१५. आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु नै साँचो गवाही हो

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरमा विश्‍वास गर्ने सबैले उहाँको इच्छा बुझ्नुपर्छ। ज-जसले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्छन् उनीहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्, र परमेश्‍वरको आज्ञा पूरा गरेर मात्र आफ्‍नो कर्तव्यको कार्यसम्पादन सन्तोषजनक हुन सक्छ। अनि, परमेश्‍वरको आज्ञा पूरा गर्नको निम्ति एउटा मापदण्ड छ। प्रभु येशूले यसो भन्नुभएको थियो: “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू।” उहाँले मानिसहरूलाई दिनुभएको मापदण्डको एउटा पक्ष “परमेश्‍वरलाई प्रेम गर्नु” हो। यो मापदण्ड कहाँ प्रकट हुनुपर्छ? तैँले परमेश्‍वरको आज्ञा पूरा गर्नैपर्छ भन्‍ने कुरामा। व्यावहारिक हिसाबमा भन्नुपर्दा, यो भनेको मानवको रूपमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु हो। त्यसोभए आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नको लागि के मापदण्ड छ? परमेश्‍वरको मापदण्ड यो छ कि, एक सृष्टि गरिएको प्राणीको रूपमा तैँले आफ्नो सारा हृदय, प्राण, मन, र शक्तिले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। यो कुरा बुझ्न सजिलै हुनुपर्छ। परमेश्‍वरको मापदण्ड पूरा गर्नको निम्ति, तैँले मुख्यगरी कर्तव्यमा आफ्नो हृदय लाउनु आवश्यक हुन्छ। यदि तँ तेरो हृदय त्यसमा लगाउन सक्छस् भने, तँलाई तेरो सारा प्राण, तेरो सारा मन, र तेरो सारा शक्तिले कार्य गर्न सजिलो हुनेछ। यदि तँ तेरो मस्तिष्कका कल्पनाहरूमा र तेरा वरदानहरूमा भरोसा गरेर आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, के तैँले परमेश्‍वरको मापदण्ड पूरा गर्न सक्छस् र? कदापि सक्दैनस्। त्यसो भए, परमेश्‍वरको आज्ञा पूरा गर्न, र आफ्नो कर्तव्य बफादारीसाथ र राम्रोसँग सम्पन्न गर्नको लागि कुन मापदण्ड पूरा गर्नुपर्छ? त्यो भनेको सारा हृदयले, सारा प्राणले, सारा मनले र सारा शक्तिले कर्तव्य निर्वाह गर्नु हो। यदि तैँले परमेश्‍वरलाई प्रेम गर्ने हृदयविना कर्तव्य पूरा गर्ने कोसिस गर्छस् भने, त्यसले काम गर्नेछैन। यदि परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदय अझ बलियो र अझ सच्‍चा हुन्छ भने, तैँले स्वाभाविक रूपमै तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा मनले र तेरो सारा शक्तिले तेरो कर्तव्य राम्ररी पूरा गर्न सक्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले जिउनको लागि वास्तवमा केमा भरोसा गर्छन्?

यदि तँसित साँच्‍चै विवेक छ भने, तब तँसित बोझ, र जिम्मेवारीको भावना पनि हुनुपर्छ। तैँले भन्नुपर्छ: “ममाथि विजय गरिए वा नगरिए पनि, मलाई सिद्ध बनाइए वा नबनाइए पनि, मैले गवाहीको यस कदमलाई ठीकसँग वहन गर्नुपर्छ।” सृष्टि गरिएको एक प्राणीको रूपमा, व्यक्ति परमेश्‍वरद्वारा पूर्ण रूपमा विजय गरिन सक्छ, र अन्त्यमा, ऊ परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छ, र उसले परमेश्‍वरको प्रेमको पैँचो परमेश्‍वरलाई प्रेम गर्ने हृदयद्वारा र आफैलाई पूर्ण रूपमा परमेश्‍वरमा समर्पण गरेर तिर्न सक्छ। यो मानिसको जिम्मेवारी हो, यो मानिसले गर्नुपर्ने कर्तव्य हो, र मानिसले वहन गर्नुपर्ने बोझ हो, र मानिसले यो आज्ञा पूरा गर्नैपर्छ। तब मात्र उसले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (३)

मैले अहिले चाहने भनेको तेरो बफादारी र समर्पण, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तेरो बफादारी र समर्पण। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारी र समर्पणमा रहन्छ भन्‍ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै समर्पित हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र समर्पित हुनेछस्? के तँ आफ्‍ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र समर्पित बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्‍ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्‍ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्‍वासको महत्त्वलाई जान्नुपर्छ। मैले यति धेरै गरेको छु; तैँले कल्पना गरेजस्तो म कसरी बीचैमा छोड्न सक्थेँ? मैले यति व्यापक काम गरेको छु; म यसलाई कसरी नष्ट गर्न सक्थेँ? वास्तवमा, म यो युगलाई अन्त गर्न आएको हुँ। यो सत्य हो, तर मैले नयाँ युग सुरु गर्नुपर्छ, नयाँ काम सुरु गर्नुपर्छ र सबैभन्दा मुख्य कुरा, राज्यको सुसमाचार फैलाउनुपर्छ भन्‍ने तैँले जान्नुपर्छ। त्यसैले हालको कामचाहिँ नयाँ युग ल्याउन, आउने समयमा सुसमाचार फैलाउन र भविष्यमा युगलाई अन्त गर्नको निम्ति जग बसाल्नलाई मात्र हो भन्‍ने तैँले जान्नुपर्छ। मेरो काम तैँले सोचेजस्तो सरल छैन, न त तैँले विश्‍वास गरेजस्तो यो निकम्मा वा व्यर्थ नै छ। यसकारण, मैले अझ पनि तँलाई भन्नुपर्छ: तैँले आफ्नो जीवन मेरो कामको निम्ति दिनुपर्छ, र यस बाहेक, तैँले आफूलाई मेरो महिमाको निम्ति अर्पण गर्नुपर्छ। मैले जति लामो समयदेखि तैँले मेरो निम्ति गवाही दिओस् भन्‍ने उत्कट इच्छा गरेको छु, तैँले मेरो सुसमाचार फैलाएको होस् भन्‍ने कुरालाई मैले त्योभन्दा बढी चाहेको छु। मेरो हृदयमा के छ सो तैँले बुझ्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्‍वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्‍वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्‍ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो।

केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यताको खोजी गर्दैनन्। तिनीहरू सधैँ शारीरिक आनन्दमा लिप्त हुँदै देहअनुसार जिउँछन्, र सधैँ आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, तिनीहरू सत्यता वास्तविकतामा कहिल्यै प्रवेश गर्नेछैनन्; यो परमेश्‍वरमाथि लज्‍जा ल्याएको चिह्न हो। तँ भन्छस्, “मैले परमेश्‍वरलाई प्रतिरोध गर्ने केही गरेको छैनँ। मैले कसरी उहाँमाथि लज्‍जा ल्याएको छु?” तेरा सबै सोच र विचारहरू दुष्ट छन्। तैँले जे गर्छस् ती कुराहरूपछाडिका तेरा अभिप्राय, लक्ष्य, र आशयहरू, अनि तेरा कार्यव्यवहारका परिणामहरूले सधैँ शैतानलाई सन्तुष्ट पार्छन्, तँलाई त्यसको हाँसोको पात्र बनाउँछन्, र त्यसलाई तेरो गोप्य जानकारी लैजान दिन्छन्। तैँले एक इसाइले दिनुपर्ने एउटा पनि गवाही दिएको छैनस्। तँ सैतानको व्यक्ति होस्। तँ सबै कुरामा परमेश्‍वरमाथि लज्‍जा ल्याउँछस् र तँसँग साँचो गवाही छैन। के तैँले गरेका कार्यहरूलाई परमेश्‍वरले सम्झनुहुनेछ? आखिरमा, परमेश्‍वरले तेरा कार्यहरू, तेरो व्यवहार र तैँले निभाएको कर्तव्यबारे कस्तो निष्कर्ष निकाल्नुहुनेछ? के त्यसबाट केही, कुनै प्रकारको अभिव्यक्ति आउनुपर्दैन र? बाइबलमा, प्रभु येशू भन्नुहुन्छ, “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्‍ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। प्रभु येशूले किन त्यसो भन्नुभयो? प्रभुको नाउँमा प्रचार गर्ने, भूतहरू धपाउने, र आश्‍चर्यकर्म गर्नेहरूमध्येका कैयौँ किन दुष्कर्मी बने? किनभने तिनीहरूले प्रभु येशूले व्यक्त गर्नुभएका सत्यताहरू स्वीकार गरेनन्, तिनीहरूले उहाँका आज्ञाहरू पालना गरेनन्, र तिनीहरूको हृदयमा सत्यताप्रति कुनै प्रेम थिएन। तिनीहरू प्रभुको खातिर आफूले गरेको काम, आफूले भोगेको कठिनाइ, र आफूले गरेका बलिदानहरू स्वर्गको राज्यको आशिष्‌सँग साट्न मात्रै चाहन्थे। यसमा तिनीहरू परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेका थिए, र परमेश्‍वरलाई प्रयोग गर्न र परमेश्‍वरलाई छल्न खोजिरहेका थिए, त्यसैले प्रभुले तिनीहरूदेखि वाक्क हुनुभयो, तिनीहरूलाई घृणा गर्नुभयो, र तिनीहरूलाई दुष्कर्मीहरूको रूपमा दोषी ठहर्‍याउनुभयो। आज, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकारिरहेका छन्, तर कतिपय मानिसहरू अझै पनि प्रतिष्ठा र हैसियत पछ्याउँछन्, र सधैँ आफूलाई विशिष्ट बनाउन, सधैँ अगुवा र सेवकहरू बन्‍न अनि प्रतिष्ठा र हैसियत प्राप्त गर्न चाहन्छन्। तिनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गर्छु र परमेश्‍वरलाई पछ्याउँछु, र परमेश्‍वरको लागि त्याग गर्छु र अमर्पित हुन्छु भने पनि, तिनीहरू ख्याति, लाभ र हैसियत प्राप्त गर्न आफ्‍नो कर्तव्य निर्वाह गर्छन्, र तिनीहरूसँग सधैँ आफ्नै गुप्त युक्तिहरू हुन्छन्। तिनीहरू परमेश्‍वरप्रति समर्पित वा निष्ठावान हुँदैनन्, तिनीहरूले आफ्‍नो बारेमा थोरै पनि मनन नगरी दुष्टता गर्दै बेलगाम दौडिहिँड्छन्, र त्यसरी तिनीहरू दुष्कर्मी बन्छन्। परमेश्‍वरले ती दुष्ट मानिसहरूलाई घृणा गर्नुहुन्छ, परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्‍न। कुन मापदण्डअनुसार व्यक्तिका कार्य र व्यवहारहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो उसका विचार, प्रकटीकरण, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकतामा जिउने गवाही छ कि छैन भन्ने आधारमा गरिन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ निस्सन्देह नै एक दुष्कर्मी होस्। दुष्कर्मीहरूलाई परमेश्‍वरले कसरी लिनुहुन्छ? परमेश्‍वरको नजरमा, तेरा विचार र बाहिरी कार्यहरूले उहाँको साक्षी दिँदैनन्, न त ती कुराहरूले शैतानलाई लज्जित वा पराजित नै गर्छन्; बरु, ती कुराहरूले त उहाँमाथि नै लज्‍जा ल्याउँछन्, र तैँले उहाँमाथि निम्त्याएको अपमानका दागहरूले नै ती कुराहरू भरिएका हुन्छन्। तैँले परमेश्‍वरको गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरको लागि अर्पित गरिरहेको पनि हुँदैनस्, न त परमेश्‍वरप्रतिको आफ्नो जिम्मेवारी र दायित्वहरू नै पूरा गरिरहेको हुन्छस्; बरु, आफ्नै लागि काम गरिरहेको हुन्छस्। यो “तेरो आफ्नै लागि” भन्‍ने वाक्यांशको अर्थ के हो? ठ्याक्‍कै भन्दा, यसको अर्थ हो: शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।” परमेश्‍वरको नजरमा, तेरा कार्यहरू असल कर्म हुनेछैनन्, ती कार्यहरूलाई दुष्कर्म मानिनेछ। ती कार्यलाई परमेश्‍वरद्वारा स्वीकृति नदिइने मात्र होइन—बरु दोषीसमेत ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के पाउने आशा लिएको हुन्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ

तैँले जस्तोसुकै परीक्षाहरू सामना गर्नुपरे पनि, तँ परमेश्‍वरको अघि आउनैपर्छ—ठीक कुरा यही हो। तैँले आफ्‍नै बारेमा मनन गर्नुपर्छ र आफ्‍नो कर्तव्यमा ढिलाइ गर्नु हुँदैन। मनन मात्रै गर्ने र कहिल्यै पनि आफ्‍नो कर्तव्य पूरा नगरी निरर्थक कुरामा ध्यान दिने र जरूरी कुरालाई बेवास्ता गर्ने काम नगर्—त्यो मूर्ख तरिका हो। तँमाथि जे-जस्तो परीक्षा आइपरे पनि, तैँले यसलाई परमेश्‍वरले तँलाई दिनुभएको बोझको रूपमा लिनुपर्छ। मानौं कतिपय मानिसहरू रोग र सहनै नसकिने कष्टले थलिएका छन्, कतिले त मृत्युको समेत सामना गर्छन्। यस्तो परिस्थितिलाई तिनीहरूले कसरी लिनुपर्छ? धेरैजसो अवस्थाहरूमा, परमेश्‍वरले दिनुभएका परीक्षाहरू उहाँले मानिसहरूलाई दिनुहुने बोझ हुन्। परमेश्‍वरले तँमाथि जति नै गह्रौं बोझ दिनुभए पनि, त्यो तैँले बोक्‍नुपर्ने बोझ हो, किनभने परमेश्‍वरले तँलाई बुझ्‍नुहुन्छ, र तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने उहाँलाई थाहा छ। परमेश्‍वरले तँलाई दिनुहुने बोझ तेरो कद वा तेरो सहनशीलताको सीमा नाघ्‍ने हदको हुनेछैन, त्यसकारण तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने कुरामा कुनै प्रश्‍न उठ्दैन। परमेश्‍वरले तँलाई जे-जस्तो बोझ, जे-जस्तो परीक्षा दिनुभए पनि, एउटा कुरा याद राख्: तैँले परमेश्‍वरको इच्‍छालाई बुझे पनि नबुझे पनि र तैँले प्रार्थना गरेपछि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे पनि नगरे पनि, परमेश्‍वरले तँलाई यो परीक्षाद्वारा अनुशासनमा राखिरहनुभएको भए पनि वा चेतावनी दिइरहनुभएको भए पनि, तैँले यसलाई बुझ्दैनस् भने त्यसको कुनै अर्थ हुनेछैन। जबसम्‍म तैँले आफ्नो कर्तव्यपालनमा ढिलाइ गर्दैनस् र विश्‍वासयोग्य भएर कर्तव्यमै लागिपर्छस्, तबसम्‍म परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ, र तँ तेरो गवाहीमा दह्रिलो गरी खडा हुनेछस्। आफूलाई गम्‍भीर रोग लागेको र आफू मर्न लगेको देखेपछि, कतिपय मानिसहरूले मनमनै विचार गर्छन्: “मैले मृत्युबाट बच्‍नको लागि परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको हो—तर यतिका वर्ष मेरो कर्तव्य पूरा गरेपछि पनि, उहाँले मलाई मर्न दिन लाग्‍नुभएको छ जस्तै यस्तो देखिन्छ। म मेरो आफ्‍नै काम-काजमा लाग्‍नुपर्छ, मैले सधैँ गर्न चाहेका कुराहरू गर्नुपर्छ, र मैले यो जीवनमा नरमाएका कुराहरूमा रमाउनुपर्छ। म आफ्नो कर्तव्य थाती राख्न सक्छु” यो कस्तो मनोवृत्ति हो? तैँले यतिका वर्षदेखि आफ्‍नो कर्तव्य पूरा गर्दै आइरहेको छस्, तैँले यी सबै प्रवचनहरू सुनेका छस्, र अझै पनि तैँले सत्यतालाई बुझेको छैनस्। एउटै परीक्षाले तँलाई थिच्छ, तँलाई घुँडा टेकाउँछ, र तँलाई उदाङ्गो पार्छ। के यस्तो मानिस परमेश्‍वरको वास्ता पाउन योग्य हुन्छ? (तिनीहरू त्यसको लायक हुँदैनन्।) तिनीहरू पूर्ण रूपमा बफादारिताहीन छन्। त्यसो भए, तिनीहरूले यतिका वर्ष पूरा गर्दै आएको कर्तव्यलाई के भनेर चिनिन्छ? यसलाई “सेवा गर्नु” भनेर भनिन्छ, र तिनीहरूले आफूलाई समर्पित मात्रै गर्दै आएका थिए। यदि, परमेश्‍वरमाथिको तेरो विश्‍वासमा र सत्यको खोजीमा, तँ यसो भन्न सक्छस् भने, “परमेश्‍वरले ममाथि जुनसुकै बिमारी वा मन नपर्ने घटना आउन दिनुभए पनि—परमेश्‍वरले चाहे जे नै गर्नुभए पनि—मैले आज्ञापालन गर्नैपर्छ, र सृष्टि गरिएको एक प्राणीको रूपमा मेरो ठाउँमा रहनुपर्छ। सबै कुराभन्दा पहिले, मैले सत्यको यो पक्ष—आज्ञापालन—लाई व्यवहारमा उतार्नैपर्छ, मैले यसलाई लागू गर्नैपर्छ र परमेश्‍वरप्रतिको आज्ञापालनको वास्तविकतामा जिउँनुपर्छ। यसबाहेक, परमेश्‍वरले मलाई आज्ञा गर्नुभएको कुरा र मैले गर्नुपर्ने कर्तव्यलाई मैले पन्साउनुहुँदैन। मेरो अन्तिम सासमा पनि, मैले आफ्नो कर्तव्य पालन गर्नैपर्छ,” के यो गवाही दिनु होइन र? जब तँसँग यस्तो सङ्कल्प र यस्तो स्थिति हुन्छ, के तैँले अझै पनि परमेश्‍वरको बारेमा गुनासो गर्न सक्छस्? अहँ, सक्दैनस्। त्यस्तो बेला, तैँले मनमनै विचार गर्नेछस्, “परमेश्‍वरले मलाई यो सास दिनुहुन्छ, उहाँले मलाई यतिका वर्षदेखि भरणपोषण र सुरक्षा गर्दै आउनुभएको छ, मबाट धेरै पीडा हटाउनुभएको छ, मलाई धेरै अनुग्रह, र धेरै सत्यताहरू दिनुभएको छ। मानिसहरूले पुस्तौं-पुस्तादेखि नजानेका सत्यता र रहस्यहरू मैले बुझेको छु। मैले परमेश्‍वरबाट धेरै कुरा प्राप्त गरेको छु, त्यसकारण मैले परमेश्‍वरको ऋण तिर्नैपर्छ! पहिले, मेरो कद अत्यन्तै सानो थियो, मैले केही पनि बुझेको थिइन, र मैले गर्ने हरेक कुरा परमेश्‍वरलाई चोट पुर्‍याउने किसिमका थिए। मैले भविष्यमा परमेश्‍वरको ऋण तिर्नको लागि अर्को मौका नपाउन सक्छु। मेरो जिउने समय जति नै बाँकी भएको भए पनि, मैले आफूसँग भएको थोरै शक्ति लगाएर परमेश्‍वरको लागि आफूले सक्दो गर्नुपर्छ, ताकि मेरो लागि यतिका वर्षसम्‍म गरिएको भरणपोषण व्यर्थमा गएन, यसले फल फलायो भन्‍ने कुरा परमेश्‍वरले देख्‍न सक्‍नुहोस्। म परमेश्‍वरलाई चैन दिन चाहन्छु, र अबउप्रान्त उहाँलाई चोट पुर्‍याउने वा निराशा तुल्याउने काम गर्नेछैन।” यसरी विचार गर्दा कसो होला? आफूलाई कसरी बचाउने वा कसरी उम्कने भनेर यस्तो विचार नगर्, “यो रोग कहिले निको हुन्छ? जब यो निको हुन्छ, म मेरो कर्तव्य पूरा गर्न सक्दो प्रयास गर्नेछु र समर्पित हुनेछु। म बिरामी हुँदा कसरी समर्पित हुन सक्छु र? मैले कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छु र?” जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ आफ्‍नो कर्तव्य पूरा गर्न सक्दैनस् र? जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ परमेश्‍वरलाई लज्जित नपार्न सक्दैनस् र? जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, जबसम्‍म तेरो मन स्पष्ट हुन्छ, के तँ परमेश्‍वरलाई गनगन नगरी बस्‍न सक्छस्? (सक्छु।) अहिले “सक्छु” भनेर भन्‍नु सजिलो छ, तर जब तँमा साँच्‍चै यो कुरा आइपर्छ त्यो बेला “सक्छु” भन्नु यति सजिलो हुनेछैन। त्यसकारण, तिमीहरूले सत्यताको खोजी गर्नैपर्छ, धेरैपटक सत्यतामा कठिन परिश्रम गर्नुपर्छ, र यस्तो विचार गर्दै अझै बढी समय बिताउनुपर्छ, “म परमेश्‍वरको इच्‍छालाई कसरी सन्तुष्ट तुल्याउन सक्छु? म कसरी परमेश्‍वरको प्रेमको ऋण तिर्न सक्छु? मैले कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छु?”

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ

तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला जुनसुकै कुराको सामना गर्न परे पनि—नकारात्मकता र कमजोरी, वा काटछाँटपछि खराब मनस्थितिमा भए पनि—तैँले त्यसलाई उचित व्यवहार गर्नुपर्दछ, र तैँले सत्यको खोजी गर्नुपर्दछ र परमेश्‍वरका अभिप्राय बुझ्नुपर्छ। यी कुराहरू गरेर, तैँले अभ्यास गर्ने मार्ग पाउनेछस्। यदि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्छस् भने, तँ आफ्नो मनस्थितिद्वारा प्रभावित हुनु हुँदैन। तैँले जति नै नकारात्मक वा कमजोर महसुस गरिरहेको भए पनि, तैँले गर्ने सबै कुरामा तैँले पूर्ण कडाइका साथ, र सिद्धान्तहरूमा रहेर सत्यको अभ्यास गर्नुपर्दछ। यदि तँ यसो गर्छस् भने, अन्य मानिसहरूले तँलाई स्वीकार मात्र गर्नेछैनन्, तर परमेश्‍वरले पनि तँलाई मन पराउनुहुनेछ। त्यसरी नै, तँ यस्तो व्यक्ति हुनेछस् जो जिम्मेवार हुन्छ, र जसले आफ्नो काँधमा बोझ लिन्छ; तँ सच्‍चा रूपमा असल व्यक्ति हुनेछस्, जसले वास्तवमा मापदण्ड अनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्दछ र जो एक सच्‍चा व्यक्तिको स्वरूप लिएर पूर्ण रूपमा जिउँछ। त्यस्ता मानिसहरू शुद्ध पारिएका हुन्छन् र आफ्ना कर्तव्यहरू निर्वाह गर्दा वास्तविक रूपान्तरण हासिल गर्छन्, र तिनीहरूलाई परमेश्‍वर नजरमा इमानदार भन्न सकिन्छ। केवल इमानदार मानिसहरू मात्र सत्यताको अभ्यासमा दृढ रहन र सिद्धान्तको साथ काम गर्न सफल हुन सक्छन्, र मापदण्डअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्। सिद्धान्तसहित काम गर्ने मानिसहरू राम्रो मनस्थितिमा हुँदा आफ्ना कर्तव्यहरू सावधानीपूर्वक निर्वाह गर्छन्; तिनीहरू लापरवाही तरिकाले काम गर्दैनन्, तिनीहरू अहङ्कारी हुँदैनन्, र अरूले तिनीहरूलाई ठूलो सम्झून् भनी आफ्‍नो धाक लगाउँदैनन्। तिनीहरू खराब मुडमा हुँदा आफ्ना दैनिक कार्यहरू उत्तिकै गम्भीरता र जिम्मेवारीका साथ पूरा गर्न सक्छन्, र तिनीहरूका कर्तव्य निर्वाह गर्न बाधा दिने वा तिनीहरूलाई केही दबाब दिने वा तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा बाधा उत्पन्न गर्ने कुरा भेटे भने पनि तिनीहरू परमेश्‍वरसामु आफ्ना हृदयलाई शान्त पार्न सक्छन् र यस भन्दै प्रार्थना गर्न सक्छन्, “मेरो विरुद्धमा जति नै ठूलो समस्या आइपरे पनि—यदि आकाश नै खस्यो भने पनि—जबसम्म म जीवित रहन्छु, म मेरो जिम्मेवारी पूरा गर्नको लागि सक्दो गर्न प्रतिबद्ध छु। म जिउने प्रत्येक दिन नै मैले मेरो कर्तव्य राम्रोसित निभाउनुपर्ने दिन हो, यसैले कि परमेश्‍वरले मलाई दिनुभएको यो कर्तव्य, साथै उहाँले मेरो शरीरमा हालिदिनुभएको यो सासको योग्य बन्न सकूँ। जतिसुकै कठिनाइमा परे पनि म यी सबैलाई पन्छ्याउनेछु, किनकि मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” कुनै व्यक्ति, घटना, वस्तु, वा वातावरणबाट प्रभावित नहुने मानिसहरू, कुनै मुड वा बाहिरी परिस्थितिद्वारा बन्धनमा नपर्नेहरू, र जसले परमेश्‍वरले सुम्पिनुभएका तिनीहरूका कर्तव्यहरू र आदेशहरूलाई सबैभन्दा पहिले स्थानमा राख्छन्—तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरप्रति बफादार हुन्छन् र जो सच्‍चा रूपमा उहाँको अधीनमा बस्छन्। यस्ता मानिसहरूले जीवनमा प्रवेश पाएका हुन्छन् र सत्यता वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यतामा जिउनुको सबैभन्दा सच्‍चा र व्यावहारिक अभिव्यक्ति यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ

परमेश्‍वरको अघि आफ्नो दायित्वलाई पूरा नगर्ने मानिसहरू पहिले नै अति दुष्ट अपराधको दोषी भइसकेका हुन्छन्, जसको निम्ति मृत्यु समेत पनि अपर्याप्त दण्ड हुन्छ, तैपनि परमेश्‍वरसँग तर्क गर्ने र उहाँको विरुद्धमा आफै जोरी खोज्ने आँट तिनीहरूसँग छ। त्यस्ता मानिसहरूलाई सिद्ध पार्नुको औचित्य के छ र? जब मानिसहरू आफ्नो दायित्व पूरा गर्न असफल हुन्छन्, तिनीहरूले दोषी र ऋणी भएको महसुस गर्नुपर्छ; तिनीहरूले आफ्ना कमजोरी र अनुपयोगितालाई, आफ्ना विद्रोह र भ्रष्टतालाई घृणा गर्नुपर्छ, र अझ अधिक, परमेश्‍वरलाई आफ्नो जीवन दिनुपर्छ। त्यसपछि मात्रै तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने सृष्टि गरिएका प्राणीहरू हुन्छन्‌, र त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरका आशिषहरू र प्रतिज्ञामा रमाउनका लागि, र उहाँद्वारा सिद्ध बनाइनका लागि योग्य हुन्छन्। अनि तिमीहरूमध्ये अधिकांश कस्ता छौ? तिमीहरूका बीचमा जिउनुहुने परमेश्‍वरलाई तिमीहरूले कस्तो व्यवहार गर्छौ? उहाँको सामुन्ने तिमीहरूले आफ्नो दायित्वलाई कसरी निभाएका छौ? के तिमीहरूलाई जे गर्नको लागि बोलाइएको थियो, तिमीहरूले आफ्नै जीवनको बाजी समेत राखेर, ती सबै पूरा गरेका छौ? तिमीहरूले के बलिदान दिएका छौ? के तिमीहरूले मबाट धेरै कुरा पाएका छैनौ र? के तिमीहरूले छुट्याउन सक्छौ? तिमीहरू मप्रति कति निष्ठावान् छौ? तिमीहरूले मलाई कसरी सेवा गरेका छौ? अनि मैले तिमीहरूलाई जे दिएको छु र तिमीहरूका लागि मैले जे गरेको छु, त्यसको बारेमा के? के तिमीहरूले यी सबै कुराहरूलाई नापेका छौ? के तिमीहरू सबैले तिमीहरूभित्र भएको थोरै विवेकसँग यसलाई मूल्याङ्कन र तुलना गरेका छौ? तिमीहरूका वचनहरू र कार्यहरू कसको योग्य हुनसक्छ? के तिमीहरूले गरेको त्यति सानो बलिदान मैले तिमीहरूलाई दिएका सबै कुराको योग्य हुनसक्छ? मसँग अरू कुनै विकल्प छैन र तिमीहरूप्रति म पूर्ण हृदयले समर्पित भएको छु, तैपनि तिमीहरूले मप्रति दुष्ट अभिप्रायहरू राखेका छौ र मप्रति अर्ध हृदयका भएका छौ। तिमीहरूको दायित्वको हद, तिमीहरूको एउटै मात्र कार्य त्यही नै हो। के यस्तै होइन र? तिमीहरू सृष्टि गरिएको प्राणीको दायित्वलाई पूरा गर्न पूर्ण रूपमा असफल भएका छौ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? तिमीहरूलाई कसरी सृष्टि गरिएको प्राणीको रूपमा लिन सकिन्छ? तिमीहरूले जे व्यक्त गर्दैछौ र जसरी जीवन बिताउँदैछौ त्यो तिमीहरूलाई स्पष्ट नै छैन र? तिमीहरू आफ्नो दायित्व पूरा गर्न असफल भएका छौ, तर तिमीहरू परमेश्‍वरको सहिष्णुता र प्रशस्त अनुग्रह प्राप्त गर्न खोज्छौ। त्यस किसिमको अनुग्रह तिमीहरू जस्ता अनुपयोगी र नीचहरूका लागि तयार गरिएको होइन, तर तिनको लागि हो जसले केही पनि माग्दैनन्‌ र खुसीसाथ बलिदान दिन्छन्‌। तिमीहरू जस्ता मानिसहरू, यस्ता मध्यम-स्तरीयहरू, स्वर्गको अनुग्रहको आनन्द उपभोग गर्न पूर्ण रूपमा अयोग्य छौ। तिमीहरूका दिनहरूलाई कठिनाइ र अनन्त दण्डले साथ दिनेछन्‌! यदि तिमीहरू मप्रति विश्‍वासयोग्य हुन सक्दैनौ भने, तिमीहरूको नियति कष्टको हुनेछ। यदि तिमीहरू मेरा वचनहरू र मेरो कार्यप्रति जबाफदेही हुन सक्दैनौ भने, तिमीहरूको परिणाम दण्डको नै हुनेछ। राज्यका सारा अनुग्रह, आशिषहरू, र सुन्दर जीवनले तिमीहरूसँग कुनै सरोकार राख्‍नेछैनन्‌। तिमीहरूले पाउन योग्य अन्त्य र तिमीहरू आफैले निम्त्याएको परिणाम यही नै हो! अज्ञानता र अहङ्कार भएकाहरूले सक्दो प्रयास नगर्ने मात्र होइन, आफ्नो दायित्व पूरा नगर्ने मात्रै होइन, तिनीहरूले अनुग्रहको लागि आफ्ना हातहरू समेत पसार्छन्‌, मानौं तिनीहरूले मागेको कुरा पाउन तिनीहरू योग्य छन्। अनि यदि तिनीहरूले आफूले मागेको कुरा प्राप्त गर्न असफल भए भने, तिनीहरू अझै कम विश्‍वासयोग्य बन्छन्। त्यस्ता मानिसहरूलाई कसरी उचित मान्न सकिन्छ? तिमीहरू कमजोर क्षमता भएका र तर्करहित छौ, व्यवस्थापनको कार्यको अवधिमा तिमीहरूले पूरा गर्नुपर्ने दायित्वलाई पूरा गर्न तिमीहरू पूर्ण रूपमा असक्षम छौ। तिमीहरूको मूल्य पहिले नै गिरिसकेको छ। त्यस्तो अनुग्रह तिमीहरूलाई देखाएकोमा तिमीहरूले मलाई तिर्नुपर्ने मूल्य तिर्ने तिमीहरूको असफलता आफैमा पनि एउटा चरम विद्रोह हो, तिमीहरूलाई दोषी ठहर्याउन र तिमीहरूको कायरता, असक्षमता, नीचता, र अयोग्यतालाई देखाउनको लागि त्यही नै पर्याप्त छ। तिमीहरूलाई आफ्नो हात फैलाउनको लागि केले हकदार बनाउँछ? तिमीहरू मेरो कार्यको लागि थोरै पनि सहयोगी हुन असमर्थ हुनु, निष्ठावान् हुन असमर्थ हुनु, र मेरो लागि साक्षीको रूपमा खडा हुन असमर्थ हुनु नै तिमीहरूको दुष्कर्महरू र असफलताहरू हुन्, तैपनि तिमीहरूले यसको सट्टा मलाई आक्रमण गर्छौ, मेरो बारेमा झूटा कुरा गर्छौ, र म अधर्मी हुँ भनेर गुनासो गर्छौ। के तिमीहरूको निष्ठा यसैले बनेको हो त? के तिमीहरूको प्रेम यसैले बनेको हो त? यसभन्दा पर, तिमीहरूले अरू के कार्य गर्न सक्छौ? पूरा गरिएका सबै कार्यमा तिमीहरूले कस्तो योगदान दिएका छौ? तिमीहरूले कति धेरै समर्पणता गरेका छौ? मैले तिमीहरूलाई दोष नदिइकन पहिले नै निकै ठूलो सहिष्णुता देखाइसकेको छु, तैपनि तिमीहरूले मसँग लाजै नमानी बहाना गर्छौ र गुप्तमा मेरो बारेमा गुनासो गर्छौ। के तिमीहरूमा मानवताको अलिकति पनि अवशेष बाँकी छ? मानिसको दायित्व मानिसको मन र उसका धारणाहरूद्वारा कलङ्कित भएको भएतापनि, तिमीले आफ्नो दायित्वलाई पूरा गर्नैपर्छ र आफ्नो निष्ठालाई देखाउनैपर्छ। मानिसको कार्यमा रहेका अशुद्धताहरू भनेको उसको क्षमताको समस्या हो, जबकी, यदि मानिसले आफ्नो दायित्वलाई पूरा गर्दैन भने, यसले उसको विद्रोहलाई देखाउँछ। मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। यसरी, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ। आफ्नो दायित्व पूरा गर्ने कार्यमा आलटाल गर्ने र सत्यतालाई नखोज्‍नेहरू अन्त्यमा हटाइनेछन्‌, किनकि त्यस्ता मानिसहरूले सत्यताको अभ्यासमा आफ्नो कर्तव्य पूरा गर्दैनन्, र आफ्नो कर्तव्य निभाउँदा सत्यतालाई अभ्यास गर्दैनन्। तिनीहरू ती हुन्‌ जो अपरिवर्तित रहन्छन्‌ र श्रापित हुनेछन्‌। तिनीहरूको अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

अघिल्लो: १४. कर्तव्य निर्वाह र परमेश्‍वरको गवाही दिनुबीच सम्बन्ध

अर्को: १६. कर्तव्य निर्वाह गर्दा मानिसहरू सबैभन्दा राम्ररी खुलासा हुन सक्छन् भनेर किन भनिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्