सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को कदम गर्दै अझ माथि चढ्दै जान्छ। परमेश्‍वरले जुन कामद्वारा मानिसलाई सिद्ध पार्नुहुन्छ त्यो यस्तै हुन्छ। यदि मानिसहरूले कदममा कदम मिलाउन सकेनन् भने, तिनीहरू जुनसुकै बेला परित्याग हुन सक्छन्। यदि तिनीहरूसँग आज्ञाकारी हृदय छैन भने तिनीहरूले आखिरीसम्म पछ्याउन सक्‍नेछैनन्। अघिल्लो युग समाप्त भइसकेको छ: यो नयाँ युग हो। अनि नयाँ युगमा नयाँ काम गरिनुपर्छ। खासगरी मानिसहरूलाई सिद्ध पारिने अन्तिम युगमा, परमेश्‍वरले अझ नयाँ काम, अझ छिटोसँग गर्नुहुन्छ, त्यसैले मानिसहरूलाई तिनीहरूको हृदयमा आज्ञाकारीता नभईकन परमेश्‍वरका कदमहरू पछ्याउन मुस्किल पर्नेछ। परमेश्‍वर कुनै पनि नियमहरूमा बाँधिनुहुन्न, न त उहाँले उहाँको कामको कुनै चरणलाई नै अपरिवर्तनीय रूपमा लिनुहुन्छ। बरु, उहाँले गर्नुहुने काम सधैँ नै पहिलेभन्दा नयाँ अनि पहिलेभन्दा उच्‍च हुन्छ। हरेक चरणमा, उहाँको काम झन्-झन् व्यावहारिक बन्छ, अनि झन्-झन् मानिसको वास्तविक आवश्यकताहरू अनुरूप हुँदै जान्छ। त्यस्तो कामको अनुभव गरिसकेपछि मात्र मानिसहरूले आफ्नो स्वभावको अन्तिम रूपान्तरण प्राप्त गर्न सक्छन्। जीवन सम्‍बन्धी मानिसको ज्ञान झन्-झन् उच्च स्तरमा पुग्छ, त्यसै गरी, परमेश्‍वरको काम पनि झन्-झन् उच्च स्तरमा पुग्छ। यसरी मात्र मानिस सिद्ध हुन र परमेश्‍वरको प्रयोगको लागि योग्य बन्‍न सक्छ। एकतर्फ मानिसका धारणाहरूको प्रतिरोध गर्न र तिनलाई उल्ट्याउनको लागि अनि अर्कोतर्फ मानिसलाई अझ उच्चस्तरीय र अझै वास्तविक स्थितितर्फ डोर्‍याउँदै परमेश्‍वरमाथिको विश्‍वासको सबैभन्दा उच्च क्षेत्रभित्र लैजानको लागि परमेश्‍वरले यसप्रकारले काम गर्नुहुन्छ ताकि आखिरमा परमेश्‍वरको इच्छा पूरा गर्न सकियोस्। जानाजान विरोध गर्ने अवज्ञाकारी प्रकृति भएका सबै व्यक्तिहरूलाई परमेश्‍वरको छिटोछरितो अनि क्रोधपूर्ण अग्रगामी कामको यो चरणद्वारा परित्याग गरिनेछ; इच्छा पूर्वक आज्ञापालन गर्ने अनि खुशीसाथ आफूलाई विनम्र तुल्याउने व्यक्तिहरू मात्रै मार्गको अन्त्यसम्म पुग्न सक्छन्। यस प्रकारको काममा, तिमीहरू सबैले कसरी समर्पित हुने र कसरी आफ्ना धारणाहरूलाई पन्छाउने सो कुरा सिक्नुपर्छ। तिमीहरूले चाल्‍ने हरेक कदममा तिमीहरू सतर्क हुनुपर्छ। यदि तिमीहरू लापर्बाही भयौ भने अवश्य पनि तिमीहरू पवित्र आत्माद्वारा धिक्कारिने व्यक्ति बन्नेछौ, परमेश्‍वरको कामलाई भङ्ग गर्ने व्यक्ति। कामको यो चरणबाट भएर जानुभन्दा पहिले, मानिसका पुरानो नियम र कानुनहरू यति धेरै थिए कि ऊ बहकिएर गयो, अनि त्यसैको फलस्वरूप ऊ अभिमानी बन्यो र आफूले आफैलाई बिर्सियो। यी सबै कुराहरू मानिसलाई परमेश्‍वरको कामलाई स्वीकार गर्नबाट रोक्‍ने वाधाहरू हुन्; यी कुराहरू परमेश्‍वर सम्‍बन्धी मानिसको ज्ञानका शत्रुहरू हुन्। आफ्नो हृदयमा आज्ञाकारीता पनि नहुनु अनि सत्यताको चाहना पनि नहुनु भनेको मानिसहरूको लागि खतरनाक कुरा हो। यदि तँ सरल काम र वचनहरूमा मात्र समर्पित हुन्छस् अनि कुनै पनि गहन कुराहरू स्वीकार गर्न असक्षम छस् भने, तँ त्यो व्यक्ति होस् जो पुराना तौरतरिकाहरूमा अल्झिन्छ र जो पवित्र आत्माको कामको गतिमा हिँड्न सक्दैन। परमेश्‍वरले गर्नुहुने काम एक अवधिदेखि अर्को अवधिमा फरक-फरक हुने गर्छ। यदि तँ कुनै एक चरणमा परमेश्‍वरले गर्नुभएको कामप्रति एकदमै आज्ञाकारी हुन्छस् तर अर्को चरणमा उहाँको कामप्रति तेरो आज्ञाकारीता कमजोर छ भने, वा तैँले आज्ञापालन गर्न नै सक्दैनस् भने, परमेश्‍वरले तँलाई छाड्नुहुनेछ। यदि परमेश्‍वरले यो कदम चाल्नुहुँदा तैँले कदममा कदम मिलाउँछस् भने, परमेश्‍वरले अर्को कदम उठाउनुहुँदा पनि तैँले कदममा कदम मिलाउन जारी राख्नुपर्छ; त्यसपछि मात्र तँ पवित्र आत्माको आज्ञापालन गर्ने व्यक्ति हुन सक्छस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तँ आफ्नो आज्ञाकारीतामा अटल रहनुपर्छ। तैँले केवल आफूलाई मन लागेको बेलामा आज्ञापालन गर्ने अनि आफूलाई मन नलागेको बेलामा आज्ञापालन नगर्ने गर्नु हुँदैन। यस्तो प्रकारको आज्ञाकारीतालाई परमेश्‍वरले प्रशंसा गर्नुहुन्‍न। यदि मैले सङ्गति गरेको नयाँ कामको गतिलाई तैँले पछ्याउन सक्दैनस् भने, र अघिल्‍ला कुराहरूमा अल्झिरहन्छस् भने, तेरो जीवनमा कसरी प्रगति हुनसक्छ र? परमेश्‍वरको काम भनेको उहाँका वचनहरूद्वारा तँलाई आपूर्ति गर्नु हो। जब तैँले उहाँका वचनहरूको आज्ञापालन गर्छस् वा तिनलाई स्वीकार गर्छस्, तब पवित्र आत्माले अवश्य पनि तँमाथि काम गर्नुहुनेछ। पवित्र आत्माले मैले जे बोल्छु ठ्याक्कै त्यस्तै गर्नुहुन्छ; मैले भनेको जस्तै गर्, अनि पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। तिमीहरूले हेर्नको लागि म एक नयाँ ज्योति छाड्छु र तिमीहरूलाई वर्तमानको ज्योतिभित्र ल्याउँछु, र जब तँ यो ज्योतिमा हिँड्छस्, तब पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। केही अटेरी व्यक्तिहरू पनि छन् जो भन्छन्, “म तपाईंले जे भन्नुहुन्छ त्यो गर्दै गर्दिनँ।” यो अवस्थामा म तँलाई भन्छु कि तँ अब मार्गको अन्त्यमा आइपुगेको छस्; तँ सुकिसकेको छस् र तँसँग अब बाँकी जीवन नै छैन। तसर्थ, आफ्नो स्वभाव रूपान्तरणको अनुभव गर्दा तैँले वर्तमान ज्योतिसँग कदममा कदम मिलाउनुभन्दा महत्वपूर्ण अरू केही छैन। पवित्र आत्माले परमेश्‍वरले प्रयोग गर्नुहुने केही निश्चित व्यक्तिहरूमाथि मात्र काम गर्नुहुन्न, बरु थप रूपमा उहाँले मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमाथि काम गरिरहनुभएको हुनसक्छ। उहाँले वर्तमान समयमा तँमाथि काम गर्न सक्नुहुन्छ र तैँले यो काम अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अर्को कोही व्यक्तिमा काम गर्न सक्नहुन्छ, त्यो अवस्थामा तैँले पछ्याउनको लागि हतारिनुपर्छ; तैंले वर्तमान ज्योतिलाई जति नजिकबाट पछ्याउँछस् तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कुनै व्यक्ति जुनसुकै तौरतरिकाको भए तापनि, यदि पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तिनीहरूका अनुभवहरूलाई आफ्ना अनुभवहरूको नजरबाट हेर्, अनि तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यसो गर्दा तँ अझ चाँडो अघि बढ्नेछस्। यो मान्छेको लागि सिद्धताको मार्ग अनि जीवन वृद्धि हुने माध्यम हो। पवित्र आत्माको कामप्रतिको तेरो आज्ञापालन मार्फत सिद्ध तुल्याइने मार्गमा पुगिन्छ। परमेश्‍वरले तँलाई सिद्ध तुल्याउन कस्तो प्रकारको व्यक्तिमार्फत काम गर्नुहुन्छ भन्ने कुरा तँलाई थाहा हुँदैन, न त कस्तो प्रकारको व्यक्ति, घटना, वा वस्तुमार्फत उहाँले तँलाई वस्तुहरू प्राप्त गर्न वा हेर्न दिनुहुन्छ भन्ने कुरा नै तँलाई थाहा हुन्छ। यदि तैँले यो सही मार्गमा पाइला टेक्न सकिस् भने, परमेश्‍वरद्वारा तँलाई सिद्ध पारिने ठूलो आशा छ भन्ने कुरा यसले देखाउँछ। यदि तैँले सक्दैनस् भने, यसले तेरो भविष्य धमिलो, ज्योति विहीन छ भन्ने देखाउँछ। तैँले सही मार्गमा हिँड्न थालेपछि, तैँले सबै कुराहरूमा प्रकाश प्राप्त गर्नेछस्। पवित्र आत्माले अरूलाई जेसुकै प्रकाश गर्नुभए पनि, यदि तँ तिनीहरूको ज्ञानको आधारमा आफै अनुभव लिन अघि बढ्छस् भने, त्यो अनुभव तेरो जीवनको एक हिस्सा बन्नेछ र तैँले त्यो अनुभवको आधारमा अन्य व्यक्तिहरूलाई आपूर्ति गर्न सक्नेछस्। सुगारटाइ गरेर अन्य व्यक्तिहरूलाई वचन आपूर्ति गर्नेहरू त्यस्ता व्यक्तिहरू हुन जोसँग अनुभवहरू पटक्कै हुँदैन; तैँले तेरो आफ्नो वास्तविक अनुभव र ज्ञानको बारेमा बोल्न सुरु गर्नुअघि, अन्य व्यक्तिहरूको अन्तर्ज्ञान र ज्योतिमार्फत तैँले अभ्यासको तरिका पत्ता लगाउन सिक्नुपर्छ। यो तेरो आफ्नै जीवनको लागि ठूलो फाइदाको कुरो हुनेछ। तैँले परमेश्‍वरबाट आउने सबै कुराको आज्ञापालन गर्दै यसरी अनुभव गर्नुपर्छ। तैँले तेरो जीवन वृद्धि हुन सकोस् भनेर सबै कुराहरूमा परमेश्‍वरको इच्छा प्राप्त गर्ने प्रयास गर्नुपर्छ र सबै कुराहरूमा पाठ सिक्नुपर्छ। त्यस्तो अभ्यासले सबैभन्दा चाँडो प्रगति हासिल हुन्छ।

पवित्र आत्माले तेरा व्यावहारिक अनुभवहरूमार्फत तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र तेरो विश्‍वासमार्फत तँलाई सिद्ध तुल्याउनुहुन्छ। के तँ सिद्ध तुल्याइन साँच्चै नै इच्छुक छस्? यदि तँ साँच्चै नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइन इच्छुक छस् भने तँमा आफ्नो देहलाई पन्छ्याउने साहस हुनेछ, तँ परमेश्‍वरका वचनहरू कार्यान्वयन गर्न सक्षम हुनेछस्, र तँ निष्क्रिय वा कमजोर हुनेछैनस्। तैँले परमेश्‍वरबाट आउने सबै कुराहरूको आज्ञापालन गर्न सक्नेछस् र सार्वजनिक वा निजी जुनसुकै रूपमा गरिएको भए तापनि तेरा सबै कार्यहरू परमेश्‍वरसमक्ष प्रस्तुतयोग्य हुनेछन्। यदि तँ इमान्दार व्यक्ति होस् अनि तैँले सबै कुराहरूमा सत्यताको अभ्यास गर्छस् भने तँलाई सिद्ध तुल्याइनेछ। मानिसहरूको अगाडि एक किसिमले कुरा गर्ने अनि तिनीहरूको पिठ्यूँपछाडि अर्कै किसिमले कुरा गर्ने कपटी व्यक्तिहरू सिद्ध तुल्याइन इच्छुक हुँदैनन्। तिनीहरू सबै बरबादी र विनाशका छोराहरू हुन्; तिनीहरू परमेश्‍वरको स्वामित्वमा होइन, तर शैतानको स्वामित्वमा हुन्छन्। तिनीहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू होइनन्! यदि तेरा कार्यहरू र व्यवहारलाई परमेश्‍वरसमक्ष प्रस्तुत गर्न सकिँदैन वा परमेश्‍वरको आत्माले हेर्न सक्दैन भने यो तँमा केही खराबी छ भन्ने कुराको प्रमाण हो। यदि तैँले परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्छस् भने र तेरो स्वभावको रूपान्तरणको बारेमा ध्यान दिन्छस् भने मात्र तैँले सिद्ध तुल्याइने बाटोमा पाइला चाल्‍न सक्नेछस्। यदि तँ साँच्चै नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइन र परमेश्‍वरको इच्छा पूरा गर्न इच्छुक छस् भने, तैँले एक वचन पनि गुनासो नगरिकनै, परमेश्‍वरको कामको मूल्याङ्कन वा जाँच गर्ने विचार नगरिकन परमेश्‍वरका सबै कामको आज्ञापालन गर्नुपर्छ। परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको लागि न्यूनतम आवश्यकताहरू यिनै हुन्। परमेश्‍वरद्वारा सिद्ध तुल्याइन चाहने व्यक्तिहरूको लागि आवश्यक मापदण्ड यही हो: परमेश्‍वरलाई प्रेम गर्ने हृदयले सबै कुराहरूमा कार्य गर्नु। परमेश्‍वरलाई प्रेम गर्ने हृदयले कार्य गर्नु भनेको के हो? यसको अर्थ तेरा सबै कार्यहरू र व्यवहार परमेश्‍वरसमक्ष प्रस्तुत गर्न सकिन्छ भन्ने हो। अनि तेरा कार्यहरू सही वा गलत जे भए तापनि तँसँग सही आशयहरू भएकोले गर्दा, तैँले तिनलाई परमेश्‍वरसमक्ष वा तेरा दाजुभाइ र दिदीबहिनीहरूसमक्ष देखाउन डराउँदैनस्, र तैँले परमेश्‍वरसमक्ष शपथ लिने साहस गर्छस्। तैँले तेरा हरेक आशय, सोच र विचारलाई उहाँको अनुसन्धानको लागि परमेश्‍वरसमक्ष प्रस्तुत गर्नुपर्छ; यदि तैँले यस्तो तरिकाले अभ्यास र प्रवेश गर्छस् भने, तेरो जीवनको प्रगति छिटोछरितो रूपमा हुनेछ।

तैंले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले तैँले परमेश्‍वरका सबै वचनहरू र उहाँका सबै कामहरूमा विश्‍वास गर्नुपर्छ। यसो भन्नुको मतलब, तैंले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले, तैंले उहाँको आज्ञापालन गर्नुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरमाथि विश्‍वास गर्छस् कि गर्दैनस् त्यसले केही मतलब राख्दैन। यदि तैँले वर्षौंदेखि परमेश्‍वरमाथि विश्‍वास गरेको छस् तर पनि तैँले कहिल्यै पनि उहाँको आज्ञापालन गरेको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्‍वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्‍वरका काम र वचनहरूको आज्ञापालन गर्न सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत आचरण हुन्छ; तिनीहरूमा समर्पित हुनेबारे त अलिकति पनि मनस्थिति हुँदैन, न त तिनीहरूले कहिल्यै खुशीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूको अगाडि आफूलाई उचाल्छन् र कसैको अगाडि आफूलाई समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “सम्पत्तिहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पुर्ख्यौली सम्पत्ति हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई प्रवचन दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचार गर्नुलाई नै तिनीहरूको सबैभन्दा ठूलो कर्तव्यको रूपमा लिन्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लंघनीय” कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा “राजाहरू” बन्छन् र युगौँ युगदेखि अरूहरूलाई निरङ्कुशताका साथ व्यवहार गर्दै तिनीहरू नियन्त्रण बाहिर जान्छन्। दुष्टहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? अर्ध-आज्ञाकारीहरू समेत आखिरीसम्म अघि बढ्न सक्दैनन्, आफ्नो हृदयमा रत्तीभर आज्ञाकारीता नभएका यी निरङ्कुश व्यक्तिहरू आखिरीसम्म अघि बढ्न सक्‍ने कुरा त परै जाओस्! परमेश्‍वरको कामलाई मानिसले सजिलैसँग प्राप्त गर्न सक्दैन। मानिसहरूले तिनीहरूसँग भएको सबै तागत लगाएर पनि यसको एउटा सानो अंश मात्र प्राप्त गर्न सक्छन्, जसले आखिरमा तिनीहरूलाई सिद्ध तुल्याउने बाटो प्रदान गर्छ। त्यसो भए, प्रधान दूतका सन्तानलाई चाहिँ के हुन्छ, जसले परमेश्‍वरको कामलाई विनाश गर्न खोज्छन्? के तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहुने सम्भावना झन् कम छैन र? मैले विजयको काम गर्नुको उद्देश्य केवल विजय गर्नको लागि विजय गर्ने होइन, बरु धार्मिकता र अधर्मलाई प्रकाश पार्न, मानिसको दण्डको लागि प्रमाण जुटाउन, दुष्टहरूलाई दोषी ठहराउनको लागि हो र यस बाहेक, जसले स्वेच्छाले आज्ञापालन गर्छन् उनीहरूलाई सिद्ध पार्नको लागि विजय गर्नु हो। आखिरमा, सबैलाई तिनीहरूको प्रकारअनुसार अलग गरिनेछ अनि सिद्ध पारिने व्यक्तिहरूमा ती व्यक्तिहरू हुनेछन् जसका सोचहरू र विचारहरू आज्ञाकारिताले भरिपूर्ण हुन्छन्। आखिरमा पूरा गरिनुपर्ने कार्य यही हो। यस बीच, ती व्यक्तिहरू जसका हरेक कार्य विद्रोही छन्, तिनीहरूलाई दण्ड दिइनेछ र आगोमा जल्न पठाइनेछ, अनन्त श्रापको पात्र बनाइनेछ। जब त्यो समय आउँछ, ती युगौँदेखिका “महान र अदम्य नायकहरू” सबैभन्दा क्षुद्र र सबैभन्दा बढी तिरस्कृत “कमजोर र नामर्दहरू” बन्नेछन्। यसले मात्र परमेश्‍वरको धार्मिकताको हरेक पक्ष र मानिसद्वारा अनुल्लंघनीय उहाँको स्वभावलाई चित्रण गर्छ, र यसले मात्र मेरो हृदयमा भएको घृणालाई शान्त पार्छ। के यो कुरा पूर्ण रूपमा तार्किक छ भन्ने कुरामा तिमीहरू सहमत छैनौं र?

पवित्र आत्माको कामको अनुभव गर्नेमध्ये सबै जनाले जीवन प्राप्त गर्न सक्छन् भन्‍ने छैन, न त यो प्रवाहमा भएका व्यक्तिहरूले नै जीवन प्राप्त गर्न सक्छन्। जीवन भनेको सबै मानव जातिको साझा सम्पत्ति होइन, अनि सबै मानिसहरूले स्वभावको परिवर्तन सहजै हासिल गर्न सक्छन् भन्‍ने छैन। परमेश्‍वरको कामप्रतिको समर्पणता यथार्थ र वास्तविक हुनुपर्छ, अनि यो समर्पणतामा जिउनुपर्छ। सतही समर्पणताले मात्रै परमेश्‍वरको स्याबासी प्राप्त गर्न सक्दैन, र आफ्नो स्वभाव परिवर्तन गर्न नखोजिकनै परमेश्‍वरका वचनहरूका सतही पक्षहरूको मात्र आज्ञापालन गर्नु ‍परमेश्‍वरको हृदय अनुसारको हुनु होइन। परमेश्‍वरको आज्ञापालन र परमेश्‍वरको कामप्रतिको समर्पणता दुवै एउटै र उस्तै कुरा हुन्। परमेश्‍वरप्रति मात्र समर्पित हुने तर उहाँको कामप्रति समर्पित नहुने व्यक्तिहरूलाई आज्ञाकारी मान्‍न सकिँदैन, सच्चा रूपमा समर्पित नहुने बरु बाहिरी रूपमा चापलुसी गर्ने व्यक्तिहरूलाई आज्ञाकारी मानिने त झन् कुरै नगरौं। परमेश्‍वरप्रति सच्चा रूपमा समर्पित हुने व्यक्तिहरू सबैले परमेश्‍वरको कामबाट फाइदा लिन सक्छन् र परमेश्‍वरको काम र स्वभावको बारेमा बुझाइ हासिल गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले मात्र आफूलाई सच्चा रूपमा परमेश्‍वरप्रति समर्पित गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले नयाँ ज्ञान प्राप्त गर्न सक्छन् अनि नयाँ कामबाट तिनीहरूमा नयाँ परिवर्तन आउन सक्छ। यी व्यक्तिहरूलाई मात्र परमेश्‍वरले स्याबासी दिनुहुन्छ, यी व्यक्तिहरूलाई मात्र सिद्ध तुल्याइन्छ, र यी व्यक्तिहरू मात्र स्वभाव परिवर्तन भएका व्यक्तिहरू हुन्। परमेश्‍वरले स्याबासी दिनुभएका व्यक्तिहरू ती व्यक्तिहरू हुन् जो खुशीसाथ परमेश्‍वरप्रति र उहाँका वचन र कामप्रति समर्पित हुन्छन्। त्यस्ता व्यक्तिहरू मात्रै सही हुन्छन्, त्यस्ता व्यक्तिहरूले मात्रै इमान्दारीपूर्वक परमेश्‍वरलाई चाहन्छन् र इमान्दारीपूर्वक परमेश्‍वरको खोजी गर्छन्। जहाँसम्म परमेश्‍वरमाथिको आफ्नो विश्‍वासबारे मुखले मात्र बोल्ने तर सार रूपमा उहाँलाई सराप्ने व्यक्तिहरूको कुरा छ, ती व्यक्तिहरू मकुन्डो ओढ्ने व्यक्तिहरू हुन् जोसँग सर्पको विष हुन्छ; तिनीहरू सबैभन्दा बढी विश्‍वासघाती व्यक्तिहरू हुन्। ढिलो-चाँडो ती बदमासहरूले आफ्नो मकुन्डो उतारिएको पाउनेछन्। के यो आज गरिँदै गरिएको काम यही होइन र? दुष्ट मानिसहरू सधैँ दुष्ट नै हुन्छन्, र तिनीहरू कहिल्यै पनि दण्डको दिनबाट उम्कनेछैनन्। असल मानिसहरू सधैँ असल नै हुन्छन् र परमेश्‍वरको कामको अन्त्य हुँदा तिनीहरूलाई प्रकाश गरिनेछ। दुष्टहरूमध्धे एक जनालाई पनि धर्मी मानिनेछैन, न त एक जना पनि धर्मीलाई नै दुष्ट मानिनेछ। के मैले कुनै मानिसलाई गलत रूपमा आरोपित हुन दिनेछु र?

तेरो जीवन अघि बढ्दै जाँदा तैँले नयाँ प्रवेश र नयाँ, उच्च अन्तर्ज्ञान प्राप्त गर्नुपर्छ जुन हरेक कदमसँगै अझ गहन हुँदै जान्छ। सबै मानव जाति प्रवेश गर्नुपर्ने यही नै हो। सङ्गति गरेर, धार्मिक उपदेशहरू सुनेर, परमेश्‍वरका वचनहरू पढेर वा केही कुराहरू सम्हालेर, तैँले नयाँ अन्तर्ज्ञान र अन्तर्दृष्टि प्राप्त गर्नेछस् अनि तँ पुराना नियमहरू र पुराना समयहरूमा बाँच्नेछैनस्; तँ सधैँ नयाँ ज्योतिमा जिउनेछस् र तँ परमेश्‍वरका वचनहरूबाट टाढा भट्किनेछैनस्। सही मार्गमा लाग्नु भनेकै यही हो। सतही तहमा कुनै मूल्य चुकाउँदैमा त्यसले केही काम गर्नेछैन; दिन प्रतिदिन परमेश्‍वरको वचन उच्च क्षेत्रमा प्रवेश गर्छ, र हरेक दिन नयाँ कुरा देखा पर्छ, र मानिसले पनि हरेक दिन नयाँ प्रवेश गर्नुपर्छ। परमेश्‍वरले बोल्नुभए जस्तै उहाँले आफूले बोल्नुभएका सबै कुराहरूलाई सफलतामा पुर्‍याउनुहुन्छ, र यदि तैँले त्यसलाई पछ्याउन सक्दैनस् भने तँ पछि पर्नेछस्। तँ तेरा प्रार्थनाहरूमा अझ गहिराइमा जानुपर्छ; परमेश्‍वरको वचन खाने र पिउने कार्य रोकी-रोकी गरिनु हुँदैन। तैँले प्राप्त गर्ने अन्तर्दृष्टि र ज्योतिलाई गहन पार्दै जा अनि तेरा धारणाहरू र कल्पनाहरू चाहिँ क्रमिक रूपले घट्दै जानुपर्छ। तैँले तेरो निर्णयको क्षमतालाई पनि दरिलो पार्नुपर्छ, र तैँले जेसुकै सामना गरे तापनि, यसको बारेमा तँसँग तेरा आफ्नै सोच अनि तेरा आफ्नै दृष्टिकोणहरू हुनुपर्छ। आत्मामा भएका केही कुराहरूलाई बुझेर तैँले बाह्य कुराहरूको बारेमा अन्तर्ज्ञान प्राप्त गर्नुपर्छ र कुनै पनि विषयहरूको सार बुझ्नुपर्छ। यदि तँ यी कुराहरूले सुसज्जित छैनस् भने, तैँले कसरी मण्डलीको अगुवाइ गर्न सक्छस्? यदि तैँले कुनै वास्तविकता विना नै र अभ्यासको कुनै तरिका विना नै केवल अक्षरहरू र धर्मसिद्धान्तहरूको मात्रै कुरा गर्छस् भने तँ छोटो अवधिको लागि मात्र अघि बढ्न सक्नेछस्। नयाँ विश्‍वासीहरूको अगाडि बोल्दा यो कुरा सीमित रूपमा स्वीकार्य हुनसक्छ, तर केही समयपछि, नयाँ विश्‍वासीहरूले केही वास्तविक अनुभवहरू प्राप्त गरिसकेपछि, तैँले तिनीहरूका निम्ति उप्रान्त आपूर्ति गर्न सक्नेछैनस्। तब तँ कसरी परमेश्‍वरको प्रयोगको लागि योग्य हुन्छस्? नयाँ अन्तर्दृष्टि विना, तैँले काम गर्न सक्दैनस्। नयाँ अन्तर्दृष्टि नभएका व्यक्तिहरू ती व्यक्तिहरू हुन जसलाई कसरी अनुभव गर्ने भन्ने नै आउँदैन, र त्यस्ता व्यक्तिहरूले कहिल्यै पनि नयाँ ज्ञान वा नयाँ अनुभव प्राप्त गर्न सक्दैनन्। अनि, जीवनको आपूर्ति गर्ने कुरामा, तिनीहरूले कहिल्यै पनि आफ्नो कार्य गर्न सक्दैनन्, न त तिनीहरू परमेश्‍वरको प्रयोगको लागि नै योग्य हुन्छन्। यस प्रकारको व्यक्ति व्यर्थको हुन्छ, केवल रद्दीको टुक्रा मात्र हुन्छ। वास्तवमा, त्यस्ता मानिसहरू काम सम्‍बन्धी आफ्नो कार्य गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्, तिनीहरू सबै व्यर्थका हुन्छन्। तिनीहरू आफ्नो कार्य गर्न मात्र असफल हुँदैनन्, बरु वास्तवमा तिनीहरूले त मण्डलीमा अति नै अनावश्यक भार पनि पार्छन्। म यी “आदरणीय प्रौढ मानिसहरू” लाई चाँडो गरी मण्डली छाड्न आग्रह गर्दछु ताकि अन्य व्यक्तिहरूले तँलाई अब फेरि हेर्नु नपरोस्। त्यस्ता मानिसहरूसँग नयाँ कामको बारेमा कुनै बुझाइ हुँदैन र तिनीहरू अन्त्यहीन धारणाहरूले भरिपूर्ण हुन्छन्। तिनीहरूले मण्डलीमा केही पनि कार्य गर्दै-गर्दैनन्; बरु, तिनीहरूले जताततै बदमासी र नकारात्मकता फैलाउँछन्, यहाँसम्‍म कि तिनीहरू मण्डलीमा सबै प्रकारका खराब आचरण र बाधा-व्यवधानमा संलग्न समेत संलग्‍न हुन्छन्, र त्यसरी तिनीहरूले सही र गलत छुट्याउन नसक्नेहरूलाई अन्योलता र भद्रगोलतातर्फ धकेल्छन्। यी जीवित दियाबलसहरूले, यी दुष्ट आत्माहरूले, जतिसक्दो चाँडो मण्डली छाड्नुपर्छ, होइन भने तेरो कारण मण्डलीमा दाग लाग्छ। तँ आजको कामदेखि डराउँदैनस् होला, तर के तँ भोलिको धर्मी सजायदेखि पनि डराउँदैनस् त? मण्डलीमा यस्ता धेरै मानिसहरू छन् जो केवल भातमाराहरू हुन् र यस्ता धेरै ब्‍वाँसाहरू छन् जो परमेश्‍वरको सामान्य कामलाई ध्वंस गर्न खोज्छन्। यिनीहरू सबै भूतको राजाले पठाएका भूतहरू हुन्, यिनीहरू दुष्ट ब्‍वाँसाहरू हुन् जो निर्दोष थुमाहरूलाई निल्न चाहन्छन्। यदि यी तथाकथित मानिसहरूलाई निष्कासित गरिएन भने तिनीहरू मण्डलीका परजीवी बन्नेछन्, भेटीहरू खाइदिने कीराहरू बन्नेछन्। ढिलो-चाँडो, यी तिरस्कारयोग्य, मूर्ख, नीच र घृणित कीराहरूलाई दण्ड दिने दिन आउनेछ!

अघिल्लो: परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ

अर्को: राज्यको युग नै वचनको युग हो

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

अध्याय ४

मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति...

तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

के तँ येशूलाई देख्न चाहन्छस्? के तँ येशूसँग बस्ने इच्छा गर्छस्? के तँ येशूले बोल्नुभएको वचन सुन्ने इच्छा गर्छस्? यदि त्यसो हो भने, तैँले...

सहस्राब्दीय राज्यको आगमन भएको छ

के तिमीहरूले मानिसहरूको यस समूहमा परमेश्‍वरले पूरा गर्नुहुने काम देखेका छौ? परमेश्‍वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्