सत्यता पछ्याउनु भनेको के हो (७)

भर्खरै, मैले नैतिक आचरणबारे परम्परागत संस्कृतिका सबै प्रकारका भनाइमा सङ्गति गरेको छु। मैले केही निश्‍चित भनाइबारे धेरै सङ्गति गरेको छु। अब, के यो विषय र सामाग्रीको सत्यतासँग कुनै सम्बन्ध छ? (छ।) के कसैलाई यो विषय र सामाग्री सत्यतासँग सम्बन्धित छैन जस्तो देखिन्छ भन्‍ने लाग्छ? यदि तिनीहरूलाई त्यस्तो लाग्छ भने, तिनीहरूको क्षमता वास्तवमा कमजोर छ र तिनीहरूमा अलिकति पनि समझ छैन। के यस विषयमा मैले दिएको सङ्गति बुझ्न सजिलो भयो? (भयो।) यदि मैले यसरी सङ्गति र विश्लेषण नगरेको भए, के तिमीहरू मानिसहरूले तुलनात्मक रूपमा सकारात्मक ठान्‍ने नैतिक आचरणसम्‍बन्धी यी भनाइहरूलाई सत्यता मान्थ्यौ र ती अङ्गालिरहन्थ्यौ? सर्वप्रथम, म निश्‍चित रूपमा के भन्‍न सक्छु भने धेरैजसो मानिस यी भनाइलाई सकारात्मक कुरा, मानवतासँग मेल खाने र पालन गर्नुपर्ने, अनि मानवतासँग सम्‍बन्धित विवेक, समझ, माग, धारणा र अन्य त्यस्ता कुरासँग मिल्‍ने कुरा ठान्छन्। के भन्‍न सकिन्छ भने, यस विषयमा मैले सङ्गति दिनुअघि, लगभग सबैले नै नैतिक आचरणसम्‍बन्धी यी विभिन्‍न भनाइलाई सकारात्मक र सत्यतासँग मिल्‍ने कुरा ठान्थे। मेरो सङ्गति र विश्लेषण सुनेपछि, के तिमीहरू अब नैतिक आचरणका यी भनाइ र सत्यताबीचको भिन्‍नता छुट्याउन सक्छौ? के तँसँग यस्तो समझ छ? कतिपयले यसो भन्‍नेछन्: “म तीबीचको भिन्‍नता छुट्याउन सक्दिनँ, तर जे भए पनि, परमेश्‍वरको सङ्गति सुनेर, अहिले म यी कुरा र सत्यताबीच भिन्‍नता देख्छु। तिनले सत्यताको स्थान लिन सक्दैनन्, झन् तिनलाई सकारात्मक कुरा वा सत्यता भन्न सक्नु त परको कुरा हो। अवश्य नै, ती परमेश्‍वरका वचन र माग वा सत्यताको मापदण्डअनुरूप छन् भनेर मान्ने त कुरै आउँदैन। तिनको परमेश्‍वरको वचन, परमेश्‍वरको माग वा सत्यताको मापदण्डसँग कुनै सम्बन्ध छैन। समग्रमा, ती कुरा मानवजातिको विवेक र समझसँग मिले पनि नमिले पनि, म अब यिनलाई आफ्‍नो हृदयमा आराधना गर्दिनँ र सत्यता मान्दिनँ।” यसले के देखाउँछ भने परम्परागत संस्कृतिका यी पक्षहरूले अब मानिसहरूको हृदयमा मार्गदर्शक भूमिका खेल्दैनन्। जब मानिसहरू नैतिक आचरणसम्‍बन्धी यी भनाइहरू सुन्छन्, तब तिनीहरू थाहा नपाई यी कुरालाई सत्यताबाट छुट्याउनेछन् र बढीमा, तिनलाई मानिसहरूले आफ्नो विवेकमा स्विकार्ने कुरा ठान्छन्। तैपनि, यी भनाइहरू सत्यताभन्दा निकै फरक छन् र तिनले सत्यताको स्थान पटक्‍कै लिन सक्दैनन् भन्‍ने कुरा तिनीहरूलाई थाहा हुन्छ। मानिसहरूले नैतिक आचरणका यी भनाइहरूको सारलाई बुझेपछि, तिनलाई सत्यता मान्‍न र पालना गर्न, आराधना गर्न वा सत्यताको रूपमा खोजी गर्न छोड्छन्—हासिल हुने न्यूनतम नतिजा यही हो। अब यी सबै कुरा बुझेपछि मानिसहरूको सत्यता पछ्याइमा कस्तो सकारात्मक प्रभाव पर्छ? यसले पक्‍कै पनि सकारात्मक प्रभाव पार्नेछ, तर त्यो प्रभावको तोड तँ सत्यता कुन हदसम्‍म बुझ्छस् वा तँलाई कति सत्यता थाहा छ त्यसमा निर्भर हुन्छ। यी बुँदाहरूलाई विचार गर्दा, मानिसहरूले अङ्गालेर राख्‍ने र तिनीहरूको धारणासँग मेल खाने परम्परागत संस्कृतिका यी पक्षहरूलाई विश्लेषण गर्नु एकदमै आवश्यक छ भन्‍ने कुरा स्पष्ट छ। कम्तीमा पनि, यो विश्लेषणले मानिसहरूलाई सत्यताको शुद्ध बुझाइ प्राप्त गर्न सहयोग गर्ने र तिनीहरूलाई आफ्‍नो प्रयासमा निष्फल हुन वा सत्यता पछ्याउँदा गलत मार्गमा हिँड्नदेखि रोक्‍ने परिणाम ल्याउनेछ। हासिल गर्न सकिने प्रभावहरू यिनै हुन्।

पछिल्लोपटक हामीले नैतिक आचरणसम्बन्धी चार भनाइ अर्थात्, “भेटेको पैसा लिनु हुँदैन,” “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ,” “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू,” र “खराबीलाई भलाइले जित्‍नुपर्छ,” लाई सङ्गति गरेर विश्लेषण गरेका थियौँ, आज, हामी अरू भनाइहरूमा सङ्गति गर्न जारी राख्‍नेछौँ। चिनियाँ परम्परागत संस्कृतिले नैतिक आचरणबारे धेरै स्पष्ट दाबीहरू अघि सारेको छ—इतिहासको जुनै युग वा अवधिमा यी दाबीहरूको सुरुवात भएको भए पनि, ती सबै वर्तमान समयसम्‍म हस्तान्तरण हुँदै आएका छन् र तिनले मानिसहरूको हृदयमा गहिरो जरा गाडेका छन्। समय बित्दै जाँदा र बिस्तारै नयाँ कुराहरू देखा पर्दै जाँदा, मानिसले नैतिक आचरणबारे धेरै नयाँ र फरक दाबीहरू प्रस्ताव गरेको छ। यी दाबीहरू मुख्यतः मानिसहरूको नैतिक चरित्र र व्यवहारबारे गरिएका माग हुन्। के तिमीहरू हामीले पछिल्लोपटक सङ्गति गरेका नैतिक आचरणसम्‍बन्धी चार भनाइबारे केही हदसम्‍म स्पष्ट छौ? (छौँ।) अब हामी अर्को भनाइमा सङ्गति गरेर यो कार्य जारी राखौँ: “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ।” दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्‍ने कुरा चिनियाँ संस्कृतिमा कुनै व्यक्तिको आचरण नैतिक छ कि अनैतिक भनेर मूल्याङ्कन गर्ने एक विशिष्ट मापदण्ड हो। व्यक्तिको मानवता असल छ कि खराब छ र उसको आचरण कति नैतिक छ भनेर मूल्याङ्कन गर्ने क्रममा, एउटा मापदण्ड भनेको उसले आफूले पाएको निगाह वा सहयोगको ऋण तिर्छ कि तिर्दैन—ऊ आफूले पाएको दयाको ऋण कृतज्ञताले तिर्ने व्यक्ति हो कि होइन भन्‍ने कुरा हो। चिनियाँ परम्‍परागत संस्कृति र मानवजातिको परम्‍परागत संस्कृतिमा, मानिसहरू यसलाई नैतिक आचरणको महत्त्वपूर्ण मानकको रूपमा लिन्छन्। यदि कसैले दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भनेर बुझ्दैन र ऊ बैगुनी हुन्छ भने, उसलाई विवेक नभएको र सङ्गत गर्न लायक नभएको व्यक्ति मानिन्छ, र सबैले उसलाई घृणा, तिरस्कार वा इन्कार गर्नुपर्छ। अर्कोतर्फ, यदि कसैले दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भनेर बुझ्छ भने—यदि ऊ कृतज्ञ हुन्छ र आफूले पाएको निगाह र सहयोगको ऋण आफूसँग भएको हर माध्यमले तिर्छ भने—उसलाई विवेक र मानवता भएको व्यक्ति मानिन्छ। यदि कसैले अर्को व्यक्तिबाट फाइदा वा सहयोग प्राप्त गर्छ, तर त्यसको ऋण तिर्दैन, वा केवल “धन्यवाद” भनेर साधारण रूपमा थोरै कृतज्ञता व्यक्त गर्छ र त्योभन्दा बढी केही गर्दैन भने, त्यो अर्को व्यक्तिले के सोच्‍नेछ? के उसलाई यसबारे असहज लाग्ला? के उसले यसो भन्‍न सक्‍नेछ, “यो मान्छे सहयोग गर्न लायक छैन, यो राम्रो व्यक्ति होइन। मैले उसलाई यति धेरै सहयोग गर्दा त यस्तो प्रतिक्रिया दिन्छ भने, उसमा कुनै विवेक वा मानवता छैन, र ऊ सङ्गत गर्न लायक छैन”? फेरि यस्तो व्यक्ति भेट्टाउँदा, के तिनीहरूले अझै सहयोग गर्नेछन्? तिनीहरूले कम्तीमा पनि सहयोगचाहिँ गर्न चाहनेछैनन्। के तिमीहरूले पनि यस्तो परिस्‍थितिमा साँच्‍चै सहयोग गरूँ कि नगरूँ भनेर सोच्दैनौ र? तिमीहरूले आफ्‍नो पहिलेको अनुभवबाट यस्तो पाठ सिकेका हुन्छौ, “मैले जसलाई पायो त्यसलाई सहयोग गर्नु हुँदैन—तिनीहरूले दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भनेर बुझ्नुपर्छ। यदि तिनीहरू मैले दिएको सहयोगको ऋण नतिर्ने अकृतज्ञ खालका हुन् भने, मैले सहयोग नगर्दा नै राम्रो हुन्छ।” के तिमीहरूको दृष्टिकोण यस्तै हुँदैन र? (हो।) सामान्यतया, मानिसहरूले अरूलाई मद्दत गर्दा, आफूले गरेको सहयोगबारे के सोच्छन्? के तिनीहरूले मद्दत गर्ने व्यक्तिबाट केही अपेक्षा वा माग गर्छन्? के कसैले यसो भन्छ, “केही पाउने आशा नगरी म तिमीलाई मद्दत गर्दै छु। म तिमीबाट केही पनि चाहन्‍नँ। तिमीलाई साह्रोगाह्रो पर्दा मद्दत गर्नु त मैले गर्नैपर्ने कुरा र मेरो कर्तव्य हो। हामीबीच कुनै सम्बन्ध भए पनि नभए पनि र तिमीले मलाई भविष्यमा मद्दत फर्काउन सके पनि नसके पनि, म साधारण व्यक्तिको रूपमा आफ्‍नो आधारभूत कर्तव्य पूरा गरिरहेको छु र म यो फर्काई माग्‍नेछैनँ। तिमीले मलाई यसको ऋण तिरे पनि नतिरे पनि केही फरक पर्दैन”? के त्यस्ता कुरा भन्‍ने मानिसहरू छन्? त्यस्ता मानिसहरू भए पनि, तिनीहरू बनावटी मात्र हुन्छन् र तथ्यसँग मिल्दैनन्। चिनियाँ ऐतिहासिक उपन्यासहरूमा धेरै बनावटी वीर पात्रहरू छन् र आधुनिक समाजमा ठूलो रातो अजिङ्गरको देशले बनाएका नायकहरू झनै काल्पनिक हुन्छन्। ती मानिसहरू अस्तित्वमा भए पनि, तिनीहरू बारेका कथाहरू कथेका हुन्। यी तथ्यहरूको आधारमा यसलाई हेर्दा, के तिमीहरूलाई अब “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने भनाइको उत्पत्ति, मानिसहरूको नैतिक आचरण मूल्याङ्कन गर्ने यो मापदण्ड, र यो कोबाट आउँछ भन्‍नेबारे स्पष्ट भयो? सायद कतिपय मानिस अझै पनि यसबारे स्पष्ट छैनन्। यस भ्रष्ट मानवजातिभित्र, सबै मानिससँग मानव समाजसम्‍बन्धी एक प्रकारको आदर्श र निश्‍चित अपेक्षा हुन्छ। तिनीहरूसँग के अपेक्षा हुन्छ? “यदि सबैले थोरै-थोरै प्रेम दियो भने, संसार सुन्दर बन्‍नेछ।” यो अपेक्षाबाहेक, मानिसहरू आफ्नो दयालु हृदय र आफूले चुकाउने मूल्य फिर्ता हुने र त्यस्तो क्षतिपूर्ति पाइने आशा पनि गर्छन्। एकातिर, यो भौतिक क्षतिपूर्ति हुन सक्छ, जस्तै पैसाको उपहार वा भौतिक इनाम। अर्कोतर्फ, यो आत्मिक क्षतिपूर्ति हुन सक्छ—अर्थात्, मानिसहरूलाई “नमुनादार श्रमिक,” “नैतिकताको नमूना,” वा “नैतिकताको उदाहरण” जस्ता उपाधि प्रदान गर्दै तिनीहरूको प्रतिष्ठा बलियो बनाउने इनाम दिएर तिनीहरूलाई आत्मिक सन्तुष्टि दिनु हो। मानव समाजमा, प्रायजसो सबैले समाज र संसारबाट यस्तो अपेक्षा राख्छन्—तिनीहरू सबै असल मानिस बन्‍ने, सही मार्गमा हिँड्ने, र खाँचोमा परेकाहरूलाई मद्दत गर्ने, मानिसहरूलाई सहयोग र निश्‍चित लाभ प्रदान गर्ने आशा राख्छन्। तिनीहरू आफूले सहायता गरेकाहरूले यो कसले दिएको, र यसबाट कसरी लाभ पुग्यो भनेर सम्झेको आशा गर्छन्। अवश्य नै, तिनीहरू आफू खाँचोमा पर्दा मद्दत गर्ने कोही हुनेछ भन्‍ने पनि आशा गर्छन्। एकातिर, कसैलाई सहयोग चाहिँदा, ऊ कसैले उसलाई माया गर्नेछ भन्‍ने आशा गर्छ; अर्कोतर्फ, ऊ त्यस्तो माया गर्ने मानिसहरू साह्रोगाह्रोमा पर्दा, तिनीहरूले पनि चाहेको सहयोग पाउँछन् भन्‍ने आशा गर्छ। मानिसहरू समाज र संसारबाट यस्तो अपेक्षा गर्छन्—वास्तवमा, तिनीहरूको अन्तिम उद्देश्य भनेको मानवजाति सद्भावपूर्ण, शान्तिपूर्ण र स्थिर समाजमा बसून् भन्‍ने हो। यो अपेक्षा कसरी उत्पन्‍न हुन गयो? यो अपेक्षा र सम्बन्धित दाबी[क] उत्पन्‍न हुनु स्वाभाविक नै हो किनभने मानिसहरू यस्तो सामाजिक परिवेशमा सुरक्षित र खुसी महसुस गर्दैनन्। त्यसकारण, मानिसहरूले कुनै व्यक्तिले अरूको दयाको ऋण तिर्‍यो कि तिरेन भन्‍ने कुराको आधारमा उसको नैतिक आचरण र चरित्रको उच्चता मूल्याङ्कन गर्न थाले, र “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने भनाइ, जुन मानिसहरूको नैतिक आचरण मूल्याङ्कन गर्ने मापदण्ड हो, त्यो यही परिस्थितिबाट उत्पन्‍न भयो। यो भनाइ कसरी अस्तित्वमा आयो भन्‍ने कुरा अनौठो छैन र? (छ।) वर्तमान युगमा, मानिस सत्यता खोज्दैन र स्वीकार गर्दैन, अनि ऊ सत्यतादेखि वितृष्ण भएको छ। मानिसहरू अस्तव्यस्त अवस्थामा छन् र, एकअर्काबीच जिए पनि, तिनीहरू सबै आफूले कस्ता जिम्मेवारी पूरा गर्नुपर्छ, कस्ता कर्तव्य निर्वाह गर्नुपर्छ, अनि मानिसहरू र परिस्थितिलाई हेर्दा कुन स्थानमा रहनुपर्छ र कस्तो दृष्टिकोण अपनाउनुपर्छ भनेर स्पष्ट छैनन्। त्यसबाहेक, मानिसहरू समाजप्रति आफ्‍ना जिम्मेवारी र कर्तव्यहरू के-के हुन् भन्‍नेबारे स्पष्ट छैनन् अनि आफूले समाजलाई कस्तो अडान राखेर वा दृष्टिकोणले हेर्नुपर्छ र लिनुपर्छ भनेर अनिश्‍चित छन्। तिनीहरूसँग संसारमा हुने हरकुराको सही व्याख्या र निर्णयको अभाव हुन्छ र तिनीहरू कसरी आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने भन्‍ने कुरामा अभ्यासको सही मार्ग फेला पार्न सक्दैनन्। मानिसहरू लडाइँ, बदलाको हत्या, युद्ध र सबै प्रकारका अनुचित व्यवहारले घेरिएको झन्-झन् अँध्यारो, र डरलाग्दो हुँदै गइरहेको संसारको सामना गर्दा, मुक्तिदाताको आगमनको चाहना र प्रतीक्षा गर्छन्। तैपनि, तिनीहरूलाई सत्यतामा कुनै चासो हुँदैन र कसैले पनि परमेश्‍वर वा उहाँको कामको सक्रिय रूपमा खोजी गर्दैनन्। तिनीहरूले परमेश्‍वरका वाणीहरू सुने पनि, खोजी गर्दैनन्, झन् ती स्वीकार गर्नु त परको कुरा हो। मानिसहरू सबै यस्तो निस्सहाय अवस्थामा जिउँछन् र सबैलाई समाज अत्यन्तै अन्यायपूर्ण र असुरक्षितसमेत लाग्छ। सबै जना यो समाज र संसारबाट पूर्ण रूपमा दिक्‍क छन् र यीप्रति वैमनस्यले भरिन्छन्, तर वैमनस्यले भरिए पनि, एक दिन समाज सुध्रिनेछ भन्‍ने अझै आशा गर्छन्। तिनीहरूका लागि सुध्रिएको समाज कस्तो देखिन्छ? तिनीहरू यस्तो समाजको परिकल्पना गर्छन् जसमा लडाइँ र बदलाको हत्या अब हुँदैन, सबैले सद्भावपूर्ण अन्तरक्रिया गर्छन्, कोही पनि दमन, कष्ट वा जीवनका बन्धनहरूमा पर्दैनन्, सबैले ढुक्कको, अनियन्त्रित, आरामदायी र सुखी जीवन जिउन सक्छन्, अरूसँग सामान्य अन्तरक्रिया गर्न सक्छन्, तिनीहरूसँग निष्पक्ष व्यवहार गर्न सक्छन् र, अवश्य नै, अरूले पनि निष्पक्ष व्यवहार गर्छन्। किनभने यस संसारमा र मानवजातिमाझ, निष्पक्षता कहिल्यै भएको छैन। यहाँ जहिल्यै पनि लडाइँ र बदलाका हत्या मात्र हुन्छन्, तर मानिसहरूमाझ कहिल्यै मेलमिलाप हुँदैन। इतिहासको जुनै कालखण्डमा पनि सधैँ यस्तै भएको छ। यस्तो क्रूर सामाजिक परिवेश र अवस्थाहरू सामना गर्दा, कुनै पनि व्यक्तिलाई यी समस्याहरू, मानिसहरूमाझ हुने झगडा र बदलाका हत्या, वा समाजमा उत्पन्न हुने कुनै पनि अनुचित र अन्यायपूर्ण परिस्थितिहरू कसरी समाधान गर्ने भन्‍ने थाहा हुँदैन। यी समस्याहरू छन् र मानिसहरूलाई ती कसरी समाधान गर्ने, यी मामिलालाई कुन नजर वा दृष्टिकोणबाट हेर्ने, वा ती समाधान गर्न कुन विधि प्रयोग गर्ने भन्‍ने थाहा नभएकाले नै, तिनीहरू आफ्नो दिमागमा यस्तो काल्‍पनिक सोच विकास गर्छन्। यस काल्‍पनिक सोचमा, मानिसहरू मिलेर सँगै बस्‍न सक्छन्, र सबैलाई समाज र वरपरका मानिसहरूले उचित व्यवहार गर्छन्। सबैले के आशा गर्छन् भने “मानिसहरूले अरूप्रति गर्ने आदरको दश गुणा फिर्ता हुनेछ; यदि तिमीले मलाई मद्दत गऱ्यौ भने, म तिम्रो गुन तिर्नेछु; र तिमीलाई सहयोग चाहिँदा, सहयोग गर्न र आफ्नो सामाजिक जिम्मेवारीहरू पूरा गर्न सक्‍ने मानिसहरू समाजमा धेरै हुनेछन्; र मलाई सहयोग चाहिँदा, पहिले मेरो सहयोग पाएका मानिसहरू मलाई सहयोग गर्न आउनेछन्। यो यस्तो समाज हुनुपर्छ जहाँ मानिसहरू एकअर्कालाई सहयोग गर्छन्।” यसरी मात्र मानिस खुसीसाथ, मिलेर अनि स्थिर र शान्तिपूर्ण समाजमा जिउन सक्छ भनेर मानिसहरू विश्‍वास गर्छन्। यसरी मात्र, एकअर्काविरुद्ध मानिसहरूले लड्ने लडन्तलाई पूर्णतया हटाउन र समाधान गर्न सकिन्छ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तिनीहरूले यी समस्याहरू समाधान भएपछि, आफ्नो हृदयको गहिराइमा मानव समाजका लागि साँचेका अपेक्षा र उद्देश्यहरू पूरा हुनेछन् भन्‍ने सोच्छन्।

गैरविश्‍वासीहरूको समाजमा “भोलि अझ राम्रो हुनेछ” भन्‍ने लोकप्रिय गीत छ। मानिसहरू भविष्यमा परिस्थिति राम्रा हुनेछ भनेर सधैँ आशा गर्छन्—त्यो गलत कुरा होइन—तर वास्तवमा, के भोलि परिस्थिति साँच्‍चै राम्रो हुनेछ र? अहँ, यो असम्भव छ; परिस्थिति झन्-झन् खराब मात्रै हुँदै जान्छ, किनभने मानवजाति झन्-झन् खराब हुँदै गइरहेको छ र संसार झन्-झन् अँध्यारो हुँदै गइरहेको छ। मानवजातिमाझ झन्-झन् कम मानिसहरूले दयाको ऋण कृतज्ञताले नतिर्ने मात्र होइनन्, तर झन्-झन् बढी मानिसहरू अकृतज्ञ बन्दै जान्छन् र जुन थालमा खायो त्यही थालमा थुक्छन्। बरु, अहिले वास्तविक स्थिति यस्तै छ। के यो तथ्य होइन र? (हो।) परिस्थिति कसरी यस्तो भयो? नैतिकतावादी, शिक्षाविद्, र समाजशास्त्रीहरूले प्रवर्धन गर्ने नैतिक आचरणको मापदण्ड “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” ले किन मानिसहरूमा सुधारात्मक प्रभाव पारेको छैन? (किनभने मानिसहरूमा भ्रष्ट स्वभाव छ।) किनभने मानिसहरूमा भ्रष्ट स्वभाव छ। तर के ती नैतिकतावादी, शिक्षाविद, र समाजशास्त्रीहरूलाई त्यो कुरा थाहा छ? (छैन।) मानिसहरूमाझ हुने बदलाको हत्या र लडन्तको मूल कारण तिनीहरूको नैतिक आचरणमा समस्या हुनु होइन, तर तिनीहरूको भ्रष्ट स्वभाव हो भनेर तिनीहरूलाई थाहा छैन। मानिसहरूमा आफूलाई व्यवहारमा ढाल्न पूरा गर्नुपर्ने मापदण्डको बोध छैन। भन्नुको मतलब, तिनीहरू आफूलाई कसरी सही तरिकाले व्यवहारमा ढाल्नुपर्छ भन्‍ने जान्दैनन्, र आफूले गर्ने व्यवहारका सिद्धान्त र मार्गहरू ठ्याक्कै के-के हुन् भन्‍ने जान्दैनन्। यसबाहेक, मानिसहरू सबैमा भ्रष्ट स्वभाव र शैतानी प्रकृति हुन्छ, तिनीहरू फाइदाका लागि जिउँछन्, र सबै कुराभन्दा अगाडि आफ्नो स्वार्थलाई राख्छन्। परिणामस्वरूप, मानिसहरूबीच हुने बदलाको हत्या र लडन्तको समस्या झन्-झन् गम्भीर हुँदै गइरहेको छ। के त्यस्ता भ्रष्ट मानिसहरूले “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍नेजस्ता नैतिक आचरणका मापदण्ड पालना गर्न सक्छन्? मानिसहरूले सबैभन्दा आधारभूत समझ र विवेकसमेत गुमाएका हुनाले, दयाको ऋण कसरी कृतज्ञताले तिर्न सक्छन् र? परमेश्‍वर सधैँ मानिसहरूलाई मार्गदर्शन गर्दै, तिनीहरूलाई जिउन चाहिने सबै कुरा तयार पार्दै, तिनीहरूलाई घाम, हावा, खाना, पानी, आदि कुरा प्रदान गर्दै आउनुभएको छ, तैपनि तिनीहरूमध्ये कति जना उहाँप्रति कृतज्ञ छन्? तिनीहरूमध्ये कति जनाले मानवजातिप्रति परमेश्‍वरको साँचो प्रेमलाई बुझ्‍न सक्छन्? धेरै विश्‍वासी परमेश्‍वरको धेरै अनुग्रह पाए पनि, उहाँले तिनीहरूको इच्छा एक-दुईपटक पूरा नगर्नेबित्तिकै क्रोधित हुन्छन्, परमेश्‍वरलाई हपार्छन्, र स्वर्गबाट अन्याय भएको गुनासो गर्छन्। के मानिसहरू त्यस्तै छन् होइन र? अरूको दयाको ऋण कृतज्ञताले तिर्न सक्ने केही मानिस भए पनि, त्यसले के नै समस्या समाधान गर्नेछ र? अवश्य नै, नैतिक आचरणसम्बन्धी यो भनाइ प्रस्ताव गर्ने मानिसहरूको अभिप्राय राम्रो थियो—तिनीहरू मानिसहरूले आफ्नो शत्रुता मेटाउन, द्वन्द्वबाट जोगिन, एकअर्कालाई मद्दत गर्न, मिलेर जिउन, एकअर्कामा सुधारात्मक प्रभाव पार्न, एकअर्कालाई न्यानोपन देखाउन, र खाँचो पर्दा एकअर्कालाई मद्दत गर्नका लागि हातेमालो गर्न सक्छन् भन्‍ने आशाले मात्र उत्प्रेरित भएका थिए। यदि मानवजाति यस्तो अवस्थामा पुग्न सकेको भए, यो कस्तो सुन्दर समाज हुनेथियो, तर अफसोस, यस्तो समाज कहिल्यै हुनेछैन, किनभने समाज त यसभित्रका सबै भ्रष्ट मानिसहरूको कुल योग मात्र हो। मानिसको भ्रष्टताले गर्दा, समाज झन्-झन् अँध्यारो र खराब हुँदै गइरहेको छ, र मानिसको सद्भावपूर्ण समाज बनाउने उद्देश्य कहिल्यै पूरा हुनेछैन। किन यो आदर्श समाज कहिल्यै बनाउन सकिँदैन? आधारभूत र सैद्धान्तिक दृष्टिकोणबाट हेर्दा, मानिसको भ्रष्ट स्वभावले गर्दा यस्तो समाज बनाउन सकिँदैन। वास्तवमा, क्षणिक असल व्यवहार, एकपटक असल नैतिक आचरण देखाउने, र अरूप्रति क्षणिक प्रेम देखाउने, सहयोग, अरूलाई साथ दिने इत्यादि कुराले मानिसको भ्रष्ट स्वभाव हटाउन सक्दैनन्। अवश्य नै, अझ महत्त्वपूर्ण त, यी कुराले मानिसहरूले आफूलाई कसरी व्यवहारमा ढाल्नुपर्छ र तिनीहरू जीवनको सही मार्गमा कसरी हिँड्नुपर्छ भन्‍ने सवाल साम्य पार्न सक्दैनन्। यी समस्याहरू समाधान गर्न नसकिने भएकाले, के यो समाजले मानिसहरूले उद्देश्य राख्ने र आशा गर्ने सद्भावपूर्ण अवस्था हासिल गर्नु सम्भव छ? मूलतः यो एक निष्क्रिय सपना मात्र हो, र यो हुने सम्भावना अति कम छ। यी नैतिकवादीहरूले नैतिक शास्त्रको वकालत गरेर र मानिसहरूलाई शिक्षा दिएर, समाजलाई प्रभाव पार्ने र सुधार्ने लक्ष्यले अरूलाई मद्दत गर्न र अरूमाथि सुधारात्मक प्रभाव पार्नका लागि असल नैतिक आचरण प्रयोग गर्न प्रोत्साहित गर्ने प्रयास गर्छन्। तैपनि, यो विचार, तिनीहरूको यो आकाङ्क्षा सही छ कि गलत? यो पक्‍कै पनि गलत छ र यसलाई पूरा गर्न सकिँदैन। म किन त्यसो भन्छु? किनभने तिनीहरू मानिसहरूको व्यवहार, विचार र दृष्टिकोण, अनि नैतिक आचरण मात्र बुझ्छन्, तर मानिसको सार, मानिसको भ्रष्ट स्वभाव, मानिसको भ्रष्टताको स्रोत र मानिसको भ्रष्ट स्वभाव कसरी हटाउनेजस्ता गहन विषयहरूबारे तिनीहरूलाई थाहासुद्धि केही हुँदैन। परिणामस्वरूप, तिनीहरू नैतिक आचरणको “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍नेजस्ता मूर्खतापूर्ण मापदण्ड अघि सार्छन्, त्यसपछि, तिनीहरू मानवजातिलाई प्रभाव पार्न, पुस्ता-पुस्तालाई प्रभाव पार्न, मानिसको व्यवहारको मापदण्ड बदल्न, र मानिसको व्यवहारको दिशा र लक्ष्य बदल्न, र साथै बिस्तारै सामाजिक वातावरण बदल्न, र मानिसहरूबीचको सम्बन्ध अनि शासक र शासितबीचको सम्बन्ध बदल्न यस्तो भनाइ, नैतिक आचरणको यस्तो मापदण्ड प्रयोग गर्ने आशा गर्छन्। तिनीहरू के विश्‍वास गर्छन् भने यी सम्बन्धहरू परिवर्तन भएपछि, समाज यति अन्यायपूर्ण अनि लडाइँ, शत्रुता, र हत्याले भरिएको हुन छोड्नेछ। यसले साधारण मानिसहरूलाई केही फाइदा गर्नेछ, र तिनीहरूले तुलनात्मक रूपमा उचित किसिमको जिउने सामाजिक वातावरण प्राप्त गर्नेछन्, र अझ सन्तुष्ट जीवन बिताउनेछन्। तर सबैभन्दा ठूलो लाभार्थी साधारण मानिसहरू हुँदैनन्, तर हरेक युगका शासकहरू, शासकवर्ग र कुलीनवर्ग हुनेछन्। नैतिक सिद्धान्तहरूलाई बढवा दिने यी तथाकथित प्रख्यात व्यक्तित्व र बुद्धिजीवीहरूले मानिसहरूलाई शिक्षा दिन र प्रभाव पार्न अनि तिनीहरूको नैतिक दृष्टिकोण बदल्न मानवजातिले तुलनात्मक रूपमा उच्च अनि मानवता र तिनीहरूको विवेकको बोधअनुरूप ठान्‍ने यी नैतिक सिद्धान्तहरू निरन्तर प्रयोग गर्छन्, ताकि तिनीहरू सभ्य वा निश्‍चित नैतिक मापदण्डहरू भएको सामाजिक वातावरणमा स्वेच्छाले बसून्। एकातिर, यसले आम मानिसहरूको दैनिक जीवनलाई फाइदा पुऱ्याउँछ, किनकि यसले तिनीहरू जिउने वातावरण अझै सद्भावपूर्ण, शान्तिपूर्ण र सभ्य तुल्याउँछ। अर्कोतिर, यसले शासकहरूका लागि मानिसहरूमाथि शासन गर्ने थप अनुकूल अवस्थाहरू पनि सिर्जना गर्छ। नैतिक आचरणका मापदण्डहरू प्रदान गर्ने यी भनाइहरू धेरैजसो मानिसका विचार र धारणासँग मेल खान्छन्, र मानिसहरूको गरिमय भविष्यको काल्पनिक सोचसँग पनि मेल खान्छन्। अवश्य नै, यी भनाइहरूलाई बढुवा दिनुको पछाडि तिनीहरूको मुख्य अभिप्राय भनेको शासकहरूलाई शासन गर्ने थप अनुकूल अवस्था सिर्जना गर्नु हो। यस्तो अवस्थामा, आम मानिसहरू समस्या खडा गर्दैनन्, मिलेर र झगडा नगरी जिउँछन्, अनि तिनीहरू सबैले सामाजिक व्यवहार सञ्चालन गर्ने नैतिक मापदण्ड स्वेच्छाले पालना गर्न सक्नेछन्। सरल रूपमा भन्नुपर्दा, यी भनाइहरूलाई बढावा दिनुको अभिप्राय भनेको राज्यका शासित प्रजा, आम जनता समाजको नैतिक मापदण्डका सीमामा रही आज्ञाकारी भई र उचित तरिकाले चलून्, नियमहरू पालन गर्न सिकून् र वशमा रहने नागरिक बनून् भन्‍ने हो। के त्यसपछि शासकहरू तुलनात्मक रूपमा ढुक्‍क र आश्‍वस्त हुँदैनन् र? यदि शासकहरूले तिनीहरूविरुद्ध उठ्ने र तिनीहरूको अधिकार हडप्ने जमातबारे चिन्ता गर्नुपरेन भने, के यसले तथाकथित सद्भावपूर्ण समाजलाई जन्म दिँदैन र? के यसले शासकहरूको राजनीतिक शक्ति दह्रिलो बनाउँदैन र? यो नै मूलतः यी नैतिक शास्त्रहरूको उत्पत्ति र ती उत्पन्न भएको परिवेश हो। नरम भाषामा भन्नुपर्दा, यो त जनताको व्यवहार र नैतिक आचरणलाई सञ्चालन गर्न तिनीहरूका लागि सामाजिक नैतिकताका केही आधारभूत मापदण्ड बनाइएको थियो। भन्नुको अर्थ, यी भनाइहरू व्यक्तिविशेषका लागि हुन्; वास्तवमा समाज र देशको स्थिरताको खातिर, अनि शासकहरूलाई लामो समयसम्म र सदाका लागि शासन गर्न सक्षम बनाउन यी भनाइहरूलाई बढवा दिइएको हो। यही नै तथाकथित नैतिकतावादीहरूले परम्परागत संस्कृतिलाई बढवा दिनुको वास्तविक उद्देश्य हो। शासकहरू वास्तवमा जनताको कल्याणबारे वास्ता गर्दैनन्, र तिनीहरूले वास्ता गरेका जस्तो देखिए पनि, आफ्नो राजनीतिक शक्तिलाई स्थिर बनाइराख्‍न मात्र त्यसो गर्छन्। तिनीहरू आफ्‍नै खुसी, आफ्नो शक्ति र हैसियतको स्थिरता, जनतामाथि स्थायी शासन गर्ने आफ्नो क्षमता र सम्पूर्ण संसार कब्जा गर्ने अन्तिम लक्ष्य लिएर अझ धेरै देशमाथि शासन गर्ने सम्भावनाको मात्र वास्ता गर्छन्। दियाबलस राजाहरूका मनसाय र अभिप्राय यिनै हुन्। उदाहरणका लागि, कतिपय मानिस यसो भन्छन्: “हामी धेरै समयदेखिको पुस्तैनी किसान हौँ, जसले लामो समयसम्म जग्गा मालिकहरूका लागि खेतमा घोटियौँ तर हाम्रो आफ्नो भन्‍ने जमिन कहिल्यै भएन। गणतन्त्र चीनको स्थापनापछि, कम्युनिस्ट पार्टीले जग्गा मालिक र पुँजीपतिहरूलाई ढाल्यो, हामीलाई आफ्नै जग्गा दियो, र हामी किसानबाट मालिक बन्यौँ। हामी कम्युनिस्ट पार्टीप्रति सबै कुराको ऋणी छौँ, तिनीहरू चिनियाँ जनताको मुक्तिदाता हुन्, र हामीले तिनीहरूको दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ र अकृतज्ञ हुनु हुँदैन। कतिपय मानिस कम्युनिस्ट पार्टीविरुद्ध खडा हुन चाहन्छन्—तिनीहरू कति अकृतज्ञ छन्! के तिनीहरू जुन थालमा खायो त्यसैमा थुकिरहेका छैनन् र? मानिसहरू यति विवेकहीन हुनु हुँदैन र तिनीहरूले आफ्‍नो हैसियत बिर्सनु हुँदैन!” यस भनाइको तात्पर्य के हो भने तँ अहिले जुनै प्रकारको जिउने वातावरणमा बसे पनि, तँलाई जस्तो व्यवहार गरिएको भए पनि, अनि तेरो मानव अधिकारको ग्यारेन्टी भए पनि वा नभए पनि, वा तेरो बाँच्न पाउनुपर्ने अधिकार खतरामा भए पनि वा तँबाट खोसिएको भए पनि, तैँले आफूले पाएको दयाको ऋण कृतज्ञताले तिर्न जहिले पनि सम्झनैपर्छ र आफ्नो हैसियत बिर्सनै हुँदैन। तैँले दुष्ट, अकृतज्ञ व्यक्तिझैँ व्यवहार गर्नु हुँदैन अनि फिर्ता पाउने अपेक्षा नगरी निरन्तर र सधैँभरि तिनीहरूको दयाको ऋण तिर्नुपर्छ। के त्यस्ता मानिसहरू अझै पनि दासको रूपमा जिइरहेका हुँदैनन् र? तिनीहरू आफू जग्गा मालिक र पुँजीपतिहरूको दास थियौँ भन्‍ने सोच्छन्, तर के पुँजीपति र जग्गा मालिकहरूले वास्तवमै आम मानिसलाई शोषण गरे त? के किसानहरू वास्तवमै अहिलेका मानिसहरूको तुलनामा खराब हालतमा थिए त? थिएनन्, यो त कम्युनिस्ट पार्टीले बनाएको झूट हो। त्यो परिस्थितिका तथ्य र वास्तविकता अहिले अलि-अलि गर्दै प्रकाशमा आइरहेका छन्। पुँजीपतिहरूले यति धेरै आम मानिसको पसिना र श्रमको शोषण गरे भन्‍ने तिनीहरूको दाबी र “कपाल फुलेकी केटी” को कथा सबै बनावटी र झूटा हुन्—यीमध्ये कुनै पनि साँचो होइन। यी बनावटी र झूटको लक्ष्य के हो? मानिसहरूलाई ती जमिनदारहरू र पुँजीपतिहरूलाई घृणा गर्न अनि निरन्तर कम्युनिस्ट पार्टीको प्रशंसा गाउन र तिनीहरूप्रति सदाका लागि समर्पित हुन लगाउनु हो। विगतमा, धेरै मानिसले “कम्युनिस्ट पार्टीबिना, नयाँ चीन हुने नै थिएन” भन्‍ने गीत गाउँथे। यो गीत धेरै दशकसम्म चीनको हरेक कुनामा गाइयो, तर अहिले कसैले पनि यो गाउँदैन। कम्युनिस्ट पार्टीको बनावटी कुरा र झूटका एकदमै धेरै उदाहरण छन्, ती सबै वस्तुगत तथ्यहरूविपरीत छन्। अहिले कतिपय मानिसले सबैलाई परिस्थितिको वास्तविकता देखाउन सार्वजनिक रूपमा सत्यता प्रकट गरिरहेका छन्। मानव समाजमा, चाहे जुनसुकै युग होस्, नैतिक आचरणको “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने मापदण्ड मानिसहरूको व्यवहार नियन्त्रण गर्न र तिनीहरूको मानवता मापन गर्न सधैँ केही हदसम्म प्रभावकारी रहेको छ। अवश्य नै, यस्तो भनाइको अझ महत्त्वपूर्ण प्रभाव के हो भने शासकहरूलाई जनतामाथि आफ्नो शासन थामिराख्नमा मद्दत गर्न यसको प्रयोग गरिएको छ। निश्‍चित अर्थमा, यो भनाइलाई मानिसहरूको व्यवहार र नैतिक आचरण नियन्त्रण गर्ने तरिका भनी दाबी गर्न सकिन्छ, किनभने मानिसहरूलाई नैतिक आचरणको यस मापदण्डको ढाँचाभित्र रही समस्याहरूबारे सोच्न र ती हेर्न अनि त्यसपछि यस मापदण्डको आधारमा निर्णय र छनौट गर्न लगाइन्छ। यसले मानिसहरूलाई आफ्नो परिवार र समाज दुवैप्रति आफूले पूरा गर्नुपर्ने सबै जिम्मेवारी पूरा गर्न प्रोत्साहित गर्दैन, बरु, सामान्य मानवताको मूल्यमान्यता र चाहनाहरूको गम्भीर उल्लङ्घन गरेर मानिसहरूलाई के सोच्ने र कसरी सोच्ने, के गर्ने र कसरी गर्ने भनी बाध्य पार्छ। यो भनाइले मानिसहरूलाई डोऱ्याउने, नियन्त्रण गर्ने, र बन्धनमा पार्ने अनि के गर्नुपर्छ र के गर्नु हुँदैन भनेर सूचित गर्ने एक प्रकारको अदृश्य विधि र ढाँचाको रूपमा काम गर्छ। यसको लक्ष्य भनेको मानिसहरूको विचार, दृष्टिकोण, र उनीहरूले आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने तरिकालाई प्रभाव पार्न यस्तो सार्वजनिक राय र सामाजिक नैतिकताको मापदण्ड प्रयोग गर्नु हो।

“दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” जस्ता नैतिक आचरणका अभिव्यक्तिहरूले मानिसहरूलाई समाजमा र मानवजातिमाझ आफ्ना जिम्‍मेवारीहरू ठ्याक्‍कै के-के हुन् त भनेर भन्दैनन्। बरु ती त मानिसहरूले चाहे पनि नचाहे पनि, र तिनीहरूले दयाका यी कार्यहरू गर्नुपर्ने परिस्‍थिति वा प्रसङ्ग जस्तोसुकै भए पनि, तिनीहरूलाई निश्‍चित तरिकामा काम गर्न र सोच्‍न जोड दिने वा बाध्य पार्ने तरिका हुन्। दयाको गुण तिर्नेबारे प्राचीन चीनबाट आएका प्रशस्‍त उदाहरण छन्। जस्तै, एक जना भोको भिखारी केटालाई एउटा परिवारले लगेर खानेकुरा दिन्छ, लुगा दिन्छ, मार्सल आर्ट सिकाउँछ, र हरकिसिमका ज्ञान दिन्छ। तिनीहरूले ऊ ठूलो हुइन्जेल पर्खन्छन्, त्यसपछि उसलाई आम्दानीको स्रोतको रूपमा प्रयोग गर्छन्, उसलाई दुष्ट काम गर्न, मानिसहरूलाई मार्न, र सबै कुरा गर्न पठाउँछन्, जुन काम गर्ने उसलाई चाहना हुँदैन। यदि तिमीहरूले यो कथालाई उसले पाएका सबै दयाको आधारमा हेर्छौ भने, उसलाई बचाउनु राम्रो कुरा थियो। तर पछि उसलाई जुन काम जबरजस्ती गर्न लगाइयो त्यसबारे विचार गर्दा, यो असल थियो कि खराब? (खराब थियो।) तर “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने परम्‍परागत संस्कृतिको शिक्षाले गर्दा, मानिसहरूले यस कुराको भिन्‍नता छुट्याउन सक्दैनन्। झट्ट हेर्दा, त्यस केटासँग दुष्कर्म गर्ने, मानिसहरूलाई हानि गर्ने, र हत्यारा बन्‍नेबाहेक कुनै विकल्‍प नभएको देखिन्छ—जुन धेरैजसो मानिसले गर्न चाहँदैनन्। तर के उसले मालिकको दयाको ऋण तिर्ने भित्री इच्‍छाबाट तिनको आदेशमा यी खराब काम र हत्या गरेको हुँदैन र? विशेष गरी “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍नेजस्ता चिनियाँ परम्‍परागत संस्कृतिको शिक्षाले गर्दा, मानिसहरू यी विचारहरूको प्रभाव र नियन्त्रणमा नपरी बस्‍न सक्दैनन्। तिनीहरूले गर्ने कार्य, र ती कार्यपछाडि रहेका तिनीहरूका अभिप्राय र मनसायहरू पनि यी विचारहरूद्वारा अवश्य नै नियन्त्रित हुन्छन्। जब त्यस केटालाई त्यो परिस्थितिमा पारियो, उसमा पहिलो सोच के आएको थियो होला? “मलाई यो परिवारले बचाएको हो, र उनीहरूले मसँग राम्रो व्यवहार गरेका छन्। म अकृतज्ञ हुनु हुँदैन, उनीहरूको दयाको ऋण तिर्नुपर्छ। मलाई जीवन दिने उनीहरू नै हुन्, त्यसैले मैले यो जीवन उनीहरूमै समर्पित गर्नुपर्छ। उनीहरूले मलाई जे भन्छन् मैले त्यही गर्नुपर्छ, चाहे त्यसको लागि दुष्ट काम गर्नु र मानिसहरूलाई मार्नु नै किन नपरोस्। यो सही हो कि गलत हो भनेर मैले विचार गर्नु हुँदैन, मैले चुपचाप उनीहरूको दयाको ऋण तिर्नुपर्छ। मैले त्यसो गरिनँ भने के म अझै पनि मानव कहलिन लायक हुन्छु?” फलस्वरूप, जबजब त्यो परिवारले उसलाई कसैको हत्या गर्न वा खराब काम गर्न लगाउँथ्यो, उसले नहिचकिचाई वा कुनै कसर नराखी त्यो गर्थ्यो। त्यसकारण के उसको आचरण, कार्य, र पूर्ण आज्ञापालन “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने सोचबाट सञ्चालित होइन र? के उसले नैतिक आचरणको त्यो मापदण्ड पालन गरिरहेको थिएन र? (हो।) यो उदाहरणबाट तिमीहरूले के बुझ्यौ? “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने भनाइ राम्रो हो कि होइन? (होइन, यसमा कुनै सिद्धान्त छैन।) वास्तवमा, दयाको ऋण तिर्ने व्यक्तिमा सिद्धान्त हुन्छ, र त्यो हो दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ। कसैले तँलाई दया गर्छ भने, तैँले पनि दया फर्काउनुपर्छ। यदि तैँले त्यसो गर्न सकिनस् भने, तँ मानव होइनस् र तँलाई यसको दोषी ठहराइयो भने तैँले भन्‍न सक्‍ने केही हुँदैन। भनिन्छ: “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ,” तर यो घटनमा त, त्यो केटाले सानोतिनो दया होइन तर जीवन बचाउने दया पायो, त्यसैले उसले ज्यान दिएर नै ऋण तिर्नु स्वभाविकै थियो। दयाको ऋण तिर्ने सीमा वा सिद्धान्तहरू केके हुन् भन्‍ने उसलाई थाहा थिएन। उसले आफ्नो जीवन त्यो परिवारले दिएको हो भन्‍ने विश्‍वास गर्थ्यो, त्यसैले यसको सट्टा आफ्‍नो जीवन तिनीहरूमा समर्पित गर्‍यो र तिनीहरूले जे अह्राए पनि, हत्या वा अन्य दुष्कर्म सबै गर्‍यो। दयाको ऋण तिर्ने यस्तो तरिकामा कुनै सिद्धान्त वा सीमा हुँदैन। उसले दुष्कर्मीहरूको मतियारको रूपमा काम गऱ्यो र यस क्रममा आफूलाई बरबाद पार्‍यो। के उसले यसरी दयाको ऋण तिर्नु सही थियो? अवश्यै थिएन। यो काम गर्ने मूर्ख तरिका थियो। साँचो हो, यो परिवारले उसलाई बचायो र उसलाई जिइरहन मद्दत गऱ्यो, तर आफूले दयाको ऋण तिर्दा त्यसमा सिद्धान्त, सीमा र सन्तुलन हुनैपर्छ। तिनीहरूले उसको जीवन बचाए, तर उसको जीवनको उद्देश्य खराबी गर्नु होइन। जीवनको अर्थ र मूल्य, साथै मानिसको मिसन भनेको, खराबी गर्नु र हत्या गर्नु होइन, र उसले दयाको ऋण चुक्ता गर्ने एकमात्र उद्देश्य लिएर बाँच्नु हुँदैन। त्यो केटाले गल्तीले के विश्‍वास गर्‍यो भने जीवनको अर्थ र मूल्य भनेको आफूले पाएको दयाको ऋण कृतज्ञताले तिर्नु नै हो। यो ठूलो गलतफहमी थियो। के यो नैतिक आचरणको “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने यस मापदण्डबाट प्रभावित भएको परिणाम थिएन र? (थियो।) ऊ दयाको ऋण तिर्नेसम्बन्धी यो भनाइको प्रभावमा बहकिएएको थियो वा उसले अभ्यासको सही मार्ग र सिद्धान्त फेला पारेको हो? एकदमै स्पष्ट छ, ऊ बहकिएको थियो—यो सङ्लो पानीझैँ छर्लङ्ग छ। यदि नैतिक आचरणको यो मापदण्ड हुँदै नभएको भए, के मानिसहरूले सही र गलत छुट्याउने साधारण मामिलाहरूमा निर्णय गर्न सक्‍नेथिए? (थिए।) त्यो केटाले सोच्नेथ्यो: “यो परिवारले मलाई उद्धार त गरेको हुन सक्छ, तर तिनीहरूले त्यो आफ्नो व्यवसाय र भविष्यका लागि मात्र गरेका हुन् जस्तो देखिन्छ। म त तिनीहरूले आफ्नो व्यावसायिक कारोबारहरूमा अवरोध गर्ने वा बाधा पुऱ्याउने जोकोहीलाई हानि गर्न वा मार्न प्रयोग गर्न सक्ने औजार मात्र हुँ। तिनीहरूले मलाई बचाउनुको वास्तविक कारण यही हो। तिनीहरूले मलाई दुष्कर्म र हत्या गराउनका लागि मात्र मृत्युको मुखबाट तानेर निकालेका हुन्—के तिनीहरूले मलाई नर्कको बाटोमा पठाइरहेका होइनन् र? के यसले मलाई अझ कष्टमा पार्दैन र? त्यस्तो स्थितिमा, तिनीहरूले मलाई मर्न दिएका भए नै राम्रो हुनेथियो। तिनीहरूले मलाई वास्तवमा उद्धार गरेका होइनन्!” यस परिवारले भलो चिताएर र राम्रोसँग जिउन सकोस् भनेर त्यो भिखारी केटालाई उद्धार गरेको थिएन, तर उसलाई नियन्त्रण गरेर चोट पुऱ्याउन लगाउन, हानि गराउन र अरूलाई मार्न लगाउन मात्र त्यसो गरेको थियो। त्यसोभए तिनीहरूले वास्तवमा भलाइ गरिरहेका थिए कि खराबी? एकदमै स्पष्ट छ, तिनीहरूले भलाइ होइन खराबी गरिरहेका थिए—यी उपकारीहरू दुष्ट मानिस बनेका थिए। के दुष्ट मानिसहरू गुण फर्काउन लायक हुन्छन्? के तिनीहरूलाई गुण फर्काउनुपर्छ? फर्काउनु हुँदैन। त्यसोभए, तैँले तिनीहरू दुष्ट रहेछन् भनेर थाहा पाउनेबित्तिकै, के गर्नुपर्छ? तैँले आफूलाई तिनीहरूबाट टाढा राख्‍नुपर्छ, तँ तिनीहरूदेखि जोगिनुपर्छ, र तिनीहरूबाट भाग्‍ने उपाय खोज्नुपर्छ। यो बुद्धि हो। कतिपयले यसो भन्‍न सक्छन्: “यी दुष्ट मानिसहरूले मलाई नियन्त्रण गरिसकेका छन्, त्यसैले तिनीहरूबाट भाग्‍न त्यति सजिलो छैन। उम्कनु असम्भव छ!” प्रायजसो, आफूले पाएको दयाको ऋण कृतज्ञताले तिर्नुका परिणामहरू यिनै हुन्। असल मानिस अत्यन्तै थोरै र दुष्ट मानिस अत्यन्तै धेरै छन्, त्यसकारण यदि तैँले असल व्यक्ति भेटिस् भने उसलाई दयाको ऋण तिर्नु ठिकै हुन्छ, तर यदि तँ दुष्ट व्यक्तिको हातमा परिस् भने, त्यो पिशाच, शैतानको हातमा पर्नु बराबर हो। तिनीहरूले तेरो विरुद्ध षड्यन्त्र रच्नेछन् र तँलाई कठपुतली बनाउनेछन्, र तिनीहरूको हातमा परेर कुनै राम्रो परिणाम आउन सक्दैन। इतिहासमा यसका एकदमै धेरै उदाहरण छन्। अब तँलाई आफूले पाएको दयाको ऋण कृतज्ञताले तिर्नु आफूलाई व्यवहारमा कसरी ढाल्ने र कार्य गर्ने भन्‍ने कुराको न्यायोचित मापदण्ड होइन भन्‍ने कुरा थाहा हुनाले, कसैले तँलाई दया गर्दा तैँले कसरी व्यवहार गर्नुपर्छ? यसबारे तिमीहरूको विचार के छ? (हामीलाई जसले सहयोग गरे पनि, हामीले परिस्थितिको आधारमा तिनीहरूको सहयोग स्वीकार गर्ने कि नगर्ने भनेर निर्णय गर्नुपर्छ। कतिपय अवस्थामा, सहयोग स्वीकार्नु ठिकै हुन्छ, तर अरू अवस्थामा अन्धाधुन्ध तिनीहरूको सहयोग स्विकार्नु हुँदैन। यदि हामी सहयोग स्वीकार गर्छौँ नै भने, सिद्धान्त पालना गरेर तिनीहरूको दयाको ऋण कसरी तिर्ने भन्‍नेमा सीमाहरू तोक्‍नुपर्छ, ताकि हामीलाई दुष्ट मानिसहरूले धोका नदिऊन् वा हाम्रो फाइदा नउठाऊन्।) यो न यस्तो परिस्थितिलाई सम्हाल्ने सिद्धान्तअनुसारको तरिका हो। यसका साथै, यदि तैँले परिस्थिति स्पष्ट रूपमा बुझ्न सकिनस् वा उम्कने बाटो पाइनस् भने, परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ र बाटो खोलिमाग्नै पर्छ। यसले तँलाई प्रलोभनबाट बच्न र शैतानको पन्जाबाट उम्कन सहयोग गर्नेछ। कहिलेकाहीँ, परमेश्‍वरले मानिसहरूलाई सहयोग गर्न शैतानका सेवाहरू प्रयोग गर्नुहुनेछ, तर हामीले यस्तो अवस्थामा परमेश्‍वरलाई अवश्यै धन्यवाद दिनुपर्छ र शैतानलाई दयाको ऋण तिर्नु हुँदैन—यो सिद्धान्तको कुरा हो। जब यस्तो प्रलोभन दुष्ट व्यक्तिले दिने दयाको रूपमा आउँछ, तब तँ पहिले तँलाई कसले लाख र सहयोग गरिरहेको छ, तेरो परिस्थिति कस्तो छ, र तैँले लिन सक्‍ने अरू मार्ग छन् कि छैनन् भनेर स्पष्ट हुनैपर्छ। तैँले यस्ता समस्याहरू लचिलो तरिकाले सम्हाल्नुपर्छ। यदि परमेश्‍वर तँलाई मुक्ति दिन चाहनुहुन्छ भने, यो पूरा गर्न उहाँले जसका सेवाहरू प्रयोग गर्नुभए पनि, तैँले पहिला परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ र परमेश्‍वरबाट यो स्विकार्नुपर्छ। तैँले मानिसहरूप्रति मात्र कृतज्ञता जाहेर गर्नु हुँदैन, कसैमाथि कृतज्ञ बन्दै आफ्नो जीवन अर्पण गर्न मिल्ने कुरै नगरौँ। यो ठूलो गल्ती हो। महत्त्वपूर्ण कुरा भनेको तेरो हृदय परमेश्‍वरप्रति कृतज्ञ हुनु र तैँले यो उहाँबाट स्वीकार गर्नु हो। यदि तँलाई दया गर्ने, सहयोग गर्ने, वा तँलाई छुटकारा दिने व्यक्ति असल व्यक्ति हो भने, तैँले उसको दयाको ऋण तिर्नुपर्छ, तर तैँले आफूले दिन सक्ने ल्याकतअनुसार मात्रै गर्नुपर्छ। यदि तँलाई सहयोग गर्ने व्यक्तिको मनसाय गलत छ र तेरो विरुद्ध षड्यन्त्र रच्न खोज्दै छ र आफ्नो उद्देश्य पूरा गर्न तँलाई प्रयोग गर्छ भने, उसलाई कुनै हालतमा गुण फर्काउनु पर्दैन। छोटकरीमा भन्नुपर्दा, परमेश्‍वर मानिसको हृदय जाँच्‍नुहुन्छ, त्यसैले यदि तँलाई विवेकले घोचेको छैन र तेरो मनसाय सही छ भने, त्यो समस्या होइन। अर्थात्, तैँले सत्यता बुझ्नुभन्दा पहिले, कम्तीमा पनि तेरा कार्यहरू मानव विवेक र समझसँग मिल्नु आवश्यक छ। तैँले यस्तो परिस्थितिलाई यथोचित रूपमा सम्हाल्न सक्‍नुपर्छ ताकि तँलाई भविष्यमा कुनै पनि समय आफ्ना कार्यहरूको कारण पछुतो नहोस्। तिमीहरू सबै वयस्क हौ र ठूलो रातो अजिङ्गरको देशमा सबैले धेरै कुरा पार गरेका छौ—के तिमीहरूको जीवनमा दमन, उत्पीडन, दुर्व्यवहार, वा अपमानको कुनै कमी भएको छ र? मानवजाति कति गहन रूपमा भ्रष्ट भएका छन् भन्‍ने कुरा तिमीहरू सबैलाई स्पष्ट रूपमा थाहा छ, त्यसैले तिमीहरूले जुनै प्रलोभन आइपरे पनि, त्यसलाई बुद्धि चलाएर सामना गर्नुपर्छ र शैतानको छली षड्यन्त्रहरूमा पर्नु हुँदैन। तिमीहरूलाई जुनसुकै परिस्थिति आइपरे पनि, तिमीहरूले सत्यता खोजी गर्नैपर्छ अनि प्रार्थना र सङ्गतिमार्फत सिद्धान्तहरू बुझेपछि मात्र निर्णय गर्नुपर्छ। यी पछिल्ला केही वर्षमा, मण्डलीले शुद्धीकरणको काम गरिरहेको छ र धेरै दुष्ट मानिस, अविश्‍वासी, र ख्रीष्टविरोधीहरू खुलासा भएका छन् अनि हटाइएका वा निष्कासित भएका छन्। धेरैजसो मानिसले यस्तो हुन्छ भनेर कहिल्यै अनुमान गरेका थिएनन्। मण्डलीभित्र अझै पनि धेरै दोधारे मानिस, दुष्ट मानिस, र अविश्‍वासी छन्, त्यसकारण गैरविश्‍वासीहरू कति भ्रष्ट र दुष्ट हुन्छन् भन्‍ने कुरामा तिमीहरू स्पष्ट छौ भन्‍ने मलाई लाग्छ, छैनौ र? सत्यता र बुद्धिविना, मानिसहरूले कुनै कुरालाई स्पष्ट रूपमा देख्‍न सक्दैनन् अनि तिनीहरूलाई दुष्ट मानिसहरू र शैतानले धोका दिनेछन् र छल गर्नेछन्, अनि खेलौना बनाउनेछन्। यसरी, तिनीहरू शैतानका नोकर बन्छन्। सत्यता नबुझ्ने र सिद्धान्त नहुनेहरूले मूर्ख कुराहरू मात्र गर्छन्।

जब कतिपय मानिस कठिनाइ वा खतरामा पर्छन् र दुष्ट व्यक्तिबाट सहयोग पाएर आफ्नो दुर्दशाबाट छुटकारा पाउँछन्, तब तिनीहरू दुष्ट व्यक्तिलाई असल ठान्छन् र कृतज्ञता देखाउन केही गर्न इच्छुक हुन्छन्। तर, त्यस्ता अवस्थामा, दुष्ट व्यक्तिले तिनीहरूलाई उसको घृणित कार्यहरूमा संलग्‍न गराएर खराब कामहरू गराउन प्रयोग गर्ने प्रयास गर्नेछ। यदि तिनीहरूले अस्वीकार गर्न सकेनन् भने, यो खतरनाक हुन सक्छ। त्यस्ता केही मानिसलाई यस्ता परिस्थितिमा दोधार हुन्छ, किनभने तिनीहरूलाई के लाग्छ भने यदि आफ्नो दुष्ट मित्रलाई केही नराम्रा कामहरू गर्न सहयोग गरिएन भने, आफूले यो मित्रतालाई पर्याप्त मात्रामा निभाइरहेको छैन जस्तो देखिनेछ, तैपनि यसो गर्नु तिनीहरूको विवेक र समझविपरीत हुनेछ। यसरी, तिनीहरू यस दुबिधामा पर्छन्। यो नै परम्परागत संस्कृतिको दयाको ऋण तिर्ने विचारबाट प्रभावित हुनुको परिणाम हो—तिनीहरू यस विचारको जन्जिर, बन्धन र नियन्त्रणमा पर्छन्। धेरैपटक, परम्परागत संस्कृतिबाट आएका यी भनाइहरूले मानिसको विवेक र उसको सामान्य न्यायबोधको स्थान लिन्छन्; स्वाभाविक रूपमा, तिनले मानिसको सोचाइ र सही निर्णय लिने तरिकामा पनि प्रभाव पार्छन्। परम्परागत संस्कृतिका विचारहरू गलत छन् र तिनले कामकुराबारे मानिसको दृष्टिकोणलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छन्, जसले गर्दा उसले खराब निर्णयहरू गर्न पुग्छ। प्राचीन समयदेखि अहिलेसम्म, अनगिन्ती मानिसहरू दयाको ऋण तिर्नेसम्बन्धी नैतिक आचरणबारेको यो विचार, दृष्टिकोण र मापदण्डद्वारा प्रभावित हुँदै आएका छन्। तिनीहरूप्रति दया देखाउने त्यो व्यक्ति दुष्ट वा खराब व्यक्ति हुँदासमेत र उसले तिनीहरूलाई दुष्कर्म र खराब काम गर्न बाध्य पार्दासमेत, तिनीहरू विवेक र समझविपरीत जान्छन्, र उसको दयाको ऋण तिर्न आँखा चिम्लेर उसको आज्ञापालन गर्छन् र धेरै घातक परिणामहरू निम्त्याउँछन्। यो भन्न सकिन्छ कि, नैतिक आचरणको यो मापदण्डको प्रभाव, पकड, नियन्त्रण र बन्‍धनमा परेर कैयौँ मानिसहरूले अन्धाधुन्ध र गलत रूपमा दयाको ऋण तिर्ने यो दृष्टिकोण परिपालन गर्छन्, र दुष्ट मानिसहरूलाई मदत गर्न र उक्साउन सक्छन्। अहिले तिमीहरूले मेरो सङ्गति सुनेका छौ, र यो परिस्थिति प्रस्टसित बुझेका छौ, र तिमीहरूले यो मूर्ख बफादारी हो र यो व्यवहार भनेको आफूलाई कुनै सीमा नतोकी व्यवहारमा ढाल्नु, र बिनासमझ लापर्बाहीसाथ दयाको ऋण तिर्नु हो, र यसको कुनै अर्थ र मूल्य छैन भनी निर्धारण गर्न सक्छौ। मानिसहरू आम विचारको आलोचना खेप्‍नुपर्ला वा अरूको निन्दा भोग्‍नुपर्ला भन्‍ने डरले मन नलागीनलागी अरूको दयाको ऋण तिर्न आफ्नो जीवन समर्पित गरिदिन्छन्, र यस क्रममा आफ्नो जीवन नै बलिदानसमेत गरिदिन्छन्, तर काम गर्ने यस्तो तरिका भ्रामक र मूर्ख तरिका हो। परम्परागत संस्कृतिको यो भनाइले मानिसहरूको सोच मात्र जकडेको छैन, यसले त तिनीहरूको जीवनमा अनावश्यक बोझ र अप्ठ्यारो स्थिति थोपरिदिएको र तिनीहरूको परिवारमाथि थप कष्ट र बोझसमेत लादिदिएको छ। कैयौँ मानिसहरूले दयाको ऋण तिर्न ठूलो मूल्य चुकाएका छन्—तिनीहरू दयाको ऋण तिर्नुलाई सामाजिक जिम्मेवारी वा आफ्नै कर्तव्य ठान्‍ने गर्छन् र अरूको दयाको ऋण तिर्न आफ्नो सम्पूर्ण जीवनसमेत खर्चिदिन्छन्। तिनीहरू यसलाई गर्नुपर्ने पूर्ण प्राकृतिक र न्यायसङ्गत कुरा, र पन्छाउन नमिल्ने कर्तव्य मान्छन्। के यो दृष्टिकोण र काम गर्ने यस्तो तरिका मूर्ख र निरर्थक होइन र? यसले मानिसहरू कति अज्ञानी र अन्तर्दृष्टिहीन छन् भन्‍ने कुरा प्रकट गर्छ। कुनै घटनामा, दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्‍ने नैतिक आचरणसम्बन्धी यो भनाइ मानिसहरूको धारणासँग त मेल खाला, तर यो सत्यता सिद्धान्तअनुरूप हुँदैन। यो परमेश्‍वरका वचनहरूसँग मेल खाँदैन, र यो गलत दृष्टिकोण हो र यो काम गर्ने गलत तरिका हो।

दयाको ऋण तिर्नु सत्यता र मानिसहरूका लागि परमेश्‍वरका मागहरूसँग सम्बन्धित नभएकाले, र यो हाम्रो आलोचनाको विषय भएकाले, परमेश्‍वर यो भनाइलाई कसरी हेर्नुहुन्छ? यो भनाइको प्रतिक्रियास्वरूप सामान्य मानिसहरूले कस्ता दृष्टिकोण राख्नुपर्छ र कस्ता व्यवहारहरू गर्नुपर्छ? के तिमीहरू यसबारे स्पष्ट छौ? यदि कसैले तँलाई पहिले दया गरेको र त्यसले तँलाई धेरै फाइदा पुगेको थियो वा तँलाई ठूलो निगाह देखाएको थियो भने, के तैँले तिनीहरूलाई गुण तिर्नुपर्छ? तैँले यस्तो अवस्थालाई कसरी लिनुपर्छ? के यो मानिसहरूको दृष्टिकोणको कुरा होइन र? यो मानिसहरूको दृष्टिकोण र अभ्यासको विषय हो। मलाई यस विषयमा तिमीहरूको दृष्टिकोण बताओ—यदि कुनै व्यक्ति तँप्रति दयालु बन्यो भने, के तैँले उसको गुण तिर्नुपर्छ? यदि तिमीहरूले अझै पनि यो विषयलाई बुझ्न सक्दैनौ भने यो समस्याको कुरा हो। पहिले, तिमीहरूले सत्यता बुझेका थिएनौ र दयाको ऋण तिर्नुलाई सत्यताझैँ अभ्यास गर्थ्यौ। अब, तिमीहरूले मेरो विश्‍लेषण र आलोचना सुनेपछि, समस्या कहाँ रहेछ भनी देखेका छौ, तर तिमीहरूलाई अझै पनि यो कसरी अभ्यास गर्ने वा सामना गर्ने भन्‍ने थाहा छैन—के तिमीहरू अझै पनि यो कुरा बुझ्‍न सक्दैनौ? तिमीहरू सत्यता बुझ्नुभन्दा पहिले, आफ्नो विवेकअनुसार जिउँथ्यौ र तिमीहरूलाई जसले दया वा सहयोग गरे पनि, ऊ दुष्ट मानिस वा ग्याङस्टर भए पनि, उसको गुण निश्‍चित रूपमा तिर्थ्यौ, र साथीका लागि गोली खान र आफ्‍नो ज्यान जोखिममा पार्नसमेत बाध्य हुन्थ्यौ। पुरुषहरूले आफ्नो उपकारको गुण तिर्न आफूलाई दास बनाउनुपर्छ भने महिलाहरूले आफूलाई विवाह बन्धनमा बाँधेर तिनीहरूका लागि बच्‍चा जन्माउनुपर्छ—परम्परागत संस्कृतिले मानिसहरूलाई आफूले पाएको दयाको ऋण कृतज्ञताले तिर्न आदेश दिँदै तिनीहरूमा हालिदिने विचार यही हो। परिणामस्वरूप, मानिसहरू यस्तो सोच्छन्, “दयाको ऋण तिर्ने मानिसहरूमा मात्र विवेक हुन्छ, र यदि तिनीहरू दयाको ऋण तिर्दैनन् भने, तिनीहरूमा विवेकको कमी हुन्छै हुन्छ र तिनीहरू अमानवीय हुन्छन्।” यो विचारले मानिसहरूको हृदयमा गहिरो जरा गाड्छ। मलाई भन त, के जनावरहरूलाई दयाको ऋण तिर्नुपर्छ भन्‍ने थाहा हुन्छ? (हुन्छ।) त्यसोभए, के मानिसहरूलाई दयाको ऋण तिर्न आउँछ भन्दैमा तिनीहरूलाई वास्तवमै उन्‍नत मान्‍न सकिन्छ? के मानिसले दयाको ऋण तिर्ने अभ्यास गर्नुलाई मानवताको सङ्केत मान्‍न सकिन्छ? (सकिँदैन।) त्यसोभए, मानिसहरूले यस विषयमा कस्तो दृष्टिकोण राख्‍नुपर्छ? यस्तो कुरालाई कसरी बुझ्नुपर्छ? यो बुझेपछि, यसप्रति कस्तो पाइला चाल्नुपर्छ? तिमीहरूले यो घडी समाधान गर्न लक्ष्य राख्‍नुपर्ने समस्या यिनै हुन्। यस विषयमा आफ्ना विचारहरू बताऊ। (यदि कसैले मलाई साँच्चै कुनै मामिला वा समस्या समाधान गर्न सहयोग गऱ्यो भने, म पहिले उसलाई हार्दिक धन्यवाद दिन्छु, तर यस परिस्थितिको बन्धन वा निययन्त्रणमा पर्नेछैनँ। यदि तिनीहरूले कठिनाइहरूको सामना गर्नुपरेका भए, म तिनीहरूका लागि आफ्‍नो शक्तिले भ्याइन्जेल गर्नेथिएँ। म तिनीहरूलाई सक्दो सहयोग गर्नेछु, तर आफ्‍नो क्षमताले भ्याउने अवस्थाबाहिर जानेथिइनँ।) यो सही दृष्टिकोण हो र यस्तो व्यवहार स्वीकार्य छ। के अरू कसैले यसबारे आफ्नो विचार बताउन चाहन्छ? (विगतमा मेरो विचार कस्तो थियो भने, यदि कसैले मलाई सहयोग गऱ्यो भने, उसलाई समस्या आइपर्दा मैले पनि सहयोग गर्नुपर्छ। मैले “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” र “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने विचारहरूबारे परमेश्‍वरले गरेको सङ्गति र विश्‍लेषणद्वारा के बुझेँ भने अरूलाई सहयोग गर्दा सिद्धान्तहरू पालना गर्नैपर्छ। यदि कसैले मलाई दया देखाएको छ वा सहयोग गरेको छ भने, मेरो विवेकले मलाई तिनीहरूलाई पनि सहयोग गर्नुपर्छ भनेर आदेश दिन्छ, तर मैले दिने सहयोग आफ्नो परिस्थिति र आफूले दिन सक्ने कुरामा आधारित हुनैपर्छ। साथै, मैले तिनीहरूलाई तिनीहरूका कठिनाइ समाधान गर्न र जीवनका आवश्यकताहरू पूरा गर्न मात्र सहयोग गर्नुपर्छ; मैले तिनीहरूलाई दुष्कर्म वा खराब कामहरू गर्न सहयोग गर्नु हुँदैन। यदि मैले कुनै विश्‍वासी दाजुभाइ वा दिदीबहिनीले कठिनाइ भोगिरहेको देखेँ भने, म तिनीहरूलाई मलाई कुनै बेला सहयोग गरेका थिए भनेर होइन तर यो मेरो कर्तव्य र जिम्मेवारी भएकाले सहयोग गर्छु।) अरू केही छ? (मलाई परमेश्‍वरका यी वचनहरू याद आयो “कसैले हाम्रो भलो गर्छ भने हामीले त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ।” भन्‍नुको अर्थ, जब कसैले हामीसँग राम्रो व्यवहार गर्छ, तब हामीले यसलाई परमेश्‍वरबाट आएको हो भनेर स्वीकार गर्नुपर्छ र यसलाई सही रूपमा सम्हाल्न सक्‍नुपर्छ। त्यसरी, हामी दयाको ऋण तिर्नेसम्बन्धी यो दृष्टिकोणलाई सही रूपमा बुझ्न सक्छौँ। साथै, परमेश्‍वर भन्नुहुन्छ, हामीले उहाँले प्रेम गर्ने कुरालाई प्रेम गर्नुपर्छ र घृणा गर्ने कुरालाई घृणा गर्नुपर्छ। हामीले अरू मानिसलाई सहयोग गर्दा, त्यो व्यक्तिलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ कि घृणा गर्नुहुन्छ भनेर खुट्याउनैपर्छ। हामीले यही सिद्धान्तको आधारमा कार्य गर्नुपर्छ।) यो कुरा सत्यतासँग सम्बन्धित छ—यो सही सिद्धान्त हो र यसको आधार छ। अहिले हामी सत्यतासँग के सम्बन्धित छ भन्‍नेबारे कुरा नगरौँ, बरु मानिसहरूले यस विषयलाई मानवताको दृष्टिकोणबाट कसरी लिनुपर्छ भन्‍ने कुरालाई ध्यान देऔँ। वास्तवमा, तँलाई आइपर्न सक्‍ने परिस्थितिहरू सधैँ त्यस्तो सरल हुँदैनन्—ती परिस्थिति सधैँ मण्डलीभित्र र दाजुभाइ-दिदीबहिनीहरूमाझ हुन्छन् भन्‍ने छैन। प्रायजसो, ती कुरा मण्डलीबाहिर हुन्छन्। उदाहरणका लागि, गैरविश्‍वासी नातेदार, साथीसँगी, चिनजान व्यक्ति, वा सहकर्मीले तँलाई दया देखाउलाउन् वा सहयोग गर्लान्। यदि तैँले यस विषयलाई र तँलाई सहयोग गर्ने व्यक्तिलाई सही तरिकाले अर्थात्, दुवै कुरा सत्यता सिद्धान्तहरूसँग मेल खाने गरी र अरूलाई उपयुक्त लाग्‍ने गरी सम्हाल्न सकिस् भने, यस विषयप्रतिको तेरो मनोवृत्ति र यसबारे तेरो विचार तुलनात्मक रूपमा सही हुनेछन्। “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने परम्परागत सांस्कृतिक अवधारणाको भित्री कुरा बुझ्‍नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण शब्द “दया” हो—यो दयालाई कसरी हेर्नुपर्छ? यसले दयाको कुन पक्ष र प्रकृतिलाई जनाइरहेको छ? “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने भनाइको अर्थ के हो? मानिसहरूले यी प्रश्‍नहरूको उत्तर पत्ता लगाउनैपर्छ र तिनीहरू कुनै पनि परिस्थितिमा दयाको ऋण तिर्ने यो विचारद्वारा नियन्त्रित हुनु हुँदैन—सत्यता पछ्याउने जोकोहीको लागि यो नितान्त आवश्यक छ। मानव धारणाअनुसार “दया” भनेको के हो? सामान्य तहमा, दया भनेको तँ समस्यामा हुँदा कसैले तँलाई सहयोग गर्नु हो। उदाहरणको लागि, तँलाई साह्रै भोक लागेको बेला कसैले तँलाई एक थाल भात दिनु, वा तँ तिर्खाले मर्न लागेको बेला एक बोतल पानी दिनु, वा तँ लडेर उठ्न नसक्दा तँलाई उठ्न सहयोग गर्नु हो। यी सबै दयाका काम हुन्। दयाको ठूलो काम भनेको तँ कठिन परिस्थितिमा हुँदा कसैले तँलाई उद्धार गर्नु हो—त्यो जीवन बचाउने दया हो। तेरो ज्यान खतरामा हुँदा र कसैले तँलाई मर्नबाट जोगिन मद्दत गर्दा, उसले वास्तवमा तेरो जीवन बचाइरहेको हुन्छ। मानिसहरूले “दया” को रूपमा लिने केही कुरा यिनै हुन्। यस प्रकारको दया सानातिना, भौतिक निगाहभन्दा निकै ठूलो हुन्छ—यो ठूलो दया हो जसलाई पैसा वा भौतिक कुराहरूको आधारमा मापन गर्न सकिँदैन। यो प्राप्त गर्ने मानिसहरूले यति कृतज्ञ महसुस गर्छन् जसलाई धन्यवादका केही शब्‍दहरूमा व्यक्त गर्न सकिँदैन। तैपनि, के मानिसहरूले यसरी दयालाई मापन गर्नु सही हो त? (होइन।) किन तँ सही होइन भनेर भन्छस्? (किनभने यो मापन परम्‍परागत संस्कृतिका मापदण्डहरूका आधारमा गरिएको हुन्छ।) यो सिद्धान्त र धार्मिक वादमा आधारित उत्तर हो, र यो सही देखिए पनि, यसले मामलाको सार प्रस्तुत गर्दैन। त्यसकारण, यसलाई कसरी व्यावहारिक रूपमा व्याख्या गर्न सकिन्छ? यसबारे ध्यान दिएर सोच। केही समयअगाडि, मैले एउटा भिडियोबारे सुनेको थिएँ, जसमा एउटा मान्छेले थाहै नपाई आफ्‍नो वालेट खसाउँछ। त्यो वालेट एउटा सानो कुकुरले भेट्छ र त्यो कुकुर उसको पछि लाग्छ, र त्यो मान्छेले त्यसलाई देखेपछि त्यो कुकुरले वालेट चोरेछ भनेर कुटेर त्यसलाई मार्छ। कस्तो मूर्खता, होइन? त्यो मान्छेमा कुकुरमा जत्ति पनि नैतिकता छैन! कुकुरको त्यो काम नैतिकतासम्‍बन्धी मानव मापदण्डअनुरूप नै थियो। मान्छे भए “तपाईंको वालेट खस्यो!” भनेर भन्‍नेथियो, तर कुकुरको बोली नभएको कारण, यसले चुपचाप वालेट उठायो र त्यो मान्छेको पछि दगुर्‍यो। त्यसकारण, यदि एउटा कुकुरले परम्‍परागत संस्कृतिले प्रवर्धन गरेका केही असल व्यवहारहरू लागू गर्न सक्छ भने, त्यसले मान्छेबारे के भन्छ? मानिस विवेक र समझसहित जन्‍मेको हुन्छ, त्यसकारण यी कुराहरू गर्नका लागि तिनीहरू झन् सक्षम हुन्छन्। जबसम्‍म कुनै व्यक्तिमा आफ्‍नो विवेकको बोध हुन्छ, तबसम्म उसले यस्ता जिम्‍मेवारी र दायित्वहरू पूरा गर्न सक्छ। कठिन परिश्रम गर्नु वा मूल्य चुकाउनु आवश्यक हुँदैन, थोरै प्रयास गरे पुग्छ, आखिर यो कुरा अरूलाई मदत मिल्‍ने र फाइदा पुग्‍ने केही काम गर्नु मात्र हो। तर यस्तो प्रकृतिको कामलाई “दया” भन्‍न सुहाउँछ? के यो काम दयाको स्तरमा पुग्छ? (पुग्दैन।) यदि पुग्दैन भने, के मानिसहरूले यसको ऋण तिर्नेबारे कुरा गरिरहनु आवश्यक छ? त्यो आवश्‍यक छैन।

अब हामी मान्छेको तथाकथित दयाको मामिलाप्रति ध्यान केन्द्रित गरौँ। उदाहरणको लागि, बाहिर हिउँमाथि भोकले ढलेको भिखारीलाई उद्धार गर्ने दयालु व्यक्तिलाई लिऔँ। उसले त्यो भिखारीलाई घरमा ल्याउँछ, र खानेकुरा र लुगाफाटा दिन्छ, अनि उसले उसको परिवारमाझ बस्‍न र उसको परिवारको लागि काम गर्न त्यो भिखारीलाई अनुमति पनि दिन्छ। तर त्यो भिखारीले स्वेच्छाले त्यो काम गरेको होस् वा दयाको ऋण तिर्न उसले त्यसो गरेको होस्, के त्यो उद्धार दयाको काम हो त? (होइन।) ससाना जन्तुसमेत एकअर्कालाई मद्दत र उद्धार गर्न सक्षम हुन्छन्। यस्ता कार्य गर्न, मानिसहरूलाई अलिकति प्रयास मात्र गरे पुग्छ, र यस्ता कार्य मानवता भएको जोकोहीले गर्न सक्छ र जोकोही यसमा खरो उत्रन सक्छ। यस्ता कार्यहरू मानवता भएको जोकोहीले पूरा गर्नुपर्ने सामाजिक जिम्मेवारी र दायित्व हुन् भनेर पनि मानिसहरूले भन्‍न सक्छन्। तर के मानिसहरूले ती कार्यलाई दयालुपन भनेर चित्रण गर्नु अलि बढी हुँदैन र? के यसलाई त्यसरी चित्रण गर्नु उपयुक्त हुन्छ त? उदाहरणको लागि, अनिकालको बेला धेरै मानिसहरू भोकभोकै हुँदा, यदि कुनै धनी व्यक्तिले गरिब घरपरिवारलाई यो कठिन समय पार गर्न मदत गर्न चामल दिन्छ भने, के यो मानिसहरूमाझ हुनुपर्ने एकप्रकारको आधारभूत नैतिक मद्दत र सहयोगको उदाहरण मात्र होइन र? उसले त बस अलिकति चामल दिएको मात्र हो—उसले अरूलाई आफ्नो सारा खानेकुरा दिएर आफू भोकै बसेको होइन। के यसलाई वास्तवमै दयालुपन ठान्‍न मिल्छ र? (मिल्दैन।) मानिसहरूले पूरा गर्न सक्‍ने सामाजिक जिम्मेवारी र दायित्व, मानिसहरूले नैसर्गिक प्रवृत्तिअनुसार गर्न सक्‍नुपर्ने र गर्नुपर्ने कार्यहरू, अनि अरूलाई उपयोगी र लाभदायी हुने सेवाका सरल कार्यहरू—यी कुराहरूलाई कसै गरी पनि दयालुपन मान्‍न सकिँदैन, किनभने ती सबै कुरामा मानिसहरूले मद्दतको हात मात्र बढाइरहेका हुन्छन्। खाँचो पर्ने कसैलाई उचित समय र स्थानमा मदत दिनु एकदमै सामान्य घटना हो। यो मानवजातिको हरेक सदस्यको जिम्मेवारी पनि हो। यो एक प्रकारको जिम्मेवारी र दायित्व मात्र हो। परमेश्‍वरले मानिसहरूलाई सृष्टि गर्नुहुँदा नै यो नैसर्गिक प्रवृत्ति दिनुभयो। यहाँ म कस्तो नैसर्गिक प्रवृत्तिको कुरा गरिरहेको छु? म मानिसहरूको विवेक र समझको कुरा गरिरहेको छु। जब तँ कसैलाई भुइँमा लडेको देख्छस्, तब तेरो स्वाभाविक प्रतिक्रिया हुन्छ “मैले उसलाई सहयोग गर्नुपर्छ।” यदि तैँले उसलाई लडेको देखिस् तर नदेखेको जस्तो बहाना बनाइस्, र उसलाई सहयोग गर्न गइनस् भने, यसले तेरो विवेकमा घोच्नेछ र यस्तो व्यवहार गरेकोमा तँलाई नराम्रो लाग्नेछ। वास्तवमा मानवता भएको व्यक्तिले कसैलाई लडेको देख्यो भने तुरुन्तै सहयोग गर्नुपर्छ भनेर सोच्नेछ। उसले त्यो व्यक्ति आभारी हुन्छ कि हुँदैन भनेर वास्ता गर्दैनन्, किनभने ऊ यो आफूले गर्नुपर्ने कुरा हो भन्‍ने सोच्छ, र यस विषयमा थप विचार गर्नु आवश्यक छैन भन्‍ने देख्छ। किन? यी कुराहरू परमेश्‍वरले मानिसहरूलाई दिएका नैसर्गिक क्षमता हुन्, र विवेक र समझ भएको जोकोहीले यसो गर्न सोच्‍नेछ र यस्तो कार्य गर्न सक्छ। परमेश्‍वरले मानिसलाई विवेक र मानव हृदय दिनुभयो—मानिसमा मानव हृदय छ, त्यसैले ऊसँग मानव विचार, साथै कुनै कुराको सन्दर्भमा आफूसँग हुनुपर्ने दृष्टिकोण र शैलीहरू हुन्छन्, त्यसैले ऊ यी कुराहरू स्वाभाविक रूपमा र सजिलैसँग गर्न सक्छ। उसलाई कुनै पनि बाहिरी शक्तिको सहयोग वा वैचारिक मार्गदर्शन आवश्यक पर्दैन, र उसलाई शिक्षा वा सकारात्मक नेतृत्वसमेत चाहिँदैन—उसलाई तीमध्ये कुनै पनि आवश्यकता पर्दैन। यो त मानिसहरूलाई भोक लाग्दा खानेकुरा र तिर्खा लाग्दा पानी खोजेजस्तो हो—यो नैसर्गिक क्षमता हो र यसलाई आमाबुबा वा शिक्षकहरूले सिकाउनु पर्दैन—यो स्वाभाविक रूपमा आउँछ, किनभने मानिसमा सामान्य मानवताको सोच हुन्छ। त्यसै गरी, मानिसहरूले परमेश्‍वरको घरमा आफ्नो जिम्मेवारीहरू र कर्तव्यहरू निर्वाह गर्न सक्छन् अनि विवेक र समझ भएको जोकोहीले गर्नुपर्ने कुरा यही हो। तसर्थ, मानिसहरूलाई मदत गर्नु र उनीहरूप्रति दयालु हुनु मानवजातिले त्यति प्रयत्‍न लगाउनुपर्ने कुरो होइन, यो मानव नैसर्गिक क्षमताभित्र पर्छ, र यो मानिसहरूले सम्पूर्ण रूपमा पूरा गर्न सक्‍ने कुरा हो। यसलाई दया जत्तिको उच्‍च दर्जामा राख्‍नुपर्दैन। तथापि, धैरे मानिस अरूलाई सहयोग गर्नुलाई दयाको बराबरीमा राख्छन्, र सधैँ यसबारे कुरा गरिरहेका हुन्छन् र निरन्तर यसको ऋण तिरिरहेका हुन्छन्, अनि यसो नगर्दा आफूसँग विवेक छैन भनेर सोच्छन्। तिनीहरू आफूलाई तुच्छ ठान्छन् र घृणा गर्छन्, समाजको आम विचारको भर्त्सना भोग्नुपर्ला भनेर चिन्तासमेत गर्छन्। के यी कुराबारे चिन्ता गर्नु आवश्यक छ र? (छैन।) धेरै मानिसहरू यसलाई छर्लङ्ग देख्‍न सक्दैनन्, र निरन्तर यो समस्याको बन्धनमा हुन्छन्। सत्यता सिद्धान्तहरू नबुझ्‍नु भनेकै यही हो। उदाहरणका लागि, यदि तँ साथीसँग मरुभूमिमा गइस् र उसको पानी सकियो भने, पक्‍कै पनि उसलाई आफ्नो केही पानी दिनेछस्, र उसलाई तिर्खाले मर्न दिँदैनस्। तेरो एक बोतल पानीले जति पुग्नुपर्ने हो त्यो दुई जनाले पिउँदा त्यसको आधा मात्र पुग्‍ने भए पनि, तैँले साथीसँग पानी बाँड्नेछस्। तँ किन त्यसो गर्छस्? किनभने तँ आफ्नो साथी तिर्खाले तड्पिरहेको बेला आफू मात्रै पानी पिउन सक्दैनस्—तँ यस्तो दृश्य हेरेर बस्‍न सक्दैनस्। तिर्खाले व्याकुल आफ्नो साथी देख्दा तैँले सहन नसक्‍नुको कारण के हो? यो तेरो विवेकले तँमा पैदा गर्ने बोध हो। तैँले यस्तो जिम्मेवारी र दायित्व पूरा गर्न नचाहे पनि, तेरो विवेकले यस्तो अवस्था सिर्जना गर्नेछ कि तैँले त्यो नगरी धर पाउँदैनस्, र यसले तँलाई अशान्त बनाउनेछ। के यो सबै मानव नैसर्गिक क्षमताको परिणाम होइन र? के यो सब मानिसको विवेक र समझले तय गर्दैन र? यदि साथीले “त्यो अवस्थामा मलाई पानी दिएकोमा म तिमीप्रति कृतज्ञताको ऋणी छु!” भनेर भन्यो भने, के यसो भन्‍नु पनि गलत हुनेछैन र? यसको दयासँग कुनै सम्बन्ध हुँदैन। यदि परिस्थिति ठिक उल्टो भयो, र त्यो साथीसँग मानवता, विवेक र समझ थियो भने, उसले तँसँग आफ्नो पानी बाँड्नेथियो। यो त आधारभूत सामाजिक जिम्मेवारी वा मानिसहरूबीचको सम्बन्ध मात्रै हो। यी सबैभन्दा आधारभूत सामाजिक सम्बन्ध वा जिम्मेवारी वा दायित्वहरू सबै मानिसको विवेक, उसको मानवता र मानव सृष्टिको समयमा परमेश्‍वरले मानिसलाई दिएका नैसर्गिक क्षमताको कारण उत्पन्‍न हुन्छन्। सामान्य परिस्थितिमा, यी कुरा आमाबुबाले सिकाउनु पर्दैन वा समाजले सिकाउनु पर्दैन, झन अरूले तँलाई यसो गर्नुपर्छ भनेर बारम्‍बार अर्ती दिइरहनु त पटक्कै पर्दैन। विवेक र समझको कमी भएकाहरू, सामान्य बोध क्षमताको कमी भएकाहरूलाई मात्र शिक्षाको आवश्यकता हुनेछ—जस्तै, मानसिक रूपमा अशक्त मानिसहरू वा सामान्य समझ नभएकाहरू—वा कमजोर क्षमता भएका र अज्ञानी र जिद्दी मानिसहरू यसका उदाहरण हुन्। सामान्य मानवता भएकाहरूलाई यी कुरा सिकाउनु पर्दैन—विवेक र समझ भएका मानिसहरू सबैमा यस्ता कुरा हुन्छन्। त्यसकारण, नैसर्गिक क्षमताबाट आउने अनि विवेक र समझअनुरूपको कुनै व्यवहार वा कार्यलाई अत्यधिक बढाइचढाइ गर्नु उचित होइन। यो किन अनुचित हो? तैँले यस्तो व्यवहारलाई यस हदमा उचालेर, प्रत्येक व्यक्तिलाई गह्रौँ भारी र बोझ लादिरहेको हुन्छस्, अनि यसले अवश्य नै मानिसहरूलाई सीमित पार्छ। उदाहरणका लागि, यदि विगतमा कसैले तँलाई पैसा दिएको, कठिन परिस्थितिमा तँलाई सहयोग गरेको, काम खोज्न सहयोग गरेको, वा उद्धार गरेको थियो भने, तैँले सोच्‍नेछस्: “म बैगुनी हुनु हुँदैन, म विवेकी हुनुपर्छ र उसको दयाको ऋण तिर्नुपर्छ। यदि मैले दयाको ऋण तिरिनँ भने, के म मानव हुँ र?” सबै वास्तविकतालाई हेर्दा, तैँले तिनीहरूलाई गुण फर्काए पनि नफर्काए पनि, तँ मानव नै होस् र सामान्य मानवताको ढाँचामा नै जिउँछस्—यसरी गुण फर्काएर केही परिवर्तन हुँदैन। तैँले तिनीहरूलाई गुण फर्काउँदैमा तेरो मानवता परिवर्तन हुनेछैन र तेरो भ्रष्ट स्वभाव वशमा आउनेछैन। त्यसै गरी, तैँले तिनीहरूलाई खराब रूपमा गुण फर्काइस् भन्दैमा तेरो भ्रष्ट स्वभाव अझै खराब हुनेछैन। तैँले गुण फर्काउँछस् कि फर्काउँदैनस् र दया गर्छस् कि अरू नै कुरा दिन्छस् भन्‍ने कुरासँग तेरो भ्रष्ट स्वभावको कुनै सम्बन्ध हुँदैन। अवश्य नै, सम्‍बन्ध भए पनि नभए पनि, मेरा लागि त यस प्रकारको “दया” छँदै छैन, र सायद तिमीहरूलाई पनि त्यस्तै लाग्छ भन्‍ने आशा छ। त्यसोभए, तिमीहरूले यसलआई कसरी लिनुपर्छ? यसलाई केवल दायित्व र जिम्‍मेवारी, अनि मानवको नैसर्गिक क्षमता भएको व्यक्तिले गर्नुपर्ने कुराको रूपमा लिनुपर्छ। तिमीहरूले यसलाई मानवको रूपमा आफ्नो जिम्‍मेवारी र दायित्वको रूपमा लिनुपर्छ, र यसलाई आफ्‍नो क्षमताले भ्याइञ्‍जेल गर्नुपर्छ। त्यति भए पुग्छ। कतिपय मानिस यसो भन्लान्: “त्यो मेरो जिम्मेवारी हो भन्‍ने मलाई थाहा छ, तर म यो जिम्‍मेवारी बहन गर्न चाहन्‍नँ।” त्यो पनि ठिकै छ। तैँले आफ्नो अवस्था र परिस्थितिको आधारमा आफ्ना लागि निर्णय गर्न सक्छस्। तैँले त्यस समय तेरो मनस्थितिको आधारमा पनि अझ लचिलो निर्णय गर्न सक्छस्। यदि तैँले आफ्नो जिम्मेवारी पूरा गरेपछि, लाभार्थीले तँलाई निरन्तर गुण फर्काउने प्रयास गर्छ, र तेरो बारेमा सोधपुछ गर्छ, र तँलाई यति धेरै धन्यवाद दिइरहन्छ कि तँलाई असुविधा र अशान्ति हुन्छ भन्‍ने चिन्ता गर्छस्, फलस्वरूप तँलाई त्यो जिम्मेवारी उठाउन मन लाग्दैन भने, त्यो पनि ठिकै छ—त्यो तँमा निर्भर हुन्छ। कतिपयले सोध्‍नेछन्: “के यस्तो सामाजिक जिम्मेवारी पूरा गर्न नचाहने मानिसहरूमा खराब मानवता हुन्छ?” के व्यक्तिको मानवतालाई मूल्याङ्कन गर्ने सही तरिका यही हो? (होइन।) यो किन गलत छ? यस दुष्ट समाजमा, मानिस आफ्‍नो व्यवहारमा होसियार हुनैपर्छ र उसले आफूले गर्ने सबै कुराको औचित्य बुझ्नैपर्छ। अवश्य नै, उसले त्यतिबेलाको वातावरण र प्रसङ्गलाई चिन्‍नु अझै बढी आवश्यक हुन्छ। गैरविश्‍वासीहरूले भनेझैँ, यस भद्रगोल संसारमा, मानिसहरू आफूले गर्ने जुनसुकै कुरामा चतुर, बुद्धिमान र ज्ञानी हुनैपर्छ—तिनीहरू अज्ञानी हुनु हुँदैन, र तिनीहरूले अवश्य नै मूर्ख कार्यहरू गर्नु हुँदैन। उदाहरणका लागि, केही देशका सार्वजनिक स्थलहरूमा, मानिसहरू निश्चित नक्कली दुर्घटनाको नाटक गरेर क्षतिपूर्ति दाबी गर्दै ठगी गर्छन्। यदि तैँले यी दुष्ट मानिसहरूको ठगीलाई देखिनस्, र आफ्नो विवेकअनुसार अन्धाधुन्ध कार्य गरिस् भने, तँ मूर्ख बन्‍न र समस्यामा पर्न सक्छस्। उदाहरणका लागि, यदि तैँले सडकमा एउटी वृद्धा महिलालाई लडेको अवस्थामा देखिस् भने, यस्तो सोच्न सक्छस्: “मैले समाजप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ, र उनले मलाई गुण फर्काउनु पर्दैन। मसँग मानवता र विवेक छ, मैले उनलाई मद्दत गर्नुपर्छ, म उनलाई सहयोग गर्नेछु।” तर तँ उसलाई उठाउन जाँदा, उनले तँलाई धुत्नेछिन् र तैँले उसलाई अस्पताल लैजानुपर्छ र उसको दबाइपानीको बिल, भावनात्मक क्षतिको क्षतिपूर्ति, र अवकाश खर्चहरू तिर्नुपर्ने हुन्छ। यदि तैँले तिरिनस् भने, तँलाई पुलिस स्टेशनमा बोलाइनेछ। तँ आफै समस्यामा परेको जस्तो देखिन्छ, होइन र? यो अवस्था कसरी आयो? (आफ्‍नो असल अभिप्रायलाई पछ्याएकाले र बुद्धिको कमी भएकाले गर्दा।) तँ अन्धो भइस्, तँमा समझको कमी भयो, हालको प्रचलनलाई चिन्‍न सकिनस्, र परिस्थितिलाई बुझिनस्। यस्तो दुष्ट समाजमा, लडेको वृद्धालाई त्यतिकै सहयोग गरेकोमा मात्रै पनि मूल्य चुकाउनुपर्ने हुन्छ। यदि ऊ वास्तवमै लडेकी थिई र तेरो सहयोग चाहिएको थियो भने, तँलाई सामाजिक जिम्मेवारीहरू पूरा गरेकोमा दोषी ठहराउनु पर्दैनथ्यो, तेरो प्रशंसा गरिनुपर्थ्यो, किनकि तेरो व्यवहार मानवता र मानिसको विवेकअनुरूप थियो। तर यस वृद्धा महिलाको एउटा भित्री अभिप्राय थियो—उसलाई वास्तवमा तेरो सहयोग चाहिएको थिएन, उसले तँलाई ठगिरहेकी थियो, र तैँले उसको धूर्त चाल बुझिनस्। तँ सङ्गी मानवको रूपमा ऊति आफ्‍नो जिम्मेवारी पूरा गरेर उसको षड्यन्त्रमा परिस्, र अब उसले तँलाई छोड्नेछैन, अझ बढी पैसा माग्छे। सामाजिक जिम्मेवारी पूरा गर्नु त खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्नु र आफ्नै जिम्मेवारीहरू निभाउनु हुनुपर्छ। यसो गर्दा जालमा फस्नु वा पासोमा पर्नु हुँदैन। धेरै मानिस यस्ता ठगीको सिकार भएका छन् र तिनीहरूले मानिसहरू अहिले कति दुष्ट छन्, र अरूलाई ठग्न कति निपुण छन् भन्‍ने स्पष्ट रूपमा देखेका छन्। तिनीहरू जोकोहीलाई ठग्छन्, चाहे त्यो अपरिचित होस् वा साथीसँगी र आफन्त नै किन नहोस्। कस्तो डरलाग्दो अवस्था! यो भ्रष्टता कसले ल्यायो? ठूलो रातो अजिङ्गरले। ठूलो रातो अजिङ्गरले मानवजातिलाई गहन र चरम रूपमा भ्रष्ट पारेको छ! ठूलो रातो अजिङ्गरले आफ्नो हितलाई बढावा दिन सबै प्रकारका अनैतिक काम गर्नेछ, र मानिसहरू यसको खराब उदाहरणद्वारा बहकिएका छन्। फलस्वरूप, ठग र चोरहरू अहिले लछेप्रै छन्। यी तथ्यहरूको आधारमा, अहिले धेरै मानिस कुकुरभन्दा खराब छन् भन्‍ने कुरा देख्‍न सकिन्छ। सायद कतिपय मानिस यस्तो कुरा सुन्‍न इच्छुक हुनेछैनन्, र तिनीहरूले यसबारे असहज महसुस गर्नेछन् र सोच्नेछन्: “के हामी साँच्‍चै कुकुरभन्दा असल छैनौँ? तपाईंले हामीलाई सधैँ कुकुरसँग दाँजेर अनादर गरिरहनुभएको छ र होच्याइहनुभएको छ। तपाईं हामीलाई मानवको रूपमा आदर गर्नुहुन्‍न!” म तिमीहरूलाई मानवको रूपमा हेर्न चाहन्छु, तर मानिसहरूले कस्ता व्यवहार देखाएका छन्? सबै वास्तविकतालाई हेर्दा, कतिपय मानिस वास्तवमै कुकुरभन्दा असल छैनन्। यस विषयमा अहिले मैले भन्नुपर्ने यति मात्र हो।

अरूलाई अलिकति सहयोग गर्ने मानिसहरूलाई कसरी दयालु मान्‍न सकिँदैन तर यो त एक सामाजिक जिम्मेवारी मात्र हो भनेर मैले भर्खरै सङ्गति गरेँ। अवश्य नै, मानिसहरूले आफ्नो क्षमताअनुसार कुन सामाजिक जिम्मेवारीहरू पूरा गर्न सकिन्छ भनेर छनौट गर्न सक्छन्। तिनीहरू आफूलाई उपुयक्त हुने जिम्मेवारीहरू पूरा गर्न सक्छन् र आफूलाई उपयुक्त नहुने जिम्मेवारीहरू पूरा नगर्ने निर्णय गर्न सक्छन्। मानिससँग यो स्वतन्त्रता र छनौट छ। तैँले आफ्नो परिस्थिति, क्षमता, र पक्‍कै पनि, त्यतिबेलाको अवस्था र परिस्थितिको आधारमा कुन सामाजिक जिम्मेवारी र दायित्व पूरा गर्नुपर्छ भनेर छनौट गर्न सक्छस्। यो तेरो अधिकार हो। यो अधिकार कुन प्रसङ्गगबाट आयो? संसार अत्यन्तै अन्धकार ठाउँ हो, मानवजाति अत्यन्तै दुष्ट छन्, र समाजमा न्यायको अभाव छ। यी परिस्थितिहरूमा, तैँले पहिले आफ्नो रक्षा गर्नुपर्छ, तँ मूर्ख र अज्ञानी भएर कार्य गर्नबाट जोगिनुपर्छ, र बुद्धि चलाउनुपर्छ। अवश्य नै, मैले आफ्नो रक्षा गर्नुपर्छ भन्नुको अर्थ तेरो वालेट र सम्पत्ति चोरी हुनबाट बचाउनु भनेको होइन, बरु आफूलाई हानिबाट बचाउनु भनेको हो—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। तैँले आफ्नो सुरक्षा सुनिश्चित गर्दै, क्षमताअनुसार आफ्‍ना जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। अरूको सम्मान प्राप्त गर्नतिर ध्यान नदे, र आम रायद्वारा बहकिने वा विवश हुने नगर्। तैँले गर्नुपर्ने भनेको आफ्‍ना जिम्मेवारी र दायित्वहरू पूरा गर्नु मात्र हो। तैँले आफ्नो अवस्थाको आधारमा कर्तव्य कसरी पूरा गर्ने भनेर निर्णय गर्नुपर्छ; आफ्नो परिस्थिति र क्षमतालाई ध्यानमा राखेर आफूले सम्हाल्न सक्‍नेभन्दा बढी जिम्‍मेवारी नले। तैँले आफूमा नभएका क्षमताको ढोँग गरेर मानिसहरूलाई प्रभावित गर्ने प्रयास गर्नु हुँदैन अनि अरूको अनादर, आलोचना, वा निन्दा खेप्नुपर्ला भन्‍ने डर मान्‍नु हुँदैन। आफ्नो अभिमान देखाउनका लागि कामकुरा गर्नु गलत हो। आफूले जति सक्छ, त्यति मात्र गर्, आफूलाई जति जिम्मेवारी बोध हुन्छ, त्यति मात्र जिम्‍मेवारी ले, आफूले पूरा गर्न सक्‍ने जति दायित्व मात्रै पूरा गर्। यो तेरो अधिकार हो। परमेश्‍वरले तँबाट माग नगरेका कुराहरू गर्न आफूलाई बाध्य पार्नु आवश्यक छैन। सत्यतासँग कुनै सम्बन्ध नभएका कुराहरू गर्न आफ्‍नो विवेकलाई पछ्याउनुको कुनै औचित्य छैन। तैँले जति गरे पनि, यसका लागि परमेश्‍वरले तँलाई स्याबासी दिनुहुनेछैन, र तैँले साँचो गवाही दिएको छस् भनेर यसले सङ्केत गर्दैन, झन् तैँले आफूलाई असल कामहरूद्वारा सुसज्जित पारेको छस् भनेर सङ्केत गर्नु त परको कुरा हो। परमेश्‍वरका मागसँग सम्बन्धित नरहेका, तर मानिसहरूले तैँले गर्नुपर्ने माग गर्ने कुराहरूको हकमा भने, तेरो आफ्नै छनौट र सिद्धान्तहरू हुनुपर्छ। मानिसहरूको बन्धनमा नपर्। तैँले आफ्नो विवेक, समझ र सत्यता उल्लङ्घन गर्ने कुनै पनि कुरा नगरे भइहाल्यो। यदि तैँले कसैलाई उसको क्षणिक समस्या समाधान गरेर सहयोग गरिस् भने, ऊ तँमा निर्भर हुनेछ, र तैँले उसका समस्याहरू समाधान गर्नुपर्छ र नगरी हुँदैन भन्‍ने सोच्नेछ। तिनीहरू तँमा पूर्णतया निर्भर हुनेछन् र तैँले तिनीहरूका समस्या एकपटक मात्र पनि समाधान गर्न सकिनस् भने तँमाथि आइलाग्‍नेछन्। यसले तँमा समस्यामा ल्याएको हुन्छ र तैँले हेर्न चाहेको नतिजा यस्तो होइन। यदि तैँले यस्तो नतिजा आउँछ भन्‍ने अनुमान गरिस् भने, तिनीहरूलाई सहयोग नगर्ने निश्चय गर्न सक्छस्। अर्को शब्दमा, यस अवस्थामा त्यो जिम्मेवारी वा दायित्व पूरा गर्नबाट पन्छिनु गलत हुनेछैन। समाज, मानवजाति, र विशेष गरी तँ जिउने समुदायप्रति तँमा हुनुपर्ने दृष्टिकोण र मनोवृत्ति यस्तै हुनुपर्छ। अर्थात्, तैँले कसैलाई जति माया दिनुपर्ने हो त्यति दे, र जति गर्न सक्छस् त्यति गर्। देखाउने प्रयासमा आफ्नो दृढ विश्‍वासविरुद्ध नजा, र आफूले गर्न नसक्‍ने कुराहरू गर्ने प्रयास नगर्। औसत व्यक्तिले तिर्न नसक्‍ने मूल्य तिर्न आफूलाई बाध्य पार्नु पनि आवश्यक छैन। छोटकरीमा भन्नुपर्दा, आफूबाट धेरै माग नगर्। आफूले जे गर्न सक्छ त्यही मात्र गर्। यो सिद्धान्त कस्तो लाग्यो? (राम्रो लाग्यो।) उदाहरणका लागि, तेरो साथीले तेरो कार चलाउन माग्यो र तँ यस्तो सोच्छस्: “उसले विगतमा मलाई विभिन्‍न कुरा चलाउन दिएको थियो, त्यसैले मैले उसलाई मेरो कार चलाउन दिनुपर्छ। तर उसले चीजबीजको राम्रो ख्याल गर्दैन वा जोगाएर प्रयोग गर्दैन। उसले मेरो कार बिगार्न पनि सक्छ। उसलाई चलाउन नदिनु नै राम्रो हुन्छ।” त्यसकारण तँ उसलाई तेरो कार चलाउन नदिने निर्णय गर्छस्। के यसो गर्नु उचित हुन्छ? तैँले कार चलाउन दिनु-नदिनु ठूलो कुरा होइन—तैँले यस मामिलाबारे सही र अन्तर्दृष्टिपूर्ण बुझाइ पाएको छस् भने, आफूलाई सबैभन्दा उपयुक्त लाग्ने कुरा नै गर्नुपर्छ, र तँ सही हुनेछस्। तर, यदि तँ मनमनै “ठिक छ, म उसलाई चलाउन दिनेछु। मैले पहिले ऊबाट चीजबीज माग्दा उसले कहिल्यै इन्कार गरेन। सामानहरू प्रयोग गर्दा ऊ जतन गर्ने वा सावधान हुने गर्दैन, तर ठिकै छ। यदि मेरो कार बिग्रियो भने, म अलि खर्च गरेर मर्मत गर्नेछु,” भनी विचार गर्छस्, र त्यसपछि उसलाई आफ्नो कार दिन राजी हुन्छस् र उसको कुरा अस्वीकार गर्दैनस्—के यसो गर्नु सही हो? यसमा पनि केही गलत छैन। उदाहरणका लागि, यदि तेरो परिवारलाई केही कठिनाइ आइपर्दा तँलाई पहिले सहयोग गरेको कुनै व्यक्ति तँकहाँ मद्दत माग्न आयो भने, तैँले सहयोग गर्नुपर्छ कि पर्दैन? यो तेरो परिस्थितिमा निर्भर हुन्छ, र सहयोग गर्ने कि नगर्ने भनेर निर्णय गर्नु सिद्धान्तको विषय हुनेछैन। तैँले गर्नुपर्ने भनेको सच्चा रूपमा र नैसर्गिक क्षमताअनुसार आफ्नो क्षमताले भ्याएसम्म सक्दो जिम्‍मेवारी पूरा गर्नु हो। यसो गरेर, तैँले आफ्नो मानवताको दायराभित्र र आफ्नो विवेकअनुसार व्यवहार गरिरहेको हुनेछस्। तैँले यो जिम्मेवारी पूर्ण रूपमा पूरा गरे पनि वा राम्रोसँग निभाए पनि त्यो कुरा महत्त्वपूर्ण होइन। तँसँग सहमत हुने वा अस्वीकार गर्ने अधिकार छ—यदि तैँले अस्वीकार गरिस् भने तँमा विवेकको कमी छ भनेर भन्‍न मिल्दैन, र तेरो साथीले तँलाई सहयोग गरेकोमा तिनले दयालु कार्य गरेका हुन् भनेर भन्‍न मिल्दैन। यी कार्यहरू त्यो स्तरमा पुग्दैनन्। बुझिस्? (बुझेँस्।) यो छलफल दयासम्‍बन्धी छलफल रह्यो, अर्थात्, तिमीहरूले दयालाई कसरी हेर्नुपर्छ, अरूलाई सहयोग गर्ने विषयलाई कसरी लिनुपर्छ, र तिमीहरूले आफ्नो सामाजिक जिम्मेवारी कसरी पूरा गर्नुपर्छ भन्‍ने विषयको छलफल। यी मामिलाहरूमा, मानिसहरूले सत्यता सिद्धान्तहरू खोज्नैपर्छ—तिमीहरूले आफ्नो विवेक र समझमा भर परेर मात्र यी मामिला समाधान गर्न सक्दैनौ। केही विशेष परिस्थितिहरू एकदम जटिल हुन सक्छन्, र यदि तैँले तिनलाई सत्यता सिद्धान्तअनुसार सम्हालिनस् भने, समस्या र नकारात्मक परिणाम ल्याउने सम्‍भावना हुन्छ। यसरी, यी मामिलाहरूमा, परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँका अभिप्रायहरू बुझ्नैपर्छ अनि मानवता, समझ, बुद्धि र सत्यता सिद्धान्तअनुसार कार्य गर्नैपर्छ। सबैभन्दा उपयुक्त तरिका यही हुनेछ।

“दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने भनाइको सन्दर्भमा भन्नुपर्दा, पैदा हुन सक्‍ने अर्को परिस्थिति के हो भने, तैँले प्राप्त गर्ने सहयोग एक बोतल पानी, एक झोला तरकारी, वा एक बोरा चामलजस्ता सानोतिनो कुरा होइन, तर तँ र तेरो परिवारको जीवनलाई असर गर्ने सहयोग हो, र त्यसमा तेरो भाग्य र भावी सम्भावनाहरूसमेत मुछिएका हुन्छन्। उदाहरणका लागि, कसैले तँलाई केही कुरा सिकाउला वा आर्थिक सहायता देला जसले गर्दा तँ राम्रो विश्‍वविद्यालयमा भर्ना हुन, राम्रो जागिर पाउन, राम्रोसँग विवाह गर्न, र जीवनमा एकपछि अर्को राम्रो कुरा पाउन सक्छस्। यो सानो निगाह वा थोरै सहयोग मात्र होइन—धेरै मानिसयस्तो कुरालाई ठूलो दयाको काम ठान्छन्। तिमीहरूले यस्तो अवस्थालाई कसरी लिनुपर्छ? यस्ता सहायताहरू हामीले भर्खरै छलफल गरेका मानिसले पूरा गर्ने सामाजिक जिम्मेवारी र दायित्वहरूसँग सम्‍बन्धित हुन्छन्, तर तिनमा मानिसको अस्तित्व, भाग्य र भावी सम्भावनाहरू मुछिएका हुनाले, ती कुराहरू जाबो एक बोतल पानी वा एक बोरा चामलभन्दा धेरै मूल्यवान् छन्—तिनले मानिसहरूको जीवन, जीविका र यस पृथ्वीमा तिनीहरूले बिताउने समयलाई धेरै ठूलो प्रभाव पार्छन्। त्यसकारण, तिनीहरूको मूल्य धेरै ठूलो छ। अब, के यस्ता सहयोगहरूलाई दयाको स्तरमा राख्नुपर्छ? तथापि, म यस्तो सहयोगलाई दयाको रूपमा हेर्न सिफारिस गर्दिनँ। यस्तो सहयोगलाई दयाको रूपमा लिनु नहुने भएकाले, यस्तो अवस्थालाई सामना गर्ने उपयुक्त र उचित तरिका के हो? के यो मानिसहरूलाई आइपर्ने समस्या होइन र? उदाहरणका लागि, सायद कसैले तँलाई अपराधको जीवनबाट फर्कायो, सही बाटोमा हिँडायो, र उचित क्षेत्रमा काम दिलायो, जसले गर्दा तैँले राम्रो जीवन बिताउन, विवाह गर्न र घरजम बसाउन, र आफ्नो भाग्य बदल्न सकिस्। अथवा, सायद, तँ कठिन परिस्थितिमा हुँदा र निराश हुँदा, कुनै असल व्यक्तिले तँलाई केही सहयोग र मार्गदर्शन दियो, जसले तेरा भावी सम्भावनाहरू सकारात्मक तरिकाले परिवर्तन गऱ्यो, अनि तैँले अरूभन्दा माथि उठ्न र सुखी जीवन बिताउन सकिस्। तैँले त्यस्ता परिस्थितिलाई कसरी लिनुपर्छ? के तैँले तिनीहरूको दया सम्झेर त्यसको गुण फर्काउनुपर्छ? के तैँले तिनीहरूलाई क्षतिपूर्ति दिने र परिपूर्ति गर्ने तरिकाहरू खोज्‍नुपर्छ? यस अवस्थामा, तैँले सिद्धान्तहरू प्रयोग गरेर निर्णयहरू गर्नुपर्छ, होइन र? तैँले तँलाई सहयोग गर्ने व्यक्ति कस्तो प्रकारको हो भनेर निर्धारित गर्नुपर्छ। यदि ऊ असल र सकारात्मक व्यक्ति हो भने, तैँले उसलाई “धन्यवाद” भन्‍नेबाहेक ऊसँग सामान्य रूपमा अन्तरक्रिया जारी राख्‍न, साथी बन्‍न सक्छस् र त्यसपछि, उसलाई सहयोग चाहिँदा, आफ्‍नो क्षमताले भ्याएसम्‍म आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सक्छस्। तर, यो जिम्मेवारी र दायित्व निर्वाह निसर्त प्रकारको दिने कार्य हुनु हुँदैन, तर आफ्नो परिस्थितिलाई ध्यानमा राखेर आफूले गर्न सक्‍ने जतिमात्र गर्नुपर्छ। यस्ता अवस्थामा त्यस्ता मानिसहरूलाई व्यवहार गर्ने उपयुक्त तरिका यही हो। तिमीहरू दुईबीचको स्तरमा कुनै भिन्‍नता छैन—उसले तँलाई सहयोग गरे र दया देखाए पनि, उसलाई तेरो मुक्तिदाता भन्‍न मिल्दैन, किनभने परमेश्‍वरले मात्र मानवजातिलाई मुक्ति दिन सक्‍नुहुन्छ। उसले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तद्वारा तँलाई सहयोग दिएको मात्र हो—यसको मतलब पक्कै पनि ऊ तँभन्दा उच्च हो भन्‍ने होइन, झन् यसको मतलब ऊ तेरो मालिक हो अनि तँलाई खेलाउन र नियन्त्रण गर्न सक्छ भन्‍ने होइन। उसलाई तेरो भाग्यमाथि हैकम जमाउने कुनै अधिकार छैन र उसले तेरो जीवनबारे आलोचना वा टिप्पणी गर्न पाउँदैन; तिमीहरू बराबर नै छौ। तिमीहरू बराबर भएको हुनाले, एकअर्कासँग साथीको रूपमा कुराकानी गर्न सक्छौ र, उपयुक्त समयमा, तैँले उसलाई आफ्नो क्षमताले भ्याएसम्‍म सहयोग गर्न सक्छस्। यो त अझै पनि तैँले मानवताको दायराभित्र आफ्नो सामाजिक जिम्मेवारी र दायित्व पूरा गर्नु अनि मानवताको आधारमा र मानवताको दायराभित्र गर्नुपर्ने कुराहरू गर्नु हो—तैँले लक्षित तरिकामा आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गरिरहेको छस्। तैँले किन यसो गर्नुपर्छ? उसले विगतमा तँलाई सहयोग गरेको थियो अनि लाभ उठाउन र पर्याप्त फाइदा लिन सहयोग गरेको थियो, त्यसैले तेरो मानव विवेकले तँलाई ऊसँग मित्रवत व्यवहार गर्नुपर्छ भनेर अह्राउँछ। कतिपय मानिसहरूले यस्तो प्रश्न गर्नेछन्: “के म उसलाई घनिष्ठ विश्‍वासपात्रको रूपमा व्यवहार गर्न सक्छु?” यो तिमीहरू दुई कत्तिको मिल्छौ, अनि तिमीहरूको मानवता र रुचि, साथै तैँले खोज्‍ने कुरा र तैँले संसारलाई हेर्ने तरिका समान छन् कि छैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। यसको जवाफ तँ आफैमा निर्भर हुनेछ। अब यो अनुपम खालको सम्बन्धमा, के तैँले आफ्नो ज्यान दिएर आफ्नो उपकारीलाई गुण तिर्नुपर्छ? उसले तँलाई ठूलो सहयोग गरेको र तँमा यति धेरै प्रभाव पारेको हुनाले, के तैँले उसलाई आफ्नो ज्यान दिएर गुण तिर्नुपर्छ? यसो गर्नुपर्छ भन्‍ने छैन। तँ आफ्नो जीवनको अनन्त मालिक होस्—परमेश्‍वरले तँलाई तेरो जीवन दिनुभयो, र यो तेरो हो अनि अरू कसैले यसलाई सम्हाल्दैन। यस अवस्था र परिस्थितिको कारण लापरवाहीपूर्वक अरू कसैलाई तेरो जीवन सम्हाल्न दिनु आवश्यक छैन। यो काम गर्ने अत्यन्तै मूर्ख तरिका हो र अवश्य नै, अविवेकी कार्य पनि हो। साथीको रूपमा तिमीहरू जति नै घनिष्ठ भए पनि वा तिमीहरूको सम्‍बन्ध जति नै बलियो भए पनि, तैँले व्यक्तिको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न मात्र सक्छस्, मानवता र समझको दायराभित्र सामान्य रूपमा अन्तरक्रिया गर्न र एकअर्कालाई सहायता गर्न सक्छस्। यस्तो स्तरको सम्‍बन्ध झनै विवेकपूर्ण र समान हुन्छ। तिमीहरू साथी बन्‍नुको मुख्य कारण त्यस व्यक्तिले कुनै समय तँलाई सहयोग गरेको थियो, र त्यसैले ऊ साथी बनाउन लायक छ र तैँले साथीबाट गर्ने मागहरू उसले पूरा गर्छ भन्‍ने तँलाई लागेको थियो। यही कारणले मात्र तँ ऊसँग साथी बन्‍न इच्छुक भएको थिइस्। यो अवस्थाबारे पनि विचार गर्: विगतमा कसैले तँलाई मद्दत गरेको थियो, ऊ तँप्रति निश्‍चित तरिकमा दयालु थियो र उसले तेरो जीवन वा तेरो कतिपय मुख्य घटनामा प्रभाव पारेको थियो, तर उसको मानवता र ऊ हिँड्ने मार्ग तेरो मार्ग र तैँले खोजी गर्ने कुरासँग मेल खाँदैन। तिमीहरूको कुरा पनि मिल्दैन, र तँ यो व्यक्तिलाई मन पराउँदैनस्, र सायद केही हदसम्‍म तेरो रुचि र तैँले खोजी गर्ने कुरा बिलकुलै फरक छन् भनेर भन्‍न सक्छस्। तेरो जीवन मार्ग, तेरो सांसारिक विचार, र जीवनप्रतिको तेरो दृष्टिकोण सबै फरक छन्—तिमीहरू दुई बिलकुलै फरकफरक प्रकारका व्यक्ति हौ। त्यसोभए, उसले विगतमा गरेको मद्दतलाई तैँले कसरी लिनुपर्छ र त्यसमा कस्तो प्रतिक्रिया जनाउनुपर्छ? के यो उत्पन्‍न हुन सक्‍ने वास्तविक परिस्थिति होइन र? (हो।) त्यसोभए, तैँले के गर्नुपर्छ? यो पनि सम्हाल्न सजिलो परिस्थिति हो। तिमीहरू दुई फरकफरक मार्ग हिँडिरहेकाले, उसलाई सक्दो भौतिक हर्जाना दिएपछि, तैँले तिमीहरूको विश्‍वास एकदमै फरक रहेको, र तिमीहरू एउटै मार्गमा हिँड्न नसक्‍ने, र मित्र बनिरहन र अन्तरक्रिया गरिरहनसमेत नमिल्ने रहेको पत्तो पाउँछस्। यसरी तिमीहरू कुनै अन्तरक्रिया गर्न नसक्‍ने भएकाले, अब तँ कसरी अघि बढ्नुपर्छ? तैँले ऊसँग दूरी बनाइराख्‍नुपर्छ। विगतमा ऊ तँप्रति दयालु भएको हुन सक्ला, तर समाजमा उसले छक्याउँदै र छल्दै हिँड्छ, हरप्रकारका दुष्कर्महरू गर्छ र तँ यो व्यक्तिलाई मन पराउँदैनस्, त्यसैले ऊसँग दूरी बनाइराख्‍नु एकदमै उचित हुन्छ। कतिपयले भन्लान्, “के त्यस्तो व्यवहार गर्नु भनेको विवेकको कमी हुनु होइन र?” यो विवेकको कमी हुनु होइन—यदि उसलाई जीवनमा साँच्‍चै केही कठिनाइ आएको भए, तैँले अझै पनि उसलाई मद्दत गर्न सक्छस्, तर तँ ऊद्वारा नियन्त्रित हुनु वा ऊसँगसँगै दुष्कर्म र अनुचित काम गर्नतिर लाग्‍नु हुँदैन। उसले तँलाई विगतमा मद्दत वा ठूलो उपकार गरेको थियो भन्दैमा, तँ उसको लागि घोटिनु पनि पर्दैन—त्यो तेरो दायित्व होइन र ऊ त्यस्तो व्यवहारको योग्य हुँदैन। तँसँग आफूलाई मनपर्ने अनि आफूसँग ठ्याक मिल्ने र सही मानिसहरूसँग अन्तरक्रिया गर्ने, समय बिताउने र मित्रतासमेत गाँस्‍ने हक हुन्छ। तँ यस्तो व्यक्तिप्रति आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सक्छस्, र यो तेरो अधिकार हो। अनि अवश्य नै, तैँले आफूलाई मननपर्ने मानिसहरूसँग मित्रता गाँस्‍न र व्यवहार गर्न अस्वीकार गर्न पनि सक्छस्, अनि तैँले ऊप्रति कुनै दायित्व वा जिम्मेवारी पूरा गर्नुपर्दैन—यो पनि तेरो अधिकार हो। तैँले यो व्यक्तिलाई त्याग्‍ने निर्णय गरिस् र ऊसँग अन्तरक्रिया गर्न वा ऊप्रति कुनै जिम्मेवारी वा दायित्व पूरा गर्न इन्कार गरिस् भने पनि, यो गलत हुनेछैन। तैँले आफूलाई व्यवहारमा ढाल्ने क्रममा निश्‍चित सीमा तय गर्नैपर्छ, र फरकफरक मानिसहरूलाई फरकफरक तरिकामा व्यवहार गर्नैपर्छ। तैँले दुष्ट मानिसहरूसँग सङ्गत गर्नु वा तिनीहरूको खराब उदाहरण पछ्याउनु हुँदैन, यसो गर्नु बुद्धिमानी निर्णय हो। कृतज्ञता, भावना र आम विचारजस्ता विविध कुराहरूको प्रभावमा नपर्—यसो गर्नु भनेको अडान लिनु र सिद्धान्त धारण गर्नु हो, र यो तैँले गर्नुपर्ने कुरा हो। के तिमीहरू यी विधि र दाबीहरू स्वीकार गर्न सक्छौ? (सक्छौँ।) मैले छलफल गरिरहेको विचार, अभ्यासका मार्ग, र सिद्धान्तहरूलाई परम्परागत धारणाहरू र संस्कृतिमा आलोचना गरिने भए पनि, यी विचार र सिद्धान्तहरूले मानवता र विवेकको बोध भएका प्रत्येक व्यक्तिको अधिकार र मर्यादालाई सशक्त रूपले रक्षा गर्छन्। तिनले मानिसहरूलाई परम्परागत संस्कृतिको नैतिक आचरणका तथाकथित मापदण्डहरूद्वारा नियन्त्रित हुन र बन्धनमा नपर्न, अनि यी झूटा धार्मिक र देखावटी कुराहरूको छल र बहकाइबाट मुक्त हुन सक्षम बनाउनेछन्। यी विचार र सिद्धान्तहरूले तिनीहरूलाई परमेश्‍वरका वचनहरूमार्फत सत्यता बुझ्न, परमेश्‍वरका वचन र सत्यताअनुसार जिउन, नैतिकतासम्बन्धी यी आम रायहरूद्वारा प्रभावित नहुन, र तथाकथित सांसारिक तौरतरिकाका नियन्त्रण र जन्जिरहरूबाट आफूलाई मुक्त गर्न पनि सहयोग गर्नेछन्, ताकि तिनीहरूले मानिसहरू र सबै कुरालाई परमेश्‍वरका वचनअनुसार र सही विचार प्रयोग गरेर व्यवहार गर्न, अनि सांसारिक कुरा, परम्परा र सामाजिक नैतिकताका जन्जिर र बहकाउलाई राम्ररी त्याग्‍न सकून्। यसरी, तिनीहरू ज्योतिमा जिउन, सामान्य मानवतामा जिउन, मर्यादासँग बाँच्न, र परमेश्‍वरको स्याबासी गर्न सक्षम हुनेछन्।

“दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” र “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” जस्ता सामाजिक नैतिकतासम्बन्धी भनाइहरूले वास्तवमा मानिसहरूमा कस्तो परिवर्तन ल्याउन सक्छन्? के तिनले मानिसको हैसियत पाउने र फाइदा लिने शैतानी स्वभावलाई परिवर्तन गर्न सक्छन्? के तिनले मानिसको महत्त्वाकाङ्क्षा र चाहनालाई परिवर्तन गर्न सक्छन्? के तिनले मानिसहरूमाझ हुने द्वन्द्व र हत्यालाई समाधान गर्न सक्छन्? के तिनले मानिसहरूलाई सही जीवन मार्गमा हिँड्न र सुखी जीवन बिताउन सहयोग गर्न सक्छन्? (सक्दैनन्।) त्यसोभए सामाजिक नैतिकताका यी मापदण्डहरूले वास्तवमा केकस्ता प्रभाव पार्छन्? बढीमा, के तिनले केही असल मानिसलाई असल काम गर्न र समाजको रक्षा र सुरक्षामा योगदान गर्न मात्र प्रोत्साहित गर्छन्? (गर्छन्।) तिनले त्यति मात्र गर्छन्, र तिनले एउटा पनि समस्या समाधान गर्दैनन्। मानिसहरू नैतिक आचरणका यी तथाकथित मापदण्डहरूको नियन्त्रणमा रहेर अन्ततः ती पालना गर्न र तीअनुसार जिउन सक्‍ने भए पनि, यसको मतलब तिनीहरू आफ्नो भ्रष्ट स्वभावबाट मुक्त हुन र मानव स्वरूपमा जिउन सक्‍नेछन् भन्‍ने होइन। उदाहरणका लागि, मानौँ कुनै व्यक्तिले तँलाई निगाह देखाएको छ, त्यसैले तँ उसको गुण फर्काउन आफूले सक्‍ने सबै कुरा गर्छस्—उसले तँलाई एक बोरा चामल दिँदा, तँ उसलाई ठूलो पोका पिठो दिन्छस्, र उसले तँलाई पाँच केजी सुँगुरको मासु दिँदा, तँ उसलाई पाँच केजी राँगाको मासु दिन्छस्। तिमीहरूले एकअर्कालाई निरन्तर गुण फर्काउनुको परिणाम के हुनेछ? व्यक्तिगत रूपमा, तिमीहरू दुवैले कसलाई बढी फाइदा भयो र कसलाई बढी बेफाइदा भयो भनेर हिसाब गर्नेछौ, अनि यसले गर्दा तिमीहरू दुईबीच गलतफहमी, झगडा र षड्यन्त्र पैदा हुनेछ। मैले यसो भन्‍नुको मतलब के हो? मेरो मतलब के हो भने नैतिक आचरणसम्‍बन्धी “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने मापदण्डले मानिसहरूको सोच्ने तरिकालाई बाँध्‍ने र बहकाउने मात्र होइन, तर मानिसहरूको जीवनमा अनेकौँ असुविधा, बोझ र दुःख पनि लाद्छ। र यदि यसले तँलाई कसैको शत्रु बनायो भने, तँ झनै बढी समस्या, र वर्णन गर्न नसकिने कष्टमा पर्छस्! लेनदेनमा आधारित यी सम्बन्धहरूमा संलग्‍न हुनु मानिसहरूले हिँड्नुपर्ने मार्ग होइन। मानिसहरू सधैँ त्यस्ता भावना र सांसारिक तौरतरिका अनुसार जिउँछन्, जसले अन्तमा अनेक अनावश्यक समस्याहरू मात्र ल्याउनेछ। यो त केवल आफूलाई यातना दिनु र व्यर्थको कष्ट मात्र हो। परम्परागत संस्कृति र नैतिक आचरणसम्‍बन्धी दाबीहरू यसरी मानिसहरूको दिमागमा घुस्छन् र तिनीहरूलाई बहकाउँछन्। मानिसहरू समझशक्तिको कमीको कारण परम्परागत संस्कृतिका यी पक्षहरू सही छन् भनेर गल्तीले विश्‍वास गर्छन् अनि यी कुरालाई आफ्नो मापदण्ड र मार्गदर्शनको रूपमा लिन्छन्, यी भनाइहरू कडाइका साथ पालना गर्छन् र आम रायको रेखदेखमा जिउँछन्। बिस्तारै र अनजानमा, तिनीहरू यी कुराद्वारा शिक्षित, प्रभावित र नियन्त्रित हुन्छन् अनि असहाय र पीडा महसुस गर्छन्, तैपनि मुक्त हुन नसक्‍ने गरी शक्तिहीन हुन्छन्। जब परमेश्‍वर मानिसहरूको भित्री परम्परागत संस्कृतिका यी पक्षहरूलाई खुलासा गर्न र खण्डन गर्न बोल्नुहुन्छ, तब धेरै मानिस नाराज हुन्छन्। जब यी कुराहरूलाई मानिसहरूको मन, विचार र धारणाबाट पूरै सफा गरिन्छ, तब तिनीहरू अचानक निकै रित्तो महसुस गर्छन् मानौँ तिनीहरूको सहारा केही छैन, र सोध्‍नेछन्, “मैले भविष्यमा के गर्नुपर्ने? म कसरी जिउने? यी कुराविना, मेरो जीवनमा कुनै मार्ग वा दिशा छैन। यी कुराहरूलाई मेरो दिमागबाट हटाइएपछि अहिले म किन यति खोक्रो र लक्ष्यहीन महसुस गर्छु? यदि मानिसहरू यी भनाइअनुसार जिएनन् भने पनि, के तिनीहरूलाई मानव मान्‍न सकिन्छ? के तिनीहरूमा अझै मानवता हुनेछ?” यो सोच्ने गलत तरिका हो। वास्तवमा, परम्परागत संस्कृतिका यी पक्षहरू तँबाट हटाइएपछि, तेरो हृदय शुद्ध हुन्छ, तँ यी कुराहरूको बन्धन र जन्जिरमा रहन छोड्छस्, तैँले स्वतन्त्रता र मुक्ति प्राप्त गर्छस् र अबउसो तँमा यी सन्तापहरू हुँदैनन्—तँ ती कुराहरूबाट स्वच्छ हुन किन चाहँदैनस्? कम्तीमा पनि, जब तँ परम्परागत संस्कृतिका यी पक्षहरूलाई, जुन सत्यता होइनन्, त्याग्छस्, तब तेरो कष्ट र पीडा कम हुनेछ अनि तँ धेरै अर्थहीन बन्धन र चिन्ताहरू हटाउन सक्छस्। यदि तँ सत्यता स्वीकार गरेर परमेश्‍वरका वचनअनुसार जिउन सक्छस् भने, तैँले जीवनको सही मार्गमा पाइला चाल्‍नेछस् र ज्योतिमा जिउन सक्छस्। परम्परागत संस्कृतिको नैतिक आचरणका मापदण्ड पूरा गर्न पूर्णतया उचित देखिन सक्छ, तर के तँ मानव रूपमा जिइरहेको हुन्छस् र? के तँ जीवनको सही मार्गमा हिँडेको हुन्छस्? परम्परागत संस्कृतिका यी पक्षहरूले कुनै कुरा परिवर्तन गर्न सक्दैनन्। तिनले मानिसहरूको भ्रष्ट सोचाइबदल्न सक्दैनन्, न त तिनीहरूको भ्रष्ट स्वभाव नै परिवर्तन गर्न सक्छन्, झन् तिनले मानिसहरूको भ्रष्ट सार परिवर्तन गर्नु त परको कुरा हो। तिनले कुनै सकारात्मक प्रभाव पार्दैनन्, बरु तिनले सिकाएर, नियन्त्रण गरेर र प्रभाव पारेर मानिसको मानवता बिगार्छन् र खराब बनाउँछन्। मानिसहरू आफूलाई दया देखाउने व्यक्ति असल व्यक्ति होइन भनेर राम्ररी जान्दछन्, तर विगतमा आफूलाई सहयोग गरेको भन्दैमा आफ्‍नो दृढ विश्‍वासविरुद्ध जान्छन् र तिनीहरूको गुण फर्काउँछन्। मानिसहरूमा दृढ विश्‍वास भए पनि तिनीहरूले अरूलाई गुण फर्काउनुको कारण के हो? परम्परागत संस्कृतिबाट प्राप्त गरेको दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्‍ने यो विचारले तिनीहरूको हृदयमा जरा गाडेको कारण तिनीहरू यसो गर्छन्। यदि तिनीहरूले आफ्नो दृढ विश्‍वासविरुद्ध गएर उसको सहयोगको गुण फर्काएनन् भने, आम रायको निन्दा खेपिनेछ, र दयाको ऋण तिर्न नसक्ने कृतघ्न, घटिया, र दुष्ट चरित्रको, अनि विवेकहीन वा मानवताहीन मानिसको रूपमा हेरिनेछ भन्‍ने तिनीहरूलाई डर हुन्छ। यो त तिनीहरूलाई यी सबै कुराको डर लाग्ने र भविष्यमा कसैले पनि सहयोग गर्नेछैन, दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्‍ने परम्परागत संस्कृतिको यो विचारको नियन्त्रण र बन्धनमा जिउनेबाहेक आफूसँग कुनै विकल्‍प छैन भन्‍ने चिन्ताले गर्दा नै हुन्छ। परिणामस्वरूप, सबै मानिस आफ्‍ना दृढ विश्‍वासविरुद्ध काम गर्ने र आफ्‍ना कठिनाइहरूबारे बोल्‍न नसक्‍ने विकृत र कष्टपूर्ण जीवन जिउँछन्। के यो सबै समस्या सार्थक छ? के दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्‍ने यो विचारले मानिसहरूलाई कष्ट दिएको हुँदैन र?

“दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने भनाइको सन्दर्भमा, मैले भर्खरै “दया” भनेको ठ्याक्कै के हो, परमेश्‍वर मानिसको दयाको परिभाषालाई कसरी हेर्नुहुन्छ, मानिसले यस दयालाई कसरी लिनुपर्छ, तँलाई दया देखाउने वा तेरो ज्यान बचाउनेहरूसँग तैँले कस्तो व्यवहार गर्नुपर्छ, वास्तवमा सही दृष्टिकोण र मार्ग के हो अनि तिनलाई तेरो जीवनमा कस्तो स्थान दिनुपर्छ, मानिसहरूले आफ्‍ना दायित्व कसरी पूरा गर्नुपर्छ, र मानिसले केही विशेष परिस्थितिहरू कसरी सम्हाल्नुपर्छ र तिनलाई कस्तो दृष्टिकोणले हेर्नुपर्छ भन्‍नेबारे सङ्गति गरेको छु। यी तुलनात्मक रूपमा जटिल विषय हुन् जसलाई केही सङ्क्षिप्त टिप्पणीद्वारा मात्र स्पष्ट पार्न सकिँदैन, तर मैले तिमीहरूलाई मुख्य मामिलाहरू, यस विषयका मामिलाहरूको सार र इत्यादि कुरा बताएको छु। यदि तिमीहरूले फेरि यस्तो समस्या सामना गऱ्यौ भने, के अब तिमीहरू आफूले कुन दृष्टिकोण अपनाउनुपर्छ र अभ्यासको कुन बाटो लिनुपर्छ भनेर केही हदसम्‍म स्पष्ट छौ भन्‍ने तिमीहरूलाई लाग्दैन र? कतिपय मानिस भन्छन्, “सैद्धान्तिक रूपमा, म स्पष्ट छु, तर मानिसहरू मासु र रगतले बनिएका छन्। हामी यस संसारमा जिउँदा, यी नैतिक मापदण्डहरू र आम रायको प्रभावमा पर्छौँ नै। धेरै मानिस यसरी जिउँछन्, दयाका कार्यहरूलाई मूल्यवान् ठान्छन् र पाएको कुनै पनि दयाको ऋण कृतज्ञताले तिर्छन्। यदि म यसरी जिइनँ भने, अरूले पक्‍कै पनि मलाई आलोचना र तिरस्कार गर्नेछन्। मानिसहरूले मलाई अमानवीय, अछुतजस्तै जिउने व्यक्ति भनेर भर्त्सना गर्नेछन्, र म त्यो सहन सक्दिनँ भन्‍ने मलाई डर छ।” यसमा समस्या के हो? किन मानिसहरू यो कुराद्वारा नियन्त्रित हुन्छन्? के यो समाधान गर्न सजिलो समस्या हो? हो, र कसरी भनेर म तँलाई बताउनेछु। यदि तँ दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्‍ने परम्‍परागत संस्कृतिको दृष्टिकोणअनुसार जिइनस् भने तँलाई आफूले अछुतले जस्तो जिइरहेको हुन्छु भन्‍ने लाग्छ भने; यदि तँ अब कुनै परम्परागत चिनियाँ व्यक्तिजस्तो देखिँदैनस्, परम्परागत संस्कृतिबाट तर्किएर तैँले मानवले जस्तो जिइरहेको हुँदैनस् र तँमा आफूलाई मानव बनाउने गुणहरूको अभाव हुन्छ भन्‍ने तँलाई लाग्छ भने; यदि तँलाई आफू चिनियाँ समाजमा घुलमिल हुन सक्दिनँ, तँलाई सङ्गी चिनियाँ मानिसहरूले तिरस्कार गर्नेछन् र सडेको आलु ठान्नेछन् भन्‍ने चिन्ता लाग्छ भने; सामाजिक प्रचलन पछ्याउने छनौट गर्—कसैले तँलाई जबरजस्ती गरिरहेको छैन र कसैले तँलाई दोषी ठहराउनेछैन। तर, यदि तँलाई परम्परागत संस्कृतिको खटनअनुसार जिउँदा र सधैँ दयाका कार्यहरूलाई मूल्यवान् ठान्दा आफूलाई यत्तिका वर्षमा त्यति फाइदा पुगेको छैन, यो जिउने थकाइलाग्दो तरिका भएको छ भन्‍ने लाग्छ भने, अनि यदि तँ यो जीवनशैली त्यागेर मेरा वचनअनुसार मानिस र परिस्थितिलाई हेर्ने अनि आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने प्रयास गर्न सङ्कल्पित छस् भने, त्यो अवश्य नै अझ राम्रो कुरा हुनेछ। तिमीहरूले अब यी कुराहरू सैद्धान्तिक रूपमा बुझेर परिस्थितिलाई राम्रोसँग जाने पनि, अघि बढ्ने क्रममा तिमीहरूले मानिस र परिस्थितिलाई कसरी हेर्छौ र तिमीहरू कसरी जिउँछौ र आफूलाई व्यवहारमा ढाल्छौ भन्‍ने कुरा तिमीहरूको आफ्‍नै मामिला हो। मैले भनेको कुरा तैँले कुन हदसम्म स्विकार्न सक्छस्, तैँले यो सब कुरा कुन हदसम्म अभ्यास गर्न सक्छस्, र तैँले यसलाई कति अघि बढाउन सक्छस् त्यो सबै तेरो निर्णय हो र त्यो सब तँमा भर पर्छ। मैले तँलाई जबरजस्ती गरिरहेको छैनँ। मैले त तँलाई बाटो मात्रै देखाइरहेको छु। तर, एउटा कुरा निश्‍चित छ: म तँलाई सत्य कुरा बताउनेछु, यदि तँ परम्परागत संस्कृतिअनुसार जिउँछस् भने, झन्-झन् अमानवीय र अमर्यादित जीवन जिउनेछस्, अनि तैँले तेरो विवेकको बोध-क्षमता झन्-झन् असंवेदनशील हुनेछ भन्‍ने कुरा पत्ता लगाउनेछस्। बिस्तारै, तैँले दयनीय जीवन जिउनेछस्, जसमा तँ न त मानवजस्तो, न त दानवजस्तो हुनेछस्। तथापि, यदि तैँले मेरा वचनहरू र मैले बोलेका सिद्धान्तहरू अनुसार अभ्यास गरिस् भने, तँ अझ बढी मानव स्वरूपमा, विवेक, समझ र मर्यादाका साथ जिउनेछस् भनी म ग्यारेन्टी दिन्छु—यो कुरा निश्‍चित छ। पछि तँलाई त्यस्ता परिस्थितिहरू आइपर्दा, तँ स्वतन्त्र र मुक्त भई जिउन सक्‍नेछस् अनि तैँले शान्ति र आनन्द महसुस गर्नेछस्। तेरो हृदयका दुःख र बोझहरू घट्नेछन्, र तँ विश्‍वस्त हुनेछस् र निर्धक्क हुन सक्‍नेछस्। तँलाई बाहिरी संसारका तौरतरिकाले सताउन, बहकाउन, वा प्रभावित पार्न छोड्नेछन्, र तँ मर्यादाका साथ जिउनेछस्। हरेक दिन तँलाई स्थिर महसुस हुनेछ र तैँले प्रत्येक मामिला सबैभन्दा सटीक तरिकाले सम्‍हाल्‍नेछस्, तैँले गुज्रन नपर्ने अनेक मोड र कष्टहरूबाट तँ जोगिनेछस्। तैँले गर्न नपर्ने कुनै कुरा गर्नेछैनस्, न त तैँले चुकाउन नपर्ने कुनै मूल्य नै चुकाउनेछस्। तँ अरू मानिसहरूका लागि जिउन छोड्नेछस्। तँ मानिसहरूको दृष्टिकोण र रायद्वारा प्रभावित हुन छोड्नेछस्। तँ समाजको राय र निन्दाको बन्धनमा पर्न छोड्नेछस्। के यो मर्यादाको जीवन होइन र? के यो स्वतन्त्र र मुक्त जीवन होइन र? यस बेला तैँले के महसुस गर्नेछस् भने परमेश्‍वरका वचनअनुसार जिउनु नै जीवनमा एकमात्र सही मार्ग हो, र यसरी जिउँदा मात्र व्यक्तिले मानव स्वरूप धारण गर्छ र खुसी प्राप्त गर्छ। तैँले परम्परागत संस्कृतिको कुहिरोभित्र जिउँदा, स्पष्ट रूपमा बाटो देख्‍न सक्दैनस् र तँ मानिसको संसारको कुनै आदर्श राज्यतर्फ बढिरहेको छस् भन्‍ने गल्तीले विश्‍वास गर्नेछस्। तर, अन्त्यमा तँ बहकिन पुग्छस्, अनि शैतानले तँलाई मूर्ख बनाउँछ र सताउँछ। आज, अब तैँले परमेश्‍वरको आवाज सुनेको छस्, सत्यता पत्ता लगाएको छस्, र मानिसको संसारमा आएको ज्योति देखेको छस्, तैँले कुहिरो हटाएर तेरो जीवनले लिनैपर्ने मार्ग र दिशा स्पष्ट रूपमा देखेको छस्। तँ हतारमा अगाडि बढेर परमेश्‍वरसामु फर्कन्छस्। के यो परमेश्‍वरको अनुग्रह र आशिष् होइन र? त्यसोभए, के तिमीहरूले अहिले त्यो कुहिरो हटाएर माथिको सफा आकास देखेका छौ? सायद तिमीहरूले चमक देखिसकेका छौ र ज्योतितिर अघि बढिरहेका छौ—सबैभन्दा ठूलो आशिष् यही हो। यदि तिमीहरू परमेश्‍वरको आवाज सुन्‍न सक्छौ, सत्यता स्वीकार गर्न र बुझ्न सक्छौ, कुहिरो हटाउन, परम्परागत संस्कृतिका यी सबै गलत कुरा त्याग्‍न र सबै अवरोध हटाउन सक्छौ भने, मुक्तिको बाटोमा पाइला चाल्‍न सक्छौ। मैले “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने नैतिक आचरणको भनाइबारे सङ्गति गर्नुपर्ने यति हो। अगाडि बढ्ने क्रममा, तिमीहरूले यी वचनहरूबारे सँगै मिलेर थप सङ्गति गर्न सक्छौ, र पूर्ण बुझाइ प्राप्त गर्नेछौ। सङ्गतिको एउटा भेलामा सहभागी भएपछि नै यी मामिलाहरूमा तुरुन्तै प्रवेश प्राप्त गर्न सकिँदैन। मैले अहिले नैतिक आचरणसम्‍बन्धी यस भनाइबारे आफ्‍नो सङ्गति समाप्त गरेको भए पनि, र तिमीहरूले यसलाई मत र सिद्धान्तको हिसाबमा बुझे पनि, यी पुराना परम्परागत धारणाहरूलाई वास्तविक जीवनबाट हटाउनु त्यति सजिलो छैन। तिमीहरू अझै पनि यी पुराना विचारहरूमा अडिग रहौला र केही समयसम्‍म यी कुराहरू झेलौला। कम्तीमा पनि, तिमीहरूले पूर्णतया परम्परागत संस्कृतिका यी पक्षहरू त्याग्‍न र परमेश्‍वरका वचनहरूको सत्यता स्वीकार गर्न सक्‍न केही समय लाग्‍नेछ। तिमीहरूले वास्तविक जीवनमा अनि समाज र मानवजातिलाई सामना गर्ने क्रममा बिस्तारै अनुभव, सहन, र पुष्टि गर्नैपर्छ। तिमीहरूले यी अनुभवहरूमार्फत, बिस्तारै परमेश्‍वरका वचनहरू जान्‍नेछौ र सत्यता बुझ्‍नेछौ। त्यसो गर्दा, तिमीहरूले लाभ उठाउन, फाइदा पाउन, र इनामहरू प्राप्त गर्न थाल्नेछौ, र सबै प्रकारका मानिस, घटना र कामकुबारे आफ्‍ना गलत दृष्टिकोण र विचारहरू सच्याउनेछौ। सत्यता पछ्याउने प्रक्रिया र मार्ग यही हो।

अब म “अरूको खातिर आफ्नो हित त्याग” भन्‍ने भनाइबारे सङ्गति गर्नेछु। यो भनाइले चिनियाँ परम्परागत संस्कृतिको एउटा सद्गुणलाई जनाउँछ जसलाई मानिसहरू उच्च र महान् भनाइ मान्छन्। अवश्य नै, यी रायहरू अलि बढाइचढाइ गरिएको र अवास्तविक छन्, तर जे भए पनि, यसलाई सर्वत्र नै सद्गुण मानिन्छ। यो सद्गुणबारे सुन्दा, जोकोहीको मनमा यस्ता निश्चित दृश्यहरूको कल्पना आउँछ: मानिसहरूले सँगै खाना खाँदा अर्कोको भागमा खाना हालिदिएको र अर्को व्यक्तिका लागि सबैभन्दा राम्रो खानेकुरा छोडेको; किराना पसलमा लाइनमा बस्दा मानिसहरूले अरूलाई अगाडि जान दिएको; मानिसहरूले अरूलाई रेलवे स्टेशन वा विमानस्थलमा पहिले टिकट किन्‍न दिएको; मानिसहरूले हिँड्दा वा ड्राइभिङ गर्दा झुकेर अरूलाई पहिले जान दिएको…। यी सबै नै “सबैका लागि आफू, र आफ्ना लागि सबै” भन्‍ने भनाइका “सुन्दर” उदाहरण हुन्। यी प्रत्येक दृश्यले समाज र संसार कति मायाले भरिएको, सद्भावपूर्ण, खुसी र शान्तिपूर्ण छ भनेर देखाउँछ। खुसीको स्तर मानक स्तरभन्दा बढी हुन्छ। यदि कसैले तिनीहरूलाई “तपाईं किन यति खुसी हुनुहुन्छ?” भनेर सोध्यो भने, तिनीहरूले यसो भन्दै जवाफ दिन्छन्, “चिनियाँ परम्परागत संस्कृतिले अरूको खातिर आफ्नो हित त्याग भनेर वकालत गर्छ। हामी सबै यो विचारलाई अभ्यास गर्छौँ, र त्यसो गर्न हामीलाई पटक्‍कै गाह्रो छैन। हामी अत्यन्तै आशिषित महसुस गर्छौँ।” के तिमीहरूको मनमा त्यस्ता दृश्यहरू आएका छन्? (छन्।) यी दृश्यहरू कहाँ पाउन सकिन्छ? यी दृश्यहरू १९९० को दशकभन्दा पहिले चिनियाँ नयाँ वर्षको समयमा पर्खालहरूमा टाँस्‍ने गरिएको वसन्त उत्सवका चित्रहरूमा पाउन सकिन्छ। यी कुरा मानिसहरूको मनमा र तथाकथित मृगतृष्ण, वा सपनाको महलमा समेत पाउन सकिन्छ। छोटकरीमा भन्दा, यस्ता दृश्यहरू वास्तविक जीवनमा हुँदैनन्। अवश्य नै “अरूको खातिर आफ्नो हित त्याग” भन्‍ने भनाइ नैतिकतावादीहरूले नैतिक मापदण्डबारे गर्ने माग हो। यो मानिसको नैतिक आचरणसम्‍बन्धी भनाइ हो जुन भनाइले मानिसहरूले व्यवहार गर्नुअघि आफ्‍नो हितलाई भन्दा अरूको हितलाई विचार गर्नुपर्छ भन्‍ने माग गर्छ। तिनीहरूले पहिले आफ्नो होइन तर अरूको हितलाई विचार गर्नुपर्छ। तिनीहरूले अरूबारे सोच्नुपर्छ र आफूलाई त्याग गर्न सिक्‍नुपर्छ—अर्थात्, तिनीहरूले आफ्नो हित, माग, चाहना र महत्त्वाकाङ्क्षाहरू त्याग्नैपर्छ, यहाँसम्‍म कि आफ्नो सबै कुरा त्यागेर पहिले अरूबारे सोच्नैपर्छ। यो माग मानिसले पूरा गर्न सके पनि नसके पनि, पहिले यो कुरा सोध्नैपर्छ: कस्ता मानिसहरूले यो दृष्टिकोण अघि राखिरहेका छन्? के तिनीहरूले मानवता बुझ्छन्? के तिनीहरूले मानिस अर्थात् यस प्राणीको नैसर्गिक क्षमता र मानवता सारलाई बुझ्छन्? तिनीहरूले अलिकति पनि बुझेका छैनन्। विचार र स्वतन्त्र इच्‍छा मात्र होइन, तर महत्त्वाकाङ्क्षा र चाहनाहरूले भरिएको स्वार्थी प्राणी मानिसमा अरूको खातिर आफ्‍नो हित त्याग भन्‍नेअवास्तविक माग राख्न यो भनाइ अघि सार्ने मानिसहरू पक्‍कै पनि मूर्ख थिए। मानिसहरूले यो माग पूरा गर्न सके पनि नसके पनि, मानिसहरूको सार र नैसर्गिक क्षमतालाई प्राणीको रूपमा हेर्दा, यो माग अगाडि सार्ने नैतिकतावादीहरू साँच्‍चै अमानवीय थिए। तिनीहरू अमानवीय थिए भनेर म किन भन्छु? उदाहरणका लागि, जब कुनै व्यक्ति भोको हुन्छ, तब तिनीहरूले नैसर्गिक रूपमा नै आफ्नो भोक महसुस गर्नेछन् र अरू कोही भोकै छ कि छैन भनेर विचार गर्नेछैनन्। तिनीहरूले भन्‍नेछन्, “म भोको छु, र म केही खान चाहन्छु।” तिनीहरू पहिले “म” बारे सोच्छन्। यो सामान्य, प्राकृतिक र उपयुक्त कुरा हो। भोको व्यक्ति कसैले पनि आफ्‍नो साँचो भावनाविरुद्ध गएर यसरी सोध्‍नेछैन, “तिमी के खान चाहन्छौ?” के कुनै व्यक्तिले आफू भोको भएको बेला अरूलाई के खान चाहन्छौ भनेर सोध्‍नु सामान्य हो? (होइन।) राती, जब कुनै व्यक्ति थकित र लखतरान हुन्छ, तब उसले भन्‍नेछ, “म थकित छु। म सुत्‍न चाहन्छु।” कसैले पनि यसो भन्‍नेछैन, “म थाकेको छु, त्यसकारण के तिमी मेरा लागि सुत्‍न सक्छौ? तिमी सुत्दा मेरो थकान कम हुन्छ।” यदि तिनीहरूले यसरी आफ्‍नो कुरा व्यक्त गरे भने के त्यो असामान्य हुनेछैन र? (हुनेछ।) मानिसहरूले नैसर्गिक तवरमा सोच्न र गर्न सक्‍ने सबै कुरा आफ्नै लागि हो। यदि तिनीहरूले आफ्नो ख्याल गर्न सक्छन् भने पहिल्यै निकै राम्रो गरिरहेका हुन्छन्—यो मानव नैसर्गिक क्षमता हो। यदि तँ आत्मनिर्भर भई जिउन सक्छस्, आफै जिउन र मामिला सम्‍हाल्‍न सक्ने हदमा पुगेको छस्, आफ्नो हेरचाह आफै गर्न सक्छस्, बिरामी हुँदा डाक्टरकहाँ जान जान्दछस्, रोगबाट कसरी निको हुने भनेर बुझ्छस्, अनि जीवनमा उत्पन्‍न हुने सबै समस्या र कठिनाइ कसरी समाधान गर्ने भनेर जान्दछस् भने, तैँले पहिल्यै राम्रो गरिरहेको छस्। तर, अरूको खातिर आफ्नो हित त्याग गर्दा तैँले अरूको हितका लागि तँसँग भएका यी आवश्यकताहरू त्याग्‍नुपर्ने हुन्छ; आफ्ना लागि केही नगर्नु, बरु अरूको हितलाई पहिले विचार गर्नुपर्ने र अरूका लागि सबै कुरा गर्नुपर्ने—के यो अमानवीय कुरो होइन? मेरो दृष्टिकोणमा त, यसले मानिसहरूलाई जिउन पाउने अधिकारबाट सिधै वञ्चित गर्छ। जीवनका आधारभूत आवश्यकताहरू भनेकै तैँले आफै सम्हाल्नुपर्ने कुरा हुन्, त्यसकारण किन अरूले तेरा लागि यी कुराहरू गर्न र सम्हाल्न आफ्‍ना हितहरू त्याग्‍नुपर्छ र? त्यसले तँलाई कस्तो व्यक्ति तुल्याउँछ? के तँ अलि मानसिक रूपमा अशक्त, असक्षम छस् कि पाल्तु जनावर होस्? यी सबै कुरा मानिसहरूले नैसर्गिक रूपमा गर्नुपर्छ—किन अरूले तेरा लागि यी कुराहरू गर्न आफूले गर्नुपर्ने कामहरू त्याग्‍नुपर्ने र आफ्नो शक्ति लगाउनुपर्ने? के त्यो उपयुक्त हुन्छ? के अरूको खातिर आफ्नो हित त्याग भन्‍ने यो माग बकम्फुसे गफ मात्र होइन र? (हो।) यो गफ कस्तो लाग्छ, र यो कहाँबाट आउँछ? के यो मानिसको नैसर्गिक क्षमता, आवश्यकता, र सारबारे अलिकति पनि ज्ञान नभएका अनि आफ्नो नैतिक श्रेष्ठताबारे घमण्ड गर्न उत्सुक तथाकथित नैतिकतावादीहरूबाट आएका हुँदैनन् र? (हुन्छन्।) के यो अमानवीय कुरा होइन र? (हो।) यदि सबैले अरूको खातिर आफ्नो हित त्यागे भने, आफ्नो मामिला कसरी सम्हाल्छन्? के तँ वास्तवमै अरू सबैलाई असक्षम, आफ्नै जीवन व्यवस्थापन गर्न नसक्‍ने मूर्ख, मानसिक रूपमा अशक्त, वा बेवकुफ ठान्छस्? ठान्दैनस् भने, तैँले किन अरूको खातिर आफ्नो हित त्याग्नैपर्ने, र अरूले तेरा लागि आफ्नो हित त्यागेको माग गर्नैपर्ने? कतिपय अशक्त मानिसले पनि अरूले तिनीहरूलाई सहयोग गरेको चाहँदैनन्, बरु आफ्‍नो जीविका आफै धान्न र आफ्‍नो जीवन व्यवस्थित गर्न चाहन्छन्—तिनीहरूअरूले फाल्तु मूल्य चुकाऊन् वा तिनीहरूलाई थप सहयोग गरून् भन्‍ने चाहँदैनन्। तिनहरू अरूले तिनीहरूलाई राम्रो व्यवहार गरून् भन्‍ने चाहन्छन्; यो तिनीहरूले आफ्‍नो मर्यादा जोगाउने तरिका हो। तिनीहरूलाई अरूबाट चाहिने सम्मान हो, सहानुभूति र दया होइन। आफ्नो हेरचाह आफै गर्न सक्‍नेहरूका हकमा यो कुरा झनै लागू हुन्छ, होइन र? तसर्थ, अरूको खातिर आफ्नो हित त्याग भन्‍ने यो माग मेरो विचारसँग मिल्दैन। यसले मानिसको नैसर्गिक क्षमता र विवेकको बोध-क्षमतालाई उल्लङ्घन गर्छ, र यो कम्तीमा पनि, अमानवीय कुरा हो। यसको उद्देश्य सामाजिक मूल्यमान्यता, सामाजिक सुव्यवस्था, र सामान्य पारस्परिक सम्बन्धहरू कायम राख्नु भए पनि, सबै आफ्नो इच्छाविपरीत गएर अरूको खातिर जिउनुपर्ने यस्तो अनुचित र अमानवीय तरिकामा माग गर्नु आवश्यकता छैन। यदि मानिसहरू आफ्‍नो लागि नभई अरूका लागि जिएको भए, के यो अलि तोडमरोड र असामान्य हुनेथिएन र?

अरूको खातिर आफ्नो हित त्याग भन्‍ने माग कुन परिस्थितिमा लागू हुन्छ? यस्तो एउटा परिस्थिति हो, आमाबुबाले आफ्ना सन्तानका लागि काम गर्दाको बेला। यो सम्भवतः सीमित समयका लागि मात्र गरिन्छ। सन्तान वयस्क हुनुअघि, आमाबुबाले तिनीहरूको हेरचाह गर्न सक्दो गर्नुपर्छ। आमाबुबाले आफ्ना छोराछोरीलाई वयस्क होइन्जेल हुर्काउन अनि उनीहरूले स्वस्थ, खुसी र आनन्दित जीवन जिएको सुनिश्‍चित गर्न, आफ्नो युवावस्था त्याग गर्छन्, आफ्नो ऊर्जा खर्चन्छन्, देहसुख पन्छाउँछन्, अनि आफ्नो क्यारियर र रुचि पनि त्याग्छन्। तिनीहरू यो सब आफ्ना सन्तानका लागि गर्छन्। यो जिम्मेवारी हो। किन आमाबुबाले यो जिम्मेवारी पूरा गर्नु नै पर्छ? किनभने आफ्ना छोराछोरीहरू हुर्काउने दायित्व प्रत्येक आमाबुबाको हुन्छ। यो तिनीहरूको पन्छाउन नमिल्ने जिम्मेवारी हो। तर, समाज र मानवजातिप्रति मानिसहरूको यो दायित्व हुँदैन। यदि तैँले आफ्नो आफै हेरचाह गर्छस्, समस्या खडा गर्दैनस्, र अरू मानिसका लागि समस्या पैदा गर्दैनस् भने, तैँले पहिल्यै निकै राम्रो गरिरहेको छस्। अर्को परिस्थिति पनि छ जहाँ शारीरिक अशक्तता भएका मानिसहरूले आफ्नो हेरचाह आफै गर्न सक्दैनन् र तिनीहरूलाई जीवनमा सहयोग गर्न र बाँच्‍न सहयोग गर्न आफ्ना आमाबुबा, भाइबहिनीहरू र सामाजिक कल्याण सङ्गठनहरूको समेत आवश्यकता पर्छ। अर्को विशेष परिस्थिति भनेको जब मानिसहरू वा कुनै क्षेत्र प्राकृतिक प्रकोपबाट प्रभावित हुन्छन्, र तिनीहरू आपतकालीन राहतकार्यविना बाँच्न सक्दैनन्। यो अवस्थामा तिनीहरूलाई अरूको सहयोग चाहिन्छ। के यीबाहेक अरू कुनै त्यस्ता परिस्थिति छन्, जसमा मानिसहरूले अरूको खातिर आफ्नो हित त्याग्‍नुपर्छ? सायद छैन। वास्तविक जीवनमा समाजमा अत्यन्तै प्रतिस्पर्धा छ, र यदि कसैले आफ्नो काम राम्रोसँग गर्न सक्दो मानसिक ऊर्जा लगाएन भने, जीवन धान्न, बाँच्‍न गाह्रो पर्छ। मानवजाति अरूको खातिर आफ्नो हित त्याग गर्न असमर्थ छ; यदि तिनीहरूले आफ्नो बचाइ सुनिश्‍चित गर्न सक्छन् र अरूको हितमा हस्तक्षेप गर्दैनन् भने यो नै ठूलो कुरा हो। वास्तवमा, मानवजातिको साँचो रूप त वास्तविक जीवनको सामाजिक अवस्था र परिस्थितिहरूमाझ तिनीहरू संलग्न हुने द्वन्द्व र प्रतिशोधपूर्ण हत्याहरूले झनै ठिकसित झल्काउँछन्। खेलकुद प्रतिस्पर्धामा, तँ के देख्छस् भने जब खेलाडीहरूले आफू को हो भनेर देखाउन आफ्‍नो सारा ऊर्जा प्रयोग गर्छन् र अन्त्यमा विजयी हुन्छन्, तब तिनीहरूमध्ये कसैले पनि यसो भन्‍नेछैनन्, “म च्याम्पियनको उपाधि लिन चाहन्‍नँ। मलाई लाग्छ, यो त तिमीले पाउनुपर्छ।” कसैले पनि त्यसो गर्दैन। पहिलो हुन, सर्वोत्कृष्ट हुन, र शीर्षमा हुनकालागि प्रतिस्पर्धा गर्नु मानिसहरूको नैसर्गिक क्षमता हो। वास्तवमा, मानिसहरू अरूको खातिर आफ्नो हित त्याग गर्न सक्दै सक्दैनन्। अरूको खातिर आफ्नो हित त्याग भन्‍ने यो आवश्यकता वा इच्छा मानिसको नैसर्गिक क्षमतामा हुँदैन। मानिसको सार र प्रकृतिलाई विचार गर्दा, उसले आफ्ना लागि मात्र कार्य गर्न सक्छ र गर्नेछ। यदि कुनै व्यक्तिले आफ्नो हितका लागि काम गर्छ र त्यसो गर्दा, सही मार्ग अपनाउन सक्छ भने, त्यो राम्रो कुरा हो, र यो व्यक्तिलाई मानिसहरूमध्ये असल सृजित प्राणी मान्‍न सकिन्छ। यदि, तैँले आफ्नो हितमा काम गर्दा, सही मार्ग अपनाउन, सत्यता र सकारात्मक कुराहरू पछ्याउन, अनि आफ्नो वरपरका मानिसहरूमा सकारात्मक प्रभाव पार्न सक्छस् भने, पहिल्यै निकै राम्रो गरिरहेको छस्। अरूको खातिर आफ्नो हित त्याग भन्‍ने विचारलाई बढावा दिनु र अगाडि बढाउनु बकम्फुसे गफबाहेक अरू केही होइन। यो मानिसको आवश्यकतासँग मेल खाँदैन, झन् मानवजातिको वर्तमान अवस्थासँग मेल खानु त परको कुरा हो। अरूको खातिर आफ्नो हित त्याग भन्‍ने माग वास्तविकतासँग मेल खाँदैन र यो अमानवीय छ भन्‍ने तथ्य बाबजुद, यसले अझै पनि मानिसहरूको हृदयको गहिराइमा निश्‍चित स्थान ओगट्छ, र विभिन्‍न हदमा तिनीहरूका विचार यसबाट प्रभावित र बन्धनमा हुन्छ। जब मानिसहरू आफ्ना लागि मात्र काम गर्छन्, तर अरूका लागि काम गर्दैनन्, अरूलाई सहयोग गर्दैनन्, वा अरूबारे सोच्दैनन् वा अरूलाई विचार गर्दैनन्, तब तिनीहरूलाई प्रायजसो हृदयमा ग्लानि हुन्छ। तिनीहरूलाई अदृश्य दबाब र कहिलेकहीँ अरूले छड्के नजरले घुरिरहेको समेत महसुस हुन्छ। त्यस्ता भावनाहरू सबै तिनीहरूको हृदयमा जरा गाडेर बसेका परम्परागत नैतिक विचारधाराको प्रभावको कारण उत्पन्‍न हुन्छन्। के तिमीहरू पनि अरूको खातिर आफ्नो हित त्याग भनी आदेश दिने परम्परागत संस्कृतिद्वारा विभिन्‍न हदमा प्रभावित भएका छौ? (छौँ।) धेरै मानिस अझै पनि परम्परागत संस्कृतिले राख्ने मापदण्डहरूलाई अनुमोदन गर्छन्, र यदि कसैले यी मापदण्डहरू पालना गर्न सक्छ भने, मानिसहरूले तिनीहरूको प्रशंसा गर्छन् र कसैले पनि तिनीहरूको निन्दा वा विरोध गर्दैनन्, चाहे तिनीहरूले यी मापदण्डहरू जतिवटा पूरा किन नगरून्। यदि कुनै व्यक्तिले कोही सडकमा लडेको देख्यो र पनि उसलाई सहयोग गरेन भने, सबै जना त्यस व्यक्तिसँग बेखुस हुनेछन्, उसलाई अत्यन्तै अमानवीय भन्‍नेछन्। यसले के देखाउँछ भने मानिसहरूमा लागू हुने परम्परागत संस्कृतिले माग गर्ने मानकहरूले मानिसहरूको हृदयमा निश्‍चित स्थान ओगट्छन्। त्यसोभए, यदि कुनै व्यक्तिलाई परम्परागत संस्कृतिका यी कुराहरूको आधारमा मापन गरियो भने, के त्यो सही हो? सत्यता नबुझ्नेहरूले यो मामिलालाई कहिल्यै पनि पूर्ण रूपमा बुझ्न सक्नेछैनन्। के भन्‍न सकिन्छ भने, परम्परागत संस्कृति हजारौँ वर्षदेखि नै मानव जीवनको भाग बनेको छ, तर यसले वास्तवमा कस्तो प्रभाव पारेको छ? के यसले मानवजातिको आत्मिक दृष्टिकोण परिवर्तन गरेको छ? के यसले समाजमा सभ्यता र प्रगति ल्याएको छ? के यसले समाजका सार्वजनिक सुरक्षाका समस्याहरू समाधान गरेको छ? के यो मानवजातिलाई शिक्षा दिन सफल भएको छ? यसले यीमध्ये कुनै कुरा समाधान गरेको छैन। परम्परागत संस्कृति पटक्‍कै प्रभावकारी भएको छैन, त्यसैले हामी निर्धक्‍कसाथ के भन्‍न सक्छौँ भने मानिसमा लागू हुने यी मानकहरूलाई मापदण्ड मान्‍न सकिँदैन—यी त मानिसहरूको हातखुट्टा बाँध्‍ने, तिनीहरूक विचार सीमित पार्ने, र तिनीहरूको व्यवहारलाई चलाउने बन्धन मात्र हुन्। तिनीहरू मानिस जहाँ गए पनि, उसले सबैसँग राम्रो व्यवहार गर्न, नियम पालना गर्न, मानवस्वरूप धारण गर्न, ठूलालाई आदर र सानालाई माया गर्न, अनि वरिष्ठलाई आदर गर्ने तरिका जन्न सकोस् भनेर यस्तो कुरा अघि सार्छन्। तिनीहरू कुनै व्यक्तिले बुद्धु र अभद्र व्यवहार देखाएर अरूलाई खिन्न नपारोस् भनी यस्तो कुरा अघि सार्छन्। बढीमा, यी मानकहरूले मानिसहरूलाई अलि बढी आकर्षक र परिष्कृत मात्रै देखाउँछन्—वास्तवमा, यसको मानिसहरूको सारसँग कुनै सम्बन्ध हुँदैन र यसले अरूबाट क्षणिक अनुमोदन प्राप्त गर्न र आफ्‍नो अभिमान सन्तुष्ट पार्न मात्र सहयोग गर्छ। तँलाई मानिसहरूले तिनीहरूका लागि कामकुरा गरिदिएकोमा कति असल व्यक्ति भन्दा, तँ साह्रै खुसी हुन्छस्। जब तँ बसमा आफ्नो सीट छोडिदिएर सानालाई माया र ठूलालाई आदर गर्न सक्छु भनेर देखाउँछस्, र अरूले तँलाई कति असल बालक रहेछ, र तँ देशको भविष्य हो भनेर भन्छन्, त्यो बेला पनि तँलाई साह्रै खुसी लाग्छ। जब तँ टिकट किन्‍न लाइनमा बस्छस् र तैँले आफूपछाडिको व्यक्तिलाई पहिले किन्‍न दिन्छस्, र अरूले तँलाई विचारशील भएकोमा प्रशंसा गर्छन्, त्यो बेला पनि तँलाई खुसी लाग्छ। केही नियम पालना गरेपछि र राम्रो व्यवहारका केही कार्य प्रदर्शन गरेपछि, तँलाई आफू उच्च चरित्रको छु भन्‍ने लाग्छ। यदि तँ एकपटक एक-दुइटा असल काम गरेपछि आफ्नो हैसियत अरूको भन्दा उच्‍च छ भन्‍ने ठान्छस् भने—के त्यो मूर्खता होइन र? यो मूर्खताले गर्दा तैँले आफ्नो बाटो र समझ गुमाउन सक्छस्। नैतिक आचरणको अरूको खातिर आफ्नो हित त्याग भन्‍ने यो भनाइबारे अति धेरै सङ्गति गर्नु सार्थक हुँदैन। यससँग सम्बन्धित समस्याहरू चिन्न निकै सजिलो छ, किनभने यसले मानिसहरूको मानवता, चरित्र र मर्यादालाई धेरै हदसम्म बिगार्छ र बङ्ग्याउँछ। यसले तिनीहरूलाई झन् ढोँगी, अव्यावहारिक, स्वार्थी तुल्याउँछ, र आफू कसरी जिउनुपर्छ, वास्तविक जीवनमा मानिस, घटना र कामकुरालाई कसरी चिन्‍नुपर्छ, र वास्तविक जीवनमा आइपर्ने विभिन्‍न समस्यालाई कसरी झेल्‍नुपर्छ भनेर जान्‍ने तिनीहरूको क्षमता घटाइदिन्छ। मानिसहरूले अरूलाई केही सहयोग गर्न अनि तिनीहरूलाई चिन्ता र समस्याहरूबाट मुक्त गर्न मात्र सक्छन्, तर तिनीहरू जीवनमा लिनुपर्ने मार्ग गुमाउँछन्, शैतानको चलखेलमा पर्छन् र त्यसको उपहासको पात्र बन्छन्—के यो अपमानको चिन्ह होइन र? जे भए पनि, अरूको खातिर आफ्नो हित त्याग भन्‍ने यो तथाकथित नैतिक मापदण्ड एउटा पाखण्डी र विकृत भनाइ हो। अवश्य नै, यस सन्दर्भमा परमेश्‍वर केवल मानिसहरूले आफूलाई दिइएको पूरा दायित्व, जिम्मेवारी, र कर्तव्यहरू पूरा गरेको, अरूलाई चोट, हानि वा नोक्सानी नपुऱ्याएको, र अरूलाई लाभ र फाइदा हुन सक्‍ने तरिकामा कार्य गरेको माग गर्नुहुन्छ—त्यति भए पुग्यो। परमेश्‍वर मानिसहरूले कुनै अतिरिक्त जिम्मेवारी वा दायित्वहरू लिएको माग गर्नुहुन्‍न। यदि तैँले आफ्ना सबै काम, कर्तव्य, दायित्व र जिम्मेवारी पूरा गर्न सकिस् भने, त्यो त राम्रो गरिरहेको छस्—के त्यो सरल कुरा होइन र? (हो।) यसलाई सजिलै पूरा गर्न सकिन्छ। यो धेरै सरल र सबैले बुझ्ने भएकाले, यसबारे थप विस्तारमा सङ्गति गर्नु आवश्यक छैन।

अब, म नैतिक आचरणको “स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ” भन्‍ने अभिव्यक्तिबारे छलफल गर्नेछु। यो अभिव्यक्ति र नैतिक आचरणका अन्य मानकबीचको भिन्‍नता के हो भने यो मानक निश्‍चित रूपले महिलाहरूप्रति लक्षित छ। “स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ” भन्‍ने भनाइ तथाकथित नैतिकतावादीहरूले महिलाबाट गरेका अमानवीय र अव्यावहारिक माग हो। म किन त्यसो भन्छु? यो मानकले के माग गर्छ भने सबै महिला, चाहे छोरी हुन् वा श्रीमती, सद्गुणी, दयालु, सुशील र नैतिकवान् हुनैपर्छ। तिनीहरूले असल र सम्मानित महिला ठहरिन, यस्तो नैतिक आचरण अभ्यास गर्नैपर्छ र तिनीहरूमा यो नैतिक चरित्र हुनैपर्छ। यसले पुरुषहरूका लागि के अर्थ दिन्छ भने महिलाहरू सद्गुणी, दयालु, सुशील र नैतिकवान् हुनैपर्छ, जबकि पुरुषहरू त्यस्तो हुनु पर्दैन—पुरुषहरू सद्गुणी वा दयालु हुनु आवश्यक छैन, झन् सुशील वा नैतिकवान् हुनपर्ने त परै जाओस्। पुरुषहरूले के गर्नैपर्छ? यदि तिनीहरूका पत्नी सद्गुणी, दयालु, सुशील र नैतिकवान् छैनन् भने, तिनीहरूले उनीसँग सम्बन्धविच्छेद गर्न वा उनलाई त्याग्‍न सक्छन्। यदि कुनै पुरुषले आफ्नी पत्‍नीलाई त्याग्‍न सक्दैन भने, उसले के गर्नुपर्छ? उसले उनलाई सद्गुणी, दयालु, सुशील र नैतिकवान् स्त्रीमा परिणत गर्नुपर्छ—यो उसको जिम्मेवारी र दायित्व हो। पुरुषको सामाजिक जिम्मेवारी भनेको महिलालाई कडाइका साथ निरीक्षण, मार्गदर्शन र सुपरिवेक्षण गर्नु हो। तिनीहरूले मालिकको भूमिका राम्ररी निभाउनैपर्छ, तिनीहरूले सद्गुणी, दयालु, सुशील र नैतिकवान् महिलाहरूलाई दबाउनैपर्छ, तिनीहरूको मालिक र घरमूलीको रूपमा काम गर्नैपर्छ, अनि महिलाहरूले आफूले गर्नुपर्ने कुराहरू गरेको र आफ्‍ना दायित्वहरू पूरा गरेको सुनिश्‍चित गर्नैपर्छ। यसको विपरीत, पुरुषहरूले यस्तो नैतिक आचरण अभ्यास गर्नु पर्दैन—तिनीहरूलाई यो नियम छूट छ। पुरुषहरूलाई यो नियम छूट भएकाले, नैतिक आचरणको यो दाबी पुरुषहरूले महिलाहरूलाई परेख्ने मानक मात्र हो। अर्थात्, जब कुनै पुरुषले असल नैतिक आचरण भएकी स्त्रीसँग विवाह गर्न चाहन्छ, तब उसले त्यो स्त्रीलाई कसरी परेख्नुपर्छ? त्यो स्त्री सद्गुणी, दयालु, सुशील र नैतिकवान् छ कि छैन भनेर मात्र निर्धारण गरे पुग्छ। यदि ऊ सद्गुणी, दयालु, सुशील र नैतिकवान छ भने, उसले त्यो स्त्रीसँग विवाह गर्न सक्छ—यदि ऊ त्यस्तो छैन भने, उसले त्यो स्त्रीसँग विवाह गर्नु हुँदैन। यदि उसले त्यस्ती स्त्रीसँग विवाह गरेमा, अरूले त्यो स्त्रीलाई तुच्छ ठान्‍नेछन् र असल व्यक्ति होइन भनेरसमेत भन्‍नेछन्। त्यसोभए, नैतिकतावादीहरूले भनेअनुसार महिलाले सद्गुणी, दयालु, सुशील र नैतिकवान् ठहरिन कुन निश्‍चित मापदण्डहरू पूरा गर्नैपर्छ? के यी विशेषणहरूका निश्‍चित अर्थ छन्? “सद्गुणी,” “दयालु,” “सुशील,” र “नैतिक” यी चार शब्‍दको पछाडि ठूलो अर्थ छ र यी गुणमध्ये कुनै एकअनुसार जिउनु जोकोहीका लागि सजिलो हुँदैन। कुनै पनि पुरुष वा बौद्धिक व्यक्ति यी गुणअनुसार जिउन सक्दैन, तैपनि ऊ साधारण महिलाहरूले त्यसो गरेको माग गर्छ—यो महिलाहरूप्रति अत्यन्तै अन्याय हो। त्यसोभए, महिलाहरूले सद्गुणी, दयालु, सुशील र नैतिकवान् ठहरिन देखाउनैपर्ने आधारभूत व्यवहार र नैतिक आचरणका निश्‍चित रूपहरू केके हुन्? सर्वप्रथम, महिलाहरूले आफ्नो घरको चौघेरोबाहिर कहिल्यै पाइला राख्नै हुँदैन, र तिनीहरूले आफ्नो खुट्टालाई सानो बच्‍चाको हत्केलाभन्दा पनि साँघुरो चार इन्चको घेराभित्र बाँधेर राख्नैपर्ने हुन्छ। यसले महिलाहरूलाई रोक्छ र तिनीहरू आफूले चाहेको ठाउँमा जान नसकेको सुनिश्‍चित गर्दछ। विवाह गर्नुअघि, महिलाहरूलाई आफ्नो घरको चौघेरोबाहिर निस्कने अनुमति हुँदैन, आफ्नो शयनकक्षभित्र सीमित राख्नैपर्छ, र आफ्नो अनुहार सार्वजनिक रूपमा देखाउनै हुँदैन। यदि तिनीहरूले यी नियमहरू पालन गर्न सक्छन् भने, तिनीहरूमा सद्गुणी, दयालु, सुशील र नैतिकवान् अविवाहित महिलाको नैतिक चरित्र हुन्छ। कुनै महिलाले विवाह गरेपछि आफ्ना सासूससुराप्रति बुहारीको धर्म निभाउनैपर्छ र श्रीमानका अन्य नातेदारसँग दयालु व्यवहार गर्नैपर्छ। उसका पतिको परिवारले ऊसँग जसरी व्यवहार गरे पनि वा उसलाई दुर्व्यवहार गरे पनि, उसले वफादार घोडाले जस्तै दुःखकष्ट र आलोचना सहनैपर्छ। उसले परिवारका जवान र वृद्ध सबै सदस्यको मात्र सेवा गर्नैपर्छ होइन, वंश जोगाउन छोराछोरी पनि जन्माउनैपर्छ, र यो सबै अलिकति पनि गुनासो नगरी गर्नुपर्छ। उसले सासूससुराको हातबाट जति कुटाइ खाए पनि वा अन्याय भोगे पनि र ऊ जति नै थकित भए पनि र उसले जति नै कडा मेहनत गर्नुपरे पनि, आफ्ना श्रीमानसँग यो कुनैबारे कहिल्यै गुनासो गर्न मिल्दैन। उसलाई सासूससुराले जति नै धम्काए पनि, उसले परिवारबाहिरका कसैलाई पनि आफ्‍नो परिवारको कुरा थाहा दिनु हुँदैन र परिवारको कुरा काट्नु हुँदैन। उसलाई जति नै अन्याय भएको भए पनि, उसले बताउनु हुँदैन तर चुपचाप अपमान र बेइज्‍जती सहनैपर्छ। उसले कष्ट र आलोचना मात्र सहनैपर्छ होइन, तर नम्रतापूर्वक दमन स्विकार्न, आफ्नो आक्रोशलाई दबाउन, अनि अपमान र जिम्मेवारीको बोझ सहन पनि सिक्नैपर्छ—उसले सहनशीलता र धैर्यका कलाहरू सिक्नैपर्छ। भोजनममा जतिसुकै मिठो खाना भए पनि, उसले पहिले परिवारका अन्य सदस्यहरूलाई खान दिनैपर्छ; उसले आफ्नो बुहारीको धर्म निभाउन पहिले सासूससुरालाई, त्यसपछि आफ्‍ना पति र छोराछोरीलाई खान दिनैपर्छ। अरू सबैले खाएपछि र सबै मिठो खाना सकिएपछि, उसले जे उब्रेको हुन्छ त्यसैले आफ्‍नो पेट भर्नुपर्छ। मैले भर्खरै छलफल गरेका मापदण्डहरूबाहेक, आधुनिक समयमा, महिलाहरू “सामाजिक जमघट र भान्सामा पनि अब्बल भएको” अपेक्षा गरिन्छ। मैले यो वाक्यांश सुन्दा के सोचेँ भने, यदि महिलाहरू सामाजिक जमघट र भान्सामा पनि अब्बल भएको अपेक्षा गरिन्छ भने, सबै पुरुषले चाहिँ के गरिरहेका हुन्छन् त? महिलाहरूले सम्पूर्ण परिवारका लागि खाना पकाउनैपर्छ, घरको कामकाज र छोराछोरीको हेरचाह गर्नैपर्छ, अनि खेतमा गएर खट्नैपर्छ—तिनीहरू यी सबै काम गरेर घरभित्र र बाहिर दुवै ठाउँमा उत्कृष्ट हुनुपर्छ। यसको विपरीत, पुरुषहरू काममा मात्र जानुपर्छ, त्यसपछि घर आएर आफ्नो समय त्यतिकै रमाइलो गरेर बिताउँछन् र कुनै घरायसी काम गर्दैनन्। यदि कुनै कुराले तिनीहरूलाई काममा रिस उठाएको छ भने, तिनीहरूले त्यो आफ्नी पत्नी र छोराछोरीमा पोखाउँछन्—के यो उचित हो? मैले छलफल गरेका यी मामिलाहरूमा तिमीहरूले के अवलोकन गऱ्यौ? कसैले पनि पुरुषबाट नैतिक आचरणबारे कुनै माग गर्दैन, तर महिलाहरूचाहिँ सद्गुणी, दयालु, सुशील र नैतिकवान् चरित्र कायम राख्नका साथै सामाजिक जमघट र भान्सामा पनि अब्बल भएको अपेक्षा गरिन्छ। कति जना महिलाले यस्ता मापदण्डहरू पूरा गर्न सक्छन्? के महिलाहरूबाट यस्तो माग गर्नु अनुचित होइन र? यदि कुनै महिलाले सानो गल्ती गऱ्यो भने, उसलाई कुटपिट गरिन्छ, अपमान गरिन्छ, र पतिले उसलाई त्याग्‍नसमेत सक्छ। महिलाहरूले यी सबै सहनु नै पर्ने हुन्छ, र यदि तिनीहरूले यो पटक्कै सहन सकेनन् भने, तिनीहरूसँग आत्महत्या गर्ने विकल्‍प मात्र हुन्छ। के महिलाहरू शारीरिक रूपमा कमजोर, अनि पुरुषभन्दा कम शक्तिशाली र शारीरिक रूपमा कम सक्षम भए पनि उनीहरूबाट तोकेरै यस्ता अमानवीय मागहरू गर्नु एक प्रकारको दमन होइन र? आज यहाँ उपस्थित महिलाहरूलाई वास्तविक जीवनमा यदि मानिसहरूले त्यस्ता मागहरू गरे भने के तिमीहरूलाई त्यो हदभन्दा बढी लाग्दैन र? के पुरुषहरू साँच्‍चै महिलाहरूलाई नियन्त्रण गर्नकै लागि हुन्? के तिनीहरू महिलाका मालिक हुनुपर्ने र उनीहरूलाई कष्ट भोग्न लगाउनकै लागि हुन्? यो विकृत अवस्थालाई विचार गर्दा, के हामी “स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ” भन्‍ने भनाइले वास्तवमा समाजमा दरार पैदा गरिरहेको छ भन्‍ने निष्कर्षमा पुग्न सक्दैनौँ र? स्पष्टतः के यसले समाजमा पुरुषको हैसियत बढाइरहेको तर जानाजानी महिलाको हैसियतचाहिँ घटाइरहेको छैन र? यो मापदण्डले पुरुष र स्त्रीहरूलाई महिलाको सामाजिक स्थिति र मूल्य पुरुषको समान नभएर कम छ भनेर दृढ विश्‍वास गराउँछ। त्यसकारण, महिलाहरू सद्गुणी, दयालु, सुशील र नैतिकवान् हुनुपर्छ, उनीहरूले दुर्व्यवहार भोग्नुपर्छ, अनि उनीहरूलाई समाजमा भेदभाव, अपमान र मानव अधिकारबाट वञ्चित गरिनुपर्छ। यसको विपरीत, पुरुषहरू घरमुली हुनुपर्छ भनेर त्यतिकै मानिलिइन्छ तर महिलाहरू सद्गुणी, दयालु, सुशील र नैतिकवान् हुनुपर्छ भनेर तार्किक ढङ्गमा माग गरिन्छ। के यसले समाजमा जानाजानी द्वन्द्व निम्त्याउँदैन र? के यसले जानाजानी समाजमा दरार सिर्जना गरिरहेको हुँदैन र? के लामो समयसम्म दुर्व्यवहार भोगेपछि केही महिलाले विद्रोह गर्नेछैनन् र? (गर्नेछन्।) जहाँ अन्याय हुन्छ, त्यहाँ विद्रोह हुनेछ। के नैतिक आचरणसम्बन्धी यो भनाइ महिलाहरूका लागि निष्पक्ष र न्यायसंगत छ? कम्तीमा पनि, यो महिलाहरूका लागि निष्पक्ष र न्यायसंगत छैन—यसले पुरुषहरूलाई अझ निर्लज्ज व्यवहार गर्ने लाइसेन्स पो दिन्छ, समाजको फाटो झन् ठूलो बनाउँछ, समाजमा पुरुषको हैसियत बढाउँछ र महिलाको हैसियत घटाउँछ, र यससँगै महिलाहरूलाई तिनीहरूको बाँच्न पाउने अधिकारबाट झनै वञ्चित गर्दछ, अनि समाजमा पुरुष र महिलाको हैसियतबीचको असमानतालाई चाल नपाउने गरी बढाउँछ। म महिलाहरूले घर र समाजमा समेत खेल्ने भूमिका, साथै तिनीहरूले देखाउने नैतिक आचरणलाई केवल यी दुई शब्‍द बताउन सक्छु: पञ्चिङ ब्याग। नैतिक आचरणको “स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ” भन्‍ने भनाइले महिलाहरूले परिवारका ठूलाहरूलाई आदर गरेको, परिवारका साना सदस्यहरूलाई प्रेम र हेरचाह गरेको, विशेष गरी आफ्ना पतिप्रति श्रद्धाभाव राखेको, र उसको हर तरहले सेवा गरेको माग गर्छ। तिनीहरूले घरभित्र र बाहिर परिवारका सबै मामिला सम्हाल्नैपर्छ, र तिनीहरूले जति नै कष्ट भोगे पनि कहिल्यै गुनासो गर्नु हुँदैन—के यसो गर्नु महिलाहरूलाई तिनीहरूको अधिकारबाट वञ्चित गर्नु होइन र? (हो।) यसो गर्नु महिलाहरूलाई तिनीहरूको स्वतन्त्रता, स्वतन्त्र अभिव्यक्तिको अधिकार, र बाँच्न पाउने अधिकारबाट वञ्चित गर्नु हो। के महिलाहरूलाई तिनीहरूका सबै अधिकारबाट वञ्चित गरेर पनि तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरेको माग गर्नु मानवीय व्यवहार हो त? यो त महिलाहरूलाई कुल्चनु र तहसनहस गर्नुसरह हो!

महिलाहरूलाई यो माग गर्ने र यस प्रक्रियामा तिनीहरूलाई तहसनहस पार्ने नैतिकतावादीहरू पुरुष नै थिए र महिला थिएनन् भन्‍ने कुरा एकदमै स्पष्ट छ। महिलाले महिलालाई कुल्चन रोज्दैन, त्यसैले यो पक्कै पनि पुरुषहरूको काम थियो। यदि महिलाहरूलाई कडा रेखदेख र नियन्त्रणमा राखिएन र ऊनीहरू धेरै नै सक्षम भए, उनीहरूले धेरै नै अधिकार र स्वतन्त्रता पाए भने, उनीहरू पुरुष बराबर हुनेछन् भन्‍ने तिनीहरूलाई चिन्ता थियो। बिस्तारै, सक्षम महिलाहरूले पुरुषहरूले भन्दा उच्च हैसियत प्राप्त गर्नेथिए, घरपरिवारमा आफ्नो कर्तव्य पूरा गर्न छोड्नेथिए, र यसले घरेलु मेलमिलापमा असर पार्नेछ भन्‍ने तिनीहरूलाई लाग्यो। यदि व्यक्तिगत घरपरिवारमा मेलमिलापको अभाव भयो भने, समग्र समाजमा वैमनस्य छाउँछ र यो कुरा देशका शासकहरूका लागि चिन्ताजनक कुरा थियो। हेर् त, हामीले जे छलफल गरे पनि, घुम्दै-फिर्दै रुम्जाटार भनेझैँ कुरा त सधैँ शासक वर्गमै पुगेर अडेको देखिन्छ। तिनीहरू दुष्ट मनसाय राख्छन् र महिलाहरूलाई निराकरण गरेर उनीहरूविरुद्ध पाइला चाल्न चाहन्छन्—यो अमानवीय व्यवहार हो। तिनीहरू के माग गर्छन् भने, चाहे घरमा होस् वा समाजमा नै, महिलाहरूले एकदमै आज्ञाकारी हुनुपर्छ, नम्र भई दमन स्विकार्नुपर्छ, आफूलाई होच्याउनु र निचो पार्नुपर्छ, सबै अपमान सहनुपर्छ, सुशिक्षित र समझदार, नम्र र विचारशील हुनुपर्छ, र सबै दुःखकष्ट र आलोचना इत्यादि सहनुपर्छ। स्पष्ट छ, तिनीहरू त महिलाहरू पञ्चिङ ब्याग र डोरम्याटजस्तै होऊन् भन्‍ने मात्र अपेक्षा गर्छन्—यदि तिनीहरूले यो सबै गरेका भए, के तिनीहरू अझै पनि मानव हुनेथिए र? यदि तिनीहरूले साँच्‍चै यी सबै माग पूरा गर्न सकेका भए, तिनीहरू मानव हुनेथिएनन्; तिनीहरू त खान वा पिउन नसक्‍ने, संसारका भौतिक चिन्ताबाट मुक्त, कहिल्यै नरिसाउने, र कुनै व्यक्तित्व नभएका गैरविश्‍वासीहरूले पुज्ने मूर्तिजस्ता हुनेथिए। अथवा तिनीहरू स्वतन्त्र रूपमा सोच्‍न वा प्रतिक्रिया दिन नसक्ने कठपुतली वा मेसिनजस्तै हुन्थे होलान्। कुनै पनि वास्तविक व्यक्तिसँग बाहिरी संसारका भनाइ र प्रतिबन्धसम्बन्धी राय र दृष्टिकोण हुनेछ—उसले अवश्यै सबै दमन नम्रतापूर्वक स्विकार्न सक्दैन। यसैले आधुनिक युगमा महिला अधिकारका आन्दोलनहरू देखा परेका छन्। लगभग सय वर्षको अवधिमा समाजमा महिलाको हैसियत बिस्तारै बढेको छ, र तिनीहरू बल्‍ल आफूलाई बाँध्‍ने जन्जिरबाट मुक्त भएका छन्। महिलाहरू कति वर्षसम्म यस बन्धनमा रहेका थिए? पूर्वी एशियामा, तिनीहरू कम्तीमा पनि हजारौँ वर्षसम्म त्यसको वशमा थिए। यो बन्धन अत्यन्तै क्रूर र निर्दयी थियो—तिनीहरूका खुट्टाहरू हिँड्न पनि नसकिने गरी बाँधिन्थ्यो र कसैले पनि अन्यायविरुद्ध यी महिलाहरूको प्रतिरक्षा गरेनन्। मैले सुनेको, १७ औँ र १८ औँ शताब्दीमा, केही पश्‍चिमी देश र क्षेत्रहरूमा पनि महिलाको स्वतन्त्रतामा निश्चित प्रतिबन्धहरू लगाइएको थियो। ती दिनमा तिनीहरू कसरी महिलाहरूमाथि प्रतिबन्धित लगाउँथे? तिनीहरू उनीहरूलाई हुप स्कर्ट लगाउन लगाउँथे जसलाई कम्मरमा धातुको खिपले कसेको हुन्थ्यो अनि धातुको गह्रौँ र लट्केका रिङहरूले थामेको हुन्थ्यो। यसले गर्दा महिलाहरूलाई घरबाट बाहिर निस्कन वा यताउता हिँड्न एकदमै असहज हुन्थ्यो र तिनीहरूको हिँड्डुल एकदमै कम हुन्थ्यो। त्यसकारण महिलाहरूलाई टाढासम्म हिँड्न वा आफ्नो घरबाहिर जान धेरै गाह्रो हुन्थ्यो। यी कठिन परिस्थितिमा महिलाहरू के गर्थे? तिनीहरूले गर्न सक्‍ने भनेकै चुपचाप सहेर घरमा बस्‍नु थियो, र तिनीहरू टाढासम्‍म हिँड्न सक्दैन थिए। यसो बाहिर यताउता हिँड्डुल गर्नु, दृश्यहरू हेर्नु, आफ्‍नो ज्ञान बढाउनु, वा साथीहरूलाई भेट्न जानु त सपनामा महल सजाउनु थियो। पश्‍चिमी समाजमा महिलाहरूलाई प्रतिबन्ध लगाउन यही विधि प्रयोग गरिएको थियो—यो समाजले महिलाहरू घरबाहिर निस्केको र आफूले चाहेको कसैसँग सम्पर्क गरेको चाहँदैनथ्यो। ती दिनहरूमा, पुरुषहरूले कुनै रोकटोकविना आफूले जहाँ चाह्यो त्यहीँ आफ्नो घोडागाडा चढेर जान सक्थे, तर महिलाहरूलाई घरबाहिर निस्कँदा सबै प्रकारका प्रतिबन्ध लगाइन्थ्यो। आधुनिक युगमा, अहिले महिलाहरूमा झन्-झन् कम प्रतिबन्धहरू लगाइएको छ: खुट्टा बाँध्ने प्रचलनलाई गैरकानुनी ठहराइएको छ र पूर्वीय महिलाहरू आफू कोसँग सम्बन्धमा रहने भनेर छनौट गर्न स्वतन्त्रता छन्। महिलाहरू अहिले तुलनात्मक रूपमा स्वतन्त्र छन् र क्रमिक रूपमा बन्धनको दलदलबाट बाहिर निस्कँदै छन्। उनीहरू यस दलदलबाट बाहिर निस्कने क्रममा, समाजमा प्रवेश गरेका छन् र बिस्तारै आफ्नो जिम्मेवारीमा उचित सहभागिता जनाउन थालेका छन्। महिलाहरूले समाजमा तुलनात्मक रूपले उच्‍च हैसियत हासिल गरेका छन्, र पहिलेको भन्दा बढी अधिकार र विशेषाधिकार पाउँछन्। क्रमिक रूपमा, केही देशमा महिला प्रधानमन्त्री र राष्ट्रपतिहरू निर्वाचित हुन थालेका छन्। महिलाको हैसियत बिस्तारै बढ्दै जानु मानवताका लागि राम्रो कि नराम्रो कुरा हो? कम्तीमा पनि, हैसियतको यो वृद्धिले गर्दा महिलाहरूले केही हदसम्म स्वतन्त्रता र मुक्ति पाउन सकेका छन्—महिलाको सन्दर्भमा यो पक्कै पनि राम्रो कुरा हो। के महिलाहरू स्वतन्त्र हुनु र तिनीहरूले अभिव्यक्तिको अधिकार पाउनु समाजका लागि लाभदायक छ? वास्तवमा, यो लाभदायक छ; महिलाहरू त्यस्ता धेरै काम गर्न सक्षम छन् जुन पुरुषहरू राम्रोसँग गर्दैनन् कि त गर्न चाहँदैनन्। महिलाहरू कामका धेरै क्षेत्रमा उत्कृष्ट हुन्छन्। आजकल, महिलाहरूले कार मात्र चलाउन सक्ने होइन, तर हवाईजहाज पनि उडाउन सक्छन्। कतिपय महिला राष्ट्रहरूको मामिला सम्‍हाल्‍ने पदाधिकारी वा राष्ट्रपतिको रूपमा पनि सेवा गरिरहेका छन्, र तिनीहरूले पुरुषले जस्तै आफ्नो काम राम्ररी गरिरहेका छन्—महिला र पुरुष समान हुन् भन्‍ने कुराको यो स्पष्ट झलक हो। अहिले महिलाहरूले पाउनुपर्ने अधिकारहरूलाई पूर्ण रूपमा प्रवर्धन र संरक्षण गरिँदै छ, जुन सामान्य घटना हो। अवश्य नै, महिलाहरूले आफ्नो अधिकार उपभोग गर्न पाउनु उचित कुरा हो, तर हजारौँ वर्षसम्म परिस्थिति खराब भइसकेपछि अहिले मात्र, यो फेरि मान्यता बनेको छ, अनि पुरुष र स्त्रीबीच मूलतः समानता आएको छ। यसलाई वास्तविक जीवनको दृष्टिकोणबाट हेर्दा, महिलाहरूले बिस्तारै सबै सामाजिक वर्ग र सबै उद्योगहरूमा आफ्नो उपस्थिति बढाइरहेका छन्। यसले हामीलाई के बताउँछ? यसले के बताउँछ भने सबै प्रकारका विभिन्‍न विशेषज्ञता भएका महिलाहरूले बिस्तारै आफ्नो प्रतिभालाई प्रयोग गरेर मानवजाति र समाजप्रति योगदान पुऱ्यारहेका छन्। कसैले यस कुरालाई जसरी हेरे पनि, यो मानवजातिका लागि अवश्य नै फाइदाजनक छ। यदि समाजमा महिलाहरूको अधिकार र हैसियत पुनर्स्थापित नगरिएको भए, तिनीहरूले कस्तो काम गरिरहेका हुनेथे? तिनीहरू घरमा आफ्‍नो पतिको हेरचाह गर्ने र आफ्ना छोराछोरी हुर्काउने, घरायसी मामिला सम्‍हाल्‍ने, अनि आफ्नो सद्गुणी, दयालु, सुशील र नैतिकवान् आचरण अभ्यास गर्ने गरिरहेका हुनेथिए—उनीहरूले आफ्ना सामाजिक जिम्मेवारीहरू पूरा गर्न पटक्‍कै सक्‍नेथिएनन्। अहिले महिलाहरूको अधिकार प्रवर्धन र संरक्षण भइरहेको हुनाले, उनीहरूले समाजमा सामान्य रूपमा योगदान दिन सक्छन्, र महिलाहरूले समाजमा दिएको मूल्य र योगदानबाट मानवजातिले फाइदा उठाएको छ। यस तथ्यबाट, पुरुष र महिला समान छन्, र पुरुषले महिलालाई तुच्छ ठान्‍ने वा दुर्व्यवहार गर्ने गर्नु हुँदैन, र महिलाको सामाजिक हैसियत बढाइनुपर्छ भन्‍ने कुरा पूर्णतया पक्‍का हो, र यसले समाजमा सुधार भइरहेको छ भन्‍ने सङ्केत गर्दछ। मानवजातिसँग अहिले लिङ्गबारे थप अन्तर्दृष्टिपूर्ण, सही र नियमसंगत बुझाइ छ, अनि परिणामस्वरूप, महिलाहरूले गर्न सक्दैनन् भनी मानिसहरूले सोच्‍ने गरेका कामहरूमा उनीहरू देखा पर्न थालेका छन्। महिला कामदारहरू अहिले प्रायजसो निजी उद्यमहरूमा मात्र कार्यरत छैनन्, तर महिलाहरूले वैज्ञानिक अनुसन्धान विभागहरूमा पद पाउनु सामान्य भएको छ, र राष्ट्रिय नेतृत्वको भूमिकामा सेवा गर्ने महिलाको अनुपात पनि बढ्दै गइरहेको छ। हामी सबैले महिला लेखक, गायिका, उद्यमी र वैज्ञानिकहरूबारे पनि सुनेका छौँ, धेरै महिला खेलकुद प्रतिस्पर्धाहरूमा च्याम्पियन र उपविजेता बनेका छन्, अनि युद्धको समयमा महिलाहरूले बहादुरी कमाएका छन्, यी सबै कुराले महिलाहरू पनि पुरुष समकक्षी जत्तिकै सक्षम छन् भन्‍ने कुरा प्रमाणित गर्दछन्। हरेक उद्योगमा कार्यरत महिलाको अनुपात बढ्दो छ र यो अपेक्षाकृत सामान्य हो। समकालीन समाजमा सबै व्यापार र पेशामा, महिलाविरुद्ध झन्-झन् कम पूर्वाग्रह हुँदै गइरहेको छ, समाज झन् निष्पक्ष छ अनि पुरुष र महिलाबीच साँचो समानता छ। अब महिलाहरूलाई नैतिक आचरणको “स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ” वा “महिलाले आफूलाई घरको चौघेरोभित्रै सीमित राख्नैपर्छ” भन्‍नेजस्ता भनाइ र मापदण्डहरूले बन्धन राख्दैनन् र परेख्दैनन्। महिला अधिकारहरूलाई अहिले तुलनात्मक रूपमा झनै सुरक्षित गरिएका छन्, र यसले लैङ्गिक समानताको सामाजिक वातावरणलाई साँच्चै झल्काउँछ।

हामी महिलाहरू सद्गुणी, दयालु, सुशील र नैतिकवान् हुनैपर्छ भनेर पुरुषहरूले माग गरेका मात्र देख्छौँ जस्तो छ, तर महिलाहरूले पनि पुरुषबाट यस्तो माग गरेको कहिल्यै देख्दैनौँ। यो त महिलाहरूलाई व्यवहार गर्ने एकदमै अनुचित तरिका हो, र केही हदसम्म स्वार्थी, घृणित र बेसरम तरिकासमेत हो। कसैले के पनि भन्‍न सक्छ भने महिलालाई यस्तो व्यवहार गर्नु त गैरकानुनी र दुर्व्यवहार हो। समकालीन समाजमा, धेरै देशले महिला र बालबालिकामाथि हुने दुर्व्यवहार निषेध गर्ने कानुनहरू बनाएका छन्। वास्तवमा, परमेश्‍वरसँग मानवजातिको लिङ्गबारे भन्नुपर्ने कुनै विशेष कुरा छैन, किनभने पुरुष र महिला दुवै परमेश्‍वरका सृष्टि हुन् र परमेश्‍वरबाट आउँछन्। मानवजातिको भाषामा भन्नुपर्दा, “हत्केला र हत्केलापछाडिको भाग दुवै मासुले बनेका हुन्छन्”—पुरुष वा महिलाप्रति परमेश्‍वरको कुनै विशेष पूर्वाग्रह छैन, न त उहाँ एउटा लिङ्गलाई वा अर्को लिङ्गलाई फरक माग गर्नुहुन्छ, किनभने तिनीहरू दुवै समान हुन्। त्यसकारण, तँ पुरुष भए पनि महिला भए पनि परमेश्‍वर तँलाई न्याय गर्न एउटै मानक प्रयोग गर्नुहुन्छ—उहाँले तँसँग कस्तो मानवता सार छ, तँ कुन मार्गमा हिँड्छस्, सत्यताप्रति तेरो मनोवृत्ति कस्तो छ, तँ सत्यतालाई प्रेम गर्छस् कि गर्दैनस्, तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छ कि छैन, र तँ उहाँमा समर्पित हुन सक्छस् कि सक्दैनस्, त्यो हेर्नुहुनेछ। परमेश्‍वर कुनै व्यक्तिलाई चुनेर कुनै निश्‍चित कर्तव्य निभाउनु वा कुनै निश्‍चित जिम्मेवारी पूरा गर्न तालिम दिने क्रममा, ऊ पुरुष हो कि महिला हो भनेर हेर्नुहुन्‍न। परमेश्‍वर मानिसहरू पुरुष भए पनि महिला भए पनि, तिनीहरूमा विवेक र समझ छ कि छैन, तिनीहरूसँग स्वीकार्य क्षमता छ कि छैन, तिनीहरू सत्यता स्वीकार गर्छन् कि गर्दैनन् र तिनीहरू कुन मार्गमा हिँड्छन् भनी हेरेर तिनीहरूलाई बढुवा दिनुहुन्छ र प्रयोग गर्नुहुन्छ। अवश्य नै, परमेश्‍वर मानवजातिलाई मुक्ति दिने र सिद्ध गर्ने क्रममा, तिनीहरूको लिङ्गबारे विचार गर्नुहुन्‍न। यदि तँ महिला होस् भने, परमेश्‍वर तँ सद्गुणी, दयालु, सुशील, वा नैतिकवान् छस् कि छैनस्, वा शिष्ट छस् कि छैनस् भनेर विचार गर्नुहुन्‍न, अनि उहाँ पुरुषहरूलाई उसको पुरुषार्थ र पुरुषत्वको आधारमा मूल्याङ्कन गर्नुहुन्‍न—यी कुरा परमेश्‍वरले पुरुष र स्त्रीलाई मूल्याङ्कन गर्ने मानक होइनन्। तैपनि, भ्रष्ट मानवजातिको दर्जामध्ये, महिलाविरुद्ध भेदभाव गर्नेहरू सधैँ हुन्छन्, जसले महिलाहरूलाई तिनीहरूको अधिकारबाट, तिनीहरूको न्यायोचित सामाजिक हैसियतबाट, समाजप्रति तिनीहरूमा हुनुपर्ने मूल्यबाट वञ्चित गर्न निश्चित अनैतिक र अमानवीय मागहरू राख्छन्, र जसले महिलाहरूको सकारात्मक विकास र समाजमा रहेको तिनीहरूको अस्तित्वलाई सीमित पार्ने र रोक्ने प्रयास गर्छन्, मनोवैज्ञानिक मानसिकतालाई बङ्ग्याइदिन्छन्। यसले गर्दा महिलाहरू आफ्नो सम्पूर्ण जीवन निराशाजनक र पीडादायी अवस्थामा बिताउँछन्, जहाँ यी विकृत अनि अस्वास्थ्यकर सामाजिक र नैतिक वातावरणमा अपमानजनक जीवनशैली सहनेबाहेक अरू कुनै विकल्प हुँदैन। यस्तो हुनुको एकमात्र कारण के हो भने समाज र सारा संसार शैतानद्वारा नियन्त्रित छ, र सबै प्रकारका पिशाचहरूले मानवजातिलाई मनपरी बहकाइरहेका छन् र भ्रष्ट पारिरहेका छन्। परिणामस्वरूप, मानिसहरू साँचो ज्योति देख्‍न सक्दैनन्, परमेश्‍वरलाई खोज्दैनन्, यसको सट्टा इच्छा नभए पनि वा अनजानमा शैतानको चाल र चलखेलमा जिउँछन्, आफूलाई मुक्त गर्न सक्दैनन्। तिनीहरू उम्कने एउटै मात्र तरिका भनेको सत्यता बुझ्न अनि शैतान र दुष्ट मानवजातिबाट आउने विभिन्‍न भ्रम, झूटो शिक्षा, दुष्ट शब्दहरू, र आधारहीन दाबीहरूलाई स्पष्टसित बुझ्न र चिन्न सक्नका लागि परमेश्‍वरका वचन, उहाँको देखापराइ र काम खोजी गर्नु हो। तबमात्र तिनीहरू यी बन्धन, दबाब र प्रभावहरूबाट मुक्त हुन सक्छन्। परमेश्‍वरका वचन र सत्यताअनुसार मानिसहरू र कामकुरा हेरेर अनि आफूलाई व्यवहारमा ढालेर र काम गरेर मात्र कुनै व्यक्ति मानव स्वरूपमा जिउन, मर्यादाका साथ जिउन, ज्योतिमा जिउन, आफूले गर्नुपर्ने काम गर्न, आफूले पूरा गर्नुपर्ने दायित्वहरू पूरा गर्न र, अवश्य नै, आफ्नो मूल्यको योगदान दिन, र परमेश्‍वरको नेतृत्व अनि सही विचार र दृष्टिकोणद्वारा डोरिएर आफ्‍नो जीवनको मिसन पूरा गर्न सक्छ—के यसरी जिउनु एकदमै अर्थपूर्ण हुँदैन र? (हजुर, हुन्छ।) शैतानले महिलाहरूबाट मागहरू गर्न र उनीहरूलाई कैयौँ हजार वर्षसम्म प्रतिबन्ध गर्न, नियन्त्रण गर्न, र दाससमेत बनाउनका लागि “स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ” भन्‍ने भनाइलाई कसरी प्रयोग गरेको छ भनेर मनन गर्दा, तिमीहरूमा कस्ता भावनाहरू आउँछन्? मानिसहरूले तिमी सबै महिलाहरूलाई “स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ” भन्‍ने भनाइ सुनाउँदा, के तिमीहरूलाई तुरुन्तै त्यसको विरोध गर्न मन लागेर, “त्यो कुरा नसुनाउनुहोस्! मसँग यसको कुनै सम्बन्ध छैन। म महिला भए पनि, महिलाहरूसँग यो भनाइको कुनै सम्बन्ध छैन भनेर परमेश्‍वरको वचनले भन्छ” भनेर भन्छौ? कतिपय पुरुषले यसो भन्‍नेछन्: “यदि तिमीसँग यसको कुनै सम्बन्ध छैन भने, यो भनाइ कोप्रति लक्षित छ त? के तिमी महिला होइनौ?” अनि तैँले जवाफ दिनेछस्: “हो, म महिला हुँ। तर ती शब्दहरू परमेश्‍वरबाट आएका होइनन्, ती सत्यता होइनन्। ती शब्दहरू शैतान र मानवजातिबाट आएका हुन्, तिनले महिलाहरूलाई कुल्चीमिल्ची गर्छन् र बाँच्न पाउनुपर्ने अधिकारबाट वञ्जित गर्छन्। ती शब्दहरू महिलाहरूका लागि अमानवीय र अन्यायपूर्ण छन्। म यसको प्रतिरोध गर्छु!” वास्तवमा प्रतिरोध गर्नु आवश्यक छैन। तैँले गर्नुपर्ने कुरा भनेको यस्ता भनाइहरूलाई सही तरिकाले सम्हाल्नु, ती अस्वीकार गर्नु, र तीद्वारा प्रभावित नहुनु र तिनको बन्धनमा नपर्नु हो। यदि, भविष्यमा कसैले तँलाई, “तपाईं महिलाजस्तो देखिनुहुन्‍न, पुरुषजस्तै रुखो बोल्नुहुन्छ। तपाईंसँग कसले विवाह गर्न चाहन्छ होला र?” भनेर भन्यो भने, तैँले कस्तो जवाफ दिनुपर्छ? तँ यसो भन्‍न सक्छस्, “यदि कसैले मसँग विवाह गर्दैन भने पनि, नगरोस्। के तपाईंले मर्यादासाथ जिउने एकमात्र तरिका भनेकै विवाह गर्नु हो भनेर भन्न खोज्नुभएको हो? के तपाईंले सद्गुणी, दयालु, सुशील, नैतिकवान् र सबैका प्रिय महिलाहरू मात्र वास्तविक महिला हुन् भन्न खोज्नुभएको हो? त्यो सही हुन सक्दैन—सद्गुणी, दयालु, सुशील र नैतिकवान् भन्‍ने शब्दहरूद्वारा महिलाहरूलाई परिभाषित गर्नु हुँदैन। महिलाहरूलाई तिनीहरूको लिङ्गद्वारा परिभाषित गर्नु हुँदैन, र तिनीहरू सद्गुणी, दयालु, सुशील र नैतिक छन् कि छैनन् भन्‍ने आधारमा तिनीहरूको मानवतालाई मूल्याङ्कन गर्नु हुँदैन, बरु परमेश्‍वरले मानिसको मानवता मूल्याङ्कन गर्ने मानक प्रयोग गरेर तिनीहरूको मूल्याङ्कन गर्नुपर्छ। यो नै तिनीहरूको मूल्याङ्कन गर्ने निष्पक्ष र वस्तुगत तरिका हो।” के अब तिमीहरूले “स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ” भन्‍ने यस भनाइबारे आधारभूत बुझाइ प्राप्त गऱ्यौ? मेरो सङ्गतिले अहिलेसम्म त यस भनाइको सान्दर्भिक सत्यता र मानिसहरूले यसलाई हेर्नका लागि राख्नुपर्ने सही दृष्टिकोणबारे स्पष्ट पारिसकेको हुनुपर्ने हो।

अर्को भनाइ पनि छ: “इनारको पानी पिउँदा, इनार खन्‍ने व्यक्तिलाई नबिर्सिनू।” म यस भनाइबारे सङ्गति गर्न चाहन्‍नँ। किन म यो भनाइबारे सङ्गति गर्न चाहन्‍नँ? यो भनाइको प्रकृति र “अरूको खातिर आफ्नो हित त्याग” भन्‍ने वाक्यांशको प्रकृति एउटै छ अनि यसमा अलि विकृत कुरा पनि छ। यदि कसैले इनारमा पानी लिन जाँदा हरेकपटक इनार खन्‍ने व्यक्तिलाई सम्झनुपऱ्यो भने त्यो कति असुविधा हुनेछ? कतिपय इनारलाई रातो रिबन र सुरक्षा मन्त्रले सजाइको हुन्छ—यदि मानिसहरूले त्यहाँ धूप पनि बाले र फलफूल पनि चढाए भने के त्यो अलि अनौठो हुँदैन र? म “इनारको पानी पिउँदा, इनार खन्‍ने व्यक्तिलाई नबिर्सिनू” भन्‍ने वाक्यांशको तुलनामा, “भावी पुस्ता विगतको पुस्ताले रोपेको रूखको छहारीमा रमाउँछन्” भन्‍ने भनाइलाई बढी रुचाउँछु, किनभने यो भनाइले मानिसहरू वास्तवमा व्यक्तिगत रूपमा अनुभव गर्न सक्छन् र जिउन सक्छन् भन्‍ने वास्तविकतालाई झल्काउँछ। रोपेको रूख बढेर छहारी दिन सक्‍ने हुन दसदेखि बीस वर्ष लाग्छ, त्यसैले रूख रोप्‍ने व्यक्तिले लामो समयसम्म त्यसको छहारीमा बिसाउन पाउँदैन, र त्यसपछिका पुस्ताहरूले मात्र जीवनभर यसबाट लाभ उठाउनेछन्। यो कामकुराको प्राकृतिक क्रम हो। यसको विपरीत, हरेकपटक इनारबाट पानी पिउँदैपिच्छे त्यो इनार खन्‍नेलाई स्मरण गर्नु अलि हावा खुस्केको कुरा हो। यदि प्रत्येक व्यक्तिले हरेकपटक पानी तान्‍न आउँदा इनार खन्‍नेलाई स्मरण र सम्झना गर्नुपऱ्यो भने के त्यो अलि पागलपन देखिँदैन र? यदि त्यो वर्ष खडेरी परेर धेरै मानिसले त्यो इनारबाट पानी तान्‍नुपरेको भए, सबैले त्यहाँ उभिएर पानी तान्‍नुअघि इनार खन्‍ने व्यक्तिलाई स्मरण गरेर मनन गर्दावर्दा, के मानिसहरूलाई पानी लगेर खाना पकाउन रोक्नेथिएन र? के यो वास्तवमै आवश्यक हुनेथियो? यसले सबैलाई ढिलो मात्र गराउनेथियो। के इनार खन्‍नेको आत्मा इनारछेउ बस्छ? के उसले तिनीहरूले स्मरण गरेको सुन्‍न सक्छ? यीमध्ये कुनै पनि कुराको पुष्टि गर्न सकिँदैन। त्यसैले “इनारको पानी पिउँदा, इनार खन्‍ने व्यक्तिलाई नबिर्सिनू” भन्‍ने यो वाक्यांश, हास्यास्पद र अर्थहीन छ। चिनियाँ परम्परागत संस्कृतिले नैतिक आचरणबारे यस्ता धेरै भनाइ अघि सारेको छ, जसमध्ये अधिकांश हास्यास्पद छन्, र यो निश्‍चित भनाइ त सबैभन्दा बढी हास्यास्पद छ। इनार खन्‍ने को थियो? उसले कसका लागि इनार खनेको थियो र किन? के उसनले साँच्‍चै सबै मानिस र पछिका पुस्ताहरूका लागि इनार खनेको थियो? उसको त्यही उद्देश्य थियो भन्‍ने छैन। उसले यो केवल आफ्ना लागि र आफ्नो परिवारलाई पिउने पानी जुटाउनकाका लागि बनाएको थियो—पछिल्ला पुस्ताहरूलाई विचार गरिएको थिएन। त्यसोभए, के यो त सबै पछिल्ला पुस्तालाई इनार खन्‍नेलाई स्मरण गर्न र धन्यवाद दिन लगाउन अनि उसले त्यो इनार सबै मानिसका लागि खनेको हो भनेर सोच्न लगाउन मानिसहरूलाई बहकाउनु र भ्रमित पार्नु होइन र? त्यसकारण, यो भनाइ अघि सार्ने व्यक्तिले आफ्नो सोच र दृष्टिकोण अरूमा जबरजस्ती लादिरहेको अनि तिनीहरूलाई आफ्ना विचार स्विकार्न बाध्य पारिरहेको थियो। यो अनैतिक कार्य हो र यसले गर्दा धेरै मानिसमा यस्तो भनाइप्रति झनै बढी घृणा, विद्रोह र अरुचि जाग्छ। यस्तो भनाइलाई बढावा दिनेहरूमा केही बौद्धिक दुर्बलता हुन्छन् जसले गर्दा तिनीहरूले यस्ता हास्यास्पद कुराहरू भन्छै भन्छ र गर्छै गर्छ। परम्परागत संस्कृतिका “इनारको पानी पिउँदा, इनार खन्‍ने व्यक्तिलाई नबिर्सिनू” र “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ” भन्‍ने भनाइजस्ता विचार र दृष्टिकोणले मानिसहरूमा कस्तो प्रभाव पार्छन्? शिक्षित मानिसहरू र थोरै ज्ञान भएकाहरूले परम्परागत संस्कृतिका यी भनाइहरूबाट के प्राप्त गर्छन्? के तिनीहरू साँच्‍चै असल मानिस बनेका हुन्छन्? के तिनीहरू मानव स्वरूपमा जिएका हुन्छन्? अवश्य नै हुँदैनन्। परम्परागत संस्कृतिको पूजा गर्ने यी नैतिकताका विशेषज्ञहरू नैतिकताको उच्च आसनमा बसेर मानिसहरूबाट आफ्नो जीवनको वास्तविक अवस्थासँग अलिकति पनि नमिल्‍ने नैतिक मागहरू गर्छन्—यो यस पृथ्वीमा बस्‍ने सबैका लागि अनैतिक र अमानवीय कुरा हो। तिनीहरूले प्रवर्धन गर्ने परम्परागत संस्कृतिका नैतिक दृष्टिकोणहरूले सामान्य विवेक भएको व्यक्तिलाई असामान्य समझशक्ति भएको व्यक्तिमा परिणत गर्न सक्छ, जो अरूलाई अशोचनीय र रहस्यमय लाग्‍ने कुराहरू भन्‍न सक्षम हुन्छ। यस्ता मानिसहरूको मानवता बिग्रिएको र मन खराब भएको हुन्छ। त्यसकारण, धेरै चिनियाँ मानिसले खेलकुद कार्यक्रम, सार्वजनिक स्थल र आधिकारिक परिवेशमा अलि अनौठा र मानिसहरूलाई बुझ्‍न गाह्रो हुने कुराहरू भन्‍ने झुकाव राख्नु अचम्म होइन। तिनीहरूले भन्‍ने सबै कुरा खोक्रो, हास्यास्पद सिद्धान्त हुन्छ र त्यससमा अलिकति पनि सच्चा वा व्यावहारिक कुरा हुँदैन। यो नै शैतानले मानवजातिलाई भ्रष्ट पारेको साँचो प्रमाण र परिणाम, अनि परम्परागत संस्कृतिले चिनियाँ मानिसहरूलाई कैयौँ हजार वर्षदेखि शिक्षा दिएको नतिजा हो। यी सबै कुराले इमानदारीपूर्वक र सच्‍चा रूपमा जिउने मानिसहरूलाई झूटो व्यवहार गर्ने, अनि अरूलाई धोका दिनका लागि भेष बदल्न र आफूलाई ढाकछोप गर्नमा सिपालु, अत्यन्तै सुसंस्कारी र सिद्धान्तबारे सिपालु ढङ्गमा राय दिन सक्षम देखिने, तर वास्तवमा, विकृत मानसिकताका र समझदारीपूर्वक बोल्न वा मानिसहरूसँग अन्तरक्रिया र कुराकानी गर्न नसक्‍ने मानिसहरूमा परिणत गरेको छ—तिनीहरूमा मुख्यतः यी सबै प्रकृति हुन्छन्। साँच्चै भन्‍नुपर्दा, त्यस्ता मानिसहरू मानसिक रोगको सिकार बन्‍न लागेका हुन्छन्। यदि तँ यी शब्दहरू स्वीकार गर्न सक्दैनस् भने, म तँलाई ती अनुभव गर्न प्रोत्साहित गर्छु। आजको सङ्गति यहीँ समाप्त हुन्छ।

अप्रिल २, २०२२

फूटनोटहरू:

क. मूल पाठमा “यो दाबीमा यस्तो छ” भनेर पढिन्छ।

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (६)

अर्को: सत्यता पछ्याउनु भनेको के हो (८)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्