सत्यता र परमेश्‍वरलाई कसरी लिने भन्‍नेसम्बन्धी वचनहरू

अंश ४

सत्यता पछ्याउने सबभन्दा महत्त्वपूर्ण पाटो भनेको परमेश्‍वरका वचनहरू पढ्नमा केन्द्रित हुनु हो। परमेश्‍वरका वचनहरू पढेर व्यक्तिले कति मात्रामा लाभ प्राप्त गर्न सक्छ भन्ने कुरा उसको बुझ्नसक्ने क्षमतामा निर्भर रहन्छ। सबैले परमेश्‍वरका वचन पढे पनि केहीले मात्र त्यसबाट वास्तविक अर्थ बुझ्न र अन्तर्दृष्टि पाउन सक्छन्, अनि परमेश्‍वरका वचनहरू पढिरहेसम्‍म, तिनीहरूले केही न केही पाई नै रहनेछन्। तर अरू यस्ता हुँदैनन्। परमेश्‍वरका वचनहरू पढ्दा तिनीहरू धर्मसिद्धान्त बुझ्न मात्र ध्यान केन्द्रित गर्दछन्। यसको नतिजा के हुन्छ भने, तिनीहरूले परमेश्‍वरका वचनहरू पढेको वर्षौँपछि धर्मसिद्धान्त त धेरै बुझ्छन्, तर जबजब तिनीहरू समस्यामा पर्छन्, तिनीहरूले ती समस्या समाधान गर्न सक्दैनन्; तिनीहरूले सिकेका कुनै पनि कुरा काम लाग्दैनन्। यहाँ के भइरहेको छ? मानिसहरू सबैले परमेश्‍वरका वचनहरू पढे पनि नतिजा फरक फरक हुन्छन्। सत्यतालाई प्रेम गर्नेहरूले सत्यता स्विकार्न सक्छन्, जबकि सत्यतालाई प्रेम नगर्नेहरूले परमेश्‍वरका वचनहरू पढेपछि पनि सत्यता स्विकार्न सक्दैनन्। तिनीहरूले जस्तोसुकै समस्या सामना गरे पनि परमेश्‍वरका वचनहरूमा सत्य खोजी गर्दैनन्। अलिअलि अनुभव भएका मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्दा केही व्यावहारिक कुराबारे छलफल गर्न र सत्यतासम्बन्धी आफ्ना व्यावहारिक ज्ञानहरू बताउन सक्छन्—यो सत्यताको बुझाइ हो। अनुभव नभएकाहरूले परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ मात्र बुझ्छन्, तर तिनीहरूसँग थोरै पनि ज्ञान र अनुभव हुँदैन—यसलाई सत्यताको बुझाइ मान्न सकिँदैन। कतिपय अगुवाहरूले आफू मण्डली जानुको कारण विशेष गरी सत्यता प्रदान गर्न हो भनेर प्रायः अरूलाई भनिरहेका हुन्छन्। के यो भनाइ सही हो त? “सत्यता प्रदान गर्न” भन्ने शब्दहरू हल्का रूपमा बोल्‍नु हुँदैन। सत्यता कोसँग हुन्छ? सत्यता प्रदान गर्छु भनेर दाबी गर्ने कसले हिम्मत गर्छ? के यो दाबी अति नै ठूलो छैन र? जब तिमीहरू परमेश्‍वरमा विश्‍वास गरी उहाँलाई पछ्याउँछौ, तब तिमीहरू सत्यता स्विकार्ने र सत्यता पछ्याउने व्यक्ति मात्र हुन्छौ। यदि तिमीहरू यसो गर्न सक्छौ भने यो पहिले नै धेरै राम्रो कुरा हो। यदि व्यक्तिले केही सत्यता बुझ्न र सत्यताको केही अनुभव र ज्ञानबारे बोल्न सके पनि, तिनीहरूले सत्यता आपूर्ति गर्छन् भनेर भन्न सकिँदैन, किनभने कुनै पनि व्यक्तिसँग सत्यता हुँदैन। केही अनुभव र ज्ञानबारे बोल्दैमा कसरी सत्यता आपूर्ति गरेको भयो र? तसर्थ, यो मात्र भन्‍न सकिन्छ कि, अगुवा र सेवकहरूले मलजलको काम मात्र गरिरहेका हुन्छन् र तिनीहरू मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई जीवनप्रवेश गर्न मद्दत गर्नमा विशेष जिम्मेवार भइरहेका मात्र हुन्छन्। तिनीहरूले सत्यता आपूर्ति गरिरहेका हुन्छन् भन्न सकिँदैन। कुनै व्यक्तिसँग केही कद भए पनि उसले अरूलाई सत्यता आपूर्ति गरिहेको हुन्छ भन्न सकिँदैन। यस्तो बिलकुलै भन्न सकिँदैन। कति मान्छेले सत्यता बुझ्छन्? के कुनै व्यक्तिको कदले उसलाई सत्यता आपूर्ति गर्न सक्षम बनाउँछ? यदि कसैसँग सत्यताको केही अनुभव र ज्ञान छ नै भने पनि, उसले सत्यता आपूर्ति गर्न सक्छ भन्न सकिँदैन। यस्तो बिलकुलै भन्न सकिँदैन, यो त अति नै तर्कहीन कुरा हो। कतिपय मानिसहरू मण्डलीमा मलजल र सत्यता आपूर्ति गर्न गर्व महसुस गर्छन्, मानौँ तिनीहरूले धेरै नै सत्यता बुझेका छन् र यसको परिणामस्वरूप, तिनीहरूले झुटा अगुवा र ख्रीष्टविरोधीहरू चिन्न सक्दैनन्। के यो विरोधाभास होइन र? यदि कसैले तँलाई सत्यता के हो भनेर सोध्यो र तैँले “परमेश्‍वरको वचन नै सत्यता हो; सत्यता नै परमेश्‍वरको वचन हो” भनेर जबाफ दिइस् भने, के तैँले सत्यता बुझेको हुन्छस्? तैँले धर्मसिद्धान्तका शब्द र वाक्यांश मात्र बोल्न सक्छस् तर सत्यता के हो भन्नेबारे तँसँग अनुभव र ज्ञान हुँदैन, त्यसैले तँ अरूलाई सत्यता आपूर्ति गर्न सक्षम हुँदैनस्। अहिले, अगुवाको रूपमा सेवा गर्ने व्यक्तिहरू सबैसँग अनुभवको कमी छ; तिनीहरूसँग सत्यता पछ्याउने थोरै क्षमता र तत्परता मात्र छ। तिनीहरू वृद्धिविकास र तालिमको लागि योग्य छन् र तिनीहरूले कर्तव्य पूरा गर्ने कुराको नेतृत्व लिन सक्छन्। तिनीहरूले केही ज्ञानबारे सङ्गति गर्न सके पनि, सत्यता आपूर्ति गर्छन् भनेर कसरी भन्न सकिन्छ? धेरैजसो अगुवा र सेवकहरूले केही ज्ञानको कुरा गर्न सक्छन्, तर त्यसको अर्थ तिनीहरूसँग सत्यता वास्तविकता छ भन्ने होइन। आखिर, तिनीहरूले धेरै वर्षसम्म प्रवचन सुनेका छन् र तिनीहरूसँग केही सतही ज्ञान छ; तिनीहरू सत्यता सङ्गति गर्न इच्छुक छन् र अरूलाई केही हदसम्म सहयोग पनि गर्छन्, तर तिनीहरूले सत्यताको आपूर्ति गरिरहेका छन् भनेर भन्न सकिँदैन। के अगुवा र सेवकहरू सत्यता आपूर्ति गर्न सक्षम हुन्छन्? बिलकुलै हुँदैनन्। अगुवा र सेवकहरूले मण्डलीमा प्रचार र मलजल गर्छन्; सबभन्दा महत्त्वपूर्ण कुरा तिनीहरूले व्यावहारिक समस्याहरू हल गर्न सक्नुपर्छ र यो नै तिनीहरूले साँचो रूपमा मण्डलीमा मलजल गर्न सक्ने एकमात्र तरिका हो। अहिले, धेरैजसो अगुवा र सेवकहरू अझै पनि कैयौँ व्यावहारिक समस्या हल गर्न सक्दैनन्। सत्यताको केही ज्ञानबारे सङ्गति गर्न सके पनि, तिनीहरूले धेरैजसो बोल्ने कुराहरू अझै पनि धर्मसिद्धान्तका शब्द र वाक्यांश मात्र हुन्। तिनीहरूले सत्यता वास्तविकताबारे त स्पष्टसँग सङ्गति गर्न सक्दैनन्, अनि के साँच्चै समस्याहरू समाधान गर्न सक्छन् त? धेरैजसो अगुवा र सेवकहरूसँग बुझ्ने क्षमता थोरै मात्र हुन्छ र अझै पनि त्यति धेरै व्यावहारिक अनुभव हुँदैन। के तिनीहरूले अरूभन्दा बढी सत्यता बुझ्छन् र तिनीहरूसँग अरूभन्दा बढी सत्यता वास्तविकता हुन्छ भन्न सकिन्छ? यसो भन्न सकिँदैन, तिनीहरूको स्तर यतिको हुँदैन। कतिपय अगुवा र सेवकहरूलाई जगेर्ना गर्ने प्रयोजनको लागि मात्रै बढुवा गरिएको हुन्छ; तिनीहरूलाई प्रशिक्षित हुने मौका दिइन्छ, किनभने तिनीहरूसँग केही क्षमता र बुझ्‍ने सामर्थ्य हुन्छ, र तिनीहरूको पारिवारिक वातावरण पनि उपयुक्त हुन्छ। कसैलाई बढुवा गर्नुको अर्थ तिनीहरूसँग सत्यता वास्तविकता छ र तिनीहरूले सत्यता आपूर्ति गर्न सक्छन् भन्ने होइन। यति मात्र हो कि सत्यता पछ्याउनेहरूले अरूभन्दा पहिले अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन्, तर यो थोरै ज्योति सत्यता होइन, यो सत्यताको अंश पनि होइन, यो सत्यताअनुरूप कुरो मात्र हो। परमेश्‍वरबाट प्रत्यक्ष व्यक्त भएको कुरो मात्र सत्यता हो। पवित्र आत्माको अन्तर्दृष्टि सत्यताअनुरूपको कुरो मात्र हो, किनभने पवित्र आत्माले मानिसलाई तिनीहरूको कदअनुसार अन्तर्दृष्टि दिनुहुन्छ। उहाँले मानिसहरूसँग प्रत्यक्ष रूपमा सत्यता बोल्नुहुन्‍न। बरु, उहाँले तिनीहरूलाई तिनीहरू जुन ज्योति प्राप्त गर्न सक्षम छन् त्यही ज्योति दिनुहुन्छ। तैँले यो कुरा बुझ्नैपर्छ। यदि कुनै व्यक्तिसँग परमेश्‍वरका वचनहरूबारे केही अन्तर्दृष्टि छ र उसले अनुभवबाट केही ज्ञान प्राप्त गरेको छ भने, के यसलाई सत्यता मानिन्छ? मानिँदैन। बढीमा, तिनीहरूसँग सत्यताको केही बुझाइ हुन्छ। पवित्र आत्माका अन्तर्दृष्टिका वचनहरूले परमेश्‍वरका वचनहरू प्रतिनिधित्व गर्दैनन्, तिनले सत्यता प्रतिनिधित्व गर्दैनन् र ती सत्यता होइनन्। बढीमा, त्यो व्यक्तिसँग सत्यताको केही बुझाइ हुन्छ र उसलाई पवित्र आत्माद्वारा केही मात्रामा अन्तर्दृष्टि दिइएको हुन्छ। यदि कुनै व्यक्तिले सत्यताको केही बुझाइ प्राप्त गर्छ र त्यो बुझाइ अरूलाई आपूर्ति गर्छ भने उसले आफ्नो बुझाइ र अनुभव मात्र आपूर्ति गरिरहेको हुन्छ। उसले अरूलाई सत्यता आपूर्ति गरिरहेको छ भनेर भन्‍न मिल्दैन। उसले सत्यता सङ्गति गरिरहेको छ भनेर तँ भन्छस् भनेचाहिँ त्यो ठीकै हुन्छ; त्यो उपयुक्त व्याख्या नै हो। म किन यसो भन्दै छु? किनभने तैँले सत्यताबारे आफूले बुझेका कुराहरू सङ्गति गर्दै छस्; तर त्यो आफैचाहिँ सत्यता होइन। तसर्थ, तैँले केही बुझाइ र अनुभव सङ्गति गरिरहेको छु भन्न मात्र सक्छस्; तैँले सत्यता आपूर्ति गरिरहेको छु भनेर कसरी भन्न सक्छस्? सत्यता आपूर्ति गर्नु त्यति सरल कुरो होइन। यस्तो वाक्य बोल्न योग्य को छ? परमेश्‍वर मात्र मानिसहरूलाई सत्यता आपूर्ति गर्न सक्षम हुनुहुन्छ। के मानिसहरू सक्षम छन् र? तसर्थ, तैँले यो कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ। यो गलत शब्दहरू प्रयोग गर्नुको मात्र समस्या होइन, चुरो कुरो त के हो भने, तैँले तथ्यहरूको उल्लङ्घन र तोडमोड गर्दै छस्। तैँले गरेको दाबी अतिशयोक्ति छ। मानिसहरूसँग परमेश्‍वरका वचनहरूबारे केही बुझाइ र अनुभव हुन सक्ला, तर तैँले तिनीहरूसँग सत्यता छ, वा तिनीहरू सत्यताकाहरू हुन् भन्न सक्दैनस्। तैँले यो बिलकुलै भन्न सक्दैनस्। सत्यताबाट मानिसले जतिसुकै बुझाइ हासिल गरेको भए पनि, तैँले तिनीहरूसँग सत्यताको जीवन छ भनेर भन्न सक्दैनस्, तिनीहरू सत्यताकाहरू हुन् भन्न सक्‍ने त कुरै नगरौँ। तैँले यो बिलकुलै भन्न सक्दैनस्। मानिसले सत्यताको केही अंश मात्र बुझेका हुन्छन्, तिनीहरूसँग केही ज्योति र अभ्यासका केही तरिका मात्र हुन्छन्। तिनीहरूसँग आज्ञाकारिताको केही वास्तविकता र केही साँचो परिवर्तन मात्र हुन्छन्। तर तिनीहरूले सत्यता प्राप्त गरेका छन् भनेर तैँले भन्न सक्दैनस्। परमेश्‍वरले सत्यता व्यक्त गरेर मानिसलाई जीवन दिनुहुन्छ। उहाँले मानिसहरूलाई उहाँको सेवा गर्न र उहाँलाई सन्तुष्ट तुल्याउनको लागि मानिसहरूले सत्यता बुझून् र सत्यता प्राप्त गरून् भन्‍ने मापदण्ड पनि दिनुहुन्छ। मानिसहरूले परमेश्‍वरको काम एक हदसम्म अनुभव गरेर साँच्चै सत्यता प्राप्त गरेका छन् भन्ने दिन आए पनि, तैँले अझै पनि मानिसहरू सत्यताकाहरू हुन् भन्न सक्दैनस्, मानिसहरूसँग सत्यता हुन्छ भनेर भन्न त झन् सक्दै सकिँदैन। किनभने मानिससँग धेरै वर्षको अनुभव भए पनि तिनीहरूले प्राप्त गर्न सक्ने सत्यताको सीमा हुन्छ र यो निकै थोरै मात्रामा मात्रै हुन्छ। सत्यता सबभन्दा गहिरो र रहस्यमय कुरा हो; परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, यो त्यही हो। मानिसहरूले आफ्नो जीवनकालमा प्राप्त गर्ने सत्यता अत्यन्तै सीमित हुन्छ। मानिसहरू कहिल्यै पनि पूर्ण रूपमा सत्यता प्राप्त गर्न, यसलाई पूर्ण रूपमा बुझ्न वा यसलाई पूर्ण रूपमा जीउन सक्नेछैनन्। परमेश्‍वरले मानिसहरू उहाँसामु सँधै बच्चा रहनेछन् भनेर भन्नुको अर्थ यही हो।

कतिपय मानिसहरू के विश्‍वास गर्छन् भने, एकपटक तिनीहरूसँग परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यताको अनुभव र ज्ञान भइसकेपछि र तिनीहरूले सत्यताको हरेक पक्ष गहन रूपमा बुझिसकेपछि र तिनीहरू सत्यताअनुसार कार्य गर्न सक्ने भइसकेपछि, तिनीहरू सत्यता व्यक्त गर्न सक्षम बन्‍नेछन्। यसो गरेर तिनीहरू आफू ख्रीष्टको रूपमा जिइरहेको छु भन्‍ने सोच्छन्, ठीक त्यसरी नै जसरी पावलले “मेरो लागि जिउनु ख्रीष्ट हो” (फिलिप्‍पी १:२१) भनेर भनेका थिए। के यो दृष्टिकोण सही हो त? के यो “परमेश्‍वर–मानिस” विवादको अर्को समर्थन होइन र? यो बिलकुलै गलत हो! मानिसले एउटा कुरा बुझ्‍नुपर्छ: तँसँग सत्यताको जति धेरै अनुभव वा ज्ञान भए पनि वा तैँले सत्यता वास्तविकतामा प्रवेश गरिसकेको र तँ परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन सक्षम भएको भए पनि, र तँ परमेश्‍वरप्रति समर्पित हुन र परमेश्‍वरको लागि गवाही दिनसक्ने भए पनि, अनि तेरो जीवनप्रवेश जतिसुकै उच्च वा गहन भए पनि, तेरो जीवन अझै पनि मानव जीवन हो र मानव कहिल्यै परमेश्‍वर बन्न सक्दैन। यो मानिसहरूले बुझ्नैपर्ने निरपेक्ष परम तथ्य हो। अन्त्यमा, तँसँग सत्यताको हरेक पक्षको अनुभव र बुझाइ भए पनि र तँ परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित भए पनि र सिद्ध पारिएको व्यक्ति बने पनि, तँ अझै पनि सत्यताको होस् भनेर भन्न सकिँदैन। तैँले साँचो अनुभवात्मक गवाही बोल्न सके पनि यसको अर्थ तैँले सत्यता व्यक्त गर्न सक्छस् भन्ने होइन। विगतमा, धार्मिक समूहहरूमाझ व्यक्तिभित्र “ख्रीष्टको जीवन” हुन्छ भन्ने भनाइ प्रचलित थियो। यो एक गलत र अस्पष्ट अभिव्यक्ति थियो। अहिले मानिसहरूले यसो नभने पनि यसबारे तिनीहरूको बुझाइ अस्पष्ट नै रहेको छ। केही मानिसहरू सोच्छन्, “हामीले सत्यता प्राप्त गरेकोले र सत्यता हामीभित्र भएकोले, हामीसँग सत्यता छ, हाम्रो हृदयमा सत्यता छ र हामी पनि सत्यता व्यक्त गर्न सक्छौँ।” के यो पनि गलत होइन र? मानिसहरूले अक्सर आफूसँग सत्यता छ वा छैन भन्नेबारे कुरा गर्छन्, र यसले मुख्य गरी तिनीहरूसँग सत्यताको अनुभव र ज्ञान छ वा छैन र तिनीहरू सत्यताअनुसार अभ्यास गर्न सक्छन् वा सक्दैनन् भन्ने कुरा इङ्गित गर्छ। हरेक व्यक्तिले सत्यता अनुभव गर्छ तर हरेकले अनुभव गर्ने स्थिति फरकफरक हुन्छ। सत्यताबाट प्रत्येक व्यक्तिलाई प्राप्त हुने कुरा पनि फरकफरक नै हुन्छ। यदि तैँले सबैको अनुव र बुझाइलाई जोड्ने हो भने पनि यसले पूर्ण रूपमा सत्यताको सार प्रतिबिम्बित गर्नेछैन। सत्यता यति गहन र रहस्यमय छ! तैँले प्राप्त गरेका हरेक कुरा र तेरो सबै बुझाइले सत्यताको ठाउँ लिन सक्दैन भनेर मैले किन भनेको हुँ? तेरो केही अनुभव र बुझाइबारे तेरो सङ्गति सुनिसकेपछि मानिसहरूले यसलाई बुझ्नेछन्, र यसलाई पूर्ण रूपमा बुझ्न र प्राप्त गर्नको लागि तिनीहरूले लामो समयसम्म अनुभव गर्नुपर्दैन। यो केही गहन भए पनि तिनीहरूलाई कयौँ वर्षको अनुभव चाहिँदैन। तर सत्यताको हकमा भने मानिसहरूले आफ्नो पूरै जीवनकालमा पनि यसका सबै पक्षको अनुभव गरिसक्‍नेछैनन्। तैँले सबैजनालाई एकसाथ जोडिस् भने पनि तिनीहरूले यो सबै अनुभव गरेका हुनेछैनन्। तैँलै देख्न सकेझैँ, सत्यता निकै गहन र रहस्यमय छ। शब्दहरूले पनि सत्यतालाई पूर्ण रूपमा व्याख्या गर्न सक्दैनन्। मानव भाषामा व्यक्त गरिएको सत्यता नै मानवहरूको साँचो सार हो। मानवले यो सबै कुरा कहिल्यै अनुभव गर्न सक्‍नेछैन र सत्यतालाई पूर्ण रूपमा जीउन पनि कहिल्यै सक्नेछैन। यस्तो किन हुन्छ भने, मानिसहरूले हजारौँ वर्ष बिताए पनि, तिनीहरूले सत्यताको एउटा तत्व पनि पूर्ण रूपमा अनुभव गरेका हुनेछैनन्। मानिसहरूले जतिसुकै वर्ष अनुभव गरे पनि तिनीहरूले बुझ्ने र प्राप्त गर्ने सत्यता अझै पनि सीमित नै हुनेछ। के भन्न सकिन्छ भने, सत्यता मानवताको जीवनको अनन्त मूल हो। परमेश्‍वर सत्यताको स्रोत हुनुहुन्छ र सत्यता वास्तविकताहरूमा प्रदेश गर्नु एक यस्तो कार्य हो जसको कुनै अन्त्य नै हुँदैन।

परमेश्‍वर स्वयमको जीवन नै सत्यता हो; यसले उहाँको स्वभाव, उहाँको सार, अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबको प्रतिनिधित्व गर्छ: केही अनुभव र ज्ञान भएकोले यदि तँ आफूसँग सत्यता छ भनेर भन्छस् भने, के तैँले पवित्रता प्राप्त गरेको हुन्छस्? तैँले अझै किन भ्रष्टता देखाउँछस्? किन तैँले फरकरक प्रकारका मानिसहरूका बीचमा भिन्‍नता छुट्याउन सक्दैनस्? तैँले किन परमेश्‍वरको गावही दिन सक्दैनस्? तैँले केही सत्यता प्राप्त गरे पनि, के तैँले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छस्? के तँ परमेश्‍वरको स्वभावमा जिउन सक्छस्? तँसँग कुनै सत्यताको कुनै निश्‍चित पक्षबारे केही अनुभव र ज्ञान हुन सक्छ र तैँले आफ्नो वाणीमा केही ज्योति घुसाउन सक्छस होला, तर तैँले मानिसहरूलाई प्रदान गर्न सक्‍ने कुरा अत्यन्तै सीमित हुन्छ, र त्यो दीर्घकालीन रूपमा रहन सक्दैन। यस्तो किन हुन्छ भने तेरो बुझाइ र तैँले प्राप्त गरेको ज्योतिले सत्यताको सार र सत्यताको सम्पूर्णतालाई प्रतिनिधित्व गर्दैन। यसले सत्यताको एउटा वा सानो पक्षलाई मात्रै प्रतिनिधित्व गर्छ, यो मानवले हासिल गर्न सक्‍ने स्तर मात्रै हो, र यो अझै पनि सत्यताको सारबाट टाढै हुन्छ। यो थोरै ज्योति, अन्तर्दृष्टि, अनुभव र ज्ञानले कहिल्यै पनि सत्यताको स्थान लिन सक्दैन। सबै मानिसहरूले सत्यता अनुभव गरेर केही परिणाम हासिल गरे पनि, र तिनीहरूका सबै अनुभव र ज्ञानलाई एकै ठाउँमा राखे पनि, त्यो यो सत्यताको एक हरफको सम्पूर्णता र सारको स्तरमा पुग्‍न सक्दैन। विगतमा यस्तो भनिएको थियो, “म यसलाई मानव संसारका लागि एउटा सूत्रको रूपमा जोड्छु: मानिसहरूका माझमा, मलाई प्रेम गर्ने कोही पनि छैन।” यो वाक्य सत्यता हो, जीवनको साँचो सार, सबैभन्दा गहन कुरा, अनि परमेश्‍वर स्वयम्‌को एक अभिव्यक्ति हो। तीन वर्षको अनुभवपछि, तैँले थोरै सतही बुझाइ प्राप्त गरेको हुन सक्छस्, र सातआठ वर्षपछि, तैँले अलिक बढी बुझाइ प्राप्त गरेको हुन सक्छस्, तर यो बुझाइले सत्यताको यो हरफको स्थान कहिल्यै लिन सक्दैन। कोही अर्कोले पनि दुई वर्षपछि थोरै बुझाइ वा दश वर्षपछि थप बुझाइ प्राप्त गर्न सक्छ, वा जीवनभरमा तुलनात्मक रूपमा निकै उच्‍च बुझाइ प्राप्त गर्न सक्छ, तर तिमीहरू दुवैको समग्र बुझाइले पनि सत्यताको यो हरफको स्थान लिन सक्दैन। तिमीहरू दुवैले समग्र रूपमा जति धेरै अन्तर्ज्ञान, ज्योति, अनुभव, वा ज्ञान बटुले पनि, त्यो कुराले सत्यताको यो हरफको स्थान लिन सक्दैन। भन्‍नुको अर्थ, मानव जीवन सधैँ मानव जीवन नै हुन्छ, र तेरो ज्ञान सत्यता, परमेश्‍वरको इच्‍छा, वा परमेश्‍वरका मापदण्डहरूसँग जति मिले पनि, त्यसले कहिल्यै पनि सत्यताको स्थान लिन सक्दैन। मानिसहरूसँग सत्यता छ भन्‍नुको अर्थ मानिसहरूले साँचो रूपमा सत्यता बुझेका छन्, तिनीहरू परमेश्‍वरको वचनका केही वास्तविकताहरूमा जिउँछन्, तिनीहरूसँग परमेश्‍वरबारे केही वास्तविक ज्ञान छ, र तिनीहरूले परमेश्‍वरलाई उचाल्‍न र सन्तुष्ट पार्न सक्छन् भन्‍ने हुन्छ। तर मानिसहरूसँग पहिल्यैदेखि सत्यता छ भनेर भन्‍न सकिँदैन, किनभने सत्यता अत्यन्तै प्रगाढ हुन्छ। परमेश्‍वरको वचनको एउटा हरफलाई अनुभव गर्नसमेत जीवनभरिको समय लाग्‍न सक्छ, र धेरै जीवनकालको अनुभवपछि, वा हजारौँ वर्षपछि पनि, परमेश्‍वरको वचनको एउटा हरफलाई पूर्ण रूपमा अनुभव गर्न सकिँदैन। यो स्पष्ट छ कि सत्यतालाई बुझ्‍ने र परमेश्‍वरलाई चिन्‍ने प्रक्रिया वास्तवमै अनन्त हुन्छ, र मानिसहरूले जीवनकालभरिको अनुभवमा कति सत्यता बुझ्‍न सक्छन् भन्‍ने कुराको पनि सीमा हुन्छ। कतिपय मानिसहरूले परमेश्‍वरको वचनको पाठ्य तहको अर्थ बुझ्‍नासाथ तिनीहरूसँग सत्यता छ भनेर भन्छन्। के यो बकवास होइन र? ज्योति र ज्ञान दुवैको हकमा, गहनताको कुरा आउँछ। व्यक्तिले जीवनकालमा प्रवेश गर्न सक्‍ने सत्यता वास्तविकताहरू सीमित हुन्छन्। त्यसकारण, तँसँग केही ज्ञान र ज्योति छ भन्दैमा तँसँग सत्यता वास्तविकताहरू छन् भन्‍ने हुँदैन। मुख्य कुरा यो ज्योति र ज्ञानले सत्यताको सारलाई छुन्छ कि छुँदैन भन्‍ने हो। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। कतिपय मानिसहरूलाई तिनीहरूले कुनै कुरा प्रकाश पार्न सकेपछि वा थोरै सतही बुझाइ प्रदान गर्न सकेपछि तिनीहरूसँग सत्यता छ भन्‍ने लाग्छ। यो कुराले तिनीहरूलाई खुशी तुल्याउँछ, त्यसकारण तिनीहरू आफैप्रति गर्व र घमण्ड गर्छन्। वास्तवमा, तिनीहरू अझै पनि सत्यता वास्तविकतामा प्रवेश गर्नबाट टाढै हुन्छन्। मानिसहरूले के-कस्ता सत्यता प्राप्त गर्न सक्छन्? के सत्यता धारण गरेका मानिसहरू कुनै पनि समय र स्थानमा लड्न सक्छन्? मानिसहरूसँग सत्यता हुँदा, कसरी तिनीहरूले अझै पनि परमेश्‍वरलाई चुनौती र धोका दिन सक्छन्? यदि तैँले तँसँग सत्यता छ र यसले तँभित्र ख्रीष्‍टको जीवन भएको प्रमाणित गर्छ भनेर दाबी गर्छस् भने, यो त निर्लज्‍जताको पराकाष्ठा हो! के तँ प्रभु भएको छस्, ख्रीष्‍ट बनेको छस् र? यो हास्यास्पद अभिव्यक्ति हो, र यो पूर्णतया मानिसको अनुमान मात्र हो; यो मानव धारणा र कल्‍पनाहरूबाट आएको कुरा हो, र यो परमेश्‍वरसामु टिक्‍न सक्‍दैन।

मानिसहरूले सत्यता बझ्‍ने, र त्यसलाई आफ्नो जीवनको रूपमा जिउनेबारे कुरा गर्नुपर्दा, त्यो “जीवन” ले केलाई जनाउँछ? यसले तिनीहरूको हृदयमा सत्यता सर्वोच्‍च हुन्छ, तिनीहरू परमेश्‍वरको वचनको आधारमा जिउन सक्छन्, र तिनीहरूमा परमेश्‍वरका वचनहरूको वास्तविक ज्ञान र सत्यताको सच्‍चा बुझाइ छ भन्‍ने जनाउँछ। जब मानिसहरूभित्र यो नयाँ जीवन हुन्छ, यो पूर्णतया परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गरेर हासिल गरिएको हुन्छ। यो परमेश्‍वरका वचनहरूको सत्यताको जगमा निर्मित भएको हुन्छ, र यो सत्यताको क्षेत्रमा तिनीहरूको जियाइमार्फत प्राप्त भएको हुन्छ; मानिसहरूको जीवनमा हुने सबै कुरा भनेकै सत्यतासम्बन्धी तिनीहरूको ज्ञान र अनुभव हुन्छ। यही नै जग हो, र यसले त्यो दायरा नाघ्‍न सक्दैन; सत्यता र जीवन प्राप्त गर्ने कुरा गर्दा यही जीवनलाई इङ्गित गरिएको हुन्छ। परमेश्‍वरका वचनहरूको सत्यताअनुसार जिउन सक्‍नु भनेको मनिसहरूभित्र सत्यताको जीवन छ भन्ने हुँदैन, न त मानिसहरूसित तिनीहरूको जीवनको रूपमा सत्यता छ भन्दैमा तिनीहरू सत्यता बन्छन्, र तिनीहरूको आन्तरिक जीवन सत्यताको जीवन बन्छ भन्‍ने नै हुन्छ; झन् तिनीहरू सत्यता र जीवन हुन् भनेर भन्‍न सकिनु त परै जाओस्। आखिर, तिनीहरूको जीवन अझै पनि मानव जीवन नै हुन्छ। यदि तँ परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छस्, तँसित सत्यको ज्ञान छ, यदि यो ज्ञानले तँभित्र जरा गाड्छ र यो तेरो जीवन बन्छ, र तैँले अनुभवमार्फत प्राप्त गरेको त्यो सत्यता तेरो अस्तित्वको आधार बन्छ, यदि तँ परमेश्‍वरका यी वचनहरूअनुसार जिउँछस्, र यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन, र शैतानले तँलाई धोका दिन वा भ्रष्ट तुल्याउन सक्दैन भने, तैँले सत्यता र जीवन प्राप्त गरेको हुनेछस्। यसको मतलब, तेरो जीवनमा सत्यता, अर्थात् सत्यतासम्‍बन्धी तेरो बुझाइ, अनुभव, र अन्तर्ज्ञान मात्र हुन्छ; र तैँले जे गरे पनि, तँ यिनै कुराहरूअनुसार जिउँछस्, र तँ तिनको क्षेत्रभन्दा बाहिर जाँदैनस्। सत्यता वास्तविकता प्राप्त गर्नु भनेको यही हो, र परमेश्‍वरले आफ्‍नो कार्यद्वारा अन्तिममा प्राप्त गर्न चाहनुहुने मानिसहरू यिनै हुन्। तर मानिसहरूले सत्यलाई जति नै राम्ररी बुझे पनि तिनीहरूको सार अझै पनि मानवताकै हुन्छ, र त्यसलाई परमेश्‍वरको सारसँग कदापि तुलना गर्न सकिँदैन। यस्तो किन हो भने, तिनीहरूले सत्यको अनुभव निरन्तर गर्दै जान्छन्, र तिनीहरूले सत्यमा पूर्ण रूपमा जिउन असम्भव हुन्छ; तिनीहरूले मानिसहरूले प्राप्त गर्न सक्ने सत्यताको अति सीमित भाग मात्र जिउन सक्छन्। अनि, तिनीहरू कसरी परमेश्‍वरमा परिणत हुन सक्छन् र? यदि परमेश्‍वर आफैले मानिसहरूको एउटा समूहलाई सिद्ध बनाएर ठूला परमेश्‍वर र साना परमेश्‍वरहरू बनाउनुहुन्थ्यो भने, के त्यो अराजकता हुन्थेन र? यसबाहेक, यो असम्भव र बेतुकको कुरो हो—यो मानिसहरूको हास्यास्पद विचार हो। परमेश्‍वरले स्वर्ग, पृथ्वी र सबथोक सृष्टि गर्नुभयो, र त्यसपछि उहाँले मान्छेको सृष्टि गर्नुभयो, ताकि मान्छेले उहाँको आज्ञापालन र आराधना गरोस्। परमेश्‍वरले मान्छेको सृष्टि गर्नु सबभन्दा सार्थक कार्य थियो। तर परमेश्‍वरले मान्छेको मात्र सृष्टि गर्नुभयो; उहाँले ईश्‍वरहरूको सृष्टि गर्नुभएन। परमेश्‍वरले देहधारी भएर काम गर्नुहुन्छ, तर यो उहाँले ईश्‍वरको सृष्टि गरेजस्तो होइन। परमेश्‍वरले आफैलाई सृष्टि गर्नुभएको होइन। उहाँको आफ्नै सार छ र यो अपरिवर्तनीय छ। मानिसहरू परमेश्‍वरलाई चिन्दैनन्, त्यसैले तिनीहरूले परमेश्‍वरका वचनहरू अझ धेरै पढ्नुपर्छ; मानिसहरूले सत्यता तब मात्र बुझ्न सक्छन्, जब तिनीहरूले अक्सर यसको खोजी गर्छन्। कल्पनाको अधारमा मानिसहरूले जथाभाबी बोल्नुहुँदैन। यदि तँमा परमेश्‍वरका वचनहरूको अलिअलि अनुभव छ भने, र तँ आफूमा भएको सत्यको सच्‍चा अनुभव र ज्ञानअनुसार जिइरहेको छस् भने, परमेश्‍वरका वचनहरू क्रमिक रूपमा तेरो जीवन बन्‍नेछन्। तापनि, तैँले अझै पनि सत्य नै तेरो जीवन हो वा तैँले व्यक्त गरिरहेका कुराहरू सत्य हुन् भनेर भन्न सक्दैनस्; यदि तेरो विचार त्यस्तो छ भने, तँ गलत छस्। यदि तँसँग सत्यको एउटा खास पक्षबारे मात्रै अनुभव छ भने, के त्यसले तैँले सत्यता धारण गरेको अवस्था प्रतिनिधित्व गर्न सक्छ? के यसलाई सत्यता प्राप्त गरेको रूपमा लिन सकिन्छ? के तैँले सत्यको पूर्ण रूपमा वर्णन गर्न सक्छस्? के तैँले सत्यताबाट परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनहुन्छ त्यो पत्ता लगाउन सक्छस्? यदि यी प्रभावहरू हासिल गर्न सकिएन भने, यसले के प्रमाणित गर्छ भने सत्यताको कुनै पक्षलाई अनुभव गर्ने कार्यलाई मात्रै साँचो रूपमा सत्यता बुझेको वा परमेश्‍वरलाई चिनेको मान्‍न सकिँदैन, यसलाई सत्यता प्राप्त गरेको भनेर भन्‍न सकिनु त परको कुरा हो। प्रत्येक व्यक्तिसँग सत्यको एक पक्ष र क्षेत्रको मात्र अनुभव हुन्छ; उसले यसलाई सीमित क्षेत्रभित्र अनुभव गर्छ, तर सत्यको सबै अनगन्ती पक्षहरूलाई छुन सक्दैन। के मानिसहरू सत्यताको वास्तविक अर्थअनुसार जिउन सक्छन्? तेरो थोरै अनुभवको परिमाण कति हुन्छ? समुद्र किनारको बालुवाको केवल एउटा कण जति; समुद्रको पानीको केवल एक थोपा जति। त्यसकारण तैँले आफ्ना अनुभवहरूबाट प्राप्त गरेको त्यो ज्ञान र ती भावनाहरू जति नै मूल्यवान भए पनि, तिनलाई पनि अझै सत्यताको रूपमा गन्ती गर्न सकिँदैन। तिनलाई सत्यताअनुरूपका छन् भनेर मात्रै भन्‍न सकिन्छ। सत्यता परमेश्‍वरबाट आउँछ, र सत्यताले समावेश गर्ने भित्री अर्थ र वास्तविकताहरू एकदमै व्यापक हुन्छन्, र तिनलाई कसैले पनि बुझ्‍न वा खण्डन गर्न सक्दैन। जबसम्म तँसँग सत्यता र परमेश्‍वरको बारेमा वास्तविक बुझाइ हुन्छ, तबसम्म तैँले केही सत्यता बुझ्‍नेछस्; कसैले पनि यी वास्तविक बुझाइको खण्डन गर्न सक्‍नेछैन, र सत्यता वास्तविकता भएका गवाहीहरू सदासर्वदा टिकिरहनेछन्। सत्यता वास्तविकताहरू भएका मानिसहरूलाई परमेश्‍वरले तारिफ गर्नुहुन्छ। जबसम्म तैँले सत्यताको खोजी गर्छस्, र तँ जस्तोसुकै परिस्थितिमा भए पनि परमेश्‍वरका वचनहरूलाई अनुभव गर्न परमेश्‍वरमा भरोसा गर्न र सत्यतालाई तेरो जीवनको रूपमा स्वीकार गर्न सक्छस्, तबसम्म तँसँग मार्ग हुनेछ, तँ बाँच्‍न सक्‍नेछस्, र तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछस्। तर मानिसहरूले प्राप्त गर्ने थोरै कुरा सत्यताअनुरूप भए पनि, त्यसलाई सत्यता हो भनेर भन्‍न सकिँदैन, तिनीहरूले सत्यता प्राप्त गरेका छन् भनेर भन्‍न सकिनु त परको कुरा हो। मानिसहरूले प्राप्त गरेका थोरै ज्योति तिनीहरू आफै वा निश्‍चित क्षेत्रमा रहेका अरू केहीका निम्ति मात्रै उपयुक्त हुन्छन्, तर फरक क्षेत्रमा रहेका मानिसहरूका निम्ति उपयुक्त हुँदैनन्। कुनै व्यक्तिको अनुभव जति नै गहन भए पनि, त्यो अझै अत्यन्तै सीमित हुन्छ, र तिनीहरूको अनुभव कहिल्यै पनि सत्यताको गहिराइसम्म पुग्दैन। व्यक्तिको ज्योति र व्यक्तिको बुझाइलाई सत्यतासँग कहिल्यै पनि तुलना गर्न सकिँदैन।

जब मानिसहरूले परमेश्‍वरका वचनहरूको केही अनुभव गर्छन्, र केही सत्यता र परमेश्‍वरको थोरै इच्छा बुझ्छन्, जब तिनीहरूसँग परमेश्‍वरबारे केही ज्ञान हुन्छ र तिनीहरूको स्वभाव केही परिवर्तन वा धोइपखाली हुन्छ, तब पनि अझै तिनीहरू व्यक्ति र सृष्टि गरिएका मानवजाति नै हुन् भनेर मात्र भन्न सकिन्छ, तर त्यस्तो व्यक्ति ठ्याक्कै परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको सामान्य प्रकारको व्यक्ति हो। अनि, तँचाहिँ कस्तो प्रकारको व्यक्ति होस्? कतिपय मानिसहरू भन्छन्, “म सत्यता भएको व्यक्ति हुँ।” यस्तो भन्नु उचित हुँदैन। तैँले केवल यसो भन्न सक्छस्, “म शैतानले भ्रष्ट पारेको, र परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेको व्यक्ति हुँ। मैले अन्ततः सत्यता बुझेँ र मेरो भ्रष्ट स्वभाव पखालिएको छ। म त बस परमेश्‍वरले मुक्ति दिनुभएको एक व्यक्ति मात्र हुँ।” यदि तैँले “म सत्यता भएको व्यक्ति हुँ। मैले परमेश्‍वरका सबै वचनहरू अनुभव गरेको छु र ती सबै बुझेको छु। परमेश्‍वरले भन्नुभएका सबै कुराको अर्थ र ती वचनहरू बोलिएका सन्दर्भ र परिवेश मलाई थाहा छ। म यो सबै जान्दछु। यसको अर्थ मसँग सत्यता छ भन्ने होइन र?” भनेर भन्छस् भने, तँ फेरि गलत हुनेछस्। परमेश्‍वरका वचनहरूको केही अनुभव हासिल गर्नु र ती वचनबाट केही ज्योति प्राप्त गर्नुले तँलाई सत्यता भएको व्यक्ति बनाउँदैन। केही धर्मसिद्धान्त मात्र बुझ्न र छलफल गर्नसक्ने व्यक्ति त झन् यस्तो दाबी गर्न कमै योग्य हुन्छ। परमेश्‍वरसामु र सत्यतासामु व्यक्तिले कुन स्थान लिनुपर्छ, मानिसहरू के हुन्, मान्छेभित्र कस्तो जीवन छ र परमेश्‍वरको जीवन कस्तो छ भन्ने कुराको बोध मानिसहरूले राम्रोसँग गर्नुपर्छ। तिनीहरूले मान्छेको सार के हो भनेर बुझ्नुपर्छ। केही दिनसम्म परमेश्‍वरको काम अनुभव गरेपछि र धर्मसिद्धान्तका केही शब्द र वाक्यांश बुझेपछि कतिपय मानिसहरूले आफूसँग सत्यता भएको ठान्छन्। तिनीहरू सबभन्दा अहङ्कारी मानिसहरू हुन् र तिनीहरूमा विवेक हुँदैन। यो मामिलालाई विश्‍लेषण गर्नु आवश्यक छ, ताकि मानिसहरूले आफूलाई राम्रोसँग बुझ्न र मानवजातिलाई जान्न सकून्, र ताकि तिनीहरूले भ्रष्ट मानवजाति कस्तो हुन्छ, सिद्ध पारिएपछि अन्ततः मानिसहरूले कुन स्तर हासिल गर्छन्, र तिनीहरूलाई सम्बोधन गर्ने र नाम दिने उपयुक्त तरिका के हो भनी बुझ्न सकून्। मानिसहरूले यी कुराहरू जान्नुपर्छ र कल्पनाको उडानमा लिप्त हुनुहुँदैन। मानिसहरू आफूलाई कसरी व्यवहारमा ढाल्ने भन्ने कुरामा अलि बढी यथार्थवादी हुनुपर्छ र यसरी तिनीहरू अलिक बढी स्थिर हुनेछन्। परमेश्‍वरमा विश्‍वास गर्ने केही मानिसहरू आफ्नै सपनाहरू पछ्याउँछन्, र सधैँ परमेश्‍वरको जीवन र छवि जिउन चाहन्छन्। के यो यथार्थपरक छ? मानिसहरू सधैँ परमेश्‍वरको जीवन प्राप्त गर्न चाहन्छन्—के यो खतरनाक कुरा होइन र? यो त मानवको अहङ्कारी महत्त्वाकाङ्क्षा हो र यो ठ्याक्‍कै शैतानको अहङ्कारी महत्त्वाकाङ्क्षा जस्तै कुरा हो। कतिपय मानिसहरू मण्डलीमा केही समय काम गरेपछि यस्तो विचार गर्न थाल्छन्, “सत्ताबाट ठूलो रातो अजिङ्गर हटेपछि के हामीले राजा बनेर सत्ता चलाउनुपर्ने हो? हामीमध्ये प्रत्येकले कतिवटा सहरको नियन्त्रण गर्नुपर्ने होला?” यदि एउटा व्यक्तिले यस्ता कुराहरू व्यक्त गर्न सक्छ भने त्यो भयानक कुरा हो। अनुभव नभएका मानिसहरूले धर्मसिद्धान्तबारे कुरा गर्न र कल्पनामा लिप्त हुन मन पराउँछन्। अनि यस्तो गर्ने क्रममा, तिनीहरूले आफूलाई चलाख रहेको पनि महसुस गर्छन्, मानौँ तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता पाएका छन्, मानौँ तिनीहरू ख्रीष्ट र परमेश्‍वरझैँ जिइरहेका छन्। तिनीहरू सबै पावलका चेला हुन् र तिनीहरू पावलको मार्गमै हिँड्दै छन्। यदि यस्ता मानिसहरू निरन्तर अपश्‍चात्तापी रहिरहे भने, तिनीहरू सबै नै ख्रीष्टविरोधी बनेर कठोर सजायको भागीदार बन्‍नेछन्।

अंश ८

परमेश्वरका वचनमा छेडछाड गर्नु कस्तो प्रकृतिको समस्या हो? यदि तँ परमेश्वरका वचनलाई बदल्छस् र उहाँको बोलीलाई छेडछाड गर्छस् भने त्यो परमेश्वरप्रति सबैभन्दा गम्भीर विरोध र निन्दा हुन्छ। शैतान वर्गका मानिसहरूले मात्रै यस्तो दुष्कर्म गर्न सक्छन्, र तिनीहरू प्रधान स्वर्गदूतजस्तै हुन्। प्रधान स्वर्गदूतले भनेको थियो: “परमेश्वर, तपाईं स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्न सक्नुहुन्छ, अनि चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्नुहुन्छ—यो त म पनि गर्न सक्छु। तपाईं सिंहासनमा विराजमान हुनुहुन्छ, र म पनि विराजमान हुनेछु। तपाईं सारा राष्ट्रमाथि शासन गर्नुहुन्छ, र म पनि गर्छु। तपाईंले मानव सृष्टि गर्नुभयो, र म तिनीहरूलाई व्यवस्थापन गर्छु!” प्रधान स्वर्गदूत यत्तिको अहङ्कारी छ; उसमा रत्तिभर समझ छैन। परमेश्वरका वचनमा छेडछाड गर्नुको प्रकृति र प्रधान स्वर्गदूतको प्रकृति उस्तै छ, अर्थात् त्यो त परमेश्वरको प्रत्यक्ष विरोध र निन्दा गर्नुको प्रकटीकरण हो। परमेश्वरका वचनमा छेडछाड गर्ने मानिसहरूले नै सबैभन्दा बढी उहाँको विरोध गर्छन्, र उहाँको स्वभावलाई प्रत्यक्ष रूपमा चिढ्याउँछन्। परमेश्वर उहाँका वचनलाई छेडछाड गर्ने मानिसहरूभन्दा बढी अरू कसैलाई घृणा गर्नुहुन्न। परमेश्वरका वचनमा छेडछाड गर्नु नै उहाँको र पवित्र आत्माको निन्दा गर्नु हो, र यो अक्षम्य पाप हो भनेर भन्न सकिन्छ। मानिसहरूले परमेश्वरका वचनमा छेडछाड गर्नुबाहेक उहाँको स्वभावलाई चिढ्याउने अर्को कुरा पनि छ, त्यो हो, मानिसले कार्य प्रबन्धलाई यतिकै बदल्ने हिम्मत गर्नु, अनि त्यसपछि परमेश्वरका चुनिएका जनलाई छल गर्न ती बदलाब मण्डलीमा सिकाउनु, र मण्डलीको काममा बाधा र अवरोध ल्याउनु। यो पनि परमेश्वरप्रति प्रत्यक्ष विरोधको प्रकटीकरण र उहाँको स्वभावलाई चिढ्याउने कुरा हो। कतिपय मानिसमा परमेश्वरको डर मान्ने हृदय फिटिक्कै हुँदैन। तिनीहरू कार्य प्रबन्धहरू मानवलिखित हुन् र ती मानवबाट आउँछन् भनेर विश्वास गर्छन्, अनि आफू मानिसका यी धारणासँग सहमत नहुँदा आफूखुसी ती परिवर्तन गर्छन्। के तिमीहरूलाई यसले परमेश्वरका कुन-कुन प्रशासनिक आदेश उल्लङ्घन गर्छ भनेर थाहा छ? (७. “मण्डलीको काम र मामिलाहरूमा, परमेश्‍वरको आज्ञापालन गर्नुबाहेक, सबै कुरामा पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्तिका निर्देशनहरू पालना गर्। सानोभन्दा सानो उल्‍लङ्घन पनि स्वीकार्य छैन। पूर्ण रूपले आज्ञापालन गर्, र सही वा गलतको विश्लेषण नगर्; सही वा गलतको तँसँग कुनै सम्बन्ध छैन। तैँले पूर्ण आज्ञापालन गर्ने कुरामा मात्र ध्यान दिनैपर्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)।) प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने कुराहरूले परमेश्वरको स्वभावलाई चिढ्याउँछन्। के तँ यो स्पष्टसँग देख्न सक्दैनस्? माथिका कार्य प्रबन्धप्रति कतिपय मानिसको मनोवृत्ति अत्यन्तै लापर्बाही हुन्छ। तिनीहरूलाई यस्तो लाग्छ, “माथिले कार्य प्रबन्धहरू मिलाउनुहुन्छ, र हामी मण्डलीमा कार्य गर्छौँ। कतिपय वचन र मामिला लचिलो तरिकाले कार्यान्वयन गर्न सकिन्छ। तिनलाई खास गरी कसरी गर्ने भन्ने कुरा हामीमा निर्भर हुन्छ। माथिले केवल बोल्नुहुन्छ र कार्य प्रबन्धहरू मिलाउनुहुन्छ; त्यसलाई व्यवहारमा लागू गर्ने त हामी हौँ। त्यसैले, माथिले हामीलाई काम सुम्पिनुभएपछि हामी त्यसलाई आफूले चाहेअनुसार गर्न सक्छौँ। यसलाई जसरी गरिए पनि फरक पर्दैन। हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन।” तिनीहरूले लागू गर्ने सिद्धान्त यी हुन्: तिनीहरू आफूलाई सही लाग्ने कुरा सुन्छन् र गलत लाग्ने कुरा बेवास्ता गर्छन्, तिनीहरू आफ्नो विश्वासलाई सत्यता र सिद्धान्त मान्छन्, तिनीहरू आफ्नो इच्छासँग नमिल्ने जुनसुकै कुराको प्रतिरोध गर्छन्, र तिनीहरू ती कुराको मामिलामा तँप्रति उग्र विरोधभाव राख्छन्। तिनीहरू माथिका वचनहरू आफ्नो इच्छासँग नमिल्दा हत्तपत्त ती परिवर्तन गर्छन् र आफू तीसँग सहमत भएपछि मात्रै अरूलाई सिकाउँछन्। तिनीहरू आफू सहमत नभई ती सिकाउन दिँदैनन्। अन्य क्षेत्रमा माथिका कार्य प्रबन्धहरू जस्ताको तस्तै सिकाइने भए पनि, यी मानिसहरूचाहिँ आफ्नो रेखदेखमा रहेका मण्डलीहरूमा कार्य प्रबन्धको आफ्नो परिवर्तित संस्करण सिकाउँछन्। यस्ता मानिसहरू जहिले पनि परमेश्वरलाई पन्छाउन चाहन्छन्; तिनीहरू सबैलाई आफूमा विश्वास गराउन, आफूलाई पछ्याउन र आफ्नो आज्ञा मान्न लगाउन उत्सुक हुन्छन्। तिनीहरूको मनमा, कतिपय क्षेत्रमा परमेश्वर मेरो बराबर हुनुहुन्न भन्ने हुन्छ—तिनीहरू आफै परमेश्वर बन्नुपर्छ र अरूले तिनीहरूमा विश्वास गर्नुपर्छ। यसको प्रकृति नै त्यही हो। यदि तिमीहरूले यो कुरा बुझेका भए, तिनीहरूलाई बर्खास्त गरिँदा के तिमीहरू अझै रुनेथ्यौ? के तिमीहरू अझै पनि तिनीहरूका लागि दु:खी हुनेथ्यौ? के तिमीहरू अझै पनि “माथिले अनुचित व्यवहार गर्नुभयो। उहाँ मानिसलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्छ। उहाँ कसरी त्यस्तो मेहनती व्यक्तिलाई बर्खास्त गर्न सक्नुहुन्छ” भनी सोच्नेथ्यौ? यसो भन्नेहरू नासमझ हुन्। तिनीहरू कसका लागि मेहनत गरिरहेका छन्? परमेश्वरका लागि? मण्डलीका लागि? तिनीहरू आफ्नो हैसियत बलियो पार्न मेहनत गर्छन्; तिनीहरू स्वतन्त्र राज्य स्थापना गर्न मेहनती हुन्छन्। के तिनीहरू परमेश्वरको सेवा गरिरहेका छन्? के तिनीहरू आफ्नो कर्तव्य निभाइरहेका छन्? तिनीहरू शैतानका खाँटी नोकर हुन्, र तिनीहरूले काम गर्दा दियाबलसले शासन गरिरहेको हुन्छ। तिनीहरू परमेश्वरको व्यवस्थापन योजनालाई हानि गर्छन् र परमेश्वरको काममा बाधा पुऱ्याउँछन्। तिनीहरू ठेट ख्रीष्टविरोधी हुन्! कतिपय मानिस भन्छन्, “हेर त, तिनीहरू कति मेहनत गरिरहेका छन्—ती सब लेख्न र ती मण्डलीहरूमा सिकाउन निकै परिश्रम चाहिन्छ।” त्यसोभए, म तिमीहरूलाई सोध्न चाहन्छु, के तिनीहरूले लेख्ने कुरा मानिसका लागि शिक्षाप्रद हुन्छन्? तिनीहरूले ठ्याक्कै हासिल गर्न खोजेको लक्ष्य के हो? के तैँले यी मामिला बुझेको छस्? यदि तँ तिनीहरूको छलमा परिस् भने परिणाम के हुनेछ? के तिमीहरूले त्यो विचार गरेका छौ? कतिपयलाई यस्ता मानिसप्रति दया जाग्छ, र तिनीहरू भन्छन्: “तिनीहरू धेरै मेहनत गर्छन् र यी सब लेख्न सजिलो छैन, त्यसैले तिनीहरूले लेखेका कुरामा केही विचलन र तोडमोड गरिएका छन् भने परमेश्वरको घरले तिनीहरूलाई माफ गर्नुपर्छ।” तिनीहरूले यसो भन्नुमा के समस्या छ? के मेहनत गरेर मात्रै परमेश्वरको स्याबासी पाउन सकिन्छ? ती मानिसहरू कसका लागि मेहनत गरिरहेका छन्? यदि तिनीहरू परमेश्वरलाई सन्तुष्ट पार्न र महिमित तुल्याउन नभई हैसियत प्राप्त गर्न सक्न मेहनत गरिरहेका छन् भने, तिनीहरूले जति नै मेहनत गरे पनि के त्यसको कुनै महत्त्व वा मूल्य हुन्छ? यस्तो मेहनत स्वार्थी र नीच, दुष्ट र निर्लज्ज हुन्छ! यदि यस्तो ख्रीष्टविरोधीलाई बर्खास्त गरिएन भने परिणाम के हुनेछ? मानिसहरूले आफूखुसी मण्डलीको काममा बाधा पुर्‍याउनेछन् र तिनीहरू थाहा नपाई नै परमेश्वरविरोधी बन्नेछन्। के यो परमेश्वरको काममा बाधा र अवरोध पुऱ्याउनु होइन र? यदि तिनीहरू आफ्नै उद्देश्य प्राप्तिका लागि मेहनत गर्छन् भने के तिनीहरूलाई परमेश्वरको विरोध गर्ने अधिकार हुन्छ? के त्यसपछि तिनीहरूले उहाँको विरोध र उहाँविरूद्ध विद्रोह गर्नुपर्छ? के तिनीहरूले स्वेच्छाचारी र लापर्बाह भई उहाँको अवज्ञा गर्नुपर्छ? के तिनीहरूले आफूलाई जे मन लाग्यो त्यही गर्दा हुन्छ? सत्यता नहुने, परमेश्वरको अवज्ञा गर्ने, र आफूले गर्ने सबै कुरा उचित र सही ठान्दै अन्धाधुन्ध काम गर्न मात्र चाहनेहरू मण्डलीको काममा बाधा र अवरोध पुऱ्याउने खाँटी दियाबलस र शैतानका नोकर हुन्! यदि तँ यस्ता मानिसलाई खुट्टयाउन सक्दैनस् मात्र होइन, उल्टै सहानुभूति पनि देखाउँछस्, तिनीहरूका लागि आँसु बगाउँछस् र तिनीहरूको बचाउमा उत्रिन्छस् भने, तँ निकम्मा, दिग्भ्रमित र मन्द बुद्धिको व्यक्ति पनि होस्। तँ अझै सोच्लास्: “माथिले तिनीहरूको भावनालाई वास्ता गरिरहनुभएको छैन। त्यो व्यक्तिले कडा मेहनत गर्‍यो, तर माथिले उसलाई यतिकै हटाउनुभयो।” यदि तँ यसो भन्छस् भने तँ पनि शैतानको नोकर होस् र तँ दियाबलसको होस्। धेरै मानिस शैतानी दर्शनअनुसार जिउँछन्, कहिल्यै झूटा अगुवा र ख्रीष्टविरोधीहरूको खुलासा र रिपोर्ट गर्दैनन्, अनि एक दिन कुनै ख्रीष्टविरोधीले विनाशकारी कार्य गरेपछि बल्ल तिनीहरूले यो त ख्रीष्टविरोधीले मानिसलाई साँच्चै छल गरिरहेको हो भन्ने महसुस गर्छन्। कतिपय मानिसमा अझै पनि यसबारे धारणाहरू हुन्छन्, तिनीहरू यस्तो सोच्छन्: “परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, र मण्डलीमा कति जना ख्रीष्टविरोधी छन् भन्ने कुरा माथिलाई थाहा हुनुपर्छ, त्यसैले के हामीले तिनीहरूबारे रिपोर्ट गर्नु आवश्यक छ?” यसो भन्ने मानिसहरू निरर्थक होइनन् र? अहिले, परमेश्वर मानवत्वमा काम गरिरहनुभएको छ र माथिका अगुवा मानव हुनुहुन्छ, त्यसैले यदि उहाँ मण्डलीका मामिलासँग प्रत्यक्ष सम्पर्कमा आउनुभएन भने, उहाँलाई कसरी यी कुराबारे थाहा हुन सक्छ र? धेरैपटक ख्रीष्टविरोधीसम्बन्धी घटनामा कतिपय मानिसले तिनीहरूको रिपोर्ट र खुलासा गरेपछि मात्रै समस्या समाधान भएको थियो, र माथिले छानबिन गर्ने आदेश दिनुभएको थियो। परमेश्वर सामान्य मानवत्वमा काम गर्नुहुँदा र मानिसहरूको अगुवाइ लिनुहुँदा पटक्कै अलौकिक हुनुहुन्न र उहाँ एकदमै व्यावहारिक हुनुहुन्छ, तर उहाँ शैतानलाई जित्नुहुन्छ, हराउनुहुन्छ र लज्जित पार्नुहुन्छ। यसरी मात्रै उहाँको सर्वशक्तिमानता र बुद्धि प्रकट हुन सक्छ। परमेश्वरको काम यस्तो व्यावहारिक छ; उहाँ यी सबै मानिस, घटना र कामकुराको प्रबन्ध मिलाउनुहुन्छ, ताकि उहाँका चुनिएका जनहरूले पाठ सिकून्, समझ प्राप्त गरून् र आफ्नो ज्ञान फराकिलो पारून्। उहाँका चुनिएका जनहरूले समझ प्राप्त गरिसकेपछि झूटा अगुवा, ख्रीष्टविरोधी र दुष्ट मानिसहरू “कानुनको लामो हात” बाट उम्कन सक्नेछैनन्। परमेश्वरले तिनीहरूलाई खुलासा गर्न र आफ्ना सबै चुनिएका जनलाई स्पष्ट रूपमा देख्ने र बुझ्ने सक्षम पार्न यी तथ्यहरू प्रयोग गर्नुहुनेछ। के विगतमा धेरै दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई खुलासा गरेर हटाइएको थिएन र? के कसैले यस मामिलालाई स्पष्टसँग देख्न सक्दैन र? त्यसोभए तिमीहरू एकदमै दिग्भ्रमित छौ।

कतिपय मानिसले परमेश्वरको घरको कार्य प्रबन्धका केही भागहरू नबुझे पनि, तिनीहरू यसो भन्दै समर्पित हुन सक्षम हुन्छन्: “परमेश्वरले गर्ने सबै कुरा सही र अर्थपूर्ण हुन्छ। यदि हामी कार्य प्रबन्धहरू पूर्ण रूपले बुझ्दैनौँ भने पहिले तिनमा समर्पित हुनुपर्छ। हामी परमेश्वरको आलोचना गर्न सक्दैनौँ! कार्य प्रबन्धहरू हाम्रा धारणासँग मेल नखाए पनि हामीले ती मान्नुपर्छ, किनभने हामी मानव हौँ, र मानव मनले के देख्न सक्छ? हामी खुरुक्क परमेश्वरका प्रबन्धहरूमा समर्पित हुनुपर्छ; हामीले तिनलाई बुझ्ने दिन आउनेछ। त्यो दिन आउँदा हामीले तिनलाई पूर्ण रूपले बुझ्न सकेनौँ भने पनि हामी स्वेच्छाले समर्पित हुनुपर्छ। हामी मानिस हौँ, र हामी परमेश्वरमा समर्पित हुनुपर्छ। हामीले यसै गर्नुपर्छ।” तर कतिपय मानिस फरक हुन्छन्, र तिनीहरूले परमेश्वरको घरका कार्य प्रबन्धहरू देख्दा सुरुमा यसो भन्दै ती अध्ययन गर्नेछन्: “परमेश्वर यसो भन्नुहुन्छ, र यी उहाँका माग हुन्। पहिलो माग ठिकै देखिन्छ, तर दोस्रो भने त्यति उपयुक्त छैन। म यसलाई परिवर्तन गरिहाल्नेछु।” के यस्ता मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ? यदि तँ आफूखुसी कार्य प्रबन्धहरू परिवर्तन गर्छस् भने, यो कस्तो प्रकृतिको समस्या हो? के यो परमेश्वरको घरको काममा बाधा र अवरोध पुऱ्याउनु होइन र? के तँसँग भएका कुरा सत्यता हुन्? यदि तँसँग साँच्चै सत्यता छ भने, तँ त्यो किन व्यक्त गर्दैनस् त? किन तँ परमेश्वरका वचनलाई बदल्छस्? यसो गरेर तैँले कस्तो स्वभाव प्रकट गर्छस्? यो कसैलाई नटेर्ने अहङ्कारी र आत्मधर्मी स्वभाव हो। यदि तँ परमेश्वरका प्रबन्धहरूको मामिलामा नाटीकुटी गरेर छनोट गर्ने हिम्मत गर्छस् भने तेरो मनस्थिति र स्वभावमा गम्भीर समस्या छ। परमेश्वरका चुनिएका जनले यस्ता मानिसलाई खुट्याउनुपर्छ। सर्वप्रथम, त्यस्ता मानिसहरू समस्या समाधान गर्न सत्यताबारे सङ्गति गर्न सक्दैनन्, तैपनि तिनीहरूलाई आफूले सत्यता बुझ्छु भन्ने लाग्छ र तिनीहरूले कसैलाई टेर्नेछैनन्। दोस्रो, तिनीहरूमा कार्य प्रबन्धबारे धारणा हुँदा तिनीहरू परमेश्वरको घरलाई बताउँदैनन्, बरु चारैतिर फैलाउँछन्। तेस्रो, तिनीहरूले आफूमा परमेश्वर र परमेश्वरको घरबारे धारणा हुँदा ती समाधान नगर्ने मात्र होइन, उहाँलाई तिनीहरूको इच्छाअनुसार काम गर्न र अन्तत: उहाँलाई कुरा मान्न बाध्य पार्न परमेश्वरका चुनिएका जनलाई उहाँबारे धारणा विकास गर्न र उहाँविरुद्ध खडा हुन उक्साउँछन्। यी तीन व्यवहारका आधारमा यी मानिसहरू कस्ता खालका हुन् भनेर निश्चित हुन सकिन्छ। के तिनीहरू सत्यता खोजी गर्ने र परमेश्वरमा समर्पित हुने मानिस हुन्? कदापि होइनन्। तिनीहरू रत्तिभर सत्यता खोजी गर्दैनन् र तिनीहरू परमेश्वरसँग असन्तुष्टसमेत हुन्छन्। तिनीहरूमा परमेश्वरबारे धारणाहरू हुन्छन्, अनि तिनीहरू यी धारणाहरू फैलाएर सबैलाई उहाँबारे धारणाहरू विकास गर्न र उहाँविरूद्ध खडा हुन अनि उहाँको विरोध गर्न लगाउँछन्। यस आधारमा तिनीहरूलाई खाँटी, पूर्ण ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न सकिन्छ। यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? के तिनीहरूलाई प्रेमपूर्वक मद्दत गर्नुपर्छ? यसो गर्नु वाहियात हो, किनभने तिनीहरू सत्यता स्विकार्दैनन्। तिनीहरूलाई काटछाँट र निराकरण गर्दा कसो होला? यो पनि वाहियात कुरा हो, किनभने तिनीहरू सत्यता स्विकार्दैनन्। यदि परमेश्वरमा विश्वास गर्नेहरू सत्यता स्विकार्न सक्दैनन् भने यो गम्भीर समस्या र अत्यन्तै खराब कुरा हो! यदि तँ यस मामिलालाई अति हल्का रूपले हेर्छस् र यसलाई ठूलो कुरा ठान्दैनस् भने, तैँले एक दिन परमेश्वरलाई चिढ्याउनेछस्। मैले यस्ता कतिपय मानिस देखेको छु, र तिनीहरूलाई अहिलेसम्म नहटाइएको भए पनि, तिनीहरूको अन्त्य निर्धारित गरिसकिएको छ: तिनीहरू हटाइनेछन्।

परमेश्वरलाई विश्वास गर्नेहरूमा कम्तीमा पनि परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ। अनि परमेश्वरको डर मान्नु भनेको चाहिँ के हो? मानिसहरू परमेश्वरदेखि डराउनैपर्छ, तिनीहरूले सबै कुरा सावधानीसाथ र ध्यान दिएर गर्नैपर्छ, आफ्ना कामकुरा यताउता मिलाउन अलि ठाउँ छोड्नुपर्छ, र आफूलाई जे मन लाग्यो त्यही मात्र गर्नु हुँदैन। उदाहरणका लागि, परमेश्वरको घरले केही झूटा अगुवालाई बर्खास्त गर्दा कतिपय मानिस भन्छन्: “म यस मामिलाबारे पक्कापक्की भन्न सक्दिनँ। तिनीहरूले ठ्याक्कै के गरे भनेर हामीलाई थाहा छैन, र हामीलाई थाहा भएको भए पनि, तिनीहरूले गरेका कामकुराको प्रकृति हामीले गहन रूपमा बुझ्न सक्थेनौँ। परमेश्वरले गर्ने सबै कुरा सही हुन्छन्, र एक दिन उहाँले कुरा प्रस्ट पार्नुहुनेछ र हामीलाई उहाँको इच्छा बुझ्न दिनुहुनेछ।” यदि तँ परमेश्वरको घरले किन यसरी कामकुरा गर्छ भनेर बुझ्दैनस्, तर पनि समर्पित हुन सक्छस् भने, तँ ठिकठिकैको भक्त व्यक्ति होस्, जोसँग अलि परमेश्वरको डर मान्ने हृदय छ भन्न सकिन्छ। यदि तैँले नबुझे पनि आफूलाई परमेश्वरविरूद्ध उभ्याउँछस् र मण्डलीको काममा बाधा पुर्‍याउँछस् भने, तँ समस्यामा पर्नेछस्। मण्डलीले केही झूटा अगुवा र ख्रीष्टविरोधीलाई हटाउँदैपिच्छे तिनीहरूका कट्टर अनुयायी तिनीहरूका पक्षमा उभिएर तिनीहरूको बचाउ गर्छन्, यसका लागि सार्वजनिक रूपमा परमेश्वरको आलोचना गर्छन्, उहाँलाई अधर्मी भन्छन्, र पवित्र आत्मालाई यो मामिला खुलासा गरिमाग्छन्। यस्ता मानिसहरूले सुसमाचार सुनाउँदा र आफ्नो कर्तव्य निर्वाह गर्दा असाधारण सेवा प्रदान गरे पनि यी कुनै कुराले महत्त्व राख्दैनन्। एउटा विश्वासघातले सधैँका लागि तेरो भाग्य निर्धारण गर्नेछ। तैँले विश्वासघातको सारलाई स्पष्टसँग बुझ्नैपर्छ; यो कुनै ठूलो कुरा होइन भनेर नसोच्। तिमीहरू सबैले परमेश्वरको विरोध गरेका छौ, तिमीहरू सबैले अपराध गरेका छौ भनेर भन्न सकिन्छ। तर, तिमीहरूको विरोध र अपराधको प्रकृति फरक-फरक छ। मैले भर्खरै बताएको विषय निकै गम्भीर प्रकृतिको छ र यसमा परमेश्वरप्रतिको सार्वजनिक अलोचना र विरोध समावेश छ। कतिपय मानिसलाई सधैँ केही न केही, केही चिठीपत्र लेख्न मन पर्छ, जुन तिनीहरू त्यतिकै मण्डलीमा बाँड्छन्। के यो सिद्धान्तअनुरूप हो? के तिनीहरूले लेख्ने कुरा साँचो गवाही हो? के त्यो जीवन अनुभव हो? के त्यो परमेश्वरका चुनिएका जनका लागि शिक्षाप्रद छ? यदि त्यो त्यस्तो छैन, र पनि यी मानिसहरू त्यो त्यतिकै मण्डलीमा बाँड्छन् भने तिनीहरूले मानिसलाई छल गरिरहेका हुन्छन्, झूटो शिक्षा र भ्रम फैलाइरहेका हुन्छन्, तथ्यलाई तोडमोड गरिरहेका हुन्छन्, सही र गलतलाई छ्यासमिस पारिरहेका हुन्छन्, अनि एकदमै बकवास कुरा बोल्नसम्म बोलिरहेका हुन्छन्। कतिपय मानिस त आफ्नै किताब लेख्न, त्यसलाई मण्डलीमा पठाउन र प्रसिद्धि कमाउनसमेत चाहन्छन्। के मानिसहरूले पावलको उदाहरणबाट गतिलो पाठ सिकेका छैनन् र? तँ अझै किताब लेख्न, “सेलेब्रिटी आत्मकथा” लेख्न र “सत्यताको सारांश” बनाउन चाहन्छस्। तैँले त्यसो गर्नुको कुनै कारण छैन! यदि तँ सक्छस् भने केही अनुभवात्मक गवाहीहरू लेख्। तैँले परमेश्वरमा विश्वास गरेको यत्तिका केही वर्षमा पर्याप्त न्याय र कष्ट भोगेको छैनस् र? के तँ अझै पनि यो मामिलालाई स्पष्टसँग देख्न सक्दैनस्? मानिसहरू के बुझ्छन्? तैँले बोल्ने वचन र धर्मसिद्धान्तले तेरा आफ्नै समस्यासमेत समाधान गर्न सक्दैनन्, तैपनि तँ ती अरूलाई बाँड्न चाहन्छस्। तँ आफूलाई पटक्कै चिन्दैनस्! किन परमेश्वरको घरले समान रूपमा किताबहरू छापेर बाँड्छ? किनभने यस्ता अधिकांश किताबहरू परमेश्वरका वचन हुन्, र बाँकी सबै परमेश्वरका चुनिएका जनका साँचो अनुभवात्मक गवाही हुन्। यी सबै परमेश्वरका चुनिएका जनलाई चाहिने सकारात्मक कुरा हुन्, र त्यसैले परमेश्वरको घरले समान रूपमा प्रकाशित गर्ने किताबहरू मण्डलीको काम र परमेश्वरका चुनिएका जनको जीवन प्रवेशका लागि आवश्यक हुन्छन्। काम गर्ने यो तरिका पनि पवित्र आत्माको मार्गदर्शनबाट उत्पन्न हुन्छ। परमेश्वरको घरले समान रूपमा प्रकाशित गर्ने किताबहरू अत्यन्तै मूल्यवान् र आवश्यक छन् भन्ने कुरा तिमीहरू सबैले बुझेका छौ। प्रवचन सुनेर के लाभ हुन सक्छ भनेर तिमीहरूलाई राम्रोसँग थाहा छ, त्यसैले यदि तिमीहरूले झूटा अगुवा र ख्रीष्टविरोधीहरूले फैलाएका कुराहरू खुट्ट्याउँछौ भने, झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई साँच्चै खुट्ट्याउन सक्नेछौ। तर तिमीहरूको अहिलेको कदअनुसार तिमीहरू परमेश्वरप्रतिको विश्वासबारे केही धर्मसिद्धान्त मात्र बुझ्छौ, र सत्यताबारे अझै पनि स्पष्ट छैनौ। तिमीहरूले अझै पनि बुझ्न नसक्ने महत्त्वपूर्ण कुराहरू छन्, जुन तिमीहरूलाई अस्पष्ट र धमिलो लाग्छ, त्यसैले तिमीहरूमा अझै पनि कुनै सत्यता वास्तविकता छैन, र तिमीहरू अझै पनि त्यति धेरै खुट्ट्याउन सक्दैनौ। मण्डलीमा जो कोहीले जस्तो व्यवहार गरे पनि वा जसरी बोले पनि तिमीहरू त्यो स्पष्टसँग खुट्ट्याउन सक्दैनौ। कतिपय मानिसलाई लाग्छ, वाक्पटु भइयो भने, परमेश्वरको गवाही दिन सकिन्छ, र वाक्पटुता नहुनेहरू आफूसँग अनुभवात्मक गवाही भए पनि त्यसबारे बोल्न सक्दैनन्। के तिनीहरू यो कुरामा सही छन्? तिनीहरू धेरै गलत छन्; जसरी व्यक्त गरिए पनि अनुभवात्मक गवाही साँचो हुन्छ, अनि यदि कसैसँग अनुभवात्मक गवाही छैन भने उसले धर्मसिद्धान्तबारे जति नै राम्ररी बोल्न सके पनि, उसले बोल्ने कुरा सही हुँदैन। यस्तो किन? वचन र धर्मसिद्धान्तबारे बोल्नुको अर्थ व्यक्तिसँग सत्यता वास्तविकता छ भन्ने होइन, र उसले अलि सत्यता बुझे पनि त्यो बुझाइ निकै सतही र सीमित हुन्छ, अनि उसले अनुभवात्मक गवाहीबारे लेख्न सक्दैन। यदि कसैले आफूसँग अनुभवात्मक गवाही नभए पनि वचन र धर्मसिद्धान्तहरू निर्लज्जसँग बोल्छ र मानिसहरूलाई भाषण छाँट्छ भने, ऊ पाखण्डी फरिसी भएको छ। उसले मानिसलाई छल गर्न झूटो गवाही बनाउन मात्र सक्छ। यसो गर्नेहरू परमेश्वरद्वारा श्रापित हुनेछन्। कसैले साँचो गवाही दिन सक्नु-नसक्नु उसको वाक्पटुतामा निर्भर हुँदैन। हेर् त, पत्रुससँग कति धेरै अनुभवात्मक गवाही थियो—उसले कतिवटा पत्र लेख्यो? उसले गवाहीका कतिवटा लेख लेख्यो? थोरै मात्र लेख्यो होला, तर परमेश्वरले पत्रुसलाई उहाँलाई सबैभन्दा राम्ररी जान्ने र साँच्चै प्रेम गर्ने व्यक्तिको रूपमा स्याबासी दिनुभयो। यदि तँसँग साँच्चै अनुभवात्मक गवाही छ भने तँ अवश्यै बदलिएको हुनेछस् र अझ धेरै शिष्ट बनेको हुनेछस्। त्यसउप्रान्त तैँले ती उत्साहजनक कुरा, आफूलाई असल लाग्ने कुराहरू गर्नेछैनस्। तैँले मान्छे कति महत्त्वहीन, दरिद्र र दयनीय छ भन्ने देखेपछि स्वेच्छाचारी ढङ्गले कार्य गर्ने, वा किताब वा आत्मकथा लेख्ने हिम्मत गर्नेछैनस्। किताब वा आत्मकथा लेख्न, वा कुनै योगदान दिने बहानामा प्रतिष्ठा कमाउन चाहनेहरू सबै आफ्नो क्षमतालाई बढी ठान्ने, परमेश्वरको डर मान्ने हृदय नभएका, अनि आफ्नो इच्छाअनुसार काम गर्न रुचाउने अहङ्कारी, घमण्डी र महत्त्वाकाङ्क्षी मानिस हुन्। सत्यतालाई साँचो रूपले पछयाउनेहरू आफ्नो कर्तव्य राम्ररी निभाउनमा, सत्यता बुझ्नमा र सिद्धान्तअनुरूप कार्य गर्नमा केन्द्रित हुन्छन्। तिनीहरू आफ्नो कर्तव्य राम्ररी निभाउनु, स्वभाव परिवर्तन गर्नु, सत्यता वास्तविकतामा प्रवेश गर्नु र साँचो अनुभवात्मक गवाही हुनुलाई अन्य कुनै कुराभन्दा राम्रो ठान्छन्। यसरी सत्यता पछ्याउन सक्नेहरू सबैभन्दा बाठा मानिस हुन्, र तिनीहरूमा सबैभन्दा बेसी समझ हुन्छ।

अघिल्लो: व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू

अर्को: सत्यता खोज्‍ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्