३१. मैले मेरो हीनताबोध समाधान गर्ने मार्ग पाएँ
म सानो छँदा, मेरा आमाबुबा पैसा कमाउन व्यस्त भएर मेरो हेरचाह गर्ने समय नभएकाले उहाँहरूले मलाई हुर्काउन मेरो हजुरआमाको घरमा पठाउनुभयो। त्यो बेला परिवार नियोजन जनगणना चलिरहेको थियो, र हजुरआमाको घरमा मेरो नाम दर्ता नभएकाले, जरिवानाबाट बच्न, हरेक पटक गाउँमा परिवार नियोजनबारे जाँच हुन्थ्यो, हजुरआमाले मलाई बोकेर लुकाउनुहुन्थ्यो। छिमेकीहरूले मलाई घरपरिवार दर्ता नभएको भनेर गिज्याउँथे, “फुच्ची बेनामे” भनेर बोलाउँथे, र आमा नभएकी बच्ची भन्थे। सानो भए पनि, उनीहरू मलाई खिसी गर्दैछन् भनेर म बुझ्न सक्थेँ। मलाई धेरै दुःख लाग्थ्यो। म उनीहरूको अघि पर्न वा अन्य केटाकेटीसँग खेल्न चाहन्नथेँ। धेरैजसो समय, म घरभित्र एक्लै थुनिएर टिभी हेर्थेँ, वा हजुरआमासँग खेल्थेँ। मेरो बाल्यकाल एकदमै दमित र नीरस थियो। पछि, स्कुल जाने उमेरकी भएपछि, मेरा आमाबुबाले मलाई घर ल्याउनुभयो। म अन्तर्मुखी थिएँ, बोल्न मन पराउन्नथेँ, र मानिसहरूलाई अभिवादन गर्दिनँथेँ, त्यसैले आमाले मलाई सुस्त र बहिनीजस्ती बाठी नभएको भन्नुहुन्थ्यो। मलाई पनि आफूमा धेरै कमी छ जस्तो लाग्थ्यो, त्यसैले म मानिसहरूसँग कुरा गर्न झनै हिचकिचाउन थालेँ। बिस्तारै, मलाई अरूसँग कुराकानी गर्न गाह्रो हुन थाल्यो, र अरूसँग बोल्दा के भन्ने वा कुराकानी कसरी सुरु गर्ने भन्ने नै थाहा हुँदैनथ्यो। कहिलेकाहीँ मेरो मनमा कुराहरू हुन्थे र व्यक्त गर्न चाहेका विचारहरू हुन्थे, तर बोल्दा, डर र घबराहटले स्पष्टसँग बोल्न सक्दिनँथेँ। विशेष गरी धेरै मानिसको समूहमा अपरिचितहरूसँग बोल्दा, म यति धेरै आत्तिन्थेँ कि मेरो अनुहार रातो हुन्थ्यो। त्यसैले जहिले पनि घरमा आफन्तहरू आउँदा वा कुनै भोजमा जानुपर्दा, म सकेसम्म सधैँ पर रहन खोज्थेँ, र इन्कार गर्न नसकेमा, म एउटा कुनामा चुपचाप बसेर, अरूलाई हाँस्दै-बोल्दै गरेको हेरिरहन्थेँ।
परमेश्वरलाई विश्वास गर्न थालेपछि पनि म यस्तै थिएँ। मलाई याद छ, एकपटक एउटा भेलामा, मैले ५०-६० जना मानिसको उपस्थिति देखेँ। म तुरुन्तै हच्किएँ, र यति धेरै मानिसका अगाडि बोल्ने आँट गरिनँ। मेरो अभिव्यक्त गर्ने क्षमता थिएन, त्यसैले मलाई लाग्यो मैले प्रस्टसँग बोलिनँ वा अरूले मेरो कुरा बुझेनन् भने, त्यो धेरै अप्ठ्यारो र लाजमर्दो हुनेछ। त्यसैले हरेक पटक सुपरिवेक्षकले मलाई सङ्गति गर्न आग्रह गर्दा, म चुप लागेर सुन्न मात्र मन पराउँथेँ। कहिलेकाहीँ, जब म ब्रदर-सिस्टरहरूसँग व्यावसायिक सीपहरू अध्ययन गर्थेँ, सुपरिवेक्षकले हामीलाई आ-आफ्नो विचार बताउन भन्नुहुन्थ्यो, र म आत्तिन थाल्थेँ र स्पष्ट बोल्न सक्दिनँ कि भनेर डराएर सङ्गति गर्ने आँट गर्दिनँथेँ। केही पटक, अगुवाले मेरो नाम लिएर बोलाएपछि मैले सङ्गति गर्नैपर्ने भयो, र सङ्गति गर्दा, म यति धेरै आत्तिएँ कि मेरो आवाज नै बदलियो, र जति धेरै बोल्दै गएँ, मेरो अनुहार उति नै तातो हुँदै गयो। अन्त्यमा, मैले स्पष्टसँग बोल्न सकिनँ र धेरै लाज लाग्यो। मैले सोचेँ, “म किन यति बेकामे छु? म केवल आफ्नो विचार व्यक्त गर्दैछु, तर किन यति गाह्रो र तनावपूर्ण भइरहेको छ? म प्रस्टसँग बोल्न पनि सक्दिनँ, म कस्तो मूर्ख!” मैले सहकार्य गर्ने सिस्टरहरूलाई स्वाभाविक र धाराप्रवाह रूपमा सङ्गति गरेको देख्दा, मलाई धेरै ईर्ष्या लाग्थ्यो, “मसँग किन यस्तो आत्मविश्वास र साहस छैन? मलाई बोल्न वा आफ्नो विचार व्यक्त गर्न किन यति गाह्रो हुन्छ?” पछि, सुपरिवेक्षकले मलाई टोली अगुवा बनाउनुभयो। मैले मनमनै सोचेँ, “म अन्तर्मुखी छु, बोल्न सिपालु छैन, र धेरै मानिस हुँदा म बोल्ने आँट गर्दिनँ। यदि ब्रदर-सिस्टरहरूले प्रश्न सोधे र मैले स्पष्ट जवाफ दिन सकिनँ भने के होला? त्यो कत्ति अप्ठ्यारो होला?” म चाहन्थेँ सुपरिवेक्षकले अरू कसैलाई खोज्नुहोस्, र म चाहिँ चुपचाप टोलीको सदस्य भएरै बस्न पाऊँ। तर मैले कर्तव्य अस्वीकार गरेँ भने सुपरिवेक्षकमा नराम्रो छाप पर्ला भन्ने डरले मैले त्यो विचारलाई मनबाट हटाएँ। त्यसपछि ब्रदर-सिस्टरहरूको कामलाई अनुगमन गर्ने क्रममा, म अझै पनि हच्किन्थेँ, र जब उनीहरूले मलाई प्रश्न सोध्थे, म सधैँ अरूले नै जवाफ दिउन् भन्ने चाहन्थेँ, किनकि मलाई म कुराहरू प्रस्टसँग बुझाउन वा उनीहरूको समस्या समाधान गर्न सक्दिनँ होला भन्ने डर लाग्थ्यो। यसलाई टार्न नसकेको अवस्थामा, म जबर्जस्ती केही शब्द बोल्थेँ, तर म अझै पनि धेरै आत्तिएकी हुन्थेँ। आफूलाई यस्तो देख्दा, मलाई धेरै निराश लाग्यो, र के महसुस भयो भने यो स्थितिले अरूसँगको मेरो सामान्य कुराकानी र मेरो कर्तव्य पूरा गर्ने क्षमतामा निकै नै असर पारिरहेको थियो। यदि मैले यसलाई छिट्टै बदल्न सकिनँ भने, म आफ्नो कर्तव्यमा झन्-झन् निष्क्रिय हुँदै जानेछु, र यसले पक्कै पनि काममा ढिलाइ गराउनेछ। त्यसैले मैले आफ्ना समस्याहरू समाधान गर्न सचेत भई सत्यताको खोजी गर्न थालेँ।
एक दिन, मैले परमेश्वरका वचनहरू पढेँ जसले मेरो स्थिति ठ्याक्कै सम्बोधन गरे। परमेश्वर भन्नुहुन्छ: “अवस्था जेसुकै भए पनि, डरपोक व्यक्तिलाई केही कठिनाइ आइपर्दा, ऊ पछि हट्छ। किन ऊ यसो गर्छ? एउटा कारण के हो भने, यो उसको हीनताबोधको संवेगले गर्दा हुन्छ। उसलाई हीनताबोध हुने र उसले मानिसहरूको अघि हुने आँट नगर्ने हुनाले, उसले लिनुपर्ने दायित्व र जिम्मेवारीहरूसमेत लिन सक्दैन, न त आफूले आफ्नो क्षमता र सामर्थ्यको दायराभित्र, अनि सामान्य व्यक्तिका रूपमा आफ्नो अनुभवको दायराभित्र वास्तवमै हासिल गर्न सक्ने कुराको बोझ नै उठाउन सक्छ। हीनताबोधको यस संवेगले उसको मानवताको हरेक पक्षलाई असर गर्छ, यसले उसको चरित्रलाई असर गर्छ, र अवश्य नै, यसले उसको व्यक्तित्वलाई पनि असर गर्छ। मानिसहरूको समूहमा, तिनीहरूले आफ्ना दृष्टिकोणहरू बिरलै व्यक्त गर्छन्, र तिनीहरूले आफ्नो दृष्टिकोण वा राय व्यक्त गरेको तँ मुस्किलले सुन्छस्। जब तिनीहरूले कुनै समस्या सामना गर्छन्, तिनीहरू बोल्ने आँट गर्दैनन्, बरु निरन्तर लुरुक्क परेर पछि हट्छन्। थोरै मात्र मानिसहरू हुँदा, तिनीहरूले ती मानिसहरूमाझ बस्ने साहस बटुल्न सक्छन्, तर धेरै मानिस हुँदा, तिनीहरू कुनामा र मधुरो प्रकाश भएको ठाउँमा जान्छन्, अरू मानिसहरूको अगाडि हुने आँट गर्दैनन्। जब-जब तिनीहरूलाई आफू सही छु भन्ने कुरा देखाउन सक्रिय र सकारात्मक रूपमा केही भन्न र आफ्ना दृष्टिकोण र विचारहरू बताउन मन लाग्छ, तब-तब तिनीहरूलाई त्यसो गर्ने आँटसमेत आउँदैन। जब-जब तिनीहरूमा त्यस्ता विचारहरू आउँछन्, तब-तब तिनीहरूमा हीनताबोधको संवेग अचानक उर्लेर आउँछ, र तिनीहरूलाई नियन्त्रित गर्छ, दबाउँछ, र यसो भन्छ, ‘केही नभन्, तँ गतिलो छैनस्। आफ्ना दृष्टिकोणहरू व्यक्त नगर्, र आफ्ना विचारहरू आफैसँग राख्। यदि तेरो हृदयमा केही कुरा छ र तँलाई साँच्चै यो कुरा भन्न मन लागेको छ भने, यसलाई कम्प्युटरमा टिपोट गरेर राख् र मनमनै यसबारेमा गम्भीर मनन गर्। तैँले यो कुरा कसैलाई बताउनु हुँदैन। तैँले गलत कुरा भनिस् भने के गर्ने? त्यो साह्रै लाजमर्दो हुनेछ!’ यस आवाजले तँलाई यो नगर्, त्यो नगर्, यो नभन्, त्यो नभन् भनिरहन्छ, जसले गर्दा तँ आफूले भन्न चाहेको हरेक शब्द फेरि भित्रै निल्छस्। तैँले आफ्नो हृदयमा लामो समयदेखि खेलाउँदै आएको कुरा हुन सक्छ, तर जब बोल्ने समय आउँछ, तब तँ पछि हट्छस्, त्यो भन्ने हिम्मत गर्दैनस्, बोल्न लाज मान्छस्, र तँलाई यो तैँले गर्नै नहुने कुरा हो, त्यो गर्नु कुनै नियम उल्लङ्घन गर्नु वा कानुन तोड्नुजस्तै हुनेछ भन्ने लाग्छ। अनि जब एक दिन तँ सक्रिय रूपले आफ्नो दृष्टिकोण व्यक्त गर्छस्, तब तँलाई भित्र अतुलनीय रूपमा व्याकुल र असहज महसुस हुन्छ। अतुलनीय असहजताको यो भावना बिस्तारै हराएर गए पनि, तेरो हीनताबोधको संवेगले तँमा भएको बोल्न चाहने, आफ्नै दृष्टिकोणहरू व्यक्त गर्न चाहने, सामान्य व्यक्ति बन्न चाहने, र अरू सबैजस्तै हुन चाहने विचार, अभिप्राय र योजनाहरूलाई बिस्तारै दबाइदिन्छ। तँलाई साँच्चै नचिन्नेहरूले तँ थोरै बोल्ने व्यक्ति होस्, तँ शान्त बस्छस्, तेरो लजालु व्यक्तित्व छ, तँ भीडबाट अलग देखिन मन नपराउने व्यक्ति होस्, अरू धेरै मानिसको अगाडि बोल्दा तँलाई लाज लाग्छ र तेरो अनुहार रातो हुन्छ, अनि तँ तुलनात्मक रूपले अन्तर्मुखी छस् भन्ने विश्वास गर्छन्। वास्तवमा, तँ हीनताबोध महसुस गर्छस् भन्ने तँलाई मात्र थाहा छ। … यस संवेगलाई भ्रष्ट स्वभाव भन्न नसकिए पनि, यसले मानिसहरूमा गम्भीर नकारात्मक असर पारिसकेको छ; यसले तिनीहरूको मानवतालाई चरम रूपमा दमन गर्छ र तिनीहरूको सामान्य मानवताका विभिन्न संवेगहरू अनि बोली र कार्यहरूमा ठूलो नकारात्मक प्रभाव पार्छ। यी परिणामहरू एकदमै गम्भीर हुन्। सानो स्तरमा, यसले तिनीहरूको व्यक्तित्व, तिनीहरूको रुचि, र तिनीहरूको महत्त्वाकाङ्क्षालाई असर गर्छ; ठूलो स्तरमा, यसले तिनीहरूको जीवनको लक्ष्य र दिशालाई असर गर्छ। हीनताबोधको यस संवेगका कारणहरूबाट, यसको विकासबाट र यसले व्यक्तिमा ल्याउने परिणामहरूबाट, तैँले यसलाई जुनसुकै पक्षबाट हेरे पनि, के यो मानिसहरूले त्याग्नुपर्ने कुरा होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचनहरू पढेपछि, ममा एकदमै हीनताबोध रहेको थाहा पाएँ। परमेश्वरले खुलासा गर्नुभएको हीनताबोधको स्थिति र अभिव्यक्तिहरू ममा देखिन्थे। मेरो हृदय हीनताबोधले बाँधिएको थियो, र मलाई सधैँ लाग्थ्यो म विभिन्न कुराहरूमा कमजोर छु। मानिसहरूसँगको अन्तरक्रियामा, धेरै मानिसहरू हुँदा म बोल्न डराउँथेँ, वा म एउटा कुनामा लुकेर चुपचाप बस्थेँ। मेरो कर्तव्यमा, जब-जब मैले आफ्नो विचार व्यक्त गर्नुपर्ने हुन्थ्यो, म अनायासै आत्तिन्थेँ, र मेरो सोचाइ सबै जनासँग सहकार्य गरी आफ्नो कर्तव्य कसरी पूरा गर्ने भन्ने हुँदैनथ्यो, बरु, मलाई मेरो भाषा सीप कमजोर छ, मेरो भनाइले मुख्य कुरालाई छुँदैन, र अरूले नै सङ्गति गरे हुन्थ्यो भन्ने लाग्थ्यो। जब कुनै विषयमा मेरो राय वा विचार हुन्थ्यो, म बारम्बार हिचकिचाउँथेँ, सोच्थेँ, “के मैले बोल्नुपर्छ? मेरो राय सही छ त? के अरू मेरो कुरामा सहमत होलान्? आ होस्, म नबोलेकै राम्रो। बरु अरूको विचार सुन्नु नै उत्तम हुन्छ।” म अक्सर यस्ता सोचाइबाट प्रभावित हुन्थेँ, मानौं मेरो मुखमा ताल्चा लागेको र घाँटी बन्द भएको जस्तो, जसले गर्दा धेरै अवस्थामा म आफ्नो विचार र अडान व्यक्त गर्न सक्दिनथेँ। सुपरिवेक्षकले मलाई टोली अगुवा हुन भन्नुभयो, र मलाई थाहा थियो यो कर्तव्य लिएपछि, मैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, तर हरेक पटक जब मैले कामको प्रगतिबारे सोध्नुपर्थ्यो, मेरो मुखबाट शब्द नै निस्किँदैनथ्यो, मलाई डर लाग्थ्यो म प्रस्टसँग बुझाउन सक्दिनँ र अरूले बुझ्दैनन् होला भनेर। त्यो त साँच्चै लाजमर्दो हुनेछ! त्यसैले म सधैँ राम्रो बोल्न सक्ने कसैले ब्रदर-सिस्टरहरूको प्रश्नको जवाफ देओस् भन्ने चाहन्थेँ, र म छेउमा बसेर सुन्ने र सहमति जनाउने मात्र गर्थेँ। फलस्वरूप, मैले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्न सकिनँ, र म आफ्नो कर्तव्यमा झन्-झन् निष्क्रिय हुँदै गएँ। हीनताबोधको यो नकारात्मक भावनाले ममाथि साँच्चै ठूलो असर पार्यो, मलाई झन्-झन् डरछेरुवा र निष्क्रिय बनाउँदै लग्यो, र यहाँसम्म कि म अरूसँग सामान्य रूपमा कुराकानी गर्न पनि नसक्ने भएँ। मैले आफ्नो जिम्मेवारीको भावना र अघि बढ्ने जोश गुमाएँ, र मैले आफूलाई झन्-झन् नकारात्मक रूपमा मूल्याङ्कन गर्न र आफ्नो बारेमा फैसला सुनाउन थालेँ, र पछि हट्ने मेरो इच्छा झन् बलियो हुँदै गयो। मैले हीनताका यी भावनाले बाँधिनु र नियन्त्रित हुनु कत्ति पीडादायी छ भन्ने देखेँ।
त्यसपछि, मैले यस समस्याका समाधानहरू खोजेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “यसो हेर्दा, हीनताबोध मानिसहरूमा प्रकट हुने संवेग हो; तर वास्तवमा, यसको मूल कारण शैतानको भ्रष्टता, मानिसहरू जिउने वातावरण, र मानिसहरूका आफ्नै वस्तुगत कारणहरू हुन्। सारा मानवजाति दुष्टको शक्तिको अधीनमा छ, शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएको छ, र कसैले पनि आफ्ना छोराछोरीलाई सत्यता र परमेश्वरका वचनहरूअनुसार शिक्षा दिँदैन, बरु, तिनीहरू शैतानबाट आउने कुराहरूअनुसार त्यसो गर्छन्। त्यसकारण, शैतानका कुराहरू प्रयोग गरेर अर्को पुस्ता र सारा मानवजातिलाई सिकाउनुको परिणाम के हुन्छ भने यसले मानिसहरूको स्वभाव र सारलाई भ्रष्ट तुल्याउनेबाहेक मानिसहरूमा नकारात्मक संवेगहरू उत्पन्न गराउँछ। यदि उत्पन्न हुने नकारात्मक संवेगहरू अस्थायी हुन् भने, तिनले व्यक्तिको जीवनमा ठूलो प्रभाव पार्नेछैनन्। तर, यदि कुनै नकारात्मक संवेग व्यक्तिको भित्री हृदय र आत्मामा गहिरिएर गाडिन्छ र अमेट रूपमा त्यहाँ अड्किन्छ, र उसले त्यसलाई पूर्ण रूपमा बिर्सन वा त्यसबाट छुटकारा पाउन सक्दैन भने, त्यसले त्यस व्यक्तिले गर्ने सबै प्रकारका छनौटहरू, उसले सबै प्रकारका मानिस, घटना र कामकुराहरूलाई लिने तरिका, सिद्धान्तका प्रमुख मामिलाहरू सामना गर्दा उसले छनौट गर्ने कुरा, र उसले आफ्नो जीवनमा हिँड्ने मार्गलाई अनिवार्य रूपमा असर गर्नेछ—मानव समाजले हरेक व्यक्तिमा पार्ने वास्तविक प्रभाव यही हो। अर्को पक्ष चाहिँ मानिसहरूका आफ्नै वस्तुगत कारणहरू हुन्। अर्थात्, मानिसहरूले हुर्कँदै गर्दा प्राप्त गर्ने शिक्षा र सिकाइहरू, तिनीहरूले स्विकार्ने आफूलाई आचरणमा ढाल्ने तरिकाहरूका साथै सबै सोच र विचार, साथै विभिन्न मानवीय भनाइहरू, सबै शैतानबाट आउँछन्, त्यसैले मानिसहरूसँग आफूले सामना गर्ने यी समस्याहरूलाई सही परिप्रेक्ष्य र दृष्टिकोणबाट सम्हाल्ने र हटाउने क्षमता हुँदैन। त्यसकारण, अन्जानमै यस कठोर वातावरणको प्रभावमा परेर, र यसद्वारा दमित र नियन्त्रित भएर, मानिसले थाहै नपाई हीनताबोधको संवेगजस्ता विभिन्न नकारात्मक संवेगहरू विकास गर्छ, र आफूले समाधान गर्न, बदल्न, वा हटाउन नसक्ने समस्याहरूविरुद्ध लड्ने प्रयास गर्न ती प्रयोग गर्छ। मानौँ तेरा आमाबुबा, शिक्षक, तेरा अग्रज, र तँ वरपरका अरू सबैले तेरो क्षमता, मानवता, र चरित्रको अवास्तविक मूल्याङ्कन गर्छन्, र अन्ततः यसले तँलाई गर्ने भनेकै तँलाई आक्रमण गर्नु, दमन गर्नु, तेरो दम घोट्नु, तँलाई साङ्लाले बाँध्नु, र बन्धनमा पार्नु हो। अन्ततः, जब तँसँग प्रतिरोध गर्ने कुनै क्षमता हुँदैन, तब तँसँग चुपचाप आफ्ना गुनासाहरू निल्ने जीवन रोज्नु, र यस प्रकारको अन्यायपूर्ण र अनुचित वास्तविकतालाई अनिच्छापूर्वक स्विकार्ने र चुपचाप सहने छनौट गर्नुको कुनै विकल्प हुँदैन। जब तँ यो वास्तविकता स्वीकार गर्छस्, तब अन्ततः तँमा उत्पन्न हुने संवेग खुसी, सन्तुष्टि, वा सकारात्मक वा उत्थानदायी कुरा हुँदैन; तँ अझ बढी उत्प्रेरणा र दिशाको अझ ठूलो बोधका साथ जिउँदैनस्, झन् मानव जीवनका लागि सही र सटीक लक्ष्यहरू पछ्याउनु त परै जाओस्, बरु तँमा हीनताबोधको गहिरो संवेग उत्पन्न हुन्छ। जब यो संवेग तँमा उत्पन्न हुन्छ, तब तँलाई असहाय महसुस हुन्छ। जब तँ तैँले कुनै दृष्टिकोण व्यक्त गर्नुपर्ने समस्या सामना गर्छस्, तब तैँले आफूले भन्न चाहेको कुरा र आफ्नो भित्री हृदयमा व्यक्त गर्न चाहेको दृष्टिकोणलाई कतिपटक विचार गर्नेछस् भन्ने कसलाई के थाहा हुन्छ र, तैपनि तँ अझै पनि त्यसलाई ठूलो स्वरमा बोल्ने हिम्मत गर्नेछैनस्। जब कसैले तैँले राखेको जस्तै दृष्टिकोण व्यक्त गर्छ, तब तँलाई आफ्नो हृदयमा केवल एउटा पुष्टि—तँ अरू मानिसहरूभन्दा खराब छैनस् भन्ने पुष्टि महसुस हुन्छ। तर जब उही अवस्था फेरि आउँछ, तब तँ अझै मनमनै यसो भन्छस्, ‘मैले लापरबाही रूपले बोल्ने, अलग देखिने, वा आफूलाई हाँसोको पात्र बनाउने गर्नु हुँदैन। म राम्रो छैनँ, म मूर्ख छु, म बेबकुफ छु, म उल्लु हुँ। मैले लुक्न सिक्नुपर्छ; मैले केवल सुन्नुपर्छ र बोल्नु हुँदैन।’ यसबाट हामी के देख्न सक्छौँ भने, हीनताबोधको संवेग उत्पन्न हुने क्षणदेखि लिएर यो व्यक्तिको भित्री हृदयमा गहिरिएर स्थापित हुने अवस्थासम्म पुग्दा, ऊ आफ्नो स्वतन्त्र इच्छा र परमेश्वरले उललाई दिएका वैध अधिकारहरूबाट वञ्चित हुन्छ, होइन र? (हो।) यसरी ऊ यी कुराहरूबाट वञ्चित हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचनहरू पढेपछि, मैले म किन यति डरछेरुवा भएँ र ममा यस्तो हीनताबोध किन छ भनी चिन्तन गर्न थालेँ, र मलाई मेरो विगतका कुराहरू याद आउन थाले। म सानो छँदा, परिवार नियोजन जनगणना छल्न, मलाई हजुरआमाको घरमा हुर्काइएको थियो, र म अक्सर हजुरआमासँगै भाग्नु र लुक्नु पर्थ्यो। यसले मेरो मनमा एउटा कालो छाया पार्यो, र म साँच्चै डरछेरुवा भएँ। मेरा आमाबुबा साथमा नभएकाले, छिमेककी एकजना आन्टीले मलाई “फुच्ची बेनामे” भनेर गिज्याउनुहुन्थ्यो, र मेरो उमेरका केटाकेटीले पनि मलाई आमा नभएकी बच्ची भनेर खिसी गर्थे। मलाई लाग्थ्यो म एउटा फुस्रो र घाम नलाग्ने आकाशमुनि जिइरहेकी छु, र मलाई एकदमै एक्लो र दमित महसुस हुन्थ्यो, म अरू केटाकेटीहरूभन्दा फरक छु भन्ने लाग्थ्यो। उनीहरूका आमा र बुबा उनीहरूको साथमा थिए, तर मेरा थिएनन्। आखिरकार, मलाई बाहिर जान मन लाग्न छाड्यो, मानिसहरू भेट्न डर लाग्न थाल्यो, र म झन्-झन् कम बोल्ने भएँ। स्कूल सुरु गरेपछि, म डराउने र असुरक्षित महसुस गर्ने भएकीले, म छुट्टीको समयमा आफ्ना सहपाठीहरूसँग बिरलै बोल्थेँ। म उनीहरू कक्षापछि कुराकानी गरेको, हाँसेको, र खेलेको हेर्थेँ, तर म केवल हेरेर ईर्ष्या मात्र गर्न सक्थेँ, सधैँ आफूलाई उनीहरूभन्दा फरक महसुस गर्थेँ। मेरो मनमा गहिरो छाप छोडेको एउटा अनुभव भाषा कक्षामा भएको थियो। मैले एउटा प्रश्नको जवाफ दिँदा मेरो आवाज सानो भएकाले, शिक्षकले व्यङ्ग्य गर्दै भन्नुभयो, “तिम्रा लागि एउटा मेगाफोन ल्याइदिनुपर्ला,” र उहाँले यसो भन्नासाथ, पूरै कक्षामा हाँसोको फोहोरा छुट्यो। त्यो क्षण, मलाई म पूरै कक्षाको हाँसोको पात्र बनेकी महसुस भयो, र म आफ्नो अनुहार लुकाउन चाहन्थेँ। मेरो औसत पढाइ र शिक्षकको हेयभाव, अनि त्यसरी गिज्याइएपछि, मेरो आत्मसम्मानमा गहिरो चोट पुग्यो। आमाबुबाकहाँ फर्केपछि, म अक्सर उहाँहरूबीच झगडा देख्थेँ, र मलाई झनै दमित र एक्लो महसुस भयो। लामो समयसम्म यो भावनात्मक स्थितिमा फसेकाले, मैले धेरै सोचाइ र भावनाहरू आफ्नो मनमा आफैले पचाउनुपर्थ्यो। म सधैँ चुपचाप बस्ने र मानिस वा परिस्थितिहरूसँगको व्यवहारमा बेढङ्गकी हुने भएकीले, मेरा आमाबुबा मप्रति रिस र असहायपन देखाउँदै, मलाई भन्नुहुन्थ्यो, “के तँ मूर्ख होस्? राम्ररी बोल्न पनि सक्दिनस्, कति लठेब्री भएकी!” समय बित्दै जाँदा, मैले म काम नलाग्ने छु र म बोल्न सिपालु छैन भन्ने कुरा स्वीकार्न थालेँ, र यी मूल्याङ्कनहरू मेरो पहिचानमा टाँसिन पुगे, जसले ममा स्थायी हीनताबोध छोडिदियो। यो बेला पनि, जब मैले आफ्नो कर्तव्यमा विचारहरू व्यक्त गर्नुपर्थ्यो, मेरो मनमा राय र विचारहरू प्रस्ट हुँदाहुँदै पनि म बोल्न अत्यन्त डराउँथेँ, मेरा कुरा अमिल्दो भएर अस्वीकृत होलान्, र म झनै कमजोर देखिनेछु भन्ने सधैँ डर लाग्थ्यो। तर वास्तविकतामा, मेरा धेरै विचार र सुझावहरू पछि उपयुक्त र विचारणीय साबित भए। यी कुराबारे चिन्तन गरेपछि, मैले आफ्नो हीनताबोधको कारणहरू अझ स्पष्टसँग बुझ्न थालेँ। बाहिरी परिस्थितिको प्रभावले गर्दा, मैले निरन्तर आफूलाई नकारात्मक रूपमा मूल्याङ्कन गरेँ र आफ्नो बारेमा फैसला सुनाएँ, र समय बित्दै जाँदा, मैले आफ्नो सक्रियता गुमाएँ, र अरूसँगको कुराकानी र आफ्नो कर्तव्यको पालना दुवैमा, म झन्-झन् निष्क्रिय र डरछेरुवा हुँदै गएँ।
मैले त्यसपछि खोजी जारी राखेँ, र मैले परमेश्वरका वचनहरू पढेँ: “जुनसुकै अवस्थाले तेरो हीनताबोधको संवेगलाई उत्पन्न गरे पनि वा त्यसलाई जसले वा जुनै घटनाले उत्पन्न गरे पनि, तँसँग आफ्नो क्षमता, सामर्थ्य, प्रतिभा, अनि चरित्रबारे सही बुझाइ हुनुपर्छ। हीनताबोध गर्नु सही कुरा होइन, न त आफूलाई ठूलो ठान्नु नै सही कुरा हो—ती दुवै नकारात्मक संवेगहरू हुन्। हीनताबोधले तेरो व्यवहार र विचार बाँध्न, र तेरो दृष्टिकोण र अडान प्रभावित पार्न सक्छ। त्यसरी नै, श्रेष्ठताबोधको पनि नकारात्मक प्रभाव हुन्छ। त्यसकारण, चाहे यो हीनताबोध होस् वा अर्को नकारात्मक संवेग, तँसँग यो संवेग उत्पन्न गराउने टिप्पणीहरूबारे सही बुझाइ हुनुपर्छ। प्रथमतः तैँले ती टिप्पणीहरू बेठिक छन् भनेर बुझ्नुपर्छ, र चाहे त्यो तेरो क्षमता, तेरो प्रतिभा, वा तेरो चरित्रसँग सम्बन्धित होस्, तिनीहरूले तेरा बारेमा गर्ने मूल्याङ्कन र निष्कर्षहरू सबै बेठिक हुन्छन्। त्यसोभए, तैँले आफूलाई सठिक रूपमा कसरी मूल्याङ्कन गर्न र चिन्न सक्छस्, र तँ कसरी हीनताबोधको संवेगबाट मुक्त हुन सक्छस्? तैँले परमेश्वरका वचनहरूलाई आफूलाई चिन्ने—तेरो मानवता कस्तो छ, तेरो क्षमता र प्रतिभा वास्तवमा कस्ता छन्, अनि तँमा के-कस्ता सामर्थ्यहरू छन् भनेर थाहा पाउने आधारका रूपमा लिनुपर्छ। … यस्तो परिस्थितिमा, तैँले सही मूल्याङ्कन गर्नुपर्छ र परमेश्वरका वचनहरूअनुसार आफ्नो सही मापन गर्नुपर्छ। तैँले के सिकेको छस् र तेरा सामर्थ्यहरू कहाँ छन् भनेर पत्ता लगाउनुपर्छ, अनि आफूले गर्न सक्ने जुनसुकै कुरा गर्नुपर्छ; तैँले गर्न नसक्ने कुराहरू, तेरा कमजोरी र अपर्याप्तहरूका हकमा भन्दा, तैँले चिन्तन गरेर तिनलाई चिन्नुपर्छ, र तँसँग तेरो क्षमता कस्तो छ, त्यो असल छ कि खराब छ भन्नेबारे सठिक मूल्याङ्कन र ज्ञान हुनुपर्छ। यदि तँ आफ्ना समस्याहरू बुझ्न सक्दैनस् वा तीबारे तँसँग स्पष्ट ज्ञान छैन भने, समझ भएका र आफू वरपरका मानिसहरूलाई तेरा बारेमा मूल्याङ्कन गर्न अनुरोध गर्। तिनीहरूले भन्ने कुरा सठिक भए पनि नभए पनि, कम्तीमा पनि यसले तँलाई सन्दर्भका लागि कुनै कुरा दिनेछ अनि आफूबारे आधारभूत मूल्याङ्कन वा चित्रण राख्न सक्षम बनाउनेछ। त्यसपछि तँ यस नकारात्मक संवेग—तेरो हीनताबोधको संवेग—को मूल समस्या समाधान गर्न, र त्यसबाट क्रमिक रूपमा निस्कन सक्छस्। यदि व्यक्तिले हीनताबोधको संवेगलाई खुट्ट्याउन, त्यसबाट ब्युँझन, र सत्यता खोजी गर्न सक्छ भने, त्यो संवेग समाधान गर्न सजिलो हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचनहरू पढेपछि, मैले आफ्नो हीनताबोधलाई त्याग्ने मार्ग पाएँ। त्यो मार्ग थियो—परमेश्वरका वचनहरूको आधारमा आफूलाई वस्तुनिष्ठ र न्यायपूर्ण ढङ्गले मूल्याङ्कन गर्नु। म निरन्तर ती पुराना सम्झनामा डुबेर बस्न, विगतका छाया र अरूका गलत मूल्याङ्कनहरूले आफूलाई बाँध्न दिन, यहाँसम्म कि ती कुरालाई मेरो सोचाइ र जीवनलाई नियन्त्रण गर्न दिन सक्दिनथेँ। मैले आफूलाई परमेश्वरका वचनहरूअनुसार जाँच्नु र मूल्याङ्कन गर्नुपर्छ, र आफ्ना सबल र कमजोर पक्षहरूलाई सही रूपमा हेर्नुपर्छ। मैले आफ्ना बारेमा वस्तुनिष्ठ निर्णय गर्नका लागि आफ्ना वरपरका मानिसहरूको मूल्याङ्कनलाई पनि विचार गर्न सक्थेँ। मैले आफूसँग सहकार्य गर्ने ब्रदर-सिस्टरहरूले मलाई कसरी मूल्याङ्कन गर्थे भन्ने सम्झिएँ। उहाँहरू भन्नुहुन्थ्यो मेरो क्षमता औसत छ, मेरो बुझाइमा विचलन छैन, परिस्थितिहरूको सामना गर्दा मेरो आफ्नै सोचाइ हुन्छ, र म कर्तव्यमा बोझ र जिम्मेवारीको बोध गर्छु। मैले देखेँ म धेरै सक्षम र तीक्ष्ण नभए तापनि, र मेरो क्षमता धेरै उच्च नभए तापनि, म कमजोर क्षमता वा सोचाइ नभएकी व्यक्ति थिइनँ। यसबाहेक, मेरा ब्रदर-सिस्टरहरूले म अन्तर्मुखी र बोल्न कमजोर भएको कारणले मलाई घृणा गर्नुभएन। बरु, जब म डराउँथेँ र स्पष्ट बोल्न सक्दिनथेँ, उहाँहरूले मैले भन्न खोजेको कुरालाई स्पष्ट पार्न र थप्न मद्दत गर्नुहुन्थ्यो। यसले मलाई ब्रदर-सिस्टरहरूबीचको साँचो सहयोगको महसुस गरायो, जसमा कुनै होच्याइ वा घृणा थिएन।
एक दिन, मैले एउटा अनुभवात्मक लेखमा साभार गरिएको परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र यसले मेरो हृदयलाई केही उज्यालो बनायो अनि मेरो अन्तर्मुखी व्यक्तित्वको बन्धनबाट मलाई मुक्त गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “सामान्य मानवतामा जिउने मानिसहरू पनि धेरै शारीरिक जन्मजात प्रवृत्ति र शारीरिक आवश्यकताहरूद्वारा प्रतिबन्धित हुन्छन्। … कहिलेकहीँ मानिसहरू भावना र शारीरिक आवश्यकताहरूले बाँधिन सक्छन्, र कहिलेकहीँ तिनीहरू शारीरिक जन्मजात प्रवृत्तिका प्रतिबन्धहरू, वा समय र व्यक्तित्वका प्रतिबन्धहरूमा पर्न सक्छन्—यो सामान्य र प्राकृतिक कुरा हो। उदाहरणका लागि, कतिपय मानिसहरू सानैदेखि निकै अन्तर्मुखी हुन्छन्; तिनीहरूलाई कुरा गर्न मन पर्दैन र अरूसँग सङ्गत गर्न गाह्रो हुन्छ। तीस-चालीसको दशकमा पुगेका वयस्क अवस्थामा पनि, तिनीहरू अझै पनि यो व्यक्तित्वलाई जित्न सक्दैनन्: तिनीहरू अझै पनि बोल्नमा सिपालु हुँदैनन् वा शब्दहरू चलाउन सिपालु हुँदैनन्, न त तिनीहरू अरूसँग सङ्गत गर्नमा नै सिपालु हुन्छन्। तिनीहरू अगुवा बनेपछि, यो व्यक्तित्वको विशेषताले निश्चित हदसम्म तिनीहरूको कामलाई सीमित र अवरोध गर्छ, र यसले प्रायजसो तिनीहरूलाई हैरान र निराश तुल्याउँछ, तिनीहरूलाई अत्यन्तै बन्धनमा परेको महसुस गराउँछ। अन्तर्मुखी हुनु र बोल्न नचाहनु सामान्य मानवताको प्रकटीकरणहरू हुन्। ती सामान्य मानवताका प्रकटीकरणहरू भएका हुनाले, के तिनलाई परमेश्वरप्रतिका अपराधहरू मानिन्छ? अहँ, ती अपराधहरू होइनन्, र परमेश्वरले तिनलाई सही रूपमा लिनुहुनेछ। तेरा समस्या, खराबी, वा त्रुटिहरू जेसुकै भए पनि, यीमध्ये कुनै पनि परमेश्वरका नजरमा समस्याहरू होइनन्। तैँले सामान्य मानवताको अन्तर्निहित अवस्थाहरूअन्तर्गत रहेर कसरी सत्यता खोजी गर्छस्, सत्यता अभ्यास गर्छस्, सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्छस्, र परमेश्वरको मार्ग पछ्याउँछस् भन्ने कुरा मात्रै परमेश्वर हेर्नुहुन्छ—परमेश्वर यी कुराहरू हेर्नुहुन्छ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। म सधैँ आफूलाई अन्तर्मुखी र बोल्न कमजोर भएकोमा घृणा गर्थेँ, र मलाई अक्सर सहपाठी र सहकर्मीहरूले हेला गर्ने र होच्याउने गर्थे, तर परमेश्वर भन्नुहुन्छ यी कुरा सामान्य मानवताका अभिव्यक्तिहरू हुन्। मैले अन्ततः के बुझेँ भने अन्तर्मुखी हुनु र बोल्न कमजोर हुनु गलत होइन, र यो लाज मान्नुपर्ने कुरा पनि होइन। एक व्यक्तिको जन्मजात व्यक्तित्व परिवर्तन गर्न सकिँदैन, र परमेश्वरको काम मानिसको व्यक्तित्व परिवर्तन गर्नु होइन, अन्तर्मुखीलाई बहिर्मुखी बनाउनु, वा बोल्न सिपालु नभएकालाई वाक्पटु बनाउनु होइन। बरु, परमेश्वरको काम मानिसको भ्रष्ट स्वभावलाई शुद्ध पार्नु र परिवर्तन गर्नुमा केन्द्रित छ, र परमेश्वरले सामान्य मानवताभित्रका कमी-कमजोरीलाई दोष दिनुहुन्न। परमेश्वरले हेर्नुहुने कुरा व्यक्तिले सत्यताको खोजी गर्न, र उहाँका वचनहरू सुन्न अनि त्यसअनुसार अभ्यास गर्न सक्छ-सक्दैन भन्ने हो। यो कुरा बुझेपछि, म आफ्नो अन्तर्मुखी व्यक्तित्व वा बोल्ने कमजोर सीपले गर्दा चिन्तित हुन छाडेँ, र मैले आफूलाई घृणा गर्न पनि छाडेँ। मैले आफ्ना कमी-कमजोरीलाई सही रूपमा व्यवहार गर्नुपर्छ, र मेरा विचार व्यक्त गर्नुपर्दा, मैले सधैँ “म सक्दिनँ; म अन्तर्मुखी र बोल्न कमजोर छु” भन्ने सोच्नुहुँदैन बरु, मैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र सिद्धान्तअनुसार काम गर्नुपर्छ। आफ्नो कर्तव्यमा अगाडि बढ्दै, मैले सचेत भई परमेश्वरका वचनहरूअनुसार अभ्यास गरेँ।
पछि, मैले कामको अनुगमन गर्दा, केही ब्रदर-सिस्टरहरूलाई आफ्नो कर्तव्यमा निष्क्रिय पाएँ। मैले उनीहरूलाई अलि घच्घच्याउने सोचेँ, तर जब मैले सन्देश पठाउन लागेकी थिएँ, मैले चिन्तित हुँदै सोचेँ, “मैले यो कसरी भन्नुपर्ला? के उनीहरूले सन्देशमा सक्रिय प्रतिक्रिया देलान्? यदि उनीहरूले मलाई प्रश्न सोधे र मैले स्पष्ट जवाफ दिन सकिनँ भने, त्यो निकै लाजमर्दो हुनेछ!” यस्तो सोचेपछि, मैले सन्देश पठाउने आँट गरिनँ। मलाई फेरि आफ्नो हीनताबोधले बाँधिएकी महसुस भयो। मैले केही दिनअघि पढेका परमेश्वरका वचनहरूलाई सम्झिएँ: “तेरा समस्या, खराबी, वा त्रुटिहरू जेसुकै भए पनि, यीमध्ये कुनै पनि परमेश्वरका नजरमा समस्याहरू होइनन्। तैँले सामान्य मानवताको अन्तर्निहित अवस्थाहरूअन्तर्गत रहेर कसरी सत्यता खोजी गर्छस्, सत्यता अभ्यास गर्छस्, सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्छस्, र परमेश्वरको मार्ग पछ्याउँछस् भन्ने कुरा मात्रै परमेश्वर हेर्नुहुन्छ—परमेश्वर यी कुराहरू हेर्नुहुन्छ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। त्यो क्षण, मलाई लाग्यो मसँग एउटा दिशा र मार्ग छ। मेरा ब्रदर-सिस्टरहरूले सक्रिय प्रतिक्रिया दिए पनि नदिए पनि, मैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। त्यसैले मैले उनीहरूलाई काममा जाँगर चलाउन सन्देश पठाएँ। जब उनीहरूले मलाई केही प्रश्न सोधे, मैले जानेजति जवाफ दिएँ, र यसरी अभ्यास गर्दा मलाई सहज महसुस भयो। मैले परमेश्वरका वचनहरू साँच्चिकै मानिसहरूले कसरी काम गर्नुपर्छ भन्ने दिशा र मापदण्ड रहेको अनुभव गरेँ।
पछि, एकजना सिस्टरले मलाई चिन्तन गर्न सम्झाउनुभयो: हीनताबोधबाट प्रभावित हुनुबाहेक, म आफ्नो कर्तव्यमा सधैँ निष्क्रिय हुँदा र पछि हट्दा मलाई कुन भ्रष्ट स्वभावले बाँधिरहेको थियो? ती सिस्टरले मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड पठाउनुभयो, त्यसपछि मात्रै मैले आफ्नो हीनताबोध पछाडि रहेको जड कारण थाहा पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परिवारले एकदुई वटा भनाइले मात्रै होइन, अनगिन्ती प्रसिद्ध उद्धरण र उक्तिहरूको बाढीद्वारै मानिसहरूलाई सिकाउने गर्छ। उदाहरणको लागि, के तेरो परिवारका अग्रज र आमाबुबाले प्रायजसो ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्ने भनाइ उल्लेख गर्दैनन् र? (हो।) तिनीहरूले तँलाई यसो भनिरहेका हुन्छन्: ‘मानिसहरूले आफ्नो प्रतिष्ठाकै खातिर बाँच्नुपर्छ। मानिसहरूले आफ्नो जीवनकालमा राम्रो छवि बनाउन र अरूको मनमा राम्रो छाप छोड्नबाहेक अरू केही खोज्नु हुँदैन। तिमीले जोसँग कुरा गरे पनि, तिनीहरूसँग मिठासपूर्ण शब्दहरू बोल, चिप्लो घस्ने र दया देखाउने शब्दहरू मात्र बोल, र तिनीहरूलाई नचिढ्याऊ। बरु, अझ धेरै असल कामकुरा र दयालु कार्यहरू गर।’ परिवारले सिकाउने कुराको यो विशेष प्रभावले मानिसहरूको व्यवहार वा आचरणका सिद्धान्तहरूमा निश्चित प्रभाव पार्छ, जसको परिणामस्वरूप तिनीहरूले अपरिहार्य रूपमा ख्याति र प्राप्तिलाई ठूलो महत्त्व दिन्छन्। अर्थात्, तिनीहरूले आफ्नो ख्याति, प्रतिष्ठा, मानिसहरूको मनमा तिनीहरूले सिर्जना गर्ने छाप, र तिनीहरूले गर्ने हरेक काम र व्यक्त गर्ने हरेक रायबारे अरूले गर्ने मूल्याङ्कनलाई ठूलो महत्त्व दिन्छन्। मानिसहरूले ख्याति र प्राप्तिलाई ठूलो महत्त्व दिन्छन्, त्यसैले ती प्रसिद्ध भनाइहरूका शब्दहरू र परम्परागत संस्कृतिमा कामकुराहरूसँग व्यवहार गर्ने सिद्धान्तहरू तिनीहरूको हृदयमा हाबी हुन्छन्, यहाँसम्म कि तिनलाई पूर्ण रूपमा ओगट्छन्। थाहै नपाईकन, तिनीहरूले सत्यता र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् कि छैनन् भन्ने कुरालाई महत्त्वहीन देख्न थाल्छन्, र तिनीहरूले त्यस्ता विचारहरूलाई पूर्ण रूपमा त्याग्न पनि सक्छन्। तिनीहरूको हृदयमा, ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्ने जस्ता शैतानी दर्शनहरू र परम्परागत संस्कृतिका चर्चित भनाइहरू अत्यन्तै महत्त्वपूर्ण बन्छन्। … यसरी तैँले गर्ने सबै कुरा सत्यता अभ्यासको लागि गरेको हुँदैनस्, न त परमेश्वरलाई सन्तुष्ट पार्नको लागि गरेको हुन्छस्, बरु, यो त तेरो आफ्नै प्रतिष्ठाको लागि गरेको हुन्छस्। यस तरिकाले, तैँले गर्ने सबै कुरा स्वतः के बनेको हुन्छ? यो एउटा धार्मिक कार्य बनेको हुन्छ। तेरो सार के बनेको हुन्छ? तँ फरिसीको ठेट उदाहरण बनेको हुन्छस्। तेरो मार्ग के बनेको हुन्छ? यो एक ख्रीष्टविरोधीको मार्ग बनेको हुन्छ। परमेश्वरले यसलाई यसरी नै चित्रण गर्नुहुन्छ। त्यसकारण, तैँले गर्ने सबै कुराको सार परिवर्तन भएको छ, यो अहिले फरक भएको छ; तैँले सत्यता अभ्यास गरिरहेको वा सत्यता पछ्याइरहेको हुँदैनस्, बरु ख्याति र प्राप्ति पछ्याइरहेको हुन्छस्। अन्त्यमा, परमेश्वरको नजरमा तेरो कर्तव्य निर्वाह एक शब्दमा भन्दा मानकअनुरूप छैन। यस्तो किन हुन्छ? किनभने तँ परमेश्वरले तँलाई सुम्पनुभएको कुरामा वा सृजित प्राणीको रूपमा तैँले पूरा गर्नुपर्ने कर्तव्यमा नभई आफ्नो प्रतिष्ठाप्रति मात्र अर्पित छस्। … किनकि तैँले गर्ने सबै कुरा सारमा आफ्नो ख्यातिको खातिर मात्र हुन्छ, र ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्ने भनाइ अभ्यास गर्नको खातिर मात्र हुन्छ—यो सत्यतालाई पछ्याउनु होइन। तैपनि तँ आफैलाई यो कुरा थाहै छैन। तँलाई यो भनाइमा कुनै गल्ती छैन भन्ने लाग्छ, किनभने, के मानिसहरू आफ्नो ख्यातिका लागि जिउँदैनन् र? यस्तो आम भनाइ नै छ, ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ।’ यो भनाइ निकै सकारात्मक र जायज देखिन्छ, त्यसैले तैँले अचेतन रूपमै यसका सिकाइने कुराका प्रभावहरू स्विकार्छस् र यसलाई सकारात्मक कुरा ठान्छस्। एकपटक यो भनाइलाई सकारात्मक ठानेपछि, तैँले अचेतन रूपमै यसलाई पछ्याइरहेको र अभ्यास गरिरहेको हुन्छस्। साथै, तैँले अनजानमा र भ्रममा परेर यसलाई सत्यता मापदण्ड ठान्छस्। जब तैँले यसलाई सत्यता मापदण्ड ठान्छस्, तब परमेश्वरले भन्नुभएको कुरा तँभित्र घुस्न छोड्छ, र तैँले उहाँको कुरा बुझ्न पनि सक्दैनस्। तैँले अन्धाधुन्ध रूपमा ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्ने यो आदर्श वाक्य अभ्यास गर्छस् र त्यहीअनुसार व्यवहार गर्छस्, र तैँले अन्त्यमा यसबाट प्राप्त गर्ने कुरा भनेको राम्रो प्रतिष्ठा हो। तैँले पाउन चाहेको कुरा पाएको हुन्छस्, तर त्यसो गर्ने क्रममा तैँले सत्यता उल्लङ्घन गरेको र त्यागेको हुन्छस्, र मुक्ति पाउने मौका गुमाएको हुन्छस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने म सधैँ “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने विचारबाट गहिरोसँग प्रभावित भएकी रहेछु, अनि मैले सधैँ आफ्नो प्रतिष्ठालाई उच्च महत्त्व दिएकी र अरूले मेरो बारेमा के सोच्छन् भनेर धेरै वास्ता गरेकी रहेछु। म एउटा कठपुतली जस्तै थिएँ, गरिमा र हैसियतले बाँधिएकी। मैले सुपरिवेक्षकले मलाई टोली अगुवा बनाउनु वास्तवमा मेरा लागि कसरी तालिम लिने एउटा ठूलो अवसर थियो भन्ने सम्झेँ। ब्रदर-सिस्टरहरूसँग कुराकानी गर्दा र मिलेर सिक्दा, त्यो मेरा लागि आफूमा भएको कमीलाई पूरा गर्ने राम्रो अवसर पनि थियो। यदि मेरा विचारहरू गलत भए, ब्रदर-सिस्टरहरूले मलाई कुनै पनि विचलनहरू सच्याउन मद्दत गर्न सक्थे। तर म सधैँ आफ्नो गरिमाले बाँधिएकी थिएँ, र जब मैले धेरै मानिस छन् र मैले आफ्नो विचार साझा गर्नुपर्छ भन्ने देख्थेँ, मेरो पहिलो प्रतिक्रिया सधैँ “म यो सक्दिनँ” भन्ने हुन्थ्यो। म आफ्ना कमी-कमजोरी खुलासा होलान्, र ब्रदर-सिस्टरहरूमा मेरो नराम्रो छाप पर्ला र उनीहरूले मलाई हेला गर्लान् कि भनेर डराउँथेँ। फलस्वरूप, मैले भन्नुपर्ने कुरा भनिनँ वा पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गरिनँ, जसले मलाई आफ्नो कर्तव्य पूरा गर्नमा धेरै निष्क्रिय बनायो। मैले आफ्नो व्यक्तिगत गरिमा र हैसियतलाई धेरै महत्त्व दिएँ। आफ्नो गरिमा र हैसियतको रक्षा गर्न, मैले सत्यताको अभ्यास गर्ने र आफ्ना जिम्मेवारी पूरा गर्ने धेरै अवसरहरू गुमाएँ, र मैले पवित्र आत्माको काम प्राप्त गर्ने धेरै मौकाहरू गुमाएँ। मैले सचेत भई सत्यताको अभ्यास गर्नु थियो र अब गरिमा वा हैसियतका लागि जिउनु हुँदैनथ्यो।
पछि, कामको आवश्यकताले गर्दा, मैले अर्को टोलीमा आफ्नो कर्तव्य पूरा गर्नुपर्यो, र टोली अगुवाले मलाई ब्रदर-सिस्टरहरूको कामको अनुगमन गर्न र समूह भेलाहरूको अगुवाइ गर्न भन्नुभयो। मैले मनमनै सोचेँ, “म बोल्न सिपालु छैन। यदि मैले कुराहरू स्पष्टसँग बताइनँ, र ब्रदर-सिस्टरहरूले बुझेनन् भने, के मानिसहरूले मलाई हेला गर्दैनन् होला र?” मलाई अलि डर र बेचैनी महसुस भयो। तर मैले के बुझेँ भने परमेश्वरले मलाई बोझ बोकाउन र अझ बढी तालिम दिनका लागि यो कर्तव्य ममाथि आउन दिनुभएको थियो। त्यसैले, मैले यो कर्तव्य स्वीकारेँ। सुरुमा, ब्रदर-सिस्टरहरूसँग भेला गर्दा, मैले आफ्नो सहकर्मीसँग मिलेर सञ्चालन गर्थेँ, र सङ्गति गर्नुअघि म अझै पनि डराउँथेँ, राम्रोसँग सङ्गति गरिनँ भने, ब्रदर-सिस्टरहरूले मलाई हेला गर्नेछन् भनेर चिन्तित हुन्थेँ। तर जब मैले यो मेरो कर्तव्य हो भनेर सोचेँ, तब मैले जिम्मेवारीको भावना महसुस गरेँ, र म साहसपूर्वक सङ्गति गर्न सकेँ। सङ्गतिको क्रममा मलाई डर लागे पनि, केही सङ्गतिपछि, परमेश्वरका वचनहरूमा गहिरिएर सोच्दै गएपछि, मलाई सङ्गति गर्दा डर लाग्न छाड्यो। मेरो सङ्गति राम्रो भयो कि नराम्रो भयो भनेर मैले धेरै वास्ता गरिनँ, र मैले धेरै सहज महसुस गरेँ। मैले यो सानो परिवर्तन पनि गर्न सक्नु परमेश्वरका वचनहरूको मार्गदर्शनको नतिजा थियो। परमेश्वरलाई धन्यवाद!