घ. न्याय, सजाय, परीक्षाहरू र शोधन भएर कसरी जाने सो सम्बन्धमा
३६६. युगलाई समाप्त गर्ने परमेश्वरको अन्तिम काममा, उहाँको स्वभाव सजाय र न्यायको हो, जसमा उहाँ अधार्मिक सबै कुरा प्रकट गर्नुहुन्छ, असङ्ख्य मानिसहरूको सार्वजनिक रूपमा न्याय गर्नुहुन्छ र उहाँलाई सच्चा रूपमा प्रेम गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ। यस्तो स्वभावले मात्र त्यस युगलाई समाप्त गर्न सक्छ। आखिरी दिनहरू आइसकेका छन्। यावत् थोकहरू तिनका प्रकारअनुसार वर्गीकरण गरिन्छन्, र तिनका फरक-फरक गुणहरूका आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्वरले मानिसहरूका परिणाम र गन्तव्य प्रकाश गर्नुहुने समय ठ्याक्कै यही हो। यदि मानिसहरू सजाय र न्याय अनुभव गर्दैनन् भने, तिनीहरूको विद्रोहीपन र अधार्मिकता खुलासा गर्न सकिँदैन। केवल सजाय र न्यायमार्फत यावत् थोकका परिणामहरू प्रकट गर्न सकिन्छ। मानिसहरू आफूलाई सजाय दिइँदा र न्याय गरिँदा मात्र आफू साँचो रूपमा के हो त्यो देखाउँछन्। दुष्टलाई दुष्टको साथमा, असललाई असलको साथमा राखिनेछ, र सबै मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ। सजाय र न्यायमार्फत, यावत् थोकका परिणाम प्रकाश गरिनेछ, ताकि दुष्टलाई दण्ड र असललाई इनाम दिन सकियोस्, र असङ्ख्य मानिसले परमेश्वरको प्रभुत्वमा आफूलाई समर्पण गरून्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसहरूको भ्रष्टता चरमबिन्दुमा पुगेकाले, र तिनीहरूको विद्रोहीपन अत्यन्तै गम्भीर बनेकाले, परमेश्वरको मुख्यतः सजाय र न्याय समावेश भएको र आखिरी दिनहरूमा प्रकाश हुने धर्मी स्वभावले मात्र मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्न र पूर्ण पार्न र दुष्टतालाई प्रकाश गर्न सक्छ, र यसरी सबै अधर्मीहरू गम्भीर रूपमा दण्डित हुनेछन्। त्यसकारण, यस्तो स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ। प्रत्येक नयाँ युगको कामका खातिर परमेश्वरको स्वभाव प्रकाश र प्रकट हुन्छ। परमेश्वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकाश गर्नुहुन्छ भन्ने होइन। मानौँ, मानिसहरूका परिणाम प्रकट गर्ने आखिरी दिनहरूमा, परमेश्वर मानिसलाई अझै पनि असीम कृपा र प्रेमिलो दयाका साथ प्रेम गर्नुहुन्छ र तिनीहरूप्रति निरन्तर प्रेमिलो हुनुहुन्छ, तिनीहरूलाई धर्मी न्यायको अधीनमा नल्याई, बरु नरमपन, धैर्य र क्षमा देखाउनुहुन्छ र तिनीहरूका पाप जति नै गम्भीर भए पनि, कुनै धर्मी न्याय नगरी तिनीहरूलाई क्षमा गर्नुहुन्छ। त्यसोभए, परमेश्वरको सम्पूर्ण व्यवस्थापन कहिले समाप्त हुनेथियो? यस्तो स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेथियो? यसलाई सधैँ मानिसहरूप्रति प्रेमिलो हुने न्यायाधीश, दयालु मुहार र कोमल हृदयको न्यायाधीशसँग तुलना गर्न सकिन्छ, जो मानिसहरूलाई उनीहरूले जस्तोसुकै अपराध गरेका भए पनि प्रेम गर्छ र तिनीहरू जोसुकै भए पनि तिनीहरूप्रति प्रेम र सहनशीलता देखाउँछ—त्यस्तो न्यायाधीशले कहिले चाहिँ न्यायसङ्गत फैसला गर्न सक्छ र? आखिरी दिनहरूको अवधिमा, केवल धर्मी न्यायले मानिसहरूलाई उनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न र तिनीहरूलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यसरी, न्याय र सजायको परमेश्वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
३६७. मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिएन। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा पाप स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट मुक्ति दिन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्ने थाहा पाए, तब तिनीहरूले गुनासो गरे, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानिस अझै पनि परमेश्वरको प्रभुत्वको अन्तर्गत पूर्ण रूपमा समर्पित हुन असमर्थ छ भनी देखाउँदैन र? के ठ्याक्कै यही नै मानिसका शैतानी भ्रष्ट स्वभाव होइनन् र? जब तँलाई सजायको अधीनमा पारिएको थिएन, तँ तेरो हात अरू सबैका भन्दा माथि उठाउँथिस्, येशूको भन्दा पनि माथि उठाउँथिस्। अनि तँ ठूलो स्वरमा कराउँथिस्, “परमेश्वरको प्यारो छोरा हुनू! परमेश्वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मरौँला! त्यो वृद्ध शैतानविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर सदाका लागि शक्तिबाट खसोस्। परमेश्वरले हामीलाई पूर्ण बनाउनुहोओस्!” तैँले अरू सबैको भन्दा चर्को स्वरमा पुकारिस्। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, तेरा भ्रष्ट स्वभावहरू प्रकट भए। तेरो पुकार रोकियो, र तैँले तेरो सङ्कल्प गुमाइस्। मानिसको भ्रष्टता यही नै हो; यो यस्तो कुरा हो, जुन पापभन्दा गहिरो छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
३६८. आज परमेश्वर तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले के थाहा पाउनुपर्छ भने, तँलाई दोषी ठहराउनुको उद्देश्य तैँले आफैलाई चिन्नु हो। उहाँ तँलाई दोषी ठहराउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, ताकि तँ आफूलाई चिन्न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, र यसभन्दा पनि बढी, ताकि तँ आफ्नो मूल्य जान्न सक्, र परमेश्वरका सबै कार्य धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरूअनुसार छन्, र उहाँ मानिसको मुक्तिसम्बन्धी आफ्नो योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने र मुक्ति दिनुहुने, अनि न्याय गर्नुहुने र सजाय पनि दिनुहुने धर्मी परमेश्वर हुनुहुन्छ भनी देख्न सक्। यदि तँलाई तँ निम्न हैसियतको छस्, तँ भ्रष्ट र विद्रोही छस् भन्ने मात्र थाहा छ, तर परमेश्वरले आज तँमाथि जुन न्याय र सजाय गर्नुहुन्छ त्यसमार्फत उहाँले आफ्नो मुक्ति प्रकट गर्ने अभिप्राय राख्नुहुन्छ भन्ने थाहा छैन भने, तैँले कामकुरा अनुभव गर्न सम्भव छैन, अनि तँ अघि बढिरहन त झनै सक्षम छैनस्। परमेश्वर मानिसहरूलाई ढाल्न वा नष्ट गर्न आउनुभएको होइन, बरु तिनीहरूलाई न्याय गर्न, श्राप दिन, सजाय दिन, र मुक्ति दिन आउनुभएको हो। उहाँको ६ हजार वर्षे व्यवस्थापनको योजना समाप्त नभएसम्म—उहाँले प्रत्येक वर्गको मानिसको परिणाम प्रकट गर्नुअघि—पृथ्वीमा परमेश्वरको काम पूर्ण रूपमा मुक्तिका खातिर हुन्छ; यसको उद्देश्य उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण रूपमा सिद्ध पार्नु र तिनीहरूलाई उहाँको प्रभुत्वअन्तर्गत समर्पण गर्न लगाउनु मात्रै हो। परमेश्वरले मानिसहरूलाई जसरी मुक्ति दिनुभए पनि, यो सबै तिनीहरूलाई तिनीहरूको पुरानो शैतानी प्रकृतिबाट अलग गराएर गरिन्छ; अर्थात्, उहाँ तिनीहरूलाई जीवन पछ्याउन लगाएर मुक्ति दिनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूले परमेश्वरको मुक्ति स्वीकार गर्न सम्भव हुनेछैन। मुक्ति परमेश्वर स्वयम्को काम हो, र मुक्ति स्वीकार गर्नका निम्ति मानिसले जीवन पछ्याउनैपर्छ। मानिसको नजरमा, मुक्ति भनेको परमेश्वरको प्रेम हो, र परमेश्वरको प्रेम सजाय, न्याय, र श्राप हुन सक्दैन; मुक्तिमा कृपा, दयाधर्म, र, यतिमात्र नभएर, सान्त्वनाका वचनहरू, साथै परमेश्वरले प्रदान गर्नुभएका असीमित आशिष्हरू समावेश हुनैपर्छ। मानिसहरू के विश्वास गर्छन् भने, परमेश्वरले मानिसलाई मुक्ति दिँदा उसलाई उहाँका आशिष् र अनुग्रहले प्रेरित गरेर त्यसो गर्नुहुन्छ, ताकि उसले आफ्नो हृदय परमेश्वरलाई दिन सकोस्। भन्नुको मतलब, उहाँले मानिसलाई छुनु नै उहाँले उसलाई मुक्ति दिनु हो। यस प्रकारको मुक्ति लेनदेन हो। परमेश्वरले मानिसलाई सय गुणा दिँदा मात्र ऊ परमेश्वरको नाउँसमक्ष आफूलाई समर्पण गर्न आउनेछ, र यसरी परमेश्वरलाई गर्व गराउनेछ र उहाँलाई महिमित पार्नेछ। मानवजातिप्रति परमेश्वरको अभिप्राय यो होइन। परमेश्वर भ्रष्ट मानवजातिलाई मुक्ति दिनका निम्ति पृथ्वीमा काम गर्न आउनुभएको हो; यसमा कुनै झूट छैन। यदि यस्तो नभएको भए, उहाँ पक्कै पनि आफ्नो काम गर्न व्यक्तिगत रूपमा आउनुभएको हुनेथिएन। विगतमा, उहाँले मुक्ति दिने विधिमा सबैभन्दा धेरै कृपा र दयाधर्म देखाउनुहुन्थ्यो, यतिसम्म कि उहाँले सम्पूर्ण मानवजातिको बदलामा शैतानलाई आफ्नो सर्वस्व दिनुभयो। वर्तमान भनेको विगतजस्तो छँदै छैन: आज तिमीहरूको मुक्ति आखिरी दिनहरूमा हुन्छ, जब हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिन्छ; तिमीहरूको मुक्तिको माध्यम कृपा वा दयाधर्म होइन, बरु सजाय र न्याय हो, ताकि मानिसलाई अझ पूर्ण रूपमा मुक्ति दिन सकियोस्। तसर्थ, तिमीहरूले सजाय, न्याय, र निर्दयी प्रहार मात्र प्राप्त गर्छौ, तर यो कुरा जानिराख: यस निर्दयी प्रहारमा अलिकति पनि दण्ड हुँदैन। मेरा वचनहरू जतिसुकै कठोर भए पनि, तिमीहरूमाथि केही त्यस्ता वचन मात्रै आइपर्छन् जुन तिमीहरूलाई पूर्ण रूपमा निर्दयी लाग्न सक्छन्, र म जतिसुकै रिसाएको भए पनि, तिमीहरूमाथि अझै पनि हप्काइका वचनहरू नै आइपर्छन्, र मेरो उद्देश्य तिमीहरूलाई हानि गर्नु वा मृत्युदण्ड दिनु होइन। के यी सबै तथ्य होइनन् र? आजकाल, चाहे त्यो धर्मी न्याय होस् वा निर्दयी शोधन र सजाय होस्, सबै कुरा मुक्तिका खातिर हो भन्ने जानिराख। आज हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने भए पनि वा सबै प्रकारका मानिस प्रकट गरिने भए पनि, परमेश्वरका सबै वचन र कामको उद्देश्य परमेश्वरलाई साँच्चै प्रेम गर्नेहरूलाई मुक्ति दिनु हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्न ल्याइन्छ, र निर्दयी शोधन उसलाई स्वच्छ पार्न गरिन्छ; कठोर वचनहरू वा ताडना दुवै शुद्ध गर्नका लागि गरिन्छन् र ती मुक्तिका खातिर हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्हरू त्याग्नुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्रायलाई बुझ्नुपर्छ
३६९. मानिसको स्थिति र परमेश्वरप्रति मानिसको मनोवृत्तिको सामना गरेर, परमेश्वरले नयाँ काम गर्नुभएको छ, जसले मानिसलाई उहाँबारे ज्ञान र उहाँप्रति समर्पण, साथै प्रेम र गवाही दुवै प्राप्त गर्न सम्भव तुल्याएको छ। तसर्थ, मानिसले परमेश्वरद्वारा गरिने शोधन, साथै उहाँको न्याय र काटछाँट अनुभव गर्नैपर्छ, जुनविना मानिसले परमेश्वरलाई कहिल्यै चिन्नेछैन र ऊ उहाँलाई साँचो रूपमा प्रेम गर्न र उहाँको साक्षी दिन कहिल्यै सक्षम हुनेछैन। मानिसमाथिको परमेश्वरको शोधन एकतर्फी परिणामको खातिर मात्रै होइन, बहुआयामिक परिणामको खातिर हो। त्यसकारण परमेश्वर सत्यता खोज्न इच्छुक हुनेहरूमा शोधनको काम गर्नुहुन्छ, ताकि तिनीहरूको सङ्कल्प र प्रेम परमेश्वरद्वारा सिद्ध पारियोस्। सत्यता खोज्न इच्छुक हुने र परमेश्वरको अभिलाषा राख्नेहरूका लागि, यस्तो शोधनभन्दा बढी अर्थपूर्ण, वा बढी सहयोगी अरू केही हुँदैन। परमेश्वरको स्वभाव मानिसले त्यति सजिलै बुझ्न वा बोध गर्न सक्दैन। परमेश्वर आखिर परमेश्वर नै हुनुभएको, र अन्ततः परमेश्वरको स्वभाव मानिसको जस्तै हुन असम्भव भएको हुनाले, मानिसलाई उहाँको स्वभाव बुझ्न सजिलो छैन। सत्यता मानिसद्वारा अन्तर्निहित रूपमा धारण गरिएको हुँदैन, र शैतानद्वारा भ्रष्ट तुल्याइएकाहरू यसलाई सजिलै बोध गर्न सक्दैनन्; मानिस सत्यताविहीन छ, र सत्यतालाई व्यवहारमा लागु गर्ने सङ्कल्पविहीन छ, र यदि उसले दुःख भोगेन र उसलाई शोधन वा न्याय गरिएन भने, उसको सङ्कल्प कहिल्यै पूरा हुनेछैन। सबै मानिसहरूका लागि, शोधन अत्यन्तै पीडादायी हुन्छ, र स्विकार्न धेरै गाह्रो हुन्छ—तैपनि शोधनको दौरान नै परमेश्वर मानिसलाई उहाँको धर्मी स्वभाव प्रकट गर्नुहुन्छ, र मानिसप्रतिका आफ्ना मागहरू अवगत गराउनुहुन्छ, र थप अन्तर्दृष्टि र थप व्यावहारिक काटछाँट प्रदान गर्नुहुन्छ; तथ्यहरू र सत्यताबीचको तुलनामार्फत, मानिसले आफ्नैबारे र सत्यताबारे अझ ठूलो ज्ञान, र परमेश्वरका अभिप्रायहरूको अझ बढी बुझाइ प्राप्त गर्छ, यसरी मानिसले परमेश्वरका लागि अझ साँचो र अझ शुद्ध प्रेम प्राप्त गर्न सक्षम हुन्छ। शोधनको काम गर्नुपछाडिका परमेश्वरका उद्देश्यहरू यस्तै छन्। परमेश्वरले मानिसमा गर्ने सबै कामका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्वर अर्थहीन काम गर्नुहुन्न, न त मानिसलाई लाभ नहुने काम नै गर्नुहुन्छ। शोधनको अर्थ मानिसहरूलाई परमेश्वरसामुबाट हटाउनु होइन, न त तिनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको दौरान मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका अभिप्रायहरू, उसका पुराना दृष्टिकोण, परमेश्वरप्रतिको उसको प्रेम, र ऊ जिउने सम्पूर्ण तरिका परिवर्तन गर्नु हो। शोधन मानिसको एक व्यावहारिक जाँच हो, र एक प्रकारको व्यावहारिक तालिम हो, शोधनको दौरान मात्र उसको प्रेमले आफ्नो अन्तर्निहित कार्य गर्न सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ
३७०. मानिसहरूका स्वभावहरू मानिसहरू आफैले परिवर्तन गर्न सक्दैनन्; तिनीहरूले परमेश्वरका वचनहरूको न्याय र सजाय, र परीक्षा र शोधन भोग्नैपर्छ, वा उहाँका वचनहरूबाट काटछाँट र ताडना भोग्नैपर्छ। त्यसपछि मात्र तिनीहरूले परमेश्वरप्रति समर्पण र बफादारी हासिल गर्न सक्छन्, र आइन्दा उहाँप्रति झाराटारुवा व्यवहार गर्दैनन्। परमेश्वरका वचनहरूको शोधनमा परेपछि नै मानिसहरूका स्वभावहरू परिवर्तन हुन्छन्। उहाँका वचनहरूको खुलासा, न्याय, ताडना, र काटछाँटमार्फत मात्रै तिनीहरू आइन्दा हतारमा काम गर्ने आँट गर्नेछैनन् बरु त्यसको सट्टा स्थिर र शान्त बन्नेछन्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने तिनीहरू परमेश्वरका वर्तमान वचनहरूप्रति, र उहाँको कामप्रति समर्पित हुन सक्नेछन्। यो मानव धारणाहरूसँग मिल्दो नभए पनि, तिनीहरू यी धारणाहरूलाई त्याग्न र जानाजानी समर्पित हुन सक्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्
३७१. परमेश्वरले मानिसहरूलाई जति धेरै शोधन गर्नुहुन्छ, मानिसहरूको हृदयले परमेश्वरलाई त्यति नै धेरै प्रेम गर्न सक्। तिनीहरूको हृदयको कष्टले तिनीहरूको जीवनमा फाइदा पुर्याउँछ; यसले तिनीहरूलाई परमेश्वरसामु शान्त हुन अझ बढी सक्षम बनाउँछ, परमेश्वरसँग अझ बढी घनिष्ठ सम्बन्ध राख्ने तुल्याउँछ, र परमेश्वरको अथाह प्रेम र उहाँको विशाल मुक्ति देख्न झनै सक्षम बनाउँछ। पत्रुसले सयौँ पटक शोधन अनुभव गरे, र अय्यूबले केही परीक्षा भोगे। यदि तिमीहरू परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, तिमीहरूले पनि सयौँ पटक शोधन भोग्नैपर्छ—तिमीहरूले यो प्रक्रियाबाट गुज्रनैपर्छ र यस कदममा भर पर्नैपर्छ—तब मात्रै तिमीहरू परमेश्वरका अभिप्रायहरू पूरा गर्न र परमेश्वरद्वारा सिद्ध पारिन सक्षम हुनेछौ। शोधन नै त्यो सर्वोत्तम माध्यम हो, जसद्वारा परमेश्वर मानिसलाई सिद्ध पार्नुहुन्छ; शोधन र तीता परीक्षाहरूमार्फत मात्र मानिसहरूको हृदयले परमेश्वरप्रति साँचो प्रेम विकास गर्न सक्छ। कष्टविना, मानिसहरूमा परमेश्वरका लागि साँचो प्रेम हुँदैन; यदि तिनीहरूलाई भित्री रूपमा जाँचिएन भने, यदि तिनीहरूलाई साँचो शोधन भोगाइएन भने, तिनीहरूको हृदय सधैँ बाहिर भौँतारिरहेको हुनेछ। एक निश्चित बिन्दुसम्म शोधन गरिएपछि, तैँले आफ्नै कमजोरी र कठिनाइहरू देख्नेछस्, तँमा निकै कमी रहेछन् र तँ आफूले सामना गर्ने धेरै कठिनाइहरूमाथि विजय हासिल गर्न नसक्ने रहेछस् भनी देख्नेछस्, र तैँले निकै धेरै विद्रोह गरेको रहेछस् भनी देख्नेछस्। परीक्षाहरूको दौरान मात्रै मानिसहरूले आफ्नो वास्तविक स्थिति साँचो रूपमा जान्न सक्छन्; परीक्षाहरू मानिसलाई सिद्ध पार्न अझ बढी सक्षम हुन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ
३७२. जब तिमीहरूले थोरै रोकटोक वा कठिनाइ भोग्छौ, त्यो तिमीहरूका निम्ति राम्रो हुन्छ; यदि तिमीहरूलाई सहज समय दिइयो भने तिमीहरू बरबाद हुनेथ्यौ, तब तिमीहरू कसरी सुरक्षित हुन सक्थ्यौ? आज, तिमीहरूलाई सजाय, न्याय र श्राप दिइएको हुनाले तिमीहरूलाई सुरक्षा दिइएको छ। तिमीहरूले धेरै दुःख भोगेका हुनाले नै तिमीहरू सुरक्षित छौ। होइन भने तिमीहरू धेरै अघि नै पतित हुनेथियौ। यो जानीजानी तिमीहरूको स्थिति गाह्रो बनाइएको होइन—मानिसको प्रकृति परिवर्तन गर्न गाह्रो छ, र त्यसैले तिनीहरूको स्वभाव परिवर्तन गर्न यो यसरी नै गरिनुपर्छ। आज, तिमीहरूमा पावलको जस्तो विवेक वा समझ छैन, न त तिमीहरूमा आत्म-सचेतना नै छ। तिमीहरूलाई सधैँ दबाबमा पार्नुपर्छ र तिमीहरूका आत्मालाई जगाउन तिमीहरूलाई सधैँ सजाय र न्याय गर्नुपर्छ। सजाय र न्याय नै तिमीहरूको जीवनका निम्ति सर्वोत्तम छ। अनि आवश्यक पर्दा, तिमीहरूमाथि तथ्यहरूको सजाय पनि आइपर्नुपर्छ; तब मात्र तिमीहरू पूर्ण रूपमा समर्पित हुनेछौ। तिमीहरूको प्रकृति यस्तो छ कि सजाय र श्रापविना तिमीहरू आफ्नो शिर झुकाउन इच्छुक हुँदैनौ, झुक्न इच्छुक हुँदैनौ। तिमीहरूको आँखाअगाडि तथ्यहरू नराखीकन, कुनै प्रभाव हुनेछैन। तिमीहरू चरित्रमा अति तुच्छ र महत्त्वहीन छौ। सजाय र न्यायविना तिमीहरूलाई विजय गर्न र तिमीहरूको अधार्मिकता र अवज्ञामाथि विजय हासिल गर्न गाह्रो छ। तिमीहरूको पुरानो प्रकृतिको जड अत्यन्तै गहिरो छ। यदि तिमीहरूलाई सिंहासनमा राखिएको भए, तिमीहरूलाई ब्रह्माण्डमा आफ्नो स्थान के हो भन्ने थाहा हुनेथिएन, तिमीहरू कहाँ जाँदै छौ भन्ने थाहा हुनु त परै जाओस्। तिमीहरू कहाँबाट आएका हौ भन्ने पनि तिमीहरूलाई थाहा हुँदैन, त्यसैले तिमीहरूले सृष्टिकर्तालाई कसरी चिन्न सक्छौ? आजको सामयिक सजाय र श्रापविना तिमीहरूको अन्तिम दिन धेरै अघि नै आइसकेको हुनेथ्यो। तिमीहरूको भाग्यका बारेमा त झन् के भन्नु—के त्यो झन् बढी आसन्न खतरामा पर्नेथिएन र? यो सामयिक सजाय र न्यायविना तिमीहरू कति धेरै अहङ्कारी हुनेथ्यौ वा तिमीहरू कति पतित हुनेथ्यौ, कसलाई थाहा छ र। यस सजाय र न्यायले तिमीहरूलाई आजको दिनमा ल्याएको छ र तिनले तिमीहरूको अस्तित्व सुरक्षित राखेका छन्। यदि तिमीहरू अझै पनि तिमीहरूका “पिता” का जस्तै विधिहरू प्रयोग गरी “शिक्षित” हुन्थ्यौ भने, तिमीहरू कुन क्षेत्रभित्र प्रवेश गर्नेथ्यौ भनी कसले जान्दछ! तिमीहरूमा आफैलाई नियन्त्रण गर्ने र आफ्नै बारेमा चिन्तन गर्ने क्षमता बिलकुल छैन। तिमीहरूजस्ता मानिस यदि कुनै पनि अवरोध वा बाधा सृजना नगरी पछि लाग्छौ र समर्पित हुन्छौ भने, मेरा उद्देश्यहरू हासिल हुनेछन्। के तिमीहरूले आजको सजाय र न्यायलाई स्वीकार गर्न अझ राम्रो गर्नुपर्दैन र? तिमीहरूसँग अरू के विकल्प छ र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (६)
३७३. परमेश्वरको कामको हरेक चरणका लागि, मानिसहरूले सहकार्य गर्नुपर्ने एउटा तरिका हुन्छ। परमेश्वर मानिसहरूलाई शोधन गर्नुहुन्छ ताकि शोधनहरूबाट गुज्रँदा तिनीहरूसँग आस्था होस्। परमेश्वर मानिसहरूलाई सिद्ध पार्नुहुन्छ ताकि तिनीहरूसँग परमेश्वरद्वारा सिद्ध पारिने आस्था होस् र तिनीहरू उहाँका शोधनहरू स्वीकार गर्न र परमेश्वरद्वारा काटछाँट गरिन इच्छुक होऊन्। परमेश्वरका आत्मा मानिसहरूका लागि अन्तर्दृष्टि र ज्योति ल्याउन र तिनीहरूलाई उहाँसँग सहकार्य र अभ्यास गर्न लगाउन तिनीहरूभित्र काम गर्नुहुन्छ। परमेश्वर शोधनको दौरान बोल्नुहुन्न वा आफ्नो आवाज निकाल्नुहुन्न, तर अझै पनि, मानिसहरूले गर्नुपर्ने काम हुन्छ। तैँले आफूसँग पहिले नै भएको कुरालाई कायम राख्नुपर्छ र तँ अझै पनि परमेश्वरलाई प्रार्थना गर्न, परमेश्वरको नजिक हुन र परमेश्वरसामु आफ्नो गवाहीमा दृढ रहन सक्नुपर्छ; यसरी तैँले आफ्नो कर्तव्य पूरा गर्नेछस्। तिमीहरू सबैले परमेश्वरले लिने मानिसहरूको आस्था र प्रेमका परीक्षाहरूले तिनीहरूले उहाँलाई अझ बढी प्रार्थना गर्नुपर्ने र तिनीहरूले परमेश्वरसामु उहाँका वचनहरूको अझ बढी स्वाद लिनुपर्ने माग गर्छन् भनी परमेश्वरको कामबाट स्पष्ट रूपमा देखेका छौ। यदि परमेश्वर तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र तँलाई उहाँका अभिप्रायहरू बुझ्न लगाउनुहुन्छ, तैपनि तँ पटक्कै अभ्यास गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तँ आफूले उहाँका वचनहरू अभ्यास गर्दा अझै पनि परमेश्वरलाई प्रार्थना गर्न सक्षम हुनुपर्छ, तैँले उहाँका वचनहरूको स्वाद लिँदा सधैँ परमेश्वरसामु खोज्नुपर्छ, र तँ उहाँप्रति आस्थाले भरिएको हुनुपर्छ, निरुत्साहित वा रुखो हुनु हुँदैन। परमेश्वरका वचनहरू अभ्यास नगर्नेहरू भेलाहरूमा ऊर्जाले भरिपूर्ण हुन्छन्, तर घर फर्केपछि अन्धकारमा पर्छन्। कतिपय त भेला हुनसमेत चाहँदैनन्। त्यसैले, तैँले मानिसहरूले गर्नुपर्ने कर्तव्य के हो भनेर स्पष्ट रूपमा बुझ्नैपर्छ। तँलाई परमेश्वरका अभिप्रायहरू वास्तवमा के हुन् भनेर थाहा नहुन सक्छ, तर तैँले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, तैँले प्रार्थना गर्नुपर्ने बेलामा प्रार्थना गर्नुपर्छ र तैँले सत्यता अभ्यास गर्नुपर्ने बेलामा सत्यता अभ्यास गर्नुपर्छ। यदि तँ मानिसहरूले गर्नुपर्ने सबै कुरा गर्छस् र आफ्नो सुरुको दर्शन कायम राख्छस् भने, तँ परमेश्वरको कामको अर्को चरण स्वीकार गर्न अझ बढी सक्षम हुनेछस्। जब परमेश्वर गुप्त रूपमा काम गर्नुहुन्छ, तब यदि तँ पछ्याउँदैनस् भने यो एउटा समस्या हो। जब उहाँ भेलाहरूको दौरान बोल्नुहुन्छ र प्रचार गर्नुहुन्छ, तब तँ उत्साहका साथ सुन्छस्, तर जब उहाँ बोल्नुहुन्न तब तँमा ऊर्जाको कमी हुन्छ र तँ पछि हट्छस्। यसरी त कस्तो प्रकारको व्यक्तिले कार्य गर्छ? यो त भीड जता जान्छ त्यतै नै पछि लाग्ने व्यक्ति हो। ऊसँग अडान, गवाही र दर्शन हुँदैन! धेरैजसो मानिस यस्तै हुन्छन्। यदि तँ त्यही मार्गमा लागिरहिस् भने, तैँले कुनै दिन ठूलो परीक्षा सामना गर्दा, तँ दण्डमा पर्नेछस्। मानिसहरूलाई सिद्ध पार्ने परमेश्वरको प्रक्रियामा अडान हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तँ परमेश्वरको कामको एउटै चरणलाई पनि शङ्का गर्दैनस् भने, यदि तँ मानिसको कर्तव्य पूरा गर्छस् भने, यदि तँ परमेश्वरले तँलाई अभ्यास गर्न लगाएको कुरालाई निष्कपट रूपमा कायम राख्छस् भने—अर्थात्, यदि तँ परमेश्वरका अर्तीहरू सम्झन्छस्, र वर्तमान समयमा उहाँले जे गर्नुभए पनि, उहाँका अर्तीहरू बिर्सँदैनस्, उहाँको कामबारे कुनै शङ्का गर्दैनस्, आफ्नो अडानमा कायम रहन्छस्, आफ्नो गवाही कायम राख्छस् र हरेक चरणमा विजयी हुन्छस् भने—अन्त्यमा तँ परमेश्वरद्वारा सिद्ध पारिनेछस् र विजेता बनाइनेछस्। यदि तँ परमेश्वरका परीक्षाहरूको हरेक चरणमा दृढ रहन सक्षम हुन्छस्, र यदि तँ अन्त्यसम्मै दृढ रहन सक्छस् भने, तँ विजेता होस् र तँ परमेश्वरद्वारा सिद्ध पारिएको व्यक्ति होस्। यदि तँ आफ्ना हालका परीक्षाहरूमा दृढ रहन सक्दैनस् भने, भविष्यमा यो अझ बढी गाह्रो हुनेछ। यदि तँ केवल नगण्य मात्रामा कष्ट भोग्छस् र सत्यता पछ्याउँदैनस् भने, अन्ततः तैँले केही प्राप्त गर्नेछैनस्। तँ रित्तो हात रहनेछस्। कतिपय मानिस परमेश्वर नबोलिरहनुभएको देख्दा आफ्नो पछ्याइलाई त्याग्छन् र तिनीहरूको हृदय छरपस्ट बन्छ। के यस्तो व्यक्ति मूर्ख होइन र? यस प्रकारका मानिसहरूसँग कुनै वास्तविकता हुँदैन। जब परमेश्वर बोलिरहनुभएको हुन्छ, तब तिनीहरू सधैँ यताउति दौडधुप गरिरहेका हुन्छन्, तिनीहरू बाहिरी रूपमा व्यस्त र उत्साही देखिन्छन्, तर अब उहाँ नबोलिरहनुभएको हुनाले, तिनीहरू पछ्याउन छोड्छन्। यस प्रकारको व्यक्तिको कुनै भविष्य हुँदैन। शोधनहरूको दौरान, तँ सकारात्मक दृष्टिकोणबाट प्रवेश गर्नैपर्छ र तैँले आफूले सिक्नुपर्ने पाठहरू सिक्नैपर्छ; जब तँ परमेश्वरलाई प्रार्थना गर्छस् र उहाँको वचन पढ्छस्, तब तैँले त्यससँग आफ्नो अवस्था तुलना गर्नुपर्छ, आफ्ना कमजोरीहरू पत्ता लगाउनुपर्छ र आफूले अझै धेरै पाठ सिक्न बाँकी छ भन्ने थाहा पाउनुपर्छ। तँ शोधनहरूबाट गुज्रँदा जति निष्कपट रूपमा पछ्याउँछस्, तैँले आफूलाई त्यति नै अयोग्य पाउनेछस्। किनभने शोधन गरिने क्रममा तँ आफूले स्पष्ट रूपमा देख्न नसक्ने धेरै समस्या सामना गर्छस् र गुनासो गर्न सक्छस् अनि आफ्नै देह प्रकट गर्न सक्छस्। त्यसपछि मात्र तँ आफूभित्र अत्यन्तै धेरै भ्रष्ट स्वभाव छन् भनेर पत्ता लगाउन सक्छस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीले परमेश्वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ
३७४. परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु, भित्री रूपमा नकारात्मक हुनु, परमेश्वरका अभिप्रायहरू नबुझ्नु वा अभ्यासको मार्गबारे प्रस्टता नहुनु सामान्य हो। तर जे भए पनि, तँमा परमेश्वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्वरलाई इन्कार गर्नु हुँदैन। अय्यूब कमजोर भए पनि र उसले आफू जन्मेको दिनलाई सरापे पनि, उसले मानिसहरू जन्मेपछि, तिनीहरूसँग हुने सबै थोक यहोवाले नै दिनुहुन्छ, र यहोवाले नै ती लैजानु पनि हुन्छ भन्ने कुरा इन्कार गरेन। उसलाई जस्तोसुकै परीक्षाहरू भोगाइएको भए पनि, उसले यो विश्वास कायम राख्यो। तैँले आफ्ना अनुभवहरूभित्र परमेश्वरका वचनहरूबाट जे-जस्तो शोधन भोगे पनि, परमेश्वरले समग्रमा चाहने भनेको तेरो आस्था र परमेश्वरलाई प्रेम गर्ने हृदय नै हो। यसरी काम गरेर उहाँ मानिसहरूको आस्था, प्रेम र सङ्कल्पलाई सिद्ध पार्नुहुन्छ। परमेश्वरले मानिसहरूमा सिद्धताको काम गर्नुहुन्छ, र तिनीहरू त्यो देख्न सक्दैनन्, त्यो छुन सक्दैनन्; त्यस्ता परिस्थितिहरूमा, आस्था आवश्यक हुन्छ। जब कुनै कुरा नाङ्गो आँखाले देख्न सकिँदैन, त्यतिबेला आस्था चाहिन्छ। जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्, त्यतिबेला आस्था चाहिन्छ। जब परमेश्वरको कामको विषयबारे तँमा स्पष्टता हुँदैन, त्यतिबेला तैँले आस्था राख्न र बलियो अडान लिन र आफ्नो गवाहीमा दृढ रहन आवश्यक हुन्छ। जब अय्यूब यस बिन्दुमा पुग्यो, परमेश्वर ऊकहाँ देखा पर्नुभयो र ऊसँग बोल्नुभयो। अर्थात्, तँसँग आस्था हुँदा मात्र तैँले परमेश्वरलाई देख्न सक्नेछस्, जब तँसँग आस्था हुन्छ, तब परमेश्वरले तँलाई सिद्ध पार्नुहुनेछ, र यदि तँसँग आस्था छैन भने, उहाँ यो गर्न सक्नुहुन्न। तैँले जे प्राप्त गर्ने आशा गरेको छस्, परमेश्वरले त्यो तँलाई दिनुहुनेछ। यदि तँसँग आस्था छैन भने, तँलाई सिद्ध पार्न सकिँदैन, तैँले परमेश्वरका कार्यहरू देख्न सक्नेछैनस्, उहाँको सर्वशक्तिमान्ता देख्नु त परै जाओस्। जब तँसँग आफ्ना वास्तविक अनुभवमा उहाँका कार्यहरू देख्ने आस्था हुन्छ, तब परमेश्वर तँकहाँ देखा पर्नुहुनेछ, र उहाँले तँलाई भित्रैबाट अन्तर्दृष्टि दिनुहुनेछ अनि तँलाई मार्गदर्शन गर्नुहुनेछ। त्यस आस्थाबिना, परमेश्वरले त्यसो गर्न सक्नुहुनेछैन। यदि तैँले परमेश्वरमा आशा गुमाएको छस् भने, तैँले कसरी उहाँको काम अनुभव गर्न सक्नेछस् र? त्यसकारण, तँमा आस्था छ र तँ परमेश्वरप्रति शङ्का पाल्दैनस् भने मात्र, उहाँले जे गर्दा पनि उहाँप्रति तँमा साँचो विश्वास हुँदा मात्र, उहाँले तँलाई तेरा अनुभवहरूमार्फत अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ, र तब मात्र तैँले उहाँका कार्यहरू देख्न सक्नेछस्। यी सबै कुरा आस्थामार्फत नै प्राप्त हुन्छन्। आस्था शोधनमार्फत मात्र आउँछ, अनि शोधनबिना, आस्थाको विकास हुन सक्दैन। आस्थाले के जनाउँछ? आस्था भनेको मानिसहरूले कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्वरको काम मानव धारणाहरूअनुरूप नहुँदा र त्यो मानवको पहुँचभन्दा बाहिर हुँदा मानिसहरूसँग हुनुपर्ने साँचो विश्वास र सच्चा हृदय हो। मैले यही आस्थाबारे कुरा गरेको हुँ। कष्ट र शोधनको दौरान मानिसहरूमा आस्था हुनुपर्छ, र जब तिनीहरूसँग आस्था हुन्छ, तब तिनीहरूले शोधन सामना गर्छन्—शोधन र आस्थालाई अलग गर्न सकिँदैन। परमेश्वरले जसरी काम गर्नुभए पनि, र तेरो वातावरण जस्तोसुकै भए पनि, यदि तँ जीवन पछ्याउन र सत्यताको खोजी गर्न, परमेश्वरको कामसम्बन्धी ज्ञान पछ्याउन, र उहाँका कार्यहरू जान्न खोज्न सक्छस्, साथै तँ सत्यताअनुसार कार्य गर्न सक्षम हुन्छस् भने, यो नै साँचो आस्था हुनु हो, अनि यसले तैँले परमेश्वरमाथिको आस्था गुमाएको छैनस् भन्ने प्रमाणित गर्छ। यदि तँ शोधनको दौरान सत्यता पछ्याउनमा अडिग रहन, साँच्चै परमेश्वरलाई प्रेम गर्न सक्छस्, र उहाँबारे शङ्काहरू विकास गर्दैनस्, अनि उहाँले चाहे जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न अझै पनि सत्यता अभ्यास गर्छस्, र भित्री गहिराइमा उहाँका अभिप्रायहरू खोज्न र उहाँका अभिप्रायहरूलाई ख्याल गर्न सक्छस् भने, परमेश्वरमाथि साँचो आस्था हुनु भनेको यही हो। विगतमा, परमेश्वरले तैँले राजाका रूपमा शक्ति हातमा लिनेछस् भनेर भन्नुहुँदा, तैँले उहाँलाई प्रेम गरिस्, अनि जब उहाँ आफै खुला रूपमा तँकहाँ देखिनुभयो, तब तैँले उहाँलाई पछ्याइस्। तर अहिले परमेश्वर लुक्नुभएको छ, तँ उहाँलाई देख्न सक्दैनस्, र तँमाथि कष्ट आइपरेको छ—यस समयमा, के तँ परमेश्वरमा आशा गुमाउँछस्? यसैले, तैँले हरसमय जीवन पछ्याउनैपर्छ र परमेश्वरका अभिप्रायहरू पूरा गर्न खोज्नैपर्छ। यसैलाई साँचो आस्था भनिन्छ, र यो नै सबैभन्दा साँचो र सुन्दर किसिमको प्रेम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
३७५. शोधनको कामको उद्देश्य मूलतः मानिसहरूको आस्थालाई सिद्ध पार्नु हो। अन्ततः हासिल हुने कुरा के हो भने, तँ छोडेर जान चाहन्छस् तर सक्दैनस्, कतिपय मानिस आशाको सानो किरण पनि नहुँदा समेत अझै आस्था राख्न सक्षम हुन्छन्, र मानिसहरूमा आफ्नै सम्भावनाहरूका सम्बन्धमा कुनै आशा नै हुँदैन। यस समयमा मात्रै परमेश्वरको शोधन समाप्त हुनेछ। यदि मानिसहरू अझै पनि जीवन र मृत्युको दोसाँधमा रहने चरणमा पुगेका छैनन्, र तिनीहरूले मृत्यु चाखेका छैनन् भने, तिनीहरूको शोधन समाप्त हुनेछैन। जो सेवाकर्ताहरूको चरणमा थिए तिनीहरूलाई समेत पूर्ण मात्रामा शोधन गरिएको थिएन। अय्यूबले पूर्ण मात्रामा शोधन भोग्यो, र ऊसँग भर पर्नका लागि केही पनि थिएन। मानिसहरूलाई अनिवार्य रूपमा त्यही बिन्दुसम्म शोधन गरिनुपर्छ—जहाँ तिनीहरूसँग आशाको एउटा किरण पनि नहोस् र भर पर्नका लागि एउटा पनि कुरा नहोस्। यो मात्रै साँचो शोधन हो। सेवाकर्ताहरूको समयमा, यदि तेरो हृदय सधैँ परमेश्वरसामु शान्त थियो, र यदि उहाँले जेसुकै गर्नुभए पनि र तेरो लागि उहाँका अभिप्रायहरू जेसुकै भए पनि, तँ सधैँ उहाँका प्रबन्धहरूप्रति समर्पित भइस् भने, बाटोको अन्त्यमा तैँले परमेश्वरले गर्नुभएका सबै कुरा बुझ्नेथिइस्। जब तँ अय्यूबका परीक्षाहरू भोग्छस्, तँ त्यो साथसाथै पत्रुसका परीक्षाहरू पनि भोगिरहेको हुन्छस्। अय्यूबको परीक्षा गर्दा, ऊ आफ्नो गवाहीमा दृढ रह्यो, र अन्तमा, यहोवा ऊकहाँ देखा पर्नुभयो। ऊ आफ्नो गवाहीमा दृढ रहेपछि मात्रै ऊ परमेश्वरको मुहार देख्न योग्य भयो। “म फोहोरको भूमिबाट आफूलाई लुकाउँछु तर पवित्र राज्यमा देखा पर्छु” भनेर किन भनिएको हो? यसको अर्थ तँ पवित्र पारिएपछि र आफ्नो गवाहीमा दृढ रहेपछि मात्रै तँ परमेश्वरको मुहार देख्न योग्य हुन्छस् भन्ने हो। यदि तँ आफ्नो गवाहीमा दृढ रहन सक्दैनस् भने, तँ उहाँको मुहार देख्न योग्य हुँदैनस्। यदि तँ शोधनहरूको सामना गर्दा पछि हट्छस् वा परमेश्वरविरुद्ध गुनासाहरू गर्छस्, र यसरी आफ्नो गवाहीमा दृढ रहन असफल हुन्छस् र शैतानको हाँसोको पात्र बन्छस् भने, तैँले परमेश्वरको देखापराइ प्राप्त गर्नेछैनस्। यदि तँ परीक्षाहरूका बीचमा आफ्नै देहलाई सराप्ने, तर परमेश्वरविरुद्ध गुनासो नगर्ने, र गुनासो नगरी वा आफ्ना शब्दहरूमार्फत पाप नगरी आफ्नै देहलाई घृणा गर्न सक्ने अय्यूबजस्तै छस् भने, तँ आफ्नो गवाहीमा दृढ रहनेछस्। जब तँ केही हदसम्म शोधनहरू भोग्छस् र अय्यूबजस्तै, परमेश्वरसामु पूर्ण रूपमा समर्पित हुने र उहाँसँग अरू कुनै माग नराख्ने वा आफ्नै धारणाहरू नबोक्ने हुन्छस्, तब परमेश्वर तँकहाँ देखा पर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
३७६. तेरो असफलता, कमजोरी, तेरो नकारात्मकताका धेरै अवधिका अनुभवहरू सबैलाई परमेश्वरको जाँच भन्न सकिन्छ। किनकि सबै थोक परमेश्वरबाट आउँछन्, र सबै थोक र घटनाहरू उहाँकै हातमा छन्। तँ असफल वा तँ कमजोर भए पनि र तैँले ठोक्कर खाए पनि यो सबै परमेश्वरमा निर्भर हुन्छ र उहाँको पकडमा हुन्छन्। परमेश्वरको दृष्टिकोणमा यो तेरो जाँच हो, यदि तैँले यसलाई बुझ्न सकिनस् भने त्यो परीक्षा बन्छ। मानिसहरूले चिन्नुपर्ने दुई किसिमका अवस्थाहरू छन्: एउटा पवित्र आत्माबाट आउँछ, र अर्को सम्भावित स्रोत शैतान हो। एउटा अवस्था त्यो हो जुन पवित्र आत्माले तँलाई ज्योति दिनुहुन्छ र त्यसले तँलाई आफैलाई चिन्न, घृणा गर्न र आफ्नै विषयमा पछुतो गर्न अनि परमेश्वरका निम्ति साँचो प्रेम प्राप्त गर्न साथै तेरो हृदय परमेश्वरलाई सन्तुष्ट पार्नेतिर लगाउने तुल्याउँछ। त्यहाँ अर्को अवस्था छ, जहाँ तैँले आफैलाई चिन्छस्, तर तँ नकारात्मक र कमजोर हुन्छस्। यसलाई परमेश्वरको शोधन भन्न सकिन्छ, र यो शैतानको परीक्षा पनि हो। यदि यो तेरा निम्ति परमेश्वरको मुक्ति हो भनी जान्दछस् भने र यदि अब तँ उहाँप्रति गहन रूपमा ऋणी हुन्छस्—अनि अब उप्रान्त तैँलेसुधार गर्ने, यस्तो भ्रष्टतामा बस्न छोड्ने, अनि परमेश्वरका वचन उचित रूपमा खाने र पिउने प्रयास गर्छस्—र यदि तँ जहिल्यै पनि आफूलाई केही राम्रो नभएको ठान्छस्, र तँमा तृषित हृदय छ भने यो परमेश्वरबाटको जाँच हो। दुःख समाप्त भएपछि र तँ फेरि अगाडि बढ्न थालेपछि, परमेश्वरले तँलाई डोर्याउनुहुनेछ, प्रकाश दिनुहुनेछ, अन्तर्दृष्टि दिनुहुनेछ र खुवाउनुहुनेछ। तर यदि तँ यसलाई चिन्दैनस् र तँ नकारात्मक हुँदै आफैलाई निराशामा छोड्छस् भने, यदि तँ यसप्रकारले विचार गर्छस् भने त्यसको अर्थ तँमाथि शैतानको परीक्षा आएको छ। अय्यूबले परीक्षाहरू भोग्दा, परमेश्वर र शैतान एक-अर्कासित बाजी लगाइरहेका थिए, अनि परमेश्वरले शैतानलाई अय्यूबलाई कष्ट दिने अनुमति दिनुभयो। परमेश्वरले नै अय्यूबको जाँच गरिरहनुभएको भए पनि, खासमा तिनीमाथि शैतान आइपरेको थियो। शैतानका लागि, त्यो अय्यूबको परीक्षा गर्नु थियो, तर अय्यूब परमेश्वरको पक्षमा उभिए। यदि त्यसो नभएको भए अय्यूब परीक्षामा फसेका हुनेथिए। जब मानिसहरू परीक्षामा फस्छन्, तब तिनीहरू खतरामा पर्छन्। शोधन भोग्नुलाई परमेश्वरले लिनुभएको परीक्षा भन्न सकिन्छ, तर यदि तँ राम्रो स्थितिमा छैनस् भने, त्यसलाई शैतानले लिएको परीक्षा भन्न सकिन्छ। यदि तँ दर्शनहरूबारे प्रस्ट छैनस् भने, शैतानले तँलाई दोष लगाउनेछ र दर्शनहरूसम्बन्धी तेरो बुझाइ अस्पष्ट बनाउनेछ। तैँले थाहा पाउनुभन्दा अघि नै तँ परीक्षामा पर्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
३७७. परीक्षाहरूबाट गुज्रने क्रममा, तँलाई परमेश्वर के गर्न चाहनुहुन्छ र उहाँ कुन काम पूरा गर्न चाहनुहुन्छ भन्ने थाहा नहुँदासमेत, तैँले मानवजातिका लागि परमेश्वरका सोचहरू सधैँ असल हुन्छन् भन्ने जान्नुपर्छ। यदि तँ साँचो हृदयले उहाँलाई पछ्याउँछस् भने, उहाँले तँलाई कहिल्यै छोड्नुहुनेछैन र अन्त्यमा उहाँले तँलाई निश्चय नै सिद्ध पार्नुहुनेछ अनि मानिसहरूलाई उचित गन्तव्यमा ल्याउनुहुनेछ। परमेश्वरले अहिले मानिसहरूको जसरी परीक्षा गरिरहनुभएको भए पनि, उहाँले मानिसहरूलाई उचित परिणाम दिने र तिनीहरूले गरेको कुराका आधारमा तिनीहरूलाई उचित दण्ड दिने दिन आउनेछ। परमेश्वरले मानिसहरूलाई एक निश्चित बिन्दुसम्म अगुवाइ गरेर त्यत्तिकै पन्छाउनेहुनेछैन र बेवास्ता गर्नुहुनेछैन। किनभने परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। यस चरणमा, पवित्र आत्मा शोधनको काम गरिरहनुभएको छ। उहाँ हरेक व्यक्तिलाई शोधन गरिरहनुभएको छ। मृत्युको परीक्षा र सजायको परीक्षा भएको कामका चरणहरूमा, वचनहरूमार्फत शोधन गरियो। मानिसहरूले परमेश्वरको काम अनुभव गर्नका लागि पहिले उहाँको अहिलेको काम के हो र मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ भनी बुझ्नैपर्छ। यो सबैले बुझ्नुपर्ने कुरा हो। परमेश्वरले जे गर्नुभए पनि, उहाँ मानिसहरूलाई शोधन गरिरहनुभएको भए पनि वा नबोलिरहनुभएको भए पनि, परमेश्वरको कामको एउटै चरण पनि मानवजातिका धारणाहरूसँग मिल्दो हुँदैन। उहाँको कामको हरेक चरणले मानिसहरूका धारणाहरूलाई चकनाचुर पार्छ र तोड्छ। यो उहाँको काम हो। तर तैँले के विश्वास गर्नैपर्छ भने, अब परमेश्वरको काम एउटा निश्चित चरणमा पुगेको छ, उहाँले जेसुकै भए पनि सम्पूर्ण मानवजातिलाई मार्नुहुनेछैन। उहाँ मानवजातिलाई प्रतिज्ञा र आशिष् दुवै दिनुहुन्छ, अनि उहाँलाई पछ्याउनेहरू सबैले उहाँका आशिष्हरू प्राप्त गर्न सक्नेछन्, तर नपछ्याउनेहरूलाई परमेश्वरले हटाउनुहुनेछ। यो तेरो पछ्याइमा निर्भर हुन्छ। अरू जेसुकै भए पनि, तैँले परमेश्वरको काम समाप्त भएपछि हरेक व्यक्तिसँग उपयुक्त गन्तव्य हुनेछ भनेर विश्वास गर्नैपर्छ। परमेश्वरले मानवजातिलाई सुन्दर आकाङ्क्षाहरू प्रदान गर्नुभएको छ, तर पछ्याइविना ती प्राप्त गर्न सकिँदैनन्। तैँले अब यो कुरा देख्न सक्नुपर्छ—परमेश्वरले मानिसहरूलाई शोधन गर्नु र सजाय दिनु उहाँको काम हो, तर मानिसहरूले चाहिँ आफ्नो तर्फबाट हरसमय स्वभाव परिवर्तनलाई पछ्याउनैपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीले परमेश्वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ
३७८. मानिसलाई राज्यको युगमा पूरा रूपमा पूर्ण पारिनेछ। विजयको कामपछि, मानिसले शोधन र सङ्कष्ट भोग्नेछ। यो सङ्कष्ट दौरान विजय गर्न सक्ने र आफ्नो गवाहीमा दृढ रहन सक्नेहरू नै अन्ततः पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो सङ्कष्ट दौरान, मानिसबाट यो शोधन स्वीकार गर्ने माग गरिन्छ, र यो शोधन परमेश्वरको कामको अन्तिम घटना हो। परमेश्वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो र परमेश्वरलाई पछ्याउने सबैले यो अन्तिम जाँच स्वीकार गर्नैपर्छ र तिनीहरूले यो अन्तिम शोधन स्वीकार गर्नैपर्छ। सङ्कष्टहरूको माझमा हुनेहरू पवित्र आत्माको कामविहीन र परमेश्वरको मार्गदर्शनविहीन हुन्छन्, तर साँच्चै विजय गरिएकाहरू र परमेश्वरलाई साँच्चै पछ्याउनेहरू अन्ततः दृढ रहनेछन्; तिनीहरू मानवता भएकाहरू, र परमेश्वरलाई निष्कपट रूपमा प्रेम गर्नेहरू हुन्। परमेश्वरले चाहे जे गर्नुभए पनि, यी विजेताहरूले दर्शनहरू गुमाउनेछैनन् र आफ्नो गवाही नगुमाई अझै सत्यता अभ्यास गर्नेछन्। आखिरमा महा-सङ्कष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। लाभका लागि केवल अल्याङटल्याङ गर्नेहरूले आज सित्तैमा खान पाए पनि, कोही पनि अन्तिम सङ्कष्टबाट उम्कन सक्दैन, र कोही पनि अन्तिम परीक्षाबाट उम्कन सक्दैन। जित्नेहरूका लागि, यस्तो सङ्कष्ट एक ठूलो शोधन हो; तर लाभका लागि केवल अल्याङटल्याङ गर्नेहरूका लागि, यो पूर्ण रूपमा हटाइने काम हो। हृदयमा परमेश्वर हुनेहरूलाई जस्तोसुकै जाँच गरिए पनि, तिनीहरूको निष्ठा अपरिवर्तित रहन्छ; तर हृदयमा परमेश्वर नहुनेहरूका लागि, परमेश्वरको काम तिनीहरूको देहका लागि लाभदायक नहुनेबित्तिकै, तिनीहरूले परमेश्वरप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्छन्, र परमेश्वरबाट टाढा समेत जान्छन्। यिनीहरू नै अन्तमा दृढतापूर्वक खडा नहुनेहरू हुन्, जो केवल परमेश्वरका आशिष्हरू खोज्छन् र परमेश्वरका लागि आफूलाई समर्पित गर्ने र उहाँप्रति आफूलाई अर्पित गर्ने कुनै चाहना राख्दैनन्। यस्ता नीच मानिसहरू सबैलाई परमेश्वरको कामको अन्त्य भएपछि “खेदिनेछ,” र तिनीहरूलाई अलिकति पनि कृपा देखाइनेछैन। मानवता नभएकाहरूमा परमेश्वरप्रति साँचो प्रेम पटक्कै हुँदैन। जब वातावरण सहज हुन्छ, वा तिनीहरूले केही पाउन सक्छन्, तब तिनीहरू परमेश्वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुन्छन्, तर जब तिनीहरूका चाहनाहरूमाथि खतरा उत्पन्न हुन्छ वा ती अन्ततः चकनाचुर हुन्छन्, तब तिनीहरू तुरुन्तै विद्रोहमा उत्रन्छन्। केवल एक रातको अन्तरालमा समेत, तिनीहरू मुस्कुराउने, “दयालु” व्यक्तिबाट जङ्गली देखिने जल्लादमा परिणत हुन्छन्, र कुनै तुक वा कारणविना, अप्रत्याशित रूपमा हिजोको आफ्नो हितकारीलाई आफ्नो घोर शत्रुका रूपमा व्यवहार गर्छन्। यदि आँखा झिमिक्क नगरी मार्ने यी दुष्ट पिशाचहरूलाई फालिएन भने, के तिनीहरू गम्भीर अन्तर्निहित खतरा बन्नेछैनन् र? विजयको काम समाप्त भएपछि, मानिसलाई मुक्ति दिने काम पूर्ण रूपमा सम्पन्न हुन्छ भन्ने होइन। विजयको काम अन्त्य भएको भए तापनि, मानिसलाई शुद्ध गर्ने काम अन्त्य भएको छैन; जब मानिसलाई पूर्ण रूपमा शुद्ध गरिन्छ, जब साँच्चै परमेश्वरमा समर्पित हुनेहरूलाई पूर्ण पारिन्छ, र जब आफ्नो हृदयमा परमेश्वर नभएका छद्मभेषीहरूलाई निकालिन्छ, तब मात्रै काम समाप्त हुनेछ। उहाँको कामको अन्तिम चरणमा परमेश्वरलाई सन्तुष्ट नपार्नेहरूलाई पूर्ण रूपमा हटाइनेछ र हटाइएकाहरू दियाबलसहरूका हुन्। तिनीहरू परमेश्वरलाई सन्तुष्ट पार्न असमर्थ हुने हुँदा, तिनीहरू परमेश्वरको विरुद्धमा विद्रोही छन् र यी मानिसहरूले आज परमेश्वरलाई पछ्याए तापनि, यसले तिनीहरू अन्तिमसम्मै रहनेहरू हुन् भन्ने कुरालाई प्रमाणित गर्दैन। “अन्तिमसम्मै परमेश्वरलाई पछ्याउनेहरूले मुक्ति पाउनेछ” भन्ने वचनहरूमा, “पछ्याउनु” को अर्थ सङ्कष्टको बीचमा दह्रिलो गरी खडा हुनु भन्ने हुन्छ। आज, धेरैले परमेश्वरलाई पछ्याउनु सजिलो छ भन्ने विश्वास गर्छन् तर जब परमेश्वरको काम समाप्त हुनलागेको हुन्छ, तैँले “पछ्याउनु”-को साँचो अर्थलाई जान्नेछस्। तैँले विजय गरिएपछि आज अझै पनि परमेश्वरलाई पछ्याउन सक्छस् भन्दैमा, तँ सिद्ध पारिनेहरूमध्ये एक हुनेछस् भन्ने कुरालाई यसले प्रमाणित गर्दैन। परीक्षाहरूको सामना गर्न नसक्नेहरू, सङ्कष्टको बीचमा विजय बन्न नसक्नेहरू आखिरमा दृढ रूपमा खडा हुन असक्षम हुनेछन्, त्यसकारण परमेश्वरलाई अन्तिमसम्मै पछ्याउन असमर्थ हुनेछन्। परमेश्वरलाई साँच्चै पछ्याउनेहरू आफ्नो कामको जाँच खप्न सक्नेहरू हुन्, जबकि परमेश्वरलाई साँच्चै नपछ्याउनेहरू परमेश्वरको कुनै पनि परीक्षाहरू खप्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरू निष्कासित हुनेछन्, जबकि विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्वरलाई साँच्चै खोजी गर्छ कि गर्दैन भन्ने कुरा उसको काम जाँचेर, अर्थात्, परमेश्वरका परीक्षाहरूद्वारा मात्रै निर्धारित हुन सक्छ, र मानिस स्वयमले निकाल्ने निष्कर्षसँग यसको कुनै सम्बन्ध हुँदैन। परमेश्वरले कुनै पनि व्यक्तिलाई हल्का रूपमा इन्कार गर्नुहुन्न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन सक्छ। उहाँ मानिसलाई अदृश्य हुने कुनै पनि कुरा, वा मानिसलाई विश्वस्त तुल्याउन नसक्ने कुनै पनि काम गर्नुहुन्न। मानिसको आस्था साँचो हो कि होइन भन्ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र यो मानिसद्वारा निर्धारण गर्न सकिँदैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्ने कुरामा कुनै शङ्का छैन। परमेश्वरलाई साँच्चै प्रेम गर्नेहरू सबै अन्ततः राज्यमा नै रहनेछन् र उहाँलाई साँच्चै प्रेम गर्ने कसैलाई पनि परमेश्वरले नराम्रो व्यवहार गर्नुहुनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
३७९. परमेश्वरबाट सजाय प्राप्त गर्दा, पत्रुसले यसो भन्दै प्रार्थना गरे, “हे परमेश्वर! मेरो देह विद्रोही छ, र तपाईंले मलाई सजाय र न्याय गर्नुहुन्छ। म तपाईंको सजाय र न्यायमा आनन्द मनाउँछु, र तपाईंले मलाई नचाहनुभए पनि, तपाईंको न्यायमा म तपाईंको पवित्र र धर्मी स्वभाव देख्छु। अरूले तपाईंको न्यायमा तपाईंको धर्मी स्वभाव देख्न सकून् भनेर, जब तपाईंले मलाई न्याय गर्नुहुन्छ, तब मलाई सन्तुष्टिको आभास हुन्छ। यदि यसले तपाईंको स्वभाव व्यक्त गर्न सक्छ र तपाईंको धर्मी स्वभावलाई सबै सृष्टि गरिएका प्राणीले देख्न सक्ने तुल्याउँछ भने, र यदि यसले तपाईंप्रतिको मेरो प्रेमलाई अझै शुद्ध तुल्याउन सक्छ जसले गर्दा जो धर्मी हुनुहुन्छ उहाँजस्तै म बन्न सक्छु भने, तपाईंको न्याय असल छ, किनभने तपाईंको सद्भावना त्यस्तै छ। मभित्र अझै धेरै विद्रोही कुराहरू छन् र तपाईंको सामु आउन म अझै पनि योग्य छैन भन्ने कुरा मलाई थाहा छ। चाहे विषम परिस्थितिद्वारा होस् या महासंकष्टहरूद्वारा होस्, तपाईंले मलाई अझै बढी न्याय गर्नुहोस् भन्ने मेरो कामना छ; तपाईंले जे गर्नुहुन्छ, त्यो मेरो लागि बहुमूल्य छ। तपाईंको प्रेम अति नै प्रगाढ छ र म अलिकति पनि गुनासो नगरीकन तपाईँको योजनबद्ध कार्यको कृपामा रहन इच्छुक छु।” यो परमेश्वरको कार्य अनुभव गरिसकेपछिको पत्रुसको बोध हो र यो परमेश्वरप्रतिको उनको प्रेमको गवाही पनि हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
३८०. मानिस देहमाझ जिउँछ, अर्थात् ऊ मानव नरकमा जिउँछ, र परमेश्वरको न्याय र सजायबिना मानिस शैतानजत्तिकै फोहोरी छ। मानिस कसरी पवित्र हुन सक्थ्यो र? पत्रुस यस्तो विश्वास गर्थ्यो: परमेश्वरद्वारा गरिने सजाय र न्याय नै मानिसको सर्वोत्तम सुरक्षा र सबैभन्दा ठूलो अनुग्रह हो। परमेश्वरको सजाय र न्यायमार्फत मात्रै मानिस बिउँझन सक्छ र देहलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्छ। परमेश्वरको कठोर अनुशासनले मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्छ, उसलाई उसको आफ्नै सानो संसारबाट मुक्त गर्छ र उसलाई परमेश्वरको मुहारको ज्योतिमा जिउन सक्षम बनाउँछ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन। पत्रुसले यसो भन्दै प्रार्थना गरे, “परमेश्वर! तपाईँले मलाई सजाय दिनुभएसम्म र न्याय गर्नुभएसम्म, तपाईँले मलाई छोड्नुभएको छैन भनी मैले थाहा पाउनेछु। तपाईँले मलाई आनन्द वा शान्ति नदिनुभए पनि, मलाई कष्टमा जिउन लगाउनुभए पनि र ममाथि अनगिन्ती ताडना दिनुभए पनि, तपाईँले मलाई नछोड्नुभएसम्म मेरो हृदय ढुक्क हुनेछ। आज तपाईँको सजाय र न्याय मेरो सर्वोत्तम सुरक्षा र मेरो सबैभन्दा ठूलो आशिष् बनेका छन्। तपाईँले दिने अनुग्रहले मलाई सुरक्षा दिन्छ। आज तपाईँ ममाथि अनुग्रह बर्साउनुहुन्छ र यो अनुग्रह तपाईँको धर्मी स्वभावको प्रकटीकरण हो, र सजाय र न्याय हो; त्यसभन्दा पनि बढी, यो एउटा परीक्षा हो, र कष्टको जीवन हो।” पत्रुसले आफ्नो देहका सुखचैनहरू त्याग्न र झनै गहन प्रेम र झनै ठूलो सुरक्षाको खोजी गर्न सके, किनभने उनले परमेश्वरको सजाय र न्यायबाट अत्यन्तै धेरै अनुग्रह प्राप्त गरेका थिए। यदि मानिस आफ्नो जीवनमा पखालिन र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्वरको सजाय र न्याय स्वीकार गर्नैपर्छ, र आफूबाट परमेश्वरको अनुशासन र परमेश्वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट मुक्त गर्न सकोस् र ऊ परमेश्वरको ज्योतिमा जिउन सकोस्। परमेश्वरको सजाय र न्याय नै ज्योति हो, र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसका लागि योभन्दा राम्रो आशिष्, र योभन्दा ठूलो अनुग्रह वा सुरक्षा छैन भन्ने कुरा जान।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
३८१. मानिस शैतानको प्रभावमा जिउँछ, र देहमा अस्तित्वमा छ; यदि उसलाई पखालिँदैन र उसले परमेश्वरको सुरक्षा प्राप्त गर्दैन भने, मानिस अझै पतित बन्नेछ। यदि ऊ परमेश्वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई पखालिनैपर्छ र मुक्ति दिइनैपर्छ। पत्रुस प्रार्थना गर्थे, “परमेश्वर, तपाईँले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्न हुन्छु, र सान्त्वना अनुभूति गर्छु; जब तपाईँ मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्द महसुस गर्छु। म कमजोर भए पनि र मैले अवर्णनीय कष्ट सहेको भए पनि, मसँग आँसु र दुःख भए पनि, तपाईँलाई यो दुःख मेरो विद्रोहीपनका कारण र मेरो कमजोरीका कारण हो भन्ने थाहा छ। म रुन्छु किनभने म तपाईँका अभिप्रायहरू पूरा गर्न सक्दिनँ, म दुःख र पछुतो महसुस गर्छु किनभने म तपाईँका मागहरूका लागि अपर्याप्त छु, तर म यस तहमा पुग्न इच्छुक छु, म तपाईँलाई सन्तुष्ट पार्नका लागि आफूले सक्ने सबै गर्न इच्छुक छु। तपाईँको सजायले मेरो सुरक्षा र मेरा लागि सर्वोत्तम मुक्तिका रूपमा काम गरेको छ; तपाईँको न्यायले तपाईँको सहनशीलता र धैर्यतालाई उछिन्छ। तपाईँको सजाय र न्यायविना, मैले तपाईँको कृपा र प्रेमिलो-दयालुपनको आनन्द उठाउने थिइनँ। म आज तपाईँको प्रेमले स्वर्गहरूलाई पार गरेको र अरू सबै थोकभन्दा उत्कृष्ट भएको अझै बढी देख्छु। तपाईँको प्रेम त कृपा र प्रेमिलो-दयालुपन मात्रै होइन; त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो। मैले तपाईँको सजाय र न्यायबाट एकदमै धेरै प्राप्त गरेको छु। तपाईँको सजाय र न्यायविना, एक जना पनि पखालिने थिएन र एक जनाले पनि सृष्टिकर्ताको प्रेम अनुभव गर्ने थिएन। मैले सयौँ परीक्षा र सङ्कष्ट सहेको र म बल्लतल्ल मृत्युबाट जोगिएको समेत भए पनि, तिनले मलाई साँचो रूपमा तपाईँलाई चिन्न र विशाल मुक्ति प्राप्त गर्न दिएका छन्। यदि तपाईँको सजाय, न्याय र अनुशासनले मलाई छोडेका भए, म शैतानको सत्ताअन्तर्गत अन्धकारमा जिउनेथिएँ। मानिसको देहसँग के-कस्ता लाभहरू छन् र? यदि तपाईँको सजाय र न्यायले मलाई छोडेका भए, यो त तपाईँको आत्माले मलाई त्याग्नुभएको जस्तो हुनेथ्यो, तपाईँ मसँग त्यसउप्रान्त नहुनुभएजस्तो हुनेथ्यो। त्यस्तो भएको भए, म कसरी जिइरहन सक्नेथिएँ र? तपाईँले मलाई रोग दिनुभयो र मेरो स्वतन्त्रता लैजानुभयो, म जिइरहन सकेँ, तर तपाईँको सजाय र न्यायले मलाई कहिल्यै छोडेर गएमा, मसँग जिइरहने कुनै उपाय हुनेछैन। यदि म तपाईँको सजाय र न्यायरहित भएको भए, मैले तपाईँको प्रेम गुमाएको हुनेथिएँ। तपाईँको प्रेम यति गहन छ कि म त्यसलाई शब्दमा बयान गर्नै सक्दिनँ। तपाईँको प्रेमबिना, म शैतानको सत्ताअन्तर्गत जिउनेथिएँ, र तपाईँको महिमामयी मुहार देख्न असमर्थ हुनेथिएँ। म कसरी जिइरहन सक्ने थिएँ र? मलाई त्यस्तो अन्धकार, त्यस्तो जीवनमा अघि बढ्न गाह्रो हुनेथियो। तपाईँ मसँग हुनु भनेको तपाईँलाई देख्नुजस्तै हो, त्यसकारण म तपाईँलाई कसरी छोड्न सक्छु र? म तपाईँलाई पूर्ण निष्कपटताका साथ याचना गर्छु, म मेरो सबैभन्दा ठूलो सान्त्वना मबाट नलैजानुहोस् भनी बिन्ती गर्छु, चाहे यो तपाईँका सान्त्वनादायी शब्दहरूको छिटा नै किन नहोस्। मैले तपाईँको प्रेमको आनन्द उठाएको छु र आज म तपाईँबाट टाढा हुन सक्दिनँ; म तपाईँलाई प्रेम नगर्न कसरी पो सक्छु र? तपाईँको प्रेमका कारण मैले शोकका धेरै आँसु बगाएको छु, तैपनि मैले सधैँ यस्तो जीवन अझै बढी अर्थपूर्ण छ, यसले मलाई समृद्ध पार्न अझै बढी सक्छ, मलाई परिवर्तन गर्न अझै बढी सक्छ, र सृजित प्राणीहरूसँग हुनुपर्ने सत्यता हासिल गर्न सक्षम बनाउन अझै बढी सक्छ भन्ने अनुभूति गरेको छु।”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
३८२. यदि तँ सिद्ध पारिने प्रयासमा लागेको व्यक्ति होस् भने, तैँले साक्षी दिनेछस्, र तैँले यसो भन्नेछस्: “परमेश्वरको यो चरणबद्ध कार्यमा, मैले परमेश्वरको सजाय र न्यायलाई स्वीकार गरेको छु, र मैले ठूलो कष्ट भोगेको भए पनि, परमेश्वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ भन्ने कुरा मैले जानेको छु, परमेश्वरले गर्नुभएको काम मैले प्राप्त गरेको छु, मैले परमेश्वरको धार्मिकताको ज्ञान पाएको छु र उहाँको सजायले मलाई मुक्ति दिएको छ। उहाँको धर्मी स्वभाव ममा आइपरेको छ र मलाई आशिष्हरू र अनुग्रह ल्याइदिएको छ; उहाँको न्याय र सजायले नै मलाई सुरक्षा दिएको र शुद्ध पारेको छ। यदि परमेश्वरद्वारा मलाई सजाय र न्याय नगरिएको, र परमेश्वरको कठोर वचन ममा नआइपरेको भए, मैले परमेश्वरलाई चिन्न सक्दिनथेँ, न त मुक्ति नै पाउन सक्थेँ। आज म देख्छु: सृष्टि गरिएको प्राणीको रूपमा, व्यक्तिले परमेश्वरद्वारा सृष्टि गरिएका सबै कुराहरूको आनन्द लिने मात्र होइन, अझै महत्त्वपूर्ण, सृष्टि गरिएका सम्पूर्ण प्राणीहरूले परमेश्वरको धर्मी स्वभाव र उहाँको धर्मी न्यायमा आनन्द लिनुपर्छ, किनभने परमेश्वरको स्वभाव मानिसद्वारा आनन्द लिन योग्य छ। शैतानद्वारा भ्रष्ट तुल्याइएको सृष्टि गरिएको प्राणीको रूपमा, व्यक्तिले परमेश्वरको धर्मी न्यायमा आनन्द लिनुपर्छ। उहाँको धर्मी स्वभावमा सजाय र न्याय छ, र त्यति मात्र होइन, त्यसमा महान् प्रेम छ। आज परमेश्वरको प्रेम पूर्ण रूपमा प्राप्त गर्न म असक्षम भए पनि, यसलाई देख्ने सौभाग्य मैले प्राप्त गरेको छु, र यसमा मैले आशिष् पाएको छु।” सिद्ध पारिएको अनुभव गर्नेहरूले हिँड्ने बाटो यही हो र तिनीहरूले बताउने ज्ञान यही हो। त्यस्ता मानिसहरू पत्रुसजस्तै हुन्; तिनीहरूमा पत्रुसको जस्तै अनुभवहरू छन्। त्यस्ता मानिसहरू जीवन प्राप्त गरेका, सत्यता भएका व्यक्तिहरू हुन्। जब तिनीहरूले अन्त्यसम्मै अनुभव गर्छन्, परमेश्वरको न्यायको अवधिमा तिनीहरूले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गर्नेछन्, र तिनीहरू परमेश्वरद्वारा प्राप्त गरिनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
३८३. वर्षौँको अनुभवपछि, शोधन र सजायको कठिनाइबाट गुज्रेर मानिस थकित बनेको छ। मानिसबाट विगत समयहरूको “महिमा” र “रोमान्स” गुमेको भए तापनि, उसले थाहै नपाई, मानव आचरणका सिद्धान्तहरू र मानवजातिलाई यतिका वर्षसम्म मुक्ति दिनमा परमेश्वरले राखेका श्रमसाध्य अभिप्रायहरू बुझ्न पुगेको छ। बिस्तारै, मानिसले आफ्नो जङ्गलीपनलाई उसलाई रत्याउन कति गाह्रो छ भन्ने कुरालाई, परमेश्वरबारे उसका सबै गलत बुझाइहरू, र उसले उहाँलाई गरेका अत्य़धिक मागहरूलाई घृणा गर्न थाल्छ। समयलाई पछाडि फर्काउन सकिँदैन। बितेका घटनाहरू मानिसले पश्चात्ताप गरने यादहरू बन्छन्, अनि परमेश्वरका वचनहरू र कोमल प्रेम मानिसको नयाँ जीवनशैलीको प्रेरणा-शक्ति बन्छ। दिन-प्रतिदिन मानिसका घाउहरू निको हुन्छन्, उसको शरीर बलियो बन्दै जान्छ, अनि ऊ खडा हुन्छ र सर्वशक्तिमानको अनुहार देख्छ…। स्पष्ट छ, उहाँ सँधै मलाई निगरानी गर्दै मेरो साथमा हुनुभएको छ। उहाँको मुस्कान र उहाँको सुन्दर मुहार अझै कति मोहक छ, उहाँको हृदयले अझै पनि आफूले सृष्टि गरेको मानवजातिबारे यस्तो चिन्ता गर्छ, र उहाँका हातहरू प्रारम्भमा जस्ता थिए त्यस्तै न्याना र शक्तिशाली छन्। यो चाहिँ मानिस अदनको बगैँचाको समयमा फर्केजस्तै हुन्छ, तैपनि अब मानिसले त्यसउप्रान्त सर्पको प्रलोभनलाई सुन्दैन र त्यसउप्रान्त यहोवाको नजरबाट लुक्दैन। मानिसले आराधना गर्न परमेश्वरसामु घुँडा टेक्छ, परमेश्वरको मुस्कुराइरहेको मुहार सामना गर्छ, र उसको सबैभन्दा बहुमूल्य बलिदान चढाउँछ—अहो! हे मेरा प्रभु, मेरा परमेश्वर!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ