परमेश्‍वरको देहधारणबारे जान्‍नेसम्बन्धी वचनहरू

अंश २८

परमेश्वरलाई परमेश्‍वरका वचनहरू पढेर, अनि परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गरेर, साथै धेरै परीक्षा, शोधन, काटछाँट र निराकरणमार्फत नै चिन्‍नुपर्छ; यसरी मात्रै परमेश्‍वरको काम र स्वभावको बारेमा साँचो ज्ञान प्राप्त गर्न सम्‍भव हुन्छ। कसै-कसैले भन्छन्: “मैले देहधारी परमेश्‍वरलाई देखेको छैनँ, त्यसैले मैले कसरी परमेश्‍वरलाई चिन्नुपर्छ?” वास्तवमा, परमेश्‍वरका वचनहरू उहाँको स्वभावका अभिव्यक्ति हुन्। परमेश्‍वरका वचनहरूबाट, तैँले मानवजातिप्रतिको उहाँको प्रेम र मुक्ति, साथै तिनीहरूलाई मुक्ति दिने उहाँको तरिका देख्न सक्छस्…। किनकि वचनहरू परमेश्‍वर स्वयम्‌ले व्यक्त गर्नुभएको हो, मानिसद्वारा लेखिएको होइन। परमेश्‍वरले ती व्यक्तिगत रूपमा व्यक्त गर्नुभएको हो; परमेश्‍वर स्‍वयम्‌ले आफ्‍ना वचनहरू र आफ्‍नो हृदयको आवाज व्यक्त गरिरहनुभएको छ, जसलाई उहाँको हृदयका वचनहरू पनि भन्‍न सकिन्छ। तिनलाई किन उहाँको हृदयबाट निस्केका वचनहरू भनिन्छ? किनकि ती गहिराइबाट जारी गरिएका हुन्, र उहाँको स्वभाव, उहाँको इच्छा, उहाँका विचार र सोचहरू, मानवजातिप्रतिको उहाँको प्रेम, मानवजातिको निम्ति उहाँको मुक्ति र मानवजातिप्रतिको उहाँका अपेक्षाहरूलाई व्यक्त गर्दछन्…। परमेश्‍वरका वाणीहरूमा कठोर वचनहरू, र कोमल र विचारशील वचनहरू, साथै प्रकटीकरणका केही वचनहरू पनि समावेश छन्, जसले मानिसका भावनाहरूलाई ध्यानमा राख्दैनन्। यदि तैँले प्रकटीकरणका वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्‍वर त कठोर हुनुहुन्छ भन्‍ने लाग्‍न सक्छ। यदि तैँले कोमल वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्‍वर त्यत्ति धेरै अख्तियारपूर्ण हुनुहुन्न जस्तो लाग्छ। यसकारण तैंले ती वचनलाई सन्दर्भबाट बाहिर लैजानु हुँदैन; बरु, तिनलाई सबै कोणबाट हेर्नुपर्छ। कहिलेकहीँ परमेश्‍वर कारुणिक दृष्टिकोणबाट बोल्नुहुन्छ, अनि मानिसहरूले मानवजातिप्रतिको उहाँको प्रेमलाई देख्छन्; कहिलेकहीँ उहाँ एकदमै कठोर दृष्टिकोणबाट बोल्नुहुन्छ, र त्यसपछि मानिसहरूले उहाँको स्वभावले कुनै उल्लङ्घन सहँदैन, मानिस दुःखद रूपमा फोहोरी छन्, र परमेश्‍वरको अनुहार हेर्न वा उहाँको सामु आउन लायकको छैनन्, र तिनीहरूलाई अहिले शुद्ध रूपमा परमेश्‍वरको अनुग्रहको कारण मात्र उहाँको सामुन्ने आउन दिइएको छ भनेर देख्छन्। परमेश्‍वरको काम गर्ने तरिकाद्वारा अनि उहाँको कामको महत्त्वमा उहाँको बुद्धिलाई देख्न सकिन्छ। मानिसहरूले परमेश्‍वरसँगको कुनै प्रत्यक्ष सम्पर्कविना नै उहाँका वचनहरूमा यी कुरा देख्न सक्छन्। जब परमेश्‍वरलाई साँचो रूपमा चिन्ने कुनै व्यक्ति ख्रीष्टको सम्पर्कमा आउँछ, तब ख्रीष्टसँगको उसको भेट परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान अनुरूप हुन सक्छ; तापनि, जब सैद्धान्तिक ज्ञान मात्र भएको कुनै व्यक्तिको भेट ख्रीष्टसँग हुन्छ, तब उसले त्यसमा परस्पर सम्बन्ध देख्न सक्दैन। परमेश्‍वरको देहधारणको सत्यता रहस्यहरूमध्येमै सबैभन्दा गहन छ; यो मान्छेलाई बुझ्न गाह्रो छ। देहधारणको रहस्यको विषयमा परमेश्‍वरका वचनहरू एकत्रित गर्, ती वचनहरूलाई सबै कोणबाट हेर्, र त्यसपछि एकसाथ मिलेर प्रार्थना गर्, चिन्तन गर्, र सत्यताको यस पक्षमा थप सङ्गति गर्। त्यसो गर्दा, तैँले पवित्र आत्माको ज्ञान प्राप्त गर्न सक्छस् र बुझ्न सक्छस्। मानिससित परमेश्‍वरसँग सिधा सम्पर्क गर्ने कुनै सम्भावना नभएकोले, यदि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्नु छ भने, तिनीहरूले छामछुम गर्दै अघि बढ्न र अलिअलि गर्दै प्रवेश पाउन यस किसिमको अनुभवमा भर पर्नुपर्छ।

ख्रीष्टलाई र व्यावहारिक परमेश्वरलाई चिन्नु सत्यताको सबैभन्दा गहन पक्ष हो। सत्यताको यस पक्षको खोजीलाई महत्त्व दिने सबैले आफ्नो हृदयमा बढ्दो रूपमा सहजता महसुस गर्नेछन् र तिनीहरूसँग पछ्याउने मार्ग हुनेछ। सत्यताको यस पक्षलाई मानव हृदयसँग तुलना गर्न मिल्छ—जब व्यक्तिको हृदय स्वस्थ हुन्छ, उसले फुर्तिलो महसुस गर्छ, तर जब उसको हृदय बिमारीले ग्रसित हुन्छ, उसले थकान र शिथिलता महसुस गर्छ। त्यसैगरी, व्यक्तिले परमेश्वरको देहधारणको सत्यता जति गहन रूपमा बुझ्छ, परमेश्वरमाथिको आस्थामा उसको उत्साह र उत्प्रेरणा त्यति नै बढी हुनेछ। भर्खरै आस्था राख्न थालेका केही मानिसहरूले परमेश्वरको वचन पढ्छन्, र त्यो परमेश्वरकै आवाज हो भनेर महसुस गर्छन्, तर तिनीहरू अझै शङ्का गर्छन्: “के उहाँले यी वचनहरू बोल्नुहुन्छ भन्ने तथ्यले उहाँ देहधारी परमेश्वर हुनुहुन्छ भनेर साँच्चै पुष्टि गर्छ? के यी सत्यताहरू व्यक्त गर्ने उहाँको खुबीले उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ भनेर साँच्चै पुष्टि गर्छ?” सत्यता नबुझ्नेहरूमा देहधारी परमेश्वरबारे यस्ता शङ्काहरू प्राय: उत्पन्न हुन्छन्। वास्तवमा, देहधारी परमेश्वरसँग इश्वरीय सार छ, र उहाँले जति धेरै वचनहरू व्यक्त गर्नुभए पनि, उहाँ परमेश्वर स्वयम् नै हुनुहुन्छ। उहाँले जति धेरै वा थोरै बोल्नुभए पनि, उहाँको इश्वरीय सार अपरिवर्तनीय छ। जब प्रभु येशू आउनुभयो, उहाँले धेरै वचनहरू बोल्नुभएन, उहाँले केवल छुटकाराको काम गर्नुभयो—के उहाँ पनि परमेश्वर स्वयम् नै हुनुहुन्न र? जब उहाँ परमेश्वर हुनुहुन्छ भनेर भनिन्छ, त्यो ठ्याक्कै कसरी निर्धारित हुन्छ? के त्यो यी वचन र सत्यताहरूको आधारमा मात्र निर्धारित हुन्छ? यो एउटा मुख्य प्रश्न हो। केही मानिसहरू त यी वचनहरू पवित्र आत्माद्वारा निर्देशित हुन्छन्, र पवित्र आत्माले आफ्नो मार्गदर्शन् पूरा गरिसक्नुभएपछि उहाँ जानुहुन्छ र काम गर्न छोड्नुहुन्छ भन्ने गलत विश्वास पनि राख्छन्। तिनीहरू यो देह साधारण र सामान्य देह हो, र त्यसैले उहाँलाई परमेश्वर भन्न मिल्दैन—उहाँलाई “मानिसको पुत्र”” भन्न मिल्छ, तर परमेश्वर भन्न मिल्दैन भनेर विश्वास गर्छन्। कतिपय मानिसहरू यस्तो गलत बुझाइ राख्छन्। तिनीहरूमा यस्तो खालको गलत बुझाइ उत्पन्न हुनुको मूल कारण के हो त? यसको मूल कारण भनेको तिनीहरूले देहधारणको अवधारणालाई पूर्ण रूपमा बुझेका छैनन्—तिनीहरूले यसको गहिराइमा पुगेर अनुसन्धान गरेका छैनन्, र यसबारे तिनीहरूको बुझाइ अति सतही छ, तिनीहरू यसको सतह मात्र बुझ्छन् भन्ने हो। परमेश्वरले धेरै सत्यताहरू व्यक्त गर्नुहुने हुनाले उहाँ पक्कै परमेश्वर नै हुनुहुन्छ भनेर विश्वास गर्नेहरू पनि छन्। परमेश्वरले यति धेरै वचनहरू नबोल्नुभएको भए, उहाँले कम बोल्नुभएको भए, के उहाँ अझै परमेश्वर हुनुहुनेथ्यो? वास्तवमा, उहाँले थोरै वचनहरू मात्र बोल्नुभयो भने पनि ती ईश्वरत्वका अभिव्यक्ति नै हुन्, र उहाँ परमेश्वर नै हुनुहुन्छ। परमेश्वरले जति बोल्नुभए पनि, उहाँ आखिरमा अझै परमेश्वर नै हुनुहुन्छ। परमेश्वरले बिलकुलै बोल्नुभएन भने पनि, उहाँ अझै परमेश्वर नै हुनुहुन्छ—यो तथ्य हो र यसलाई कसैले नकार्न सक्दैन। आजकल, परमेश्वरलाई पछ्याउने धेरैजसो मानिसहरूलाई विजय गरिएको छ र ती सबै उहाँलाई दृढतापूर्वक पछ्याउन र इमानदारीपूर्वक आफ्नो कर्तव्य निभाउन सक्षम छन्। परमेश्वरले चीनमा मानिसहरूको एउटा समूह प्राप्त गर्नुभएको छ; मानिसहरूसँग परमेश्वरको देहधारणबारे ज्ञान छ, र तिनीहरूले देहधारी शरीर साँचो र वास्तविक परमेश्वर स्वयम् हुनुहुन्छ भनेर देखेका छन्। यद्यपि, कामको यो चरण अझै पूरा भएको छैन भने, के मानिसहरूले देहधारी शरीर परमेश्वर स्वयम् नै हुनुहुन्छ भनेर चिन्न सक्छन् र? पहिला, मानिसहरूले परमेश्वरले वाणीहरू उच्चारण गर्दै र वचनहरू व्यक्त गर्दै सधैँ काम गरिरहनुभएको देख्दा यस्तो सोच्थे, “के उहाँ परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न? के देहधारी परमेश्वर यस्तो हुनुहुन्छ र? के परमेश्वरले भन्नुहुने सबथोक साँच्चै पूरा हुन सक्छ?” परमेश्वरको कामको यो चरणप्रति तिनीहरूले सधैँ शङ्कास्पद मनोवृत्ति राख्थे। परमेश्वर देहधारी हुनुभएको शरीरलाई तैँले शङ्का गर्न सक्छस् भने, यसले तँ देहधारी शरीरमा विश्वास गर्दैनस्, वा उहाँ परमेश्वर हुनुहुन्छ, उहाँसँग परमेश्वरको सार छ, उहाँले बोल्नुहुने वचनहरू परमेश्वरका अभिव्यक्ति हुन् भनेर विश्वास गर्दैनस्, र उहाँका वचनहरू परमेश्वरको स्वभाव र सारका प्रकटीकरण हुन् भनेर त झनै विश्वास गर्दैनस् भन्ने कुरालाई प्रमाणित गर्छ। केही मानिसहरू हृदयदेखि नै यस्तो सोच्छन्: “सुरुमा पवित्र आत्माले सीधै वाणीहरू उच्चारण गर्नुभयो र अहिले देहधारी परमेश्वरले वाणीहरू बोल्नुहुन्छ। भविष्यमा परमेश्वरले आफ्नो काम गर्न कस्तो स्वरूप लिनुहुनेछ?” अहिलेसम्म, यी मानिसहरू अझै हेरेरै बसिरहेका छन्, कुरा के हो भनेर बुझ्ने प्रयास गरिरहेका छन्। साँचो मार्गको अनुसन्धान गर्ने धेरै मानिसहरूले यी वचनहरू सत्यता हुन्, ती परमेश्वरकै वचन हुन् भनेर स्विकार्छन्, तर अझै पनि स्विकार्नु अघि नियाल्न र कुरोको चुरोसम्म पुग्न चाहन्छन्। यी मानिसहरू सबै परमेश्वरबारे सोधखोज गरिरहेका छन्—तिनीहरू अवसरवादीहरू हुन्। केही मानिसहरू परमेश्वरले अझै कति थप सत्यताहरू व्यक्त गर्नुहुनेछ र उहाँले तेस्रो स्वर्गको भाषामा बोल्नुहुनेछ कि बोल्नुहुनेछैन भनेर हेर्न मात्र चाहन्छन्। तिनीहरूसँग एक्स-रे मेसिन भएको भए, तिनीहरूले परमेश्वरमाथि त्यसको प्रयोग गर्न चाहनेथिए: “उहाँको हृदयमा अझै कुनै सत्यता छ कि छैन, परमेश्वरका आत्माले उहाँभित्र काम गर्नुहुन्छ कि गर्नुहुन्न, र परमेश्वरका आत्माले उहाँलाई सहयोग र उहाँ जे बोल्नुहुन्छ त्यसलाई निर्देशन गर्नुहुन्छ कि गर्नुहुन्न भनेर हेरौँ। यदि उहाँसँग सत्यता छैन र उहाँ साधारण व्यक्ति हुनुहुन्छ भने, म उहाँमा विश्वास गर्नेछैनँ।” केही मानिसहरूले यस्ता शङ्काहरू पाल्छन् र तिनीहरू यसबारे नै घोत्लिइरहन्छन्। मानिसहरूले किन आफूलाई यस्तो स्थितिमा पाउँछन्? किनभने तिनीहरूसँग परमेश्वरको देहधारणबारे पूर्ण बुझाइ नै छैन—तिनीहरूसँग सत्यताको यो पक्षबारे गहन बुझाइ छैन र तिनीहरू यसलाई साँचो रूपमा बुझ्दैनन्। आजकल मानिसहरू यो व्यक्तिभित्र परमेश्वरको आत्मा हुनुहुन्छ भनेर मात्र स्विकार्छन्, तर जब उहाँसँग परमेश्वरको सार, स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, परमेश्वरको सबथोक उहाँभित्र छ, उहाँ परमेश्वर हुनुहुन्छ भन्ने तथ्यको कुरा आउँछ, केही मानिसहरू यो कुरा बुझ्नै सक्दैनन्, र केही मामलाहरूबीचका सम्बन्धहरू पहिल्याउन असमर्थ हुन्छन्। परमेश्वरमा मानिसले जे देख्छ र उहाँबारे जे विश्वास गर्छ, त्यो परमेश्वरको सार होइन—अर्थात्, मानिसले परमेश्वरले व्यक्त गर्नुहुने वचन र उहाँले गर्नुहुने व्यावहारिक काम मात्र देख्छ। तिनीहरू परमेश्वरले कामको एउटा भाग गर्नुभयो, र देहधारी परमेश्वरले गर्नसक्नुहुने काम यही मात्र हो भनेर मात्रै विश्वास गर्छन्। देहधारी परमेश्वरले अहिले यही काम मात्र गरिरहनु भए पनि, उहाँसँग वास्तवमा ईश्वरत्वको सम्पूर्ण सार छ भनेर एक जनाले पनि विश्वास गर्दैन। यो कुरा कसैले विश्वास गर्दैन।

केही मानिसहरू यसो भन्छन्: “देहधारी परमेश्वरलाई जान्न अति गाह्रो छ। उहाँ सीधै काम गरिरहनु भएको आत्मा हुनुभएको भए, र हामीले परमेश्वरको शक्ति र अख्तियार सीधै देख्न सक्ने भए, परमेश्वरलाई चिन्न हामीलाई सजिलो हुनेथियो।” के यो तर्कसङ्गत भनाइ हो? म तिमीहरू सबैलाई एउटा प्रश्न सोध्छु: देहधारी परमेश्वरलाई चिन्न सजिलो छ कि परमेश्वरको आत्मालाई? यदि देहधारी परमेश्वर र यहोवाले उही मात्रामा काम गर्नुभयो भने, कसलाई चिन्न सजिलो हुनेछ?” उहाँहरू दुवैजनालाई चिन्न सजिलो छैन भनेर भन्न मिल्छ। जब देहधारी परमेश्वरले सुरुमा काम गर्न र बोल्न थाल्नुभयो, के मानिसहरू उहाँलाई बुझ्न असमर्थ भएनन् र? के तिनीहरू सबैले उहाँलाई गलत बुझेनन् र? परमेश्वरले किन आफ्नो काम गरिरहनुभएको छ भनेर कसैलाई थाहा छैन। यदि मानिसहरू आत्मिक मामलाहरू बुझ्छन् भने, तिनीहरूलाई परमेश्वरलाई जान्न सजिलो हुन्छ, तर यदि तिनीहरूसँग आत्मिक बुझाइ छैन र तिनीहरूले उहाँका वचन बुझ्न सक्दैनन् भने, तिनीहरूलाई उहाँलाई चिन्न गाह्रो हुन्छ। यो तथ्य हो। यद्यपि, परमेश्वरका वचन खाएर र पिएर अनि न्याय, सजाय, निराकरण र काट-छाँटबाट गुज्रेर सत्यताप्रेमीहरूले अन्तत: सत्यता बुझ्छन्, स्वभावमा रूपान्तरण हासिल गर्छन् र देहधारी परमेश्वरबारे साँचो ज्ञान प्राप्त गर्छन्। यसले सीधै सत्यता व्यक्त गरिरहनुभएका देहधारी परमेश्वरलाई चिन्न तुलनात्मक रूपमा सजिलो छ, तर त्यसको लागि निश्चित अनुभवहरूबाट गुज्रनुपर्छ भन्ने कुरालाई पुष्टि गर्छ। जब आत्माले काम गर्नुहुन्छ, उहाँले सम्भवत: यति धेरै सत्यताहरू व्यक्त गर्न सक्नुहुन्न, उहाँले मानिसहरूलाई उत्प्रेरित गर्न वा अन्तर्दृष्टि दिन मात्र सक्नुहुन्छ, र त्यस्तो अवस्थामा मानिसहरूले सत्यता कति बुझ्न सक्छन् भन्ने कुराको सीमितता हुनेछ। मानिसहरूले जतिसुकै वर्ष आत्माको काम अनुभव गरे पनि, त्यसबाट तिनीहरूले त्यति अर्थपूर्ण लाभहरू पाउनेछैनन्, जति तिनीहरूले देहधारी परमेश्वरको काम अनुभव गरेर पाउनेछन्। यस्तो किन हुन्छ भने देहधारी परमेश्वरको काम सबैले देख्न र छुन सक्ने हुन्छ, र उहाँले आफूलाई जुनै पनि समय र स्थानमा व्यक्त गर्न सक्नुहुन्छ। उहाँका वचनहरू धेरै छन् र स्पष्ट छन्, र सबैले तिनलाई बुझ्न सक्छन्। यो एउटा स्पष्ट फाइदा हो र यो मानिसहरू आफैले अनुभव गर्न सक्ने कुरा हो। जब आत्माले काम गर्नुहुन्छ, उहाँ केही वचन बोलेपछि जानुहुन्छ—मानिसहरूले आज्ञापालन गरेर तिनको कार्यान्वयन मात्र गर्छन्, तर के मानिसहरूलाई वास्तवमा के भइरहेको छ भनेर थाहा हुन्छ त? के मानिसहरूले यी वचनबाट यहोवाको स्वभाव जान्न सक्छन् त? केही मानिसहरू भन्छन्: “आत्मालाई चिन्न सजिलो छ, आत्मा परमेश्वरको वास्तविक स्वरूप बोकेर काम गर्न आउनुहुन्छ। उहाँलाई चिन्न कसरी सजिलो छैन र?” हो, तँ उहाँको बाहिरी स्वरूपलाई चिन्छस्, तर के तँ परमेश्वरको सारलाई चिन्न सक्छस्? अहिले, परमेश्वर एक साधारण र सामान्य व्यक्ति हुनुहुन्छ, र मानिसहरूलाई उहाँलाई सम्पर्क गर्न सजिलो छ जस्तो लाग्छ। यद्यपि, जब उहाँका सार र स्वभाव प्रकट हुन्छन्, के मानिसहरूले ती कुरालाई सजिलै चिन्छन् त? के मानिसहरूले आफ्ना धारणासँग नमिल्ने उहाँका वचनहरूलाई सजिलै स्विकार्छन् त? केही मानिसहरू भन्छन्: “देहधारी परमेश्वरलाई चिन्न गाह्रो छ। यदि परमेश्वर पछि रूपान्तरित हुनुभयो भने, परमेश्वरलाई चिन्न कति सजिलो हुनेथियो।” यसो भन्ने मानिसहरूले पूरै जिम्मेवारी देहधारी परमेश्वरमाथि नै राखिदिन्छन्। के त्यस्तै नै हुन्छ त? परमेश्वरका आत्मा आउनुभयो भने पनि तँ उहाँलाई बुझ्न अझै पनि असमर्थ नै हुनेछस्। जब आत्माले काम गर्नुहुन्छ, उहाँ मानिसहरूसँग बोलिसक्ने बित्तिकै जानुहुन्छ, र उहाँले तिनीहरूलाई त्यति सम्झाउनुहुन्न, र साधारण तरिकाले तिनीहरूसँग सम्बन्ध गाँस्नुहुन्न र जिउनुहुन्न, त्यसैले मानिसहरूसँग परमेश्वरसँग सीधै सम्पर्क गर्ने वा उहाँलाई चिन्ने मौका हुँदैन। मानिसहरूलाई देहधारी परमेश्वरको कामले अत्यधिक लाभ दिन्छ। त्यसले मानिसहरूमाझ ल्याउने सत्यताहरू अझ बढी व्यावहारिक हुन्छन्। त्यसले मानिसहरूलाई व्यावहारिक परमेश्वर स्वयम्लाई देख्न मद्दत गर्छ। यद्यपि, देहधारणको सार र आत्माको सार चिन्न उत्तिकै गाह्रो छ। यी कुराहरू चिन्न उतिकै कठिन हुन्छन्।

परमेश्‍वरलाई चिन्‍नुको अर्थ के हो? यसको अर्थ उहाँको खुशी, रिस, दुःख र सुख बुझ्‍न सक्नु, र यसरी उहाँको स्वभाव चिन्‍नु हो—परमेश्‍वरलाई साँचो रूपमा चिन्‍नु भनेको यही हो। तैँले उहाँलाई देखेको छु भनेर दावी गर्छस्, तैपनि तैँले अझै उहाँको खुशी, रिस, दुःख र सुख अनि तैँले उहाँको स्वभाव बुझ्दैनस्। तैँले न त उहाँको धार्मिकतालाई न त उहाँको कृपालुपनलाई बुझ्छस्, न त तैँले उहाँलाई के मन पर्छ वा उहाँले केलाई घृणा गर्नुहुन्छ भन्‍ने कुरा नै जान्दछस्। यो परमेश्‍वरबारेको ज्ञान होइन। कतिपय मानिसहरूले परमेश्‍वरलाई पछ्याउन सक्छन्, तर तिनीहरूले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छन् नै भन्‍ने हुँदैन। साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरको आज्ञापालन गर्नु हो। परमेश्‍वरको साँचो आज्ञापालन नगर्नेहरूले साँचो रूपमा उहाँमा विश्‍वास गरेका हुँदैनन्—भिन्‍नता यहीँ हुन्छ। जब तैँले परमेश्‍वरलाई धेरै वर्षदेखि पछ्याएको हुन्छस्, र तँसँग परमेश्‍वरको बारेमा ज्ञान र बुझाइ हुन्छ, जब तँसँग परमेश्‍वरको इच्‍छाको बारेमा केही बुझाइ र समझ हुन्छ, जब तँलाई मानिसलाई मुक्ति दिने परमेश्‍वरको सावधानीपूर्ण अभिप्रायको बारेमा थाहा हुन्छ, त्यस बेला तैँले परमेश्‍वरमा साँचो विश्‍वास गर्छस्, साँचो रूपमा परमेश्‍वरको आज्ञापालन गर्छस्, परमेश्‍वरलाई साँचो प्रेम गर्छस्, र साँचो रूपमा परमेश्‍वरको आराधना गर्छस्। यदि तैँले परमेश्‍वरमा विश्‍वास त गर्छस् तर परमेश्‍वरको ज्ञान पछ्याउदैनस्, र परमेश्‍वरको इच्‍छा, उहाँको स्वभाव, र उहाँको कामको बारेमा तँसँग कुनै बुझाइ छैन भने, तँ केवल परमेश्‍वरको निम्ति भौँतारिने र अधिकांशले जे गर्छन् त्यही अनुसरण गर्ने अनुयायी मात्र हुन्छस्। त्यसलाई साँचो समर्पण पनि भन्‍न सकिन्‍न, साँचो आराधना त परको कुरा हो। साँचो आराधना कसरी हुन्छ त? निस्सन्देह नै, परमेश्‍वरलाई देख्‍ने र साँचो रूपमा परमेश्‍वरलाई चिन्‍नेहरू सबैले परमेश्‍वरको आराधना गर्छन् र उहाँको डर मान्छन्; तिनीहरू सबै दण्डवत् र आराधना गर्न बाध्य छन्। वर्तमान समयमा, देहधारी परमेश्‍वर काममा हुनुभएको बेला, उहाँको स्वभाव र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ सो बारेमा मानिसहरूमा जति धेरै बुझाइ हुन्छ, तिनीहरूले त्यति नै धेरै यी कुराहरूलाई मूल्यवान् ठान्‍नेछन् र तिनीहरूले त्यति नै धेरै उहाँको डर मान्नेछन्। सामान्यत: मानिसहरूसँग परमेश्‍वरबारे जति थोरै बुझाइ हुन्छ, तिनीहरू त्यति नै धेरै बेपर्वाह हुन्छन् र त्यसैकारण तिनीहरूले परमेश्‍वरलाई मानवको रूपमा व्यवहार गर्छन्। यदि मानिसहरूले साँच्चै नै परमेश्‍वरलाई चिन्थे र देख्थे भने, तिनीहरू डरले काँप्‍थे र भुइँमा लम्पसार पर्थे। “मपछि आउनुहुने व्यक्ति मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ता बोक्‍न पनि म योग्य छैन” (मत्ती ३:११)—यूहन्‍नाले किन यसो भने त? भित्री रूपमा तिनीसँग परमेश्‍वारबारे गहन बुझाइ नभए तापनि, तिनलाई परमेश्‍वर तेजस्वी हुनुहुन्छ भन्‍ने थाहा थियो। आजभोलि कति जना मानिसहरू परमेश्‍वरको डर मान्न सक्षम छन् र? यदि तिनीहरूले उहाँको स्वभावको बारेमा जान्दैनन् भने, तिनीहरू कसरी परमेश्‍वरको डर मान्न सक्छन् र? यदि मानिसहरूले न त ख्रीष्टको सारको बारेमा जान्दछन् न त परमेश्‍वरको स्वभाव नै बुझ्छन् भने, तिनीहरू व्यावहारिक परमेश्‍वरको साँचो आराधना गर्न सक्षम हुने कुरै आउँदैन। यदि तिनीहरूले ख्रीष्टको साधारण र सामान्य बाहिरी रूप मात्र देख्छन् तर अझै पनि उहाँको सार जान्दैनन् भने, ख्रीष्टलाई साधारण मानिसको रूपमा लिन तिनीहरूलाई सहज हुन्छ। तिनीहरूले उहाँप्रति अनादरकारी मनोवृत्ति अपनाउन सक्छन् र उहाँलाई धोका दिन, उहाँको प्रतिरोध गर्न, उहाँको अवज्ञा गर्न र उहाँको मूल्याङ्कन गर्न सक्छन्। तिनीहरू स्व-धर्मी हुन सक्छन् र तिनीहरूले उहाँका वचनहरूलाई गम्भीर रूपमा नलिन सक्छन्; तिनीहरूले परमेश्‍वरको विरुद्ध धारणाहरू, आलोचनाहरू र ईश्‍वरनिन्दा उत्पन्न गर्न सक्छन्। यी सवालहरूको निराकरण गर्न, एक व्यक्तिले ख्रीष्टको सार र ईश्‍वरत्वको बारेमा जान्‍नुपर्छ। यो परमेश्‍वरलाई जान्‍ने बारेको मुख्य पक्ष हो; यो व्यावहारिक परमेश्‍वरमाथि विश्‍वास गर्ने हरेक व्यक्तिले प्रवेश गर्नुपर्ने र प्राप्त गर्नुपर्ने कुरा हो।

अघिल्लो: परमेश्‍वरको काम र स्वभाव चिन्‍नेसम्बन्धी वचनहरू

अर्को: कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्