सत्यता खोज्‍ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू

अंश १०

धेरै मानिसहरू कर्तव्यमा अत्यन्तै व्यस्त हुनेबित्तिकै अनुभव गर्न असमर्थ बन्छन्, र सामान्य स्थिति कायम गर्न नसक्‍ने अवस्थामा पुग्छन्, र त्यसकारण तिनीहरूले बारम्‍बार भेला आयोजना गरी आफूलाई सत्यता सङ्गति गरियोस् भनेर अनुरोध गरिरहन्छन्। यहाँ के भइरहेको छ? तिनीहरूले सत्यता बुझ्दैनन्, तिनीहरूसँग साँचो मार्गको जग हुँदैन, त्यस्ता मानिसहरूले आफ्‍नो कर्तव्य निभाउँदा जोसले प्रेरित भएका हुन्छन्, र तिनीहरू लामो समय थेग्‍न सक्दैनन्। मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूले गर्ने कुनै पनि काममा कुनै सिद्धान्त हुँदैन। तिनीहरूलाई कुनै काम गर्न दिइयो भने, तिनीहरूले यसलाई भताभुङ्ग पार्छन्, तिनीहरूले काम गर्दा लापर्बाही गर्छन्, तिनीहरू सिद्धान्तहरू खोजी गर्दैनन्, र तिनीहरूको हृदयमा कुनै समर्पण हुँदैन—यसले तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् र तिनीहरू परमेश्‍वरको काम अनुभव गर्न असक्षम छन् भन्‍ने प्रमाणित गर्छ। तैँले जेसुकै गरे पनि, सबैभन्दा पहिले तैँले त्यो कार्य किन गर्दैछस्, त्यो कार्य गर्न तँलाई कुन अभिप्रायले निर्देशित गर्छ, तैँले त्यो कार्य गर्नुको महत्त्व के छ, त्यो मामलाको प्रकृति के-कस्तो छ, अनि तैँले गरिरहेको त्यो कार्य सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो भनेर बुझ्नुपर्छ। तँलाई यी सबै कुराहरूको बारेमा स्पष्ट बुझाइ हुनुपर्छ; सिद्धान्तपरक ढङ्गले कार्य गर्न सक्षम हुनको लागि तँलाई यो एकदमै जरुरी छ। यदि तैँले कर्तव्य निर्वाह गर्नु भनेर वर्गीकृत गर्न सकिने कुनै काम गर्दै छस् भने, तैँले ध्यानपूर्वक सोचविचार गर्नुपर्छ: मैले कसरी मेरो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ ताकि मैले त्यो कार्य झारो टार्नको लागि मात्र नगरूँ? यो मामलामा तैँले प्रार्थना गर्नुपर्छ, र परमेश्‍वरको नजिक आउनुपर्छ। परमेश्‍वरसित प्रार्थना गर्नु भनेको सत्यता, अभ्यास गर्ने बाटो, र परमेश्‍वरका चाहना खोजी गर्नको लागि र परमेश्‍वरलाई खुसी तुल्याउनको लागि हो। प्रार्थना यिनै प्रभावहरू हासिल गर्नको लागि हो। परमेश्‍वरसित प्रार्थना गर्नु, परमेश्‍वरको नजिक आउनु, र परमेश्‍वरका वचनहरू पढ्नु धार्मिक संस्कार वा बाह्य कार्यहरू होइनन्। यी त परमेश्‍वरका अभिप्राय खोजिसकेपछि सत्यताअनुरूप अभ्यास गर्ने प्रयोजनको लागि गरिने कुराहरू हुन्। यदि तैँले केही गरेको छैनस् र पनि सधैँ “परमेश्‍वरलाई धन्यवाद होस्” भनिरहन्छस्, र तँ अत्यन्तै आत्मिक र अन्तर्ज्ञानी देखिन सक्छस्, तर काम गर्ने बेलामा, सत्यता खोजी नै नगरी आफूलाई जे मन लाग्यो त्यही गर्छस् भने, यो तेरो “परमेश्‍वरलाई धन्यवाद होस्” भन्‍ने भनाइ मन्त्र बाहेक केही पनि हुँदैन, यो झूटो आत्मिकता हो। आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सधैँ यस्तो सोच्‍नुपर्छ: “मैले यो कर्तव्य कसरी निर्वाह गर्नुपर्छ? परमेश्‍वरको चाहना के हो?” आफ्ना कार्य-व्यवहारहरूको लागि सिद्धान्त र सत्यताहरूको खोजी गर्न परमेश्‍वरलाई प्रार्थना गर्नु र उहाँको नजिक आउनु, आफ्नो हृदयमा परमेश्‍वरका चाहना खोज्‍नु, र आफूले गर्ने कुनै पनि कुरामा परमेश्‍वरका वचनहरू वा सत्यता सिद्धान्तहरूभन्दा बाहिर नजानु—यस्तो व्यक्ति मात्रै परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्ति हो; यी सबै नै सत्यतालाई प्रेम नगर्ने मानिसहरूले प्राप्त गर्न नसक्‍ने कुरा हुन्। धेरै मानिसहरूले आफूले जे गरे पनि आफ्‍नै विचारहरू पछ्याउने गर्छन्, र सबै कुरालाई अत्यन्तै सरल रूपमा लिन्छन्, र सत्यताको खोजी पनि गर्दैनन्। तिनीहरूमा सिद्धान्त भन्‍ने कुरा हुँदै हुँदैन, र तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरले कसरी काम गर्न लगाउनुभएको छ वा परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्ने भन्‍नेबारेमा कुनै ध्यान दिँदैनन्, र तिनीहरूले एकोहोरो आफ्‍नो इच्‍छा पछ्याउन मात्रै जानेका हुन्छन्। यस्ता मानिसहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन। कतिपय मानिसहरू भन्छन्, “कठिनाइको सामना गर्दा मात्रै म परमेश्‍वरलाई प्रार्थना गर्छु, तर अझै पनि यसले कुनै प्रभाव पार्दैन जस्तो लाग्छ—त्यसकारण सामान्यतया समस्याहरू आइपर्दा म अचेल परमेश्‍वरलाई प्रार्थना गर्दिनँ, किनभने परमेश्‍वरलाई प्रार्थना गर्नुको कुनै अर्थ छैन।” त्यस्ता मानिसहरूको हृदयबाट परमेश्‍वर पूर्ण रूपमा टाढा हुनुभएको हुन्छ। तिनीहरूले साधारण समयहरूमा जे गरे पनि सत्यता खोजी गर्दैनन्; तिनीहरूले आफ्‍नै विचारहरू मात्र पछ्याउने गर्छन्। त्यसो भए, के तिनीहरूको कार्य-व्यवहारमा सिद्धान्तहरू हुन्छन् त? अवश्‍य नै हुँदैनन्। तिनीहरूले सबै कुरा सरल तरिकाले हेर्छन्। मानिसहरूले तिनीहरूलाई सत्यता सिद्धान्तहरू सङ्गति गर्दासमेत, तिनीहरूले ती सिद्धान्तहरू स्विकार्न सक्दैनन्, किनभने तिनीहरूको कार्य-व्यवहारमा कहिल्यै कुनै सिद्धान्त लागू गरिएकै हुँदैन, तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन, र तिनीहरूको हृदयमा तिनीहरू आफैबाहेक अरू कोही पनि हुँदैन। तिनीहरूलाई आफ्ना अभिप्राय असल छन्, आफूले कुनै दुष्कर्म गरिरहेको छैन, र आफूलाई सत्यता उल्लङ्घन गरिरहेको भनेर भन्‍न सकिँदैन भन्‍ने लाग्छ, र तिनीहरू आफ्‍नै अभिप्रायहरूअनुसार काम गर्नुलाई नै सत्यता अभ्यास गर्नु हो, र त्यसरी काम गर्नु नै परमेश्‍वरप्रति समर्पित हुनु हो भन्ठान्छन्। वास्तवमा, यस विषयमा तिनीहरूले साँचो रूपमा परमेश्‍वरसित खोजी वा प्रार्थना गरिरहेका हुँदैनन्, बरु आफ्‍नै जोसपूर्ण अभिप्रायहरूका आधारमा आवेगसाथ काम गरिरहेका हुन्छन्, तिनीहरूले परमेश्‍वरले भन्‍नुभए जसरी आफ्‍नो कर्तव्य निभाइरहेका हुँदैनन्, तिनीहरूसँग परमेश्‍वरप्रति समर्पित हृदय हुँदैन, र तिनीहरूमा यो कुराको चाहना नै हुँदैन। मानिसहरूको अभ्यासमा हुने सबैभन्दा ठूलो गल्ती यही हो। यदि तैँले परमेश्‍वरमा विश्‍वास त गर्छस् तैपनि तेरो हृदयमा उहाँ हुनुहुन्‍न भने, के तैँले परमेश्‍वरलाई छल गर्ने प्रयास गरिरहेको हुँदैनस् र? अनि परमेश्‍वरमाथिको यस्तो विश्‍वासले कस्तो प्रभाव ल्याउन सक्छ? तैँले आखिर के प्राप्त गर्न सक्छस्? अनि परमेश्‍वरमाथिको यस्तो विश्‍वासको अर्थ के हुन्छ र?

जब तैँले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने र परमेश्‍वरलाई घिन लाग्‍ने कुनै कार्य गर्छस्, तब तैँले कसरी आत्मचिन्तन गर्नु र आफैलाई चिन्‍ने प्रयास गर्नुपर्छ? जब तँ त्यो कार्य गर्न लागेको थिइस्, के तैँले उहाँसँग प्रार्थना गरिस्? के तैँले कहिल्यै यस्तो विचार गरिस्, “के यसरी काम गर्नु सत्यताअनुरूप हुन्छ? यो विषयलाई परमेश्‍वरको सामु ल्याइयो भने उहाँले यसलाई कसरी हेर्नुहुनेथियो होला? यदि उहाँले यस विषयमा थाहा पाउनुभयो भने, उहाँ खुसी हुनुहुनेथियो वा दिक्‍क मान्‍नुहुनेथियो? के उहाँले त्यसलाई घृणा वा तिरस्कार गर्नुहुनेथियो?” तैँले यसको खोजी गरिनस्, गरिस् त? अरूले तँलाई सम्झाउँदा पनि, तैँले यो कुनै ठूलो विषय होइन, र यो कुनै पनि सिद्धान्तको विरुद्धमा छैन र यो पाप होइन भन्‍ने सोचिस्। फलस्वरूप, तैँले परमेश्‍वरको स्वभावलाई चोट पुऱ्याइस् र उहाँमा ठूलो क्रोध उत्पन्न गराइस्, यहाँसम्म कि उहाँले तँलाई घृणासमेत गर्नुभयो। यो मानिसहरूको विद्रोहीपनबाट आउने कुरा हो। त्यसकारण, तैँले सबै कुरामा सत्यताको खोजी गर्नुपर्छ। तैँले पछ्याउनुपर्ने कुरा यही हो। यदि तँ इमानदारीसाथ पहिले नै परमेश्‍वरको अघि प्रार्थना गर्न आउन सक्छस्, र त्यसपछि परमेश्‍वरका वचनहरूअनुसार सत्यताको खोजी गर्न सक्छस् भने, तँ गलत हुनेछैनस्। तैँले सत्यता अभ्यास गर्दा अलिअलि तलमाथि गर्न सक्छस्, तर यस्तो हुन नदिन कठिन नै हुन्छ, र तैँले केही अनुभव प्राप्त गरेपछि सही तरिकाले अभ्यास गर्न सक्‍नेछस्। तैपनि, तँलाई सत्यताअनुसार कसरी काम गर्ने भन्‍ने थाहा छ, र पनि तैँले अभ्यास गर्दैनस् भने, यसमा समस्या भनेको सत्यताप्रतिको तेरो घृणा हो। सत्यतालाई प्रेम नगर्नेहरूले कहिल्यै पनि यसको खोजी गर्नेछैनन्, चाहे तिनीहरूमाथि जेसुकै नै किन आइनपरोस्। सत्यतालाई प्रेम गर्नेहरूसँग मात्रै परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ, र तिनीहरूले नबुझेका कुनै कुरा भइपरी आउँदा, तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्। यदि तैँले परमेश्‍वरका अभिप्राय बुझ्‍न सक्दैनस् र कसरी अभ्यास गर्ने तँलाई थाहा छैन भने, तैँले सत्यता बुझ्ने कतिपय मानिसहरूसँग सङ्गति गरेर सत्यता खोजी गर्नुपर्छ। यदि तैँले सत्यता बुझ्‍ने व्यक्तिहरू भेट्टाउन सक्दैनस् भने, तैँले विशुद्ध बुझाइ भएका केही मानिसहरू खोजेर एउटै मन र एउटै हृदयको भएर परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ, परमेश्‍वरसित खोजी गर्नुपर्छ, परमेश्‍वरको समय पर्खनुपर्छ, र परमेश्‍वरले तेरो लागि ढोका खोलिदिनुहुने समयको प्रतीक्षा गर्नुपर्छ। तिमीहरू सबैले सत्यताको तृष्णा गर्छौ, सत्यता खोज्छौ, र सँगै मिलेर सत्यताको बारेमा सङ्गति गर्छौ भने, कुनै दिन तिमीहरूमध्ये कसै न कसैले राम्रो समाधान भेट्टाउन सक्‍नेछ। यदि तिमीहरू सबैले उपयुक्त समाधान भेट्टायौ र असल तरिका फेला पार्‍यौ भने, यो पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योतिको कारण आएको हुन सक्छ। त्यसपछि तिमीहरूले अझै सही अभ्यासको मार्ग भेट्टाउनको लागि सँगै मिलेर सङ्गति गरिरह्यौ भने, यो अवश्य नै सत्यता सिद्धान्तहरूअनुरूप हुनेछ। आफ्‍नो अभ्यासमा, तिमीहरूले आफ्नो अभ्यासको तरिका अझै अलि अनुचित छ भन्‍ने पत्ता लगायौ भने, तिमीहरूले यसलाई तुरुन्तै सुधार गर्नुपर्छ। यदि तिमीहरूले सानो गल्ती गर्‍यौ भने, परमेश्‍वरले तिमीहरूलाई दोषी ठहर्‍याउनुहुनेछैन, किनभने आफूले गर्ने कामप्रति तिमीहरूको अभिप्राय सही हुन्छ, र तिमीहरूले सत्यताअनुरूप अभ्यास गरिरहेका हुन्छौ। तिमीहरू केवल सिद्धान्तहरूका बारेमा अलि अन्योल भएका हुन्छौ र अभ्यासमा सानो गल्ती गरेका हुन्छौ, जुन क्षमायोग्य नै हुन्छ। तर जब धेरैजसो मानिसहरूले कामकुरा गर्छन्, तब तिनीहरूले यसरी गर्दा ठीक होला भनी कल्पना गर्छन् र सोही आधारमा ती काम गर्छन्। तिनीहरूले सत्यताअनुसार कसरी अभ्यास गर्ने वा परमेश्‍वरको अनुमोदन कसरी प्राप्त गर्ने भन्‍ने विषयमा चिन्तन गर्ने आधारको रूपमा परमेश्‍वरका वचनहरूलाई प्रयोग गर्दैनन्। बरु, तिनीहरूले आफूलाई कसरी फाइदा पुर्‍याउने, र अरूलाई कसरी आफूलाई उच्‍च नजरले हेर्न र आफ्नो श्रद्धा गर्न लगाउने भन्‍नेबारेमा मात्रै विचार गरिरहेका हुन्छन्। तिनीहरूले पूर्ण रूपमा आफ्‍नै विचारहरूको आधारमा र आफूलाई सन्तुष्ट पार्नको लागि नै कामकुरा गर्छन्, जुन समस्यापूर्ण कुरा हो। त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता अनुसार कामकुरा गर्दैनन्, र परमेश्‍वरले तिनीहरूलाई सधैँ घिनाउनुहुनेछ। यदि तँ साँच्‍चै नै विवेक र समझ भएको व्यक्ति होस् भने, जेसुकै आइपरे पनि, तँ प्रार्थना र खोजी गर्न परमेश्‍वरको अघि आउन सक्‍नुपर्छ, तेरा कार्य-व्यवहारका मनसाय र अशुद्धताहरूलाई गम्‍भीर रूपमा जाँच्‍न, परमेश्‍वरका वचनहरू र मापदण्डहरूअनुसार उचित कुरा के हो सो निर्धारित गर्न, र के-कस्ता कामलाई परमेश्‍वरले मन पराउनुहुन्छ, के-कस्ता कामलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र के-कस्ता कामलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ भनेर बारम्‍बार मूल्याङ्कन र चिन्तन गर्न सक्‍नुपर्छ। तैँले यी कुराहरूको बारेमा स्पष्ट नबुझेसम्‍म बारम्‍बार मनमा सोचिरहनुपर्छ। यदि कामकुरा गर्नुको पछाडि तेरा आफ्‍नै मनसायहरू छन् भन्‍ने तँलाई थाहा भयो भने, तैँले तेरा अभिप्रायहरू के हुन्, यो तँलाई सन्तुष्ट पार्नको लागि हो कि परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि हो, यो तेरो लागि फाइदाजनक छ कि परमेश्‍वरका चुनिएका मानिसहरूका लागि फाइदाजनक छ, र यसले के-कस्ता परिणामहरू ल्याउँछ भन्‍नेबारेमा मनन गर्नुपर्छ…। यदि तैँले आफ्‍ना प्रार्थनाहरूमा यसरी नै अझै खोजी र मनन गरिस्, र सत्यता खोजी गर्न आफैलाई यस्ता धेरै प्रश्‍नहरू गरिस् भने, तेरो काममा आउने विचलनहरू झन्झन् साना हुँदै जानेछन्। यसरी सत्यताको खोजी गर्न सक्‍ने मानिसहरू मात्रै परमेश्‍वरको अभिप्राय बुझ्‍ने र उहाँको डर मान्‍ने मानिसहरू हुन्, किनभने यसरी तैँले परमेश्‍वरका वचनहरूका मापदण्डहरूअनुसार र समर्पित हृदयले खोजी गरिरहेको हुन्छस्, र यसरी तैँले निकाल्‍ने निष्कर्षहरू सत्यता सिद्धान्तहरू अनुरूप हुनेछन्।

यदि कुनै विश्‍वासीका कार्यहरू सत्यदेखि टाढा छन् भने ऊ एक गैर-विश्‍वासी जस्तै हुन्छ। यो त्यस्तो किसिमको व्यक्ति हो जसको हृदयमा परमेश्‍वरले बास गर्नुहुन्‍न, र जो परमेश्‍वरबाट टाढा बरालिन्छ, र त्यस्तो व्यक्ति परमेश्‍वरको घरमा ज्यालामा लगाइएको मजदुरजस्तै हो, जसले आफ्ना मालिकका लागि केही छिटफुट कामहरू गर्छ, थोरै पारिश्रमिक पाउँछ, र त्यहाँबाट जान्छ। यो परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होइन। कुनै काम गर्दा, तैंले परमेश्‍वरको स्वीकृति प्राप्त गर्न के गर्नुपर्छ भनेर सबभन्दा पहिले जाँच्‍नु र काम गर्नुपर्छ; तेरो कार्यव्यवहारको सिद्धान्त र क्षेत्र यही नै हुनुपर्दछ। तैंले जे गर्दैछस् त्यो सत्यसँग मेल खान्छ कि खाँदैन भनी जाँच्नुपर्ने कारण के हो भने, यदि यो सत्यसँग मेल खान्छ भने, त्यो निश्चित रूपमा परमेश्‍वरको अभिप्रायअनुरूप पनि हुन्छ। यसको अर्थ तैंले त्यो कुरा सही छ कि गलत छ, वा सबैको स्वादसँग मेल खान्छ कि खाँदैन, वा तेरो आफ्नै इच्छाअनुरूप छ कि छैन भनी मापन गर्नु होइन; बरु, तैंले यो सत्यताअनुरूप छ कि छैन, र यसले मण्डलीको काम र हितहरूमा फाइदा गर्छ कि गर्दैन भन्‍ने निश्चित गर्नुपर्छ। यदि तैंले यी कुराहरूलाई विचार गरिस् भने, तैंले कामहरू गर्दा तँ झन्-झन् बढी परमेश्‍वरको अभिप्रायअनुरूप हुँदै जानेछस्। यदि तैंले यी पक्षहरूमाथि विचार गरिनस् भने, र कामहरू गर्दा केवल तेरो आफ्नै इच्छामा भर परिस् भने, तैंले ती गलत प्रकारले गर्ने निश्चित हुन्छ, किनकि मानिसको इच्छा सत्यता होइन र, अवश्य, परमेश्‍वरसँग अमिल्दो हुन्छ। यदि तँ परमेश्‍वरद्वारा स्वीकार हुन चाहन्छस् भने तैंले आफ्नै इच्छाअनुसार भन्दा सत्यअनुसार अभ्यास गर्नुपर्छ। कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्ने नाममा केही निजी मामिलामा संलग्न हुन्छन्। उनीहरूका दाजुभाइ-दिदीबहिनीहरूले त्यसलाई अनुचित कुराको रूपमा हेर्छन्, र त्यसको लागि उनीहरूलाई निन्दा गर्छन्, तर यी मानिसहरूले दोष स्वीकार गर्दैनन्। उनीहरू सोच्छन् कि यो एक व्यक्तिगत मामला हो, जसमा मण्डलीको काम, रुपैयाँपैसा, वा व्यक्तिहरू सामेल छैन, र यो दुष्कर्म होइन, त्यसकारण परमेश्‍वरले यस विषयमा हस्तक्षेप गर्नु हुँदैन। केही कुराहरू तँलाई कुनै सिद्धान्त वा सत्यता नभएको व्यक्तिगत मामिलाहरू जस्तो लाग्न सक्छ। तापनि, तैंले गरेको कार्यलाई हेर्दा तँ धेरै स्वार्थी भएको थिइस्। तैंले मण्डलीको काम वा परमेश्‍वरको घरको हितलाई कुनै ध्यान दिइनस्, न त यो परमेश्‍वरको लागि चित्तबुझ्दो हुन्छ हुँदैन भन्‍ने कुरामै ध्यान दिइस्; तैंले आफ्नै फाइदालाई मात्र ध्यान दिइरहेको थिइस्। यसमा पहिले नै सन्तहरूको औचित्य, साथसाथै व्यक्तिको मानवता सामेल छन्। तैंले जे गरिरहेको थिइस् त्यसमा मण्डलीका हितहरू सम्मिलित नभए पनि, र त्यसमा सत्यता सामेल नभए पनि, आफ्नो व्यक्तिगत विषयमा संलग्न हुँदै आफ्नो कर्तव्य पूरा गरिरहेको छु भनी दाबी गर्ने कार्य सत्यतासँग मेल खाँदैन। तैंले जेसुकै गरिरहेको भए पनि, मामला जति नै ठूलो वा सानो भए पनि, अनि यो तैँले परमेश्‍वरको परिवारमा रहेको तेरो कर्तव्य भए पनि वा तेरा आफ्नो निजी कामकाज भए पनि, तैँले आफूले जे गर्दैछस् त्यो परमेश्‍वरका अभिप्रायअनुरूप छ कि छैन, साथसाथै त्यो मानवता भएको व्यक्तिले गर्नुपर्ने कुरो हो कि होइन भनी विचार गर्नुपर्छ। यदि तैँले आफूले गर्ने हरेक कुरामा यसरी नै सत्यताको खोजी गर्छस् भने, तँ सच्चा रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होस्। यदि तैँले हरेक कुरा र हरेक सत्यताप्रति यसरी गम्भीरतापूर्वक व्यवहार गर्छस् भने तैँले तेरो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्नेछस्। यस्तो विचार गर्ने मानिसहरू पनि छन्, “मैले आफ्‍नो कर्तव्य निभाउँदा आफैलाई सत्यताको अभ्यासमा लगाउनु नै पर्याप्त हुन्छ, तर मैले मेरा व्यक्तिगत कामहरू गरेको बेला, सत्यताले के भन्छ म मतलब गर्दिनँ—मलाई जसरी मन लाग्छ र जसरी मलाई फाइदा हुन्छ त्यसरी नै गर्छु।” यी शब्‍दहरूमा, तिमीहरूले तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन् भनेर देख्‍न सक्छौ। तिनीहरूले बोल्‍ने कुरामा कुनै सिद्धान्त हुँदैन। आफूले गर्ने कामले परमेश्‍वरको घरमा कस्तो असर पुर्‍याउँछ भनेरसमेत विचार नगरी तिनीहरूले आफूलाई जुन कुराले फाइदा गर्छ त्यही गर्छन्। फलस्वरूप, तिनीहरूले कुनै काम गर्दा, त्यसमा परमेश्‍वरको उपस्थिति हुँदैन, र तिनीहरूलाई अन्धकार र अशान्त महसुस हुन्छ, र के हुँदै छ भन्‍ने नै थाहा हुँदैन। के यो तिनीहरूको न्यायसङ्गत उजाडता होइन र? यदि तैँले आफ्‍नो व्यवहारमा सत्यता अभ्यास गर्दैनस् र परमेश्‍वरलाई अनादर गर्छस् भने, तैँले उहाँको विरुद्धमा पाप गरिरहेको हुन्छस्। यदि कसैले सत्यतालाई प्रेम गर्दैन र आफ्‍नै इच्‍छाअनुसार प्रायजसो काम गरिरहेको हुन्छ भने, उसले बारम्‍बार परमेश्‍वरलाई चिढ्याइरहेको हुन्छ। उहाँले त्यस्तो व्यक्तिलाई दुत्कार्नुहुन्छ, र एकातिर पन्छाइदिनुहुन्छ। त्यस्तो व्यक्तिले गर्ने कुनै पनि कामले प्रायजसो परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन, र उसलाई पश्‍चात्ताप गर्न आउँदैन भने, दण्ड त्यति टाढा हुँदैन।

अंश ११

कुनै पनि कुरालाई राम्ररी गर्नको लागि, सत्यता सिद्धान्तको खोजी गर्नु आवश्यक हुन्छ। कुनै काम गर्ने क्रममा त्यसलाई कसरी राम्ररी गर्ने भनेर एकाग्र भई विचार गर्नुपर्छ, र आफैलाई शान्त पारेर परमेश्‍वरको अघि प्रार्थना गर्नु र खोजी गर्नु आवश्यक हुन्छ। कुनै पनि कुरा गर्नुभन्दा पहिले, अरूसँग सङ्गति गर्नु आवश्यक हुन्छ, र सङ्गति गर्नको लागि कोही पनि छैन भने, व्यक्तिले आफै त्यस विषयमा चिन्तन गर्नुपर्छ र आफै प्रार्थना गर्नुपर्छ, अनि यो कार्य राम्ररी गर्ने तरिका खोजी गर्नुपर्छ। परमेश्‍वरको अघि आफैलाई शान्त पार्नु भनेको यही हो। परमेश्‍वरको अघि शान्त हुनको लागि तैँले केही पनि विचार गर्नु हुँदैन भन्‍ने छैन; तैँले आफ्‍नो हृदयमा खोजी र प्रतीक्षा गर्ने मनोवृत्तिको साथ यस मामलालाई सम्‍हाल्‍ने उचित तरिकाको खोजी गर्दै एकसाथ काम पनि गर्ने र मनन पनि गर्ने गर्नुपर्छ। यदि त्यस मामलाको बारेमा तँलाई अलिकति पनि ज्ञान छैन भने, खोटट्याउनका र सोधपुछ गर्नका निम्ति कुनै व्यक्ति खोज्। तैँले यो सोधपुछ गर्ने अवधिमा कस्तो मनोवृत्ति राख्नुपर्छ? तैँले वास्तवमा परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भनेर खोजी र प्रतीक्षा गरिरहेको, हेरिरहेको हुनुपर्छ। तेरो हृदयलाई एकैचोटि ज्योति दिनको लागि प्रकाश बालेको जस्तै गरी पवित्र आत्‍माले तँलाई अन्तर्दृष्टि दिने र अगुवाइ गर्ने गर्नुहुन्‍न। तँलाई घचघच्याउन अनि बुझ्ने तुल्याउनका लागि परमेश्‍वरले अपरिहार्य रूपमा नै कुनै व्यक्ति वा घटनाको प्रयोग गर्नुहुन्छ। प्रार्थना गर्नको लागि गम्भीर तरिकाले घुँडा टेक्‍ने र त्यहाँ घण्टौ बस्‍नेबाहेक खोजी गर्ने अरू धेरै तरिकाहरू छन्; त्यसरी बसेर त अरू सबै कुराहरूमा ढिलाइ मात्र हुन्छ। कहिलेकहीँ, हिँड्दै गर्दा पनि व्यक्तिले कुनै विषयको बारेमा मनन गर्न सक्छ; कहिलेकहीँ, जब मामला देखा पर्छ, व्यक्ति तुरुन्तै समूहमा यसको बारेमा छलफल गर्न जान सक्छ; कहिलेकहीँ, व्यक्तिले माथिबाट सहयोग खोजी गर्न सक्छ; कहिलेकहीँ, व्यक्तिले आफै बसेर परमेश्‍वरका वचनहरू पढ्न सक्छ; यदि मामला अत्यन्तै जरुरी छ भने, व्यक्तिले परिस्थितिको वास्तविकतालाई बुझ्‍न हतार गर्न सक्छ, त्यसपछिसिद्धान्तहरूअनुसार त्यसलाई सम्हाल्दै, सत्यता खोजी गर्न सक्छ, यस क्रममा मनमनै प्रार्थना र खोजी गर्न सक्छ। तिमीहरूले यही तरिकाले काम गर्नुपर्छ—परिपक्व तरिका यही हो! जब कुनै घटना आइपर्दा तँ अस्थिर हुन्छस्, आत्तिन्छन् र अत्तालिन्छस् भने तेरो कद अत्यन्तै सानो छ, तैँले यसअघि केही अनुभव गरेको छैनस् र आफ्नो कद बढाउन हेतु तैँले कामकुरा अनुभव गर्नुपर्छ र आफैलाई तालिम दिनुपर्छ। तिमीहरूले खोजी गर्ने विभिन्‍न तरिका सिक्‍नुपर्छ: जब तिमीहरू आफ्‍नो कर्तव्यमा व्यस्त हुन्छौ, तिमीहरू जति व्यस्त छौ सोहीअनुसार नै खोजी गर; जब तिमीहरूसँग समय हुन्छ, आफूसँग समयको भएको परिस्‍थितिअनुसार नै खोजी र प्रतीक्षा गर। यी फरकफरक तरिका हुन्। यदि प्रतीक्षा गर्ने पर्याप्त समय छ भने, केही समय प्रतीक्षा गर। तैँले ठूलाठूला मामलाहरूमा हतार गर्नु हुँदैन; हतारमा गल्ती गरेको कारण आउने परिणामहरू असोचनीय हुनेछन्। सर्वोत्तम परिणामहरू हासिल गर्नका लागि, तैँले यसपछि के हुन्छ भनेर हेर्दै प्रतीक्षा गर्नुपर्छ, अथवा परिस्थितिको बारेमा ज्ञान हुने कसैले तँलाई जानकारी दिनेछ कि दिनेछैन भनेर हेर्नुपर्छ। यी सबै खोजी गर्ने तरिका हुन्। परमेश्‍वरले मानिसहरूलाई अन्तर्दृष्टि दिन एउटै विधिको मात्रै प्रयोग गर्नुहुन्‍न; न त उहाँले तँलाई उहाँका वचनहरूमार्फत मात्रै अन्तर्दृष्टि दिनुहुन्छ, न त तँलाई अगुवाइ गर्नको लागि सधैँ तेरो नजिकका मानिसहरूको प्रयोग गर्नुहुन्छ। तेरो विशेषज्ञताभन्दा बाहिरका मामलाहरूका बारेमा, तैँले पहिले कहिल्यै नजानेका कुराहरूका बारेमा परमेश्‍वरले तँलाई कसरी अन्तर्दृष्टि दिनुहुन्छ? उहाँले कहिलेकाहीँ तँलाई विभिन्न मानिस, घटना र कामकुराद्वारा अन्तर्दृष्टि दिनुहुन्छ, जुन अवस्थामा तैँले कुनै विशेषज्ञ वा तँलाई सल्लाह दिन त्यो क्षेत्र बुझ्ने कुनै व्यक्ति खोज्नुपर्छ। तैँले त्यो क्षेत्र बुझ्ने मान्छे खोज्न हतार गर्नुपर्छ, ऊबाट केही इसाराहरू लिनुपर्छ अनि त्यसपछि सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ, र त्यो काम गर्ने क्रममा परमेश्‍वरले तँलाई डोऱ्याउनुहुनेछ। तैपनि तँसँग त्यस विषयसँग सम्‍बन्धित व्यावसायिक सीप वा विशेषज्ञताको बारेमा केही बुझाइ हुनैपर्छ, र यसको बारेमा केही अवधारणा हुनुपर्छ; यही जगको आधारमा परमेश्‍वरले तँलाई के गर्ने हो भन्‍नेबारेमा अन्तर्दृष्टि दिनुहुनेछ।

व्यक्तिले जेसुकै गर्दा पनि, सम्भाव्य मार्ग निर्धारण गर्नका लागि सोच्न, परिकल्पना गर्न, योजना बनाउन, परामर्श लिन अनि थुप्रै स्रोतबाट यसबारे सोधखोज गर्न सक्छ, तर सफलता त अझै पनि परमेश्वरमै निर्भर हुन्छ। “मान्छेले योजना बनाउँछ तर परिणाम ईश्वरकै हातमा हुन्छ,” भन्ने भनाइ सत्य हो। अविश्वासीहरूले अनुभवद्वारा यस भनाइलाई सार-सङ्क्षेप गरेका छन्, यो अविश्वसनीय कुरा हो, अनि यदि परमेश्वरको कुनै विश्वासीले यसलाई स्पष्टसँग बुझ्न सक्दैन भने ऊ अत्यन्तै अज्ञानी भएको छ र उसले कुनै पनि सत्यता बुझेको छैन। परमेश्वर यावत् थोकमा सार्वभौम हुनुहुन्छ र मानिसले गर्न चाहने कुरा परमेश्वरको इच्छाअनुसारको छ भने त्यो आशिषित हुनेछ भनेर मानिसहरूले आफ्ना हृदयमा दह्रिलो गरी विश्वास गर्नैपर्छ। तैँले आफ्नो हृदयमा यो नियम सँगाल्नै पर्छ, परमेश्वर सबै कुराको सार्वभौम हुनुहुन्छ अनि अन्तिम निर्णय मानिसले गर्दैन भनेर थाहा पाउनैपर्छ। तसर्थ, मानिसले जेसुकै गरे पनि उसको हृदय उत्प्रेरित भएको छ कि छैन भनेर हेर्न पहिला परमेश्वरलाई प्रार्थना गर्नैपर्छ, त्यसपछि त्यो कार्य सत्यताअनुसार छ कि छैन र त्यो सम्भव छ कि छैन हेर्न सत्यता खोजी गर्नैपर्छ। यदि यस कुराको निर्धारण तत्कालै गर्न सकिँदैन भने तैँले पर्खिनैपर्छ। कार्य गर्न हतार नगर्। मामला राम्ररी नबुझेसम्म, तँलाई काम गर्ने सही समय आयो, अब पर्खिनु पर्दैन र यो गर्नुपर्छ भन्ने नलागेसम्म, अनि तेरो हृदयमा पनि त्यो गर्ने पर्याप्त निश्चितता नभएसम्म पर्खी—त्यसपछि तैँले कार्य गर्न सक्छस्। यदि तैँले मामला राम्ररी बुझ्न सकिरहेको छैनस्, केही दिन पर्खेपछि तेरो रुचि हराउँछ, अनि यो सफल हुनेछ भनेर तँ पक्का छैनस् भने, यो मामिला मान्छेको इच्छाबाट उत्पन्न भएको हो अनि परमेश्वरले यसको अनुमति दिनुभएको छैन भन्ने पुष्टि हुन्छ, त्यसैले तैँले यसलाई तुरुन्तै त्याग्नुपर्छ। जब परमेश्वरबाट कुनै कुरा आउँछ, तब तैँले जहिले पनि त्यसमा आस्थाको अनुभूति गर्नेछस् अनि त्यो आस्था जस्तोसुकै परिस्थिति आइपरे पनि कम हुनेछैन भन्ने अनुभूति गर्नेछस्। अन्त्यमा, तेरो हृदय झन् झनै स्पष्ट हुँदै जानेछ, मानौँ तैँले यो कुरा छर्लङ्गै देखेको छस्। परमेश्वरबाट कुनै कुरा आउँदा यस्तै हुन्छ। परमेश्वरले मानिसहरूलाई पर्खन लगाउनु हुन्छ र यसको अर्थ परमेश्वरबाट प्रकाश पर्खनु हो, यसपछि तँलाई मामिला स्पष्ट हुन्छ, त्यसैले यो पर्खाइ आवश्यक छ। यद्यपि, तैँले सहकार्य गर्नुपर्ने तरिकाहरूको सन्दर्भमा भन्नुपर्दा, तैँले कार्य गर्नैपर्छ र सोधखोज गर्नैपर्छ, अनि सोधखोज गर्ने प्रक्रियामा, परमेश्वरले कुनै व्यक्ति वा घटनामार्फत तँलाई तथ्य भन्नुहोला। यदि तैँले सोधखोज गर्दैनस् अनि तेरो हृदय अन्योलमा र अनिश्चित छ भने, तथ्य के हो भनेर तैँले थाहा पाउनेछैनस्। तर यदि तैँले सोधखोज गर्छस् भने तथ्य पत्ता लगाउनेछस् र तँलाई ती ज्ञात गराउने परमेश्वर नै हुनुहुनेछ। के परमेश्वरका कार्यहरू व्यावहारिक छैनन् र? परमेश्वरले तँलाई मानिस, घटना र कुराहरूमार्फत डोऱ्याउनुहुन्छ र अन्तर्दृष्टि दिनुहुन्छ, अनि कसरी कार्य गर्नुपर्ने हो, सो औँल्याएर उहाँले तँलाई अनुभव गर्ने प्रक्रियामा बुझ्न र अन्तरदृष्टि पाउन निर्देशन गर्नुहुन्छ। परमेश्वरले तँलाई कुनै वाक्य, विचार वा सोच अचानक दिनुहुन्न, परमेश्वर त्यसो गर्नुहुन्न। जब तैँले सोधखोज गर्छस् अनि परिस्थितिबारे सबै तथ्य प्रकट गरिएको हुन्छ, तब तैँले आफूमा पहिला त्यस्ता विचार र अनुभूतिहरू किन आए भनेर थाह पाउनेछस्, आफ्नो हृदयमा यो बुझ्नेछस्। के तैँले सोधखोज गरिसक्नेबित्तिक्कै यस्तो परिणाम देखा पर्दैन त? तैँले कसरी काम गर्नुपर्ने हो भन्ने कुरा आउँदा, त्यसमा परमेश्वर मुछिनुहुनेछैन; तँलाई कार्य गर्ने तरिका अगावै थाहा हुनेछ। परमेश्वर यसरी काम गर्नुहुन्छ र मानिसहरूलाई डोऱ्याउनुहुन्छ, यो तरिका अद्भुत अनि व्यावहारिक दुवै छ, यो अलिकति पनि अलौकिक छैन। अल्छी मानिसहरू सदैव अलौकिक माध्यमद्वारा यस्तो होस् भन्ने चाहन्छन्, तिनीहरू परमेश्वरले तिनीहरूलाई के गर्ने भनी सिधै बताइदिनुभएको चाहन्छन्, तिनीहरू चोरबाटो अपनाउन चाहन्छन् र परमेश्वरले नै तिनीहरूका निम्ति त्यो काम गरिदिनुभएको चाहन्छन्, अनि तिनीहरू सक्रिय रूपमा तलासी वा खोजी गर्दैनन्, र तिनीहरू सहकार्य पटक्कै गर्दैनन्, त्यसैले तिनीहरूका इच्छाहरू पूरा हुँदैनन्। भक्त मानिसहरू, सत्यता-प्रेमीहरू सबै कुरामा परमेश्वरसामु जिउँछन् र परमेश्वरसामु आफ्नो हृदय शान्त राख्छन्। तिनीहरूलाई केही आइपर्दा र के गर्ने भनी थाहा नहुँदा, तिनीहरू परमेश्वरलाई प्रार्थना गर्न र परमेश्वरबाट खोजी गर्न अनि परमेश्वरको इच्छा के हो भनी बुझ्न सक्षम हुन्छन्। तिनीहरूमा खोजी गर्ने हृदय हुन्छ, त्यसैले परमेश्वर तिनीहरूलाई यस मामलामा मार्गदर्शन गर्नुहुन्छ। अनि अन्त्यमा नतिजा प्रकट हुँदा, तिनीहरूले परमेश्वरका हातका योजनाबद्ध कार्यहरू देख्न सक्छन्। परमेश्वर यावत् थोकका सार्वभौम हुनुहुन्छ भन्नु खोक्रो कुरा होइन। तसर्थ, तैँले यस्ता थुप्रै मामला अझै अनुभव गरेर परमेश्वर काल्पनिक हुनुहुन्न, उहाँ मिथ्या हुनुहुन्न अनि उहाँ खोक्रो हुनुहुन्न भन्ने थाहा पाउनेछस्। परमेश्वर तेरो छेउमै हुनुहुनेछ; तैँले उहाँको अस्तित्व, उहाँको डोऱ्याइ अनि उहाँ हातका योजनाबद्ध कार्य र प्रबन्धहरू महसुस गर्ने सक्नेछस्। यसप्रकार तैँले परमेश्वरको वास्तविकता अनि व्यावहारिकता झन्-झन् धेरै महसुस गर्नेछस्। यद्यपि, यदि तैँले यसरी अनुभव गर्न सक्दैनस् भने कहिल्यै पनि यी कुराहरू महसुस गर्न सक्नेछैनस्। तैँले सोच्नेछस्, “परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न? उहाँ कहाँ हुनुहुन्छ? मैले यति धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएको छु अनि उहाँ अस्तित्वमा हुनुहुन्छ भनेर सबै जना भन्छन्, तर मैले भने उहाँलाई कसरी देख्न सकेको छैन? तिनीहरू सबैले उहाँ मानिसलाई मुक्ति दिनुहुन्छ भन्छन्, तर परमेश्वरले मानिसहरूमा कार्य गरेको मैले किन महसुस गरेको छैनँ?” तैँले यी कुराहरू कहिल्यै महसुस गर्नेछैनस्, त्यसैले तँलाई हृदयमा कहिल्यै ढुक्क लाग्नेछैन। तैँले यी कुराहरू आफै महसुस गरेर मात्रै अरूले भन्ने र अनुभव गर्ने कुरा परमेश्वरको कार्य हो भनेर पुष्टि गर्न सक्नेछस्। परमेश्वरको कार्य अद्भुत र बोध गर्न गाह्रो छ, तर यो व्यावहारिक पनि छ; तैँले यी दुई पक्षलाई बुझ्नैपर्छ। परमेश्वरको कार्य अद्भुत र बोध गर्न गाह्रो छ भन्नुको अर्थ परमेश्वरले गर्ने हरेक कुरा बुद्धिमान्, र मानिसको पहुँचबाहिर छ; यो परमेश्वरको पहिचान र उहाँको सारद्वारा निर्धारित हुन्छ। यद्यपि, अर्को पक्ष पनि छ, त्यो के हो भने परमेश्वरका कार्यहरू एकदमै व्यावहारिक हुन्छन्। यो “व्यावहारिक” भन्नुको अर्थ के हो? यसको अर्थ हो, मानिसले परमेश्वरका कार्यहरू बुझ्न सक्छ, मानिसको सोचाइ, मन, विचार, बौद्धिकता, साथै मानिसको प्रवृत्ति र क्षमताले परमेश्वरका कार्यहरू बुझ्न सक्छन्—परमेश्वरका कार्यहरू आलौकिक वा ख्रोक्रा छैनन्। जब तँ कुनै कुरा सही रूपमा गर्छस्, तब परमेश्वरले तँलाई यो सही छ भनेर थाहा दिनुहुनेछ, र तैँले यसलाई पुष्टि गरेको हुनेछस्; जब तँ कुनै गलत कुरा गर्छस्, तब परमेश्वरले तँलाई बिस्तारै बुझ्ने तुल्याउनुहुनेछ, अन्तर्दृष्टि दिनुहुनेछ, अनि तैँले यो गलत गरेको छस्, र यो तेरो भ्रष्ट स्वभावको अभिव्यक्ति हो भनेर थाहा पाउने तुल्याउनुहुनेछ, अनि त्यसपछि तँलाई परमेश्वरप्रति ऋणि महसुस हुनेछ। “व्यावहारिक” भनेको यही हो।

अंश १२

मामिलाहरू सामना गर्दा सत्यता खोज्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। यदि तैँले सत्यता खोजी गरिस् भने समस्या समाधान गर्न मात्र होइन, सत्यता अभ्यास गर्न र सत्यता प्राप्त गर्न पनि सक्नेछस्। यदि तँ सत्यता खोजी गर्दैनस् तर आफ्नै समझमा जिद्दी गर्छस् र सधैँ आफ्नै विचारअनुसार काम गर्छस् भने तैँले आफ्नो भ्रष्टताको समस्या समाधान गर्न सक्नेछैनस् मात्र होइन, तर जानाजानी पाप पनि गर्नेछस्, र यो नै परमेश्वरलाई प्रतिरोध गर्ने मार्ग हो। उदाहरणका लागि, मानौँ कर्तव्यपालनको दौरान तँ काटछाँटमा परिस्, र तँ सत्यता खोजी गर्दैनस्, बरु जिद्दी गर्दै आफ्नै तर्कमा जोड दिन्छस्। तँलाई यस्तो लाग्ला, “मैले आफ्नो काम गरेकै छु, र स्पष्ट देखिने गरी कुनै नराम्रो कुरा गरेको छैनँ, तर मलाई केवल केही गल्तीको कारण काँटछाँट मात्र होइन, खुलासा र अनादर पनि गरिएको छ, जसले म मन नपर्दो छु भन्ने देखाउँछ। परमेश्वरको प्रेम खै कहाँ छ? म यो किन देख्न सक्दिनँ? भनिन्छ, परमेश्वर मानिसहरूलाई प्रेम गर्नुहुन्छ, त्यसोभए परमेश्वरले अरूलाई प्रेम गर्ने तर मलाईचाहिँ नगर्ने, त्यो कसरी हुन्छ?” सारा गुनास पोखिन्छन्। के यस्तो अवस्थाका मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन्? सक्दैनन्। जब परमेश्वरसितको तेरो सम्बन्धमा समस्या खडा हुन्छ, अनि तैँले ती समाधान गर्नु, फर्केर हेर्नु र आफ्ना भ्रामक दृष्टिकोण र कट्टर विचारलाई पन्छाउनुको सट्टा जिद्दी गर्दै परमेश्वरको प्रतिरोध गर्छस् भने, परिणामस्वरूप परमेश्वर तलाईं त्याग्नुहुन्छ र तैँले पनि उहाँलाई पिठ्युँ फर्काउँछस्। तैँले परमेश्वरविरुद्ध गुनासै गुनासो गर्नेछस्, उहाँको सार्वभौमिकतालाई शङ्का र अस्वीकार गर्नेछस् अनि उहाँका बन्दोबस्तहरूप्रति समर्पित हुन अनिच्छुक हुनेछस्। अझ खराब त, तैँले परमेश्वर सत्यता र धार्मिकता हुनुहुन्छ भन्ने कुरा अस्वीकार गर्नेछस् र यो नै परमेश्वरलाई प्रतिरोध गर्ने सबैभन्दा गम्भीर तरिका हो। तर यदि तैँले सबै कुरामा सत्यता खोजिस् भने परमेश्वरको अभिप्राय बुझेको हुनेछस्, र आफू हिँड्न सक्ने मार्ग प्राप्त गरेको हुनेछस्। यसो गर्दा, तैँले आफूले विश्वास गर्ने परमेश्वर सत्यता, मार्ग, जीवन र प्रेम हुनुहुन्छ भन्ने पुष्टि गर्नेछस् मात्र होइन, परमेश्वरले गर्ने हरेक कुरा ठिक हुन्छ, उहाँले मानिसलाई गर्ने परिक्षण र शोधन ठिक हुन्छर मानिसको मुक्ति र शुद्धिकरणका लागि हो भनेर पनि पुष्टि गर्नेछस्। तैँले परमेश्वरको धार्मिकता र पवित्रताबारे ज्ञान प्राप्त गर्नेछस्, र सँगसँगै परमेश्वरको काम थाहा पाउनुका साथै उहाँको प्रेमको महानता देख्नेछस्। त्यो कति ठूलो पुरस्कार! के तैँले सत्यता खोजी नगरी सधैँ परमेश्वर र उहाँको कामलाई आफ्नै धारणा र कल्पनाको आधारमा लिएर यस्तो पुरस्कार प्राप्त गर्न सक्छस्? अवश्य सक्दैनस्। मानिस शैतानद्वारा अति भ्रष्ट पारिएको हुनाले उसका सम्पूर्ण व्यावहार र काम तथा उसले प्रकट गर्ने सबै कुरा शैतानी स्वभावका हुन्छन्, अनि त ती सबै सत्यताविपरित र परमेश्वरविरोधी हुन्छन्। मान्छे परमेश्वरको अपार प्रेम पाउन लायक छैन। तैपनि परमेश्वर मान्छेबारे चिन्तित हुनुहुन्छ, उसलाई हरेक दिन अनुग्रह प्रदान गर्नुहुन्छ र उसलाई जाँच र शोधन गर्न हरप्रकारका मानिस, घटना र वस्तुहरूको बन्दोबस्त गर्नुहुन्छ, ताकि उसमा बदलाव आउन सकोस्। परमेश्वर मान्छेलाई हरप्रकारको वातावरणको माध्यमबाट प्रकट गर्नुहुन्छ, उसलाई मनन गराउनुहुन्छ, अनि आफूलाई चिन्न, सत्यता बुझ्न र जीवन प्राप्त गर्न लगाउनुहुन्छ। परमेश्वर मान्छेलाई असाध्यै प्रेम गर्नुहुन्छ, र उहाँको प्रेम यति वास्तविक छ कि मान्छेले यसलाई हेर्न र छुन सक्छ। यदि तैँले यो सब अनुभव गरेको छस् भने, तँ परमेश्वरले यी सारा कुरा मान्छेको मुक्तिका लागि गर्नुहुन्छ र यो नै साँचो प्रेम हो भनी महसुस गर्न सक्छस्। यदि परमेश्वरले यस्तो व्यावहारिक काम नगर्नुभएको भए मान्छे कतिसम्म गिर्नेथ्यो भनेर कसैले भन्न सक्ने थिएन! तैपनि परमेश्वरको साँचो प्रेम नदेख्ने, अझै पनि ख्याति, लाभ र हैसियतको पछि लाग्ने, अरूलाई जित्न मरिहत्ते गर्ने, सधैँ अरूलाई बन्धनमा पार्न र काबुमा राख्न चाहने मानिस धेरै छन्। के तिनीहरूले आफूलाई परमेश्वरको प्रतिद्वन्दी बनाइरहेका छैनन् त? यदि तिनीहरू यही मार्गमा निरन्तर लागिरहे भने यसले अकल्पनीय परिणाम निम्त्याउनेछ! परमेश्वर उहाँको न्यायको कामबाट मान्छेको भ्रष्टता खुलासा गर्नुहुन्छ, ताकि उसले यो कुरा जान्न सकोस्। उहाँले मान्छेका त्रुटिपूर्ण खोजमा विराम लगाउनुहुन्छ। परमेश्‍वरले एउटा उत्कृष्ट काम गर्नुहुन्छ! परमेश्‍वरले जे गर्नुहुन्छ त्यसले मानिसको खुलासा र न्याय गर्छ, यसले उसलाई मुक्ति पनि दिलाउँछ। यो साँचो प्रेम हो। जब तैँले आफ्नै निम्ति यो कुरा महसुस गर्छस्, तब के तैँले सत्यको यो पक्ष प्राप्त गरेको हुँदैनस् र? जब एक व्यक्ति आफैले यो कुरा महसुस गर्छ र यो बुझाइमा पुग्छ, र जब उसले यी सत्यहरू बुझ्छ, के उसमा अझै पनि परमेश्‍वरप्रति गुनासा हुन्छन्? हुँदैनन्—ती सब हटेर जान्छन्। तब तिनीहरू स्वेच्छा र दृढतापूर्वक परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्। अर्को पल्ट कुनै जाँच वा शोधन हुँदा, वा काटछाँटमा परेको बेला परमेश्वरले ठिक गरिरहनु भएको छ, र उहाँले तिनीहरूको खुलासा गर्दै र तिनीहरूलाई मुक्ति दिँदै हुनुहुन्छ भनेर तुरुन्तै महसुस गर्नेछन्। तिनीहरू चाँडै नै स्विकार्न र समर्पित हुन सक्‍ने हुन्छन्, र यसरी तिनीहरू आफ्नो तर्कमा जोड दिन छोडेर धारणा र गुनासाहरूबाट मुक्त भई परमेश्‍वरमा समर्पित हुन्छन्। यदि मानिसहरू यो हदसम्म समर्पित हुन सक्छन् भने, त्यो पवित्र आत्माको कामद्वारा सिद्ध पारिएर अनेकौँ शोधनको अनुभवमार्फत् भएको हुन्छ।

अंश १३

आफूमाथि परिस्थितिहरू आइपर्दा सत्यताको खोजी गर्नमा ध्यान केन्द्रित गर्ने र सत्यताको खोजी गर्न सक्‍ने मानिसहरू अहिले धेरै छन्। यदि तँ आफूभित्रका गलत मनसाय र अस्वाभाविक स्थितिहरूलाई समाधान गर्न चाहन्छस् भने, त्यसो गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ। सुरुमा, तैँले सङ्गतिमा परमेश्‍वरका वचनहरूको आधारमा आफ्‍नो बारेमा खुलस्त बताउन सिक्‍नुपर्छ। अवश्य नै, खुलस्त रूपमा सङ्गति गर्नको लागि तैँले सही व्यक्तिको छनौट गर्नुपर्छ—कम्तीमा पनि, तैँले सत्यतालाई प्रेम र स्वीकार गर्ने, धेरैजसोको भन्दा असल मानवता भएको, तुलनात्मक रूपमा इमानदार र सीधा व्यक्तिलाई छनौट गर्नुपर्छ। तैँले सत्यता बुझ्‍न सक्‍ने व्यक्तिलाई छनौट गर्न सकिस्, र उसको सङ्गतिबाट सहयोग प्राप्त गर्न सम्भव भयो भने झनै राम्रो। सङ्गतिमा मन खोलेर कुरा गर्न र आफ्‍ना कठिनाइहरू समाधान गर्न यस्तो व्यक्ति भेट्न सकेमा त्यो प्रभावकारी हुन सक्छ। यदि तैँले गलत व्यक्ति, अर्थात् सत्यतालाई प्रेम नगर्ने, तर वरदान वा प्रतिभा मात्रै भएको व्यक्तिलाई छनौट गरिस् भने, त्यो व्यक्तिले तँलाई गिल्‍ला र घृणा गर्नेछ, अनि त्यसले तँलाई पतित पार्नेछ। यो तेरो लागि फाइदाजनक हुँदैन। एक हिसाबले, परमेश्‍वरको अघि आएर उहाँलाई प्रार्थना गर्ने क्रममा व्यक्तिले गर्नुपर्ने काम भनेको मन खोल्नु र आफूलाई उदाङ्गो पार्नु हो; व्यक्तिले अरूसँग सत्यताको बारेमा सङ्गति गर्दा पनि यसै गर्नुपर्छ। कुराहरू लुकाएर नराख्, र “मेरा अभिप्राय र कठिनाइहरू छन्। मेरो भित्री स्थिति राम्रो छैन—यो नकारात्मक छ। म कसैलाई भन्दिनँ। म यसलाई लुकाएर राख्छु” भनेर नसोच्। यदि तैँले यस्ता कुराहरूलाई समाधान नगरी सधैँ लुकाएर राख्छस् भने, तँ झन्झन् बढी नकारात्मक हुँदै जान्छस्, र तेरो स्थिति झन्झन् खराब हुँदै जान्छ। तँलाई परमेश्‍वरसँग प्रार्थना गर्न मन लाग्दैन। यो परिवर्तन गर्न कठिन हुने कुरा हो। त्यसैले, तेरो अवस्था जस्तोसुकै भएतापनि, तँ नकारात्मक भए पनि वा कठिनाइमा भए पनि, तेरा आफ्नै व्यक्तिगत अभिप्रायहरू वा योजनाहरू जस्तै भए पनि, जाँचद्वारा तैँले जेसुकै जानेको वा महसुस गरेको भएतापनि तैँले खुलस्त हुन र सङ्गति गर्न सिक्नुपर्छ, अनि तैँले सङ्गति गर्ने क्रममा पवित्र आत्माले काम गर्नुहुन्छ। अनि, पवित्र आत्माले कसरी काम गर्नुहुन्छ? उहाँले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ, र समस्याको गम्भीरता जान्‍न मदत गर्नुहुन्छ, उहाँले तँलाई समस्याको जड र सारप्रति सचेत बनाउनुहुन्छ, र त्यसपछि तँलाई सत्यता र उहाँको अभिप्राय अलिअलि गर्दै बुझ्ने बनाउनुहुन्छ, र तँलाई अभ्यासको मार्ग देख्‍न, र सत्यता वास्तविकतामा प्रवेश गर्न दिनुहुन्छ। व्यक्तिले खुलस्त रूपमा सङ्गति गर्न सक्छ भने, यसको अर्थ उसँग सत्यताप्रति इमानदार मनोवृत्ति छ भन्‍ने हुन्छ। व्यक्ति इमानदार छ कि छैन भन्‍ने कुरा सत्यताप्रतिको उसको मनोवृत्तिद्वारा नै मापन गरिन्छ। कुनै इमान्दार व्यक्तिले कठिनाइहरूको सामना गर्दा, ऊ जतिसुकै नकारात्मक वा कमजोर भए पनि परमेश्वरका अभिप्राय पूरा गर्न सधैँ परमेश्वरको प्रार्थना गर्छ र सङ्गति गर्ने अरू मानिसहरूको खोजी गर्दै समाधान खोज्ने प्रयास गर्छ, र आफ्नो समस्या वा कठिनाइ कसरी सुल्झाउने भनी खोजी गर्छ। उसले कुनै आन्तरिक असहजताका कारण गुनासो पोख्ने कुनै व्यक्ति खोजिरहेको हुँदैन: ऊ त सत्यता वास्तविकतामा प्रवेश गर्दा र त्यसबाट बाहिर निस्कँदा आइपर्ने कठिनाइको हल खोजिरहेको हुन्छ। नसुल्झिएका नकारात्मक र खराब कुराहरू मनमा लुकाएर राखियो भने त्यसले कर्तव्य निर्वाह र जीवन प्रवेशमा प्रत्यक्ष असर गर्छ। परमेश्वरप्रति शुद्ध र खुला नहुनु, उल्टै आफ्नो हृदयमा सधैँ छलकपट पालेर राख्नु अत्यन्तै खतरनाक कुरा हो। छलकपट गर्ने मानिसहरू आफूमाथि जेसुकै आइपरे पनि देखावटी गर्न खप्पिस हुन्छन्, र तिनीहरूले जस्तोसुकै धारणा वा असन्तुष्टि अनुभूति गरे पनि सङ्गति गर्दैनन्। बाहिर तिनीहरू सामान्य देखिन्छन्, तर वास्तवमा तिनीहरूको हृदय नकारात्मकताले यतिसम्म भरिएको हुन्छ कि तिनीहरू मुस्किलले उठ्न सक्छन्, र तैँले यो पत्तो पाउनै सक्दैनस्। यदि तैँले तिनीहरूसँग सङ्गति नै गरिस् भने पनि, तिनीहरूले तँलाई सत्यता बताउनेछैनन्। तिनीहरू कति गुनासा, असमझदारी र धारणाहरूले भरिएका छन् भनेर कसैलाई बताउँदैनन्; तिनीहरू अरूले आफ्ना कुरा थाहा पाए भने आफूलाई तुच्छ ठान्लान् र इन्कार गर्लान् भन्ने डरले ती कुरा सधैँ लुकाएर राख्छन्। तिनीहरूले कर्तव्य निर्वाह गरे पनि जीवन प्रवेश गर्दैनन्, न त आफूले गर्ने कुनै कुरामा सत्यता सिद्धान्त नै खोज्छन्; बाहिरबाट हेर्दा तिनीहरू उत्साहहीन देखिन्छन्, तिनीहरूसँग न त अघि बढ्ने जोसजाँगर हुन्छ, न त तिनीहरू पछि नै परिसकेका हुन्छन्, र यसले आसन्न सङ्कटको सङ्केत गर्दछ। सत्यता नपछ्याउने मानिसहरूको हृदयमा बिमारीले बास गरेको हुन्छ; त्यो बिमारी तिनीहरूको हृदयमा हुन्छ, र तिनीहरू उज्यालोमा पर्नदेखि डराउँछन्। तिनीहरू सबै कुरा कसिलोसँग बेरेर राख्छन् र कहिल्यै कसैसामु खोल्ने आँट गर्दैनन्; त्यहाँ जीवनको सञ्चार भएको हुँदैन, जसले गर्दा तिनीहरूको हृदयको बिमारीले घातक ट्युमरको रूप लिन्छ, र यसरी तिनीहरू खतरामा पर्छन्। यदि मानिसहरू सत्यता स्वीकार गर्नमा शुद्ध र खुला हुन सक्दैनन् भने, अनि सत्यताबारेको सङ्गतिमार्फत् आफ्ना समस्याहरू समाधान गर्न सक्दैनन् भने, त्यस्ता मानिसहरूले सही ढङ्गले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्, र ढिलो-चाँडो तिनीहरूलाई खुलासा गरेर हटाइनैपर्छ।

अंश १४

समस्या जे भए पनि, उत्पन्न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भन्ने कुरा पनि देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्। सङ्गति गर्दा कसरी खुल्ने भनेर सिक्‍नु नै जीवन प्रवेश गर्ने पहिलो कदम हो। त्यसपछि, तैँले आफ्‍ना सोचविचार र कार्यहरूलाई कुन-कुन गलत छन् र कुन-कुनलाई परमेश्‍वरले मन पराउनुहुन्‍न भनी हेर्नको लागि चिरफार गर्न सिक्‍नुपर्छ, र तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्नु आवश्यक छ। तिनलाई सुधार गर्नुको उद्देश्‍य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई हटाएर तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा तेरो ढाँट्ने र छल्ने कुटिल स्वभावअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्‍ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकालाई घिनाउँछस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारी, शुद्धता, र समर्पणको मानसिकतासाथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, कुराहरू ढाक्दैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरूलाई लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय धेरै नै इमानदार छ, र धेरै नै परमेश्‍वरमा केन्द्रित छ भने र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरको हितको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्‍ने प्रमाण हो। सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्‍वरको निन्दा गर्ने, परमेश्‍वरको डर नमान्‍ने, र आफ्‍नो कर्तव्य पूरा गर्दा झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यता सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्‍नेछस्। यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि तेरो शैतानी स्वभावमा जिउँछस् भने, जब तैँले मण्डलीको काममा बाधा र अवरोध पैदा गर्ने दुष्ट मानिसहरू र दियाबलसहरूलाई पत्ता लगाउँछस्, तब तैँले आँखा चिम्‍लनेछस् र नसुनेको जस्तो गर्नेछस्; आफ्‍नो विवेकमा कुनै धिक्कारको अनुभूति नगरीकन तैँले तिनीहरूलाई पन्छाउँछस्। कसैले मण्डलीको काममा बाधा पैदा गरिरहेको छ भने त्यस कुराको तँसँग कुनै सम्‍बन्ध छैन भन्‍ने समेत तँलाई लाग्‍नेछ। मण्डलीका कार्य र परमेश्‍वरको घरका हितहरूमा जति नै धेरै हानि भए पनि, तैँले वास्ता, हस्तक्षेप वा ग्‍लानि महसुस गर्दैनस् जसले तँलाई विवेक वा समझ नभएको व्यक्ति, एक अविश्‍वासी, एक श्रमिक बनाउँछ। तँ परमेश्‍वरबाट आउने कुरा खान्छस्, परमेश्‍वरबाट आउने कुरा पिउँछस्, र परमेश्‍वरबाट आएका सबै कुरामा रमाउँछस्, तैपनि परमेश्‍वरको घरका हितहरूमा हुने कुनै पनि हानि तँसँग सम्‍बन्धित छैन भन्‍ने ठान्छस्—त्यसैले तँ जुन थालमा खायो त्यही थालमा थुक्‍ने धोकेबाज होस्। यदि तैँले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, तँ के मानव समेत होस् र? यो त मण्डलीमा आफै घुसेको नरपिशाच हो। तैँले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गर्छस्, चुनिएको जन भएको ढोंग गर्छस्, र तँ परमेश्‍वरको घरमा फाइदा लुट्न चाहन्छस्। तँ मानवजातिको जीवन जिइरहेको छैनस्, तँ मान्छे होइन पिशाचजस्तो छस्, र तँ स्पष्ट रूपमै अविश्‍वासी होस्। यदि तँ परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने व्यक्ति होस् भने, तैँले सत्यता र जीवन पाउन बाँकी नै भए पनि, कम्तीमा पनि तैँले परमेश्‍वरको पक्षमा उभिएर बोल्‍नेछस् र काम गर्नेछस्; कम्तीमा पनि, तैँले परमेश्‍वरको घरका हितहरूमा सम्झौता भएको देख्दा तँ हात बाँधेर बस्‍नेछैनस्। तँलाई त्यस्तो समस्याप्रति आँखा चिम्‍लन मन लाग्दा, ग्‍लानि महसुस हुनेछ, र तँ व्याकुल हुनेछस्, र मनमनै भन्‍नेछस्, “मैले हात बाँधेर बस्‍नु हुँदैन, खडा हुनुपर्छ र केही बोल्‍नुपर्छ, मैले जिम्मेवारी लिनुपर्छ, मैले यो दुष्ट व्यवहारलाई पर्दाफास गर्नैपर्छ, मैले यसलाई रोक्‍नैपर्छ ताकि परमेश्‍वरको घरका हितहरूमा हानि नपुगोस्, र मण्डली जीवनमा बाधा नपुगोस्।” यदि सत्यता तेरो जीवन बनेको छ भने, तँसँग यो साहस र सङ्कल्प मात्रै हुँदैन, र त्यस विषयलाई तैँले पूर्ण रूपमा बुझ्‍न मात्र सक्‍नेछैनस्, बरु तैँले त परमेश्‍वरको कार्य र उहाँको घरका हितहरूको लागि तैँले उठाउनुपर्ने जिम्‍मेवारी समेत पूरा गर्नेछस्, त्यसरी तेरो कर्तव्य पूरा हुनेछ। यदि तैँले आफ्‍नो कर्तव्यलाई तेरो जिम्‍मेवारी र दायित्व अनि परमेश्‍वरले दिनुभएको आज्ञाको रूपमा लिन्छस् र यो परमेश्‍वर र तेरो आफ्नै विवेकको सामना गर्न नभई नहुने कुरा हो भनीमहसुस गर्छस् भने, के तँ सामान्य मानवताको निष्ठा र गरिमामा बाँचिरहेको हुनेछैनस् र? तेरा कार्य र बानीबेहोरा उहाँले बताउनुभएको “परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने” किसिमको हुनेछ। तैँले यी वचनहरूका सारलाई पूरा गरिरहेको र तिनको वास्तविकतामा जिइरहेको हुनेछस्। जब सत्यता व्यक्तिको जीवन बन्छ, तब तिनीहरू यो वास्तविकतामा जिउन सक्‍नेछन्। तर तँ अझै पनि यो वास्तविकतामा प्रवेश गरेको छैनस् भने, जब तैँले छल, धोका, वा देखावटी रूप प्रकट गर्छस्, वा जब ख्रीष्टविरोधीहरूको दुष्ट शक्तिले परमेश्‍वरको घरको काममा बाधा र अवरोध खडा गरिरहेको देख्छस्, तँलाई केही पनि अनुभूति हुँदैन, र तँलाई कुनै कुरा पनि अवगत हुँदैन। तेरै आँखैअगाडि यस्ता घटनाहरू घट्दा समेत, तँ हाँस्‍न सक्छस्, र सहज विवेक लिएर खान र सुत्‍न सक्छस्, र तँलाई अलिकति पनि आत्मधिक्कारको अनुभूति हुँदैन। तैँले जिउन सक्‍ने यी दुई वटा जीवनमध्ये, तँ कुनलाई छनौट गर्छस् त? कुन जीवन साँचो मानव रूप र सकारात्मक कुराहरूको वास्तविकताहो, अनि कुनचाहिँ दुष्ट दानव प्रकृति र नकारात्मक कुरायुक्त हो भन्ने कुरा स्पष्ट छैन र? उत्तर आफैमा स्पष्ट छ। जब सत्यता मानिसहरूको जीवन बनेको हुँदैन, तब तिनीहरूले जिउने शैली निकै दयनीय र दुःखलाग्दो हुन्छ। अभ्यास गर्न चाहेर पनि सत्यता अभ्यास गर्न नसक्‍नु; प्रेम गर्न चाहेर पनि परमेश्‍वरलाई प्रेम गर्न नसक्‍नु; र अति इच्‍छा गरेर पनि आफूसँग आफूलाई परमेश्‍वरमा समर्पित गर्ने सामर्थ्य नहुनु—जिम्मेवारी उठाउन नसक्नु—यो भ्रष्ट मानिसहरूको दयनीय अवस्था र शोकको कुरा हो। यो समस्यालाई समाधान गर्नको लागि, व्यक्तिले सत्यतालाई स्वीकार र खोजी गर्नुपर्छ; तिनीहरूले नयाँ जीवन प्राप्त गर्नको लागि सत्यतालाई आफ्‍नो हृदयमा स्वागत गर्नुपर्छ। तिनीहरूले जेसुकै गरे वा सोचे पनि, सत्यता स्विकार्न नसक्नेहरूले सत्यता अभ्यास गर्न पनि सक्दैनन्, र बाहिर तिनीहरूले राम्रै गरेजस्तो देखिए पनि त्यो नाटक र छल नै हो—त्यो पाखण्ड नै हो। तसर्थ, यदि तँ सत्यता पछ्याउँदैनस् भने तैँले जीवन प्राप्त गर्नेछैनस्, र त्यही नै समस्याको जड हो।

धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने संकल्प र इच्‍छा मात्रै हुन्छ; सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्‍लङ्घन गर्ने कार्य गरिरहेका—र यसरी मण्डलीको काममा वाधा पुर्‍याइरहेका, र परमेश्‍वरका चुनिएकाहरूलाई हानि गरिरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्‍ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्‍ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्‍ने साहस नहुनु हो? यीमध्ये कुनै पनि होइन; यो मूल रूपमा भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुनुको परिणाम हो। तैँले प्रकट गर्ने यस्ता भ्रष्ट स्वभावहरूमध्ये एउटा छली स्वभाव हो; जब तँलाई केही हुन्छ, तैँले सबैभन्दा पहिले सोच्ने भनेको तेरो हित हो, तैँले सबैभन्दा पहिले विचार गर्ने भनेको परिणाम के हुन्छ, के यो मेरो लागि फाइदाजनक हुन्छ कि हुँदैन भन्‍ने हो। यो छली स्वभाव हो, होइन र? अर्कोचाहिँ स्वार्थी र छुद्र स्वभाव हो। तँ यस्तो विचार गर्छस्, “परमेश्‍वरको घरका हितहरूमा हानि पुग्‍नुसँग मेरो के सम्‍बन्ध छ र? म अगुवा होइन, अनि मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्‍बन्ध छैन। यो मेरो जिम्‍मेवारी होइन।” त्यस्ता सोचविचार र वचनहरू तैँले चेतन मनले सोच्ने कुराहरू होइनन्, ती तेरो अर्धचेतन मनले उत्पन्‍न गरेका कुराहरू हुन्—जुन मानिसहरूले समस्या सामना गर्दा प्रकट हुने भ्रष्ट स्वभाव हो। यस्ता भ्रष्ट स्वभावहरूले तेरो सोच्ने शैलीलाई सञ्‍चालित गर्छन्, तेरो हातखुट्टा बाँध्छन्, र तेरो बोलीबचन नियन्त्रित गर्छन्। तेरो मनमा जुरुक्क उठेर बोल्ने चाहना हुन्छ, तर तँमा यी कुराहरूको बारेमा सन्देह हुन्छ र तैँले बोलिहाले पनि, घुमाउरो पाराले कुरा गर्छस्, र पछि चलखेल गर्ने ठाउँ छोड्छस्, वा कुटिल रूपमा बोल्छस् तर सत्य बोल्दैनस्। स्पष्टता भएको मान्छेले यो कुरा बझ्न सक्छ; वास्तवमा, तैँले भन्‍नुपर्ने सबै कुरा तैँले भनेको छैनस्, तैँले भनेको कुराले कुनै प्रभाव पारेको छैन, तैँले केवल झारा टार्ने काम मात्र गरेको छस्, र समस्या समाधान गरिएको छैन भन्‍ने कुरा तँलाई तेरो हृदयमा थाहा हुन्छ। तैँले तेरो जिम्‍मेवारी पूरा गरेको हुँदैनस्, तैपनि तैँले तेरो जिम्‍मेवारी पूरा गरेको छस्, वा जे भइरहेको थियो त्यो तेरो लागि स्पष्ट थिएन भनेर खुल्लमखुल्ला भन्छस्। के यो साँचो हो? अनि के तैँले वास्तवमा सोच्‍ने कुरा यही हो? त्यसो भए के तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावको नियन्त्रणमा छैनस् र? तैँले भनेका केही कुराहरू मुख्य बिन्दु र महत्त्वपूर्ण विषयहरूमा तथ्यसँग मिल्दो भए पनि, तँ ठग्छस् र मानिसहरूलाई छल गर्छस्, जसले तँ झुट बोल्ने र आफ्नो शैतानी स्वभावअनुसार जिउने व्यक्ति होस् भन्ने प्रमाणित गर्दछ। तैँले भन्‍ने र सोच्ने सबै कुरा तेरो मस्तिष्कद्वारा प्रशोधित भएको हुन्छ, र यसले गर्दा तेरो हेरक बोली बनावटी, रित्तो, र झूट हुन्छ; वास्तवमा तैँले भनेको हरेक कुरा तथ्यविपरीत हुन्छ, तेरो आफ्नै औचित्य पुष्टि गर्नको लागि, तेरो आफ्‍नै फाइदाको लागि हुन्छ, र तैँले जब मानिसहरूलाई बहकाएको र विश्‍वासमा पारेको हुन्छस्, तँलाई आफ्नो उद्देश्य हासिल गरिसकेको अनुभूति हुन्छ। तैँले बोल्ने शैली यही हो; यसले तेरो स्वभावको प्रतिनिधित्व पनि गर्छ। तँ पूर्ण रूपमा तेरो आफ्नै शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छस्। तैँले भन्‍ने र गर्ने कुरामा तेरो कुनै नियन्त्रण हुँदैन। तैँले चाहे पनि, तैँले सत्यता बताउन वा तैँले वास्तवमा के सोचेको छस् त्यो कुरा भन्‍न सक्दैनस्; तैँले चाहे पनि, तैँले सत्यताको अभ्यास गर्न सक्दैनस्; तैँले चाहे पनि, तैँले आफ्‍ना जिम्‍मेवारीहरूलाई पूरा गर्न सक्दैनस्। तैँले भन्‍ने, गर्ने, र अभ्यास गर्ने सबै कुरा झूट हुन्छ, र तँ बस झाराटारुवा मात्र हुन्छस्। तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावको बन्धन र नियन्त्रणमा हुन्‍छस्। तैँले सत्यता स्विकार्नु र अभ्यास गर्न चाहन्छस् होला, तर त्यो तेरो हातको कुरा होइन। तँलाई तेरो शैतानी स्वभावले नियन्त्रण गरेपछि, त्यो शैतानी स्वभावले तँलाई जे भन्छ तँ त्यही गर्छस् र त्यही भन्छस्। तँ भ्रष्ट देहको कठपुतलीबाहेक केही पनि होइनस्, तँ शैतानको औजार बनेको छस्। पछि, तैँले फेरि भ्रष्ट देहलाई पछ्याएकोमा र तँ कसरी सत्यता अभ्यास गर्न असफल हुन सक्थिस् भनेर पछुतो महसुस गर्छस्। तँ मनमनै सोच्छस्, “म आफैँ यो देहलाई परास्त गर्न सक्दिनँ र मैले परमेश्वरलाई प्रार्थना गर्नैपर्छ। म मण्डलीको काममा बाधा पुर्‍याउनेहरूलाई रोक्न खडा भइनँ, र म मेरो विवेकको भार महसुस गरिरहेको छु। मैले अब फेरि यस्तो भयो भने, म कर्तव्य निर्वाहमा कुकर्म गर्ने र मण्डलीको काममा बाधा पुर्‍याउनेहरूविरुद्ध खडा भएर तिनीहरूलाई काँटछाँट गर्नैपर्छ भन्ने निर्णय गरिसकेँ, ताकि तिनीहरूले आफूलाई सम्हालून् र लापरवाही ढङ्गले काम गर्न छोडून्।” तैँले अन्तत: जसोतसो बोल्ने साहस जुटाएपछि, अर्को कुनै व्यक्ति रिसाएर टेबल ठटाउनेबित्तिकै डराएर पछि हट्छस्। के तँ परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न सक्छस्? दृढ सङ्कल्प र इच्छाशक्तिको के काम? ती दुवै बेकार कुरा हुन्। तिमीहरूले यस्ता थुप्रै घटनाहरूको सामना गरेको हुनुपर्छ: तिमीहरू अप्ठ्यारोमा पर्छौ अनि लल्याकलुलुक हुन्छौ, तिमीहरूलाई आफू केही गर्न सक्दिनँ जस्तो लाग्छ र हताश हुन्छौ, तिमीहरू निराशामा डुब्छौ र अब कुनै आस बाँकी नरहेको र यसपालि तिमीहरूलाई पूर्ण रूपमा हटाइएको निष्कर्षमा पुग्छौ। तँ सत्यता पछ्याउँदैनस् भनेर स्वीकार गर्छस्, त्यसोभए किन पछुतो गर्दैनस् त? के तैँले सत्यता अभ्यास गरेको छस्? तैँले पक्कै पनि बर्षौंसम्म प्रवचनमा सहभागी भएर पनि केही पनि नबुझेको त छैनस् होला। तँ किन फिटिक्कै सत्यता अभ्यास गर्दैनस्? तँ कहिल्यै सत्यताको खोजी गर्दैनस्, अभ्यास गर्नु त परको कुरा हो। तँ केवल निरन्तर प्रार्थना गर्छस्, सङ्कल्प गर्छस्, आकाङ्क्षा राख्छस् र आफ्नो मनमा प्रतिज्ञा गर्छस्। अनि यसको परिणाम के निस्कन्छ त? तँ चापलुस नै रहन्छस्, आफूले सामना गर्ने समस्याहरूबारे खुलस्त हुँदैनस्, दुष्ट मानिसहरूलाई देखेर पनि वास्ता गर्दैनस्, कसैले दुष्कर्म गर्दा वा बाधा पुर्‍याउँदा केही गर्दैनस्, र आफूलाई व्यक्तिगत रूपमा असर नपरेसम्म तर्केर परै बस्छस्। तँ सोच्छस्, “म आफूसँग सरोकार नभएका कुनै पनि कुराको बारेमा कुरा गर्दिनँ। मेरो रुचि, अभिमान र छविलाई असर नगरेसम्म म हरेक कुरालाई बिना अपवाद बेवास्ता गर्छु। म अत्यन्तै चनाखो हुनुपर्छ, किनकि टाउको उठाउने चराले नै गोली खान्छ। म बेवकुफी गर्नेछैनँ!” तँ तेरो दुष्ट, छली, कठोर, र सत्यताप्रति प्रतिकूल रहने भ्रष्ट स्वभावहरूद्वारा पूर्ण रूपमा र बलियोसँग नियन्त्रित छस्। तरा लागि यो वानर राजाले लगाउने कसिलो सुनौलो फेटाभन्दा[क] असहनीय भएको छ। भ्रष्ट स्वभावहरूको नियन्त्रणमा जिउनु अत्यन्तै हैरानीपूर्ण र पीडादायी कुरा हो! तिमीहरू यसलाई के भन्छौ: यदि तिमीहरूले सत्यताको खोजी गर्दैनौ भने, के तिमीहरूको भ्रष्टतालाई त्याग्‍न सहज हुन्छ त? के यो समस्यालाई समाधान गर्न सकिन्छ त? म तिमीहरूलाई भन्छु: यदि तिमीहरू सत्यतालाई पछ्याउँदैनौ र आफ्नै आस्थामै अलमलिएर बस्छौ भने, यदि तिमीहरू बर्षौंसम्म सत्यता अभ्यास नगरी प्रवचन मात्र सुनेर बस्छौ शब्द र सिद्धान्तहरू उच्चारण गरेर अरूलाई छल गर्न सक्छौ भनी अन्त्यसम्मै विश्वास गर्छौ भने, तिमीहरू पूर्ण रूपले धार्मिक ढोँगी हौ, पाखण्डी फरिसी हौ, र यसरी तिमीहरूको अन्त्य हुनेछ। तिमीहरूको परिणाम यही नै हुनेछ। यदि तँ योभन्दा खराब छस् भने यस्तो समय आउन सक्छ, जसमा तँ प्रलोभनमा पर्नेछस्, आफ्नो कर्तव्य त्याग्नेछस्, र परमेश्वरलाई धोका दिने व्यक्ति बन्नेछस्—जुन अवस्थामा तँ पछि परेको हुनेछस् र हटाइनेछस्। यो भनेको सधैँ भीरको किनारामा रहनु हो! त्यसैले अहिले सत्यता पछ्याउनुभन्दा महत्त्वपूर्ण कुरा अरू केही छैन। सत्यता अभ्यास गर्नुभन्दा राम्रो कुरा केही छैन।

फूटनोटहरू:

क. वानर राजाको सुनौलो फेटा प्राचीन चिनियाँ उपन्यास “पश्चिमतिरको यात्रा” मा देखापर्ने एक महत्त्वपूर्ण वस्तु हो। त्यस कथामा वानर राजाको उद्दण्ड व्यवहारको प्रतिक्रियास्वरूप उक्त सुनौलो फेटा उनको खप्पर वरपर दुख्ने गरी कसेर उनका विचार र कार्यहरूलाई नियन्त्रण गर्न प्रयोग गरिएको थियो।


अंश १५

यदि मानिसहरूमा सत्यतालाई प्रेम गर्ने हृदय छ भने, तिनीहरूमा सत्यको पछि लाग्‍ने शक्ति हुन्छ, र तिनीहरू सत्यता अभ्यास गर्नमा कडा मेहनत गर्न सक्छन्। तिनीहरू त्याग्‍नुपर्ने कुरा त्याग्‍न सक्छन्, र छोड्नुपर्ने कुरा छोड्न सक्छन्। विशेष गरी, तेरो ख्याति, प्राप्ति र हैसियतसित सम्बन्धित कुराहरू छोड्नुपर्छ। यदि तैँले ती छोड्दैनस् भने, यसको अर्थ तँ सत्यतालाई प्रेम गर्दैनस् र तँमा सत्यताको पछि लाग्‍ने सामर्थ्य छैन। तँमाथि परिस्थितिहरू आइपर्दा, तैँले सत्यताको खोजी र अभ्यास गर्नैपर्छ। तैँले सत्यता अभ्यास गर्नुपर्ने समयहरूमा, यदि तँमा सधैँ स्वार्थी हृदय हुन्छ र तँ आफ्नो स्वार्थ छोड्न सक्दैनस् भने, तैँले सत्यता अभ्यास गर्न सक्‍नेछैनस्। यदि तैँले कुनै पनि परिस्थितिमा र कहिल्यै पनि सत्यताको खोजी वा अभ्यास गर्दैनस् भने, तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्। तैँले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, सत्यता प्राप्त गर्नेछैनस्। कतिपय मानिसहरू सधैँ ख्याति, प्राप्ति र स्वार्थको पछि लाग्छन्। मण्डलीले तिनीहरूलाई जुनसुकै काम दिए पनि, तिनीहरू सधैँ घोत्लिन्छन्, र यस्तो सोच्छन्, “के यसले मलाई फाइदा गर्छ? फाइदा गर्छ भने गर्छु, नत्र गर्दिनँ।” यस्तो व्यक्तिले सत्यता अभ्यास गर्दैन—त्यसकारण के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्? निश्‍चय नै सक्दैनन्। तैँले दुष्कर्म नगरेको भए पनि, तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्। यदि तँ सत्यताको पछि लाग्दैनस्, सकारात्मक कुराहरूलाई प्रेम गर्दैनस्, र तँलाई जे आइपरे पनि आफ्नो प्रतिष्ठा, हैसियत, स्वार्थ र तँलाई फाइदा हुने कुरा मात्र वास्ता गर्छस् भने, तँ केवल स्वार्थद्वारा सञ्‍चालित, स्वार्थी र नीच व्यक्ति होस्। यस्तो व्यक्तिले सत्यता वा परमेश्‍वरको मुक्ति प्राप्त गर्न नभई, असल, वा आफूलाई फाइदा पुग्ने कुरा प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्छ। तसर्थ, यस प्रकारका मानिसहरू अविश्‍वासी हुन्। सत्यता खोज्न र अभ्यास गर्न सक्‍नेहरू नै परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिस हुन्, किनभने तिनीहरूले आफ्नो हृदयमा ख्रीष्ट नै सत्यता हुनुहुन्छ भनी पहिचान गर्छन्, र तिनीहरूले परमेश्‍वरका वचनहरू सुन्‍नुपर्छ र परमेश्‍वरले भन्‍नुभएअनुसार उहाँमा विश्‍वास गर्नुपर्छ भन्‍ने कुरालाई मान्छन्। तँलाई केही आइपर्दा, यदि तँ सत्यता अभ्यास गर्ने इच्छा गर्छस्, तर आफ्नै ख्याति, हैसियत र छविलाई विचार गर्छस् भने, सत्यता अभ्यास गर्नु गाह्रो हुनेछ। यस्तो परिस्थितिमा, प्रार्थना, खोजी र आत्मचिन्तनद्वारा अनि आत्मसेचत बनेर, सत्यतालाई प्रेम गर्नेहरूले आफ्नो स्वार्थी कुरा वा आफ्नो फाइदा छोड्न, सत्यता अभ्यास गर्न, र परमेश्‍वरप्रति समर्पित हुन सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यतालाई प्रेम गर्ने व्यक्तिहरू हुन्। अनि जब मानिसहरूले सधैँ आफ्‍नै हितहरूका बारेमा विचार गर्छन्, जब सधैँ आफ्‍नै गर्व र आडम्बरको रक्षा गर्ने प्रयास गरिरहन्छन्, जब तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गर्छन् र पनि त्यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्, तब परिणाम के हुन्छ? परिणाम यो हुन्छ कि तिनीहरूले कुनै जीवन प्रवेश पाउँदैनन्, तिनीहरूमा साँचो अनुभव गवाहीको कमी हुन्छ। अनि यो खतरनाक हुन्छ, होइन र? यदि तैँले कहिल्यै पनि सत्यताको अभ्यास गर्दैनस् भने, यदि तँसँग कुनै अनुभव गवाही छैन भने, समय आएपछि तँलाई खुलासा गरिनेछ र हटाइनेछ। परमेश्‍वरको घरमा अनुभव गवाही नभएका मानिसहरूको के काम हुन्छ र? तिनीहरूले अवश्य नै कुनै कर्तव्य पनि राम्ररी पूरा गर्दैनन्, र कुनै काम पनि उचित रूपमा गर्न सक्षम हुँदैनन्। के तिनीहरू फोहोर होइनन् र? परमेश्‍वरलाई वर्षौंसम्‍म विश्‍वास गरेर पनि यदि मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गर्दैनन् भने, तिनीहरू अविश्‍वासीहरू हुन्; तिनीहरू दुष्ट मानिसहरू हुन्। यदि तैँले सत्यताको अभ्यास कहिल्यै गर्दैनस् र यदि तेरा अपराधहरू झन्झन् धेरै हुँदै गए भने, तेरो परिणाम निश्‍चित हुन्छ। यो स्पष्ट छ कि तेरा सबै अपराधहरू, तैँले हिँड्ने गलत मार्ग, र पश्‍चात्ताप गर्न तैँले गर्ने इन्कार—यी सबै कुरा जोडिएर दुष्ट कार्यहरूको थुप्रो बन्छ; त्यसैले तेरो परिणाम के हुन्छ भने, तँ नरक जानेछस्—तँलाई दण्डित गरिनेछ। के तँलाई यो सानोतिनो कुरा हो भन्‍ने लाग्छ? यदि तँलाई दण्ड भएको छैन भने, यो कति भयानक हुन्छ भन्‍ने बोधसमेत तँमा हुनेछैन। जब त्यो दिन आउँछ जहाँ तैँले साँच्‍चै नै सङ्कटको सामना गर्छस्, र तँ मृत्युको सम्‍मुख हुन्छस्, तब पछुतो गर्नको लागि धेरै ढिला भइसकेको हुनेछ। यदि तैँले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा सत्यता स्वीकार गर्दैनस्, र यदि तैँले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौं भयो, र पनि तँमा कुनै परिवर्तन आएको छैन भने, अन्तिम परिणाम के हुन्छ भने तँलाई हटाइनेछ र त्यागिनेछ। हरेक व्यक्तिले अपराध गरेको हुन्छ। मुख्य कुरा भनेको ती अपराधहरू सुल्झाउनको निम्ति सत्यता खोज्न सक्नु हो, र यसले अपराधहरू कम हुँदै जाने कुराको सुनिश्चितता गर्नेछ। त्यो चाहे जहिलेसुकै होस्, यदि तैँले कहिल्यै आफ्नो भ्रष्ट स्वभाव प्रकट गरिस्, र तैँले सधैँ परमेश्वरलाई प्रार्थना गर्न र उहाँमा भर पर्न, त्यसलाई समाधान गर्नको निम्ति सत्यता खोज्न, र तेरो भ्रष्ट स्वभाव शुद्धिकरण गर्न सकिस् भने, तैँले दुष्टता गरेको हुनेछैनस्। विश्वासीहरूले भ्रष्ट स्वभावको समस्यालाई यसरी नै हल गर्नुपर्छ, र यसरी नै परमेश्वरको काम अनुभव गर्नुपर्छ। यदि तँमाथि परिस्थितिहरू आइपर्दा तैँले कहिल्यै परमेश्वरलाई प्रार्थना गर्दैनस् र कहिल्यै सत्यता खोज्दैनस्, वा यदि तैँले सत्यता त बुझ्छस् तर त्यसलाई व्यवहारमा लागू गर्दैनस् भने, अन्तिम परिणाम के हुनेछ? त्यो प्रस्टै छ। तँ जतिसुकै चतुर र वाक्पटु भए पनि, के तँ परमेश्वरको नजरको जाँचबुझबाट उम्किन सक्छस्? के तँ परमेश्वरको हातका योजनाबद्ध कार्यहरूबाट पन्छिन सक्छस्? यो असम्भव छ। ज्ञानी मानिसहरूले परमेश्वरसामु आएर पश्चात्ताप गर्नुपर्छ, उहाँलाई हेर्नुपर्छ, उहाँमा निर्भर हुनुपर्छ, आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नुपर्छ, र सत्यता अभ्यास गर्नुपर्छ। त्यसपछि तैँले देहलाई र शैतानका प्रलोभनहरूलाई जितेको हुनेछस्। तँ थुप्रै पटक असफल भइस् भने पनि, तँ लागिरहनैपर्छ। यदि तँ सबै बाधाहरूविरुद्ध लागिपरिस् भने, तैँले कुनै न कुनै समयमा सफलता पाउनेछस्, र तैँले परमेश्वरको अनुग्रह, उहाँको कृपा, र उहाँको आशिष् प्राप्त गर्नेछस्, र तैँले सत्यता पछ्याउने मार्गमा हिँड्न, आफ्ना कर्तव्यहरू राम्ररी निभाउन, र परमेश्वरलाई सन्तुष्ट तुल्याउन सक्नेछस्।

तिमीहरूमाथि परिस्थितिहरू आइपर्दा, तिमीहरू सत्यता अभ्यास गर्न र परमेश्वरको कामलाई जोगाउन कत्तिको खोज्छौ? (विरलै। धेरैजसो म आफ्नै छवि वा स्वार्थ जोगाउन खोज्छु, र त्यो कुरा म पछि गएर महसुस गर्छु, तर आफै विरुद्ध विद्रोह गर्नु सजिलो हुँदैन। सत्यताबारे मसँगै सङ्गति गर्ने कोही भएमा, त्यसले मलाई केही बल दिन्छ, र म केही हदसम्म आफू विरुद्ध विद्रोह गर्न सक्छु। तर यदि मसँग सत्यताबारे सङ्गति गर्ने कोही नभएमा, म परमेश्वरबाट टाढिन्छु र सधैँ यही स्थितिमा जिउँछु।) देहविरुद्ध विद्रोह गर्न कठिन छ, र सत्यता अभ्यास गर्न झनै कठिन छ, किनकि तँसित तँलाई बाधा पुर्‍याउने शैतानी प्रकृति र तँलाई खलबल्याउने भ्रष्ट स्वभाव छ, र सत्यता नबुझिकन यिनलाई हल गर्न सकिँदैन। तिमीहरू एक दिनमा कति समय चुपचाप परमेश्वरको उपस्थितिमा बिताउन सक्छौ? आत्मिक खडेरी अनुभूति गर्नुअघि तिमीहरू कति दिनसम्म परमेश्वरका वचनहरू नपढी बस्न सक्छौ? (मलाई त परमेश्वरका वचनहरू नपढी एक दिन पनि रहन सक्दिनँ जस्तो लाग्छ। मलाई हरेक बिहान परमेश्वरका वचनहरूको एउटा खण्ड पढेर त्यसमाथि ध्यान गर्नैपर्छ। यसले मलाई परमेश्वरको नजिक भएको अनुभूति गराउँछ। यदि कुनै दिन म व्यस्त भएर हस्याङफस्याङ गर्दै काम गरिरहेको छु, परमेश्वरका वचनहरू खाइरहेको र पिइरहेको छैन, र खासै प्रार्थना गरिरहेको छैन भने, म परमेश्वरदेखि निकै टाढा भएको महसुस गर्छु।) यदि तिमीहरूले आफू परमेश्वरदेखि टाढा रहन सक्दैनौ भन्ने कुरा महसुस गर्न सक्छौ भने, तिमीहरूको लागि अझै पनि आशा रहन्छ। यदि तँ विश्वासी होस् र सत्यता प्राप्त गर्न चाहन्छस् भने, तैँले निष्क्रिय हुन र तँसित सत्यताबारे सङ्गति गर्न सधैँ अरूलाई पर्खिन मिल्दैन। तैँले सक्रिय रूपले परमेश्वरका वचनहरू खान र पिउन, परमेश्वरलाई प्रार्थना गर्न, र सत्यता खोज्न सिक्नैपर्छ। यदि तँ तेरो आत्मा अँध्यारो नहुञ्जेल परमेश्वरका वचनहरू खाँदैनस् र पिउँदैनस् अनि उहाँलाई प्रार्थना गर्दैनस् भने, तैँले यथास्थितिलाई कायम राख्न मात्र सक्छस्। नाम मात्रको “आस्था” कायम राख्नु ठिकै होला, तर त्यसले तेरो जीवनमा वृद्धि हुनेछैन, र जब तेरो आत्मा सुख्खा र असंवेदनशील बनेको हुन्छ, र तँ परमेश्वरदेखि निकै टाढा भएको हुन्छस्, तब तँ खतरामा पर्नेछस्। एउटा परीक्षा आइपर्दा नै तँ लड्छस्; तँ सजिलै शैतानको पकडमा पर्छस्। यदि तँसँग अनुभव नै छैन, तँ कुनै सत्यता बुझ्दैनस्, न त परमेश्वरका वचनहरू पढ्नमा न प्रवचनहरू सुन्नमा ध्यान दिन्छस्, र तँसित सामान्य आत्मिक जीवन छैन भने, तेरो कद वृद्धि हुन कठिन हुनेछ, र निश्चय नै तेरो प्रगति अति सुस्त हुनेछ। यो सुस्त प्रगतिका कारणहरू के हुन्? त्यसका परिणामहरू के हुन्? तँ यी कुराहरूबारे प्रस्ट हुनैपर्छ। परमेश्वरले जुनसुकै तरिकाले मानिसहरूको भ्रष्टता पर्दाफास गर्नुभए पनि, तिनीहरूले आफूलाई त्यसमा समर्पण गर्नुपर्छ र त्यसलाई स्विकार्नुपर्छ। तिनीहरूले आत्मचिन्तन गर्नुपर्छ र आफूलाई परमेश्वरका वचनहरूसित तुलना गर्नुपर्छ, ताकि तिनीहरूले आत्मज्ञान हासिल गर्न र बिस्तारै सत्यता बुझ्न सकून्। परमेश्वरको लागि यो नै सबैभन्दा सुखद कुरा हो, र पवित्र आत्माले पक्कै तिनीहरूमा काम गर्नुहुनेछ, र तिनीहरूले पक्कैपरमेश्वरको अभिप्राय बुझ्नेछन्। तैँले परमेश्वरका वचनहरूलाई सधैँभरी तेरो हृदयमा राख्नुपर्छ, ताकि वास्तविक जीवनमा कुनै समस्या सामना गर्दा, तैँले त्यसलाई परमेश्वरका वचनहरू र सत्यतासित जोड्न र तुलना गर्न सक। त्यसपछि उक्त समस्या समाधान गर्न सजिलो हुनेछ। उदाहरणको लागि, हर व्यक्तिले रोगरहित स्वस्थ शरीर चाहन्छ; यो हर व्यक्तिको आकाङ्क्षाको कुरा हो, तर तैँले त्यसलाई आफ्नो दैनिक जीवनमा कसरी अभ्यास गर्नुपर्छ? सर्वप्रथम, तेरो नियमित दिनचर्या हुनैपर्छ, तैँले अस्वस्थकर वा वर्जित गरिएको कुरा खानु हुँदैन, र उचित मात्रामा व्यायाम गर्नुपर्छ। जब यी विधिहरूलाई मिलाएर लगिन्छ, र तैँले गर्ने हर चीज तेरो शारीरिक स्वास्थ्यको लक्ष्यमा केन्द्रित हुन्छ, तब तैँले बिस्तारै नतिजाहरू देख्नेछस्। केही वर्षपछि तँ अरूभन्दा स्वस्थ हुनेछस्, र तैँले राम्रो परिणाम प्राप्त गरेको हुनेछस्। तैँले कसरी ती परिणामहरू हासिल गरिस्? किनकि, तेरा कार्य र लक्ष्यहरू मिल्दोजुल्दो थिए, र तेरो अभ्यास र सिद्धान्त मिल्दोजुल्दो थिए। परमेश्वरमा विश्वास गर्नु पनि यस्तै हो। यदि तँ सत्यतालाई प्रेम गर्ने र सत्यता अभ्यास गर्ने व्यक्ति हुन, र स्वभाव परिवर्तन भएको व्यक्ति हुन खोज्छस् भने, तँमाथि परिस्थितिहरू आइपर्दा तैँले तिनलाई आफूले पछ्याइरहेको लक्ष्यसँग र त्यसमा संलग्न सत्यताहरूसँग जोड्नैपर्छ। तैँले पछ्याउने लक्ष्यहरू जे भए पनि, जबसम्म ती परमेश्वरले मान्छेबाट माग गर्ने कुराहरू नै हुन्छन्, तबसम्म विश्वासीको रूपमा तैँले पछ्याउनैपर्ने दिशा र लक्ष्य तिनै हुन्छन्। उदाहरणको लागि, परमेश्वरको मार्ग पछ्याउनेः परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने। तँसित यो दिशा र यो लक्ष्य भएपछि तँसित त्यसलगत्तै त्यसलाई व्यवहारमा लागू गर्ने मार्ग हुनैपर्छ। मैले “परमेश्‍वरको मार्ग पछ्याओ” भन्दा, “परमेश्‍वरको मार्ग” ले केलाई जनाउँछ? त्यसको अर्थ परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु हो। अनि, परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु भनेको के हो? उदाहरणको लागि, जब तैँले कसैको बारेमा मूल्याङ्कन गर्छस्—यो परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नुसँग सम्‍बन्धित हुन्छ। तैँले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्छस्? (हामी इमानदार, न्यायसङ्गत, र निष्पक्ष हुनुपर्छ, र हाम्रा शब्‍दहरू हाम्रा भावनाहरूमा आधारित हुनु हुँदैन।) जब तैँले आफूले जे सोच्यो, र आफूले जे देख्यो, त्यही बोल्छस्, तब तँ इमानदार भइरहेको हुन्छस्। सर्वप्रथम, इमानदार व्यक्ति हुने अभ्यास गर्नु परमेश्‍वरको मार्गलाई पछ्याउनुसित मिल्छ। परमेश्‍वरले मानिसहरूलाई यही कुरा सिकाउनुहुन्छ; यही नै परमेश्‍वरको मार्ग हो। परमेश्‍वरको मार्ग भनेको के हो? परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु। के इमानदार बन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नुकै एक हिस्सा होइन र? के यो परमेश्‍वरको मार्ग पछ्याउनु होइन र? (हो। परमेश्वरको मार्ग पछ्याउनु हो।) यदि तँ इमानदार छैनस् भने, तैँले देखेको र सोचेको कुरा र तेरो मुखबाट निस्कने कुरा उस्तै हुँदैनन्। कसैले तँलाई सोध्छ, “त्यो व्यक्तिबारे तपाईंको राय के छ? के ऊ मण्डलीको काममा जिम्‍मेवार छ?” र तैँले यस्तो जवाफ दिन्छस्, “ऊ राम्रो छ। ऊ मभन्दा बढी जिम्‍मेवार छ, उसको क्षमता मेरोभन्दा राम्रो छ, र उसको मानवता पनि राम्रो छ। ऊ परिपक्‍व र स्थिर छ।” तर के तैँले आफ्‍नो हृदयमा यही सोचिरहेको हुन्छस् त? तैँले वास्तवमा के देख्छस् भने, यो व्यक्तिमा क्षमता भए पनि, ऊ भरोसा गर्न लायक छैन, बरु छली, र अत्यन्तै षड्यन्त्रकारी छ। तैँले मनमा वास्तवमा यस्तै सोचिरहेको हुन्छस्, तर बोल्‍ने समयमा, तँलाई लाग्छ, “मैले सत्य कुरा भन्‍नु हुँदैन। मैले कसैलाई पनि चिढ्याउनु हुँदैन,” त्यसकारण तैँले झट्टै अरू नै कुरा भन्छस्, र उसका बारेमा राम्रा कुराहरू भन्ने निर्णय गर्छस्, तर तैँले भनेको कुनै पनि कुरा तैँले वास्तवमा सोचेको कुरा हुँदैन; यो सबै झूट र नक्कली कुरा मात्रै हुन्छ। के यसले तैँले परमेश्‍वरको मार्ग पछ्याउँछस् भन्‍ने सङ्केत दिन्छ? दिँदैन। तँ शैतानको मार्ग, भूतहरूको मार्गमा हिँडेको हुन्छस्। परमेश्‍वरको मार्ग भनेको के हो? यो सत्यता हो, यो मानिसहरूको बानीबेहोराको आधार हो, र यो परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने मार्ग हो। तँ कुनै अर्को व्यक्तिसँग बोल्दै छस् भने पनि, परमेश्‍वरले सुनिरहनुभएको हुन्छ; उहाँले तेरो हृदय नियालिरहनुभएको र त्यसलाई जाँचिरहनुभएको हुन्छ। मानिसहरूले तैँले भन्‍ने कुरा सुन्छन्, तर परमेश्‍वरले तेरो हृदय जाँच्‍नुहुन्छ। के मानिसहरू मानवको हृदय जाँच्‍न सक्‍ने हुन्छन्? बढीमा, मानिसहरूले तैँले सत्यता बताइरहेको छैनस् भन्‍नेसम्‍म देख्‍न सक्छन्; तिनीहरूले सतहमा के छ त्यो देख्‍न सक्छन्, तर परमेश्‍वरले मात्रै तेरो हृदयको गहिराइलाई देख्‍न सक्‍नुहुन्छ। परमेश्‍वरले मात्रै तैँले के सोचिरहेको छस्, तैँले के योजना बनाइरहेको छस्, र तेरो हृदयमा के-कस्ता तुच्छ षड्यन्त्र, विश्वासघाती तरिका र सक्रिय सोचहरू छन् भनी देख्‍न सक्‍नुहुन्छ। जब तैँले सत्यता बताइरहेको छैनस् भन्‍ने कुरा परमेश्वरले देख्नुहुन्छ, तँप्रतिको उहाँको राय र मूल्याङ्कन के हुन्छ? यस मामिलामा तैँले परमेश्‍वरको मार्ग पछ्याएको छैनस्, किनभने तैँले सत्यता बोलिनस् भन्‍ने हुन्छ। यदि तैँले परमेश्‍वरका मापदण्डहरू अनुसार अभ्यास गरिरहेको थिइस् भने, तैँले सत्य कुरा बताउनुपर्थ्यो: “ऊ क्षमता भएकै व्यक्ति हो, तर ऊ भरोसा गर्न लायक छैन।” तेरो मूल्याङ्कन सही भए पनि नभए पनि, यो साँचो र हृदयबाट आएको हुन्थ्यो र तैँले व्यक्त गर्नुपर्ने दृष्टिकोण र अडान यस्तै हुनुपर्थ्यो। तर तैँले यसो गरिनस्—अनि के तैँले परमेश्‍वरको मार्ग पछ्याइरहेको थिइस् त? (थिइनँ।) यदि तँ सत्य कुरा भन्दैनस् भने, तैँले परमेश्‍वरको मार्ग पछ्याइरहेको छस् र परमेश्‍वरलाई सन्तुष्ट तुल्याइरहेको छस् भनेर तैँले जोड दिनुको तँलाई के अर्थ हुन्थ्यो र? के तैँले फलाक्ने नाराहरूलाई परमेश्‍वरले चासो दिनुहुने थियो? के परमेश्‍वरले तँ कसरी चिच्याउँछस्, कति चर्को चिच्याउँछस्, र तेरो इच्‍छा कति ठूलो छ भन्‍ने कुरालाई हेर्नुहुन्छ? के तैँले कतिपटक चिच्याउँछस् भन्ने कुरा उहाँले हेर्नुहुन्छ? यी उहाँले हेर्नुहुने कुराहरू होइनन्। परमेश्‍वरले तैँले सत्यताको अभ्यास गर्छस् कि गर्दैनस्, र तेरो जीवनमा परिस्थितिहरू आइपर्दा तैँले गर्ने निर्णय र तैँले कसरी सत्यता अभ्यास गर्छस् भन्‍ने कुरालाई हेर्नुहुन्छ। यदि तँ सम्‍बन्धहरू जोगाउने, आफ्‍नै स्वार्थ र छविलाई जोगाउने निर्णय गर्छस्, जे पनि आत्मसंरक्षणको लागि गर्छस्, र तेरो जीवनमा परिस्थितिहरू आइपर्दा तेरो दृष्टिकोण र मनोवृति यस्तो हुन्छ भनेर परमेश्‍वरले देख्नुहुन्छ भने, उहाँले तेरो मूल्याङ्कन गर्नुहुनेछ: तँ उहाँको मार्ग पछ्याउने व्यक्ति होइनस् भनेर उहाँले भन्‍नुहुनेछ। तँ सत्यता पछ्याउन र परमेश्वरको मार्गमा हिँड्न चाहन्छु भन्छस्, त्यसोभए तँमाथि परिस्थितिहरू आइपर्दा तँ किन त्यसलाई व्यवहारमा लागू गर्दैनस्? तैँले बोल्ने वचनहरू हृदयबाटै आएका होलान्, र तिनले तेरा इच्छा र चाहनाहरू व्यक्त गर्लान्, अथवा तेरो हृदय भावविह्वल हुन सक्छ, र तँ नराम्रोसित रूँदै सच्चा वचनहरू चिच्च्याइरहेको हुन सक्छस्, तर के इमानदारीपूर्वक बोल्नुको अर्थ तैँले सत्यता अभ्यास गरिरहेको छस् भन्ने हुन्छ र? के त्यसको अर्थ तँसित साँचो गवाही छ भन्ने हुन्छ? हुन्छ भन्ने जरुरी छैन। यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, तैँले सत्यता अभ्यास गर्न सक्नेछस्; यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस् भने, तैँले कर्णप्रिय कुराहरू मात्र बोल्नेछस्, र त्यो बाहेक अरू केही गर्नेछैनस्। फरिसीहरू धर्मसिद्धान्तहरूको प्रचार गर्न र नाराहरू फलाक्नमा उत्कृष्ट थिए। तिनीहरू प्रायः बाटोको कुनामा बसेर “ओहो, शक्तिमान् परमेश्वर!” वा “श्रद्धेय परमेश्वर!” भन्दै चिच्च्याउँथे। अरूका नजरमा, तिनीहरू अत्यन्तै धर्मी देखिन्थे, र तिनीहरूले व्यवस्थाविरुद्ध केही गर्दैनथे, तर के परमेश्वरले तिनीहरूको अनुमोदन गर्नुभयो त? गर्नुभएन। उहाँले तिनीहरूको निन्दा कसरी गर्नुभयो? उहाँले तिनीहरूलाई पाखण्डी फरिसीको नाम दिएर निन्दा गर्नुभयो। विगतका समयमा फरिसीहरू इस्राएलका सम्मानित वर्ग थिए, त्यसोभए अहिले त्यो नाम किन लेबल बनेको छ? यस्तो किन भयो भने फरिसीहरू एक खाले व्यक्तिको प्रतिनिधि बनेका छन्। यस प्रकारको व्यक्तिका विशेषताहरू के-के हुन् त? तिनीहरू झूटो हुनमा, देखावटी गर्नमा, ढोंग गर्नमा सीपालु छन्; तिनीहरू महान् आदर्श, पवित्रता, सोझोपन, र पारदर्शी शालीनताको नाटक गर्छन्, र तिनीहरूले फलाक्ने नाराहरू राम्रा सुनिन्छन्, तर तिनीहरूले त अलिकति पनि सत्यता अभ्यास नगर्ने रहेछन्। तिनीहरूसँग कुन चाहिँ असल व्यवहार रहेछ त? तिनीहरू पवित्र पुस्तक पढ्छन् र प्रवचन दिन्छन्; तिनीहरू अरूलाई कानुन र नियमहरू कायम राख्न अनि परमेश्वरको प्रतिरोध नगर्न सिकाउँछन्। यो सबै असल व्यवहार हो। तिनीहरूले भन्ने हरेक कुरा राम्रो सुनिन्छ, तैपनि जब अरू पछाडि फर्कन्छन् तिनीहरू गोप्य रूपमा भेटीहरू चोर्छन्। प्रभु येशूले तिनीहरूले “भुसुना छान्छन् र उँटलाईचाहिँ निल्छन्” (मत्ती २३:२४) भनी भन्नुभयो। यसको मतलब, तिनीहरूको सबै व्यवहार बाहिरी रूपमा राम्रो देखिन्छ—तिनीहरूले देखाउनको लागि नारा लगाउँछन्, तिनीहरूले उच्च सिद्धान्तहरूको बारेमा बोल्छन्, र तिनीहरूका वचनहरू मीठा सुनिन्छ, तर तिनीहरूका कार्यहरू भने अस्तव्यस्त भद्रगोल हुन्छन्, र तिनीहरू पूर्णतया परमेश्‍वरको प्रतिरोधी हुन्छन्। तिनीहरूको बाहिरी व्यवहार सबै नै बहाना र धोका हुन्; तिनीहरूको हृदयमा तिनीहरूसँग सत्यताप्रति अलिकति पनि प्रेम हुँदैन, न त सकारात्मक कुराहरूको लागि नै प्रेम हुन्छ। तिनीहरूले सत्यताप्रति, सकारात्मक कुराहरूप्रति र परमेश्‍वरबाट आउने सबै कुराहरूप्रति प्रतिकूल हुन्छन्। तिनीहरूले केलाई प्रेम गर्छन् त? के तिनीहरूले निष्पक्षता र धर्मीपनलाई प्रेम गर्छन् त? (गर्दैनन्।) तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन् भनेर तिमीहरूले कसरी भन्न सक्छौ? (प्रभु येशूले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो जसलाई तिनीहरूले अस्वीकार मात्र गरेनन्, बरु तिनीहरूले त त्यसलाई दोषी ठहराउने कामसमेत गरे।) यदि तिनीहरूले त्यसको निन्दा नगरेका भए, के त्यो कुरा बताउन सम्भव हुनेथ्यो? हुनेथिएन। प्रभु येशूको देखापराइ र कामले सबै फरिसीहरूको खुलासा गर्‍यो, र तिनीहरूले प्रभु येशूलाई गरेको निन्दा र प्रतिरोधद्वारा मात्र अरूले तिनीहरूको पाखण्ड देख्न सक्थे। यदि परमेश्वरको देखापराइ र काम नभएको भए, फरिसीहरूलाई कसैले पनि खुट्याउने थिएन, र यदि मानिसहरूले फरिसीहरूको बाहिरी आचारणलाई मात्र हेरेको भए, त्यसले तिनीहरूलाई ईर्ष्यालु समेत बनाउनेथ्यो। के फरिसीहरूले झूटो असल व्यवहार देखाएर मानिसहरूको विश्वास प्राप्त गर्नु बेइमानी र छली थिएन र? के यस्ता छली मानिसहरूले सत्यतालाई प्रेम गर्न सक्छन् र? तिनीहरूले कदापि सक्दैनन्। तिनीहरूले असल आचारण देखाउनु पछाडिको उद्देश्य के थियो? एकातिर मानिसहरूलाई ठग्नु थियो। अर्कोतिर, मानिसहरूलाई बहकाएर तिनीहरूको मन जित्नु थियो, ताकि मानिसहरूले तिनीहरूलाई उच्च ठानून् र आदर गरून्। र अन्त्यमा, तिनीहरू इनाम प्राप्त गर्न चाहन्थे। यो त कत्रो ठूलो ठगी थियो! के यी चलाखीपूर्ण चालबाजी थिए? के यस्ता मानिसहरूले न्याय र धार्मिकतालाई प्रेम गर्थे? निश्चय नै गर्दैनथे। तिनीहरू हैसियत, प्रसिद्धि र लाभलाई प्रेम गर्थे, र तिनीहरू इनाम र मुकुट चाहन्थे। तिनीहरू परमेश्वरले मानिसहरूलाई सिकाएका वचनहरू कहिल्यै अभ्यास गर्दैनथे, र तिनीहरूले कहिल्यै सत्यताका वास्तविकताहरू जिउँदैनथे। तिनीहरू राम्रो आचारणको खोल ओढ्ने र मानिसहरूलाई छल्ने अनि पाखण्डी तरिकाले तिनीहरूको मन जितेर आफ्नो हैसियत र ख्याति जोगाउने काम मात्र गर्थे, र त्यही हैसियत र ख्यातिलाई प्रयोग गरेर पुँजीको खोजी गर्थे र त्यसैबाट जीवन गुजारा गर्थे। के त्यो घृणित कार्य होइन र? तिनीहरूको यो आचारणबाट तैँले बुझ्न सक्छस् कि सारभूत रूपमा तिनीहरू सत्यतालाई प्रेम गर्दैनथे, किनकि तिनीहरूले त्यसको अभ्यास कहिल्यै गरेनन्। तिनीहरूले सत्यता अभ्यास नगरेको तथ्यलाई कुन कुराले देखाउँछ? सबैभन्दा ठूलो कुराः प्रभु येशू छुटकाराको काम गर्न आउनुभयो, र प्रभु येशूले बोल्नुभएका सबै वचनहरू सत्यता हुन् र तिनको अख्तियार छ। फरिसीहरूले यसको प्रतिक्रिया कसरी दिए? प्रभु येशूका वचनहरूमा अख्तियार र शक्ति छ भनी तिनीहरूले स्विकारे पनि, तिनीहरूले तिनलाई नस्विकारेको मात्र नभई तिनको भर्त्सना र ईशनिन्दा समेत गरे। त्यो केको लागि थियो? त्यो किन थियो भने तिनीहरूले सत्यतालाई प्रेम गर्दैनथे, र तिनीहरू हृदयदेखि नै सत्यताको प्रतिकूल थिए र सत्यतालाई घृणा गर्थे। प्रभु येशूले भन्नुभएको सबै कुरामा उहाँ सही हुनुहुन्थ्यो, उहाँका वचनहरूमा अख्तियार र शक्ति थियो, उहाँ कुनै रूपले गलत हुनुहुन्थेन, र उहाँमाथि तिनीहरूको कुनै प्रभाव थिएन भनी तिनीहरूले स्विकारे। तर तिनीहरू प्रभु येशूलाई निन्दा गर्न चाहन्थे, त्यसैले तिनीहरूले छलफल र षड्यन्त्र गरे, र “उहाँलाई क्रुसमा टाँगे। कि त ऊ रहनेछैन, कि हामी रहनेछैनौँ” भने, र फरिसीहरूले प्रभु येशूलाई यसरी नै अवज्ञा गरे। त्यसबेला कसैले पनि सत्यता बुझेन, र कसैले पनि प्रभु येशूलाई देहधारी परमेश्वर भनेर चिन्न सकेन। तर मानव दृष्टिकोणबाट हेर्दा, प्रभु येशूले धेरै सत्यताहरू व्यक्त गर्नुभयो, पिशाचहरूलाई निष्कासन गर्नुभयो, र बिरामीहरूलाई निको पार्नुभयो। उहाँले थुप्रै आश्चर्यकर्महरू गर्नुभयो, पाँचवटा रोटी र दुईवटा माछाले नै ५,००० जनालाई भोजन गराउनुभयो, अनेकौँ असल कार्यहरू गर्नुभयो, र मानिसहरूलाई अति धेरै अनुग्रह प्रदान गर्नुभयो। यस्ता असल र धर्मी मानिसहरू कमै मात्र हुन्छन्, त्यसोभए फरिसीहरू किन प्रभु येशूको निन्दा गर्न चाहन्थे? तिनीहरू किन उहाँलाई क्रुसमा टाँग्न त्यति दृढ थिए? तिनीहरूले प्रभु येशूको साटो कुनै अपराधीलाई छोड्न चाहनुले धार्मिक संसारका फरिसीहरू कति दुष्ट र दुर्भावनापूर्ण थिए भन्ने कुरा देखाउँछ। तिनीहरू अति नै दुष्ट थिए! फरिसीहरूले लुकाएको दुष्ट मुहार र तिनीहरूको देखावटी, बाहिरी दयाबीचको भिन्नता यति ठूलो थियो कि धेरै मानिसहरूले कुन साँचो हो र कुन झूटो हो भनी छुट्याउनै सकेनन्, तर प्रभु येशूको देखापराइ र कामले ती सबैको खुलासा गरिदियो। फरिसीहरूले प्रायः यति राम्ररी आफ्नो भेष बदल्थे र बाहिरी रूपले तिनीहरू यतिसम्म धार्मिक देखिन्थे कि तिनीहरूले त्यति क्रूर तरिकाले प्रभु येशूलाई प्रतिरोध गर्न र सताउन सक्छन् भनेर कसैले कल्पना समेत गरेको थिएन होला। यदि तथ्यहरू खुलासा नगरिएको भए, तिनीहरूको सारलाई कसैले पनि चिन्न सक्ने थिएनन्। देहधारी परमेश्वरले दिनुभएको सत्यताको अभिव्यक्तिले मान्छेको बारेमा अत्यन्तै धेरै खुलासाहरू गर्छन्।

अंश १६

मानिसहरूले सत्यतालाई बुझ्‍नु र अभ्यास गर्नुको उद्देश्‍य तिनीहरूले सत्यतामा जिउन सकून्, मानवीय सारअनुरूप जिउन सकून् र आफूले बुझेको र अभ्यास गर्न सक्ने सत्यतालाई जीवन बनाउन सकून् भन्‍ने हो। तिनलाई आफ्नो जीवन बनाउनु भनेको के हो? यसको अर्थ तिनलाई व्यक्तिका कार्यहरू, उसको जीवन, आचरण र अस्तित्वको जग र स्रोत बनाउनु हो—तिनले उसको जिउने शैलीलाई परिवर्तन गर्नु हो। पहिले मानिसहरू के अनुसार जिउँथे? तिनीहरूमा दृढ विश्‍वास भए पनि नभए पनि, तिनीहरू शैतानी स्वभावमा निर्भर रहँदै जिउँथे, र परमेश्‍वरका वचनहरू वा सत्यताअनुसार जिउँदैनथिए। सृष्टि गरिएको प्राणीले जिउनुपर्ने तरिका त्यही हो त? (होइन।) परमेश्‍वरले मानिसबाट के अपेक्षा गर्नुहुन्छ? (मानिसहरू उहाँका वचनहरूअनुसार जिऊन् भन्‍ने हो।) परमेश्‍वरका वचनहरूअनुसार जिउनु—उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरूको उद्देश्य यही हुनुपर्ने होइन र? (हो।) सृष्टि गरिएको प्राणीमा परमेश्वरका वचनहरूमा निर्भर रहँदै जिउने गुण हुनुपर्छ। परमेश्‍वरको नजरमा, त्यस्ता मानिसहरू सृष्टि गरिएको साँचो प्राणीहरू हुन्। तसर्थ, तैँले आफ्‍ना कुन-कुन शब्‍दहरू, कुन-कुन कार्य, र आफ्नो बानीबेहोराका कुन-कुन सिद्धान्तहरू, आफ्‍नो अस्तित्वको कुन-कुन उद्देश्य, र आफूले दुनियाँसँग गर्ने व्यवहारको कुन-कुन तरिका सत्यता सिद्धान्तअनुरूप छन्, परमेश्‍वरले धेरै मानिसबाट माग गर्नुहुने कुरासँग मिल्दो छन्, र तीमध्ये कुन-कुन परमेश्‍वरका वचन र मापदण्डहरूसँग मिल्दैनन् भन्नेबारेमा नियमित रूपमा मनन गर्नुपर्छ। यदि तैँले निरन्तर रूपमा यी कुराहरूका बारेमा मनन गरिस् भने, तैँले क्रमिक रूपमा प्रवेश प्राप्त गर्दै जानेछस्। यदि तँ यी कुराहरूको बारेमा मनन गर्दैनस् भने, सतही प्रयासहरू मात्रै गर्नुको कुनै अर्थ छैन; अल्याङटल्याङ गर्ने, नियमहरू मात्रै पालना गर्ने, र विधिविधानमा अल्झिने कार्यले तँलाई अन्तिममा केही पनि दिनेछैन। त्यसो भए, परमेश्‍वरमाथिको विश्‍वास भनेको के हो? परमेश्‍वरमाथिको विश्‍वास भनेको वास्तवमा परमेश्वरको मुक्ति पाउने प्रक्रिया हो र यो शैतानले भ्रष्ट तुल्याएको मानवबाट परमेश्‍वरको नजरमा सृष्टि गरिएको साँचो प्राणीमा परिवर्तन हुने प्रक्रिया हो। यदि कुनै व्यक्ति जिउनका लागि शैतानी स्वभाव र प्रकृतिमा निर्भर रहिरहन्छ भने, के ऊ परमेश्‍वरको नजरमा योग्य सृष्टि गरिएको प्राणी हो? (होइन।) तँ परमेश्‍वरमा विश्‍वास गर्छु, परमेश्‍वरलाई स्वीकार गर्छु, परमेश्‍वरको सार्वभौमिकतालाई स्वीकार गर्छु र परमेश्‍वरले तँलाई सबै थोक दिनुहुन्छ भनेर स्वीकार गर्छु भनी भन्छस्, तर के तँ परमेश्‍वरका वचनहरूमा जिउँछस्? के तँ परमेश्‍वरका मापदण्डहरूअनुसार जिउँछस्? के तैँले परमेश्‍वरको मार्गलाई पछ्याउँछस्? के तँजस्तो सृष्टि गरिएको प्राणी परमेश्‍वरको अघि आउन सक्छ? के तँ परमेश्‍वरसँगै जिउन सक्छस्? के तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छ? के तैँले जिउने र तैँले हिँड्ने मार्ग परमेश्‍वरअनुरूप छ? (छैन।) त्यसो भए, परमेश्‍वरमाथिको तेरो विश्‍वासको अर्थ के हो? के तँ सही मार्गमा प्रवेश गरेको छस्? परमेश्वरप्रतिको तेरो विश्वास देखावटी व्यवहार र शब्दमा सीमित छ। तँ परमेश्‍वरको नामलाई विश्‍वास र स्वीकार गर्छस्, अनि परमेश्‍वरलाई आफ्नो सृष्टिकर्ता र सार्वभौम मान्छस्, तर तैँले मूलतः परमेश्‍वरको सार्वभौमिकता वा उहाँका योजनाबद्ध कार्यहरू स्वीकार गरेको छैनस्, र तँ पूर्ण रूपमा परमेश्‍वरको अनुरूप हुन सक्दैनस्। अर्थात्, परमेश्‍वरमाथिको तेरो विश्‍वासको अर्थ पूर्ण रूपमा पूरा भएको छैन। तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि, तैँले आफ्‍नो भ्रष्टतालाई त्यागेर मुक्ति प्राप्त गरेको छैनस्, र तँ परमेश्‍वरमाथिको विश्‍वासका क्रममा प्रवेश गर्नुपर्ने सत्यता वास्तविकतामा प्रवेश गरेको छैनस्। यो एक गल्ती हो। यसलाई यसरी हेर्दा, परमेश्‍वरमाथिको विश्‍वास सरल कुरा होइन।

अब, के तिमीहरूलाई परमेश्वरको वचन बुझ्नु र सत्यता अभ्यास गर्नु महत्त्वपूर्ण कुरा हो भनी हृदयमा महसुस हुन्छ? (हुन्छ।) तिमीहरू सबैलाई सत्यता अभ्यास गर्नु महत्त्वपूर्ण कुरा हो भन्ने थाहा छ, तैपनि त्यो गर्नु सामान्य विषय होइन, त्यसमा कठिनाइहरू टन्नै हुन्छन्। यसलाई कसरी सुल्झाउन सकिन्छ? तैँले कठिनाइहरू आउँदैपिच्छे परमेश्वरसामु आएर प्रार्थना गर्नैपर्छ, र परमेश्वरका वचनमा सत्यता खोज्नैपर्छ, ताकि तैँले आफ्ना कठिनाइ, आफ्ना कमीकमजोरी अनि बाहिरी परिस्थितिका कठिनाइहरू सुल्झाउन, र सत्यता अभ्यास गर्न सकेस्। यो कुरा अनुभव गर्दा तँसँग परमेश्वरको अनुमोदन प्राप्त गर्ने आशा हुनेछ। यदि तैँले अझ धेरै सत्यता बुझेको छस् र सत्यता अभ्यास गर्न पनि सक्छस् भने, तँ परमेश्वरको मार्ग पछ्याउने व्यक्ति बन्न सक्छस्, अनि त्यसो गर्दा तेरो विश्वासलाई परमेश्वरले स्विकार्नुहुनेछ। यदि तँ परमेश्वरको नाम स्विकार्छु भन्छस्, र सबथोकमाथि उहाँको सार्वभौमिकता छ र उहाँ सृष्टिकर्ता हुनुहुन्छ भनेर विश्वास गर्छस्, तर तेरो जीवनको एउटा कुरा पनि सत्यता, परमेश्वरका मापदण्ड, वा सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरासँग सम्बन्धित छैन भने, के अन्तत: तेरो परिणाम कष्टप्रद हुनेछैन र? के यी कुरासँग कुनै सरोकार नराख्ने व्यक्ति परमेश्वरसामु आउन सक्छ? तँ परमेश्वरसामु आउन सक्छु भन्छस्, तर के परमेश्वर तेरो जस्तो विश्वासलाई स्विकार्नुहुन्छ? उहाँ स्विकार्नुहुन्न, अनि त्यसको अर्थ के हो? त्यसको अर्थ हो, परमेश्वर तँजस्तो सृष्टि गरिएको प्राणीलाई न त स्विकार्नुहुन्छ, न त आवश्यक नै ठान्नुहुन्छ। यदि परमेश्वर तेरो विश्वासलाई स्विकार्नुहुन्न र अनुमोदन गर्नुहुन्न भने, के उहाँ तँलाई व्यक्तिका रूपमा स्वीकार गर्न सक्नुहुन्छ त? (सक्नुहुन्न।) यो नै अन्त्य हो: परमेश्वरले तँलाई मुक्ति दिनुहुनेछैन, र तेरो परिणाम निर्णय गरिसकिएको हुनेछ! के तिमीहरूले आफ्ना लागि चाहेको परिणाम यही हो त? (होइन।) तिमीहरू कस्तो परिणाम चाहन्छौ? (परमेश्वरको अनुमोदन पाउने।) परमेश्वरको अनुमोदन पाउन तैँले पहिले के बुझ्नैपर्छ? तँ पहिले केमा प्रवेश गर्नैपर्छ? सर्वप्रथम, तँलाई मानिसले के गर्दा परमेश्वर खुसी हुनुहुन्छ र के गर्दा उहाँ खुसी हुनुहुन्न भन्ने कुरा थाहा हुनैपर्छ। पहिले यी कुराहरूको लेखाजोखा गर्, ताकि तैँले ती कुरा स्पष्टसँग बुझेस्; त्यसपछि तैँले कामकुरा गर्दा कसरी व्यवहार गर्ने भनी जान्नेछस्। यो त्यति सरल छ। के यस्ता कुराहरूको लेखाजोखा गर्न सजिलो छ? एकदमै सजिलो छ। विगतमा दुष्कर्म गरेका र हटाइएका मानिसहरूले परमेश्वरलाई घिन लाग्ने जे कुराहरू गरे ती लेखाजोखा गर्, तिनीहरूको असफलताले सिकाएको पाठ लेखाजोखा गर्, अनि त्यस्ता कुनै खराब कुराहरू नगर्। त्यसपछि, परमेश्वरले अनुमोदन गरेकाहरूको असल व्यवहारको लेखाजोखा गर्, र त्यस्ता कामहरू अझ धेरै गर्। यसरी, तैँले परमेश्वरको अनुमोदन पाउन सक्नेछस्। तैँले अधिकतर रूपमा परमेश्वरका अभिप्रायअनुरूप हुन के गर्नुपर्छ र के अभ्यास गर्नुपर्छ भन्ने कुरा जान्नुपर्छ, अनि परमेश्वर कस्ता मानिस र कामकुरालाई सबैभन्दा बढी घिनाउनुहुन्छ र कस्ता मानिसहरूसँग सबैभन्दा बढी प्रसन्न हुनुहुन्छ भन्ने कुरा हृदयदेखि नै बुझ्नुपर्छ। तैँले यी कुराहरूबीच फरक छुट्ट्याउन जान्नैपर्छ, र ती स्पष्ट रूपमा बुझ्न तिनको वर्गीकरण र लेखाजोखा गर्नु सर्वोत्तम कुरा हो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो हृदयमा यो मानक र सीमा हुनु हो। यो सिद्धान्त, यो मानक, यो सीमा भएपछि तँसँग कामकुरा गर्नका लागि सिद्धान्तहरू हुनेछन्, र तैँले सिद्धान्तअनुसार कामकुरा गर्न सक्नेछस्। यदि तँसँग यो सिद्धान्त र मानक भएन भने, तैँले निश्चित भएर कामकुरा गर्नेछैनस्, र आफूले गर्ने कुन कुरा दुष्ट र कुन कुरा असल हो भनी छुट्टयाउन सक्नेछैनस्। तँलाई कुनै कुरा दुष्ट नलाग्ला, तर परमेश्वरको नजरमा त्यो दुष्ट हुन्छ; अथवा तँलाई कुनै कुरा असल लाग्ला, तर परमेश्वरको नजरमा त्यो दुष्ट हुन्छ। यदि तैँले यी सबै कामकुरा गरिस् भने के त्यसले समस्या निम्त्याउनेछैन र? यदि तँ जानाजानी र निरन्तर परमेश्वरले अनुमोदन नगर्ने कामकुरा गर्छस्, अनि उहाँले अनुमोदन गर्ने कामकुरा थोरै मात्र गर्छस्, तर आफूले त्यो धेरै गरेको सोच्छस् भने, के तँ रनभुल्लमा परिरहेको छैनस् र? यदि तैँले गर्ने धेरैजसो कामकुरा परमेश्वरको नजरमा दुष्ट मानिन्छन् भने, के उहाँ अझै तँलाई अनुमोदन गर्न सक्नुहुन्छ? (सक्नुहुन्न।) परमेश्वरले कुनै कुरा अनुमोदन गर्नुहुन्न भन्ने जान्दाजान्दै, तैँले त्यो कामकुरा गर्नुपर्छ कि गर्नु हुँदैन? (गर्नु हुँदैन।) तैँले यसो गर्नु दुष्कर्म हो कि सत्कर्म? (दुष्कर्म।) तैँले त्यो दुष्कर्म हो भनी थाहा पाएपछि कहिल्यै त्यो नगर्नुलाई के भनिन्छ? त्यसलाई आफ्नो हातबाट हुने हिंसा त्याग्नु भनिन्छ, जुन साँचो पश्चात्ताप देखाउनु हो। यदि तँलाई आफूले दुष्कर्म गरेको छु भन्ने थाहा छ र तँ परमेश्वरले त्यसलाई अनुमोदन गर्नुहुन्न भनेर निश्चित छस् भने, तैँले हृदयदेखि नै पश्चात्ताप गर्नुपर्छ। यदि तँ आत्मचिन्तन गर्दैनस्, बरु आफ्ना दुष्ट कार्यको बचाउ गर्छस् र त्यसलाई सही साबित गर्न खोज्छस् भने, तँ समस्यामा पर्छस्: तँ अवश्यै हटाइनेछस्, र त्यसउप्रान्त आफ्नो कर्तव्य निभाउन योग्य हुनेछैनस्। त्यसोभए, आफ्नो कर्तव्य निभाउँदा पोख्त हुनुपर्ने सिद्धान्त र लिनुपर्ने मार्ग कुन हो? कुनै व्यक्तिले परमेश्वरको अनुमोदन पाउन कस्तो आशय लिएर अघि बढ्नुपर्छ? (सबै कुरामा सत्यता खोज्ने र परमेश्वरको अभिप्राय बुझ्ने।) सबैलाई यो कुरा थाहा छ, तर के थाहा हुँदैमा त्यो अभ्यास गर्न सकिन्छ? के तिमीहरूले यो बुझेपछि अभ्यास गर्न सक्छौ? (सक्दैनौँ।) त्यसोभए तिमीहरू के गर्न सक्छौ त? तिमीहरूले परमेश्वरलाई प्रार्थना गर्नैपर्छ र उहाँमा भर पर्नैपर्छ, सत्यताका लागि कष्ट भोग्नैपर्छ अनि आफ्ना महत्त्वाकाङ्क्षा, चाहना, अभिप्राय र देहसुखलाई पन्छाउनैपर्छ। यदि तँ ती पन्छाउँदैनस्, तैपनि सत्यता प्राप्त गर्न चाहन्छस् भने, के तँ कल्पनामा डुबिरहेको हुँदैनस् र? कतिपय मानिस सत्यता बुझ्न र प्राप्त गर्न दुवै चाहन्छन्; तिनीहरू परमेश्वरका लागि समर्पित हुन चाहन्छन्, तर कुनै कुरा छोड्न सक्दैनन्। तिनीहरू आफ्नो भविष्य छोड्न सक्दैनन्, आफ्नो देहसुख छोड्न सक्दैनन्, आफ्नो पारिवारिक बन्धन, आफ्ना छोराछोरी र बुबाआमा छोड्न सक्दैनन्, न त आफ्नो अभिप्राय, उद्देश्य वा चाहना नै छोड्न सक्छन्। तिनीहरूलाई जे आइपरे पनि, तिनीहरू सधैँ आफू, आफ्ना मामिला अनि आफ्ना स्वार्थी चाहनालाई प्रथम स्थानमा राख्छन्, र सत्यतालाई अन्तिम स्थानमा राख्छन्; तिनीहरू देह र आफ्नो शैतानी, भ्रष्ट स्वभावको स्वार्थ पूरा गर्नुलाई प्राथमिकता दिन्छन् भने परमेश्वरको वचन अभ्यास गर्नु र उहाँलाई सन्तुष्ट पार्नुलाई गौण बनाउँछन् र अन्तिम स्थानमा राख्छन्। के यस्ता मानिसहरूले परमेश्वरको अनुमोदन पाउन सक्छन्? के तिनीहरू कहिल्यै सत्यता वास्तविकतामा प्रवेश गर्न वा परमेश्वरको अभिप्राय पूरा गर्न सक्छन्? (कहिल्यै सक्दैनन्।) के यसो हेर्दा तैँले आफ्नो कर्तव्य पूरा गरेको छस् र अल्छे भएको छैनस्, तर तेरो भ्रष्ट स्वभाव अलिकति पनि ठिक भएको छैन भने, के यो परमेश्वरको मार्ग पछ्याउनु हो? (होइन।) तिमीहरू सबै यी कुरा बुझ्छौ, तर सत्यता अभ्यास गर्ने कुरा आउँदा, त्यो कठिन हुन्छ। तैँले नियम पालन गर्न र प्रक्रिया पूरा गर्नमा नभई सत्यता अभ्यास गर्नमा कष्ट भोग्नुपर्छ र मूल्य चुकाउनपर्छ। तैँले सत्यताका लागि जति नै कष्ट भोगे पनि, यसो गर्नु सार्थक हुनेछ, अनि तैँले परमेश्वरको अभिप्राय पूरा गर्न सत्यता अभ्यास गर्दा भोग्ने कष्टलाई उहाँले स्विकार्नुहुनेछ र अनुमोदन गर्नुहुनेछ।

अहिले तिमीहरूले सामना गरिरहेका समस्याहरू के-के हुन्? एउटा हो, तिमीहरू थुप्रै सत्यताका वृत्तान्त बुझ्दैनौ, र तिमीहरूको हृदयमा ती छुट्टयाउने मानक छैन; अझ, तिमीहरूले बुझ्ने सत्यता अभ्यास गर्न गाह्रो छ। मानिलिऊँ, सुरुमा सत्यता अभ्यास गर्न गाह्रो हुन्छ, तर तिमीहरू जति अभ्यास गर्छौ, त्यो त्यति नै सजिलो बन्छ; तिमीहरू जति अभ्यास गर्छौ, तिमीहरूको भ्रष्ट स्वभावको प्रभाव त्यति नै कम हुन्छ; सत्यताका साथै सत्यता अभ्यास गर्ने इच्छा क्रमिक रूपमा प्रबल बन्दै जान्छ; तिमीहरूको अवस्था झन्-झन् सामान्य बन्दै जान्छ; अनि देहगत स्वार्थी चाहना र तिमीहरूको मानव विचार झन्-झन् कम प्रबल बन्दै जान्छ। यो सामान्य कुरा हो, र तिमीहरूले परमेश्वरको अनुमोदन पाउने आशा हुनेछ। तर मानौँ तँ लामो समयदेखि सत्यता अभ्यास गर्दै आइरहेको छस्, तैपनि तेरो रुची, स्वार्थी चाहना, अभिप्राय र भ्रष्ट स्वभावले तेरो जीवनको हर पक्ष र हर कुरामा अग्रणी भूमिका खेल्छ। तेरा लागि सत्यता अभ्यास गर्नु अझै पनि निकै कठिन हुन्छ, र तैँले आफ्नो कर्तव्य निभाइरहेको भए पनि, तैँले गर्ने अधिकांश कामकुरा सत्यता अभ्याससँग सम्बन्धित हुँदैनन्। के तिमीहरूलाई यो कष्टप्रद लाग्दैन? यो अवश्य कष्टप्रद हुनेछ। तँ जुनै मण्डलीमा भए पनि वा तेरो परिवेश जस्तोसुकै भए पनि, यो महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा त सत्यता पछ्याउने तेरो अवस्था झन्-झन् राम्रो हुँदै गइरहेको छ कि छैन, परमेश्वरसँगको तेरो सम्बन्ध झन्-झन् सामान्य बन्दै गइरहेको छ कि छैन, तेरो विवेक, समझ र मानवता झन् सामान्य बन्दै गइरहेका छन् कि छैन, अनि परमेश्वरप्रतिको तेरो बफादारिता र आज्ञाकारिता बढिरहेको छ कि छैन भन्ने हो। यदि तँभित्रका सकारात्मक कुराहरू बढ्दै र प्रभावशाली बन्दै गइरहेका छन् भने तैँले सत्यता प्राप्त गर्ने आशा हुनेछ। यदि तँमा कहिल्यै यस्ता सकारात्मक कुराहरूको लक्षण देखिएको छैन भने, तैँले रत्तिभर प्रगति गरेको छैनस्, र तेरो स्वभावमा कुनै परिवर्तन भएको छैन। यदि तँ सत्यता अभ्यास पटक्कै गर्दैनस् भने, कसरी जीवन प्रवेश गर्छस्? कतिपय मानिस भन्छन्, “मैले अभ्यास गरेको छु र मरिमेटेको छु। तैपनि किन मैले कुनै परिणाम पाइरहेको छैनँ?” परिणाम नपाउनुको अर्थ के हो? यसको अर्थ हो, तैँले सत्यता अभ्यास गरेको छैनस्। तैँले जतिपटक अभ्यास गर्ने प्रयास गरेको भए पनि, अन्तिम नतिजास्वरूप तँ अझै पनि आफ्नो भ्रष्ट स्वभाव र शैतानी प्रकृतिको अधीनमा छस्, जसको मतलब तैँले आफ्नो शैतानी, भ्रष्ट स्वभावलाई जित्न सत्यता वास्तविकता र परमेश्वरका वचन प्रयोग गर्दै आइरहेको छैनस्। के त्यसो भन्न मिल्छ? (मिल्छ।) त्यसोभए, तँ विजेता होस् कि हरुवा? (हरुवा।) यो विजेता नभई हरुवा हुनु हो। तैँले सत्यता अभ्यास गर्दा तेरो हृदयमा लडाइँ चलिरहेको हुन्छ। तँ आफ्ना अभिप्राय पन्छाउन सक्दैनस्, तर सत्यताले के भन्छ अनि परमेश्वरका मापदण्ड के-के हुन् भनेर बुझ्छस्। लडाइँका क्रममा तँ सत्यता पन्छाउँछस्; तँ त्यो अभ्यास गर्दैनस्। अन्तत: तँ आफ्नै स्वार्थी चाहनाहरू पूरा गर्छस्, आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्छस्, र सत्यता अभ्यास नगरी आफ्नै शैतानी प्रकृतिअनुसार जिउँछस्। त्यसोभए अन्तिम नतिजा के हुन्छ त? (असफल हुन्छ।) मानिलिऊँ, अन्त्यमा लडाइँ जितिएन, र तँ पहिलेझैँ आफ्नो शैतानी स्वभावअनुसार जिउँछस्: तँ परमेश्वरका वचनअनुसार अभ्यास नगर्ने निर्णय गर्छस्, आफ्नो व्यक्तिगत हितलाई प्राथमिकता दिन्छस्, आफ्ना चाहना र स्वार्थ पूरा गर्छस् तर परमेश्वरलाई सन्तुष्ट पार्दैनस्, अनि सत्यताको पक्षमा उभिँदैनस्। यसको मतलब तँ पूर्णत: असफल होस्, र यो एक प्रकारको लडाइँको नतिजा हो। अर्को प्रकारको लडाइँको नतिजाचाहिँ के हो त? मानिसहरूलाई परिस्थितिहरू आइपर्दा तिनीहरूको मनमा पनि लडाइँ चल्छ। तिनीहरू असहज, दुःखी र कमजोर महसुस गर्छन्, तिनीहरूको मर्यादा र चरित्रमाथि पनि प्रश्न उठ्छ र तिनीहरूको घमण्ड तोड्न सकिन्न। यसबाहेक, तिनीहरू काटछाँट समाना गर्छन्, वा अरूले तिनीहरूलाई तुच्छ ठान्छन्, वा तिनीहरू अपमानित हुन्छन् अनि आफ्नो मर्यादा र चरित्र दुवै गुमाउँछन्। तर तिनीहरूले यस्तो परिस्थितिको सामना गर्दा परमेश्वरलाई प्रार्थना गर्न सक्छन्, अनि त्यसो गरेपछि तिनीहरूको मुटु दह्रो बन्छ, र तिनीहरूले सत्यता खोजेर यी कुराहरू स्पष्ट रूपमा बुझ्छन्। तिनीहरूले असाधारण शक्ति र दृढ सङ्कल्पका साथ सत्यता अभ्यास गर्नेछन्। “मलाई न त छवि चाहिएको छ, न त हैसियत, न त घमण्ड नै। अरूले मलाई तुच्छ ठाने पनि वा गलत बुझे पनि, अहिले म परमेश्वरलाई सन्तुष्ट पार्न र सत्यता अभ्यास गर्न रोज्छु, ताकि परमेश्वरले मलाई अनुमोदन गर्नुहोओस् र यस मामिलामा उहाँ मदेखि प्रसन्न हुनुहोओस्, अनि मैले परमेश्वरको हृदयलाई चोट नपुर्‍याऊँ।” तिनीहरूले आखिर आफ्नो छवि र घमण्ड, उद्देश्य, महत्त्वाकाङ्क्षा र स्वार्थीपन पन्छाउनेछन्, र त्यसपछि तिनीहरू परमेश्वर, सत्यता र न्यायको पक्षमा उभिनेछन्। सत्यता अभ्यास गरेपछि, तिनीहरूको हृदय सन्तुष्ट हुन्छ, शान्त बन्छ र हर्षले भरिन्छ। तिनीहरू परमेश्वरको आशिष् र सत्यता अभ्यास गर्नु राम्रो हो भन्ने महसुस गर्छन्; सत्यता अभ्यास गरेर तिनीहरूको हृदय सन्तुष्ट र पोषित हुन्छ, अनि तिनीहरू आफू आफ्नो शैतानी र भ्रष्ट स्वभावको नियन्त्रण र बन्धनमा रहनुको साटो मानव स्वरूपमा जिइरहेको महसुस गर्छन्। तिनीहरूले परमेश्वरको गवाही दिएर अनि सृष्टि गरिएको प्राणीमा हुनुपर्ने गवाही र अडानमा दृढ भएर हृदयमा मनोशान्ति, आनन्द र खुसी महसुस गर्छन्। यो अर्को प्रकारको नतिजा हो। यस्तो नतिजा कस्तो हो? (राम्रो हो।) तर के यो “राम्रो नतिजा” हासिल गर्न सहज हुन्छ? (हुँदैन।) यो “राम्रो नतिजा” लडाइँको प्रक्रियामार्फत हासिल गर्नुपर्छ, र यो लडाइँमा मानिसहरू एक-दुईपटक असफल हुने सम्भावना पनि हुन्छ। तर असफलताले पाठ सिकाउँछ: यसले सत्यता अभ्यास नगरेकोमा मानिसहरूको विवेकमा घोच्छ, अनि तिनीहरूलाई आफू परमेश्वरप्रति ऋणी भएको अनि आफ्नो हृदयले कष्ट र पीडा सहेको महसुस गराउँछ। पछि त्यस्ता परिस्थितिहरू आइपर्दा मानिसहरूले थाहै नपाई आफ्नो शैतानी, भ्रष्ट स्वभावलाई झन्-झन् धेरै जित्दै जानेछन्; तिनीहरूले क्रमिक रूपमा परमेश्वरको हृदयलाई सन्तुष्ट पार्नका लागि सत्यता अभ्यास गर्न अवश्यै रोज्नेछन्। शैतानी, भ्रष्ट स्वभावलाई जित्ने र परमेश्वरका अभिप्राय पूरा गर्ने सामान्य प्रक्रिया यही हो।

अब, के तिमीहरूलाई सत्यता अभ्यास गर्न गाह्रो लाग्छ? वा आफूखुसी गर्न र सत्यता अभ्यास नगर्नचाहिँ गाह्रो लाग्छ? (सत्यता अभ्यास गर्नु गाह्रो हुन्छ।) अनि आफूखुसी गर्नचाहिँ नि? (त्यो त सजिलो हुन्छ।) यसले तिमीहरूको वास्तविक कद प्रकट गर्छ: तिमीहरूमध्ये कोही अलिकति पनि बदलिएका छैनौ, र तिमीहरू अझै पनि सत्यता अभ्यास गर्न सक्दैनौ। यो कति दयनीय कद हो! तिमीहरू सबैलाई सत्यता अभ्यास गर्न गाह्रो, अनि आफूखुसी गर्नचाहिँ सजिलो लाग्छ, जसले तिमीहरू अझै पनि सत्यता अभ्यास गर्न सक्दैनौ भन्ने प्रमाण दिन्छ। तिमीहरूका लागि देहगत रुचिहरू पछ्याउनु सामान्य भइसकेको छ; तिमीहरूलाई त्यसको बानी बसिसकेको छ, मानौँ त्यो नियम हो, त्यसैले तिमीहरूलाई सत्यता अभ्यास गर्न असाध्यै गाह्रो लाग्छ: तिमीहरूलाई आफ्नो आत्मसम्मान र हैसियतमा धक्का पुग्ने निरन्तर डर लाग्छ, त्यसैले तिमीहरू सत्यता अभ्यास गर्दैनौ, बरु आफ्नै विचारअनुसार काम गर्छौ। केवल एउटै सोचले कुनै मान्छे डरपोक र आफ्नै शैतानी भ्रष्ट स्वभावको बन्धनमा रहेको असफल व्यक्ति बन्छ, र उसले आफ्नो गवाही र परमेश्वरको अनुमोदन गुमाउँछ। यो यति सजिलो हुन्छ। तर के यो सत्यता अभ्यास गर्ने र परमेश्वरको साक्षी दिने व्यक्ति बन्नु जत्तिकै सजिलो हुन्छ? यसका लागि कुनै प्रक्रिया चाहिन्छ। जब कुनै व्यक्तिले सत्यता स्विकार्छ, तब उसको मनमा सधैँ लडाइँ चल्छ, कामकुरा कहिले एकातिर ढल्किन्छन्, कहिले अर्कोतिर। मनमा निरन्तर लडाइँ चल्छ, र अन्त्यमा त्यो लडाइँ यस्तो निष्कर्षमा पुग्छ: सत्यतालाई प्रेम गर्नेहरू त्यो अभ्यास गर्छन्, गवाही दिन्छन् र विजेता बन्छन्; सत्यतालाई प्रेम नगर्नेहरू अत्यन्तै हठी हुन्छन्, तिनीहरूमा मानवताको अत्यन्तै कमी हुन्छ, तिनीहरू खस्कँदो चरित्रको र घृणित हुन्छन्—यस्ता मानिसहरू आफ्नै स्वार्थ र चाहना पूरा गर्ने छनौट गर्छन्, र पूर्णतया आफ्नो शैतानी, भ्रष्ट स्वभावको नियन्त्रणमा हुन्छन्। आफ्नो दैनिक जीवनमा परिस्थितिहरू आइपर्दा, के तिमीहरू आफ्नो शैतानी, भ्रष्ट स्वभावलाई जित्छौ? वा तिमीहरू त्यसको बन्धन र नियन्त्रणमा पर्छौ? तिमीहरू प्राय: कस्तो अवस्थामा हुन्छौ? यसको आधारमा तँ आफूलाई सत्यता अभ्यास गर्ने व्यक्ति हो कि होइन भनी जोख्न सक्छस्। यदि तँ प्राय: आफ्नो शैतानी, भ्रष्ट स्वभावलाई जित्न र गवाही दिने व्यक्ति बन्न सक्छस् भने, सत्यता अभ्यास गर्ने र त्यसलाई प्रेम गर्ने व्यक्ति होस्। यदि तँ प्राय: आफ्नै स्वार्थी चाहना पूरा गर्छस्, अनि आफ्नो शैतानी, भ्रष्ट स्वभावलाई जित्न, सत्यताको पक्षमा उभिन, सत्यता अभ्यास गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न सक्दैनस् भने, तँ न त सत्यता अभ्यास गर्ने व्यक्ति होस्, न त तँसँग सत्यता वास्तविकता नै छ। स्पष्ट छ, आफूसँग सत्यता वास्तविकता नहुनेहरू परमेश्वरमा विश्वास गर्ने तर जीवन प्रवेश नभएका व्यक्ति हुन्। त्यसैले, आफूलाई मापन गर्: के तिमीहरू प्राय: देहको पक्षमा उभिन्छौ? वा तिमीहरू सत्यताको पक्षमा उभिन्छौ? सत्यतामा समावेश नहुने सानातिना कुराहरूको कुनै अर्थ छैन, तर तैँले छनौट गर्नैपर्ने ठूला कुराहरू आइपर्दा, तँ सत्यताको पक्षमा उभिन्छस् कि देहको पक्षमा? (सुरुमा देहको पक्षमा उभिन्छौँ; तर लडाइँपछि, अनि प्रार्थना र खोजीद्वारा केही सत्यता बुझेपछि सत्यताको पक्षमा उभिन्छौँ।) कुनै व्यक्तिले सत्यता बुझेपछि सत्यताको पक्ष लिन सक्छ भन्नु सही हो, तर देहविरुद्ध विद्रोह गर्नुको अर्थ सत्यता अभ्यास गरिरहेको छस् भन्ने अवश्यै होइन। तैँले देहविरुद्ध विद्रोह गरेर अनि आफूखुसी कामकुरा नगरेर सत्यता अभ्यास गरिरहेको हुँदैनस्; बरु तैँले सत्यता अभ्यास गर्न सत्यता सिद्धान्त पालन र अभ्यास गर्नैपर्छ। त्यसोभए, सामान्यतया तिमीहरूको परिस्थिति के-कस्ता हुन्छन्? (हामीले जेलाई देहविरुद्ध विद्रोह गरेको भन्छौँ, त्यो वास्तवमा सत्यता अभ्यास गर्नु होइन; त्यो त वास्तवमा आत्मसंयम देखाउनु हो।) यो कुरा प्राय: मानिसहरूमा लागू हुन्छ जस्तो देखिन्छ, होइन र? (हो।) त्यसोभए, अहिले तिमीहरू कुन अवस्थामा छौ? के तिमीहरूले सत्यता वास्तविकतामा प्रवेश गर्न बाँकी नै छ? (हो।) तिमीहरूले जीवन प्रवेश नगरी परमेश्वरमा विश्वास गर्नुको अर्थ, तिमीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका छैनौ; तिमीहरू यही अवस्थामा छौ, त्यसैले तिमीहरू धेरै कुरा छुट्याउन सक्दैनौ। किन तिमीहरू ती छुट्याउन सक्दैनौ? किनभने तिमीहरूले केही वचन र धर्मसिद्धान्त मात्र बुझेका छौ, तर अझैसम्म सत्यता बुझेका र वास्तविकतामा प्रवेश गरेका छैनौ, त्यसैले छलफल भइरहेका धेरै अवस्थालाई तिमीहरू जान्दैनौ। तिमीहरूले ती अझसम्म अनुभव गरेका छैनौ, त्यसैले तिमीहरू ती स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनौ। कुरा त्यही हो। जेसुकै भए पनि, तैँले त्यो आफै अनुभव गर्नुपर्छ, र अनुभव गरेपछि त्यसका वृत्तान्त जान्नेछस्। तेरा भावना, विचार र तेरो अनुभवको प्रक्रिया, यी सबैको वृत्तान्त हुनेछ, र यी वृत्तान्त वास्तविक कुरा हुन्। तीविना तँसँग केवल सतही ज्ञान हुन्छ, त्यसैले तँ त्यसलाई सुगा रटाइ गर्छस्। सतही ज्ञानको अर्थ तँ शाब्दिक बुझाइमा रोकिएको छस्, तैँले त्यसलाई आफ्नो बनाएको छैनस्, र तँ सत्यता वास्तविकतामा प्रवेश गर्नदेखि अझ टाढा छस् भन्ने हो। के यसलाई यसरी भन्न मिल्छ? (मिल्छ।) तिमीहरूले आजको सङ्गतिअनुसार अभ्यास गर्नैपर्छ, अनि मनन गर्न सिक्नैपर्छ। तैँले सत्यता अभ्यास गर्न मनन पनि गर्नैपर्छ, र अभ्यास गर्दै मनन गरेर अनि मनन गर्दै अभ्यास गरेर सत्यताका वृत्तान्त झन्-झन् धेरै बुझ्दै जानेछस्, सत्यताबारे तेरो ज्ञान झन्-झन् गहन बन्दै जानेछ, र यसरी तैँले सत्यता वास्तविकतालाई साँचो रूपमा अनुभव गर्न सक्छस्। तैँले त्यो बुझेपछि र अनुभव गरेपछि मात्रै तँसँग सत्यता वास्तविकता हुनेछ।

अंश १७

मानिसहरू सत्यता अभ्यास गर्न कठिन हुने सोच्छन्, तर त्यसोभए केही मानिसहरूले चाहिँ किन सत्यता अभ्यास गर्न सक्छन् त? यो सबै त्यो व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्ने कुरामा भर पर्छ। कतिपय मानिसहरू भन्छन्, सत्यता अभ्यास गर्नेहरू असल मानवता भएका मानिसहरू हुन्। यो भनाइ सही हो। कतिपय मानिसहरूमा असल मानवता हुन्छ र तिनीहरू सत्यता अभ्यास गर्न सक्छन्। तर कतिपय मानिसहरूको मानवतामा केही कमी हुन्छ, र तिनीहरूलाई सत्यता अभ्यास गर्न कठिन हुन्छ, यसको मतलब त्यसको लागि तिनीहरूले केही दुःख भोग्नुपर्छ। ल भन् त, के सत्यता अभ्यास नगर्ने व्यक्तिले आफ्ना कार्यहरूमा सत्यता खोजी गर्छ? बिलकुलै गर्दैन। उसले आफ्नै अभिप्रायहरू बनाउँछ र ती अभिप्राय कार्यान्वयन गरिएमा राम्रो र आफ्नै हित हुनेछ भन्ने सोच्छ, त्यसैले उसले उसका ती अभिप्रायहरूअनुसार नै कार्य गर्छ। उसले सत्यता खोजी नगर्नुको कारण के हो भने, उसको हृदयमै केही न केही खराबी हुन्छ, र उसको हृदय पनि ठिक हुँदैन। उसले खोजी र जाँच गर्ने गर्दैन, न त परमेश्‍वरको अगाडि प्रार्थना नै गर्ने गर्छ; ऊ जिद्दीपूर्वक उसका आफ्नै इच्छाअनुसार कार्य गरिरहन्छ। यस्तो व्यक्तिमा सत्यताप्रतिको प्रेम बिलकुलै हुँदैन। तर उसले सत्यताप्रति प्रेम नगर्ने भए पनि, सिद्धान्तसँग मिल्ने र सिद्धान्तहरू उल्लङ्घन नगर्ने केही निश्‍चित कामहरू गर्न सक्छ। तथापि, यसरी उल्लङ्घन नगर्नुको अर्थ उसले परमेश्‍वरको अभिप्राय खोजेको छ भन्ने होइन। यो मात्र भन्न सकिन्छ कि यो विशुद्ध रूपमा संयोग मात्र हो। कतिपय मानिसहरूले खोजीविना निश्‍चित कामहरू दुविधाजनक र जथाभाबी रूपमा गर्ने गर्छन्, तर उक्त घटनापछि तिनीहरू आफूलाई जाँच्न सक्षम हुन्छन्। यदि तिनीहरूले यस्ता काम गर्नु सत्यतासँग अमिल्दो भएको थाहा पाए भने, अर्कोपटकदेखि तिनीहरू त्यसो गर्न छोड्नेछन्। यसलाई सत्यताप्रति केही मात्रामा प्रेम भएको मान्न सकिन्छ। यस्तो व्यक्ति एक हदसम्म परिवर्तन हुन सक्षम हुन्छ। तर सत्यताप्रति प्रेम नभएकाहरूले न त घटनाको बखत खोजी गर्छन्, न त घटनापछि नै आफूलाई जाँच्छन्। तिनीहरू आफूले गर्ने काम अन्त्यमा ठिक हुन् कि बेठिक भनेर कहिल्यै सूक्ष्म जाँच गर्दैनन्, यसर्थ तिनीहरू सधैँ सिद्धान्त र सत्यता उल्लङ्घन गर्छन्। तर तिनीहरूले सिद्धान्तहरू उल्लङ्घन नगर्ने काम गरे नै भने पनि, त्यो सत्यतासँग मिल्दैन, र त्यो सिद्धान्तहरूको तथाकथित अनुल्लङ्घन केवल पद्धतिको कुरा मात्र हो। अनि, यस्तो व्यक्तिले उसको आफ्नै इच्छाअनुसार कार्य गर्दा ऊ कुन स्थितिमा हुन्छ? ऊ जिल्ल परेको र अन्यौलको स्थितिमा कार्य गरिरहेको हुँदैन, ऊ यस तरिकाले कार्य गर्नु साँच्चिकै सत्यताबमोजिम हो कि होइन भन्नेबारे अस्पष्ट भएको पनि हुँदैन। उसले आफूलाई यो परिस्थितिमा पाएको होइन, बरु ऊ जिद्दीपूर्वक उसका आफ्नै इच्छाअनुसार कार्य गर्न लागिपरेको हो; उसले त्यो तरिकाले कार्य गर्ने मन नै बनाइसकेको हुन्छ, र उसमा सत्यता खोज्ने अभिप्राय कदापि हुँदैन। यदि उसले साँचो रूपमा परमेश्‍वरको अभिप्राय खोज्छ भने, उसले, परमेश्‍वरको अभिप्राया पूर्ण रूपमा बुझ्नुअघि, यस्तो कार्यशैली अपनाउनेछ: “म सुरुमा अघि बढ्नेछु र त्यसलाई यसरी गर्नेछु। यदि त्यो सत्यतासँग मिल्यो भने, म यसै गरी काम गर्न जारी राख्नेछु; यदि त्यो सत्यतासँग मिलेन भने, म चाँडोचाँडो त्यसलाई समाधान गर्नेछु र त्यो तरिकाले कार्य गर्न छोड्नेछु।” यदि उसले यो तरिकाले सत्यता खोज्न सक्छ भने, भविष्यमा ऊ परिवर्तन हुन सक्नेछ। यो अभिप्रायविना ऊ परिवर्तन हुन असक्षम हुनेछ। हृदय भएको व्यक्तिले कुनै कार्य गर्दा एकपटक मात्र गल्ती गर्न सक्छ, बढीमा दुईपटक गर्न सक्छ—एक वा दुईपटक मात्र हो, तीनचारपटक होइन, यो सामान्य समझ हो। यदि उसले तीनचारपटक एउटै गल्ती गर्न सक्छ भने, यसले उसमा सत्यताप्रति प्रेम छैन, र उसले सत्यता खोजी गर्दैन भन्ने प्रमाणित गर्छ। यस्तो व्यक्ति पक्कै पनि मानवता भएको व्यक्ति होइन। यदि एकदुईपटक गल्ती गरेपछि उसको हृदयमा कुनै प्रतिक्रिया हुँदैन, उसको विवेक तरङ्गित हुँदैन भने, उसले तीनचारपटक एउटै गल्ती गर्नेछ, र यस्तो व्यक्ति कसै गरी परिवर्तन हुन सक्दैन; उसको वास्तविकता यही हो—ऊ छुट्कारा पाउन पूर्ण अयोग्य छ। एकपटक गल्ती गरेपछि, यदि उसलाई आफूले गरेको काममा केही गल्ती छ भन्ने महसुस हुन्छ, र त्यो कारणले उसले आफूलाई अत्यन्तै घिनाउँछ र हृदयमा दोषी महसुस गर्छ भने; यदि उसमा यस्तो स्थिति छ भने, फेरि त्यस्तै कुरामा संलग्न हुँदा उसले त्योभन्दा राम्रो तरिकाले कार्य गर्नेछ, र बिस्तारै त्यसउप्रान्त उसले त्यस्तो गल्ती गर्नेछैन। उसको हृदयमा त्यस्तो इच्छा जागे पनि, उसले त्यस्तो गर्नेछैन। यो परिवर्तनको एउटा पक्ष हो। सायद तैँले यसो भन्नेछस्: “मेरो भ्रष्ट स्वभाव परिवर्तन हुन सक्दैन।” के यो परिवर्तन हुन सक्दैन भन्‍ने साँचो हो र? त्यो त तँ परिवर्तन हुन नचाहेको मात्र हो। यदि तँ सत्यता अभ्यास गर्न इच्छुक छस् भने, के तँ अझै परिवर्तन हुन असक्षम हुन्थिस् त? यस्तो भन्ने मानिसहरूमा इच्छाशक्तिको कमी हुन्छ। ती सबै नै तुच्छ कुलङ्घारहरू हुन्। तिनीहरू दुःख भोग्न चाहँदैनन्। तिनीहरू सत्यता अभ्यास गर्ने चाहना राख्दैनन्; बरु सत्यताले आफूलाई परिवर्तन गर्नै सक्दैन भनेर भन्छन्। के यस्तो व्यक्ति अत्यन्तै छली हुँदैन र? यस्तो व्यक्तिले सत्यता अभ्यास गर्न सक्दैन, उसको मानवता विकृत हुन्छ, र अझै पनि उसलाई उसको आफ्नै प्रकृतिबारे कहिल्यै केही थाहा हुँदैन। परमेश्‍वरको कामले मानिसहरूलाई पूर्ण तुल्याउन सक्छ कि सक्दैन भनेर उसले प्राय: शङ्का गर्ने गर्छ। यस्तो व्यक्तिले कहिल्यै आफ्नो हृदय परमेश्‍वरलाई दिन चाहँदैन, र कठिनाइ सहने योजना कहिल्यै बनाउँदैन। ऊ यहाँ बसिरहनुको एउटै कारण भनेको उसले भविष्यमा सौभाग्य पो प्राप्त गरिहाल्छ कि भनेर हो। यस्तो व्यक्तिमा मानवता हुँदैन। यदि ऊ मानवता भएको व्यक्ति हुँदो हो त, पवित्र आत्माले ऊमाथि प्रस्ट रूपमा काम नगर्नुहुँदा पनि, र उसमा सत्यताबारे थोरै बुझाइ भए पनि, के ऊ गलत कार्यहरूमा संलग्न हुन सक्छ र? मानवता भएको व्यक्तिले त आफूमाथि पवित्र आत्माले काम गरिरहनुभएको भए नि नभए नि, गलत कार्यहरू गर्न सक्नेछैन। मानवता नभएका कतिपय मानिसहरूले आफूमाथि पवित्र आत्माले काम गरिरहनुभएको अवस्थामा मात्र कुनैकुनै असल कार्य गर्न सक्छन्। उनीहरूमाथि पवित्र आत्माले काम गरिरहनुभएको छैन भने, उसको प्रकृति पर्दाफास हुन्छ। पवित्र आत्माले सधैँ त कोमाथि काम गरिरहन सक्नुहुन्छ र? गैर-विश्‍वासीहरूमध्ये केहीमा असल मानवता हुन्छ, तिनीहरूमाथि पवित्र आत्माले काम गरिरहनुभएको हुँदैन, तैपनि तिनीहरू अत्यन्तै दुष्ट खाले कुनै पनि कार्यमा संलग्न हुँदैनन्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तँ कसरी दुष्ट कार्यहरूमा संलग्न हुन सक्छस्? यसले मानव प्रकृतिको समस्या देखाउँछ। पवित्र आत्माले मानिसहरूमाथि काम नगर्नुहुँदा, तिनीहरूको प्रकृति पर्दाफास हुन्छ। पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुँदा, पवित्र आत्माले तिनीहरूलाई प्रेरित गर्नुहुनेछ, अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ, तिनीहरूमा शक्ति भरिनेछ, र त्यसैले तिनीहरूले केही असल कार्यहरू गर्न सक्छन्। यस मामलामा, यो तिनीहरूको प्रकृति राम्रो भएको कुरा होइन, बरु यो त पवित्र आत्माको कामले हासिल गरेका नतिजाहरूको कुरा हो। तर पवित्र आत्माले तिनीहरूमाथि काम नगर्नुहुँदाको अवस्थामा, मानिसहरू तिनीहरूका आफ्नै चाहनाहरू पछ्याउन रुचाउँछन्, जसको कारण तिनीहरूले अनजानमै केही खराब कामहरू गर्नेछन्। त्यसपछि मात्र तिनीहरूको साँचो प्रकृति खुलासा हुन्छ।

मानिसहरूको प्रकृति कसरी सुल्झाउन सकिन्छ? यसको लागि सुरुमा मानव प्रकृतिको सार बुझ्नुपर्छ, र यसलाई परमेश्‍वरका वचनअनुसार विश्‍लेषण गरेर यो सकारात्मक हो कि नकारात्मक अनि यसले परमेश्‍वरको प्रतिरोध गरिरहेको छ कि परमेश्‍वरप्रति समर्पण गरिरहेको छ भनी हेर्नुपर्छ। व्यक्तिले आफ्नो प्रकृति सार थाहा नपाउन्जेल यसो गर्नैपर्छ, र त्यसपछि उसले साँच्चिकै आफूलाई घिनाउन र आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्छ। साथसाथै, व्यक्तिले परमेश्‍वरका अभिप्राय र मापदण्डहरू बुझ्नैपर्छ। सत्यता पछ्याउनुको तेरो लक्ष्य के हो? तैँले तेरो जीवन स्वभावमा परिवर्तन हासिल गर्नैपर्छ। तेरो स्वभाव परिवर्तन भएपछि, तैँले सत्यता प्राप्त गर्नेछस्। तिमीहरूको अहिलेको कदले त तिमीहरूले कसरी दुष्टता गर्नबाट, परमेश्‍वरको प्रतिरोध गर्नबाट, वा सत्यता उल्लङ्घन हुने काम गर्नबाट आफूलाई रोक्न सक्छौ? यदि तँ परिवर्तन हुन चाहन्छस् भने, तैँले यी मामलाहरूबारे सोचविचार गर्नुपर्छ। खराब प्रकृति हुने समस्यासित जुध्‍न तैँले तँसित कुन भ्रष्ट स्वभावहरू छन् र तैँले के गर्न सक्छस् भन्ने कुराहरू बुझ्‍नुपर्छ। तैँले आफ्नो खराब प्रकृति नियन्त्रण गर्न कस्ता विधिहरू अपनाउने र तिनलाई कसरी अभ्यास गर्ने भन्ने कुरा पनि बुझ्‍नुपर्छ। यो नै मुख्य कुरा हो। जब तेरो मनमा दुविधा र प्राणमा अन्धकार हुन्छ, तैँले त्यसलाई सुल्झाउन कसरी सत्यता खोज्ने, कसरी आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्ने, र कसरी सही मार्ग अवलम्बन गर्ने भनी जान्‍नुपर्छ। तैँले आफ्नो लागि एउटा सिद्धान्त स्थापित गर्नुपर्छ। यो कुरा व्यक्तिको इच्छा र ऊ परमेश्‍वरलाई चाहने व्यक्ति हो कि होइन भन्नेमा भर पर्छ। एउटा रिसाइरहने व्यक्ति छ। उसले एउटा सिलोट बनायो र त्यसमा “आफ्नो रिस काबुमा राख” भनेर लेख्यो। अनि, त्यसलाई आत्म-संयम र आफ्नो लागि चेतावनीका रूपमा आफ्नो पढ्ने कोठामा झुण्डायो। सायद यसले केही काम त गर्ला, तर के यसले त्यो समस्या पूर्ण रूपमा समाधान गर्न सक्छ र? कदापि सक्दैन। यसको बाबजुद पनि मानिसहरूले आफूलाई काबुमा राख्‍नेचाहिँ गर्नैपर्छ। सबैभन्दा महत्त्वपूर्ण, आफ्नो भ्रष्ट स्वभावको समस्या समाधान गर्नु आवश्यक छ। आफ्नो प्रकृतिसम्बन्धी समस्या समाधान गर्न, तिनीहरूले आफूलाई चिन्‍नेबाट काम सुरु गर्नुपर्छ। सुरुमा आफ्नो भ्रष्ट स्वभावको सार प्रस्ट रूपमा देखेर मात्र तिनीहरूले आफूलाई घृणा गर्न र देहविरुद्ध विद्रोह गर्न सक्छन्। देहविरुद्ध विद्रोह गर्नको लागि सिद्धान्तहरू पनि हुनु आवश्यक छ। के भ्रमित अवस्थाको व्यक्तिले देहविरुद्ध विद्रोह गर्न सक्छ र? उसलाई कुनै समस्या आइपर्नेबित्तिकै, उसले देहको सामु हार मान्छ। कतिपय मानिसहरू एउटी सुन्दर स्त्री देखेपछि एक्कासी रोकिन सक्छन्; यो अवस्थामा, तैँले आफ्नो निम्ति एउटा आदर्श वाक्य स्थापित गर्नुपर्छ। एउटी सुन्दर स्त्री तँकहाँ आउँदा, तँ त्यहाँबाट जानुपर्छ कि के गर्नुपर्छ? यदि ऊ तेरो हात समात्न आई भने तैँले के गर्नुपर्छ? यदि तँसित कुनै सिद्धान्तहरू छैनन् भने, त्यस्तो परिस्थिति सामना गर्दा तैँले ठेस खान सक्छस्। यदि पैसा र सम्पत्ति देख्दा तँ लोभले अन्धो हुन्छस् भने तैँले के गर्नुपर्छ? तैँले विशेष रूपले यस समस्यामा आफ्नो मन लगाउनुपर्छ, अनि यसलाई हल गर्न आफैलाई तालिम दिने कुरामा ध्यानकेन्द्रित गर्नुपर्छ, र समयक्रममा, तैँले बिस्तारै देहविरुद्ध विद्रोह गर्न सक्नेछस्। भ्रष्ट प्रकृति सुल्झाउने सम्बन्धमा एउटा सिद्धान्त छ जुन अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो हो, तैँले आफ्ना सम्पूर्ण समस्याहरू परमेश्‍वरसामु ल्याउनुपर्छ र आफैलाई जाँच्‍नुपर्छ। यसको साथै, तैँले त्यो दिनदेखि हरेक साँझ आफ्ना अवस्थाहरू जाँच गर्नुपर्छ र आफ्नो व्यवहारको सूक्ष्म जाँच गर्नुपर्छ: कुनचाहिँ कार्यहरू सत्यताअनुसार गरिएका थिए अनि कुनचाहिँ सिद्धान्तहरू उल्लङ्घन गरेर गरिएका थिए? यो अझै अर्को सिद्धान्त हो। यी दुई बुँदाहरू अत्यन्तै महत्वपूर्ण छन्। पहिलोको कुरा गर्नुपर्दा, तेरो भ्रष्टता खुलासा हुँदा, तैँले आफूमाथि चिन्तन गर्नुपर्छ। दोस्रोको कुरा गर्नुपर्दा, घट्ना घटिसकेपछि, तैँले आत्मचिन्तन गर्नुपर्छ र सत्यता खोज्‍नुपर्छ। तेस्रो बुँदाचाहिँ के हो भने, तँ सत्यता अभ्यास गर्नु र सिद्धान्तद्वारा व्यवहार गर्नुको अर्थबारे प्रस्ट हुनुपर्छ। यदि तैँले यी मामलाहरू साँच्चिकै बुझ्न सक्छस् भने, तैँले सही ढङ्गले काम गर्न सक्छस्। यदि तैँले यी तीन सिद्धान्तहरू पालना गरिस् भने, तैँले आफूलाई काबुमा राख्न सक्छस्, र आफ्नो भ्रष्ट प्रकृति खुलासा वा प्रकट गर्नबाट आफूलाई रोक्न सक्छस्। तेरो प्रकृति सुल्झाउने आधारभूत सिद्धान्तहरू यिनै हुन्। यी सिद्धान्तहरू स्थापित भइसकेपछि, यदि तैँले सत्यता खोज्ने कोसिस गर्छस् र पवित्र आत्माले तँमाथि काम नगर्नुहुँदा पनि वा तँलाई लामो समयसम्म कसैले सङ्गति नदिँदा पनि तँ सामान्य स्थितिमै रहन्छस् भने, तँ सत्यतालाई प्रेम गर्ने र देहविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्। जो सत्यता सङ्गति गर्न र आफूलाई काटछाँट गर्न सधैँ अरूमाथि भर पर्छन्, तिनीहरू दास हुन्। यस्ता मानिसहरूमा अपाङ्गता हुन्छ र तिनीहरू स्वतन्त्र रूपमा जिउन सक्दैनन्। सिद्धान्तविना कार्य गर्नेहरूलाई केही समय काटछाँट वा सङ्गति गरिएन भने, तिनीहरूले लापर्बाहीपूर्वक कार्य गर्नेछन् र आफ्नो नियन्त्रण गुमाउनेछन्। यस्ता व्यक्तिहरूले कसरी परमेश्‍वरलाई आश्‍वस्त पार्न सक्छन् र? त्यसैले, तैँले प्रकृतिसम्बन्धी समस्या समाधान गर्न यी तीन सिद्धान्तहरू पालना गर्नैपर्छ। यसले तँलाई ठूला पापहरू गर्नबाट रोक्नेछ र तँबाट परमेश्‍वरविरुद्ध प्रतिरोध वा विश्‍वासघात नहुने कुरा सुनिश्‍चित गर्नेछ।

अंश १८

धेरै मानिसहरूले उही समस्या उल्लेख गरेका छन्: माथिले गरेको सङ्गति सुनेपछि तिनीहरू प्रष्ट र ऊर्जावान महसुस गर्छन् र त्यस उप्रान्त नकारात्मक हुँदैनन्। तर, यो अवस्था दस-बाह्र दिनसम्म मात्र रहन्छ र त्यसपछि फेरि असामान्य बन्छ, अनि तिनीहरूको उर्जा हराउँछ। तिनीहरूलाई कसरी अघि बढिरहने र के गर्ने भनेर थाहा हुँदैन। यो कस्तो समस्या हो? यसको जड के हो? के तिमीहरूले कहिल्यै यसबारे सोचेका छौ? केही मानिसहरू भन्छन्, यसको जड मानिसहरूले सत्यतामा ध्यान केन्द्रित नगर्नु हो। त्यसोभए, सङ्गति सुनेपछि तेरो स्थिति कसरी सामान्य हुन्छ? सत्यता सुनेपछि तँ किन निकै प्रसन्न र स्वतन्त्र महसुस गर्छस्? केही मानिसहरू यो पवित्र आत्माको काम हो भन्छन्। त्यसोभए पवित्र आत्माले किन दस-बाह्र दिनपछि काम गर्न छोड्नुहुन्छ? केही मानिसहरू भन्छन्, यसको कारण तिनीहरू उप्रान्त अझ राम्रो हुन नखोज्नु र अल्छी हुनु हो। त्यसोभए पवित्र आत्माले अझ राम्रो हुन खोज्ने मानिसहरूमा पनि किन काम गर्नुहुन्न? के तँ पनि अझ राम्रो हुन खोजिरहेको छैनस्? पवित्र आत्माले किन काम गर्नुहुन्न त? मानिसहरूले बताउने कारण वास्तविकतासँग मिल्दैन। समस्या के हो भने, पवित्र आत्माले काम गर्नु वा नगर्नुभए पनि, मानिसको सहकार्यलाई बेवास्ता गर्न मिल्दैन। जब सत्यतालाई प्रेम गर्ने व्यक्ति सत्यता स्पष्ट रूपमा बुझ्न सक्षम हुन्छ, तब उसले सधैँ सामान्य स्थिति कायम राख्नेछ, चाहे त्यो पवित्र आत्माले काम गरिरहनुभएको अवधि होस् वा नहोस्। अर्कोतर्फ, जब व्यक्तिले सत्यतालाई प्रेम गर्दैन, तब उसले सत्यता निकै राम्ररी बुझे पनि र पवित्र आत्माले उल्लेखनीय रूपमा काम गरिरहनुभए पनि, उसले अभ्यास गर्न सक्ने सत्यता अझै पनि सीमित हुनेछ। उसले आफू खुशी भएको छोटो समयावधिमा अलिकति सत्यता अभ्यास गर्न मात्र सक्नेछ। धेरैजसो, उसले अझै पनि आफ्नै व्यक्तिगत प्राथमिकताअनुसार कार्य गर्नेछ, र प्राय: आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्नेछ। त्यसैले, व्यक्तिको अवस्था सामान्य छ कि छैन र उसले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन भन्ने कुरा पवित्र आत्माको काममा नै पूर्ण रूपमा निर्भर हुँदैन। ऊ सत्यताबारे स्पष्ट छ कि छैन भन्ने कुरामा पनि त्यो पूर्ण रूपमा निर्भर हुँदैन। त्यो त सो व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन र ऊ सत्यता अभ्यास गर्न इच्छुक छ कि छैन भन्ने कुरामा भर पर्छ। सामान्यतया, व्यक्तिले प्रवचन र सङ्गति सुन्छ, र केही समयका लागि उसको स्थिति सामान्य नै हुन्छ। यो सत्यता बुझ्नुको परिणाम हो; सत्यताले तँलाई आफ्नै भ्रष्ट प्रकृतिबारे सचेत गराउँछ, तेरो हृदय प्रसन्न र स्वतन्त्र हुन्छ, र तेरो अवस्था परिवर्तित भएर अझ राम्रो हुन्छ। तर केही समयपछि तैँले आफूलाई अनुभव नै गर्न नआउने केही कुरा सामना गर्नुपर्ने हुन सक्छ, तेरो हृदय पहिलाभन्दा अँध्यारो हुन्छ, र तैँले अनजानमै सत्यतालाई उपेक्षा गर्छस्; तँ आफ्ना कार्यहरूमा परमेश्वरका अभिप्राय खोज्ने प्रयास गर्दैनस्, तँ सबथोक आफ्नै इच्छा अनुसार गर्छस्, र तँ सत्यता अभ्यास गर्ने अभिप्राय पटक्कै राख्दैनस्। समय बित्दै जाँदा, तैँले आफूले पहिला बुझेको सत्यता गुमाउँछस्। तैँले आफ्नो भ्रष्ट स्वभाव निरन्तर प्रकट गर्छस्, परिस्थितिहरूको सामना गर्दा परमेश्वरका अभिप्राय खोज्दैनस्, र परमेश्वरसँग नजिकिँदा पनि तैँले झारा मात्र टारिरहेको हुन्छस्। तैँले त्यो कुरा महसुस गर्दा तेरो हृदय परमेश्वरबाट टाढा भइसकेको हुन्छ, र तैँले धेरै कुरामा परमेश्वरको प्रतिरोध गरेर उहाँको निन्दा पनि गरिसकेको हुन्छस्। यो निकै समस्याजनक कुरा हो। यो बाटोमा धेरै अगाडि बढि नसकेकाहरूका लागि अझै पनि छुटकाराको मौका छ, तर परमेश्वरको निन्दा गर्ने र ओहोदाका लागि, र खाना वा लत्ताकपडाका लागि उहाँविरुद्ध खडा हुने बिन्दुसम्म पुगिसकेकाहरूका लागि कुनै पनि छुटकारा छैन। सत्यताको बारेमा सङ्गति गर्नुको उद्देश्य मानिसहरूलाई सत्यता बुझ्‍न र अभ्यास गर्न अनि आफ्‍नो स्वभावमा परिवर्तन ल्याउन सक्षम पार्नु हो। सत्यता बुझेपछि तिनीहरूको हृदयमा थोरै ज्योति र खुशी ल्याउनु मात्र यसको उद्देश्य हुँदैन। यदि तँ सत्यता बुझ्छस् तर त्यो अभ्यास गर्दैनस् भने, सत्यता सङ्गति गर्नु र बुझ्‍नुको कुनै अर्थ हुँदैन। मानिसहरूले सत्यता बुझेका छन् तर यसलाई अभ्यास गर्दैनन् भने यसमा के समस्या हुन्छ? यो तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरूले हृदयमा सत्यता स्वीकार गर्दैनन् भन्‍ने कुराको प्रमाण हो, र यस्तो अवस्थामा तिनीहरूले परमेश्‍वरका आशिष्‌हरू र मुक्ति पाउने अवसर गुमाउनेछन्। मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने विषयमा, सबैभन्दा महत्त्वपूर्ण कुरा तिनीहरूले सत्यता स्वीकार र अभ्यास गर्न सक्‍छन् कि सक्दैनन् भन्‍ने हो। यदि तैँले आफूले बुझेका सबै सत्यता अभ्यास गरेको छस् भने, तैँले पवित्र आत्‍माको अन्तर्दृष्टि, ज्योति र अगुवाइ प्राप्त गर्नेछस्, र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्, र तैँले सत्यताको अझै गहन बुझाइ हासिल गर्नेछस्, अनि सत्यता र परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछस्। कतिपय मानिसहरू सत्यता अभ्यास गर्न नसक्‍ने हुन्छन्, तिनीहरूले सधैँ पवित्र आत्‍माले तिनीहरूलाई अन्तर्दृष्टि वा ज्योति दिनुहुन्‍न, परमेश्‍वरले तिनीहरूलाई सामर्थ्य दिनुहुन्‍न भनेर गुनासो गरिरहेका हुन्छन्। यो गलत कुरा हो; यो परमेश्‍वरलाई गलत रूपमा बुझ्‍नु हो। पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योति मानिसहरूको सहकार्यको जगमा निर्मित हुन्छ। मानिसहरू इमानदार हुनुपर्छ, र सत्यता अभ्यास गर्न तयार हुनुपर्छ, अनि तिनीहरूको बुझाइ गहन वा सतही भए पनि, तिनीहरूले सत्यता अभ्यास गर्न सक्‍नुपर्छ। त्यसपछि मात्रै पवित्र आत्‍माले तिनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। यदि मानिसहरूले सत्यता बुझ्छन् तर अभ्यास गर्दैनन् भने—यदि तिनीहरू पवित्र आत्माले आफै अग्रसर भई तिनीहरूलाई सत्यता अभ्यास गर्न लगाउनुहुन्छ भनेर प्रतीक्षा गर्छन् भने—के तिनीहरू अत्यन्तै निष्क्रिय भइरहेका हुँदैनन् र? परमेश्‍वरले कहिल्यै पनि मानिसहरूलाई कुनै काम जबरजस्ती गराउनुहुन्‍न। यदि मानिसहरूले सत्यता बुझ्छन् तर त्यो अभ्यास गर्न अनिच्‍छुक छन् भने, यसले तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, वा तिनीहरूको स्थिति असामान्य छ र यसलाई रोक्‍ने कुनै कुरा छ भन्‍ने देखाउँछ। तर यदि मानिसहरूले परमेश्‍वरलाई प्रार्थना गर्न सक्छन् भने, परमेश्‍वरले पनि काम गर्नुहुनेछ; यदि तिनीहरू सत्यता अभ्यास गर्न अनिच्‍छुक छन् र परमेश्‍वरलाई प्रार्थना पनि गर्दैनन् भने मात्र, पवित्र आत्मासँग तिनीहरूमा काम गर्ने कुनै आधार हुँदैन। वास्तवमा, मानिसहरूको कठिनाइ जस्तोसुकै भए पनि, यसलाई सधैँ समाधान गर्न सकिन्छ; यसको चाबी भनेको तिनीहरूले सत्यताअनुसार अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्‍ने हो। आज, तिमीहरूमा रहेको भ्रष्टताका समस्याहरू क्यान्सर होइनन्, ती उपचार गर्नै नसकिने रोग होइनन्। यदि तिमीहरूले सत्यता अभ्यास गर्ने सङ्कल्प गर्‍यौ भने, तिमीहरूले पवित्र आत्‍माको काम प्राप्त गर्नेछौ, र यी भ्रष्ट स्वभाव परिवर्तन हुन सम्‍भव छ। यो सबै कुरा तैँले सत्यता अभ्यास गर्ने सङ्कल्प लिन सक्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ, मुख्य कुरा यही हो। यदि तैँले सत्यता अभ्यास गर्छस् भने, यदि तँ सत्यता पछ्याउने मार्गमा हिँड्छस् भने, तँ पवित्र आत्‍माको काम प्राप्त गर्न सक्षम हुन्छस्, र तैँले अवश्य मुक्ति पाउन सक्छस्। यदि तैँले हिँड्ने मार्ग गलत छ भने, तैँले पवित्र आत्‍माको काम गुमाउनेछस्, एउटा गलत कदमले अर्को गलत कदम निम्त्याउनेछ, र तेरो लागि यो सबै कुरा समाप्त हुनेछ, अनि तैँले जति वर्ष निरन्तर विश्‍वास गरिरहे पनि, तैँले मुक्ति पाउन सक्दैनस्। उदाहरणको लागि, कतिपय मानिसहरूले परमेश्‍वरको घरलाई फाइदा पुग्‍ने र परमेश्‍वरका अभिप्रायअनुरूप हुने गरी काम गर्नेबारे कहिल्यै सोच्दैनन्—अनि तिनीहरूले गरेको कामको परिणाम स्वार्थी र खराब हुन्छ, त्यो परमेश्‍वरको निम्ति घृणास्पद र तुच्‍छ हुन्छ; अनि त्यसो गर्ने क्रममा, तिनीहरू खुलासा हुन्छन् र हटाइन्छन्। यदि मानिसहरूले सबै कुरामा सत्यता खोजी गर्न र सत्यताअनुरूप अभ्यास गर्न सक्छन् भने, तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गरिसकेका हुन्छन्, र यसरी तिनीहरू परमेश्‍वरका अभिप्रायअनुरूपको व्यक्ति बन्‍ने आशा हुन्छ। कतिपय मानिसहरूले सत्यता बुझेका हुन्छन् तर त्यसलाई अभ्यास गर्दैनन्; बरु, सत्यता सत्यता मात्र हो, यसले तिनीहरूका झुकाव र भ्रष्ट स्वभावहरू समाधान गर्न सक्दैन भन्‍ने विश्‍वास गर्छन्। के त्यस्ता मानिसहरू हास्यास्पद हुँदैनन् र? के तिनीहरू मूर्ख होइनन् र? के तिनीहरू बढ्ता जान्‍ने सुन्‍नेहरू होइनन् र? यदि मानिसहरूले सत्यताअनुरूप व्यवहार गर्न सक्छन् भने, तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन हुन सक्छ। यदि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास र उहाँप्रतिको सेवा तिनीहरूका आफ्‍नै प्राकृतिक व्यक्तित्वमा आधारित छन् भने, तिनीहरूमध्ये एक जनाले पनि आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्न सक्‍नेछैन। कतिपय मानिसहरू दिनभरि आफ्‍नै गलत निर्णयहरूको बारेमा अफसोस गरेर बिताइरहेका हुन्छन्। सहजै लागू गर्न सकिने सत्यता देख्दा पनि, तिनीहरूले यसबारे केही सोच्ने वा अभ्यास गर्ने प्रयास गर्दैनन्, बरु आफ्‍नै मार्ग रोज्ने ढिपी कस्छन्। कस्तो हास्यास्पद व्यवहार; साँच्‍चै नै, तिनीहरूल आफूसँग आशिषहरू हुँदा पनि त्यसको आनन्द उठाउन सक्दैनन्, र तिनीहरूले जीवनमा कठिनाइ भोग्‍ने पक्‍का छ। सत्यता अभ्यास गर्ने काम सरल छ; तैँले अभ्यास गर्छस् गर्दैनस् भन्‍ने कुराचाहिँ महत्त्वपूर्ण हुन्छ। यदि तैँले सत्यता अभ्यास गर्ने सङ्कल्प गरेको छस् भने, तेरो नकारात्मकता, कमजोरी र भ्रष्ट स्वभाव क्रमिक रूपमा समाधान र परिवर्तन हुँदै जानेछ; यो कुरा तेरो हृदयले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, तैँले सत्यता स्वीकार गर्न सक्छस् कि सक्दैनस्, र सत्यता अभ्यास गर्न तैँले कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तैँले साँचो रूपमा सत्यतालाई प्रेम गर्छस् भने, सत्यता प्राप्त गर्नको लागि तैँले हरकिसिमका कष्टहरू भोग्‍न सक्‍नेछस्, चाहे यसको लागि मानिसहरूले तँलाई बदनाम, आलोचना, वा इन्कार नै किन नगरून्। तैँले यी सबै कुरा धैर्य र सहनशीलतासाथ भोग्‍नुपर्छ; अनि परमेश्‍वरले तँलाई आशिष्‌ र सुरक्षा दिनुहुनेछ, तँलाई त्याग्‍नुहुने वा बेवास्ता गर्नुहुनेछैन—यो निस्सन्देह छ। यदि तैँले परमेश्‍वरको डर मान्‍ने हृदयले उहाँलाई प्रार्थना गर्छस्, परमेश्‍वरमा भरोसा गर्छस् र उहाँकै बाटो हेर्छस् भने, तैँले पार पाउन नसक्‍ने कुरा केही हुँदैन। तँमा भ्रष्ट स्वभाव हुन सक्छ, र तैँले अपराध गर्न सक्छस्, तर यदि तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छ, अनि तँ निष्ठापूर्वक सत्यता खोजी गर्ने मार्गमा हिँड्छस् भने, तँ अवश्य दह्रिलो गरी खडा हुन सक्‍नेछस्, र परमेश्‍वरले तँलाई निश्‍चय नै अगुवाइ र सुरक्षा प्रदान गर्नुहुनेछ।

कतिपय मानिसहरूले काम र प्रचार गर्न, र अरूलाई आपूर्ति गर्न मात्र आफूलाई सत्यताहरूले सुसज्‍जित पार्छन्, आफ्नो समस्या समाधान गर्न त्यसो गर्दैनन्, र ती सत्यता अभ्यास पनि गर्दैनन्। तिनीहरूको सङ्गति शुद्ध बुझाइको र सत्यताअनुरूप होला, तर तिनीहरूले आफूलाई यसमा मापन गर्दैनन्, न त त्यो अभ्यास वा अनुभव नै गर्छन्। यहाँ समस्या के हो? के तिनीहरूले सत्यतालाई आफ्नो जीवनजस्तै साँचो अर्थमा स्वीकार गरेका छन्? अहँ, गरेका छैनन्। व्यक्तिले प्रचार गर्ने धर्मसिद्धान्त अत्यन्तै शुद्ध हुन सक्छ, तर यसको अर्थ त्यसमा सत्यता वास्तविकता छ भन्‍ने हुँदैन। सत्यताले सुसज्‍जित हुनका लागि, पहिले आफै यसमा प्रवेश गरेको हुनुपर्छ, अनि यसलाई बुझेपछि अभ्यास गरेको हुनुपर्छ। यदि व्यक्तिले आफ्नो जीवन प्रवेशमा ध्यान दिँदैन, तर अरूलाई सत्यता प्रचार गरेर आफ्नो प्रदर्शन गर्ने लक्ष्य राख्छ भने, उसको अभिप्राय गलत छ। यस्तो काम गर्ने धेरै झूटा अगुवाहरू छन्, तिनीहरू अरूलाई आफूले बुझेका सत्यताबारे निरन्तर सङ्गति गर्छन्, नयाँ विश्‍वासीहरूलाई भरणपोषण गर्छन्, र मानिसहरूलाई सत्यता अभ्यास गर्न, आफ्ना कर्तव्य राम्रोसँग निर्वाह गर्न र नकारात्मक नबन्‍न सिकाउँछन्। यी सबै कुरा राम्रा र असल छन्—मनपर्दा समेत लाग्छन्—तर तिनीहरूले आफूले भनेजस्तो गरी किन आफैचाहिँ सत्यता अभ्यास गर्दैनन्? किन तिनीहरूसँग जीवन प्रवेश हुँदैन? यहाँ वास्तवमा के भइरहेको छ? के यस्तो व्यक्तिले वास्तवमै सत्यतालाई प्रेम गर्छ? यो भन्‍न कठिन छ। यसरी नै इस्राएलका फरिसीहरूले अरूको लागि बाइबल व्याख्या गर्थे, तर आफूचाहिँ परमेश्‍वरका आज्ञाहरू पालन गर्न सक्दैनथे। जब प्रभु येशू देखा पर्नुभयो र काम गर्नुभयो, तिनीहरूले परमेश्‍वरको आवाज सुने तर प्रभुलाई इन्कार गरे। तिनीहरूले प्रभु येशूलाई क्रूसमा टाँगे र तिनीहरू परमेश्‍वरद्वारा श्रापित भए। तसर्थ सत्यतालाई स्वीकार र अभ्यास नगर्ने सबै मानिसहरू परमेश्वरद्वारा निन्दित हुनेछन्। तिनीहरू कति नीच थिए! यदि तिनीहरूले प्रचार गर्ने वचन धर्मसिद्धान्तहरूले अरूलाई मदत गर्न सक्‍ने भए, यसले तिनीहरूलाई किन मदत गर्न सकेन? हामीले यस्तो व्यक्तिलाई वास्तविकता नभएको ढोँगी भन्‍नु राम्रै हो। तिनीहरू अरूलाई सत्यताका शाब्दिक अर्थ प्रदान गर्छन्, अरूलाई त्यो अभ्यास गर्न लगाउँछन्, तर आफूचाहिँ यसलाई अलिकति पनि अभ्यास गर्दैनन्। के यस्तो व्यक्ति बेसरम होइन र? तिनीहरूसँग सत्यता वास्तविकता हुँदैन, तर अरूलाई वचन र धर्मसिद्धान्तहरू प्रचार गर्दा तिनीहरू आफूसँग सत्यता वास्तविकता छ भन्‍ने ढोँग गर्छन्। के यो जानाजानी मानिसहरूलाई बहकाउनु र हानि गर्नु होइन र? यदि यस्ता व्यक्तिहरूलाई खुलासा गरी हटाइयो भने, त्यसको दोषी तिनीहरू आफै हुनेछन्। तिनीहरू दयाको पात्र हुनेछैनन्। के वचन र धर्मसिद्धान्त मात्र प्रचार गर्ने तर सत्यता अभ्यास नगर्ने व्यक्तिले वास्तविक परिवर्तन हासिल गर्न सक्छ? के उसले अरूलाई छल गरिरहेको र आफैलाई हानि गरिरहेको हुँदैन? सत्यता पछ्याउँदा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अभ्यास गर्नु हो। अभ्यास गर्नुको उद्देश्य व्यक्तिको भ्रष्ट स्वभाव समाधान गर्नु र उसलाई साँचो मानव स्वरूप जिउने तुल्याउनु हो, तर उसले आफ्नै भ्रष्ट स्वभावहरू चिन्दैन, न त आफ्ना कठिनाइहरू हल गर्न सत्यता नै प्रयोग गर्छ। उसले अरूलाई जसरी मलजल, भरणपोषण वा सहयोग गरे पनि ऊसँग जीवन प्रवेश गर्ने र आफ्नो स्वभाव परिवर्तन गर्ने मार्ग नभएकोले उसले वास्तविक परिणामहरू कहिल्यै पाउनेछैन। यदि उसले गर्ने सत्यताको सङ्गतिले मानिसका कठिनाइ वा समस्याहरू समाधान गर्दैन भने, के उसले कर्णप्रिय तर बेकारका शब्द र सिद्धान्तहरू मात्रै भट्टयाइरहेको हुँदैन र? यदि तँ आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छस् भने, तैँले सुरुमा परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। तैँले सत्यताका जुनसुकै पक्षहरू बुझे पनि त्यसलाई अभ्यास गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। सत्यता अभ्यासर अनुभव गर्दा मात्र तैँले समस्याहरू पत्ता लगाउनेछस्, र खास गरी, आफ्ना भ्रष्ट स्वभावहरू प्रकट हुँदा तँ त्यो देख्न सक्षम हुनेछस्। यदि तँ यी समस्याहरू हल गर्न सत्यता खोज्न सक्छस् भने, तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्, र तेरो जीवन स्वभाव परिवर्तन हुनेछ। तब, तैँले सत्यता अभ्यास गर्नेबारे छलफल गर्दा तँसँग मार्ग हुनेछ, र तैँले सत्यताबारे सङ्गति गर्दा समस्याहरू हल गर्न सक्नेछस्। यसले के देखाउँछ भने तँ सत्यता अभ्यास गर्न इच्छुक भएमा, तँसँग सत्यता वास्तविकता हुनेछ। यदि तँ सत्यता अभ्यास गर्न इच्छुक छस् भने, तँ अरूलाई भरणपोषण गर्न योग्य हुनेछस्। अनि यसको बदलामा परमेश्वरले तेरो प्रशंसा गर्नुहुनेछ र मानिसहरूले तँलाई स्विकार्नेछन्।

अघिल्लो: सत्यता र परमेश्‍वरलाई कसरी लिने भन्‍नेसम्बन्धी वचनहरू

अर्को: परमेश्‍वरको काम र स्वभाव चिन्‍नेसम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्