आफ्‍नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ

आफ्नो कर्तव्य सन्तोषजनक रूपमा निभाउन सबैभन्दा महत्त्वपूर्ण कुरा सत्यताका लागि ठूलो प्रयास गर्नु हो। मानिसहरूले सत्यता सिद्धान्तहरू बुझेर मात्र यी सिद्धान्तबमोजिम कार्य गर्न सक्छन्। यसबाहेक, मानिसहरूले आफ्ना कर्तव्यसम्बन्धी दक्षता र विशेष सिपहरूका विविध क्षेत्रबारे सिक्न आवश्यक छ, अनि केही सामान्य र व्यावहारिक विधिहरू सिक्न जरुरी छ। कतिपय मानिसमा केही प्राविधिक दक्षता हुन्छ, तर तिनीहरू यसलाई आफ्ना कर्तव्यमा लागु गर्न जान्दैनन्। कामकुरा गर्दा, तिनीहरूलाई मामलाबारे मनमा कहिल्यै प्रस्ट हुँदैन। तिनीहरूलाई कामकुरा गर्ने कुन शैली सही हो, कुन शैलीले सत्यता सिद्धान्तहरू पालना गर्छ, र अरूलाई फाइदा पुऱ्याउन सक्छ, वा कुन शैली गलत छ र त्यसले सिद्धान्तहरू उल्लङ्घन गर्छ भनी थाहा हुँदैन। तिनीहरूको मन दुविधामा हुन्छ। तिनीहरूलाई यो शैली नै सही छ जस्तो देखिन्छ, तर अरू शैलीहरू पनि व्यवहारमा ल्याउन सकिने देखिन्छन्। तिनीहरू कसरी उचित ढङ्गले कार्य गर्ने भनेर कहिल्यै निश्चित हुँदैनन् र सही मार्ग पछ्याउन कसरी अभ्यास गर्ने भनी जान्दैनन्। यसले के प्रमाणित गर्छ? (तिनीहरू सत्यता बुझ्दैनन्।) यी मानिसहरू सत्यता बुझ्दैनन्, र तिनीहरू आफ्नो भित्री स्थिति, आफ्नो बुझाइ र धेरै कुराको मूल्याङ्कन गर्ने मापदण्डहरूका सम्बन्धमा अस्पष्ट हुन्छन्। यदि तिनीहरू कुनै कुरामा संलग्न छैनन् भने, आफूले सबथोक बुझेको र आफ्ना लागि सबथोक सजिलो भएको महसुस गर्छन्। तर जब तिनीहरू साँच्चै वास्तविक जीवनको परिस्थिति सामना गर्छन्, तब तिनीहरू त्यसबाट के बुझ्ने, त्यसलाई कसरी सम्हाल्ने, वा प्रक्रिया अगाडि बढाउने सही तरिका के हो भनी जान्दैनन्। त्यसपछि मात्र तिनीहरू आफूमा केही पनि छैन र आफूले सत्यताबारे केही पनि बुझ्दैन रहेछ भनी महसुस गर्छन्। तिनीहरूले यसअघि बोलेका धर्मसिद्धान्तहरू बेकार हुन्। तिनीहरूसँग अरू मानिसबाट खोजी गर्नु र परिस्थितिबारे तिनीहरूसित छलफल गर्नुको विकल्प नै हुँदैन। सत्यता नबुझ्ने मानिसहरूलाई कुनै परिस्थिति आइपर्दा यस्तै हुन्छ—तिनीहरूलाई के गर्नु के नगर्नु हुन्छ, हुनसम्मको पीर पर्छ, यसो गर्नु गलत हो र त्यसो गर्नु अनुचित हो भन्ने लाग्छ, अनि तिनीहरू सही मार्ग भेट्टाउन सक्दैनन्। त्यसपछि मात्र तिनीहरूले सत्यताविना एक कदम चाल्न पनि साँच्चै गाह्रो हुँदोरहेछ भनी बुझ्छन्! यस समयमा यी मानिसहरूलाई के कुराको सबैभन्दा बढी आवश्यकता हुन्छ? के त्यो शैतानी दर्शन र ज्ञान हो, कि सत्यताको बुझाइ? सबैभन्दा महत्त्वपूर्ण कुरा सत्यता बुझ्नु हो। यदि तैँले सत्यता बुझिनस् भने, कुनै काम सम्पन्न गरिस् भने पनि, तँ त्यसबारे अनिश्चित हुनेछस्। तँलाई आफूले त्यो उचित ढङ्गले गऱ्यो कि गरेन वा काम सम्पन्न भएपछि त्यसको नतिजा के हुनेछ भनी थाहा हुनेछैन। तँ यी कुराहरू मापन गर्न सक्दैनस्। तँ किन ती मापन गर्न सक्दैनस्? किन तेरो हृदय सधैँ अनिश्चितताले भरिएको हुन्छ? किनभने तैँले कामहरू गर्दा, आफूले ती वास्तवमै र साँच्चै नै सिद्धान्तअनुसार गर्छ कि गर्दैन, आफूले सिद्धान्तहरू अभ्यास गरिरहेको छ कि छैन, र आफ्नो अभ्यास सत्यतासँग मिल्छ कि मिल्दैन भनी तँ निश्चित हुँदैनस्। तँ यो कुरा पुष्टि गर्न सक्दैनस्। यदि तैँले आफ्नो कर्तव्य निर्वाहमा केही सानातिना नतिजा हासिल गरिस् भने, तँलाई आफू एकदमै सक्षम छ र आफूले केही पूँजी प्राप्त गरेको छ भन्ने लाग्छ र आत्मसन्तुष्ट हुन्छस्। तर, यदि कुनै प्रस्ट नतिजा आएन वा त्यसले सिद्धान्तका मापदण्डहरू पूरा गर्दैन भने, तँ तुरुन्तै निराश हुनेछस् र सोच्नेछस्, “परमेश्वरले मलाई कहिले अन्तर्दृष्टि दिनुहुनेछ? किन परमेश्वर सधैँ अरूलाई अन्तर्दृष्टि दिनुहुन्छ, जबकि म कुनै प्रेरणा, अन्तर्दृष्टि र ज्योति प्राप्त गर्दिनँ?” कहिलेकाहीँ तँलाई आफूले सही अभिप्रायले कामकुरा गरेको छ र ठूलो प्रयास गरेको छ भन्ने लाग्ला, त्यसैले तँ परमेश्वरले तेरो प्रयास खुसीसाथ स्वीकार, अनुमोदन र पुष्टि गर्नुहुनेछ भन्ने आशा गर्छस्। तर त्यो सँगसँगै, तँलाई परमेश्वरले तैँले गलत तरिकाले कार्य गरिस् भन्नुहुनेछ र त्यसलाई अनुमोदन गर्नुहुनेछैन भन्ने डर पनि लाग्छ। के यसले लाभ र हानिप्रतिको चिन्तालाई देखाउँदैन र? जब तैँले आफ्नो कद सानो भएको, आफू अति विद्रोही र अहङ्कारी भएको, अनि सानो कुरा सम्पन्न गर्दा आफू आत्मसन्तुष्ट बनेको देख्छस्, तब तँलाई आफू अत्यन्तै भ्रष्ट रहेछ, दियाबलस र शैतान रहेछ, अनि परमेश्वरको मुक्ति पाउन अयोग्य रहेछ भन्ने अनुभूति हुनेछ। त्यसपछि, थप केही साना उपलब्धि हासिल गरेपछि तैँले आफू आखिर त्यति खराब छैन, आफूमा केही क्षमता छ र आफूले केही नतिजा हासिल गर्न सक्छ, त्यसैले आफूले इनाम पाउनुपर्छ भन्ने सोच्नेछस्। के यसले लाभ र हानिप्रतिको चिन्तालाई देखाउँछ? केले लाभ र हानिबारे चिन्ता गर्ने यो स्थिति सिर्जना गर्छ? यो सिधै सत्यताको बुझाइ नहुनुसँग सम्बन्धित छ। मानिसहरूले सत्यता नबुझ्दा, थुप्रै स्थिति र प्रकटीकरण उत्पन्न हुन्छन्। मुख्य कुरा के हो भने मानिसहरू प्रायजसो लाभ र हानिबारे चिन्ता लिने स्थितिमा जिउँछन्। यो तिनीहरूको सामान्य स्थिति हो। तैँले सत्यता नबुझ्ने हुनाले, आफ्ना क्षमताहरू मापन गर्न सक्दैनस्; तँलाई आफूले के गर्न सक्छ र के गर्न सक्दैन भन्ने थाहा छैन। तैँले सत्यता नबुझ्ने हुनाले, आफ्नो कर्तव्य निर्वाह गर्दा कस्ता सिद्धान्त र मानकहरू पछ्याउने, वा कस्तो नतिजाको लक्ष्य राख्ने भनी तँलाई थाहा छैन। तँलाई जीवनको लक्ष्य र दिशा के हो भन्ने पनि थाहा छैन। परमेश्वर तँसित किन रिसाउनुहुन्छ, परमेश्वर तँलाई किन अनुमोदन गर्नुहुन्छ, वा परमेश्वर तँप्रति किन कोमल हुनुहुन्छ भनी तँलाई थाहा छैन—तँलाई यी कुराहरू केही पनि थाहा छैन। तँलाई आफू कहाँ खडा हुनुपर्छ भन्ने थाहा छैन, र तँ आफूले गरेको कुराले तेरो सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गरेको छ कि छैन र तैँले सन्तोषजनक रूपमा कार्य गरेको छस् कि छैनस् भनी मापन गर्न सक्दैनस्। कहिलेकाहीँ तँ डरपोक तरिकाले कामकुरा गर्छस्, र अरू बेलाचाहिँ तँ साहसी र उत्साहित हुन्छस्। तेरो स्थिति सधैँ अस्थिर हुन्छ। कुनै व्यक्तिको स्थिति कसरी अस्थिर बन्छ? मूलत: यो सत्यता नबुझ्नुसँग सम्बन्धित छ। मानिसहरूले सत्यता नबुझ्दा, सिद्धान्तविना परिस्थितिहरू सम्हाल्छन्। तिनीहरू एकदमै जथाभाबी तरिकाले कामकुरा गर्छन्, र तिनीहरू कुनै न कुनै तरिकामा विचलित हुन्छन् नै हुन्छन्। कुनै कुरा नगर्दा, तिनीहरू सबथोक बुझ्छन् जस्तो देखिन्छ र धर्मसिद्धान्तबारे राम्ररी बोल्छन्—तर केही कुरा आइपर्दा र तिनीहरूलाई त्यो सम्हाल्न र तिनीहरूले बुझ्ने सबै सत्यता वास्तविक जीवनमा लागु गर्न लगाइँदा, तिनीहरूसँग मार्ग हुँदैन, तिनीहरू कुन सिद्धान्त प्रयोग गर्ने भनी जान्दैनन्, र मनमनै भन्छन्, “मैले बफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नैपर्छ, र म इमानदार हुनैपर्छ, ममा परमेश्वरबारे धारणा र गलतफहमी पटक्कै हुनु हुँदैन, म परमेश्वरप्रति समर्पित हुनैपर्छ भनेर बुझेको छु—तर मैले यसलाई वास्तवमा कसरी सम्हाल्नुपर्छ?” तिनीहरू त्यसबारे सोचिरहन्छन् र नियमहरू लागु गर्ने प्रयास गरिरहन्छन्, तर कस्ता नियम लागु गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन। के तिमीहरूलाई आफूमाथि केही आइपर्दा परमेश्वरका वचनको पुस्तकमा खोज्नुपर्ने व्यक्ति सत्यता बुझ्ने व्यक्ति हो जस्तो लाग्छ? यो साँचो रूपमा सत्यता बुझ्नु होइन। यस्ता मानिसहरू केही धर्मसिद्धान्त मात्र बुझ्छन्, तर तिनीहरूले अझै यी सत्यताहरूको वास्तविकता बुझेका हुँदैनन्। यसले तिनीहरूले प्रायजसो भन्ने कुरा, र तिनीहरूलाई आफूले बुझेजस्तो लाग्ने कुराहरू धर्मसिद्धान्तबाहेक केही होइनन् भन्ने देखाउँछ। यदि तँ सत्यता बुझ्छस्, यदि तँसित सत्यता वास्तविकता छ भने, तँलाई केही आइपरेमा, तैँले परमेश्वरको इच्छाबमोजिम र सिद्धान्तको दायराभित्र कार्य गर्न जान्नेछस्। यदि तँ धर्मसिद्धान्त मात्र बुझ्छस्—तर सत्यता बुझ्दैनस् भने—तँलाई साँच्चै केही आइपर्दा, यदि तँ धर्मसिद्धान्तमा भर परिस् र नीतिनियमहरू पालना गरिस् भने, तैँले पार पाउनेछैनस्। तैँले सिद्धान्त र अभ्यासको मार्ग भेट्टाउन सक्नेछैनस्। यसको मतलब, तैँले सत्यताको एउटा पक्ष बुझेजस्तो, सत्यताका ती वचनहरूको अर्थ बुझेजस्तो, र परमेश्वरको इच्छा र उहाँले माग गर्ने कुरा अलिअलि बुझेजस्तो—तँलाई यो सबै थाहा भएजस्तो—देखिन सक्ला, तर जब तँलाई केही आइपर्छ, तब तँ सत्यता अभ्यास गर्न सक्दैनस्, आँखा चिम्लेर नियम लागु गर्छस् र कामकुरा बिगार्छस्। के यो लज्जास्पद कुरा होइन र? सत्यता साँचो रूपमा बुझ्ने मानिसहरूलाई केही आइपर्दा, तिनीहरू अभ्यास गर्ने सिद्धान्तहरू भेट्टाउन सक्छन्, तिनीहरूसँग अभ्यासको मार्ग हुन्छ, र तिनीहरू सत्यता सिद्धान्तहरू अभ्यास गर्न सक्छन्। वचन र धर्मसिद्धान्तहरू फलाक्न मात्र सक्ने मानिसहरूको कुरा गर्नुपर्दा, तिनीहरू सत्यता बुझ्छन् जस्तो देखिन्छ, तर जब कार्य गर्ने समय आउँछ, तब तिनीहरू पूरै अलमलिन्छन्। यसले के प्रमाणित गर्छ भने वचन र धर्मसिद्धान्त फलाक्ने मानिसहरू सत्यता बिलकुलै बुझ्दैनन्। वचन र धर्मसिद्धान्त फलाक्ने मानिसहरू अरूलाई भ्रममा पार्न खोजिरहेका हुन्छन्, तिनीहरू धोकेबाज हुन्। तिनीहरू आफू र अरू दुवैलाई धोका दिइरहेका हुन्छन्—जसको मतलब तिनीहरू आफूलाई र अरूलाई पनि हानि गरिरहेका हुन्छन्!

अहिले तिमीहरू सत्यताहरू धैरै बुझ्छौ कि धर्मसिद्धान्त? (धर्मसिद्धान्त धेरै बुझ्छौँ।) यसको कारण के हो? (यो सत्यता नपछ्याउनुको नतिजा हो।) (सत्यताबारे सोचविचार गर्ने प्रयत्न नगर्नु।) यसको यी सबै कुरासँग केही सम्बन्ध छ, तर तिमीहरूले दिएका सबै कारण व्यक्तिगत हुन्। वस्तुगत कारण पनि छ, जुन मानिसहरूको क्षमतासँग सम्बन्धित छ। कतिपय मानिसले एक दशकभन्दा बढी समयदेखि प्रवचनहरू सुन्दै आएका हुन्छन् तर तिनीहरू सत्यता र धर्मसिद्धान्तबीच भिन्नता छुटाउन सक्दैनन्, न त नियम पालना गर्नु र सत्यता अभ्यास गर्नुबीचको भिन्नता खुट्ट्याउन नै सक्छन्। तिनीहरू गम्भीरतापूर्वक प्रवचनहरू सुन्छन् र त्यो भिन्नता खुट्ट्याउन ध्यानपूर्वक काम गर्छन्, तर तिनीहरू भिन्नता बताउनै सक्दैनन्। तिनीहरूलाई सबैले गर्ने सङ्गति एउटै हुन्, अर्थात् ती सबै निकै राम्रा र निकै व्यावहारिक छन् भन्ने लाग्छ। ती सुनेपछि, तिनीहरू धर्मसिद्धान्त के हो र सत्यता के हो भनी बताउन सक्दैनन्। के यो क्षमताको समस्या हो? (हो।) के तिमीहरूको क्षमता सत्यता वास्तविकताको तहमा पुग्न सक्छ? हरपटक अगुवा र सेवकहरूले भेलाहरूमा सङ्गति गर्दा वा अरू समयमा तिमीहरूसित सङ्गत र अन्तरक्रिया गर्दा, के तिमीहरू तिनीहरूले भन्ने कुरा कति सत्यता वास्तविकता हो र कतिचाहिँ धर्मसिद्धान्त हो भनी बताउन सक्छौ? (सक्छौँ।) यदि बताउन सक्छौ भने, यसले तिमीहरूमा केही समझशक्ति छ र तिमीहरू खुट्ट्याउन पूर्ण असक्षम छैनौ भन्ने प्रमाणित गर्छ। यदि तिमीहरू भिन्नता बताउन सक्छौ भने, यसले तिमीहरूको क्षमता खराब छैन भन्ने प्रमाणित गर्छ। मानिसका क्षमताहरूलाई केही श्रेणीमा विभाजन गरिएका छन्: कमजोर, औसत, राम्रो, र उत्कृष्ट। मूलत: चार श्रेणी यिनै हुन्। कमजोरभन्दा पनि अझ नाजुक क्षमता भएकाहरूले सत्यता बुझ्न सक्दैनन्; तिनीहरूमा बिलकुलै क्षमता हुँदैन। तिनीहरू आफूले सुनेको केही पनि बुझ्न सक्दैनन् र कुनै पनि कुरामा सोच, तर्क, वा सिद्धान्तहरू चलाएर कार्य गर्दैनन्। तिनीहरूको दिमागमा लथालिङ्ग विचार मात्र हुन्छ। तिनीहरू अन्योलमा परेका मानिस हुन्, जसलाई हामी बोलीचालीको भाषामा जङ्गली भन्न सक्छौँ। यदि तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भने, तिनीहरू बौद्धिक रूपमा असक्षम छन्। तिनीहरूमा सामान्य मानिसहरूमा हुने समझ हुँदैन। यस्ता मानिसहरूलाई हामी मूर्ख, अर्धपागल, वा अधकल्चो भन्न सक्छौँ।

अत्यन्तै कमजोर क्षमताका मानिसहरू बौद्धिक रूपमा असक्षम हुन्छन्—हामीले तीबारे थप छलफल गर्नु आवश्यक छैन। कमजोर क्षमता कसरी देखिन्छ भन्नेबारे कुरा गरौँ। कतिपय मानिसले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका हुन्छन् तर पनि सत्यता बुझ्दैनन्। तिनीहरू सुसमाचार सुनाउने आधारभूत कर्तव्यसमेत निर्वाह गर्न सक्दैनन्, तिनीहरू सत्यतामा सङ्गति गर्न सक्दैनन्, र गवाही दिन सक्दैनन्। कमजोर क्षमताका प्रकटीकरणहरू यिनै हुन्। कमजोर क्षमताका अन्य प्रकटीकरणहरू केके हुन्? धेरै वर्षसम्म प्रवचनहरू सुनेपछि, कमजोर क्षमताका मानिसहरूलाई ती सबै उस्तै हुन्—तिनका विषयहरू उस्तै हुन्—भन्ने लाग्छ। तिनीहरूले सत्यता र धर्मसिद्धान्तबीचको भिन्नता बताउन सक्नु त परै जाओस्, विभिन्न सत्यताका विस्तृत कुराहरू प्रस्ट रूपमा छुट्ट्याउनसम्म सक्दैनन्। तिनीहरूले सत्यता बुझ्नु त परै जाओस्, सबैभन्दा सामान्य वचन र धर्मसिद्धान्तहरूसमेत भन्न सक्दैनन्। के यस्ता मानिसहरूमा सबैभन्दा कमजोर क्षमता हुन्छ? यस्ता मानिसहरूको हकमा, तिनीहरूले प्रवचनहरू जसरी सुने पनि वा जति वर्षदेखि सुनेका भए पनि, ती बुझ्न सक्दैनन्, र सत्यता के हो वा आफूलाई चिन्नुको अर्थ के हो भनेर बुझ्दैनन्। तिनीहरूले जति लामो समय परमेश्वरमा विश्वास गरेका वा जति नै प्रवचन सुनेका भए पनि, अन्त्यमा, तिनीहरू अझै पनि सत्यता अभ्यास गर्नै सक्दैनन्। तिनीहरू थोरै नियम पालना गर्न र आफूलाई महत्त्वपूर्ण लागेका थोरै कुरा सम्झन मात्र सक्छन्—थप कुनै कुरा तिनीहरू सम्झन सक्दैनन्। किन यस्तो? किनभने तिनीहरूको क्षमता कमजोर हुन्छ, तिनीहरू सत्यतासम्म पुग्न सक्दैनन्, र एकदमै धेरै कुरा बुझ्न सक्दैनन्। तिनीहरू बढीमा केही सतही धर्मसिद्धान्त बुझ्न सक्छन्। तिनीहरूले गर्न सक्ने नै यतिसम्म मात्र हो। यस्ता मानिसहरू प्राय: निकै अहङ्कारी हुन्छन् र आफ्नै बढाइचढाइ गर्छन्। कतिपय मानिसले भन्नेछन्, “म आमाको गर्भमा हुँदा नै प्रभुमा विश्वास गर्थेँ। म धेरैपहिले पवित्र बनेको हुँ, र मैले बप्तिस्मा गरेको र शुद्धिकरण पाएको धेरै भइसकेको छ।” तीमध्ये कतिपयले परमेश्वरको नयाँ काम स्विकारेको तीन, पाँच, वा दश वर्षसमेत भएको छ, तर तिनीहरू अझै पनि त्यही कुरा दोहोऱ्याउँछन्। के यो कमजोर क्षमताको सङ्केत होइन र? कतिपय मानिस भन्छन्, “तिमीहरू म आफूलाई चिन्दिनँ भन्छौ—आफूलाई नचिन्ने त तिमीहरू हौ। म धेरैपहिले नै पवित्र बनेको हुँ।” यसो भन्नेहरू सबैभन्दा आत्मिक बुझाइ नभएका र सबैभन्दा कमजोर क्षमता भएका मानिस हुन्। के तँ यस्ता मानिसहरूसित सत्यतामा अझै पनि सङ्गति गर्न सक्छस्? सक्दैनस्। तैँले जति नै बताए पनि, तिनीहरूले सत्यता भनेको के हो, सत्यता अभ्यास गर्नु भनेको के हो, परमेश्वरप्रति समर्पित हुनु भनेको के हो, जीवन प्रवेश भनेको के हो, र आफ्नो स्वभाव परिवर्तन गर्नु भनेको के हो भन्ने बुझ्नेछैनन्। तिनीहरू यी कुराहरू बुझ्न वा यो स्तरमा पुग्न सक्दैनन्। तिनीहरू परमेश्वरप्रतिको आफ्नो विश्वासमा, केही नियम पछ्याउनमा ध्यान दिन्छन्, जस्तै सांसारिक कुराबाट पछि हट्ने, संसारलाई परित्याग गर्ने, दियाबलसहरूसँग व्यवहार नगर्ने, दुष्टता नगर्ने, पापहरू गर्न घटाउँदै लाने, परमेश्वरको नामलाई दृढतासाथ पक्रिराख्ने, परमेश्वरलाई विश्वासघात नगर्ने, र सबै कुरामा प्रार्थना गर्ने र परमेश्वरमा भर पर्ने—यी मामलाहरूमा मात्र ध्यान दिन्छन्। तिनीहरू मूलत: धार्मिक विश्वासका औपचारिकताहरूमा सीमित रहन्छन्। तिनीहरू सत्यताबारे परमेश्वरका यतिका धेरै वचन र प्रवचनहरू सुनेपछि, आफूले सुनेको कुरा बुझ्दैनन्। तिनीहरू जति बढी सुन्छन्, त्यति नै अन्योलमा पर्छन्, त्यसैले तिनीहरू ती कुनै पनि कुरा लिँदैनन्। यदि तैँले तिनीहरूलाई कामको यो चरणमा परमेश्वर मानिसहरूबाट के माग गर्नुहुन्छ भनेर सोधिस् भने, तिनीहरू त्यो बताउन सक्दैनन्। तिनीहरू धर्मसिद्धान्तबारे केही सामान्य कुरा मात्र भन्न सक्छन्। यसको मतलब तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ र तिनीहरू परमेश्वरका वचनहरू बुझ्न सक्दैनन्।

औसत क्षमताका मानिसहरूका प्रकटीकरणहरू केके हुन्? मुख्य प्रकटीकरण हो, तिनीहरूसँग परमेश्वरका वचनहरू बुझ्ने क्षमता हुँदैन। तिनीहरू प्रवचनहरू सुनेपछि केही वचन र धर्मसिद्धान्त मात्र बुझ्छन्, तर कुनै पनि नयाँ ज्योति पत्ता लगाउन सक्दैनन्। तिनीहरू आफूलाई परिस्थितिहरू आइपर्दा, अझै पनि ती सम्हाल्न सक्दैनन्, न त सत्यता अभ्यास गर्न नै सक्छन्। तिनीहरू केही खोक्रा धर्मसिद्धान्त फलाक्न र नियम पालना गर्न मात्र सक्छन्। प्रवचनहरू सुन्दा, तिनीहरूले बुझेजस्तो देखिन्छ, तर जब आफूलाई परिस्थितिहरू आइपर्छन्, तब तिनीहरूले अझै पनि नियमहरू पालना गर्नेछन् र आफ्नो इच्छाअनुसार कार्य गर्नेछन्। अनि तिनीहरू वचन र धर्मसिद्धान्तहरू फलाक्दै सधैँ अरूलाई झपार्छन्। तिनीहरूले धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि, धेरै धर्मसिद्धान्त बुझ्छन्, र अरूसित सङ्गति गर्दा, आफूलाई चिन्नेबारे अलि बढी कुरा गर्न सक्छन्। तिनीहरू तिनको अर्थ पूर्ण र ठोस रूपमा बताउन सक्छन् अनि मानिसहरूसँग सामान्य कुराकानी गर्न सक्छन्। तर, तिनीहरू अझै पनि सत्यता भनेको के हो वा वास्तविकता भनेको के हो भनेर समेत बुझ्दैनन्। तिनीहरू आफूले कुरा गर्ने धर्मसिद्धान्तहरू नै सत्यता वास्तविकता हुन् भन्ने सोच्छन्, र सत्यता वास्तविकतासित सम्बन्धित अनुभवबारे अरू मानिसले भन्ने कुरा, आफ्नै बुझाइ, वा अभ्यासका मार्गहरू बुझ्न सक्दैनन्। औसत क्षमताका यी मानिसहरूलाई सत्यता र धर्मसिद्धान्तबीच कुनै भिन्नता छैन भन्ने लाग्छ। तिनीहरूले जति नै धेरै प्रवचन सुने पनि, आफूले अभ्यास गर्नुपर्ने सत्यताहरू र मुक्ति पाउनका लागि आफूसँग हुनैपर्ने सत्यताहरू बुझ्न सक्दैनन्। तिनीहरू आफूलाई बुझ्न पनि जान्दैनन्, र आफ्ना भ्रष्ट स्वभावहरू हटाउन कस्ता सत्यताहरू अभ्यास गर्नुपर्छ भन्ने पनि जान्दैनन्। तिनीहरू आफ्नो वास्तविक जीवनमा नियम पालना गर्न, धार्मिक अनुष्ठानहरू पालना गर्न, निरन्तर भेलाहरूमा सहभागी हुन, निरन्तर अरूलाई धर्मसिद्धान्तहरू सुनाउन, र आफ्ना कर्तव्य निभाउनका लागि निरन्तर केही प्रयत्न लगाउन मात्र सक्छन्। तर, स्वभाव परिवर्तनसित सम्बन्धित सत्यता, आफ्नो भ्रष्ट स्वभावसम्बन्धी ज्ञान, वा जीवन प्रवेशको कुरा गर्नुपर्दा, तिनीहरू तिनमा प्रवेश गर्दैनन् वा तिनको गहिराइमा जाँदैनन्। औसत क्षमता हुनु भनेको यही हो। औसत क्षमताका मानिसहरू यो स्तरमा मात्र पुग्न सक्छन्। परमेश्वरमा २०-३० वर्ष विश्वास गरेका मानिसहरू छन्, जो अझै धर्मसिद्धान्तबारे मात्र कुरा गर्छन्। के तिमीहरूले कहिल्यै परमेश्वरमा एक दशकभन्दा बढी समय विश्वास गरेर पनि धर्मसिद्धान्तहरू मात्र फलाक्ने मानिसहरू भेटेका छौ? (भेटेका छौँ।) यस्ता मानिसहरूमा औसत क्षमता हुन्छ।

राम्रो क्षमताका मानिसहरूका प्रकटीकरणहरू केके हुन्? तिनीहरूले परमेश्वरमा जति नै लामो समय विश्वास गरेका भए पनि, कुनै प्रवचन सुनेपछि त्यो बाइबलले बताउने कुराभन्दा फरक छ र त्यो धर्ममा सिकाइने कुराभन्दा पूर्णतया फरक छ भनेर बताउन सक्नेछन्। तिनीहरू त्यो अझै गहन छ, विस्तृत छ, र पूर्णतया व्यावहारिक छ भन्न सक्छन्। त्यसकारण, तिनीहरूले परमेश्वरको नयाँ काम स्विकारेपछि, सत्यता अभ्यास गर्न र वास्तविकतामा प्रवेश गर्नमा ध्यान दिन थाल्छन्। तिनीहरू आफ्नो वास्तविक जीवनमा, आफूलाई परमेश्वरका वचन कसरी अभ्यास र अनुभव गर्ने भनेर तालिम दिन्छन्। उदाहरणका लागि, परमेश्वर “तिमीहरू इमानदार मानिस हुनैपर्छ” भन्नुहुन्छ। सुरुमा, यी मानिसहरू यसलाई एक नियमको रूपमा मात्र हेर्छन्, र आफ्नो मनमा जे छ त्यही बोल्छन्। बिस्तारै, तिनीहरू प्रवचनहरू सुन्ने क्रममा र आफ्नो वास्तविक अनुभवमा, आफूले सिकेका कुरालाई निरन्तर सारांशीकरण गर्छन् र, अन्त्यमा वास्तवमा इमानदार व्यक्ति हुनु भनेको के हो र वास्तवमा जीवन भनेको के हो भन्नेसम्बन्धी सत्यता अनुभव गर्छन् र बुझ्छन्। तिनीहरूसित परमेश्वरले बोलेका वचन र आफूले प्रवचन सुनेर बुझ्ने सत्यताहरूलाई आफ्नो वास्तविक जीवनमा लागु गर्ने र तिनलाई आफ्नै वास्तविकता बनाउने क्षमता हुन्छ। वास्तविक अनुभवद्वारा तिनीहरूको जीवन अनुभव बिस्तारै गहन बन्छ। जब यी मानिसहरू प्रवचन सुन्छन् वा परमेश्वरका वचनहरू पढ्छन्, तब तिनका सत्यता बुझ्न सक्छन्। यहाँ सत्यताको अर्थ के हो? यो कुनै खोक्रो धर्मसिद्धान्त, कुनै भन्ने तरिका, निश्चित कुरासम्बन्धी कुनै सिद्धान्त होइन। बरु, त्यसमा वास्तविक जीवनमा आइपर्ने कठिनाइहरू र व्यक्तिले प्रकट गर्ने विभिन्न भ्रष्ट स्थिति समावेश हुन्छन्। राम्रो क्षमताका मानिसहरूले यी स्थितिहरू पहिचान गर्न अनि तिनलाई परमेश्वरले भन्ने र खुलासा गर्ने कुरासित तुलना गर्न सक्छन्। त्यसपछि, तिनीहरूले परमेश्वरका वचनअनुसार अभ्यास गर्न जान्नेछन्। राम्रो क्षमता भनेको यही हो। मुख्य गरी राम्रो क्षमता कहाँ झल्किन्छ? प्रवचनहरूमा भनिँदै गरेको कुरा बुझ्ने, यी वचनहरू र व्यक्तिको वास्तविक स्थितिबीचको सम्बन्ध बुझ्ने, यी वचनहरूले आफूमाथि कस्तो प्रभाव पार्नेछन् भनी बुझ्ने, र यी वचनहरूलाई आफूसित जोड्ने क्षमतामा झल्किन्छ—यो नै राम्रो क्षमता हो। राम्रो क्षमताका मानिसहरूले यी वचनहरू बुझ्न र तिनलाई आफूसित जोड्न सक्नुबाहेक, वास्तविक जीवनमा अभ्यासका सिद्धान्तहरू बुझ्न र यी सिद्धान्तहरूलाई आफूमाथि आफ्नो वास्तविक जीवनमा आइपर्ने हरेक कठिनाइ वा परिस्थितिमा लागु गर्न पनि सक्छन्। अन्तर्ज्ञान हुनु भनेको यही हो। यस्तो अन्तर्ज्ञान हुनेहरूमा मात्र साँच्चै राम्रो क्षमता हुन्छ।

जब औसत क्षमताका मानिसहरू आफ्ना केही भ्रष्ट स्वभाव खुलासा गर्छन्, तब तिनीहरू आफ्नो स्थिति वा समस्याको सारलाई प्रस्टसित खुट्ट्याउन सक्दैनन्। तिनीहरू तिनलाई आफूले बुझ्ने धर्मसिद्धान्तहरूसित तुलना गरेर मात्र मूल्याङ्कन गर्छन्। तिनीहरू समस्याको सार बुझ्न वा यस सारको जड र सत्यता समावेश हुने पक्ष चिन्न सक्दैनन्। कुनै परिस्थिति सामना गर्नुपर्दा, काटछाँट गरिएपछि, त्यसलाई चिरफार र विश्लेषण गरेपछि तिनीहरूमा गहिरो छाप पर्छ र तिनीहरूले उक्त परिस्थितिलाई पनि केही मात्रामा बुझ्छन्। तर, कुनै भिन्न स्थिति वा परिस्थिति सामना गर्नुपर्दा, तिनीहरूले फेरि त्यो बुझ्नेछैनन्, के गर्ने भनी थाहा पाउनेछैनन्, र पालना गर्नुपर्ने सिद्धान्तहरू भेट्टाउनेछैनन्। औसत क्षमता हुनु भनेको यही हो। राम्रो क्षमता भएकाहरूको हकमा भन्नुपर्दा, हामी किन तिनीहरूमा राम्रो क्षमता छ भन्छौँ? कुनै परिस्थिति आइपर्दा, राम्रो क्षमताका मानिसहरूले तुरुन्तै अभ्यासको मार्ग नभेटाउलान्, तर तिनीहरू प्रवचन सुनेर वा परमेश्वरका वचनहरू खोजेर मार्ग भेट्टाउन सक्छन्। त्यसपछि, तिनीहरूले परिस्थिति सम्हाल्ने तरिका जान्नेछन्। के तिनीहरूलाई अर्कोपटक यस्तै परिस्थिति आइपर्दा के गर्ने भनी थाहा हुनेछ? (हुनेछ।) त्यसको कारण के हो? (तिनीहरू नियमहरू मात्र पालना गर्दैनन्। तिनीहरू मार्ग भेट्टाउन कुनै परिस्थितिलाई मनन गर्न र त्यसपछि आफूले सिकेको कुरालाई त्यस्तै परिस्थितिहरूमा लागु गर्न सक्छन्।) ठिक भनिस्, तिनीहरूले सिद्धान्त भेट्टाएका हुन्छन् र तिनीहरू सत्यताको यस पक्षलाई बुझ्छन्। तिनीहरूले सत्यता बुझेपछि सत्यताको यस पक्षले जनाउने मानिसहरूका स्थिति, प्रकटीकरण, र भ्रष्ट स्वभावहरू, साथै तिनीहरूको जीवनमा आइपर्ने मामला, परिस्थिति, र त्यसमा समावेश इत्यादि कुरा थाहा पाउँछन्। त्यस्ता कुराहरू गर्ने सिद्धान्तहरूबारे तिनीहरू स्पष्ट हुन्छन्, अनि जब तिनीहरूले भविष्यमा उस्तै कुराहरूको सामना गर्छन्, तब सत्यता सिद्धान्तहरूअनुसार कसरी अभ्यास गर्ने हो भनी जान्दछन्। सत्यतालाई साँचो रूपले बुझ्नु भनेको यही नै हो। त्यसैकारण, कतिपय मानिसले सत्यता बुझ्न सक्‍ने हुनाले, तिनीहरूसित सत्यता बुझ्ने क्षमता हुने हुनाले, तिनीहरू टोली अगुवाहरू वा मण्डली अगुवाहरू बन्न सक्छन्। तथापि, अरू कतिपयले सिद्धान्तको तहमा मात्रै बुझ्न सक्छन्, त्यसैले तिनीहरू टोली अगुवा हुन सक्दैनन् किनकि तिनीहरू सिद्धान्तहरू बुझ्न वा निरीक्षण गर्न सक्दैनन्। तँलाई टोली अगुवाका रूपमा काम गर्नू भन्नुको मतलब तँलाई नेतृत्व सम्हाल्नू र निरीक्षण गर्नू भनेको हो। तैँले निरीक्षण गर्नका लागि के प्रयोग गर्नैपर्छ? सिद्धान्त, नारा, ज्ञान वा धारणाहरू प्रयोग गरेर होइन। यो त तँलाई सत्यता सिद्धान्तहरू प्रयोग गरेर निरीक्षण गर्नू भनिएको हो। परमेश्‍वरका घरमा कुनै पनि काम गरिने सबैभन्दा आधारभूत र उच्चतम सिद्धान्त यही हो। यदि तेरो क्षमता औसत वा कमजोर छ अनि तैँले सत्यता बुझ्न सक्दैनस् भने, तँ कसरी निरीक्षण गर्न सक्छस्? तैँले कसरी यो जिम्मेवारी वहन गर्न सक्छस्? तँ यो कामका लागि, यो कर्तव्यका लागि सक्षम छैनस्। कतिपय मानिसलाई टोली अगुवाका रूपमा छनौट गरिन्छ तर तिनीहरू सत्यता बुझ्दैनन् र बिलकुलै केही पनि पूरा गर्न सक्दैनन्। तिनीहरू टोली अगुवा कहलाइन योग्य छैनन् र तिनीहरूलाई प्रतिस्थापित गर्नुपर्छ। कतिपय मानिस टोली अगुवाका रूपमा छानिन्छन् र, तिनीहरूले सत्यता सिद्धान्तहरूकोबारे केही कुरा बुझ्न सक्ने भएकाले, तिनीहरू कामको जिम्मेवारी लिएर केही व्यावहारिक समस्या समाधान गर्न सक्छन्। कुनै व्यक्तिलाई यही कुराले कामका लागि योग्य र टोली अगुवा बन्न उपयुक्त बनाउँछ। कतिपय मानिस कामको जिम्मेवारी उठाउन वा आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्दैनन्। यसको मूल कारण के हो? अल्पसंख्यक यस्ता मानिसहरूका हकमा भन्नुपर्दा, तिनीहरू कमजोर मानवता भएको कारण यस्तो हुन्छ। तथापि, बहुसंख्यक यस्ता मानिसहरूका हकमा भन्नुपर्दा, यसको कारण तिनीहरूको क्षमता कमजोर भएकाले हो। तिनीहरूले आफ्ना काम गर्न वा आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न नसक्नुको कारण यही नै हो। चाहे त्यो सत्यता बुझ्नु होस् वा कुनै पेशा वा विशेष सीप सिक्नु होस्, राम्रो क्षमताका मानिसहरू त्यसमा भएका सिद्धान्तहरू बुझ्न, कुरोको चूरोमा पुग्न, अनि आफ्नो वास्तविकता र सार पहिचान गर्न सक्षम हुन्छन्। यसरी, तिनीहरू आफूले गर्ने सबथोकमा र आफू संलग्न हुने हरेक काममा, सही मूल्याङ्कन गर्छन् अनि सही मापदण्ड र सिद्धान्तहरू निर्धारित गर्छन्। राम्रो क्षमता भनेको यही हो। राम्रो क्षमताका मानिसहरू परमेश्वरको घरका विभिन्न कामको निरीक्षण गर्न सक्षम हुन्छन्। औसत वा कम क्षमता भएकाहरू यस्तो काम गर्न असक्षम हुन्छन्। यो कुनै पनि हालतमा परमेश्वरको घरले केही मानिसलाई निगाह गरेको वा हेय दृष्टिले हेरेको, वा मानिसहरूलाई फरक-फरक व्यवहार गरेको होइन—यति मात्र हो, धेरै मानिस आफ्नो क्षमताका कारण निरीक्षण गर्न सक्दैनन्। किन तिनीहरू निरीक्षण गर्न सक्दैनन्? मूल कारण के हो? कारण हो, तिनीहरू सत्यता बुझ्दैनन्। अनि किन तिनीहरू सत्यता बुझ्दैनन्? किनभने तिनीहरूको क्षमता औसत हुन्छ, वा निकै कमजोर हुन्छ। यसकारण सत्यता तिनीहरूको पहुँचबाहिर हुन्छ र सत्यता सुन्दा तिनीहरू त्यो बुझ्न सक्दैनन्। कतिपय मानिसले ध्यानपूर्वक नसुन्ने हुनाले सत्यता नबुझ्लान्, वा हुन सक्छ तिनीहरू सानै छन् र परमेश्वरमाथिको आस्थाबारे अझै बुझेका छैनन्, र यसमा तिनीहरूलाई त्यति चासो छैन। तर, मूल कारण यी होइनन्। मूल कारण त तिनीहरूको क्षमता पर्याप्त नहुनु हो। कमसल क्षमता हुने मानिसहरूका हकमा भन्नुपर्दा, तिनीहरूको कर्तव्य जे भए पनि वा तिनीहरूले जति नै लामो समयदेखि काम गरिरहेका भए पनि, तिनीहरूले जति प्रवचनहरू सुन्ने वा तैँले तिनीहरूसित सत्यताबारे जति नै सङ्गति गरे पनि, तिनीहरूको दिमागले त्यहाँसम्म भ्याउन सक्दैन। तिनीहरू आफ्नो कर्तव्य निर्वाहलाई लम्ब्याउँछन्, कामकुरा भद्रगोल पार्छन्, र केही पनि हासिल गर्दैनन्। टोली अगुवाका रूपमा काम गर्ने र केही कामको निरीक्षण गर्ने कतिपय मानिसका हकमा भन्नुपर्दा, जब तिनीहरू पहिलोपटक कामको जिम्मेवारी लिन्छन्, सिद्धान्तहरू बुझ्दैनन्। केही असफलतापछि, तिनीहरू सत्यता बुझ्छन् र खोजी गरेर अनि प्रश्नहरू सोधेर सिद्धान्तहरू बुझ्छन्। त्यसपछि, तिनीहरू यी सिद्धान्तहरूका आधारमा निरीक्षण गर्न र कामको जिम्मेवारी आफै बहन गर्न सक्छन्। क्षमता हुनु भनेको यही हो। अरू मानिसहरूका हकमा भन्नुपर्दा, तैँले तिनीहरूलाई सबै सिद्धान्त बताउन सक्छस् र ती कसरी लागु गर्ने भनेरसमेत विस्तारमा व्याख्या गर्न सक्छस्, अनि तैँले भन्ने कुरा तिनीहरूले बुझेजस्तो देखिनेछ, तर कामकुरा गर्दा तिनीहरू अझै पनि सिद्धान्तहरू बुझ्न सक्दैनन्। बरु, तिनीहरू आफ्नै विचार र कल्पनाहरूमा भर पर्छन्, र यो सही हो भनेर विश्वाससमेत गर्छन्। तर, तिनीहरू आफूले सिद्धान्तबमोजिम कामकुरा गर्छ कि गर्दैन भनी प्रस्टसित भन्न सक्दैनन् र वास्तवमा तिनीहरूलाई थाहासमेत हुँदैन। यदि माथिले तिनीहरूलाई प्रश्न सोध्नुभएमा, तिनीहरू आत्तिन्छन् र के भन्ने भनेर तिनीहरूलाई थाहै हुँदैन। माथिले निरीक्षण गर्नुभयो र मार्गदर्शन दिनुभयो भने मात्र तिनीहरू ढुक्क हुन्छन्। यसले तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भन्ने देखाउँछ। यस्तो कमजोर क्षमता भएकाले, तिनीहरूले आफ्ना कर्तव्य सन्तोषजनक रूपमा पूरा गर्नु त परै जाओस्, परमेश्वरका मापदण्डहरू पूरा गर्न वा सत्यता सिद्धान्तअनुसर जिउन पनि सक्दैनन्।

अहिले भर्खरै, मैले राम्रो क्षमताभन्दा माथि अर्को तह छ, जुन अत्यन्तै राम्रो क्षमता छ भनी बताएको थिएँ। अत्यन्तै राम्रो क्षमताका मानिसहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि, तिनीहरू परमेश्वरका वचनहरू पढ्छन् र, आफ्नो अनुभवमा, परमेश्वरका वचनहरूमा उल्लेखित विभिन्न स्थितिले केलाई जनाउँछन् भनी बिस्तारै अनुभव गर्छन्, छिचोल्छन्, र बुझ्छन्। तिनीहरू आफूले ज्यादै कम भरणपोषण वा मद्दत प्राप्त गर्दासमेत, परमेश्वरका वचनहरूमा अभ्यासको मार्ग भेट्टाउन, परमेश्वरका वचनमा बताइएका सिद्धान्त, दिशा र मानकअनुसार आफ्ना लागि मापदण्डहरू तय गर्न, अनि विचलन र विकृत्तिहरूबाट जोगिन सक्छन्। तिनीहरू परमेश्वरका वचनहरू खाएर र पिएर सत्यता बुझ्न अनि आफू र परमेश्वरलाई चिन्न सक्छन्। यो सर्वोच्च क्षमता हो, र यस्ता मानिसहरूसँग उच्चतम अन्तर्ज्ञान हुन्छ। ल भन्, के मानिसहरूमाझ यस्ता मानिस हुन्छन्? सायद तिमीहरू आजका मानिसहरूमाझ यस्ता मानिस भेट्टाउन सक्दैनौ, तर के तिमीहरूलाई बाइबलको यस्तो कोही पात्र याद छ? (छ, अय्यूब र पत्रुस।) अय्यूब र पत्रुस दुवै यस्तै हुन्। तिनीहरू सर्वोच्च क्षमताका मानिसहरूजातिमध्ये पर्छन्। तिनीहरूको मानवता, चरित्र, र परमेश्वरमाथिको आस्थालाई छोडेर, क्षमताका हिसाबले, ती दुई सर्वोच्च क्षमता भएका मानिस हुन्। यसो भन्नुको आधार के हो? (अय्यूबले परमेश्वरका वचनहरू कहिल्यै पढेका थिएनन्, तैपनि उनले परमेश्वरलाई चिने, परमेश्वरको भय माने र दुष्टताबाट अलग रहे।) परमेश्वर अय्यूबसँग कहिल्यै बोल्नुभएन, त्यसोभए उसको अनुभव र ज्ञान कहाँबाट आयो? अय्यूबले आफ्ना जीवनमा अवलोकन र खोजीहरू गऱ्यो, त्यसपछि ती कुराको ध्यानपूर्वक स्वाद लियो, जसले उसको हृदयमा निश्चित छाप छोड्यो, र उसलाई केही अन्तर्दृष्टि र ज्योति दियो। उसले थोरै-थोरै गर्दै सत्यताहरू बुझ्यो, र ती बुझेपछि, सत्यताबारे आफ्नो बोध र बुझाइबमोजिम अभ्यास गऱ्यो, र बिस्तारै परमेश्वरको भय मान्न र दुष्टतादेखि अलग रहन थाल्यो। “परमेश्वरको भय मान्नु र दुष्टताबाट अलग रहनु” नै मानिसहरूले पालन र अभ्यास गर्नुपर्ने कुरा हो। यो मानिसहरूले पछ्याउनुपर्ने सर्वोच्च मार्ग हो। पछिल्लो पुस्ताहरूका नजरमा, अय्यूबले यो उक्तिलाई सजिलै अभ्यास गरेजस्तो देखिन्छ। तँलाई यो सरल र सजिलो थियो भन्ने लाग्छ किनकि तँ यी वचनहरूको व्यावहारिक पक्ष जान्दैनस् वा तैँले त्यो अनुभव गरेको छैनस्। अय्यूबले यो उक्ति कसरी प्राप्त गऱ्यो? उसले आफ्नो व्यक्तिगत अनुभवमार्फत त्यो प्राप्त गऱ्यो। मानिसहरूका नजरमा, “परमेश्वरको भय मान्नु र दुष्टताबाट अलग रहनु” भन्ने शब्दहरू आदर्श वाक्य हुनुपर्छ; तिनीहरूले त्यसलाई सत्यता सिद्धान्तका रूपमा पालना र अभ्यास गर्नुपर्छ—यो सही हो। तर अय्यूबले त्यसलाई कसरी भन्ने भनेर ध्यान दिएन; उसले कसरी कार्य गर्ने भनेर मात्र ध्यान दियो। त्यसोभए ऊ आफूले लागु गरेका सिद्धान्तमा कसरी पुग्यो? (आफ्नो दैनिक जीवनको अनुभवमार्फत।) ऊ आफ्ना कार्यहरूमा यस सिद्धान्त पालना गर्न कसरी सक्षम भयो? (उसले आफ्नो जीवनका अनुभवहरूमार्फत परमेश्वरबारे ज्ञान प्राप्त गऱ्यो।) उसले आफ्नो सामान्य जीवनमा परमेश्वरका कार्यहरू र मानिसहरूमा परमेश्वरले गरेको काम देख्यो। यी अनुभवहरूमार्फत, उनमा परमेश्वरको भय, परमेश्वरमाथि साँचो आस्था, साँचो कदर, साँचो समर्पण र भरोसा विकसित भयो। यसरी उनमा परमेश्वरको भय उत्पन्न भयो। जन्मिँदै उसलाई परमेश्वरको भय मान्न आउँदैनथ्यो। परमेश्वरको भय त उसले धेरै वर्ष परमेश्वरमा विश्वास गरेपछि र उहाँलाई पछ्याएपछिको उसका अभ्यास र व्यवहारको सारांश हो। हामी यो उसको व्यवहार, ज्ञान र कार्यसिद्धान्तहरूको सार थियो भन्न सक्छौँ। उसको बर्ताव, उसले प्रकट गरेको कुरा, र परमेश्वरसामु उसको व्यवहार, साथै उसका गहनतम अभिप्राय र कार्यसिद्धान्तहरू—यी सबै प्रकटीकरणहरूको सार नै उसले परमेश्वरको भय मान्नु थियो। परमेश्वरले उसलाई यसरी परिभाषित गर्नुभयो। अय्यूब यी कुराहरू गर्न सक्षम थियो, तर त्यो परमेश्वरले उसलाई थुप्रै वचन भन्नुभएकाले वा धेरै सत्यताद्वारा भरणपोषण गर्नुभएकाले होइन, जसपश्चात उसले बिस्तारै आफ्नै बुझाइद्वारा परमेश्वरको भय मानेको थियो। त्यस युगमा, परमेश्वरले उसलाई कुनै प्रस्ट वचनहरू भन्नुभएन। अय्यूबले बढीमा परमेश्वरका दूतहरू देख्न सक्थ्यो; र उसले बढीमा परमेश्वरबारे उनका पुर्खाहरूले सुनाउँदै आएका किंवदन्ती र कथाहरू सुन्न सक्थ्यो। उसले जान्न सक्ने यति मात्र थियो। तर, अय्यूबले यो जानकारीमा मात्र भर परेर बिस्तारै अझ धेरै कुरा र आफ्नो जीवन जियाइबाट अझ धेरै व्यावहारिक कुराहरू सिक्यो। बिस्तारै, परमेश्वरमाथि उसको आस्था झन्-झन् बलियो हुँदै गयो, र उसमा परमेश्वरको साँचो भयो पनि पैदा भयो। अय्यूबमा यी दुई कुरा पैदा भएपछि, उसको साँचो कद र साँचो क्षमता प्रस्ट भयो। अय्यूबबाट हामी के बुझ्न सक्छौँ? हामी धेरै सत्यताहरू छन् भन्ने बुझ्न सक्छौँ—परमेश्वरको इच्छा, परमेश्वरलाई चिन्नु, मानवजातिका लागि परमेश्वरका मापदण्डहरू, र मानवजातिको मुक्तिसँग सम्बन्धित सत्यताहरू—जुन मानिसहरूले आफूमा सामान्य मानव सोचाइ र क्षमता भएका खण्डमा वास्तवमा आफ्नो दैनिक जीवनमा अलिअलि गर्दै बुझ्न सक्छन्। अय्यूब यसको उदाहरण हो। ऊ केही व्यावहारिक कुरा बुझ्न सक्षम भयो। उसले के बुझ्यो? उसको सर्वोच्च आदर्श वाक्य, जुन उसले आफ्ना परीक्षाहरू अनुभव गर्दा पुष्टि भएको थियो; यो पनि उसको सर्वोच्च बुझाइ थियो। यो आदर्श वाक्य, यो सर्वोच्च बुझाइ के हो? “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१) अहिलेको मानवजातिभित्र, यस मामिलाको सन्दर्भमा, के अय्यूबको जस्तै साँचो बुझाइ भएको कोही छ? के अय्यूबको बुझाइ हासिल गर्न सक्ने कोही छ? (छैन।) मानिसहरूले अहिले बुझ्ने भनेकै धर्मसिद्धान्त मात्र हो। यी वचनहरू अय्यूबको अनुभवबाट पैदा भए। पछिल्ला पुस्ताहरूले यी वचनहरू भन्न सक्छन्, तर तिनीहरूको हृदयमा तिनको बुझाइ हुँदैन। अय्यूबसँग पनि सुरुमा यो बुझाइ थिएन, तर यी वचनहरू ऊबाट आए र उसको प्रत्यक्ष अनुभवबाट उत्पन्न भए। अय्यूबसँग यो वास्तविकता थियो। पछिल्ला पुस्ताहरूले अय्यूबको कुरा जतिसुकै सुगा रटाइ गरेका र उसको अनुकरण गरेका भए पनि, तिनीहरू धर्मसिद्धान्त मात्र बुझ्छन्। किन म त्यो धर्मसिद्धान्त मात्र हो भन्छु? पहिलो कुरा, किनभने मानिसहरू त्यो अभ्यास गर्न सक्दैनन्। दोस्रो कुरा, मानिसहरूसँग अय्यूबमा भएको अनुभव छँदै छैन, र यी अनुभवहरूबाट प्राप्त ज्ञान छैन, त्यसैले तिनीहरूको ज्ञान खोक्रो छ। तैँले त्यो जतिसुकै भने पनि वा “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्। म परमेश्वरका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति स्वेच्छाले समर्पित हुन्छु” भनेर जति नै चिच्याए पनि—जीवनमा तँलाई चुनौतीहरू आइपर्दा, के तँ हृदयमा त्यो परमेश्वरको काम हो भनी स्विकार्न सक्छस्? यदि परमेश्वरले तँलाई वञ्चित गर्नुभयो र नष्ट पार्नुभयो भने पनि के तँ हृदयमा अझै परमेश्वरको नाउँको प्रशंसा गर्न सक्छस्? यो तेरा लागि गाह्रो हुन्छ। तँलाई यो गर्न किन अति गाह्रो हुन्छ? किनभने यसो गर्नुमा परमेश्वरको मूल अभिप्राय तँलाई थाहा छैन र तँ उहाँको सार्वभौमिकता पनि चिन्दैनस्। तँ यी दुइटा कुरा बुझ्न सक्दैनस्। तैँले परमेश्वरको इच्छा बुझ्न सक्दैनस्, न त सृष्टि गरिएको प्राणीले राख्नुपर्ने स्थान, सृष्टि गरिएका प्राणीमा हुनुपर्ने समर्पण, वा सृष्टि गरिएको प्राणीले लिनुपर्ने कार्यहरू नै बुझ्छस्। तैँले यो कुनै पनि गर्न सक्दैनस्। यसर्थ, जब तँ अय्यूबका शब्दहरू वाचन गर्छस्, तब ती अनजानमै खोक्रा बन्छन्, सजिसजाउ र नक्कले शब्दहरूबाहेक अरू केही हुँदैनन्। त्यसकारण, तँ र अय्यूब दुवैले एउटै शब्दहरू बोले पनि, अय्यूबका हृदयमा यी वचनहरूको बुझाइ तेरोभन्दा फरक थियो र उसले यी शब्दहरू तैँलेभन्दा फरक भावनात्मक सन्दर्भमा बोलेको हो। यी दुई पूर्ण फरक मनस्थितिहरू हुन्। अय्यूबले यी वचनहरू साधारण रूपमा भनेको होइन। बरु, परमेश्वरले उसलाई सबथोकबाट वञ्चित गराउनुहुँदा, उसले भुइँमा लम्पसार परेर परमेश्वरका कार्यहरूको प्रशंसा गऱ्यो। तर, तँ यी शब्दहरू प्रायजसो प्रचार गर्छस्, तर परमेश्वरले वञ्चित गराउनुहुँदा तैँले कस्तो व्यवहार गर्नेथिस्? के घुँडा टेकेर प्रार्थना गर्न सक्नेथिस्? तँ समर्पित हुन सक्नेथिनस्। तैँले बाहिरी रूपमा “म समर्पित हुनुपर्छ। यो परमेश्वरले गर्नुभएको हो, हामी मानिसमा कुनै क्षमता छैन र हामी प्रतिरोध गर्न सक्दैनौँ, त्यसैले म जे हुन्छ हुन दिनेछु” भनिस् भने पनि, के यो साँचो समर्पण हो? तेरो नकारात्मक, विद्रोही, र प्रतिरोधी भावनाहरूको प्रकृतिलाई पर राख्दा, के तेरो मनोवृत्ति र अय्यूबको मनोवृत्तिबीच कुनै भिन्नता छ? (छ।) ठूलो भिन्नता छ। यो सत्यता वास्तविकता हुनु र नहुनुबीचको भिन्नता हो। यो आफूले अनुभव गरेका र बुझेका कुराहरू आफ्नो जीवनको स्वाभाविक प्रकटीकरण बन्नु र वास्तविकता प्राप्त नगरी धर्मसिद्धान्तहरू मात्र बुझ्नुबीचको प्रस्ट भिन्नता हो। केही पनि सामना गर्नु नपर्दा, मानिसहरूले अय्यूबका शब्दहरू प्रचार गर्नेछन्, तर जब तिनीहरूलाई परिस्थितिहरू आइपर्छन्, तब धेरै मानिस अय्यूबका शब्दहरू भन्न सक्दैनन्। यसले तिनीहरू धर्मसिद्धान्तहरू मात्र बुझ्छन् भन्ने देखाउँछ। यी शब्दहरू तिनीहरूको जीवन बनेका हुँदैनन् र तिनले तिनीहरूलाई परिस्थितिहरू आइपर्दा तिनीहरूका सोच र मनोवृत्तिलाई डोऱ्याउँदैनन्। तर, यी वचनहरूलाई आफ्नो जीवन ठान्ने मानिसहरूलाई परिस्थितिहरू आइपर्दा, यी शब्दहरू तिनीहरूले दैनिक जीवनमा प्रचार गर्ने आदर्श वाक्य मात्र हुँदैनन्, तर मानिस, घटना र परिस्थितिहरूप्रति तिनीहरूको साँचो मनोवृत्ति पनि हुन्छ भनेर प्रस्ट देखिन्छ। अझ भन्नुपर्दा, यो परमेश्वरप्रति तिनीहरूको साँचो मनोवृत्ति हो। यी वचनहरू तिनीहरूको जीवनको मूर्त रूप हुन्, तिनीहरूले फलाक्ने कुनै नारा मात्र होइनन्। यसले सत्यता बुझ्नु र सत्यताई नबुझ्नुबीचको भिन्नतालाई दर्शाउँछ।

अब पत्रुसबारे विचार गरौँ। हामी किन पत्रुस राम्रो क्षमताको व्यक्ति हो भन्छौँ? किनभने पत्रुसले प्रभु येशूले व्यक्त गरेको सत्यता र प्रभु येशूका वचनहरू बुझ्न सक्थ्यो। पत्रुस जिएको युग अनुग्रहको युग थियो। अनुग्रहका युगमा प्रभु येशूले सिकाएको छुटकाराको मार्ग व्यवस्थाको युगको मार्गभन्दा उच्च थियो। त्यसमा मानिसको जीवन प्रवेशबारे केही आधारभूत सत्यता, र मानव स्वभाव परिवर्तन गर्नेबारे केही प्रारम्भिक सत्यता पनि समावेश थिए। उदाहरणका लागि, त्यसमा परमेश्वरप्रति समर्पित हुने, परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुने, साथै मानिसहरूले आफ्ना केही भ्रष्ट स्वभाव प्रकट गर्दा कसरी जवाफ दिनुपर्छ भन्ने कुराहरू समावेश थिए। यी मामलाहरू विस्तृत र व्यवस्थित रूपमा छलफल नगरिएका भए पनि, ती उल्लेख गरिएका थिए। अवश्य नै, तिनलाई अय्यूबको समयमा भन्दा धेरै, तर आजभन्दा निकै कम छलफल गरिएको थियो। मानव स्वभाव बदल्ने, परमेश्वरप्रति मानवको मनोवृत्ति, मानिसहरूको हृदयको गहिरिएको भ्रष्टताको सार, वा व्यक्तिको भ्रष्ट स्वभावको प्रकटीकरणजस्ता सत्यताका पक्षहरूबारे बाइबलमा कुनै वचन अभिलेख नगरिएको भए पनि, प्रभु येशूले यी कुराहरूबारे निश्चित रूपले केही हदसम्म बोल्नुभयो। यति मात्र हो, मानिसहरू यस स्तरसम्म उठ्न सकेनन्, त्यसैले यी वचनहरूको अभिलेख राखिएन। उदाहरणका लागि, प्रभु येशूले पत्रुसलाई यसो भन्नुभयो: “साँच्चै म तिमीलाई भन्छु, आजको रात, भाले बास्नुभन्दा पहिले, तिमीले मलाई तीनपटक इन्कार्नेछौ” (मत्ती २६:३४)। यसमा, पत्रुसले यस्तो जवाफ दियो: “म तपाईंसँग मर्नु परे पनि, तपाईंलाई इन्कार गर्नेछैनँ।” (मत्ती २६:३५)। यी कस्ता वचनहरू हुन्? (ती अहङ्कारका वचनहरू हुन् जसले आत्मज्ञानको अभावलाई देखाउँछ।) ती आफूलाई नचिन्ने व्यक्तिले बोलेका अहङ्कारी शब्दहरू हुन्। त्यसैले यो आफूलाई चिन्नुसित सम्बन्धित छ। भाले बासेपछि पत्रुसलाई के महसुस भयो? (उसले आफूमा घमण्ड गर्दै बोलेको महसुस भयो।) उसलाई यो महसुस हुँदा, के उसलाई हृदयमा केही अनुभूति भयो? (भयो।) यसो भएपछि, उसको पहिलो प्रतिक्रिया कस्तो थियो? (पछुतो, उसको हृदय ग्लानिले भरियो।) उसको पहिलो प्रतिक्रिया ग्लानि र पछुतो थियो। उसले भन्यो, “परमेश्वरले जे भन्नुभयो त्यो साँचो थियो। प्रभुलाई प्रेम गर्नेबारे मैले जे भनेँ त्यो चाह, एक आदर्श, र एक प्रकारको नारा मात्र थियो। ममा यस्तो कद छैन।” प्रभु येशूको पक्राउको परिस्थितिसँग जुध्नुपर्दा, पत्रुस कायर र त्रसित भयो। कसैले उसलाई सोध्यो, “के उहाँ तिमीहरूका प्रभु हुनुहुन्छ? के तिमी उहाँलाई चिन्दैनौ?” अनि पत्रुसले त्यतिखेर मनमनै के सोचिरहेको थियो? “हो, म उहाँलाई चिन्छु, तर यदि मैले स्विकारेँ भने, तिनीहरूले मलाई पनि पक्रनेछन्।” उसको कायरता र दुःख पाइने डरका कारण, र ऊ प्रभु येशूसँगै पक्राउ पर्ने डरले गर्दा, उसले उहाँलाई चिनेको छु भनी स्विकारेन। उसको आस्थामाथि उसको कायरता हाबी भयो। त्यसबेला उसको आस्था साँचो थियो कि झूटो? (झूटो।) यसपटक, उसले के महसुस गऱ्यो भने, यसअघि उसले “प्रभु, म तपाईंसँग जेल जान र मृत्यु भोग्न तयार छु” भन्दा यी शब्दहरू मनको लड्डु थिए। ती उसको सच्चा आस्था नभएर खोक्रो शब्द, नारा, र धर्मसिद्धान्त मात्र थिए। ऊसँग साँचो कद थिएन। उसलाई आफूसँग साँचो कद छैन भनेर कहिले महसुस भयो? (तथ्यहरू खुलासा हुँदा।) तथ्यहरू सामना गर्दा अनि उसलाई ग्लानि र पछुतो हुँदा मात्र उसले यस्तो महसुस गऱ्यो, “मेरो आस्था र कद प्रभुले भन्नुभए जस्तै निकै साना रहेछन्। प्रभुले जे भन्नुभयो त्यो सही थियो। मैले प्रभुलाई जे भनेँ त्यो घमण्डीपन मात्र थियो। त्यो सच्चा आस्था थिएन, क्षणिक आवेग थियो। कुनै कुराको सामना गर्नुपर्दा, म कायर हुन्थेँ, दुःख भोग्न इच्छुक हुन्थिनँ, मसित मेरा आफ्ना स्वार्थी विचारहरू हुन्थे, म आफ्नो निर्णय आफै गर्थेँ, समर्पित हुँदिनथेँ, र ममा प्रभुलाई साँच्चै प्रेम गर्ने हृदय थिएन। मेरो आस्था यति कम थियो, मेरो कद यस्तो थियो।” उसको पछुतोले गर्दा उसमा यी सोचहरू पलाए, होइन र? उसको पछुतोले ऊसँग पहिल्यै आफूबारे ज्ञान र उसको कद, स्थिति र आस्थाको सही मापन थियो भन्ने कुरा देखाउँछ। नयाँ करारमा पत्रुसले प्रभुलाई तीनपटक इन्कार गरेको कुराको मात्र अभिलेख छ, तर त्यसमा पत्रुसले कसरी पछुतायो, आफूलाई बद्ल्यो र परिवर्तन गऱ्यो भन्नेबारे उसको अनुभवात्मक गवाही अभिलेख गरिएको छैन। खासमा, पत्रुसले यसबारे पत्रहरू लेखेको थियो, तर बाइबलका सम्पादकहरूले ती समावेश गर्न रोजेनन्। यो स्पष्ट समस्या हो, जसले के देखाउँछ भने मण्डलीका तत्कालीन अगुवाहरू सबैले कसरी प्रचार गर्ने र गवाही दिने भन्नेमा ध्यान दिन्थे, तर ती कसैले पनि जीवन अनुभव बुझ्दैनथे। तिनीहरू सबैले ती प्रेरितहरूले कसरी प्रचार र काम गरे, र कसरी तिनीहरूले कष्ट भोगे भन्ने कुरामा ध्यान दिन्थे, तर सबैभन्दा महत्त्वपूर्ण कुरा त मानिसहरूको जीवन प्रवेश, साथै मानिसहरूको सत्यतासम्बन्धी बुझाइ र परमेश्वरको ज्ञान हो भनेर तिनीहरूलाई थाहा थिएन। बाइबल सम्पादन गर्नेहरूले पत्रुसलाई जे भयो त्यो कुरालाई अत्यन्तै सरल र सामान्य शब्दहरूमा अभिलेख गरे, तर पावलको जीवनका घटनाहरूलाई चाहिँ विस्तृत रूपमा र धेरै उल्लेख गरे। यसले यी मानिसहरू पक्षपाती थिए भन्ने देखाउँछ। तिनीहरू सत्यता के हो भनी बुझ्दैनथे, न त परमेश्वरका निम्ति साक्षी दिनुको अर्थ नै बुझ्थे। तिनीहरू पावललाई आराधना गर्थे, त्यसैले तिनीहरूले पावलका पत्रहरू धेरै रोजे, जबकि पत्रुसका पत्रहरू थोरै छाने। तिनीहरूले बाइबललाई यसरी सम्पादन गरेर सैद्धान्तिक त्रुटि गरे, जसले गर्दा प्रभुमा विश्वास गर्नेहरूले दुई हजार वर्षसम्म पावलको आराधना र अनुकरण गरे। यसले पूरै धार्मिक संसारलाई परमेश्वरको प्रतिरोध गर्ने र ख्रीष्टविरोधीहरूको पकडअन्तर्गत धार्मिक राज्य बन्ने मार्गमा लग्यो। तिनीहरूले पत्रुसका दुइटा पत्रहरू—पत्रुसका पहिलो र दोस्रो पत्र—मात्र अभिलेख गरेर पत्रुसको उत्कृष्ट गवाहीलाई बेवास्ता गरे। तर पत्रुसले आफूलाई घटेको घटना वास्तवमा कसरी अनुभव गऱ्यो, परमेश्वरले उसलाई कसरी अन्तर्दृष्टि दिनुभयो, ऊकहाँ येशू देखा पर्नुहुँदा उहाँले के भन्नुभयो, पत्रुसले परमेश्वरको न्याय, सजाय, काटछाँट, परीक्षा, र शोधनहरू कसरी स्विकाऱ्यो, अन्त्यमा ऊ कसरी स्वेच्छाले क्रूसमा उँधोमुन्टो टाँगियो, पत्रुस यस मोडमा कसरी पुग्यो, उसको जीवन स्वभावमा कसरी यस्तो बदलाव आयो, र उसले कसरी यस्तो आस्था र समर्पण हासिल गऱ्यो—अनुभवको यस प्रक्रियाको अभिलेख छैन। हुनुपर्ने यस्तो बिलकुलै होइन। यी सबैभन्दा मूल्यवान् कुराहरू अभिलेख नगरिनु अत्यन्तै दुःखद कुरा हो!

चारवटा सुसमाचारका पुस्तकमा अभिलेख गरिएअनुसार पत्रुसले प्रभुलाई तीनपटक इन्कार गरेदेखि अन्त्यमा परमेश्वरका निम्ति उसलाई क्रूसमा उँधोमुन्टो टाँगिएसम्मका यी दुई घटनालाई मानिसहरूले एकसाथ जोडेर हेर्दा त्यसबाट के बुझ्छन्? पत्रुसले प्रभुलाई तीनपटक इन्कार गऱ्यो र अन्त्यमा गएर परमेश्वरका निम्ति उसलाई क्रूसमा उँधोमुन्टो टाँगियो। के यो गाह्रो प्रक्रिया, अन्वेषण गर्नलायक प्रक्रिया थिएन र? यो कस्तो प्रक्रिया थियो? (मानिसको जीवन प्रवेश र स्वभाव परिवर्तनको प्रक्रिया।) ठिक भनिस्, मानव स्वभावको परिवर्तन भनेको आफूलाई परमेश्वरका निम्ति त्याग्न तथा खर्चिन सक्षम हुने र स्वेच्छाले परमेश्वरका सबै योजनाबद्ध कार्यप्रति समर्पित हुने जीवन यात्रा हो। जीवन अनुभव भनेको ठ्याक्कै यही प्रक्रिया हो। यो नाटक हुँदै होइन। सुरुमा पत्रुसले आफू प्रभु येशूको अनुयायी हो भनी स्विकार्न आँट गरेन र अन्त्यमा उसमा साहस र आस्था जाग्यो अनि परमेश्वरका निम्ति क्रूसमा उँधोमुन्टो टाँगिन ऊ इच्छुक भयो, अनि ऊ यो स्तरमा उठ्यो। उसले आफ्नो आस्था, स्वभाव र समर्पणमा कस्तो रूपान्तरण प्रक्रिया पार गऱ्यो! त्यसमा निश्चय नै वृद्धिको प्रक्रिया थियो। आजका मानिसहरूले यो ठ्याक्कै कस्तो वृद्धि प्रक्रिया थियो भनेर जान्नु आवश्यक छैन किनकि आज बोलिने वचनहरू परमेश्वरको काम अनुभव गर्नेहरूले बुझ्नैपर्ने सत्यता हुन्। आज, परमेश्वरले मानिसहरूलाई यी कुराहरू पहिल्यै प्रस्ट्याइसक्नुभएको छ र तिनीहरूलाई यी सत्यताहरूद्वारा भरणपोषण गर्नुभएको छ। त्यसोभए पत्रुसको अनुभव कस्तो थियो? प्रभु येशू जानुभएपछि, उसलाई परमेश्वरप्रति समर्पित हुन उसले के अनुभव गर्नुपर्छ भनेर कसैले पनि प्रस्ट रूपमा बताएन। उसका लागि परमेश्वरका प्रस्ट वचनहरू उपलब्ध नभएको त्यो युगमा, उसले अन्त्यमा कुनै गुनासा वा व्यक्तिगत निर्णयविना स्वेच्छाले समर्पित हुने कद र आस्था प्राप्त गऱ्यो। ल भन् त, अन्त्यमा उसले कस्ता सत्यताहरू प्राप्त गऱ्यो? अनि उसले ती कसरी प्राप्त गऱ्यो? प्रार्थना, खोजी, अनि त्यसपछि क्रमिक रूपको अनुभव र घोत्ल्याइँमार्फत। यो समयमा, पत्रुसले अवश्यै परमेश्वरको अन्तर्दृष्टि र ज्योति, अनि परमेश्वरको विशेष अनुग्रह र मार्गदर्शन प्राप्त गऱ्यो। यस्ता कुराबाहेक, उसले आफ्नै प्रयासमार्फत मात्र अन्तर्ज्ञान प्राप्त गर्न सक्थ्यो। यस क्रममा, आफू, परमेश्वरको इच्छा, र मानिसहरू प्रवेश गर्नुपर्ने सत्यताका सबै पक्षबारेका पत्रुसको ज्ञान धमिलोबाट बिस्तारै प्रस्ट, त्यसपछि सही, अनि त्यसपछि अभ्यासको व्यावहारिक र निश्चित मार्ग बन्यो। यो प्रक्रिया अन्त्यसम्म अर्थात् ऊ कुनै विचलनविना पूर्ण रूपमा समर्पित हुन सक्षम भएसम्म लम्बियो। उसले आफ्नो हृदयमा पुष्टि भएपछि मात्र यसरी अभ्यास गर्ने हिम्मत गऱ्यो। यो पुष्टि कहाँबाट आयो? घोत्ल्याइँमार्फत साथै प्रार्थना र खोजीमार्फत। उसले पवित्र आत्मा र परमेश्वरलाई कार्य गर्न दियो। त्यसमा कुनै रोकावट वा ताडना थिएन। ऊसँग पवित्र आत्माको अन्तर्दृष्टि, शान्ति, र खुसी थियो, र सँगसँगै परमेश्वरको साथ, आशिष् र मार्गदर्शन थियो। उसले यसरी पुष्टि पायो। पुष्टि पाएपछि, ऊ खोजी गर्न, घोत्लिन, र अभ्यास गर्न हिम्मतका साथ निरन्तर अघि बढ्यो। यस्तो जटिल प्रक्रियाबाट गुज्रेपछि, पत्रुसले बिस्तारै मानव प्रकृति, आत्मज्ञान, र स्वभावका पक्षहरूका साथै मानिसको भ्रष्ट स्वभावले विभिन्न परिवेशमा उत्पन्न गर्ने विभिन्न स्थितिबारे प्रस्टसित बुझ्यो। उसले यो कुरा बुझेपछि अभ्यासअनुरूपका मार्गहरू खोज्न यी कुराहरूमा काम गर्न थाल्यो। अन्त्यमा, उसले विभिन्न परिवेशमा विविध भ्रष्ट स्वभावबाट उत्पन्न हरस्थितिलाई समाधान गऱ्यो। उसले ती कसरी समाधान गऱ्यो? उसले ती परमेश्वरद्वारा प्रकट गरिएका सत्यता र सिद्धान्तहरू प्रयोग गरेर अलिअलि गर्दै समाधान गऱ्यो। अवश्यै, उसले यस समयमा धेरै परीक्षा र शोधन अनुभव गऱ्यो। परमेश्वरले उसलाई कुन हदसम्म जाँच र शोधन गर्नुभयो? अन्त्यमा, उसले परमेश्वरको इच्छा बुझ्यो र परमेश्वर मानिसहरूले समर्पणको पाठ सिकेको चाहनुहुन्छ भनी बुझ्यो। त्यसोभए, मानिसहरूले समर्पण अभ्यास गर्नुपर्छ भनी पत्रुसलाई थाहा दिन परमेश्वरले पत्रुसमाथि कुन हदसम्म काम गर्नुभयो? हामीले यसअघि पत्रुसले भनेको एउटा कुरा उल्लेख गरेका थियौँ। त्यो के थियो, तिमीहरूलाई याद छ? (“यदि परमेश्वरले मलाई खेलौनाजस्तो व्यवहार गर्नुभयो भने, म कसरी तयार र इच्छुक नहुन सक्छु र?”) ठिक भनिस्, त्यही हो। परमेश्वरको काम वा मार्गदर्शनलाई अनुभव र पार गर्ने क्रममा, पत्रुसलाई थाहै नपाई यस्तो अनुभूति भयो: “के परमेश्वर मानिसहरूलाई खेलौनाजस्तो व्यवहार गर्नुहुन्न र?” तर परमेश्वरका कार्यहरूलाई प्रेरित गर्ने कुरा निश्चय नै यो होइन। मानिसहरू आफ्नो मानव दृष्टिकोण, सोचाइ, र ज्ञानमा भर परेर यस मामलालाई मूल्याङ्कन गर्छन् अनि परमेश्वर मानिसहरूलाई त्यतिकै खेलौनाजस्तै व्यवहार गर्नुहुन्छ भन्ने महसुस गर्छन्। उहाँ आज एक थोक गर् भन्नुहुन्छ, र भोलि अर्कै थोक गर् भन्नुहुन्छ। तँलाई थाहै नपाई यस्तो महसुस हुन थाल्छ, “अहो, परमेश्वरले धेरै कुरा भन्नुभएको छ। उहाँ केसमेत गर्न खोजिरहनुभएको छ?” मानिसहरू अन्योलमा पर्छन् र अलिव विक्षिप्त बन्छन्। कस्ता निर्णय गर्ने भनी तिनीहरू जान्दैनन्। परमेश्वरले पत्रुसको जाँच गर्न यो विधि प्रयोग गर्नुभयो। यो जाँचको अन्तिम नतिजा के भयो? (पत्रुस मृत्युसम्म समर्पित बने।) ऊ समर्पित बने। परमेश्वरले चाहेको नतिजा यही थियो, र उहाँले त्यो देख्नुभयो। पत्रुस समर्पित बनेको थियो र उसको कद वृद्धि भएको थियो भन्ने कुरा उसले बोलेका कुन शब्दहरूले देखाउँछन्? पत्रुसले के भन्यो? परमेश्वरले गरेका सबथोक र मानिसलाई खेलौनाजस्तो व्यवहार गर्ने परमेश्वरको मनोवृत्तिलाई पत्रुसले कसरी स्विकाऱ्यो र हेऱ्यो? पत्रुसको मनोवृत्ति कस्तो थियो? (उसले भन्यो: “म कसरी तयार र इच्छुक नहुन सक्छु र?”) हो, पत्रुसको मनोवृत्ति त्यस्तो थियो। उसका शब्दहरू ठ्याक्कै ती नै थिए। परमेश्वरका परीक्षा र शोधनको अनुभव नभएका मानिसहरूले कहिल्यै यी शब्दहरू भन्ने थिएनन् किनकि तिनीहरूले यस कथाको वृत्तान्त बुझ्दैनन् र त्यो कहिल्यै अनुभव गरेका छैनन्। तिनीहरूले त्यो अनुभव नगरेका हुनाले, तिनीहरू यस मामलामा निश्चित रूपले प्रस्ट हुँदैनन्। यदि तिनीहरू यस मामलामा प्रस्ट छैनन् भने, कसरी यो कुरा त्यतिकै भन्न सक्छ र? यी शब्दहरू मानवले कहिल्यै सोच्नै नसक्ने कुरा हुन्। पत्रुसले यसो भन्न सक्यो किनभने उसले धेरै परीक्षा र शोधन अनुभव गरेको थियो। परमेश्वरले उसलाई धेरै कुराबाट वञ्चित गर्नुभयो, तर त्यो सँगसँगै उसलाई धेरै थोक पनि दिनुभयो। दिएपछि, उहाँले फेरि एकपटक लिनुभयो। परमेश्वरले ऊबाट ती कुराहरू लिएपछि, पत्रुसलाई समर्पित हुन सिक्न लगाउनुभयो र त्यसपछि उसलाई फेरि एकपटक दिनुभयो। मानिसको दृष्टिकोणबाट हेर्दा, परमेश्वरले गर्ने धेरै कुरा अस्थिर देखिन्छन्, जसले मानिसहरूमा परमेश्वर मानिसहरूलाई खेलौनाजस्तो व्यवहार गर्नुहुन्छ, सम्मान गर्नुहुन्न, र मानवजातिको रूपमा व्यवहार गर्नुहुन्न भन्ने भ्रम सिर्जना गर्छ। मानिसहरू आफू खेलौनाझैँ मर्यादाविना जिउँदै छु भन्ने सोच्छन्; तिनीहरू परमेश्वरले तिनीहरूलाई स्वतन्त्र छनोटको अधिकार दिनुहुन्न, र उहाँ जे चाहनुहुन्छ त्यही भन्न सक्नुहुन्छ भन्ठान्छन्। उहाँ तँलाई केही कुरा दिनुहुँदा यसो भन्नुहुन्छ, “तैँले गरेको कुराका लागि तँ यो इनामको योग्य छस्। यो परमेश्वरको आशिष् हो।” उहाँ चिजहरू लानुहुँदा, अरू नै केही भन्नुहुन्छ। यस क्रममा, मानिसहरूले के गर्नुपर्छ? परमेश्वर सही वा गलत हुनुहुन्छ भनेर तैँले मूल्याङ्कन गर्ने होइन, परमेश्वरका कार्यहरूको प्रकृति तैँले पहिचान गर्ने होइन, र निश्चय नै यस क्रममा तेरो जीवनलाई अझ ठूलो मर्यादा दिने तैँले होइन। तैँले गर्नुपर्ने निर्णय यो होइन। यो भूमिका तेरो होइन। त्यसोभए तेरो भूमिका के हो त? तैँले अनुभवमार्फत परमेश्वरको इच्छा बुझ्न सिक्नुपर्छ। यदि तँ परमेश्वरको इच्छा बुझ्न सक्दैनस् र परमेश्वरका मापदण्डहरू पूरा गर्न सक्दैनस् भने, तेरो एउटै विकल्प समर्पित हुनु हो। के यस्ता परिस्थितिमा तँलाई समर्पित हुन सजिलो हुनेछ? (हुनेछैन।) समर्पित हुन सजिलो छैन। यो तैँले सिक्नुपर्ने पाठ हो। यदि तँलाई समर्पित हुन सजिलो हुने हो भने, तैँले पाठहरू सिक्नु पर्दैनथ्यो, तैँले काटछाँट भोग्न अनि परीक्षा र शोधन पार गर्न पर्दैनथ्यो। तँलाई परमेश्वरप्रति समर्पित हुन गाह्रो हुने भएकाले नै उहाँ तँलाई निरन्तर जाँच्नुहुन्छ, जानाजानी तँलाई खेलौनाझैँ खेलाउनुहुन्छ। परमेश्वरप्रति समर्पित हुन तँलाई सजिलो भएको दिन, जब परमेश्वरप्रतिको तेरो समर्पण कठिनाइ वा रोकावटरहित हुन्छ, जब तँ स्वेच्छाले र खुसीसाथ आफ्नो छनौट, अभिप्राय, वा रूचिविना समर्पित हुन सक्छस्, तब परमेश्वरले तँलाई खेलौनाझैँ व्यवहार गर्नुहुनेछैन र तैँले ठ्याक्कै आफूले गर्नुपर्ने काम नै गर्नेछस्। यदि कुनै दिन तैँले “परमेश्वर मलाई खेलौनाजस्तो व्यवहार गर्नुहुन्छ। म मर्यादाविना जिउँछु। म यसमा सहमत छैनँ र म समर्पित हुनेछैनँ” भनिस् भने, सायद त्यही दिन परमेश्वर तँलाई त्याग्नुहुन्छ। यदि तेरो कद तैँले “परमेश्वरको इच्छा बुझ्न सजिलो छैन र परमेश्वर मबाट सधैँ लुक्नुहुन्छ, तैपनि परमेश्वरले गर्ने सबथोक सही हुन्छ। परमेश्वरले जे गर्नुभए पनि, म उहाँप्रति स्वेच्छाले समर्पित हुनेछु। म समर्पित हुन नसके पनि, मैले यो मनोवृत्ति अपनाउनैपर्छ र गुनासो गर्ने वा आफै निर्णय गर्ने गर्नु हुँदैन। किनभने म एक सृष्टि गरिएको प्राणी हुँ। मेरो कर्तव्य भनेको समर्पित हुनु हो, र यो म पन्छिन नमिल्ने मेरो स्पष्ट दायित्व हो। परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ, र परमेश्वर जे गर्नुहुन्छ त्यो सही हुन्छ। मैले परमेश्वर जे गर्नुहुन्छ त्यसबारे कुनै धारणा वा कल्पना राख्नु हुँदैन। सृष्टि गरिएको प्राणीले यसो गर्नु उचित हुँदैन। परमेश्वरले मलाई जे दिनुभएको छ, त्यसका निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु। परमेश्वरले मलाई जे दिनुभएन वा जे दिएर लानुभयो, त्यसका लागि पनि म परमेश्वरलाई धन्यवाद दिन्छु। परमेश्वरका सबै कार्य मेरा लागि लाभदायी छन्; मैले लाभ देख्न नसके पनि, अझै पनि मैले गर्नुपर्ने भनेको समर्पित हुनु हो” भनेर भन्ने स्तरमा पुग्यो भने के होला? के यी शब्दहरूको र पत्रुसले “म कसरी तयार र इच्छुक नहुन सक्छु र?” भनेर भनेका शब्दहरूको प्रभाव एउटै छैनन् र? यस्तो कद भएकाहरूले मात्र सत्यतालाई साँचो रूपमा बुझ्छन्।

अब, मानिसहरूको क्षमताबारे सङ्गति गरौँ। कुनै व्यक्तिमा क्षमता छ कि छैन भनी मापन गर्दा, दैनिक जीवनमा तिनीहरूलाई परिस्थितिहरू आइपर्दा तिनीहरू परमेश्वरको इच्छा र मनोवृत्ति बुझ्न सक्छन् कि सक्दैनन् भनेर, साथै तिनीहरूले लिनुपर्ने स्थान र पछ्याउनुपर्ने सिद्धान्तहरू, अनि तिनीहरूमा हुनुपर्ने मनोवृत्तिलाई हेर्। यदि तँ यी सबै कुरा बुझ्न सक्छस् भने, तँमा क्षमता छ। यदि तैँले बुझ्ने कुराको परमेश्वरले तेरो वास्तविक जीवनमा तेरा लागि योजनाबद्ध गर्ने सबै कुरासित कुनै सम्बन्ध छैन भने, तँमा या त क्षमता छैन या त तँ कमजोर क्षमताको छस्। पत्रुस र अय्यूबले कसरी साँचो कद पाए, र अन्त्यमा तिनीहरूले परमेश्वरप्रतिको आस्थाबाट अहिले आफूलाई प्राप्त कुरा कसरी प्राप्त गरे र आफूले अहिले पाएको फल टिपे? आज तिमीहरू जे पाउँछौ तिनीहरूले त्यो कुनै हालतमा पनि पाउँदैनथे। तँसित सत्यतामा सङ्गति गर्न, तँलाई भरणपोषण गर्न, साथ दिन, र मद्दत गर्न सधैँ कोही न कोही हुन्छ। कामकुरा जाँच्न तँलाई मद्दत गर्न सधैँ कोही न कोही हुन्छ। तिनीहरूसित यस्ता कोही पनि थिएन। तिनीहरूले बुझेका धेरैजसो सत्यता आफूले महसुस गरेका, अनुभव गरेका, बिस्तारै पत्ता लगाएका र दैनिक जीवनमा भोगेका कुराहरूबाट प्राप्त गरेका थिए। उच्च क्षमताको हुनु भनेको यही हो। मानिसहरूमा यस्तो क्षमता नहुँदा, अनि सत्यता र मुक्तिप्रति यस्तो मनोवृत्ति नहुँदा, तिनीहरूले सत्यता खोज्नेछैनन् न त सबै कुरामा सत्यता अभ्यास गर्न नै ध्यान दिनेछन्। फलस्वरूप, तिनीहरू सत्यता प्राप्त गर्न सक्दैनन्। अय्यूब र पत्रुसका कथा सुनेपछि, धेरैजसो मानिस उनीहरूको ईर्ष्या गर्छन्। तर, केही समय उनीहरूको ईर्ष्या गरेपछि, तिनीहरू उक्त मामलालाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरूलाई आफूमाथि परिस्थितिहरू आइपर्दा आफूले पनि अय्यूब र पत्रुसका प्रचलित शब्दहरू भन्न सक्छु भन्ने लाग्छ, त्यसैले तिनीहरू यी कुराहरू सरल छन् भन्ठान्छन्। हामीले तीबारे अहिले विचार गर्दा, यी कुराहरू सरल छैनन्।

नयाँ करारमा, चारवटा सुसमाचारका पुस्तकहरूबाहेक, पावलका पत्रहरूले सबैभन्दा धेरै ठाउँ ओगटेका छन्। एउटै अवधिमा, सायद पावल र पत्रुसले लगभग उही काम गरे, तर पावलको ख्याति पत्रुसको भन्दा ठूलो थियो। यी दुई परिस्थितिबाट हामी के देख्न सक्छौँ? हामी यी दुई व्यक्तिले हिँडेको मार्ग देख्न सक्छौँ। पावलका पत्रका धेरै हरफहरू पछिल्ला पुस्ताहरूले आदर्श वाक्यका रूपमा अपनाए, र सबैले आफूलाई प्रेरित गर्न पावलका प्रसिद्ध भनाइहरू प्रयोग गरे। फलस्वरूप, तिनीहरू सबै गलत मार्गमा पुगे, र धेरै जना त ख्रीष्टविरोधीको मार्गमा समेत लागे। यसको उल्टो, पत्रुसले आफूलाई विरलै सार्वजनिक गऱ्यो। मूलत: उसले पुस्तकहरू लेखेन, कुनै गहन र रहस्यमय धर्मसिद्धान्तहरू अघि सारेन, र त्यस समयका दाजुभाइ-दिदीबहिनीहरूलाई सिकाउन र मद्दत गर्न ठुलठुला नारा वा सिद्धान्तहरू दिएन, न त उसले भावी पुस्ताहरूलाई प्रभावित पार्न उच्च सिद्धान्तहरू नै दियो। उसले व्यावहारिक र वास्तविक शैलीमा परमेश्वरलाई प्रेम गर्न र सन्तुष्ट पार्न मात्र खोजे। ती दुईले लिएका मार्गहरूबीचको भिन्नता यही हो। अन्त्यमा, पावल ख्रीष्टविरोधीहरूको मार्गमा हिँडेर नष्ट भयो, जबकि पत्रुस सत्यता पछ्याइ र परमेश्वरलाई प्रेम गर्ने मार्गमा हिँड्यो र सिद्ध पारियो। तैँले तिनीहरूले लिएका मार्गहरूबारे विचार गरेर परमेश्वर कस्ता मानिसहरू चाहनुहुन्छ, कस्ता मानिसहरूलाई मन पराउनुहुन्न, परमेश्वरले मन नपराउने मानिसहरूका खुलासा र प्रकटीकरणहरू, यी मानिसहरू कस्तो मार्गमा हिँड्छन्, परमेश्वरसित तिनीहरूको कस्तो सम्बन्ध छ, र तिनीहरू कस्ता कुराहरूमा ध्यान दिन्छन् भन्ने बुझ्न सक्छस्। के तिमीहरू पावलसित क्षमता थियो भन्छौ? पावलको क्षमता कुन श्रेणीमा पर्थ्यो? (त्यो अत्यन्तै राम्रो थियो।) तिमीहरूले धेरै प्रवचनहरू सुनेका छौ तर अझै पनि बुझ्दैनौ। के पावलको क्षमतालाई अत्यन्तै राम्रो भन्न मिल्थ्यो? (मिल्दैनथ्यो, त्यो अत्यन्तै कमजोर थियो।) पावलको क्षमता किन कमजोर थियो? (ऊ आफूलाई चिन्दैनथ्यो र परमेश्वरका वचनहरू बुझ्न सक्दैनथ्यो।) किनभने ऊ सत्यता बुझ्दैनथ्यो। उसले पनि प्रभु येशूले दिएका प्रवचनहरू सुनेको थियो, र उसले काम गरेको समयमा अवश्यै पवित्र आत्माको काम भइरहेको थियो। त्यसोभए उसले त्यत्रो काम गर्दा, त्यतिका पत्रहरू लेख्दा, र ती सबै मण्डली भ्रमण गर्दा पनि कसरी सत्यताबारे केही पनि बुझेन र धर्मसिद्धान्तबाहेक केही प्रचार गरेन त? त्यो कस्तो क्षमता थियो? कमजोर क्षमता। त्यसका अलावा, पावलले प्रभु येशूलाई सतायो र उहाँका चेलाहरूलाई गिरफ्तार गऱ्यो, र त्यसपछि प्रभु येशूले उसलाई स्वर्गबाट ठूलो ज्योतिले प्रहार गर्नुभयो। पावलले आफूलाई घटेको त्यो ठूलो घटनालाई कसरी लियो र बुझ्यो? उसको बुझ्ने तरिका पत्रुसको भन्दा फरक थियो। उसले सोच्यो, “प्रभु येशूले मलाई प्रहार गर्नुभयो, मैले पाप गरेको छु, त्यसैले मैले यसको परिपूर्ति गर्न अझ बढी मेहनत गर्नैपर्छ, र मेरा गुणहरू अवगुणहरूभन्दा बढी भएपछि, म इनाम पाउनेछु।” के उसले आफूलाई चिन्थ्यो? चिन्दैनथ्यो। उसले यसो भनेन, “मैले आफ्नो दुर्भावनापूर्ण प्रकृति, मेरो ख्रीष्टविरोधी प्रकृतिका कारण प्रभु येशूको विरोध गरेँ। मैले प्रभु येशूको विरोध गरेँ—ममा राम्रो कुरा केही पनि छैन!” के ऊसँग आफूबारे यस्तो ज्ञान थियो? (थिएन।) अनि उसले यो घटनालाई आफ्ना पत्रहरूमा कसरी अभिलेख गऱ्यो? त्यसबारे उसको दृष्टिकोण कस्तो थियो? (उसलाई परमेश्वरले उसलाई काम गर्न बोलाउनुभएको हो भन्ने लाग्यो।) उसलाई परमेश्वरले ऊमाथि ठूलो ज्योति चम्काएर बोलाउनुभएको हो, र परमेश्वरले उसलाई धेरै सदुपयोग गर्न सुरु गर्नुहुनेछ भन्ने लाग्यो। आफूबारे अलिकति पनि ज्ञान नभएकाले, उसले यो त इनाम र मुकुट पाइनेछ भन्ने सबैभन्दा शक्तिशाली प्रमाण हो, साथै इनाम र मुकुट पाउन आफूले प्रयोग गर्न सक्ने सबैभन्दा ठूलो पूँजी हो भनेर विश्वास गऱ्यो। यसका अलावा, उसलाई हृदयभित्र काँडा बिजेजस्तो भयो। यो काँडा के थियो? यो परमेश्वरले उसलाई प्रभु येशूको घोर प्रतिरोध गरेकोमा सजायस्वरूप दिएको रोग थियो। कसरी उसले यस मामलाको सामना गऱ्यो? उसको हृदयमा सधैँ एउटा बिमार थियो र उसले सोच्यो, “यो मेरो जीवनको सबैभन्दा ठूलो गल्ती थियो। परमेश्वर त्यसलाई क्षमा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न मलाई थाहा छैन। भाग्यवश, प्रभु येशूले मेरो जीवन बचाउनुभयो र मलाई सुसमाचार सुनाउने जिम्मेवारी सुम्पनुभयो। यो मैले आफूलाई छुटकारा दिने राम्रो अवसर हो। मैले आफ्नो सारा शक्ति लगाएर सुसमाचार सुनाउनुपर्छ, र सायद मेरा पापहरू माफी हुने मात्र नभई म मुकुट र इनामहरू पनि प्राप्त गर्न सक्छु। त्यो त गजब हुनेथियो!” तर, ऊ यो काँडाबाट कहिल्यै मुक्त हुन सकेन, जसले गर्दा उसको हृदयमा बेचैनी हुन्थ्यो। उसलाई त्यसबारे सधैँ असहज महसुस हुन्थ्यो। “म यो घोर गल्तीलाई कसरी परिपूर्ति गरूँ? म यसलाई कसरी रद्द गरूँ, ताकि त्यसले मेरा सम्भावनाहरू वा मैले प्राप्त गर्ने आशा राखेको मुकुटलाई प्रभाव नपारोस्? मैले प्रभुका निम्ति अझ बढी काम गर्ने, अझ ठूलो मूल्य चुकाउने, अझ बढी पत्रहरू लेख्ने, र दौडधुपमा, शैतानसँग लड्नमा, र सुन्दर गवाही दिनमा अझ बढी समय खर्चने गर्नैपर्छ।” उसले त्यसलाई यसरी लियो। के उसमा कुनै पछुतोहरू थिए? (थिएनन।) उसलाई अलिकति पनि पछुतो थिएन, झन् आफूबारे कुनै ज्ञान हुनु त परको कुरा थियो। उसमा यी कुनै पनि कुराहरू थिएनन्। यसले पावलको क्षमतामा समस्या थियो र उसमा सत्यता बुझ्ने क्षमता थिएन भन्ने देखाउँछ। उसले केही हदसम्म आफ्नो मानवता र आफूले पछ्याउने कुराका कारण, र केही हदसम्म आफ्नो क्षमताका कारण, यी कुराहरू बुझ्न सकेन, न त उसलाई यस्तो महसुस नै भयो, “मानिसलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ। मानिसको प्रकृति ज्यादै सडेको, ज्यादै दुष्ट छ। मानिसको प्रकृति त शैतान र ख्रीष्टविरोधीहरूको प्रकृति हो। परमेश्वरले मानवजातिलाई छुटकारा दिनुको कारण यही हो। मानिसलाई परमेश्वरको छुटकारा चाहिन्छ। त्यसोभए कसरी मानिस परमेश्वरसामु आएर उहाँको छुटकारा स्विकार्नुपर्छ?” उसले कहिल्यै यस्ता कुराहरू भनेन। आफूले किन येशूलाई प्रतिरोध र निन्दा गरेको थियो भनेर उसले बिलकुलै बुझेन। उसले आफू मुख्य दोषी हो भनेर स्विकारे पनि, उक्त मामलाबारे बिलकुलै चिन्तन गरेन। उसले त केवल यस्ता गम्भीर पापहरूलाई कसरी सच्याउन सकिन्छ, कसरी आफ्ना पापहरूको प्रायश्चित गर्न सकिन्छ, कसरी सत्कर्मद्वारा आफ्ना पापहरूको परिपूर्ति गर्न सकिन्छ, र अन्त्यमा कसरी आफूले अपेक्षा गरेका मुकुट र इनामहरू प्राप्त गर्न सकिन्छ भनेर चिन्तन गऱ्यो। उसलाई जे भएको भए पनि, उसले आफूलाई आइपरेका परिस्थितिहरूबाट सत्यता वा परमेश्वरको इच्छा बुझ्न सकेन। उसले परमेश्वरको इच्छा पटक्कै बुझेन। सत्यता बुझ्ने सन्दर्भमा भन्नुपर्दा, पावल सबैभन्दा खराब व्यक्ति थियो, त्यसैले हामी पावलको क्षमता सबैभन्दा नराम्रो थियो भन्न सक्छौँ।

के अत्यन्तै कमजोर क्षमता भएका मानिसहरू सत्यता बुझ्न सक्छन्? (सक्दैनन्।) के सत्यता नबुझ्ने मानिसहरूले मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) मुक्ति पाउन चाहने मानिसहरूमा सन्तोषजनक क्षमता हुनैपर्छ। तिनीहरू कम्तीमा औसत क्षमताको हुनैपर्छ, र अत्यन्तै कमजोर क्षमताको हुनु हुँदैन। तिनीहरूले सत्यता बुझ्नैपर्छ। तिनीहरूले सत्यता जुन हदसम्म बुझ्न सक्ने भए पनि, आफूले सत्यता बुझेको आधारमा कम्तीमा आफूलाई चिन्नैपर्छ र सत्यता अभ्यास गर्न जान्नैपर्छ। यसरी तिनीहरूले मुक्ति पाउन सक्छन्। किन म तिनीहरूले यसरी मुक्ति पाउन सक्छन् भन्छु? जब तँ आफ्नो दैनिक जीवनमा आइपर्ने कुराहरूलाई सत्यतासँग जोड्न सक्छस् र कामकुरालाई परमेश्वरका वचनका आधारमा हेर्न र सम्हाल्न सक्छस्, तब तैँले परमेश्वरका वचनहरूलाई आफ्नो वास्तविक जीवनमा उतार्न सक्नेछस् र, यसैको आधारमा तैँले परमेश्वरका वचनको न्याय, उहाँका वचनद्वारा गरिएको काटछाँट, अनि उहाँका वचनहरूमा गरिएका परीक्षा तथा शोधनहरू स्विकार्न सक्नेछस्। नत्र, यदि तँ सत्यता बुझ्दैनस् भने, उहाँका वचनहरूका न्याय, परीक्षा र शोधनहरू स्विकार्नसमेत योग्य हुनेछैनस्। तैँले परमेश्वरको न्याय र सजाय स्विकार्नुअघि, कम्तीमा केही सत्यता बुझ्नैपर्छ, परमेश्वरप्रति समर्पणको मनोवृत्ति राख्नैपर्छ, र कुनै तरिकामा परिवर्तन भएको हुनैपर्छ। तैँले परमेश्वरका कार्यहरूलाई कस्तो मनोवृत्ति, मानसिकता, र दृष्टिकोणले सम्हाल्नुपर्छ भनेर पनि जान्नैपर्छ। यी सबै कुरामा सत्यता समावेश हुन्छ। मानिसहरूले सामान्य धार्मिक नारा, धार्मिक अनुष्ठान, र नियमहरू प्रयोग गरेर यसलाई त्यतिकै सम्हाल्न र सत्यतासित जोड्न सक्ने होइन। न त केही असल कार्यहरू गर्दैमा त्यसमा सत्यता अभ्यास समावेश हुन्छ। यो त्यति सरल छैन। तँलाई के थाहा छ, तँ के अनुभव गर्छस्, र तेरो वरिपरि के हुन्छ भन्ने सम्बन्धमा, तैँले पालना गर्नुपर्ने सिद्धान्तहरू तँलाई हृदयमा थाहा हुनैपर्छ। यसरी मात्र तँ सत्यतासित सम्बन्धित हुन्छस्। यसका अलावा, परमेश्वरले तँलाई गराउने कामहरूलाई तैँले सम्हाल्ने तरिका, परमेश्वर तँलाई जुन शैली र मनोवृत्तिले व्यवहार गर्नुहुन्छ त्यसलाई लिने तेरो तरिका, साथै तैँले अपनाउने मनोवृत्ति र दृष्टिकोणमा सत्यता समावेश हुनैपर्छ। यसरी मात्र तैँले जीवन प्रवेश पाउन सक्छस्। अन्यथा, परमेश्वरले तँमा कुनै पनि काम गर्न सक्नुहुनेछैन। बुझिस्? (बुझ्यौँ।) नियमहरू पालना गर्ने, धर्मसिद्धान्तहरूबारे कुरा गर्ने, र असल भएको नाटक गर्ने धर्मका मानिसहरूलाई हेर्। तिनीहरूका कार्यहरू बाहिरबाट राम्रा देखिन्छन्, तर परमेश्वर किन तिनीहरूमा कहिल्यै काम गर्नुहुन्न? किनभने तिनीहरूले गर्ने कामकुरा र तिनीहरूका सबै असल कार्यहरूमा सत्यता समावेश हुँदैनन्। तिनीहरूले आफ्नो व्यवहार मात्र परिवर्तन गरेका हुन्छन्, तर यसमा तिनीहरूको स्वभाव परिवर्तन समावेश हुँदैन। किनभने तिनीहरू परमेश्वरका मापदण्ड र मानकहरू पूरा गर्दैनन्। यो भर्खरै प्राथमिक विद्यालय पास गरेको बच्चाले सिधै विश्वविद्यालय जान चाहनु जस्तै हो। के यो सम्भव छ? यो बिलकुलै असम्भव छ किनकि ऊ योग्य छैन। त्यसकारण, चाहे हामी मानिसहरूले हिँड्ने मार्गबारे कुरा गरिरहेका हौँ वा तिनीहरूको मानवता र क्षमताबारे, मानिसहरूले कम्तीमा मुक्तिका लागि आवश्यक सर्तहरू पूरा गर्नुपर्छ। निश्चित रूपमा, तिनीहरूले सत्यता बुझ्नैपर्छ, आफ्ना भ्रष्ट स्वभावहरू हटाउनैपर्छ, र परमेश्वरप्रति साँचो रूपमा समर्पित हुनैपर्छ।

हामी मानिसहरूको क्षमता कसरी मापन गर्छौँ? सत्यताप्रति आफ्नो मनोवृत्ति कस्तो छ र आफूले सत्यता बुझ्न सक्छ कि सक्दैन भनी हेर्नु नै यसो गर्ने उचित तरिका हो। कतिपय मानिस अति चाँडो केही विशेषज्ञता हासिल गर्छन्, तर जब तिनीहरू सत्यता सुन्छन्, अन्योलमा पर्छन् र उँघ्‍न थाल्छन्। तिनीहरूको हृदयमा अन्योल छाउँछ, तिनीहरू आफूले सुनेको कुनै पनि कुरा सम्झँदैनन्, न त आफूले सुनेका कुरा नै बुझ्‍छन्—कमजोर क्षमता भनेको यही हो। कतिपय मानिसलाई यदि तैँले तिनीहरू कमजोर क्षमताका छन् भनेर भनिस् भने तिनीहरू असहमत हुन्छन्। तिनीहरूले आफू उच्च शिक्षित हुनु र जानकार हुनुको अर्थ असल क्षमताका हुनु हो भन्‍ने सोच्छन्। के असल शिक्षाले उच्च क्षमताको प्रदर्शन गर्छ त? गर्दैन। मानिसहरूको क्षमता कसरी मापन गर्नुपर्छ? यसलाई तिनीहरूले कुन हदसम्म परमेश्‍वरका वचन र सत्यता बुझ्छन् त्यसको आधारमा मापन गर्नुपर्छ। यो नै क्षमता मापन गर्ने सबैभन्दा सही तरिका हो। कतिपय मानिस वाक्पटु, तिक्ष्ण बुद्धिका, र अरू मानिसलाई सम्हाल्न अत्यन्तै सिपालु हुन्छन्—तर जब तिनीहरू प्रवचनहरू सुन्छन्, तब कहिल्यै केही पनि बुझ्न सक्दैनन्, र तिनीहरू परमेश्वरका वचनहरू पढ्दा ती बुझ्दैनन्। तिनीहरू आफ्ना अनुभवात्मक गवाहीबारे कुरा गर्दा, सधैँ वचन र धर्मसिद्धान्तहरू बोल्छन्, जसले गर्दा तिनीहरू जाबो अनुभवहीन देखिन्छन्, र अरूलाई तिनीहरूमा आत्मिक बुझाइ रहेनछ भन्ने भान हुन्छ। यी कमजोर क्षमताका मानिसहरू हुन्। त्यसोभए, के यस्ता मानिसहरू परमेश्वरको घरका निम्ति काम गर्न योग्य हुन्छन्? (हुँदैनन्।) किन हुँदैनन्? (तिनीहरूमा सत्यता सिद्धान्तहरू हुँदैनन्।) ठिक भनिस्, यो तिमीहरूले अहिलेसम्म बुझिसक्नुपर्ने कुरा हो। परमेश्वरको घरका निम्ति काम गर्नुलाई अर्को शब्दमा आफ्नो कर्तव्य निर्वाह गर्नु भनिन्छ। आफ्नो कर्तव्य निर्वाह गर्ने सन्दर्भमा भन्नुपर्दा, यसमा सत्यता, परमेश्वरको काम, आचरणका सिद्धान्त, र अनेक थरीका मानिसलाई व्यवहार गर्ने तरिका र शैली समावेश हुन्छन्। यी सबै मामला मानिसहरूले आफ्ना कर्तव्य प्रभावकारी र सन्तोषजनक ढङ्गले निर्वाह गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरासित सम्बन्धित हुन्छन्। के आफ्नो कर्तव्य निर्वाह गर्नुसँग सम्बन्धित यी मामलाहरूमा सत्यता समावेश हुन्छ? यदि तिनमा सत्यता समावेश हुन्छ, तैपनि तँ सत्यता बुझ्दैनस् र आफ्नो जाबो चलाखीपनमा मात्र भर पर्छस् भने, के तैँले समस्याहरू समाधान गर्न र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेछस्? (सक्नेछैनँ।) सक्नेछैनस्। निश्चित मामलाहरूमा कुनै पनि गलत नभए पनि, ती कुराको सत्यतासँग कुनै सम्बन्ध नहोला, र ती एकदमै बाहिरी कुरा हुन्छन्। तर, बाहिरी कामहरू गर्दा पनि तँसित सिद्धान्तहरू हुनैपर्छ, र तैँले ती काम सबैलाई उचित लाग्ने तरिकामा सम्हाल्नुपर्छ। मानौँ तँलाई सिद्धान्तबमोजिम केही कुरा आफैले सम्हाल्न भनियो, र तैँले यसो गर्ने क्रममा, कुनै अप्रत्याशित परिस्थिति उत्पन्न हुन्छ, र त्यसलाई सम्हाल्ने तरिका तँलाई थाहा छैन। तैँले तँ आफ्नो अनुभवअनुसार अघि बढ्नुपर्छ भन्ने सोच्छस्, तर ठ्याक्कै अनुभवले सिकाएअनुसार कार्य गर्दा तैँले गरिरहेको काम बिथोलिन्छ र बाधित हुन्छ, र सबै कुरा भद्रगोल हुन्छ। के यो त्रुटि होइन र? यस्तो किन भएको? किनभने तँसित शुद्ध बुझाइ छैन, तँ सत्यता बुझ्दैनस्, र तैँले सिद्धान्तहरू बुझेको छैनस्। जब तँ सत्यता र सिद्धान्तहरू समावेश हुने मामलाहरू सामना गर्छस्, तब ती सम्हाल्न सक्दैनस्, र तेरो आफ्नै इच्छा फुत्त प्रकट हुन्छ। फलस्वरूप, तैँले मण्डलीको काम र परमेश्वरको घरका हितमा हानि पुऱ्याउँछस्, र आफूलाई लज्जित तुल्याउँछस्। के मानव अनुभव र विधिका आधारमा समस्याहरू सम्हाल्नु प्रभावकारी हुन्छ? (हुँदैन।) किन प्रभावकारी हुँदैन? किनभने मानव अनुभव र विधिहरू सत्यता होइनन्, र परमेश्वरका चुनिएका मानिसहरूले ती स्विकार्नेछैनन्। यदि तँ सधैँ मानव अनुभव र विधि प्रयोग गरेर समस्याहरू सम्हाल्छस् भने, के त्यसको अर्थ तैँले आफूलाई ज्यादै अक्कली ठान्नु होइन र? के त्यो अहङ्कारी र आत्मधर्मी हुनु होइन र? कतिपय मानिस त यस्तोसम्म तर्क गर्छन्, “मैले यस मामलासम्बन्धी सत्यता नबुझ्ने होइन—म त्यसलाई हृदयमा बुझ्छु। मैले त्यसबारे पर्याप्त नसोचेको मात्र हो। यदि मैले अझ बढी प्रयत्न लगाएँ र यस मामलालाई अझ ध्यानपूर्वक विचार गरेँ भने, म त्यसलाई राम्ररी सम्हाल्न सक्छु। विगतमा, मैले अविश्वासीहरूसँग अन्तरक्रिया गर्ने र परिस्थितिहरू सम्हाल्ने क्रममा, निश्चित विधि र माध्यमहरू प्रयोग गर्नुपरेको थियो। तर, परमेश्वरको घरले यी शैलीहरू प्रयोग गर्न अनुमति दिँदैन, त्यसैले के गर्ने भनेर मलाई थाहा भएन। मैले उक्त मामलालाई आफ्नै तरिकाले सम्हालेँ, त्यसैले मैले सानो गल्ती गर्नु कुनै अचम्म होइन।” के यी मानिसहरू आफूलाई चिन्छन्? (चिन्दैनन्।) किन तिनीहरू आफूलाई चिन्दैनन्? के यसको सत्यतासँग केही सम्बन्ध छैन? तिनीहरू यस मामलामा सत्यता खोज्दैनन्, तर आफ्ना गल्तीहरू छोप्ने उपायहरू सोच्छन्। तिनीहरू आफूले एउटा मात्र गल्ती गरेको हो भन्ने सोच्छन् र आफ्नो व्यवहारको सन्दर्भमा लापरवाह भएका छन्। तिनीहरू आफ्नो गल्तीमा सत्यता समावेश हुन्छ, वा त्यो गल्ती हुनुको कारण सत्यता नबुझ्नु र आफ्ना भ्रष्ट स्वभावका आधारमा कार्य गर्नु हो भनेर सोच्दैनन्। कमजोर क्षमताको हुनु भनेको यही हो। परिस्थितिहरू आइपर्दा, यी मानिसहरू सधैँ कारण र बहानाहरू खोजिरहेका हुन्छन्। तिनीहरू आफूले एउटा मात्र गल्ती गरेको हो भन्ने सोच्छन्। पहिलो प्रतिक्रियामा, तिनीहरूलाई आफूले सत्यता खोज्नैपर्छ भन्ने थाहा हुँदैन। दोस्रो प्रतिक्रियामा, तिनीहरूलाई आफूले सत्यता खोज्नैपर्छ भनेर अझै थाहा हुँदैन। अनि तेस्रो प्रतिक्रियामा, तिनीहरूलाई आफूले सत्यता खोज्न र आफूलाई चिन्न आवश्यक छ भनेर अझै पनि थाहा हुँदैन। एकदमै कमजोर क्षमता हुनु भनेको यही हो। तैँले तिनीहरूलाई जसरी मार्गदर्शन गरिस्, खुलासा गरिस् र तिनीहरूसित सङ्गति गरिस् भने पनि, तिनीहरूलाई आफूले कस्ता सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेको छ र आफूले कस्ता सत्यताहरू अभ्यास गर्नुपर्छ भनेर अझै थाहा हुनेछैन। तैँले तिनीहरूलाई जसरी मार्गदर्शन गरे पनि, तिनीहरूलाई यी कुराहरू कहिल्यै थाहा हुनेछैन। तिनीहरूमा सत्यतालाई बुझ्ने अलिकति पनि क्षमता हुँदैन। कमजोर क्षमताको हुनु भनेको यही हो। तैँले सत्यताबारे जति नै प्रस्ट रूपमा सङ्गति गरे पनि, त्यो नै सत्यता हो भनेर तिनीहरूले थाहा पाउनेछैनन्। तिनीहरूले तथ्यहरू ढाकछोप गर्न आफ्नै तर्क र बहानाहरू प्रयोग गर्नेछन्, वा त्यो एउटा मात्र गल्ती वा त्रुटि थियो भन्नेछन्। तिनीहरूले आफूले सत्यता उल्लङ्घन गरेको वा आफ्ना भ्रष्ट स्भावहरू प्रकट गरेको कुरा अलिकति पनि स्विकार्नेछैनन्। तिनीहरूले जे गल्ती गरेका, जुनै भ्रष्ट स्वभाव प्रकट गरेका, वा जति भ्रष्ट स्थिति पैदा गरेका भए पनि, आफूले प्रकट गरेका भ्रष्ट स्वभावहरू वास्तवमा केके हुन् भनेर कहिल्यै थाहा पाउनेछैनन्, झन् भ्रष्ट सार थाहा पाउनु त परै जाओस्। न त तिनीहरूलाई सत्यता कसरी खोज्ने वा यस मामलामा आफूलाई कसरी चिन्ने भनेर नै थाहा हुन्छ। यी कुराहरूबारे तिनीहरूलाई केही पनि थाहा हुँदैन। तिनीहरू आत्मिक रूपमा भावशून्य हुन्छन् र यी कुराहरूबारे तिनीहरूमा अलिकति पनि भावना हुँदैन। यो कमजोर क्षमता प्रकट भएको हो।

कुनै व्यक्तिको क्षमता कसरी मापन गर्ने भन्नेबारे अलिकति सङ्गति गर्न केही उदाहरण विचार गरौँ। उदाहरणका लागि, मैले भनेँ, कतिपय मानिस कामकुरा गर्दा आलटाल गर्छन् र झारा टार्छन्। यो सुनेपछि, राम्रो क्षमताका मानिसहरूलाई यो स्थिति आफूले पनि अनुभव गर्ने कुरा हो, र आफूलाई शारीरिक रूपमा स्वस्थ महसुस नहुँदा वा आफू नकारात्मक वा अल्छी हुँदा आफूले प्रायः यस्तो स्थिति र मनोवृत्ति अनुभव गर्छु भनेर तुरुन्तै महसुस हुनेछ। यसका अलावा, तिनीहरूको दिमागमा आफूले कतिपय काम आलटाल गरेको वा झारा टारेको बेलाका तस्बिरहरू झलझली आउनेछन्। तिनीहरूले आफूलाई परमेश्वरका वचनहरूसित तुलना गर्नेछन् र परमेश्वर जे खुलासा गर्नुहुन्छ त्यो मानिसको भ्रष्टताको वास्तविकता हो र त्यो मानिसका भ्रष्ट स्वभावहरूसित सम्बन्धित छ भनी स्विकार्नेछन्। यसै गरी तिनीहरूले परमेश्वरका वचनहरू सत्यता हुन् भनी स्विकार्नेछन् र तिनलाई गलतफहमी वा आफ्ना धारणाविना विशुद्ध रूपमा बुझ्नेछन्। राम्रो क्षमताको हुनु भनेको यही हो। यी वचनहरू सुनेपछि, तिनीहरूले पहिलो प्रतिक्रियास्वरूप आफूलाई तीसँग दाँज्नेछन्। तिनीहरूलाई यो आफूले पनि अनुभव गर्ने स्थिति हो भनी महसुस हुनेछ, र तिनीहरूले परमेश्वरका यी वचनहरूलाई आफ्ना स्थिति र दैनिक जीवनसित जोड्नेछन्। त्यसपछि, तिनीहरूले आत्मचिन्तन गर्नेछन्, आफ्नो यो स्थितिलाई प्रस्टसित हेर्नेछन्, र परमेश्वरका वचनहरू सत्यता हुन् भनी स्विकार्नेछन्। राम्रो क्षमताका मानिसहरू परमेश्वरका वचनहरू सुन्दा यस्तो प्रतिक्रिया दिन्छन्। तैँले औसत क्षमताको व्यक्तिलाई “आलटाल गर्ने” र “झारा टार्ने” मात्र भनेर हुँदैन। तैँले तिनीहरूका प्रकटीकरणहरू खुलासा गरेर तिनीहरूका समस्याहरू सिधै औँल्याउनैपर्छ, अनि यसलाई तिनीहरूले गर्ने कामहरूसित जोड्दै यसो भन्नुपर्छ, “तिमी प्रायः अन्योलमा हुन्छौ र कामकुरा गम्भीरताका साथ लिँदैनौ। तिमी यसरी आफ्नो कर्तव्य निभाएर झारा टार्ने मात्र भइरहेको छौ। तिमी कसरी यो कुरा बुझ्न सक्दैनौ? मैले तिमीलाई यो कुरा कतिपटक भनिसकेँ? यसैलाई झारा टार्नु र आलटाल गर्नु भनिन्छ।” तिनीहरूका समस्याहरू यसै गरी औँल्याइदे। यो सुनेपछि, तिनीहरूले कसरी आफूले विलम्ब गरेछु र झारा टार्ने तरिकाले काम गरेछु भनेर चिन्तन गर्नेछन्। तिनीहरूले यसबारे साँचो रूपमा चिन्तन गरेर त्यसलाई चिनेपछि, आफ्ना गल्तीहरू स्विकार्नेछन् र ती सच्याउन सक्नेछन्। तर, तिनीहरू जे स्विकार्छन् त्यो एक निश्चित कुरा, निश्चित स्थिति हो। तैँले भनेको कुरा तिनीहरूका कल्पनासित मिल्यो भने मात्र तिनीहरूले त्यो स्विकार्न सक्छन्। यसैलाई हामी औसत क्षमता भन्छौँ। औसत क्षमताका मानिसहरूमा काम गर्न प्रयत्न चाहिन्छ, र तैँले तथ्यहरूका आधारमा बोलेर मात्र तिनीहरूलाई पूर्ण विश्वस्त पार्न सक्छस्। कमजोर क्षमताका मानिसहरूको स्थिति कस्तो हुन्छ? तिनीहरूलाई कसरी सम्हाल्नुपर्छ? कमजोर क्षमताका मानिसहरू छोटो बुद्धिका र मानसिक रूपले विक्षिप्त हुन्छन्। तिनीहरू आफूले भोग्ने कुनै पनि परिस्थिति बुझ्न सक्दैनन्, र सत्यता खोज्दैनन्। यदि मानिसहरूले तिनीहरूलाई प्रस्ट र सिधा रूपमा कुराहरू भनेनन् भने, तिनीहरू आफै ती बुझ्न सक्दैनन्। त्यसैले, तैँले कमजोर क्षमताका मानिसहरूसित कुरा गर्दा अझ प्रस्ट र सिधा रूपमा बोल्नैपर्छ, र उदाहरणहरू पनि दिनैपर्छ। तैँले तथ्यहरूकै आधारमा बोल्नुपर्छ, र आफ्नो कुरा बारम्बार दोहोऱ्याउनुपर्छ। यसो गरिस् भने मात्र तेरा शब्दहरूले केही प्रभाव पार्न सक्छन्। तैँले यसरी बोल्नुपर्छ: “यसरी आफ्नो कर्तव्य निभाएर तिमी आलटाल गरिरहेका र झारा टारिरहेका छौ!” तिनीहरूको पहिलो प्रतिक्रिया के हुनेछ? “हो र? मैले आलटाल गरेको छु र? म बिहान उठ्नेबित्तिकै आफ्नो कर्तव्यसँग सम्बन्धित कुराहरूबारे सोच्न थाल्छु, र म ती कुरा पहिला सकाउँछु। बाहिर जाँदा पनि म ती काम कसरी राम्ररी गर्ने भनेर सोच्छु। म आलटाल गर्ने वा झारा टार्ने तरिकाले काम गर्ने गर्दिनँ। म यी कुराहरूमा धेरै प्रयत्न लगाउँछु!” तैँले भनेको कुरा नकार्नु नै तिनीहरूको पहिलो प्रतिक्रिया हुनेछ। तिनीहरूलाई थाहासुद्धी हुँदैन र, मूलतः तिनीहरू आफूले झारा टार्ने तरिकाले कर्तव्य निर्वाह गरिरहेको र आलटाल गरिरहेको महसुस गर्दैनन्। त्यसपछि तैँले आलटाल गर्नु र झारा टार्नुका प्रकटीकरणहरू केके हुन् भनी व्याख्या गर्नुपर्नेछ, र तिनीहरूले तेरा शब्दहरू स्विकार्नुअघि तिनीहरू साँच्चै विश्वस्त हुने तरिकामा बोल्नुपर्नेछ। तिनीहरूलाई आफूले राम्रो काम गरेको छैन वा बाहिरी मामलाहरूमा गल्तीहरू गरेको छ भनी स्विकार्न सजिलो हुँदैन। यदि कुनै कुरामा सत्यता, अभ्यासका सिद्धान्त, वा परमेश्वरको स्वभाव समावेश छ भने, कमजोर क्षमताका मानिसहरूलाई त्यो झनै गाह्रो हुन्छ। तिनीहरूले तैँले भनेको केही पनि बुझ्नेछैनन्, र तँ जति बढी बोल्छस्, तिनीहरूलाई त्यति नै अन्योल र अन्धकार महसुस हुनेछ, अनि तिनीहरूले सुन्नै चाहनेछैनन्। यी अत्यन्तै कमजोर क्षमताका मानिसहरू हुन्; यो नै तिनीहरू सत्यतामा पुग्न नसक्नुको प्रकटीकरण हो। तैँले कमजोर क्षमताका मानिसहरूलाई सत्यतामा जसरी सङ्गति गरे पनि, त्यो काम लाग्दैन। तैँले तिनीहरूसित कुराकानी गर्न जसरी कोसिस गरे पनि, तिनीहरू बुझ्न सक्दैनन्। बढीमा तिनीहरू केही धर्मसिद्धान्त र नियमहरू बुझ्न सक्छन्। त्यसकारण, अत्यन्तै कमजोर क्षमताका मानिसहरूसित सत्यतामा विस्तृत रूपले सङ्गति गर्न जरुरी छैन। तिनीहरूलाई के गर्ने भनी सरल तरिकामा भन्, र यदि तिनीहरू त्यस कुरामा अडिग रहेमा, त्यो धेरै राम्रो हो। अत्यन्तै कमजोर क्षमताका मानिसहरूमा कुनै बोध क्षमता हुँदैन, यतिसम्म कि तिनीहरूले सत्यता कहिल्यै बुझ्न सक्नेछैनन्, र निश्चय नै तिनीहरूलाई सिद्धान्तअनुसार कार्य गर्ने स्तरमा पुग्नुपर्ने नौबत नै आउँदैन। यी मानिसहरूको अगाडि कुनै घटना घट्यो र तैँले तिनीहरूलाई त्यसबारे प्रस्टाइस् भने पनि, तिनीहरूले त्यसलाई आफूसित जोड्न सक्नेछैनन्। हामी यसैलाई कमजोर क्षमता भन्छौँ। उदाहरणका लागि, ढाँट्ने सन्दर्भमा राम्रो क्षमताका मानिसहरू कसरी प्रतिक्रिया दिन्छन्, हेर्। अरू मानिस आफूले ढाँट्ने र धोका दिने स्थितिहरू कसरी सम्हाल्यो र समाधान गऱ्यो भन्नेबारे कुरा गरेको, आफ्नो ढाँट्ने स्थितिहरूबारे बोलेको र उदाहरणहरू दिएको सुन्दा, राम्रो क्षमताका मानिसहरूले आत्मचिन्तन गर्नेछन् र आफूले सुनेका कुरालाई आफ्ना स्थितिहरूसित तुलना गर्नेछन्। यसपछि, तिनीहरूले आफूले झूट बोलेका परिस्थितिहरू र त्यस तरिकाले काम गर्दा आफूमा भएका अभिप्रायहरू चिन्न सक्नेछन्। राम्रो क्षमताका मानिसहरूले आफ्नो दैनिक जीवनका प्रकटीकरणहरूका आधारमा, आफ्ना अभिप्राय, मनसाय, र सोचहरू जाँचेर आफ्ना कुन शब्दहरू झूटा थिए र कुन शब्दमा छल थियो भनी पत्ता लगाउन सक्नेछन्। जब तिनीहरू अरू मानिसका अनुभवात्मक गवाहीहरू सुन्छन्, तब तिनीहरू लाभ लिन र केही कुरा प्राप्त गर्न सक्छन्। तैँले थोरै सिद्धान्तबारे मात्र कुरा गरे पनि, तिनीहरूले ती बुझ्नेछन् र त्यो लागु गर्न सिक्नेछन्। त्यसपछि, तिनीहरूले यी शब्दहरूलाई सत्यता सिद्धान्तका रूपमा लिनेछन्, तिनलाई आफ्नो वास्तविकता बनाउनेछन् र, अलिअलि गर्दै आफूलाई बदल्नेछन्। औसत क्षमताको व्यक्तिले अरू मानिसका अनुभवात्मक गवाहीहरू सुनेपछि, यी गवाहीहरू कसरी आफ्ना प्रस्ट प्रकटीकरणहरूसँग सम्बन्धित छन् भनी देख्न सक्नेछ, तर उसले यी गवाहीहरूलाई आफ्ना अलि कम प्रस्ट वा आफ्ना हृदयभित्रका अव्यक्त प्रकटीकरणहरूसित जोड्न सक्नेछैन। त्यसबाहेक, उसको सत्यता सिद्धान्तहरूबारे बुझाइ पनि धर्मसिद्धान्तहरूझैँ अलि सतही हुन्छ। तिनीहरूको बुझाइको स्तर असल क्षमताका मानिसहरूको भन्दा निकै खराब हुन्छ। कमजोर क्षमताका मानिसहरूले अरूका गवाही सुन्दा, ती अरू मानिसले कुन कुराहरू झूटा र खोक्रा शब्द अनि कुन कुराहरू छली स्थिति हुन् भनी ध्यानपूर्वक जसरी केलाइकुलाइ गरे पनि, तिनीहरूले यसलाई आफूसित जोड्न सक्नेछैनन्, र आत्मचिन्तन गर्न वा आफूलाई चिन्न सक्नेछैनन्। यी मानिसहरूले आफ्ना झूटा र छली स्थितिहरू नचिन्ने मात्र होइनन् तर आफूलाई झूट बोल्नै नसक्ने एकदमै इमानदार मानिससमेत ठान्छन्। अरूले तिनीहरूलाई झूट बोले र धोका दिए भने पनि, तिनीहरू यो खुट्ट्याउन सक्दैनन् र सजिलै मूर्ख बन्छन्। तिनीहरू अरूले सङ्गति गरेका सत्यता सिद्धान्तहरू बुझ्न झनै सक्दैनन्। तिनीहरूमा अलिकति पनि बोध क्षमता हुँदैन। यो कमजोर क्षमता प्रकट भएको हो।

हामीले भर्खरै उल्लेख गरेका तीन प्रकारको क्षमताका मानिसहरूमध्ये कुनचाहिँले स्वभाव परिवर्तन गर्न सक्छ? कुन प्रकारको व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? (राम्रो क्षमताका मानिसहरू।) राम्रो क्षमताका मानिसहरू सत्यता वास्तविकतामा अलि चाँडो र गहिरो प्रवेश गर्न सक्छन्। औसत क्षमताका मानिसहरू अलि सुस्त र सतही रूपमा प्रवेश गर्छन्। कमजोर क्षमताका मानिसहरू बिलकुलै प्रवेश गर्न सक्दैनन्। फरक यही हो। के तैँले मानिसहरू एकअर्काबाट कसरी भिन्न हुन्छन् भनी देख्न सक्छस्? (सक्छु।) तिनीहरू के कुरामा भिन्न हुन्छन्? तिनीहरूको भिन्नता क्षमता र सत्यताप्रति तिनीहरूको मनोवृत्तिमा हुन्छन्। सत्यतालाई प्रेम गर्ने र राम्रो क्षमताका मानिसहरू सत्यता वास्तविकतामा चाँडो प्रवेश गर्छन् र जीवन प्राप्त गर्न सक्षम हुन्छन्। औसत क्षमताका मानिसहरू हठी र भावशून्य हुन्छन्। सत्यतामा तिनीहरूको प्रवेश सुस्त हुन्छ, र तिनीहरूको जीवन प्रगति पनि सुस्त नै हुन्छ। कमजोर क्षमताका मानिसहरू मूर्ख र अहङ्कारी मात्र हुँदैनन्, तर तिनीहरू बेबकुफ पनि हुन्छन्, तिनीहरूको मुहार भावहीन र फिका हुन्छन्; तिनीहरू आत्मामा भावशून्य हुन्छन्, ढिलो प्रतिक्रिया जनाउँछन्, र ढिलो सत्यता बुझ्छन्। यस्ता मानिसहरूमा जीवन हुँदैन, किनकि तिनीहरू सत्यता बुझ्दैनन्, र धर्मसिद्धान्तबारे कुरा गर्ने, नारा लगाउने, र नियमहरू पालना गर्नेबाहेक केही पनि गर्दैनन्। तिनीहरू सत्यता नबुझ्ने हुनाले सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन्। के सत्यता वास्तविकतामा प्रवेश गर्न नसक्नेहरूमा जीवन हुन्छ? तिनीहरूमा जीवन हुँदैन। जीवन नभएका मानिसहरू परिस्थितिहरू आइपर्दा, आफ्नै इच्छा पछ्याउँछन् र अन्धाधुन्ध काम गर्छन्, कहिले दायाँतिर त कहिले बायाँतिर लाग्छन्, तिनीहरूमा अभ्यासको प्रस्ट मार्ग हुँदैन, र तिनीहरू सधैँ हिचकिचाउँछन् र असाह्य महसुस गर्छन्। तिनीहरू दयनीय देखिन्छन्। मैले वर्षौँदेखि कतिपय मानिसले परिस्थितिहरू आइपर्दा के गर्ने भनी आफूलाई थाहा हुँदैन भनेर भनेको निरन्तर सुन्दै आएको छु। तिनीहरूले यति धेरै प्रवचनहरू सुनेपछि पनि त्यस्तो कसरी हुन सक्छ? तिनीहरूको भावभङ्गीले तिनीहरू एकदमै अनिश्चित छन् भन्ने देखाउँछ। तिनीहरूका मुहार भावशून्य र फिका छन्। कतिपय मानिस भन्छन्, “मलाई कसरी भावशून्य भन्न मिल्छ? म संसारका लोकप्रिय कुराप्रति ज्यादै संवेदनशील छु। मलाई सबै प्रकारका कम्प्युटर, सेलफोन, र भिडियो कन्सोलहरू चलाउन आउँछ। तिमीहरू लाटा छौ र ती चलाउन जान्दैनौ। तिमीहरूको क्षमता कसरी यति कमजोर हुन सक्छ?” तर तिनीहरूको थोरै चलाखीपन एउटा सिप, थोरै अक्कल मात्र हो—त्यो क्षमतामा गनिँदैन। यदि तैँले तिनीहरूलाई प्रवचन सुन्न वा सत्यतामा सङ्गति गर्न लगाइस् भने, यी मानिसहरू खुलासा हुन्छन्: यी मानिसहरू आत्मामा अत्यन्तै भावशून्य हुन्छन्। तिनीहरू कति भावशून्य हुन्छन्? तिनीहरूले वर्षौँदेखि परमेश्वरमा विश्वास गर्दै आएका छन्, तर तिनीहरू अझै मुक्ति पाउन सक्ने-नसक्ने कुरामा निश्चित छैनन् र तिनीहरू यो अडकल्न सक्दैनन्, न त तिनीहरू आफू कस्तो प्रकारको व्यक्ति हो भनेर नै प्रस्ट छन्। यदि तैँले तिनीहरूलाई आफ्नो क्षमताबारे के लाग्छ भनी सोधिस् भने, तिनीहरूले यसो भन्नेछन्, “मेरो क्षमता राम्रो क्षमताभन्दा अलि नराम्रो छ, तर औसत क्षमताभन्दा धेरै नै राम्रो छ।” यसले तिनीहरूको क्षमता कति कमजोर छ भन्ने देखाउँछ। के यो अलि मूर्ख कुरा होइन र? साँच्चै कमजोर क्षमताका मानिसहरू यस प्रकारको मूर्खता प्रकट गर्छन्। त्यो जे भए पनि, यदि कुनै कुरामा सत्यता वा सिद्धान्तहरू समावेश छन् भने, तिनीहरूले त्यसबारे केही पनि बुझ्नेछैनन् र तिनीहरू त्यस स्तरमा उठ्न सक्नेछैनन्। कमजोर क्षमताको हुनु भनेको यही हो।

अब हामीले यी कुराहरूमा सङ्गति गरिसकेपछि के तिमीहरूले राम्रो क्षमता के हो र कमजोर क्षमता के हो भनेर मापन गर्न सक्नेछौ? यदि तिमीहरू राम्रो क्षमता के हो र कमजोर क्षमता के हो भनेर बुझ्न, अनि आफ्नो क्षमता र प्रकृति सारलाई प्रस्ट रूपमा देख्न सक्छौ भने, त्यसले तिमीहरूलाई आफूलाई चिन्न मद्दत गर्नेछ। तैँले आफ्नो स्थान प्रस्ट रूपमा बुझेपछि, तँसित अलिकति समझ हुनेछ र तैँले आफ्नो सीमा थाहा पाउनेछस्। तँ अहङ्कारी बन्ने सम्भावना हुनेछैन र आफ्नो कर्तव्य निभाउने क्रममा तँ अझ अडिग र ढुक्क हुनेछस्। तैँले अति ठूलो उद्देश्य राख्नेछैनस् र आफ्नो उचित कामलाई ध्यान दिन सक्नेछस्। मानिसहरूले आफूलाई नचिन्दा, धेरै समस्या निम्तिन्छन्। कस्तो प्रकारका समस्या निम्तिन्छन्? तिनीहरू आफ्नो क्षमता औसत हो भन्ने प्रस्ट भए पनि, आफूमा राम्रो क्षमता छ, अरूको भन्दा राम्रो छ भन्ठान्छन्। तिनीहरूको हृदयमा सधैँ आवेग हुन्छ र तिनीहरू सधैँ अगुवाका रूपमा सेवा गर्न र अरूलाई अगुवाइ गर्न चाहन्छन्। तिनीहरूको हृदयमा सधैँ यस्ता कुराहरू हुन्छन्, त्यसोभए के यसले तिनीहरूको कर्तव्य निर्वाहलाई असर पार्नेछ? तिनीहरू लगातार यी कुराद्वारा बाधित हुन्छन्, तिनीहरूलाई हृदयमा ढुक्क हुँदैन, र तिनीहरू शान्त हुन सक्दैनन्। तिनीहरूले आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्न नसक्ने मात्र होइनन् तर केही मूर्ख र लाजमर्दो काम, अनि परमेश्वरलाई घिन लाग्ने केही समझहीन कुरा पनि गर्छन्। तिनीहरूमा यस्ता गम्भीर समस्याहरू हुन्छन्—यदि ती समाधान भएनन् भने के त्यो ठिक हो? पक्कै होइन, ती समाधान गर्न यी मानिसहरूले सत्यता खोज्नैपर्छ। सर्वप्रथम, तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्नैपर्छ र आफूमा किन यस्ता सोचहरू छन्, आफू किन यति महत्त्वाकाङ्क्षी छ, र यी कुरा कहाँबाट आउँछन् भनी चिन्तन गर्नैपर्छ। यदि तिनीहरू यी कुराबारे सरल तरिकाले मात्र सोच्छन् भने, के तिनीहरू यस समस्याको सारमा पुग्न सक्नेछन् त? कदापि सक्नेछैनन्। तिनीहरूले समस्याहरूको जड पत्ता लगाउन परमेश्वरलाई प्रार्थना गर्ने र परमेश्वरका वचनहरू पढ्ने गर्नैपर्छ—त्यसपछि मात्र तिनीहरूलाई त्यो समाधान गर्न सजिलो हुनेछ। तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू हटाइसकेपछि मात्र तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू उन्मूलन गर्न सकिन्छ। यसरी, तिनीहरूले आफ्ना कर्तव्यलाई व्यावहारिक तवरले निर्वाह गर्न सक्नेछन्, र तिनीहरू अझ बढी कर्तव्यनिष्ठ हुनेछन्; त्यसउप्रान्त तिनीहरू ज्यादै गमक्क परेर हिँड्नेछैनन्, आफूलाई अरू सबैभन्दा असल ठान्नेछैनन्, वा आफूलाई श्रेष्ट मान्नेछैनन्, र तिनीहरूलाई आफू अरूभन्दा फरक छु भन्ने लाग्नेछैन। त्यसउप्रान्त यी भ्रष्ट स्वभावहरूले तिनीहरूलाई कष्ट दिनेछैनन्, र तिनीहरू अझ धेरै परिपक्व बन्नेछन्। कम्तीमा, तिनीहरूसित मर्यादित र सन्तमा हुने सोझो शालीनता हुनेछ। यसरी मात्र तिनीहरू परमेश्वरसामु जिउन निश्चित हुन सक्छन्। जब मानिसहरू परमेश्वरमा विश्वास गर्छन् र परमेश्वरको घरमा आउँछन्, तब सत्यता स्विकार्न तिनीहरूमा कम्तीमा विवेक र समझ हुनुपर्छ। यदि तिनीहरू अविश्वासीहरू, अपाल्तु जङ्गली जनावरजस्तै छन् भने, तिनीहरू परमेश्वरसामु आउन सक्नेछैनन्। कतिपय मानिस भन्छन्, “परमेश्वरसामु आउनमा त्यस्तो गाह्रो कुरा के छ? म प्रायजसो परमेश्वरसामु आउँछु।” परमेश्वरसामु आउनु सरल कुरा होइन। परमेश्वरद्वारा स्विकारिन तँमा सही मनोवृत्ति र परमेश्वरप्रति समर्पण गर्ने हृदय हुनैपर्छ। यदि पशुजस्ता मानिसहरू परमेश्वरसामु आएमा, उहाँले तिनीहरूलाई निश्चय नै घृणा र तिरस्कार गर्नुहुनेछ। त्यसकारण, परमेश्वरसामु आउनु भनेको मानिसहरूको मनोरथद्वारा हासिल गर्न सकिने कुरा होइन, तैँले परमेश्वरसामु आउने चाह गरेकै कारण तँ उहाँसामु आएको होस् भनी उहाँले स्विकार्नुहुने छैन। यस मामलामा निर्णय गर्ने अधिकार परमेश्वरको हातमा हुन्छ। परमेश्वरले तँलाई स्विकार्नुभएपछि मात्र तँ परमेश्वरसामु आएको हुनेछस्। तैँले सही अभिप्राय राखिस्, सत्यता खोजिस्, र बारम्बार परमेश्वरलाई प्रार्थना गरिस् भने मात्र पवित्र आत्माको अन्तर्दृष्टि पाउनेछस्। त्यसपछि मात्र तँ परमेश्वरसामु साँच्चै आएको हुन्छस्। यदि परमेश्वर तँ एक अज्ञानी सर्वसाधारण होस्, एक अपाल्तु जङ्गली जनावर होस् भन्नुहुन्छ भने, के उहाँले तँलाई कुनै ध्यान दिनुहुनेछ? (दिनुहुनेछैन।) परमेश्वरले तँलाई कुनै ध्यान दिनुहुनेछैन, उहाँले तँलाई सतही तहका कुराहरू मात्र दिनुहुनेछ, जस्तै थोरै अनुग्रह र केही आशिष्। यथार्थमा, तँ साँचो अर्थमा परमरेश्वरको नजिक पुग्न वा उहाँसामु आउन बिलकुलै सक्षम हुनेछैनस्। त्यसैले, परमेश्वरले तँलाई उहाँको अनुयायीको रूपमा स्विकार्नुअघि, परमेश्वरले तँलाई उहाँको घरको सदस्यको रूपमा स्विकार्ने मोडमा पुग्न तँमा केही परिवर्तन आउनुपर्छ। त्यसपछि मात्र परमेश्वरले तेरो कर्तव्य अनि तेरो हरवचन र कार्य, तेरो हरेक सोचविचार जाँच्न थाल्नुहुनेछ, त्यसपछि मात्र परमेश्वरले तँमा काम गर्न थाल्नुहुनेछ। परमेश्वरको घरको ढोका पार गर्नुअघि, मानिसहरूका कतिपय व्यवहार र प्रकटीकरण, तिनीहरूको मानवताका खुलासा, तिनीहरूका अभ्यास, तिनीहरूका सोचविचार, र परमेश्वरप्रति तिनीहरूका मनोवृत्तिहरू परमेश्वरलाई घृणा लाग्छ र मन पर्दैन। के परमेश्वरले उहाँलाई घृणा लाग्ने र मन नपर्ने मानिसहरूलाई हातमा समाएर आफ्नो घरको ढोका पार गराउनुहुनेछ? (गराउनुहुनेछैन।) त्यसोभए कतिपय यस्ता मानिसहरू किन अत्यन्तै प्रसन्न र खुसी महसुस गर्छन्? यस्तो अनुभूति कहाँबाट आउँछ? देखावाबाट। के यसमा अलिकति समझको कमी छैन र? (छ।) परमेश्वर अर्थात् सृष्टिकर्तासँग आफ्ना अनुयायीहरू चयन गर्नका लागि अवश्यै मापदण्डहरू छन्। मानिसहरूले विश्वास गरेर मात्र पुग्दैन। परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ, र उहाँ उहाँका लागि इमानदारीपूर्वक समर्पित हुनेहरूलाई आशिष् दिनुहुन्छ। परमेश्वर उहाँलाई उच्च पार्न र गवाही दिन सक्नेलाई प्रयोग गर्नुहुन्छ। मानिसहरूका लागि परमेश्वरका मापदण्डहरू मानिसका मापदण्डभन्दा फरक छन्। तैँले सङ्गत गर्न कुनै साथी रोज्दा, उसको चरित्र, ऊ तँलाई मन पर्छ कि पर्दैन, उसको व्यक्तित्व कस्तो छ, उसका र तेरा अभिरूचिहरू मिल्छन् कि मिल्दैनन्, र उसको रूप कस्तो छ भनी विचार गर्नुपर्छ। मानिसहरू छान्दा तँसित पनि मापदण्डहरू हुन्छन्, त्यसोभए परमेश्वरसित हुन्छ कि हुँदैन? कतिपय मानिस भन्छन्, “परमेश्वर मानिसहरू छान्न कस्तो मापदण्ड प्रयोग गर्नुहुन्छ? के परमेश्वरकहाँ पुग्न त्यति गाह्रो हुन्छ? के मानिसहरूलाई परमेश्वरसामु आउन र परमेश्वरको घरको ढोका पार गर्न त्यस्तो गाह्रो हुन्छ?” खासमा, त्यो गाह्रो हुँदैन, छेकबार अग्लो हुँदैन, तर मापदण्डहरू हुन्छन्। पहिला, मानिसहरूसँग कम्तीमा भक्त मनोवृत्ति हुन र तिनीहरूले आफ्नो स्थान चिन्न जरुरी छ। यसका अलावा, तिनीहरू परमेश्वरकहाँ इमानदार र शुद्ध हृदयले जानुपर्छ। साथै, तिनीहरूले आफ्नो हरबोली र काममा आफूलाई सन्तको शालीनताले व्यवहारमा ढाल्नैपर्छ, र कम्तीमा पनि, तिनीहरूमा केही राम्रा बोलीवचन र कार्य, शैली र हुर्काइ हुनैपर्छ। यदि तँ यी आधारभूत सर्तहरूसमेत पूरा गर्दैनस् भने, इमानदारीसाथ भन्नुपर्दा, परमेश्वरले तँलाई बिलकुलै ध्यान दिनुहुनेछैन। यहाँ के भइरहेको छ, तँलाई थाहा छ? परमेश्वरमा विश्वास गर्ने केही मानिसको सन्दर्भमा भन्नुपर्दा, तिनीहरू के गर्छन्, के प्रकट गर्छन्, र के खुलासा गर्छन् त्यो हेर्। किन परमेश्वर तिनीहरूलाई त्यति घृणा र तिरस्कार गर्नुहुन्छ? किनभने यी मानिसहरूमा मानवता हुँदैन, विवेक र समझ हुँदैन, र तिनीहरूमा सबैभन्दा आधारभूत र सन्तको मूलभूत शालीनतासमेत हुँदैन। यस्ता मानिसहरू परमेश्वरले तिनीहरूलाई हात समाएर उहाँको घरको ढोका पार गराउनुभएको चाहन्छन्, तर त्यो असम्भव छ। मूर्खहरूले मात्र मानवता नभएका यस्ता मानिसहरूलाई सुसमाचार सुनाउनेछन्। कतिपय मानिस दैनिक जीवनमा बाक्लो मेकअप गर्छन् र पारदर्शी कपडाहरू लगाउँछन्। तिनीहरू अविश्वासी नतर्कीहरूले भन्दा लोभ्याउने तरिकाले पोशाक लगाउँछन्। तिनीहरूको निजी जीवन र आचरणमा, तैँले तिनीहरू अविश्वासीहरूभन्दा कसरी फरक छन् भनी देख्न सक्दैनस्। दाजुभाइ-दिदीबहिनीहरूमाझ हुँदा, तिनीहरू प्रस्ट रूपमा अविश्वासी र गैरविश्वासीजस्तै देखिन्छन्। यस्ता मानिसहरू बाहिरबाट साँचो विश्वासीझैँ देखिएलान्; तिनीहरूले कुराहरू परित्याग गरेका होलान्, तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्लान्, र तिनीहरूमध्ये कतिपय त सतावट र सङ्कष्ट सामना गर्नु पछि नहट्लान्, तर के यस्ता मानिसहरू सत्यता स्विकार्न सक्छन् त? के तिनीहरू परमेश्वरको न्याय र सजाय स्विकार्न सक्छन्? तिनीहरूले जिउने कुराहरूका आधारमा भन्नुपर्दा, के तिनीहरू मर्यादित र सोझा मानिस हुन्? के तिनीहरू इमानदार मानिस हुन्? के तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिस हुन्? के तिनीहरू आफूलाई इमानदारीका साथ परमेश्वरमा समर्पित गर्ने मानिस हुन्? के परमेश्वर यस्ता मानिसहरूलाई चाहनुहुन्छ? कदापि चाहनुहुन्न। यिनीहरू परमेश्वरको घरमा सुटुक्क घुसेका अविश्वासीहरू हुन्। तिनीहरू परमेश्वरको घरको ढोकाबाहिर छन् र अझै ढोका पार गरेका छैनन्। तिनीहरू परमेश्वरको घरका निम्ति मद्दत र परिश्रम गर्छन्—यिनीहरू मण्डलीका साथी हुन्, तर परमेश्वरको घरको हिस्सा होइनन्। परमेश्वर अविश्वासी वा जङ्गली जनावरहरू चाहनुहुन्न। कतिपय त्यस्ता मानिस पनि छन्, जो परमेश्वरमा तिनीहरूको वर्षौँको विश्वास, तिनीहरूमा भएको थोरै पूँजी, र विगतमा तिनीहरूले निर्वाह गरेका महत्त्वपूर्ण कर्तव्यहरूका आधारमा, परमेश्वरका घरमा आफ्नो प्रभाव जमाउँछन्, र मण्डलीलाई नियन्त्रणमा राख्न र सबै अख्तियार लिन चाहन्छन्। परमेश्वर र सत्यताप्रति यी मानिसहरूको मनोवृत्तिलाई परमेश्वर घृणा गर्नुहुन्छ। तिनीहरूको सार र तिनीहरूको हृदयको गहिराइमा भएका कुराहरूका आधारमा, परमेश्वर यस्ता मानिसहरूलाई आफ्नो घरको सदस्यका रूपमा स्विकार्नुहुन्न। परमेश्वर यस्ता मानिसहरूलाई उहाँको घरका सदस्यका रूपमा स्विकार्नुहुन्न भने, किन उहाँ तिनीहरूलाई आफ्ना घरमा काम गर्न दिनुहुन्छ? परमेश्वर तिनीहरूलाई मद्दत गर्न वा अस्थायी काम गर्न दिनुहुन्छ। मद्दत गर्ने र अस्थायी काम गर्ने क्रममा, यदि तिनीहरू साँच्चै विवेक र समझ राख्छन् भने, यदि तिनीहरू सत्यता सुन्न, समर्पित हुन, र सत्यता स्विकार्न सक्छन् भने, र यदि तिनीहरूमा सन्तको शालीनता र परमेश्वरको भय मान्ने हृदयको केही कुरा छ र तिनीहरू इमानदार हृदयले काम गर्छन् भने, यदि तिनीहरूले यी परीक्षाहरू पार गरेमा, परमेश्वरले तिनीहरूलाई उहाँको घरमा लानुहुनेछ, र तिनीहरू परमेश्वरको घरका सदस्य बन्नेछन्। यो बेला, तिनीहरूले गर्ने काम र परमेश्वरले तिनीहरूलाई सुम्पने कुराहरू तिनीहरूका कर्तव्य बन्नेछन्। मानिसहरूले परमेश्वरको घरको ढोकाबाहिर गर्ने कुरा कर्तव्य निर्वाह गर्नु होइन, यो परमेश्वरको घरका निम्ति काम गर्नु र त्यसलाई मद्दत गर्नु हो, र यी मानिसहरू सेवाकर्ता हुन्।

अब, के तिमीहरू आफू परमेश्वरको घरको सदस्य हो कि होइन भनेर मापन गर्न सक्छौ? यदि तिमीहरूले परमेश्वरमा विश्वास गरेको समयावधिका आधारमा मूल्याङ्कन गऱ्यौ भने, तिमीहरू सदस्य हौ, तर के यो सही मापन विधि हो? (होइन।) तैँले मापनका लागि कुन आधार प्रयोग गर्नुपर्छ? यो कुरा तैँले सत्यता सुन्दा, तँमा कुनै भित्री प्रतिक्रिया आउँछ कि आउँदैन, तैँले सत्यता उल्लङ्घन गर्दा वा परमेश्वरको प्रतिरोध वा विद्रोह गर्दा तँलाई हृदयमा ग्लानि, डाँट परेको र ताडना पाएको महसुस हुन्छ कि हुँदैन भन्ने कुरामा आधारित हुन्छ। कतिपय मानिसले आलोचनात्मक शब्दहरू बोलेपछि ताडनास्वरूप तिनीहरूको मुखमा घाउ आउँछ; अरू मानिस झारा टार्ने तरिकामा काम गर्छन्, कामकुरालाई गम्भीरतापूर्वक लिँदैनन्, त्यसैले परमेश्वर तिनीहरूलाई रोगको सिकार बनाउनुहुन्छ। यी कुराहरू बताउँदा, यदि यी मानिसहरूलाई भित्र पछुतो हुन्छ र पश्चात्ताप गर्न सक्छन् भने—यदि तिनीहरूले यी प्रकटीकरणहरू देखाउँछन् भने—तिनीहरू परमेश्वरको घरका सदस्य हुन्। परमेश्वर यी मानिसहरूलाई परमेश्वरको घरका र आफ्नो परिवारका सदस्य ठान्नुहुन्छ। उहाँ तिनीहरूलाई ताडना दिनुहुन्छ, अनुशासनमा राख्नुहुन्छ, डाँट्नुहुन्छ, र काटछाँट गर्नुहुन्छ—परमेश्वरको घरको सदस्य हुनुको अर्थ यही हो। जब परमेश्वरप्रतिको तेरो मनोवृत्ति परिवर्तन हुन्छ र तैँले पश्चात्ताप गर्न सक्छस्, तब परमेश्वरले पनि तँप्रति आफ्नो मनोवृत्ति परिवर्तन गर्नुहुनेछ। जब तँ जीवनमा प्रवेश गरेको हुन्छस्, अनि कामकुराबारे तेरा दृष्टिकोण र तेरो जीवनको दिशा केही मात्रामा परिवर्तन भएका हुन्छन्, अनि परमेश्वरप्रति तैँले हृदयमा राख्ने आस्था र डर बिस्तारै बढेर रूपान्तरित भएका हुन्छन्, तब तँ परमेश्वरको घरको हिस्सा बनेको हुनेछस्। कतिपय मानिसले परमेश्वरमा विश्वास गरेको धेरै भएको छ, तर तिनीहरूले परमेश्वरको घरलाई फाइदा हुने धेरै कुरा गरेका छैनन्। खासमा, तिनीहरूले निकै खराब कुराहरू गरेका छन्। तिनीहरूले ढाँटेका र ठगेका छन्, झारा टार्ने तरिकाले कामकुरा गरेका छन्, मनमानी र एकतर्फी रूपमा कार्य गरेका छन्, भेटीहरू चोरेका छन्, फूट पैदा गरेका छन्, अवरोध र बाधाहरू खडा गरेका छन् अनि मण्डलीको काम ध्वस्त पारेका छन्। तिनीहरूले धेरै गलत काम गरेका छन्, तर कहिल्यै ग्लानि महसुस गरेका छैनन्। तिनीहरूको हृदयमा पछुतो हुँदैन, र तिनीहरूलाई अलिकति पनि ग्लानि महसुस भएको छैन। यिनीहरू परमेश्वरको घरको ढोकाबाहिर उभिने मानिसहरू हुन्। यस्ता मानिसहरू सधैँ परमेश्वरको घरको ढोकाबाहिर बस्छन्। तिनीहरू आफूले गर्ने कुरामा कुनै सिद्धान्तहरू पालना गर्दैनन् र परमेश्वरका वचन वा सत्यतामा चासो राख्दैनन्। तिनीहरू कार्य गर्न, दौडधुप गर्न, घोटिएर प्रयास लगाउन, आफ्नो जोडदार प्रदर्शन गर्न, र व्यक्तिगत पूँजी थुपार्नमा मात्र ध्यान दिन्छन्। मण्डलीको काम र आफ्ना कर्तव्यमा तिनीहरू झारा टार्ने तरिकाले काम गर्छन्; तिनीहरू परमेश्वरलाई ढाँट्छन् र धोका दिन्छन्, अनि दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउने र नियन्त्रण गर्नेसमेत गर्छन्। तिनीहरू अलिकति पनि डाँट परेको वा पछुतो लागेको महसुस गर्दैनन्, र परमेश्वरको ताडना पनि महसुस गर्दैनन्। बाहिरी रूपमा, यस्तो व्यक्तिले दौडधुप गर्न र आफूलाई खर्चिनमा धेरै उत्साह देखाउँछ; उसमा निकै आस्था हुन्छ र ऊ आफूलाई खर्चिन इच्छुक हुन्छ। ऊ सत्यता र परमेश्वरलाई प्रेम गर्छ, अनि सत्यता अभ्यास गर्न इच्छुक छ जस्तो देखिन्छ। तर, ऊ प्रवचन सुन्नेबित्तिकै उँघ्छ, थपक्क बस्न सक्दैन, र धपाइएको महसुस गर्छ। तिनीहरू हृदयमा यस्तो सोच्छन्, “के यी कुराहरूमा सङ्गति गर्नु भनेको मानिसहरूका स्थिति औँल्याउनु, मानिसहरूलाई आफूलाई चिन भन्नु, त्यसपछि तिनीहरूलाई थोरै सत्यता बुझ्न र अन्त्यमा समर्पण गर्न लगाउनु मात्र होइन र? मैले यो सबै बुझेको छु, त्यसबारे फेरि किन सङ्गति गर्नुपऱ्यो र?” यी मानिसहरू सत्यतालाई बिलकुलै प्रेम गर्दैनन्, र यस्तो हुँदा पनि, तिनीहरू ग्लानि महसुस गर्दैनन् र ताडना पाउँदैनन्, मानौँ तिनीहरूमा हृदय नै छैन। यी मानिसहरू सबै परमेश्वरको घरबाहिर हुन्छन्। तिनीहरू अविश्वासी हुन्। तिनीहरूले सुरुमा परमेश्वरको काम स्विकारेदेखि आजसम्म, आफू सृष्टि गरिएको प्राणी हो र परमेश्वर नै आफ्नो सृष्टिकर्ता हुनुहुन्छ भनेर साँचो रूपमा कहिल्यै स्विकारेका छैनन्। तिनीहरू अलिकति पनि सत्यता स्विकार्दैनन् र स्वेच्छाले आफ्ना कर्तव्य निर्वाह गर्दैनन्। तर, तिनीहरूमा अलिकति चतुर बौद्धिकता र केही उत्साहका साथै महत्त्वाकाङ्क्षा भएकाले, तिनीहरू मानिसहरूको प्रशंसा पाउन चारैतिर दौडधुप गरेर काम गर्नमा ध्यान दिन्छन्, ताकि आफूले परमेश्वरका घरमा आफ्नो स्थान बनाउन सकोस्। तिनीहरू सोच्छन्, “मैले यी कामहरू गरेर अनि यसरी दौडधुप गरेर, प्रतिष्ठा कमाएको छु र विभिन्न ठाउँमा विश्वास जितेको छु। मैले मण्डलीमा आफ्नो स्थान सुरक्षित गरेको छु, र म जहाँ गए पनि, दाजुभाइ-दिदीबहिनीहरू मलाई आदर गर्छन्। दाजुभाइ-दिदीबहिनीहरूमाझ यस्तो यश कमाउन पाए पुग्छ; यसको मतलब म जीवन पाउँछु। परमेश्वर त्यसलाई कसरी परिभाषित गर्नुहुन्छ भन्ने सन्दर्भमा, स-साना कुरालाई ध्यान दिनु आवश्यक छैन।” यिनीहरू कस्ता प्रकारका मानिस हुन्? सटीक रूपमा भन्नुपर्दा, तिनीहरू गैरविश्वासी हुन्। यसो भन्नुको आधार के हो? यसको आधार सत्यता र परमेश्वरप्रति तिनीहरूको मनोवृत्ति हो। तिनीहरूले कहिल्यै पश्चात्ताप गरेनन्, कहिल्यै आफूलाई चिनेनन्, र परमेश्वरप्रति समर्पित हुनुको अर्थ कहिल्यै जानेनन्। बरु, तिनीहरू आफूलाई जे मन लाग्यो त्यही गर्छन्, आफ्ना कर्तव्य निर्वाह गर्ने नाउँमा व्यक्तिगत व्यवस्थापनमा संलग्न हुन्छन्, अनि आफ्नै चाहना र रूचिहरू पूरा गर्छन्। तिनीहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका छन् र धेरै प्रवचन सुनेका छन्, तर सत्यता बुझेका छैनन्, र परमेश्वरमा विश्वास गर्नका लागि सत्यता अभ्यास गर्न जरुरी छ भनेर बुझेका छैनन्। तिनीहरूले यतिका धेरै प्रवचन सुनेपछि पनि वास्तवमा मार्ग के हो भनेर बुझेका छैनन्। तिनीहरू हृदयदेखि नै मानिस अत्यन्तै भ्रष्ट छ र उसलाई परमेश्वरको मुक्ति आवश्यक छ भन्ने महसुस गर्दैनन्। तिनीहरूको हृदयमा सत्यता र परमेश्वरप्रति साँचो चाहना र तृष्णा पनि हुँदैन। के यो समस्याजनक छैन र? (छ।) यो एकदमै समस्याजनक छ। तिनीहरूका लागि परमेश्वर, सत्यता, र मुक्ति भनेको अलङ्कार, एक प्रकारको तर्क वा नारा मात्र हुन्। यो एकदमै समस्याजनक छ।

तिमीहरू पावल र पत्रुसबीचको सबैभन्दा स्पष्ट भिन्नता के देख्छौ? पावलले यात्रा गर्दै, आफूलाई समर्पित गर्दै, योगदानहरू दिँदै, अनि धेरै कष्ट सहँदै धेरै वर्षसम्म काम गऱ्यो, तर उसले हिँडेको मार्गमा सत्यता समावेश थिएन, परमेश्वरप्रतिको समर्पण समावेश थिएन, स्वभाव परिवर्तन समावेश थिएन, र निश्चय नै मुक्ति प्राप्ति समावेश थिएन। त्यसकारण, पावलको यश जति नै उच्च भए पनि, उसको लेखनले भावी पुस्ताहरूलाई जति नै प्रभाव पारेको भए पनि, ऊ प्रभु येशूलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति थिएन। उसमा प्रभु येशूबारे सच्चा बुझाइ थिएन, उसले प्रभु येशूलाई एकमात्र साँचो परमेश्वरका रूपमा स्विकारेन, बरु प्रभु येशूलाई परमेश्वरको पुत्र, एक साधारण व्यक्तिका रूपमा मात्र चिन्यो। फलस्वरूप, उसमा प्रभु येशूप्रति साँचो समर्पण थिएन; उसले सुसमाचार सुनाउन र मानिसहरूको मन जित्न, मण्डलीहरू स्थापना गर्न, र परमेश्वरको अनुमोदन पाउने आशामा तिनीहरूलाई व्यक्तिगत तवरमा रखवारी गर्न मात्र आफूले सक्ने सबथोक गऱ्यो, तर परमेश्वरले पावलको हृदय जाँच्नुभयो र उसलाई अनुमोदन गर्नुभएन। यसको उल्टो, पत्रुस चुपचाप कामहरू गर्थ्यो, र उसको हृदय सधैँ प्रभु येशूले उसलाई भनेको कुराले भरिएको हुन्थ्यो। ऊ प्रभु येशूका मापदण्डअनुसार परमेश्वरलाई प्रेम गर्न र बुझ्न लागिपऱ्यो। यो अवधिमा, उसले परमेश्वरको डाँट, काटछाँट, र झपाइसमेत स्विकारेको थियो। परमेश्वरले पत्रुसलाई झपार्न प्रयोग गरेका शब्दहरू कस्ता थिए? (“शैतान, मबाट पछि हट्” (मत्ती १६:२३)।) ठिक भनिस, “शैतान, मबाट पछि हट्।” परमेश्वरले यस्ता शब्दहरू भन्नुभयो, तर यी शब्दहरूले पत्रुसको परिणाम तय गर्दैनथे, ती त केवल झपाइ मात्र थिए। के परमेश्वरले पावललाई उसको कामको अवधिमा झपार्नुभयो? (झपार्नुभएन।) एकातिर, व्यक्तिगत पक्षलाई हेर्दा, परमेश्वरले उसलाई झपार्नुभएन। अर्कोतिर, वस्तुगत पक्षको दृष्टिकोणबाट हेर्दा, पावलले सत्यता स्विकारेन, सत्यता खोजेन, र मुक्ति प्राप्त गर्ने मार्ग बिलकुलै खोजेन, त्यसैले उसले यी कुराहरू पाउन वा अनुभव गर्न सकेन। परमेश्वरले उसको सेवा प्रयोग गर्न ऊमाथि काम गर्नुभयो—यदि उसले कुनै ठूला दुष्टताहरू नगरी अन्त्यसम्म सेवा गर्न सकेमा, ऊ सेवाकर्ताको रूपमा रहन सक्थ्यो; तर यदि उसले कुनै ठूलो दुष्टता गरेमा, परिणाम फरक हुनेथियो। फरक त्यही हो। अर्कोतिर, पत्रुसले परमेश्वरबाट निकै अनुशासन, ताडना, र हप्काइ पायो। यसो हेर्दा, पत्रुसले परमेश्वरको इच्छा पालना नगरेर परमेश्वरलाई बेखुस बनाएको थियो जस्तो देखिन्छ, तर परमेश्वरको इच्छाको दृष्टिकोणबाट हेर्दा, ठ्याक्कै उहाँले चाहेको र उहाँलाई खुसी पार्ने व्यक्ति यस्तै थियो। त्यसकारण परमेश्वरले उसलाई निरन्तर ताडना दिनुभयो र काटछाँट गर्नुभयो, त्यसैले अलिअलि गर्दै उसको वृद्धि भयो, ऊ सत्यतामा प्रवेश गऱ्यो, उसले परमेश्वरको इच्छा बुझ्यो, र अन्त्यमा साँचो समर्पण र साँचो परिवर्तन गऱ्यो। यो परमेश्वरको प्रेम र परमेश्वरको मुक्ति थियो।

अब, के तिमीहरूलाई हृदयमा आफू परमेश्वरको घरको सदस्य हो कि होइन भनेर प्रस्ट भयो? के तिमीहरू परमेश्वरका घरमा साँच्चै प्रवेश गरेका छौ? मैले भर्खरै सङ्गति गरेको कुराका आधारमा, के तिमीहरू यो मापन गर्न सक्छौ? के तिमीहरू परमेश्वरको घरका ढोकामा प्रवेश गरेका छौ र परमेश्वरको घरका सदस्य हौ भनेर निश्चित हुन सक्छौ? (हामी निश्चित छौँ।) तिमीहरू निश्चित हुन सक्नु राम्रो कुरा हो। यो कुरा परमेश्वरप्रति तिमीहरूको विश्वासले जग पाइसकेको छ र तिमीहरूले परमेश्वरका घरमा जरा गाडिसकेका छौ भन्ने प्रमाण हो। जग नभएका मानिसहरू परमेश्वरको घरबाहिर हुन्छन्, र परमेश्वर तिनीहरूलाई स्विकार्नुहुन्न। तँ परमेश्वरका निम्ति गवाही दिन्छस् र आफू परमेश्वरको अनुयायी र सर्वशक्तिमान् परमेश्वरको मण्डलीको सदस्य हो भनी अरूलाई बताउँछस्, तर परमेश्वर तँलाई चिन्दिनँ भनेर भन्नुहुन्छ भने के होला? त्यो समस्या हुनेछ, होइन र? मानिसहरूका लागि यो आशिष् हुनेछ कि श्राप? यो राम्रो सङ्केत होइन। त्यसकारण, यदि तँ परमेश्वरको अनुमोदन प्राप्त गर्न र आफू परमेश्वरको साँचो विश्वासी हो भनेर भन्न चाहन्छस् भने, तैँले परमेश्वरको घरका काममा फाइदा पुग्ने केही कुरा गर्ने, केही असल कार्य तयार पार्ने, आफ्नो हृदय परमेश्वरप्रति लक्षित गर्ने, र परमेश्वरलाई महान् भनेर सम्मान गर्ने हृदय राख्ने गर्नैपर्छ। त्यसपछि मात्र परमेश्वरले तँलाई स्विकार्नुहुनेछ। पहिलो कुरा, तैँले परमेश्वर र सत्यताका सम्बन्धमा तेरा दृष्टिकोण, मनोवृत्ति, र अभ्यासहरूमा भएका गल्तीहरू, साथै तैँले लिएको गलत मार्ग बदल्नुपर्छ। यी कुराहरू बदल्नैपर्छ। जग यही हो। त्यसपछि तैँले परमेश्वरद्वारा व्यक्त सबै सत्यता स्विकार्नुपर्छ र परमेश्वरले माग गर्नुभएअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्छ। यी कुराहरू हासिल भएपछि परमेश्वर सन्तुष्ट हुनुहुनेछ र उहाँले तँलाई उहाँको अनुयायीका रूपमा स्विकार्नुहुनेछ। दोस्रो कुरा, तैँले परमेश्वरलाई बिस्तारै तँलाई सृष्टि गरिएको साँचो प्राणी, मापदण्ड पूरा गर्ने प्राणीका रूपमा स्विकार्न दिनुपर्छ। यदि तँ अझै परमेश्वरको घरबाहिर छस् र परमेश्वरले तँलाई उहाँको घरको सदस्यका रूपमा अझै स्विकार्नुभएको छैन, तर तँ मुक्ति पाउन चाहन्छु भन्छस् भने, के त्यो केवल मूर्खको सपना होइन र? अब तिमीहरूले केही ताडना र अनुशासन अनुभव गरेका छौ, परमेश्वरका अनुग्रह र आशिषहरू पाएका छौ, अनि परमेश्वरप्रतिको तेरो आस्थाले जग बसालेको छ। यो राम्रो कुरा हो। यसपछिको कदम भनेको सत्यताका बुझाइमा आधारित जीवन प्रवेश पाउन सक्नु, यी सत्यताहरूलाई तेरो आफ्नै जीवनमा परिणत गर्नु र तिनमा जिउनु, ती आफ्नो कर्तव्य निर्वाहमा र परमेश्वरले तँलाई सुम्पेका यावत् कुरामा लागु गर्नु हो। त्यसपछि, तँसित मुक्तिको आशा हुनेछ। तिमीहरूमध्ये धेरैजसो कमजोर क्षमताका छैनौ, तिमीहरू सबैलाई औसत क्षमताका मान्न सकिन्छ। मुक्तिको आशा छ, तर तिमीहरू सबैका मानवतामा केही कमजोरी र त्रुटि छन्। तिमीहरूमध्ये कतिपय अल्छी छौ, कतिपयले ठूला कुरा गर्छौ, कतिपय अहङ्कारी छौ, र कतिपय अलि मन्द बुद्धिका, चेतनाशून्य र हठी छौ। यी स्वभावका कुरा हुन्। तैँले मानवता र स्वभावका कतिपय समस्याका लागि अनुभवमार्फत् सत्यता खोज्नैपर्छ, आत्मचिन्तन गर्नैपर्छ, अनि प्रगतिशील परिवर्तन थाहा पाउन, सत्यताको बोध र बुझाइका सम्बन्धमा अनुभव र गहनता हासिल गर्न काटछाँट स्विकार्नैपर्छ। यसरी, तँ जीवनमा अलिअलि गर्दै वृद्धि हुनेछस्। जीवन भए आशा रहन्छ। जीवनविना आशा रहन्न। के अहिले तिमीहरूसँग जीवन छ? के तिमीहरूका हृदयमा सत्यताको बुझाइ र अनुभव छ? तिमीहरू परमेश्वरप्रति कति र कुन हदसम्म समर्पित हुन्छौ? तिमीहरू यी कुराहरूबारे आफ्ना हृदयमा प्रस्ट हुनैपर्छ। यदि तिमीहरू प्रस्ट छैनौ बरु अन्योलमा छौ भने, जीवन वृद्धि प्राप्त गर्न कठिन हुनेछ।

मण्डलीमा, केही मानिस ठूलो प्रयास गर्नु वा केही जोखिमपूर्ण काम गर्नु भनेको आफूले योग्यता हासिल गरेको हो भन्ठान्छन्। खासमा, तिनीहरू आफ्ना कार्यअनुसार वास्तवमै सराहनायोग्य छन्, तर सत्यताप्रति तिनीहरूका स्वभाव र मनोवृत्ति घृणित र मन नपर्दा छन्। तिनीहरूमा सत्यताप्रति कुनै प्रेम छैन, बरु तिनीहरूमा सत्यताप्रति अरूचि हुन्छ। यसैले मात्र तिनीहरूलाई घृणित तुल्याउँछ। यस्ता मानिसहरू बेकार हुन्। जब परमेश्वर मानिसहरू कमजोर क्षमताका छन्, तिनीहरूमा केही कमजोरी छन्, र भ्रष्ट स्वभावहरू वा उहाँको विरोध गर्ने सार छ भन्ने देख्नुहुन्छ, तब उहाँ तिनीहरूलाई घिनाउनुहुन्न, र आफूबाट टाढा राख्नुहुन्न। परमेश्वरको इच्छा त्यो होइन, र त्यो मानिसप्रति उहाँको मनोवृत्ति होइन। परमेश्‍वर कमजोर क्षमता भएका मानिसहरूलाई घृणा गर्नुहुन्‍न, उहाँ तिनीहरूको मूर्खतालाई घृणा गर्नुहुन्न, र उहाँ तिनीहरूमा भ्रष्ट स्वभाव छ भन्‍ने कुरालाई घृणा गर्नुहुन्‍न। परमेश्वरले मानिसहरूमा भएको कुन कुरालाई सबैभन्दा घृणा गर्नुहुन्छ? तिनीहरूमा सत्यताप्रति अरुचि हुनुलाई। यदि तँमा सत्यताप्रति अरुचि छ भने, त्यो कुराले मात्रै परमेश्‍वर तँसित कहिल्यै प्रसन्‍न हुनुहुनेछैन। यो ध्रूव सत्य हो। यदि तँमा सत्यताप्रति अरुचि छ, तँ सत्यतालाई प्रेम गर्दैनस्, सत्यताप्रति तेरो मनोवृत्ति वास्ता नगर्ने, तिरस्कारपूर्ण, र अहङ्कारी छ, वा प्रतिघाती, प्रतिरोधी, र इन्कार गर्ने खालको समेत छ—यदि तँ यस्तो व्यवहार गर्छस् भने, परमेश्वर तँलाई असाध्यै घृणा गर्नुहुन्छ, र तँ मरेतुल्य हुन्छस्। यदि तैँले हृदयदेखि नै सत्यतालाई प्रेम गर्छस्, तर पनि तँ अलिक कमजोर क्षमताको र अन्तर्ज्ञानमा कमी भएको, साथै अलिक मूर्ख व्यक्ति होस् भने; यदि तैँले प्रायजसो गल्ती गर्छस्, तर दुष्कर्म गर्ने अभिप्राय राख्दैनस्, र एकदुई वटा मूर्ख काम मात्रै गरेको छस् भने; यदि तँ सत्यतामा परमेश्वरको सङ्गति सुन्‍न हृदयदेखि नै इच्‍छुक छस्, र हृदयदेखि नै सत्यताको तृष्णा गर्छस् भने; यदि तैँले सत्यता र परमेश्‍वरका वचनहरूलाई इमानदार र उत्कट इच्‍छाको मनोवृत्तिसाथ लिन्छस्, र परमेश्‍वरका वचनहरूलाई बहुमूल्य र प्यारो ठान्छस् भने, यो नै पर्याप्त हुन्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्छ। कहिलेकाहीँ तँ अलि मूर्ख भए पनि, परमेश्‍वरले अझै पनि तँलाई मन पराउनुहुन्छ। परमेश्‍वर सत्यताको तृष्णा गर्ने तेरो हृदय मन पराउनुहुन्छ, र उहाँ सत्यताप्रतिको तेरो इमानदार मनोवृत्ति मन पराउनुहुन्छ। त्यसकारण, परमेश्‍वर तँलाई कृपा देखाउनुहुन्छ र सधैँ तँलाई अनुग्रह प्रदान गर्नुहुन्छ। उहाँ तेरो कमजोर क्षमता वा मूर्खतालाई ध्यान दिनुहुन्‍न, न त तेरा अपराधहरूलाई नै ध्यान दिनुहुन्छ। सत्यताप्रतिको तेरो मनोवृत्ति इमानदार र उत्कट हुने हुनाले, र तेरो हृदय सच्‍चा भएकाले, तेरो हृदयको सच्चापन र तेरो यो मनोवृत्तिलाई विचार गरेर, उहाँ तँप्रति सधैँ कृपालु हुनुहुनेछ, र पवित्र आत्‍माले तँमा काम गर्नुहुनेछ, र तैँले मुक्ति पाउने आशा हुनेछ। अर्कोतिर, यदि तँ कठोर मनको र आफैप्रति लिप्त छस्, तँमा सत्यताप्रति अरुचि छ, परमेश्‍वरका वचनहरू र सत्यतासँग सम्‍बन्धित हरेक कुरा कहिल्यै सुन्दैनस्, र हृदयदेखि नै विरोधी र तिरस्कार गर्ने छस् भने, तँप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? घृणा, तिरस्कार, र अटुट क्रोध। परमेश्वरको धर्मी स्वभावका दुई प्रस्ट विशेषताहरू के-के हुन्? प्रचुर कृपा र बल्दो क्रोध। “प्रचुर कृपा” भित्रको “प्रचुर” को अर्थ परमेश्वरको कृपा सहनशील, धैर्यशील, धीर हुन्छ र त्यो सबैभन्दा ठूलो प्रेम हो भन्ने हो—“प्रचुर” को अर्थ त्यही हो। मानिसहरू मूर्ख र कमजोर क्षमताका हुने भएकाले, परमेश्वरले यसरी कार्य गर्नुपर्छ। यदि तँ सत्यतालाई प्रेम गर्छस् तर मूर्ख र कमजोर क्षमताको छस् भने, तँप्रति परमेश्वरको मनोवृत्ति तँलाई प्रचुर कृपा दिनु हुन्छ। कृपामा के-के समावेश हुन्छन्? धैर्य र सहनशीलता: परमेश्वर तेरो अज्ञानताप्रति सहनशील र धैर्यशील हुनुहुन्छ, उहाँ तँलाई साथ दिन, भरणपोषण गर्न र मद्दत गर्न पर्याप्त आस्था र सहनशीलता दिनुहुन्छ, ताकि तैँले अलिअलि गर्दै सत्यता बुझ्न र तँ बिस्तारै परिपक्व बन्न सकेस्। यो कस्तो जगमा आधारित छ? यो सत्यताप्रतिको आफ्नो प्रेम र तृष्णा, अनि परमेश्वर, उहाँका वचन र सत्यताप्रतिको आफ्नो सच्चा मनोवृत्तिको जगमा आधारित छ। मानिसहरूमा प्रकट हुनुपर्ने आधारभूत व्यवहारहरू यिनै हुन्। तर यदि कसैका हृदयमा सत्यताप्रति अरुचि छ, ऊ त्यसलाई नकार्छ, वा सत्यतालाई घृणासमेत गर्छ भने, यदि ऊ सत्यतालाई कहिल्यै गम्भीरतासाथ लिँदैन, र सधैँ आफ्ना उपलब्धिहरूबारे, अनि उसले कसरी काम गरेको छ, ऊसँग कति अनुभव छ, उसले केके पार गरेको छ, परमेश्वर कसरी उसलाई सम्मान गर्नुहुन्छ र ठुलाठुला कार्यहरू सुम्पनुभएको छ भन्नेबारे कुरा गर्छ भने—यदि उसले यी कुरा, उसका योग्यता, उपलब्धि, र प्रतिभाहरूबारे मात्र कुरा गर्छ, सधैँ देखावा गर्छ, र कहिल्यै सत्यतामा सङ्गति गर्दैन, परमेश्वरको गवाही दिँदैन, वा परमेश्वरको कामको अनुभव वा परमेश्वरबारे उसको ज्ञानबाट प्राप्त बुझाइमा सङ्गति गर्दैन भने, के उसमा सत्यताप्रति अरुचि छ हैन र? सत्यताप्रति अरुचि हुने र सत्यतालाई प्रेम नगर्ने कुरा यसरी प्रकट हुन्छ। कतिपय मानिस भन्छन्, “यदि तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् भने कसरी प्रवचन सुन्न सक्छन्?” के प्रवचन सुन्ने सबैले सत्यतालाई प्रेम गर्छ? कतिपय मानिसहरू झारा टार्ने काम मात्र गर्छन्। तिनीहरू यदि आफू मण्डली जीवनमा सहभागी भएन भने परमेश्वरको घरले आफ्नो आस्थालाई स्विकार्नेछैन भन्ने डरले अरूका अगाडि नाटक गर्न बाध्य हुन्छन्। सत्यताप्रतिको यो मनोवृत्तिलाई परमेश्वर कसरी परिभाषित गर्नुहुन्छ? परमेश्वर भन्नुहुन्छ, तिनीहरूमा सत्यताप्रति अरुचि छ, र सत्यताप्रति वितृष्ण छ। तिनीहरूका स्वभावमा एउटा सबैभन्दा घातक, अहङ्कार र छलीपनभन्दा पनि घातक कुरा छ, र त्यो सत्यताप्रति अरुचि हुनु हो। परमेश्वर यो कुरा देख्नुहुन्छ। परमेश्वरको धर्मी स्वभावलाई विचार गर्दा, उहाँ यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ? उहाँ तिनीहरूप्रति क्रोधित हुनुहुन्छ। यदि परमेश्वर कुनै व्यक्तिप्रति क्रोधित हुनुहुन्छ भने, कहिलेकाहीँ उहाँ उसलाई हप्काउनुहुन्छ, वा अनुशासनमा राख्नुहुन्छ र दण्ड दिनुहुन्छ। यदि ऊ जानाजानी परमेश्वरको विरोध गर्दैन भने, उहाँले सहनुहुनेछ, प्रतीक्षा र अवलोकन गर्नुहुनेछ। परिस्थिति र अन्य वस्तुगत कारणले गर्दा, परमेश्वरले यस गैरविश्वासीलाई उहाँको सेवा गर्न प्रयोग गर्न सक्नुहोला। तर परिस्थितिले साथ दियो भने र सही समय आएमा, यस्ता मानिसहरू परमेश्वरको घरबाट हटाइनेछन्, किनकि तिनीहरू सेवा गर्नसमेत योग्य हुँदैनन्। परमेश्वरको क्रोध यस्तै हुन्छ। परमेश्वर किन यति साह्रो क्रोधित हुनुहुन्छ? यसले सत्यताप्रति अरुचि राख्ने मानिसरूप्रति परमेश्वरको चरम घृणालाई व्यक्त गर्छ। परमेश्वरको बल्दो क्रोधले उहाँले सत्यताप्रति अरुचि राख्ने मानिसहरूको परिणाम र गन्तव्य तय गर्नुभएको छ भन्ने देखाउँछ। परमेश्वर यी मानिसहरूलाई कुन वर्गमा राख्नुहुन्छ? परमेश्वर तिनीहरूलाई शैतानको शिविरमा राख्नुहुन्छ। उहाँ तिनीहरूप्रति क्रोधित र दिक्क हुनुभएकाले, उहाँ तिनीहरूका लागि ढोका बन्द गर्नुहुन्छ, उहाँ तिनीहरूलाई उहाँका घरमा पाइला टेक्ने अनुमति दिनुहुन्न, र मुक्ति पाउने मौका दिनुहुन्न। यो परमेश्वरको क्रोधको एउटा प्रकटीकरण हो। परमेश्वर तिनीहरूलाई डरलाग्दो शैतान, घिनलाग्दो पिशाच र दुष्टात्मा, गैरविश्वासीकै स्तरमा राख्नुहुन्छ, र सही समय आएपछि उहाँले तिनीहरूलाई हटाउनुहुनेछ। के यो तिनीहरूलाई तह लगाउने तरिका होइन र? (हो।) परमेश्वरको क्रोध यस्तै हुन्छ। हटाइसकिएपछि तिनीहरूलाई के हुन्छ? के तिनीहरूले फेरि कहिल्यै परमेश्वरको अनुग्रह र आशिष् अनि उहाँको मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) अनुग्रहका युगका मानिसहरूले अक्सर यसो भन्थे: “परमेश्वर हरेक व्यक्तिले मुक्ति पाओस् भन्ने चाहनुहुन्छ र उहाँ कसैले पनि विनाश भोग्न परोस् भन्ने चाहनुहुन्न।” धेरैजसो मानिसले यी शब्दहरूको अर्थ बुझ्न सक्छन्। यो त भ्रष्ट मानवजातिलाई मुक्ति दिने कुरामा परमेश्वरको भावना र मनोवृत्ति हो। तर परमेश्वर मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ? परमेश्वर सम्पूर्ण मानवजातिलाई मुक्ति दिनुहुन्छ कि त्यसको एक हिस्सालाई मात्र? परमेश्वर कुन हिस्सालाई मुक्ति दिनुहुन्छ र कुन मानिसहरूलाई त्याग्नुहुन्छ? धेरैजसो मानिस यस कुरोको चूरोमा पुग्न सक्दैनन्। तिनीहरू मानिसहरूलाई धर्मसिद्धान्तहरूबारे मात्र बताउन सक्छन्। “परमेश्वरले हरेक व्यक्तिले मुक्ति पाओस् भन्ने चाहनुहुन्छ र उहाँ कसैले पनि विनाश भोग्न परोस् भन्ने चाहनुहुन्न।” यसो भन्ने मानिसहरू धेरै छन्, तर तिनीहरू परमेश्वरको इच्छा बिलकुलै बुझ्दैनन्। खासमा, परमेश्वरको इच्छा भनेको सत्यतालाई प्रेम गर्ने र उहाँको मुक्ति स्विकार्न सक्नेहरूलाई मात्र मुक्ति दिनु हो। सत्यताप्रति अरुचि राख्ने र परमेश्वरको मुक्ति स्विकार्न नमान्ने मानिसहरू परमेश्वरलाई इन्कार्ने र प्रतिरोध गर्नेहरू हुन्। परमेश्वरले तिनीहरूलाई मुक्ति नदिने मात्र होइन, तर अन्त्यमा यी मानिसहरूलाई नष्ट पनि गर्नुहुनेछ। परमेश्वरमा विश्वास गर्नेहरूलाई उहाँको प्रेम अनन्त, अतुलनीय रूपले अपार, र शक्तिशाली छ भन्ने थाहा भए पनि, सत्यताप्रति अरुचि राख्नेहरूलाई यो अनुग्रह र प्रेम दिन उहाँ अनिच्छुक हुनुहुन्छ। परमेश्वर यी मानिसहरूलाई सित्तैमा आफ्नो प्रेम र मुक्ति दिनुहुनेछैन। यो परमेश्वरको मनोवृत्ति हो। सत्यताप्रति अरुचि राख्ने र परमेश्वरको मुक्ति नस्विकार्नेहरू मागिखाने भिखारीजस्तै हुन्—उसले जसलाई मागेर खाए पनि, उसका हृदयमा, आफूलाई उपकार गर्नेहरूप्रति सम्मान नहुने मात्र होइन, तर ऊ उनीहरूलाई उपहास र घृणा गर्नेसमेत गर्छ। अझ उसले आफूलाई उपकार गर्नेहरूको सम्पत्तिसमेत खोसेर लैजान्छ। के उपकारीहरू यस्तो भिखारीलाई खानेकुरा दिन इच्छुक हुनेछन्? कदापि हुनेछैनन्, किनकि ऊ साँच्चिकै दयनीय हुँदैन, बरु अत्यन्तै घृणास्पद हुन्छ। यस्तो व्यक्तिप्रति उपकारीको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले यस्तो भिखारीलाई खाना दिनुभन्दा कुकुरलाई दिनेछन्। तिनीहरूलाई साँच्चै यस्तै महसुस हुन्छ। तिमीहरूलाई सत्यताप्रति अरुचि राख्नेहरू कस्ता मानिस हुन् भन्‍ने लाग्छ? के तिनीहरू परमेश्‍वरलाई प्रतिरोध र विरोध गर्ने मानिसहरू हुन्? तिनीहरूले खुल्लमखुल्ला परमेश्‍वरको प्रतिरोध नगर्लान्, तर तिनीहरूको प्रकृति सार भनेकै परमेश्‍वरलाई इन्कार र प्रतिरोध गर्नु हो, जुन परमेश्‍वरलाई खुलस्त यसो भन्‍नुसरह हो, “मलाई तपाईंको कुरा सुन्‍न मन लाग्दैन, म यस्तो कुरा स्वीकार गर्दिनँ, र मैले तपाईंका वचनहरूलाई सत्यता हुन् भनेर स्वीकार नगर्ने हुनाले, म तपाईंमा विश्‍वास गर्दिनँ। मेरो लागि जो फाइदाजनक र लाभदायक हुन्छ म त्यसैलाई विश्‍वास गर्छु।” के यो गैरविश्‍वासीहरूको मनोवृत्ति होइन र? यदि सत्यताप्रति तेरो मनोवृत्ति यस्तो छ भने, के तँ खुलेआम परमेश्‍वरप्रति शत्रुवत भइरहेको हुँदैनस् र? अनि, यदि तँ खुलेआम परमेश्‍वरप्रति शत्रुवत छस् भने, के परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछ र? दिनुहुनेछैन। परमेश्‍वरलाई इन्कार र विरोध गर्ने सबैप्रति परमेश्‍वरले क्रोध गर्नुको कारण यही हो। सत्यताप्रति अरुचि राख्ने यस्ता मानिसहरूको सार भनेकै परमेश्‍वरप्रतिको शत्रुवत् सार हो। परमेश्‍वरले यस्तो सार भएका मानिसहरूलाई मानिसहरूका रूपमा व्यवहार गर्नुहुन्‍न। उहाँका नजरमा, तिनीहरू शत्रु र दियाबलसहरू हुन्। उहाँले तिनीहरूलाई कहिल्यै पनि मुक्ति दिनुहुन्‍न। अन्त्यमा, तिनीहरू विपत्तिमा परी नष्ट हुनेछन्। तिमीहरू के भन्छौ—यदि कुनै भिखारीले आफ्नो उपकारीले दिएको खानेकुरा खान्छ र उनैलाई गाली गर्ने, गिल्ला गर्ने, उपहास गर्ने, र आक्रमण गर्नेसमेत गर्छ भने, के ती उपकारीले उसलाई घृणा गर्नेछन्? अवश्यै गर्नेछन्। यसरी घृणा गर्नुको कारण के हो? (भिखारी आफ्नो उपकारीले उसलाई खानेकुरा दिएकामा ऊप्रति आभारी नहुने मात्र होइन, बरु उल्टै उपकारीलाई उपहास गर्ने, गिल्ला गर्ने, र आक्रमण गर्ने गर्छ। यस्ता व्यक्तिमा पटक्कै विवेक र समझ हुँदैन, र मानवता पनि हुँदैन।) यो उपकारीले यस भिखारीप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ? उपकारीले सुरुमा आफूले भिखारीलाई दिएका कुराहरू फिर्ता लिनुपर्छ, र उसलाई निकाल्नुपर्छ। बरु उनले यी कुराहरू यो भिखारीलाई दिनुभन्दा कुकुर वा जङ्गली जनावरलाई दिनुपर्छ। यो उक्त भिखारीले आफूमाथि आफै निम्त्याएको परिणाम हो। परमेश्वर कुनै व्यक्तिप्रति वा एकखाले व्यक्तिप्रति अत्यन्तै क्रोधित हुनुमा एउटा कारण छ। यो कारण परमेश्वरको रूचिद्वारा निर्धारित हुँदैन, तर सत्यताप्रति त्यस व्यक्तिको मनोवृत्तिद्वारा निर्धारित हुन्छ। जब कुनै व्यक्ति सत्यताप्रति अरुचि राख्छ, तब निस्सन्देह यो उसको मुक्ति प्राप्तिका लागि घातक हुन्छ। यो क्षमा गर्न सकिने वा नसकिने कुरो होइन, यो कुनै व्यवहारको प्रकार, वा क्षणिक रूपमा प्रकट हुने कुरो होइन। यो त व्यक्तिको प्रकृति सार हो, र परमेश्‍वर त्यस्ता मानिसहरूद्वारा सबैभन्दा दिक्‍क हुनुहुन्छ। यदि तैँले सत्यताप्रति अरुचि राख्ने भ्रष्टता कहिलेकाहीँ प्रकट गर्छस् भने, यी प्रकटीकरणहरू सत्यताप्रति तेरो विरोधका कारण आएका हुन् कि सत्यता नबुझेका कारण आएका हुन् भनेर परमेश्‍वरका वचनहरूका आधारमा जाँच गर्नैपर्छ। यसका लागि खोजी चाहिन्छ, अनि परमेश्‍वरको अन्तर्दृष्टि र सहयोग चाहिन्छ। यदि तेरो प्रकृति सार नै सत्यताप्रति अरुचि राख्ने छ, र तँ कहिल्यै सत्यता स्विकार्दैनस्, र यसलाई विशेष गरी नकार्छ अनि त्यसप्रति शत्रुता राख्छस् भने, त्यसमा समस्या छ। तँ अवश्य नै दुष्ट व्यक्ति होस्, र परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछैन।

अविश्वासीहरू र परमेश्वरमा विश्वास गर्नेहरूबीच के भिन्नता छ? के धार्मिक विश्वासमा मात्र भिन्नता हुन्छ? होइन। अविश्वासीहरू परमेश्वरलाई स्विकार्दैनन्, र खास गरी, तिनीहरू परमेश्वरले व्यक्त गरेको सत्यता स्विकार्न सक्दैनन्। यसले सबै अविश्वासी सत्यताप्रति अरुचि राख्छन् र सत्यतालाई घृणा गर्छन् भन्ने कुरा प्रमाणित गर्छ। उदाहरणका लागि, के मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको हो भन्ने कुरा तथ्य हो? के त्यो सत्यता हो? (हो।) त्यसोभए, परमेश्वरमा विश्वास गर्ने मानिसहरूले यो कुरा सुन्दा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू यसलाई पूर्ण रूपमा स्विकार्छन् र विश्वास गर्छन्। तिनीहरू यो तथ्य, यो सत्यतालाई परमेश्वरप्रतिको आफ्नो आस्थाको आधारका रूपमा अपनाउँछन्—सत्यता स्विकार्नु भनेको यही हो। यसको अर्थ मानिस परमेश्वरद्वारा सृष्टि गरिएको हो भन्ने तथ्यलाई आफ्नो हृदयदेखि स्विकार्नु, खुसीसाथ सृष्टि गरिएको प्राणी बन्नु, परमेश्वरको मार्गदर्शन र सार्वभौमिकता स्वेच्छाले स्विकार्नु, र परमेश्वर नै हाम्रो परमेश्वर हुनुहुन्छ भनेर स्विकार्नु हो। अनि परमेश्वरमा विश्वास नगर्नेहरूले “मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको हो” भनेर सुन्दा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? (तिनीहरू त्यो स्विकार्दैनन् वा सकार्दैनन्।) त्यसलाई नस्विकार्नुबाहेक, तिनीहरूको प्रतिक्रिया कस्तो हुन्छ? तिनीहरूले तँलाई उपहास गर्नेछन्, यसलाई तँविरुद्ध प्रयोग गर्न सक्दो प्रयास गर्नेछन्, तँलाई गिल्ला गर्नेछन् र हाँसोमा उडाउनेछन्, अवहेलना गर्नेछन्, अनि यी वचन र यो तथ्यलाई तिरस्कार गर्नेछन्। तिनीहरूले यी वचन अपनाउने सबैप्रति उपहास गर्ने, व्यङ्ग्य हान्ने, अवहेलना गर्ने, र शत्रुता मोल्ने मनोवृत्तिसमेत अपनाउलान्। के यो सत्यताप्रति अरुचि हुनु होइन र? (हो।) के तँ यस्ता मानिसहरूलाई देखेर घृणा गर्छस्? तँलाई के लाग्छ? तँ यस्तो विचार गर्छस्, “मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको हो। यो तथ्य हो। यो निर्विवाद रूपमा साँचो हो। तिमी यो स्विकार्दैनौ, तिमी आफ्ना उद्गम चिन्दैनौ, र तिमी साँच्चै कृतघ्न छौ, तिमी अविवेकी र विश्वासघाती छौ। तिमी साँच्चै शैतान वर्गको हौ!” के तँलाई त्यस्तै लाग्छ? (हजुर।) अनि किन तँलाई त्यस्तो लाग्छ? के तिनीहरूलाई यो भनाइ मन नपर्ने भएकै कारण तँलाई यस्तो लाग्छ? (होइन।) केले तँमा यस्तो अरुचि हुने मानसिकता पैदा गराउँछ? (सत्यताप्रति तिनीहरूको मनोवृत्तिका कारण।) यदि तिनीहरूले यी वचनहरूलाई साधारण शब्दका रूपमा, कुनै सिद्धान्त वा धार्मिक विश्वासका रूपमा सम्मान गरेका भए तेरो रिस त्यति ठुलो हुनेथिएन। तर जब तँ तिनीहरूमा इन्कार, विरोध, र तिरस्कार पैदा भएको देख्छस्, जब तँ तिनीहरूमा सत्यताको यो भनाइलाई होच्याउने बोली, मनोवृत्ति, र स्वभाव देख्छस्, तब तँलाई रिस उठ्छ। के कुरा त्यही हो? कतिपय मानिसले परमेश्वरमा विश्वास नगर्ने भए पनि, अरू मानिसको आस्थालाई सम्मान गर्छन्, र अरूले बोलेका आस्थाका कुरालाई तहसनहस पार्ने कोसिस गर्दैनन्। तँमा तिनीहरूप्रति कुनै अरुचि वा घृणा छैन, तँ अझै पनि तिनीहरूको साथी बन्न र तिनीहरूसित शान्तिमा जिउन सक्छस्। तिमीहरू शत्रु बन्नेछैनौ। खासमा, तँ मिलेर बस्न सक्ने अविश्वासीहरू थोरै हुन्छन्। तिनीहरू साँचो मार्ग स्विकार्न र परमेश्वरको घरका सदस्य बन्न नसक्ने भए पनि, तँ अझै पनि तिनीहरूसित मिल्न र उठबस गर्न सक्छस्। कम्तीमा तिनीहरूमा विवेक र समझ हुन्छ। तिनीहरू तँविरुद्ध षड्यन्त्र गर्दैनन्, र तँलाई पिठ्यूँमा छुरा रोप्दैनन्, त्यसैले तँ तिनीहरूसित सङ्गत गर्न सक्छस्। सत्यतालाई तहसनहस पार्न खोज्ने—सत्यताप्रति अरुचि राख्नेहरूप्रति—तँलाई हृदयमा रिस उठ्छ। के तँ तिनीहरूको साथी बन्न सक्छस्? (सक्दिनँ।) तिनीहरूको साथी नबन्नेबाहेक, तँ तिनीहरूबारे अरू के सोच्छस्? यदि तँलाई तिनीहरूसँग कस्तो व्यवहार गर्ने भनी रोज्न लगाइएको भने, तँ तिनीहरूलाई कस्तो व्यवहार गर्नेथिस्? तैँले यसो भन्नेथिस्, “मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको हो। यो तथ्य हो, सत्यता यही हो, र यो कत्ति महान् र पवित्र कुरा हो! तिमीले यसलाई नस्विकार्ने मात्र होइन, तर त्यसलाई तहसनहस पार्नसमेत खोज्छौ—तिमीमा साँच्चै विवेक छैन! यदि परमेश्वरले मलाई शक्ति दिनुभएको भए, म तिमीलाई धिक्कार्नेथेँ, म तिमीलाई प्रहार गर्नेथेँ, म तिमीलाई खरानी पारिदिनेथेँ!” के त्यो तेरो मनोभाव हो? (हो।) यो न्याय बोध हो। तर तैँले तिनीहरू दियाबलस रहेछन् भनेर देख्दा, तिनीहरूलाई बेवास्ता गर्नु, तिनीहरूबाट अलग रहनु नै समझदारी हुनेछ। तिनीहरू तँसित बोल्दा, हो मा हो मिलाउनु राम्रो हुन्छ। यसो गर्नु नै बुद्धिमानी हुन्छ। तर मनमा तँलाई आफू यस्ता मानिसहरूभन्दा फरक मार्गमा छु भन्ने थाहा छ। तिनीहरू परमेश्वरमा कहिल्यै आस्था राख्न सक्दैनन्, तिनीहरूले सत्यता कदापि स्विकार्नेछैनन्। तिनीहरूले परमेश्वरमा विश्वास गरिहालेका भए पनि, उहाँले तिनीहरूलाई चाहनुहुनेथिएन। तिनीहरू परमेश्वरलाई अस्वीकार र प्रतिरोध गर्छन्, तिनीहरू पशु हुन्, तिनीहरू दियाबलस हुन्, तिनीहरू हाम्रो जस्तो मार्ग पछ्याउँदैनन्। परमेश्वरमा साँचो आस्था राख्ने मानिसहरू दियाबलसहरूका सम्पर्कमा आउन अनिच्छुक हुन्छन्। कुनै पनि दियाबलसलाई नदेख्दा उनीहरू ठिक हुन्छन्, तर देखेमा, उनीहरू तुरुन्तै तिनीहरूको प्रतिरोध गर्छन्। उनीहरूको हृदयलाई कुनै पनि दियाबलस नदेख्दा मात्र शान्ति महसुस हुनेछ। कतिपय मानिस सधैँ अविश्वासी दियाबलसहरूसित परमेश्वरको घरका मामलाहरूबारे कुरा गर्छन्। सबैभन्दा मूर्ख मानिस यिनीहरू नै हुन्। तिनीहरू भित्री र बाहिरी मानिसहरूबीच फरक छुट्याउँदैनन्, तिनीहरू बिलकुलै केही नबुझ्ने गोबरगणेश हुन्। के परमेश्वर यस्ता निरर्थक काम गर्न सक्ने मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ? कदापि सक्नुहुन्न। सधैँ दियाबलसहरूसँग उठबस गर्ने मानिसहरू गैरविश्वासी हुन्। तिनीहरू निश्चित रूपमा परमेश्वरको घरका होइनन्, र ढिलोचाँडो तिनीहरू शैतानकहाँ फर्कनुपर्नेछ। कतिपय मानिस दाजुभाइ-दिदीबहिनी र अविश्वासीलाई खुट्ट्याउन सक्दैनन्। तिनीहरू सबैभन्दा भ्रमित मानिस हुन्। तिनीहरू गैरविश्वासी र दियाबलसहरूलाई परमेश्वरको घरका मामलाहरूबारे बताउँछन्। यो भालुलाई पुराण सुनाउनु र कुकुरलाई घिउ नपच्नु जस्तै हो। ती गैरविश्वासी र दियाबलसहरू भालु र कुकुर जस्तै हुन्, तिनीहरूलाई पशुको वर्गमा राखिन्छ। यदि तैँले तिनीहरूसित परमेश्वरको घरका मामलाहरूबारे छलफल गरिस् भने, तँ मूर्ख देखिनेछस्। तिनीहरूले त्यो कुरा सुनेपछि त्यतिकै परमेश्वरको घर र सत्यताको बद्नाम गर्नेछन्। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्वरलाई निराश पार्नेछस् र परमेश्वरको ऋण बोक्नेछस्। परमेश्वरको घरका मामलाहरू गैरविश्वासी र दियाबलसहरूसँग कहिल्यै छलफल गर्नै हुँदैन। मानिसहरू सत्यतालाई प्रेम नगर्ने, सत्यताप्रति अरुचि हुने, वा सत्यताको निन्दा गर्नेहरूप्रति रिसालु, प्रतिरोधी, र तिनीहरूका सम्पर्कमा आउन अनिच्छुक हुन्छन्, त्यसोभए तँलाई परमेश्वर कस्तो महसुसु गर्नुहुन्छ जस्तो लाग्छ? परमेश्वरको स्वभाव, उहाँको सार, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँको जीवन, र उहाँद्वारा प्रकट गरिएको उहाँको सार सबै सत्यता हुन्। परमेश्वरप्रति अरुचि भएका व्यक्ति निस्सन्देह परमेश्वरको विरोध गर्ने व्यक्ति र उहाँको शत्रु हो। यो परमेश्वरसित नमिल्नु भन्दा ठुलो कुरा हो। यस्ता मानिसहरूप्रति परमेश्वरको क्रोध अत्यधिक दन्किन्छ।

अब तिमीहरू सबैले केही आधार पाएका छौ, र तिमीहरू परमेश्वरको घरका सदस्यका रूपमा गनिन सक्छौ। तैँले लगनशील भई सत्यता पछ्याउनैपर्छ, र आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा, आफ्नो बोली र कामलाई निरन्तर जाँच्, आफ्ना विविध स्थितिहरू जाँच्, र आफ्नो स्वभावमा केही परिवर्तन ल्याउने प्रयास गर्। यो मूल्यवान् कुरा हो। त्यसपछि, तँ परमेश्वरसामु आउन साँच्चै सक्षम हुनेछस्। कम्तीमा, तैँले परमेश्वरलाई तँलाई स्विकार्ने बनाउनैपर्छ। यदि तँ अय्यूबका स्तरमा पुग्न सक्दैनस् र परमेश्वरलाई तेरो परीक्षा लिन शैतानसित व्यक्तिगत तवरमा होड गराउन तेरो योग्यताले पुग्दैन भने, कम्तीमा तँ आफ्नो कार्य र आचरणद्वारा परमेश्वरका ज्योतिमा जिउन सक्छस्, अनि परमेश्वरले तेरो हेरचाह र सुरक्षा गर्नुहुनेछ, र तँलाई आफ्नो अनुयायी र आफ्नो घरको सदस्यका रूपमा स्विकार्नुहुनेछ। यसो किन? किनभने तैँले परमेश्वरलाई स्वीकार र विश्वास गरेदेखि नै, उहाँको मार्ग कसरी पछ्याउने भनी निरन्तर खोजेको छस्। परमेश्वर तेरो व्यवहार र सच्चापनसित सन्तुष्ट हुनु भएकाले, उहाँले तँलाई प्रशिक्षण लिन, काटछाँट हुन, र उहाँको मुक्ति स्विकार्न आफ्ना घरमा लानुभएको छ। कस्तो ठुलो आशिष्! सुरुमा तैँले परमेश्वर वा सत्यताबारे केही पनि थाहा नभएको परमेश्वरको घरबाहिरको व्यक्तिका रूपमा परमेश्वरको पहिलो परीक्षा स्विकारिस्, र त्यसमा उतीर्ण भएपछि, परमेश्वरले तँलाई व्यक्तिगत रूपमै उहाँको घरभित्र पसाउनुभयो, तँलाई उहाँसामु ल्याउनुभयो, तँलाई एउटा कार्यभार सुम्पनुभयो, तेरा लागि कर्तव्यहरू निभाउने बन्दोबस्त गर्नुभयो, र तँलाई आफ्नो व्यवस्थापन योजनाभित्रका केही मानव कर्तव्यहरू निर्वाह गर्न दिनुभयो। यो नदेखिने काम भए पनि, आखिर, तैँले परमेश्वरको हेरचाह र सुरक्षा पाएको छस् अनि परमेश्वरबाट प्रतिज्ञा पाएको छस्। यो आशिष् एकदमै पर्याप्त छ। हामी अर्का जुनीमा मुकुट र इनाम पाइने कुरालाई पर राख्नेछौँ, र मानिसहरूले यो जुनीमा के-के पाउन सक्छन् भन्नेबारे मात्र बोल्नेछौँ—तैँले सुन्ने सत्यताहरू, तैँले पाउने परमेश्वरको अनुग्रह, कृपा, हेरचाह, र सुरक्षा, परमेश्वरले तँलाई दिने विविध प्रकारका अनुशासन र ताडना, अनि परमेश्वरले मानिसलाई दिने यी सबै सत्यताको भरणपोषण—ल भन् त, तैँले कतिको पाइरहेको छस्? अन्त्यमा, यी सत्यताहरू बुझ्नुबाहेक, परमेश्वरले तँलाई शैतानको शिविरबाट पनि पूर्ण रूपमा मुक्ति दिनुहुनेछ, ताकि तँ परमेश्वरलाई चिन्ने, सत्यतालाई आफ्नो जीवनका रूपमा अपनाउने, र परमेश्वरका घरमा उपयोगी व्यक्तिमा परिणत भएस्। के यो ठुलो आशिष् होइन र? (हो।) यो परमेश्वरको प्रतिज्ञा हो। परमेश्वरले तँलाई उहाँका घरमा ल्याउनुभएपछि, उहाँ तँलाई यसो भन्नुहुन्छ, “तँ आशिषित् भइस्। तैँले मण्डलीमा प्रवेश गरेर मुक्ति प्राप्त गर्ने आशा पाएको छस्।” सायद तँलाई के भइरहेको छ भनेर थाहा छैन, तर वास्तवमा, तँलाई परमेश्वरको प्रतिज्ञा दिइसकिएको छ। त्यो सँगसँगै, परमेश्वर यो प्रतिज्ञा पूरा गर्न यी सबै कुरा गर्दै हुनुहुन्छ—सत्यता प्रदान गर्ने, तँलाई काटछाँट गर्ने, तँलाई कर्तव्यहरू दिने, र तँलाई कार्यभारहरू सुम्पने—जसले गर्दा तेरो जीवन अलिअलि गर्दै वृद्धि हुनेछ, र तँ परमेश्वरमा समर्पित हुने र उहाँको आराधना गर्ने व्यक्ति बन्नेछस्। के मानिसहरूले अब यो प्रतिज्ञा प्राप्त गरेका छन्? त्यो प्राप्त गर्न र पूरा हुन अझै समय लाग्छ। खासमा, तिमीहरूमध्ये केहीले त्यो पहिल्यै पाइसकेका छौ, र तिमीहरूमध्ये कतिपयमा सङ्कल्प छ तर अझै पाइसकेका छैनौ। यो तिमीहरूमा यस प्रतिज्ञालाई बुझ्ने सङ्कल्प छ कि छैन र तिमीहरू त्यो पूरा गर्न सक्छौ कि सक्दैनौ त्यसमा भर पर्छ। परमेश्वरले गर्ने सबथोक मानिसहरूलाई चरणबद्ध रूपमा, उचित समयमा, र उचित मात्रामा दिइन्छ। कहिल्यै कुनै गल्तीहरू हुँदैनन्, त्यसैले तैँले मूर्ख, कमजोर क्षमताको, सानो उमेरको भएकामा, वा परमेश्वरमा विश्वास गरेको त्यति धेरै नभएकामा चिन्ता लिनु पर्दैन। यी वस्तुगत कारणहरूलाई तेरो जीवन प्रवेशमा असर पार्न नदे। परमेश्वरले जे भन्नुभए पनि, प्रथमतः त्यसले मानिसहरूलाई आफ्नो वास्तविक कद र क्षमता सही रूपमा चिन्न र मापन गर्न अनि आफ्नो सीमा थाहा पाउन मद्दत गर्छ। दोस्रो कुरा, सकारात्मक पक्षमा त्यसले मानिसहरूलाई सत्यताको गहन बुझाइ प्रदान गर्छ अनि सत्यता वास्तविकतामा प्रवेश गर्न र परमेश्वरको इच्छा पूरा हुनेगरी आफ्ना कर्तव्य राम्ररी निभाउन मद्दत गर्छ। परमेश्वरका वचनका उद्देश्यहरू यिनै हुन्। यी कुराहरू हासिल गर्न वास्तवमा एकदमै सजिलो छ। तँमा सत्यतालाई प्रेम गर्ने हृदय छ भने, कुनै कठिनाइ हुँदैन। मानिसहरूका लागि सबैभन्दा ठुलो कठिनाइ के हो? त्यो हो, तँ सत्यताप्रति अरुचि राख्छस् र सत्यतालाई बिलकुलै प्रेम गर्दैनस्। यो नै सबैभन्दा ठुलो कठिनाइ हो? यसमा प्रकृतिको समस्या समावेश छ। यदि तैँले साँचो रूपमा पश्चात्ताप गरिनस् भने, सायद समस्या निम्तिन सक्छ। यदि तँ सत्यताप्रति अरुचि राख्छस्, र सधैँ सत्यतालाई बद्नाम र अवहेलना गर्छस् भने, यदि तेरो यस्तो प्रकृति छ भने, तँ सजिलै बदलिनेछैनस्। तँ बदलिस् भने पनि परमेश्वरको मनोवृत्ति बदलेको छ कि छैन भनी हेर्न बाँकी रहन्छ। यदि तैँले गर्ने कुराले परमेश्वरको मनोवृत्ति बदल्न सक्छ भने, तँसित अझै मुक्ति पाउने आशा रहन्छ। यदि तँ परमेश्वरको मनोवृत्ति बदल्न सक्दैनस्, र परमेश्वरले लामो समयदेखि तेरो सारलाई हृदयबाटै मन पराइरहनुभएको छैन भने, तँसित मुक्तिको आशा रहँदैन। त्यसकारण, तिमीहरूले आफूलाई जाँच्नुपर्छ। यदि तँ आफूमा सत्यताप्रति अरुचि हुने र सत्यताको प्रतिरोध गर्ने स्थितिमा छस् भने, यो एकदमै खतरनाक हो। यदि तँ प्रायजसो यस्तो स्थिति पैदा गर्छस्, प्रायजसो यस्ता स्थितिमा पर्छस्, वा यदि तँ मूलत: यस्तो व्यक्ति होस् भने, यो त झनै समस्या हो। यदि तँ कहिलेकाहीँ सत्यताप्रति अरुचि हुने स्थितिमा हुन्छस् भने, प्रथमतः त्यो तेरो सानो कदको कारणले हुन सक्ला; दोस्रो कुरा, मानिसको भ्रष्ट स्वभावमै यस्तो सार हुन्छ, जसले गर्दा यस्तो स्थिति पैदा नआई छोड्दैन। तर, यो स्थितिले तेरो सारलाई प्रतिनिधित्व गर्दैन। कहिलेकाहीँ, कुनै क्षणिक आवेगले तँमा सत्यताप्रति अरुचि हुने स्थिति सिर्जना गर्छ। यो अस्थायी मात्र हो। यो सत्यताप्रति अरुचि हुने तेरो स्वभावको सारले गर्दा हुँदैन। यदि त्यो अस्थायी स्थिति हो भने, त्यसलाई ठिक गर्न सकिन्छ, तर त्यसलाई कसरी ठिक गर्ने? तैँले तुरुन्तै परमेश्वरसामु आएर यस सम्बन्धमा सत्यता खोज्नुपर्छ र सत्यता स्विकार्न अनि सत्यता र परमेश्वरप्रति समर्पित हुन सक्नुपर्छ। त्यसपछि यो स्थिति समाधान हुन्छ। यदि तैँले त्यो समाधान गरिनस् र त्यसलाई त्यसरी नै चलिरहन दिइस् भने, तँ खतरामा पर्छस्। उदाहरणका लागि, कतिपय मानिस भन्छन्: “जे होस्, म कमजोर क्षमताको छु र सत्यता बुझ्न सक्दिनँ, त्यसैले म त्यो पछ्याउन छोड्छु, र म परमेश्वरप्रति समर्पित हुनु पनि पर्दैन। परमेश्वर कसरी मलाई यस्तो क्षमता दिन सक्नुहुन्छ? परमेश्वर धर्मी हुनुहुन्न!” तँ परमेश्वरको धार्मिकतालाई नकार्छस्। के त्यो सत्यताप्रति अरुचि हुनु होइन र? यो सत्यताप्रति अरुचि हुने मनोवृत्ति र सत्यताप्रति अरुचि हुने प्रकटीकरण हो। यस्तो प्रकटीकरण हुनुको कुनै सन्दर्भ हुन्छ, त्यसैले यस्तो स्थितिको सन्दर्भ र मूल कारणलाई समाधान गर्न जरुरी छ। मूल कारण समाधान भएपछि, त्योसँगै तेरो स्थिति हराएर जानेछ। कतिपय स्थिति लक्षणजस्तै हुन्छन्, जस्तै खोकी, जुन चिसो लागेकाले वा निमोनियाले गर्दा हुन सक्छ। यदि तैँले चिसो लागेको वा निमोनिया निको पारिस् भने, खोकी पनि बिसेक हुनेछ। मूल कारण समाधान गरिएपछि, लक्षणहरू पनि हराएर जान्छन्। तर सत्यताप्रति अरुचि हुने केही स्थिति लक्षण होइनन्, ट्युमर हुन्। रोगको मूल कारण भित्र हुन्छ। तैँले बाहिरबाट हेरेर कुनै पनि लक्षणहरू भेट्टाउन नसक्लास्, तर रोग लागेपछि, त्यो घातक हुन्छ। यो एकदमै गम्भीर समस्या हो। यस्ता मानिसहरू कहिल्यै सत्यता स्विकार्दैनन् वा सकार्दैनन्, वा अविश्वासीहरूले झैँ बारम्बार सत्यतालाई बद्नामसमेत गर्छन्। तिनीहरूले मुखबाट कहिल्यै शब्दहरू नफुत्काए पनि, हृदयमा सत्यतालाई बद्नाम, इन्कार र खण्डन गरिरहन्छन्। जुनै सत्यता भए पनि—चाहे त्यो आफूलाई चिन्ने, आफ्नो भ्रष्ट स्वभाव चिन्ने, सत्यता स्विकार्ने, परमेश्वरप्रति समर्पित हुने, झारा टार्ने तरिकाले कामकुरा नगर्ने होस्, वा इमानदार व्यक्ति बन्ने—तिनीहरू सत्यताको कुनै पक्षलाई पनि स्विकार्ने, मान्ने, वा ध्यान दिने गर्दैनन्, वा सत्यताका सम्पूर्ण पक्षलाई खण्डन र बद्नामसमेत गर्छन्। यो सत्यताप्रति अरुचि हुने स्वभाव हो, यो एक प्रकारको सार हो। यो सारले कस्तो नतिजा ल्याउँछ? परमेश्वरद्वारा तिरस्कृत हुने र हटाइने, अनि त्यसपछि नष्ट हुने। परिणामहरू अत्यन्तै गम्भीर हुन्छन्।

के यी कुराहरूबारे आजको सङ्गतिले तिमीहरूलाई सहयोग गऱ्यो? (गऱ्यो। मलाई के राम्रो क्षमता हो र केचाहिँ खराब क्षमता हो भन्ने थाहा भयो, मैले आफ्नो क्षमतालाई वास्तविक रूपमा बुझेँ, र मलाई कुनै कुरा आइपऱ्यो भने म आफूलाई सही तरिकाले मापन गर्न सक्छु। म अहङ्कारी र आत्मधर्मी हुनेछैनँ, बरु आफ्नो कर्तव्य व्यावहारिक तवरमा निर्वाह गर्छु।) हामीले सत्यताको जुनै पक्षबारे सङ्गति गरे पनि, यो तिमीहरूको जीवन प्रवेशका लागि सहयोगी हुनेछ। यदि तिमीहरू यी वचनहरू लिन सक्छौ र ती आफ्नो दैनिक जीवनमा लागु गर्छौ भने मैले भनेको कुरा व्यर्थ भएको हुँदैन। हरपटक तिमीहरूले अलिकति सत्यता बुझ्दैपिच्छे, तिमीहरू कामकुरा गर्न अझ निपुण हुनेछौ, र तिमीहरूको मार्ग अझ अलि फराकिलो हुनेछ। यदि तिमीहरूलाई थोरै सत्यता थाहा छ, र तिमीहरूसँग आफ्नो वास्तविक कद र क्षमताको साँचो बुझाइ छैन भने तिमीहरू सधैँ गलत रूपले काम गर्नेछौ, सधैँ आफूलाई बढी आँक्नेछौ र आफूलाई उच्च ठान्नेछौ, अनि धारणा र कल्पनाका आधारमा कामकुरा गर्नेछौ, तर थाहै नपाई सत्यताका आधारमा कार्य गरिरहेको छु भन्ने सोच्नेछौ। तिमीहरू यी धारणा र कल्पनाहरूलाई सत्यता सिद्धान्त ठान्नेछौ। तिमीहरूले गर्ने कामकुरामा ज्यादै विचलन हुनेछ। यदि मानिसहरूका हृदयमाथि यी मानव धारणा, कल्पना, ज्ञान र सिकाइहरू हाबी भएमा, तिनीहरूले सत्यता खोज्नेछैनन्। यदि सत्यता तेरो हृदयको दोस्रो, तेस्रो वा अन्तिम प्राथमिकता हुन्छ भने तँमाथि केले पकड जमाउँछ? त्यो तेरो शैतानी स्वभाव र मानव धारणा, दर्शन, ज्ञान, र सिकाइ हो। तँमाथि यी कुराहरू सर्वेसर्वा हुन्छन्, त्यसैले परमेश्वरले तँमा गर्ने काम प्रभावकारी हुनेछैन। यदि परमेश्वरका वचन र सत्यता तँभित्रको जीवन बनेका छैनन् भने तँ अझै पनि मुक्ति पाउनबाट टाढै छस्। तँ मुक्तिको मार्गमा हिँडेको छैनस्। के तँलाई परमेश्वरको हृदय चिन्तित छैन भन्ने लाग्छ? परमेश्वरले तँलाई मुक्तिका मार्गमा हिँडाउन कति कृपा देखाउनुपर्छ? यदि तिमीहरू परम्परागत संस्कृति र ज्ञान अनि शैतानी दर्शनबाट उम्कन, यी सबै कुरालाई परमेश्वरका वचनमा आधारित सत्यताले मापन गर्न सिक्न, सत्यता सिद्धान्तहरूलाई कामकुरा निरीक्षण गर्न मापदण्डका रूपमा प्रयोग गर्न, र आफ्ना कर्तव्यरू राम्रोसँग पूरा गर्न सक्छौ भने, तिमीहरू साँच्चै सत्यता वास्तविकता भएको व्यक्ति, स्वतन्त्र रूपमा जिउन सक्ने व्यक्ति बन्नेछौ। अहिले तिमीहरू यो स्तरमा पुगेका छैनौ, तिमीहरू अझै यसबाट टाढा छौ। तिमीहरूसँग थोरै मात्र जीवन छ, र तिमीहरू अझै पनि परमेश्वरको कृपा, प्रेम र सहनशीलताद्वारा जिउनुपर्छ। यसको मतलब तिमीहरूको कद अति सानो छ। यदि तँलाई कुनै कार्य गर्न लगाइएको भए, के तैँले यो एक्लै पूरा गर्न सक्नेथिस्? के तैँले त्यो काम राम्रोसँग गर्न सक्नेथिस्? यदि तैँले कामकुरा गडबड गरिस् भने, यो परमेश्वरको प्रतिरोध र अनादार गर्नु हो। यदि तँ आफ्नो काम आधाउधी गर्छस्, त्यसपछि केही मोजमस्ती गर्नतिर लाग्छस् भने के यसले तँ अलि अस्थिर छस् भन्ने देखाउँदैन र? यसले तँ भरपर्दो सेवक होइनस् र आफ्नो काम उचितसित गर्दैनस् भन्ने देखाउँछ। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्नुपऱ्यो भने तँलाई रेखदेख र सुपरिवेक्षण गर्नका लागि सधैँ मानिसहरू चाहिनेछ। तीस वा चालिसको लाइनमा उमेर हुने कतिपय मानिसमा अझै यस्तो चरित्र हुन्छ। तिनीहरूका लागि त्यति नै हो। तिनीहरूले जीवनमा केही पनि हासिल गर्नेछैनन्। यदि तेरो उमेर २० को लाइनमा छ र तैँले परमेश्वरमा विश्वास गरेको दुई-तीन वर्ष मात्र भएको छ भने, सानो कदको व्यक्ति भएकोमा तँलाई माफ गर्न सकिन्छ। अस्थिरता, अविश्वसनीयता, सधैँ परमेश्वरले हेरचाह गर्नुपर्ने, सुरक्षा गर्नुपर्ने, सम्झाउनुपर्ने, अर्ती दिनुपर्ने, र मार्गदर्शन गर्नुपर्ने, सधैँ परमेश्वरका यी अनुग्रहहरू पाउनुपर्ने, यी अनुग्रहमा भर परेर जिउने, र यी कुनै पनि कुराविना काम गर्न नसक्ने, यो ज्यादै सानो कद हुनु हो। तिमीहरू अहिले यही अवस्थामा छौ। यदि कामकुरा तिमीहरूलाई पूर्ण रूपमा प्रस्ट पारिएन भने, तिमीहरूले कहिलेकाहीँ गल्ती गर्नेछौ र कामलाई भद्रगोल पार्नेछौ। यदि तँलाई कुनै सानो कुरा बुझाइएन भने, तँ तर्किनेछस्, जुन अरूका लागि निरन्तरको चिन्ता हुन्छ। बाहिरबाट हेर्दा, तिमीहरू सबै वयस्क हौ, तर खासमा, तिमीहरूको आत्मामा खासै जीवन छैन। तँमा आफ्ना कर्तव्य निर्वाह गर्ने इच्छा र इमानदारी भए पनि, अनि केही साँचो आस्था भए पनि, तँ सत्यताबारे ज्यादै कम बुझ्छस्। तँ आफ्नो कर्तव्य निभाउने क्रममा, अघि बढ्नका लागि पूर्णतया परमेश्वरका अनुग्रह, आशिष्, मार्गदर्शन, र सम्झौटोमा निर्भर हुन्छस्। एउटा पनि कुरा कम भएमा काम सही रूपमा हुनेछैन। त्यसोभए, तिमीहरूमा परमेश्वरको धर्मी स्वभावको कुन पक्ष प्रकट हुन्छ? उहाँको प्रचुर कृपा, र अवश्यै परमेश्वरको कामको सिद्धान्त। किन तिमीहरूले अझै पनि परमेश्वरका परीक्षा र शोधन पाएका छैनौ? किनकि तिमीहरूमा त्यस्तो कद छैन। तिमीहरू कदमा ज्यादै साना छौ, तिमीहरू ज्यादै कम सत्यता बुझ्छौ, कुनै कुरोका चुरोमा पुग्न सक्दैनौ, कठिनाइहरू आइपर्दा अलमल्ल पर्छौ, कहाँबाट सुरु गर्ने त्यो तिमीहरूलाई थाहा हुँदैन, तिमीहरू सधैँ मानिसहरूलाई चिन्तित तुल्याउँछौ, र तैँले जे कर्तव्य निभाए पनि, तँलाई अरू मानिसले चरणबद्ध रूपमा काम गर्न सिकाउनुपर्छ, यसमा अरूले ज्यादै प्रयत्न लगाउनुपर्ने हुन्छ। तिमीहरूलाई हरेक कुरा प्रस्ट्याउनैपर्छ र एकभन्दा बढीपटक दोहोऱ्याउनुपर्छ, नत्र, काम राम्रो हुनेछैन। साधारण कुराहरू दुईतीन पटक भन्नुपर्छ, तर केहीबेर पछि, तिमीहरूले बिर्सिनेछौ र त्यसलाई अझै धेरैपटक दोहोऱ्याउनुपर्नेछ। यो कस्तो प्रकारको व्यक्ति हो? यो भ्रमित व्यक्ति हो जसले आफ्ना काममा मनमस्तिष्क लगाउँदैन, जो कुनै पनि सेवा गर्न अयोग्य छ। के यस्ता मानिसहरूले सत्यता बुझ्न सक्छन्? निश्चित रूपमा तिनीहरूलाई सत्यता बुझ्न सजिलो हुँदैन किनकि तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ र तिनीहरू सत्यताको स्तरसम्म पुग्न सक्दैनन्। कतिपय मानिस कदमा सानो हुन्छ, तर कुनै कुरा दुईतीन पटक भोगेपछि केही सिक्न सक्छन्। यदि तिनीहरूले सत्यताबारे गरिएको सङ्गति सुनेपछि सत्यता बोध गर्न र बुझ्न सक्छन् भने, तिनीहरू क्षमता भएका मानिस हुन्। क्षमता हुनु ठूलो समस्या होइन, तर सानो कदको हुनुचाहिँ समस्या हो। यो यस्ता मानिसहरूको अनुभवको गहिराइसँग मात्र सम्बन्धित हुन्छ, र सत्यताबारे तिनीहरूको बुझाइसँग सिधै सम्बन्धित हुन्छ। थप अनुभव गरेपछि र सत्यतालाई अझ गहन रूपमा बुझेपछि, तिनीहरूको कद स्वत: बढ्नेछ।

मार्च २, २०१९

अघिल्लो: मानिस र परमेश्‍वरको बीचका सम्बन्धहरूलाई सुधार गर्नु महत्त्वपूर्ण हुन्छ

अर्को: परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्