति उहाँको घोषणा गर्नुहुनेछ। त्यसै गरी, आज तिमीहरूको हकमा, तिमीहरू परमेश्‍वरका चुनिएका मानिसहरू भए पनि वा सेवाकर्ता भए पनि, परमेश्‍वरले आफूले तय गर्नुभएका नियम र प्रशासनिक आदेशहरू अनुसार नै तिमीहरूलाई उचित मार्गमा ल्याउनुहुनेछ र तिमीहरूको परिणाम निर्धारित गर्नुहुनेछ। यस प्रकारका मानिसहरूमध्ये, विश्‍वासका फरक-फरक प्रकारका मानिसहरूलाई—अर्थात्, विभिन्‍न धर्मका मानिसहरूलाई—के परमेश्‍वरले बस्‍ने ठाउँ दिनुभएको छ? यहूदीहरू कहाँ छन्? के परमेश्‍वरले तिनीहरूको विश्‍वासमा हस्तक्षेप गर्नुभएको छ? उहाँले गर्नुभएको छैन। अनि इसाईहरूको हकमा नि? उहाँले तिनीहरूलाई पनि हस्तक्षेप गर्नुभएको छैन। उहाँले तिनीहरूलाई तिनीहरूका आफ्‍नै पद्धतिहरू पालन गर्न दिनुहुन्छ, उहाँले तिनीहरूसँग कुराकानी गर्ने वा तिनीहरूलाई अन्तर्दृष्टि दिने गर्नुहुन्‍न, यस अलावा, उहाँले तिनीहरूलाई कुनै पनि कुरा प्रकट गर्नुहुन्‍न। यदि तँलाई यो सही लाग्छ भने, यसरी नै विश्‍वास गर्। क्याथोलिकहरूले मरियममा विश्‍वास गर्छन्, र तिनले नै येशूलाई सुसमाचार हस्तान्तरण गरिन् भनी विश्‍वास गर्छन्; तिनीहरूको विश्‍वासको रूप त्यस्तै छ। के परमेश्‍वरले कहिल्यै तिनीहरूको विश्‍वासलाई सुधार गर्नुभएको छ र? उहाँले तिनीहरूलाई स्वतन्त्रता दिनुहुन्छ; उहाँले तिनीहरूलाई कुनै ध्यान दिनुहुन्‍न र तिनीहरूलाई जिउनको लागि निश्‍चित क्षेत्र दिनुहुन्छ। मुस्लिमहरू र बुद्ध धर्मावलम्बीहरूका हकमा पनि, यही कुरा लागू हुँदैन र? उहाँले तिनीहरूका लागि पनि सीमाहरू तय गर्नुभएको छ, र तिनीहरूको सम्बन्धित विश्‍वासमा हस्तक्षेप नगरीकन, तिनीहरूलाई जिउने आफ्‍नै क्षेत्र दिनुभएको छ। सबै कुरा सुव्यवस्थित छन्। अनि यी सबैमा तिमीहरू के देख्छौ? परमेश्‍वरसँग अख्‍तियार छ, तर उहाँले यसको दुरुपयोग गर्नुहुन्‍न। परमेश्‍वरले सबै थोकलाई सर्वोत्तम रूपले सुव्यवस्थित क्रममा मिलाउनुहुन्छ र सुव्यवस्थित रूपमा उहाँले यसो गर्नुहुन्छ, र यसैमा उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता छ।

आज हामीले एउटा नयाँ र विशेष विषय, अर्थात् आत्मिक संसारका कुराहरूसँग सम्‍बन्धित विषयलाई छोयौं, जसले त्यस क्षेत्रमाथि परमेश्‍वरको प्रशासन र प्रभुत्वको एउटा पक्षलाई प्रतिनिधित्व गर्छ। तिमीहरूले यी कुराहरूलाई बुझ्‍नुभन्दा पहिले, तिमीहरूले यसो भनेका हुन सक्छौ, “यससँग सम्‍बन्धित सबै कुरा रहस्य हुन्, र हाम्रो जीवन प्रवेशसँग यसको कुनै सम्‍बन्ध छैन; मानिसहरूले वास्तवमा कसरी जिउँछन् भन्‍ने कुरासँग यी कुराहरूको कुनै सम्‍बन्ध छैन, र हामीले तिनलाई बुझ्‍नु आवश्यक छैन, न त हामीले तिनलाई सुन्‍नु नै आवश्यक छ। परमेश्‍वरलाई चिन्‍ने विषयमा तिनको कुनै सम्‍बन्ध छैन।” अब, के तिमीहरूलाई त्यस किसिमको सोचाइमा समस्या छ भन्‍ने लाग्छ? के यो सही छ? (छैन।) त्यस्तो सोचाइ सही छैन र यसमा गम्‍भीर समस्याहरू छन्। यसको कारण के हो भने यदि तँ परमेश्‍वरले सबै थोकमाथि कसरी शासन गर्नुहुन्छ भन्‍ने बारेमा बुझ्‍न चाहन्छस् भने, तैँले देख्‍न सक्‍ने र तेरो सोचाइले बुझ्‍न सक्‍ने कुरालाई मात्रै बुझेर हुँदैन; तैँले अरू संसारको कतिपय कुरालाई पनि बुझ्‍नुपर्छ, जुन तेरो लागि अदृश्य हुन सक्छ, तर त्यो तैँले देख्न सक्ने यो संसारसँग अपरिहार्य रूपमा जोडिएको हुन्छ। यो परमेश्‍वरको सार्वभौमिकतासँग सम्‍बन्धित छ, र यो “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने विषयसँग सम्‍बन्धित छ। यो त्यसैसँग सम्‍बन्धित जानकारी हो। यो जानकारीविना, परमेश्‍वर कसरी सबै थोकको जीवनको स्रोत हुनुहुन्छ भन्‍नेबारेको मानिसहरूको ज्ञानमा त्रुटि र भूलहरू हुनेछन्। तसर्थ, आज हामीले जे बतायौं त्यसले हाम्रा अघिल्‍ला विषयहरूलाई बिट मारेको छ, साथै “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने विषयवस्तुलाई समापन गरेको छ। यसलाई बुझिसकेपछि, के तिमीहरूले अब यस विषयवस्तुबाट परमेश्‍वरलाई चिन्‍न सक्छौ? त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, मैले तिमीहरूलाई आज सेवाकर्ताहरूका बारेमा अत्यन्तै महत्त्वपूर्ण जानकारी प्रदान गरेको छु। मलाई थाहा छ, तिमीहरूलाई यस्ता विषयहरूको बारेमा सुन्दा आनन्द लाग्छ, र तिमीहरूले साँच्‍चै नै यी विषयहरूमा चासो लिन्छौ। त्यसकारण, के आज मैले जुन कुराको विषयमा बताएको छु त्यसप्रति तिमीहरू सन्तुष्ट छौ? (हो, छौं।) अन्य केही कुराले तिमीहरूलाई त्यति ठूलो प्रभाव नपारेको हुन सक्छ, तर सेवाकर्ताहरूको बारेमा मैले जे बताएको छु त्यसले विशेष रूपमा ठूलो प्रभाव पारेको छ, किनभने यो विषयले तिमीहरू प्रत्येकको प्राणलाई छुन्छ।

मानवजातिप्रति परमेश्‍वरका मापदण्डहरू

क. परमेश्‍वर स्वयम्‌को पहिचान र हैसियत

हामी “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने विषय, साथै “परमेश्‍वर अद्वितीय परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्छ” भन्‍ने विषयको अन्त्यमा आइपुगेका छौं। त्यसो भएको हुनाले, हामीले यी कुराहरूको सारांश प्रदान गर्नु आवश्यक छ। हामीले कस्तो किसिमको सारांश प्रदान गर्नुपर्छ? यो परमेश्‍वर स्वयम्‌सँग सम्‍बन्धित निष्कर्ष हो। त्यसो भएको हुनाले, परमेश्‍वरको हरेक पक्ष, साथै मानिसहरूले परमेश्‍वरलाई कसरी विश्‍वास गर्छन् त्यससँग यसको अपरिहार्य सम्‍बन्ध हुनुपर्छ। त्यसैले, मैले पहिले तिमीहरूलाई सोध्‍नुपर्छ: यी प्रवचनहरू सुनिसकेपछि, तिमीहरूको मनको आँखामा, परमेश्‍वर को हुनुहुन्छ त? (सृष्टिकर्ता।) तिमीहरूको मनको आँखामा, परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ। के अरू कुनै कुरा छ? परमेश्‍वर सबै थोकका प्रभु हुनुहुन्छ। के यी शब्‍दहरू उचित छन्? (छन्।) सबै थोकमाथि शासन गर्ने र सबै थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै कुरा उहाँले नै सृष्टि गर्नुभएको हो, अस्तित्वमा भएका सबै कुरामाथि उहाँले नै प्रशासन चलाउनुहुन्छ, र अस्तित्वमा भएका सबै थोकमाथि उहाँले नै शासन गर्नुहुन्छ, र अस्तित्वमा भएका सबै थोकलाई उहाँले नै भरणपोषण गर्नुहुन्छ। परमेश्‍वरको हैसियत यही हो, र उहाँको पहिचान यही हो। सबै थोक र अस्तित्वमा रहेका सबै कुराको लागि, परमेश्‍वरको साँचो पहिचान भनेको सबै सृष्टिको सृष्टिकर्ता र शासक हो। परमेश्‍वरको पहिचान यही हो, र उहाँ सबै थोकका बीचमा अद्वितीय हुनुहुन्छ। परमेश्‍वरका कुनै पनि सृष्टिहरूले—चाहे तिनीहरू मानवजातिका बीचमा होऊन् वा आत्मिक संसारमा होऊन्—परमेश्‍वरको पहिचान र हैसियतलाई अनुकरण गर्न वा प्रतिस्थापन गर्नको लागि कुनै पनि माध्यम वा बहानाको प्रयोग गर्न सक्दैनन्, किनभने सबै थोकको बीचमा यो पहिचान, शक्ति, अख्तियार, र सृष्टिमाथि शासन गर्ने यो क्षमता भएको एक मात्रै हुनुहुन्छ: हाम्रा अद्वितीय परमेश्‍वर स्वयम्। उहाँ सबै थोकमाझ जिउनुहुन्छ र घुमफिर गर्नुहुन्छ; उहाँ सबैभन्दा उच्‍च स्थानमा, सबै थोकभन्दा माथि उठ्न सक्‍नुहुन्छ। मानिस बनेर, देह र रगतकाहरूमध्ये एक बनेर, मानिसहरूको आमने-सामने आएर अनि तिनीहरूसँग खुशी र दुःख बाँडेर उहाँले आफैलाई नम्र तुल्याउन सक्‍नुहुन्छ, यसको साथै उहाँले अस्तित्वमा रहेका सबै थोकको नियति र यो सबै अघि बढ्ने दिशा निर्धारण गर्दै अस्तित्वमा रहेका सबै थोकमाथि हुकुम चलाउनुहुन्छ। यसको साथै, उहाँले सारा मानवजातिको नियतिलाई मार्गनिर्देशित गर्नुहुन्छ, र मानवजातिको दिशा तय गर्नुहुन्छ। यस्तो परमेश्‍वरलाई सबै मानवजातिले आराधना गर्नुपर्छ, आज्ञापालन गर्नुपर्छ, र चिन्‍नुपर्छ। यसरी, तँ मानवजातिको जुनसुकै समूह वा प्रकारमा भए तापनि, परमेश्‍वरलाई विश्‍वास गर्नु, परमेश्‍वरलाई पछ्याउनु, परमेश्‍वरको डर मान्‍नु, उहाँको सार्वभौमिकतालाई स्वीकार गर्नु र तेरो भाग्यको लागि उहाँका बन्दोबस्तहरूलाई स्वीकार गर्नु कुनै पनि व्यक्ति र कुनै पनि जीवित प्राणीको लागि एउटै मात्र विकल्‍प हो, अर्थात् अत्यावश्यक छनौट हो। परमेश्‍वरको अद्वितीयपनमा, मानिसहरूले उहाँको अख्‍तियार, उहाँको धर्मी स्वभाव, उहाँको सार देख्छन् अनि उहाँले सबै थोकलाई भरणपोषण गर्ने माध्यमहरू सबै पूर्ण रूपमा अद्वितीय रहेको देख्छन्; यो अद्वितीयपनले परमेश्‍वर स्वयम्‌को साँचो पहिचानलाई निर्धारित गर्छ, र यसले उहाँको हैसियतलाई पनि निर्धारित गर्छ। त्यसकारण, सारा सृष्टिको बीचमा, परमेश्‍वरको अनुकरण गर्ने प्रयास असम्‍भव भएझैँ आत्मिक संसारमा वा मानवजातिको बीचमा रहेको कुनै पनि जीवित प्राणीले परमेश्‍वरको स्थानमा खडा हुने इच्‍छा गर्थ्यो भने, त्यस कार्यमा सफलता मिल्न असम्‍भव हुनेथियो। तथ्य यही नै हो। यस्तो सृष्टिकर्ता र शासक, जोसँग परमेश्‍वर स्‍वयम्‌को पहिचान, शक्ति, र हैसियत छ, मानवजातिप्रति उहाँका मापदण्डहरू के-के छन् त? यो कुरा सबैको लागि स्पष्ट हुनुपर्ने हो, र यसलाई सबैले याद गर्नुपर्ने हो; यो परमेश्‍वर र मानिस दुवैको लागि अत्यन्तै महत्त्वपूर्ण छ।

ख. परमेश्‍वरप्रति मानवजातिका विभिन्‍न मनोवृत्तिहरू

मानिसहरूले परमेश्‍वरप्रति कसरी व्यवहार गर्छन् त्यसले तिनीहरूको भवितव्यका साथै परमेश्‍वरले कसरी तिनीहरूसित व्यवहार गर्नुहुन्छ र तिनीहरूको निराकरण गर्नुहुन्छ त्यसलाई निर्धारित गर्छ। यस विन्दुमा, म मानिसहरूले परमेश्‍वरप्रति कसरी व्यवहार गर्छन् त्यसका केही उदाहरणहरू दिन्छु। हामी सुनौं र तिनीहरूले परमेश्‍वरको सामुन्ने गर्ने व्यवहारको तरिका र मनोवृत्ति सही छन् कि छैनन् हेरौं। हामी निम्‍न सात प्रकारका मानिसहरूका आचरणको बारेमा विचार गरौं।

१) एक प्रकारको व्यक्ति छ, परमेश्‍वरप्रति जसको मनोवृत्ति निश्‍चित रूपमा मूर्ख किसिमको छ। यी मानिसहरूले परमेश्‍वर बोधिसत्त्व वा मानव ज्ञानका पवित्र प्राणी हुनुहुन्छ, र मानिसले भेट्दा तीन पटक निहुरेर दण्डवत् गर्नुपर्छ, र हरेक पटक खानपान गर्दा धूप बाल्‍नुपर्छ भन्‍ने ठान्छन्। परिणामस्वरूप, तिनीहरू जब-जब उहाँको अनुग्रहप्रति अत्यन्तै आभारी हुन्छन् र उहाँप्रति कृतज्ञताको अनुभूति गर्छन्, तिनीहरूले प्रायजसो यस्तै आवेगपूर्ण कार्य गर्छन्। त्यसरी तिनीहरूले आफूले आज विश्‍वास गर्ने परमेश्‍वरले, आफूले आफ्‍नो हृदयमा अत्यन्तै चाहना गरेको पवित्र प्राणीले जस्तै, भेट हुँदा तीन पटक ढोग्‍ने र हरेक खानामा धूप बाल्‍ने कार्यलाई स्वीकार गरून् भन्‍ने चाहना गर्छन्।

२) कतिपय मानिसहरूले परमेश्‍वरलाई सबै जीवित प्राणीलाई कष्टबाट मुक्त गर्न र तिनीहरूलाई मुक्ति दिन सक्‍ने जीवित बुद्धको रूपमा हेर्छन्; तिनीहरूले उहाँलाई कष्टको सागरबाट तिनीहरूलाई टाढा लैजान सक्‍ने जीवित बुद्धको रूपमा हेर्छन्। परमेश्‍वरमाथिको यी मानिसहरूको विश्‍वासमा यिनीहरूले उहाँलाई बुद्धलाई जस्तै आराधना गर्ने कार्य पर्छ। तिनीहरूले धूप बाल्‍ने, प्रणाम गर्ने, वा भेटी दिने कार्य नगर्ने भए तापनि, अन्तस्करणमा तिनीहरूलाई के लाग्छ भने परमेश्‍वर बुद्ध जस्तै हुनुहुन्छ जसले तिनीहरूलाई दयालु र परोपकारी बन्‍न अनुरोध गर्नुहुन्छ, तिनीहरूले कुनै पनि जीवित प्राणी नमारून्, अरूलाई मनपरी नभनून्, इमानदार देखिने जीवन जिऊन्, र कुनै गलत कार्य नगरून् भन्‍ने चाहनुहुन्छ। यी कुराहरू नै उहाँले तिनीहरूबाट चाहनुहुने सबै कुरा हुन् भन्‍ने तिनीहरूको विश्‍वास हुन्छ; तिनीहरूको हृदयको परमेश्‍वर यही नै हो।

३) कतिपय मानिसहरूले परमेश्‍वरलाई कुनै महान् वा चर्चित व्यक्तिलाई जस्तो आराधना गर्छन्। उदाहरणको लागि, यो महान् व्यक्तिले जुन माध्यमद्वारा बोल्छ, उसले जस्तो शैलीमा बोल्छ, उसले जे-जस्ता शब्‍द र शब्‍दभण्डारको प्रयोग गर्छ, उसको स्वर, उसको हातको हाउभाउ, उसका विचार र कार्यहरू, उसको कार्यशैली—तिनीहरूले यी सबै कुराको नक्‍कल गर्छन्, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको यात्रामा तिनीहरूले पूर्ण रूपमा उत्पन्‍न गर्नुपर्ने कुराहरू यिनै हुन्छन्।

४) कतिपय मानिसहरूले परमेश्‍वरलाई सम्राटको रूपमा हेर्छन्, अनि उहाँ अरू सबैभन्दा माथि हुनुहुन्छ र कसैले पनि उहाँलाई ठेस पुर्‍याउन सक्दैन—अनि तिनीहरूलाई यदि कसैले त्यसो गर्‍यो भने, त्यस व्यक्तिलाई दण्ड दिइनेछ भन्‍ने लाग्छ। तिनीहरूले त्यस्तो सम्राटलाई आराधना गर्छन् किनभने सम्राटहरूले तिनीहरूको हृदयमा निश्‍चित ठाउँ ओगटेका हुन्छन्। यी मानिसहरूलाई ती सम्राटहरूका विचार, व्यवहार, अख्‍तियार, र प्रकृति—तिनीहरूका रुचि र व्यक्तिगत जीवनसमेत—सबै नै आफूले बुझ्‍नैपर्ने कुरा हुन् भन्‍ने लाग्छ; ती कुराहरू तिनीहरूले चासो दिने समस्या र विषयहरू बन्छन्। परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरलाई सम्राटको रूपमा आराधना गर्छन्। त्यस्तो किसिमको विश्‍वास हास्यास्पद छ।

५) परमेश्‍वरको अस्तित्वको बारेमा कतिपय मानिसहरूसँग विशेष विश्‍वास हुन्छ, र यो विश्‍वास प्रगाढ र अटल हुन्छ। तैपनि परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञान सतही हुने भएकोले, र तिनीहरूसँग उहाँका वचनहरूको त्यति धेरै अनुभव नहुने भएकोले, तिनीहरूले उहाँलाई मूर्तिलाई जस्तो पूजा गर्छन्। यही मूर्ति नै तिनीहरूको हृदयमा बसेको परमेश्‍वर हुन्छ; तिनीहरूलाई यो मूर्ति तिनीहरूले डर मान्‍नुपर्ने र दण्डवत् गर्नुपर्ने, र तिनीहरूले पछ्याउनैपर्ने र अनुकरण गर्नैपर्ने कुरा हो भन्‍ने लाग्छ। परमेश्‍वरलाई तिनीहरूले आफूले आफ्‍नो जीवनभरि पछ्याउनुपर्ने मूर्तिको रूपमा हेर्छन्। तिनीहरूले परमेश्‍वरले बोल्‍नुहुने शैलीको नक्‍कल गर्छन् अनि बाहिरी रूपमा परमेश्‍वरले मन पराउनुहुनेहरूको अनुकरण गर्छन्। तिनीहरूले प्रायजसो सोझो, शुद्ध, र इमानदार देखिने काम-कुराहरू गर्छन्, र तिनीहरूले यस मूर्तिलाई अलग हुनै नसकिने मित्र वा सहकर्मीलाई झैँ गरेर समेत पछ्याउँछन्। तिनीहरूको विश्‍वासको रूप यस्तै हुन्छ।

६) एक प्रकारका मानिसहरू यस्ता छन्, जसले परमेश्‍वरका धेरै वचनहरू पढे पनि र धेरै प्रचार सुने पनि, भित्र हृदयमा तिनीहरूले के अनुभूति गर्छन् भने परमेश्‍वरप्रति तिनीहरूले गर्ने व्यवहारको एउटै सिद्धान्त भनेको तिनीहरू जहिल्यै पनि चापलुसी र चाकडी गर्ने हुनुपर्छ, वा तिनीहरूले अवास्तविक तरिकाले परमेश्‍वरको प्रशंसा गर्नुपर्छ र उहाँको तारिफ गर्नुपर्छ। तिनीहरू के विश्‍वास गर्छन् भने परमेश्‍वर तिनीहरूलाई त्यस्तो व्यवहार गर्न लगाउनुहुने परमेश्‍वर हुनुहुन्छ। यसअलावा, तिनीहरूले के विश्‍वास गर्छन् भने, यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूले कुनै पनि समयमा उहाँलाई रिस उठाउन सक्छन् वा उहाँको विरुद्धमा पाप गर्न पुग्‍छन्, र यो पापको परिणामस्वरूप, परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ। तिनीहरूले आफ्‍नो हृदयमा राख्‍ने परमेश्‍वर यस्तै हुन्छ।

७) अनि त्यसपछि अधिकांश मानिसहरू यस्ता छन्, जसले परमेश्‍वरमा आत्मिक भरण-पोषण प्राप्त गर्छन्। किनभने तिनीहरू यो संसारमा जिउँछन्, तिनीहरू शान्ति वा खुशी रहित छन्, र तिनीहरूले अरू कतै पनि सान्त्वना पाउँदैनन्। तिनीहरूले परमेश्‍वरलाई भेटेपछि, तिनीहरूले उहाँका वचनहरू देखेपछि र सुनेपछि, तिनीहरूले आफ्‍नो हृदयमा गोप्य आनन्द र हर्षलाई बास दिन थाल्छन्। यस्तो हुन्छ किनभने तिनीहरूलाई विश्‍वास हुन्छ कि तिनीहरूले बल्ल तिनीहरूको आत्मालाई खुशी पार्ने स्थान भेटेका छन्, र तिनीहरूले तिनीहरूलाई आत्मिक भरण-पोषण दिनुहुने परमेश्‍वरलाई बल्ल भेटेका छन्। तिनीहरूले परमेश्‍वरलाई ग्रहण गरेर उहाँलाई पछ्याउन थालेपछि, तिनीहरू खुशी हुन्छन्, र तिनीहरूको जीवन भरिपूर्ण हुन्छ। तिनीहरूले अब उप्रान्त पशुजस्तो दिवा-स्वप्न देख्दै अघि बढ्ने अविश्‍वासीहरूजस्तो व्यवहार गर्दैनन्, र जीवनमा तिनीहरूले अपेक्षा गर्ने कुनै कुरा छ भन्‍ने अनुभूति गर्छन्। तसर्थ, तिनीहरूलाई यस परमेश्‍वरले तिनीहरूको आत्मिक आवश्यकताहरूलाई धेरै रूपमा सन्तुष्ट तुल्याउन सक्‍नुहुन्छ र तिनीहरूको मन र आत्मा दुवैमा तिनीहरूलाई ठूलो खुशी दिन सक्‍नुहुन्छ भन्‍ने लाग्छ। थाहै नपाई, तिनीहरू त्यस्तो आत्मिक भरण-पोषण दिनुहुने, र तिनीहरूका आत्मामा र तिनीहरूको परिवारका सबै सदस्यहरूमा खुशी ल्याउनुहुने परमेश्‍वरलाई छोड्नै नसक्‍ने अवस्थामा पुग्छन्। तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासले आत्मिक भरण-पोषण बाहेक अरू केही पनि ल्याउनु आवश्यक छैन भन्‍ने विश्‍वास गर्छन्।

के तिमीहरूमध्ये कसैसँग परमेश्‍वरप्रति यी माथि उल्लेखित मनोवृत्तिहरू छन्? (छन्।) यदि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा, व्यक्तिको हृदयमा तीमध्ये कुनै मनोवृत्ति छ भने, के तिनीहरू साँचो रूपमा परमेश्‍वरको अघि आउन सक्छन्? यदि व्यक्तिको हृदयमा यीमध्ये कुनै मनोवृत्ति छ भने, के तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्? के त्यस्तो व्यक्तिले अद्वितीय परमेश्‍वर स्वयम्‌लाई विश्‍वास गर्छ? (गर्दैन।) तैँले अद्वितीय परमेश्‍वर स्वयम्‌लाई विश्‍वास गर्दैनस् भने, तैँले कसलाई विश्‍वास गर्छस्? यदि तैँले जसलाई विश्‍वास गर्छस् त्यो अद्वितीय परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्न भने, सायद तैँले मूर्तिमा, वा महान् व्यक्तिमा, वा बोधिसत्त्वमा विश्‍वास गर्छस् होला, वा तैँले आफ्‍नो हृदयमा भएको बुद्धलाई आराधना गर्छस् होला। यसअलावा, सायद तैँले साधारण व्यक्तिमा विश्‍वास गर्छस् होला। छोटकरीमा भन्दा, परमेश्‍वरप्रतिको मानिसहरूको विभिन्‍न प्रकारका विश्‍वास र मनोवृत्तिको कारण, तिनीहरूले आफ्नो हृदयमा आफ्‍नै ज्ञानको परमेश्‍वरलाई राख्छन्, परमेश्‍वरमाथि आफ्‍नै कल्‍पनाका कुरा लाद्छन्, परमेश्‍वरसम्‍बन्धी तिनीहरूका आफ्‍नै मनोवृत्ति र कल्‍पनाहरूलाई अद्वितीय परमेश्‍वर स्वयम्‌सँग राख्छन्, अनि त्यसपछि तिनलाई पवित्र ठान्छन्। परमेश्‍वरप्रति मानिसहरूको यस्तो अनुचित मनोवृत्ति हुनुको अर्थ के हो त? यसको अर्थ तिनीहरूले साँचो परमेश्‍वर स्वयम्‌लाई इन्कार गरेका छन् र एउटा झूटो ईश्‍वरको आराधना गरिरहेका छन् भन्‍ने हुन्छ; यसले के सङ्केत गर्छ भने परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, तिनीहरूले उहाँलाई इन्कार गरिरहेका छन् र उहाँको विरोध गरिरहेका छन्, र तिनीहरूले साँचो परमेश्‍वरको अस्तित्वलाई इन्कार गरिरहेका छन्। यदि मानिसहरूले निरन्तर त्यस्तो विश्‍वास नै लिइरहन्छन् भने, तिनीहरूले के-कस्ता परिणामहरूको सामना गर्नेछन् त? त्यस्तो विश्‍वासद्वारा, के तिनीहरू परमेश्‍वरका मापदण्डहरूलाई पूरा गर्ने कार्यको नजिक पुग्न सक्‍नेछन् त? (अहँ, तिनीहरूले त्यसो गर्न सक्‍नेछैनन्।) यसको विपरीत, तिनीहरूका धारणा र कल्‍पनाहरूको कारण, तिनीहरू परमेश्‍वरको मार्गबाट झन्-झन् टाढा बरालिँदै जानेछन्, किनभने तिनीहरूले खोज्‍ने दिशा परमेश्‍वरले तिनीहरूलाई हिँड्न लगाउनुभएको दिशाको विपरीत हुन्छ। के तिमीहरूले कहिल्यै “उत्तर जाने रथमा चढेर दक्षिण जानु” भन्‍ने कथा सुनेका छौ? यो पनि उत्तर जाने रथमा चढेर दक्षिण जानु जस्तै हुन सक्छ। यदि मानिसहरूले त्यस्तो लट्याङपट्याङ तरिकाले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तैँले जति कठिन प्रयास गर्छस्, तँ परमेश्‍वरबाट त्यति नै टाढा जानेछस्। त्यसैले, म तँलाई सल्‍लाह दिन्छु: तँ अघि बढ्नुभन्दा पहिले, सुरुमा तँ सही दिशामा गइरहेको छस् कि छैनस्, पत्ता लगा। आफ्‍ना प्रयासहरूमा विशेष ध्यान दे, र आफैलाई यो प्रश्‍न सोध्, “के मैले विश्‍वास गर्ने परमेश्‍वर सबै थोकका शासक हुनुहुन्छ? के मैले विश्‍वास गर्ने परमेश्‍वर आत्मिक भरण-पोषण दिने व्यक्ति मात्रै हुनुहुन्छ? के उहाँ मेरो मूर्ति मात्रै हुनुहुन्छ? मैले विश्‍वास गरेको यो परमेश्‍वरले मलाई के गर्न लगाउनुभएको छ? के मैले गर्ने सबै कुरालाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ? के मेरा सबै कार्य र खोजीहरू परमेश्‍वरलाई चिन्‍ने कार्यअनुरूप छन्? के ती उहाँले मलाई दिनुभएका मापदण्डहरू अनुरूप छन्? के मैले हिँड्ने मार्गलाई परमेश्‍वरले पहिचान र स्वीकृत गर्नुभएको छ? के उहाँ मेरो विश्‍वासप्रति सन्तुष्ट हुनुहुन्छ?” तैँले प्रायजसो र बारम्‍बार आफैलाई यी प्रश्‍नहरू सोध्‍नुपर्छ। यदि तँ परमेश्‍वरको ज्ञानको खोजी गर्न चाहन्छस् भने, तँ उहाँलाई सन्तुष्ट पार्ने कार्यमा सफल हुनुभन्दा पहिले तँसँग स्पष्ट विवेक र स्पष्ट उद्देश्यहरू हुनुपर्छ।

उहाँको सहनशीलताको परिणामस्वरूप, के परमेश्‍वरले मैले भर्खरै कुरा गरेका यी अनुचित मनोवृत्तिहरूलाई मन नभई-नभई स्वीकार गर्नुहुने कुरा सम्भव छ? के परमेश्‍वरले यी मानिसहरूका मनोवृत्तिहरूको तारिफ गर्न सक्‍नुहुन्छ? (सक्‍नुहुन्‍न।) मानव र उहाँको पछि लाग्‍नेहरूका निम्ति परमेश्‍वरका मापदण्डहरू के-के हुन्? मानिसहरूसँग कस्तो प्रकारको मनोवृत्ति होस् भन्‍ने उहाँ चाहनुहुन्छ? के यीबारेमा तँसँग कुनै स्पष्टता छ? यस विन्दुमा, मैले धेरै कुरा बताइसकेको छु; मैले परमेश्‍वर स्वयम्‌को विषयमा, साथै उहाँका कार्य र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको बारेमा धेरै कुरा बताइसकेको छु। परमेश्‍वरले मानिसहरूबाट के प्राप्त गर्न चाहनुहुन्छ के त्यो तिमीहरूलाई थाहा छ? उहाँले तँबाट के चाहनुहुन्छ के त्यो तँलाई थाहा छ? बोल्। यदि अनुभवहरू र अभ्यासबाट तिमीहरूले पाएको ज्ञान अझै पनि कम्ती छ वा अझै पनि सतही छ भने, यी वचनहरू सम्‍बन्धी तिमीहरूको ज्ञानको बारेमा तिमीहरूले केही भन्‍न सक्छौ। के तिमीहरूसँग सारांश ज्ञान छ? परमेश्‍वरले मानिसलाई के माग्‍नुहुन्छ? (यी विभिन्‍न कुराकानीको अवधिमा, परमेश्‍वरले हामीलाई हामीले उहाँलाई चिन्‍नुपर्छ, उहाँका कार्यहरूलाई जान्‍नुपर्छ, उहाँ नै सबै थोकको जीवनको स्रोत हुनुहुन्छ भन्‍ने जान्‍नुपर्छ, र उहाँको हैसियत र पहिचानको बारेमा परिचित हुनुपर्छ भन्‍ने मापदण्ड सिकाउनुभएको छ।) अनि, जब परमेश्‍वरले उहाँलाई चिन्नू भनी मानिसहरूलाई भन्नुहुन्छ, तब अन्तिम परिणाम के हुन्छ त? (तिनीहरूले परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ, र मानव सृष्टि गरिएका प्राणी हुन् भन्‍ने बुझ्छन्।) जब मानिसहरूले यस्तो ज्ञान प्राप्त गर्छन्, तब परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिमा, कर्तव्य पूरा गर्ने तिनीहरूको काममा, वा तिनीहरूको जीवनको स्वभावमा के-कस्ता परिवर्तनहरू आउँछन्? के तिमीहरूले यसबारेमा कहिल्यै विचार गरेका छौ? के परमेश्‍वरलाई चिनेपछि अनि उहाँलाई बुझेपछि, तिनीहरू असल मानिसहरू बन्छन् भनेर भन्‍न सकिन्छ? (परमेश्‍वरमाथिको विश्‍वासमा असल व्यक्ति बन्‍ने प्रयास समावेश हुँदैन। बरु, यो त मापदण्ड अनुरूपको परमेश्‍वरको सृष्टि बन्‍ने र इमानदार व्यक्ति बन्‍ने कार्यको खोजी हो।) के अरू कुनै कुरा छ? (परमेश्‍वरलाई साँचो रूपमा र सही तरिकाले चिनिसकेपछि, हामीले उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्छौं; हामीलाई थाहा हुन्छ कि परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुन्छ, हामी सृष्टि गरिएका प्राणी हौं, हामीले परमेश्‍वरलाई आराधना गर्नुपर्छ, र हामीले हाम्रो उचित स्थानमा बस्‍नुपर्छ।) एकदम राम्रो! हामी अरू केही व्यक्तिहरूबाट सुनौं। (हामी परमेश्‍वरलाई चिन्छौं, र अन्तिममा परमेश्‍वरमा साँचो रूपले समर्पित हुने, परमेश्‍वरको डर मान्‍ने, र दुष्टताबाट अलग बस्‍ने मानिसहरू बन्‍न सक्छौं।) त्यो सही कुरा हो!

ग. परमेश्‍वरको मापदण्ड अनुरूप मानवजातिले उहाँप्रति राख्नुपर्ने मनोवृत्ति

वास्तवमा, परमेश्‍वरले मानवजातिलाई त्यति धेरै मापदण्ड दिनुहुन्न—वा, कम्तीमा, उहाँले मानिसहरूले कल्‍पना गरेजत्तिको मापदण्ड तोक्नुहुन्न। यदि परमेश्‍वरले कुनै वचनहरू नबोल्‍नुभएको भए, र यदि उहाँले उहाँको स्वभाव वा कुनै कामहरू व्यक्त नगर्नुभएको भए, तिमीहरूको निम्ति परमेश्‍वरलाई चिन्‍ने कार्य अत्यन्तै कठिन हुनेथियो, किनभने मानिसहरूले उहाँको अभिप्राय र इच्‍छाको बारेमा अनुमान गर्नुपर्ने हुनेथियो; यो कार्य गर्न अत्यन्तै कठिन हुनेथियो। तैपनि, आफ्‍नो कार्यको अन्तिम चरणमा, परमेश्‍वरले धेरै वचन बोल्‍नुभएको छ, धेरै काम गर्नुभएको छ, र मानिसहरूका लागि धेरै मापदण्डहरू तय गर्नुभएको छ। उहाँका वचनहरू, र उहाँका धेरै काममा, उहाँले मानिसहरूलाई उहाँले के मन पराउनुहुन्छ, के कुरालाई घृणा गर्नुहुन्छ, र तिनीहरू कस्तो प्रकारका मानिसहरू बन्‍नुपर्छ भन्‍नेबारेमा जानकारी दिनुभएको छ। यी कुराहरूलाई बुझिसकेपछि, मानिसहरूसँग परमेश्‍वरका मापदण्डहरूका बारेमा आफ्‍नो हृदयमा सटीक परिभाषा हुनुपर्छ, किनभने तिनीहरूले परमेश्‍वरलाई अस्पष्टतामा विश्‍वास गर्दैनन् र तिनीहरूले अबदेखि अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरलाई अस्पष्टता वा सुन्यतामाझ नै विश्‍वास गर्छन्। बरु, तिनीहरूले उहाँका वाणीहरूलाई सुन्‍न सक्छन्, उहाँका आवश्यक मापदण्डहरूलाई बुझ्‍न सक्छन्, र तिनलाई हासिल गर्न सक्छन्, अनि तिनीहरूले जान्‍नुपर्ने र बुझ्‍नुपर्ने सबै कुरा तिनीहरूलाई बताउनको लागि परमेश्‍वरले मानवजातिकै भाषा प्रयोग गर्नुहुन्छ। आज, यदि मानिसहरूलाई परमेश्‍वर को हुनुहुन्छ र उहाँले तिनीहरूबाट के चाहनुहुन्छ भन्‍ने थाहा छैन भने; यदि तिनीहरूलाई व्यक्तिले किन परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ भन्‍ने कुरा थाहा छैन, अथवा उहाँलाई कसरी विश्‍वास गर्ने वा उहाँसँग कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने कुरा थाहा छैन भने—यसमा एउटा समस्या रहेको छ। भर्खरै, तिमीहरू प्रत्येकले एउटा खास क्षेत्रको बारेमा बतायौ; तिमीहरूलाई केही कुराहरू थाहा छ, यी कुराहरू विशिष्ट हुन् कि आम हुन् भन्‍ने थाहा छ। तैपनि, म तिमीहरूलाई परमेश्‍वरले मानवजातिको लागि तय गर्नुभएका सही, पूर्ण, र विशिष्ट मापदण्डहरू बताउन चाहन्छु। ती केवल केही शब्‍दहरूमा छन्, र ती अत्यन्तै सरल छन्; सायद तिमीहरूलाई तिनको बारेमा पहिले नै थाहा भएको हुन सक्छ। मानवजाति र परमेश्‍वरलाई पछ्याउनेहरूका लागि परमेश्‍वरका सही आवश्यक मापदण्डहरू यसप्रकार छन्। उहाँलाई पछ्याउनेहरूका लागि उहाँले पाँच वटा मापदण्डहरू तय गर्नुभएको छ: साँचो विश्‍वास, निष्ठावान बफादारितापूर्ण अनुसरण, पूर्ण समर्पणता, सच्‍चा ज्ञान, र हृदयस्पर्शी डर।

परमेश्‍वरले, यी पाँच वटा कुराहरूमा, मानिसहरूले अब उप्रान्त आफ्ना कल्‍पनाहरू वा अस्पष्ट र अमूर्त दृष्टिकोणहरूको प्रयोग गरी उहाँलाई प्रश्‍न नगरून् वा उहाँलाई नपछ्याऊन् भन्‍ने मापदण्ड तय गर्नुभएको छ; तिनीहरूले परमेश्‍वरलाई कुनै पनि कल्‍पनाहरू वा धारणाहरूका आधारमा पछ्याउनु हुँदैन। उहाँलाई पछ्याउने हरेकले उहाँलाई आधा मनले वा प्रतिबद्धताविना होइन बरु बफादार भई पछ्याऊन् भन्‍ने मापदण्ड तय गर्नुभएको छ। जब परमेश्‍वरले तैँले कुनै मापदण्डहरू पूरा गर्न तय गर्नुहुन्छ, तँलाई जाँच्‍नुहुन्छ, तेरो न्याय गर्नुहुन्छ, तँलाई निराकरण गर्नुहुन्छ र तँलाई छिँवल्‍नुहुन्छ, वा तँलाई अनुशासनमा राख्‍ने र प्रहार गर्ने गर्नुहुन्छ, तब तँ उहाँमा पूर्ण रूपमा समर्पित हुनुपर्छ। तैँले अभिप्राय सोध्‍ने वा सर्तहरू अघि सार्ने गर्नु हुँदैन, तैँले कारणहरूका बारेमा त झन् कुरा नगरेकै बेस। तेरो आज्ञापालन निरपेक्ष हुनुपर्छ। परमेश्‍वरसम्‍बन्धी ज्ञान नै मानिसहरू सबैभन्दा पछि पर्ने क्षेत्र हो। तिनीहरूले परमेश्‍वरमा प्रायजसो उहाँसँग सम्‍बन्धित नरहेका भनाइहरू, वाणीहरू, र वचनहरू लाद्छन्, तिनीहरू त्यस्ता वचनहरू परमेश्‍वरसम्‍बन्धी ज्ञानको सबैभन्दा सटीक परिभाषा हुन् भन्‍ने विश्‍वास गर्छन्। मानव कल्‍पनाहरू, तिनीहरूका आफ्‍नै तर्क, र तिनीहरूका आफ्‍नै ज्ञानबाट आएका यी भनाइहरू परमेश्‍वरको सारसँग कहीँ कतै सम्‍बन्धित छैनन् भन्‍नेबारे तिनीहरूलाई अलिकति पनि थाहा हुँदैन। यसैले, जब परमेश्‍वरले मानिसहरूमा होस् भनी चाहनुभएको ज्ञानको बारेमा कुरा आउँछ, उहाँले तँलाई उहाँ र उहाँका वचनहरूलाई मात्रै चिन् भनेर भन्‍नुहुन्‍न, बरु उहाँको बारेमा रहेको तेरो ज्ञान पनि सही हुनुपर्छ भनेर भन्‍नुहुन्छ। तैँले एउटै वाक्य मात्रै भन्‍न सक्छस्, वा तँलाई थोरै मात्रै थाहा छ भने पनि, यो थोरै ज्ञान सही र साँचो हुन्छ, र परमेश्‍वर स्वयम्‌को सार अनुरूप हुन्छ। किनभने परमेश्‍वरले उहाँमाथि गरिएको कुनै पनि अवास्तविक वा अनुचित प्रशंसा वा तारिफलाई तिरस्कार गर्नुहुन्छ। त्योभन्दा पनि बढी, उहाँले आफूसित मानिसहरूले हावाजस्तो व्यवहार गरेको घृणा गर्नुहुन्छ। मानिसहरूले परमेश्‍वरको विषयमा छलफल गर्दा, तथ्यहरूको बारेमा विचारै नगरीकन मनोमानी ढङ्गले अनि कुनै पनि हिचकिचाहटविना आफूलाई उचित लागेको कुरा बोलेको देख्दा उहाँले घृणा गर्नुहुन्छ; यसको साथै, उहाँले परमेश्‍वरलाई चिन्छु भनी विश्‍वास गर्ने र उहाँसँग सम्‍बन्धित विषयहरूमा छलफल गर्दा कुनै नियन्त्रण अनि कुनै सीमा नराखीकन छलफल गर्दै उहाँ सम्‍बन्धी आफ्‍नो ज्ञानको सेखी गर्नेहरूलाई उहाँले घृणा गर्नुहुन्छ। यसभन्दा अघि उल्‍लेख गरिएका पाँच मापदण्डहरूमध्ये अन्तिम हृदयस्पर्शी डर थियो: उहाँलाई पछ्याउनेहरू सबैप्रतिको परमेश्‍वरको अन्तिम मापदण्ड यही हो। जब कसैसँग परमेश्‍वरसम्‍बन्धी सही र साँचो ज्ञान हुन्छ, तब तिनीहरू परमेश्‍वरको साँचो रूपमा डर मान्‍न र दुष्टबाट अलग बस्‍न सक्षम हुन्छन्। यो डर तिनीहरूको हृदयको अन्तस्करणबाट आउँछ; यो डर स्वेच्छाले दिइन्छ, र यो परमेश्‍वरको दबाबको परिणाम होइन। परमेश्‍वरले उहाँप्रति तैँले कुनै राम्रो मनोवृत्ति, आचरण, वा बाहिरी बानीबेहोराको उपहार दिनुपर्छ भनेर माग गर्नुहुन्‍न; उहाँले बरु तैँले तेरो हृदयको अन्तस्करणबाट उहाँको डर मान्, र उहाँदेखि डरा भनेर भन्‍नुहुन्छ। त्यस्तो डर तेरो जीवनको स्वभावका परिवर्तनहरू, परमेश्‍वरबारे ज्ञान प्राप्ति र परमेश्‍वरका कार्यहरूको बुझाइ, परमेश्‍वरको सारको बुझाइ, अनि तँ परमेश्‍वरका सृष्टिहरूमध्ये एक होस् भन्‍ने तेरो स्वीकारको परिणामस्वरूप प्राप्त हुन्छ। त्यसकारण, यहाँ डरलाई परिभाषित गर्नको लागि मैले “हृदयस्पर्शी” भन्‍ने शब्‍द प्रयोग गर्नुको उद्देश्य मानिसहरूले परमेश्‍वरप्रतिको आफ्नो डर आफ्नै हृदयको अन्तस्करणबाट आउनुपर्छ भनी बुझून् भन्‍ने हो।

अब यी पाँच मापदण्डहरूका बारेमा विचार गर: के तिमीहरूमध्ये कोही प्रथम तीन वटा हासिल गर्न सक्‍नेहरूमा पर्छौ? यसद्वारा, मैले साँचो विश्‍वास, निष्ठावान तरिकाले पछ्याउने, र पूर्ण समर्पणताको कुरा गरिरहेको छु। के तिमीहरू यी कार्यहरू गर्न सक्‍ने मध्येमा पर्छौ? यदि मैले सबै पाँच वटै भनेँ भने, अवश्य तिमीहरूमध्ये कोही पनि हुनेथिएनौ, तर मैले यो सङ्ख्यालाई तीन वटामा घटाएको छु। तिमीहरूले यी कुराहरू हासिल गरेका छौ कि छैनौ विचार गर। के “साँचो विश्‍वास” हासिल गर्न सहज छ? (अहँ, सहज छैन।) यो सजिलो छैन, किनभने मानिसहरूले प्रायजसो परमेश्‍वरमाथि प्रश्‍न उठाउँछन्। अनि “निष्ठावान रूपमा पछ्याउने” बारेमा नि? यो “निष्ठावान” ले केलाई जनाउँछ? (आधा मनले होइन, तर पूरा मनले पछ्याउनु।) आधा मनले होइन, तर पूरा मनले पछ्याउनु। तिमीहरूले ठ्याक्कै मिलायौ! त्यसो भए, के तिमीहरू यो मापदण्ड हासिल गर्न सक्छौ त? तिमीहरूले अझै कठिन प्रयास गर्नुपर्छ, होइन त? यस क्षणमा, यो मापदण्डमा तिमीहरू सफल हुन बाँकी नै छ। “पूर्ण समर्पणता” को बारेमा के भन्छौ—के तिमीहरूले त्यो हासिल गरेका छौ? (छैनौं।) तिमीहरूले त्यो पनि हासिल गरेका छैनौ। तिमीहरू बारम्‍बार अनाज्ञाकारी र विद्रोही बन्छौ; तिमीहरूले प्रायजसो सुन्दैनौ, आज्ञापालन गर्न चाहँदैनौ, वा सुन्‍न चाहँदैनौ। मानिसहरूले जीवन प्रवेश प्राप्त गरेपछि पूरा गर्ने सबैभन्दा आधारभूत तीन वटा मापदण्ड यिनै हुन्, तर तिमीहरूले ती हासिल गर्न अझै बाँकी नै छ। तसर्थ, अहिले, के तिमीहरूसँग ठूलो सम्भावना छ? आज, मैले यी वचनहरू बोलेको सुनेपछि, के तिमीहरूलाई चिन्ता लाग्यो? (हो।) तिमीहरूलाई चिन्ता लाग्‍नु ठीक कुरा हो। चिन्ताबाट जोगिने प्रयास नगर। म तिमीहरूको खातिर चिन्तित हुन्छु। म अन्य दुई मापदण्डको कुरा गर्नेछैन; अवश्य नै, यहाँ उपस्थित कसैले पनि तिनलाई हासिल गर्न सक्दैनन्। तिमीहरू व्याकुल छौ। त्यसो भए, के तिमीहरूले आफ्ना उद्देश्यहरू निर्धारित गरेका छौ? तिमीहरूले कुन उद्देश्यहरूले, र कुन दिशामा खोजी र प्रयास गर्नुपर्छ? के तिमीहरूसँग उद्देश्य छ? म सरल रूपमा भन्छु: तिमीहरूले यी पाँच मापदण्ड हासिल गरिसकेपछि, तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट पारिसकेका हुनेछौ। ती प्रत्येक नै व्यक्तिको जीवन प्रवेशको परिपक्‍वताको सूचक, साथै अन्तिम उद्देश्य हो। यदि मैले विस्तृत रूपमा बताउनको लागि यीमध्ये एउटालाई लिएँ, र तिमीहरूलाई यो पूरा गर्न लगाएँ भने, यसलाई हासिल गर्न सहज हुनेथिएन; तिमीहरूले निश्‍चित हदसम्‍म कठिनाइ भोग्‍नुपर्छ र निश्‍चित हदसम्‍म प्रयास गर्नुपर्छ। तिमीहरूसँग कस्तो मानसिकता हुनुपर्छ त? यो शल्यक्रिया टेबुलमा जानको लागि प्रतीक्षा गरिरहेको क्यान्सर बिरामीको जस्तै हुनुपर्छ। म किन यसो भन्दैछु? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छस् भने, र यदि तँ परमेश्‍वरलाई प्राप्त गर्न र उहाँको सन्तुष्टि प्राप्त गर्न चाहन्छस् भने, तैँले निश्‍चित हदसम्‍म पीडा नभोगुञ्‍जेलसम्‍म र निश्‍चित मात्रामा प्रयास नगरुन्जेलसम्‍म, तैँले यी कुराहरूलाई हासिल गर्न सक्‍नेछैनस्। तिमीहरूले धेरै प्रचार सुनिसक्यौ, तर यसलाई सुन्दैमा यसको अर्थ यो प्रवचन तेरो भयो भन्‍ने हुँदैन; तैँले यसलाई अवशोषण गर्नुपर्छ र तेरो स्वामित्वमा भएको कुनै कुरामा परिणत गर्नुपर्छ। तैँले यसलाई तेरो जीवनमा समाहित गर्नुपर्छ र तेरो अस्तित्वमा समावेश गर्नुपर्छ र यसरी तैँले यी वचनहरू र प्रचारलाई तेरो जिउने शैलीलाई अगुवाइ गर्न र तेरो जीवनमा अस्तित्वका मूल्य र अर्थ ल्याउन दिनुपर्छ। जब त्यस्तो हुन्छ, तब तिमीहरूले यी वचनहरू सुनेको कुराको अर्थ रहन्छ। यदि मैले बोलेका वचनहरूले तेरो जीवनमा कुनै सुधार ल्याउँदैनन् वा तेरो अस्तित्वमा कुनै मूल्य थप्‍दैनन् भने, तैँले ती वचनहरू सुनेको कुनै अर्थ हुँदैन। तिमीहरूले यो कुरा बुझ्यौ, होइन त? यो कुरा बुझिसकेपछि, यसपछि के हुन्छ भन्‍ने कुरा तिमीहरूकै हातमा छ। तिमीहरूले काम गर्नैपर्छ! तिमीहरू सबै कुरामा इमानदार हुनैपर्छ! यता न उताको नबन; समय बितेको बित्यै छ! तिमीहरूमध्ये धेरैजसोले परमेश्‍वरलाई एक दशकभन्दा बढी समयदेखि विश्‍वास गर्दै आएका छौ। विगतका यी दश वर्षको अवधिलाई फर्केर हेर। तिमीहरूले कति हासिल गरेका छौ? अनि यो जीवनकालमा तिमीहरूले जिउने कति दशक समय बाँकी छ? तिमीहरूसँग त्यति धेरै समय छैन। परमेश्‍वरको कामले तिमीहरूलाई प्रतीक्षा गर्छ कि गर्दैन, उहाँले तिमीहरूलाई मौका दिनुभएको छ कि छैन, वा उहाँले फेरि एउटै काम गर्नुहुनेछ कि गर्नुहुनेछैन भन्‍ने बारेमा बिर्सिदेओ—यी कुराहरूका बारेमा कुरै नगर। के तिमीहरूले आफ्‍नो जीवनको विगतका दश वर्षको मार्गलाई उल्ट्याउन सक्छौ? बितेर जाने हरेक दिनसँगै, र तिमीहरूले चाल्‍ने हरेक कदमसँगै, तिमीहरूसँग एक-एक दिन कम हुँदै जान्छ। समयले कसैलाई पर्खँदैन! यदि तैँले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासलाई तेरो जीवनको सबैभन्दा ठूलो कुराको रूपमा लिइस्, खाना, वस्त्र, वा अन्य कुनै पनि कुराभन्दा बढी महत्त्वपूर्ण ठानिस् भने मात्रै यसबाट तँलाई प्राप्ति हुनेछ। यदि तैँले तँसँग समय हुँदा मात्रै विश्‍वास गर्छस्, र तेरो विश्‍वासमा तेरो सम्पूर्ण ध्यान समर्पित गर्न सक्दैनस् भने, अनि यदि तँ सधैँ अन्योलताको दलदलमा हुन्छस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तिमीहरू यो कुरा बुझ्छौ, होइन त? आजको लागि हामी यहीँ रोकिनेछौँ। अर्को पटक भेटौँला!

फेब्रुवरी १५, २०१४

अघिल्लो: परमेश्‍वर स्वयम् अद्वितीय ९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्