२. आशिष् प्राप्त गर्ने अभिप्राय र अत्यधिक चाहनाहरू कसरी समाधान गर्ने
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
धेरै जना मानिसहरू शान्ति र अन्य फाइदाहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। यदि त्यो तेरो आफ्नै फाइदाको कुरा होइन भने तँ परमेश्वरमा विश्वास गर्दैनस्, र यदि तैँले परमेश्वरका अनुग्रहहरू प्राप्त गर्न सकिनस् भने, तँ ठुस्किन्छस्। तँ जे भन्छस् त्यो कसरी तेरो वास्तविक कद हुन सक्छ? जब बच्चाहरू बिरामी हुने, प्रियजनहरू अस्पतालमा भर्ना हुने, कम उब्जनी, र परिवारका सदस्यहरूद्वारा सतावट जस्ता अपरिहार्य पारिवारिक घटनाहरूको कुरा आउँछ, प्रायः दिनदिनै भइरहने घटनाहरूसमेत तेरा निम्ति अति हुन्छन्। जब यस्ता कुराहरू हुन्छन्, तँ आत्तिन्छस्, र के गर्नुपर्ने हो सो जान्दैनस्—र प्रायजसो समय तँ परमेश्वरको बारेमा गुनासो गर्छस्। तँ परमेश्वरका वचनहरूले तँलाई छल गर्यो, परमेश्वरको कामले तेरो गिल्ला गऱ्यो भनी गुनासो गर्छस्। के तिमीहरूसँग त्यस्तो विचार छैन र? के तँ त्यस्ता कुराहरू आफूलाई विरलै हुन्छन् भनी सोच्छस्? तिमीहरू हरेक दिन त्यस्ता घटनाहरूको बीचमा जिउँछौ। तिमीहरू परमेश्वरमाथिको आफ्नो विश्वासको सफलता, र परमेश्वरका अभिप्रायहरू कसरी सन्तुष्ट पार्ने भन्ने विषयमा अलिकति पनि विचार गर्दैनौ। तिमीहरूको वास्तविक कद धेरै सानो छ, सानो चल्लाको भन्दा पनि सानो छ। जब तेरो परिवारको व्यवसायमा धन गुम्छ तब तँ परमेश्वरको बारेमा गुनासो गर्छस्, जब तँ आफूलाई परमेश्वरको सुरक्षा नभएको वातावरणमा पाउँछस् तँ अझै परमेश्वरको बारेमा गुनासो गर्छस्, र तेरो एउटा चल्ला मर्दा वा गोठमा बुढी गाई बिमार हुँदा पनि तँ गुनासो गर्छस्। तेरो छोराको बिहे गर्ने समय भइसक्दा पनि परिवारमा पुग्दो पैसा नहुँदा तँ गुनासो गर्छस्; तर तँ मेजमानको कर्तव्य निभाउन चाहन्छस्, तर त्यो खर्च उठाउन सक्दैनस्, र त्यसपछि तँ गुनासो गर्छस्। तँ गुनासोहरूले भरिएर पोखिन्छस्, र तँ यसैले गर्दा कहिलेकहीँ भेलाहरूमा भाग लिँदैनस् वा परमेश्वरका वचनहरू खाँदैनस् र पिउँदैनस्, कहिलेकहीँ धेरै लामो समयसम्म नकारात्मक हुन्छस्। आज तँलाई जे हुन्छ त्यसको तेरो सफलताको सम्भावना वा नियतिसँग कुनै सम्बन्ध छैन; यी कुराहरू त तैँले परमेश्वरमा विश्वास नगरेको भए पनि हुनेथिए, तैपनि आज तँ तिनको जिम्मेवारी परमेश्वरमा सार्छस्, र परमेश्वरले नै तँलाई हटाउनुभएको हो भनी जिद्दी गर्छस्। परमेश्वरमाथिको तेरो विश्वास के भयो? के तैँले साँच्चै आफ्नो जीवन अर्पण गरेको छस्? यदि तिमीहरूले पनि अय्यूबको जस्तै परीक्षाहरू भोगेका हुन्थ्यौ भने, आज परमेश्वरलाई पछ्याउने तिमीहरूमध्ये कोही पनि दृढ भई खडा हुन सक्ने थिएनौ, तिमीहरू झर्नेथियौ। अनि स्पष्ट रूपमा नै तिमीहरू र अय्यूबको बीचमा संसार जतिकै ठूलो भिन्नता छ। आज, तिमीहरूको आधा सम्पत्ति कब्जा गरिएको भए, तिमीहरू परमेश्वरको अस्तित्व इन्कार्ने आँट गर्नेथ्यौ; यदि तिमीहरूका छोराछोरी खोसिएको भए, तिमीहरू सडकहुँदो अन्याय भयो भन्दै हिँड्नेथ्यौ। यदि तेरो एक मात्र जीविका समाप्त भयो भने तँ प्रयास गरेरै त्यो विषयलाई परमेश्वरकहाँ लैजान खोज्नेथिइस्; मैले सुरुमा तँलाई डराउन किन त्यति धेरै वचनहरू भनें भनी तँ सोध्छस्। त्यस्तो समयमा तैँले गर्न आँट नगर्ने कुनै कुरा हुँदैन। यसले तिमीहरूले कुनै पनि सही अन्तर्दृष्टि प्राप्त गरेका छैनौ, र तिमीहरूमा कुनै वास्तविक कद छैन भनी देखाउँछ। यसैले, तिमीहरूमा भएका परीक्षाहरू धेरै ठूला छन्, किनकि तिमीहरू धेरै जान्दछौ, तर तिमीहरूले वास्तवमा जे बुझ्छौ त्यो तिमीहरूले जानेका हजारौं भागको एक भाग पनि हुँदैन। केवल बुझाइ र जान्ने काममा नै नरोकी; तैँले वास्तवमा कतिसम्म अभ्यास गर्न सक्छस्, तेरो आफ्नै परिश्रमको पसिनाद्वारा कतिसम्म पवित्र आत्माको ज्ञान र प्रकाश प्राप्त गरिएको थियो, अनि तेरा अभ्यासहरूमध्ये कति वटामा तैँले आफ्नो संकल्प पूरा गरेको छस् त्यो हेर्नु राम्रो हुन्छ। तैँले आफ्नो कद र अभ्यासलाई गम्भीरतासाथ लिनुपर्छ। परमेश्वरमाथिको तेरो विश्वासमा तैँले कसैको निम्ति झारा टार्ने प्रयास मात्र गर्नु हुँदैन—तैँले अन्त्यमा सत्य र जीवन प्राप्त गर्छस् कि गर्दैनस् भन्ने कुरा तँ आफैले गरेको सत्यको खोजीमा निर्भर गर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (३)
आजभोलि, धेरैजसो मानिसहरू यस्तै प्रकारको अवस्थामा छन्: आशिष्हरू प्राप्त गर्नको लागि, मैले आफूलाई परमेश्वरमा समर्पित गर्नुपर्दछ र उहाँको निम्ति मूल्य चुकाउनुपर्छ। आशिष्हरू प्राप्त गर्नका लागि, मैले सबै कुरा परमेश्वरको लागि त्याग्नुपर्छ; मैले उहाँले मलाई सुम्पनुभएको काम पूरा गर्नुपर्छ र मैले मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। यस्तो स्थिति आशिष्हरू पाउने अभिप्रायको प्रभुत्वमा हुन्छ, जुन परमेश्वरबाट इनाम र मुकुट प्राप्त गर्ने उद्देश्यले आफूलाई पूर्णतया उहाँमा अर्पण गर्नुको एउटा उदाहरण हो। त्यस्ता मानिसहरूको हृदयमा सत्यता हुँदैन, र यो निश्चित छ कि उनीहरूको बुझाइमा केही वचन र धर्मसिद्धान्त मात्र हुन्छ, जसलाई उनीहरूले जहाँ गए पनि देखाउँदै हिँड्छन्। उनीहरूको मार्ग पावलको मार्ग हो। त्यस्ता मानिसहरूको विश्वास भनेको निरन्तर परिश्रम गर्ने कार्य हो, र तिनीहरूले आफ्नो हृदयको गहिराइमा के सोचेका हुन्छन् भने, उनीहरूले जति धेरै परिश्रम गर्छन् त्यसले परमेश्वरप्रतिको उनीहरूको बफादारितालाई त्यतिकै प्रमाणित गर्छ; उनीहरूले जति धेरै परिश्रम गर्छन्, उहाँ त्यति नै धेरै निश्चित रूपमा सन्तुष्ट हुनुहुनेछ; र उनीहरूले जति धेरै परिश्रम गर्छन्, उनीहरू त्यति नै बढी परमेश्वरबाट मुकुट प्राप्त गर्ने योग्यका हुनेछन्, र उनीहरूले पाउने आशिष्हरू त्यति नै ठूला हुनेछन्। उनीहरूलाई के लाग्छ भने, यदि उनीहरूले कष्ट भोग्न, प्रचार गर्न र ख्रीष्टको लागि ज्यान दिन सके भने, यदि उनीहरूले आफ्नै जीवन बलिदान दिन सके भने, र यदि परमेश्वरले आफूलाई सुम्पनुभएका सबै जिम्मेवारीहरू उनीहरूले पूरा गर्न सके भने, उनीहरू परमेश्वरद्वारा सबैभन्दा बढी आशिषित हुने मानिसहरूमध्येमा पर्नेछन्, र उनीहरूले मुकुटहरू पाउने निश्चित हुनेछ। पावलले यही कल्पना गरेका थिए र तिनले यही कुरा खोजेका थिए। तिनले हिँडेको मार्ग ठीक यही थियो, र यस्तै विचारहरूको मार्गदर्शनमा तिनले परमेश्वरको सेवा गर्ने काम गरे। के त्यस्ता विचार र उद्देश्यहरू शैतानी स्वभावबाट उत्पन्न हुँदैनन् र? यो त पृथ्वीमा हुँदा आफू ज्ञानको पछि लाग्नुपर्छ, र त्यो प्राप्त गरेपछि भीडबाट माथि उठ्न, अधिकृतहरू बन्न र प्रतिष्ठा पाउन सकिन्छ भन्ने कुरामा विश्वास गर्ने सांसारिक मानिसहरू जस्तै हो। उनीहरूलाई के लाग्छ भने, प्रतिष्ठा प्राप्त गरेपछि उनीहरूले आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न र आफ्ना व्यवसायहरू र पारिवारिक अभ्यासलाई समृद्धिको एक निश्चित तहसम्म ल्याउन सक्छन्। के सबै गैरविश्वासीहरू यही मार्गमा हिँड्दैनन् र? यो शैतानी स्वभावको प्रभुत्वमा परेका मानिसहरू आफ्नो विश्वासमा पावलजस्तो मात्र हुन सक्छन्। उनीहरू सोच्छन्: “आफैलाई परमेश्वरको निम्ति अर्पण गर्न मैले सबै कुरा त्याग्नुपर्छ। म परमेश्वरको सामु वफादार हुनैपर्छ र आखिरमा, मैले अवश्य नै ठूला इनाम र ठूला मुकुट पाउनेछु।” सांसारिक थोकहरूको पछि लाग्ने सांसारिक मानिसहरूको मनोवृत्ति पनि यस्तै हुन्छ। उनीहरू कुनै पनि हालतमा फरक हुँदैनन्, र उनीहरू उस्तै प्रकृतिको अधीनमा हुन्छन्। जब संसारमा मानिसहरूसित यस प्रकारको शैतानी स्वभाव हुन्छ, तब उनीहरूले ज्ञान, शिक्षा प्राप्त गर्न खोज्छन्, प्रतिष्ठा, र भीडभन्दा अलग हुन खोज्छन्। उनीहरूले परमेश्वरमा विश्वास गरे भने, ठूला मुकुट र ठूला आशिष्हरू पाउने कोसिस गर्नेछन्। परमेश्वरमा विश्वास गरेपछि, यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, निश्चय नै उनीहरूले यही मार्ग लिनेछन्। यो अपरिवर्तनीय तथ्य हो, र यो प्राकृतिक नियम हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने
परमेश्वरलाई पछ्याउने धेरै जनालाई कसरी आशिषहरू प्राप्त गर्ने वा विपत्ति टार्ने भन्नेको मात्रै चिन्ता छ। परमेश्वरको कार्य र व्यवस्थापनको बारेमा उल्लेख गर्ने बित्तिकै, तिनीहरू चुप बन्छन् र सबै रुचि गुमाउँछन्। त्यस्तो अरोचक कुराहरूलाई बुझेर यसले तिनीहरूको जीवन वृद्धि गर्न वा तिनीहरूलाई कुनै पनि लाभ प्रदान गर्न सहयोग गर्नेछैन भन्ने तिनीहरू ठान्छन्। परिणामस्वरूप, तिनीहरूले परमेश्वरको व्यवस्थापनको बारेमा सुनेका भए तापनि, त्यसप्रति अगम्भीर शैलीले व्यवहार गर्ने गर्छन्। यसलाई तिनीहरू स्वीकार गर्नुपर्ने कुनै बहुमूल्य कुराको रूपमा देख्दैनन्, यसलाई तिनीहरूले जीवनको पाटोको रूपमा स्वीकार गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूसँग परमेश्वरलाई पछ्याउने एउटै मात्र सरल उद्देश्य हुन्छ, र त्यो उद्देश्य हो, आशिषहरू प्राप्त गर्नु। त्यस्ता मानिसहरूले यो उद्देश्यसँग सिधै संलग्न नहुने अरू कुनै कुरालाई ध्यान दिने झमेला लिँदैनन्। तिनीहरूका लागि, आशिषहरू प्राप्त गर्न परमेश्वरमा विश्वास गर्नु जत्तिको न्यायसंगत अरू कुनै उद्देश्य हुँदैन—तिनीहरूको विश्वासको मूल्य यही नै हो। यदि कुनै कुराले यो उद्देश्यमा योगदान दिँदैन भने, यसले तिनीहरूको हृदय छुँदैन। आज परमेश्वरलाई विश्वास गर्ने धेरैजसो मानिसहरूको अवस्था यस्तै छ। तिनीहरूको उद्देश्य र अभिप्राय न्यायसंगत देखिन्छन्, किनभने तिनीहरूले परमेश्वरमा विश्वास गर्ने क्रममा तिनीहरू परमेश्वरमा समर्पित पनि हुन्छन्, आफैलाई परमेश्वरमा अर्पित पनि गर्छन्, र आफ्नो कर्तव्य पनि निर्वाह गर्छन्। तिनीहरूले आफ्नो जवानी त्याग्छन्, परिवार र पेशा त्याग्छन्, र आफैलाई व्यस्त राख्दै कैयौँ वर्ष घरदेखि टाढा बिताउँछन्। तिनीहरूको आखिरी उद्देश्यका लागि, तिनीहरूले आफ्नै अभिरुचिहरू, जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, र तिनीहरूले खोजी गर्ने दिशालाई समेत परिवर्तन गर्छन्; तैपनि परमेश्वरमाथिको तिनीहरूको विश्वासको उद्देश्यलाई तिनीहरूले परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्नै आदर्शहरूको व्यवस्थापन गर्दै दौडधूप गर्छन्; बाटो जति टाढा भए पनि, र बाटोमा जति धेरै कठिनाइ र बाधाहरू भए पनि, तिनीहरू दृढ रहन्छन् र मृत्युको डर मान्दैनन्। आफैलाई निरन्तर रूपमा यस तरिकामा समर्पित गर्नका लागि कुन शक्तिले तिनीहरूलाई बाध्य तुल्याउँछ त? के तिनीहरूको विवेकले हो त? के यो तिनीहरूको महान् र आदर्शमय चरित्रले हो? के यो अन्त्यसम्मै दुष्टताका शक्तिहरूसँग युद्ध गर्ने तिनीहरूको संकल्पले हो? के यो इनामको खोजी नगरिकन परमेश्वरको गवाही दिने तिनीहरूको विश्वासले हो? के यो परमेश्वरको इच्छा पूरा गर्न सबै कुरा त्याग्न इच्छुक हुने तिनीहरूको बफादारीले हो? अथवा के यो विलासी व्यक्तिगत मागहरूलाई सँधै त्याग्ने तिनीहरूको भक्तिको आत्मा हो? परमेश्वरको व्यवस्थापनको कामलाई कहिल्यै नबुझेको कुनै व्यक्तिले त्यति धेरै त्याग गर्नु भनेको वास्तवमा चमत्कार नै हो! अहिलेका लागि, यी मानिसहरूले कति दिएका छन् त्यसको बारेमा छलफल नगरौं। तैपनि, तिनीहरूको आचरणलाई हामीले चिरफार गर्नु अत्यन्तै योग्य हुन्छ। तिनीहरूसँग अति निकट रूपले सम्बन्धित रहेका लाभहरू बाहेक, परमेश्वरलाई कहिल्यै नबुझ्ने मानिसहरूले उहाँका लागि त्यति धेरै त्याग गर्नुका अरू कुनै कारणहरू हुन सक्छन्? यसमा, हामी पहिले पहिचान नगरिएको समस्या पत्ता लगाउँछौं: परमेश्वरसँगको मानिसको सम्बन्ध एउटा नाङ्गो स्वार्थको मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्बन्ध हो। मालिकले दिने इनामहरू प्राप्त गर्नका लागि मात्रै कर्मचारीले कडा मेहनत गर्छ। त्यस्तो स्वार्थ-आधारित सम्बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम पाउने कुरा हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, असहाय दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, पार गर्न नसकिने दरार मात्रै हुन्छ। यी कुराहरू यो अवस्थासम्म आइपुगेकाले, अब यस्तो क्रमलाई कसले उल्ट्याउन सक्छ? अनि यो सम्बन्ध कति भयानक बनेको छ, त्यसलाई साँचो रूपमा बुझ्न सक्ने मानिसहरू कति छन्? मलाई विश्वास छ, जब मानिसहरूले आफैलाई आशिषित हुनुको आनन्दमा डुबाउँछन्, परमेश्वरसँगको त्यस्तो सम्बन्ध कति लाजमर्दो र कुरूप हुन्छ, त्यसको बारेमा कसैले पनि कल्पना गर्न सक्दैन।
परमेश्वरमाथिको मानवजातिको विश्वासको सबैभन्दा दुःखलाग्दो कुरा यो हो कि परमेश्वरको कामको बीचमा मानिसले आफ्नै व्यवस्थापन सञ्चालन गर्छ, तैपनि परमेश्वरको व्यवस्थापनमा कुनै ध्यान दिँदैन। मानिसको सबैभन्दा ठूलो असफलता यसैमा छ कि मानिसले परमेश्वरमा समर्पित हुन र उहाँको आराधना गर्न खोजिरहेको समयमा नै, उसले आफ्नै आदर्श गन्तव्यको निर्माण गरिरहेको हुन्छ र सबैभन्दा ठूलो आशिष् र सबैभन्दा उत्तम गन्तव्य कसरी प्राप्त गर्ने भनी षड्यन्त्र गरिरहेको हुन्छ। तिनीहरू कति दयनीय, घृणास्पद, र बिचरा छन् भन्ने कुरा कसैले बुझे तापनि, कति जनाले आफ्ना आदर्श र आशाहरूलाई सहजतापूर्वक त्याग्न सक्छन्? अनि आफ्नै पाइलाहरूलाई रोकेर, आफ्नै बारेमा मात्रै सोच्न छोड्न सक्ने को छन्? परमेश्वरलाई उहाँको व्यवस्थापन पूरा गर्नका लागि उहाँसँग नजिकबाट सहकार्य गर्नेहरूको खाँचो छ। उहाँलाई उहाँको व्यवस्थापन कार्यका निम्ति आफ्नो सम्पूर्ण मन र शरीर अर्पण गरेर उहाँमा समर्पित हुनेहरूको खाँचो छ। उहाँलाई हरेक दिन आफ्ना हातहरू पसारेर माग्ने मानिसहरूको खाँचो छैन, थोरै दिएर इनामको प्रतीक्षा गर्नेहरूको कुरा त परै जाओस्। थोरै योगदान दिएर आफ्ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुनेहरूलाई परमेश्वर घृणा गर्नुहुन्छ। उहाँको व्यवस्थापनको कार्यलाई घृणा गर्ने, अनि स्वर्ग जाने र आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै कुरा गर्न चाहने कठोर हृदय भएका मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। मानवजातिलाई मुक्ति दिने क्रममा उहाँले गर्नुहुने कामले प्रस्तुत गर्ने अवसरको फाइदा उठाउनेहरूप्रति उहाँको घृणा अझै ठूलो छ। किनभने यी मानिसहरूले परमेश्वरले आफ्नो व्यवस्थापन कार्यद्वारा के हासिल गर्न र प्राप्त गर्न चाहनुहुन्छ भन्ने बारेमा कहिल्यै वास्ता गरेका छैनन्। परमेश्वरको कामले प्रदान गरेको अवसरलाई आशिषहरू प्राप्त गर्नका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने मात्रै तिनीहरूलाई चासो छ। तिनीहरू आफ्नै भविष्य र भाग्यबारे पूर्ण रूपमा तल्लीन भएका हुनाले, तिनीहरू परमेश्वरको हृदयबारे विचारशील छैनन्। परमेश्वरको व्यवस्थापनको कार्यलाई घृणा गर्ने अनि परमेश्वरले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ त्यस कुरामा र उहाँका अभिप्रायहरूको बारेमा अलिकति पनि रुचि नदेखाउनेहरूले परमेश्वरको व्यवस्थापनको कार्यबाट अलग रहेर तिनीहरूलाई प्रसन्न पार्ने कुराहरू मात्रै गरिरहेका हुन्छन्। तिनीहरूको आचरणलाई न त परमेश्वरले स्मरण गर्नुहुन्छ न त अनुमोदन नै—परमेश्वरले यसलाई निगाहको साथ हेर्ने कुरा त परै जाओस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ
तिमीहरूको पछ्याइमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको काटछाँट गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। शैतानको विषले सधैँ मानिसहरूका विचारहरूलाई नष्ट गर्छ र मानिसहरू शैतानका यी परीक्षाहरूदेखि मुक्त हुन सधैँ असमर्थ छन्, त्यही कारणले नै मानिसहरूका हृदयमा यी कुराहरूको अस्तित्व छ। तिनीहरू पापको माझमा जिउँछन् तापनि यसलाई पाप भनी विश्वास गर्दैनन्, तैपनि तिनीहरू सोच्छन्: “हामी परमेश्वरमा विश्वास गर्छौं, त्यसैले उहाँले हामीलाई आशिष्हरू दिनुपर्छ र हाम्रो निम्ति सबै कुरा उचित तवरले व्यवस्था गर्नुपर्छ। हामी परमेश्वरमा विश्वास गर्छौं, यसैले हामी अरूभन्दा श्रेष्ठ हुनुपर्छ र हाम्रो हैसियत र भविष्य अरूको भन्दा अझ धेरै हुनुपर्छ। हामीले परमेश्वरमा विश्वास गर्ने हुनाले, उहाँले हामीलाई असीमित आशिष्हरू दिनुपर्छ। अन्यथा, यसलाई परमेश्वरमाथि गरिने विश्वास भनिने थिएन।” धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूका हृदयलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्लाई उछिन्ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्वरमाथि विश्वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्वरमाथिको तिनीहरूको विश्वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्। के तिमीहरूका अहिलेका सोच र दृष्टिकोणहरू यस्तै छैनन् र? “मैले परमेश्वरमाथि विश्वास गर्ने हुनाले ममाथि आशिष्हरूको वर्षा हुनुपर्छ र मेरो हैसियत कहिले पनि फुत्केर नगएको होस् र त्यो गैरविश्वासीहरूको भन्दा उच्च रहनुपर्छ भन्ने कुरालाई सुनिश्चित गरिनुपर्छ।” तिमीहरूले आफूभित्र त्यस किसिमको दृष्टिकोण केवल एक वा दुई वर्षदेखि मात्र होइन तर धेरै वर्षदेखि राखेका छौ। तिमीहरूको कारोबारी तरिकाको सोचाइ अति विकसित भएको छ। तिमीहरू आज यस चरणमा आइपुगेको भए तापनि तिमीहरूले हैसियतलाई अझ पनि छाडेका छैनौ तर एक दिन तिमीहरूको हैसियत गुम्नेछ र तिमीहरूको नाम नष्ट हुनेछ भन्ने गहिरो डरको साथ यसको बारेमा निरन्तर सोधपुछ गर्नमा सङ्घर्ष गर्छौ र दिनहुँ यसको अवलोकन गर्छौ। मानिसहरूले सहजता प्रतिको आफ्नो चाहनालाई कहिल्यै पन्छाएका छैनन्। … तैँले जति यस किसिमले खोजी गर्छस्, तैँले त्यति नै कम कटनी गर्छस्। व्यक्तिको हैसियतको इच्छा जति ठूलो हुन्छ, तिनीहरूसँग त्यति नै धेरै गम्भीर काटछाँट गरिनुपर्ने हुन्छ र तिनीहरू त्यति नै ठूलो शोधन भएर जानुपर्ने हुन्छ। यस्ता मानिसहरू बेकम्मा हुन्छन्! तिनीहरूले यी कुराहरूलाई पूर्ण रूपमा छोड्नको लागि तिनीहरूको यथेष्ट काटछाँट र न्याय गरिनुपर्छ। यदि तिमीहरू अन्त्यसम्मै यसरी पछि लाग्यौ भने, तिमीहरूले केही पनि कटनी गर्नेछैनौ। जीवनको पछि नलाग्नेहरूलाई रूपान्तरण गर्न सकिँदैन र सत्यको निम्ति नतिर्खाउनेहरूले सत्य प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेशको पछि लाग्ने कुरामा ध्यान दिँदैनस्, तर परमेश्वरमाथिको तेरो विश्वासमा अवरोध गर्ने र उहाँको नजिक लानबाट तँलाई रोक्ने असामान्य इच्छा र चीजहरूमा ध्यान दिन्छस्। के ती कुराहरूले तेरो रूपान्तरण गर्न सक्छन्? के तिनीहरूले तँलाई राज्यभित्र ल्याउँछन्? यदि सत्यको खोजी गर्नु तेरो खोजीको उद्देश्य होइन भने, तैँले यस मौकाको फाइदा लिएर यसमा सफल हुनको निम्ति संसारतिर फर्कनुपर्छ। तेरो समय यसरी फाल्नु उचित हुँदैन—तैँले आफैलाई किन कष्ट दिने? तैँले सुन्दर संसारमा भएका सबै किसिमका चीजहरूको आनन्द लिन सक्थिस् भन्ने कुरा सत्य होइन? पैसा, सुन्दर स्त्रीहरू, हैसियत, अभिमान, परिवार, बालबच्चाहरू र अन्य—के संसारका यी उत्पादनहरू तैँले आनन्द मनाउन सक्ने सर्वोत्तम कुराहरू होइनन् र? तैँले सुख पाउने ठाउँ कहाँ पाउलास् भनेर यहाँ भौतारिनुको के फाइदा? मानिसको पुत्रको शिर राख्ने ठाउँ कहीँ छैन, यसैले तैँले आरामको ठाउँ कसरी पाउन सक्थिस्? उहाँले तेरो निम्ति आराम गर्ने एउटा सुन्दर ठाउँ कसरी सृजना गर्न सक्नुहुन्थ्यो र? के त्यो सम्भव छ? मेरो न्याय बाहेक, आज तैँले सत्यको बारेमा शिक्षाहरू मात्र प्राप्त गर्न सक्छस्। तैँले मबाट सान्त्वना प्राप्त गर्न सक्दैनस् र तैँले दिनरात चाहना गर्ने गुलाबको ओछ्यान प्राप्त गर्न सक्दैनस्। म तँलाई संसारको धनसम्पत्ति दिनेछैन। यदि तैँले साँच्चिकै पछ्याइस् भने म तँलाई जीवनको मार्ग सम्पूर्ण रूपमा दिन, तँलाई पानीमा फर्किएको माछा जस्तो बनाउन इच्छुक छु। यदि तैँले साँच्चिकै पछ्याउँदैनस् भने, म सबै फिर्ता लिनेछु। आरामको लोभ गर्नेहरूलाई म मेरा मुखका वचनहरू दिन तयार छैनँ, जो सुँगुर र कुकुरहरू जस्ता छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?
जब-जब भाग्यको उल्लेख गरिन्छ, तिमीहरूले त्यसलाई विशेष गम्भीरताका साथ व्यवहार गर्छौ। यसबाहेक, यो यस्तो कुरा हो जसको बारेमा तिमीहरू विशेष रूपले संवेदनशील हुन्छौ। कोही-कोही राम्रो गन्तव्य हासिल गर्न परमेश्वरको सामु भुइँमा आफ्नो निधार नै ठोकाइ साष्टाङ्ग दण्डवत् गर्न पनि पछि पर्दैनन्। तिमीहरूको उत्सुकतासित म परिचित छु जसलाई शब्दहरूमा व्यक्त गर्न आवश्यक छैन। यो तिमीहरूले आफ्नो शरीरलाई महाविपत्तीमा पार्न नचाहेको भन्दा बढी होइन, अनि न त तिमीहरू भविष्यमा अनन्त दण्डमा पर्ने चाहना नै गर्छौ। तिमीहरू केवल अलि बढी स्वच्छन्द ढङ्गले, अलि बढी सहजताका साथ जिउने आशा गर्छौ। त्यसैले गन्तव्यको बारेमा उल्लेख गरिँदा तिमीहरू विशेष रूपले अशान्त हुन्छौ र यदि तिमीहरू पर्याप्त रूपले सावधान छैनौ भने तिमीहरूले परमेश्वरलाई दुःखित पार्नेछौ र यसरी तिमीहरूले पाउनुपर्ने प्रतिफलको हकदार तिमीहरू हुनेछौ भन्ने कुराप्रति तिमीहरू साह्रै त्रासित हुन्छौ। आफ्नो गन्तव्यको खातिर तिमीहरूले सम्झौताहरू गर्न हिचकिचाएका छैनौ, अनि तिमीहरूमध्ये जो कुनै समय कुटिल र छिचरो थियौ, तिमीहरू अकस्मात् भद्र र इमान्दार भएका छौ; तिमीहरूको देखावटी इमानदारिताले मानिसहरूलाई हड्डीको मासीसम्मै चिसो पार्दछ। तथापि, तिमीहरू सबैसित “इमान्दार” हृदय छ, अनि तिमीहरूले मलाई कुनै कुरा बाँकी नराखी निरन्तर आफ्नो हृदयको गुप्त कुराहरू खोलेका छौ, चाहे त्यो दुःखपोखाई होस् वा छल होस् वा भक्ति। समग्रमा, तिमीहरूले अत्यन्तै निष्कपटताका साथ मसित त्यस्ता ठोस कुराहरू “स्वीकार” गरेका छौ जुन तिमीहरूको अस्तित्वको भित्री कुनाहरूमा छन्। अवश्य, त्यस्ता कुराहरूको वरिपरि म कहिल्यै घुमेको छैनँ किनकि ती कुराहरू मेरो निम्ति ज्यादै परिचित छन्। तिमीहरू आफ्नो अन्तिम गन्तव्यको खातिर परमेश्वरको स्वीकृति पाउनको निम्ति कपालको एउटै केस्रा गुमाउनुभन्दा बरु आगोको समुद्रभित्र प्रवेश गर्ने थियौ। म तिमीहरूसित धेरै कट्टरपन्थी भइरहेको छैनँ; कुरा यो हो कि मैले गर्ने सबै कुराहरूमा मेरो आमनेसामने आउनको लागि तिमीहरूसित भक्तिको हृदयको ज्यादै कमी छ। मैले भर्खरै भनेका कुराहरू सायद तिमीहरू बुझ्दैनौ होला, त्यसैले म एउटा साधारण व्याख्या प्रस्तुत गर्छु: तिमीहरूलाई आवश्यक पर्ने सत्यता र जीवन होइन, न आफूले कसरी व्यवहार गर्ने भन्ने सिद्धान्तहरू हो, न त मेरो मेहनती काम नै हो। बरु तिमीहरूलाई आवश्यक परेको ती हरेक थोक हुन् जुन तिमीहरूसँग देहमै छ: सम्पत्ति, हैसियत, परिवार, विवाह, आदि इत्यादि। तिमीहरू मेरा वचनहरू र कामहरूलाई पूर्ण रूपले उपेक्षा गर्छौ, त्यसैले म तिमीहरूको आस्थालाई सारांशमा एउटै शब्दमा भन्न सक्छु: लापरवाह। तिमीहरू जुन कुराहरूमा पूर्ण रूपले अर्पित हुन्छौ, ती कुराहरू प्राप्त गर्न जेसुकै गर्न सक्छौ, तर परमेश्वरमाथिको तिमीहरूको विश्वास सम्बन्धी कुराहरूको खातिर त्यसो गर्दैनौ भन्ने मैले पत्ता लगाएको छु। बरु तिमीहरू तुलनात्मक रूपले समर्पित छौ, अनि तुलनात्मक रूपले जोशिला छौ। त्यसैकारण, म भन्छु, जसमा पूर्ण रूपमा इमानदार हृदयको कमी छ, तिनीहरू परमेश्वरप्रतिको तिनीहरूको विश्वासमा असफल हुन्छन्। ध्यानपूर्वक सोच—तिमीहरूको माझमा थुप्रै असफलहरू छन् कि?
मानिसहरूको आफ्नै कार्यहरूको परिणामस्वरूप परमेश्वरमाथिको विश्वासमा सफलता हासिल गरिन्छ भन्ने तिमीहरूले जान्नुपर्छ। जब मानिसहरू सफल नभई असफल हुन्छन्, त्यो पनि तिनीहरूका आफ्नै कार्यहरूको कारणले हो अनि त्यसमा कुनै कुराले भूमिका खेल्दैन। म विश्वास गर्छु कि तिमीहरूले परमेश्वरमा विश्वास गर्नुभन्दा बरु त्योभन्दा धेरै कठिन र कष्टदायी कुरा हासिल गर्न जे पनि गर्नेथियौ अनि त्यसलाई धेरै गम्भीरतापूर्वक व्यवहार गर्नेथियौ; यतिसम्म कि तिमीहरू कुनै पनि गल्तीहरूलाई सहन अनिच्छुक हुनेथियौ; यस्ता प्रकारका अविरल प्रयासहरू तिमीहरू सबै आफ्नो जीवनमा राख्दछौ। यस्ता कतिपय परिस्थितिहरूमा तिमीहरू मेरो देहलाई छल्न समेत सक्षम छौ जुन परिस्थितिहरूमा तिमीहरू आफ्नो परिवारको कुनै सदस्यलाई समेत छल्ने थिएनौ। यो तिमीहरूको निरन्तरको व्यवहार र सिद्धान्त हो जसद्वारा तिमीहरू जिउँछौ। के तिमीहरूले तिमीहरूका गन्तव्य, तिमीहरूले चाहेको सबै कुरा पूर्ण र सिद्ध होस् भनेर आफ्नो गन्तव्यको खातिर मलाई धोका दिन झूटो मकुन्डो लगाइरहेका छैनौ र। तिमीहरूको भक्ति जस्तै तिमीहरूको इमानदारीता अस्थायी मात्र हो भन्ने मलाई थाहा छ। के तिमीहरूको संकल्प र तिमीहरूले चुकाउने मूल्य भविष्यको निम्ति नभई वर्तमान क्षणको खातिर मात्र होइन र? केवल एउटा लेनदेनको उद्देश्य राखेर तिमीहरू सुन्दर गन्तव्य प्राप्त गर्नको निम्ति संघर्ष गर्न केवल एउटा अन्तिम प्रयासमा बल लगाउँछौ। सत्यताप्रति ऋणी हुनदेखि जोगिन तिमीहरू यो प्रयास गर्दैनौ, न त मैले चुकाएको मूल्य फेरि तिर्नको खातिर यो गर्दछौ। संक्षिप्तमा, आफूले चाहेको कुरा प्राप्त गर्न तिमीहरू चलाक रणनीतिहरू काममा लगाउँछौ। तर त्यसको निम्ति खुला लडाइँ लड्दैनौ। के यी तिमीहरूका सबैभन्दा भित्री सोचहरू होइनन् र? तिमीहरूले आफ्नो भेष बदल्नुहुँदैन, न त खान र सुत्न नसक्ने बिन्दुसम्म आफ्ना गन्तव्यको निम्ति तिमीले आफ्नो मगजलाई यातना दिनु नै हुन्छ। तिमीहरूको आखिरमा परिणाम पहिलेबाट नै निर्धारित भइसकेको हुनेछ भन्ने कुरा के साँचो होइन र? तिमीहरू हरेकले खुला र इमान्दार हृदयले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ र जस्तोसुकै मूल्य पनि चुकाउन पनि तत्पर हुनुपर्छ। जसरी तिमीहरूले भनेका छौ, जब त्यो दिन आउँछ, उहाँको निम्ति कष्ट भोग्ने र मूल्य चुकाउने कसैलाई पनि परमेश्वरले बेवास्ता गर्नुहुन्न। यस्तो प्रकारको दृढ निश्चयता पक्रिरहन लायकको छ, अनि तिमीहरूले यो कहिल्यै बिर्सनु हुँदैन भन्ने कुरा सही छ। यसरी मात्रै म तिमीहरूको निम्ति मेरो मनलाई सहजता दिन सक्छु। नत्रभने, तिमीहरू सधैँभरि यस्ता मानिसहरू हुनेछौ जसको बारेमा मेरो मन निश्चिन्त रहन सक्दैन अनि तिमीहरू मेरो अरुचिका पात्रहरू हुनेछौ। यदि तिमीहरू सबै आफ्नो विवेकलाई पछ्याउन सक्छौ र मेरो कामको निम्ति केही प्रयास बाँकी नराखी अनि मेरो सुसमाचारको निम्ति जीवनभरिको शक्ति अर्पण गरेर मेरो निम्ति आफ्नो सबै दिन सक्छौ भने के मेरो हृदय तिमीहरूको पक्षमा खुशीले उफ्रिने छैन र? यसद्वारा म मेरो मनलाई तिमीहरूको सम्बन्धमा पूर्ण रूपले निश्चिन्त तुल्याउन सक्छु, सक्नेछैन र? यो लाजलाग्दो कुरा हो कि तिमीहरूले गर्नसक्ने कुरा भनेको मैले आशा गरेको कुराको ज्यादै सानो भाग मात्र हो। यसो भएको हुनाले तिमीहरूले आशा गरेको कुराको निम्ति मबाट खोजी गर्ने आँट कसरी तिमीहरू गर्नसक्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। गन्तव्यको सम्बन्धमा
जब कतिपय मानिसलाई अगुवाको पदबाट बरखास्त गरिन्छ र तिनीहरूलाई फेरि प्रशिक्षित वा प्रयोग गर्न सकिँदैन भनेर माथिबाट भनिएको तिनीहरूले सुन्छन्, तब तिनीहरू आफूलाई हटाइयो नै जस्तो गरी अत्यन्तै दुःखी हुन्छन्, र बेस्सरी रुन्छन्—यो कस्तो समस्या हो? तिनीहरूलाई फेरि प्रशिक्षित वा प्रयोग नगरिनुको अर्थ के तिनीहरूलाई हटाइनु हो? के त्यसको अर्थ तिनीहरूले मुक्ति पाउन नसक्नु हो? के तिनीहरूलाई ख्याति, प्राप्ति र हैसियत साँच्चै त्यस्तो महत्त्वपूर्ण लाग्छ? यदि तिनीहरू सत्यता पछ्याउने व्यक्ति हुन् भने, आफूले ख्याति, लाभ र हैसियत गुमाउँदा तिनीहरूले आत्मचिन्तन गर्नुपर्छ, र तिनीहरूलाई साँचो पछुतो हुनुपर्छ; तिनीहरूले सत्यता पछ्याउने मार्ग छनौट गर्नुपर्छ, तिनीहरू बद्लिनुपर्छ, र धेरै व्याकुल हुनु वा धेरै रुनु हुँदैन। यदि तिनीहरूलाई वास्तविक काम नगरेको र सत्यता नपछ्याएको कारण परमेश्वरको घरले आफूलाई बरखास्त गरेको छ भन्ने हृदयमा थाहा भयो अनि तिनीहरूले फेरि बढुवा पाउनेछैनन् भनेर परमेश्वरको घरले भनेको तिनीहरूले सुने भने, तिनीहरूलाई लाज लाग्नुपर्छ, आफू परमेश्वरप्रति ऋणी छु र आफूले परमेश्वरलाई निराश तुल्याएको छु भन्ने महसुस गर्नुपर्छ, तिनीहरूले आफू परमेश्वरद्वारा प्रयोग गरिन योग्य छैन भनेर जान्नुपर्छ, अनि यसरी तिनीहरूमा अलिअलि समझ छ भनेर मान्न सकिन्छ। तर तिनीहरू परमेश्वरको घरले तिनीहरूलाई फेरि प्रशिक्षित वा प्रयोग गर्नेछैन भनेको सुन्दा नै नकारात्मक र व्याकुल बन्छन्, र यसले के देखाउँछ भने तिनीहरू ख्याति, लाभ र हैसियत पछ्याइरहेका छन्, र तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन्। आशिष् पाउने तिनीहरूको चाहना यस्तो बलियो हुन्छ, तिनीहरू हैसियतलाई यस्तो मूल्यवान् ठान्छन् र तिनीहरूले वास्तविक काम गर्दैनन्, त्यसैले तिनीहरूलाई बरखास्त गरिनुपर्छ, र तिनीहरूले चिन्तन गर्नुपर्छ र आफ्ना भ्रष्ट स्वभावहरू बुझ्न थाल्नुपर्छ। तिनीहरूले आफूले पछ्याइरहेको मार्ग गलत हो, आफू हैसियत, ख्याति र लाभ पछ्याएर ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेको छु, आफूलाई परमेश्वरले अनुमोदन नगर्नुहुने मात्र होइन, आफूले उहाँको स्वभावलाई पनि चिढ्याउनेछु, अनि आफूले हरप्रकारको दुष्टता गरेमा, आफूलाई परमेश्वरले दण्ड पनि दिनुहुनेछ भनेर थाहा पाउनुपर्छ। के तिमीहरूमा पनि यो समस्या छैन र? अहिले मैले तिमीहरूमा आत्मिक बुझाइ छैन भनेर भनेँ भने, के तिमीहरू बेखुस हुनेछैनौ र? (हुनेछौँ।) जब कतिपय मानिसले कुनै माथिल्लो अगुवाले उनीहरूमा आत्मिक बुझाइ छैन भनेको सुन्छन्, तब उनीहरूलाई आफू सत्यता बुझ्न सक्षम छैन, आफूलाई परमेश्वरले पक्कै चाहनुहुन्न, र आफूमा आशिष् पाउने आशा छैन भन्ने लाग्छ; तर तिनीहरूलाई दुःख लागे पनि, तिनीहरू अझै आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गर्न सक्छन्—यस्ता मानिसहरूमा अलिअलि समझ हुन्छ। जब कतिपय मानिसले उनीहरूमा आत्मिक बुझाइ छैन भनेर कसैले भनेको सुन्छन्, तब उनीहरू नकारात्मक बन्छन्, र त्यहाँदेखि आफ्नो कर्तव्य निभाउन चाहँदैनन्। तिनीहरू सोच्छन्, “तिमी मसँग आत्मिक बुझाइ छैन भनेर भन्छौ—के त्यसको अर्थ मसँग आशिष् पाउने आशा छैन भन्ने हो? मैले भविष्यमा कुनै आशिष् नपाउने भएकोले, मैले अझै केको लागि विश्वास गरिरहेको छु? म आफूलाई सेवा चढाउन लगाइएको स्वीकार गर्नेछैनँ। यदि केही पनि पाइँदैन भने कसले पो तिम्रा निम्ति परिश्रम गर्नेछ र? म त्यस्तो मूर्ख छैनँ!” के यस्ता मानिसहरूमा विवेक र समझ हुन्छ? तिनीहरू परमेश्वरबाट एकदमै धेरै अनुग्रहको आनन्द लिन्छन्, तैपनि त्यसको ऋण चुकाउन जान्दैनन्, र तिनीहरू सेवा चढाउनसमेत चाहँदैनन्। यस्ता मानिसहरू समाप्त हुन्छन्। तिनीहरूले अन्त्यसम्म सेवा चढाउनसमेत सक्दैनन् र तिनीहरूमा परमेश्वरप्रति साँचो विश्वास हुँदैन; तिनीहरू गैरविश्वासी हुन्। यदि तिनीहरूमा परमेश्वरका लागि सच्चा हृदय र परमेश्वरप्रतिको साँचो विश्वास छ भने, तिनीहरूलाई जसरी मूल्याङ्कन गरिए पनि, यसले तिनीहरूलाई केवल अझ साँचो र सही रूपमा आफूलाई चिन्न मात्र सक्षम बनाउनेछ—तिनीहरूले यस मामिलालाई सही तरिकाले लिनुपर्छ र त्यसलाई आफ्नो परमेश्वरलाई पछ्याउनमा वा आफ्नो कर्तव्य निर्वाहमा प्रभाव पार्न दिनु हुँदैन। तिनीहरूले आशिष् प्राप्त गर्न नसके पनि, तिनीहरू अझै पनि कुनै गुनासो नगरी परमेश्वरको लागि अन्त्यसम्म सेवा चढाउन इच्छुक हुनुपर्छ, र त्यसो गर्न खुसी हुनुपर्छ, अनि तिनीहरूले परमेश्वरलाई सबै कुरामा तिनीहरूलाई योजनाबद्ध गर्न दिनुपर्छ—त्यसपछि मात्र तिनीहरू विवेक र समझसहितको व्यक्ति हुनेछन्। कुनै व्यक्तिले आशिष् पाउँछ कि विपत्ति भोग्छ भन्ने कुरा परमेश्वरका हातमा हुन्छ, यसमा परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँ यसको बन्दोबस्त गर्नुहुन्छ, अनि यो मानिसहरूले माग्ने वा लक्षित रूपमा काम गर्ने कुरा होइन। बरु, यो त व्यक्तिले परमेश्वरको वचन पालन गर्न सक्छ कि सक्दैन, सत्यता स्विकार्न सक्छ कि सक्दैन, र परमेश्वरको मापदण्डअनुसार आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ—परमेश्वरले प्रत्येक व्यक्तिलाई उसको कार्यअनुसार प्रतिफल दिनुहुनेछ। यदि कसैसँग यतिको इमानदारी छ र उसले आफूले बटुल्न सक्ने सबै सामर्थ्य आफूले गर्नुपर्ने कर्तव्यमा समर्पित गर्छ भने, त्यो प्रशस्तै हुन्छ, र उसले परमेश्वरको अनुमोदन र आशिष् पाउनेछ। तर त्यसको विपरीत, यदि कसैले आफ्नो कर्तव्य प्रशस्त गरी निर्वाह गर्दैन र हरप्रकारको दुष्टतासमेत गर्छ, तैपनि परमेश्वरबाट अझै आशिष् प्राप्त गर्न चाहन्छ भने, के उसले यस्तो व्यवहार गर्नु एकदमै समझ नहुनु होइन र? यदि तँलाई आफूले त्यति राम्रो गरेको छैन, आफूले धेरै प्रयास लगाएको छु तर सिद्धान्तअनुसार अझै मामिलाहरू सम्हाल्न सकेको छैन भन्ने लाग्छ, अनि तँलाई आफू परमेश्वरप्रति ऋणी छु, तैपनि उहाँ तँलाई आशिष् दिनुहुन्छ र अनुग्रह देखाउनुहुन्छ भन्ने लाग्छ भने, के त्यसको अर्थ परमेश्वरले तँलाई कृपा देखाइरहनुभएको होइन र? यदि परमेश्वर तँलाई आशिष् दिन चाहनुहुन्छ भने, त्यो यस्तो कुरा हो जसलाई कसैले पनि खोसेर लैजान सक्दैन। तँलाई आफूले धेरै राम्रो गरेको छैन भन्ने लाग्न सक्छ, तर परमेश्वरका मूल्याङ्कनमा, उहाँले तँ इमानदार छस् र तैँले तेरो सबथोक दिएको छस् भनेर भन्नुहुनेछ र उहाँले तँलाई अनुग्रह देखाउन र आशिष् दिन इच्छा गर्नुहुनेछ। परमेश्वरले गर्ने कुनै पनि कुरा गलत हुन्न, र तैँले उहाँको धर्मीपनको प्रशंसा गर्नैपर्छ। परमेश्वरले जे गर्नुभए पनि, त्यो सधैँ सही हुन्छ, र तैँले परमेश्वरले गर्ने कुरा मानव भावनाप्रति विचारशील हुँदैन, त्यो तँलाई मन पर्दैन भन्ने सोच्दै, उहाँले गर्ने कुराहरूबारे धारणाहरू पाले पनि, तैँले अझै परमेश्वरलाई प्रशंसा गर्नैपर्छ। किन तैँले यसो गर्नैपर्छ? तँलाई त्यसको किन भन्ने कारण थाहा छैन, होइन र? त्यो बताउनु वास्तवमा एकदमै सजिलो छ: किनभने परमेश्वर परमेश्वर हुनुहुन्छ र तँ मानव होस्; उहाँ सृष्टिकर्ता हुनुहुन्छ, र तँ सृष्टि गरिएको प्राणी होस्। तँ परमेश्वरले कुनै निश्चित तरिकामा कार्य गर्नुपर्छ वा उहाँले तँलाई निश्चित तरिकामा व्यवहार गर्नुपर्छ भनेर माग गर्न योग्य छैनस्, जबकि परमेश्वर तेरा लागि मापदण्ड न तोक्न योग्य हुनुहुन्छ। आशिष्, अनुग्रह, इनाम, मुकुट—यी सबै कुरा कसरी र कसलाई दिइन्छ, त्यो परमेश्वरमै निर्भर हुन्छ। किन त्यो परमेश्वरमै निर्भर हुन्छ? ती परमेश्वरका कुरा हुन्; ती मानिस र परमेश्वरको संयुक्त स्वमित्वमा रहेका सम्पत्ति होइनन् जुन उहाँहरूबीच बराबर वितरण गर्न सकिन्छ। ती परमेश्वरका हुन् अनि परमेश्वर जसलाई ती दिन्छु भनेर प्रतिज्ञा गर्नुहुन्छ उसैलाई दिनुहुन्छ। तर परमेश्वरले तँलाई ती दिने प्रतिज्ञा गर्नुहुन्न भने पनि, तँ अझै पनि उहाँमा समर्पित हुनुपर्छ। यदि तैँले यो कारण परमेश्वरमा विश्वास गर्न छोडिस् भने, त्यसले के समस्याहरू समाधान गर्नेछ? के तँ सृष्टि गरिएको प्राणी हुन छोड्छस्? के तँ परमेश्वरको सार्वभौमिकताबाट उम्कन सक्छस्? परमेश्वरले अझै पनि यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुनेछ, र यो अपरिवर्तनीय तथ्य हो। परमेश्वरको पहिचान, हैसियत र सार मानिसको पहिचान, हैसियत र सार बराबर मान्न सकिँदैन, न त यी कुराहरूमा कहिल्यै कुनै परिवर्तन नै हुनेछ—परमेश्वर सदैव परमेश्वर नै हुनुहुनेछ, र मानिस सदैव मानिस नै हुनेछ। यदि व्यक्तिले यो बुझ्न सक्छ भने, उसले के गर्नुपर्छ? ऊ परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ—परिस्थिति सम्हाल्ने सबैभन्दा उचित तरिका यही हो, र यसबाहेक अर्को मार्ग छनौट गर्न सकिँदैन। यदि तँ समर्पित हुँदैनस् भने, तँ विद्रोही होस्, अनि यदि तँ अवज्ञा र तर्क गर्छस् भने, तँ घोर विद्रोही बनिरहेको हुन्छस्, र तँ नष्ट हुनुपर्ने हुन्छ। परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्नुले तँमा समझ छ भन्ने देखाउँछ; मानिसहरूमा हुनैपर्ने मनोवृत्ति यही हो, अनि सृष्टि गरिएका प्राणीहरूमा हुनुपर्ने मनोवृत्ति यही मात्र हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत र आशिष् प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्
ख्रीष्टविरोधीहरूले परमेश्वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरूले आफ्नो कर्तव्य, प्रसिद्धि, प्राप्ति र हैसियतलाई सधैँ आशिष्हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्नेबित्तिकै तिनीहरूले आशिष्हरू पाउने आशा नै रहने छैन, र तिनीहरूको लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तिनीहरू सोच्छन्, “म सजग हुनुपर्छ, मैले लापर्बाही गर्नै हुँदैन! परमेश्वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अगुवा र सेवकहरू, र परमेश्वरलाई समेत भरोसा गर्न सकिन्न। म ती कसैलाई भरोसा गर्न सक्दिनँ। तैँले सबभन्दा बढी भरोसा गर्न सक्ने र तेरो भरोसाको सबभन्दा लायक व्यक्ति तँ नै होस्। यदि तँ आफ्ना लागि योजनाहरू बनाइरहेको छैनस् भने, तँलाई कसले वास्ता गर्नेछ? तेरो भविष्यबारे कसले सोच्नेछ? तैँले आशिष् पाउँ छस् कि पाउँदैनस् भनेर कसले सोच्नेछ? त्यसकारण, मैले आफ्ना लागि होसियारीसाथ योजना बनाउनुपर्छ र हिसाब लगाउनुपर्छ। मैले गल्ती गर्न वा अलिकति लापर्बाही गर्न समेत मिल्दैन, नत्र, कसैले मेरो फाइदा लिन खोज्यो भने मैले के गर्ने?” तसर्थ, कसैले तिनीअरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना बरबाद हुनेछ भन्ने डरले तिनीहरू परमेश्वरको घरका अगुवा र सेवकहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष् पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र आवश्यक मापदण्ड पूरा गर्ने सृष्टि गरिएको प्राणी बन्नुभन्दा महत्त्वपूर्ण कुराको रूपमा हेर्छ। यस्ता व्यक्तिहरूले आवश्यक मापदण्ड पूरा गर्ने सृष्टिको प्राणी बन्ने, आफ्नो कर्तव्य पालन गर्ने र मुक्ति पाउनेजस्ता सबै कुराहरूलाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन् जबकि आशिष्हरू पाउनुचाहिँ तिनीहरूको जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरूले यसलाई आशिषित् हुने रूपमा हेर्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरूले आफ्नो निम्ति उम्कने बाटो सधैँ सुरक्षित छोडिराख्छन्। त्यसैले, आफ्नो कर्तव्यमा हेरफेर हुँदा, यदि यो बढुवा हो भने, ख्रीष्टविरोधीले ऊसँग आशिष् पाउने आशा छ भन्ने ठान्छ। यदि यो टोली अगुवाबाट सहायक टोली अगुवामा, वा सहायक टोली अगुवाबाट सामान्य समूह सदस्यमा घटुवा गरिएको हो भने, तिनीहरू यो ठूलै समस्या हो भन्ने अनुमान गर्छन् र तिनीहरूले आशिष्हरू पाउने आशा थोरै छ भन्ने सोच्छन्। यो कस्तो दृष्टिकोण हो? के यो उचित दृष्टिकोण हो? अवश्य होइन। यो दृष्टिकोण हास्यास्पद छ! कसैले परमेश्वरको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्ने कुरा उसले कुन कर्तव्य गर्छ भन्नेमा आधारित हुँदैन, बरु उसमा सत्यता छ कि छैन, ऊ साँचो रूपमा परमेश्वरप्रति समर्पित हुन्छ कि हुँदैन, र ऊ निष्ठावान छ कि छैन भन्ने कुरामा आधारित हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत र आशिष् प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्
आशिष्को पछ्याइलाई उद्देश्य मान्नु कुन तरिकाले गलत हुन्छ? यो पूर्णतः सत्यताविरुद्ध जान्छ, र यो मानिसहरूलाई मुक्ति दिने परमेश्वरको अभिप्रायअनुरूप छैन। आशिषित हुनु मानिसहरूले पछ्याउने उचित उद्देश्य होइन, त्यसैले उचित उद्देश्यचाहिँ के हो त? सत्यता पछ्याउनु, स्वभाव परिवर्तनको खोजी गर्नु, र परमेश्वरका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्षम हुनु: मानिसहरूले खोजी गर्नुपर्ने उद्देश्यहरू यिनै हुन्। उदाहरणको लागि, मानौँ तँलाई काटछाँट गरिन्छ, अनि तँमा धारणा र गलतफहमीहरू पैदा हुन्छन्, र तँ समर्पित हुन असमर्थ बन्छस्। यसमा, तँ किन समर्पित हुन सक्दैनस्? किनभने तँलाई तेरो गन्तव्य वा आशिषित हुने तेरो सपनामा चुनौती खडा भएको छ भन्ने लाग्छ। तँ नकारात्मक र व्याकुल बन्छस्, र आफ्नो कर्तव्यबाट उम्कने चेष्टा गर्छस्। यसको कारण के हो? तेरो खोजीमा एउटा समस्या छ। अनि, यसलाई कसरी समाधान गर्नुपर्छ? तैँले यी गलत विचारहरूलाई तुरुन्तै त्याग्नु जरुरी छ, र तेरो भ्रष्ट स्वभावको समस्या समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नु अनिवार्य छ। तैँले आफूलाई यसो भन्नुपर्छ, “मैले हरेस खानु हुँदैन, मैले अझै पनि सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ, र आशिषित हुने मेरो इच्छालाई पन्छ्याउनुपर्छ।” जब तैँले आशिषित हुने इच्छा त्याग्छस्, र सत्यता पछ्याउने मार्ग हिँड्छस्, तेरो काँधबाट बोझ हट्छ। अनि के तँ अझै पनि नकारात्मकतामा रहन सक्नेछस् त? कहिलेकहीँ तँ अझै पनि नकारात्मक हुने भए पनि, तँ यसबाट बाधित हुँदैनस्, र आफ्नो हृदयमा, तँ प्रार्थना गरिरहन्छस् र लडिरहन्छस्, आशिषित हुने र गन्तव्य पाउने तेरो खोजीको उद्देश्यलाई सत्यताको खोजीमा परिणत गर्छस्, र तैँले मनमनै सोच्छस्, “सत्यताको खोजी गर्नु सृष्टि गरिएको प्राणीको कर्तव्य हो। आज निश्चित सत्यताहरू बुझ्नुजत्तिको महान् फसल अरू हुँदैन, यो नै सबैभन्दा ठूलो आशिष् हो। यदि परमेश्वरले मलाई चाहनुहुन्न, र मैले राम्रो गन्तव्य पाउँदिनँ, अनि आशिषित हुने मेरो आशा चकनाचूर हुन्छ भने पनि, मैले अझै आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, यसो गर्नु मेरो दायित्व हो। कारण जेसुकै भए पनि, यसले मेरो कर्तव्यपालनमा असर गर्नेछैन, यसले परमेश्वरको आज्ञा पूरा गर्नमा मलाई असर गर्नेछैन; म यही सिद्धान्तअनुसार व्यवहार गर्छु।” अनि के यसरी, तैँले देहका व्यवधानहरूलाई पार गरेको हुँदैनस् र? कतिपयले भन्लान्, “म अझै नकारात्मक छु भने के गर्ने?” त्यसो भए, यसलाई हटाउन फेरि सत्यता खोजी गर्। तँ जति धेरैपटक नकारात्मक बने पनि, यदि तँ यसलाई हटाउन सत्यता खोजी गरिरहन्छस्, र सत्यताको खातिर परिश्रम गरिरहन्छस् भने, तँ बिस्तारै तेरो नकारात्मक अवस्थाबाट बाहिर आउनेछस्। अनि एक दिन, तँमा आशिष्हरू पाउने चाहना हुनेछैन र तँ तेरो गन्तव्य र परिणामद्वारा बाधित हुँदैनस्, अनि यी कुराबिना नै तैँले अझ सहज र स्वतन्त्र जीवन जिइरहेको अनुभूति गर्नेछस्। हरदिन आशिष्हरू र आफ्नो गन्तव्य प्राप्त गर्ने उद्देश्यले जिउने तेरो पहिलाको जीवन तँलाई थकाइलाग्दो लाग्नेछ। हरदिन आशिष् पाउनका लागि बोल्नु, काम गर्नु र दिमाग खियाउनु—यसबाट अन्त्यमा तैँले के नै पाउनेथिस् र? यस्तो जीवनको के मूल्य छ? तैँले सत्यता पछ्याइनस्, बरु आफ्ना सबै सर्वोत्कृष्ट दिनहरू महत्त्वहीन कुराहरूमा खेर फालिस्। अन्त्यमा, तैँले कुनै सत्यता प्राप्त गरिनस्, र अनुभवको कुनै गवाहीबारे बताउन सकिनस्। तैँले आफूलाई मूर्ख बनाइस्, पूर्णतया बदनाम र असफल भइस्। अनि वास्तवमा यसको कारण के हो त? आशिष्हरू प्राप्त गर्ने तेरो नियत असाध्यै बलियो हुनु, तेरो परिणाम र गन्तव्यको सोचले तेरो हृदय ओगट्नु र तँलाई एकदमै बलियोसँग जकड्नु नै यसको कारण हो। तर जब तँ तेरा सम्भाव्यताहरू र नियतिको बन्धनबाट बाहिर आउने समय आउँछ, तैँले सबै थोकलाई पछि छोडेर परमेश्वरलाई पछ्याउन सक्नेछस्। तैँले कहिले ती कुरालाई पूरै त्याग्न सक्नेछस्? तेरो जीवन प्रवेश निरन्तर गहिरिँदै जाँदा, तैँले आफ्नो स्वभावमा परिवर्तन ल्याउनेछस्, र त्यही बेला तँ ती कुरा पूरै त्याग्न सक्षम हुनेछस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ
मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा खोजी गर्ने कुरा भनेको भविष्यका लागि आशिष्हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्वासको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षा र शोधनमार्फत निराकरण गरिनुपर्छ। जुन पक्षहरूमा तिमीहरूलाई शुद्ध पारिएको छैन र तिमीहरूले भ्रष्टता प्रकट गर्छौ, तिनै पक्षहरूमा तिमीहरू शोधन गरिनुपर्छ—यो परमेश्वरको प्रबन्ध हो। परमेश्वरले तेरो लागि वातावरण सृजना गरेर तँलाई परिष्कृत हुन बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ तँ आफ्नो योजनाहरू र चाहनाहरू त्याग्न, अनि परमेश्वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुनका लागि मर्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्नो सोच-विचारहरू र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्दैनन्। जुन पक्षहरूमा मानिसहरू अझै आफ्नो शैतानी प्रकृतिको बन्धनमा हुन्छन्, र जुन पक्षहरूमा तिनीहरूसँग अझै आफ्नै चाहना र मागहरू हुन्छन्, तिनै पक्षहरूमा तिनीहरूले कष्ट भोग्नुपर्ने हुन्छ। कष्टमार्फत मात्र पाठ सिक्न सकिन्छ, यसको मतलब सत्यता हासिल गर्न र परमेश्वरका अभिप्रायहरूलाई बुझ्न सक्षम हुने भन्ने हो। वास्तवमा, कष्ट र परीक्षाहरू अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। कसैले पनि परमेश्वरका अभिप्रायहरूलाई बुझ्न, परमेश्वरको सर्वशक्तिमान्ता र ज्ञान-बुद्धिलाई पहिचान गर्न सक्दैन, वा आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा परमेश्वरको धर्मी स्वभावको सराहना गर्न सक्दैन। त्यो असम्भव हुनेछ!
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरको कामको अनुभव गर्नु भनेको उहाँको अनुग्रहबाट आनन्द पाउनु होइन, बरु उहाँप्रति भएको तेरो प्रेमको निम्ति दुःख भोग्नु हो। तैँले परमेश्वरको अनुग्रह उपभोग गर्छस् भने तैँले उहाँको सजाय पनि उपभोग गर्नुपर्छ; तैँले यो सब अनुभव गर्नैपर्छ। तैँले आफूभित्र परमेश्वरको ज्ञानको अनुभव गर्न सक्छस्, र उहाँले तँसँग कसरी काटछाँट र न्याय गर्नुहुन्छ भन्ने पनि तैँले अनुभव गर्न सक्छस्। यस्तो प्रकारले तेरो अनुभव व्यापक हुनेछ। परमेश्वरले तँमाथि उहाँको न्याय र सजायको काम पूरा गर्नुभएको छ। परमेश्वरको वचनले तँलाई काटछाँट गर्नुभएको छ, तर त्यति मात्र होइन यसले तँलाई ज्ञान र प्रकाश पनि दिएको छ। जब तँ नकारात्मक र कमजोर बन्छस्, परमेश्वरले तेरो निम्ति चिन्ता गर्नुहुन्छ। यी सबै काम मानिसको विषयमा सबै कुरा परमेश्वरका योजनाहरूभित्र हुँदछ भन्ने कुरा तँलाई जान्न दिनको लागि नै गरिन्छ। हुन सक्छ, परमेश्वरमा विश्वास गर्नु भनेको दुःख भोग्नका निम्ति हो, वा उहाँका निम्ति हरकिसिमका कुराहरू गर्नु हो भन्ने तँ ठान्छस् होला; परमेश्वरमा विश्वास गर्नुको उद्देश्य तेरो शरीर शान्तिमा रहोस् भन्ने हो वा तेरो जीवनका सबै कुरा राम्ररी चलोस्, वा सबै कुरामा तँलाई सुविधा र सहज होस् भन्ने तँलाई लाग्नसक्छ। तापनि मानिसले परमेश्वरमा भएको तिनीहरूका विश्वासमा यी कुनै पनि उद्देश्यहरूलाई जोड्नुहुँदैन। यदि तँ यी उद्देश्यहरूका निम्ति विश्वास गर्छस् भने तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु यसै पनि असम्भव हुन्छ। परमेश्वरका कामहरू, परमेश्वरको धर्मी स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, उहाँको आश्चर्यपन र अज्ञातता, यी सबै कुरा मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझेपछि तैँले आफ्नो हृदयका सबै व्यक्तिगत मागहरू, आशाहरू, र विचारहरूबाट छुटकारा पाउन यसको प्रयोग गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तँ परमेश्वरले माग गर्नुभएका सर्तहरूलाई पूरा गर्न सक्छस्, र त्यसो गरेर मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्वरमा विश्वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस झुन्डबाट उहाँको कार्य र महिमा प्रकट हुन सकोस्। यो परमेश्वरमा विश्वास गर्ने सही दृष्टिकोण हो अनि तैँले खोज्नुपर्ने लक्ष्य पनि यही नै हो। तँसित परमेश्वरमा विश्वास गर्ने बारेमा सही दृष्टिकोण हुनुपर्छ र तैँले परमेश्वरको वचन प्राप्त गर्ने कोसिस गर्नुपर्छ। तैँले परमेश्वरको वचन खानु र पिउनु पर्छ र तँ सत्यतामा जिउन सक्नुपर्छ, अनि विशेष गरी तैँले सम्पूर्ण ब्रह्माण्डमा भएका उहाँका व्यावहारिक कार्यहरू, उहाँका अचम्मका कामहरू साथै उहाँले देहमा गर्नुहुने व्यावहारिक कार्यहरू देख्न सक्नुपर्छ। आफ्ना व्यावहारिक अनुभवहरूद्वारा मानिसहरूले उनीहरूमा परमेश्वरले कसरी काम गर्नुहुन्छ र तिनीहरूप्रति उहाँका अभिप्रायहरू के छन् सो बुझ्न सक्छन्। यी सबैको उद्देश्य भनेको मानिसहरूको भ्रष्ट शैतानिक स्वभावलाई हटाउनु हो। तँभित्रका सबै अशुद्धता अधार्मिकता हटाएपछि, अनि तेरा गलत उद्देश्यहरू फालेपछि र परमेश्वरमा साँचो विश्वास विकास गरेपछि—साँचो विश्वासद्वारा मात्र तैँले परमेश्वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। परमेश्वरमाथिको तेरो विश्वासको आधारमा मात्रै तैँले उहाँलाई साँचो प्रेम गर्न सक्छस्। के परमेश्वरमा विश्वास नगरी तैँले उहाँको निम्ति प्रेम प्राप्त गर्न सक्छस्? तैँले परमेश्वरमा विश्वास गर्छस् यसैले तँ त्यस विषयमा भ्रमित बन्न सक्दैनस्। केही मानिसहरू परमेश्वरमा विश्वास गर्दा आशिषहरू पाइन्छ भन्ने देख्न साथ जोशले भरिन्छन्, तर तिनीहरूले शोधनको कष्ट भोग्नुपर्छ भन्ने देख्नसाथ सबै ऊर्जा गुमाउँछन्। के त्यो परमेश्वरमा विश्वास गर्नु हो? आखिरीमा तैँले आफ्नो विश्वासमा परमेश्वरको सामु पूर्ण र पूरा समर्पणता प्राप्त गर्नुपर्छ। तैँले परमेश्वरमा विश्वास गर्छस्, तर अझै पनि उहाँबाट मागहरू गर्छस्, तैँले दबाउन नसक्ने धेरै वटा धार्मिक धारणाहरू छन्, तैँले छोड्न नसक्ने व्यक्तिगत रुचिहरू छन्, र अझै पनि तँ देहको आशिष् खोज्छस् र परमेश्वरले तेरो शरीरलाई उद्धार गर्नुभएको, तेरो प्राणलाई मुक्ति दिनुभएको चाहन्छस् साँचो रूपमा यी सबै गलत दृष्टिकोण भएका मानिसहरूमा हुने व्यवहारहरू हुन्। धार्मिक विश्वास हुने मानिसहरूमा परमेश्वरप्रति विश्वास भए पनि तिनीहरू आफ्नो स्वभाव परिवर्तन गर्न खोज्दैनन् र परमेश्वरको ज्ञानको खोजी गर्दैनन्, तर तिनीहरूका देहको हित हुने कुराहरू मात्र खोज्छन्। तिमीहरूमध्ये धेरै जनामा धार्मिक निश्चयताको वर्गमा पर्ने विश्वास छ; यो परमेश्वरमाथिको साँचो विश्वास होइन। परमेश्वरमा विश्वास गर्नको निम्ति मानिसहरूमा त्यस्तो हृदय हुनुपर्छ, जुन उहाँको निम्ति दुःख भोग्न तयार हुन्छ र आफैलाई त्याग्ने इच्छा गर्छ। मानिसले यी दुईवटा सर्त पूरा नगरे परमेश्वरमाथिको तिनीहरूको विश्वास मान्य हुँदैन, र तिनीहरू आफ्नो स्वभावमा परिवर्तन ल्याउन सक्षम हुँदैनन्। साँचो रूपले सत्यताको पछि लाग्ने, परमेश्वरको ज्ञानको खोजी गर्ने र जीवनको पछि लाग्ने मानिसहरू मात्रै परमेश्वरमा साँच्चै विश्वास गर्नेहरू हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधन भएर जानैपर्छ
मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिष्हरू प्राप्त गर्नुले कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्वरको आशिषहरू प्राप्त गर्नुलाई जनाउँछ। दुर्भाग्य भोग्नु भन्नाले सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनुलाई जनाउँछ हो; तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष्हरू पाऊन् वा दुर्भाग्य भोगून्, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता
सृष्टि गरिएको प्राणीको रूपमा, मानिसले सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरीकन परमेश्वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्वरलाई प्रेम गर्न खोज्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा आफूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नु हुँदैन; खोजी गर्ने सबैभन्दा सही माध्यम यही हो। यदि तैँले सत्यताको खोजी गर्छस् भने, यदि तैँले सत्यता अभ्यास गर्छस् भने, र यदि तैँले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सही छ। यदि तैँले देहका आशिष्हरूको खोजी गर्छस् भने, र तैँले तेरा आफ्नै धारणाहरूको सत्यता अभ्यास गर्छस् भने, र यदि तेरो स्वभावमा कुनै परिवर्तन आएको छैन, र देहमा हुनुभएका परमेश्वरप्रति तँ पटक्कै समर्पित छैनस्, र तँ अझै अस्पष्टतामै जिउँछस् भने, तैँले जे कुराको खोजी गर्छस् त्यसले तँलाई अवश्य नै नरक लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्ने कुरा तेरो आफ्नै खोजीमा निर्भर हुन्छ, भन्नुको अर्थ सफलता वा असफलता मानिसले हिँड्ने मार्गमै निर्भर हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ
तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूको निम्ति धेरै महत्वपूर्ण छन्—ती गम्भीर चासोको कुरा हुन्। तिमीहरू विश्वास गर्छौ कि यदि तिमीहरूले ठूलो सावधानीका साथ कामहरू गरेनौ भने यसको अर्थ तिमीहरूसित गन्तव्य हुनेछैन, तिमीहरूले आफ्नै भाग्यलाई नाश गरेका हुनेछौ भन्ने हुन्छ। तर केवल आफ्नो गन्तव्यको खातिर मात्र श्रम गर्ने मानिसहरूले व्यर्थमा कडा परिश्रम गरिरहेका छन् भन्ने कुरा कहिल्यै तिमीहरूको मनमा आएको छ? त्यस्ता प्रयासहरू विशुद्ध छैनन्, ती नकली कार्य र छल हुन्। यदि त्यसो हो भने, जसले केवल आफ्नो गन्तव्यको खातिर मात्र काम गर्छन्, तिनीहरू आफ्नो अन्तिम पराजयको सँघारमा छन् किनभने परमेश्वरप्रति विश्वासमा छलद्वारा नै असफलता आउँछ। मैले पहिल्यै नै भनेको छु कि मलाई चापलुसी वा लोलोपोतो गरेको वा कसैले उत्सुकता दिएर व्यवहार गरेको मन पर्दैन। मलाई मेरो सत्यता र मेरा अपेक्षाहरूको सामना गर्ने इमान्दार मानिसहरू मनपर्छ। अझ योभन्दा बढी, जब मानिसहरूले मेरो हृदयको निम्ति अत्यन्त ठूलो वास्ता र विचार देखाउन सक्छन् अनि मेरो खातिर सबै कुरालाई परित्याग गर्न सक्षम हुन्छन्, म त्यस कुरालाई मन पराउँछु। यसरी मात्रै मेरो हृदयले सान्त्वना पाउँछ। अहिले तिमीहरूका विषयमा मैले मन नपराउने कति धेरै कुराहरू छन्? मैले तिमीहरूका बारेमा मन पराउने कुराहरू कति छन्? के तिमीहरूले आफ्नो गन्तव्यको लागि तिमीहरूले देखाएको कुरूपताका विभिन्न प्रकटीकरणहरूलाई तिमीहरूमध्ये कसैले महसुस गरेका छैनौ भन्ने हुन सक्ला र?
मेरो हृदयमा म कसैको हृदयलाई जुन सकरात्मक छ र जसको चाहना माथितिरको छ, त्यसलाई चोट पुर्याउन चाहन्न, न त आफ्नो कर्तव्य विश्वासयोग्यता पूर्वक गरिरहेका कसैको ऊर्जालाई नै म ओस्याउन चाहन्छु। तथापि, मैले तिमीहरूमध्ये हरेकका अपर्याप्तताहरू तथा अशुद्ध प्राणको बारेमा तिमीहरूलाई सम्झना दिलाउनु पर्दछ जुन तिमीहरूको हृदयका सबैभन्दा गहिरो कुनाहरूमा रहेका छन्। म त्यसो यो आशामा गर्दछु ताकि मेरा वचनहरूको सम्मुख आउँदा तिमीहरूले आफ्नो साँचो हृदय अर्पण गर्न सकेका होऊ किनभने मैले सबैभन्दा बढी घृणा गर्ने भनेको मानिसहरूको मप्रतिको छल नै हो। म केवल यो आशा गर्दछु कि मेरो कामको अन्तिम चरणमा तिमीहरूले आफ्नो सर्वश्रेष्ठ कार्य प्रस्तुत गर्न सक्षम हुनेछौ अनि तिमीहरूले आफ्नो पूरा हृदयले आफूलाई समर्पित गर्नेछौ, उप्रान्त आधा हृदयले होइन। अवश्य, म यो पनि आशा गर्दछु कि तिमीहरू सबैले एउटा राम्रो गन्तव्य पाउनेछौ। तथापि, मसित अझै मेरो अपेक्षा छ, जुन तिमीहरूले मलाई तिमीहरूको एकल र अन्तिम भक्ति दिने विषयमा तिमीहरूले उत्कृष्ट निर्णय गर भन्ने हो। यदि कसैसित यो एक मात्र भक्ति छैन भने, ऊ निश्चय नै शैतानको बहुमूल्य सम्पत्ति हो अनि म उसलाई मेरो प्रयोगको निम्ति राख्नेछैन तर उसको आमाबुबाद्वारा हेरचाह गरिनको निम्ति उसलाई घर पठाइदिनेछु। मेरो काम तिमीहरूको निम्ति एउटा ठूलो सहायता हो; तिमीहरूबाट मैले इमान्दार र माथि उठ्ने चाहना भएको हृदय चाहन्छु, तर अहिलेसम्म मेरो हातहरू खाली नै छन्। यस बारेमा सोच: यदि म एक दिन अझै पनि शब्दहरूले बयान नसक्ने गरी दुःखित छु भने, तब तिमीहरूप्रतिको मेरो मनोवृत्ति कस्तो हुनेछ? के म तिमीहरूप्रति अहिलेजस्तै मिलनसार हुनेछु र? के तिमीहरू कठोर मेहनत गरेर खेत जोतेपछि पनि एउटै अन्न कटनी गर्न नपाएको व्यक्तिको भावनाहरूलाई बुझ्न सक्छौ? कुनै मानिसलाई चोट पुर्याउँदा उसको हृदय कति धेरै घाइते हुन्छ, के तिमीहरू बुझ्न सक्छौ? के तिमीहरू एउटा व्यक्तिको तीतोपना चाख्न सक्छौ जो कुनै समय आशाले परिपूर्ण थियो तर नराम्रो सम्बन्धमा पुगेर ऊ अलग हुनु परेको छ? के तिमीहरूले एउटा क्रोधित तुल्याइएको मानिसबाट क्रोध उत्पन्न भएको देखेका छौ? के तिमीहरू शत्रुता र छलले व्यवहार गरिएको व्यक्तिको बदला लिने आतुरतालाई बुझ्न सक्छौ? यदि तिमीहरू यस्ता मानिसहरूको मानसिकतालाई बुझ्दछौ भने मलाई लाग्छ, परमेश्वरको प्रतिशोधको समयमा उहाँको मनोवृत्ति कस्तो हुनेछ भनेर कल्पना गर्न तिमीहरूलाई गाह्रो हुँदैन! अन्त्यमा, म आशा गर्छु कि तिमीहरू सबैले आफ्नै गन्तव्यको खातिर गम्भीर प्रयास लगाउँछौ, यद्यपि तिमीहरूले आफ्नो प्रयासमा छलपूर्ण तरिकाहरूको प्रयोग नगरेकै राम्रो हुन्छ, नत्र भने मेरो हृदयमा म तिमीहरूसित निरन्तर निराश हुनेछु। अनि त्यस्तो निराशाले केमा लैजान्छ? के तिमीहरू आफैलाई मूर्ख बनाइरहेका छैनौ? जसले आफ्नो गन्तव्यको निम्ति विचार राखेर पनि त्यसलाई नष्ट गर्छ तिनीहरू मुक्ति पाउन सक्नेहरूमा सबैभन्दा पछाडि पर्दछन्। यदि तिनीहरू चिढिए र क्रोधित भए भने पनि त्यस्तो व्यक्तिलाई कसले दया देखाउँथ्यो र? निष्कर्षमा, म अझै पनि चाहन्छु कि तिमीहरूले एउटा गन्तव्य पाऔ जुन सुहाउँदो र असल दुवै होस् अनि त्यसभन्दा बढी, तिमीहरूमध्ये कोही पनि महाविपत्तीमा पर्न नपरोस् भनी म आशा गर्छु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। गन्तव्यको सम्बन्धमा
सम्बन्धित चलचित्र उद्धरणहरू
कसरी परमेश्वरप्रति साँच्चै आज्ञाकारी बन्ने र उहाँको मुक्ति पाउने
सम्बन्धित अनुभवात्मक गवाहीहरू
कोभिड लागेपछिका मननहरू
परमेश्वरको निम्ति गरेका मेरा बलिदानहरूमा मिलावट
मेरी जीवनसङ्गिनीको मृत्युपछि
सम्बन्धित भजनहरू
परमेश्वरमा मानिसको विश्वास पछाडिका घृणित उदेश्यहरू
परमेश्वरमाथिको मानिसको आस्था हेर्नै नसकिने अति कुरूप छ
परमेश्वरले मानिसको परीक्षा लिनु भनेको उसलाई शुद्ध पार्नको लागि हो
तिमीले परमेश्वरलाई साँचो प्रेम गर्न पछ्याउनुपर्छ