२१. शैतानको प्रलोभनलाई कसरी जित्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

राज्यको निर्माण सीधै आत्मिक क्षेत्रमा लक्षित छ। भन्‍नुको मतलब, आत्मिक क्षेत्रको युद्धको अवस्थालाई मेरा सबै मानिसहरूको माझमा प्रष्ट गरिएको छ, र यो कुरा मण्डलीभित्र मात्र होइन, राज्यको युगमा पनि अझ धेरै रूपमा हरेक व्यक्ति नै निरन्तर युद्धमा छ भन्‍ने कुरा देखाउन पर्याप्त छ। तिनीहरूका भौतिक शरीरहरूको बाबजुत पनि, यो आत्मिक क्षेत्र सीधै प्रकट गरिन्छ, र तिनीहरू यस आत्मिक क्षेत्रको जीवनसँगको सम्पर्कमा आउँछन्‌। यसरी, जब तिमीहरू विश्‍वासयोग्य हुन सुरु गर्छौं, तब तिमीहरूले मेरो कामको अर्को भागको निम्ति ठीक प्रकारले तयारी गर्नुपर्छ। तिमीहरूले आफ्नो हृदयको सम्पूर्णता नै त्याग्‍नुपर्छ; अनि मात्र तिमीहरूले मेरो हृदयलाई सन्तुष्ट पार्न सक्छौ। मण्डलीमा पहिले के भयो भन्‍नेबारे म केही मतलब राख्दिनँ; आज, यो यही राज्यमा छ। मेरो योजनामा, शैतानले अहिलेसम्म नै पाइलैपिच्छे पछ्याउँदै आएको छ र यसले मेरो बुद्धिको प्रतिभारको रूपमा, मेरो मौलिक योजनालाई अवरोध गर्ने तरिका र माध्यमहरू पत्ता लगाउने कोसिस गर्दै आएको छ। तर के म त्यसका छली युक्तिहरूमा फस्‍न सकुँला र? स्वर्ग र पृथ्वीका यावत् थोकले मेरो सेवा गर्ने वस्तुका रूपमा कार्य गर्छन्; के शैतानका छली युक्तिहरू फरक हुन सक्लान्‌ र? ठीक यहीँनेर नै मेरो बुद्धिले प्रतिच्‍छेदन गर्छ; मेरा कार्यहरूको अद्भुतता ठीक यही नै हो, र मेरो सम्पूर्ण व्यवस्थापन योजनाको सञ्‍चालन सिद्धान्त नै यही हो। राज्य निर्माणको युगमा, अझै पनि म शैतानको छली युक्तिहरूलाई पन्छाउँदिन, बरु मैले गर्नैपर्ने कार्यलाई जारी राख्छु। ब्रह्माण्ड र यावत् थोकहरूको माझमा, मैले शैतानका कार्यहरूलाई मेरो प्रतिभारका रूपमा छानेको छु। के यो मेरो बुद्धिको प्रदर्शन होइन र? मेरो कार्यका बारेमा रहेको अद्भुतता ठीक यही नै होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ८

परमेश्‍वरले गर्नुहुने सबै कुरा आवश्यक र असाधारण महत्त्वका छन्, किनकि उहाँले मानिसमा गर्नुहुने सबै काम उहाँको व्यवस्थापन र मानवजातिको मुक्तिसित सम्बन्धित छन्। स्वाभाविक रूपमा, अय्यूब परमेश्‍वरको नजरमा सिद्ध र इमानदार भएका भए पनि, उहाँले तिनमा गर्नुभएको काम अरूभन्दा फरक छैन। अर्को शब्दमा भन्दा, परमेश्‍वरले चाहे जे गर्नु भए पनि वा जुनसुकै साधनहरूद्वारा त्यो काम गर्नु भए पनि, मूल्य जति लागे पनि, उहाँको ध्येय जेसुकै नै भए पनि उहाँका कार्यहरूको उद्देश्य परिवर्तन हुँदैन। परमेश्‍वरको उद्देश्य मानिसभित्र परमेश्‍वरका वचनहरू काममा लगाउनु हो, साथै मानिसका निम्ति रहेका परमेश्वरका मापदण्ड र अभिप्रायहरूलाई पनि मानिसभित्र काममा लगाउनु हो; अर्को शब्दमा भन्दा, यो भनेको परमेश्‍वरले सकारात्मक भनी विश्‍वास गर्नुभएका सबैकुरा उहाँका चरणहरूअनुसार मानिसभित्र गराउनु हो, जसले मानिसलाई परमेश्‍वरको हृदय बुझ्न र परमेश्‍वरको सार बोध गर्न सक्षम बनाउँछ, र मानिसलाई परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन मद्दत गर्छ, र यसरी मानिसले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने आचरण हासिल गर्न सक्छ—यो सबै कुरा परमेश्‍वरले गर्नुहुने हर कार्यमा रहेको उहाँको उद्देश्यको एक पक्ष हो। अर्को पक्ष के हो भने, शैतान परमेश्‍वरको काममा प्रतिभार र सेवा गर्ने पात्र भएकोले मानिसलाई प्रायः शैतानको हातमा नै सुम्पिइन्छ; मानिसहरूलाई शैतानका परीक्षा र आक्रमणहरूमा शैतानको दुष्टता, कुरूपता र घिनलाग्दो अवस्था देखाई, उहाँले मानिसलाई शैतानलाई घृणा गर्ने, र नकारात्मक कुरा चिन्‍न र बुझ्न सक्‍ने तुल्याउनुहुन्छ। यो प्रक्रियाले तिनीहरूलाई बिस्तारै शैतानका नियन्त्रण र आरोपहरू, बाधा र आक्रमणहरूबाट स्वतन्त्र हुन मदत गर्छ, र यो तबसम्म जारी रहन्छ जबसम्म परमेश्‍वरका वचनहरू, परमेश्‍वरको बारेमा तिनीहरूको ज्ञान, परमेश्वरप्रति तिनीहरूको समर्पण, परमेश्‍वरप्रतिको तिनीहरूको आस्था र डरका कारण तिनीहरूले शैतानका आक्रमण र आरोपहरूमाथि विजय हासिल गर्दैनन्; अनि मात्र तिनीहरूले शैतानको सत्ताबाट पूर्ण रूपमा छुटकारा पाउनेछन्। मानिसहरूको छुटकाराको अर्थ शैतान हारेको छ भन्‍ने हो, र यसको अर्थ तिनीहरू अबउप्रान्त शैतानको मुखभित्रको आहार हुँदैनन्—निल्नुको साटो शैतानले तिनीहरूलाई छोडिदिएको छ भन्‍ने हुन्छ। त्यस्ता मानिसहरू सोझा भएकाले, तिनीहरूसित परमेश्‍वरप्रतिको विश्‍वास, समर्पण र भय भएकोले, र तिनीहरू पूर्ण रूपमा शैतानबाट अलग भएकोले त्यस्तो हुन्छ। तिनीहरूले शैतानलाई लज्‍जित बनाउँछन्, तिनीहरूले शैतानलाई कायर बनाउँछन्, र तिनीहरूले शैतानलाई पूर्ण रूपमा पराजित गर्छन्। परमेश्‍वरलाई पछ्याउने तिनीहरूको दृढता, र परमेश्वरप्रतिको समर्पण र डरले नै शैतानलाई पराजित गर्छ, र शैतानलाई पूर्ण रूपमा तिनीहरूलाई त्याग्‍ने बनाउँछ। यस्ता मानिसहरू मात्र वास्तवमा परमेश्‍वरद्वारा साँचो रूपमा प्राप्त गरिएका हुन्छन्, र परमेश्‍वरले मानिसलाई मुक्ति दिनुको अन्तिम उद्देश्य पनि यही हो। यदि परमेश्‍वरलाई पछ्याउनेहरू मुक्ति पाउन र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन चाहन्छन् भने, तिनीहरू सबैले शैतानबाट आउने ठूला र साना दुवै किसिमका प्रलोभन र आक्रमणहरूको सामना गर्नैपर्छ। जो यी प्रलोभन र आक्रमणहरू पार गरी बाहिर निस्कन्छन् र शैतानलाई पूर्ण रूपले पराजित गर्न सक्षम हुन्छन्, तिनीहरू नै परमेश्‍वरबाट मुक्ति पाएकाहरू हुन्। भन्‍नुको अर्थ, जसले परमेश्‍वरतर्फको मुक्ति पाएका हुन्छन् तिनीहरू परमेश्‍वरका जाँचहरूमार्फत गुज्रेका, र शैतानका अनगन्ती परीक्षा र आक्रमणमा परेकाहरू हुन्। परमेश्‍वरतर्फको मुक्ति पाएकाहरूले परमेश्‍वरका अभिप्राय र मापदण्डहरू बुझ्छन्, र तिनीहरू परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्, र शैतानका परीक्षाहरूको माझमा पनि तिनीहरूले परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग रहने मार्ग छोड्दैनन्। परमेश्‍वरतर्फको मुक्ति पाएकाहरूमा इमानदारिता हुन्छ, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरूले प्रेम र घृणाबीच भिन्‍नता छुट्याउँछन्, तिनीहरूसँग न्यायको चेतना हुन्छ र तिनीहरू तर्कसङ्गत हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई वास्ता गर्न र परमेश्‍वरका सबै थोकलाई मूल्यवान् सम्झेर राख्‍न सक्छन्। त्यस्ता मानिसहरू शैतानको बन्धन, जासुसी, आरोप वा दुर्व्यवहारमा पर्दैनन्; तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरूलाई पूर्ण रूपमा मुक्ति र छुटकारा दिइएको हुन्छ। अय्यूब त्यस्तै स्वतन्त्र मानिस थिए, र परमेश्‍वरले तिनलाई शैतानको हातमा सुम्पनुको अर्थ पनि ठीक यही थियो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

जब मानिसहरूलाई मुक्ति दिन बाँकी नै हुन्छ, तिनीहरूको जीवनलाई बारम्बार शैतानले बाधा दिने र नियन्त्रण गर्नेसमेत गरेको हुन्छ। अर्को शब्दमा भन्दा, मुक्ति नपाएका मानिसहरू शैतानका कैदीहरू हुन्, तिनीहरूसँग स्वतन्त्रता हुँदैन, तिनीहरूलाई शैतानले त्यागेको हुँदैन, तिनीहरू परमेश्‍वरको आराधना गर्न योग्य वा हकदार हुँदैनन्, र तिनीहरूलाई शैतानले नजिकबाट खेदो र भयानक आक्रमण गरेको हुन्छ। त्यस्ता मानिसहरूसँग बताउन सकिने कुनै खुसी हुँदैन, तिनीहरूसँग बताउन सकिने सामान्य अस्तित्वको कुनै अधिकार हुँदैन, र यसबाहेक तिनीहरूसँग बताउन सकिने कुनै मर्यादा हुँदैन। यदि तँ खडा भएर परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र उहाँप्रतिको समर्पण र भयलाई जीवन र मृत्युको लडाइँ लड्ने हतियारको रूपमा प्रयोग गर्दै शैतानसित युद्ध गरिस् भने मात्र तैँले शैतानलाई पूर्ण रूपमा पराजित गर्नेछस्, र त्यसलाई पिठिउँ फर्काएर भाग्‍ने र तँलाई देख्दा डरछेरुवा बन्‍ने तुल्याउन सक्छस्, ताकि त्यसले तेरो विरुद्धका आक्रमण र आरोपहरूलाई पूर्ण रूपमा त्यागोस्—तब मात्र तैँले मुक्ति र स्वतन्त्रता पाउँछस्। यदि तँ शैतानबाट पूर्ण रूपमा अलग हुन चाहन्छस् तर शैतानलाई पराजित गर्न मदत गर्ने हातहतियारहरूद्वारा सुसज्‍जित छैनस् भने तँ अझै पनि खतरामै छस्। समय बित्दै जाँदा, जब तँ शैतानद्वारा अत्यन्‍तै धेरै सताइएर तँमा अलिकति पनि शक्ति बाँकी रहँदैन, जब तँ अझै पनि गवाही दिन असमर्थ रहन्छस्, जब तैँले अझै पनि आफूलाई आफूविरुद्धका शैतानका आरोप र आक्रमणहरूबाट पूर्ण रूपमा स्वतन्त्र तुल्याएको हुँदैनस्, तब तँमा मुक्ति पाउने आशा निकै थोरै हुनेछ। आखिरीमा, जब परमेश्‍वरको कामको समाप्तिको घोषणा गरिनेछ, आफैलाई स्वतन्त्र पार्न नसक्‍ने गरी तँ अझै पनि शैतानको पकडमै हुनेछस्, र यसरी तँसँग कहिल्यै पनि मौका वा आशा हुनेछैन। अनि, यसको तात्पर्य भनेको, त्यस्ता मानिसहरू पूर्ण रूपमा शैतानको कैदमा परेका हुनेछन् भन्‍ने हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

जब अय्यूबले पहिलोपल्ट आफ्‍ना परीक्षाहरू भोगेका थिए, तब तिनीबाट तिनका सबै सम्पत्ति र सबै छोराछोरी खोसियो, तर त्यसको परिणामस्वरूप तिनी पछारिएनन् वा परमेश्‍वरको विरुद्धमा बोलेर कुनै पाप गरेनन्। तिनले शैतानका परीक्षाहरूलाई जितेका थिए, र तिनले आफ्नो भौतिक सम्पत्ति, सन्तान र सबै सांसारिक सम्पत्ति गुमाउने जाँचहरूमा विजय हासिल गरेका थिए, जसको अर्थ के हो भने, परमेश्‍वरले तिनीबाट सबै थोक लैजानुहुँदा तिनी उहाँप्रति समर्पित हुन सके, र परमेश्‍वरले गर्नुभएका कार्यका निम्ति तिनले परमेश्‍वरलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि सके। शैतानको पहिलो परीक्षाको समयमा अय्यूबको आचरण यही थियो, र परमेश्‍वरको पहिलो जाँचको समयमा अय्यूबको गवाही पनि यही थियो। दोस्रो जाँचको अवधिमा शैतानले अय्यूबलाई कष्ट दिन आफ्नो हात फैलायो र अय्यूबले पहिला कहिल्यै अनुभव नगरेको पीडा भोग्‍नु परेको भए तापनि, तिनको गवाही फेरि पनि मानिसहरूलाई छक्‍क पार्न काफी थियो। तिनले फेरि एकपटक शैतानलाई पराजित गर्न आफ्नो धैर्यता, दृढ विश्‍वास र परमेश्‍वरप्रतिको समर्पणको साथसाथै परमेश्‍वरप्रतिको आफ्नो भयको प्रयोग गरे, र परमेश्‍वरले तिनको आचरण र गवाहीलाई फेरि एकपटक स्वीकार र समर्थन गर्नुभयो। यो परीक्षामा पर्दा, अय्यूबले आफ्नो वास्तविक आचरणको प्रयोग गरेर, देहको पीडाले परमेश्‍वरप्रतिको तिनको विश्‍वास र समर्पणलाई परिवर्तन गर्न वा परमेश्‍वरप्रतिको तिनको भक्ति र परमेश्‍वरको डर मान्‍ने हृदयलाई हटाउन सक्दैन भनी शैतानसामु घोषणा गरे; मृत्युको सामना गर्दा तिनले परमेश्‍वरलाई वा आफ्नो सिद्धता र इमानदारितालाई त्याग्‍नेवाला थिएनन्। अय्यूबको दृढ सङ्कल्पले शैतानलाई डरपोक बनायो, तिनको विश्‍वासले शैतानलाई काँतर र थुरथुर बनायो, उनले जुन तीव्रतासाथ शैतानविरुद्ध जीवनमृत्युको युद्ध लडे त्यसले शैतानमा गहिरो घृणा र आक्रोश उत्पन्‍न गरायो; तिनको सिद्धता र इमानदारिताले शैतानलाई तिनको विरुद्ध केही गर्न नसक्‍ने अवस्थामा छोड्यो, यहाँसम्‍म कि शैतानले तिनीमाथि आक्रमण गर्न छोडिदियो र यहोवा परमेश्‍वरसामु अय्यूबविरुद्ध आफूले लगाएको आरोपलाई त्याग्यो। यसको अर्थ अय्यूबले संसारलाई जितेका थिए, तिनले देहलाई जितेका थिए, तिनले शैतानलाई जितेका थिए, र तिनले मृत्युलाई पनि जितेका थिए; तिनी पूर्ण र समग्र रूपमा परमेश्‍वरको मानिस थिए। यी दुई परीक्षाको अवधिमा अय्यूब आफ्नो गवाहीमा अडिग थिए, तिनले वास्तवमा आफ्नो सिद्धता र इमानदारितामा जिए, र परमेश्‍वरसँग डराउने र दुष्टताबाट अलग बस्‍नेसम्‍बन्धी आफ्नो जीवनका सिद्धान्तहरूको दायरा फराकिलो बनाए। यी दुई परीक्षाहरू भोगिसकेपछि, अय्यूबमा एक समृद्ध अनुभवको जन्म भयो, र यो अनुभवले तिनलाई अझ परिपक्‍व र अनुभवी बनायो, यसले तिनलाई अझ बलियो र अझ ठूलो दृढ विश्‍वास भएको व्यक्ति बनायो, र यसले तिनलाई आफूले दह्रिलो गरी पक्रिराखेको सत्यनिष्ठाको सहीपन र सुयोग्यताप्रति अझ बढी विश्‍वस्त बनायो। यहोवा परमेश्‍वरले गर्नुभएको अय्यूबको जाँचले तिनलाई मानिसप्रतिको परमेश्‍वरको चिन्ताको गहिरो बुझाइ र अनुभूति प्रदान गर्‍यो, र परमेश्‍वरको प्रेमको अनमोलता महसुस गरायो, र यसपछि परमेश्‍वरप्रतिको तिनको डरमा परमेश्‍वरप्रतिको गहिरो वास्ता र प्रेम थपियो। यहोवा परमेश्‍वरले गर्नुभएको जाँचले अय्यूबलाई उहाँबाट अलग गर्नुको साटो तिनको हृदयलाई परमेश्‍वरको अझ नजिक बनायो। अय्यूबले भोगेको दैहिक पीडा चरम सीमामा पुगेपछि, तिनको बारेमा यहोवा परमेश्‍वरले गर्नुभएको चिन्ताको कारण तिनले आफ्नो जन्मदिनलाई सराप्‍नुबाहेक तिनीसँग अरू कुनै विकल्प थिएन। यस्तो आचरण धेरै पहिले योजना गरिएको थिएन, बरु तिनले आफ्नो हृदयमा परमेश्‍वरप्रति गरेको प्रेम र वास्ताको कारण प्राकृतिक रूपमा प्रकट भएको कुरा थियो, यो परमेश्‍वरप्रतिको तिनको वास्ता र प्रेमको प्राकृतिक प्रकटीकरण थियो। भन्‍नुको अर्थ, तिनले आफैलाई घृणा गर्थे, र तिनी परमेश्‍वरलाई यातना दिन इच्छुक थिएनन्, र यातना दिन पनि सक्दैनथे, त्यसैले तिनको वास्ता र प्रेम निःस्वार्थताको चरम सीमामा पुगेको थियो। यस समयमा, अय्यूबले आफ्नो लामो समयदेखिको परमेश्‍वरप्रतिको आदर र तिर्सना, अनि परमेश्‍वरप्रतिको भक्तिलाई परमेश्‍वरप्रतिको वास्ता र प्रेमको स्तरमा पुर्‍याए। साथै, तिनले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र समर्पण र परमेश्‍वरप्रतिको भयलाई पनि वास्ता र प्रेमको स्तरसम्म पुर्‍याए। तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने केही पनि गरेनन्, तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने कुनै आचरण प्रस्तुत गरेनन्, र तिनले आफ्नै कारणले गर्दा परमेश्‍वरमा कुनै दुःख, शोक वा बेखुसी ल्याएनन्। परमेश्‍वरको नजरमा, अय्यूब पहिलेको अय्यूबजस्तै रहेका भए तापनि, अय्यूबको विश्‍वास, समर्पण र परमेश्‍वरप्रतिको भयले परमेश्‍वरलाई पूर्ण सन्तुष्टि र आनन्द दियो। यस समयमा, परमेश्‍वरले अपेक्षा गर्नुभएको सिद्धतालाई अय्यूबले प्राप्त गरेका थिए; तिनी वास्तवमै परमेश्‍वरको नजरमा “सिद्ध र सोझो” व्यक्ति भनी बोलाउन योग्य मानिस बनेका थिए। तिनको धर्मी कामले तिनलाई शैतानमाथि विजय प्राप्त गर्न र परमेश्‍वरप्रतिको आफ्‍नो गवाहीमा दृढ रहने तुल्यायो। त्यसै गरी, तिनको धर्मी कामले तिनलाई सिद्ध पनि बनायो, र तिनको जीवनको मूल्यलाई पहिलेको भन्दा उच्‍च र सबैभन्दा अगाडि बनायो, र ती कुराहरूले तिनलाई शैतानले अबउप्रान्त आक्रमण गर्न वा परीक्षामा पार्न नसक्‍ने पहिलो व्यक्ति पनि बनायो। अय्यूब धर्मी भएका हुनाले, तिनलाई शैतानले दोष लगायो र परीक्षामा पार्‍यो; अय्यूब धर्मी भएका हुनाले नै, तिनलाई शैतानको हातमा सुम्पिइयो; अनि अय्यूब धर्मी भएका हुनाले नै, तिनले शैतानलाई जिते र हराए, र आफ्नो गवाहीमा दृढ रहे। त्यसउप्रान्त अय्यूब फेरि कहिल्यै शैतानको हातमा नपर्ने पहिलो मानिस बने, र तिनी वास्तवमै परमेश्‍वरको सिंहासनको अगाडि आए, र शैतानको जासुसी वा विनाशविनाको अवस्थामा परमेश्‍वरको आशिष्‌मुनि ज्योतिमा बाँचे…। तिनी परमेश्‍वरको नजरमा एक साँचो मानिस बनेका थिए। तिनी स्वतन्त्र भएका थिए …

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

अय्यूबले शैतानको विनाश भोगेका थिए, तैपनि तिनले यहोवा परमेश्‍वरको नाउँलाई त्यागेनन्। पहिले बाहिर आउने व्यक्ति तिनकी पत्‍नी थिइन् र सबै मानिसका आँखाले देख्‍ने गरी शैतानको भूमिका खेल्दै तिनले अय्यूबलाई आक्रमण गरिन्। मूल पाठले यसको वर्णन यसरी गर्छ: “तब तिनकी श्रीमतीले तिनलाई भनिन्, के तपाईं अझै पनि आफ्नो निष्ठा कायम राख्‍नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्” (अय्यूब २:९)। यी वचनहरू मानिसको भेषमा शैतानले बोलेका वचनहरू थिए। ती आक्रमण र आरोप थिए, साथसाथै प्रलोभन, परीक्षा र निन्दा पनि थिए। अय्यूबको देहमा आक्रमण गर्दा असफल भएपछि, शैतानले सीधै अय्यूबको निष्ठामाथि आक्रमण गर्‍यो, अनि अय्यूबलाई आफ्नो निष्ठा त्याग गर्न, परमेश्‍वरलाई इन्कार गर्न र अझै जिउने इच्‍छा मार्न लगाउनको लागि यसको प्रयोग गर्‍यो। त्यसैले पनि शैतानले अय्यूबलाई लोभ्याउन यस्ता शब्दहरू प्रयोग गर्ने इच्छा गर्‍यो: यदि अय्यूबले यहोवाको नाउँ त्यागे भने तिनले त्यस्तो पीडा सहनुपर्दैनथ्यो; तिनले आफूलाई देहको कष्टबाट मुक्त गर्न सक्थे। आफ्नी पत्‍नीको सल्लाह सुनेर अय्यूबले उनलाई यसो भन्दै हप्काए, “तिमी मूर्ख स्‍त्रीले जस्तै कुरा गर्छौ। के? के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। अय्यूबले धेरै अघिबाटै यी वचनहरूको बारेमा जानेका थिए, तर यो समयमा तिनको बारेमा अय्यूबको ज्ञानको सत्यता प्रमाणित भयो।

जब तिनलाई तिनकी पत्‍नीले परमेश्‍वरलाई सरापेर मर्ने सल्लाह दिइन्, उनको भनाइको अर्थ यो थियो: “तपाईंका परमेश्‍वरले तपाईंसँग यस्तो व्यवहार गर्नुहुन्छ, त्यसैले उहाँलाई किन नसराप्‍ने? अझै पनि जिएर तपाईं के गर्दै हुनुहुन्‍छ? तपाईंका परमेश्‍वर तपाईंप्रति यति अन्यायी हुनुहुन्छ, तैपनि तपाईं अझै भन्‍नुहुन्छ ‘यहोवाको नाउँको प्रशंसा होस्।’ जब तपाईं उहाँको नाउँलाई धन्यको भन्‍नुहुन्छ भने उहाँले तपाईंमाथि कसरी विपत्ति ल्याउन सक्‍नुहुन्छ? चाँडो गर्नुहोस् र परमेश्‍वरको नाउँ त्याग्‍नुहोस्, र अबउप्रान्त उहाँको पछि लाग्‍न छोड्नुहोस्। तब तपाईंका समस्याहरू समाप्त हुनेछन्।” यस समयमा, परमेश्‍वरले अय्यूबमा हेर्न चाहनुभएको गवाही उत्पन्‍न भयो। कुनै साधारण व्यक्तिले त्यस्तो गवाही दिन सक्‍नेथेन, न त हामी बाइबलका कुनै कथाहरूमा यस्तो कुरा पढ्न पाउँछौँ—तर अय्यूबले यी वचनहरू बोल्नुभन्दा धेरै अघि नै परमेश्‍वरले यो कुरा देखिसक्‍नुभएको थियो। परमेश्‍वरले अय्यूबलाई परमेश्‍वर सही हुनुहुन्छ भनी सबैसामु प्रमाणित गर्न दिन मात्र यस अवसरको प्रयोग गर्न चाहनुभयो। आफ्नी पत्‍नीको सल्लाह सुनेर, अय्यूबले आफ्नो निष्ठा त्याग्‍ने वा परमेश्‍वरलाई छोड्ने काम गरेनन्, बरू उल्टै आफ्नी पत्‍नीलाई समेत यसो भने: “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” के यी वचनहरूमा ठूलो वजन छ? यहाँ, यी वचनहरूको वजन प्रमाणित गर्न सक्‍ने एउटै मात्र तथ्य छ। यी वचनहरूको वजन भनेको के हो भने, ती वचनहरूलाई परमेश्‍वरले आफ्नो हृदयमा स्वीकार गर्नुभएको छ, परमेश्‍वरले चाहनुभएका कुराहरू तिनै हुन्, परमेश्‍वरले सुन्‍न चाहनुभएका वचनहरू तिनै हुन्, र परमेश्‍वरले देख्‍न चाहनुभएका परिणामहरू तिनै हुन्; यी वचनहरू अय्यूबको गवाहीको गुदी पनि हुन्। यसमा, अय्यूबको सिद्धता, इमानदारिता, परमेश्‍वरको भय, र दुष्टताबाट अलग बस्‍ने कार्य साबित भएका थिए। तिनी परीक्षामा पर्दा, तिनका सम्पूर्ण शरीर खटिराहरूले भरिँदा, तिनले अत्याधिक यातना भोग्‍नुपर्दा, र तिनकी पत्‍नी र मित्रहरूले तिनलाई सल्लाह दिँदा पनि तिनले यस्ता वचनहरू बोल्न सके, र यसैमा अय्यूबको बहुमूल्यता छ। अर्को प्रकारले भन्‍नुपर्दा, तिनलाई आफ्नो हृदयमा के विश्‍वास थियो भने, जुनसुकै परीक्षा आए पनि वा जस्तोसुकै गम्‍भीर कष्ट वा सतावट आए पनि, तिनीमाथि मृत्यु नै आइपरे पनि तिनले परमेश्‍वरलाई त्याग्‍नेछैनन् वा परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गलाई लत्याउनेछैनन्। त्यसैले तँ देख्छस् कि तिनको हृदयमा परमेश्‍वरको सबैभन्दा महत्त्वपूर्ण स्थान थियो, र तिनको हृदयमा परमेश्‍वर मात्र हुनुहुन्थ्यो। यसैकारण, हामी धर्मशास्‍त्रमा तिनको बारेमा यस्तो वर्णन पढ्छौं: यी सबै कुरामा अय्यूबले आफ्ना ओठहरूद्वारा पाप गरेनन्। तिनले आफ्‍नो ओठद्वारा पाप नगरेका मात्र नभई आफ्नो हृदयमा पनि कहिल्यै परमेश्‍वरबारे गुनासो गरेनन्। तिनले परमेश्‍वरको विषयमा चोट पुर्‍याउने वचनहरू बोलेनन्, न त तिनले परमेश्‍वरको विरुद्धमा पाप नै गरे। तिनको मुखले परमेश्‍वरको नाउँलाई धन्यको मात्र भनेन, तिनले त आफ्नो हृदयमा परमेश्‍वरको नाउँलाई धन्यको समेत भने; तिनको मुख र हृदय एकजस्तै भएका थिए। परमेश्‍वरले देख्‍नुभएको वास्तविक अय्यूब यही थियो, र यही कारणले गर्दा परमेश्‍वरले अय्यूबको कदर गर्नुभयो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

अय्यूबको विश्‍वास, समर्पण र शैतानलाई जितेको तिनको गवाही मानिसहरूका निम्ति ठूलो सहयोग र उत्साहको स्रोत भएर आएको छ। अय्यूबमा तिनीहरूले आफ्नै मुक्तिको आशा देख्छन्, अनि आस्थाका साथै परमेश्वरप्रतिको समर्पण र डरमार्फत शैतानलाई पराजित गर्न, शैतानमाथि विजय पाउन पूर्ण रूपमा सम्भव छ भनी बुझ्छन्। तिनीहरूले यो देख्छन् कि जबसम्म उनीहरू कुनै विरोध नगरी परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूफ्रति समर्पित हुन्छन्, जबसम्‍म सबै कुरा गुमाइसकेपछि पनि परमेश्‍वरलाई नत्याग्‍ने दृढ सङ्कल्प र विश्‍वास गर्छन्, तबसम्‍म उनीहरूले शैतानलाई लज्‍जित पार्न र हराउन सक्छन्, र उनीहरूले आफ्नो प्राण गुमाउनु परे पनि शैतानलाई भयभीत बनाउन र तुरुन्तै धपाउनको लागि उनीहरूमा आफ्नो गवाहीमा दृढ भई खडा हुने सङ्कल्प र दृढता मात्र हुनुपर्छ भनी बुझ्छन्। अय्यूबको गवाही पछिका पुस्ताहरूका लागि एउटा चेतावनी हो, र यो चेतावनीले उनीहरूलाई भन्छ कि यदि उनीहरूले शैतानलाई पराजित गरेनन् भने उनीहरूले शैतानका आरोप र बाधाहरूबाट आफूलाई कहिल्यै पनि छुटकारा दिलाउन सक्‍नेछैनन्, न त उनीहरू कहिल्यै शैतानको दुर्व्यवहार र आक्रमणहरूबाट उम्कन नै सक्‍नेछन्। अय्यूबको गवाहीले पछिका पुस्ताहरूलाई अन्तर्दृष्टि प्रदान गरेको छ। यो अन्तर्दृष्टिले मानिसहरूलाई उनीहरू सिद्ध र सोझो छन् भने मात्र परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्छन् भन्‍ने कुरा सिकाउँछ; यसले के पनि सिकाउँछ भने, उनीहरू परमेश्‍वरको भय मान्छन् र दुष्टताबाट अलग बस्छन् भने मात्र उनीहरूले परमेश्‍वरको बलियो र जोडदार गवाही दिन सक्छन्; उनीहरूले परमेश्‍वरको निम्ति बलियो र जोडदार गवाही दिन्छन् भने मात्र उनीहरू कहिल्यै शैतानको नियन्त्रणमा पर्न सक्दैनन् र परमेश्‍वरको अगुवाइ र सुरक्षाको अधीनमा जिउन सक्‍छन्—तब मात्र उनीहरूले वास्तविक रूपमा मुक्ति पाएका हुनेछन्। अय्यूबको व्यक्तित्व र तिनको जीवनको खोजलाई मुक्तिको खोजी गर्ने प्रत्येक व्यक्तिले अनुकरण गर्नुपर्छ। तिनले आफ्नो सम्पूर्ण जीवन जसरी जिए र जाँचहरूको अवधिमा तिनको आचरण जस्तो थियो, ती सबै नै परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको खोजी गर्नेहरूको लागि अनमोल सम्पत्ति हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

पत्रुस धेरै वर्षसम्म मप्रति विश्‍वासयोग्य थियो, तापनि उसले कहिल्यै गनगन गरेन न त उसले कुनै गुनासो नै गर्‍यो; अय्यूब पनि उसको बराबरी थिएन, र युगौँयुगसम्म सन्तहरू समेत पत्रुसको तहसम्म पुग्‍न चुकेका छन्‌। शैतानले आफ्ना छली युक्तिहरू मञ्‍चन गर्दै गरेको समयमा उसले मेरो बारेमा जान्‍न मात्र खोजेन, मेरो बारेमा जान्‍न समेत सक्यो। यसले पत्रुसलाई सदैव मेरा अभिप्रायअनुरूप धेरै वर्षसम्म मेरो सेवा गर्न अभिप्रेरित गर्‍यो र यही कारणले गर्दा, ऊ शैतानद्वारा कहिल्यै शोषित भएन। पत्रुसले अय्यूबको विश्‍वासबाट पाठ सिक्‍यो, तर अय्यूबका कमजोरीहरूलाई पनि प्रस्टै देख्‍यो। अय्यूबसँग ठूलो विश्‍वास भएको भए पनि, ऊसँग आत्मिक क्षेत्रका कुराहरूको बारेमा ज्ञानको अभाव थियो, त्यसैले उसले वास्तविकतासँग मेल नखाने धेरै कुराहरू भन्यो; यसले अय्यूबको ज्ञान सतही र सिद्धताको निम्ति असक्षम रहेको देखाउँछ। त्यसैले, पत्रुसले सदैव आत्माको बुझाइ हासिल गर्ने कुरामा ध्यान केन्द्रित गर्‍यो, र सदैव आत्मिक क्षेत्रका विविध पक्षहरूको अवलोकन गर्ने कार्यमा ध्यान दियो। परिणामस्वरूप, ऊ मेरा अभिप्रायहरूबारे कुराहरू पत्ता लगाउन मात्र सक्षम भएन, उसले त शैतानका छली युक्तिहरूको बारेमा पनि थोरै ज्ञान हासिल गर्‍यो। यही कारणले गर्दा, मेरो बारेमा उसको ज्ञान युगौँयुगभरिका जोसुकैको भन्दा पनि ठूलो हुनपुग्यो।

पत्रुसले गरेको अनुभवबाट, यो देख्‍न कठिन छैन कि यदि मानिसहरूले मलाई जान्‍न चाहन्छन्‌ भने, तिनीहरूले आफ्नो आत्माभित्र नै सचेत भएर हेक्‍का राख्‍ने कुरामाथि जोड दिनुपर्छ। तैँले आफ्नो निश्‍चित मात्रा मलाई बाह्य रूपमा “समर्पण” गर् भनेर म भन्दिनँ; यो त गौण सरोकारको विषय हो। यदि तैँले मलाई चिन्दैनस्‌ भने, तैँले कुरा गर्ने विश्‍वास, प्रेम र निष्ठा सबै नै भ्रमहरू मात्र हुन्छन्; ती व्यर्थका बकबक हुन्छन्, र तँ मेरो सामुन्‍ने निकै ठूलो गर्व गर्ने तर आफैलाई नचिन्‍ने व्यक्ति बन्‍ने निश्‍चित हुन्छ। यसको मतलब, तँलाई फेरि एकपटक शैतानले पासोमा पार्नेछ र तँ आफैलाई मुक्त गर्न असमर्थ हुनेछस्; तँ अनन्त विनाशको पुत्र र विध्वंसको पात्र हुनेछस्। तापनि, यदि तँ मेरा वचनहरूप्रति मन्द र लापरवाही हुन्छस्‌ भने, तैँले निःसन्देह मेरो विरोध गर्छस्। यो वास्तविकता हो, र तैँले मबाट सजाय प्राप्त गरेका धेरै र विविध आत्माहरूलाई आत्मिक क्षेत्रको द्वारबाट चियाएर हेर्नु बेस होला। मेरा वचनहरूको सामना गर्दा, तिनीहरूमध्ये कोचाहिँ नकारात्मक, लापरवाही, र स्वीकार नगर्ने खालको थिएन र? तिनीहरूमध्ये कोचाहीँ मेरा वचनहरूको निन्दा गर्ने व्यक्ति थिएन र? तिनीहरूमध्ये कसले चाहिँ मेरा वचनहरूमा खोट पत्ता लगाउने कोसिस गरेन र? तिनीहरूमध्ये कसले चाहिँ आफैलाई “रक्षा” गर्न मेरा वचनहरूलाई “प्रतिरक्षात्मक शस्‍त्र” को रूपमा प्रयोग गरेन र? तिनीहरूले मेरो बारेमा जान्‍ने माध्यमको रूपमा मेरा वचनहरूमा भएका विषयवस्तुहरूलाई प्रयोग गरेनन्, तर तिनलाई केवल खेल्ने खेलौनाहरूको रूपमा प्रयोग गरे। यसमा, के तिनीहरूले मलाई सीधै विरोध गर्दै थिएनन्‌ र? मेरा वचनहरू को हुन्? मेरो आत्मा को हो? मैले तिमीहरूलाई यस्ता प्रश्‍नहरू धेरैपटक सोधेको छु, तर के तिमीहरूले तीबारे कहिल्यै कुनै अझ उच्‍चतम‌ र स्पष्ट अन्तर्दृष्टि पाएका छौ? के तिमीहरूले कहिल्यै तिनलाई साँच्‍चै अनुभव गरेका छौ? म तिमीहरूलाई फेरि एकपटक स्मरण गराउँछु: यदि तिमीहरूले मेरा वचनहरूको बारेमा जान्दैनौ, वा तिनलाई स्वीकार गर्दैनौ, वा तिनलाई अभ्यासमा लगाउँदैनौ भने, तिमीहरू पक्‍कै पनि मेरो सजायका पात्रहरू बन्‍नेछौ! तिमीहरू पक्‍कै पनि शैतानका सिकारहरू बन्‍नेछौ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ८

जब परमेश्‍वरले “आत्मिक क्षेत्रको युद्धको अवस्थालाई मेरा सबै मानिसहरूको माझमा प्रष्ट गरिएको छ” भनी भन्‍नुभयो, उहाँले के भनिरहनुभएको थियो भने जब मानिसहरू सही मार्गमा हिँड्छन् र परमेश्‍वरलाई चिन्‍न थाल्छन्, हरेक व्यक्तिलाई शैतानले आन्तरिक रूपमा परीक्षा गर्ने मात्रै होइन, बरु तिनीहरूलाई मण्डलीमा समेत शैतानले परीक्षा गर्न सक्छ। तैपनि, यो हरेकले लिनुपर्ने मार्ग हो, त्यसकारण कोही पनि तर्सिनु पर्दैन। शैतानको परीक्षा विभिन्‍न रूपमा आउन सक्छ। कतिले परमेश्‍वरले भन्‍नुहुने कुरालाई बेवास्ता गर्ने वा त्याग्‍ने गर्न सक्छन्, र अरू मानिसहरूको सकारात्मकतालाई निरुत्साहित गर्नको लागि नकारात्मक कुराहरू भन्‍न सक्छन्; तैपनि, त्यस्ता व्यक्तिहरूले सामान्यतया अरूलाई जितेर आफ्‍नो पक्षमा पार्न सक्नेछैनन्। यो कुरालाई पत्ता लगाउन कठिन हुन्छ। यसको मुख्य कारण यही हो: त्यस्तो व्यक्ति भेलाहरूमा सहभागी हुने कार्यमा अझै पनि सक्रिय हुन सक्छ, तर तिनीहरू ईश्‍वरीय दर्शनहरूका बारेमा अनिश्‍चित हुन्छन्। यदि मण्डली तिनीहरूबाट सचेत भई बस्दैन भने, तिनीहरूको नकारात्मकताले सम्पूर्ण मण्डलीलाई नै परमेश्‍वरप्रति तातो न चिसो भएर प्रतिक्रिया दिन लगाउँदै, परमेश्‍वरका वचनहरूमा ध्यान नदिने तुल्याउन सक्छ—अनि यसको अर्थ सीधै शैतानको परीक्षामा पर्नु हो। त्यस्तो व्यक्तिले परमेश्‍वरलाई प्रतिरोध गर्न नसक्ला, तर तिनीहरूले परमेश्‍वरका वचनहरूलाई बुझ्‍न नसक्‍ने र परमेश्‍वरलाई नचिन्‍ने हुनाले, तिनीहरू गुनासो वा द्वेषभावले भरिएको हृदय बोकेर हिँड्ने अवस्थासम्‍म पुग्‍न सक्छन्। तिनीहरूले आफूलाई परमेश्‍वरले त्याग्‍नुभएको छ र आफूहरू अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न नसक्‍ने अवस्थामा छौं भनेर भन्‍न सक्छन्। तिनीहरूले छोडेर जाने इच्छा गर्न सक्छन्, तर तिनीहरू अलिक डराएका हुन्छन्, अनि तिनीहरूले परमेश्‍वरको काम परमेश्‍वरबाट आएको होइन, बरु यो त दुष्ट आत्‍माहरूको काम हो भनेर भन्‍न सक्छन्।

किन परमेश्‍वरले पत्रुसको बारेमा बारम्‍बार उल्‍लेख गर्नुहुन्छ? अनि किन उहाँले अय्यूबसमेत तिनको स्तरमा पुगेनन् भनेर भन्‍नुहुन्छ? त्यस कुराले मानिसहरूलाई पत्रुसका कार्यहरूमा ध्यान केन्द्रित मात्र गराउँदैन, यसले त तिनीहरूलाई तिनीहरूको हृदयमा भएका सबै उदाहरणहरू पनि पन्छाउन लगाउँछ, किनभने अय्यूबको उदाहरण—जोसँग सबैभन्‍दा ठूलो विश्‍वास थियो—समेत अपर्याप्त छ। यसरी मात्रै अझै राम्रो परिणाम हासिल गर्न सकिन्छ, किनभने यसमा मानिसहरूले पत्रुसको अनुकरण गर्ने प्रयासमा सबै कुरालाई पन्छाउन सक्छन्, अनि त्यसो गर्ने क्रममा, तिनीहरू परमेश्‍वरसम्‍बन्धी आफ्नो ज्ञानमा एक कदम अघि बढ्छन्। परमेश्‍वरलाई चिन्‍नका लागि पत्रुसले लिएको अभ्यासको मार्ग परमेश्‍वरले मानिसहरूलाई देखाउनुहुन्छ, र त्यसो गर्नुको उद्देश्य मानिसहरूलाई सन्दर्भ बिन्दु प्रदान गर्नु हो। त्यसपछि, परमेश्‍वरले यसो भन्दै शैतानले मानिसहरूलाई परीक्षा गर्ने एउटा मार्गको पूर्वानुमान गर्नुहुन्छ, “तापनि, यदि तँ मेरा वचनहरूप्रति मन्द र लापरवाही हुन्छस्‌ भने, तैँले निःसन्देह मेरो विरोध गर्छस्। यो वास्तविकता हो।” यी वचनहरूमा, परमेश्‍वरले त्यस्ता धूर्त युक्तिहरूको बारेमा बताउनुहुन्छ, जुन युक्तिहरू प्रयोग गर्न शैतानले प्रयास गर्नेछ; ती चेतावनीका रूपमा रहेका छन्। हरेक व्यक्ति परमेश्‍वरका वचनहरूप्रति उदासीन हुनसक्ने कुरा सम्‍भव छैन, तैपनि, यो परीक्षाले कतिपयलाई बन्धनमा पार्नेछ। त्यसकारण, अन्त्यमा, उहाँले यो कुरालाई जोड दिँदै दोहोर्‍याउनुभएको छ, “यदि तिमीहरूले मेरा वचनहरूको बारेमा जान्दैनौ, वा तिनलाई स्वीकार गर्दैनौ, वा तिनलाई अभ्यासमा लगाउँदैनौ भने, तिमीहरू पक्‍कै पनि मेरो सजायका पात्रहरू बन्‍नेछौ! तिमीहरू पक्‍कै पनि शैतानका सिकारहरू बन्‍नेछौ!” यो परमेश्‍वरले मानवजातिलाई दिनुभएको सल्‍लाह हो—तैपनि अन्त्यमा, परमेश्‍वरले भविष्यवाणी गर्नुभएजस्तै, मानिसहरूको एउटा समूह अपरिहार्य रूपमा नै शैतानको सिकार बन्‍नेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ८

मत्ती ४:८-११  फेरि, दियाबलसले उहाँलाई एकदमै अग्लो पहाडमा लैजान्छ र संसारका राज्यहरू र तिनको महिमा देखाउँछ; अनि उहाँलाई भन्यो, यदि तपाईंले लम्‍पसार परेर मेरो आराधना गर्नुभयो भने, म तपाईंलाई यी सबै थोक दिनेछु। तब येशूले त्यसलाई भन्‍नुभयो, यहाँबाट गइहाल्, शैतान: किनकि यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू। तब दुष्टले उहाँलाई छोड्यो र स्वर्गदूतहरू आएर उहाँको सेवा गरे।

अघिल्‍ला दुई षड्यन्त्रमा असफल भइसकेपछि दियाबलस शैतानले फेरि अर्को प्रयास गर्‍यो: त्यसले संसारका सबै राज्यहरू र तिनीहरूको वैभव प्रभु येशूलाई देखायो अनि मलाई आराधना गर्नुहोस् भनी उहाँलाई भन्यो। यो परिस्थितिबाट तिमीहरूले दियाबलसको साँचो विशेषताहरूको बारेमा के देख्‍न सक्छौ? के दियाबलस शैतान पूर्णतया लाज विहीन छैन र? (छ।) यो कसरी लाज विहीन छ? परमेश्‍वरले नै सबै थोक सृष्टि गर्नुभएको थियो, तैपनि शैतानले फर्केर परमेश्‍वरलाई सबै थोक देखायो अनि भन्यो, “यी सबै राज्यहरूका सम्पत्ति र वैभवलाई हेर्नुहोस्। यदि तपाईंले मलाई आराधना गर्नुभयो भने ती सबै म तपाईंलाई दिनेछु।” के यो भूमिकालाई पूर्ण रूपमा उल्ट्याउने कार्य होइन र? के शैतान लाज विहीन छैन र? परमेश्‍वरले नै सबै थोक बनाउनुभयो, तर के उहाँले आफ्‍नै आनन्दको लागि सबै थोक बनाउनुभयो र? परमेश्‍वरले सबै कुरा मानवजातिलाई दिनुभयो, तर शैतानले यी सबै जफत गर्न चाहन्थ्यो अनि यो सबै जफत गरिसकेपछि, त्यसले परमेश्‍वरलाई भन्यो, “मेरो आराधना गर्नुहोस्! मलाई आराधना गर्नुहोस् अनि यो सबै म तपाईंलाई दिनेछु।” यो शैतानको कुरूप अनुहार हो; यो पूर्ण रूपमा लाज विहीन छ! शैतानलाई “लाज” भन्‍ने शब्‍दको अर्थ समेत थाहा छैन। यो त्यसको दुष्टताको अर्को उदाहरण मात्रै हो। त्यसलाई लाज के हो भन्‍ने समेत थाहा छैन। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो र उहाँले सबै थोकलाई व्यवस्थापन गर्नुहुन्छ अनि तीमाथि उहाँकै प्रभुत्व छ भन्‍ने शैतानलाई स्पष्टै थाहा छ। सबै थोक मानिसको होइन, अनि शैतानको त झन् हुँदै होइन, तर ती सबै परमेश्‍वरको स्वामित्वमा छन्, तैपनि दियाबलस शैतानले निर्धक्‍कसाथ ती सबै थोक परमेश्‍वरलाई दिनेछु भनी भन्यो। के यो शैतानले फेरि मूर्खतापूर्ण र लाजमर्दो तरिकाले कार्य गरेको अर्को उदाहरण होइन र? यसले परमेश्‍वरलाई शैतानको अझै बढी घृणा गर्ने तुल्याउँछ, तुल्याउँदैन र? तैपनि शैतानले जस्तोसुकै प्रयास गरे पनि, के प्रभु येशू मूर्ख हुनुभयो त? प्रभु येशूले के भन्‍नुभयो? (“तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू।”) के यी वचनहरूको व्यवहारिक अर्थ छ? (छ।) कस्तो प्रकारको व्यवहारिक अर्थ? हामीले शैतानको बोलीमा त्यसको दुष्टता र लाज विहीनतालाई देख्छौं। तसर्थ यदि मानिसले शैतानको आराधना गर्‍यो भने, परिणाम के हुनेछ? के तिनीहरूले सबै राज्यहरूको सम्पत्ति र वैभव प्राप्त गर्नेछन्? (गर्नेछैनन्।) तिनीहरूले के प्राप्त गर्नेछन्? के मानवजाति शैतानजस्तै लाज विहीन र हाँसउठ्दो बन्‍नेछ? (हो।) त्यसो भए तिनीहरू शैतानभन्दा फरक हुनेछैनन्। त्यसकारण, प्रभु येशूले यी वचनहरू भन्‍नुभयो, जुन हरेक मानवजातिको लागि महत्त्वपूर्ण छन्: “तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू।” यसको अर्थ के हो भने, यदि तैँले प्रभुलाई बाहेक, परमेश्‍वर स्वयम्‌लाई बाहेक, अर्कोलाई सेवा गरिस् भने, यदि तैँले दियाबलस शैतानको आराधना गरिस् भने, तँ पनि शैतानजस्तै त्यही दुष्कर्ममा डुब्‍नेछस्। त्यसपछि तँ शैतानको लाज विहीनता र त्यसको दुष्टतामा सहभागी हुनेछस्, अनि शैतानले जस्तै तैँले पनि परमेश्‍वरलाई परीक्षा गर्नेछस् र परमेश्‍वरलाई आक्रमण गर्नेछस्। त्यसपछि तेरो लागि परिणाम के हुनेछ? तँलाई परमेश्‍वरले घृणा गर्नुहुनेछ, परमेश्‍वरले प्रहार गर्नुहुनेछ, नास गर्नुहुनेछ। कुनै सफलता विना नै धेरै पटक शैतानले प्रभु येशूलाई परीक्षा गरिसकेपछि, के त्यसले फेरि प्रयास गर्‍यो त? शैतानले फेरि प्रयास गरेन, अनि त्यसपछि त्यो गयो। यसले के प्रमाणित गर्छ? यसले शैतानको दुष्ट प्रकृति, त्यसको बदख्‍वाइँ, अनि त्यसको मूर्खता र निरर्थकता परमेश्‍वरको सामुन्ने उल्‍लेख गर्न समेत योग्य छैनन् भन्‍ने प्रमाणित गर्छ। प्रभु येशूले केवल तीन वाक्यले शैतानलाई हराउनुभयो, त्यसपछि लाजले अनुहार देखाउन नसकी आफ्‍नो पुच्छर लुरुक्‍क पारेर, त्यो दगुरेर गयो, अनि प्रभु येशूलाई फेरि कहिल्यै परीक्षा गरेन। प्रभु येशूले शैतानको यो परीक्षालाई जित्‍नुभएको हुनाले, अब उहाँले आफूले गर्नुपर्ने र उहाँको अघि राखिएको कार्यलाई उहाँले सहजै जारी राख्‍न सक्‍नुभयो। के प्रभु येशूले यो परिस्थितिमा गर्नुभएको र भन्‍नुभएको सबै कुरालाई वर्तमान दिनमा लागू गर्ने हो भने त्यसले हरेक मानवजातिको लागि कुनै व्यवहारिक अर्थ दिन्छ? (दिन्छ।) कस्तो प्रकारको व्यवहारिक अर्थ? के शैतानलाई हराउनु सहज कुरा थियो? के मानिसहरूसँग शैतानको दुष्ट प्रकृतिको बारेमा स्पष्ट बुझाइ हुनुपर्छ? के मानिसहरूसँग शैतानका परीक्षाहरूको बारेमा ठीक बुझाइ हुनुपर्छ? (हुनुपर्छ।) जब तैँले आफ्‍नो जीवनमा शैतानका परीक्षाहरूको अनुभव गर्छस्, यदि तैँले शैतानका दुष्ट प्रकृतिलाई देख्‍न सक्थिस् भने, के तँ त्यसलाई हराउन सक्‍नेथिइनस्? यदि तँलाई शैतानको मूर्खता र निरर्थकताको बारेमा थाहा थियो भने, के तँ अझै पनि शैतानको पक्षमा खडा भएर परमेश्‍वरलाई आक्रमण गर्नेथिइस्? शैतानको बदख्‍वाइँ र लाज विहीनता तँ मार्फत कसरी प्रकट हुन्छ भन्‍ने तैँले बुझिस् भने—यदि तैँले यी कुराहरूलाई स्पष्ट रूपमा पहिचान गरिस् र बुझिस् भने—के तँ अझै पनि यसरी परमेश्‍वरलाई आक्रमण र परीक्षा गर्नेथिइस्? (होइन, हामी गर्नेथिएनौँ।) तिमीहरूले के गर्नेथियौ? (हामीले शैतानको विरुद्धमा विद्रोह गरेर त्यसलाई धपाउनेथियौँ।) के यसो गर्नु सजिलो छ? यो सजिलो छैन। यसो गर्नको लागि, मानिसहरूले बारम्‍बार प्रार्थना गर्नैपर्छ, तिनीहरूले आफैलाई बारम्बार परमेश्‍वरको अघि राख्‍नुपर्छ अनि आफैलाई जाँच्‍नुपर्छ। अनि तिनीहरूले परमेश्‍वरको अनुशासन र उहाँको न्याय अनि सजाय तिनीहरूमाथि आउन दिनुपर्छ। यसरी मात्रै मानिसहरूले आफूलाई शैतानद्वारा भ्रममा पारिन र नियन्त्रित हुनबाट बिस्तारै मुक्त गर्न सक्‍नेछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

अहिले, के यस समाजमा जिउने मानिसहरूलाई धेरै प्रलोभन आइपर्छ? तँलाई चारैतिरबाट प्रलोभन, हर थरिका दुष्ट प्रवृत्ति, सबै थरिका संवाद, सबै थरिका सोच र दृष्टिकोण, सबै थरिका मानिसबाट सबै खाले लालचमा पार्ने र लोभ्याउने कुरा, सबै थरिका मानिसहरूका सबै थरिका शैतानी स्वरूपले तँलाई चारैतिरबाट घेर्छन्। यी सबै तैँले भोग्ने प्रलोभनहरू हुन्। उदाहरणका लागि, मानिसहरूले तँलाई उपकार गर्लान्, धनी बनाउलान्, तिनीहरू तँसित साथी बन्लान्, तँसित रोमान्टिक भेटघाट गर्लान्, तँलाई पैसा देलान्, जागिर देलान्, नाचगान गर्न बोलाउलान्, तँलाई शिष्टाचार देखाउलान्, वा उपहार देलान्। यी सबै कुरा सम्भवतः प्रलोभन हुन्। यदि परिस्थिति राम्रा भएन भने, तँ पासोमा फस्नेछस्। यदि तँ आन्तरिक रूपमा केही सत्यताले सुसज्जित छैनस् र तँमा कुनै वास्तविक कद छैन भने, तैँले यी चीजहरूको वास्तविकता देख्न सक्नेछैनस्, र ती सबै तेरा लागि पासो र प्रलोभन बन्नेछन्। एक तरिकाले, यदि तँमा सत्यता छैन भने, तैँले शैतानका चालहरू बुझ्न सक्नेछैनस्, र फरक-फरक मानिसहरूको शैतानी स्वरूप देख्न सक्नेछैनस्। तैँले शैतानलाई जित्न, देहगत कुरा त्याग्न, परमेश्वरप्रति आज्ञाकारी हुन सक्नेछैनस्। अर्को तरिकाले, सत्यता वास्तविकता छैन भने, तैँले सम्पूर्ण विविध दुष्ट प्रवृत्ति, दुष्ट दृष्टिकोण, र हास्यास्पद सोच र भनाइहरूको प्रतिरोध गर्न सक्नेछैनस्। यी कुरा आइपर्दा, एक्कासी मौसम चिसो भएजस्तो हुनेछ। सायद तँलाई हल्का चिसो मात्र लाग्नेछ, वा अलि बढी गम्भीर केही हुनेछ—सम्भवतः तँलाई घातक कोल्ड स्ट्रोक[क] होला। सम्भवतः तैँले पूर्ण रूपले विश्वास गुमाउनेछस्। यदि तँमा सत्यताको कमी छ भने, अविश्वासीहरूको संसारका शैतान र दियाबलसहरूको केही शब्दहरूले मात्र पनि तँलाई दुविधा र अलमल्लमा पार्नेछन्। तँमा आफूले परमेश्वरमा विश्वास गर्नुपर्छ कि पर्दैन र त्यस्तो विश्वास सही हो कि होइन भनेर प्रश्न उठ्नेछ। सायद, आज भेला हुँदा तँ राम्रो स्थितिमा छस्, तर भोलि घर जान्छस् अनि टिभी कार्याक्रमको दुईवटा श्रृङ्खला हेर्छस्। तँलाई लोभ्याइएको हुन्छ। तैँले राती सुत्नुअघि तैँले प्रार्थना गर्न बिर्सिन्छस्, र तेरो पूरै दिमाग उक्त टिभी कार्याक्रमको कथाले भरिएको हुन्छ। यदि तँ निरन्तर दुई दिनसम्म टिभी हेर्छस् भने, तेरो हृदय परमेश्वरबाट टाढिसकेको हुन्छ। तँलाई परमेश्वरको वचन पढ्न वा सत्यताबारे सङ्गति गर्न इच्छा लाग्न छोड्छ। तँ परमेश्वरलाई प्रार्थना गर्नसमेत चाहँदैनस्। तैँले मनमा जहिले पनि यसो भनिरहेको हुन्छस्, “म कहिलेचाहिँ केही गर्न सक्षम हुनेछु? म कहिले केही महत्त्वपूर्ण काम सुरु गर्न सक्छु? मेरो जीवन व्यर्थ हुनु हुँदैन!” के त्यो मन परिवर्तन भएको हो? सुरुमा, तँ सुसमाचार सुनाउन र परमेश्वरको गवाही दिन सक्न भनी सत्यताबारे अझ धेरै बुझ्न चाहन्थिस्। तँ अहिले किन परिवर्तन भएको छस्? तैँले चलचित्र र टिभी कार्याक्रमहरू हेरेरै शैतानलाई आफ्नो मन कब्जा गर्न दिइस्। तेरो कद वास्तवमै सानो छ। के तँलाई आफूमा यी दुष्ट प्रकोपहरू रोक्ने कद छ भन्ने लाग्छ? अहिले परमेश्वर तँलाई अनुग्रह देखाउनुहुन्छ र तँलाई तेरो कर्तव्य निभाउन उहाँको घरमा लानुहुन्छ। आफ्नो कद नबिर्सी। अहिले, तँ हरितगृहभित्रको फूल होस्, जसले बाहिरको हावा र वर्षा थेग्न सक्दैन। यदि मानिसहरू यी प्रलोभनहरू चिन्न र सामना गर्न सक्दैनन् भने, शैतानले तिनीहरूलाई जतिसुकै बेला कुनै पनि समय नियन्त्रण गर्न सक्छ। मान्छेको यस्तो सानो कद र दयनीय स्थिति छ। तँमा सत्यता वास्तविकता र सत्यताको बुझाइ नभएको कारण शैतानका सबै शब्दहरू तेरा लागि विषजस्तै हुन्। यदि तैँले यी कुराहरू सुनिस् भने, ती तेरो हृदयमा हटाउन नसकिने गरी टाँसिनेछन्। तैँले मनमा “म आफ्नो कान र आँखाहरू बन्द गर्नेछु” भन्छस्, तर तँ शैतानको प्रलोभनबाट उम्कन सक्दैनस्। तँ अरूबाट अलग्गै बस्दैनस्। यदि तैँले शैतानका शब्दहरू सुनिस् भने त्यसको प्रतिरोध गर्न सक्नेछैनस्। तँ पासोमा फस्नेछस्। तैँले आफ्नै लागि गरेको प्रार्थना र श्रापहरू काम लाग्नेछैन। तैँले प्रतिरोध गर्न सक्दैनस्। यस्ता कुराहरूले तेरो सोच र कार्यलाई प्रभाव पार्न सक्छन्। ती कुराले तेरो सत्यता पछ्याउने मार्ग छेक्न सक्छन्। तिनले तँलाई नियन्त्रण गर्न, परमेश्वरमा समर्पित हुनबाट रोक्न, निष्क्रिय र कमजोर पार्न, र परमेश्वरबाट टाढा राख्न सक्छन्। अन्त्यमा, तँ निकम्मा र बिलकुलै आशाहीन बन्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ

फूटनोटहरू:

क. कोल्ड स्ट्रोकः परम्परागत चिनियाँ चिकित्सामा प्रयोग गरिने शब्द, जसले घातक, ज्यानै लिन सक्ने, भित्री ठण्डालाई जनाउँछ, जुन बाहिरी तत्वहरूले निम्त्याउँछन्।


कुनै पनि देशमा ख्रीष्टलाई स्विकार्दा र पछ्याउँदा एक तहको सतावट र संकष्ट सँग-सँगै आउँछ। तैँले सधैँ सावधानीपूर्वक कार्य गर्नुपर्छ र परमेश्वरलाई प्रार्थना गर्नुपर्छ अनि उहाँमा निर्भर हुनुपर्छ, अनि तँमा बुद्धिमानी र अक्कल पनि हुनैपर्छ। तँ जुनसुकै देश र सामाजिक वातावरणमा भए पनि, ती सबैमा परमेश्वरले तेरो निम्ति तयार र बन्दोबस्त गर्नुभएको उचित वातावरण हुन्छ। यो सब तैँले सत्यता पछ्याउँछस् वा पछ्याउँदैनस्, त्यसमा भर पर्छ। आरामदायी वातावरणले मानिसहरूको लागि परीक्षाहरू निम्त्याउँछ भने यातनाद्वारा गरिने सतावटले पनि मानिसहरूको लागि परीक्षा र जाँचहरू निम्त्याउँछ। के त्यसोभए आरामदायी वातावरणहरूमा पनि जाँच हुन्छन् त? परमेश्वरले लिने जाँचहरू पनि हुन्छन् नि। परमेश्वरले तेरो लागि यो आरामदायी वातावरण बन्दोबस्त गर्नुभएको छ, अनि सबैकुरा तैँले यसलाई कसरी अनुभव गर्छस्—तँ शैतानको जाल र परीक्षामा पूर्णरूपमा फस्नेछस् कि आफ्नो निष्ठा र कर्तव्य कायम राख्दै हरेक तवरले यसमाथि विजय पाएर परमेश्वरको साक्षी बन्नेछस् भन्नेमा भर पर्छ। यो सब तैँले यसलाई कसरी अनुभव गर्छस् र तेरा रोजाइहरू के-के हुनेछन् भन्नेमा भर पर्छ। मूख्यभूमि चीनका दाजुभाइ-दिदीबहिनीहरूको वातावरण अलि बढी कठोर छ, र परमेश्वरले तिनीहरूलाई अलि बढी गह्रुँगो भार दिनुभएको छ अनि अलि बढी रुखो वातावरण तयार गर्नुभएको छ, तर उहाँले तिनीहरूलाई झन् धेरै पनि दिनुभएको छ। परमेश्वरले तयार गर्ने वातावरण जति कठोर अनि परीक्षाहरू जति ठूला हुन्छन्, मानिसले त्यति नै बढी प्राप्त गर्छन्। तर आरामदायी वातावरणमा पनि मानिसले जताततै परीक्षा र जाँचहरू अनुभव गर्छन्, अनि परमेश्वरले तँलाई पनि धेरै दिनुभएको छ। यदि तैँले हरेक पटक ती परीक्षाहरू सामना गर्दा तीमाथि विजय पाउन सक्छस् भने, तैँले यातनाद्वारा सतावट अनुभव गर्ने तेरा दाजुभाइ-दिदीबहिनीहरूभन्दा केही कम प्राप्त गर्नेछैनस्। यसका लागि पनि सत्यता पछ्याउनुपर्छ अनि विजयी हुने कद हासिल गर्नुपर्छ। उदाहरणका लागि, तँ आफ्नो परिवारसँग हुने, राम्रो खानपान गर्ने, मनोरञ्जन र आनन्द जस्ता कुराहरू, अनि देहलाई आराम दिने र पतन गराउने केही सामाजिक चलनहरू सब तेरो लागि परीक्षा हुन्। जब तैँले यी परीक्षाहरू सामना गर्छस् तिनमा तेरो नजर जाने मात्र होइन, तँलाई तिनले बाधा पुऱ्याउने र लोभ्याउने पनि गर्छन्। जब तँ सांसारिक कुरा अनि चलनहरू पछ्याउँछस्, तब शैतानका परीक्षा, वा भनौँ—परमेश्वरका जाँचहरू देखा पर्नेछन्। तैँले ती परीक्षा र जाँचहरूको कसरी जवाफ दिने भनेर छनौट गर्नुपर्नेछ र परमेश्वरले मानिसलाई जाँच्नुहुने र तिनीहरूलाई तिनीहरूको वास्तविक रूप देखाउनुहुने बेला यही नै हो। तँमा परमेश्वरले भन्नुभएको कुरा र तैँले बुझेका सत्यताहरूको प्रभाव देखिनुपर्ने समय यही हो। यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् अनि तेरो हृदयमा परमेश्वरप्रति साँचो आस्था छ भने तैँले यी परीक्षाहरूमाथि विजय पाउन सक्नेछस् अनि परमेश्वरले तेरो लागि तयार पार्नुभएको जाँचमा दह्रिलो गरी खडा भएर उहाँको साक्षी दिन सक्नेछस्। यदि सत्यतालाई प्रेम गर्नुको सट्टा तँ संसारलाई, चलनहरूलाई, आनन्दको तृष्णा र आफ्नो देह सन्तुष्टि अनि खोक्रो जीवनलाई प्रेम गर्छस् भने तैँले यी सांसारिक कुराहरूलाई पछ्याउनेछस्। तैँले यी कुराहरूप्रति लगाव महसुस गर्नेछस् अनि ती कुराप्रति आकर्षित भएर तिनको अधीनमा पर्नेछस्। अलिअलि गर्दै, तेरो हृदयबाट परमेश्वरप्रतिको विश्वासको रूचि हराउँदै जानेछ, तँ सत्यतादेखि दिक्क हुनेछस्, अनि त्यसपछि, परीक्षामाझ नै, तँलाई शैतानले खोसेर लानेछ। यस्तो परीक्षामा तैँले आफ्नो गवाही गुमाएको हुनेछस्। यस्ता कैयौँ मानिसहरू छन् जसले धेरै प्रवचनहरू सुनेका छन् अनि आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् तर अझै भित्र खोक्रो महसुस गर्छन्। तिनीहरू अझै पनि पप कलाकारहरू अनि प्रसिद्ध व्यक्तित्वहरूलाई पछ्याउन, चलनहरूअनुसार चल्न, टीभीमा मनोरञ्नात्मक कार्यक्रमहरू हेर्न, अनि निशाचर बन्दै रातभर कार्यक्रमहरू लगातार हेर्नसम्म पनि रुचाउँछन्। केही युवाहरू त भिडियो गेमहरू पनि खेलिरहेका छन्। समग्रमा भन्नुपर्दा, तिनीहरू कुनै पनि मूल्य तिर्न र उन्माद भएर यी चलनचल्तीका कुराहरू पछ्याउन हिच्किचाउँदैनन्। अनि तिनीहरू किन यसो गर्छन्? किनकी तिनीहरूले सत्यता पाएका छैनन्। सत्यता नपाएका मानिसहरूमा परमेश्वरमा विश्वास गर्नु र उहाँमा विश्वास नगर्नुमा खासै केही फरक देखिन्न त भन्ने निश्चित भाव हुन्छ। तिनीहरू अझ पनि आफ्नो हृदयभित्र खोक्रोपन र आफ्नो जीवन अर्थहीन भएको महसुस गर्छन्। यदि तिनीहरूले चलनहरू पछ्याए भने बढी परिपूर्ण भएको महसुस गर्छन्, आफ्नो जीवनमा अलि बढी समृद्दि भएको, अनि दैनिक हिसाबमा अलि बढी खुसी भएको महसुस गर्छन्। यदि तिनीहरू परमेश्वरमा विश्वास गर्छन् अनि चलनहरू पछ्याउँदैनन् भने पनि तिनीहरू आफ्नो जीवन अर्थहीन र खोक्रो भएको महसुस गर्छन्। किनकी तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। तैँले ढुक्क भएर के पनि भन्न सक्छस् भने तिनीहरूले अलिकति पनि सत्यता बुझ्दैनन् र तिनीहरूसँग सत्यता वास्तविकता छैन, र तसर्थ तिनीहरू चलनहरू नपछ्याई जिउन सक्दैनन्। केही मानिसहरूले कहिल्यै पनि सत्यता पछ्याएका छैनन् अनि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गरिरहँदा पनि अशान्त हुन्छन्। तिनीहरू परीक्षा सामना गर्दा दह्रिलो भएर खडा हुन सक्दैनन् अनि अन्तत: तिनीहरू पछि हट्नै पर्ने हुन्छ। केही मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्न थाल्दा एकदम जोसिलो र दृढ हुन्छन् तर परीक्षाहरू सामना गर्नेबित्तिकै कर्तव्य निर्वाह गर्नै चाहँदैनन्, लापरवाह र झारा-टारुवा बन्छन् अनि तिनमा भक्तिभाव नै हराउँछ। यसमा कुनै गवाही हुँदैन। यदि तिनीहरू परीक्षाहरू सामना गर्नेबित्तिकै आफ्नो कर्तव्य त्याग्न अनि आफूलाई जे ठिक लाग्छ त्यही रोज्न सक्छन् भने तिनीहरूमा कुनै गवाही हुँदैन। यदि अर्को परीक्षा आयो भने तिनीहरूले परमेश्वरलाई इन्कार गर्ने र सांसारिक चलनहरू पछ्याउन चाहने अनि मण्डली छोड्ने सम्भावना हुन्छ। वा अर्को परीक्षा आउँदा तिनीहरू परमेश्वरलाई शङ्का गर्न थाल्छन् र उहाँको अस्तित्त्व छ कि छैन भन्नेमा पनि निश्चित हुँदैनन्, अनि अझ तिनीहरू बाँदरबाट विकास भएका हुन् भनेर समेत विश्वास गर्न थाल्छन्। यी मानिसहरूलाई शैतानले पूर्णरूपमा कब्जा गरिर्सकेको छ। तिनीहरू यी सब परीक्षाहरूमा अल्झिएर परमेश्वरलाई प्रार्थना गर्ने वा सत्यता खोज्ने नै गर्दैनन्। तिनीहरू केवल आफ्नो देहको नियतिबारे मात्र सोच्छन् अनि परिणामस्वरूप आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन सक्दैनन्। तिनीहरू पाइला दर पाइला शैतानद्वारा नर्क अनि मृत्युको पातालभित्र घिसारिन्छन्। परमेश्वरले यो व्यक्तिलाई शैतानको हातमा सुम्पिदिनुभएको छ अनि ऊसँग यस उप्रान्त मुक्ति पाउने कुनै अवसर हुँदैन। मलाई भन्, के सत्यता पछ्याउनु महत्त्वपूर्ण छैन? (महत्त्वपूर्ण छ।) सत्यता एकदम महत्त्वपूर्ण छ। सत्यताले कुन प्रकार्य पूरा गर्न सक्छ? कम्तीमा पनि, तैँले परीक्षा सामना गर्दा यसले तँलाई शैतानका षड्यन्त्रहरू छर्लङ्ग देख्न, तैँले के गर्नुपर्छ र के गर्नुहुँदैन अनि के छान्नुपर्छ भनेर जान्न मद्दत गर्छ। कमसेकम सत्यताले तँलाई यी कुराहरू जान्ने तुल्याउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यताले तँलाई परीक्षामा दह्रिलो गरी खडा हुन सक्ने बनाउँछ। तँ दह्रिलो गरी, दृढ र अटल भएर खडा हुन सक्नेछस्, र साथै तँ परमेश्वरले दिनुभएको कर्तव्य कायम राख्न, यस कर्तव्यमा निष्ठावान् हुन, अनि शैतानलाई अस्वीकार गर्न सक्नेछस्। अय्यूबले गरेझैँ तँ पनि परीक्षाहरूमाझ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन सक्नेछस्। मानिसहरूले सत्यता पछ्याएर कम्तीमा यति चाहिँ पाउनुपर्ने हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

पृथ्वीमा अनेक किसिमका दुष्ट आत्‍माहरू सँधै नै विश्राम स्थलको खोजीमा हुन्छन्, र उपभोग गर्नका लागि सधैँ मानव लाशहरू खोजिरहन्छन्। हे मेरा मानिसहरू हो! तिमीहरू मेरो हेरचाह र सुरक्षाभित्र नै रहनुपर्छ। कहिल्यै विशृङ्खल नहोऊ! कहिल्यै पनि लापरवाहीसाथ व्यवहार नगर! मेरो घरमा तैँले आफ्‍नो बफादारीता देखाउनुपर्छ, र बफादारीताद्वारा मात्रै तैँले दियाबलसहरूका चलाकीहरूविरुद्ध प्रत्याक्रमण गर्न सक्छस्। तैँले कुनै पनि हालतमा विगतमा जस्तो मेरो अगाडि एउटा कुरा गर्ने र मेरो पछाडि अर्को कुरा गर्ने गर्नुहुँदैन; यदि तैँले यस्तो व्यवहार गरिस् भने, तँ पहिले नै छुटकाराभन्दा पर हुन्छस्। के मैले पर्याप्त रूपमा यस्ता वचनहरू उच्‍चारण गरिसकेको छैनँ र? मानवजातिको पुरानो स्वभाव सुधार गर्न नसकिने भएकोले नै मैले मानिसहरूलाई बारम्‍बार स्मरण गराउनु परेको छ। न्यास्रो नबन्! मैले भन्‍ने सबै कुरा तिमीहरूको गन्तव्यलाई निश्‍चित गर्नको खातिर नै हो! शैतानलाई चाहिने भनेकै मैला र फोहोरी स्थान हो; तिमीहरू संयमताप्रति समर्पित हुन इन्कार गर्दै जति धेरै उद्धार गर्न नसकिने र विशृङ्खल हुन्छौ, ती अशुद्ध आत्माहरू तिमीहरूमा घुसपैठ गर्ने कुनै पनि मौकाको लागि त्यति नै धेरै लागि पर्छन्। यदि तिमीहरू यस विन्दुसम्‍म आइपुगेका छौ भने, तिमीहरूको बफादारीता कुनै पनि वास्तविकताविनाको फोकट गफबाहेक केही पनि होइन, अनि अशुद्ध आत्‍माहरूले तिमीहरूको सङ्कल्पलाई सलक्क निल्‍नेछन् र यसलाई मेरो काममा वाधा दिनको लागि प्रयोग गरिन विद्रोह र शैतानिक षड्यन्त्रमा रूपान्तरण गर्छन्। त्यहाँबाट, तिमीहरूलाई म कुनै पनि बेला प्रहार गर्न सक्छु। यो अवस्थाको गम्‍भीरतालाई कसैले बुझ्‍न सक्दैन; आफूले सुन्‍ने कुराप्रति मानिसहरू कानमा तेल हालेर बस्छन्, र अलिकति पनि सचेत हुँदैनन्। विगतमा गरिएको कुरालाई म स्मरण गर्दिनँ; के तँ अझै पनि मैले फेरि “बिर्सेर” तँप्रति उदार हुन्छु भन्‍ने प्रतीक्षा गरिरहेको छस्? मानवले मेरो विरोध गरे तापनि, यसको म ईख बोक्नेछैन, किनभने तिनीहरू अत्यन्तै साना कदका छन्, र मैले तिनीहरूबाट अत्यन्तै उच्‍च माग गरेको छैनँ। मैले माग गर्ने कुरा भनेको तिनीहरू भ्रष्ट नहोऊन्, र निषेधप्रति समर्पित होऊन् भन्‍ने हो। यो सर्त पूरा गर्नु अवश्य नै तिमीहरूको क्षमताभन्दा बाहिरको कुरा होइन, हो त?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १०

परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दापछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दापछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। उदाहरणको लागि, यदि तँ तेरा दाजुभाइ तथा दिदी-बहिनीप्रति पूर्वाग्रही छस् भने, तँलाई भन्न मन लागेका वचनहरू तँसँग हुनेछन्—यस्ता वचन जुन परमेश्‍वरलाई अप्रिय लाग्न सक्छ—तर यदि तैँले ती वचनहरू उनीहरूलाई भनिनस् भने, तँलाई आन्तरिक असुविधा हुनेछ, र यो क्षणमा, तँभित्र एउटा लडाइँ सुरु हुन्छ: “म बोलूँ कि नबोलुँ?” लडाइँ यही नै हो। तसर्थ, तैँले सामना गर्ने प्रत्येक कुरामा लडाइँ हुन्छ, र जब तँभित्र लडाइँ हुन्छ, तेरो वास्तविक सहकार्य र वास्तविक कष्टका कारण, परमेश्‍वरले तँभित्र कार्य गर्नुहुन्छ। अन्ततोगत्वा, तँ उक्त विषयलाई आफूभित्र पन्छाउन सक्षम हुन्छस् र रिस प्राकृतिक रूपमा हराएर जान्छ। परमेश्‍वरसँगको तेरो सहकार्यको प्रभाव यस्तो हुन्छ। मानिसहरूले गर्ने प्रत्येक कुराले उनीहरूलाई उनीहरूको प्रयासमा निश्चित मूल्य चुकाउन लगाउँछ। वास्तविक कठिनाइविना, उनीहरूले परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्दैनन्; उनीहरू परमेश्‍वरलाई सन्तुष्ट बनाउने दिशामा नजिक पनि आउन सक्दैनन्, र उनीहरूले खोक्रा नाराहरू मात्रै भट्याइरहेका हुन्छन्! के यी खोक्रा नाराहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्छन्? जब आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई साक्षी दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो जाँच हो र साक्षी दिनका लागि परमेश्‍वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्‍ने तँलाई थाहा हुनुपर्छ। यिनीहरू बाहिरबाट महत्त्वपूर्ण नदेखिए पनि, जब यी कुराहरू हुन्छन् तैँले परमेश्‍वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्‍ने कुरा तिनले देखाउँछ। यदि तैँले प्रेम गर्छस् भने, तँ उहाँलाई साक्षी दिन दह्रिलो भएर खडा हुन सक्नेछस्, र यदि तैँले उहाँप्रतिको प्रेमलाई अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यलाई अभ्यास गर्न सक्ने व्यक्ति होइन, तँ सत्यविहीन छस्, र तँ जीवन विहीन छस्, कि तँ भुस होस् भन्‍ने देखाउँछ! मानिसहरूलाई हुने सबै कुराहरू त्यति बेला हुन्छ जति बेला दह्रिलो भएर साक्षी दिनका लागि खडा हुन परमेश्‍वरलाई उनीहरूको आवश्यकता पर्छ। उक्त क्षणमा तँलाई कुनै उल्लेखनीय कुरा भइरहेको हुँदैन र तैँले उत्कृष्ट साक्षी दिन सक्दैनस्, तैपनि तेरो दैनिक जीवनको प्रत्येक विवरण नै परमेश्‍वरलाई साक्षी दिने विषय हो। यदि तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरू, तेरो परिवारका सदस्यहरू, र तेरो वरिपरि भएका प्रत्येकको प्रशंसा हासिल गर्न सकिस् भने; यदि, कुनै दिन, गैरविश्‍वासीहरू आउँछन् र तैँले गरेका सबै कुराहरूको प्रशंसा गर्छन्, र परमेश्‍वरले गर्ने सबै कार्यहरू अद्भुत छन् भन्‍ने देख्छन् भने, तैँले साक्षी दिएको हुनेछस्। तँसँग कुनै अन्तर्ज्ञान छैन र तेरो क्षमता कमजोर भए तापनि, परमेश्‍वरले तँलाई दिनुभएको सिद्धतामार्फत, एकदमै कमजोर क्षमता भएका व्यक्तिहरूमा उहाँले गर्नुभएको महान् कार्यको बारेमा अरूलाई देखाउँदै तँ उहाँलाई सन्तुष्ट बनाउन सक्षम हुन्छस् र उहाँका अभिप्रायलाई ख्याल गर्न सक्छस्। जब मानिसहरू परमेश्‍वरलाई जान्न थाल्छन् र शैतानको अगाडि विजयी हुन्छन्, धेरै हदसम्म परमेश्‍वरप्रति निष्ठावान् हुन्छन्, तब मानिसहरूको यो समूहभन्दा अरू कसैसँग पनि बढी मेरुदण्ड हुँदैन, र यो नै सबैभन्दा महान् साक्षी हो। तँ महान् कार्य गर्न अक्षम भए तापनि, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस्। अरूले आफ्ना धारणाहरूलाई पन्छाउन सक्दैनन्, तर तैँले सक्छस्; अरूले उनीहरूको वास्तविक अनुभवको दौरान साक्षी दिन सक्दैनन्, तर तैँले आफ्नो वास्तविक कद र कार्यहरूको प्रयोग गर्दै परमेश्‍वरको प्रेमको ऋण तिर्न र उहाँलाई सशक्त साक्षी दिन सक्छस्। यसलाई मात्रै परमेश्‍वरलाई वास्तवमा प्रेम गरेको रूपमा गणना गरिन्छ। यदि तँ यसो गर्न अक्षम छस् भने, तैँले तेरो परिवारका सदस्य, तेरा दाजुभाइ तथा दिदीबहिनीहरू वा संसारका मानिसहरूको माझमा साक्षी दिँदैनस्। यदि तैँले शैतानको सामु साक्षी दिन सक्दैनस् भने, शैतान तँप्रति हाँस्नेछ, त्यसले तँलाई मजाकको रूपमा व्यवहार गर्नेछ, खेलौनाको रूपमा, यसले तँलाई प्रायः मूर्ख र पागल बनाउनेछ। भविष्यमा, तँमाथि ठूला जाँचहरू आइपर्नेछन्—तर आज, यदि तैँले परमेश्‍वरलाई साँचो हृदयले प्रेम गरिस् भने, र यदि, अगाडि आउने जाँचहरू जतिसुकै ठूलो भए तापनि, तँलाई जेसुकै भए पनि, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन र परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम भइस् भने, तेरो हृदयलाई आराम हुनेछ, र तैँले भविष्यमा जतिसुकै ठूलो जाँचको सामना गर्नु परे पनि, तँ डराउने छैनस्। तिमीहरूले भविष्यमा के हुन्छ भनेर देख्न सक्दैनौं, आजको परिस्थितिमा तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट मात्रै बनाउन सक्छौं। तिमीहरूले कुनै पनि महान् कार्य गर्न सक्दैनौ र तिमीहरूले वास्तविक जीवनमा परमेश्‍वरको वचनहरूको अनुभव गर्दै परमेश्‍वरलाई सन्तुष्ट बनाउनेमा ध्यान दिनुपर्छ, र शैतान तिरस्कृत हुने गरी बलियो र सशक्त साक्षी दिनुपर्छ। तेरो देह असन्तुष्ट नै रहनेछ र देहले कष्ट भोगेको हुनेछ, तैपनि तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाएको हुनेछस् र शैतानको तिरस्कार गरेको हुनेछस्। तैँले यसरी अभ्यास गरिस् भने, परमेश्‍वरले तेरो सामु मार्ग खोलिदिनु हुनेछ। जब, एक दिन, ठूलो जाँच आउँछ, अरू सबै ढल्नेछन्, तर तँ अझै पनि दह्रिलो भएर खडा हुन सक्षम हुनेछस्: तैँले चुकाएको मूल्यको कारण, परमेश्‍वरले तेरो रक्षा गर्नुहुनेछ ताकि तँ दह्रिलो भएर खडा हुन सक् र ढल्न नपरोस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

तिमीहरू आज कस्ता परीक्षाहरू सामना गर्न सक्षम छौ? तिमीहरूसँग जग छ भन्ने हिम्मत गर्छौ, के तिमीहरू प्रलोभनको सामना गर्दा दृढ उभिन सक्षम छौ? उदाहरणका लागि, शैतानद्वारा खेदो र सतावटका प्रलोभनहरू, वा पद र प्रतिष्ठा, विवाह वा धनको परीक्षाहरू, के तिमीहरू यी प्रलोभनहरू पार गर्न सक्षम छौ? (हामी तीमध्ये केहीलाई प्राय पार गर्न सक्छौं।) प्रलोभनका कतिवटा श्रेणीहरू छन्? र तिमीहरू कुन श्रेणीलाई पार गर्न सक्छौ? उदाहरणका लागि, परमेश्वरमा विश्वास गरेको कारण कोही व्यक्ति गिरफ्तार भएको सुन्दा तँ डराउँदैनस् होला, र अरूलाई गिरफ्तार गरिएको र यातना दिएको देख्दा तँ डराउँदैनस् होला—तर जब तँ पक्राउ पर्छस्, जब तँ आफूलाई यो अवस्थामा पाउँछस्, के तँ दृढ भई खडा रहन सक्षम हुन्छस्? यो ठूलो प्रलोभन हो, हैन र? उदाहरणका लागि, मानौँ तँ कोही चिन्छस्, असल मानवत्व भएको कोही चिन्छस्, जो परमेश्वरमाथिको आफ्नो विश्वासमा उत्कट छ, जसले आफ्नो कर्तव्य पूरा गर्न परिवार र कार्य-जीवन त्यागेको छ र धेरै कठिनाइ भोगेको छ: एक दिन अचानक उसलाई परमेश्वरमाथिको उसको विश्वासको लागि गिरफ्तार गरिन्छ र उसले जेल सजाय पाउँछ, र तैँले सुन्छस् कि पछि उसलाई कुटपिट गरेर मारियो। के यो तेरो प्रलोभन हो? यदि तँलाई यस्तो भयो भने तैँले कस्तो प्रतिक्रिया जनाउनेथिस्? तैँले यो कसरी अनुभव गर्नेथिस्? के तैँले सत्यता खोज्नेथिस् तैँले सत्यता कसरी खोज्नेथिस्? यस्तो प्रलोभनको दौरान, के तैँले आफैलाई दृढ भई खडा हुने र परमेश्वरको अभिप्राय बुझ्ने बनाउन सक्थिस्, र के यसबाट सत्यता प्राप्त गर्थिस्? के तैँले कहिल्यै यस्ता कुराहरू विचार गरेको छस्? के यस्ता प्रलोभनहरू पार गर्न सजिलो छ? के ती असाधारण छन्? असाधारण र मानव धारणा र कल्पनाको विपरीत हुने कुराहरूलाई कसरी अनुभव गरिनुपर्छ? यदि तँसँग कुनै मार्ग छैन भने, के तँ गुनासो गर्न योग्य छस्? के तँ परमेश्वरका वचनहरूमा सत्यता खोज्न र समस्याहरूको सार देख्न सक्षम छस्? के तँ अभ्यासका सही सिद्धान्तहरू निर्धारण गर्नका लागि सत्यता प्रयोग गर्न सक्षम छस्? सत्यता पछ्याउनेहरूमा यही कुरा पाइनुपर्दैन र? तैँले परमेश्‍वरको काम कसरी जान्‍न सक्छस्? तैँले यसलाई परमेश्वरको न्याय, शुद्धीकरण, मुक्ति र सिद्धता हासिल गर्न कसरी अनुभव गर्नुपर्छ? मानिसहरूको परमेश्वरको विरुद्धको असंख्य धारणा र गुनासोहरू समाधान गर्न के-के सत्यताहरू बुझ्नुपर्छ? तैँले आफूलाई सुसज्जित पार्नु पर्ने सबैभन्दा उपयोगी सत्यताहरू के हुन्; सत्यताहरू जसले तँलाई विभिन्न परीक्षाहरूको बीचमा दृढ खडा रहने तुल्याउँछ? अहिले तेरो कद कति ठूलो छ? तँ कुन हदका प्रलोभनहरू पार गर्न सक्षम छस्? तँलाई केही अनुमान छ? छैन भने, यो सन्देहयुक्त छ। तैँले भर्खरै तँ “तीमध्ये केहीलाई लगभग जित्न सक्छस्” भनेको थिइस्। यी भ्रमित कुरा हुन्। तँ सँग कस्तो प्रकारको कद छ, तैँले कुन सत्यताहरूले आफूलाई सुसज्जित गरिसकिस्, कुन प्रलोभनहरूलाई पार गर्न सक्छस्, तँ कुन परिक्षाहरूलाई स्वीकार गर्न सक्षम छस्, र कुन परिक्षाहरू को दौरान तँ सँग कुन सत्यता हुनुपर्छ, परमेश्वरको कामबारे के ज्ञान हुनुपर्छ र परमेश्वरलाई सन्तुष्ट पार्न कुन बाटो रोज्नुपर्छ भनेर तँ स्पष्ट हुनैपर्छ—यी सबैको बारेमा तँलाई राम्ररी थाहा हुनैपर्छ। जब तँ तेरो धारणा र कल्पनाहरूसँग मेल नखाने केहि कुरा सामना गर्छस्, तब तँ त्यसलाई कसरी अनुभव गर्छस्? त्यस्ता मामिलाहरूमा, तैँले कसरी आफूलाई सत्यताले सुसज्जित गर्नुपर्छ—र सत्यताका कुन पक्षहरूले आफूलाई सुसज्जित गर्नुपर्छ—सहज रूपमा पार गर्नका लागि, आफ्ना धारणाहरू समाधान गरेर मात्र होइन, तर परमेश्वरको साँचो ज्ञान प्राप्त गरेर—के तैँले खोज्नु पर्ने यही होइन? तिमीहरूले सामान्यतया कस्ता प्रकारका प्रलोभनहरू अनुभव गर्छौ? (हैसियत, ख्याति, लाभ, पैसा, पुरुष र महिला बीचका सम्बन्धहरू।) यी, मूलतः, सामान्य हुन्। र आज तिमीहरूको कदको सन्दर्भमा, तिमीहरू कुन प्रलोभनहरूमा आफूलाई कायम राख्न र दृढ खडा रहन सक्षम छौ? के तिमीहरूसँग यी प्रलोभनहरू पार गर्ने वास्तविक कद छ? के तिमीहरू आफ्नो कर्तव्य ठीकसँग पूरा गर्नेछौ, र सत्यतालाई उल्लङ्घन गर्ने, वा अवरोध र बाधा पुऱ्याउने, वा अवज्ञाकारी र विद्रोही, वा परमेश्वरलाई दुखी तुल्याउने कुनै पनि काम गर्दैनौ भनी साँच्चै ठोकुवा गर्न सक्छौ? (सक्दैनौ।) त्यसोभए तैँले आफ्नो कर्तव्यलाई सही रूपमा पूरा गर्न के गर्नुपर्छ? एउटा त, तेरो कार्यहरू सत्यता सिद्धान्तहरू अनुसार छन् वा छैनन्, लापरवाह छन् वा छैनन्, त्यसमा विद्रोही वा प्रतिरोधी तत्वहरू छन् वा छैनन् भनेर हेर्नको निम्ति, तैँले सबै कुरामा आफैलाई जाँच्नैपर्छ। यदि छन् भने, तैँले तिनीहरूलाई समाधान गर्न सत्यताको खोजी गर्नैपर्छ। यसका साथै, यदि तँलाई आफ्नो बारेमा थाहा नभएका कुरा भएमा, तैँले तिनीहरूलाई समाधान गर्न सत्यताको खोजी गर्नैपर्छ। यदि तँलाई काँटछाँट गरिएको छ भने, तैँले त्यसलाई स्वीकार गरेर समर्पण गर्नुपर्छ। जबसम्म मानिसहरू तथ्यहरू अनुसार बोल्छन्, तबसम्म तँ तिनीहरूसँग तर्क-वितर्क गर्न र परिष्कारमा संलग्न हुन निश्चय नै सक्दैनस्; तब मात्र तैँले आफैलाई चिन्न सक्छस् र साँच्चै पश्चात्ताप गर्न सक्छस्। मानिसहरूले कुराहरूको यी दुई पक्षहरूको आवश्यकताहरू पूरा गर्नुपर्दछ र तिनीहरूसँग वास्तविक प्रवेश हुनुपर्छ। यसरी, तिनीहरूले सत्यताको बुझाइ प्राप्त गर्न सक्छन् र वास्तविकतामा प्रवेश गर्न सक्छन्, र स्वीकार्य मापदण्डमा आफ्नो कर्तव्य पूरा गर्न सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ

दैनिक जीवनमा, मानिसहरू हरप्रकारका मानिस, घटना र वस्तुहरूको सम्पर्कमा आउँछन्, र यदि तिनीहरूमा सत्यता छैन र तिनीहरूले प्रार्थना गरेर सत्यता खोज्दैनन् भने, प्रलोभन फाल्न तिनीहरूलाई कठिन लाग्नेछ। उदाहरणको लागि, पुरुष र महिलाबीचको सम्बन्धहरूकै कुरा गरौँ। कतिपय मानिसहरू यस्ता प्रलोभनहरूको प्रतिरोध गर्न सक्दैनन्, र यस्तो परिस्थिति सामना गर्नेबित्तिकै तिनीहरू फस्छन्। के यसले कदको हिसाबले तिनीहरू अति साना छन् भन्‍ने देखाउँदैन र? सत्यता नभएका मानिसहरू यस्तै दयनीय हुन्छन् र तिनीहरूले कदापि साक्षी दिँदैनन्। कतिपय मानिसहरू पैसासम्बन्धी परिस्थिति सामना गर्नुपर्दा प्रलोभनमा फस्छन्। जब तिनीहरूले पैसा भएको अरू कोही व्यक्ति देख्छन्, तिनीहरू गुनासो गर्छन्, “तिनीहरूसँग किन यति धेरै पैसा छ र मचाहिँ किन यति गरिब छु? यो न्यायसङ्गत भएन।” आफूलाई यस्तो हुँदा तिनीहरू गुनासो गरिहाल्छन्, र तिनीहरू यो परमेश्‍वरबाट आएको भनेर स्विकार्न वा उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्दैनन्। कतिपय यस्ता मानिसहरू पनि छन् जो सधैँ हैसियतमाथि केन्द्रित हुन्छन्, र यस्तो परीक्षा सामना गर्नुपर्दा, तिनीहरूले त्यसबाट पार पाउन सक्दैनन्। उदाहरणको लागि, एउटा गैरविश्‍वासीले तिनीहरूलाई कुनै आधिकारिक पदमा राख्‍न चाहन्छ, जसबाट तिनीहरूलाई थुप्रै फाइदाहरू हुन सक्छ, अनि तिनीहरू अडिग रहन सक्दैनन्। तिनीहरू सोच्छन्, “के म यो काम गरूँ?” अनि, तिनीहरू प्रार्थना र मनन गर्छन्, र भन्छन्: “हो—मैले गर्नुपर्छ!” तिनीहरूले मन बनाइसकेका छन्, र अबउप्रान्त तिनीहरूले खोजी गर्नुको अर्थ छैन। तिनीहरूले त्यो आधिकारिक पद सम्हाल्ने र त्यसका लाभहरू प्राप्त गर्ने प्रस्ट निर्णय गरिसकेका छन्, तर तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दा प्राप्त हुने आशिष्‌हरू गुमाउने डरले गर्दा, फर्केर आउन र परमेश्‍वरमै विश्‍वास गर्न पनि चाहन्छन्। त्यसैले तिनीहरू उहाँलाई प्रार्थना गर्छन्: “कृपया मेरो परीक्षा लिनुहोस्, परमेश्‍वर।” तेरो के नै परीक्षा लिन बाँकी छ र? तैँले तेरो आधिकारिक पद सम्हाल्ने मन बनाइसकेको छस्। तँ यो मामिलामा अडिग रहिनस्, र तँ पहिल्यै फसिसकेको छस्। के तँलाई अझै परीक्षा गरिनु आवश्यक छ र? तँ परमेश्‍वरको परीक्षाको लायक नै छैनस्। के तैँले तेरो दयालाग्दो सानो कद लिएर उहाँको परीक्षा भोग्न सक्नेछस् र? कतिपय त्यस्ता घृणित मानिसहरू पनि हुन्छन् जो आफूले देख्ने जुनसुकै लाभको लागि प्रतिस्पर्धा गर्छन्। पवित्र आत्मा तिनीहरूकै छेउमै रहेर, तिनीहरूले कस्तो विचार व्यक्त गर्छन् र तिनीहरूको मनोवृति के छ भनी हेर्दै हुनुहुन्छ, र तिनीहरूको परीक्षा लिन थाल्दै हुनुहुन्छ। कतिपय मानिसहरू मनमनै सोच्छन्, “म यो चाहँदिनँ, चाहे त्यो मप्रतिको परमेश्‍वरको दया नै किन नहोस्। मसँग पहिल्यै त्यो पर्याप्त छ, र परमेश्‍वरले मलाई अति बढी दया देखाउनुहुन्छ। म राम्रो खानु र लाउनुको मतलब गर्दिनँ, म त सत्यता पछ्याउने र परमेश्‍वरलाई पाउन सक्षम हुनेबारे मात्र मतलब गर्छु। मैले जुन सत्यता प्राप्त गरेको छु त्यो मैले केही नगरीकनै परमेश्‍वरले मलाई दिनुभएको हो। म यी कुराहरूको लायक छुइनँ।” पवित्र आत्माले तिनीहरूको हृदय सूक्ष्म जाँच गर्नुहुन्छ र तिनीहरूलाई झन् बढी अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ, तिनीहरूलाई झन् बढी बुझ्ने र झन् बढी ऊर्जावान्‌ तुल्याउनुहुन्छ, र तिनीहरूको लागि सत्यता झन् बढी छर्लङ्गै बनाउनुहुन्छ। तर ती घृणित मानिसहरूले भने यसमा कुनै लाभ दिइँदै गरेको देख्छन् र यस्तो सोच्छन्, “म अरू कोहीभन्दा अघि त्यसको लागि लड्नेछु। यदि तिनीहरूले त्यो मलाई नदिएर अरू कसैलाई दिन्छन् भने, म तिनीहरूलाई दह्रो गाली दिनेछु र तिनीहरूलाई कठिनाइमा पार्नेछु। म तिनीहरूलाई म के चीज हुँ भनेर देखाउनेछु, अनि तिनीहरूले अर्कोपटक त्यो कसलाई दिँदा रैछन्, हेरौँला!” पवित्र आत्माले तिनीहरू यस्तै हुन् भनेर बुझ्नुहुन्छ र तिनीहरूको खुलासा गरिदिनुहुन्छ। तिनीहरूको कुरूपता पर्दाफास हुन्छ, र यस्तो व्यक्तिलाई दण्डित गरिनुपर्छ। तिनीहरूले जति धेरै वर्ष विश्‍वास गरे पनि, त्यसबाट तिनीहरूलाई केही हुनेवाला छैन। तिनीहरूले केही हासिल गर्न सक्‍नेछैनन्! धेरैजस्तो, पवित्र आत्माले मानिसहरूलाई जब दया देखाउनुहुन्छ, तिनीहरूले त्यो नसोचेको बेला प्राप्त गर्छन्। यदि परमेश्‍वरले तँलाई दया देखाउनुहुन्न भने, तेरो दण्ड पनि तैँले नसोचेकै समयमा हुनेछ। सत्यता नपछ्याउनेहरूको लागि परिस्थितिहरू यति खतरनाक हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो

यदि तँलाई आफूलाई आइपर्ने प्रलोभनहरूबारे थाहा छैन, तर तिनलाई राम्ररी सम्हाल्दैनस् र सही निर्णय गर्न सक्दैनस् भने, यी प्रलोभनहरूले तँमा शोक र दुःख र कष्ट ल्याउनेछ। उदाहरणका लागि, मानौँ तँप्रति दाजुभाई-दिदीबहिनीहरूको विशेष व्यवहारमा तँलाई गाँस, बास, र कपासको प्रबन्ध गर्ने, र तेरा दैनिक आवश्यकताहरू जुटाइदिने जस्ता भौतिक लाभहरू पर्छन्। यदि तैँले आनन्द लिने कुरा तिनीहरूले दिने कुराभन्दा राम्रो छ भने, तँ त्यसलाई तुच्छ ठान्छस्, र तैँले तिनीहरूका उपहारहरू लत्याउन सक्छस्। तर, यदि तैँले कुनै धनी मान्छे भेटिस् र उसले तँलाई आफूले नलगाउने भन्दै एउटा राम्रो सुट दिएको भए, के तँ यस्तो प्रलोभनसामु अडिग रहन सक्थिस्? हुन सक्छ तैँले त्यस परिस्थितिबारे सोच्छस्, मनमनै यसो भन्छस्, “ऊ धनी छ, र यी कपडाहरू उसका लागि केही पनि होइन। उसले यी कपडाहरू लगाउने पनि होइन। यदि उसले ती मलाई दिएन भने, त्यो पोका पारेर कतै पठाउनेछ। त्यसैले, म नै राख्नेछु।” त्यस निर्णयबारे तँ के भन्छस्? (तिनीहरूले हैसियतका लाभहरू लिनै रहेका छन्।) यो किन हैसियतका लाभहरू लिनु हो? (किनकि तिनीहरूले राम्रा कुराहरू स्वीकार गरे।) के तँलाई दिइएका राम्रा कुराहरू स्वीकार गर्न नै हैसियतका लाभहरू लिनु हो? यदि तँलाई कुनै सामान्य कुरा दिइयो, तर त्यो तँलाई चाहिएकै चीज हो र तैँले त्यो स्विकार्छस् भने, के त्यसलाई पनि हैसियतका लाभहरू लिएको मान्ने हो? (हो। तिनीहरू आफ्ना स्वार्थी चाहना पूरा गर्न अरूबाट चीजहरू स्विकार्छन् भने, त्यो हैसियतका लाभहरू लिनु हो।) तँ यसमा प्रस्ट छैनस् जस्तो देखिन्छ। के तैँले यसबारे कहिल्यै सोचेको छस्: यदि तँ अगुवा थिनस् र तँसँग हैसियत थिएन भने पनि, के उसले तँलाई यो उपहार दिनेथ्यो? (दिनेथेन।) उसले अवस्य दिनेथिएन। तँ अगुवा भएकाले उसले तँलाई यो उपहार दिन्छ। यो कुराको प्रकृति परिवर्तन भएको छ। यो सामान्य पुण्यकर्म होइन, र यसमा समस्या छ। यदि तैँले उसलाई “यदि म कुनै अगुवा नभएर एक सामान्य दाजुभाइ वा दिदीबहिनी भएको भए, के तिमीले मलाई यस्तो उपहार दिनेथ्यौ? यदि यो चीज कुनै दाजुभाइ वा दिदीबहिनीलाई चाहिएको भए, के तिमीले त्यो उनलाई दिनेथ्यौ?” भनेर सोधेमा, उसले यसो भन्नेथ्यो, “म सक्दिनथेँ। म चीजबीज सोचविचार नगरी जोकोहीलाई दिन सक्दिनँ। म त्यो तपाईंलाई दिन्छु किनभने तपाईं मेरो अगुवा हुनुहुन्छ। यदि तपाईंसँग यो विशेष हैसियत नभएको भए, किन म तपाईंलाई त्यस्तो उपहार दिनेथेँ र?” अब हेर् त, तैँले कसरी परिस्थिति बुझ्न सकेको छैनस्। उसले त्यो राम्रो सुट आफूलाई नचाहिने भन्दा तैँले उसलाई विश्वास गरिस्, तर ऊ तँलाई छल गरिरहेको थियो। उसको उद्देश्य तँलाई उसको उपहार स्विकार्न लगाउनु थियो ताकि भविष्यमा तैँले उसलाई राम्रो गरेस् र विशेष व्यवहार गर्न सकेस्। उसले उपहार दिन पछाडिको अभिप्राय यही हो। वास्तविकता के हो भने यदि तँसँग हैसियत नभएको भए उसले तँलाई त्यस्तो उपहार कहिल्यै दिने थिएन भन्ने कुरा तँलाई हृदयमा थाहा छ, तर पनि तँ त्यो स्वीकार गर्छस्। मुखले त तँ यसो भन्छस् “परमेश्वरलाई धन्यवाद होस्। मैले परमेश्वरबाटको यो उपहार स्विकारेको छु, त्यो मप्रति परमेश्वरको उपकार हो।” तँ हैसियतका लाभहरूलिन्छस् मात्र होइन, तर परमेश्वरका चुनिएका मानिसहरूको कामकुरामा पनि आनन्द लिन्छस्, मानौँ ती तेरै हुन्। के यो निर्लज्ज कुरा होइन? यदि मान्छेको विवेक चल्दैन र उसमा कुनै लाज छैन भने, समस्या त्यही हो। के यो व्यवहारको कुरा मात्र हो र? के अरूबाट चीजहरू स्वीकार गर्नु मात्र गलत र अस्वीकार गर्नुचाहिँ सही हो र? यस्तो परिस्थिति अइपर्दा तिमीहरूले के गर्नुपर्छ? तैँले यस उपहारदातालाई उसले जे गरिरहेको छ त्यो सिद्धान्तअनुरूप छ कि छैन भनेर सोध्नैपर्छ। उसलाई यसो भन्, “परमेश्वरको वचन वा मण्डलीका प्रशासनिक आदेशहरूमा मार्गदर्शन खोजौँ र तिमीले गरिरहेको कुरा सिद्धान्तअनुरूप छ कि छैन भनेर हेरौँ। यदि छैन रहेछ भने, म यस्तो उपहार स्विकार्न सक्दिनँ।” यदि ती स्रोतहरूले उक्त दातालाई उसको कार्यले सिद्धान्त उल्लङ्घन गर्छ तर पनि ऊ तँलाई उपहार दिन चाहन्छ भने, तैँले के गर्नुपर्छ? तँ सिद्धान्तअनुसार चल्नैपर्छ। सामान्य मानिसहरू यसबाट पार पाउन सक्दैनन्। तिनीहरू आफूलाई अरूले अझ धेरै देओस् भनेर उत्सुकतासाथ तृष्णा गर्छन्, र तिनीहरू झन् बढी विशेष व्यवहार पाउन चाहन्छन्। यदि तँ सही खालको व्यक्ति होस् भने, यस्तो कुनै परिस्थिति आइपर्दा तैँले तुरुन्तै परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, र यसो भन्नुपर्छ, “हे परमेश्वर, आज मलाई जे आइपरेको छु त्यो पक्कै पनि तपाईंको शुभेच्छाको सङ्केत हो। यो तपाईंले मेरा लागि बन्दोबस्त गरेको पाठ हो। म सत्यता खोज्न र सिद्धान्तअनुसार कार्य गर्न इच्छुक छु।” हैसियत भएकाहरूले सामना गर्ने प्रलोभनहरू अत्यन्तै भयङ्कर हुन्छन्, र प्रलोभन आएपछि, त्यसबाट पार पाउन वास्तवमै कठिन हुन्छ। तँलाई परमेश्वरको सुरक्षा र सहयोग चाहिन्छ; तैँले परमेश्वरलाई प्रार्थना गर्नैपर्छ, अनि तैँले सत्यता खोज्ने र बारम्बार आत्मचिन्तन गर्ने पनि गर्नैपर्छ। यसरी, तँलाई स्थिर र शान्ति अनुभूति हुनेछ। तर, यदि तँ त्यस्ता उपहारहरू प्राप्त नगरुञ्जेल प्रार्थना गर्दैनस् भने, के तैँले त्यसपछि पनि त्यस्तो स्थिर र शान्ति अनुभूति गर्नेछस्? (गर्दै गर्दिनस्।) त्यसपछि परमेश्वरले तेरो बारेमा के सोच्नुहुनेछ? तेरा कार्यहरूले परमेश्वर खुसी हुनुहुनेछ कि उहाँ ती कार्यलाई तिरस्कार गर्नुहनेछ? उहाँले तेरा कार्यहरूलाई तिरस्कार गर्नुहुनेछ। के समस्या तैँले कुनै कुरा स्विकार्छस् कि स्विकार्दैनस् भन्ने मात्रै हो? (होइन।) त्यसोभए, समस्या कहाँनेर छ? समस्या त तैँले कुनै त्यस्तो परिस्थिति सामना गर्दा अपनाउने विचार र मनोवृतिमै समस्या छ। के तँ आफै निर्णय गर्छस् कि सत्यता खोज्छस्? के तँसँग विवेकको कुनै स्तर छ? के तँमा परमेश्वरको भय मान्ने हृदय पक्कै छ? के तँ परिस्थिति आउँदा परमेश्वरलाई प्रार्थना गर्छस्? के तँ पहिला आफ्नै चाहनाहरू पूरा गर्न खोज्छस्, कि पहिला प्रार्थना गरेर परमेश्वरको इच्छा खोज्छस्? यस मामिलामा तेरो खुलासा हुन्छ। तैँले त्यस्तो परिस्थिति कसरी सम्हाल्नुपर्छ? तँसँग अभ्यासका सिद्धान्तहरू हुनैपर्छ। पहिला, तैँले बाहिरी रूपमा यी विशेष भौतिक लाभहरू, यी प्रलोभनहरू अस्वीकार गर्नैपर्छ। विशेष गरी तँलाई तैँले चाहेको चीज वा तँलाई ठ्याक्कै चाहिने चीज नै दिइए पनि, तैँले त्यसै गरी अस्वीकार गर्नैपर्छ। भौतिक कुरा भन्नाले के बुझिन्छ? त्यसमा गाँस, बास, र कपास, अनि दैनिक प्रयोगका कुराहरू सबै पर्छन्। यी भौतिक लाभहरू अस्वीकार गर्नैपर्छ। तैँले ती कुरा किन अस्वीकार गर्नैपर्छ? के त्यसो गर्नु तेरो कार्यशैलीको कुरा मात्र हो र? होइन; त्यो तेरो सहयोगी मनोवृतिको कुरा हो। यदि तँ सत्यता अभ्यास गर्न, परमेश्वरलाई सन्तुष्ट पार्न, र प्रलोभनबाट अलग बस्न चाहन्छस् भने, पहिला तँसँग यो सहयोगी मनोवृत्ति हुनैपर्छ। यस्तो मनोवृत्तिले तँ प्रलोभनबाट अलग बस्न सक्नेछस्, र तेरो विवेक शान्त हुनेछ। यदि तँलाई तैँले चाहेकै कुनै चीज दिइयो र तैँले त्यो स्वीकार गरिस् भने, तेरो विवेकले केही हदसम्म घोचेको हृदयमा महसुसहुनेछ। तर, तेरा बहानाबाजी र आत्म-स्पष्टीकरणहरूका कारण, तैँले यो चीज तँलाई दिनुपर्छ, त्यो तैँले नै पाउनुपर्छ भनेर भन्नेछस्। अनि त्यसपछि, तेरो विवेकले घोचेको पीडा त्यति सही प्रस्ट हुनेछैन। कहिलेकाहीँ, तेरा सोच र विचारहरूले तेरो विवेकलाई ढलपल पार्लान्, त्यसले गर्दा त्यसले घोचको पीडा प्रस्ट हुँदैन। त्यसोभए, के तेरो विवेक एक भरपर्दो मानक हो? होइन। यो मानिसहरूलाई चेतावनी दिने खतराको घण्टी हो। यसले कस्तो खालको चेतावनी दिन्छ? विवेकले भनेकोमा मात्र भर पर्दा सुरक्षा हुँदैन भन्ने चेतावनी दिन्छ; व्यक्तिले सत्यता सिद्धान्तहरू पनि खोज्नैपर्छ। भरपर्दो कुरा त्यही हो। सत्यताले मानिसहरूलाई नियन्त्रण गरेन भने, तिनीहरू अझै पनि प्रलोभनमा पर्न सक्छन्, जसले तिनीहरूलाई हैसियतका लाभप्रतिको लोभ पूरा गर्न लगाउने विभिन्न कारणहरू र बहानाहरू दिन्छन्। त्यसकारण, अगुवा भएको नाताले तँ हृदयबाट यो एउटै सिद्धान्तमा अडिग रहनुपर्छ: म सधैँ अस्वीकार गर्नेछु, सधैँ अलग बस्नेछु, र कुनै पनि विशेष व्यवहारलाई पूर्ण रूपमा इन्कार गर्नेछु। पूर्ण इन्कार भनेको दुष्टताबाट अलग बस्नका लागि पूर्वशर्त हो। यदि तँसँग दुष्टताबाट अलग बस्नका लागि पूर्वशर्त छ भने, तँ पहिल्यै केही हदसम्म परमेश्वरको सुरक्षामा छस्। र यदि तँसँग अभ्यासका त्यस्ता सिद्धान्तहरू छन्, र तँ त्यसप्रति अडिग छस् भने, तैँले सत्यता अभ्यास गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न थालिसकेको छस्। तँ सही मार्गमा हिँड्न थालिसकेको छस्। जब तँ सही मार्गमा हिँडिरहेको र परमेश्वरलाई सन्तुष्ट पार्न थालिसकेको हुन्छस्, तब के तैँले अझै आफ्नो विवेक जाँच्नु आवश्यक हुन्छ? सिद्धान्तहरू अनुसार कार्य गर्नु र सत्यता अभ्यास गर्नु विवेकको स्तरभन्दा ठूलो हो। यदि व्यक्तिमा सहकार्य गर्ने सङ्कल्प छ र ऊ सिद्धान्तअनुसार कार्य गर्न सक्षम छ भने, उसले परमेश्वरलाई सन्तुष्ट पारिसकेको हुन्छ। परमेश्वरले मान्छेबाट माग गर्ने स्तर यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने

तँ बारम्बार परमेश्‍वरसामु आउनैपर्छ, उहाँका वचनहरू खानु र पिउनुपर्छ अनि ती मनन गर्नुपर्छ, उहाँको अनुशासन र मार्गनिर्देशन स्वीकार गर्नुपर्छ, र समर्पणबाट पाठ सिक्नुपर्छ—यो एकदमै महत्त्वपूर्ण छ। तँ परमेश्‍वरले तेरा लागि बन्दोबस्त गरेका सबै वातावरण, मानिस, वस्तु र मामलाहरूप्रति समर्पित हुन सक्नैपर्छ, र जब तैँले बुझ्दै नबुझ्ने मामलाहरूको कुरा आउँछ, तैँले सत्यताको खोजी गर्दै बारम्बार प्रार्थना गर्नुपर्छ; परमेश्‍वरको इच्छालाई बुझेर मात्र तैँले अघि बढ्ने बाटो भेट्टाउनेछस्। तँमा परमेश्वरको भय मान्ने हृदय हुनैपर्छ। तैँले गर्नुपर्ने कुरा होसियारीपूर्वक र सावधानीपूर्वक गर्, अनि परमेश्वरप्रति समर्पित हृदयसहित उहाँसामु जिउने गर्। उहाँसामु प्रायः आफूलाई शान्त राख्, अनि दुराचारी नबन्। कम्तीमा, तँलाई केही आइपर्दा, पहिला आफूलाई शान्त पार्, त्यसपछि तुरुन्तै प्रार्थना गर्, अनि प्रार्थना, खोजी र प्रतीक्षा गरेर परमेश्वरको इच्छा बुझ्। के यो परमेश्वरको भय मान्ने मनोवृति होइन र? यदि तँ हृदयमा परमेश्वरको भय मान्छस् र उहाँप्रति समर्पित हुन्छस्, अनि उहाँसामु आफूलाई शान्त पार्न र उहाँको इच्छा बुझ्न सक्छस् भने, यस्तो सहकार्य र अभ्यासले गर्दा तेरो सुरक्षा हुनेछ, र तँ प्रलोभनमा पर्नेछैनस्, न त तैँले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याउने कुनै काम नै गर्नेछस्। तैँले प्रष्ट रूपमा देख्न नसक्ने मामिलाहरूमा सत्यता खोज्। अन्धाधुन्ध आलोचना वा निन्दा नगर्। यसो गर्दा, तँलाई परमेश्वरले घृणा गर्नुहुनेछैन, वा तिरस्कार गर्नुहुनेछैन। यदि तँमा परमेश्वरको भय मान्ने हृदय छ भने, तँ उहाँलाई चिढ्याउनदेखि डराउनेछस्, अनि तँलाई प्रलोभनमा पार्ने केही आइपऱ्यो भने, तँ परमेश्वरसामु डर र त्रासमा जिउनेछस्, अनि सबै कुरामा उहाँप्रति समर्पित हुने र उहाँलाई सन्तुष्ट पार्ने तीव्र इच्छा राख्नेछस्। तँसँग त्यस्तो अभ्यास भएपछि र बारम्बार आफूलाई परमेश्वरसामु शान्त पारेर अनि बारम्बार उहाँसामु आएर त्यस्तो स्थितिमा जिउन सकेपछि मात्र तँ थाहै नपाई प्रलोभन र दुष्ट कुराहरूबाट अलग बस्न सक्षम हुनेछस्। परमेश्वरको भय मान्ने हृदयविना, वा हृदय उहाँसामु छैन भने, तैँले केही दुष्ट काम गर्न सक्नेछस्। तँमा भ्रष्ट स्वभाव छ, र तँ त्यसलाई वशमा राख्न सक्दैनस्, त्यसैले तैँले दुष्ट काम गर्न सक्छस्। तैँले अवरोध र बाधा पुऱ्याउने जस्तो दुष्ट काम गर्ने हो भने, के त्यसका परिणाम गम्भीर हुनेछैनन् र? कम्तीमा, तँलाई काटछाँट गरिनेछ, र यदि तैँले गरेको काम गम्भीर रहेछ भने, परमेश्वरले तँलाई तिरस्कार गर्नुहुनेछ, र तँलाई मण्डलीबाट निष्कासित गरिनेछ। तर, यदि तँमा परमेश्वरप्रति समर्पित हृदय छ, अनि तेरो हृदय परमेश्वरसामु प्रायः शान्त हुन सक्छ भने, र यदि तँ परमेश्वरको भय मान्छस् र उहाँसँग भयभीत हुन्छस् भने, के तँ थुप्रै दुष्कर्मबाट धेरै टाढा रहन सक्नेछैनस् र? यदि तँ परमेश्वरको भय मानेर “म परमेश्वरदेखि भयभीत छु; म उहाँलाई चिढ्याउन, उहाँको काममा अवरोध पुऱ्याउन अनि उहाँको घृणा निम्त्याउन डराउँछु” भन्छस् भने, के यो तँमा हुने सामान्य मनोवृति र सामान्य स्थिति होइन र? के कुराले तँमा डर सिर्जना गरेको हुनेछ? परमेश्वरको भय मान्ने हृदयबाटै तँमा डर सिर्जना भएको हुनेछ। यदि तेरो हृदयमा परमेश्वरको डर छ भने, तँ दुष्कर्महरूबाट अलग बस्नेछस् र ती देखिस् भने त्यसलाई पन्छाउनेछस्, र यसरी तँ सुरक्षित हुनेछस्। के हृदयमा परमेश्वरको डर नहुने व्यक्तिले उहाँको भय मान्न सक्छ? के ऊ दुष्टताबाट अलग बस्न सक्छ? (सक्दैन।) के परमेश्वरको भय मान्न नसक्ने र उहाँसँग नडराउनेहरू निडर मानिस होइनन् र? के निडर मानिसहरूलाई नियन्त्रण गर्न सकिन्छ? (सकिँदैन।) अनि के ती नियन्त्रण गर्न नसकिने मानिसहरू आवेशमा आएर जे मन लाग्छ त्यही गर्दैनन् र? मानिसहरूले आफ्नै इच्छा, जोस, र भ्रष्ट स्वभावअनुसार कार्य गर्दा केके गर्छन्? परमेश्वरको नजरमा, ती दुष्ट कुरा हुन्। त्यसैले, मान्छेको हृदयमा परमेश्वरको डर हुनु राम्रो कुरा हो भनी तिमीहरूले प्रस्टसित बुझ्नैपर्छ—त्यसो गर्दा, परमेश्वरको भय मान्न सकिन्छ। जब व्यक्तिको हृदयमा परमेश्वर हुन्छ र ऊ परमेश्वरको भय मान्न सक्छ, तब ऊ दुष्ट कुराहरूबाट धेरै टाढा रहन सक्नेछ। यस्ता मानिसहरू मुक्ति पाउने आशा हुने मानिस हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

मानिसहरूका निम्ति परमेश्‍वरको अनन्त प्रबन्ध र सहयोगको कामको अवधिमा उहाँले मानिसलाई आफ्नो सम्पूर्ण अभिप्राय र आवश्यकताहरूको बारेमा बताउनुहुन्छ र उहाँको काम, स्वभाव अनि उहाँसित के छ र को हुनुहुन्छ भनी मानिसलाई देखाउनुहुन्छ। यसको उद्देश्य मानिसलाई कदले सुसज्‍जित पार्नु हो, र मानिस परमेश्‍वरको पछि लाग्दा उसलाई उहाँबाट विभिन्‍न सत्यताहरू प्राप्त गर्न दिनु हो—ती सत्यताहरू परमेश्‍वरले मानिसलाई शैतानसित लड्नका निम्ति दिनुभएका हतियारहरू हुन्। यसरी सुसज्‍जित भएपछि मानिसले परमेश्‍वरका परीक्षाहरूको सामना गर्नैपर्छ। परमेश्‍वरसित मानिसलाई परीक्षा गर्ने धेरै वटा साधन र उपायहरू छन्, तर ती सबैमा परमेश्‍वरको शत्रु शैतानको “सहकार्य” आवश्यक पर्छ। भन्‍नुको अर्थ, मानिसलाई शैतानसँग लड्ने हातहतियारहरू दिनुभएपछि परमेश्‍वरले उसलाई शैतानको हातमा सुम्पिनुहुन्छ र शैतानलाई मानिसको कद “जाँच्ने” अनुमति दिनुहुन्छ। यदि मानिस शैतानको युद्ध संरचनाबाट निस्कन सक्यो भने, यदि ऊ शैतानको घेराउबाट उम्केर अझै जीवित रहन सक्यो भने, मानिस त्यो जाँचमा सफल भएको हुनेछ। तर यदि मानिस शैतानको युद्ध संरचना छोड्न असफल हुन्छ र शैतानसामु झुक्छ भने, ऊ त्यो जाँचमा सफल भएको हुनेछैन। परमेश्‍वरले मानिसको जुनसुकै पक्षलाई जाँच्नु भए पनि, उहाँको मापदण्डचाहिँ शैतानले आक्रमण गर्दा मानिस आफ्नो गवाहीमा दृढ रूपमा खडा हुन्छ कि हुँदैन, र शैतानको पासोमा परेपछि उसले परमेश्‍वरलाई त्यागेर शैतानसामु झुकेको र आत्मसमर्पण गरेको छ छैन भन्‍ने नै हुन्छ। यो भन्‍न सकिन्छ कि मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसले शैतानलाई जित्‍न र पराजित गर्न सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर गर्छ, र उसले स्वतन्त्रता हासिल गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा शैतानसित लड्नका लागि परमेश्‍वरले उसलाई दिनुभएका हातहतियारहरू उसले आफ्नै बलबूताले उठाउन सक्छ कि सक्दैन र शैतानलाई पूर्ण रूपमा आशा मार्ने र उसलाई दुःख दिन छोड्ने बनाउन सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि शैतानले आशा मारेर कसैलाई छोडेर जान्छ भने त्यसको अर्थ यही हुन्छ कि अब फेरि शैतानले त्यस व्यक्तिलाई परमेश्‍वरबाट खोस्‍ने कोसिस कहिल्यै गर्नेछैन, त्यस व्यक्तिलाई फेरि कहिल्यै पनि आरोप लगाउने र बाधा दिने गर्नेछैन, फेरि उसलाई कहिल्यै पनि कष्ट दिइरहन वा आक्रमण गरिरहन मात्र चाहँदैन; त्यस्तो व्यक्ति मात्र वास्तवमा परमेश्‍वरद्वारा प्राप्त गरिएको हुनेछ। परमेश्‍वरले मानिसहरूलाई प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

सम्बन्धित अनुभवात्मक गवाहीहरू

शैतानको जाँचमाथि विजय

सम्बन्धित भजनहरू

तिमीले सबै कुरामा परमेश्‍वरको साक्षी दिनुपर्छ

अघिल्लो: २०. सतावट र सङ्कष्ट कसरी अनुभव गर्ने

अर्को: २२. जीवन र मृत्यूलाई कसरी हेर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्