परमेश्वरको स्वभाव बुझ्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ
म तिमीहरूले धेरै कुरा हासिल गरेको आशा गर्छु, तैपनि तिमीहरूका सबै कार्य, तिमीहरूको जीवनका सबै कुराले मैले मागेको कुरा पूरा गर्न सक्दैनन्, त्यसैले मसँग सिधै मुख्य कुरामा प्रवेश गर्नु र तिमीहरूलाई मेरा अभिप्रायहरू बुझाउनुबाहेक अरू कुनै विकल्प छैन। कामकुरा पहिचान गर्ने तिमीहरूको सामर्थ्य कमजोर भएको, र कामकुरालाई कदर गर्ने तिमीहरूको सामर्थ्य पनि कमजोर नै भएको हुनाले, तिमीहरू मेरो स्वभाव र सारका बारेमा लगभग पूर्ण रूपमा अनभिज्ञ छौ—तसर्थ मैले तिमीहरूलाई तिनका बारेमा जानकारी दिन जरुरी छ। तिमीहरूले पहिले जतिसुकै बुझेका भए पनि, तिमीहरूलाई यी समस्याहरू बुझ्ने इच्छा भए पनि वा नभए पनि, मैले तिमीहरूलाई ती कुरा विस्तृत रूपमा बुझाउनैपर्छ। यी समस्याहरू तिमीहरूका लागि त्यति अपरिचित छैनन्, तैपनि तिमीहरूमा तीभित्र रहेको अर्थबारे धेरै बुझाइ र धेरै परिचितता छैन। तिमीहरूमध्ये धेरैसँग केही अस्पष्ट बुझाइ मात्र छ, र त्यो पनि आंशिक र अपूर्ण छ। तिमीहरूलाई अझ राम्ररी सत्यता अभ्यास गर्न—मेरा वचनहरू अझ राम्ररी अभ्यास गर्न—मद्दत गर्नका लागि, मलाई लाग्छ तिमीहरू सबैभन्दा पहिले यी समस्याहरूका बारेमा सचेत हुनैपर्छ। यदि होइन भने, तिमीहरूको विश्वास अस्पष्ट, पाखण्डी, र धर्मका प्रतीकहरूले भरिएको नै रहनेछ। यदि तैँले परमेश्वरको स्वभाव बुझिनस् भने, तैँले उहाँका लागि गर्नुपर्ने काम गर्न तेरो लागि असम्भव हुनेछ। यदि तँलाई परमेश्वरको सार थाहा छैन भने, तँमा उहाँको डर र भय हुनु असम्भव हुनेछ; यसको साटो, त्यहाँ लापरवाह झाराटारुवा र छलछाम मात्र हुनेछ, र त्योभन्दा पनि बढी, सच्याउनै नसकिने ईशनिन्दा हुनेछ। परमेश्वरको स्वभाव बुझ्नु साँच्चै महत्त्वपूर्ण भएको, र परमेश्वरको सार जान्ने कुरालाई बेवास्ता गर्न नसकिने भए पनि, कसैले पनि यी समस्याहरूलाई गम्भीरतापूर्वक जाँचेको वा तिनको गहिराइमा पुग्ने प्रयास गरेको छैन। मैले जारी गरेका प्रशासनिक आदेशहरूलाई तिमीहरू सबैले बेवास्ता गरेका छौ भन्ने कुरा प्रस्ट रूपमा देखिन्छ। यदि तिमीहरू परमेश्वरको स्वभाव बुझ्दैनौ भने, तिमीहरूले उहाँको स्वभावलाई चिढ्याउने सम्भावना धेरै हुन्छ। उहाँको स्वभावलाई चिढ्याउनु भनेको परमेश्वर स्वयम्लाई रिस उठाउनु सरह हो, र यस्तो अवस्थामा तेरा कार्यहरूको अन्तिम फल भनेको प्रशासनिक आदेशहरूको उल्लङ्घन हुनेछ। अब तैँले यो थाहा पाउनुपर्छ कि जब तँ परमेश्वरको सार चिन्छस्, तब तँ उहाँको स्वभाव पनि बुझ्न सक्छस्—र जब तँ उहाँको स्वभाव बुझ्छस्, तब तैँले प्रशासनिक आदेशहरू पनि बुझेको हुनेछस्। प्रशासनिक आदेशहरूभित्र समावेश हुने धेरै कुराले परमेश्वरको स्वभावलाई छुन्छन् भन्ने कुरा भनिरहनु पर्दैन, तर उहाँको सबै स्वभाव प्रशासनिक आदेशहरूभित्र व्यक्त गरिएको हुँदैन; तसर्थ, परमेश्वरको स्वभावका बारेमा आफ्नो बुझाइ विकास गर्न तिमीहरू एक कदम अगाडि बढ्नैपर्छ।
म आज तिमीहरूसँग साधारण कुराकानीमा जस्तो बोलिरहेको छैन, त्यसैले तिमीहरूले मेरा वचनहरूलाई होसियारीपूर्वक लिनु, र अझ बढी तिनका बारेमा मनन गर्नु उचित हुन्छ। मैले यसो भन्नुको अर्थ के हो भने मैले बोलेका वचनहरूप्रति तिमीहरूले अत्यन्तै कम प्रयास अर्पित गरेका छौ। तिमीहरू परमेश्वरको स्वभावका बारेमा थप मनन गर्न त झनै कम इच्छुक छौ; यसमा विरलै कसैले प्रयास गर्छ। यही कारणले म भन्छु कि तिमीहरूको विश्वास खोक्रो गफबाहेक अरू केही होइन। अहिले पनि, तिमीहरूको सबैभन्दा घातक कमजोरीका सम्बन्धमा तिमीहरूमध्ये एक जनाले पनि कुनै गम्भीर प्रयास अर्पित गरेको छैन। मैले तिमीहरूप्रति यतिका श्रमसाध्य अभिप्रायहरू राखेपछि पनि तिमीहरूले मलाई निराश बनाएका छौ। तिमीहरूले परमेश्वरलाई कुनै आदर नगर्नु र तिमीहरूको जीवनमा कुनै सत्यता नहुनु कुनै अचम्मको कुरा होइन। यस्ता मानिसहरूको समूहलाई कसरी सन्त मान्न सकिन्छ? स्वर्गको व्यवस्थाले यस्तो कुरा सहनेछैन! यस सम्बन्धमा तिमीहरूमा अत्यन्तै कम बुझाइ भएको हुनाले, मसँग थप सास खर्चनुको विकल्प नै छैन।
परमेश्वरको स्वभाव यस्तो विषय हो जुन सबैलाई अत्यन्तै अमूर्त लाग्छ र यसबाहेक, यो यस्तो विषय हो जुन कसैलाई पनि स्वीकार गर्न सजिलो छैन, किनभने उहाँको स्वभाव मानवको व्यक्तित्व जस्तो हुँदैन। परमेश्वरमा पनि आनन्द, रिस, शोक, र खुसीका आफ्नै संवेगहरू हुन्छन्, तर यी संवेगहरू मानिसका संवेगहरूभन्दा फरक हुन्छन्। परमेश्वर स्वयम्का आफ्नै निहित कुराहरू र सत्त्व रहेका छन्। उहाँले व्यक्त गर्ने र प्रकट गर्ने सबै कुराले उहाँको आफ्नै सार र उहाँको आफ्नै पहिचानलाई प्रतिनिधित्व गर्छन्। यी निहित कुराहरू र यो सत्त्व, साथै यो सार र पहिचान त्यस्ता कुरा हुन् जुन कुनै पनि मानिसद्वारा प्रतिस्थापन गर्न सकिँदैन। उहाँको स्वभावमा मानवजातिप्रतिको उहाँको प्रेम, मानवजातिप्रतिको सान्त्वना, मानवजातिप्रतिको घृणा, र अझ बढी, मानवजातिबारे पूर्ण बुझाइ पर्छन्। तर, मानिसको व्यक्तित्वमा हँसिलो, जीवन्त, वा संवेदनहीन हुने कुरा पर्न सक्छन्। परमेश्वरको स्वभाव त्यो हो जुन यावत् थोक र जीवित प्राणीहरूका सार्वभौमसँग निहित हुन्छ; यो त्यस्तो कुरा हो जुन सृष्टिकर्तासँग हुन्छ। उहाँको स्वभावले आदरणीयता, शक्ति, कुलीनता, महान्ता, र सबैभन्दा बढी, सर्वोच्चतालाई प्रतिनिधित्व गर्छ। उहाँको स्वभाव अख्तियारको प्रतीक हो, न्यायवान् रहेका सबै कुराको प्रतीक हो, सुन्दर र असल रहेका सबै कुराको प्रतीक हो। त्यति मात्र होइन, उहाँको स्वभाव अन्धकार वा कुनै पनि विरोधी शक्तिद्वारा पराजित हुन वा आक्रान्त हुन नसक्नुको प्रतीक हो, साथै कुनै पनि सृजित प्राणीद्वारा गरिने अपराधको निषेध (र अपराधप्रतिको असहिष्णुता) को प्रतीक हो। उहाँको स्वभाव सर्वोच्च शक्तिको प्रतीक हो। कुनै पनि व्यक्तिले वा व्यक्तिहरूले उहाँको काम वा उहाँको स्वभावमा बाधा दिन सक्दैनन्, र तिनीहरूले त्यसो गर्न असम्भव हुनेछ। तर मानिसको व्यक्तित्व भनेको पशुभन्दा मानिसको अलिकति श्रेष्ठताको प्रतीक मात्रै हो। मानिस आफैमा र उसको आफ्नै कुनै अख्तियार, कुनै स्वायत्तता, र आफूलाई उछिन्ने कुनै सामर्थ्य हुँदैन, बरु सारमा ऊ यस्तो व्यक्ति हो जो असहाय रूपमा सबै प्रकारका मानिस, घटना र कामकुराहरूको नियन्त्रणमा हुन्छ। परमेश्वरको आनन्दको कारण इन्साफ र ज्योतिको अस्तित्व र आविर्भाव हो, अन्धकार र दुष्टताको विनाश हो। उहाँको आनन्दको कारण उहाँले मानवजातिमाझ ज्योति र राम्रो जीवन ल्याउनु हो; उहाँको आनन्द न्यायवान् आनन्द हो, यो सबै सकारात्मक कुराको अस्तित्वको सङ्केत हो, त्यसभन्दा बढी, यो मङ्गलमय सङ्केत हो। परमेश्वरको क्रोधको कारण भनेको अन्यायपूर्ण कुराहरूको अस्तित्व र बाधाले उहाँको मानवजातिलाई गर्ने हानि, दुष्टता र अन्धकारको अस्तित्व, सत्यतालाई धपाउने कुराहरूको अस्तित्व, अनि त्योभन्दा बढी, सुन्दर र असल कुराहरूको विरोध गर्ने चीजहरूको अस्तित्व हो। उहाँको क्रोध सबै नकारात्मक कुरा अब अस्तित्वमा छैनन् भन्ने कुराको सङ्केत हो, र योभन्दा पनि बढी, यो उहाँको अन्तर्निहित पवित्रताको सङ्केत हो। उहाँको शोकको कारण मानवजाति नै हो, जसका लागि उहाँले आशा राख्नुभएको थियो, तर जो अन्धकारमा खसेका छन्, र यस्तो किन भएको हो भने, उहाँले मानिसमा गर्ने कामले उहाँका अभिप्रायहरू पूरा गरिरहेको छैन, किनकि उहाँले प्रेम गर्ने मानवजाति सबै ज्योतिमा जिउन सक्दैनन्। उहाँ निर्दोष मानवजाति, इमानदार तर अज्ञानी मानिस, र असल तर आफ्नै दृष्टिकोणको अभाव भएका मानिसका लागि दुःख महसुस गर्नुहुन्छ। उहाँको दुःख उहाँको भलाइ र उहाँको कृपाको सङ्केत हो, सुन्दरता र परोपकारको सङ्केत हो। उहाँको खुसी निश्चय नै उहाँका शत्रुहरूलाई पराजित गर्ने र मानिसको इमानदारी प्राप्त गर्ने कार्यबाट आउँछ। योभन्दा बढी त, यो सारा शत्रुवत् शक्तिको निष्कासन र विनाशबाट, अनि मानवजातिले राम्रो र शान्तिपूर्ण जीवन प्राप्त गर्ने कुराबाट उत्पन्न हुन्छ। परमेश्वरको खुसी मानिसको आनन्द जस्तै होइन, बरु यो त असल फलहरू कटाइ गर्ने भावना हो, जुन भावना आनन्दभन्दा अझ धेरै ठूलो कुरा हो। उहाँको खुसीयाली मानवजाति यस समयदेखि कष्टबाट मुक्त भएको, र मानवजाति ज्योतिको संसारमा प्रवेश गरेको सङ्केत हो। अर्कोतिर, मानवजातिका संवेगहरू सबै उसका आफ्ना हितहरूका खातिर उत्पन्न हुन्छन्, ती इन्साफ, ज्योति वा सुन्दर कुराका खातिर हुँदैनन्, र स्वर्गबाट दिइएको अनुग्रहका खातिर त झनै हुँदैनन्। मानवजातिका संवेगहरू स्वार्थी हुन्छन्, ती अन्धकारको संसारमा अस्तित्वमा हुन्छन्, र ती परमेश्वरको इच्छाका खातिर उत्पन्न हुँदैनन्, उहाँको योजनाका खातिर त झनै हुँदैनन्। त्यसैले, मानिस र परमेश्वरलाई कहिल्यै बराबर मान्न मिल्दैन। परमेश्वर सदासर्वदा सर्वोच्च हुनुहुन्छ र उहाँ सदासर्वदा आदरणीय हुनुहुन्छ भने, मानिसचाहिँ सदैव तुच्छ र सदैव मूल्यहीन हुन्छ। किनभने परमेश्वर सदासर्वदा मानवजातिप्रति आफूलाई अर्पित गरिरहनुभएको र शारीरिक रूपमा लागिपर्नुभएको हुन्छ, जबकि मानिसले चाहिँ सधैँ आफ्नै निम्ति माग गर्छ र आफ्नै निम्ति लागिपर्छ। परमेश्वर सधैँ मानवजातिको अस्तित्वका लागि धेरै कष्ट उठाउनुहुन्छ, तैपनि मानिसले कहिल्यै इन्साफ वा ज्योतिका खातिर कुनै योगदान गर्दैन, र मानिसले केही अस्थायी प्रयास गरे पनि, त्यसले एउटै प्रहार पनि सहन सक्दैन, किनभने मानिसको प्रयास सधैँ आफ्नै निम्ति मात्र हुन्छ, र अरूका लागि हुँदैन। मानिस सदासर्वदा स्वार्थी हुन्छ, जबकि परमेश्वर सदासर्वदा निःस्वार्थ हुनुहुन्छ। परमेश्वर सबै न्यायवान्, असल र सुन्दर कुराहरूको मूल हुनुहुन्छ, जबकि मानिस त्यो हो, जसले सबै कुरूपता र दुष्टताको उत्तराधिकार लिन्छ र तिनलाई व्यक्त गर्छ। परमेश्वरले इन्साफ र सुन्दरताको आफ्नो सार कहिल्यै रूपान्तरण गर्नुहुनेछैन, तैपनि मानिस कुनै पनि समयमा र कुनै पनि स्थानमा इन्साफलाई धोका दिएर परमेश्वरदेखि टाढा जान सक्छ।
मैले बोलेको हरेक वाक्यभित्र परमेश्वरको स्वभाव समावेश हुन्छ। तिमीहरूले मेरा वचनहरूलाई होसियारीपूर्वक जाँच्नु राम्रो हुनेछ, र तिमीहरूलाई तीबाट पक्कै पनि ठूलो लाभ मिल्नेछ। परमेश्वरको सारलाई समात्न निकै गाह्रो छ, तर मलाई विश्वास छ कि तिमीहरू सबैमा परमेश्वरको स्वभावबारे कम्तीमा केही न केही ज्ञान छ। त्यसोभए, म आशा गर्छु कि तिमीहरूसँग मलाई देखाउनका लागि तिमीहरूले परमेश्वरको स्वभावलाई नचिढ्याउने गरी गरेका कुराहरू अझ धेरै हुनेछन्। त्यसपछि म ढुक्क हुनेछु। उदाहरणका लागि, परमेश्वरलाई हरसमय आफ्नो हृदयमा राख्। तैँले काम गर्दा, उहाँका वचनहरूअनुसार गर्। सबै कुरामा उहाँका चाहनाहरू खोज्, र परमेश्वरको अनादर र बेइज्जत हुने काम गर्न छोड्। तेरो हृदयको भावी खालीपन भर्नका लागि तैँले परमेश्वरलाई आफ्नो मनको कुनामा पन्छाउनु त झनै हुँदैन। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्वरको स्वभावलाई चिढ्याएको हुनेछस्। अनि अर्को उदाहरणका रूपमा, यदि तैँले तेरो जीवनभर परमेश्वरका विरुद्धमा कहिल्यै ईशनिन्दात्मक टिप्पणीहरू वा गुनासाहरू गरिनस्, वा तैँले उहाँले सुम्पनुभएको सबै कुरा उचित रूपमा पूरा गर्न र जीवनभर उहाँका सबै वचनको अधीनमा बस्न सकिस् भने, तँ प्रशासनिक आदेशहरू उल्लङ्घन गर्नबाट बचेको हुनेछस्। उदाहरणका लागि, यदि तैँले कहिल्यै “म किन उसलाई ईश्वर ठान्दिनँ?” “मलाई लाग्छ यी वचनहरू पवित्र आत्माको कुनै प्रबोधनभन्दा बढी केही होइन,” “मेरो विचारमा, ईश्वरले गर्ने सबै कुरा सही नै हुन्छ भन्ने छैन,” “ईश्वरको मानवता मेरोभन्दा श्रेष्ठ छैन,” “ईश्वरका वचनहरू पटक्कै विश्वासयोग्य छैनन्” भनेको छस्, वा अरू यस्तै गलत ठहराउने टिप्पणीहरू गरेको छस् भने, म तँलाई आफ्ना पापहरू स्वीकार गर्न र अझ बढी मात्रामा पश्चात्ताप गर्न अर्ती दिन्छु। नत्रभने, तँलाई क्षमा पाउने मौका कहिल्यै मिल्नेछैन, किनभने तैँले चिढ्याएको कुनै व्यक्तिलाई होइन, परमेश्वर स्वयम्लाई हो। तँलाई तैँले कुनै व्यक्तिलाई गलत ठहराइरहेको छस् भन्ने लाग्ला, तर परमेश्वरका आत्माले यसलाई त्यसरी लिनुहुन्न। तैँले उहाँको देहलाई अनादर गर्नु भनेको उहाँलाई अनादर गर्नु बराबर हो। यस्तो हुनाले, के तैँले आफ्नो कार्यमार्फत परमेश्वरको स्वभावलाई चिढ्याएको छैनस् र? तैँले के कुरा याद राख्नैपर्छ भने परमेश्वरका आत्माद्वारा गरिने सबै कुरा देहमा उहाँको कामको सुरक्षा गर्नका निम्ति र यो काम राम्ररी सम्पन्न होस् भन्नका निम्ति गरिन्छ। यदि तैँले यसलाई बेवास्ता गरिस् भने, म भन्छु कि तँ यस्तो व्यक्ति होस् जो परमेश्वरमा विश्वास गर्नमा कहिल्यै सफल हुन सक्नेछैन। तैँले परमेश्वरलाई रिस उठाएको छस्, त्यसैले उहाँले तँलाई पाठ सिकाउन उचित दण्ड प्रयोग गर्नुहुनेछ।
परमेश्वरको सार जान्नु कुनै मामुली कुरा होइन। तैँले उहाँको स्वभाव बुझ्नैपर्छ। यसरी, तैँले बिस्तारै र थाहै नपाई, परमेश्वरको सार जान्नेछस्। जब तँसँग यो ज्ञान हुन्छ, तब तैँले आफूलाई अझ उच्च र अझ सुन्दर स्थितिमा प्रवेश गरिरहेको पाउनेछस्। अन्त्यमा, तँलाई आफ्नो घिनलाग्दो आत्माबारे लाज महसुस हुनेछ, र, अझ बढी, आफ्नो लाजबाट लुक्ने ठाउँ कतै नभएको महसुस हुनेछ। त्यतिबेला, तेरा कार्यहरूमा परमेश्वरको स्वभावलाई चिढ्याउने कुराहरू झन्-झन् कम हुनेछन्, तेरो हृदय परमेश्वरको हृदयको झन्-झन् नजिक आउनेछ, र तेरो हृदयमा बिस्तारै उहाँप्रति प्रेम पलाउनेछ। यो मानवजाति एउटा सुन्दर स्थितिमा प्रवेश गर्नुको सङ्केत हो। तर अहिलेसम्म, तिमीहरूले यो प्राप्त गरेका छैनौ। तिमीहरू सबै जना आफ्नो नियतिका खातिर दौडधुप गरिरहँदा, परमेश्वरको सार जान्ने प्रयास गर्न कसलाई मन लाग्छ र? यदि यस्तै चलिरह्यो भने, तिमीहरूले थाहै नपाई प्रशासनिक आदेशहरू उल्लङ्घन गर्नेछौ, किनभने तिमीहरू परमेश्वरको स्वभावका बारेमा अत्यन्तै कम बुझ्छौ। त्यसोभए तिमीहरू अहिले जे गरिरहेका छौ त्यसले परमेश्वरको स्वभावविरुद्ध तिमीहरूका अपराधहरूको जग बसालिरहेको छैन र? मैले तिमीहरूलाई परमेश्वरको स्वभाव बुझ्न भन्नु मेरो कामसँग असम्बन्धित कुरा होइन। किनभने यदि तिमीहरूले बारम्बार प्रशासनिक आदेशहरू उल्लङ्घन गर्यौ भने, तिमीहरूमध्ये को चाहिँ दण्डबाट उम्कनेछ र? के त्यसपछि मेरो काम पूर्ण रूपमा व्यर्थ हुनेछैन र? त्यसकारण, म अझै पनि आफ्नो आचरणलाई सम्हाल्नुबाहेक आफूले चाल्ने कदमहरूमा सावधान हुन भन्छु। यो मैले तिमीहरूसँग गर्ने अझ उच्च माग हो, र म आशा गर्छु कि तिमीहरू सबैले यसलाई होसियारीपूर्वक ख्याल गर्नेछौ र यसलाई गम्भीरताका साथ लिनेछौ। यदि कुनै दिन तिमीहरूका कार्यहरूले मलाई उक्साएर चरम रिस उठाए भने, त्यसका परिणामहरूलाई ख्याल गर्ने जिम्मेवारी तिमीहरूको मात्र हुनेछ, र तिमीहरूका सट्टामा दण्ड भोग्ने अरू कोही पनि हुनेछैन।