स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र ख्रीष्ट परमेश्‍वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट देह र रगतले बन्‍नुभएको हुनुहुन्‍न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरू वहन गर्छ, र उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयम्‌को कार्यलाई अघि बढाउँछ। चाहे यो उहाँको मानवता होस् वा ईश्‍वरत्व होस्, यी दुवै नै स्वर्गमा बस्‍नुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्‍टको सार भनेको आत्मा नै हो, जुन ईश्‍वरत्व हो। त्यसकारण, परमेश्‍वर स्वयम्‌को सार नै उहाँको सार हो; यो सारले उहाँको आफ्नै कार्यमा अवरोध पुऱयाउँदैन, र उहाँको आफ्नै कार्यलाई नष्‍ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्‍नुहुन्‍न, न त उहाँको आफ्नै इच्छाविरुद्ध जाने कुनै पनि वचन नै उहाँले कहिल्यै बोल्‍नुहुन्छ। त्यसकारण, देहधारी परमेश्‍वरले उहाँको आफ्नै व्यवस्थापनलाई अवरोध गर्ने कुनै पनि काम कहिल्यै गर्नुहुन्‍न। सबै मानिसहरूले यही कुरालाई बुझ्‍नुपर्छ। पवित्र आत्माको कार्यको सार भनेको मानिसलाई मुक्ति दिनु हो, र यो परमेश्‍वरको आफ्नै व्यवस्थापनको लागि हो। त्यसै गरी, ख्रीष्‍टको कार्य पनि मानिसलाई मुक्ति दिनु नै हो, र यो परमेश्‍वरको इच्छाकै खातिर हो। परमेश्‍वर देहधारी हुनुहुने हुँदा, उहाँले आफ्नो काम गर्नको लागि उहाँको देह पर्याप्‍त हुने गरी उहाँको सारलाई उहाँको देहभित्र साकार पार्नुहुन्छ। त्यसकारण, देहधारणको समय अवधिमा ख्रीष्‍टको कार्यले परमेश्‍वरका आत्माका सबै कार्यलाई प्रतिस्थापन गर्छ, र देहधारणको समयभरि गरिने सबै कार्यको केन्द्रबिन्दु ख्रीष्‍टको कार्य हुन्छ। यो अन्य कुनै पनि युगको कार्यसँग मिसिन सक्दैन। अनि, परमेश्‍वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा कार्य गर्नुहुन्छ; उहाँ देहमा आउनुहुने भएकोले, आफूले गर्नुपर्ने कार्यलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ। परमेश्‍वरका आत्मा हुन् वा ख्रीष्‍ट हुन्, दुवै नै परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ, र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले वहन गर्नुपर्ने सेवकाइ वहन गर्नुहुन्छ।

परमेश्‍वरको सारले नै अख्तियारको प्रयोग गर्छ, तर उहाँबाट आउने अख्तियारप्रति उहाँ पूर्ण रूपमा समर्पित हुन सक्‍नुहुन्‍छ। चाहे यो आत्माको काम होस् वा देहको काम होस्, यीमध्ये कुनै पनि काम एकअर्कासँग बाझिँदैन। सारा सृष्टिमाथिको अख्तियार परमेश्‍वरका आत्मासँग छ। परमेश्‍वरको सारसहितको देहसँग पनि अख्तियार हुन्छ, तर देहमा हुनुभएका परमेश्‍वरले ती सबै कार्य गर्न सक्‍नुहुन्‍छ, जुन कार्यले स्वर्गमा हुनुहुने पिताको इच्छालाई पालन गर्छ। यसलाई कुनै पनि व्यक्तिले प्राप्‍त गर्न वा कल्पना गर्न सक्दैन। परमेश्‍वर स्वयम्‌ नै अख्तियार हुनुहुन्छ, तर उहाँको देह उहाँको अख्तियारप्रति समर्पित हुन सक्छ। “ख्रीष्‍टले परमेश्‍वर पिताको इच्छालाई पालन गर्नुहुन्छ” भनेर भन्दा यही कुरालाई इङ्गित गरिन्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ र उहाँ जसरी परमेश्‍वर मानिस बन्‍न सक्‍नुहुन्‍छ त्यसरी नै उहाँले मुक्तिको काम पनि गर्न सक्‍नुहुन्‍छ। जे भए तापनि, परमेश्‍वर स्वयम्‌ले नै आफ्नो कार्य गर्नुहुन्छ; न त उहाँ अवरोध पुऱ्याउनुहुन्छ, न त बाधा नै दिनुहुन्छ, उहाँले आफैमा बाझिने किसिमको काम गर्नुहुने त प्रश्‍नै उठ्दैन, किनभने आत्मा र देहले गर्ने कार्यको सार उही प्रकारको हुन्छ। चाहे आत्मा होस् वा देह, दुवैले उही इच्छालाई पूरा गर्न र उही कार्यलाई व्यवस्थापन गर्न काम गर्नुहुन्छ। आत्मा र देहका गुणहरू पूर्ण रूपमा फरक भए तापनि, उहाँहरूका सारहरू उस्तै छन्; दुवैमा परमेश्‍वर स्वयम्‌को सार, अनि परमेश्‍वर स्वयम्‌को पहिचान छ। परमेश्‍वर स्वयम्‌मा कुनै पनि अवज्ञाका तत्वहरू छैनन्; उहाँको सार असल छ। उहाँ सारा सुन्दरता र भलाइका साथै सारा प्रेमको अभिव्यक्ति हुनुहुन्छ। देहमा समेत परमेश्‍वरले त्यस्तो कुनै पनि काम गर्नुहुन्‍न जसले परमेश्‍वर पिताको अवज्ञा गर्छ। आफ्नो जीवन बलिदान दिनुपर्दासमेत उहाँले हृदयदेखि नै त्यसो गर्न चाहनुहुन्छ, र उहाँले अन्य कुनै पनि निर्णय गर्नुहुन्‍न। परमेश्‍वरमा आत्मधार्मिकता वा अहम्, वा अभिमान र अहङ्कारको कुनै तत्वहरू छैनन्; उहाँमा कुटिलताका कुनै तत्वहरू छैनन्। परमेश्‍वरको अवज्ञा गर्ने हरेक कुरा शैतानबाट आउँछ; सारा कुरूपता र दुष्‍टताको स्रोत शैतान हो। मानिसमा शैतानको जस्तै गुणहरू हुनुको कारण के हो भने मानिसलाई शैतानले भ्रष्‍ट तुल्याएको र प्रशोधन गरेको छ। ख्रीष्‍टलाई शैतानले भ्रष्‍ट तुल्याएको छैन, त्यसकारण उहाँमा परमेश्‍वरका विशेषताहरू मात्रै छन्, शैतानका विशेषताहरू छैनन्। काम जतिसुकै कठिन होस् वा देह जतिसुकै कमजोर होस्, जब परमेश्‍वर देहमा जिउनुहुन्छ, उहाँले परमेश्‍वर स्वयम्‌को कार्यमा अवरोध पुऱ्याउने कुनै पनि कुरा कहिल्यै गर्नुहुनेछैन, अवज्ञा गरी उहाँले परमेश्‍वर पिताको इच्छालाई त्याग्‍ने कुरा त गर्दै नगरौँ। उहाँले परमेश्‍वर पिताको इच्छालाई तोड्नुभन्दा देहको पीडालाई भोग्‍न रचाउनुहुन्छ; यो कुरा येशूले प्रार्थनामा भन्‍नुभएको जस्तै हो, “पिता, यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” मानिसहरूले आफ्नो लागि आफै निर्णयहरू गर्छन्, तर ख्रीष्‍टले त्यसो गर्नुहुन्‍न। उहाँसँग परमेश्‍वर स्वयम्‌को पहिचान भए तापनि, उहाँले परमेश्‍वर पिताको इच्छाको खोजी गर्नुहुन्छ, र परमेश्‍वर पिताले उहाँलाई सुम्‍पनुभएको कुरालाई देहको दृष्टिकोणद्वारा पूरा गर्नुहुन्छ। यो मानिसले पूरा गर्न नसक्‍ने कुरा हो। शैतानबाट आउने कुरामा परमेश्‍वरको सार हुँदैन; यसमा परमेश्‍वरको अवज्ञा गर्ने र उहाँलाई विरोध गर्ने कुरा मात्रै हुन्छ। यसले परमेश्‍वरलाई पूर्ण रूपमा आज्ञापालन गर्न सक्दैन, परमेश्‍वरको इच्छालाई स्वेच्‍छाले पालन गर्ने कुरा त परै जाओस्। ख्रीष्‍टबाहेकका सबै मानिसहरूले त्यही काम गर्न सक्छन् जसले परमेश्‍वरको विरोध गर्छ, र कुनै पनि मानिसले परमेश्‍वरले सुम्‍पनुभएको कार्यलाई प्रत्यक्ष रूपमा अघि बढाउन सक्दैन; परमेश्‍वरको व्यवस्थापनलाई एक जनाले पनि आफूले निर्वाह गर्नुपर्ने कर्तव्यको रूपमा लिन सक्दैन। ख्रीष्‍टको सार भनेको परमेश्‍वर पिताको इच्छाप्रति समर्पित हुनु हो; परमेश्‍वरको विरुद्धमा अनाज्ञाकारी हुने कार्य शैतानको चरित्र हो। यी दुई गुणहरू परस्पर-विरोधी गुणहरू हुन्, र शैतानका गुणहरू भएको कसैलाई पनि ख्रीष्‍ट भन्‍न सकिँदैन। मानिसले परमेश्‍वरको खातिर उहाँको काम गर्न नसक्‍नुको कारण के हो भने मानिसमा परमेश्‍वरको कुनै पनि सार हुँदैन। मानिसले आफ्नो व्यक्तिगत रुचिहरूका लागि र भविष्यको आशाको लागि मात्रै परमेश्‍वरको काम गर्छ, तर ख्रीष्‍टले परमेश्‍वर पिताको इच्छा पूरा गर्नको लागि काम गर्नुहुन्छ।

ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा सञ्‍चालित छ। उहाँ देहमा हुनुभए तापनि, उहाँको मानवता पूर्ण रूपमा देहको मानिसजस्तो छैन। उहाँमा उहाँको आफ्नै अद्वितीय चरित्र छ, र यो पनि उहाँको ईश्‍वरत्वद्वारा सञ्‍चालित छ। उहाँको ईश्‍वरत्वमा कुनै कमजोरी छैन; ख्रीष्‍टको कमजोरीले उहाँको मानवताको कमजोरीलाई जनाउँछ। केही हदसम्‍म, यो कमजोरीले उहाँको ईश्‍वरत्वलाई बाधा दिन्छ, तर त्यस्ता सीमितताहरू निश्‍चित क्षेत्र र समयभित्र हुन्छन्, र ती असीमित हुँदैनन्। जब उहाँको ईश्‍वरत्वको कामलाई अघि बढाउने समय आउँछ, तब उहाँको मानवताको बाबजुत पनि यसलाई पूरा गरिन्छ। ख्रीष्‍टको मानवता पूर्ण रूपमा उहाँको ईश्‍वरत्वद्वारा निर्देशित छ। उहाँको मानवताको सामान्य जीवनबाहेक, उहाँको मानवताका अरू सबै कार्यहरू पनि उहाँको ईश्‍वरत्वद्वारा अभिप्रेरित, प्रभावित र निर्देशित हुन्छन्। ख्रीष्‍टमा मानवता भए तापनि, यसले उहाँको ईश्‍वरत्वको काममा बाधा दिँदैन, र यसो हुनु ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा निर्देशित भएकोले नै हो; अरूसँग कसरी व्यवहार गर्ने भन्‍नेबारेमा उहाँको मानवता परिपक्‍व नभए तापनि, यसले उहाँको ईश्‍वरत्वको सामान्य कार्यलाई असर पार्दैन। उहाँको मानवता भ्रष्‍ट भएको छैन भनी भन्‍ने क्रममा मैले ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा प्रत्यक्ष रूपमा निर्देशित हुन सक्छ, र उहाँमा साधारण मानिसको भन्दा उच्‍च चेतना छ भनेर भन्‍न खोजेको हुँ। उहाँको मानवता उहाँको कार्यमा ईश्‍वरत्वद्वारा निर्देशित हुन सबैभन्दा बढी उपयुक्त छ; उहाँको मानवता ईश्‍वरत्वको कार्य व्यक्त गर्न सबैभन्दा सक्षम छ, र त्यस्तो कार्यप्रति समर्पित हुन सबैभन्दा समर्थ छ। देहमा काम गर्ने क्रममा उहाँले देहमा रहेको मानिसले पूरा गर्नुपर्ने कर्तव्यलाई कहिल्यै पनि बिर्सनुहुन्‍न; उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्न सक्षम हुनुहुन्छ। उहाँमा परमेश्‍वरको सार छ, र उहाँको पहिचान परमेश्‍वर स्वयम्‌को पहिचान हो। यो के मात्रै हो भने उहाँ पृथ्वीमा आउनुभएको छ र सृष्‍टि गरिएको प्राणी बन्‍नुभएको छ र सृष्‍टि गरिएको प्राणीको बाहिरी आवरण ओढ्नुभएको छ र, अहिले मानवता धारण गर्नुभएको छ जुन पहिले उहाँमा थिएन। स्वर्गमा हुनुहुने परमेश्‍वरलाई आराधना गर्न उहाँ सक्षम हुनुहुन्छ; यो परमेश्‍वर स्वयम्‌को अस्तित्व हो र यसलाई मानिसले अनुकरण गर्न सक्दैन। उहाँको पहिचान परमेश्‍वर स्वयम्‌ नै हो। देहको दृष्टिकोणद्वारा उहाँले परमेश्‍वरको आराधना गर्नुहुन्छ; त्यसकारण, “ख्रीष्‍टले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई आराधना गर्नुहुन्छ” भन्‍ने वचन गलत छैनन्। मानिसबाट उहाँले चाहने कुरा भनेको उहाँको आफ्नै अस्तित्व हो; मानिसहरूबाट ती कुरा माग्‍नुभन्दा पहिले नै उहाँले ती सबै हासिल गर्नुभएको छ। जुन कुरा आफूमा छैन उहाँले त्यो कुरा अरूबाट कहिल्यै अपेक्षा गर्नुहुन्‍न, किनभने त्यो सबै उहाँको अस्तित्वमा रहेको हुन्छ। उहाँले आफ्नो कार्यलाई जसरी अघि बढाउनुभए तापनि, परमेश्‍वरलाई अवज्ञा गर्ने तरिकाले उहाँले कहिल्यै काम गर्नुहुन्‍न। उहाँले मानिसबाट जे अपेक्षा गर्नुभए पनि, मानिसले पूरा गर्न सक्‍नेभन्दा बाहिरको कुनै मापदण्ड हुँदैन। उहाँले गर्ने सबै कुरा परमेश्‍वरको इच्छालाई पूरा गर्ने कार्य हो र ती सबै उहाँको व्यवस्थापनको खातिर हो। ख्रीष्‍टको ईश्‍वरत्व सबै मानिसहरूभन्दा माथि छ; त्यसकारण, सृष्‍टि गरिएका सबै प्राणीहरूको सबैभन्दा उच्‍च अख्तियार उहाँ नै हुनुहुन्छ। यो अख्तियार नै उहाँको ईश्‍वरत्व, अर्थात् परमेश्‍वर स्वयम्‌को स्वभाव र अस्तित्व हो, जसले उहाँको पहिचानलाई निर्धारण गर्छ। त्यसकारण, उहाँको मानवता जतिसुकै सामान्य भए तापनि, उहाँमा परमेश्‍वर स्वयम्‌को पहिचान छ भन्‍ने कुरा अखण्डनीय छ; उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्‍नुभए तापनि र उहाँले परमेश्‍वरको इच्छालाई जसरी पालन गर्नुभए तापनि, उहाँ परमेश्‍वर स्वयम्‌ हुनुहुन्‍न भनेर भन्‍न सकिँदैन। प्रायजसो मूर्ख र अज्ञानी मानिसहरूले ख्रीष्‍टको मानवतालाई त्रुटि ठान्छन्। आफ्नो ईश्‍वरत्वको अस्तित्वलाई उहाँले जसरी व्यक्त र प्रकट गर्नुभए पनि, उहाँ ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरालाई स्वीकार गर्न मानिस असमर्थ छ। अनि, ख्रीष्‍टले आफ्नो आज्ञापालन र मानवतालाई जति प्रदर्शन गर्नुहुन्छ, मूर्ख मानिसहरूले ख्रीष्‍टलाई त्यति नै हल्कासँग लिन्छन्। उहाँप्रति बहिष्‍कार र तिरस्कारको मनोवृति अपनाउने तर उच्‍च प्रतिष्‍ठा भएका “महान् मानिसहरू” लाई चाहिँ आराधनाको टेबलमा राख्‍ने मानिसहरू पनि छन्। परमेश्‍वरप्रतिको मानिसको विरोध र अवज्ञा देहधारी परमेश्‍वरको सार परमेश्‍वरप्रति समर्पित हुन्छ भन्‍ने तथ्यका साथै ख्रीष्‍टको सामान्य मानवताबाट आउँछ; यो नै परमेश्‍वरप्रतिको मानिसको विरोध र अवज्ञाको स्रोत हो। यदि ख्रीष्‍टमा उहाँको मानवताको भेष नभएको भए र उहाँले सृष्‍टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्‍वर पिताको इच्छालाई नखोज्‍नुभएको भए, र उहाँमा अधिक मानवता भएको भए, मानिसहरूको माझमा कुनै अवज्ञा नहुने सम्‍भावना बढी हुन्थ्यो। मानिसले सधैँ स्वर्गको अदृश्य परमेश्‍वरमा विश्‍वास गर्न तयार हुनुको कारण के हो भने स्वर्गको परमेश्‍वरमा कुनै मानवता हुँदैन, न त उहाँमा सृष्‍टि गरिएको प्राणीको कुनै एउटा गुण नै हुन्‍छ। त्यसकारण, मानिसले उहाँलाई सबैभन्दा उच्‍च आदरको दृष्‍टिकोणले हेर्छ, तर ख्रीष्‍टप्रति भने तिरस्कारको मनोवृति अँगाल्छ।

ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गरेर काम गर्न सक्षम हुनुभए पनि, उहाँ देहमा रहेको आफ्नो स्वरूप सबै मानिसहरूलाई देखाउने अभिप्रायका साथ आउनुभएको होइन। सबै मानिसले उहाँलाई देखून् भनेर उहाँ आउनुभएको होइन; उहाँ त आफ्नै हातले मानिसलाई डोर्‍याउनको निम्ति आउनुभएको हो, र यसद्वारा मानिस नयाँ युगमा प्रवेश गर्छ। ख्रीष्‍टको देहको प्रयोजन परमेश्‍वर स्वयम्‌को कार्य, अर्थात् देहमा गरिने परमेश्‍वरको कार्यको लागि हो, मानिसलाई उहाँको देहको सार पूर्ण रूपमा बुझ्‍न सक्षम पार्नको लागि होइन। उहाँले जसरी काम गर्नुभए पनि, उहाँले गर्ने कुनै पनि कुरा देहद्वारा प्राप्‍त गर्न सकिने परिधिभन्दा बाहिर जाँदैन। उहाँले जसरी काम गर्नुभए पनि, उहाँले त्यो कुरा सामान्य मानवताद्वारा देहमा गर्नुहुन्छ, र मानिससमक्ष परमेश्‍वरको साँचो अनुहार पूर्ण रूपमा प्रकट गर्नुहुन्‍न। यसको साथै, देहमा उहाँले गर्ने कार्य मानिसले सोचेजति अलौकिक वा अथाह कहिल्यै हुँदैन। ख्रीष्‍टले देहमा परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्नुभए पनि र परमेश्‍वर स्वयम्‌ले गर्नुपर्ने कार्यलाई व्यक्तिगत रूपमा आफै गर्नुहुने भए पनि, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नुहुन्‍न, न त उहाँले उत्तेजनाको साथ आफ्नै कार्यहरूको घोषणा नै गर्नुहुन्छ। बरु, उहाँ आफ्नो देहभित्र गुप्त र नम्र रहनुहुन्छ। ख्रीष्‍टबाहेक, आफूलाई ख्रीष्‍ट भनी झूटो रूपमा दाबी गर्नेहरूमा उहाँका गुणहरू हुँदैनन्। झूटा ख्रीष्टहरूको अहङ्कारी र आफैलाई उचाल्‍ने स्वभावसँग तुलना गर्दा, ख्रीष्ट कस्तो प्रकारको देह हुनुहुन्छ भन्‍ने कुरा छर्लङ्ग हुन्छ। तिनीहरू जति धेरै झूट हुन्छन्, त्यति नै हदसम्‍म झूटा ख्रीष्‍टहरूले आफ्नो प्रदर्शन गर्छन्, र मानिसहरूलाई धोका दिन तिनीहरूले त्यति नै धेरै चिन्‍हहरू देखाउन र अचम्‍मका कामहरू गर्न सक्छन्। झूटा ख्रीष्‍टहरूमा परमेश्‍वरका गुणहरू हुँदैनन्; झूटा ख्रीष्टहरूको कुनै पनि तत्वद्वारा ख्रीष्‍ट कलङ्कित हुनुहुन्‍न। देहको कार्य गर्नको लागि मात्रै परमेश्‍वर देह बन्‍नुहुन्छ, उहाँलाई हेर्नको निम्ति मानिसहरूलाई मौका दिन देह बन्‍नुहुन्‍न। बरु, उहाँले आफ्नै कामलाई उहाँको पहिचान पुष्‍टि गर्न दिनुहुन्छ, र आफूले प्रकट गरेकै कुरालाई उहाँले आफ्नो सार प्रमाणित गर्न दिनुहुन्छ। उहाँको सार आधारहीन छैन; उहाँको पहिचान उहाँको हातले खोसेर लिएको कुरा होइन; यो त उहाँको कार्य र उहाँको सारद्वारा निर्धारित हुन्छ। उहाँमा परमेश्‍वर स्वयम्‌को सार भए पनि र परमेश्‍वर स्वयम्‌को कामलाई पूरा गर्न उहाँ सक्षम हुनुभए पनि, आखिर उहाँ देह नै हुनुहुन्छ, जुन आत्माभन्दा फरक छ। उहाँ आत्माका गुणहरू भएको परमेश्‍वर हुनुहुन्‍न; उहाँ देहको आवरण भएको परमेश्‍वर हुनुहुन्छ। त्यसकारण, उहाँ जति सामान्य र जति कमजोर भए पनि, र उहाँले परमेश्‍वर पिताको इच्छालाई जसरी खोज्‍नु भए पनि, उहाँको ईश्‍वरत्व अखण्डनीय छ। देहधारी परमेश्‍वरभित्र सामान्य मानवता र यसको कमजोरीहरू मात्रै हुँदैनन्; त्यहाँ उहाँको ईश्‍वरत्वको अद्‌भुतता र अज्ञेयताका साथै देहमा उहाँले गर्नुहुने सबै कार्यहरू पनि हुन्छन्। त्यसकारण, मानवता र ईश्‍वरत्व दुवै ख्रीष्‍टभित्र वास्तविक र व्यवहारिक दुवै रूपमा अस्तित्वमा हुन्छ। यो रित्तो वा अलौकिक कुरा हुँदै होइन। उहाँ आफ्नो कार्यलाई अघि बढाउने मुख्य उद्देश्यको साथ पृथ्वीमा आउनुभएको छ; पृथ्वीमा काम अघि बढाउनको लागि सामान्य मानवता धारण गर्नु अपरिहार्य नै हुन्छ; अन्यथा, उहाँको ईश्‍वरत्वको शक्ति जति नै महान् भए पनि, यसको मूल प्रकार्यलाई राम्रोसित प्रयोग गर्न सकिँदैन। उहाँको मानवताको महत्त्व निकै ठूलो भए पनि, यो उहाँको सार होइन। उहाँको सार ईश्‍वरत्व हो; त्यसकारण, उहाँले जुन क्षण पृथ्वीमा आफ्नो सेवकाइ सुरु गर्नुहुन्छ त्यही क्षण नै उहाँले आफ्नो ईश्‍वरत्व व्यक्त गर्न सुरु गर्नुहुन्छ। उहाँको मानवता आफ्नो देहको सामान्य जीवनलाई कायम राख्‍नको लागि मात्रै अस्तित्वमा रहन्छ ताकि उहाँको ईश्‍वरत्वले देहमा सामान्य रूपले आफ्नो कार्य अघि बढाउन सकोस्; उहाँको कार्यलाई पूर्ण रूपमा निर्देशित गर्नेचाहिँ ईश्‍वरत्व नै हो। जब उहाँले आफ्नो कार्य पूरा गर्नुहुन्छ, तब उहाँले आफ्नो सेवकाइ पूरा गरिसक्‍नुभएको हुनेछ। उहाँको कार्यको सम्पूर्णता नै मानिसले जान्‍नुपर्ने कुरा हो, र उहाँले मानिसलाई उहाँको कार्यद्वारा नै उहाँलाई चिन्‍न सक्षम तुल्याउनुहुन्छ। आफ्नो कार्यको अवधिमा, उहाँले आफ्नो ईश्‍वरत्वको अस्तित्वलाई लगभग पूर्ण रूपमा व्यक्त गर्नुहुन्छ, र उहाँको त्यो ईश्‍वरत्व मानवताद्वारा कलङ्कित नभएको स्वभाव हो, विचार र मानव आचरणद्वारा कलङ्कित नभएको अस्तित्व हो। जब उहाँको सारा सेवकाइ पूरा हुने समय आउँछ, उहाँले आफूले व्यक्त गर्नुपर्ने स्वभावलाई पहिले नै सिद्ध र पूर्ण रूपमा व्यक्त गरिसक्‍नुभएको हुनेछ। उहाँको कार्य कुनै पनि मानिसको निर्देशनहरूद्वारा निर्देशित छैन; उहाँको स्वभावको अभिव्यक्ति पनि पूर्णतया स्वतन्त्र नै छ, र यो दिमागद्वारा नियन्त्रित वा विचारद्वारा सञ्‍चालित छैन, बरु प्राकृतिक रूपमै यो प्रकट हुन्छ। यो कुनै पनि मानिसले प्राप्‍त गर्न नसक्‍ने कुरा हो। वातावरणहरू कठोर भए पनि वा अवस्थाहरू प्रतिकूल भए पनि, उहाँले उचित समयमा आफ्नो स्वभावलाई व्यक्त गर्न सक्‍नुहुन्‍छ। जो ख्रीष्‍ट हुनुहुन्छ, उहाँले ख्रीष्‍टको सारलाई प्रकट गर्नुहुन्छ, तर जो ख्रीष्‍ट होइनन् तिनीहरूमा ख्रीष्‍टको स्वभाव हुँदैन। त्यसकारण, सबैले उहाँलाई विरोध गरे पनि वा उहाँको बारेमा विभिन्‍न धारणा राखे पनि, ख्रीष्‍टले व्यक्त गर्नुभएको स्वभाव नै परमेश्‍वरको स्वभाव हो भन्‍ने कुरालाई मानिसका धारणाहरूको आधारमा कसैले पनि इन्कार गर्न सक्दैन। ख्रीष्‍टलाई साँचो हृदयले पछ्याउने वा मनैबाट परमेश्‍वरलाई खोज्‍ने सबैले उहाँको ईश्‍वरत्वको अभिव्यक्तिको आधारमा उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरालाई स्वीकार गर्नेछन्। मानिसका धारणाहरूसँग नमिल्‍ने उहाँका कुनै पनि पक्षहरूको आधारमा तिनीहरूले ख्रीष्‍टलाई कहिल्यै पनि इन्कार गर्दैनन्। मानिस अत्यन्तै मूर्ख भए पनि, मानिसको इच्छा के हो र परमेश्‍वरबाट के आउँछ भन्‍ने कुरा सबैलाई यथार्थ रूपमा थाहा छ। के मात्रै हो भने आफ्‍ना अभिप्रायहरूका परिणामस्वरूप धेरै मानिसहरूले ख्रीष्‍टलाई जानीजानी विरोध गर्छन्। यदि त्यो कुरा नभइदिएको भए, ख्रीष्‍टको अस्तित्वलाई इन्कार गर्ने कारण कुनै पनि मानिससँग हुँदैनथ्यो, किनभने ख्रीष्‍टले व्यक्त गर्नुभएको ईश्‍वरत्व वास्तवमै अस्तित्वमा छ, र उहाँको कार्यलाई नाङ्गो आँखाले देख्‍न सकिन्छ।

ख्रीष्‍टको कार्य र अभिव्यक्तिले नै उहाँको स्वभाव निर्धारित गर्छ। उहाँमा समर्पित गरिएको साँचो हृदयलाई उहाँले पूर्ण गर्न सक्‍नुहुन्‍छ। उहाँले स्वर्गका परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्न सक्‍नुहुन्‍छ, र साँचो हृदयद्वारा नै उहाँले परमेश्‍वर पिताको इच्छालाई खोज्‍न सक्‍नुहुन्छ। यी सबैलाई उहाँको सारले नै निर्धारित गर्छ। अनि, उहाँको सारले नै उहाँको प्राकृतिक प्रकाशलाई पनि निर्धारित गर्छ; मैले यसलाई “प्राकृतिक प्रकाश” भन्‍नुको कारण के हो भने उहाँको अभिव्यक्ति अनुकरण, वा मानिसको शिक्षाको परिणाम, वा मानिसले धेरै वर्ष जगेर्ना गर्दाको परिणाम होइन। उहाँले यो कुरा सिक्‍नुभएन वा आफैलाई यसद्वारा सजाउनुभएन; बरु, यो त उहाँ आफैमा अन्तर्निहित छ। मानिसले उहाँको कार्य, उहाँको अभिव्यक्ति, उहाँको मानवता, र उहाँको सामान्य मानवताको सम्पूर्ण जीवनलाई इन्कार गर्न सक्छ, तर उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्नुहुन्छ भन्‍ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन; उहाँ स्वर्गमा हुनुहुने पिताको इच्छालाई पूरा गर्नको लागि आउनुभएको हो भन्‍ने कुरालाई पनि कसैले इन्कार गर्न सक्दैन, र उहाँले परमेश्‍वर पितालाई जुन इमानदारीसाथ खोज्‍नुहुन्छ त्यस तथ्यलाई पनि कसैले इन्कार गर्न सक्दैन। उहाँको स्वरूप इन्द्रियहरूका लागि आकर्षक नभए पनि, उहाँको उपदेश असाधारण नभए पनि, र उहाँको कार्य मानिसले कल्‍पना गरेजस्तो पृथ्वी फोर्ने वा स्वर्ग हल्‍लाउने नभए पनि, उहाँ वास्तवमै ख्रीष्‍ट हुनुहुन्छ, जो साँचो हृदयको साथ स्वर्गमा हुनुहुने पिताको इच्छाअनुसार कार्य गर्नुहुन्छ र स्वर्गीय पिताप्रति पूर्ण रूपमा समर्पित र मृत्युसम्‍मै आज्ञाकारी हुनुहुन्छ। यस्तो किन हुन्छ भने उहाँको सार ख्रीष्‍टकै सार हो। मानिसलाई यो सत्यता विश्‍वास गर्न कठिन हुन्‍छ, तर यही नै सत्य हो। जब ख्रीष्‍टको सेवकाइ पूर्ण रूपमा पूरा भएको हुन्छ, तब उहाँको कार्यद्वारा मानिसले के कुरालाई देख्‍न सक्छ भने उहाँको स्वभाव र उहाँको अस्तित्वले स्वर्गका परमेश्‍वरको स्वभाव र अस्तित्वलाई प्रतिनिधित्व गर्छ। त्यो समयमा, उहाँका सबै कार्यको समस्टीले उहाँ वास्तवमा देहधारी हुनुहुने वचन हुनुहुन्छ, र देह एवं रगतले बनेको मानिसजस्तो हुनुहुन्‍न भन्‍ने कुरालाई पुष्‍टि गर्न सक्छ। पृथ्वीमा ख्रीष्‍टले गर्नुहुने कार्यको हरेक चरणको आफ्नै प्रतिनिधिमूलक महत्त्व छ, तर हरेक चरणको वास्तविक कार्य अनुभव गर्ने मानिसले उहाँको कार्यको महत्त्व बुझ्‍न सक्दैन। परमेश्‍वरले आफ्नो दोस्रो देहधारणद्वारा अघि सार्नुभएका कार्यका विभिन्‍न चरणहरूको हकमा यो विशेष गरी लागू हुन्छ। ख्रीष्‍टका वचनहरूलाई मात्रै सुनेका वा देखेका तर उहाँलाई कहिल्यै नदेखेका धेरैजसोमा उहाँको कामको बारेमा धारणाहरू हुँदैनन्; ख्रीष्‍टलाई देखेका र उहाँका वचनहरू सुनेका, साथै उहाँको कार्य अनुभव गरेका मानिसहरूलाई उहाँको कार्य स्वीकार गर्न कठिन हुन्छ। के यो ख्रीष्‍टको स्वरूप र सामान्य मानवता मानिसले चाहेजस्तो नभएको कारणले गर्दा भएको हो? ख्रीष्‍ट गइसक्‍नुभएपछि उहाँको कार्य स्वीकार गर्ने मानिसहरूमा त्यस्तो कठिनाइ हुँदैन, किनभने तिनीहरूले केवल उहाँको कार्य स्वीकार गर्छन् तर ख्रीष्‍टको सामान्य मानवताको तिनीहरू सम्पर्कमा आउँदैनन्। परमेश्‍वरप्रतिको आफ्ना धारणाहरू त्याग्‍न मानिस असक्षम छ र उसले उहाँलाई तीव्रताको साथ जाँच्छ; यसको कारण के हो भने मानिसले उहाँको स्वरूपमा मात्रै विशेष ध्यान दिन्छ र उहाँको कार्य र उहाँका वचनहरूको आधारमा उहाँको सार पहिचान गर्न सक्दैन। यदि मानिसले ख्रीष्‍टको स्वरूपप्रति आफ्नो आँखा चिम्लन्छ वा ख्रीष्‍टको मानवता छलफल गर्नबाट टाढा बस्छ, र उहाँको ईश्‍वरत्व अर्थात् जसको काम र वचन कुनै पनि मानिसले प्राप्‍त गर्न सक्दैन त्यस ईश्‍वरत्वको बारेमा मात्रै कुरा गर्छ भने, मानिसका आधा धारणाहरू घट्नेछन्, र सबै मानिसका कठिनाइहरूसमेत समाधान हुनेछन्। देहधारी परमेश्‍वरको कार्य अवधिमा, मानिसले उहाँलाई सहन गर्न सक्दैन र मानिसमा उहाँको बारेमा विभिन्‍न किसिमका धारणाहरू हुन्छन्, र विरोध र अवज्ञाका घटनाहरू नियमतिजसो नै हुन्छन्। मानिसले परमेश्‍वरको अस्तित्वलाई सहन गर्न, ख्रीष्‍टको नम्रता र ख्रीष्‍टको गुप्‍तताप्रति कोमल व्यवहार गर्न, वा स्वर्गमा हुनुहुने पितालाई पालन गर्ने ख्रीष्‍टको सारलाई क्षमा गर्न सक्दैन। त्यसकारण, उहाँले आफ्नो काम समाप्‍त गर्नुभएपछि उहाँ मानिससँग अनन्तसम्‍म बस्‍न सक्‍नुहुन्‍न, किनभने उहाँलाई आफूमाझ जिउन दिन मानिस अनिच्‍छुक छ। यदि मानिसले उहाँको कार्य अवधिमा उहाँप्रति कोमल व्यवहार गर्न सक्दैन भने उहाँले आफ्नो सेवकाइलाई पूरा गरेपछि, उहाँका वचनहरूलाई क्रमिक रूपमा तिनीहरूले अनुभव गर्दै गएको उहाँले हेर्ने क्रममा, कसरी तिनीहरूले आफूमाझ उहाँ जिउनुभएको कुरालाई सहन गर्न सम्‍भव छ र? के त्यसपछि उहाँको कारण तिनीहरूमध्ये धेरै जना पतन हुने छैनन् र? मानिसले उहाँलाई पृथ्वीमा काम गर्नको लागि मात्रै अनुमति दिन्छ; मानिसको कोमलताको सबैभन्दा ठूलो हद त्यही हो। यदि उहाँको काम नै नभएको भए, मानिसले उहाँलाई धेरै पहिले नै पृथ्वीबाट निर्वासित गर्नेथ्यो, उहाँको काम पूरा भइसकेपछि त झन् तिनीहरूले उहाँप्रति कति कम कोमल व्यवहार देखाउलान्? त्यसपछि के मानिसले उहाँलाई मार्ने र मृत्युसम्‍मै यातना दिनेथेनन् र? यदि उहाँलाई ख्रीष्‍ट नभनिएको भए, उहाँले मानवजातिमाझ सम्भवत काम गर्न सक्‍नुहुन्‍नथ्यो; यदि उहाँले परमेश्‍वर स्वयम्‌को पहिचान लिएर काम नगर्नुभएको भए, र एउटा साधारण मानिसको रूपमा मात्रै काम गर्नुभएको भए, उहाँले बोल्‍नुभएको एउटा वाक्यलाई पनि मानिसले सहने थिएन, उहाँको कामलाई त झन् उसले अलिकति सहने पनि कुरै हुन्‍नथ्यो। त्यसकारण, उहाँले यो पहिचान लिएर मात्र आफ्नो कार्य गर्न सक्‍नुहुन्‍छ। यसरी, उहाँले त्यसो नगर्नुभएको अवस्थामा भन्दा यस अवस्थामा उहाँको काम बढी शक्तिशाली हुन्छ, किनभने प्रतिष्‍ठित र महान् पहिचानलाई पालन गर्न सबै मानिसहरू तयार हुन्छन्। काम गर्ने क्रममा यदि उहाँले परमेश्‍वर स्वयम्‌को पहिचान नलिनुभएको भए वा उहाँ परमेश्‍वर स्वयम्‌को रूपमा देखा नपर्नुभएको भए, उहाँले काम गर्ने मौका नै पाउनुहुन्‍नथ्यो। उहाँमा परमेश्‍वरको सार र ख्रीष्‍टको अस्तित्व हुनाको बाबजुत मानिसले सहज भएर उहाँलाई मानिसहरूमाझ सहजताको साथ उहाँको काम अघि बढाउन नदिनेथ्यो। आफ्नो काममा उहाँले परमेश्‍वर स्वयम्‌को पहिचान बोक्‍नुहुन्छ; त्यस्तो कार्य त्यस्तो पहिचानविना गरेको कार्यभन्दा धेरै गुणा शक्तिशाली हुने भए पनि, मानिस उहाँमा पूर्ण रूपमा आज्ञाकारी छैन, किनभने मानिस उहाँको प्रतिष्‍ठाप्रति मात्रै समर्पित छ, उहाँको सारप्रति समर्पित छैन। यदि त्यसो हो भने, सायद एकदिन ख्रीष्‍ट आफ्नो पदबाट तल झर्नुभयो भने, के मानिसले उहाँलाई एकदिन पनि जीवित रहन दिन सक्छ? परमेश्‍वर पृथ्वीमा मानिससँग बस्‍न तयार हुनुहुन्छ ताकि आफूले गरेको कामले त्यसपछिका वर्षहरूमा ल्याउने प्रभावहरूलाई उहाँले देख्‍न सक्‍नुहोस्। तैपनि, उहाँको उपस्थितिलाई मानिसले एकदिन पनि सहन सक्दैन, त्यसकारण उहाँले यस कार्यलाई परित्याग मात्रै गर्न सक्‍नुभयो। मानिसको माझमा उहाँले गर्नुपर्ने काम र उहाँको सेवकाइ पूरा गर्न दिनु नै परमेश्‍वरलाई मानिसले देखाएको सबैभन्दा ठूलो कोमलता र अनुग्रहको हद हो। उहाँद्वारा व्यक्तिगत रूपमा विजय गरिएका मानिसहरूले उहाँलाई त्यस किसिमको अनुग्रह देखाए पनि, तिनीहरूले उहाँलाई उहाँको काम समाप्‍त भइञ्‍जेलसम्‍म मात्रै बस्‍न दिन्छन्, त्यसभन्दा बढी एक क्षण पनि बस्‍न दिँदैनन्। यदि यसो हो भने, विजय नगरिएकाहरूको चाहिँ अवस्था के छ? के मानिसले देहधारी परमेश्‍वरलाई यसरी व्यवहार गर्नुको कारण उहाँ सामान्य मानवको आवरणमा हुनुभएको ख्रीष्‍ट हुनुभएकोले गर्दा हो? यदि उहाँमा ईश्‍वरत्व मात्रै भएको भए र सामान्य मानवता नभएको भए, के मानिसका कठिनाइहरू निकै सहजताको साथ समाधान हुन्थेनन् र? उहाँको स्वभाव ख्रीष्‍टको जस्तै छ, जुन स्वर्गमा हुनुहुने पिताको इच्छामा समर्पित छ भन्‍ने तथ्यको बाबजुत पनि, मानिसले जबरजस्ती उहाँको ईश्‍वरत्वलाई स्वीकार गर्छ र उहाँको साधारण मानिसको स्वरूपप्रति कुनै चासो देखाउँदैन। त्यसैले, उहाँले मानिससँग आनन्द र शोकहरू बाँड्नका लागि तिनीहरूसँग बस्‍ने आफ्नो कार्यलाई रद्द मात्रै गर्न सक्‍नुभयो, किनभने मानिसले उहाँको अस्तित्वलाई त्यसउप्रान्त सहनै सकेन।

अघिल्लो: परमेश्‍वरको कार्य र मानिसको अभ्यास

अर्को: मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्