प्रस्तावना

धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरको इच्छा अनुरूप हुन तिनीहरूले के गर्नुपर्छ भनी बुझ्दछन्। मानिसहरू “परमेश्‍वर” शब्द र “परमेश्‍वरको कार्य” जस्ता वाक्यांशहरूसित परिचित भए पनि तिनीहरूले परमेश्‍वरलाई नचिनेको कारणले यस्तो भएको हो अनि उहाँको कार्यलाई जान्ने कुरा त परै जाओस्। त्यसैले, परमेश्‍वरलाई नचिन्नेहरू सबै उहाँसम्बन्धी तिनीहरूका आफ्नै विश्‍वासमा अल्मलिएको हुनु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वासलाई गम्भीर रूपमा लिंदैनन्, र यो पूर्ण रूपमा तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कुरा धेरै नै अपरिचित र अनौठो लागेको कारणले गर्दा भएको हो। यसप्रकारले, तिनीहरूले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनन्। अर्को शब्दमा भन्नु पर्दा, यदि मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र उहाँका कार्यको बारेमा जान्दैनन् भने, तिनीहरू परमेश्‍वरको प्रयोगका लागि योग्य हुँदैनन्, र तिनीहरूले उहाँको इच्छा पूरा गर्ने कुरा त परै जाओस्। “परमेश्‍वरप्रतिको विश्‍वास” भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा यो सबैभन्दा सरल धारणा हो। यसबाहेक, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु उस्तै होइन; बरु, यो बलियो धार्मिक संकेतसहितको साधारण किसिमको विश्‍वास हो। परमेश्‍वरप्रतिको साँचो विश्‍वासको अर्थ निम्न छन्ः परमेश्‍वरले सबै थोकमाथि सर्वाधिकार राख्नुहुन्छ भन्ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्‍वरको इच्छा पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्‍वरप्रतिको विश्‍वास” भन्न सकिन्छ। तापनि मानिसहरूले प्रायः परमेश्‍वरप्रतिको विश्‍वासलाई एउटा साधारण र हलुका कुराको रूपमा हेर्छन्। यस्तो प्रकारले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ गुमाइसकेका छन्, र तिनीहरूले आखिरीसम्म विश्‍वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्। आज अझै त्यस्ता मानिसहरू पनि छन् जो अक्षरहरू र खोक्रो सिद्धान्तहरूअनुसार परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले आफूहरूमा परमेश्‍वरप्रतिको विश्‍वासको सारको अभाव छ भनी बुझ्दैनन्, र तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्दैनन्। तापनि अझै तिनीहरू सुरक्षा र पर्याप्त अनुग्रहको आशीषहरूका लागि परमेश्‍वरसँग प्रार्थना गर्छन्। आउनुहोस्, हामी रोकिऔं, हाम्रो मन शान्त पारौं, अनि आफैलाई सोधौं: के परमेश्‍वरमा विश्‍वास गर्नु पृथ्वीमा सबैभन्दा सजिलो कुरा हुन सक्छ? के यो हुन सक्छ कि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरबाट असीम अनुग्रह पाउनुबाहेक अरू केही होइन? के परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्ने वा परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँको इच्छा पूरा गर्न सक्छन्?

परमेश्‍वर र मानिसलाई समान शब्दहरूमा व्यक्त गर्न सकिंदैन। उहाँको सार र उहाँको कार्य मानिसका लागि अति नै अथाह र बुझ्नै नसकिने हुन्छन्। यदि परमेश्‍वरले व्यक्तिगत तवरले आफ्नो कार्य गर्नुहुन्न र मानिसको संसारमा उहाँका वचनहरू बोल्नुहुन्न भने, मानिसले कहिल्यै पनि परमेश्‍वरको इच्छा बुझ्न सक्ने थिएनन्। अनि यसैले, आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा समर्पण गर्नेहरूले पनि उहाँको अनुमोदन प्राप्त गर्न सक्ने थिएनन्। यदि परमेश्‍वरले कार्य गर्न लाग्नुहुन्न भने, मानिसले जति नै राम्रो गरे पनि त्यो सब व्यर्थको हुनेछ, किनकि परमेश्‍वरका विचारहरू सधैं मानिसका विचारहरूभन्दा उच्च हुन्छन्, र परमेश्‍वरको बुद्धि मानिसको समझभन्दा धेरै परको हुन्छ। र यसैले म भन्छु कि जसले परमेश्‍वर र उहाँको कार्यलाई “पूर्ण रूपमा बुझेको” दाबी गर्छन् तिनीहरू धेरै अयोग्य छन्; तिनीहरू सबै आफैमा अति विश्‍वस्त र अनभिज्ञ छन्। मानिसले परमेश्‍वरको कार्यलाई परिभाषित गर्नु हुँदैन; अझ भन्ने हो भने, मानिसले परमेश्‍वरको कार्यलाई परिभाषा गर्न सक्दैन। परमेश्‍वरको नजरमा, मानिस कमिलाजस्तै महत्त्वहीन छ; त्यसैले मानिसले कसरी परमेश्‍वरको कार्यलाई बुझ्न सक्छ? जसले गर्वसाथ “परमेश्‍वरले यसरी वा त्यसरी कार्य गर्नुहुन्न” वा “परमेश्‍वर यस्तो वा त्यस्तो हुनुहुन्छ” भन्न मन पराउँछन्—के उनीहरू अहङ्कारसाथ बोलिरहेका छैनन् र? हामी सबैले जान्नुपर्दछ कि मानिस जो देहबाटको हो, ऊ शैतानद्वारा भ्रष्ट पारिइएको छ। मानवजातिको आफ्नै स्वभाव परमेश्‍वरको विरोध गर्ने हुन्छ। मानवजाति परमेश्‍वरको बराबरी हुनै सक्दैन, परमेश्‍वरको कार्यमा मानवजातिले सल्लाह दिने कुरा त परै जाओस्। परमेश्‍वरले मानिसलाई कसरी डोऱ्याउनुहुन्छ भन्ने विषयमा चाहिँ यो परमेश्‍वर आफैले गर्नुहुने कार्य हो। मानिसले यो वा त्यो विचार व्यक्त नगरी अधीनमा बस्नु नै उचित हुन्छ, किनकि मानिस धुलो मात्र हो। परमेश्‍वरको खोजी गर्ने हाम्रो अभिप्राय भएकोले हामीले परमेश्‍वरले विचार गरून् भनी उहाँको कार्यमा आफ्ना विचारहरू माथिबाट थोप्नुहुँदैन, हामीले जानीजानी परमेश्‍वरको कार्यको विरोध गर्न आफ्नो भ्रष्ट स्वभावलाई अधिकतम प्रयोग गर्ने कुरा त परै जाओस्। के त्यसले हामीलाई ख्रीष्ट-विरोधीहरू बनाउँदैन र? त्यस्ता मानिसहरूले कसरी परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्? हामी परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्दछौं, र हामी उहाँलाई सन्तुष्ट पार्न र उहाँलाई हेर्न चाहन्छौं, त्यसैले हामीले सत्यको बाटो खोज्नुपर्दछ, र परमेश्‍वरसँग उपयुक्त हुने बाटोको खोजी गर्नुपर्छ। हामी उहाँसँग हठपूर्ण विरोधमा खडा हुनुहुँदैन। त्यस्तो कार्यबाट सम्भवतः के भलाइ हुन सक्छ र?

आज, परमेश्‍वरले नयाँ कार्य गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न सक्दैनस् होला, र ती तँलाई अनौठो लाग्न सक्छ, तर म तँलाई आफ्नो स्वभाविकता प्रकट नगर्ने सल्लाह दिन्छु, किनकि परमेश्‍वरको अगाडि साँच्चै धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्, अनि जो वास्तवमा भक्त हुन्छन् तिनीहरूले उहाँद्वारा अन्तर्दृष्टि र मार्गनिर्देशन पाउन सक्छन्। प्रतिफलहरू गम्भीर शान्तिको साथ सत्यको खोजी गरेर प्राप्त गरिन्छ, झगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्‍वरले नयाँ कार्य गर्नुभएको छ” भन्छु, तब म परमेश्‍वर देहमा फर्कने बारेको कुरा गरिरहेको हुन्छु। सायद, यी वचनहरूले तँलाई दु:ख नदेलान्; सायद, तँ ती वचनलाई तुच्छ ठान्छस् होला; वा सायद, तँलाई तिनमा ठूलो रुचि छ होला। स्थिति जेसुकै भए पनि, म आशा गर्दछु कि परमेश्‍वर देखा परून् भनी साँच्चै चाहनेहरू सबैले यस तथ्यलाई सामना गर्न सक्छन् र त्यसको बारेमा हतारमा निष्कर्षमा पुग्नुभन्दा बरु त्यसलाई ध्यानपूर्वक जाँच गर्दछन्; एक बुद्धिमान् व्यक्तिले त्यसै गर्नुपर्छ।

यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन हुँदैन, तर यसका निम्ति हामी प्रत्येकले यो एउटा सत्यता जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्‍वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)। यदि मानिसले उहाँको बाहिरी देखा पर्ने घटनालाई मात्र जाँच्छ भने, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ। बाहिरी देखा पर्ने घटनाले सार निर्धारण गर्न सक्दैन; अझ भन्ने हो भने, परमेश्‍वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खांदैन। के येशूको बाहिरी देखा पर्ने घटना मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोशाक उहाँको वास्तविक पहिचानको संकेत दिन असक्षम थिएनन् र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी देखा पर्ने घटनालाई हेरेकाले र उहाँको मुखका वचनहरूलाई हृदयमा स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र? म आशा गर्छु, परमेश्‍वरको देखा पर्ने घटनाको खोजी गर्ने प्रत्येक दाजुभाई तथा दिदीबहिनीहरूले इतिहासको त्रासदी दोऱ्याउनेछैन। तँ आधुनिक समयका फरिसी बन्नुहुँदैन र परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्नुहुँदैन। तैँले परमेश्‍वरको फर्काइलाई कसरी स्वागत गर्नुपर्छ त्यो राम्ररी विचार गर्नुपर्छ, अनि तँमा सत्यको अधीनमा बस्ने व्यक्ति कसरी बन्ने भन्ने विषयमा स्पष्ट विचार हुनुपर्छ। येशू बादलमा सवार भएर फेरि आउनुहुने दिन पर्खने सबैको यो जिम्मेवारी हो। ती कुरालाई स्पष्ट बनाउन हामीले आफ्ना आत्मिक आँखाहरू मल्नुपर्छ, अनि बढाइचढाइ गरिएका काल्पनिक शब्दहरूको दलदलमा फस्नुहुँदैन। हामीले परमेश्‍वरको व्यावहारिक कार्यको बारेमा सोच्नुपर्दछ, र परमेश्‍वरको व्यावहारिक पक्षलाई हेर्नुपर्दछ। तिमीहरू प्रभु येशू बादलमा सवार भएर अचानक तिमीहरूको बीचमा आउनुहुने, र उहाँलाई कहिल्यै नचिनेका र नदेखेका, र उहाँको इच्छा कसरी पूरा गर्नुपर्छ भनी नजान्ने तिमीहरूलाई लैजानुहुने दिनको चाहनामा सधैं अन्तै नजाओ वा आफै दिवा सपनामा बगेर नजाओ। अझ बढी व्यावहारिक विषयहरूमा सोचविचार गर्नु राम्रो हुन्छ!

तैँले यो पुस्तक अनुसन्धान गर्ने उद्देश्यले वा स्वीकार गर्ने मनसायले खोलेका हुन सक्छस्; तेरो प्रवृत्ति जस्तो सुकै होस्, म आशा गर्दछु, तैँले यो अन्त्यसम्म पढ्नेछस्, र यसलाई सजिलै पन्छाउनेछैनस्। सायद, यी वचनहरू पढिसकेपछि तेरो प्रवृत्ति परिवर्तन हुनेछ, तर त्यो तेरो प्रेरणामा र तेरो समझको हदमा निर्भर रहन्छ। तापनि, तैँले एउटा कुरा जान्नुपर्छः परमेश्‍वरको वचनलाई मानिसको वचन बनाउन सकिंदैन, अनि मानिसको वचनलाई कसैले परमेश्‍वरको वचन बनाउने कुरा त परै छाँड़ौ। परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस देहधारी परमेश्‍वर होइन, अनि देहधारी परमेश्‍वर परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस होइन। यसमा, एउटा आधारभूत भिन्नता हुन्छ। सायद, यी वचनहरू पढिसकेपछि तँ तिनलाई परमेश्‍वरका वचनहरू मान्दैनस्, तर मानिसले प्राप्त गरेको अन्तर्दृष्टि मात्र ठान्छस् होला। त्यस्तो अवस्थामा, तँ अज्ञानताले अन्धो भएको छस्। परमेश्‍वरको वचन कसरी मानिसले प्राप्त गरेको अन्तर्दृष्टि जस्तो हुन सक्छ? देहधारी परमेश्‍वरका वचनहरूले एउटा नयाँ युग सुरु गर्दछ, सारा मानवजातिलाई डोऱ्याउँछ, रहस्यहरू प्रकट गर्दछ, र मानिसले त्यो नयाँ युगमा लिनुपर्ने दिशा देखाउँदछ। मानिसले प्राप्त गरेको अन्तर्दृष्टि भनेको अभ्यास वा ज्ञानका लागि सरल निर्देशनहरू मात्र हो। यसले सम्पूर्ण मानवजातिलाई नयाँ युगमा डोऱ्याउन वा परमेश्‍वर स्वयमका रहस्यहरू प्रकट गर्न सक्दैन। जब सबै कुरा भनिन्छ र गरिन्छ, परमेश्‍वर परमेश्‍वर हुन्छ, र मानिस मानिस नै हुन्छ। परमेश्‍वरसित परमेश्‍वरको सार छ, र मानिससित मानिसको सार छ। यदि मानिसले परमेश्‍वरले बोल्नुभएका वचनहरूलाई पवित्र आत्माले दिनुभएको सरल अन्तर्दृष्टिको रूपमा हेर्छ भने र प्रेरितहरू र अगमवक्ताहरूले बोलेका वचनलाई परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएको वचनको रूपमा लिन्छ भने, त्यो मानिसको गल्ती हुनेछ। चाहे जे भए पनि, तैँले कहिल्यै पनि सही र गलतलाई मिसाउनु हुँदैन, उच्चलाई निम्न बनाउनुहुँदैन, वा गम्भीरलाई हलुका बनाउनु हुँदैन; चाहे जे भए पनि जुन कुरा सत्य हो भनी जान्दछस् त्यसलाई जानीजानी खण्डन गर्नु हुँदैन। परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्ने सबैले सही दृष्टिकोणबाट समस्याहरू जाँच्नुपर्छ, र परमेश्‍वरको नयाँ कार्यलाई र उहाँका नयाँ वचनहरूलाई उहाँद्वारा सृष्टि गरिएको प्राणीको परिप्रेक्ष्यबाट स्वीकार गर्नुपर्दछ; नत्र, तिनीहरूलाई परमेश्‍वरद्वारा हटाइनेछन्।

यहोवाको कामपछि, येशू मानिसहरूको माझमा उहाँको काम गर्न देह बन्नुभयो। उहाँको काम एक्लोपनामा गरिएको थिएन, तर यहोवाको काममाथि निर्माण गरिएको थियो। यो एउटा नयाँ युगका निम्ति काम थियो जुन परमेश्‍वरले व्यवस्थाको युग अन्त्य गर्नुभएपछि गर्नुभयो। त्यसरी नै, येशूको काम समाप्त भएपछि, परमेश्‍वरले अर्को युगका लागि आफ्नो काम गर्न अघि बढनुभयो, किनकि परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन सधैं अगाडि बढिरहेको छ। जब पुरानो युग बित्छ, त्यसको स्थानमा एउटा नयाँ युग आउँछ, अनि एकपटक पुरानो काम पूरा भएपछि, परमेश्‍वरको व्यवस्थापनलाई निरन्तरता दिने त्यहाँ नयाँ काम हुनेछ। यो देहधारण परमेश्‍वरको दोस्रो देहधारण हो, जसले येशूको कामलाई पछ्याउँदछ। निश्चय, यो देहधारण स्वतन्त्र रूपमा हुँदैन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको तेस्रो चरणको काम हो। प्रत्येक पल्ट जब परमेश्‍वरले कामको नयाँ चरण थाल्नुहुन्छ, त्यहाँ सधैं नयाँ सुरुआत हुनु पर्दछ र त्यसले सधैं एउटा नयाँ युग ल्याउनु पर्दछ। त्यस्तै प्रकारले परमेश्‍वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको काम गर्ने स्थानमा र उहाँको नाउँमा पनि त्यही अनुरूप परिवर्तनहरू हुन्छन्। त्यसैले, नयाँ युगमा मानिसलाई परमेश्‍वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै अचम्म मान्नु पर्ने कुरा होइन। तर मानिसद्वारा उहाँको जस्तै प्रकारले विरोध भए पनि परमेश्‍वरले सधैं आफ्नो काम गरिरहनुभएको छ, र सारा मानवजातिलाई अगाडि बढाइरहनुभएको छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभयो, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्‍वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्‍वरको राज्यको युगतिर लगिनेछ, र यसबाहेक व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशू पापको बलि बन्न र मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्।

यदि मानिसहरू अनुग्रहको युगमा अल्झिरहन्छन् भने, तिनीहरू आफ्नो भ्रष्ट स्वभावबाट कहिल्यै पनि मुक्त हुनेछैनन्, परमेश्‍वरको अन्तर्निहित स्वभाव जान्ने कुरा त परै जाओस्। यदि मानिसहरू जहिले पनि अनुग्रहको प्रशस्तताको बीचमा जिउँछन्, तर तिनीहरूलाई परमेश्‍वरलाई जान्न दिने वा उहाँलाई सन्तुष्ट पार्ने जीवनको बाटो छैन भने, तिनीहरूले उहाँप्रतिको आफ्नो विश्‍वासमा उहाँलाई साँच्चिकै प्राप्त गर्न सक्नेछैनन्। यस किसिमको विश्‍वास वास्तवमै दयनीय हुन्छ। जब तैँले यो पुस्तक पढिसक्छस्, जब तैँले राज्यको युगमा देहधारी परमेश्‍वरको कामको प्रत्येक चरणको अनुभव गर्नेछस्, तब धेरै वर्षदेखिका तेरो इच्छाहरू अन्त्यमा साकार भएको महसुस गर्नेछस्। तैँले अहिले मात्र साँच्चै परमेश्‍वरलाई आमनेसामने देखेको, अहिले मात्र उहाँको मुहार एक टक लाएर हेरेको, उहाँको व्यक्तिगत वाणी सुनेको, उहाँको कामको बुद्धिलाई कदर गरेको र उहाँ कति वास्तविक र सर्वशक्तिमान् हुनुहुन्छ भनी जानेको महसुस गर्नेछस्। तैँले विगतका मानिसहरूले नदेखेका र उनीहरूसित नभएका धेरै थोकहरू प्राप्त गरेको महसुस गर्नेछस्। यस समयमा, तैँले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो र परमेश्‍वरको इच्छा अनुरूप हुनु भनेको के हो त्यो स्पष्ट रूपमा जान्नेछस्। निश्चय, यदि तँ विगतका दृष्टिकोणहरूमा अल्झिबसिस्, र परमेश्‍वरको दोस्रो देहधारणको तथ्यलाई इन्कार वा अस्वीकार गरिस् भने, तँ खाली हात रहनेछस्, केही पनि प्राप्त गर्नेछैनस्, र अन्त्यमा तँ परमेश्‍वरको विरोध गरेकोमा दोषी ठहरिनेछस्। तिनीहरू जो सत्य पालन गर्न र परमेश्‍वरको कामको अधीनमा बस्न सक्छन् उनीहरूलाई दोस्रो देहधारी परमेश्‍वर—सर्वशक्तिमानको नाउँमा दाबी गरिनेछ। तिनीहरूले परमेश्‍वरको व्यक्तिगत मार्गदर्शन स्वीकार गर्न, अझ धेरै र उच्च सत्यताहरू, साथै वास्तविक जीवन पनि प्राप्त गर्न सक्नेछन्। तिनीहरूले विगतका कुनै मानिसहरूले नदेखेको दर्शन देख्नेछन्ः “अनि मसँग बोल्‍ने आवाजलाई हेर्न म फर्केँ। र फर्केपछि, मैले सुनका सात वटा सामदान; र सात वटा सामदानको बीचमा मानिसको पुत्रजस्तै, पाउसम्मै कपडा लगाउनुभएको र छातीमा सुनको फिता कस्‍नुभएको एक जनालाई देखेँ। उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो” (प्रकाश १:१२-१६)। यो दर्शन परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो, र उहाँको सम्पूर्ण स्वभावको अभिव्यक्ति उहाँको वर्तमान देहधारणमा परमेश्‍वरको कार्यको अभिव्यक्ति पनि हो। दण्ड र न्यायको प्रवाहमा, मानिसका पुत्रले वाणीहरूका माध्यमद्वारा आफ्नो अन्तर्निहित स्वभाव प्रकट गर्नुहुन्छ, आफ्नो दण्ड र न्यायलाई स्वीकार गर्ने सबैलाई मानिसको पुत्रको वास्तविक अनुहार हेर्न दिनुहुन्छ, जुनचाहिँ यूहन्नाले देखेका मानिसका पुत्रको अनुहारको एक विश्‍वसनीय अनुहारको चित्रण हो। (निस्सन्देह, यी सबै कुरा तिनीहरूका निम्ति अदृश्य हुनेछन् जसले राज्यको युगमा हुने परमेश्‍वरको कामलाई स्वीकार गर्दैनन्।) परमेश्‍वरको वास्तविक अनुहार मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा वर्णन गर्न सकिंदैन, र त्यसैले परमेश्‍वरले मानिसलाई उहाँको वास्तविक अनुहार देखाउन ती माध्यमहरू प्रयोग गर्नुहुन्छ जसद्वारा उहाँले अन्तर्निहित स्वभाव व्यक्त गर्नुहुन्छ। भन्न खोजेको के हो भने, मानिसको पुत्रको अन्तर्निहित स्वभावको कदर गरेकाहरू सबैले मानिसका पुत्रको वास्तविक अनुहार देखेका हुन्छन्, किनकि परमेश्‍वर अति महान् हुनुहुन्छ र मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा व्यक्त गर्न सकिंदैन। मानिसले राज्यको युगमा एक पल्ट परमेश्‍वरको कामको प्रत्येक चरणको अनुभव गरेपछि, उसले यूहन्नाले सामदानहरूको माझमा हुनुभएको मानिसको पुत्र बारेमा भनेका कुराहरूको सही अर्थ बुझ्नेछः “उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो।” त्यस समय, तँलाई बिनाशङ्का यो थाहा हुनेछ कि यो साधारण मानिस, जसले धेरै कुरा भनेका छन् उहाँ निस्सन्देह दोस्रो देहधारी परमेश्‍वर हुनुहुन्छ। यसबाहेक, तैँले आफू कति आशिषित रहेछु भनी साँच्चिकै थाहा पाउनेछस्, र आफैलाई सबैभन्दा भाग्यमानी महसुस गर्नेछस्। के तँ यो आशिष् स्वीकार गर्न तयार छैनस्?

यो पुस्तक वचन शरीरमा देखा पर्नुहुन्छ बाट छनौट गरिएको हो, र अवश्य नै, यो आत्माले मण्डलीहरूलाई भन्‍नुभएका वचनहरू पनि हो। ती प्रकाशको पुस्तकको त्यस वचनहरूको परिपूर्ति हुन्, जसले भन्छ, “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, जसको कान छ उसले सुनोस्।” यस छनोटमा विभिन्न प्रकारका वाणीहरू र शब्दहरू सामेल छन्, जस्तै अगमवाणी, रहस्यहरूको प्रकाश, र जीवनको बाटो, जसको विषयवस्तु एकदम समृद्ध छ—त्यहाँ राज्यको भविष्यका लागि अगमवाणीहरू, परमेश्‍वरको व्यवस्थापन योजनाका रहस्यहरूका प्रकाशहरू, मानव स्वभावको विश्लेषण, उत्साहहरू र चेतावनीहरू, कठोर न्यायहरू, सान्त्वनाका हृदयस्पर्शी वचनहरू, जीवनको चर्चा, प्रवेश गर्ने विषयमा उपदेश, र यस्तै अन्य कुराहरू छन्। संक्षेपमा भन्नुपर्दा, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, साथै परमेश्‍वरको स्वभाव सबै उहाँको काम र उहाँका वचनहरूमा व्यक्त गरिएका छन्। निश्चय नै, वर्तमान देहधारणमा परमेश्‍वरको काम मुख्य रूपले दण्ड र न्यायको माध्यमद्वारा उहाँको स्वभाव व्यक्त गर्नु हो। यही जगमा निर्माण गर्दै, उहाँले मानिसमा अझ धेरै सत्यता ल्याउनुहुन्छ, र उसलाई अभ्यास गर्ने अझ धेरै तरिकाहरू औल्याउनुहुन्छ, त्यसरी मानिसलाई जित्ने र उसको आफ्नै भ्रष्ट स्वभावबाट उसलाई मुक्त गर्ने उहाँको उद्देश्य प्राप्त गर्नुहुन्छ। राज्यको युगमा परमेश्‍वरको कामको पछि रहेको कुरा यही हो। के तँ नयाँ युगमा प्रवेश गर्न चाहन्छस्? के तँ आफ्नो भ्रष्ट स्वभावबाट आफूलाई मुक्त गर्न चाहन्छस्? के तँ अझ उच्च सत्यता प्राप्त गर्न चाहन्छस्? के तँ मानिसको पुत्रको वास्तविक अनुहार हेर्न चाहन्छस्? के तँ यो जीवनलाई महत्त्वपूर्ण बनाउन चाहन्छस्? के तँ परमेश्‍वरद्वारा सिद्ध बनाइन चाहन्छस्? त्यसोभए तैँले येशूको पुनरागमनलाई कसरी स्वागत गर्न लागेका छस्?

अर्को: परिशिष्ट: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

तीन अर्तीहरू

परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा तैँले सबै कुरामा उहाँ बाहेक अरू कसैप्रति बफादार रहनु हुँदैन र हरेक कुरामा उहाँको इच्छाअनुसार...

परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

आज तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्ने र जान्ने प्रयास गर्ने क्रममा, एकतर्फ तिमीहरूले कठिनाइ र शोधनलाई सहनुपर्छ भने, अर्कोतर्फ, तिमीहरूले...

बाइबल सम्बन्धमा (३)

बाइबलमा भएका सबै कुरा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरूको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्