१९. अहङ्कार र अभिमानको समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएको हुनाले, तिनीहरूको प्रकृति, जुन तिनीहरूको सार पनि हो, त्यो परिवर्तन भएको छ। अनि, मानव सारचाहिँ के हो त? अहिले मैले सबै मानिसहरूको सार र प्रकृतिबारे कुरा गरिरहेको छु, र यो कुनै निश्‍चित व्यक्तिप्रति मात्रै लक्षित छैन। मानवजाति शैतानद्वारा भ्रष्ट भएको हुनाले, मानिसहरूको प्रकृतिमा ह्रास आउन थाल्यो र तिनीहरूले बिस्तारै सामान्य मानिसहरूमा हुने बोध हराए। तिनीहरूले अब मानिसको स्थानमा रहेर मानवीय प्राणीहरूले जस्तो काम गर्दैनन्; तर तिनीहरू खराब आकाङ्क्षाहरूले भरिएका हुन्छन्; तिनीहरूले मानिसको स्थानलाई उछिनेका छन्, तैपनि तिनीहरू अझै उच्‍च स्थानमा जाने इच्‍छा गर्छन्। यो “उच्‍च” ले केलाई जनाउँछ? तिनीहरूले परमेश्‍वरलाई उछिन्ने, स्वर्गलाई र अरू सबै कुरालाई उछिन्‍ने इच्छा गर्छन्। मानिसहरूले यस्तो स्भाव प्रकट गर्नुको मूल कारण के हो? समग्रमा भन्दा, मानिसको प्रकृति अति नै अहङ्कारी छ। धेरैजसो मानिसहरूले “अहङ्कार” शब्‍दको अर्थ बुझ्छन्। यो निन्दात्मक शब्‍द हो। यदि कसैले अहङ्कार देखाउँछ भने, अरूले त्यो असल व्यक्ति होइन भन्‍ने सोच्छन्। जब कुनै व्यक्ति अत्यन्तै अहङ्कारी हुन्छ, तब अरूले त्यो व्यक्ति दुष्कर्मी हो भन्‍ने अनुमान गर्छन्। कसैले पनि आफूमाथि यो शब्‍द प्रयोग गरियोस् भन्‍ने चाहँदैन। तैपनि, वास्तवमा हरेक व्यक्ति नै अहङ्कारी हुन्छ, र सारा भ्रष्ट मानवहरूमा यही सार हुन्छ। कतिपय मानिसहरू भन्छन्, “म अलिकति पनि अहङ्कारी छैनँ। मैले कहिल्यै पनि प्रधान स्‍वर्गदूत बन्‍ने चाहना गरेको छैनँ, न त मैले कहिल्यै परमेश्‍वरलाई उछिन्‍ने वा अरू सबैलाई उछिन्‍ने चाहना नै गरेको छु। म सधैँ नै विशेष रूपमा शिष्ट र कर्तव्यनिष्ठ व्यक्ति रहिआएको छु।” यस्तै हुन्छन् भन्‍ने छैन; यी वचनहरू गलत छन्। मानिसहरू प्रकृति र सारमा अहङ्कारी बनेपछि, तिनीहरूले बारम्‍बार परमेश्‍वरको आज्ञा उल्लङ्घन र विरोध गर्छन्, उहाँका वचनहरूमा ध्यान दिँदैनन्, उहाँको विषयमा धारणाहरू उत्पन्‍न गर्छन्, उहाँलाई धोका दिने कुराहरू गर्छन्, तिनीहरूका आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कुराहरू गर्न सक्‍ने हुन्छन्। तैँले तँ अहङ्कारी छैनस् भनी भन्छस्, तर मानौं तँलाई एउटा मण्डली दिइयो र त्यसको नेतृत्व गर्ने अनुमति दिइयो; मानौं मैले तँलाई निराकरण गरिनँ, र परमेश्‍वरको परिवारका कसैले पनि तँलाई आलोचना वा सहयोग गरेनन्: त्यसलाई केही समय नेतृत्व गरिसकेपछि तैँले मानिसहरूलाई तेरो खुट्टामा ल्याउँछस् र तँलाई आदर र श्रद्धा गर्ने हदमा पग्‍ने गरी तिनीहरूलाई तेरो अधीनमा बस्न लाउँछस्। अनि तँ किन त्यसो गर्छस्? यो तेरो प्रकृतिद्वारा निर्धारित भएको हुनेछ; यो प्राकृतिक प्रकटीकरणबाहेक अरू केही हुँदैन। तैँले यो कुरा अरूबाट सिक्‍नुपर्ने कुनै आवश्यकता हुँदैन, न त तिनीहरूले नै तँलाई यो सिकाउनुपर्ने आवश्यकता हुन्छ। तँलाई अरूले यसो गर्न निर्देशन दिनु वा तँलाई यसो गर्न बाध्य गर्नु आवश्यक हुँदैन; यस प्रकारको परिस्थिति प्राकृतिक रूपले नै आउँछ। तैँले गर्ने सबै कुरा मानिसहरूलाई तेरो बढाइ गर्ने, तेरो प्रशंसा गर्ने, तेरो आराधना गर्ने, तँमा समर्पित हुने, र सबै कुरामा तेरो कुरा सुन्‍ने बनाउनु हो। तँलाई एक अगुवा बनाएको तथ्यले नै स्वभाविक रूपमा यस्तो परिस्थिति ल्याउँछ, र यस कुरालाई परिवर्तन गर्न सकिँदैन। अनि यस्तो परिस्थिति कसरी आउँछ? यो कुरा मानिसका अहङ्कारी प्रकृतिद्वारा निर्धारित हुन्छ। अहङ्कार प्रकट हुनु भनेको परमेश्‍वरको विरुद्धको विद्रोह र प्रतिरोध हो। जब मानिसहरू अहङ्कारी, आफैलाई महत्त्व दिने, र आफैलाई धर्मी सम्झने हुन्छन्, तब तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने र आफूलाई जुन तरिकाले मन लाग्यो त्यसरी काम गर्ने प्रवृत्ति हुन्छ। तिनीहरूले अरूलाई पनि आफ्नै हातमा ल्याउँछन् र तिनीहरूलाई आफ्नो अङ्गालोमा खिच्छन्। मानिसहरूले यस्ता अहङ्कारी कार्यहरू गर्न सक्‍नुले तिनीहरूको अहङ्कारी प्रकृति शैतानको जस्तो छ भन्‍ने प्रमाणित गर्छ; यो प्रधान स्वर्गदूतको जस्तो छ। जब तिनीहरूको अहङ्कार र आत्मअभिमान एक निश्‍चित तहमा पुग्छ, तब तिनीहरूको हृदयमा परमेश्‍वरको लागि कुनै स्थान हुँदैन, र परमेश्‍वरलाई पन्छ्याइन्छ। त्यसपछि, तिनीहरू परमेश्‍वर बन्‍न चाहन्छन्, मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न लगाउँछन् र तिनीहरू प्रधान स्वर्गदूत बन्छन्। यदि तँमा त्यस्तो शैतानी अहङ्कारी प्रकृति छ भने, तेरो हृदयमा परमेश्‍वरका निम्ति कुनै ठाउँ हुनेछैन। तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि, परमेश्‍वरले अबदेखि तँलाई पहिचान गर्नुहुनेछैन, तँलाई दुष्कर्मीको रूपमा हेर्नुहुनेछ, र तँलाई हटाउनुहुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो

शैतानको स्वभावभित्र धेरै प्रकारका भ्रष्ट स्वभावहरू समावेश हुन्छन्, तर सबैभन्दा स्पष्ट र झट्ट देखिनेचाहिँ अहङ्कारी स्वभाव हो। अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, त्यति नै अविवेकी हुन्छन्, र तिनीहरू जति धेरै अविवेकी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले अरू सबैलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्, र तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैन। मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले शक्तिको निम्ति र अरूमाथि नियन्त्रण गर्न सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छ। यस्तो किसिमको व्यक्तिमा परमेश्‍वरको भय मान्ने हृदय अलिकति पनि हुँदैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्‍कारी र अभिमानी छन्, विशेष गरी ती जो आफ्नो होश गुमाउने हदसम्म अहङ्‍कारी छन्, उहाँप्रतिको आफ्नो विश्‍वासमा तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्दैनन्, बरु तिनीहरूले आफ्नै बढाइ गर्छन् र आफ्नै निम्ति गवाही दिन्छन्। यस्ता मानिसहरू परमेश्‍वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय फिटिक्‍कै हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, परमेश्‍वरको प्रतिरोध नगर् भन्दा त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्‍न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्‍वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्‍वरको स्थानमा बस्‍न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

आखिरी दिनहरूको न्याय र सजायको काम मुख्यतः मानिसहरूको अहङ्कारी प्रकृतिप्रति लक्षित छ। अहङ्कारमा धेरै कुराहरू पर्छन्, यसमा धेरै भ्रष्ट स्वभावहरू पर्छन्; न्याय र सजाय यही “अहङ्कार” प्रति सोझै लक्षित छ र यो पूर्ण रूपमा मानिसहरूको अहङ्कारी स्वभाव हटाउनको लागि हो। अनि अन्त्यमा, मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्नेछैनन्, न त उहाँको विरोध नै गर्नेछन्, त्यसैले तिनीहरू आफ्‍नै स्वतन्त्र राज्य स्थापना गर्न लागिपर्नेछैनन्, न त तिनीहरूले आफूलाई उचाल्‍ने वा आफ्‍नो गवाही दिने नै गर्नेछन्, न त खराब काम नै गर्नेछन्, न त परमेश्‍वरसँग लालची मागहरू नै गर्नेछन्—यसरी, तिनीहरूले आफ्‍नो अहङ्कारी स्वभाव त्यागिसकेका हुनेछन्। अहङ्कारका धेरै प्रकटीकरणहरू हुन्छन्। उदाहरणको लागि, मानौँ परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिसहरू उहाँको अनुग्रह माग गर्छन्—तैँले केको आधारमा यस्तो माग गर्न सक्छस्? तँ शैतानले भ्रष्ट तुल्याएको व्यक्ति होस्, सृष्टि गरिएको एक प्राणी होस्; तैँले जिउन र सास फेर्न पाउनु नै परमेश्‍वरको सबैभन्दा ठूलो अनुग्रह हो। तैँले परमेश्‍वरले पृथ्वीमा सृष्टि गर्नुभएको सबै कुराको आनन्द लिन पाउँछस्। परमेश्‍वरले तँलाई दिनुभएको कुरा पर्याप्त छ, तैपनि किन तँ उहाँलाई अझै धेरै माग गर्छस्? यस्तो किन हुन्छ भने आफूले पाएको कुरामा मानिसहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। तिनीहरू सधैँ अरूभन्दा असल छु, र आफूले अझै बढी प्राप्त गर्नुपर्छ भन्‍ने सोच्छन्, त्यसैले सधैँ परमेश्‍वरबाट ती कुराहरू माग गर्छन्। यसले तिनीहरूको अहङ्कारी स्वभाव प्रतिनिधित्व गर्छ। मानिसहरूले मुखले यो कुरा नबोले पनि, परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा नै, सायद तिनीहरू यस्तो सोचिरहेका हुन्छन्, “म नरक होइन, स्वर्ग जान चाहन्छु। म आफूले मात्रै होइन, मेरो सारा परिवारले आशिष्‌ पाओस् भन्‍ने चाहन्छु। म मीठो खान, राम्रो लाउन, र राम्रा कुराहरूको आनन्द लिन चाहन्छु। म एउटा असल परिवार, असल जीवनसाथी र राम्रा बालबच्‍चा चाहन्छु। अनि अन्त्यमा, म राजाझैँ शासन गर्न चाहन्छु।” सबै कुरा तिनीहरूका आवश्यकता र मागहरूसँग सम्‍बन्धित हुन्छ। तिनीहरूको यो स्वभाव, तिनीहरूले आफ्‍नो हृदयमा सोच्‍ने यी कुराहरू, यी लालची इच्छाहरू—ती सबैले मानिसको अहङ्कारी प्रकृति प्रतिनिधित्व गर्छन्। के कुराले गर्दा मैले किन यसो भन्दै छु? यो मानिसहरूको हैसियतसँग सम्‍बन्धित छ। मान्छे धुलोबाट सृष्टि गरिएको प्राणी हो; परमेश्‍वरले मान्छेलाई माटोबाट बनाएर उसमा जीवन सास फुकिदिनुभएको हो। मान्छेको हैसियत यति तल्‍लो स्तरको छ, तैपनि मानिसहरू परमेश्‍वरकहाँ यो र त्यो माग्दै आउँछन्। मानिसको हैसियत यति नीच छ, उसले मुख खोलेर परमेश्‍वरबाट केही पनि माग्‍नु हुँदैन। त्यसोभए मानिसहरूले केचाहिँ गर्नुपर्छ त? आलोचना जे-जस्तो आइपरे पनि तिनीहरूले धेरै परिश्रम गर्नुपर्छ, र फटाफट आफ्‍नो बोझ स्विकारेर, खुसीसाथ आज्ञापालन गर्नुपर्छ। यो खुसीसाथ विनम्रता अँगाल्ने कुरा होइन—खुसीसाथ विनम्रता अँगाल्ने नगर्; यो त मानिसहरूले जन्मँदै लिएर आएको हैसियत हो; तिनीहरू अन्तर्निहित रूपमै आज्ञाकारी र विनम्र हुनुपर्छ, किनभने तिनीहरूको हैसियत नै मामुली छ, त्यसकारण तिनीहरूले परमेश्‍वरबाट माग गर्ने, वा परमेश्‍वरप्रति लालची इच्छाहरू जाहेर गर्ने गर्नु हुँदैन। तिनीहरूमा त्यस्ता कुराहरू पाइनु हुँदैन। एउटा सरल उदाहरण यस्तो छ। कुनै एउटा धनी परिवारले एउटा नोकर राख्यो। धनी परिवारमा यो नोकरको स्थान निकै तल्‍लो स्तरको थियो, तैपनि उसले घरको मालिकलाई भन्यो: “म तपाईंको छोराको टोपी लगाउन चाहन्छु, तपाईंको भात खान, तपाईंको लुगा लगाउन, र तपाईंको ओछ्यानमा सुत्‍न चाहन्छु। तपाईं जे प्रयोग गर्नुहुन्छ, चाहे त्यो सुन भए नि चाँदी भए नि, म त्यो पाउन चाहन्छु! मैले आफ्‍नो काममा धेरै योगदान दिने गर्छु, र म तपाईंको घरमा बस्छु, त्यसकारण म ती कुराहरू चाहन्छु!” त्यस्तो व्यक्तिलाई मालिकले कस्तो व्यवहार गर्नेछ? मालिकले भन्‍नेछ: “तैँले आफू को हुँ, र आफ्‍नो भूमिका के हो, त्यो जान्‍नुपर्छ: तँ एक नोकर होस्। म मेरो छोरालाई उसले चाहेको कुरा दिन्छु, किनभने त्यो उसको हैसियत हो। तेरो हैसियत, तेरो पहिचान के हो? तँ यी कुराहरू माग्‍न योग्य छैनस्। तैँले गएर आफ्‍नो हैसियत र पहिचानअनुसार आफूले गर्नुपर्ने काम गर्नुपर्छ, आफ्‍ना दायित्वहरू पूरा गर्नुपर्छ।” के यस्तो व्यक्तिमा कुनै समझ हुन्छ? परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसहरू छन् जोसँग त्यति समझ हुँदैन। परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि नै, तिनीहरूले गोप्‍य मनसाय राख्‍न थालेका हुन्छन्, र अघि बढ्दै जाँदा, तिनीहरूले निरन्तर परमेश्‍वरसँग मागहरू गर्छन्: “मैले सुसमाचार प्रचार गर्दा मलाई पवित्र आत्माको कामले पछ्याउनुपर्छ! मैले खराब कुराहरू गर्दा पनि तपाईंले मलाई क्षमा दिनुपर्छ र सहनुपर्छ! यदि मैले धेरै काम गरेँ भने, तपाईंले मलाई इनाम दिनुपर्छ।” छोटकरीमा भन्दा, मानिसहरूले परमेश्‍वरबाट सधैँ विभिन्‍न कुरा चाहिरहेका हुन्छन्, र तिनीहरूले सधैँ लोभ गर्छन्। अलिअलि काम गरेर मण्डलीको नेतृत्व राम्ररी गरेका कतिपय मानिसहरूले आफूलाई अरूभन्दा वरिष्ठ ठान्छन्, र प्रायजसो यस्ता कुराहरू फैलाउँछन्: “परमेश्‍वरले मलाई किन महत्त्वपूर्ण पदमा राख्‍नुभयो? उहाँले किन मेरो नाम उल्‍लेख गरिरहनुहुन्छ? उहाँ किन मसँग बोलिरहनुहुन्छ? परमेश्‍वरले मेरो बारेमा राम्रो सोच्‍नुहुन्छ किनकि ममा क्षमता छ र म सर्वसाधारणभन्दा माथि छु। परमेश्‍वरले मसँग राम्रो व्यवहार गर्नुभएकोमा तिमीहरू डाहासमेत गर्छौ। डाहा गर्नलाई तिमीहरूमा के नै छ र? मैले कति काम गर्छु र कति त्याग गर्छु, के तिमीहरू देख्‍न सक्दैनौ? परमेश्‍वरले मलाई दिनुहुने जुनसुकै असल कुराप्रति तिमीहरूले डाहा गर्नु हुँदैन, किनभने म ती पाउन लायक छु। मैले धेरै वर्ष काम गरेको छु र धेरै कष्ट भोगेको छु। म श्रेय पाउन लायक छु र म सुयोग्य छु।” अनि, यसो भन्‍ने अरू मानिसहरू पनि छन्: “परमेश्‍वरले मलाई सहकर्मी भेलामा सहभागी हुन र उहाँको सङ्गति सुन्‍न दिनुभएको छ। मसँग यो योग्यता छ—के तिमीहरूसँग त्यस्तो योग्यता छ? पहिलो कुरा त, मेरो क्षमता नै उच्‍च छ, र म तिमीहरूले भन्दा बढी सत्यता पछ्याउँछु। यति मात्र होइन, म तिमीहरूले भन्दा बढी मेहनत गर्छु, र म मण्डलीको काम पूरा गर्न सक्छु—तिमीहरू सक्छौ त?” यो अहङ्कार हो। मानिसहरूले कर्तव्य निभाउँदा र काम गर्दा आउने परिणाम फरकफरक हुन्छ। कतिले असल परिणाम पाउँछन्, कतिले खराब परिणाम पाउँछन्। कति जना असल क्षमता लिएर जन्‍मेका हुन्छन् र सत्यता खोजी पनि गर्न सक्छन्, त्यसकारण तिनीहरूको कर्तव्यको परिणाममा चाँडै सुधार हुन्छ। यो तिनीहरूको असल क्षमताले गर्दा भएको हो, र यो कुरा परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तर कर्तव्य निभाउँदा खराब परिणामहरू आउने समस्या कसरी समाधान गर्ने? तिमीहरूले निरन्तर सत्यता खोजी गर्नुपर्छ र कठिन परिश्रम गर्नुपर्छ, त्यसपछि तिमीहरूले पनि क्रमिक रूपमा असल परिणामहरू हासिल गर्दै जानेछौ। जबसम्म तिमीहरू सत्यतामा लागिपर्छौ र आफ्‍नो क्षमताको क्षमताको हदसम्म हासिल गर्छौ, तबसम्म परमेश्‍वरले अनुमोदन गर्नुहुनेछ। तर तिमीहरूको कामको नतिजा असल भए नि नभए नि, तिमीहरूमा भ्रमपूर्ण सोच हुनु हुँदैन। तैँले “म परमेश्‍वरको बराबर हुन योग्य छु,” “म परमेश्‍वरले मलाई दिनुभएको कुराको आनन्द लिन योग्य छु,” “म परमेश्‍वरको स्याबासी पाउन लायक छु,” “म अरूलाई नेतृत्व गर्न लायक छु,” वा “म अरूलाई प्रवचन दिन योग्य छु” भनेर नसोच। आफूलाई योग्य छु भनेर नभन्। मानिसहरूमा यस्ता विचारहरू हुनु हुँदैन। यदि तँमा यी विचारहरू छन् भने, यसले तँ सही स्थानमा छैनस्, र तँमा मानवमा हुनुपर्ने आधारभूत समझशक्ति पनि छैन भन्‍ने प्रमाणित गर्छ। अनि, तैँले आफ्‍नो अहङ्कारी स्वभाव कसरी त्याग्‍न सक्छस्? त्यो त गर्नै सक्दैनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो

केही मानिसहरूले विशेष गरी पावललाई आदर्श मान्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरूमा उपस्थित हुन र प्रवचन दिन मन पराउँछन्, अनि तिनीहरू मानिसहरूले तिनीहरूलाई सुनेको, पुजेको, र तिनीहरूको वरिपरि घुमेको मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् र तिनीहरूले प्रस्तुत गरेको प्रतिरूपलाई अन्य व्यक्तिहरूले भाउ दिएमा तिनीहरू त्यसको सराहना गर्छन्। अब यी व्यवहारहरूबाट तिनीहरूको प्रकृति चिरफार गरौं: तिनीहरूको प्रकृति के हो? यदि तिनीहरूले साँच्चै यसरी नै व्यवहार गर्छन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन् भनी देखाउन यही काफी हुन्छ। तिनीहरूले परमेश्‍वरको आराधना गर्दै गर्दैनन्; तिनीहरूले अझ उच्च हैसियत खोज्छन् र अन्य व्यक्तिहरू उपर अधिकार जमाउन, तिनीहरूलाई वशमा पार्न र तिनीहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन्। यो शैतानको चिरपरिचित प्रतिरूप हो। तिनीहरूको प्रकृतिको सहजै देख्न सकिने पक्षहरू भनेका अहङ्कार र अभिमान, परमेश्‍वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्ने चाहना गर्नु जस्ता कार्य हुन्। त्यस्ता व्यवहारहरूले तिनीहरूको प्रकृतिको बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

कतिपय मानिसहरू आफूसित भ्रष्ट स्वभाव छैन र आफू अहङ्कारी छैन भनी भन्छन्। यी कस्ता मानिसहरू हुन्? तिनीहरू समझ नै नभएका मानिसहरू हुन्, अनि तिनीहरू सबैभन्दा मूर्ख र अहङ्कारी मानिसहरू पनि हुन्। वास्तवमा, तिनीहरू कुनै व्यक्तिभन्दा बढी अहङ्कारी र विद्रोही मानिसहरू हुन्; कसैले आफूमा भ्रष्ट स्वभाव छैन भनी जति बढी भन्छन्, तिनीहरू त्यति नै बढी अहङ्कारी र स्व-धर्मी हुन्छन्। किन अरूले आफैलाई चिन्न र परमेश्‍वरको न्याय स्विकार्न सक्छन्, तर तँ चाहिँ सक्दैनस्? के तँ अपवाद होस्? के तँ सन्त होस्? के तँ शून्यतामा जिउँछस् र? मानवजाति शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएको छ, हरेक व्यक्तिमा भ्रष्ट स्वभाव छ। यसको अर्थ तैँले सत्यता बुझेको छैनस्, र तँ सबैभन्दा विद्रोही, अबुझ, र अहङ्कारी छस् भन्‍ने हुन्छ। तेरो विचारमा, संसारमा धेरै असल मानिसहरू छन् र खराब मानिसहरू थोरै मात्र छन्—तैपनि, किन यो अन्धकारले भरिएको छ, अशुद्धता र भ्रष्टताले भरिएको छ, द्वन्द्वले भरिएको छ? किन, मानिसको संसारमा, हरेकले अर्कोबाट लिने र खोस्ने गर्छन्? परमेश्‍वरमा विश्‍वास गर्नेहरू पनि यसको अपवादमा छैनन्। मानिसहरू सधैँ एक-अर्कासित संघर्ष र लडाइँ गरिरहेका हुन्छन्। अनि यो कलह कहाँबाट उत्पन्न हुन्छ? यो तिनीहरूको भ्रष्ट प्रकृतिको उपज हो, अवश्य नै तिनीहरूको भ्रष्ट स्वभावको प्रकटीकरण हो। भ्रष्ट प्रकृति भएका मानिसहरूबाट अहङ्कार र विद्रोह प्रकट हुन्छ; शैतानी स्वभावमा जिउने मानिसहरू विद्रोही र आक्रमक हुन्छन्। विद्रोही र आक्रमक मानिसहरू नै सबैभन्दा अहङ्कारी हुन्छन्, र तिनीहरू कसैको अधीनमा बस्दैनन्। किन मानिसहरूले प्रायजसो आफ्‍नो पाप स्वीकार गर्छन् तर पश्‍चात्ताप गर्दैनन्? किन तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यता अभ्यास गर्न सक्दैनन्? किन तिनीहरूले परमेश्‍वरमा वर्षौँ विश्‍वास गरेर पनि, उहाँअनुरूप हुन सक्दैनन्? यो सबै मानिसहरूको अहङ्कारी प्रकृतिले गर्दा हुन्छ। मानवजातिले सधैँ परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको विरोध गरेका छन्, सत्यता स्विकार्न पूर्णतया अनिच्छुक रहेका छन्, र सत्यतालाई घृणा र इन्कारसमेत गरेका छन्। मानिसहरूप्रतिको परमेश्‍वरको मापदण्ड अत्यन्तै उच्‍च भएर यस्तो भएको होइन, बरु तिनीहरूले परमेश्‍वरलाई अत्यन्तै उग्र र निष्ठुर तरिकाले विरोध गर्ने हुनाले, यहाँसम्‍म कि तिनीहरूले परमेश्‍वरलाई आफ्‍नो शत्रु बनाएर क्रूसमा समेत टाँग्‍ने हुनाले यस्तो भएको हो। के यस्तो भ्रष्ट मानवजाति अत्यन्तै उग्र, अहङ्कारी, र अविवेकी हुँदैन र? परमेश्‍वरले यति धेरै सत्यता व्यक्त गर्नुहुन्छ, उहाँले मानिसहरूलाई करुणा गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र तिनीहरूको पाप क्षमा गर्नुहुन्छ—तर मानवजातिले सत्यता पटक्‍कै स्विकार्दैनन्, तिनीहरूले सधैँ परमेश्‍वरलाई दोष दिन्छन् र विरोध गर्छन्, र आफूलाई परमेश्‍वरको कट्टर विरोधी बनाउँछन्। अब, परमेश्‍वरसँगको मानवजातिको सम्‍बन्ध कुन स्तरमा रहेको छ? मानिस परमेश्‍वरको शत्रु, उहाँको प्रतिपक्ष बनेको छ। परमेश्‍वर मानिसहरूलाई खुलासा गर्न, न्याय गर्न, र मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ; मानिसहरू यसलाई स्विकार्ने वा उहाँलाई ध्यान दिने गर्दैनन्। परमेश्‍वरले जुन कुरा गर्न लगाउनुहुन्छ, मानिसहरू त्यो कुरा गर्दैनन्; बरु ती कुराहरू गर्छन् जुन उहाँले घृणा र तिरस्कार गर्नुहुन्छ। परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ, तर मानिसहरू यसलाई पन्छाउँछन्। परमेश्‍वरले मानिसहरूको भ्रष्ट स्वभावको न्याय गर्नुहुन्छ र तिनीहरूलाई सजाय दिनुहुन्छ, तर तिनीहरू सत्यता अस्वीकार गर्ने मात्रै होइन, उहाँसँग मुखामुख लाग्‍ने र विद्रोह गर्नेसमेत गर्छन्। मानिसहरू कति अहङ्कारी छन्? भ्रष्ट मानवजातिले परमेश्‍वरलाई निर्धक्‍क इन्कार र विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरू सधैँ अपार सम्पत्ति र इनामको पछि लाग्छन्, र स्वर्गको राज्य प्रवेशमा लागिपर्छन्; तिनीहरू शासक बनेर अख्तियार चलाउन पनि चाहन्छन्। यो अहङ्कारको नमुना चित्रण हो, मान्छेको ठ्याक्‍कै त्यही भ्रष्ट स्वभावको चित्रण हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो

कतिपय मानिसहरू यसो भन्छन्, “परमेश्‍वरको घरमा, म परमेश्‍वरबाहेक अरू कसैमा समर्पित हुँदिनँ, किनभने परमेश्‍वरसँग मात्रै सत्यता हुन्छ; मानिसहरूसँग सत्यता हुँदैन, तिनीहरूसँग भ्रष्ट स्वभाव हुन्छ, तिनीहरूले बोल्‍ने कुनै कुरामा भर पर्न सकिँदैन, त्यसकारण म परमेश्‍वमा मात्रै समर्पित हुन्छ।” के तिनीहरूले यसो भन्‍नु सही हुन्छ? (हुँदैन।) किन हुँदैन? यो कस्तो प्रकारको स्वभाव हो? (यो अहङ्कारी र घमण्डी स्वभाव हो।) (यो शैतान र प्रधान स्‍वर्गदूतको स्वभाव हो।) यो अहङ्कारी स्वभाव हो। सधैँ यो शैतान र प्रधान स्‍वर्गदूतको स्वभाव हो भनेर नभन, किनभने यसरी बोल्दा त्यो निकै बृहत् र अस्पष्ट हुन्छ। … कतिपय मानिसहरूमा केही सीप, केही वरदान, केही सानातिना क्षमताहरू हुन्छन्, र तिनीहरूले मण्डलीको लागि केही कार्यहरू गरेका हुन्छन्। यी मानिसहरूले यस्तो सोच्छन्: “परमेश्‍वरमाथिको तपाईंहरूको विश्‍वासमा कुनै आत्मिक व्यक्तिले जस्तो परमेश्‍वरको वचन दिनभरि पढ्ने, सार्ने, लेख्‍ने, कण्ठ गर्ने कार्य समावेश हुन्छ। यसको अर्थ के हो? के तपाईंहरू कुनै वास्तविक काम गर्न सक्‍नुहुन्छ? तपाईंहरूले केही पनि गर्नुहुन्‍न भने कसरी आफूलाई आत्मिक व्यक्ति भनी भन्‍न सक्‍नुहुन्छ? तपाईंहरूसँग जीवन छैन। मसँग जीवन छ र मैले गर्ने सबै कुरा वास्तविक हुन्छन्।” यो कस्तो स्वभाव हो? तिनीहरूसँग केही विशेष सीप, केही वरदान हुन्छ र तिनीहरूले केही सानातिना असल काम गर्न सक्छन्, र यी कुराहरूलाई तिनीहरू जीवनको रूपमा लिन्छन्। फलस्वरूप, तिनीहरू कसैले टेर्दैनन्, जोकोहीलाई भाषण दिन पनि डराउँदैनन्, र अरू सबैलाई हेला गर्छन्—के यो अहङ्कार हो? (हो।) यो अहङ्कार हो। धेरैजसो कस्ता परिस्‍थितिहरूमा मानिसहरूले अहङ्कार प्रकट गर्छन्? (जब तिनीहरूसँग केही वरदान वा विशेष सीप हुन्छ, जब तिनीहरूले केही व्यावहारिक कामहरू गर्न सक्छन्, जब तिनीहरूसँग पूँजी हुन्छ।) त्यो एक प्रकारको परिस्थिति हो। के त्यसोभए वरदान नभएका वा कुनै विशेष सीप नभएका मानिसहरू अहङ्कारी हुँदैनन्? (तिनीहरू पनि अहङ्कारी हुन्छन्।) हामीले भर्खरै उल्‍लेख गरेको व्यक्तिले प्रायजसो भन्छ, “म परमेश्‍वरबाहेक कसैको कुरा मान्दिनँ,” अनि यो सुनेर मानिसहरूले मनमनै भन्छन्, “यो व्यक्ति सत्यताप्रति कति आज्ञाकारी रहेछ, उसले सत्यताबाहेक कसैको आज्ञापालन गर्दैन, उसले भनेको कुरा सही हो!” वास्तवमा, यी सही देखिने शब्‍दहरूपछाडि एउटा अहङ्कारी स्वभाव हुन्छ: “म परमेश्‍वरबाहेक कसैको कुरा मान्दिनँ” भन्‍ने वाक्यांशले तिनीहरूले कसैको कुरा मान्दैनन् भन्‍ने स्पष्ट अर्थ दिन्छ। म तिमीहरूलाई सोध्छु, के त्यस्ता शब्‍दहरू बोल्‍ने मानिसहरूले साँच्‍चै परमेश्‍वरको आज्ञापालन गर्न सक्छन्? तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको आज्ञापालन गर्न सक्दैनन्। त्यस्ता शब्‍दहरू बोल्‍ने मानिसहरू सबैभन्दा अहङ्कारी हुने सम्भावना धेरै हुन्छ। बाहिरबाट हेर्दा, तिनीहरूले भनेको कुरा सही देखिन्छ—तर वास्तवमा, अहङ्कारी स्वभाव प्रकट हुने सबैभन्दा धूर्त तरिका नै यही हो। तिनीहरूले आफू उचित छु भनेर प्रमाणित गर्न “परमेश्‍वरको मात्रै” भन्‍ने वाक्यांश प्रयोग गर्छन्, तर वास्तवमा, यो त सुन गाडेर “यहाँ सुन गाडिएको छैन” भनेर लेखेर टाँस्‍नुजस्तै हो। के यो मूर्खता होइन र? तिमीहरूलाई के लाग्छ, कस्तो व्यक्ति सबैभन्दा अहङ्कारी हुन्छ? मानिसहरूले के-कस्ता कुराहरू बोल्छन् जसले तिनीहरूलाई सबैभन्दा अहङ्कारी तुल्याउँछ? सायद तिमीहरूले पहिले पनि केही अहङ्कारी कुराहरू सुनेका छौ होला। यीमध्ये सबैभन्दा अहङ्कारी कुरा कुन हो? के तिमीहरूलाई थाहा छ? के कसैले “म कसैको कुरा मान्दिनँ—चाहे त्यो स्वर्ग वा पृथ्वी नै किन नहोस्, चाहे त्यो परमेश्‍वरको वचन नै किन नहोस्” भनेर भन्‍ने आँट गर्छ? ठूलो रातो अजिङ्गरले मात्र यसो भन्‍ने आँट गर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने कसैले पनि यसो भन्दैन। तैपनि, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले, “म परमेश्‍वरबाहेक कसैको कुरा मान्दिनँ” भनेर भन्छन् भने, तिनीहरू ठूलो रातो अजिङ्गरभन्दा फरक हुँदैनन्, तिनीहरू संसारकै नम्बर एक हुन्छन्, र तिनीहरू सबैभन्दा अहङ्कारी हुन्छन्। तिमीहरू के भन्छौ, सबै मानिसहरू अहङ्कारी त हुन्छन्, तर के तिनीहरूको अहङ्कारमा कुनै भिन्‍नता हुन्छ? तिमीहरू कहाँ भिन्‍नता देख्छौ? भ्रष्ट मानिसहरू सबैमा अहङ्कारी स्वभाव हुन्छ, तर तिनीहरूको अहङ्कारमा भिन्‍नता हुन्छ। व्यक्तिको अहङ्कार निश्‍चित हदसम्‍म पुगेको बेला उसले सबै समझ गुमाएको हुन्छ। अनि, उसले बोल्‍ने कुरामा समझ छ कि छैन भन्‍ने कुरामै यो भिन्‍नता हुन्छ। कतिपय मानिसहरू अहङ्कारी हुन्छन् तैपनि तिनीहरूमा थोरथोरै समझ हुन्छ। यदि तिनीहरूले सत्यता स्विकार्न सक्छन् भने, तिनीहरूले अझै पनि मुक्ति पाउने आशा हुन्छ। कतिपय मानिसहरू यति अहङ्कारी हुन्छन् कि तिनीहरूमा कुनै समझ नै हुँदैन—तिनीहरूको अहङ्कारको कुनै सीमा हुँदैन—अनि त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता स्विकार्न सक्दैनन्। यदि मानिसहरू अत्यन्तै अहङ्कारी भएको कारण तिनीहरूमा कुनै समझ नै छैन भने, तिनीहरू लाजसरम सबै गुमाएर मूर्खे अहङ्कारी मात्रै हुन्छन्। यी सबै अहङ्कारी स्वभावका प्रस्फुटन र प्रकटीकरणहरू हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

कतिपय मानिसहरूले व्यवहार गर्दा प्रायजसो सिद्धान्तहरू उल्‍लङ्घन गरिरहन्छन्। तिनीहरूले काटछाँट वा निराकरण स्वीकार गर्दैनन्, अरूले भनेको कुरा साँचो हो भनेर तिनीहरूलाई हृदयमा स्पष्ट थाहा हुन्छ, तर तिनीहरूले ती कुरालाई स्वीकार गर्दैनन्। त्यस्ता मानिसहरू अत्यन्तै अहङ्कारी र आत्मधर्मी हुन्! तिनीहरू अहङ्कारी हुन् भनेर म किन भन्छु? यदि तिनीहरूले काटछाँट स्वीकार गर्दैनन् भने, तिनीहरू अज्ञाकारी होइनन्, अनि के अनाज्ञाकारिता अहङ्कार होइन र? तिनीहरूलाई आफूले राम्रो काम गरिरहेको छु भन्‍ने लाग्छ, कुनै गल्ती गर्छु भन्‍ने लाग्दैन, यसको अर्थ, तिनीहरूले आफूलाई चिनेका हुँदैनन्, जुन अहङ्कार हो। त्यसकारण, तिमीहरूले अलि-अलि गर्दै भए पनि विश्‍लेषण गर्नुपर्ने केही कुराहरू छन्। तिमीहरूले मण्डलीको काम गर्ने क्रममा अरूको तारिफ पाउँछौ, र तिनीहरूले तिमीहरूलाई सुझाव दिन्छन्, र सङ्गतिमा तिनीहरूले खुलस्त कुरा गर्छन् भने, यसले तिमीहरूले आफ्‍नो काम राम्ररी पूरा गरेका छौ भन्‍ने प्रमाणित गर्छ। यदि तिनीहरू सधैँ तेरो बन्धनमा पर्छन् भने, तिनीहरूले क्रमिक रूपमा तँलाई खुट्ट्याउनेछन्, र आफूलाई तँबाट अलग गर्नेछन्, र यसले तँमा सत्यता वास्तविकता छैन भन्‍ने प्रमाणित गर्छ, त्यसकारण तैँले भन्‍ने हरेक कुरा अरूलाई बन्धनमा पार्ने वचन र धर्मसिद्धान्तहरू मात्रै हुन्छन्। कतिपय मण्डली अगुवाहरूलाई प्रतिस्थापन गरिन्छ, तर तिनीहरूलाई किन त्यसो गरिन्छ? किनभने तिनीहरूले सधैँ वचन र धर्मसिद्धान्तहरू मात्रै बोल्छन्, सधैँ आफ्‍नो धाक लगाउँछन् र आफ्‍नो गवाही दिन्छन्। तिनीहरू तिनीहरूलाई प्रतिरोध गर्नु भनेको परमेश्‍वरलाई प्रतिरोध गर्नु हो, र यस्तो परिस्थितिबारे माथि रिपोर्ट गर्ने जोकोही व्यक्तिले मण्डलीको काममा बाधा दिइरहेको हुन्छ भनेर भन्छन्। यो कस्तो समस्या हो? यी मानिसहरू यति अहङ्कारी भइसकेका हुन्छन् कि तिनीहरूसँग कुनै समझशक्ति बाँकी हुँदैन। के यसले ख्रीष्ट-विरोधीहरूका रूपमा रहेको तिनीहरूको साँचो रङ्ग देखाउँदैन र? के यसले तिनीहरूले आफ्‍नै स्वतन्त्र राज्य स्थापना गर्ने कार्यको सुरुवाततिर डोर्याउनेछैन र? भर्खरै विश्‍वास गर्न थालेका कतिपय मानिसहरूले तिनीहरूको उपासना गर्छन् र तिनीहरूको गवाही दिन्छन्, र तिनीहरूले यस कुराको धेरै आनन्द लिन्छन्, र निकै खुसी हुन्छन्। यस्तो अहङ्कारी व्यक्ति पहिले नै खतम भइसकेको हुन्छ। “मेरो विरोध गर्नु भनेको परमेश्‍वरको विरोध गर्नु” हो भन्‍न सक्‍ने व्यक्ति पहिले नै आजको पावल बनिसकेको हुन्छ; यो भनाइ र पावलले भनेको “मेरो निम्‍ति जिउनु ख्रीष्‍ट हो।” भन्ने कुराको बीचमा कुनै भिन्‍नता छैन। के यस्तो कुरा गर्ने मानिसहरू ठूलो खतरामा हुँदैनन् र? तिनीहरूले स्वतन्त्र राज्य स्थापना गरेनन् भने पनि, तिनीहरू सच्चा ख्रीष्ट-विरोधीहरू नै हुन्छन्। यदि त्यस्तो व्यक्तिले कुनै मण्डलीको नेतृत्व गर्‍यो भने, त्यो मण्डली तुरुन्तै ख्रीष्ट-विरोधीहरूको राज्य बन्‍नेछ। मण्डली अगुवा बनेपछि, कतिपय मानिसहरूले उन्नत प्रवचन र धाक देखाउने कार्यमा ध्यान दिन्छन्, विशेषगरी रहस्यमय कुराहरूका बारेमा कुरा गर्छन्, ताकि मानिसहरूले तिनीहरूलाई आदर गरून्, जसको परिणामस्वरूप मानिसहरू सत्यता वास्तविकताबाट झन्-झन् टाढा जान्छन्। यसले गर्दा धेरैजसो मानिसहरूले आत्मिक सिद्धान्तहरूको पूजा गर्न थाल्छन्। जसले उन्नत तरिकाले बोल्छ, मानिसहरूले त्यसैको कुरा सुन्छन्; जसले जीवन प्रवेशको कुरा गर्छ, मानिसहरूले तिनीहरूलाई कुनै ध्यान दिँदैनन्। के यो मानिसहरूलाई पथभ्रष्ट बनाउनु होइन र? यदि कसैले सत्यता वास्तविकतामा सङ्गति गर्‍यो भने, कसैले पनि सुन्दैन, जुन एउटा समस्या हो। यो व्यक्तिले बाहेक कसैले पनि मण्डलीको नेतृत्व गर्न सक्दैन, किनभने सबैले आत्मिक सिद्धान्तहरूको उपासना गर्छन्; आत्मिक सिद्धान्तहरू बताउन नसक्‍ने मानिसहरू त अडिग रहनै सक्दैनन्। के त्यस्तो मण्डलीले अझै पनि पवित्र आत्‍माको कार्य प्राप्त गर्न सक्छ? के मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? सत्यताबारे दिइने सङ्गतिलाई र बताइने वास्तविक अनुभवहरूलाई किन इन्कार गरिन्छ, यहाँसम्‍म कि तिनीहरू मैले सत्यतामा सङ्गति गरेको समेत सुन्‍न चाहँदैनन्? यसले के प्रमाणित गर्छ भने, यी अगुवाहरू पहिले नै यी मानिसहरूको बहकाउ र नियन्त्रणमा परिसकेका छन्। यी मानिसहरू परमेश्‍वरमा समर्पित हुनुको सट्टा तिनीहरूको कुरा सुन्छन् र तिनीहरूमा नै समर्पित हुन्छन्। यी मानिसहरू परमेश्‍वरमा नभई आफ्‍ना अगुवाहरूप्रति समर्पित हुने खालका मानिसहरू हुन् भन्‍ने कुरा स्पष्ट छ। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यतालाई पछ्याउने मानिसहरू मानिसलाई उपासना गर्ने वा पछ्याउने मानिसहरू होइनन्; तिनीहरूको हृदयमा परमेश्‍वरका लागि ठाउँ हुन्छ, र तिनीहरूसँग परमेश्‍वरको डर मान्ने हृदय हुन्छ, त्यसोभए तिनीहरू कसरी मानिसहरूको बन्धनमा पर्न सक्छन्? तिनीहरू कसरी आज्ञाकारी भई सत्यता वास्तविकता नभएको झूटो अगुवामा समर्पित हुन सक्छन्? सत्यता वास्तविकता भएको, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्तिदेखि नै झूटो अगुवा सबैभन्दा बढी डराउँछ। यदि कसैसँग सत्यता छैन, तैपनि उसले अरूलाई आफ्‍नो आज्ञापालन गर्न लगाउन चाहन्छ भने, के त्यो सम्भवतः सबैभन्दा अहङ्कारी दियाबलस वा शैतान होइन र? यदि तैँले मण्डलीमा एकाधिकार कायम गर्छस् वा परमेश्‍वरका चुनिएका जनहरूलाई नियन्त्रण गर्छस् भने, तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याएको हुन्छस् र आफूलाई बरबाद गरेको हुन्छस्, अनि तैँले पश्‍चात्ताप गर्ने मौका समेत नपाउन सक्छस्। तिमीहरू हरेक जना होसियार हुनैपर्छ; यो अत्यन्तै खतरनाक कुरा हो, र कुनै पनि व्यक्तिले सहजै गर्न सक्‍ने कुरा हो। कतिपयले यसो भन्‍न सक्छन्: “म त्यस्तो गर्दै गर्दिनँ, म आफ्‍नो गवाही दिँदै दिँदिनँ!” त्यो यस कारणले गर्दा हो कि, तैँले काम गरेको त्यति धेरै भएको छैन। पछि, तैँले यसो गर्ने दुस्साहस गर्नेछस्। तँ बिस्तारै झन्-झन् साहसी बन्दै जानेछस्—तैँले जति यसो गर्छस्, तँ त्यति नै साहसी हुँदै जानेछस्। यदि तैँले नेतृत्व गरेका मानिसहरूले तेरो बारेमा धाक देखाउँछन् र तेरो कुरा सुन्छन् भने, तँलाई स्वाभाविक रूपमै तँ उच्‍च ओहदामा छस्, तँ अद्भुत छस् भन्‍ने महसुस हुन्छ: “हेर त, म त निकै राम्रो छु। म यी सबै मानिसहरूलाई नेतृत्व गर्न सक्छु, र तिनीहरू सबैले मेरो कुरा सुन्छन्; मेरो कुरा नसुन्‍ने मानिसहरूलाई म मेरो वशमा राख्छु। यसले ममा काम गर्ने क्षमता छ, र म काम गर्न लायक छु भन्‍ने प्रमाणित गर्छ।” समय बित्दै जाँदा, तेरो प्रकृतिका अहङ्कारी तत्त्वहरू प्रकट हुन थाल्छन्, र तँ यति अहङ्कारी भएको हुन्छस् कि तैँले आफ्‍नो समझ गुमाएको हुन्छस्, र तँ खतरामा हुन्छस्। के तँ यो कुरालाई स्पष्ट रूपमा देख्‍न सक्छस्? तैँले आफ्‍नो अहङ्कारी र अनाज्ञाकारी स्वभाव प्रकट गर्नेबित्तिकै तँ समस्यामा पर्छस्। मैले बोल्दा पनि तैँले सुन्दैनस्, र परमेश्‍वरको घरले तँलाई प्रतिस्थापन गर्छ, तर पनि तैँले अझै यसो भन्‍ने आँट गर्छस्: “पवित्र आत्माले यो कुरा प्रकट गर्नुहोओस्।” तैँले यसो भन्छस् भन्ने तथ्यले नै तँ सत्यतालाई स्विकार्दैनस् भन्‍ने प्रमाणित गर्छ। तेरो विद्रोहीपन अत्यन्तै ठूलो छ—यसले तेरो प्रकृति सारलाई खुलासा गरेको छ। तैँले परमेश्‍वरलाई पटक्‍कै चिनेको छैनस्। त्यसकारण, तिमीहरूले आफूमाथि कडा निगरानी गर भनेर मैले आज यो सब कुरा भनेको हुँ। आफूलाई उचाल्‍ने वा आफ्‍नो गवाही दिने नगर। मानिसहरूले आफ्‍नै स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गर्न सक्छन्, किनभने तिनीहरू सबैलाई पद, सम्पत्ति र वैभव, अभिमान, उच्‍च हैसियतको सेवक बन्‍न, र शक्ति प्रदर्शन गर्न मन लाग्छ: “हेर त मैले कति कडाइका साथ यी वचनहरू बोलेँ। मैले धम्की दिने शैलीमा व्यवहार गर्नेबित्तिकै, तिनीहरूले डराए र लुरुक्‍क भए।” यस्तो शक्ति प्रदर्शन नगर; यसो गरेर केही काम छैन, र यसले केही प्रमाणित गर्दैन। यसले तँ निकै अहङ्कारी छस्, र तेरो स्वभाव खराब छ भन्‍ने मात्रै प्रमाणित गर्छ; यसले तँमा कुनै क्षमता छ भनेर प्रमाणित गर्दैन, तँमा सत्यता वास्तविकता छ भनेर प्रमाणित गर्नु त टाढाको कुरा हो। केही वर्षसम्‍म प्रवचन सुनेपछि, के तिमीहरूले आफूलाई चिनेका छौ? के तिमीहरूलाई आफू खतरनाक परिस्‍थितिमा छु भन्‍ने लाग्दैन? यदि परमेश्‍वरले मान्छेलाई मुक्ति दिन नबोल्‍नुभएको र काम नगर्नुभएको भए, के तिमीहरूले स्वतन्त्र राज्य स्थापना गरिरहेका हुनेथिएनौ र? के तिमीहरू आफ्‍नो जिम्‍मामा रहेका मण्डलीहरूमा एकाधिकार जमाउन, ती मानिसहरूमध्ये कोही पनि तिमीहरूको नियन्त्रणबाट उम्कन नसकून्, तिनीहरूले तिमीहरूको कुरा सुनून् भनेर तिनीहरूलाई आफ्‍नो अधीनमा राख्‍न चाहँदैनौ र? तैँले यसो गर्नेबित्तिकै मानिसहरूलाई नियन्त्रण गर्छस् भने, तँ दियाबलस, शैतान होस्। तँमा यस्ता सोचाइहरू आउनु अत्यन्तै खतरनाक कुरा हो; तैँले ख्रीष्ट-विरोधीको मार्गमा पाइला चालिसकेको हुन्छस्। यदि तैँले आत्म-चिन्तन गरिनस् भने, र तैँले आफ्‍ना पापहरू परमेश्‍वरको अघि स्विकारेर पश्‍चात्ताप गर्न सकिनस् भने, तँलाई अवश्य नै पन्छाइनेछ, र परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुनेछैन। परमेश्‍वरको इच्‍छाअनुरूप हुनका लागि, र तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याउँदैनस् भन्ने कुराको प्रत्याभूति गर्नका लागि आफूले कसरी पश्‍चात्ताप गर्ने, आफूलाई कसरी परिवर्तन गर्ने भन्‍ने थाहा हुनुपर्छ। परमेश्‍वरको घरले तँ ख्रीष्ट-विरोधी होस् भनेर निर्धारित गरेर तँलाई निकालिञ्‍जेलसम्‍म पर्खेर नबस्—त्यो बेलासम्‍म निकै ढिला भइसकेको हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो

कुनै व्यक्तिले आफूलाई सिद्ध, वा विख्यात, कुलीन, वा अरूभन्दा फरक नसोचोस्; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफूलाई अलग्ग ठान्नु—यो अहङ्कारी स्वभावले गराउँछ; आफ्‍ना कमीकमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्नु, र कहिल्यै आफ्ना गल्ती र असफलताहरू सामना गर्न नसक्नु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा माथि, वा आफूभन्दा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा श्रेष्ठ वा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा राम्रा विचार, सुझाव, र दृष्टिकोण राख्‍न नदिनु, र आफूभन्दा अरू राम्रो भएको थाहा पाउँदा नकारात्मक बन्‍नु, बोल्न नचाहनु, दुःखी र उदास बन्नु, र खिन्‍न हुनु—यी सबै अहङ्कारी स्वभावले गराउँछ। अहङ्कारी स्वभावले तँलाई तेरो प्रतिष्ठाको रक्षा गर्ने, अरूले सच्चाइदिँदा त्यो स्वीकार गर्न नसक्ने, आफ्ना कमीकमजोरीहरू सामना गर्न नसक्ने, र तेरा आफ्नै असफलता र गल्तीहरू स्वीकार गर्न नसक्ने बनाउँछ। त्योभन्दा बढी, जब कुनै व्यक्ति तँभन्दा राम्रो हुन्छ, त्यसले तेरो हृदयमा घृणा र ईर्ष्या उत्पन्न गराउन सक्छ, र तँलाई बन्धनमा परेको महसुस हुन सक्छ, यहाँसम्‍म कि तँ आफ्नो कर्तव्य गर्ने इच्छा गर्दैनस् र तँ लापरवाह बन्छस्। अहङ्कारी स्वभावले तँमा यस्ता व्यवहार र अभ्यासहरू उत्पन्न गराउन सक्छ। यदि तिमीहरू अलि-अलि गर्दै यी सबै कुरा अझै गहिरो गरी खोतल्न, सफलता हासिल गर्न, र ती कुरा बुझ्न सक्छौ भने; र यदि त्यसपछि तिमीहरू बिस्तारै यी विचारहरू त्याग्न, यी यी गलत धारणा, दृष्टिकोण, र व्यवहारहरूसमेत त्याग्न सक्छौ, र तीद्वारा बन्धनमा पर्दैनौ भने; र यदि, तेरो कर्तव्य पूरा गर्दा तँ आफ्नो निम्ति सही स्थान भेट्टाउन सक्छस् र सिद्धान्तहरूअनुसार कार्य गर्न, र तैँले गर्न सक्ने र गर्नुपर्ने कर्तव्य गर्छस् भने; समय बित्दै जाँदा, तिमीहरू आफ्ना कर्तव्यहरू अझ राम्रोसँग पूरा गर्न सक्ने छौ। यसले सत्यताको वास्तविकतामा प्रवेश गराउँछ। यदि तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सकिस् भने, तँमा मानव स्वरूप देखा पर्नेछ, र मानिसहरूले भन्नेछन्, “यो व्यक्तिले आफ्नो स्थानअनुसार व्यवहार गर्छ, र उसले आधारभूत तरिकाले आफ्नो कर्तव्य पूरा गरिरहेको छ। तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न स्वाभाविकता, झोकीपन, वा भ्रष्ट, शैतानी स्वभावमा भर पर्दैनन्। तिनीहरू संयमका साथ काम गर्छन्, तिनीहरूमा परमेश्‍वरको आदर गर्ने हृदय छ, तिनीहरूमा सत्यताप्रति प्रेम छ, र तिनीहरूको व्यवहार र अभिव्यक्तिले तिनीहरूले आफ्नो देहसुख र प्राथमिकताहरू त्यागेका छन् भन्‍ने प्रकट गर्दछन्।” यसरी चल्नु कति राम्रो कुरा हो! अरूले तेरा कमीकमजोरीहरूको कुरा गर्दा, तँ तिनलाई स्वीकार गर्न मात्र सक्षम हुँदैनस्, तर तँ आशावादी हुन्छस्, तेरा कमीकमजोरी र दोषहरूलाई संयमताको साथ सामना गर्छस्। तेरो मनस्थिति अति सामान्य हुन्छ, ज्यादतीहरूदेखि मुक्त, रिसाहापनबाट मुक्त हुन्छ। के मानव स्वरूप हुनु भनेको यही होइन र? त्यस्ता मानिसहरूमा मात्र समझ हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू

परमेश्‍वरले मानवमाथि विजय पाइसक्‍नुभएपछि, मानिसहरूले अहङ्कारी रूपमा नबोल्ने सुनिश्‍चित गर्न कम्तीमा पनि समझ धारण गरेको हुनुपर्छ। तिनीहरूले “भूँइमा भएको गोबर” जस्तै सानो स्थान लिनु, र केही साँचो कुराहरू बोल्‍नु बेस हुन्छ। विशेष गरी परमेश्‍वरको लागि गवाही दिने क्रममा, यदि तैँले कुनै खोक्रो वा ठूलो गफ र काल्‍पनिक, मनगढन्ते कुरा नगरी, हृदयबाट नै कुनै ठोस कुरा भन्‍न सक्छस् भने, तेरो स्वभाव साँच्‍चै परिवर्तन भइसकेको हुनेछ; परमेश्‍वरद्वारा जितिएपछि तँमा हुनुपर्ने परिवर्तन यही हो। यदि तँसँग यति मात्रामा पनि तर्कशक्ति हुँदैन भने, तँ साँच्‍चै नै मानव स्वरूपविहीन हुन्छस्। भविष्यमा, जब सारा राष्ट्र र क्षेत्रहरूका परमेश्‍वरका चुनिएका मानिसहरू परमेश्‍वरसामु फर्किआएका हुनेछन्, र जब परमेश्‍वरका वचनहरूले तिनीहरूमाथि विजय पाइसकेका हुनेछन्, तब परमेश्‍वरको प्रशंसाको ठूलो भेलामा, यदि तैँले फेरि पनि अहङ्कारी व्यवहार गर्न सुरु गर्छस् भने, र निरन्तर रवाफ देखाउँदै आफ्नो प्रदर्शन गर्छस् भने, तँलाई पूर्ण रूपमा रद्दी बनाएर हटाइनेछ। मानिसहरूले सधैँ उचित व्यवहार गर्नुपर्छ, आफ्‍नो पहिचान र हैसियत चिन्नुपर्छ, र आफ्‍ना पुराना मार्गहरूमा फर्किनु हुँदैन। शैतानको स्वरूप मुख्य रूपमा मानव अहङ्कार र घमन्डमा प्रकट हुन्छ। तैँले आफ्‍नो यो पक्षलाई परिवर्तन नगरेसम्‍म, तँ कहिल्यै पनि मानव स्वरूपको हुनेछैनस्, र तँमा सधैँ शैतानको मुहार हुनेछ। अहङ्कार र अभिमान समाधान गर्नु भनेको सबैभन्दा गाह्रो काम हो, र आफ्नो अहङ्कार र अभिमानबारे अलिअलि ज्ञान हुनु मात्रले पूर्ण रूपान्तरण हासिल गर्न मदत पुर्‍याउँदैन; तैँले अझै पनि विभिन्‍न शोधनहरू भएर जानुपर्ने हुन्छ। न्याय, सजाय र काटछाँट नगरिँदा, दीर्घकालीन रूपमा, तँ अझै पनि खतरामै हुनेछस्। भविष्यमा, जब संसारभरिका परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको आखिरी दिनहरूको काम स्वीकार गर्छन् र भन्छन्: “परमेश्‍वरले चीनमा विजेताहरूको समूह प्राप्त गर्नुभएको छ भन्‍नेबारेमा हामीले धेरै पहिले नै अन्तर्दृष्टि पाएका थियौँ,” अनि जब तैँले यो सुन्छस्, तैँले सोच्‍नेछस्: “हामीसँग घमण्ड गर्ने केही पनि छैन, सबै परमेश्‍वरको अनुग्रहद्वारा दिइएको हो। हामी विजेताहरू भनेर बोलाइन योग्यका छैनौं।” तर समय बित्दै जाँदा, तँ केही भन्‍न सक्‍ने बन्दै गएपछि, र तँमा अलिअलि सत्यता हुन थालेपछि, तैँले यस्तो विचार गर्नेछस्: “विदेशीहरूले समेत पवित्र आत्माबाट अन्तर्दृष्टि प्राप्त गरेका छन्, र तिनीहरूले परमेश्‍वरले चीनमा विजेताहरूको समूह निर्माण गर्नुभएको छ भनेर भन्दै छन्, त्यसकारण हामीलाई विजेताहरू मानिनुपर्छ!” तैँले अब यो कुरालाई हृदयमा मौन रूपमा स्वीकार गर्नेछस्, र पछि त बस तैँले यो कुरालाई सार्वजनिक रूपमै स्वीकार गरिदिनेछस्। मानिसहरूले प्रशंसा पाउँदा र हैसियतको जाँचमा पर्दा सहन सक्दैनन्। यदि तँलाई सधैँ प्रशंसा गरियो भने, तँ खतरामा पर्नेछस्। स्वभाव परिवर्तन नभएकाहरू अन्त्यमा दह्रिलो गरी खडा हुन सक्दैनन्।

भ्रष्ट मानवजातिको निम्ति समाधान गर्न सबैभन्दा कठिन भनेको उही पुरानै गल्तीहरू दोहोर्‍याउने समस्या हो। यसलाई रोक्‍नको लागि, मानिसहरू सुरुमै के कुरामा सचेत हुनुपर्छ भने तिनीहरूले सत्यता प्राप्त गर्न बाँकी नै छ, तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन आएको छैन, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरू अझै पनि शैतानको सत्ताअन्तर्गत जिउँछन्, र तिनीहरूले मुक्ति पाएका छैनन्; तिनीहरूले कुनै पनि समय परमेश्‍वरलाई धोका दिने र उहाँबाट टाढा हुने सम्‍भावना हुन्छ। यदि तिनीहरूमा यो सङ्कष्टको बोध छ भने—पछि आउने खतराको लागि बेला छँदै तयार हुनुपर्छ भनेझैँ तिनीहरू तयार भई बसेका छन् भने—तिनीहरूले जसरी भए पनि आफूलाई काबुमा राख्‍न सक्‍नेछन्, र जब तिनीहरूमाथि केही कुरा आइपर्छ, तब तिनीहरूले परमेश्‍वरसँग प्रार्थना गर्नेछन् र उहाँमै भरोसा गर्नेछन्, अनि उही पुरानै गल्तीहरू दोहोर्‍याउनबाट बच्‍नेछन्। तिमीहरू के कुरामा स्पष्ट हुनुपर्छ भने, तिमीहरूको स्वभाव परिवर्तन भएको छैन, परमेश्‍वरलाई धोका दिने प्रकृतिले तिमीहरूभित्र गहिरो जरा गाडेको छ, र यसलाई निकालेर फालिएको छैन, तिमीहरू अझै पनि परमेश्‍वरलाई धोका दिने खतरामा छौ, र तिमीहरूले निरन्तर अनन्त विनाशमा पर्ने सम्‍भावना सामना गर्दै छौ। यो वास्तविक कुरा हो, त्यसैले तिमीहरू होसियार रहनैपर्छ। ध्यान दिनुपर्ने सबैभन्दा मुख्य बुँदाहरू तीन वटा छन्: पहिलो, तिमीहरूले अझै पनि परमेश्‍वरलाई चिनेका छैनौ; दोस्रो, तिमीहरूको स्वभावमा कुनै परिवर्तन आएको छैन; र तेस्रो, तिमीहरू मानिसको साँचो रूपमा जिउन अझै बाँकी छ। यी तीन वटा कुराहरू तथ्यअनुरूप छन्, ती वास्तविक हुन्, र तिमीहरू यी कुराको बारेमा स्पष्ट हुनैपर्छ। तिमीहरूमा आत्मचेतना हुनैपर्छ। यदि तिमीहरूमा यो समस्या समाधान गर्ने इच्‍छा छ भने, तिमीहरूले आफ्‍नै आदर्श वाक्य छनौट गर्नुपर्छ: उदाहरणको लागि, “म भुइँको गोबर हुँ,” वा “म दियाबलस हुँ,” वा “म सधैँ मेरा पुराना मार्गहरूमा फर्कन्छु,” वा “म सधैँ खतरामा हुन्छु।” यीमध्ये कुनै पनि वाक्यले तिमीहरूको व्यक्तिगत आदर्श वाक्यको रूपमा काम गर्न सक्छ, र तिमीहरूले यो कुरा सधैँ सम्‍झिरह्यौ भने उपयोगी हुनेछ। यसलाई मनमनै दोहोर्‍याओ, यसलाई मनन गर, अनि तिमीहरूले कम मात्र गल्ती गर्न वा गल्ती गर्नै छोड्न सक्छौ, वा कम गल्ती गर्न सक्छौ। तथापि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वचनहरू पढ्न बढी समय दिनु, सत्यता बुझ्‍नु, आफ्‍नै प्रकृतिलाई चिन्‍नु र आफ्‍नै भ्रष्ट स्वभाव फाल्नु हो। त्यसपछि मात्रै तिमीहरू सुरक्षित हुनेछौ। अर्को कुराचाहिँ “परमेश्‍वरको साक्षी” को स्थान कहिल्यै पनि नलिनु र आफूलाई परमेश्‍वरको साक्षी कहिल्यै पनि नभन्नु हो। तिमीहरूले व्यक्तिगत अनुभवबारे मात्र बोल्न सक्छौ। परमेश्‍वरले तिमीहरूलाई कसरी मुक्ति दिनुभयो भन्‍नेबारे बोल्दा हुन्छ, परमेश्‍वरले तिमीहरूलाई कसरी विजय गर्नुभयो भन्‍नेबारे सङ्गति गर्दा हुन्छ, र उहाँले तिमीहरूलाई के अनुग्रह प्रदान गर्नुभयो भन्नेबारे कुरा गर्दा पनि हुन्छ। यो कहिल्यै नबिर्स कि तिमीहरू सबैभन्दा गहन रूपमा भ्रष्ट तुल्याइएका मानिसहरू हौ; तिमीहरू गोबर र फोहोर हौ। तिमीहरू परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्न सक्षम हुनु भनेको परमेश्‍वरले तिमीहरूलाई उत्थान गर्नुभएकोले गर्दा हो। तिमीहरू सबैभन्दा भ्रष्ट र फोहोरी भएकोले मात्र देहधारी परमेश्‍वरले तिमीहरूलाई मुक्ति र यस्तो अपार अनुग्रह प्रदान गर्नुभएको हो। त्यसकारण तिमीहरूसँग आफ्नै बिगुल फुक्न लायक केही पनि छैन, र तिमीहरूले परमेश्‍वरलाई प्रशंसा गर्न र धन्यवाद दिन मात्र सक्छौ। तिमीहरूको मुक्ति विशुद्ध रूपमा परमेश्‍वरको अनुग्रहको कारण भएको हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

अब कामकुराहरू यस्तो अवस्थामा आइपुगिसकेपछि, मैले भन्‍ने र गर्ने कुराहरूका बारेमा तँ कतिसम्म बुझ्छस्? तँ प्राकृतिक रूपमै विलक्षण प्रतिभा लिएर जन्‍मेको पुत्र, स्वर्गहरूभन्दा अलिकति मात्र तल, तर पृथ्वीभन्दा असीमित रूपमा उच्च व्यक्ति होस् भनी नसोच्। तँ अरू कोहीभन्दा चलाख छँदै-छैनस्—र यो पनि भन्न सकिन्छ कि यस पृथ्वीका विवेक भएको कुनै पनि मानिसभन्दा तँ कति धेरै मूर्ख छस् त्यो हास्यास्पद छ, किनकि तैँले आफूलाई धेरै उच्च ठान्छस्, र तँमा कहिल्यै पनि हीनताको भाव थिएन, मानौँ तैँले मेरा कामहरूको सानोभन्दा सानो कुरा बुझ्न सक्छस्। वास्तवमा भन्‍ने हो भने, तँ त्यस्तो व्यक्ति होस् जसमा मूल रूपमा नै विवेकको अभाव छ, किनकि म के गर्न चाहन्छु त्यो तँलाई थाहा छैन, र मैले अहिले के गर्दैछु त्यसबारे तँलाई अझै थोरै थाहा छ। अनि यसैले म भन्छु कि तँ खेतमा कठोर परिश्रम गर्ने वृद्ध किसानको बराबरी समेत छैनस्, यस्तो किसान जोसँग मानव जीवनको बारेमा थोरै दृष्टिकोण हुँदैन र जो आफ्नो खेतमा खेती गर्दा सम्पूर्ण रूपले स्वर्गको आशिषमाथि निर्भर हुन्छ। तैँले आफ्नो जीवनको सम्बन्धमा एकै क्षण पनि विचार गर्दैनस्, तँलाई ख्यातिको बारेमा केही थाहा छैन, र तँसँग आफ्नो बारेमा ज्ञान हुने कुरा त परै जाओस्। तँ साँच्‍चै “यी सबैभन्दा माथि” छस्। … म तँलाई एउटा सत्य बताउँछु: आज तँमा डर मान्ने हृदय छ कि छैन भन्‍ने कुराको महत्त्व त्यति छैन; त्यस विषयमा म न उत्सुक छु न चिन्तित नै छु। तर मैले तँलाई यो पनि भन्नैपर्छ: तँ, यस “प्रतिभाशाली व्यक्ति” जसले सिक्दैन र अज्ञानी नै रहन्छ, तँलाई अन्ततः तेरो आत्म-प्रशंसा, तुच्छ धूर्तताद्वारा खसालिनेछ—तँ त्यो व्यक्ति हुनेछस् जसले कष्ट भोग्छ र सजाय पाउँछ। तैँले नरकमा पीडा भोगिरहँदा म तँलाई साथ दिने जत्तिको मूर्ख हुनेछैन, किनकि म तँजस्तो छैन। तँ एक सृष्टि गरिएको प्राणी होस् जसलाई मैले सरापेको छु, तैपनि मैले सिकाएको र मुक्त गरेको छु, अनि तँमा त्यस्तो केही छैन जसमा म भाग लिन बाध्य हुन्छु। मैले आफ्नो काम जुनसुकै समयमा गरे पनि म कुनै व्यक्ति, घटना, वा वस्तुद्वारा बाध्य हुँदिनँ। मानव जातिको सम्बन्धमा मेरो मनोवृत्ति र मेरो दृष्टिकोण सधैँ एक समान रहन्छ। म निश्‍चित रूपमा तँप्रति राजी भएको छैनँ किनकि तँ मेरो व्यवस्थापनको लागि भारीमाथि सुपारी होस्, र अन्य कुनै प्राणीभन्दा खास विशेष छँदै-छैनस्। तँलाई मेरो सल्लाह यो छ: तैँले हरबखत तँ सृष्टि गरिएको प्राणीभन्दा बढी अरू केही होइनस् भन्‍ने कुरालाई सम्‍झनुपर्छ। तैँले मसँग आफ्नो अस्तित्व बाँड्न सक्‍ने भए पनि तैँले आफ्नै पहिचान चिन्‍नुपर्छ; आफूलाई धेरै उच्च नठान्। यदि मैले तँलाई हप्काइनँ वा तँलाई काटछाँट गरिनँ तर हँसिलो अनुहारले तँलाई अभिवादन गर्छु भन्दैमा तँ मजस्तै छस् भन्‍ने प्रमाणित गर्न त्यो पर्याप्त छैन। तैँले आफैलाई सत्यताको पछि लाग्ने व्यक्तिको रूपमा चिन्नुपर्छ, तैँले आफैलाई सत्यको रूपमा हेर्ने होइन। तँ हरसमय मेरो वचनअनुसार परिवर्तन हुन तयार हुनुपर्दछ। यसबाट तँ उम्कन सक्दैनस्। तँसँग यो दुर्लभ अवसर भएको यस अनमोल समयमा तैँले कुनै कुरा गर्न कोसिस गर् र सिक् भन्‍ने म तँलाई आज्ञा गर्छु। मलाई मूर्ख नबना; मलाई जाँच्‍न र धोका दिनका निम्ति तैँले मसँग चापलुसी गरेको म चाहन्‍नँ। जब तैँले मलाई खोज्छस्, त्यो पूर्ण रूपमा मेरो लागि हुँदैन, तर तेरो आफ्नै लागि हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जसले सिक्दैनन् र अनजान रहन्छन्: के तिनीहरू जनावरहरू होइनन् र?

मानवजातिलाई शैतानद्वारा यति गहिरो रूपले भ्रष्ट तुल्याइएको छ कि तिनीहरू सबैमा शैतानी प्रकृति र अहङ्कारी स्वभाव हुन्छ; बेबकुफ र मूर्खहरूसमेत अहङ्कारी हुन्छन्, र तिनीहरू अरूभन्दा राम्रो छु भन्ठान्छन् र अरूको आज्ञापालन गर्न मान्दैनन्। यो प्रष्टै देखिन्छ, मानवजातिलाई अति गहिरो रूपले भ्रष्ट तुल्याइएको छ र तिनीहरूलाई परमेश्‍वरप्रति समर्पित हुन धेरै कठिन हुन्छ। तिनीहरू आफ्नो अहङ्कार र आत्मधार्मिकताको कारण पूरै समझहीन बनेका छन्; तिनीहरूले कसैको आज्ञापालन गर्दैनन्—अरू मानिसहरूको कुरा सही र सत्यताबमोजिम भए पनि, तिनीहरूले ती कुराहरू पालन गर्दैनन्। अहङ्कारकै कारण मानिसहरू परमेश्‍वरको आलोचना, निन्दा, र प्रतिरोध गर्ने आँट गर्छन्। अनि, कसरी यो अहङ्कारी स्वभाव समाधान गर्न सकिन्छ? के यसलाई मानव संयममा भर परेर समाधान गर्न सकिन्छ? के यसलाई पहिचान र स्वीकार गरेर मात्र समाधान गर्न सकिन्छ? कदापि सकिँदैन। अहङ्कारी स्वभाव समाधान गर्ने एउटै मात्र तरिका छ, र त्यो परमेश्‍वरको न्याय र दण्ड स्विकार्नु हो। सत्यता स्विकार्न सक्षमहरूले मात्र बिस्तारै आफ्नो अहङ्कारी स्वभाव त्याग्न सक्छन्; सत्यता नस्विकार्नेहरूले कहिल्यै आफ्नो अहङ्कारी स्वभाव समाधान गर्न सक्दैनन्। म त्यस्ता धेरै मानिसहरू देख्छु जो आफूले केही प्रतिभा देखाउँदा घमण्डी बनिहाल्छन्। जब तिनीहरूले आफूमा केही क्षमता भएको देखाउँछन्, तिनीहरू आफू धेरै प्रभावशाली छु भन्ठान्छन्, अनि यी क्षमताहरूमै भर परिबस्छन्, थप मेहनत गर्दैनन्। अरूले जे भने पनि तिनीहरू सुन्दैनन्, तिनीहरू आफूसँग भएका यी साना कुराहरू सत्यता हुन्, र आफू सर्वोच्च हुँ भन्ठान्छन्। यो कस्तो स्वभाव हो? यो अहङ्कारी स्वभाव हो। तिनीहरूमा समझको अत्यन्तै कमी छ। के व्यक्तिमा अहङ्कारी स्वभाव हुँदा उसले आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छ? के उसले परमेश्‍वरप्रति आज्ञाकारी हुन र अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउन सक्छ? यो त झन् कठिन छ। अहङ्कारी स्वभाव सुल्झाउन, उसले आफ्नो कर्तव्य निभाउने क्रममा परमेश्‍वरको काम, उहाँको न्याय र दण्ड अनुभव गर्न सिक्‍नुपर्छ। यस तरिकाले मात्र उसले आफूलाई साँच्चिकै चिन्न सक्छ। प्रस्ट रूपमा आफ्नो भ्रष्ट सार बुझेर, राम्रोसित आफ्नो अहङ्कारको जड देखेर, र त्यसपछि त्यसलाई खुट्याएर अनि विश्‍लेषण गरेर मात्र तैँले साँच्चिकै आफ्नो प्रकृति सार चिन्न सक्छस्। तैँले आफूभित्रका सबै भ्रष्ट कुराहरू उजागर गर्नुपर्छ, र ती कुराहरूलाई सत्यतासँग तुलना गरेर सत्यताको आधारमा चिन्नुपर्छ, र त्यसपछि तैँले तँ को होस् भनेर चिन्‍नेछस्: तँ अहङ्कारी स्वभावले मात्र भरिएको छैनस्, र तँमा समझ र आज्ञाकारिताको मात्र कमी छैन, तँमा त धेरै कुराहरूको पनि कमी छ, तँमा सत्यता वास्तविकता छैन, र तँ कति दयनीय छस् भनी तैँले देख्नेछस्। त्यसपछि, तँ अहङ्कार बन्‍न सक्दै सक्नेछैनस्। यदि तैँले आफूलाई यस तरिकाले विश्‍लेषण गरेर चिन्दैनस् भने, आफ्नो कर्तव्य निभाउँदा तैँले ब्रहमाण्डमा आफ्नो स्थान के हो भनेर चिन्नेछैनस्। तैँले आफू हर कोणबाट महान्‌ छु, अरूका सबै कुराहरू खराब छन्, र आफू मात्र सबैभन्दा उत्तम हुँ भन्ठान्नेछस्। अनि, तैँले आफूलाई अरूले आदर र आराधना गरून् भनेर सधैँ हरेक व्यक्तिसामु धाक देखाउनेछस्। यो आफूमा बिलकुलै आत्मसचेतना नहुनु हो। कतिपय मानिसहरू सधैँ धाक देखाइरहेका हुन्छन्। जब अरूहरूलाई त्यो कुरा त्यति रुचिकर लाग्दैन, तब उनीहरूले तिनीहरूलाई अहङ्कारी भनेर आलोचना गर्छन्। तर तिनीहरू त्यो कुरा स्वीकार गर्दैनन्; तिनीहरू अझै पनि आफूलाई प्रतिभाशाली र सीपालु नै भन्ठान्छन्। यो कस्तो स्वभाव हो? तिनीहरू अत्यन्तै अहङ्कारी र आत्मधर्मी छन्। के यति धेरै अहङ्कारी र आत्मधर्मी मानिसहरू सत्यताको तृष्णा गर्न सक्षम हुन्छन्? के तिनीहरूले सत्यता पछ्याउन सक्छन्? यदि तिनीहरूले आफूलाई चिन्न कहिल्यै सक्दैनन् र आफ्ना भ्रष्ट स्वभावहरू कहिल्यै फाल्दैनन् भने, के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छन् त? कदापि सक्दैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो

जब तैँले परमेश्‍वरका वचनहरूले कसैको अहङ्कारी स्वभावको प्रकटीकरणबारे खुलासा गरेको सुन्छस्, तब तैँले यस्तो सोच्‍नुपर्छ: “के ममा अहङ्कारको प्रकटीकरण देखिन्छ? म भ्रष्ट मानव हुँ, त्यसकारण ममा यीमध्ये केही प्रकटीकरणहरू पक्‍कै देखिन्छन् होला; ममा कहाँ त्यस्तो कुरा देखिन्छ मैले त्यो मनन गर्नुपर्छ। मानिसहरूले मलाई अहङ्कारी, ठूलो र ठालु व्यवहार गर्ने, बोल्दा अरूलाई बन्धनमा पार्ने भनेर भन्छन्। के त्यो साँच्‍चै मेरो स्वभाव हो?” मनन गरेर अन्ततः तैँले परमेश्‍वरका वचनहरूको प्रकाश पूर्ण रूपमा सही छ—तँ अहङ्कारी व्यक्ति होस् भन्‍ने कुरा महसुस गर्नेछस्। अनि परमेश्‍वरका वचनहरूको प्रकाश पूर्ण रूपमा सही भएकोले, यो अलिकति पनि तलमाथि नभई तेरो परिस्थितिसँग पूर्ण रूपमा मिल्‍ने, र थप मनन गर्दा अझै सटीक देखिने हुनाले, तैँले उहाँका वचनहरूको न्याय र सजाय स्विकार्नुपर्छ, र त्यही आधारमा तेरो भ्रष्ट स्वभावको सार पत्ता लगाउनु र चिन्‍नुपर्छ। त्यसपछि तैँले साँचो पछुतो अनुभव गर्न सक्‍नेछस्। परमेश्‍वरमा विश्‍वास गर्दा, यसरी उहाँका वचनहरू खाएर-पिएर मात्रै तैँले आफूलाई चिन्‍न सक्छस्। आफ्‍ना भ्रष्ट स्वभावहरू समाधान गर्नको लागि, तैँले परमेश्‍वरका वचनहरूको न्याय र खुलासा स्विकार्नैपर्छ। त्यसो गर्न सक्दैनस् भने, तैँले तेरो भ्रष्ट स्वभाव त्याग्‍ने कुनै उपाय हुँदैन। यदि तँ परमेश्‍वरका वचनहरूको प्रकाश प्राय सटीक हुन्छ भनी बुझेको बाठो व्यक्ति होस् भने, वा यो आधा सही हो भनेर स्विकार्न सक्छस् भने, तैँले तुरुन्तै यसलाई स्विकारेर परमेश्‍वरमा समर्पित हुनुपर्छ। तैँले उहाँलाई प्रार्थना गरेर आफ्‍नो बारेमा मनन पनि गर्नुपर्छ। त्यसपछि मात्रै तैँले परमेश्‍वरका वचनहरूको सबै प्रकाश सटीक छन्, ती सबै तथ्य हुन्, र तथ्यबाहेक केही होइनन् भन्‍ने कुरा बुझ्‍नेछस्। परमेश्‍वरको भय मान्‍ने हृदयसहित उहाँमा समर्पित भएर मात्रै मानिसहरूले आफ्‍नो बारेमा साँचो रूपमा मनन गर्न सक्छन्। त्यसपछि मात्रै तिनीहरूले आफूमा भएका विभिन्‍न भ्रष्ट स्वभावहरू देख्‍न, र तिनीहरू साँच्‍चै नै अहङ्कारी र आत्मधर्मी छन् र तिनीहरूमा अलिकति पनि चेतना छैन भन्‍ने कुरा देख्‍न सक्‍नेछन्। यदि कोही सत्यतालाई प्रेम गर्ने व्यक्ति हो भने, ऊ परमेश्‍वरको अघि लम्पसार पर्न, उहाँसामु ऊ गहन रूपमा भ्रष्ट भएको छ भन्‍ने कुरा स्विकार्न, र उहाँको न्याय र सजाय स्विकार्ने इच्छा जाहेर गर्न सक्‍नेछ। यसरी, तिनीहरूले प्रायश्‍चित गर्ने हृदय विकास गर्न, आफूलाई इन्कार्न र घृणा गर्न थाल्‍न, र पहिले सत्यता नपछ्याकोमा पछुतो गर्दै यस्तो सोच्‍न सक्छन्, “मैले परमेश्‍वरका वचनहरू पढ्न सुरु गर्दा, किन ती वचनहरूको न्याय र सजाय स्विकार्न सकिनँ? उहाँका वचनहरूप्रति मैले राखेको यो मनोवृत्ति अहङ्कारी रहेछ, होइन र? म कसरी यति अहङ्कारी हुन सकेँ?” केही समयसम्‍म यसरी बारम्‍बार आत्मचिन्तन गरिसकेपछि, तिनीहरूले आफू साँच्‍चै अहङ्कारी रहेको, परमेश्‍वरका वचनहरू सत्यता र तथ्यहरू हुन् भन्‍ने कुरा स्विकार्न पूर्णं सक्षम नरहेको, र आफूमा साँच्‍चै अलिकति पनि समझशक्ति नभएको कुरा पहिचान गर्नेछन्। तर आफूलाई चिन्‍नु गाह्रो कुरा हो। व्यक्तिले जब मनन गर्छ, तब हरेकपटक नै उसले आफ्‍नो बारेमा अलिक बढी र अलिक गहन ज्ञान मात्रै पाउन सक्छ। भ्रष्ट स्वभावको स्पष्ट ज्ञान प्राप्त गर्ने काम छोटो समयमा हासिल गर्न सकिने कुरा होइन; यसको लागि अझै बढी परमेश्‍वरका वचनहरू पढ्नुपर्छ, अझै बढी प्रार्थना गर्नुपर्छ, र आफ्‍नो बारेमा अझै बढी मनन गर्नुपर्छ। त्यसरी मात्रै तिनीहरूले क्रमिक रूपमा आफूलाई चिन्‍न सक्छन्। आफूलाई साँचो रूपमा चिन्‍नेहरू सबै नै विगतमा केही पटक असफल भएका र लडेका हुन्, र त्यो अनुभवपछि तिनीहरूले परमेश्‍वरका वचनहरू पढेर, उहाँलाई प्रार्थना गरेर, अनि आफ्‍नो बारेमा मनन गरेर आफ्नो भ्रष्टताको सत्यता स्पष्ट रूपमा देखेका, र आफू साँच्‍चै गहन रूपमा भ्रष्ट, र सत्यता वास्तविकतारहित रहेको अनुभव गरेका हुन्छन्। यदि तैँले यसरी परमेश्‍वरको काम अनुभव गरेको छस्, र तेरो जीवनमा केही कुरा आइपर्दा उहाँलाई प्रार्थना गर्न र सत्यता खोजी गर्न सक्छस् भने, तैँले क्रमिक रूपमा आफूलाई चिन्‍न सक्‍नेछस्। त्यसपछि एक दिन, अन्ततः तेरो हृदयमा स्पष्टता आउनेछ: “सायद ममा अरूको भन्दा राम्रो क्षमता हुन सक्छ, तर यो परमेश्‍वरले नै मलाई दिनुभएको हो। म सधैँ धाक लडाइरहेको हुन्छु, बोल्दा अरूलाई जित्‍ने प्रयास गरिरहेको, र मानिसहरूलाई मेरै तरिकामा काम गर्न लगाउन खोजिरहेको हुन्छु। ममा साँच्‍चै समझको कमी छ—यो अहङ्कार र आत्मधार्मिकता हो! मनन गरेर, मैले आफ्नो अहङ्कारी स्वभावबारे थाहा पाएको छु। यो परमेश्‍वरको अन्तर्दृष्टि र अनुग्रहले गर्दा हो, र म यसको लागि उहाँलाई धन्यवाद टक्र्याउँछु!” आफ्नो भ्रष्ट स्वभावबारे थाहा पाउन सक्‍नु राम्रो कुरा हो कि खराब कुरा हो? (राम्रो कुरा।) त्यहाँबाट, तैँले कसरी समझ र आज्ञापालनको साथ बोल्‍ने र व्यवहार गर्ने, अरूसँग एउटै स्तरमा खडा हुने, अरूलाई बन्धनमा नपारी कसरी उचित रूपमा व्यवहार गर्ने, आफ्‍नो क्षमता, वरदान, सबलता, आदि इत्यादि कुरालाई कसरी सही रूपमा लिने भन्‍ने कुरा खोजी गर्नुपर्छ। यो तरिकाले घनको एकपछि अर्को प्रहारद्वारा पहाड धूलोमा परिणत भएझैँ तेरो अहङ्कारी स्वभाव समाधान हुनेछ। त्यसपछि, जब तैँले अरूसँग सहकार्य गर्छस् वा आफ्‍नो कर्तव्य पूरा गर्न तिनीहरूसँग काम गर्छस्, तब तिनीहरूको दृष्टिकोणलाई सही रूपमा लिएर तैँले तिनीहरूको कुरा सुन्दा ध्यान दिएर नजिकबाट सुन्‍न सक्‍नेछस्। अनि जब तैँले तिनीहरूले सही दृष्टिकोण व्यक्त गरेको सुन्छस्, तब यो कुरा पत्ता लगाउनेछस्, “मेरो क्षमता सर्वोत्कृष्ट रहेनछ। वास्तवमा हरेकको आ-आफ्‍नै सबल पक्ष हुन्छ; तिनीहरू मभन्दा कम योग्य छैनन्। पहिले त म सधैँ मेरो क्षमता अरूको भन्दा राम्रो छ भन्‍ने सोच्थेँ। त्यो त आत्म-प्रशंसा र सङ्कीर्ण सोचको अज्ञानता रहेछ। म कुवाको फेदमा रुमल्लिने भ्यागुतोजस्तै सानो सोच भएको व्यक्ति रहेछु। त्यस्तो सोच्‍नु साँच्‍चै समझहीन कार्य थियो—त्यो लाजमर्दो कुरा थियो! अहङ्कारी स्वभावले मलाई अन्धो र बहिरो तुल्याएको रहेछ। अरूका शब्‍दहरू म स्विकार्दिनथेँ, र म अरूभन्दा उत्तम छु, म सही छु भन्‍ने सोच्थेँ, तर वास्तवमा म तिनीहरू कोहीभन्दा पनि असल रहेनछु!” त्यहाँदेखि, तँलाई तेरा कमीहरू र तेरो सानो कदको बारेमा साँचो अन्तर्ज्ञान प्राप्त हुनेछ। अनि त्यसपछि, जब तैँले अरूसँग सङ्गति गर्छस्, तब तैँले ध्यान दिएर तिनीहरूका दृष्टिकोण सुन्छस्, र तँलाई यस्तो महसुस हुनेछ, “मभन्दा उत्तम मानिसहरू कैयौँ छन्। मेरो सामर्थ्य र बोधक्षमता दुवै बढीमा औषत मात्रै रहेछन्।” यो महसुस गरेपछि, के तैँले थोरै आत्मसचेतना प्राप्त गरेको हुँदैनस् र? यस्तो अनुभव गरेर, अनि परमेश्‍वरका वचनहरूअनुसार आफ्‍नो बारेमा बारम्‍बार मनन गरेर, तैँले सदा गहन हुँदै जाने साँचो आत्मज्ञान प्राप्त गर्न सक्‍नेछस्। तैँले आफ्‍नो भ्रष्टताको सत्यता, तेरो विपन्‍नता र नीचता, र तेरो खेदलाग्दो कुरूपता देख्‍न सक्‍नेछस्, र त्यस बेला, तैँले आफैप्रति प्रतिकूलता महसुस गर्नेछस् र आफ्‍नो भ्रष्ट स्वभावप्रति घृणा लाग्‍नेछ। त्यसपछि आफैविरुद्ध विद्रोह गर्न तँलाई सहज हुनेछ। परमेश्‍वरको काम यसरी अनुभव गरिन्छ। तैँले परमेश्‍वरका वचनहरूअनुसार आफ्‍नो भ्रष्टताका प्रकटीकरणहरूबारे मनन गर्नुपर्छ। खास गरी, कुनै पनि प्रकारको परिस्थितिमा भ्रष्ट स्वभाव प्रकट गरेपछि, तैँले बारम्‍बार आफ्‍नो बारेमा मनन गरेर आफूलाई चिन्‍नुपर्छ। त्यसपछि तँलाई तेरो भ्रष्ट सार स्पष्ट देख्‍न सहज हुनेछ, र तैँले आफ्‍नो भ्रष्टता, देह र शैतानलाई हृदयबाटै घृणा गर्न सक्‍नेछस्। अनि हृदयदेखि नै तैँले सत्यतालाई प्रेम गर्न र यसमा लागिपर्न सक्‍नेछस्। यसरी, तेरो अहङ्कारी स्वभाव घट्दै जानेछ, र क्रमिक रूपमा, तँ यसबाट मुक्त हुँदै जानेछस्। तैँले झन्झन् बढी समझ प्राप्त गर्नेछस्, र परमेश्‍वरमा समर्पित हुन तँलाई अझ सहज हुनेछ। अरूको नजरमा, तँ पहिलेभन्दा अझै स्थिर र दह्रिलो लाग्‍नेछस्, र तँ अझ बढी वस्तुगत रूपमा बोल्नेजस्तो देखिनेछस्। तँ अरूले भनेको कुरा सुन्‍न सक्‍ने हुनेछस्, र तैँले तिनीहरूलाई बोल्‍ने समय दिनेछस्। अरूले सही कुरा बोल्दा, तिनीहरूको कुरा स्विकार्न तँलाई सहज हुनेछ, र मानिसहरूसँगका तेरा अन्तरक्रियाहरू त्यति थकाइलाग्दा हुनेछैनन्। तैँले जोसुकैसँग पनि मिलेर सहकार्य गर्न सक्‍नेछस्। यदि तैँले यसरी आफ्‍नो कर्तव्य निभाउँछस् भने, के तँमा समझ र मानवता हुनेछैन र? यस प्रकारको भ्रष्ट स्वभाव समाधान गर्ने तरिका यही हो।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (१)

यदि तँसँग अहङ्कारी स्वभाव हटाउने मार्ग छैन भने, यसरी परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर, ममा अहङ्कारी स्वभाव छ। मलाई आफू अरूभन्दा श्रेष्ठ, अरूभन्दा असल, र अरूभन्दा बाठो छु भन्‍ने लाग्छ, र म अरूलाई मैले भनेकै कुरा गर्न लाउन चाहन्छु। यो साह्रै समझहीन कुरा हो। यो अहङ्कार हो भनेर थाहा भएर पनि, किन म यो त्याग्‍न सक्दिनँ? बिन्ती छ, मलाई अनुशासनमा राख्‍नुहोस् र गाली गर्नुहोस्। यसको सट्टा, म तपाईंका अभिप्रायहरू खोज्न आफ्नो अहङ्कार र आफ्ना अभिप्रायहरू त्याग्‍न इच्छुक छु। म तपाईंका वचनहरू सुन्‍न र तिनलाई मेरो जीवन र मैले व्यवहार गर्ने सिद्धान्तको रूपमा स्विकार्न इच्छुक छु। म तपाईंका वचनहरूअनुसार जिउन इच्छुक छु। बिन्ती छ, मलाई मार्गदर्शन गर्नुहोस्, बिन्ती छ, मलाई मदत र अगुवाइ गर्नुहोस्।” के यी शब्दहरूमा समर्पणको मनोवृत्ति छ? के त्यहाँ समर्पण गर्ने इच्छा छ? (छ।) कतिपयले भन्लान्, “एकपटकको प्रार्थना काम लाग्दैन। मलाई कुनै कुरा आइपर्दा, म अझै आफ्नो भ्रष्ट स्वभावअनुसार नै जिउँछु, र अझै इन्चार्ज नै हुन चाहन्छु।” त्यो अवस्थामा, निरन्तर यसरी प्रार्थना गर्: “हे परमेश्‍वर, म साह्रै अहङ्कारी, साह्रै विद्रोही छु! बिन्ती छ, मलाई अनुशासनमा राख्‍नुहोस्, मेरो दुष्कर्मको मार्ग बन्द गरिदिनुहोस्, र मेरो अहङ्कारी स्वभावलाई लगाम लगाउनुहोस्। मेरो बिन्ती छ, मलाई मार्गदर्शन र अगुवाइ गर्नुहोस्, ताकि म तपाईंका वचनहरूअनुसार जिउन सकूँ, अनि तपाईंका वचनहरू र मापदण्डहरूअनुसार कार्य र अभ्यास गर्न सकूँ।” परमेश्‍वरलाई अझ धेरै प्रार्थना र अन्तर्बिन्ती गर्, र उहाँलाई काम गर्न दे। तेरा शब्दहरू जति सच्‍चा हुन्छन्, र तेरो हृदय जति सच्‍चा हुन्छ, उति नै तेरो देहविरुद्ध र तँ आफैविरुद्ध विद्रोह गर्ने तेरो इच्छा प्रबल हुनेछ। जब यो कुरा तेरो आफ्नै इच्छाले काम गर्ने चाहनामाथि हाबी हुन्छ, तब क्रमिक रूपमा तेरो हृदय परिवर्तन हुनेछ—र जब त्यस्तो हुन्छ, तँमा सत्यता अभ्यास गर्ने र सत्यता सिद्धान्तहरूअनुसार काम गर्ने आशा पलाउनेछ। तैँले प्रार्थना गर्दा, परमेश्‍वरले तँलाई केही भन्‍नुहुनेछैन, वा तँलाई कुनै सङ्केत दिनुहुने, वा कुनै कुराको प्रतिज्ञा गर्नुहुनेछैन, बरु तेरो हृदय र तेरा शब्दहरूपछाडि लुकेको अभिप्राय जाँच्नुहुनेछ; उहाँले तेरो बोली निष्कपट र साँचो हो कि होइन, र तैँले उहाँलाई सच्‍चा हृदयले अन्तर्बिन्ती र प्रार्थना गर्दै छस् कि छैनस् भनेर अवलोकन गर्नुहुनेछ। जब परमेश्‍वरले तेरो हृदय सच्‍चा रहेछ भन्‍ने देख्‍नुहुन्छ, उहाँले तँलाई तैँले प्रार्थना गरेर मागेजस्तै अगुवाइ र मार्गदर्शन दिनुहुनेछ, अनि अवश्यै उहाँले तँलाई हप्की र अनुशासन पनि दिनुहुनेछ। जब परमेश्‍वरले तैँले अन्तर्बिन्ती चढाएको कुरा पूरा गर्नुहुन्छ, तब तेरो हृदयले अन्तर्दृष्टि पाउनेछ र यो अलिअलि परिवर्तन हुनेछ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (२)

तेरो दैनिक जीवनमा बोल्दा, व्यवहार गर्दा र मामिलाहरू सम्हाल्दा, आफ्नो कर्तव्य निर्वाह गर्दा, अरूसँग सङ्गति गर्दा र अन्य यस्तै कुराहरू गर्दा, हातमा जुनै मामिला भए पनि, वा तँ जहाँ भए पनि, वा परिस्थिति जे भए पनि, तैँले आफूले कस्तो अहङ्कारी स्वभाव देखाएँ भनेर जाँच्न सधैँ ध्यान दिनुपर्छ। तैँले आफूलाई थाहा भएका र आफूले चिन्‍न सक्‍ने तेरा सबै प्रकटीकरण, सोच र विचारहरू, साथै तेरा अभिप्राय र उद्देश्यहरू उदाङ्गो पार्नुपर्छ—विशेष गरी, सधैँ उच्‍च स्थानबाट अरूलाई भाषण छाँट्न चाहनु; कसैको आज्ञा नमान्‍नु; आफूलाई अरूभन्दा श्रेष्ठ ठान्‍नु; अरूले भनेको कुरा जति नै सही भए पनि नस्विकार्नु; आफू गलत हुँदासमेत आफ्नो कुरा अरूलाई स्विकार्न र मान्‍न लगाउनु; निरन्तर अरूलाई नेतृत्व गर्ने झुकाव राख्‍नु; अगुवा र सेवकहरूले काटछाँट गर्दा तिनीहरूलाई झूटा भनी निन्दा गर्दै अटेर गर्नु वा सफाइ दिनु; सधैँ अरूको निन्दा गर्नु र आफूलाई उच्‍च पार्नु; अरू सबैभन्दा आफूलाई सधैँ श्रेष्ठ ठान्‍नु; सधैँ प्रसिद्ध र प्रतिष्ठित व्यक्ति बन्‍ने चाह गर्नु; सधैँ आफ्नो प्रदर्शन गर्न रुचाउनु ताकि अरूले तेरो उच्‍च आदर र पूजा गरून्।.... तैँले यी भ्रष्टताका प्रकटीकरणहरूलाई मनन र चिरफार गर्ने अभ्यासमार्फत् तेरो अहङ्कारी स्वभाव कति नराम्रो रहेछ भनेर थाहा पाउन सक्छस्, अनि तैँले आफूलाई घृणा र तिरस्कार गर्न, र आफ्नो अहङ्कारी स्वभावलाई झन् धेरै घृणा गर्न सक्छस्। यो तरिकाले तँ आफूले सबै कुरामा अहङ्कारी स्वभाव देखाएको छु कि छुइनँ भनेर मनन गर्न इच्छुक हुनेछस्। यसको एक भाग, तैँले तेरो बोलीमा कस्तो अहङ्कारी र आत्मधर्मी स्वभाव देखाउँछस्—तैँले कस्तो घमण्डी, अहङ्कारी र समझहीन कुरा गर्छस्, त्यो कुरा मनन गर्नु हो। अर्को भागचाहिँ, तैँले आफ्नो धारणा, कल्पना, महत्त्वाकाङ्क्षा र चाहनाअनुसार कार्य गर्दा कस्तो हास्यस्पद र समझहीन काम गर्छस्, त्यो मनन गर्नु हो। यस्तो आत्मचिन्तनद्वारा मात्र आफूलाई बुझ्न सकिन्छ। तैँले आफूलाई साँचो अर्थमा बुझेपछि, परमेश्‍वरका वचनहरूमा इमानदार व्यक्ति बन्‍ने अभ्यासका मार्ग र सिद्धान्तहरू खोजी गर्नुपर्छ, र त्यसपछि परमेश्‍वरका वचनहरूमा देखाइएका मार्ग र सिद्धान्तहरूअनुसार अभ्यास, कर्तव्यपालन, र अरूसँग व्यवहार र अन्तरक्रिया गर्नुपर्छ। तैँले केही समय, सम्भवतः एक वा दुई महिना यसरी अभ्यास गरिसकेपछि, तँलाईं यसबारे तेरो हृदयमा प्रफुल्लता महसुस हुनेछ, अनि तैँले यसबाट केही प्राप्त गरिसकेको र सफलताको स्वाद चाखिसकेको हुनेछस्। तँलाई आफूसित इमानदार र समझदार व्यक्ति बन्‍ने मार्ग छ भन्‍ने महसुस हुनेछ, अनि तैँले मानसिक तवरमा अझ धेरै स्थिर महसुस गर्नेछस्। तैँले अझै सत्यताको विशेष गहन ज्ञानबारे बोल्न नसके पनि, यसबारे केही बोधात्मक ज्ञान, साथै अभ्यासको मार्ग पाइसकेको हुनेछस्। यसलाई शब्दमा स्पष्टसित व्यक्त गर्ने नसके पनि, तैँले अहङ्कारी स्वभावले मानिसहरूलाई कस्तो हानि गर्छ र कसरी तिनीहरूको मानवता बिगार्छ भन्‍नेबारे केही मात्रामा बुझिसकेको हुनेछस्। उदाहरणको लागि, अहङ्ककारी र अभिमानी मानिसहरू प्रायः घमण्डी र उद्दण्ड कुरा गर्छन्, र अरूलाई छक्याउन दुष्ट शब्दहरू बोल्छन्; तिनीहरू ठूलाठूला कुरा बोल्छन्, नारा फलाक्छन्, र जोरदार भाषण छाँट्छन्। के यी विभिन्‍न अहङ्कारी स्वभावका प्रकटीकरणहरू होइनन् र? के यी अहङ्कारी स्वभावहरू देखाउनु एकदमै समझहीन कुरा होइन र? यदि तैँले यस्ता अहङ्कारी स्वभावहरू देखाएर आफूले सामान्य मानव समझ गुमाएको छु, र अहङ्कारी स्वभावमा जिउनु भनेको मानवताअनुसार नभई दियाबलसताअनुसार जिउनु हो भनेर साँच्‍चै बुझ्न सकिस् भने, तैँले भ्रष्ट स्वभाव भनेकै शैतानी स्वभाव हो भनेर साँच्‍चै चिनिसकेको हुनेछस्, र तँ आफ्नो हृदयबाटै शैतान र भ्रष्ट स्वभावहरूलाई घृणा गर्न सक्षम बन्‍नेछस्। तैँले छ महिना वा एक वर्ष यस्तो अनुभव गरेर आफूलाई साँचो अर्थमा बुझ्न सक्‍नेछस्, र यदि तैँले फेरि अहङ्कारी स्वभाव देखाइस् भने, तँलाई त्यो तुरुन्तै थाहा हुनेछ, अनि तँ त्यसविरुद्ध विद्रोह गर्न र त्यसलाई त्याग्‍न सक्षम हुनेछस्। तँ परिवर्तन हुन थालिसकेको हुनेछस्, अनि क्रमिक रूपमा आफ्नो अहङ्कारी स्वभाव हटाउन र अरूसँग सामान्य तवरमा मेलमिलापमा रहन सक्षम बन्‍नेछस्। तँ इमानदारीपूर्वक र हृदयबाटै बोल्न सक्‍नेछस्; तैँले झूटो बोल्न वा अहङ्कारी कुरा गर्न छोड्नेछस्। के त्यसपछि तँमा इमानदार व्यक्तिको केही समझ र केही स्वरूप हुनेछैन र? तब के तैँले प्रवेश पाइसकेको हुनेछैनस् र? ठीक यति नै बेला तैँले केही कुरा प्राप्त गर्ने थाल्नेछस्। जब तैँले यसरी इमानदार बन्‍ने अभ्यास गर्छस्, तब जस्तोसुकै अहङ्कारी स्वभाव देखाए पनि, तँ सत्यता खोज्न र आत्मचिन्तन गर्न सक्षम बन्‍नेछस्, अनि यसरी केही समय इमानदार व्यक्ति बन्‍ने अनुभव गरेपछि, थाहै नपाई क्रमिक रूपमा तैँले इमानदार व्यक्ति बन्‍नेसम्बन्धी सत्यता र परमेश्‍वरका सान्दर्भिक वचनहरू बुझ्नेछस्। अनि जब तैँले तेरो अहङ्कारी स्वभाव विश्‍लेषण गर्न ती सत्यताहरू प्रयोग गर्छस्, तेरो हृदयले परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र ज्योति पाउनेछ, र तेरो हृदय उज्यालिन थाल्नेछ। तैँले मानिसहरूमा अहङ्कारी स्वभाव पैदा गर्ने भ्रष्टता र यसले तिनीहरूलाई जिउन लगाउने कुरूपता स्पष्टसित देख्‍नेछस्, अनि मानिसहरूले अहङ्कारी स्वभाव देखाउँदा तिनीहरूले आफैलाई जुन भ्रष्ट स्थितिमा पाउँछन् ती हर भ्रष्ट स्थितिलाई तैँले चिन्‍न सक्‍नेछस्। थप चिरफारपछि, तैँले शैतानको कुरूपता झनै स्पष्टसित देख्‍नेछस्, र शैतानलाई झनै धेरै घृणा गर्नेछस्। यसरी तँलाई तेरो अहङ्कारी स्वभाव हटाउन सजिलो हुनेछ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (२)

यदि आफ्नै बारेमा मानिसहरूको ज्ञान अत्यन्तै कम छ भने, तिनीहरूलाई समस्याहरू समाधान गर्न असम्भव हुनेछ, र तिनीहरूको जीवन स्वभाव पूर्ण रूपले परिवर्तन हुनेछैन। आफैलाई एक गहन स्तरमा जान्नु जरुरी हुन्छ, जसको अर्थ आफ्नो वास्तविक प्रकृति जान्नु हो: त्यो प्रकृतिमा कुन-कुन तत्वहरू समावेश हुन्छन्, ती कुराहरू कसरी उत्पन्न भए, र ती कहाँबाट आए। यसबाहेक, के तँ साँच्चै ती कुराहरूलाई घृणा गर्न सक्छस्? के तैँले आफ्नै घिनलाग्दो प्राण र तेरो दुष्ट प्रकृतिलाई देखेको छस्? यदि तैँले आफ्नै बारेमा रहेको सत्यतालाई देख्न सक्छस् भने, तैँले आफैलाई घृणा गर्नेछस्। जब तैँले आफैलाई घृणा गर्छस् र परमेश्‍वरको वचनलाई अभ्यास गर्छस्, तब गाह्रो हुन्छ भन्‍ने विश्‍वास नगरी तैँले दैहिकता त्याग्न र सत्यलाई अघि बढाउने सामर्थ्य पाउनेछस्। किन धेरै मानिसहरू आफ्ना देहगत रुचिहरूका पछि लाग्छन्? किनकि तिनीहरूले आफैलाई अति असल ठान्छन्, तिनीहरूका कार्यहरू सही र उचित छन्, तिनीहरूमा कुनै दोष छैन र तिनीहरू पूर्ण रूपमा सही समेत छन् भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरूले न्याय तिनीहरूकै पक्षमा छ भन्ने मान्यतासहित काम गर्न सक्छन्। जब व्यक्तिले आफ्नो वास्तविक प्रकृति के हो—कति घिनलाग्दो, कति तुच्छ र कति दयनीय छ भनी बुझ्दछ—तब ऊ आफैप्रति धेरै घमण्ड गर्दैन, अति अहङ्कारी हुँदैन, र पहिलेको जस्तै आफूसँग त्यति प्रसन्न हुँदैन। यस्तो व्यक्तिले यस्तो महसुस गर्छ, “परमेश्‍वरका केही वचनहरू अभ्यास गर्नमा म गम्भीर र व्यावहारिक हुनुपर्छ। यदि होइन भने, म मानिस बन्‍नुको मापदण्डको स्तरसम्म पुग्दिन, र परमेश्‍वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।” तब मात्र व्यक्तिले आफैलाई तुच्छ, साँच्चै महत्त्वहीन देख्दछ। यस बेला, सत्य पालन गर्न व्यक्तिलाई सजिलो हुन्छ, र मानिस जस्तो हुनुपर्छ ऊ त्यस्तै देखिन थाल्‍नेछ। मानिसहरूले आफैलाई साँच्चै घृणा गरे भने मात्र तिनीहरूले देहलाई त्याग्न सक्छन्। यदि तिनीहरूले आफैलाई घृणा गर्दैनन् भने, तिनीहरूले देहलाई त्याग्न सक्‍नेछैनन्। आफैलाई साँचो रूपमा घृणा गर्नु सानोतिनो कुरा होइन। तिनमा भेट्टाइनुपर्ने कुराहरू धेरै हुन्छन्: पहिलो, आफ्नै प्रकृतिलाई जान्नु; र दोस्रो, आफूलाई अभावग्रस्त र दयनीय अवस्थाको देख्‍नु, आफैलाई अत्यन्तै सानो र नगण्य रूपमा देख्नु, र आफ्नै दयनीय र फोहोर प्राणलाई देख्नु। जब व्यक्तिले वास्तवमा ऊ के हो भनेर पूर्ण रूपमा बुझ्दछ, र यो नतिजा हासिल हुन्छ, तब उसले आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्दछ, र व्यक्तिले आफैलाई पूर्ण रूपमा चिनेको छ भनी भन्न सकिन्छ। तब मात्र व्यक्तिले आफैलाई घृणा गर्न सक्दछ यहाँसम्म कि उसले आफैलाई सराप्छ, र शैतानले उसलाई गम्भीर रूपमा भ्रष्ट पारेकोले ऊ मानिस जस्तो समेत देखिँदैन भन्‍ने उसले महसुस गर्छ। अनि एक दिन, जब मृत्युको खतरा देखा पर्दछ, त्यस्तो व्यक्तिले सोच्‍नेछ, “यो परमेश्‍वरको धर्मी दण्ड हो। परमेश्‍वर साँच्चै धर्मी हुनुहुन्छ; म साँच्चै मर्नुपर्छ!” यस्तो अवस्थामा उसले कुनै गुनासो गर्नेछैन, परमेश्‍वरलाई दोष लगाउने त परै जाओस्, अनि उसले आफू अभावग्रस्त र दयनीय, अति फोहोर र भ्रष्ट भएकोले परमेश्‍वरले उसलाई निष्कासित गरी नाश पार्नुपर्छ, र उसको जस्तो प्राण पृथ्वीमा जिउन योग्यको छैन भन्ने मात्र महसुस गर्छ। त्यसकारण, यस व्यक्तिले परमेश्‍वरको बारेमा गुनासो वा विरोध गर्नेछैन, उहाँको विश्‍वासघात गर्ने कुरा त परै जाओस्। यदि व्यक्तिले आफैलाई चिन्दैन र पनि अझै आफूलाई धेरै असल नै ठान्दछ भने, जब मृत्यु ढोका ढकढक्याउँदै आउँछ, तब यस व्यक्तिले सोच्‍नेछ, “मैले आफ्नो विश्‍वासमा धेरै राम्रो गरेको छु। मैले कति धेरै कठिनतासाथ खोजेको छु! मैले धेरै कुरा दिएको छु, मैले धेरै दु:ख भोगेको छु, तापनि अन्त्यमा, अब परमेश्‍वरले मलाई मर्नु भनिरहनुभएको छ। परमेश्‍वरको धार्मिकता कहाँ छ मलाई थाहा छैन। उहाँले मलाई किन मर्नु भनिरहनुभएको छ? यदि मैले मर्नुपर्छ भने कोचाहिँ बच्न सक्‍नेछ? के मानवजाति समाप्त हुनेछैन र?” सबैभन्दा पहिले, यस व्यक्तिमा परमेश्‍वरको विषयमा धारणाहरू हुन्छ। दोस्रो, यो व्यक्तिले गुनासो गरिरहेको छ, र कुनै पनि किसिमको समर्पणता देखाइरहेको छैन। यो पावललाई भएको जस्तै हो: जब तिनी मर्न लागेका थिए, तिनले आफैलाई चिनेका थिएनन् र परमेश्‍वरको दण्ड नजिक आइसकेपछि, यो सब धेरै ढिला भइसकेको थियो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

सम्बन्धित अनुभवात्मक गवाहीहरू

आफ्‍नो अहङ्कारबाट बिउँझँदा

म किन यति उच्‍च र शक्तिशाली छु?

सम्बन्धित भजनहरू

मैले परमेश्‍वरको प्रेमिलो स्वभाव देखेको छु

अघिल्लो: १८. छली स्वभावको समस्या कसरी समाधान गर्ने

अर्को: २०. अहङ्कार, आत्मधार्मिकता र आफ्नै दृष्टिकोणमा अडिग रहने समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्