मानिसले परमेश्वरसँग अत्यन्तै धेरै माग गर्छ
परमेश्वर मानिसहरूले उहाँलाई परमेश्वरको रूपमा व्यवहार गरून् भन्ने माग गर्नुहुन्छ, किनभने मानवजाति अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याइएको छ र ऊ उहाँलाई परमेश्वरको रूपमा नभई व्यक्तिको रूपमा व्यवहार गर्छ। मानिसहरूले परमेश्वरसँग सधैँ माग गर्नु कस्तो समस्या हो? अनि तिनीहरूले परमेश्वरबारे सधैँ धारणा राख्नु कस्तो समस्या हो? मानिसको प्रकृतिमा के छ? मैले के पत्ता लगाएको छु भने, चाहे मानिसहरूलाई जेसुकै आइपरोस्, वा तिनीहरू जे कुरा सम्हालिरहेका होऊन्, तिनीहरू सधैँ आफ्नो हितको रक्षा गर्छन् र आफ्नै देहको चिन्ता गर्छन्, अनि सधैँ आफूलाई फाइदा हुने कारण वा बहानाहरू खोज्छन्। तिनीहरू अलिकति पनि सत्यता खोज्दैनन् वा सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले गर्ने सबै कुरा आफ्नै देहलाई सही साबित गर्नु र आफ्नै भविष्यका खातिर योजना बनाउनु मात्रै हुन्छ। तिनीहरू सधैँ परमेश्वरबाट अनुग्रह माग्छन्, आफूले पाउन सक्ने जति फाइदाहरू पाउन चाहन्छन्। किन मानिसहरू परमेश्वरसँग यति धेरै माग गर्छन्? यसले मानिसहरूको प्रकृति नै लोभी हुन्छ, र परमेश्वरको सामु, तिनीहरूको बिलकुलै समझ हुँदैन भनी प्रमाणित गर्छ। मानिसहरूले गर्ने हरेक कुरामा—चाहे प्रार्थना गर्दा होस् वा सङ्गति गर्दा होस् वा प्रवचन दिँदा होस्—तिनीहरूले सोच्ने कुरा, र तिनीहरूले पछ्याउने र चाहना गर्ने कुरा, सधैँ परमेश्वरबाट केही प्राप्त गर्न सकिन्छ कि भन्ने आशामा उहाँबाट कुराहरूको अपेक्षा र याचना गर्नुमै सीमित हुन्छ। कतिपय मानिस “यो मूलतः मानव प्रकृति नै हो” भन्छन्, जुन सही हो। यसका साथै, मानिसहरूले परमेश्वरसँग धेरै मागहरू राख्नु र धेरै अत्यधिक चाहनाहरू राख्नुले मानिसहरू पूर्ण रूपमा विवेक र समझविहीन छन् भनी प्रमाणित गर्छ। तिनीहरू सबै आफ्नै खातिर चीजहरूको अपेक्षा र याचना गरिरहेका हुन्छन्, वा आफूलाई सत्य साबित गर्ने र बहानाहरू बनाउने प्रयास गरिरहेका हुन्छन्—तिनीहरू यो सबै आफ्नै लागि गर्छन्। धेरै कुरामा के देख्न सकिन्छ भने मानिसहरूले गर्ने कुरा पूर्णतया समझहीन हुन्छ, जसले “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानको तर्क मानिसको प्रकृति बनिसकेको छ भन्ने कुरा पूर्ण रूपमा प्रमाणित गर्छ। मानिसहरूले परमेश्वरसँग अति धेरै माग गर्नुले कुन समस्यालाई चित्रण गर्दछ? यसले के चित्रण गर्दछ भने, शैतानले मानिसहरूलाई एक निश्चित हदसम्म भ्रष्ट बनाएको छ, र तिनीहरूले परमेश्वरमा विश्वास गर्दा उहाँलाई परमेश्वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। केही मानिस भन्छन्, “यदि हामीले परमेश्वरलाई परमेश्वरका रूपमा व्यवहार नगरेका भए, हामी किन उहाँमा अझै विश्वास गर्ने थियौँ र? यदि हामीले उहाँलाई परमेश्वरका रूपमा व्यवहार नगरेका भए, के हामीले उहाँलाई अहिलेसम्म पछ्याइरहन सक्थ्यौँ र? के हामीले यो सारा कष्ट सहन सक्थ्यौँ?” यसो हेर्दा, तँ परमेश्वरमा विश्वास गर्छस् र उहाँलाई पछ्याउन सक्षम छस्, तैपनि उहाँप्रतिको तेरो मनोवृत्तिमा, र धेरै कुरालाई हेर्ने तेरो दृष्टिकोणमा, तैँले परमेश्वरलाई बिलकुलै सृष्टिकर्ताका रूपमा व्यवहार गर्दैनस्। यदि तँ परमेश्वरलाई परमेश्वरका रूपमा व्यवहार गर्छस्, उहाँलाई सृष्टिकर्ताका रूपमा व्यवहार गर्छस् भने, तँ सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो स्थानमा उभिनुपर्छ, र तैँले परमेश्वरसँग कुनै मागहरू गर्नु वा कुनै अत्यधिक इच्छाहरू राख्नु असम्भव हुनेछ। बरु हृदयमा तँ साँचो समर्पण गर्न सक्षम हुनेछस्, अनि परमेश्वरका मागहरूअनुसार उहाँमा विश्वास गर्न र उहाँका सबै कामप्रति समर्पित हुन पूर्ण रूपमा सक्षम हुनेछस्।
देहधारणको गवाही दिन थाल्दा, मानिसहरू सबैले गुनासो गरे: “हे परमेश्वर, तपाईंले आफू देह बन्नुअघि हामीलाई मानसिक रूपमा तयार हुन सकौँ भनी अन्तर्दृष्टि दिनुभएन। यदि हामी मानसिक रूपमा तयार भएको भए, हामीले विद्रोह र प्रतिरोध गर्नुको सट्टा तपाईंलाई स्वीकार गर्नेथियौँ। के तपाईं सर्वशक्तिमान् हुनुहुन्न र? हामी शैतानद्वारा भ्रष्ट पारिएकाले तपाईंविरुद्ध विद्रोह र प्रतिरोध गर्छौँ र यसो नगरी सक्दै सक्दैनौँ। के तपाईं हामीलाई प्रतिरोधी हुन नदिन केही गर्न र सहजै पार लगाउन सक्नुहुन्न?” मानिसले सोचेको कुरा यही होइन र? धेरै मानिस यसो भन्दै सर्तहरू पनि राख्छन्: “हामी आफ्नो विद्रोह र प्रतिरोधबारे केही गर्न सक्दैनौँ। परमेश्वरको देहधारण हाम्रो धारणासँग ठ्याक्कै मिल्दैन। यदि परमेश्वरको देहधारण अलि उच्च, वा हेर्नमा विशिष्ट, वा प्रचुर ज्ञानयुक्त र बोल्नमा सिपालु, वा चाहेअनुसार भौतिक शरीर धारण गर्न सक्ने अनि चिन्ह र चमत्कारहरू गर्न सक्ने भएको भए, वा यदि परमेश्वरले देखा परी मानिसहरूको कल्पनाअनुसार देहधारणमा काम गर्नुभएको भए, हामी उहाँको प्रतिरोध गर्नेथिएनौँ।” त्यो बेला धेरै मानिसहरूले यी मागहरू गरे, तर परमेश्वरले मानिसको कल्पना वा धारणाअनुसार काम गर्नुभएन। यसको विपरीत, उहाँले प्रतिप्रहार गर्दै पूर्णतया मानव धारणा विपरीत काम गर्नुभयो। यसले के प्रमाणित गर्यो? यसले के प्रमाणित गर्यो भने, मानव धारणा र मागहरू अनुचित रूपमा दुःखदायी कुरा हुन्। केही मानिसहरू मण्डली अगुवा बने तर कुनै वास्तविक काम गरेनन्, र आफूलाई केही बाहिरी मामिलाहरूमा मात्र व्यस्त राखे। जब मैले यी मानिसहरूलाई काटछाँट गरेँ, अलिअलि हप्काएँ, तब तिनीहरू भित्रभित्रै दुःखी भए, नराम्रोसँग रोए र नकारात्मक बने। तिनीहरूले मनमनै यसो भने: “के परमेश्वर कृपालु र मायालु हुनुहुन्न र? मैले निकै कष्ट भोगिरहेको छु, किन उहाँ मेरा लागि सान्त्वनाका केही मिठा बोली बोल्नुहुन्न? किन उहाँ मलाई आशीर्वादको एक शब्द पनि दिनुहुन्न?” मानिसहरूले यसरी परमेश्वरसँग माग गरे, र तिनीहरू आफ्नै तर्कहरूले भरिएका थिए। कतिपय मानिसहरू आफूले अरू धेरै मानिसलाई सफलतापूर्वक सुसमाचार प्रचार गरेकाले आफूसँग पूँजी भएको ठान्थे, त्यसैले केही गलत गरेकोमा काटछाँटमा परेपछि तिनीहरूले यस्तो तर्क गरे: “मैले कुनै इनामबिना नै धेरै मानिसलाई सफलतापूर्वक सुसमाचार प्रचार गरेँ, र अहिले मलाई यसरी काटछाँट गरिएको छ। मैले धेरै कष्ट झेलेको छु, र पनि अन्त्यमा मलाई काटछाँट गरियो। किन परमेश्वर मेरो भावनाको वास्ता गर्नुहुन्न?” के यस्तो सोच्ने मानिसहरूको हृदयमा सत्यता हुन्छ? के यी मागहरू उचित छन्? यदि मैले कसैलाई काटछाँट गरेपछि सान्त्वना दिएको भए तिनीहरूले यस्तो सोच्नेथिए, “परमेश्वर एकदमै असल हुनुहुन्छ, उहाँले मलाई सान्त्वना दिनुहुन्छ भन्ने कहिल्यै सोचेको थिइनँ।” तर त्यसपछि, यदि मैले अरू कसैलाई काटछाँट गरेँ, र त्यो व्यक्ति निकै दुःखी भयो, अनि मैले उसलाई सान्त्वना नदिएको भए, त्यो व्यक्तिले यस्तो सोच्नेथियो, “किन परमेश्वर अरूलाई काटछाँट गरेपछि सान्त्वना दिनुहुन्छ, तर मलाई सान्त्वना दिनुहुन्न? परमेश्वर मप्रति निष्पक्ष भइरहनुभएको छैन,” अनि तिनीहरूको हृदयमा धारणाहरू उब्जनेछन्। मानिसहरू आफ्ना हृदयमा धेरै अनुचित माग, कल्पना र इच्छाहरू राख्छन्, जुन निश्चित समय र निश्चित सही वातावरणमा विस्फोट हुनेछ। मानिसले प्रकट गर्ने कुनै पनि सोच, विचार, वा मागहरू परमेश्वरसँग मेल खाँदैनन्, र मानिसको प्रकृति शैतानी कुराहरूले भरिएको हुन्छ: उसले सबै कुरा आफ्नै लागि गर्छ, ऊ स्वार्थी र लोभी हुन्छ, ऊसँग अत्यधिक धेरै इच्छा हुन्छन्, र ऊ निकै फोहोरी र अति नै गहन रूपमा भ्रष्ट हुन्छ।
परिस्थिति जस्तोसुकै होस्, मानिसहरू सधैँ परमेश्वरसँग माग गर्छन्। यसमा समस्या के हो? कतिपय मानिसले आफूलाई ऐसआराम भइरहेको बेला परमेश्वरसँग यसो भन्दै प्रार्थना गर्नेछन्, “हे परमेश्वर, मलाई रक्षा गर्नुहोस्, मलाई सधैँ यस अवस्थामा जिउन दिनुहोस्।” मानिसहरू बेखुस वा निराश हुँदा पनि माग गर्छन्: “हे परमेश्वर, तपाईं किन मलाई दया देखाउनुहुन्न? तपाईं किन मलाई अन्तर्दृष्टि दिनुहुन्न? किन परिस्थितिहरू अरू मानिसका लागि यति राम्रा, तर मेरा लागि चाहिँ यति खराब छन्?” विपत्तिको सामना गर्दा मानिसहरू परमेश्वरलाई आफ्नो वातावरण परिवर्तन गरिदिन जोडतोडले माग गर्छन्। जब परिस्थिति ठिकठाक चलिरहेको हुन्छ, तब मानिसका मागहरू झनै अत्यधिक हुन्छन्। जब मानिसहरू केही पाउँछन्, तब झन् धेरै लालसा गर्छन्, र जब केही पाउँदैनन्, तब त्यो पाउन हदै चाहना गर्छन्। मानिसहरू के पाउन चाहन्छन्? तिनीहरू आफूलाई मनपर्ने कुरा र तिनीहरूको देहगत रुचिका कुरा पाउन चाहन्छन्। तसर्थ, मानिसको कुनै पनि माग उचित वा योग्य हुँदैन। जब मैले केही गरिब परिवारलाई केही कपडा वा सरसामान दिएँ, तब केही मानिसहरू यो देखेर बेखुस भए। तिनीहरूले सोचे, “किन परमेश्वर सधैँ तिनीहरूको ख्याल गर्नुहुन्छ तर मेरो ख्याल गर्नुहुन्न? परमेश्वर निष्पक्ष हुनुहुन्न!” अरूलाई त्यस बेला यो कुरा मनमा लागेन, र सोचे, “परमेश्वरको अनुग्रहले गर्दा नै म उहाँमा विश्वास गर्ने मार्गमा हिँड्न र अहिलेसम्म सुरक्षित रूपमा यसलाई पछ्याउन सकेको छु। म ती भौतिक कुराहरूको पछि लाग्नु हुँदैन।” तर पछि यसबारे सोचविचार गरेपछि तिनीहरू दुःखी भए। जब तिनीहरूलाई त्यो भावनालाई जित्न नसक्ने महसुस भयो, तब तिनीहरूले प्रार्थना गरे र केही समय सोच्न छोडिदिए, तर ती कुरा अझै पनि तिनीहरूको हृदयमा थिए—तिनीहरूले ती कुरालाई जसरी मूल्याङ्कन गरे पनि, तिनीहरू मनमा अझै बेखुस थिए अनि तिनीहरूले मनमनै सोचे: “परमेश्वरको धार्मिकता कहाँ छ? किन म त्यो देख्न सक्दिनँ? परमेश्वर यी कुनै पनि बाहिरी मामिलालाई निष्पक्ष वा उचित रूपमा सम्हाल्नुहुन्न, त्यसैले उहाँको धार्मिकता कहाँ प्रकट हुन्छ?” त्यसपछि तिनीहरूले आफ्नो मन परिवर्तन गरे र सोचे, “धार्मिकता र निष्पक्षता वा उचितपन उस्तै होइनन्, र तिनलाई मिसाउनु हुँदैन,” तर तिनीहरू अझै पनि दुःखी थिए र यो कुरालाई छोड्न सकेनन्। मानिसहरू थोरै भौतिक कुराबारे धेरै चिन्तित हुन्छन्, यदि तिनीहरू सत्यताबारे यसरी नै चिन्तित हुन सकेका भए धेरै राम्रो हुन्थ्यो। जे भए पनि, व्यक्तिले हृदयमा सधैँ परमेश्वरसँग माग गर्नु उसको प्रकृतिकै भाग हो, र सत्यतालाई प्रेम नगर्ने मानिसहरू सबै भौतिक लाभलाई प्रेम गर्छन्। मानिसका सबै माग र योजना, चाहे त्यो परमेश्वरबाट यो वा त्यो माग गर्ने होस्, वा आफ्नै लागि फलानोतिलानो योजना बनाउने होस्, ती कुरा सत्यतासँग मिल्दैनन्, र परमेश्वरका माग र अभिप्रायहरूसँग पूर्णतया असङ्गत हुन्छन्। परमेश्वर ती कुनै कुरालाई पनि प्रेम गर्नुहुन्न, ती सबैलाई तिरस्कार र घृणा गर्नुहुन्छ। मानिसहरूले परमेश्वरसँग गर्ने माग, पछ्याउने सबै कुरा र तिनीहरू हिँड्ने मार्ग यी सबै कुराको सत्यतासँग कुनै सम्बन्ध छैन। केही मानिस सोच्छन्, “म मण्डलीका लागि धेरै वर्षदेखि काम गरिरहेको छु—यदि म बिरामी भएँ भने परमेश्वरले मलाई निको पार्नुपर्छ र आशिष् दिनुपर्छ।” विशेष गरी, लामो समयदेखि परमेश्वरमा विश्वास गर्नेहरू उहाँबाट अझ धेरै माग गर्छन्; विश्वास गरेको केही समय मात्र भएकाहरू आफूलाई माग गर्न अयोग्य ठान्छन्, तर केही समयपछि आफूलाई यसको हकदार ठान्न थाल्नेछन्। मानिसहरू यस्तै हुन्छन्; यो मानिसको प्रकृति हो र यसको अपवाद कोही छैन। कतिपय मानिस भन्छन्, “मैले परमेश्वरसँग कहिल्यै फजुल माग गरेको छैन किनभने म सृजित प्राणी हुँ, र म उहाँसँग कुनै पनि कुरा माग्न योग्य छैनँ।” यति चाँडै नबोलिहाल्, समयले सबै कुरा प्रकाश गर्नेछ। मानिसको प्रकृति र मनसाय अन्ततः एक दिन खुलासा हुनेछन् र विस्फोट भएर निस्कनेछन्। मानिसहरू अहिले परमेश्वरसँग माग गर्दैनन् किनभने तिनीहरूलाई यो आवश्यक छ वा सही समय हो भन्ने लाग्दैन, वा तिनीहरूले पहिले नै परमेश्वरसँग धेरै माग गरिसकेका छन्, तैपनि तिनीहरू यी कुरा परमेश्वरप्रतिका माग हुन् भन्ने पत्तो नै पाउँदैनन्। छोटकरीमा भन्नुपर्दा, मानिसहरूमा यस्तै खाले प्रकृति हुन्छ, त्यसैले तिनीहरूले यो प्रकट नगर्नु असम्भव हुन्छ। सही परिस्थिति वा अवसर आउनासाथ यो स्वतः आफै प्रकट हुनेछ। आज हामी किन यसबारे सङ्गति गर्छौँ? मानिसहरूलाई आफ्नो प्रकृतिमा के छ भनेर बुझाउनका लागि। यो नसोच्नू कि तिमीहरूले केही वर्ष परमेश्वरमा विश्वास गर्दैमा वा मण्डलीका लागि केही दिन काम गर्दैमा, तिमीहरूले उहाँका लागि समर्पित गरेका छौ, अर्पित गरेका छौ वा धेरै दुःख भोगेका छौ अनि तिमीहरू भौतिक वस्तुहरूको आनन्द, शारीरिक भरणपोषणजस्ता केही कुरा पाउन, वा अरूबाट सम्मान र कदर पाउन हकदार छौ, वा परमेश्वरले तिमीहरूसँग नरम बोल्नुपर्छ, वा तिमीहरूको अझ धेरै ख्याल गर्नुपर्छ र तिमीहरूले राम्रोसँग खाइरहेका र लाइरहेका छौ कि छैनौ, तिमीहरूको शारीरिक स्वास्थ्य कस्तो छ, आदि सोध्नुपर्छ भन्ने हुन्छ। मानिसहरूले लामो समय परमेश्वरप्रति आफूलाई अर्पण गरेपछि तिनीहरूमा यी मागहरू थाहै नपाई उत्पन्न हुन्छन्, अनि उहाँबाट जुनसुकै कुरा माग्न आफूलाई योग्य ठान्छन्। तिनीहरूले परमेश्वरप्रति आफूलाई अर्पण गरेको छोटो समय मात्र भएको बेला, तिनीहरू आफूसँग अधिकार छैन भन्ने सोच्छन्, र तिनीहरू परमेश्वरसँग मागहरू राख्ने आँट गर्दैनन्। तर समय बित्दै जाँदा, तिनीहरूले आफूसँग पूँजी छ भन्ने सोच्नेछन् अनि तिनीहरूका मागहरू बाहिर निस्कन थाल्नेछन्, र तिनीहरूको प्रकृतिभित्रका कुराहरू खुलासा हुनेछन्। के मानिसहरू यस्तै हुँदैनन् र? किन मानिसहरू परमेश्वरसँग यस्ता मागहरू गर्नु उचित हो कि होइन भनेर विचार गर्दैनन्? के तँ यी कुराहरूको योग्य छस्? के परमेश्वरले तँलाई यी कुराहरूको प्रतिज्ञा गर्नुभएको थियो? यदि कुनै चिज तेरो होइन, तैपनि तँ निरन्तर त्यो चिज मागिरहन्छस् भने, यो सत्यतासँग बाझिन्छ, र यो पूर्ण रूपमा तेरो शैतानी प्रकृतिबाट जन्मिएको हो। प्रधान स्वर्गदूतले सुरुमा कस्तो व्यवहार गरेको थियो? त्यसले आफूलाई अति उच्च स्थान दिइएको छ, र त्यसलाई अति धेरै कुरा दिइएको छ भन्ने देख्यो, त्यसैले त्यसलाई आफूले माग गरेको र प्राप्त गरेको सबै कुराका लागि आफू योग्य छु भन्ने लाग्यो, र अन्तिममा त्यो यसो भन्ने बिन्दुमा पुग्यो, “म परमेश्वरको बराबर हुन चाहन्छु!” त्यसैले, यदि मानिसहरूले परमेश्वरमाथि आफ्नो विश्वासमा अति धेरै माग गर्छन्, अति भव्य चाहनाहरू राख्छन्, तैपनि आफूलाई जाँच्दैनन्, र समस्याको गम्भीरता बोध गर्न सक्दैनन् भने, तिनीहरूले एक दिन यसो भन्नेछन्, “हे परमेश्वर, सिंहासन छोड। म परमेश्वर बनेको बढी सुहाउँदो हुन्छ,” वा, “हे परमेश्वर, तिमी जस्तो कपडा लगाउँछौ, म त्यस्तै लगाउनेछु, तिमी जे खान्छौ, म त्यही खानेछु।” यस तहमा पुगेका मानिसहरूले पहिले नै परमेश्वरलाई मानवको रूपमा व्यवहार गरिरहेका छन्। मानिसहरूले मुखले देहधारी परमेश्वर नै परमेश्वर स्वयम् हुनुहुन्छ भनी स्वीकार गरे पनि, त्यो धर्मसिद्धान्तको बुझाइ मात्र हो, र त्यसको अर्थ तिनीहरूले परमेश्वरको सार जानेका छन् भन्ने होइन। वास्तवमा, शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्ने मानिसहरूको हृदयमा अलिकति पनि समर्पण वा डर हुँदैन। कतिपय मानिस त ईश्वर समेत बन्न चाहन्छन्, र यदि तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू यो हदसम्म बढेमा समस्या हुनेछ। तिनीहरूमाथि विपत्ति आइपर्ने सम्भावना हुन्छ, र तिनीहरूलाई मण्डलीबाट निष्कासित गरिएपछि पनि, तिनीहरू परमेश्वरद्वारा दण्डित हुनैपर्छ।
परमेश्वरमा विश्वास गर्नेहरूले उहाँलाई परमेश्वरको रूपमा व्यवहार गर्नुपर्छ, र त्यसो गरेर मात्र तिनीहरूले साँचो अर्थमा परमेश्वरमा विश्वास गरिरहेका हुन्छन्। तिनीहरूले परमेश्वरको हैसियतलाई मात्र स्वीकार गर्नु हुँदैन, तिनीहरूसँग परमेश्वरको सार र स्वभावको साँचो बुझाइ र डर हुनुपर्छ, र तिनीहरू पूर्ण रूपमा समर्पणकारी हुनुपर्छ। यसलाई अभ्यास गर्ने यहाँ केही तरिका छन्: पहिलो, परमेश्वरसँग अन्तरक्रिया गर्दा कुनै पनि धारणा वा कल्पना नबोकी आफूभित्र भक्तिभाव र इमानदार मनोवृत्ति कायम राख्नुपर्छ, अनि तिनीहरूमा समर्पणकारी हृदय हुनुपर्छ। दोस्रो, आफूले भन्ने हरेक कुरा, सोध्ने हरेक प्रश्न र आफूले गर्ने सबै कुराका अभिप्रायहरूलाई जाँच्न र प्रार्थना गर्न परमेश्वरसामु ल्याउनुपर्छ। सत्यता सिद्धान्तअनुसार र परमेश्वरको वचनको आधारमा कसरी अभ्यास गर्ने भनेर थाहा पाएर मात्र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्। यदि तँ सत्यता खोजी गर्दैनस् भने, सत्यता वास्तविकतामा प्रवेश गर्न असमर्थ हुने मात्र होइन, तर तैँले झन्-झन् धेरै धारणा बटुल्नेछस्, र यसले समस्या निम्त्याउनेछ। यदि तँ परमेश्वरलाई व्यक्ति ठान्छस् भने, तैँले विश्वास गर्ने ईश्वर स्वर्गका अस्पष्ट ईश्वर हुनुहुन्छ; तैँले देहधारणलाई पूर्ण रूपमा अस्वीकार गरेको हुनेछस्, र तैँले उप्रान्त आफ्नो हृदयमा व्यावहारिक परमेश्वरलाई स्वीकार गर्नेछैनस्। यस बेला, तँ ख्रीष्टविरोधी बनेको र अन्धकारमा खसेको हुनेछस्। तँ आफूलाई जति धेरै सही ठान्छस्, तैँले परमेश्वरबाट त्यति नै धेरै मागहरू गर्नेछस्, र तँमा उहाँबारे त्यति नै धेरै धारणा हुनेछन्, जसले तँलाई झन् झन् खतरामा पार्नेछ। तँ परमेश्वरबाट जति धेरै माग गर्छस्, त्यति नै धेरै यसले तँ परमेश्वरलाई बिलकुलै परमेश्वरको रूपमा व्यवहार गर्दैनस् भन्ने प्रमाणित गर्छ। यदि तँ आफ्नो हृदयमा सधैँ परमेश्वरसँग मागहरू राख्छस् भने, समयसँगै तैँले सम्भवतः आफैलाई परमेश्वर ठान्नेछस्, र मण्डलीमा काम गर्दा आफ्नै गवाही दिनेछस्, र यसोसमेत भन्नेछस्, “के ईश्वर आफ्नै गवाही दिनुहुन्न र? म किन दिन सक्दिनँ र?” तैँले परमेश्वरको काम नबुझ्ने भएकाले, उहाँबारे धारणा राख्नेछस्, र तँसँग परमेश्वरको डर मान्ने हृदय हुनेछैन। तेरो बोल्ने लबज परिवर्तन हुनेछ, तेरो स्वभाव अहङ्कारी हुनेछ, र अन्त्यमा तँ बिस्तारै आफूलाई उच्च पार्न र आफ्नै गवाही दिन थाल्नेछस्। यो मानिसको पतन हुने प्रक्रिया हो, र यो पूर्णतया उसले सत्यता नपछ्याएकाले गर्दा आएको हुन्छ। ख्रीष्टविरोधीको मार्गमा हिँड्ने सबैले आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्, आफूलाई बढावा दिन्छन्, हरेक मोडमा आफूलाई प्रदर्शन गर्छन् र परमेश्वरलाई बिलकुलै वास्ता गर्दैनन्। के तिमीहरूले मैले भनिरहेका यी कुरा अनुभव गरेका छौ? धेरै मानिस निरन्तर आफ्नो गवाही दिँदै, आफूले यो र त्यो कष्ट कसरी भोग्छु, कसरी काम गर्छु, परमेश्वरले आफूलाई कसरी मूल्यवान् ठान्नुहुन्छ, यस्ता केही काम सुम्पनुहुन्छ र आफू कस्तो छु भन्दै कुरा गर्छन्, बोल्दा जानाजानी खास लबजहरू प्रयोग गर्छन्, र अन्त्यमा तिनीहरूलाई केही मानिसले परमेश्वर ठान्न नथालेसम्म केही निश्चित आनीबानीमा प्रभाव पार्छन्। यो हदमा पुग्नेहरूलाई पवित्र आत्माले धेरै पहिले नै त्यागिसक्नुभएको छ, अनि तिनीहरूलाई हटाउने र निष्कासन गर्ने नगरिए पनि, बरु सेवा गर्न दिइए पनि, तिनीहरूको भाग्य सुनिश्चित गरिएको हुन्छ, र तिनीहरूले आफ्नो दण्ड कुरिरहेका हुन्छन्। केही ठाउँमा यस्तो भइसकेको छ। एक जना नयाँ विश्वासीले कुनै सिस्टरलाई बोलेको र हेर्दा निकै मर्यादित देखे, अनि उनलाई नै परमेश्वर ठाने। जब ती सिस्टर जाने बेलामा ती नयाँ विश्वासी उनको खुट्टा समातेर रोए, “हे ईश्वर, नजानुहोस्! हे ईश्वर, म तपाईँलाई भुल्नेछैनँ!” ती सिस्टरलाई आफू परमेश्वर होइन भन्ने स्पष्ट थाहा थियो, तर उनले यो गलत कुरालाई इन्कार गरिनन्, न त सच्याइन्। के यस्तो व्यक्तिमा कुनै समझ हुन्छ? (हुँदैन।) उनीसँग समझ बिलकुलै हुँदैन, र उनी पक्कै पनि असल होइनन्! कतिपय मानिस अन्योलमा र अनभिज्ञ हुन्छन्, र कसैलाई त्यसरी परमेश्वर ठान्छन्—यो साँच्चै भयानक कुरा हो! र उनको खुट्टा समातेर रुनु एकदमै सुधार गर्न नसकिने अनभिज्ञता हो! शैतानको भ्रष्ट मानिसलाई परमेश्वरको भएका रूपमा व्यवहार गर्नु—यसलाई कसरी परमेश्वरमाथि विश्वास गर्नु भनेर भन्न सकिन्छ? के यो शैतानमा विश्वास गर्नु होइन र? कुनै व्यक्तिलाई परमेश्वरजस्तो व्यवहार गर्न कुनै व्यक्ति कत्तिचाहिँ अन्योलमा परेको रहेछ त? यदि तँ परमेश्वरमा विश्वास गर्छस्, तर सत्यता स्विकार्न वा पछ्याउन सक्दैनस् भने, तँलाई अरूले बहकाउन सक्छन् र तँ मूर्ख कामहरू गर्न र पथभ्रष्ट हुन सक्नेछस्। मूर्ख र अनभिज्ञ मानिसहरू साँच्चै जोखिममा हुन्छन्, तिनीहरूले सबै प्रकारका मूर्ख कामहरू गर्न सक्छन्।
मानिसहरू सधैँ परमेश्वरसँग मागहरू राख्छन्, आफ्नै धारणाअनुसार उहाँलाई यो वा त्यो गरिदिन अनुरोध गर्छन्। तँ परमेश्वरसँग आफूलाई बचाउन, दया गर्न, माया गर्न, अनुग्रह देखाउन अनुरोध गर्छस्—यी सबै आफ्नै विचारहरूअनुसार गर्छस्। यसो गर्दा, तैँले परमेश्वरसँग माग गर्न र उहाँलाई तेरो कुरा मान्न लगाउन आफ्नै विचार र तौरतरिका प्रयोग गरिरहेको हुन्छस्। यसमा के समस्या छ? के यो परमेश्वरमा विश्वास गर्नु हो? तैँले त केवल आफैमा विश्वास गरेको हुन्छस्। परमेश्वर तेरो हृदयमा हुनुहुन्न, न त तँसँग बताउने कुनै सत्यता नै हुन्छ। कसैले मेरा लागि दया देखाउँदै एक जोडी जुत्ता किनिदियो, तर त्यो ठिक भएन, त्यसैले म फिर्ता गर्न चाहन्थेँ। तर त्यसपछि मैले सोचेँ, यदि मैले त्यो जुत्ता फिर्ता गरेँ भने उसले गलत ठान्ला, त्यसैले मैले त्यो जुत्ता अर्को मान्छेलाई लगाउन दिएँ। उसले यो कुरा थाहा पाएपछि सो पचाउन सकेन र भन्यो: “के तपाईंलाई थाहा छ त्यो जुत्ता किन्न मैले कति मेहनत गरेँ र पैसा खर्च गरेँ, अनि कति टाढासम्म गएँ? तपाईंले त्यो यति सजिलै अरूलाई दिनुभयो, के तपाईंलाई मैले त्यो पैसा त्यति सजिलै कमाएको जस्तो लाग्छ? यदि तपाईं त्यो लगाउन चाहनुहुन्न भने फिर्ता दिनुहोस्—तपाईंले त्यो कसरी अरूलाई दिन सक्नुभयो?” मैले भनेँ: “मैले तिमीलाई मेरा लागि जुत्ता किन्नू भनेको थिइनँ। तिमीले नै किनेर मलाई दियौ, तर मलाई ठिक भएन र मैले अरूलाई लगाउन दिएँ। के त्यो समस्या हो र? यदि मैले त्यो तिमीलाई फिर्ता दिएको भए, के तिमी नकारात्मक र कमजोर बनी मलाई गलत ठान्नेथिएनौ र? के म उचित बन्दोबस्त मिलाउन सक्दिनँ र?” के मानिसहरूले मलाई यसरी व्यवहार गर्नु उचित हो? यस्तो लाग्छ, मानिसहरू परमेश्वरलाई केही चढाउँदासमेत मनसाय र मागहरू राख्छन्। के यो सत्यता बुझ्ने व्यक्ति हो? जब तँ परमेश्वरलाई केही चढाउँछस्, तब त्यो तेरो हुँदैन, त्यो परमेश्वरको हुन्छ। परमेश्वर यसलाई जे गर्न चाहनुहुन्छ, त्यो गर्न सक्नुहुन्छ, र यसलाई कसरी सम्हाल्ने त्यो उहाँको काम हो। मानिसहरूमा अलि समझ हुनुपर्छ, समर्पित हुन सिक्नुपर्छ र परमेश्वरको मामिलामा सधैँ हस्तक्षेप गर्नु हुँदैन। के परमेश्वरसँग निरन्तर बहस गर्नु कुनै समझपूर्ण कुरा हो? मानिसहरू मेरा लागि चिजबिजहरू किन्दा परमेश्वरप्रति ठूलो दया र प्रेमले भरिएका देखिन्छन्, तर पछि मैले ती कुरा मन पराउनैपर्छ भनेर माग गर्छन्, र मैले मन पराइनँ भने गुनासो गर्छन्। त्यसबाहेक, यदि मैले ती कुरा प्रयोग गरिनँ भने त्यो ठिक मानिँदैन, मैले ती कुरा कसलाई दिन पाउँछु भनेर मानिसहरू सीमा बाँध्छन्, र मलाई यो वा त्यो गर्न दिँदैनन्। मानिसहरू यसरी दिनभरि नै परमेश्वरलाई जाँच्छन् र तौलन्छन्, अनि सोच्छन् “किन परमेश्वर मानिसको इच्छा पूरा गर्न सक्नुहुन्न?” मानिसहरूमा पूर्णतया समझको कमी छ, तिनीहरू साह्रै असमझदार छन्! मानिसहरू सबैले यसो भन्ने गरेको मैले पाएको छु, “मैले परमेश्वरलाई राम्रोसँग प्रेम गर्नैपर्छ, र उहाँको प्रेमको साटो तिर्नैपर्छ,” तर परमेश्वरलाई प्रेम गर्नु भनेको के हो भनेर तिनीहरूले हृदयमा अलिकति पनि बुझ्दैनन्। मानिसहरूको हृदय तिनीहरूको भ्रष्ट स्वभावले भरिएको हुन्छ, अनि त्यहाँ प्रेम कसरी हुन सक्छ? यदि सामान्य मानिसको समझसमेत नहुने गरी मानिसहरू यति भ्रष्ट हुन्छन् भने परमेश्वरलाई माया गर्ने र उहाँमा समर्पित हुने कुरा खोक्रा शब्दहरू मात्र होइनन् र? मानिसहरूभित्र हुने कुरा भनेकै धारणा र कल्पना, क्रोध, अत्यधिक इच्छा, र तिनीहरूका अनुचित माग मात्र हुन्। तिनीहरूभित्र प्रेम वा समर्पणता बिलकुलै छैन। मानिसहरूका लागि प्रेम भनेको पछ्याउने लक्ष्य मात्र हो, परमेश्वरको मापदण्ड मात्र हो। तिनीहरूमध्ये कतिले यो हासिल गर्छन्? कति जनासँग वास्तविक अनुभवात्मक गवाही छ?
अब तिमीहरू सबै सत्यताको पछि लाग्ने र आफ्नो स्वभाव परिवर्तन गर्ने प्रयास गर्न इच्छुक भएको बेला, तैँले परमेश्वरसँग माग गर्दा आफूलाई कसरी आत्मसमीक्षा गर्नुपर्छ? के तेरा मागहरू सत्यताअनुरूप छन्? परमेश्वरप्रति तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? के तैँले यी प्रश्नहरूबारे कहिल्यै विचार गरेको छस्? कतिपय मानिस केही मण्डलीको नेतृत्व गरेपछि अहङ्कारी बन्छन्, परमेश्वरको घर तिनीहरूबिना नचल्ने र आफूलाई विशेष व्यवहार गरिनुपर्छ भन्ने सोच्छन्। मानिसहरूमा शैतानी प्रकृति हुन्छ र कुनै व्यक्तिको स्थान जति उच्च हुन्छ, परमेश्वरप्रति उसका मागहरू त्यति नै धेरै हुन्छन्; कुनै व्यक्तिले जति धेरै धर्मसिद्धान्तहरू बुझ्छ, उसका मागहरू त्यति नै धेरै लुकेका र विश्वासघाती हुन्छन्। तिनीहरूले ती कुरा मुखले नभन्लान्, तर ती तिनीहरूको हृदयमा लुकेका हुन्छन्। ती कुरा अरू मानिसहरूले सजिलै पत्ता लगाउँदैनन्, तर व्यक्तिभित्र रहेको गुनासो र प्रतिरोध कति बेला विस्फोट हुन सक्छ, त्यो कसलाई थाहा हुन्छ र? यसले झन् धेरै समस्या ल्याउनेछ र यसले परमेश्वरको स्वभावलाई चिढ्याउन सक्नेछ। धार्मिक संसारमा कुनै व्यक्ति जति बढी अगुवा वा सेलेब्रिटी भयो, ऊ त्यति नै खतरामा परेको ख्रीष्टविरोधी हुने सम्भावना किन हुन्छ? व्यक्तिको स्थान जति उच्च हुन्छ, उसको महत्त्वाकाङ्क्षा त्यति नै ठूलो हुन्छ; व्यक्तिले धर्मसिद्धान्त जति धेरै बुझ्छ, उसको स्वभाव त्यति नै धेरै अहङ्कारी हुन्छ। त्यसकारण, परमेश्वरमा विश्वास गर्नु तर सत्यतालाई छोडेर हैसियतको पछि लाग्नु खतरनाक कुरा हो। परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ र सत्यतालाई प्रेम नगर्ने सबैलाई प्रकाश गर्नुभएको र उहाँको घरबाट हटाउनुभएको छ, धार्मिक संसारमा भएकाहरूलाई त झन् बढी त्यसो गर्नुभएको छ। के तिमीहरूलाई परमेश्वरले मानिसहरूलाई न्याय गर्नु र सजाय दिनु आवश्यक छ जस्तो लाग्छ? जब मानिसहरूले वास्तवमै सत्यता बुझ्छन् र जीवन प्रवेश प्राप्त गर्छन्, तब तिनीहरूले आफ्नै भ्रष्टताको वास्तविकता देख्नेछन् र सत्यताको पछि नलाग्नु तिनीहरूका लागि खतरनाक हुनेछ भन्ने महसुस गर्नेछन्। अहिले, मानिसहरू आफ्नै प्रकृतिलाई पटक्कै बुझ्दैनन्; तिनीहरूसँग थोरै सतही बुझाइ छ भने पनि, यो धर्मसिद्धान्तहरूको बुझाइ मात्र हो, र तिनीहरूले सत्यता प्राप्त गरेका हुँदैनन्। त्यसकारण, तिनीहरू आफू खतरामा रहेको ठान्दैनन्, न त तिनीहरू डराउन वा आफ्नो बारेमा चिन्ता गर्न जान्दछन्। केही नयाँ विश्वासीहरू कुनै पनि कुरा भन्ने र गर्ने हिम्मत गर्छन्, तर न्याय र सजाय भोगेकाहरू फरक हुन्छन्। तिनीहरूसँग परमेश्वरको केही डर मान्ने हृदय हुन्छ, र आफूभित्र केही धारणा पालेर राखे पनि, त्यसलाई बताउने हिम्मत गर्दैनन्, तर तिनीहरू हतारपतार प्रार्थना गर्छन्: “हे परमेश्वर, मैले तपाईँलाई चिढ्याएको छु…।” केही नयाँ विश्वासीहरू सोचविचार नगरीकनै ईशनिन्दाका शब्दहरू ओकल्ने हिम्मत गर्दै भन्छन्, “परमेश्वरले कष्ट भोग्नुहुन्छ र? कस्तो कष्ट भोग्नुहुन्छ? मिठो खानु र राम्रो लगाउनु, चारैतिर मानिसहरूबाट सत्कार पाउनु—त्यो त कष्ट होइन! तर म ती कुराहरूको वास्ता गर्दिनँ। म परमेश्वरको आत्मामा विश्वास गर्छु, कुनै व्यक्तिमा होइन।” तिनीहरू देहधारणलाई अस्वीकार गर्ने हिम्मत गर्छन्। यी मानिसहरूमा यस्तो धृष्टता हुन्छ। तिनीहरूसँग परमेश्वरको डर मान्ने हृदय फिटिक्कै हुँदैन, तिनीहरू कुनै कुरासँग डराउँदैनन्, तिनीहरू जे पनि भन्ने हिम्मत गर्छन्, र तिनीहरू सबैमा पैशाचिक र पाशविक प्रकृति हुन्छ। यदि माथिलाई कसैबारे अलि राम्रो छाप पर्छ वा राम्रो विचार आउँछ भने, कतिपय मानिसहरू भन्छन्, “यिनी मण्डलीमा लोकप्रिय र मनपर्दा व्यक्ति हुन्, जसलाई परमेश्वरको घरमा राम्रोसँग स्वागत गरिन्छ।” के यस्तो व्यक्तिले सत्यता बुझ्छ? अलिकति पनि बुझ्दैन। तिनीहरूको परिस्थितिलाई हेर्ने तरिकाले तिनीहरूको हृदयका सबै कुरा अझै पनि सांसारिक छन् भन्ने कुरालाई पूर्ण रूपमा खुलासा गरेको छ। यो पूर्णतया सांसारिक दृष्टिकोण र चाला हो। के परमेश्वरमा विश्वास गर्नु र उहाँका वचनहरू पढ्नुले यी मानिसहरूमा कुनै प्रभाव पार्न सक्छ? तिनीहरू सत्यता बिलकुलै स्वीकार गर्दैनन्, र परिस्थितिहरूलाई हेर्ने तिनीहरूको तरिका गैरविश्वासीहरूको जस्तै छ। तिनीहरू वास्तवमा अविश्वासी हुन्।
सधैँ परमेश्वरसँग माग गर्नु मानिसको प्रकृतिको पाटो हो, र तिमीहरूले यो प्रकृतिलाई परमेश्वरको वचनअनुसार चिरफार गर्नैपर्छ। तिमीहरूले यसलाई कसरी चिरफार गर्नुपर्छ? पहिलो चरण भनेको परमेश्वरको सम्बन्धमा मानिसहरूमा कुन अनुचित मागहरू र कुन अत्यधिक इच्छाहरू छन् भनेर स्पष्ट हुनु हो, र तिमीहरूले प्रत्येक मागलाई चिरफार गर्नुपर्छ: मानिसहरू किन त्यस्तो माग गर्छन्? तिनीहरूको मनसाय के हो? तिनीहरूको उद्देश्य के हो? तँ विवेकपूर्वक जति बढी यसलाई यसरी चिरफार गर्छस्, तैँले आफ्नो प्रकृतिबारे त्यति नै बढी बुझाइ प्राप्त गर्नेछस् र त्यो बुझाइ उति बढी विस्तृत हुनेछ। यदि तँ यसलाई विस्तृत रूपमा चिरफार गर्दैनस्, तर तँलाई मानिसहरूले परमेश्वरसँग माग गर्नु हुँदैन भन्ने मात्र थाहा छ, तँ परमेश्वरसँग मागहरू राख्नु समझविहीन कुरा हो भन्ने मात्र बुझ्छस्, र कुरा त्यति नै हो भने, तैँले अन्ततः प्रगति गर्नेछैनस्, र तँ बदलिनेछैनस्। कतिपय मानिस यसो भन्छन्: “हामी अति स्वार्थी भएकाले परमेश्वरसँग धेरै माग गर्छौँ। हामीले के गर्नुपर्छ?” स्वाभाविक रूपमा, मानिसहरूले सत्यता बुझ्नुपर्छ र मानिसको स्वार्थी सार थाहा पाउनुपर्छ। जब तँलाई साँच्चै मानिसको स्वार्थी सारको ज्ञान हुन्छ, तब तैँले मानिसका भ्रष्ट स्वभावहरूले गहिरो जरा गाडेका हुन्छन् भनी महसुस गर्नेछस्। त्यस बिन्दुमा, तैँले आफूमा सबैभन्दा कमी भएको कुरा सत्यता हो, फजुल चाहना होइन भनी थाहा पाउनेछस्, र तँलाई परमेश्वरसँगका आफ्ना अनुचित मागहरू त्याग्न सजिलो हुनेछ। चिन्ताको विषय यत्ति मात्र हो कि मानिसहरू आफूलाई चिन्दैनन्। ती स्पष्ट देखिने फजुल वा अनुचित मागहरूको कुरा गर्नुपर्दा, तैँले तिनलाई चिरफार गरिस् भने तिनलाई चिन्न सजिलो हुन्छ, र तँ आफैप्रति घृणा महसुस गर्न सक्छस्। तर कहिलेकाहीँ तँलाई तेरा मागहरू न्यायोचित र उचित छन्, मानिसहरूले परमेश्वरसँग त्यस्ता मागहरू राख्नुपर्छ भन्ने लाग्छ, र परमेश्वरसँग मागहरू राख्नु अतिशयोक्ति होइन, बरु उपयुक्त र पूर्ण रूपमा न्यायोचित हो भन्ने समेत लाग्छ। तैँले अझै पनि सत्यता बुझेको छैनस्, र फलस्वरूप तँ यस मामिलालाई पूर्ण रूपमा बुझ्न सक्दैनस् भनी देखाउन यो नै पर्याप्त छ। यहाँ एउटा उदाहरण छ: एक जना मानिस थियो जसले धेरै वर्षसम्म परमेश्वरलाई पछ्यायो र धेरै आँधीबेहरी र चुनौतीबाट ठूलो कष्ट भोग्यो। ऊ सधैँ राम्रो व्यवहार गरेजस्तो देखिन्थ्यो, र उसको मानवता, उसको दुःख, र परमेश्वरप्रतिको उसको बफादारीको हिसाबमा ठीकै देखिन्थ्यो। ऊसँग अलि विवेक थियो, ऊ परमेश्वरको प्रेमको प्रतिदान गर्न इच्छुक थियो, र सामान्यतया आफ्नो काम गर्दा होसियारीसाथ कदम चाल्न जान्दथ्यो। पछि, उसले भन्ने कुराहरू राम्रा सुनिए पनि, ऊ अलिकति पनि समर्पणकारी छैन, र ऊ पटक्कै कुनै वास्तविक काम गर्दैन भनेर मैले पत्ता लगाएँ, त्यसैले मैले उसलाई बर्खास्त गरेँ र भविष्यमा उसलाई फेरि प्रयोग नगरियोस् भनी आदेश दिएँ। कतिपय मानिसले यस मामिलाबारे धारणाहरू बनाए र उसको बचावट गर्दै यसो भने, “उसले केही पनि हासिल नगरेको भए पनि, उसले कष्ट सहेको छ। परमेश्वरलाई पछ्याएका यी वर्षहरूमा उसले निकै नै कष्ट भोगेको छ। उसले कुनै वास्तविक काम नगरेको र उसलाई समस्याहरू समाधान गर्न सत्यता कसरी सङ्गति गर्ने भनी थाहा नभएको भए पनि, परमेश्वरमाथिको उसको विश्वास सच्चा छ, र उसले कुनै खराब काम गरेको छैन। परमेश्वरले यस्तो व्यक्तिलाई कृपा र अनुग्रह देखाउनुपर्छ। उसले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको छ र अति धेरै कष्ट भोगेको छ; यदि यस्तो व्यक्तिलाई समेत हटाइन्छ भने, भर्खरै परमेश्वरमा विश्वास गर्न थालेका हामीले मुक्ति प्राप्त गर्ने कुनै आशा छ र?” के यी मानव धारणाहरू होइनन् र? नयाँ विश्वासीहरू सत्यता बुझ्दैनन्, त्यसैले तिनीहरू यस मामिलालाई छर्लङ्गै देख्न सक्दैनन्। तिनीहरू सधैँ मानव धारणा र कल्पनाहरूअनुसार चल्छन्, सधैँ परमेश्वरले सबैलाई आशिष् दिनुहुनेछ भनी आशा गर्छन्, र सोच्छन् कि—कोही जुनसुकै प्रकारको व्यक्ति भए पनि—उसले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको छ भने, उसलाई परमेश्वरले आशिष् दिनुपर्छ र बाँच्न दिइनुपर्छ। कतिपय मानिसले त यस्तो समेत सोचे, “उसले यति धेरै दुःख भोगेर परमेश्वरका लागि राम्रो गरेको छ; परमेश्वरले उसलाई निराश पार्नु हुँदैन!” यी कस्ता शब्दहरू हुन्? यी त बदमासका शब्दहरू हुन्। मानिसहरूले परमेश्वरसँग गर्ने धेरैजसो मागहरू मानव धारणा र कल्पनाहरूबाट उत्पन्न हुन्छन्। मानिसहरू परमेश्वरले मानिसहरूलाई के दिनुपर्छ, र उहाँले तिनीहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरालाई निष्पक्ष र तर्कसङ्गत हुने मानिसको विवेकको मानकअनुसार मापन गरिरहेका हुन्छन्, तर यो कसरी सत्यताअनुरूप हुन सक्छ? म किन मानवजातिका मागहरू सबै अनुचित छन् भनेर भन्छु? किनभने ती त मानिसहरूले अरू मानिससँग माग गर्ने मानक हुन्। के मानिसहरूसँग सत्यता छ? के तिनीहरू मानिसको सारलाई छर्लङ्गै देख्न सक्छन्? कतिपय मानिस परमेश्वरले मानिसहरूलाई विवेकको मानकअनुसार व्यवहार गरून् भनी माग गर्छन्, र यो मानव मानकलाई परमेश्वरमाथि लाद्छन्। यो सत्यताअनुरूप छैन; यो सबै विनाकारण दुःख दिनु मात्र हो। कतिपय सानातिना मामिलाका हकमा, मानिसहरू केही समयका लागि सहन सक्छन्, र बाहिरी रूपमा तिनीहरू कुनै माग गर्दैनन्, तर तिनीहरूको हृदय माग र चाहनाहरूले भरिएको हुन्छ। जब अन्ततः तिनीहरूको परिणाम निर्धारित हुन्छ, तब तिनीहरूका मागहरू ओइरिनेछन्, तिनीहरूको मुखबाट गुनासो गर्ने र दोषी ठहराउने शब्दहरू बर्सिनेछन्, र तिनीहरूले आफ्नो सक्कली रूप देखाउन थाल्नेछन्। त्यस बेला, तिनीहरूले आफ्नै प्रकृतिलाई चिन्नेछन्। मानिसहरू सधैँ मानव धारणाहरू र आफ्नै इच्छाअनुसार परमेश्वरसँग मागहरू गरिरहेका हुन्छन्, र तिनीहरू यस्ता धेरै माग राख्ने गर्छन्। तिमीहरू सामान्यतया थाहा पाउँदैनौ होला, र कहिलेकाहीँ कुनै कुराका लागि परमेश्वरलाई प्रार्थना गर्नुलाई माग मानिँदैन भन्ने सोच्छौ होला, तर वास्तवमा, ध्यानपूर्वक चिरफार गर्दा मानिसका धेरै माग अनुचित, समझविहीन, र हास्यास्पद समेत देखिन्छन्। पहिले, तैँले परमेश्वरसँग अनुचित मागहरू राख्नुको गम्भीरतालाई बुझेको थिइनस्, तर भविष्यमा तैँले बिस्तारै यो कुरा जान्नेछस्, अनि त्यसपछि तैँले आफ्नै प्रकृतिको साँचो बुझाइ प्राप्त गर्नेछस्। तैँले अनुभवहरू लिने क्रममा अलि-अलि गर्दै बुझाइ र खुट्ट्याउने क्षमता प्राप्त गरेर, अनि त्यसपछि यसलाई सत्यताको सङ्गतिसँग जोडेर मात्र, तैँले बिस्तारै आफ्नै प्रकृति सारको पूर्ण बुझाइ प्राप्त गर्न सक्छस्। त्यसपछि, तैँले परमेश्वरसँगका आफ्ना अनुचित मागहरू त्याग्न सक्नेछस्, र तँ यस सन्दर्भमा सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। जब तँ साँचो रूपमा मानिसको प्रकृति सारको पूर्ण बुझाइ प्राप्त गर्छस्, तब तँ वास्तवमा कस्तो चिज होस् भनी तैँले स्वीकार गर्नेछस्, र तँ रबाफरहित जीवन जिउन सक्नेछस्। जब तँ देहविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्न सक्छस्, तब तैँले स्वतन्त्रता र मुक्ति हासिल गर्नेछस्, र तेरो स्वभाव परिवर्तन हुनेछ। त्यस बेला, तैँले सत्यता प्राप्त गरेको हुनेछस्। सत्यताले मानिसहरूलाई स्वतन्त्र बनाउँछ।
मानिसहरूले निरन्तर परमेश्वरसँग गर्ने मागहरूभन्दा सम्हाल्न गाह्रो कुरा अरू केही छैन। परमेश्वरका कार्यहरू तेरा इच्छाहरूसँग मेल नखानेबित्तिकै, वा तेरा इच्छाहरूअनुसार नगरिनेबित्तिकै, तँ अवज्ञाकारी बन्ने सम्भावना हुन्छ—जुन कुरा मानिसको प्रकृति परमेश्वरको प्रतिरोध गर्ने खालको हुन्छ भनी देखाउन पर्याप्त हुन्छ। बारम्बार आत्मचिन्तन गरेर र सत्यताको बुझाइमा पुगेर मात्र यो समस्यालाई पहिचान गर्न सकिन्छ, र सत्यतालाई पछ्याएर मात्र यसलाई पूर्ण रूपमा समाधान गर्न सकिन्छ। जब मानिसहरू सत्यता बुझ्दैनन्, तब तिनीहरू परमेश्वरसँग धेरै माग गर्छन्, जबकि जब तिनीहरू साँचो रूपमा सत्यता बुझ्छन्, तब तिनीहरू कुनै माग गर्दैनन्; तिनीहरू आफूले परमेश्वरलाई अत्यन्तै कम सन्तुष्टि दिएको, तिनीहरूमा परमेश्वरप्रति निकै कम समर्पण भएको मात्र महसुस गर्छन्। मानिसहरूले सधैँ परमेश्वरसँग मागहरू गर्नुले तिनीहरूको भ्रष्ट प्रकृतिलाई प्रतिविम्बित गर्छ। यदि तँ आफूलाई चिन्न र यस मामिलामा साँचो रूपमा पश्चात्ताप गर्न सक्दैनस् भने, तैँले परमेश्वरमाथिको तेरो विश्वासको मार्गमा जोखिम र गुप्त खतराहरूको सामना गर्नेछस्। तँ साधारण मामिलाहरूलाई जित्न सक्छस्, तर जब तँ तेरो भाग्य, भविष्य, र गन्तव्यसम्बन्धी ठूला मामिलाहरूको सामना गर्छस्, तब ती गुप्त खतराहरू विस्फोट हुन सक्ने टाइम बम बन्नेछन्। त्यसपछि तँ ठूलो खतरामा पर्नेछस्! कतिपय मानिस कहिल्यै सत्यता पछ्याउँदैनन्, तर तिनीहरू अझै पनि धेरै सुरक्षित महसुस गर्छन् र तिनीहरूले अन्त्यसम्म पछ्याउन सक्नेछन् भन्ने कुरामा ढुक्क हुन्छन्। तिनीहरूले परीक्षाहरूको सामना गर्दा तिनलाई जित्न नसक्ने र तिनीहरू आफ्ना पुराना तरिकाहरूमा फर्कने अनि विनाशका पात्र बन्ने गरेका पाइन्छन्। धेरै मानिसले सधैँ यसरी नै पछ्याएका र विश्वास गरेका छन्; तिनीहरूले परमेश्वरलाई पछ्याएको बखत तिनीहरूले राम्रो व्यवहार गरेका छन्, तर यसले भविष्यमा के हुनेछ भन्ने कुरा निर्धारण गर्दैन। किनभने तँ मानिसको मुख्य कमजोरी, वा मानिसको प्रकृतिभित्र रहेका परमेश्वरको प्रतिरोध गर्न सक्ने कुराहरूबारे कहिल्यै सचेत हुँदैनस्, र तिनले तँलाई विपत्तिमा नपुर्याएसम्म तँलाई यी कुराहरूको ज्ञान हुँदैन। यदि परमेश्वरको प्रतिरोध गर्ने तेरो प्रकृति अनसुल्झा रह्यो भने, यसले तँलाई विपत्तिको बाटोमा लैजानेछ, र तेरो यात्रा समाप्त हुँदा वा परमेश्वरको काम सकिँदा, सम्भवतः तैँले परमेश्वरलाई सबैभन्दा बढी प्रतिरोध गर्ने काम गर्नेछस् र उहाँको विरुद्धमा ईशनिन्दात्मक कुरा बोल्नेछस्, र यसरी तँलाई दोषी ठहराइनेछ र हटाइनेछ। सबैभन्दा जोखिमपूर्ण समयमा, पत्रुसलाई पक्राउ गरिएको र झ्यालखानामा हालिएको बेला, उनले भाग्ने प्रयास गरे। त्यस बेला उनले परमेश्वरको अभिप्राय बुझेनन्, अनि बाँच्ने र मण्डलीहरूको काम गर्ने योजना बनाए। पछि येशू उनीकहाँ देखा परेर भन्नुभयो: “के तँ मलाई तेरा लागि फेरि क्रुसमा टाँगिन लगाउँछस्?” त्यसपछि पत्रुसले परमेश्वरको अभिप्राय बुझे, र तुरुन्तै समर्पित भए। मानिलिऊँ, त्यो बेला उनले आफ्नै माग राख्दै यसो भने, “म अहिले मर्न चाहन्नँ, मलाई पीडा हुने डर छ। के तपाईँ हाम्रो खातिर क्रुसमा टाँगिनुभएको थिएन र? किन तपाईँ मलाई क्रुसीकरण हुनू भन्दै हुनुहुन्छ? के म क्रुसीकरणबाट जोगिन सक्छु?” यदि उनले यस्तो माग गरेका भए, उनी हिँडेको बाटो व्यर्थ हुनेथियो। तर पत्रुस सधैँ परमेश्वरप्रति समर्पित हुने र उहाँको अभिप्राय खोज्ने व्यक्ति थिए, र अन्तमा उनले परमेश्वरको अभिप्राय बुझे र पूर्ण रूपमा समर्पित भए। यदि पत्रुसले परमेश्वरको अभिप्राय नखोजेर आफ्नै इच्छाअनुसार काम गरेका थिए भने, उनले गलत मार्ग लिएका हुनेथिए। मानिसहरूमा परमेश्वरका अभिप्रायहरू सिधै बुझ्ने सामर्थ्यको कमी हुन्छ, तर यदि तिनीहरू सत्यता बुझेपछि समर्पित हुँदैनन् भने, तिनीहरूले परमेश्वरलाई धोका दिइरहेका हुन्छन्। भन्नुको अर्थ, मानिसहरूले सधैँ परमेश्वरसँग मागहरू गर्नु भनेको तिनीहरूको प्रकृतिसँग सम्बन्धित कुरा हो। तिनीहरूसँग जति धेरै माग हुन्छन्, तिनीहरू त्यति नै धेरै विद्रोही र प्रतिरोधी बन्छन्, र उति नै धेरै धारणाहरू पाल्छन्। कसैले परमेश्वरसँग जति बढी माग गर्छ, त्यति नै बढी ऊ परमेश्वरको प्रतिरोध गर्ने र उहाँको विरोधसमेत गर्ने व्यक्ति हो। सायद एक दिन तिनीहरूले परमेश्वरलाई धोका दिएर छोड्न सक्छन्। यदि तँ यो समस्या समाधान गर्न चाहन्छस् भने तैँले सत्यताका केही पक्षहरू बुझ्नुपर्ने हुन्छ, अनि यसलाई पूर्ण रूपमा बुझ्न र पूर्ण रूपमा समाधान गर्नका लागि तँसँग केही वास्तविक अनुभव पनि हुनुपर्छ।
मानिसहरू परमेश्वरमा समर्पित हुन सक्छन् कि सक्दैनन् भनेर मापन गर्दा, तिनीहरूमा कुनै अत्यधिक चाहनाहरू छन् कि छैनन् वा परमेश्वरप्रति गुप्त अभिप्रायहरू छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण हो। यदि मानिसहरूले सधैँ परमेश्वरसँग माग गरिरहेका छन् भने, त्यसले तिनीहरू उहाँप्रति समर्पणकारी छैनन् भन्ने प्रमाणित गर्दछ। चाहे तँलाई जेसुकै आइपरोस्, यदि तँ त्यो कुरा परमेश्वरबाट आएको भनी स्विकार्दैनस्, सत्यता खोज्दैनस्, सधैँ आफ्नै लागि तर्क गर्छस् र सधैँ आफूलाई मात्र सही ठान्छस्, र यदि तँ परमेश्वर नै सत्यता र धार्मिकता हुनुहुन्छ भन्ने कुरामा शङ्का समेत गर्न सक्छस् भने, तँ समस्यामा पर्नेछस्। त्यस्ता मानिसहरू सबैभन्दा अहङ्कारी र परमेश्वरप्रति सबैभन्दा विद्रोही हुन्छन्। सधैँ परमेश्वरसँग माग गर्ने मानिसहरू साँचो अर्थमा उहाँमा समर्पित हुन सक्दैनन्। यदि तँ परमेश्वरसँग माग गर्छस् भने, यसले तँ परमेश्वरसँग सौदाबाजी गर्ने प्रयास गर्दैछस्, आफ्नै इच्छा रोज्दैछस्, र यही इच्छाअनुसार कार्य गरिरहेको छस् भन्ने प्रमाणित गर्छ। यो परमेश्वरलाई धोका दिनु र समर्पणविहीन हुनु हो। परमेश्वरसँग मागहरू गर्नु आफैमा समझविहीन हुनु हो; यदि तँ उहाँ परमेश्वर हुनुहुन्छ भनी साँच्चै विश्वास गर्छस् भने, तैँले उहाँसँग मागहरू राख्ने आँट गर्नेछैनस्—जुन गर्न तँ योग्य पनि छैनस्—चाहे ती तर्कसङ्गत होऊन् वा नहोऊन्। यदि तँसँग परमेश्वरप्रति साँचो विश्वास छ, र तँ उहाँ परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्छस् भने, तैँले उहाँको आराधना मात्र गर्नेछस् र तँ उहाँप्रति समर्पित मात्र हुनेछस्—अरू विकल्प नै छैन। आज मानिसहरूले स्वैच्छिक छनौटहरू गर्ने मात्रै होइन, तिनीहरूले परमेश्वरलाई तिनीहरूका आफ्नै इच्छाअनुसार काम गर्नसमेत लगाउँछन्। तिनीहरूले परमेश्वरप्रति समर्पित नहुने विकल्प मात्रै रोज्दैनन्, परमेश्वरलाई तिनीहरूप्रति समर्पित हुनसमेत लगाउँछन्। के यो समझको साह्रै कमी होइन र? त्यसकारण, यदि कुनै व्यक्तिमा साँचो आस्था छैन र ठोस विश्वास छैन भने, उसले कहिल्यै परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्दैन। जब मानिसहरू परमेश्वरसित थोरै मागहरू गर्न सक्षम हुन्छन्, तब तिनीहरूले अझ धेरै साँचो विश्वास र समर्पण गर्नेछन्, अनि तिनीहरूको समझ तुलनात्मक रूपमा सामान्य हुन्छ। प्रायजसो के हुन्छ भने, मानिसहरू जति बढी तर्क गर्न प्रवृत्त हुन्छन्, तिनीहरूलाई सम्हाल्न उति नै गाह्रो हुन्छ। तिनीहरूका मागहरू धेरै मात्र हुँदैनन्, तर तिनीहरूलाई औँलो दिइयो भने तिनीहरू डुँडुलो निल्न खोज्छन्। जब तिनीहरू एक पक्षमा सन्तुष्ट हुन्छन्, तब अर्को पक्षमा माग गर्छन्। तिनीहरू सबै पक्षमा सन्तुष्ट हुनुपर्दछ, र यदि सन्तुष्ट भएनन् भने, तिनीहरू गुनासो गर्न थाल्छन्, र हार मान्छन् अनि सबथोक टुट्न दिन्छन्। त्यसो गरेपछि, तिनीहरू ऋणी र पछुतो महसुस गर्छन्, र तिनीहरू धरधरी आँसु बगाउँदै रुन्छन्, र मर्न चाहन्छन्। त्यसको के फाइदा हुन्छ? के तिनीहरू अनुचित र निरन्तर झिँजोलाग्दो बनिरहेका छैनन् र? यी श्रृङ्खलाबद्ध समस्याहरूलाई तिनीहरूको भ्रष्ट स्वभावबाटै समाधान गरिनुपर्छ, जुन यो सबै कुराको जड हो। यदि तँमा भ्रष्ट स्वभाव छ र तैँले यसलाई हटाइनस् भने, यदि तँ यो हटाउन समस्यामा नपरुञ्जेल वा विपत्ति पैदा नहुञ्जेल पर्खन्छस् भने, तैँले यो घाटालाई कसरी पूर्ति गर्न सक्छस्? के यो त काम बिग्रेपछि मात्रै होस खुल्नुजस्तो हुनेछैन र? तेरो भ्रष्ट स्वभावको समस्या पूर्ण रूपमा समाधान गर्नका लागि, यो सुरुमा पैदा हुनेबित्तिकै तैँले यसलाई हटाउन सत्यताको खोजी गरिहाल्नुपर्छ। तैँले भ्रष्ट स्वभावलाई कोपिला छँदै समाधान गर्नुपर्छ, यसरी आफूले कुनै गल्ती नगर्ने र भावी समस्याहरू रोक्ने कुरा सुनिश्चित गर्न सकिन्छ। यदि कुनै भ्रष्ट स्वभावले व्यक्तिमा जरा गाड्यो र त्यो उसको विचार वा दृष्टिकोण बन्यो भने, यसले उसलाई खराब व्यवहार गर्न निर्देशित गर्न सक्छ। त्यसकारण, आत्मचिन्तन गर्नु र आफूलाई जान्नु मुख्यतः भ्रष्ट स्वभावहरू पत्ता लगाउनु र ती हटाउन तुरुन्तै सत्यता खोज्नुसँग सम्बन्धित कुरा हुन्। तेरो प्रकृतिमा के-कस्ता कुराहरू छन्, तँलाई के मन पर्छ, तँ के पछ्याउँछस्, र तँ के प्राप्त गर्न चाहन्छस् भन्ने कुरा तैँले जान्नैपर्छ। यी कुराहरू परमेश्वरका अभिप्रायहरूअनुसार छन् कि छैनन्, र ती कुन तरिकाले भ्रमपूर्ण छन् भनी हेर्न तैँले तिनलाई परमेश्वरका वचनहरूअनुसार चिरफार गर्नुपर्छ। एकपटक तैँले यी कुराहरू बुझेपछि, तैँले तेरो असामान्य समझको समस्या, अर्थात्, तेरो अनुचितता र तारन्तारको झमेलाको समस्या समाधान गर्नैपर्छ। यो तेरो भ्रष्ट स्वभावको समस्या मात्र होइन, यसले तँ समझ भएको व्यक्ति होस् कि होइनस् भन्ने मामिलालाई पनि छुन्छ। विशेष गरी ख्याति, प्राप्ति, र हैसियतसँग सम्बन्धित मामिलाहरूमा, जब मानिसहरू ख्याति र प्राप्तिबाट बहकिन्छन्, तब तिनीहरूको समझ असामान्य बन्छ; मानौँ तिनीहरूको स्नायुमा केही गडबडी आएको छ। यो पनि मानिसहरूको मुख्य कमजोरी हो। कतिपय मानिसहरूलाई तिनीहरूसँग निश्चित क्षमता र केही प्रतिभा छन् भन्ने लाग्छ, अनि तिनीहरू सधैँ अगुवा बन्न र अरूभन्दा अलग देखिन चाहन्छन्, त्यसकारण तिनीहरू परमेश्वरलाई मलाई प्रयोग गर्नुहोस् भनी अनुरोध गर्छन्। परमेश्वरले तिनीहरूलाई प्रयोग गर्नुभएन भने, तिनीहरू भन्छन्, “परमेश्वर कसरी मलाई कृपाको नजरले हेर्न सक्नुहुन्न र? हे परमेश्वर, यदि तपाईँले मलाई कुनै महत्त्वपूर्ण काममा प्रयोग गर्नुभयो भने, म प्रतिज्ञा गर्छु, म तपाईँमै समर्पित हुनेछु!” के यस्तो अभिप्राय सही हो? परमेश्वरमा समर्पित हुनु राम्रो कुरा हो, तर परमेश्वरका लागि समर्पित हुने तिनीहरूको इच्छापछाडि अभिप्रायहरू लुकेका हुन्छन्। तिनीहरूले प्रेम गर्ने कुरा त हैसियत हो, र तिनीहरू यसैमा ध्यान लगाउँछन्। जब मानिसहरू साँच्चै समर्पण गर्न समर्थ हुन्छन्, र परमेश्वरले तिनीहरूलाई प्रयोग गर्नुभए पनि नगर्नुभए पनि पूर्ण हृदयले उहाँलाई पछ्याउँछन्, र आफूसँग हैसियत भए पनि नभए पनि परमेश्वरका लागि समर्पित हुन्छन्, तब मात्र तिनीहरूलाई समझ भएको र परमेश्वरप्रति समर्पणकारी बनेको मान्न सकिन्छ। मानिसहरूले परमेश्वरका लागि समर्पित हुन चाहनु राम्रो कुरा हो, र परमेश्वरले त्यस्ता मानिसहरूलाई प्रयोग गर्न चाहनुहुन्छ, तर तिनीहरू सत्यताले सुसज्जित छैनन् भने, परमेश्वरले तिनीहरूलाई कुनै पनि हालतमा प्रयोग गर्न सक्नुहुन्न। यदि मानिसहरू सत्यताप्रति लागिपर्न र सहकार्य गर्न इच्छुक हुन्छन् भने, त्यसमा तयारीको चरण हुनैपर्छ। मानिसहरूले सत्यता बुझेर परमेश्वरमा साँचो रूपले समर्पित भएपछि मात्रै, परमेश्वरले औपचारिक रूपमा तिनीहरूलाई प्रयोग गर्न सक्नुहुनेछ। यो प्रशिक्षण चरण अत्यावश्यक हुन्छ। आज अगुवा र सेवकहरू सबै यो प्रशिक्षण चरणमा हुन्छन्। तिनीहरूमा जीवन अनुभव भएपछि र तिनीहरू सिद्धान्तअनुसार मामिला सम्हाल्न सक्ने भएपछि, तिनीहरू परमेश्वरद्वारा प्रयोग गरिन योग्य बन्नेछन्।
मानिसको प्रकृतिमा भएका कुराहरू निराकरण मात्र गरे पुग्ने बाहिरी व्यवहार, अभ्यास वा सोच र विचारहरू जस्ता हुँदैनन्; तिनलाई अलिअलि गर्दै खोतलेर निकाल्नैपर्छ। यसबाहेक, ती कुरा पहिचान गर्न मानिसहरूलाई सजिलो छैन, र पहिचान गरिहाले पनि, तिनलाई परिवर्तन गर्न सजिलो छैन—परिवर्तन हासिल गर्नका लागि पर्याप्त रूपमा गहन बुझाइ चाहिन्छ। हामी किन सधैँ मानिसको प्रकृतिलाई चिरफार गर्छौँ? के तिमीहरू यसको अर्थ बुझ्दैनौ? मानिसको भ्रष्ट स्वभावको प्रकटीकरण कहाँबाट आउँछ? ती सबै तिनीहरूको प्रकृतिभित्रबाट आउँछन्, र ती सबै तिनीहरूको प्रकृतिद्वारा सञ्चालित हुन्छन्। मानिसको हरेक भ्रष्ट स्वभाव, हरेक सोच र विचार, हरेक अभिप्राय सबै नै मानिसको प्रकृतिसँग सम्बन्धित छन्। तसर्थ, मानिसको प्रकृतिलाई सिधै खोतलेर निकाली, उसका भ्रष्ट स्वभावलाई सजिलै सुल्झाउन सकिन्छ। मानिसको प्रकृति बदल्न सजिलो नभए पनि, यदि तिनीहरू आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई खुट्ट्याउन र छर्लङ्गै देख्न सक्छन्, अनि तिनलाई समाधान गर्नका लागि सत्यता खोजी गर्न सक्छन् भने, तिनीहरूले बिस्तारै आफ्नो स्वभाव परिवर्तन गर्न सक्छन्। व्यक्तिले आफ्नो जीवन स्वभावमा परिवर्तन गरेपछि तिनीहरूमा परमेश्वरको प्रतिरोध गर्ने कुराहरू झन्-झन् घट्दै जानेछन्। मानिसको प्रकृतिको चिरफार गर्नुको उद्देश्य उसको स्वभाव परिवर्तन गर्नु हो। तिमीहरूले यो उद्देश्य बुझेका छैनौ, अनि केवल आफ्नो प्रकृति चिरफार गरेर र बुझेर परमेश्वरप्रति समर्पित हुन र आफ्नो समझलाई पुनर्स्थापित गर्न सकिन्छ भन्ने सोच्दछौ। तिमीहरू केवल अन्धाधुन्ध प्रावधानहरू लागू गर्छौ! मानिसहरूको गहिरो अहङ्कार र आत्म-धार्मिकतालाई मात्रै खुलासा गर्नु किन पर्याप्त हुँदैन? किन तिनीहरूको भ्रष्ट प्रकृतिलाई पनि चिरफार गर्नु आवश्यक छ? यदि तिनीहरूको आत्म-धार्मिकता र अहङ्कारलाई मात्रै खुलासा गरियो भने यसले समस्या समाधान गर्नेछैन। तर यदि तिनीहरूको प्रकृतिलाई चिरफार गरियो भने, यसले समेट्ने पक्षहरू धेरै व्यापक छन्, यसमा सबै भ्रष्ट स्वभाव पर्छन्, र यो आत्म-धार्मिकता, अहम्ता, र अहङ्कारको साँघुरो दायरा मात्र होइन—तिनीहरूको प्रकृतिले योभन्दा बढी कुरालाई समेट्छ। त्यसैले, मानिसहरूले परमेश्वरसँग गर्ने विभिन्न मागहरू वास्तवमा तिनीहरूका फजुल चाहना हुन्, र ती सबै भ्रष्ट स्वभावका प्रकटीकरण हुन्। मानिसहरूले यस मामिलालाई प्रस्ट रूपमा देख्न सक्नु राम्रो हो। एकपटक तैँले तेरा फजुल चाहनाहरूलाई चिनेपछि, तँ मानवता नभएकोमा आफैलाई घृणा गर्न सक्छस्, र आफ्नै प्रकृति सारलाई छर्लङ्गै देख्न सक्छस्। त्यसपछि तँलाई देहविरुद्ध विद्रोह गर्न र आफैलाई इन्कार गर्न सजिलो हुन्छ, र तेरा भ्रष्ट स्वभावहरू समाधान गर्न सजिलो हुनेछ, अनि तँसँग अघि बढ्ने मार्ग हुनेछ। नत्रभने, तिमीहरूले कहिल्यै पनि आफ्नो भ्रष्टताका प्रकटीकरणहरूको मूल कारणलाई खोतलेर निकाल्नेछैनौ, र यो अभिमान, अहङ्कार, वा आत्म-धार्मिकता हो, वा पटक्कै अर्पण नहुनु हो भनेर मात्र भन्नेछौ। के यस्ता सतही कुराबारे मात्रै कुरा गरेर तिमीहरूको समस्या समाधान हुन सक्छ? के मानिसको प्रकृतिबारे छलफल गर्नुको कुनै आवश्यकता छ? सुरुमा आदम र हव्वाको प्रकृति कस्तो थियो? तिनीहरूभित्र जानाजानी गरिने प्रतिरोध थिएन, झन् खुल्लमखुल्ला विश्वासघात गर्नु त परको कुरा थियो। परमेश्वरको प्रतिरोध गर्नु भनेको के हो भन्ने कुरा तिनीहरूलाई थाहा थिएन, झन् उहाँप्रति समर्पित हुनुको अर्थ थाहा हुनु त परै जाओस्। शैतानले फैलाएका जस्तोसुकै विधर्म र भ्रमहरूलाई तिनीहरूले आफ्नो हृदयभित्र स्वीकार गरे। शैतानले अब मानवजातिलाई यस्तो हदसम्म भ्रष्ट तुल्याएको छ कि मानिसहरूलाई सत्यता स्वीकार गर्न अति नै गाह्रो छ, मानिसहरू सबै कुरामा परमेश्वरविरुद्ध विद्रोह गर्न र उहाँको प्रतिरोध गर्न सक्छन्, सत्यता पटक्कै खोज्दैनन्, र उहाँको विरोध गर्न अनेक उपाय सोच्छन्। मानिसको प्रकृति शैतानको जस्तै छ भन्ने कुरा प्रस्टै छ। म किन मानिसको प्रकृति शैतानको प्रकृति हो भनेर भन्छु? शैतान त्यो हो जो परमेश्वरको प्रतिरोध गर्छ, र मानिसहरूमा शैतानको प्रकृति हुने भएकाले, तिनीहरू शैतानका हुन्। मानिसहरूले जानाजानी परमेश्वरको प्रतिरोध गर्ने कामहरू नगर्लान्, तर तिनीहरूमा शैतानको प्रकृति हुने भएकाले, तिनीहरूका सोचहरूजति सबै परमेश्वरप्रति प्रतिरोधी हुन्छन्। मानिसहरूले पटक्कै केही नगरे पनि, तिनीहरू परमेश्वरको प्रतिरोध गरिरहेकै हुन्छन्, किनभने मानिसको आन्तरिक सार परिवर्तन भएर परमेश्वरको प्रतिरोध गर्ने कुरा बनेको हुन्छ। त्यसकारण, वर्तमान मानिस भर्खरै सृजित मानिसभन्दा फरक छ। पहिले मानिसहरूभित्र कुनै प्रतिरोध वा विश्वासघात थिएन, तिनीहरू जीवनले भरिपूर्ण थिए, र शैतानको प्रकृतिद्वारा सञ्चालित थिएनन्। यदि मानिसहरूभित्र शैतानको प्रकृति हाबी हुँदैन वा त्यसले तिनीहरूलाई भित्री रूपमा बाधा दिँदैन भने, तिनीहरूले जेसुकै गरे पनि, त्यो परमेश्वरप्रतिको प्रतिरोधमा पर्दैन।
प्रकृति के हो? प्रकृति मानिसको सार हो। स्वभाव भनेको व्यक्तिको प्रकृतिबाट प्रकट हुने कुरा हो, र स्वभाव परिवर्तन हुनु भनेको व्यक्तिको भ्रष्ट स्वभावलाई स्वच्छ पारिएको र सत्यताद्वारा प्रतिस्थापित गरिएको छ भन्ने हो। त्यसकारण प्रकट हुने कुरा भ्रष्ट स्वभाव होइन, तर सामान्य मानवताको अभिव्यक्ति हो। शैतानले मानिसलाई भ्रष्ट तुल्याएपछि, मानिस शैतानको मूर्त रूप बन्यो, ऊ परमेश्वरको प्रतिरोध गर्ने शैतानको जात बन्यो, र ऊ पूर्ण रूपमा परमेश्वरलाई धोका दिन सक्ने बन्यो। किन परमेश्वर मानिसहरूले आफ्नो स्वभाव परिवर्तन गरून् भन्ने माग गर्नुहुन्छ? किनकि परमेश्वर मानिसहरूलाई सिद्ध पार्न र प्राप्त गर्न चाहनुहुन्छ, अनि अन्ततः पूर्ण पारिएका मानिसहरूमा परमेश्वरलाई चिन्ने धेरै वटा थप वास्तविकता र सत्यताका सबै पक्षका वास्तविकताहरू हुन्छन्। यस्ता मानिसहरू पूर्णतया परमेश्वरका अभिप्रायअनुसारका हुन्छन्। विगतमा, मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्थे, र तिनीहरू कुनै काम गर्नेबित्तिकै कुनै गल्ती गर्थे वा परमेश्वरको प्रतिरोध गर्थे, तर अहिले मानिसहरू केही सत्यता बुझ्छन्, र परमेश्वरका अभिप्रायहरूअनुसारका धेरै कामकुरा गर्न सक्छन्। तर, यसको अर्थ मानिसहरू परमेश्वरलाई धोका दिँदैनन् भन्ने होइन। मानिसहरू अझै पनि यसो गर्न सक्छन्। मानिसको प्रकृतिभित्रबाट प्रकट हुने भ्रष्ट स्वभावहरू आंशिक रूपमा परिवर्तन हुन सक्छन्। परिवर्तन हुने भाग भनेको त्यो हो जहाँ सत्यतालाई भ्रष्ट स्वभावहरू समाधान गर्न प्रयोग गरिन्छ, जसले गर्दा व्यक्तिले सत्यताअनुसार अभ्यास गर्न सम्भव हुन्छ; बाँकी भाग अझै पनि शैतानी स्वभावहरूद्वारा ओगटिएको हुन सक्छ। त्यसकारण, सत्यताको एउटा पक्षलाई अभ्यास गर्न सक्नुको अर्थ तेरो जीवन स्वभाव परिवर्तन भएको छ भन्ने होइन, किनभने तँमा आएको परिवर्तन आंशिक मात्र हो, पूर्ण होइन। यो त मानिसहरूले सधैँ परमेश्वरबारे धारणा राख्ने र उहाँसँग मागहरू गर्ने गरेजस्तै हो, र अहिले तिनीहरू धेरै सन्दर्भमा त्यसो गर्दैनन्—तर तिनीहरूले अझै पनि केही मामिलामा धारणाहरू राख्लान् वा मागहरू गर्लान्, र अझै पनि परमेश्वरलाई धोका दिन सक्छन्। तँ भन्लास्, “परमेश्वरले जे गर्नुहुन्छ, म त्यो मान्न सक्छु र धेरै मामिलामा गुनासो र माग नगरी समर्पित हुन सक्छु,” तर तँ अझै पनि केही मामिलामा परमेश्वरलाई धोका दिन सक्छस्। तैँले जानाजानी परमेश्वरको प्रतिरोध नगरे पनि, उहाँका अभिप्रायलाई नबुझ्दा, तँ अझै पनि उहाँका चाहनाविरुद्ध जान सक्छस्। त्यसोभए, परिवर्तन हुन सक्ने भागको अर्थ के हो? यसको अर्थ, जब तैँले परमेश्वरका अभिप्राय बुझ्छस्, तब समर्पित हुन सक्छस्, र जब सत्यता बुझ्छस्, तब त्यो अभ्यास गर्न सक्छस् भन्ने हो। यदि तँ सत्यता वा परमेश्वरका अभिप्रायलाई केही मामिलामा बुझ्दैनस् भने, तैँले अझै पनि भ्रष्टता प्रकट गर्ने सम्भावना हुन्छ। यदि तँ सत्यता बुझ्छस्, तर केही कुराको बन्धनमा परेकोले अभ्यास गर्दैनस् भने, यो विश्वासघात हो र यो तेरो प्रकृतिमा हुने कुरा हो। अवश्य नै, तेरो स्वभाव कति परिवर्तन हुन सक्छ भन्ने कुराको कुनै सीमा छैन। तँ जति धेरै सत्यता प्राप्त गर्छस्, परमेश्वरबारे तेरो ज्ञान उति गहिरो हुँदै जानेछ, र तैँले परमेश्वरको प्रतिरोध गर्ने र उहाँलाई धोका दिने क्रम उति नै कम हुँदै जानेछ। यो भनेको जीवन स्वभावमा आउने परिवर्तन हो। आफ्नो स्वभाव परिवर्तन गर्न खोज्नु मुख्यतया सत्यता पछ्याएर सम्भव हुन्छ, अनि आफ्नो प्रकृति सारलाई बुझ्नु सत्यताको बुझाइमार्फत सम्भव हुन्छ। जब व्यक्तिले साँचो रूपमा सत्यता प्राप्त गर्दछ, तब उसका सबै समस्या समाधान हुनेछन्।
हिउँद, १९९९