ख्रीष्टको सार प्रेम हो

ख्रीष्टको सार जान्दा यसले एकातिर तँलाई देहधारी ख्रीष्टलाई भ्रष्ट मानवजातिबाट छुट्ट्याउन, देहधारी परमेश्‍वरलाई व्यवहारिक परमेश्‍वरको रूपमा व्यवहार गर्दै उहाँको आज्ञापालन गर्न मदत गर्छ। अर्कोतिर, तैँले देहधारी परमेश्‍वरको वास्तविक काम, सत्यताको आधिकारिक अभिव्यक्ति, र मानवजातिमाझ उहाँको वास्तविक जीवनलाई पनि हेर्नुपर्छ। तैँले उहाँ कसरी मानवजातिलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र उहाँ कसरी परमेश्‍वरले पठाउनुभएको अगमवक्ता, प्रेरित, वा अगमवाणीकर्ता वा नगण्य व्यक्ति हुनुहुन्न, बरु देहधारी परमेश्‍वर, ख्रीष्ट र परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ भनेर हेर्नुपर्छ। यो देह मानवजातिको सदस्य भए पनि, उहाँ इश्‍वरीय सार भएको साधारण व्यक्ति हुनुहुन्छ। देहधारी परमेश्‍वरको यो ईश्‍वरत्वको सार चिन्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, ख्रीष्टको ईश्‍वरत्व प्रमाणित गर्नको निम्ति, तैँले कम्तीमा पनि अवलोकन गर्न सकिने तथ्यहरू प्रयोग गर्न सक्‍नुपर्छ। ख्रीष्टको ईश्‍वरीय सार जान्न, तैँले परमेश्‍वरका वचनहरू खानु र पिउनुपर्छ, उहाँको काम अनुभव गर्नुपर्छ, र उहाँको स्वभाव चिन्‍नुपर्छ। देहधारी परमेश्‍वरको सार जान्दा, यसबाट पर्ने प्रभावले मानिसहरूलाई परमेश्‍वर साँच्चै देहधारी हुनुभएको छ र यो देह वास्तविक रूपमा परमेश्‍वर नै हुनुहुन्छ भनी सुनिश्‍चित हुन सक्षम तुल्याउँछ। मानिसहरूले यो तरिकाबाट मात्र परमेश्‍वरमाथि साँचो विश्‍वास स्थापित गर्न अनि साँचो आज्ञाकारिता र साँचो प्रेम हासिल गर्न सक्छन्, र यो प्रभाव हासिल हुँदा मात्र तैँले आफूमा परमेश्‍वरको सारको बुझाइ छ भनेर प्रमाणित गर्न सक्छस्।

आज, मानिसहरूमा ख्रीष्टबारे कुनै वास्तविक ज्ञान छैन। तिनीहरू परमेश्‍वरका वचनहरू पढ्छन् र ती वचनहरू सत्यता र पवित्र आत्माका अभिव्यक्ति हुन् भनेर स्विकार्छन्, तर त्यो देहलाई भने पूर्ण बेवास्ता गर्छन्। त्यो देहको मूल के हो वा त्यो देह र आत्मा कसरी एकअर्कासँग सम्बन्धित हुनुहुन्छ भनेर तिनीहरूलाई थाहै छैन। धेरै मानिसहरू त्यो देह भनेको वचनहरू व्यक्त गर्नको लागि रहेको हो, यसको प्रयोग वचनहरू बोल्न र काम गर्नलाई हुन्छ र त्यो उहाँको सेवकाइ हो भन्ने विश्‍वास गर्छन्। तिनीहरूलाई यो विश्‍वास हुन्छ कि जबजब देह उत्प्रेरित हुन्छ, उहाँले वचनहरू बोल्नुहुन्छ र उहाँले बोल्ने काम सक्नुभएपछि, उहाँको काम पनि सक्‍किन्छ, मानौँ उहाँ सन्देशवाहक हुनुहुन्छ। यदि कसैले यस्तो विश्‍वास गर्छ भने, उसले चिन्ने र विश्‍वास गर्ने देहका परमेश्‍वर वा ख्रीष्ट नभई, केवल अगमवक्ताजस्तै कोही व्यक्ति मात्र हो। केही मानिसहरू यस्तो पनि सोच्छन्, “ख्रीष्ट व्यक्ति हुनुहुन्छ, र उहाँ देहधारी बन्‍नुको सार जे भए पनि वा उहाँले परमेश्‍वरको जे स्वभाव व्यक्त गर्नुभए पनि, उहाँले स्वर्गको परमेश्‍वर वा ब्रह्माण्ड र सबैथोकमाथि शासन गर्नुहुने सृष्टिकर्ताको पूर्ण प्रतिनिधित्व गर्न सक्नुहुन्न। उहाँ देहधारी परमेश्‍वर एवं पृथ्वीमा आउनुभएको स्वर्गको परमेश्‍वर हुनुहुन्छ भने, उहाँसँग किन कुनै अलौकिक चमत्कार छैन? यदि उहाँसँग अख्तियार छ भने, उहाँ ठूलो रातो अजिङ्गरलाई किन नष्ट गर्नुहुन्न?” यस्ता शब्द बोल्नेहरू सबैजना आत्मिक रूपमा अज्ञानी छन्। तिनीहरूले परमेश्‍वर देहधारी हुनु भनेको के हो भन्ने त बुझ्दैनन्, देहधारी परमेश्‍वरको कामको व्यवस्थापनको दायरा, उहाँको मुक्तिका पात्रहरू को-को हुन्, उहाँले के व्यक्त गर्नुहुन्छ, वा मानिसहरूले के जान्नुपर्छ भनेर बुझ्ने त कुरै छोडौँ। देहधारी परमेश्‍वरको सार परमेश्‍वरको सार हो, र उहाँ परमेश्‍वरको तर्फबाट सबै कुरा गर्न सक्नुहुन्छ। उहाँ परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ, र उहाँ आफूले चाहेको सबै कुरा गर्न सक्नुहुन्छ। यद्यपि, यसपटक परमेश्‍वर देहधारी बन्नु उहाँको व्यवस्थापनको दायरामा रहेको अन्तिम चरणको काम हो, र यो सबैथोकमाथि वा राष्ट्रहरूमाथि शासन गर्ने कुरासँग सम्बन्धित छैन। यसमा ती कुराहरू बिलकुलै समावेश छैनन्। तसर्थ, तैँले कामको यस चरण दौरान मानिसहरूले के सामना गर्नेछन् र के बुझ्न सक्छन्, कामको यस चरणको सार के हो, ख्रीष्टसँग के छ र उहाँ के हुनुहुन्छ र उहाँको स्वभावको अभिव्यक्ति के हो भनेर जान्नुपर्छ। ख्रीष्टले जे व्यक्त गर्नुहुन्छ, के त्यो परमेश्‍वरको सार हो? के त्यो परमेश्‍वरको स्वभाव हो? अवश्य हो। तर के यो नै सबैथोक हो त? म तिमीहरूलाई अहिले भन्दै छु, यो सबैथोक होइन। यो त एउटा सानो र सीमित अंश मात्र हो, परमेश्‍वर देहधारी हुनुहुँदा, मानिसहरूले नाङ्गो आँखाले देख्न सक्ने, छुन सक्ने, र दिमागको मद्दतले बुझ्न सक्ने कुरा मात्र हो। यो सबै थोक होइन, र यो परमेश्‍वरको योजनाभित्र गरिनुपर्ने काम मात्र हो।

देहधारी परमेश्‍वरलाई सबैभन्दा स्पष्ट रूपमा कसरी व्याख्या गर्न सकिन्छ? सरल भाषामा भन्नुपर्दा, यसको अर्थ परमेश्‍वरले पृथ्वीमा रूप धारण गरिरहनुभएको छ, उहाँ साधारण व्यक्तिको रूपमा देह धारण गर्नुभएको परमेश्‍वरको आत्मा हुनुहुन्छ। यदि परमेश्‍वरको आत्मा देहमा हुनुहुन्छ भने, के उहाँ अझै अन्यत्र पनि विद्यमान रहनुहुन्छ? रहनुहुन्छ। परमेश्‍वर ब्रह्माण्ड र सबैथोकमाथि शासन गर्नुहुन्छ, र सम्पूर्ण ब्रह्माण्डमाथि शासन गर्ने एउटै परमेश्‍वर हुनुहुन्छ। उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, र उहाँ अहिले देह बनेर पृथ्वीमा आउनुभएको छ। उहाँ मानिसहरूले कल्पेजस्तो, देहधारी भएर पृथ्वीमा मात्र काम गरिरहेको र अन्यत्र कतै वास्तै नगरिरहेको हुनुहुन्न। मैले विगतमा एउटी बहिनीलाई सोधेँ, “पृथ्वीमा अहिले परमेश्‍वर देहधारी हुनुहुँदा, के स्वर्गमा पनि कुनै परमेश्‍वर हुनुहुन्छ?” उसले एक मिनेट सोची र भनी, “परमेश्‍वर एउटै हुनुहुन्छ र उहाँ अहिले पृथ्वीमा हुनुहुन्छ, त्यसैले स्वर्गमा अहिले कुनै परमेश्‍वर हुनुहुन्न।” यो फेरि गलत भयो। परमेश्‍वरले ब्रह्माण्ड र सबैथोकमाथि शासन गर्नुहुन्छ र परमेश्‍वर आत्मा हुनुहुन्छ, उहाँ यहाँ पृथ्वीमा हुनुहुन्छ तर उहाँ स्वर्गका सबैथोकमाथि पनि शासन गर्नुहुन्छ र पृथ्वीमा पनि आफ्नो काम गर्नुहुन्छ। मैले फेरि सोधेँ, “के यसको मतलब परमेश्‍वरको आत्माले कहिलेकाँही देह छोडेर पनि जानुहुन्छ?” उसले एकछिन सोची र भनी, “सायद कहिलेकाँही उहाँले छोडेर जानुपर्छ र देहलाई केही थाहा हुँदैन। देह सामान्य रूपमा जिउँदा आत्माले छोडेर जानुहुन्छ, र बोल्नुपर्दा उहाँ फर्कनुहुन्छ। सायद निन्द्राको दौरान, आत्मा अरू कुराहरू गर्न जानुहुन्छ तर देह ब्यूँझँदा फर्केर आउनुहुन्छ, र देहमार्फत बोल्नुहुन्छ र काम गर्नुहुन्छ। यदि कुनै काम गरिनुपर्ने छैन भने, देह केवल सामान्य मानव व्यवहार र कार्यहरूमा संलग्न भइरहेको हुन सक्नुहुन्छ।” धेरै मानिसहरूले यही सोच्छन्। केही अरू छन्, जो यसरी चिन्ता गर्छन्, “मलाई थाहा छैन, परमेश्‍वरको पैसा कसरी भाग लगाइन्छ, यो अरू कसैलाई दिन सकिन्थ्यो कि?” मानव मन साँच्चै जटिल हुन्छ। खराब अभिप्राय राख्ने मन हुने मानिसहरूले कसरी सत्यता पछ्याउने आशा गर्न सक्छन्? छोटकरीमा भन्नुपर्दा, परमेश्‍वरलाई चिन्ने प्रक्रियामा, न त परमेश्‍वर देह बन्‍नुको सार चिन्‍नु नै सजिलो कार्य हो न त उहाँको स्वभाव चिन्नु नै। देहधारी परमेश्‍वरको कामको दौरान, तैँले जे अनुभव र सामना गर्न सक्छस् त्यही नै तैँले जान्नुपर्ने कुराहरू हुन्, र तँ जुन कुराहरूको सम्पर्कमा आउन सक्दैनस्, ती कुराहरूबारे तैँले अतिरञ्जित धारणाहरू बनाउनु हुँदैन। उदाहरणको लागि, “परमेश्‍वरको देह बिदा हुनुभएपछि, परमेश्‍वर फेरि कुन रूपमा देखा परी काम गर्नुहुनेछ? के उहाँ अझै पृथ्वीमा हामीलाई भेट्न आउनुहुनेछ?” आज अधिकांश मानिसहरू यी बाह्य कुराहरूमा ध्यान दिन्छन्, र ती कुराहरू ख्रीष्टको सारसित कहीँकतै सम्बन्धित छैनन्; ती कुराहरू बुझ्नु वास्तवमै बेकार छ। केही कुराहरू छन्, जुन तैँले बुझ्नु आवश्यक छैन, तर बुझ्‍नुपर्ने समय आउँदा तैँले बुझ्नेछस्। तैँले यी कुराहरू बुझ्छस् कि बुझ्दैनस् भन्‍ने कुरा सान्दर्भिक छैन् र यी कुराहरूले मानिसहरूको देहधारी परमेश्‍वरमाथिको विश्‍वास, ख्रीष्टमाथिको विश्‍वास, वा ख्रीष्टको पछ्याइमा अलिकति पनि प्रभाव पार्दैनन्। यी कुराहरूले मानिसहरूको सत्यता पछ्याउने वा कर्तव्य राम्रोसँग निभाउने कार्यमा पनि अलिकति पनि प्रभाव पार्दैनन्, र यदि तैँले यी कुराहरू जानिस् भने पनि त्यसले तेरो कुनै विश्‍वास बढाउँदैन। अगमवक्ताहरूले विगतमा चिन्ह र चमत्कारहरू देखाए, र मानिसहरूले के पाए? यी सबै कुराहरू मानिसहरूलाई परमेश्‍वरको अस्तित्व स्वीकार गराउनका लागि थिए। ती अगमवक्ताहरूले जतिसुकै चमत्कारहरू गर्न सके पनि तिनीहरू परमेश्‍वर होइनन् किनभने तिनीहरूसँग परमेश्‍वरको सार थिएन। देहधारी परमेश्‍वर चमत्कारहरू नगरी पनि अझै परमेश्‍वर नै हुनुहुन्छ किनभने उहाँसँग परमेश्‍वरको सार छ। उहाँ चिन्ह र चमत्कारहरू देखाउनुहुन्‍न भन्नुको अर्थ उहाँ ती देखाउन सक्नुहुन्न भन्ने होइन। उहाँका वचनहरूले हासिल गर्ने हरेक कुरा त्यसरी चिन्ह र चमत्कारहरू देखाउनुभन्दा पनि बढी सर्वशक्तिमान्‌ कुरा हुन्। यो त झन् ठूलो चमत्कार हो। परमेश्‍वरको सार र स्वभावको ज्ञान पछ्याउनु एकदमै महत्त्वपूर्ण छ, यो तिमीहरूको जीवन प्रवेशको लागि अत्यन्तै लाभदायक हुन्छ, र यो परमेश्‍वरमाथिको विश्‍वासको सही मार्ग हो।

तँलाई के थाहा हुनुपर्छ भने, जब परमेश्‍वरले देहमा रही काम गर्नुहुन्छ, त्यही समयमा मानिसहरूले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, अनि उहाँको सार र उहाँको स्वभावका धेरैजसो कुराहरू सामना गर्न र देख्न सक्छन्। यो परमेश्‍वरलाई चिन्ने सबैभन्दा उत्तम अवसर हो। मानिसहरूले विगतमा बताउने गरेको परमेश्‍वरको कार्य र उहाँको स्वभावबारे ज्ञान हासिल गर्ने प्रक्रिया—यो काम गाह्रो थियो किनभने तिनीहरूसँग उहाँसम्‍मको पहुँच थिएन। त्यो बेला जब मोशाले यहोवालाई आफूसमक्ष देखा पर्नुभएको देख्यो, उसले यहोवाले गर्नुभएका केही कार्यहरू मात्र देख्यो। ऊसँग परमेश्‍वरबारे कति नै व्यावहारिक ज्ञान थियो र? के त्यो अचेलका मानिसहरूले जानेका कुराहरूभन्दा धेरै ठूलो थियो त? के त्यो अचेलका मानिसहरूले जानेका कुराहरूभन्दा धेरै व्यावहारिक थियो त? अवश्य थिएन। परमेश्‍वरले त्यतिखेर इस्राएलमा काम गर्नुभएको बेला उहाँका कैयौँ कार्यहरू प्रकट पनि गर्नुभयो; धेरै मानिसहरूले यहोवाले चिन्ह र चमत्कारहरू प्रदर्शन गर्नुभएको देखे र केही मानिसहरूले त पछाडिबाट यहोवाको छायाँ-आकृति पनि देखे। धेरै मानिसहरूले स्वर्गदूतहरू पनि देखे। तर अन्त्यमा कति जनाले परमेश्‍वरलाई चिन्न सके र? अति थोरैले! व्यावहारिक रूपमा त परमेश्‍वरलाई चिन्ने एक जना पनि थिएन। परमेश्‍वर देहमा हुनुभएको बेलामा उहाँले गर्नुभएका कामको अनुभवमार्फत आखिरी दिनहरूका मानिसहरूले मात्र परमेश्‍वरबारे धेरै ज्ञान पाउन सक्छन्, किनभने परमेश्‍वरले उहाँ के काम गर्नुहुन्छ, उहाँको कामको उद्देश्य के हो, उहाँको इच्छा के हो, मानवजातिप्रति उहाँको मनोवृत्ति के-कस्तो छ, र शैतानद्वारा भ्रष्ट पारिएका मानवजातिको स्थिति र सार के-कस्ता छन्, र आदि इत्यादि कुराहरू मानिसहरूसँग आमनेसामने बसेरै बताउनुहुन्छ। खुलासाका यी वचनहरूमार्फत मात्र मानिसहरूले देख्‍न सक्छन् कि परमेश्‍वर वास्तवमै यति व्यावहारिक र यथार्थ हुनुहुन्छ, मानवजातिप्रति उहाँमा वास्तवमै यस्तो इच्छा छ, र उहाँमा वास्तवमै यस्तो स्वभाव छ। उहाँका कार्यहरू वास्तवमा यस्तै अद्भुत छन्, उहाँको बुद्धि वास्तवमै यति गहन छ, र मानवजातिप्रतिको उहाँको कृपा वास्तवमै यति यथार्थ छ। परमेश्‍वरले बोल्नुभएका यी सबै वचनहरूले उहाँको काम, उहाँको प्रेम र उहाँको स्वभाव अनि उहाँको कार्यको गवाही दिन्छन्। हामीले परमेश्‍वरको काम अनुभव गरेर यी कुराहरूको प्रत्यक्ष अनुभव गर्छौँ। परमेश्‍वरले बोल्नुहुने वचनहरू यति व्यावहारिक र यति यथार्थपरक छन्। मानिसहरूले मानवजातिप्रतिको परमेश्‍वरको प्रेम र सहनशीलता वास्तवमै अनन्त रहेको अनुभव गर्छन्। मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको इच्छा उहाँको काम र उहाँद्वारा बोलिने वचनहरूमा कार्यान्वित हुन्छ, र यो सबै कुराले मानिसहरूलाई आफ्नो वास्तविक अनुभवमा यसको स्वाद लिन मद्दत गर्छ। तसर्थ, परमेश्‍वर देह बन्‍नुको सारसम्बन्धी ज्ञान परमेश्‍वरले देहमा रही काम गर्नुभएको अवधिमा मात्र हासिल गर्न सकिन्छ, र तैँले यो अवधिबाहिर बुझ्ने कुनै पनि कुरा अव्यावहारिक हुन्छ। देहधारी परमेश्‍वर आफ्नो काम पूरा गरेर बिदा भइसक्नुभएपछि, जब तैँले उहाँको काम अनुभव गर्ने प्रयास गर्छस्, त्यो तेरो लागि त्यति वास्तविक हुनेछैन जति अहिले छ, किनभने आज तँ देहधारी परमेश्‍वरको काम देख्न र छुन सक्छस्। परमेश्‍वरले पनि निरन्तर मानिसहरूसँग आमनेसामने भएर आफ्नो काम गरिरहनुभएको छ, र तिनीहरूले पनि उहाँ कसरी बोल्नुहुन्छ र काम गर्नुहुन्छ भनेर व्यक्तिगत रूपमै अनुभव गरेका छन्। पत्रुसको त्यतिबेलाको अनुभव तिमीहरूको आजको अनुभवजस्तो वास्तविक थिएन। पत्रुसले येशूलाई पछ्यायो र यहूदियामा उहाँको कामको दौरान, परमेश्‍वरमा व्यावहारिक र प्रेमिलो जे थियो, त्यो अनुभव गऱ्यो, तर उसको कद त्यतिबेला सानो थियो र उसले अनुभव गरेको कुरा सतही थियो। येशू बिदा हुनुभएपछि, पत्रुसले होसियारीपूर्वक सोच्यो र उहाँका वचनहरूलाई पूर्ण अनुभूत गर्‍यो, र आफ्नो बुझाइलाई गहिरो बनायो र थप कुराहरू प्राप्त गऱ्यो। येशूले आफ्नो कामको दौरान परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँको प्रेमिलोदयालुपन, उहाँको कृपा, मानवजातिको लागि उहाँको मुक्ति, र असीम सहनशीलता अनि अनुग्रह पनि व्यक्त गर्नुभयो। त्यतिबेला उहाँलाई पछ्याउने मानिसहरू यीमध्ये केही कुराहरू अनुभव गर्न सक्षम भए, तर पछि आएका मानिसहरूले त्यतिबेलाका मानिसहरूले झैँ गहिरो रूपमा ती कुरा अनुभव गर्न सकेनन्। साथै, जब मानिसहरूले पवित्र आत्माद्वारा उत्प्रेरित भएर उहाँको इच्छा बोध गर्दै परमेश्‍वरलाई प्रार्थना गरे, तिनीहरूले ती दिनहरूमा जे अनुभव गरे, त्यो अस्पष्ट र फिक्का थियो। कहिलेकाहीं त्यो सटिक रूपमा बुझ्न गाह्रो हुन्थ्यो, र कोही पनि आफ्नो बुझाइ सही छ भनेर पक्का हुन सक्दैनथे। त्यसकारण, जब पत्रुसलाई अन्ततः पक्राउ गरेर कैद गरियो, केही मानिसहरूले उसलाई कसरी निकाल्ने भनेर उपाय लगाउन पनि खोजे। वास्तवमा, त्योबेला येशूको अभिप्राय पत्रुस आफ्नो अन्तिम गवाहीको रूपमा क्रूसमा टाँगीयोस् भन्ने थियो। उसको यात्रा समाप्त भएको थियो, र उसले राम्रो गन्तव्य पाओस् भनेर परमेश्‍वरले उसलाई यसरी गवाही दिने प्रबन्ध गर्नुभयो। पत्रुसले लिएको बाटो यही थियो। आफ्नो मार्गको अन्त्यमा आइपुग्दा पनि पत्रुसले अझै येशूको वास्तविक अभिप्राय बुझेन। येशूले उसलाई भन्नुभएपछि मात्र उसले येशूको अभिप्राय बुझ्यो। त्यसकारण, यदि तँ परमेश्‍वरको सार बुझ्न चाहन्छस् भने, देहधारी परमेश्‍वरले काम गरिरहनुभएको समयमै सो बुझ्‍नु सबैभन्दा फाइदाजनक हुन्छ। तैँले देख्न, छुन, सुन्न, र गहन अनुभूति गर्न सक्छस्। देहमा रहनुभएका परमेश्‍वरको काम समाप्त भइसकेपछि, यदि तैँले पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भनी अनुभव गर्ने प्रयास गर्छस् भने, त्यो फर्केर हेर्दा त्यति गहन हुनेछैन, र तेरो बुझाइ सतही हुनेछ। त्यो बेला, उहाँले मानिसहरूको भ्रष्ट स्वभावहरू मात्रै शोधन गर्न सक्‍नुहुनेछ। अनि, शोधनपश्‍चात् मानिसहरूले केही थप सत्यताहरू बुझ्न र आफूले प्राप्त गरेका सत्यताहरू आफ्नो जीवनको जगको रूपमा प्रयोग गर्न सक्छन्, र यसरी तिनीहरूले आफूभित्रको भ्रष्ट स्वभाव बदल्न सक्छन्। तर तैँले जतिसुकै परमेश्‍वरलाई प्रेम गर्ने र चिन्ने प्रयास गरे पनि, वास्तवमा त्यति प्रगति गर्न सक्नेछैनस्। मानव प्रगतिको एक सीमा हुन्छ, र यो प्रगति देहधारी परमेश्‍वरको काम अनुभव गर्दा र परमेश्‍वरलाई चिन्दा हुने फाइदाहरूभन्‍दा धेरै कम हुन्छ। देहधारी हुँदा परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, र धेरै मानिसहरूले देख्छन् तर बुझ्दैनन् अनि सुन्छन् तर जान्दैनन्। यी मानिसहरू आत्मिक रूपमा अज्ञानी र हृदयरहित मानिसहरू हुन्। मानिसहरूमा विवेक वा समझको कमी हुन्छ, र तिनीहरूले परमेश्‍वरले मानिसहरूलाई कति प्रेम गर्नुहुन्छ र सहनुहुन्छ भन्ने बुझ्दैनन्। मानिसहरू यति बोधो छन् कि तिनीहरूले परमेश्‍वरको काम समाप्त भएपछि मात्र केही समझ प्राप्त गर्छन्, र सही मार्गमा हिँड्न थाल्छन्।

ख्रीष्‍टको सार के हो? मानिसहरूका लागि, ख्रीष्टको सार प्रेम हो। उहाँलाई पछ्याउनेहरूका लागि, यो एक प्रेम हो जुन असीमित छ। यदि उहाँमा कुनै प्रेम वा कृपा नभएको भए, मानिसहरू अहिलेसम्‍म उहाँलाई पछ्याइरहन सक्षम हुँदैनथे। कतिपय मानिसहरू भन्छन्, “तर परमेश्‍वर धर्मी पनि हुनुहुन्छ।” यो साँचो हो, परमेश्‍वर धर्मी हुनुहुन्छ, तर उहाँको स्वभावको हिसाबमा, उहाँको धार्मिकता मुख्य रूपमा मानवजातिको भ्रष्ट स्वभावप्रतिको उहाँको घृणा, दियाबलस शैतानप्रतिको उहाँको श्राप, र कसैलाई पनि उहाँले उहाँको स्वभाव चिढ्याउन नदिनुभएको तथ्यमार्फत व्यक्त हुन्छ। त्यसो भए, के उहाँको धार्मिकतामा प्रेम समावेश हुन्छ? अनि, के उहाँले मानिसहरूको भ्रष्टतामाथि गर्नुहुने न्याय र शुद्धीकरण प्रेम होइन र? मानवजातिलाई मुक्ति दिन, परमेश्‍वरले अत्यधिक धैर्यसाथ ठूलो अपमान सहनुभएको छ। के यो प्रेम होइन र? तसर्थ, म तिमीहरूलाई खुलेरै भन्छु: देहमा रहेर परमेश्‍वरले मानवजातिको लागि गर्नुहुने काममा, उहाँको सारमा रहेको सबैभन्दा स्पष्ट र मुख्य कुरा प्रेम हो; यो असीमित सहनशीलता हो। यदि यो प्रेम नभएको भए, र यदि यो तिमीहरूले सोचेजस्तै भएको भए अर्थात्, परमेश्‍वरले मानिसहरूलाई जतिखेर मन लाग्यो त्यतिखेर प्रहार गर्नुहुन्थ्यो भने वा उहाँले घृणा गर्नुहुने जोकोहीलाई उहाँ दण्ड र श्राप दिनुहुन्थ्यो, र न्याय र सजाय गर्नुहुन्थ्यो भने, त्यो अत्यन्तै कठोर हुन्थयो! यदि उहाँ कसैप्रति रिसाउनुहुन्थ्यो भने, तिनीहरू डरले थरथर काम्थे र उहाँको अघि खडा हुन सक्दैनथे…। यो परमेश्‍वरको स्वभाव प्रकट हुने एउटा तरिका मात्रै हो। उहाँको उद्देश्य अन्ततः मुक्ति दिनु नै हो, र उहाँले प्रकट गर्नुहुने सबै स्वभावहरूमा उहाँको प्रेम नै बगिरहेको हुन्छ। यसबारेमा पछाडि फर्केर सोच: देहमा रहेर काम गर्नुहुँदा, परमेश्‍वरले सबैभन्दा बढी के प्रकट गर्नुहुन्छ? यो प्रेम हो, यो धैर्य हो। धैर्य भनेको के हो? धैर्य भनेको कृपा हो, किनकि यसभित्र प्रेम हुन्छ। परमेश्‍वरमा प्रेम भएकोले नै उहाँ मानिसहरूलाई कृपा गर्न सक्‍नुहुन्छ र यो सब मानिसहरूलाई मुक्ति दिको लागि हो। यो एकअर्कालाई साँचो प्रेम गर्ने विवाहित जोडीले एकअर्काका कमीकमजोरी र त्रुटिहरू बेवास्ता गरेजस्तै हो। तेरो जीवनसाथीले तँलाई रिस उठाउँदा पनि तँ सहन सक्छस्, र यो सब प्रेमको जगमा निर्मित भएको हुन्छ। यदि यो घृणा हुन्थ्यो भने, तिनीहरूमा यो मनोवृत्ति हुन्थेन वा तिनीहरूले यी कुरा देखाउँदैनथे, र त्यहाँ यसप्रकाको प्रभाव हुँदैन्थ्यो। यदि परमेश्‍वरमा घृणा र रिस मात्रै हुन्थ्यो वा उहाँले कुनै प्रेमविना न्याय र सजाय मात्रै गर्नुहुन्थ्यो भने, परिस्थिति तिमीहरूले अहिले देखेजस्तो हुन्‍नथ्यो, र तिमीहरूको नियतिमा विपत्ति आइपर्थ्यो। के उहाँले तिमीहरूलाई अझै पनि सत्यता प्रदान गर्न सक्‍नुहुन्थ्यो र? न्याय र सजायको काम सक्‍किनबित्तिकै, सत्यता नस्विकारेका मानिसहरू श्रापित हुन्थे। तिनीहरू तुरुन्तै नमरे पनि बिरामी पर्थे, अपाङ्ग, बौलाहा, वा दृष्टिहीन बन्थे, र कुल्चीमिल्ची पारिन दुष्टात्‍मा र फोहोरी पिशाचहरूतर्फ फालिन्थे। तिनीहरू आज जस्ता छन्, त्यस्ता हुन्थेनन्। तसर्थ, तिमीहरूले परमेश्‍वरको धेरै प्रेम र उहाँको धेरै सहनशीलता, कृपा, र प्रेमिलोदयालुपनको आनन्द उठाएका छौ। तैपनि, मानिसहरूले यसबारे केही सोच्दैनन्, बरु यस्तो विश्‍वास गर्छन्, “परमेश्‍वर मानिसहरूप्रति यस्तै रहनुपर्छ। परमेश्‍वरसँग धार्मिकता र क्रोध पनि छ, र हामीले यी दुवै कम अनुभव गरेका छैनौँ।” के तैँले साँच्‍चै यी कुरा अनुभव गरेको छस् त? यदि साँच्‍चै अनुभव गरेको भए, तँ पहिले नै मरिसक्थिस्। मानवजाति आज कहाँ हुन्थ्यो? परमेश्‍वरको घृणा, क्रोध, र धार्मिकता पूराको पूरा यी मानिसहरूलाई मुक्ति दिने चाहनाको जगमा व्यक्त हुन्छन्। यो स्वभावमा परमेश्‍वरको प्रेम र कृपा, साथै उहाँको ठूलो धैर्यता पनि सामेल छ। यो घृणाले अरू कुनै विकल्‍प नभएको अर्थ बोकेको छ, र यसमा मानवजातिको निम्ति असीमित चिन्ता र आशा सामेल छ! परमेश्‍वरको घृणा मानवजातिको भ्रष्टताप्रति लक्षित छ। यो एकपक्षीय छ, र यो प्रेमको जगमा निर्मित छ। प्रेम भएकोले मात्र घृणा भएको हो। मानवजातिप्रतिको परमेश्‍वरको घृणा शैतानप्रतिको उहाँको घृणाभन्दा फरक छ, किनभने परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनुहुन्छ, शैतानलाई दिनुहुन्न। परमेश्‍वरको धार्मिकता सधैँ नै रहिआएको छ। क्रोध, धार्मिकता, र न्याय सधैँ थिए; मानवजातिप्रति लक्षित गरिँदा मात्र, यी कुराहरू थिएनन्। मानिसहरूले देख्‍नुभन्दा पनि पहिले नै यो परमेश्‍वरको स्वभाव थियो, र तिनीहरूले यसबारेमा थाहा पाएपछि मात्रै परमेश्‍वरको धार्मिकता यस्तै हो भन्‍ने महसुस गरे। वास्तवमा, चाहे यो परमेश्‍वर धर्मी, प्रतापी, वा क्रोधी बन्नुहुने बेला होस्, वा चाहे यो उहाँले मानवजातिको मुक्तिको निम्ति गर्नुहुने हरप्रकारका काम गर्ने बेला होस्, यो सब प्रेमको कारण हो। कतिपय मानिसहरूले भन्छन्, “त्यसो भए, त्यसको कतिचाहिँ प्रेम हो त?” जति नै भए पनि फरक पर्दैन, यो सतप्रतिशत प्रेम हो। यदि योभन्दा कम भएको भए, मानवजातिले मुक्ति पाउँदैनथ्यो। परमेश्‍वरले आफ्‍नो सारा प्रेम मानिसहरूप्रति समर्पित गर्नुभएको छ। परमेश्‍वर किन देह बन्‍नुभयो? पहिले नै भनिसकिएको छ, मानवजातिलाई मुक्ति दिनको लागि उहाँले कुनै कसर बाँकी राख्‍नुहुन्न, अनि उहाँ देह बन्‍नुभएको तथ्यमा उहाँको प्रेमको सबै कुरा सामेल छ। यसले त बस तिमीहरूलाई परमेश्‍वरविरुद्धको मानिसको अवज्ञा चरम छ भनेर देखाउँछ। मुक्ति दिन सकिनेभन्दा खराब परिस्थिति भइसकेकोले यस्तो भएको हो र यसैले नै परमेश्‍वरसँग आफूलाई मानवजातिप्रति अर्पित गर्नहेतु देह बन्‍नुबाहेक अरू कुनै विकल्प थिएन। परमेश्‍वरले आफ्‍नो सारा प्रेम प्रदान गर्नुभएको छ। यदि उहाँले मानवजातिलाई प्रेम नगर्नुभएको भए, उहाँ देह बन्‍नुहुन्‍नथ्यो। बरु, परमेश्‍वरले स्वर्गबाट चट्याङ्ग प्रहार गर्न सक्‍नुहुन्थ्यो, र सीधै आफ्‍नो प्रताप र क्रोध बर्साउन सक्‍नुहुन्थ्यो, अनि मानिसहरू भूँइमा ढल्थे। परमेश्‍वरले त्यस्तो समस्यामार्फत गुज्रनुपर्ने, त्यस्तो मूल्य चुकाउनुपर्ने वा देहमा रहेर त्यस्तो अपमान सहुनुपर्ने कुनै जरुरी थिएन। यो एक स्पष्ट उदाहरण हो। उहाँ मानिसहरूलाई मुक्ति दिनहेतु पीडा, अपमान, त्याग र सतावट भोग्‍न रुचाउनुहुन्छ। त्यस्तो शत्रुवत् वातावरणको बाबजुत पनि, उहाँ मानवजातिलाई मुक्ति दिन आउनुभएको छ। के यो सबैभन्दा ठूलो प्रेम होइन र? यदि परमेश्‍वर धर्मीबाहेक अरू केही नहुनुभएको भए, र उहाँ मानवजातिप्रति असीमित घृणाले भरिनुभएको भए, उहाँ आफ्‍नो काम गर्न देह बन्‍नुहुन्‍नथ्यो। उहाँले मानवजाति चरम रूपमा भ्रष्ट हुञ्‍जेल पर्खनुहुन्थ्यो, र त्यसपछि तिनीहरू सबैलाई सखाप पारिदिनुहुन्थ्यो, र यो कुरा त्यही सक्दिनुहुन्थ्यो। परमेश्‍वर मानवजातिलाई प्रेम गर्नुहुन्छ र मानवजातिप्रति उहाँसँग अधिकतम प्रेम छ, त्यसैले नै यति चरम रूपमा भ्रष्ट रहेका यी मानिसहरूलाई मुक्ति दिन उहाँ देह बन्‍नुभयो। परमेश्‍वरको न्याय र सजायबाट गुज्रेर गएपछि, र आफ्‍नो प्रकृति थाहा पाएपछि, धेरैजसो मानिसहरू यसो भन्छन्, “मेरो लागि सबै सक्‍कियो। मैले कहिल्यै मुक्ति पाउन सक्दिनँ।” तैँले आफूलाई मुक्ति मिल्न सक्‍दैन भन्‍ने ठानेपछि मात्रै तँलाई परमेश्‍वरमा मानिसहरूप्रति साँच्‍चै नै अत्यधिक धैर्यता र प्रेम रहेछ भन्‍ने थाहा हुनेछ! परमेश्‍वरको प्रेमविना मानिसहरूले के गर्न सक्छन् र? मानव प्रकृति यति भ्रष्ट भएको भएर पनि परमेश्‍वर अझै तिमीहरूसँग बोल्‍नुहुन्छ। तिमीहरूले जहिले प्रश्‍न सोधे पनि उहाँ उत्तर दिन दौडिहाल्‍नुहुन्छ, किनकि मानिसहरूले नबुझ्लान् कि वा तिनीहरू गलत बाटोमा वा चरमतातर्फ लाग्‍लान् कि भन्‍ने उहाँलाई डर हुन्छ। यस्तो हुँदा पनि, के तिमीहरू अझै मानवजातिको निम्ति परमेश्‍वरको प्रेम कति महान्‌ छ भनेर बुझ्‍दैनौ?

आज धेरै मानिसहरू हेर्दै टिप्पणी गर्दै छन्, “उहाँको काम पूरा भइसकेपछि पनि देहधारी परमेश्‍वर किन अझै पृथ्वीमै घुमिरहनुभएको छ? के अझै पनि कामको अर्को चरण बाँकी हुन सक्छ? हतारहतार अर्को चरणको काम किन गर्नुहुन्न?” यसमा निश्‍चय नै अर्थ लुकेको छ। देहधारी परमेश्‍वरले धेरै वचनहरू बोलिसक्नुभएपछि पनि मानिसहरूमा के प्रभाव हासिल भएको छ र? मानिसहरूले सुनेका र सम्झेका मात्र छन्, त्यति धेरै ग्रहण गरेका छैनन्, र तिनीहरूमा स्पष्ट परिवर्तन आएको छैन। तेरो अहिलेको स्थितिमा, सत्यताको धेरैजसो कुरो अस्पष्टै रहन्छ, र यसको वास्तविकतामा प्रवेश गर्ने सवालै उठ्दैन। परमेश्‍वर देहधारी बन्नुभएर यति धेरै वचनहरू बोल्नुभएकोले, तिमीहरूलाई उहाँको उद्देश्य के हो जस्तो लाग्छ? यसको अन्तिम प्रभाव के हो? यदि उहाँले अहिले कामको अर्को चरण सुरु गर्नुभई यी मानिसहरूलाई आफ्नै हालमा छोडिदिनुहुन्थ्यो भने, काम आधा बाटोमै त्यागिनेथ्यो। मानिसहरूलाई पूर्ण रूपमा मुक्ति दिन देहधारी परमेश्‍वरको काम दुईवटा पूर्ण चरणहरूमा गरिनुपर्छ। यो ठ्याक्‍कै त्यस्तै हो, जस्तो कि अनुग्रहको युगमा येशू आउनुहुँदा, उहाँको जन्मदेखि उहाँ क्रुसमा टाँगिन र स्वर्गमा उक्लन साढे तेत्तीस वर्ष लाग्यो। यो सामान्य मानव आयुअनुसार लामो समय होइन, तर पृथ्वीमा परमेश्‍वरको लागि छोटो समय पनि होइन! साढे तेत्तीस वर्ष निकै कष्टप्रद हुन्छ! देहका परमेश्‍वरमा परमेश्‍वरको सार र स्वभाव थियो र उहाँ भ्रष्ट मानवजातिसँग साढे तेत्तिस वर्ष जिउनुभयो, र त्यो पीडादायी कुरा थियो। मानिसहरूले उहाँलाई राम्रो व्यवहार गरे कि गरेनन् वा उहाँसँग आफ्नो शिर राख्ने ठाउँ थियो कि थिएन, यी सबै कुराहरूलाई छोड्ने हो भने पनि, उहाँको देहले धेरै शारीरिक कष्टहरू भोगेको थिएन नै भने पनि, मानिसहरूसँग मिलेर बस्नु परमेश्‍वरको लागि पीडादायी कुरा थियो, किनभने तिनीहरू एउटै प्रकारका हुँदैनन्। उदाहरणको लागि, यदि मानिसहरू दिनभर सुँगुरहरूसँग बस्छन् भने, तिनीहरू एउटै प्रकारका नभएकाले केही समयपछि यो निकै कष्टप्रद हुनेछ। मानिसहरू र सुँगुरहरूबीच साझा भाषा के हुन सक्छ र? बिनाकष्ट तिनीहरू एकअर्कासँग कसरी जिउन सक्छन् र? एकअर्कासँग पूर्ण मेलमिलाप नभएको खण्डमा पति-पत्नी पनि सँगै बस्न घिनाउँछन्। पृथ्वीमा परमेश्‍वर साढे तेत्तिस वर्ष देहमा रहनुभएको अवधि आफैमा एक अत्यन्त पीडादायी कुरा थियो, र कसैले उहाँलाई बुझ्न सक्दैनथ्यो। मानिसहरूले यस्तो पनि सोच्छन्, “देहमा रहनुभएका परमेश्‍वरले जे चाह्यो त्यो गर्न र भन्न सक्नुहुन्थ्यो, र उहाँलाई पछ्याउने कति धेरै मानिसहरू थिए। उहाँलाई के पीडा थियो र? बस उहाँसँग आफ्नो शिर राख्ने ठाउँ थिएन र उहाँको देहले अलिकति पीडा र कष्ट भोग्यो। यो त्यति पीडादायी जस्तो त सुनिँदैन!” यो साँचो हो कि यी पीडाहरू मानिसहरूले थेग्न र सहन सक्ने कुरा हुन्, र देहमा रहनुभएका परमेश्‍वर पनि कुनै अपवाद हुनुहुन्न। उहाँले पनि त्यो सहन सक्नुहुन्थ्यो, र उहाँको लागि त्यो ठूलो पीडा थिएन। उहाँले सहनुभएका अधिकांश पीडाहरू चरम भ्रष्ट मानवजातिसँगै जीवन जिउने, हरप्रकारका मानिसहरूबाट आउने उपहास, अपमान, आलोचना र निन्दा सहने, र साथमा भुतपिशाचहरूद्वारा खेदिने अनि धार्मिक संसारको अस्वीकृति र शत्रुता खेप्ने कुराहरू थिए, जसले उहाँको प्राणभित्रै कसैले निको पार्न नसक्ने घाउहरू बनाए। यो पीडादायी कुरा थियो। उहाँले भ्रष्ट मानवजातिलाई अपार धैर्यसाथ मुक्ति दिनुभयो, आफ्ना घाउहरूको बाबजुद मानिसहरूलाई प्रेम गर्नुभयो, र यो गहन रूपमा पीडादायी काम थियो। मानवजातिको क्रुर प्रतिरोध, निन्दा र गाली, झूटा आरोपहरू, सतावट, अनि तिनीहरूको खेदो र ज्यान लियाइले परमेश्‍वरको देहलाई ठूलो जोखिममा रहेर यो काम गर्ने तुल्यायो। उहाँले यी पीडाहरू भोग्नुहुँदा उहाँलाई कसले बुझ्न र सान्त्वना दिन सक्थ्यो र? मानिसहरूमा थोरै मात्र जोस हुन्छ, र तिनीहरू अझै पनि उहाँसँग गुनासो गर्न वा निष्क्रिय र उदासीन व्यवहार गर्न सक्छन्। यो कारणले गर्दा उहाँले कसरी दुःख पाउनुहुन्थेन र? उहाँले हृदयमा यति ठूलो पीडा महसुस गर्नुभयो। मानवजातिले परमेश्‍वरलाई पुर्‍याएको यो हानिको क्षतिपूर्ति के थोरै भौतिक सुख-सुविधाले गर्न सक्छ र? के तँ मिठो खानु र राम्रो लाउनु नै खुसी हो भन्ठान्छस्? यो दृष्टिकोण हास्यास्पद छ! प्रभु येशुले पृथ्वीमा आफ्नो काम गरेर साढे तेत्तीस वर्ष जिइसकेपछि, क्रुसमा टाँगिएर मृत्युबाट पुनरुत्थानित भएपछि, र त्यसपछि चालीस दिनसम्म मानिसहरूमाझ देखा परेर तिनिहरूमाझको वर्षौँको पीडादायी जीवन अन्त्य गरेपछि मात्रै स्वतन्त्रता पाउनुभयो। तर मानिसहरूको गन्तव्यको चिन्ताले गर्दा परमेश्‍वरको हृदय अझै पनि उस्तै पीडामा थियो। यो पीडा कसैले पनि बुझ्न वा सहन सक्थेन। प्रभु येशू सबै मानिसहरूका पापहरू बोक्न क्रूसमा टाँगिनुभयो ताकि मानवजातिले मुक्तिको जग पाउन सकोस्। उहाँले क्रूसमा टाँगिएर मानवजातिलाई शैतानको हातबाट छुटकारा दिनुभयो, र उहाँले आफ्नो छुटकाराको सम्पूर्ण कार्य पूरा गरेपछि मात्रै यो संसारबाट आफ्नो पीडादायी अस्तित्व अन्त्य गर्नुभयो। उहाँको सबै काम पूरा भएपछि, उहाँले एक दिन पनि ढिलाइ गर्नुभएन। परमेश्‍वरले वास्तवमा मानवजातिको छुटकाराको कार्य सम्‍पन्‍न गर्नुभयो र देहमा उहाँको योजना पूरा गर्नुभयो भनेर सबैलाई थाहा होस् भनेर मात्रै उहाँ मानिसहरूसामु देखा पर्नुभयो। काम अधुरो भएको भए उहाँ जानु नै हुन्थेन। अनुग्रहको युगमा, येशूले “मेरो समय अझै आएको छैन” भनेर प्रायः भनिरहनुहुन्थ्यो। उहाँको समय अझै आएको थिएन भन्‍नुको अर्थ उहाँको कामको समयसीमा सकिएको थिएन। अर्थात्, देहधारी परमेश्‍वरको काम मानिसहरूले कल्पना गरेझैँ ठाउँठाउँमा हिँड्दै जानु, बोल्नु, मण्डली जीवन जाँच्नु, र भन्नुपर्ने सबै कुराहरू भन्नु मात्र होइन। आफ्नो काम समाप्त गरिसकेपछि र यी सबै कुराहरू भनिसकेपछि पनि, देहधारी परमेश्‍वरले अझै अन्तिम परिणामहरू पर्खनुपर्छ र उहाँले जे भन्नुभयो त्यसले कस्तो प्रभाव ल्याउनेछ र मानवजातिको मुक्ति कस्तो देखिनेछ भनेर हेर्नुपर्छ। के यो प्राकृतिक छैन र? के उहाँले आफ्नो सबै कष्टप्रद मूल्य चुक्ता गरिसकेपछि बस यो काम त्याग्दिहाल्‍नुहुन्छ र? उहाँले त अन्तिम समयसम्म दृढ रहनुपर्छ, र परिणामहरू आएपछि मात्र उहाँलाई कामको अर्को चरणतर्फ अघि बढ्न सहज हुनेछ। परमेश्‍वरको काम र उहाँको व्यवस्थापन योजना विशेषतः उहाँ आफैले मात्र गर्न सक्नुहुने कुराहरू हुन्। मानवजाति, उहाँलाई पछ्याउनेहरू र मुक्ति पाएकाहरू अन्ततः के बन्छन्, कति मानिसहरू उहाँको इच्छाअनुरूप हुन्छन्, कति मानिसहरूले उहाँलाई सच्‍चा प्रेम गर्छन्, कतिले उहाँलाई साँच्चै चिन्छन्, कतिले आफूलाई उहाँमा समर्पित गर्छन्, र कतिले साँचो रूपमा उहाँको पूजा गर्छन् … यी सबै सवालहरूको एक परिणाम हुनुपर्छ। मानिसहरूले कल्पना गरेझैँ “पृथ्वीमा परमेश्‍वरको काम पूरा भएपछि, उहाँले आफैँ आनन्द लिनुपर्छ। उहाँले त्यस्तो आनन्द लिन सक्नुहुन्छ!” भन्ने सत्य होइन। यो कुरा बुझ्: यो बिलकुलै रमाइलो छैन, यो कष्टप्रद छ! केही मानिसहरू बुझ्दैनन् र सोच्छन्, “यदि परमेश्‍वरले देहमा आफ्नो काम गरिसक्नुभयो र अबउप्रान्त बोल्नुहुन्न भने, के यसको अर्थ उहाँको आत्मा गइसक्नुभयो भन्‍ने होइन र?” यससँगै, तिनीहरूले परमेश्‍वरमाथि शंका गर्न थाल्छन्। यहाँ केही यस्ता पनि छन्, जो भन्छन्, “परमेश्‍वरले देहमा आफ्नो काम पूरा गरिसक्नुभएपछि र बोलिसक्नुभएपछि, के उहाँले पर्खनैपर्छ र?” पर्छ। देहधारी परमेश्‍वरको कामको निश्‍चित दायरा छ। यो मानिसले कल्पना गरेझैँ, काम समाप्त भएपछि त्यो सक्किन्छ र समाप्त हुन्छ अनि पवित्र आत्माले सरल रूपमै त्यो गर्नसक्नुहुन्छ भन्ने हुँदैन। यो त्यस्तो हुँदैन। यसमा केही कुराहरू छन्, जसलाई व्यक्तिगत रूपमै मार्गदर्शन गर्न र सम्हाल्न देह चाहिन्छ। यी कुराहरूलाई कसैले पनि आफ्नो हातमा लिन सक्दैन, र देहधारी परमेश्‍वरको काम महत्त्वपूर्ण हुनुको आंशिक कारण यो पनि हो। के तैँले यो कुरा बुझ्दै छस्? विगतमा मैले केही मानिसहरूलाई क्रोधित हुँदै “तिमीहरूसँग उठबस गर्नु दुःखदायी छ” भनेर भनेको छु। केही मानिसहरूले “यदि तपाईँ हामीसँग रहन चाहनुहुन्न भने, यहाँ किन पर्खिरहनुभएको हो?” भनेर प्रतिप्रश्‍न गर्थे। यो परमेश्‍वरको मानवजातिप्रतिको प्रेम हो! के प्रेमविना परमेश्‍वरले अहिलेसम्म सहन सक्नुहुन्थ्यो र? कहिलेकाहीँ उहाँ क्रोधित हुनुहुन्छ र कठोर रूपमा बोल्नुहुन्छ, तर उहाँ आफ्नो काममा कमी गर्नुहुन्न। उहाँ एक चरण पनि छुटाउनुहुन्न। उहाँ गर्नुपर्ने काम गर्न र भन्नुपर्ने वचन भन्न पछि हट्नुहुन्‍न। उहाँले गर्नुपर्ने र भन्नुपर्ने सबै कुरा गर्नुहुन्छ र भन्नुहुन्छ। केही मानिसहरू भन्छन्, “परमेश्‍वरले अहिले किन पहिलाभन्दा कम बोलिरहनुभएको छ?” किनभने कामका ती चरणहरू पूरा भइसकेका छन्, र अन्तिम चरण भनेको पर्खनु हो। म केवल मार्गदर्शनको काम गरिरहेको छु, र मैले कष्ट सहेरै भए नि सक्नेजति सबै गर्नुपर्छ। यो अन्तिम चरणमा किन सधैं मेरो स्वास्थ्य खराब रहेको छ? तँलाई थाहा छ, यो पनि अर्थपूर्ण कुरा हो। यो किन हो भने म मानवजातिको केही रोग र पीडा सहन चाहन्छु। देहमा रहनुभएका परमेश्‍वरले केही रोग र पीडा अनुभव गर्न सक्नुहुन्छ, तर यी सबै कुराहरू चरणबद्ध रूपमा आउँछन्। जुन काम गर्न जरुरी छैन त्यो काम देहको रोगद्वारा सीमित हुन्छ र त्यो गर्न सकिँदैन, र त्यसपछि जब समय आउँछ देहले अलिअलि दुःख भोग्‍नुपर्छ। बिनाकुनै सीमितता, उहाँ सधैं मानवजतिसँग अझ बढी कुरा गर्न र तिनीहरूलाई अझ बढी मद्दत गर्न चाहनुहुन्छ, किनभने उहाँले मुक्तिको काम गरिरहनुभएको छ। देहधारी परमेश्‍वरको कामले सुरुदेखि अन्त्यसम्म जे प्रकट गरेको छ, त्यो पूराको पुरा प्रेम हो। उहाँको कामको सार प्रेम हो, र उहाँले मानवजातिको लागि उहाँसँग भएका सबैथोक र सबै कुराहरू समर्पित गर्नुहुन्छ।

सन १९९९, हिउँद

अघिल्लो: मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

अर्को: परमेश्‍वरमाथिको विश्‍वास संसारका दुष्ट प्रचलनहरू चिन्‍ने कार्यबाट सुरु हुनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्