सत्यता पछ्याउनु भनेको के हो (१३)

हामीले पछिल्लो भेलामा मुख्यतः परम्परागत संस्कृतिको “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइबारे सङ्गति गऱ्यौँ र त्यसलाई विश्‍लेषण गऱ्यौँ। शैतानले मानिसहरूको दिमाग भर्न प्रयोग गर्ने परम्परागत सांस्कृतिका भनाइ र सिद्धान्तहरू सही हुँदैनन्, न त त्यसले मानिसहरूलाई पालन गर्न लगाउने सानदार शब्दहरू नै सही हुन्छन्। त्यसको ठीक उल्टो, ती कुराहरूले मानिसहरूलाई अन्योल बनाउँछन् र बहकाउँछन्, अनि तिनीहरूको सोचलाई सीमित पार्छन्। परम्परागत संस्कृतिका गलत विचार र दृष्टिकोणहरूद्वारा मानिसहरूलाई शिक्षा दिनु, तिनीहरूको दिमाग भर्नु र तिनीहरूलाई प्रभाव पार्नुको अन्तिम उद्देश्य भनेको तिनीहरूलाई शासकवर्गको प्रभुत्वप्रति समर्पित हुन, अनि आफ्नो देश र पार्टीलाई प्रेम गर्ने, र आफ्नो घर र राज्य रक्षा गर्न कटिबद्ध व्यक्तिहरूको जस्तै बफादारीले शासकहरूको सेवा गर्न आश्‍वस्त पार्नु हो। यो कुरा राष्ट्रिय सरकारले मानवजाति र सबै विविध जनजातिहरूमाथि शासकहरूको नियन्त्रण सहज बनाउन अनि शासकहरूको शासनको स्थायित्व र तिनीहरूको नियन्त्रणअन्तर्गत समाजको मेलमिलाप र स्थायित्व थप बढाउन परम्परागत सांस्कृतिक शिक्षालाई लोकप्रिय बनाउँछ भनेर देखाउन पर्याप्त छ। शासकवर्गले परम्परागत सांस्कृतिक शिक्षालाई जे-जसरी प्रचारप्रसार र प्रवर्धन गरे पनि, र त्यसलाई जे-जसरी लोकप्रिय बनाए पनि, सामान्यतया नैतिक आचरणसम्बन्धी यी भनाइहरूले मानिसहरूलाई छल र बहकाउमा पारेका छन्, अनि साँचो र झूटो, असल र खराब, सही र गलत अनि सकारात्मक र नकारात्मक कुरा छुट्याउने तिनीहरूको क्षमतामा गम्भीर वाधा पुऱ्याएका छन्। के पनि भन्न सकिन्छ भने, नैतिक आचरणसम्बन्धी यी भनाइहरूले पूर्ण रूपमा कालोलाई सेतो बनाउने, सत्यलाई झूटसँग मिसाउने र जनसाधारणलाई धोका दिने काम गर्छन्, र यसले गर्दा मानिसहरू के सही र के गलत, के साँचो र के झूटो, परमेश्‍वरबाट के आउँछ र शैतानबाट के आउँछ भन्ने कुरा थाहै नहुने गरी परम्परागत संस्कृतिका यी विचारहरूको धोकामा पर्छन्। परम्परागत संस्कृतिले जे-जसरी हरप्रकारका कुराहरूलाई परिभाषित गर्ने र हरप्रकारका मानिसहरूलाई असल वा खराब, दयालु वा दुष्टको रूपमा वर्गीकरण गर्ने गर्छ त्यसले मानवजातिलाई बाधा, अन्योल र बहकाउमा पारेको छ, र मानिसहरूको सोचलाई परम्परागत संस्कृतिले प्रवर्धन गर्ने नैतिक आचरणसम्बन्धी विभिन्न भनाइहरूभित्र सीमितसमेत पारेको छ, जसले गर्दा तिनीहरू आफूलाई मुक्त गर्न सक्दैनन्। फलस्वरूप, धेरै मानिसहरूले स्वेच्छाले दियाबलस राजाप्रति निष्ठावान् रहने शपथ लिन्छन्, अन्त्यसम्‍मै अन्धो भक्ति देखाउँछन् र मृत्यसम्मै त्यो शपथ निभाउँछन्। यो परिस्थिति हालसम्म निरन्तर चल्दै आएको छ, तैपनि कमै मानिसहरूको मात्रै होस खुलेको छ। आजकल परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसहरूले सत्यता चिन्न सके पनि, तिनीहरूले त्यो स्विकार्ने र अभ्यास गर्ने क्रममा धेरै अवरोध आउँछन्। यो भन्‍न सकिन्छ कि यी अवरोधहरू मुख्यतः तिनीहरूको हृदयमा धेरै समयदेखि जरा गाडेर बसेका परम्परागत संस्कृतिका विचार र दृष्टिकोणबाट आउँछन्। ती कुराहरू पहिला त मानिसहरूले सिक्छन् तर त्यसपछि ती कुराहरू प्रबल बन्छन्, र तिनले मानिसहरूको सोचलाई पहिल्यै नियन्त्रण गरिसक्छन्, र यसबाट मानिसहरूलाई सत्यता स्विकार्न र परमेश्‍वरको कामप्रति समर्पित हुन नदिने अत्यन्तै धेरै अवरोधहरू पैदा हुन्छन्। यो एउटा पक्ष हो। अर्को पक्षचाहिँ मानिसहरूमा भ्रष्ट स्वभावहरू हुने भएकोले गर्दा हुन्छ, र आंशिक रूपमा यी भ्रष्ट स्वभावहरू परम्परागत संस्कृतिले मानिसहरूलाई धोका दिने र भ्रष्ट पार्ने गरेको कारण पैदा हुन्छन्। परम्परागत संस्कृतिले मानिसहरूको असल र खराब, साँचो र झूटो मापन गर्ने दृष्टिकोणमा गम्भीर असर र हस्तक्षेप गरेको छ, अनि मानिसहरूलाई गलत धारणा, विचार र दृष्टिकोण राख्‍ने तुल्याएको छ। यसले गर्दा मानिसहरूले सकारात्मक, सुन्दर र राम्रा कुरा, परमेश्‍वरले सृष्टि गर्नुभएका यावत्‌ थोकको नियमकानुन र परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्ने तथ्यलाई सकारात्मक तरिकाले स्विकार्न असक्षम भएका छन्। बरु, मानिसहरू धारणा र अनेकथरी अस्पष्ट र अवास्तविक विचारहरूले भरिन पुगेका छन्। शैतानले मानिसहरूमा हालिदिने विभिन्न विचारहरूका परिणामहरू यिनै हुन्। अर्को दृष्टिकोणबाट हेर्दा, परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी सबै विभिन्न भनाइहरू झूटा हुन्, ती भनाइहरूले मानिसहरूको सोच भ्रष्ट पार्छन्, तिनीहरूको मन खलबलाइदिन्छन्, तिनीहरूको सामान्य विचार प्रक्रियामा हानि गर्छन्, मानिसहरूको सकारात्मक कुरा र सत्यता स्विकार्ने कार्य प्रभावित पार्छन्, अनि परमेश्‍वरद्वारा सृष्टि गरिएका यावत्‌ थोकको नियमकानुनबारे मानिसहरूको विशुद्ध बुझाइमा पनि गम्भीर रूपमा असर गर्छन्।

एक हिसाबले, परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी विभिन्न भनाइहरूले मानिसहरूको सही र गलत छुट्याउने सही तरिकाहरू खलबलाइदिएका छन्, साथै तिनीहरूको स्वतन्त्र इच्छा पनि बिथोलिदिएका छन्। त्यसबाहेक, नैतिक आचरणसम्बन्धी यी विभिन्न भनाइहरू स्विकारिसकेपछि मानवजाति ढोँगी र नक्कली बनेका छन्। तिनीहरू बहाना बनाउन खप्पिस छन्—यहाँसम्म कि तिनीहरू झूटको खेती गर्ने, कालोलाई सेतो बनाउने, नकारात्मक, खराब र दुष्ट कुराहरूलाई सकारात्मक, सुन्दर र असल कुराको रूपमा लिने, र सकारात्मक, सुन्दर र असल कुरालाई नकारात्मक, खराब र दुष्ट कुराको रूपमा लिनेसमेत गर्छन्—तिनीहरू दुष्टताको पूजा गर्ने हदमा पुगिसकेका छन्। मानव समाजभरि, जुनै समयावधि वा जुनै राजवंश भए पनि, मानवजातिले समर्थन र श्रद्धा गर्ने कुराहरू मूलतः परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी यी भनाइहरू नै हुन्। नैतिक आचरणसम्बन्धी यी भनाइहरूको चरम प्रभावमा परेर, अर्थात् परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी यी भनाइहरूको बढ्दो गहन र सम्पूर्ण रूपको सिद्धान्त-शिक्षणमा परेर, मानिसहरूले यी भनाइहरूलाई थाहै नपाई अस्तित्वको पूँजी र अस्तित्वको नियमको रूपमा अपनाउँछन्। मानिसहरूले यी भनाइहरूलाई भित्री कुरो नखुट्याईकनै बस सर्लक्‍कै स्विकारिदिन्छन्, र यिनलाई सकारात्मक कुरा ठान्दै अरूसित कसरी व्यवहार गर्ने, मानिसहरू र विभिन्‍न कुराहरूलाई कसरी हेर्ने अनि कसरी आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने भन्नेबारे मार्गदर्शन गर्ने प्रमुख विचारधारा र मापदण्डको रूपमा लिइदिन्छन्। मानिसहरू यी कुरालाई समाजमा आफ्नो स्थान बनाउने वा प्रसिद्धि र प्रतिष्ठा कमाउने वा आफूलाई आदरणीय र श्रद्धेय बनाउने सर्वोच्च नियम ठान्छन्। कुनै पनि समयावधिको कुनै समाज वा राष्ट्रभित्रको कुनै समूहलाई हेर्‌—तिनीहरूले मानवजातिका सर्वोत्कृष्ट भनेर इज्जत, श्रद्धा र प्रशंसा गर्ने मानिसहरू अरू कोही नभई मानवजातिले भन्ने गरेका नैतिक आदर्शहरू मात्र हुन्। यस्ता मानिसहरूले पर्दापछाडि जुनै प्रकारको जीवन बिताए पनि, तिनीहरूको कार्यको अभिप्राय र मनसाय जे भए पनि र तिनीहरूको मानव सार जे भए पनि, तिनीहरूले वास्तवमा जे-जस्तो आचरण अँगाले पनि र अरूसँग जे-जसरी व्यवहार गरे पनि, अनि व्यक्तिको सुन्दर र असल नैतिक आचरणको खोलभित्र उसको सार जे-जसरी लपेटिएको भए पनि, यी कुराको कसैले वास्ता गर्दैन, न त कसैले थप अनुसन्धान गर्ने प्रयास नै गर्छ। जबसम्म तिनीहरू बफादार र देशभक्त रहन्छन् र जबसम्म तिनीहरूले शासकहरूप्रति निष्ठा देखाउँछन्, तबसम्म मानिसहरूले तिनीहरूको पूजा र प्रशंसा गर्छन्, र तिनीहरूलाई नायक मानेर अनुकरणसमेत गर्छन्, किनभने सबैले व्यक्तिको बाहिरी नैतिक आचरणलाई ऊ दयालु छ कि दुष्ट छ, असल छ कि खराब छ भनी आकलन गर्ने र उसको प्रतिष्ठा कस्तो छ भनी मापन गर्ने आधारको रूपमा लिन्छन्। बाइबलले नोआ, अब्राहाम, मोशा, अय्यूब र पत्रुसजस्ता थुप्रै प्राचीन सन्त र ज्ञानी व्यक्तिहरू अनि कैयौँ अगमवक्ता र अन्य यस्तै व्यक्तिहरूको कथालाई स्पष्टसँग अभिलेख गरेको भए पनि, अनि धेरै मानिसहरू यस्ता कथाहरूसँग परिचित भएका भए पनि, यी प्राचीन सन्त र ज्ञानीहरूको मानवता र नैतिक चरित्रलाई—वा परमेश्‍वरलाई उपासना गर्ने तिनीहरूको उदाहरण वा तिनीहरूले प्रकट गरेको परमेश्‍वरप्रतिको भयसमेतलाई—समाजमा वा राष्ट्रभरि वा मानिसहरूमाझ प्रवर्धन गर्ने अझै पनि कुनै देश, राष्ट्र वा समूह छैन। एउटा पनि देश, राष्ट्र वा समहूले यो काम गर्दैन। ईसाईधर्म राष्ट्रधर्म भएका देशहरू वा धार्मिक जनसंख्या बढी भएका देशहरूले समेत बाइबलमा अभिलेखित यी सन्त वा ज्ञानीहरूको मानव चरित्रप्रति वा परमेश्‍वरको भय मान्ने र आज्ञापालन गर्ने तिनीहरूको कथाप्रति ध्यान दिने वा श्रद्धा गर्ने गर्दैनन्। यसले कस्तो समस्या देखाउँछ? भ्रष्ट मानवजाति यति हदसम्म पतन भइसकेको छ कि मानिसहरूलाई सत्यतादेखि दिक्क लाग्छ, सकारात्मक कुरादेखि वाक्क लाग्छ र तिनीहरू दुष्टहरूलाई श्रद्धा गर्छन्। यदि परमेश्‍वरले मानिसहरूमाझ व्यक्तिगत तवरमा नबोल्नुभएको र काम नगर्नुभएको भए, र मानिसहरूलाई कुन कुरा सकारात्मक हो र कुन नकारात्मक, कुन कुरा सही हो र कुन गलत, कुन कुरा सुन्दर र असल छ, र कुन कुरा घिनलाग्दो छ, र यस्तै यस्तै अन्य कुराहरू स्पष्टसित नबताउनुभएको भए, मानवजातिले कहिल्यै असल र खराब, अनि सकारात्मक र नकारात्मक कुरा छुट्याउन सक्नेथिएनन्। मानवजातिको सुरुवातदेखि नै, अनि मानव विकासको क्रममा समेत, यी कार्यहरू अनि परमेश्‍वरको देखापराइ र कामका ऐतिहासिक अभिलेखहरू युरोप र अमेरिकाका कतिपय देश र जनजातिहरूमा आजको दिनसम्मै हस्तन्तरण हुँदै आएका छन्। तथापि, मानिसहरूले अझै पनि सकारात्मक र नकारात्मक कुरा वा सुन्दर तथा असल र घिनलाग्दो तथा खराब कुरा छुट्याउन सक्दैनन्। मानिसहरूले यसरी फरक छुट्याउन नसक्‍ने मात्र होइन, तिनीहरूले त शैतानका हरप्रकारका दाबीहरू जस्तै नैतिक आचरणसम्बन्धी भनाइहरू, साथै विभिन्न मानिस, मामिला र परिस्थितिहरूसम्बन्धी शैतानको गलत परिभाषा र अवधारणाहरूलाई पनि सक्रिय र स्वेच्छापूर्वक स्विकार्छन्। यसले के देखाउँछ? के यसले मानवजातिमा सकारात्मक कुरा स्वतन्त्र रूपले स्विकार्ने नैसर्गिक क्षमता हुँदैन, न त सकारात्मक र नकारात्मक कुरा, असल र खराब, सही र गलत, साँचो र झूटो छुट्याउने नैसर्गिक क्षमता नै हुन्छ भन्ने कुरा देखाउन सक्छ? (सक्छ।) मानवजातिमाझ दुई प्रकारका कुरा एकसाथ व्याप्त हुन्छन्, जसमध्ये एउटा शैतानबाट आउँछ, र अर्कोचाहिँ परमेश्‍वरबाट आउँछ। तर अन्त्यमा, मानव समाजभरि र मानव विकासको सम्पूर्ण इतिहासभरि, परमेश्‍वरद्वारा व्यक्त वचनहरू र उहाँले मानवजातिलाई सिकाउनु र बुझाउनुहुने सबै सकारात्मक कुराहरूलाई सम्पूर्ण मानवजातिले श्रद्धा गर्न सक्दैनन्, र यी कुरा मानवजातिमाझ मुख्य विचारधारा बन्नसमेत सक्दैनन्, न त यिनले मानिसहरूमा सही सोच नै ल्याउन सक्छन्, न त तिनीहरूलाई परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै कुराहरूमाझ सामान्य तवरमा जिउन नै मार्गदर्शन गर्न सक्छन्। मानिसहरू अचेतन रूपमै शैतानका विभिन्न भनाइ, विचार र अवधारणाहरूको मार्गदर्शनमै रहने र यी गलत दृष्टिकोणहरूको मार्गदर्शनमै जिउने गर्छन्। यस्तो जीवन जिउँदा, तिनीहरू निष्क्रिय रूपले नभई सक्रिय रूपले जिउँछन्। परमेश्‍वरले जे-जति काम गर्नुभएको भए पनि, उहाँले सबै थोक सृष्टि गरेर तीमाथि शासन गर्नुभएको भए पनि, अनि कतिपय देशमा परमेश्‍वरको कार्यद्वारा धेरै वचनहरू प्रदान गरिएको भए पनि, साथै आजको दिनसम्मै विभिन्न मानिस, मामिला र परिस्थितिहरूको परिभाषा हस्तान्तरण गरिएको भए पनि, मानवजाति अझै अचेतन रूपमै शैतानले तिनीहरूमा हालिदिने विभिन्न विचार र दृष्टिकोणअनुसार जिउँछन्। सम्पूर्ण मानव समाजमा र इसाईधर्म व्याप्त देशहरूमा समेत, शैतानले मानिसहरूमा हालिदिने र प्रवर्धन गर्ने यी विभिन्न विचार र दृष्टिकोणहरू नै मुख्यधारको विचार र दृष्टिकोण रहेका छन्। परमेश्‍वरले आफ्नो कार्य गरेर मानवजातिलाई जति नै सकारात्मक अभिव्यक्ति, सकारात्मक विचार र दृष्टिकोण, अनि मानिस, मामिला र परिस्थितिहरूको सकारात्मक परिभाषा दिनुभए पनि, ती निश्‍चित क्षेत्रमा मात्र रहन्छन्, र अझ खराब कुरा त, तिनलाई अल्पसंख्यक जनजातिका एकदमै थोरै मानिसहरूले मात्र कायम राख्छन्, र ती केही मानिसहरूको जिब्रोमा मात्र झुण्डिएका हुन्छन्, र तिनलाई मानिसहरूले जीवनभरि मार्गदर्शन गर्ने र डोऱ्याउने सकारात्मक कुराको रूपमा सक्रियपूर्वक स्विकार्न सक्दैनन्। यी दुई प्रकारका कुरालाई दाँजेर मूल्याङ्कन गर्दा, अनि शैतानबाट आएका नकारात्मक कुराहरू र परमेश्‍वरबाट आएका विभिन्न सकारात्मक कुराहरूप्रति मानवजातिको फरकफरक मनोवृत्ति मूल्याङ्कन गर्दा, सम्पूर्ण मानवजाति नै यो दुष्टको हातमा परेको देखिन्छ। यो तथ्य हो, र यो निश्‍चितसाथ ठोकेरै भन्न सकिन्छ। यसको मुख्य अर्थ हो, मानिसहरूको सोच, सोच्ने तरिका, अनि मानिस, मामिला र परिस्थितिसँग व्यवहार गर्ने तौरतरिका शैतानका विभिन्न विचार र दृष्टिकोणद्वारा नियन्त्रित, प्रभावित, र सीमित पारिन्छन्। मानव विकासको सम्पूर्ण इतिहासमा, चाहे त्यो जुनै चरण वा समयावधि भए पनि—चाहे त्यो तुलनात्मक रूपले पिछडिएको युगमा होस् वा हालको आर्थिक रूपले विकसित युग होस्—अनि चाहे त्यो जुनै प्रान्त, राष्ट्रियता वा मानिसहरूको समूह भए पनि, मानवजातिको अस्तित्वको ढाँचा, अस्तित्वको जग, अनि मानिस, मामिला र परिस्थितिसँग कसरी व्यवहार गर्ने भन्ने दृष्टिकोणहरू ती सबै परमेश्‍वरको वचनमा आधारित नभई शैतानले मानिसहरूमा हालिदिने विभिन्न विचारहरूमा आधारित हुन्छन्। यो एकदमै दुःखलाग्दो कुरा हो। परमेश्‍वर आफ्नो काम गर्न र मानवजातिलाई मुक्ति दिन मानिसहरू शैतानद्वारा गम्भीर रूपले भ्रष्ट तुल्याइएको परिवेशमा आउनुहुन्छ, जहाँ तिनीहरूको सोच र दृष्टिकोण, साथै हरप्रकारका मानिस, मामिला र परिस्थितिलाई हेर्ने तिनीहरूको शैली अनि तिनीहरूको जिउने र संसारसँग व्यवहार गर्ने तौरतरिका शैतानको विचारद्वारा पूर्णतया सीमित पारिएका छन्। यस्तो परिवेशमा मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कार्य कति कठिन र गाह्रो छ भनेर जोकसैले कल्पना गर्न सक्छ। अनि, यो कस्तो खालको परिवेश हो? उहाँ आफ्नो काम गर्न आउने यो परिवेश यस्तो छ, जहाँ मानिसहरूको हृदय र मन धेरै अघिदेखि नै शैतानी दर्शन र विषले भरिएको र सीमित पारिएको छ। उहाँ आफ्नो काम गर्न मानिसहरूसँग कुनै विचारधारा वा मानिस, मामिला र परिस्थितिबारे कुनै दृष्टिकोण नभएको परिवेशमा आउनुभएको छैन, उहाँ त मानिसहरूसँग विभिन्न मानिस, मामिला र परिस्थितिलाई हेर्ने दृष्टिकोण भएको अनि ती हेर्ने, सोच्ने र जिउने तौरतरिकाहरू शैतानले गम्भीर रूपमा भ्रमित पारेको र बहकाएको परिवेशमा आउनुभएको छ। अर्थात्, परमेश्‍वर काम गर्न र मानवजातिलाई मुक्त दिन मानिसहरूले शैतानको विचार र दृष्टिकोण पूर्णतया स्विकारेको अनि तिनीहरू शैतानी विचारले भरिएको, लतपतिएको, जकडिएको र अँठ्याइएको परिवेशमा आउनुभएको छ। यस प्रकारका मानिसहरूलाई परमेश्‍वर मुक्ति दिनुहुन्छ, र यसले उहाँको काम कत्ति गाह्रो छ भनेर देखाउँछ। परमेश्‍वर शैतानी विचारहरूद्वारा भरिएका र सीमित पारिएका यस्ता मानिसहरूले सकारात्मक र नकारात्मक कुरा, सुन्दरता र कुरूपता, सही र गलत, सत्यता र दुष्ट भ्रमलाई पुनः चिनून् र छुट्याऊन् अनि अन्त्यमा तिनीहरू शैतानले हालिदिने विभिन्न विचार र भ्रमहरू सबैलाई हृदयदेखि नै घृणा र इन्कार गर्ने हदमा पुग्न सकून्, र यसरी तिनीहरूले परमेश्‍वरबाट आउने सही दृष्टिकोण र जीवन जिउने सही तरिका सबै स्विकारून् भन्‍ने चाहनुहुन्छ। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुको खास अर्थ यही हो।

मानवताको जुनै समयावधिमा भए पनि वा समाज विकासको जुनै चरणमा पुगेको भए पनि, वा शासकहरूको शासन पद्धति जे भए पनि—चाहे यो सामन्ती अधिनायकवाद होस् वा लोकतान्त्रिक सामाजिक प्रणाली—यी कुनै पनि कुराले शैतानद्वारा प्रवर्धित नैतिक आचरणसम्बन्धी विभिन्न विचारधारा र भनाइहरू मानव समाजमा व्याप्त छन् भन्ने तथ्य परिवर्तन गर्दैन। सामन्ती समाजदेखि लिएर वर्तमान समाजसम्म, शासकहरूको शासनको दायरा, मार्गदर्शक सिद्धान्त र ढाँचा घरिघरि परिवर्तन हुने भए पनि, अनि विभिन्न जनजाति, सम्प्रदाय, र विभिन्न आस्थाका समुदायहरूको सङ्ख्या पनि निरन्तर परिवर्तन भइरहने भए पनि, शैतानले मानिसहरूमा हालिदिने परम्परागत संस्कृतिका विभिन्न भनाइहरूको विष अझै पनि व्याप्त छ र फैलिरहेको छ, त्यसले मानिसहरूको सोच र प्राणभित्र गहिरो जरा गाडिरहेको छ, र तिनीहरूको अस्तित्वको ढाँचा नियन्त्रित गरिरहेको छ अनि मानिस, मामिला र परिस्थितिप्रतिको तिनीहरूको सोच र दृष्टिकोण प्रभावित पारिरहेको छ। यो विषले अवश्यै परमेश्‍वरप्रतिको मानिसहरूको मनोवृत्तिमा पनि नराम्रो असर गर्छ, अनि सत्यता र सृष्टिकर्ताको मुक्ति स्विकार्ने मानवजातिको इच्छा र चाहनामा पनि गम्भीर क्षय गराउँछ। तसर्थ, परम्परागत संस्कृतिबाट आउने नैतिक आचरणसम्बन्धी यी ठेट भनाइहरूले सधैँ समग्र मानवजातिमा मानिसहरूको सोच नियन्त्रित गरेका छन्, अनि मानवजातिमाझ तिनको प्रमुख स्थान र भूमिका कुनै पनि समयावधि वा सामाजिक परिवेशमा परिवर्तन भएका छैनन्। कुनै शासकले जुनै समयावधिमा शासन गरे पनि, वा ऊ लगनशील भए पनि वा पश्‍चगामी विचारको भए पनि, वा उसको शासन पद्धति लोकतान्त्रिक वा अधिनायकवाद जेसुकै भए पनि, यीमध्ये कुनै कुराले पनि परम्परागत संस्कृतिले मानवजातिमाथि पार्ने अन्योल र नियन्त्रण रोक्न र हटाउन सक्दैन। ऐतिहासिक समयावधि जेसुकै भए पनि, वा जुनसुकै जनजातिमा भए पनि, वा मानव आस्थाको जति नै प्रगति वा परिवर्तन भएको भए पनि अनि मानिसहरूले जीवन र सामाजिक प्रचलनबारे आफ्नो सोचमा जति नै प्रगति र परिवर्तन गरेका भए पनि, परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी भनाइहरूले मानव सोचमा पार्ने प्रभाव कहिल्यै परिवर्तन भएको छैन, र तिनले मानिसहरूमाथि पार्ने असरको शक्ति कहिल्यै गुमेको छैन। यस दृष्टिकोणबाट हेर्दा, नैतिक आचरणसम्बन्धी भनाइहरूले मानिसहरूको सोचलाई असाध्यै गहन रूपमा सीमित पारेका छन्, अनि मानवजातिबीचको सम्बन्धलाई मात्र होइन, सत्यताप्रतिको मानिसहरूको मनोवृत्तिलाई पनि चरम प्रभाव पारेका छन्, अनि सृष्टि गरिएको मानवजाति र सृष्टिकर्ताबीचको सम्बन्धलाई पनि गम्भीर असर र हानि गरेका छन्। अवश्यै यो पनि भन्न सकिन्छ कि शैतानले परमेश्‍वरद्वारा सृष्टि गरिएको मानवजातिलाई प्रलोभित गर्न, छल्न, उदासीन बनाउन र सीमित पार्न परम्परागत संस्कृतिका विचारहरू प्रयोग गर्छ, र त्यसले यी विधिहरू मानवजातिलाई परमेश्‍वरबाट खोस्नको लागि प्रयोग गर्छ। परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी विचारहरू मानवजातिमाझ जति धेरै फैलिन्छन्, उति नै बढी तिनले मानिसहरूको हृदयमा गहिरो जरा गाड्छन्, र उति नै बढी मानिसहरू परमेश्‍वरबाट टाढिन्छन्, अनि उति नै बढी तिनीहरूको मुक्ति पाउने आशा क्षीण हुन्छ। यसबारे सोच्, सर्पले आदम र हव्वालाई असल र खराबको ज्ञान दिने रूखको फल खान प्रलोभित गर्नुअघि, तिनीहरूले यहोवा परमेश्‍वर आफ्ना प्रभु र पिता हुनुहुन्छ भनेर विश्‍वास गर्थे। तर जब सर्पले हव्वालाई “के परमेश्‍वरले बगैँचाको हरेक रूखबाट तिमीहरूले खानु हुँदैन भनी भन्‍नुभएको छ?” (उत्पत्ति ३:१) र “तिमीहरू निश्‍चय नै मर्नेछैनौ: किनभने परमेश्‍वरलाई थाहा छ, तिमीहरूले त्यसबाट खाएको दिन, तिमीहरूको आँखा खुल्नेछ अनि असल र खराबलाई चिनेर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ” (उत्पत्ति ३:४-५), भन्दै प्रलोभनमा पाऱ्यो, तब आदम र हव्वा सर्पको प्रलोभनमा परे अनि परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध तुरुन्तै परिवर्तन भयो। कस्तो परिवर्तन भयो? तिनीहरू परमेश्‍वरसामु नग्न आउन छोडे, बरु आफूलाई ढाक्ने र लुकाउने वस्तुहरू खोज्‍न थाले, अनि परमेश्‍वरको उपस्थितिको ज्योतिबाट तर्कन थाले; परमेश्‍वरले तिनीहरूलाई खोज्नुहुँदा, तिनीहरू उहाँबाट लुक्‍न थाले र पहिलेजसरी उहाँसँग आमनेसामने कुरा गर्न छोडे। आदम र हव्वाको परमेश्‍वरसँगको सम्बन्धमा यो परिवर्तन तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाएकाले गर्दा नभई, सर्पले अर्थात् शैतानले बोलेका शब्दहरूले मानिसहरूमा गलत प्रकारको सोच हालिदिएकाले, अनि परमेश्‍वरलाई शङ्का गर्न, उहाँबाट टाढा जान र उहाँबाट लुक्न प्रलोभन र बहकाउमा पारेकोले गर्दा आएको थियो। त्यसरी, मानिसहरूले परमेश्‍वरको उपस्थितिको ज्योतिलाई सिधै हेर्न र उहाँसामु पूर्णतया नग्न आउन चाहेनन्, अनि मानिसहरू र परमेश्‍वरबीच दूरी बन्यो। यो दूरी कसरी बन्यो? यो दूरी परिस्थितिमा परिवर्तन भएकोले वा समय बितेकोले नभई मानिसहरूको हृदय परिवर्तन भएकोले बनेको थियो। मानिसहरूको हृदय कसरी परिवर्तन भयो? मानिसहरू आफै अग्रसर भएर हृदय परिवर्तन भएको थिएन। बरु, यो परिवर्तन त सर्पले बोलेका शब्दहरूले गर्दा भएको थियो, ती शब्दहरूले मानिस र परमेश्‍वरबीच फाटो ल्याए, मानिसहरूलाई परमेश्‍वरबाट अलग्याए र तिनीहरूलाई परमेश्‍वरको उपस्थितिको ज्योतिबाट तर्किन, उहाँको हेरचाहबाट अलग बस्‍न र उहाँको वचनमाथि शङ्का गर्न लगाए। यस्तो परिवर्तनको परिणाम के भयो? मानिसहरू पहिलेजस्ता रहेनन्, तिनीहरूको हृदय र सोच त्यस्तो शुद्ध रहेन, अनि तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वर र आफ्नो सबैभन्दा घनिष्ठ व्यक्तिको रूपमा मान्न छोडे, बरु उहाँलाई शङ्का गर्न र उहाँसँग डराउन थाले, र यसरी तिनीहरू उहाँदेखि टाढिए र तिनीहरूले परमेश्‍वरबाट लुक्ने र टाढा रहने मानसिकता विकास गरे, अनि यही नै मानवजातिको पतनको सुरुवात थियो। मानवजातिको पतनको सुरुवात शैतानले व्यक्त गरेका शब्दहरूले उत्पन्न गरेका थिए, र ती शब्दहरू विषालु, प्रलोभनमा पार्ने र बहकाउने खालका थिए। ती शब्दहरूले मानिसहरूमा हालिदिएको सोचले गर्दा तिनीहरूले परमेश्‍वरलाई शङ्का गरे, गलत बुझे र तिनीहरू उहाँप्रति शङ्कालु भए, उहाँदेखि टाढिए, त्यसैले तिनीहरू परमेश्‍वरसामु आउन अनिच्छुक मात्र भएनन, तिनीहरूले त उहाँदेखि लुक्न पनि चाहे, अनि उहाँले भन्‍नुभएका कुराहरू विश्‍वास गर्नसमेत छोडे। यसबारे परमेश्‍वरले के भन्नुभयो? परमेश्‍वरले भन्‍नुभयो: “तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्” (उत्पत्ति २:१५-१७)। तर अर्कोतर्फ शैतानले असल र खराबको ज्ञान दिने रूखको फल खाने मानिसहरू अवश्यै मर्नेछैनन् भनेर भन्यो। शैतानले छली शब्दहरू बोलेको हुनाले मानिसहरूले परमेश्‍वरका वचनहरूलाई शङ्का र इन्कार गर्न थाले, अर्थात् मानिसहरूले आफ्नो हृदयमा परमेश्‍वरबारे विचार पैदा गरे र तिनीहरू पहिलेजस्तो शुद्ध रहेनन्। मानिसहरूमा भएका यी विचार र शङ्काहरूले गर्दा, तिनीहरूले परमेश्‍वरका वचनहरूमा विश्‍वास पटक्कै विश्‍वास गरेनन् र परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ अनि मानिस र परमेश्‍वरबीच अपरिहार्य सम्बन्ध छ भनेर विश्‍वास गर्न छोडे अनि परमेश्‍वरले मानिसहरूको रक्षा र ख्याल गर्न सक्नुहुन्छ भनेरसमेत विश्‍वास गर्न छोडे। मानिसहरूले यी कुराहरू विश्‍वास गर्न छोडेदेखि, तिनीहरू परमेश्‍वरको हेरचाह र सुरक्षा स्विकार्न अनि अवश्यै परमेश्‍वरको मुखारवृन्दबाट आउने कुनै पनि वचन स्विकार्न इच्छुक भएनन्। शैतानका प्रलोभित पार्ने शब्दहरूले गर्दा मानवजातिको पतन हुन थाल्यो, अनि यो पतन शैतानले मानिसहरूमा हालिदिएको विचार र दृष्टिकोणबाटै सुरु भयो। अनि अवश्यै, यो पतन शैतानले मानिसहरूमाथि गरेको प्रलोभन, बहकाउ र छलले गर्दा पनि सुरु भएको थियो। शैतानले मानिसहरूमा हालिदिएको यो विचार र दृष्टिकोणले तिनीहरूलाई परमेश्‍वर वा उहाँका वचनहरूमा विश्‍वास नगर्न अनि परमेश्‍वरलाई शङ्का गर्न, गलत बुझ्न, सन्देह गर्न, उहाँबाट लुक्न, उहाँबाट तर्किन, उहाँले भनेको कुरा नमान्न, उहाँको पहिचान इन्कार गर्न, अनि मानिसहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने कुरासमेत इन्कार गर्न लगायो। शैतानले यसरी नै मानिसहरूलाई चरणबद्ध रूपमा प्रलोभनमा पार्छ र भ्रष्ट तुल्याउँछ, र यसरी नै परमेश्‍वरसँगको तिनीहरूको सम्बन्धमा भाँजो हाल्छ र हानि पुऱ्याउँछ, अनि यसरी नै मानिसहरूलाई परमेश्‍वरसामु आउन र उहाँको मुखविवरबाट निस्केका कुनै पनि वचनहरू स्विकार्नबाट रोक्छ। शैतानले सत्यता खोज्ने र परमेश्‍वरको वचन स्विकार्ने मानिसहरूको इच्छा निरन्तर बिथोलिरहेको छ। मानिसहरू शैतानका विभिन्न भनाइको प्रतिरोध गर्न असमर्थ भएकाले थाहै नपाई ती भनाइद्वारा क्षयीकृत र लतपत बन्छन्, अनि अन्त्यमा पतित भएर परमेश्‍वरको शत्रु र विरोधी बन्ने हदसम्म पुग्छन्। यो मूलतः नैतिक आचरणसम्बन्धी भनाइहरूले मानवजातिमा पुर्‍याएको प्रभाव र हानि हो। हामीले यी कुराहरूबारे सङ्गति गरेर अवश्यै यिनलाई जरैदेखि विश्‍लेषण पनि गरिरहेका छौँ, ताकि मानिसहरूले कसरी शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउँछ र यसले कस्ता पद्धतिहरू प्रयोग गर्छ भनेर आधारभूत बुझाइ प्राप्त गर्न सकून्। मानवजातिलाई भ्रष्ट तुल्याउने शैतानको प्रमुख चाल भनेको मानिसहरूको सोच र दृष्टिकोणलाई लक्षित गर्नु, मानिसहरू र परमेश्‍वरबीचको सम्बन्ध नष्ट गर्नु अनि तिनीहरूलाई परमेश्‍वरबाट क्रमिक रूपमा खोस्दै लैजानु हो। सुरुमा, मानिसहरूले परमेश्‍वरका वचनहरू सुनेपछि ती सही छन् भनेर विश्‍वास गरे, अनि ती वचनअनुसार कार्य र अभ्यास गर्न चाहे। ठीक यही परिस्थितिमै शैतानले हरप्रकारको विचार र शब्दहरू प्रयोग गऱ्यो, र मानिसहरूमा भएको अलिकति विश्‍वास, सङ्कल्प र आकाङ्क्षा, साथै थोरै सकारात्मक कुरा र सकारात्मक इच्छालाई अलिअलि गर्दै क्षयीकृत र टुक्राटुक्रा पारिदियो, र तिनको ठाउँमा आफ्नै भनाइ, परिभाषा, विचार र विभिन्न कुराहरूसम्बन्धी धारणाहरू राखिदियो। यस तरिकाबाट, मानिसहरू अनजानमै शैतानको विचारद्वारा नियन्त्रित हुन्छन् अनि यसको बन्दी र दास बन्छन्। के कुरा यस्तै होइन र? (हो।) मानव इतिहासमा, मानिसहरू शैतानको विचारलाई जतिजति गहन र ठोस रूपमा स्विकार्छन्, उतिउति नै मानवजाति र परमेश्‍वरबीचको सम्बन्ध टाढिने गरेको छ, अनि उतिउति नै “मानवजाति सृष्टि गरिएका प्राणी हुन् र परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ” भन्ने सन्देश मानिसहरूबाट टाढाको कुरा हुने र यसमाथि झन्झन् धेरै मानिसहरूको विश्‍वास र स्वीकार नहुने गरेको छ। बरु, यो सन्देशलाई मिथ्या र किंवदन्ती, हुँदै नभएको तथ्य, र दुष्ट भ्रम ठानिन्छ, यहाँसम्म कि यसलाई आजको समाजका केही मानिसहरूले झूटो शिक्षा भनेर निन्दासमेत गर्छन्। के भन्‍न सकिन्छ भने, यो सब मानवजातिमाझ व्यापक रूपमा फैलाइएका शैतानका विभिन्न दुष्ट भ्रमहरूको परिणाम र प्रभाव हो। के पनि भन्‍न सकिन्छ भने, मानव विकासको इतिहासभरि, शैतानले मानिसहरूलाई सिकाउने, र तिनीहरूको बोली र कार्यको नियमन गर्ने, र यस्तै यस्तै सकारात्मक कुराहरू गर्ने बहानामा एकएक कदम गर्दै गरी पाप र मृत्युको खाडलमा हालेको छ, र मानवजातिलाई परमेश्‍वरको उपस्थितिको ज्योतिबाट, उहाँको हेरचाह र सुरक्षाबाट अनि उहाँको मुक्तिबाट टाढा लगेको छ। बाइबलको पुरानो नियममा परमेश्‍वरका दूतहरू मानिसहरूसँग कुरा गर्न र तिनीहरूमाझ बस्न आएको विवरण अभिलेख गरिएको छ, तर यस्ता कुराहरू विगत २,००० वर्षमा हुन छोडेका छन्। यसको कारण के हो भने, सम्पूर्ण मानवजातिमाझ बाइबलमा उल्लेख गरिएका नोआ, अब्राहाम, मोशा, अय्यूब वा पत्रुसजस्ता प्राचीन सन्त र ज्ञानीहरू अब कोही छैनन्, अनि सम्पूर्ण मानवजाति शैतानका विचार र भनाइहरूले भरिएका र जकडिएका छन्। यो मामिलाको सत्यता यही हो।

अहिले भर्खरै हामीले सङ्गति गरेको कुरा परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी भनाइहरूको सारको एउटा पक्ष हो, अनि यो शैतानद्वारा मानवजाति भ्रष्ट पारिने कुराको सङ्केत, प्रमाण र प्रतिक हो। यसलाई यी मामिलाहरूको सारबाट हेर्दा, कुनै अपवादविना सारा मानवजाति—चाहे तिनीहरू साना केटाकेटी होऊन् वा वृद्ध वरिष्ठ व्यक्तिहरू, वा तिनीहरू जुनै सामाजिक वर्गमा जिउने भए पनि, वा तिनीहरू जुनै सामाजिक पृष्ठभूमिबाट आएका भए पनि—तिनीहरू सबै शैतानका विभिन्न भनाइहरूद्वारा सीमित पारिएका हुन्छन्, र त्यसको गहिराइमा कुनै भिन्नता हुँदैन, अनि तिनीहरू सबै पूर्णतया शैतानी विचारहरूद्वारा भरिएको अस्तित्वको ढाँचाभित्र जिउँछन्। अनि, नकार्नै नसकिने तथ्य के हो? त्यो हो, शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याइरहेको छ। यसले मानिसहरूको विभिन्न अङ्गलाई होइन बरु तिनीहरूको सोचलाई भ्रष्ट पार्छ। मानिसहरूको सोचलाई भ्रष्ट तुल्याउँदा सारा मानवजाति परमेश्‍वरविरुद्ध जान्छन्, त्यसैले परमेश्‍वरद्वारा सृष्टि गरिएका मानवजातिले उहाँको उपासना गर्न सक्दैनन्, बरु उहाँविरुद्ध विद्रोह गर्न, उहाँको प्रतिरोध गर्न, र उहाँलाई धोका दिन र इन्कार्न शैतानका हरप्रकारका विचार र दृष्टिकोणहरू प्रयोग गर्छन्। यो शैतानको महत्त्वाकाङ्क्षा र धूर्त चाल हो, अनि यो अवश्यै शैतानको साँचो रूप पनि हो, र यसरी शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउँछ। तर शैतानले मानवजातिलाई जति नै हजार वर्षदेखि भ्रष्ट तुल्याउँदै आएको भए पनि, वा जति नै धेरै तथ्यहरूले शैतानद्वारा मानवजाति भ्रष्ट पारिने कुरा औँल्याए पनि, वा यसले मानवजातिलाई भ्रष्ट पार्न प्रयोग गर्ने विभिन्न विचार र दृष्टिकोण जति नै गलत र निरर्थक भए पनि अनि ती कुराहरूद्वारा मानव सोच जति नै गहन रूपमा सीमित पारिए पनि—सङ्क्षेपमा भन्नुपर्दा, यो सबको बाबजुद पनि, जब परमेश्‍वर मानिसहरूलाई मुक्ति दिने आफ्नो काम गर्न आउनुहुन्छ र जब उहाँ सत्यता व्यक्त गर्नुहुन्छ, त्यस्तो परिवेशमा मानिसहरू जिउने भए पनि, परमेश्‍वरले तिनीहरूलाई अझै पनि शैतानको प्रभुत्वबाट खोसेर फिर्ता लिन सक्नुहुन्छ, र उहाँले अझै पनि तिनीहरूलाई जित्‍न सक्‍नुहुन्छ। अनि अवश्यै परमेश्‍वरले अझै पनि मानिसहरूलाई सत्यता बुझाउन, तिनीहरूलाई आफ्नो भ्रष्टताको सार र सत्यता ज्ञात गराउन, तिनीहरूको शैतानी स्वभाव हटाउन, र तिनीहरूलाई उहाँको आज्ञापालन गर्ने, उहाँको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने बनाउन सक्नुहुन्छ। यो अपरिहार्य रूपमा प्राप्त गरिने अन्तिम परिणाम हो, र साथै यो ६,००० वर्षे व्यवस्थापन योजना निश्‍चय नै सफल हुने प्रवृत्ति पनि हो, जसमा परमेश्‍वर आफ्नो महिमासहित सबै देश र मानिसहरूकहाँ देखा पर्नुहुन्छ। यो त परमेश्‍वरको वचनले भनेजस्तै कुरा हो, “परमेश्‍वरको वचन जत्ति असल छ उहाँ त्यति नै असल हुनुहुन्छ, र उहाँको वचन पूरा हुनेछ, अनि उहाँले जे हासिल गर्नुहुन्छ ती सदासर्वदा रहिरहन्छन्।” यो वाक्य साँचो हो। के तिमीहरू यसमा विश्‍वास गर्छौ? (गर्छौँ।) यो निश्‍चय नै साकार हुने तथ्य हो, किनभने परमेश्‍वरको कामको अन्तिम चरण मानवजातिलाई सत्यता र जीवन दिने कार्य हो। केवल तीस वर्षको छोटो अवधिमा, ठूलो संख्यामा मानिसहरू परमेश्‍वरसामु आएका छन्, उहाँले तिनीहरूलाई जित्नुभएको छ, र अहिले तिनीहरू अटल सङ्कल्पले उहाँलाई पछ्याउँदै छन्। तिनीहरू शैतानबाट कुनै लाभ लिन चाहँदैनन्, बरु परमेश्‍वरबाट सजाय र न्याय अनि उहाँको मुक्ति स्विकार्न इच्छुक छन्, र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो स्थान ग्रहण गर्न अनि सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तहरू स्विकार्न इच्छुक छन्। के यो परमेश्‍वरको योजना सफल हुने सङ्केत होइन र? (हो।) यो स्थापित तथ्य हो, साथै साकार भइसकेको तथ्य पनि हो अनि यो अवश्यै अहिले भइरहेको र भइसकेको कुरा पनि हो। शैतानले मानवजातिलाई जे-जसरी भ्रष्ट तुल्याए पनि, वा त्यसले जुनै पद्धति प्रयोग गरे पनि, परमेश्‍वरसँग सधैँ मानिसहरूलाई शैतानको प्रभुत्वबाट खोसेर फिर्ता ल्याउने, तिनीहरूलाई मुक्ति दिने, उहाँसामु फर्काएर ल्याउने अनि मानवजाति र सृष्टिकर्ताबीचको सम्बन्ध पुनर्स्थापित गर्ने तरिका हुन्छ। यो परमेश्‍वरको सर्वशक्तिमान्‌ता र अख्तियार हो, अनि तैँले विश्‍वास गरे पनि नगरे पनि, ढिलोचाँडो त्यो दिन आउने नै छ।

हामीले पछिल्लो भेलामा नैतिक आचरणसम्बन्धी “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइबारे सङ्गति गऱ्यौँ अनि केही समय यस भनाइभित्रका मापदण्ड, अभिव्यक्ति, विचार र दृष्टिकोणहरू विश्‍लेषण र खुलासा गर्नमा बितायौँ, र मानिसहरूले यसको सारबारे निश्‍चित बुझाइ प्राप्त गरेका छन्। यस पक्षसँग सम्बन्धित विषयको सन्दर्भमा भन्नुपर्दा, अवश्य नै हामीले परमेश्‍वरको अभिप्राय खासमा के हो, उहाँको मनोवृत्ति कस्तो छ, यसमा कस्ता सत्यताहरू समावेश छन् र मानिसहरूले मृत्युलाई कसरी हेर्नुपर्छ भनेर पनि सङ्गति गऱ्यौँ। मानिसहरूले सत्यता र परमेश्‍वरको अभिप्राय बुझेपछि, जब यस्ता कुराको सामना गर्छन्, तब तिनीहरूले यस्ता मामिलालाई परमेश्‍वरको वचनअनुसार हेर्नुपर्छ र तिनलाई सत्यताअनुसार सम्हाल्नुपर्छ, ताकि तिनीहरूले परमेश्‍वरको मापदण्ड पूरा गर्न सकून्। त्यसबाहेक, नैतिक आचरणसम्बन्धी हामीले पछिल्लोपटक उल्लेख गरेको भनाइ—“रेसम कीराले बाँचुन्जेल धागो बुन्छ, मैनबत्तीले आफू जलेर उज्यालो दिन्छ”—एकदमै सतही छ, र यसको सोचको क्षेत्र साह्रै घटिया छ, त्यसैले यो थप विश्‍लेषण गर्नलायक छैन। अब यसपछि हामीले सङ्गति गर्ने नैतिक आचरणसम्बन्धी “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ,” भन्ने अर्को भनाइ विश्‍लेषण गर्न लायक छ। विश्‍लेषण गर्न लायक यी कुराहरूले मानिसहरूको सोच र धारणामा निश्‍चित ठाउँ ओगटेका हुन्छन्। खास अवधिमा, यी कुराहरूले मानिसहरूको सोच, तिनीहरूको अस्तित्वको ढाँचा, तिनीहरूको मार्ग र अवश्य नै तिनीहरूको छनौटलाई समेत प्रभावित पार्नेछन्। यो शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउन परम्परागत संस्कृति दुरुपयोग गरेर प्राप्त गर्ने परिणाम हो। “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ,” भन्ने भनाइले मानिसहरूको मन र हृदयमा निश्‍चित ठाउँ ओगटेको हुन्छ, भन्नुको अर्थ यो भनाइले जनाउने खालको मामिला विशेष प्रतिनिधिमूलक हुन्छ। मानिसहरूले आफ्नो देशको भाग्यको महत्त्वपूर्ण घडीमा यस भनाइको आधारमा निर्णयहरू गर्छन्, अनि यसले तिनीहरूको विचार र सामान्य सोच प्रक्रियालाई जकड्नेछ र नियन्त्रित गर्नेछ। त्यसैले, यस्ता विचार र दृष्टिकोणहरू विश्‍लेषणलायक हुन्छन्। हामीले पहिले उल्लेख गरेका भनाइहरू अर्थात् “टिपेको पैसा खल्तीमा नराख्‍नू,” “साथीको लागि गोली खान तयार छु,” “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ,” “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ,” “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” आदि इत्यादिसँग तुलना गर्दा, “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्ने नैतिक आचरणको मानकले शैतानको संसारमा अझ उच्च क्षेत्र ओगट्छ। हामीले पहिले विश्‍लेषण गरेका नैतिक आचरणसम्बन्धी भनाइहरूले एक खाले व्यक्ति वा जीवनको एक खाले सामान्य मामिला जनाउँछन्, र ती सबै सीमित खाले छन्, तर यो भनाइले अझ बृहत दायरा समेट्छ। यसले “निम्‍न स्वार्थ” को दायराभित्रका कुरासँग सरोकार राख्दैन, बरु यसले “उच्‍च स्वार्थ” सँग सम्बन्धित धेरै मामिला र कुराहरू समेट्छ। त्यसैले, यसले मानिसहरूको हृदयमा महत्त्वपूर्ण ठाउँ ओगट्छ, अनि यसले मानिसहरूको हृदयमा निश्‍चित ठाउँ ओगट्नुपर्छ कि पर्दैन भनेर हेर्न र मानिसहरूले नैतिक आचरणसम्बन्धी यो भनाइलाई सत्यतासँग मेल खाने तरिकामा कसरी हेर्नुपर्छ भनेर पत्ता लगाउन यसलाई विश्‍लेषण गर्नैपर्छ।

“हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइले मानिसहरूलाई आफ्नो देशको भाग्यप्रति हरेक व्यक्ति जवाफदेही हुनुपर्छ भन्दै यस जिम्मेवारीलाई ध्यान दिन बाध्य पार्छ। यदि तँ आफ्नो देशको भाग्यप्रतिको जिम्मेवारी पूरा गर्छस् भने, सरकारले तँलाई उच्च सम्मानसहित इनाम दिनेछ र तँ उच्च चरित्रको व्यक्ति ठानिनेछस्; तर यदि तँ देशको भाग्यप्रति चासो लिँदैनस्, देशलाई आपत् आइपर्दा हात बाँधेर बस्छस् र यसलाई त्यति महत्त्वको ठान्दैनस् वा यसको मजाक उडाउँछस् भने, यसो गर्नुलाई तैँले आफ्नो कर्तव्य पटक्‍कै पूरा गर्न नसकेको ठानिन्छ। तेरो देशलाई तेरो खाँचो परेको बेला यदि तँ आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्दैनस् भने तँ त्यति गतिलो हुँदैनस्, बरु तँ साँच्चै महत्त्वहीन व्यक्ति बन्छस्। यस्ता मानिसहरू समाजमा त्यागिन्छन् र तिरस्कृत हुन्छन् अनि तिनीहरूलाई आफ्ना साथीसँगीले घृणा गर्छन् र तुच्छ ठान्छन्। कुनै पनि सार्वभौम राज्यको कुनै पनि नागरिकको नजरमा “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइ मानिसहरूको अनुमोदन पाउने, मानिसहरूले स्विकार्न सक्ने र मानवजातिले कदरसमेत गर्ने भनाइ हो। यो मानवजातिले आदर्शवान्‌ ठान्‍ने विचार पनि हो। आफ्नो जन्मभूमिको भाग्यप्रति चिन्ता गर्न र चासो लिन सक्ने अनि यसप्रति जिम्मेवारीको गहन बोध हुने व्यक्ति उच्‍च धार्मिकता भएको व्यक्ति हो। आफ्नो परिवारको चिन्ता गर्ने र चासो लिने मानिसहरूसँग निम्‍न धार्मिकता हुन्छ, जबकि आफ्नो देशको भाग्यप्रति ख्याल गर्नेहरू उच्‍च धार्मिकताको आत्मा भएका मानिस हुन्, अनि तिनीहरू सबैलाई शासक र सर्वसाधारणहरूले प्रशंसा गर्नुपर्छ। सङ्क्षेपमा भन्‍नुपर्दा, मान्छेको नजरमा यस्ता विचारहरूले सकारात्मक महत्त्व राख्छन् र मानवजातिलाई सकारात्मक तवरमा सेवा पुऱ्याउँछन् भनेर निर्विवाद रूपमा स्विकारिन्छ, अनि अवश्यै यी विचारहरूलाई सकारात्मक कुरा पनि मानिन्छ। के तिमीहरू पनि त्यसरी नै सोच्छौ? (सोच्छौँ।) तिमीहरूले यसरी सोच्नु सामान्य कुरा हो। यसको अर्थ, तिमीहरूको सोच सामान्य मानिसहरूको सोचभन्दा फरक छैन र तिमीहरू सामान्य मानिसहरू हौ। साधारण मानिसहरूले प्रचलित विचारहरू अनि तथाकथित सबै विभिन्न सकारात्मक, सक्रिय, उपरमुखी र आदर्शवान्‌ विचारहरू अनि बाँकी मानवजातिबाट आउने भनाइहरू स्विकार्न सक्छन्। यिनीहरू सामान्य मानिसहरू हुन्। के साधारण मानिसहरूले स्विकार्ने र कदर गर्ने विचारहरू सकारात्मक हुन्छन् नै भन्‍ने छ? (छैन।) सैद्धान्तिक रूपमा भन्‍नुपर्दा, ती सकारात्मक हुँदैनन् किनभने ती सत्यतासँग मेल खाँदैनन्, ती परमेश्‍वरबाट आउँदैनन्, र ती परमेश्‍वरद्वारा मानवजातिलाई सिकाइएका वा व्यक्त गरिएका हुँदैनन्। त्यसोभए ठ्याक्‍कै तथ्यचाहिँ के हो त? यो मामिला कसरी व्याख्या गर्नुपर्छ? अब यसलाई म विस्तारमा व्याख्या गर्नेछु, र मैले बोलिसकेपछि, तिमीहरूले “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइ किन सकारात्मक कुरा होइन भनेर जान्‍नेछौ। मैले उत्तर बताउनुअघि, पहिला “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने यो भनाइबारे सोच: के यो वास्तवमै सकारात्मक कुरा हो? के मानिसहरूलाई आफ्नो देशलाई प्रेम गर्न लगाउनु गलत हो? कतिपय मानिसहरू भन्छन्: “हाम्रो जन्मभूमिको भाग्य हाम्रो जीवितता, हाम्रो खुसी र हाम्रो भविष्यसँग सम्बन्धित छ। के परमेश्‍वरले मानिसहरूलाई आफ्नो आमाबुबाप्रति कर्तव्यनिष्ठ हुनू, आफ्ना छोराछोरीलाई राम्रोसँग हुर्काउनू र आफ्ना सामाजिक जिम्मेवारी पूरा गर्नू भनेर भन्‍नुहुन्न र? हामीले आफ्नो देशप्रतिका केही जिम्मेवारी निभाउनुमा के गलत छ? के यो सकारात्मक कुरा होइन र? यो सत्यताको स्तरमा नपुगे पनि, यो सही विचार नै हुनुपर्छ, होइन र?” जहाँसम्म मानिसहरूको कुरा छ, यी कारणहरू मान्य हुन्छन्, हुँदैनन् त? मानिसहरू “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइलाई सही ठहराउन यी दाबी, कारण र यी औचित्यहरूसमेत प्रयोग गर्छन्। त्यसोभए यो भनाइ वास्तवमा सही हो कि होइन त? यदि यो सही हो भने, यसमा सही के छ? यदि यो सही होइन भने, यसमा गलत के छ? यदि तिमीहरूले यी दुई प्रश्‍नको स्पष्ट जवाफ दिन सक्छौ भने, सत्यताको यो पक्ष साँच्चै बुझ्नेछौ। अरूचाहिँ यसो भन्छन्: “‘हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ’ भन्‍ने भनाइ साँचो होइन। देशहरू शासकद्वारा शासित र राजनैतिक प्रणालीद्वारा सञ्चालित हुन्छन्। राजनीतिको सन्दर्भमा हाम्रो कुनै जिम्मेवारी हुँदैन किनभने परमेश्‍वर मानव राजनीतिमा मुछिनुहुन्न। तसर्थ, हामी पनि राजनीतिमा मुछिँदैनौँ, त्यसैले यो भनाइ हाम्रो चासोको विषय होइन; राजनीतिसँग सम्बन्धित कुनै पनि कुराको हामीसित कुनै सरोकार हुँदैन। राजनीतिमा मुछिने र राजनीति मन पराउने व्यक्ति त्यस देशको भाग्यको लागि जिम्मेवार हुन्छ। हामी यो भनाइ स्विकार्दैनौँ, हाम्रो दृष्टिमा यो सकारात्मक कुरा होइन।” यो व्याख्या सही हो कि गलत? (गलत।) किन यो गलत हो? तिमीहरूलाई सैद्धान्तिक रूपमा थाहा छ, यो व्याख्याले कुनै अर्थ राख्दैन, यसले समस्याको जड हल गर्दैन, र समस्याको सार व्याख्या गर्न यो पर्याप्त छैन। यो सैद्धान्तिक व्याख्या मात्र हो, र यसले यस समस्याको सार प्रस्ट्याउँदैन। यो जे-जस्तो खालको व्याख्या भए पनि, जबसम्म यसले यो समस्याको खास सार समेट्न सक्दैन, तबसम्म यो सही व्याख्या होइन, यो सही उत्तर होइन र यो सत्यता पनि होइन। त्यसोभए, नैतिक आचरणसम्बन्धी “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइमा के गलत छ? यो मामिलासँग कुन सत्यता सम्बन्धित छ? यो मामिलासँग सम्बन्धित सत्यतालाई एकदुई वाक्यमा स्पष्टसँग व्याख्या गर्न सकिँदैन। तिमीहरूलाई यसमा संलग्‍न सत्यताबारे बुझाउन धेरै व्याख्या गर्नुपर्ने हुन्छ। त्यसैले, अब यसबारे सरल शब्दहरूमा सङ्गति गरौँ।

“हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइलाई कसरी हेर्नु र बुझ्नुपर्छ? के यो सकारात्मक कुरा हो? यो भनाइलाई व्याख्या गर्न, प्रथमतः देश भनेको के हो भनेर हेरौँ। मानिसहरूको मनमा देशको अवधारणा कस्तो हुन्छ? के यो अवधारणा देश अत्यन्तै ठूलो हुन्छ भन्‍ने अवधारणा हो? सैद्धान्तिक रूपमा भन्‍नुपर्दा, देश भनेको एउटै शासकद्वारा शासित र एउटै सामाजिक प्रणालीद्वारा सञ्चालित अनेकौँ घरपरिवार मिलेर बनेको विस्तारित क्षेत्र हो। भन्‍नुको अर्थ, अनेकौँ घरपरिवार मिलेर देश बन्छ। के यसलाई समाजले यसरी नै परिभाषित गर्छ? (हो।) सानो परिवार छ भने मात्र ठूलो परिवार बन्छ, र ठूलो परिवारले देशलाई जनाउँदछ—यही नै देशको परिभाषा हो। त्यसोभए के यो परिभाषा स्वीकार्य छ? के तिमीहरू यससँग भित्री रूपले सहमत छौ? यो परिभाषा सबैभन्दा बढी कसको रुचि र हितको लागि उपयुक्त हुन्छ? (शासकहरूको।) सही हो, शासकहरू नै सबैभन्दा महत्त्वपूर्ण हुनुपर्छ। सबै घरपरिवार तिनीहरूको प्रभुत्वमा हुने भएकाले तिनीहरूको हातमा शक्ति हुन्छ। त्यसैले, शासकहरूको सन्दर्भमा यो परिभाषा मान्य हुन्छ, र तिनीहरूलाई यो कुरा आफूसँग मिलेजस्तो लाग्छ। शासकहरूको लागि देशको परिभाषा जे भए पनि, कुनै आम व्यक्तिको लागि देश र यसमा रहने हरेक व्यक्तिबीच दूरी हुन्छ। आम मानिसहरूले अर्थात् हरेक देशका प्रत्येक मानिसले गर्ने देशको परिभाषा शासकहरू वा शासकवर्गले समर्थन गर्ने परिभाषाभन्दा फरक हुन्छ। शासकवर्गले देशलाई परिभाषित गर्ने तरिका तिनीहरूको प्रभुत्व र निहित स्वार्थमा आधारित हुन्छ। तिनीहरू उच्च स्थानमा बसेर आफ्नो अनुकूल भव्य स्थान अनि महत्त्वाकाङ्क्षा र चाहनाले भरिएको बृहत् दृष्टिकोण प्रयोग गर्दै देशलाई परिभाषित गर्छन्। उदाहरणको लागि, शासकहरू देशलाई आफ्नो घर, आफ्नै भूमि ठान्छन्, र यो तिनीहरूकै उपभोगको लागि दिइएको कुरा हो, र देशको एक-एक इञ्च भूमि, हरेक स्रोतसाधन र यसमा भएको हरेक व्यक्तिसमेत तिनीहरूकै हुनुपर्छ र तिनीहरूकै नियन्त्रणमा हुनुपर्छ अनि तिनीहरूले यो सब उपभोग गर्न र आफूले चाहेअनुसार मानिसहरूमाथि हैकम चलाउन पाउनुपर्छ भन्‍ने सोच्छन्। तर आम मानिसहरूमा यस्तो चाहना हुँदैन, न त यस्तो सर्त नै हुन्छ, र निश्‍चय नै तिनीहरूमा देशलाई परिभाषित गर्ने यस्तो बृहत् दृष्टिकोण पनि हुँदैन। त्यसोभए, आम मानिसहरूको लागि, कुनै पनि स्वतन्त्र व्यक्तिको लागि, देशको परिभाषा के हो त? यदि तिनीहरू शिक्षित छन् र मानचित्र हेर्न सक्छन् भने, तिनीहरूलाई आफ्नो देशको क्षेत्र र आकार, वरिपरीका छिमेकी देशहरू, अनि देशमा कतिवटा नदीनाला र तालहरू छन्, कतिवटा पर्वतहरू छन्, कति बनजङ्गल छन्, कति भूभाग छन्, कति जनसंख्या छन्..... आदि इत्यादि कुरा मात्र थाहा हुन्छ। तिनीहरूको देशको अवधारणा केवल मानचित्रमा आधारित र शाब्दिक, र केवल लिखित सैद्धान्तिक अवधारणा मात्र हुन्छ, अनि यो वास्तविक देशसँग पटक्‍कै मेल खाँदैन। अलिक शिक्षित र निश्‍चित सामाजिक हैसियत हुने व्यक्तिको लागि, देशको अवधारण त्यस्तै हुन्छ। अनि, समाजका निम्नवर्गीय आम मानिसहरूको कुराचाहिँ कस्तो हुन्छ? तिनीहरूको लागि देशको परिभाषा के हुन्छ? मेरो दृष्टिमा, यी मानिसहरूको लागि देशको परिभाषा भनेको आफ्नो परिवारको एक टुक्रा जमिन, गाउँको पूर्वी छेउको ठूलो बरको रूख, पश्‍चिमी छेउको पर्वत, गाउँ पस्ने सडक र त्यो सडकमा बारम्बार गुड्ने गाडीहरू, साथै गाउँमा घटेका तुलनात्मक रूपमा अलि गम्भीर घटनाहरू र केही सानातिना निन्दोचर्चोहरूसिवाय अरू केही होइन। आम मानिसहरूको लागि देशको अवधारणा त्यस्तै हुन्छ। यो परिभाषाको सीमा एकदमै सानो भए पनि र यसको दायरा एकदमै साँघुरो भए पनि, यस्तो सामाजिक परिस्थितिमा जिउने आम मानिसहरूको सन्दर्भमा भन्‍नुपर्दा, यो एकदमै वास्तविक र व्यावहारिक छ—तिनीहरूको लागि, देश भनेको यति नै हो। बाहिरी दुनियामा जे भए पनि, देशमा जे भए पनि, त्यो कुरा त तिनीहरूको लागि बस अलि महत्त्वपूर्ण समाचारहरू मात्र हुन् जसलाई तिनीहरूले सुन्‍ने वा नसुन्‍ने निर्णय लिन सक्छन्। त्यसोभए, तिनीहरूको तत्कालको रुचि कुन कुरासँग सम्बन्धित छ? यसको सम्बन्ध, यसपालि आफूले रोपेको अन्न मनग्गे फल्छ कि फल्दैन, त्यो अन्न आफ्नो परिवारलाई खान पुग्छ कि पुग्दैन, अर्को वर्ष के रोप्नुपर्ने हो, आफ्नो जमिन बाढीले स्वात्तै लाने पो हो कि, हेपाहाहरूले आक्रमण गरेर जमिन हड्पने पो हुन् कि, अनि जीवनसँग घनिष्ठ रूपले सम्बन्धित अन्य यस्तै मामिला र कुराहरू, जस्तै गाउँका घरबार, खोलानाला, बाटोघाटो तथा गोरेटो आदि इत्यादिसँग हुन्छ। तिनीहरूले ख्याल गर्ने र कुरा गर्ने, साथै तिनीहरूको मनमा गहिरो छाप पार्ने विषय भनेकै तिनीहरूको जीवनसँग घनिष्ठ रूपले सम्बन्धित तिनीहरूवरपरका मानिस, मामिला र वस्तुहरूसिवाय अरू केही हुँदैनन्। तिनीहरूसँग देशको दायरा कति ठूलो छ भन्‍ने अवधारणा हुँदैन, न त देशको समृद्धि वा पतनको कुनै अवधारणा नै हुन्छ। परिस्थिति जति धेरै नयाँ र फरक प्रकारको हुन्छ र देशको मामिला जति धेरै महत्त्वपूर्ण हुन्छ, उति नै धेरै यी कुराहरू यस्ता मानिसहरूबाट टाढा हुन्छन्। यी आम मानिसहरूको लागि त देशको अवधारणा भनेकै आफ्नो मनमा अटाउन सक्‍ने मानिस, मामिला र कामकुराहरू अनि आफ्नो जीवनमा सम्पर्कमा आउने मानिस, मामिला र कामकुराहरू मात्र हुन्। तिनीहरूले देशको भाग्यबारे जानकारी पाए पनि, यो तिनीहरूबाट एकदमै टाढा हुन्छ। तिनीहरूबाट टाढो हुनुको अर्थ यो हो कि यसले तिनीहरूको हृदयमा कुनै ठाउँ ओगट्दैन, र तिनीहरूको जीवनमा प्रभाव पार्दैन, र त्यसैले देशको समृद्धि र पतनसँग तिनीहरूको कुनै सरोकार हुँदैन। तिनीहरूको हृदयमा देशको भाग्य भनेको के हो त? त्यो, यसपालि आफूले रोपेको बालीमा स्वर्गको आशिष् बर्सन्छ बर्सन्‍न, फसल प्रशस्त हुन्छ हुन्‍न, र आफ्नो परिवारले कसरी जीवन धान्‍ने हो भन्‍नेजस्ता कुराहरु, र दैनिक जीवनका अन्य झिनामसिना कुराहरू हुन्, तर तिनीहरूसँग राष्ट्रिय मामिलाहरूको कुनै सम्बन्ध हुँदैन। राष्ट्रिय महत्त्वको मामिला, राजनीति, अर्थव्यवस्था, शिक्षा, विज्ञान र प्रविधि, देशको क्षेत्र फैलियो वा घट्यो भन्‍ने कुरा, शासकहरूले भ्रमण गरेका ठाउँहरू र शासकवर्गमाझ केकस्ता घटना घटे भन्‍ने कुरा—यी कुराहरू आम मानिसहरूको समझबाहिरका हुन्। तिनीहरूले ती कुरा बुझ्न सके पनि, यसले के उद्देश्य पूरा गर्नेछ र? तिनीहरूले राती खाना खाइसकेपछि शासकवर्गलाई के भइरहेको छ भनेर कुरा गरे पनि, तिनीहरूले यसबारे के गर्न सक्छन् र? तिनीहरूले जुठो थालबटुको र हात धोइसकेपछि फेरि जीवन धान्नतिर लाग्नुपर्छ र खेतमा काम गर्न जानुपर्छ। तिनीहरूको जमिनमा राम्रो फसल दिन सक्ने बालीनालीजस्तो वास्तविक कुरा अरू केही देखिन्‍न। व्यक्तिले ख्याल गर्ने भनेको उसको हृदयमा भएको कुरा नै हो। व्यक्तिको क्षितिज उसको हृदयमा अटाउने कुराहरूजतिको मात्र फराकिलो हुन्छ। साधारण मानिसहरूको क्षितिज आफूले वरपर देख्न सक्ने र आफू जान सक्ने ठाउँहरूसम्म मात्र सीमित हुन्छ। जहाँसम्म देशको भाग्य र राष्ट्रिय महत्त्वको मामिलाको कुरा छ, त्योदेखि तिनीहरू धेरै टाढा र पहुँचबाहिर हुन्छन्। तसर्थ, देशको भाग्य जोखिममा पर्दा, वा देशलाई शक्तिशाली शत्रुले आक्रमण गर्दा, तिनीहरूले झट्टै यस्तो सोच्छन्, “के आक्रमणकारीहरूले मेरो बालीनाली हडप्नेछन्? यो वर्ष, हामी दाल बेचेर छोराछोरीलाई कलेज जाने खर्च जुटाऊँ भनेको!” आम मानिसहरूसँग सम्बन्धित सबैभन्दा व्यावहारिक कुरा, तिनीहरूले बुझ्न सक्ने कुरा, तिनीहरूको मन र आत्माले सहन सक्ने कुरा यिनै हुन्। साधारण मानिसहरूको लागि, “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने कुरा अति बोझिलो हुन्छ। तिनीहरूलाई यो कसरी गर्ने थाहा हुँदैन, अनि तिनीहरू यो गह्रौँ बोझ र कठिन जिम्मेवारी उठाउन चाहँदैनन्। आम मानिसहरूको लागि देशको अवधारणा त्यस्तै हुन्छ। तसर्थ, तिनीहरूको जीवनको परिधि अनि तिनीहरूको सोच र आत्मा बस्ने कुराहरू भनेका तिनीहरूलाई दिनको तीन छाक जुटाइदिने र तिनीहरूलाई खेतीबाली गर्न चाहिने सबथोक दिने आफ्नो गाउँको माटो र पानी, साथै आफ्नो गाउँघरको हावा र परिवेश सिवाय अरू केही होइनन्। यसमा यी कुराबाहेक अरू के हुन सक्छन्? कतिपय मानिसहरू आफू जन्मेको र हुर्केबढेको गाउँघरको परिचित परिवेशबाहिर जाने भए पनि, जब देशलाई आपत् आइपर्छ र तिनीहरूले राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ, तब कसैले पनि समग्र देशलाई रक्षा गर्नेबारे सोच्दैनन्। यसको साटो मानिसहरूले केबारे सोच्छन्? तिनीहरूले केवल आफ्नो गाउँघर बचाउनुपर्ने आफ्नो जिम्मेवारी, र आफ्नो मुटुको टुक्रासमान आफ्नो जग्‍गाजमिन जोगाउनेबारे, अनि यसको लागि अन्त्यसम्म आफ्नो जीवन बलिदान गर्नेबारेसमेत सोच्न सक्छन्। मानिसहरू जहाँ गए पनि, तिनीहरूको लागि “देश” भन्‍ने शब्द त एक सर्वनाम, एउटा सङ्केत र एउटा प्रतीक मात्र हो। तिनीहरूको हृदयमा वास्तवमै ठूलो ठाउँ ओगट्ने कुरा भनेको देशको क्षेत्र होइन, झन् शासकहरूको शासन हुनु त परै जाओस्, बरु तिनीहरूलाई दिनको तीन छाक जुटाइदिने, तिनीहरूलाई जीवन दिने र तिनीहरूको जीवन भरनपोषण गर्ने पहाडपर्वत, जग्‍गाजमिन, नदीनाला अनि इनार हो; त्यो कुरा बस त्यति नै हो। मानिसहरूको मनमा हुने देशको अवधारणा यही हो—यो अत्यन्तै वास्तविक, अत्यन्तै मूर्त र अवश्यै अत्यन्तै सटीक छ।

किन “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचारलाई परम्परागत संस्कृतिमा, विशेष गरी नैतिक आचरणसम्बन्धी सोचविचारमा गर्दा सधैँ समर्थन गरिन्छ? यो कुरा शासकको शासन र यो विचार पैरवी गर्ने मानिसहरूको अभिप्राय तथा उद्देश्य दुवैसँग सम्बन्धित छ। यदि हरेक व्यक्तिको मनमा देशको परिभाषा अत्यन्त महत्त्वहीन, अत्यन्त मूर्त र अत्यन्त वास्तविक भएको भए, देशको रक्षा कसले गर्थ्यो र? शासकको शासन कसले कायम राख्थ्यो र? के यहाँ समस्या छैन र? वास्तवमा यहाँ समस्या खडा छ। यदि सबैजनाको देशको अवधारणा यस्तै भएको भए, के शासक नाममात्रको बन्थेन र? अनि यदि शासकको देशलाई शक्तिशाली शत्रुले आक्रमण गर्थ्यो भने र यसको सुरक्षा शासक वा शासकीय समूहमाथि मात्र निर्भर हुन्थ्यो भने, के तिनीहरू गाह्रोमा परेको, अनि असहाय, एक्लो र कमजोर भएको देखिन्थेन होला र? चिन्तकहरूले यी समस्याहरूप्रति आफ्नो दिमाग चलाएर प्रतिक्रिया जनाए। तिनीहरूलाई देशको रक्षा गर्न र शासकको शासन कायम राख्नको लागि योगदान दिने थोरै मानिसहरूमा मात्र पूर्ण भर परेर पुग्दैन, बरु सारा जनसंख्यालाई नै देशको शासकको सेवा गर्न उत्साहित पार्नु आवश्यक छ भन्‍ने लाग्यो। यदि यी चिन्तकहरूले मानिसहरूलाई सिधै शासकको सेवा गर्नू र देशको रक्षा गर्नू भनेर भनेका भए, के मानिसहरू त्यसो गर्न इच्छुक हुन्थे र? (अहँ, हुन्थेनन्।) निश्‍चय नै मानिसहरू इच्छुक हुन्थेनन्, किनभने त्यो अनुरोधभित्र लुकेको उद्देश्य एकदमै प्रस्ट हुन्थ्यो, र तिनीहरू त्यसमा सहमत हुन्थेनन्। ती चिन्तकहरूलाई मानिसहरूमा मिठो सुनिने, आदर्शवान्‌ र सतही रूपमा सानदार लाग्‍ने अभिव्यक्तिहरू घुसाइदिनुपर्छ, र यस तरिकाले सोच्नेहरू उच्च नैतिक आचरण भएका व्यक्ति हुन् भनेर बताउनुपर्छ भन्‍ने थाहा थियो। त्यस तरिकाले काम गर्दा, मानिसहरूले सजिलै यो विचार स्विकार्न सक्थे, र यो विचारको लागि त्याग र योगदानसमेत गर्न सक्थे। त्यसपछि त ती चिन्तकहरूको उद्देश्य पूरा भइहाल्थ्यो, होइन र? यसरी सामाजिक परिवेशभित्र र शासकहरूको आवश्यकताको प्रतिक्रियास्वरूप नै “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने यो भनाइ र विचार अस्तित्वमा आयो। मानव प्रकृति कस्तो हुन्छ भने, चाहे जुनै विचार पैदा भए पनि, कतिपय मानिसहरू यसलाई प्रचलित र अग्रगामी भन्ठान्छन् अनि त्यसै आधारमा यसलाई स्विकार्छन्। कतिपय मानिसहरूले “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचार स्विकार्दा, के शासकलाई फाइदा पुग्दैन र? यसको मतलब, शासकको शासनको लागि बलिदान र त्याग गर्ने मानिसहरू हुनेछन्। अनि, शासकसँग लामो समय शासन गर्ने आशा हुन्छ; के त्यस्तै हुँदैन र? तुलनात्मक रूपमा भन्‍नुपर्दा, के त्यसपछि उसको शासन झनै स्थिर हुनेछैन र? (हुनेछ।) तसर्थ, शासकको शासनमा चुनौती वा विनाश आइपर्दा, वा उसको देशलाई शक्तिशाली शत्रुले आक्रमण गर्दा, “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचार स्विकार्नेहरूले देशको रक्षा गर्न साहसी र निडर भई अघि सरी योगदान दिन्छन् वा आफ्नो जीवन बलिदान गर्छन्। अन्त्यमा यसको फाइदा कसलाई हुन्छ? (शासकलाई।) अन्त्यमा फाइदा शासकलाई हुन्छ। “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचार स्विकार्ने र यसको लागि आफ्नो अमूल्य जीवन दिन चाहनेहरूलाई के हुन्छ? तिनीहरू शासकले टेक्‍ने ढुङ्गो र कठपुतली बन्छन्, तिनीहरू यो विचारको शिकार हुन्छन्। समाजको निम्न तहमा जिउने आम मानिसहरूसँग देशको निश्‍चित र स्पष्ट अवधारणा वा स्पष्ट परिभाषा हुँदैन। तिनीहरूलाई देश के हो भन्‍ने थाहै हुँदैन, न त देश कति ठूलो छ भनेर नै थाहा हुन्छ, अनि तिनीहरूलाई देशको भाग्यका महत्त्वपूर्ण मामिलाबारेसमेत थोरै मात्र थाहा हुन्छ। मानिसहरूलाई देशको परिभाषा र अवधारणा अस्पष्ट हुने हुनाले, शासकवर्गले “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइ प्रयोग गर्दै तिनीहरूलाई छल्छ र तिनीहरूको दिमागभित्र यो विचार हालिदिन्छ, र यसो गर्दा सबैजना देशको रक्षा गर्न र शासकवर्गको खातिर आफ्नो ज्यान फाल्न खडा हुनेछन्, अनि यसरी शासकवर्गको उद्देश्य पूरा हुनेछ। तर वास्तवमा, आम मानिसहरूको सन्दर्भमा भन्‍नुपर्दा, देशलाई जसले शासन गरे पनि, वा वर्तमान शासकहरूभन्दा घुसपैठीहरू राम्रा वा खराब भए पनि, अन्त्यमा तिनीहरूले आफ्नो परिवारको सानो टुक्रा जमिनमा हरेक वर्ष खेती गर्नुपर्ने हुन्छ, र गाउँको पूर्वी छेउको त्यो रूख बद्लेको हुँदैन, गाउँको पश्‍चिम छेउको पर्वत बद्लेको हुँदैन, न त गाउँको बीचमा भएको इनार नै बद्लेको हुन्छ र तिनीहरूको लागि ती कुराले मात्रै महत्त्व राख्छन्। जहाँसम्म गाउँबाहिर के-कस्ता कुराहरू घटित हुन्छन्, कति शासकहरू आउँछन् जान्छन्, वा तिनीहरूले देशमा के-कसरी शासन गर्छन् भन्‍ने कुरा छ, यो सबको आम मानिसहरूसँग कुनै सम्बन्ध हुँदैन। आम मानिसहरूको जीवन नै यस्तै हुन्छ। तिनीहरूको जीवन असाध्यै वास्तविक र सरल हुन्छ, अनि देशको बारेमा तिनीहरूको अवधारणा आफ्नो परिवारको धारणाजत्तिकै मूर्त हुन्छ, यति मात्र हो कि देशको अवधारणा परिवारको अवधारणाभन्दा दायरामा अलि ठूलो हुन्छ। तर देशलाई शक्तिशाली शत्रुले आक्रमण गर्दा अनि यसको अस्तित्व र जीवितता अनिश्‍चित हुँदा अनि शासकको शासनमा अड्चन आउँदा र देश अस्थिर हुँदा, “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइ स्विकार्ने मानिसहरूमाथि यो विचार हाबी हुन्छ, र बस तिनीहरू देशको भाग्यलाई असर गर्ने र शासकको शासनमा भाँजो हाल्ने यी कुराहरू बदल्न आफ्नो व्यक्तिगत क्षमता उपयोग गर्न चाहन्छन्। अनि, अन्त्यमा के हुन्छ? वास्तवमा तिनीहरूले के बदल्छन्? तिनीहरूले शासकलाई सत्तामा राखिराख्न सके पनि, के यसको अर्थ तिनीहरूले धर्मी काम गरेका हुन्छन् र? के त्यसको अर्थ तिनीहरूको बलिदान सकारात्मक थियो भन्‍ने हुन्छ र? के यो स्मरण गर्न लायक हुन्छ र? “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइलाई अत्यन्त महत्त्वपूर्ण ठान्‍ने इतिहासको निश्‍चित अवधिका मानिसहरूले पनि देशको रक्षा गर्न र शासकहरूलाई सत्तामा राखिराख्न यो विचारको मनोभावलाई जोरसोरले कायम राखे, तर तिनीहरूले सत्तामा कायम राखिराखेका शासकहरूको शासन अधोगामी, रक्तपातपूर्ण, मानवजातिको लागि अर्थरहित वा मूल्यहीन थियो। यस दृष्टिकोणबाट हेर्दा, यी मानिसहरूले पूरा गरेको तथाकथित जिम्मेवारी सकारात्मक थियो कि नकारात्मक? (नकारात्मक।) जोकसैले यो नकारात्मक थियो, सम्झना गर्न लायक थिएन, र मानिसहरूको लागि घृणित थियो भन्न सक्छ। त्यसको विपरीत, आम मानिसहरूले ती जाली चिन्तकहरूले पैरवी गर्ने “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचारसँग गहन रूपमा सहमत हुन सक्दैनन्, न त यसलाई स्वीकार र लागू गर्न नै गर्छन्। तसर्थ, तिनीहरूको जीवन तुलनात्मक रूपमा अलि स्थिर हुन्छ। तिनीहरूको जीवनभरको उपलब्धि देशको भाग्यको खातिर आफ्नो जीवन चढाउने मानिसहरूको उपलब्धिजत्तिको प्रभावशाली नभए पनि, तिनीहरूले अर्थपूर्ण काम गरेका हुन्छन्। यो अर्थपूर्ण काम के हो? यो तिनीहरूले देशको भाग्यमा बनावटी हस्तक्षेप नगर्नु वा देशको शासक को हुने भनेर निर्धारित गर्ने प्रक्रियामा हस्तक्षेप नगर्नु हो। यसको साटो, तिनीहरूले चाहने भनेकै देशप्रति कुनै समस्या ननिम्त्य़ाई, देशलाई खानेकुरा वा पैसा नमागी, र तिर्नुपर्ने सामान्य कर तिर्दै, असल जीवन बिताउनु, खेतमा काम गर्नु, आफ्नो गाउँको रक्षा गर्नु, वर्षभरिको खानेकुरा जुटाउनु, अनि समृद्ध, आरामदायी, शान्तिपूर्ण र स्वस्थ जीवन जिउनु मात्र हो—र यही नै एक नागरिकले पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्नु हो। यदि तँ चिन्तकहरूको विचारको हस्तक्षेपबाट मुक्त हुन र आफ्नो स्थानअनुसार व्यावहारिक तवरमा आम व्यक्तिको जीवन जिउन र आत्मनिर्भर बन्न सक्छस् भने, त्यो पर्याप्त छ र तैँले आफ्नो जिम्मेवारी पूरा गरेको छस्। यो पृथ्वीमा जिउने व्यक्तिले पूरा गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा र सबैभन्दा ठूलो जिम्मेवारी यही हो। आफू जीवित रहिरहनेबारे र आफ्नो आधारभूत आवश्यकताबारे ख्याल गर्नु भनेको आफैले सुल्झाउनुपर्ने विषय हो, तर देशको भाग्य र शासकहरूले देश कसरी चलाउनुपर्छ भन्‍ने कुरासँग सम्बन्धित महत्त्वपूर्ण मामिलाको सन्दर्भमा आम मानिसहरूसँग हस्तक्षेप वा केही गर्ने कुनै क्षमता हुँदैन। तिनीहरूले यी सबै मामिला नियतिको हातमा छोड्न र प्रकृतिलाई आफ्नो काम गर्न दिन मात्र सक्छन्। स्वर्गले जे चाहन्छ, त्यही हुनेछ। आम मानिसहरूलाई एकदमै थोरै कुरा थाहा हुन्छ, त्यसबाहेक स्वर्गले मानिसहरूलाई आफ्नो देशप्रतिको यस्तो जिम्मेवारी सुम्पेको छैन। आम मानिसहरूको हृदयमा आफ्नो घर मात्र हुन्छ, अनि तिनीहरूले आफ्नो घर सम्हालुञ्‍जेल भने, त्यो पर्याप्त हुन्छ, र तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरेका हुन्छन्।

नैतिक आचरणसम्बन्धी अन्य भनाइहरूजस्तै, “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइ चिन्तकहरूले शासकहरूलाई सत्तामा राखिराख्न अघि सारेको विचार र दृष्टिकोण हो, र यो अवश्यै अझ धेरै मानिसहरूले शासकहरूलाई साथ दिऊन् भनेर प्रवर्धन गरिएको विचार र दृष्टिकोण पनि हो। वास्तवमा, मानिसहरू जुनसुकै सामाजिक वर्गमा जिउने भए पनि, यदि तिनीहरूमा कुनै महत्त्वाकाङ्क्षा र चाहना छैन, अनि तिनीहरू राजनीतिमा मुछिन चाहँदैनन् वा शासकवर्गसँग तिनीहरूको कुनै सरोकार छैन भने, मानवताको दृष्टिकोणबाट मानिसहरूको लागि देशको परिभाषा भनेको आफूले आफ्नो आँखैद्वारा देख्न सक्ने ठाउँहरू, वा आफ्नो खुट्टैद्वारा मापन गर्ने सक्ने भूमि वा खुसीसाथ, स्वतन्त्र र वैध रूपले जिउन सक्ने परिधिसिवाय अरू केही होइन। देशप्रतिको यस्तो अवधारणा हुने जोकोहीको लागि, ऊ जिउने भूमि र उसको जीवनको परिधिले नै उसलाई स्थिर, आनन्दपूर्ण र स्वतन्त्र जीवन दिन सक्छ, जुन उसको जीवनको आधारभूत आवश्यकता हो। यो आधारभूत आवश्यकता नै मानिसहरूले रक्षा गर्न दौडने दिशा र उद्देश्य पनि हो। यो आधारभूत आवश्यकतामाथि चुनौति र बाधा र अतिक्रमण आइपर्नासाथ, मानिसहरू निश्‍चय नै खडा हुन्छन् र तुरुन्तै यसको रक्षा गर्छन्। यो रक्षा जायज हुन्छ, र यो मानवताको खाँचो, र जीवतताको खाँचोबाट पनि उत्पन्न हुन्छ। कसैले पनि मानिसहरूलाई यसो भनिरहनुपर्दैन: “तिम्रो गाउँघर र तिम्रो वासस्थानलाई विदेशी शत्रुले आक्रमण गर्दा, तिमीले खडा भएर तिनको रक्षा गर्नुपर्छ, तिमीले डटेर आक्रमणकारीसँग लड्नुपर्छ।” तिनीहरूले स्वतः खडा भएर तिनको रक्षा गर्नेछन्। यो मानव नैसर्गिक गुण हो, तर यो मानव जीवितताको आवश्यकता पनि हो। त्यसैले, सामान्य व्यक्तिको कुरा आउँदा, तैँले तिनीहरूलाई तिनीहरूको जन्मभूमि र वासस्थानको रक्षा गराउन प्रोत्साहित गर्न “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍नेजस्ता विचारहरू प्रयोग गर्नुपर्दैन। यदि कसैले साँच्‍चिकै मानिसहरूमा यस्ता विचारहरू हालिदिन चाहन्छ भने, उसको उद्देश्य त्यति सरल हुँदैन। उसको उद्देश्य मानिसहरूले आफ्नो वासस्थान रक्षा गरून्, आफ्नो जियाइका आधारभूत आवश्यकताहरू सुनिश्‍चित गरून् वा मानिसहरूले उत्तम जीवन जिऊन् भन्‍ने हुँदैन। उसको अर्कै उद्देश्य हुन्छ, र त्यो शासकहरूलाई सत्तामा कायम राखिराख्नुबाहेक अरू केही होइन। मानिसहरूले आफ्नो वासस्थान रक्षा गर्न नैसर्गिक रूपमै जुनसुकै त्याग पनि गर्नेछन् अनि आफू जीवित रहने आधारभूत आवश्यकता पूरा हुने सुनिश्‍चित गर्न सचेत रूपमा आफै आफ्नो वासस्थान र जिउने परिवेश रक्षा गर्नेछन्, अरूले तिनीहरूलाई कुनै पनि ठूल्ठूला अभिव्यक्तिहरू प्रयोग गरी के गर्नुपर्छ वा कसरी डटेर आफ्नो घर रक्षा गर्नुपर्छ भनेर बताइरहनुपर्दैन। यो नैसर्गिकता, यो आधारभूत विवेक जनावरहरूमा समेत हुन्छ, र यो मानवमा त पूर्ण रूपमै हुन्छ, किनकि मानिसहरू कुनै पनि जनावरभन्दा उच्च तवरका सृष्टि गरिएका प्राणी हुन्। जनावरहरूले समेत आफ्नो वासस्थान र क्षेत्र, आफ्नो घर र आफ्नो समुदायलाई पराई शत्रुहरूको आक्रमणबाट रक्षा गर्छन्। यदि जनावरहरूमा त यस्तो सचेतना हुन्छ भने, मानवमा त यो निश्‍चित रूपले नै हुन्छ! तसर्थ, ती चिन्तकहरूले अघि सारेको “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचार मानवजातिको सबै सदस्यलाई आवश्यक छैन। अनि मानिसहरूको हृदयमा हुने देशको परिभाषाको सन्दर्भमा भन्‍नुपर्दा, यो विचार आधारभूत रूपमा पनि अनावश्यक छ। तैपनि किन ती चिन्तकहरूले यसलाई अघि सारे त? किनभने तिनीहरू अर्को उद्देश्य हासिल गर्न चाहन्थे। तिनीहरूको वास्तविक उद्देश्य मानिसहरूले आफ्नो वर्तमान वासस्थानमा अझ राम्ररी जिउन सक्षम पार्नु थिएन, न त तिनीहरूलाई अझ स्थिर, अझ आनन्ददायी र अझ सुखमय परिवेश पाउन सक्षम पार्नु नै थियो। तिनीहरूले मानिसहरूलाई सुरक्षा गर्ने दृष्टिकोणले यस्तो गरेका थिएनन्, न त मानिसहरूको वासस्थान जोगाउने दृष्टोकोणले नै यस्तो गरेका थिए, बरु शासकहरूको दृष्टिकोण र नजरले मानिसहरूमा “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचार हालिदिन र तिनीहरूलाई यो विचार राख्न उक्साउन यस्तो गरका थिए। यदि तँमा यस्तो विचार छैन भने, तेरो सोचको परिधिलाई कमसल ठानिन्छ, र सबैले तँलाई खिसी गर्नेछन् अनि कुनै पनि जनजातीय समूहले तँलाई तुच्छ ठान्‍नेछ; यदि तँमा यस्तो विचार छैन, यदि तँमा यो ठूलो धार्मिकता र यो मानसिकता छैन भने, तँ कमसल नैतिक चरित्रवाल, स्वार्थी र घिनलाग्दो तुच्छ जीवन जिउने व्यक्ति ठानिनेछस्। यी तथाकथित तुच्छ जीवन जिउनेहरू समाजका तिरस्कृत मानिसहरू हुन्, र तिनीहरूलाई समाजले भेदभाव र घृणा गर्छ।

यो संसारमा, यो समाजमा, गरिब वा पिछडिएको देशमा जन्मेको वा निम्न हैसियत भएको राष्ट्रबाट आउने जोकोही, जहाँ गए पनि, उसले आफ्नो राष्ट्रियता बताउनेबित्तिकै, तुरुन्तै उसको हैसियत निर्धारित गरिन्छ अनि उसलाई अरूभन्दा निम्न र तुच्छ ठानिन्छ, र भेदभाव गरिन्छ। यदि तँ शक्तिशाली देशको नागरिक होस् भने, तैँले कुनै पनि जनजातीय समूहमाझ अति उच्च हैसियत पाउँछस्, र तँलाई अरूभन्दा श्रेष्ठ ठानिन्‍छ। त्यसैले, “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने यो भनाइले मानिसहरूको हृदयमा महत्त्वपूर्ण स्थान ओगट्छ। मानिसहरू देशबारे एकदमै निश्‍चित र ठोस अवधारणा राख्छन्, तर सम्पूर्ण मानवजातिले कुनै पनि जातीय समूह र विभिन्‍न देशबाट आउने जोकोहीलाई जुन तरिकामा व्यवहार गर्छन्, र साथै जुन पद्धति र मापदण्डअनुसार तिनीहरूको हैसियत निर्धारण गर्छन्, त्यसको तिनीहरूको देशको भाग्यसँग निकै सम्बन्ध हुने भएकाले “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचारले सबैजनालाई विभिन्‍न हदमा प्रभाव पार्छ। त्यसोभए, मानिसहरूले कसरी यो विचार त्याग्नुपर्छ? पहिला, यो विचारले मानिसहरूलाई कसरी प्रभाव पार्छ त्यो हेरौँ। मानिसहरूद्वारा गरिने देशको परिभाषा तिनीहरू जिउने निश्‍चित परिवेशभन्दा बढी नभए पनि, र मानिसहरूले अझ उत्तम अस्तित्व कायम राखिराख्‍नको लागि जीवन जिउने आफ्नो आधारभूत अधिकार र आफू जीवित रहिरहन चाहिने आवश्यकताहरू मात्र पूरा गर्न चाहे पनि, आजकल सारा मानवजाति निरन्तर एकदेखि अर्को ठाउँ सर्दै घुमिरहेका हुन्छन्, अनि मानिसहरूले अचेतन रूपमै “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचार स्विकारिरहेका हुन्छन्। भन्‍नुको अर्थ, मानवताको दृष्टिकोणबाट हेर्दा, मानिसहरू “महान् राष्ट्र,” “समृद्ध राजवंश,” “महाशक्ति,” “प्रविधि शक्ति,” “सैन्य शक्ति,” आदि इत्यादिजस्ता देशका ख्रोक्रा र भव्य परिभाषाहरू स्विकार्न चाहँदैनन्। सामान्य मानवतामा यस्ता अवधारणाहरू हुँदैनन्, र मानिसहरू आफ्नो दैनिक जीवनमा यस्ता कुराहरूमा तल्लिन हुन चाहँदैनन्। तर सँगसँगै, मानिसहरू अन्य मानवजातिसँग घुलमिल हुँदा शक्तिशाली देशको नागरिकता लिन पनि चाहन्छन्। खास गरी, जब तँ विदेश जान्छस् र अन्य जातिका मानिसहरूमाझ हुन्छस्, तँलाई आफ्नो देशको भाग्यले तेरो महत्त्वपूर्ण हितमा प्रभाव पार्दोरहेछ भन्‍ने गहन महसुस हुनेछ। यदि तेरो देश शक्तिशाली र धनी छ, अनि संसारमा यसको हैसियत उच्च छ भने, आफ्नो देशको हैसियतअनुरूप नै तेरो हैसियत पनि मानिसहरूमाझ उच्च हुनेछ, र तैँले उच्च सम्मान पाउनेछस्। यदि तँ गरिब देश, सानो राष्ट्र, वा कुनै अज्ञात जातीय समूहबाट आएको होस् भने, तेरो राष्ट्रियता र जातीयताअनुरूप नै तेरो हैसियत पनि निम्न हुनेछ। तँ जे-जस्तो प्रकारको व्यक्ति भए पनि, वा तेरो राष्ट्रियता जे भए पनि, वा तँ जुनै जातिको भए पनि, यदि तँ सानो क्षेत्रभित्र मात्र जिउँछस् भने, “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचारले तँलाई कुनै प्रभाव पार्नेछैन। तर जब सारा मानवजातिका विभिन्‍न देशहरूबाट आएका मानिसहरू एकसाथ भेला हुन्छन्, तब “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचारलाई अझ धेरै मानिसहरूले स्वीकार गर्छन्। यो निष्क्रिय स्वीकार होइन, बरु यो त “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइ सही छ भनेर तैँले आफ्नो व्यक्तिपरक इच्छाले नै गहन महसुस गरेको कुरा हो, किनभने तेरो देशको भाग्य मानिसहरूमाझको तेरो हैसियत, प्रतिष्ठा र मूल्यसँग नटुट्ने गरी सम्बन्धित हुन्छ। त्यति बेला तँलाई आफू जन्मेको र हुर्केको आफ्नो देशको अवधारणा र परिभाषा त सानो ठाउँ मात्र हो भन्‍ने लाग्‍न छोड्छ। बरु, तँ आफ्नो देश ठूलो र बलियो हुनेछ भन्‍ने आस गर्छस्। तर जब तँ आफ्नो देश फर्कन्छस्, तब यो देश फेरि तेरो मनमा एकदमै विशिष्ट बन्छ। यो विशिष्ट ठाउँ आकारहीन राष्ट्र हुँदैन, बरु तेरो गाउँको बाटोघाटो, खोलानाला र पँधेरा अनि तैँले उब्जनी गर्ने तेरो घरको जग्गाजमिन हुन्छ। तसर्थ तेरो सन्दर्भमा, आफ्नो देश फर्कनु भनेको निश्‍चित रूपले तेरो गाउँ फर्कनु, तेरो घर फर्कनु हो। अनि जब तँ घर फर्कन्छस्, देश भए पनि नभए पनि, शासक जो भए पनि, देशको क्षेत्र जति नै ठूलो भए पनि, देशको आर्थिक स्थिति जेजस्तो भए पनि, देश गरिब भए पनि धनी भए पनि, यसले केही फरक पार्दैन—यी कुनै कुराले पनि तेरो लागि कुनै अर्थ राख्दैनन्। जसबम्म तेरो घर अझै हुन्छ, तबसम्म तैँले फर्केर जान कुम्लोकुटुरो कस्दा, तँसँग दिशा र लक्ष्य हुनेछ। जबसम्म तँसँग अझै पनि शिर लुकाउने ठाउँ, र तँ हुर्केबढेको ठाउँ हुन्छ, तबसम्म तँलाई आफ्नो भन्‍ने केही छ र आफूसँग कुनै गन्तव्य छ भन्‍ने अनुभूति हुनेछ। पहिलेको देश नरहे पनि र शासक बद्लिए पनि, जबसम्म त्यहाँ तेरो घर अझै हुन्छ, तबसम्म तेरो लागि फर्केर जाने घर हुन्छ। यो मानिसहरूको मनमा हुने देशको असाध्यै विरोधासपूर्ण र अस्पष्ट अवधारणा हो, तर यो घरको एकदमै ठोस अवधारणा पनि हो। वास्तवमा मानिसहरू “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचार सही हो कि होइन भनेर त्यति निश्‍चित हुँदैनन्। तर यो विचारले खास सामाजिक हैसियतमा निश्‍चित प्रभाव पार्ने हुनाले, मानिसहरूमा थाहै नपाई देश, राष्ट्रियता र जातीयताको बलियो भाव विकास हुन्छ। जब मानिसहरू आफ्नो गाउँघरको सानो क्षेत्रमा मात्र बसोबास गरिरहेका हुन्छन्, तब तिनीहरूले “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचारलाई केही हदसम्म रोक्न वा प्रतिरोध गर्न सक्छन्। तर जब तिनीहरू आफ्नो गाउँघर र जन्मभूमि छोडेर देशबाहिर जान्छन्, तब तिनीहरूले “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचारबारे थाहै नपाई केही चेतना पाउँछन् र त्यसलाई स्विकार्छन्। उदाहरणको लागि, तँ विदेश जाँदा यदि कसैले तँलाई कुन देशबाट आएको भनेर सोधेमा, तँ सोच्नेछस्, “म सिङ्गापुरे हुँ भनेर भनेँ भने, मानिसहरूले मलाई इज्जत दिनेछन्; तर यदि मैले म चिनियाँ हुँ भनेँ भने, मानिसहरूले मलाई तुच्छ ठान्‍नेछन्।” त्यसैले तँ तिनीहरूलाई साँचो कुरा बताउने आँट गर्दैनस्। तर एक दिन तेरो राष्ट्रियता उदाङ्गो भइहाल्छ। मानिसहरूले तँ चिनियाँ होस् भनेर थाहा पाउँछन्, र त्यहाँदेखि तँलाई भिन्नै नजरले हेर्छन्। तँलाई भेदभाव गरिन्छ, तुच्छ नजरले हेरिन्छ र दोस्रो दर्जाको नागरिकसमेत ठानिन्छ। त्यो बेला, तैँले अचेतन रूपमै यस्तो सोच्छस्: “‘हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ’ भन्‍ने भनाइ वास्तवमै सही रहेछ! म आफ्नो देशको भाग्यप्रति आफू जिम्मेवार छैनँ भनेर सोच्ने गर्थेँ, तर अहिले आफ्नो देशको भाग्यले सबैलाई असर गरेको देखिन्छ। देश समृद्ध हुँदा, सबै जना समृद्ध हुन्छन्, तर देश पतन हुँदा, सबैले दुःख पाउँछन्। के हाम्रो देश गरिब छैन र? के यो निरङ्कुश छैन र? अनि के शासकहरूले बदनामी कमाएका छैनन् र? त्यसैले त मानिसहरू मलाई तुच्छ ठान्छन्। हेर त, पश्‍चिमी देशका मानिसहरू कति समृद्ध र खुसी छन्! तिनीहरू जहाँसुकै जान र जुनसुकै कुरा विश्‍वास गर्न स्वतन्त्र छन्। तर कम्युनिस्ट शासनमा हामीलाई परमेश्‍वरमा विश्‍वास गर्दा सताइन्छ अनि हामी भागेर टाढाटाढा नगई धर पाउँदैनौँ, र हामी घर फर्कन सक्दैनौँ। यदि हामी कुनै पश्‍चिमी देशमा जन्मेका भए कति राम्रो हुनेथियो!” त्यति बेला, तँलाई राष्ट्रियता एकदमै महत्त्वपूर्ण रहेछ भन्‍ने लाग्छ, र तेरो लागि देशको भाग्य महत्त्वपूर्ण बन्छ। कुनै पनि स्थितिमा, जब मानिसहरू यस्तो परिवेश र परिस्थितिमा जिउँछन्, तिनीहरूलाई “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइले विभिन्‍न हदमा प्रभावित र ढलपल पार्छ। त्यति बेला, मानिस, मामिला र कामकुराप्रतिको मानिसहरूको व्यवहार, हेराइ, दृष्टिकोण र विचार विभिन्‍न हदमा परिवर्तन हुन्छन्, अनि यसले अवश्यै विभिन्‍न हदका परिणाम र प्रभाव पनि उत्पन्‍न गर्छ। यसरी, मानिसहरूको सोचलाई “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइले प्रभाव पारेको केही ठोस प्रमाणहरू छन्। मानवताको दृष्टिकोणबाट हेर्दा, मानिसहरूमा भएको देशको अवधारणा त्यति प्रस्ट नभए पनि, निश्‍चित सामाजिक परिप्रेक्ष्यमा, कुनै देशको नागरिक भएको कारणले आउने राष्ट्रियताले अझै पनि मानिसहरूमा प्रभाव पार्ने गर्छ। यदि मानिसहरूले सत्यता बुझ्दैनन् र यी समस्याहरू स्पष्टसँग देख्दैनन् भने, तिनीहरूले आफूलाई यस विचारको जन्जिर र क्षयकारी प्रभावबाट मुक्त गर्न सक्नेछैनन्, र यसले तिनीहरूको कामकुराहरू सम्हाल्ने मुड र मनोवृत्तिमा पनि असर गर्नेछ। चाहे मानवताको दृष्टिकोणबाट हेर्दा होस् वा मानिसहरूको सोचमा हुने परिवर्तन र प्रगतिको सन्दर्भबाट हेर्दा होस्, जब साधारण परिवेश परिवर्तन हुन्छ, तब शैतानले अघि सारेको “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइले मानिसहरूमा निश्‍चित प्रभाव पार्छै पार्छ, अनि मानव सोचमा निश्‍चित क्षयकारी असर गर्छै गर्छ। मानिसहरूले देशको भाग्यजस्ता मामिलाहरूलाई कसरी सही तरिकामा व्याख्या गर्ने भनेर नबुझ्ने हुनाले र यस मामिलामा संलग्‍न सत्यता नबुझ्ने हुनाले, यस विचारद्वारा तिनीहरू फरकफरक परिस्थितिमा प्रायः ढलपल वा भ्रष्ट हुन्छन्, वा यसले तिनीहरूको मुडमा असर गर्छ—यो पटक्‍कै धारणयोग्य छैन।

देशको भाग्यको सन्दर्भमा भन्‍नुपर्दा, यसलाई परमेश्‍वर कसरी हेर्नुहुन्छ र मानिसहरूले यसलाई कसरी सही रूपले हेर्नुपर्छ भनेर के मानिसहरूले बुझ्नुपर्छ? (पर्छ।) मानिसहरूले आफूलाई “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइले पार्ने क्षयकारी असर र प्रभावबाट मुक्त गर्न आफूले यस मामिलामा कस्तो दृष्टिकोण अपनाउनुपर्छ भनेर स्पष्टसँग बुझ्नुपर्छ। पहिला, हामी कुनै व्यक्ति, कुनै शक्ति वा कुनै जातीय समूहले देशको भाग्य प्रभावित पार्न सक्छ कि सक्दैन भनेर हेरौँ। कसले देशको भाग्य निर्धारित गर्छ? (परमेशवरले निर्धारित गर्नुहुन्छ।) त्यो सही हो, यो मूल कारण बुझ्‍नुपर्छ। देशको भाग्य परमेश्‍वरको सार्वभौमिकतासँग घनिष्ठ रूपले सम्बन्धित छ, र अरू कोहीसँग सम्बन्धित छैन। कुनै शक्ति, विचार वा व्यक्तिले देशको नियति बदल्न सक्दैन। देशको नियतिमा केके पर्छ? देशको समृद्धि र पतन। चाहे देश विकसित होस् वा पिछडिएको, अनि यसको भौगोलिक स्थिति जे भए पनि, यसको क्षेत्र र आकार जति नै ठूलो भए पनि, यसका सारा स्रोतसाधन जति नै भए पनि—जमिनमाथि, जमिनमुनि र हावामा यसका जति नै स्रोतसाधन भए पनि—देशको शासक जो भए पनि, शासकीय पदानुक्रममा जुनै प्रकारका मानिसहरू रहे पनि, शासकहरूको शासन गर्ने मार्गदर्शक राजनैतिक सिद्धान्त र पद्धति जे भए पनि, तिनीहरूले परमेश्‍वरलाई चिने पनि नचिने पनि, उहाँको आज्ञापालन गरे पनि नगरे पनि, अनि परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति जे भए पनि, र आदि इत्यादि जे भए पनि—यी सबै कुरा देशको भाग्यसँग सम्बन्धित छन्। यी कुराहरू कुनै एक व्यक्तिद्वारा निर्धारित हुँदैनन्, झन् कुनै शक्तिद्वारा निर्धारित हुनु त परको कुरा हो। त्यसोभए, अन्तिम निर्णय कसको हुन्छ? अन्तिम निर्णय परमेश्‍वरको हुन्छ। मानिसहरू यी कुरा बुझ्दैनन्, न त शैतानले नै बुझ्छ, तर यो अवज्ञाकारी छ। यसले निरन्तर मानिसहरूलाई आफ्नो मातहतमा लिन र तिनीहरूमाथि प्रभुत्‍व जमाउन चाहन्छ, त्यसकारण यसले नैतिक आचरण र सामाजिक रीतिरिवाजजस्ता कुराहरू प्रवर्धन गर्न अनि मानिसहरूलाई यी विचारहरू स्विकार्न लगाएर शोषण गर्दै शासकहरूको सेवा गर्न लगाउन र यसरी शासकहरूलाई सत्तामा कायम राखिराख्न कतिपय उत्तेजक र छली विचार तथा रायहरू प्रयोग गरिरहन्छ। तर वास्तवमा शैतानले जे गरे पनि, देशको भाग्य शैतानसँग सम्बन्धित छैन, न त परम्परागत संस्कृतिका यी विचारहरू कति जोरसोरले, कति गहन र कति व्यापक रूपले फैलाइन्छ भन्‍ने कुरासँग नै सम्बन्धित छ। कुनै पनि अवधिमा कुनै पनि देशको जिउने अवस्थाहरू र अस्तित्वको स्वरूप—चाहे यो धनी होस् वा गरिब, पिछडिएको होस् वा विकसित, साथै संसारका थुप्रै देशहरूमाझ यसको दर्जा जस्तोसुकै होस्—यो सब कुरा शासकको शासकीय क्षमतासँग कहीँकतै सम्बन्धित छैन, न त यी चिन्तकहरूको विचारको सारतत्व वा यी कुराहरू फैलाउने यिनीहरूको उत्साहसँग नै सम्बन्धित छ। देशको भाग्य परमेश्‍वरको सार्वभौमिकता र उहाँले सारा मानवजातिलाई व्यवस्थित गर्नुहुने समयावधिसँग मात्र सम्बन्धित छ। जबजब परमेश्‍वरलाई कुनै पनि समयावधिमा कुनै पनि काम गर्नुपर्ने र कुनै पनि कुरामाथि शासन र योजना गर्नुपर्ने हुन्छ, र जबजब समाजका सबै जनालाई कुनै पनि दिशामा डोऱ्याउनुपर्ने र समाजको कुनै पनि स्वरूप बनाउनुपर्ने हुन्छ—तबतब त्यो अवधिमा, केही विशेष नायकहरू देखा पर्छन्, अनि केही ठूला र विशेष घटनाहरू घट्छन्। उदाहरणको लागि, युद्ध हुन्छ वा कतिपय देशका भूभाग अरू देशले लिन्छन्, वा कतिपय विशेष, नयाँ प्रविधिहरू देखा पर्छन्, वा पृथ्वीको सागर र महादेशीय प्लेटहरूसमेत यताउता सर्छन् र यस्तै यस्तै घटनाहरू घट्छन्—यी सबै कुराहरू परमेश्‍वरको हातको सार्वभौमिकता र बन्दोबस्तहरूको अधीनमा हुन्छन्। एउटा मामुली व्यक्ति देखा परेर उसले सम्पूर्ण मानिवजातिलाई अगाडि ठूलो फड्को मार्न डोऱ्याउने सम्भावना पनि हुन्छ। एकदमै साधारण, महत्त्वहीन घटनाले ठूलो संख्यामा मानवजाति पलायन हुन सक्ने पनि उतिकै सम्भावना हुन्छ, वा के पनि हुन सक्छ भने, कुनै महत्त्वहीन घटना घटेर त्यसको परिणामस्वरूप, सारा मानवजातिमा ठूलो परिवर्तन आउन सक्छ, वा आर्थिक, सैन्य मामिला, व्यापार वा स्वास्थ्योपचार, आदि इत्यादिको सन्दर्भमा विभिन्‍न हदको परिवर्तन आउन सक्छ। यी परिवर्तनहरूले पृथ्वीको कुनै पनि देशको भाग्य प्रभावित पार्नुका साथै कुनै पनि देशको समृद्धि र पतनमा पनि प्रभाव पार्छन्। त्यसैले, कुनै देश चाहे शक्तिशाली होस् वा कमजोर, त्यसको नियति, उत्थान र पतन, यी सबै कुरा मानवजातिमाझ परमेश्‍वरको व्यवस्थापन र उहाँको सार्वभौमिकतासँग सम्बन्धित हुन्छन्। अनि, किन परमेश्‍वर यसरी काम गर्न चाहनुहुन्छ? सबै कुराको जड उहाँको अभिप्रायमा छ। सङ्क्षेपमा भन्‍नुपर्दा, कुनै पनि देश वा राष्ट्रको अस्तित्व, उत्थान र पतनको सम्बन्ध कुनै जाति, कुनै शक्ति, कुनै शासकवर्ग, कुनै शासनको ढाँचा वा पद्धति, वा कुनै एक व्यक्तिसँग हुँदैन। ती केवल सृष्टिकर्ताको सार्वभौमिकतासँग सम्बन्धित छन्, र ती सृष्टिकर्ताले मानवजातिलाई व्यवस्थित गर्ने समयावधि अनि सृष्टिकर्ताले मानवजातिलाई व्यवस्थित गर्न र डोऱ्याउन प्रयोग गर्ने अर्को चरणसँग पनि सम्बन्धित छन्। तसर्थ, परमेश्‍वरले जे गर्नुभए पनि, त्यसले जुनसुकै देश, राष्ट्र, जाति, समूह वा व्यक्तिको नियतिमा प्रभाव पार्छ। यस दृष्टिकोणबाट हेर्दा, के भन्‍न सकिन्छ भने, जुनसुकै व्यक्ति, जाति, राष्ट्र र देशको नियति पनि वास्तवमा एकाअर्कासँग गाँसिएको र घनिष्ठ रूपले बाँधिएको हुन्छ, अनि तिनीहरूमाझ नछुट्टिने सम्बन्ध हुन्छ। तर यी कुराहरूबीचको यो सम्बन्ध “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइले गर्दा नभई, सृष्टिकर्ताको सार्वभौमिकताले गर्दा उत्पन्‍न हुन्छ। यी कुराहरूको नियति ठ्याक्‍कै एकमात्र साँचो परमेश्‍वर, सृष्टिकर्ताको सार्वभौमिकताअन्तर्गत हुने हुनाले नै तिनीहरूबमाझ नछुट्टिने सम्बन्ध हुन्छ। कुनै पनि देशको भाग्यको मूल कारण र सार यही हो।

त्यसैले, अधिकांश मानिसहरूको दृष्टिकोणबाट हेर्दा, व्यक्तिले आफ्नो देशको भाग्यको सम्बन्धमा कस्तो दृष्टिकोण राख्नुपर्छ? सर्वप्रथम त देशले अधिकांश जनसंख्याको सुरक्षा गर्न र तिनीहरूलाई सन्तुष्ट बनाइराख्न के-कति कार्य गर्छ त्यो हेर्नुपर्छ। यदि अधिकांश जनसंख्या राम्रोसँग जिउँछन्, तिनीहरूसँग स्वतन्त्रता र स्वतन्त्र रूपले बोल्ने अधिकार छ भने, यदि देशको सरकारले जारी गरेका सबै नीति एकदमै न्यायसङ्गत छन् र मानिसहरू तिनलाई निष्पक्ष र उचित मान्छन् भने, यदि साधारण मानिसहरूको मानव अधिकारको सुरक्षा हुन सक्छ भने, र यदि मानिसहरूलाई उनीहरूको बाँच्ने अधिकारबाट वञ्चित गरिँदैन भने, मानिसहरू स्वतः यो देशमाथि भर पर्नेछन्, तिनीहरूलाई त्यहाँ जिउन खुसी लाग्‍नेछ, र तिनीहरूले यो देशलाई हृदयदेखि नै प्रेम गर्नेछन्। त्यसपछि, सबैजना यो देशको भाग्यप्रति जिम्मेवार बन्‍नेछन्, र यहाँका मानिसहरू यो देशप्रति आफ्नो जिम्मेवारी पूरा गर्न सच्चा रूपले इच्छुक हुनेछन्, अनि यो देश सधैँ बाँचिरहोस् भन्‍ने चाहना गर्नेछन्, किनभने यसले उनीहरूको जीवन र उनीहरूका सबै कुरामा फाइदा पुऱ्याउनेछ। यदि यो देशले साधारण मानिसहरूको जीवन सुरक्षा गर्न सक्दैन र उनीहरूले पाउनुपर्ने मानव अधिकार दिँदैन, र उनीहरूलाई बोल्ने स्वतन्त्रतासमेत छैन भने, यदि यहाँ आफ्नो मनको कुरा बताउनेहरूलाई प्रतिबन्ध लगाइन्छ र कारबाही गरिन्छ, र मानिसहरूलाई आफूले चाहेको कुरा बोल्न वा छलफल गर्नसमेत दिँइदैन भने, अनि मानिसहरू धम्की, अपमान र सतावटमा पर्दा यदि यो देशले वास्ता गर्दैन् भने, यदि त्यहाँ स्वतन्त्रता छँदै छैन, र मानिसहरूलाई तिनीहरूको आधारभूत मानव अधिकार र बाँच्‍ने अधिकारदेखि वञ्चित गरिन्छ भने, यदि परमेश्‍वरलाई विश्‍वास गर्ने र पछ्याउनेहरूलाई दमन र सतावटमा समेत पारिन्छ जसले गर्दा तिनीहरू घर फर्कन सक्दैनन् भने, अनि यदि विश्‍वासीहरूको हत्या गरिन्छ तर हत्या गर्नेलाई दण्ड हुँदैन भने, यो देश दियाबलसहरूको देश हो, यो शैतानको देश हो, र यो वास्तविक देश होइन। यस्तो अवस्थामा, के सबै जना अझै पनि यो देशको भाग्यप्रति जिम्मेवार बन्‍नुपर्छ त? यदि मानिसहरूले यो देशलाई हृदयमा तिरस्कार र घृणा गरिसकेका छन् भने, सैद्धान्तिक रूपमा यसप्रतिको जिम्मेवारी स्विकारे पनि, उनीहरू यो जिम्मेवारी पूरा गर्न इच्छुक हुनेछैनन्। यदि कुनै शक्तिशाली शत्रुले यो देशलाई आक्रमण गऱ्यो भने, धेरैजसो मानिसहरू सुखी जीवन जिउन सकूँ भनेर यो देश चाँडै ढलिहालोस् भन्‍ने आशासमेत गर्छन्। तसर्थ, हरेक व्यक्ति देशको भाग्यप्रति जिम्मेवार हुन्छन् कि हुँदैनन् भन्‍ने कुरा यो देशको सरकारले मानिसहरूलाई कसरी व्यवहार गर्छ, त्यसमा निर्भर हुन्छ। चुरो कुरा भनेको यो सरकारसँग जनताको समर्थन छ कि छैन भन्‍ने हो—यो कुरा मुख्यतः यही पक्षको आधारमा निर्धारित हुन्छ। आधारभूत रूपमा हेर्दा, अर्को पक्ष के हो भने, कुनै पनि देशलाई आइपर्ने कुनै पनि कुरापछाडि थुप्रै कारण र कारकतत्वहरू हुन्छन् जसले गर्दा त्यो कुरा आइपर्छ, अनि यो साधारण वा महत्त्वहीन व्यक्तिले प्रभावित गर्न सक्ने कुनै कुरा नै होइन। तसर्थ, देशको भाग्यको कुरा आउँदा, कुनै एक व्यक्ति वा कुनै जातीय समूहले अन्तिम निर्णय गर्न, वा हस्तक्षेप गर्न सक्दैन। के तथ्य यही होइन र? (हो) उदाहरणको लागि मानौँ, तेरो देशको शासकवर्गले तेरो देशको क्षेत्र विस्तार गर्न र छिमेकी देशको सर्वोत्तम भूभाग, पूर्वाधार र स्रोतसाधनहरू हडप्‍न चाहन्छ। अनि त्यस्तो निर्णय गरेपछि, शासकवर्गले सैन्य बल तयार पार्न थाल्छ, खर्च जुटाउँछ, हरप्रकारका आपूर्ति थुपार्छ, र क्षेत्र विस्तार कहिले थाल्ने भनेर छलफल गर्छ। के आम व्यक्तिले यो सब जान्‍ने अधिकार पाउँछ त? तँलाई यो जान्‍ने अधिकारसमेत दिइँदैन। तँलाई त हालैका वर्षहरूमा देशमा कर बढेको छ, विभिन्‍न बहानामा लगाइएको महसुल र शुल्क बढेको छ, अनि राष्ट्रिय ऋण बढेको छ भन्‍ने मात्र थाहा दिइन्छ। तेरो दायित्व कर तिर्नु मात्र हो। देशलाई के हुनेछ र शासकहरूले के गर्नेछन् भन्‍ने सन्दर्भमा, के त्यसको तँसँग कुनै सरोकार हुन्छ? देशले युद्ध छेड्ने निर्णय नगरुञ्जेल, यसले कुन देश र कुन भूभागमा आक्रमण गर्नेछ, र त्यहाँ कसरी आक्रमण गर्नेछ भन्‍ने कुराहरू शासकवर्गलाई मात्र थाहा हुन्छ, तर त्यो कुरा युद्ध गर्न पठाइने सैनिकहरूलाई समेत थाहा हुँदैन। तिनीहरूलाई त्यो जान्‍नेसमेत अधिकार हुँदैन। शासकले जहाँ भन्छ तिनीहरूले त्यहीँ युद्ध गर्नुपर्छ। तिनीहरूले किन युद्ध गर्दै छन्, कति समयसम्म युद्ध गर्नुपर्छ, तिनीहरूले जित्न सक्छन् कि सक्दैनन्, र तिनीहरू कहिले घर फर्कन सक्छन् भन्‍ने कुरा तिनीहरूलाई थाहै हुँदैन, तिनीहरूलाई त कुनै कुरा पनि फिटिक्‍कै थाहै हुँदैन। कतिपय मानिसहरूका छोराछोरीलाई युद्धमा पठाइन्छ तर आमाबुबा भएर पनि तिनीहरूलाई त्यो थाहासमेत हुँदैन। अझ खराब त, तिनीहरूले आफ्ना छोराछोरी मारिएको पत्तोसमेत पाउँदैनन्। छोराछोरीको अस्तु घरमा आइपुग्दा मात्र आफ्ना छोराछोरी मरिसकेका रहेछन् भनेर थाहा पाउँछन्। त्यसैले मलाई भन् त, तेरो देशको भाग्य, तेरो देशले गर्ने कुराहरू र यसले गर्ने निर्णयको तँजस्तो साधारण व्यक्तिसँग कुनै सम्बन्ध हुन्छ? के तेरो देशले तँजस्तो एक साधारण व्यक्तिलाई यी कुराबारे बताउँछ? के तँलाई निर्णयप्रक्रियामा सहभागी हुने अधिकार छ? तँलाई त्यो जान्‍नेसमेत अधिकार हुँदैन, निर्णयप्रक्रियामा सहभागी हुन पाउनु त परको कुरा हो। तेरो लागि तेरो देश जे भए पनि, यसले जसरी विकास गर्छ, यो कुन दिशामा लाग्छ, र यो कसरी सञ्चालित हुन्छ भन्‍ने कुराको तँसँग कुनै सम्बन्ध हुन्छ? त्यसको तँसँग सम्बन्ध हुँदैन। किन त्यस्तो हुन्छ? किनभने तँ साधारण व्यक्ति होस् र यी सब कुरा शासकहरूसँग मात्र सम्बन्धित छन्। अन्तिम निर्णय त शासकहरू, शासकवर्ग र निहित स्वार्थ भएकाहरूको हातमा हुन्छ, तर तँजस्तो साधारण व्यक्तिसँग त्यसको कुनै सम्बन्ध हुँदैन। त्यसैले, तँमा अलि आत्मचेतना हुनुपर्छ। तर्कसङ्गत नहुने कुराहरू नगर्; शासकको लागि आफ्नो जीवन दिनु वा आफूलाई जोखिममा पार्नु आवश्यक छैन। मानौँ, देशका शासकहरू निरङ्कुश छन्, र सत्ता दियाबलसहरूको हातमा छ जो आफ्नो कर्तव्य उचित रूपले निभाउँदैनन्, बरु सारा दिन रक्सी र व्यभिचारमा लिप्त भएर बिताउँछन्, फजुल खर्च गर्छन् र मानिसहरूको लागि केही गर्दैनन्। त्यो देश ऋणमा डुब्छ र लथालिङ्ग हुन्छ, तर शासकहरू भ्रष्ट र अयोग्य हुन्छन्, र फलस्वरूप विदेशी शत्रुले आक्रमण गर्छ। त्यसपछि मात्र शासकहरूलाई सामान्य मानिसहरूको याद आउँछ, र तिनीहरू उनीहरूलाई आह्वान गर्दै भन्छन् “‘हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ।’ यदि देश बरबाद भयो भने, तिमीहरू सबैको जीवन कठिन बन्छ। अहिले देश सङ्कटमा छ र आक्रमणकारीहरू हाम्रो सीमामा घुसेका छन्। देश रक्षा गर्न युद्धभूमि जाऊ, यो घडी देशलाई तिमीहरूको खाँचो छ!” अनि तैँले यस्तो विचार गर्छस्, “त्यो सही हो, ‘हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ।’ आखिर देशलाई फेरि एकपटक मेरो खाँचो छ, त्यसैले यो मेरो जिम्मेवारी भएकोले, मैले यो देश रक्षा गर्न आफ्नो जीवन दिनुपर्छ। हाम्रो देशको स्वामी फेरिनु हुँदैन, यो शासक सत्तामा नरहे, हामी सक्‍किन्छौँ!” के यसरी सोच्नु मूर्खता होइन र? यी तानाशाही शासकहरूले परमेश्‍वरलाई इन्कार र विरोध गर्छन्, सारा दिन खानु, पिउनु र मोजमस्तीमै बिताउँछन्, विवेकहीन व्यवहार गर्छन्, आम मानिसहरूलाई बेवास्ता गर्छन्, र जनसमुदायमाथि हानि र क्रूर व्यवहार गर्छन्। यदि तँ साहसी र निडर भई यस्ता शासकहरूको रक्षा गर्न दौडन्छस्, तिनीहरूको लागि युद्धभूमिमा बलि चढ्छस् र तिनीहरूको लागि आफ्नो ज्यान फाल्छस् भने, निश्‍चित रूपले तँ मूर्ख होस् र तैँले अन्धो भक्ति देखाइरहेको छस्। म किन तँ निश्‍चित रूपले मूर्ख होस् भनेर भन्दै छु? युद्धभूमिमा सैनिकहरूले खासमा कसको लागि युद्ध लडिरहेका हुन्छन्? तिनीहरूले कसको लागि ज्यान फालिरहेका हुन्छन्? तिनीहरू कसको लागि बलि चढिरहेका हुन्छन्? यदि तँजस्तो सबै मानिसहरूमध्ये सबैभन्दा कमजोर र दुर्बल आम व्यक्ति युद्धमा जान्छस् भने, त्यो दुस्साहस देखाउनु र जीवन खेर फाल्नु मात्र हो। यदि युद्ध छेडियो भने, निरर्थक त्याग र प्रतिरोध गर्नुभन्दा, तैँले सुरक्षित स्थानमा भागेर जान सकूँ भनेर परमेश्‍वरलाई प्रार्थना गरेर सुरक्षा माग्‍नुपर्छ। निरर्थक त्यागलाई के भनिन्छ? दुस्साहस। स्वभाविक रूपमै, देशमा शासकहरूको रक्षा गर्न र तिनीहरूको लागि ज्यान जोखिममा हाल्न “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइको मनोभाव कायम राख्ने मानिसहरू हुने नै छन्। यस्ता मानिसहरूको हित र जीविततामा देशको भाग्यले ठूलो प्रभाव पार्छ, त्यसैले तिनीहरूलाई नै देशको मामिलाको ख्याल गर्न दे। तँ साधारण व्यक्ति होस्, तँमा देश रक्षा गर्ने शक्ति छैन, र यी कुराहरूको तँसँग कुनै सम्बन्ध छैन। वास्तवमा कस्तो देशचाहिँ रक्षा गर्नलायक हुन्छ? यदि कुनै देशमा स्वतन्त्र र लोकतान्त्रिक प्रणाली छ, अनि शासकले वास्तवमै मानिसहरूको लागि काम गर्छ र उनीहरूलाई सामान्य जीवनको ग्यारेन्टी दिन सक्छ भने, यस्तो देश जोगाउन र रक्षा गर्न लायक हुन्छ। आम मानिसहरूलाई यस्तो देश रक्षा गर्नु आफ्नो घर रक्षा गर्नुबराबर हो, जुन पन्छाउनै नमिल्ने जिम्मेवारी हो भन्‍ने लाग्छ, त्यसैले उनीहरू यस्तो देशको लागि काम गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न इच्छुक हुन्छन्। तर यदि दियाबलसहरू वा शैतानले यो देशमा शासन गर्छ, र यी शासकहरू यति हदसम्म दुष्ट र अयोग्य छन् कि यी पिशाची राजाहरूको शासन क्षीण भएर तिनीहरूले पद त्याग्‍नुपर्ने अवस्था छ भने, आक्रमण गर्नको लागि परमेश्‍वरले शक्तिशाली देश खडा गर्नुहुनेछ। यो त स्वर्गबाट मानवजातिलाई यो शासनका शासकहरूले पद छोड्नुपर्छ र तिनीहरू यस्तो शक्ति पाउन वा यो भूमिमा प्रभुत्व जमाउन वा आफ्नो भरणपोषणको लागि यो देशका मानिसहरूलाई खटाउन योग्य छैनन्, किनभने तिनीहरूले देशका जनताको कल्याणको लागि कुनै प्रबन्ध गरेकै छैनन्, न त तिनीहरूको शासनले आम मानिसहरूलाई कुनै पनि तरिकामा फाइदा पुऱ्याएको वा तिनीहरूको जीवनमा कुनै खुसी नै ल्याएको छ भनेर गरिएको सङ्केत हो। तिनीहरूले आम मानिसहरूलाई सताएका र हानि गरेका मात्र छन्, अनि यातना दिएका र दुरुपयोग गरेका मात्र छन्। तसर्थ, यस्ता शासकहरूले राजीनामा दिएर पदत्याग गर्नुपर्छ। यदि यो शासनको ठाउँ सद्गुणी मानिसहरू सत्तामा रहेको लोकतान्त्रिक प्रणालीले लियो भने, यसले जनताको आशा र अपेक्षाहरू पूरा गर्नेछ, अनि यो स्वर्गको इच्छाअनुरूप पनि हुनेछ। स्वर्गको तौरतरिका पालन गर्नेहरूको फलिफाप हुनेछ, जबकि स्वर्गको प्रतिरोध गर्नेहरू नाश हुनेछन्। यदि तँ साधारण नागरिकको रूपमा “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचारद्वारा निरन्तर बहकिन्छस् अनि सधैँ शासकवर्गलाई पुज्छस् र पछ्याउँछस् भने, निश्‍चय नै तेरो अकाल मृत्यु हुनेछ अनि तँ शासकवर्गको बलिको बोका वा चिहानको वस्तु बन्‍नेछस्। यदि तँ सत्यता पछ्याउँछस्, शैतानको छलमा पर्दैनस अनि यसको प्रभावबाट उम्केर आफ्नो जीवन जोगाउँछस् भने, तैँले सकारात्मक देश उदय भएको अनि ज्ञानी मानिसहरू र बुद्धिमानी शासकहरूले सत्ता सम्हालेको र राम्रो सामाजिक प्रणाली स्थापित भएको देख्ने आशा हुनेछ अनि तँलाई सुखी जीवन जिउने सौभाग्य मिल्नेछ। के यो स्मार्ट व्यक्तिको रोजाइ होइन र? आक्रमण गर्नेहरू शत्रु वा दियाबलस् नै हुन्छन् भन्‍ने नसोच्; त्यो गलत हो। यदि तँ सधैँ शासकहरूलाई सर्वोच्च र अरू सबैभन्दा माथि ठान्छस् अनि तिनीहरूले जति नै खराब काम गरे पनि वा जति नै परमेश्‍वरको प्रतिरोध गरे पनि र विश्‍वासीहरूलाई क्रूर व्यवहार गरे पनि, तिनीहरूलाई यो देशको अनन्त मालिक ठान्छस् भने, त्यो गम्भीर गल्ती हो। यसबारे सोच्, विगतमा सामन्ती शासकीय राजवंशहरूलाई हटाइएपछि र मानवजाति विभिन्‍न प्रकारका तुलनात्मक रूपमा लोकतान्त्रिक सामाजिक प्रणालीमा जिउन थालेपछि, मानिसहरू अलि स्वतन्त्र र खुसी भए, तिनीहरूको जीवन भौतिक तवरमा पहिलेभन्दा उत्तम भयो अनि विभिन्‍न कुराहरूसम्बन्धी मानवजातिको सोचको दायरा, अन्तर्दृष्टि र दृष्टिकोणमा पहिलेभन्दा धेरै प्रगति भयो। यदि सबै मानिसहरूको सोच पिछडिएको भएको भए र तिनीहरू “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइमै निरन्तर विश्‍वास गर्दै पुराना परम्पराहरूलाई पुनर्जीवित पार्न र सामन्ती प्रणालीमा फर्कन चाहिरहेका भए, के मानवजातिले यस हदसम्म विकास गर्ने सक्थे र? के तिनीहरूको बासस्थान अहिलेको जस्तो हुन्थ्यो र? निश्‍चय नै हुन्थेन। तसर्थ, देश सङ्कटमा हुँदा, यदि देशको कानुनले तैँले आफ्नो नागरिक कर्तव्य पूरा गर्नैपर्छ र सैन्य सेवा निर्वाह गर्नैपर्छ भनेर सर्त राख्छ भने, तैँले कानुनअनुसार सैन्य सेवा निर्वाह गर्नुपर्छ। यदि तँ आफ्नो सैन्य सेवाको दौरान युद्धमा जानुपऱ्यो भने, तैँले त्यसरी नै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, किनभने तैँले कानुनअनुसार गर्नैपर्ने कुरा यही हो। तैँले कानुन तोड्नु हुँदैन, र तैँले यो पालन गर्नैपर्छ। यदि कानुनले यो माग गर्दैन भने, तँसँग छनौट गर्ने स्वतन्त्रता हुन्छ। यदि तँ बसोबास गर्ने देशले परमेश्‍वरलाई मान्छ, उहाँलाई पछ्याउँछ, उहाँको उपासना गर्छ र उहाँद्वारा आशिषित छ भने, त्यस्तो देशको रक्षा गरिनुपर्छ। यदि तँ बसोबास गर्ने देशले परमेश्‍वरलाई प्रतिरोध गर्छ र सताउँछ, अनि इसाईहरूलाई पक्रन्छ र दमन गर्छ भने, त्यस्तो देश दियाबलसहरूद्वारा शासित शैतानी देश हो। यसले उन्माद रिसद्वारा परमश्‍वरको निरन्तर प्रतिरोध गरेर परमेश्‍वरको स्वभाव चिढ्याइसकेको छ र त्यो उहाँद्वारा श्रापित भइसकेको छ। जब यस्तो देश विदेशी शत्रुको आक्रमणमा पर्छ, अनि भित्री र बाहिरी सङ्कटहरूद्वारा घेरिन्छ, त्यो बेला परमेश्‍वर र मानवजातिमाझ रोष, असन्तुष्टि र क्रोध व्याप्त हुन्छ। के यही नै परमेश्‍वरले यो देश नाश गर्नको लागि परिवेश खडा गर्न चाहनुहुने समय होइन र? यही बेला नै परमेश्‍वरले काम गर्न थाल्नुहुन्छ। परमेश्‍वरले मानिसहरूको प्रार्थना सुन्‍नुभएको छ, र उहाँले उहाँका चुनिएका मानिसहरूप्रति गरिएको गलत कुराहरू सच्याउने समय आएको छ। यो राम्रो कुरा हो, र यो सुसमाचार पनि हो। परमेश्‍वरले दियाबलसहरू र शैतानलाई नामेट पार्न लाग्‍नुभएको यो समय, परमेश्‍वरका चुनिएका मानिसहरूले अत्यन्तै उत्साहित भएर चारैतिर गई यो सुसमाचार फैलाउने समय पनि हो। यो बेला, तैँले शासकवर्गको लागि आफ्नो जीवन पटक्‍कै जोखिममा हाल्नु हुँदैन। तैँले शासकवर्गले लादेका बन्धनहरू हटाउन, तुरुन्तै आफ्नो ज्यान जोगाउनको लागि भाग्‍न र आफूलाई अविलम्ब बचाउन आफ्नो बुद्धि लगाउनुपर्छ। कतिपय मानिसहरू भन्छन्: “यदि म भागेँ भने के म भगुवा बन्दिनँ र? के त्यो स्वार्थ होइन र?” तैँले भगुवा नबन्‍न, र बस आफ्नो घर रक्षा गरिरहन, र आक्रमणकारीहरूले बम पड्काउन्जेल र यो देश हडपुन्जेल पर्खने र परिणाम के हुन्छ हेर्ने मात्र गर्न पनि त सक्दैनस्। तर तथ्य के हो भने, कुनै राष्ट्रिय महत्त्वको कुनै ठूलो घटना घट्दा, साधारण मानिसहरूलाई आफै निर्णय गर्ने अधिकार नै हुँदैन। सबैले निष्क्रिय भई पर्खन, हेर्न र उक्त घटनाका टार्नै नसकिने नतिजाहरू सहन मात्र सक्छन्। के तथ्य यही होइन र? (हो।) वास्तवमा तथ्य यही हो। चाहे जुनसुकै अवस्था होस्, भाग्‍नु सबैभन्दा बुद्धिमानी कार्य हुन्छ। तेरो जीवन जोगाउनु र तेरो परिवारको सुरक्षा गर्नु तेरो जिम्मेवारी हो। यदि सबै जना आफ्नो देशको भाग्यको लागि जिम्मेवार हुनुपऱ्यो अनि तिनीहरू सबैको ज्यान गयो र देशमा केवल विस्तारित भूमि रह्यो भने, के त्यो देशको सार अझै रहन्छ र? “देश” केवल खोक्रो शब्द बन्‍नेछ, होइन र? तानाशाहहरूको नजरमा त मानव जीवन तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना, तिनीहरूको आक्रमाणका कार्यहरू अनि तिनीहरूको कुनै पनि निर्णय र कार्यको तुलनामा सबैभन्दा कम मूल्यवान् कुरा हो, तर परमेश्‍वरको नजरमा मानव जीवन सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तानाशाहरूको लागि बलि चढ्न इच्छुक र “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइको भाव कायम राख्न चाहनेहरूले नै ती शासकहरूको निम्ति योगदान र त्याग गरून्। परमेश्‍वरलाई पछ्याउनेहरूसँग शैतानको देशको खातिर कुनै त्याग गर्नुपर्ने दायित्व हुँदैन। तँ यसलाई यसो पनि भन्‍न सक्छस्—शैतानको कर्तव्यनिष्ठ सन्तान र त्यसलाई पछ्याउनेहरूले नै शैतानको शासन अनि यसको महत्त्वाकाङ्क्षा र चाहनाको लागि त्याग गरून्। तिनीहरूलाई बलि चढ्न दिनु नै सही हो। तिनीहरूलाई कसैले पनि यस्तो ठूलो महत्त्वाकाङ्क्षा र चाहना राख्न बाध्य पारेको छैन। तिनीहरू नै शासकहरूलाई पछ्याउन मन पराउँछन्, अनि आफ्नो ज्यान जाने भए पनि दियाबलसहरूप्रति बफादार बन्‍ने शपथ खान उद्यत छन्। अन्त्यमा, तिनीहरू शैतानको बलिको बोका र चिहानको सजावाट बन्छन्, र तिनीहरूले पाउनुपर्ने नै त्यही हो।

कुनै देशले अर्को देशलाई आक्रमण गर्दा, वा अर्को देशसँगको केही असमान लेनदेनको कारण युद्ध छेडिँदा, आखिर त्यसको शिकार त त्यस देशमा बस्ने हरेक आम व्यक्ति नै हुन्छन्। यो तथ्य हो, यदि कुनै एक पक्षले सम्झौता गर्न सक्यो, र आफ्नो महत्त्वाकङ्क्षा, चाहना र शक्ति त्याग्‍न सक्यो अनि आम मानिसहरूको जीवन अस्तित्वबारे सोच्यो भने कतिपय युद्धहरू टार्न सकिन्छ। वास्तवमा, धेरै युद्धहरू त शासकहरू आफ्नो शासनमा टाँसिइरहने, आफ्नो हातबाट शक्ति गएको वा गुमेको नचाहने, बरु हठपूर्वक आफ्नै विश्‍वासमा चल्ने, शक्तिमा टाँसिइरहने र आफ्नो स्वार्थमा लागिरहने कारणले हुन्छन्। युद्ध छेडिएपछि त्यसको शिकार हुने भनेका आम व्यक्तिहरू, अर्थात् साधारण मानिसहरू नै हुन्छन्। युद्धको समयमा तिनीहरू टाढाटाढा यत्रतत्र छरिन पुग्छन्, तर यो सबको अलिकति पनि प्रतिरोध गर्न सक्दैनन्। के यी शासकहरूले यी आम मानिसहरूको ख्याल गर्छन् र? कल्पना गर् त, यदि यस्तो शासक थियो रे जसले भन्थ्यो, “यदि म आफ्नै विश्‍वास र सिद्धान्तमा अडिग रहेँ भने, मेरो कारण युद्ध सुरु हुन्छ, र यसको शिकार साधारण मानिसहरू हुनेछन्। मैले युद्ध जितेँ भने पनि, यो भूमि हातहतियारले नष्ट हुनेछ र मानिसहरूको घरबार ध्वस्त हुनेछ, त्यसैले यस भूमिमा बस्ने मानिसहरूको भावी जीवन सुखमय हुनेछैन। बरु आम मानिसहरूको सुरक्षा गर्न, म पदभार छोड्नेछु, हतियार बिसाउनेछु, आत्मसर्पण र सम्झौता गर्नेछु,” र त्यसपछि युद्ध टऱ्यो रे। तर के यस्तो शासक हुन्छ र? (हुँदैन।) वास्तवमा, आम मानिसहरू युद्ध गर्न चाहँदैनन्, न त राजनैतिक शक्तिहरूबीचको होडबाजी र प्रतिस्पर्धामा सहभागी नै बन्‍न चाहन्छन्। तिनीहरू त शासकहरूले पठाएको कारण निस्क्रिय रूपमै युद्धभूमि र मृत्युको अखडामा जान्छन्। युद्धभूमिमा पठाइने यी सबै मानिसहरूले आफू मरे पनि बाँचे पनि, अन्त्यमा शासकहरूलाई सत्तामा राखिराख्न सेवा पुऱ्याउँछन्। त्यसैले, के अन्त्यमा फाइदा शासकहरूलाई नै हुँदैन र? (हुन्छ।) आम मानिसहरूले युद्धबाट के पाउँछन् र? युद्धबाट आम मानिसहरूको विनाश मात्र हुन सक्छ, अनि तिनीहरूको घरबार र तिनीहरू निर्भर रहने बासस्थान तहसनहस मात्र हुन सक्छ। कतिले आफ्नो परिवार गुमाउँछन्, र त्योभन्दा धेरै कतिजना विस्थापित र घरबारविहीन हुन्छन्, र तिनीहरूको घर फर्कने पनि कुनै आशा हुँदैन। तैपनि, शासकहरूले मानिसहरूको घरबार र जीउज्यान रक्षा गर्न युद्ध गरेको भनी सानसँग दाबी गर्छन्‌। के यो दाबीको कुनै तुक छ? के यो कपटपूर्ण बकवास होइन र? अन्त्यमा, यसको दुष्परिणाम भोग्‍ने त आम व्यक्तिहरू, र जनताहरू नै हुन्छन्, तर ठूलो फाइदाचाहिँ शासकले उठाउँछ। उसले मानिसहरूलाई निरन्तर शासन गर्न सक्छ, देशमा शासन चलाउँछ, आफ्नो हातमा शक्ति राखिराख्छ अनि शासकको ठाउँमा रहेर आदेश दिँदै बस्छ, जबकि साधारण मानिसहरू भविष्य र आशा नभएको भयानक कष्टमा जिउँछन्। कतिपय मानिसहरू “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने यो विचार पूर्णतया सही छ भन्‍ने सोच्छन्। अहिले यसलाई हेर्दा, के यो सही छ त? (छैन।) यो भनाइमा अलिकति पनि सत्यता छैन। शैतानले मानिसहरूमा यो विचार हालिदिने मनसायको दृष्टिकोणबाट हेर्दा होस् वा मानव विकासको इतिहासभरि विभिन्‍न चरणमा शासकहरूको षड्यन्त्र, चाहना र मत्त्वाकाङ्क्षा वा देशको भाग्यसँग सम्बन्धित कुनै तथ्यको दृष्टिकोणबाट हेर्दा होस्, यी घटनाहरूलाई कुनै पनि सामान्य मान्छे, कुनै व्यक्तिविशेष, वा कुनै जातीय समूहले नियन्त्रण गर्न सक्दैन। अन्त्यमा यसको शिकार अनजान जनसमुदाय र आम मानिसहरू हुन्छन्, जबकि सबैभन्दा बढी फाइदा उठाउनेहरू देशको शासकवर्ग, र एकदमै उच्च तहका शासकहरू हुन्छन्l देश सङ्कटमा हुँदा, तिनीहरूले आम मानिसहरूलाई बलिको रूपमा प्रयोग गर्न अग्रपङ्क्तिमा पठाउँछन्। देश सङ्कटमा नहुँदा, आम मानिसहरू तिनीहरूको सुसारे बन्छन्। तिनीहरूले आम मानिसहरूको शोषण गर्छन्, उनीहरूलाई चुस्नसम्म चुस्छन्, उनीहरूलाई तिनीहरूको भरणपोषण गर्न बाध्य पार्छन्, र अन्त्यमा उनीहरूमा “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचारसमेत हालिदिन्छन् र यसलाई स्विकार्न बाध्य पार्छन्। जसले यो भनाइ स्विकार्दैन उसलाई देशभक्तिहीन ठानिन्छ। यी शासकहरूले फैलाउने सन्देश यस्तो हुन्छ: “मेरो शासनको उद्देश्य तिमीहरूलाई सुखी जीवन दिनु हो। मेरो शासनविना तिमीहरू बाँच्न सक्नेछैनौ, त्यसैले तिमीहरूले मैले भनेजस्तै गर्नुपर्छ, आज्ञाकारी नागरिक बन्‍नुपर्छ, र सधैँ देशको भाग्यको खातिर आफूलाई समर्पित र बलिदान गर्न तयार हुनुपर्छ।” यो देश को हो? देशको पर्याय को हो? शासकहरू नै देशका पर्याय हुन्। तिनीहरूले मानिसहरूमा “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विचार घुसाएर एक अर्थमा मानिसहरूलाई छनौट नगरी, निहिच्किचाई वा कुनै आपत्तिविना जिम्मेवारी पूरा गर्न बाध्य पारिरहेका हुन्छन्। अर्को अर्थमा, तिनीहरूले मानिसहरूलाई देशको भाग्य र यसका शासकहरू सत्तामा रहन्छन् वा अपदस्थ हुन्छन् भन्‍ने प्रश्‍नले जनताको लागि ठूलो महत्त्व राख्छ, त्यसैले तिनीहरूले आफ्नो सामान्य अस्तित्व सुनिश्‍चित गर्नको लागि देश र यसका शासकहरू जोगाउन एकदमै ध्यान दिनुपर्छ भनेर भनिरहेका हुन्छन्। के वास्तवमा अवस्था यही हो त? (होइन।) यो एकदमै स्पष्ट छ, अवस्था यस्तो होइन। परमेश्‍वरको आज्ञापालन गर्न, उहाँको इच्छा पूरा नगर्ने वा आम मानिसहरूको लागि काम गर्न नसक्‍ने शासकहरूले जनसमर्थन पाउनेछैनन् र तिनीहरू असल शासक बन्‍नेछैनन्। यदि शासकहरू सामान्य मानिसहरूको खातिर काम गर्नुको साटो आफ्नो स्वार्थको पछि लाग्दै मानिसहरूमाथि हेपाहा व्यवहार गर्छन्, र परजीवीले जस्तो उनीहरूको रगत र पसिना चुस्छन् भने, यस्ता शासकहरू शैतान र दियाबलस हुन्, र तिनीहरू जति नै शक्तिशाली भए पनि मानिसहरूको समर्थन पाउन लायक हुँदैनन्। यदि यो देशमा यस्तो शासक नभएको भए, के यो अस्तित्वमा हुन्थेन र? के मानिसहरूको जीवन अस्तित्वमा हुन्थेन र? त्यस्तो शासक नभएको भए पनि, यी कुराहरू अस्तित्वमै हुन्थे, र मानिसहरूले अझ उत्तम जीवन पनि जिउन सक्थे। यदि मानिसहरूले देशप्रतिको आफ्नो दायित्व र जिम्मेवारी के हुनुपर्छ भन्‍ने प्रश्‍नको सार स्पष्टसँग देख्छन् भने, तिनीहरू जुनै देशमा बस्ने भए पनि, त्यो देशको मुख्य मामिला अनि राजनीति र त्यो देशको भाग्यसम्बन्धी मामिलाबारे तिनीहरूसँग सही दृष्टिकोण हुनुपर्छ। जब यी सही दृष्टिकोणहरू प्राप्त हुन्छन्, तैँले देशको भाग्यसम्बन्धी मामिलाहरूमा सही छनौट गर्न सक्नेछस्। के अब तैँले देशको भाग्यको विषयमा मानिसहरूले बुझ्नुपर्ने सत्यता आधारभूत रूपमा बुझ्छस्? (बुझ्छु।)

मैले नैतिक आचरणसम्बन्धी “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइबारे धेरै सङ्गति गरिसकेको छु। देशको अवधारणाबारे कुरा गर्दा, यो “देश” भन्‍ने शब्दले समाजका मानिसहरूमाथि के-कस्तो प्रभाव पार्छ, देशको कुरा आउँदा मानिसहरूमा आफ्नो देश र राष्ट्रप्रति कस्तो जिम्मेवारी हुनुपर्छ, तिनीहरूले के-कस्ता छनौटहरू गर्नुपर्छ र यस मामिलामा परमेश्‍वर मानवजातिलाई के-कस्तो मापदण्ड दिनुहुन्छ, के यी सबै विषयमा मैले स्पष्टसँग सङ्गति गरेँ? (गर्नुभयो।) त्यसोभए, आजको हाम्रो सङ्गति यही टुङ्ग्याऔँ।

जून ११, २०२२

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (१२)

अर्को: सत्यता पछ्याउनु भनेको के हो (१४)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्