१०. धार्मिक संसारको धारणा: “प्रभु येशूमा विश्वास गर्ने जोसुकैले अनन्त जीवन पाउनेछ”
धार्मिक संसार “किनकि परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि, उहाँले आफ्नो जन्माइएको एक मात्र पुत्रलाई दिनुभयो, उहाँमा विश्वास जोकोही नाश नहोस्, तर अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६) भन्ने बाइबलका वचनहरूको शाब्दिक अर्थमा अल्झिरहन्छ र तिनीहरूले प्रभुमा विश्वास गरुन्जेल परमेश्वरको आखिरी दिनहरूको न्यायको काम स्विकार्नु नपरीकनै अनन्त जीवन मिल्नेछ भन्ने सोच्छन्।
बाइबलका वचनहरू
“मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)।
“साँचो-साँचो म तिमीहरूलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ” (यूहन्ना ८:३४-३५)।
“किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानी-जानी पाप गर्छौं भने, त्यसउप्रान्त पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन” (हिब्रू १०:२६)।
“यसकारण, तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ” (मत्ती २४:४४)।
“किनकि जसरी बिजुली पूर्वबाट चम्किँदा पश्चिमसम्मै चम्किन्छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ” (मत्ती २४:२७)।
“किनभने जसरी बिजुली आकाशमुनिको एउटा भागबाट चम्किँदा, आकाशमुनिको अर्को भागसम्म चम्किन्छ; मानिसको पुत्र पनि उहाँको दिनमा त्यस्तै हुनुहुनेछ। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ” (लूका १७:२४-२५)।
“पुत्रमा विश्वास गर्नेसँग अनन्त जीवन हुन्छ: र पुत्रलाई विश्वास नगर्नेले जीवन देख्नेछैन; तर परमेश्वरको क्रोध त्यसमाथि भइरहन्छ” (यूहन्ना ३:३६)।
“तर मैले दिने पानी जसले पिउँछ ऊ कहिल्यै तिर्खाउनेछैन; तर मैले उसलाई दिने पानी अनन्त जीवनमा उम्रिनिस्कने पानीको इनार हुनेछ” (यूहन्ना ४:१४)।
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौँ वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई किनिएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्नेछ, र ऊ पूर्ण रूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय, सजाय, र शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र ऊ शुद्ध पारिन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ। किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्वरले मानिसका अपराधहरू सम्झनुहुन्न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। … आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिसलाई बिस्तारै यस बिन्दुबाट परिवर्तन गर्न सकिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
तैँले येशू आखिरी दिनहरूको अवधिमा ओर्लनुहुनेछ भन्ने मात्रै जान्दछस्, तर उहाँ खास कसरी ओर्लनुहुनेछ? भर्खरै छुटकारा पाएको, र परिवर्तन भई नसकेको, वा परमेश्वरद्वारा सिद्ध भई नसकेको तँजस्तो पापी, के तँ परमेश्वरका अभिप्रायअनुरूपको बन्न सक्छस्? अझै आफ्नो पुरानो व्यक्तित्व बोकेको तेरो सन्दर्भमा भन्नुपर्दा, येशूले तँलाई मुक्ति दिनुभएको थियो, र परमेश्वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्ने कुरालाई यसले प्रमाणित गर्दैन। तँलाई परिवर्तन गरिएको छैन भने तँ कसरी सन्तमय बन्न सक्छस्? भित्री रूपमा, तँ अपवित्रताले भरिएको, स्वार्थी र तुच्छ छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ निकै भाग्यमानी हुनुपर्नेछ! परमेश्वरमाथिको विश्वासमा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँलाई परिवर्तन गरिएको छैन। तँ परमेश्वरका अभिप्रायअनुरूपको बन्नका लागि, परमेश्वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्नेछैनस्। यसरी तँ परमेश्वरका असल आशिषहरूमा भाग पाउन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्वरको कार्यको एक चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले यसर्थ प्रत्यक्ष रूपमा परमेश्वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पद र पहिचानको सम्बन्धमा
पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानी स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा मुक्ति दिनका लागि हो। यो यसकारण गरिएको हो, कि क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएर अनुग्रहको युगबाट परमेश्वरले मुक्तिको काम सुरु गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब मानवजातिलाई उनीहरूको विद्रोहका लागि न्याय गर्ने र सजाय दिने क्रममा, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ। त्यसबेला मात्र परमेश्वरले आफ्नो मुक्तिको कामलाई समाप्त गर्नुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू आउन सक्छन्। यी वचनहरू स्वीकार गर्दा ती मानिसहरूमा आउने परिवर्तनहरू, अनुग्रहको युगका चिह्न र चमत्कारका कामहरूलाई स्वीकार गर्दा मानिसहरूमा परेको प्रभावभन्दा बढी हुन्छ। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर प्रार्थना गरेर ऊबाट भूतहरू निकालिन्थ्यो, तर मानिसभित्रको भ्रष्ट स्वभाव अझै रहिरहन्थ्यो। मानिसलाई उसको बिमारीबाट निको पारिन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसलाई ऊभित्रको भ्रष्ट शैतानिक स्वभावबाट शुद्ध पार्नुपर्ने काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको विश्वासको लागि मात्र मुक्ति दिइन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसको पापी स्वभाव नाश पारिएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रहन्थ्यो। मानिसका पापहरू देहधारी परमेश्वरको माध्यमबाट क्षमा गरिएको थियो, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्थ्यो, तर मानिसलाई कसरी फेरि पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापमय प्रकृति कसरी पूर्ण रूपले हटाउन र रूपान्तरित गर्न सकिन्छ, यो समस्या समाधान गर्ने ऊसँग कुनै उपाय हुँदैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसको निम्ति मानिसले जीवनको वृद्धिको मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने तरिकालाई बुझ्नु आवश्यक हुन्छ। यसबाहेक, मानिसले यो मार्गअनुसार व्यवहार गर्नु आवश्यक हुन्छ, यसैले कि उसको स्वभाव बिस्तारै परिवर्तन हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, यसैले कि उसले जे गर्छ त्यो सबै परमेश्वरका अभिप्रायअनुसार होस्, यसैले कि उसले आफ्नो भ्रष्ट शैतानिक स्वभावलाई त्याग्न सकोस् र त्यसरी ऊ शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकोस्, र पापबाट पूर्ण रूपमा माथि उठ्न सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ। जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्वासले सम्पूर्ण परिवारमा आशिष् ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण कामको त्यो चरण समाप्त भएपछि पनि न्याय र सजायको काम बाँकी नै रह्यो। यो चरण भनेको वचनद्वारा मानिसलाई शुद्ध बनाउनको निम्ति, अनि त्यसद्वारा पछ्याउनको लागि उसलाई एक मार्ग दिनका निम्ति हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम अघिबाटै समाप्त भइसकेको छ र परमेश्वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहेको छ, मानिसले अहिले पनि पाप गर्न र परमेश्वरको विरोध गर्न सक्छ, र परमेश्वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। यसैले कामको यस चरणमा परमेश्वरले मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न वचनको प्रयोग गर्नुहुन्छ, र उसलाई सही मार्गअनुसार हिँड्ने अभ्यास गर्न लगाउनुहुन्छ। यो चरण अघिल्लोभन्दा धेरै अर्थपूर्ण छ, साथै धेरै फलदायी पनि छ, किनकि अहिले वचनले नै सोझै मानिसको जीवनलाई प्रदान गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण गर्छ; यो कामको अझै विस्तृत चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्वरको देहधारणको महत्त्वलाई पूरा गरेको छ र मानिसको मुक्तिको लागि परमेश्वरको व्यवस्थापन योजनालाई पूर्ण रूपमा समाप्त गरेको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्वरले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्दहरूले व्याख्या गर्नुहुन्न; उहाँ खुलासा र काँटछाँट लामो समयसम्म गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक तरिकाहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्वस्त हुन सक्छ, र यसका साथसाथै परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्वरको न्यायले मानवलाई परमेश्वरका अभिप्राय, र परमेश्वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा विश्वास राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्वरले गर्नुभएको न्यायको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि सत्यताको चिरस्थायी र अनन्त बाटो ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र परमेश्वरद्वारा ऊ अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुहुने जीवनको बाटो खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियम र वचनहरूको नियन्त्रण र इतिहासको बन्धनमा हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्ने जीवनको पानी नभई धमिलो पानी मात्रै छ, जसमा हजारौँ वर्षदेखि टाँसिएका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लास, शैतानको खेलौना, र नरकको पुत्र भएर रहनेछन्। अनि, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्ने मात्रै प्रयास गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्ने प्रयास गर्दैनस् भने, के तँ सधैँ परमेश्वरको विरुद्धमा हुनेछैनस् र? परमेश्वरको कार्यका चरणहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै विशाल र शक्तिशाली छन्—तैपनि तँ आफ्नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यस तरिकाले, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकका वचनहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छन्? तिनले कसरी तँलाई परमेश्वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि, तिनले कसरी तँलाई स्वर्ग लैजान सक्छन्? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने वचनहरू मात्र हुन्, जीवन दिन सक्ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्त्रका वचनहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्न तँलाई सहयोग गर्न सक्ने दर्शनशास्त्रका शब्दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई समीक्षा गर्ने ध्येय दिँदैन र? के यसले तँलाई आफैभित्र रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा सुम्पन सक्छस्? परमेश्वरको आगमनविना, के तँ परमेश्वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ जाँचेर हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।
ख्रीष्टले बोल्नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूलाई परमेश्वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर घुमाउरो बाटोबाट कोही पनि भित्र जान सक्दैन। ख्रीष्टद्वारा बाहेक परमेश्वरले कसैलाई पनि सिद्ध पार्नुहुन्न। तँ परमेश्वरमा विश्वास गर्छस्, र त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको मार्गप्रति समर्पित हुनैपर्छ। सत्यतालाई ग्रहण गर्न असक्षम हुँदाहुँदै र जीवन आपूर्ति स्वीकार गर्न असक्षम हुँदाहुँदै, तैँले आशिष्हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्वास गर्नेहरू सबैलाई जीवन प्रदान गरियोस् भनेर ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्वरनिन्दा गर्छस्, वा उहाँको खेदोसमेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्म जल्नेछस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ
सम्बन्धित चलचित्र उद्धरणहरू
परमेश्वरका पाइला पछ्याउनेहरूले मात्रै अनन्त जीवनको मार्ग प्राप्त गर्न सक्छन्
सम्बन्धित भजनहरू
आखिरी दिनहरूको ख्रीष्टले राज्यको युग सुरु गर्नुभयो
आखिरी दिनहरूको ख्रीष्टले अनन्त जीवनको बाटो ल्याउनुहुन्छ