प्रस्तावना
धेरै मानिसले परमेश्वरमा विश्वास गरे तापनि, थोरैले मात्र परमेश्वरप्रतिको विश्वासको अर्थ के हो र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन तिनीहरूले कस्तो व्यवहार गर्नुपर्छ भनी बुझ्दछन्। किनभने मानिसहरूलाई “परमेश्वर” भन्ने शब्द र “परमेश्वरको काम” जस्ता वाक्यांश थाहा भए पनि, तिनीहरू परमेश्वरलाई चिन्दैनन् र अझ उहाँको काम त झनै चिन्दैनन्। त्यसैले, परमेश्वरलाई नचिन्नेहरू सबै उहाँमाथिको विश्वासमा अलमल्ल पर्नु अचम्मको कुरा होइन। मानिसहरू परमेश्वरमाथिको विश्वासलाई गम्भीर रूपमा लिँदैनन् र तिनीहरूलाई परमेश्वरमा विश्वास गर्ने कार्य धेरै नै अपरिचित र अनौठो लाग्ने कारणले नै पूर्ण रूपमा यसो हुने गर्छ। यसरी, तिनीहरू परमेश्वरका मागहरू पूरा गर्नबाट धेरै टाढा हुन्छन्। अर्को शब्दमा भन्नुपर्दा, यदि मानिसहरू परमेश्वरलाई चिन्दैनन् र उहाँको कामलाई चिन्दैनन् भने, तिनीहरू परमेश्वरका निम्ति प्रयोगयोग्य हुन सक्दैनन्, अझ तिनीहरू उहाँका अभिप्रायहरू पूरा गर्न त झनै सक्दैनन्। “परमेश्वरमाथिको विश्वास” भनेको परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु हो; परमेश्वरमाथिको विश्वासको सबैभन्दा सरल अवधारणा यही हो। एक कदम अघि बढेर भन्नुपर्दा, परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु भनेको परमेश्वरमा साँचो रूपले विश्वास गर्नुसरह होइन; बरु, यो त बलियो धार्मिक भावसहितको साधारण आस्था हो। परमेश्वरप्रतिको साँचो विश्वासको अर्थ निम्नानुसार छ: परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने विश्वासका आधारमा, कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको काम अनुभव गर्छ अनि यसरी आफ्ना भ्रष्ट स्वभावहरू फाल्छ, परमेश्वरका अभिप्रायहरू पूरा गर्छ र परमेश्वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्वरमाथिको विश्वास” भन्न सकिन्छ। तैपनि मानिसहरू प्रायः परमेश्वरमाथिको विश्वासलाई एकदमै साधारण र हल्का कुराका रूपमा हेर्छन्। मानिसहरूले यसरी परमेश्वरमा विश्वास गर्दा, त्यसको अर्थ गुम्छ र तिनीहरूले अन्त्यसम्मै विश्वास गरिरहे पनि, कहिल्यै परमेश्वरको अनुमोदन प्राप्त गर्दैनन्, किनकि तिनीहरू गलत मार्गमा हिँड्छन्। आजको दिनसम्म शब्द र खोक्रा धर्मसिद्धान्तमाझ परमेश्वरमा विश्वास गर्नेहरूलाई अझै पनि आफूमा परमेश्वरमाथिको विश्वासको सारको अभाव रहेको र आफूले परमेश्वरको अनुमोदन पाउन नसकिने थाहा हुँदैन। तैपनि तिनीहरू आफूलाई शान्ति र पर्याप्त अनुग्रहले आशिषित गर्नुहोस् भनी परमेश्वरलाई प्रार्थना गर्छन्। हामी आफ्नो हृदयलाई शान्त पारौँ र गहन रूपमा सोचौँ: के परमेश्वरमा विश्वास गर्नु पृथ्वीको सबैभन्दा सजिलो कुरा हुन सक्छ? के परमेश्वरमा विश्वास गर्नु भनेको परमेश्वरबाट धेरै अनुग्रह पाउनुबाहेक अरू केही होइन भन्ने हुन सक्छ? के परमेश्वरलाई नचिनी उहाँमा विश्वास गर्ने वा परमेश्वरमा विश्वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँका अभिप्रायहरू पूरा गर्न सक्छन्?
परमेश्वर र मानिसलाई एउटै स्तरमा राखेर कुरा गर्न मिल्दैन। उहाँको सार र उहाँको काम मानिसका लागि सबैभन्दा बुझ्न नसकिने र अबोध्य छन्। यदि परमेश्वर व्यक्तिगत रूपमा मानवजातिमाझ आफ्नो काम गर्नुहुन्न र आफ्ना वचनहरू बोल्नुहुन्न भने, मानिसले कुनै पनि हालतमा परमेश्वरका अभिप्रायहरू बुझ्न सक्दैन। त्यसकारण, परमेश्वरप्रति आफ्नो सम्पूर्ण जीवन अर्पण गरेकाहरूले समेत उहाँको अनुमोदन प्राप्त गर्न सक्नेछैनन्। यदि परमेश्वरले काम सुरु गर्नुभएन भने, मानिसले जतिसुकै राम्रो गरे पनि, त्यो सब व्यर्थ हुनेछ, किनभने परमेश्वरका सोचहरू सधैँ मानिसका सोचहरूभन्दा उच्च हुनेछन् र परमेश्वरको बुद्धि कुनै पनि व्यक्तिले बुझ्न सक्दैन। र त्यसैले म भन्छु, परमेश्वर र उहाँको कामलाई “पूर्ण रूपमा बुझ्ने” हरू अयोग्य वर्ग हुन्; तिनीहरू सबै अहङ्कारी र अज्ञानी हुन्छन्। मानिसले परमेश्वरको कामलाई सीमित गर्नु हुँदैन; त्यसबाहेक, मानिसले परमेश्वरको कामलाई सीमित गर्नै सक्दैन। परमेश्वरको नजरमा, मानिस कमिलाभन्दा पनि सानो छ; त्यसकारण मानिसले परमेश्वरको काम कसरी बुझ्न सक्छ र? “परमेश्वर यसरी काम गर्नुहुन्न वा त्यसरी काम गर्नुहुन्न,” अथवा “परमेश्वर यस्तो हुनुहुन्छ वा त्यस्तो हुनुहुन्छ” भनेर सधैँ बकबक गर्नेहरू—के तिनीहरू अहङ्कारी भएर बोलिरहेका छैनन् र? हामी सबैले के जान्नुपर्छ भने मानिस, जो देहको हो, शैतानद्वारा भ्रष्ट तुल्याइएको हुन्छ, उसको प्रकृति नै परमेश्वरको विरोध गर्नु हो र ऊ परमेश्वरको स्तरमा पुग्न सक्दैन, झन् उसले परमेश्वरको कामका सन्दर्भमा कुनै सल्लाह दिन सक्नु त परको कुरा हो। जहाँसम्म परमेश्वर मानिसलाई कसरी मार्गदर्शन गर्नुहुन्छ भन्ने कुरा छ, यो परमेश्वर स्वयम्को काम हो। मानिस कुनै यस्तो वा उस्तो दृष्टिकोण नराखी समर्पित हुनु नै उचित हुन्छ, किनभने मानिस धुलो मात्र हो। परमेश्वरलाई खोज्नु नै हाम्रो आशय भएको हुनाले, परमेश्वरले विचार गरिदिनुहोओस् भन्नका लागि हामीले उहाँको काममा आफ्ना धारणाहरू बेसरी लाद्नु हुँदैन, हामीले परमेश्वरको कामलाई जानाजानी र जोडतोडका साथ विरोध गर्न आफ्ना भ्रष्ट स्वभावहरू प्रयोग गर्नु त झनै हुँदैन। के त्यसो गर्दा हामी ख्रीष्टविरोधी हुँदैनौँ र? त्यस्ता मानिसहरू परमेश्वरमा विश्वास गर्छन् भनेर चाहिँ कसरी भन्न सकिन्छ? हामीले परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्ने अनि उहाँलाई सन्तुष्ट पार्न र उहाँलाई हेर्न चाहने हुनाले, सत्यताको मार्ग र परमेश्वरसँग मिल्ने मार्ग खोज्नुपर्छ। हामी हठी भएर उहाँको विरोधमा खडा हुनु हुँदैन। त्यस्ता कार्यहरूबाट के चाहिँ राम्रो परिणाम आउन सक्छ र?
आज, परमेश्वरले नयाँ काम गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न नसक्लास् र तँलाई ती अनौठो लाग्न सक्छन्, तर म तँलाई अहिलेका लागि आफ्नो प्राकृतिकता खुलासा नगर्न सल्लाह दिन्छु, किनभने परमेश्वरसामु साँचो रूपमा धार्मिकताका लागि भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन् र जो साँच्चै भक्त छन् तिनीहरूलाई मात्र उहाँद्वारा अन्तर्दृष्टि र मार्गदर्शन दिन सकिन्छ। संयमित शान्तिका साथ सत्यता खोजेर नतिजाहरू प्राप्त हुन्छन्, झैझगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्वरले नयाँ काम गर्नुभएको छ” भनेर भन्छु, तब म परमेश्वर देहमा फर्कने कुरालाई जनाइरहेको हुन्छु। सायद यी वचनहरूले तँलाई पिरोल्दैनन्; सायद तँ तिनलाई घृणा गर्छस्; वा सायद तँलाई तिनमा धेरै रुचि छ। जेसुकै भए पनि, म के आशा गर्छु भने परमेश्वर देखा पर्नुभएको साँच्चै चाहना गर्ने सबैले तुरुन्तै निष्कर्षमा पुग्नुको सट्टा यस तथ्यको सामना गर्न र यसलाई ध्यानपूर्वक जाँच्न सकून्; बुद्धिमान् व्यक्तिले गर्नुपर्ने कुरा त्यही नै हो।
यस्तो कुरालाई जाँच्न त्यत्ति कठिन हुँदैन, तर यसका निम्ति हामी प्रत्येकले पहिला यो एउटा सत्यता जान्नु माग गरिएको हुन्छ: जो देहधारी परमेश्वर हुनुहुन्छ, उहाँसँग परमेश्वरको सार हुन्छ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँसँग परमेश्वरको अभिव्यक्ति हुन्छ। परमेश्वर देह बन्नुभएको हुनाले, उहाँले आफूले गर्ने अभिप्राय राख्नुभएको काम आफूसँगै ल्याउनुहुन्छ, र उहाँ देहधारी परमेश्वर भएको हुनाले, उहाँले उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुन्छ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन प्रदान गर्न, र उसलाई मार्ग देखाउन सक्नुहुन्छ। परमेश्वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्वरको देहधारी देह हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट नै निर्धारण गर्नुपर्छ। भन्नुको अर्थ, यो देहधारी परमेश्वरको देह हो कि होइन, र यो साँचो मार्ग हो कि होइन भनी निर्धारण गर्न उसले उहाँको सारकै आधारमा भिन्नता छुट्ट्याउनुपर्छ। त्यसैले, यो देहधारी परमेश्वरको देह हो कि होइन भन्ने कुराको कडी बाहिरी स्वरूपभन्दा उहाँको सार (उहाँको काम, उहाँका वचनहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरू) मा निहित हुन्छ। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, यसले मानिस मूर्ख र अज्ञानी छ भन्ने देखाउँछ। बाहिरी स्वरूपले सार निर्धारण गर्न सक्दैन; अझ भन्ने हो भने, परमेश्वरको काम मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खाँदैन। के येशूको बाहिरी स्वरूप मानिसका धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोसाकले उहाँको वास्तविक पहिचान प्रदर्शन गर्न नसकेका थिएनन् र? के फरिसीहरूले त्यतिबेला येशूको बाहिरी स्वरूपलाई मात्र हेरेकाले र ध्यान दिएर उहाँको मुखका वचनहरू स्वीकार नगरेकाले नै उहाँको विरोध गरेका थिएनन् र? परमेश्वरको देखापराइ खोज्ने हरेक दाजुभाइ-दिदीबहिनीले इतिहासको दुःखद घटना नदोहोर्याओस् र आधुनिक समयको फरिसी बनेर परमेश्वरलाई फेरि क्रूसमा नटाँगोस् भन्ने मेरो आशा छ। तिमीहरूले परमेश्वरको पुनरागमनलाई कसरी स्वागत गर्ने भनी होसियारीका साथ ख्याल गर्नुपर्छ र सत्यताप्रति समर्पित हुने व्यक्ति कसरी बन्ने भन्ने विषयमा तिमीहरूको दिमाग स्पष्ट हुनुपर्छ। यो येशू बादलको सवारीमा फर्कनुहुनेछ भनी पर्खिरहेका सबैको जिम्मेवारी हो। हामीले आफ्ना आत्मिक आँखाहरू सफा गर्नुपर्छ र हामी काल्पनिक शब्दहरूमा फस्नु हुँदैन। हामीले परमेश्वरको वास्तविक कामका बारेमा सोच्नुपर्छ, र परमेश्वरको व्यावहारिक पक्षलाई हेर्नुपर्छ। सधैँ प्रभु येशू अचानक बादलको सवारीमा तिमीहरूमाझ ओर्लनुहुनेछ र उहाँलाई कहिल्यै नचिनेका वा नदेखेका अनि उहाँको इच्छा कसरी पछ्याउने भनी नजान्ने तिमीहरूलाई लैजानुहुनेछ भन्ने आशा गर्दै, दिवास्वप्नमा डुब्ने वा हराउने नगर। अलि बढी वास्तविक मामिलाहरूका बारेमा सोच्नु नै राम्रो हो!
तैँले अनुसन्धान गर्ने उद्देश्यले वा स्वीकार गर्ने अभिप्रायले यो पुस्तक खोलेको हुन सक्छस्; तेरो मनोवृत्ति जेसुकै भए पनि, म के आशा गर्छु भने तैँले यसलाई अन्त्यसम्म पढ्नेछस् र यसलाई सजिलै पन्छाउनेछैनस्। सायद, यी वचनहरू पढेपछि तेरो मनोवृत्ति परिवर्तन हुनेछ, तर त्यो तेरो उत्प्रेरणा र तेरो बुझाइको हदमा भर पर्छ। तर, तैँले जान्नुपर्ने एउटा कुरा छ: परमेश्वरको वचनलाई मानिसको वचन मान्न मिल्दैन र मानिसको वचनलाई परमेश्वरको वचन मान्न त झनै मिल्दैन। परमेश्वरद्वारा प्रयोग गरिएको व्यक्ति देहधारी परमेश्वर होइन र देहधारी परमेश्वर परमेश्वरद्वारा प्रयोग गरिएको व्यक्ति होइन। यसमा एउटा सारगत भिन्नता छ। सायद, यी वचनहरू पढेपछि, तँ तिनलाई परमेश्वरका वचनहरू भनी स्वीकार गर्दैनस्, बरु कुनै व्यक्तिले प्राप्त गरेको अन्तर्दृष्टिका रूपमा मात्र स्विकार्छस्। त्यसो भएको खण्डमा, तँ अत्यन्तै अज्ञानी हुन्छस्। परमेश्वरका वचनहरू र मानिसले प्राप्त गरेको अन्तर्दृष्टि कसरी एउटै हुन सक्छन्? देहधारी परमेश्वरका वचनहरूले नयाँ युगको सुरुवात गर्छन्, सम्पूर्ण मानवजातिलाई मार्गदर्शन गर्छन्, रहस्यहरू उजागर गर्छन् र मानिसलाई उसले नयाँ युगमा लिनुपर्ने दिशा देखाउँछन्। मानिसले प्राप्त गरेको अन्तर्दृष्टि केही सामान्य अभ्यास वा ज्ञानबाहेक अरू केही होइन। यसले सम्पूर्ण मानवजातिलाई मार्गदर्शन गरेर नयाँ युगमा पुर्याउन वा परमेश्वरका रहस्यहरू उजागर गर्न सक्दैन। आखिरमा, परमेश्वर परमेश्वर नै हुनुहुन्छ र मानिस मानिस नै हो। परमेश्वरमा परमेश्वरको सार हुन्छ र मानिसमा मानिसको सार हुन्छ। यदि मानिसले परमेश्वरद्वारा बोलिएका वचनहरूलाई पवित्र आत्माले दिएको सामान्य अन्तर्दृष्टिका रूपमा हेर्छ अनि प्रेरित र अगमवक्ताहरूका वचनहरूलाई परमेश्वरद्वारा व्यक्तिगत रूपमा बोलिएका वचनहरूका रूपमा लिन्छ भने, त्यो मानिसको गल्ती हुनेछ। जेसुकै भए पनि, तैँले कहिल्यै कालोलाई सेतो र सेतोलाई कालो बनाउनु हुँदैन वा उच्चलाई नीच ठान्नु हुँदैन वा गहन कुरालाई सतही भनेर व्याख्या गर्नु हुँदैन; जेसुकै भए पनि, तैँले कहिल्यै सत्यता हो भनी स्पष्ट रूपमा थाहा भएको कुरालाई जानाजानी खण्डन गर्नु हुँदैन। परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्ने हरेकले सही दृष्टिकोणबाट कामकुराहरू पत्ता लगाउने कोसिस गर्नुपर्छ अनि परमेश्वरको नयाँ काम र उहाँका नयाँ वचनहरूलाई सृजित प्राणीको स्थानबाट स्वीकार गर्नुपर्छ; अन्यथा, तिनीहरू परमेश्वरद्वारा हटाइनेछन्।
यहोवाको कामपछि, येशू मानिसमाझ आफ्नो काम गर्न देह बन्नुभयो। उहाँको काम अलग्गै गरिएको थिएन, बरु यहोवाको कामको जगमा टेकेर गरिएको थियो। यो परमेश्वरले व्यवस्थाको युग समाप्त गर्नुभएपछि नयाँ युगका लागि गरेको काम थियो। त्यसै गरी, येशूको काम सकिएपछि, परमेश्वरले अर्को युगका लागि आफ्नो काम जारी राख्नुभयो, किनभने परमेश्वरको सम्पूर्ण व्यवस्थापन सधैँ अगाडि बढिरहेको हुन्छ। जब पुरानो युग बितेर जान्छ, त्यसलाई नयाँ युगले प्रतिस्थापन गर्नेछ र पुरानो काम पूरा भएपछि, परमेश्वरको व्यवस्थापनलाई निरन्तरता दिनका लागि नयाँ काम हुनेछ। यो देहधारण परमेश्वरको दोस्रो देहधारण हो, जुन येशूको कामपछि आउँछ। अवश्य नै, यो देहधारण स्वतन्त्र रूपमा भएको होइन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको कामको तेस्रो चरण हो। हरेक पटक परमेश्वरले कामको नयाँ चरण सुरु गर्दा, त्यहाँ सधैँ एउटा नयाँ सुरुवात हुनैपर्छ र त्यसले सधैँ एउटा नयाँ युग ल्याउनैपर्छ। त्यसै गरी परमेश्वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको कामको स्थानमा र उहाँको नाममा पनि सोहीअनुरूपका परिवर्तनहरू आउँछन्। त्यसैले, मानिसलाई नयाँ युगमा परमेश्वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै आश्चर्य होइन। तर परमेश्वरलाई मानिसले जतिसुकै विरोध गरे पनि, उहाँ सधैँ आफ्नो काम गरिरहनुभएको हुन्छ र सधैँ सम्पूर्ण मानवजातिलाई अगाडि बढाइरहनुभएको हुन्छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग ल्याउनुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूको दौरान, परमेश्वर फेरि देह बन्नुभएको छ, र यो देहधारणमार्फत उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र राज्यको युग ल्याउनुभयो। परमेश्वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्ने सबैलाई राज्यको युगमा डोऱ्याइनेछ र अझ भन्नुपर्दा, तिनीहरू व्यक्तिगत रूपमा परमेश्वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर परमेश्वरले शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसका स्वभावहरू पूर्ण रूपमा हटाउने अझ ठूलो काम गर्नु पनि आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यस कामले मानवजातिलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, मार्ग र जीवन प्राप्त गर्नेछन्।
यदि मानिसहरू अनुग्रहको युगमै अड्किरहे भने, आफ्ना भ्रष्ट स्वभावहरूबाट कहिल्यै मुक्त हुनेछैनन्, झन् तिनीहरूले परमेश्वरको अन्तर्निहित स्वभावलाई चिन्नु त परको कुरा हो। यदि मानिसहरू सधैँ प्रशस्त अनुग्रहबीच जिउँछन् तर तिनीहरूसँग परमेश्वरलाई चिन्ने वा उहाँलाई सन्तुष्ट पार्ने जीवनको मार्ग छैन भने, तिनीहरूले उहाँमाथि विश्वास गरेर उहाँलाई कहिल्यै साँचो रूपमा प्राप्त गर्नेछैनन्। यस प्रकारको विश्वास वास्तवमै दयनीय हो। जब तैँले यो पुस्तक पढिसकेको हुन्छस्, जब तैँले राज्यको युगमा देहधारी परमेश्वरको कामको हरेक चरण अनुभव गरेको हुन्छस्, तब तँलाई धेरै वर्षदेखिका आफ्ना चाहनाहरू बल्ल साकार भएको महसुस हुनेछ। तँलाई अहिले आएर मात्रै आफूले परमेश्वरलाई साँच्चै आमनेसामने देखेको; अहिले आएर मात्रै आफूले उहाँको मुहार हेरेको, उहाँका व्यक्तिगत वाणीहरू सुनेको, उहाँको कामको बुद्धिको कदर गरेको र उहाँ कति व्यावहारिक र सर्वशक्तिमान् हुनुहुन्छ भनी साँच्चै महसुस गरेको अनुभूति हुनेछ। तँलाई विगतका मानिसहरूले कहिल्यै नदेखेका वा प्राप्त नगरेका धेरै कुरा आफूले प्राप्त गरेको महसुस हुनेछ। यसबेला, परमेश्वरमा विश्वास गर्नु भनेको के हो र परमेश्वरका अभिप्रायहरूअनुरूप हुनु भनेको के हो भन्ने कुरा तैँले स्पष्ट रूपमा जान्नेछस्। अवश्य नै, यदि तँ विगतका दृष्टिकोणहरूमा टाँसिन्छस् र परमेश्वरको दोस्रो देहधारणको तथ्यलाई अस्वीकार गर्छस् र स्विकार्दैनस् भने, तँ रित्तो हात रहनेछस्, तैँले केही पनि प्राप्त गर्नेछैनस् र अन्ततः तँलाई परमेश्वरको विरोध गरेकामा दोषी ठहराइनेछ। सत्यताप्रति र परमेश्वरको कामप्रति समर्पित हुन सक्नेहरू दोस्रो देहधारी परमेश्वर—सर्वशक्तिमान्—को नामअन्तर्गत पर्ने स्वीकार गरिनेछन्। तिनीहरूले परमेश्वरको व्यक्तिगत मार्गदर्शन स्वीकार गर्न सक्नेछन् अनि अझ बढी र उच्च सत्यता, साथै वास्तविक मानव जीवन प्राप्त गर्नेछन्। तिनीहरूले विगतका मानिसहरूले पहिले कहिल्यै नदेखेको दर्शन देख्नेछन्: “अनि मसँग बोल्ने आवाजलाई हेर्न म फर्केँ। र फर्केपछि, मैले सुनका सात वटा सामदान; र सात वटा सामदानको बीचमा मानिसको पुत्रजस्तै, पाउसम्मै कपडा लगाउनुभएको र छातीमा सुनको फिता कस्नुभएको एक जनालाई देखेँ। उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो” (प्रकाश १:१२-१६)। यो दर्शन परमेश्वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो र उहाँको सम्पूर्ण स्वभावको अभिव्यक्ति उहाँको वर्तमान देहधारणमा परमेश्वरको कामको अभिव्यक्ति पनि हो। सजाय र न्यायका प्रवाहहरूमा, मानिसको पुत्र वाणीहरूमार्फत आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्नुहुन्छ, जसले गर्दा उहाँको सजाय र न्याय स्वीकार गर्ने सबैले मानिसको पुत्रको साँचो मुहार देख्न पाउँछन्, जुन यूहन्नाले देखेको मानिसको पुत्रको मुहारको साँचो चित्रण हो। (अवश्य नै, राज्यको युगमा परमेश्वरको काम स्वीकार नगर्नेहरूका लागि यी सबै कुरा अदृश्य हुनेछन्।) मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा परमेश्वरको साँचो मुहारको स्पष्ट वर्णन गर्न सकिँदैन, त्यसैले परमेश्वर मानिसलाई आफ्नो साँचो मुहार देखाउन आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्ने विधि प्रयोग गर्नुहुन्छ। भन्नुको मतलब मानिसको पुत्रको अन्तर्निहित स्वभावलाई बुझेका सबैले मानिसको पुत्रको साँचो मुहार देखेका छन्, किनभने परमेश्वर अत्यन्तै महान् हुनुहुन्छ र मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा उहाँको स्पष्ट वर्णन गर्न सकिँदैन। मानिसले राज्यको युगमा परमेश्वरको कामको हरेक चरण अनुभव गरेपछि, यूहन्नाले सामदानहरूमाझ रहनुभएको मानिसको पुत्रका बारेमा बोल्दा भनेका वचनहरूको साँचो अर्थ उसले थाहा पाउनेछ: “उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो।” त्यतिबेला, यति धेरै कुरा भन्ने यो साधारण देह दोस्रो देहधारी परमेश्वर हुनुहुन्छ भन्ने कुरा नकार्न सकिँदैन भनेर तैँले निस्सन्देह थाहा पाउनेछस्। यसबाहेक, तैँले आफू कति आशिषित् छु भन्ने साँच्चै अनुभूति गर्नेछस् र आफू सबैभन्दा भाग्यमानी भएको महसुस गर्नेछस्। के तँ यो आशिष्को उत्तराधिकारी हुन इच्छुक छैनस् र?
यो पुस्तकको पहिलो भाग “प्रारम्भमा ख्रीष्टका वाणीहरू” हो। यी वचनहरूले अनुग्रहको युगको अन्त्यदेखि राज्यको युगको सुरुवातसम्मको परिवर्तनलाई प्रतिनिधित्व गर्छन्, र ती पवित्र आत्माले मण्डलीहरूलाई मानिसको पुत्रको बारेमा दिनुभएको सार्वजनिक गवाही हुन्। यी वचनहरू प्रकाशको पुस्तकका यी वचनहरूको पूर्णता पनि हुन्: “आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, कान हुनेले सुनोस्।” यी वचनहरूले परमेश्वरले राज्यको युगमा सुरु गर्नुभएको प्रारम्भिक चरणको कामलाई प्रतिनिधित्व गर्छन्। यो पुस्तकको दोस्रो भाग मानिसको पुत्रले आफूलाई औपचारिक रूपमा प्रकट गर्नुभएपछि उहाँले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूद्वारा निर्मित छ। यसमा विभिन्न प्रकारका वाणीहरू र वचनहरू समावेश छन्, यस छनोटमा विभिन्न प्रकारका वाणीहरू र वचनहरू सामेल छन्, जस्तै अगमवाणी, रहस्यहरूको प्रकाश, र जीवनको बाटो, जसको विषयवस्तु एकदम समृद्ध छ—त्यहाँ राज्यको भविष्यका लागि दिइएका अगमवाणीहरू, परमेश्वरको व्यवस्थापन योजनाका रहस्यहरूका प्रकाशहरू, मानव स्वभावको विश्लेषण, उत्साहहरू र चेतावनीहरू, कठोर न्यायहरू, सान्त्वनाका हृदयस्पर्शी वचनहरू, जीवनको चर्चा, प्रवेश गर्ने विषयमा उपदेश, र यस्तै अन्य कुराहरू छन्। संक्षेपमा भन्नुपर्दा, परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, साथै परमेश्वरको स्वभाव सबै उहाँको काम र उहाँका वचनहरूमा व्यक्त गरिएका छन्। निश्चय नै, वर्तमान देहधारणमा परमेश्वरको काम मुख्यतः सजाय र न्यायमार्फत उहाँको स्वभाव व्यक्त गर्नु, र यही जगका आधारमा, मानिसकहाँ अझ धेरै सत्यता ल्याउनु, र उसलाई अभ्यासका अझ धेरै तरिका देखाउनु हो, त्यसरी उहाँ मानिसलाई विजय गर्ने र उसका भ्रष्ट स्वभावहरूबाट उसलाई मुक्त गर्ने उहाँको उद्देश्य प्राप्त गर्नुहुन्छ। राज्यको युगमा परमेश्वरको कामको पछाडि यही नै हुन्छ। के तँ नयाँ युगमा प्रवेश गर्न चाहन्छस्? के तँ आफ्नो भ्रष्ट स्वभावबाट आफूलाई मुक्त गर्न चाहन्छस्? के तँ अझ उच्च सत्यता प्राप्त गर्न चाहन्छस्? के तँ मानिसको पुत्रको वास्तविक अनुहार हेर्न चाहन्छस्? के तँ यो जीवनलाई महत्त्वपूर्ण बनाउन चाहन्छस्? के तँ परमेश्वरद्वारा सिद्ध बनाइन चाहन्छस्? त्यसोभए तैँले येशूको पुनरागमनलाई कसरी स्वागत गर्न लागेको छस्?