३८. म अब मेरी आमाले मलाई हुर्काएको गुनलाई सही रूपमा लिन सक्छु
म एउटा साधारण ग्रामीण परिवारमा जन्मेकी थिएँ; मेरा बुबा वर्षभरि कामका लागि बाहिरै हुनुहुन्थ्यो, र उहाँ विरलै घर आउनुहुन्थ्यो। मेरी आमाले मेरी दिदी र मलाई एक्लै हुर्काउनुभयो, र हामी धनी नभए पनि, आमाले हामीलाई राम्रो जीवन दिन सधैँ सक्दो प्रयास गर्नुहुन्थ्यो, र मैले चाहेका कुराहरू पूरा गर्न उहाँले सक्दो गर्नुहुन्थ्यो। म बाल्यकालमा कमजोर र रोगी थिएँ, र मलाई अक्सर रुघाखोकी र ज्वरो आइरहन्थ्यो। साथै, म छिट्टै बढेकीले मेरा घुँडाहरू प्रायः दुख्थे। हाम्रो परिवारको आर्थिक अवस्था कमजोर थियो, र हामी प्रायः मासु किन्न हिचकिचाउँथ्यौँ, तर पनि आमाले मलाई अक्सर सुँगुरको करङको सुप बनाइदिनुहुन्थ्यो, किनभने पोषणको कमीले मेरो वृद्धिमा असर गर्ला कि भनेर उहाँ डराउनुहुन्थ्यो। जब म बिरामी हुन्थेँ, मेरी आमाले आराम नगरी मेरो हेरचाह गर्नुहुन्थ्यो। कहिलेकाहीँ मलाई कडा ज्वरो आउँथ्यो र घट्दैनथ्यो, र मेरी आमा धेरै चिन्तित हुनुहुन्थ्यो, त्यसैले राति, उहाँले मेरो तापक्रम घटाउन रक्सीले मेरो शरीर पुछिरहनुहुन्थ्यो। उहाँले मेरो ध्यानपूर्वक हेरचाह मात्र गर्नुभएन, तर मेरा हजुरबा-हजुरआमाको आदर-सम्मान गर्न पनि सक्दो प्रयास गर्नुभयो। हरेक पटक उहाँले मलाई हजुरआमाको घर लैजाँदा, उहाँले सामान्यतया आफूले किन्न हिचकिचाउने फलफूल, दूध, वा मिठाइहरू जस्ता कुराहरू किन्नुहुन्थ्यो, र मलाई हजुरबा-हजुरआमासँग राम्रो व्यवहार गर्नू भनेर बारम्बार भन्नुहुन्थ्यो। कहिलेकाहीँ उहाँले कुनै बच्चाले आफ्ना आमाबुबाको आदर नगरेको सुन्नुहुँदा, उहाँले त्यस्ता छोराछोरीलाई कृतघ्न भन्नुहुन्थ्यो, र आमाबुबाले उनीहरूलाई व्यर्थैमा पालेछन् भन्नुहुन्थ्यो। नजानिँदो किसिमले, आमाको यस्तै भनाइ र गराइबाट, मैले के विश्वास गर्न थालेँ भने आमाबुबाको आदर-सम्मान गर्नुले नै असल व्यक्ति बनाउँछ, तब मात्र शिर ठाडो पारेर हिँड्न र प्रशंसा कमाउन सकिन्छ, र यदि अनादर गरियो भने, मानिसहरूले पछाडिबाट विवेकहीन भनेर आलोचना गर्छन्, र शिर ठाडो पारेर हिँड्न सकिँदैन। म १४ वर्षकी हुँदा, मेरा बुबाको एउटा कार दुर्घटनामा दुःखद निधन भयो। मैले मेरी आमासँगको समयलाई अझ धेरै कदर गर्न थालेँ, र मैले मनमनै के सङ्कल्प गरेँ भने जब म हुर्किन्छु, म मेरी आमालाई राम्रो जीवन दिन सक्दो प्रयास गर्नेछु, र बाल्यकालमा उहाँले जसरी अत्यन्त होसियारीसाथ मेरो हेरचाह गर्नुभयो, म पनि त्यसरी नै उहाँको हेरचाह गर्नेछु, ताकि उहाँले आफ्नो बुढेसकालमा सुख पाउन सक्नुहोस्। मलाई लाग्यो, यदि मैले यसो गर्न सकिनँ भने, म विवेकहीन हुनेछु, र म मान्छे कहलाउन लायक पनि हुनेछैनँ।
सन् २०११ मा, मैले परमेश्वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्ने सौभाग्य पाएँ। सन् २०१२ मा, सुसमाचार प्रचार गर्दा मलाई प्रहरीले पक्राउ गर्यो। रिहा भएपछि, घरमा बस्न असुरक्षित भएकाले, मैले आफ्नो कर्तव्य पूरा गर्न घर छोड्नुपर्यो। त्यसपछिका वर्षहरूमा म मेरी आमाको साथमा हुन सकिनँ, र म सधैँ आशा गर्थेँ कि एक दिन म उहाँसँग फेरि भेट्न, उहाँको हेरचाह गर्न र उहाँको आदर-सम्मान गर्न सकुँला। सन् २०२३ को मार्चतिर, मैले अचानक दिदीबाट एउटा पत्र पाएँ, पत्रअनुसार दुई वर्षअघि मेरी आमालाई अचानक मस्तिष्कमा रक्तश्राव र मस्तिष्कघात भएको थियो, र त्यसबेलादेखि उहाँ पक्षाघातले ओछ्यान पर्नुभएको रहेछ र आफ्नो हेरचाह गर्न नसक्ने हुनुभएको रहेछ। उहाँलाई गम्भीर मधुमेह पनि लागेको रहेछ, र उहाँको खुट्टामा मधुमेहले गर्दा घाउ भइसकेको थियो, खुट्टाका औंलाहरूको छाला र मासुमा घाउखटिरा भएर पाक्न थालेको थियो। हालसालै उहाँको अवस्था झनै बिग्रिएको थियो, र उहाँसँग धेरै समय नहुन सक्थ्यो, त्यसैले म सकेसम्म चाँडो घर फर्की आमालाई अन्तिम पटक भेटूँ भन्ने दिदी चाहनुहुन्थ्यो। त्यो पत्र पढेपछि, मेरो लागि आकाशै खसे जस्तो भयो। मैले पत्याउनै सकिनँ। मैले आफ्नो भावनालाई नियन्त्रण गर्न सकिनँ, र म भक्कानिएर रुन थालेँ, सोच्दै थिएँ, “मेरी आमालाई यस्तो कसरी हुन सक्छ? के यो साँचो हो? घरबाट टाढा बसेको यी केही वर्षमा, मैले सधैँ आशा गरेकी थिएँ कि एक दिन म मेरी आमासँग फेरि भेट्न, उहाँको हेरचाह गर्न, उहाँको आदर-सम्मान गर्न, र उहाँलाई आफ्नो अन्तिम वर्षहरू खुशीसाथ बिताउन दिन सकुँला।” यो अचानक आएको खबर बादलबिनाको चट्याङ जस्तै थियो, जसले मेरा सबै आशा र अपेक्षा चकनाचुर पारिदियो। केही समयसम्म, मैले यो स्वीकार गर्न सकिनँ, र हृदयमा, मैले परमेश्वरलाई गुनासो नगरी रहन सकिनँ, “तपाईँले मेरी आमालाई केही वर्ष अझै स्वस्थ भएर बाँच्न किन दिनुभएन?” मैले त मेरो आयु घटाएर मेरी आमाको आयु बढादिनुहोस् भनेर परमेश्वरलाई भन्न समेत चाहेँ, ताकि उहाँले केही दिन चैनको सास फेर्न सक्नुहोस्। त्यसका लागि, म केही वर्ष कम बाँच्न पनि तयार थिएँ। दिदीले पत्रमा, उहाँले यो पनि भन्नुभएको थियो कि आमा बिरामी परेको केही दिनमै मेरो सौतेनी बुबाले सम्बन्धविच्छेदको प्रस्ताव राखेछन्, आमाप्रतिको उनको व्यवहार एकदमै नराम्रो थियो, र उनले आमालाई कुट्ने र गाली गर्ने गरिरहेका रहेछन्। आफ्नो बिमारीले गर्दा आमाले पहिले नै दुःख भोगिरहनुभएको थियो, र त्यसमाथि उहाँले हरेक दिन सौतेनी बुबाको यातना सहनुपर्थ्यो, जसले गर्दा अन्ततः उहाँलाई गम्भीर डिप्रेसन भयो। अरू कुनै विकल्प नभएपछि, दिदीले सौतेनी बुबालाई आमासँग सम्बन्धविच्छेद गर्न दिनुबाहेक अरू कुनै उपाय देख्नुभएन। मैले सोचेँ आमालाई हरेक कुराका लागि कसैको हेरचाह चाहिन्छ। तर दिदी काममा जानुपर्ने भएकाले, आमा घरमा एक्लै पर्नुहुन्थ्यो। उहाँलाई तिर्खा वा भोक लाग्यो भने के होला? उहाँको हेरचाह कसले गर्ला? अचानक यति गम्भीर बिमारीले च्यापेपछि, मेरो सधैँ बलियो रहने आमालाई धेरै निराश र उकुसमुकुस भयो होला। उहाँ निराश हुँदा, उहाँलाई सान्त्वना र हौसला दिने को थियो होला? जति मैले यसबारे सोचेँ, त्यति नै मुटुमा छियाछिया हुने पीडा महसुस भयो। मलाई लाग्यो, म तुरुन्तै उडेर आमाको छेउमा पुगूँ, ताकि म उहाँसँग बसेर कुरा गर्न, उहाँलाई सान्त्वना र हौसला दिन, र उहाँको दैनिक आवश्यकताहरूको हेरचाह गर्न सकूँ। तर मलाई पहिले प्रहरीले पक्राउ गरिसकेको थियो, र यदि म अहिले फर्केर गएँ भने, म आफैँ जालमा पर्नु जस्तै हुन्थ्यो। घर फर्केर आमाको हेरचाह गर्ने र उहाँलाई अन्तिम पटक भेट्ने मेरो इच्छा पनि एउटा पूरा हुन नसक्ने चाहना बन्यो। मलाई अत्यन्तै दुःख लाग्यो; मैले कुनै कुरामा उत्साह जुटाउनै सकिनँ, र आफ्नो कर्तव्य पूरा गर्न पनि मन लागेन। राति, म सुत्न सक्दिनथेँ, र मनमा सोचिरहन्थेँ, “आमालाई कस्तो छ होला। उहाँ अझैसम्म आराम गरिरहनुभएको छ कि? वा अझै पनि पीडाले छटपटाउँदै निदाउन नसक्नुभएको होला कि?” यो सोच्दा-सोच्दै, म आँसु थाम्न नसकेर भक्कानिन थाल्थेँ। एक रात, मैले सपनामा मेरी आमालाई समेत देखेँ, उहाँ जवान अवस्थामा हुनुहुन्थ्यो, दुईवटा लामा चुल्ठा बाट्नुभएको, खुशीसाथ केही काममा व्यस्त हुनुहुन्थ्यो। म नजिकै उभिएर उहाँलाई हेरिरहेकी थिएँ, तर मैले जति बोलाए पनि, उहाँले कुनै जवाफ दिनुभएन। उहाँले मलाई देख्न वा मेरो आवाज सुन्न सक्नुहुन्नथ्यो जस्तो लाग्यो। जब म ब्यूँझिएँ, त्यो केवल एउटा सपना रहेछ भन्ने महसुस भयो, तर जति मैले यसबारे सोचेँ, त्यति नै दुःख लाग्यो, र म फेरि भक्कानिएर नरोइरहन सकिनँ।
ती दिनहरू अत्यन्तै पीडाले भरिएका थिए, त्यसैले मैले परमेश्वरलाई उहाँको अभिप्राय बुझ्न डोऱ्याउनुहोस् भनेर प्रार्थना गरेँ। त्यस समयमा, परमेश्वरका केही वचनहरू मेरो मनमा बारम्बार आइरहे: “हरेक व्यक्तिले जन्म, बुढेसकाल, बिमारी, र मृत्युका यी तथ्यहरूलाई स्विकार्न र सामना गर्नु जरुरी छ; यो नै परमेश्वरले नियोजन गर्नुभएको मानव अस्तित्वको नियम हो। तैँले यसलाई किन स्विकार्न सक्दैनस्? के तँ यसबाट उम्कन सक्छस्?” मैले ती वाक्यांशहरू आएको परमेश्वरका वचनहरूको खण्ड फेला पारेँ, र त्यसलाई पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरू भन्छन्: ‘मलाई थाहा छ कि मैले मेरा आमाबुबा बिरामी परेको वा कुनै ठूलो दुर्भाग्यमा परेको मामिलाको विश्लेषण वा छानबिन गर्नु हुँदैन, त्यसो गर्नु व्यर्थ छ, र मैले यसलाई सत्यता सिद्धान्तहरूका आधारमा सम्हाल्नुपर्छ, तर म त्यसको विश्लेषण र छानबिन गर्नबाट आफूलाई रोक्न सक्दिनँ।’ रोक्नु समस्या समाधान गर्ने तरिका होइन; मुख्य कुरा यो हो कि तैँले जन्मनु, बूढो हुनु, बिरामी पर्नु, र मर्नु भनेको परमेश्वरले मानिसहरूका लागि नियोजन गर्नुभएको एउटा नियम हो, र कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन भनेर बुझ्नैपर्छ। मानिसहरूको जीवनमा, तिनीहरूको शरीरले ५० वा ६० वर्ष पुग्दा बुढेसकालका केही लक्षणहरू देखाउन थाल्छ—तिनीहरूका मांसपेशी र हड्डीहरू पहिलेजति राम्रा हुँदैनन्, तिनीहरूको प्रतिरक्षा क्षमता घट्छ, तिनीहरू राम्ररी सुत्दैनन्, तिनीहरूलाई सजिलै रुघा लाग्छ, र पढ्न वा काम गर्नका लागि तिनीहरूसँग पर्याप्त ऊर्जा हुँदैन। तिनीहरू विभिन्न रोगहरू जस्तै, मधुमेह, बाथका साथै उच्च रक्तचाप र मुटुको रोगजस्ता हृदय तथा मस्तिष्कसम्बन्धी रोगहरूबाट ग्रसित हुन्छन्। … यी शारीरिक रोगहरू सबै मानिसहरूलाई लाग्नेछन्। आज तिनीहरूलाई लागेको छ, भोलि तिमीहरूलाई वा हामीलाई लाग्नेछ। व्यक्तिको उमेरअनुसार, साथै नियम र नियतिअनुसार, मानिसहरू सबै बिस्तारै बूढो हुनेछन्, तिनीहरूको शरीर बिस्तारै कमजोर हुनेछ, र तिनीहरूका रोगहरू बिस्तारै बढ्दै जानेछन् र तिनीहरूले अन्ततः मृत्युको सामना गर्नेछन्—नियम यही हो। यति मात्र हो कि तेरा आमाबुबाले तँलाई हुर्काए र तिनीहरू तेरो सबैभन्दा नजिकका र तैँले सबैभन्दा धेरै चिन्ता गर्ने मानिसहरू हुन्, त्यसैले जब तैँले तेरा आमाबुबा बिरामी परेको खबर सुन्छस्, तब तँ आफ्नो स्नेहको बाधा पार गर्न असक्षम हुन्छस्, र तैँले सोच्छस्, ‘अरू मानिसहरूका आमाबुबा मर्दा मलाई केही जस्तो लाग्दैन, तर मेरा आमाबुबा बिरामी पर्नु हुँदैन, किनभने त्यसले मेरो मुटु टुक्राउनेछ र मलाई दुःख दिनेछ: मैले त्यसबाट पार पाउनै सक्नेछैनँ!’ तिनीहरू तेरा आमाबुबा भएकै कारण तँ सोच्छस् कि तिनीहरू बूढो हुनु वा बिरामी पर्नु हुँदैन, र तिनीहरू मर्नु त झनै हुँदैन—के त्यसले कुनै अर्थ राख्छ? यसले अर्थ राख्दैन, र यो सत्यता होइन। बुझिस्? (बुझेँ।) सबैले आफ्ना आमाबुबा बिस्तारै बुढेसकाल लाग्ने र बिरामी पर्ने वास्तविकताको सामना गर्नेछन्—उदाहरणका लागि, उच्च रक्तचाप, हृदय रोग, मस्तिष्क रक्तस्राव, हेमिप्लेजिया, इत्यादि, साथै विभिन्न क्यान्सरहरू। त्यसकारण, सबैले आफ्ना आमाबुबा बुढेसकाल लाग्ने, बिरामी पर्ने, र त्यसपछि मर्ने प्रक्रियाको अनुभव गर्नेछन्। यति मात्र हो कि यो अनुभवको समय हरेक व्यक्तिका लागि फरक हुन्छ, तर यी कुराहरू जहिले आइपरे पनि, छोरा वा छोरीको रूपमा, तैँले यो तथ्यलाई स्विकार्नैपर्छ। यदि तँ वयस्क होस् भने, तेरो सोचाइ परिपक्व हुनुपर्छ, मानिसहरू जन्मनु, बूढो हुनु, बिरामी पर्नु, र मर्नुप्रति तँसित सही मनोवृत्ति हुनुपर्छ, र तैँले त्यसलाई सामान्य रूपमा सामना गर्न सक्नुपर्छ। तैँले त्यसलाई पन्छाउने वा त्यसको प्रतिरोध गर्ने प्रयास गर्नु हुँदैन, वा तेरा आमाबुबा बिरामी छन् वा मरेका छन् भनेर सुन्दा तैँले आवेगमा आएर गुनासोका शब्दहरू निकाल्ने, स्वर्ग र पृथ्वीबारे गुनासो गर्ने र परमेश्वरबारे गुनासो गर्ने हदसम्म जानु हुँदैन। हरेक व्यक्तिले जन्म, बुढेसकाल, बिमारी, र मृत्युका यी तथ्यहरूलाई स्विकार्न र सामना गर्नु जरुरी छ; यो नै परमेश्वरले नियोजन गर्नुभएको मानव अस्तित्वको नियम हो। तैँले यसलाई किन स्विकार्न सक्दैनस्? के तँ यसबाट उम्कन सक्छस्? तँ आफ्ना आमाबुबा बिरामी नपरून् वा नमरून् भन्ने चाहन्छस्, तँ तिनीहरू अमर होऊन् भन्ने चाहन्छस्—के यो नियमअनुरूप छ? के यो सम्भव छ? के तैँले कुनै सृजित प्राणी देखेको छस् जो अमर छ? एक जना पनि छैन। त्यसकारण, तैँले यो तथ्यलाई स्विकार्नैपर्छ। तेरा आमाबुबा बुढेसकाल लाग्दैछन्, तिनीहरू बिरामी परेका छन्, वा तिनीहरू मरेका छन् भन्ने खबर सुन्नुअघि तँ पहिले नै मानसिक रूपमा तयार हुनुपर्छ। एक दिन, ढिलो-चाँडो, हरेक व्यक्ति बूढो हुनेछ, कमजोर हुनेछ, र मर्नेछ। तेरा आमाबुबा सामान्य मानिसहरू हुन्, त्यसकारण तिनीहरूले किन यो चरण अनुभव गर्न सक्दैनन् र? तिनीहरूले यो चरण अनुभव गर्नुपर्छ, र तैँले यसलाई सही तरिकाले लिनुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनहरूले मलाई बिस्तारै शान्त बनायो। जन्म, बुढेसकाल, बिमारी, र मृत्यु, यो परमेश्वरले मानिसका लागि निर्धारण गर्नुभएको जीवनको नियम हो। मेरी आमा ६० वर्ष नाघिसक्नुभएकाले, उहाँका अङ्ग र शारीरिक कार्यहरू बिस्तारै कमजोर हुँदै थिए, र उहाँको शरीरमा रोगहरू देखा पर्नु सामान्य थियो। मैले परमेश्वरसँग तर्क गर्न वा अव्यावहारिक व्यवहार गर्नु हुँदैनथ्यो, आफ्नै जीवनका वर्षहरूलाई आमाको स्वास्थ्य र दीर्घायुका लागि साट्ने प्रयास गर्नु हुँदैनथ्यो। यो परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित नहुनु हो। म एउटा तुच्छ सृजित प्राणी हुँ, र परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र मैले परमेश्वरले मानिसका लागि निर्धारण गर्नुभएको जीवनको नियमलाई स्वीकार गर्नुपर्छ, र जे आउँछ, त्यसैलाई अनुभव गर्दै जानुपर्छ। मैले हरेक दिन अनुभव गर्ने कुराहरू निर्णय वा परिवर्तन गर्न समेत सक्दिनँ, तैपनि मैले मेरी आमाको भाग्य परिवर्तन गर्ने व्यर्थ आशा राखेकी थिएँ। यो साँच्चै भ्रममा पर्नु र असमझदार हुनु थियो! तर, जब मैले आमा चाँडै बित्नुहुनेछ भन्ने सोचेँ, म एकदमै दुःखित भएँ। म रोएँ र परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरी आमालाई यति गम्भीर रोग लागेको र उहाँ चाँडै बित्न सक्नुहुन्छ भनी अचानक थाहा पाएर, मेरो हृदयले यो स्वीकार गर्न सकेको छैन। कृपया मलाई समर्पित हुन र पाठ सिक्न सक्ने गरी डोऱ्याउनुहोस्।”
पछि, मैले सचेत भएर आफ्नो स्थितिसँग सम्बन्धित परमेश्वरका वचनहरू खोजेँ। एक दिन मेरो भक्तिको समयमा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “तेरा आमाबुबालाई जुनसुकै रोग लागे पनि, तँलाई हुर्काउँदा धेरै थकित भएर, वा तिनीहरूलाई तेरो धेरै याद आएर त्यस्तो भएको हुँदैन; विशेषगरी तिनीहरू तेरो कारणले गर्दा ती कुनै पनि ठूला, गम्भीर रोगहरू वा घातक अवस्थाहरूको सिकार हुनेछैनन्। त्यो तिनीहरूको भाग्य हो, र तँसँग त्यसको कुनै सम्बन्ध हुँदैन। तैँले जति नै आमाबुबाप्रतिको धर्म निभाए पनि वा जतिसुकै विचारशील भएर तिनीहरूको ख्याल गरे पनि, बढीमा तैँले केवल तिनीहरूको शारीरिक पीडा र बोझलाई थोरै कम गर्नेछस्। तर तिनीहरू कहिले बिरामी हुन्छन्, तिनीहरूलाई कुन रोग लाग्छ, तिनीहरू कहिले मर्छन्, र कहाँ मर्छन् भन्ने कुराहरूको हकमा भन्दा—के यी कुराहरूसँग तैँले छेउमै बसेर तिनीहरूको हेरचाह गरिरहेको छस् कि छैनस् भन्ने कुराको कुनै सम्बन्ध हुन्छ? अहँ, हुँदैन। यदि तैँले आमाबुबाप्रति छोराछोरीको धर्म निभाउँछस् भने, यदि तँ कसैको वास्ता नगर्ने बैगुनी होइनस् भने, र तैँले दिनभरि तिनीहरूसँगै बसेर तिनीहरूको हेरचाह गरिस् भने, के तिनीहरू बिरामी पर्दैनन्? के तिनीहरू मर्दैनन्? यदि तिनीहरू बिरामी हुनु छ भने, जसरी पनि बिरामी हुँदैनन् र? यदि तिनीहरू मर्नु छ भने, जसरी पनि मर्दैनन् र? होइन र?” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने आमाबुबा बिरामी पर्छन् कि पर्दैनन्, बिमारी कति गम्भीर हुन्छ, वा उनीहरू मर्छन् कि मर्दैनन्, यी सबै कुरा परमेश्वरद्वारा पूर्वनिर्धारित र बन्दोबस्त गरिएका हुन्छन्, र यसको उनीहरूका छोराछोरीसँग कुनै सरोकार हुँदैन। छोराछोरी आमाबुबाको छेउमा होऊन् वा नहोऊन्, आमाबुबाले जीवनमा भोग्ने कष्ट, बाधा र सङ्कष्टहरू अपरिहार्य हुन्छन्, र उनीहरूका छोराछोरीले केही पनि परिवर्तन गर्न सक्दैनन्। मैले मेरा हजुरबुबालाई सम्झिएँ। उहाँका छोराछोरी सबै उहाँको साथमै थिए, र उहाँ स्वस्थ देखिनुहुन्थ्यो, तर जब उहाँ लगभग ६० वर्षको हुनुहुन्थ्यो, उहाँलाई गम्भीर बिमारी लाग्यो, जसबाट उहाँ पक्षाघात भएर ओछ्यानमा पर्नुभयो, र उहाँ अचेत अवस्थामा पुग्नुभयो, र उहाँलाई दिसा-पिसाब, खानपिन जस्ता सबै कुराका लागि अरूको हेरचाह चाहिने भयो। मेरी आमा, मामा र सानीमाले पालैपालो दिनरात उहाँको हेरचाह गर्नुभयो, हरेक दिन उहाँको मालिस गर्नुभयो, उहाँसँग कुरा गर्नुभयो, र वर्षौंसम्म ध्यानपूर्वक हेरचाह गर्नुभयो, तर उहाँ कहिल्यै ब्यूँझनुभएन। अहिले मेरी आमा गम्भीर बिरामी भएर ओछ्यानमा पक्षाघातले पर्नुभएको थियो। यदि म उहाँको छेउमा बसेर उहाँको दैनिक आवश्यकताको हेरचाह गरेँ भने पनि, त्यसले उहाँको शरीरलाई अलिकति आराम मात्र दिनेथियो, तर म उहाँको बिमारीको पीडालाई उहाँको सट्टामा भोग्न सक्ने थिइनँ। उहाँ निको हुनुहुन्छ कि बित्नुहुन्छ भन्ने कुरा मैले परिवर्तन गर्न नसक्ने कुरा थियो। यो कुरा बुझेपछि, मैले आमाप्रतिको मेरो केही चिन्ता छाडिदिएँ।
कहिलेकाहीँ, जब मैले दिदीले पत्रमा भनेको कुरा सम्झिन्थेँ, मलाई अझै पनि मुटु दुखेर आउँथ्यो र कष्ट हुन्थ्यो। दिदीले भन्नुभएको थियो, “‘कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्छ।’ जनावरहरूले समेत आफ्ना आमाबुबाको आदर-सम्मान गर्न जान्दछन्। यदि मानिसलाई यति पनि थाहा हुँदैन भने, ऊ जनावरभन्दा पनि नीच हो।” मैले घरबाट टाढा बसेको वर्षहरू सम्झिएँ। घरमा यति ठूलो घटना भएको थियो, तर म कहिल्यै देखा परिनँ। हाम्रा छिमेकी, आफन्त, र साथीहरूले मेरो बारेमा के भनिरहेका थिए, मलाई थाहा थिएन, तर उनीहरूले पक्कै पनि मेरो पछाडि कुरा काटिरहेका हुनेछन्, मलाई अनादर गर्ने भन्दै, आमा गम्भीर बिरामी भएर मृत्युको मुखमा पुग्दा पनि घर नआएको भन्दै। मेरी आमाले मलाई सानैदेखि हुर्काउनुभयो, र यो उपकार मैले जीवनभर तिर्न सक्ने थिइनँ, त्यसैले मैले आमालाई सबैभन्दा राम्रो जीवन दिन सक्दो प्रयास गर्नुपर्थ्यो, ताकि उहाँले खाने-लाउने चिन्ता गर्न नपरोस्, र खुशी, शान्तिपूर्ण बुढेसकाल बिताउन सक्नुहोस्। तर अहिले उहाँ बिरामी हुँदा, म उहाँको हेरचाह समेत गर्न सकिनँ। मलाई लाग्यो, म साँच्चै जनावरभन्दा पनि नीच थिएँ। यो सोच्दा मेरो मुटुमा छुरा रोपेजस्तो हुन्थ्यो, र म अक्सर गोप्य रूपमा रुन्थेँ, आमाको पालनपोषणको उपकार तिर्न नसकेकोमा दोषी महसुस गर्थेँ। मेरो स्थिति गलत रहेको महसुस गरेर, मैले परमेश्वरका वचनहरू खोजेर पढेँ।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तेरा आमाबुबाले तँलाई जन्म दिने कुरालाई हेरौँ। के तँलाई तिनीहरूले जन्माऊन् भनेर तैँले रोजेको होस्, कि तँलाई जन्माऊँ भनेर तेरा आमाबुबाले रोजेका हुन्? यदि तैँले यसलाई परमेश्वरको दृष्टिकोणबाट हेरिस् भने, यो मानवले रोज्ने कुरा होइन। तँलाई तेरा आमाबुबाले जन्माऊन् भनेर तैँले रोजेको होइनस्, न त तिनीहरूले नै रोजेका हुन्। यस मामलाको जडलाई हेर्दा, यो परमेश्वरद्वारा नियोजन गरिएको हो। हामी यो विषयलाई अहिलेका लागि पन्छाउनेछौँ, किनकि मानिसहरूलाई यो कुरा बुझ्न सहज नै हुन्छ। तेरो दृष्टिकोणबाट हेर्दा, तँ निष्क्रिय रूपमा तेरा आमाबुबाबाट जन्मिएको थिइस्, र यस विषयमा तँसँग कुनै विकल्प थिएन। तेरा आमाबुबाको दृष्टिकोणबाट हेर्दा, छोराछोरी जन्माउनु र हुर्काउनु तिनीहरूको व्यक्तिगत इच्छा थियो। अर्को शब्दमा भन्दा, परमेश्वरको नियोजनलाई पन्छाएर हेर्दा, छोराछोरी जन्माउने र हुर्काउने कुरामा तेरा आमाबुबाको नै सबै हात थियो। तिनीहरूले तँलाई जन्माउने निर्णय गरे। तँ तिनीहरूबाट निष्क्रिय रूपमा जन्मिएको थिइस्। यस मामलामा तँसँग कुनै विकल्प थिएन। त्यसकारण, तेरा आमाबुबाको नै सबै हात भएकोले, र तिनीहरूले तँलाई जन्म दिएकाले, तिनीहरूमा तँलाई हुर्काएर वयस्क बनाउने दायित्व र जिम्मेवारी रहन्छ। चाहे तँलाई शिक्षा दिने कुरा होस्, वा खान-लाउन दिने कुरा होस्, यो तिनीहरूकै दायित्व र जिम्मेवारी हो, र तिनीहरूले गर्नुपर्ने कुरा यही हो। जबकि तिनीहरूले तँलाई हुर्काइरहेका बेला तँ सधैँ निष्क्रिय थिइस्, तँसँग छनौट गर्ने अधिकार थिएन—तिनीहरूद्वारा नै तँ हुर्काइनुपर्थ्यो। तँ सानै भएकोले, तँसँग आफ्नो हेरचाह गर्ने क्षमता थिएन, तँसँग तेरा आमाबुबाको हातबाट निष्क्रिय रूपमा हुर्किनेबाहेक अरू कुनै विकल्प थिएन। तेरा आमाबुबाले तँलाई जसरी हुर्काए पनि, त्यो तेरो हातको कुरा थिएन। यदि तिनीहरूले तँलाई राम्रो खानपान दिए भने, तैँले राम्रो खानपान पाउँथिस्। यदि तेरा आमाबुबाले तँलाई रोटी र पानी खाएर बाँच्ने वातावरण दिएका भए, तँ रोटी र पानी नै खाएर बाँचिस्। जे भए पनि, जब तँ हुर्किरहेको थिइस्, तब तँ निष्क्रिय थिइस्, र तेरा आमाबुबाले आफ्नो जिम्मेवारी पूरा गरिरहेका थिए। यो कुरा त तेरा आमाबुबाले कुनै फूलको हेरचाह गरेजस्तै हो। तिनीहरू फूलको हेरचाह गर्न इच्छुक भएका हुनाले, तिनीहरूले त्यसलाई मलजल गर्नुपर्छ, र त्यसले घामको प्रकाश पाउने सुनिश्चित गर्नुपर्छ। त्यसैले, जब मानिसहरूको कुरा आउँछ, तेरा आमाबुबाले तँलाई सावधानीपूर्वक हेरचाह गरे पनि वा तेरो राम्रो देखभाल गरे पनि, आखिरमा तिनीहरूले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए। तँलाई हुर्काउनुमा तिनीहरूको उद्देश्य जे भए पनि, त्यो तिनीहरूको जिम्मेवारी थियो—तिनीहरूले तँलाई जन्म दिएका हुनाले, तिनीहरूले तेरो जिम्मेवारी लिनुपर्छ। यसको आधारमा, के तेरा आमाबुबाले तेरा लागि गरेका सबै कुरालाई दयाका रूपमा लिन सकिन्छ? सकिँदैन, होइन र? (हजुर।) तेरा आमाबुबाले तँप्रतिको जिम्मेवारी गर्नुलाई तेरा आमाबुबाको दयाका रूपमा लिन मिल्दैन, त्यसैले यदि तिनीहरूले फूल वा बोटबिरुवाप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्छन्, त्यसलाई मलजल गर्छन् भने, के त्यो दयामा गनिन्छ? (गनिँदैन।) त्यो त झन् दया हुँदै होइन। फूलहरू र बोटबिरुवाहरू बाहिर नै राम्रोसँग बढ्छन्—यदि तिनलाई हावा, घाम र वर्षाको पानी पाउने गरी जमिनमा रोपिए भने, ती झनै फस्टाउँछन्। तिनलाई घरभित्र गमलामा रोपियो भने बाहिर जस्तो हुर्किँदैनन् वा राम्रो हुँदैनन्! जस्तोसुकै परिवारमा जन्मिए पनि, यो कुरा परमेश्वरले नै नियोजित गर्नुभएको हुन्छ। तँ जीवन बोकेको व्यक्ति होस्, र परमेश्वरले हरेक जीवनको जिम्मेवारी लिनुहुन्छ, मानिसहरूलाई बाँच्न सक्ने तुल्याउनुहुन्छ, र सबै प्राणीहरूले पालना गर्नुपर्ने नियम पालना गर्न लगाउनुहुन्छ। यति मात्र हो कि एउटा व्यक्तिका रूपमा, तँ आफ्ना आमाबुबाले तँलाई हुर्काएको परिवेशमा जिइस्, त्यसैले तँ त्यही वातावरणमा हुर्किएको हुनुपर्छ। तँ परमेश्वरको नियोजनका कारण त्यस परिवेशमा जन्मिस्; तेरा आमाबुबाले तँलाई वयस्कावस्थासम्म हुर्काउनु पनि परमेश्वरको नियोजनका कारणले गर्दा नै हो। जे भए पनि, तँलाई हुर्काउनुमा तेरा आमाबुबाले एउटा जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्। तँलाई वयस्कतासम्म हुर्काउनु तिनीहरूको दायित्व र जिम्मेवारी हो, र यसलाई दया भन्न मिल्दैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। “गैरविश्वासी संसारमा एउटा भनाइ छ: ‘कागले बुढेसकाल लागेकी आमालाई खाना खुवाउँछ, र पाठाले घुँडा टेकेर दूध चुस्छ।’ यो भनाइ पनि छ: ‘आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ।’ यी भनाइहरू कति भव्य सुनिन्छन्! वास्तवमा, ‘कागले बुढेसकाल लागेकी आमालाई खाना खुवाउँछ, र पाठाले घुँडा टेकेर दूध चुस्छ’ भन्ने पहिलो भनाइमा उल्लिखित घटनाहरू वास्तवमै हुने कुरा हुन्, र यी तथ्य हुन्। तर, यी त जीवित प्राणीहरूको संसारमा भेटिने घटना मात्र हुन्। यी कुराहरू परमेश्वरले विभिन्न जीवित प्राणीहरूका लागि स्थापित गर्नुभएको एक किसिमको नियम मात्र हुन्। मानिसलगायत सबै प्रकारका जीवित प्राणीहरूले यो नियम पालना गर्छन्, र यसले सबै जीवित प्राणीहरू परमेश्वरद्वारा सृष्टि गरिएका हुन् भनेर थप पुष्टि गर्छ। कुनै पनि जीवित प्राणीले यस नियमलाई तोड्न सक्दैन, र कुनै पनि जीवित प्राणीले यसलाई पार गर्न सक्दैन। हेर्, सिंह र बाघ अत्यन्तै क्रूर मांसाहारी हुन्, तर तिनले आफ्नो डमरुको पालनपोषण गर्छन् र वयस्क हुनुभन्दा पहिले तिनलाई टोक्दैनन्। यो जनावरको अन्तर्निहित प्रवृत्ति हो। तिनीहरू जुनसुकै प्रजातिका भए पनि, तिनीहरू क्रूर भए पनि वा दयालु र कोमल भए पनि, सबै जनावरहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। मानिसलगायत सबै प्रकारका प्राणीहरू यस्तै एउटा नैसर्गिक प्रवृत्ति र एउटा नियम पालना गरेर मात्र सन्तान उत्पादन गरिरहन र जिइरहन सक्छन्। यदि तिनीहरूले यो नियम पालना गरेनन्, वा यदि यो नियम र यो नैसर्गिक प्रवृत्ति नभएको भए, तिनीहरू सन्तान उत्पादन गर्न र जिइरहन सक्षम हुनेथिएनन्। जैविक श्रृङ्खला अस्तित्वमा रहने थिएन, न त यो संसार नै अस्तित्वमा रहनेथियो। के यो कुरा साँचो होइन र? (हो।) कागले बुढेसकाल लागेकी आमालाई खाना खुवाउँछ, र पाठाले घुँडा टेकेर दूध चुस्छ भन्ने कुराले जीवित प्राणीहरूको संसारले यस प्रकारको नियम पालना गर्छ भन्ने कुरालाई ठ्याक्कै पुष्टि गर्छ। सबै प्रकारका जीवित प्राणीहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। सन्तान जन्मिएपछि, त्यो वयस्क नभएसम्म त्यस प्रजातिको भाले वा पोथीले त्यसको हेरचाह र पालनपोषण गर्छ। सबै प्रकारका जीवित प्राणीहरू सचेत र कर्तव्यनिष्ठ भएर आफ्नो सन्तानलाई हुर्काउँदै तिनीहरूप्रतिका जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्षम हुन्छन्। यो कुरा मानिसहरूमा अझ बढी लागू हुनुपर्ने हो। मानवजातिले मानिसहरूलाई उच्च स्तरका जनावर भन्छ—यदि तिनीहरूले यो नियम पालना गर्न सक्दैनन्, र तिनीहरूमा यस अन्तर्निहित प्रवृत्तिको कमी छ भने, मानिसहरू जनावरभन्दा खराब हुन्, होइनन् र? त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउँदा तेरो जति हेरचाह गरे पनि वा तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी जति पूरा गरे पनि, तिनीहरूले सृजित प्राणीले गर्नुपर्ने काम मात्र गरिरहेका थिए—यो तिनीहरूको नैसर्गिक प्रवृत्ति हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))।
परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदय अलिकति उज्यालो भयो। सन्तान हुर्काउनु भनेको परमेश्वरले जीवित प्राणीहरूलाई दिनुभएको एक प्राकृतिक वृत्ति हो; यो परमेश्वरले सबै जीवित प्राणीका लागि स्थापना गर्नुभएको जीवनको नियम हो। निर्दयी पशु होस् वा शान्त जनावर, सबैले यस्ता नियमहरू पालना गर्छन्, र यसरी नै मानिसहरू लगायत सबै प्रकारका प्राणीहरूले निरन्तर रूपमा वंश वृद्धि गर्न र बाँच्न सक्छन्। जब आमाबुबाले छोराछोरी जन्माउने निर्णय गर्छन्, उनीहरूले छोराछोरी हुर्काउने र हेरचाह गर्ने जिम्मेवारी र दायित्व लिनुपर्छ। यो परमेश्वरले निर्धारण गर्नुभएका नियमहरूको पालना गर्नु र त्यसअनुरूप चल्नु हो; यो आमाबुबाको आफ्नै कर्तव्य हो, र यसलाई छोराछोरीमाथि लादिएको उपकारको रूपमा व्यवहार गर्नु हुँदैन। “कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्छ” यो केवल परमेश्वरले यी प्राणीहरूका लागि बनाउनुभएको एक नियम हो, प्राणीहरूको एक सहज व्यवहार हो। यो मानिसहरूले सिकाएजस्तो, जनावरहरूले आफ्ना आमाबुबाप्रति आदर देखाएको र उपकार तिरेको अभिव्यक्ति होइन। यसबाहेक, बाहिरी रूपमा, आमाबुबाले आफ्ना छोराछोरीको हेरचाह र पालनपोषण गरिरहेको देखिन्छ, तर वास्तविकतामा, पृष्ठभूमिमा हरेक व्यक्तिको भाग्यमाथि सार्वभौमिकता राख्ने र बन्दोबस्त गर्ने परमेश्वर नै हुनुहुन्छ। मलाई मेरी आमाले एक पटक भन्नुभएको कुरा याद आयो। म जन्मनुअघि, उहाँको एउटी छोरी थिइन्, जो ३ वर्षको उमेरमा अचानक बिरामी भएर बितिन्। मैले कहिल्यै भेट्न नपाएकी मेरी दिदीलाई पनि आमाले आफ्नो सारा हृदयले हेरचाह गर्नुभएको थियो। तर, उहाँको दुःखद रूपमा कलिलै उमेरमा निधन भयो, जबकि म आजसम्म स्वस्थ रूपमा हुर्कन सकेकी छु। हामी एउटै आमाका सन्तान भए पनि, हाम्रो भाग्य एकदमै फरक थियो। यसले मलाई अझ स्पष्ट रूपमा के देखायो भने मानिसको भाग्य परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तको अधीनमा छ, र आमाबुबाले आफ्ना छोराछोरीलाई हुर्काउने र हेरचाह गर्ने जिम्मेवारी मात्र लिन सक्छन्, तर उनीहरूले आफ्ना छोराछोरीको भाग्यलाई नियन्त्रण गर्न वा परिवर्तन गर्न सक्दैनन्। घर छोडेपछिका वर्षहरूमा मैले त्यति धेरै कठिनाइ र बाधाहरू कसरी सामना गरेकी थिएँ भनेर मैले सोचेँ। कति पटक त म अगाडि बढ्नै सक्दिनँ जस्तो लागेको थियो, तर परमेश्वरले नै मलाई निरन्तर डोऱ्याउनु र मद्दत गर्नुभयो। मलाई याद छ, एक पटक मेरो अवस्था एकदमै खराब थियो, तर परमेश्वरले दाजुभाइ-दिदीबहिनीहरूमार्फत, धैर्यतापूर्वक मसँग सत्यको बारेमा सङ्गति गर्नुभयो, मलाई मद्दत र सहारा दिनुभयो, र तब मात्र मेरो सुन्न भएको हृदय बिस्तारै जाग्न थाल्यो, र मैले आफ्नो बारेमा सोच्न र परमेश्वरतिर फर्कन थालेँ। परमेश्वरले सुविचारसाथ मेरो आवश्यकताअनुसार विभिन्न व्यक्ति, घटना, र कामकुरा बन्दोबस्त गर्नुभयो, मेरो भौतिक आवश्यकताहरू मात्र पूरा गर्नुभएन, बरु मेरो जीवनका लागि जिम्मेवारी लिनुभयो। परमेश्वरको प्रेमको बारेमा सोच्दा, मेरो हृदय निकै द्रवित भयो। तर म शैतानका भ्रमपूर्ण कुराहरूद्वारा प्रभावित भएकी र धोकामा परेकी थिएँ, बाल्यकालदेखि नै मैले परमेश्वरबाट पाएका सबै कुराको श्रेय मेरी आमाको प्रयासलाई दिँदै, आमाको हेरचाहविना म आजको जस्तो व्यक्ति बन्ने थिइनँ भन्ने सोच्दै। त्यसैले मैले उहाँको हेरचाह गर्न घर फर्कनका लागि आफ्नो कर्तव्य त्याग्न चाहें। यसले मेरो आफ्नै अवस्थालाई मात्र असर गरेन, तर मेरो कर्तव्यको परिणामलाई पनि असर गर्यो। यदि परमेश्वरका वचनहरूले खुलासा नगरेका भए, म अझै पनि यही गलत धारणामा विश्वास गरिरहेकी हुन्थेँ, कष्ट र पीडा भोगिरहेकी हुन्थेँ। यो कुरा बुझेपछि, मेरो हृदय राहतले भरियो।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, र म आफ्ना आमाबुबालाई कसरी व्यवहार गर्ने भन्ने बारेमा अझ स्पष्ट भएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्—अर्थात्, तिनीहरूले तँलाई यति धेरै वर्षसम्म हुर्काए भन्दैमा तैँले तिनीहरूलाई प्रतिदान गर्नैपर्छ भनेर सधैँ सोचिरहनु हुँदैन, र यदि तँ तिनीहरूलाई प्रतिदान गर्न सक्षम छैनस् भने, यदि तँसँग तिनीहरूलाई प्रतिदान गर्ने अवसर वा अवस्था छैन भने, तैँले सधैँ दुःखी र दोषी महसुस गर्नु हुँदैन, र कसैलाई आफ्ना आमाबुबासँग देख्दा, उसले तिनीहरूको हेरचाह गरेको र तिनीहरूप्रति छोराछोरीको धर्म निभाएको देख्दा पनि दुःखी महसुस गर्नु हुँदैन। परमेश्वरले तेरा आमाबुबाले तँलाई हुर्काउनेछन् भनी नियोजन गर्नुभयो, तर तैँले आफ्नो जीवन तिनीहरूलाई प्रतिदान गर्नमै बिताएस् भनेर होइन। यो जीवनमा तँसँग जिम्मेवारी र दायित्वहरू छन् जुन तैँले पूरा गर्नुपर्छ, र एउटा मार्ग छ जुन तैँले लिनैपर्छ; तेरो आफ्नै जीवन छ। तेरो जीवनमा, तैँले आफ्नो सबै ऊर्जा आफ्ना आमाबुबाप्रतिको धर्म निभाउन र तिनीहरूको दया प्रतिदान गर्नमा लगाउनु हुँदैन। आफ्ना आमाबुबाप्रतिको धर्म निभाउनु तेरो जीवनको एउटा पाटो मात्र हो। यो मानव स्नेहका सम्बन्धहरूमा अपरिहार्य कुरा हो। तर तँ र तेरा आमाबुबाबीच कस्तो प्रकारको सम्बन्ध जुरेको छ र तिमीहरू कति लामो समयसम्म सँगै बस्न सक्नेछौ भन्ने कुरा परमेश्वरका योजनाबद्धता र बन्दोबस्तहरूमा निर्भर हुन्छ। यदि परमेश्वरले तँ र तेरा आमाबुबा फरक-फरक ठाउँमा हुनेछौ, तँ तिनीहरूबाट धेरै टाढा हुनेछस् र तिमीहरू सँगै बस्न पाउनेछैनौ भनी योजनाबद्ध र बन्दोबस्त गर्नुभएको छ भने, यो जिम्मेवारी पूरा गर्नु भनेको तेरा लागि एक प्रकारको तृष्णा मात्रै हो। यदि परमेश्वरले तेरो निवास तेरा आमाबुबाको धेरै नजिक हुने, र तँ तिनीहरूको छेउमा बस्न सक्ने बन्दोबस्त गर्नुभएको छ भने, आफ्ना आमाबुबाप्रति केही जिम्मेवारीहरू पूरा गर्नु र तिनीहरूप्रति छोराछोरीको धर्म पूरा गर्नु तैँले गर्नुपर्ने कुराहरू नै हुन्—यसमा आलोचना गर्न सकिने केही पनि छैन। तर यदि तँ आफ्ना आमाबुबाभन्दा फरक ठाउँमा छस्, र तँसँग आमाबुबाप्रति छोराछोरीको कर्तव्य पूरा गर्ने मौका वा सही परिस्थितिहरू छैनन् भने, तैँले यसलाई लाजमर्दो कुराको रूपमा लिनु पर्दैन। तैँले छोराछोरीको कर्तव्य पूरा गर्न नसक्नुको अर्थ तैँले आफ्ना आमाबुबालाई अन्याय गरेको छस् भन्ने होइन; तेरा परिस्थितिहरूले साथ नदिएको मात्र हो। सन्तानका रूपमा, तैँले तेरा आमाबुबा तेरा ऋणदाता होइनन् भन्ने कुरा बुझ्नुपर्छ। यदि तैँले आफ्ना आमाबुबाको दया प्रतिदान गर्नमा मात्रै ध्यान दिन्छस् भने, यो तैँले निर्वाह गर्नुपर्ने धेरै कर्तव्यहरूमा बाधक बन्नेछ। तैँले आफ्नो जीवनमा गर्नुपर्ने धेरै कुराहरू छन्, र तैँले निर्वाह गर्नुपर्ने यी कर्तव्यहरू एक सृजित प्राणीले गर्नुपर्ने, र सृष्टिकर्ताले तँलाई सुम्पनुभएका कामकुरा हुन्, र तैँले आफ्ना आमाबुबाको दया प्रतिदान गर्नुसँग तिनको कुनै सम्बन्ध छैन। आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनु, तिनीहरूलाई प्रतिदान गर्नु, तिनीहरूको दया फर्काउनु—तेरो जीवनको मिसनसँग यी कुराहरूको कुनै सम्बन्ध छैन। तैँले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनु, तिनीहरूलाई प्रतिदान गर्नु, वा तिनीहरूप्रतिको आफ्नो कुनै पनि जिम्मेवारी पूरा गर्नु आवश्यक छैन भनेर पनि भन्न सकिन्छ। स्पष्ट रूपमा भन्दा, परिस्थितिहरूले साथ दिँदा तैँले यो काम अलिअलि गर्न र आफ्ना जिम्मेवारीहरू अलिअलि पूरा गर्न सक्छस्; परिस्थितिले साथ नदिँदा, तैँले जबरजस्ती त्यसो गर्नु आवश्यक छैन। यदि तैँले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनलाई आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनस् भने, यो भयानक गल्ती होइन, यो केही हदसम्म तेरो विवेक र नैतिक इन्साफको विरुद्ध जाने मात्र हो, र तँलाई केही मानिसहरूद्वारा निन्दा गरिनेछ—त्यति मात्रै हो। तर कम्तीमा पनि, यो सत्यताको विरुद्ध जाँदैन। यदि यो तेरो कर्तव्य निर्वाह गर्ने र परमेश्वरको इच्छा पछ्याउने खातिर हो भने, तँलाई परमेश्वरद्वारा समेत अनुमोदन गरिनेछ। त्यसकारण, आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउने सम्बन्धमा, जबसम्म तैँले सत्यता बुझ्छस् र मानिसहरूप्रति परमेश्वरका मागहरू बुझ्छस्, तेरा अवस्थाहरूले तँलाई आमाबुबाप्रति छोराछोरीको धर्म निभाउन नदिए पनि, तेरो विवेकले घोच्नेछैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने हरेक व्यक्ति आफ्नो मिसन लिएर यो संसारमा आउँछ, र आमाबुबाप्रति आदर देखाउनु र उनीहरूको पालनपोषणको उपकार तिर्नुको व्यक्तिको मिसनसँग कुनै सरोकार हुँदैन। यदि हामी हाम्रा आमाबुबासँग बस्छौँ भने, आफ्नो क्षमताअनुसार उनीहरूको हेरचाह गर्नु र आदर-सम्मान गर्नु हाम्रो कर्तव्य हो। तर यदि परिस्थितिले अनुमति दिँदैन र हामी हाम्रा आमाबुबासँग बस्न सक्दैनौँ भने, उनीहरूको हेरचाह गर्न नसकेकोमा हामीले दोषी वा ऋणी महसुस गर्नु हुँदैन, र बरु हामीले आफ्नो कर्तव्यलाई प्राथमिकता दिनुपर्छ। मलाई सुसमाचार प्रचार गरेकाले प्रहरीले पक्राउ गरेको थियो, र अब मेरो प्रहरी रेकर्ड बनेको थियो। मैले मनमनै सोचेँ, “यदि म अहिले घर फर्केँ भने, त्यो त आफैँ जालमा पर्नु जस्तै हुनेछ। आमाको हेरचाह गर्ने कुरा त परै जाओस्, मेरो व्यक्तिगत सुरक्षा समेत खतरामा पर्न सक्छ।” यी परिस्थितिहरूलाई हेर्दा, म घर फर्कन सक्दिनथेँ, त्यसैले मैले आफ्नो मन शान्त पारेर आफ्नो कर्तव्य राम्ररी गर्नुपर्छ। यही नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मेरी आमाको उमेर ढल्किँदै गएकाले, बिमारी र मृत्यु जीवनका स्वाभविक हिस्सा थिए। म उहाँको हेरचाह गर्न वा आदर-सम्मान गर्न असमर्थ थिएँ, र मलाई केही पछुतो लागे पनि, म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन तयार थिएँ। परमेश्वरले सबैको भाग्य पहिले नै निर्धारण गरिसक्नुभएको छ, र जन्म, बुढेसकाल, बिमारी, र मृत्यु सबै परमेश्वरको हातमा छन्। मैले उहाँका लागि जतिसुकै चिन्ता र फिक्री गरे पनि, उहाँको साथमा बसेर हेरचाह गरे पनि, मैले मेरी आमाको भाग्य परिवर्तन गर्न सक्दिनथेँ। यी कुराहरू बुझेपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरी आमाको बिमारी तपाईँको हातमा छ, र उहाँ बाँच्नुहुन्छ कि मर्नुहुन्छ त्यो तपाईँको हातमा छ। उहाँ कति वर्ष बाँच्नुहुन्छ त्यो पनि तपाईँले पहिले नै निर्धारण गरिसक्नुभएको छ, र म मेरी आमालाई तपाईँको हातमा सुम्पन तयार छु। परिणाम जे भए पनि, म तपाईँको योजनाबद्ध कार्य र बन्दोबस्तहरू स्विकार्न र त्यसप्रति समर्पित हुन तयार छु।” प्रार्थना गरेपछि, मेरो हृदयले धेरै सहज र स्वतन्त्र महसुस गर्यो, र मैले यस विषयमा अब चिन्ता गरिनँ। मैले आफ्नो मन शान्त पारेर आफ्नो कर्तव्य गर्न सकेँ। परमेश्वरलाई धन्यवाद!