सत्यता पछ्याउनु भनेको के हो (८)

अघिल्लोपटक हामीले पारम्परिक संस्कृति र नैतिक आचरणका चारवटा कथनबारे सङ्गति गऱ्यौँ। ती केके हुन्, मलाई बताओ त। (“दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ,” “अरूको खातिर आफ्नो हित त्याग,” “स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ,” र “इनारको पानी पिउँदा, इनार खन्‍ने व्यक्तिलाई नबिर्सिनू।) यी प्रत्येक कथनमा के विश्‍लेषण गर्नु र बुझ्नुपर्छ, के तैँले स्पष्टसित बुझेको छस्? पारम्परिक संस्कृतिको प्रत्येक भनाइ मानिसहरूको वास्तविक जीवन र आचरणसित घनिष्ठ रूपले सम्बन्धित हुन्छ। निस्सन्देह नै, पारम्परिक संस्कृतिका यी भनाइहरूले मानिसहरूको वास्तविक जीवन र तिनीहरूले अँगाल्ने आचरणमा निश्‍चित प्रभाव पार्छन्। वास्तविक जीवनमा मानिसहरूको बोली, कार्य र आचरणका सिद्धान्तहरू मूलतः पारम्परिक संस्कृतिका यी कथन र दृष्टिकोणबाट आउँछ। स्पष्टै छ, मानिसहरू पारम्परिक संस्कृतिद्वारा निकै गहन रूपमा प्रभावित र पोषित हुन्छन्। पछिल्लो भेलामा मैले सङ्गति गरिसकेपछि, के तिमीहरूले थप मनन गरेर एकआपसमा सङ्गति गऱ्यौ? (हामीले नैतिक आचरणसम्बन्धी यी कथनहरूबारे सङ्गति गरेर अलिअलि बुझ्यौँ, र हामीले यस प्रकारका कुराहरूप्रति आफ्ना राय र दृष्टिकोणहरू अलिअलि बदल्न सक्यौँ, तर अझै पनि हामीले ती कुराहरू राम्ररी बुझेका छैनौँ।) राम्ररी बुझ्ने एउटा तरिका के हो भने, तैँले तेरो बुझाइलाई मैले सङ्गति गरेको कुरामा आधारित गर्नुपर्छ; अर्को तरिका हो, तैँले आफ्नो वास्तविक जीवनमा राख्‍ने दृष्टिकोणहरू, साथै कुनै कुरा आइपर्दा तँमा आउने सोच र तैँले गर्ने कार्यको आधारमा तैँले बुझ्ने प्रयत्‍न गर्नुपर्छ। प्रवचन सुनेर मात्र चाहिँ पक्‍कै पुग्दैन। प्रवचन सुन्‍नुको उद्देश्य भनेको जीवनका नकारात्मक कुराहरू पहिचान गर्नु, अझ सही ढङ्गमा नकारात्मक कुराहरू छुट्याउन सक्‍नु, र त्यसपछि सकारात्मक कुराहरू बुझेर तीबारे शुद्ध बुझाइ प्राप्त गर्न सक्‍नु हो, ताकि जीवनमा के-कसरी व्यवहार र आचरण अँगाल्ने भन्‍नेबारे परमेश्‍वरका वचनहरू मापदण्ड बनून्। एक हिसाबमा, यी नकारात्मक कुराहरूलाई बुझ्ने अभ्यास गर्दा यसले घटना र परिस्थितिप्रतिको मानिसहरूको गलत विचार, दृष्टिकोण र मनोवृत्ति सच्‍याउन सकेको हदसम्म मानिसहरूको व्यवहार र आचरणमा सुधारात्मक प्रभाव नै पार्छ; त्यसबाहेक, यसले सकारात्मक भूमिका खेल्दै मानिसहरूलाई मानिसहरू र विभिन्‍न कुराहरूप्रतिको तिनीहरूको दृष्टिकोणको सन्दर्भमा, अनि तिनीहरूको व्यवहार र कार्यमा तिनीहरूलाई सही तरिका र पद्धतिका साथै अभ्यासका सही सिद्धान्तहरू अपनाउन मदत गर्न सक्छ। नैतिक आचरणसम्बन्धी यी कथनहरूबारे सङ्गति र विश्‍लेषण गर्नुको उद्देश्य र अपेक्षित नतिजा यही हो।

अहिले हामीले चिनियाँ पारम्परिक संस्कृतिको नैतिक आचरणसम्बन्धी कथनहरूबारे दुईपटक सङ्गति गरेका छौँ, जुन मुख्यतः बृहत सामाजिक प्रसङ्गमा उठ्ने मानिसहरूको नैतिक आचरणका मापदण्डहरू हुन्। व्यक्तिगत तहमा, यी कथनहरूद्वारा मानिसहरूको व्यवहार केही हदसम्म नियन्त्रित र सञ्‍चालित हुन सक्छ; बृहत दृष्टिकोणबाट हेर्दा, तिनको अभिप्राय राम्रो सामाजिक लोकाचार सृजना गर्नु, अनि निश्‍चय नै शासकहरूलाई मानिसहरूमाथि अझ राम्ररी शासन गर्न सक्षम पार्नु थियो। यदि मानिसहरूले आफ्नै विचार राख्छन्, स्वतन्त्रसँग सोच्‍न सक्छन्, र व्यवहारसम्बन्धी आफ्नै नैतिक मानक खोजी गर्छन्, वा यदि तिनीहरूले आफ्नो विचार व्यक्त गर्न, आफ्नै विचारअनुसार जिउन, आफूलाई उचित लागेअनुसार आफूलाई व्यवहारमा ढाल्न, अनि कामकुरा, मानिसहरू, आफ्नो समाज, र आफ्नो देशलाई हेर्ने आफ्नै तरिका अपनाउन सक्छन् भने, निस्सन्देह नै यो शासकहरूका लागि राम्रो कुरा वा राम्रो सङ्केत हुँदैन, किनभने यसले सिधै तिनीहरूको प्रभुत्वलाई खतरामा पार्छ। सङ्क्षेपमा भन्दा, नैतिक आचरणसम्बन्धी यी कथनहरू मुख्यतः तथाकथित नीतिज्ञ, विचारक र शिक्षाविद्‌हरूले शासकहरूलाई खुसी पार्न र रिझाउन अघि सारेका थिए, र तिनीहरूको उद्देश्य यी विचार र सिद्धान्तहरू, साथै प्रतिष्ठा र इज्‍जतलाई शासकहरूको सेवामा प्रयोग गर्न सकिन्छ भनेर देखाउनु थियो। मुख्यतः हामीले सङ्गति गरेका नैतिक आचरणसम्बन्धी यी सबै कथनहरूको प्रकृति नै यही हो; ती कथनहरूको उद्देश्य मानिसहरूको सोच, नैतिक आचरण र विभिन्‍न कुराहरूप्रतिको मानिसहरूको दृष्टिकोणलाई मानिसहरूले अलि राम्रो, अलि सकारात्मक र अलि उच्‍च ठान्‍ने नैतिक दायराभित्र नियन्त्रित गर्नु मात्र थियो, ताकि मानिसहरूमाझ द्वन्द्व कम होस्, र तिनीहरूको अन्तरक्रियामा मेलमिलाप र शान्ति छाओस्, र त्यसरी शासकहरूलाई मानिसहरूमाथि प्रभुत्व जमाउन सहयोग पुगोस्, र शासकवर्गको हैसियत झनै बलियो बनोस् अनि सामाजिक सौहार्द र स्थायित्व कायम होस्। यसरी नैतिक आचरणका मानकहरू अघि सार्ने यी मानिसहरूले आफूले चाहेको सबै पाउँथे, अर्थात् शासकवर्गबाट कदर र महत्त्वपूर्ण पदहरूमा नियुक्ति प्राप्त गर्थे। तिनीहरूले आकाङ्क्षा र आशा गरेको करियर नै यही थियो, अनि तिनीहरू उच्‍च पदाधिकारी बन्‍न नसके पनि, कम्तीमा भावी पुस्ता र इतिहासले त तिनीहरूलाई सम्झन्थ्यो। यसबारे सोच्—नैतिक आचरणका यी भनाइहरू अघि सार्ने मानिसहरूमध्ये कसलाई यो समाजले आदर गर्दैन र? तीमध्ये कसलाई मानवजातिले प्रशंसा गर्दैन र? आज पनि चिनियाँ मानिसहरूमाझ कन्फुसियस, मेन्सियस, लाओजी, र हान फेइजीजस्ता चिन्तक, शिक्षाविद्‌ र नितिज्ञहरू अत्यन्तै लोकप्रिय र अति आदरणीय र श्रद्धेय छन्। वास्तवमा, हामीले नैतिक आचरणका केही सीमित कथनहरू सूचीबद्ध गरेका छौँ, र दिइएका यी उदाहरणहरू प्रतिनिधिमूलक थप केही कथनहरू मात्र हुन्। नैतिक आचरणका यी कथनहरू कैयौँ मानिसहरूबाट आउने भए पनि, यी तथाकथित विद्वानहरूले वकालत गरेका विचार र दृष्टिकोणहरू पूर्णतया शासकहरू र शासकवर्गले इच्छा गरेअनुरूपका छन्, अनि तिनीहरूको सुशासनका अवधारणा र मुख्य विचारहरू सबै एउटै छन्: मानवजातिका लागि व्यवहार र कार्यका केही नैतिक मूल्यमान्यता प्रतिपादन गर्नु, ताकि तिनीहरूले सोहीअनुरूप आफूलाई व्यवहारमा ढालून्, चुपचाप समाज र देशप्रति योगदान दिऊन्, र आफ्नै मानव साथीसँगीहरूमाझ चुपचाप जिऊन्—कुरा त्यति हो। नैतिक आचरणका यी कथनहरू जुनै वंश वा व्यक्तिबाट आएको भए पनि, आधारभूत रूपमा तिनीहरूको विचार र दृष्टिकोणको लक्ष्य एउटै छ, र त्यो हो: शासकवर्गको सेवा गर्नु, र मानवजातिलाई बहकाउनु र नियन्त्रणमा पार्नु।

हामीले नैतिक आचरणका आठवटा कथनहरूबारे सङ्गति गरिसकेका छौँ। मुख्यतः यी आठवटा कथनहरूको प्रकृति भनेकै मानिसहरूले आफ्नो स्वार्थी चाहना र इच्छा त्यागेर त्यसको साटो समाज, मानवजाति र देशको सेवा गर्नु र निस्वार्थी हुनुपर्छ भन्‍ने मापदण्ड हो। उदाहरणको लागि, “अरूको खातिर आफ्नो हित त्याग,” “स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ,” र “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” जस्ता नैतिक आचरणका कथनहरू जुनै वर्गमा राखे पनि, यी सबैले मानिसहरूलाई आत्मसंयम अपनाउनुपर्छ—आफ्नो चाहना र नैतिक आचरणमाथि नियन्त्रण—अनि उचित वैचारिक र नैतिक दृष्टिकोण राख्‍नुपर्छ भन्‍ने मापदण्ड दिन्छन्। यी कथनहरूले मानवजातिलाई जतिसुकै प्रभाव पारे पनि, र त्यो प्रभाव सकारात्मक वा नकारात्मक जे भए पनि, स्पष्टसित भन्‍नुपर्दा यी तथाकथित नीतिज्ञहरूको उद्देश्य भनेको यस्ता कथनहरू अघि सारेर प्रष्ट रूपमै मानिसहरूको नैतिक आचरणलाई नियन्त्रित र नियमित गर्नु हो, ताकि मानिसहरूले आफूलाई कसरी व्यवहारमा ढाल्ने र कार्य गर्ने, कसरी मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्ने, र कसरी आफ्नो समाज र देशलाई बुझ्‍ने भन्‍नेबारे आधारभूत नियम पाऊन्। सकारात्मक दृष्टिले हेर्दा, नैतिक आचरणका यी कथनहरूको प्रतिपादनले मानवजातिको नैतिक आचरणलाई नियन्त्रण र सञ्‍चालन गर्नमा केही हदसम्म भूमिका खेलेको छ। तर वस्तुगत तथ्यलाई हेर्दा, यसले मानिसहरूलाई गलत र देखावटी विचार अनि दृष्टिकोण अँगाल्न लगाएको छ, र यसरी पारम्परिक संस्कृतिद्वारा प्रभावित र पोषित मानिसहरूलाई झन् कपटी, झन् छली, झन् ढोँगी, र झनै आफ्नै विचारमा सीमित तुल्याएको छ। पारम्परिक संस्कृतिको प्रभाव र पोषणको कारण, मानिसहरूले क्रमिक रूपमा ती गलत दृष्टिकोण र पारम्परिक संस्कृतिका कथनहरूलाई सकारात्मक कुराको रूपमा अपनाउँदै आएका छन्, र तिनीहरूले मान्छे बहकाउने यी विद्वान र महान् व्यक्तिहरूलाई सन्तको रूपमा पूजा गर्छन्। जब मानिसहरू बहकिएका हुन्छन्, तब तिनीहरूको दिमाग रनभुल्ल, शून्य र मन्द हुन्छ। तिनीहरूलाई सामान्य मानवता भनेको के हो, वा सामान्य मानवता भएका मानिसहरूले के पछ्याउनु र पालन गर्नुपर्छ भन्‍ने थाहै हुँदैन। तिनीहरूलाई मानिसहरूले यस संसारमा कसरी जिउनुपर्छ वा तिनीहरूले अस्तित्वको कस्तो शैली वा नियम अपनाउनुपर्छ भन्‍ने थाहा हुँदैन, झन् मानव अस्तित्वको उचित उद्देश्य के हो भन्‍ने थाहा हुने त कुरै नगरौँ। पारम्परिक संस्कृतिको प्रभाव, पोषण, र परिसीमनसमेतको कारण, सकारात्मक कुरा, परमेश्‍वरबाट आएका मापदण्ड र नियमहरू दबिएका छन्। यस अर्थमा, पारम्परिक संस्कृतिको नैतिक आचरणसम्बन्धी विभिन्‍न कथनहरूले धेरै हदसम्म मानिसहरूको सोचलाई गहन रूपमा बहकाएका र प्रभावित पारेका छन्, र यसरी तिनीहरूको सोचलाई परिसीमित गर्दै गलत बाटोतर्फ, जीवनको सही मार्गबाट टाढा, र परमेश्‍वरका मापदण्डहरूदेखि झन्झन् पर लगेका छन्। यसको अर्थ, तँ पारम्परिक संस्कृतिको नैतिक आचरणका विभिन्‍न विचार र दृष्टिकोणद्वारा जति प्रभावित हुन्छस्, र ती कुराद्वारा जति लामो समयसम्म पोषित हुन्छस्, उति नै तँ सामान्य मानवता भएका मानिसहरूले पछ्याउनुपर्ने विचार, आकाङ्क्षा र उद्देश्य अनि तिनीहरूले धारण गर्नुपर्ने अस्तित्वको नियमदेखि टाढा जान्छस्, अनि उति नै तँ परमेश्‍वरले मानिसहरूलाई दिनुभएका मापदण्डहरूबाट पनि टाढा जान्छस्। मानिसहरूले पारम्परिक संस्कृतिका यी विचारहरूद्वारा सङ्क्रमित, प्रशिक्षित, र पोषित भएर यिनैलाई नियमको रूपमा अपनाउँछन्, र यिनैलाई सत्यताको रूपमा, अनि मानिसहरू र विभिन्‍न कुराहरू हेर्ने, र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने मापदण्डको रूपमा समेत लिन्छन्। मानिसहरूले यी कुरा सही हुन् कि होइनन् भनेर सोच्‍ने वा शङ्का गर्ने गर्दैनन्, न त तिनीहरू आफूले कसरी जिउनुपर्छ भनेर सोच्नको लागि परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि र विश्‍वसनीयतासम्बन्धी पारम्परिक संस्कृतिका विभिन्‍न कथनहरूदेखि बाहिर नै जान्छन्। मानिसहरूलाई यसबारे थाहै छैन, न त तिनीहरू यसबारे नै सोच्छन्। किन तिनीहरू यसबारे सोच्दैनन्? किनभने मानिसहरूको सोच परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि र विश्‍वसनीयता प्रचार गर्ने नैतिक धर्मशास्‍त्रहरूले भरिएको र ओगटेको हुन्छ। धेरै मानिसहरूले साँचो परमेश्‍वरमा विश्‍वास गरे पनि र बाइबल पढे पनि, परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि र विश्‍वसनीयताबाट उत्पन्‍न हुने नैतिक आचरणका थुप्रै कथनहरूलाई परमेश्‍वरको वचन र सत्यता ठान्छन्। कतिपयले त पारम्परिक संस्कृतिका यी धेरैजसो कथनहरूलाई सकारात्मक कुराहरूकै धर्मशास्‍त्र ठान्छन् र तिनलाई सत्यता भन्दै प्रचार र प्रवर्धन गर्छन्, र अरूलाई निर्देशन दिने तरिकास्वरूप ती उद्धृतसमेत गर्छन्। यो एकदमै गम्भीर समस्या हो; यो परमेश्‍वरलाई हेर्न मन लाग्‍ने, घिन लाग्‍ने कुरा हो। त्यसो भए, के परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्नेहरू सबैले पारम्परिक संस्कृतिका कुराहरू प्रष्टसित देख्‍न र स्पष्टसित चिन्‍न सक्छन्? सक्छन् नै भन्‍ने त छैन। पारम्परिक संस्कृतिका कुराहरूलाई निकै पूजा र अनुमोदन गर्ने केही मानिसहरू पक्‍कै पनि हुनुपर्छ। यदि यी शैतानी विषहरूलाई पूर्णतया हटाइएन भने, सत्यता बुझ्न र प्राप्त गर्न मानिसहरूलाई गाह्रो हुनेछ। परमेश्‍वरका चुनिएका मानिसहरूले एउटा तथ्य बुझ्नैपर्छ: परमेश्‍वरको वचन परमेश्‍वरको वचन हो, सत्यता सत्यता हो, र मानव वचन मानव वचन हो। परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि र विश्‍वसनीयता मानव वचन हुन्, र पारम्परिक संस्कृति पनि मानव वचन नै हुन्। मानव वचनहरू सत्यता हुँदैनन्, न त ती कहिल्यै सत्यता नै बन्‍नेछन्। यो तथ्य हो। मानिसहरूले आफ्नो सोच र दृष्टिकोणमा परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि र विश्‍वसनीयताप्रति जति नै सामिप्यता महसुस गरे पनि, ती कुराहरूले परमेश्‍वरको वचनको ठाउँ लिन सक्दैनन्; यस्ता मूल्यमान्यता जति नै सही भएको प्रमाणित र पुष्टि भए पनि, मानव अस्तित्वको हजारौँ वर्षभन्दा बढीको अवधिमा पनि ती परमेश्‍वरको वचन बन्‍न सक्दैनन् वा तिनले परमेश्‍वरको वचनको स्थान लिन सक्दैनन्, झन् परमेश्‍वरको वचन ठानिनु त परै जाओस्। परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि र विश्‍वसनीयतासम्बन्धी कथनहरू मानिसहरूको विवेक र समझअनुरूप भए पनि, ती परमेश्‍वरको वचन होइनन्, न त तिनले उहाँको वचनको ठाउँ नै लिन सक्छन्, झन् ती सत्यता कहलिने कुरै नगरौँ। पारम्परिक संस्कृतिको परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि र विश्‍वसनीयतासम्बन्धी कथन र मापदण्डहरू समाज र शासकवर्गको फाइदाका लागि मात्र हुन्। यी कथन र मापदण्डहरूको अभिप्राय मानिसहरूको व्यवहार नियन्त्रित र नियमित गर्नु मात्र हो ताकि अझ राम्रो सामाजिक लोकाचार प्राप्त गर्न सकियोस्, जसद्वारा शासकवर्गको शक्ति स्थिर बनाउनमा सघाउ पुगोस्। स्वाभाविक रूपमै, तैँले परोपकार, धार्मिकता, सद्‍व्यवहार, बुद्धि र विश्‍वसनीयताका मूल्यमान्यतालाई जतिसुकै राम्ररी पालन गरे पनि, सत्यता बुझ्न सक्‍नेछैनस्, र तँ परमेश्‍वरमा समर्पित हुन सक्‍नेछैनस्, न त तँ अन्त्यमा सृष्टि गरिएको स्वीकार्य प्राणी नै बन्‍नेछस्। तैँले यी कुराहरू जति नै राम्ररी पालन गरे पनि, यदि तैँले सत्यता बुझ्दैनस् भने, स्वीकारयोग्य मानकअनुरूप कर्तव्य निर्वाह गर्न पनि सक्दैन्। त्यसपछि तँ परमेश्‍वरको नजरमा के हुनेछस्? तँ अझै गैरविश्‍वासी र शैतानको मान्छे नै हुनेछस्। के असाधारण नैतिक गुण र उच्‍च नैतिकता भएको भनिएको व्यक्तिसँग सामान्य मानवतको विवेक र समझ हुन्छ? के उसले साँच्‍चिकै सत्यता स्विकार्न सक्छ? के उसले परमेश्‍वरलाई विश्‍वास गर्न र पछ्याउन सक्छ? कदापि सक्दैन! किनभने उसले शैतान, दियाबलस, ढोँगी सन्त र झूटा पवित्र मानिसहरूको उपासना गर्छ। ऊ हृदयदेखि नै सत्यतादेखि वितृष्ण हुन्छ र त्यसलाई घृणा गर्छ। तसर्थ, पक्‍कै पनि ऊ परमेश्‍वरको विरोध गर्ने र उहाँको शत्रु हुनुपर्छ। दियाबलहरूलाई र शैतानलाई आराधना गर्ने मानिसहरू सबैभन्दा अहङ्कारी, अभिमानी र समझहीन व्यक्ति हुन्—तिनीहरू पतित मानवजाति हुन्, जसको नशा-नशामा शैतानी विष, र शैतानी झूटो शिक्षा र भ्रमहरू भरिएको हुन्छ। परमेश्‍वरको वचन र सत्यता देख्‍नेबित्तिकै, तिनीहरूको आँखा रातो हुन्छ, तिनीहरूमा रिसको पारो चढ्छ, र तिनीहरूले दियाबलसको घृणित अनुहार प्रकट गर्छन्। त्यसैले, पारम्परिक संस्कृतिलाई श्रद्धा गर्ने अनि परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि र विश्‍वसनीयताजस्ता पारम्परिक भ्रमहरूलाई अन्धाधुन्ध विश्‍वास गर्ने जोकोहीले सत्यतादेखि वितृष्ण हुन्छन् र त्यसलाई घृणा गर्छन्। उसमा थोरै पनि सामान्य मानवतको समझ हुँदैन, अनि उसले सत्यता कहिल्यै स्विकार्दैन। पारम्परिक संस्कृतिको थोत्रोमोत्रोहरू अनि परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि र विश्‍वसनीयतासम्बन्धी नैतिक आचरणका कथनहरू सत्यता वा परमेश्‍वरका वचनहरूसँग फिटिक्‍कै मेल खाँदैनन्। मानिसहरूले यी मूल्यमान्यतालाई जति नै सावधानीपूर्वक अभ्यास गरे पनि वा जति नै राम्ररी ती पालन गरे पनि, यो सामान्य मानवताअनुसार जिउनुजस्तो हुँदैन। यस्तो किन हुन्छ भने मानिसहरूमा भ्रष्ट स्वभाव छ। यो विषयको तथ्य यही हो। तिनीहरू हरप्रकारका शैतानी शिक्षाहरूले भरिएका छन्, र “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने भनाइ मानिसहरूको प्रकृति सार बनेको छ। तैँले तिनलाई जति नै राम्रो बनाए पनि, तेरो भाषा जति नै उच्‍च भए पनि, वा तेरा सिद्धान्तहरू जति नै भव्य भए पनि, नैतिक आचरणसम्बन्धी पारम्परिक संस्कृतिका यी कथनहरू अभ्यास गर्नु हुँदैन। पारम्परिक संस्कृतिको परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि अनि विश्‍वसनीयतासम्बन्धी मूल्यमान्यताको आधारमा लादिएको प्रत्येक नियमलाई तैँले पालन गरिस् भने पनि, तँ सतही रूपमा शिष्ट व्यक्तिसिवाय अरू केही हुँदैनस्। तर परमेश्‍वरलाई विश्‍वास गर्ने, उहाँलाई पछ्याउने र आफ्नो कर्तव्य निर्वाह गर्ने, परमेश्‍वरप्रति समर्पित हुने कुराका साथै उहाँ र सत्यताप्रति तेरो मनोवृत्ति र दृष्टिकोणको सन्दर्भ आउँदा, पारम्परिक संस्कृतिका यी मूल्यमान्यताको कुनै काम छैन। ती कुराहरूले तेरो विद्रोहीपन नियन्त्रण गर्न सक्दैनन, न त परमेश्‍वरप्रतिको तेरो धारणा बदल्न न त तेरो भ्रष्ट स्वभाव सच्याउन नै सक्छन्, झन् कर्तव्यपालनमा मानिसहरू झाराटारुवा बन्‍ने समस्या सुल्झाउने त कुरै नगरौँ। यी मूल्यमान्यताहरूले कदापि र कुनै हालतमा पनि मानिसहरूको भ्रष्ट व्यवहार रोक्‍न मदत गर्दैनन्, र आधारभूत रूपमा यी कुराहरू मानिसहरूलाई सामान्य मानवताअनुसार जिउने बनाउन सक्षम हुँदैनन्।

धेरैजसो मानिसले भर्खरै परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा, विश्‍वास गर्नु एकदमै सरल छ भन्‍ने सोच्छन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँलाई पछ्याउनु भनेको धैर्यवान्‌ र सहनशील हुन सिक्‍नु, स्वेच्छाले परोपकार गर्नु, अरूलाई सहयोग गर्न इच्छुक हुनु, आफ्नो बोली र काममा संयम हुनु, अति अहङ्कारी वा अरूप्रति अति रूखो नहुनु हो भन्‍ने सोच्छन्। यस्तो व्यवहार गरेमा परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ, र कर्तव्य निर्वाह गर्दा काटछाँटमा परिनेछैन भन्‍ने तिनीहरूलाई लाग्छ। अगुवा वा सेवकको रूपमा सेवा गरेमा आफूलाई प्रतिस्थापित गरिनेछैन वा हटाइनेछैन भन्‍ने तिनीहरूको विश्‍वास हुन्छ। तिनीहरूलाई आफूले मुक्ति पाउने ग्यारेन्टी छ भन्‍ने लाग्छ। के परमेश्‍वरमा विश्‍वास गर्नु त्यति सरल कुरा हो? (होइन।) धेरै मानिसहरूले यस्तो दृष्टिकोण राख्छन्, तर आखिरमा तिनीहरूको विचार, दृष्टिकोण, र तिनीहरू जीवनमा जसरी व्यवहार गर्छन् ती सबै कुरा विफल हुन्छन्। अन्त्यमा, ब्रह्माण्डमा आफ्नो स्थान के हो भनी थाहा नभएका केही मानिसहरूले यी सबै कुरालाई एक वाक्यमा समेट्छन्: म मानवको रूपमा असफल भएको छु! तिनीहरू आफूलाई मानवको रूपमा व्यवहारमा ढाल्नु भनेको परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयताको मूल्यमान्यता पालन गर्नु हो भन्‍ने सोच्छन्। तर के त्यसलाई मानवको रूपमा आफूलाई व्यवहारमा ढाल्नु हो भन्‍न सकिन्छ त? त्यो आफूलाई मानवको रूपमा व्यवहारमा ढाल्नु होइन; यो त पिशाचको व्यवहार हो। “म मानवको रूपमा असफल भएको छु” भन्‍ने मानिसहरूलाई म सोध्छु, के तैँले आफूलाई मानवको रूपमा व्यवहारमा ढालेको छस् त? तैँले आफूलाई मानवको रूपमा व्यवहारमा ढाल्ने प्रयाससमेत गरेको छैनस्, अनि तँ कसरी “म मानवको रूपमा असफल भएको छु” भनेर भन्‍न सक्छस्? यो त परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयताजस्ता पारम्परिक सांस्कृतिका मूल्यमान्यताहरूले मानिसहरूमा काम गर्न नसक्‍नु हो, तैँले आफूलाई मानवको रूपमा व्यवहारमा ढाल्न नसक्‍नु होइन। जब मानिसहरू परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्छन्, तब परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयताजस्ता कुराहरू निरर्थक हुन्छन् र ती कुनै कामका हुँदैनन्। मानिसहरूले थाहा नपाई यसो भन्‍न पुग्छन्, “ओहो, परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयता—ती कुनै कामका छैनन्! आफूलाई व्यवहारमा ढाल्नु सरल छ, र परमेश्‍वरमा विश्‍वास गर्नु पनि एकदमै सरल छ, त्यो त्यति जटिल छैन भन्‍ने लाग्थ्यो। अहिले मात्र मलाई मैले परमेश्‍वरमा विश्‍वास गर्नुलाई अति सरल ठानिरहेको रहेछु भन्‍ने थाहा भयो।” तिनीहरूले लामो समयसम्म प्रवचनहरू सुनेपछि, अन्त्यमा यो कुरा सत्यता नबुझ्ने मानिसहरूका लागि उपयुक्त रहेनछ भनेर थाहा पाउँछन्। यदि मानिसहरूले सत्यताका केही क्षेत्र बुझेनन् भने, तिनीहरूले त्यस क्षेत्रमा गल्ती गर्न पुग्छन् अनि काट-छाँट, असफलता, न्याय र सजाय भोग्छन्। तिनीहरूले पहिले सही, असल, सकारात्मक र उच्‍च ठानेका कुराहरू सत्यताको अघि महत्त्वहीन र निरर्थक बन्छन्। परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयतासम्बन्धी विभिन्‍न र सबै कथनहरूले मानिसहरूको सोच र दृष्टिकोणहरूका साथै तिनीहरूको काम गर्ने तरिका र माध्यमहरूमा केही प्रभाव पारेका हुन्छन्। यदि मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन कार्य संलग्‍न नभएको भए, र मानवजाति शैतानको सत्ताअन्तर्गत, जस्ताका तस्तै जिइरहेका भए, परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयता तुलनात्मक रूपमा सकारात्मक कुरा भएकाले यी कुराहरूले मानिसहरूको सोच अनि सामाजिक लोकाचार र वातावरणमा अलिअलि सकारात्मक भूमिका नै खेल्थे। कम्तीमा यी कुराहरूले मानिसहरूलाई दुष्कर्म, हत्या, आगजानी वा बलात्कार र लुटपाट गर्न त उक्साउँदैनन्। तर, मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको कामको सन्दर्भमा, परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयतामध्ये यी कुनै पनि कुरा परमेश्‍वरले मानवजातिलाई दिन चाहनुभएको सत्यता, बाटो वा जीवनसित सम्बन्धित छैन। अनि त्यति मात्र होइन: परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयताका मूल्यमान्यताले वकालत गर्ने विभिन्‍न विचारहरू, यी कुराहरूले मानिसहरूको नैतिक आचरणमा लाद्‍ने मापदण्डहरू, र मानिसहरूको नैतिक आचरणमा यी कुराहरूले पार्ने प्रभाव र बन्धनहरूलाई हेर्दा, यीमध्यै कुनैले पनि मानिसहरूलाई परमेश्‍वरतर्फ फर्कन मार्गदर्शन गर्ने वा तिनीहरूलाई जीवनको सही मार्गमा डोऱ्याउने कुनै भूमिका खेलेको छैन। बरु, यी त मानिसहरूलाई सत्यता पछ्याउन र स्विकार्नबाट रोक्‍ने ठूलो बाधा बनेका छन्। हामीले पहिले सङ्गति र विश्‍लेषण गरेका नैतिक आचरणसम्बन्धी कथनहरू—भेटेको पैसा लिनु हुँदैन; अरूलाई सहयोग गर्दा आनन्द मिल्छ; आफूलाई कडाइ गर्नू र अरूलाई सहनू; खराबीलाई भलाइले जित्‍नुपर्छ; दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ; अरूको खातिर आफ्नो हित त्याग; स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ; इनारको पानी पिउँदा, इनार खन्‍ने व्यक्तिलाई नबिर्सिनू—यी कुराहरू मुख्य गरी हामीले सङ्गतिमा स्पष्ट पारिसकेका छौँ, र कम्तीमा पनि सबैले यी कुराको सामान्य अर्थ बुझ्छन्। तथ्य के हो भने, यस्ता कथनहरू नैतिक आचरणको जुनसुकै पक्षसँग सम्बन्धित भए पनि, यिनले मानिसहरूको सोचलाई सीमित पार्छन्। यदि तैँले यस्ता कुरालाई ठम्याउन सक्दैनस्, र यी कथनहरूको सार स्पष्टसित बुझ्न सक्दैनस्, अनि यी भ्रामक दृष्टिकोणहरू परिवर्तन गर्दैनस् भने, तैँले यी नैतिक आचरणसम्बन्धी कथनहरू त्याग्‍न सक्दैनस्, र तैँले यी कुराहरूको प्रभावबाट आफूलाई मुक्त गर्न पनि सक्दैनस्। यदि तैँल यी कुराहरू त्याग्‍न सक्दैनस् भने, तँलाई परमेश्‍वरबाट आएका सत्यता स्विकार्न, र परमेश्‍वरका वचनहरूको मानक र मानिसहरूको नैतिक आचरणको लागि सृष्टिकर्ताका निर्दिष्ट मापदण्डहरू स्विकार्न गाह्रो हुनेछ, र परमेश्‍वरका वचनहरूलाई सत्यताको सिद्धान्त र मानकको रूपमा पालन र अभ्यास गर्न कठिन हुनेछ। के यो गम्भीर समस्या होइन र?

आज, हामी नैतिक आचरणसम्बन्धी अर्को कथनलाई सङ्गति र विश्‍लेषण गर्दै निरन्तरता देऔँ: “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू।” यसले अरूसँग व्यवहार गर्ने तरिकाबारे कुरा गर्छ, जुन शैतानले मान्छेको मस्तिष्कमा हालिदिएको छ। यसको अर्थ अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूलाई केही छुट दिनुपर्छ भन्‍ने हुन्छ। अरूसँग अति रूखो व्यवहार गर्नु हुँदैन, तिनीहरूको विगतका गल्तीहरू कोट्याउनु हुँदैन, तिनीहरूको इज्‍जत राख्‍नुपर्छ, तिनीहरूसँगको राम्रो सम्‍बन्ध बिगार्नु हुँदैन, तिनीहरूलाई क्षमा दिनुपर्छ, आदि इत्यादि। नैतिकतासम्‍बन्धी यो भनाइ मानिसहरूको बीचमा हुने व्यवहारलाई नियन्त्रण गर्ने संसारसँग व्यवहार गर्ने दर्शनको बारेमा मात्रै व्याख्या गर्छ। संसारसँग व्यवहार गर्ने दर्शनको एउटा सिद्धान्त छ, “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।” यसको अर्थ मित्रताको सम्बन्ध जोगाउनको लागि, व्यक्तिले आफ्‍नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारेमा मौन बस्‍नुपर्छ—उसले मान्छेलाई अनुहारमा नहिर्काउने वा उनीहरूको कमजोरीमाथी औँला नउठाउने सिद्धान्तहरू पालना गर्नुपर्छ। तिनीहरूले एकअर्कालाई धोका दिनुपर्छ, एकअर्काबाट आफ्नो कुरा लुकाउनुपर्छ, एकअर्काको विरुद्ध षड्यन्त्र गर्नुपर्छ; र अर्को व्यक्ति कस्तो हो भन्‍ने कुरा स्पष्टै थाहा भएर पनि, तिनीहरूले त्यो कुरा सीधै भन्‍नु हुँदैन, बरु तिनीहरूबीचको राम्रो मित्रता रक्षा गर्न धूर्त विधिहरू अपनाउनुपर्छ। किन व्यक्तिले यस्तो सम्‍बन्ध जोगाउन चाहन्छ? यसको अर्थ समाजमा र आफ्नो समूहमा शत्रु बनाउन नचाहनु हो, किनभने त्यसो गर्दा आफू खतरनाक परिस्थितिमा पर्न सकिन्छ। तैँले कुनै व्यक्तिमाथि औँला उठाएपछि वा उसलाई चोट पुर्‍याएपछि ऊ तेरो शत्रु बन्‍नेछ र उसले तँलाई हानि गर्नेछ भन्‍ने तँलाई थाहा हुन्छ, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्‍न चाहँदैनस्, र त्यसैले तैँले “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍नेजस्ता संसारसँग व्यवहार गर्ने दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्‍बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्‍न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र पनि होइनन्, एकअर्काका विश्‍वासपात्र हुनु त परको कुरा हो। त्यसो भए, यो वास्तवमा कस्तो सम्‍बन्ध हो? के यो आधारभूत सामाजिक सम्‍बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्‍बन्धहरूमा, मानिसहरूले आफूलाई लागेको कुरा भन्‍न सक्दैनन्, न त गहिरा कुराहरू गर्न, न त आफूले चाहेको कुरा बोल्न नै सक्छन्। तिनीहरूले आफ्नो हृदयको कुरा भन्‍न, अर्को व्यक्तिमा देखेका समस्याहरू बताउन, वा अर्को व्यक्तिलाई फाइदा पुग्‍ने शब्‍दहरू बोल्‍न सक्दैनन्। बरु, तिनीहरूले बोल्नको लागि अरूको मन जित्‍ने राम्रा कुराहरू चुन्छन्। तिनीहरू आफूविरुद्ध अरूमा शत्रुता नपलाओस् भनेर सत्य कुरा बोल्ने वा सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। कसैले कसैलाई खतरामा नपार्दा, के तिनीहरू तुलनात्मक रूपमा सहज र शान्तिमा बाँच्दैनन् र? “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने भनाइ प्रवर्धन गर्नुपछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो अस्तित्वमा रहने धूर्त र छली तरिका हो र यसमा आत्मरक्षाको तत्व मिसिएको हुन्छ, जसको उद्देश्य आफ्‍नो सुरक्षा गर्नु हो। यसरी जिउने मानिसहरूको केही कुरा भन्‍न सकिने विश्‍वासपात्र र मन खोल्न मिल्ने घनिष्ठ मित्र कोही हुँदैनन्। तिनीहरू एकअर्काप्रति रक्षात्मक, अनि षड्यन्त्रकारी, र रणनीतिक हुन्छन्, र दुवैले नै उक्त सम्‍बन्धबाट आफूलाई चाहेको कुरा लिन्छन्। के यो यस्तै हुँदैन र? “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने भनाइको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्‍याएर आफ्‍नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्‍न नदिनका लागि अपनाइने उपाय र विधि हो। सारका यी कैयौँ पक्षहरूलाई हेर्दा, “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने मानव नैतिक आचरणको मापदण्ड के उच्‍चकोटिको सिद्धान्त हो? के यो सकारात्मक सिद्धान्त हो? (होइन।) त्यसो भए, यसले मानिसहरूलाई के सिकाउँछ? हामीले कसैलाई ठेस वा चोट पुऱ्याउनु हुँदैन, नत्र आफैलाई चोट पुग्‍नेछ; र साथै, तैँले कसैलाई भरोसा गर्नु हुँदैन भन्‍ने सिकाउँछ। यदि तैँले आफ्ना असल मित्रहरूमध्ये कसैलाई चोट पुऱ्याइस् भने, त्यो मित्रता चालै नपाई उल्टो हुन थाल्: ऊ तेरो असल र घनिष्ठ मित्रबाट सडकमा भेटिने कोही अपरिचित व्यक्ति वा शत्रु बन्‍नेछ। मानिसहरूलाई यस्तो कुरा सिकाउँदा, यसले के-कस्ता समस्याहरू हल गर्न सक्छ? यसरी व्यवहार गरेर, तैँले शत्रु नबनाए पनि र केही शत्रु घटाए पनि, के यसले गर्दा मानिसहरूले तँलाई आदर र अनुमोदन गर्नेछन्, र सधैँ तँलाई साथी बनाइराख्‍नेछन्? के यसले पूर्ण रूपमा नैतिक आचरणको मापदण्ड हासिल गर्छ? बढीमा, यो संसारसँग व्यवहार गर्ने दर्शनभन्दा अरू केही होइन। के यो कथनको पालन र अभ्यासलाई असल नैतिक आचरण मान्‍न सकिन्छ? बिलकुलै सकिँदैन। कतिपय आमाबुबाले यसरी नै आफ्ना छोराछोरीलाई शिक्षा दिन्छन्। यदि बाहिर कतै उनीहरूको बच्‍चाले कुटाइ खायो भने, उनीहरूले बच्‍चालाई भन्छन्, “तँ डरपोक होस्। तैँले पनि कुटन् सकिनस्? त्यसले मुक्‍का हान्यो भने, तैँले लात्ती हान्!” के यो सही तरिका हो? (होइन।) यसो गर्नुलाई के भनिन्छ? यसलाई उक्साउनु भनिन्छ। उक्साउनुको उद्देश्य के हो? नोक्सानीबाट जोगिनु र अरूबाट फाइदा उठाउनु। यदि कसैले तँलाई मुक्‍का हान्यो भने, बढीमा एकदुई दिन दुख्‍नेछ; तर त्यतिबेला यदि तैँले त्यसलाई लात हानिस् भने, के परिणाम झनै गम्भीर हुँदैन र? अनि यो कसले गराएको हुन्छ? (आमाबुबाले, उक्साएर।) त्यसैले, योसँग “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने कथनको चरित्र केही हदसम्म एउटै छैन र? के यो कथनअनुसार अरू मानिसहरूसँग अन्तरक्रिया गर्नु सही हो? (होइन।) अहँ, यो सही होइन। यसलाई यस दृष्टिबाट हेर्दा, के यो मानिसहरूलाई उक्साउने तरिका होइन र? (हो, यो त्यही हो।) के यसले मानिसहरूलाई अरूसँग अन्तरक्रिया गर्दा बुद्धिमानी बन्‍न, मानिसहरूलाई खुट्ट्याउन सक्षम बन्‍न, मानिसहरू र विभिन्‍न कुराहरूलाई सही तरिकामा हेर्न, र मानिसहरूसँग बुद्धिमानी शैलीमा अन्तरक्रिया गर्न सिकाउँछ? के यसले तँलाई मानवता भएका असल मानिसहरू भेट्दा तैँले तिनीहरूसँग सच्‍चा व्यवहार गर्नुपर्छ, सके तिनीहरूलाई सहयोग गर्नुपर्छ, नसके सहनशील भएर तिनीहरूलाई उचित तरिकाले व्यवहार गर्नुपर्छ, तिनीहरूको कमीकमजोरी, गलतफहमी र आलोचनाहरू सहनुपर्छ, अनि तिनीहरूको सबलता र असल गुणहरूबाट सिक्‍नुपर्छ भनेर सिकाउँछ? के यसले मानिसहरूलाई त्यही सिकाउँछ? (सिकाउँदैन।) त्यसो भए, यो भनाइले मानिसहरूलाई जे सिकाउँछ त्यसको अन्तिम परिणाम के हुन्छ? यसले मानिसहरूलाई अझ इमानदार कि अझ छली बनाउँछ? यसले मानिसहरूलाई अझ छली बनाउँछ; मानिसका हृदयहरू झन्झन् टाढिन्छन्, मानिसहरूबीच दूरी बढ्छ, र मानिसका सम्बन्धहरू जटिल बन्छन्; यो मान्छेका सामाजिक सम्बन्धहरूको जटिलता जस्तै हो। यसले गर्दा मानिसहरूबीचको आत्मीय कुराकानी हराउँछ, र एकआपसप्रति सतर्क रहने मनस्थिति पैदा हुन्छ। के अझै पनि यसरी मानिसका सम्बन्धहरू सामान्य हुन सक्छन्? के सामाजिक वातावरण सुध्रिन्छ? (सुध्रिँदैन।) त्यसैले, “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने भनाइ प्रस्ट रूपमै गलत छ। मानिसहरूलाई यस्तो गर्न सिकाउँदा, यसले उनीहरूलाई सामान्य मानवतामा जिउने बनाउन सक्‍दैन; साथै यसले मानिसहरूलाई निष्कपट, सोझा, वा खुल्ला मनका पनि बनाउन सक्दैन। यसबाट कदापि कुनै पनि सकारात्मक परिणाम हासिल हुन सक्दैन।

“अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने भनाइले दुईवटा कार्यको कुरा गर्छ: एउटा हिर्काउनु, र अर्को औँला उठाउनु। मानिसहरूले अरूसँग गर्ने सामान्य अन्तरक्रियामा, कसैलाई हिर्काउनु सही हो कि गलत? (गलत।) के कसैलाई हिर्काउनु अरूसँगको अन्तरक्रियामा हुने सामान्य मानवताको प्रदर्शन र व्यवहार हो? (होइन।) चाहे अनुहारमा होस् वा अन्य कतै, मानिसहरूलाई हिर्काउनु अवश्यै गलत हो। त्यसैले, “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू” भन्‍ने भनाइ अन्तर्निहित रूपमै गलत छ। यो भनाइअनुसार, अरूलाई अनुहारमा हिर्काउनु सही होइन, तर अन्य कतै हिर्काउनुचाहिँ सही हो भन्‍ने देखिन्छ, किनभने अनुहारमा हिर्काएपछि यो रातो हुन्छ, सुन्‍निन्छ, र चोट लाग्छ। यसले गर्दा व्यक्ति नराम्रो देखिन्छ र हेर्नलायक हुँदैन, साथै यसले मान्छेसित तँ एकदमै रूखो, ठाडो र नीच व्यवहार गर्छस् भन्‍ने देखाउँछ। त्यसो भए, के मानिसहरूलाई अन्य कतै हिर्काउनु राम्रो हो त? होइन—त्यो पनि राम्रो होइन। वास्तवमा, यो भनाइको चुरो कुरो कसैलाई कहाँ हिर्काउनु भन्‍ने होइन, बरु “हिर्काउनु” भन्‍ने शब्द आफै हो। अरूसँग अन्तरक्रिया गर्दा, यदि तँ समस्या सामना गर्ने र सुल्झाउने उपायको रूपमा सधैँ अरूलाई हिर्काउँछस् भने, तेरो तरिका नै गलत छ। यो आवेगमा गरिन्छ र यो आफ्नो मानवताको विवेक र समझमा आधारित हुँदैन, र निस्सन्देह नै यो सत्यता अभ्यास गर्नु वा सत्यता सिद्धान्तहरू पालन गर्नु त झन् हुँदै होइन। कतिपयले अरूको मर्यादामा तिनीहरूकै अगाडि आक्रमण गर्दैनन्—तिनीहरू आफूले भन्‍ने कुरामा होसियार हुन्छन् र अरूलाई अनुहारमा हिर्काउनदेखि टाढै बस्छन्, तर तिनीहरूको पिठ्यूँपछाडि भने सधैँ घिनलाग्दो चाल चल्छन्, पानीमाथिको ओबानो बन्छन्, आमनेसामने राम्रो कुरा गर्छन् तर पिठ्यूँपछाडि षड्यन्त्र रच्छन्, गल्ती खोजीखोजी त्यसैमा प्रहार गर्छन्, बद्ला लिने मौका कुर्छन्, झूटो आरोप र कपट रच्छन्, अफवाह फैलाउँछन्, वा द्वन्द्व पैदा गर्छन् र अरू मानिस लगाएर निन्दा गराउँछन्। यी कपटी तरिकाहरू कसैलाई अनुहारमा हिर्काउनुभन्दा कत्ति राम्रा हुन्छन्? के यी तरिकाहरू कसैलाई अनुहारमा हिर्काउनुभन्दा झन् खराब होइनन् र? के यी तरीका झन् कपटपूर्ण, नीच, र मानवताहीन छैनन् र? (हो, छन्।) त्यसो भए, “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू” भन्‍ने भनाइ अन्तर्निहित रूपमै अर्थहीन छ। यो दृष्टिकोण नै गलत छ, यसमा झूटो बहानाको गन्ध छ। यो ढोँगी तरिका हो, जसले यसलाई झनै घिन, दिगमिग र सिकसिकलाग्दो बनाउँछ। अब हामी मानिसहरूलाई हिर्काउने कार्य आवेगमा गरिन्छ भनेर प्रस्ट भयौँ। तँ केको आधारमा कसैलाई हिर्काउँछस्? के यो कानुनले दिएको अधिकार हो वा तेरो परमेश्‍वरप्रदत्त अधिकार हो? यो कुनै पनि होइन। त्यसो भए, मानिसहरूलाई किन हिर्काउनु? यदि तँ कसैसँग सामान्य तवरमा मिलेर बस्‍न सक्छस् भने, तैँले ऊसँग मिलेर बस्‍न र अन्तरक्रिया गर्न सही तरिकाहरू प्रयोग गर्न सक्छस्। यदि तँ ऊसँग मिलेर बस्‍न सक्दैनस् भने, तैँले आवेगमा आउनु वा झगडा गर्नु नपर्ने गरी आफ्नो बेग्लै बाटो लिन सक्छस्। मानवताको विवेक र समझको दायराभित्र, मानिसहरूले गर्नुपर्ने कुरा यही हुनुपर्छ हो। तैँले आवेगमा आएर काम गरिसकेपछि, मान्छेलाई अनुहारमा नहिर्काई अन्य ठाउँमा हिर्काउँछस भने पनि, यो गम्भीर समस्या हुन्छ। यो आपसी व्यवहार गर्ने सामान्य तरिका होइन। यसरी त शत्रुहरूले व्यवहार गर्छन्, यो मानिसहरू उठबस गर्ने सामान्य तरिका होइन। यो मानव समझबाहिरको कुरा हो। “कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने भनाइमा “औँला उठाउनु” भन्‍ने शब्‍द असल हो कि खराब हो? के यो “औँला उठाउनु” मा मानिसहरूलाई परमेश्‍वरका वचनहरूले खुलासा वा पर्दाफास गर्दाको जस्तै अर्थ लुकेको हुन्छ? (हुँदैन।) मेरो बुझाइअनुसार त, मानव भाषाको हिसाबमा “औँला उठाउनु” को अर्थ त्यस्तो हुँदैन। यसको सार भनेको त केही हदसम्म दुर्भावनापूर्ण प्रकारको खुलासा हो; यसको अर्थ मानिसहरूको समस्या र कमीकमजोरीहरू, वा अरूलाई थाहा नभएका कुरा र बानीबेहोराहरू, वा पृष्ठभूमिमा भइरहेका केही षड्यन्त्र वा विचार र दृष्टिकोणहरू खुलासा गर्नु भन्‍ने हुन्छ। “कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने भनाइमा “औँला नउठाउनु” को अर्थ यही हुन्छ। यदि दुई मानिसहरू मिलेर बस्छन्, तिनीहरूबीच कुनै पर्खाल छैन अनि तिनीहरू एकअर्काका विश्‍वासपात्र हुन्, र दुवैले आफूलाई एकअर्काको लागि फाइदाजनक र उपयोगी हुने अपेक्षा गर्छन् भने, तिनीहरूले बसेर एकअर्काका समस्या खुलस्‍त र इमानदारीसाथ उजागर गर्नु नै सर्वोत्तम हुन्छ। यो उचित कुरा हो, र यो अरूको कमजोरीमाथि औँला उठाउनु गर्नु होइन। यदि तैँले अर्को व्यक्तिको समस्या देख्छस् तर ऊ तेरो सल्‍लाह मान्‍न सक्‍ने अवस्थामा छैन भने, भनाभन वा झगडा हुन नदिनलाई केही पनि नभन्। यदि तँ तिनीहरूलाई सहयोग गर्न चाहन्छस् भने, तैँले तिनीहरूसित विचार बुझ्‍न सुरुमा सोध्‍न सक्छस्, “तपाईंमा अलिअलि समस्या देखिन्छ, र सायद म केही सल्‍लाह दिन सक्छु होला। तपाईंले स्विकार्न सक्‍नुहुन्छ कि हुन्‍न थाहा छैन। यदि सक्‍नुहुन्छ भने, म भन्छु। यदि सक्‍नुहुन्‍न भने, म अहिलेको लागि त्यो कुरा मनमै दबाउँछु, र केही बोल्‍नेछैनँ। यदि तिनीहरूले, “म तपाईंलाई विश्‍वास गर्छु। तपाईंले जे भन्‍नु भए त्यो अस्वीकार्य हुनेछैन। म त्यो स्विकार्न सक्छु” भनी भन्छन् भने, तँलाई अनुमति दिइएको छ र त्यसपछि तैँले तिनीहरूलाई एकएक गरी तिनीहरूका समस्याहरू बताउन सक्छस्। तिनीहरूले तैँले भनेका कुरा पूर्ण रूपमा स्विकार्ने मात्रै छैनन्, यसबाट फाइदा पनि प्राप्त गर्नेछन्, र तिमीहरू दुवैले सामान्य सम्‍बन्ध कायम गर्न सक्‍नेछौ। के त्यो एकअर्कालाई इमानदारीसाथ व्यवहार गर्नु होइन र? (हो।) अरूसँग अन्तरक्रिया गर्ने सही तरिका यही हो; यो अरूको कमजोरीमाथि औँला उठाउनुजस्तो होइन। यो भनाइअनुसार “अरूको कमजोरीमाथि औँला उठाउनु” को अर्थ के हो? यसको अर्थ अरूको कमीबारे नबोल्‍नु, तिनीहरूका सबैभन्दा वर्जित रहेका समस्याहरू उल्लेख नगर्नु, तिनीहरूको समस्याको सार खुलासा नगर्नु, र अति भद्दा रूपमा औँला नउठाउनु हो। यसको मतलब केवल केही सतही टिप्पणी गर्नु, सबैले प्रायजसो भनिरहने कुराहरू भन्‍नु, व्यक्ति आफैले पहिल्यैदेखि बुझ्‍न सक्‍ने कुराहरू भन्‍नु, तर त्यस व्यक्तिले विगतमा गरेको गल्ती वा संवेदनशील विषय खुलासा नगर्नु हो। यदि तैँले यसरी व्यवहार गरिस् भने, त्यस व्यक्तिलाई यसले के फाइदा गर्छ? सायद तैँले उसलाई ठेस पुर्‍याउँदैनस् वा शत्रु बनाउँदैनस् होला, तर तैँले गरेको व्यवहारले त्यस व्यक्तिलाई कुनै पनि हालतमा सहयोग वा फाइदा पुग्दैन। त्यसकारण, “अरूको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने वाक्यांश आफैमा छली छ र यो एक किसिमको जाल हो जसले मानिसहरूको आपसी व्यवहारमा इमानदारिता रहनै दिँदैन। के भन्‍न सकिन्छ भने, यसरी व्यवहार गर्नु दुष्ट अभिप्रायहरू लिएर हिँड्नु हो; यो अरूसँग अन्तरक्रिया गर्ने सही तरिका होइन। गैरविश्‍वासीहरूले त “कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने भनाइलाई कुलिन नैतिकवान्‌ व्यक्तिले अपनाउने कुरा ठान्छन्। यो अरूसँग व्यवहार गर्ने छली आचरण हो भन्‍ने स्पष्ट छ, जुन मानिसहरूले आफ्‍नो रक्षा गर्न प्रयोग गर्छन्; यो व्यवहार गर्ने उचित तरिका हुँदै होइन। अरूको कमजोरीमाथि औँला नउठाउनु आफैमा बेइमान व्यवहार हो र अरूको कमजोरीमाथि औँला उठाउने कार्यमा गोप्‍य मनसाय हुन सक्छ। सामान्यतया तैँले कस्ता परिस्थितिहरूमा मानिसहरूले एकअर्काको कमजोरीमाथि औँला उठाएको देख्छस्? यहाँ एउटा उदाहरण छ: यदि समाजमा दुई व्यक्ति कुनै एक पदको लागि लडिरहेका छन् भने, तिनीहरूले एकअर्काको कमजोरीमाथि औँला उठाउँछन्। एउटाले भन्‍नेछ, “तपाईंले नराम्रो काम गर्नुभएको छ, र तपाईंले कति हो कति पैसा हिनामिना गर्नुभएको छ,” अनि अर्कोले भन्‍नेछ, “तपाईंले कति हो कति मानिसलाई हानि गर्नुभएको छ।” तिनीहरू एकअर्काका यस्ता कुराहरू खुलासा गर्छन्। के यो अरूको कमजोरीमाथि औँला उठाउनु होइन र? (हो।) राजनीतिक मञ्‍चमा एकअर्काको कमजोरीमाथि औँला उठाउनेहरू राजनीतिक प्रतिद्वन्द्वी हुन्, तर जब सामान्य मानिसहरूले यसो गर्छन्, तब तिनीहरू एकअर्काका शत्रु हुन्छन्। सरल भाषामा भन्‍नुपर्दा, यी दुईजनाको ठ्याक मिल्दैन। तिनीहरू भेट हुँदैपिच्छे बहस गर्न थाल्छन्, एकअर्काको कमजोरीमाथि औँला उठाउँछन्, एकअर्काको आलोचना र निन्दा गर्छन्, अनि त्यतिकै कुरा बनाएर झूटो दोषसमेत लगाउँछन्। एउटाको मामिलामा कुनै शंकास्पद कुरा छ भने, अर्कोले यसबारेमा खुलासा गर्दै निन्दा गर्नेछ। यदि मानिसहरूले एकअर्काका थुप्रै कुराहरूमाथि औँला उठाउँछन् तर एकअर्काको कमजोरीमाथि चाहिँ औँला उठाउँदैनन् भने, के त्यो राम्रो हो? (होइन।) यो राम्रो होइन, तर मानिसहरूले यो अभिमतलाई उच्‍च नैतिक आचरण मान्छन् र यसको बढिबढाइ गर्छन्, जुन एकदमै घृणित कार्य हो! “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने भनाइ आफैले कुनै पनि सकारात्मक कुराको वकालत गर्न सक्दैन। यो भनाइ “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ,” “खराबीलाई भलाइले जित्‍नुपर्छ,” र “स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ” भन्‍ने भनाइहरूजस्तो होइन, जसले कम्तिमा प्रशंसनीय नैतिक आचरणको वकालत त गर्छन्। “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने यो अभिव्यक्ति नैतिक आचरणसम्बन्धी कथन हो जसले नकारात्मक व्यवहारलाई उक्साउँछ तर मानिसहरूमा सकारात्मक कार्य पटक्‍कै गर्दैन। यसले मानिसहरूलाई यस संसारको जीवनमा व्यवहार गर्ने सही तरिका वा सिद्धान्तहरू के हुन् भनेर बताउँदैन। यसले यस्तो कुनै पनि जानकारी दिँदैन। यसले गर्ने भनेकै मानिसहरूलाई अरूको अनुहारमा नहिर्काउनू भन्‍ने मात्र हो, मानौँ अनुहारमा निहिर्काई अन्य जुनसुकै ठाउँमा हिर्काउनुचाहिँ उचित हो। तँलाई जहाँ हिर्काउनु मन लाग्छ त्यहीँ हिर्का; तिनीहरूलाई नीलडाम पारेर छोडिदे, अङ्गभङ्ग वा अधमरो पारिदे, सास गएन भने त भइहाल्यो नि। अनि जब मानिसहरू आपसमा झगडा गर्दा, शत्रुहरू वा राजनीतिक प्रतिद्वन्द्वीहरू भेट हुँदा, एकअर्काबारे आफूलाई जे मन लाग्यो त्यहीमाथि औँला उठाए भइहाल्यो, बस एकअर्काको कमजोरीमाथि चाहिँ औँला उठाउनुभएन। यो कस्तो तरिका हो? के तिमीहरूले पहिले यो भनाइलाई राम्रैसित अनुमोदन गर्थ्यौ होइन र? (हो।) मानौँ, दुई व्यक्ति विवाद गर्दै बहस गर्न थाल्छन्। एउटाले भन्छ, “मलाई थाहा छ, तिम्रो बच्‍चाको बाउ तिम्रो बुढो होइन,” अनि अर्को भन्छ, “मलाई थाहा छ, तिम्रो पारिवारिक कारोबारमा पैसा कमाउन कस्तो जालझेल हुन्छ।” कतिपय मानिसहरूले तिनीहरूको झगडाको विषयमा यस्तो टिप्पणी गर्छन्, “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू।” हेर त, तिनीहरूले एकअर्काको केही कमजोरी र दोषी रहस्यहरू कोट्याउँदै तिललाई पहाड बनाएको। कस्तो तुच्छ व्यवहार! अनि कस्तो निष्ठाहीनता! मानिसहरूलाई कम्तिमा अलिअलि त आदर गर्नुपर्छ नि, नत्र तिनीहरूले भविष्यमा कसरी राम्रो व्यवहार गर्न सक्छन् र?” यसरी टिप्पणी गर्नु सही हो कि गलत? (गलत।) के यसले अलिअलि सकारात्मक प्रभावसमेत पार्छ र? के यसको कुनै कुरा सत्यतासित अलिअलि मिल्दोसमेत हुन्छ र? (हुँदैन।) यस्ता टिप्पणीहरू गर्नको लागि व्यक्तिमा कस्तो प्रकारका विचार र दृष्टिकोणहरू हुनुपर्छ? के यस्ता टिप्पणीहरू सत्यता बुझिसकेको र इन्साफको बोध भएको व्यक्तिबाट आउँछन्? (आउँदैनन्।) केको आधारमा यस्ता टिप्पणीहरू उत्पन्‍न हुन्छन्? के ती पारम्परिक संस्कृतिको “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने विचारद्वारा पुरै प्रभावित भएर उत्पन्‍न गरिएका हुन्? (हो।) यी टिप्पणीहरू पूर्णतया पारम्परिक संस्कृतको यही विचार र दृष्टिकोणमा आधारित छन्।

भर्खरै हामीले कुरा गरेको दुई मानिसबीच भएको विवादको सन्दर्भमा, यदि तैँले यो मामिलालाई परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको दृष्टिकोणबाट हेर्छस् भने, परमेश्‍वरका वचनअनुसार र सत्यतालाई मापदण्डको रूपमा लिएर यसलाई कसरी सम्हाल्नुपर्छ? के यो मानिसहरूले मनन गर्नुपर्ने विषय होइन र? (हो, यो त्यस्तै हो।) यो तिमीहरूले मनन गर्नुपर्ने कुरा हो। विश्‍वासीहरूले कस्ता सिद्धान्तहरू पालन गर्नुपर्छ? तिनीहरूले पूर्ण रूपमा परमेश्‍वरका वचनअनुसार र सत्यतालाई मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नुपर्छ, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्नुपर्छ। यदि दाजुभाइ-दिदीबहिनीहरूबीच कुनै विवाद खडा भयो भने, तिनीहरू आपसमा सहनशील र धैर्यशील हुनुपर्छ, अनि एकअर्कालाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ। सर्वप्रथम तिनीहरूले मनन गरेर आत्मसचेतना प्राप्त गर्नुपर्छ, त्यसपछि परमेश्‍वरका वचनमा भएका सत्यताअनुसार समस्या सुल्झाउनुपर्छ, ताकि तिनीहरूले आफ्ना गल्तीहरू चिनेर देहविरुद्ध विद्रोह गर्न र अरूलाई सत्यता सिद्धान्तअनुसार व्यवहार गर्न सकून्। यसरी तिनीहरूले त्यो समस्यालाई जरैदेखि समाधान गर्नेछन्। तिमीहरूले यो समस्यालाई राम्ररी बुझ्नुपर्छ। “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने भनाइ मानवता मापन गर्ने मानक होइन, बरु संसारसँग व्यवहार गर्ने एक आधारभूत दर्शन मात्र हो, जसले मानिसहरूको भ्रष्ट व्यवहारलाई फिटिक्कै रोक्न सक्दैन। यो भनाइ एकदमै अर्थहीन छ, र विश्‍वासीहरूले यस्तो नियम पालन गर्नु आवश्यक छैन। मानिसहरूले परमेश्‍वरका वचन र सत्यता सिद्धान्तहरूअनुसार आपसी व्यवहार गर्नुपर्छ। विश्‍वासीहरूले पालन गर्नुपर्ने कुराहरू यिनै हुन्। यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दै पारम्परिक दृष्टिकोण र शैतानी दर्शनहरूमा पनि विश्‍वास गर्छन् भने, अनि अरूलाई मापन गर्न वा रोक्न, वा उनीहरूमाथि माग-आदेश थोपर्न पारम्परिक संस्कृतिका “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” जस्ता विचारहरू प्रयोग गर्छन् भने, त्यो निरर्थक र हास्यास्पद कुरा हो, र तिनीहरू अविश्‍वासी हुन्। “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने यो भनाइ साथीहरूसँगको व्यवहारमा प्रयोग गरिने शैतानी दर्शन हो, र यसले आपसी अन्तर्वैयक्तिक सम्बन्धहरूको अत्यावश्यक र मूल समस्या हल गर्न सक्दैन। तसर्थ, यो भनाइ सबैभन्दा सतही नियम, संसारसँग व्यवहार गर्ने सबैभन्दा सतही दर्शन हो। यसले सत्यता सिद्धान्तहरूको मानक कहीँकतै पूरा गर्न सक्दैन, अनि यस्तो सतही नियम पालन गर्दा कुनै कुरा पनि प्राप्त गर्न सकिँदैन र यो अत्यन्तै अर्थहीन हुन्छ। के यसो भन्नु उचित हो? (हो।) दाजुभाइ-दिदीबहिनीहरूबीच विवाद खडा हुँदा, यो मामिला हेर्ने र समाधान गर्ने सिद्धान्त के-कस्तो हुनुपर्छ? यसमा पारम्परिक संस्कृतिका नियमहरू पालन गर्नुपर्छ कि परमेश्‍वरका वचनमा भएका सत्यतालाई सिद्धान्तको रूपमा लिनुपर्छ? मलाई तिमीहरूको दृष्टिकोण बताओ। (सर्वप्रथम, हामीले परमेश्‍वरका वचनअनुसार चिरफार गर्दै तिनीहरूको विवादको प्रकृति र आवेगपूर्ण आपसी दोषारोपण खुट्याउनुर्छ, र यी भ्रष्ट स्वभावका अभिव्यक्ति हुन् भनेर चिन्नुपर्छ। त्यसपछि, हामीले तिनीहरूलाई सत्यताको सान्दर्भिक मार्गबारे सङ्गति गर्नुपर्छ। तिनीहरूले एकअर्कालाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ, तिनीहरूले विवेक र समझ अपनाउनुपर्छ, र तिनीहरूको बोली र कामले अरूको चित्त दुखाउने होइन, बरु उत्साह बढाउनुपर्छ। यदि अरूमा कमीकमजोरी छन्, वा उनीहरूले गल्ती गरेका छन् भने, तिनीहरूले उनीहरूलाई आक्रमण, निन्दा, वा दोषारोपण गर्नुभन्दा, सकेसम्म मदत दिँदै यो कुरालाई सही तरिकामा सम्हाल्नुपर्छ।) यो मानिसहरूलाई मदत गर्ने एक तरिका हो। त्यसो भए, तिनीहरूलाई मदत दिन र तिनीहरूको विवाद सुल्झाउन के कुरा भन्न सकिन्छ? (तिनीहरू मण्डलीमा विवाद गर्दै छन्, यो सन्तहरूलाई सुहाउने कुरा होइन र परमेश्‍वरको मापदण्डअनुरूप पनि छैन। त्यसैले, तिनीहरूसँग हामी यसो भन्दै सङ्गति गर्न सक्छौँ, “जब तपाईंहरू कसैमा समस्या छ भन्‍ने पत्ता लगाउनुहुन्छ, तब सक्नुहुन्छ भने मदत गर्नुहोस्। सक्नुहुन्न भने, बहस गर्नु आवश्यक छैन, नत्र यसले मण्डली जीवनमा बाधा पुऱ्याउनेछ, र बारम्बार चेतावनीको बाबजुद तपाईंहरूले यसो गरिरहनुभयो भने, मण्डलीले प्रशासनिक आदेशअनुसार यो कुरा सम्हाल्नेछ।”) यस्तो लाग्छ, तिमीहरू सबैलाई मण्डली जीवन बिथोल्ने मानिसहरूलाई सिद्धान्तअनुसार सम्हाल्न आउँछ, तर तिमीहरूलाई मानिसहरूबीचको विवाद कसरी सम्हाल्ने, वा ती सम्हाल्न परमेश्‍वरका कुन वचन प्रयोग गर्ने भन्‍नेबारे तिमीहरूलाई त्यति थाहा छैन—तिमीहरूलाई अझै पनि समस्याहरू हल गर्न परमेश्‍वरका वचन र सत्यता सिद्धान्तहरू कसरी लागू गर्ने भनेर थाहा छैन। यस मामिलामा, विवाद गर्ने ती दुवै पक्षमा के समस्या छ? के दुवैमा भ्रष्ट स्वभाव छ? (छ।) दुवै पक्षमा भ्रष्ट स्वभाव भएकोले, विवाद खडा हुँदा ती दुवैले कस्ता भ्रष्टता देखाए, र ती कहाँबाट पैदा भए, सो हेर्। तिनीहरूले देखाएका भ्रष्ट स्वभावहरू पत्ता लगा, त्यसपछि ती खुलासा र चिरफार गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्, ताकि ती दुवैले परमेश्‍वरसामु आएर परमेश्‍वरका वचनअनुसार आत्मसचेतना प्राप्त गरून्। अनि, तैँले तिनीहरूसँग मुख्यतः कुन कुरामा सङ्गति गर्नुपर्छ? तैँले यस्तै केही भन्न सक्छस्: “यदि तपाईंहरू दुवैले आफूलाई परमेश्‍वरका अनुयायी मान्नहुन्छ भने, बहस नगर्नुहोस्, किनभने बहसले समस्या समाधान गर्न सक्दैन। परमेश्‍वरलाई विश्‍वास गर्ने र पछ्याउने मानिसहरूलाई त्यसरी व्यवहार नगर्नुहोस्, र गैरविश्‍वासीहरूले मानिसहरूलाई जस्तो व्यवहार गर्छन्, त्यस्तो व्यवहार दाजुभाइ-दिदीबहिनीहरूलाई नगर्नुहोस्। यसो गर्नु परमेश्‍वरका अभिप्रायअनुरूप हुँदैन। परमेश्‍वरले मानिसहरूलाई अरूसित कसरी व्यवहार गर्न लगाउनुहुन्छ? यसमा परमेश्‍वरका वचनहरू एकदमै स्पष्ट छन्: एकअर्काप्रति क्षमाशील, सहनशील, धैर्यशील, र प्रेमिलो बन्‍नू। यदि तैँले अर्को व्यक्तिमा गम्भीर समस्या देखिस् र उसले गरेको कुरामा तेरो चित्त बुझेन भने, यसबारे विवेकसङ्गत र प्रभावकारी ढङ्गमा क्षमाशील, सहनशील, र धैर्यशील मनोवृत्तिले सङ्गति गर्नुपर्छ। यदि त्यो व्यक्तिले यसलाई परमेश्‍वरबाट आएको भनी आत्मसात गरेर स्वीकार गऱ्यो भने राम्रो हुन्छ। यदि उसले त्यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्न सकेन नै भने पनि तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्, र उसलाई आवेगमा आएर आक्रमण गर्न जरुरी हुँदैन। दाजुभाइ-दिदीबहिनीहरूले आपसमा बहस गर्नु र एकअर्काको कमजोरी औँल्याउनु सन्तहरूलाई सुहाउने व्यवहार होइन, र यो परमेश्‍वरका अभिप्रायअनुरूप हुँदैन। यो विश्‍वासीहरूले व्यवहार गर्ने तरिका होइन। अनि दोष्याइएको व्यक्तिको सन्दर्भमा भन्नुपर्दा, यदि तँलाई आफूले उचित तरिकामा काम गरेको छु र अरूले त्यसको निन्दा गर्नु हुँदैन भन्‍ने लागे पनि, तैँले तेरा व्यक्तिगत पूर्वाग्रहहरू त्याग्नुपर्छ, अनि त्यो समस्या र अर्काको दोषारोपणलाई शान्तपूर्वक र खुलेर सामना गर्नुपर्छ। तैँले आवेगमा आएर झगडा कहिल्यै गर्नु हुँदैन। यदि तिमीहरू दुवैले आवेगमा आएर आफूलाई वशमा राख्न सक्दैनौ भने, सुरुमा आफूलाई त्यो परिस्थितिबाट निकालिहाल। शान्त होऊ र त्यो समस्याको पछि नलाग, ताकि तिमीहरू शैतानको पासो र प्रलोभनमा नपरन्। तैँले चुपचाप परमेश्‍वरलाई प्रार्थना गरेर मदत माग्‍न सक्छस्, र आफ्ना समस्याहरू हल गर्न उहाँका वचनहरू प्रयोग गर्ने प्रयत्न गर्न सक्छस्। यदि तिमीहरू दुवैले आवेगमा आउने वा बोल्ने नगरी आफूलाई शान्त पार्न र आपसमा शान्ति र विवेकपूर्वक व्यवहार गर्न सक्छौ भने, तिमीहरूले सहमति, परमेश्‍वरका वचनहरूमा एकता अनि समस्याको हल नहुन्जेलसम्‍म त्यो विवादित विषयमा सँगै बसेर सङ्गति गर्न सक्छौ।” के त्यो भन्नु उचित कुरा होइन र? (हो।) तथ्य के हो भने, जब कोही दुईजनाले आपसमा विवाद गर्छन्, दुवैले भ्रष्ट स्वभाव प्रकट गर्छन, र दुवैले नै आवेग देखाउँछन्। यो सब शैतानी व्यवहार हो। यसमा दुवै सही वा गलत हुँदैनन्, र दुवैको व्यवहार नै सत्यताअनुरूप हुँदैन। यदि तैँले यो समस्यालाई परमेश्‍वरका वचन र सत्यताअनुसार लिन र सम्हाल्न सक्थिस् भने, तिमीहरूबीच विवाद नै हुन्थेन। यदि कुनै एक पक्षले मात्र पनि परमेश्‍वरका वचनअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्न, सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न सक्थ्यो भने, त्यो विवाद नै हुन्थेन। तसर्थ, यदि कोही दुईजनाले एकअर्काको कमजोरी औँल्याउँदै एकअर्काको अनुहारमा हिर्काउँछन् भने, यी दुवैजना आवेगमा आइहाल्ने कठोर व्यक्तिहरू हुन्। यी दुवैमा राम्रो केही छैन; यीमध्ये कुनै एक पनि सही छैन, न त गलत नै छ। असल र गलत मापन गर्ने आधार के हो? यो तैँले यस मामिलामा कस्तो दृष्टिकोण र अडान अपनाउँछस, तेरो मनसाय कस्तो छ, तँमा परमेश्‍वरको वचनहरूको आधार छ कि छैन, र तैँले गर्ने कुरा सत्यताअनुरूप छ कै छैन भन्‍ने कुरामा आधारित हुन्छ। स्पष्टतः तिमीहरूको विवादपछाडि लुकेको मनसाय अर्कोलाई वशमा पार्नु र जित्नु हो। तिमीहरू एकअर्कालाई नराम्रो शब्‍दले खुलासा गर्छौ र चोट पुऱ्याउँछौ। तिमीहरूले खुलासा गर्ने कुरा सही नै भए पनि, वा तिमीहरूको विवादको कारण सही-गलत जे भए पनि, केही फरक पर्दैन—किनभने तिमीहरू परमेश्‍वरको वचनअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर यो मामिला सम्हाल्दैनौ, अनि तिमीहरूले प्रकट गरेको कुरा आवेग हो, र तिमीहरूको कार्यका तरिका र सिद्धान्तहरू पूर्णतया आवेगमा आधारित छन्, तिमीहरू त्यसो गर्न भ्रष्ट शैतानी स्वभावद्वारा बाध्य पारिएका छौ, त्यसैले जो सही भए पनि, जसलाई फाइदा र जसलाई बेफाइदा भए पनि, तथ्य के हो भने तिमीहरू दुवै गलत र दुवै जिम्मेवार छौ। तिमीहरूले जसरी यो मामिला सम्हालिरहेका छौ त्यो परमेश्‍वरका वचनहरूमा आधारित छैन। तिमीहरू दुवै बसेर होसियारीसाथ आफ्ना समस्याहरूबारे विचार गर्नुपर्छ। तिमीहरू दुवैले परमेश्‍वरसामु शान्त बनेर ठन्डा दिमागले समस्याको सम्बोधन गर्न सक्यौ भने मात्र बसेर यसबारे शान्त र तनावमुक्त भई सङ्गति गर्न सक्छौ। मानिसहरू र कामकुराप्रतिको दुवैको दृष्टिकोण, अनि तिनीहरूको व्यवहार र कार्य परमेश्‍वरको वचन र सत्यता सिद्धान्तमा आधारित छ भने, कुनै निर्दिष्ट विषयमा तिनीहरूको विचार र दृष्टिकोण जति नै फरक भए पनि, वास्तवमा यसमा बताउनुपर्ने कुनै खास भिन्नता हुँदैन र यहाँ समस्या पनि केही हुँदैन। तिनीहरूले आफ्ना भिन्नताहरूलाई परमेश्‍वरको वचनअनुसार र सत्यतालाई आफ्नो सिद्धान्तको रूपमा लिएर सम्हाले भने, तिनीहरू अवश्य नै मिलेर आफ्ना भिन्नताहरू हटाउन सक्षम हुन्छन्। के तिमीहरू यसरी नै समस्याहरू सम्हाल्छौ? (होइन।) तिमीहरूलाई प्रशासनिक कारवाहीको सहारा लिने तरिकाबाहेक, समस्या सुल्झाउन कसरी सत्यता प्रयोग गर्ने भनेर थाहै छैन। त्यसैले, यो समस्यालाई यसरी समग्र रूपले सम्हालेर यसबाट बुझ्नुपर्ने कुरा के हो? यो मानिसहरूलाई आफ्ना भिन्नताहरू त्याग्न लगाउनुपर्छ भन्‍ने नभई यी भिन्‍नताहरू सही तरिकामा हल गरेर एकता हासिल गर्नुपर्छ भन्‍ने कुरा हो। यी भिन्नताहरू हटाउने आधार के हो? (परमेश्‍वरका वचनहरू।) त्यो सही हो: परमेश्‍वरका वचनहरूमा आधार खोज्। यो को सही र को गलत, को उचो र को निचो, वा को उचित र को अनुचित भन्‍ने कुरा होइन। बरु, यो त मानिसहरूको विचार र दृष्टिकोणको समस्या हल गर्नेसम्बन्धी कुरा हो, मतलब यो मानिसहरूको गलत विचार र दृष्टिकोण अनि कुनै निर्दिष्ट मामिला सम्हाल्ने गलत तरिकाहरू हटाउनेसम्बन्धी कुरा हो। परमेश्‍वरका वचनहरूमा आधार खोजेर, र सत्यता सिद्धान्तहरू बुझेर मात्र साँचो अर्थमा समस्याहरू सुल्झाउन सकिन्छ र मानिसहरूले साँच्चै मेलमिलापमा बस्न र एकता हासिल गर्न सक्छन्। नत्र, यदि तैँले परिस्थिति सम्हाल्न पारम्परिक संस्कृतिको “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” जस्तो कथन र विधि प्रयोग गर्छस् भने, समस्याहरू कहिल्यै समाधान हुनेछैनन्, वा कम्तीमा पनि मानिसहरूको विचार र दृष्टिकोणबीचका भिन्नताहरू समाधान हुनेछैनन्। तसर्थ, सबैले परमेश्‍वरका वचनहरूमा आधार खोजी गर्न सिक्‍नुपर्छ। परमेश्‍वरका सबै वचनहरू सत्यता हुन्, र तिनमा कुनै विरोधाभास छैन। सबै मानिस, मामिला र विभिन्‍न कुराहरू मापन गर्ने मापदण्ड ती मात्र हुन्। यदि सबैले परमेश्‍वरका वचनहरूमा आधार भेट्छन्, र विभिन्‍न कुराहरूलाई हेर्ने तिनीहरूको दृष्टिकोण परमेश्‍वरका वचनहरूसँग एक हुन्छ भने, के सहमतिमा पुग्‍न सजिलो हुँदैन र? यदि सबैले सत्यता स्विकार्न सके भने, के मानिसहरूबीच अझै भिन्नताहरू हुनेछन्? के अझै विवादहरू हुनेछन्? “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने विचार, दृष्टिकोण र कथनहरू के अझै पनि मानिसहरूमाझ बन्देजको रूपमा प्रयोग गर्नु आवश्यक हुन्छ र? हुनेछैन, किनभने परमेश्‍वरका वचनहरूले सबै समस्या हल गर्न सक्छन्। मानिसहरूबीच जेसुकै असहमति भए पनि, वा जतिसुकै फरक दृष्टिकोण भए पनि, ती सबैलाई परमेश्‍वरसामु ल्याएर परमेश्‍वरको वचनअनुसार चिन्‍नु र चिरफार गर्नुपर्छ। त्यसपछि ती सत्यताअनुरूप छन् कि छैनन् भनेर निर्धारित गर्न सम्भव हुनेछ। जब मान्छेले सत्यता बुझेको हुन्छ, तब उसले देख्‍न सक्छ कि मानवजातिका धेरैजसो विचार र दृष्टिकोणहरू पारम्परिक संस्कृति, मानिसहरूले पुज्ने विद्वान र महान् व्यक्तिहरूबाट आउँछन्—र मूलजड हेर्दा, ती शैतानी दर्शनहरूबाट आउँछन्। तसर्थ, वास्तवमा यी भ्रामक विचार र दृष्टिकोणहरू हल गर्न सजिलो छ। किन म यी हल गर्न सजिलो छ भन्दै छु? किनभने, यदि तैँले यी मानव विचार र दृष्टिकोणहरूलाई परमेश्‍वरको वचनद्वारा मापन गरिस् भने, ती सब विकृत, असमर्थनीय, र अव्यावहारिक रहेको थाहा पाउनेछस्। यदि मानिसहरूले सत्यता स्विकार्न सक्छन् भने, यी कुराहरू त्याग्‍न सजिलो हुन्छ, र त्यहीअनुरूप सबै समस्या हल गर्न सकिन्छ। समस्याहरू हल गरिएपछि के हासिल हुन्छ? सबैले आफ्ना रायहरू अनि आफ्ना निजी, व्यक्तिपरक विचार र दृष्टिकोण त्याग्‍न सक्छन्। तैँले ती कुरालाई जति नै राम्रो र सही सोचे पनि, मानिसहरूमाझ ती जति लामो समयदेखि रहेका भए पनि, ती सत्यताअनुरूप नभएसम्म तैँले ती कुरालाई इन्कार्नु र त्याग्नुपर्छ। अन्त्यमा, सबै मानिसले परमेश्‍वरको वचनलाई आफ्नो आधारको रूपमा लिइसकेपछि र मानिसहरूबाट आउने सबै कुरालाई इन्कार गरिसकेपछि, के तिनीहरूका विचार र दृष्टिकोणहरू एक हुँदैनन् र? (हुन्छन्।) जब मानिसहरू र विभिन्‍न कुराहरूका साथै आफ्नो व्यवहार र कार्यप्रतिको मानिसहरूको राय निर्धारित गर्ने विचार र दृष्टिकोणहरू सबै एक हुन्छन्, तब मानिसहरूमाझ के-कस्ता भिन्नताहरू हुनेछन्? बढीमा, भोजन र जिउने आदतमा केही भिन्नताहरू हुनेछन्। तर जब मानिसहरूको भ्रष्ट स्वभावसित साँच्चै सम्बन्धित मामिलाहरू, तिनीहरू हिँड्ने मार्ग र मानवजातिको सारको कुरा आउँछ, यदि सबै मानिसले परमेश्‍वरका वचनलाई आफ्नो आधार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिए भने, तिनीहरू आपसमा एक हुनेछन्। तँ पूर्वको होस् या पश्‍चिमको, वृद्ध होस् या जवान, पुरुष होस् या स्‍त्री, वा चाहे तँ बुद्धिजीवी होस् या श्रमीक वा कृषक, त्यसले केही फरक पर्दैन: तैँले अरूसँग परमेश्‍वरका वचनमा भएका सत्यताअनुसार अन्तरक्रिया गर्न सक्छस् भने, के मानिसहरूमाझ अझै पनि झगडा र द्वन्द्व हुनेछ र? हुनैछैन। तसर्थ, “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” जस्ता बचकना मापदण्डहरूलाई के मानिसहरूको विवादको हल भनेर अघि सार्न सकिन्छ? के ती अझै पनि मानिसहरूले आपसी अन्तरक्रियामा पालन गर्ने मन्त्र हुन सक्छन्? यस्ता सतही नियमहरू मानवजातिको लागि कुनै मोलका छैनन्, र तिनले मानिसहरूको दैनिक जीवनमा मानिसहरू र विभिन्‍न कुराहरूप्रतिको तिनीहरूको दृष्टिकोण, साथै तिनीहरूको व्यवहार र कार्यमा कुनै प्रभाव पार्न सक्दैनन्। यसबारे सोच्: के यो त्यही होइन र? (हो, त्यही हो।) ती कुराहरू सत्यतादेखि अत्यन्तै टाढा छन्, र तिनले मानिसहरू र विभिन्‍न कुराहरू, वा आफ्नो व्यवहार र कार्यप्रतिको मानिसहरूको दृष्टिकोणमा पटक्कै प्रभाव पार्दैनन्, त्यसैले ती कुराहरूलाई सदासदाको लागि त्याग्नुपर्छ।

हामीले माथि सङ्गति गरेको कुरालाई हेर्दा, के परमेश्‍वरका वचन र सत्यता मानिसहरू, घटना, र विभिन्‍न कुराहरू मापन गर्ने मापदण्ड हुन्, अनि मानवजातिका पारम्परिक संस्कृति र नैतिक शास्‍त्रहरू परमेश्‍वरका वचन र सत्यताअघि समर्थन र उल्लेख गर्न योग्य छैनन् भनेर निश्चितताका साथ सकिन्छ? (सकिन्छ।) मानवजातिले श्रद्धा गर्ने “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने भनाइको “उच्च” नैतिक मापदण्डको सन्दर्भमा भन्नुपर्दा, मानिसहरूले यसलाई कस्तो नजर र दृष्टिकोणले लिनुपर्छ? के मानिसहरूले यस्ता कुरालाई निरन्तर पूजा र पालन गरिरहनुपर्छ? (पर्दैन।) त्यसो भए, ती कुराहरूलाई कसरी त्याग्नुपर्छ? तैँले यो काम आफूलाई कुनै परिस्थिति आइपर्दा हडबडे वा आवेगशील बन्‍न छोडेर सुरु गर्। सबै जना र सबै कुरालाई सही तरिकाले सम्हाल्, शान्त बन्, परमेश्‍वरसामु आइज, परमेश्‍वरका वचनहरूमा सत्यता सिद्धान्तहरू खोज्, र अभ्यासको मार्ग खोजी गर्, ताकि तैँले “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने नैतिक आचरणसम्बन्धी भनाइको बन्धन वा रोकटोकमा नपरी मानिस र घटनाहरूलाई ठ्याक्कै परमेश्‍वरको वचनको आधारमा व्यवहार गर्न सक्। के त्यसरी जिउनु तेरो लागि झन् सजिलो र आनन्ददायी हुनेछैन र? यदि मानिसहरूले सत्यता स्विकार्दैनन् भने, तिनीहरू भ्रष्ट स्वभावको रोकटोकबाट कुनै हालतमा मुक्त हुँदैनन्, र तिनीहरूलाई आफू रहेको समूहका अरूसँग अन्तरक्रिया गर्न गाह्रो हुन्छ। तैँले कसैमाथि दादागिरी गर्दैनस् होला, तर तिनीहरू तँमाथि दादागिरी गर्न चाहन्छन्। तँ कसैसँग मिलेर बस्न चाहन्छस्, तर तिनीहरूले तँलाई सधैँ समस्यामा पार्छन्। तँ केही निश्‍चित मानिसहरूदेखि सावधान रहन्छस् र तिनीहरूदेखि पर बस्छस्, तर तिनीहरूले तँलाई खेदो गर्दै सास्ती दिन्छन्। यदि तैँले सत्यता बुझ्दैनस् र तँसँग परमेश्‍वरका वचनहरूको आधार छैन भने, तैँले अन्त्यसम्म तिनीहरूसँग झगडा मात्र गरिरहन सक्छस्। यदि तैँले डरलाग्दो दादागिरी सामना गर्नुपऱ्यो भने, तँलाई “बदला लिन भलाद्‍मीलाई कहिल्यै ढिला हुँदैन” भन्‍ने भनाइ अपनाउनुको कुनै विकल्प रहेनछ भन्‍ने लाग्नेछ। तैँले ऊसित बदला लिने सही मौका पर्खनेछस्, र उसलाई घात गर्न धूर्त तरिका प्रयोग गर्नेछस्। तैँले आफ्नो गुनासो त पोख्छस् नै, त्यसमाथि सबैलाई तँमा इन्साफको बोध छ भन्‍ने पार्दै तेरो प्रशंसा गर्न लगाउनेछस्, र तिनीहरूलाई तँ सज्जन होस् र ऊचाहिँ खलनायक हो भन्‍ने सोच्‍ने बनाउनेछस्। यो शैली तँलाई कस्तो लाग्छ? के यो संसारमा चालढाल अँगाल्‍ने सही तरिका हो? (होइन।) अब तिमीहरूले बुझ्यौ। त्यसो भए, असल व्यक्ति को हो: सज्जन कि खलनायक? (दुवै होइनन्।) गैरविश्‍वासीहरूले मान गर्ने यी सज्जनहरूको परिभाषामा एउटा कुराको कमी छ, त्यो हो “झूटा”। तिनीहरू “झूटा सज्जन” हुन्। तसर्थ, तिमीहरू जेसुकै गर, तर सज्जन नबन, किनभने सबै सज्जनहरूले झूटो रूपमा सज्‍जनता देखाउँछन्। त्यसैले, सही मार्गमा रहनको लागि कस्तो व्यवहार गर्नुपर्छ? के “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउने; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउने” “साँचो सज्जनले” जस्तो व्यवहार गर्नु ठिकै हो? (होइन।) सबै सज्जन र प्रसिद्ध मानिसहरू नक्‍कली र छली हुन्छन्, र तिनीहरू झूटा सज्जन हुन्। तिनीहरू सबै नर्क जान सक्छन्! त्यसो भए, मान्छेले आफूलाई केकस्तो व्यवहारमा ढाल्नुपर्छ? उसले आफूलाई त्यस्तो व्यक्तिमा ढाल्‍नुपर्छ जसले सत्यता पछ्याउँछ, जसले पूर्ण रूपमा परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर, मानिसहरू र विभिन्‍न कामकुराहरूलाई हेर्छ, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्छ र कार्य गर्छ। यस्तो व्यवहार भएको व्यक्ति मात्र साँचो व्यक्ति हो। यो सही तरिका हो कि होइन? (हो।) यदि कसैले तेरो कमजोरीमाथि औँला उठाइरहन्छ भने, तैँले के गर्नुपर्छ? तँ त भन्छस् होला, “तैँले ममाथि औँला उठाउँछस् भने, म पनि तँमाथि औँला उठाउनेछु!” के त्यसरी एकअर्कालाई निशाना बनाउनु राम्रो हो? के मानिसहरूले यही तरीकाले आफूलाई व्यवहारमा ढाल्‍नुपर्ने, कार्य गर्नुपर्ने र अरूसँग व्यवहार गर्नुपर्ने हो? (होइन।) यसलाई धर्मसिद्धान्त मानेर काम गर्नु हुँदैन भन्‍ने मानिसहरूलाई थाहा हुन सक्छ, तर धेरैले यस्ता परीक्षा र पासोहरू पार गर्न सक्दैनन्। कसैले तेरा कमजोरीमाथि औँला उठाएको, वा तँलाई निशाना बनाएको, वा तेरो पिठ्यूँपछाडि कुरा काटेको तैँले नसुनेको हनु सक्छ—तर जब तैले कसैले यस्तो कुरा गरेको सुन्छस्, तैँले त्यो सहन सक्नेछैनस्। तेरो मुटुको धडकन बढ्नेछ र तेरो टाउको रन्किनेछ; अनि तँ यसो भन्‍नेछस्, “तैँले ममाथि औँला उठाउने आँट कसरी गरिस्? यदि तँ मलाई राम्रो गर्दैनस् भने, म पनि तँलाई राम्रो गर्दिनँ! यदि तैँले मेरो कमजोरीमाथि औँला उठाउँछस् भने, मैले पनि तेरो दोषमाथि औँला उठाउँदिनँ भन्‍ने नसोच्!” अरूले भन्छन्, “एउटा भनाइ छ, ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू,’ त्यसैले, म तेरो कमजोरीमाथि औँला उठाउँदिनँ, तर तँलाई सम्हाल्न र तेरो घमण्ड चूर पार्न अरू नै तरिका खोज्नेछु। हेरौँ न, को खरो रहेछ!” यी सबै तरिका राम्रा हुन् कि होइनन्? (होइनन्।) लगभग सबैजसोले नै, यदि तिनीहरूलाई कसैले आफूमाथि औँला उठाएको, आलोचना गरेको वा पिठ्यूपछाडि केही नराम्रो बोलेको थाहा भयो भने, पहिलो प्रतिक्रियास्वरूप रिस नै पोखाउनेछन। तिनीहरू क्रोधित हुनेछन्, र खान वा सुत्न सक्‍नेछैनन्—अनि तिनीहरू सुत्न सकिहाले पनि, सपनामा समेत सरापिरहेका हुनेछन्! तिनीहरूको आवेगको कुनै सीमा हुँदैन! यो तुच्छ कुरा हो, तर तिनीहरूले यसबाट पार पाउनै सक्दैनन्। यो मानिसहरूमा आवेगले पार्ने प्रभाव हो, भ्रष्ट स्वभावबाट आउने दुष्परिणाम हो। जब भ्रष्ट स्वभाव कसैको जीवन बन्छ, तब यो सुरुमा कहाँ देखिन्छ? यो ऊ सहमत नहुने कुरामा देखिन्छ, यसले सुरुमै उसको भावनामा ठेस पुऱ्याउँछ, र त्यसपछि उसको आवेगको बाँध टुट्नेछ। अनि यस्तो भएपछि, ऊ आवेगमा जिउनेछ र उसले आफ्नो भ्रष्ट स्वभावअनुसार त्यो मामिला हेर्नेछ। उसको मनमा शैतानको दार्शनिक दृष्टिकोण पलाउनेछ, र उसले कुन तरिका र माध्यमले बदला लिने भनेर विचार गर्न थाल्नेछ, र यसरी उसले आफ्नो भ्रष्ट स्वभाव पुरै उदाङ्गो पार्नेछ। यस्ता समस्याहरू सम्हाल्नेसम्बन्धी मान्छेका विचार र दृष्टिकोणहरू, तिनीहरूले अपनाउने तरिका र माध्यमहरू, अनि तिनीहरूका भावना र आवेगहरू सबै नै भ्रष्ट स्वभावबाट आउँछन्। त्यसो भए, यो मामिलामा देखिने भ्रष्ट स्वभावहरू केके हुन्? पहिलो त निश्‍चय नै दुर्भावना हो, त्यसपछि अहङ्कार, छल, दुष्टता, हठ, सत्यताप्रतिको वितृष्णा, र सत्यताप्रतिको घृणा आउँछन्। यी भ्रष्ट स्वभावहरूमध्ये अहङ्कारले सबैभन्दा कम प्रभाव पार्न सक्छ। त्यसो भए, व्यक्तिको भावना र सोचलाई सबैभन्दा बढी नियन्त्रण गर्ने, अनि यो मामिला अन्त्यमा कसरी सम्हाल्ने भनेर निर्धारण गर्ने भ्रष्ट स्वभावहरू केके हुन्? ती दुर्भावना, हठ, सत्यताप्रतिको वितृष्ण, र सत्यताप्रतिको घृणा हुन्। यी भ्रष्ट स्वभावहरूले व्यक्तिलाई नराम्रोसँग जकड्छन्, अनि ऊ शैतानको जालमा जिइरहेको स्पष्ट हुन्छ। शैतानको जाल कसरी पैदा हुन्छ? के यसलाई पैदा गर्ने भ्रष्ट स्वभाव होइन र? तेरो भ्रष्ट स्वभावले नै तेरो लागि हरप्रकारको शैतानी जाल बुनेको हुन्छ। उदाहरणको लागि, जब तँ कसैले तँमाथि औँला उठाएको, तँलाई धिक्‍कारेको, वा तेरो पिठ्यूँपछाडि तेरो कमजोरीमाथि औँला उठाएको सुन्छस्, तब तँ शैतानी दर्शन र भ्रष्ट स्वभावलाई तेरो जीवन बन्न अनि तेरो सोच, दृष्टिकोण र भावनालाई वशमा पार्न दिन्छस्, र यसरी यस्ता कार्यहरूको श्रृङ्खला उत्पन्न हुन्छ। यी भ्रष्ट कार्यहरू मुख्यतः तँमा शैतानी प्रकृति र स्वभाव हुनुका परिणाम हुन्। तेरो परिस्‍थिति जस्तोसुकै भए पनि, जबसम्म तँ शैतानको भ्रष्ट स्वभावको बन्धन, नियन्त्रण, र अधीनमा हुन्छस्, तबसम्म तैँले जिउने सबै कुरा, तैँले प्रकट गर्ने, र देखाउने सबै कुरा—वा तेरा भावना, विचार र दृष्टिकोण, र तैँले काम गर्ने शैली र साधनहरू—ती सबै शैतानको स्वामित्वका हुन्छन्। यी सबै कुराले सत्यता उल्‍लङ्घन गर्छन् र यी सबै परमेश्‍वर र सत्यताविपरीत छन्। तँ परमेश्‍वरको वचन र सत्यताबाट जति टाढा जान्छस्, त्यति नै शैतानको नियन्त्रण र जालमा पर्छस्। त्यसको साटो, यदि तँ तेरो भ्रष्ट स्वभावको बन्धन र नियन्त्रणबाट मुक्त हुन, तीविरुद्ध विरोध गर्न, परमेश्‍वरसामु आउन, अनि परमेश्‍वरको वचनले बताएका तौरतरिका र सिद्धान्तअनुसार काम गर्दै समस्या समाधान गर्न सक्छस् भने, तँ क्रमिक रूपमा शैतानको जालबाट मुक्त हुनेछस्। अनि मुक्त भएपछि, तँ भ्रष्ट स्वभावद्वारा नियन्त्रित शैतानी स्वरूपवाला त्यही पुरानो व्यक्ति भएर जिउँदैनस्, बरु परमेश्‍वरको वचनलाई आफ्नो जीवनको रूपमा लिएर जिउने नयाँ व्यक्ति भएर जिउँछस्। तेरो जिउने तरिका पुरै परिवर्तन हुन्छ। तर यदि तँ शैतानी स्वभावले उत्पन्न गर्ने भावना, सोच, दृष्टिकोण, र अभ्याससामु झुक्छस् भने, तैँले पट्यारलाग्दो शैतानी दर्शन र विभिन्न शैलीहरू पालन गर्नेछस्, जस्तै “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू,” “बदला लिन भलाद्‍मीलाई कहिल्यै ढिला हुँदैन,” “नक्‍कली भलाद्मी बन्‍नुभन्दा त साँचो खलनायक बन्‍नु बेस हो,” “इख नभएको पुरुष र बिख नभएको सर्प एउटै हो।” यी कुराले तेरो हृदयमा डेरा जमाउनेछन्, र तेरा कार्यहरू निर्देशित गर्नेछन्। यदि तैँले यी शैतानी दर्शनहरूलाई तेरो कार्यको आधार मान्छस् भने, तेरो कार्य चरित्र परिवर्तन हुनेछ, अनि तैँले दुष्टता गरिरहेको र परमेश्‍वरको विरोध गरिरहेको हुनेछस्। यदि तैँले यी नकारात्मक सोच र दृष्टिकोणहरूलाई आफनो कार्यको आधार मान्छस् भने, स्पष्टतः तँ परमेश्‍वरको शिक्षा र वचनदेखि धेरै टाढा गएको छस्, र तँ शैतानको जालमा परेर आफूलाई मुक्त गर्न नसक्‍ने भएको छस्। तँ व्यावहारिक रूपमै तेरो पुरै दैनिक जीवन शैतानी स्वभावहरूमा जिउँछस्—तँ शैतानको जालोभित्र जिउँछस्। मानिसहरूको कष्टको जड नै तिनीहरू आफूलाई मुक्त गर्नै नसक्‍ने गरी शैतानी स्वभावद्वरा नियन्त्रित हुनु हो। तिनीहरू पापमा जिउँछन्, र जे गरे पनि सास्ती भोग्छन्। तैँले तेरो प्रतिद्वन्द्वीलाई हराए पनि, तँलाई सास्ती नै हुन्छ, किनभने अर्को कुन शत्रुको सामना गर्नुपर्ने हो, अनि उसलाई त्यही तरिकामा हराउन सकिने हो कि होइन, त्यो तँलाई थाहै हुँदैन। तँलाई भय र सास्ती हुन्छ। अनि हार्ने व्यक्तिलाई चाहिँ के हुन्छ नि? निश्‍चय नै, उसले पनि त्यसरी नै सास्ती भोग्छ। मुढेबलको हेपाइमा परेपछि तिनीहरूलाई जीवनमा आफ्नो कुनै मर्यादा वा निष्ठा रहेनछ भन्‍ने लाग्छ। हेपाइ सहनु गाह्रो हुन्छ, त्यसैले निरन्तर तिनीहरू प्रहार गर्ने उपयुक्त क्षण पर्खने र प्रतिशोधको मौका खोज्‍ने गरिरहन्छन्—खुनको बदला खुन र ज्यानको बदला ज्यान भनेर प्रतिद्वन्द्वीलाई देखाउन चाहिरहन्छन्। यस्तो मनस्थिति राख्नु पनि सास्ती नै हुन्छ। सङ्क्षेपमा भन्नुपर्दा, बदला लिने र बदला भोग्‍ने दुवै शैतानको जालमा जिउँछन्, र निरन्तर दुष्टता गर्दै र आफ्नो डरलाग्दो परिस्थितिबाट निरन्तर निस्कने उपाय खोज्दै बस्छन्, र यस क्रममा शान्ति, खुसी र सुरक्षा पाउने चाहना गरिरहन्छन्। एकतर्फ, मानिसहरू भ्रष्ट स्वभावको नियन्त्रणमा पर्छन् र शैतानको जालभित्र जिउँछन्, र आफ्नो वरपर आइपर्ने समस्याहरू सुल्झाउनको लागि शैतानले तिनीहरूलाई दिएका विधि, विचार, र दृष्टिकोणहरू अपनाउँछन्। अर्कोतर्फ, मानिसहरू अझै पनि परमेश्‍वरबाट शान्ति र खुशी पाउने आशा गर्छन्। तर तिनीहरू सधैँ शैतानको भ्रष्ट स्वभावद्वारा बाँधिएका र यसको जालमा फसेका हुनाले, र तिनीहरू सचेत भई त्यसविरुद्ध विरोध गर्न र आफूलाई बाहिर निकाल्न असक्षम भएकाले, तिनीहरू परमेश्‍वरको वचन र सत्यता सिद्धान्तहरूबाट झन्झन् टाढा हुने भएकाले, मानिसहरूले कहिल्यै पनि परमेश्‍वरबाट आउने चैन, आनन्द, शान्ति र खुसी पाउन सक्दैनन्। अन्त्यमा, मानिसहरू कस्तो स्थितिमा जिउँछन्? तिनीहरूले चाहे नै भने पनि, तिनीहरू सत्यता पछ्याउने कार्यको स्तरमा पुग्‍न सक्दैनन्, र तिनीहरूले राम्रोसित आफ्‍नो कर्तव्य निभाउन चाहे नै भने पनि, परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्दैनन्। तिनीहरू जहाँ छन् त्यहीँ अल्झिरहन्छन्। यो वेदनापूर्ण कष्ट हो। मानिसहरू नचाहेर पनि शैतानको भ्रष्ट स्वभावमा जिउँछन्। तिनीहरू मानिसहरूभन्दा पनि पिशाचहरूजस्ता भएर अँध्यारा कुनाहरूमा जिउँछन्, र आफूले सामना गर्ने कैयौँ कठिनाइ सुल्झाउन प्राय लाजमर्दा र दुष्ट विधिहरू खोजिहिँड्छन्। वास्तवमा मानिसहरूले आफ्‍नो अनतरात्मामा असल बन्‍ने इच्‍छा र ज्योतितर्फ लम्कने तृष्णा पालिरहेका हुन्छन्। तिनीहरूले मानवजस्तो भई इज्‍जतसाथ जिउने आशा गर्छन्। तिनीहरूले जिउनको लागि सत्यता खोजी गर्न र परमेश्‍वरमा आड लिन सकूँ, अनि परमेश्‍वरको वचनलाई आफ्‍नो जीवन र वास्तविकता बनाउन पाऊँ भन्‍ने आशा पनि गर्छन्, तर तिनीहरूले कहिल्यै पनि सत्यता अभ्यास गर्न सक्दैनन्, र कैयौँ धर्मसिद्धान्त बुझ्‍नुको बाबजुद पनि तिनीहरूले आफ्‍नो समस्या समाधान गर्न सक्दैनन्। मानिसहरू यही द्विविधामा फसेर बसेका छन्, तिनीहरू अघि जान पनि सक्दैनन्, फछि फर्कन पनि मन गर्दैनन्। तिनीहरू जहाँको त्यहीँ अल्झेका छन्। अनि, यसरी “अल्झने” अनुभव वेदनापूर्ण हुन्छ—अत्यन्तै वेदनापूर्ण। मानिसहरू ज्योतितर्फ लम्‍कने तृष्णा गरिरहेका हुन्छन्, र तिनीहरू परमेश्‍वरको वचन र सही मार्ग छोड्न अनिच्छुक हुन्छन्। तैपनि, तिनीहरू सत्यता स्विकार्दैनन् र परमेश्‍वरका वचनहरू अभ्यास गर्न सक्दैनन्, र तिनीहरू आफ्‍नो भ्रष्ट शैतानी स्वभावको बन्धन र नियन्त्रण पन्छाउन असक्षम हुन्छन्। अन्ततः, बिना कुनै वास्तविक खुसी, तिनीहरू वेदनामा जिउन मात्रै सक्छन्। के परिस्थिति यस्तै छैन र? (यस्तै छ।) चाहे जे होस्, यदि मानिसहरू सत्यता अभ्यास गर्न र सत्यता प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूले नैतिक आचरणका यी कथनहरूले आफ्नो विचार र दृष्टिकोण अनि आफ्नो सत्यता पछ्याइमा पार्ने प्रभाव हटाउन ससाना कुराबाट सुरु गरेर परमेश्‍वरका वचनहरू अलिअलि गर्दै अनुभव गर्नुपर्छ। यो महत्त्वपूर्ण छ; यी मामिलाहरू समाधान गर्नैपर्छ।

यदि मानिसहरूले आफ्नो स्वभाव बदल्न र मुक्ति पाउन चाहन्छन् भने, तिनीहरूमा सङ्कल्प मात्र भएर पुग्दैन, अदम्य मानसिकता पनि हुनुपर्छ। तिनीहरूले आफ्ना असफलताहरूबाट अनुभव बटुल्‍नुपर्छ, र आफ्ना अनुभवहरूबाट अभ्यासको मार्ग प्राप्त गर्नुपर्छ। असफल हुँदा, नकारात्मक र निरुत्साहित नबन्, अनि अवश्यै लत्तो नछोड्। अनि थोरै केही हासिल गर्दा नै सन्तुष्ट नबन्। तँ जे गर्नमा असफल वा कमजोर भए पनि, यसले भविष्यमा तैँले मुक्ति पाउन सक्नेछैनस् भनेर निर्धारण गर्दैन। तैँले परमेश्‍वरका अभिप्रायहरू बुझ्नुपर्छ, तँ फेरि उठ्नुपर्छ, परमेश्‍वरका वचनहरू पालन गर्नुपर्छ, र आफ्ना भ्रष्ट शैतानी स्वभावहरूसँग जुधिरहनुपर्छ। व्यक्तिले सुरुमा शैतानबाट आउने नैतिक आचरणसम्बन्धी विभिन्‍न मापदण्ड र भनाइहरूले मानिसहरूको सत्यता पछ्याइमा पुऱ्याउने हानि र बाधालाई स्पष्टसित बुझ्नुपर्छ। नैतिक आचरणसम्बन्धी यी भनाइहरूले मानिसहरूको मनलाई निरन्तर बन्धन र बाधामा पार्छन्, साथै मानिसहरूको भ्रष्ट स्वभावलाई बढावा दिन्छन्। अवश्य नै, यी भनाइहरूले मानिसहरूलाई सत्यता र परमेश्‍वरका वचन स्विकार्नबाट फरकफरक हदमा ध्यानभङ्ग गराउँछन्, जसले गर्दा मानिसहरू सत्यताप्रति शङ्का र विरोध गर्छन्। यस्तो एउटा भनाइ हो, “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू।” संसारसँग व्यवहार गर्ने यो दर्शनले मानिसहरूको कलिलो प्राणमा जरा गाडेको छ, र तिनीहरू अरू र आफूवरपर हुने कुराहरूलाई हेर्ने सन्दर्भमा अर्धचेतन रूपमा यस प्रकारका विचार र दृष्टिकोणद्वारा प्रभावित हुन्छन्। यी विचार र दृष्टिकोणहरूले मानिसको भ्रष्ट स्वभावमा हुने दुष्टता, छल र दुर्भावनालाई सेतो पोत्‍ने र ढाकछोप गर्ने गरिदिन्छन्। यी कुराले भ्रष्ट स्वभावको समस्या हल गर्न नसक्ने मात्र होइन, मानिसहरूलाई झनै धूर्त र छली पनि बनाउँछन्, र मानिसहरूको भ्रष्ट स्वभावलाई झन् खराब तुल्याउँछन्। सङ्क्षेपमा भन्नुपर्दा, पारम्परिक संस्कृतिको नैतिक आचरण र संसारसँग व्यवहार गर्ने दर्शनसम्बन्धी यी भनाइहरूले मानिसका विचार र दृष्टिकोणहरूमा प्रभाव पार्ने मात्र होइन, मानिसका भ्रष्ट स्वभावहरूमा गहन असर पनि पुर्‍याउँछन्। तसर्थ, पारम्परिक संस्कृतिका “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍नेजस्ता विचार र दृष्टिकोणहरूले मानिसहरूमा पार्ने प्रभावलाई बुझ्नु आवश्यक छ। यसलाई बेवास्ता गर्नु हुँदैन।

अहिले भर्खरै, हामीले मुख्यतः मानिसहरूबीच विवाद खडा हुँदा, त्यसलाई पारम्परिक संस्कृतिको भनाइ र दृष्टिकोणअनुसार सम्हाल्ने कि परमेश्‍वरको विचार र सत्यता सिद्धान्तअनुसार सम्हाल्नेबारेमा, र पारम्परिक संस्कृतिको दृष्टिकोणले समस्याहरू समाधान गर्न सक्छ कि परमेश्‍वरको वचन र सत्यताले मान्छेका समस्याहरू समाधान गर्न सक्छ भन्‍नेबारे सङ्गति गऱ्यौँ। जब मानिसहरूले यी कुराहरू स्पष्टसित बुझिसकेका हुन्छन्, तब तिनीहरूले सही निर्णयहरू गर्नेछन्, अनि अरूसँगको विवाद परमेश्‍वरका वचनमा भएका सत्यताअनुसार सुल्झाउन सजिलो हुनेछ। जब यस्ता समस्याहरू सुल्झाइन्छ, तब नैतिक आचरणसम्बन्धी “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने भनाइद्वारा मानिसहरूको सोच प्रभावित हुने र बन्धनमा पर्ने समस्या पनि आधारभूत रूपमै समाधान हुनेछ। कम्तीमा पनि मानिसहरूको व्यवहार यस्ता प्रकारका विचार र दृष्टिकोणहरूद्वारा प्रभावित हुनेछैन; तिनीहरूले आफूलाई शैतानको भ्रमको जालबाट मुक्त पार्न, परमेश्‍वरको वचनबाट सत्यता प्राप्त गर्न, मानिसहरूसँग अन्तरक्रिया गर्नका लागि सत्यता सिद्धान्तहरू खोजी गर्न, र परमेश्‍वरको वचनलाई आफ्नो जीवन बनाउन सक्नेछन्। पारम्परिक संस्कृतिको गलत दृष्टिकोण अनि शैतानी दर्शनका जञ्जीर र बन्धनहरूलाई परमेश्‍वरका वचनअनुसार विश्‍लेषण र खुट्ट्याइ गरेर मात्र सत्यता बुझ्न र समझ विकास गर्न सकिन्छ। यसो गर्दा शैतानको प्रभावलाई हटाउन र पापको बन्धनबाट मुक्त हुन सकिन्छ। यस तरिकाले, परमेश्‍वरका वचनहरू र सत्यता तेरो जीवन बन्छन्, र तिनले शैतानी दर्शन र स्वभावको सार भएको तेरो पुरानो जीवन प्रतिस्थापित गरिदिन्छन्। त्यसपछि, तँ बेग्लै व्यक्ति बनेको हुनेछस्। यो व्यक्ति अझै तँ नै भए पनि, यो नयाँ व्यक्तिको उत्पत्ति हो, जसले परमेश्‍वरको वचन र सत्यतालाई आफ्नो जीवनको रूपमा लिन्छ। के तिमीहरू यस्तो व्यक्ति बन्‍न इच्छुक छौ? (छौँ।) यस्तो व्यक्ति बन्नु राम्रो हो—कम्तीमा पनि तँ खुसी हुनेछस्। तैँले सुरुमा सत्यता अभ्यास गर्न थाल्दा, तँलाई कठिनाइ, रोकावट, र पीडा हुनेछ, तर यदि तैँले परमेश्‍वरका वचनमा जग नबसालुञ्जेलसम्म आफ्नो कठिनाइ हटाउन सत्यता खोज्न सक्छस् भने, पीडा हराएर जानेछ, अनि तेरो जीवन अघि बढ्दै जाँदा, तँ झनै खुसी र ढुक्‍क हुनेछस्। म किन त्यसो भन्दै छु? किनभने तँभित्रका ती नकारात्मक कुराहरूको प्रभाव र नियन्त्रण क्रमिक रूपमा कम हुँदै जानेछ, अनि त्यसो हुँदै जाँदा, तँभित्र परमेश्‍वरका वचनहरू र सत्यता झन्झन् धेरै प्रवेश गर्नेछन्, अनि परमेश्‍वरका वचनहरू र सत्यताले तेरो हृदयमा पारेको छाप झन्झन् गहिएर जानेछ। सत्यता खोज्ने तेरो जागरुकता झन्झन् दह्रिलो र तीव्र हुनेछ, अनि तँमा परिस्थितिहरू आइपर्दा, तेरो अभ्यासको भित्री मार्ग, दिशा र लक्ष्य झन्झन् प्रस्ट हुँदै जानेछ, अनि जब तँ भित्री तवरमा लडाइँ लड्छस्, तब सकारात्मक कुराहरूको प्रभाव झन्झन् बढी पर्नेछ। के त्यसपछि तेरो जीवनमा खुसी बढ्नेछैन र? के त्यसपछि तैँले परमेश्‍वरबाट प्राप्त गर्ने शान्ति र आनन्द बढ्नेछैन र? (बढ्नेछन्।) नकारात्मक भावनाहरूमध्ये तँलाई जीवनमा कष्ट र वेदना दिने, निराश र अप्रसन्‍न बनाउने कुराहरू झन्झन् थोरै हुनेछन्। यी कुराहरूको साटो, परमेश्‍वरको वचन तेरो जीवन बन्नेछ, र त्यसले तँलाई आशा, खुसी, आनन्द, स्वतन्त्रता, मुक्ति र सम्मान दिनेछ। जब यी सकारात्मक कुराहरू बढ्छन्, मानिसहरू पूर्णतया परिवर्तन हुनेछन्। त्यो समय आउँदा, तँलाई कस्तो महसुस हुन्छ भनेर जाँच् अनि अहिलेको परिस्थितिलाई पहिलेकोसँग दाँज्: के ती तेरो पहिलेको जीवनशैलीभन्दा बिलकुलै फरक छैनन् र? जब तैँले शैतानको जाल र यसको भ्रष्ट स्वभाव, यसको सोच र दृष्टिकोण, साथै मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्ने, अनि आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने यसका विभिन्‍न तौरतरिका, दृष्टिकोण र दार्शनिक मतहरू त्यागेको हुन्छस्—जब तैँले यी कुरालाई पूर्ण रूपमा त्यागेको हुन्छस्, जब तँ सत्यता अभ्यास गर्न, परमेश्‍वरको वचनअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्न र अरूसँग व्यवहार र अन्तरक्रिया गर्न, अनि मानिसहरूलाई सत्यता सिद्धान्तअनुसार व्यवहार गर्नु वास्तवमा कति असल हुन्छ भनेर उहाँका वचनहरूभित्र अनुभव गर्न, अनि सहज र आनन्दित जीवन जिउन सक्षम हुन्छस्—तब मात्र तैँले साँचो आनन्द प्राप्त गरेको हुन्छस्।

आज हामीले “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने नैतिक आचरणसम्बन्धी भनाइबारे सङ्गति र विश्‍लेषण गऱ्यौँ। के तिमीहरूले यस अभिव्यक्तिमा भएका समस्याहरू बुझ्यौ? (बुझ्यौँ।) के त्यसो भए तिमीहरूले मानिसहरूको लागि परमेश्‍वरले तोक्‍नुभएका मापदण्डहरू के-के हुन् भनेर पनि बुझ्यौ त? (बुझ्यौँ।) अब त्यो बुझिसकेको हुनाले, अन्त्यमा तिमीहरू त्यसलाई कसरी आफूमा लागू गर्नेछौ? आफूलाई कुनै कुरा आइपर्दा आवेगमा नआएर, वा पारम्परिक संस्कृतिमा आधार नखोजेर, वा सामाजिक प्रचलनमा आधार नखोजेर, वा आम धारणामा आधार नखोजेर, वा कानुनी प्रावधानहरूमा आधार नखोजेर। त्यसको सट्टा, त्यो आधार परमेश्‍वरका वचनहरूमा खोज्। तैँले सत्यता कति गहन वा सतही तवरमा बुझेको छस्, त्यसले केही फरक पार्दैन; यसले समस्या समाधान गर्न सक्यो भने पुगिहाल्यो। तैँले तँ दुष्ट र डरलाग्दो संसारमा जिउँछस् भनेर स्पष्टसित बुझ्‍नुपर्छ। यदि तैँले सत्यता बुझ्दैनस् भने, समाजका प्रचलनहरू पछ्याउन र दुष्टताको भुमरीमा पस्न मात्र सक्छस्। त्यसैले, तँलाई केही आइपर्दा, त्यो जेसुकै भए पनि, तैँले पहिला के गर्नुपर्छ? सर्वप्रथम तैँले आफूलाई सम्हाल्दै परमेश्‍वरसामु शान्त पार्नुपर्छ, र उहाँका वचनहरू अक्सर पढिरहनुपर्छ। यसो गर्दा तेरो दृष्टि र सोच स्पष्ट हुन सक्नेछ, अनि तँ शैतानले यस मानवजातिलाई बहकाइरहेको र भ्रष्ट पारिरहेको छ, र यो मानवजातिलाई शैतानको प्रभावबाट मुक्त गर्न परमेश्‍वर आउनुभएको छ भनेर स्पष्टसित देख्न सक्षम हुनेछस्। यो अवश्य नै तैँले सिक्नुपर्ने सबैभन्दा आधारभूत पाठ हो। तैँले परमेश्‍वरलाई प्रार्थना गरेर उहाँबाट सत्यता खोज्‍नुपर्छ, अनि उहाँलाई मार्गदर्शन माग्‍नुपर्छ—उहाँका सान्दर्भिक वचनहरू पढ्न र उहाँका सान्दर्भिक अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न मार्गदर्शन माग्‍नुपर्छ, ताकि तँलाई आफूसामु भइरहेको कुराको सार के हो र तैँले यसलाई कसरी हेर्नु र सम्हाल्नुपर्छ भन्‍ने कुराको बुझाइ होस्। त्यसपछि, यो मामिला सामना गर्न र सम्हाल्न परमेश्‍वरले तँलाई सिकाउनुभएको तरिका प्रयोग गर्। तँ सम्पूर्ण रूपमा र पुराको पुरा परमेश्‍वरमा भर पर्नुपर्छ। परमेश्‍वरलाई शासन गर्न दे; परमेश्‍वरलाई मालिक बन्‍न दे। जब तँ शान्त हुन्छस्, तब तैँले कुन शैली वा तरिका प्रयोग गर्ने भनेर दिमाग चलाउनुपर्ने प्रश्‍नै आउँदैन, न त आफ्नो अनुभवद्वारा वा शैतानी दर्शन र चालहरूद्वारा काम गर्नुपर्ने कुरा नै आउँछ। बरु, यसमा परमेश्‍वरको अन्तर्दृष्टि र उहाँको वचनको मार्गदर्शन पर्खनुपर्ने कुरा आउँछ। तैँले गर्नैपर्ने कुरा भनेको आफ्नो इच्छा त्याग्नु, आफ्नो सोच र दृष्टिकोण पन्छाउनु, श्रद्धापूर्वक परमेश्‍वरसामु आउनु, उहाँले तँलाई बताउनुहुने वचन र सत्यताहरू सुन्‍नु, अनि उहाँले तँलाई औँल्याउनुहुने शिक्षा पालन गर्नु हो। त्यसपछि, तैँले परमेश्‍वर ठ्याक्‍कै तैँले के गर् भन्‍ने चाहनुहुन्छ र तैँले के गर्नुपर्ने हो सो बुझ्नको लागि, आफूलाई शान्त पार्नुपर्छ, र विस्तृत रूपमा मनन गर्नुपर्छ अनि परमेश्‍वरले तँलाई सिकाउनुभएका वचनहरू बारम्बार प्रार्थना गर्दै पढ्‍नुपर्छ। यदि तैँले परमेश्‍वरको अभिप्राय र उहाँका शिक्षाहरू स्पष्टसित बुझ्न सक्छस् भने, सर्वप्रथम तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ किनकि उहाँले तेरो लागि परिस्थिति मिलाउनुभयो र तँलाई उहाँका वचनहरू जाँच्‍ने, तिनलाई वास्तविकता बनाउने र तीअनुसार जिउने मौका दिनुभयो, ताकि ती तेरो हृदयभित्र तेरो जीवन बनून्, र ताकि तैँले जे-जस्तो जीवन जिउँछस् त्यसले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी गवाही दिन सकोस्। स्वाभाविक रूपमै, तैँले यी समस्याहरू सम्हाल्दा, अनेक उतारचढाव, समस्या र कठिनाइ आउन सक्छन्, साथै केही संघर्ष गर्नुपर्ने हुन सक्छ, र विभिन्‍न मानिसहरूबाट केही दाबी र टिप्पणी आउन सक्छन्। तर जबसम्म यस्ता समस्याहरूबारे परमेश्‍वरको वचन एकदमै स्पष्ट छ, अनि तैँले बुझ्ने र पालन गर्ने कुरा परमेश्‍वरको शिक्षा हो भन्‍ने कुरमा तँ निश्‍चित हुन्छस्, तबसम्‍म तैँले निहिच्किचाई ती कुराहरू अभ्यास गर्नुपर्छ। तैँले तेरो परिस्थिति वा कुनै व्यक्ति, घटना, वा वस्तुको कारण बाधा महसुस गर्नु हुँदैन। तँ आफ्नो अडानमा दृढ रहनुपर्छ। सत्यता सिद्धान्त पालन गर्नु अहङ्कार वा आत्मधर्मीपन होइन। जब तैँले परमेश्‍वरका वचनहरू बुझेर उहाँको वचनअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्ने, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्छस्, अनि जब तँ सदा अपरिवर्तित रहँदै सिद्धान्तहरू पालन गर्न सक्षम हुन्छस्, तब तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस्। सत्यता अभ्यास गर्ने र पछ्याउने मानिसहरूमा हुनुपर्ने मनोवृत्ति र सङ्कल्प नै यही हो।

हामीले “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने अभिव्यक्तिका समस्याहरूबारे प्रशस्तै सङ्गति गरिसकेका छौँ। के तिमीहरूलाई यस्ता समस्याहरू बुझ्न अझै गाह्रो छ? के तिमीहरूले आजको सङ्गति र चिरफारमार्फत पारम्परिक संस्कृतिको नैतिक आचरणसम्बन्धी यो भनाइबारे पूर्ण नयाँ बुझाइ प्राप्त गरेका छौ? (गरेका छौँ।) तिमीहरूले प्राप्त गरेको यो पूर्ण नयाँ बुझाइको आधारमा, के अझै यो भनाइलाई सत्यता र सकारात्मक कुरा मान्छौ? (मान्दैनौँ।) यो भनाइले मानिसहरूमा पारेको प्रभाव अझै तिनीहरूको हृदय र अर्धचेतन मनमा गढेको होला, तर आजको सङ्गतिमार्फत्, मानिसहरूले आफ्नो सोच र चेतनाबाट नैतिक आचरणसम्बन्धी यो भनाइलाई हटाएका छन्। त्यसो भए, के तँ अझै अरूसँग अन्तरक्रिया गर्दा यसलाई पालन गर्छस् त? तँ विवादमा पर्दा, तैँले गर्नुपर्ने के हो? (सर्वप्रथम, हामीले यो “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने शैतानी दर्शन त्याग्नुपर्छ। हामीले चुपचाप परमेश्‍वरसामु आएर प्रार्थना गर्नुपर्छ र सत्यता खोज्नुपर्छ, अनि अभ्यास गर्नुपर्ने सत्यता सिद्धान्तहरू परमेश्‍वरका वचनभित्र खोज्‍नुपर्छ।) यदि हामीले यी कुराहरूबारे सङ्गति गरेनौँ भने, तिमीहरूलाई “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने नैतिक मापदण्डअनुसार आफूले कहिल्यै पनि मानिसहरू र विभिन्‍न्‍न कुरालाई हेरेका छैनौँ, वा त्यसअनुरूप आफूलाई व्यवहारमा ढालेका र कार्य गरेका छैनौँ भन्‍ने लाग्नेछ। अहिले यो समस्या खुलासा भएको छ, त्यसैले यस्तै अर्को कुनै कुरा तँमाथि आइपर्दा तँ यस्ता विचार र दृष्टिकोणहरूको प्रभावमा परेको पो छस् कि, अर्थात् यी कुरा तेरा विचार र दृष्टिकोणहरूमा पो छन् कि भनेर आफै हेर्। त्यो बेला, स्वाभाविक रूपमै तैँले आफूलाई धेरै कुरामा यस्ता विचार र दृष्टिकोणहरूद्वारा प्रभावित भएको पाउनेछस्, भन्नुको अर्थ थुप्रै परिस्थितिमा र थुप्रै कुराहरू आइपर्दा, तँ अझै पनि यस्ता विचार र दृष्टिकोणहरूद्वारा प्रभावित हुन्छस्, र ती कुराहरूले तेरो प्राणभित्रै गहिरो जरा गाडेका हुन्छन्, अनि ती कुराले निरन्तर तेरो बोली, काम र सोच निर्धारित गर्छन्। यदि तैँले यो महसुस गरेको छैनस् र यो समस्यालाई ध्यान दिने वा पछ्याउने गर्दैदैनस् भने, निश्‍चय नै तँ यसबारे सचेत हुनेछैनस्, र तँ यस्ता विचार र दृष्टिकोणहरूद्वारा प्रभावित छस् कि छैनस् भन्‍ने तँलाई थाहा हुनेछैन। जब तँ यो समस्यालाई साँच्चै पछ्याउँछस् र यसलाई अति सावधानीसाथ केलाउँछस्, तब पारम्परिक संस्कृतिको विष तेरो दिमागभित्रबाट प्रायः पोखिने गरेको तैँले थाहा पाउनेछस्। यसको मतलब, तँमा त्यो विष पहिले नभएको होइन, बस तैँले त्यसलाई पहिले गम्भीरतापूर्वक लिएकै थिइनस्, वा पारम्परिक संस्कृतिका यी भनाइहरूको वास्तविक सार के हो भनेर थाहा पाउनै सकेको थिइनस्। त्यसैले, तेरो दिमागभित्र गढिएका यस्ता समस्याहरू थाहा पाउन तिमीहरूले के गर्नुपर्छ? तिमीहरूले चिन्तनमनन र विचार गर्न सिक्‍नुपर्छ। चिन्तनमनन र विचार कसरी गर्नुपर्छ? यी दुई शब्दहरू एकदमै सरल लाग्छन्; त्यसो भए, तिनलाई कसरी बुझ्नुपर्छ? उदाहरणको लागि, मानौँ तैँले साँचो मार्ग अनुसन्धान गरिरहेका केही मानिसहरूलाई सुसमाचार सुनाइरहेको र परमेश्‍वरबारे गवाही दिइरहेको छस्। सुरुमा, तिनीहरू सुन्‍न इच्छुक होलान्, तर तैँले केही समय सङ्गति गरिसकेपछि, तिनीहरूमध्ये केहीले सुन्‍न पटक्कै मन नगर्लान्। त्यो बेला, तैँले यसरी सोच्‍नुपर्छ, “के हुँदै छ? के मेरो सङ्गति तिनीहरूको धारणा र समस्यासित फिटिक्‍कै मिलेन? मैले सत्यताबारे स्पष्टसित र बुझ्ने तरिकामा सङ्गति पो गरिनँ कि? कि तिनीहरूलाई आफूले सुनेको अफवाह वा भ्रमले बाधा पुर्‍यायो? किन तिनीहरूमध्ये कतिपयले अनुसन्धानलाई निरन्तरता दिँदैनन्? खास समस्या के हो?” यो चिन्तनमनन हो, होइन र? एउटा कुरा पनि नछुटाई हरेक पक्षलाई विचार गर्दै मामिलाबारे सोच्नु हो। यी कुराहरू विचार गर्नुको तेरो लक्ष्य के हो? समस्याको जड र सार पत्ता लगाउनु, र त्यसपछि त्यसलाई समाधान गर्नु हो। यदि तैँले तीबारे जति धेरै सोचे पनि ती समस्याको हल भेट्टाउन सक्दैनस् भने, तैँले सत्यता बुझ्ने कसैलाई भेटर ऊमार्फत समाधान खोज्नुपर्छ। उसले कसरी सुसमाचार सुनाउँछ र परमेश्‍वरबारे गवाही दिन्छ, अनि कसरी उसले अनुसन्धान गरिरहेका मानिसहरूको मुख्य धारणाबारे सही बोध प्राप्त गर्छ, र त्यसपछि उसले कसरी परमेश्‍वरको वचनअनुसार सत्यता सङ्गति गरी ती समाधान गर्छ, सो हेर्। के त्यसो गर्दा कार्य चालु हुँदैन र? चिन्तनमनन पहिलो चरण हो; कार्यचाहिँ दोस्रो चरण हो। कार्य गर्नुको कारणचाहिँ तैँले विचार गर्दै गरेको समस्या सही हो कि होइन, कतै तँ विचलित पो भएको छस् कि भनेर जाँच्नु हो। जब तैँले समस्या कहाँ पैदा भएको रहेछ भनेर पत्ता लगाउँछस्, तब तैँले विचार गर्दै गरेको समस्या सही हो कि गलत हो भनेर जाँच्न सुरु गर्नेछस्। त्यसपछि, तैँले जाँच गर्दा सही पाएको समस्यालाई सुल्झाउन थाल्। उदाहरणको लागि, जब साँचो मार्ग अनुसन्धान गरिरहेका मानिसहरूले अफवाह र भ्रमहरू सुनेर धारणा विकास गर्छन्, तब तिनीहरूको धारणालाई निशाना बनाएर परमेश्‍वरका वचनहरू पढ्। स्पष्टसँग सत्यता सङ्गति गर्, तिनीहरूको धारणालाई राम्ररी विश्‍लेषण गरेर सुल्झा, अनि तिनीहरूको हृदयका बाधाहरू हटा। त्यसपछि, तिनीहरू अनुसन्धानलाई निरन्तरता दिन इच्छुक हुनेछन्। यो नै समस्या समाधानको सुरुवात हो, होइन र? समस्या सुल्झाउने पहिलो चरण भनेको यसलाई विचार गर्नु हो, यसलाई मनन गर्नु हो, र यसको सार र मूल कारणबारे मनभित्रै विस्तृतमा हिसाबकिताब गर्नु हो। तैँले यो के रहेछ भनेर जाँचिसकेपछि, परमेश्‍वरका वचनअनुसार समस्या समाधान गर्न सुरु गर्। अन्त्यमा, जब समस्या हल हुन्छ, तब लक्ष्य प्राप्त हुनेछ। त्यसो भए, नैतिक आचरणसम्बन्धी “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍नेजस्ता कथनहरू अझै तेरो सोच र दृष्टिकोणमा छन् कि छैनन्? (हो, ती छन्।) यस्ता समस्याहरू कसरी समाधान गर्नुपर्छ? तैँले सामान्यतया तँमाथि आइपर्ने सबै कुरालाई विचार गर्नुपर्छ। यो महत्त्वपूर्ण चरण हो। सर्वप्रथम, पहिला तँमाथि यस्ता कुरा आइपर्दा तैँले कस्तो व्यवहार गरिस् त्यसबारे सोच्। के तँ “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍नेजस्ता भनाइहरूको वशमा परिस्? अनि यदि तँ वशमा परिस् भने, तेरो अभिप्राय के थियो? तैँले के भनिस्? तैँले के गरिस्? तैँले कसरी कार्य गरिस्? तैँले कस्तो व्यवहार गरिस्? जब तैँले शान्त भएर यी कुराहरूबारे विचार गर्छस्, तब थाहै नपाई कतिपय समस्याहरू पत्ता लगाउनेछस्। त्यो बेला, तैँले सत्यता खोजी गर्नुपर्छ, र अरूसँग सङ्गति गर्नुपर्छ, अनि परमेश्‍वरका सान्दर्भिक वचनहरूअनुसार यी समस्याहरू सुल्झाउनुपर्छ। तैँले आफ्नो जीवनमा पारम्परिक संस्कृतिले बढावा दिएका ती गलत दृष्टिकोणहरूलाई पुरै छोड्ने प्रयत्न गर्, त्यसपछि परमेश्‍वरको वचन र सत्यतालाई मानिसहरूसँग अन्तरक्रिया गर्ने सिद्धान्तको रूपमा अँगाल्, अनि मानिस, घटना, र कामकुराहरूलाई सत्यता सिद्धान्तअनुसार सम्हाल्। विभिन्‍न विचार, दृष्टिकोण, र पारम्परिक संस्कृतिका भनाइहरूलाई परमेश्‍वरको वचनअनुसार विश्‍लेषण गरेर, त्यसपछि मानिसहरूले यी गलत दृष्टिकोणहरू पालन गर्दाका परिणामहरूको आधारमा पारम्परिक संस्कृति साँच्चै सकारात्मक र सही छ कि छैन भनेर एकदमै स्पष्टसित बुझेर समस्या समाधान गर्ने तरिका यही हो। त्यसपछि, तैँले “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने भनाइ मानिसहरूले अन्तर्वैयक्तिक सम्बन्ध कायम गर्न अपनाउने छली व्यवहार शैली मात्र रहेछ भनेर स्पष्ट बुझ्नेछस्। तर यदि मानिसहरूको प्रकृति सार परिवर्तन भएन भने, के तिनीहरू दीर्घकालीन रूपमा मिलेर बस्न सक्छन्? ढिलोचाँडो, सम्बन्धहरू टुट्नेछन्। तसर्थ, मानव संसारमा साँचो मित्र कोही हुँदैन—भौतिक सम्बन्ध कायम राख्न सक्‍नु मात्र पनि धेरै राम्रो हो। यदि मानिसहरूमा अलिकति पनि विवेक र समझ छ, र तिनीहरू दयालु हृदयका छन् भने, तिनीहरूले अटुट रूममा अरूसँग सतही सम्बन्ध कायम राख्न सक्छन्; यदि तिनीहरूको मानवता दुष्ट, कपटी र नीच छ भने, तिनीहरूले कुनै हालतमा पनि अरूसँग उठबस गर्ने सक्‍नेछैनन्, र तिनीहरूले एकअर्काबाट फाइदा मात्र उठाउन सक्नेछन्। यी कुराहरूलाई स्पष्टसँग देखेर—अर्थात्, मानिसहरूको प्रकृति सारलाई स्पष्टसँग देखेर—मानिसहरूले आपसमा अन्तरक्रिया गर्न अपनाउनुपर्ने तरिकाहरू आधाभूत तवरमा निर्धारण गर्न सकिन्छ, अनि यो सही, त्रुटिरहित, र सत्यताअनुरूप हुन सक्छ। परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरको न्याय र सजाय अनुभव गरेपछि अहिले मानवतको सार अलि बुझ्न सक्छन्। त्यसैले, मानिसहरूबीचको अन्तरक्रियामा—अर्थात्, सामान्य अन्तर्वैयक्तिक सम्बन्धमा—तिनीहरूले इमानदार व्यक्तिहुनुको महत्त्व बुझ्नुका साथै मानिसहरूलाई परमेश्‍वरको वचनअनुसार व्यवहार गर्नु नै सबैभन्दा उच्च सिद्धान्त र सबैभन्दा बुद्धिमानी तरिका हो भनेर देख्न सक्छन्। यसले मानिसहरूलाई कहिल्यै दुःख वा वेदना दिनेछैन। तथापि, परमेश्‍वरका वचनहरू अनुभव गर्दा र सत्यता अभ्यास गर्दा, मानिसहरूले अन्तरात्माभित्र अवश्य नै केही संघर्ष गर्नेछन्, भन्नुको अर्थ तिनीहरूलाई सत्यता अभ्यास गर्नदेखि बाधा दिन र रोक्न प्रायः भ्रष्ट स्वभावहरू उत्पन्‍न भइरहनेछन्। मानिसको भ्रष्ट स्वभावमार्पत उत्पन्‍न ती बहुपक्षीय विचार, भावना, र दृष्टिकोणहरूले सधैँ तँलाई सत्यता र परमेश्‍वरका वचनहरू अभ्यास गर्न फरकफरक हदमा बाधा दिनेछन्, अनि जब त्यस्तो हुन्छ, तब तैँले सत्यता अभ्यासमा वास्तवमै हस्तक्षेप र बाधा गर्ने थुप्रै कुराहरू सामना गर्नेछस्। यी बाधाहरू देखा पर्दा, तैँले अहिलेजस्तो सत्यता अभ्यास गर्नु सहज छ भनेर भन्‍न छोड्नेछस्। तैँले त्यति सजिलै त्यसो भन्‍नेछैनस्। त्यो बेलासम्ममा त तँ कष्ट भोग्दै, दुःखी बनिसकेको हुनेछस्, तँलाई खाना अमन हुनेछ र तँ सुत्न सक्नैछैनस्। कतिपय मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न अत्यन्तै गाह्रो लागेर लत्तो छोड्न मन लाग्‍न सक्छ। तर म विश्‍वस्त छु, धेरै मानिसहरूले सत्यता अभ्यास गर्न र वास्तविकतामा प्रवेश गर्नका लागि धेरै कष्ट भोगेका छन्, अनि अनगिन्ती काटछाँट सहेका छन्, अनि हृदयमा अनगिन्ती युद्ध लडेका छन्, र अविरल आँसु बगाएका छन्। के यो त्यस्तै होइन र? (हो।) यी कष्टहरूबाट गुज्रनु अनिवार्य प्रक्रिया हो, र सबैले यसबाट गुज्रनैपर्छ, कसैलाई छुट छैन। व्यवस्थाको युगमा दाऊदले गल्ती गरे, अनि पछि परमेश्‍वरसँग पश्‍चात्ताप गरी पाप स्विकारे। उनी कति रोए? यसलाई सुरुको मौलिक पदमा कसरी वर्णन गरिएको थियो? (“रातभर म ओछ्यानलाई पौडी पोखरी बनाउँछु; म मेरो शैय्यालाई आँशुले भिजाउँछु” (भजनसंग्रह ६:६)।) उनले आफ्नो ओछ्यान भिजाउन पक्कै पनि धेरै आँशु झारेको हुनुपर्छ! यसले त्यतिबेला उनले महसुस गरेको पछुतो र कष्टको तीव्रता र गहनता देखाउँछ। के तिमीहरूले त्यति धेरै आँशु झारेका छौ? तिमीहरूले झारेको आँशु त उनले झारेको आँशुको सय भागको एक भाग पनि छैन, यसले के देखाउँछ भने, तैँले आफ्नो भ्रष्ट स्वभाव, देह र अपराधलाई जुन हदसम्म घृणा गर्छस् त्यो पटक्कै पर्याप्त छैन, अनि सत्यता अभ्यासप्रति तेरो सङ्कल्प र निरन्तरता पनि पटक्कै पर्याप्त छैन। तैँले अझै मानक पूरा गरेको छैनस्; तँ पत्रुस र दाऊदको स्तरमा पुग्न धेरै बाँकी छ। लौ त, आजको सङ्गति यतिमै समाप्त गरौँ।

अप्रिल १६, २०२२

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (७)

अर्को: सत्यता पछ्याउनु भनेको के हो (९)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्