परमेश्‍वर स्वयम् अद्वितीय ८

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (२)

हामी हाम्रो पछिल्लो विषयको सङ्गतिलाई निरन्तरता दिनेछौं। हाम्रो गत सङ्‍गतिको विषय के थियो सो तिमीहरू सम्झन सक्छौ? (सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ।) के “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने विषय तिमीहरूलाई धेरै टाढाको विषय हो जस्तो महसुस हुन्छ? के यसको बारेमा तिमीहरूका हृदयमा पहिले नै कुनै मोटामोटी अवधारणा रहेको छ? यस विषयमा हाम्रो गत सङ्‍गतिको मुख्य केन्द्र बिन्दु के थियो भनेर कसैले एकछिन कुरा गर्न सक्छ? (परमेश्‍वरले गर्नुभएको सबै थोकको सृष्टिद्वारा उहाँले सबै थोक र मानवजातिको पालनपोषण गर्नुहुन्छ भन्‍ने म देख्छु। विगतमा, म सधैँ के सोच्थें भने, जब परमेश्‍वरले मानिसको निम्ति आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ, तब उहाँले आफ्‍ना चुनिएका मानिसहरूलाई मात्र आफ्नो वचन प्रदान गर्नुहुन्छ; तर मैले सबै थोकहरूमाथि शासन गर्ने व्यवस्थाद्वारा परमेश्‍वरले सारा मानवजातिको पालनपोषण गर्दै हुनुहुन्छ भन्‍ने कुरा बुझेको थिइनँ। यस सत्यताको बारेमा परमेश्‍वरले बताउनुभएपछि मात्र उहाँ सबै थोकको स्रोत हुनुहुन्छ, सबै थोकको जीवन उहाँले नै प्रदान गर्नुभएको हो, परमेश्‍वरले नै यी व्यवस्थाहरूको प्रबन्ध गर्नुहुन्छ र उहाँले नै सबै थोकको पालनपोषण गर्नुहुन्छ भन्‍ने कुरामा म सचेत भएँ। परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुभएको तथ्यबाट म उहाँको प्रेम देख्छु।) पछिल्लो समय, हामीले मुख्य रूपमा परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको र उहाँले कसरी तिनीहरूको निम्ति व्यवस्था र सिद्धान्तहरू स्थापित गर्नुभयो भन्‍ने कुरा सङ्‍गति गरेका थियौँ। यस्ता व्यवस्था र सिद्धान्तहरूको अधीनमा सबै थोक परमेश्‍वरको प्रभुत्वमुनि र परमेश्‍वरको नजरभित्र जिउँछन्, मर्छन् र मानिससँग सहअस्तित्वमा रहन्छन्। हामीले सर्वप्रथम परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुभएको र तिनीहरू वृद्धि हुने व्यवस्थाहरूका साथै तिनीहरूको वृद्धिको प्रक्षेप-पथ र ढाँचाहरूको निर्धारण गर्न उहाँले आफ्नै विधिको प्रयोग गर्नुभएको विषयमा कुरा गर्‍यौं। उहाँले यस भूमिमा सबै थोक जीवित रहने तरिकाहरू पनि निर्धारण गर्नुभयो ताकि तिनीहरू निरन्तर रूपमा बढ्न, वृद्धि हुन र अन्तर्निर्भर रहेर जीवित रहन सकून्। यस्ता विधि र व्यवस्थाहरूद्वारा यस भूमिमा सबै थोक सहजै र शान्तिपूर्वक तवरले अस्तित्वमा रहन र बढ्न सक्षम हुन्छन्, अनि त्यस्तो वातावरणमा मात्रै मानवजातिले परमेश्‍वरको मार्गनिर्देशनमा सधैँ अगाडि बढ्दै स्थिर घर र जिउने स्थिर अवस्था पाउन सक्छन्।

पछिल्लो समय, हामीले सबै थोकको लागि परमेश्‍वरले आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ भन्‍ने आधारभूत अवधारणाको बारेमा छलफल गर्‍यौं: सबै थोक मानवजातिको फाइदाको लागि अस्तित्वमा रहन र बाँच्‍न सकून् भनेर परमेश्‍वरले सबै थोकको निम्ति यसरी आवश्यक प्रबन्ध गर्नुहुन्छ। अर्को शब्दमा, परमेश्‍वरले निर्धारण गर्नुभएको व्यवस्थाको कारण यस्तो वातावरण अस्तित्वमा छ। यस्ता व्यवस्थाहरूलाई परमेश्‍वरले गर्नुभएको संरक्षण र शासन प्रबन्धको कारणले मात्र मानवजातिसँग अहिलेको जीवित रहने वातावरण छ। हामीले पछिल्लो समय गरेको कुराकानी र परमेश्‍वरसम्‍बन्धी ज्ञानको विषयमा विगतमा हामीले गरेको कुराकानीको बीचमा यो एउटा ठूलो फट्को हो। त्यो फट्को अस्तित्वमा रहनुको कारण के हो? यो यही हो कि हामीले विगतमा परमेश्‍वरलाई चिन्‍नेबारेमा कुरा गर्दा हामीले परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुने र व्यवस्थापन गर्नुहुने कार्यको दायराभित्र रहेर कुरा गरिरहेका थियौँ, अर्थात् परमेश्‍वरका चुनिएका मानिसहरूको मुक्ति र व्यवस्थापनको दायराभित्र रहेर कुरा गरिरहेका थियौँ र त्यस दायराभित्र हामीले परमेश्‍वरलाई चिन्‍ने, परमेश्‍वरका कार्यहरू, उहाँको स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँको इच्छा र उहाँले कसरी मानिसलाई सत्य र जीवन प्रदान गर्नुहुन्छ भन्‍ने विषयमा कुरा गर्‍यौं। तर पछिल्लो समय, हामीले सुरु गरेको विषय बाइबलको विषयवस्तु र परमेश्‍वरले आफ्‍ना चुनिएका मानिसहरूलाई मुक्ति दिनेसम्‍बन्धी दायरामा सीमित थिएन। यो विषय यस दायराभन्दा बाहिर गयो, र यसमा बाइबलको अनि परमेश्‍वरले उहाँका चुनिएका मानिसहरूमा गर्नुहुने तीन चरणको कामको सीमाबाहिर गएर परमेश्‍वर स्वयम्‌को बारेमा छलफल गरियो। यसैले, जब तैँले मेरो सङ्‍गतिको यस भागलाई सुन्छस्, तैँले परमेश्‍वरसम्‍बन्धी तेरो ज्ञानलाई बाइबलमा र परमेश्‍वरका तीन चरणको काममा सीमित पार्नु हुँदैन। बरु, तैँले तेरो दृष्टिकोणलाई खुल्ला छोड्नुपर्छ; तैँले सबै थोकमा परमेश्‍वरका कार्यहरू र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, अनि उहाँले सबै थोकलाई कसरी नियन्त्रण र व्यवस्थापन गर्नुहुन्छ भन्‍ने कुरालाई देख्‍नुपर्छ। यस विधिमार्फत र यस जगमा, परमेश्‍वरले सबै थोकको निम्ति कसरी आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ भन्‍ने कुरा तैँले देख्‍न सक्छस्, जसले परमेश्‍वर सबै थोकको निम्ति जीवनको साँचो स्रोत हुनुहुन्छ, वास्तवमा यही नै परमेश्‍वर स्वयम्‌को साँचो पहिचान हो भन्‍ने कुरा बुझ्‍न मानवजातिलाई सक्षम तुल्याउँछ। भन्‍नुको अर्थ, परमेश्‍वरको पहिचान, हैसियत र अधिकार, उहाँका सबै थोक, उहाँलाई अहिले पछ्याउनेहरूको निम्ति मात्र होइनन्—तिमीहरू अर्थात् यस समूहका मानिसहरूको निम्ति मात्र होइनन्—तर सबै थोकको निम्ति हुन्। यसैले, सबै थोकको दायरा धेरै फराकिलो छ। सबै कुरामाथि परमेश्‍वरको शासनको दायरालाई जनाउन म “सबै थोक” को प्रयोग गर्छु किनकि परमेश्‍वरले शासन गर्नुहुने कुराहरू केवल तिमीहरूका आँखाले देख्‍न सक्‍ने कुराहरू मात्र होइनन्—तिनमा सबैले देख्‍न सक्‍ने भौतिक संसार मात्र होइन, तर मानव आँखाले देख्‍न नसक्‍ने यस भौतिक संसारबाहिरको अर्को संसार र त्योभन्दा पनि बाहिरका ग्रहहरू र बाहिरी अन्तरिक्ष पनि समावेश हुन्छ जहाँ मानवजाति बसोबास गर्न सक्दैन। सबै थोकमाथि परमेश्‍वरको प्रभुत्वको दायरा त्यही हो। उहाँको प्रभुत्वको दायरा धेरै फराकिलो छ; तिमीहरूले गर्नुपर्ने कामचाहिँ, तिमीहरू हरेकले बुझ्‍नुपर्ने, हेर्नुपर्ने र तिमीहरूले ज्ञान पाउनुपर्ने कुराहरूलाई तिमीहरूले बुझ्‍न, हेर्न र स्पष्ट हुन आवश्यक छ, र तिमीहरूले त्यसो गर्नैपर्छ। “सबै थोक” को दायरा वास्तवमा धेरै फराकिलो भए तापनि, तिमीहरूले देख्‍नै नसक्‍ने र तिमीहरू व्यक्तिगत सम्पर्कमा आउन नसक्‍ने कुराहरूको दायराभित्रका कुराहरूको विषयमा म तिमीहरूलाई बताउनेछैन। म तिमीहरूलाई मानवजाति सम्पर्कमा आउन सक्‍ने, तिनीहरूले बुझ्‍न र बोध गर्न सक्‍ने क्षेत्रभित्रका कुराहरू मात्र बताउनेछु, ताकि “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने वाक्यांशको साँचो अर्थको बारेमा हरेक व्यक्ति सचेत हुन सकोस्। यसरी, तिमीहरूसँगको मेरो सङ्गतिका कुनै पनि वचनहरू खोक्रा हुनेछैनन्।

पछिल्लो समय, मानिसहरूले सबै थोकको निम्ति परमेश्‍वरले कसरी आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ भन्‍ने कुराको आधारभूत बुझाइ हासिल गर्न सकून् भनेर हामीले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने विषयको बारेमा सामान्य रूपरेखा प्रदान गर्नको निम्ति कथावाचन विधिको प्रयोग गर्‍यौं। तिमीहरूलाई यो आधारभूत अवधारणा सिकाउनुको उद्देश्य के हो त? यो परमेश्‍वरको काम बाइबल र उहाँका तीन चरणको कामभन्दा बाहिर फैलिएको छ भन्‍ने कुरा मानिसहरूलाई बुझाउनको निम्ति हो। मानवले देख्‍न नसक्‍ने र तिनीहरू सम्पर्कमा आउन नसक्‍ने धेरै काम उहाँले गरिरहनुभएको छ; यस्तो काम उहाँ आफैले व्यक्तिगत रूपमा गर्नुहुन्छ। यदि परमेश्‍वर आफ्नो व्यवस्थापनको काममा र आफ्ना चुनिएका मानिसहरूको नेतृत्व गर्ने काममा मात्रै लागिरहनुभएको थियो, र यो अर्को कुनै काममा संलग्‍न हुनुभएको थिएन भने, तिमीहरू सबैलगायत यस मानवजातिका लागि अगाडि बढ्ने कार्य धेरै कठिन हुनेथियो। यस मानवजाति र यस संसार निरन्तर रूपमा विकास हुन सक्‍नेथिएन। “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने वाक्यांशको महत्त्व यसैमा छ, जुन आज मैले तिमीहरूसँग गर्ने सङ्‍गतिको विषय हो।

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण

हामीले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने वचनसँग सम्बन्धित विभिन्‍न विषयहरू र धेरै विषयवस्तुको बारेमा छलफल गरेका छौँ, तर तिमीहरूलाई आफ्नो वचन उपलब्ध गराउने र तिमीहरूमाथि आफ्नो सजाय र न्यायको काम गर्नेबाहेक परमेश्‍वरले मानवजातिलाई के कुराहरू प्रदान गर्नुहुन्छ भन्‍नेबारेमा के तिमीहरूलाई हृदयदेखि नै थाहा छ? केही मानिसहरूले भन्‍न सक्छन्, “परमेश्‍वरले मलाई अनुग्रह र आशिष्‌हरू प्रदान गर्नुहुन्छ; उहाँले मलाई अनुशासन र आराम दिनुहुन्छ, अनि उहाँले मलाई हरसम्भव तरिकाले वास्ता र सुरक्षा प्रदान गर्नुहुन्छ।” अरूले भन्‍नेछन्, “परमेश्‍वरले मलाई दैनिक भोजन र पिउने कुरा प्रदान गर्नुहुन्छ”, अनि अरूले यसो समेत भन्‍नेछन्, “परमेश्‍वरले मलाई सबै कुरा प्रदान गर्नुभएको छ।” मानिसहरूले आफ्नो दैनिक जीवनमा सामना गर्ने यी कुराहरूप्रति तिमीहरूले तिमीहरूका आफ्नै शारीरिक जीवनका अनुभवसँग जोडेर प्रतिक्रिया दिन सक्छौ। परमेश्‍वरले हरेक व्यक्तिलाई धेरै कुराहरू प्रदान गर्नुहुन्छ, यद्यपि हामीले यहाँ छलफल गरिरहेको कुरा मानिसहरूका दैनिक आवश्यकताका दायरामा सीमित छैनन्, यसको उद्देश्य त हरेक व्यक्तिको दृष्टिकोणलाई विस्तार गर्न र परिस्थितिलाई बृहत् दृष्टिकोणबाट हेर्न लगाउनु हो। सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भने उहाँले सबै थोकको जीवन कसरी कायम राख्‍नुहुन्छ? अर्को शब्दमा भन्दा, आफ्ना सृष्टिका सबै थोकको अस्तित्व र यसलाई टेको दिने व्यवस्थाहरू कायम राख्‍नको निम्ति परमेश्‍वरले तिनीहरूलाई के दिनुहुन्छ, ताकि तिनीहरू निरन्तर अस्तित्वमा रहिरहून्? आजको हाम्रो छलफलको मुख्य बुँदा त्यही हो। मैले भनेको कुरा तिमीहरूले बुझ्यौ? तिमीहरूलाई यो विषय अत्यन्तै अपरिचित लाग्‍न सक्छ तर म अत्यन्तै गहन कुनै पनि धर्मसिद्धान्तहरूको बारेमा कुरा गर्नेछैनँ। म तिमीहरूले मेरा वचनहरू सुन र तीबाट समझ प्राप्त गर्न सक भन्‍ने कुरालाई सुनिश्‍चित गर्ने कोसिस गर्नेछु। तिमीहरूले कुनै बोझको अनुभव गर्नु आवश्यक छैन—तिमीहरूले ध्यान दिएर सुने पुग्छ। तथापि, यहाँ मैले फेरि एकपटक जोड दिनुपर्छ: मैले कुन विषयको बारेमा बोलिरहेको छु? मलाई भन। (सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ।) त्यसो भए परमेश्‍वरले सबै थोकको निम्ति कसरी आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ? “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भनेर भन्‍नको निम्ति परमेश्‍वरले सबै थोकलाई के कुरा उपलब्ध गराउनुहुन्छ? के तिमीहरूसँग यसको बारेमा केही अवधारणा र विचारहरू छन्? यस्तो देखिन्छ कि मैले तिमीहरूका मन र मस्तिष्कमा तिमीहरूलाई बिलकुल थाहा नभएको विषयमा छलफल गरिरहेको छु। तर म आशा गर्छु तिमीहरूले यस विषयलाई मैले परमेश्‍वरको बारेमा भन्‍ने कुरासँग जोड्न सक्‍नेछौ, अरू कुनै पनि ज्ञान, मानवीय संस्कृति वा अनुसन्धानसँग होइन। म परमेश्‍वरको बारेमा, परमेश्‍वर स्वयम्‌को बारेमा मात्र कुरा गर्दै छु। यो तिमीहरूलाई मेरो सल्लाह हो। म ढुक्‍क छु कि तिमीहरू यो कुरा बुझ्छौ!

परमेश्‍वरले मानवजातिलाई धेरै कुरा प्रदान गर्नुभएको छ। म मानिसहरूले देख्‍न सक्‍ने अर्थात् तिनीहरूले अनुभव गर्न सक्‍ने कुराबाट सुरु गर्नेछु। यी कुराहरूलाई मानिसहरूले आफ्नो हृदयले ग्रहण गर्न र बुझ्‍न सक्छन्। यसैले सर्वप्रथम, भौतिक संसारको बारेमा छलफल गर्दै परमेश्‍वरले मानवजातिको निम्ति उपलब्ध गराउनुभएका कुराहरूको बारेमा कुरा गर्दै सुरु गरौं।

१. हावा

सर्वप्रथम, मानिसले सास फेर्न सकोस् भनेर परमेश्‍वरले हावाको सृष्टि गर्नुभयो। हावा मानवजातिले दैनिक रूपमा सम्पर्क गर्न सक्‍ने पदार्थ हो र यो यस्तो कुरा हो जसमाथि मानव पलपल निर्भर हुन्छ, चाहे त्यो तिनीहरू सुतेको समय नै किन नहोस्। परमेश्‍वरले सृष्टि गर्नुभएको हावा मानवजातिको निम्ति अत्यन्तै महत्त्वपूर्ण छ: यो तिनीहरूको हरेक सास र जीवन स्वयम्‌को निम्ति अत्यावश्यक छ। महसुस गर्न मात्र सकिने र देख्‍न नसकिने यो पदार्थ आफ्नो सृष्टिका सबै थोकको निम्ति परमेश्‍वरले दिनुभएको पहिलो उपहार थियो। तर हावाको सृष्टि गर्नुभएपछि मेरो काम सकियो भनेर के परमेश्‍वर रोकिनुभयो? कि हावा कति सघन हुनुपर्छ भनेर उहाँले ध्यान दिनुभयो? हावामा के-के कुराहरू हुनुपर्छ भनेर के उहाँले ध्यान दिनुभयो? (हो, दिनुभयो।) हावालाई बनाउँदा परमेश्‍वरले के सोच्दै हुनुहुन्थ्यो? परमेश्‍वरले हावा किन बनाउनुभयो र उहाँका तर्क के थियो? मानवलाई हावा चाहिन्छ—तिनीहरूले सास फेर्नुपर्छ। पहिलो कुरा, हावाको घनत्व मानव फोक्सोको निम्ति उपयुक्त हुनुपर्छ। कसैलाई हावाको घनत्व थाहा छ? वास्तवमा, मानिसहरूले यस प्रश्‍नको जबाफ सङ्ख्या वा तथ्याङ्कमा दिनुपर्ने कुनै खास आवश्यकता छैन र वास्तवमा जबाफ जान्‍नु पनि त्यति आवश्यक छैन—सामान्य जानकारी मात्र हुनु पर्याप्त छ। परमेश्‍वरले मानव फोक्सोले सास फेर्नको निम्ति सबैभन्दा उपयुक्त घनत्व भएको हावा बनाउनुभयो। अर्थात्, उहाँले हावा बनाउनुभयो ताकि सास फेर्दा त्यो मानव शरीरमा सजिलै पसोस् र सास फेर्दा त्यसले शरीरलाई असर नगरोस्। परमेश्‍वरले हावा बनाउँदा ध्यान दिनुभएका कुराहरू यिनै थिए। अब हामी हावामा के-के हुन्छन् भनेर कुरा गर्छौं। यसमा मानवको निम्ति विषालु कुराहरू मिसिएको छैन र यसले फोक्सो वा शरीरको कुनै पनि अङ्गलाई नोक्सान पुर्‍याउँदैन। परमेश्‍वरले यी सबै कुरामा ध्यान पुर्‍याउनुपरेको थियो। मानवले सास फेरेको हावा शरीरमा सजिलै छिरोस् र बाहिर निस्कोस् अनि सास भित्र तानेपछि हावाभित्र भएका तत्त्वहरूको गुण यस्तो किसिमको होस् कि त्यसले रगत र फोक्सोमा र समग्र शरीरमा भएको बेकार हावा उचित तरिकाले पाचन हुन सकोस् भन्‍ने कुरामा परमेश्‍वरले ध्यान दिनुपरेको थियो। यसका अतिरिक्त, हावामा कुनै पनि किसिमका विषालु तत्त्वहरूको मिसावट नहोस् भन्‍ने कुरामा पनि उहाँले ध्यान दिनुपरेको थियो। मैले यी दुई मानकहरूबारे तिमीहरूलाई बताउनुको लक्ष्य तिमीहरूलाई कुनै खास ज्ञान दिनु होइन, तर परमेश्‍वरले आफ्नो सृष्टिको हरेक थोक उहाँको आफ्नै सोचविचारअनुसार बनाउनुभयो र उहाँले सृष्टि गर्नुभएको हरेक कुरा सबैभन्दा उत्तम छ भनेर तिमीहरूलाई देखाउनको निम्ति हो। यसका अतिरिक्त, हावामा भएको धूलोको परिमाण; र पृथ्वीमा भएको बालुवा र धूलोको परिमाण; यसका साथै आकाशदेखि पृथ्वीमा झर्ने धूलोको परिमाणको सन्दर्भमा भन्दा—यी कुराहरूको व्यवस्थापन गर्ने, तिनीहरूलाई हटाउने वा तिनीहरूलाई विभाजन गर्ने पनि परमेश्‍वरका आफ्नै तरिकाहरू छन्। केही परिमाणको धूलो भए तापनि त्यसले मानिसको शरीरलाई हानि नपुर्‍याउने वा मानिसको सास फेर्ने कार्यलाई खतरा नपुर्‍याउने तरिकाले परमेश्‍वरले बनाउनुभएको छ र उहाँले धूलोका कणहरूलाई शरीरलाई हानि नहुने किसिमले बनाउनुभएको छ। के परमेश्‍वरले गर्नुभएको हावाको सृष्टि रहस्यमय छैन र? के यो उहाँको मुखबाट हावाको सास फुक्‍नुजस्तो सामान्य कुरा थियो र? (थिएन।) उहाँले सबैभन्दा सामान्य कुराको सृष्टि गर्नुहुँदा पनि परमेश्‍वरको रहस्य, उहाँको मनमस्तिष्कको कार्य गर्ने शैली र उहाँको सोच्‍ने तरिका र उहाँको बुद्धि, सबै कुरा समावेश भएको स्पष्ट देखिन्छ। के परमेश्‍वर व्यावहारिक हुनुहुन्‍न त? (हो, उहाँ व्यावहारिक हुनुहुन्छ।) यसको अर्थ यही हो कि सामान्य कुराहरूको सृष्टि गर्दा पनि परमेश्‍वरले मानवजातिको बारेमा सोचिरहनुभएको थियो। पहिलो कुरा, मानवले सास फेर्ने हावा सफा छ र यसमा भएका कुराहरू मानवलाई सास फेर्नको निम्ति उपयुक्त छन्, विषालु र मानवलाई हानि पुर्‍याउने किसिमका छैनन्; त्यसरी नै हावाको घनत्व पनि मानिसलाई सास फेर्नको निम्ति उपयुक्त छ। मानिसले निरन्तर तान्‍ने र छोड्ने यो हावा मानव शरीर, मानव देहको निम्ति आवश्यक छ। यसैले मानिसले स्वतन्त्र भएर अवरोध र चिन्ताविना नै सास फेर्न सक्छ। यसैले तिनीहरूले सामान्य रूपमा सास फेर्न सक्छन्। परमेश्‍वरले सुरुमा सृष्टि गर्नुभएको कुरा हावा नै हो, अनि यो मानव स्वासप्रश्‍वासको निम्ति अपरिहार्य छ।

२. तापक्रम

हामीले छलफल गर्ने दोस्रो कुरा तापक्रम हो। तापक्रम के हो भन्‍ने कुरा सबैलाई थाहा छ। तापक्रम मानव अस्तित्वको निम्ति चाहिने सुहाउँदो वातावरणको लागि आवश्यक कुरो हो। उदाहरणको लागि, यदि तापक्रम धेरै उच्‍च अर्थात् मानौँ तापक्रम चालीस डिग्री सेल्सियसभन्दा माथि छ भने के यसले मानवलाई धेरै कमजोर बनाउने थिएन र? के मानव यस्तो परिस्थितिमा जिउनु थकाइलाग्दो कुरा हुने थिएन र? अनि यदि तापक्रम अति न्यून थियो भने के हुनेथियो? मानौँ तापक्रम ऋणात्मक चालीस डिग्री सेल्सियस पुग्यो—मानवले यस्तो परिस्थितिलाई पनि सामना गर्न सक्दैन। यसैले, तापक्रमको दायरा मानव शरीरअनुकूल हुने गरी, तापक्रमको दायरा मिलाउने कुरामा परमेश्‍वरले विशेष ध्यान दिनुभयो, जुन लगभग ऋणात्मक तीस डिग्री सेल्सियस र चालीस डिग्री सेल्सियसको बीचमा पर्छ। उत्तरदेखि दक्षिणसम्मका भूभागहरूको तापक्रमहरू मूलभूत रूपमा यही दायरामा पर्छन्। धेरै ठन्डा क्षेत्रहरूको तापक्रम ऋणात्मक पचास वा साठी डिग्री सेल्सियसमा झर्न सक्छ। परमेश्‍वरले मानिसहरूलाई यस्ता क्षेत्रहरूमा बसाउनुहुन्‍न। त्यसो भए यी बरफिला क्षेत्रहरू किन अस्तित्वमा छन् त? परमेश्‍वरसँग उहाँको आफ्नै बुद्धि छ र यसको निम्ति उहाँका आफ्नै अभिप्रायहरू छन्। उहाँले तँलाई ती ठाउँहरूको नजिक जान लगाउनुहुन्‍न। धेरै ताता र धेरै चिसा ठाउँहरूलाई परमेश्‍वरले सुरक्षा दिनुभएको छ, अर्थात् परमेश्‍वरले मानिसलाई त्यहाँ बसोबास गराउने योजना बनाउनुभएन। यी ठाउँहरू मानवजातिका निम्ति होइनन्। तर परमेश्‍वरले पृथ्वीमा यस्ता ठाउँहरूलाई अस्तित्वमा किन ल्याउनुभयो त? यदि यी ठाउँहरूमा परमेश्‍वरले मानिसहरूलाई बसोबास गराउनुहुन्‍न वा मानिसहरू पनि त्यहाँ बाँच्‍दैनन् भने परमेश्‍वरले किन ती ठाउँहरूको सृष्टि गर्नुभयो त? त्यसमा परमेश्‍वरको बुद्धि लुकेको छ। त्यसको अर्थ, परमेश्‍वरले मानव जीवित रहने वातावरणको तापक्रमको दायरा उचित तवरले अङ्‍कित गर्नुभएको छ। यहाँ प्राकृतिक नियमले पनि काम गर्छ। परमेश्‍वरले तापक्रमलाई कायम राख्‍न र नियन्त्रण गर्न केही कुराहरूको सृष्टि गर्नुभयो। तिनीहरू के हुन् त? सबैभन्दा पहिलो, सूर्यले मानिसहरूलाई न्यानो पार्छ, तर यो न्यानोपन अत्यन्तै धेरै भयो भने मानिसहरूले सहन सक्छन् र? के कुनै व्यक्तिले सूर्यको नजिक जाने हिम्मत गर्छ? के सूर्यसम्म पुग्‍ने कुनै वैज्ञानिक उपकरण पृथ्वीमा छ? (छैन।) किन छैन? सूर्य अत्यन्तै तातो छ। त्यसको धेरै नजिक जाने कुनै पनि कुरा पग्लन्छ। यसैले, परमेश्‍वरले विशेष गरी मानवजातिमाथिको सूर्यको उचाइ र त्यसको दूरीलाई आफ्नो सावधानीपूर्वक गणना र आफ्नो मापदण्डअनुसार निर्धारण गर्ने काम गर्नुभयो। त्यसपछि, पृथ्वीका दक्षिणी र उत्तरी ध्रुव निर्धारण गर्नुभयो। यी क्षेत्रहरू पूर्ण रूपमा जमेका र हिउँले ढाकिएका छन्। के मानवजाति हिउँले ढाकिएको क्षेत्रमा बस्‍न सक्छ? के यी क्षेत्रहरू मानव अस्तित्वका निम्ति उपयुक्त छन्? (छैनन्।) मानिसहरू यी ठाउँहरूमा जाँदैनन् किनकि बाँच्‍नको निम्ति यी ठाउँहरू उपयुक्त छैनन्। मानिसहरू दक्षिणी र उत्तरी ध्रुवमा नजाने हुनाले तिनका हिमनदीहरू संरक्षित छन् र तिनले तापक्रम नियन्त्रण गर्ने आफ्नो उद्देश्यअनुसार काम गर्न सक्छन्। तिमीहरूले बुझ्यौ, होइन त? यदि दक्षिणी ध्रुव र उत्तरी ध्रुव नहुने हो भने सूर्यको निरन्तर तापले पृथ्वीका मानिसहरूलाई नष्ट पार्नेथियो। तर के परमेश्‍वरले यी दुई कुराहरूबाट मात्र तापक्रमलाई मानव अस्तित्वको दायराभित्र राख्‍नुहुन्छ त? होइन। सूर्यको तापलाई सोस्‍ने मैदानका घाँस, विभिन्‍न किसिमका रूखहरू, वनजङ्गलका सबै किसिमका बोटबिरुवाहरूजस्ता सबै किसिमका जीवित प्राणीहरू छन्, जसले सूर्यको तापीय ऊर्जालाई तटस्थ बनाई मानवजाति बस्‍ने वातावरणको तापक्रमलाई नियन्त्रण गर्छन्। नदी र तालहरूजस्ता पानीका स्रोतहरू पनि छन्। नदी र तालहरूले ओगट्ने क्षेत्रलाई कसैले पनि तय गर्दैन। पृथ्वीमा कति पानी हुनेछ भन्‍ने कुरालाई कसैले पनि नियन्त्रण गर्न सक्दैन, न त पानीको बहाव, त्यसको बहावको दिशा, त्यसको परिमाण वा त्यसको गतिलाई नै कसैले नियन्त्रण गर्न सक्छ। परमेश्‍वरलाई मात्र थाहा छ। जमिनमुनिको पानीदेखि लिएर जमिनमाथि देखिने नदी र तालहरूलगायत पानीका यी विविध स्रोतहरूले मानिस बस्‍ने वातावरणको तापक्रमको नियन्त्रण गर्न सक्छन्। पानीका स्रोतहरूबाहेक पर्वत, समथर भूभाग, घाटी र सिमसारजस्ता विभिन्‍न किसिमका भौगोलिक स्वरूपहरू पनि छन्, ती सबैले आफ्ना भौगोलिक दायरा र क्षेत्रको अनुपातअनुसार केही हदसम्म तापक्रमको नियन्त्रण गर्छन्। उदाहरणको लागि, यदि एउटा पर्वतको परिधि एक हजार किलोमिटर छ भने उक्त एक हजार किलोमिटरले एक हजार किलोमिटर बराबरको उपयोगिताको योगदान दिन्छ। परमेश्‍वरले पृथ्वीमा कति वटा पर्वत शृङ्खला र घाटीहरू सृष्टि गर्नुभयो, यो परमेश्‍वरले नै विचार गर्नुभएको सङ्ख्या हो। अर्को शब्दमा भन्दा, परमेश्‍वरले सृष्टि गर्नुभएका हरेक थोकको अस्तित्वको पछाडि एउटा कथा छ र हरेक थोकमा परमेश्‍वरको बुद्धि र योजना छ। उदाहरणको निम्ति वनजङ्गल र विविध किसिमका सबै वनस्पतिलाई लिऔं—तिनीहरू अस्तित्वमा आउने र वृद्धि हुने क्षेत्रको दायरा र हद कुनै पनि मानवको नियन्त्रणभन्दा बाहिर छ र यी कुराहरूको बारेमा कसैले केही भन्‍न पाउँदैन। यसै गरी, ती कुराहरूले कति पानी सोस्‍न सक्‍छन् भन्‍ने कुरा कुनै पनि मानवले नियन्त्रण गर्न सक्दैन, न त उसले ती कुराहरूले सूर्यबाट कति तापीय ऊर्जा सोस्‍न सक्‍छन् भन्‍ने कुरा नै नियन्त्रण गर्न सक्छ। यी सबै कुरा परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुहुँदा बनाउनुभएको योजनाको दायराभित्र पर्छन्।

सबै कुरामा परमेश्‍वरले सावधानीपूर्वक योजना, विचार र प्रबन्ध गर्नुभएको कारणले मात्र मानिस यस्तो उचित तापक्रम भएको वातावरणमा बस्‍न सक्छ। यसैले, मानिसले आफ्ना आँखाले देख्‍ने हरेक कुरा, उदाहरणको लागि सूर्य, मानिसले प्रायजसो सुन्‍ने गरेका दक्षिणी र उत्तरी ध्रुवका साथै, जमिनमाथि र जमिनमुनि बस्‍ने तथा पानीमा बस्‍ने विविध प्रकारका जीवित प्राणीहरू, र वनजङ्गल र अन्य प्रकारका वनस्पतिद्वारा ढाकिएका ठाउँको परिमाण, र पानीका स्रोतहरू, विविध प्रकारका पानीका भागहरू, समुद्री पानी र सफा पानीका परिमाणहरू र विभिन्‍न किसिमका भौगोलिक वातावरणहरू—मानिसको अस्तित्वको निम्ति सामान्य तापक्रम कायम राख्‍न परमेश्‍वरले यी सबै कुराको प्रयोग गर्नुहुन्छ। यो निरपेक्ष छ। परमेश्‍वरले यो सबैको बारेमा गहन तरिकाले सोच्‍नुभएको कारणले मात्र मानिस यस्तो सुहाउँदो तापक्रम भएको वातावरणमा जिउन सकेको छ। यो धेरै चिसो पनि हुनु हुँदैन, धेरै तातो पनि हुनु हुँदैन: धेरै ताता ठाउँहरू, जहाँको तापक्रम मानव शरीरले अनुकूलन गर्न सक्‍नेभन्दा धेरै छ, ती ठाउँहरू निश्‍चय नै परमेश्‍वरले तिमीहरूका निम्ति छुट्याउनुभएको होइन। तापक्रम अत्यन्तै न्यून भएको अत्यन्तै चिसा ठाउँहरूमा पुगेपछि मानव केही मिनेटमै पूर्ण रूपमा जम्छन्, जसले गर्दा तिनीहरू बोल्‍न सक्दैनन्, तिनीहरूको मस्तिष्क जम्छ, तिनीहरूले सोच्‍न सक्दैनन् र तिनीहरू चाँडै निसासिन्छन्—यस्ता ठाउँहरूलाई पनि परमेश्‍वरले मानवजातिको लागि छुट्याउनुभएको होइन। मानवले जस्तोसुकै किसिमको अनुसन्धान गर्न चाहे तापनि, तिनीहरूले नवीन काम गर्न वा यस्ता सीमाहरूलाई तोड्न खोजे तापनि—मानिसहरूसँग जस्तोसुकै विचारहरू भए तापनि, तिनीहरूले मानव शरीरले अनुकूलन गर्न सक्‍ने सीमाहरूलाई नाघ्‍न सक्‍नेछैनन्। मानिसको निम्ति परमेश्‍वरले सृष्टि गर्नुभएका यी सीमाहरूलाई तिनीहरूले कदापि त्याग्‍न सक्‍नेछैनन्। यस्तो किन हुन्छ भने परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभएको हो र मानव शरीरले अनुकूलन गर्न सक्‍ने तापक्रम परमेश्‍वरलाई थाहा छ। तर मानव आफैलाई भने थाहा छैन। मानवलाई थाहा छैन भनेर म किन भन्छु त? मानवले कस्ता मूर्ख कुराहरू गरेका छन्? के धेरै मानिसहरूले उत्तरी र दक्षिणी ध्रुवलाई निरन्तर चुनौती दिने प्रयास गरेका छैनन् र? यस्ता मानिसहरूले सधैँ ती ठाउँहरूमा गएर जमिन कब्जा गर्ने चाहना गरेका छन्, ताकि तिनीहरूले त्यहाँ जरा गाड्न सकून्। त्यो निरर्थक कार्य हुनेछ। यदि तैँले पूर्ण रूपले ध्रुवहरूको अनुसन्धान गरेको छस् भने पनि, तैँले त्यसपछि के गर्छस् र? यदि तँ उक्त तापक्रममा अनुकूलन हुन सक्छस् र त्यहाँ बस्‍न सक्षम बन्छस् भने पनि, तैँले दक्षिणी र उत्तरी ध्रुवहरूको वर्तमान वातावरण “सुधार गरेमा” पनि, के यसले कुनै पनि तरिकाले मानवजातिलाई फाइदा पुर्‍याउँछ र? मानवजातिसँग ऊ बाँच्‍न सक्‍ने वातावरण छ, तापनि मानिसहरू चुपचाप र आज्ञाकारी भई बस्दैनन्, बरु आफू बाँच्‍न नसक्‍ने ठाउँहरूमा जाने जोखिम उठाउन जोड दिन्छन्। यसको अर्थ के हो त? तिनीहरूलाई यस्तो सुहाउँदो तापक्रमको जीवनदेखि न्यास्रो लागेको छ र तिनीहरू अधीर भएका छन्, अनि तिनीहरूले अति नै धेरै आशिष्‌हरू प्राप्त गरेका छन्। त्यसबाहेक, जीवनको लागि दिइएको यो नियमित वातावरणलाई मानवजातिले लगभग पूर्ण रूपमा नष्ट गरिसकेको छ, यसैले अब दक्षिणी ध्रुव र उत्तरी ध्रुवमा गएर अझ धेरै क्षति गर्न वा “नयाँ बाटो बनाउने‍” कुनै तरिका पत्ता लगाउने कुनै प्रकारको “अभियान” को खोजी गर्न सकिन्छ भन्‍ने तिनीहरूलाई लाग्छ। के यो मूर्खता होइन र? भन्‍नुको तात्पर्य, परमेश्‍वरले तिनीहरूको निम्ति सृष्टि गर्नुभएको सुन्दर घरलाई यस मानवजातिले तिनीहरूका पुर्खा शैतानको नेतृत्वमा लापर्बाही र स्वेच्छाचारी तरिकाले नष्ट गर्दै एकपछि अर्को गर्दै निरन्तर मूर्खतापूर्ण काम गरिरहन्छ। यो शैतानले गरेको काम हो। यसबाहेक, पृथ्वीमा मानवजातिको अस्तित्व केही हदसम्म खतरामा परेको देखेर, धेरै मानिसहरूले चन्द्रमामा गएर त्यहाँ बाँच्‍ने तौरतरिका स्थापित गर्ने चाहना गर्दै त्यहाँ जाने उपायहरूको खोजी गर्छन्। तर अन्ततः चन्द्रमामा अक्सिजनको अभाव छ। के मानवजाति अक्सिजनविना बाँच्‍न सक्छ त? चन्द्रमामा अक्सिजनको अभाव भएको कारण मानिस त्यस ठाउँमा बस्‍न सक्दैन, तापनि मानिस त्यहाँ जाने आफ्नो चाहनामा दृढ छ। यस्तो व्यवहारलाई के भन्‍ने? यो पनि आत्मविनाश हो, होइन र? चन्द्रमा हावाविनाको स्थान हो र यसको तापक्रम मानव अस्तित्वको निम्ति सुहाउँदो छैन—यसैले, यो परमेश्‍वरले मानिसको निम्ति छुट्याउनुभएको ठाउँ होइन।

अहिलेको हाम्रो विषय, अर्थात् तापक्रम मानिसहरूले आफ्नो दैनिक जीवनमा सामना गर्ने कुरा हो। तापक्रम सबै मानव शरीरले अनुभव गर्ने कुरा हो, तर तापक्रमको सुरुवात कसरी भयो वा यसको कार्यभारी को हो र मानव अस्तित्वको निम्ति सुहाउँदो हुने गरी यसको नियन्त्रण कसले गर्छ भनेर कसैले सोच्दैन। अहिले हामी यही कुरा सिकिरहेका छौँ। के यसभित्र परमेश्‍वरको बुद्धि लुकेको छ? के यसभित्र परमेश्‍वरको कार्य रहेको छ? (छ।) परमेश्‍वरले मानव अस्तित्वको निम्ति सुहाउँदो तापक्रमसहितको वातावरण सृष्टि गर्नुभयो भन्‍ने कुरा विचार गर्दा, के यो सबै थोकको निम्ति आवश्यक कुराहरू उपलब्ध गराउने परमेश्‍वरका तरिकाहरूमध्ये एउटा होइन र? (हो।) यो एउटा तरिका हो।

३. ध्वनि

तेस्रो कुरा के हो? यो पनि मानव अस्तित्वको सामान्य वातावरणको निम्ति आवश्यक हिस्सा हो र परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुहुँदा यसको निम्ति पनि बन्दोबस्त गर्नुपरेको थियो। यो परमेश्‍वर र हरेक मानवजातिको निम्ति अत्यन्तै महत्त्वपूर्ण कुरा हो। यदि परमेश्‍वरले यस कुराको बन्दोबस्त नगर्नुभएको भए, यसले मानवजातिको अस्तित्वलाई धेरै बाधा दिनेथियो, अर्थात् यसले मानिसको जीवन र उसको देहको शरीरलाई यति धेरै प्रभाव पार्नेथियो कि त्यस्तो वातावरणमा मानवजाति बाँच्‍न सक्‍नेथिएन। त्यस्तो वातावरणमा त कुनै पनि जीवित प्राणी बाँच्‍न सक्‍नेथिएन भनेर भन्‍न सकिन्छ। त्यसैले, मैले बताइरहेको यो कुरा के हो त? म ध्वनिको बारेमा कुरा गरिरहेको छु। परमेश्‍वरले हरेक थोकको सृष्टि गर्नुभयो र हरेक कुरा परमेश्‍वरको हातभित्र जिउँछन्। परमेश्‍वरको सृष्टिका सबै थोक उहाँको नजरमा जीवित रहन्छन् र निरन्तर चलायमान हुन्छन्। मैले यसो भन्‍नुको तात्पर्य के हो भने, परमेश्‍वरले सृष्टि गर्नुभएका हरेक कुराहरूको अस्तित्वको मूल्य र अर्थ छ; अर्थात् हरेक थोकको अस्तित्वको महत्त्व छ। परमेश्‍वरको नजरमा, हरेक थोक जीवित छन्, र सबै थोक जीवित रहेका हुनाले, ती सबैले ध्वनि निकाल्छन्। उदाहरणको निम्ति, पृथ्वी निरन्तर घुमिरहेको छ, सूर्य निरन्तर घुमिरहेको छ र चन्द्रमा पनि निरन्तर घुमिरहेको छ। हरेक थोक वृद्धि हुन्छन्, बढ्छन् र चल्छन्, तिनीहरूले निरन्तर ध्वनि निकालिरहेका हुन्छन्। पृथ्वीमा अस्तित्वमा रहने परमेश्‍वरका सृष्टिका यी सबै थोक निरन्तर वृद्धि हुने, विकास हुने र चलायमान हुने गर्छन्। उदाहरणको निम्ति, पर्वतका जगहरू चलिरहेका र सरिरहेका हुन्छन् र समुद्रका गहिराइका सबै जीवित प्राणीहरू पौडिरहेका र चलिरहेका हुन्छन्। यसको अर्थ के हो भने, परमेश्‍वरको नजरमा सबै थोक स्थापित ढाँचाअनुसार अटुट रूपमा, निरन्तर चलिरहेका हुन्छन्। यसैले, यी सबै अन्धकारमा वृद्धि र विकास हुने र गुप्त रूपमा चल्ने कुराहरूले केलाई अस्तित्वमा ल्याउँछन् त? ध्वनि—ठूला, शक्तिशाली ध्वनिहरू। पृथ्वी ग्रहभन्दा बाहिर, सबै किसिमका ग्रहहरू निरन्तर चलिरहेका छन् र यी ग्रहहरूमा भएका जीवित प्राणी र जीवहरू निरन्तर वृद्धि हुने, विकास हुने र चल्ने गरिरहेका छन्। यसर्थ, जीवन भएका र जीवन नभएका सबै थोक परमेश्‍वरको नजरमा अगाडि बढिरहेका छन् र यस दौरान तिनीहरू सबैले ध्वनि उत्पादन गरिरहेका छन्। परमेश्‍वरले यी ध्वनिहरूको निम्ति पनि बन्दोबस्त गर्नुभएको छ र उहाँले यसो गर्नुपछाडिको कारण तिमीहरूलाई पहिले नै थाहा छ भन्‍ने मलाई विश्‍वास छ, छैन त? जब तँ कुनै हवाइजहाजको नजिक जान्छस्, तब त्यसको इन्जिनको गर्जनले तँलाई कस्तो असर पार्छ? यदि तँ लामो समयसम्म त्यसको नजिक बसिस् भने तेरा कानहरू बहिरा हुन्छन्। के तेरो हृदयले त्यस्तो कष्टप्रद अनुभूतिलाई सहन सक्छ? कमजोर हृदय भएका केही मानिसहरूले यसो गर्न सक्दैनन्। अवश्य नै, बलिया हृदय भएकाहरूले पनि लामो समयसम्म यसलाई सहन सक्दैनन्। भन्‍नुको तात्पर्य, चाहे यो कान होस् या हृदय होस्, ध्वनिले मानव शरीरमा पुर्‍याउने असर हरेक मानवको निम्ति अत्यन्तै महत्त्वपूर्ण हुन्छ र धेरै ठूला ध्वनिहरूले मानिसहरूलाई हानि पुर्‍याउँछन्। यसैले, परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुहुँदा र पछि तिनीहरूले सामान्य रूपले कार्य गर्न सुरु गरेपछि, चलायमान हुने सबै थोकको आवाज, अर्थात् यी आवाजहरूको निम्ति परमेश्‍वरले उचित प्रबन्ध गर्नुभयो। मानवजातिको निम्ति वातावरणको सृष्टि गर्ने क्रममा, परमेश्‍वरले ध्यान दिनुपरेको कुरामध्ये एउटा यो पनि हो।

सर्वप्रथम त, पृथ्वीको सतहमाथिको वायुमण्डलको उचाइले पनि ध्वनिलाई प्रभाव पार्छ। यसका अतिरिक्त, माटोमा भएका विभिन्‍न आकारका खाली ठाउँहरूले पनि ध्वनिलाई हेरफेर गर्छन् र प्रभाव पार्छन्। त्यसपछि विभिन्‍न भौगोलिक वातावरणका संगमहरूले पनि ध्वनिलाई प्रभाव पार्छन्। भन्‍नुको तात्पर्य, केही ध्वनिहरूलाई हटाउनको निम्ति परमेश्‍वरले निश्‍चित विधिहरूको प्रयोग गर्नुहुन्छ, ताकि मानव आफ्ना कान र हृदयले सहन सक्‍ने वातावरणमा बाँच्‍न सकोस्। नत्र त, मानवजातिको जीवनमा ठूलो बाधा बनेर र तिनीहरूको निम्ति गम्भीर समस्या उत्पन्‍न गरेर ध्वनिहरूले मानवजातिको अस्तित्वमा ठूलो बाधा-व्यवधान खडा गर्छन्। यसको अर्थ के हो भने जमिन, वायुमण्डल र विभिन्‍न किसिमका भौगोलिक वातावरणको सृष्टि गर्ने क्रममा परमेश्‍वरले विशेष ध्यान दिनुभयो र यी हरेकमा परमेश्‍वरको बुद्धि सामेल छ। यससम्‍बन्धी मानवजातिको बुझाइ धेरै विस्तृत हुनु आवश्यक छैन—यिनमा परमेश्‍वरका कार्यहरू समावेश छन् भन्‍ने कुरा जान्‍नु नै मानिसहरूको निम्ति प्रर्याप्त छ। अब तिमीहरूले मलाई भन, ध्वनिलाई एकदमै सहीसँगले मापन गरेर मानवजातिको बाँच्‍ने वातावरण र तिनीहरूको सामान्य जीवनलाई कायम गर्नको निम्ति परमेश्‍वरले गर्नुभएको यो काम आवश्यक थियो? (हो, थियो।) यो काम आवश्यक थियो, त्यसकारण, यस दृष्टिकोणले हेर्दा, के परमेश्‍वरले सबै थोकलाई आवश्यक कुराहरू उपलब्ध गराउनको निम्ति यो कामको प्रयोग गर्नुभयो भनेर भन्‍न सकिन्छ? परमेश्‍वरले मानवजातिको प्रावधानको निम्ति यस्तो शान्त वातावरणको सृष्टि गर्नुभयो ताकि मानव शरीर सामान्य तवरले कुनै बाधाको सामना नगरी यसभित्र बाँच्‍न सकोस् र मानवजाति सामान्य तवरले अस्तित्वमा रहन र जिउन सकोस्। त्यसो भए, के परमेश्‍वरले मानवजातिलाई आवश्यक कुराहरू उपलब्ध गराउनुहुने तरिकाहरूमध्ये एउटा यही होइन र? के यो परमेश्‍वरले गर्नुभएको अत्यन्तै महत्त्वपूर्ण कुरा थिएन र? (थियो।) यसको निकै ठूलो आवश्यकता थियो। अनि तिमीहरूले यसलाई कसरी बुझ्यौ त? यो परमेश्‍वरको कार्य हो भन्‍ने कुरालाई तिमीहरूले महसुस गर्न नसके तापनि वा त्यस बेला परमेश्‍वरले यसो गर्नुभएको हो भनेर तिमीहरूलाई थाहा नभए पनि, के परमेश्‍वरले यो कुरा गर्नु आवश्यक थियो भन्‍ने कुरालाई तिमीहरूले अझै पनि महसुस गर्न सक्छौ? के तिमीहरूले परमेश्‍वरको बुद्धि र उहाँले यसमा लगाउनुभएको वास्ता र सोचलाई महसुस गर्न सक्छौ? (हो, हामी सक्छौं।) यदि तिमीहरू यसलाई महसुस गर्न सक्छौ भने, यो नै पर्याप्त छ। परमेश्‍वरले आफ्नो सृष्टिका थोकहरूमाझ धेरै कार्य गर्नुभएको छ जुन मानिसहरूले न त महसुस गर्न सक्छन् न त देख्‍न नै सक्छन्। तिमीहरूलाई परमेश्‍वरका कार्यहरूको बारेमा जानकारी दिनलाई मैले यो कुरा उठाएको हुँ, ताकि तिमीहरूले परमेश्‍वरलाई चिन्‍न सक। तिमीहरूलाई परमेश्‍वरको बारेमा जान्‍न र बुझ्‍नका निम्ति अझ राम्ररी सक्षम हुन सहयोग गर्न सक्‍ने सुराकहरू यिनै हुन्।

४. ज्योति

चौथो कुरा मानिसहरूका आँखासँग सम्बन्धित छ: ज्योति। यो पनि धेरै महत्त्वपूर्ण छ। जब तैँले चम्किलो ज्योति देख्छस्, र त्यसको चमक निश्‍चित तहमा पुगेपछि, त्यसले मानव आँखालाई अन्धो तुल्याउन सक्छ। मानव आँखा आखिर देहका आँखा न हुन्। आँखाले जलन सहन सक्दैनन्। के कसैले सूर्यलाई सिधा हेर्न सक्छ? केही मानिसहरूले यसो गर्ने प्रयास गरे र यदि तिनीहरूले घाममा लगाउने चस्मा लगाएका छन् भने त यसले ठीकै काम गर्छ—तर त्यसको निम्ति केही उपकरणको प्रयोग गर्नु आवश्यक हुन्छ। उपकरणहरूविना, मानिसको नाङ्गो आँखासँग सूर्यको सामना गर्ने र त्यसलाई सिधा हेर्ने क्षमता छैन। तैपनि, मानवजातिलाई ज्योति दिन परमेश्‍वरले सूर्यको सृष्टि गर्नुभयो, र यो ज्योति पनि उहाँले वास्ताको साथ बनाउनुभयो। परमेश्‍वरले सामान्य तवरले सूर्यको सृष्टि गरेर, त्यसलाई कतै राखी, त्यसको बेवास्ता गर्नुभएन; परमेश्‍वरले यसरी काम गर्नुहुन्‍न। उहाँ आफ्ना कार्यहरूमा धेरै होसियार हुनुहुन्छ, र तिनको बारेमा पूर्ण सावधानीका साथ सोच्‍नुहुन्छ। परमेश्‍वरले मानवजातिले देख्‍न सकून् भनेर आँखाको सृष्टि गर्नुभयो र मानिसले कुनै कुराहरूलाई देख्‍नको निम्ति ज्योतिको मापदण्ड पनि पहिले नै तोक्‍नुभयो। ज्योति धेरै मधुरो भएको भए, त्यो राम्रो हुनेथिएन। अँध्यारोमा मानिसहरूले आफ्नो अगाडिका आफ्नै औँलाहरू देख्‍न सक्दैनन्, तिनीहरूका आँखाले आफ्ना कार्य गुमाउँछन् र तिनले काम गर्दैनन्। तर धेरै चम्किलो ज्योतिले पनि मानिसहरूलाई त्यति नै देख्‍न नसक्‍ने बनाउँछ, किनकि चमक सहन नसकिने हुन्छ। यसैले, परमेश्‍वरले मानवजातिको अस्तित्वको वातावरणमा मानव आँखाको निम्ति उचित परिमाणको ज्योतिको प्रबन्ध गर्नुभएको छ, अर्थात् मानिसहरूको आँखालाई हानि नपुर्‍याउने वा नष्ट नगर्ने गरी र आँखाका कार्य पनि नगुम्‍ने गरी उचित परिमाणको ज्योतिको प्रबन्ध गर्नुभएको छ। यही कारणले गर्दा, परमेश्‍वरले सूर्य र पृथ्वीवरिपरि बादलका तहहरू थप्‍नुभयो र यही कारणले गर्दा नै मानिसहरूका आँखा वा छालालाई हानि पुर्‍याउने ज्योतिलाई हावाको घनत्वले छान्‍न सक्छ—यी सुहाउँदो परिमाणमा छन्। यसका अतिरिक्त, परमेश्‍वरले सृष्टि गर्नुभएका पृथ्वीका रङहरूले सूर्यको ज्योति र अन्य प्रकारका ज्योतिहरूलाई परावर्तन गर्छन् र तिनले मानव आँखाअनुकूल नभएका अत्यन्तै चम्किला ज्योतिलाई हटाउन सक्छन्। यसैले, मानिसहरू बाहिर हिँड्न र घाममा लगाउने अत्यन्तै गाढा चस्मा निरन्तर नलगाई आफ्नो जीवन अगाडि बढाउन सक्षम छन्। सामान्य परिस्थितिमा मानव आँखाले ज्योतिको असर नभोगीकनै आफ्नो दृष्टिक्षेत्रभित्रको कुरालाई देख्‍न सक्छन्। भन्‍नुको तात्पर्य, ज्योति अत्यन्तै चम्किलो वा धेरै मधुरो भयो भने पनि राम्रो हुँदैन। यदि धेरै मधुरो भयो भने मानिसका आँखामा क्षति पुग्छ र केही समयको प्रयोग पछि ती नष्ट हुन्छन्; यदि धेरै चम्किलो भयो भने मानव आँखाले सहन सक्दैन। त्यही ज्योति मानव आँखाले देख्‍नको निम्ति सुहाउँदो हुनुपर्छ र ज्योतिको कारण मानव आँखामा हुने क्षतिलाई परमेश्‍वरले विभिन्‍न विधिद्वारा कम गर्नुभएको छ; अनि यस ज्योतिले मानिसका आँखालाई फाइदा दिन वा कष्ट पुर्‍याउन सक्‍ने भए पनि, मानिसहरूले आँखाको प्रयोग गर्दै जीवनको अन्त्यसम्म पुग्‍नु पर्याप्त हुन्‍छ। के यस कुराको विषयमा परमेश्‍वरले सावधानीपूर्वक ध्यान दिनुभएको छैन र? तैपनि दियाबलस, शैतानले, यी सोचविचारहरूलाई आफ्नो मनमस्तिष्कमा नराखी कार्य गर्छ। शैतानको निम्ति, ज्योति कि त धेरै चम्किलो हुन्छ कि त धेरै मधुरो। शैतानले यसरी नै काम गर्छ।

परमेश्‍वरले मानवजातिको अस्तित्व अनुकूलन क्षमता बढाउनको लागि, मानव शरीरका सबै पक्षहरूको निम्ति—यसको दृष्टि, श्रवण शक्ति, स्वाद, श्‍वासप्रश्‍वास, अनुभव र अन्य कुराहरूको निम्ति—यी कुराहरू गर्नुभयो ताकि तिनीहरू सामान्य तवरले बाँच्‍न सकून् र त्यसलाई निरन्तरता दिन सकून्। अर्को शब्दमा भन्दा, परमेश्‍वरले सृष्टि गर्नुभएको जीवनको वर्तमान वातावरण नै मानवजातिको निम्ति सबैभन्दा सुहाउँदो र फाइदाजनक वातावरण हो। कतिपय मानिसहरूले के सोच्छन् भने, यसले त्यति धेरै फरक पार्दैन, यो सबै नै अति सामान्य कुरा हो। मानिसहरू ध्वनि, ज्योति र हावालाई आफ्नो जन्मसिद्ध अधिकार हो भन्‍ने ठान्‍छन्, जसलाई तिनीहरूले आफ्नो जन्मदेखि नै उपभोग गर्दै आएका छन्। तर तैँले उपभोग गर्न सकेका ती कुराहरूपछाडि परमेश्‍वरको काम लुकेको छ; यो कुरा मानवले बुझ्‍न आवश्यक छ, तिनीहरूले यो कुरा जान्‍नुपर्छ। तैँले यी कुराहरू बुझ्‍नु वा जान्‍नु आवश्यक छैन भनेर तैँले महसुस गरे तापनि, छोटकरीमा भन्‍नुपर्दा परमेश्‍वरले तिनको सृष्टि गर्ने क्रममा तिनीहरूलाई धेरै ध्यान दिनुभयो, उहाँसँग यसबारे योजना थियो र केही निश्‍चित विचार थियो। उहाँले मानवजातिको बारेमा दोस्रोपटक नसोची, मानवजातिलाई जिउनको निम्ति त्यतिकै वा सामान्य तवरले यस्तो वातावरणमा राख्‍नुभएको होइन। मैले यी हरेक साना कुराहरूको बारेमा धेरै ठूलो कुरा गरेको छु भन्‍ने तिमीहरूलाई लाग्‍न सक्छ, तर मेरो दृष्टिमा मानवजातिको निम्ति परमेश्‍वरले उपलब्ध गराउनुभएको हरेक कुरा मानवजातिको अस्तित्वको निम्ति आवश्यक छ। यसमा परमेश्‍वरको कार्य छ।

५. वायुप्रवाह

पाँचौ कुरा के हो? यो कुरा हरेक व्यक्तिको प्रत्येक दिनसँग घनिष्ट रूपमा सम्बन्धित छ। मानव जीवनसँग यसको सम्बन्ध यति नजिक छ कि यसको अभावमा मानव शरीर यस भौतिक संसारमा बाँच्‍नै सक्दैन। यो वायुप्रवाह हो। सायद यो “वायुप्रवाह” भन्‍ने नामपदलाई सुन्‍ने जोकोहीले पनि यसलाई बुझ्‍न सक्छ। त्यसो भए, वायुप्रवाह के हो त? “वायुप्रवाह” भनेको त वायुको बहने चाल त हो नि भनेर तिमीहरू भन्‍न सक्छौ। वायुप्रवाह मानव आँखाले देख्‍न नसकिने हावाको बहाव हो। यो ग्याँसहरू चल्ने एक तरिका पनि हो। तापनि, यस कुराकानीमा “वायुप्रवाह” ले मुख्य रूपमा केलाई जनाउँछ त? मैले भन्‍नेबित्तिकै तिमीहरूले बुझ्‍नेछौ। पृथ्वीले आफू घुम्दा पर्वत, समुद्र र सृष्टिका सबै थोक बोक्छ र यो घुम्दा गतिसहित घुम्छ। तैँले यस घुमाइलाई महसुस गर्न नसके तापनि पृथ्वीको परिक्रमा अस्तित्वमा छ। यस परिक्रमाले के पैदा गर्छ? जब तँ दौडन्छस्, तेरा कानको छेउबाट हावा बहँदैन र? यदि तँ दौडिँदा हावा उत्पन्‍न हुन्छ भने पृथ्वीले परिक्रमा गर्दा बतास किन चल्दैन र? जब पृथ्वीले परिक्रमा गर्छ, सबै थोक चलायमान हुन्छन्। पृथ्वी आफै चलायमान छ र यसले निश्‍चित गतिमा परिक्रमा गरिरहेको छ, र यसमा भएका हरेक थोक पनि निरन्तर वृद्धि र विकास भइरहेका छन्। यसर्थ, कुनै निश्‍चित गतिको चालले स्वभाविक रूपमा वायुप्रवाह उत्पन्‍न गर्छ। “वायुप्रवाह” को बारेमा मैले भन्‍न खोजेको अर्थ यही हो। यस वायुप्रवाहले मानव शरीरलाई केही हदसम्म प्रभाव पार्दैन र? तुफानलाई नै लिऔं: सामान्य तुफानहरू त्यति शक्तिशाली हुँदैनन्, तर जब तिनीहरू आउँछन्, मानिसहरू सिधा खडा हुन पनि सक्दैनन् र तिनीहरूलाई बतासमा हिँड्न कठिन हुन्छ। एक पाइला चाल्‍न पनि कठिन हुन्छ र केही मानिसहरूलाई त यसले हिँड्नै नसक्‍ने गरी कुनै कुरामा चेप्ट्याएर राख्छ। वायुप्रवाहले मानवजातिलाई प्रभाव पार्ने तरिकामध्ये एउटा यही हो। यदि सारा पृथ्वी समथर जमिनले ढाकेको भए, पृथ्वी र सबै थोकले परिक्रमा गर्दा मानव शरीरले त्यसबाट उत्पन्‍न वायुप्रवाहलाई पूर्ण रूपमा धान्‍न नसक्‍नेथियो। यस्तो परिस्थितिप्रति प्रतिक्रिया जनाउन अत्यन्तै कठिन हुन्छ। यदि वास्तवमा यस्तै हुँदो हो त यस्तो वायुप्रवाहले मानवजातिमाथि हानि मात्र पुर्‍याउँदैनथ्यो, यसले त पूर्ण विनाश नै गर्नेथियो। मानव यस्तो वातावरणमा बाँच्‍न सक्‍नेथिएन। यसैले परमेश्‍वरले त्यस्तो वायुप्रवाहको समाधानको निम्ति विभिन्‍न भौगोलिक वातावरणहरू बनाउनुभयो—विभिन्‍न वातावरणमा वायुप्रवाह कमजोर हुन्छ, यसको दिशा परिवर्तन हुन्छ, यसको गति बदलिन्छ र यसको तागत हेरफेर हुन्छ। त्यसैले मानिसहरूले पर्वत, ठूला हिमशृङ्खला, समथर जमिन, पहाड, बेँसी, उपत्यका, पठार र ठूला नदीहरूजस्ता फरकफरक भौगोलिक विशेषताहरू देख्‍न सक्छन्। यस्ता फरकफरक भौगोलिक विशेषताहरूको माध्यमद्वारा परमेश्‍वरले वायुप्रवाहको गति, दिशा र तागतलाई बदल्‍नुहुन्छ। यस विधिको माध्यमद्वारा उहाँले वायुप्रवाहलाई परिवर्तन वा हेरफेर गरी उचित गति, दिशा र तागत भएको हावामा परिणत गर्नुहुन्छ, ताकि मानवले जिउनको निम्ति सामान्य वातावरण पाउन सकोस्। के यसको आवश्यकता छ? (छ।) यसो गर्नु मानवको लागि कठिन देखिन्छ तर परमेश्‍वरको निम्ति यो सजिलो छ किनकि उहाँले सबै कुराहरूको अवलोकन गर्नुहुन्छ। उहाँको निम्ति, मानवको निम्ति सुहाउँदो वातावरणको सृजना गर्न योभन्दा सरल वा सहज हुनेथिएन। यसैले, परमेश्‍वरले सृजना गर्नुभएको यस्तो वातावरणमा उहाँको सृष्टिभित्रका हरेक कुराहरू अपरिहार्य छन्। हरेक कुराको अस्तित्वको मूल्य र आवश्यकता छ। तथापि, शैतान वा भ्रष्ट पारिएको मानवजातिले यस सिद्धान्तलाई बुझ्दैन। तिनीहरूले निरन्तर पर्वतहरूलाई समथर जमिनमा परिवर्तन गर्ने, गल्छीहरू पुर्ने र सिमेन्टको जङ्गल सृजना गर्नको निम्ति समथर जमिनमा गगनचुम्बी महलहरू बनाउने व्यर्थको सपना देख्दै विनाश, विकास र शोषण गर्ने काम गरिरहन्छन्। परमेश्‍वरको के आशा छ भने उहाँले तिनीहरूको निम्ति तयार पार्नुभएको यो सबैभन्दा सुहाउँदो वातावरणमा मानवजाति खुसीसाथ बाँच्‍न, खुसीसाथ वृद्धि हुन र हरेक दिन खुसीसाथ बिताउन सकोस्। यसैले मानवजाति बस्‍ने यो वातावरणलाई व्यवहार गर्ने कुरामा परमेश्‍वरले कहिल्यै पनि लापर्बाही गर्नुभएको छैन। तापक्रमदेखि लिएर वायुसम्म, ध्वनिदेखि लिएर ज्योतिसम्म परमेश्‍वरले जटिल योजना र बन्दोबस्तहरू गर्नुभएको छ, ताकि मानिसहरूका शरीर र तिनीहरू बाँच्‍ने वातावरणलाई प्राकृतिक परिस्थितिहरूले बाधा नदेओस्, बरु यसको सट्टा, मानवजाति सामान्य तवरले अन्य कुराहरूसँग सामञ्‍जस्यपूर्ण सहअस्तित्वमा जिउन र वृद्धि हुन सकोस्। यी सबै कुराहरू परमेश्‍वरले यावत् थोक र मानवजातिको लागि उपलब्ध गराउनुभएको छ।

मानव अस्तित्वको निम्ति परमेश्‍वरले यी पाँच आधारभूत परिस्थितिहरूको बन्दोबस्त जुन तरिकाले गर्नुभएको छ त्यसमा के तिमीहरू परमेश्‍वरले कसरी मानवजातिलाई आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ भन्‍ने कुरा देख्‍न सक्छौ? (सक्छौं।) भन्‍नुको तात्पर्य, मानव अस्तित्वको निम्ति चाहिने सबै आधारभूत परिस्थितिहरूको सृष्टिकर्ता परमेश्‍वर नै हुनुहुन्छ र परमेश्‍वरले यी कुराहरूको बन्दोबस्त र नियन्त्रण पनि गर्दै हुनुहुन्छ; अहिले, मानव अस्तित्वको हजारौँ वर्षपछि पनि तिनीहरूलाई सबैभन्दा राम्रो र सबैभन्दा सुहाउँदो वातावरण प्रदान गर्दै परमेश्‍वरले अझ पनि तिनीहरू जिउने वातावरणमा निरन्तर फेरबदल गर्दै हुनुहुन्छ ताकि तिनीहरूको जीवन नियमित तरिकाले कायम राख्‍न सकियोस्। यस्तो परिस्थितिलाई कति लामो समयसम्म कायम राखिराख्‍न सकिन्छ? अर्को शब्दमा, परमेश्‍वरले कहिलेसम्म यस्तो वातावरण निरन्तर उपलब्ध गराइरहनुहुनेछ? परमेश्‍वरले आफ्नो व्यवस्थापनको कामलाई पूर्ण समापन नगरुञ्‍जेलसम्‍म यो जारी रहनेछ। त्यसपछि, परमेश्‍वरले मानवजातिको जिउने वातावरण परिवर्तन गर्नुहुनेछ। परमेश्‍वरले यी परिवर्तनहरू उही विधिहरूद्वारा वा फरक विधिहरूद्वारा गर्न सक्‍नुहुनेछ, तर अहिले मानिसहरूले जान्‍नुपर्ने कुरा के हो भने मानवजातिका आवश्यकताहरूको निम्ति परमेश्‍वरले निरन्तर विभिन्‍न कुराहरू उपलब्ध गराइरहनुभएको छ; मानव जिउने वातावरणको व्यवस्थापन गरिरहनुभएको छ; र त्यस वातावरणलाई संरक्षण, सुरक्षा र मर्मतसम्भार गर्ने कार्य गर्दै आइरहनुभएको छ। यस्तो वातावरण भएको हुँदा, परमेश्‍वरका चुनिएका मानिसहरू नियमित रूपले जिउन र परमेश्‍वरको मुक्ति, सजाय र न्याय स्वीकार गर्न सक्षम भएका छन्। परमेश्‍वरको सार्वभौमिकताको कारण सबै थोक निरन्तर अस्तित्वमा रहेका छन् र परमेश्‍वरका यस्तै प्रावधानहरूको कारण सारा मानवजाति निरन्तर अगाडि बढिरहेका छन्।

के हाम्रो सङ्गतिको यो अन्तिम भागले तिमीहरूमा केही नयाँ विचारहरू ल्यायो? के तिमीहरूलाई अब परमेश्‍वर र मानवजातिबीचको सबैभन्दा ठूलो भिन्‍नताको बारेमा थाहा भयो? अन्ततः सबै थोकको मालिक को हो? के त्यो मानिस हो? (होइन।) त्यसो भए, परमेश्‍वर र मानिसले सारा सृष्टिलाई गर्ने व्यवहारमा के फरक छ? (परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ र सबै थोकको बन्दोबस्त गर्नुहुन्छ, जबकि मानिसले ती कुराहरूको उपभोग गर्छ।) के तिमीहरू यसमा सहमत छौ? परमेश्‍वर र मानिसबीचको सबैभन्दा ठूलो भिन्‍नता यही हो कि परमेश्‍वरले सारा सृष्टिमाथि राज्य गर्नुहुन्छ र सारा सृष्टिको लागि आवश्यक कुराहरू उपलबन्ध गराउनुहुन्छ। उहाँ सबै थोकको स्रोत हुनुहुन्छ र परमेश्‍वरले सारा सृष्टिलाई आवश्यक कुराहरू उपलब्ध गराउनुहुँदा मानवजातिले त्यसको आनन्द उठाउँछ। भन्‍नुको तात्पर्य, मानिसले परमेश्‍वरले सबै थोकलाई प्रदान गर्नुहुने जीवन स्वीकार गर्दा, उसले सृष्टिका सबै थोकहरूको आनन्द उठाउँछ। परमेश्‍वर मालिक हुनुहुन्छ र मानवजातिले परमेश्‍वरले सबै थोक सृष्टि गर्नुहुँदा उत्पन्‍न फलहरूको आनन्द लिन्छ। त्यसो भए, परमेश्‍वरको सृष्टिका सबै थोकको दृष्टिकोणबाट हेर्दा, परमेश्‍वर र मानिसबीचको भिन्‍नता के हो त? परमेश्‍वरले सबै थोक कसरी वृद्धि हुन्छन् भन्‍ने नियमलाई स्पष्टसँग देख्‍न सक्‍नुहुन्छ र उहाँले ती नियमहरूमाथि नियन्त्रण र प्रभुत्व कायम गर्नुहुन्छ। यसर्थ, सबै थोक परमेश्‍वरको नजरभित्र छन् र उहाँको निगरानीको दायराभित्र छन्। के मानवजातिले यी सबै थोक देख्‍न सक्छ? मानवजातिले देख्‍न सक्‍ने कुरा उसको प्रत्यक्ष अगाडि भएको कुरामा सीमित छ। यदि तैँले पर्वत चढिस् भने तैँले त्यो पर्वत मात्र देख्छस्। तैँले त्यस पर्वतको अर्कोतिर के छ भन्‍ने देख्‍न सक्दैनस्। यदि तँ समुद्रको किनारामा गइस् भने तैँले समुद्रको एक छेउ मात्र देख्छस् र त्यस समुद्रको अर्को छेउ कस्तो देखिन्छ भन्‍ने तैँले थाहा पाउन सक्दैनस्। यदि तँ वनमा गइस् भने तैँले तेरो अगाडि र वरिपरि भएका वनस्पतिहरू देख्छस्, तर त्यसभन्दा पर के छ त्यो देख्‍न सक्दैनस्। मानवले माथि, टाढा र गहिराइमा भएका कुराहरू देख्‍न सक्दैनन्। तिनीहरूले प्रत्यक्ष आफूअगाडिका, तिनीहरूका दृष्टिक्षेत्रभित्रका कुराहरू मात्र देख्‍न सक्छन्। वर्षका चार ऋतुहरूलाई नियन्त्रण गर्ने नियम वा सबै थोक कसरी वृद्धि हुन्छन् भन्‍ने नियमको बारेमा मानवलाई थाहा भए तापनि तिनीहरूले सबै थोकको प्रबन्ध गर्न वा तिनलाई नियन्त्रण गर्न सक्दैनन्। तथापि परमेश्‍वरले आफ्नो सारा सृष्टिलाई त्यसरी नै हेर्नुहुन्छ जसरी उहाँ आफैले बनाउनुभएको यन्त्रलाई हेर्नुहुन्छ। उहाँ हरेक भाग र हरेक जडानसँग गहिरो गरी परिचित हुनुहुन्छ, तिनका सिद्धान्तहरू के-के हुन्, तिनका ढाँचाहरू के-के हुन् र तिनका उद्देश्यहरू के-के हुन्—परमेश्‍वरलाई यो सबै कुरा अत्यन्तै स्पष्टसँग थाहा छ। यसैले, परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ र मानिस, मानिस नै हो! मानिस विज्ञान र सारा कुराहरू नियमित गर्ने कानुनहरूको बारेमा आफ्नो अनुसन्धानको गहिराइमा जान सक्‍ने भए तापनि, त्यो अनुसन्धानको दायरा सीमित छ, जबकि परमेश्‍वरले सबै कुराको नियन्त्रण गर्नुहुन्छ। मानिसको निम्ति, परमेश्‍वरको नियन्त्रण अनन्त छ। परमेश्‍वरको सबैभन्दा सानो कार्यको अनुसन्धान गर्दा पनि साँचो परिणामहरू प्राप्त नगरीकनै मानिसको सम्पूर्ण जीवन खर्च हुन सक्छ। यसैले, यदि तैँले परमेश्‍वरको अध्ययन गर्न आफ्नो ज्ञान र आफूले सिकेको कुरा मात्र प्रयोग गर्छस् भने तँ कहिल्यै पनि परमेश्‍वरलाई चिन्‍न वा बुझ्‍न सक्षम हुनेछैनस्। तर यदि तैँले सत्यको खोजी र परमेश्‍वरको खोजी गर्ने मार्गको छनोट गर्छस् र उहाँलाई चिन्‍ने दृष्टिकोणबाट परमेश्‍वरलाई हेर्छस् भने, तैँले एकदिन, परमेश्‍वरका कार्यहरू र बुद्धि एकैपटक सबैतिर छन् भन्‍ने पहिचान गर्नेछस् र परमेश्‍वरलाई किन सबै कुराहरूको मालिक र सबै कुराहरूको जीवनको स्रोत भनिएको हो भन्‍ने जान्‍नेछस्। तैँले जति धेरै यस्तो बुझाइ प्राप्त गर्छस्, त्यति नै धेरै परमेश्‍वरलाई सारा कुराहरूको मालिक किन भनिएको हो भन्‍ने बुझ्‍नेछस्। तँलगायत सारा कुराहरू र हरेक कुराले निरन्तर रूपमा परमेश्‍वरको भरणपोषणको स्थिर प्रवाह प्राप्त गरिरहेका छन्। तैँले यस संसारमा र यस मानवजातिमाझ सारा कुराहरूको अस्तित्वलाई शासन, व्यवस्थापन र कायम गर्ने क्षमता र सार परमेश्‍वरबाहेक अरू कोहीसँग छैन भन्‍ने पनि स्पष्ट रूपले महसुस गर्न सक्‍नेछस्। जब तँ यस बुझाइमा आइपुग्छस्, तैँले परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्छ भनेर साँचो रूपले पहिचान गर्नेछस्। जब तँ यस बिन्दुमा आइपुग्छस्, तैँले साँचो रूपले परमेश्‍वरलाई स्वीकार गरेको र उहाँलाई तेरो परमेश्‍वर अनि तेरो मालिक हुन अनुमति दिएको हुनेछस्। जब तैँले यस्तो बुझाइ प्राप्त गरेको हुन्छस् र तेरो जीवन यस्तो बिन्दुमा पुगेको हुन्छ, परमेश्‍वरले अबउप्रान्त तेरो परीक्षा र न्याय गर्नुहुनेछैन, न त उहाँले तँबाट केही अपेक्षा नै गर्नुहुनेछ, किनकि तैँले परमेश्‍वरलाई बुझ्‍नेछस्, उहाँको हृदयलाई चिन्‍नेछस् र तेरो हृदयमा परमेश्‍वरलाई साँचो रूपले स्वीकार गरेको हुनेछस्। सबै थोकमाथि परमेश्‍वरको प्रभुत्व हुन्छ र उहाँले ती सबैको व्यवस्थापन गर्नुहुन्छ भन्‍ने यी विषयहरूमा सङ्‍गति गर्नुपर्ने एउटा महत्त्वपूर्ण कारण यही हो। यसो गर्नुको अर्थ मानिसहरूलाई थप ज्ञान र बुझाइ दिनु हो—यो तिमीहरूलाई स्वीकार गर्न लगाउनु मात्र होइन, बरु तिमीहरूलाई परमेश्‍वरका कार्यहरूको बारेमा थप व्यावहारिक रूपले थाहा पाउन र बुझ्‍न लगाउनु हो।

परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुहुने दैनिक भोजन र पेयपदार्थ

हामीले भर्खरै वातावरणको एक भागको बारेमा, विशेष गरी, परमेश्‍वरले संसारको सृष्टि गर्नुहुँदा उहाँले तयार गर्नुभएको मानव अस्तित्वको निम्ति आवश्यक सर्तहरूको बारेमा सामान्य छलफल गर्‍यौं। हामीले पाँच कुराहरू, अर्थात् वातावरणका पाँच तत्वहरूको बारेमा कुरा गर्‍यौं। हाम्रो अर्को विषय हरेक मानवको भौतिक जीवनसँग घनिष्ट रूपले सम्बन्धित छ, अनि यो कुरा उक्त जीवनसँग अझ प्रासङ्गिक छ र अघिल्‍ला पाँचको तुलनामा यसले जीवनको लागि आवश्यक पर्ने अवस्थाहरूलाई अझै राम्ररी पूरा गर्छ। स्पष्ट रूपमा भन्‍नुपर्दा, यो मानिसहरूले खाने खाना हो। परमेश्‍वरले मानिसको सृष्टि गर्नुभयो र उसलाई जीवनको निम्ति सुहाउँदो वातावरणमा राख्‍नुभयो; त्यसपछि मानिसलाई खाना र पानीको आवश्यकता पर्‍यो। मानिसलाई यसको आवश्यकता थियो, अनि परमेश्‍वरले उसको निम्ति त्यसैअनुकूल तयारी गर्नुभयो। यसैले, परमेश्‍वरको कामको हरेक चरण र उहाँले गर्ने हरेक कुरा बोलिने खोक्रा वचनहरू होइनन्, तर वास्तविक, व्यावहारिक कदम हुन्। के खाना मानिसहरूको दैनिक जीवनको अपरिहार्य कुरा होइन र? के खाना हावाभन्दा महत्त्वपूर्ण कुरा हो? ती बराबरी महत्त्वका छन्। ती दुवै कुरा मानवजातिको अस्तित्व र मानव जीवनको सुरक्षित निरन्तरताको निम्ति आवश्यक परिस्थिति र पदार्थहरू हुन्। कुन बढी महत्त्वपूर्ण छ—हावा कि पानी? तापक्रम कि खाना? तिनीहरू सबै उत्तिकै महत्त्वपूर्ण छन्। मानिसहरूले तीमध्ये एउटालाई छान्‍न सक्दैनन् किनकि तिनीहरू तीमध्ये कुनै एकविना पनि रहन सक्दैनन्। यो वास्तविक र व्यावहारिक विषय हो, तैँले विभिन्‍न कुराहरूबीचमा छनौट गर्ने कुरा होइन। तँलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ। जब तैँले खाना देख्छस्, तँ सोच्छस्, “म खानाविना रहन सक्दिनँ!” तर तँलाई सृष्टि गरिएपछि लगतै तँलाई खानाको आवश्यकता छ भन्‍ने तँलाई थाहा थियो त? तँलाई थाहा थिएन, तर परमेश्‍वरलाई थाहा थियो। जब तँ भोकाइस् र खानलाई रुखमा फल र जमिनमा अन्‍न देखिस्, तब मात्र तैँले आफूलाई खानाको आवश्यकता भएको महसुस गरिस्। जब तँलाई तिर्खा लाग्यो र तैँले मूलको पानी देखिस् तब मात्र, अर्थात् तैँले पिएपछि मात्र तँलाई पानी चाहिने रहेछ भन्‍ने महसुस गरिस्। परमेश्‍वरले मानवजातिको निम्ति पहिले नै पानी तयार पार्नुभएको थियो। कसैले दिनको तीन छाक वा दुई वा त्यसभन्दा बढी छाक खाओस् वा नखाओस्, तर संक्षिप्तमा भन्दा खाना मानवको दैनिक जीवनको लागि अपरिहार्य कुरा हो। यो मानव शरीरको सामान्य अस्तित्वलाई निरन्तर कायम गर्न आवश्यक पर्ने कुरामध्ये एक हो। त्यसो भए, खाना कहाँबाट आउँछ त? सर्वप्रथम त यो माटोबाट आउँछ। माटो परमेश्‍वरले मानवजातिको लागि पहिले नै तयार गर्नुभएको थियो र रूख र घाँसहरूको निम्ति मात्र नभएर यो धेरै किसिमका वनस्पतिहरूको अस्तित्वको निम्ति सुहाउँदो छ। परमेश्‍वरले मानवजातिको निम्ति सबै किसिमका अन्‍न र अन्य विविध खानाका बीउहरू तयार पार्नुभयो, र रोप्‍नको लागि उहाँले मानवजातिलाई सुहाउँदो माटो र जमिन दिनुभयो र यी कुराहरूबाट मानवजातिले खाना प्राप्त गर्छ। विभिन्‍न किसिमका खानाहरू के-के हुन् त? तिमीहरूलाई सायद यो कुरा पहिले नै थाहा छ। सर्वप्रथम, धेरै किसिमका अन्‍नहरू छन्। अन्‍नका विभिन्‍न प्रकारहरू के-के हुन्? गहुँ, झुप्पे कोदो, लस्सादार कोदो, ठूलो कागुनो र अन्य प्रकारका भुस भएका अन्‍न। अनाज पनि विभिन्‍न प्रकारका हुन्छन्, दक्षिणदेखि उत्तरसम्म विभिन्‍न प्रजातिका हुन्छन्: जौ, गहुँ, उवा, फापर आदि-इत्यादि। फरकफरक क्षेत्रहरू फरकफरक प्रजातिका निम्ति उचित हुन्छन्। धान पनि धेरै किसिमका हुन्छन्। दक्षिणमा यसका आफ्नै प्रजातिहरू हुन्छन्, जुन दक्षिणका मानिसहरूलाई सुहाउने किसिमका लामा हुन्छन्, किनकि त्यहाँको मौसम न्यानो हुन्छ, अर्थात् त्यहाँका रैथाने मानिसहरूले इन्डिका धानजस्तै धेरै नटाँसिने प्रजातिहरू खानुपर्ने हुन्छ। तिनीहरूले टाँसिने किसिमका चामल खान सक्दैनन्, नत्र तिनीहरूले आफ्नो भोक गुमाउनेछन् र त्यसलाई पचाउन सक्दैनन्। उत्तरका मानिसहरूले टाँसिने चामल खान्छन्, किनकि उत्तर सधैँ चिसो हुन्छ त्यसैले त्यहाँका मानिसहरूले बढी टाँसिने कुराहरू खानुपर्छ। त्यस्तै गरी, सिमीका पनि धेरै प्रजातिहरू छन्, जुन जमिनमाथि फल्छन् र आलु, सुठुनी, पिँडालु र अन्य धेरै कन्दमूल तरकारीहरूचाहिँ जमिनमुनि फल्छन्। आलु उत्तरमा फल्छ, त्यहाँको आलु उच्‍च गुणस्तरको हुन्छ। मानिसहरूसँग खाने अन्‍न नहुँदा प्रमुख खानाको रूपमा आलुले तिनीहरूलाई दैनिक तीन छाक खाना उपलब्ध गराउँछ। आलुलाई सञ्‍चित खानाको रूपमा पनि प्रयोग गर्न सकिन्छ। सुठुनीको गुणस्तर आलुको भन्दा नराम्रो हुन्छ तर त्यसलाई पनि दैनिक तीन छाक खाना टार्नको निम्ति प्रयोग गर्न सकिन्छ। अन्‍न पाउन कठिन हुँदा मानिसहरूले सुठुनी खाएर भोक मेटाउँछन्। दक्षिणका मानिसहरूले अक्सर पिँडालु खान्छन् र यसलाई पनि यसरी नै प्रयोग गर्न सकिन्छ र यसले पनि प्रमुख भोजनको काम गर्छ। विभिन्‍न किसिमका फरकफरक बालीहरू यिनै हुन्, जुन मानिसहरूका दैनिक खानपानका आवश्यक भाग हुन्। मानिसहरूले चाउचाउ, बफाएका रोटी, भात र चामलका चाउचाउ बनाउन विभिन्‍न किसिमका अन्‍नहरूको प्रयोग गर्छन्। परमेश्‍वरले मानवजातिको निम्ति प्रशस्त मात्रामा यी विभिन्‍न किसिमका अन्‍नहरू दिनुभएको छ। यति धेरै प्रजातिहरू किन छन् भन्‍ने कुरा परमेश्‍वरको इच्छाको कुरा हो: ती उत्तर, दक्षिण, पूर्व र पश्‍चिमका फरकफरक माटो र मौसममा उम्रनको निम्ति उपयुक्त छन्; जबकि तिनका विभिन्‍न बनावट र तिनमा निहित विभिन्‍न तत्वहरू मानव शरीरका विभिन्‍न बनावट र त्यसमा निहित विभिन्‍न तत्वहरूसँग मेल खान्छन्। यी अन्‍नहरू खाएर मात्र मानिसहरूले आफ्नो शरीरको निम्ति आवश्यक विभिन्‍न पोषक तत्व र पदार्थहरूलाई कायम गर्न सक्छन्। उत्तरी खाना र दक्षिणी खाना फरक छन्, तर तिनमा भिन्‍नता भन्‍दा पनि समानता ज्यादा छन्। दुवैले मानव शरीरका नियमित आवश्यकता तृप्त गर्न सक्छन् र यसको सामान्य अस्तित्वलाई टेवा पुर्‍याउँछन्। यसैले, हरेक क्षेत्रमा प्रशस्त प्रजातिहरूको उत्पादन हुन्छ, किनकि मानवको भौतिक शरीरलाई ती फरकफरक खानाहरूले आपूर्ति गर्ने कुराहरूको आवश्यकता हुन्छ—शरीरको सामान्य अस्तित्वको निम्ति तिनलाई माटोमा उम्रिएका विभिन्‍न खानाहरूको आपूर्ति आवश्यक पर्छ ताकि तिनीहरूले सामान्य मानव जीवन बाँच्‍न सकून्। छोटकरीमा, परमेश्‍वर मानवजातिप्रति अत्यन्तै विचारशील हुनुभएको छ। मानिसहरूलाई परमेश्‍वरले दिनुभएका विभिन्‍न खानाहरू विविधताविहीन छैनन्—यसको विपरीत, तिनीहरू अत्यन्तै व्यापक छन्। यदि मानिसहरूले अनाज खान चाहे भने, तिनीहरूले अनाज खान सक्छन्। केही मानिसहरू गहुँभन्दा धान मन पराउँछन् र गहुँ मन नपराएको कारण तिनीहरूले धान खान सक्छन्। लामा र छोटा दाना भएकालगायत धान धेरै प्रकारका हुन्छन्—अनि हरेक प्रकारका धानले मानिसको भोक मेटाउन सक्छन्। यसैले, यदि मानिसहरूले यी अन्‍नहरू खाए भने—तिनीहरूले आफ्नो खानालाई अनावश्यक रूपमा छनौट नगरेसम्म—तिनीहरूलाई पोषक तत्वको अभाव हुँदैन र तिनीहरू नमरेसम्म स्वस्थ भएर बाँच्छन् भन्‍ने सुनिश्‍चितता हुन्छ। परमेश्‍वरले मानवजातिलाई खाना उपलब्ध गराउनुहुँदा उहाँको मनमा यही विचार थियो। मानव शरीर यी कुराहरूविना रहन सक्दैन—के यो वास्तविकता होइन र? यी त मानिस आफैले समाधान गर्न नसक्‍ने व्यावहारिक समस्याहरू हुन्, तर ती समस्याहरूको लागि परमेश्‍वर तयार हुनुहुन्थ्यो: उहाँले ती समस्याहरूको बारेमा पहिले नै सोच्‍नुभयो र मानवजातिको निम्ति तयारीहरू गर्नुभयो।

तर परमेश्‍वरले मानवजातिलाई यति मात्रै दिनुभएन—उहाँले मानवजातिलाई सागसब्जीहरू पनि दिनुभयो! भातसँग यदि तैँले अरू केही पनि खाइनस् भने, तैँले पर्याप्त पोषक तत्वहरू नपाउन सक्छस्। अर्कोतिर, तैँले आफ्नो खानासँग खानको लागि केही सागसब्‍जी पकाइस् वा सलाद मिसाइस् भने, तरकारीमा भएका भिटामिनहरू र तिनका विभिन्‍न तत्वहरू र अन्य पोषक तत्वहरूले तेरो शरीरको आवश्यकतालाई प्राकृतिक रूपमा तृप्त गर्छन्। अनि मानिसहरूले खाना खाइसकेपछि अर्को खाना खानुभन्दा पहिले केही फलफूल पनि खान सक्छन्, सक्दैनन् र? कहिलेकाहीँ, मानिसहरूलाई अझ बढी तरल पदार्थहरू वा अन्य पोषक तत्वहरू वा अन्य स्वादहरूको आवश्यकता पर्दछ र यी आवश्यकता पूरा गर्नको लागि फलफूल वा तरकारीहरू छन्। उत्तर, दक्षिण, पूर्व र पश्‍चिममा माटो र मौसमहरू फरकफरक हुने हुनाले, तिनीहरूले विभिन्‍न प्रजातिका तरकारी र फलफूलहरू उत्पादन गर्छन्। दक्षिणको मौसम अत्यधिक तातो हुने हुनाले, त्यहाँ पाइने धेरैजसो फलफूल र तरकारीहरू चिसो पार्ने किसिमका हुन्छन्, र तिनलाई खाएपछि तिनले मानव शरीरमा चिसो र तातोको सन्तुलन ल्याउन सक्छन्। तुलनात्मक रूपमा, उत्तरमा कम प्रजातिका तरकारी र फलफूलहरू पाइन्छन्, तथापि स्थानीय मानिसहरूले उपभोग गर्नको निम्ति यी पर्‍याप्त हुन्छन्। तैपनि, हालका वर्षहरूमा समाजमा भएका विकासहरू र तथाकथित सामाजिक प्रगतिका साथै उत्तर, दक्षिण, पूर्व र पश्‍चिमलाई जोड्ने सञ्‍चार र यातायातको कारण उत्तरका मानिसहरूले केही दक्षिणी फलफूल र तरकारीहरू वा दक्षिणका क्षेत्रीय उत्पादनहरू खान सकेका छन् र तिनीहरू वर्षका सबै चार ऋतुमा त्यसो गर्न सक्छन्। यसले मानिसहरूका भोक र भौतिक चाहनाहरूलाई तृप्त पार्न सक्षम भए तापनि, यसले थाहै नपाई तिनीहरूको शरीरमा विभिन्‍न हदसम्म हानि पुर्‍याउँछ। यस्तो किन हुन्छ भने मानवजातिका लागि परमेश्‍वरले तयार पार्नुभएका खानेकुराहरूमा दक्षिणका मानिसहरूले खानुपर्ने खाना, फलफूल र तरकारीहरू पनि छन्, र उत्तरका मानिसहरूले खानुपर्ने भनी तयार पारिएका खाना, फलफूल र तरकारीहरू पनि छन्। भन्‍नुको तात्पर्य, यदि तँ दक्षिणमा जन्मेको होस् भने तैँले दक्षिणका खानेकुरा खानु उचित हुन्छ। दक्षिणको मौसम फरक भएको हुनाले परमेश्‍वरले विशेष रूपले यी खाना, फलफूल र तरकारीहरू तयार पार्नुभएको छ। उत्तरका मानिसका शरीरका निम्ति आवश्यक पर्ने खाना उत्तरमै पाइन्छ। तथापि मानिसहरूको भोक खन्चुवा प्रवृत्तिको छ, थाहै नपाई तिनीहरूले आफैलाई नयाँ सामाजिक चलनको छालमा बगाउँछन् र अचेतन रूपमै यी नियमहरूको उल्लङ्‍घन गर्छन्। मानिसहरूले आफ्नो जीवन विगतमा भन्दा असल भएको महसुस गरे तापनि, यस किसिमको सामाजिक प्रगतिले धेरैभन्दा धेरै मानिसहरूको शरीरमा थाहै नपाई भित्रभित्रै हानि पुर्‍याइरहेको हुन्छ। परमेश्‍वर यस्तो देख्‍न चाहनुहुन्‍न र उहाँले मानवजातिलाई यी खाना, फलफूल र तरकारीहरू उपलब्ध गराउनुहुँदा उहाँसँग यस्तो उद्देश्य थिएन। मानव आफैले परमेश्‍वरका व्यवस्थाहरू उल्लङ्‍घन गरेर वर्तमान अवस्था सृजना गरेका हुन्।

यी सबैका अतिरिक्त, परमेश्‍वरले मानवजातिको लागि उपलब्ध गराउनुभएको प्रशस्‍तता वास्तवमै प्रचुर मात्रामा छ र हरेक ठाउँको आफ्‍नै स्थानीय उत्पादन छ। उदाहरणको निम्ति, केही ठाउँमा रातो खजूर प्रशस्‍त हुन्छ (जसलाई जुजुबे भनेर पनि चिनिन्छ), अरू ठाउँमा प्रशस्‍त ओखर हुन्छ र अझै अरू ठाउँमा बदाम वा यस्तै अन्य विभिन्‍न किसिमका फलहरू प्रशस्‍त हुन्छन्। यी सबै भौतिक कुराहरूले मानव शरीरलाई चाहिने पोषक तत्वहरू प्रदान गर्छन्। तर परमेश्‍वरले मानवजातिलाई ठीक परिमाण र ठीक समयमा वर्षको ऋतुअनुसार यी कुराहरूको आपूर्ति गर्नुहुन्छ। मानवजातिले भौतिक आनन्दको लालच गर्छ र ऊ खन्चुवा छ, जसले गर्दा परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुहुँदा स्थापित गर्नुभएका मानव वृद्धिका प्राकृतिक नियमहरूलाई उसले सहजै भङ्ग गर्न र नोक्सानी पुर्‍याउन सक्छ। उदाहरणको रूपमा चेरीलाई लिऔं। ती जुन महिनातिर पाक्छन्। सामान्य परिस्थितिमा अगष्ट महिनासम्ममा चेरीहरू केही पनि बाँकी रहँदैनन्। तिनलाई दुई महिना मात्र ताजा राख्‍न सकिन्छ तर वैज्ञानिक प्रविधिहरूको प्रयोग गरेर अहिले मानिसहरूले त्यस अवधिलाई बाह्र महिनासम्म, चेरीको अर्को मौषमसम्म पनि लम्ब्याउन सक्षम छन्। यसको अर्थ यही हो कि वर्षभरि चेरीहरू पाइन्छन्। के यो घटना सामान्य हो र? (होइन।) त्यसो भए चेरी खाने सबैभन्दा राम्रो समय कुन हो त? त्यो जुनदेखि अगस्टसम्मको अवधि हो। यो समय काटेपछि तिनलाई जति ताजा राखे पनि तिनको स्वाद उस्तै हुँदैन, न त मानव शरीरलाई आवश्यक पर्ने कुरा नै तिनले दिन्छन्। मिति सकिएपछि तैँले जुनसुकै रसायन हाले तापनि प्राकृतिक रूपमा फल्दाको अवस्थामा तिनमा पाइने सबै गुण हाल्न सक्‍नेछैनस्। यसका अतिरिक्त, मानवमा ती रसायनले गर्ने हानिलाई जति नै प्रयास गरे तापनि कसैले पनि समाधान वा परिवर्तन गर्न सक्दैन। त्यसो भए, वर्तमान बजार अर्थव्यवस्थाले मानिसहरूमा के ल्याउँछ त? मानिसहरूको जीवन अझ राम्रो भएजस्तो देखिन्छ, एक क्षेत्रदेखि अर्को क्षेत्रसम्मको यातायात धेरै सुविधाजनक भएको छ र मानिसहरूले चार ऋतुमध्ये कुनै पनि समयमा सबै किसिमका फलफूलहरू खान सक्छन्। उत्तरका मानिसहरू नियमित रूपमा दक्षिणका केराहरू, क्षेत्रीय व्यञ्‍जनहरू, फलफूल वा अन्य खानाहरू खान सक्छन्। तर परमेश्‍वरले मानवजातिलाई दिन चाहनुभएको जीवन यो होइन। यस प्रकारको बजार अर्थव्यवस्थाले मानिसहरूको जीवनमा केही फाइदा ल्याउन त सक्ला, तर यसले हानि पनि ल्याउँछ। बजारमा प्रशस्त पाइने भएको कारण धेरै मानिसहरूले मैले मुखमा के हालिरहेको छु भन्‍ने कुरा नै नसोची खान्छन्। यो व्यवहारले प्रकृतिको नियमहरूलाई उल्लङ्‍घन गर्छ र यो मानिसहरूको स्वास्थ्यको लागि हानिकारक हुन्छ। यसैले, बजार अर्थव्यवस्थाले मानिसहरूमा साँचो खुसी ल्याउन सक्दैन। तिमीहरू, आफै हेर। के बजारमा अङ्गुर चारै ऋतुमा बेचिन्‍न र? वास्तवमा, अङ्गुरहरू टिपेपछि धेरै छोटो समयको निम्ति मात्र ताजा रहन्छन्। यदि तैँले त्यसलाई अर्को वर्षको जुनसम्म राखिस् भने, त्यसलाई अझ पनि अङ्गुर नै भनिन्छ र? कि त्यसलाई “फोहोर” भन्दा राम्रो होला? त्यसमा ताजा अङ्गुरका तत्वहरूको अभाव हुने मात्र नभएर—त्यसमा धेरै रसायनहरू पनि मिसिएका हुन्छन्। एक वर्षपछि त्यो ताजा रहँदैन र त्यसमा भएका पोषक तत्वहरू पहिले नै गइसकेका हुन्छन्। जब मानिसहरूले अङ्गुर खान्छन्, तिनीहरूले यस्तो महसुस गर्छन्, “हामी कति भाग्यमानी! तीस वर्षअगाडि के हामीले यस मौसममा अङ्गुर खान पाउथ्यौं त? चाहेर पनि खान पाउँदैनथ्यौं! अहिले जीवन धेरै राम्रो भएको छ!” के यो वास्तवमै सुख हो त? यदि तँ इच्छुक छस् भने तैँले रसायनद्वारा संरक्षण गरिएको अङ्गुरको बारेमा अनुसन्धान गरेर तिनीहरू ती केले बनेका रहेछन् र ती तत्वहरू मानवको लागि हितकर छन् कि छैनन् भनेर हेर्न सक्छस्। व्यवस्थाको युगमा, जब इस्राएलीहरूले मिश्र छाडेर यात्रा गरिरहेका थिए, परमेश्‍वरले तिनीहरूलाई बट्टाई र मन्‍न दिनुभयो। तर के परमेश्‍वरले तिनीहरूलाई खानाको संरक्षण गर्ने अनुमति दिनुभयो त? तिनीहरूमध्ये केही अदूरदर्शी थिए र अर्को दिन पाइन्‍न भनी डराएर तिनीहरूले पछिको लागि केही छुट्याएर राखे। त्यसपछि के भयो? अर्को दिन, त्यो कुहिएको थियो। परमेश्‍वरले तँलाई केही मात्रामा साँचेर राख्‍न दिनुहुन्‍न, किनकि तँ भोको हुनेछैनस् भन्‍ने सुनिश्‍चितता दिने गरी उहाँले तयारीहरू गर्नुभएको हुन्छ। तर मानवजातिमा त्यो आत्मविश्‍वास छैन, न त तिनीहरूसँग परमेश्‍वरप्रति साँचो विश्‍वास नै छ। तिनीहरूले सँधै आफैलाई आफ्नो तजबिजमा केही हेरफेर गर्ने स्वतन्त्रता दिन चाहन्छन् र मानवजातिको निम्ति तयारीहरू गर्दा परमेश्‍वरले गर्नुभएको सारा वास्ता र ध्यानलाई तिनीहरूले कहिल्यै पनि देख्‍न सक्दैनन्। तिनीहरूले यो कुरा महसुस गर्न सक्दैनन्, यसैले तिनीहरूले आफ्नो विश्‍वास पूर्ण रूपमा परमेश्‍वरमा राख्‍न सक्दैनन्, अनि तिनीहरूले सधैँ यस्तो सोच्छन्: “परमेश्‍वरका कार्यहरू भरोसा गर्न योग्य छैनन्! परमेश्‍वरले हामीलाई चाहिएको कुरा दिनुहुन्छ कि हुन्‍न वा त्यो कहिले दिनुहुन्छ भन्‍ने कुरा कसलाई थाहा छ र! यदि म भोको भएँ र परमेश्‍वरले पोषण उपलब्ध गराउनुभएन भने, म भोकै पर्दिनँ र? के मलाई पोषक तत्वको अभाव हुँदैन र?” हेर त मानिसको आत्मविश्‍वास कति झीनो छ!

अन्‍न, फलफूल, सागसब्‍जी र सबै किसिमका बदामजस्ता खानेकुराहरू—यी सबै शाकाहारी भोजनहरू हुन्। ती शाकाहारी भोजन भए तापनि, तिनमा मानव शरीरका आवश्यकता पूरा गर्ने पर्याप्त पोषक तत्वहरू हुन्छन्। तापनि, परमेश्‍वरले यसो भन्‍नुभएन: “म मानवजातिलाई यी खानेकुराहरू मात्र दिन्छु। तिनीहरूले यी खानेकुराहरू मात्र खाऊन्।” परमेश्‍वर त्यहाँ रोकिनुभएन, तर मानवजातिको निम्ति धेरै थप स्वादिष्ठ खानेकुराहरू तयार गर्ने कार्यमा लाग्‍नुभयो। यी खानेकुराहरू के-के हुन् त? ती तिमीहरूले खान र देख्‍न सक्‍ने विभिन्‍न किसिमका माछा र मासु हुन्। उहाँले मानिसको निम्ति धेरै किसिमका माछा र मासु दुवै तयार पार्नुभयो। माछा पानीमा बस्छ र पानीमा बस्‍ने माछाको मासुको तत्व जमिनमा बस्‍ने जनावरहरूको भन्दा फरक हुन्छ र त्यसले मानिसलाई फरक पोषक तत्वहरू प्रदान गर्छ। माछामा मानव शरीरभित्र चिसो र तातो नियन्त्रण गर्ने गुणहरू पनि हुन्छ, जसले मानिसलाई ठूलो फाइदा दिन्छ। तर स्वादिष्ठ खानेकुराहरू धेरै खानु हुँदैन। मैले पहिले नै भनिसकेँ, परमेश्‍वरले मानवजातिलाई ठीक समयमा ठीक परिमाणमा खानेकुरा दिनुभएको छ, ताकि उहाँले प्रदान गर्नुभएका कुराहरूलाई मानिसहरूले सामान्य रूपमा र ऋतु र समयअनुसार उचित तवरले उपभोग गर्न सकून्। अब, पन्छी वर्गमा कस्ता किसिमका खानेकुराहरू समावेश छन् त? कुखुरा, बट्टाई, परेवा र यस्तै अन्य पन्छीहरू। धेरै मानिसहरूले हाँस र रजहाँस पनि खान्छन्। परमेश्‍वरले यी सबै किसिमका मासुहरू उपलब्ध गराउनुभएको भए तापनि, व्यवस्थाको युगमा उहाँले आफ्‍ना चुनिएका मानिसहरूलाई निश्‍चित मापदण्डहरू दिनुभयो र तिनीहरूका आहारामा विशेष सीमाहरू तोक्‍नुभयो। आजभोलि यी सीमाहरू व्यक्तिगत स्वाद र व्यक्तिगत व्याख्यामा भर पर्छन्। यी विविध मासुहरूले मानव शरीरलाई विविध पोषक तत्वहरू प्रदान गर्छन्, प्रोटिन र फलामको आवश्यकता पूर्ति गर्छन्, रगतलाई समृद्ध बनाउँछन्, मांसपेशी र हाडहरूलाई बलिष्ठ बनाउँछन् र शरीरको शक्ति निर्माण गर्छन्। मानिसहरूले जसरी पकाएर खाए तापनि यी मासुहरूले तिनीहरूका खानाका स्वादलाई सुधार्छन् र तिनीहरूका खाने रुचि बढाउनुका साथै तिनीहरूका पेटलाई तृप्त पनि पार्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा त यी खानाहरूले मानव शरीरलाई आवश्यक दैनिक पोषक तत्वहरू पूर्ति गर्छन्। परमेश्‍वरले मानवजातिको निम्ति खाना तयार गर्नुहुँदा यी कुराहरूमा ध्यान दिनुभयो। तरकारी र मासु—के यो प्रशस्त छैन र? तर मानवजातिको निम्ति सबै खानेकुरा उपलब्ध गराउनुको पछाडि परमेश्‍वरको उद्देश्य के छ भन्‍ने कुरा मानिसहरूले बुझ्‍नुपर्छ। के यो मानिसहरूलाई खानेकुरामा चाहिनेभन्दा बढी लिप्त गराउनलाई थियो? मानिस यी भौतिक चाहनाहरू तृप्त गर्ने प्रयासमा अल्झियो भने के हुन्छ? के उसले चाहिनेभन्दा बढी पोषण प्राप्त गर्दैन र? के अत्यन्तै धेरै पोषणले मानव शरीरलाई धेरै किसिमले सताउँदैन र? (सताउँछ।) यही कारणले गर्दा, परमेश्‍वरले ठीक समयमा ठीक परिमाण दिनुहुन्छ र मानिसलाई मानिसहरूको आनन्दको निम्ति फरकफरक समय र ऋतुहरूमा फरकफरक किसिमका खानाहरू दिनुहुन्छ। उदाहरणको लागि, धेरै गर्मी ग्रीष्म ऋतुपछि मानिसहरूको शरीरमा धेरै ताप र रोगजन्य सुक्खापन तथा आद्रता जम्मा हुन्छ। जब शरद् ऋतु आउँछ, धेरै किसिमका फलफूलहरू पाक्छन् र जब मानिसहरूले ती फलफूलहरू खान्छन् तिनीहरूको शरीरमा भएको आद्रता बाहिर निस्कन्छ। यस समयमा, गाईवस्तु र भेडाहरू पनि बलिया भएका हुन्छन्, यसैले मानिसहरूले यस बेला पोषणको निम्ति धेरै मासु खानुपर्छ। विविध किसिमका मासु खाएर मानिसहरूको शरीरले हिउँदको जाडो सहन सहयोग पुर्‍याउने शक्ति र न्यानोपन प्राप्त गर्छ, फलस्वरूप तिनीहरू सुरक्षित र स्वस्थ रहेर हिउँद कटाउन सक्षम हुन्छन्। मानवजातिलाई के कुरा कहिले उपलब्ध गराउने, अनि उहाँले कहिले विभिन्‍न कुराहरूलाई वृद्धि गराउनुहुनेछ, फल फलाउनुहुनेछ र ती फललाई पकाउनुहुनेछ भन्‍ने कुरालाई परमेश्‍वरले अत्यन्तै वास्ता र सूक्ष्मताका साथ नियन्त्रण र समन्वय गर्नुहुन्छ। यो “परमेश्‍वरले मानिसलाई दैनिक जीवनमा आवश्यक पर्ने खाना कसरी तयार गर्नुहुन्छ” भन्‍ने वाक्यसँग सम्बन्धित छ। विभिन्‍न किसिमका खानाका अतिरिक्त, परमेश्‍वरले पानीका स्रोतहरू पनि उपलब्ध गराउनुभएको छ। खाना खाएपछि मानिसहरूले पानी पनि पिउनुपर्छ। के फलफूल मात्रै पर्याप्त छ त? मानिसहरू फलफूलले मात्र बाँच्‍न सक्दैनन्, यसबाहेक केही मौसममा त फलफूल नै हुँदैन। यसैले, मानवजातिको पानीसम्‍बन्धी समस्यालाई कसरी समाधान गर्न सकिन्छ त? जमिनमाथि र मुनि ताल, नदी र मूलहरूलगायतका पानीका धेरै स्रोतहरूको तयारी गरेर परमेश्‍वरले यसको समाधान गर्नुभएको छ। यी पानीका स्रोतहरू प्रदूषित नहुन्जेलसम्म र मानिसहरूले तिनलाई हेरफेर वा नष्ट नगरुन्जेलसम्म ती पिउनयोग्य हुन्‍छन्। अर्को शब्दमा, मानवजातिको भौतिक शरीरको जीवन धान्‍ने खानाका स्रोतहरूको सम्बन्धमा परमेश्‍वरले एकदमै स्पष्ट, अत्यन्तै सही र अत्यन्तै उचित तयारीहरू गर्नुभएको छ, ताकि मानिसहरूको जीवन केही कुराको अभावविना सम्पन्‍न र भरपूर होस्। यो मानिसहरूले महसुस गर्न सक्‍ने र देख्‍न सक्‍ने कुरा हो।

यसका अतिरिक्त, परमेश्‍वरले सबै थोकमाझ केही बोटविरुवा, जनावर र विभिन्‍न किसिमका जडीबुटीहरूको सृष्टि गर्नुभयो, जसले मानव शरीरका चोट वा बिमारीहरू निको पार्ने काम गर्छन्। उदाहरणको निम्ति, कसैलाई आगोले पोल्यो वा दुर्घटनावश उसले आफैलाई तातो पानीले जलायो भने के गर्नुपर्छ? के तैँले जलेको भागलाई पानीले धुन सक्छस्? के तैँले त्यसलाई कुनै पुरानो कपडाले बाँध्‍न सक्छस्? यदि तैँले त्यसो गरिस् भने घाउमा पीप भरिन वा सङ्क्रमण हुन सक्छ। उदाहरणको निम्ति, यदि कसैलाई ज्वरो आयो वा चिसो लाग्यो; काम गर्दा चोट लाग्यो; गलत कुरा खाएर पेट खराब भयो; जीवनशैली वा भावनात्मक कुराहरूको कारण विकास हुने रक्तवाहिनी नलीसँग सम्बन्धित रोग, मनोविज्ञानसँग सम्बन्धित वा भित्री अङ्गहरूसँग सम्बन्धित रोगहरू लाग्यो; यदि यस्तो भयो भने तिनीहरूका रोगहरू निको पार्नका लागि त्यसैअनुरूपका वनस्पतिहरू छन्। रक्त सञ्‍चारमा सुधार गर्ने र दूषित कुरा हटाउने, पीडा कम गर्ने, रक्तस्राव रोक्‍ने, दुखाइ कम गर्ने, छालालाई निको पारेर सामान्य अवस्थामा फर्काउन र रक्त गतिहीनता हटाउने र शरीरबाट विषाक्त कुराहरू बाहिर निकाल्ने—छोटकरीमा भन्दा, दैनिक जीवनमा यी वनस्पतिहरूका प्रयोगहरू छन्। मानिसहरूले तिनको प्रयोग गर्न सक्छन् र आवश्यक परेको बेला प्रयोग गर्न सकियोस् भनेर नै परमेश्‍वरले मानव शरीरको लागि यिनीहरू तयार गर्नुभएको हो। तीमध्ये कतिपयको बारेमा परमेश्‍वरले मानिसलाई संयोगवश पत्ता लगाउन दिनुभयो, जबकि बाँकी कुराहरूको बारेमा भने कि त परमेश्‍वरले छनौट गर्नुभएका मानिसहरूले पत्ता लगाए कि त उहाँले तारतम्य मिलाउनुभएका विशेष घटनाहरूको कारण आफै पत्ता लाग्यो। यी वनस्पतिहरू भेटिएपछि, मानवजातिले तिनलाई पुस्ताहरूमा हस्तान्तरण गरे अनि धेरै मानिसहरूलाई तिनको बारेमा थाहा भयो। परमेश्‍वरले सृष्टि गर्नुभएका यी वनस्पतिहरूका मूल्य र अर्थ छन्। सारांशमा, यी सबै थोक परमेश्‍वरबाट आएका, उहाँले मानवजातिको अस्तित्वको वातावरण तयार गर्ने क्रममा उहाँले तयार गर्नुभएका र रोप्‍नुभएका कुराहरू हुन्। तिनीहरू अत्यावश्यक छन्। के परमेश्‍वरका सोचविचार प्रक्रियाहरू मानवजातिका भन्दा विस्तृत छन्? जब तँ परमेश्‍वरले गर्नुभएका सबै थोक देख्छस्, के तैँले परमेश्‍वरको व्यवहारिक पक्षलाई अनुभूति गर्छस्? परमेश्‍वरले गुप्त रूपमा काम गर्नुहुन्छ। परमेश्‍वरले यी सबैको सृष्टि मानिस संसारमा आउनुभन्दा अगाडि नै, उहाँले मानिसलाई सम्पर्क गर्नुभन्दा अगाडि नै गर्नुभयो। सबै कुरा मानवजातिलाई ध्यानमा राखेर, मानिसको अस्तित्वको खातिर र तिनीहरूको अस्तित्वलाई सोचेर गरिएका थिए, ताकि मानवजाति तिनीहरूको निम्ति तयार पारिएको यस सम्पन्‍न र प्रचुर भौतिक संसारमा खुसीसाथ खाना र वस्‍त्रको चिन्ता नगरी कुनै कुराको अभावविना बाँचोस्। यस्तो वातावरणमा मानवजाति निरन्तर प्रजनन गर्न र जिउन सक्छ।

परमेश्‍वरका सबै ठूला र साना कार्यहरूमध्ये, के त्यहाँ कुनै महत्त्व वा अर्थ नभएको कुनै कार्य छ? उहाँले गर्ने सबै कुराको महत्त्व वा अर्थ हुन्छ। हामी छलफललाई सामान्य विषयको साथमा सुरु गरौं। मानिसले प्रायः सोध्छन्: कुन पहिले उत्पत्ति भयो, कुखुरा वा अण्डा? (कुखुरा।) कुखुरा पहिले उत्पत्ति भएको हो, यसमा कुनै शङ्का छैन! किन कुखुराको पहिले उत्पत्ति भएको हो? किन पहिले अण्डाको उत्पत्ति हुन सकेन? के कुखुरा अण्डाबाट निस्किने होइन र? एक्‍काइस दिनपछि, चल्ला कोरलिन्छ र त्यसपछि त्यो कुखुराले अझै धेरै अण्डाहरू पार्छ र ती अण्डाहरूबाट थप कुखुराहरू निस्कन्छन्। त्यसैले कुखुरा र अण्डामा कुन पहिले उत्पत्ति भयो? तिमीहरूले पूर्ण निश्‍चयतासाथ “कुखुरा” भन्‍ने जवाफ दिन्छौ। तर किन तिमीहरूको यो जबाफ हुन्छ त? (बाइबलले भन्छ कि परमेश्‍वरले चरा र जनावरहरूको सृष्टि गर्नुभयो।) त्यसैले, तिमीहरूको जबाफ बाइबलमा आधारित छ। तर म तिमीहरूको आफ्नै बुझाइको बारेमा कुरा गर्न चाहन्छु, ताकि म तिमीहरूसँग परमेश्‍वरका कार्यहरूको बारेमा कुनै व्यवहारिक ज्ञान छ कि भनी देख्‍न सकूँ। अब, के तिमीहरू आफ्नो जबाफमा ढुक्‍क छौ, कि छैनौ? (परमेश्‍वरले कुखुराको सृष्टि गर्नुभयो, त्यसपछि यसलाई प्रजननको क्षमता प्रदान गर्नुभयो, जसको अर्थ ओथारो बसी अण्डा कोरल्ने क्षमता हो।) यो व्याख्या केही हदसम्म सही छ। कुखुराको पहिले उत्पत्ति भयो र त्यसपछि अण्डाको। यो निश्‍चित हो। यो विशेष रूपले गहन रहस्य होइन, तर संसारका मानिसहरूले तैपनि यसलाई गहन भएको विचार गर्छन् र यसलाई दार्शनिक सिद्धान्तहरूको साथमा सुल्झाउने प्रयास गर्छन्, जुन कहिल्यै पनि निष्कर्षमा पुग्दैन। यो कुरा मानिसहरूलाई परमेश्‍वरले आफूलाई सृष्टि गर्नुभएको हो भनी थाहा नभएको बेलाको जस्तै हो। तिनीहरूलाई यो आधारभूत सिद्धान्त थाहा छैन, न त तिनीहरूसँग अण्डा वा कुखुरामा कुन पहिले उत्पत्ति भएको भन्‍नेबारेमा स्पष्ट विचार नै छ। उनीहरूलाई कुन पहिले उत्पत्ति भएको हुनुपर्छ भन्‍ने कुरा थाहा छैन, त्यसैले उनीहरू कहिल्यै पनि जबाफ पत्ता लगाउन सक्षम हुँदैनन्। कुखुरा पहिले उत्पत्ति भएको कुरा काफी प्राकृतिक छ। यदि कुखुराभन्दा पहिले नै त्यहाँ अण्डा भइदिएको भए, त्यो असाधारण हुन्थ्यो! यो यति सरल कुरा हो—निश्‍चय नै कुखुराको पहिले उत्पत्ति भएको हो। यो उच्‍च ज्ञान आवश्यक पर्ने प्रश्‍न होइन। परमेश्‍वरले सबै कुराको सृष्टि गर्नुभयो, ताकि मानिसले यसको आनन्द उठाउन सकोस्। एकपटक कुखुरा अस्तित्वमा आएपछि, अण्डाले प्रकृतिको मार्ग पालन गर्दछ। के यो सहज समाधान होइन त? यदि अण्डाको पहिले सृष्टि भएको भए, के यसलाई कोरल्नको लागि कुखुरा चाहिने थिएन र? सीधै कुखुराको सृष्टि गर्नु थप सहज समाधान हो। यो तरिकाले, कुखुराले अण्डा पार्न सक्थ्यो र यसभित्रका कुखुराहरूलाई कोरल्न सक्थ्यो र मानिसहरूले खानको लागि कुखुरा पाउँथे। कति सजिलो! परमेश्‍वरले गर्नुहुने कार्यहरू कति सफा र स्वच्छ छन्, बिलकुलै जटिल छैनन्। अण्डा कहाँबाट उत्पत्ति भयो? यो कुखुराबाट आउँछ। कुखुराविना कुनै पनि अण्डा हुन सक्दैन। परमेश्‍वरले सृष्टि गर्नुभएको कुरा सजीव वस्तु हो! मानवजाति विवेकहीन र हास्यास्पद छ, जो सधैँ यस्ता साधारण कुराहरूमा अल्झिरहन्छ र हास्यास्पद भ्रमहरूमा पुग्छ। मानिस कस्तो बच्‍चाजस्तो छ! अण्डा र कुखुराको सम्बन्ध स्पष्ट छ: कुखुराको पहिले उत्पत्ति भएको हो। यो नै सबैभन्दा सही व्याख्या हो, यो नै यसलाई बुझ्ने सबैभन्दा सही तरिका हो र यो नै सबैभन्दा सही जबाफ हो। यो नै सही हो।

हामीले भर्खरै कुन-कुन विषयहरूमा छलफल गर्‍यौं? हामीले मानवजाति बसोबास गर्ने वातावरण र परमेश्‍वरले त्यो वातावरणको लागि जे गर्नुभयो र उहाँले जे-जस्तो तयारी गर्नुभयो सोबारेमा कुरा गर्दै छलफल सुरु गर्‍यौं। हामीले उहाँले के व्यवस्थित गर्नुभयो; परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुभएका सृष्टिका वस्तुहरूबीचको सम्बन्ध; र परमेश्‍वरले आफूले सृष्टि गर्नुभएका यी कुराहरूले मानवजातिलाई हानि गर्नबाट रोक्‍न यी सम्बन्धहरूलाई कसरी व्यवस्थित गर्नुभयो भन्‍ने विषयमा छलफल गर्यौं। परमेश्‍वरले उहाँको सृष्टिभित्र भएका विभिन्‍न कारक तत्वहरूबाट मानवजातिको वातावरणमा हुन सक्‍ने हानिलाई न्यूनीकरण गर्नुभयो, जसले सबै कुराहरूलाई आ-आफ्नो उच्‍चतम उद्देश्य पूरा गर्न र मानवजातिलाई लाभदायक तत्त्वहरूसहितको उपयोगी वातावरण निर्माण गर्नमा मदत गर्छ, र यसबाट मानवजाति यस्तो वातावरणमा अनुकूलन गर्न र जीवन र प्रजननको चक्रलाई लगातार जारी राख्‍न सक्षम बन्छ। अर्को कुरा, हामीले मानव शरीरलाई आवश्यक पर्ने खाना—मानवजातिको दैनिक खाद्य र पेयपदार्थको बारेमा कुरा गर्‍यौं। यो मानवजाति बाँच्‍नको लागि आवश्यक पर्ने अवस्था पनि हो। भन्‍नुको मतलब, मानव शरीर सास फेरेर मात्र, घाम, हावा वा उपयुक्त तापक्रमहरूले मात्र बाँच्न सक्दैन। मानवजातिले आफ्नो पेट पनि भर्न आवश्यक हुन्छ र परमेश्‍वरले कुनै कुराको पनि नजरअन्दाज नगरी तिनीहरूले पेट भर्न सक्‍ने वस्तुहरूको स्रोत तयार पार्नुभयो, र तिनीहरू नै मानवजातिको खानाको स्रोत हुन्। जब तैँले यस्तो प्रशस्त र यथेष्ट उत्पादन—मानवजातिको खाद्य र पेयपदार्थको स्रोत—देखेको हुन्‍छस्, के तँ परमेश्‍वर नै मानवजाति र उहाँको सृष्टिका सबै वस्तुहरूको लागि आपूर्तिको स्रोत हुनुहुन्छ भनेर भन्‍न सक्छस्? यदि सृष्टिको समयमा, परमेश्‍वरले निश्‍चित सङ्ख्यामा रूखहरू वा घाँस वा कुनै पनि संख्यामा अन्य जीवित वस्तुहरू सृष्टि गर्नुभएको भए र यदि यी विभिन्‍न जीवित वस्तुहरू र बिरुवाहरू गाई र भेडाले खानको लागि वा वनघोडा, मृग र अन्य विभिन्‍न प्रकारका जनावरहरूले खानको लागि मात्र भएको भए, र यसै गरी सिंहहरूले वनघोडा र मृगजस्ता जन्तुहरू र बाघहरूले भेडा र सुँगुरजस्ता जन्तुहरू खान्थे भने—तर मानवको लागि खानलाई उपयुक्त कुरा एउटा पनि नभएको भए, के त्यसले काम गर्थ्यो त? यसले काम गर्दैनथ्यो। मानवजाति धेरै समयसम्म बाँच्न सक्षम हुँदैनथ्यो। मानवले पातहरू मात्र खाने भएको भए के हुन्थ्यो? के त्यसले काम गर्थ्यो त? के मानिसले भेडाको लागि बनेको घाँस खान सक्थ्यो? तिनीहरूले थोरै प्रयास गर्दा त यसले हानि गर्दैनथ्यो होला, तर यदि तिनीहरूले यस्तो कुरा लामो समयसम्म खाएको भए, तिनीहरूको पेटले यसलाई सहन सक्दैनथ्यो र मानिसहरू लामो समयसम्म बाँच्दैनथे। यसमा यस्ता कुराहरू पनि छन् जुन जनावरहरूले खान सक्छन् तर मानवहरूका लागि ती विषालु छन्—जनावरहरूले तिनीहरूलाई कुनै पनि नराम्रो परिणामविना नै खान सक्छन्, तर ती कुरा मानवहरूको लागि त्यस्तै हुँदैनन्। भन्‍नुको मतलब, परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो, त्यसैले परमेश्‍वरलाई नै सबैभन्दा उत्तम रूपमा मानव शरीरको सिद्धान्त र संरचनाका साथै मानवलाई के आवश्यक हुन्छ भन्‍ने ज्ञान छ। परमेश्‍वरलाई शरीरको संरचना र यसभित्रका विभिन्‍न तत्वहरू, यसका आवश्यकताहरू र यसका आन्तरिक अङ्गहरूका कार्यहरू र तिनीहरूले विभिन्‍न पदार्थहरू कसरी सोस्छन्, हटाउँछन् र पचाउँछन् भन्‍ने कुरा सबैभन्दा स्पष्ट रूपमा थाहा छ। मानवलाई यो कुरा थाहा हुँदैन; कहिलेकाहीँ तिनीहरूले अति लापर्बाहीपूर्वक खान्छन् वा लापर्बाहीपूर्वक स्व-हेरचाह गर्छन्, जसको ज्यादा मात्राले केवल असन्तुलन गराउँछ। यदि तैँले परमेश्‍वरले तेरो लागि तयार गर्नुभएका कुराहरू साधारण तरिकाले खाइस् वा उपभोग गरिस् भने, तँमा कुनै पनि स्वास्थ्य समस्या हुनेछैन। यदि तैँले कहिलेकाहीँ खराब मनस्थितिको अनुभव गरिस् वा तँमा रक्त गतिहीनता भएमा समेत, यसले कुनै समस्या पार्नेछैन। तैँले निश्‍चत प्रकारका वनस्पति मात्र खानु आवश्यक हुन्छ र गतिरोध हट्नेछ। परमेश्‍वरले यी सबै कुराहरूको लागि तयारी गर्नुभएको छ। त्यसैले, परमेश्‍वरको नजरमा, मानवजाति अन्य सबै जीवित वस्तुहरूभन्दा धेरै माथिको हो। परमेश्‍वरले प्रत्येक प्रकारको वनस्पतिको लागि वातावरण तयार गर्नुभयो र उहाँले प्रत्येक प्रकारको जनावरको लागि खाना र वातावरण तयार गर्नुभयो, तर मानवजातिलाई वातावरणसम्बन्धी सबैभन्दा कठोर आवश्यकता हुन्छ र ती आवश्यकताहरूलाई नजरअन्दाज गर्न सकिँदैन; यदि तिनीहरूलाई नजरअन्दाज गरिएको भए, मानवजाति सामान्य तवरमा निरन्तर विकसित हुन, बाँच्न र प्रजनन गर्न सक्षम हुँदैनथ्यो। यो कुरा हृदयदेखि नै सबैभन्दा राम्रोसँग थाहा हुने परमेश्‍वर नै हुनुहुन्छ। जब परमेश्‍वरले यो काम गर्नुभयो, उहाँले अन्य कुनै पनि कुरामा भन्दा यसमा बढी महत्त्व दिनुभयो। सम्भवतः तैँले आफूले देख्‍ने र जीवनमा आनन्द लिने कुनै कुरा वा तँसँग जन्मदेखि भएका तैँले देख्‍ने र आनन्द लिने केही मामुली कुराहरूको महत्त्व अनुभूत गर्न तँ सक्षम छैनस् होला, तर परमेश्‍वरले तेरो लागि वर्षौँपहिले नै वा गोप्य रूपमा तयारीहरू गरिसक्‍नुभएको छ। सम्भव भएको सबैभन्दा बढी हदसम्म, परमेश्‍वरले मानवजातिको लागि प्रतिकूल वा मानव शरीरमा हानि गर्न सक्‍ने सबै नकारात्मक तत्त्वहरूलाई हटाउनुभएको वा साम्य पार्नुभएको छ। यसले के देखाउँछ त? के यसले उक्त समयमा परमेश्‍वरले मानवजातिलाई बनाउनुहुँदा उनीहरूप्रति रहेको उहाँको मनोवृत्तिलाई देखाउँछ? त्यो मनोवृत्ति के थियो? परमेश्‍वरको मनोवृत्ति सावधान र इमानदार प्रकृतिको थियो र यसले उहाँको बाहेक अरू कुनै पनि शत्रुबल वा बाह्य कारक वा अवस्थाहरूद्वारा हुने हस्तक्षेप सहन गर्दैनथ्यो। यसमा उक्त समय मानवजातिलाई सृष्टि गर्ने र व्यवस्थित गर्ने परमेश्‍वरको मनोवृत्ति देख्‍न सकिन्छ। अनि, परमेश्‍वरको मनोवृत्तिचाहिँ के हो त? बाँच्नको लागि वातावरण र मानवजातिले आनन्द लिने जीवनका साथै तिनीहरूको दैनिक खाद्य तथा पेयपदार्थ र दैनिक आवश्यकताहरूमार्फत, हामीले मानवजातिप्रति परमेश्‍वरको उत्तरदायित्वको मनोवृत्ति देख्‍न सक्छौं, जुन उहाँले मानिसको सृष्टि गर्नुभएदेखि नै कायम गर्दै आउनुभएको छ, यसको साथै उक्त समयमा मानवजातिलाई बचाउने उहाँको दृढ़ सङ्कल्प पनि देख्‍न सक्छौँ। के यी वस्तुहरूमा परमेश्‍वरको आधिकारिकता देख्‍न सकिने किसिमको छ? अनि उहाँको अद्‌भूतता नि? उहाँको अथाहपन? उहाँको सर्वशक्तिमान्‌ता? परमेश्‍वरले सबै मानवजातिको लागि आवश्यक कुराहरू प्रदान गर्न, साथै उहाँको सृष्टिका सबै थोकलाई भरणपोषण गर्नको लागि आफ्नो बुद्धिमान् र सर्वशक्तिमान् शैली प्रयोग गर्नुहुन्छ। अब मैले तँलाई धेरै कुरा भनिसकेको छु, के तँ भन्‍न सक्छस् कि सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ? (सक्छु।) त्यो निश्‍चय नै हो। के तँलाई कुनै शङ्का छ? (छैन।) सबै कुराको लागि परमेश्‍वरले गर्नुभएको प्रावधान नै सबै कुराहरूको लागि जीवनको स्रोत उहाँ नै हुनुहुन्छ भन्‍ने देखाउन पर्याप्त छ, किनभने सबै थोकलाई अस्तित्वमा रहन, जीवन जिउन, प्रजनन गर्न र निरन्तर रूपमा अघि बढिरहन सक्षम पार्ने उक्त प्रावधानको स्रोत उहाँ नै हुनुहुन्छ र परमेश्‍वर स्वयम्‌बाहेक अरू कुनै पनि स्रोत विद्यमान छैन। परमेश्‍वरले सबै थोकका सबै आवश्यकता र मानवजातिका पनि सबै आवश्यकता पूरा गर्नुहुन्छ, चाहे ती मानिसहरूका सबैभन्दा आधारभूत वातावरणीय आवश्यकताहरू हुन्, चाहे उनीहरूका दैनिक जीवनका आवश्यकताहरू हुन्, वा चाहे उहाँले मानिसहरूका आत्मालाई प्रदान गर्नुहुने सत्यताका आवश्यकता नै हुन्। मानव दृष्टिकोणबाट परमेश्‍वरको पहिचान र उहाँको हैसियतलाई हेर्दा, हरेक प्रकारले सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर मात्र हुनुहुन्छ। के यो सही हो? (हो।) भन्‍नुको मतलब, परमेश्‍वर नै यो भौतिक संसार अर्थात् मानिसले देख्‍न र अनुभव गर्न सक्‍ने यो संसारका शासक, मालिक र प्रदायक हुनुहुन्छ। मानवजातिको लागि, के यो परमेश्‍वरको पहिचान होइन र? यसमा कुनै पनि झूटो कुरा छैन। त्यसैले, जब तैँले आकाशमा चराहरू उडिरहेको देख्छस्, तँलाई थाहा हुनुपर्छ कि परमेश्‍वरले उड्न सक्‍ने सबै कुराको सृष्टि गर्नुभयो। त्यसै गरी पानीमा पौडने जीवित वस्तुहरू पनि छन् र तिनीहरूको बाँच्ने आफ्नै तरिका हुन्छ। माटोमा बाँच्ने बिरुवाहरूले वसन्तमा कोपिला र मुना हाल्छन्, त्यसपछि फल लाग्छ र शरदमा पातहरू झर्न थाल्छन् र शिशिरमा ती बिरुवाहरूले जाडो छिचोल्ने तयारी गर्दा तिनीहरूका सबै पात झरिसकेका हुन्छन्। यो नै तिनीहरूको बाँच्ने तरिका हो। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो र हरेक वस्तु भिन्‍न स्वरूप र भिन्‍न तरिकामा बाँच्छ र हरेकले बाँच्ने कुरामा आफ्नो जीवनशक्ति र स्वरूप प्रदर्शन गर्न विभिन्‍न तरिकाहरू प्रयोग गर्छ। विभिन्‍न वस्तुहरू जे-जसरी बाँच्दै रहे पनि, तिनीहरू सबै परमेश्‍वरको नियमअन्तर्गत हुन्छन्। परमेश्‍वरले जीवनका सबै विभिन्‍न स्वरूप र जीवित वस्तुहरूमाथि शासन गर्नुको उद्देश्य के हो त? के यो मानवजातिको जीवनको लागि हो? (हो।) उहाँले जीवनका सबै नियमहरू नियन्त्रण गर्नुहुन्छ, र यो सबै मानवजातिको जीवन-अस्तित्वको लागि गर्नुहुन्छ। यसले परमेश्‍वरको लागि मानवजातिको जीवन कति महत्त्वपूर्ण छ भनी देखाउँछ।

मानवजातिको सामान्य तवरमा बाँच्ने र प्रजनन गर्ने क्षमता परमेश्‍वरको लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसकारण, परमेश्‍वरले मानवजाति र उहाँको सृष्टिका सबै थोकको लागि निरन्तर आवश्यक कुराहरू प्रदान गरिरहनुभएको छ। उहाँले सबै थोकलाई विभिन्‍न तरिकाले र सबै थोकको जीवन-अस्तित्व कायम हुने गरी आवश्यक कुराहरू प्रदान गर्नुहुन्छ, उहाँले मानवताको साधारण जीवन-अस्तित्व कायम गर्दै मानवजातिलाई निरन्तर अघि बढ्न सक्षम बनाउनुहुन्छ। यो आजको हाम्रो सङ्गतिका दुई पक्षहरू हुन्। यी दुई पक्षहरू के-के हुन् त? (बृहत दृष्टिकोणबाट, परमेश्‍वरले वातावरणको सृष्टि गर्नुभयो जसमा मानिस बाँच्छ। यो पहिलो पक्ष हो। अनि परमेश्‍वरले मानवजातिको लागि आवश्यक पर्ने र उसले हेर्न र छुन सक्‍ने भौतिक वस्तुहरू पनि तयार गर्नुभयो।) हामीले हाम्रो मुख्य विषयलाई यी दुई पक्षहरूमार्फत सङ्गति गरेका छौँ। हाम्रो मुख्य विषय के हो त? (सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ।) अब तँलाई यो विषयको मेरो सङ्गतिमा किन यति धेरै विषयहरू छन् भन्‍नेबारेमा केही बुझाइ भएको हुनुपर्छ। के यसमा मुख्य विषयसँग असम्बन्धित कुनै छलफल भएको छ त? बिलकुलै छैन! सायद, यी कुराहरू सुनिसकेपछि, तिमीहरूमध्ये केहीले केही बुझाइ हासिल गरेका छौ र अहिले यी वचनहरू वजनदार र एकदमै महत्त्वपूर्ण भएको महसुस गर्छौ होला, तर अन्यसँग भने केही शाब्दिक बोध मात्र हुन सक्छ र उनीहरूले यी वचनहरू आफैमा महत्त्वपूर्ण नभएको महसुस गर्न सक्छन्। हालको क्षणमा तिमीहरूले यसलाई जे-जसरी बुझेको भए तापनि, जब तिमीहरूको अनुभव कुनै निश्‍चित दिनमा आइपुग्छ, जब तिमीहरूको बुझाइ कुनै निश्‍चित बिन्दुमा पुग्छ, अर्थात्, जब परमेश्‍वरका कार्यहरू र परमेश्‍वर स्वयम्‌को बारेमा तिमीहरूको ज्ञान निश्‍चत स्तरमा पुग्छ, तब तिमीहरूले परमेश्‍वरका कार्यहरूको बारेमा गहन र सच्‍चा साक्षी दिन आफ्नै शब्दहरू प्रयोग गर्नेछौ, र ती शब्दहरू व्यवहारिक हुनेछन्।

मलाई लाग्छ, तिमीहरूको हालको बुझाइ अझै काफी सतही र शाब्दिक छ, तर मेरो सङ्गतिका यी दुई पक्षहरू सुनिसकेपछि, के तिमीहरूले कम्तीमा पनि परमेश्‍वरले मानवजातिको लागि आवश्यक कुराहरू प्रदान गर्न कस्ता विधिहरू प्रदान गर्नुहुन्छ वा परमेश्‍वरले मानवजातिलाई के-कस्ता कुराहरू प्रदान गर्नुहुन्छ भनेर पहिचान गर्न सक्छौ? के तिमीहरूसँग आधारभूत अवधारणा, आधारभूत बुझाइ छ? (छ।) तर के मैले सङ्गति गरेका यी दुई पक्षहरू बाइबलसँग सम्बन्धित छन्? (छैनन्।) के तिनीहरू राज्यको युगमा हुने परमेश्‍वरको न्याय र सजायसँग सम्बन्धित छन्? (छैनन्।) त्यसो भए, मैले किन तिनीहरूको बारेमा सङ्गती गरेँ त? के यो, मानिसहरूले परमेश्‍वरलाई चिन्‍नको लागि ती कुराहरू बुझ्नैपर्ने भएकोले हो? (हो।) यी कुराहरूको बारेमा जान्‍नु एकदमै आवश्यक छ र यी कुराहरूलाई बुझ्नु पनि एकदमै जरुरी छ। तैँले परमेश्‍वरलाई उहाँको सम्पूर्णतामा बुझ्न खोज्दा, आफूलाई बाइबलमा सीमित नगर् र आफूलाई परमेश्‍वरले मानिसमाथि गर्नुहुने न्याय र सजायमा सीमित नगर्। मैले यो भन्‍नुको उद्देश्य के हो? परमेश्‍वर केवल उहाँले चुन्‍नुभएका मानिसहरूको मात्र परमेश्‍वर हुनुहुन्‍न भनेर मानिसहरूलाई थाहा दिनु हो। तैँले हाल परमेश्‍वरलाई पछ्याउँछस् र उहाँ तेरो परमेश्‍वर हुनुहुन्छ, तर के उहाँलाई नपछ्याउनेहरूको पनि उहाँ परमेश्‍वर हुनुहुन्छ त? के परमेश्‍वर उहाँलाई नपछ्याउने सबै मानिसहरूको परमेश्‍वर हुनुहुन्छ? के परमेश्‍वर सबै थोकको परमेश्‍वर हुनुहुन्छ? (हुनुहुन्छ।) त्यसो भए, के परमेश्‍वरका काम कार्बाहीहरूको दायरा केवल उहाँलाई पछ्याउनेहरूमा मात्र सीमित हुन्छ त? (होइन।) उहाँका काम कार्बाहीहरूको दायरा के हो त? सबैभन्दा सानो स्तरमा, उहाँका काम कार्बाहीहरूको दायराले सबै मानवजाति र सृष्टिका सबै कुराहरू समेट्छ। उच्‍चतम स्तरमा यसले सम्पूर्ण ब्रह्माण्ड समेट्छ जुन मानिसहरूले देख्‍न सक्दैनन्। त्यसैले, हामीले भन्‍न सक्छौं कि परमेश्‍वरले सबै मानवजातिमाझ आफ्ना काम कार्बाही गर्नुहुन्छ र यो कुरा मानिसलाई परमेश्‍वर स्वयम्‌को बारेमा सम्पूर्ण रूपमा जान्‍न दिन काफी हुन्छ। यदि तँ परमेश्‍वरलाई चिन्‍न, उहाँको बारेमा साँचो रूपमा जान्‍न, उहाँलाई साँचो रूपमा बुझ्न चाहन्छस् भने, आफूलाई केवल परमेश्‍वरको कार्यका तीन चरणहरूमा वा उहाँले विगतमा गर्नुभएका कार्यका कथाहरूमा सीमित नगर्। यदि तैँले उहाँलाई त्यो तरिकाले जान्‍न चाहन्छस् भने, तैँले परमेश्‍वरमाथि सीमितता लगाउँदै छस्, उहाँलाई नियन्त्रण गर्दै छस्। तैँले परमेश्‍वरलाई एकदमै सानो केही कुराको रूपमा हेर्दै छस्। त्यसो गर्नाले मानिसहरूलाई कसरी प्रभाव पर्न सक्छ? तँ कहिल्यै पनि परमेश्‍वरको अद्‌भूतता वा सर्वोच्‍चता जान्‍न सक्षम हुनेछैनस्, न त उहाँको शक्ति र सर्वशक्तिमान्‌ता र उहाँको अख्तियारको क्षेत्रको बारेमा नै जान्‍न सक्‍नेछस्। यस्तो बुझाइले परमेश्‍वर नै सबै थोकको शासक हुनुहुन्छ भन्‍ने तथ्‍यलाई स्वीकार्ने तेरो क्षमताका साथै परमेश्‍वरको साँचो परिचय र हैसियतसम्बन्धी तेरो ज्ञानलाई प्रभावित तुल्याउनेछ। अर्को शब्दमा, यदि परमेश्‍वरसम्‍बन्धी तेरो बुझाइको दायरा सीमित भएमा, तैँले प्राप्त गर्ने सक्‍ने कुरा पनि सीमित नै हुन्छ। त्यस कारणले गर्दा, तैँले आफ्नो दायरा फराकिलो पार्नुपर्छ र आफ्ना क्षितिजहरू विस्तार गर्नुपर्छ। तैँले यो कुरालाई सम्पूर्ण रूपमा बुझ्ने कोसिस गर्नुपर्छ—परमेश्‍वरको कार्यको दायरा, उहाँको व्यवस्थापन, उहाँको शासन, अनि उहाँले व्यवस्थापन र शासन गर्नुहुने सबै कुराहरू। यी कराहरूमार्फत तैँले परमेश्‍वरका कार्यहरूको बरेमा बुझ्न सक्‍नुपर्छ। यस्तो बुझाइ भएमा, तैँले थाहै नपाई, परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, तिनीहरूको व्यवस्थापन गर्नुहुन्छ र तिनीहरूलाई आवश्यक कुराहरू प्रदान गर्नुहुन्छ भन्‍ने कुरा मसहुस गर्नेछस् र तैँले आफू पनि यी सबै थोकको एक हिस्सा र एक सदस्य भएको पनि साँचो रूपले महसुस गर्नेछस्। परमेश्‍वरले सबै थोकको लागि आवश्यक कुराहरू प्रदान गर्नुहुने भएकोले, तैँले पनि परमेश्‍वरको शासन र प्रावधान स्वीकार गरिरहेको छस्। यो एक तथ्य हो जसलाई कसैले पनि नकार्न सक्दैन। सबै थोक परमेश्‍वरको शासनअन्तर्गत आफ्नै नियमहरूको अधीनमा हुन्छन् र परमेश्‍वरको शासनअन्तर्गत, सबै थोकसँग बाँच्नको लागि आफ्नै नियमहरू हुन्छन्। मानवजातिको नियति र आवश्यकताहरू पनि परमेश्‍वरको शासन र प्रावधानसँग बाँधिएका हुन्छन्। त्यस कारणले गर्दा नै, परमेश्‍वरको प्रभुत्व र शासनअन्तर्गत, मानवजाति र सबै थोक अन्तर्सम्‍बन्धित, अन्तर्निर्भर र अन्तर्जडित हुन्छन्। यो नै परमेश्‍वरले सबै थोक सृष्टि गर्नुको उद्देश्य र महत्त्व हो। तिमीहरूले अहिले यो कुरा बुझ्यौ, होइन त? त्यसो भए, अब आजको सङ्गति यहीँ अन्त्य गरौं। नमस्कार! (परमेश्‍वरलाई धन्यवाद!)

फेब्रुवरी २, २०१४

अघिल्लो: परमेश्‍वर स्वयम् अद्वितीय ७

अर्को: परमेश्‍वर स्वयम् अद्वितीय ९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रस्तावना

तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि परमेश्‍वरलाई कसरी विश्‍वास गरेका छौ भनी नयाँ जाँच गर्नुपर्छ, ताकि परमेश्‍वरलाई पछ्‍याउने प्रक्रियामा...

परमेश्‍वर स्वयम् अद्वितीय ७

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (१)परमेश्‍वरको अख्तियार, परमेश्‍वरको धर्मी स्वभाव, र परमेश्‍वरको पवित्रताको संक्षिप्त...

परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरको धर्मी स्वभावतिमीहरूले परमेश्‍वरको अख्तियारको बारेमा रहेको अघिल्‍लो सङ्गति सुनिसकेका हुनाले, म आश्‍वस्त छु कि तिमीहरू यस विषयमा...

परमेश्‍वर स्वयम् अद्वितीय १०

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (४)आज हामी एउटा विशेष विषयमा कुराकानी गर्दैछौं। हरेक विश्‍वासीको लागि, जान्‍नुपर्ने,...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्