देहधारणको महत्त्वको दोस्रो पक्ष

देहधारी परमेश्‍वरको साधारणपन र समान्यपनको अर्थ के हो? के ती उहाँले काम गर्न सक्‍नुभएको होस् भनेर मात्र अस्तित्वमा रहेका कुरा हुन्? के यो उहाँलाई ख्रीष्‍ट भनी प्रमाणित गर्नको लागि हो? कतिपय मानिस यसो भन्छन्, “देहधारी परमेश्‍वर पक्‍कै पनि साधारण र सामान्य देह हुनुपर्छ।” के यसको अर्थ यही मात्रै हो? “यदि उहाँ ख्रीष्ट हुनुहुन्छ भने, उहाँ पक्‍कै पनि साधारण र सामान्य देह हुनुपर्छ” भनेर भन्दा, के यसले परमेश्‍वरलाई सीमित गर्दैन र? “पक्‍कै पनि” को अर्थ के हो? कतिपय मानिस यसो भन्छन्, “यो परमेश्‍वरका वचनहरू व्यक्त गर्नु हो, ताकि मानिस सहजै उहाँको सम्पर्कमा आउन सकून्।” के उद्देश्य यो मात्रै हो? ख्रीष्टको सारको सन्दर्भमा यसलाई हेर्दा, ख्रीष्टको सार पूर्णरूपमा परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्छ। परमेश्‍वरले गर्नुहुने सबै कुराको अर्थ हुन्छ। विशेष रूपमा नियुक्त देहगत शरीर, जसको विशेष रूपमा नियुक्त स्वरूप, विशेष रूपमा नियुक्त परिवार, विशेष रूपमा नियुक्त जिउने वातावरण छ—परमेश्‍वरले गर्नुहुने यी सबै कुराको अर्थ छ। कतिपय मानिसहरू सोध्छन्: “म किन परमेश्‍वरले साधारण र सामान्य देह धारण गर्नुको ठूलो महत्त्वलाई बुझ्न सक्दिनँ? के उहाँको देह बाहिरी भेस मात्रै होइन र? परमेश्‍वरले आफ्‍नो काम सक्‍नुभएपछि, के यो बाहिरी भेस काम नलाग्‍ने हुँदैन र?” मानिसहरू आफ्‍ना कल्‍पना र चेतनामा के विचार गर्छन् भने, यस साधारण र सामान्य देहको बाहिरी भेसको ठूलो प्रयोग छैन, परमेश्‍वरको काम वा उहाँको व्यवस्थापन योजनामा यसले ठूलो उद्देश्य पूरा गर्दैन, र कामको यस चरण पूरा गर्नको लागि मात्रै यो अस्तित्वमा हुन्छ। मानिसहरू के विश्‍वास गर्छन् भने तिनीहरूले उहाँसँग सजिलै सम्पर्क गर्न सकून् र उहाँका वचनहरू सुन्‍न सकून्, उहाँलाई देख्‍न र महसुस गर्न सकून् भनेर यो अस्तित्वमा हुन्छ, र यसको अरू कुनै प्रयोग छैन। विगतमा, मानिसहरूले देहधारणको महत्त्व यही हो भनेर बुझेका थिए। तर वास्तवमा, साधारण र सामान्य देहको कामको अवधिमा र देहधारणको अवधिमा, उहाँले आफ्‍नो कामको बोझ लिनेबाहेक, पहिले कसैले नसोचेको काम पनि लिनुहुन्छ। यो कस्तो किसिमको काम हो? परमेश्‍वर स्‍वयम्‌को काम गर्नेबाहेक, उहाँले मानिसको कष्ट पनि अनुभव गर्नुहुन्छ। विगतमा, मानिसहरूलाई यो कुरा थाहा थिएन।

पहिले, देहधारी परमेश्‍वरले किन सधैँ रोगको कष्ट भोगिरहनुहुन्छ, वा यो कष्ट केको लागि हो भन्‍ने कुरा मानिसहरूले कहिल्यै बुझेका थिएनन्। कतिपय मानिसहरू भन्थे, “परमेश्‍वर नम्र र गुप्त हुनुहुन्छ, परमेश्‍वर मानिसलाई मुक्ति दिनको लागि यो कष्ट भोग्‍नुहुन्छ, परमेश्‍वर मानिसलाई प्रेम गर्नुहुन्छ!” तिनीहरूले दिने अन्योलपूर्ण व्याख्या यही हो। के मानवजातिलाई मुक्ति दिनका लागि उहाँले यी कुराहरू भोग्‍नु अत्यावश्यक छ? यदि देहधारी परमेश्‍वरले यो कष्ट भोग्‍नुभएन भने, के परमेश्‍वर स्‍वयम्‌ले यो हासिल गर्न सक्‍नुहुन्छ? सक्‍नुहुन्छ। कतिपय मानिसहरू भन्छन्, “अनुग्रहको युगमा परमेश्‍वरलाई प्रार्थना मात्रै गर्नुपर्थ्यो, त्यसपछि कुनै पनि रोग देखा पर्नेबित्तिकै त्यसलाई निको पार्न सकिन्थ्यो। हामी कहिल्यै औषधि खाँदैनथियौँ, र कतिपय मानिसहरूले प्रार्थना गरे र क्यान्सरसमेत निको भयो। त्यसोभए, देहधारी परमेश्‍वर किन सधैँ रोगले ग्रसित हुनुहुन्छ? उहाँ किन कहिल्यै सुस्वस्थ हुनुहुन्‍न? किन देहधारी परमेश्‍वरले मानिसले जत्ति अनुग्रह पाउनुभएको छैन?” यो मानवजातिका लागि सधैँ रहस्य नै बनेको छ। यो कुरा मानिसको मनमा खट्किएको कुरा हो, तैपनि मानिसहरू यो विषयलाई गम्‍भीरतासाथ लिँदैनन्। बरु, तिनीहरू परमेश्‍वर मानिसलाई प्रेम गर्नुहुन्छ र परमेश्‍वर मानवजातिका लागि कष्ट भोग्‍नुहुन्छ भन्दै भ्रमित व्याख्याहरू दिन्छन्। अहिले पनि, मानिसहरू यो कुरा सही रूपमा बुझ्दैनन्। संसारको कष्ट अनुभव गर्नु देहधारी परमेश्‍वरको जिम्‍मेवारी हो। संसारको कष्ट अनुभव गर्नुको उद्देश्य के हो? यो अर्को समस्या हो। परमेश्‍वर संसारको कष्ट अनुभव गर्न आउनुहुन्छ, जुन आत्माले हासिल गर्नै नसक्‍ने कुरा हो। साधारण, सामान्य, र पूर्ण देह हुनुभएका, र पूर्णतया मानव बन्‍नुभएका देहधारी परमेश्‍वरले मात्रै पूर्णरूपमा संसारको कष्ट अनुभव गर्न सक्‍नुहुन्छ। यदि आत्माले यो काम गर्नुभएको भए, उहाँले अवश्य नै कुनै पनि कष्ट अनुभव गर्न सक्‍नुहुनेथिएन। उहाँले हेरेर बुझ्‍न मात्रै सक्‍नुहुनेथियो। के हेर्नु, बुझ्‍नु र अनुभव गर्नु सबै एउटै र उस्तै हुन्? अहँ, होइनन्। यसअघि, परमेश्‍वरले भन्‍नुभएको थियो, “मलाई संसारको खोक्रोपन थाहा छ र मानिसको जीवनमा हुने कठिनाइबारे मलाई थाहा छ। म संसारमा यताउता हिँडेको छु र अत्यन्तै दुर्दशा देखेको छु। मैले मानिसको जीवनको कठिनाइ, दुःख, र खोक्रोपन देखेको छु।” तर उहाँले यो अनुभव गर्नुभएको छ कि छैन भन्‍ने कुरा पूर्णरूपमा फरक कुरा हो। उदाहरणका लागि, हातमुख जोड्न धौधौ पर्ने परिवारबारे विचार गर्। तैँले यो देख्छस् र केही बुझ्छस्, तर के तैँले आफै तिनीहरूको परिस्थिति अनुभव गरेको छस्? के तैँले तिनीहरूको कठिनाइ र कष्ट अनुभव गरेको छस् अनि यी अनुभूति वा यो अनुभव गरेको छस्? अहँ, गरेको छैनस्। भन्‍नुको अर्थ, देख्‍नु र अनुभव गर्नु दुई फरक कुरा हुन्। के भन्‍न सकिन्छ भने यो कुरा, यो काम देहधारी परमेश्‍वरले नै गर्नुपर्छ। यस्ता मामिलाहरूमा, आत्मा पूर्णतया असमर्थ हुनुहुन्छ। देहधारणको महत्त्वको अर्को पक्ष यो हो: परमेश्‍वर संसारको कष्ट र मानिसले भोग्‍ने कष्ट अनुभव गर्न आउनुहुन्छ। उहाँले कुन कष्ट अनुभव गर्नुहुन्छ? उहाँ मानिसको जीवनमा आउने कठिनाइहरू, पारिवारिक दुर्भाग्य, मानिसको छल, परित्याग र सतावट, साथै शारीरिक रोग अनुभव गर्नुहुन्छ—यी सबै संसारका कष्ट हुन्। रोगबिमारको कष्ट, वरपरका मानिस, घटना, र परिस्थितिहरूबाट हुने आक्रमण, परिवारमा आउने दुर्भाग्य, मानिसहरूको परित्याग, मानिसहरूले गर्ने निन्दा, गिल्‍ला, विरोध, विद्रोह, अपमान र गलतबुझाइ इत्यादि—देहधारी परमेश्‍वरले यी सबै आक्रमणको रूपमा अनुभव गर्नुहुन्छ। यो सब अनुभव गर्नेहरूका लागि पनि यो आक्रमण नै हो। तिनीहरू महान् व्यक्ति, असाधारण व्यक्ति, वा उदार मनको व्यक्ति भए पनि, यो कष्ट, यी कुरा तिनीहरूका लागि आक्रमण हुन्। परमेश्‍वर संसारको सतावट भोग्‍नुहुन्छ, यस क्रममा उहाँको शिर लुकाउने, बस्‍ने कुनै ठाउँ हुँदैन, र कुनै सहयोगी हुँदैन...। यी सबै कुरा पीडादायी हुन्छन्। यी कुराहरू कष्टको चरम विन्दुमा नपुग्लान्, तैपनि उहाँ यी सब अनुभव गर्नुहुन्छ। कतिपय मानिसहरू यस्तो सोच्‍ने गर्थे, “देहधारी परमेश्‍वरको काममा, के परमेश्‍वरले यी रोगहरू हटाउन सक्‍नुहुन्‍न र? उहाँलाई आफ्‍नो काम सहज रूपमा गर्न दिन, र मानिसहरूलाई उहाँविरुद्ध विद्रोह वा विरोध गर्न नदिन—के उहाँले यी कुराहरू गर्न सक्‍नुहुनेथिएन र? यदि उहाँले मानिसहरूलाई दण्ड दिनुभएको भए, तिनीहरूले उहाँको विरोध गर्ने आँट गर्नेथिएनन्। परमेश्‍वरसँग अख्‍तियार छ, र पनि किन उहाँ आफूलाई बिरामी पर्न दिनुहुन्छ? यदि कसैलाई रोग लाग्यो भने, उसले प्रार्थना मात्रै गरेपछि त्यो निको हुनेछ, त्यसोभए किन परमेश्‍वर स्‍वयम्‌ रोगबिमार भोग्‍नुहुन्छ?” उहाँले संसारको कष्ट अनुभव गर्न सक्नका लागि यसो गर्नुहुन्छ। उहाँले देहधारणको रूपमा धारण गर्ने देहबाट आपद् विपद् वा रोगको कष्ट हटाउनुहुन्‍न, न त मानिसहरूले उहाँलाई गर्ने परित्याग नै हटाउनुहुन्छ। उहाँ स्वाभाविक रूपमै बढ्नुहुन्छ र यो कठिन वातावरणमा काम गर्नुहुन्छ। यसरी उहाँ संसारको कष्ट अनुभव गर्न सक्‍नुहुन्छ। यदि यी कुनै पनि कुरा नभएको भए, उहाँले यो कष्ट चाख्‍नुहुनेथिएन। यदि उहाँलाई रोगबिमार नलागेको भए, वा सामान्य मानिसलाई लाग्‍ने कुनै पनि रोगबिमार नभोग्‍नुभएको भए, के उहाँको कष्ट कम हुनेथिएन र? आफ्‍नो मष्तिष्क धेरै प्रयोग गरेपछि अरू मानिसलाई टाउको दुख्‍ने वा थकित अनुभव हुने भए पनि, के उहाँलाई चाहिँ त्यस्तो नहुने बनाउन सकिँदैनथियो? हो, सकिन्थ्यो; तर यसपटक, परिस्थिति फरक तरिकाले मिलाइँदै छ। येशूले काम गर्नुभएको युगमा, उहाँ खाना नखाई वा पानी नपिई ४० दिन र ४० रात बस्‍न सक्‍नुभयो र उहाँलाई भोक लागेन। तर अहिलेको युगमा, देहधारी परमेश्‍वरले एक छाक खाना छुटाउनुभयो भने पनि उहाँलाई भोक लाग्छ। कतिपय मानिसहरू भन्छन्, “के परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्‍न र? मेरो नजरमा त उहाँ त्यस्तो हुनुहुन्‍न। उहाँ यस्तो सानो कुरा पनि गर्न सक्‍नुहुन्‍न। उहाँको बोल्ने शैलीलाई हेर्दा उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने देख्छौँ, तर उहाँ किन यी कुराहरू हासिल गर्न सक्‍नुहुन्‍न?” परमेश्‍वरले यी कुराहरू हासिल गर्न सक्‍नुहुन्‍न भन्‍ने होइन, तर उहाँ यी कुराहरू त्यसरी गर्नुहुन्‍न। उहाँको देहधारणको उद्देश्‍य भनेको परमेश्‍वरले गर्न सक्‍नुहुन्छ भनी मानिसहरूले सोचेका कुराहरू गर्नु होइन। उहाँ संसारको कष्ट अनुभव गर्नुहुन्छ र उहाँले यसो गर्नुको महत्त्व छ। त्यसपछि यस्ता प्रश्न उठाउने मानिसहरू छन्: “हे परमेश्‍वर, तपाईंले संसारको कष्ट अनुभव गर्नुको के काम? के तपाईंले मानिसको सट्टा कष्ट भोग्‍न सक्‍नुहुन्छ? के मानिसहरू अहिले पनि कष्ट भोगिरहेका छैनन् र?” परमेश्‍वरले गर्नुहुने कुनै पनि कुरा जथाभावी गरिएको हुँदैन। उहाँले संसारको कष्ट भोगिसकेपछि, संसार कस्तो छ भनेर हेरेसकेपछि र देखिसकेपछि उहाँले त्यो त्यतिकै छोड्नुहुन्‍न। बरु, उहाँ आफ्‍नो देहधारणले गर्नुपर्ने सबै काम राम्ररी पूरा गर्न आउनुहुन्छ। कतिपय मानिसहरू के विचार गर्छन् भने परमेश्‍वरलाई केवल सहज र आरामदायी जीवन जिउने बानी परेको होला, उहाँ थोरै कष्ट भोग्‍न मात्रै चाहनुहुन्छ, उहाँ परम आनन्दमा जिउनहुन्छ र कष्टको स्वाद उहाँलाई थाहा छैन, त्यसकारण उहाँ कष्टको स्वाद चाख्‍न मात्रै चाहनुहुन्छ। यो सब मानिसहरूको कल्‍पनाको उपज हो। अहिले संसारको कष्ट भोग्‍नु देहधारणको अवधिमा मात्रै गर्न सकिने कुरा हो। यदि देहधारी परमेश्‍वरको काम पूरा भइसकेको भए, र कामको अर्को चरण सुरु भइसकेको भए, “संसारको कष्ट भोग्‍ने” कुनै कार्य हुनु हुँदैन। त्यसोभए, परमेश्‍वर वास्तवमा कुन कारणले संसारको कष्ट अनुभव गर्नुहुन्छ? के कसैलाई थाहा छ? मानिसले आँसु झार्नु पर्दैन, रुनु पर्दैन, र दुःख भोग्‍नु पर्दैन, अनि संसारमा रोगबिमार हुनेछैन भनेर अगमवाणी गरिएको छ। देहधारी परमेश्‍वरले अहिले यो कष्ट अनुभव गरिरहनुभएको छ र उहाँले यो अनुभव गरिसक्‍नुभइसकेपछि मानवजातिलाई सुन्दर गन्तव्यमा लैजानुहुनेछ, र पहिलेको सबै कष्ट रहनेछैन। किन यो रहनेछैन? किनभने देहधारी परमेश्‍वर स्वयम्‌ले यो सब कष्ट अनुभव गरिसक्नुभएको हुनेछ र मानवजातिबाट यसलाई हटाउनुभएको हुनेछ। यही उद्देश्यले परमेश्‍वर मानिसको कष्ट अनुभव गर्नुहुन्छ।

मानवजातिको भावी गन्तव्यको अझ राम्रो तयारी गर्न, यो गन्तव्यलाई अझै सुन्दर र सिद्ध बनाउन देहधारी परमेश्‍वर संसारको कष्ट अनुभव गर्नुहुन्छ। यो देहधारणको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, र देहधारणले गर्ने कामको एउटा भाग हो। यहाँ अर्को समस्या पनि छ। परमेश्‍वरले देह बनेर यो कष्ट अनुभव गरेपछि, मानवजातिबाट यो कष्ट हटाउनुहुनेछ। तर यदि देहधारण नभएको र अनुभव नगरिएको भए, के यो कष्टलाई हटाउन सकिन्थ्यो? हो, सकिन्थ्यो। अनुग्रहको युगमा, येशू क्रूसमा टाँगिदा, उहाँ धर्मी व्यक्ति हुनुहुन्थ्यो, जो सारा मानवजातिलाई छुटकारा दिन र शैतानको पकडबाट उद्धार गर्न पापी देहको स्वरूप हुनुभयो र पापबलि बन्‍नुभयो। येशू क्रूसमा टाँगिनुको उद्देश्‍य र महत्त्व यही थियो: उहाँले आफ्‍नो अमूल्‍य रगतद्वारा मानवजातिलाई छुटकारा दिइरहनुभएको थियो, ताकि मानवजातिको पाप क्षमा होस्। अहिले परमेश्‍वर मानव कष्ट अनुभव गर्नुहुन्छ, जसको अर्थ उहाँले यो सब मानिसको सट्टा अनुभव गर्नुहुन्छ, र यसपछि मानिसले फेरि कहिल्यै कष्ट भोग्‍नु पर्दैन। तैँले यी निम्‍न वचनहरूलाई कहिल्यै बिर्सनु हुँदैन: परमेश्‍वरको कामको हरेक चरणमा, उहाँ शैतानसँग लडाइ लड्नुहुन्छ, र कामको हरेक चरण शैतानसँगको यो लडाइसँग कुनै न कुनै हिसाबले सम्‍बन्धित छ। अनुग्रहको युगको अवधिमा गरिएको कामको चरणमा, सबै मानवजातिको पाप क्षमा गरियो—तिनीहरूलाई क्रूसीकरणद्वारा छुटकारा दिइयो। यदि यसो नभएको भए अर्थात् क्रूसीकरण नभएको भए, र त्यसको साटो मानिसको पापक्षमा वचनमा मात्रै निर्भर भएको भए, शैतान विश्‍वस्त हुनेथिएन। त्यसले यसो भन्‍नेथियो: “तपाईंले कुनै कष्ट भोग्‍नुभएको छैन, र तपाईंले मानिसको पाप लिनुभएको छैन। के एउटा वचनले मानवजातिको पाप क्षमा हुन्छ? यो स्वीकार्य छैन! मानवजाति तपाईंले सृष्टि गर्नुभएको हो, त्यसकारण यदि तपाईंले मानवजातिको सट्टा पाप लिनुभएन भने, तिनीहरूको पापक्षमा गर्न सक्‍नुहुन्‍न।” अहिले, कामको वर्तमान चरणमा, मुक्ति पाएका सबै मानिसहरूलाई सुन्दर गन्तव्यमा, अर्को युगमा ल्याइनुपर्छ। मानवजातिले उप्रान्त कष्ट भोग्‍नु पर्दैन, र रोगले ग्रसित हुनु पर्दैन। तर कुन आधारमा मानिसले अबउसो रोगको कष्ट भोग्‍नु पर्दैन? कुन आधारमा संसारमा अब कुनै कष्ट हुँदैन? मानिसहरूमा भ्रष्ट स्वभाव छ र तिनीहरू परमेश्‍वरलाई विरोध गर्न सक्षम छन्, त्यसकारण तिनीहरूले यो कष्ट भोग्‍नुपर्छ भनेर भन्‍नु उचित हो। यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ? त्यसैले, देहधारी परमेश्‍वरले यसपटक सबैभन्दा महत्त्वपूर्ण कुरा पनि गर्नुहुन्छ, त्यो हो, उहाँले मानवजातिको स्थान लिएर तिनीहरूको सबै पीडा भोग्‍नुहुन्छ। परमेश्‍वर देह बनेर मानव पीडा अनुभव गर्ने यो “अनुभव” उहाँले मानिसको सट्टा मानव कष्ट भोग्‍नु हो। कतिपय मानिसहरू यसो भन्छन्: “अहिले परमेश्‍वरले मानिसको सट्टा कष्ट भोग्‍नुहुने हुनाले, किन हामी अझै कष्ट भोग्छौँ त?” तैँले अहिले परमेश्‍वरको काम अनुभव गरिरहेको छस्। तँ अझसम्‍म पूर्ण रूपमा सिद्ध भएको छैनस्, अर्को युगमा पूर्णतया प्रवेश गरेको छैनस्, र तेरो स्वभाव अझै भ्रष्ट छ। परमेश्‍वरको काम अहिलेसम्‍म यसको उत्कर्षमा पुगेको छैन र अझै अघि बढिरहेको छ। त्यसकारण, मानिसहरूले आफ्‍नो कष्टबारे गुनासो पटक्कै गर्नु हुँदैन; देहधारी परमेश्‍वर अझै कष्ट भोग्‍नुहुन्छ, झन् मानिसले नभोग्‍ने त कुरै आउँदैन। के परमेश्‍वरले मानव कष्ट भोग्‍नु ठूलो महत्त्वको कुरा होइन र? देहधारी परमेश्‍वर थोरै काम गरेर गइहाल्न आउनुभएको होइन। मानिसहरूको बुझाइ अत्यन्तै सतही छ—तिनीहरू देहधारी परमेश्‍वर त परमेश्‍वर स्‍वयम्‌को काम गर्न आउनुभएको हो, उहाँको देह परमेश्‍वरको खातिर परमेश्‍वरको वचन व्यक्त गर्न र काम गर्न आएको हो भन्‍ने विश्‍वास गर्छन्। कतिपयले त केसमेत सोच्छन् भने यो देह बाहिरी रूप मात्रै हो, तर यो पूर्ण रूपमा गलत दृष्टिकोण हो, र देहधारी परमेश्‍वरविरुद्ध वास्तविक निन्दा हो। देहको कामको अर्थ परमेश्‍वर स्‍वयम्‌ आउनुभएको छ र उहाँ मानव कष्ट भोग्‍न देह बन्‍नुभएको छ भन्‍ने हो; मतलब परमेश्‍वर मानव कष्ट भोग्‍न मानव बन्‍नुभएको छ। के परमेश्‍वरको देहको बाहिरी रूप यो कष्ट अनुभव गर्न आएको छ, र उहाँको आत्माले भित्र कष्ट भोगिरहनुभएको छैन भनेर मानिसहरूले विश्‍वास गर्नु सही हो? देहले कष्ट भोग्दा परमेश्‍वरका आत्माले पनि कष्ट भोग्‍नुहुन्छ। येशू क्रूसमा टाँगिनुहुँदा, उहाँले यसो भनेर प्रार्थना गर्नुभयो: “अहो मेरा पिता, यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्” (मत्ती २६:३९)। उहाँले यो इच्‍छा गर्नुभयो, किनभने उहाँको देहले कष्ट भोगेजस्तै देहभित्र उहाँका आत्माले पनि कष्ट भोगिरहनुभएको थियो। यदि तँ देहको बाहिरी खोलले मात्रै कष्ट भोग्छ, परमेश्‍वरले आफ्‍नो ईश्‍वरीयतामा पटक्‍कै कष्ट भोग्‍नुहुन्‍न, उहाँले कुनै पीडा भोग्‍नुहुन्‍न भनेर भन्छस् भने, तँ गलत छस्। तँ यो कुरालाई यसरी बुझ्छस् भने, तैँले देहधारी परमेश्‍वरको सारको पक्षलाई देखेको छैनस् भन्‍ने प्रमाणित हुन्छ। अहिले परमेश्‍वरलाई देहगत शरीरमा अनुभूति गरिन्छ भनेर किन भनिन्छ? परमेश्‍वर जहिले चाहनुहुन्छ त्यही बेला आउन र जान सक्‍नुहुन्छ, तर उहाँ त्यसो गर्नुहुन्‍न। उहाँ यो कष्ट, वास्तविक र स्पष्ट कष्ट भोग्‍नको लागि मानव बन्‍नुभएको छ, ताकि मानिसहरूले यो कुरालाई देख्‍न र अनुभव गर्न सकून्। उहाँ आफूले भोग्‍ने कष्ट महसुस गर्न सक्‍नुहुन्छ, र उहाँ आफैले यो अनुभव गर्नुहुन्छ। उहाँको आत्माले महसुस नगर्ने कष्ट वा पीडाको कुनै पनि भाग उहाँको देहले एकपटक पनि महसुस गर्दैन—कष्ट महसुस गर्नुमा र भोग्‍नुमा उहाँको देह र आत्मा एउटै हुनुहुन्छ। के यो बुझ्‍न सजिलो छ? सजिलो छैन। किनभने सबै मानिसले देहलाई मात्रै देख्‍न सक्छन्, तर आत्माले पनि देहले जस्तै कष्ट भोग्‍नुहुन्छ भन्‍ने तिनीहरू देख्‍न सक्दैनन्। के कुनै व्यक्तिले कष्ट भोग्दा उसको प्राणले पनि कष्ट भोग्छ भन्‍ने तँलाई विश्‍वास लाग्छ? किन मानिसहरू आफ्‍नो हृदयभित्र यस्तो-उस्तो महसुस गर्छु भनी भन्छन्? किनभने मानिसको देह र आत्मा एउटै हुन्। हरेक व्यक्तिको आत्मा र देह एउटै र उस्तै हुन्; तिनले उस्तै कष्ट भोग्छन् र उस्तै आनन्द महसुस गर्छन्। त्यस्तो कुनै व्यक्ति छैन जसले वास्तविक पीडा भोग्दा, देहमा मात्रै महसुस गर्छ तर उसको हृदय रमाएको हुन्छ; न त त्यस्तो कुनै व्यक्ति छ जसले हृदयमा कष्ट हुँदा, देहमा पटक्कै कष्ट हुँदैन भनेर भन्छ। हृदयमा भावना वा पीडा पैदा गर्ने, वा हृदयमा अनुभव गर्न सकिने कुराहरू—यी कुराहरू पनि देहले महसुस गर्न सक्छ।

देहधारी परमेश्‍वर मानिसका सबै पीडा आफूमा लिनको लागि आफ्‍नो काम गर्न, अर्थात् संसारको कष्ट अनुभव गर्न आउनुभएको छ। उहाँले यो कष्ट नसकिञ्जेल भोगिसक्नुभएपछि, कामको अर्को चरणमा यस्तो काम दोहोर्‍याएर गर्नु पर्दैन। बरु, मानवजातिलाई सुन्दर गन्तव्यमा ल्याउन सकिन्छ। उहाँले मानिसको सट्टा यो पीडा भोग्‍नुभएको हुनाले, उहाँ मानिसलाई सुन्दर गन्तव्यमा लैजान योग्य हुनुहुन्छ—यो उहाँको योजना हो। कतिपय मूर्ख मानिसहरू यसो भन्छन्: “किन मैले देहधारी परमेश्‍वरले यो सब कष्ट भोगिरहनुभएको देखेको छैनँ? यो सबै कष्ट पूर्ण रूपमा भोगिएको छैन। सबै प्रकारको कष्ट भोग्‍नुपर्छ, र कम्तीमा पनि उहाँले क्रूसीकरणको कष्ट भोग्‍नुपर्छ।” क्रूसीकरणको पीडा पहिले नै भोगिएको छ र फेरि भोगिरहनु आवश्यक छैन। यसबाहेक, मानिसहरूले यस्तो कुरा पटक्कै भन्‍नु हुँदैन। के यी वर्षहरूमा देहधारी परमेश्‍वरले धेरै कष्ट भोग्‍नुभएको छैन र? मूर्ख मानिसहरूले मात्रै यस्तो सोच्छन्। देहधारी परमेश्‍वरले भोग्‍न सक्‍नुहुने कष्टको दायराभित्र, मानवजातिलाई गाँज्‍ने अधिकांश सबै कष्ट उहाँमाथि आइपर्न सक्छन्। अत्यन्तै ठूलो कष्ट, हजारौँमा एक जनाले मात्रै भोग्‍न सक्‍ने कष्ट परमेश्‍वरले भोग्‍नु पर्दैन, किनभने यो सबै कष्ट पहिले नै नमूना बनिसकेका छन्। परमेश्‍वरले यस प्रकारका कष्टहरू अनुभव गर्न सक्‍नुहुन्छ, र यसले के प्रमाणित गर्छ भने उहाँ सामान्य मानिसहरूभन्दा फरक हुनुहुन्‍न, मानिसहरू र उहाँबीच कुनै भिन्‍नता छैन, उहाँ र मानिसहरूबीच कुनै फरक छैन, र उहाँ पनि मानिसहरूले जस्तै कष्ट भोग्‍नुहुन्छ। जब मानिसहरू कष्ट भोग्छन्, परमेश्‍वर पनि कष्ट भोग्‍नुहुन्छ। समय-समयमा, मानिसहरू बिरामी हुन्छन् र पीडा भोग्छन्, र परमेश्‍वर यो व्यक्तिगत रूपमा अनुभव गर्नुहुन्छ—उहाँले यो सब कष्ट चाख्‍नुभएको छ। यसपटक, देहधारी परमेश्‍वरको कष्ट पहिलेको जस्तो छैन, जुन बेला उहाँले क्रूसको मृत्यु चाख्नुपरेको थियो। यो आवश्यक छैन, किनभने यो पहिले नै अनुभव गरिसकिएको छ। यसपल्ट केवल मानव कष्ट अनुभव गर्ने र मानिसको कष्ट आफूमा लिने मात्रै हो। यसअघि, यहोवाले आत्माको रूपमा काम गर्नुभयो, र यसबाट मानिसले केही कुरा प्राप्त गर्न सक्यो। तर, देहधारी परमेश्‍वरको कामलाई मानिसहरूले देख्‍न र महसुस गर्न सक्छन्, यसले गर्दा यो मानिसहरूका लागि आत्माको कामभन्दा अझ सहज र सुलभ बन्यो। यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने देहधारी परमेश्‍वर संसारको कष्ट अनुभव गर्न सक्‍नुहुन्छ। यो आत्माको कामले पटक्‍कै हासिल गर्न सक्दैन; निस्सन्देह, यसलाई देहधारणले मात्रै हासिल गर्न सक्छ। यदि यो आत्माको काम थियो भने, आत्मा आफूले भन्‍नुपर्ने कुरा भनेर गइहाल्नुहुनेथियो। उहाँ मानिसहरूको सम्पर्कमा हुँदासमेत, संसारको कष्ट अझै अनुभव गर्न सक्‍नुहुन्‍न। कतिपय मानिसहरूले सोध्ने चाहना गर्लान्: “देहधारी परमेश्‍वरले कष्ट भोग्‍नुहुन्छ भने, के आत्माले पनि कष्ट भोग्‍नुहुन्‍न र? के आत्माले पनि यो अनुभव गर्न सक्‍नुहुन्‍न र?” के यो विचार पनि हास्यास्पद छैन र? आत्माले देहधारण गरिसकेपछि मात्रै कष्ट अनुभव गर्न सक्‍नुहुन्छ। आत्मा र देह अविभाज्य हुन्; आत्माले पनि देहको कष्ट अनुभव गर्नुहुन्छ। यदि आत्माले देहधारण नगर्नुभएको भए, यो अनुभव गर्न सक्‍नुहुनेथिएन। देहलाई हुने कष्टको महसुस निकै व्यापक, निकै वास्तविक र ठोस हुन्छ। यी त आत्माले भेट्टाउन नसक्‍ने कुरा हुन्। भौतिक संसारमा त्यस्ता कतिपय कुरा छन् जसको स्थान आत्माको कामले लिन सक्दैन। देहधारणको सबैभन्दा व्यापक महत्त्व यही हो।

ख्रीष्‍टले संसारको पारिवारिक सुखमा कुनै सहभागिता जनाउनुभएन भनेर यसअघि भनिएको छ। कतिले भन्छन्: “ख्रीष्‍ट जहाँ जानुभए पनि उहाँलाई राम्रो स्वागत गरिन्थ्यो। कतिपय मानिसहरूले त उहाँलाई राम्रा कुराहरूसमेत ल्याइदिन्थे र चारैतिर उहाँलाई अति आदर गरिन्थ्यो। उहाँका लागि परिस्थिति निकै रमाइलो भएको हुनुपर्छ र उहाँले त्यति धेरै कष्ट भोग्‍नु नै भएन, त्यसकारण उहाँले यसमा कुनै सहभागिता जनाउनुभएन भनेर कसरी भन्‍न सकिन्छ?” त्यो कथनबारे के भन्‍न सकिन्छ? उहाँले यसमा कुनै सहभागिता जनाउनुभएन भन्‍नुको अर्थ उहाँ यी कुराहरूमा रमाउनुभएन भन्‍ने होइन, तर यी कुराहरूको कारण उहाँले कम कष्ट भोग्‍नुभएन भन्‍ने हो। “उहाँले यसमा कुनै सहभागिता जनाउनुभएन” भन्‍नुको अर्थ यही हो। उदाहरणका लागि, मानौँ तँलाई कुनै रोग लाग्यो र कसैले तँलाई राम्रो लुगा दियो। के यी लुगाको कारण तेरो रोगको कष्ट कम हुन्छ? हुँदैन। तेरो कष्ट पटक्‍कै कम हुँदैन। तैँले भोग्नुपर्ने कष्ट भोग्‍नु नै पर्छ, र “यसमा कुनै सहभागिता नजनाउनु” भन्‍नुको अर्थ यही हो। उदाहरणका लागि, रोग वा परिस्थितिको बन्धनले गर्दा आउने कष्टलाई शरीरको सुखद्वारा कम गर्न सकिँदैन, र ख्रीष्ट यी कुराहरूमा रमाउनुभएन। त्यसकारण, “उहाँले यसमा कुनै सहभागिता जनाउनुभएन” भनिएको हो। कतिपय मूर्ख मानिसहरू सोच्छन्, “यदि परमेश्‍वरले संसारको पारिवारिक खुसीमा कुनै सहभागिता जनाउनुभएन भने, हामीले उहाँलाई कसरी ग्रहण गर्छौँ त्यसले केही फरक पार्दैन, किनभने हामीले जे गरे पनि परमेश्‍वरले कष्ट भोग्‍नुहुने छ।” यो बुझाइ एकदमै हास्यास्पद छ, र यसले तिनीहरूको हृदय द्वेषपूर्ण छ भन्‍ने देखाउँछ। मानिसहरूको हृदयलाई सर्वोत्तम तरिकामा प्रयोग गरिनुपर्छ; मानिसहरूले आफ्‍नो कर्तव्य आफ्‍नो क्षमताले भ्याइञ्‍जेल सक्दो पूरा गर्नैपर्छ। त्यसपछि यसरी बुझ्‍ने मानिसहरू पनि छन्: “परमेश्‍वर परम आनन्दमा रमाउनुहुन्थ्यो, र अहिले उहाँ कुनै फरक कुरा प्रयास गर्न आउनुभएको छ—संसारको कष्ट भोग्‍न।” के यो कुरा त्यति सरल छ? परमेश्‍वर किन संसारको कष्ट अनुभव गर्न आउनुहुन्छ भन्‍ने कुरा तैँले बुझ्नैपर्छ। परमेश्‍वरले गर्नुहुने हरेक कुराको महत्त्व निकै गहन छ। उदाहरणका लागि, येशूको क्रूसीकरणलाई विचार गर्। येशूलाई किन क्रूसमा टाँगिनुपर्थ्यो? के यो सबै मानवजातिलाई छुटकारा दिनको लागि थिएन र? त्यसैले, परमेश्‍वरको वर्तमान देहधारण र उहाँले संसारको कष्ट अनुभव गर्नुको पनि ठूलो महत्त्व छ—यो मानवजातिको सुन्दर गन्तव्यको लागि हो। परमेश्‍वर आफ्‍नो काममा, सधैँ नै जे सबैभन्दा व्यावहारिक हुन्छ ठिक त्यही गर्नुहुन्छ। परमेश्‍वरले किन मानिसलाई पापरहित र परमेश्‍वरसामु आउने सौभाग्य पाउन सक्‍ने ठान्‍नुहुन्छ? किनभने येशूलाई क्रूसमा टाँगियो, उहाँले मानिसको पाप बोक्‍नुभयो, र मानवजातिलाई छुटकारा दिनुभयो। त्यसोभए, किन मानिसले अबउप्रान्त कष्ट भोग्‍नु, शोक मान्‍नु, आँसु झार्नु, र सुस्केरा हाल्‍नु पर्दैन? किनभने परमेश्‍वरको वर्तमान देहधारणले यो सब कष्ट आफूमाथि लिनुभएको छ र यो कष्ट अहिले मानिसको खातिर आफैले भोग्‍नुभएको छ। यो त एक आमाले आफ्‍नो बिरामी बच्‍चालाई हेरेर बच्‍चा निको भए आफ्‍नो आयु छोटियोस् भनेर कामना गर्दै स्वर्गलाई प्रार्थना गरेजस्तै हो। परमेश्‍वर पनि यसरी नै काम गर्नुहुन्छ, अनि मानवजातिका लागि आउने सुन्दर गन्तव्यसित साट्नको लागि उहाँको पीडा अर्पित गर्नुहुन्छ। त्यसउप्रान्त कुनै शोक, आँसु, सुस्केरा र कष्ट हुने छैन। परमेश्‍वर मूल्य चुकाउनुहुन्छ, मानवजातिले पाउने सुन्दर गन्तव्यको लागि संसारको कष्ट व्यक्तिगत रूपमा भोग्दै मोल तिर्नुहुन्छ। सुन्दर गन्तव्यसित “साट्नको लागि” यो गरिएको छ भन्‍नुको अर्थ परमेश्‍वरसँग मानवजातिलाई सुन्दर गन्तव्य दिने शक्ति वा अख्तियार छैन भन्‍ने होइन, बरु परमेश्‍वर मानिसहरूलाई पूर्ण विश्‍वस्त तुल्याउनको लागि अझै व्यावहारिक र शक्तिशाली प्रमाण खोज्न चाहनुहुन्छ भन्‍ने हो। परमेश्‍वरले यो कष्ट पहिल्यै भोगिसक्‍नुभएको छ, त्यसकारण मानवजातिलाई यो सुन्दर गन्तव्यमा पुर्‍याउन, मानवजातिलाई यो सुन्दर गन्तव्य र प्रतिज्ञा दिन उहाँ योग्य हुनुहुन्छ, उहाँसँग शक्ति छ, र त्योभन्दा पनि बढी उहाँसँग अख्‍तियार छ। शैतान पूर्णतया विश्‍वस्त हुने छ; ब्रह्माण्डका सारा सृष्टि पूर्णतया विश्‍वस्त हुने छन्। अन्त्यमा, परमेश्‍वरले मानवजातिलाई उहाँको प्रतिज्ञा र प्रेम प्राप्त गर्न दिनुहुने छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा व्यावहारिक हुन्छन्, उहाँले गर्नुहुने कुनै पनि कुरा रित्तो हुँदैन, र उहाँ यो सब आफै अनुभव गर्नुहुन्छ। परमेश्‍वरले मानवजातिको गन्तव्यको साटोमा कष्टसम्‍बन्धी उहाँको आफ्‍नै अनुभवको मूल्य चुकाउनुहुन्छ। के यो व्यावहारिक काम होइन र? आमाबुबाले आफ्ना छोराछोरीका खातिर ठूलो मूल्य तिर्न सक्छन्, र त्यसले आफ्ना छोराछोरीप्रतिको उनीहरूको प्रेमलाई दर्साउँछ। यसो गर्ने क्रममा, निश्चय नै देहधारी परमेश्‍वर मानवजातिप्रति सबैभन्दा इमानदार र बफादार हुनुहुन्छ। परमेश्‍वरको सार विश्‍वासयोग्य छ; उहाँले जे भन्‍नुहुन्छ त्यो गर्नुहुन्छ, र उहाँले जे गर्नुहुन्छ त्यो हासिल गर्नुहुन्छ। उहाँले मानिसहरूका लागि गर्नुहुने सबै कुरा सच्चा छन्। उहाँ वचनहरू मात्र व्यक्त गर्नुहुन्‍न; जब उहाँले मूल्य चुकाउनेछु भनी भन्‍नुहुन्छ, उहाँ वास्तविक मूल्य चुकाउनुहुन्छ। जब उहाँले मानिसका दुःखहरू आफैमा लिन्छु र तिनीहरूको सट्टामा दुःख भोग्छु भनी भन्‍नुहुन्छ, उहाँ वास्तवमा तिनीहरूबीच बास गर्न आउनुहुन्छ, यो दुःखलाई व्यक्तिगत रूपमा महसुस र अनुभव गर्नुहुन्छ। त्यसपछि, ब्रह्माण्डमा भएका सबै थोकले परमेश्‍वरले गर्नुहुने सबै काम सही र धार्मिक हुन्छ, परमेश्‍वरले गर्नुहुने सबै कुरा वास्तविक हुन्छ भनी स्वीकार गर्नेछन्: यो शक्तिशाली प्रमाण हो। यसको अतिरिक्त, भविष्यमा मानवजातिको एउटा सुन्दर गन्तव्य हुने छ, र बाँकी रहनेहरू सबैले परमेश्‍वरको प्रशंसा गर्ने छन्; परमेश्‍वरले गर्नुभएका कामहरू वास्तवमा मानवजातिप्रतिको उहाँको प्रेमको कारण थियो भनी तिनीहरूले उहाँको प्रशंसा गर्ने छन्। परमेश्‍वर मानिसको बीचमा नम्र बनेर एक साधारण मानिसको रूपमा आउनुहुन्छ। उहाँ केही काम गरेर, केही वचनहरू बोलेर सकेपछि छोडेर जानुहुन्‍न; त्यसको साटो उहाँ संसारको पीडा अनुभव गर्दै बोल्नुहुन्छ, र व्यावहारिक रूपले काम गर्नुहुन्छ। यो पीडा अनुभव गरिसक्नुभएपछि मात्र उहाँ जानुहुने छ। परमेश्‍वरको काम यस्तै वास्तविक र व्यावहारिक छ; बाँकी रहने सबैले यसको कारण उहाँको प्रशंसा गर्ने छन्, र तिनीहरूले मानिसप्रति परमेश्‍वरको विश्‍वासयोग्यपन र उहाँको हृदयको दयालुपन देख्ने छन्। परमेश्‍वरको सुन्दरता र भोलापनको सारलाई मानिसको रूपमा रहेको उहाँको देहधारणको महत्त्वमा देख्न सकिन्छ। उहाँ जे गर्नुहुन्छ त्यो सच्चा हुन्छ; उहाँ जे भन्‍नुहुन्छ त्यो गम्भीर र विश्‍वासयोग्य हुन्छ। उहाँले गर्ने अभिप्राय राखेका सबै कुरा, उहाँले व्यावहारिक रूपमै गर्नुहुन्छ; जब मूल्य तिर्नुपर्छ, उहाँ साँच्चै त्यो तिर्नुहुन्छ; उहाँ केवल वचनहरू व्यक्त मात्र गर्नुहुन्‍न। परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ; परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ।

वसन्त ऋतु, १९९७

अघिल्लो: राज्यको युगमा परमेश्‍वरका प्रशासनिक आदेशहरूको सम्बन्धमा

अर्को: परमेश्‍वरले सांसारिक कष्ट चाख्नुको महत्त्व

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्