परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरका लागि साक्षी दिन सक्छन्

परमेश्‍वरमा विश्‍वास गर्नु र परमेश्‍वरलाई चिन्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, र आज—देहधारी परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गरिरहनुभएको युगमा—परमेश्‍वरलाई चिन्ने अत्यन्तै राम्रो समय हो। परमेश्‍वरलाई सन्तुष्ट पार्नु भनेको परमेश्‍वरका अभिप्रायहरू बुझ्ने जगमा टेकेर हासिल गरिने कुरा हो, र परमेश्‍वरका अभिप्रायहरू बुझ्नका लागि, परमेश्‍वरबारे ज्ञान हुनु जरुरी छ। परमेश्‍वरबारे यो ज्ञान परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिसँग हुनैपर्ने दर्शन हो; यो नै मानिसको परमेश्‍वरप्रतिको विश्‍वासको जग हो। यो ज्ञानको अभावमा, मानिसको परमेश्‍वरप्रतिको विश्‍वास खोक्रा धर्मसिद्धान्तहरूका बीचमा अस्पष्ट स्थितिमा रहनेछ। यस्ता मानिसहरूसँग परमेश्‍वरलाई पछ्याउने सङ्कल्प भए पनि, तिनीहरूले केही पनि प्राप्त गर्नेछैनन्। यस प्रवाहमा रहेर केही पनि प्राप्त नगर्नेहरू सबै हटाइनेछन्—तिनीहरू सबै आफू केही नगरी अरूको भरमा बाँच्ने मानिस हुन्। तैँले परमेश्‍वरको कामको जुनसुकै चरण अनुभव गरे पनि, तेरो साथमा एउटा महान् दर्शन हुनुपर्छ। नत्रभने, तँलाई नयाँ कामको हरेक चरण स्वीकार गर्न गाह्रो हुनेछ, किनभने परमेश्‍वरको नयाँ काम मानिसको कल्पना गर्ने क्षमताभन्दा बाहिर छ, र यो उसको सोचाइको सीमाभन्दा बाहिर छ। त्यसकारण, मानिसको हेरचाह गर्ने गोठालोविना, दर्शनहरूका बारेमा सङ्गति गर्ने गोठालोविना, मानिस यो नयाँ काम स्वीकार गर्न असमर्थ हुन्छ। यदि मानिस दर्शनहरू बोध गर्न सक्दैन भने, ऊ परमेश्‍वरको नयाँ काम बोध गर्न सक्दैन, र यदि मानिस परमेश्‍वरको नयाँ कामप्रति समर्पित हुन सक्दैन भने, मानिस परमेश्‍वरका अभिप्रायहरू बुझ्न असक्षम हुनेछ, र यसरी परमेश्‍वरबारे उसको ज्ञान शून्य बराबर हुनेछ। मानिसले परमेश्‍वरको वचन अभ्यास गर्नुअघि, उसले परमेश्‍वरको वचन जानेको हुनैपर्छ; अर्थात्, उसले परमेश्‍वरका अभिप्रायहरू बुझेको हुनैपर्छ। यसरी मात्रै परमेश्‍वरको वचनलाई सटीक रूपमा र परमेश्‍वरका अभिप्रायहरूअनुरूप अभ्यास गर्न सकिन्छ। यो सत्यता खोज्ने हरेक व्यक्तिले धारण गर्नैपर्ने कुरा हो, र यो परमेश्‍वरलाई चिन्ने प्रयास गर्ने हरेकले भोग्नैपर्ने प्रक्रिया पनि हो। परमेश्‍वरको वचनलाई चिन्ने प्रक्रिया नै परमेश्‍वरलाई चिन्ने प्रक्रिया हो। यो परमेश्‍वरको कामलाई चिन्ने प्रक्रिया पनि हो। त्यसकारण, दर्शनहरू जान्नुले देहधारी परमेश्‍वरको मानवता जान्नुलाई मात्र जनाउँदैन, यसमा त परमेश्‍वरको वचन र काम जान्ने कुरा पनि समावेश हुन्छ। परमेश्‍वरको वचनबाट मानिसहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्छन्, र परमेश्‍वरको कामबाट तिनीहरूले परमेश्‍वरको स्वभाव र परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुरा थाहा पाउँछन्। परमेश्‍वरमाथिको विश्‍वास परमेश्‍वरलाई चिन्ने पहिलो कदम हो। परमेश्‍वरप्रतिको यो प्रारम्भिक विश्‍वासबाट उहाँप्रतिको सबैभन्दा गहिरो विश्‍वाससम्म अघि बढ्ने प्रक्रिया नै परमेश्‍वरलाई चिन्ने प्रक्रिया हो, परमेश्‍वरको काम अनुभव गर्ने प्रक्रिया हो। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्नका लागि मात्रै परमेश्‍वरमा विश्‍वास गर्छस्, र उहाँलाई चिन्‍नका लागि गर्दैनस् भने, तेरो विश्‍वासमा कुनै वास्तविकता छैन, र तेरो विश्‍वास शुद्ध बन्न सक्दैन—यसमा कुनै शङ्का छैन। यदि, परमेश्‍वरको काम अनुभव गर्दा, मानिसले बिस्तारै परमेश्‍वरलाई चिन्छ भने, उसको स्वभाव बिस्तारै परिवर्तन हुनेछ, र उसको विश्‍वास झन्-झन् साँचो बन्दै जानेछ। यसरी, जब मानिसले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा सफलता हासिल गर्छ, तब उसले परमेश्‍वरलाई पूर्ण रूपमा प्राप्त गरेको हुनेछ। परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नलाई दोस्रो पटक देह बन्नका लागि यति धेरै रगत-पसिना बगाउनुको कारण भनेको मानिसले उहाँलाई चिन्न र उहाँलाई देख्न सकोस् भनेर हो। परमेश्‍वरलाई चिन्नु[क] नै परमेश्‍वरको कामको अन्त्यमा हासिल गरिने अन्तिम परिणाम हो; यो परमेश्‍वरले मानवजातिसँग गर्ने अन्तिम माग हो। उहाँले यसो गर्नुको कारण भनेको उहाँको अन्तिम गवाहीको खातिर हो; मानिस अन्तिममा र पूर्ण रूपमा उहाँतर्फ फर्कन सकोस् भनेर उहाँ यो काम गर्नुहुन्छ। मानिसले परमेश्‍वरलाई चिनेर मात्रै परमेश्‍वरलाई प्रेम गर्न सक्छ, र परमेश्‍वरलाई प्रेम गर्न उसले परमेश्‍वरलाई चिन्नैपर्छ। उसले जसरी पछ्याए पनि, वा आफ्नो पछ्याइमार्फत उसले जे प्राप्त गर्ने आशा गरे पनि, उसले परमेश्‍वरबारे ज्ञान हासिल गर्न सक्नैपर्छ। यसरी मात्रै मानिसले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्छ। परमेश्‍वरलाई चिनेर मात्रै मानिसले परमेश्‍वरमा साँचो विश्‍वास राख्न सक्छ, र परमेश्‍वरलाई चिनेर मात्रै ऊ साँचो रूपमा परमेश्‍वरको डर मान्न र उहाँप्रति समर्पित हुन सक्छ। परमेश्‍वरलाई नचिन्नेहरू परमेश्‍वरप्रतिको साँचो समर्पण र उहाँको डरमा कहिल्यै पुग्नेछैनन्। परमेश्‍वरलाई चिन्नुमा उहाँको स्वभाव चिन्ने, उहाँका अभिप्रायहरू बुझ्ने, र उहाँ के हुनुहुन्छ भनी चिन्ने कुरा पर्छन्। तैपनि व्यक्तिले जुनसुकै पक्ष चिने पनि, हरेकका लागि मानिसले मूल्य चुकाउनुपर्छ र समर्पित हुने सङ्कल्प आवश्यक पर्छ, जुनविना कोही पनि अन्तिमसम्म निरन्तर पछ्याइरहन सक्षम हुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग अत्यन्तै नमिल्दो हुन्छ। परमेश्‍वरको स्वभाव र परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुरा थाहा पाउन मानिसलाई अत्यन्तै गाह्रो हुन्छ, र परमेश्‍वरको हरेक वचन र कार्य, उहाँको हरेक चाल मानिसका लागि अत्यन्तै बुझ्न नसकिने खालको हुन्छ। यदि मानिस परमेश्‍वरलाई पछ्याउने इच्छा गर्छ तैपनि उहाँप्रति समर्पित हुन अनिच्छुक छ भने, मानिसले केही पनि प्राप्त गर्नेछैन। संसारको सृष्टिदेखि आजसम्म, परमेश्‍वरले त्यस्तो धेरै काम गर्नुभएको छ जसलाई मानिसले बुझ्न सक्दैन र जुन मानिसलाई स्वीकार गर्न गाह्रो लागेको छ, र परमेश्‍वरले त्यस्तो धेरै कुरा भन्नुभएको छ जसले मानिसका धारणाहरूलाई निको पार्न गाह्रो बनाउँछ। तर मानिसका अति धेरै कठिनाइ भएका कारण उहाँले आफ्नो काम गर्न कहिल्यै छोड्नुभएको छैन; बरु, उहाँले काम गर्न र बोल्न जारी राख्नुभएको छ। ठूलो सङ्ख्यामा “योद्धाहरू” बाटोमै लडेका भए पनि, उहाँ अझै पनि आफ्नो काम गरिरहनुभएको छ, र उहाँको नयाँ कामप्रति समर्पित हुन इच्छुक मानिसहरूको एकपछि अर्को समूहलाई विश्रामविना निरन्तर रूपमा छनौट गरिरहनुभएको छ। उहाँमा ती लडेका “नायकहरू” प्रति कुनै दया छैन, बरु उहाँ उहाँका नयाँ काम र वचनहरू स्वीकार गर्नेहरूलाई उहाँ बहुमूल्य ठान्नुहुन्छ। तर यसरी एकपछि अर्को कामको चरण अघि बढाउनुमा उहाँको उद्देश्य के हो? उहाँ किन सधैँ कतिपय मानिसलाई हटाउनुहुन्छ र अरूलाई रोज्नुहुन्छ? उहाँ किन सधैँ यस्तो विधि प्रयोग गर्नुहुन्छ? उहाँको कामको उद्देश्य उहाँलाई चिन्न, र यसरी उहाँद्वारा प्राप्त गरिन मानिसलाई मद्दत गर्नु हो। उहाँको कामको सिद्धान्त भनेको जो उहाँले आज गर्नुहुने कामप्रति समर्पित हुन सक्छन् तिनीहरूमा काम गर्नु, र जो उहाँले विगतमा गर्नुभएको कामप्रति समर्पित हुन्छन् तर उहाँले आज गर्नुहुने कामको विरोध गर्छन् तिनीहरूमा काम नगर्नु हो। उहाँले यति धेरै मानिसलाई हटाउँदै आउनुको कारण यही नै हो।

परमेश्‍वरलाई जान्ने क्रममा सिकेको पाठको प्रभावलाई एक वा दुई दिनमा प्राप्त गर्न सकिँदैन: मानिसले निश्चय नै अनुभवहरू बटुल्नैपर्छ, कठिनाइहरू हुँदै जानैपर्छ, अनि साँचो समर्पणता हासिल गर्नैपर्छ। सबैभन्दा पहिला, परमेश्‍वरको कार्य अनि वचनबाट नै सुरु गर्। परमेश्‍वरको ज्ञानमा के संलग्न छ, यो ज्ञान कसरी प्राप्त गर्ने, अनि आफ्नो अनुभवमा परमेश्‍वरलाई कसरी देख्ने त्यो तैँले जान्नु अति नै आवश्यक छ। परमेश्‍वरलाई चिन्‍न बाँकी हुँदा हरेक व्यक्तिले गर्नुपर्ने कुरा यही नै हो। कसैले पनि परमेश्‍वरको कार्य र वचनहरूलाई एक झट्कामा पक्रन सक्दैन, अनि कसैले पनि छोटो समयावधिमा परमेश्‍वरको सम्पूर्णताको ज्ञानलाई प्राप्त गर्न सक्दैन। त्यसमा अनुभवको आवश्यक प्रक्रिया छ, जुनविना कसैले पनि परमेश्‍वरलाई चिन्‍न अथवा उहाँलाई इमान्दारितासित पछ्याउन सक्दैन। परमेश्‍वरले जति धेरै कार्य गर्नुहुन्छ, मानिसले त्यति नै बढी उहाँलाई चिन्ने गर्छ। परमेश्‍वरको कार्य मानिसको धारणाहरूभन्दा जति धेरै भिन्न छ, त्यति नै धेरै उहाँबारे मानिसको ज्ञान नवीकरण र गहिरो भएर जान्छ। यदि परमेश्‍वरको कार्य सँधैको लागि निश्चित र अपरिवर्तनशील रहन्थ्यो भने उहाँको बारेमा मानिसहरूसित धेरै ज्ञान हुने थिएन। उत्पत्तिको समय अनि वर्तमानको बीचमा, व्यवस्थाको युगमा परमेश्‍वरले के गर्नुभयो, अनुग्रहको युगको अवधिमा उहाँले के गर्नुभयो, अनि राज्यको युगमा उहाँले के गर्नुहुन्छ—तिमीहरू यी दर्शनहरूको बारेमा स्पष्ट हुनुपर्छ। तिमीहरूले परमेश्‍वरको कार्यलाई जान्नुपर्छ। येशूलाई पछ्याएपछि मात्र पत्रुसले येशूमा पवित्र आत्माले गर्नुभएको कार्यहरू क्रमैसँग जाने। तिनले भने, “पूर्ण ज्ञान हासिल गर्नको लागि मानिसको अनुभवमा भर पर्नु मात्र काफी छैन; उहाँलाई चिन्‍न हामीलाई सहायताको निम्ति परमेश्‍वरको कार्यमा अवश्य नै धेरै नयाँ कुराहरू हुनुपर्छ।” सुरुमा, पत्रुसले येशू एक प्रेरित जस्तै परमेश्‍वरद्वारा पठाइएका व्यक्ति, एक प्रेरित जस्तै, हुन् भनी विश्‍वास गरे, अनि तिनले येशूलाई ख्रीष्टको रूपमा हेरेनन्। त्यो समयमा, जब तिनले येशूलाई पछ्याउन थाले, येशूले तिनलाई सोध्नुभयो, “योनाका छोरा शिमोन, के तिमी मलाई पछ्याउँछौ?” पत्रुसले भने, “जसलाई स्वर्गीय पिताले पठाउनुभएको छ उहाँलाई मैले पछ्याउनै पर्छ। मैले उहाँलाई स्वीकार गर्नैपर्छ जो पवित्र आत्माद्वारा चुनिनुभएको छ। म तपाईंलाई पछ्याउनेछु।” तिनको शब्दबाट, यो देखिन्छ कि पत्रुससित येशूको बारेमा कुनै ज्ञान थिएन; तिनले परमेश्‍वरको वचन अनुभव गरेका थिए, आफूलाई काँटछाँट गरेका थिए, अनि परमेश्‍वरको निम्ति कठिनाइ सहेका थिए, तर तिनीसित परमेश्‍वरको कार्यको कुनै ज्ञान थिएन। अनुभवको केही अवधिपछि, पत्रुसले येशूमा परमेश्‍वरका धेरै कामहरू देखे, तिनले परमेश्‍वरको प्रेमिलोपन देखे, अनि तिनले येशूमा धेरै हदसम्म परमेश्‍वरको रूप देखे। यसरी नै येशूले बोल्नुभएका वचनहरू मानिसद्वारा बोलिएको होइन, अनि येशूले गर्नुभएको कार्य मानिसद्वारा गरिएको होइन भन्‍ने पनि उनले देखे। यसको साथै, येशूको वचन अनि कार्यहरूमा, थप रूपमा पत्रुसले परमेश्‍वरको ज्ञान, अनि ईश्‍वरीय प्रकृतिका कार्यहरू देखे। तिनका अनुभवहरूको अवधिमा, तिनले आफैलाई मात्र जानेनन्, बरु येशूको प्रत्येक कार्यलाई पनि तिनले नजिकबाट नियाले, जहाँबाट तिनले धेरै कुराहरू पत्ता लगाए, नाउँ लिनुपर्दा, परमेश्‍वरले येशूद्वारा गर्नुभएको धेरै कार्यहरूमा व्यवहारिक परमेश्‍वरका अभिव्यक्तिहरू थिए, अनि आफूले बोल्नुभएका वचनहरूमा अनि उहाँले गर्नुभएका कार्यहरूमा, र साथसाथै उहाँले जुन शैलीमा मण्डलीको गोठालो गर्नुभयो र कार्य गर्नुभयो त्यो शैलीमा येशू एउटा साधारण मानिसभन्दा भिन्न हुनुहुन्थ्यो। यसकारण, पत्रुसले येशूबाट धेरै पाठहरू सिके जो तिनले सिक्नुपर्थ्यो, अनि येशू क्रूसमा टाँगिन लाग्दासम्ममा, तिनले केही हदसम्म येशूको ज्ञान प्राप्त गरिसकेका थिए—यी कुराहरू येशूप्रति तिनी जीवनभर बफादार बन्ने अनि परमेश्‍वरको लागि उँधोमुन्टो क्रूसमा टाँगिएर भोग्‍ने दुःखको आधार बन्यो। तिनी केही धारणाहरूले ग्रसित भएका अनि सुरुमा येशूको बारेमा तिनमा स्पष्ट ज्ञान नभएको भए तापनि यस्ता कुराहरू निश्चय नै भ्रष्ट मानिसको एउटा भाग हो। जब येशू बिदा हुन लाग्नुभएको थियो, तब उहाँले पत्रुसलाई भन्नुभयो कि उहाँ क्रूसमा टाँगिनु भनेकै त्यो कार्य हो जुन गर्नलाई उहाँ आउनुभएको हो: त्यो युगद्वारा उहाँ त्यागिनु जरुरी थियो, अनि यो अशुद्ध र पुरानो युगले उहाँलाई क्रूसमा टाँग्नै पर्थ्यो; उहाँ छुटकाराको कार्यलाई पूर्ण गर्नु आउनुभएको थियो, अनि, यो कार्य सिध्याएपछि, उहाँको सेवकाइको अन्त हुनेथियो। यो सुनेर, पत्रुस दुःखले व्याकुल भए अनि येशूसित अझ घनिष्ट भए। जब येशू क्रूसमा टाँगिनुभयो, पत्रुस एकान्तमा खूबै रोए। योभन्दा अघि, पत्रुसले येशूलाई सोधेका थिए, “मेरो प्रभु! तपाईं भन्‍नुहुन्छ, कि तपाईं क्रूसमा टाँगिन लाग्‍नुभएको छ। तपाईं जानुभएपछि, हामीले तपाईंलाई कहिले देख्न पाउनेछौं?” के तिनले भनेका कुरामा अपमिश्रणका तत्वहरू थिएनन् र? तिनीहरूमा धारणाहरूको मिश्रण थिएन र? तिनको हृदयमा, तिनलाई थाहा थियो, कि येशू परमेश्‍वरका कार्यहरूको भाग पूरा गर्न आउनुभएको हो, अनि येशू जानुभएपछि, पवित्र आत्मा तिनीसित हुनेछन्; उहाँ क्रूसमा टाँगिनुहुनेभए तापनि अनि स्वर्ग चढिजानुहुनेभए तापनि, परमेश्‍वरको आत्मा तिनीसित हुनुहुनेथियो। त्यो समयमा, पत्रुसमा येशूको बारेमा केही ज्ञान थियो: परमेश्‍वरको आत्माले नै येशूलाई पठाउनुभएको हो, परमेश्‍वरको आत्मा उहाँभित्र हुनुहुन्छ, अनि येशू नै परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँ नै ख्रीष्ट हुनुहुन्छ भन्‍ने तिनी जान्दथे। यद्यपि येशूप्रति तिनको प्रेमको कारण, अनि तिनको मानव कमजोरीपनको कारण, पत्रुसले त्यस्ता शब्दहरू बोले। यदि, परमेश्‍वरको कार्यको प्रत्येक चरणमा, कसैले अवलोकन गर्न अनि कडा परिश्रमसित अनुभव गर्न सक्छ भने, उसले बिस्तारै परमेश्‍वरको प्रेमिलोपन पत्ता लगाउन सक्छ। अनि पावलले तिनको दर्शनलाई के ठाने? जब येशू तिनीकहाँ देखापर्नुभयो, पावलले भने, “तपाईं को हुनुहुन्छ, प्रभु?” येशूले भन्नुभयो, “म येशू हुँ जसलाई तिमी सताउँछौ।” यो पावलको दर्शन थियो। येशूको पुनरुत्थान, उहाँ ४० दिनसम्म देखापर्नुभएको कुरा अनि येशूको जीवनकालभरिका शिक्षाहरूलाई पत्रुसले आफ्नो अन्तिम यात्रासम्मै दर्शनको रूपमा लिए।

मानिस परमेश्‍वरको काम अनुभव गर्छ, आफूलाई चिन्न थाल्छ, आफ्नो भ्रष्ट स्वभाव फाल्छ, र जीवनको वृद्धि पछ्याउँछ, जुन सबै परमेश्‍वरलाई चिन्नका खातिर हुन्। यदि तँ आफूलाई चिन्न र आफ्नो भ्रष्ट स्वभावलाई काटछाँट गर्न मात्रै खोज्छस्, तर परमेश्‍वर मानिसमा के काम गर्नुहुन्छ, उहाँको मुक्ति कति महान् छ, वा तँ कसरी परमेश्‍वरको काम अनुभव गर्छस् र उहाँका कार्यहरू देख्छस् भन्‍ने बारेमा तँलाई कुनै ज्ञान छैन भने, तेरो यो अनुभव मूर्खतापूर्ण छ। यदि तँलाई कसैले सत्यतालाई व्यवहारमा लागु गर्न र धैर्य अभ्यास गर्न सक्ने भएकै कारण उसको जीवनमा परिपक्वता आएको छ भन्‍ने लाग्छ भने, यसको अर्थ तैँले अझै पनि जीवनको साँचो अर्थ वा मानिसलाई सिद्ध पार्नुमा परमेश्‍वरको उद्देश्य बुझेको छैनस्। कुनै दिन, जब तँ धार्मिक मण्डलीहरूमा, पश्‍चात्ताप मण्डलीका वा जीवन मण्डलीका सदस्यहरूका बीचमा हुन्छस्, तब तैँले भक्त मानिसहरू धेरैलाई भेट्नेछस्, जसका प्रार्थनाहरूमा “दर्शनहरू” रहेका हुन्छन् र जो आफ्नो जीवनको पछ्याइमा छोइएको महसुस गर्छन् र वचनहरूद्वारा निर्देशित हुन्छन्। यसबाहेक, धेरै वटा मामलामा, तिनीहरू धैर्य अभ्यास गर्न, आफूलाई त्याग्न, र देहद्वारा निर्देशित नहुन सक्षम हुन्छन्। त्यतिबेला, तैँले तिनीहरूलाई खुट्ट्याउन सक्नेछैनस्: तँ तिनीहरूले गर्ने सबथोक सही छ, त्यो जीवनको स्वाभाविक प्रकटीकरण हो, र तिनीहरूले विश्‍वास गर्ने नाम गलत हुनु दुःखको कुरा हो भन्‍ने विश्‍वास गर्नेछस्। के यस्ता दृष्टिकोणहरू मूर्खतापूर्ण होइनन् र? धेरै मानिससँग जीवन छैन भनेर किन भनिन्छ? किनभने तिनीहरू परमेश्‍वरलाई चिन्दैनन्, र तसर्थ तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्न, र तिनीहरूसँग जीवन छैन भनेर भनिन्छ। यदि परमेश्‍वरमाथिको तेरो विश्‍वास यस्तो बिन्दुमा पुगेको छ जहाँ तँ परमेश्‍वरका कार्यहरू, परमेश्‍वरको व्यावहारिकता, र परमेश्‍वरको कामको हरेक चरणलाई पूर्ण रूपमा चिन्न सक्षम छस् भने, तैँले सत्यता धारण गरेको छस्। यदि तँ परमेश्‍वरको काम र स्वभावलाई चिन्दैनस् भने, तेरो अनुभव अझै पनि पर्याप्त छैन। येशूले आफ्नो कामको त्यो चरण कसरी अघि बढाउनुभयो, यो चरण कसरी अघि बढाइँदै छ, अनुग्रहको युगमा परमेश्‍वरले आफ्नो काम कसरी गर्नुभयो र के काम गरियो, यस चरणमा के काम गरिँदै छ—यदि तँलाई यी कुराहरूको पूर्ण ज्ञान छैन भने, तँलाई कहिल्यै आश्‍वस्त महसुस हुनेछैन र तँलाई सधैँ अस्थिर महसुस हुनेछ। यदि, केही समयको अनुभवपछि, तँ परमेश्‍वरद्वारा गरिएको काम र उहाँको कामको हरेक कदमलाई चिन्न सक्छस्, र यदि तैँले परमेश्‍वरले आफ्ना वचनहरू बोल्नुका उद्देश्यहरू, र उहाँले बोल्नुभएका यति धेरै वचन किन पूरा भएका छैनन् भन्‍ने बारेमा पूर्ण ज्ञान प्राप्त गरेको छस् भने, तँ चिन्ता र शोधनबाट मुक्त भएर, निर्धक्क भई र पछि नहटी अगाडिको मार्ग पछ्याउन सक्छस्। तिमीहरूले परमेश्‍वर आफ्नो यति धेरै काम कुन माध्यमबाट सम्पन्न गर्नुहुन्छ भनेर हेर्नुपर्छ। उहाँले आफूले बोल्ने वचनहरू प्रयोग गर्नुहुन्छ, र धेरै वटा फरक-फरक प्रकारका वचनहरूमार्फत मानिसलाई शोधन गर्नुहुन्छ र उसका धारणाहरूलाई रूपान्तरण गर्नुहुन्छ। तिनीहरूले सहेका सबै दुःख, तिमीहरूले भोगेका सबै शोधन, तिमीहरूले आफूभित्र स्वीकार गरेको काटछाँट, र तिमीहरूले अनुभव गरेको अन्तर्दृष्टि—यी सबै परमेश्‍वरले बोल्नुभएका वचनहरूमार्फत हासिल गरिएका हुन्। मानिस केका आधारमा परमेश्‍वरको पालन गर्छ? ऊ परमेश्‍वरका वचनहरूका कारण पालन गर्छ! परमेश्‍वरका वचनहरू गहिरो रूपमा रहस्यमय छन्, र यसबाहेक तिनले मानिसको हृदयलाई प्रेरित गर्न, यसभित्र गहिरो रूपमा गाडिएका कुराहरूलाई खुलासा गर्न, उसलाई विगतमा घटेका कुराहरू थाहा दिन, र उसलाई भविष्यभित्र छिर्न मद्दत गर्न सक्छन्। त्यसकारण मानिस परमेश्‍वरका वचनहरूका कारण दुःख सहन्छ, र परमेश्‍वरका वचनहरूका कारण नै सिद्ध पनि पारिन्छ: यस समयदेखि उता मात्रै मानिसले परमेश्‍वरको पालन गर्छ। यस चरणमा, मानिस परमेश्‍वरका वचनहरू स्वीकार गर्छ, र चाहे ऊ सिद्ध पारियोस् वा उसको शोधन गरियोस्, परमेश्‍वरका वचनहरू नै मुख्य कुरा हुन्। यो नै परमेश्‍वरको काम हो, र आज मानिसले जान्नुपर्ने दर्शन पनि यही हो।

परमेश्‍वरले मानिसलाई कसरी सिद्ध बनाउनुहुन्छ? परमेश्‍वरको स्वभाव के हो? उहाँको स्वभावमा के समावेश छ? यदि कसैले यी सबै कुराहरू स्पष्टसित व्याख्या गर्न सक्छ भने, यो परमेश्‍वरको नाम फैलाउनु हो, यो परमेश्‍वरको साक्षी दिनु हो, र यो परमेश्‍वरलाई उचाल्‍नु हो। परमेश्‍वरलाई चिन्ने आधारमा, मानिस अन्ततः उसको जीवनको स्वभावमा रूपान्तरित हुन्छ। मानिस जति धेरै काँटछाँट र शोधनबाट गुज्रन्छ, ऊ उति नै उत्साहित हुन्छ; परमेश्‍वरको कार्यका जति धेरै असङ्ख्य चरणहरू हुन्छन्, मानिसलाई त्यति नै धेरै सिद्ध बनाइन्छ। आज, मानिसको अनुभवमा, परमेश्‍वरको कार्यको हरेक चरणले उसको धारणाहरूमाथि प्रहार गर्दछ, र यी सबै मानिसको बौद्धिकता र उसको अपेक्षाहरूभन्दा बाहिर पर्छन्। मानिसलाई चाहिने सबै कुरा परमेश्‍वरले प्रदान गर्नुहुन्छ, र हरेक कोणबाट यो उसको धारणाको विपरीत हुन्छ। तेरो कमजोरीको समयमा परमेश्‍वरले आफ्ना वचनहरू बोल्नुहुन्छ; केवल यसरी मात्रै उहाँले तेरो जीवन आपूर्ति गर्न सक्नुहुन्छ। परमेश्‍वरले तेरो धारणामा प्रहार गर्दै, तँलाई परमेश्‍वरबाटको काँटछाँट स्वीकार गर्न लगाउनुहुन्छ; केवल यसरी मात्रै तैँले तेरो भ्रष्टताबाट आफूलाई मुक्त गर्न सक्छस्। आज, देहधारी परमेश्‍वरले एक अर्थमा ईश्‍वरत्वको स्थितिभित्र कार्य गर्नुहुन्छ, तर अर्को अर्थमा उहाँले सामान्य मानवताको स्थितिमा कार्य गर्नुहुन्छ। जब तँ परमेश्‍वरको कुनै पनि कामलाई अस्वीकार गर्न अक्षम हुन्छस्, जब तँ सामान्य मानवताको स्थितिमा परमेश्‍वरले जे बोल्‍नुभए पनि वा जे गर्नुभए पनि समर्पित हुन सक्षम हुन्छस्, जब तँ परमेश्‍वरले जस्तोसुकै सामान्यता प्रदर्शन गरे पनि त्यसलाई बुझ्न र त्यसमा समर्पित हुन सक्षम हुन्छस्, र जब तैँले वास्तविक अनुभव प्राप्त गरेको हुन्छस्, तब मात्र तँ उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर आश्‍वस्त हुन्छस्, तब मात्र तैँले धारणा उत्पादन गर्न बन्द गर्छस्, तब मात्र तँ उहाँलाई अन्त्यसम्म विश्‍वास गर्न सक्षम हुन्छस्। परमेश्‍वरको कार्यमा बुद्धि छ, र मानिस कसरी उहाँको साक्षीमा स्थिर रहन सक्छ भनेर उहाँलाई थाहा छ। मानिसको महत्त्वपूर्ण कमजोरी कहाँ रहन्छ भन्‍ने कुरा उहाँलाई थाहा छ, र उहाँले बोलेका वचनहरूले मानिसको महत्त्वपूर्ण कमजोरीमा प्रहार गर्न सक्छ, तर तँलाई उहाँको गवाहीमा दह्रिलो रूपमा खडा गर्नका लागि उहाँले आफ्नो प्रतापी र विवेकपूर्ण वचनहरूको पनि प्रयोग गर्नुहुन्छ। परमेश्‍वरका कार्यहरू यस्ता आश्‍चर्यजनक हुन्छन्। परमेश्‍वरले गर्नुहुने कार्यहरू मानिसको समझका लागि अकल्पनीय हुन्छन्। देहको रूपमा मानिसमा कस्तो किसिमको भ्रष्टता निहित छ, र मानिसको सारमा के समावेश छ—यी सबै परमेश्‍वरको न्यायमार्फत प्रकट हुन्छन्, जसले मानिसलाई उसको लाजबाट लुक्न कुनै ठाउँ छोड्दैन।

मानिसले परमेश्‍वरको ज्ञान प्राप्त गर्न सकोस् भनेर, र उहाँको गवाहीका खातिर उहाँ न्याय र सजायको काम गर्नुहुन्छ। उहाँले मानिसको भ्रष्ट स्वभावलाई न्याय नगरी, मानिसले उहाँको धर्मी स्वभाव जान्नै सक्दैन, जसलाई कदापि चिढ्याउनु हुँदैन, न त मानिसले परमेश्‍वरबारे आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न नै सक्छ। उहाँ आफ्नो गवाहीका खातिर, र आफ्नो व्यवस्थापनका खातिर, आफ्नो सम्पूर्णता सार्वजनिक गर्नुहुन्छ, यसरी उहाँ सार्वजनिक रूपमा देखा परेर मानिसहरूलाई परमेश्‍वरको ज्ञान प्राप्त गर्न, स्वभावमा रूपान्तरित हुन, र परमेश्‍वरका लागि जोडदार साक्षी दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्‍वरको विभिन्न प्रकारका धेरै वटा काममार्फत हासिल गरिन्छ; मानिसको स्वभावमा त्यस्ता परिवर्तनहरू नआए, ऊ परमेश्‍वरको साक्षी दिन र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन असक्षम हुनेछ। मानिसको स्वभावको रूपान्तरणले मानिस शैतानको बन्धन र अन्धकारको प्रभावबाट मुक्त भएको छ, र साँच्चै नै परमेश्‍वरको कामको मोडेल र नमुना, परमेश्‍वरको साक्षी, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुने व्यक्ति बनेको छ भन्‍ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर आफ्नो काम गर्न पृथ्वीमा आउनुभएको छ, र उहाँ मानिसले उहाँको ज्ञान, उहाँप्रतिको समर्पण, र उहाँको गवाही हासिल गरोस् भनी माग गर्नुहुन्छ—मानिसले परमेश्‍वरको व्यावहारिक र सामान्य काम जान्नुपर्छ, ऊ मानिसका धारणाहरूअनुरूप नभएका उहाँका सबै वचन र कामप्रति समर्पित हुनुपर्छ, र उसले मानिसलाई मुक्ति दिन उहाँले गर्नुहुने सबै कामको, साथै मानिसलाई विजय गर्ने उहाँका सबै कार्यको साक्षी दिनुपर्छ। परमेश्‍वरको साक्षी दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनैपर्छ; यस्तो प्रकारको गवाही मात्रै सटीक र व्यावहारिक हुन्छ, र यस्तो प्रकारको गवाहीले मात्रै शैतानलाई लज्जित पार्न सक्छ। परमेश्‍वर उहाँको न्याय, सजाय, र काटछाँट भोगेर उहाँलाई चिनेकाहरूलाई आफ्नो साक्षी दिन प्रयोग गर्नुहुन्छ। उहाँ शैतानद्वारा भ्रष्ट तुल्याइएकाहरूलाई उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँ स्वभाव परिवर्तन भएका, र यसरी उहाँका आशिष्‌हरू प्राप्त गरेकाहरूलाई आफ्नो साक्षी दिन प्रयोग गर्नुहुन्छ। उहाँलाई मानिसले मुखले गरेको प्रशंसा चाहिँदैन, न त उहाँलाई उहाँद्वारा मुक्ति नदिइएका शैतानको जमातको प्रशंसा र गवाही नै चाहिन्छ। जसले परमेश्‍वरलाई चिनेका छन् तिनीहरू मात्रै उहाँको साक्षी दिन योग्य हुन्छन्, र जो आफ्नो स्वभावमा रूपान्तरित भएका छन् तिनीहरू मात्रै उहाँको साक्षी दिन योग्य हुन्छन्। परमेश्‍वरले मानिसलाई जानाजानी उहाँको नामको बेइज्जत गर्न दिनुहुनेछैन।

फूटनोटहरू:

क. मूल पाठमा “परमेश्‍वरलाई चिन्नेको कार्य” भनेर पढिन्छ।

अघिल्लो: “सहस्राब्दीय राज्यको आगमन भएको छ” भन्‍ने विषयमा संक्षिप्त चर्चा

अर्को: पत्रुसले येशूलाई कसरी चिने

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्